काठमाडौँ, ५ फागुनः काठमाडौँमा एक जना कार चालकले पैदलयात्रुलाई कुटेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । आज बिहानैदेखि भाइरल भएको उक्त भिडियोबारे सर्वत्र आलोचना भएपछि प्रहरीले खोजी अभियान थालेको र अभियानका क्रममा प्रहरीले ती व्यक्तिलाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले यसरी कुटपिट गर्ने व्यक्ति हाल बूढानीलकण्ठ नगरपालिका–३ बस्ने ४२ वर्षका पारस बम रहेको र उनलाई नियन्त्रणमा लिइएको बताए ।
अधिकारीले उनी इञ्जिनियर रहेको खुलेको र उनलाई थप कारबाहीका लागि केहीबेरअघि जिल्ला प्रहरी परिसर काठमाडौँलाई बुझाइएको पनि बताए । उनले काठमाडौँको नारायणगोपाल चोकस्थित गाडी रोकिएका बेला कारबाट ओर्लिएर सडकमा हिँडिरहेका एक व्यक्तिलाई हातपात गरेका भिडियोमा देखिन्छ ।
नारायणगोपाल चोकस्थित सडकखण्डमा बा३च ११०३ नं को निजी जिप चालकले सार्वजनिकस्थलमा पैदलयात्रीलाई हातपात तथा दुव्र्यव्यवहार गरेको भिडियो विभिन्न सामाजिक सञ्जालमा देखिएको थियो । उनलाई आजै काठमाडौँ जिल्ला अदालतमा पेस गरिएकामा अनुसन्धानका लागि सात दिनको म्याद थप भएको काठमाडौँ प्रहरीका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए ।
मुस्ताङ, ५, फागुन । रसुवा जिल्ला उत्तरगंगा गाउँपालिका—५ स्थायी घर भई मुस्ताङको घरपझोङ—२ मार्फा स्थित डेरामा शंकास्पद अवस्थामा मृत भेटिएकी शान्ति गुरुङको हत्या उनकै श्रीमानले गरेको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा शान्तिका श्रीमान २३ वर्षीय अश्विन थापामगरलाई नियन्त्रणमा लिइ प्रहरीले अनुसन्धान गरेको थियो ।
सो अनुसन्धानका क्रममा सोमबार दिउँसो करिब २ बजेको समयमा घरायसी झगडाका कारण मादक पदार्थ सेवन गरी दाउराले श्रीमतिको टाउकोमा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले आज विज्ञप्ति जारी गरी जनाएको छ । हत्या अभियोगमा पक्राउ परेका थापामगरलाई आजै जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको जिल्ला प्रहरीका सूचना अधिकारी नवराज न्यौपानेले जानकारी दिए ।
काठमाडौँ, ५ फागुन । नेपाल र भारतबीच फौजदारी विषयमा पारस्परिक कानुनी सहायतासम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा नेपाल सरकारका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव विनोदकुमार भट्टराई र भारत सरकारका तर्फबाट नेपालका लागि महामहिम भारतीय राजदूत नवीन श्रीवास्तवले सम्झौतापत्रमा हस्ताक्षर गरे । सरकारको मन्त्रिपरिषद् बैठकले गत असोज ३० गते उक्त सम्झौता गर्ने निर्णय गरेअनुसार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाको उपस्थितिमा सम्झौता पत्रमा हस्ताक्षर भएको मन्त्रालयका प्रवक्ता दलबहादुर अधिकारीले जानकारी दिए ।
सो सम्झौताले फौजदारी मुद्दाको अनुसन्धान, अभियोजन तथा न्यायिक कारबाहीका क्रममा प्रमाण सङ्कलन तथा आदानप्रदानलगायत विषयमा दुवै मुलुकका सक्षम अधिकारीबीच सहयोग आदानप्रदान गर्न विधिवत् मार्गप्रशस्त गर्ने मन्त्रालयका प्रवक्ता अधिकारीले बताए । सम्झौताले विधिको शासन सुदृढीकरण गर्न तथा न्याय प्रशासनमा संस्थागत समन्वय अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पु¥याउने उनको भनाइ छ । उनले सम्झौताको कार्यान्वयनसँगै दुवै देशका केन्द्रीय अधिकारीहरूबीच सहकार्य अझ सबल एवं परिणाममुखी हुने अपेक्षा बताए ।
प्रवक्ता अधिकारीले सम्झौताले नेपालमा हुने वित्तीय अपराध न्यूनीकरण गर्न तथा अनुसन्धान, अभियोजन र न्याय निरूपणलाई थप प्रभावकारी बनाउन कोशेढुङ्गा सावित हुने उल्लेख गरे । सो सम्झौताले सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी गर्ने कार्यलाई निवारण गर्नेसम्बन्धी पारस्परिक मूल्याङ्कनमा थप मद्दत पु¥याउने अपेक्षा गरिएको छ । समारोहमा मन्त्रालयका सचिव पाराश्वर ढुङ्गाना तथा परराष्ट्र मन्त्रालयका प्रतिनिधिहरूको उपस्थिति थियो ।
कञ्चनपुर, ५ फागुनः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले गलत व्यक्तिलाई मतदान गर्दा देशले दीर्घकालीन दुःख भोग्नुपर्ने भएकाले सही व्यक्तिलाई मतदान गर्न आग्रह गरेका छन् । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारीमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले मतदातालाई गम्भीर र सचेत भएर मतदान गर्न उनले आग्रह गरे । “मतदान सामान्य प्रक्रिया होइन, यो भविष्य निर्माण गर्ने निर्णय हो,” उनले भने, “जनता सार्वभौम सत्ताका मालिक भएकाले आफ्नो मत प्रयोग गर्दा हजार पटक सोच्नुपर्छ ।”
उनले देश हाल भू–राजनीतिक चक्रब्यूहमा फसेको उल्लेख गर्दै राष्ट्रिय हित केन्द्रमा राखेर नयाँ समझदारी र स्पष्ट दिशाको आवश्यकता औँल्या्रए । सबै राजनीतिक दललाई निष्पक्ष रूपमा मूल्याङ्कन गर्न आग्रह गर्दै उनले देश जोगाउने शक्ति कुन दलसँग छ भन्ने विवेकपूर्ण निर्णय गर्न मतदातासँग अपिल गरे । राजा र राजनीतिक शक्तिबीच सहकार्य भए मात्र देश सुरक्षित रहनसक्ने उनको दाबी थियो ।
अध्यक्ष लिङ्देनले युवाहरू रोजगारीको अभावमा विदेशिन बाध्य भएको अवस्थाप्रति चिन्ता व्यक्त गरे । “आमा–बुवा र परिवार छाडेर युवाहरू विदेश जानुपरेको अवस्था अन्त्य गर्न सकिन्छ,” उनले भने, “दृढ इच्छाशक्ति र सही नीति भए पाँच वर्षमै देशको मुहार फेर्न सकिन्छ ।” देशको वर्तमान अवस्था सन्तोषजनक नरहेको उल्लेख गर्दै उनले बढ्दो वैदेशिक ऋण र कमजोर आर्थिक अवस्थाप्रति चिन्ता व्यक्त गरे ।
राष्ट्रको सुरक्षा र स्वाधीनताको रक्षा गर्न राप्रपालाई प्रत्यक्ष तथा समानुपातिक दुवै तर्फ मतदान गर्न उनले आग्रह गरे । यसैबीच, कञ्चनपुर निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार तीर्थराज चटौतले आफूले भ्रष्टाचार नगर्ने र गर्न नदिने प्रतिबद्धता व्यक्त गरे । विजयी भए राज्यबाट पाउने कुनै पनि सेवा–सुविधा नलिने घोषणा गर्दै उनले स्वच्छ राजनीति र पारदर्शीताको अभ्यास गर्ने प्रतिबद्धता जनाए ।
काठमाडौँ, ५ फागुनः आइसिसी टी–२० विश्वकप २०२६ अन्तर्गत आफ्नो चौथो खेलमा स्कटल्याण्डलाई हराउन नेपालले १७१ रनको लक्ष्य पाएको छ । भारतको मुमबईस्थित वानखेडे स्टेडियममा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १७० रनको योगफल बनाएको हो ।
स्कटल्याण्डका लागि ओपनर माइकल जोन्सले अर्धशतक प्रहार गरे । उनले ४५ बलमा आठ चौका र तीन छक्काको सहयोगमा ७१ रनको योगदान दिए । त्यस्तै, जर्ज मुन्सेले २७ र ब्राण्डन म्याकमुलेनले २५ रन जोडे । बलिङतर्फ नेपालका सोमपाल कामीले तीन विकेट लिए भने नन्दन यादवले २ विकेट लिए । त्यस्तै रोहित पौडेल र कुशल भुर्तेलले समान एक÷एक विकेट झारे । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।
काभ्रेपलाञ्चोक, ५ फागुन । जर्मनका विद्यार्थीको आर्थिक सहयोगमा यहाँको रोशी गाउँपालिका–३ स्थित साझाकोटमा विद्यालय भवन निर्माण गरिएको छ । भीमसेन प्राथमिक विद्यालयको नवनिर्मित एकतले तीनकोठे पक्की भवनको गाउँपालिका अध्यक्ष दिनेश लामा र जर्मनीस्थित हिमालयन परियोजनाका प्रमुख माइकल हुसेनले संयुक्त रूपमा उद्घाटन गरे ।
जर्मनीको ओच्सेहौसेन ग्याम्नासुम हाइस्कुलका करिब ७०० विद्यार्थीबाट उपलब्ध रु ३१ लाख ७७ हजार ३०० सहयोगले उक्त भवन निर्माण भएको हो । विद्यार्थीले प्राचार्य इल्की रेमार्फत हिमालयन परियोजनामा दिइएको उक्त रकमले विद्यालय भवन निर्माण गर्न सकिएको हुसेनले बताए । विद्यालय भवन निर्माणका लागि हिमाली गाउँ संरक्षण नेपालले परियोजनासँग समन्वय गरेको थियो ।
