Category: फिचर

  • अलैँचीको निर्यात ६० प्रतिशत बढ्यो

    अलैँचीको निर्यात ६० प्रतिशत बढ्यो

    भद्रपुर (झापा), १२ पुसः चालु आर्थिक वर्ष २०८२–०८३ को मङ्सिर मसान्तसम्ममा अलैँचीको निर्यात ६० दशमलव १० प्रतिशतले बढेको छ । मेची भन्सार कार्यालयको तथ्याङ्कअनुसार उक्त अवधिमा रु पाँच अर्व ५३ करोड ३२ लाख ४९ हजार बराबरको अलैची निर्यात भएको छ । पाँच महिनाको अवधिमा दुई हजार ६२२ दशमलव १० मेट्रिक टन अलैँची निर्यात भएको कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईले जानकारी दिनुभयो ।

    अघिल्लो आव २०८१–०८२ को सोही अवधीमा रु तीन अर्ब ४५ करोड ६३ लाख बराबरको अलँैची निर्यात भएको उनले बताए । कार्यालयको तथ्याङ्अनुसार चालु आवको पाँच महिनामा चियाको निर्यात ३१ दशमलव ४० प्रतिशतले घटेको छ । उक्त अवधिमा रु एक अर्व ८५ करोड ६२ लाख सात हजार मूल्य बराबरको चिया निर्यात भएको छ । अघिल्लो आव २०८१–०८२ को सोही अवधिमा रु दुई अर्व ७० करोड ३९ लाख ३६ हजार बराबरको चिया निर्यात भएको सूचना अधिकारी हुमागाईले जानकारी दिए ।


    कार्यालयको तथ्याङ्कअनुसार निर्यात हुने मुख्य वस्तुहरूमा भेनीयर सिट १२९ दशमलव ९० प्रतिशत, छुर्पी ३२ प्रतिशत, अदुवा, सुठो ४८ दशमलव ७० प्रतिशत, काउली, ब्रोकाउली र बन्दागोपी ३६ दशमलव १० र मुसुरो दाल ४८१ प्रतिशतले वृद्धि भएको छ । यसैगरी प्लाउड ४६ प्रतिशत, अम्रिसो ३५ दशमलव ५० प्रतिशत र फलामे पाता निर्यातमा ९७ दशमलव ८० प्रतिशतले कमी आएको छ । मेची भन्साबाट चालु आव २०८२र०८३ को पहिलो पाँच महिनामा रु १० अर्ब ७१ करोड ५४ लाख १३ हजार बराबरको मालवस्तु निर्यात भएको छ ।

  • स्वामी परमानन्द सरस्वतीको सम्मानमा संस्मरणात्मक हुलाक टिकट प्रकाशन

    स्वामी परमानन्द सरस्वतीको सम्मानमा संस्मरणात्मक हुलाक टिकट प्रकाशन

    काठमाडौँ, १२ पुस । नेपाल सरकारले सनातन वैदिक दर्शन, संस्कृत शिक्षा तथा समाज सुधारका क्षेत्रमा विशेष योगदान पुर्‍याउनुभएका स्वामी परमानन्द सरस्वती महाराजको सम्मानमा संस्मरणात्मक हुलाक टिकट प्रकाशन गरेको छ । हुलाक सेवा विभागले हुलाक टिकट प्रकाशन निर्देशिका, २०७० अनुसार विस्तृत अध्ययन, छलफल र मूल्याङ्कनपछि उक्त टिकट प्रकाशनका लागि सिफारिस गरेको थियो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट स्वीकृति प्राप्त भएपछि मन्त्रिस्तरीय निर्णयका आधारमा टिकट छपाइ तथा प्रकाशन गरिएको हुलाक सेवा विभागका महानिर्देशक मनमाया पङ्गेनी भट्टराईले जानकारी दिए ।

    बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–६, पौवाडाँडामा १८ असोज १९९४ विसंमा जन्मिएका स्वामी परमानन्द सरस्वतीले सानै उमेरदेखि सन्यास मार्ग अँगाल्दै जीवनभर वैदिक धर्म, संस्कृत शिक्षा र समाजसेवामा आफूलाई समर्पित गरे । उनले देशका विभिन्न जिल्लामा ३९ गुरुकुल, वेदविद्याश्रम, मन्दिर तथा आश्रमहरूको स्थापना गरी निःशुल्क शिक्षा, आवास र भोजनको व्यवस्था गर्दै सयौँ विद्यार्थीलाई संस्कृत तथा वैदिक शिक्षामा दीक्षित गराएको संस्कृत भाषाविद् तथा कालिका संस्कृत विद्यापीठका पूर्वप्राचार्य डा रामचन्द्र कँडेलले जानकारी दिए ।


    उनका नेतृत्वमा स्थापना भएका परमानन्द संस्कृत गुरुकुल, त्रिपुरेश्वर महादेव मन्दिर, तथा विभिन्न सन्यास आश्रमहरू आज वैदिक अध्ययन, आध्यात्मिक साधना र सांस्कृतिक संरक्षणका प्रमुख केन्द्रका रूपमा परिचित छन् । सामाजिक र आर्थिक रूपमा पछाडि परेका परिवारका बालबालिकालाई शिक्षाको पहुँच पु¥याउने उहाँको दृष्टिकोणले संस्कृत शिक्षालाई सीमित वर्गबाट बाहिर ल्याउन महत्त्वपूर्ण भूमिका खेलेको छ ।

    सभ्य समाज र सुसंस्कृत परिवार निर्माणमा सहयोग पुर्याउने अभिप्रायले स्थापना भएको श्रीपरमानन्द–संस्कृत–गुरुकुलम् हाल तनहुँ जिल्ला, देवघाटधामस्थित श्रीहरिहर सन्न्यास आश्रमअन्तर्गत कक्षा ६ देखि आचार्य ९एमए० तहसम्म अध्ययन गर्ने विशाल संस्कृत शिक्षण अध्ययन तथा अनुसन्धान केन्द्रका रूपमा सञ्चालनमा रहेको छ । निःशुल्क अध्ययन, भोजन, आवासको व्यवस्था रहेको यस शिक्षण संस्थामा ३५० जना विद्यार्थीहरू अध्ययनरत छन् । नेपाल सन्त समाजका अध्यक्ष तथा यस संस्थाका पीठाधीश श्री १००८ स्वामी ज्ञानानन्द सरस्वतीको नेतृत्व र व्यवस्थापनबाट विद्यापीठ तथा आश्रमका नियमित गतिविधि सञ्चालन भइरहेका छन् ।

    टोखा नगरपालिका–६ धापासीस्थित श्रीहरिहर सन्न्यास आश्रममा २१ जेठ २०८२ विसंमा सम्पन्न स्वामी परमानन्द सरस्वतीको तस्बिर अङ्कित उक्त हुलाक टिकटको प्रथम आवरण कार्यक्रममा सरकारी अधिकारी, हुलाक सेवा विभागका प्रतिनिधि, धार्मिक–शैक्षिक संस्थाका अगुवा तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।

    सरकारी अधिकारीहरूले राष्ट्रको धार्मिक, शैक्षिक र सांस्कृतिक पहिचान सुदृढ गर्न योगदान पुर्‍याउने व्यक्तित्वहरूको सम्मानस्वरूप यस्तो हुलाक टिकट प्रकाशन गरिएको जनाएका छन् । यसले नयाँ पुस्तालाई नेपालको सनातन वैदिक परम्परा र संस्कृत शिक्षाप्रति सचेत गराउने अपेक्षा गरिएको संस्मरणात्मक हुलाक टिकट प्रकाशन प्रक्रियाको प्रारम्भिक समन्वय गर्नुभएकी विष्णुदेवी गैरेले बताइन् ।


    विसं २०५३ माघ १८ मा ब्रह्मलीन स्वामी परमानन्द सरस्वतीको योगदानलाई राज्यस्तरबाट २९ वर्षपछि मरणोपरान्त गरिएको यो सम्मानलाई ऐतिहासिक मानिएको श्री हरिहर सन्यास आश्रम, देवघाटले जनाएको छ । रु १० दरका पाँच लाखको सङ्ख्यामा प्रकाशित हुलाक टिकट हाल देशभरका हुलाक कार्यालयमार्फत सर्वसाधारणका लागि उपलब्ध गराइएको हुलाक सेवा विभागले जनाएको छ ।

  • आजको मौसम : तराईमा दिनभर हुस्सु, पहाडमा सफा

    आजको मौसम : तराईमा दिनभर हुस्सु, पहाडमा सफा

    काठमाडौँ, १२ पुस । देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । हाल तराईका केही स्थानहरूमा हुस्सु–कुहिरो लाग्नुका साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो तराई भू–भागका अधिकांश स्थानहरूमा हुस्सु–कुहिरो रहनेछ ।

    कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाको अनुमान छ । त्यस्तै आज राति तराई भू–भागका अधिकांश स्थानहरूमा हुस्सु रहनेछ भने गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

  • निर्वाचन ६८ दिन बाँकी : प्रतिनिधिसभा सदस्यमा मतदान गर्ने यी हुन् अस्थायी मतदाता

    निर्वाचन ६८ दिन बाँकी : प्रतिनिधिसभा सदस्यमा मतदान गर्ने यी हुन् अस्थायी मतदाता

    काठमाडौँ, १२ पुस । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा नाम समावेश हुनेहरुको निर्धारण गरेको छ । आयोगले अन्तिम मतदाता नामावलीमा नाम रहेका नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह तथा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको संस्थामा कार्यरत कर्मचारी अस्थायी मतदाताका रूपमा रहनेछन् । व्यारेकमा रहेका नेपाली सेना, नेपाल प्रहरी वा सशस्त्र प्रहरी, कारागारमा रहेका थुनुवा र कैदी, निर्वाचन कार्यमा खटिएका कर्मचारी र सुरक्षाकर्मी पनि अस्थायी मतदाताका रूपमा रहनेछन् ।

    नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहले सञ्चालन गरेको वा ती सरकारको स्वीकृत लिई सञ्चालन भएको वृद्धाश्रममा बसेका व्यक्ति, संवैधानिक निकायका प्रमुख तथा पदाधिकारी पनि अस्थायी मतदाताका रुपमा रहनेछन् । अस्थायी मतदाता नामावली समन्वय समितिको संयोजमा मतदाता नामावली हेर्ने निर्वाचन आयुक्त रहने व्यवस्था छ । सो समितिमा निर्वाचन आयोगका सचिव, गृह मन्त्रालय, रक्षा मन्त्रालय, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सदस्य रहने व्यवस्था छ । निर्वाचन आयोगका सबै महाशाखाका सहसचिव आयोगका वरिष्ठ कम्युटर अधिकृत सदस्य रहने व्यवस्था छ । यस्तै, मतदाता नामावली तथा निर्वाचन सञ्चालन शाखा वा तोके बमोजिमको उपसचिव सदस्यसचिव रहनेछन् ।

