Category: फिचर

  • चिराइतोको मूल्यमा गिरावट आउँदा भोजपुरका किसान चिन्तित

    चिराइतोको मूल्यमा गिरावट आउँदा भोजपुरका किसान चिन्तित

    रासस
    भोजपुर, १८ पुस । लेकाली भेगमा पाइने बहुउपयोगी जडीबुटी चिराइतोको मूल्य यस वर्ष उल्लेखनीय रूपमा घटेपछि यहाँका किसान चिन्तामा परेका छन् । विगत केही वर्षयता किसानको आम्दानीको प्रमुख आधार बनेको चिराइतोले यसपटक अपेक्षाअनुसार मूल्य नपाउँदा खेतीमा संलग्न किसान निराश भएका हुन् ।

    गत वर्ष प्रतिमन (४० किलोग्राम) चिराइतो रु ४१ हजारसम्म बिक्री भएको भए पनि यस वर्ष प्रतिमन रु २८ देखि ३० हजारसम्ममात्र मूल्य पाइरहेको टेम्केमैयुङ गाउँपालिका–१ तिम्माका किसान गुणराज राउतले जानकारी दिए । उनका अनुसार उत्पादनमा खासै कमी नआए पनि बजारमा माग घट्नु र मूल्य अस्थिर हुँदा किसानलाई ठूलो असर परेको छ । “गत वर्षको तुलनामा यस वर्ष चिराइतोको मूल्य निकै घटेको छ”, राउतले भने, “मूल्य घटेपछि हामी किसानमा समस्या थपिएको छ ।”

    मूल्य बढ्ने आशामा आफूले उत्पादन भएको चिराइतोमध्ये १५ मन बिक्री नगरी गोदाममा सुरक्षित राखेको उनले बताए । हाल २० रोपनी क्षेत्रमा चिराइतोखेती गर्दै आउनुभएका राउतले आगामी वर्ष करिब ४० मन उत्पादन गर्ने लक्ष्य राखेका छन् । उनका अनुसार मूल्यमा उतारचढाव भए पनि चिराइतोखेतीबाट वार्षिक औसत रु तीनदेखि चार लाखसम्म आम्दानी हुँदै आएको छ । तर यस वर्ष मूल्य घटिरहेमा आम्दानीमा ठूलो गिरावट आउने जोखिम रहेको उनको भनाइ छ ।

    टेम्केमैयुङ–१ अन्तर्गत तिम्माको सुम्लिखा, खम्बुखा, सावालगायत लेकाली क्षेत्रहरू चिराइतोखेतीका लागि उपयुक्त मानिन्छन् । यी क्षेत्रबाट वार्षिक करिब एक हजार मनको हाराहारीमा चिराइतो उत्पादन हुने गरेको स्थानीय किसानले बताएका छन् । यहाँका अधिकांश किसानका लागि चिराइतो नगदे बालीका रूपमा स्थापित भइसकेको छ ।

    स्थानीय जानकारहरूका अनुसार चिराइतो विभिन्न रोगको घरेलु उपचारका लागि उपयोगी मानिन्छ । ज्वरो, दम, रुघाखोकी, मधुमेह, पिसाब पोल्ने, पेटसम्बन्धी समस्यालगायत रोगमा यसको पात, डाँठ र जरा प्रयोग गरिन्छ । औषधीय गुण उच्च भएकाले यसको माग देश तथा विदेशमा रहने गरेको छ । यहाँ उत्पादन भएको चिराइतो भारत, चीन र बङ्गलादेशलगायत मुलुकमा निर्यात हुने गरेको व्यवसायी बताउँछन् । यद्यपि अन्तरराष्ट्रिय बजारको मूल्य घटबढ, ढुवानी खर्च र उचित बजार व्यवस्थापन अभावका कारण किसानले उचित मूल्य पाउन नसकेको गुनासो बढ्दै गएको छ ।

    किसानहरूले सरकारले चिराइतोको न्यूनतम समर्थन मूल्य तोक्नुका साथै प्रशोधन, भण्डारण र बजार व्यवस्थापनमा सहयोग गरेमा यसको व्यावसायिक खेती थप विस्तार गर्न सकिने बताएका छन् । स्थानीय तह र सम्बन्धित निकायको ध्यान नगदे बालीको संरक्षण र प्रवर्द्धनतर्फ जानुपर्ने उनीहरूको माग छ ।

  • स्याङ्जामा यस वर्ष एक अर्ब ३२ करोडको सुन्तला उत्पादन

    स्याङ्जामा यस वर्ष एक अर्ब ३२ करोडको सुन्तला उत्पादन

    वालिङ (स्याङ्जा), १८ पुस । स्याङ्जाबाट यस वर्ष रु एक अर्ब ३२ करोडभन्दा बढी मूल्यको सुन्तला उत्पादन भएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यान्वयन एकाइ स्याङ्जाका सूचना अधिकारी प्रतिभा बुढाथोकी क्षेत्रीका अनुसार स्याङ्जामा यस वर्ष कुल २३ हजार २३८ मेट्रिक टन सुन्तला उत्पादन भएको छ । यहाँ उत्पादन भएको सुन्लता थोकमा प्रतिकेजी रु ५७ का दरले बिक्री भएको छ ।

    गत वर्षको तुलनामा यस वर्ष रु २० करोड बढी मूल्यको सुन्तला उत्पादन भएको हो । गत वर्ष २० हजार ८४ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । यस वर्ष गत वर्षको तुलनामा उत्पादकत्वसमेत बढेको छ । यस वर्ष १६.३७ टन प्रतिहेक्टर उत्पादन भएको छभने गत वर्ष १४.६६ टन प्रतिहेक्टर उत्पादन भएको थियो ।

    स्याङ्जा जिल्लामा उत्पादन भएको कुल परिमाणको सुन्तलामध्ये ९० प्रतिशत बिक्री हुने गरेको छभने बाँकी रहेको १० प्रतिशत सुन्तला कोसेली, उपहार तथा घरघरमै खपत हुने गरेको उनले बताइन् । यस वर्ष उत्पादन भएकामध्ये २० हजार ८८२ मेट्रिक टन बिक्री योग्य परिमाणको सुन्तला हो । स्याङ्जामा गत वर्षको तुलनामा यस वर्ष सुन्तला बगैँचाले ढाकेको क्षेत्रफलमा वृद्धि भएको छ । गत वर्ष दुई हजार २५० हेक्टर क्षेत्रफलमा रहेको सुन्तला बगैँचा यस वर्ष एक सय ५० हेक्टर क्षेत्रफल वृद्धि भई दुई हजार ४०० हेक्टर पुगेको उनले जानकारी दिइन् ।

    गत वर्ष एक हजार ३७० हेक्टर उत्पादनशील क्षेत्रफल रहेको थियो । यस वर्ष उत्पादनशील क्षेत्रफल एक हजार ४२० हेक्टर रहेको छ । हुर्कँदो बगैँचाको क्षेत्रफलसमेत गत वर्षको तुलनामा यस वर्ष एक सय हेक्टर वृद्धि भएको छ । गत वर्ष ८८० हेक्टर रहेकामा यस वर्ष ९८० हेक्टरमा हुर्कँदो सुन्तलाको बगैँचा रहेको छ । विसं २०७३÷७४ मा स्याङ्जालाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जोन कार्यान्वयन एकाइ घोषणा गरिएको थियो । आव २०७५÷७६ को सुरुआतसँगै स्याङ्जालाई सुपरजोन घोषणा गरिएको थियो । सुन्तलाका क्षेत्रमा सुपरजोन घोषणा भई कार्यान्वयनमा आएसँगै जिल्लामा सुन्तला उत्पादनतर्फ किसान थप आकर्षित भएर लागेका छन् ।

    स्याङ्जामा सुन्तला व्यवसायलाई मुख्य आम्दानीको स्रोतका रूपमा विकास गर्ने पद्धतिको विकास हुँदै गएको छ । जिल्लाका विभिन्न भागमा निर्वाहमुखी र घरायसी प्रयोजनका लागि गरिँदै आएको सुन्तलाखेतीलाई विस्तार गरी व्यवसायीकरण गर्न थालिएको छ । सुन्तलाखेतीलाई प्रमुख आम्दानीको स्रोतका रूपमा विकास गर्नेतर्फ सुन्तला किसानको लहर बढ्दै गएको छ । पाखो, भिरालो जमिन तथा बारीमा अन्य रुख बुट्यानलाई फडानी गरी सुन्तला बगैँचा निर्माण गर्ने र अन्य खाद्यान्न उत्पादन हुने जमिनलाई सदुपयोग गरी सुन्तलाका बोट लगाउनेतर्फ अहिले किसान आकर्षित हुँदै गएका छन् ।

    जिल्लाको पुतलीबजार, वालिङ, भिरकोट, गल्याङ नगरपालिकासहित आँधीखोला, फेदीखोला, विरुवा, अर्जुनचौपारी गाउँपालिका सुन्तला उत्पादनको मुख्य पकेट क्षेत्र हुन् । यहाँका सुन्तला काठमाडौँ, बुटवल, पोखरा, नारायणगढलगायत ठूला सहरमा पुग्ने गरेका छन् । स्याङ्जामा उत्पादन भएको सुन्तला खरिद गर्न सिधै व्यापारी बगैँचामा पुग्ने गरेका छन् ।

  • अमेरिका आयात हुने फर्निचरमा बढाउने भनेको करवृद्धि एक बर्षका लागि स्थगित

    अमेरिका आयात हुने फर्निचरमा बढाउने भनेको करवृद्धि एक बर्षका लागि स्थगित

    वासिङ्टन, १८ पुस (रासस–एएफपी) । विभिन्न मुलुकबाट अमेरिकामा आयात हुने फर्निचर सामानमा अमेरिकी करवृद्धि गर्ने योजना एक वर्षका लागि स्थगित गरिएको छ। अमेरिकी राष्ट्रपतिको कार्यालयले फर्निचरमा करवृद्धि गर्ने योजना आगामी एक बर्षका लागि पर सारिएको जानकारी गराएको छ। यो वृद्धि ट्रम्पले ह्वाइट हाउसमा फर्केपछि लागू गरेको क्षेत्र–विशिष्ट करको पहिलेको घोषणा अन्तर्गत योजना गरिएको थियो ।

    अमेरिकी परिवारहरूले जीवनयापनको उच्च लागतको महसुस गरेपछि ट्रम्पले बुधबार अबेर योजनाबद्ध करहरूलाई एक बर्ष पछि सार्नेगरी स्थगित गर्ने बताउनुभएको हो । प्रशासनले सन् २०२६ जनवरी १ देखि केही असवाव फर्निचरमा ३० प्रतिशत र ‘किचन क्याबिनेट’ र ‘भ्यानिटी’ हरूमा ५० प्रतिशत करवृद्धि गर्ने योजनालाई सन् २०२७ जनवरी सम्मका लागि स्थगित गरेको छ।

