काठमाडौँ, ४ फागुनः गत माघ महिनामा देशभरका मालपोत कार्यालयहरुले रु पाँच अर्ब नौ लाख २४ हजार राजस्व सङ्कलन गरेका छन् । गत पुसमा रु पाँच अर्ब १७ करोड ३२ लाख राजस्व सङ्कलन गरेकामा माघमा भने केही घटेको हो । देशभरको मालपोतको राजस्व सङ्कलनलगायतको विवरण राख्ने भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार घरजग्गाको कारोबार उल्लेख्य रुपमा बढ्न सकेको छैन ।
विभागका अनुसार गत माघ महिनामा कुल ५० हजार ८३७ लिखत पारित भएको छ । गत वर्षको तुलनामा यस वर्षको माघमा लिखत पारितको सङ्ख्यामा केही बढोत्तरी भएको छ । विभागका अनुसार गत माघमा सेवा करबापत रु ३१ करोड ५८ लाख ७२ हजार ४८८, रजिस्टे«सन दस्तुर रु दुई अर्ब ६८ करोड ६९ लाख ४२ हजार ५३२ सङ्कलन भएको थियो । त्यसैगरी पुँजीगत लाभकरबापत रु एक अर्ब ९६ करोड ५५ लाख १२ हजार २६७ सङ्कलन भएको विभागले जनाएको छ ।
काठमाडौँ, ४ फागुनः वरिष्ठ निर्देशक तुलसी घिमिरे निर्देशित चलचित्र ‘पहाड’ आगामी नयाँ वर्ष अर्थात् विसं २०८३ वैशाख १ गतेदेखि प्रदर्शन हुने भएको छ । युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक तथा आर्थिक समस्या चित्रण गरिएको चलचित्रको प्रदर्शन मिति वितरक तथा प्रदर्शकसँगको छलफलमा तय गरिएको निर्देशक घिमिरेले जानकारी दिए ।
उनले भने, “मानव बसोबासविहीन बनेको उच्च पहाडको कथा समेटिएको छ, चलचित्रले हाम्रो दायित्व र देशको आवश्यकतालाई चित्रण गर्छ । चलचित्र हेरिरहँदा दर्शकले आफ्नोपन र आफ्नो कथा पाउनु हुनेछ । नयाँदेखि पुराना पुस्तासम्मलाई समेटेर काम गर्न पाउँदा उत्साहित छु ।”
चलचित्र ‘बलिदान’मा मदनकृष्ण श्रेष्ठ, ‘चिनो’मा स्वर्गीय अभिनेता सुनिल थापासँग काम गरेका निर्देशक घिमिरेले नयाँ र पुरानो पुस्तासँगको सहकार्यले राम्रो नतिजा दिनेमा विश्वास व्यक्त गरे । उनले समाजको तीतो यथार्थलाई चलचित्रमार्फत दर्शकसमक्ष पु¥याउने बताए । ओजस्वी केसीले निर्माण गरेको उक्त चलचित्रलाई प्रसिद्ध छायाकार प्रमोद प्रधानले छायाङ्कन गरेका छन् ।
चलचित्रमा विपिन कार्की, सुनिल थापा, मदनकृष्ण श्रेष्ठ, रेनुनाथ योगी, अरुण क्षेत्री, रवीन्द्रसिंह बानियाँ, सलोना बज्राचार्यलगायतका कलाकारले अभिनय गरेका छन् । निर्देशक घिमिरेले कान्छी छोरी पञ्चमी घिमिरेलाई यसै चलचित्रमार्फत अभिनेत्रीका रूपमा दर्शकसामु ल्याउँदै छन् । चलचित्रको प्राविधिक समूहमा निर्देशक घिमिरेकी जेठी छोरी भावना घिमिरेले ‘प्रोडक्सन डिजाइनर’को जिम्मेवारी सम्हालेकी छिन् । चलचित्रमा रञ्जित गजमेरले सङ्गीत दिएका छन् ।
चितवन, ४ फागुनः पृथ्वी राजमार्गको नागढुङ्गा–मलेखु सडक स्तरोन्नती गरी कालोपत्र गर्ने काम तीव्र बनाइएको छ । हालसम्म ११ किलोमिटर कालोपत्र गरिएको छ । गत वर्ष आठ किलोमिटर कालोपत्र गरिएकामा यस वर्ष थप तीन किलोमिटर कालोपत्र गरिएको हो । थप ठाउँमा कालोपत्रका लागि तीव्र गतिमा काम भइरहेको छ ।
विसं २०७९ पुस १५ गते तीन वर्षमा सम्पन्न गर्नेगरी यो सडक ठेक्का लगाइएको थियो । समयमा काम नसकिएपछि छ महिना म्याद थप गरिएको छ । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–नागढुङ्गा खण्डलाई तीन चरण बनाएर बोलपत्र आह्वान गरिएको हो । यो तेस्रो चरणअन्तर्गत पर्दछ । यही पुस १५ मा म्याद सकिएपछि ६ महिनाका लागि म्याद थप गरिएको छ ।
नागढुङ्गा–मुग्लिन सडक आयोजनाअन्तर्गत पश्चिम खण्ड मुग्लिन–मलेखु सडकका इञ्जिनियर विजय दरैका अनुसार हालसम्म ४० प्रतिशत प्रगति भएको छ । सो सडकको कुरिनटार, फिस्लिङ, चरौदी र विशालटारका केही क्षेत्र कालोपत्र गरिसकिएको छ । धादिङको बाँदरेमा कालोपत्र भइरहेको छ । फिस्लिङ र जवाङ खोला क्षेत्रमा बेस र सबबेस राखेर कालोपत्रको अन्तिम तयारी गरिएको उनले जानकारी दिए ।
उनले भने, “हामीले अहिले कालोपत्रका लागि तीव्र तयारीमा काम गरिरहेका छौँ ।” अबको मौसम कालोपत्रका लागि उपयुक्त हुने भएकाले तयारी तीव्र गतिमा भएको हो । झण्डै २०० मजदुर, कर्मचारी, प्राविधिक कालोपत्रको काम जुटिरहेको उनले बताए । यसैगरी छ वटा पुलमध्ये हुग्दि र चरौदीको पुलको फाउण्डेसनपछिको काम अहिले भइरहेको छ । यस्तै कृष्णभिरको पहिरो रोकथामको काम पनि भइरहेको उनले बताए ।
कालोपत्रका लागि सामग्री अभाव हुने अवस्थामा पुगेको छ । अहिले धादिङको चरौदी र बेनिघाट एवं इच्छाकामनाबाट सामग्री लगिएको भए पनि लामो समयका लागि काम गर्न सामग्री अभाव हुने देखिएको उहाँको भनाइ छ । सामग्री पाएमा अब काम नरोकिने दराई बताउँछन् । यस्तै नाली, बेरियरलगायतका सडकका विभिन्न क्षेत्रका काम भइरहेका छन् ।
सो खण्डमा ३८ दशमलव ८६ किलोमिटर सडक पर्दछ । यस खण्डमा दुई दशमलव दुई किमी छ लेनको बन्नेछ, जुन मलेखु, बेनीघाट र मुग्लिन खण्डमा पर्दछ । सात दशमलव दुई किमी सडक चार लेन हुनेछ । चार लेन रमाइलोडाँडा, कुरिनटार, फिस्लिङ, चुम्लिङ, मझिमटार, चरौँदी र विशालटार क्षेत्रमा पर्ने जनाउँदै दरैले उकालो–ओरालो खण्डमा तीन लेनको ‘क्लाइम्बिङ’ मार्ग बनाइने बताए । उनका अनुसार ‘क्लाइम्बिङ’ मार्ग दुई दशमलव तीन किमीको हुनेछ भने बाँकी सडक दुई लेनको हुनेछ ।
शर्मा–जेडआइसिजीले रु चार अर्ब ८० करोड ५९ लाखमा यस खण्ड स्तरोन्नतिको ठेक्का लिएको हो । सडकका विभिन्न क्षेत्रमा कालोपत्रसँगै नाला बनाउने, पहिरो रोकथामका लागि संरचना निर्माण, भित्तो काट्ने, पर्खाल लगाउने, सडक सुरक्षालगायत काम बाँकी छ । यो सडक विश्व बैंकको सहयोगमा बनाउन लागिएको हो । काठमाडौँ प्रवेश गर्ने र बाहिरिने मुख्य नाकाका रूपमा यो खण्ड रहेको छ ।
काठमाडौं, ४ फागुन । नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ का लागि आफ्नो प्रतिबद्धतापत्र निर्वाचन आयोग समक्ष पेस गरेको छ । पार्टीको तर्फबाट उक्त प्रतिबद्धता पत्र आज निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसमक्ष बुझाइएको हो ।
आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०८२ अनुसार निर्वाचनमा सहभागी राजनीतिक दलहरूले आफ्नो घोषणापत्र वा प्रतिबद्धतापत्र फागुन ३ गतेभित्र अनिवार्य रूपमा बुझाइसक्नुपर्ने व्यवस्था गरेको छ । सोहीअनुरूप आयोगले यसअघि नै सबै दलहरूलाई निर्धारित समयभित्र आवश्यक कागजात पेस गर्न पत्राचार गरेको जनाएको छ ।
मलङ्गवा (सर्लाही), ३ फागुनः सर्लाहीको सदरमुकाम मलङ्गवा नगरपालिका–१० मा आज साँझ सव–इञ्जिनियरको गोली हानी हत्या गरिएको छ । पूर्वाधार विकास कार्यालय सर्लाहीमा कार्यरत सिरहा जिल्लाको सुखीपुर नगरपालिकाका सव–इञ्जिनियर प्रमोदकुमार यादवको अज्ञात व्यक्तिको गोली प्रहारबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए ।
अज्ञात व्यक्तिले छातिमा गोली प्रहार गर्दा गम्भीर घाइते भएका यादवलाई उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा लगिएको थियो । अस्पताल पु¥याए लगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक राईले बताए । मृतक यादव मलङ्गवा–१० स्थित दुर्गानन्द यादवको घरमा डेरा गरी बस्दै आएका थिए । घटनाबारे अनुसन्धान अघि बढाएको छ । घटनामा संलग्न व्यक्तिको खोजी कार्य तीव्र पारिएको प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए ।
काठमाडौँ, ३ फागुन । ‘प्रगतिशील लोकतन्त्र, उन्नतिशील राष्ट्र’ नारासहित प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा पार्टी अध्यक्षहरू सुदन किराती, दुर्गा सोब र सन्तोष परियारलगायतले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि संयुक्त रूपमा प्रतिबद्धतापत्र सार्वजनिक गरे । अध्यक्ष परिषद्का अध्यक्ष परियारले गत भदौ २३–२४ मा भएको ‘जेनजी विद्रोह’ ले नेपाली समाजलाई जरैदेखि हल्लाएको उल्लेख गर्दै उक्त आन्दोलनकै बलमा हुन लागेको चुनावमार्फत आफ्नो पार्टीले गर्ने कामको प्रतिबद्धतापत्र लिएर आएको बताए ।
अध्यक्ष परिषद्का अध्यक्ष सोब र किरातीले मुलुक चरम आर्थिक सङ्कट, राजनीतिक दल तथा नेतृत्वको तीव्र भ्रष्टीकरण र कुशासनका कारण गम्भीर परिस्थितिमा पुगेकाले चुनावमार्फत त्यसलाई सच्याउनुपर्ने बताए । पार्टीले परिवर्तनका विभिन्न आन्दोलनमा सहादत प्राप्त गर्ने ज्ञातअज्ञात सहिदको सपना पूरा गर्ने अठोट व्यक्त गर्दै पार्टीले निर्वाचनमा उत्साहपूर्ण सहभागिताका लागि आम जनसमुदायलाई अपिलसमेत गरेको छ । प्रतिनिधिसभा निर्वाचनलाई राजनीतिक रूपान्तरणको ऐतिहासिक अवसरका रूपमा चित्रण गर्दै आफूलाई अग्रगामी वैकल्पिक शक्तिका रूपमा स्थापित गर्ने लक्ष्य सो पार्टीले लिएको जनायो ।
पार्टीले ‘प्रगतिशील लोकतन्त्र’ को अवधारणा अघि सारेको जनाएको छ । यसको मूल आधार पूर्ण समावेशीता, सामाजिक न्याय र समता, जनसहभागितामूलक शासन, आर्थिक तथा सांस्कृतिक अधिकारको सुनिश्चितता, सुशासन, पारदर्शिता तथा अग्रगामी परिवर्तनमा आधारित हुने अध्यक्ष सोबले बताइन् ।
