Category: फिचर

  • समानुपातिकको बन्दसूचीमाथि आलोचित भएपछि रविले भने : सच्याउँछौं

    समानुपातिकको बन्दसूचीमाथि आलोचित भएपछि रविले भने : सच्याउँछौं

    कास्की, १६ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभा सदस्य निर्वाचनतर्फको समानुपातिक बन्दसूचीलाई आवश्यक पुनरावलोकन गरिने बताएका छन् । पोखरामा आज आयोजित पत्रकार भेटघाटमा उहाँले पार्टी एकता सहमति र निर्वाचन आयोगमा अन्तिम घडीमा सूची बुझाइएकाले केही गुनासो आएकाले विधिभन्दा बाहिर गएको भए त्यसलाई दुई दिनभित्रमा सम्बोधन गर्ने स्पष्ट पारे ।

    उनले हाल भइरहेको खबरदारी आफूहरूका लागि सकारात्मक भएकोसमेत उल्लेख गरे । “पार्टीले बुझाएको बन्दसूचीमा केही आलोचना र गुनासो आएको छ । अन्तिम घडीमा बुझाइएकाले केही समस्या हुनसक्छ । रास्वपासँग विधि छ, विधि भन्दा बाहिर कुनै हालतमा जाँदैनौँ, ‘राइट टु रिकल’को व्यवस्थासमेत छ । परिवारवादलाई पार्टी विधानलेनै दिँदैन”, उनले भने ।


    सभापति लामिछानेले युवाहरूको विश्वास बालेन शाहप्रति रहेको र नयाँ परिर्वतनको झिल्कोको रूपमा उनीसँग सहकार्य गरेर प्रधामन्त्रीको रूपमा अघि सारिएको बताए । उनले भने, “युवाहरूको आन्दोलनपछि बालेनले जिम्मेवारपूर्वक भूमिका निर्वाह गर्नुभयो । उहाँको सद्भाव, सल्लाह र सुझाव अनुसारनै अहिलेको सरकार बनेको हो । जेनजीको विश्वास बालेनसँग छ । देशको आवश्यकता अनुसार उहाँसँग सहमति गरेर जिम्मेवारी बाँडेका छौँ ।”

  • भेडेटारमा तीन दिने खाना महोत्सव सुरु

    भेडेटारमा तीन दिने खाना महोत्सव सुरु

    धरान (सुनसरी), १६ पुसः सुनसरी र धनकुटाको सिमानामा रहेको पर्यटकीय क्षेत्र भेडेटारमा आजदेखि १३औँ भेडेटार खाना महोत्सव सुरु भएको छ । ‘भेडेटार प्रकृतिको गहना, पर्यटन भित्र्याउने हाम्रो चाहना’ भन्ने मूल नाराका साथ प्रत्येक वर्ष अङ्ग्रेजी नयाँ वर्षको अवसरमा होटल एसोसिएसन भेडेटारको आयोजनामा हुँदै खाना महोत्सव आगामी पुस १८ गतेसम्म सञ्चालन हुने छ । महोत्सवको उद्घाटन कोशी प्रदेश सरकारका पर्यटन वन तथा वातावरणमन्त्री षडानन्द मण्डलले गरे ।

    महोत्सवमा अर्गानिक खेती प्रणालीबाट उत्पादित तरकारी तथा फलफूल, हस्तकला, कृषि औजार, घरेलु तथा साना उद्योगका उत्पादन तथा खानाका परिकार प्रदर्शनीमा राखिएको महोत्सवका आयोजक तथा होटल एसोसिएसन भेडेटारका अध्यक्ष तुमराज लिम्बूले जानकारी दिए ।

    महोत्सवमा आउने पर्यटकलाई भेडेटारका प्रमुख आकर्षण पर्यटकीयस्थल धरान उपमहानगरपालिका– ४ र साँगुरीगढी गाउँपालिका–६ को सीमामा रहेको स्काइ वाक, पाथीभरा मन्दिर, शङ्खेश्वर मन्दिर, नाम्जेको थुम्कीस्थित आत्माघर, सूर्योदय बौद्ध पार्क, सिम्सुवा झरना, ऐतिहासिक साँगुरी गढी, नाम्जेको होमस्टे तथा ध्वजे डाँडालगायत स्थानको अवलोकन गराइने अध्यक्ष लिम्बूले बताए । महोत्सव ५० देखि ६० हजार पर्यटकले अवलोकन गर्ने र महोत्सवबाट दुई करोड रूपैयाँभन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको छ ।

  • निजी क्षेत्रको मनोबल उकास्न सरकार प्रतिबद्ध

    निजी क्षेत्रको मनोबल उकास्न सरकार प्रतिबद्ध

    काठमाडौँ, १६ पुसः अर्थमन्त्री रामेश्वरप्रसाद खनालले निजी क्षेत्रको खस्केको मनोबल उकास्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घद्वारा आज यहाँ आयोजित ‘शान्ति स्थायित्व र समृद्धिका लागि सहकार्य–सामूहिक पहल’ विषयक कार्यक्रममा अर्थमन्त्री खनालले जेनजी प्रदर्शनका क्रममा निजी क्षेत्रले पनि ठूलो क्षति व्यहोरेको उल्लेख गर्दै अर्थमन्त्री खनालले निजी क्षेत्र थप मनोबलका साथ उठ्न आवश्यक रहेको बताए । उनले अहिले आर्थिक सूचक सकारात्मक दिशामा रहे पनि लगानी बढ्न नसकेको स्वीकार गरे ।


    “चालु खाता बचतमा छ । शोधनान्तर बचतमा छ । बैंक वित्तीय संस्थामा पर्याप्त तरलता छ । ब्याजदर र मुद्रास्फीति घटेको छ । तर पनि कर्जा लगानी बढ्न सकेन”, खनालले भने । निजी क्षेत्रको सम्पत्ति राज्यको पनि सम्पत्ति रहेको उल्लेख गर्दै उनले यसको सुरक्षा सबैको दायित्व रहेको प्रष्ट पारे । “निजी क्षेत्र अर्थतन्त्रको इञ्जिन हो । यसलाई आफ्नो ढङ्गले काम गर्न दिनुपर्छ । निजी क्षेत्रले सिर्जना गरेको सम्पत्ति राज्यको पनि सम्पत्ति हो”, उनले भने, “मुलुकभित्र जुनसुकै क्षेत्रबाट लगानी हुनु भनेको राज्यका लागि भएको लगानी हो । त्यसमा क्षति हुनु भनेको मुलुककै सम्पत्ति माथिको क्षति हो भनेर राजनीतिक दलका कार्यकर्ताले पनि बुझ्न जरुरी छ ।”

    कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिल कुमार सिन्हाले आर्थिक समृद्धिका लागि शान्ति र स्थायित्व पूर्वशर्त हुने बताए । “समृद्धि हासिल गर्न शान्ति चाहियो । त्यसका लागि स्थिर र बलियो सरकार चाहिन्छ । चुनाव पछि एउटै दलले स्थिर सरकार बनाउन सकेन भने पनि अरु दल मिलेर स्थायित्वसहितको वातावरण आवस्यक छ”, उनले भने ।

  • राप्रपा र राप्रपा नेपालबीच एकीकरण

    राप्रपा र राप्रपा नेपालबीच एकीकरण

    काठमाडौँ, १६ मङ्सिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालबीच आज एकीकरण भएको छ । यहाँ आज आयोजित एकतासभामा दुवै पार्टी एकीकृत भएको घोषणा गरिएको हो । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीले उठाउँदै आएका सुशासन, हिन्दू राष्ट्रलगायत मुद्दा स्थापित गर्न राष्ट्रवादी शक्तिहरूबीच ध्रुवीकरण सुरु गरिएको बताउँदै आगामी दिनमा वैचारिक दृष्टिकोण निकट दलहरुसँग एकता गरिने बताए ।


    ठूला राजनीतिक दलले सत्ता केन्द्रित राजनीति गरेका कारण नेपाली समाजमा उत्पन्न चरम निराशालाई न्यूनीकरण गर्नुपर्नेमा जोड दिँदै उनले आफ्नो पार्टीले जनतालाई आश्वस्त गर्दै मुलुकमा विद्यमान सङ्कटको समाधान गर्नसक्ने विचार व्यक्त गरे । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीले लिएका राजनीतिक मुद्दा सङ्कटमा परेकाले आफू राप्रपामा फर्किएको बताउँदै देशमा निरन्तर रूपमा विकसित निषेधको राजनीति, चरम भ्रष्टाचार, बेरोजगारी, संवैधानिक अङ्गमाथिको हस्तक्षेपविरुद्ध आफू क्रियाशील हुने प्रतिबद्धता व्यक्त गरे ।

    पार्टीका पूर्वअध्यक्ष डा प्रकाशचन्द्र लोहनीलगायत शीर्ष नेताहरूले दुई पार्टीबीचको एकताप्रति खुसी व्यक्त गर्दै असफल संविधान र संवैधानिक व्यवस्थाबाट मुलुकलाई जबर्जस्त अगाडि बढाउन नहुनेमा जोड दिए । उनीहरुले यथास्थितिमा निर्वाचनमा जाँदा मुलुक थप द्वन्द्वमा धकेलिने धारणा राख्दै राजनीतिक दल, जेनजी र परम्परागत शक्तिको प्रतिनिधिबीच छलफल गरी सहमति गर्नुपर्ने बताए । एकीकरणपश्चात् अध्यक्ष लिङ्देनपछि दोस्रो वरियता क्रममा थापालाई राखिएको छ ।

  • पेट्रोलियम पदार्थको मूल्य घट्यो

    पेट्रोलियम पदार्थको मूल्य घट्यो

    १६ पुस, काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले आज राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको जानकारी गराएको छ । निगमका अनुसार, पेट्रोलमा ४ रुपैयाँ, डिजेल–मट्टितेलमा ५ रुपैयाँका दरले मूल्य घटाइएको छ । त्यस्तै, हवाइ इन्धन आन्तरिकतर्फ पनि ६ रुपैयाँले मूल्य घटाइएको निगमले विज्ञप्तिमार्फत जानकारी गराएको छ । हवाइ इन्धन अन्तर्राष्ट्रियतर्फ भने प्रति किलोमिटर अमेरिकी डलर ४२ ले मूल्य घटाइएको निगमले जनाएको छ।

    यस्तो छ घटेपछिको मूल्य

  • सरकार सुशासन कायम गर्न र चुनावतर्फ उन्मुख : प्रधानमन्त्री

    सरकार सुशासन कायम गर्न र चुनावतर्फ उन्मुख : प्रधानमन्त्री

    १६ पुस, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारलाई सुशासनको जग बसाल्ने र फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने स्पष्ट कार्यादेश दिइएको बताउँदै त्यसतर्फ सरकार गम्भीरतापूर्वक अघि बढिरहेको बताएकी छिन् । नेपाल उद्योग वाणिज्य महासङ्घद्वारा आयोजित ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य–सामूहिक पहल’ कार्यक्रममा उनले राजनीतिक स्थिरता तथा विश्वास कायमगरी तोकिएको समयमा निर्वाचन सम्पन्न गर्नु सरकारको प्रमुख प्राथमिकता भएको उल्लेख गरिन् । यो सरकार बनेको मुख्य उद्देश्य सुशासनलाई संस्थागत गर्ने र तोकिएकै समयमा चुनाव गराउनु हो । हामी त्यसतर्फ ठोस रूपमा उन्मुख भइरहेका छौँ”, प्रधानमन्त्री कार्कीले भनिन् ।


    उनले अघिल्ला राजनीतिक परिवर्तनले आमनागरिकको रोजगारी, आयआर्जन र जीवनस्तरमा अपेक्षित सुधार ल्याउन नसकेको स्वीकार गरिन् । “राजनीतिक परिवर्तन आए तर नागरिकका आकाङ्क्षा पूरा हुन सकेनन् । नेतृत्वको व्यवहारमा पनि सुधार हुन सकेन”, प्रधानमन्त्रीले औँल्याइन् । जेनजी आन्दोलनका क्रममा देशले भोग्नुपरेको करिब ८४ अर्ब रुपैयाँ बराबरको क्षतिलाई उल्लेख गर्दै उनले शान्ति र कानुनी सुव्यवस्था कायम राख्न सबैपक्ष संयमित बन्नुपर्ने आवश्यकता दोहोर्‍याइन् । आगामी निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न पनि सबै दल, नागरिक समाज र निजी क्षेत्रको सहकार्य अपरिहार्य भएको बताइन् ।