    “काठजन्य वस्तुको आयातका लागि जारी फलदायी वार्तालाई मध्यनजर गर्दै राष्ट्रपतिले अन्य मुलुकसँग थप वार्ताका लागि भन्सार वृद्धिमा ढिलाइ गर्ने घोषणा गर्नुभएको छ,” ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा भनिएको छ । सन् २०२५ मा राष्ट्रपति ट्रम्पको कर नीतिले स्टिलदेखि कारसम्मका सामानहरूको आयातमा असर गरेको थियो । प्रशासनले थप अनुसन्धान जारी राखेको र नयाँ करहरूको घोषणा गर्न सक्ने सम्भावना रहेको बताएको छ।

    अक्टोबरमा आयातित ‘सफ्टवुड’ र काठमा १० प्रतिशत शुल्क लागू भएको थियो साथै केही असबाबवाला फर्निचर र किचेन क्याबिनेटहरूमा २५ प्रतिशत शुल्क लगाइएको थियो। ट्रम्प प्रशासनले अमेरिकी उद्योगलाई बढावा दिने र राष्ट्रिय सुरक्षाको रक्षा गर्ने माध्यमका रूपमा यो करलाई उचित ठह¥याएको थियो ।

    बिहीबारदेखि लागू हुने उच्च दरले भियतनाम र चीनजस्ता देशहरूबाट हुने आयातलाई असर गर्नेछ । चीन र भियतनाम संयुक्त राज्य अमेरिकामा आयातित फर्निचरको प्रमुख आपूर्तिकर्ता हुन् । अमेरिकी सर्वोच्च अदालतले अन्तर्राष्ट्रिय आपतकालीन आर्थिक शक्ति ऐन अन्तर्गत लागू गरिएको देशव्यापी करवृद्धिको वैधानिकतामाथि फैसला सुनाएको छ।

  • तराईमा हुस्सु, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपात

    तराईमा हुस्सु, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपात

    काठमाडौँ, १८ पुस । देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले तराई भू–भागका अधिकांश स्थानहरूमा आज दिउँसो हुस्सु तथा कुहिरो लाग्ने छ भने केही प्रदेशमा आंशिक बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले तराईका अधिकांश स्थानहरू हुस्सुले ढाकिएका छन् । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी तथा हिमाली भू–भागमा साधारण बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।

    कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ । तराईका केही स्थानमा हुस्सु रहनेछ ।

    मौसम पूर्वानुमान महाशाखाले तराई क्षेत्रमा हुस्सुको प्रभावका कारण दैनिक जनजीवन, स्वास्थ्य तथा सडक यातायातमा आंशिक असर पर्न सक्ने चेतावनी दिएको छ । महाशाखाले आवश्यक सतर्कता अपनाउन तथा दैनिक रूपमा जारी हुने अद्यावधिक मौसमी सूचनाको जानकारी लिन सर्वसाधारणलाई अनुरोध गरेको छ ।

  • नेत्री जियाप्रति समवेदना प्रकट गर्न शोक पुस्तिका राखियो

    नेत्री जियाप्रति समवेदना प्रकट गर्न शोक पुस्तिका राखियो

    काठमाडौँ, १८ पुसः यहाँस्थित बङ्गलादेशी राजदूतावासले पूर्वप्रधानमन्त्री खालिदा जियाप्रति समवेदना प्रकट गर्न बिहीबारदेखि दूतावासमा शोक पुस्तिका राखेको छ । गत मङ्गलबार बङ्गलादेशकी पूर्वप्रधानमन्त्री जियाको निधन भएको हो । उक्त दूतावासले बिहीबार नै परराष्ट्र मन्त्रालय, यहाँस्थित कूटनीतिक नियोग तथा अन्य अन्तरराष्ट्रिय संस्थाहरुलाई पत्र पठाएर शोक पुस्तिका राखिएको जनाएको छ ।

    भोलि शनिबारबाहेक यही पुस २१ गते सोमबारसम्म प्रत्येक दिन बिहान १०ः०० बजेदेखि अपराह्न ५ः०० बजेसम्म शोक पुस्तिकामा हस्ताक्षर गर्ने व्यवस्था मिलाइएको उक्त दूतावासले बताएको छ । पत्रमा दूतावासले नेपालमा कार्यरत कूटनीतिज्ञ, सरकारी अधिकारी र अन्तरराष्ट्रिय समुदायका सदस्यलाई शोक व्यक्त गर्न र पुस्तिकामा हस्ताक्षर गर्न आमन्त्रित गरेको छ ।

  • पोखरामा आजदेखि चार दिनसम्म दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द

    पोखरामा आजदेखि चार दिनसम्म दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द

    कृष्ण दवाडी–रासस
    कास्की, १८ पुसः पोखरामा आजदेखि २१ गतेसम्म दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने भएको छ । विद्युत् प्राधिकरणको पोखरा ग्रीड महाशाखाअन्तर्गत रहेको कुँडहर सबस्टेशनमा चार दिनसम्म बिहान ६ः०० देखि ११ः०० बजेसम्म ‘बसबार’ स्तरोन्नति कार्य सुरु हुने भएकाले पोखराको अधिकांश क्षेत्रमा बिजुली काटिने पोखरा वितरण केन्द्रका प्रमुख जितेन्द्र यादवले जानकारी दिए ।

    “कुँडहर सबस्टेशनको एक सय ३२ केभीको बसबार मर्मतका लागि प्राधिकरणले ठेक्का आह्वान गरेको थियो । सोहीअनुसार आजदेखि मर्मत कार्य हुँदैछ । यसबाट कुँडहर ग्रीडबाट आपूर्ति हुने सबै फिडरहरू सटडाउन हुनेछन् । हामीले सोहीअनुसार सूचना गरेका छौँ”, कार्यालय प्रमुख यादवले भने ।


    पोखरा प्रवेशको विजयपुरबाट यता हरिचोकसम्मको सम्पूर्ण क्षेत्रमा विद्युत् नआउने पोखरा वितरण केन्द्रले जनाएको छ । तोकिएको समभन्दा अगावै मर्मतकार्य सकिएकामा भने केही छिटो बिजुली आउनेसमेत बताइन्छ । सबस्टेशनको बसबार मर्मत सकिएपछि भने नियमित विद्युत् आपूर्ति हुने पोखरा वितरण केन्द्रले जनाएको छ ।

    पोखरालाई ताररहित बनाउन आग्रह

    पोखरा महानगरपालिकाले पोखराको बजार क्षेत्रलाई ताररहित बनाउने योजनामा सहकार्यका लागि इन्टरनेट सेवा प्रदायकहरूसँग आग्रह गरेको छ । विद्युत् प्राधिकरणले अघि बढाएको पोखराको २३ किमी क्षेत्रमा विद्युत् तार भूमिगत गर्ने योजनाअनुसार अधिकांश स्थानमा एकीकृत रूपमा बिजुली, टेलिफोन र इन्टरनेटसमेतलाई भूमिगत गर्ने सम्भावनाका बारेमा महानगरले छलफल अघि बढाएको हो ।

    महानगरले इन्टरेनट सेवा प्रदायकहरूसँग छलफल गरी बिजुलीलगायतका पोलहरूमा अव्यवस्थित रूपमा रहेका अनावश्यक तार तत्काल हटाउन पनि आग्रह गरेको छ । नगरप्रमुख धनराज आचार्यले सेवा प्रदायकहरूलाई यथाशक्य छिटो विद्युत् प्राधिकरणसँग समन्वय गरी सेवामा सहकार्य गर्न आग्रह गरे ।
    “पोखरा बजारक्षेत्रलाई ताररहित बनाउने योजनामा सहयोगका लागि इन्टरनेट सेवा प्रदायकहरूसँग आग्रह गरेका छौँ । यस कार्यका लागि आवश्यक सहयोग गर्न महानगरपालिका तयार छ”, उनले भने । प्रमुख आचार्यले एक महिनाभित्रमा तार हटाउन निर्देशन दिइएको र सम्बन्धित कम्पनीले नहटाए महानगरपालिका आफैँले हटाउनेसमेत बताए ।


    “विद्युत् प्राधिकरणले गरिरहेको तार हटाउने योजनामा इन्टरनेट सेवा प्रदायकहरूलाई समेत सहभागी गराउँछौँ । उहाँहरूलाई एक महिनाको समय दिएका छौँ । एक प्राविधिक समिति बनाएर यसको व्यवस्थापन गर्न निर्देशन दिइएको छ”, प्रमुख आचार्यले भने । पोखरामा हाल विद्युत् प्राधिकरणले विद्युत् प्रणाली सुदृढीकरण परियोजनाअन्तर्गत तारहरू भूमिगत गर्ने कार्य गरिरहेको छ । पोखरा अन्तरराष्ट्रिय विमानस्थलदेखि पृथ्वीचोक हुँदै सृजनाचोक–रत्नचोक–राष्ट्र बैंकचोक–शहिदचोक–लेकसाइड–हल्लनचोकदेखि बुलौदी हुँदै जिरो किलोमिटरसम्मको क्षेत्रमा अहिले यो कार्य भइरहेको छ ।

    पोखराको सहरी सौन्दर्यकरणमा प्रत्यक्ष प्रतिकूल असर पुर्याइरहेका अव्यवस्थित तारहरूको व्यवस्थापन गर्ने यो उपयुक्त अवसर भएकाले प्राधिकरणको योजनामा सामेल भई ताररहित अभियानमा सहयोगका लागि महानगरले आग्रह गरेको हो । महानगर २३ किमी क्षेत्रमा आगामी जुलाईभित्रमा सम्पन्न गर्नेगरी तारहरू भूमिगत गर्ने कार्य भइरहेको छ ।

    यस परियोजनाको हालसम्म ६० प्रतिशत काम सकिएको प्राधिकरण पोखरा भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजना प्रमुख आनन्द सुवेदीले बताए । पोखराका मुख्य सहरी क्षेत्र र पर्यटकको बढी आवतजावत हुने ठाउँको तारलाई जमिनमुनि बिछ्याउने कार्य भइरहेको हो । जमिनमुनि तार बिछ्याएपछि ग्राहकको घरघरमा बिजुली पुर्याउने काम पनि प्राधिकरण गरिरहेको छ ।

    प्राधिकरणले सडकमा न्यून क्षति हुनेगरी तार बिछ्याउने प्रविधि प्रयोग गर्दै आएको छ । ‘होरिजेन्टल डाइरेक्सनल ड्रिलिङ’ प्रविधिबाट सडक खनेर तार भूमिगत गरिएको र तार भूमिगत गरेपछि ठाउँठाउँमा ट्रान्सफर्मर राखेर ग्राहकका घरघरमा बिजुली पुर्याइने आयोजना प्रमुख सुवेदीले बताए । विद्युत् लाइन जमिनमुनि बिछ्याउँदा अव्यवस्थित तार, पोलबाट पोखराले मुक्ति पाउनुका साथै सहरी सौन्दर्य बढ्ने विश्वास लिइएको छ ।

