Category: फिचर

  • टुँडिखेलमा महाशिवरात्रि तथा सेना दिवसको पूर्वाभ्यास

    टुँडिखेलमा महाशिवरात्रि तथा सेना दिवसको पूर्वाभ्यास

    काठमाडौँ, २९ माघः नेपाली सेना स्थापनाको २६३औँ वार्षिकोत्सवका अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा महाशिवरात्रि तथा सेना दिवस–२०८२ को पूर्वाभ्यास कार्यक्रम सम्पन्न भएको छ । उक्त पूर्वाभ्यास कार्यक्रमको प्रधानसेनापति अशोकराज सिग्देललले निरीक्षण गरे ।

    सो कार्यक्रममा प्रधानसेनापति सिग्देलले श्री नं १ विपद् व्यवस्थापन गण, श्री नं २ विपद् व्यवस्थापन गण र राष्ट्रिय विपद् व्यवस्थापन शिक्षालयलाई युनिट झण्डा प्रदान गरे । प्रधानसेनापति सिग्देलले केन्द्रीय सैनिक ड्रिल प्रतियोगिता २०८२ मा प्रथम र द्वितीय हुने क्रमशः श्री उपत्यका पृतना र श्री मध्य पश्चिम पृतनालाई पुरस्कृत गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

    सो अवसरमा प्रधानसेनापति सिग्देलले प्रधानसेनापति व्यानर प्रतियोगिता २०८२ मा युद्धक गण, युद्ध मद्दती गण र युद्धक गुल्मतर्फ प्रथम हुने क्रमशः नयाँ श्रीनाथ गण, त्रिनेत्रदल गण र ईन्द्रदल गुल्म लगायत उक्त प्रतियोगिताको विभिन्न विधाहरूमा प्रथम हुने युनिटहरूलाई पुरस्कृत गर्नुभयो ।

    प्रकृति संरक्षण ट्रफि प्रतियोगिता–२०८२ अन्तर्गत गण तथा गुल्म तहमा प्रथम हुन सफल चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ नयाँ गोरख गण र शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ सङ्ग्राम शार्दूल गुल्मलाई प्रकृति संरक्षण ट्रफी तथा पुरस्कार प्रदान गरे ।


    कार्यक्रममा प्रधानसेनापति सिग्देलले सेना दिवस–२०८२ को उपलक्ष्यमा प्रधानसेनापति प्रशंसा निशान प्राप्त गर्ने रथीवृन्द, अधिकृत, पदिक तथा अन्यदर्जालाई प्रधानसेनापति प्रशंसा निशान प्रदान, मानार्थ उपसेनानी दर्जामा पदोन्नति पदिकलाई दज्र्यानी चिन्ह प्रदान गरे ।

    कार्यक्रममा उनले अवकाशपश्चात् विभिन्न तवरबाट समाजमा पुयाएको योगदानको कदरस्वरूप उत्कृष्ट भूतपूर्व सैनिक तथा परिवारजनलाई समेत पुरस्कृत गरे । सेना दिवस–२०८२ हरेक वर्ष महाशिवरात्रिका दिन सैनिक मञ्च टुुँडिखेलमा विविध कार्यक्रमका साथ मनाइँदै छ । यस वर्ष महाशिवरात्रि पर्व आगामी फागुन ३ मनाइँदै छ ।

  • नवलपरासीमा जिपको ठक्करबाट विद्यार्थीको मृत्यु

    नवलपरासीमा जिपको ठक्करबाट विद्यार्थीको मृत्यु

    मध्यविन्दु (नवलपरासी), २९ माघः नवलपरासी (बर्दघाट सुस्त पूर्व) देवचुली नगरपालिका–१४ देवचुली चोकमा जिपको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको छ । सोही दुर्घटनामा परी अर्का एक विद्यार्थी घाइते भएका छन् । दुर्घटनामा परी गम्भीर घाइते भएका देवचुली–१४ का १४ वर्षीय रिप्सन सुनारको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का प्रहरी उपरीक्षक युवराज खड्काले बताए ।

    गम्भीर घाइते देवचुली–१४ कै १३ वर्षीय रिजन धितालको चितवनमा उपचार भइरहेको छ । पूर्वपश्चिम राजमार्गमा कावासोतीबाट रजहरतर्फ आउँदै गरेको बा २१ च ५१६८ नं को जिपले विद्यालयबाट साइकलमा घरतर्फ जाँदै गरेका दुवै जनालाई ठक्कर दिएको थियो । ठक्कर दिने सवारीसाधनका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

  • चक्कु प्रहार गरेर किशोरको हत्या

    चक्कु प्रहार गरेर किशोरको हत्या

    दैलेख, २९ माघः दैलेखको दुल्लू नगरपालिका–४ शान्ति बजारमा चक्कु प्रहारबाट एक किशोरको हत्या गरिएको छ । फुटबल खेलेर घर फर्किँदै गरेका १६ वर्षीय प्रकाश खनालको चक्कु प्रहारबाट मृत्यु भएको हो । दुल्लू अस्पताल नजिकै भएको उक्त घटनामा सङ्लग्न रहेको अभियोगमा प्रहरीले दुल्लू नगरपालिका–१० गमौडीका १९ वर्षीय मुकुन्द शाही र १९ वर्षीय विभूषण शाहीलाई नियन्त्रणमा लिएको छ । तीनै जनाबीच विवाद भएपछि उक्त घट्ना घटेको प्रहरीले जनाएको छ ।

    गम्भीर घाइते खनालको दुल्लू अस्पतालमा उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनापछि फरार भएका दुवैजनालाई प्रहरीले घटनास्थलबाट करिब १० किलोमिटर टाढाको चामुण्डाको जङ्गलबाट नियन्त्रणमा लिएको हो ।

  • प्रत्यक्षतर्फका सबै उम्मेदवारलाई यही फागुन ३ गतेभित्र घोषणापत्र बुझाउन आह्वान

    प्रत्यक्षतर्फका सबै उम्मेदवारलाई यही फागुन ३ गतेभित्र घोषणापत्र बुझाउन आह्वान

    काठमाडौँ, २९ माघः निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फका सबै उम्मेद्वारलाई आगामी फागुन ३ गतेभित्र सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पेस गर्न आह्वान गरेको छ ।

    निर्वाचन आचारसंहिता, २०८२ को दफा ३७ बमोजिम आगामी फागुन ३ गतेभित्र निर्वाचन घोषणापत्र सार्वजनिक गरी एकप्रति सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पेस गर्न आयोगको माघ २७ गतेको निर्णय अनुसार प्रत्यक्ष निर्वाचन प्रणालीतर्फका सबै उम्मेदवारलाई शाखा अधिकृत (कानुन) अरुण अधिकारीले पत्राचार गरेका छन् ।

    आयोगले सबै प्रदेश÷जिल्ला निर्वाचन कार्यालयलाई प्राप्त घोषणापत्रको अभिलेख राखी विवरण आयोगमा पठाउन पत्राचार गरेको हो । यसैगरी सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयलाई जानकारी गराउन पनि आयोगले आह्वान गरिएको पत्रमा उल्लेख छ । आयोगले यसअघि नै सबै राजनीतिक दललाई पनि फागुन ३ गतेभित्र दलीय निर्वाचन घोषणापत्र सार्वजनिक गर्न पत्राचार गरेको थियो ।

  • सोलुखुम्बु पुगेर प्रधानमन्त्रीले भनिन् : निर्वाचनको विकल्प छैन

    सोलुखुम्बु पुगेर प्रधानमन्त्रीले भनिन् : निर्वाचनको विकल्प छैन

    सोलुखुम्बु, २९ माघः प्रधानमन्त्री सुशीला कार्कीले हिमाली तथा पहाडी जिल्लाहरूमा आगामी फागुन २१ गते नै निर्वाचन गराउन सम्भव रहेको बताएकी छिन् । हिमाली जिल्लाहरूमा निर्वाचनको तयारी, सुरक्षा व्यवस्थापन तथा भौगोलिक चुनौतीको स्थलगत निरीक्षणका क्रममा आज सोलुखुम्बु पुगेकी उनले सोलु सहित हिमाली जिल्लामा तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्न सकिने अवस्था रहेको जानकारी दिइन् ।


    प्रधानमन्त्री कार्कीले कुनै पनि बहानामा निर्वाचन सार्ने अवस्था नरहेको उल्लेख गरिन् । उनले भनिन्, “देशलाई अस्थिरताको चक्रबाट मुक्त गर्न फागुन २१ को निर्वाचनको विकल्प छैन । हिमाली भेगका चुनौतीलाई मध्यनजर गर्दै सरकारले आवश्यक सबै व्यवस्था गरिसकेको छ ।”

    प्रधानमन्त्री कार्कीले निर्वाचन भयरहित, शान्त, निष्पक्ष र धाँधलीरहित ढङ्गबाट सम्पन्न हुनेमा ढुक्क रहन आम मतदाता, राजनीतिक दल तथा उम्मेदवारहरूलाई आग्रह गरिन् । सरकारको सम्पूर्ण ध्यान सौहार्दपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गराउन केन्द्रित रहेको जनाउँदै उहाँले सम्बद्ध सबै निकायलाई आफ्नो सम्पूर्ण ध्यान निर्वाचनमा केन्द्रित गर्न निर्देशन दिइन् ।