    प्रधानमन्त्री कार्कीले व्यावसायिक सुरक्षाका लागि सरकारले केही महत्त्वपूर्ण कदम चालिसकेको दाबी गरिन् । मौद्रिक, वित्तीय र विकास योजनामार्फत निजी क्षेत्रलाई सहुलियत प्रदान गरिएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “कर तिर्ने समय थपिएको छ, सूचना प्रविधि कम्पनीलाई विदेशमा लगानी गर्न मार्ग खोलिएको छ, जग्गा कित्ताकाट सहज बनाइएको छ । साथै कालोसूचीमा परेका कम्पनीलाई पनि कानुनी ढाँचाभित्र रहेर बाह्य लगानी ल्याउन सहज बनाउने प्रयास गरिएको छ ।”

    निजीक्षेत्रले आफ्ना चुनौती लुकाएर पनि देशको अर्थतन्त्रलाई अघि बढाइरहेको उल्लेख गर्दै उनले उनले सरकार त्यसका पीडा सुन्ने र व्यावहारिक समस्या समाधानमा साथ दिन तयार रहेको बताइन् । प्रधानमन्त्री कार्कीले वर्तमान सरकारलाई कानुन परिवर्तन गर्ने अधिकार नहुँदा पनि प्रणालीभित्र रहेर सुधारको बाटो लिन सकिने बताइन् । “कानुन बदल्ने अधिकार यो सरकारलाई छैन । तर, भएकै संरचनाभित्र सुशासनको जग बसाल्दै राजनीतिक स्थायित्वतर्फ काम भइरहेको छ”, उनले स्पष्ट पारिन् ।


    निजीक्षेत्रका सम्पत्ति फेरि नजलोस् भन्ने राष्ट्रिय प्रतिबद्धता सरकारबाट रहँदै आएको उल्लेख गर्दै उनले निजी तथा सार्वजनिक सम्पत्तिको सुरक्षाका लागि आवश्यक सबै कदम चाल्न सरकार तयार रहेको पुनःआश्वासन दिइन् । कार्यक्रममा प्रधानमन्त्री कार्कीले राज्य र निजी क्षेत्रबीचको सहकार्यले मात्र आर्थिक पुनरुत्थान सम्भव हुने बताउँदै आगामी निर्वाचन, शान्ति र विकासलाई साझा राष्ट्रीय एजेन्डाका रूपमा अघि बढाउन आह्वान गरिन् । “निर्वाचनमार्फत शान्ति, स्थायित्व र समृद्धिका लक्ष्यप्राप्तिका लागि सरकार कटिबद्ध छ । सबैपक्षको साथ र संयमले मात्र हामी सफल हुन्छौँ”, उनले भनिन् ।

  • दिगो शान्ति बिना समृद्धि सम्भव छैन : उपसभापति अर्याल

    दिगो शान्ति बिना समृद्धि सम्भव छैन : उपसभापति अर्याल

    काठमाडौँ, १६ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डिपी अर्यालले दिगो शान्ति बिना मुलुकमा समृद्धि सम्भव नहुने र समृद्धि बिनाको शान्ति स्थायी नहुने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घद्वारा आज यहाँ आयोजित ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य—सामूहिक पहल’ कार्यक्रममा अर्यालले सबै क्षेत्रको सहकार्यबाटै शान्ति र समृद्धि सम्भव रहेको बताए ।

    गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनमा युवाले भष्ट्राचार नियन्त्रण, स्वदेशमा रोजगारी र सुशासनका लागि आवाज उठाएको उल्लेख गर्दै उहाँले उद्यमशीलता, नवप्रवर्तन र रोजगारी सिर्जनामा युवाको भूमिका निर्णायक हुने बताए । हालैका राजनीतिक तथा सामाजिक घटनाक्रमले निजी क्षेत्र नराम्रोसँग प्रभावित भएकोसमेत उनको भनाइ थियो ।

    “आन्दोलनको क्रममा ठूलो क्षति भयो । निजी र व्यावसायिक सम्पत्तिमा आघात पुगेको देखिन्छ । निजी क्षेत्रलाई करिब रु ८० अर्ब बराबरको क्षति भएको अनुमान गरिएको छ । यो निजी क्षेत्रका लागि अत्यन्तै दुःखद पक्ष हो”, उनले भने । नीतिगत स्थिरता, प्रशासनिक सहजता, कर तथा व्यापार नियम सरलीकरण र दीर्घकालीन योजना कार्यान्वयनलाई आर्थिक समृद्धिको पूर्वशर्त रहेको उहाँको भनाइ छ ।

  • असन्तुष्टि सम्बोधन गर्नुपर्छ : कांग्रेस प्रवक्ता महत

    असन्तुष्टि सम्बोधन गर्नुपर्छ : कांग्रेस प्रवक्ता महत

    काठमाडौँ, १६ पुस । नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले नागरिक असन्तुष्टिलाई शान्तिपूर्ण तरिकाले सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घद्वारा आयोजित ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य–सामूहिक पहल’ कार्यक्रममा महतले सुशासन र स्थिरताबिना समृद्धिको परिकल्पना गर्न नसकिने बताए । “असन्तुष्टि प्रकट हुनु स्वाभाविक हो । तर त्यसको अभिव्यक्ति पनि शान्तिपूर्ण हुनुपर्छ, र सरकारको प्रतिक्रिया पनि शान्तिपूर्ण तथा कानुनी प्रक्रियाभित्रै सीमित हुनु अत्यावश्यक छ,” उनले भने ।

