Category: फिचर

  • इनिशा विक हत्या प्रकरणः दोषीलाई कानुनी दायरामा ल्याउन पीडित परिवारको माग

    इनिशा विक हत्या प्रकरणः दोषीलाई कानुनी दायरामा ल्याउन पीडित परिवारको माग

    काठमाडौँ, २ चैतः बालिका इनिशा विक हत्यासम्बन्धी घटनाको शीघ्र छानबिन गरी संलग्न दोषीलाई कानुनबमोजिम कारबाही गर्न पीडित परिवारले माग गरेको छ । पीडित परिवारका तर्फबाट इनिशा विकका दाइ चन्द्रबहादुर विक र तपेन्द्र विकले आज गृहमन्त्री ओमप्रकाश अर्याललाई भेट गरी घटनाको सत्यतथ्य सार्वजनिक गरी दोषीलाई कानुनी दायरामा ल्याई पीडितलाई न्याय दिलाउन आग्रह गरेका हुन् ।

    साथै, यस्ता प्रकारका महिला तथा बालबालिकामाथि हुने यौन हिंसा तथा जघन्य अपराधका घटना दोहोरिन नदिन तथा न्यायको सुनिश्चितता र सुरक्षित समाज निर्माणका लागि सम्बन्धित निकाय, नागरिक समाज, पत्रकार तथा सम्पूर्ण सरोकारवालाले गम्भीरतापूर्वक ध्यान दिन पीडित परिवारले माग गरेको छ ।

    ज्ञापन–पत्र ग्रहण गर्दै मन्त्री अर्यालले घटनाको अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याइने बताए । मुलुकमा दण्डहीनताको अन्त्य हुनुपर्ने भन्दै कुनै पनि प्रकारका आपराधिक घटना र अवाञ्छित गतिविधि नियन्त्रण गरी शान्ति सुव्यवस्था कामय गर्न सरकार जिम्मेवारीका साथ लागि परेको उनले बताए । गत फागुन २३ गते सुर्खेतको वीरेन्द्रनगर–४ सहिदपार्क नजिकै जनजागरण सामुदायिक वनमा १६ वर्षीय बालिका इनिशा विकको बलात्कारपछि हत्या भएको थियो ।

  • वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

    वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

    काभ्रेपलाञ्चोक, २ चैतः पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गको हाल स्थायी रूपमा पुनर्निर्माण कार्य धमाधम भइरहेको छ । नेपालको पूर्वी तथा मध्यपहाडी क्षेत्रलाई सङ्घीय राजधानी काठमाडौँसँग जोड्ने छोटो दूरीका रूपमा रहेको उक्त राजमार्गको क्षतिग्रस्त सडकखण्डको तीन स्थानबाट थालिएको स्थायी पुनर्निर्माण कार्यलाई तीव्रता दिइएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ । राजमार्गको जोखिमयुक्त स्थानमा आउँदो वर्षाअघि नै पूर्वाधार निर्माण सक्ने र राजमार्गबाट नै यातायातका साधन सञ्चालन गर्नेगरी निर्माण कार्यलाई तीव्रता दिइएको कार्यालय प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले बताए ।


    उनका अनुसार राजमार्गमा भइरहेको काम हेर्दा दुई वर्षभित्र सडक पुनर्निर्माणको काम सकिने छ । हालसम्म काभ्रेपलाञ्चोकतर्फ ठेक्का लागेको तीनवटा सडकखण्डमा कुल २५ प्रतिशत काम भएको योगेशको भनाइ छ । विशेषगरी २०८१ असोजमा आएको बाढीपहिरो तथा यस वर्षको वर्षामा थप क्षति पुगेपछि गत मङ्सिरदेखि प्रक्रिया पु¥याएर स्थायी पुनर्निर्माण थालिएको हो । क्षतिग्रस्त चार खण्डमध्ये बाँकी एक खण्ड जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)ले पुनर्निर्माण गर्ने बर्खेखोलादेखि पिप्लेसम्मको तीन दशमलव दुई किलोमिटर सडक निर्माणको काम यसै महिनाभित्र ठेक्का सम्झौता हुने योगेशले जानकारी दिए ।


    क्षति पु¥याएको विभिन्न स्थानमा ‘आरसिसी’ पर्खाल लगाउने काम भइरहेको छ भने चौकीडाँडामा खोलाबाट प्लम्प पर्खाल लगाउन तथा चारसयबेँसी र भकुण्डेबेँसीमा पनि ‘आरसिसी’ पर्खाल लगाउन सुरु गरिएको छ । यस्तै डालाबेँसी, मङ्गलटार खण्ड, चारसयबेँसीदेखि नार्के खण्डमा सडक चौडा बनाउने कामसमेत भइरहेको योगेशले बताए । उनका अनुसार गत वर्ष र यस वर्षको बाढीले ‘वासआउट’ (सडक पूर्ण क्षति) भएको स्थानमा बाढीले क्षति नगर्ने संरचना निर्माणको डिजाइन गरिएको छ । राजमार्गको काभ्रेपलाञ्चोक र सिन्धुलीको क्षतिग्रस्त खण्डको आगामी दुई वर्षभित्र पुनर्निर्माणको काम सक्ने लक्ष्य राखिएको छ ।

    कार्यालयका अनुसार क्षतिग्रस्त राजमार्गको पुनर्निर्माणका लागि तीन खण्डमा एकैसाथ काम सुरु गरिएको हो । यस वर्ष क्षतिग्रस्त स्थानमा संरचना निर्माण गर्ने, सडक चौडा गर्नेलगायत काम सम्पन्न गर्ने र आगामी वर्ष बाँकी रहेका केही स्थानमा संरचना बनाई कालोपत्र गरी कामलाई तिव्रता दिइएको योगेशले बताए । बाढीपहिराले उक्त राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक र सिन्धुली खण्डको करिब ३० किलोमिटर सडकमा क्षति पु¥याएको थियो ।

    अबको पुनर्निर्माणमा राजमार्गको स्तरोन्नति गर्दै दुई लेनको सडक निर्माण गरिने भएको हो । “पुनर्निर्माण हुने सडकखण्डमा दुई लेनको सडक बन्ने छ भने यसभित्र रहेका पुलसँगै अर्को पुल निर्माण गरेर पुललाई समेत दुई लेनको निर्माण गरिनेछ,” योगेशले भने । उनका अनुसार पाँचवटा पुललाई दुई लेनमा परिणत गर्नेसमेत योजना बनाइएको छ । डालाबेँसीदेखि चारसयबेँसीसम्म आठ दशमलव पाँच किमी सडक पुनर्निर्माणका लागि खानी–एवन–कमलजीत जेभीले रु एक अर्ब ४२ करोड ३७ लाख (भ्याटसहित)मा निर्माण गर्ने गरी ठेक्का पाएको कार्यालयले जनायो ।

    यस्तै चारसयबेँसीदेखि भकुन्डेबेँसीसम्मको ११ दशमलव ०८ किमी सडक पुनर्निर्माणका लागि लामा–नवकान्तिपुर जेभीलाई रु एक अर्ब ३३ करोड ५३ लाखमा ठेक्का दिइएको हो । नेपालथोकदेखि बर्खेखोलासम्म चार दशमलव ९० किमी सडक पुनर्निर्माणका लागि रु ६१ करोड (भ्याटसहित)मा निर्माण गर्नेगरी खरिढुङ्गा–घिसिङ–क्षितिज जेभीसँग ठेक्का सम्झौता गरिएको जनाइएको छ ।

    क्षतिग्रस्त कूल २९ दशमलव पाँच किमी सडकमध्ये बर्खेखोलादेखि पिप्लेसम्मको तीन दशमलव दुई किमी सडकलाई जाइकाले रु दुई अर्ब ६३ करोड बराबरको अनुदान उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर भइसकेको छ । कार्यालयले जाइकाले निर्माण गर्ने सडकखण्डबाहेकका अन्य खण्डमा सरकारले गत असोजअघि नै ठेक्का लगाइसकेको थियो ।

    क्षतिग्रस्त खण्ड पुनर्निर्माणका लागि सरकारले रु आठ अर्ब ५० करोड स्रोत सहमति दिएको हो । जसमध्ये काभ्रेपलाञ्चोकतर्फका तीन सडकखण्डलाई रु सात अर्ब ५० करोड र सिन्धुलीको एक सडकखण्डलाई रु एक अर्बको स्रोत सहमति दिइएको हो । जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३÷०५४ बाट बिपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास १६० किमी सडक) निर्माण कार्य सुरु गरिएको थियो ।

    खण्डखण्ड विभाजन गरी निर्माण सम्पन्न राजमार्गको विसं २०७२ असार १८ गते औपचारिक रूपमा जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । उक्त राजमार्ग केन्द्रीय राजधानी काठमाडौँलाई मध्यपहाडी तथा पूर्वी नेपालसँग जोड्ने छोटो मार्गका रूपमा लिइएको छ ।

  • दुई छोराछोरीसहित आमा सम्पर्कविहीन

    दुई छोराछोरीसहित आमा सम्पर्कविहीन

    कर्णाली, २ चैतः सुर्खेतको गुर्भाकोट नगरपालिका–११ पिप्ले गाउँकी माया कठायत दुई छोराछोरीसहित सम्पर्कविहीन भएकी छिन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मोहनजङ्ग बुढ्थापाका अनुसार कठायत ११ वर्षीया छोरी आशा र पाँच वर्षीय छोरा दीपक कठायतसहित आइतबार बिहानदेखि सम्पर्कविहीन भएकी हुन् । श्रीमान् भूपेन्द्र कठायतले आइतबार बेलुका छोराछोरीसहित श्रीमती सम्पर्कविहीन रहेको प्रहरी चौकी गुमीलाई जानकारी दिएका थिए ।

    सो जानकारीपश्चात् चौकीका वरिष्ठ हवल्दार गोपाल गुरुङको नेतृत्वमा चार सुरक्षाकर्मी र वडाध्यक्षसहित स्थानीयले खोजतलास सुरु गरेका थिए । खोजतलासका क्रममा घरदेखि तीन किलोमिटर टाढा भेरी नदीको किनारमा मायाले प्रयोग गरेको झोला, सल, चप्पल र एक थान मोबाइल फेला परेको सूचना अधिकारी बुढ्थापाले बताए । तीनैजनाको खोजतलासका लागि भेरी नदी तथा त्यसआसपासको क्षेत्रमा इलाका प्रहरी चौकीहरुबाट ३५ प्रहरी र स्थानीय परिचालन गरिएको छ ।

  • आयोगद्वारा समानुपातिकतर्फ निर्वाचित सांसदको नाम सार्वजनिक

    आयोगद्वारा समानुपातिकतर्फ निर्वाचित सांसदको नाम सार्वजनिक

    काठमाडौँ, २ चैतः निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ कानुनअनुसार तोकिएको ‘क्लष्टर’बमोजिम निर्वाचित ११० सांसदको सूची सार्वजनिक गरेको छ । सार्वजनिक सूचीअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समानुपातिक निर्वाचन प्रणालीतर्फ ५७ सांसद निर्वाचित भएका छन् ।

    यसैगरी नेपाली कांग्रेसबाट २०, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिवादी) बाट १६, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट नौ, श्रम संस्कृति पार्टी र राप्रपाले चार÷चार जना सांसद निर्वाचित भएको आयोगका सचिव एवं समानुपातिकतर्फका निर्वाचन अधिकृत कृष्णबहादुर राउतले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।


    गत फागुन २१ गतेको निर्वाचनमा समानुपातिकतर्फ एक करोड १२ लाख ८० हजार ६१७ मतदान भएकामा एक करोड आठ लाख ३५ हजार २५ मत सदर भएका थिए ।

  • श्रीराम ग्यास उद्योगको गोदाममा छ हजार सिलिन्डर लुकाएको भेटिएपछि…

    श्रीराम ग्यास उद्योगको गोदाममा छ हजार सिलिन्डर लुकाएको भेटिएपछि…

    काठमाडौँ, २ चैत । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले श्रीराम ग्यास उद्योगको ललितपुर हरिसिद्धिस्थित गोदाममा भण्डारण गरिराखेको अवस्थामा छ हजार ३७७ वटा ग्यास सिलिन्डर फेला पारेको छ । ग्यासको कृत्रिम अभाव सृजना गर्ने हेतुले भण्डारण गरेको अवस्थामा विभागको अनुगमन टोलीले सो उद्योगको गोदाममा १४.२ किलो तौल भरिएका ग्यास सिलिन्डर फेलापारेको हो । विभागले सो उद्योगलाई रु तीन लाख जरिवाना गराएको छ । ती ग्यास सिलिन्डर नेपाल आयल निगमको समन्वय र रोहबरमा बिक्रीवितरणको व्यवस्था मिलाउन निर्देशन दिइएको विभागले जनाएको छ ।

