Category: फिचर

  • टर्कीमा विमान दुर्घटना, लिबियाका सेना प्रमुखसहित ८ जनाको मृत्यु

    टर्कीमा विमान दुर्घटना, लिबियाका सेना प्रमुखसहित ८ जनाको मृत्यु

    अङ्कारा, १० पुस (रासस–एपी) । टर्कीको राजधानी अङ्काराबाट उडान भरेको एउटा निजी जेट मङ्गलबार दुर्घटनाग्रस्त हुँदा लिबियाका सैन्य प्रमुखसहित अन्य सात जनाको मृत्यु भएको छ । लिबियाली अधिकारीहरूका अनुसार विमानमा आएको प्राविधिक खराबीका कारण उक्त दुर्घटना भएको हो । लिबियाका सैन्य प्रमुख, अन्य चार जना वरिष्ठ अधिकारी र तीन जना चालक दलका सदस्य सवार उक्त निजी जेट अङ्काराबाट उडान भरेको केही समयपछि दुर्घटनामा परेको टर्की र लिबियाका अधिकारीहरूले जानकारी दिएका छन् । दुई देशबीच सैन्य सहकार्य विस्तार गर्ने उद्देश्यले उच्चस्तरीय रक्षा वार्ताका लागि लिबियाली प्रतिनिधिमण्डल अङ्कारामा रहेको टर्कीका अधिकारीहरूले बताएका छन् ।

    लिबियाका प्रधानमन्त्री अब्दुल–हामिद दबीबाहले फेसबुकमार्फत विज्ञप्ति जारी गर्दै जनरल मुहम्मद अली अहमद अल–हदद र चार जना अन्य अधिकारीको निधन भएको पुष्टि गरेका छन् । उनले प्रतिनिधिमण्डल स्वदेश फर्कने क्रममा भएको यस घटनालाई ‘दुखद दुर्घटना’ को संज्ञा दिँदै यसलाई लिबियाका लागि ‘ठूलो क्षति’ भएको उल्लेख गरे । जनरल अल–हदद पश्चिमी लिबियाका शीर्ष सैन्य कमान्डर थिए । संयुक्त राष्ट्रसङ्घको पहलमा विभाजित लिबियाली सेनालाई एकताबद्ध गर्ने प्रयासहरूमा उनले महत्त्वपूर्ण भूमिका खेल्दै आएका थिए ।


    दुर्घटनामा ज्यान गुमाउने अन्य चार अधिकारीमा लिबियाको स्थल सेनाका प्रमुख ब्रिगेडियर जनरल अल–फितोरी घ्राइबिल, सैन्य उत्पादन प्राधिकरणका प्रमुख जनरल महमुद अल–कतावी, चिफ अफ स्टाफका सल्लाहकार मोहम्मद अल–असावी दियाब तथा चिफ अफ स्टाफको कार्यालयमा कार्यरत सैन्य फोटोग्राफर मोहम्मद उमर अहमद महजुब छन् । तीन जना चालक दलका सदस्यको पहिचान भने तत्काल खुल्न सकेको छैन ।

    टर्कीका अधिकारीहरूका अनुसार फाल्कन ५० प्रकारको व्यापारिक जेटको भग्नावशेष अङ्काराबाट करिब ७० किलोमिटर दक्षिणमा पर्ने हेमानाको केसिक्कवाक गाउँ नजिकै फेला परेको छ । यसअघि मङ्गलबार साँझ अङ्कारास्थित एसेनबोगा विमानस्थलबाट उडान भरेपछि लिबिया फर्कने क्रममा विमानसँग सम्पर्क विच्छेद भएको टर्कीका हवाई यातायात नियन्त्रकहरूले जानकारी दिएका थिए ।

    टर्कीका गृहमन्त्री अली येरलिकायाले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै विमान साँझ ८ः३० बजे उडेको र करिब ४० मिनेटपछि सम्पर्क गुमेको बताए । उनका अनुसार सबै सञ्चार बन्द हुनु अघि विमानले हेमाना नजिकै आपतकालीन अवतरणको सङ्केत पठाएको थियो । टर्कीको राष्ट्रपतिको सञ्चार विभागका प्रमुख बुरहानेटिन डुरानले विमानले विद्युतीय त्रुटि भएको जानकारी हवाई यातायात नियन्त्रणलाई गराएको र आपतकालीन अवतरणको अनुरोध गरेको बताए ।

    त्यसपछि विमानलाई एसेनबोगा विमानस्थलमै फर्काउन निर्देशन दिइएको र अवतरणको तयारी थालिएको उनले जानकारी दिए । तर आपतकालीन अवतरणका क्रममा विमान राडारबाट हराएको उनले उल्लेख गरे । स्थानीय टेलिभिजन च्यानलहरूले प्रसारण गरेको सुरक्षा क्यामेराको दृश्यमा हेमानाको रात्रि आकाश एकाएक विस्फोटले उज्यालो भएको देखिएको छ ।

    अङ्कारामा रहँदा जनरल अल–हददले टर्कीका रक्षामन्त्री यासर गुलेर तथा अन्य वरिष्ठ अधिकारीहरूसँग भेटवार्ता गर्नुभएको थियो । दुर्घटनापछि अङ्काराको विमानस्थल अस्थायी रूपमा बन्द गरिएको थियो र धेरै उडानहरू अन्यत्र मोडिएका थिए ।

    टर्कीको न्याय मन्त्रालयका अनुसार दुर्घटनाको अनुसन्धानका लागि चार जना अभियोजक तोकिएका छन्, जुन यस्ता घटनामा सामान्य प्रक्रिया मानिन्छ । लिबियाली सरकारले पनि दुर्घटनाको छानबिनमा टर्कीका अधिकारीहरूसँग सहकार्य गर्न अङ्कारामा एक टोली पठाउने जनाएको छ । सन् २०११ को विद्रोहपछि लामो समय शासन गरेका तानाशाह मुअम्मर गद्दाफीको पतन र मृत्यु भएयता लिबिया गहिरो अराजकतामा फस्दै आएको छ । देश पूर्व र पश्चिममा आधारित प्रतिस्पर्धी प्रशासन, सशस्त्र मिलिसिया र विभिन्न विदेशी शक्तिको समर्थनमा विभाजित रहँदै आएको छ ।

    टर्कीले पश्चिमी लिबियास्थित सरकारसँग गठबन्धन कायम राखेको छ भने पछिल्लो समय पूर्वी क्षेत्रमा आधारित सरकारसँग पनि सम्बन्ध सुधार गर्ने प्रयास थालेको छ । टर्कीको संसद्ले लिबियामा तैनाथ टर्की सेनाको कार्यकाल दुई वर्षका लागि विस्तार गर्ने स्वीकृति दिएको भोलिपल्टै लिबियाली प्रतिनिधिमण्डल अङ्कारा पुगेको थियो । सन् २०१९ मा अङ्कारा र त्रिपोलीस्थित सरकारबीच भएको सुरक्षा तथा सैन्य सहयोग सम्झौतापछि टर्कीले लिबियामा सेना तैनाथ गर्दै आएको छ ।

  • देवघाट प्लाष्टिक निषेधित क्षेत्र

    देवघाट प्लाष्टिक निषेधित क्षेत्र

    चितवन १० पुस । देवघाटको धार्मिक क्षेत्रलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरिने भएको छ । यही पुस ११ गते सो क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गर्न लागिएको हो । देवघाट क्षेत्र बिकास समितिको संयोजनमा तीन पालिकासहितको उपस्थितिमा प्लाष्टिक निषेधित क्षेत्र घोषणा गर्न लागिएको हो । क्षेत्र विकास समितिले पुस ११ गते औपचारिक रुपमा घोषणा गर्ने तयारी गरेको जनाएको हो ।

    क्षेत्र विकास समितिसँगै सहमति संस्था र नदीसँग हामीलगायतका संस्थाहरुसँगको सहकार्यमा प्लाष्टिकमुक्त घोषणा गर्न लागिएको हो । यसका लागि पवित्र तीर्थस्थल देवघाट क्षेत्रभित्र ३७ वटा फोहर फाल्ने डस्बिनहरु राखिएको छ । जसमा प्लाष्टिकजन्य सामग्री फाल्ने, पानीका बोटल फाल्ने र ब्लेट (पत्ती) फाल्ने छुट्टै राखिएको छ । देवघाट क्षेत्र विकास समितिको अगुवाइ र भरतपुर महानगरपालिका, गैँडाकोट नगरपालिका एवं देवघाट गाउँपालिकाको सहकार्यमा कार्यक्रम गर्न लागिएको हो ।

    क्षेत्र विकास समितिका अध्यक्ष डा ईश्वरीराज लौडारीले अहिले प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरेसँगै प्लाष्टिकमुक्त बनाउने अभियान सञ्चालन हुने जानकारी दिए । देवघाट क्षेत्र विकास समितिभित्रको पाँच हजार ४३४ हेक्टर क्षेत्रभित्र प्लाष्टिक निषेधित क्षेत्र घोषणा गर्न लागिएको उनको भनाइ छ । फोहर व्यवस्थापनका लागि सबै एकजुट हुन आवश्यक रहेको उनको भनाइ थियो । हरेक सभ्यतासँग नदी जोडिएकाले नदी सफाइमा सबै लाग्न जरुरी रहेको उनले बताए ।

    सो कार्यमा सहकार्य गर्दै आएको संस्था सहमतिका अध्यक्ष ओमनाथ सुवेदीले यस कार्यमा सबैले सक्रिय रुपमा लाग्न आवश्यक रहेको बताए । देवघाटको दाहासंस्कार स्थलको फोहर व्यवस्थपानमा केही समस्या देखिएको भए पनि यसलाई व्यवस्थापनका लागि सबै जुट्नुपर्ने उनले बताए । अहिले देवघाट क्षेत्रमा प्लाष्टिकमुक्त गर्न जनचेतना, झोला नियन्त्रण अभियानलगायका काम गरिएको उनको भनाई छ । देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले देवघाट क्षेत्र प्लाष्टिकमुक्त बनाउका लागि सबैको सहकार्य आवश्यक रहेको बताए ।

  • कुन देशमा कसरी मनाइदैछ क्रिसमस ? (तस्वीर कथा)