    महतले गत भदौ २३ र २४ गतेको विरोध प्रदर्शनका आडमा भएका हिंसालाई कुनै पनि बहानामा वैधानिकीकरण गर्न नहुने बताए । ती घटनाबाट राष्ट्रले ठूलो आर्थिक र मनोवैज्ञानिक क्षति बेहोर्नु परेको उल्लेख गर्दै महतले लगानीकर्ताको विश्वास घटेको र पुँजी पलायनको सम्भावना बढ्दै गएको बताए ।

  • सुरक्षा प्रत्याभूतिका लागि ठोस कदम चाल्न निजी क्षेत्रको आग्रह

    सुरक्षा प्रत्याभूतिका लागि ठोस कदम चाल्न निजी क्षेत्रको आग्रह

    काठमाडौँ, १६ पुस । निजी क्षेत्रका छाता संस्थाहरूले लगानीयोग्य वातावरण सिर्जना गर्न तथा व्यवसायको सुरक्षा प्रत्याभूतिका लागि सरकारले ठोस कदम चाल्नुपर्ने माग गरेका छन् । ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य–सामूहिक पहल’ शीर्षकको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको सुरक्षा सुनिश्चित गरी मनोबल उकास्न सरकारसँग आग्रह गर्नुभयो ।

    उनले निजीक्षेत्र संरक्षण तथा प्रवर्द्धन रणनीति तत्काल कार्यान्वयनमा ल्याउनुपर्ने आवश्यकता औँल्याए । ढकालका अनुसार मुलुकको आर्थिक समृद्धिका लागि निजी क्षेत्रको संरक्षण र सम्वद्र्धन अनिवार्य छ । शिक्षा र स्वास्थ्य सर्वसुलभ बनाउन, बैंक तथा वित्तीय संस्थामा पर्याप्त तरलता हुँदाहुँदै पनि निजी क्षेत्र लगानीमा अघि नबढ्नु, निजी क्षेत्रबाट प्रवद्र्धित आयोजनामा सुरक्षाको प्रत्याभूति नहुनु र रोजगारीको अवसर अभावमा युवा वैदेशिक रोजगारीतर्फ धकेलिनुपरेको समस्या समाधानका लागि सामूहिक छलफल आवश्यक रहेको उनको भनाइ थियो ।

    गत भदौ २३ र २४ का दिन भएको जेनजी आन्दोलनका क्रममा निजी क्षेत्रले झेल्नुपरेको प्रत्यक्ष भौतिक क्षति करिब रु ४० अर्ब र अप्रत्यक्ष क्षति रु ८१ अर्ब पुगेको उनले जानकारी दिए । उद्योग क्षेत्रलाई प्राथमिकता क्षेत्र घोषणा गर्नुपर्ने, निजी क्षेत्रको सुरक्षाका लागि ‘हटलाइन’ तथा द्रुत सुरक्षा दस्ता गठन गर्नुपर्ने माग पनि उनले राखे । नेपाल उद्योग परिसङ्घका अध्यक्ष वीरेन्द्रराज पाण्डेले निजीक्षेत्र स्थायित्व, लगानीको संरक्षण र समृद्धिका लागि सरकारको प्रभावकारी सहयोग अपेक्षित रहेको बताए । सुशासन, पारदर्शिता, नीतिगत स्पष्टता र स्थायित्वले मुलुकको समग्र अर्थतन्त्रलाई फाइदा पुग्ने विश्वास निजीक्षेत्रले लिएको उनको भनाइ थियो ।

    प्रधानमन्त्रीले सार्वजनिक तथा निजी संरचनाको पुनर्निर्माणमा निजी क्षेत्रलाई साथ लिएर अघि बढ्नुपर्ने सुझाव पनि उनले राखे । पाण्डेले निजीक्षेत्रले विगतका राजनीतिक उतारचढावबीच पनि रोजगार सिर्जना र राजस्वमार्फत राज्यलाई योगदान दिँदै आएको उल्लेख गर्दै उद्योग–व्यवसायलाई स्थायी क्षेत्रका रूपमा मान्यता नदिइकन शान्ति, विकास र समृद्धि सम्भव नहुने बताए । नीतिगत स्थायित्व, स्वदेशी लगानीको संरक्षण र दीगो आर्थिक नीतिबिना समृद्धिको लक्ष्य पूरा नहुने उनको तर्क थियो ।

    नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले शान्ति, स्थायित्व र समृद्धिका लागि न्याय, समानता, संवाद, भरोसा र नीतिको निरन्तरता अनिवार्य भएको बताए । शान्ति केबल द्वन्द्वको अभाव नभई न्याय र अवसरको सुनिश्चितता हो भन्ने उल्लेख गर्दै उनले राजनीतिक तथा नीतिगत स्थायित्वबिना निजी क्षेत्रले जोखिम लिन नसक्ने र युवाले भविष्यप्रति विश्वास नसक्ने उल्लेख गरे । अग्रवालका अनुसार निजी क्षेत्र समृद्धिको इन्जिन हो जसले रोजगारी सिर्जना, करको योगदान, नवप्रवर्तन र उत्पादन वृद्धिमा यसको भूमिका निर्णायक छ ।

    तर नेपालमा निजीक्षेत्र आज पनि नीतिगत अस्थिरता, जटिल कानुनी प्रावधान, वित्तीय जोखिम र अविश्वासको वातावरणबाट गुज्रिरहेको उल्लेख गर्दै उनले सरकारले नीतिमा नेतृत्व लिनु, राजनीतिक दलहरूले स्थायित्वप्रति प्रतिबद्ध हुनुपर्ने र निजी क्षेत्रले नयाँ लगानी र रोजगारी सिर्जनामा अग्रसर हुनुपर्ने धारणा राखे । आसन्न निर्वाचन शान्तिपूर्ण र सफलतापूर्वक सम्पन्न गरिए स्थायित्व बलियो हुने र समृद्धि सम्भव हुने उनको विश्वास थियो ।