  • स्थानीय र परम्परागत उत्पादनको बजारीकरण गर्दै कामपा

    स्थानीय र परम्परागत उत्पादनको बजारीकरण गर्दै कामपा

    काठमाडौँ, १८ पुस । काठमाडौँ महानगरपालिकाले स्थानीय र परम्परागत (रैथाने) उत्पादनको प्रवर्द्धन तथा बजारीकरणका लागि सहयोग गर्ने जनाएको छ । कामपाले ताजा तरकारी, अन्न र फलफूल उपलब्ध गराउन कामपाले स्थानीय तथा रैथाने उत्पादनको प्रवर्द्धन र बजारीकरणका लागि काम गरिरहेको सुशासन समितिका संयोजक एवं वडा नं २६ का अध्यक्ष ख्यामराज तिवारीले जानकारी दिए ।

    उपभोक्तालाई स्थानीय उत्पादन चिन्न र चिनाउनका लागि स्थानीय तथा रैथाने उत्पादनले सहयोग गर्ने भएकाले त्यस्ता उत्पादनलाई बजारीकरण गर्ने तयारी कामपाको रहेको वडाध्यक्ष तीवारीको भनाइ छ । “उत्पादन गरिएका वस्तुको बजारीकरण र प्रवर्द्धनका लागि वस्तु पहिचान गर्नु नै मुख्य कुरा हो”, वडाध्यक्ष तिवारीले भने, “हामी महानगरका अन्य वडामा पनि यस्ता स्थानीय सामग्रीको बजारीकरण विस्तार गर्ने योजनामा छौँ ।”

    स्थानीय उत्पादन पहिचान र बजारीकरणका लागि कामपाले ‘एक वडा, एक नमूना कार्यक्रम’ थप प्रभावकारी बनाउँदै लगेको छ । यस कार्यक्रमअन्तर्गत यस वर्ष वडा नं ११, १९, २०, २३, २५, २८, २८ र ३१ गरी आठवटा वडामा अहिले सीप विकास तालिम सम्पन्न भई विभिन्न सामग्री उत्पादन भइरहेको छ । कामपामा रहेको ३२ वटा वडामध्ये गएको वर्ष १५ वटा वडामा ‘एक वडा, एक उद्यम कार्यक्रम’ थालिएका थिए । यस वर्ष आठवटा थपिएपछि २३ वटा वडामा कार्यक्रम सञ्चालन भइरहेको छ र अन्य बाँकी वडामा पनि तत्काल उक्त कार्यक्रम कार्यान्वयनमा ल्याउने तयारी कामपाको छ ।

    “सामान उत्पादन गर्न जानेपछि बजारीकरणको सीप आवश्यक पर्छ । यसका लागि पहिले तपाईँहरू बजारका लागि पर्याप्त सामान उत्पादन गर्नसक्ने हुनुपर्छ । सामान गुणस्तरीय हुनुपर्ने कामपाको भनाइ छ । यस वर्ष थालिएका ११ वटा वडा नं ११, १५, १८, १९, २०, २३, २५, २७, २८, २९ र ३१ हुन् । यी वडामा क्रमशः ऊनका सामग्री तयार गर्ने, हाकुपटासी उत्पादन गर्ने, मरीचरी (मिठाइका परिकार) उत्पादन गर्ने, नेवारी वेशभूषा तयार गर्ने, धागो, सुर्के थैली र रिबनका फूल बनाउने, ढाकाका कपडा सिलाउने, माटोबाट मखुण्डो तयार गर्ने, बेबिसेट र गाउन सिलाउने, यमरी, फ्रोजन मःमसहित खाद्यवस्तु उत्पादन र छालाको जुत्ता तयार गर्ने जनाइएको छ । यसरी प्रत्येक वडामा उत्पादन गरिएको सामग्रीको बजारीकरण गर्न वडास्तरीय कोसेलीघर समेत स्थापना गरिएको छ ।

  • निर्वाचन ६२ दिन बाँकी : सामग्री ढुवानीका लागि आवेदन दिन आयोगको आग्रह

    निर्वाचन ६२ दिन बाँकी : सामग्री ढुवानीका लागि आवेदन दिन आयोगको आग्रह

    काठमाडौँ, १८ पुस । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि अत्यावश्यक सामग्री ढुवानीका लागि सम्बद्ध पक्षलाई आग्रह गरेको छ । निर्वाचनमा प्रयोग हुने निर्वाचन सामग्री ढुवानीका लागि हेलिकप्टर, ट्रक, कन्टेनर प्रयोग गरिनेछ । ढुवानीका लागि कुरियर सेवा सञ्चालन गर्ने फर्म वा कम्पनीलाई सूचीकृत हुन आउन आयोगले आग्रह गरेको छ ।

    आयोगले सूचीकृत हुन इच्छुक फर्म वा कम्पनीलाई आवश्यक शर्त पूरा गरी आवेदन दिन भनिएको छ । सम्बन्धित निकायबाट सेवा सञ्चालन गर्न प्राप्त गरेको इजाजतपत्र, मूल्यअभिवृद्धिकर दर्ता प्रमाणपत्र र आर्थिक वर्ष २०८१–८२ सम्मको करचुक्ता प्रमाणपत्र र विगत तीन आवको कारोबार विवरण खुलेको प्रमाणपत्रको प्रतिलिपि पेस गर्न आयोगले आग्रह गरेको छ ।

    हेलिकप्टर भाडामा लिनका लागि पछिल्लो तीन आवको न्यूनतम औसत वार्षिक कारोबार रकम रु तीन करोडबराबरको हुनुपर्नेछ । ट्रक तथा कन्टेनर भाडामा दिनेले रु एक करोड र कुरियर सेवाका लागि रु ३० लाखबराबरको कारोबारको विवरण पेस गर्नुपर्नेछ ।

    कुरियर सेवा प्रदान गर्न चाहने कम्पनीले आफ्नो कुरियरको कार्यालय र प्रतिनिधि ७७ वटै जिल्लमा रहेको टेलिफोन, मोबाइल नम्बरबसहितको विवरण निवेदनका साथ पेस गर्नुपर्नेछ । एकभन्दा बढी समूहमा सूचीकृत हुनेगरी निवेदन दिएमा त्यस्तो निवेदनउपर कारबाही नगरिने आयोगले जनाएको छ । सेवा प्रदायक फर्म वा कम्पनी सूचीकृत गर्ने, नगर्ने सम्पूर्ण अधिकार भने आयोगमा निहित रहेको छ ।

  • परराष्ट्रमन्त्री शर्मालाई रुसी विदेशमन्त्रीको शुभकामना

    परराष्ट्रमन्त्री शर्मालाई रुसी विदेशमन्त्रीको शुभकामना

    काठमाडौँ, १८ पुस । रुसी महासङ्घका विदेशमन्त्री सर्गेई लावरोभले परराष्ट्रमन्त्रीमा बालानन्द शर्मा नियुक्त हुनुभएकामा हार्दिक बधाई ज्ञापन गरेका छन् । मन्त्री शर्मालाई बुधबार बधाई सन्देश पठाएर रुसी विदेशमन्त्रीले रुस र नेपालबीचको सम्बन्ध परम्परागत रूपमा मैत्रीपूर्ण र रचनात्मक रहँदै आएको उल्लेख गर्दै दुवै देशका जनताको हितमा द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउन संयुक्त रूपमा काम गर्न आफू तयार रहेको बताएका छन् ।

    रुसी विदेशमन्त्री लावरोभले परराष्ट्रमन्त्री शर्माको सुस्वास्थ्यको कामना गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको यहाँस्थित रुसी राजदूतावासले जनाएको छ ।

  • सन् २०२५ मा १२८ पत्रकारको हत्या

    सन् २०२५ मा १२८ पत्रकारको हत्या

    ब्रसेल्स, १८ पुस (रासस–एएफपी) । सन् २०२५ मा विश्वभर कुल १२८ जना पत्रकारको हत्या भएको अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ (आइएफजे)ले बिहीबार जनाएको छ । तीमध्ये आधाभन्दा बढी मध्यपूर्वमा भएको हो । आइएफजेका महासचिव एन्थोनी बेलाङ्गरले भन्नुभयो, “सन् २०२४ भन्दा बढेको यो सङ्ख्या केवल तथ्याङ्क मात्र होइन, यो हाम्रा सहकर्मीहरूका लागि विश्वव्यापी रेड अलर्ट हो ।” प्रेस समूहले विशेष चिन्ता व्यक्त गर्दै प्यालेस्टिनी क्षेत्रहरूमा गाजामा हमास र इजरायलबीचको द्वन्द्वका क्रममा ५६ जना मिडिया पेशेवर मारिएका तथ्य प्रकाशमा ल्यायो ।

    बेलाङ्गरले भने, “हामीले यस्तो कहिल्यै देखेका छैनौँः यति छोटो समयमा, यति सानो क्षेत्रमा यति धेरै मृत्यु ।” यमन, युक्रेन, सुडान, पेरु, भारत र अन्य स्थानमा पनि पत्रकारहरूको हत्या भएको थियो । उनले आक्रमणको पछाडि रहेका व्यक्तिहरूलाई ‘दण्डहीनता’ को चेतावनी दिंदै निन्दा गरे । “न्यायबिना, यसले पत्रकारका हत्याराहरूलाई फस्टाउन दिन्छ”, उनले भने ।


    विश्वभर हाल ५३३ पत्रकार जेलमा रहेको आइएफजेले बताउको छ । यो विगत आधा दशकमा दोब्बरभन्दा बढी भएको तथ्य हो । हङकङमा १४३ जना पत्रकारलाई जेलमा राखिएको छ, जहाँ अधिकारीहरूले असहमतिलाई खारेज गर्दै राष्ट्रिय सुरक्षा कानून लागू गरेका थिए । पश्चिमी राष्ट्रहरूले यसलाई आलोचना गर्दै हङकङलाई सबैभन्दा खराब जेलरको सूचीमा शीर्ष स्थान दिएको छ ।

    आइएफजेको तथ्याङ्क रिपोर्टर्स विदाउट बोर्डर्सको तुलनामा बढी देखिन्छ । यस वर्षको आइएफजे टोलमा नौ दुर्घटनामा मृत्यु भएका पत्रकारहरू पनि समावेश छन् । रिपोर्टर्स विदाउट बोर्डर्सले ६७ जना पत्रकारको हत्या रिपोर्ट गरेको छ भने युनेस्कोले ९३ जना राखेको छ ।

  • तीखो बेलचा चलाउने केन्याका नाई अफ्रिकाको सोसल मिडियाको क्रेजमा

    तीखो बेलचा चलाउने केन्याका नाई अफ्रिकाको सोसल मिडियाको क्रेजमा

    किम्बु (केन्या), १८ पुस (रासस–एपी) । नैरोबीको किम्बु क्षेत्रको ग्रामीण सडक किनारमा रहेको एक सानो झुपडीमा सफारी मार्टिन्स आफ्ना ग्राहक इयान एन्जेङ्गालाई लिएर पुग्छन् । झुपडीको काठको भित्तामा बेलचा, फलाम, कृषि कैँची र रेन्च झुण्ड्याइएको छ । तर यहाँ उपकरण किन्ने कुरा होइन, ग्राहकहरू कपाल काटाउन आएका हुन्छन् ।