    यसैगरी जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्लास्थित सुरक्षा निकायका प्रमुख, जिल्ला कारागार प्रमुख सदस्य रहनेछन् । निर्वाचन अधिकारीलाई सदस्य सचिवका रुपमा रहने व्यवस्था गरिएको छ । अस्थायी मतदाता नामावली सङ्कलनका लागि सम्बन्धित निकायसँग कर्मचारीको विवरण माग गर्ने र विद्युतीय प्रतिसहित निर्वाचन कार्यालयमा पठाउनुपर्ने व्यवस्था छ । अस्थायी मतदाता नामावली प्रमुख नाम दर्ता अधिकारीले सम्बन्धित निर्वाचन अधिकृतलाई उपलब्ध गराउनुपर्नेछ । निर्वाचन अधिकृतले मतदाता केन्द्रमा खटिने कर्मचारी वा सुरक्षाकर्मीको अस्थायी मतदाता नामावली निर्धारित ढाँचामा तयार पार्नुपर्ने व्यवस्था छ ।

  • मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने

    मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने

    काठमाडौँ, ११ पुस । सरकारले विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले डोटीको विपीनगर, ताप्लेजुङको श्रीचङ्घा, डोल्पाको धो, मुगुको खत्याग, कालिकोटको रास्कोट, बाजुराको कोल्टी, दार्चुलाको गोकुलेश्वर, बैतडीको मेघौली र सङ्खुवासभाको हिदाङगढीमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने निण गरेको हो ।

    सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधीमन्त्री जगदिश खरेलले गृह मन्त्रालयअन्तर्गतको सङ्गठन संरचना र दरबन्दी तेरिज तथा नागरिकता चौथो संशोधन नियमावली स्वीकृत गर्ने निर्णसमेत गरिएको जनाकारी दिए । बैठकले पुस १५ गतेलाई राष्ट्रिय च्याउ दिवसको रूपमा मनाउने निर्णय गर्नुका साथै जापानमा प्रशिक्षार्थी कामदार पठाउनेसम्बन्धी निर्देशिका खारेज गरिएको पनि उनले बताए ।

    यसैगरी वैदेशिक रोजगारीको सिलसिलामा इराक गई त्यहाँको आधिकारिक भिसा प्राप्त गरेका नेपाली नागरिकले नेपाल आएको बखत ‘रेसिडेन्सी कार्ड’को सक्कल र फोटोकपीसहित आवेदन पेस गरेमा श्रम स्वीकृतिका लागि स्वीकृति प्रदान गर्ने निर्णयसमेत गरिएको छ ।

  • छिमेकी र अन्य देशहरूसँग आवश्यक सहकार्य हुन्छ : नवनियुक्त मन्त्री शर्मा

    छिमेकी र अन्य देशहरूसँग आवश्यक सहकार्य हुन्छ : नवनियुक्त मन्त्री शर्मा

    काठमाडौँ, ११ पुस । नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले आफ्नो मन्त्रालयले चुनावसम्बन्धी विषयमा छिमेकी र अन्य देशहरूसँग आवश्यक सहकार्य गर्ने बताएका छन् । मन्त्रालयमा आज पदबहालीका क्रममा उहाँले कुनै किसिमको सहकार्य गर्नुपर्ने लाग्यो भने त्यसलाई सही तरिकाले उठाउने काम आफ्नो हुने उल्लेख गरे । मन्त्री शर्माले भने, “दुई छिमेकी र अन्य मित्र राष्ट्रहरू नवोदित राष्ट्रहरू हुन् । उहाँहरूको अनुभव ज्ञान हामीहरूले लिनुपर्छ । सहकार्य गर्दै अगाडि बढ्ने वातावरण सिर्जना गर्न सकिन्छ भन्ने मलाई आशा छ ।”

    नवनियुक्त परराष्ट्रमन्त्री शर्माले आजै राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् । प्रधानमन्त्री सुशीला कार्कीले शर्माको सिफारिसमा राष्ट्रपतिले उनलाई परराष्ट्रमन्त्री नियुक्त गरेका हुन् । मन्त्रिपरिषद् विस्तारसँगै कार्की नेतृत्वको सरकार १५ सदस्यीय भएको छ ।

  • आज पनि बढ्यो सुनचाँदीको मूल्य

    आज पनि बढ्यो सुनचाँदीको मूल्य

    काठमाडौँ, ११ पुस । पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढीरहेको छ । आज पनि दुवै धातुको मूल्यमा बढोत्तरी भएको छ।
    आज छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ६९ हजार ३०० र त्यति नै चाँदीको मोल रू चार हजार ५८५ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । दुवै धातुको मूल्य हालसम्मको उच्च हो । गत बुधबार छापावाल सुन प्रतितोला रु दुई लाख ६८ हजार १०० मा र चाँदी रु चार हजार ४२० मा कारोबार भएको थियो ।

    बिहीबार दुवै धातुको मूल्यमा सामान्य गिरावट आएर प्रतितोला सुन रु दुई लाख ६७ हजार ५०० र चाँदी रु चार हजार ४०० मा कारोबार भएको थियो । अमेरिकी डलरको भाउ बढेसँगै सुनचाँदीको मूल्य पनि बढेको विश्लेषकहरूले बताएका छन् । अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ५०० र त्यति नै परिमाणको चाँदी ७५ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

  • सरकारले निर्वाचनको वातावरण बनाएको छ : मन्त्री खरेल

    सरकारले निर्वाचनको वातावरण बनाएको छ : मन्त्री खरेल

    भक्तपुर, ११ पुस । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मत माग्न र मतदान गर्न कुनै समस्या नहुनेगरी सरकारले निर्वाचनको वातावरण बनाएको बताएका छन् । आज गुन्डुमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेपछि सञ्चारकर्मीलाई भेटबारे जानकारी दिदै उनले सो बताएका हुन् ।

    मन्त्री खरेलले भने, “सरकार तोकिएकै दिन निर्वाचन गराउन पूर्ण रूपमा तयारी गरेको छ । निर्वाचनका लागि सरकारले सुरक्षा व्यवस्थापन सुदृढ बनाउने छ । निर्वाचनको सबै तयारी तीव्र रूपमा भइरहेको सन्दर्भमा निर्वाचनकै विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि आज छलफल भयो, अहिले एमाले अध्यक्ष केपीओलीसँग पनि छलफल भयो ।’

    अध्यक्ष ओलीले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि सरकारले सुरक्षालगायत सबै वातावरण सहज बनाउनुपर्नेमा जोड दिएको मन्त्री खरेलले जानकारी दिए । अध्यक्ष ओलीसँग शान्तिपूर्ण, भयरहित र निष्पक्ष निर्वाचनको वातावरण सुनिश्चितताको कुरा भएको जानकारी दिदै राजनीतिक संवाद समितिका सदस्यसमेत रहनुभएका मन्त्री खरेलले निर्धक्क भएर उम्मेदवारलाई जनताको घरदैलोमा मत माग्न जाने र मतदातालाई निर्धक्क भएर मतदान गर्न सक्नेगरी सुरक्षा व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको उहाँलाई अवगत गराएको बताए ।

    सरकारले निर्वाचनको वातावरण बनाएकाले ढुक्कसँग चुनावमा सहभागी हुन आफूले आग्रह गरेको जानकारी दिँदै मन्त्री खरेलले भने, “एमाले चुनावको पक्षमा छ, एमाले निर्वाचनबाट भाग्दैन भन्नुभएको छ, सुरक्षा चुनौती छ, वातावरण बनाउनुप¥यो भन्ने जुन कुरा उहाँले राख्नुभयो ती सबै सरकारले सम्बोधन गर्छ । सरकारले चुनावको वातावरण बनाउछ ।”

    एमाले अध्यक्ष ओलीमाथि लगाइएको स्थान हदबारे पुनर्विचार गर्ने कुरामा पनि सरकार सकारात्मक रहेको उनले बताए । सञ्चारमन्त्री खरेलले सरकारको लक्ष्य नै निर्वाचन भएकाले यो लक्ष्य प्राप्तिको लागि कुनै अल्झन्, अप्ठ्यारा, चुनौतीहरू भए त्यसलाई सहज बनाउँदै सफलतापूर्वक निर्वाचन सम्पन्न गर्न आवश्यक पर्ने सम्पूर्ण काम गर्ने प्रतिबद्धता दोहोर्याए ।

  • अध्यक्ष ओली र मन्त्री खरेलबीच भेटवार्ता, के भयो कुराकानी ?

    अध्यक्ष ओली र मन्त्री खरेलबीच भेटवार्ता, के भयो कुराकानी ?

    काठमाडौँ, ११ पुस । निर्वाचनको वातावरण बनाउन राजनीतिक दलका शीर्ष नेता सँगको संवादलाई वर्तमान सरकारले निरन्तरता दिएको छ । यसै सन्दर्भमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग उनको गुण्डुस्थित निवासमा भेटवार्ता गर्नुभएको छ ।

    राजनीतिक संवाद समितिका सदस्यसमेत रहनुभएका मन्त्री खरेलले यसअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग निर्वाचनमा केन्द्रित रहेर छलफल गरेका थिए । राष्ट्रिय सहमति कायम गर्दै आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन वर्तमान सरकार क्रियाशील छ ।

  • बालानन्द बने परराष्ट्र मन्त्री, भयो सपथ

    बालानन्द बने परराष्ट्र मन्त्री, भयो सपथ

    काठमाडौँ, ११ पुस । नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालयमा आज आयोजित विशेष समारोहमा उनले शपथ लिएका हुन् । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपतिले शर्मालाई आजै परराष्ट्रमन्त्रीमा नियुक्त गरेका हुन्
    । मन्त्रिपरिषद् विस्तारसँगै कार्की नेतृत्वको सरकार १५ सदस्यीय भएको छ ।

    शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री कार्की, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित सरकारका उच्च पदस्थ कर्मचारी, कूटनीतिक नियोगका प्रमुख, संवैधानिक अङ्गका प्रमुखको सहभागिता थियो । नेपाली सेनाका पूर्वरथी शर्माले तत्कालीन सेना समायोजन विशेष समितिको सचिवालय संयोजकको भूमिका निर्वाह गरेका थिए । संयुक्त राष्ट्रसङ्घीय शान्ति सेनाको फोर्स कमाण्डरको जिम्मेवारीसमेत सम्हालिसकेका उनी प्रतिरक्षा विश्वविद्यालयका अध्यक्ष हुन् ।

  • सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

    सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

    कञ्चनपुर, ११ पुस । सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै गएको छ । जङ्गली स्याल र भुस्याहा कुकुरको टोकाइबाट पशु तथा मानिसमा रेबिज फैलिन थालेपछि प्रदेशभर जनस्वास्थ्यमा ठूलो चुनौती थपिएको छ । धनगढीस्थित पशुपन्छी रोग अन्वेषण प्रयोगशालाका वरिष्ठ पशु चिकित्सक नरेशप्रसाद जोशीका अनुसार पछिल्लो २० दिनयता कम्तीमा १८ पशुको रेबिजका कारण मृत्यु भएको छ ।