    कार्यक्रममा नेपाल उद्योग तथा व्यवसायी महासङ्घका अध्यक्ष भागिरथ सापकोटाले मुलुक राजनीतिक रूपमा विभाजित अवस्थामा पुगेको र राजनीतिक दलहरूले अर्थतन्त्रलाई प्राथमिकतामा राख्न नसकेको आरोप लगाए । आन्तरिक उत्पादन वृद्धि, रोजगारी सिर्जना र राजस्वमार्फत राज्यको सहारा निजीक्षेत्र नै भएकाले जेनजी आन्दोलनका क्रममा निजी क्षेत्रमाथि आक्रमण गर्नेलाई कारबाही गर्नुपर्ने माग उनले राखे ।

  • प्रेस स्वतन्त्रता हननका घटनामा वृद्धि

    प्रेस स्वतन्त्रता हननका घटनामा वृद्धि

    काठमाडौँ, १६ पुस । नेपाल पत्रकार महासङ्घले सन् २०२५ मा नेपालमा प्रेस स्वतन्त्रता हननका घटना अघिल्लो वर्षको तुलनामा करिब तेब्बरले वृद्धि भएकामा ध्यानाकर्षण गराएको छ । महासङ्घका महासचिव रामप्रसाद दाहालद्वारा आज जारी विज्ञप्तिमा पत्रकारविरुद्धका अपराधमा दण्डहीनता, सञ्चारमाध्यमको आर्थिक अवस्था कमजोर बन्दै जानु, पत्रकारको पेसागत तथा भौतिक सुरक्षामा जोखिम बढ्नुले प्रेस स्वतन्त्रता थप चुनौतीपूर्ण बन्दै गएको उल्लेख छ ।

    महासङ्घको अनुगमनअनुसार सन् २०२५ मा प्रेस स्वतन्त्रता हननका १३९ वटा घटना अभिलेख भएका छन् । त्यसमा ११८ जना पत्रकार तथा सञ्चारकर्मी र ३१ वटा सञ्चारगृह प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । दुई जना पत्रकारको मृत्यु भएको छ । गत वर्ष सन् २०२४ मा ६० र सन् २०२३ मा ५८ वटामात्र यस्ता घटना भएका थिए । सन् २०२४ को तथ्याङ्कसँग तुलना गर्दा सन् २०२५ मा हननका घटनामा करिब तेब्बरको हाराहारीमा वृद्धि भएको महासङ्घले जनाएको छ ।

    महासङ्घले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सङ्कुचन गर्ने किसिमका कानुनी प्रावधान अघि सारिएको, छापाखाना तथा प्रकाशनसम्बन्धी ऐनमा कठोर संशोधन गरिएको र फेसबुकसहित २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने अलोकतान्त्रिक निर्णय गरिएको उल्लेख गरेको छ । भदौ २३ गते भएको जेनजी आन्दोलनका क्रममा मात्र २६ वटा प्रेस स्वतन्त्रता हननका घटना भएका थिए ।

    उक्त आन्दोलन र त्यसपछिको हिंसात्मक घटनामा १०० भन्दाबढी पत्रकार तथा सञ्चारगृह प्रभावित भएका थिए । सञ्चारगृहमा आगजनी, लुटपाट र तोडफोड हुँदा करिब ६० करोड रुपैयाँ बराबरको संस्थागत क्षति र १८ करोड रुपैयाँ बराबरको निजी सम्पत्तिको क्षति भएको महाङ्घले जनाएको छ । पाँच जना पत्रकार गोली लागेर घाइते भएका थिए । त्यसैगरी आगामी फागुन २१ गतेका लागि घोषणा भएको प्रतिनिधिसभा निर्वाचनका क्रममा हुनसक्ने प्रेस स्वतन्त्रता हननप्रति सचेत रहन पत्रकार जगत् र सरोकारवालालाई आह्वान गरेको छ ।

  • पूर्वमन्त्री गुप्तालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश

    पूर्वमन्त्री गुप्तालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश

    रासस
    काठमाडौँ, १६ पुस । विशेष अदालतले घुस प्रकरणमा पूर्वमन्त्री राजकुमार गुप्तालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । गुप्ताले रु ७८ लाख घुस लिएको आरोप लागेकामा अदालतले आज भ्रष्टाचार निवारण ऐनअनुसार पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । जरिवाना र घुस रकम जफत हुने व्यवस्था लागू हुने गरी अदालतले आदेश दिएको छ ।

    विशेष अदालतका न्यायाधीशहरु सुदर्शनदेव भट्ट, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले उक्त आदेश गरेको हो । सो आदेशमा उल्लेख भएअनुसार गुप्ताले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री तथा सांसद पदमा रहँदा अन्य व्यक्तिहरूलाई प्रयोग गरी घुस लिएको प्रमाण भेटिएको छ ।

  • सन् २०२५ : अत्यन्त तातो वर्ष

    सन् २०२५ : अत्यन्त तातो वर्ष

    डेट्रोइट (संयुक्त राज्य अमेरिका), १६ पुस (रासस–एपी) । वैज्ञानिकहरूका अनुसार सन् २०२५ मानव गतिविधिबाट प्रेरित जलवायु परिवर्तनका कारण इतिहासकै सबैभन्दा तातो तीन वर्षमध्ये एक बनेको छ । यस वर्षले पहिलो पटक तीन वर्षको औसत तापक्रमका आधारमा पूर्व–औद्योगिक कालको तुलनामा तापमान वृद्धिलाई १.५ डिग्री सेल्सियसभन्दा तल राख्ने सन् २०१५ को पेरिस सम्झौतामा तोकिएको सीमा पार गरेको हो । विज्ञहरूका अनुसार उक्त सीमा नाघ्दा मानव जीवन, पारिस्थितिकी र विश्वव्यापी वातावरणमा गम्भीर जोखिम बढ्ने गर्दछ ।