    “म केवल अपरम्परागत उपकरणहरू प्रयोग गर्छु”, मार्टिन्स मुस्कुराउँदै भन्छन् । उनले बेलचाको किनाराको धारलाई प्रयोग गर्दै एन्जेङ्गाको कपाललाई सावधानीपूर्वक काट्न सुरु गर्छन् । प्रत्येक चालको प्रत्येक क्षण सहायकले स्मार्टफोन क्यामेरामा विभिन्न कोणबाट कैद गर्छ, ताकि सामाजिक मिडियामा पोस्ट गर्दा दर्शकहरूलाई अनुभव प्राप्त होस्।

    सोसल मिडियामा ‘चिफ साफ्रो’ भनेर चिनिने मार्टिन्स केन्याका सबैभन्दा पहिचानयोग्य नाईहरू मध्येको एक हुन् । उनको इन्स्टाग्राम र टिकटक खातामा करिब १० लाख फलोअर छन् । उनका भिडियोहरूले मनोरञ्जन मात्र दिँदैनन्, अफ्रिकी लोककथा र सांस्कृतिक कथाहरूलाई पनि समेट्छन् । रुवान्डामा जन्मेका र अहिले नैरोबी बसोबास गर्ने मार्टिन्सले सन् २०१८ मा हाई स्कूलमा नाईको करियर सुरु गरे । उधारो क्लिपर प्रयोग गर्दै उनले विद्यालयको कक्षाकोठा र छात्रावासमा ट्रिम सेवा दिन थाले । पाँच वर्षमा उहाँले परम्परागत ट्रिमर छाडे र क्यामेरा थपे । यसरी उनले अनौठो तरिका अपनाउँदै आफ्नो कामलाई सामाजिक मिडियासँग जोडिदिए ।


    मार्टिन्सको शैली एकदमै अनौठो छ । उनले भिडियोमा कपाल काट्दै गर्दा अफ्रिकी लोककथा भ्वाइसओभरमा सुनाउँछन् । “म अफ्रिकी संस्कृतिबाट प्रेरित छु”, उनी भन्छन् । गाउँका वृद्धहरूले उनलाई आशीर्वाद दिएका उनका औजारहरू यस काममा अझ शक्ति थप्छन् । उनको कला र शैलीले ग्राहकहरूलाई मन्त्रमुग्ध बनाउँछ । गत वर्ष पहिलो पटक मार्टिन्सको सेवा लिएका एन्जेङ्गा भन्नुहुन्छ, “उहाँको प्रतिभा अर्को स्तरको छ । यहाँ कपाल कटाउँदा म धेरै सहज महसुस गर्छु, सडकमा हिँड्दा म विश्वस्त हुन्छु ।”

    मार्टिन्सले एउटा कटका लागि एक हजार ५०० केन्याई सिलिङ (करिब दुई अमेरिकी डलर) शुल्क लिन्छन् । जुन स्थानीय बजारमा उच्च मूल्य हो । तर उनको ग्राहकहरू पाँच मिनेटको अनुभव र सामाजिक मिडियामा देखा पर्ने अवसरलाई मूल्यवान ठान्छन् । केन्यामा सोसल मिडियाको प्रयोग विस्फोटको रूपमा बढेको छ । जनवरी २०२३ मा देशमा एक करोड छ लाख प्रयोगकर्ता थिए । जनवरी २०२५ सम्म एक करोड ५१ लाख पुगे । करिब १५ प्रतिशत केन्यालीहरूले अनलाइन सामग्री सिर्जनाकर्ता (कन्टेन्ट क्रिएटर) का रूपमा यसबाट आयको मुख्य स्रोत पाउँछन् ।

    तर मार्टिन्सले नाईहरूले अन्य सामाजिक मिडिया सिर्जनाकर्ता जस्तै पुरस्कार र सम्मान नपाएकोप्रति गुनासो गर्छन् । “नाईहरू भाइरल हुन्छन्, तर सम्मान पाउँदैनन् । तपाईंले विचार र संलग्नता भए पनि भुक्तान पाउनुहुन्न”, उनी भन्छन् । मार्टिन्स र उनका सहकर्मीहरूले अफ्रिकी लोककथा, सांस्कृतिक उपकरण र अनौठो शैलीलाई आधुनिक सामाजिक मिडियासँग जोड्दै आफ्नो क्षेत्रमा नयाँ प्रवृत्ति सिर्जना गरेका छन् । यसले उनीहरुको व्यक्तिगत प्रतिष्ठा मात्र बढाएको छैन, ग्रामीण केन्याली समुदायमा पनि अनलाइन सिर्जनाकर्ता बन्ने सम्भावनालाई उजागर गरेको छ ।

  • क्रान्स मोन्टानामा बार आगलागी, करिब ४० को मृत्यु

    क्रान्स मोन्टानामा बार आगलागी, करिब ४० को मृत्यु

    क्रान्स–मोन्टाना (स्विजरल्यान्ड), १८ पुस (रासस–एएफपी) । नयाँ वर्षको पूर्वसन्ध्यामा स्विस स्की रिसोर्ट सहर क्रान्स मोन्टानामा भीडभाड भएको बारमा आगलागी हुँदा धेरै जनाको मृत्यु र घाइते भएका छन् । दक्षिणपश्चिमी स्विट्जरल्यान्डको वालिस क्यान्टन प्रहरीले जारी गरेको विज्ञप्तिमा यस घटना ‘गम्भीर’ भएको उल्लेख गरिएको छ । प्रहरी प्रवक्ता गेटान लाथिओनका अनुसार, बिहान १ः३० बजे ‘ले कन्स्टेलेसन’ नामक बारमा विस्फोट र आगलागी सुरु भएको थियो । भवनमा नयाँ वर्षको उत्सव मनाउन १०० भन्दा बढी मानिस भेला भएका थिए । घटनास्थलमा प्रहरी, अग्नि नियन्त्रक र उद्धारकर्मीहरूको ठूलो टोली तुरुन्तै पुगेको र धेरै पीडितलाई उद्धार गरिएको जनाइएको छ ।

    क्षेत्रीय दैनिक समाचारपत्रका अनुसार मृत्युको सङ्ख्या लगभग ४० हुनसक्ने अनुमान गरिएको छ भने १०० भन्दा बढी घाइते भएका छन् । स्विस मिडियाले प्रकाशित गरेको तस्बिरमा आगो लागेको भवन र मानिसहरू चिच्याउँदै भागिरहेको दृश्य देखाइएको छ । प्रहरीले आगलागीको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरेको छ । प्रारम्भिक रिपोर्ट अनुसार कन्सर्टका क्रममा आतशबाजी प्रयोग गर्दा आगो लागेको हुनसक्ने अनुमान गरिएको छ ।

    लाथिओनले भने, “अपरेसन अझै जारी छ र प्रभावित क्षेत्र जनताका लागि पूर्ण रूपमा बन्द गरिएको छ । क्रान्स मोन्टानामा नो–फ्लाई जोन लागू गरिएको छ ।” घटनास्थलमा एम्बुलेन्सहरूको ठूलो भीड देखिएको थियो र अधिकारीहरूले प्रभावित परिवारको सहयोगका लागि विशेष हेल्पलाइन तथा स्वागत केन्द्र स्थापना गरेका छन् ।

  • कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बोलाइयो

    कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बोलाइयो

    काठमाडौँ, १७ पुसः नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार दिउँसो ३ बजे बस्ने बैठकमा पार्टीको १५औँ महाधिवेशन र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ । उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरुको उपस्थितिका लागि अनुरोध गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । कांग्रेस भित्र यतिबेला महामन्त्रीद्धय विश्व प्रकाश शर्मा र गगन थापाले विशेष महाधिवेशनका लागि दवाव दिइरहेका छन् ।

  • आर्थिक क्रियाकलाप अघिल्लो वर्षकोभन्दा सकारात्मक’

    आर्थिक क्रियाकलाप अघिल्लो वर्षकोभन्दा सकारात्मक’

    काठमाडौँ, १७ पुस । गत आर्थिक वर्षकोभन्दा चालु आव २०८२–८३ मा मुलुकको आर्थिक वृद्धिदर कमजोर हुने अनुमानकाबीच नेपाल राष्ट्र बैंकले यस वर्ष अघिल्लो वर्षकोभन्दा आर्थिक क्रियाकलाप बढेको र वृद्धिदर पनि औसतभन्दा बढी हुने जनाएको छ । गत आव २०८१–८२ को ‘आर्थिक गतिविधि अध्ययन वार्षिक प्रतिवेदन’ सार्वजनिक गर्दै राष्ट्र बैंकले गत वर्षकोभन्दा यस वर्ष आर्थिक क्रियाकलापमा बढोत्तरी हुने जनाएको हो ।

    “आव २०८२–८३ मा मुद्रास्फीतिको चाप कम रहको छ । विश्वव्यापी रुपमा इन्धन तथा खाद्य वस्तुको मूल्यमा गिरावट आएको, कर्जा तथा निक्षेपको ब्याजदर घट्दो अवस्थामा रहेको, जलविद्युत् उत्पादनमा उल्लेख्य वृद्धि भएको, बाह्य पर्यटकको आगमनमा वृिद्ध सँगसँगै निर्यात र विप्रेषण आप्रवाहमा पनि वृिद्ध भएको र विगत केही वर्षदेखि सङ्कुचनमा रहको निर्माण र उत्पादनमूलक उद्योग क्षेत्र यस बैंकले गरेको मौद्रिक सहजताका कारण विस्तार हुँदै गएको हुँदा आर्थिक वृद्धि औसतभन्दा बढी हुने देखिन्छ”, प्रतिवेदनमा भनिएको छ ।

    चालु आवमा आर्थिक क्रियाकलाप अघिल्लो वर्षको तुलनामा सकारात्मक हुने अनुमान राष्ट्र बैंकको छ । “अर्थतन्त्रमा तरलता पर्याप्त रहेको, सरकारले सुशासन प्रवद्र्धन गर्दै पुनःनिर्माण अघि बढाएको, साना र तयारी नपुगेका आयोजनामा बजेट स्थगन गर्दै परियोजना प्राथमिकीकरण गरिएकोलगायत कार्यले अर्थतन्त्र चलायमान भई आर्थिक गतिविधि बढ्ने अनुमान रहको छ”, केन्द्रीय बैंकले प्रतिवेदनमार्फत भनेको छ ।

    राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार गत आव २०८१÷८२ मा नेपालको आर्थिक वृिद्धदर उपभोक्ताको मूल्यमा ४ दशमलव ६ प्रतिशत र प्रचलित मूल्यमा ४ प्रतिशत रहने प्रारम्भिक अनुमान छ । गत आवको कूल गार्हस्थ्य उत्पादनमा कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमशः २५ दशमलव दुई, १२ दशमलव आठ र ६२ प्रतिशत रहने प्रारम्भिक अनुमान रहेको प्रतिवेदनमा उल्लेख छ । गत आवको मुलुकको कूल गार्हस्थ्य उत्पादनमा बागमती प्रदेशको हिस्सा सबैभन्दा धेरै ३६ दशमलव पाँच प्रतिशत रहेको छ भने कोशी प्रदेशको हिस्सा १५ दशमलव नौ प्रतिशत रहको छ । कर्णाली प्रदेशको हिस्सा भने सबैभन्दा कम चार दशमलव दुई प्रतिशत रहेको छ ।

    प्रतिवेदनअनुसार गत आवमा प्रमुख कृषिबालीको उत्पादन तीन दशमलव सात प्रतिशतले बढेको छ । यस्ता बालीले ढाकेको भूक्षेत्र भने दुई दशमलव दुई प्रतिशतले घटेको छ । त्यस्तै तरकारी उत्पादन १० दशमलव एक र मसला उत्पादन शून्य दशमलव सात प्रतिशतले बढेको छ भने फलफूल उत्पादन तीन दशमलव तीन प्रतिशतले घटेको छ। पशुजन्य उत्पादनअन्तर्गत दूध उत्पादन एक र मासु उत्पादन शून्य दशमलव तीन प्रतिशतले घटेको छ भने अण्डा उत्पादन एक प्रतिशतले बढेको छ । वनजन्य उत्पादनअन्तर्गत काठ उत्पादन आठ दशमलव ८२ र दाउरा उत्पादन चार दशमलव ७४ प्रतिशतले बढ्दा औषधिजन्य वस्तुको उत्पादन एक दशमलव ९१ प्रतिशतले घटेको छ ।

    गत आवमा अध्ययनमा समेटिएका उद्योगको औसत क्षमता उपयोग ४४ दशमलव पाँच प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो आव २०८०÷८१ मा यस्तो क्षमता उपयोग ४८ दशमलव तीन प्रतिशत रहेको थियो । विसं २०८२ असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले प्रवाह गरको कूल कर्जामा औद्योगिक क्षेत्र कर्जाको अंश ३० दशमलव ४२ प्रतिशत रहेको छ । प्रतिवेदनअनुसार गत आवमा नेपाल भ्रमण गर्ने पर्यटक सङ्ख्या एक दशमलव सात प्रतिशतले वृद्धि भई ११ लाख ४७ हजार ८३४ जना पुगेको छ ।

    त्यस्तै, गता आवमा घर÷भवन नक्शा पास सङ्ख्या एक दशमलव दुई प्रतिशतले र घरजग्गा रजिस्ट्रेशनबाट प्राप्त हुने राजस्व १८ दशमलव छ प्रतिशतले घटेको छ । विसं २०८१ असार मसान्तको तुलनामा २०८२ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाको निक्षेप १२ दशमलव पाँच प्रतिशतले र कर्जा प्रवाह आठ दशमलव दुई प्रतिशतले वृिद्ध भएको छ । राष्ट्र बैंकका अनुसार २०८२ असार मसान्तमा औसत कर्जा–निक्षेप अनुपात ७६ दशमलव छ प्रतिशत रहेको छ । बैंक तथा वित्तीय संस्थाको कूल निक्षेप तथा कर्जामा बागमती प्रदेशको अंश उच्च रहेको छ । कूल निक्षेपमा यस प्रदेशको अंश ६५ दशमलव आठ प्रतिशत र कूल कर्जामा ५९ दशमलव पाँच प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।

  • कोठामा निस्सासिएर एक जनाको मृत्यु, दुई बेहोस

    कोठामा निस्सासिएर एक जनाको मृत्यु, दुई बेहोस

    कर्णाली, १७ पुसः सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ बिरुवाबारीमा कोठामा निस्सासिएर एक जनाको मृत्यु भएको । निस्सासिएर अन्य दुई जना बेहोस अवस्थामा भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकृत प्रहरी निरीक्षक श्यामप्रकाश यादवका अनुसार भेरीगङ्गा नगरपालिका–२ घर भई हाल वीरेन्द्रनगर नगरपालिका–१२ बिरुवाबारीस्थित मानबहादुर चन्दको घरमा बस्ने ३२ वर्षीय तारा बुढाको ३८ दिनको छोरी प्रतीक्षाको निस्सासिएर आज मृत्यु भएको हो ।

    कोठामा कोइला बाली सुतेको अवस्थामा निस्सासिएर बालिकाको मृत्यु भएको हो । प्रहरी निरीक्षक यादवका अनुसार आमा तारा र उनकी भदैनी १३ वर्षीया सङ्गम बुढाको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ ।

  • विदेशी पर्यटकको अनलाइन ट्रयाकिङ प्रणाली आजबाट सुरु

    विदेशी पर्यटकको अनलाइन ट्रयाकिङ प्रणाली आजबाट सुरु

    १७ पुस, काठमाडौं । विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली कार्यान्वयनमा आएको छ । सरकारले आज १ जनवरी २०२६ को अवसर पारी यो प्रणाली कार्यान्वयनमा ल्याएको हो । गृहमन्त्री ओमप्रकाश अर्याल, नेपाल पर्यटन बोर्डका प्रमखु कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशी लगायतको उपस्थितिमा अध्यागमन विभागले उक्त प्रणाली सुरुवात गरेको हो ।

    यसअघि १ असोजदेखि कार्यान्वयनमा ल्याउने घोषणा गरेको अध्यागमन विभागले मुलुकभित्र परिवर्तित घटनाक्रमका कारण १ जनवरीदेखि अनिवार्य गरेको हो । विभागका अनुसार यस्तो प्रणाली दुई चरणमा अनिवार्य गर्न लागिएको छ । पहिलो चरणमा काठमाडौं उपत्यकाका तारे होटलमा अनिवार्य लागु गरिएको छ ।

    दोस्रो चरणमा भने १ मार्च २०२६ (१७ फागुन २०८२) देखि देशैभरिका तारे होटल, वायुसेवा कम्पनी, टुर्स एन्ड ट्राभल कम्पनी, मनी एक्स्चेन्जमा लागु गरिने छ । यसैगरी सबै प्रकारका होटल, गेस्ट हाउस र अन्य सार्वजनिक तथा निजी संस्थाबाट प्रवाह हुने सेवामा लागु गरिने विभागले जनाएको छ । विभागले विकास गरेको प्रणालीमा अनिवार्य आबद्ध हुने विदेशी नागरिकलाई सेवा प्रदान गर्ने सबै सार्वजनिक एवं निजी कम्पनीलाई अनुरोध समेत गरिएको छ ।

    अध्यागमन विभागले नेपाल भ्रमण गर्ने विदेशी नागरिकको सुरक्षा, सूचनामा सहजीकरण, सम्भावित अपराध नियन्त्रण र नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने उद्देश्यले विदेशी नागरिक दर्ता तथा अनुगमन ९ट्र्याकिङ० प्रणाली विकास गरेको जनाएको छ । यस प्रणाली कार्यान्वयन मार्फत नेपाल प्रवेश गर्ने विदेशी नागरिकको बसोबास तथा गतिविधिको अभिलेख व्यवस्थित हुने भएको छ । यसले आपतकालीन अवस्थामा खोज, उद्धार र सुरक्षा सुनिश्चितता गर्न सहज हुने विश्वास लिइएको छ ।

    त्यस्तै सुरक्षा निकाय, पर्यटन व्यवसायी तथा सरोकारवाला अन्य निकायबीच सूचना आदान–प्रदान प्रक्रिया प्रभावकारी हुने र पर्यटन क्षेत्रको सुरक्षित र व्यवस्थित विकासमा सहयोग पुग्ने जनाइएको छ । विभागले आफ्नो वेबसाइटमा यो प्रणालीमा आबद्ध हुने तरिकाबारे समेत जानकारी गराएको छ ।

  • करिब छ महिनापछि सञ्चालनमा आयो रसुवागढी नाका

    करिब छ महिनापछि सञ्चालनमा आयो रसुवागढी नाका

    रसुवा, १७ पुस । नेपालको उत्तरी रसुवागढी अन्तरराष्ट्रिय नाका आजदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीका अनुसार गत असार २४ गते ल्हेन्देखोलामा आएको बाढीले मितेरी पुल बगाएपछि पूर्ण रूपमा बन्द भएको उक्त नाका आज बिहानदेखि सञ्चालनमा आएको हो । नाका सञ्चालनका लागि चीन सरकारले ९१ मिटर लम्बाइको बेलिब्रिज निर्माण गरेपश्चात् सवारीसाधन सञ्चालनमा आएका उनले जानकारी दिए ।

    उनका अनुसार पुलको भारवहन क्षमता ५५ टन बराबर रहेको छ । केरूङ नाका खुलेपश्चात् चिनियाँ सामान आयातका लागि आठ वटा नेपाली कन्टेनर मितेरी पुल पार गरी केरूङतर्फ प्रस्थान गरिसकेका जनाउँदै सीमा प्रहरीचौकी टिमुरेका प्रहरी निरीक्षक विक्रम कुँवरले केही सवारीसाधन त्यसतर्फ जानका लागि तयारी अवस्थामा रहेका बताए । सामान आयातको करबाट सङ्कलन हुने राजस्व गत वर्षको तुलनामा चालु आर्थिक वर्षको हालसम्म रु २२ अर्बभन्दा बढी नोक्सान भइसकेको प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईले जानकारी दिए ।

    स्याफ्रुबेँसी–सुवागढी खण्डको सडक जीर्ण हुँदा मालवाहक सवारीसाधन सञ्चालनमा समस्या हुनुका साथै सम्भावित दुर्घटना न्यूनीकरण गरी जनधनको सुरक्षामा विशेष ध्यानदिन सरोकार भएका निकायलाई आग्रह गरिएको सवारी चालक रसुवा यार्साका सुकु तामाङले बताए ।

    गत असार २४ गतेको बाढीले दर्जनौँ स्थानका सडक कटान गरी गल्छी–रसुवागढी सडक सुधार आयोजनाले मर्मत गरे पनि सडकको ट्र्याक खोल्ने काम मात्र भएको थियो । उक्त समयमा टेवा पर्खाल मजबुत बनाउन नसक्दा सवारीसाधन सञ्चालनमा जोखिम बन्दै गएपछि सवारीचालकहरूले समस्या समाधानका लागि आग्रह गरेका हुन् ।

  • जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओलीलाई पत्राचार गर्ने

    जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओलीलाई पत्राचार गर्ने

    काठमाडौ, १७ पुस । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित विषयमा जाँचबुझ गर्न गठित आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि पत्राचार गर्नेभएको छ । आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले आज सञ्चारकर्मीको प्रश्नको जवाफमा तत्कालीन गृहमन्त्री रमेश लेखकसँग बयान लिने काम सम्पन्न भएसँगै अब तत्कालीन प्रधानमन्त्री ओलीलाई बयानमा बोलाउन पत्रचार गर्न लागेको स्पष्ट गरे ।

    नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवम् तत्कालीन प्रधानमन्त्री ओलीले सो आयोगको कानुनी हैसियत र स्वच्छतामा प्रश्न उठाउँदै बयान दिन आयोगमा नजाने पक्षमा आफ्नो भनाइ सार्वजनिक गरिरहेको अवस्थामा आयोगले पत्राचार गरेको हो । यसैगरी आयोगलाई थप गरिएको समय सीमाभित्र प्रतिवेदन बुझाउने गरी आफूहरूले काम गरिरहेको उनले बताए । गत असोज ५ गतेको मन्त्रिपरिषद् बैठकबाट गठित तीन सदस्यीय आयोगको कार्यकाल आगामी माघ ५ गतेसम्मका लागि थप गरिएको छ ।

  • प्रधानमन्त्री र दुर्गा प्रसाईबीच आज पनि वार्ता, के भयो कुराकानी ?