स्थानीय टङ्कबहादुर राउत र दमाइसिं तामाङले दान गर्नुभएको जग्गामा भवन निर्माण भएको विद्यालयका प्रधानाध्यापक मनिका राउतले जानकारी दिए । यस्तै कार्यक्रममा उक्त परियोजनाले विद्यालयलाई एक थान ल्यापटप कम्प्युटर सहयोग गरेको छ । सो अवसरमा अध्यक्ष लामाले नवनिर्मित भवन निर्माणसँगै विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सुरक्षित, व्यवस्थित तथा प्रविधिमैत्री वातावरणमा अध्ययन–अध्यापन गर्ने अवसर प्राप्त भएकामा खुसी व्यक्त गर्दै शिक्षा क्षेत्रको विकासलाई गाउँपालिकाले उच्च प्राथमिकता दिएको र विद्यालयलाई आवश्यक सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मिमबहादुर लामा, वडा नं ५ का अध्यक्ष निरध्वज लामा, वडा नं ३ का अध्यक्ष धनजित लामा, स्थानीय समाजसेवी टुल्कु लामालगायतले विद्यालयमा थप शैक्षिक गुणस्तरका लागि शुभकामना व्यक्त गरे । सो अवसरमा जग्गादाता राउत र तामाङलाई सम्मान गरिएको थियो ।
वीरगन्ज (पर्सा), ५ फागुन । सशस्त्र प्रहरी बल नेपाल पर्सा र नेपाल प्रहरीको संयुक्त टोलीले पर्साको पकहाँमैनपुर गाउँपालिकाबाट कार चालकसहित १६० किलो गाँजा बरामद गरेको छ । संयुक्त टोलीले सोमबार पर्साको पकहाँमैनपुर गाउँपालिकाको मधुवनीचोकतर्फ आइरहेको प्र३–०१–००२च ५४३२ नम्बरको सुजुकीको स्वीफ्ट कारका चालक बुद्धिलाल घलानसहित सो परिमाणको गाँजा बरामद गरेको हो ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्र्वाटरका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक मोहनबहादुर क्षेत्रीले गाँजासहित पक्राउ परेका चालक घलानलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय पोखरिया पठाइएको जानकारी दिए ।
गणपति क्षेत्रीले गाँजासहित भेटिएका घलानले कारको डिक्कीबाट प्याकिङ गरेको गाँजा फ्याँक्ने क्रममा पक्राउ गरिएको बताए । सशस्त्र प्रहरीका अनुसार चालक घलानको साथबाट रु २२ हजार ५०० नगद र रियलमी कम्पनीको स्मार्टफोनसमेत बरामद भएको छ ।
काठमाडौँ, ५ फागुनः काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले रोजगारीका लागि विदेश पठाउने भन्दै रु ६५ लाख ३३ हजार ठगी गरेको अभियोगमा चार जनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा झापा अर्जुनधारा नगरपालिका–६ बस्ने ५१ वर्षीय धर्मप्रसाद राई, काठमाडौँ तार्केश्वर नगरपालिका–७ बस्ने ३५ वर्षीया निमा डोल्मा लामा, झापा अर्जुनधारा–५ का ४२ वर्षीय गोविन्दप्रसाद निरौला र गोरखा गण्डकी गाउँपालिका–१ का ४३ वर्षीय सुरजबहादुर श्रेष्ठ रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।
उनले भने, “पक्राउ परेकामध्ये राईले अष्ट्रिया पठाउने भन्दै रु पाँच लाख ८५ हजार, लामाले बेलायत पठाउने भन्दै रु ५० लाख, निरौलाले टर्की पठाउने भन्दै रु दुई लाख तीन हजार र श्रेष्ठले रोमानिया पठाउने भन्दै रु सात लाख ५० हजार रकम लिई विदेश नपठाइ सम्पर्कविहीन भएको उजुरीका आधारमा पक्राउ गरिएको हो ।” पक्राउ परेका सातै जनालाई सोमबार थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँमा पठाइएको प्रवक्ता कार्कीले बताए ।
म्याग्दी, ५ फागुन : आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्याग्दीका उम्मेदवारले जिल्लाको पश्चिमी क्षेत्र भएर ढोरपाटन हुँदै पूर्वीरुकुम जोड्ने वैकल्पिक सडक बनाउने मुद्दा अघि सारेका छन् । बेनीबाट घतान–पात्लेखेत–झिँ–पाखापानी–ठाडाखानी–कुइँनेमङ्गले–मल्कवाङ–मराङ–बिम–दरबाङ हुँदै बेनीसम्मका पाँच वटा स्थानीय तहलाई समेट्ने राहुघाट,म्याग्दी चक्रपथ सडक आयोजना पनि उम्मेदवारको पूर्वाधारतर्फ प्राथमिकतामा परेको मुद्दा हो ।
जिल्ला सदरमुकाम बेनीबाट उत्तरी क्षेत्रमा रहेको रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका हुँदै मुस्ताङको कोरला नाका जोड्ने सडक स्तरोन्नति गर्ने पछिल्ला तीन वटा चुनावी प्रतिबद्धता पूरा गरेका राजनीतिक दलले राहुघाट र म्याग्दी करिडोरको समग्र विकासका लागि राहुघाट(म्याग्दी चक्रपथ र ढोरपाटन हुँदै पूर्वीरुकुम जोड्ने मध्यपहाडी लोकमार्गका वैकल्पिक मार्ग बनाउनुपर्ने विषयलाई चुनावी मुद्दा बनाएका हुन् ।
मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको तुलनामा म्याग्दी भएर ढोरपाटन हुँदै पूर्वीरुकुम पुग्ने सडक ६५ देखि ७० किलोमिटर छोटो पर्ने भएकाले वैकल्पिक सडक बनाउन सकेमा पर्यटन, सामाजिक, आर्थिक क्षेत्रमा परिवर्तन ल्याउन सकिने नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार अर्जुन थापाले बताए ।
बेनी–जोमसोम–कोरला सडक सहज हुँदा म्याग्दी हँुदै मुस्ताङमा वार्षिक आठ लाखभन्दा बढी पर्यटक आवतजावत गर्दा त्यसको लाभ जिल्लाले पाउन थालेकाले पश्चिमी र राहुघाट क्षेत्रमा पनि सडक यातायातको पूर्वाधारलाई सहज बनाउनसकेमा बसाइँसराइ रोकिने, रोजगारी सिर्जना हुने र आयआर्जन वृद्धिमा सहयोग पुग्ने नेपाली कांग्रेसका उम्मेदवार कर्णबहादुर भण्डारीले बताए ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार हरिकृष्ण श्रेष्ठले सडक पूर्वाधार विकासको मुख्य आधार भएकाले नागरिकको माग र स्थानीय आवश्यकताका आधारमा रणनीतिक महत्वका सडक योजनालाई प्राथमिकता दिने उल्लेख गरे । बेनीबाट ७५ किलोमिटरको दूरीमा ढोरपाटन पुग्न सकिने यो सडकलाई धवलागिरि गाउँपालिका मात्र नभएर पश्चिम म्याग्दीको समग्र पूर्वाधार विकास, आर्थिक सामाजिक क्षेत्रको रुपान्तरणका लागि महत्वपूर्ण आधारका रूपमा लिएका हुन् ।
हाल प्रयोगमा आइरहेको बागलुङबाट ढोरपाटन जोड्ने सडकको दूरी १२६ किलोमिटर छ । बेनीबाट विसं २०५५ मा यो सडक निर्माण सुरु भएको थियो । बेनी–मुना–खोरिया–मरेनी हुँदै जलजला करिब ६४ किलोमिटर सडकको मार्ग यसैवर्ष खुलेको हो । पूर्वीरुकुमको टकसेराबाट ढोरपाटनको निसिलढोरसम्म आठ किलोमिटर सडकले जोडिन बाँकी छ । जलजला, ढोरपाटन र उत्तरगङ्गा जाने पर्यटक तथा स्थानीयवासीलाई यो सडक छोटो पर्ने भएकाले मुना–ढोरपाटन खण्डको स्तरोन्नति र ढोरपाटन पूर्वीरुकुम मार्ग खुलाउने विषय म्याग्दीको साझा मुद्दा बनेको म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुवीन श्रेष्ठले बताए ।
प्रदेश सरकारले दरबाङबाट ताकम मुना जोड्ने करिब १७ किलोमिटर सडक स्तरोन्नति गर्न दुई वटा शीर्षकमा योजना सञ्चालन गरेको छ । मध्यपहाडी लोकमार्गको वैकल्पिक मार्ग र पूर्वी रुकुमसम्म जोडिने पश्चिम म्याग्दीको लाइफ लाइन मानिएको यो सडकको स्तरोन्नति र कालोपत्रका लागि बजेटको व्यवस्थापन र योजना कार्यान्वयनमा उम्मेदवारले साझा मुद्दा बनाएका हुन् ।
पूर्वी रुकुम, म्याग्दी र बागलुङ जिल्लाको एक हजार ३२५ वर्गमिटर क्षेत्रफलमा फैलिएको ढोरपाटन नेपालको एकमात्र सिकार आरक्ष हो । विश्वभरका साहसी सिकारीको गन्तव्य ढोरपाटन पछिल्लो समय नेपाली पर्यटकको पनि रोजाइमा परेको छ । यो आरक्ष पर्यटनका लागि मात्र नभएर ढोरपाटनको जैविक, सांस्कृतिक, पर्यटकीय, धार्मिकलगायत अवसर छन् ।
बैंक तथा वित्तीय संस्थामा खाता खोल्ने उम्मेदवारको सङ्ख्या बढ्दै काठमाडौँ, ५ फागुनः निर्वाचन आयोगले निर्वाचन खर्च बैंक तथा वित्तीय संस्थाका खातामार्फत गर्नुपर्ने बाध्यकारी व्यवस्था गरेपछि उम्मेदवारले धमाधम खाता खोलेका छन् । राजनीतिक दल र उम्मेदवारले चुनावमा खर्च गर्न छुट्टै बैंक खाता खोल्ने व्यवस्था आयोगले गरेको छ ।
सोही व्यवस्थाअनुसार हालसम्म ६७१ जना उम्मेदवारले बैंक तथा वित्तीय संस्थामा चुनावी खाता खोलेका छन् । आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले तीन हजार ४०६ जना प्रत्यक्षतर्फका उम्मेदवारमध्ये हालसम्म बैंक खाता खोल्नेको सङ्ख्या ६७१ जना रहेका आयोगको प्रणालीमा सूचना प्राप्त भएको जानकारी दिए ।