    ग्यासको माग उच्च रहेको अवस्थामा आपूर्तिमा असर पर्नेगरी कृत्रिम अभाव सृजना नगरी वितरण प्रणाली सहज गर्न विभागले आग्रह गरेको छ । पश्चिम एसियामा विकसित तनावका कारण ग्यास आपूर्ति नहुने आशङ्कामा उपभोक्ताले ग्यासको अधिक भण्डारण गर्दा वितरणमा समस्या भइरहेको निगमले जनाएको छ ।

  • ‘एनआरएनए एकता महाधिवेशनले गैरआवसीय नेपालीलाई एक सूत्रमा बाँधेको छ’

    ‘एनआरएनए एकता महाधिवेशनले गैरआवसीय नेपालीलाई एक सूत्रमा बाँधेको छ’

    काठमाडौँ, २ चैतः गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का कार्यकारी अध्यक्ष डा बद्री केसीले एकता महाधिवेदनले विश्वभर रहेका करिब ८० लाख नेपालीलाई एकै सूत्रमा बाँध्ने काम गरेको बताएका छन् । सङ्घको एकता महाधिवेशनको समापन समारोहमा उनले सङ्घको इतिहासमा विभिन्न उतार–चढाव भए पनि छोटो समयमै सङ्घ ९२ देशसम्म विस्तार भएको जानकारी दिए । पछिल्ला करिब छ वर्ष विभिन्न परिस्थितिका कारण चुनौतीपूर्ण बनेको र त्यस अवधिमा सङ्गठन दुई भागमा विभाजित भएको उनले स्मरण गरे ।


    डा केसीले विभाजनभन्दा पनि एकताबाट अघि बढ्ने सोचका साथ सम्झौतापत्रमार्फत नेतृत्व हस्तान्तरण गरिएको उल्लेख गर्दै सङ्घ पुनः एकताको सूत्रमा बाँधिएको बताए । “हामीले फुटेर होइन, जुटेर अगाडि बढ्नुपर्छ भन्ने मान्यताका साथ एकताको मार्ग रोजेका हौँ । सोहीअनुसार जिम्मेवारी हस्तान्तरण गरेका छौँ”, उनले भने । डा केसीले भदौ २३ र २४ गते भएका घटनाले विश्वभर रहेका नेपालीलाई दुःखी बनाएको उल्लेख गर्दै यस्ता घटना भविष्यमा दोहोरिन नदिन सबै पक्ष सचेत हुनुपर्ने बताए ।

    विदेशमा बसोबास गर्ने नेपालीलाई निर्वाचनमा सहभागी गराउन ‘इ–भोटिङ’ प्रणाली लागू गर्न आवश्यक रहेको धारणा व्यक्त गर्दै उनले पहिचान जोगाउन गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गर्नुपर्नेमा जोड दिए । सङ्घका अर्का कार्यकारी अध्यक्ष महेश श्रेष्ठले विगतमा केही समय आपसी मतभेद र असमझदारीका कारण सङ्गठन कमजोर बनेको स्वीकार गरे । हाल बृहत् महाधिवेशनमार्फत नयाँ कार्यसमिति चयनको अन्तिम चरणमा पुगेको र यसले सङ्गठनलाई नयाँ उचाइमा पु¥याउने विश्वास व्यक्त गरे ।

    श्रेष्ठका अनुसार सङ्गठनको विभाजनका कारण सङ्घप्रति अविश्वास बढेको र त्यसले गैरआवासीय नेपालीका मुद्दाहरू कमजोर बनेका थिए । “अब यस्ता विभाजन कहिल्यै दोहोरिन नदिने प्रतिबद्धता व्यक्त गरेका छौँ”, उनले भने, “गैरआवासीय नेपाली नागरिकताले अझै पूर्ण अधिकार पाएका छैनन् । त्यसका लागि र विद्यमान कानुन संशोधन गरी लगानीमैत्री वातावरण बनाउन सरकारसँग मिलेर काम गर्न गर्छौं ।”

    संस्थापक अध्यक्ष उपेन्द्र महतोले नेपाली संस्कृति र संस्कारसहितको आर्थिक विकासका लागि गैरआवसीय नेपालीहरू सहयोग गर्न तयार रहेको बताए । संस्थापक अन्तरराष्ट्रिय संयोजक भीम उदासले एकता महाधिवेशनले सकरात्मक सन्देश दिएको भन्दै खुसी व्यक्त गरे ।

  • नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान

    नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान

    रासस
    काठमाडौँ, २ चैतः प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक लगानीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित गर्ने र गैरआवासीय नेपालीहरूको पुँजीलाई सुरक्षित र पारदर्शी रूपमा परिचालन गर्ने नीति सरकारको प्राथमिकतामा रहेको बताएका छन् । त्यसका लागि दीर्घकालीन लगानी संरचना निर्माण गर्ने सरकारको नीति रहेको उनको भनाइ थियो ।

    काठमाडौँमा आयोजित गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को १२औँ महाधिवेशन तथा विश्व सम्मेलनको समापन समारोहमा आज प्रधानमन्त्री कार्कीले विश्वभर फैलिएका नेपालीहरू नेपालको सद्भावना दूत रहेको उल्लेख गर्दै उनीहरुको योगदानको प्रशंसा गरिन् । उनले गैरआवासीय नेपालीहरूलाई नेपालको विकास र समृद्धिको यात्रामा सक्रिय रूपमा सहभागी हुन आह्वान गर्दै विदेशमा सिकेको ज्ञान, सीप, अनुभव र पुँजीलाई मातृभूमिको विकासमा उपयोग गर्नुपर्नेमा जोड दिइन् ।


    प्रधानमन्त्री कार्कीले हालै सम्पन्न महाधिवेशनबाट सङ्गठनभित्र देखिएको विभाजन अन्त्य भई एउटै मञ्चमा एकता कायम हुनु सकारात्मक भएको बताइन् । उनले एकता र सहकार्यबाट मात्रै विश्वभर रहेका नेपालीहरूको साझा भावना बलियो बन्ने धारणा राखिन् । नेपालको संविधानले गैरआवासीय नेपालीलाई आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसहितको नागरिकताको व्यवस्था गरेको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले यसले प्रवासी नेपाली र मातृभूमिबीचको सम्बन्ध अझ सुदृढ बनाएको बताइन् ।


    नवनिर्वाचित अध्यक्ष डा हेमराज शर्मासहित सङ्घको नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिँदै उनले गैरआवासीय नेपालीहरूको योगदान आर्थिक मात्र नभई सामाजिक पुँजी निर्माणमा पनि महत्त्वपूर्ण हुने बताइन् । प्रधानमन्त्री कार्कीले नेपाललाई अवसरयुक्त र समृद्ध राष्ट्र बनाउन स्वदेश तथा विदेशमा रहेका सबै नेपालीहरूको सहकार्य, लगानी, ज्ञान र नवप्रवर्तन आवश्यक रहेको धारणा राखिन् । उनले यस महाधिवेशनबाट व्यक्त भएको एकता र प्रतिबद्धताले नेपालको विकास र समृद्धिका लागि नयाँ मार्गदर्शन दिने विश्वास व्यक्त गरिन् ।

  • पृथ्वी राजमार्गमा ‘ओभर लोड’ बोक्ने सवारी चालक धमाधम कारबाहीमा

    पृथ्वी राजमार्गमा ‘ओभर लोड’ बोक्ने सवारी चालक धमाधम कारबाहीमा

    मलेखु (धादिङ), २ चैत । पृथ्वी राजमार्गमा पछिल्लो समय सवारी अनुशासन कायम गराउन र सडक दुर्घटना न्यूनीकरण गर्न प्रहरीले विशेष सक्रियता देखाएको छ । विशेषगरी क्षमताभन्दा बढी र असुरक्षित तवरले सामान ढुवानी गर्ने अर्थात् ‘ओभर लोड’ बोकेका सवारीसाधनका कारण जोखिम बढेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालयले अनुगमनमा कडाइ गरेको हो । गजुरी क्षेत्रबाट मात्र दैनिक २० भन्दा बढी सवारी चालक कारबाहीमा पर्ने गरेका छन् ।

    आज बिहान गजुरी गाउँपालिकास्थित घाटबेँसी नजिकै भएको सवारी जाँचमा नियमविपरीत ओभर लोड बोक्ने १५ भन्दा धेरै सवारी चालकलाई जरिवाना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक शिशिर थापाले जानकारी दिए ।
    थापाका अनुसार सवारीको अवस्था ठिक नभएका, नम्बर प्लेट छोपिने गरी सामान लोड गरेका र असुरक्षित रूपमा सामान बोकेका सवारी चालकलाई कारबाहीको दायरामा ल्याइएको हो ।

    यातायात व्यवस्था ऐनअनुसार तोकिएको भन्दा बढी भार बोक्न वा सवारीको ‘बडी’भन्दा बाहिर सामान निकाल्न पाइँदैन । यस्तो कसुर गर्ने सवारीलाई ट्राफिक प्रहरीले घटनास्थलमै जरिवाना गर्न सक्ने प्रावधान छ । पटकपटक गल्ती दोहोर्याएमा चालकको अनुमतिपत्र नै निलम्बनसम्मको गर्न सकिने व्यवस्था छ ।

  • एनआरएनए विश्व सम्मेलनको घोषणापत्रः लगानी, श्रमिक सुरक्षा र एकतामा जोड

    एनआरएनए विश्व सम्मेलनको घोषणापत्रः लगानी, श्रमिक सुरक्षा र एकतामा जोड

    काठमाडौँ, २ चैतः ‘हाम्रो एकता, समृद्धिको आधार’ भन्ने मूल नारासहित आयोजित गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को १२औँ विश्व सम्मेलन तथा बृहत् अन्तरराष्ट्रिय एकता महाधिवेशन सम्पन्न भएको छ । सम्मेलनले नेपालको विकासमा प्रवासी नेपालीको लगानी, श्रमिक अधिकार र संस्थागत एकतालाई प्राथमिकतामा राख्दै १२ बुँदे घोषणापत्र जारी गरेको छ । फागुन ३० देखि चैत आजसम्म (१४–१६ मार्च) काठमाडौँमा भएको सम्मेलनले विश्वभर छरिएका नेपाली समुदायलाई नेपालको समृद्धि, विकास तथा विश्वव्यापी रूपमा रहेका नेपालीको हित प्रवर्द्धनका लागि एकताबद्ध भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

    सम्मेलनले नेपालमा गैरआवासीय नेपालीहरूको लगानी भित्र्याउन कानुनी तथा नीतिगत सुधार गर्दै सहज वातावरण बनाउन सरकारसँग आग्रह गरेको छ । सम्मेलनले रोजगारी सिर्जना, उद्यमशीलता विकास तथा भौतिक पूर्वाधार निर्माणमा प्रवासी नेपालीको लगानीलाई प्रोत्साहन गर्ने प्रतिबद्धता जनाएको छ । घोषणापत्रमा गैरआवासीय नेपालीको लगानी व्यवस्थापनका लागि छुट्टै निकाय स्थापना, बैंक खाता खोल्ने र लगानी फिर्ता लैजान सहज व्यवस्था गर्न सम्बन्धित ऐन तथा नियमावली संशोधन गर्न सरकारसँग माग गरिएको छ ।

    सम्मेलनले मध्यपूर्वको पछिल्लो अवस्थाप्रति चिन्ता व्यक्त गर्दै सङ्कटमा परेका नेपालीको उद्धार, राहत र पुनःस्थापनामा नेपाल सरकार तथा अन्तरराष्ट्रिय निकायसँग सहकार्य सुदृढ गर्ने जनाएको छ । यसैगरी, विश्वका विभिन्न देशमा कार्यरत नेपाली श्रमिकहरूको सुरक्षा, अधिकार र सम्मानजनक रोजगारी सुनिश्चित गर्न सम्बन्धित देश, अन्तरराष्ट्रिय संस्था तथा नेपाल सरकारसँग सहकार्य गर्ने प्रतिबद्धतासमेत व्यक्त गरिएको छ ।