प्रलोपा नेतृत्वले पुराना दलहरू वर्तमान समस्याको समाधान र भविष्यका सम्भावनाको यथार्थ मूल्याङ्कन गर्न असफल भएको आरोप लगाउँदै आफूहरूसँग मुलुकलाई समृद्ध बनाउने स्पष्ट दृष्टिकोण, वैचारिक स्पष्टता, युवा तथा दूरदर्शी नेतृत्व, ठोस योजना र कार्यक्रम रहेको दाबी गरेको छ ।
काठमाडौँ, ३ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नागरिक करारपत्र सार्वजनिक गरेको छ । सो पार्टीले नागरिकको मतलाई लगानीको रूपमा परिभाषित गर्दै पाँच वर्षभित्र ठोस प्रतिफल दिने वाचासहित आज नागरिक करार अवधारणा सार्वजनिक गरेको हो । आफ्नो चुनावी अभियानका क्रममा ‘मतदातासँग करार गर्ने’ नयाँ अभ्यासको थालनी गर्दै रास्पापाले सो नागरिक करारपत्र देशभरका उम्मेदवारलाई वितरण गर्ने भएको छ ।
करारपत्रमा पार्टीका पाँच प्राथमिकता र लक्ष्य निर्धारण गरिएका छन् । पहिलो प्राथमिकतामा सदाचार र असल शासन अन्तरगत सरकारी सेवाको सर्वव्यापी डिजिटल डेलिभरीसहित ट्रान्सपरेन्सी इन्टरनेसनलको भ्रष्टाचार सूचकाङ्कमा भारी सुधारको लक्ष्य तोकिएको छ ।
दोस्रो प्राथमिकतामा मध्यमवर्गीय विस्तार छ । यस अन्तरगत औसत प्रतिव्यक्ति आय तीन हजार डलर पुर्याउने र कुल गार्हस्थ उत्पादनको आकार १०० अर्ब डलर पुर्याउने लक्ष्य निर्धारण गरिएको छ । जन्मदेखि मृत्युसम्म आवश्यकतामा आधारित एकीकृत सामाजिक सुरक्षाको ग्यारेन्टी पनि रास्वपाले गरेको छ । यसैगरी, आधुनिक बैङ्किङसहित वित्तीय सेवामा सबै नागरिकको पहुँचलगायत सख्त नियमनभित्रको सहकारी र लघुवित्त, मिटर ब्याज शोषणको अन्त्य गर्ने करारपत्रमा उल्लेख छ ।
नागरिक करारपत्रमा भनिएको छ, “वंशजको नागरिकताको निरन्तरता र सार्वभौम डायस्पोरा फण्डको कार्यान्वयन गरिनेछ, तपाईँहरूले हामीलाई एकल बहुमत दिलाएको अवस्थामा पनि करार बमोजिमका सर्त डेलिभरीसहित पाँच वर्षभित्र बुझाउन नसकी तपाईँ नागरिकलाई मर्का पर्न गएमा संविधान, मौजुदा कानुन र सामाजिक करारअनुसार हाम्रो ‘राजनीतिक नैतिकता र पद’बाट अर्को पटकको निर्वाचनमा सजाय दिई असूल उपर गरी लिनुहोला । यसमा हाम्रो पार्टीका सम्पूर्ण सदस्यको मन्जुरी छ ।”
रास्वपाले १२ लाख नयाँ रोजगारी सिर्जना गर्ने प्रतिबद्धतासमेत जनाएको छ । सूचना प्रविधि, निर्माण, पर्यटन, कृषि, खनिज, उद्योग र सेवा व्यापारमा ती रोजगारी सिर्जना गरिने करारपत्रमा उल्लेख छ । यस्तै, १५ हजार मेगावाट विद्युत् जडित क्षमता र ३० हजार किलोमिटर राष्ट्रिय राजमार्ग निर्माणको लक्ष्य छ । दश राष्ट्रिय महत्वका सिग्नेचर आयोजना सम्पन्न गर्ने करारपत्रमा उल्लेख छ । रास्वपाले विदेशमा बस्ने नेपालीलाई अनलाइन मताधिकार दिलाउने वाचा गरेको छ ।
काठमाडौँ, ३ फागुनः आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने अधिकांश राजनीतिक दल र प्रत्यक्षतर्फका उम्मेदवारले घोषणापत्र सार्वजनिक गरी निर्वाचन आयोगमा बुझाएका छन् । आयोगको निर्देशनबमोजिम विभिन्न दल र उम्मेदवारले घोषणापत्र बुझाउन थालेका र विस्तृत विवरण प्राप्त हुन बाँकी रहेको आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले जानकारी दिए ।
आजै मात्र राष्ट्रिय स्वतन्त्र पार्टी, उज्यालो पार्टी नेपाल र नेपाल मजदुर किसान पार्टीले चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् । नेपाली कांग्रेसले आज काठमाडौँमा घोषणापत्र सार्वजनिकको तयारी गरे पनि स्थगन गरी यही फागुन ६ गते मधेस प्रदेशबाट सार्वजनिक गर्ने तय गरेको सो पार्टीका प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले फागुन ७ गतेभित्र घोषणापत्र सार्वजनिकको तयारी गरेको सो पार्टीका निर्वाचन प्रचार संयोजक मीनबहादुर शाहीले जानकारी दिए । नेपाली कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चालगायत दलले केही दिन पहिला घोषणपत्र सार्वजनिक गरिसकेका छन् ।
यही फागुन २१ गते हुने निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरी यही फागुन ३ गतेभित्र पेस गर्न निर्वाचन आयोगले निर्देशन दिएको थियो । निर्वाचन आचारसंहिता, २०८२ को दफा ३७ मा निर्वाचनमा सहभागी हुने राजनीतिक दलले निर्वाचन आयोग र पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) तर्फका उम्मेदवारहरुले सम्बन्धित निर्वाचन कार्यालयमा पेस गर्न राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५७ बमोजिम निर्देशन दिइएको थियो ।
काठमाडौँ, ३ फागुनः उज्यालो नेपाल पार्टीले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आफ्नो निर्वाचन प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमार्फत पार्टीले ‘गफ होइन काम, भाषण होइन परिणाम’ नारासहित सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रमा राखेर विस्तृत योजना अघि बढाएको हो ।
कार्यक्रममा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पार्टीले संविधान, शासन प्रणाली र राज्य संरचनालाई नागरिकमैत्री बनाउने, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउने तथा अर्थतन्त्रलाई उत्पादनमुखी बनाउँदै रोजगारी विस्तार गर्ने स्पष्ट रोडम्याप प्रस्तुत गरेको जानकारी दिए । सुशासन र संरचनात्मक सुधारमा जोड
प्रतिबद्धतापत्रमा सार्वजनिक सेवा समयमै पाउने अधिकार सुनिश्चित गरिने, प्रशासनलाई डिजिटल, पारदर्शी र जवाफदेही बनाइने तथा सार्वजनिक पदाधिकारी र कर्मचारीको वार्षिक सम्पत्ति विवरण अनलाइनमार्फत सार्वजनिक गरिने उल्लेख छ । शासन खर्च घटाउने उद्देश्यले प्रतिनिधिसभा सदस्य सङ्ख्या २७५ बाट २०१ र प्रदेशसभा सदस्य सङ्ख्या ५५० बाट ३३० मा झार्ने प्रस्ताव गरिएको छ ।
सङ्घीय मन्त्रालय १५ वटामा सीमित गर्ने, प्रदेश मन्त्रालय ५ देखि ७ वटासम्म राख्ने तथा राज्यमन्त्री र सहायकमन्त्री नराख्ने व्यवस्था मिलाइने पार्टीको प्रतिबद्धतापत्रमा उल्लेख छ । प्रदेश सरकारको स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित मुख्यमन्त्रीको अवधारणा पनि अघि सारिएको छ । पार्टीले सरकार गठनपछि हरेक वर्ष प्रतिबद्धता कार्यान्वयनको ‘रिपोर्ट कार्ड’ सार्वजनिक गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
समृद्धिका लक्ष्य र आर्थिक रूपान्तरणको लक्ष्य
उज्यालो नेपाल पार्टीले सन् २०३० सम्म कूल गार्हस्थ उत्पादन (जिडिपी) ७० अर्ब अमेरिकी डलर र २०३५ सम्म १११ अर्ब डलर पु¥याउने लक्ष्य निर्धारण गरेको छ । सन् २०३५ सम्म नेपाललाई उच्च मध्यम आय भएको मुलुकमा रूपान्तरण गर्ने दाबी गरिएको छ । निर्यातलाई सन् २०३० मा १० अर्ब डलर र सन् २०३५ सम्म २० अर्ब डलरसम्म विस्तार गर्ने लक्ष्यसहित जलविद्युत्, जडीबुटी, सिमेन्ट, पर्यटन र आइटीलाई प्राथमिकता क्षेत्रका रूपमा अघि बढाइने प्रतिबद्धतापत्रमा उल्लेख छ ।
ऊर्जा क्षेत्रमा सन् २०३० सम्म १२ हजार मेगावाट र सन् २०३५ सम्म २५ हजार मेगावाट जलविद्युत् उत्पादन गर्ने तथा भारत, बङ्गलादेश र चीनतर्फ विद्युत् निर्यात विस्तार गर्ने योजना सार्वजनिक गरिएको छ । विद्युत निर्यातबाट वार्षिक पाँच अर्ब डलर राजस्व प्राप्त गर्ने लक्ष्य पार्टीले राखेको छ ।
रोजगारी र युवा केन्द्रित कार्यक्रम
पार्टीले सन् २०३० मा नौ लाख र सन् २०३५ मा १५ लाखसम्म प्रतिवर्ष रोजगारी वृद्धि गर्ने लक्ष्य प्रस्तुत गरेको छ । युवा स्व–रोजगारी अभियान, न्यून ब्याज ऋण र पाँच लाख रुपैयाँसम्मको स्टार्टअप अनुदानमार्फत युवालाई उद्यमशील बनाइने प्रतिबद्धतापत्रमा उल्लेख छ । सातै प्रदेशमा १६–३५ वर्षका युवाका लागि युवा रोजगार मेला आयोजना गरी निःशुल्क सीप सिकाउने व्यवस्था मिलाइने छ ।
पार्टीको प्रतिबद्धतापत्र अनुसार प्रत्येक घरमा रोजगारी अभियान ः पाँच वर्षमा १० लाख युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्न उद्यमशीलता कोषबाट रु १० लाखसम्म निब्र्याजी ऋणसहित मेन्टरसीपको व्यवस्था गरिनेछ । युवा नेतृत्व तालिमः १८–३५ वर्ष उमेरका युवालाई समानुपातिक आधारमा १०१ सदस्यीय युवा संसद् गठन गरी नेतृत्व विकासका लागि कार्यक्रम सञ्चालन गरिनेछ ।
कृषि, पर्यटन र पूर्वाधार
कृषिमा डिजिटल आइडीमार्फत अनुदान सिधँै किसानको खातामा पठाउने, ५० प्रतिशत कृषि क्षेत्रलाई जैविक बनाउने तथा लागत मूल्यमा २० प्रतिशत थप गरी खरिद गर्ने व्यवस्था गरिने प्रतिबद्धतापत्रमा उल्लेख छ । पर्यटनतर्फ सन् २०३५ सम्म वार्षिक ५० लाख विदेशी पर्यटक भित्रयाउने लक्ष्य राखिएको छ । धार्मिक, आध्यात्मिक, स्वास्थ्य, शिक्षा तथा साहसिक पर्यटनलाई प्राथमिकता दिँदै नेपाललाई अन्तरराष्ट्रिय पर्यटन हबका रूपमा विकास गरिने प्रतिबद्धता छ ।
पूर्वाधारतर्फ आगामी पाँच वर्षमा आठ हजार किलोमिटर कालोपत्र सडक, ४ हजार किलोमिटर ग्राभेल र ३ हजार किलोमिटर नयाँ ट्रयाक खोल्ने योजना प्रतिबद्धतापत्रमा उल्लेख गरिएको छ । रेलमार्ग, जलमार्ग र स्मार्ट सिटी अवधारणालाई प्राथमिकतामा राखिएको छ ।
