बेइजिङ, १५ पुस (रासस–एएफपी) । चीनले जनवरी १ देखि आफ्नो डिजिटल मुद्राको व्यवस्थापन र सञ्चालनलाई सुदृढ बनाउन नयाँ ‘कार्ययोजना’ सुरु गर्ने घोषणा गरेको छ । देशको केन्द्रीय बैंक पिपुल्स बैंक अफ चाइना (पिबिओसी) का डेपुटी गभर्नर लु लेइले सोमबार यो जानकारी दिएका हुन् । केन्द्रीय बैंकअन्तर्गतको मिडिया आउटलेट फाइनान्सियल न्युजमा लेख्दै डेपुटी गभर्नर लुले भविष्यको डिजिटल युआन आधुनिक डिजिटल भुक्तानी तथा परिसंचरणको माध्यमका रूपमा विकसित गरिने बताएका छन् । उनका अनुसार डिजिटल युआन वित्तीय प्रणालीभित्रै जारी र प्रसारित हुनेछ र यसले विद्यमान भुक्तानी संरचनालाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।
उनले डिजिटल युआनको विकासमा अर्को महत्त्वपूर्ण चरणका रूपमा ‘नयाँ पुस्ता’ प्रणाली जनवरी १ बाट कार्यान्वयनमा आउने जानकारी दिए । उक्त प्रणालीले मापन ढाँचा, व्यवस्थापन संरचना, सञ्चालन संयन्त्र र समग्र इकोसिस्टमलाई समेट्नेछ । यसले डिजिटल युआनको प्रयोगलाई अझ व्यवस्थित र व्यापक बनाउने लक्ष्य लिएको छ । घोषित कार्ययोजनाअन्तर्गत बैंकहरूले डिजिटल युआन खातामा ग्राहकहरूले राखेको मौज्दातमा ब्याज प्रदान गर्ने व्यवस्था गरिनेछ । यसलाई डिजिटल युआनको प्रयोग र स्वीकार्यता बढाउनका लागि महत्त्वपूर्ण प्रोत्साहनका रूपमा हेरिएको छ ।
यस योजनामा साङ्घाईको पूर्वी वित्तीय केन्द्रमा अन्तर्राष्ट्रिय डिजिटल युआन सञ्चालन केन्द्र स्थापना गर्ने प्रस्ताव पनि समावेश गरिएको छ । यसले डिजिटल युआनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न र सीमापार भुक्तानीमा यसको प्रयोग बढाउन सहयोग पुर्याउने अपेक्षा गरिएको छ । विश्वभरका मौद्रिक अधिकारीहरूले पछिल्ला वर्षहरूमा मुद्रालाई डिजिटल बनाउने उपायहरू सक्रिय रूपमा खोजिरहेका छन् । कोभिड–१९ महामारीको समयमा अनलाइन तथा डिजिटल भुक्तानीमा आएको तीव्र वृद्धि र बिटक्वाइनजस्ता क्रिप्टोकरेन्सीहरूको बढ्दो लोकप्रियताले यस प्रक्रियालाई थप गति दिएको विश्लेषण गरिन्छ ।
चीनको केन्द्रीय बैंक पिबिओसीले सन् २०१४ देखि नै डिजिटल मुद्रामा काम गर्दै आएको छ । यस अवधिमा उसले विभिन्न पाइलट परियोजनामार्फत ‘डिजिटल युआन’ वा ‘ई–सिएनवाई’ को प्रयोग परीक्षण गर्दै आएको छ । हाल चीनभरका उपभोक्ताहरू मोबाइल र अनलाइन भुक्तानीमा अत्यधिक निर्भर भइसकेका छन् । तर डिजिटल युआनमार्फत केन्द्रीय बैंकले निजी प्रविधि कम्पनीहरूमा निर्भर नरही भुक्तानीसम्बन्धी डाटा र प्रणालीमा थप प्रत्यक्ष पहुँच र नियन्त्रण कायम गर्न सक्ने विश्वास गरिएको छ । यसले चीनको वित्तीय प्रणालीलाई अझ सुदृढ र केन्द्रीयकृत बनाउने दिशामा महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ ।
तेहरान, १५ पुस (रासस–सिन्ह्वा) । इरानले कृषि तथा वातावरणीय अध्ययनका लागि स्वदेशमै निर्माण गरिएका तीन उपग्रहलाई रुसबाट सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ । यस प्रक्षेपणले इरानको अन्तरिक्ष कार्यक्रम विस्तार हुँदै गएको सङ्केत दिएको छ । ‘पायाँ’ उपग्रह हालसम्मकै सबैभन्दा उन्नत स्वदेशी उपग्रह मानिन्छ, जसले जलस्रोत व्यवस्थापन, वातावरणीय अनुगमन तथा भू–नक्साङ्कनमा सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।
‘जफर–२’ उपग्रह प्राकृतिक स्रोत, कृषि र विपद् व्यवस्थापनका लागि उपयोगी उच्चस्तरीय तस्बिर उपलब्ध गराउन सक्षम छ । ‘कोसर–१’ उपग्रहले पनि पृथ्वीको अवलोकन गरी कृषि, जलस्रोत तथा भूभाग अनुगमनमा महत्वपूर्ण योगदान दिने जनाइएको छ । इरानी अधिकारीहरूले उपग्रह कार्यक्रम पूर्ण रूपमा शान्तिपूर्ण र नागरिक प्रयोजनका लागि मात्र सञ्चालन गरिएको स्पष्ट पारेका छन् ।
भ्लाडिभोस्टक, १५ पुस (रासस–सिन्ह्वा) । रूसको अन्तरिक्ष निकाय रोस्कोसमोसका अनुसार सोमबार सोयुज रकेटमार्फत ५२ वटा उपग्रह सफलतापूर्वक आफ्नो निर्धारित कक्षमा प्रक्षेपित भएका छन् । रकेट प्रक्षेपण आइतबार दिउँसो भोस्तोच्नी अन्तरिक्ष स्थल, आमुर प्रदेशमा सम्पन्न भएको थियो ।
यस प्रक्षेपणमा दुईवटा ‘ऐस्ट–२टी’ उपग्रह र ५० अन्य उपग्रहहरू समावेश थिए । रकेटले उपग्रहहरू पृथ्वीको कक्षमा पठाउन करिब पाँच घण्टा समय खर्च गरेको रोस्कोसमोसले जनाएको छ । यी उपग्रहहरू कम्तीमा पाँच वर्षसम्म सक्रिय रूपमा कार्य गर्नेछन् र विभिन्न उद्देश्यका लागि प्रयोग हुनेछन् ।
‘ऐस्ट–२टी’ उपग्रह रूसले विकास गरेको पृथ्वी अवलोकनका लागि तयार गरिएको उन्नत वैज्ञानिक उपग्रह हो, जसको मुख्य उद्देश्य पृथ्वीको सतहलाई उच्च स्पष्टताका साथ अवलोकन गर्नु र प्राकृतिक तथा वातावरणीय परिवर्तनको सूक्ष्म अध्ययन गर्नु हो ।
यस उपग्रहले पृथ्वीका भू–भाग, वन क्षेत्र, नदी प्रणाली, पहाड, सहर तथा ग्रामीण क्षेत्रको विस्तृत त्रि–आयामी तस्वीर सङ्कलन गर्न सक्षम प्रविधि प्रयोग गर्छ, जसका आधारमा वैज्ञानिकहरूले सटीक डिजिटल नक्सा र मोडेल तयार गर्न सक्छन् । ऐस्ट–२टी उपग्रह विशेष गरी जङ्गलमा लाग्ने आगलागी, बाढी, पहिरो, सुख्खा जस्ता प्राकृतिक विपद्को समयमै पहिचान र निगरानीका लागि उपयोगी मानिन्छ ।
यसले वातावरणीय परिवर्तन, भूमिको प्रयोगमा आएको रूपान्तरण र प्राकृतिक स्रोतको अवस्थाबारे दीर्घकालीन तथ्याङ्क सङ्कलन गर्न सहयोग पु¥याउँछ । कम्तीमा पाँच वर्षसम्म सक्रिय रूपमा सञ्चालन हुने यो उपग्रहबाट प्राप्त जानकारी वैज्ञानिक अनुसन्धान, विपद् व्यवस्थापन, वातावरण संरक्षण तथा योजनागत विकासमा महत्वपूर्ण आधार बन्ने अपेक्षा गरिएको छ ।
उपग्रहहरूको मुख्य प्रयोगमा पृथ्वीको निगरानी, वातावरणीय अध्ययन, विद्युतचुम्बकीय विकिरणको अनुसन्धान, विश्वव्यापी जलपोत अनुगमन र सञ्जाल उपकरणबाट सङ्केत प्राप्त गर्ने कार्य समावेश छन् । यसले वैज्ञानिक तथा प्राविधिकहरूले पृथ्वीको अवस्था र प्राकृतिक विपदहरूको प्रभावकारी निगरानी गर्न सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।
विशेष गरी दुई ‘ऐस्ट–२टी’ उपग्रहहरूले पृथ्वीको तस्वीरहरू खिच्नेछन्, जसबाट वैज्ञानिकहरूले सटीक डिजिटल मोडेल तयार पार्न, भू–भागको अध्ययन गर्न, जङ्गलको आगो, बाढी र अन्य प्राकृतिक विपद्को निगरानी गर्न सहज हुनेछ । यसरी सङ्कलित तथ्याङ्कले आपतकालीन व्यवस्थापनमा पनि सहयोग पु¥याउनेछ ।
रोस्कोसमोसका अधिकारीहरूले यस प्रक्षेपणले रूसको अन्तरिक्ष अनुसन्धान र निगरानी क्षमतामा ठूलो योगदान पु¥याउने भनेका छन् । आगामी वर्षहरूमा यी उपग्रहहरूको डेटा वैज्ञानिक अनुसन्धान, वातावरणीय अध्ययन र मानव जीवनसँग सम्बन्धित विभिन्न परियोजनामा प्रयोग हुने बताइएको छ ।
मुस्ताङ, १५ पुस । प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिर दर्शन गरेर वैकल्पिक मार्ग हुँदै माथिल्लो मुस्ताङ जान सकिने गरी यहाँको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका १, २ र ३ नम्बर वडा जोड्ने (मुक्तिनाथ–तेताङ० चक्रपथ सडक निर्माण जारी छ । चालुआवको पाँचमहिनामा सो सडकको भौतिक प्रगति ३९ प्रतिशत पुर्याइएको छ ।
भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालय गण्डकीअन्तर्गत पूर्वाधार विकास कार्यालयद्वारा यहाँको मुक्तिनाथ ¬पुराङ हुँदै झोङदेखि तेताङ जोड्ने १० किलोमिटर चक्रपथ सडक योजना कार्यान्वयनमा ल्याइएको हो । यहाँस्थित मुक्तिनाथ–तेताङ जोड्ने छ मिटर चौडा वैकल्पिक सडकमार्ग विस्तार गर्न रु सात करोड एक लाख ५६ हजार लागतमा निर्माण कम्पनीले २०८१ साल साउन २९ गते यहाँको पूर्वाधार विकास कार्यालयसँग ठेक्का सम्झौता गरेको थियो । दुई वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित सडक स्तरोन्नति तथा नयाँ ट्रयाक खोल्न कार्यालयले २०८३ साल साउन २९ गतेसम्म निर्माण कम्पनीलाई समयावधि तोकिएको छ ।