    जिल्ला सुरक्षा समितिसँगको ‘ब्रिफिङ’मा प्रधानमन्त्री कार्कीले मतदाताले कुनै पनि किसिमको डर, दबाब वा प्रभावबिना मतदान गर्न सक्ने वातावरण सिर्जना गर्न विशेष निर्देशन दिइन् । हिमाली भेगका दुर्गम मतदान केन्द्रहरूमा सुरक्षामा कुनै सम्झौता नगर्न र आवश्यक परे थप सुरक्षा जनशक्ति परिचालन गर्न उनले निर्देशन दिइन् ।


    सो अवसरमा प्रमुख जिल्ला अधिकारी लीलाकुमारी पाण्डे केसीले प्रस्तुत गरेको अभिलेखीय सामग्रीमार्फत जिल्लाको समग्र सुरक्षा अवस्था, मतदान केन्द्रको भौतिक अवस्था तथा पहुँचसम्बन्धी विवरण प्रधानमन्त्रीसमक्ष प्रस्तुत गरिएको थियो । प्रधानमन्त्री कार्कीले सबै मतदान केन्द्रहरूको विशेष अवलोकन गर्दै सुरक्षा, सामग्री ढुवानी र मतपत्र सुरक्षामा उच्च सतर्कता अपनाउन निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी केसीले जानकारी दिए । जिल्लामा १२३ मतदानस्थल छन् ।

    यसमा सातवटा हिमाली क्षेत्रमा पर्ने प्रमुख जिल्ला अधिकारी केसीले जानकारी दिए । विशेष गरी हिमपात, मौसम परिवर्तन र भौगोलिक जोखिमलाई ध्यानमा राख्दै वैकल्पिक योजनासमेत तयार गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रधानमन्त्री कार्कीले हिमाली जिल्लाका मतदाताको मताधिकार सुनिश्चित गर्नु सरकारको संवैधानिक दायित्व भएको उल्लेख गर्दै सोलुखुम्बु जस्ता दुर्गम जिल्लामा पनि मतदाताले सहज रूपमा मतदान गर्न पाउने व्यवस्था मिलाइने बताइन् ।

  • कमजोर आकिएको इटालीसँग नेपालको लजास्पद हार, अर्को चरण पुग्न कठिन

    कमजोर आकिएको इटालीसँग नेपालको लजास्पद हार, अर्को चरण पुग्न कठिन

    २९ माघ, काठमाडौं । आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट २०२६ अन्तर्गत इटाली विरुद्धको खेलमा नेपाल पराजित भएको छ । भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा आज भएको खेलमा नेपाल इटालीसँग १० विकेटले पराजित भएको हो । नेपालले दिएको १२४ रनको लक्ष्य पछाएको इटाली १२.४ ओभरमा पूरा ग¥यो । इटालीका लागि एन्थोनी मोस्का र जस्टिम मोस्काले शतकीय साझेदारी गरे । एन्थोनीले ६२ रन बनाउँदा जस्टिन मोस्काले ६० रन बनाए ।

    त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १९।३ ओभरमा सबै विकेट गुमाएर १२३ रन बनाएको थियो । नेपालको लागि आरिफ शेखले सर्वाधिक २७ रन बनाए । रोहित पौडेलले २३ र आसिफ शेखले २० रन जोडे । दीपेन्द्र सिंह ऐरी १७ रनमा आउट भए भने करण केसी १८ रनमा अविजित रहे । इटालीका बलर क्रिशान कालुगामागेले ३ विकेट लिए भने बेन मानेन्टीले २ विकेट झारे । जसप्रित सिंह र जे जे स्मट्सले समान १–१ विकेट लिए ।

    समूह ‘सी’ मा रहेको नेपालको यो लगातार दोस्रो हार हो । यसअघि पहिलो खेलमा नेपाल इग्ल्याण्डसङ ४ रनले पराजित भएको थियो । यस लगातार हारसँगै नेपालको सुपर एट मा पुग्ने सम्भावना कमजोर बनेको छ । यता इटालीको भने यो पहिलो जित हो । इटाली आफ्नो पहिलो खेलमा स्कटल्याण्डसँग पराजित भएको थियो । नेपाल कमजोर आकिएको इटालीसँगै पराजित भएपछि अब दोसो चरणको यात्रा समेत कठिन बनेको छ ।

  • नयाँ वर्षले चीनमा यात्राको रेकर्ड तोड्ने सङ्केत

    नयाँ वर्षले चीनमा यात्राको रेकर्ड तोड्ने सङ्केत

    बेइजिङ, २९ माघ (रासस–एपी) । चन्द्र नयाँ वर्ष नजिकिँदै जाँदा चीनभर वार्षिक यात्राको भीड सुरु भएको छ, जसलाई संसारकै सबैभन्दा ठूलो मानव आवागमन मानिन्छ । सरकारले ४० दिनको यात्राअवधिमा करिब नौ अर्ब ५० करोड यात्राहरू हुने अनुमान गरेको छ । यो हालसम्मकै उच्च सङ्ख्या हो ।


    सिचुआन प्रान्तको राजधानी चेङ्दु घर भएका लिउ झिक्वान बेइजिङबाट करिब दुई हजार किलोमिटर टाढा निर्माण क्षेत्रमा काम गर्छन् । उनी घर फर्किन ३० घण्टाभन्दा लामो रेल यात्रा गर्न तयारीमा छन् । उच्च गतिको रेलले नौ घण्टामै पुगिए पनि खर्च दोब्बरभन्दा बढी लाग्ने भएकाले उनले सस्तो ढिलो रेल रोजेको बताए । अर्थतन्त्र कमजोर हुँदा कमाइ कठिन भएको उनको भनाइ छ ।

    चीनमा ‘चुन्युन’ नामले चिनिने यो यात्रा अवधिमा करोडौँ कामदारहरू आफ्ना परिवारसँग चाड मनाउन गृहनगर फर्किन्छन् । सरकारी तथ्याङ्कअनुसार करिब ५४ करोड रेलमार्फत् र ९५ करोड हवाई यात्राहरू हुने अपेक्षा गरिएको छ । बाँकी यात्राहरू सडकमार्फत् गरिनेछन् । लामो कार्यसमय र सीमित वार्षिक बिदाका बीच चन्द्र नयाँ वर्ष धेरैका लागि अमूल्य अवसर हो । बेइजिङका रेल स्टेसनहरूमा यात्रुहरू ठूला झोला र सुटकेससहित रेलको प्रतीक्षामा देखिएका छन् । कतिपय यात्रुहरूले स्टेशनमा उपलब्ध निःशुल्क तातो पानी प्रयोग गरेर ‘इन्स्ट्यान्ट नूडल्स’ खाएर समय बिताइरहेका छन् ।

    बेइजिङमा हालै पूर्णकालिक काम सुरु गरेकी टियान डुओफूले फेब्रुअरी १५ देखि सुरु हुने नौ दिने बिदाको प्रतीक्षा गरिरहेकी छिन् । काम सुरु गरेपछि लामो बिदा दुर्लभ भएको र परिवारसँग भेटघाट कम हुँदै गएको महसुस भएको उनले बताइन् । उनका अनुसार वसन्त महोत्सव परिवारसँग पुनर्मिलनको महत्त्वपूर्ण समय हो । हेनान प्रान्त घर भई बेइजिङमा बिहानको खाजा स्टल सञ्चालन गर्दै आएकी टियान युन्सियाले पनि नयाँ वर्ष परिवारसँगै मनाउन घर जान चाहेको बताइन् । उनका अनुसार घर फर्कन नसके चाडपर्वको वास्तविक अनुभूति गर्न नसकिने हुन्छ ।

  • फिलिपिन्समा डुङ्गा डुब्दा मृत्यु हुनेको सङ्ख्या ५२ पुग्यो

    फिलिपिन्समा डुङ्गा डुब्दा मृत्यु हुनेको सङ्ख्या ५२ पुग्यो

    मनिला, २९माघ (रासस–सिन्ह्वा) । दक्षिणी फिलिपिन्सको बासिलान प्रान्तमा मा एउटा डुङ्गा डुब्दा मृत्यु हुनेको सङ्ख्या ५२ पुग्नुका साथै २७ जना अझै बेपत्ता रहेको फिलिपिन्स कोस्ट गार्ड (पिसिजी) ले बुधबार जनाएको छ । विभिन्न पक्षसँगको प्रमाणिकरणको आधारमा, एमभी त्रिशा केस्र्टिन–३ डुङ्गामा सवार व्यक्तिहरूको सङ्ख्या ३७२ रहेको पुष्टि भएको पीसीजीले उल्लेख गरेको छ, जसले डुङ्गा डुब्ने घटनाको दुई हप्ताको अनुसन्धान पछि अद्यावधिक तथ्याङ्क जारी गरेको हो ।

    प्रारम्भिक अनुसन्धानका आधारमा पुष्टि भएका जिवितहरूको संख्या २९३ मा समायोजित गरिएको छ । पूर्ण पहिचान प्रमाणिकरण प्रक्रिया पछिको संशोधनमा सूचीबद्ध यात्रुहरू र अघोषित चालक दलका सदस्यहरू दुवै समावेश भएको पीसीजीले जनाएको छ ।