    “तीन वर्षको अवधिमा तीन सय ७१ पशुमा रेबिजको सङ्क्रमण पुष्टि भइसकेको छ”, उनले भने, “यो त प्रयोगशालालाई जानकारी भएको मात्र हो, यसै बीचमा कम्तीमा पनि पाँच जना मानिसको रेबिज सङ्क्रमणकै कारण मृत्यु भएको जनाकारी भएको छ, धेरैजस्तो त जानकारीमै नआउने भएकाले मृत्युको सङ्ख्या धेरै हुनसक्ने देखिन्छ ।”

    रेबिजकै कारण यसै साता बझाङको सुर्मा गाउँपालिका–२ की ७० वर्षीया महिलाको मृत्यु भएको जानकारी आएको वरिष्ठ पशु चिकित्सक जोशीले बताउनुभयो । उहाँका अनुसार यसअघि यसै वर्ष असार महिनामा बैतडीमा एक बालकको पनि रेबिजका कारण मृत्यु भइसकेको छ । सबैभन्दा बढी रेबिजको सङ्क्रमण कैलाली र कञ्चनपुर जिल्लामा रहेको छ । आर्थिक वर्ष २०८१÷८२ मा सङ्कलित एक सय ७० नमूनामध्ये एक सय ३६ मा रेबिज पुष्टि भएको छ ।

    सो आर्थिक वर्षमा सबैभन्दा बढी सङ्क्रमण कैलालीमा भेटिएको छ । त्यहाँ सङ्कलन गरिएका ९८ नमूनामध्ये ७८ पोजेटिभ पाइएको छ । त्यसपछि कञ्चनपुरमा ५३ मध्ये ४३, अछाममा सातमध्ये पाँच, बझाङका तीन, डोटीका आठमध्ये छ पोजेटिभ परिणाम आएको छ । कैलालीको गोदावरी नगरपालिका–६ मा अन्य पशुलाई टोक्दै हिँडेको एक पशुमा दुई दिनअघि मात्रै रेबिज पुष्टि भएको छ । प्रयोगशालाको द्रुत प्रतिकार्य टोली (आरआरटी)ले सङ्कलन गरेको नमूना परीक्षण गर्दा नतिजा पोजेटिभ आएको वरिष्ठ पशु चिकित्सक जोशीले जानकारी दिए ।


    यसअघि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ मा बहुला कुकुरमा रेबिज पुष्टि भएको थियो भने हाल सोही नगरपालिकाको वडा नं १२ मा समेत कुकुरको आतङ्क बढ्दै गएको नगरपालिकाको पशुपन्छी विकास शाखाका प्रमुख रामप्रसाद भट्टले बताए । उनका अनुसार पछिल्लो समय स्यालहरू एकाएक मानव बस्तीमा पस्न थालेका छन्, त्यसको मुुख्य कारण उखुखेती कटानीका कारण प्राकृतिक बासस्थान नष्ट हुनु रहेको छ ।

    “उखु कटानीको सिजन सुरु भएपछि स्यालको लुक्ने ठाउँ र आहार क्षेत्र मासिएको छ”, भट्ट भन्छन्, “बासस्थान अभाव भएपछि स्याल आहाराको खोजीमा बस्ती पस्ने, घरपालुवा कुकुर तथा पशुलाई टोक्ने र त्यसैबाट रेबिजको सङ्क्रमण तीव्रगतिमा फैलिएको छ ।” पशु चिकित्सक भोजराज पाण्डेयका अनुसार रेबिज शतप्रतिशत प्राणघातक रोग भए पनि समयमै उपचार र सावधानी अपनाएमा ज्यान जोगाउन सकिन्छ । उनका अनुसार कुनै पनि पशुले टोकेमा घाउलाई १०–१५ मिनेटसम्म साबुन र सफा पानीले राम्ररी धुने, घाउ सानो भए पनि ढिलाइ नगरी तुरुन्त स्वास्थ्य संस्थामा गई रेबिजविरुद्धको खोप लगाउने कार्य गर्नु पर्दछ ।

    असामान्य व्यवहार गर्ने, टोक्ने वा र्याल झार्ने पशु देखिएमा स्थानीय तह वा पशुपन्छी सेवा शाखामा तुरुन्त जानकारी गराउने, घरपालुवा जनावरलाई अनिवार्य खोप लगाउन, जङ्गली जनावर तथा भुस्याहा कुकुरबाट टाढा रहन र बालबालिकालाई विशेष सतर्कता अपनाउन लगाउने कार्य गर्नुपर्ने उनको भनाइ रहेको छ ।

  • मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

    मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

    मुस्ताङ, ११ पुसः कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट रु ११ अर्ब एक करोड ९५ लाख बराबरको सामान निकासी पैठारी भएको छ । गत ३० भदौदेखि पूर्ण रुपमा सञ्चालनमा आएको नेपाल–चीनस्थित कोरला नाकाबाट १० पुससम्ममा निकासी तथा पैठारी गरी उक्त मूल्य बराबरको वित्तीय कारोबार भएको मुस्ताङ भन्सार कार्यालयका प्रमुख रमेश खड्काले जानकारी दिए ।

    कोरला नाका पूर्ण रुपमा सञ्चालनमा आएदेखि हालसम्म यहाँको कोरला नाका हुँदै चीनतर्फबाट रु १० अर्ब ८२ करोड ९८ लाखको मालवस्तु नेपाल भित्रिएको बताए । यसैगरी नेपालबाट हस्तकलालगायतका नेपाली उत्पादन रु १८ करोड ९७ लाख ७८ हजार बराबरको मालवस्तु यहाँको भन्सार कार्यालयमा जाँचपाँस भई चीनतर्फ निकासी भएको भन्सार प्रमुख खड्काले जानकारी दिए । कोरला नाकाबाट हालसम्म दुई हजार ७४ विद्युतीय सवारीसाधन नेपाल भित्रिएका छन् । आइतबारदेखि कोरला नाकाबाट थप चिनियाँ विद्युतीय सवारीसाधन नेपाल भित्रिने क्रममा रहेको उनले बताए ।


    यसै महिना बिवाइडी कम्पनीले कोरला नाकाबाट पाँच सय बढी विद्युतीय सवारीसाधन चीनबाट पैठारी गरिरहेको भन्सार जनाएको छ । सोही कम्पनीको ३०० बढी विद्युतीय सवारी भन्सार जाँचपास भई गन्तव्यतर्फ प्रस्थान गरिसकेको भन्सार प्रमुख खड्काले बताए । यहाँको कोरला नाकाबाट मुस्ताङ भन्सार कार्यालयबाट जाँचपास भई निकासी तथा पैठारी भएका मालवस्तु तथा विद्युतीय सवारीसाधनबाट रु पाँच अर्ब छ करोड ६२ लाख सङ्कलन भएको भन्सार प्रमुख खड्काले जानकारी दिए ।


    नेपाली बजारमा विद्युतीय कारको प्रयोग बढ्दै गएकाले पछिल्लो समय नेपालका विभिन्न कम्पनीले कोरला नाकाबाट चीनमा बनेका विद्युतीय सवारीसाधन आयात गर्दैआएका छन् । इन्धनको बचत तथा कार्बन उत्सर्जन घटाउन यस प्रकारका विद्युतीय सवारीसाधन उपयोगी हुने भएकाले सरकारले यस्ता सवारीसाधनलाई भन्सार सहुलियत प्रदान गरिएकाले नेपालमा विद्युतीय सवारीसाधनको माग बढेको हो ।

    हिउँदयामको प्रतिकूल मौसममा समेत चीनबाट धमाधम कोरला नाका हुँदै विद्युतीय सवारीसाधन भित्रिएपछि कोरला नाकाको चहलपहल र भन्सार कार्यालयको कार्यसम्पादन गतिशील बनेको पाइएको छ । हिउँदयामसँगै ४६१० मिटरको उचाइमा अवस्थित कोरला नाकाको बिहान र बेलुकीको तापक्रम माइनस २० डिग्री रहेको छ । प्रतिकूल मौसमका बाबजुत कोरला नाकाबाट विद्युतीय सवारीसाधन नेपाल भित्रिदै छन् ।

    यहाँस्थित मुस्ताङ भन्सारमा जाँचपास सकेका विद्युतीय सवारीसाधनलाई जोमसोमसम्म र जोमसोमबाट पोखरासम्म चालकले गन्तव्यतर्फ पु¥याउन थालेका छन् । यसरी मुस्ताङबाट बाहिरिएका विद्युतीय सवारीसाधनलाई पोखराबाट अर्को चालक समूहले सम्बन्धित कम्पनीको शोरुमसम्म पु¥याउने गरेका छन् ।
    त्यसअघि यहाँ भित्रिने विद्युतीय सवारीसाधनलाई चिनियाँ भन्सारबाट स्थानीय सीमापार पास भएका चालकले चलाएर कोरला नाकाको नेपालतर्फ बाहिर निकाल्ने काम गर्छन् । प्रतिकूल मौसमका कारण कोरला नाका बन्द हुने अनुमान गरिए पनि चीनतर्फबाट धमाधम मालवस्तु र विद्युतीय सवारीसाधन भित्रिँदा कोरला नाकाबाट दुई देशबीचको आयात\निर्यात चलायमान भएको हो ।

    नाकाबाट धमाधम विद्युतीय सवारीसाधन भित्रिन थालेपछि बेनी–जोमसोम–कोरला सडकमा सञ्चालित विद्युतीय ‘चार्जिङ स्टेशन’हरु व्यस्त छन् । हिउँदयामको मौसममा माथिल्लो मुस्ताङका नागरिक धमाधम बेँसी झरिसकेको भए पनि कोरला नाकामा आयात\निर्यातको कारोबार घटेको छैन । भन्सार प्रमुख खड्काले विद्युतीय सवारीसाधनका अलावा हालसम्म दैनिक १०\१२ मालबाहक कन्टेनर मालवस्तु नेपाल–चीन निकासी\पैठारी भइरहेको जानकारी दिए ।

  • कांग्रेस सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल

    कांग्रेस सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल

    काठमाडौँ, ११ पुस । वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको वातावरण बनाउने सन्दर्भमा सरकारले प्रमुख तीन दलका शीर्ष नेतासँग सघन रुपमा छलफल सुरु गरेको छ ।

    आज सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग महाराजगञ्जस्थित निवासमा छलफल गरिरहेका छन् । मन्त्री खरेलको सचिवालयका अनुसार आजै उनले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बेग्लाबेग्लै छलफल गर्ने कार्यक्रम छ ।