निर्वाचनमा भाग लिने दल र उम्मेदवारले यसअघिका निर्वाचनमा बैंक खातामार्फत खर्च गर्नुपर्ने अनिवार्य गरिएको थिएन । यस वर्षदेखि भने दल र उम्मेदवारले निर्वाचन खर्च अनिवार्य बैंक खातामार्फत गर्नुपर्ने व्यवस्था लागू गरेको हो । बंैकिङ प्रणालीबाट निर्वाचन खर्च पारदर्शी हुने आयोगको विश्वास छ ।
आयोगले विभिन्न आधारमा भूगोलअनुसार उम्मेदवारले रु २५ लाखदेखि ३३ लाखसम्म खर्च गर्न पाउने व्यवस्था गरेको छ । आर्थिक अनुशासनका लागि आयोगले यस्तो व्यवस्था गरेको स्पष्ट पारेको छ । आयोगका सचिव कृष्णबहादुर राउतका अनुसार कालीकोटजस्तो दुर्गम जिल्लाका सबै उम्मेदवारले बैंक खाता खोलिसक्दा सुगम जिल्लाका अधिकांश उम्मेदवारले अझै खाता नखोलेका बताए । नेपाल राष्ट्र बैंकका अनुसार ७५३ वटै स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाको शाखा खुलेका छन् ।
राजनीतिक दल र उम्मेदवारले रु २५ हजारभन्दा बढी रकम बैंक खाताबाट लिने र खर्च गर्नुपर्ने व्यवस्था गरेको छ । आयोगले सोमबार बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतलाई आमन्त्रण गरी छलफल गरेको थियो । सो छलफलमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बैंकिङ प्रणालीबाट निर्वाचन खर्च पारदर्शी हुने बताएका थिए । बैंकसँगको छलफलमा हातहातमा पैसा लिएर चुनावमा खर्च गर्न नपाइने व्यवस्था गरिएको र त्यसकै लागि आयोगले छुट्टै निर्देशिका बनाएको जानकारी दिएका थिए ।
काठमाडौँ, ५ फागुनः महाशिवरात्रिको उपलक्ष्यमा पशुपतिनाथको दर्शनका लागि आएका नागा बाबालगायत साधुसन्तलाई आज दान दक्षिणासहित बिदाइ गरिने भएको छ । महाशिवरात्रिका लागि फागुन कृष्ण एकादशीका दिन पशुपतिमा आएका साधुसन्तलाई गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले फाल्गुन कृष्ण औँसीका दिन बिदाइ गर्ने परम्परा रहिआएको छ । विसं १८३१ मा जङ्गबहादुरका जेठा छोरा जगतजङ्गले जगनन्द प्रकाशेश्वर गुठी स्थापना गरेदेखि यो परम्परा सुरु भएको संस्थानका पूर्वउपप्रशासक एवं साधुसन्त बिदाइको धेरैपटक संयोजन गर्नुभएका दीपकबहादुर पाण्डेले राससलाई जानकारी दिए ।
बिदाइका लागि संस्थानले करिब रु ३० लाख बजेट छुट्याएको छ । रातो, नीलो, सेतो, पहेँलो र हरियो रङका कार्ड दक्षिणाका लागि नागा बाबालगायत साधुसन्तलाई आएकै दिन बाँडिएको छ । कार्ड बाँडिएका साधुसन्तलाई स्तरअनुसार दक्षिणा दिइने परम्परा रहिआएको पाण्डेले जानकारी दिए । नेपाल बाहिरबाट आएका नागा बाबा र साधुसन्तलाई नजिकको सीमासम्म पुग्न सकियोस् भनी दक्षिणा बढाइएको संस्थानले जनाएको छ ।
पशुपतिका गोरखनाथ मठ, आर्यघाट पारिको रामचन्द्र मन्दिर, भस्मेश्वर अखडा, निर्मला अखडा र पशुपति परिसरका विभिन्न स्थानमा गरी करिब चार हजारदेखि बढी साधुसन्त नेपाल बाहिरबाट आई बसेका छन् । प्रत्येक स्थानमा फरक सम्प्रदायका साधु रहेका पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष श्रीधर सापकोटाले जनाकारी दिए । “पहिले पशुपतिमा नागाबाबा र साधुसन्तलाई भोजन गराई थापाथलीस्थित कालमोचनघाटबाट दक्षिणासहित बिदाइ गरिन्थ्यो ।
कोत पर्वमा मारिएका सबैलाई कालमोचनघाटमा जलाइएकाले शिवरात्रिमा धेरै साधुसन्तलाई यहाँबाट बिदाइ गर्दा मृतआत्माले शान्ति पाउँछ भन्ने विश्वासका साथ कालमोचनघाटबाट बिदाइ गर्ने गरिएको थियो । अहिले त्यो परम्परा हटेको छ । हाल पशुपतिको पश्चिम मूल ढोकाबाट नागा बाबा र साधुसन्तलाई बिदाइ गर्न थालिएको छ”, उनले भने ।
पशुपति जस्तै महाशिवरात्रिको अवसर पारेर थापाथली कालमोचनघाटमा रहेका वैरागी अखडा, उदासी अखडा, सन्यासी अखडा र नाथ अखडामा आई बसेका नागा बाबा एवं साधुसन्तलाई पनि आजै दान दक्षिणासहित बिदाइ गरिने संस्थानले जनाएको छ । यी साधुसन्तलाई कालमोचनघाटबाटै बिदाइ गरिन्छ । पशुपतिनाथ मन्दिरमा २०६८ चैत २६ गते लागू गरिएको भेटीघाटी पारदर्शी तथा पूजा व्यवस्था नियमावली पछि २०६९ सालको महाशिवरात्रिदेखि पशुपति क्षेत्र विकास कोषले पनि दान दक्षिणा दिई भोजन गराएर नागाबाबा र साधुसन्तलाई बिदाइ गर्न थालेको थियो ।
“कोषले रु पाँच हजार एकदेखि रु १०१ सम्म दक्षिणा दिने तयारी गरेको छ”, कोष सञ्चालक परिषद् सदस्य एवं साधुसन्त सेवा तथा धार्मिक कार्यक्रम व्यवस्था उपसमिति संयोजक शिला पन्तले भने, “कोषले रु पाँच हजार एक २० साधुलाई, रु एक हजार एक दुई सय साधुलाई, रु ७०१ एक हजार साधुलाई, रु ५०१ एक हजार साधुलाई, रु ३०१ एक हजार तीन सय साधुलाई, रु २०१ जोगी सबैलाई र लाइनमा बस्ने जति सबैलाई रु १०१ दक्षिणास्वरुप दिनेछ”। साधुलाई दान दक्षिणाका लागि रु आठ लाख बजेट कोषले छुट्याएको उनले जानकारी दिए ।
कोषले दान दक्षिणासहित पशुपतिनाथमा वर्षभर चढाइएका रुद्राक्ष पहिराएर साधुलाई बिदाइको तयारी गरेको छ । महाशिवरात्रिमा आएका नागा बाबा र साधुसन्तलाई पशुपतिनाथ मन्दिरभित्र पाँच दिन र बाहिर चार दिन धुनी जगाउनलाई रु सात लाखको ५० हजार किलो दाउरा किनिएको संस्थानका उपप्रशासक पाण्डेले बताए ।
भेटीघाटी पारदर्शी गरी पशुपतिनाथ मन्दिरलाई नेपालकै उदाहरणीय मन्दिरका रूपमा स्थापित गराउने उद्देश्यका साथ २०६८ चैत २६ देखि कोषको भेटी बाकसमा जम्मा गरिएको भेटी रु १५ करोड पुगिसकेको पनि कोषले जनाएको छ ।
पशुपतिमा फोहरको डङ्गुर
शिवरात्रीको मेलापछि पशुपति क्षेत्र भने फोहरको डङ्गुरले भरिएको छ । करोडौँको सम्पत्ति भएको नेपालको राष्ट्रदेव पशुपतिको मन्दिर परिसरमा एउटा मेला सकिएपछि फोहरको डङ्गुर थुप्रिनु लाजमर्दो भएको कोषका पूर्वसदस्यसमेत रहिसक्नुभएका स्थानीयवासी गोपालप्रसाद सुवेदीले बताए । “कोषले राम्रो व्यवस्थापन गर्न सकेको भए पशुपति क्षेत्रमा फोहर बसिरहने थिएन”, उनले भने ।
फोहरको डङ्गुरका कारण शिवरात्रिपछि पशुपति दर्शन गर्न आउने भक्तजन नाक थुनेर मन्दिरभित्र प्रवेश गर्नुपर्ने दुःखदायी अवस्था रहेको कीर्तिपुरबाट दर्शनका लागि आएकी दर्शनार्थी लक्ष्मी शर्मा दाहालले बताइन् । हजारौँ कर्मचारी भएको कोषले फोहर तत्काल व्यवस्थापन गर्न नसक्नु कोषको बेइज्जतको विषय भएको आमभक्तजनको गुनासो रहेको छ ।
कोषका सदस्य सचिव डा टण्डनले लाखौँ भक्तजनको आगमनका कारण फूल प्रसादले पशुपति क्षेत्र फोहर देखिएकामा सफाइ सुरु गरी सकिएकाले बिहीबारसम्म पूर्ण रूपमा सफाइ सकिने बताए ।
rss
नागाबाबा हेर्नेको घुइँचो
शिवरात्रिका लागि पशुपतिमा नागाबाबाको आगमन हुन थालेपछि फागुन कृष्ण एकादशीदेखि हेर्न आउनेको घुइँचो लागेको छ । शिवरात्रि अगाडिका दुई दिन र शिवरात्रि पछिका दुई दिन पशुपतिमा नागाबाबा रहने भएकाले हेर्न आउनेको घुइँचो लागेको हो । नागाबाबालाई हेर्न आउनेमा अन्य व्यक्तिका अतिरिक्त क्याम्पस अध्ययन गर्ने छात्रछात्राको सङ्ख्या पनि उल्लेख्य देखिएका मन्दिर परिसरमा पूजापाठ गर्र्दै आउनुभएका पण्डित सुन्दर शर्मा कुइँकेलले बताए ।
क्याम्पसको पोशाकमा आउने गरेका छात्रछात्रा शिवरात्रिका अवसरमा पशुपति मन्दिरभित्रै छिर्ने गरेका छन् । शिवरात्रि अगाडि आफ्ना साथीसँग पशुपति बाहिर घुम्ने छात्रछात्रा शिवरात्रिका अवसरमा भने भित्रै छिरेर नागाबाबाको दर्शन गरेका उनको भनाइ छ । भारत वनारसबाट आउनुभएका सन्त स्वामी महेशानन्दले नेपालमा रहेको पशुपतिनाथ मन्दिर भारतका विभिन्न स्थानमा रहेका द्वादश ज्योतिर्लिङ्गको पनि शिर भएकाले प्रत्येक वर्ष शिवरात्रिमा दर्शनका लागि आउने गरेको बताए ।