    कुन देशमा कसरी मनाइदैछ क्रिसमस ? (तस्वीर कथा)

    काठमाडौँ, १० पुस । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज सो धर्मावलम्बीहरूले ‘क्रिसमस डे’ मनाउँदैछन् । आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो ।

    A woman poses for amid Christmas lights in Istanbul, Wednesday, Dec. 24, 2025. (AP Photo/Emrah Gurel)

    पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मएको भनिएका येशु ख्रीष्टले तीन मुख्य खुसियाली दिनुभएको नेपाल ख्रिष्टियन महासङ्घका अध्यक्ष सिबी गहतराजले जानकारी दिए ।

    A woman takes a selfie amid Christmas lights in Istanbul, Wednesday, Dec. 24, 2025. (AP Photo/Emrah Gurel)

    उनले मुक्ति, प्रेम र शान्ति दिनुभएको विश्वासमा क्रिश्चियन समुदायले आजको दिनलाई तीनवटै दिवसका रूपमा मनाउने गरेका बताए ।

    Pope Leo XIV celebrates the Christmas Eve Mass in St. Peter’s Basilica at The Vatican, Wednesday, Dec.24, 2025. (AP Photo/Gregorio Borgia)


    मानिसलाई प्रेम गरेर आएकाले प्रेम दिवस, शान्ति स्थापना गर्न आएकाले शान्ति दिवस र मुक्ति दिन आएकाले मुक्ति दिवसका रूपमा आजको दिनलाई मनाउने गरिएको अध्यक्ष गहतराजको भनाइ छ ।

    Revelers attend the annual Surfing Santas event on Christmas Eve, Wednesday, Dec. 24, 2025, in Cocoa Beach, Fla. (Dalton Smith/@NPI Productions/Florida Space Coast via AP)

    विश्वका धेरै मानिसले मनाउने क्रिसमस डे नेपालमा भने विसं २०६३ पछि महासङ्घले महोत्सवका रूपमा मनाउन थालेको उनले बताए ।

    People celebrate Christmas Eve at a bar in Damascus, Syria, early Thursday, Dec. 25, 2025. (AP Photo/Omar Sanadiki)


    महासङ्घ मूल समारोह समितिको आयोजनामा आज दिउँसो क्रिसमस महोत्सव २०८२ आयोजना गरिएकोे जनाइएको छ । कार्यक्रममा सरकारका प्रतिनिधि, सरोकार भएका निकायका अधिकारी, मानव अधिकारवादीलगायतको उपस्थिति रहने अध्यक्ष गहतराजले बताए ।

    TOPSHOT – Christian devotees arrive to attend a Christmas Eve mass at the St. Mary’s Cathedral in Yangon on December 24, 2025. (Photo by Sai Aung MAIN / AFP)

    दिवसका अवसरमा विसं २०६३ देखि २०७४ सम्म सार्वजनिक बिदा दिइएको थियो । विसं २०७५ देखि २०७७ सम्म क्रिश्चियन धर्मावलम्बीलाई मात्र बिदा दिइएको थियो । विसं २०७८ देखि फेरि सबैलाई सार्वजनिक बिदा दिइएको छ ।

    President Donald Trump, speaks accompanied by first lady Melania Trump, during a NORAD, North American Aerospace Defense Command, Tracks Santa Operation call at his Mar-a-Lago club, Wednesday, Dec. 24, 2025, in Palm Beach, Fla. (AP Photo/Alex Brandon)

    पछिल्लो समय मुख्य सहरका प्रमुखस्थल क्रिसमस ‘ट्रि’ ले सजाउने गरिएको छ । विशेषगरी पर्यटक बढी आउने पर्यटकीय क्षेत्र ठमेल, बौद्ध, पोखरा, सौराहालगायत सहरमा क्रिसमसको रमझम बढी हुने गरेको छ ।

    (251224) — CAIRO, Dec. 24, 2025 (Xinhua) — People admire festive lights at a shopping mall in Cairo, Egypt, Dec. 24, 2025. (Xinhua/Ahmed Gomaa)

    महासङ्घको दाबीअनुसार हाल नेपालमा ३० लाख क्रिश्चियन धर्मावलम्बी र १३ हजारभन्दा बढी चर्च छन् । यहाँ विश्वभर मनाइरहेको क्रिसमसका केही तस्वीर उपलब्ध छन् ।

    An American flag is seen on a rooftop as people walk on a street, Monday, Dec. 22, 2025, in the Queens neighborhood of New York. (AP Photo/Yuki Iwamura)
  • बागद्धारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै

    बागद्धारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै

    काठमाडौँ, १० पुस । बागमतीको मुहानस्थल वाग्द्वारको शुद्ध जल पशुपतिनाथमा ल्याएर स्नान गराउन सम्भाव्यता अध्ययन गरिने भएको छ । गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक रिसालको संयोजकत्वमा बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी, कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्की, पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक सुभाषचन्द्र जोशीसहितको बैठकले यस्तो निर्णय गरेको हो ।


    शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जस्थित गोकर्णेश्वर र बूढानीलकण्ठ नगरपालिकाको सीमामा रहेको बागद्धारबाट शुद्ध जल ल्याएर पशुपतिनाथलाई स्नान गराउन लागिएको हो । जानकारहरूका अनुसार विसं २०४० सम्म पशुपतिनाथलाई बागमतीको नदीको जलले स्नान गराइन्थ्यो । वाग्मती प्रदूषित हुँदै गएपछि पशुपति क्षेत्रमा इनार खनेर स्नान गराउने गरिएको छ ।

    डेढ दशकअघिदेखि नै बागद्धारको जल ल्याएर पशुपतिनाथलाई स्नान गराउन पहल गरिए पनि सफल हुन सकेको छैन । पूर्वप्रधानन्यायधीश रामप्रसाद श्रेष्ठ यो अभियानमा लागेका थिए । बागद्धारको शुद्ध जल विभिन्न धार्मिकस्थल हुँदै आराध्यदेव पशुपतिनाथलाई स्नान गराउन ल्याउने विषयमा प्रथम चरणको कार्य सुरु गरिएको कोषका कार्यकारी निर्देशक जोशीले जानकारी दिए ।

  • सिरहामा किशोरी हत्या प्रकरण : तीन सातासम्म पनि भएन दोषीको पहिचान

    सिरहामा किशोरी हत्या प्रकरण : तीन सातासम्म पनि भएन दोषीको पहिचान

    सिरहा, १० पुस । सिरहाको कर्जन्हा नगरपालिका–१ बल्टिया गाउँकी करिब १७ वर्षीया अविना दनुवारको हत्या भएको तीन साता बितिसक्दा पनि प्रहरीले घटनामा संलग्न दोषीको पहिचान गर्न सकेको छैन । दोषी सार्वजनिक नहुँदा पीडित परिवारसँगै स्थानीय बासिन्दामा आक्रोश बढ्दै गएको छ । गत मङ्सिर २२ मा दनुवारको शव कर्जन्हा नगरपालिका–२ बन्दीपुरस्थित नेपाल राष्ट्रिय फूलकुमारी माध्यमिक विद्यालय नजिकैको झाडीमा फेला परेको थियो । घटनापछि हालसम्म मुख्य अभियुक्त पत्ता नलाग्दा पीडित परिवारले न्याय नपाएको गुनासो गरेका छन् ।

    मृतककी आमा दयावती दनुवारले छोरीको हत्यापछि दोषी नसमातिँदा आफूहरू थप अन्यायमा परेको बताइन् । उनले भनिन्, “छोरी गुमाएको पीडा त छँदै छ, तर दोषी नसमातिँदा झन् ठूलो अन्याय भएको महसुस भइरहेको छ । पहुँच भएकाहरूको कुरा तुरुन्तै सुनिन्छ, हामीजस्ताको आवाज कसैले सुन्दैन ।” स्थानीयका अनुसार बालिकाको शव अर्धनग्न अवस्थामा भेटिएकाले बलात्कारपछि हत्या गरिएको आशंका गरिएको छ । यस विषयमा कर्जन्हा–१ का वडाध्यक्ष फणीन्द्रप्रसाद पोखरेलले प्रहरीको ढिलाइप्रति चिन्ता व्यक्त गर्दै भने, “तीन साता बितिसक्दा दोषीको पहिचान नहुनु गम्भीर विषय हो । दोषीलाई तत्काल पक्राउ गरी कानुनी प्रक्रिया अघि बढाउनुपर्छ ।”

    जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले अनुसन्धान जारी रहेको बताए । यस विषयमा उनले प्रष्ट पार्दै भने, “घटनाको प्रकृति गम्भीर भएकाले विभिन्न कोणबाट सुक्ष्म अनुसन्धान भइरहेको छ । प्रमाणका आधारमा मुख्य अभियुक्तसम्म पुग्ने प्रयासमा छौँ ।”दोषी पक्राउको माग गर्दै स्थानीयले आन्दोलनसमेत गरेका थिए । रासस

  • निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा जारी, के छन् प्रावधान ?

    निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा जारी, के छन् प्रावधान ?