  • एकताबद्ध हुन संयोजक प्रचण्डको अपिल

    एकताबद्ध हुन संयोजक प्रचण्डको अपिल

    काठमाडौँ, ११ पुसः नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सम्पूर्ण क्रान्तिकारी शक्तिलाई मतभेदभन्दा माथि उठेर सार्वभौम, आत्मनिर्भर, समतामूलक र समाजवादी नेपालको लक्ष्य प्राप्तिका लागि एकताबद्ध हुन अपिल गरेका छन् । माओत्सेतुङको १३३ औँ जन्मजयन्तीका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै संयोजक दाहालले माओले देखाएको आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माण तथा जनताको वास्तविक लोकतन्त्र स्थापना गर्ने बाटोमा अग्रसर हुन अनुरोध गरेका छन् ।

  • विद्युतीय प्रसारण लाइनको तार मुनीको जग्गाको कित्ताकाट गर्न पाइने

    विद्युतीय प्रसारण लाइनको तार मुनीको जग्गाको कित्ताकाट गर्न पाइने

    ११ पुस, काठमाडौं । सरकारले विद्युतीय प्रसारण लाइनको तार मुनी पर्ने जग्गाको क्षेत्रको कित्ताकाट गर्न पाउने व्यवस्था गरेको छ । भूउपयोग नियमावली, २०७९को तेस्रो संशोधनमार्फत प्रसारण लाइनको मार्गाधिकार राइट अफ वेमा पर्ने जग्गाको क्षेत्रको स्वामित्व सम्बन्धित जग्गाधनीकै नाममा रहने गरी कित्ताकाट गर्न सकिने नयाँ व्यवस्था गरिएको छ । प्रसारण लाइन निर्माणमा देखिएको समस्या समाधान गर्न गरिएको उक्त व्यवस्था गत २७ कात्तिकको राजपत्रमा प्रकाशित भई कार्यान्वयनमा आइसकेको छ ।


    नयाँ व्यवस्था अनुसार प्रसारण लाइन मुनिको जग्गा कित्ताकाट गर्न पाइने भएता पनि सुरक्षाका मापदण्ड भने यथावत् रहने छन् । प्रसारण लाइनको राइट अफ वेमा पर्ने जग्गाको क्षेत्रभित्र घरलगायतका संरचना निर्माण, अग्ला रुख रोप्न वा जोखिमयुक्त गतिविधि गर्न भने पाइँदैन । प्रसारण लाइन निर्माण तथा सञ्चालनका क्रममा लाइनको सुरक्षित सञ्चालन, मर्मतसम्भार र सार्वजनिक सुरक्षालाई ध्यानमा राखी लाइनको केन्द्रबाट दायाँ र बायाँ दुवैतर्फ निश्चित दूरीसम्मको क्षेत्रलाई राइट अफ वे तोकिएको हुन्छ । राइटअफ वेको चौडाइ प्रसारण लाइनको भोल्टेज स्तर, टावरको उचाइ, तारको झुन्डिने अवस्था स्याग तथा प्राविधिक मापदण्डका आधारमा निर्धारण गरिन्छ ।


    ६६ तथा १३२ केभी प्रसारण लाइनका लागि तारेको केन्द्रबाट दायाँवायाँ ९\९ मिटर गरी १८ मिटर, २२० केभी प्रसारण लाइनको १५\१५ गरी ३० मिटर र ४०० केभीको २३\२३ गरी ४६ मिटर राइट अफ वे रहने व्यवस्था छ । प्रसारण लाइन निर्माण गर्दा टावर प्याड रहने ठाउँको जग्गा मुआब्जा रकम दिएर अधिग्रहण गरिन्छ । अर्थात जग्गाको स्वामित्व आयोजनाको नाममा रहन्छ । तर, राइट अफ वेमा भने जग्गाको स्वामित्व सम्बन्धित जग्गाधनीकै नाममा रहने गरी निश्चित प्रतिशत क्षतिपूर्ति दिइन्छ । हाल राइट अफ वेमा पर्ने जग्गाको मूल्याङ्कन गरिएको रकमको १०–२५ प्रतिशतसम्म क्षतिपूर्ति सम्बन्धित जग्गाधनीलाई दिंदै आएको छ ।


    सम्बन्धित आयोजनाबाट जग्गा प्राप्तिको निर्णय र क्षतिपूर्ति प्रदान गरिएको प्रमाणसहित लेखी आएमा जग्गाको स्वामित्व सम्बन्धित जग्गाधनीकै नाममा कायम रहने गरी कित्ताकाट गर्न सकिने व्यवस्था गरिएको हो । ‘सम्बन्धित जग्गाधनीलाई क्षतिपूर्ति दिई त्यस्तो जग्गामा परेको विद्युतीय प्रसारण लाइनको राइट अफ वे क्षेत्रको कित्ताकाट गरिदिन प्रचलित कानून बमोजिम सम्बन्धित आयोजनाबाट जग्गा प्राप्तिको निर्णय र क्षतिपूर्ति प्रदान गरिएको प्रमाणसहित लेखी आएमा जग्गाको स्वामित्व सम्बन्धित जग्गाधनीकै नाममा कायम रहने गरी कित्ताकाट गर्न सकिनेछ,’ भूउपयोग नियमावलीमा उल्लेख छ ।

    प्रसारण लाइनको राइट अफ वेमा पर्ने निश्चित क्षेत्र पर्ने तर पुरै क्षेत्रको कित्ताकाट नहुँदा जग्गाधनीहरुलाई कित्ताकाट, नामसारी तथा बैंक तथा वित्तीय संस्थामा धितो राख्न नपाउँदा आर्थिक तथा समाजिक समस्या पर्दै आएको थियो । अब राइट अफ वेमा पर्ने जग्गाको क्षेत्रलाई कित्ताकाट गर्न सकिने हुँदा जग्गाको कारोबार सहज हुने र जग्गाधनीले आफ्नो सम्पत्तिको कानुनी उपयोग गर्न पाउने देखिएको छ ।

  • मुग्लिनमा आजदेखि सुन्तला महोत्सव हुँदै

    मुग्लिनमा आजदेखि सुन्तला महोत्सव हुँदै

    मुग्लिन (चितवन), ११ पुस । आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु हुँदैछ । चितवन उद्योग सङ्घ इच्छाकामना समिति र होटल व्यवसायी सङ्घ इच्छाकामना एकाइको संयुक्त आयोजनामा मुग्लिन बजारमा सुन्तला महोत्सव हुन लागेको हो । आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्न टेवा पुग्ने विश्वासका साथ महोत्सवको आयोजना गरिएको चितवन उद्योग सङ्घ इच्छाकामना समितिका अध्यक्ष रामहरि कँडेलले बताए ।

    प्रदर्शनीमा ५० भन्दा बढी कक्ष रहने उहाँले जानकारी दिनुभयो । महोत्सवमा इच्छाकामनाका १०० सुन्तला उत्पादन गर्ने किसानले आफ्नो उत्पादनको प्रत्यक्ष लाभ लिनेछन् । यसबाट स्थानीय कला, संस्कृति र परम्पराको संरक्षण तथा संवद्र्धन हुने आयोजकको विश्वास छ ।

    महोत्सवमा सुन्तलाविज्ञ किसान र जनप्रतिनिधिहरुबीच अन्तक्र्रिया, सुन्तला खाने प्रतियोगितालगायत सुन्तलाखेती गर्ने किसान लक्षित विभिन्न कार्यक्रम हुने आयोजकले जनाएको छ । मुग्लिन बजार क्षेत्रमा हुने महोत्सवले स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्न सहयोग पुग्ने विश्वास लिएको अध्यक्ष कँडेलले बताए ।

    इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले सुन्तला उत्पादनबाट वार्षिक यस क्षेत्रका जनताले रु नौ करोडदेखि रु १० करोडको कारोबार गर्ने गरेको बताए । यहाँको सुन्तला स्वादिष्ट हुने भएकाले बिक्री गर्न बजारको कुनै समस्या नरहेको उनले बताए ।

    सुन्तलाका बगैँचा जोगाउन र नयाँ क्षेत्र विस्तार गर्न गाउँपालिकाले प्रत्येक वर्ष बिरुवा वितरण गर्दै आएको छ । सुन्तला महोत्सव तथा फुड फेस्टिबलले यहाँको पर्यटकीय क्षेत्रहरुको समेत प्रचारप्रसार गराउन सहयोग मिल्ने अध्यक्ष गुरुङको भनाइ छ । पुस १५ गतेसम्म चल्ने महोत्सवको गाउँपालिका संरक्षक रहेको छ ।

  • हुम्लामा आगलागी, पाँच घर जले, दुई घाइते

    हुम्लामा आगलागी, पाँच घर जले, दुई घाइते

    ११ पुस, हुम्ला । सर्केगाड गाउँपालिका–२ रिप गाउँमा आगलागीबाट दुई जना घाइते भएका छन् । आगलागीबाट पाँच घरमा क्षति पुगेको स्थानीय विजय फडेराले जानकारी दिए । फडेराका अनुसार गए राति लैबा फडेरोको घरबाट अचानक सुरु भएको आगलागीमा परेर स्थानीय लैबा फेडेरा र बम्बु फडेर घाइते भएका छन् । घाइते दुवैजनालाई उपचारका लागि राति नै एम्बुलेन्सबाट जिल्ला अस्पताल सिमकोट ल्याइएको छ ।

    आगलागीबाट स्थानीय लैबा फडेरा, जयराम फडेरा, क्रान्ति फडेरा, रमेश महतारा र मोहन महताराको घरमा क्षति पुगेको छ । क्षतिबारे आँकलन गर्न नसकिएको आगो निभाउनमा खटिएका स्थानीय विजय फडेराले बताए । स्थानीयको पहलमा आगो निभाइएको उनले बताए ।

    आगलागीको जानकारी पाउने बित्तिकै सर्केगाड प्रहरी चौकीबाट सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख विष्णु श्रेष्ठले बताए । “अहिले आगो निभाइसकिएको छ”, उनले भने । घाइतेको उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा उमाकान्त तिवारीले बताए ।

  • पशुपतिनाथलाई जाडोबाट जोगाउन  गरियो धनुर्मास पूजा

    पशुपतिनाथलाई जाडोबाट जोगाउन गरियो धनुर्मास पूजा

    काठमाडौँ, ११ पुस । सूर्य धनु राशिमा रहेका बेला पशुपतिनाथ मूल मन्दिरमा बिहीबार रातभर धनुर्मास पूजा आराधना गरिएको छ । पुस महिनाभर सूर्य धनु राशिमा हुन्छन् । प्रत्येक वर्ष पुस महिनामा साइत जुराएर पशुपतिनाथ मूल मन्दिरमा धनुर्मास पूजा आराधना गर्ने परम्परा छ । धनुर्मास पूजा गर्नुअघि बिहीबार बिहान पशुपतिनाथलाई चिसोबाट बचाउन तातोपानीले स्नान गराइएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक सुभाषचन्द्र जोशीले राससलाई जानकारी दिए ।
    बाला चतुर्दशीदेखि नै चिसो लाग्ने भएकाले पशुपतिनाथलाई तातोपानीले स्नान गराउने परम्परा छ । पानीमा बस्ने माछासमेत चिसोबाट बच्न पानीको सतहमुनि बस्ने मीनपचासको समयमा पशुपतिनाथलाई पनि चिसोबाट बचाउन धनुर्मास पूजासहित खिचडी खुवाउने वैदिक सनातनी परम्परा छ । धनुर्मास पूजापछि गेडागुडीबाट बनेको खिचडी पशुपतिनाथलाई खुवाइन्छ ।