    घोषणापत्रमा प्रवासमा जन्मिएका दोस्रो पुस्ताका युवालाई नेपाली भाषा, संस्कृति र इतिहाससँग जोड्न शिक्षा, सांस्कृतिक कार्यक्रम तथा डिजिटल माध्यममार्फत पहल गरिने उल्लेख छ । सम्मेलनले जलविद्युत्, कृषि, पर्यटन, सूचना प्रविधि तथा नवप्रवर्तनमूलक उद्योगमा गैरआवासीय नेपालीको लगानी प्रवर्द्धन गर्दै लगानीमैत्री वातावरण निर्माणका लागि नेपाल सरकारसँग सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ ।

    यसैगरी, विश्वभर रहेका नेपालीहरूको ज्ञान, अनुभव र पुँजीलाई मातृभूमिसँग जोड्दै समृद्ध, समावेशी र आत्मनिर्भर नेपाल निर्माणमा योगदान गर्ने सामूहिक सङ्कल्प पनि गरिएको छ । सम्मेलनमा चार हजार २८६ प्रतिनिधि सहभागी भएका थिए । तीमध्ये चार सयभन्दा बढी प्रतिनिधि काठमाडौँमा भौतिक र बाँकी प्रतिनिधि अनलाइनमार्फत सहभागी भएका आयोजकले जनाएको छ ।

  • अमेरिकासँग तत्काल वार्ताको सम्भावना नभएको इरानी कुटनीतिज्ञको भनाइ

    अमेरिकासँग तत्काल वार्ताको सम्भावना नभएको इरानी कुटनीतिज्ञको भनाइ

    तेहरान, २ चैत (रासस–एएफपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अडानलाई पछि पार्दै इरानका विदेशमन्त्री अब्बास अराघचीले इरान अमेरिकासँग वार्ताका लागि तत्काल इच्छुक नभएको बताएका छन् । अराघचीले सीबीएसको ‘फेस द नेशन’ लाई दिएको आइतबार प्रसारित एक अन्तर्वार्तामा भने, “हामीले अमेरिकीहरूसँग कुरा गर्नुपर्ने कुनै कारण देख्दैनौं, किनकि हामीले उनीहरूसँग कुरा गरिरहेका समय उनीहरूले हामीलाई आक्रमण गर्ने निर्णय गरेका थिए । अहिले हामी स्थिर र बलियो छौँ। हामी केवल हाम्रा जनताको रक्षा गरिरहेका छौँ।”

    उनले स्पस्ट भाषामा भने, “अमेरिकीहरूसँग कुरा गर्ने कुनै राम्रो अनुभव छैन।” ट्रम्पले शनिबार अमेरिकाले इरानसँग सम्झौता चाहेको तर वर्तमान सर्तमा सम्झौता गर्न आफू तयार नभएको बताएका थिए । “हामीले कहिल्यै युद्धविरामको लागि आग्रह गरेका छैनौं, र हामीले कहिल्यै पनि वार्ताको लागि सोधेका छैनौं“ अराघचीले भने । उनले भने, “इरान ती देशहरूसँग वार्ता गर्न तयार छ जसले छनौट गरिएका तेल ट्याङ्करहरू हर्मुज निर्यात मार्गबाट पार गर्न वार्ता गर्न चाहन्छन्।” “म कुनै पनि देशको विशेष उल्लेख गर्न सक्दिनँ, तर हामीलाई धेरै देशहरूले सम्पर्क गरेका छन् जो उनीहरूको जहाजहरूको लागि सुरक्षित मार्ग चाहन्छन्,” उनले भने ।

  • प्राकृतिक उपचारका लागि सिंगा तातोपानी

    प्राकृतिक उपचारका लागि सिंगा तातोपानी

    म्याग्दी, २ चैत । कपिलबस्तुको बाणगंगा नगरपालिका–४ का रामलाल चालिसे प्राकृतिक उपचारका लागि म्याग्दीको सिंगा तातोपानी कुण्डमा यसपाली दोस्रो पटक आएका छन् । “यसअघि तातोपानीमा प्राकृतिक उपचार गराएपछि निको भएको ग्यास्ट्रिकको समस्या दोहोरिन नदिन यसपाली पनि आएको हो,” उनले भने, “तातोपानीमा शरिर डुबाउने र पानी सेवन गर्नाले स्वास्थ्यलाई फाइदा गरेको महशुस गरेको छु ।” धवलागिरी गाउँपालिका–३ मुनाका बुद्धिमान पुन छाला सम्बन्धी समस्याको उपचारका लागि तातोपानी कुण्डमा आएका आइतबार छ दिन भयो । सुरुका दिनको तुलनामा स्वास्थ्यमा सुधार हुदै गएको उनले भने ।

    चितवनको भरतपुरकी चमेली घर्ति क्षेत्री पछिल्लो दश वर्षयता नियमित रुपमा वर्षको एक हप्ता तातोपानी कुण्डमा प्राकृतिक उपचारका लागि आउने गर्छन् । “खाना नरुच्ने, अपच हुने, ढाड दुख्ने समस्या निको भएकाले हरेक बर्ष तातोपानी डुब्न आउने गरेकी छु,” उनले भनिन्, “तातोपानीमा प्राकृतिक उपचार गराउँदा अस्पताल जानआउन लाग्ने समय र औषधी किन्दा हुने खर्चको बचत भएको छ ।”

    चालिसे, पुन र घर्तीक्षेत्री जस्तै धेरै सर्वसाधारणहरुको लागि तातोपानी कुण्ड बरदान बनेको छ । वार्षिक २० हजार जना भन्दा बढी नेपालका ७७ वटै जिल्ला र विदेशबाट समेत सर्वसाधारणहरु प्राकृतिक उपचारका लागि आउने गरेका सिंगा तातोपानी कुण्ड ब्यवस्थापन समितिका सचिव कुमार केसीले बताए ।
    “म्याग्दी नदीको किनारमा प्राकृतिक रुपमा बिरेनुनको गन्ध आउने ५० डिग्री सेल्सीयस तापक्रममा निस्कने तातोपानीलाई संकलन गरेको पोखरीमा स्नानको व्यवस्था मिलाइएको छ,” उनले भने, “बिरेनुनको गन्ध आउने पानी संकलन गरिएको पोखरीमा स्नान गरेर छाला, ग्यास्ट्रिक, वाथ, चोटपटक लागेको स्वास्थ्य समस्या निको हुने जनविश्वास छ ।”

    महिला र पुरुषको लागि स्नानका लागि फरक÷फरक समय तालिका बनाइएको छ । तातोपानीमा स्नान गर्दा एक जनाको रोग अर्कामा नसर्ने सचिव केसीले बताए । एक पटकमा दुई सय ५० जना स्नान गर्न मिल्ने पोखरी रहेको छ । छोटो समय स्नान गर्नेहरुका लागि अर्को पोखरी बनाइएको छ । एकान्तमा स्नान गर्नेहरुका लागि उपल्लो बजार नजिकै अर्को पोखरी पनि सञ्चालनमा ल्याइएको छ । कुण्डमा स्नान गरेपछि बाक्लो कपडाले बेरेर शरिरलाई न्यानो बनाउने गरिन्छ । पोखरीमा स्नानका साथै तातोपानी सेवन पनि गर्ने चलन छ ।

    हिजोआज दैनिक एक हजार दुई सय जनाले तातोपानी कुण्डमा स्नान गरिरहेका सिंगा तातोपानी कुण्ड ब्यवस्थापन समितिका सदस्य मिना जुग्जाली गर्बुजाले बताए । “बिहान ५ः३० देखि साँझ ५०ः३० बजेसम्म महिला र पुरुषको छ वटा समूह बनाएर स्नानको ब्यवस्था मिलाइएका छौ ,” उनले भने, ‘असोज–कात्तिक, मंसिर, पुष, माघ, फागुन, चैत र बैशाख महिना तातोपानी कुण्डमा स्नान गर्ने याम हो ।”

    चुनावका कारण फागुन महिनामा तातोपानी स्नान गर्न आउनेहरुको संख्या कम भएको थियो । चुनावलगत्तै तातोपानीमा चहलपहल र चाप बढेको छ । १० दिन स्नान गर्न प्रतिव्यक्ति रु. तीन सय ५० शूल्क तिर्नुपर्छ । प्रवेश शूल्कको १३ प्रतिशत सरकारलाई कर र २५ प्रतिशत बेनी नगरपालिकालाई बुझाउने गरिएको छ । गत वर्ष नेपालका ६६ वटा जिल्लाका साथै कोरीया, पोल्याड, युक्रेन, स्कटल्याड, रसीया, जापान र भारतका २० हजार तीन सय ४७ जना बिरामीहरु तातोपानी कुण्डमा स्नानका लागि आएका थिए । आर्थिक वर्ष २०८०÷०८१ मा १९ हजार चार सय तीन र २०७९÷०८० मा १८ हजार जनाले स्नान गरेका थिए ।

    तातोपानी कुण्डमा स्नानका लागि देशका विभिन्न ठाउँबाट आएका पाहुनाहरुले त्यहाँका होटल र होमस्टे भरिएका छन् । होटल ब्यवसायी समिति तातोपानीका अध्यक्ष सिता घलेले होटल र घरबासका कोठाहरु भरिभराउ भएका बताए । “साना ठूला २० वटा होटल छन्,” उनले भने, “घरको कोठा र ग्याँस भाडामा लिएर पाहुनाहरुले आफै पकाएर खाने र बस्न पनि मिल्छ ।” म्याग्दी नदीको असला माछा तातोपानीको विशेष परिकार हो ।

  • इन्धन जहाजलाई सुरक्षा दिन विश्व शक्तिराष्ट्रलाई अमेरिकाको आग्रह, युद्धमा संलग्न नहुन इरानको चेतावनी

    इन्धन जहाजलाई सुरक्षा दिन विश्व शक्तिराष्ट्रलाई अमेरिकाको आग्रह, युद्धमा संलग्न नहुन इरानको चेतावनी

    तेहरान, २ चैत (रासस–एएफपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व शक्तिहरूलाई खाडीको ‘स्ट्रेट अफ हर्मुज’ बाट तेल ट्याङ्करहरू पार गराउन र विश्व बजारमा इन्धन आपूर्ति नियमित गर्न सघाउन गरेको आग्रहपछि इरानले आइतवार थप देशहरूलाई अमेरिका र इजरायलसँगको युद्धमा संलग्न नहुन आइतबार चेतावनी दिएको छ। इरानले अमेरिका–इजरायल अभियानको प्रतिक्रिया दिँदै खाडीको प्रमुख तेल र ग्यास निर्यातकर्ताहरूलाई विश्व बजारसँग जोड्ने जलमार्ग हुँदै इन्धन ढुवानी गर्ने जहाजलाई आवतजावतमा रोक लगाएपछि विश्वभरि ऊर्जाको मूल्य बढेको छ।

    राष्ट्रपति ट्रम्पले शनिबार चीन, फ्रान्स, जापान, दक्षिण कोरिया, बेलायत र अन्य देशलाई ‘इस्कर्र्ट ट्याङ्कर’ मा जहाज पठाउन आग्रह गर्नुभएको थियो भने अमेरिकी सेनाले ‘स्ट्रेट अफ हर्मुज’को उत्तरी तटमा रहेको इरानी इलाकामा ड्रोन र क्षेप्यास्त्र प्रक्षेपण स्थलहरूमा , आक्रमण जारी राखेको थियो । उनले सूचीबद्ध गरेका देशहरूले अहिलेसम्म यस विचारलाई सावधानीपूर्वक स्वागत गरेका छन् । यसैबीच, इरानका विदेशमन्त्री अराघचीले फ्रान्सेली समकक्षी जाँ–नोएल ब्यारोँसँग फोनमा उनीहरूलाई ‘द्वन्द्व बढाउन र विस्तार गर्न सक्ने कुनै पनि कार्यबाट टाढा रहन’ चेतावनी दिएका छन् ।


    बेलायतको रक्षा मन्त्रालयले कुनै प्रतिबद्धता जनाएको छैन । “हामीले पहिले नै भनेका छौँ, हामी हाल हाम्रा सहयोगी र साझेदारहरूसँग यस क्षेत्रमा ढुवानीको सुरक्षा सुनिश्चित गर्न विभिन्न विकल्पहरूमा छलफल गरिरहेका छौँ,” उसले भनेको छ । बेलायतका ऊर्जा सुरक्षा मन्त्री एड मिलिब्यान्डले बीबीसीसँग भनेका छन्, “अब द्वन्द्व कम गर्ने योजना हुनुपर्छ । हामी हाम्रा सहयोगीहरूसँग कुरा गरिरहेका छौँ। त्यहाँ समुद्री ढुवानी सम्भव बनाउने विभिन्न उपायहरू छन् ।”