काठमाडौँ, ५ फागुन : हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका केही स्थानमा मध्याह्नसम्म कुहिरो लाग्नेछ । देशका उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्ने र बाँकी भूभागमा मौसम सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
त्यसैगरी, आज राति तराई भागका केही स्थानमा तुँवालो लाग्नेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत गण्डकी प्रदेशका पहाडी र हिमाली भागमा आंशिक बादल लाग्नेछ र बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ । गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
रासस गण्डकी, ४ फागुनः कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा तत्काल कुनै प्रक्रिया अगाडि नबढाउने भएको छ । जिल्ला सरकारी वकिल कार्यालयले लामिछानेविरुद्धको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ताका लागि अदालतमा दिएको निवेदनमाथि सोमबार भएको सुनुवाइपछि अदालतले उक्त मुद्दा तत्काललाई ‘होल्ड’ गर्ने आदेश गरेको अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए । महान्यायाधिवक्ताको कार्यालयले लामिछानेविरूद्धको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिने निर्णय गरेपछि जिल्ला सरकारी वकिल कार्यालयले उक्त मुद्दा फिर्ताका लागि जिल्ला अदालतमा निवेदन दिएको थियो । जिल्ला न्यायाधीश नितिश राईको इजलासले महान्यायाधिवक्ताको कार्यालयको उक्त निर्णयका विषयमा सर्वोच्च अदालतमा पनि रिट परेकाले सर्वोच्च अदालतबाट आउने आदेशपछि मात्र जिल्ला अदालतले आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो ।
“मुद्दा फिर्ता गर्ने वा नगर्ने भन्ने आदेश भएको होइन, यो विषयमा सर्वोच्चमा पनि रिट परेकाले सर्वोच्चको आदेश नआउञ्जेलसम्म होल्डमा राख्ने कुनै प्रक्रिया अगाडि नबढाउने आदेश भएको हो”, स्रेस्तेदार खनालले भने । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लामिछानेविरुद्ध सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा पनि थियो । महान्यायाधिवक्ता कार्यालयले गत पुस ३० गते लामिछाने प्रतिवादी रहेको सहकारी ठगी मुद्दा यथावत राख्दै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिने निर्णय गरेको थियो ।
काठमाडौँ, ४ फागुनः परराष्ट्रमन्त्री बालानन्द शर्मा बङ्गलादेशको नवनिर्वाचित सरकारको शपथ ग्रहण समारोहमा सहभागी हुन आज ढाकातर्फ प्रस्थान गर्ने भएका छन् । परराष्ट्रमन्त्रीको भ्रमणले नेपाल र बङ्गलादेशबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने र आपसी सहकार्यका सम्बन्धहरूलाई अझ प्रगाढ बनाउने नेपालको प्रतिबद्धता झल्काएको परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति निकालेर जनाएको छ । परराष्ट्रमन्त्री शर्माका साथ परराष्ट्र मन्त्रालयलयका वरिष्ठ अधिकारी रहनेछन् । उनी फागुन ७ गते स्वदेश फर्कने कार्यक्रम छ ।
काठमाडौँ, ४ फागुनः नेपाल र जापानबीच पर्यटन कूटनीतिलाई सुदृढ बनाउने उद्देश्यले नेपाल पर्यटन बोर्ड र जापानको वाकायामा प्रिफेक्चरबीच पर्यटन सहकार्यसम्बन्धी समझदारीपत्र (एमओयु)मा हस्ताक्षर भएको छ । आज भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको सभाहलमा आयोजित कार्यक्रममा दुवै पक्षले संयुक्त प्रवद्र्धन, ज्ञान आदान–प्रदान तथा दिगो पर्यटन विकासका क्षेत्रमा सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् । समझदारीपत्रमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी र वाकायामा प्रिफेक्चरका गभर्नर इजुमी मियाजाकीले हस्ताक्षर गरे ।
यस समझदारीले संयुक्त पर्यटन प्रवद्र्धन तथा मार्केटिङ, पर्यटनसम्बन्धी सूचना र उत्कृष्ट अभ्यासको आदानप्रदान, विज्ञ तथा अधिकारीहरूको भ्रमण आदानप्रदान, सञ्चार तथा जनसम्पर्क सहकार्य र सांस्कृतिक रूपमा सम्मानजनक तथा दिगो पर्यटन प्रवर्द्धनलाई प्राथमिकता दिने जनाइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले जापानदेखि गभर्नर नेतृत्वको टोलीको नेपाल भ्रमण स्वागतयोग्य कदम रहेको उल्लेख गर्दै नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षका सन्दर्भमा भएको यो सहकार्य दिगो र उत्तरदायी पर्यटन प्रवर्द्धनका लागि महत्वपूर्ण हुने धारणा व्यक्त गरे ।
“दुवै देशले सांस्कृतिक विषयलाई उच्च महत्व दिएका छन् । ७० वर्षे कूटनीतिक सम्बन्धको सन्दर्भमा भएको यो सहकार्यले दिगो पर्यटनलाई बलियो आधार प्रदान गर्नेछ”, उनले भने । त्यसैगरी मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले नेपाल–जापानबीचको दीर्घकालीन सम्बन्ध स्मरण गर्दै यस समझदारीलाई पर्यटन प्रवर्द्धनका लागि ऐतिहासिक कदमका रूपमा व्याख्या गर्नुभयो । “नेपाल र जापानबीच लामो समयदेखिको सम्बन्ध छ । हिमालयको देश तथा भगवान् बुद्धको जन्मस्थल नेपालका लागि बजार विविधीकरणका लागि यो समझदारी यो उपयुक्त समय हो”, उनले भने।
वाकायामा प्रिफेक्चरका गभर्नर इजुमी मियाजाकीले इतिहास र संस्कृतिले समृद्ध नेपालसँग सहकार्य गर्न पाउँदा खुसी व्यक्त गरे । “इतिहास र संस्कृतिले समृद्ध नेपालसँग समझदारी गर्न पाउँदा हामी खुसी छौँ । यस समझदारीले नेपाल र वाकायामाबीच पर्यटन प्रवर्द्धन थप सुदृढ हुने विश्वास लिएको छु”, उनले भने, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले जापानलाई नेपालको महत्वपूर्ण पर्यटन स्रोत बजारमध्ये एकका रूपमा उल्लेख गर्दै पछिल्लो समय जापानी पर्यटक आगमनमा करिब आठ प्रतिशत वृद्धि भएको जानकारी दिए ।
समझदारी हस्ताक्षरको मितिदेखि लागू भई आपसी समझदारीका आधारमा कार्यान्वयन गरिने उल्लेख गरिएको छ । सहकार्यसम्बन्धी गतिविधिको समन्वयका लागि दुवै पक्षले सम्पर्क विन्दु तोक्ने तथा खर्च आ–आफ्नै रूपमा व्यहोर्ने व्यवस्था गरिएको छ । कानुनी रूपमा बाध्यकारी नभए पनि पारस्परिक सद्भाव र विश्वासमा आधारित यो समझदारीले सात दशक लामो नेपाल–जापान सम्बन्धलाई पर्यटनमार्फत थप सुदृढ बनाउने विश्वास गरिएको छ ।
काठमाडौँ, ४ फागुनः नेपाल सरकारले गत मार्चको शक्तिशाली भूकम्पबाट क्षतिग्रस्त म्यान्मारका दुई धार्मिक सम्पदास्थलको पुनर्निर्माणका लागि म्यान्मार सरकारलाई तीन लाख ५० हजार अमेरिकी डलर प्रदान गरेको छ । म्यान्मारका लागि नेपालका राजदूत हरिश्चन्द्र घिमिरेले म्यान्मारको मण्डले सहरको दक्षिण–पश्चिम क्षेत्रमा अवस्थित महामुनी पगोडा परिसरमा हालै आयोजित समारोहमा पगोडाका महासचिव थान उलाई तीन लाख अमेरिकी डलरको चेक हस्तान्तरण गर्नुभएको याङ्गुनस्थित नेपालको राजदूतावासले जनाएको छ ।
साथै उनले गङ्गाघाट हिन्दू मन्दिरको पुनर्निर्माणका लागि ५० हजार अमेरिकी डलरको चेक उक्त मन्दिरका अध्यक्ष पवन बजोरियालाई हस्तान्तरण गरे । गङ्गाघाट मन्दिर म्यान्मारमा बसोबास गर्ने नेपाली समुदायको महत्वपूर्ण धार्मिक स्थल हो । साझा धार्मिक सम्पदाको संरक्षण तथा प्राकृतिक विपत्तिबाट प्रभावित सांस्कृतिक महत्वका स्थलहरूको पुनःस्थापनामा सहयोग गर्ने नेपाल सरकारको प्रतिबद्धता झल्काउने उक्त दूतावासले जारी गरेको विज्ञप्तिमा जनाइको छ ।
डुम्रे (तनहुँ), ४ फागुनः नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले बदलिँदो अवस्थामा पुस्तान्तरबीचको दूरी घटाएर गरी समन्वय गर्दै देशलाई विश्वासको नयाँ चरणमा लैजाने जिम्मेवारी कांग्रेससँग रहेको बताएका छन् । नेपाली कांग्रेस तनहुँद्वारा दमौलीमा आज आयोजित आसन्न प्रतिनिधिसभा निर्वाचनका सन्दर्भमा आयोजित बृहत् जिल्ला भेलालाई सम्बोधन गर्दै उपसभापति शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गरे ।