  • साइबर आक्रमणपछि सुरक्षा कडा गर्ने तयारीमा जापान एयरलाइन्स

    साइबर आक्रमणपछि सुरक्षा कडा गर्ने तयारीमा जापान एयरलाइन्स

    टोकियो, २९ माघ (रासस–सिन्ह्वा) । जापान एयरलाइन्सले आफ्ना बस्तु वितरण सेवाको आरक्षण प्रणालीमा अनधिकृत पहुँच भएको पुष्टि गरेको छ। प्रारम्भिक विवरण अनुसार करिब २८ हजार प्रयोगकर्ताको व्यक्तिगत जानकारी चुहिएको हुन सक्ने अनुमान गरिएको छ। चुहिएको जानकारीमा प्रयोगकर्ताको नाम, ईमेल ठेगाना र फोन नम्बर समावेश छ। यद्यपि, बैंक कार्ड नम्बर, पासवर्ड वा अन्य संवेदनशील विवरण चुहिएको छैन, जसले ठूलो वित्तीय क्षति हुने जोखिम कम गरेको छ।

    एयरलाइन्सले यस समस्याको समाधानका लागि बस्तु वितरण सेवा अस्थायी रूपमा बन्द गरेको छ। कम्पनीले यस घटनाले ग्राहक सेवामा असर नगर्ने र अन्य सेवा प्रणालीहरू सुरक्षित रहेको पनि स्पष्ट पारेको छ। घटना सार्वजनिक भएपछि कम्पनीले सुरक्षा मापदण्ड कडा गर्ने, प्रणालीको कमजोरी पहिचान गर्ने र भविष्यमा यस्ता घटना नदोहोरिन सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको छ।

    विशेषज्ञहरूले यो घटनालाई व्यक्तिगत डेटा सुरक्षा व्यवस्थामा सुधारको आवश्यकता भएको उदाहरणका रूपमा लिएका छन्। उहाँहरूको सुझाव अनुसार प्रयोगकर्ताले आफ्ना व्यक्तिगत विवरणहरूको सुरक्षा गर्न सतर्क रहनु आवश्यक छ। साथै, कम्पनीहरूले प्रणालीमा थप प्रविधिक सुरक्षा उपायहरू लागू गर्नुपर्ने चेतावनी पनि दिइएको छ। यो घटनाले व्यक्तिगत डेटा सुरक्षित राख्न कम्पनी र प्रयोगकर्ताबीचको जिम्मेवारीलाई पुनः स्मरण गराएको छ र डिजिटल सुरक्षा सुधारमा ध्यान केन्द्रित गर्नुपर्ने आवश्यकता देखाएको छ।

  • अमेरिकी अटो उद्योग आर्थिक संकटमा, फोर्ड पनि प्रभावित

    अमेरिकी अटो उद्योग आर्थिक संकटमा, फोर्ड पनि प्रभावित

    न्यूयोर्क,२९ माघ (रासस–एपी) । अमेरिकी अटोमोबाइल निर्माता फोर्ड मोटर कम्पनीले सन् २०२५ को चौथो त्रैमासिकमा घाटा व्यहोरेको जनाएको छ। यो सन् २००८ को विश्वव्यापी आर्थिक मन्दीपछि देखिएको सबैभन्दा ठूलो त्रैमासिक नोक्सानमध्ये एक हो। उक्त अवधिमा कम्पनीले करिब ४५ दशमलव ९ अर्ब डलर आम्दानी गरेको भए पनि उच्च आयात शुल्क, कच्चा पदार्थको मूल्यवृद्धि, उत्पादन लागतमा वृद्धि तथा आपूर्ति शृंखलामा आएको अवरोधका कारण नाफा प्रभावित भएको कम्पनीले जनाएको छ। विशेषगरी केही आयातित अटो पार्ट्समा लाग्ने अतिरिक्त कर र शुल्कले वित्तीय दबाब बढाएको उल्लेख गरिएको छ।

    कम्पनीले विद्युतीय सवारी साधन कार्यक्रमतर्फ गरिएको ठूलो लगानी र संरचनात्मक पुनर्संरचनासम्बन्धी खर्चले पनि घाटा बढाउन भूमिका खेलेको बताएको छ। विद्युतीय सवारी उत्पादन विस्तार गर्ने क्रममा प्रारम्भिक चरणमा उच्च लागत व्यहोर्नुपरेको विश्लेषकहरूले बताएका छन्। फोर्डका प्रमुख कार्यकारी अधिकृतले आगामी वर्ष लागत नियन्त्रण, उत्पादन दक्षता वृद्धि र प्रतिस्पर्धी मोडेल विकासमार्फत वित्तीय अवस्थामा सुधार ल्याउने लक्ष्य रहेको बताएका छन् ।


    कम्पनीले सन् २०२६ मा ब्याज र करअघिको नाफामा उल्लेखनीय सुधार हुने अपेक्षा व्यक्त गरेको छ। यद्यपि, विश्वव्यापी बजार प्रतिस्पर्धा, व्यापार नीतिमा अनिश्चितता तथा लागत वृद्धिका चुनौतीहरू कायम रहेकाले कम्पनीले दीर्घकालीन रणनीति सुदृढ बनाउनुपर्ने आवश्यकता देखिएको विश्लेषण गरिएको छ।

  • दबाबबीच इरानमा क्रान्ति दिवस

    दबाबबीच इरानमा क्रान्ति दिवस

    दुबई, २९ माघ (रासस–एपी) । इरानले सन् १९७९ को इस्लामिक क्रान्तिको ४७औँ वार्षिकोत्सव बुधबार मनाएको छ, तर देश भित्री असन्तोष र बाह्य दबाबका कारण संवेदनशील अवस्थामा रहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वमा अर्को विमानवाहक समूह पठाउने सङ्केत गरेका छन् । इरानभित्र हालै भएका विरोध प्रदर्शनमाथि गरिएको कठोर दमनको अन्तर्राष्ट्रिय आलोचना जारी छ ।

    इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको वासिङ्टन भ्रमणको सन्दर्भमा ट्रम्पले तेहरानसँग सम्भावित नयाँ आणविक सम्झौतामा कडा सर्त राख्नुपर्ने धारणा व्यक्त गरेका थिए । यसैक्रममा, पछिल्लो चरणको वार्तामा मध्यस्थता गरेको ओमान भ्रमणपछि एक वरिष्ठ इरानी सुरक्षा अधिकारी कतार पुग्ने कार्यक्रम रहेको जनाइएको छ ।

    राज्य सञ्चारमाध्यमहरूले तेहरानसहित देशभर हजारौँ समर्थकहरू सडकमा उत्रिएको दृश्य प्रसारण गरेका छन्, जहाँ इस्लामिक गणतन्त्र र ८६ वर्षीय सर्वोच्च नेता अयातुल्ला अली खामेनीप्रति समर्थन जनाइएको छ । यद्यपि राजधानी तेहरानमा केही स्थानबाट ‘तानाशाह मूर्दावाद’ जस्ता नारासमेत सुनिएको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।

    सडक प्रदर्शनमा सहभागीहरूले इरानी र प्यालेस्टिनी झण्डासहित खामेनी तथा इस्लामिक गणतन्त्रका संस्थापक आयातोल्लाह रुहोल्लाह खोमेनीका तस्बिर बोकेका थिए । कतिपयले ‘अमेरिका मूर्दावाद’ र ‘इजरायल मूर्दावाद’ जस्ता नारा लगाएका थिए । सुधारवादी राष्ट्रपति मसुद पेजेस्कियानले तेहरानको आजादी स्क्वायरमा सम्बोधन गर्ने कार्यक्रम रहेको थियो । उनले यसअघि विदेशमन्त्रीलाई अमेरिकी पक्षसँग वार्ता अघि बढाउन निर्देशन दिएका थिए ।


    आठ करोड ५० लाख जनसङ्ख्या भएको इरानमा शासनप्रति बलियो समर्थन गर्ने समूह अझै सक्रिय रहेको छ, जसमा अर्धसैनिक क्रान्तिकारी गार्डका सदस्यहरू पनि पर्छन् । हालैको दमनमा हजारौँ पक्राउ परेका र कैयौँ मारिएका विवरण सार्वजनिक भएका छन् । केही नागरिकहरू सरकारी कर्मचारी भएकाले वा सरकारी प्रायोजनमा आयोजित कार्यक्रमको वातावरणका कारण पनि समारोहमा सहभागी हुने गरेका छन् ।

    स्मरणोत्सवपछि वरिष्ठ सुरक्षा अधिकारी अली लारिजानी ओमानबाट कतारतर्फ प्रस्थान गर्नुभएको छ । कतारले अमेरिकी सैन्य आधार होस्ट गर्दछ, जसलाई इरानले गत जुनको १२ दिने इरान–इजरायल युद्धको क्रममा आक्रमण गरेको थियो । कतार विगतमा इरानसँग वार्तामा महत्त्वपूर्ण मध्यस्थकर्ता रहँदै आएको छ । रूसी सञ्चारमाध्यमसँग कुरा गर्दै विदेशमन्त्री अब्बास अराघचीले अमेरिकाप्रति पूर्ण विश्वास नरहेको बताए ।

    गत जुनमा वार्ताकै बीचमा आक्रमण भएको अनुभव अत्यन्तै नकारात्मक रहेको उनको भनाइ थियो । भविष्यमा त्यस्तो अवस्था दोहोरिन नदिन ग्यारेन्टी आवश्यक रहेको र त्यसमा धेरै हदसम्म अमेरिका जिम्मेवार हुने उनले बताए । यद्यपि उहाँले सन् २०१५ को आणविक सम्झौताभन्दा अझ राम्रो सहमति सम्भव हुन सक्ने सङ्केत गरेका छन् ।