मुक्तिनाथ–तेताङ जोड्ने सडकको ठेक्का सम्झौता मुताविक १० किलोमिटर सडकमध्ये ६.५ किलोमिटर नयाँ खोल्ने र ३।५ किलोमिटर सडक स्तरोन्नति गर्ने योजना रहेको पूर्वाधार विकास कार्यालयका सबइन्जिनियर जगदीशचन्द्र जोशीले जानकारी दिए । उनका अनुसार यहाँ सडकको नयाँ ट्रयाक खोल्ने कार्य सकिएता पनि गत असोजको वर्षाले आंशिक रूपमा क्षति पुर्याएकाले उक्त स्थानमा सडक मर्मतसम्भार गर्नुपर्ने देखिएको छ ।
वारागुङ मुक्तिक्षेत्रको वडा १, २, ३ र ४ वडालाई चत्रपथ सडकले जोड्नेगरी मुक्तिनाथ सडक स्तरोन्नति कार्य भइरहेको सबइन्जिनियर जोशीले जानकारी दिए । उनका अनुसार यहाँको मुक्तिनाथ–तेताङ सडक योजनाको ३९ प्रतिशत भौतिक प्रगति हुँदा वित्तीय प्रगति २८.५८ प्रतिशत छ । हालसम्म निर्माण कम्पनीले रु दुई करोड ५६ हजार भुक्तानी लगिसकेको छ ।
प्रादेश सरकारद्वारा अघि बढाइएको मुक्तिनाथ–तेताङ सडक स्तरोन्नति पूरा भएमा माथिल्लो मुस्ताङका स्थानीय नागरिक तथा पर्यटक कागबेनी झरेर खिङ्गा हुँदै मुक्तिनाथ जानु नपर्ने जनाइएको छ । छुसाङदेखि माथिल्लो भेगका नागरिक मुक्तिनाथ जानुपरेमा छुसाङबाट तेताङ हुँदै वैकल्पिक चक्रपथ सडक प्रयोग गरेर मुक्तिनाथ जान सजिलो हुने यसबाट माथिल्लो मुस्ताङबाट मुक्तिनाथ जाने पर्यटक तथा स्थानीय नागरिकहरूका लागि दूरीमा छोटिने बताइएको छ । यो सडक सम्पन्न भएपछि वारागुङ मुक्ति क्षेत्रको छेङ्गुर, झोङ, पुडाक र तेताङ गाउँका स्थानीय नागरिकलाई यातायात आवागमनमा निकै सहज हुनेछ ।
काठमाडौँ, १५ पुस । प्रधानमन्त्री सुशीला कार्कीले पर्वहरूले आपसी एकता, शान्ति र सद्भाव बढाउन प्रेरणा प्रदान गरुन् भन्ने शुभकामना व्यक्त गरेकी छिन् । तमु समुदायको तमु ल्होसार तथा दुरा समुदायको म्हैप्रु नकुमा पर्वका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले सबै नेपालीको जीवनमा सुख र समुन्नति होस् भन्ने शुभकामना व्यक्त गरिन् ।
उनले तमु समुदायको तमु ल्होसार तथा दुरा समुदायको म्हैप्रु नकुमा पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गरिन् । प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन्, “यी पर्वहरूले हाम्रो बहुसांस्कृतिक पहिचानलाई थप सुदृढ गर्दै आपसी एकता, शान्ति र सद्भाव बढाउन प्रेरणा प्रदान गरुन् । सबै नेपालीको जीवनमा सुख र समुन्नति होस् ।”
पाम बीच (फ्लोरिडा), १५ पुस (रासस–एपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीलाई आइतबार फ्लोरिडास्थित आफ्नो रिसोर्टमा स्वागत गर्दै युक्रेन र रुसबीच शान्ति सम्झौता ‘पहिलेभन्दा धेरै नजिक’ पुगेको दाबी गरेका छन् । यद्यपि उनले वार्ता अत्यन्तै जटिल रहेको र अझै पनि बिग्रन सक्ने सम्भावना रहेको स्वीकार गर्दै यसका कारण चार वर्षदेखि जारी युद्ध अझै लम्बिन सक्ने चिन्ता पनि व्यक्त गरे । राष्ट्रपति ट्रम्पले यसअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग करिब अढाई घण्टा लामो ‘उत्कृष्ट’ फोन वार्ता भएको जानकारी दिए । सोही पृष्ठभूमिमा जेलेन्स्कीसँग प्रत्यक्ष भेटपछि ट्रम्पले पुटिन अझै पनि शान्ति चाहन्छन् भन्ने आफ्नो विश्वास दोहोर्याए । यद्यपि युक्रेनमा रुसी आक्रमणहरू जारी नै छन् ।
संयुक्त पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले ‘रुस युक्रेनलाई सफल देख्न चाहन्छ’ भन्दै जेलेन्स्कीको ‘साहस’ को खुलेर प्रशंसा गरे । विशेष गरी रुसले कब्जा गरेका युक्रेनी क्षेत्रहरूको भविष्य र भविष्यमा युक्रेनमाथि फेरि आक्रमण नहोस् भन्ने सुनिश्चित गर्ने सुरक्षा ग्यारेन्टीका विषयमा दुवै नेताले शान्ति प्रक्रियामा अझै कठिन प्रश्नहरू बाँकी रहेको स्वीकार गरे । वार्तापछि ट्रम्प र जेलेन्स्कीले युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनसहित फिनल्यान्ड, फ्रान्स, जर्मनी, बेलायत र पोल्यान्डका नेताहरूसँग सामूहिक छलफल गरे । जेलेन्स्कीका अनुसार राष्ट्रपति ट्रम्पले सम्भवतः जनवरीमा युरोपेली नेताहरूलाई ह्वाइट हाउसमा पुनः आमन्त्रण गर्न सहमति जनाएका छन् । बैठक वासिङ्टन वा अन्य कुनै स्थानमा हुन सक्ने ट्रम्पले बताए ।
जेलेन्स्कीले शान्तिका लागि अमेरिकाको प्रयासप्रति धन्यवाद दिँदै ‘युक्रेन शान्तिका लागि तयार छ’ भने । भेटपछि राष्ट्रपति ट्रम्पले राष्ट्रपति पुटिनसँग पुनः फोन वार्ता गर्ने योजना रहेको जानकारी दिए । पुटिनका विदेश मामिला सल्लाहकार युरी उशाकोभका अनुसार आइतबार भएको ट्रम्प–पुटिन वार्ता अमेरिकी पक्षको पहलमा भएको र ‘मैत्रीपूर्ण तथा व्यावहारिक’ रहेको थियो । जेलेन्स्कीसँगको भेटपछि ट्रम्प र पुटिन ‘तुरुन्तै’ फेरि कुरा गर्न सहमत भएको उशाकोभले बताए । तर उशाकोभले पूर्वी युक्रेनको डोनबास क्षेत्रलगायत विषयमा शत्रुताको पूर्ण अन्त्यका लागि किएभबाट ‘साहसी र जिम्मेवार राजनीतिक निर्णय’ आवश्यक पर्ने धारणा राखे । दुवै पक्षका अनुसार डोनबास क्षेत्रको भविष्य नै अहिलेको सबैभन्दा ठूलो अड्चन हो ।
राष्ट्रपति ट्रम्पले सम्झौता नजिकिएको दाबी गर्दै भने, “यो निकै कठिन मुद्दा हो तर समाधान सम्भव छ ।” जेलेन्स्कीले पनि यो विषयमा युक्रेन र रुसबीच गहिरो मतभेद रहेको स्पष्ट पारे । यसबीच, जेलेन्स्की अमेरिका भ्रमणमा रहँदा पनि युक्रेनमा आक्रमण जारी रहे तापनि राष्ट्रपति ट्रम्पले पुटिन युद्ध अन्त्यप्रति ‘गम्भीर’ रहेको विश्वास आफूलाई अझै रहेको बताए । उनले वार्ता असफल हुन सक्ने सम्भावनालाई पनि अस्वीकार गर्नुभएन र ‘केही हप्ताभित्र स्थिति स्पष्ट हुनेछ’ भने ।
हालैका हप्ताहरूमा अमेरिकी शीर्ष वार्ताकारहरूले शान्ति योजनाका मस्यौदामा उल्लेखनीय प्रगति गरेको ट्रम्प–जेलेन्स्की भेटले देखाएको छ । जेलेन्स्कीका अनुसार करिब २० बुँदे प्रस्ताव ‘करिब ९० प्रतिशत तयार’ भइसकेको छ । अमेरिकाले युक्रेनलाई केही नाटो–जस्तै सुरक्षा ग्यारेन्टी दिन सहमति जनाएको छ, जसको साटो युक्रेनले नाटो सदस्यता प्रयास स्थगित गर्न तयार रहेको सङ्केत गरेको छ ।
रुसतर्फबाट राष्ट्रपति पुटिनले कब्जा गरिएका चार क्षेत्र र क्रिमियालाई रूसी क्षेत्रका रूपमा मान्यता दिनुपर्ने माग दोहोर्याउँदै आउनुभएको छ । साथै, युक्रेनले नाटोमा सामेल हुने प्रयास त्याग्नुपर्ने, सेनाको आकार सीमित गर्नुपर्ने र रूसी भाषालाई आधिकारिक मान्यता दिनुपर्ने जस्ता शर्तहरू पनि राखिएका छन् । किएभले यी मागहरू सार्वजनिक रूपमा अस्वीकार गर्दै आएको छ । क्रेमलिनले शान्ति सम्झौता सजिलै नटुङ्गिने चेतावनी दिँदै वार्ता लामो समय लिन सक्ने सङ्केत गरेको छ । यद्यपि राष्ट्रपति ट्रम्प भने युक्रेन र रुसबीच युद्ध अन्त्यको सम्भावना अझै जीवित रहेको र प्रयास जारी रहनेमा आशावादी देखिन्छन् ।
सियोल, १५ पुस (रासस–एपी) । उत्तर कोरियाले सोमबार समुद्रतर्फ लामो दूरीको रणनीतिक क्रुज मिसाइल प्रहार गरेको दाबी गरेको छ । देशको आणविक प्रतिरोध क्षमताको परीक्षणका रूपमा गरिएको यो प्रक्षेपण उत्तर कोरियाले पहिलो आणविक–सञ्चालित पनडुब्बी निर्माणमा प्रगति देखाएको केही दिनपछि सार्वजनिक भएको हो । उत्तर कोरियाली सञ्चारमाध्यमका अनुसार आइतबार पश्चिमी तटबाट गरिएको प्रक्षेपणमा सर्वोच्च नेता किम जोङ–उनले ‘ठूलो सन्तुष्टि’ व्यक्त गरेका छन् ।
उनले आणविक प्रतिरोधको विश्वसनीयता परीक्षण गर्नु र यसको शक्ति प्रदर्शन गर्नु बाह्य सुरक्षा खतराको सामना गर्न आत्मरक्षा तथा युद्ध प्रतिरोधको अधिकारअन्तर्गत गरिएको जिम्मेवार अभ्यास भएको बताएका छन् । यो प्रक्षेपण उत्तर कोरियाले आगामी वर्षको सुरुमा हुने सत्तारुढ वर्कर्स पार्टीको महत्त्वपूर्ण सम्मेलन अघि गरेको पछिल्लो हतियार प्रदर्शन हो ।
सो सम्मेलनमा किमले अमेरिकासँगको सम्बन्धमा नयाँ प्राथमिकता निर्धारण गर्ने र लामो समयदेखि ठप्प रहेको वार्ताबारे वासिङ्टनको प्रस्तावप्रति उत्तर कोरियाको धारणा स्पष्ट पार्ने अपेक्षा गरिएको छ । दक्षिण कोरियाली ज्वाइन्ट चिफ्स अफ स्टाफका अनुसार आइतबार बिहान उत्तर कोरियाको राजधानी क्षेत्र आसपासबाट थुप्रै क्रुज मिसाइल प्रक्षेपण भएको पत्ता लागेको थियो । दक्षिण कोरियाले अमेरिकासँगको सैन्य गठबन्धनमार्फत उत्तर कोरियाबाट हुन सक्ने कुनै पनि उक्साहटको सामना गर्न तयार रहेको स्पष्ट पारेको छ ।
संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्का प्रस्तावहरूले उत्तर कोरियालाई ब्यालेस्टिक मिसाइल परीक्षण गर्न प्रतिबन्ध लगाए पनि क्रुज मिसाइल परीक्षणमा त्यस्तो स्पष्ट निषेध छैन । यद्यपि, ती मिसाइलहरू कम उचाइमा उड्ने र रडारबाट बच्न सक्ने भएकाले अमेरिका र दक्षिण कोरियाका लागि गम्भीर सुरक्षा चुनौती मानिन्छन् । विश्लेषकहरूका अनुसार द्वन्द्वको अवस्थामा उत्तर कोरियाले अमेरिकी युद्धपोत र विमानवाहक जहाजहरूलाई लक्षित गर्न यस्ता मिसाइल प्रयोग गर्ने रणनीति बनाएको हुन सक्छ ।
गत हप्ता उत्तर कोरियाले नयाँ एन्टी–एयर मिसाइलहरूको परीक्षण गर्नुका साथै विकासाशील आणविक–सञ्चालित पनडुब्बीको झण्डै पूर्ण हुल देखाउने तस्बिर सार्वजनिक गरेको थियो । उत्तर कोरियाले उक्त पनडुब्बीलाई आणविक क्षेप्यास्त्रले सुसज्जित गर्ने सङ्केत दिएको छ । यस्तो पनडुब्बी किमले अमेरिकी नेतृत्वमा रहेको सुरक्षा खतराको सामना गर्न विकास गर्ने वाचा गर्नुभएको परिष्कृत हतियार प्रणालीमध्ये एक हो । केही विज्ञहरूका अनुसार युक्रेन युद्धमा रुसलाई समर्थन गर्दै हजारौँ सैनिक र सैन्य सामग्री पठाएको उत्तर कोरियाले बदलामा महत्त्वपूर्ण प्रविधि सहयोग प्राप्त गरेको हुनसक्छ ।
सन् २०१९ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको उच्चस्तरीय आणविक कूटनीति असफल भएपछि उत्तर कोरियाले आफ्नो आणविक शस्त्रागार विस्तार र हतियार परीक्षणलाई प्राथमिकता दिएको छ । यद्यपि ट्रम्पको बारम्बारको पहलपछि किमले सेप्टेम्बरमा अमेरिकाले यदि ‘आणविक निःशस्त्रीकरणको भ्रम’ त्यागे वार्ता पुनः सुरु हुन सक्ने सङ्केत दिएका थिए । विज्ञहरूका अनुसार विस्तार भएको आणविक क्षमताले किमलाई सम्भावित वार्तामा थप लाभको स्थितिमा राख्ने विश्वास हुन सक्छ ।
१५ पुस, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको समानुपातिक तर्फका उम्मेदवारमा सबै नयाँ अनुहारले अवसर पाएका छन् । पार्टीले यसअघि संघ र प्रदेशमा सांसद बनिसकेकाहरुलाई समानुपातिक उम्मेदवार नबनाउने नीति सार्वजनिक गरेको थियो । सोही अनुसार नेकपाको सूचीमा सबै नयाँ अनुहार छन् । यो पार्टीको खर्स आर्यको महिलातर्फ करुणा बस्नेत र पुरुषमा प्रमेश हमाल पहिलो नम्बरमा छन् । आदिवासी जनजाति दीपक जंगम, भीमकुमारी बुढा, परशुराम तामाङ, दिलीप प्रजापति, मंगलसिंह प्रजालगायत छन् ।
मधेशीतर्फ तारा महतो, रामसखी देवी, जगिकुमार बरबरिया यादव, सुरेन्द्रकुमार जयसवाल लगायत छन् । दलिततर्फ गीता गहतराज, पार्वती विक, गणेशबहादुर विश्वकर्मा, डा।मित्र परियार लगायत छन् । थारु समुदायबाट निशा चौधरी, अञ्जु दहित, भवनकुमार थारु, रामअवतार थारु लगायतको नाम माथिल्लो क्रममा छ । यसैगरी मुस्लिमतर्फ केसर जहा भन्ने सकिना मुस्लिम, जरिना बेगम जार्मिया खातुन, कमरुल नशा, ताज मोहम्मद मियाँको नाम छ ।
काठमाडौँ, १५ पुस । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर आज तमु ल्होसार पर्व मनाउँदैछन् । ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा भव्य रुपमा मनाउँछन् । तमु ल्होसार पर्व सूर्यको किरणसँग सम्बन्धित छ ।
गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुसमा यो पर्व मनाउने गरिएको हो । यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ ।
पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्त्व रहेको जानकारहरू बताउँछन् । तमु ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ । यस अवसरमा टुँडिखेलमा गुरुङ समुदायले विशेष कार्यक्रमको आयोजना हुँदैछ ।
कार्यक्रममा गुरुङ समुदायका मानिस परम्परागत एवं सांस्कृतिक वेषभूषामा सजिएर सहभागी हुन्छन् । कार्यक्रममा गुरुङ समुदायको परिकार विशेषको प्रदर्शनी गरिनेछ । यस अवसरमा आइतबारदेखि राजधानीको टुँडिखेलमा ल्होसार महोत्सव सुरु भएको छ । महोत्सवमा हजारौँ सर्वसाधारणको सहभागिता छ ।
काठमाडौँ, १५ पुस । प्रहरीले पर्यटक तथा सर्वसाधारणलाई दुःख हैरानी दिने १२ जनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त गौशालाको टोलीले चाबहिल, गौशाला तथा तिलगङ्गा क्षेत्रमा घुम्न गएका विदेशी पर्यटक तथा सर्वसाधारणलाई दुःख, हैरानी तथा अभद्र व्यवहार गर्ने १२ जनालाई आज पक्राउ गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले पक्राउ परेका सबैलाई जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट म्याद थप गरी अनुसन्धान गरिरहेको जानकारी दिए ।
काठमाडौँ, १५ पुस ः आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवारले गर्ने खर्चको सीमा तोकिएको छ । निर्वाचन आयोगले सुगम मानिएका जिल्लाका हकमा र दुर्गम मानिएका जिल्लाका हकमा फरकफरक खर्च सीमा निर्धारण गरेको हो । आयोगका अनुसार काठमाडौँका पाँच वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम रु २५ लाख खर्च गर्न पाउनेछन् । त्यसमा काठमाडौँ क्षेत्र नं १, ३, ६, ७ र ८ रहेका छन् । यसैगरी, १७ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम रु २७ लाख बराबरको खर्च गर्न पाउने सीमा निर्धारण गरिएको छ ।
त्यस्तै, ६५ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम रु २९ लाख बराबर खर्च गर्न पाउनेछन् । आयोगका अनुसार ५२ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम रु ३१ लाख, २६ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम रु ३३ लाख बराबरको खर्च गर्न पाउनेगरी सीमा निर्धारण गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार उम्मेदवारले खर्च गर्दा बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोली सोही खाताबाट खर्च गर्नुपर्नेछ ।
त्यसरी खर्च गर्दा निजकोतर्फबाट खर्च गर्ने जिम्मेवार अधिकारी तोकी निजको नाम नामेसीसहितको विवरण भने निर्वाचन अधिकृतको कार्यालयमा पेस गर्नुपर्नेछ । उम्मेदवारले तोकेको खर्चको हदभित्र रहेर निर्वाचन खर्च गर्न र प्रतिनिधिसभा सदस्य ऐनबमोजिम निर्वाचन खर्चको विवरण निर्वाचन परिणाम घोषणा भएको मितिले ३५ दिनभित्र निर्वाचन कार्यालयमा पेस गर्नुपर्नेछ ।
१४ पुस, कुलमान घिसिङ, बालेन शाह र रवि लामिछानेबीच त्रिपक्षीय सहमति भएको छ । सहमति पत्रमा लामिछाने र उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुपकुमार उपाध्यायले हस्ताक्षर गरेका छन् । साक्षी बालेन बसेका छन् । सहमति अनुसार जेन जी आन्दोलनलाई आत्मसाथ गर्ने उल्लेख छ । पार्टीको नाम राष्ट्रिय स्वतन्त्र पार्टी नै रहने भएको छ । चुनाव चिन्ह समेत घण्टी नै रहने छ । पार्टीको अध्यक्षमा रवि लामिछाने र उपसभापतिमा कुलमान घिसिङ, डिपी अर्याल र स्वर्णिम वाग्ले गरी तीन जना हुने छन् ।
काठमाडौँ, १४ पुस । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको उम्मेद्वारको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ । कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयमा नेकपा ९एमाले०का केन्द्रीय सदस्य तथा निर्वाचन विभागका निरज आचार्य नेतृत्वको टोलीले बन्दसूची बुझाएको हो ।
पार्टीले पुरानो पुस्ता, नयाँ पुस्ता तथा समावेशी समूहलाई समेट्दै सूची तयार गरेको जनाएको छ । बन्दसूचीमा पुरानो पुस्ताबाट रामबहादुर थापा ‘बादल’, गुरु बराल, डा पुष्प कँडेललगायतका नेताको नाम समावेश गरिएको छभने महिला समूहबाट पद्मा अर्याल, टुका हमाल, निरुदेवी पाल, कोमल ओली, शान्ता चौधरी, भूमिका सुब्बालगायतका नाम समेटिएको छ ।
पिछडिएको क्षेत्रतर्फ गोरख बोगटी, लालबहादुर महतारा, लालबहादुर रावललगायत गरी आठ जना समेटिएको छ । साथै अपाङ्गता भएका व्यक्तिको प्रतिनिधित्वसमेत सूचीमा समावेश गरिएको छ । नयाँ पुस्ताबाट मीना बराम, मनकुमारी तितुङ, मायादेवी पोडेनी, निर्मल दौला, रामपुकार दास तत्मा, सन्तबहादुर चेपाङ, इच्छा चौधरीलगायतका युवा तथा समावेशी उम्मेदवार बन्दसूचीमा समावेश गरिएको छ । त्यसैगरी क्रान्ति बुर्लाकोटी, अनिता कन्दङ्वालगायतका युवा नेता पनि समावेश गरिएको छ ।