    बिहीबार रातभर धनुर्मास पूजा गरेपछि शुक्रबार आज पशुपतिनाथलाई उपवास राख्ने गरिन्छ । उपवासका दिन बिहानै महादेव शिवपुरी डाँडामा गएर तोरीको तेल लगाएर घाममा शयन गर्ने धार्मिक विश्वास छ । यसै विश्वासमा आज बिहानै पशुपतिनाथलाई तोरीको तेल लगाइन्छ । बेलुकी भने शिवपुरी डाँडाबाट घाम तापेर फर्कनुहुने विश्वासमा आरती गरिन्छ । शनिबार बिहानदेखि भने नियमित पूजा आराधना गरिन्छ ।

  • निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

    निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

    म्याग्दी, ११ पुस । मङ्गला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु पेल्ने चलनलाई निरन्तरता दिएका छन् । मङ्गला गाउँपालिका–२ सिमका स्वर्गीय रामबहादुर खत्रीले एक सय वर्षअघि भारतको कोलकाताबाट ल्याएको कोलमा हरेक वर्ष पुष र माघमा उखु पेल्ने चलन छ । रामबहादुरका छोरा नातिहरूले पनि हलगोरुको सहायतामा कोल घुमाउने पुरानो चलन र परम्परालाई निरन्तरता दिएका छन् ।

    रामबहादुरका नाति ध्रुव खत्रीले उखु पेल्ने विद्युतीय उपकरणको विकास भए पनि कोलमा उखु पेल्ने चलन अझै कायमै रहेको बताए । “त्यसबेला काठको कोलमा उखु पेल्न दुःख भएपछि हाम्रा हजुरबुबाले भारतबाट ल्याएको कोलका पाटपुर्जा नाउडाँडाबाट भरियाले पाँच दिन लगाएर यहाँ ल्याउनुभएको रहेछ”, उनले भने, “एक सय किलोग्राम तौल भएको तीनवटा पाटपुर्जा ल्याएपछि यस क्षेत्रका किसानलाई उखु पेल्न सजिलो भएको थियो ।”

    सिमलचौरका दलबहादुर जिसी, गणेशबहादुर जिसी र चाउरे कामीले नाउडाँडाबाट कोल बोकेर सिम ल्याएका थिए । त्यसबेला ग्रामीण क्षेत्रमा गुलियोका लागि उखुको रस पकाएर बनाइने खुदो प्रयोग हुन्थ्यो । त्यसबेला गुलियोका लागि पनि घरैपिच्छे उखुखेती गर्ने चलन थियो । पुर्खाले सुरु गरेको कोल हाल्ने चलनलाई आफूहरूको पालामा पनि निरन्तता दिएको खत्रीले बताए । कोलमा उखु पेलेबापत १० लिटर बराबर रु एक सय शुल्क तोकिएको छ । उखु पेल्न पालो लगाउनुपर्छ । सो कोलमा उखु पेल्न बाबियाचौर, कुहुँ, अर्मन, बरंजाका साथै बेनी नगरपालिका र मालिका गाउँपालिकाबाट किसानहरू आउने गरेका छन् ।

    मङ्गला गाउँपालिका–२ तोराखेतका श्रीकृष्ण पौडेलले उखुको रसबाट बनाएको खुदोलाई धार्मिककार्यका साथै मानिसलाई घाँटी दुखेको र गाईभैँसी बिरामी भएमा औषधिका रूपमा खुवाउने चलन छ । गर्मीमा खुदो मिसाएको पानी पिउँदा शीतल हुने उनको अनुभव छ ।

    मानिस वा गोरुले तेर्सो पारिएको काठलाई घुमाउएर मुडा र फलामबाट बनाइएको कोल चलाउने गरिन्छ । गोरु नभएको अवस्थामा मानिसले काठ घुमाउने गर्दछन् । फलामको कोलको बीचमा उसु राखेर काठ घुमाएपछि रस झर्ने गर्छ । कोल चलाउन दुईदेखि तीन जना जनशक्ति आवश्यक पर्छ । कोलमा पेल्दा धेरै रस आउने, शुद्ध, स्वस्थ हुने उपभोक्ता राजाराम उपाध्यायले बताउनुभयो । कोलमा पेलेर निकालिएको उखुको रस पकाएर खुदो बनाउने गरिन्छ ।

    चिनीको उपलब्धता नहुँदा गाउँघरमा गुलियोगका लागि खुदो प्रयोग हुन्थ्यो । खुदोलाई पूजाआजामा पनि प्रयोग गरिने मङ्गला गाउँपालिका–२ सिमलचौरकी रूपा जिसीले बताए । विवाह, व्रतबन्धका लागि लड्डु र कसार बनाउनका लागि खुदो आवश्यक पर्छ । यसैगरी देवीदेवतालाई प्रसादका रूपमा पनि खुदो चढाउने चलन छ ।

  • निर्वाचन ६९ दिन बाँकी : कसलाई लाग्छ आचारसंहिता ?

    निर्वाचन ६९ दिन बाँकी : कसलाई लाग्छ आचारसंहिता ?

    काठमाडौँ, ११ पुस । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वच्छ, मर्यादित र विश्वसनीय बनाउन कुनकुन निकायलाई आचारसंहिता लाग्ला ? धेरैलाई जिज्ञासा रहेको हुनसक्छ । यद्यपि, नेपालमा यसअघि पटकपटक निर्वाचन भएकाले आचारसंहिता कुनकुन क्षेत्रमा लाग्छ भन्ने सामान्यता थाहा हुन्छ नै । निर्वाचन आयोगले तयार पारेको र हाल परामर्शका क्रममा रहेको निर्वाचन आचारसंहिताअनुसार नेपाल सरकारका मन्त्रीलाई पूर्ण रूपमा आचारसंहिता लाग्छ ।

    यसैगरी, प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री, संवैधानिक निकाय र त्यसका पदाधिकारी, सङ्घीय सरकार र प्रदेश सरकारका निकाय र सो निकायका पदाधिकारीलाई आचारसंहिता लाग्छ । स्थानीय कार्यपालिका र सोका सदस्य, सङ्घ, प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी, सरकारी अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय र कर्मचारीलाई आचारसंहिता लाग्नेछ ।

    राजनीतिक दल तथा राजनीतिक दलका भ्रातृ सङ्गठन, उम्मेदवार तथा सम्बन्धित व्यक्ति, राजनीतिक दल तथा उम्मेदवारको निर्वाचन प्रतिनिधि, मतदान प्रतिनिधि तथा मतगणना प्रतिनिधिलाई आचारसंहिता लाग्नेगरी प्रस्ताव गरिएको छ । सार्वजनिक पदधारण गरेको व्यक्ति, अनुमगन समितिका पदाधिकारी तथा अनुमगनकर्ता, पर्यवेक्षण संस्था तथा पर्यवेक्षक, सञ्चार प्रतिष्ठान, सोका पदाधिकारी तथा कर्मचारी, विद्यालय, महाविद्यालय वा विश्ववद्यालय, सोका शिक्षक तथा कर्मचारी, मतदाता, विकास साझेदार संस्था, सरकारी तथा अर्धसरकारी निकायबाट सञ्चालित परियोजना तथा परियोजनाका कर्मचारी, मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने संस्था र त्यसका कर्मचारीलाई पनि पूर्ण रूपमा आचारसंहिता लाग्नेछ ।

    त्यस्तै, निजी क्षेत्रका बैंक तथा वित्तीय संस्था, सहकारी संस्था, व्यापारिक तथा औद्योगिक क्षेत्र, सोका पदाधिकारी, कर्मचारी तथा कामदारलाई पनि आचारसंहिता लाग्छ । वस्तु तथा सेवा प्रदायक व्यावसायिक संस्थाका पदाधिकारी, कर्मचारी तथा कामदार र आयोगले तोकेका अन्य निकाय वा व्यक्तिलाई पनि आचारसंहिता लाग्ने छ । आयोगले प्रस्ताव गरेको आचारसंहिता आवश्यक सुझाव र सल्लाहसहित केही दिनभित्रै लागू हुने जनाइएको छ ।

  • आज ज्येष्ठ नागरिक दिवस मनाइँदै

    आज ज्येष्ठ नागरिक दिवस मनाइँदै

    काठमाडौँ, ११ पुस । ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने आदर्श वाक्यका साथ आज विभिन्न कार्यक्रम आयोजना गरी ज्येष्ठ नागरिक दिवस मनाइँदैछ । ज्येष्ठ नागरिकको हक, हित तथा अधिकारको संरक्षण गर्दै सम्मान, संरक्षण र सहभागिता प्रवर्द्धन गर्नका लागि विभिन्न कार्यक्रमहरू आयोजना गरी यो दिवस मनाउन लागिएको हो ।

    विसं २०५१ पुस ११ गते सामाजिक सुरक्षा भत्ता सुरु गरिएको दिनलाई स्मरण गर्दै नेपालमा हरेक वर्ष यो दिवस मनाइन्छ । यो दिवसले ज्येष्ठ नागरिकप्रतिको हाम्रो सामूहिक दायित्व, जिम्मेवारी, कर्तव्य, सम्मान र आदरभावलाई पुनः स्मरण गराउँछ । जीवनको लामो यात्रामा उहाँहरूले गरेका त्याग, सेवा र योगदान हाम्रो समाजको अमूल्य सम्पत्ति हो ।

    नेपालको संविधान तथा ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ ले ज्येष्ठ नागरिकलाई विशेष संरक्षण र सामाजिक सुरक्षाको अधिकार सुनिश्चित गरेको छ । स्वास्थ्य सेवा, सम्मानजनक जीवन र सहयोग प्राप्त गर्ने अधिकार संविधानले प्रत्याभूत गरेको छ, जसले उहाँहरूको गरिमामय जीवनलाई बलियो आधार प्रदान गर्दछ ।
    नेपालमा २०५२ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारी नेतृत्वको सरकारले ज्येष्ठ नागरिकलाई रु एक सय वृद्धभत्ता दिने घोषणा गरेका थिए । हाल ज्येष्ठ नागरिकले रु चार हजार वृद्धभत्ता पाउने गरेका छन् । करिब १७ लाख ज्येष्ठ नागरिकले वृद्धभत्ता लिँदै आएका छन् ।