    संयुक्त राज्य अमेरिकाले युएसएस अब्राहम लिङ्कनसहितका युद्धपोत र लडाकू विमानहरू यसअघि नै मध्यपूर्वमा तैनाथ गरिसकेको छ । ट्रम्पले आवश्यक परे दोस्रो विमानवाहक पनि पठाउन सकिने बताए । कुन जहाज पठाइने हो भन्ने स्पष्ट नभए पनि युएसएस जर्ज एच. डब्ल्यु. बुश र युएसएस जेराल्ड आर. फोर्ड क्षेत्रीय गतिविधिसँग जोडिएका नामका रूपमा उल्लेख भएका छन् ।

  • निर्वाचन अनुगमनका लागि अन्तर्राष्ट्रिय पर्यवेक्षक तथा पत्रकारहरु बङ्गलादेशमा

    निर्वाचन अनुगमनका लागि अन्तर्राष्ट्रिय पर्यवेक्षक तथा पत्रकारहरु बङ्गलादेशमा

    ढाका, २९ माघ (रासस–एएनआई) । बङ्गलादेशमा बिहिबारलाई तय भएको १३ औं आम चुनाव र जुलाईमा हुने जनमतसंग्रह अनुगमन गर्न कम्तिमा ३९४ जना अन्तर्राष्ट्रिय निर्वाचन पर्यवेक्षक र १९७ विदेशी पत्रकारहरू बंगलादेश आइपुगेको जनाइएको छ । अन्तर्राष्ट्रिय पर्यवेक्षकहरू मध्ये ८० जनाले ले विभिन्न अन्तर्राष्ट्रिय सङ्गठनहरूको प्रतिनिधित्व गरेको जनाइएको छ । स्वतन्त्र युरोपेली पर्यवेक्षकहरू सहित द्विपक्षीय देशहरूबाट २४० जना पर्यवेक्षकहरू हाएको जनाइएको छ ।

    अन्य ५१ जना विभिन्न विश्वव्यापी संस्थाहरूसँग सम्बद्ध व्यक्तिहरू रहेको विज्ञप्तिमा उल्लेख छ । पर्यवेक्षक मिसनहरू पठाउने प्रमुख संस्थाहरूमा एसियन नेटवर्क फर फ्री इलेक्शन्स (एएनएफआरइएल) छ भने अमेरिकास्थित इन्टरनेसनल रिपब्लिकन इन्स्टिच्युट (आइआरआई) ले १९ जना पर्यवेक्षक तैनाथ गरेको छ । यसै गरी नेसनल डेमोक्र्याटिक इन्स्टिच्युट (एनडीआई) ले एक जना पर्यवेक्षक पठाएको छ ।

    अन्य सङ्गठनहरूमा इस्लामिक सहयोग सङ्गठन (ओआईसी), एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलन (आइसिएपीपी) र युरोपेली युनीयन समावेश छन् । युरोपेली सङ्घबाहेक २१ वटा देशबाट पर्यवेक्षकहरू आउँदैछन् । पाकिस्तान (८), भुटान (२), श्रीलङ्का (११), नेपाल (१), इन्डोनेसिया (३) र फिलिपिन्स (२), मलेसिया (६) जोर्डन (२), टर्की (१३) इरान (३), जर्जिया (२) र रुस (२) बाट पनि पर्यवेक्षक आइपुगेका छन् ।

    अन्य सहभागी देशहरूमा चीन (३) जापान (४) दक्षिण कोरिया (२) किर्गिजस्तान (२) उज्बेकिस्तान (२) दक्षिण अफ्रिका (२) र नाइजेरिया (४) समावेश छन् ।
    भ्वाइस फर जस्टिस, डेमोक्रेसी इन्टरनेसनल, एसएनएएस अफ्रिका, सार्क ह्युमन राइट्स फाउन्डेसन र पोलिश इन्स्टिच्युट अफ इन्टरनेसनल अफेयर्स जस्ता संस्थाका पर्यवेक्षकहरूले चुनावको अनुगमन गर्नेछन् । अन्तर्राष्ट्रिय पर्यवेक्षक भ्रमणको समन्वयलाई समर्थन गर्दै वरिष्ठ सचिव तथा एसडिजी संयोजक लामिया मोर्सेदले यसले बङ्गलादेशको अन्तरिम सरकारमा स्वतन्त्र, निष्पक्ष र सहभागी निर्वाचन गर्न विश्व समुदायको विश्वासलाई प्रतिबिम्बित गरेको बताए ।

    उच्च–स्तरीय सहभागीहरूमा घानाका पूर्व राष्ट्रपति नाना आडो डानक्वा अकुफो–आडो र भुटानका मुख्य निर्वाचन आयुक्त डेकी पेमा आएको जनाइएको छ । बङ्गलादेशका लागि टर्कीका पूर्व राजदूत मेहमेत भाकुर एर्कुल र बेलायतको हाउस अफ लड्र्सका पूर्व सरकारी उप मुख्य सचेतक लर्ड रिचर्ड न्युबी पनि सहभागी भएको जनाइएको छ ।

    मलेसियाको निर्वाचन आयोगका अधिकारी रामलान बीर हरुन र इरानी सांसद बेहनम सइदी, विदेश नीति तथा राष्ट्रिय सुरक्षा आयोगको प्रिसाइडिङ बोर्डका सदस्य पनि प्रतिनिधिमण्डलमा रहेको जनाइएको छ । करीव ५० भन्दा बढी राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरूको प्रतिनिधित्व गर्ने दुई हजार भन्दा बढी उम्मेद्वारहरूले संसदीय सिटहरूमा प्रतिस्पर्धा गरिरहेका छन् । भने आगमी जुलाईमा जनमतसंग्रहको साथै आम चुनाव हुने कार्उक्रम तय भएको छ ।

  • श्रीलङ्का : सन् २०२२ मा सांसदको हत्यामा संलग्न १२ जनालाई मृत्युदण्डको सजाय

    श्रीलङ्का : सन् २०२२ मा सांसदको हत्यामा संलग्न १२ जनालाई मृत्युदण्डको सजाय

    श्रीलङ्का : सन् २०२२ मा सांसदको हत्यामा संलग्न १२ जनालाई मृत्युदण्डको सजाय
    कोलम्बो, २९ माघ (रासस–सिन्ह्वा) । श्रीलङ्काको गम्पाहा उच्च अदालतले सन् २०२२ मा तत्कालिन सांसद अमराकिर्थी अथुकोराला र उहाँका एक सुरक्षा अधिकारीलाई हत्या गरेको अभियोगमा १२ अभियुक्तलाई बुधबार मृत्युदण्डको सजाय सुनाएको छ । हत्याको सम्बन्धमा कुल ४२ जनालाई अभियोग लगाइएको यो निर्णय एक विस्तारित सुनुवाइपछि आएको हो । मृत्युदण्डको सजायका अतिरिक्त अदालतले अन्य चार व्यक्तिलाई पनि छ महिनाको जेल सजाय सुनाएको छ । अन्य २३ जना अभियुक्तलाई अदालतले सफाइ दिएको थियो ।

    आरोपहरू सन् २०२२ मेमा राष्ट्रव्यापी अशान्तिको समयमा प्रकट भएका घटनाहरूबाट उत्पन्न भएका थिए । रिपोर्टअनुसार हत्या गरिएका सांसद अमराकिर्थी अथुकोराला र उनका सुरक्षा अधिकारीले आक्रोशित प्रदर्शनकारीमाथि गोली चलाउँदा दुई जना प्रदर्शनकारी गम्भीर घाइते भएका थिए । प्रदर्शनकारीमाथि भएको आक्रमण पछि त्यसै दिन गोली चलेको स्थान नजिकैको भवनमा सांसद अमराकिर्थी र उनका सुरक्षाकमीलार्ई हत्या गरिएको अवस्थामा फेला पारिएको थियो ।

  • क्यानाडामा गोलीकाण्डमा ज्यान जानको संख्या ९ पुग्यो

    क्यानाडामा गोलीकाण्डमा ज्यान जानको संख्या ९ पुग्यो

    टोरन्टो, २९ माघ (रासस–एएफपी) । पश्चिमी क्यानाडाको दुर्गम क्षेत्रमा मङ्गलबार भएको सामूहिक गोलीकाण्डमा कम्तीमा नौ जनाको मृत्यु भएको छ । घटनामा सात जना माध्यमिक विद्यालयमा गोली हानेर मारिएका छन् । घटना रकी पर्वतमालाको फेदीमा अवस्थित सुरम्य पहाडी उपत्यका सहर ब्रिटिस कोलम्बियाको टम्बलर रिजमा भएको हो । रोयल क्यानेडियन माउन्टेड पुलिस (आरसिएमपी) ले जारी गरेको विज्ञप्तिअनुसार कुल २७ जना घाइते भएका छन् । तीमध्ये दुई जनाको अवस्था गम्भीर छ भने अन्य २५ जनालाई विभिन्न किसिमको चोटपटक लागेको छ ।

    क्यानाडाली सञ्चारमाध्यमहरूले बन्दुकधारी महिला भएको जनाएका छन् । तर आरसिएमपीले मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा संदिग्धको पहिचानबारे विस्तृत विवरण दिन अस्वीकार गरेको छ । प्रहरीका अनुसार मङ्गलबार दिउँसो टम्बलर रिज माध्यमिक विद्यालयमा सक्रिय बन्दुकधारी रहेको चेतावनी जारी गरिएको थियो । सुरक्षाकर्मीहरूले विद्यालय परिसरको खोजी गर्दा छ जनालाई गोली हानेर हत्या गरिएको अवस्थामा फेला पारेका थिए । अर्को एक जना घाइतेको अस्पताल लैजाँदै गर्दा मृत्यु भएको थियो ।