एमालेको आइतबार सम्पन्न सचिवालय बैठकले समानुपातिक उम्मेद्वारको सूची अध्यक्ष केपी शर्मा ओलीले अन्तिम रूप दिई निर्वाचन आयोगमा पेस गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार समानुपातिकतर्फको उम्मेद्वारको बन्दसूची बुझाउने आज अन्तिम दिन पार्टीले बन्दसूची बुझाएको जनाएको छ ।
काठमाडौँ, १४ पुस । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको प्रत्यक्षतर्फका लागि यही पुस २४ गतेभित्र उम्मेद्वारको नाम सिफारिस गर्न निर्देशन दिएको छ । एमालेका सचिव डा राजन भट्टराईले सातवटै प्रदेश कमिटीलाई जिल्ला कमिटीबाट आएका उम्मेद्वारको नामावली यही पुस २४ गतेभित्र पार्टी केन्द्रीय कार्यालयमा पठाउन निर्देशन दिएको जानकारी दिए । उनका अनुसार यसरी उम्मेद्वारको नामावली पठाउँदा एक निर्वाचन क्षेत्रबाट एक जना महिला उम्मेद्वारसहित कम्तीमा तीन जनाको नाम पठाउन भनिएको छ ।
“एक निर्वाचन क्षेत्र भएका जिल्लालाई पुस २० गतेभित्र छनोट गरी प्रदेश कमिटीलाई पठाउन निर्देशन दिएका छौँ”, उनले भने, “एकभन्दा बढी निर्वाचन क्षेत्र भएकालाई पुस २४ गतेभित्र पार्टी केन्द्रीय कार्यालयमा आइपुग्ने गरी जिल्ला कमिटीबाट पठाइएका नामावली पठाउन भनेका छौँ ।” जिल्ला कमिटीबाट आएका उम्मेद्वारको सूचीलाई प्रदेश कमिटीले जस्ताको तस्तै पठाउन पनि सक्ने र नाम थप गरेर पनि पठाउन सक्ने पार्टी सचिव डा भट्टराईले जानकारी दिए ।
पार्टीले एक मात्र निर्वाचन क्षेत्र भएका जिल्लाको हकमा जिल्ला कमिटीको सिफारिस र एकभन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लामा क्षेत्रीय निर्वाचन कमिटीले एक महिलासहित कम्तीमा तीन जनाको नाम सिफारिस गर्न भनिएको छ । तल्लो तहबाट आएका उम्मेद्वारमध्ये मापदण्डका आधारमा निर्वाचन जित्ने उम्मेद्वारलाई पार्टीले टिकट दिने सचिव डा भट्टराईले जानकारी दिए ।
१४ पुस, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी र रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टीबीच एकीकरण भएको छ । नेकपाको केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाडामा भएको वार्तापछि १० बुँदे सहमति गर्दै दुई पार्टी एकीकृत भएका हुन् । एकीकृत पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी रहनेछ भने चुनाव चिह्न तारा नै रहनेछ । सहमतिपत्रमा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल र नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले हस्ताक्षर गरे ।
एकीकरणपछि दुवै पार्टीका तिनै तहका जनप्रतिनिधि नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुने भएका छन् । यससँगै प्रचण्डले कुल १७ घटकलाई समेटेर एक दल बनाएका छन् । निर्वाचन नजिकिएसँगै यतिबेला दलहरुबीच एकीकरणको तिव्र लहर चलेको छ ।
१४ पुस, काठमाडौं । अन्ततः कुलमान घिसिङ पनि राष्ट्रिय स्वतन्त्र पार्टीमा आवद्ध हुने भएका छन् । उनलाई उपसभापति बनाउनेगरी रास्वपा सभापति रवि लामिछानेसँग सहमति जुटेको हो । आजै सहमति पत्रमा हस्ताक्षरको तयारी छ । १८ जना समानुपातिकमा कुलमान घिसिङको टिमबाट समावेश हुने गरी सहमति जुटेको छ । यसअघि पार्टी सभापति रवि र प्रधानमन्त्रीको उम्मेदवार बालेन हुनेगरी सहमति जुटेको छ । आज जेनजी अगुवा सुधन गुरुङको पहलमा सो सहमति जुटेको हो ।
मुस्ताङ, १४ पुस । यहाँको घरपझोङ गाउँपालिका–२ मार्फास्थित शीतोष्ण बागबानी विकास केन्द्रले चालु वर्षदेखि उच्चघनत्व प्रविधिमा आधारित ‘हाईब्रिड एम नाईन रुट स्टक’ जातका बिरुवा उत्पादन गर्न सुरु गरेको छ । केन्द्रमा भएको तन्तु प्रयोगशाला प्रविधिमामार्फत प्रशारण गरिएको हाईब्रिड स्याउको बीउ छरेर यहाँ उच्चघनत्व प्रविधिमा आधारित हाईब्रिड स्याउका बिरुवा रोपण गरी उत्पादनतर्फ जोड दिइएको हो ।
हालसम्म तन्तु प्रजनन प्रविधिबाट नेपालमा उच्चघनत्व प्रविधिमा आधारित हाईब्रिड स्याउको रुट स्टक स्याउका बिरुवा उत्पादन भएको छैन । यहाँको केन्द्रले हाईब्रिड स्याउको रुट स्टक बिरुवा उत्पादनको परीक्षणका लागि बिरुवा उत्पादनतर्फ जोड दिन थालेको हो । नेपालका विभिन्न स्थानमा विभिन्न फलफूलको बिरुवा उत्पादनका लागि तन्तु प्रजनन प्रयोगशाला प्रयोगमा रहेपनि यहाँको केन्द्रले यसप्रकारको हाईब्रिड स्याउको रुट स्टक स्याउका बिरुवा उत्पादनका लागि प्रयोगशालामार्फत एम नाईन रुट स्टक बिरुवाका लागि बीउ उत्पादन गर्न थालेको केन्द्रका जैविक प्रविधि प्राविधिक अधिकृत अशोक लिम्बूले जानकारी दिनुभयो ।
यसप्रकारको हाईब्रिड स्याउका रुट स्टक बिरुवा उत्पादन गर्न नेपालका अन्य तन्तु प्रजनन प्रयोगशालामा प्रयास गरिएको भए पनि यहाँको केन्द्रको तुलनामा प्रशारण र विकास गर्न नसकेको उहाँको भनाइ छ ।
यहाँस्थित मुस्ताङको घरपझोङ—२ मार्फास्थित केन्द्रमा २०७८ मा तन्तु प्रजनन प्रयोगशाला प्रविधि स्थापना भएको थियो । स्थापनाको पहिलो तीन वर्ष लगातार यहाँ तन्तु प्रजनन प्रयोगशालामार्फत हाईब्रिड स्याउको प्रविधि प्रशारणतर्फ काम गर्दैआइरहेको केन्द्रका जैविक प्रविधि प्राविधिक लिम्बूले उल्लेख गर्नुभयो । त्यस अवधिमा केन्द्रले प्रविधिको उपयोग गरी विभिन्न प्रोटोकलको विकास गरिहेको उहाँको भनाइ छ ।
यसका अलावा यहाँको केन्द्रले तन्तु प्रजनन प्रयोगशाला प्रविधिलाई पछ्याउँदै फिल्डमा पनि दिशानिर्देशको रुपमा काम गर्दै हाईब्रिड स्याउ बिरुवा उत्पादनको व्यवस्थापनमा जान सकिने निष्कर्षका साथ प्रयोगशालामार्फत बीउ उत्पादन गरी स्याउका एम नाईन रुट स्टक बिरुवा उत्पादनतर्फ अग्रसरता देखाएको अधिकृत लिम्बूको भनाइ छ ।
यहाँस्थित शीतोष्ण बागवानी विकास केन्द्रले यसवर्ष केन्द्रको नाममा रहेको मुस्ताङको घाँसामा एक रोपनी र केन्द्रको मार्फास्थित एक रोपनी जग्गामा तन्तु प्रजजन प्रयोगशालामा प्रशारण भएका करिब ६००० हाईब्रिड एम नाईन रुट स्टक स्याउका कलमी बिरुवा उत्पादन गर्ने गरी प्रक्रिया अघि बढाइएको अधिकृत लिम्बूले जानकारी दिनुभयो ।
यसैगरी केन्द्रले आव २०८०÷८१ मा तन्तु प्रजनन प्रविधि प्रयोगशालाबाट तीन सय बिरुवा उत्पादन भइसकेको र यो परीक्षणको रुपमा रहेको जानकारी दिनुभयो । यसका लागि किसानलाई वितरण गर्नुअघि केन्द्रले पर्याप्त अध्ययन अनुसन्धान गर्ने तयारी गरेको बताउनुभयो । केन्द्रले चालु आर्थिक वर्षभित्रमा यसको विस्तृत अध्ययन गरेर खरिदकर्ता किसानलाई उपलब्ध गराउने तयारी गरेको जैविक प्रविधि प्राविधिक लिम्बूले उल्लेख गर्नुभयो ।
केन्द्रले उच्चघनत्व प्रविधिमा आधारित हाईब्रिड स्याउका बिरुवा उत्पादन गर्नका लागि आवश्यक पूर्वाधार नहुुँदा सीमित मात्रामा बिरुवा उत्पादन गर्न थालेको छ । केन्द्रमा पर्याप्त मात्रामा सिसा घर ९हाईटेक० भएमा तन्तु प्रजनन प्रविधि प्रयोगशालामाबाट छोटो समयमा ५० हजारदेखि ६० हजारसम्म हाईब्रिड स्याउका रुट स्टक बिरुवा उत्पादन गर्न सकिने सम्भावना रहेको अधिकृत लिम्बूले बताउनुभयो ।
यसवर्षको दोस्रो फेजमा यहाँ जेठ महिनाबाट प्रयोगशालामा बिरुवा उत्पादनका लागि विभिन्न प्रोटोकल अपनाएर बीउ उत्पादन गरी रोपण गर्न थालिएको हो । मुस्ताङमा पहिलो पटक परीक्षणका रुपमा आफ्नो उत्पादन सुरु गरेको केन्द्रले यहाँको उच्च उचाई, मध्यम उचाई र न्यून उचाईको स्थानमा लगेर परीक्षण आरम्भ गर्ने तयारी गरिएको हो । केन्द्रले यसअघि उत्पादन गरेका एम नाईन रुट स्टक बिरुवामा गाला,फुजी, डेलिसियस र गोल्डेन डेलिसियस जातका स्याउलाई रुट स्टक गरिसकेको र त्यसको परीक्षण हुन बाँकी रहेको अधिकृत लिम्बूले उल्लेख गर्नुभयो ।
यहाँस्थित केन्द्रमा रहेको यस प्रकारको तन्तु प्रजनन प्रविधि प्रयोगशाला ९ल्याबमा एम नाईन रुट स्टकको एक अंशलाई ल्याबमा राख्ने र त्यसपछि विभिन्न विधि अपनाएर बिरुवाका लागि बिउ उत्पादन गर्ने गरिन्छ । यसप्रकारको प्रविधिबाट बृहत रुपमा तन्तु प्रजनन प्रविधिको प्रशारण गरी गुणस्तरीय तथा आनुवशिंक रुपमा चुस्त एकैनासको बिरुवा उत्पादन गर्न सकिन्छ ।