स्वास्थ्य, शिक्षा र सामाजिक सुरक्षा
हरेक नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने, प्रत्येक वडामा मानसिक स्वास्थ्य परामर्श सेवा सञ्चालन गर्ने तथा प्रत्येक स्थानीय तहमा कम्तीमा एक विशेषज्ञ चिकित्सक राख्ने योजना सार्वजनिक गरिएको छ । विश्वविद्यालय तहसम्म निःशुल्क शिक्षा, नवजात शिशुको नाममा रु १५ हजार बचत खाता र डिजिटल कक्षासहित ‘स्मार्ट स्कूल’ अभियान सञ्चालन गरिने प्रतिबद्धतापत्रमा उल्लेख छ ।
सामाजिक सुरक्षातर्फ भूमिहीनलाई जग्गा वितरण, सस्तो आवास कार्यक्रम तथा आकस्मिक मृत्युका घटनामा परिवार संरक्षण प्याकेज लागू गरिने पार्टीले जनाएको छ ।
भ्रष्टाचारविरुद्ध कडा नीति
भ्रष्टाचारमा दोषी ठहर भएका व्यक्तिलाई आजीवन सार्वजनिक पदमा प्रतिबन्ध लगाउने र सम्पत्ति राष्ट्रियकरण गर्ने नीति अघि सारिएको छ । ‘उज्यालो हटलाइन’ स्थापना गरी सूचनादातालाई अदालतबाट ठहर भएको रकमको पाँच प्रतिशत पुरस्कार दिने व्यवस्था मिलाइने प्रतिबद्धतापत्रमा उल्लेख छ ।
जवाफदेहिताको प्रतिबद्धता
पार्टीले आफ्नो प्रतिबद्धतापत्र विज्ञ र सरोकारवालासँगको छलफल तथा अध्ययनका आधारमा तयार गरिएको जनाएको छ । नेपालमा विगतमा लोडसेडिङ अन्त्य गरिएको उदाहरण दिँदै अन्य क्षेत्रमा योजनाबद्ध ढङ्गले सुधार सम्भव रहेको दाबी गरिएको छ । सरकार गठन भए हरेक वर्ष प्रगति विवरण सार्वजनिक गर्दै जनतामाझ प्रत्यक्ष मूल्याङ्कनका लागि प्रस्तुत गरिने प्रतिबद्धतापत्रमा उल्लेख छ ।
मन्थली (रामेछाप), ३ फागुन । मङ्गलवार रामेछापमा भएको बस दुर्घटनामा परी बेपत्ता भएकाहरूको तीव्र रूपमा खोजी भइरहेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको गोताकोर टोलीले बस दुर्घटनास्थल तामाकोशी र सुनकोशी नदीका विभिन्न क्षेत्रमा खोजी तीव्र बनाइएको हो ।
मङ्गलबार काठमाडौँबाट ओखलढुङ्गाका लागि छुटेको बा प्र ००१– ०५ख ९९७५ नं को अरनिको यातायात सेवा प्रालिको बस मन्थली नगरपालिका–६, स्थित त्रिवेणी पुल नजिकको सडकबाट करिब १०० मिटर तल तामाकोशी नदीमा खस्दा १२ जनाको घटनास्थलै मृत्यु भएको थियो भने आठ जना घाइते र तीन जना बेपत्ता भएका थिए ।
बेपत्ता हुनेमा रामेछाप जिल्ला मन्थली नगरपालिका–२ पिप्लेका ९ वर्षीय वक्रिचन तामाङ, लिखु तामाकोसी गाउँपालिका–७ तिल्पुङका वर्ष ८ का रोनिश तामाङ र उमाकुण्ड गाउँपालिका–६ गुप्तेश्वरका वर्ष २४ का विशाल सुनुवार रहेका छन् । बेपत्ता भएकाहरूको खोजी कार्य तीव्र रूपमा भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख भोला भट्टले जानकारी दिए ।
काठमाडौँ, ३ फागुन । राष्ट्रपति रामचन्द्र पौडेलले महाशिवरात्रिको अवसरमा आज पशुपतिनाथको दर्शन एवं पूजाआराधना गरेका छन् । महाशिवरात्रि २०८२ का अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला सबिता पौडेलसहित आज अपराह्न पशुपतिनाथको दर्शनसहित पूजाआराधना गरेका हुन् । उनलाई पशुपतिनाथ मन्दिरका मूल भट्टले चन्दन र फूलप्रसाद प्रदान गरेका थिए ।
मन्दिर परिसरमा राष्ट्रपति पौडेललाई पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हासहितका मन्त्रीहरू, मन्त्रालयका सचिव तथा कोषका पदाधिकारी, स्थानीय निकायका प्रतिनिधि, गुठी संस्थानका उच्चपदस्थ अधिकारीलगायतका कर्मचारीले स्वागत गरेका थिए । महाशिवरात्रिका अवसरमा हरेक वर्ष राष्ट्र प्रमुखद्वारा पशुपतिनाथको पूजाआराधना गर्ने परम्परा छ ।
काठमाडौँ, ३ फागुनः महाशिवरात्रिका अवसरमा प्रधानमन्त्री सुशीला कार्कीले पशुपतिनाथको दर्शन गरी पूजाआराधना गर्नुभएको छ । त्यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हा र काठमाडौँ महानगरपालिकाका कार्यबाहक नगर प्रमुख सुनिता डङ्गोलले पनि शिवरात्रि पर्वको दिन आज पशुपतिनाथको दर्शन तथा पूजाआराधना गरेका थिए ।
काठमाडौँ, ३ फागुनः महाशिवरात्रि पर्वका अवसरमा पशुपतिनाथसहित देशभरका शिवालयमा बिहानैदेखि देवाधिदेव महादेवको पूजा आराधना एवं दर्शनका लागि भक्तजनको लामो लाम लागेको छ । परब्रह्मले फाल्गुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय वचन रहेको छ । यही वचनका आधारमा आज बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको लाम लागेको हो ।
पशुपतिनाथका चारवटै ढोका आज बिहान दुई बजेदेखि नै खुला गरिएको थियो । पशुपतिनाथका चारै ढोका खुलेदेखि नै भक्तजनले निरन्तर रुपमा सहजै दर्शन गरिरहेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव एवं प्रवक्ता सुभाषचन्द्र जोशीले राससलाई जानकारी दिए । पशुपति क्षेत्रमा अहिले लाखौँ भक्तजन पूजा, आराधना एवं दर्शनका लागि लामबद्ध भएका थिए । भक्तजनलाई यस वर्ष तीन वटा लाइनको व्यवस्था गरिएको कोषले जनाएको छ ।
मित्रपार्क–गौरीघाट, उमाकुण्ड–दक्षिणामूर्ति, हुँदै रुद्रगाडेश्वर उत्तरढोकाबाट एक लाइन, बत्तिसपुतली–गौशाला, त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल–तिलगङ्गा, पिङ्गलास्थान–सुमार्गीभवन अगाडिबाट चार शिवालय–पञ्चदेवल हुँदै दक्षिणढोका हुँदै दक्षिणढोकाबाट दुई लाइन गरी बाहिरी रुपमा पशुपति मूल मन्दिर परिसर प्रवेश गर्न सक्ने व्यवस्था गरिएको जनाएको छ ।
अर्को लाइन पश्चिममा वनकाली ओरालो हुँदै जुत्ता चप्पल कक्षबाट मूल मन्दिर प्रवेश गर्न सकिने गरी व्यवस्थापन गरिएको उनले जानकारी दिए । तिलगङ्गा राममन्दिरतर्फ समेत एक लाइन व्यवस्था गरी भक्तजनलाई सहज व्यवस्था मिलाइएको छ । मूल मन्दिर परिसरभित्र प्रवेश गरिसकेपछि भने उत्तर र दक्षिणबाट तीन÷तीन र पश्चिमबाट चार वटा भित्री लाइन व्यवस्थापन गरिएको छ ।
वैदिक सनातन हिन्दु धर्मावलम्बीहरु आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराण लगायतका ग्रन्थमा उल्लेखित छ ।
फाल्गुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ । माघ महिनामा महादेवको रुद्रत्व अर्थात् जगत्लाई रुवाउने वा संहार गर्ने तत्वले गर्दा पत्रविहीन भई जीर्ण भइरहेका रूख, बिरुवा तथा झारहरू उनै महादेवको शिवत्व (जगत्को कल्याण गर्ने तत्व)ले गर्दा फागुनमा पलाउन थाल्ने हुनाले शिवरात्रि मनाउने गरिएको हो भन्ने भनाइ छ ।
व्रतमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन आज भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ । आजको दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठ–मन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गरिन्छ ।
राष्ट्रिय सांस्कृतिक पर्वका रूपमा रहेको यो दिन आज पशुपतिनाथमा रातको चार प्रहरमा चार प्रकारका पूजाका अतिरिक्त महादीप, अखण्डदीप, लक्ष्यबत्ती तथा दीपोत्सवका साथै लाख बेलपत्र अर्पण गरिन्छ । कैलाशकुट र किराँतेश्वरका सङ्गीत आश्रममा शास्त्रीय नाचगान गरिन्छ । भगवान् श्री महादेवको दर्शन गर्न र शिवरात्रि पर्वको मेला भर्न आज देशभरका विभिन्न भागलगायत छिमेकी राष्ट्र भारतका तीर्थयात्रीको पशुपतिनाथ मन्दिरमा घुइँचो लाग्छ ।
दर्शन गर्न आउने दर्शनार्थीको सवारी पार्किङका लागि सिफल, तिलगङ्गा, गुह्येश्वरी पारि, कोषको कार्यालय, वनकाली लगायत स्थानमा व्यवस्था मिलाइएको छ । आज पशुपतिनाथसँगै उपत्यकाका गोकर्णेश्र, नागेश्वर, तारकेश्वर नगरपालिका वडा नं। ४ मा रहेको बाणेश्वर, भक्तपुरको डोलेश्वर लगायत शिव मन्दिरमा पनि भक्तजनको भीड लागेको छ । यसैगरी राजधानी बाहिरका शिव मन्दिरमा पनि धूमधामका साथ पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको घुइँचो लागेको जनाइएको छ ।
आइतबार दिउँसो १६ः५२ बजेसम्म त्रयोदशी तिथि छ । त्यसपछि चतुर्दशी प्रारम्भ हुन्छ । चतुर्दशी तिथि सोमबार दिउँसो १७ : ३५ बजेसम्म छ । मध्यरातमा चतुर्दशी तिथि आइतबार परेकाले यसै दिन महाशिवरात्रि पर्व मनाउने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । सरसफाइ महाशिवरात्रि पर्वका अवसरमा क्रिएसन नेपालले सफा गरौं अभियानअन्तर्गत पशुपतिनाथ क्षेत्रमा पाँचसय भन्दा बढी सफाइकर्मी परिचालन गरेको छ ।
दि कोकालाकोला फाउण्डेसनको सहयोगमा क्लाइमेट स्मार्ट सिटिज परियोजनाअन्तर्गत पशुपतिक्षेत्रमा सरसफाई अभियान सञ्चालन गरिएको क्रिएसनका कार्यक्रम निर्देशक सुजाता कोइरालाले बताइन् । महाशिवरात्रिको अवसरमा पशुपतिनाथ क्षेत्रभित्र दर्शनार्थीहरुको लाखौंको संख्यामा घुईंचो लाग्ने भएको हुँदा सरसफाइ अभियान सञ्चालन गरिएका क्रिएसन नेपालका महासचिव रोशना सुवेदीले बताइन् । स्वयंसेवकहरुले लगातार तिन दिनसम्म पशुपतिक्षेत्रमा सरसफाइ गतिविधि सञ्चालन गरिने कम्पनीले जनाएको छ ।
काठमाडौँ, ३ फागुनः आइसिसी टी–२० विश्वकपअन्तर्गत आज भएको तेस्रो खेलमा वेस्ट इन्डिजसँग नौ विकेटले पराजित हुँदै नेपाल समूह चरणबाट बाहिरिएको छ । लगातार तीन पटक पराजित नेपाल समूह चरणबाट बाहिरिएको हो ।