    यसैबीच प्रहरीले टम्बलर रिजस्थित एक निवासबाट थप दुई जनाको शव फेला पारेको जनाएको छ । उक्त घर घटनासँग जोडिएको विश्वास गरिएको प्रहरीले उल्लेख गरेको छ । विद्यालय परिसरभित्र गोली चलाउने व्यक्तिको रूपमा आशङ्का गरिएको व्यक्ति पनि मृत अवस्थामा फेला परेको र प्रारम्भिक रूपमा आत्महत्या जस्तो देखिएको प्रहरीले जनाएको छ । टम्बलर रिज नगरपालिकाले जारी गरेको वक्तव्यमा समुदायले भोगिरहेको पीडालाई शब्दमा व्यक्त गर्न नसकिने उल्लेख गरिएको छ ।

    घटनाका बेला विद्यालयमा रहेका विद्यार्थी डेरियन क्विस्टले सार्वजनिक प्रसारक सिबिसीलाई आफू मेकानिक्स कक्षामा रहेका बेला विद्यालय सुरक्षात्मक बन्द अवस्थाको घोषणा भएको बताए । सुरुमा आफूले सामान्य सावधानी ठाने पनि केही समयपछि विद्यालयभित्रको घटनाका तस्बिरहरू प्राप्त हुन थालेपछि स्थिति गम्भीर रहेको महसुस भएको उनले बताए । त्यसपछि वास्तविकता स्पष्ट भएको उनले बताए ।
    उनले करिब दुई घण्टाभन्दा बढी समय सुरक्षात्मक बन्द अवस्थामा बस्नुपरेको र त्यसपछि प्रहरी विद्यालयभित्र प्रवेश गरी सबैलाई हात माथि उठाएर बाहिर निस्कन निर्देशन दिएको जानकारी दिए । डेरियनकी आमा शेली क्विस्टले पनि सिबिसीसँग कुरा गर्दै स्थल सुरक्षित घोषणा भएपछि छोरोसँग भेट हुँदा अँगालो हालेर समातेको बताइन् ।

    अब केही समय उहाँलाई आफ्नो नजरबाट टाढा जान नदिने उनले उल्लेख गरे । प्रधानमन्त्री मार्क कार्नीले घटनाप्रति आफू स्तब्ध भएको बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले हिंसाका यस्ता भयानक कार्यमा आफ्ना प्रियजन गुमाउने परिवार र साथीहरूप्रति गहिरो समवेदना व्यक्त गरेका छन् ।


    ब्रिटिस कोलम्बियाका प्रिमियर डेभिड इबीले पनि घटनालाई अकल्पनीय हिंसा भन्दै निन्दा गरेका छन् । सङ्घीय विपक्षी नेता पियरे पोइलिभ्रेले यसलाई हिंसाको मूर्खतापूर्ण कार्यको संज्ञा दिएका छन् । क्यानाडामा यस्ता सामूहिक गोलीकाण्ड विरलै हुने गर्दछन् । तर गत अप्रिलमा भ्यानकुभरमा फिलिपिन्सको सांस्कृतिक उत्सवलाई लक्षित गरी गरिएको गाडी आक्रमणमा ११ जनाको मृत्यु भएको थियो ।

    आरसिएमपीका उत्तरी जिल्ला कमान्डर केन फ्लोइडले घटनालाई द्रुत रूपमा विकसित र अत्यन्त जटिल अवस्था भएको बताएका छन् । उनले यो दिन समुदायका लागि अत्यन्त गाह्रो र भावनात्मक रहेको उल्लेख गर्दै अनुसन्धान अघि बढाउन देखाएको सहयोगप्रति आभार व्यक्त गरेका छन् । प्रहरीले घटनासँग सम्बन्धित थप स्थानहरू हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै समुदायका अन्य घर तथा सम्पत्तिको पनि खोजी गरिरहेको जनाएको छ ।

    करिब दुई हजार ४०० जनसङ्ख्या रहेको शान्त सहर टम्बलर रिज, ब्रिटिस कोलम्बियाको सबैभन्दा ठुलो सहर भ्यानकुभरबाट एक हजार १०० किलोमिटरभन्दा बढी उत्तरमा अवस्थित छ । नगरपालिकाले ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै यस त्रासदीले परिवार, विद्यार्थी, कर्मचारी र सम्पूर्ण समुदायमा गहिरो प्रभाव पारेको उल्लेख गरेको छ । समुदाय अहिले शोक र स्तब्धताको अवस्थामा रहेको जनाइएको छ ।

  • निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई कारबाहीका लागि प्रेस काउन्सिललाई पत्राचार

    निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई कारबाहीका लागि प्रेस काउन्सिललाई पत्राचार

    काठमाडौँ, २९ माघः निर्वाचन आचारसंहिता, २०८२ उल्लङ्घनको उजुरी परेका सञ्चारमाध्यम र पत्रकारबारे अध्ययन, अनुसन्धान गरी कानुनी कारबाही गर्न निर्वाचन आयोगले प्रेस काउन्सिलमा लेखी पठाएको छ । काठमाडौँको तारकेश्वर नगरपालिका–१० स्थित शिवपुरी मिडिया नेटवर्क प्रालिबाट सञ्चालित सगरमाथा पोष्ट डटकमका अध्यक्ष\सम्पादक रबिनप्रसाद थपलिया र प्रबन्ध सम्पादक चित्रकुमार (सिके) चौलागाईंले आफ्ना व्यक्तिगत सामाजिक सञ्जालबाट उम्मेदवारका प्रचारप्रसारका सामग्री निरन्तर पोष्ट गरेको भनी आयोगमा उजुरी परेपछि प्रेस काउन्सिल नेपाललाई कानुनी कारबाहीका लेखी पठाएको हो ।

    उजुरीअनुसार यसमा प्रचलित कानुनबमोजिम आवश्यक अनुसन्धान तथा कारबाही गर्न काउन्सिलमा पठाइएको आयोगले जनाएको छ । आफ्ना व्यक्तिगत सामाजिक सञ्जालबाट निर्वाचन आचारसंहिता, २०८२ को दफा ७ को खण्ड (क) र (झ) को प्रतिकूल हुने गरी उम्मेदवारका प्रचारप्रसार सामग्री निरन्तर पोष्ट गरेको भनी उजुरी परेकाले काउन्सिलमा लेखी पठाइएको आयोगका कानुन अधिकृत मोहनराज जोशीले बताए । यसैगरी गोरखापत्र संस्थानले मधेस र बाग्मती प्रदेशका संयोजक हटाएको विषयमा परेको उजुरीका आधारमा पनि स्पष्टीकरण सोधिएको उनले जानकारी दिए । आयोगले संस्थानलाई यस विषयमा दुई दिनभित्र स्पष्टीकरण पेस गर्न पत्राचार गरेको जनाएको छ ।

  • हिंसात्मक उग्रवाद रोकथामसम्बन्धी अन्तरराष्ट्रिय दिवस मनाइँदै

    हिंसात्मक उग्रवाद रोकथामसम्बन्धी अन्तरराष्ट्रिय दिवस मनाइँदै

    काठमाडौँ, २९ माघः आज हिंसात्मक उग्रवाद रोकथामसम्बन्धी अन्तरराष्ट्रिय दिवस हो । हिंसात्मक उग्रवादसँगवविरुद्ध चेतना विस्तार र अन्तरराष्ट्रिय सहकार्य सुदृढी बनाउने उद्देश्यका साथ यो दिवस विश्वका विभिन्न मुलुकमा मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा यो दिवस मनाउन प्रारम्भ भएको आज चौथो वर्ष हो । राष्ट्रसङ्घको प्रधानकार्यालयका साथै विश्वका अन्य मुलुकस्थित राष्ट्रसङ्घीय कार्यालय, अन्तरसरकारी संस्था, नागरिक समाज, धार्मिक क्षेत्रका अगुवा, निजी क्षेत्र, शैक्षिक संस्था र सञ्चारमाध्यमका प्रतिनिधिसहित सरोकार भएका सबैले एकत्रित भएर हिंसात्मक उग्रवादको रोकथामका निम्ति ऐक्यबद्धता प्रकट गर्नेछन् ।

    आतङ्कवाद र हिंसात्मक उग्रवादलाई कुनै धर्म, राष्ट्रियता, सभ्यता वा जातीय समूहसँग जोड्न नहुनेमा जोड दिँदै राष्ट्रसङ्घले हिंसात्मक उग्रवाद रोक्न विश्व समुदायबीच समन्वय बढाउन आग्रह गरेको छ । साथै उक्त विश्व संस्थाले संवाद, साझेदारी र समुदायको नेतृत्वमा आधारित समाधानमार्फत हिंसात्मक उग्रवादका मूल कारणहरू पहिचान गरी रोकथामको प्रयास हुनुपर्ने बताएको छ ।

    दीर्घकालीन शान्ति र स्थायित्वका लागि केवल सुरक्षात्मक उपाय मात्र पर्याप्त नभएकाले सामाजिक, आर्थिक र वैचारिक पक्षलाई पनि ख्याल गर्न अपरिहार्य भएको जनाएको छ । यो दिवसका अवसरमा राष्ट्रसङ्घले विश्वभरका नागरिक र संस्थाहरूलाई साझा जिम्मेवारी र सहकार्यमा आबद्ध हुन आह्वान पनि गरेको छ ।