जिल्लामा विसं २०७० पछि उच्चघनत्व प्रविधिमा आधारित स्याउखेती सुरु गरिएको हो । थोरै क्षेत्रफलमा धेरै र छोटो समयमा सोचे अनुरुपमा उत्पादन दिने भएकाले यहाँका किसान यसप्रकारको हाईब्रिड स्याउ खेतीतर्फको आकर्षण बढेको हो । यहाँ ईटालीबाट आयात गरिएका हाईब्रिड स्याउलाई सङ्घीय र प्रादेशिक सरकारले अनुदान सहुलियतमा वितरण गरेपछि मुस्ताङमा हाईब्रिडखेती विस्तार भएको हो ।
केन्द्रले आफ्नो प्रविधिको प्रशारण गरी हाईब्रिड स्याउका बिरुवा उत्पादन गरेमा हाईब्रिड स्याउका बिरुवा भनेको बेलामा सस्तो मूल्यमा उपलब्ध हुनसक्ने सुनिश्चितता रहेको केन्द्रले जनाएको छ । ईटालीबाट आयात गरिएको हाईब्रिड एउँटै रुट स्टक बिरुवको एक हजार बढी मूल्य पर्छ ।
यहाँ उत्पादन हुने एक नाईन रुट स्टक बिरुवमा विभिन्न प्रजातीका स्याउको कलमी गर्न सकिने छ । मुस्ताङमा ८३७ हेक्टर क्षेत्रफलमा स्याउखेती गरिएको छ । जसमध्ये ५७२ हेक्टर क्षेत्रफलमा लगाइएको स्याउले उत्पादन दिएको छ । यहाँको पाँच पालिकामा गरी ६२ हेक्टर क्षेत्रफलमा २५० मेट्रिक टन हाईब्रिड स्याउ उत्पादन भएको थियो । रासस
याङ्गुन, १४ पुस (रासस–एपी) । म्यान्मामा सेनाले सन् २०२१ मा सत्ता कब्जा गरेपछि पहिलो पटक आयोजना गरिएको आम निर्वाचनको प्रारम्भिक चरणअन्तर्गत आइतबार मतदान सुरु भएको छ । तर देशका धेरै भागमा गृहयुद्ध जारी रहेकाले यो निर्वाचन सुरुदेखि नै विवादको घेरामा परेको छ । तीन चरणमा हुने यो निर्वाचनको अन्तिम परिणाम जनवरीमा थप दुई चरणको मतदान सम्पन्न भएपछि मात्र स्पष्ट हुनेछ । पहिलो चरणमा देशका ३३० मध्ये १०२ स्थानमा मतदान भइरहेको छ । दोस्रो चरण जनवरी ११ र तेस्रो चरण जनवरी २५ मा हुने तय भएको छ । निर्वाचनको अन्तिम नतिजा फेब्रुअरीसम्म सार्वजनिक हुने अपेक्षा गरिएको छ ।
सत्ता कब्जापछि निरङ्कुश शासन चलाउँदै आएका वरिष्ठ जनरल मिन आङ ह्लाइङले निर्वाचनपछि राष्ट्रपति पद सम्हाल्ने व्यापक अनुमान गरिएको छ । सैनिक सरकारले निर्वाचनलाई ‘चुनावी लोकतन्त्रतर्फ फर्कने प्रक्रिया’ का रूपमा चित्रण गरे पनि प्रमुख विपक्षी दलहरूलाई प्रतिबन्ध लगाइएको र मतदातालाई डर–धम्की दिइएको आरोपले यसको वैधानिकता कमजोर बनाएको छ ।
राष्ट्रिय तथा क्षेत्रीय विधानसभाका लागि ५७ दलबाट चार हजार ८०० भन्दा बढी उम्मेदवार प्रतिस्पर्धामा छन् । तर देशव्यापी रूपमा प्रभाव जमाउने सम्भावना भएका दलहरू सीमित छन् । सेनाको समर्थन प्राप्त युनियन सोलिडारिटी एन्ड डेभलपमेन्ट पार्टी सबैभन्दा सङ्गठित र बलियो प्रतिस्पर्धी मानिएको छ । आलोचकहरूले यो निर्वाचनलाई सैन्य शासनलाई वैधानिकता दिन गरिएको ‘ढोङ’ भनेका छन् । फेब्रुअरी २०२१ मा निर्वाचित प्रधानमन्त्री आङ सान सुकीको सरकार अपदस्थ गरेपछि सुरु भएको सैन्य शासनलाई नागरिक शासनको आवरण दिन निर्वाचन डिजाइन गरिएको उनीहरूको आरोप छ । सन् २०२० को चुनावमा नेसनल लिग फर डेमोक्रेसीले ठूलो जित हासिल गरे पनि सुकी र उनको दललाई पुनः सत्तामा आउनबाट रोकिएको थियो ।
विपक्षी दलहरूको बहिष्कार, अभिव्यक्ति स्वतन्त्रतामाथिको कडाइ र दमनको वातावरणका कारण नतिजामा जनइच्छाको प्रतिबिम्ब नदेखिने उनीहरूको तर्क छ । संयुक्त राष्ट्रसङ्घका लागि म्यान्मासम्बन्धी मानव अधिकार विज्ञ टम एन्ड्रुजले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, “नागरिक र राजनीतिक नेताहरूलाई जेल हाल्दै बन्दुकको डरमा गराइएको प्रक्रिया निर्वाचन होइन, नाटक मात्र हो ।”
यद्यपि, निर्वाचन आयोजनाले चीन, भारत र थाइल्यान्डजस्ता छिमेकी देशलाई सैनिक सरकारलाई समर्थन जारी राख्न कूटनीतिक बहाना दिन सक्ने विश्लेषकहरूको भनाइ छ । पश्चिमी मुलुकहरूले भने म्यान्माका जनरलहरूमाथि प्रजातन्त्रविरोधी कदम र विपक्षमाथिको दमनका कारण प्रतिबन्ध कायमै राखेका छन् । मतदानका दिन नागरिकहरूले मिश्रित प्रतिक्रिया दिएका छन् । याङ्गुनको एक मतदान केन्द्रमा मत हालेकी ५१ वर्षीया खिन मार्लरले शान्ति आउने आशामा मतदान गरेको बताइन् । लडाइँका कारण गाउँ छाड्नुपरेको उल्लेख गर्दै उनले भनिन्, “शान्ति भएपछि गाउँ फर्कने आशाले मतदान गरिरहेकी छु ।”
तर केही मतदाताले सेनाको दबाब महसुस गरेको बताएका छन् । मोन राज्यकी एक महिलाले सैनिकहरूले बन्दुकसहित गाउँमा आएर मतदान गर्न दबाब दिएको दाबी गरिन् । मानव अधिकार समूहहरूका अनुसार यस्ता धम्कीका घटनाहरू मतदानअघि नै देखिएका थिए । असी वर्षीया पूर्व नेत्री आङ सान सुकी हाल २७ वर्षको जेल सजाय भोगिरहेकी छिन् । उनको दल नेसनल लिग फर डेमोक्रेसी नयाँ सैन्य नियमअनुसार दर्ता गर्न अस्वीकार गरेपछि सन् २०२३ मा विघटन गरिएको थियो । अन्य धेरै दलहरूले पनि निर्वाचन बहिष्कार गरेका छन् ।
सन् २०२१ देखि हालसम्म २२ हजारभन्दा बढी व्यक्ति राजनीतिक कारणले हिरासतमा छन् भने सात हजार ६०० भन्दा बढी सर्वसाधारण सुरक्षा बलद्वारा मारिएको तथ्याङ्क सार्वजनिक छ । गृहयुद्धका कारण ३६ लाखभन्दा बढी नागरिक विस्थापित भएका छन् । यस्तो अवस्थामा पनि शक्ति अन्ततः जनरल मिन आङ ह्लाइङकै हातमा रहने विश्वास दुवै पक्षमा देखिन्छ ।
ढाका, १४ पुस (रासस–एएफपी) । बङ्गलादेशको सबैभन्दा ठूलो इस्लामिक पार्टीले आइतबार गत वर्षको विद्रोहको नेतृत्व गर्ने विद्यार्थीहरूले गठन गरेको राजनीतिक सङ्गठन (एनसिपी) सँग सिट बाँडफाँडका लागि सम्झौताको घोषणा गरेको छ । केही विद्यार्थी नेताहरूले गठबन्धनको विरोध गरेका छन् । सन् २०२४ अगस्टमा विद्यार्थीहरूको नेतृत्वमा भएको विद्रोहले पूर्वप्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गरेपछि हुन लागेको पहिलो चुनावबाट जमात–ए–इस्लामीले बहुमत ल्याउने र सरकारको नेतृत्व लिन तम्तयार बनेको देखिन्छ ।
पूवै पूधानमन्त्री हसिनाको १५ वर्षे निरंकुश शासनमा दबाइएका इस्लामिक आन्दोलनहरू उहाँको पतनपछि पुनः सङ्गठित भएका छन् र जमातले फेब्रुअरी १२ को मतदानलाई दशकौँको सबैभन्दा ठूलो अवसरको रूपमा हेरेको पाइन्छ । आइतबार जमातले लामो वार्तापछि विद्यार्थी नेतृत्वको नेशनल सिटिजन पार्टीसँग सम्झौता गरेको बताएको छ, जसमा एनसिपीका केही सदस्यहरूले यस कदमको विरोधसमेत गरेका छन् । जमातका नेता शफिकुर रहमानले सानो लिबरल डेमोक्र्याटिक पार्टीसँग छुट्टै सम्झौताको घोषणा गरेका छन् ।
उनले भने, “हामी गठबन्धनमा आठ दल थियौँ । अहिले दुई नयाँ दल हामीमा आएका छन्।” जमातको नेतृत्वमा रहेको गठबन्धनमा इस्लामिक धर्मप्रति विशेष वफादार राजनीतिक दलहरूको प्रभुत्व छ, जसमध्ये अधिकांशले अघिल्लो संसद्हरूमा थोरै मात्र सिट जित्न सफल भएका थिए । करिब १७ करोड जनसङ्ख्या भएको बहुसङ्ख्यक मुस्लिम राष्ट्र बङ्गलादेशमा सन् २०२४ को विद्रोहपछि देशमा राजनीतिक अस्तव्यस्तताको अवस्था रहेको छ। इस्लामवादी शक्तिहरूको पुनरुत्थानले जनसङ्ख्याको १० प्रतिशत भन्दा कम रहेको सुफी मुस्लिम र हिन्दूसहितका समूहमा चिन्ता पैदा गरेको छ।
कट्टरपन्थी इस्लामिक समूहहरूले सङ्गीत र नाटक महोत्सव, महिला फुटबल खेल र चङ्गा उडाउने उत्सवसहित सांस्कृतिक गतिविधिहरूमा प्रतिबन्ध लगाउन आह्वान गरेका छन् । जमातसँग गठबन्धन हुनुअघि एनसिपीका कम्तीमा ३० जना सदस्यले पार्टी प्रमुख नाहिद इस्लामलाई पत्र लेख्दै सहमतिको विरोध गरेका थिए । शनिबार एक पत्रमा उनीहरूले एनसिपीको विचारधारा र लोकतान्त्रिक मूल्यहरूप्रति उसको प्रतिबद्धता जमातको भन्दा भिन्न रहेको बताएका छन् ।
एनसिपीको टिकटमा चुनाव लड्न खोजेकी तस्नीम जाराले शनिबार पार्टीबाट राजीनामा दिनुभएको छ भने आइतबार अर्का आकाङ्क्षी उम्मेदवार तस्नुवा जाबिनले पनि राजीनामा दिएका छन् । पार्टीकी वरिष्ठ नेता सामन्था शर्मिनले आइतबार एक सामाजिक सञ्जालमा लेखेका छन्, “इस्लामवादीहरूसँगको गठबन्धनका लागि पार्टीले ठूलो मूल्य चुकाउनु पर्नेछ।” लोकतान्त्रिक, समतामूलक र जनमुखी हुने मध्यमार्गी राजनीतिको वाचा गर्दै गत मार्चमा एनसिपीको गठन भएको थियो ।