    युरोपमा मङ्गलबार सार्वजनिक गरिएको वल्र्ड वेदर एट्रिब्युसन (डब्लुडब्लुए) का अनुसन्धानकर्ताहरूको विश्लेषणले सन् २०२५ लाई खतरनाक चरम मौसमले भरिएको वर्षका रूपमा चित्रित गरेको छ । प्रशान्त महासागरमा ला निनाजस्तो प्राकृतिक चिसोपनको अवस्था हुँदाहुँदै पनि विश्वव्यापी तापक्रम उच्च रहनुमा तेल, ग्यास र कोइलाजस्ता जीवाश्म इन्धनको निरन्तर दहन प्रमुख कारण भएको वैज्ञानिकहरूको निष्कर्ष छ । इम्पेरियल कलेज लन्डनका जलवायु वैज्ञानिक तथा डब्लुडब्लएका सह–संस्थापक फ्रेडेरिक ओटोका अनुसार जीवाश्म इन्धन छिटो र व्यापक रूपमा प्रयोग गर्न रोक्न नसके १।५ डिग्रीको लक्ष्य जोगाउन अत्यन्त कठिन हुनेछ ।

    डब्लुडब्लएले सन् २०२५ मा विश्वभर देखिएका १५७ चरम मौसम घटनालाई गम्भीर श्रेणीमा राखेको छ, जसमा ठूलो मानवीय क्षति, व्यापक जनसङ्ख्यामा प्रभाव वा आपतकाल घोषणा गरिएको अवस्था समावेश छन् । तीमध्ये केही घटनाको विस्तृत अध्ययनले तातो लहरहरू यस वर्षका सबैभन्दा घातक विपद् बनेको र यस्ता घटना जलवायु परिवर्तनका कारण विगतको तुलनामा धेरै गुणा बढी सम्भावित भएको देखाएका छन् । ओटोका अनुसार मानव–प्रेरित जलवायु परिवर्तन नभएको भए यस्ता तातो लहरहरू प्रायः असम्भव हुने थिए ।

    यस वर्ष ग्रिस र टर्कीमा लामो खडेरीले डढेलोलाई उक्सायो भने मेक्सिकोमा भारी वर्षा र बाढीले धेरैको ज्यान गयो । फिलिपिन्समा सुपर टाइफुन फङ–वोङका कारण १० लाखभन्दा बढी मानिस विस्थापित भए भने भारतमा मनसुनका कारण बाढी र भूस्खलनले जनजीवन प्रभावित भयो । वैज्ञानिकहरूले यस्ता तीव्र र जटिल विपद्ले धेरै देशको अनुकूलन क्षमतामाथि गम्भीर दबाब सिर्जना गरेको चेतावनी दिएका छन् ।

    यसैबीच, ब्राजिलमा सम्पन्न संयुक्त राष्ट्रसङ्घीय जलवायु वार्ता जीवाश्म इन्धनबाट टाढा सर्ने स्पष्ट योजनाविना सकिएको छ । यद्यपि जलवायु अनुकूलनका लागि थप सहयोगको प्रतिबद्धता व्यक्त गरिए पनि कार्यान्वयनमा ढिलाइ हुने देखिएको छ । चीन, युरोप र संयुक्त राज्य अमेरिकालगायत विश्वका प्रमुख शक्तिहरूमा जलवायु नीतिमा असमान प्रगति देखिएको भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् ।

    कोलम्बिया युनिभर्सिटी क्लाइमेट स्कुलका वरिष्ठ अनुसन्धानकर्ता एन्ड्र्यु क्रुज्किभिजका अनुसार विश्वका धेरै स्थानमा पहिले नदेखिएका विपद् देखिन थालेका छन्, जसका लागि छिटो चेतावनी, नयाँ प्रतिक्रिया प्रणाली र दीर्घकालीन रणनीति आवश्यक छ । उहाँका शब्दमा, “केही प्रगति भए पनि विश्वले अझ धेरै र छिटो कदम चाल्न जरुरी छ ।”

  • चीनको नयाँ कर नीति : घरेलु बजार र अन्तर्राष्ट्रिय व्यापारलाई प्रोत्साहन

    चीनको नयाँ कर नीति : घरेलु बजार र अन्तर्राष्ट्रिय व्यापारलाई प्रोत्साहन

    बेइजिङ, १६ पुस (रासस–सिन्ह्वा) । चीनले सन् २०२६ जनवरी १ देखि ९३५ वस्तुमा आयात शुल्क घटाउने घोषणा गरेको छ । राज्य परिषद्को कस्टम्स ट्यारिफ कमिसनका अनुसार, यी वस्तुमा लागू हुने शुल्क दर सबैभन्दा अनुकूल राष्ट्र (एमएफएन) दरभन्दा कम हुनेछ । यस कदमको उद्देश्य घरेलु र अन्तर्राष्ट्रिय बजारबीच समन्वय बढाउने, स्रोतहरूको उपयोग सुधार गर्ने र उच्च गुणस्तरका वस्तुको आपूर्ति विस्तार गर्ने हो ।

    चीनले केही महत्वपूर्ण कम्पोनेन्ट र उच्च प्रविधिका सामग्रीमा कर घटाएर उच्च स्तरको प्राविधिक आत्मनिर्भरतालाई समर्थन गर्नेछ । त्यस्तै, केही प्राकृतिक स्रोतमा कर घटाएर हरित विकासलाई प्रवद्र्धन गरिनेछ ।


    स्वास्थ्य क्षेत्रमा पनि कर घटाइनेछ, जसले जनताको भलाइमा सुधार ल्याउने अपेक्षा गरिएको छ । साथै, चीनले ट्यारिफ हेडिङ र राष्ट्रिय उप–हेडिङ नोटहरू सुधार्ने योजना बनाएको छ । स्मार्ट बायोनिक रोबोट र बायो–एभिएसन केरोसिन जस्ता नयाँ उत्पादनका लागि पनि उप–हेडिङ थपिनेछ ।


    चीनले आफ्ना ३४ व्यापारिक साझेदार देशसँग सम्झौताअनुसार पूर्वनिर्धारित शुल्क दर लागू गर्न जारी राख्नेछ । यसैगरी, ४३ अत्यन्त कम विकास भएका देशका लागि शतप्रतिशत शून्य शुल्क सुविधा पनि कायम रहनेछ ।

  • बङ्गलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाको निधनमा चीनद्वारा शोक व्यक्त

    बङ्गलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाको निधनमा चीनद्वारा शोक व्यक्त