यसअघि इटाली र इङल्यान्डसँग भएका खेलमा नेपाल पराजित भएको थियो । भारतको मुम्बईस्थित वानखेडे रङ्गशालामा आज भएको खेलमा नेपालले दिएको १३४ रनको लक्ष्य वेस्ट इन्डिजले १५.२ ओभरमा एक विकेटको क्षतिमा पूरा गरेको हो ।
काठमाडौँ, ३ फागुन : हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका केही स्थानमा मध्याह्नसम्म कुहिरो लाग्नेछ ।
कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भागमा साधरणतया बादल लाग्नेछ तथा बाँकी प्रदेशको हिमाली र पहाडी भागमा आंशिक बादल लाग्नेछ र तराई भागमा मौसम सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भागका केही स्थान तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभाग र बाँकी प्रदेशका उच्च पहाडी र हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
त्यसैगरी, आज राती तराई भूभागका केही स्थानमा तुँवालो लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भागमा आंशिक बादल लाग्नेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भूभागको एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
काठमाडौँ, ३ फागुन । आराध्यदेव भगवान् पशुपतिनाथमा अहिले दर्शनार्थीसहित साधुसन्तहरूको चहलपहल बढेको छ । मन्दिर परिसरमा बाबाहरूले धुनी बालेर बस्न सुरु गरेका छन् भने पशुपतिनाथको दर्शनका लागि आएका भक्तजनको उल्लेख्य सहभागिताले यहाँको रौनकता बढाएको छ ।
महाशिवरात्रिको पूर्वसन्ध्यामा शनिबार पशुपतिनाथ मन्दिरलगायत आसपासका क्षेत्रमा देशविदेशबाट आउने साधुसन्त तथा भक्तजनको आगमनसँगै मन्दिर आसपास क्षेत्र यतिबेला निकै व्यस्त देखिएको थियो । यस वर्षको महाशिवरात्रिका दिन कम्तीमा पनि आठ लाख दर्शनार्थीले पशुपतिनाथको दर्शन गर्ने अनुमान गरिएको र करिब चार हजार साधुसन्तको उपस्थिति रहने अपेक्षा गरिएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक एवं प्रवक्ता सुभाष जोशीले राससलाई जानकारी दिए ।
उनले भने, “दर्शनार्थीको अत्यधिक भीड व्यवस्थापन गर्न हामीले चारवटा छुट्टाछुट्टै लाइनमार्फत दर्शनको व्यवस्था मिलाएका छौँ । सुरक्षा, स्वास्थ्य, सरसफाइ र ट्राफिक व्यवस्थापनमा विशेष ध्यान दिइएको छ ।” दर्शनार्थीको सहजताका लागि आज बिहान ४ः०० बजेदेखि पशुपतिनाथका चारवटै ढोका खोलिने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । महाशिवरात्रिको दिन पशुपति क्षेत्र आसपास सवारी आवागमनमा विशेष व्यवस्थापन गरिनेछ ।
कोषका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र ट्राफिक प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ । भीड नियन्त्रण, हराएका व्यक्तिको खोजतलास, आपत्कालीन उद्धार तथा शङ्कास्पद गतिविधि निगरानीका लागि सिसीटिभी क्यामेरा तथा मोबाइल गस्ती बढाइएको जनाइएको छ । पशुपति क्षेत्रमा प्रवेश गर्ने मुख्य नाका तथा मन्दिर परिसर वरिपरि पैदलमार्गको व्यवस्था गरिनुका साथै आपत्कालीन सवारीका लागि छुट्टै मार्ग निर्धारण गरिएको कोषले जनाएको छ ।
दर्शनलाई सहज बनाउन चारवटा लाइन व्यवस्थापनका साथै ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा विशिष्ट अतिथिका लागि छुट्टै व्यवस्था मिलाइएको प्रवक्ता जोशीले बताउनुभयो । उहाँका अनुसार खानेपानी, शौचालय, विश्रामस्थल र प्राथमिक उपचार केन्द्रहरूको सङ्ख्या बढाइएको छ । स्वास्थ्य सेवा उपलब्ध गराउन विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थासँग समन्वय गरिएको छ ।
कोषले स्वयंसेवक परिचालन गरी दर्शनार्थीलाई आवश्यक सूचना, सहजीकरण र मार्गनिर्देशन गर्ने व्यवस्था गरेको छ । माइकिङ प्रणालीमार्फत भीडको अवस्था र सुरक्षासम्बन्धी सूचना निरन्तर प्रसारण गरिन थालिएको छ । उता काठमाडौँ जिल्ला प्रहरी परिसरले महाशिवरात्रि पर्वलाई लक्षित गर्दै सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाएको जनाएको छ । दर्शनार्थी तथा उनीहरूले साथमा ल्याउने सरसामानको सुरक्षाका लागि १३ बुँदे अनुरोध जारी गरिएको जिल्ला प्रहरी परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।
पशुपति क्षेत्र विकास कोषले यस वर्षको पर्वलाई व्यवस्थित, सुरक्षित र श्रद्धालुमैत्री बनाउन बहुआयामिक योजना कार्यान्वयनमा ल्याएको जनाएको छ । महाशिवरात्रिका अवसरमा नेपाल तथा भारतलगायत विभिन्न देशबाट आएका साधुसन्तका लागि अस्थायी आवास, भोजन तथा सुरक्षा व्यवस्था मिलाइएको छ ।
उनीहरूलाई तोकिएको स्थानमा बसोबासको व्यवस्था गरी मन्दिर परिसरको अनुशासन कायम राखिएको छ । कोषले श्रद्धालुहरूलाई धैर्यतापूर्वक लाइनमा बसी दर्शन गर्न, सरसफाइमा सहयोग गर्न तथा सुरक्षा निकायको निर्देशन पालना गर्न आग्रह गरेको छ । महाशिवरात्रि पर्वलाई शान्त, सभ्य र व्यवस्थित रूपमा सम्पन्न गर्न सबै पक्षसँग सहकार्य गरिएको जनाइएको छ ।
काठमाडौँ, ३ फागुनः प्रतिनिधिसभा निर्वाचनका लागि आजदेखि देशभरि मतदाता शिक्षा कार्यक्रम सुरुहुँदै छ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका, २०७८ बमोजिम आजदेखि मतदाता शिक्षा विशेष कार्यक्रम स्वीकृत भएको छ । सोही कार्यक्रमअनुसार सो कार्यक्रम अगाडि बढाउन लागिएको हो ।
आम नागरिकलाई मताधिकारको महत्व र मतदानको प्रक्रियाका विषयमा जानकारी दिने उद्देश्यले आयोगबाट स्वीकृत विशेष कार्यक्रमअनुसार मतदाता शिक्षा कार्यक्रम अगाडि बढ्न लागेको आयोगले जनाएको छ । आजदेखि सुरु भएको सो कार्यक्रम यही फागुन १७ गतेसम्म देशभरका ७५३ स्थानीय तहका छ हजार ७४३ वडामा सञ्चालन हुनेछ । त्यसका लागि एक–एक जना मतदाता शिक्षा स्वयंसेवक परिचालन हुनेछन् ।
आयोगका अनुसार त्यसरी खटिएका स्वयंसेवकले आम मतदाताको बस्ती र घरदैलोमा पुगेर नमूना मतपत्रको माध्यमबाट निर्वाचनको महत्व र मतदान प्रक्रियाका बारेमा मतदातालाई जानकारी गराउनेछन् । प्रभावकारी मतदाता शिक्षाले निर्वाचनमा मतदाताको सहभागिता बढाउनेदेखि बदर मतको अनुपात न्यूनीकरणमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।
आयोगले सो कार्यमा सहयोग, समन्वय र सहजीकरणका लागि सातै प्रदेश सरकार, सबै स्थानीय तह, निर्वाचनको प्रतिस्पर्धामा रहेका राजनीतिक दल, उम्मेदवार तथा सञ्चार जगत्लगायत सम्पूर्ण सरोकारवालामा आयोगले अनुरोध गरेको नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
काठमाडौँ, ३ फागुन । नेपाली कांग्रेसको आज सार्वजनिक गर्ने भनिएको प्रतिज्ञापत्र बुधबारका लागि सरेको छ । संशोधित कार्यक्रमअनुसार अब जनकपुरमा प्रतिज्ञापत्र सार्वजनिक हुने छ । कांग्रेस प्रवक्ता देवराज चालिसेले आइतबारका लागि पार्टी कार्यालय बिपीनगर सानेपामा तय गरेको प्रतिज्ञापत्र सार्वजनिक कार्यक्रम स्थगित भएको जानकारी दिए ।
कांग्रेसले ६ गते मधेस प्रदेशको जनकपुरधामबाट चुनावी सभाको सुरूआत गर्दैछ । सोही सभामा प्रतिज्ञापत्र सार्वजनिक गरिने उनले बताए । निर्वाचन आयोगले दलहरूलाई फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि घोषणापत्र पेस गर्न आइतबारसम्मको समय दिइसकेको छ । कांग्रेस प्रवक्ता चालिसेले निर्वाचन आयोगमा आइतबारै प्रतिज्ञापत्र बुझाइने तर सार्वजनिक कार्यक्रम भने बुधबार हुने बताए ।
काठमाडौँ, ३ फागुनः नेपाली सेनाले आफ्नो स्थापनाको २६३ औँ वार्षिकोत्सव आज मुलुकभर विविध कार्यक्रम आयोजना गरी मनाउँदै छ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक टुँडिखेलमा आज महाशिवरात्रि बढाइँ तथा सेना दिवस विशेष समारोहको आयोजना गरिनेछ । उनी नेपाली सेनाको परमाधिपति छन् ।
सेनाले महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । त्यस अवसरमा सैनिक मञ्चमा शिवरात्रि बढाइँसँगै परेड, तोप बढाइँ, कवाजलगायत सैनिक कला र विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत हुनेछ । जङ्गीअङ्डामातहत पृतना, बाहिनी, गण र गुल्म तथा कूटनीतिक नियोग र शान्ति मिसनमा पनि विभिन्न कार्यक्रम गरी सेना दिवस मनाइने सैनिक प्रवक्ता राजाराम बस्नेतले जानकारी दिए । सेनाको इतिहास र अन्तरराष्ट्रिय छवि
नेपालको स्वतन्त्रता, भौगोलिक अखण्डता तथा सार्वभौमसत्ताको रक्षाका लागि इतिहासका विभिन्न कालखण्डमा नेपाली सेनाले उदाहरणीय र कीर्तिमानी काम गर्दै आएको छ । वर्तमान सेनाको साङ्ठनिक स्वरूपको १८१९ सालदेखि सुरुआत भएको हो । देशभक्ति, समर्पण र आमनेपालीको हितलाई केन्द्रविन्दुमा राखी सम्पादन गरेका गौरवशाली कार्यबाटै नागरिकका बीचमा सेनाले आस्था र विश्वासको अटल छाप छाड्न सफल छ ।
सैनिक वीरपुर्खाहरूको अदम्य साहस, वीरता र बलिदानका आधारमा नेपाल राष्ट्र स्थापना भएको हो । राष्ट्रिय एकता कायम राख्नु सेनाको संवैधानिक जिम्मेवारी हो । सेनामा अनुशासन, ‘चेनअफ कमान्ड’ र राजनीति निरपेक्ष चरित्र र एकताको भावना उच्च संस्कार रहिआएको छ ।