    दक्षिण कोरियाले सामाजिक सञ्जालमा राष्ट्रपति ट्रम्पको टिप्पणीलाई नजिकबाट नियालिरहेको बताएको छ भने जापानी प्रधानमन्त्री साने ताकाइचीको सत्तारुढ पार्टीका नीति प्रमुख ताकायुकी कोबायाशीले विद्यमान कानुनअनुसार उक्त क्षेत्रमा जापानी जलसेनाका जहाज पठाउने प्रतिबन्ध ‘अत्यन्त उच्च’ भएको बताएका छन् । इरानले महत्त्वपूर्ण समुद्री मार्ग बन्द गरेपछि र खाडी छिमेकीहरूमा ऊर्जा र ढुवानी उद्योगको लक्ष्यमा आक्रमण गरेपछि इन्धनको मूल्य विश्वव्यापीरूपमा ४० प्रतिशतले बढेको छ। इरानी सर्वोच्च नेताको हत्या गरेको अमेरिका र इजरायलको हवाई अभियानको बदलामा यो आक्रमण गरिएको थियो र क्षेत्रीय मध्यपूर्व युद्ध सुरु भएको थियो।

    विश्व बजारमा उतारचढावको क्रममा ट्रम्पले एनबीसी न्यूजलाई सप्ताहन्तमा दिएको अन्तर्वार्तामा तेहरान टेबलमा आउन इच्छुक रहेको तर अमेरिकाले अझ राम्रो सर्तहरू लागू गर्न लड्ने बताएका थिए । उनले इरानको तेल केन्द्र खार्ग टापुमा फेरि पनि ‘रमाइलोका लागि’ बम प्रहार गर्न सक्ने बताएका थिए । ट्रम्पले एनबीसी न्यूजसँग भने, “इरान सम्झौता गर्न चाहन्छ, र म यो गर्न चाहन्न किनकि सर्तहरू अझै पर्याप्त छैनन्।” इरानका नयाँ सर्वोच्च नेता आयातोल्लाह मोजतबा खामेनीले एक लिखित वक्तव्यमा हर्मुजलाई बन्द राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।


    अमेरिकी आक्रमणमा नयाँ सर्वोच्च नेता पनि मारिएको हल्ला आएपछि इरानले उक्त खबरको खण्डन गरेको थियो । राष्ट्रपति ट्रम्पले यसलाई अस्वीकार गरेका छन् र सुझाव दिएका छन्, “उनी जीवित छन्, कि छैनन्, मलाई थाहा छैन । अहिलेसम्म कसैले पनि उनलाई देखाउन सकेका छैनन् ।” इरानले शनिबार भनेको छ, “नयाँ सर्वोच्च नेतालाई कुनै समस्या भएको छैन ।”

    यद्यपि उनी अझै सार्वजनिक रूपमा देखा परेका छैनन् । यसैबीच, इजरायली सेनाले पश्चिमी इरानका विभिन्न स्थानमा लक्षित आक्रमणको श्रङ्खला घोषणा गरेपछि इरानको रिभोलुसनरी गाड्र्सले प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई अपराधी घोषणा गर्दै उनीहरूले नेतन्याहूलाई पछ्याउने र हत्या गर्ने चेतावनी दिएका छन् ।

  • रुसी तेल पाइपलाइन खोल्न इयूको दबाब ‘ब्ल्याकमेल’ भएको जेलेन्स्कीको भनाइ

    रुसी तेल पाइपलाइन खोल्न इयूको दबाब ‘ब्ल्याकमेल’ भएको जेलेन्स्कीको भनाइ

    किएभ, २ चैत (रासस–एएफपी) । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्ना युरोपेली सहयोगीहरूलाई रुसी आपूर्ति बोकेको ड्रुज्बा तेल पाइपलाइन पुनः खोल्ने दबाब ‘ब्ल्याकमेल’ जस्तै भएको बताएका छन् । युक्रेन पार गर्ने सोभियतकालीन पाइपलाइन जनवरीमा भएको रुसी हमलामा क्षतिग्रस्त भएको किएभले जनाएको छ । युक्रेनले मर्मत गर्न छ हप्तासम्म लाग्न सक्ने बताएको छ । हङ्गेरी र स्लोभाकिया दुवैको धेरै ऊर्जा आवश्यकताका लागि पाइपलाइनमा निर्भर छन् र अवरोधले उनीहरूलाई चिढ्याएको छ ।

    हङ्गेरी र स्लोभाकियाले युक्रेनलाई पाइपलाइन पुनः नखोलेसम्म इयूको सहायता रोक्ने धम्की दिएका छन् भने युरोपेली आयोगले क्षतिको निरीक्षण गर्न एक मिशन प्रस्ताव गरेको छ, जसले किएभलाई थप दबाब दिएको छ । मध्यपूर्वमा भएको युद्धले तेल वितरणको मुद्दालाई तीव्र ध्यानमा ल्याएको छ, विश्वभरका देशहरूले मूल्य कम गर्न बजारमा थप आपूर्ति जारी गर्ने तरिकाहरू खोजिरहेका छन् ।

    “यदि हामीले रूसी तेल आपूर्ति पुनस्र्थापना गर्ने निर्णय गरेका छौँ भने, म यसको विपक्षमा छु भन्ने कुरा म उनीहरूलाई थाहा दिन चाहन्छु । तर यदि मलाई युक्रेनले हतियार नपाउने सर्त दिइयो भने, माफ गर्नुहोस्, म यस मुद्दामा शक्तिहीन छु, मैले युरोपमा हाम्रा साथीहरूसँग भनेँ कि यसलाई ब्ल्याकमेल भनिन्छ,” पाइपलाइन पुनः खोल्ने बारेमा सोधिएको प्रश्नमा जेलेन्स्कीले भने । जेलेन्स्कीले हङ्गेरीको सरकारले युक्रेनी विरोधी भावना फैलाएको आरोप लगाउँदै हङ्गेरीमाथि पनि निशाना सारेका छन् ।

    पाइपलाइनलाई लिएर किएभ र बुडापेस्टबीच हालैका हप्ताहरूमा तनाव उत्पन्न भएको छ, जेलेन्स्की र हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओर्बानबीच यसलाई लिएर विवाद उत्पन्न भएको छ । “यदि कोही पुटिनको सहयोगी होइन, विशेष गरी आक्रामक राज्यको सहयोगी होइन भने हामी हङ्गेरीमा कुनै पनि नेतृत्वसँग काम गर्नेछौँ र हामी सौहार्दपूर्ण ढङ्गले काम गर्न तयार छौँ”, जेलेन्स्कीले भने, “अमेरिकाले युक्रेनबाट पछि ‘हट्नु’ हुँदैन ।”

    इरानसँगको अमेरिका–इजरायल युद्धले विश्वव्यापी ऊर्जा बजारलाई उथलपुथल गरेको छ । कुनै समय विश्वको तेल आपूर्तिको पाँच भागको एक भाग हिस्सा ओगटेको स्ट्रेट अफ हर्मुज भएर हुने आपूर्ति द्वन्द्वका कारण लगभग ठप्प भएको छ। खाडीमा वाशिङ्गटनका सहयोगीहरूलाई ड्रोन खसाल्न विशेषज्ञता प्रदान गर्ने टोलीहरू पठाएको युक्रेनले चिन्ता व्यक्त गरेको छ । संयुक्त राज्य अमेरिकाको इरान युद्धको ध्यानले किएभलाई समर्थन गर्न ढिलाइ हुन सक्छ।

    जेलेन्स्कीले भने, “हामी मध्यपूर्वमा अमेरिका र उसका सहयोगीहरूलाई सहयोग गर्न तयार रहेका छौँ र आशा गर्दछौं कि मध्यपूर्वका कारण संयुक्त राज्य अमेरिका युक्रेनी युद्धको मुद्दाबाट पछि हट्ने छैन ।” उनले थपे, “युक्रेनले अहिलेसम्म खाडीलाई मात्र विशेषज्ञता प्रदान गरेको छ र इरानसँग युद्धमा छैन।”

    सन् २०२२ को फेब्रुअरीमा युक्रेनमा आक्रमण गरेको रुसले आफ्नो छिमेकीमाथि आक्रमण जारी राखेको छ, जबकि विश्वव्यापी ध्यान इरान युद्धमा केन्द्रित भएको छ। खार्किभको उत्तरपूर्वी क्षेत्रमा आइतबार बिहान एक एम्बुलेन्समा रुसी ड्रोन आक्रमणमा परी दुई चिकित्सकको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ । जेलेन्स्कीका अनुसार गत हप्तामा मात्र रुसी सेनाले युक्रेनमा हजारौँ ड्रोन र हवाई बमका साथै दर्जनौँ मिसाइलहरू प्रहार गरेको छ।

    युक्रेनी ड्रोनले रुसको दक्षिणी क्रास्नोडार क्षेत्रमा रहेको तेल डिपोमा रातभर आक्रमण् गरेको छ । जेलेन्स्कीले भने, “फ्रान्सले यस वर्षको अन्त्यमा युक्रेनलाई एक हवाई रक्षा प्रणाली प्रदान गर्नेछ जुन ब्यालिस्टिक मिसाइलहरू रोक्न सक्षम हुन सक्छ।”

  • गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल नियमित सञ्चालनमा ल्याउन माग

    गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल नियमित सञ्चालनमा ल्याउन माग

    रासस
    सिद्धार्थनगर (भैरहवा), २ चैतः गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थललाई तत्काल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन रूपन्देहीका उद्योगी–व्यवसायीले माग गरेका छन् । रूपन्देहीको भैरहवास्थित उक्त विमानस्थल निर्माण सम्पन्न भएको लामो समय बितिसक्दा पनि पूर्ण क्षमतामा सञ्चालन हुन सकेको छैन । पर्यटन क्षेत्रमा झण्डै रु एक खर्बभन्दा बढी लगानी भइसकेको भए पनि अपेक्षित परिणाम नआउँदा लगानी जोखिममा पर्ने अवस्था सिर्जना भएको पर्यटन व्यवसायी अमित गुप्ताले बताए ।


    लुम्बिनी, देवदह, रामग्राम, तिलौराकोट तथा रोहिणी नदी आसपासका क्षेत्र ऐतिहासिक, धार्मिक र बौद्ध सभ्यतासँग जोडिएका महत्वपूर्ण गन्तव्य हुन् । ती क्षेत्रको प्रवद्र्धनमा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको भए पनि पर्यटन प्रवद्र्धनका लागि प्रभावकारी पहल हुन नसक्दा यस क्षेत्रको पर्यटन प्रवद्र्धन हुन सकेको छैन् ।

    सिद्धार्थ उद्योग वाणिज्य सङघका अध्यक्ष नेत्रप्रसाद आचार्यले अब गठन हुने नयाँ सरकारले पर्यटन प्रवद्र्धन र विमानस्थल सञ्चालनमा प्रभावकारी भूमिका खेल्ने विश्वास निजी क्षेत्रले लिएको बताए । उनले यो क्षेत्र बौद्ध सभ्यता, इतिहास र धार्मिक पर्यटनको केन्द्रका रूपमा विकसित हुनसक्ने उल्लेख गर्दै गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालनमा आए पर्यटन प्रवद्र्धन मात्र होइन समग्र आर्थिक गतिविधिमा परिवर्तन आउने विश्वास व्यक्त गरे ।


    नेपाल भन्सार एजेन्ट सङ्घ भैरहवाका अध्यक्ष मधुप्रसाद पन्थीले रूपन्देही नेपालकै महत्वपूर्ण औद्योगिक क्षेत्र भएकाले यहाँ उत्पादन हुने वस्तुलाई अन्तरराष्ट्रिय बजारसम्म पु¥याउन आवश्यक पूर्वाधार र वातावरण सिर्जना गर्न नयाँ सरकारले विशेष ध्यान दिनुपर्ने बताए । भैरहवा औद्योगिक करिडोरमा उत्पादन हुने वस्तुको निर्यात विस्तार गर्न सके उद्योग क्षेत्र थप सशक्त बन्ने उनले बताए ।