    बेइजिङ, १६ पुस (रासस–सिन्ह्वा) । बङ्गलादेशकी पूर्व प्रधानमन्त्री तथा बङ्गलादेश नेसनलिस्ट पार्टी (बिएनपी) की अध्यक्ष खालिदा जियाको निधनमा चीनले गहिरो शोक व्यक्त गरेको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले मङ्गलबार बताएका छन् । प्रवक्ता जियानले बङ्गलादेशको अन्तरिम सरकार र उहाँको परिवार प्रति चीनले गहिरो सहानुभूति व्यक्त गरेको पनि बताए । मिडिया रिपोर्टका अनुसार मङ्गलबार खालिदा जियाको ८० वर्षको उमेरमा निधन भएको हो ।

    जिया चिनियाँ जनताको पुरानो मित्रका रुपमा लामो समयदेखि चीन–बङ्गलादेश मित्रताका लागि प्रतिबद्ध रहेको लिनले बताए । बङ्गलादेशको प्रधानमन्त्रीको रूपमा आफ्नो कार्यकालमा जियाले चीन–बङ्गलादेश सम्बन्ध विकास गर्न सक्रिय प्रयास गरेको र दुई देशले दीर्घकालीन मित्रता, समानता र आपसी साझेदारी स्थापना गरेकोसमेत लिनले बताए । “चीन–बङ्गलादेश मैत्री प्रवद्र्धन र द्विपक्षीय सम्बन्धको विकासमा उहाँको महत्त्वपूर्ण योगदानलाई सदाका लागि स्मरण गरिने लिनले उल्लेख गरेका छन् ।

  • शितलहरले पूर्वपश्चिम राजमार्गको दाउन्ने खण्डमा अझै समस्या

    शितलहरले पूर्वपश्चिम राजमार्गको दाउन्ने खण्डमा अझै समस्या

    काठमाडौँ, १६ पुसः शितलहरका कारण निर्माणाधिन नारायणघाट–बुटवल सडक खण्डको दाउन्ने क्षेत्रमा सडक सतह चिप्लो हुँदा यातायात आवागमनमा कठिनाइ भएको छ । सडक विभागको आयोजना निर्देशनालयले यात्रुहरुलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।

    विगत केही दिनदेखि आकस्मिक रूपमा भएको शितलहरको कारणले निर्माणाधीन सडकमा समस्या देखिएको हो । सो सडकको केही स्थानमा कल्भर्ट तथा सडक ढलानको काम भई एकतर्फी सडक सञ्चालन भइरहेकोले सवारी साधन सञ्चालनमा थप कठिनाई हुने सम्भावना रहेको आयोजनाले जनाएको छ ।

    मौसम सुधार नहुञ्जेलसम्म यस सडक खण्डमा यात्रा गर्नुअघि सडकको अवस्थाबारे सही तथा अद्यावधिक जानकारी प्राप्त गरी मात्रै यात्रा गर्न आयोजनाले अनुरोध छ । सोसडक खण्डमा यातायात सञ्चालनमा कुनै अवरोध उत्पन्न भएको अवस्थामा निम्न उल्लेखित वैकल्पिक सडकको प्रयोग गर्न सकिने आयोजनाले स्पष्ट पारेको छ ।

    पूर्वपश्चिम राजमार्ग हुँदै आउने र जाने सवारी साधन नारायणघाट–मुग्लिङ–पोखरा–स्याङ्जा–पाल्पा हुँदै बुटवल जान सक्नेछन् । यस्तै, कालीगण्डकी चोक (गैंडाकोट) रामपुर पिपलडाँडा हुँदै जान सक्नेछन् । यस्तै काठमाडौँबाट बर्दघाट पश्चिम जानेर बुटवल–काठमाडौँ जाने सवारी साधनहरु काठमाडौँ–मुग्लिङ–पोखरा हुँदै यात्रा गर्न सक्नेछन् ।

  • ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची

    ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची

    काठमाडौँ, १६ पुस । आगामी फागुन २१ गतेका लागि तोकको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि विभिन्न राजनीतिक दलहरुले समानुपातिकतर्फको बन्दसूची आयोगमा पेस गरिसकेका छन् । निर्वाचन आयोगका अनुसारका अनुसार बन्दसूची पेस गर्ने ६४ वटा राजनीतिक दलमध्ये ५४ वटा दलले आफ्नो निर्वाचन चिन्हमा र १० वटा राजनीतिक दलले चार वटा एकल चुनाव चिन्हमा निर्वाचनमा भाग लिने गरी बन्दसूची पेस गरेका छन् । नेपालको संविधानअनुसार पहिलो हुने निर्वाचन हुने निर्वाचन प्रणालीबाट १६५ जना र समानुपातिकतर्फ ११० जना निर्वाचन हुने व्यवस्था छ ।

    त्यसैगरी निर्वाचन आयोगले आगामी माघ ११ गतेका लागि तोकिएको राष्ट्रियसभा सदस्यको निर्वाचनका उम्मेदवारले पेस गर्नुपर्ने कागजपत्रको सूची उपलब्ध गराएको छ । आयोगका अनुसार उम्मेदवारले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी, मतदाता नामावली ऐन, २०७३ बमोजिम कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा पेस गर्नुपर्नेछ ।

    साथै रु १० हजार धरौटी जम्मा गरेको रसिद वा भौचर, महिला, दलित वा अल्सङ्ख्यक समुदाय वा आर्थिक रुपले विपन्न उम्मेदवारको हकमा सो धरौटी रकममा ५० प्रतिशत छुट हुनेछ । आर्थिक रुपमा विपन्नका हकमा भने स्थानीय तहको सिफारिस पत्र हुनुपर्नेछ । साथै मतदाता नम्बर, उम्मेदवारको सम्पत्ति विवरण, घर सङ्ख्या, घर रहेको स्थान, जग्गाको विवरण, सङ्घीय कानुन बमोजिम अयोग्य नभएको भनी गरेको स्वघोषणापत्र पनि उम्मेदवारले पेस गर्नुपर्नेछ ।