चुनाव केवल दलको जित हारको विषय नभई देशलाई सङ्कटबाट निकास दिने क्षमताको परीक्षण गर्ने समय भएको उनको भनाइ थियो । उनले भने, “मूल प्रश्न कुन दलले जित्ने भन्ने होइन, विषम परिस्थितिमा देशलाई कसले संयमतापूर्वक समन्वय गर्न सक्छ र कसले परिपक्व तवरबाट फूलको माला जसरी गाँस्न सक्छ र देशलाई स्वच्छ बनाएर हाँक्न सक्छ भन्ने हो ।”
उनले ऐतिहासिक तथ्यका आधारमा कांग्रेसले मुलुकलाई सही ढङ्गले अघि बढाएको उदाहरण जनतामाझ लैजान आग्रह गरे । कांग्रेस यतिबेला सभापति गगन थापालाई प्रधानमन्त्री बनाउने अभियानमा लागेको बताउँदै उनले भने, “त्यही अभियानको लहर तनहुँमा पनि मिसिनेछ । देशलाई नवीन सपनामा, नवीन मार्गमा लैजानुछ । यदि सही ढङ्गले देशलाई अघि बढाउन सकेनौँ भने अहिले जेनजी विद्रोह भयो । दश वर्षपछि फेरि अल्फाको विद्रोह हुनेछ । हामी त्यो अवस्था बन्न दिने छैनौँ ।”
नेपाली कांग्रेस तनहुँ क्षेत्र नं १ का उम्मेदवार गोविन्द भट्टराईले यहाँ सुशासन, समृद्धि कायम गर्दै आमनागरिकको माग पूरा गर्न प्रतिबद्ध रहेको बताए । विषम् परिस्थितिलाई चिरेर देशकै जिम्मेवारी लिने गरी अगाडि बढेकाले कांग्रेसलाई मतदान गर्न उनले आग्रह गरे ।
काठमाडौँ, ४ फागुनः नेपाल राष्ट्र बैंकले तीनवटा वाणिज्य बैंकलाई कारबाही गरेको छ । नेपाल राष्ट्र बैंक ऐन तथा बैंक वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशनविपरीत काम गरेको आरोपमा एनआइसी एशिया बैंक लिमिटेड, ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड कारबाहीमा परेका हुन् ।
“एनआइसी एसिया बैंक लिमिटेडले यस बैंकबाट जारी गरिएको निर्देशन बारम्बार उल्लङ्घन गर्दै वित्तीय विवरण प्रकाशन गर्दै आएको र यस बैंकबाट उक्त बैंकलाई जारी गरिएको लिखित आदेशको समेत पालना नभएको पाइएकोले उक्त बैंकका तत्कालीन सञ्चालक समितिका अध्यक्ष तुलसीराम अग्रवाल र तत्कालीन प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ ९दोश्रो संशोधन २०७३ सहित० को दफा १०० उपदफा २ ९ग० बमोजिम समान रु दुई लाख नगद जरिवाना गरिएको छ”, राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा भएको कारबाहीको विवरणमा उल्लेख छ ।
त्यसैगरी ग्लोबल आइएमई बैंक लिमिटेडको स्थलगत निरीक्षण प्रतिवेदन, २०८२ को आधारमा कैफियत देखिएपछि उक्त बैंकका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको छ । ग्लोबल आइएमई बैंकले नेपाल राष्ट्र बैंकबाट बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन २०८१ को व्यवस्थाअनुसार पर्याप्त कर्जा नोक्सानी व्यवस्था कायम नगरेको र कर्जाको पुनर्तालिकीकरण तथा पुनरसंरचना सम्बन्धी व्यवस्था पूर्ण रुपमा पालना नगरेका कारण सचेत गराइएको जनाएको छ । बैंकको स्थलगत निरीक्षणका क्रममा ‘कोर बैंकिङ सफ्टवेयर’ मा चुक्ता भइसकेको कर्जालाई पुरानै ‘भ्यालु डेट’मा राखी पुनः सिर्जना गर्नसक्ने अवस्था रहेको पाइएको राष्ट्र बैंकले जनाएको छ ।
त्यसैगरी, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले राष्ट्र बैंकबाट जारी गरिएको निर्देशनको विपरीत कर्जाको सुरक्षण नहुने किसिमले कर्जासँग सम्बन्धित कागजातहरुमा ग्राहकको सहीछाप नगराएको तथा सुरक्षणले खामेकोभन्दा बढी कर्जा प्रवाह गरेको जनाइएको छ । एउटै प्रकृतिका कर्जाहरुको ब्याजदर अन्तर दुई प्रतिशत विन्दुभन्दा बढीले कायम गरेको तथा चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ को प्रावधानविपरीत त्रयमासको अन्तिम महिनाहरुमा नयाँ अल्पकालीन कर्जाहरु प्रवाह गरेका कारण कारबाही गरिएको राष्ट्र बैंकले जनाएको छ । जसको कारबाहीस्वरुप बैंकको सञ्चालक समिति तथा प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको छ ।
बेइजिङ, ४ फागुन (रासस–एएफपी) । चीनले क्यानडा र बेलायतका साधारण राहधानीधारक नागरिकलाई लक्षित गरी भिसा मुक्त नीति लागु गर्ने निर्णय गरेको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता आइतबार भने, “सीमापारबाट चीनको यात्रालाई थप सहज बनाउन चीनले सन् २०२६ फेब्रुअरी १७ देखि क्यानडा र बेलायतका साधारण राहदानी धारकहरूलाई भिसा–मुक्त नीति विस्तार गर्ने निर्णय गरेको छ।”
प्रवक्ताका अनुसार यस निर्णयले दुई युरोपेली मुलुकका साधारण राहदानी बाहकलाई व्यापार, पर्यटन, परिवार र साथीको भ्रमण, आदानप्रदान र पारवहन प्रयोजनका लागि चीन प्रवेश गर्न भिसामा छुट दिन र ३० दिनसम्म चीनमा रहन अनुमति दिनेछ । “यो नीति सन् २०२६ डिसेम्बर ३१ सम्मका लागि लागू हुनेछ,” प्रवक्ताले भने ।
कायरो, ४ फागुन (रासस–एपी) । सुडानको पश्चिमी प्रान्त डारफरको राजधानी फासेरमा सरकारी सुरक्षा समूहले सहर कब्जा गरेपछि भएको हिंसात्मक आक्रमणमा कम्तीमा छ हजारभन्दा बढी मानिसको हत्या भएको छ । संयुक्त राष्ट्रसङ्घको मानवअधिकार कार्यालयले जारी गरेको प्रतिवेदन अनुसार तीन दिनभित्रै भएको उक्त आक्रमणमा सडकमा गोली हान्ने, समूहद्वारा कुटपिट, अपहरण, बलात्कार र अन्य अमानवीय क्रियाकलाप समावेश थिए ।
सहरभित्र सामान्य नागरिक, महिला र बालबालिकासमेत मारिएका छन् । शरणस्थल, विद्यालय, अस्पताल र विश्वविद्यालय परिसरहरू आक्रमणको केन्द्र बनेका थिए । हजारौं मानिस भाग्ने क्रममा मारिएका तथा घाइते भएका थिए । प्रतिवेदनले यस आक्रमणलाई विशेष जातीय समूहहरूलाई लक्षित गरेर गरिएको सामूहिक हत्या र अत्याचारका रूपमा वर्णन गरेको छ ।
हिंसात्मक गतिविधिहरूमा नागरिकलाई सडकमा गोली हान्ने, घर र संरचना नष्ट गर्ने, बलात्कार, जबरजस्ती नजरबन्द, यातना, अपहरण र शारीरिक हिंसा समावेश थिए । अस्पतालमा रहेका बिरामी, सुत्केरी महिलाहरू र स्वास्थ्यकर्मीहरू पनि आक्रमणको शिकार बनेका थिए । विश्वविद्यालय र छात्रावासमा पनि ठूलो सङ्ख्यामा सामान्य नागरिक मारिएका थिए ।
संयुक्त राष्ट्रसंघले यस घटनालाई युद्ध अपराध र मानवता विरुद्धको अपराधको रूपमा मान्नुपर्ने चेतावनी दिएको छ । यस घटनामा संलग्न उच्च कमाण्डर र जिम्मेवार व्यक्तिहरूलाई कारबाही गर्न आवश्यक रहेको उल्लेख गरिएको छ । यो नरसंहार सुडानमा जारी गृहयुद्धको हिस्सा मानिन्छ, जसले लाखौं मानिसलाई विस्थापित बनाएको, खाद्य अभाव र स्वास्थ्य सङ्कट निम्त्याएको र जनजीवनलाई अत्यन्त भयावह बनाएको छ । यसले सुडान र डारफर प्रान्तमा सुरक्षा, स्थायित्व र मानवअधिकारको स्थितिलाई गम्भीर चुनौती दिएको छ ।
विशेषगरी डारफर प्रान्तमा नागरिकहरूको जीवन जोखिममा परेको, स्वास्थ्य र खाद्य सेवामा सङ्कट उत्पन्न भएको र अन्तर्राष्ट्रिय समुदायको ध्यान आवश्यक रहेको प्रतिवेदनमा उल्लेख छ । संयुक्त राष्ट्रसङ्घले घटनाका जिम्मेवार व्यक्तिहरूमाथि कारबाही गर्न, हिंसामा संलग्न कमाण्डरलाई जिम्मेवार बनाउन र पीडित समुदायलाई राहत तथा सुरक्षा सुनिश्चित गर्न आह्वान गरेको छ ।
किएभ, ४ फागुन (रासस–सिन्ह्वा) । यूक्रेनका राष्ट्रपतिले आगामी शान्ति वार्ता ‘गम्भीर, सार्थक र सबैका लागि लाभदायक’ हुने आशा व्यक्त गरेका छन् । उनले सबै पक्षले सकारात्मक र सहयोगी दृष्टिकोण अपनाएर टिकाउ समाधान निर्माणमा योगदान पु¥याउनुपर्नेमा जोड दिए ।
राष्ट्रपतिले विगतका वार्ताहरूमा प्रायः यूक्रेनलाई पर्याप्त रूपमा समावेश नगरी रुससँग मात्रै छलफल हुने गरेको देखिएको बताए । जसका कारण ठोस प्रगति हुन सकेको छैन । यसैले आगामी वार्ता सबै पक्षका हितलाई सुनिश्चित गर्ने महत्वपूर्ण अवसर बन्ने अपेक्षा गरिएको छ ।