    विमानस्थल सञ्चालन र नाका व्यवस्थापन प्रभावकारी भए अन्तरराष्ट्रिय व्यापार विस्तारमा सहयोग पुग्ने उनको धारणा रहेको छ । निजी क्षेत्रका प्रतिनिधिका अनुसार स्थिर सरकार गठन भएपछि लगानीमैत्री वातावरण निर्माण, पर्यटन प्रवद्र्धन, उद्योग विस्तार तथा पूर्वाधार विकासमा सरकारले ठोस् पहल गर्ने अपेक्षा गरिएको छ । उनीहरुले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल नियमित सञ्चालनमा आए लुम्बिनी क्षेत्रको पर्यटन विकाससँगै रूपन्देहीको उद्योग–व्यापारमा पनि ऊर्जा थपिने विश्वास व्यक्त गरेका छन् । विमानस्थल सञ्चालन भएपछि यस क्षेत्रको पर्यटन प्रवद्र्धन हुने विश्वास गरिइएको छ ।

  • अर्घाखाँचीमा वन डढेलो नियन्त्रण गर्न टोली गठन

    अर्घाखाँचीमा वन डढेलो नियन्त्रण गर्न टोली गठन

    अर्घाखाँची, २ चैतः डिभिजन वन कार्यालयले यहाँस्थित वन डढेलो नियन्त्रण तथा डढेलोबाट हुनसक्ने क्षति न्यूनीकरणका गर्न विभिन्न कार्यक्रम सञ्चालन गरेको छ । डिभिजन वन कार्यालयका सूचना अधिकारी केशर खड्काले वन डढेलो नियन्त्रण र जोखिम व्यवस्थापनलाई प्रभावकारी बनाउन विशेष वन डढेलो नियन्त्रण दस्ताको नियुक्ति गरिएको जानकारी दिनुभयो । डिभिजन वन कार्यालयको नेतृत्वमा गठन गरिएको उक्त दस्तामा १२ सदस्यीय टोली रहने व्यवस्था मिलाइएको छ । टोलीलाई आवश्यक उपकरण तथा मिनी दमकलसहित तयारी अवस्थामा राखिएको छ ।

    सूचना अधिकारी खड्काका अनुसार उक्त १२ सदस्यीय टोलीलाई अगामी जेठ मसान्तसम्म जिल्लाभर परिचालन गर्ने गरी व्यवस्थापन मिलाइएको छ । डढेलोको जोखिम बढी हुने समयलाई लक्षित गरी टोलीलाई विभिन्न वन क्षेत्रमा निगरानी तथा तत्काल नियन्त्रणका लागि खटाइने उनले जानकारी दिए ।

    सप्ताहको सुरुआतसँगै सरोकारवाला निकायबीच अन्तरक्रिया कार्यक्रम पनि आयोजना गरिएको थियो । कार्यक्रममा वरिष्ठ वन अधिकृत सन्तबहादुर थिंग, रामबहादुर घलान, भू तथा जलाधार कार्यालयका प्रमुख राकेश कुँवर, अधिकृत अरुण आचार्यलगायत स्थानीय तहका प्रतिनिधि, सुरक्षाकर्मी, सामुदायिक वन उपभोक्ता समूहका प्रतिनिधि तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो ।

    अन्तरक्रियामा वन डढेलोको कारण, यसको प्रभाव तथा रोकथामका उपायबारे छलफल गरिएको थियो । सहभागीले वन डढेलो नियन्त्रणमा सरकारी निकायसँगै स्थानीय समुदायको सक्रिय भूमिका अत्यन्त महत्वपूर्ण हुनेमा जोड दिएका थिए । यसै अवसरमा वन डढेलोसम्बन्धी तथ्याङ्क सङ्कलन र सूचना व्यवस्थापनलाई व्यवस्थित बनाउन नयाँ डिजिटल प्रणाली पनि सञ्चालनमा ल्याइएको छ । जिल्लाभित्र रहेका ६ वटै सव डिभिजन वन कार्यालयले वन डढेलोसम्बन्धी घटना भएको २४ घण्टाभित्र अनलाइन प्रणालीमा प्रविष्टि गर्ने व्यवस्था मिलाइएको छ ।

    “वन डढेलो रिपोर्टिङ २०८२\०८३” नामक अनलाइन सिट सञ्चालनमा ल्याइएपछि डढेलोसम्बन्धी तथ्याङ्क समयमै सङ्कलन हुने र आवश्यक निर्णय लिन सहज हुने अपेक्षा गरिएको छ । वन संरक्षण, जैविक विविधता र वातावरणीय सन्तुलन कायम राख्न वन डढेलो नियन्त्रण महत्वपूर्ण हुने भएकाले सम्बन्धित निकायले सबैलाई सतर्कता अपनाउन आग्रह गरेको छ । वन क्षेत्रमा डढेलो देखिएमा तत्काल जानकारी गराएर नियन्त्रणमा सहयोग गर्न स्थानीयवासीसँग अनुरोध गरिएको छ ।

  • लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा वर्षाको सम्भावना

    लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा वर्षाको सम्भावना

    काठमाडौँ, २ चैत । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ । साथै हाल मुलकका पहाडी र हिमाली भागमा साधारणतया बादल लागेको छ भने अन्य बाँकी भागमा आंशिक बादल लाग्ने छ । जल तथामौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ ।

    गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागका केही स्थानहरूमा तथा कोशी बागमती र लुम्बिनी प्रदेशको हिमाली भूभागको थोरै स्थानहरूमा मेघगर्जन- चट्याङ सहित मध्यम वर्षा-हिमपातको सम्भावना छ । कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानहरूमा मेघगर्जन-चट्याङ, असिनासहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जनर चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ।

    महाशाखाका अनुसार आज राती कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भागमा तथा बाँकी प्रदेशको हिमाली भू–भागमा साधारणतया बादल लाग्ने तथा बाँकी पहाडी र तराई भू–भागमा आंशिक बादल लाग्नेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागका थोरै स्थानहरूमा र बाँकी हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन-चट्याङ सहित हल्का वर्षा-हिमपातको सम्भावना रहेको छ । गण्डकी, कर्णाली र सुदूपश्चिम प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन-चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

  • ‘पहाड’ मा नेपाली समाजको कथा

    ‘पहाड’ मा नेपाली समाजको कथा

    काठमाडौँ, २ चैत । निर्देशक तुलसी घिमिरेले युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक र आर्थिक समस्यालाई चित्रण गरेर चलचित्र ‘पहाड’ निर्माण गरिएको बताएका छन् । आगामी वैशाख १ गते प्रदर्शन मिति तय गरिएको सो चलचित्रको आइतबार श्रव्यदृश्य (टिजर) सार्वजनिक गर्दै निर्देशक घिमिरेले चलचित्रको कथाले पहाड मात्र नभई समग्र देशकै अवस्थालाई दर्शाउने बताए । उनले भने, “पहाड एकदमै सुन्दर ठाउँ हो । तर, पछिल्लो समय युवा पलयान भएका छन्, पहाडमा बसोबास गर्ने रोजगारीका लागि बसाइ सरेका छन् । हेर्दा हेर्दै पहाड उजाड झैँ देखिन थालेको छ, यही विषयलाई लिएर चलचित्र तयार गरेको छु ।”

    निर्देशक घिमिरेले दर्शकसँगै यो चलचित्र घर, परिवार र समाजसम्म विचारको रुपमा पुग्ने विश्वास व्यक्त गरे । भाग्यरत्न फिल्म्स प्रालिको ब्यानरमा निर्माण भएकोे ‘पहाड’ मा बिपीन कार्की, सुनिल थापा, मदनकृष्ण श्रेष्ठ, रेनुनाथ योगी, अरुण क्षेत्री, रवीन्द्रसिंह बानियाँ, उमा गिरीलगायतका कलाकारको अभिनय रहेको छ । निर्देशक घिमिरेले कान्छी छोरी पञ्चमी घिमिरेलाई यसै चलचित्रमार्फत अभिनेत्रीको रुपमा दर्शकसामु ल्याएका छन् ।

  • ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ महसुल विवादः उद्योगीको मागदाबी नपुग्ने आयोगको निर्णय

    ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ महसुल विवादः उद्योगीको मागदाबी नपुग्ने आयोगको निर्णय

    काठमाडौँ, २ चैत । विद्युत् नियमन आयोगले डेडिकेटेड र ट्रंक लाइन महसुल विवादका सम्बन्धमा उद्योगी व्यवसायीको मागदाबी नपुग्ने निर्णय गरेको छ । आयोगले आइतबार पञ्चकन्या प्लास्टिक र पञ्चकन्या स्टिलको हकमा सुनुवाइ गर्दै मागदावी नपुग्ने निर्णय गरेको हो । नेपाल विद्युत् प्राधिकरणबाट डेडिकेटेड फिडर तथा टं«क लाइनबाट लिएको उपभोक्तालाई बक्यौता विद्युत् महसुल बुझाउने अन्यायपूर्ण निर्णय खारेज गरी क्षतिपूर्ति दिलाइ पाउँ भनी आयोगमा आवेदन दिएका थिए । सो आवेदनमाथि आयोगमा सुनुवाइ भएको थियो ।

    प्राधिकरणकाअनुसार पञ्चकन्या प्लास्टिकले रु २४ लाख ६३ हजार, पञ्चकन्या स्टिलले रु ५२ लाख ११ हजार बराबरको महसुल तिर्न बाँकी छ । प्राधिकरणको आग्रह बमोजिम पञ्चकन्या प्लास्टिकले रु ७७ हजार ९७५ र पञ्चकन्या स्टिलले रु एक लाख ८६ हजार बराबर महसुल बुझाइसकेको छ । आयोगका अध्यक्ष रामप्रसाद धितालकाअनुसार उद्योगीको मागदाबी नपुग्ने निर्णय भएको छ । आयोगको निर्णयपछि प्राधिकरणलाई थप महसुल उठाउने मार्ग प्रशस्त भएको छ । आयोगको निर्णय चित्त नबुझेको अवस्थामा व्यवसायी अदालत जान समेत सक्नेछन् ।

    आयोगले निरन्तर रुपमा महसुलका सम्बन्धमा सुनुवाइ गर्दै आएको छ । आयोगले प्रचलित नियम कानुन तथा विगतको नजिरका आधारमा आवश्यक निर्णय गर्दै आएको छ । सुनुवाइका लागि आयोगले आवेदनकर्ताका कानुन व्यवसायी र प्राधिकरणका तर्फबाट कानुन विभागका तीन अधिकारीलाई उपस्थित भएका थिए । नेपालको ऊर्जा क्षेत्रको नियमनकारी निकायका रुपमा रहेको आयोगले यस क्षेत्रको विवाद निरूपण गर्दै आएको छ । आयोगले दिने निर्णय चित्त नबुझेको खण्डमा मात्रै आवेदकलाई अदालत जाने मार्ग प्रशस्त हुन्छ ।

  • धार्मिक पर्यटनको केन्द्र बन्दै ‘कण्ठदेवी मन्दिर’

    धार्मिक पर्यटनको केन्द्र बन्दै ‘कण्ठदेवी मन्दिर’

    रासस
    गण्डकी, २ चैत । कास्कीको पोखरा महानगरपालिका–३३ भोटेपोखरीस्थित कण्ठदेवी मन्दिर धार्मिक पर्यटनको केन्द्र बनेको छ । हिम श्रृङ्खलाको मनमोहक दृश्य हेर्न सकिने भोटेपोखरी टाकुरोमा रहेको यस मन्दिरको धार्मिक रुपमा जति महत्व छ त्यति नै यसले ऐतिहासिक महत्त्व पनि बोकेको छ । मन्दिर स्थापनाको मिति यकिन नभएपनि मन्दिरका सम्बन्धमा प्राप्त किंवदन्ती, प्रमाण समेतका आधारमा करिब १६९ वर्षअघि स्थापना भएको हुनसक्ने अनुमान गरिएको अनुसन्धाता डा अशोक थापाले बताए ।

    थापाका अनुसार कण्ठदेवी मन्दिरको इतिहास राणा प्रधानमन्त्री जङ्गबहादुरसँग पनि जोडिएको छ । विसं १९१३ साउन २४ गते तत्कालीन श्री ५ सुरेन्द्र वीरविक्रम शाहले दरबारबाट एक ऐतिहासिक घोषणामार्फत जङ्गबहादुरलाई कास्की र लमजुङ राज्यका श्री ३ महाराज पद दिएका थिए । उक्त घोषणसँगै जंगबहादुर श्री ३ जङ्गबहादुर कुँवर राणाजीका रुपमा चिनिएका थिए ।