नेपाली सेना मुलुकमा मात्र होइन, अन्तरराष्ट्रिय क्षेत्रमा भरपर्दो र विश्वसनीय फौजको छवि बनाउन सफल भएको छ । सैनिक सङ्गठनमा समावेशिता बढ्दै गएको छ । पछिल्लो समय महिलाको सहभागिता पनि उल्लेखनीय रूपमा वृद्धि हुँदै गएको छ ।
संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापनार्थ नेपाली सेनाले प्रदान गरेको अतुलनीय योगदानको राष्ट्रिय र अन्तरराष्ट्रिय क्षेत्रबाट मुक्तकण्ठले प्रशंसा हुँदै आएको छ । संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनामा नेपाली सेनाको सहभागिता सन् १९५८ देखि आरम्भ भएको थियो । हालसम्म ४४ शान्ति मिसनमा रही एक लाख ६२ हजार ४९६ नेपाली शान्ति सैनिकबाट योगदान भइसकेको छ ।
विश्वका कतिपय द्वन्द्वग्रस्त मुलुकमा शान्तिका लागि ज्यानको बाजी लगाउँदै नेपालका ७४ सैनिकले जीवन बलिदान दिइसकेका छन् भने ७७ सैनिक घाइते भएका छन् । विश्वका १० मिसनमा हाल ३९१ महिलासहित चार हजार ३०२ नेपाली शान्ति सैनिक परिचालित छन् । महिला सैनिक खटाउने देशको सूचीमा पनि नेपाल अग्रस्थानमा छ ।
विश्वका अत्यन्त शक्तिशाली मुलुकका सैनिकका लागि नेपाल पेसागत क्षमता र दक्षता अभिवृद्धि गर्ने पाठशाला बनिरहेको छ । वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, भक्तपुर खरिपाटीस्थित सैनिक शिक्षालय र शिवपुरीस्थित आर्मी कमान्ड एन्ड स्टाफ कलेजमा विश्वका कयौँ मुलुकका सैनिक निरन्तर सहभागीले यसलाई पुष्टि गरेको छ ।
सेनाले विपद् व्यवस्थापन र सडक पूर्वाधार निर्माणमा उल्लेखनीय योगदान पुर्याउँदै आएको छ । सेनाकै व्यवस्थापनमा राष्ट्रिय गौरवको काठमाडौँ–तराई मधेस द्रुतमार्गको काम भइरहेको छ । दरबार, गढी, सङ्ग्रहालय, ऐतिहासिक महत्वका संरचना, विद्युत् गृह, भौतिक पूर्वाधार एवं प्राकृतिक सम्पदाको संरक्षण र सुरक्षा, हिमाल सफाइ तथा विकास निर्माणको जिम्मेवारीले सैनिक–नागरिकसँगको सम्बन्धलाई बलियो बनाउँदै आएको सेनाले जनाएको छ ।
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरण सम्पन्न गराउन नेपाली सेनाको नेतृत्वमा एकीकृत सुरक्षा योजना कार्यान्वयनमा छ ।
काठमाडौँ, ३ फागुन । प्रत्येक वर्ष फाल्गुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजाआराधना गरी आज देशभर मनाइँदैछ । आज दिउँसो १६ः५२ बजेसम्म त्रयोदशी तिथि छ । त्यसपछि चतुर्दशी प्रारम्भ हुन्छ । चतुर्दशी तिथि सोमबार दिउँसो १७ः३५ बजेसम्म छ ।
मध्यरातमा चतुर्दशी तिथि आइतबार परेकाले यसै दिन महाशिवरात्रि पर्व मनाउने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । पर ब्रह्मले फाल्गुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख, शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय वचन रहेको समितिका सदस्य प्रा डा देवमणि भट्टराईले जानकारी दिए ।
वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजाआराधना गर्दछन् । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायतका ग्रन्थमा उल्लेखित छ ।
फाल्गुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको ह्दयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अतिप्यारो दिनका रूपमा पनि लिइन्छ । माघ महिनामा महादेवको रुद्रत्व अर्थात् जगत्लाई रुवाउने वा संहार गर्ने तत्वले गर्दा पत्रविहीन भई जीर्ण भइरहेका रूख, बिरुवा तथा झारहरू उनै महादेवको शिवत्व (जगत्को कल्याण गर्ने तत्व)ले गर्दा फागुनमा पलाउन थाल्ने हुनाले शिवरात्रि मनाउने गरिएको हो भन्ने भनाइ छ ।
व्रतमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन आज भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजाअर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ । आजको दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठमन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाइ ग्रहण गरिन्छ ।
राष्ट्रिय सांस्कृतिक पर्वका रूपमा रहेको यो दिन आज पशुपतिनाथमा रातको चार प्रहरमा चार प्रकारका पूजाका अतिरिक्त महादीप, अखण्डदीप, लक्ष्यबत्ती तथा दीपोत्सवका साथै लाख बेलपत्र अर्पण गरिन्छ । कैलाशकुट र किरातेश्वरका सङ्गीत आश्रममा शास्त्रीय नाचगान गरिन्छ । भगवान् श्री महादेवको दर्शन गर्न र शिवरात्रि पर्वको मेला भर्न आज देशभरका विभिन्न भागलगायत छिमेकी राष्ट्र भारतका तीर्थयात्रीको पशुपतिनाथ मन्दिरमा घुइँचो लाग्छ ।
पशुपतिका चार ढोका खुला
यसैबीच पशुपति क्षेत्रमा मेला भर्न आउने भक्तजनहरूको सुविधाका लागि यस वर्ष विशेष प्रबन्ध मिलाइएको कोषका कोषाध्यक्ष श्रीधर सापकोटाले जानकारी दिए । तीन वर्षअघिदेखि नै पशुपतिमा गाँजा, भाङ, धतुरोलगायत लागुपदार्थ निषेध गरिएको थियो । यस वर्ष पनि त्यसलाई निरन्तरता दिइएको छ । यस्ता पदार्थ सेवन, बेचबिखन गरेको पाइएमा प्रहरीले समातेर कारबाही गर्ने उनले बताए । महाशिवरात्रिका अवसरमा आज बिहान २ः०० बजेदेखि नै पशुपतिका चार ढोका खोलिएको कोषले जनाएको छ । विगत वर्षमा महाशिवरात्रिका दिन १० लाखभन्दा बढी भक्तजन पशुपति क्षेत्रमा पुग्ने गरेका थिए ।
पशुपतिमा भक्तजन
काठमाडौँ, ३ फागुनः
महाशिवरात्री पर्वका अवसरमा आइतबार बिहान भगवान् शिवको पूजा आराधना तथा दर्शन गर्न पशुपतिनाथ मन्दिरमा आएका भक्तजन। तस्बिरः हरिराम भेटुवाल/रासस
पशुपति दर्शनका तीन बाहिरी लाइन
यस वर्ष महाशिवरात्रिका अवसरमा पशुपतिमा दर्शनका लागि तीनवटा लाइनको व्यवस्था गरिएको कोषले जनाएको छ । मित्रपार्क–गौरीघाट, उमाकुण्ड–दक्षिणामूर्ति हुँदै रुद्रगाडेश्वर उत्तरढोकाबाट एक लाइन, बत्तीसपुतली–गौशाला, त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल–तिलगङ्गा, पिङ्गलास्थान–सुमार्गी भवन अगाडिबाट चार शिवालय–पञ्चदेवल हुँदै दक्षिणढोका हुँदै दक्षिणढोकाबाट दुई लाइन गरी बाहिरी रूपमा पशुपति मूल मन्दिर परिसर प्रवेश गर्न सक्ने व्यवस्था गरिएको जनाएको छ ।
अर्को लाइन पश्चिममा वनकाली ओरालो हुँदै जुत्ताचप्पल कक्षबाट मूल मन्दिर प्रवेश गर्न सकिनेगरी व्यवस्थापन गर्ने योजना बनाइएको उनले जानकारी दिए । आवश्यकता अनुसार तिलगङ्गा राममन्दिरतर्फ समेत एक लाइन व्यवस्था गर्न सकिने छ । मूल मन्दिर परिसरभित्र प्रवेश गरिसकेपछि भने उत्तर र दक्षिणबाट तीन–तीन र पश्चिमबाट चारवटा भित्री लाइन व्यवस्थापन गर्न लागिएको छ ।
दर्शन गर्न आउने दर्शनार्थीको सवारी पार्किङका लागि सिफल, तिलगङ्गा, गुह्येश्वरीपारि, कोषको कार्यालय, वनकालीलगायत स्थानमा व्यवस्था मिलाइएको छ । आज पशुपतिनाथसँगै उपत्यकाका गोकर्णेश्र, डोलेश्वरलगायत शिव मन्दिरमा पनि भक्तजनको भीड लाग्छ । त्यसैगरी, राजधानी बाहिरका शिव मन्दिरमा पनि धूमधामका साथ पूजाआराधना एवं दर्शन गर्ने भक्तजनको घुइँचो हुन्छ ।
बागमती, २ फागुनः मकवानपुरमा छुट्टाछुटै स्थानमा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । कान्तिलोकपथ सडकखण्डअन्तर्गत हेटौँडा उपमहानगरपालिका–५ पिप्लेमा आज गरेको ना ५ ख १८६१ नम्बरको ट्रकमा ना २९ प ७०७२ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक स्थानीय ३५ वर्षीय सुवास थिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए ।
दुर्घटनामा गम्भीर घाइते थिङको उपचारको क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक बोगटीले बताए । यस्तै पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–९ ज्यामिरेस्थित जङ्गदेश्वर महादेव मन्दिर नजिकै बसबाट लडेर गम्भीर घाइते एक वृद्धको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
गत माघ १० गते बाप्र ०३–००१ ख १९७२ नम्बरको बसबाट ओर्लिने क्रममा लडेर गम्भीर घाइते भएका चितवनको रत्ननगर नगरपालिका–६ का ६२ वर्षीय विष्णुबहादुर घिमिरेको चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचारका क्रममा आज मृत्यु भएको प्रहरीले जनाएको छ ।
सर्लाही, २ फागुनः नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेससँग देश बदल्ने सोच, सङ्कल्प र योजना रहेको बताएका छन् । सर्लाही क्षेत्र नं ४ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका सभापति थापाले मतदातासँग आज भेटघाट गर्दै विगतमा गरेका कमीकजोरीबाट सिक्दै वर्षौँदेखि गर्छौँ भनेर गर्न नसकिएका कामलाई मुर्तरूप दिने योजना तथा तयारीसहित नेपाली कांग्रेस निर्वाचनमा सहभागी भएको बताए ।
उनले भने, “दोस्रो विशेष महाधिवेशन पश्चात नेपाली कांग्रेस नयाँ भएको छ, यो नयाँ कांग्रेससँग आगामी पाँच वर्ष काम गर्ने योजना, उत्साह र सङ्कल्प छ । हामीले विगतबाट सिकेका छौँ, त्यसैले आगामी दिनमा के गर्ने भन्नेमा स्पष्ट छौँ ।”