  • १७ वर्षपछि तारिक रहमानको स्वदेश फिर्ती

    १७ वर्षपछि तारिक रहमानको स्वदेश फिर्ती

    ढाका, १० पुस (रासस–एएनआई) । सत्र वर्ष लामो निर्वासनपछि बङ्गलादेश नेसनालिस्ट पार्टी (बिएनपी) का कार्यवाहक अध्यक्ष तारिक रहमान बिहीबार स्वदेश फर्किनुभएको छ । पूर्व प्रधानमन्त्री शेख हसिनाको सत्ता पतनपछि उहाँको आगमनलाई बङ्गलादेशको राजनीतिमा महत्त्वपूर्ण घटनाका रूपमा हेरिएको छ ।रहमान आफ्नी धर्मपत्नी जुबैदा रहमान र छोरी जाइमा रहमानसँग लन्डनबाट विमान बङ्गलादेश एयरलाइन्सको उडानमार्फत ढाका आइपुग्नुभएको हो । उक्त विमान ढाकाको हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुअघि सिल्हटमा अवतरण गरेको थियो ।

    उहाँको स्वागतका लागि विमानस्थल आसपास र ३०० फिट रोड क्षेत्रमा ठूलो सङ्ख्यामा बिएनपी समर्थक तथा कार्यकर्ता भेला भएका थिए । देशका विभिन्न भागबाट आएका समर्थकहरूले क्षेत्रलाई मानौँ जनसागरमा परिणत गरेका थिए । पार्टीका वरिष्ठ नेताहरू, स्थायी समितिका सदस्यसहित विमानस्थलमै उहाँलाई स्वागत गर्ने कार्यक्रम तय गरिएको थियो । भीड व्यवस्थापनका लागि विमानस्थल प्रशासनले २४ घण्टाका लागि आगन्तुक प्रवेशमा प्रतिबन्ध लगाएको थियो । वैध टिकट र पासपोर्ट भएका यात्रुहरू बाहेक अन्यलाई विमानस्थल प्रवेशमा रोक लगाइएको बिडीन्युज२४ ले जनाएको छ ।

    बङ्गलादेशको अन्तरिम सरकारले पनि रहमानको सुरक्षाका लागि व्यापक तयारी गरेको बताएको छ । अन्तरिम सरकारका मुख्य सल्लाहकारका प्रेस सचिव शफीकुल आलमले सरकार उहाँको स्वदेश फिर्तीलाई स्वागत गर्दै बिएनपीसँग समन्वयमा सुरक्षा व्यवस्था मिलाइएको जानकारी दिनुभयो । ढाका आगमनपछि रहमान ३०० फिट रोड ९३६ जुलाई एक्सप्रेसवे० मा आयोजित संक्षिप्त स्वागत कार्यक्रममा सहभागी हुनुभयो । त्यसपछि उहाँ एभरकेयर अस्पताल जानुहुने र पछि गुलसनस्थित आफ्नै निवासमा बसाइँ सर्नुहुने कार्यक्रम रहेको छ । बिएनपीका अनुसार रहमानले डिसेम्बर २७ मा मतदाता दर्ता गर्ने योजना बनाउनुभएको छ । यसका लागि निर्वाचन कार्यालयहरू शनिबार पनि खुला रहने जानकारी दिइएको छ ।

    यसैबीच, फेब्रुअरी १२ मा हुने संसदीय निर्वाचनका लागि बिएनपी नेत्री खालिदा जिया र तारिक रहमानका तर्फबाट बोगुराका विभिन्न निर्वाचन क्षेत्रका लागि नामाङ्कन फारम सङ्कलन भइसकेको बिडीन्युज२४ ले जनाएको छ ।

  • बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

    बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

    बेथलेहेम (प्यालेस्टिनी क्षेत्रहरू), १० पुस (रासस–एएफपी) । गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा बढी समयपछि बेथलेहेम सहरले पहिलो पटक क्रिसमस पर्व मनाएको छ । बुधबार राति येशू ख्रीष्टको जन्मस्थल मानिने ऐतिहासिक चर्च अफ द नेटिभिटीमा सयौँ श्रद्धालुहरू भेला भई सामूहिक प्रार्थनामा सहभागी भए । सन् २०२३ अक्टोबरमा इजरायलमा हमासको आक्रमणसँगै सुरु भएको द्वन्द्वका कारण विगतका वर्षहरूमा बेथलेहेमको क्रिसमस उत्सव शोक र मौनताले ढाकिएको थियो । तर यस वर्ष गाजामा लागू गरिएको नाजुक युद्धविरामको सन्दर्भमा वेस्ट बैंकको यस सहरमा परेड, सङ्गीत र प्रार्थनासहित उत्सवको माहोल पुनः फर्किएको देखियो ।

    मध्यरातभन्दा अघि नै चर्च अफ द नेटिभिटी श्रद्धालुहरूले भरिएको थियो । राति ११ः१५ बजे अङ्ग सङ्गीत ९ओर्गान म्युजिक० को धुनसँगै पादरीहरूको जुलुस सुरु भयो । जेरुसेलमका ल्याटिन प्याट्रिआर्क कार्डिनल पियरबेटिस्टा पिज्जाबालाले क्रसको सङ्केत गर्दै उपस्थित श्रद्धालुहरूलाई आशीर्वाद प्रदान गर्नुभयो ।
    धर्मोपदेशमा उहाँले शान्ति, आशा र पुनर्जन्मको सन्देश दिनुहुँदै क्रिसमसको कथाले आजको अशान्त विश्वमा पनि गहिरो अर्थ राख्ने बताउनुभयो । “क्रिसमसले हामीलाई प्रभुत्वभन्दा माथि उठेर प्रेम, एकता र न्यायको शक्ति पुनः चिन्ने अवसर दिन्छ”, उहाँले भन्नुभयो । हालै युद्धग्रस्त गाजाको भ्रमणको स्मरण गर्दै उहाँले युद्धविरामका बाबजुद पनि पीडा अझै बाँकी रहेको उल्लेख गर्नुभयो, तर त्यहाँका मानिसहरूको साहस र फेरि उठ्ने इच्छाले आफूलाई प्रेरित गरेको पनि बताउनुभयो ।

    उता भ्याटिकनमा पोप लियो चौधौँले सेन्ट पिटरको बेसिलिकामा आफ्नो पहिलो क्रिसमस मास दिनुहुँदै विश्वभर २४ घण्टाको शान्तिको आह्वान गर्नुभयो । पोप फ्रान्सिसको निधनपछि निर्वाचित अमेरिकी पोन्टिफले क्रिसमसलाई ‘विश्वास, दान र आशाको पर्व’ का रूपमा वर्णन गर्नुभयो । बेथलेहेमको म्याङ्गर स्क्वायरमा ड्रम र ब्यागपाइपको धुन गुञ्जियो । युवा तथा वृद्ध इसाई श्रद्धालुहरू नाचगानसहित स्क्वायरमा भेला भए । १७ वर्षीया मिलाग्रोस अन्स्टासले युद्धका कारण लामो समय उत्सव मनाउन नपाएको पीडा सम्झँदै यस वर्षको खुसी विशेष भएको बताउनुभयो ।

    सहरका साँघुरा सडकमा परेड निकालियो, सान्ता क्लजको वेशमा मानिसहरूले बालबालिकालाई मिठाइ र खेलौना बाँडे । साँझ पर्नासाथ बहुरङ्गी बत्ती र विशाल क्रिसमस ट्रीले चर्च अफ द नेटिभिटी वरिपरि उज्यालो छर्‍यो । चौथो शताब्दीमा निर्माण भएको यो बेसिलिका इसाईहरूको लागि अत्यन्तै पवित्र मानिन्छ । स्थानीय बासिन्दाहरूले क्रिसमस उत्सवको पुनरागमनले सहरमा जीवन र आशा फर्किने विश्वास व्यक्त गरेका छन् । छिमेकी सहर बेत जालाका जर्ज हन्नाले ‘उत्सवबिनाको क्रिसमस कल्पना गर्नै सकिँदैन’ भन्नुभयो ।

    इटालियन तीर्थयात्री कार्मेलिना पिडिमोन्टेले बेथलेहेमको दृश्यले आफूलाई गहिरो आशा दिएको बताउँदै ‘हृदयमा प्रेम भए युद्धबिनाको संसार सम्भव छ’ भन्नुभयो । यसैबीच सिरियाको दमास्कसमा पनि सुरक्षा चिन्ताबीच क्रिसमस बत्तीले पुरानो सहर झलमलाएको थियो । विश्वका अन्य भागहरूमा पनि परिवारहरू क्रिसमसको पूर्वसन्ध्यामा भेला भए । यद्यपि कतिपय स्थानमा हालैका हिंसात्मक घटनाले शोकपूर्ण वातावरण पनि देखियो, तर समग्रमा क्रिसमसले संसारभर आशा, एकता र शान्तिको कामना बोकेको सन्देश फैलाएको छ ।

  • कांग्रेसद्वारा राष्ट्रियसभाको अधिवेशन माग

    कांग्रेसद्वारा राष्ट्रियसभाको अधिवेशन माग

    काठमाडौँ, १० पुस । नेपाली कांग्रेसले राष्ट्रियसभा अधिवेशन आह्वानको माग गरेको छ । कांग्रेसको राष्ट्रियसभा संसदीय दलको आजको बैठकले उक्त निर्णय गरेको प्रमुख सचेतक कृष्णबहादुर रोकायले जानकारी दिए । संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाको अध्यक्षतामा भएको बैठकले प्रतिनिधिसभा नभएकाले अविलम्ब राष्ट्रियसभा बैठक आह्वान गर्न उक्त सभाका अध्यक्षसमक्ष माग गर्ने निर्णय गरेको हो ।

    जनआवज उठाउने सार्वभौम संसद् राष्ट्रियसभा मात्र रहेकाले पार्टीले राष्ट्रिय सभाको अधिवेशन अविलम्ब आह्वान हुनुपर्ने माग गरिएको सचेतक रोकायले राससलाई बताए । बैठकले संविधानसभा सदस्य गणेशबहादुर खड्का, पूर्वकेन्द्रीय सदस्य ढुण्डिराज शास्त्री, बाग्लुङका पूर्वजिल्ला सभापति गोविन्दप्रसाद शर्मा कँडेल, संविधानसभा सदस्य रामअयोध्याप्रसाद यादव, पूर्वमन्त्री अच्युतराज रेग्मी, पूर्व स्वास्थ्य राज्यमन्त्री खड्गबहादुर बस्याल, पूर्वकेन्द्रीय सदस्य ऋषिकेश गौतम र मोहम्मद आफ्ताव आलम, राष्ट्रियसभाका पूर्वसदस्य कृष्णकुमारी श्रेष्ठ र पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ ।