    काठमाडौँ, १० पुस । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका लागि जारी गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आयोगले आचारसंहिताको मस्यौदा जारी गरेको हो । निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्न निर्वाचन आचारसंहिताको मस्यौदा जारी गरिएको आयोगले जनाएको छ । निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले अधिकार प्रयोग गरी आयोगले आचारसंहिताको मस्यौदा सल्लाह, सुझावका लागि जारी गरेको हो ।

    आचारसंहितामा १० वटा परिच्छेद, पाँच वटा अनुसूची छन् । यो आचारसंहिता जारी भएसँगै निर्वाचन आचारसंहिता २०७९ खारेज गरिएको आयोगले जनाएको छ । जारी आचारसंहिता उल्लङ्घन गर्नेको नाम सार्वजनिक गरिने, विद्युतीय माध्यम वा सूचना प्रविधिको उपयोग गर्न सकिने व्यवस्था गरिएको छ । आचारसंहितामा निर्वाचन घोषणापत्र सार्वजनिक गरिनुपर्ने व्यवस्थासमेत गरिएको छ ।

  • त्रिविको ५१ औं दीक्षान्त समारोह आज

    त्रिविको ५१ औं दीक्षान्त समारोह आज

    कीर्तिपुर (काठमाडौँ), १० पुस । त्रिभुवन विश्वविद्यालयको ५१ औं दीक्षान्त समारोह आज हुँदैछ । विश्वविद्यालयको इतिहासमा पहिलोपटक आज नोबेल पुरस्कार विजेतालाई प्रमुख अतिथि बनाएर दीक्षान्त आयोजना गर्ने लागिएको विश्वविद्यालयका उपकुलपति प्रा डा दीपक अर्यालले जानकारी दिए । समारोहमा नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिता प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् । टोकियो विश्वविद्यालयमा आबद्ध उनले सन् २०१५ को भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार पाएका थिए ।

    उपकुलपति प्रा डा अर्यालले दीक्षान्तका लागि सम्पूर्ण तयारी गरिएको बताए । मण्डप निर्माण, दीक्षित विद्यार्थी र अभिभावक बस्ने कुर्सीको व्यवस्थापनलगायत सबै काम सम्पन्न भएको उनले जानकारी दिए । यसपटक त्रिविका १६ हजार ३०० भन्दा बढी विद्यार्थी दीक्षित हुने जनाइएको छ । दीक्षान्त समारोहमा विद्यार्थी र अभिभावकसहित ४१ हजार व्यक्ति सहभागी हुने जनाइएको छ ।

    विश्वविद्यालयबाट स्नातक, स्नातकोत्तर, दर्शनाचार्य र विद्यावारिधि तहसमेत गरी ८९ हजार १९१ विद्यार्थी उत्तीर्ण भएका छन् । यसमध्ये १६ हजार ३८० जना विद्यार्थीले दीक्षान्त समारोहमा सहभागिताका लागि निवेदन दिएका उपकुलपति प्रा डा अर्यालले बताए । कार्यक्रममा विभिन्न सङ्काय तथा तहको परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने ११ जना छात्रा तथा १४ जना छात्रले पदकसमेत पाउने छन् । त्रिविबाट यसपटक मानविकीका १४ हजार ८५१, व्यवस्थापनबाट ४३ हजार ६१०, कानुनका दुई हजार ३३५ र शिक्षातर्फ १६ हजार ४६७ जना उत्तीर्ण भएका छन् ।

  • राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

    राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

    काठमाडौँ, १० पुस । राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा सुदृढ बनाउन इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’ ले सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । ‘क्रिसमस डे’ का अवसरमा आज यहाँ जारी गर्नुभएको शुभकामना सन्देशमा उनले यस्ता पर्वको माध्यमबाट विविध सांस्कृतिक पहिचान एवं धार्मिक आस्था बोकेका समुदायबीच आपसी सद्भाव, सहिष्णुता र ऐक्यबद्धताको भावना अभिवृद्धि हुने उल्लेख गरे ।

    सन्देशमा भनिएको छ, “इसाई धर्मका अनुयायीद्वारा जिसस क्राइस्टको जन्मदिनको अवसरमा हरेक वर्षको डिसेम्बर २५ लाई धार्मिक एवं सांस्कृतिक उत्सवका रूपमा विभिन्न कार्यक्रमहरूको आयोजना गरी ‘क्रिसमस डे’ मनाउने गरिएको छ । नेपालमा यस अवसरमा देशका विभिन्न स्थानमा विविध कार्यक्रमहरूको आयोजना गरी यस पर्वलाई मनाउने गरिएको छ ।

    प्रेम, क्षमा, दया र शान्तिको आध्यात्मिक मार्गदर्शन रहेको यस पर्वमा मानवता, समानता र सेवाभावलाई बलियो बनाउँदै सामाजिक एकता कायम गर्न तथा इतिहास र संस्कृति जोगाउँदै असल आचरण, शान्तिपूर्ण जीवनशैली र भाइचारालाई प्रवद्र्धन गर्न यस दिनले प्रेरणा प्रदान गर्ने अपेक्षा गरिन्छ ।

    यस्ता पर्वहरूको माध्यमबाट विविध सांस्कृतिक पहिचान एवं धार्मिक आस्था बोकेका समुदायबीच आपसी सद्भाव, सहिष्णुता र ऐक्यबद्धताको भावना अभिवृद्धि हुनाका साथै विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा सुदृढ बनाउन सहयोग पुग्ने विश्वास लिएको छु ।” इसाई धर्मावलम्बीहरूको यस पर्वले सबै नेपालीहरूबीच आपसी विश्वास, प्रेम र एकताको भावनालाई प्रगाढ बनाउन सबैमा प्रेरणा प्रदान गरोस् भन्ने कामना राष्ट्रपतिले गरेका छन् ।

  • डिसेम्बर २५ : ‘क्रिसमस डे’ मनाइँदै, देशभर सार्वजनिक बिदा

    डिसेम्बर २५ : ‘क्रिसमस डे’ मनाइँदै, देशभर सार्वजनिक बिदा

    काठमाडौँ, १० पुस । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज सो धर्मावलम्बीहरूले ‘क्रिसमस डे’ मनाउँदैछन् । आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मएको भनिएका येशु ख्रीष्टले तीन मुख्य खुसियाली दिएको नेपाल ख्रिष्टियन महासङ्घका अध्यक्ष सिबी गहतराजले जानकारी दिए । उनले मुक्ति, प्रेम र शान्ति दिनुभएको विश्वासमा क्रिश्चियन समुदायले आजको दिनलाई तीनवटै दिवसका रूपमा मनाउने गरेका उनले बताए ।


    मानिसलाई प्रेम गरेर आएकाले प्रेम दिवस, शान्ति स्थापना गर्न आएकाले शान्ति दिवस र मुक्ति दिन आएकाले मुक्ति दिवसका रूपमा आजको दिनलाई मनाउने गरिएको अध्यक्ष गहतराजको भनाइ छ । विश्वका धेरै मानिसले मनाउने क्रिसमस डे नेपालमा भने विसं २०६३ पछि महासङ्घले महोत्सवका रूपमा मनाउन थालेको उनले बताए । महासङ्घ मूल समारोह समितिको आयोजनामा आज दिउँसो क्रिसमस महोत्सव २०८२ आयोजना गरिएकोे जनाइएको छ ।

    कार्यक्रममा सरकारका प्रतिनिधि, सरोकार भएका निकायका अधिकारी, मानव अधिकारवादीलगायतको उपस्थिति रहने अध्यक्ष गहतराजले बताए । दिवसका अवसरमा विसं २०६३ देखि २०७४ सम्म सार्वजनिक बिदा दिइएको थियो । विसं २०७५ देखि २०७७ सम्म क्रिश्चियन धर्मावलम्बीलाई मात्र बिदा दिइएको थियो । विसं २०७८ देखि फेरि सबैलाई सार्वजनिक बिदा दिइएको छ ।

    पछिल्लो समय मुख्य सहरका प्रमुखस्थल क्रिसमस ‘ट्रि’ ले सजाउने गरिएको छ । विशेषगरी पर्यटक बढी आउने पर्यटकीय क्षेत्र ठमेल, बौद्ध, पोखरा, सौराहालगायत सहरमा क्रिसमसको रमझम बढी हुने गरेको छ । महासङ्घको दाबीअनुसार हाल नेपालमा ३० लाख क्रिश्चियन धर्मावलम्बी र १३ हजारभन्दा बढी चर्च छन् ।

  • उज्यालो नेपाल पार्टी र सर्वोदय पार्टीबीच चुनावी एकता

    उज्यालो नेपाल पार्टी र सर्वोदय पार्टीबीच चुनावी एकता

    काठमाडौँ, ९ पुस । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै उज्यालो नेपाल पार्टी र सर्वोदय पार्टीबीच औपचारिक रूपमा चुनावी एकताको घोषणा गरिएको छ । आज यहाँ आयोजित संयुक्त पत्रकार सम्मेलनमार्फत दुवै पार्टीका शीर्ष नेतृत्वले चुनावी एकता घोषणापत्रमा हस्ताक्षर गर्दै संयुक्त रूपमा निर्वाचनमा सहभागी हुने प्रतिबद्धता जनाएका छन् ।

    उक्त पत्रकार सम्मेलनमा उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुप उपाध्याय र सर्वोदय पार्टीका अध्यक्ष दीपक साहले संयुक्त रूपमा चुनावी एकता घोषणापत्रमा हस्ताक्षर गरे । दुई पार्टीबीच भएको सहमतिअनुसार सर्वोदय पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनमा उज्यालो नेपाल पार्टीको चुनाव चिन्ह ‘बलेको चिम’ प्रयोग गर्ने, साझा चुनावी घोषणापत्र निर्माण गर्ने तथा चुनावी प्रक्रियामा उत्पन्न हुनसक्ने विवाद समाधानका लागि संयुक्त संयन्त्र गठन गर्ने उल्लेख गरिएको छ ।

    उज्यालो नेपाल पार्टीका अध्यक्ष उपाध्यायले वर्तमान देशको जटिल राजनीतिक अवस्था, अस्थिरता र जनतामा बढ्दो निराशाबाट निकास खोज्ने उद्देश्यले औपचारिक चुनावी एकता घोषणा गरिएको जानकारी दिए । उनले भने, “देशलाई स्थिरता, सुशासन र जवाफदेही राजनीतिक संस्कृतितर्फ डो¥याउन समान सोच र लक्ष्य भएका शक्तिहरूबीच एकता अपरिहार्य भएको छ ।” यसैगरी सर्वोदय पार्टीका अध्यक्ष दीपक साहले ‘जेनजी आन्दोलन’ को भावना, चेतना र मागलाई व्यवहारमा रूपान्तरण गर्दै नयाँ राजनीतिक संस्कृतिको निर्माण गर्ने लक्ष्यसहित एकीकृत मोर्चाबाट चुनावमा जाने निर्णय गरिएको बताए ।

  • ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

    ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

    काठमाडौँ, ९ पुस । प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा ट्रायल सेन्टर दक्षिणढोकालगायत स्थानमा विचौलियाको काम गर्ने १४ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