भेटघाटमा सभापति थापाले युवालाई स्वदेशमै राख्न रोजगारी सिर्जना गर्न नीति नियममार्फत नीजि क्षेत्रलाई प्रोत्साहित गर्ने बताए । ‘प्रत्येक वर्ष हामीले झन्डै पाँच लाख रोजगारी सिर्जना गर्नुपर्ने अवस्था छ । त्यो प्रधानमन्त्री वा सरकारले मात्र गर्न सक्दैन । त्यसका लागि हामीले नीजि क्षेत्रलाई प्रोत्साहन गर्ने हो, लगानीमैत्री वातावरण बनाउने हो, नीति नियममार्फत प्रोत्साहन गर्ने हो । पछिल्लो समय सूचना प्रविधिका क्षेत्रमा धेरै सम्भावना बढेका छन्, नेपालका युवालाई अझैँ दक्ष बनाएर विदेशी लगानीकर्तालाई आकर्षित गर्न सक्छौँ । लगानीकर्तालाई चाहिने नीति, नियम र दक्ष जनशक्ति हामीसँग हुँदै गर्दा सहयोगी सरकार भएमा विश्वभरका लगानीकर्ता एकपटक नेपालमा लगानी गर्न प्रेरित हुनेछन् । म यिनै विषयमा आगामी पाँच वर्ष काम गर्न चाहन्छु”, सभापति थापाले भने ।
सर्लाही–४ मा आगामी एक वर्षभित्रमै आफ्नो ज्ञान र नेटवर्कको प्रयोग गरेर शिक्षा, स्वास्थ्य र उद्यमशीलताका क्षेत्रमा काम गरेर अहिले देखिएका समस्या समाधान गर्ने उहाँले प्रतिबद्धता व्यक्त गरे ।
यसैबीच नेपाली काँग्रेसका सभापति थापाले संविधान सभाका सदस्य एवं जनता समाजवादी पार्टी नेपालका नेता केदारनन्दन चौधरीसहितका नेता कार्यकर्तालाई पार्टीमा स्वागत गरेका छन् । सर्लाही क्षेत्र नं ४ को बलरा नगरपालिका–९ अचलगढमा आज आयोजित कार्यक्रममा संविधान सभा सदस्य चौधरी, लोसपाका महासचिव एवं हाल जसपा नेपालका केन्द्रीय नेता मनिषकुमार मिश्रलगायत पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गरेका हुन् ।
सोही कार्यक्रममा जनता समाजवादी पार्टी नेपालकी नेतृ वीणा सिन्हा, लोकतान्त्रिक समाजवादी पार्टीबाट २०७९ सालको स्थानीय तह निर्वाचनमा विष्णु गाउँ पालिकाबाट अध्यक्षका प्रत्यासी अरविन्दकुमार सिंह, लोकतान्त्रिक समाजवादी पार्टीका क्षेत्र नम्बर ४ का क्षेत्रीय उपाध्यक्ष वीरेन्द्रप्रसाद यादव, नवलकुमार सिंह, सोही निर्वाचनमा बहुजन समाजवादी पार्टीबाट गोडैता नगरपालिकामा अध्यक्षका उम्मेदवार श्याम गुप्तालगायतलाई अबिर र माला पहि¥याएर सभापति थापाले पार्टी प्रवेश गराए ।
सो अवसरमा सभापति थापाले आफू यस क्षेत्रको पारिवारिक सदस्य बन्ने क्रम सुरु भएको बताए । आफूले पाएको माया र स्नेह कुनै पनि हालतमा खेर जान नदिने उनको भनाइ थियो।
तानसेन (पाल्पा), २ फागुनः तिनाउ गाउँपालिका–३ दोभानस्थित सिद्धार्थ राजमार्गमा टिपर र मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । बुटवलदेखि पाल्पातर्फ आउँदै गरेको लु४९प ७७९५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको लु२ख १८८३ नम्बरको टिपर आज एकापसमा ठोक्किएका हुन् ।
मृत्यु हुनेमा मोटसाइकल चालक गुल्मीको कालीगण्डकी गाउँपालिका पुर्तिघाटका ३१ वर्षीय मिलन सार्की तथा अर्का परिचय नखुलेकी एक महिला रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीले जानकारी दिए । दुर्घटनामा घाइते भएका दुवै जनालाई प्रहरी चौकी दोभानको टोलीले उद्धार गरी उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाएको थियो । उनीहरुको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
काठमाडौँ, २ फागुनः प्रधानसेनापति अशोकराज सिग्देलले आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउन विशेष निर्देशन दिएका छन् । महाशिवरात्रि तथा २६२औँ सेना दिवसका अवसरमा आज सैनिक मुख्यालयमा आयोजित विशेष कार्यक्रममा नेपाली सेनाका सकल दर्तालाई शुभकामनासहित सम्बोधन गर्दै उनले नेपाली सेनाले विभिन्न क्षेत्रहरुमा निर्वाह गर्दै आइरहेको जिम्मेवारीलाई उत्कृष्ट ढंगले पूरा गर्ने क्रममा निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउन समेत विशेष निर्देशन दिए ।
उनले नेपालको गौरवमय गाथा, परम्परा, सस्कृति, चिन्न, गौरव गर्न तथा इतिहासका पाठहरुबाट सिक्न सबै सैनिक तालिममा नेपाल र नेपालीको इतिहास अध्ययन र अध्यापन गराउन समेत निर्देशन दिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । आजै आयोजित एक फरक कार्यक्रममा उनले कर्तव्य पालनाको सिलसिलामा जीवन उत्सर्ग गर्ने सैनिकहरुको सम्मानमा वीर स्मारक तथा सैनिक मञ्च टुँडिखेलमा श्रद्धासुमन अपर्ण गरे । त्यसैगरी उनले छाउनीस्थित वीर स्मारकमा पनि वीरगति प्राप्त सैनिकका परिवारलाई सम्मान गरेको निर्देशनालयले जनाएको छ ।
काठमाडौँ, २ फागुनः महाशिवरात्रिको पूर्वसन्ध्यामा पाशुपत क्षेत्रमा आज शोभायात्रा आयोजना गरिएको छ । पशुपति क्षेत्र विकास कोषको आयोजनामा शोभायात्रा गरिएको हो । शोभायात्रामा स्वदेशी तथा विदेशबाट आउनुभएका साधुसन्त र स्थानीय भक्तजनको सहभागिता थियो ।
पाशुपत क्षेत्रका प्रायः सबै भागमा शोभायात्रा गरिएको थियो । शोभायात्रामा धामीझाँक्रीको पनि सहभागिता थियो । महाशिवरात्रि भोलि हो । कोषले महाशिवरात्रिमा भक्तजनलाई सहज ढङ्गले दर्शन गर्नसक्ने व्यवस्था गरिएको सरसफाइलगायत आवश्यक तयारी पूरा गरेको जनाएको छ ।
काठमाडौँ, २ फागुनः महाशिवरात्रि पर्वका अवसरमा पशुपति क्षेत्रमा साधुसन्त एवं टाढाबाट आउने भक्तजनको चहलपहल बढेको छ । देश, विदेशबाट आएका साधुसन्त एवं भक्तजनका कारण पशुपति क्षेत्रमा मेला लागेको छ । महाशिवरात्रिका अवसरमा निःशुल्क स्वास्थ्य शिविर, निःशुल्क भोजन सेवा, खानेपानी, चियालगायत सेवा गर्नेको पनि घुइँचो छ । कतिले सेवा सुरु गरिसकेका छन्भने कतिले सेवाको तयारी गरेका छन् । महाशिवरात्रिको तयारीका लागि पशुपति क्षेत्र विकास कोषका पदाधिकारी एवं कर्मचारी स्थलगत रूपमै खटिएर काम गरिरहेका छन् ।
हंसमण्डप क्षेत्रको स्थलगत अनुगमनमा खटिनुभएका कोषका कोषाध्यक्ष श्रीधर सापकोटाले यस वर्ष सफाइमा विशेष ध्यान दिइएको बताए । पशुपति क्षेत्रमा आएका साधुसन्त र भक्तजनका लागि प्रभावकारी व्यवस्थापनमा कोष लागिरहेको उहाँले उल्लेख गर्नुभयो । यस वर्ष चार हजारदेखि चार हजार ५०० सम्म साधुसन्त आउने अनुमान गरिएको उनले जानकारी दिए ।
गत वर्षभन्दा यस वर्ष साधुसन्त बढी आउने अनुमान गरिएको कोषले जनाएको छ । पशुपति क्षेत्रमा सेवा दिइरहेका स्वयंसेवी संस्थाको दृष्टिमा भने यस वर्ष विगतमा भन्दा कम मानिस अघिल्लो दिन पशुपति क्षेत्रमा आएका कोषाध्यक्ष सापकोटाले बताए । हंसमण्डपमा भोजन सेवामा खटिएका विनोद लीला अग्रवाल आज दिउँसो विगत वर्षभन्दा कम भक्तजन आएका उल्लेख गरे । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका कारण पनि मानिसको आवागमन कम भएको हुनसक्ने उनको अनुमान छ । महाशिवरात्रिका लागि पशुपति क्षेत्रलाई विशेष रुपमा सिँगारिएको छ । फूलमालाले विशेष रुपमा सिँगारेर आकर्षक बनाइएको छ ।
आर्यघाट र राममन्दिर क्षेत्रको वाग्मती किनारमा सफाइ
‘राष्ट्रको लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ वाग्मती सफाइ महाअभियानको ६६६औँ हप्ताको सफाइ पशुपति क्षेत्रस्थित राममन्दिरमुनिको नदी किनारमा गरिएको छ । फागुन ३ गते आइतबार महाशिवरात्रि पर्वको तयारीका लागि पशुपति क्षेत्रको राममन्दिर, आर्यघाटसँगै यहाँको नदी किनारमा सरसफाइ गरिएको हो ।
सफाइमा कोषका सञ्चालक परिषद् सदस्य रामेश्वर सङ्गतसहित कर्मचारी, काठमाडौँ महानगरपालिका–११ का अध्यक्ष हीरालाल तण्डुकार, महानगर वातावरण विभागका प्रमुख सरिता राई, महानगर टेकुका प्रमुख मीनबहादुर थापासहित कर्मचारी, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका कर्मचारीलगायत जनप्रतिनिधि एवं स्थानीयवासीको सक्रियतामा आज त्यस क्षेत्रमा सफाइ गरिएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए । आजको सफाइमा त्यस क्षेत्रबाट कुहिने र नकुहिने लगभग १८ मेट्रिकटन फोहर व्यवस्थापन गरिएको पनि उनलले जानकारी दिए ।
काठमाडौँ, २ फागुनः संयुक्त अरब इमिरेट्स (युएई)को आबुधावीस्थित नेपाली दूतावासले नेपाली श्रमिकले भोग्नुपरेका शारीरिक तथा मानिसक समस्यामा केन्द्रित रहेर अन्तरक्रिया सम्पन्न गरेको छ । श्रमिकहरुले भोग्नुपरेका शारीरिक तथा मानसिक स्वास्थ्य समस्या र तिनीहरूको समाधान एवं रोकथामका लागि अपनाउनुपर्ने उपायहरुका बारेमा नेपाली चिकित्सकहरुसँग अन्तरक्रिया गरिएको दूतावासले जनाएको छ ।
कार्यक्रममा युएईमा कार्यरत २५ जना नेपाली चिकित्सक सहभागी थिए । चिकित्सकहरुले नेपाली श्रमिकमा शारीरिक तथा मानसिक दुवै किसिमका समस्या देखिने गरेको उल्लेख गर्दै मानसिक समस्या अझ बढी रहेको बताए । उनीहरुले त्यहाँ कार्यरत नेपाली श्रमिकमा विशेष गरी उच्च रक्तचाप, हृृदयघातको समस्या, मिर्गौलाको समस्या, मानसिक तनावका कारण महिलासँग सम्बन्धित विभिन्न समस्या रहेको बताए । त्यस अवसरमा ती समस्यालाई न्यूनीकरण गर्न सकिन्छ भन्ने विषयमा परामर्श दिएका थिए ।