    उनका बुबाले सुनाएको कथा उद्धृत गर्दै थापाले भने, “जङ्गबहादुर तत्कालीन समयमा स्याङ्जा–नुवाकोट राज्यतर्फको यात्रामा यस क्षेत्रमा पर्ने राजाको चौतारो, लामगादी, भञ्ज्याङ हुँदै भोटेपोखरी उक्लन्थे । त्यही यात्रामा उनी भोटेपोखरी मन्दिर नजिकको ढुङ्गाको अग्लो छेउमा आफ्नो घोडालाई बाँधेर निगालोको घाँस खुवाएर आराम गराउँथे र कण्ठदेवीको दर्शन गरेर उनी भर्तीपोखरा, कृस्ती हुँदै मट्टिखानको बाटो भएर स्याङ्जा नुवाकोट हिँड्थे ।” यस मन्दिरको नाम कण्ठदेवी राखिएका सम्बन्धमा विभिन्न तथ्यहरू प्राप्त भएको उनले सुनाए ।


    अनुसन्धानकै क्रममा यस सम्बन्धमा इतिहासविद् डा।जगमान गुरुङसँग आँफूले केही महत्वपूर्ण तथ्यहरू जानकारी लिएको उनले बताए । शिव पुराणमा नीलकण्ठ महादेवले समुद्र मन्थनको विष पिएर ब्रह्माण्डको रक्षा गरे, उनी नीलो गलाको प्रतीक बनेको र त्यही कण्ठको स्मरण स्वरूप, देवी पार्वतीको यो रूपलाई ‘कण्ठदेवी’ भनिएको हुनसक्ने इतिहासविद् डा जगमान गुरुङको तर्क रहेको उनले बताए ।
    अर्को तर्कमा ‘कण्ठ’ भनेको स्वरको प्रतीक पनि हो । स्वरकी देवी सरस्वती हुन् ।

    भोटेपोखरीमा ऐतिहासिक विद्यालयको स्थापना हुनु अगाडि नै यो मन्दिर थियो । भोटेपोखरीको नजिकै विद्यालय रहेको र विद्याकी देवीसँग यो मन्दिर जोडिएको हुनाले दुर्गा र सरस्वती–शक्तिको मूर्त रूप र ज्ञानको प्रकाश एउटै थलोमा मिसिएर यसको नाम कण्ठदेवी भएको हुनसक्ने गुरुङले जानकारी गराएको थापाको भनाइ छ ।

    इतिहासको साक्षीका रुपमा रहेको यस मन्दिरको संरक्षण र विकासका लागि स्थानीयवासीले प्रयास जारी राखेका छन् । कण्ठदेवी मन्दिर संरक्षण समितिका अध्यक्ष दीपविक्रम चन्दका अनुसार पछिल्ला समयमा यसको संरक्षण र विकासलाई उच्च प्राथमिकतामा राखिएको छ । मन्दिरको विशेष गरी लाखु छहरा ठूलो बन खहरे खरबारी उपभोक्ता समितिमार्फत संरक्षणका काम हुँदै आएका छन् ।

    मन्दिर परिसरमा रहेका काली नाग, सेती नाग, भयँर, अयँर, देउराली देवी, भैरव, श्रीकृष्ण आदिका शिला र थान रहनुले यहाँको धार्मिक महत्वलाई अझै उजागर गरेको स्थानीयवासी बताउँछन् । विभिन्न महत्वपूर्ण तिथिमिति एवं चाडपर्वमा स्थानीयले कण्ठदेवीको पूजाआजा गर्दै आएका छन् । यस मन्दिर दर्शन गरेमा मनले चिताएको पुग्ने विश्वासका कारण यहाँको महिमा र गरिमा अझै चुलिएको स्थानीयवासीको तर्क छ । मनोरम भूभागमा रहेका कारण यस स्थललाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने गरी पूर्वाधार विकासका काम अघि बढाइएको छ ।

    गण्डकी प्रदेश सरकारको सहयोगमा यहाँ जाने मार्ग हनुमान पोखरीदेखि माथि केही भागमा सिँढी बाटो निर्माण गरिसकिएको छ । त्यस्तै मन्दिर परिसर क्षेत्रमा नै खेल पर्यटनको विकास गराउने लक्ष्यका साथ बाँस्केटबल कोर्ट निर्माण गरिसकिएको छ । यहाँस्थित कण्ठदेवी मन्दिरलाई धार्मिक पर्यटनको गन्तव्यका रुपमा विकास गर्दै स्वदेशी एवं विदेशी पर्यटक आकर्षित गर्न सकिने तल्लो गगनगौडा निवासी मुकुन्द घिमिरे बताउँछन् । पोखरा–३० को पावरहाउस क्षेत्रबाट कण्ठदेवी मन्दिरलाई समेट्दै एक दिवशीय हाइकिङ मार्ग विकास गर्न सकिने उनले बताए ।


    “पावर हाउसबाट हाइकिङ सुरु गरेर तिक्लाङको सुन गुफा अवलोकन गर्दै पर्यटकहरू यहाँका खैरेनी, हनुमान पोखरी हुँदै कण्ठदेवी मन्दिर पुग्न सक्छन्”, उनले भने, “उत्तरतर्फका मनोरम हिमाली दृश्य अवलोकन गर्दै हिँड्न सकिने यो गन्तव्य एक दिवशीय हाइकिङका लागि अति उपयुक्त देखिन्छ ।” कण्ठदेवी मन्दिर हुँदै पर्यटकहरू यहाँभन्दा माथि रहेको हुडिकोटसम्म हाइकिङ गरेर पुग्न सक्ने उनले बताए ।

  • एनआरएनए अध्यक्षमा शर्माको नाममा सहमति

    एनआरएनए अध्यक्षमा शर्माको नाममा सहमति

    काठमाडौँ, २ चैत । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा हेमराज शर्मालाई चयन गर्ने सहमति भएको छ । अध्यक्षमा उम्मेदवारी दिएका अन्य उम्मेदवारले नाम फिर्ता लिएपछि शर्माको नाममा सहमति भएको हो । अध्यक्षका लागि शर्माका अलावा रोबिन शेरचन र रबिन बज्राचार्यले उम्मेदवारी दिएका थिए । निर्वाचन समितिले सबै पदको नजिता एकै पटक सार्वजनिक गर्ने जनाएको छ ।

    एनआरएन निर्वाचन समितिका अनुसार आजै कार्यसमितिको सबै विवरण सार्वजनिक गरिनेछ । निर्वाचन भन्दा पनि सहमतिका आधारमा कार्यसमिति चयन गर्न लागिएको बताइएको छ । प्रधानमन्त्री सुशीला कार्कीको प्रमुख आथित्यतामा आइतबार साँझ पाँच बजे समापन समारोह आयोजना गरिएको एनआरएनए सचिवालयले जनाएको छ । शनिबारदेखि शुरु भएको एनआरएनए १२ औं अधिवेशन आज सम्पन्न हुँदैछ ।

  • पूर्वी नाकाबाट भित्रिए छ हजार ७९१ पर्यटक

    पूर्वी नाकाबाट भित्रिए छ हजार ७९१ पर्यटक

    झापा, २ चैत । पूर्वी नाका काँकडभिट्टा हुँदै आठ महिनामा छ हजार ७९१ तेस्रो मुलुकका पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन कार्यालय काँकडभिट्टाका कार्यालय प्रमुख तुलसी भट्टराईका अनुसार चालू आर्थिक वर्ष २०८२–८३ को साउनदेखि फागुनसम्ममा पूर्वी नाकाबाट अमेरिका, बेलायत, भूटानलगायतका मुलुकबाट पर्यटकहरु नेपाल भित्रिएका हुन् । उनले साउनमा २८४, भदौमा २१९, असोजमा ५४१, कात्तिकमा ६२४, मङ्सिरमा ८७३, पुसमा एक हजार ८५०, माघमा एक हजार ३९५ र फागुनमा एक हजार पाँच जना पर्यटक भित्रिएको जानकारी दिए ।
    सोही अवधिमा अध्ययनलगायतका कामले विदेशमा रहेका तीन हजार १३३ नेपालीहरु सोही नाका भएर नेपाल फर्किएको समेत उनले बताए । उक्त नाकाबाट अध्यागमन प्रक्रिया पूरा गरी नेपालबाट विदेश फर्किएका पर्यटकको संख्या छ हजार ५५२ रहेको छभने एक हजार ८४७ जना नेपाली समेत विदेश गएका छन् । गत आर्थिक वर्ष २०८१–८२ मा सोही नाकाबाट आठ हजार ७२३ जना तेस्रो मुलुकका पर्यटक नेपाल भित्रिएका थिए ।

  • जेनजी आन्दोलन भ्रष्टाचार, बेरोजगारी र कुशासनविरुद्ध युवाको विद्रोह’

    जेनजी आन्दोलन भ्रष्टाचार, बेरोजगारी र कुशासनविरुद्ध युवाको विद्रोह’

    काठमाडौँ, १ चैतः अर्थ मन्त्रालयले ‘जेनजी आन्दोलनको बुझाइः मूल कारण, वास्तविकता र सबल नेपालका लागि मार्गचित्र’ शीर्षकमा गरिएको अध्ययन सार्वजनिक गरेको छ । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको अर्थशास्त्र केन्द्रीय विभागले गरेको उक्त अध्ययनले गत भदौ २३ र २४ गते नेपालमा भएको जेनजी आन्दोलनलाई केवल क्षणिक असन्तोष नभई भ्रष्टाचार, कुशासन, आर्थिक अवसरको अभाव, सामाजिक अन्याय र संस्थागत कमजोरीविरुद्ध युवाको सामूहिक तथा संरचनागत प्रतिक्रियाका रूपमा व्याख्या गरेको छ ।

    अध्ययनले डिजिटल प्रविधिमा हुर्किएको, शिक्षित र सचेत जेनजी पुस्ताले लोकतान्त्रिक शासन प्रणालीमा पारदर्शिता, न्याय, अवसर र उत्तरदायित्वको अपेक्षा राखेको भए पनि ती अपेक्षा समयमा पूरा हुन नसक्दा व्यापक असन्तोष उत्पन्न भएको र यही असन्तोष आन्दोलनका रूपमा प्रकट भएको निष्कर्ष निकालेको छ ।

    “समग्रमा जेनजी आन्दोलन युवाको क्षणिक आक्रोश मात्र होइन । यो भ्रष्टाचार, कुशासन, आर्थिक अवसरको अभाव, सामाजिक अन्याय र संस्थागत असफलताविरुद्धको सामूहिक तथा संरचनागत प्रतिक्रिया हो”, अध्ययनको सारांशमा भनिएको छ, “सुशासन र संस्थागत सुधार, मेरिटमा आधारित प्रशासन, अनिवार्य डिजिटल गभर्नेन्स, समयसीमाबद्ध नीति कार्यान्वयन, गुणस्तरीय रोजगारी सिर्जना, शिक्षा र सीपलाई श्रम बजारसँग समन्वय, डिजिटल अधिकारको संरक्षण तथा नीति निर्माणमा युवाको संस्थागत सहभागिता सुनिश्चित भए मात्र युवाको विश्वास पुनःस्थापना, सामाजिक स्थायित्व र दिगो लोकतान्त्रिक तथा आर्थिक विकास सम्भव हुने देखिन्छ ।”

    अध्ययनले आन्दोलनका प्रमुख सामाजिक कारणमा राजनीतिक नेतृत्वप्रतिको घट्दो विश्वास, डिजिटल स्वतन्त्रतामा प्रतिबन्ध, राजनीतिक नेतृत्व र तिनका आफन्तको विलासी जीवनशैली, राज्य सेवामा सीमित व्यक्तिको पहुँच, रोजगारमुखी शिक्षा अभाव, योग्यताअनुसार रोजगारी नपाउनु, तथा राजनीतिक नियुक्तिमा नातावाद–कृपावादलाई औँल्याएको छ । त्यस्तै, समाजका सीमान्तकृत समुदाय विकासको मूल प्रवाहमा समाहित हुन नसक्दा उनीहरूको आक्रोश आन्दोलनका रूपमा प्रकट भएको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