    प्रधानमन्त्री र दुर्गा प्रसाईबीच आज पनि वार्ता, के भयो कुराकानी ?

    काठमाडौँ, १७ पुसः सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकार र नागरिक बचाउ अभियानबीचको वार्ता सकारात्मक भएको बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आज प्रधानमन्त्री सुशीला कार्की र अभियानका संयोजक दुर्गा प्रसाईं पक्षबीच भएको वार्तामा सम्भव हुने किसिमका माग पूरा गर्न सरकार प्रतिबद्ध रहेको मन्त्री खरेलले जानकारी दिए । दुवै पक्षबीच मुलुकमा शान्ति, स्थिरता, विकास र समृद्धि कायम गर्ने सन्र्दभमा सहमति भएको उनको भनाइ छ ।

    “वार्ता सकारात्मक छ । संविधान र कानुनअन्तर्गत रहेर उहाँहरुको कति माग अहिलेको सरकारले र कति माग आगामी सरकारले पूरा गर्न सक्छ, उहाँहरुको मागबारे केस्रा केस्रा छलफल भएको छ”, उनले भने, “सरकारको दायरा र जिम्मेवारी अन्तर्गत रहेर माग पूरा गर्न सरकार प्रतिबद्ध छ ।” वार्तामा प्रधानमन्त्री कार्कीले अभियानका मागहरु गम्भीर चासोका साथ लिएका थिए भने संयोजक प्रसाईंले अभियानको मागप्रति सरकारको ध्यानार्कषण गराएको जनाइएको छ ।

  • तत्कालीन गृहमन्त्री लेखकको भ्रमण फुकुवा

    तत्कालीन गृहमन्त्री लेखकको भ्रमण फुकुवा

    काठमाडौँ, १७ पुस । गत भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकको भ्रमण फुकुवा गरेको छ । आयोगको आजको बैठकले पूर्वगृहमन्त्री लेखकको विदेश भ्रमणमा रोक्का लगाउने र स्वीकृति बेगर काठमाडौँ उपत्यका छाड्न नपाउने व्यवस्था फुकुवा गरेको शाखा अधिकृत रेशम बुढा क्षेत्रीले जानकारी दिए । आयोगले आज गृह मन्त्रालयलाई पत्र लेखी लेखकको भ्रमण फुकुवाको जानकारी गराएको छ ।

    आयोगले सो पत्रको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन, परराष्ट्र मन्त्रालय, प्रहरी प्रधान कार्यालय र निज लेखकलाई दिइएको छ । बैठकले भदौ २३ र २४ गतेको घटनाको छानविन तथा जाँचबुझका लागि अनुसन्धानका दायरामा रहेको भन्दै आयोगले गत असोज १२ गते लेखकको विदेशमा भ्रमणमा रोक्का लगाउने र स्वीकृति बेगर काठमाडौँ उपत्यका छाड्न नपाउने निर्णय गरेको थियो । सो घटनाका सम्बन्धमा तत्कालीन गृहमन्त्री लेखकले केही दिनअघि आयोगमा बयान दिएका थिए ।

  • डा निकोलस भुसाल र विष्टको जीवन रक्षा गर्न आग्रह

    डा निकोलस भुसाल र विष्टको जीवन रक्षा गर्न आग्रह

    काठमाडौँ, १७ पुस : राष्ट्रिय मानवअधिकार आयोगले अनशनरत डा निकोलस भुसाल र हरिश विष्टको स्वास्थ्य कमजोर बन्दै गएकाले उनीहरुको जीवन रक्षा गर्न आग्रह गरेको छ । आयोगका सहायक प्रवक्ता श्यामबाबु काफ्लेले आज जारी गरेको प्रेस विज्ञप्तिमा भ्रष्टाचारको छानबिन र कारबाही गर्नुपर्नेलगायत माग राखी विगत १० दिनदेखि काठमाडौँको माइतिघरमा आमरण अनशनमा बसेका डा भुसाल र विष्टको जीवन रक्षा गर्न आग्रह गरिएको छ ।

    विज्ञप्तिमा भनिएको छ, “निजहरुको प्रभावकारी स्वास्थ्य उपचारका लागि पहल गर्दै वार्ताको माध्यमबाट अनसनरत व्यक्तिहरूको माग सम्बन्धमा निष्कर्षमा पुग्न, पु¥याउन र उनीहरूको जीवन रक्षा गर्न आयोग नेपाल सरकारको ध्यानाकर्षण गराउँदछ ।” आयोगले यस सम्बन्धमा निरन्तर अनुगमन गरिरहेको तथा आयोगले गरेको पछिल्लो अनुगमनको क्रममा डा भुसाल र विष्टको स्वास्थ्य अवस्था गम्भीर रहेको, डा भुसालको रक्तचाप निकै कम रहेको र रगतमा चिनीको मात्रासमेत घटेको पाइएको जनाएको छ ।

  • ठमेलदेखि न्यूयोर्कसम्म यसरी मनाइयो नयाँ वर्ष (तस्वीर कथा)

    ठमेलदेखि न्यूयोर्कसम्म यसरी मनाइयो नयाँ वर्ष (तस्वीर कथा)

    काठमाडौँ, १७ पुसः ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी संवत्को नयाँ वर्ष सन् २०२६ सुरु भएको छ । येशु ख्रिस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले सुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिएको हो ।

    Young couple share a tender moment celebrating the New Year’s with other people outside Red Square with the Spasskaya Tower and the St. Basil’s Cathedral, in the background, in Moscow, on Thursday, Jan. 1, 2026. (AP Photo)

    नयाँ वर्ष सन् २०२६ का अवसरमा यो पात्रो अनुसारको चाड पर्व मान्नेले आज एकापसमा शुभकामना आदानप्रदान गरी मनाउँछन् । ग्रेगोरियन पात्रोका आधारमा चलाइएको इस्वी सन् सौरमासका आधारमा मात्र निर्माण गरिएको बताइन्छ ।

    People celebrate New Year’s Eve, in Rome, Thursday, Jan. 1, 2026. (AP Photo/Alessandra Tarantino)

    यसको आलोचना गर्नेहरूले सोही आधारमा पात्रो वैज्ञानिक नभएको समेत भन्ने गरेका छन् । विभिन्न संवत्को अध्ययन अनुसन्धानमा लाग्नुभएका डा शास्त्रदत्त पन्तले सौरमास र चन्द्रमासको समन्वयबाट वैदिककालदेखि नै सुरु भएको विसं जति वैज्ञानिक नभए पनि हाल इस्वी सन्को प्रभाव विश्वव्यापी बन्दै गएको बताउँछन् ।

    Fireworks explode around the Burj Khalifa, the world’s tallest building, during New Year’s Eve celebrations in Dubai, United Arab Emirates, Thursday, Jan. 1, 2026. (AP Photo/Fatima Shbair)


    ३६५ दिन छ घण्टा ४९ मिनेट छ सेकेन्डको एक वर्ष हुन्छ, तर दिनभन्दा सानो घण्टा मिनेट र सेकेन्डको एकाइले गणनामा असर पर्ने भएकाले उल्लेख गरिँदैन । त्यसको व्यवस्थापनका लागि विसंका आधारमा गणना हुने पात्रोमा तीन वर्षमा अधिकामासको व्यवस्था गरिएको छ ।

    इस्वी संवतको नयाँ वर्षको स्वागतार्थ बुधबार राति पोखराको लेकसाइडमा आयोजित सडक महोत्सवमा रमाउँदै गरेका सर्वसाधारण । तस्बिर ः जमुनावर्षा शर्मा / रासस

    इस्वी सन् अनुसारको पात्रोमा ‘लिपियर’ का रूपमा त्यसलाई व्यवस्थापन गर्न खोजे पनि पश्चिमा देशमै मतैक्यता हुन नसकेको डा पन्तले बताए । पछिल्लो समय नेपालमा पनि अङ्ग्रेजी नयाँ वर्ष उल्लासपूर्वक मनाउने चलन बढ्दै गएको छ ।

    “Baesemanne” (broom men) with long-handled juniper brooms, scary wooden masks and air-filled pig bladders “Soeiblaatere”, participate in the 102nd traditional “Achetringele” procession in Laupen, Switzerland, on Wednesday, Dec. 31, 2025, held to drive away evil spirits for the new year. (Anthony Anex/Keystone via AP)

    नयाँ वर्ष २०२६ का अवसरमा विदेशीको बढी उपस्थिति हुने काठमाडौँको ठमेल, बौद्ध तथा उपत्यका बाहिरका पोखरा, सौराहालगायत स्थानमा विभिन्न कार्यक्रम आयोजना गरी नयाँ वर्षको स्वागत भइरहेको छ ।

    General view of the Hogmanay New Year’s Eve celebrations, in Edinburgh, Scotland, Wednesday, Dec. 31, 2025.(Steve Welsh/PA via AP)
    Police and the Rosguardia (National Guard) servicemen secure an area, closed for celebrations on New Year’s Eve, outside Red Square, in Moscow, on Wednesday, Dec. 31, 2025. (AP Photo)
    Fireworks light-up the sky in central London to celebrate the New Year on Thursday, Jan. 1, 2026. (AP Photo/Alberto Pezzali)
    Fireworks illuminate the night sky over Zurich, Switzerland, during the New Year’s Eve celebrations, on Thursday, Jan. 1, 2026. (Andreas Becker/Keystone via AP)
    इस्वी संवतको नयाँ वर्षकाे पहिलो दिन बिहीबार बिहान दाङको घोराही उपमहानगरपालिका–१३ स्थित मौलाकोटबाट देखिएको सूर्योदय। तस्बिर : कुलदीप न्यौपाने / रासस
  • रानीकोटदेखि नगकोटसम्म अङ्ग्रेजी नयाँ वर्षको उल्लास