  • त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित

    त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित

    कीर्तिपुर १० पुस । त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह आज राजधानीमा सम्पन्न भएको छ । यस वर्ष विभिन्न तहमा उत्तीर्ण भएका ८९ हजार १९१ विद्यार्थीमध्ये १६ हजार ३८० जना दीक्षित भएका छन् । आज काठमाडौँमा आयोजित दीक्षान्त समारोहमा स्नातकदेखि विद्यावारिधिसम्मको शैक्षिक उपाधिसहित १६ हजार ३८० जना विद्यार्थी दीक्षित भएका हुन् ।

    शैक्षिक उपाधि पाउनेमध्ये स्नातक तहका ११ हजार २३४, अधिस्नातक १४, स्नातकोत्तरका चार हजार ८६०, दर्शनाचार्य ९एमफिल० का १२० र विद्यावारिधिका १५२ विद्यार्थीले आज दीक्षान्त समारोहमा भाग लिएका हुन् । कार्यक्रममा विभिन्न सङ्कायबाट सर्वोच्च नतिजा ल्याउने २२ जना विद्यार्थीलाई दीक्षान्त पदक प्रदान गरिएको थियो ।

    समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं विश्वविद्यालयकी कुलपति सुशीला कार्कीले ज्ञानलाई सेवासँग, सीपलाई सदाचारसँग र सफलतालाई समाजप्रतिको योगदानसँग जोड्न आह्वान गरिन् । उनले चार लाखभन्दा बढी विद्यार्थी रहेको त्रिभुवन विश्वविद्यालयमा प्राध्यापक–विद्यार्थीको अनुपात कायम गर्दै गुणस्तरीय शिक्षा दिनुपर्ने चुनौती रहेको बताइन् ।

    समारोहका प्रमुख अतिथिका रूपमा रहेका भौतिक शास्त्रतर्फ सन् २०१५ को नोबेल पुरस्कार विजेता प्राध्यापक डा ताकाआकी काजिताले आफूले विद्यावारिधि प्राप्त गरेपछि पनि निरन्तर खोज, अनुसन्धान र अध्ययन जारी राखेकाले नोबेल पुरस्कर प्राप्त गर्नसक्ने क्षमता विकास भएको बताए ।

    समारोहमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवं विश्वविद्यालयका सहकुलपति महावीर पुनले अबको विश्वले व्यक्तिलाई ‘तपाईंसँग कुन डिग्री छ ?’ भन्दा पनि ‘तपाईं के गर्न सक्नु हुन्छ ?’ भनेर सोध्ने भएकाले आफ्नो ज्ञान र सीपलाई समाज परिवर्तनका क्षेमा लगाउनुपर्नेमा जोड दिए । विश्वविद्यालयका उपकुलपति प्राडा दीपक अर्यालले विद्यार्थीको उज्वल भविष्यको सुरुवात दीक्षान्तबाट हुने बताउँदै आफूले सिकेका सैद्धान्तिक ज्ञान व्यवहारमा कार्यान्वयन गर्दै जानुपर्ने धारणा राखे ।

  • बालेनको तुफानी सक्रियता, एकै दिन दर्जनौं नेतासँग भेटवार्ता

    बालेनको तुफानी सक्रियता, एकै दिन दर्जनौं नेतासँग भेटवार्ता

    १० पुस, काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ले भेटवार्ता तीव्र बनाएका छन् । उनी बुधबार साँझदेखि नै आफ्ना सहयोगी कुमार बेनको घरमा थिए । रातीदेखि नै भेटघाट तिव्र बनाएका उनले आज बिहान करिब ८ बजेदेखि पुनः भेटवार्ता सुरु गरेका थिए । उनी साँझ करिब ८ बजे नै बारिए । त्यहाँ रहँदा दिनभर उनले राजनीतिक भेटघाटमा सक्रिय रहे।

    आफू राजनीतिमा आएको जानकारी दिँदै बालेनले ऊर्जामन्त्रीसमेत रहेका उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ, पूर्वप्रधानमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता डा बाबुराम भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित नेताहरू, कांग्रेस नेता सुनिल शर्मा, अमरेशकुमार सिंह, रक्षा बमसहित जेनजी प्रतिनिधिलगायतसँग भेट गरे । उनी दल गठन गरी निर्वाचनमा होमिने तयारीमा छन् । सोहीक्रममा वैकल्पिक शक्ति एक गराएर निर्वाचनमा जाने र त्यसको मियो आफु बन्ने लक्ष्यमा बालेन देखिन्छन् ।

  • पूर्वगृहमन्त्री लेखक आयोगमा बयान दिन जाने

    पूर्वगृहमन्त्री लेखक आयोगमा बयान दिन जाने

    पाटन (ललितपुर), १० पुस । पूर्वगृहमन्त्री रमेश लेखक भाद्र २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगमा बयान दिन जाने भएका छन् । सानेपास्थित पार्टी कार्यालयमा जारी नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुलाई उनले यही पुस १४ गते सोमबार आयोगमा बयान दिन जाने बताएका हुन् । “आयोगले मलाई बयानका लागि पुस ११ गते शुक्रबार आउन पत्र पठाएको थियोे, मैले पुस १४ गते सोमबार आउँछु भनेर जानकारी गराएको छु”, उनले भने ।

  • फ्रान्समा शटडाउन रोक्ने विधेयक पारित

    फ्रान्समा शटडाउन रोक्ने विधेयक पारित

    पेरिस, १० पुस (रासस–एपी) । फ्रान्सको संसद्ले मङ्गलबार अमेरिकी शैलीको सरकारी शटडाउन हुन नदिन तयार पारिएको एक आपतकालीन विधेयक पारित गरेको छ । सन् २०२६ को बजेटबारे वार्ता जारी रहँदा अर्को हप्तादेखि सरकारी कामकाज अवरुद्ध हुने सम्भावना देखिएपछि यो विधेयक ल्याइएको हो । नयाँ वर्ष सुरु हुन केही दिन मात्र बाँकी रहँदा राष्ट्रपति इमानुएल म्याक्रोन र उनको मन्त्रिपरिषद् सोमबार राति संक्षिप्त मस्यौदा कानून प्रस्तुत गर्न बैठकमा बसेको थियो ।

    मन्त्रिपरिषद्का अनुसार उक्त विधेयकको उद्देश्य ‘राष्ट्रिय जीवनको निरन्तरता र सार्वजनिक सेवाहरूको नियमित सञ्चालन सुनिश्चित गर्नु’ हो । यसअन्तर्गत कर सङ्कलनलाई निरन्तर राख्ने र सन् २०२५ को बजेटमा तय गरिएका कर तथा खर्चको स्तरका आधारमा स्थानीय निकायहरूलाई कोष वितरण गर्ने व्यवस्था समावेश गरिएको छ ।

    फ्रान्सेली संसद्को शक्तिशाली तल्लो सदन राष्ट्रियसभामा सांसदहरूले विधेयकमा केही संशोधन गरेपछि मङ्गलबार साँझ अनुमोदनका लागि मतदान गरेका थिए । त्यसपछि माथिल्लो सदन सिनेटले पनि यसलाई पारित गरेको छ । मरिन ले पेनको अति–दक्षिणपन्थी नेसनल र्‍याली, वामपन्थी शक्तिहरू र राष्ट्रपति म्याक्रोनको मध्यमार्गी अल्पसङ्ख्यक सरकारबीच गहिरो राजनीतिक विभाजन रहे पनि विधेयक पारित हुन सफल भएको हो । अब अझ चुनौतीपूर्ण चरण बाँकी छ । सन् २०२६ का लागि पूर्ण र दीर्घकालीन बजेट तयार पार्नु र नयाँ राजनीतिक सङ्कटबाट देशलाई जोगाउनु सरकारका लागि ठूलो परीक्षा बन्नेछ ।

    अर्थमन्त्री रोलान्ड लेस्क्योरले सांसदहरूलाई सम्बोधन गर्दै यो आपतकालीन कानूनलाई ‘अतिरिक्त टायर’ जस्तै भएको बताए । उनले वास्तविक बजेट निर्माणका लागि छिटो काम गर्न आग्रह गर्दै लामो समयसम्म यस्ता अस्थायी उपायमा भर पर्नु ‘फ्रान्सेली अर्थतन्त्रलाई गम्भीर रूपमा कमजोर पार्ने जोखिम’ हुने चेतावनी दिए । राष्ट्रपति म्याक्रोन बजेट घाटालाई कुल गार्हस्थ उत्पादन (जिडिपी) को पाँच प्रतिशतसम्म सीमित गर्न र लगानीकर्ताहरूको विश्वास पुनःस्थापित गर्न प्रयासरत छन् । लामो समयदेखि जारी राजनीतिक गतिरोध र गत वर्ष उनले अचानक आमनिर्वाचन घोषणा गर्नुभएको निर्णयपछि उत्पन्न अस्थिरताले अर्थतन्त्रमा दबाब बढाएको छ ।

    फ्रान्समा उदार सामाजिक कल्याण कार्यक्रम, स्वास्थ्य सेवा र शिक्षामा आधारित सार्वजनिक खर्च अत्यन्तै उच्च छ । यस्ता खर्च धान्न करको भार पनि भारी छ, तर त्यसले सबै लागत पूर्ति गर्न नसक्ने अवस्था देखिँदै आएको छ । यसअघि राजीनामा दिनुभएका प्रधानमन्त्री सेबास्टियन लेकोर्नु यस शरद ऋतुमा पुनः नियुक्त भएका थिए । गत हप्ता सन् २०२६ को बजेटमा सहमति जुटाउने अघिल्लो प्रयास असफल भएपछि उहाँले मङ्गलबार सबै राजनीतिक पक्षलाई बिदाको समयमा समेत वार्तामा सक्रिय भएर काम गर्न आग्रह गरेका थिए ।


    संसद्ले एक प्रमुख स्वास्थ्य सेवा बजेट विधेयक सङ्कीर्ण बहुमतले पारित गरेपछि लेकोर्नु नेतृत्वको अल्पसङ्ख्यक सरकारले यस महिनाको सुरुमै केही राहत पाएको थियो । तर त्यसका लागि राष्ट्रपति म्याक्रोनको प्रमुख पेन्सन सुधारलाई अस्थायी रूपमा निलम्बन गर्नुपरेको थियो, जसले सेवानिवृत्ति उमेर ६२ वर्षबाट ६४ वर्षमा पु¥याउने लक्ष्य राखेको थियो ।

  • खुफूको डुङ्गा पुनः एकत्रित

    खुफूको डुङ्गा पुनः एकत्रित

    कायरो, १० पुस (रासस–एपी) । ग्रान्ड इजिप्टियन सङ्ग्रहालयको विशाल प्रदर्शनी हलमा एक प्राचीन इजिप्टियन फिरऊनको ऐतिहासिक डुङ्गा सार्वजनिक रूपमा पुनः भेला गर्ने काम सुरु भएको छ । मङ्गलबार बिहान दर्जनौँ आगन्तुकको उपस्थितिमा राजा खुफूका दुई डुङ्गामध्ये एउटा देवदारको काठबाट बनेको डुङ्गालाई सङ्ग्रहालयका कर्मचारीहरूले सावधानीपूर्वक एक–एक भाग जोड्न थालेका छन् ।