पार्टीले जमातसँगको गठबन्धनको बारेमा कुनै विज्ञप्ति जारी गरेको छैन। हसिनाको अवामी लिगलाई निर्वाचनमा सहभागी हुनबाट प्रतिबन्ध लगाएपछि बङ्गलादेश नेसनलिस्ट पार्टी (बिएनपी) ले चुनाव जित्ने अनुमान गरिएको छ । बिएनपीका कार्यबाहक अध्यक्ष तारिक रहमान १७ वर्ष बेलायतमा निर्वासनमा बसेर बिहीबार स्वदेश फर्किएपछि उनको दलमा ऊर्जा पुगेको देखिएको छ ।
वासिङ्टन, १४ पुस (रासस–एएफपी) । थाइल्यान्ड र कम्बोडियाका दुई नेताबीच हप्तौँंदेखि जारी सीमामा भएको झडपपछि अघिल्लो दिन भएको युद्धविरामको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार प्रसंशा गरेका छन् । “म दुबै महान नेताहरूलाई यो द्रुत र धेरै निष्पक्ष निष्कर्षमा पुग्न प्रयोग भएको उनीहरूको प्रतिभाको लागि बधाई दिन चाहन्छु,” राष्ट्रपति ट्रम्पले भने ।
उनले डिसेम्बरको सुरुमा सीमा द्वन्द्व फेरि सुरु भएपछि तोडिएको अघिल्लो युद्धविरामको श्रेय लिएका छन् । ट्रुथ सोसल प्लेटफर्ममा एक पोस्टमा राष्ट्रपति ट्रम्पले यी सबै परिस्थितिहरू हुनुपर्दछ भन्दै अन्तिम परिणामलाई ‘छिटो र निर्णायक’ भएको बताए ।
उनले चीन र मलेसियासँगै मध्यस्थताको प्रयासमा संलग्न रहेको वाशिङ्टनले शान्ति प्रयासमा सहयोग गर्न पाउँदा आफुले गर्व महसुस गरेको बताए । आइतबार युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँगको वार्ताअघि ट्रम्पले विश्व द्वन्द्व अन्त्य गर्न आफ्नो स्वघोषित भूमिकाको प्रशंसा गर्दै भने, “सायद यस कामका लागि संयुक्त राज्य अमेरिका वास्तविक ‘संयुक्त राष्ट्रसङ्घ’ बनेको छ । उनले भने, “संयुक्त राष्ट्रसङ्घले विश्व शान्तिमा सक्रिय र संलग्न हुन थाल्नु पर्छ ।”
अमेरिकी विदेशमन्त्री मार्को रुबिओले शनिबार थाइल्यान्ड र कम्बोडियाबीच भएको युद्धविरामको स्वागत गर्दै दुवै पक्षलाई ‘यो प्रतिबद्धतालाई तुरुन्त सम्मान गर्न’ आग्रह गरे । तीन हप्ताको लडाइँमा कम्तीमा ४७ जनाको मृत्यु भएको छ भने १० लाखभन्दा बढी विस्थापित भएका छन् । थाइल्यान्ड र कम्बोडियाले शनिबार आफ्नो सम्झौताको घोषणा गर्दै सैनिकको आवतजावतमा रोक लगाउने र सीमा क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई जतिसक्दो चाँडो घर फर्कन दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
युद्धविरामपछि चीनका उच्च कूटनीतिज्ञ वाङ यीले कम्बोडिया र थाई विदेशमन्त्रीसँग आइतबारदेखि सुरु भएको दुई दिने वार्ताका लागि आमन्त्रण गरेका थिए । वाङले कम्बोडियाली समकक्षी प्राक सोखोनलाई युद्धविरामले ‘शान्ति पुनर्निर्माणको प्रक्रिया सुरु भएको’ बताए । “दुवै पक्षले विस्तृत र दिगो युद्धविरामलाई प्रबद्र्धन गर्न एकपछि अर्को कदम अघि सार्नुुपर्छ र आपसी विश्वास पुनर्निर्माण गर्नुपर्छ,” वाङले भने ।
चन्द्रपुर (रौतहट), १४ पुस । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि जिल्लामा एक मतदातास्थल सहित १८ केन्द्र थप गरिएका छन् । जिल्ला निर्वाचन कार्यालयलका अनुसार २०७९ सालमा भएको प्रतिनिधिसभाको निर्वाचनको तुलनामा अगामी फागुन २१ गते हुने निर्वाचनका लागि मतदातालाई थप सहज बनाउन केन्द्र र स्थल थप गरिएका हुन् ।
विसं २०७९ को प्रतिनिधिसभाको निर्वाचनमा जिल्लामा पाँच सय २३ मतदान केन्द्र रहेकोमा यसवर्ष १८ वटा थपिएर पाँच सय ४१ वटा मतदान केन्द्र कायम भएको जिल्ला निर्वाचन कार्यालय रौतहटका प्रमुख छोटेलाल दासले जानकारी दिए । यसैगरी विसं २०७९ को प्रतिनिधिसभाको निर्वाचनमा दुई सय ७६ वटा मतदानस्थल कायम रहेकोमा यसवर्ष एउटा स्थल थपेर दुई सय ७७ वटास्थल कायम गरेको उनले बताए । उनका अनुसार गरुडा नगरपालिका–६ मा नयाँ मतदानस्थल थपिएको हो । जिल्लामा २१ हजार एक सय ५६ जना मतदाता थपिएका छन् ।
जिल्ला निर्वाचन कार्यालय रौतहटका प्रमुख दासका अनुसार रौतहटमा अहिले चार लाख ३६ हजार ६ सय ११ जना मतदाता रहेका छन् । मतदाता थपिएसँगै मतदानस्थल र मतदान केन्द्र पनि थपिएको कार्यालय प्रमुख दासले जानकारी दिएका छन् । विसं २०७९ को प्रतिनिधिसभाको निर्वाचनमा चार लाख १५ हजार चार सय ५५ जना मतदाता थिए । दुई गाउँपालिका र १६ नगरपालिका रहेको जिल्लामा चार वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेका छन् यसमा एक सय ५७ वटा वडा रहेका छन् ।
विसं २०७९ को निर्वाचनमा क्षेत्र नंं १ बाट तत्कालीन नेकपा एसको तर्फबाट माधवकुमार नेपाल, क्षेत्र नं २ बाट स्वतन्त्र किरण साह, क्षेत्र नं ३ बाट आजपा अध्यक्ष प्रभु साह र क्षेत्र नं ४ बाट नेपाली कांग्रेसको तर्फबाट देवप्रसाद तिमल्सिना निर्वाचित भएका थिए । निर्वाचनमा चार लाख १५ हजार चार सय ५५ मतदातामध्ये दुई लाख ८२ हजार चार सय ३० मतदाताले मतदान गरेका थिए ।
टक्सार (भोजपुर), १४ पुसः पूर्वी पहाडी जिल्ला भोजपुरमा आगामी फागुन २१ गतेको निर्वाचनका लागि कूल एक लाख २५ हजार सात सय ६६ जना मतदाता कायम भएका छन् । अघिल्लो निर्वाचनको तुलनामा अहिले जिल्लामा मतदाताको सङ्ख्यामा वृद्धि भएको छ । अघिल्लो निर्वाचनसम्म यहाँको कूल मतदाता सङ्ख्या एक लाख २३ हजार तीन सय ७९ जना मात्र थियो । अहिले भने दुई हजार तीन सय ८७ जना मतदाता थप भएका हुन ।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख डिकेन्द्र सुवेदीले निर्वाचन आयोगले गरेको मतदाता अद्यावधिकसँगै जिल्लाको कूल मतदाता एक लाख २५ हजार सात सय ६६ जना कायम भएको जानकारी दिए । यस अनुसार पुरुषको सङ्ख्या ६५ हजार सात सय ८८ जना र महिला ५९ हजार नौ सय ७७ र एक अन्य मतदाता रहेको उनले जानकारी दिए ।
निर्वाचन कार्यालयको विवरण अनुसार जिल्लाको पालिका अनुसारको तथ्याङ्क पनि सार्वजनिक गरिएको छ । जिल्लामा दुई नगरपालिका र सात गाउँपालिका छन् । स्थानीय तह अनुसार भोजपुर नगरपालिकामा २० हजार एक सय ८९ जना, षडानन्द नगरपालिका– २१ हजार आठ सय ९६, अरुण गाउँपालिका– १२ हजार छ सय ४३, आमचोक गाउँपालिका– १२ हजार चार सय ४४, पौवादुङमा गाउँपालिका– १० हजार छ सय ६३, टेम्केमैयुङ गाउँपालिका– १३ हजार पाँच सय ५७ मतदाता कायम छन् ।
यस्तै रामप्रसाद राई गाउँपालिका– ११ हजार नौ सय, साल्पासिलिछो गाउँपालिका– आठ हजार सात सय २४ र हतुवागढी गाउँपालिका १३ हजार सात सय ५० जना मतदाता कायम भएको जिल्ला निर्वाचन कार्यालय भोजपुरका प्रमुख सुवेदीले बताए । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालयले पनि आवश्यक तयारी गरिरहेको प्रमुख सुवेदीले जानकारी दिए ।
काठमाडौँ, १४ पुस । नियमित रूपमा बजार अनुमगन तथा निरीक्षण गरिरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १७ वटा उद्योग तथा फर्मको अनुमगन गरी कारवाही गरेको छ । विभागले तीन वटा उद्योग तथा फर्मलाई रु एक लाख १० हजार जरिवाना गरेको छ । विभागले सम्झना अचार उद्योगलाई रु १० हजार, आरोहण फेशन क्राफ्ट प्रालि र साधना सप्लायर्सलाई समान रु ५० हजार जरिवाना गरेको छ ।
विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १५ दफा ३८ घ बमोजिमको कसुरमा सोही ऐनको दफा ३९ १ क बमोजिम कारवाही गरेको हो । यसैगरी अन्य १४ वटा उद्योग÷फर्मलाई भने सुधारात्मक निर्देशन दिएको छ । बजारमा स्वच्छता कायम राख्न, कालोबजारी नियन्त्रण गर्न विभागले नियमित रूपमा बजार अनुमगन गर्दै आएको छ ।
काठमाडौँ, १४ पुसः निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि खर्चको सीमा निर्धारण गरेको छ । आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेद्वारले रु तीन लाख ५० हजार बराबरको खर्च गर्न पाउने सीमा निर्धारण गरेको छ । आयोगले मतदाता नामावली खरिदका लागि रु एक हजार, सवारी साधनमा रु ७० हजार, सवारी इन्धन रु १० हजार, प्रचारप्रसार सामग्रीमा रु १४ हजार ५०० खर्च गर्न पाउने गरी खर्चको सीमा निर्धारण गरेको छ ।