    पक्राउ पर्नेमा सिन्धुपाल्चोक साँगाचोकगढी–८ का ६१ वर्षीय झमकलाल श्रेष्ठ, काभ्रेपलाञ्चोक बनेपा–५ काठुटोल बस्ने ३३ वर्षीय अनिमेष अवा, दोलखा तामाकोशी–४ का ३३ वर्षीय वासु खड्का, झापा कमल गाउँपालिका–२ का ४७ वर्षीय भिमबहादुर नेम्वाङ, काठमाडौँ–८ गुह्वेस्वरी गौरीघाटका ४३ वर्षीय प्रदीप श्रेष्ठ, कागेशवरी मनहोरा–५ बस्ने ३६ वर्षीया शर्मिला चौलागाई, सिन्धुपाल्चोक मेलम्ची–१० बस्ने ४१ वर्षीया दिपा कटुवाल, पर्वत जलजला–४ का ५० वर्षीय दुर्गाप्रसाद न्यौपाने, चन्द्रागिरी–५ गुर्जुधाराका २९ वर्षीय रन्जित महर्जन, नवलपरासी बर्दघाट–११ का ३० वर्षीय अर्जुन चौधरी, सिन्धुपाल्चोक चौतारा–६ का १९ वर्षीय दिवस लामा, सुनसरी ईटहरी–१० का ३१ वर्षीय सरोज ढङ्गाना, काभ्रेपलाञ्चोक रोशी–१ का ३७ वर्षीय सन्तोष स्याङ्तान तथा काभ्रेपलाञ्चोक पनौती–५ का ४० वर्षीय दिलिप खड्गी रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।


    उनले भने, “पक्राउ परेकाहरूले यातायात व्यवस्था कार्यालय राधेराधे, भक्तपुर, यातायात व्यवस्था कार्यालय गुर्जुधारा, काठमाडौँ तथा यातायात कार्यालय ट्रायल सेन्टर दक्षिणढोका लगायतका स्थानहरूमा विचौलियाको काम गरी सेवाग्राहीलाई दुःख हैरानी दिने तथा यातायात व्यवस्था कार्यालयका कर्मचारी समेतको दैनिक कामकारबाहीमा प्रभाव पार्ने कार्य गर्ने गरेको भन्ने विशेष सूचनाका आधारमा पक्राउ गरिएको हो ।”

    पक्राउ परेकालाई आज थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडाँै र जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको प्रवक्ता आचार्यले बताए । यसैगरी, उनीहरूले लिखित तथा ट्रायल फेल भएकालाई यातायात कार्यालयका कर्मचारीसँग चिनजान छ पास गराई दिने भनी नेपाली रकम १० हजारसम्म लिने गरेको, लाइसेन्स प्रिन्ट तथा ब्लुबुकलगायत कागजात नवीकरण सहज तरिकाबाट गरिदिने भनि अतिरिक्त रकम लिने गरेको ।

    मेडिकल फेल भएकाहरूलाई पास गराइदिने प्रलोभन देखाइ अतिरिक्त रकम लिने गरेको । यातायात कार्यालयसँग सम्बन्धित काममा कर्मचारीको सेटिङमा छिटोछरितो गराइदिने भन्दै विचौलियाजन्य अन्य कार्य गर्ने गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।

  • क्यासिनोमा प्रविधिका माध्यमबाट ठगी गर्ने भारतीय गिरोह पक्राउ

    क्यासिनोमा प्रविधिका माध्यमबाट ठगी गर्ने भारतीय गिरोह पक्राउ

    १० पुस, काठमाडौं । म्याग्नेटिक जडान भएको तास र आँखामा त्यसलाई कनेक्ट गर्ने लेन्स राखेर क्यासिनो खेल्दै करोडौं ठग्न खोज्ने भारतीय गिरोह पक्राउ परेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले ठमेलको छाया सेन्टरमा रहेको वाल्डो क्यासिनोमा छापा मारी ७ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतीय नागरिक सुरेश महाजन, दिनेश बर्मा, विक्रम सिंह, प्रमोद मौर्य, चिजा खड्का र भवानी पाण्डे छन् । यस प्रकरणमा संलग्न रहेको आरोपमा क्यासिनो सञ्चालक, विनोद भनिने जनार्दन उप्रेती, गौरव खत्री, मोनु भनिने निरज कुमार, हिरा शेखर मल्ली पुरी, कमल खरबन्दा (मुकेश) सहितका व्यक्ति फरार रहेको प्रहरीले जानकारी दिएको छ ।


    यसका मुख्य व्यक्ति भारतीय नागरिक सुरेश महाजन भएको खुलेको छ । उनलाई नेपालबाट सहयोग गर्ने जनार्दन उप्रेती रहेको समेत प्रहरी अनुसन्धानबाट खुलेको छ । महाजनले नेपालमा क्यासिनो इभेन्ट गर्ने भन्दै क्यासिनो बुक गर्ने र खेल्ने व्यक्तिका लागि भन्दै पाँचतारे होटलमा ११० वटा कोठासमेत बुक गरेर ठग्ने योजना बनाएको खुलेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले जानकारी दिए ।
    यसका लागि महाजनले छाया सेन्टरकै होटल अलफ्टमा ४०, नक्सालको मेरियटमा ५० र अर्को पाँचतारे र्‍याडिसन होटलमा २० वटा कोठा बुक गरेको खुलेको छ । महाजनले इभेन्ट गर्ने भन्दै ११ डिसेम्बरदेखि १४ डिसेम्बर गरी ४ दिनका लागि वाल्डो क्यासिनो बुक गरेका थिए । महाजनको ग्रुपलाई ‘महाकाय’ भनिन्छ । यही ग्रुपको नाममा क्यासिनो बुक गरिएको थियो ।

    जिल्ला प्रहरी परिसर काठमाडौँमा बुधबार आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको क्यासिनोमा तास खेलनेहरूबाट बरामद गरिएका मोबाइल, हवाई टिकट, नेपाली तथा भारतीय नोट, पासापोर्ट, विभिन्न भारतीय एटिएम कार्डलगायत । तस्बिर: रत्न श्रेष्ठ/ रासस

    उनले यसअघि नेपाल, भारत, श्रीलंका, भियतनाम, कम्बोडियामा समेत यस्तै इभेन्ट आयोजना गरेका थिए । क्यासिनो र बुक गरेर आफैंले इभेन्ट आयोजना गर्ने भन्दै उनले जुवा खेलाउने गरेका थिए । यसरी खेलिने तासको व्यवस्थापन पनि महाजन आफैंले गर्थे । त्यसका लागि उनले तासमा म्याग्नेट तथा चिपहरू जडान गर्ने गरेका थिए ।

    अनि ती चिपसँग कनेक्ट गर्न अर्को आई लेन्सको पनि व्यवस्था गरेका थिए । आँखामा आई लेन्स लगाएपछि पछाडितर्फबाटै कसलाई के तास पर्‍यो भन्ने जानकारी हुने र त्यहाँ आफूले नै खडा गरेका डमी खेलाडीले पछाडिबाटै तास चिनेपछि सोहीअनुसार खेल खेल्ने गरेको परिसरका एसपी पवन भट्टराईले जानकारी दिए । यसका लागि उनले भारतबाटै क्यासिनो खेल्ने पेसेवर व्यक्ति तथा मोटा रकम भएका व्यक्ति खोज्ने र भारतबाटै आफूले डमी खेलाडीका रूपमा व्यक्ति तयार गरेर ल्याएर खेलाउने गरेको खुलेको छ ।

    ती डमी खेलाडीले आँखामा आई लेन्स राखेपछि कसलाई के तास पर्‍यो भन्नेबारे सबै जानकारी पाउने गरेका थिए । यसरी भारतदेखि ल्याइएका डमी खेलाडीहरूलाई दैनिक भारु १० हजार रुपैयाँ दिने र जितेको रकमको १० प्रतिशत समेत भाग लगाउने सहमति भएको पाइएको प्रहरी अनुसन्धानमा खुलेको छ ।
    यसको सूचना आएपछि परिसरले छापा मारेर इभेन्ट आयोजना गर्ने भनिएको पहिलो दिनमै पक्राउ गरेपछि रकम हारजित हुन पाएन । तर यसभन्दा अघि महाजनले नै क्यासिनो बुक गरेर नेपालमा खेलाउने गरेको पाइएको छ ।

    यसअघि उनले ह्यात होटलमा रहेको प्राइड क्यासिनोमा दुई वर्षदेखि इभेन्ट सञ्चालन गर्ने गरेको खुलेको छ । अहिले जेनजी आन्दोलनको क्रममा प्राइड क्यासिनो तोडफोड भएपछि वाल्डो क्यासिनो बुक गरेर खेलाउने तयारी गरेका थिए । महाजनलाई सहयोग गर्ने नेपालका मुख्य व्यक्ति जनार्दनलाई बीपी ग्रुपको नाममा चिनिन्छ । उनी नेपालतर्फको मुख्य आयोजक रहेको प्रहरीले बताएको छ । उनले इभेन्ट आयोजक, खेलाडी, कर्मचारीलाई होटल, प्लेन टिकटको व्यवस्था गर्ने र टेबल बुकिङको सम्पूर्ण काम गर्ने गरेको प्रहरीले बताएको छ ।

    महाकाया ग्रुपका दिनेश बर्माले म्याग्नेट जडान गरिएका ५० बुक तास ४ सेट लेन्स भारतबाट ल्याएका थिए । अर्का प्रतिवादी जनार्दन उप्रेतीले १२ सेट तास क्यासिनोमा प्रवेश गराएका थिए । चार सेट आई लेन्स पनि उनले लगेका थिए । आँखामा आई लेन्स २ देखि ३ घण्टासम्म मात्रै सकिने भएकाले त्यसपछि अर्को व्यक्तिलाई लगाएर राउन्ड सिस्टममा डमी खेलाडीलाई खेलाउने गरिएको प्रहरी अनुसन्धानमा खुलेको छ ।

  • ऊर्जामन्त्रीका सय दिन : बक्यौता असुलीदेखि ठूला जलविद्युत् आयोजनामा लगानीको सुनिश्चितता

    ऊर्जामन्त्रीका सय दिन : बक्यौता असुलीदेखि ठूला जलविद्युत् आयोजनामा लगानीको सुनिश्चितता