जनवरीको अन्त्यदेखि फेब्रुअरीको सुरुमा संयुक्त सुरक्षा कार्य समूहका सदस्यहरूले संयुक्त अरब इमिरेट्सको राजधानी अबुधाबीमा दुई चरणको वार्ता सम्पन्न गरेका थिए । त्यहाँ केही केदीहरू साटासाटमा सहमति भए पनि क्षेत्रीय व्यवस्था, बन्दूकबन्दी र दीर्घकालीन शान्ति विषयमा पूर्ण समाधान हुन सकेको थिएन । आगामी चरणको वार्ता जेनेभा शहरमा मङ्गलबार र बुधबार हुने तय भएको छ ।
यसमा रुस प्रतिनिधित्व वरिष्ठ अधिकारीले गर्नेछन् भने यूक्रेन टोलीमा राजनीतिक, सुरक्षा र सैनिक विषयका प्रतिनिधिहरू रहनेछन् । राष्ट्रपतिले यस शान्ति वार्ता न्यायपूर्ण, टिकाउ र सबै पक्षका लागि सन्तुलित समाधानको अवसर बन्ने विश्वास व्यक्त गरे । यसले दीर्घकालीन शान्ति र क्षेत्रीय स्थायित्वमा सकारात्मक योगदान पु¥याउने अपेक्षा गरिएको छ ।
वासिङ्टन, ४ फागुन (रासस–एएफपी) । अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले डोनाल्ड ट्रम्पको सामाजिक सञ्जाल खाताबाट आफू र मिशेल ओबामालाई बाँदरको रूपमा चित्रण गरिएको भिडियो सार्वजनिक भएपछि अमेरिकी राजनीतिक संवादमा शिष्टाचार र लज्जाको अभाव बढ्दै गएको भन्दै कडा टिप्पणी गरेका छन् ।
वामपन्थी टिप्पणीकार ब्रायन टायलर कोहेनसँगको विस्तृत पोडकास्ट अन्तर्वार्तामा उनले राजनीतिक बहस ‘पहिले कहिल्यै नदेखिएको क्रूरतामा’ झरेको उल्लेख गर्दै अधिकांश अमेरिकी नागरिकले यस्तो व्यवहारलाई गम्भीर रूपमा चिन्ताजनक ठान्ने बताए । उनले कसैको नाम नलिई सामाजिक सञ्जाल र टेलिभिजनमा देखिने ‘जोकर शैलीको प्रस्तुति’ ले सार्वजनिक पदप्रति आवश्यक सम्मान हराउँदै गएको सङ्केत गरेको बताए ।
फेब्रुअरी ५ मा ट्रम्पको ट्रुथ सोसल खाताबाट सेयर गरिएको एक मिनेटको भिडियोमा सन् २०२० को चुनावबारे षड्यन्त्रपूर्ण दाबी दोहोर्याइएको थियो । भिडियोको अन्त्यतिर जो बाइडेन र ओबामा दम्पतीको अनुहार बाँदरको शरीरमा देखाइएको अंश समावेश थियो, जसले व्यापक आलोचना निम्त्यायो । ह्वाइट हाउसले प्रारम्भमा ‘नक्कली आक्रोश’ अस्वीकार गरे पनि पछि उक्त पोस्ट स्टाफको त्रुटिका कारण भएको भन्दै हटाइएको जनाएको थियो । ट्रम्पले भिडियोका दाबीहरूको पक्षमा उभिएको बताए पनि आपत्तिजनक दृश्य आफूले नदेखेको दाबी गरे ।
अन्तर्वार्ताका क्रममा ओबामाले यस्ता सन्देशले आगामी मध्यावधि चुनावमा रिपब्लिकनहरूलाई नै नोक्सान पुग्न सक्ने आकलन गरे र अन्ततः जवाफ अमेरिकी जनताबाटै आउने बताए । उनले ट्रम्प प्रशासनद्वारा मिनेसोटामा सञ्चालन गरिएको आप्रवासन दमन अभियानको पनि आलोचना गरे । आइसिई अधिकारीहरू समेत संलग्न हजारौँ सङ्घीय एजेन्टले अपराधीविरुद्ध लक्षित अपरेसन भन्दै व्यापक छापा र गिरफ्तारी सञ्चालन गरेका थिए । ओबामाले केही घटनामा भएको घातक गोलीकाण्डसहित एजेन्टहरूको व्यवहारलाई ‘अधिनायकवादी मुलुकहरूमा देखिने शैलीसँग मिल्दोजुल्दो’ भन्दै चिन्ता व्यक्त गरे । यसलाई ‘दुष्ट व्यवहार’ को संज्ञा दिए । मिनेसोटामा उक्त अभियानपछि ठूलो विरोध प्रदर्शन र देशव्यापी आक्रोश देखिएको छ । यसैबीच सांसदहरूबीच आप्रवासन कारबाहीको निरीक्षण गर्ने निकायलाई थप बजेट दिने विषयमा जारी विवादले गृह मन्त्रालय आंशिक सरकारी शटडाउनमा परेको छ । डेमोक्रेट सांसदहरूले आइसिईको कार्यशैलीमा ठोस परिवर्तन नगरेसम्म नयाँ कोष स्वीकृत नगर्ने अडान लिएका छन् ।
ओबामाले भने समुदायस्तरमा शान्तिपूर्ण र सङ्गठित प्रतिरोध देखिनु नै आशाको आधार भएको उल्लेख गर्दै नागरिकहरू सत्य र शान्तिपूर्ण विरोधमार्फत आफूहरूले विश्वास गर्ने मूल्यहरूको पक्षमा उभिएको बताए । उनले सामान्य नागरिकको यस्तो निरन्तर सक्रियताले लोकतन्त्रलाई सुदृढ बनाउने विश्वास व्यक्त गरे ।
सिड्नी, ४ फागुन (रासस–एएफपी) । अस्ट्रेलियाले त्रिपक्षीय एयुकेयुएस सुरक्षा साझेदारीअन्तर्गत आणविक–सञ्चालित पनडुब्बी निर्माण क्षमतातर्फ निर्णायक कदम चाल्दै नयाँ निर्माण सुविधाका लागि तीन अर्ब ९० करोड अस्ट्रेलियन डलर (करिब दुई अर्ब ८० करोड अमेरिकी डलर) को प्रारम्भिक लगानी घोषणा गरेको छ । उक्त रकमलाई सरकारले ‘डाउन पेमेन्ट’ का रूपमा व्याख्या गरेको छ । यसले दीर्घकालीन रक्षा रूपान्तरणको आधार तयार गर्ने बताइएको छ ।
बेलायत र संयुक्त राज्य अमेरिकासँगको एयुकेयुएस सम्झौताले अस्ट्रेलियालाई अमेरिकी अत्याधुनिक पनडुब्बीहरूको फ्लीट उपलब्ध गराउने मात्र नभई, उन्नत युद्ध प्रविधिको विकासमा सहकार्य गर्ने मार्ग पनि खोल्ने लक्ष्य राखेको छ । सन् २०३२ देखि पनडुब्बी आपूर्ति सुरु हुने योजना छ र यसलाई प्रशान्त क्षेत्रमा विशेषतः चीनको बढ्दो प्रभावलाई सन्तुलन गर्ने रणनीतिसँग जोडेर हेरिएको छ ।
सम्झौताले आगामी ३० वर्षमा अस्ट्रेलियालाई करिब दुई खर्ब ३५ अर्ब अमेरिकी डलरसम्म खर्च गर्न बाध्य पार्न सक्ने अनुमान गरिएको छ । यसअन्तर्गत भविष्यमा स्वदेशमै पनडुब्बी निर्माण गर्ने प्रविधि हस्तान्तरणसमेत समावेश छ । रक्षामन्त्री रिचर्ड मार्लेसले दक्षिणी सहर एडिलेड नजिकैको ओसबोर्नस्थित निर्माण स्थललाई परियोजनाको केन्द्रविन्दु हुने बताए । उनका अनुसार दीर्घकालमा सो सुविधामा करिब ३० अर्ब अस्ट्रेलियन डलर लगानी अपेक्षित छ ।
उनले ओसबोर्नमा भइरहेको पूर्वाधार विस्तारले अस्ट्रेलियालाई आउँदा दशकहरूमा आफ्नै आणविक–सञ्चालित पनडुब्बी निर्माण गर्ने सार्वभौम क्षमता दिलाउने मार्गमा अघि बढाएको उल्लेख गरे । प्रधानमन्त्री एन्थोनी अल्बानिजले पनडुब्बी निर्माण यार्डमा गरिएको लगानी परम्परागत रूपमा सशस्त्र, आणविक–सञ्चालित पनडुब्बी आपूर्ति सुनिश्चित गर्न निर्णायक हुने बताए । उनले एयुकेयुएस परियोजनाले रक्षा क्षमताको दीर्घकालीन सुरक्षा, रोजगारी सृजना र औद्योगिक समृद्धिमा टेवा पु¥याउने धारणा व्यक्त गरे ।
यसअघि सेप्टेम्बरमा क्यानबेराले पश्चिमी अस्ट्रेलियाको पर्थस्थित जहाज निर्माण तथा मर्मत परिसरलाई भविष्यका आणविक–सञ्चालित पनडुब्बीका लागि रूपान्तरण गर्न एक दशकमा आठ अर्ब अमेरिकी डलर खर्च गरिने जनाएको थियो । एयुकेयुएस कार्यक्रम सन् २०२१ मा फ्रान्ससँगको बहु–अर्ब डलरको डिजेल–सञ्चालित पनडुब्बी खरिद सम्झौता रद्द गरेपछि अघि बढाइएको थियो, जसले पेरिससँग कूटनीतिक तनाव उत्पन्न गरेको थियो ।
गत जुनमा वासिङ्टनले उक्त सम्झौता राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘अमेरिका फस्र्ट’ एजेन्डासँग मेल खान्छ कि होइन भनेर समीक्षा सुरु गरेपछि परियोजना अन्योलमा परेको थियो । तर डिसेम्बरमा पेन्टागनले समीक्षा प्रक्रिया हटाइएको र ट्रम्पले कार्यक्रम ‘पूर्ण रूपमा अगाडि बढाउन’ निर्देशन दिएको जनाएको थियो ।
हनोई, ४ फागुन (रासस–एएफपी) । भियतनामले स्याटेलाइट इन्टरनेट सेवा विस्तारको दिशामा महत्त्वपूर्ण कदम चाल्दै एलन मस्कको कम्पनी स्टारलिङ्कलाई देशभित्र औपचारिक रूपमा सञ्चालन अनुमति प्रदान गरेको छ । सरकारी रेडियो फ्रिक्वेन्सी नियामक निकायले कम्युनिस्ट शासन व्यवस्था भएको यस देशमा स्टारलिङ्कको स्थानीय एकाइ ‘स्टारलिङ्क सर्भिसेज भियतनाम कम्पनी’ लाई आवश्यक इजाजतपत्र जारी गरिएको जनाएको हो ।
रेडियो फ्रिक्वेन्सी व्यवस्थापन प्राधिकरणका अनुसार कम्पनीले प्रारम्भिक चरणमा चारवटा गेटवे स्टेशन स्थापना गर्न र अधिकतम छ लाख टर्मिनल उपकरण परिचालन गर्न सक्नेछ । प्राधिकरणले विद्यमान रेडियो सञ्चार सञ्जालहरूमा कुनै किसिमको हस्तक्षेप नहोस् भन्ने सुनिश्चित गर्न लाइसेन्स अनिवार्य गरिएको स्पष्ट पारेको छ ।