    त्यसैगरी यो अध्ययनले आन्दोलनको प्रमुख आर्थिक कारणका रूपमा बढ्दो बेरोजगारी, रोजगारीका लागि विदेशिनुपर्ने बाध्यता, न्यून आय, न्यून ज्याला, आर्थिक अस्थिरता, उद्यमशीलताको सीमित अवसर र आय असमानता बढ्दै जानुलाई औँल्याएको छ । अध्ययनका अनुसार शिक्षा प्रणाली र श्रम बजारबीच ठूलो अन्तर रहेको छ । उच्च शिक्षा प्राप्त गरे पनि योग्यताअनुसारको रोजगारी नपाउनु युवाको असन्तोषको प्रमुख कारण बनेको उल्लेख गरिएको छ ।

    अध्ययनले आन्दोलनका सुशासनसम्बन्धी कारणमा प्रशासनिक प्रक्रियाको झन्झटिलोपन, सेवा प्रणालीमा एकद्वार प्रणालीको अभाव, मालपोत, कर तथा सेवा शुल्क बुझाउने कार्यालयमा सेवा भावनाको कमी, सार्वजनिक संस्थामा पारदर्शिताको अभाव, कार्यक्षमताको कमी तथा न्याय प्रणालीमा ढिलासुस्तीलाई मुख्य कारणका रूपमा उल्लेख गरेको छ । भ्रष्टाचारको सन्दर्भमा अधिकांश युवाले नेपालमा भ्रष्टाचार सामान्य स्तरभन्दा व्यापक भएको धारणा व्यक्त गरेका छन् । उनीहरूले भ्रष्टाचारलाई व्यक्तिगत नैतिक कमजोरी नभई प्रणालीगत असफलताको परिणामका रूपमा बुझेको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

    भ्रष्टाचार नियन्त्रणका निकायमा राजनीतिक नियुक्ति हुने र ती पदाधिकारी राजनीतिक नेतृत्वप्रति बढी उत्तरदायी हुने धारणा युवामा रहेकोले भ्रष्टाचार नियन्त्रण प्रभावकारी हुन नसकेको बुझाइ युवामा रहेको प्रतिवेदनमा उल्लेख छ । डिजिटल स्वतन्त्रतालाई युवाले लोकतन्त्र र सुशासनको महत्वपूर्ण सूचकका रूपमा लिएका छन् । उनीहरूले डिजिटल अधिकारलाई नागरिकको नैसर्गिक अधिकार मान्ने गरेको अध्ययनले देखाएको छ । डिजिटल सेवामा केही सुधार देखिए पनि पहुँचको असमानता, प्राविधिक कमजोरी र व्यवस्थापकीय समस्या अझै कायम रहेको अध्ययनमा उल्लेख छ ।

    स्थलगत सर्वेक्षणअनुसार आन्दोलनले आर्थिक स्थिरता र निजी क्षेत्रको लगानी वातावरणमा नकारात्मक प्रभाव पारेको छ । यसले लगानीकर्ताको मनोविज्ञान र उद्यमशीलताको आत्मविश्वास कमजोर बनाएको अध्ययनले देखाएको छ । अध्ययनका अनुसार आन्दोलनका क्रममा देशभर आगजनी, तोडफोड तथा लुटपाटका घटनाका कारण करिब रु ८४ अर्ब ४५ करोड ७७ लाख बराबरको भौतिक क्षति भएको अनुमान गरिएको छ ।

    यद्यपि, अध्ययनले आन्दोलनका केही सकारात्मक प्रभाव पनि देखाएको छ । जसमा परम्परागत राजनीतिक नेतृत्वको दम्भमा कमी आउनु, राजनीतिक नेतृत्व र कर्मचारीतन्त्रमा उत्तरदायित्वको भावना बढ्नु, युवापुस्तामा राजनीतिक चेतनाको वृद्धि हुनु तथा भ्रष्टाचारविरुद्ध संस्थागत दबाब सिर्जना हुनु समावेश छन् ।

    अध्ययनले जेनजी आन्दोलनबाट प्राप्त सङ्केतलाई आधार मानेर विभिन्न नीतिगत सुधारका सुझाव दिएको छ । राजनीतिलाई पेसाभन्दा राष्ट्रनिर्माण र राष्ट्रसेवाका लागि गरिने पवित्र कार्यका रूपमा बुझ्नुपर्ने, राजनीतिक नियुक्ति पारिवारिक आधारमा नभई खुला प्रतिस्पर्धाबाट गर्नुपर्ने, शिक्षा प्रणालीलाई सीप र रोजगारीसँग जोड्नुपर्ने, सीमान्तकृत समुदायलाई विकासको मूल प्रवाहमा समावेश गर्नुपर्ने तथा आय असमानता घटाउनुपर्ने लगायत सुझाव समेटिएका छन् ।

    त्यस्तै, आर्थिक नीतिहरू कम्तीमा पाँच वर्षका लागि स्थिर बनाउनुपर्ने, सेवा प्रवाहलाई पारदर्शी, छिटो र जनमैत्री बनाउनुपर्ने, व्यापार र व्यवसायसम्बन्धी सेवा एकद्वार प्रणालीबाट उपलब्ध गराउनुपर्ने, भ्रष्टाचार नियन्त्रणका संवैधानिक निकायमा प्रतिस्पर्धाका आधारमा सक्षम र इमानदार व्यक्ति नियुक्त गर्नुपर्ने सुझाव पनि दिइएको छ । डिजिटल क्षेत्रको नियमन नियन्त्रणमुखी नभई अधिकारमैत्री बनाउनुपर्ने, माध्यमिक शिक्षामा अनिवार्य व्यावसायिक विषय समावेश गर्नुपर्ने तथा लगानीकर्ताले रोजगारी सिर्जना गर्ने परियोजनामा लगानी बढाउनुपर्ने अध्ययनको सिफारिस छ ।

    अध्ययनले नैतिक शिक्षा पुनः माध्यमिक तहमा अनिवार्य विषयका रूपमा समावेश गर्नुपर्ने सुझाव पनि दिएको छ । अध्ययनले आन्दोलनबाट भएको भौतिक क्षतिको पुनर्निर्माणलाई तत्कालीन प्राथमिकताका रूपमा अघि बढाउनुपर्ने उल्लेख गरेको छ । बैंकिङ क्षेत्रमा पर्याप्त तरलता रहेको, बजारमा कर्जाको माग कम रहेको तथा ब्याजदर ऐतिहासिक रूपमा कम भएकाले सरकारले बैंकिङ क्षेत्रबाट ऋण लिएर पुनर्निर्माण कार्यलाई तीव्रता दिन सक्ने अध्ययनले सुझाव दिएको छ । यस्तो लगानीले राष्ट्रिय आय र समग्र माग बढाएर अर्थतन्त्रलाई पुनः चलायमान बनाउन सहयोग पुग्ने पनि अध्ययनको निष्कर्ष छ ।

    अध्ययनअनुसार आन्दोलनमा सहभागी युवामध्ये करिब ९८ प्रतिशतले माध्यमिक वा सोभन्दा माथिल्लो शिक्षा हासिल गरेका छन् । उमेरगत रूपमा १६ देखि २५ वर्ष समूहको सहभागिता सबैभन्दा धेरै रहेको पाइएको छ । पेसागत दृष्टिले विद्यार्थी, बेरोजगार र स्वरोजगार युवाहरूको उपस्थिति उल्लेखनीय देखिएको छ ।

  • मनकामना दुर्घटनामा मृत्यु भएका सात भारतीयको शव दूतावासलाई बुझाइयो

    मनकामना दुर्घटनामा मृत्यु भएका सात भारतीयको शव दूतावासलाई बुझाइयो

    गोरखा, २ चैत .: गोरखामा भएको सवारी दुर्घटनामा मृत्यु भएका सात भारतीय नागरिकको शव भारतीय दूतावासलाई हस्तान्तरण गरिएको छ । शव परीक्षण कार्य सकेर आज ती शव दूतावासका प्रतिनिधिलाई बुझाइएको हो । प्रदेश अस्पताल गोरखामा शव परीक्षण गरेपछि दूतावासबाट आएका प्रतिनिधिलाई हस्तान्तरण गरिएको प्रहरी निरीक्षक राजन लम्सालले जानकारी दिए । शव बुझेपछि भारतीय दूतावासको टोली काठमाडौँ फर्किएको छ ।

    भारतको तमिलनाडू राज्यको चेन्नईबाट मनकामना दर्शन गर्न आएका भारतीय दर्शनार्थी शनिबार बेलुका पूजाआजा सकेर फर्कने क्रममा सहिद लखन गाउँपालिका–३ कानटार नजिकै दुर्घटनामा परेका थिए । बाग्मती प्रदेश १–००६ख८४३० नम्बरको माइक्रो बस भिरबाट खस्दा ५८ वर्षीय मुतु कुमार, ५८ वर्षीय अनामलिक, ५९ वर्षीया मीनाक्षी, ५३ वर्षीया शिवगामी, ५७ वर्षीया विजायल, ५८ वर्षीया मीना र ६० वर्षीया तमिलारशीको घटनास्थलमै मृत्यु भएको थियो ।

    उक्त दुर्घटनामा नौ भारतीय नागरिक घाइते भएका थिए । घाइतेहरु पुरानो मेडिकल कलेज चितवनमा उपचाररत छन् । पाँच जना गम्भीर घाइते रहेको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनुभयो । उक्त माइक्रोबसमा ११ महिला र पाँच पुरुष सवार थिए । चालकको अवस्था सामान्य छ भने सहचालक घाइते भएका छन् । चौबीस भारतीय दर्शथार्नी दुई माइक्रोबस चढेर मुक्तिनाथको दर्शन गर्न गएका थिए । उनीहरु मुक्तिनाथ हुँदै मनकामनाको दर्शन गरी फर्किने क्रममा दुर्घटनामा परेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

  • चुनौतीका बीच सम्मानजनक मत पायौँः उज्यालो नेपाल पार्टी

    चुनौतीका बीच सम्मानजनक मत पायौँः उज्यालो नेपाल पार्टी

    काठमाडौँ, २ चैतः उज्यालो नेपाल पार्टीले हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको समीक्षा गर्दै आगामी राजनीतिक कार्यदिशा निर्धारण गरेको छ ।
    पार्टी अध्यक्ष कुलमान घिसिङको अध्यक्षतामा केन्द्रीय समिति सदस्य, प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार, प्रदेश संयोजक, जिल्ला संयोजक तथा विभिन्न तहका जिम्मेवार नेता तथा कार्यकर्ताको सहभागिता भएको समीक्षामा अनेक चुनौतीका बीच पार्टीलाई प्राप्त सम्मानजनक मतप्रति सन्तुष्टि व्यक्त गरेको छ ।

    पार्टी प्रवक्ता डा राजु थापाका अनुसार यसलाई भविष्यको मजबुत राजनीतिक आधारशिलाको रूपमा लिँदै सङ्गठनात्मक रूपमा सुदृढ तथा जनतासँग प्रत्यक्ष जोडिएको राष्ट्रिय मूलधारको शक्तिको रूपमा विकास गर्ने साझा निष्कर्ष निकालिएको छ ।

  • एनआरएनए निर्वाचनमा सहमतिमै नेतृत्व चयन गर्ने प्रयास जारी

    एनआरएनए निर्वाचनमा सहमतिमै नेतृत्व चयन गर्ने प्रयास जारी

    काठमाडौँ, २ चैतः गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १२औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयन प्रक्रियामा सर्वसम्मतिको प्रयास भइरहेको छ । सङ्घका अध्यक्ष बद्री केसीले नयाँ नेतृत्व सर्वसम्मतिमै टुङ्ग्याउने गरी छलफल भइरहेको जानकारी दिए । “निर्वाचन नहुने र सर्वसम्मतिबाटै नेतृत्व चयन गर्ने प्रयास भइरहेको छ । अध्यक्षलगायत सबै पदमा सहमतिका लागि छलफल जारी छ”, उनले भने ।

    एनआरएनएले यसअघि भौतिक र अनलाइन दुवै माध्यम प्रयोग गरी निर्वाचन गराउने तयारी गरेको थियो । निर्वाचन भएमा चार हजार २८६ प्रतिनिधिले भौतिक तथा अनलाइन माध्यमबाट मतदान गर्ने व्यवस्था मिलाइएको सङ्घले जनाएको थियो । यसैबीच, अमेरिका क्षेत्रीय संयोजक बेद बस्नेतले करिब चार सय प्रतिनिधि मात्रै भौतिक रूपमा उपस्थित रहेको जानकारी दिनुभयो ।