    काठमाडौँ, ९ पुस । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले मन्त्रालयमा आफ्नो १०० दिनको अवधिमा ऊर्जा उत्पादन, प्रसारण, लगानी व्यवस्थापन र विपद् न्यूनीकरणका क्षेत्रमा महत्वपूर्ण निर्णय तथा कार्यान्वयन भएको बताएका छन् । मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री घिसिङले १०० दिनमा सम्पादित १०१ कामको विवरण प्रस्तुत गर्दै प्रत्यक्ष निरीक्षण, सक्रिय निर्देशन र प्रशासनिक सुधारमार्फत विकास आयोजनालाई गति दिएको बताए ।

    उनले विद्युत् क्षेत्रमा सुधार गर्दै बूढीगण्डकी र अपर अरुण जलविद्युत् आयोजनाका लागि स्वदेशी लगानी सुनिश्चित भएको बताए । यी आयोजनामा स्वदेशी लगानीबाट निर्माण गर्ने गरी लगानी तथा वित्तीय ढाँचा तयार गरी अर्थ मन्त्रालयमा पठाइएको छ । विगतमा उठ्न नसकेको ‘डेडिकेटेड’ तथा ‘ट्रङ्क’ लाइनको ‘प्रिमियम’ बक्यौता नियमित रूपमा उठाउन सुरु भएको उनले बताए ।

    “स्पष्ट निर्देशन र दृढ निर्णयका कारण सबै उद्योगले बक्यौता महसुल तिर्न सुरु गरेका छन् । बन्द उद्योग तथा एक किस्तासमेत नतिरेका उद्योगबाट समेत महसुल उठ्न थालेको छ”, मन्त्री घिसिङले भने, उनका अनुसार यस अवधिमा मन्त्रालयका आयोजनाको ठेक्का व्यवस्थापनमा सुधार गरिएको छ । ठेक्का सम्झौताको समय ६० प्रतिशत बित्दा पनि १० प्रतिशत मात्र कार्य सम्पन्न भएको राष्ट्रिय गौरवको सुनकोशी मरिन बहुउद्देश्यीय आयोजनाको सहित जलस्रोत तथा सिँचाइ विभागअन्तर्गतका रु १४ अर्ब २२ करोड ठेक्का रकम भएका २२ रुग्ण ठेक्का तोडिएका छन् ।

    सिँचाइ अभावका कारण खेत बाँझो भएका किसानको समस्या बुझ्दै आयोजनालाई गति दिइएको छ । चैनपुर सेती आयोजनाको वित्तीय व्यवस्थापनका लागि बैंकहरूसँग ‘टर्मसिट’मा हस्ताक्षर भएको छ । यस अवधिमा मध्य भोटेकोशी जलविद्युत् आयोजना सम्पन्न भई राष्ट्रिय प्रसारण लाइनमा जोडिँदै व्यावसायिक उत्पादन सुरु भएको मन्त्री घिसिङले बताए ।
    यस्तै, भारत र बङ्गलादेशमा करिब रु १९ अर्ब बराबरको विद्युत् निर्यात भएको छ । विद्युत् प्रसारणतर्फ ‘टिबिसिबी’ मोडेलमार्फत प्रसारण लाइन निर्माणको कार्यढाँचा तयार गरिएको छ । नेपाल–भारतबीच इनरुवा–पूर्णिया र दोदोधारा–बरेली ४०० केभी अन्तरदेशीय प्रसारण लाइन संयुक्त लगानीमा निर्माण गर्न संयुक्त उपक्रम तथा शेयरहोल्डर सम्झौता सम्पन्न भएको छ ।

    नेपाल–भारत जोइन्ट टेक्नीकल टिम (जेटिटी) को १७औँ बैठकबाट नेपालबाट १,५०० मेगावाट निर्यात र भारतबाट एक हजार ४०० मेगावाट आयात क्षमता कायम गरिएको छ । नेपाल–बङ्गलादेश सचिवस्तरीय बैठकमार्फत बङ्गलादेशले थप २० मेगावाट विद्युत् आयात गर्ने सहमति गरेको छ । लगानी प्रवद्र्धनका लागि नेपाल विद्युत् प्राधिकरणलाई रु २० अर्बको ऊर्जा बन्ड जारी गर्न स्वीकृति, तथा २० प्रतिशत सेयर सर्वसाधारणलाई निष्कासन गर्ने प्रस्ताव अर्थ मन्त्रालयमा पठाइएको मन्त्री घिसिङले बताए ।


    सिँचाइतर्फ ५०० डिप ट्युबेलमार्फत सर्लाही र रौतहटमा २२,५०० हेक्टरमा सिँचाइ सुविधा विस्तार गर्न सिँचाइ व्यवस्थापन कम्पनी स्थापना गर्ने निर्णय गरिएको छ । रुग्ण आयोजनाको समाधानका लागि ३३ मध्ये २२ रुग्ण ठेक्काको सम्झौता अन्त्य प्रक्रिया अघि बढाइएको छ । राष्ट्रिय गौरवको सुनकोशी मरिन डाइभर्सन आयोजनाको ठेक्का प्रगति नदेखिएकाले सम्झौता अन्त्य गरी नयाँ ठेक्का प्रक्रिया सुरु गरिएको छ ।

    यसैगरी रसुवागढी जलविद्युत् आयोजना बाढीपछिको मर्मतपछि ३७ मेगावाट उत्पादन पुनः सुरु, सिंहदरबारमा १३२ केभी सवस्टेसन निर्माणका लागि जग्गा व्यवस्थापन, तथा १३ ग्रिड सवस्टेसनमध्ये सात वटा स्वचालित रूपमा सञ्चालनमा ल्याइएको छ । एक सय दिनको अवधिमा विपद् व्यवस्थापनमा राज्यको क्षमता प्रमाणित भएको मन्त्री घिसिङले बताए ।

  • बुधबार नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

    बुधबार नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

    काठमाडौँ, ९ पुस । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव ३७ अङ्कले बढेर दुई हजार ५८५ दशमलव ८७ को बिन्दुमा कायम भएको हो । आज ३३४ कम्पनीको ७२ लाख २४ हजार ९१७ कित्ता शेयर ६२ हजार ७६८ पटक खरिदबिक्री हुँदा रु तीन अर्ब २२ करोड ४६ लाख ६४ हजार ६६३ दशमलव ४५ को कारोबार भएको छ ।

    आजको कारोबारमा इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य सबैभन्दा बढी पाँच पाँच दशमलव ३२ प्रतिशतले बढेको छ । सबैभन्दा बढी ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य चार दशमलव २६ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा बढी एसवाई प्यालन नेपाल लिमिटेडको रु १४ करोड ४९ लाख ३५ हजार ३८३ बराबरको शेयर किनबेच भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा बढी तेह्रथुम पावर कम्पनी लिमिटेडको दुई लाख ६२ हजार ५८५ कित्ता शेयर खरिदबिक्री भएको छ ।

  • केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ

    केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ

    वीरगञ्ज (पर्सा), ९ पुस । पर्सा प्रहरीले जेनजी आन्दोलनको क्रममा केन्द्रीय कारागारबाट फरार भएका दुई जना कैदीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरीले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा फरार भएका दुई जना कैदीलाई मङ्गलबार पक्राउ गरेर वीरगञ्ज कारागारमा बुझाएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरीका प्रवक्ता राजु कार्कीले विशेष सूचनाको आधारमा केन्द्रीय कारागारबाट भागेका दुई जना कैदीलाई पक्राउ गरिएको जानकारी दिए ।

    प्रहरीले बाराको विश्रामपुर गाउँपालिका–२५ का प्रदेशी भन्ने सुदामा पासवान केन्द्रीय कारागार कार्यालय काठमाडाँैमा कर्तव्य ज्यान मुद्दाका २५ वर्ष कैद भुक्तान गरिरहेकामा जेनजी प्रदर्शनका क्रममा फरार भएका थिए । त्यसैगरी, गत भदौ २४ गते केन्द्रीय कारागारबाट फरार रहेका बारा परवानीपुर गाउँपालिका–२ का विवेकलाल साह कानुलाई पनि पक्राउ गरेर वीरगञ्ज कारागार बुझाएको छ । निज उच्च अदालत पाटन इजलास हेटौँडाको आदेशले रु ५० हजार धरौटी तिर्न नसकी केन्द्रीय कारागार चलान भएका कैदी हुन् ।

  • ‘सरकारको मुख्य कार्यभार निर्वाचन गराउनु हो’

    ‘सरकारको मुख्य कार्यभार निर्वाचन गराउनु हो’

    कर्णाली, ९ पुस । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारको मुख्य कार्यभार आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन गराउनु रहेको बताएका छन् । गृह मन्त्रालय र कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजित ‘कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठी’को उद्घाटन कार्यक्रममा गृहमन्त्री आर्यालले फागुन २१ गते निर्वाचन सम्पन्न गर्नेगरी सरकार गृहकार्यमा लागेको बताए ।


    गृहमन्त्रीले भने, “हाम्रो मूल रणनीति कुनैपनि अवस्थामा द्वन्द्व हुन नदिने हो । मुलुकको सङ्कटपूर्ण अवस्थालाई सामान्यीकरण बनाउन शान्तिपूर्ण राजनीतिक वातावरणमा स्वच्छ र निर्भयपूर्ण प्रतिस्पर्धाका लागि निर्वाचनको तयारी गरिरहेका छौँ । संसद् विगठन भएको छ महिनाभित्र चुनाव हुनुपर्ने जनादेश भएकाले सुरक्षा चुनौतीलाई सुदृढ गर्दै निर्वाचन चुनाव सम्पन्न हुनेछ ।”

    जेनजीका आन्दोलनका सहिद पहिचान गरी सबैको नामावली राजपत्रमा प्रकाशन गरिएको जनाउँदै उनले सहिद परिवारलाई राहत प्रदानमा सरकार केन्द्रित रहेको बताए । गृहमन्त्री अर्यालले समृद्धि, विकास र सुशासन कायमका लागि जेनजीपुस्तालाई राजनीतिको मूलधारमा ल्याउनुपर्ने धारणा व्यक्त गरे । उनका अनुसार जेनजीपुस्ता दल विशेषको नभई सबैका साझा जनशक्ति भएकाले यो पुस्ताको सिर्जनशीलता र प्रतिभालाई राष्ट्र विकसमा उपयोग गर्नुपर्नेमा जोड दिए ।

    कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश सरकार शान्ति सुरक्षा कायम गर्दै सुशासनमा केन्द्रित रहेको बताए । “सुरक्षा निर्देशन दिन सङ्घीय सरकारबाट आदेश लिनुपर्ने अवस्थाले पनि शान्ति सुरक्षामा प्रदेश सरकार सक्रिय रूपमा संलग्न हुन सकेको छैन”, उनले भने, “कर्णालीमा सुरक्षा जनशक्ति पनि दरबन्दी अनुसार छैन । यद्यपि, जनतालाई सुरक्षा प्रदान गर्न हामी प्रयासरत छौँ ।”

    मुख्यमन्त्री कँडेलले प्रदशेका सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई प्रशासक मात्र नभई सुशासनको पहरेदारका रूपमा काम गर्न निर्देशन दिए । कर्णालीमा मनपरी भाडा असुली, असुरक्षित यात्रा, लागु पदार्थको प्रभाव र पछिल्लो समय दुव्र्यसनीको केन्द्रका रूपमा विकास भइरहेको अवस्थालाई गम्भीरताका साथ लिन र न्यूनीकरणका लागि प्रभावकारी कदम चाल्न उहाँले सङ्घीय सरकारसँग आग्रह गरे ।

    गृह सचिव रामेश्वर दङ्गालले गोष्ठीमा समग्र कर्णाली प्रदेशको सुरक्षा अवस्था, चुनौती र समाधानका लागि अवलम्बन गरिएका उपाय, व्यवस्थापनका बारेमा जानकारी दिइदिने बताए । गोष्ठीमा प्रहरी महानिरीक्षक दानबहादुर कार्की, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक टेकेन्द्र कार्की, कर्णाली प्रदेश सरकारका प्रमुख सचिव वीरेन्द्रकुमार यादव, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, नेपाली सेनाका रथी गणेशकुमार श्रेष्ठ, गृहमन्त्रालयका प्रवक्ता आनन्द काफ्ले, दश वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखहरूको सहभागिता छ ।

  • आज पनि बढ्यो सुनचाँदीको मूल्य

    आज पनि बढ्यो सुनचाँदीको मूल्य

    काठमाडौँ, ९ पुस । पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढीरहेको छ । आज पनि दुवै धातुको मूल्यमा बढोत्तरी भएको छ ।
    आज छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ६८ हजार १०० र त्यति नै चाँदीको मोल रू चार हजार ४२० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । दुवै धातुको मूल्य हालसम्मको उच्च हो । गत आइतबार छापावाल सुन प्रतितोला रु दुई लाख ५८ हजार ३००मा र चाँदी रु चार हजार १०५ मा कारोबार भएको थियो ।

    सोमबार दुवै धातुको मूल्यमा उल्लेख्य वृद्धि हुँदै प्रतितोला सुन रु दुई लाख ६१ हजार ७०० सय पुग्यो भने चाँदी रु चार हजार २३५मा कारोबार भएको थियो । मङ्गलबार भारी वृद्धिका साथ एक तोला सुनको मूल्य रु दुई लाख ६७ हजार २०० र चाँदी रु चार हजार २५५ मा किनबेच भएको थियो । अमेरिकी डलरको भाउ बढेसँगै सुनचाँदीको मूल्य पनि बढेको विश्लेषकहरूले बताएका छन् । अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ५२५ र त्यति नै परिमाणको चाँदी ७३ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

  • पूर्वप्रम खनालकी पत्नीको स्वास्थ्य सुधारोन्मुख

    पूर्वप्रम खनालकी पत्नीको स्वास्थ्य सुधारोन्मुख

    काठमडौँ, ९ पुस । जेनजी आन्दोलनका क्रममा आगजनीमा परेर गम्भीर घाइते हुनुभएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य सुधारोन्मुख छ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल‘प्रचण्ड’ तथा सहसंयोजक माधवकुमार नेपालले अवस्थाबारे जानकारी लिनुका साथै स्वास्थ्यलाभको कामना गरेका छन् ।

    गत साता भारतमा उपचार गराएर फर्किनुभएकी चित्रकारलाई भेट्न संयोजक दाहाल र सहसंयोजक नेपाल आज बिहान डल्लुस्थित खनाल निवास पुगेका हुन् । उनका स्वास्थ्य अवस्था जोखिमुक्त रहेको र उपचार जारी रहेको पूर्वप्रम खनालले दिएको संयोजक दाहालको निजी सचिवालयले जनाएको छ ।

  • जेनजी आन्दोलनमा फरार प्रतिवादी खोज्न दाङमा खोजतलास अभियान

    जेनजी आन्दोलनमा फरार प्रतिवादी खोज्न दाङमा खोजतलास अभियान

    दाङ, ९ पुस । फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन जिल्ला प्रहरी कार्यालयले फरार प्रतिवादी खोजतलास अभियान सञ्चालन गरेको छ । यसक्रममा एक साताको अवधिमा २७ जना फरार प्रतिवादी पक्राउ परेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता चक्रबहादुर शाहले जानकारी दिए । उनका अनुसार यही पुस १ देखि पुस ७ गतेसम्म जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी टोली खटिएर गरिएको खोजतलासका क्रममा विभिन्न मुद्दाका २७ जना फरार प्रतिवादी पक्राउ परेका हुन् ।

    प्रवक्ता शाहका अनुसार पक्राउ परेका प्रतिवादीहरूबाट जम्मा रु तीन लाख ७६ हजार ८५३ जरिवाना असुल गर्नुपर्ने देखिएको छ । साथै उनीहरूलाई जम्मा चार वर्ष छ महिना १५७ दिन कैद सजाय तोकिएको छ । पक्राउ परेका प्रतिवादीलाई फैसला कार्यान्वयनका लागि दाङ देउखुरी जिल्ला अदालतमा पठाइएको पनि प्रवक्ता शाहले जानकारी दिए ।

  • वीरगन्जबाट पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

    वीरगन्जबाट पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

    वीरगञ्ज (पर्सा), ९ पुस । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा रु ७२ अर्ब २८ करोड मूल्यको पेट्रोलियम पदार्थको आयात भएको छ । वीरगञ्ज भन्सार कार्यालयले पाँच थरिका पेट्रोलियम पदार्थको आयातबाट मात्र सो अवधिमा रु ३० अर्ब २५ करोड राजस्व सङ्कलन गरेको छ । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकृत उदयसिंह विष्टले चालु आवको पाँच महिनामा पेट्रोलियम पदार्थको आयात बढेसँगै राजस्वमा पनि वृद्धि भएको बताए ।


    गत आर्थिक वर्षको पाँच महिनाको तुलनामा चालु आवको सोही अवधिमा भने ६.४२ प्रतिशत अर्थात् रु एक अर्ब ८३ करोड बढी राजस्व सङ्कलन भएको हो । जबकि गत आवको पाँच महिनामा भने रु ६९ अर्ब १५ करोड मूल्यका पाँच थरिका पेट्रोलियम पदार्थको आयात भएको थियो ।

    चालु आवको पाँच महिनामा वीरगञ्ज हुँदै रु ३५ अर्ब ३१ करोड मूल्यको डिजेलको आयात भयो । त्यसैगरी रु १७ करोड ३६ लाख मूल्यको पेट्रोल र रु १२ अर्ब १७ करोडको एलपी ग्यासको पनि आयात भयो । त्यस्तै रु सात अर्ब २५ करोडको एटिएफ र रु १९ करोडको मट्टितेल आयात भएको छ ।

  • निर्वाचन ७१ दिन बाँकी : चुनावी गतिविधि तीव्र, समानुपातिकतर्फको बन्द सूची तयार पार्दै दलहरु

    निर्वाचन ७१ दिन बाँकी : चुनावी गतिविधि तीव्र, समानुपातिकतर्फको बन्द सूची तयार पार्दै दलहरु

    काठमाडौँ, ९ पुस । प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरुले आन्तरिक तयारीलाई तीव्र पारेका छन् । निर्वाचन आयोगले राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको कामलाई एकैसाथ अगाडि बढाएको छ । आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृत नियुक्त गरिसकेको छ । यसैगरी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची पेस गर्ने समयसीमा नजिकिँदै गर्दा राजनीतिक दलले आन्तरिक तयारी तीव्र पारेका हुन् ।

    विघटित प्रतिनिधिसभामा रहेका राजनीतिक दल र नयाँ दर्ता भएका सबै दलले समानुपातिक सूची तय गर्न आवश्यक राजनीतिक छलफल तथा तयारी गरिरहेका छन् । मङ्गलबार मात्रै राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्की, प्रमुख तीन राजनीतिक दलका शीर्ष नेतासँग छलफल गरेका थिए । सरकारले निर्वाचनका लागि आवश्यक तयारी गरेको, आयोगले तयारीलाई तीव्र पारेका कारण क्रमशः वातावरण बन्दै गएको छ ।

    निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार प्रतिनिधिसभाको निर्वाचनका लागि ९३ दलले समानुपातिक सूचीमा रहन निवेदन दिएका छन । आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ सहभागी हुने राजनीतिक दलका लागि कार्यतालिका बनाइसकेको छ । दलहरूले नयाँ प्रतिशतका आधारमा समावेशी समूह मिलाएर आगामी पुस १३ र १४ गते उम्मेदवारको बन्दसूची पेस गर्ने समयसीमा तोकिएको छ । आयोगले समानुपातिकतर्फको उम्मेदवार छनोटका लागि राजनीतिक दललाई आवश्यक तालिम दिएको छ । यसबाट समानुपातिकतर्फको प्रतिशत निर्धारण एवं जनसङ्ख्याका आधारमा बदलिँदो व्यवस्थाअनुसार काम गर्न सहज हुनेछ ।

    आयोगले राष्ट्रिय जनगणना, २०७८ अनुसार जनसङ्ख्याका आधारमा समानुपातिकतर्फको प्रतिशत निर्धारण गरेको छ । जनगणनामा समावेशीतर्फका केही समूहमा जनसङ्ख्या थपघट भएको सोहीअनुसारको प्रबन्ध गरिएको छ ।