चिकित्सकहरुले स्वास्थ्यसम्बन्धी चेतनाको कमी, स्वास्थ्यलाई हल्का रुपमा लिने र रोग लुकाउने प्रवृत्ति, खाडी राष्ट्रमा कार्यरत वातावरणीय असरबारे पर्याप्त जानकारी नहुनु, आफ्नो स्वास्थ्य बिमाका बारेमा अनभिज्ञता र भाषाको समस्याका कारण धेरैजसो नेपाली श्रमिकहरु स्वास्थ्य जाँच गराउन समयमै अस्पताल नजाने गरेको उल्लेख गरेका थिए ।
उनीहरुले श्रमिकलाई नियमित रुपमा कम्तीमा छ महिनामा एकपटक स्वास्थ्य जाँच गराउन, पर्याप्त मात्रामा पानी पिउन, मदिरा सेवन त्याग्न, स्वास्थ्य बिमाबारेमा जानकारी लिन पनि सुझाव दिए । उनीहरुले राजदूतावासले स्वास्थ्यसम्बन्धी जनचेतनामूलक कार्यक्रमलाई युएईमा तीव्रता दिन अति आवश्यक भएको बताए । मानसिक रोगबाट पीडितको उपचारका लागि नेपाल सरकारसँग समन्वय गरी नेपालबाट टेलिमेडिसिन सेवा प्रदान गर्न पनि सुझाव दिए ।
युएईमा आउने श्रमिकलाई नेपालमा नै स्तरीय स्वास्थ्य जाँचको व्यवस्था स्तरीय अस्पतालमा हुनुपर्ने र यूएई आउनुअघि अभिमुखिकरण तालिममा स्वास्थ्य, बिमा र युएईको हावापानी, सडक सुरक्षा तथा दुर्घटनासम्बन्धी विस्तृत चेतनामूलक तालिम तथा प्रशिक्षण दिनुपर्ने कुरा बताए ।
त्यस अवसरमा यूएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले युएईमा रहेका नेपाली चिकित्सकहरुले आफ्नो क्षेत्रबाट चिकित्सा क्षेत्रमा तथा युएईमा कार्यरत नेपाली समुदायलाई पु¥याएको योगदानको प्रशंसा गर्दै प्राप्त अमूल्य सुझावलाई कार्यान्वयन गर्न राजदूतावास तत्पर रहेको बताए । साथै आगामी दिनमा राजदूतावाससँगको समन्वयमा विभिन्न स्वास्थ्यसम्बन्धी जनचेतनामूलक कार्यक्रम गर्ने विषयमा सबै इमिरेट्सहरुमा रहेका नेपाली चिकित्सकहरुको सक्रिय सहयोग र हातेमालोका लागि अनुरोध गरे ।
वासिङ्टन, २ फागुन (रासस–एपी) । क्यारेबियन सागर क्षेत्रमा लागुऔषध तस्करी नियन्त्रण अभियान तीव्र बनाइरहेको अमेरिकी सेनाले अर्को एक कथित तस्करी डुङ्गामाथि घातक आक्रमण गरेको जनाएको छ । उक्त कारबाहीमा कम्तीमा तीन जनाको मृत्यु भएको जानकारी शुक्रबार सार्वजनिक गरिएको हो । अमेरिकी दक्षिणी कमान्डले सामाजिक सञ्जालमार्फत दिएको विवरणअनुसार सो डुङ्गा ‘क्यारेबियन क्षेत्रमा परिचित लागुऔषध तस्करी मार्गमा आवागमन गरिरहेको र तस्करी अपरेसनमा संलग्न’ रहेको दाबी गरिएको छ ।
आक्रमणसँगै जोडिएको भिडियोमा डुङ्गा समुद्र सतहमा तीव्र गतिमा अघि बढिरहेको देखिन्छ र त्यसपछि विस्फोटसहित आगो लागेको दृश्य देखिन्छ । शुक्रबारको यो कारबाहीसँगै सेप्टेम्बरको सुरुदेखि क्यारेबियन सागर र पूर्वी प्रशान्त महासागर क्षेत्रमा गरिएको कम्तीमा ३८ वटा यस्तै आक्रमणमा ज्यान गुमाउनेहरूको सङ्ख्या १३३ पुगेको उल्लेख गरिएको छ । यी आक्रमणहरू अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनकालदेखि कथित लागुऔषध डुङ्गाहरू लक्षित गर्दै सञ्चालन हुँदै आएका छन् ।
गत साता अमेरिकी रक्षामन्त्री पिट हेग्सेथले क्यारेबियन क्षेत्रमा अमेरिकी सेनाले हालै गरेका कडा र प्रभावकारी आक्रमणका कारण त्यहाँ सक्रिय केही ठूला लागुऔषध तस्कर समूहहरूले आफ्नो तस्करी काम अस्थायी रूपमा बन्द गर्ने निर्णय गरेको बताएका थिए । तर उनले उक्त दाबीलाई पुष्टि गर्ने ठोस विवरण वा प्रमाण सार्वजनिक गरेका छैनन् ।
यसैबीच राष्ट्रपति ट्रम्पले ल्याटिन अमेरिकाका कार्टेलहरूसँग अमेरिका ‘सशस्त्र द्वन्द्व’ मा रहेको बताउँदै लागुऔषधको प्रवाह रोक्नका लागि यस्ता आक्रमण आवश्यक भएको धारणा व्यक्त गरेका छन् । यद्यपि प्रशासनले ‘नार्कोटेररिस्ट’ भनिएका व्यक्तिहरूको हत्या भएको दाबीलाई समर्थन गर्ने पर्याप्त प्रमाण भने सार्वजनिक गरेको छैन । क्यारेबियन र पूर्वी प्रशान्त क्षेत्रमा लागुऔषध विरुद्धको यो सैन्य कारबाहीले क्षेत्रीय सुरक्षाबारे बहस चर्काइरहेको छ, जहाँ मानवअधिकार र अन्तर्राष्ट्रिय कानूनी दायित्वका प्रश्नहरू पनि उठ्न थालेका छन् ।
सूर्यप्रसाद श्रेष्ठ, पूर्व प्रमुख निर्वाचन आयुक्त काठमाडौँ, २ फागुन (रासस) । नेपाल सरकारको प्रशसन सेवामा विभिन्न मन्त्रालयमा सचिव पदसम्म सम्हालेको र संवैधानिक पदहरूमा अञ्चलाधीश र प्रमुख निर्वाचन आयुक्त समेत रहेर सफलतापूवर्क जिम्मेवारी पूरा गरेका सूर्यप्रसाद श्रेष्ठ समयसम्म कुटनीतिक क्षेत्रमा पनि विभिन्न देशको राजदूत रहेका छन् ।
२०४२ सालमा प्रमुख निर्वाचन आयुक्त भएका उनले २०४३ सालको राष्ट्रिय पञ्चायतको निर्वाचन, २०४४ सालको स्थानीय निर्वाचन, २०४८ सालको आम निर्वाचन र २०४९ सालमा स्थानीय निर्वाचन सफलतापूर्वक सम्पन्न गराएका थिए । उनको यसैवर्ष लोकतन्त्र र जनअभिमत नामक नेपालको निर्वाचन नालेबेली पुस्तक प्रकाशित भएको छ । प्रस्तुत छ, पूर्व प्रमुख निर्वाचन आयुक्तको हैसियतमा विगतका निर्वाचन अनुभव र आसन्न निर्वाचनका विभिन्न पक्षहरूमा केन्द्रित रही राससका आलेख प्रमुख कृष्ण अधिकारीले गरेको कुराकानी ः
१. तपाईं प्रमुख निर्वाचन आयुक्त रहँदा देख्नुभएको निर्वाचनसम्बन्धी मुख्य समस्या र अहिलेको समस्यालाई कसरी तुलना गर्नुहुन्छ ?
विश्वभरि नै निर्वाचन पद्दति र प्रणाली एकैनासको हुन्छ । प्रविधिको विकासले गर्दा यसमा छिटो छरितो सरल र सहज भएको छ । सैद्धान्तिक रूपमा स्वतन्त्र, शान्तिपूर्ण रूपमा सम्पन्न गर्नु नै निर्वाचनको मुख्य उद्देश्य हो । पहिले प्रविधिको विकास नहुँदा निर्वाचन प्रक्रियाका अधिकांश कामहरू हस्तलिखित नै हुने गर्दथे, सञ्चार माध्यमहरू पर्याप्त नहुँदा सञ्चार प्रक्रिया निकै कठिन थियो । अहिले सूचना तथा सञ्चार प्रविधिको विकासले सजिलो, कम खर्चिलो र छिटोछरितो भएको छ । निर्वाचन प्रक्रियामा २०४२ सालमा नेपाली फन्टको अभ्यास गरेका थियौँ । जबकी त्यतिबेलासम्म भारतमा समेत देवनागरी लिपि थिएन । अहिलेको जस्तो छ महिनाभित्र निर्वाचन गराउनसक्ने अवस्था पहिले थिएन । सुरक्षाको विषय समयक्रम अनुसार फरक हुनु स्वभाविक नै हो ।
२.आम निर्वाचन २०८२ लाई निष्पक्ष, स्वतन्त्र र विश्वसनीय बनाउन निर्वाचन आयोगले अहिले नै कुन–कुन क्षेत्रमा विशेष ध्यान दिनु आवश्यक देख्नुहुन्छ र?
निर्वाचन आयोगलदाई स्वतन्त्र, संवैधानिक निकायका रूपमा विश्वका धेरै देशहरूमा मान्यता दिइएको छ । सरकार, राजनीतिक दलको प्रभाव नपरोस् भन्ने कुरामा विशेष जोड दिइएको हुन्छ । निर्वाचन आयोग नेपालको लोकतान्त्रिक भविष्यका लागि सबैभन्दा महत्वपूर्ण सस्था हो । संविधानले यसलाई स्वतन्त्र तथा निस्पक्ष गराउन खोजेको छ । शान्तिपूर्ण र स्वतन्त्र निर्वाचन नै लोकतन्त्रको स्तम्भ हो । २०१५ सालको संविधानले निर्वाचन आयोगसम्बन्धी व्यवस्थाको उल्लेख गरिएको थियो ।
२०१७ सालको राजनीतिक ‘कु’ पछि बनेको २०१९ सालको संविधानमा यसबारेमा कुनै व्यवस्था नभए पनि २०२४ सालमा गरिएको संशोधनपछि निर्वाचन आयोगलाई संवैधानिक मान्यता दिइयो । त्यसपछि निर्वाचन आयोगले निष्पक्ष, स्वतन्त्र र विश्वसनीय हुने गरी संवैधानिक अङ्गको रूपमा विभिन्न निर्वाचनहरू सम्पन्न गर्दै आएको छ । नेपालको संविधान जारी भएपछि दोस्रो पटक हुन लागेको आम निर्वाचन २०८२ केबल सत्ता परिवर्तनको प्रक्रिया मात्र होइन, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत सुदृढीकरणको महत्वपूर्ण परीक्षा पनि भएकाले यसलाई त्यही अनुरूप बुझ्नु आवश्यक हुन्छ ।
३. पछिल्ला निर्वाचनहरूमा पैसाको प्रभाव, अवैध खर्च र राज्यस्रोतको दुरूपयोग गम्भीर चुनौतीका रूपमा देखिएका छन् । यसलाई नियन्त्रण गर्न व्यवहारिक उपाय के हुन सक्छ र?
सूचना सञ्चार प्रविधिले निर्वाचन प्रक्रियामा निकै सहजता आए पनि निर्वाचन खर्च भने निकै बढेको छ । पहिले ८÷१० करोड रूपैयाँमा हुने निर्वाचन अहिलेसरकारी खर्च नै १९ अर्ब रूपैयाँ पुगेको छ । निर्वाचन खर्च बढ्न नदिन निर्वाचन आयोगले विशेष सर्तकता अपनाउनु पर्दछ । जनसङ्ख्याको अनुपातमा मतदान केन्द्रहरू निर्धारण हुने हुँदा त्यही अनुसार खर्चको मात्रा बढ्ने हो । व्यक्तिगत वा पार्टीगत रूपमा हुने खर्चलाई पनि सीमा लगाएर नियन्त्रण गर्नुपर्दछ ।
निर्वाचनमा व्यापक आर्थिक खर्च, राजनीतिक शक्तिको दुरूपयोग, स्वार्थसिद्ध चुनावी गठबन्धन, दलभित्रको आन्तरिक लोकतन्त्र कमजोर हुनु, मतदाताको बालिग मताधिकार हनन् र सत्तासिन शक्तिहरूले निर्वाचन प्रक्रियामा हस्तक्षेप जस्ता विकृतिहरू गम्भीर चुनौतीका रूपमा देखिएका छन् । यी समस्याहरूले निर्वाचनको विश्वसनीयता र लोकतान्त्रिक संस्थाहरूको सुदृढीकरणमा बाधा पु¥याउने खतरा रहेको छ । अनावश्यक र भड्किलो निर्वाचनले लोकतन्त्रलाई बल पुग्दैन । नेपालको निर्वाचन प्रणालीमा सबैभन्दा चिन्ताजनक पक्षमध्ये एक हो—अत्यधिक निर्वाचन खर्च । कानुनले खर्च सीमा तोकेको भए पनि व्यवहारमा यसको प्रभावकारी पालना भएको देखिँदैन । खर्चिलो निर्वाचनले इमान्दार, सक्षम तर आर्थिक रूपमा कमजोर उम्मेदवारलाई राजनीतिबाट विस्थापित गर्ने खतरा बढाउँछ ।
४. मतदाता शिक्षाको अभावका कारण मत बदर हुने समस्या अझै कायमै छ । यसमा राज्य र आयोगको भूमिका कस्तो हुनुपर्छ ?
