इरानद्वारा युएईको विशाल तेलभण्डार केन्द्रमा आक्रमण

TOPSHOT - Smoke rises from the direction of an energy installation in the Gulf emirate of Fujairah on March 14, 2026. Smoke could be seen rising from the direction of a major UAE energy installation on March 14, in what appeared to be the latest strike targeting the Gulf's petroleum facilities hours after the US struck Iran's Kharg Island. (Photo by AFP) /

दुबई, १ चैत, (रासस–एएफपी) । इरानले संयुक्त अरब इमिरेट्स (यूएई)को फुजाइरा बन्दरगाहमा शनिबार ड्रोन हमला गरेको छ। यो हमला अमेरिकाले इरानको खार्ग द्वीपमा भीषण हमला गरेलगत्तै भएको हो । यूएईका अधिकारीहरूले फुजाइरामा लागेको आगो निभाउने कार्य भइरहेको जनाएका छन्। उनीहरूले हवाई प्रतिरोध प्रणालीले नष्ट गरेको ड्रोन खस्दा आगलागी भएको बताएका छन्। उक्त बन्दरगाह यूएईका निम्ति अत्यन्त महत्त्वपूर्ण स्थान हो भने मध्येपूर्वकै सबैभन्दा विशाल तेलभण्डार केन्द्रहरूमध्ये एक हो।

साथै पानीजहाजहरूमा इन्धन भर्नका निम्ति पनि यो महत्त्वपूर्ण स्थल हो। फुजाइरा बन्दरगाह ओमानको खाडीमा पर्छ । त्यहाँ पुग्न पानीजहाजहरूलाई जलक्षेत्रमा युद्ध सुरु भएको दुई सातायता पानीजहाजको आवतजावत लगभग बन्द रहेको हर्मुज स्ट्रेट पार गर्नुपर्दैन । ड्रोन हमलापछि अनलाइन माध्यममा देखिएका फुटेजमा यूएईको पूर्वी तटमा रहेको उक्त पूर्वाधार परिसरबाट बाक्लो धुवाँको मुस्लो उडिरहेको देखिएको थियो।

फुजाइरा बन्दरगाहमा ड्रोन हमला त्यतिखेर भएको छ जतिखेर इरानी रिभोलूशनरी गाड्र्स कोर (आईआरजीसी)ले अमेरिकाले उसको खार्ग द्वीपमा हमला गरेका कारण अब यूएईका बन्दरगाह तथा अमेरिकी सैन्य ठेगानाहरू आफ्नो निम्ति वैध निसाना बनेको जनाएको छ। तेहरानको तेल उद्योग तथा समग्र अर्थतन्त्रका निम्ति खार्ग द्वीपको महत्त्व निकै रहेको मानिन्छ।

यसैबीच, इरानी सेनाको खताम मुख्यालयका एक प्रवक्ता कर्णेल इब्राहिम जुल्फीगरीले यूएईका बन्दरगाहमा रहेका अमेरिकी क्षेप्यास्त्र तथा अमेरिकी सैनिक ‘लुक्ने स्थल’हरूमा आक्रमण गर्ने इरानको वैध अधिकार भएको बताएका छन् । उनले हानिबाट जोगिन यूएईका सहरहरू खाली गर्न मुस्लिमहरूलाई आह्वान गरेका छन् ।
यसअघि अर्को खाडी देश कतारमा अमेरिकी व्यापारिक स्वार्थ जोडिएका कतिपय ठाउँहरू खाली गर्न अधिकारीहरूले आदेश दिएका थिए । इरानले तिनलाई वैध निसाना भनेपछि मानिसहरूलाई त्यहाँबाट अन्यत्र जान अधिकारीहरूले भनेका छन्। गुगल तथा ‘अमेरिकन एक्सप्रेस’जस्ता अमेरिकी कम्पनीहरूको कार्यालय रहेको राजधानी दोहाको केन्द्रमा रहेको मुशेइरेब डिस्ट्रिक्टमा मानिसहरूलाई फोनमार्फत् ती ठाउँ छाड्न सावधान गराइएका सन्देश जारी गरिएका छन्।