  • हिमालयन रिम फिल्म प्रदर्शनी सम्पन्न

    हिमालयन रिम फिल्म प्रदर्शनी सम्पन्न

    काठमाडौँ, ९ पुस । नेपाल–चीन सांस्कृतिक आदानप्रदानलाई प्रव्रद्धन गर्ने उद्देश्यसहित आयोजना भएको हिमालयन रिम फिल्म प्रदर्शनी सम्पन्न भएको छ ।
    काठमाडौँ विश्वविद्यालयमा भएको प्रदर्शनीमा चिनियाँ एनिमेसन, प्रविधि र सांस्कृतिक कथाबीचको सम्बन्धलाई प्रस्तुत गरिएको थियो । प्रदर्शनीले नेपाली शैक्षिक समुदायलाई प्रविधि–सशक्त चिनियाँ एनिमेसन संस्कृतिको बहुआयामिक अनुभव प्रदान गरेको आयोजकको भनाइ छ ।


    कार्यक्रमले चिनियाँ एनिमेसनमा प्रविधि र संस्कृतिको संयोजनलाई नजिकबाट अनुभूति गर्ने अवसर दिएको सहभागीले बताएका छन् । गत बुधबार ‘सेतो सर्प’ चलचित्रको प्रदर्शन, सिर्जनात्मक टोलीसँग अनलाइन अन्तरक्रिया तथा ब्लाइन्ड–बक्स गतिविधिहरू सञ्चालन गरिएका थिए । ‘विगतको जीवनको भाग्य’ विषयमा आधारित चलचित्रले चिनियाँ पौराणिक कथाको समकालीन पुनःव्याख्या प्रस्तुत गर्दै दर्शकलाई गहिरो रूपमा आकर्षित गरेको थियो ।

    गत बिहीबार आयोजित ‘फिङ्गरटिप क्रिएसन्स’ कार्यशाला कार्यक्रमको मुख्य आकर्षण बनेको थियो । कार्यशालामा नेपाली कलाकारहरूले परम्परागत हस्तनिर्मित कागज निर्माण प्रक्रिया प्रदर्शन गरेका थिए । विद्यार्थीहरूले स्थानीय रूपमा उपलब्ध पर्यावरण–मैत्री कागज प्रयोग गरी ‘नयाँ देवताहरू याङ जियान’, ‘सेतो सर्प’ र ‘हेई २’ जस्ता चिनियाँ एनिमेसन चलचित्रबाट प्रेरित पोस्टर तथा दृश्यात्मक कलाकृतिहरू सिर्जना गरेका थिए ।

    यसले चिनियाँ एनिमेसन र नेपाली हस्तकला परम्पराबीचको सृजनात्मक फ्युजनलाई उजागर गरेको जनाइएको छ । सोही दिन नयाँ देवताहरू याङ जियान’को स्क्रिनिङ गरिएको थियो । प्रदर्शनीमा बेइजिङ नर्मल युनिभर्सिटीका प्राध्यापक झाङ यानले ‘एआई(सञ्चालित रूपान्तरण र फिल्म उद्योगमा नवीनता’ शीर्षकमा व्याख्यान दिँदै एआइले फिल्म निर्माण र उद्योग विकासलाई कसरी पुनःआकार दिइरहेको छ भन्ने विषयमा विद्यार्थीहरूसँग संवाद गरेका थिए । सांस्कृतिक–रचनात्मक क्षेत्रका प्रमुख योजनाकार ली कियानले यस्ता सामग्रीले नेपाली युवालाई चिनियाँ एनिमेसनको दृश्य आकर्षण मात्र होइन, त्यसभित्र नीहित नवप्रवर्तनको सांस्कृतिक भावना पनि बुझ्न मद्दत गर्ने विश्वास व्यक्त गरे ।

  • मन्त्रिहरु आज पनि पार्टी कार्यालय भ्रमणमा जाने

    मन्त्रिहरु आज पनि पार्टी कार्यालय भ्रमणमा जाने

    काठमाडौँ, ९ पुस । सरकारले निर्वाचनको वातावरण बनाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनमत पार्टीको कार्यालय अनुगमन गर्ने भएको छ । सरकारले गठन गरेको उच्चस्तरीय राजनीतिक संवाद समितिले आज तीन दलका कार्यालयको अनुगमनका साथै वार्ता र संवाद गर्ने भएको हो । समितिले विहान ११ बजे जनमत पार्टीको कार्यालय, दिउँसो १ बजे राप्रपा र दिउँसो ३ बजे रास्वपाको कार्यालय अनुगमनका साथै नेताहरुसँग छलफल गर्ने तालिका रहेको जनाइएको छ ।

    सरकारले कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिल सिन्हाको संयोजकत्वमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनालसहितको उच्चस्तरीय राजनीतिक संवाद समिति गठन गरेको थियो । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्यको निर्वाचनको वातावरण बन्दै गएको अवस्थामा सरकारले सरोकारवाला पक्षसँग वार्ता तथा संवादलाई तीव्रता दिएको हो ।

    सरकारका प्रवक्ता समेत रहनुभएका सञ्चारमन्त्री जगदीश खरेलले निर्वाचनको माहोल बनाउन चरणबद्ध राजनीतिक वार्ता र सम्वादलाई तीब्रता दिएर दलहरुकै कार्यालयमा पुगेर वार्ता गरिरहेको उल्लेख गरे । उनले भने, “निर्वाचनको वातावरणका लागि सरकारले चरणवद्ध वार्तालाई निरन्तरता दिएको छ, सरकार इमान्दारिताका साथ निर्वाचन गराउन खोजिरहेको भन्दे सन्देश हो र दलहारुलाई सकारात्मक दबाव पनि हो ।”

    मन्त्री खरेलले निर्वाचनको माहोल बनाउन र राजनीतिक दलहरुलाई पनियसप्रत केन्द्रित गराउन सरकार दलको कार्यालयमै पुगेर वार्ता र संवाद गरिरहेको उल्लेख गरे । उक्त टोलीले मङ्गलबार नेपाली काँग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीको कार्यालय पुगेर अनुगमनका साथै नेताहरुसँग वार्ता गरेको थियो ।

  • अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराइने

    अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराइने

    काठमाडौँ, ९ पुस । राहदानी विभागले अब दुई कार्यदिनभित्र राहदानी उपलब्ध गराउने भएको छ । कूल तीन लाख ९६ हजार थान राहदानी छपाइ भएर आपूर्ति भइसकेको उल्लेख गर्दै विभागले आवश्यक भएकालाई तत्कालै उपलब्ध गराइने जनाएको छ । विभागका अनुसार यसअघि अन्तरिम अवधिका लागि सात लाख थान राहदानी पुस्तिका उपलब्ध गराउने निर्णय भएको थियो ।

    राहदानी पुस्तिकाको आपूर्तिसँगै विभागले पूर्ण क्षमतामा राहदानी आपूर्ति भएको छ । राहदानी पुस्तिकाको आपूर्तिसँगै विभागले पूर्ण क्षमतामा राहदानी वैयक्तिकरण गरी जिल्ला, इलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगबाट आवेदन दिएकालाई उपलब्ध गराइनेछ ।

    गत मङ्सिर १५ सम्म आवेदन दिएकालाई यही पुस १५ गतेसम्म नयाँ राहदानी उपलब्ध गराइनेछ भने त्यसपछि आवेदन दिएकालाई क्रमशः उपलब्ध गराइँने विभागले जनाएको छ । अन्तरिम अवधिका लागि उपलब्ध भएको राहदानी पुस्तिकाका कारण अब भने सहज रुपमा वितरण हुने विभागले प्रष्ट पारेको छ ।

  • जेनजी आन्दोलनमा क्षतिग्रस्त आश्रममा किसुनजीको १०२औँ जन्मजयन्ती

    जेनजी आन्दोलनमा क्षतिग्रस्त आश्रममा किसुनजीको १०२औँ जन्मजयन्ती

    माधवप्रसाद घिमिरे–रासस
    पाटन (ललितपुर), ९ पुसः विगतका वर्षमा जस्तो ललितपुरको बाँडेगाउँस्थित पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई अर्थात् किसुनजीको आश्रममा मङ्गलबार चहलपहल थिएन । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको आक्रमणमा यो आश्रम ध्वस्त भएपछि त्यसयता आश्रम सुनसान छ । आगजनी र तोडफोडपछि आश्रम भग्नावेशष अवस्थामा छ । त्यसैले पुस ८ गते पर्ने भट्टराईको जन्मजयन्ती र स्मृति दिवसमा आश्रमको गेट बन्द थियो । आश्रममा विगतमा जस्तो कुनै विशेष कार्यक्रम आयोजना गरिएको थिएन । कुनै राजनीतिक दलका नेता तथा व्यक्तित्वहरुको उपस्थिति थिएन ।

    आश्रमको ताला लगाउने ठाउँमा बेरिएको तार, आश्रम परिसरमा आगजनी गरिएका दुईवटा सवारी अलपत्र थिए । आश्रमको सिसा फुटाइएका झ्याल, ट्रष्ट फ्याँकिएको कार्यक्रमस्थल मात्रै बाँकी थिए । आश्रम अगाडि रहेको किसुनजीको शालिक तोडफोड गरिएको अवस्थामा थियो । लोकतन्त्रका लागि जेल जीवन बिताएका, सत्ता होइन सिद्धान्त रोजेका नेताको स्मृतिस्थलको यो हालत जो कोहीलाई पनि भावविह्वल बनाउने किसिमको थियोे ।

    विसं १९८१ पौष कृष्ण द्वादशीका दिन भारतको बनारसमा जन्मनुभएका कृष्णप्रसाद भट्टराईको जीवन नेपालको आधुनिक राजनीतिक इतिहास हो भन्छन्, पूर्वसांसद प्राध्यापक होमराज दाहाल । “राणा प्रधानमन्त्री वीर शम्शेरको वक्रदृष्टिका कारण परिवार बनारस निर्वासित हुनुपरेको थियो, त्यही परिवेशले उनलाई राजनीतितर्फ डोहो¥यायो, सन् १९४२ को ‘अङ्ग्रेज भारत छोडो’ आन्दोलनमा सक्रिय सहभागी बनेर पहिलो पटक जेल परेका भट्टराई विद्यार्थी जीवनदेखि नै राजनीतिक चेतनाका संवाहक हुनुहुन्थ्यो”, प्राध्यापक दाहालले भने ।