    रानीकोटदेखि नगकोटसम्म अङ्ग्रेजी नयाँ वर्षको उल्लास

    भक्तपुर, १७ पुसः आज अङ्ग्रेजी नयाँ वर्ष–२०२६ को पहिलो दिन । भक्तपुरका प्रमुख गन्तव्य मानिएका पर्यटकीयस्थल नगरकोटदेखि रानीकोटसम्मका होटल स्वदेशी पर्यटकले खचाखच हुँदा यहाँका पर्यटन एवं होटल व्यवसायी उत्साहित छन् । विदेशी मात्र नभई आन्तरिक पर्यटकको बढ्दो चापले व्यवसायीहरू उत्साहित भएका हुन् । भक्तपुरका पर्यटकीय क्षेत्र रानीकोटदेखि नगरकोटसम्म आन्तरिक पर्यटक भरिएका छन् ।

    केही वर्षयता पर्यटकीय गन्तव्य बन्दै आएको सूर्यविनायक नगरपालिका–७ गुण्डु र वडा नंं ८ सिपाडोलको संङ्गमस्थल ऐतिहासिक रानीकोट र घ्याम्पेडाँडाका सबै होटलहरू आन्तरिक पर्यटकले भरिएका छन् । पर्यटन व्यवसायी एवं भिलेज हाइल्यान्ड रिसोर्टका सञ्चालक रामसुन्दर बकेले रातभरि नाचगान गरी नयाँ वर्षको उल्लासमय स्वागत गर्न यहाँ स्वदेशी पर्यटकको घुइँचो लागेको बताउनुभयो ।

    समुद्री सतहबाट दुई हजार मिटर उचाइमा रहेको सूर्यविनायक र काभ्रेको पनौती नगरपालिकाको सिमानामा पर्ने रानीकोटबाट काठमाडौँ उपत्यका र भक्तपुर नगर मात्र होइन, विभिन्न हिमशृङ्खलाको समेत अवलोकन गर्न सकिन्छ । पर्यटन व्यवसायी बकेले भने, “रानीकोटबाट सूर्योदयसँगै कञ्चनजङ्घा, मकालु, सगरमाथा, चोयु, सिसापाङमा, मनास्लु, अन्नपूर्ण, माछापुछ«े, गौरीशङ्कर, धौलागिरि तथा लाङटाङजस्ता आठ हजार मिटरभन्दा अग्ला आठवटा हिमाल हेर्न सकिन्छ । पछिल्लो समय रानीकोट पर्यटकीय गन्तव्य बन्न थालेको छ । अङ्ग्रेजी नयाँ वर्षमा आन्तरिक पर्यटकले यहाँका होटल भरिएका छन्, व्यवसायीहरु उत्साहित छौँ ।”

    सहज पक्की सडकदेखि सूर्यविनायक–रानीकोट–आशापुरी एवं सूर्यविनायक–रानीकोट–फुल्चोकी पदयात्राको रुट, सर्यविनायकबाट रानीकोट हुँदै पनौती जाने छोटो दूरीको सडकका कारण पनि रानीकोटमा पर्यटक आवागमन सहज भइरहेको छ । अङ्ग्रेजी नयाँ वर्षको भीडले पर्यटन व्यवसायीलाई ऊर्जा र उत्साह थपेको बताउँदै व्यवसायी बकेँ भन्छन्, “पृथ्वीनारायण शाहले भक्तपुर आक्रमण गर्नु अगाडि बनाएको गढी र पछि मल्ल राजाहरूले रानीका लागि दरबार बनाएपछि रानीकोट नाम रहेको यो क्षेत्र ऐतिहासिक रूपले मात्र नभएर सुन्दर दृश्यावलोकनका लागि पनि उपयुक्त स्थान हो । यहाँबा देखिने हिमाल र सूर्योदयले १२ महिना पर्यटकको आकर्षण बढ्न थालेको छ, नयाँ वर्षमा त झन् खचाखच हुने गरेको छ ।”

    ‘घ्याम्पेडाँडा रिसोर्ट’ का सञ्चालक राजेन्द्र प्याथ पनि आन्तरिक पर्यटकको चापले यहाँको होटल व्यवसायमा उत्साह थपेको बताउँछन् । अङ्ग्रेजी नयाँ वर्षमा यहाँको होटल खचाखच भएको उनले बताए । रानीकोट रिसोर्टका सञ्चालक नारायण श्रेष्ठले नयाँ वर्ष मात्रै नभई बिदाका दिनमा पनि यहाँ कोठा पाउन मुस्किल हुन थालेको बताए । पिकनिकदेखि एकरात बस्न आउने पारिवारिक जमघट, विभिन्न निकायका कार्यक्रमलगायत आन्तरिक पर्यटकको आगमन बढ्दै गएको उनले बताए ।

    भक्तपुरको प्रमुख पर्यटकीय गन्तव्य नगरकोटमा अङ्ग्रेजी नयाँ वर्षको पहिलो सूर्योदयलाई स्वागत गर्न स्वदेशी तथा विदेशी पर्यटकले यहाँका होटल भरिभराउ भएका छन् । २०२५ को बिदाइ गर्दै २०२६ को पहिलो सूर्योदय र यहाँका हिमाली दृश्यावलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटकले नगरकोटका आकर्षण थप बढाएको होटल व्यवसायी एवं होटल चौतारीको सञ्चालक बद्री माक बताउँछन् । उनी भन्छन्, “विदेशी पर्यटकको चाप पनि बढेको छ, स्वदेशी पर्यटकको चाप पनि उस्तै छ । अङ्ग्रेजी नयाँ वर्षमा करिब ५० प्रतिशत विदेशी पर्यटक र ५० प्रतिशत स्वदेशी पर्यटकले यहाँको होटल भरिएका छन् ।”


    पछिल्लो समय सामान्यदेखि फाईभ स्टारसम्मका होटल रहेको नगरकोटमा नयाँ वर्षमा स्वदेशी पर्यटककै चाप बढेपछि व्यवसायीहरू उत्साहित छन् । यहाँ थप होटल खुल्ने क्रम पनि जारी छ । होटल पिसफुल नगरकोटका सञ्चालक रामशङ्कर ध्वजु चिसो रातमा पनि नयाँ वर्षको स्वागत र सूर्योदयको मजा लिन यहाँ पर्यटकको आगमन बढ्दा निकै खुसी थपेको बताउँछन् ।

    यसपटक विगत वर्षको तुलनामा पर्यटकको आगमन बढेको उनले जानकारी दिए । होटल मेरिगोल्ड नगरकोटका सञ्चालक गोकुल लामिछाने भन्छन्, न्नु“मैले होटल क्षेत्रमा काम गरेको २५ वर्ष भयो । कोरोनापछि होटल व्यवसाय अब त उठ्न सकिँदैन कि भन्ने लागेको थियो, तर नेपाली र अङ्ग्रेजी नयाँ वर्षमा एक महिनाअघिदेखि नै सबै होटल बुक हुन थालेका छन् । स्वदेशी पर्यटकको आगमन पनि बढ्दै गएको छ । यसले उत्साह थपिएको छ, अब केही हुन्छ भन्ने आशा जागेको छ ।”

    रासस

  • नेपालबाट एक वर्षमा विदेशिए १५ लाख नेपाली

    नेपालबाट एक वर्षमा विदेशिए १५ लाख नेपाली

    १७ पुस, काठमाडौं । नेपालबाट एक वर्षको अवधिमा १५ लाख बढी नेपाली विदेशिएका छन् । सन् २०२५ मा १५ लाख २३ हजार नेपाली विदेशिएको अध्यागमन विभागको तथ्यांक छ । विभागका प्रवक्ता एवं निर्देशक टीकाराम ढकालका अनुसार यसै अवधिमा १३ लाख १३ हजार १९१ जना नेपाली विभिन्न देशबाट स्वदेश भित्रिएका छन् ।

    नेपालीहरू अध्ययन र श्रमका साथ पर्यटन तथा व्यवसायका लागि पनि विदेश जाने गर्छन् । कोरोनाको समयमा विदेशिनेको संख्या कमी आए पनि त्यपछि पुनः बढिरहेको देखिएको छ । सन् २०१५ मा १० लाखभन्दा धेरै विदेशी पर्यटक पनि नेपाल भित्रिएका छन् भने ९ लाख ८२ हजार ५६१ जना विदेशी नेपालबाट फर्केको तथ्यांक छ । विदेशीको हकमा हवाई मार्ग प्रयोगकर्ताको मात्र तथ्यांक राखिएको छ ।

  • आजको मौसम : उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

    आजको मौसम : उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

    पाटन (ललितपुर), १७ पुस : देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले तराई भू–भागका अधिकांश स्थानहरूमा आज दिउँसो हुस्सु तथा कुहिरो लाग्ने छ भने केही प्रदेशमा आंशिक बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले तराईका अधिकांश स्थानहरू हुस्सुले ढाकिएका छन् ।

    महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली भएको छ भने लुम्बिनी प्रदेशसहित कर्णाली, सुदूरपश्चिम तथा बाँकी उच्च पहाडी र हिमाली भू–भागमा पनि आंशिक बदली हुने अनुमान गरिएको छ । यसैगरी, कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ ।

    आज राति तराई भू–भागका केही स्थानहरूमा हुस्सु कायमै रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशसहित उच्च पहाडी तथा हिमाली भागमा आंशिक बदली रहनेछ भने बाँकी भागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ । साथै कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एकदुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने छ ।

    मौसम पूर्वानुमान महाशाखाले तराई क्षेत्रमा हुस्सुको प्रभावका कारण दैनिक जनजीवन, स्वास्थ्य तथा सडक यातायातमा आंशिक असर पर्न सक्ने चेतावनी दिएको छ । महाशाखाले आवश्यक सतर्कता अपनाउन तथा दैनिक रूपमा जारी हुने अद्यावधिक मौसमी सूचनाको जानकारी लिन सर्वसाधारणलाई अनुरोध गरेको छ ।

  • आज १३औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस मनाइदै

    आज १३औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस मनाइदै

    काठमाडौँ, १७ पुस । विभिन्न युवा संस्थाको आयोजनामा आज १३औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । ‘नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने नाराका साथ विगत १३ वर्षदेखि युवाले यो दिवस मनाउन थालेका हुन् । नेपाली पहिचानका रूपमा रहेको दौरा, सुरुवाल, टोपी र गुन्यु चोलीलाई युवामाझ स्थापित गर्न विसं २०७० देखि राष्ट्रिय पोसाक एवं टोपी दिवस मनाउन थालिएको हो ।