नेपालमा सामान्यतयाः हरेक निर्वाचन करिब ६० देखि ६५ प्रतिशत मतदाताले मतदान गर्ने गरेको पाइन्छ । सम्पूर्ण नागरिकलाई निर्वाचन किन आवश्यक छ भन्ने बारेमा अवगत गराउन र मतदान प्रकृयामा सहभागी गराउनुपर्ने हुन्छ । निर्वाचन केबल मतदानको प्रक्रियामा मात्र सिमित छैन, यसले सक्षम र जिम्मेवार सरकार गठन गर्न, जनप्रतिनिधित्व सुनिश्चित गर्न र लोकतान्त्रिक संस्थाहरूलाई सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने भएकाले मतदाता शिक्षाको महत्व निकै रहन्छ ।
अहिले पनि बदर मत चारदेखि पाँच प्रतिशतको हाराहारीमा छ । यसलाई कम गर्दै लैजान निर्वाचन प्रणालीप्रति जनविश्वास बढाउँदै मतदाता शिक्षामा जोड दिनुपर्छ । मतदान जनताको सार्वभौम अधिकार हो । लोकतन्त्रप्रति जनताको आस्था र विश्वास अटल रहनुपर्छ र आचरण पनि त्यही अनुरूप हुनुपर्छ । विध्वंश र विनासले लोकतान्त्रिक खम्बालाई कमजोर बनाउने हुँदा यस्तो अवस्था आउन नदिन सरकार, राजनीतिक पार्टी र आम जनता पनि चनाखो रहनुपर्छ ।
५. निर्वाचन व्यवस्थापनमा सुरक्षा निकाय र प्रशासनको भूमिका कत्तिको सन्तुलित र व्यावसायिक हुनुपर्ने देख्नुहुन्छ ?
निर्वाचनमा खटिने कर्मचारी र सुरक्षाकर्मीको सङ्ख्या जनसङख्या र सुरक्षा अवस्थामा निर्भर गर्दछ । निर्वाचनलाई अतिरञ्जित गर्नु पनि हुँदैन । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धानका बाहेक पनि यसपटकको निर्वाचनमा झण्डै डेढ लाख म्यादी प्रहरी नियुक्त गरिएको छ । २०४३ सालमा निर्वाचन गराउँदा प्रहरीको सङ्ख्या नपुग भएपछि राजनीतिक दलका कार्यकर्ताहरूलाई नै स्वयंसेवक बनाई शान्तिपूर्ण ढङ्गबाट गरिएको थियो ।
६. सोसल मिडिया, डिजिटल प्रचार र गलत सूचनाले निर्वाचन प्रक्रियामा पार्ने प्रभावलाई कसरी मूल्याङ्कन गर्नुहुन्छ ?
केही वर्षयता सामाजिक सञ्जालको प्रयोग बढेसँगै गलत एवं भ्रामक सूचनाको मात्रा पनि बढेको छ । सामाजिक सञ्जालको माध्यमबाटै कुनै राजनीतिक दल वा उम्मेदवारलाई हराउन वा जिताउन सकिने जोखिम बढेको छ । यो लोकतन्त्रका लागि निकै खतरा हो । यसलाई व्यवस्थित गराउनु जरुरी छ । यस विषयमा यसपटक निर्वाचन आयोगले धेरै नै जोड दिएको देखिन्छ । साथै, राज्यका अन्य निकायहरू तथा सुरक्षा अङ्गहरूले पनि ध्यान दिन आवश्यक छ ।
अन्यथा यत्रो खर्च गरेर समय अगावै गरिएको निर्वाचन व्यर्थ हुनसक्छ । निर्वाचनपछि फेरि यसको विघटन गर्नुपर्छ भन्ने माग उठ्न सक्छ । आम सञ्चारका माध्यमहरूले पनि वास्तविक सूचना सम्प्रेषण गरी जनतालाई सुसूचित गराउन सकेमा मिथ्या वा भ्रमपूर्ण सूचना विस्तारै कम भएर जानेछ । अब नेपाल विश्वबाट अलग्गै हुन सक्दैन, अन्य देशका घटनाहरू वा नेपालका विषयहरू पनि क्षणभर विश्वव्यापी हुने गर्दछ ।
आज विदेशमा बस्नेहरूले यहाँको राजनीतिमा प्रभाव पार्ने अवस्था छ । आज सामाजिक सञ्जाल बुलेट जस्तो बनेको छ, क्षणभरमै राजनीतिलाई वारपार लगाउन सक्छ भन्ने उदाहरण गत भदौ २३ र २४ को घटनाले नै देखाएको छ । त्यसैले सञ्चार माध्यम र सामाजिक सञ्जाल चलाउने हरेक नागरिकले निस्पक्षता, विश्वसनीयता र जिम्मेवारीका सिद्धान्तलाई परिपालना गर्नु आवश्यक हुन्छ ।
७. निर्वाचनलाई निस्पक्ष रूपमा सम्पन्न गराउन जारी गरिएको आचारसंहिता कार्यान्वयनलाई अझ प्रभावकारी बनाउन कानुनी सुधार आवश्यक छ कि छैन ?
निर्वाचनलाई निस्पक्ष, स्वतन्त्र र धाँधलीरहित रूपमा सम्पन्न गराउन निर्वाचन आयोगसँग अधिकार प्रशस्त छ । निर्वाचन आचारसंहिताले सरकारका नियमित कामकारवाहीलाई पनि प्रभावित पार्न सक्छ । वास्तवमा आचारसंहिता सर्वमान्य आचार निर्माण गर्ने विधि हो, त्यसका सरोकारवाला पक्षले इमान्दारिताका साथ पालना गर्नुपर्छ तर पछिल्लो समय यसले कानूनी हैसियत लिन थालेको छ । आचारसंहितामै सजायकारी व्यवस्था गर्नुपर्ने अवस्था आएको छ । यसको प्रयोग र पालना गर्दा होसियारीपूर्व गर्नुपर्ने हुन्छ । आचारसंहिताले फजुल खर्च रोक्न धेरै सहयोग पुगेको छ ।
८. अन्त्यमा, आम निर्वाचन २०८२ लाई सफल बनाउन आम मतदातालाई तपाईंको सन्देश के छ ?
निर्वाचन नागरिकको स्वतन्त्रताको विवेक प्रयोग गरी जिम्मेवार सरकार गठन गर्ने अवसर हो । नागरिकले सशक्त रूपमा सहभागी हुनुपर्छ, विवेक शून्यता हुन दिनु हुँदैन । निर्वाचन प्रणालीलाई थप विश्वसनीय, समावेशी र पारदर्शी नबनाएसम्म लोकतान्त्रिक स्थायित्व सुनिश्चित गर्न कठिन हुन्छ । निर्वाचन लोकतन्त्रलाई बलियो बनाउने मात्र होइन, यसले समग्र शासन प्रणालीलाई जनउत्तरदायी, पारदर्शी र जवाफदेही बनाउने आधार तयार गर्छ ।
आम निर्वाचन २०८२ यस्तो समयमा हुँदैछ, जहाँ राजनीतिक अस्थिरता, सरकार परिवर्तनको दोहोरिँदो क्रम, दलभित्रको आन्तरिक लोकतन्त्रको कमजोर अभ्यास र जनतामा बढ्दो निराशाको अन्त्य गरी लोकतान्त्रिक प्रणालीलाई संस्थागत गर्न अपरिहार्य छ । विगतका निर्वाचनहरूले जनताको अपेक्षाअनुसार सुशासन, विकास र स्थायित्व दिन नसकेको अनुभूति व्यापक छ । यही कारण, यो निर्वाचनप्रति जनताको उत्साह जति छ, त्यति नै प्रश्न र आशङ्का पनि छन् ।
लोकतन्त्रको मूल आत्मा भनेकै जनताको सहभागिता हो । यदि आमनिर्वाचन २०८२ ले मतदाताको विश्वास पुनःस्थापित गर्न सकेन भने लोकतान्त्रिक प्रणालीप्रतिको भरोसा अझ कमजोर हुने जोखिम रहन्छ । त्यसैले अर्काको प्रभावमा नपरी हरेक मतदातालाई आफ्नो स्वतन्त्र विवेक प्रयोग गरी मतदान गर्न आग्रह गर्दछु ।
गलेश्वर (म्याग्दी), २ फागुनः म्याग्दीमा अटोरिक्सा चलाउने व्यवसाय आम्दानीको बलियो माध्यम बनेको छ । बेनी नगरपालिकाभित्र अटोरिक्सा चलाएर यहाँका ३० जना युवाले मासिक रु ४० हजारभन्दा बढी आम्दानी गरिरहेका छन् । पछिल्लो समय अटोरिक्सा व्यवसाय बेरोजगारका लागि आम्दानीको स्रोत बन्दै गएपछि बेरोजगार युवाको ध्यान अटोरिक्सातिर आकर्षित भएको बेनीबजारका व्यवसायी शिव रेग्मीले बताए ।
अटो रिक्सा चलाएर राम्रो आम्दानी हुने गरेको अटो चालक सुमन रिजाल बताउँछन् । बेनी नगरपालिका–२ बगरफाँटका रिजालले अटोरिक्सा चलाएर मासिक ४० देखि ४५ हजारसम्म आम्दानी गर्दै आएको बताए । विदेश गएर अरुको देशमा श्रम गर्नुभन्दा आफ्नै देशमा बसेर केही गर्नुपर्छ भन्ने मनसायले अटो व्यवसायमा लागेको उनको भनाइ छ । अटो चलाएर प्राप्त हुने आम्दानीबाट उनी सन्तुष्ट छन् ।
“मैले बेनी बजार र नगरपालिका क्षेत्रमा अटोरिक्सा चलाउँदै आएको छु, दैनिक दुई हजार पाँच सयदेखि तीन हजार कमाइ हुन्छ”, उनले भने, “सबै खर्च कटाएर दैनिक एक हजार ५०० बचत हुन्छ, यसमा धेरै खर्च पनि हुँदैन, यसमै सन्तुष्ट छु ।” तीन वर्षअघि रु तीन लाख ८० हजारमा अटोरिक्सा किनेका बेनी नगरपालिका–२ फापरखेतका कालु सापकोटा पनि यसबाट प्राप्त हुने कमाइले सन्तुष्ट छन् । सेवा पनि हुने र फाइदा पनि हुने यो व्यवसायप्रति पछिल्लो समय युवाहरूको आकर्षण बढेकाले अहिले अटोरिक्सा धेरै हुँदा पहिलाको तुलनामा कमाइ घटेको भए पनि अरु व्यवसायमा भन्दा राम्रै रहेको उनको भनाइ छ ।
“सुरुसुरुमा अटोरिक्सा कमै थिए, दैनिक तीन हजार ५०० देखि पाँच हजारसम्म पनि कमाइ हुन्थ्योँ”, उनले भने, “अहिले पनि कमाइ राम्रै छ, आम्दानीको अन्य स्रोत केही छैन, घरखर्च र अन्य भइपरि आउने खर्च यसैबाट चलेको छ, अलिअलि बचत पनि भएकै छ, अटो रिक्सा चलाएर स्वरोजगार बनिएको छ ।” अर्का अटो चालक वसन्त रेग्मीले पनि अटो चलाएर राम्रो आम्दानी गरेका छन् । मासिकरूपमा ३० हजार बढी बचत गर्न सफल रेग्मी वैदेशिक रोजगारीबाट फर्केर अटोरिक्सा चलाउन थालेका हुन् ।
उनले भने, “घरमै बसेर काम गर्न पाइएको छ, धेरै कष्ट पनि गर्नुपरेको छैन, यसैमा सन्तुष्ट छु ।” जागिर खाने उमेर गएका, विदेश जान नसक्ने, रोजगारीको सम्भावना नभएकालाई अटोरिक्सा व्यवसाय एकदमै राम्रो भएको उनको भनाइ छ । बेनी नगरपालिकाले नगरपालिकाका १० वटा वडाभित्र सञ्चालन गर्न पाउनेगरी अनुदानमा समेत अटोरिक्सा वितरण गरेपछि यहाँ अटो चल्न सुरु गरेको हो । पहाडी भूगोल भए पनि कालोपत्र भएको सडकभित्र अटोरिक्सा सञ्चालन भएका छन् । नगरपालिका क्षेत्रभित्र ३० वटा अटो सञ्चालन हुनेगरेका बेनी नगरपालिकाले जनाएको छ ।