    बयालिस मिटर (१३७ फिट) लामो उक्त डुङ्गाको पुनर्संरचना प्रक्रिया यसको पहिले नै भेला भइसकेको जुम्ल्याहा डुङ्गाको छेउमै भइरहेको छ, जुन हाल सङ्ग्रहालयमा प्रदर्शनमा रहेको छ । ग्रान्ड इजिप्टियन सङ्ग्रहालयका पुनःस्थापना प्रमुख इसा जेइडनका अनुसार यस डुङ्गालाई पूर्ण रूपमा भेला गर्न करिब चार वर्ष लाग्ने अपेक्षा गरिएको छ । उक्त डुङ्गा एक हजार ६५० वटा काठका टुक्राबाट बनेको छ, जसलाई वैज्ञानिक विधि अपनाएर क्रमशः जडान गरिँदै छ ।

    राजा खुफूले करिब चार हजार ५०० वर्षअघि प्राचीन इजिप्टमा शासन गरेका थिए र उनकै शासनकालमा गिजाको विश्वप्रसिद्ध महान पिरामिड निर्माण गरिएको थियो । कार्यक्रममा सहभागी पर्यटन तथा पुरातत्व मन्त्री सेरिफ फाथीले यो पुनःस्थापना कार्यको ऐतिहासिक महत्त्व उल्लेख गर्दै भने, “आज यहाँ उपस्थित सबैले २१औँ शताब्दीका सबैभन्दा महत्त्वपूर्ण पुनःस्थापना परियोजनामध्ये एकको प्रत्यक्ष साक्षी बन्नु भएको छ ।”

    करिब एक अर्ब अमेरिकी डलरको लागतमा निर्माण गरिएको जिइएम पनि भनिने ग्रान्ड इजिप्टियन सङ्ग्रहालयको गत महिना भव्य रूपमा उद्घाटन गरिएको थियो । उद्घाटनसँगै यसलाई विश्वकै सबैभन्दा ठूलो सङ्ग्रहालयका रूपमा चिनिएको छ । यस सङ्ग्रहालयमा करिब ५० हजार ऐतिहासिक तथा सांस्कृतिक कलाकृतिहरू सङ्गृहीत छन्, जसमा सन् १९२२ मा फेला परेको प्रसिद्ध राजा तुतानखामुनको समाधिबाट प्राप्त अमूल्य खजाना पनि समावेश छन् । कायरोको बाहिरी क्षेत्रमा गिजाको पिरामिड नजिकै अवस्थित यस सङ्ग्रहालयले इजिप्टको पर्यटन राजस्व वृद्धि गर्ने र कमजोर अवस्थामा रहेको अर्थतन्त्रलाई सुदृढ बनाउने महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

    उक्त डुङ्गा सन् १९५४ मा ग्रेट पिरामिडको दक्षिणी भागमा फेला परेका दुईवटा डुङ्गामध्ये एक हो । सङ्ग्रहालयको वेबसाइटका अनुसार यसका काठका भागहरूको विस्तृत उत्खनन कार्य सन् २०१४ मा सुरु गरिएको थियो, जसपछि वैज्ञानिक परीक्षण र संरक्षणको प्रक्रिया अघि बढाइएको हो । डुङ्गाहरूको वास्तविक उद्देश्य अझै पूर्ण रूपमा स्पष्ट हुन सकेको छैन । यद्यपि, विशेषज्ञहरूका अनुसार ती डुङ्गा या त राजा खुफूको अन्त्येष्टिका क्रममा उहाँको पार्थिव शरीर ढुवानी गर्न प्रयोग गरिएका हुनसक्ने वा मृत्यु पश्चात सूर्य देवता रासँगको आध्यात्मिक यात्राका लागि प्रतीकात्मक रूपमा प्रयोग गरिएको हुनसक्ने सङ्ग्रहालयले जनाएको छ ।

  • टर्कीमा विमान दुर्घटना, लिबियाका सेना प्रमुखसहित ८ जनाको मृत्यु

    टर्कीमा विमान दुर्घटना, लिबियाका सेना प्रमुखसहित ८ जनाको मृत्यु

    अङ्कारा, १० पुस (रासस–एपी) । टर्कीको राजधानी अङ्काराबाट उडान भरेको एउटा निजी जेट मङ्गलबार दुर्घटनाग्रस्त हुँदा लिबियाका सैन्य प्रमुखसहित अन्य सात जनाको मृत्यु भएको छ । लिबियाली अधिकारीहरूका अनुसार विमानमा आएको प्राविधिक खराबीका कारण उक्त दुर्घटना भएको हो । लिबियाका सैन्य प्रमुख, अन्य चार जना वरिष्ठ अधिकारी र तीन जना चालक दलका सदस्य सवार उक्त निजी जेट अङ्काराबाट उडान भरेको केही समयपछि दुर्घटनामा परेको टर्की र लिबियाका अधिकारीहरूले जानकारी दिएका छन् । दुई देशबीच सैन्य सहकार्य विस्तार गर्ने उद्देश्यले उच्चस्तरीय रक्षा वार्ताका लागि लिबियाली प्रतिनिधिमण्डल अङ्कारामा रहेको टर्कीका अधिकारीहरूले बताएका छन् ।

    लिबियाका प्रधानमन्त्री अब्दुल–हामिद दबीबाहले फेसबुकमार्फत विज्ञप्ति जारी गर्दै जनरल मुहम्मद अली अहमद अल–हदद र चार जना अन्य अधिकारीको निधन भएको पुष्टि गरेका छन् । उनले प्रतिनिधिमण्डल स्वदेश फर्कने क्रममा भएको यस घटनालाई ‘दुखद दुर्घटना’ को संज्ञा दिँदै यसलाई लिबियाका लागि ‘ठूलो क्षति’ भएको उल्लेख गरे । जनरल अल–हदद पश्चिमी लिबियाका शीर्ष सैन्य कमान्डर थिए । संयुक्त राष्ट्रसङ्घको पहलमा विभाजित लिबियाली सेनालाई एकताबद्ध गर्ने प्रयासहरूमा उनले महत्त्वपूर्ण भूमिका खेल्दै आएका थिए ।


    दुर्घटनामा ज्यान गुमाउने अन्य चार अधिकारीमा लिबियाको स्थल सेनाका प्रमुख ब्रिगेडियर जनरल अल–फितोरी घ्राइबिल, सैन्य उत्पादन प्राधिकरणका प्रमुख जनरल महमुद अल–कतावी, चिफ अफ स्टाफका सल्लाहकार मोहम्मद अल–असावी दियाब तथा चिफ अफ स्टाफको कार्यालयमा कार्यरत सैन्य फोटोग्राफर मोहम्मद उमर अहमद महजुब छन् । तीन जना चालक दलका सदस्यको पहिचान भने तत्काल खुल्न सकेको छैन ।

    टर्कीका अधिकारीहरूका अनुसार फाल्कन ५० प्रकारको व्यापारिक जेटको भग्नावशेष अङ्काराबाट करिब ७० किलोमिटर दक्षिणमा पर्ने हेमानाको केसिक्कवाक गाउँ नजिकै फेला परेको छ । यसअघि मङ्गलबार साँझ अङ्कारास्थित एसेनबोगा विमानस्थलबाट उडान भरेपछि लिबिया फर्कने क्रममा विमानसँग सम्पर्क विच्छेद भएको टर्कीका हवाई यातायात नियन्त्रकहरूले जानकारी दिएका थिए ।

    टर्कीका गृहमन्त्री अली येरलिकायाले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै विमान साँझ ८ः३० बजे उडेको र करिब ४० मिनेटपछि सम्पर्क गुमेको बताए । उनका अनुसार सबै सञ्चार बन्द हुनु अघि विमानले हेमाना नजिकै आपतकालीन अवतरणको सङ्केत पठाएको थियो । टर्कीको राष्ट्रपतिको सञ्चार विभागका प्रमुख बुरहानेटिन डुरानले विमानले विद्युतीय त्रुटि भएको जानकारी हवाई यातायात नियन्त्रणलाई गराएको र आपतकालीन अवतरणको अनुरोध गरेको बताए ।

    त्यसपछि विमानलाई एसेनबोगा विमानस्थलमै फर्काउन निर्देशन दिइएको र अवतरणको तयारी थालिएको उनले जानकारी दिए । तर आपतकालीन अवतरणका क्रममा विमान राडारबाट हराएको उनले उल्लेख गरे । स्थानीय टेलिभिजन च्यानलहरूले प्रसारण गरेको सुरक्षा क्यामेराको दृश्यमा हेमानाको रात्रि आकाश एकाएक विस्फोटले उज्यालो भएको देखिएको छ ।

    अङ्कारामा रहँदा जनरल अल–हददले टर्कीका रक्षामन्त्री यासर गुलेर तथा अन्य वरिष्ठ अधिकारीहरूसँग भेटवार्ता गर्नुभएको थियो । दुर्घटनापछि अङ्काराको विमानस्थल अस्थायी रूपमा बन्द गरिएको थियो र धेरै उडानहरू अन्यत्र मोडिएका थिए ।

    टर्कीको न्याय मन्त्रालयका अनुसार दुर्घटनाको अनुसन्धानका लागि चार जना अभियोजक तोकिएका छन्, जुन यस्ता घटनामा सामान्य प्रक्रिया मानिन्छ । लिबियाली सरकारले पनि दुर्घटनाको छानबिनमा टर्कीका अधिकारीहरूसँग सहकार्य गर्न अङ्कारामा एक टोली पठाउने जनाएको छ । सन् २०११ को विद्रोहपछि लामो समय शासन गरेका तानाशाह मुअम्मर गद्दाफीको पतन र मृत्यु भएयता लिबिया गहिरो अराजकतामा फस्दै आएको छ । देश पूर्व र पश्चिममा आधारित प्रतिस्पर्धी प्रशासन, सशस्त्र मिलिसिया र विभिन्न विदेशी शक्तिको समर्थनमा विभाजित रहँदै आएको छ ।

    टर्कीले पश्चिमी लिबियास्थित सरकारसँग गठबन्धन कायम राखेको छ भने पछिल्लो समय पूर्वी क्षेत्रमा आधारित सरकारसँग पनि सम्बन्ध सुधार गर्ने प्रयास थालेको छ । टर्कीको संसद्ले लिबियामा तैनाथ टर्की सेनाको कार्यकाल दुई वर्षका लागि विस्तार गर्ने स्वीकृति दिएको भोलिपल्टै लिबियाली प्रतिनिधिमण्डल अङ्कारा पुगेको थियो । सन् २०१९ मा अङ्कारा र त्रिपोलीस्थित सरकारबीच भएको सुरक्षा तथा सैन्य सहयोग सम्झौतापछि टर्कीले लिबियामा सेना तैनाथ गर्दै आएको छ ।