    दिवसका अवसरमा धेरैले राष्ट्रिय पोसाक लगाएको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्ने गरेका छन् । १३ वर्षदेखि जनवरी १ तारिखका दिन राष्ट्रिय पोसाक दिवस मनाउन थालिएको थियो, यसले राष्ट्रिय पोसाकको पुनर्जागरणमा टेवा पुगेको बताइन्छ । विगतमा राष्ट्रिय पोसाकका रूपमा मनाइने प्रचलनलाई औपचारिक रुपमा हटाइएपछि युवाहरू स्वस्फूर्त रूपमा यो अभियान सुरु गरेका हुन् । यस अवसरमा आज राजधानीका विभिन्न स्थानमा विशेष कार्यक्रमको आयोजना गरिएको छ ।

  • नयाँ वर्ष सन् २०२६ सुरु

    नयाँ वर्ष सन् २०२६ सुरु

    काठमाडौँ, १७ पुस । ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी संवत्को नयाँ वर्ष सन् २०२६ सुरु भएको छ । येशु ख्रिस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले सुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिएको हो । नयाँ वर्ष सन् २०२६ का अवसरमा यो पात्रो अनुसारको चाड पर्व मान्नेले आज एकापसमा शुभकामना आदानप्रदान गरी मनाउँछन् । ग्रेगोरियन पात्रोका आधारमा चलाइएको इस्वी सन् सौरमासका आधारमा मात्र निर्माण गरिएको बताइन्छ ।

    यसको आलोचना गर्नेहरूले सोही आधारमा पात्रो वैज्ञानिक नभएको समेत भन्ने गरेका छन् । विभिन्न संवत्को अध्ययन अनुसन्धानमा लाग्नुभएका डा शास्त्रदत्त पन्तले सौरमास र चन्द्रमासको समन्वयबाट वैदिककालदेखि नै सुरु भएको विसं जति वैज्ञानिक नभए पनि हाल इस्वी सन्को प्रभाव विश्वव्यापी बन्दै गएको बताउँछन् ।३६५ दिन छ घण्टा ४९ मिनेट छ सेकेन्डको एक वर्ष हुन्छ, तर दिनभन्दा सानो घण्टा मिनेट र सेकेन्डको एकाइले गणनामा असर पर्ने भएकाले उल्लेख गरिँदैन ।

    त्यसको व्यवस्थापनका लागि विसंका आधारमा गणना हुने पात्रोमा तीन वर्षमा अधिकामासको व्यवस्था गरिएको छ । इस्वी सन् अनुसारको पात्रोमा ‘लिपियर’ का रूपमा त्यसलाई व्यवस्थापन गर्न खोजे पनि पश्चिमा देशमै मतैक्यता हुन नसकेको डा पन्तले बताए । पछिल्लो समय नेपालमा पनि अङ्ग्रेजी नयाँ वर्ष उल्लासपूर्वक मनाउने चलन बढ्दै गएको छ । नयाँ वर्ष २०२६ का अवसरमा विदेशीको बढी उपस्थिति हुने काठमाडौँको ठमेल, बौद्ध तथा उपत्यका बाहिरका पोखरा, सौराहालगायत स्थानमा विभिन्न कार्यक्रम आयोजना गरी नयाँ वर्षको स्वागत भइरहेको छ ।

  • कानुनबमोजिम खर्च विवरण पेस गर्ने उम्मेदवार कालोसूचीमा नरहने आयोगद्वारा स्पष्ट

    कानुनबमोजिम खर्च विवरण पेस गर्ने उम्मेदवार कालोसूचीमा नरहने आयोगद्वारा स्पष्ट

    काठमाडौँ, १७ पुस । निर्वाचन आयोगले विगतका निर्वाचनमा उम्मेदवार रही कानुनबमोजिम खर्च विवरण पेस र सार्वजनिक गर्ने उम्मेदवार कालोसूचीमा नरहने स्पष्ट गरेको छ । खर्चको विवरण बुझाउने उम्मेवारको पनि कालोसूचीमा नाम कायम रहेको भनी प्रकाशित समाचारबारे आज आयोगले स्पष्ट गरेको हो । विसं २०७९ को प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा उम्मेदवार भई प्रचलित निर्वाचन कानुनअनुसार निर्वाचन खर्चको विवरण सार्वजनिक नगर्नेका हकमा जरिवानाको कारबाही गरी पुनः त्यस्तो निर्वचन खर्चको विवरण सार्वजनिक गर्न आदेश दिइएको आयोगले जनाएको छ ।

    आयोगले हाल कतिपय सञ्चारमाध्यममा आएकोजस्तो कतिपय उम्मेदवारहरू कालोसूचीमा रहेको भन्ने समाचारमा सत्यता नभएको पनि स्पष्ट पारेको छ । आयोगले विवरण समयमा नबुझाउने र विवरण सार्वजनिक नगर्ने उम्मेदवारलाई रु १५ हजार जरिवाना तोकिएको र तोकिएको जरिवाना सम्बन्धित निर्वाचन कार्यालयमा बुझाएका वा अदालतबाट सम्बन्धित उम्मेदवारका विषयमा आदेश भएको अवस्थाका उम्मेदवार पुनः उम्मेदवार हुनबाट वञ्चित नहुने जनाएको छ ।

    आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले तोकिएको खर्च सीमाभित्र तोकिएको समयमा आफ्नो निर्वाचनको खर्च विवरण बुझाएका तर त्यसलाई सार्वजनिक नगरेका उम्मेदवारले जरिवाना तिर्नुपर्ने कानुनी व्यवस्था रहेको जनाए । उनले जरिवाना तिरेपछि सम्बन्धित उम्मेदवार कालोसूचीबाट स्वतः हट्ने र पुनः उम्मेदवार बन्न बाधा नहुने बताए ।

  • अहिलेको अवस्थामा चुनाव पहिलो प्राथमिकता : प्रचण्ड

    अहिलेको अवस्थामा चुनाव पहिलो प्राथमिकता : प्रचण्ड

    काठमाडौँ, १७ पुस । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले वर्तमान राजनीतिक अवस्थाबाट निकास निकाल्न तोकिएको समयमा निर्वाचन सम्पन्न गर्नु अपरिहार्य रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घद्वारा आज यहाँ आयोजित ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्यः सामूहिक पहल’ कार्यक्रममा उनले निर्वाचनमार्फत नयाँ जनादेश प्राप्त गरी संसद् पुनःस्थापना गर्नु अबको बाटो रहेको उल्लेख गरे ।

    “शान्ति, स्थायित्व र समृद्धिका लागि निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरेर नयाँ संसद् स्थापना गर्नुपर्छ । नयाँ संसद्ले संविधानमा रहेका अन्योलता हताउने काम गर्नेछ”, पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका संयोजक दाहालले भने । पछिल्ला राजनीतिक घटना र जेनजी आन्दोलनले पुरानो राजनीतिक सोच र स्थापित शक्तिलाई आत्मसमीक्षा गर्न बाध्य पारेको उनले बताए ।


    संयोजक दाहालले राजनीतिक दलका नेतृत्व तहले आफ्ना कमीकमजोरी पहिचान गरी सुधारतर्फ उन्मुख हुनुपर्नेमा जोड दिए । “हामीले आफ्नै आत्मसमीक्षा गरेर कमजोरी कहाँ भयो भनेर खोज्नुपर्छ । स्थापित शक्तिहरू अब नागरिकको आवश्यकतालाई केन्द्रमा राखेर अघि बढ्ने वा आफ्नो औचित्य सकियो भनेर पाखा लाग्ने मोडमा पुगेका छन्”, उनले भने ।

    दाहालले निर्वाचनलाई राजनीतिक प्रतिस्पर्धा मात्र नभई राष्ट्रिय सहमति निर्माण गर्ने प्रक्रियाका रूपमा लिनुपर्ने धारणा राखे । “युवापुस्ता जेनजी प्रदर्शनपछि हामीले राष्ट्रिय सहमति र राष्ट्रिय राजनीतिक एकतामा जानुपर्छ भनेका थियौँ । सर्वपक्षीय सहमति गर्ने वातावरण क्रमशः बन्न थालेको छ”, उनले भने ।

    वर्तमान सरकारले चुनौतीपूर्ण परिस्थितिमा बसेर पनि निर्वाचन गर्ने वातावरण बनाउन सफल भएको नेकपाका संयोजक दाहालले उल्लेख गरे । “के हुन्छ भन्ने अन्योलभन्दा अब निर्वाचनमा केन्द्रित हुनुपर्छ । सरकारले अप्ठेरोबीच पनि विकल्प निर्वाचन नै हो भन्ने वातावरण बनाउँदै गएको छ”, उनले भने ।


    कार्यक्रममा नेकपाका संयोजक दाहालले राजनीतिक स्थायित्वसँगै आर्थिक समृद्धि निजी क्षेत्रको सक्रियता बिना सम्भव नहुने तर्क गरे । “निजी क्षेत्रलाई संरक्षण र प्रोत्साहन गरिएन भने विकास र समृद्धि सम्भव हुँदैन । निजी क्षेत्रको प्रवर्द्धन नगरी अर्थतन्त्र उकास्ने सपना पूरा हुँदैन”, उनले भने । उनले राज्य, निजी क्षेत्र र समुदायबीचको सहकार्यबाट मात्र रोजगार सिर्जना, लगानी विस्तार र उत्पादन वृद्धिबाट समृद्धि सम्भव हुने धारणा राखे ।

  • भृकुटीमण्डपका संरचनाको बक्यौता उठाउन पत्र काट्ने सरकारको तयारी

    भृकुटीमण्डपका संरचनाको बक्यौता उठाउन पत्र काट्ने सरकारको तयारी

    काठमाडौँ, १७ पुस । महिला, बालबालिका तथा समाज कल्याणमन्त्री श्रद्धा श्रेष्ठले भृकुटीमण्डपस्थित समाज कल्याण परिषद्का संरचनाको बाँकी बक्यौता उठाउन व्यापारी तथा सङ्घसंस्थालाई तत्कालै पत्र काट्ने बताएकी छिन् । भृकुटीमण्डपको अवलोकनपश्चात सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले भनिन्, “कतिपय संरचनाको बक्यौता बाँकी छ भन्ने सुनेका थियौँ, त्यो समस्या आज आफैँले थाहा पायौँ, बाँकी बक्यौता तिर्नका लागि आजै पत्र काट्दैछौँ ।”

    मन्त्री श्रेष्ठले भाडा सम्झौता नवीकरणका क्रममा समयानुकूल भाडादर तय गरिने स्पष्ट पारिन् । उनले भनिन्, “सरकारी दरअनुसार सस्तो भाउमा नदिइकन, केही नाफा हुनेगरी भाडामा लगाउने हाम्रो सोच छ ।” बक्यौता बाँकी भएकाको सूची तयार भइसकेको उनको भनाइ छ । व्यापारिक प्रयोजनका लागि भाडा लिइएकाबाट बक्यौता उठाउन सुरु गरिनेछ । भृकुटीभण्डपका संरचनाको भाडासम्बन्धी विषयमा यसअघि समाजकल्याण परिषद्मा पनि छलफल भएको जानकारी दिँदै मन्त्री श्रेष्ठले आज विस्तृतमा अवलोकन गरिएको बताइन् ।