  • यस्तो छ आजको मौसम पूर्वानुमान

    यस्तो छ आजको मौसम पूर्वानुमान

    काठमाडौँ, २९ माघः हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा साधरणतया बादल लागेको र बाँकी भागको मौसम मुख्यतया सफा रहेको बताएको छ । मौसम पूर्वानुमानअनुसार आज दिउँसो तराईका केही स्थानमा मध्याह्नसम्म हुस्सु रहने सम्भावना छ । कोशी प्रदेशका पहाडी र हिमाली भागमा साधरणतया बादल लाग्नेछ भने बाँकी पहाडी र हिमाली भागमा आंशिक बादल लाग्नेछ ।

    तराईका अन्य स्थानमा मुख्यतया मौसम सफा रहनेछ । कोशी प्रदेशका उच्च पहाडी र हिमाली भागको एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । त्यसैगरी, आज राति तराईका केही स्थानमा तुँवालो लाग्ने सम्भावना छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लाग्नेछ र बाँकी भागमा मुख्यतया मौसम सफा रहनेछ ।

  • क्षेत्रीय सहयोग आवश्यक होइन अनिवार्य छः नेपाल

    क्षेत्रीय सहयोग आवश्यक होइन अनिवार्य छः नेपाल

    काठमाडौँ, २९ माघः नेपालले बदलिँदो विश्व परिवेशमा क्षेत्रीय सहयोग आवश्यक मात्र नभई अनिवार्य भएको बताएको छ । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) कार्यक्रम समितिको ६२औँ बैठकमा परराष्ट्र सचिव तथा सार्क स्थायी समितिका अध्यक्ष अमृतबहादुर राईले उक्त कुरा बताएका हुन् । आजको विश्वव्यापी चुनौती र अनिश्चितताका बीचमा क्षेत्रीय सहयोग आवश्यक मात्र नभई अनिवार्य भएको भन्दै उनले राष्ट्रिय प्रयास र विश्वव्यापी प्रक्रियाबीच सेतुका रूपमा क्षेत्रीय सहकार्य अत्यावश्यक भएको बताए ।


    सार्कका महासचिव गोलाम सरवारले सार्कले चार दशकमा हासिल गरेका उपलब्धिको स्मरण गर्दै क्षेत्रीय सहकार्यको आकाङ्क्षालाई व्यवहारमा रूपान्तरण गर्नुपर्नेमा जोड दिए । आज समापन हुने बैठकले सार्क सचिवालयको बजेट र कार्यक्रमहरू अनुमोदन गर्नेछ । बैठकमा बङ्गलादेश, भूटान, भारत, माल्दिभ्स, पाकिस्तान र श्रीलङ्काका वरिष्ठ अधिकारीहरू सहभागी हुनुहुन्छ ।

  • विश्वकप क्रिकेट : आज नेपाल र इटाली खेल्दै

    विश्वकप क्रिकेट : आज नेपाल र इटाली खेल्दै

    २९ माघ, काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले आज एसोसियट राष्ट्र इटलीसँग खेल्दै छ ।समूह ‘सी’ अन्तर्गत नेपाल र इटलीबीचको खेल दिउँसो सवा ३ बजेदेखि मुम्बईको वाङ्खेडे स्टेडियममा हुनेछ । नेपाल र इटली दुवै टोली पहिलो खेलमा पराजित भएका थिए । नेपाल इंग्ल्यान्डसँग तथा इटली स्कटल्यान्डसँग पराजित भएको थियो । दुवै टोली आज पहिलो जितको खोजीमा हुनेछन् ।

    नेपाल र इटली १३ वर्षपछि फरक फर्म्याटमा भिड्न लागेका हुन् । सन् २०१३ को आईसीसी डिभिजन ३ मा नेपालले इटलीसँग खेलेको थियो । तर त्यो ५० ओभरको खेल थियो । बिहीबार हुने खेल यी दुई टोलीबीचको पहिलो टी–२०आई भिडन्त हुनेछ । १३ वर्षपछि इटलीसँग खेल्दा नेपाल १२ वर्षपछि जितको खोजीमा पनि हुनेछ । नेपालले सन् २०१४ मा अफगानिस्तानविरुद्धको खेल जितेपछि विश्वकपको खेल जितेको छैन । नेपाल रहेको समूह ‘सी’ मा वेस्ट इन्डिजले हालसम्म खेलेका दुवै खेल जितेर ४ अंक जोडिसकेको छ । इंग्ल्यान्ड र स्कटल्यान्डले २ खेलमा २ अंक जोडेका छन् ।

  • करिब दुई हजार तीन सय सहकारीलाई दर्ता अभिलेखीकरण

    करिब दुई हजार तीन सय सहकारीलाई दर्ता अभिलेखीकरण

    काठमाडौँ, २९ माघः राष्ट्रिय सहकारी नियमन प्राधिकरणले करिब दुई हजार ३०० सहकारीलाई दर्ता अभिलेखीकरण गरेको छ । सहकारी क्षेत्रलाई व्यवस्थित, पारदर्शी र विश्वसनीय बनाउने उद्देश्यका साथ प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने देशभरका सम्पूर्ण सहकारीलाई दर्ता अभिलेखीकरण सुरु गरेको हो । सङ्घ, प्रदेश र स्थानीय तहको कार्यक्षेत्रभित्र बचत तथा ऋणलाई मुख्य कारोबारका रूपमा सञ्चालन गर्ने सहकारी संस्थाको नियमन, अनुगमन र सुपरीवेक्षण गर्ने प्रमुख जिम्मेवारी प्राधिकरणलाई दिइएको छ ।

    ती सहकारीले प्राधिकरणमा दर्ता अभिलेखीकरण नगरी कारोबार गरेमा त्यसलाई गैरकानुनी मानिने तथा उनीहरूको वासलात परीक्षण, नवीकरण प्रक्रिया रोकिने भएकाले प्राधिकरणले बचत तथा ऋण सहकारी संस्थालाई कर्जा सूचना केन्द्रको सदस्यता लिनसमेत निर्देशन दिइएको छ ।

    प्राधिकरणका निर्देशक केशव भट्टराईका अनुसार सहकारी ऐन २०७४ को दफा ८१ अनुसार बचत तथा ऋण सहकारी संस्थाले कर्जा सूचना केन्द्रमा आबद्ध भएर सूचना आदान–प्रदान गर्नुपर्ने व्यवस्था छ । बचतकर्ताको निक्षेप सुरक्षणका लागि तथ्याङ्क व्यवस्थापन प्रणाली र ऋण कारोबारसम्बन्धी सूचना आदान–प्रदानको व्यवस्था गरिएको उनले जानकारी दिए ।


    सहकारी ऐनअनुसार बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाले कर्जा सूचना केन्द्रको सदस्यता प्राप्त गरी कर्जा कारोबारसम्बन्धी सूचना नियमित आदान–प्रदान गर्नुपर्ने उल्लेख छ ।

  • निर्वाचनका २१ दिन बाँकीः यस्ता छन् नागरिक शिक्षा प्रवर्द्धनका लागि स्रोत सामग्री

    निर्वाचनका २१ दिन बाँकीः यस्ता छन् नागरिक शिक्षा प्रवर्द्धनका लागि स्रोत सामग्री

    काठमाडौँ, २९ माघः निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नागरिक शिक्षा प्रवर्द्धनका लागि विभिन्न स्रोत सामग्रीहरू तयार गरेको छ । लोकतन्त्र, निर्वाचन, समावेशिता र निर्वाचन, मतदाता नामावली र मतदानलगायत विषय समेटेर स्रोत सामग्री तयार गरिएको हो । यस्तै, मतदानको महत्त्व, निर्वाचनसम्बन्धी संवैधानिक व्यवस्था, निर्वाचन र राजनीतिक दल आदि विषयमा पनि यसमा समेटिएका छन् ।

    आयोगले निर्वाचन शिक्षाका लागि तयार गरिएको ‘नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका’ लाई सबैको पहुँचका लागि आफ्नो वेबसाइटमा राखेको छ । आयोगका सहप्रवक्ता कुलबहादुर जिसीले ती सामग्रीका आधारमा सरकारी र नागरिक क्षेत्रका सम्बन्धित निकाय, संस्था र व्यक्तिले नागरिक शिक्षा प्रवर्द्धन गर्न सक्नेछन् । आगामी फागुन १ गतेदेखि मतदाता शिक्षाको कार्यक्रमलाई पनि तीव्रता दिने आयोगको तयारी छ ।

  • दक्षिण सुडानमा तैनाथ सैनिकको अदलीबदली

    दक्षिण सुडानमा तैनाथ सैनिकको अदलीबदली

    काठमाडौँ, २८ माघः संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनाका लागि दक्षिण सुडानमा परिचालित हुनका लागि गरुडदल गण शान्ति सेनाको १२औँ समूहको टोली त्यसतर्फ प्रस्थान गरेको छ । यसअघि त्यहाँ खटिएको चण्डीप्रसाद गणको ११औँ डफ्फालाई बदली गर्न १६२ जना नेपाली शान्ति सैनिकको पहिलो टोली आज मिसन इलाका प्रस्थान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । उक्त मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरेका १७१ जना नेपाली शान्ति सैनिक आजै स्वदेश फिर्ता भएका छन् । हाल त्यस मिसनमा एक हजार ६९ जना शान्ति सैनिकहरु कार्यरत रहेको निर्देशनालयले जनाएको छ ।