    बनारस हिन्दू विश्वविद्यालयमा अध्ययनरत रहँदा नेपाल छात्र सङ्घको उपाध्यक्ष बनेर नेपाली युवामा राजनीतिक जागरण फैलाउनुभएका सन्तनेता विसं २००३ मा अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेस गठन हुँदा महामन्त्री बने । पछि नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेस एकीकरण भएर बनेको नेपाली कांग्रेसका सहमहामन्त्री भएका थिए ।


    विसं २००७ को सशस्त्र क्रान्तिमा जनकपुर–उदयपुर कब्जा गर्ने मुक्ति सेनाका कमाण्डरका रूपमा उनको भूमिका इतिहासमा दर्ज छ । विसं २०१७ पुस १ गते राजा महेन्द्रको ‘कू’ पछि थापाथलीबाट बिपी कोइरालासँगै पक्राउ परेका भट्टराईले लगातार १० वर्ष जेल जीवन बिताएका थिए । जीवनभर गरेर १४ वर्षभन्दा बढी समय जेलमै बिताएका उनले निर्वासन कहिल्यै रोजेनन् ।


    विसं २०५० मा स्नातकोत्तर अध्ययनका क्रममा आफूले भट्टराईको राजनीतिक जीवनीमा शोधपत्र तयार गरेको बताउँछन् प्राध्यापक होमराज दाहाल । अहिंसात्मक आन्दोलनबाटै प्रजातन्त्र सम्भव छ भन्ने दृढ विश्वास शन्त नेताको राजनीतिक कर्मको मूल आधार थियो ।

    जेलमुक्त भएको केही समयमै २०२७ वैशाख ६ गते नेपाल विद्यार्थी सङ्घको स्थापना समारोह उद्घाटन गरेर विद्यार्थी आन्दोलनलाई ऊर्जा दिनुभएका भट्टराईलाई २०३४ को पटना सम्मेलनपछि बिपी कोइरालाले स्वास्थ्य कारण देखाउँदै कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए ।

    पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता ओमकारप्रसाद श्रेष्ठ भन्छन्, “बिपीको निधनपछि पनि करिब डेढ दशकसम्म किसुनजीले कार्यवाहक सभापतिकै रूपमा पार्टीको नेतृत्व गर्नुभयो, जनआन्दोलनका सभापति, २०४७ मा अन्तरिम प्रधानमन्त्री, २०४६ को जनआन्दोलन घोषणासभा, क्षेत्रपाटी सम्मेलनको सभापतित्व किसुनजीले नै गरेका थिए ।

    आन्दोलन सफल भएपछि एक वर्षभित्र संविधान निर्माण र निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी सफलतापूर्वक पूरा गरेर उहाँले सत्ता होइन दायित्व प्राथमिकतामा राख्ने उदाहरण प्रस्तुत गरेको उनको भनाई छ । आफू प्रधानमन्त्री हुँदा गराएको २०४८ को निर्वाचनमा उनी आफैँ पराजित भए । विसं २०१५ मा गोर्खा र विसं २०५१ मा काठमाडौँ क्षेत्र नं. १ बाट पनि पराजय भोगे । तर पराजयले पनि उहाँको राजनीतिक उचाइ घटेन, बरु शन्त नेताको छवि झन् प्रखर बनायो ।

    भट्टराई अविवाहित रहे । प्रधानमन्त्रीबाट राजीनामा दिएर बाहिरिँदा छाता र कमण्डलु बोकेर हिँडेका उनको जीवनशैली राजनीतिमा दुर्लभ मानिन्छ । विसं २०४८ को निर्वाचनमा पराजित भएपछि बालुवाटार छोडेर छाता हातमै लिएर पैदल निस्किएको दृश्य आज पनि राजनीतिक नैतिकताको प्रतीक झैँ सम्झिन्छन् धेरैले ।
    विसं २०६७ फागुन २० गते राति ११ बजेर २६ मिनेटमा काठमाडौँको नर्भिक अन्तरराष्ट्रिय अस्पतालमा उनको निधन भयो । फागुन २१ गते पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरियो ।

  • अमेरिकामा मेक्सिकन विमान दुर्घटना, पाँच जनाको मृत्यु

    अमेरिकामा मेक्सिकन विमान दुर्घटना, पाँच जनाको मृत्यु

    मेक्सिको सिटी, ८ पुस (रासस–एएफपी) । अमेरिकी राज्य टेक्सासमा मेक्सिकन नौ – सेनाको चिकित्सा सामाग्री वोकेको विमान दुर्घटना ग्रस्त भए पछि कम्तिमा पाँच जनाको मृत्यु भएको सेनाले जनाएको छ । मानवीय अभियानमा रहेको विमानमा आठ जना यात्रुहरु सवार रहेको मेक्सिकोको सेना सचिवालयले एक विज्ञप्ति मार्फत जनाएको छ । सुरुवाती समयमा दुर्घटनामा दुई जनाको मृत्यु भएको रिपोर्ट गरिएकोमा हाल मृतकको सङ्ख्या बढेर पाँच जना पुगेको जनाइएको छ भने दुर्घटनाबाट दुई जना यात्रुहरु बाच्न सफल भएको जनाइएको छ ।

    अमेरिकी तटरक्षकको खोजी प्रयासका बावजुद उक्त उडानमा रहेका एक जना व्यक्ति अझै बेपत्ता रहेको सचिवालयले जनाएको छ । विमान टेक्सासको ग्यालभेस्टन नजिक पुग्दा दुर्घटना भएको जनाइएको छ । विशेष चिकित्सा वहाक मिसनलाई मेक्सिकन फाउन्डेसनसँग समन्वय गरिएको थियो जसले गम्भीर जलेका बच्चाहरूको हेरचाह गर्दछ । फ्लाइट ट्र्याकिङ वेबसाइट फ्लाइट रडारका अनुसार विमानले मेक्सिकोको युकाटन राज्यको मेरिडाबाट उडान भरेको थियो भने अन्तिम पटक स्कोल्स अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको ग्यालभेस्टन खाडीमा पुगेको जानकारी रेकर्ड गरिएको थियो ।

  • सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि…

    सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि…

    काठमाडौँ, ८ पुस । सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपासस्थित एक घरबाट सुनका गरगहना चोरी गर्ने दोलखा भीमेश्वर नगरपालिका–७ घर भई काठमाडौँको डल्लु बस्ने ५४ वर्षीय विकास लकाईलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

    जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले बाइपासको एक घरबाट सुनका गरगहना चोरी गर्ने लकाई डल्लुस्थित सीता ज्वेलर्सका सञ्चालक भएको अनुसन्धानमा खुलेको बताए ।


    प्रहरीले पक्राउ परेका लकाईसँग सुनको नेकलेस १४ थान, सुनको लकेट नौ थान, सुनको मङ्गलसूत्र आठ थान, सुनको नौगेडी पाँच थान, सुनको पिस लकेट तीन थान बरामद गरिएको प्रवक्ता भट्टराईले बताए । पक्राउ परेका लकाईसँग आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • सुनको मूल्य भारी वृद्धि

    सुनको मूल्य भारी वृद्धि

    काठमाडौँ, ८ पुस । आज स्थानीय बजारमा सुन र चाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा रू पाँच हजार ५०० र चाँदीको मूल्य रू २० ले वृद्धि भएको छ । आज छापावाल सुनको मूल्य तोलामा रू २ लाख ६७ हजार २०० कायम भएको छ भने चाँदीको मूल्य तोलामा रू चार हजार २५५ पुगेको छ ।

    छापावाल सुन सोमबार तोलामा रु दुई लाख ६१ हजार ७०० सय कारोबार भएको थियो । त्यसैगरी, चाँदीको मूल्य रू चार हजार २३५ थियो । अन्तरराष्ट्रिय बजारको प्रभाव र मागमा आएको परिवर्तनका कारण सुनचाँदीको मूल्यमा उतारचढाव आइरहेको छ ।

  • बुहारीलाई पेट्रोल छर्केर आगो लगाइ हत्या, सासु र नन्द पक्राउ

    बुहारीलाई पेट्रोल छर्केर आगो लगाइ हत्या, सासु र नन्द पक्राउ

    कमलामाई (सिन्धुली), ८ पुसः पेट्रोल छर्केर आगो लगाइ बुहारीको हत्या गरेको अभियोगमा सासु र नन्द पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले आज एक विज्ञप्ति जारी गरी कमलामाई नगरपालिका–४ धुराफाँटकी ३२ वर्षीया सुशीला बम्जनको हत्या गरेको अभियोगमा ५९ वर्षीया सासु मायारानी बम्जन र ३५ वर्षीया नन्द मीना लामालाई पक्राउ गरिएको हो ।

    अभियुक्तद्वयले गत आइतबार बुहारी सुशीलाको शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए । मृतकका श्रीमान् विगत दुई वर्षदेखि वैदेशि रोजगारीमा छन् । घटनास्थलबाट जलेको शव प्रहरीले बरामद गरेको छ भने मृतकका ससुरा दुर्गामान घाइते छन् । उनलाई उपचारार्थ काठमाडौँ पठाइएको छ । अभियुक्तलाई जिल्ला अदालतबाट म्याद लिएर थुनामा राखिएको छ । घटनाको निष्पक्ष छानबिन तथा दोषीमाथि कडा कारबाहीको माग गर्दै स्थानीयले जिल्ला प्रहरी कार्यालय घेराउ गरेका छन् ।

  • चिनियाँ राजदूतले राष्ट्रपतिसँग गरे बिदाइ भेट

    चिनियाँ राजदूतले राष्ट्रपतिसँग गरे बिदाइ भेट

    काठमाडौँ, ८ पुस । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि चीनका राजदूत छन सङले राष्ट्रपति भवनमा बिदाइ भेट गरेका छन् । त्यस अवसरमा उनीहरुबीच नेपाल–चीन सम्बन्धका साथै आपसी हित र चासोका विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । राष्ट्रपतिले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा राजदूत छनप्रति धन्यवाद ज्ञापन गरे ।