सरकारी निकायले स्टारलिङ्क प्रणालीले देशभर स्याटेलाइटमार्फत इन्टरनेट पहुँच विस्तार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ । विशेषतः ग्रामीण र पहाडी क्षेत्रहरूमा सेवा पहुँचको अन्तर घटाउने अपेक्षा गरिएको छ, जहाँ हालसम्म विश्वसनीय इन्टरनेट सेवा सीमित रहेको छ । स्टारलिङ्कले हजारौँ कम–पृथ्वी कक्षीय उपग्रहहरूको प्रयोगमार्फत दुर्गम र सेवा–विहीन क्षेत्रहरूमा उच्च गतिको इन्टरनेट उपलब्ध गराउँदै आएको छ । भियतनाम इन्टरनेट नेटवर्क सूचना केन्द्रका अनुसार झण्डै १० करोड जनसङ्ख्या रहेको भियतनाममा करिब ८० प्रतिशत नागरिक इन्टरनेट प्रयोगकर्ता भए पनि भौगोलिक असमानताका कारण पहुँचमा फरक देखिन्छ ।
मस्कद्वारा स्थापित मूल कम्पनी स्पेसएक्सले यसबारे एएफपीको प्रतिक्रिया अनुरोधमा तत्काल कुनै टिप्पणी गरेको छैन । अमेरिकास्थित स्टारलिङ्कको वेबसाइटमा भियतनाममा सेवा ‘चाँडै उपलब्ध हुने’ उल्लेख गरिएको छ । यस विकासक्रमलाई भियतनाम–अमेरिका व्यापार सम्बन्धको पृष्ठभूमिसँग पनि जोडेर हेरिएको छ । गत वर्ष वासिङ्टनले भियतनामी वस्तुमा २० प्रतिशत कर लगाएपछि दुवै देशबीच व्यापार सम्झौताका लागि वार्ता चलिरहेको छ । यसै महिनामा छैटौँ चरणको वार्ता सम्पन्न भए पनि अन्तिम सहमति हुन सकेको छैन ।
स्रोतहरूका अनुसार भियतनामका शीर्ष नेता टो लाम यसै साता राष्ट्रपति डोनाल्ड ट्रम्पको अध्यक्षतामा गठन गरिएको ‘शान्ति बोर्ड’ को बैठकमा सहभागी हुन संयुक्त राज्य अमेरिका जाने तयारीमा छन् । बोर्ड सुरुमा गाजा पट्टीको पुनर्निर्माणको निरीक्षणका लागि स्थापना गरिएको भए पनि यसको कार्यक्षेत्र विस्तार भएको देखिन्छ । पहिलो बैठक फेब्रुअरी १९ मा वासिङ्टनमा हुने तय भएको छ ।
लामले ट्रम्पसँग व्यापार वार्ताबारे छुट्टै छलफल गर्ने कि नगर्ने स्पष्ट भएको छैन र भियतनाम सरकारले भ्रमणको औपचारिक पुष्टि गरेको छैन । दक्षिणपूर्वी एसियाली उत्पादन केन्द्रका रूपमा उदाएको भियतनामले गत वर्ष आठ प्रतिशत आर्थिक वृद्धि हासिल गरेको थियो । यद्यपि अमेरिकी करले निर्यातमुखी वृद्धि मोडेलमा दबाब सिर्जना गरेको विश्लेषण गरिएको छ । हनोईले यस वर्ष दोहोरो अङ्कको आर्थिक वृद्धिको लक्ष्य लिएको छ र डिजिटल पूर्वाधार विस्तारलाई त्यस लक्ष्यसँग जोडिएको महत्त्वपूर्ण रणनीतिका रूपमा हेरिएको छ ।
अबुजा, ४ फागुन (रासस–सिन्ह्वा) । नाइजेरियाको दक्षिणपूर्वी क्षेत्रमा शनिबार साँझ यात्रुवाहक बस र मालवाहक ट्रकबीच भएको दुर्घटनामा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्। उक्त दुर्घटना एनुगु–पोर्ट हरकोर्ट सडकखण्डमा भएको जनाइएको छ। प्रहरीका अनुसार दुवै सवारी साधन विपरीत दिशाबाट आउँदै गर्दा एकआपसमा ठोक्किएपछि दुर्घटना भएको हो।
घटनामा करिब ३६ जना यात्रु संलग्न रहेको प्रारम्भिक विवरणमा उल्लेख गरिएको छ। घाइतेहरूलाई तत्काल उद्धार गरी नजिकैको अस्पतालमा उपचारका लागि पठाइएको छ। मृतकका शवलाई आवश्यक कानुनी प्रक्रिया पूरा गर्न सुरक्षित राखिएको प्रहरीले जनाएको छ। दुर्घटनापछि केही समय सडक अवरुद्ध भए पनि सुरक्षाकर्मीको सक्रियतामा यातायात पुनः सञ्चालनमा ल्याइएको छ।
नाइजेरियामा सडक दुर्घटनाका घटनाहरू प्रायः तीव्र गति, सवारीको खराब अवस्था र चालकको लापरबाहीका कारण हुने गरेको अधिकारीहरूले बताएका छन्।
नयाँदिल्ली, ४ फागुन (रासस\एएफपी) । संयुक्त राज्य अमेरिका र चीनसँगको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रतिस्पर्धामा दूरी घटाउने उद्देश्यसहित भारतले अभूतपूर्व परिमाणको ‘डाटा सिटी’ परियोजना अघि बढाएको छ । आन्ध्र प्रदेश सरकारले विशाखापट्टनमलाई केन्द्रमा राख्दै एआई पूर्वाधार, डाटा सेन्टर र उच्च क्षमतायुक्त डिजिटल इकोसिस्टम निर्माण गर्ने महत्त्वाकांक्षी योजना सार्वजनिक गरेको हो ।
आन्ध्र प्रदेशका सूचना प्रविधिमन्त्री नारा लोकेशले एआई क्रान्ति अपरिहार्य भइसकेको बताउँदै राष्ट्रले यसलाई सक्रिय रूपमा अँगाल्ने नीति लिएको उल्लेख गरे । उनका अनुसार राज्यले ७६० परियोजनासहित करिब एक खर्ब ७५ अर्ब डलर बराबरको लगानी प्रतिबद्धता जुटाइसकेको छ । यसमा संयुक्त राज्य अमेरिका बाहिरकै सबैभन्दा ठूलो एआई पूर्वाधार हब निर्माणका लागि गुगलको १५ अर्ब डलर लगानीसमेत समावेश छ ।
त्यस्तै, रिलायन्स इन्डस्ट्रिज, क्यानाडाको ब्रुकफिल्ड र अमेरिकी कम्पनी डिजिटल रियल्टीको संयुक्त उद्यमले सोही सहरमा ११ अर्ब डलरको एआई डाटा सेन्टर विकास गरिरहेको छ । करिब २० लाख जनसङ्ख्या रहेको विशाखापट्टनमलाई अब सिङ्गापुरसँग जोडिने पनडुब्बी इन्टरनेट केबलको अवतरण विन्दुका रूपमा विकास गरिँदैछ । लोकेशका अनुसार १०० किलोमिटर अर्धव्यासभित्र फैलिने ‘डाटा सिटी’ अवधारणा केवल डाटा कनेक्टिभिटीमा सीमित नभई सर्भर उत्पादन, कूलिङ प्रणाली, सहायक उद्योग र पूर्ण प्रविधि आपूर्ति शृङ्खलासम्म विस्तार हुनेछ ।
उनले आन्ध्र प्रदेशले सन् २०२५ मा भारतको प्रत्यक्ष वैदेशिक लगानीको झण्डै २५ प्रतिशत आकर्षित गरेको दाबी गरे । प्रमुख लगानीकर्तालाई प्रतिस्पर्धात्मक दरमा जग्गा उपलब्ध गराउने नीति अवलम्बन गरिएको छ । मुख्यमन्त्री एन चन्द्रबाबु नायडूका पुत्रसमेत रहेका ४३ वर्षीय स्ट्यानफोर्ड शिक्षित मन्त्री लोकेशले हैदराबादलाई ‘साइबराबाद’ बनाउने अनुभवबाट प्रेरित भएको बताउँछन् । प्रधानमन्त्री नरेन्द्र मोदीले आयोजना गर्ने एआई इम्प्याक्ट शिखर सम्मेलनअघि सार्वजनिक गरिएको यस योजनाले भारतलाई विश्व एआई शक्तिको तेस्रो स्थानमा स्थापित गर्ने दाबीलाई बल दिएको छ ।
स्ट्यानफोर्ड युनिभर्सिटीको अध्ययनअनुसार पेटेन्ट, निजी लगानी लगायत ४० भन्दा बढी सूचकमा भारत दक्षिण कोरिया र जापानभन्दा माथि रहेको छ । एक अर्बभन्दा बढी इन्टरनेट प्रयोगकर्तासहितको बजारले बहुराष्ट्रिय प्रविधि कम्पनीहरूलाई आकर्षित गरिरहेको छ । माइक्रोसफ्टले हालै १७ अर्ब ५० करोड डलर लगानी घोषणा गर्दै यसलाई एसियामा अहिलेसम्मकै सबैभन्दा ठूलो प्रतिबद्धता भनेको थियो ।
यद्यपि आलोचकहरूले भारत अझै उच्चस्तरीय कम्प्युटिङ क्षमता र व्यावसायिक एआई कार्यान्वयनमा पछाडि रहेको तर्क गर्छन् । डाटा सेन्टरहरूले पर्याप्त रोजगारी सिर्जना गर्ने विषयमा पनि प्रश्न उठाइएको छ । तर लोकेशले प्रत्येक औद्योगिक क्रान्तिले विस्थापनभन्दा बढी अवसर सिर्जना गरेको उल्लेख गर्दै एआई अँगालेका देशले नै फाइदा लिने धारणा व्यक्त गरे । ऊर्जा र पानीको उच्च माग सम्बोधन गर्न राज्यले दीर्घकालीन योजना बनाएको बताइएको छ ।
बङ्गालको खाडीमा बग्ने अतिरिक्त मनसुनी पानी उपयोग गरी विशाल डाटा सेन्टर चिस्याउने अवधारणा अघि सारिएको छ । साथै, कोभवाडामा छ वटा १.२ गिगावाट क्षमताका आणविक ऊर्जा संयन्त्रका लागि केन्द्रीय सरकारबाट सैद्धान्तिक स्वीकृति प्राप्त भइसकेको छ । छ गिगावाट डाटा सेन्टर क्षमताको लक्ष्यसहित आन्ध्र प्रदेशले तीव्र गति र ठूलो परिमाणमा कार्यान्वयन गर्ने दाबी गरेको छ । “हामी यात्रामा छौँ र देशले कहिल्यै नदेखेको गतिमा परियोजना कार्यान्वयन गर्नेछौँ”, लोकेशले भने ।
तेहरान, ४ फागुन (रासस–एएफपी) । इरान अमेरिकी नाकाबन्दी फुकुवाको बदलामा अत्यधिक प्रवर्धित युरेनियमको भण्डारमा सम्झौता गर्न तयार रहेको इरानी उपविदेशमन्त्रीले आइतबार प्रकाशित बीबीसीसँगको अन्तर्वार्तामा बताएका छन् । इरान र अमेरिकाबीच आगामी फेब्रुअरी ६ मा ओमानमा भएको आणविक वार्ता पुनः सुरु भएपछि उपविदेशमन्त्री माजिद तख्त–रभाञ्चीको उक्त भनाइ आएको हो । स्विट्जरल्यान्डले अर्को हप्ता जेनेभामा नयाँ चरणको वार्ता हुने शनिबार घोषणा गरेको छ ।