  • विद्युतीय सवारीको भाडादर घटाउने तयारी

    विद्युतीय सवारीको भाडादर घटाउने तयारी

    काठमाडौँ, २८ माघः यातायात व्यवस्था विभागले विद्युतीय सवारी ९इभी०को भाडादर १० प्रतिशतसम्म घटाउने तयारी गरेको छ । विभागले यस विषयमा आन्तरिक छलफल अघि बढाएको जनाएको छ । हाल डिजेल बसको भाडादर निर्धारण गरिए पनि इभी बसको भाडादर स्पष्ट रूपमा कायम नभएको भन्दै नयाँ दर निर्धारणबारे छलफल भइरहेको हो । डिजेल बसको तुलनामा इभी बसको सञ्चालन खर्च कम पर्ने आधारमा भाडादर घटाउने प्रस्ताव गरिएको विभागको भनाइ छ ।

    विभागका महानिर्देशक राजीव पोखरेलका अनुसार इभी बसको भाडादरलाई व्यवस्थित र उपभोक्तामैत्री बनाउन आवश्यक अध्ययन भइरहेको छ । “डिजेल बसको भाडादर तय भइसकेको छ, तर इभी बसका हकमा स्पष्ट व्यवस्था छैन । त्यसैले लागत र सञ्चालन पक्षको अध्ययन गरी १० प्रतिशतसम्म भाडादर घटाउने विषयमा छलफल गरिरहेका छौँ,” उनले भने ।


    विभागले सरोकारवालासँग परामर्श गरी चाँडै नै उपयुक्त निर्णय लिने जनाएको छ । निर्णय कार्यान्वयनमा आएपछि यात्रुहरूले सस्तो भाडामा यात्रा गर्न पाउने अपेक्षा गरिएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले भाडादर वैज्ञानिक आधारमा निर्धारण गर्नुपर्नेमा आफूहरू सहमत रहेको बताए । “

    इभी सवारीसाधनको हकमा ब्याट्री महँगो पर्ने भएकाले लागत पक्षलाई पनि ध्यान दिनुपर्ने हुन्छ, डिजेल महँगो छ । तर इभीमा ब्याट्री पनि महँगो छ । यी पक्षलाई मूल्याङ्कन गरेर वैज्ञानिक आधारमा भाडादर अलिकति घटबढ हुने कुरामा सहमत छौँ”, उनले भने । सञ्चालन खर्च, मर्मतसम्भार, इन्धन तथा प्रविधिसम्बन्धी लागतलाई पनि समेटेर वैज्ञानिक विधिअनुसार भाडादर समायोजन गर्नुपर्ने विषयमा छलफल गरेर मात्रै निर्णय हुनुपर्नेमा उनले बताए ।

  • देशलाई विकास र सुशासन चाहिएको छ : सभापति लामिछाने

    देशलाई विकास र सुशासन चाहिएको छ : सभापति लामिछाने

    गण्डकी, २८ माघ (रासस) । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशमा विकास र सुशासन चाहिएकाले त्यसका लागि आफू नेतृत्वको पार्टी जनतामाझ आएको दाबी गरेका छन् । पोखरामा आज आयोजित रास्वपाको चुनावी कार्यक्रममा उहाँले आगामी निर्वाचनबाट मुलुकले सक्षम नेतृत्व पाउने विश्वास व्यक्त गरे । सुशासनको एजेण्डासहित निर्वाचनमा होमिएको भन्दै अघिल्लो निर्वाचनको तुलनामा बढी सिट जितेर रास्वपा ससंद्मा पुग्ने उनको दाबी थियो ।

    सभापति लामिछानेले न्याय र सुशासनको माग गर्दा सहिद भएका नवयुवाहरूको सपनालाई खेर जान नदिने बताए । उनले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनले मुलुकलाई नयाँ दिशादिर्नेशन गर्ने बताए । सुशासन र समृद्धिसहित देशभित्रै रोजगारी सिर्जना गर्न सके युवाको विदेश पलायनलाई रोक्न सकिने सभापति लामिछानेको भनाइ छ ।

  • हिमालयन ह्वाइटवाटर च्यालेञ्ज फागुन १४ देखि

    हिमालयन ह्वाइटवाटर च्यालेञ्ज फागुन १४ देखि

    काठमाडौँ, २८ माघः आगामी फागुन १४ देखि १६ गतेसम्म ‘२४औँ हिमालयन ह्वाइटवाटर च्यालेञ्ज, २०२६ तथा ‘५०औँ अन्तरराष्ट्रिय ह्वाइटवाटर र्‍याफ्टिङ र कायाकिङ महोत्सव’ त्रिशूली नदीमा आयोजना हुने भएको छ । नेपाल एशोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज ९नारा० ले नेपाल पर्यटन बोर्डको सहकार्यमा महोत्सव आयोजना गर्ने भएको हो । अजा यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रतियोगितामा ३० अन्तरराष्ट्रिय र १४० राष्ट्रिय खेलाडी सहभागी हुने जानकारी दिइयो ।

    नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिंह ऐरले बोर्ड लामो समयदेखि ह्वाइटवाटर शृङ्खलासँग जोडिँदै आएको उल्लेख गर्दै विगतका शृङ्खलामा देखिएका कमजोरी सच्याउँदै यसपटक नदीजन्य साहसिक खेललाई नेपालको सशक्त पर्यटन छविका रूपमा स्थापित गर्ने तयारी गरिएको जानकारी दिए । “सगरमाथा र हिमाललाई मात्र होइन, र्‍याफ्टिङ, कायाकिङ र कनोइङजस्ता नदीमा आधारित साहसिक गतिविधिलाई पनि अन्तरराष्ट्रिय बजारमा प्रवद्र्धन गर्नुपर्नेछ”, ऐरले भने, “यसका लागि हाम्रा नदीहरुको संरक्षणमा पनि जोड दिन आवश्यक छ ।”

    बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटाले पनि जलविद्युत् आयोजना र नदीजन्य उत्खननका कारण नदीमा हुने साहसिक खेल गतिविधिमा असर परिरहेको बताए । उनले सरकारले जलविद्युत् आयोजना निर्माण र पर्यटनका लागि नदी पहिचान गरी र्‍याफ्टिङलगायतका साहसिक खेल गतिविधि गर्नुपर्नेमा जोड दिए । नाराका अध्यक्ष कमलबहादुर ठकुरीले २४औँ हिमालयन ह्वाइटवाटर च्यालेञ्ज र महोत्सव केबल प्रतियोगिता मात्र नभएर नेपालको ५०औँ जलयात्रा इतिहासको उत्सव भएको बताए ।
    महोत्सवअन्तर्गत कायाकिङतर्फ दुई र र्‍याफ्टिङतर्फ एक गरी तीन विधामा प्रतिस्पर्धा हुनेछ । जसमा पहिलो दिन १०० भन्दाबढी कायकरबीच प्रतिष्पर्धा हुनेछ भने दोस्रो दिन नकआउट चरणमा खेल खेलाइनेछ । साथै तेस्रो दिन ¥याफ्ट सेसन सञ्चालन हुनेछ । कार्यक्रममा र्‍याफ्टिङको व्यावसायिक सुरुआत गर्ने हिमालयन रिभर एक्सप्लोरेशनका संस्थापकलाई विशेष सम्मान गरिनेसमेत आयोजकले जनाएको छ ।

    नेपालमा र्‍याफ्टिङको इतिहास सन् १९६० को दशकबाट सुरु भएको मानिन्छ । सन् १९६४ मा फ्रान्सेली टोलीले त्रिशूली र १९६५ मा सर एडमण्ड हिलारीको टोलीले सुनकोसीमा गरेको जलयात्रा महत्वपूर्ण कोशेढुङ्गा बनेका थिए । सन् १९७५ मा हिमालयन रिभर एक्सपोलेशनमार्फत व्यावसायिक र्‍याफ्टिङ औपचारिक रूपमा सुरु भएको थियो । नाराको स्थापना विसं २०४६ मा स्थापना भएको हो ।

  • यस वर्ष रासायनिक मल कम आयात हुने

    यस वर्ष रासायनिक मल कम आयात हुने

    काठमाडौँ, २८ माघ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले गत आर्थिक वर्षको तुलनामा यस आवमा करिब एक लाख मेट्रिक टन मल कम आयात गर्ने भएको छ । अन्तरराष्ट्रिय बजारमा मलको मूल्य वृद्धि भएकाले आयातमा कमी हुने भएको हो । सरकारले मलका लागि अनुदानस्वरूप विनियोजन गरेको रु २८ अर्ब ८२ करोडको बजेटबाट पाँच लाख ५० हजार टन मल आयात गर्ने लक्ष्य राखेको थियो । अन्तरराष्ट्रिय मूल्य बृद्धि भएपछि विनियोजित बजेट ८४ हजार टन रासायनिक मल आयातका कमी हुने मन्त्रालयले जनाएको छ ।

    चालु आवमा चार लाख ६६ हजार मेट्रिक टन मल आयातको लागि बोलपत्र भएको छ । बोलपत्र आह्वान गरिएको मलमध्ये केही परिमाण आएको तथा केही परिमाण आयातको प्रक्रिया पूरा गरी आउने क्रममा बाटोमा छ । मल खरिद गर्न विनियोजित बजेटबाट रकम अपुग भएपछि मन्त्रालयले वैकल्पिक स्रोत खोजी गरेको भए पनि रकम जुटाउन नसकेको मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिए ।