यसैगरी ढुवानी रु १० हजार, गोष्ठी अन्तरक्रियाका लागि रु एक लाख, अन्य प्रचारप्रसार, छापा एवम् विद्युतीय माध्यममा खर्च रु १४ हजार ५०० खर्च गर्न पाइनेछ । त्यस्तै कार्यालय सञ्चालन रु ७० हजार, प्रतिनिधि परिचालन रु ३० हजार र विविध शीर्षकमा रु ३० हजार खर्च गर्न पाउनेछन् । आगामी माघ ११ गते राष्ट्रियसभा सदस्य निर्वाचन हुँदैछ ।
उम्मेद्वारले खर्च गर्दा बैङ्क वा वित्तीय संस्थामा छुट्टै खाता खोली सोही खाताबाट खर्च गर्न र यसरी खर्च गर्दा निजको तर्फबाट खर्च गर्ने जिम्मेवार पदाधिकारी तोकी गर्नुपर्ने आयोगले जनाएको छ । निर्वाचन खर्चको विवरण निर्वाचन सम्पन्न भएपछि सार्वजनिक गरी राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ अनुसार, आयोगमा पेस गर्नुपर्नेछ ।
नारायण ढुङ्गाना–रासस चितवन, १४ पुस । हात्तीको राजधानी मानिने नेपालकै तेस्रो पर्यटकीय नगरी चितवनको सौराहामा १९औँ संस्करणमा आइपुग्दा चितवन हात्ती तथा पर्यटन महोत्सव ‘चितवनको पर्याय’का रुपमा विकास भएको छ । नेपालमा सौराहामा मात्रै देख्न पाइने फरक खालको कार्यक्रम ‘हात्ती महोत्सव’लाई अन्य महोत्सवसँग दाँजेर हेर्न मिल्दैन । नेपालका पर्यटक व्यवसायीहरु भन्छन्, “यो कार्यक्रम हात्ती र मान्छेबीचको सम्बन्ध सेतु मात्रै बनेको छैन, हात्ती संरक्षणको सन्देश दिन र चितवनमा पर्यटक आगमन वृद्धि गर्न सफल भएको छ ।”
भीमकाय हात्तीका गतिविधि प्रस्तुत गरी चितवनको पर्यटन प्रवद्र्धन र वन्यजन्तु संरक्षणको प्रयास थालिएको २१ वर्ष पुगेको छ । सन् २००४ मा सुरु गर्दा हात्ती क्याराभान र ‘अन्तरराष्ट्रिय हात्ती दौड’ प्रतियोगिताका रुपमा आयोजना गरिएको थियो । कार्यक्रमले केही वर्षमै राष्ट्रिय तथा अन्तरराष्ट्रिय ख्याति कमायो । पछिल्ला समयमा पशु अधिकारका कुरा उठेपछि अझै हात्तीमैत्री कार्यक्रम कसरी आयोजना गर्न सकिन्छ भनेर चिन्तन मनन हुँदै परिमार्जित रुपमा हात्ती महोत्सव आयोजना भइरहेको छ । यसपालि पुस ११ शुक्रबारदेखि सुरु भएको महोत्सव आइतवार सम्पन्न भएको छ ।
“यो चितवनकै पर्याय र सौराहाको ब्राण्ड भइसकेको कार्यक्रम हो”, क्षेत्रीय होटल संघ चितवनका पूर्व कोषाध्यक्ष तथा होटल सेभेनस्टारका सञ्चालक माधव दुवाडी भन्नुहुन्छ । उहाँले हात्ती महोत्सवकै कारण यो अफ सिजनमा सौरहामा २० देखि ३० प्रतिशतसम्म पर्यटक भित्र्याउन सफल भएको दावी उहाँले गर्नुभयो । अहिले क्रिसमको समय हो । अंग्रेजी नयाँ वर्ष संघारमा रहेको छ । यो समयमा आएका पर्यकटहरु क्रिसमस मनाउन आफ्नै देश फर्किन्छन् । विगतमा अहिले जस्तो नेपालमा आन्तरिक पर्यटकको चाप थिएन । पर्यटकीय क्षेत्रमा विदेशी पर्यटक आएनन् भने सुनसान हुने गर्छ । अफ सिजनमा फर्किन लागेका पर्यटक रोकेर बसाई लम्ब्याउन र नयाँ पर्यटक बोलाउन यस्ता कार्यक्रम उपयुक्त मानिने पर्यटनविज्ञ विश्व सुवेदीको प्रतिक्रिया छ ।
सौराहामा रहेका हात्ती चितवनकै शान हो । यहाँ टाँगा, घोडाहरु लोप भइसके । हात्तीका गतिविधिले वन्यजन्तु पर्यटनमा ठूलो योगदान पुगेको हात्तीविज्ञ डा कमल गैरे बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “वन्यजन्तु पर्यटनका लागि हात्ती नभइ हुन्न, संरक्षणका लागि पनि हात्ती चाहिन्छ कुनै बाघ, गैंडा वस्तीमा आउँदा हात्ती नै प्रयोग गर्नुपर्छ, त्यसैले पर्यटनसँग हात्तीलाई नजिक्याउनु, सम्बन्ध विस्तार गर्नुले वन्यजन्तु पर्यटनमा महत्वपूर्ण टेवा पुग्छ र पुगेको पनि छ, यो हात्ती महोत्सव त्यसैको पर्याय हो ।”
चितवन हात्ती महोत्सव
चितवन, ११ पुस :
चितवनको सौरहामा क्षेत्रीय होटल सङ्घ नेपाल, चितवनद्वारा शुक्रबार आयोजित १९औँ चितवन हात्ती महोत्सवमा र्याली गर्दै हात्तीहरू । तस्बिर : गोपाल दाहाल / रासस
यसरी सुरु भएको थियो हात्ती महोत्सव
क्रिसमसका समयमा सौराहामा पर्यटक शुन्य भए । विदेशी पर्यटक नआउँदा र आएका पर्यटक फर्किँदा सौराहा सुनसान हुन्थ्यो । सन् २००४ मा हात्ती दौडको सूरुवात गर्ने मध्यका एक क्षेत्रीय होटल संघ चितवनका तत्कालीन उपाध्यक्ष हरिभक्त घिमिरेका अनुसार कोरियामा बस्ने नवराज पन्तले हात्ती क्याराभानको प्रस्ताव गर्नुभएको थियो । पर्यटकका समूह घुमाउन ल्याउने हुँदा सौराहामा धेरै हात्ती देखेपछि उहाँले सो प्रस्ताव गर्नुभएको थियो ।
त्यसबेला क्षेत्रीय होटल संघका अध्यक्ष हुनुहुन्थ्यो घनश्याम श्रेष्ठ, उपाध्यक्ष हरिभक्त घिमिरे उहाँहरुसँगै अग्रज पर्यटन व्यवसायी गिरिधारी चौधरी, शङ्कर सैंजु, रामकुमार अर्यालबीच छलफल भयो र क्षेत्रीय होटल संघले कार्यक्रम गर्ने निष्कर्ष निकाल्यो । अनि हात्तीको क्याराभान ९लस्कर० र हात्ती दौड प्रतियोगिता आयोजना गरिएको घिमिरेले सुनाउनुभयो ।
सन् २००४ बाट प्रतियोगिता सुरु भयो । देश र विदेशका नाम चलेका पर्यटनसँगसम्बद्ध संस्था सहभागी भए । विश्वका पत्रकारको ध्यान तान्यो र कार्यक्रम विश्वव्यापी बन्यो । त्यसपछि व्यावसायी उत्साहित भए । कार्यक्रम देखाउँदा आन्तरिक र बाह्य पर्यटकको चाप राम्रो भएकाले अझै व्यवस्थित गर्दै जाने निधोमा व्यवसायीहरु पुगे ।
त्यसबेला मुख्य आकर्षण हात्ती दौड भए पनि टाँगा, गाडा, डुंगा दौडका कार्यक्रम हुन्थे । विभिन्न मुलुकका व्यवसायिक घरानाले स्पोन्सर गरेका हुन्थे । झण्डै एक दशक हात्ती दौड प्रतियोगिता राम्रै भयो । चितवनको ब्राण्ड बन्यो । विश्वकै एक मात्र कार्यक्रम बन्यो । जसले देश र विदेशका पर्यटकलाई तान्न पनि सफल भयो । अफ सिजनमा पर्यटक आगमन केही बढाएपछि दौडलाई अझै विकसित गरेर अन्य गतिविधि समावेश गर्न थालियो । सौराहाका व्यवसायीहरुलाई यो थप प्रेरणा भने पश्चिम चितवनको मेघौलीमा टाइगर टप्स होटलले आयोजना गर्ने अन्तरराष्ट्रिय हात्ती पोलोले पनि दिएको थियो । हात्तीमाथि चढेर पोलो स्टिकले भुँइमा रहेको पोलो बललाई पोष्टमा छिराएर खेलिने पोलो खेलमा देशी र विदेशी पर्यटकको बाक्लो चाप हुन्थ्यो ।
त्यस्तै चाप सौराहामा पनि भित्र्याउन गरिएको प्रयासमा व्यवसायी सफल भए । पछि टाइगरटप्स होटल निकुञ्जबाट हट्यो र विस्तारै विभिन्न जिल्लामा सारिएको पोलो बन्द भयो र सौराहामा आयोजना हुने हात्ती महोत्सव कार्यक्रममा पोलो पनि समावेश गरिएको थियो । हात्ती दौडलाई बृहत बनाउँदै जाने क्रममा हात्ती महोत्सवकै रुपमा आयोजना गर्न थालियो । त्यसमा हात्तीको वनभोज र हात्ती सुन्दरी प्रतियोगिता थपेसँगै थप आकर्षण भयो । क्रमैसँग अन्य यस्ता कार्यक्रम हुँदै आइरहेका छन् । गणेश भगवानका रुपमा यसपाली आज हात्तीको पूजा पनि गरिएको छ ।
हुन त वन्यजन्तु पर्यटनको उत्कृष्ट गन्तव्य हो चितवन । चितवन राष्ट्रिय निकुञ्ज र वन्यजन्तु छ र चितवनको पर्यटक पनि छ । त्यसैले वन्यजन्तुका क्रियाकलाप, उनीहरुका आनीवानी, रहनसहन तथा मौलिक संस्कृति हेर्न पर्यटकहरु यहाँ लालायित हुन्छन् । पर्यटकहरु चितवन र सौराहा घुम्न आउनुको मुख्य चाह नै बाघ, गैंडा, हात्तीलगायत वन्यजन्तु अवलोकन हो । नेपालमा दुर्लभ एक सिंगे गैंडाको मुख्य वासस्थान पनि चितवन हो ।
महोत्सव हात्तीमैत्री
अहिले हात्ती तथा पर्यटक महोत्सव थप वन्यजन्तुमैत्री बनाउँदै आयोजना हुँदै आएको छ । हात्तीलाई दुःख दिएको भन्दै सन् २०१३ बाटै पशु अधिकारकर्मीहरुले हात्ती दौडको विरोध हुन थालेका थिए । त्यसपछि हात्तीहरुलाई यातना भयो, कुटियो दौडाइयो भनेपछि त्यसको केही वर्षपछि दौड स्थगित गरी हात्ती महोत्सव नाम दिएर हात्तीको वनभोज सुरु गरिएको थियो ।
हात्तीका छावाबीचको फुटबल सुरु गरियो । छावा बीचको फुटबल खुबै रोमाञ्चक भयो । जनावरले पनि मान्छेले जस्तै फुटबल खेल्न थाले । अजंगको हात्तीले मान्छेले झैँ गोलपोष्ट ताकेर फुटबल सुट गर्दा पर्यटकहरु लालायित भए । दर्शकले भरपुर मनोरञ्जन लिए । त्यसपछि ब्राण्ड नै छावाको फुटबल भयो । अनि हात्ती सुन्दरी प्रतियोगिता र हात्ती बनभोज सुरु भयो र अहिले पनि जारी छ ।
विभिन्न रङ र चकले छालामा कोर्दा असर गर्ने भन्दै पशु अधिकारकर्मीहरुले त्यसको पनि विरोध गरे । फूटबलको पनि विरोध भयो । फेरि उनीहरुसँग छलफल गरेर कार्यक्रमलाई थप हात्तीमैत्री बनाउने सहमति भयो । गत वर्ष सहमतिसँगै अनुगमनसमेत गरेर हात्ती महोत्सव आयोजना गरिएको थियो ।