    मध्यपूर्व क्षेत्रमा जारी युद्धका कारण धेरै प्रतिनिधि भौतिक रूपमा सहभागी हुन नसकेको उनले बताए । मध्यपूर्वमा भइरहेको युद्धको प्रभावले धेरै प्रतिनिधि भौतिक रूपमा उपस्थित हुन पाउनुभएन । एकताको महाधिवेशन भएकाले अनलाइनमार्फत भए पनि सबै उत्साहपूर्वक सहभागी भइरहेका छौँ”, बस्नेतले भने ।

  • जेन जी आन्दोलनमा क्यासिनो लुटपाटमा संलग्न दुई पक्राउ

    जेन जी आन्दोलनमा क्यासिनो लुटपाटमा संलग्न दुई पक्राउ

    काठमाडौँ, १ चैतः जेनजी आन्दोलनका क्रममा हयात होटल तोडफोड तथा प्राइड क्यासिनो लुटपाट तथा आगजनीमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । गत भदौ २४ गते बौद्धस्थित रहेको हयात होटल तोडफोड गरी उक्त होटलभित्र रहेको प्राइड क्यासिनो लुटपाट र आगजनी गर्ने दुई जनालाई पक्राउ गरी जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले आज सार्वजनिक गरेको हो ।

    पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक, रोशी गाउँपालिका–४ घर भई काठमाडौँ महानगरपालिका–६ बौद्ध बस्ने ३७ वर्षीय कुलध्वज लामा र काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–८ घर भई काठमाडौँ महानगरपालिका–६ बौद्ध बस्ने राकेश लामा रहेका छन् ।

    परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले पक्राउ कुलध्वज लामाविरुद्ध यसअघि सार्वजनिक अपराध र ज्यान मार्ने उद्योगमा पाँचवटा मुद्दा दर्ता भएको र राकेश लामाविरुद्ध सार्वजनिक अपराध, अपहरण तथा शरीर बन्धक र अभद्र व्यवहारमा सातवटा मुद्दा दर्ता भएको अनुसन्धानमा खुलेको जानकारी दिनुभयो । पक्राउ परेका दुबैजनामाथि प्रहरी वृत्त बौद्धको टोलीले थप अनुसन्धान गरिरहेको प्रवक्ता भट्टराईले बताए ।

  • भारतीय तीर्थयात्रीको मृत्यु भएको दुर्घटनाबारे छानबिन गर्न समिति गठन

    भारतीय तीर्थयात्रीको मृत्यु भएको दुर्घटनाबारे छानबिन गर्न समिति गठन

    गोरखा, १ चैतः सात भारतीय तीर्थयात्रीको ज्यान जाने गरी गोरखामा भएको सवारी दुर्घटनाको छानबिन गर्न समिति गठन गरिएको छ । गण्डकी प्रदेश प्रहरी कार्यालयले प्रदेश ट्राफिक प्रमुख प्रहरी उपरीक्षक दानबहादुर थापाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भरत विकले जानकारी दिनुभयो ।

    समितिले १४ भारतीय तीर्थयात्री बोकेको बाग्मती प्रदेश १–००६ख८४३० नम्बरको माइक्रो बस दुर्घटना भएको विषयमा स्थलगत अध्ययन गरी प्रतिवेदन तयार गर्नेछ । सो माइक्रोबस मनकामना–आँबुखैरेनी सडक खण्डअन्तर्गत सहिद लखन गाउँपालिका–३ कान्टार नजिक भिरबाट खसेर दुर्घटना भएको थियो ।

    सो दुर्घटनामा मनकामनाको पूजाआजा गरी फर्केका तमिलनाडु राज्य, चेन्नईका सात जनाको घटनास्थलमा नै मृत्यु भएको थियो । मृतकहरुको प्रदेश अस्पताल गोरखामा शवपरीक्षण गरी शव भारतीय दूतावासलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ । अन्य सात गम्भीर घाइतेको पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ ।

  • महामन्त्री पौडेलद्वारा कांग्रेस सुधारका लागि सुझाव माग

    महामन्त्री पौडेलद्वारा कांग्रेस सुधारका लागि सुझाव माग

    काठमाडौँ, १ चैतः नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी सुधारका लागि कार्यकर्ता र शुभेच्छुकसँग सुझाव माग गरेका छन् । उनले आज सामाजिक सञ्जालमार्फत नीतिगत, संरचनागत तथा व्यावहारिक सुधारका विषयमा सुझाव दिन सार्वजनिक आह्वान गरेका हुन् । “भर्खरै सम्पन्न आम निर्वाचन २०८२ को नतिजा हाम्रासामु आइसकेको छ ।

    पुसमा सम्पन्न विशेष महाधिवेशनले निर्देश गरेका कार्यदिशालाई समेत आत्मसात् गर्दै पार्टीको नियमित महाधिवेशनको छिट्टै आयोजना गर्नुपर्नेछ, यिनै पृष्ठभूमिमा पार्टीलाइ आगामी दिनमा कसरी अगाडि लैजाने भन्ने सम्बन्धमा छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ,” महामन्त्री पौडेलले भनेका छन् ।

    अहिलको परिस्थितिमा नेपाली कांग्रेसमा गर्नुपर्ने नीतिगत, संरचनागत तथा व्यावहारिक सुधारका विषयहरु के हुन सक्छन् सुझाव दिन पार्टी कार्यकर्ता र शुभेच्छुकसँग उनले अनुरोध गरेका छन् । महामन्त्री पौडेलले प्राप्त सुझावलाई पार्टीले आत्मसात् गर्ने प्रतिबद्धता जनाएका छन् । कांग्रेसले चाँडै नै आम निर्वाचनका सन्दर्भमा समीक्षा गर्दै भावी रणनीति तय गर्दैछ । उनले पार्टीको आधिकारिक इमेल तथा सम्पर्कका माध्यमबाट सुझाव दिन सकिने बताए ।

  • पेट्रोलियम पदार्थको मूल्य भारी वृद्धि

    पेट्रोलियम पदार्थको मूल्य भारी वृद्धि

    १ चैत, काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य भारी वृद्धि गरेको छ । नेपाल आयल निगमका अनुसार पेट्रोलमा १५ र डिजेल मट्टितेलमा १० रुपैयाँका दरले मूल्य वृद्धि गरिएको हो । वृद्धि भएको मूल्य आजै राति १२ बजेबाट लागू हुने निगमले जनाएको छ । निगमका अनुसार, अब तेस्रो वर्ग अन्तर्गत पर्ने काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य १७२ रुपैयाँ कायम भएको छ भने डिजेल र मट्टितेलको मूल्य १५२ रुपैयाँ पुगेको छ ।

    दोस्रो वर्ग अन्तर्गत पर्ने दाङ र सुर्खेतमा पेट्रोलको मूल्य १७१, डिजेल र मट्टितेलको मूल्य १५१ पुगेको छ । त्यस्तै, पहिलो वर्ग अन्तर्गत पर्ने चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारि, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा भने पेट्रोलको मूल्य १६९ रुपैयाँ ५० पैसा र डिजेल–मट्टितेलको मूल्य १४९ रुपैयाँ ५० पैसा कायम भएको छ ।

    निगमतले अमेरिका–इजरायल–इरान तनावबीच देखिएको अन्तर्राष्ट्रिय परिस्थितिका कारण मूल्य वृद्धि गर्नुपरेको जनाएको छ । ‘यस विषम परिस्थितिबीच नेपाल आयल निगम लिमिटेडले बाध्यतावश पेट्रोलियम पदार्थको मूल्य अपेक्षाभन्दा बढाउनुपरेको छ,’ निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘यसबाट आम उपभोक्ता लगायत सरोकारवालामा पर्ने असरप्रति निगम सचेत र संवदेनशील छ ।’ युद्धका कारण भारत आउने पेट्रोलियम पदार्थको आपूर्ति श्रृङ्खलामा नै असर गरेको छ ।

  • घूस लिएको आरोपमा राजस्व अनुसन्धान विभागका पूर्वमहानिर्देशकविरुद्ध मुद्दा दायर

    घूस लिएको आरोपमा राजस्व अनुसन्धान विभागका पूर्वमहानिर्देशकविरुद्ध मुद्दा दायर

    काठमाडौँ, १ चैतः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीविरुद्ध घूस लिई सम्पत्ति शुद्धिकरण गरेको आरोपमा विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । आयोगले आज जारी गरेको प्रेस विज्ञप्तिअनुसार विभागमा राजस्व चुहावटसम्बन्धी छानबिनमा संलग्न रहँदा अधिकारीले एक व्यवसायीबाट ठूलो रकम घूस लिएको र उक्त रकम विभिन्न माध्यम प्रयोग गरी शुद्धिकरण गरेको निष्कर्षसहित मुद्दा दायर गरिएको हो ।

    अधिकारीले राजस्व अनुसन्धान विभागमा दर्ता रहेको राजस्व चुहावटसम्बन्धी छानबिन तथा अन्य सम्भावित कसुरबाट बचाउन सहजीकरण गरिदिने नाममा एच के इन्टरप्राइजेज प्रालिका सञ्चालक श्रीकृष्ण श्रेष्ठ बिज्यूबाट घूस लिएको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ । अधिकारीले रु ७० लाख घूस÷रिसवत लिएको आयोगको ठहर छ ।

    अनुसन्धानका क्रममा अधिकारीले प्राप्त घूस रकम प्रत्यक्ष रूपमा प्रयोग नगरी विभिन्न व्यक्तिसँगको मिलेमतोमा बैङ्क खातामार्फत घुमाएर प्रयोग गरेको पाइएको आयोगले जनाएको छ । निजले विकास चापागार्इं, देवेन्द्र केसी र रवीन्द्र लामिछानेलगायतसँगको सल्लाह तथा मिलेमतोमा रकम विभिन्न बैङ्क खातामा जम्मा गराई त्यसलाई तहीकरण गर्दै घूसको स्वरूप परिवर्तन गर्ने प्रयास गरेका आयोगले उल्लेख गरेको छ ।

    उक्त रकम ग्लोबल आइएमई बैङ्क, लुम्बिनी विकास बैङ्क र लक्ष्मी सनराइज बैङ्कलगायतका बैङ्क तथा वित्तीय संस्थामा रहेको खातामार्फत जम्मा गराई चरणबद्ध रूपमा कारोबार गरिएको जनाइएको छ । यसरी विभिन्न खातामार्फत रकम घुमाएर स्रोत लुकाउने तथा घूस रकमलाई वैध देखाउने प्रयास गरिएको आयोगको दाबी छ ।

    अनुसन्धानबाट उक्त रकमको केही भाग मध्यपुर थिमी नगरपालिकास्थित दिव्यश्वरी आयोजना क्षेत्रभित्र रहेको जग्गा खरिदमा प्रयोग गरिएको पनि खुलेको छ । भक्तपुर जिल्लाको साबिक वडा नं १७ ९हाल वडा नं २० मा पर्ने कित्ता नं ९९८ को करिब १६४ वर्गमिटर क्षेत्रफल भएको जग्गा खरिदका लागि उक्त रकम प्रयोग गरिएको तथ्य पुष्टि भएको आयोगले जनाएको छ ।

    यस्तै, अनुसन्धानका क्रममा घूस रकमको केही अंश देवेन्द्र केसीसमेत सञ्चालक रहेको पर्यटन व्यवसायसँग सम्बन्धित संस्थाको कर्जा भुक्तानीमा समेत प्रयोग भएको पाइएको छ । आयोगका अनुसार ‘द कुटी रिसोर्ट’ नामक परियोजनासँग सम्बन्धित कर्जा तिर्न घूसबाट प्राप्त रकम प्रयोग गरिएको प्रमाण भेटिएको हो ।

    आयोगले यो प्रकरणमा संलग्न व्यक्तिहरूबीच आपसी सल्लाह र मिलेमतोमा घूस रकमलाई विभिन्न बैङ्क खातामा जम्मा गरी त्यसलाई क्रमशः अन्य आर्थिक कारोबारमार्फत वैध देखाउने प्रयास गरिएको निष्कर्ष निकालेको छ । यस्तो कार्यले भ्रष्टाचारसँगै सम्पत्ति शुद्धिकरणसम्बन्धी कसुरसमेत आकर्षित हुने देखिएको आयोगले जनाएको छ ।