    देशभर बजारमा हाल मलको अभाव नरहेकाले किसानलाई खेती तथा बाली लगाउन समस्या नहुने मन्त्रालयले जनाएको छ । उनका अनुसार करिब एक लाख १५ हजार मेट मल मौज्दात छ । कृषि सामग्री कम्पनीले रासायनिक मलको करिब सत्तरी प्रतिशत हिस्सा र साल्ट ट्रेडिङ लिमिटेडले ३० प्रतिशत हिस्सा आपूर्ति तथा बिक्री गर्दै आएको छ ।

    स्वदेशमा रासायनिक मल उत्पादन नहुँदा अन्तरराष्ट्रिय ग्लोबल बोलपत्रको माध्यमबाट अन्तरराष्ट्रिय बजारबाट खरिद गर्ने गरिएको छ । मल कलकत्ता, हल्दियालगायत स्थानबाट ल्याइने तथा देशका विभिन्न गोदामस्थल विराटनगर, वीरगञ्ज, भैरहवामा मौज्दात गरी देशभर मागको अनुपातमा आपूर्ति तथा बिक्री गरिन्छ । अन्तराष्ट्रिय बजारबाट विद्युतीय खरिद प्रणाली (इविडिङ)मार्फत आपूर्ति गर्दा प्रक्रिया लामो भएर समयमा मल उपलब्ध गराउन समस्या हुने गरेको छ । विसं२०७८ को कृषिगणना अनुसार किसान परिवारमध्ये ७६ प्रतिशत किसान परिवारले धान बालीमा रासयनिक मल प्रयोग गरेको जनाइएको छ ।

  • इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर भोलि नेपाल आउँदै

    इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर भोलि नेपाल आउँदै

    काठमाडौँ, २८ माघ । संयुक्त राज्य अमेरिकाको इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर एड्मिरल सामुयल पापारो तीनदिने भ्रमणका लागि भोलि (बिहीबार) नेपाल आउँदै छन् । भ्रमणका दौरान उहाँले औपचारिक भेटघाटका साथै पाँचखालस्थित नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको अवलोकनसमेत गर्ने नेपाली सेनाले जनाएको छ ।

    यस प्रकारको भ्रमणबाट दुई देशबीचकोसम्बन्ध थप प्रगाढ हुनुका साथै मानवीय सहयोग, विपद् व्यवस्थापन तथा अन्तरराष्ट्रिय शान्ति स्थापनाकार्यजस्ता क्षेत्रमा टेवा पुग्ने विश्वास गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । उनी पूर्वनिर्धारित कार्यक्रमबमोजिम नेपाल आउन लागेको बताइएको छ ।

  • निर्वाचन सुरक्षित सम्पन्न गर्न प्रधानसेनापतिको निर्देशन

    निर्वाचन सुरक्षित सम्पन्न गर्न प्रधानसेनापतिको निर्देशन

    काठमाडौँ, २८ माघ । प्रधान सेनापति अशोकराज सिग्देलले अन्य सुरक्षा निकाय र सबै सरोकारवालासँग समन्वय गरी आसन्न निर्वाचनलाई सुरक्षित तबरले सम्पन्न गर्न निर्देशन दिएका छन् । जङ्गी अड्डामा सञ्चालित पृतनापति समन्वयात्मक बैठकको समापन सत्रलाई आज सम्बोधन गर्दै उनले एकीकृत सुरक्षा योजना–२०८२ अनुसार समन्वयात्मकरूपमा निर्वाचनमा परिचालित हुन निर्देशन दिए ।

    प्रधान सेनापति सिग्देलले सकलदर्जाको सामूहिक भावना र एकढिक्कापनलाई कायम राख्दै जिम्मेवारीमा खटिइन निर्देश गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । उनले पृतनास्तरमा भएको प्रभावकारी कार्यका लागि पृतनापतिलाई धन्यवादसमेत दिए ।

    बैठकमा वर्तमान परिस्थितिको विश्लेषण, तालिमहरूको समीक्षा, बन्दोबस्ती पक्षलगायत समसामयिक विषयमा छलफल भएको निर्देशनालयले जनाएको छ । बैठकको समापन कार्यक्रममा बलाधिकृत, रथीवृन्दलगायत अधिकृतको उपस्थिति थियो ।

  • वर्तमान परिस्थितिमा निर्वाचनको विकल्प छैनः संयोजक दाहाल

    वर्तमान परिस्थितिमा निर्वाचनको विकल्प छैनः संयोजक दाहाल

    ढोरपाटन (बागलुङ), २८ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ वर्तमान परिस्थितिमा निर्वाचनको विकल्प नभएको बताएका छन् । आज यहाँ आयोजित जनसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै देश मुलुक अप्ठ्यारो अवस्थामा रहेको हुँदा यसको निकास निर्वाचनले मात्रै दिने बताए । केही दलहरुले संसद् पुनःस्थापना र सर्वदलीय सरकार गठनका मुद्दा उठाए पनि नेकपाले त्यतापट्टि ध्यान नदिएको संयोजक दाहालले बताए ।


    उनले भने, “यो हामीहरुले चाहेर आएको निर्वाचन होइन, हामीहरुले त २०८४ मा गएर गर्ने भन्ने सोचेका थियौँ, असाधारण परिस्थितिमा आइपरेको निर्वाचन हो, यो निर्वाचनलाई सदुपयोग गर्नुको विकल्प पनि छैन, इमानदार कम्युनिष्ट र देशभक्तहरुको अगाडि जनतामा जाने बलियो माध्यम निर्वाचन नै हो ।”

    मुलुकको अहिलेको परिस्थिततिमा देशमा भएका वामपन्थी र देशभक्त एकताबद्ध हुने उद्देश्यले नेपाली कम्युनिष्ट पार्टी बनाएको दाहालले बताए । अहिले देखिएको असहज परिस्थितिबाट देशको रक्षा गर्ने, लामो सङ्घर्ष र बलिदानीबाट प्राप्त गरेका उपलब्धिहरुको रक्षा गर्न नेकपा प्रतिबद्ध भएर लागेको उनले उल्लेख गरे ।
    जेनजी आन्दोलन देशलाई भ्रष्टाचारमुक्त गर्न, सुशासन स्थापित र नागरिक स्वतन्त्रता कायम गर्न भए पनि देशीविदेशी शक्तिहरुको स्वार्थका कारण विध्वंश मच्चिएको संयोजक दाहालले बताए ।

    उनले अब मुलुकको परिवर्तनका निम्ति वामपन्थी एक हुनुपर्ने बताए । “जेनजी आन्दोलन देशमा भ्रष्टाचार, सुशासन कायम, नागरिक स्वतन्त्रता कायम होस् भन्ने मनशायले युवा सडकमा उत्रिएका थिए, हामी सबैले सम्मान नै गरेका थियौँ, तर त्यहाँ घुसपैठ भयो”, उनले भने, “देशीविदेशी शक्तिहरुले आफ्नो स्वार्थअनुसार देशलाई विध्वंसमा बदल्ने काम भयो, त्यो हामी सबैका दुःखद् हो ।”

  • समुन्द्रमा अमेरिकी सेनाको कारबाही : प्रतिबन्धित तेल जहाज नियन्त्रणमा

    समुन्द्रमा अमेरिकी सेनाको कारबाही : प्रतिबन्धित तेल जहाज नियन्त्रणमा

    वासिङ्टन, २८ माघ (रासस–एपी) । संयुक्त राज्य अमेरिकाले प्रतिबन्धित तेल ढुवानी गर्ने जहाज नियन्त्रणमा लिएको छ । अमेरिकी रक्षा मन्त्रालयका अधिकारीहरूले जानकारी दिएका अनुसार यो जहाजलाई कारिबियन समुद्रमा ट्र्याक गरी बोर्डिङ गरिएको हो । जहाजले प्रतिबन्ध पालना नगरेको आशङ्का गरिएको थियो र यसलाई नियन्त्रणमा लिनु आवश्यक देखियो । अमेरिकी अधिकारीहरूले जहाजले हाल कुनै तेल नबोकेको भनेका छन्, तर यसबारे थप अनुसन्धान र निर्णय प्रक्रिया जारी छ ।

    अमेरिकाले भेनेजुएलासँग सम्बन्धित तेलमा लगाइएको प्रतिबन्धलाई उल्लङ्घन गर्ने जहाजहरूमाथि निगरानी राख्दै आएको छ । यस बोर्डिङको उद्देश्य यस्तो जहाजलाई रोक्नु मात्र नभई अन्तर्राष्ट्रिय नियम र प्रतिबन्धको पालना सुनिश्चित गर्नु हो । अधिकारीहरूले अमेरिकाले यस प्रकारका जहाजहरूलाई नियन्त्रणमा लिन र अनियन्त्रित तेल ढुवानी रोक्न प्रतिबद्धता जनाएको छ ।

    यस घटनाले अमेरिका र भेनेजुएला सम्बन्धमा व्यापारिक र राजनीतिक दबाबको विषयलाई फेरि उजागर गरेको छ । अन्तर्राष्ट्रिय समुद्री मार्गहरूमा तेल ढुवानी र प्रतिबन्धको पालना सुनिश्चित गर्न अमेरिकी कदमलाई ध्यान दिइएको छ । सुरक्षा अधिकारीहरूले भनेका छन् कि आगामी दिनमा यस्ता जहाजहरूको निगरानी अझ कडा बनाइनेछ र नियम उल्लङ्घन गर्ने गतिविधि नहुने सुनिश्चित गरिनेछ ।