थप हात्तीमैत्री कसरी गर्न सकिन्छ भनेर गत वर्ष सहमति नै गरेर हात्ती महोत्सव आयोजना गरिएको गत वर्षका संयोजक रामकुमार अर्याल स्मरण गर्नुहुन्छ । अनुगमन समिति नै बनाएर काम गरिएको उहाँले बताउनुभयो । विस्तारै यसपाली हात्तीका छावाको पेनाल्टी सुटआउट, सुन्दरी प्रतियोगिता, हात्ती वनभोज, हात्तीको पूजा गर्ने कार्यक्रमरु आयोजना भएका छन् । हात्ती पोलोको सांकेतिक रुप पनि प्रस्तुगरिएको थियो ।
अहिले हात्ती वनभोज पेनाल्टी सुटआउटको विरोध भइरहनुले गलत नियत जोडिएको दावी गर्नुहुन्छ क्षेत्रीय होटल संघ चितवनका महासचिव महेश खनाल । उहाँ भन्नुहुन्छ, “अधिकारकर्मीहरुले वास्तविकता के हो, हात्तीको दिनचर्या के हो ? हात्तीको खाना के हो ? भनेर बुझ्नुपर्छ, उसलाई चलायमान पनि गराउनुपर्छ, एकै ठाउँमा बाँधेर मात्रै राख्न पनि हुन्न, आफ्नो परिवारको सदस्य बच्चादेखि पालेर राखेको हात्तीलाई हान्ने, घोच्ने भन्ने त कुरै आउँदैन ।”
कार्यक्रमकै कारण अहिले सौराहामा पर्यटकहरुको राम्रै उपस्थिति भएको हात्ती महोत्सव संयोजक गुणराज थपलिया बताउनुहुन्छ । “कुनै पनि क्रियाकलाप हात्तीमैत्री भन्दा बाहिर छैन, हामी व्यवसायीले करोडौँ लगानी गरेर आफ्नै सदस्य सरह पालिएको हात्तीलाई यातना दिने भन्ने कुरा कल्पना गर्नै सकिँदैन”, उहाँले भन्नुभयो, “आएका पर्यटकहरु हात्तीसँगै नजिक हुन, हात्तीका क्रियाकलाप हेर्न, तस्वीर लिन, हात्तीसँग रमाउन चाहन्छन्, पर्यटककै चाहनामा महोत्सव भइरहेको छ, तर विरोध हुनु विडम्बना र अर्थहीन छ ।”
हात्ती महोत्सवको विरोध गर्र्दै आउनुभएका पशु अधिकारकर्मी सुराजन श्रेष्ठ बाहिर देखिँदा रमाइलो देखिए पनि महोत्सवभन्दा पछाडि भने यातना दिने गरेको पाइएपछि हात्तीको अधिकारको लागि आवाज उठाएको बताउनुहुन्छ । सामाजिक सञ्जालमा उहाँले राख्न्नुभएको एक भिडियो सामाग्रीमा भन्नुभएको छ, “हात्ती भएर सौराहाको पर्यटकलाई सहयोग पुगेको छ, हात्तीको महत्व पनि ठूलो छ, हात्ती छ र सौराहामा पर्यटक छ भन्नेमा सहमत छु तर हात्तीलाई क्रुर व्यवहारले पर्यटन दिगो हुँदैन, त्यसैको विरोध हो हाम्रो ।”
उहाँहरुकै विरोधले हात्ती महोत्सवमा हात्तीको उपयोगका कार्यक्रमलाई परिमार्जन गर्दै थप हात्तीमैत्री बनाउँदै आइएको क्षेत्रीय होटल संघका पूर्व अध्यक्ष दीपक भट्टराई बताउनुहुन्छ । ३० वर्षसम्म हात्तीको रेखदेख र उपचार गर्नुभएका हात्ती चिकित्सक तथा हात्तीविज्ञ डा कमल गैरे मान्छेलाई त व्यायाम चाहिन्छ, विहान मर्निङ वाक गर्नुपर्छ, हात्तीका लागि सामान्य खेल खेलाउनु उनीहरुको स्वास्थ्यका लागि राम्रै भएको प्रतिक्रिया दिनुहुन्छ । उहाँले भन्नुभयो, “यातना दिनुहुन्न सही कुरा हो, तर सौराहामा त्यसरी यातना दिएर हात्तीका गतिविधि देखाइएको मैले फेला पारेको छैन, अहिलेको अवस्थामा विरोध गर्नु भनेको वन्यजन्तु पर्यटक देख्न नसक्नेहरुको काम हो ।”
काठमाडौँ, १४ पुसः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगपालिकाका प्रमुख बालेन्द्र शाहबीचको सहमतिलाई रास्वपाको केन्द्रीय समितिबाट अनुमोदन भएको छ ।
रास्वपा सभापति रवि लामिछानेको सभापतित्वममा आइतबार राति बसेको रास्वपा केन्द्रीय समितिको विशेष बैठकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगपालिकाका प्रमुख शाहबीचको वृहत् एकतासम्बन्धी सहमतिलाई अनुमोदन गर्ने निर्णय गरेको रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।
बैठकले राष्ट्र हितका लागि बृहद् आँट, त्याग र आशा प्रतिबिम्बित गर्ने उक्त सहमतिको पालनाबाट मुलुकको व्याप्त भ्रष्टाचार, बेतिथि र सुशासन, समुन्नति, लोकतन्त्र र सामाजिक न्यायसहितको अवस्था स्थापना गर्ने निर्णय गरेको छ ।
काठमाडौँ, १३ पुस । जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबीच पार्टी एकता गर्ने सहमति भएको छ । आज जसपा, नेपालका अध्यक्ष उपेन्द्र यादव र लोसपा, नेपालका अध्यक्ष महन्थ ठाकुरसहित दुवै पार्टीका पदाधिकारीको संयुक्त बैठकले एकताको सहमति गरेको हो ।
देशको वर्तमान राजनीतिक परिस्थितिको मूल्याङ्कन तथा विश्लेषण गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई संस्थागत गर्न पार्टी एकीकरण गर्ने निर्णय गरिएको अध्यक्षद्वयद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, “सङ्घीयता, पहिचान, समानुपातिक समावेशिता, सामाजिक न्यायलगायतको अग्रगामी परिवर्तनका मुद्दालाई मजबुत गर्दै न्यायपूर्ण समाज निर्माण गर्ने आवश्यकतालाई आत्मसात् गरी जसपा, नेपाल र लोसपा नेपालबीच पार्टी एकीकरण गर्ने निर्णय गरियो ।”
काठमाडौँ, १३ पुस । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न फागुन २१ गते हुने निर्वाचनका लागि सामानुपातिकतर्फका उम्मेदवारको बन्द सूची निर्वाचन आयोगमा बुझाउने निर्णय गरेको छ । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज बसेको बैठकले सोमबार आयोगमा समानुपातिकतर्फको बन्दसूचि बुझाउने निर्णय गरेको एमालका उपमहासचिव लेखराज भट्टले बैठकपछि पत्रकार सम्मेलनमा जानकारी दिए ।
उनका अनुसार पार्टीले जिल्ला र प्रदेशबाट प्राप्त समानुपातिकतर्फ उम्मेदवार बन्द सूचीलाई नै अन्तिम रुप दिएर आयोगमा बुझाउने छ । उपमहासचिव भट्टले बैठकमा अध्यक्ष केपी शर्मा ओलीद्वारा पेस गरिएको समानुपातिकतर्फको बन्द सूचीका विषयमा छलफल भएको बताए । निर्वाचन आयोगले सोमबारसम्म निर्वाचनमा भाग लिने दललाई समानुपातिकतर्फको बन्द सूची बुझाउने समय तोकेको छ ।
“अध्यक्ष ओलीले आज पेस गरेको बन्द सूचीबारे छलफल गरी पारित गरिएको छ । अध्यक्ष ओलीले आवश्यक ठानेमा बन्द सूचीलाई सच्चाएर आयोगमा पठाउने निर्णय गरिएको छ”, उनले भने । बैठकमा अध्यक्ष ओलीले निर्वाचन भयरहित बनाउने र पार्टीका नेता तथा कार्यकर्ता टोलसम्म जाने वातावरण अझै नभएको भन्दै सुरक्षा प्रत्याभूति सरकारले अझै बनाउन नसकेको बताए । उपमहासचिव भट्टका अनुसार अध्यक्ष ओलीले पार्टीको जनवर्गीय सङ्गठन नेशनल भोलिन्टियर्स फोर्स प्रत्येक बुथमा राख्नुपर्नेमा जोड दिए । पार्टीको ११आँै राष्ट्रिय महाधिवेशनपछि पहिलो पटक सचिवालय बैठक बसेको हो ।
काठमाडौँ, १३ पुस : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक ४७ दशमलव ५५ अङ्कले बढेर दुई हजार ६३३ दशमलव ४२ को बिन्दुमा कायम भएको हो । आज विभिन्न ३२८ कम्पनीका एक करोड ३४ लाख ६७ हजार १४५ कित्ता शेयर ८९ हजार २५१ पटक खरिदबिक्री हुँदा रू पाँच अर्ब ५३ करोड १३ लाख ७० हजार बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । आजको कारोबारमा सबै समूहको उपसूचक बढेको छ । विकास बैंक, लघुवित्त र अन्य समूहको उपसूचकमा दुई प्रतिशतभन्दा माथिको वृद्धि देखिएको छ ।
मिड सोलु हाइड्रोपावर लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै ९ दशमलव ४९ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै युनियन हाइड्रोपावर लिमिटेडको रू २७ करोड ६० लाख ३५ हजार १९३ बराबरको पाँच लाख ५४ हजार ९२१ कित्ता शेयर किनबेच भएको छ । आज बिहान राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच एकता गर्ने सहमति भएको थियो । जसलाई शेयर लगानीकर्ताले सकारात्मक रुपमा लिएको सन्देश आजको कारोबारले गरेको छ ।
काठमाडौँ, १३ पुस : प्रहरीले क्यासिनो वाल्डो डाइनेस्टी इन्टरटेनमेन्टका अध्यक्ष चिनियाँ नागरिक च्यान मिन चिङलाई पक्राउ गरेको छ । चिङलाई ठगीसम्बन्धी आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन भट्टराईले जानकारी दिए ।
उनले भने, “क्यासिनामा डमी खेलाडी तयार गरेर आँखामा लेन्स र तासमा चिप्स जडान गरी ठगी गरेको आरोपमा प्रहरीले यसअघि क्यासिनोबाट चार भारतीय र दुई नेपालीलाई पक्राउ गरेको थियो, सोही विषयको अनुसन्धानका लागि चिङलाई पक्राउ गरिएको हो ।” अलफ्ट होटल परिसरमा सञ्चालित सो क्यासिनामा ‘क्यासिनो इभेन्ट’का नाममा जुवा खेलाएर भारतीय समूहले ठगी धन्दा सञ्चालन गरेको प्रहरीले जनाएको छ ।