इरानले नयाँ चरणको वार्ताको आधिकारिक पुष्टि गरेको छैन, तर विदेशमन्त्री अब्बास अराघचीको नेतृत्वमा रहेको इरानको ओमानको प्रतिनिधिमण्डलमा रहेका तख्त–भान्चीले मङ्गलबार वार्ता हुने बताएका छन् । पश्चिमा देशहरूले इरानले आणविक हतियार प्राप्त गर्न खोजेको आरोप विशेषज्ञहरूले लगाउने गरेका छन् । संयुक्त राज्य अमेरिका र इरानको कट्टर शत्रु इजरायलको नेतृत्वमा केही समय पहिले इरानी आणविक भण्डारमा आक्रमण गरेका थिए । इरानले त्यस्ता सैन्य महत्वाकांक्षाहरू नराखेको तर नागरिक उद्देश्यका लागि यो प्रविधिमा आफ्नो अधिकारमा जोड दिने तेहरानको जिकिर रहने गरेको छ।
“इरान अमेरिकासँग सम्झौता गर्न तयार छ, तर त्यसका लागि अमेरिकाले इरानको अर्थतन्त्रलाई धराशायी बनाइरहेको प्रतिबन्ध हटाउनुपर्छ,” तख्त–रभान्चीले भने । उनले भने, “यदि हामीले उनीहरूको (अमेरिकी) पक्षको इमान्दारिता देख्यौँ भने म विश्वस्त छु कि हामी सम्झौताका लागि तयार हुनेछौँ ।” बीबीसीले भनेको छ, “तेहरानले ४०० किलोभन्दा बढी उच्च संवर्धित युरेनियम भण्डार देशबाहिर पठाउन सहमत हुने सम्भावनाको बारेमा पनि उहाँलाई प्रश्न गरिएको थियो र सम्झौताको सम्भावनालाई उसले अस्वीकार गरेन।”
रुसलगायत धेरै देशहरूले भण्डारको जिम्मेवारी लिने प्रस्ताव गरेका छन्, जुन प्रस्ताव इरानले अहिलेसम्म अस्वीकार गर्दै आएको छ। इरानको ४०० किलोभन्दा बढी ६० प्रतिशत संवर्धित युरेनियमको भण्डारको नियति धेरै अनिश्चितताले घेरेको छ, जुन गत जुन १० मा (इजरायल र अमेरिकाले इरानी आणविक स्थलहरूमा आक्रमण गर्नु अघि) आणविक निगरानी निरीक्षकहरूले अन्तिम पटक अनुगमनका क्रममा देखेका थिए।
अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकायका अनुसार इरानले युरेनियमलाई ६० प्रतिशतमा संवर्धन गरिरहेको छ, जुन सन् २०१५ को आणविक सम्झौताले अनुमति दिएको ३।६७ प्रतिशत र आणविक हतियार बनाउन आवश्यक ९० प्रतिशत आवश्यकताभन्दा बढी हो। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानमा शून्य प्रशोधन गर्न बारम्बार आह्वान गर्दै आउनुभएको छ।
’शून्य संवर्धनको मुद्दा अब कुनै मुद्दा होइन र जहाँसम्म इरानको कुरा छ, यो अब टेबलमा छैन,’ तख्त–रभान्चीले बीबीसीसँग भने । विदेश मन्त्रालयका अधिकारीलाई उद्धृत गर्दै फार्स न्यूज एजेन्सीले आइतबार लेखेको छ, “वार्तामा इरानको ऊर्जा क्षेत्रमा सम्भावित अमेरिकी लगानीका बारेमा पनि छलफल हुनेछ।”
रासस मुस्ताङ, ४ फागुनः आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यहाँ कायम भएका कतिपय मतदानस्थल तथा केन्द्रहरू सदरमुकाम जोमसोमदेखि एक सय किलोमिटरभन्दा बढी टाढा दूरीमा छन् । नेपाल–चीन उत्तरी कोरलानाकास्थित माथिल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा कायम गरिएका मतदानस्थलहरू एक सय किलोमिटरभन्दा बढी दूरीमा रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
लोमान्थाङ गाउँपालिकामा छवटा मतदानस्थल छन् । जहाँ दुई हजार ११ जना मतदाता छन् । यहाँका सबै मतदानस्थलमा पुग्न सदरमुकाम जोमसोमदेखि सवारीसाधनमार्फत करिब ६÷७ घण्टा समय लाग्ने जिल्ला निर्वाचन अधिकारी लोकेन्द्र ज्ञवालीले जानकारी दिनुभयो । यहाँ लोमान्थाङ–२ समजुङ मतदानस्थल सारेर सोही वडाको छोसेरस्थित दिव्य माध्यमिक विद्यालय मतदानस्थलमा गाभिएको जिल्ला निर्वाचन अधिकारी ज्ञवालीले बताउनुभयो । कोरला सडक मार्गसँग जोडिएका मतदानस्थल र शाखा सडकमा रहेका मतदानस्थल सवारीसाधनको सहज पहुँचमा छैनन् ।
त्यसैगरी लोघेकर दामोदरकुण्ड गाउँपालिकाका मतदान केन्द्रहरूको दूरी पनि एक सय किलोमिटर दूरीमा छन् । कोरला सडकअन्तर्गत घिलिङ, घमी, चराङलगायतका मतदानस्थलहरू राष्ट्रिय राजमार्गसँग जोडिएकाले यातायात आउजाउमा सहज भए पनि अन्य मतदानस्थलहरू टाढा रहेकाले त्यहाँ पुग्न जोमसोमदेखि घण्टौँ लाग्ने जनाइएको छ ।
मतगणनास्थलदेखि जोमसोमसम्म मतपेटिका ल्याई पु¥याउन राति १२ बजेसम्म समय लाग्ने बताइएको छ । माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका पाँच वडामा एक हजार ५४२ जना मतदाता छन् । त्यसैगरी, वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाअन्तर्गतका मतदान केन्द्र तथा मतदानस्थलहरूको दूरी जोमसोमबाट करिब ५० किलोमिटर छ ।
दुई हजार ८८५ मतदाता यस पालिकामा छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यहाँका पाँच स्थानीय तहमा ३९ मतदानस्थल कायम गरिएका छन् । यहाँ कुल ११ हजार ३२८ जना मतदाता कायम रहेको छ ।
काठमाडौँ, ४ फागुनः प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने भएको छ । मतदान हुने दिनभन्दा १५ दिन अघिदेखि मात्र निर्वाचन प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न सकिने व्यवस्था छ ।
सोही व्यवस्थाअनुसार, आजदेखि यही फागुन १८ गते राति १२ बजेसम्म राजनीतिक दल तथा उम्मेदवारहरूले निर्वाचन प्रचार–प्रसार गर्न सक्ने छन् । निर्वाचनको निष्ठालाई उच्च प्राथमिकतामा राखेर दल तथा उम्मेदवार एवं अन्य सरोकारवाला सबैले निर्वाचन आचारसंहिताको पूर्ण पालना गरी निर्वाचन प्रचार–प्रसार गर्न सक्ने जनाइएको छ । सोही व्यवस्थाभित्र रहेर राजनीतिक दलका उम्मेदवारले औपचारिक रुपमा मतदातासमक्ष मत माग्न पाउनेछन् ।
आयोगले आचारसंहिता कार्यान्वयन तथा अनुगमनमा विभिन्न संयन्त्र परिचालन गरिरहेको छ । राजनीतिक दल तथा उम्मेदवारहरूलाई आचारसंहिता उल्लङ्घन भएको बारे पत्र काटेर स्पष्टीकरण सोध्ने, कानुनी कारबाहीका लागि अघि सर्नुपर्ने अवस्था नआओस् भन्ने स्पष्ट पारेको छ । आचारसंहिता राजनीतिक दल एवं सरोकारवाला पक्षहरूसँग व्यापक विचार–विमर्श गरेर तर्जुमा गरिएको आयोगले स्मरण गराएको छ । आचारसंहिताको पूर्ण परिपालना गर्छौं भनेर सबै राजनीतिक दलहरूले प्रतिबद्धता जनाएका छन् ।
आचारसंहिता उल्लङ्घनका घटनामा आयोगले शून्य सहनशीलता नीति अवलम्बन गरेको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए । उल्लङ्घनकर्तालाई आयोगले स्पष्टीकरण सोध्ने र उल्लङ्घनको प्रमाण तथा अवस्था हेरेर सचेत, दण्डजरिवाना तथा उम्मेदवारी खारेजीसम्म हुने कानुनी व्यवस्था छ ।
यसैगरी, दल र उम्मेदवारले तोकिएको मापदण्डका आधारमा पत्रपत्रिकाका साथै ‘अनलाइन’ सञ्चारमाध्यममा पनि विज्ञापनवाट प्रचारप्रसार गर्न सक्नेछन् । निर्वाचन प्रचारप्रसारका लागि आमसभा, कोणसभा गर्दा मञ्चको तयारीका लागि लागेको खर्चको विवरण सम्बन्धित उम्मेदवारले आफैँ वा प्रतिनिधिमार्फत निर्वाचन कार्यालयमा पेस गर्नुपर्नेछ ।
निर्वाचनका समयमा कुनै पनि दल वा उम्मेदवारविरुद्ध तथा निर्वाचनलाई प्रतिकूल असर पार्ने उद्देश्यले सामाजिक सञ्जाल तथा अनलाइन माध्यमबाट एवं सङ्गठित रूपमा निहित राजनीतिक स्वार्थका लागि फैलाइने मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति दिन नपाइने आयोगले उल्लेख गरेको छ ।
काठमाडौँ, ४ फागुनः पेट्रोलियम पदार्थको मूल्य समायोजन भएको छ । नेपाल आयल निगमले आजदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टीतेलको मूल्य समायोजन गरेको हो । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर रु एक, डिजल र मट्टीतेलमा प्रतिलिटर रु तीनले मूल्य बढेको छ । नयाँ मूल्यअनुसार, काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर रु १५६ कायम भएको छ ।
त्यसैगरी सुर्खेत र दाङमा भने प्रतिलिटर रु १५५ तय गरिएको छ । चारआली, विराटनगर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य प्रतिलिटर १५३ रुपैयाँ ५० पैसा कायम भएको छ । यसैगरी, मट्टीतेलको मूल्य प्रतिलिटर रु १४२ कायम भएको निगमले जनाएको छ ।