    कुनै लाभको पदमा नभएको भनी गरेको स्वघोषणा, कुनै जिम्मेवारी वा निर्वाचित पदमा रहेको भए राजीनामा दिएको दर्ताको निस्सा, कुनै अयोग्यता नभएको घोषणापत्र, उम्मेदवार आफै वा निजको प्रतिनिधि, प्रस्तावक वा समर्थकबाट सहीछाप गरिएको उम्मेदवारको मनोनयनपत्र पनि पेस गर्नुपर्नेछ । यस्तै, २०७९ सालको प्रदेशसभा सदस्यतर्फ समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवारको बन्द सूचीमा रहेको भए फिर्ता लिएको कागजात पनि पेस गर्नुपर्नेछ ।

    प्रस्तावक र समर्थकको नाम सम्बन्धित प्रदेशसभा सदस्य वा सम्बन्धित प्रदेशभित्रको गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष, नगरपालिकाको प्रमुख वा उपप्रमुख समावेश भएको निर्वाचक मण्डलको मतदाता नामावलीमा नाम भएको व्यहोरा खुल्ने कागजात पेस गर्नुपर्ने आयोगले जनाएको छ । आयोगले निर्वाचनको तयारी स्वरुप सात वटै प्रदेशमा निर्वाचन अधिकृत तोकिसकेको छ भने निर्वाचन कार्यालय पनि खोलिसकेको छ । राजनीतिक दलहरुले पनि उम्मेदवार छनोटका लागि प्रारम्भिक तयारी गरिरहेका छन् ।

  • चलचित्र ‘डिजिटाइजेसन’का लागि बोर्डद्वारा आवेदन आह्वान

    चलचित्र ‘डिजिटाइजेसन’का लागि बोर्डद्वारा आवेदन आह्वान

    काठमाडौँ, १६ पुस । ‘सेल्युलाइड’ प्रविधिमा निर्माण भएका नेपाली चलचित्रलाई नयाँ प्रविधिअनुसार डिजिटल स्वरूपमा रूपान्तरण गर्न चलचित्र विकास बोर्डले प्रक्रिया अघि बढाएको छ । स्वदेशी चलचित्रको संरक्षण र सम्वर्द्धन गर्ने उद्देश्यले बोर्डले ‘डिजिटाइजेसन’का लागि इच्छुक निर्माता वा अधिकार प्राप्त व्यक्तिहरूबाट आवेदन आह्वान गरेको हो ।

    बोर्डले आज एक सूचना जारी गर्दै उक्त प्रक्रियामा सहभागी हुन चाहनेले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र आवेदन दिन आग्रह गरेको छ । बोर्डका अनुसार ‘डिजिटल’ स्वरूपमा रूपान्तरण भएपछि पुराना चलचित्रको गुणस्तर सुधार हुनुका साथै ती चलचित्रलाई दीर्घकालीन रूपमा सुरक्षित राख्न सहज हुनेछ ।

    यसअघि बोर्डले ‘सेल्युलाइड’ प्रविधिमा रहेको ‘आमा’, ‘के घर के डेरा’, ‘बदलिँदो आकाश’, ‘जीवनरेखा’, ‘सिन्दुर’, ‘कुमारी’, ‘मनको बाँध’, ‘परिवर्तन’, ‘हिजोआज भोलि’, ‘शान्तिदीप’ लगायतका केही चलचित्रहरू ‘डिजिटाइजेसन’ गरिसकेको छ । ती चलचित्रमा अङ्ग्रेजी भाषामा ‘सवटाइटल’ पनि राखिएका छन् ।

    बोर्डले हाल चलचित्र भवनमा प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण सार्वजनिक गरेको छ । बोर्ड बोर्डअन्तर्गत रहेको ‘सिनेपा २ बक्सअफिस’ले प्रदर्शनरत चलचित्रको कारोबारसम्बन्धी विवरण सार्वजनिक गरेको छ । गत मङ्सिर १२ गतेदेखि प्रदर्शन भएको नेपाली चलचित्र ‘हर्ष’ ले यही पुस १२ गतेसम्म रु २८ लाख ७८ हजार ८३६ आम्दानी गरेको छ । एकता पौडेलले निर्देशन गर्नुभएको चलचित्र ‘हर्ष’ का लागि जम्मा आठ हजार ८६८ वटा टिकट बिक्री भएका छन् । उक्त चलचित्रमा खगेन्द्र लामिछाने, सन्तोष पन्त, नीर शाह, वर्षा राउतलगायत कलाकारले अभिनय गर्नुरेका छन् ।


    गत मङ्सिर १८ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘अभिमन्यू ः च्याप्टर १’ ले सोही अवधिसम्म रु २१ लाख ५० हजार ४०२ कमाइ गरेको छ । सुशान्त गौतमले निर्देशन गर्नुभएको उक्त चलचित्रको छ हजार ८६१ वटा टिकट बिक्री भएका छन् । चलचित्रमा कामेश्वर चौरासिया, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, सरिता गिरीलगायत कलाकारले अभिनय गरेका छन् ।

    मङ्सिर २६ गतेदेखि प्रदर्शन भएको चलचित्र ‘पीआर’ ले सोहि अवधिमा रु छ लाख ७५ हजार ३३ कमाइ गरेको छ । उक्त चलचित्रको कूल दुई हजार १४१ वटा टिकट बिक्री भएका छन् । शोभित बस्नेतले निर्देशन गर्नुभएको उक्त चलचित्रमा सुरज पौडेल, विनिता कार्की, नीर शाह, गौरी मल्ललगायत कलाकारले अभिनय गरेका छन् । मङ्सिर २६ मा प्रदर्शन भएको चलचित्र ‘लोकन्ती’ ले रु ४ लाख १२ हजार ५४० र ‘चिराग’ ले रु ६८ हजार ४५० कमाइ गरेको छ ।

    यही पुस ४ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘झरीपछिको इन्द्रेणी’ पनि घरेलु बक्सअफिसमा उत्साहजनक कमाइ गर्न सकेको छैन । हाँस्य कलाकार अर्जुन घिमिरे ‘पाँडे’ ले निर्देशन गर्नुभएको उक्त चलचित्रले सोही अवधिमा रु ६२ लाख ६९ हजार ४७५ कमाइ गरेको छ । उक्त चलचित्रका लागि कूल १९ हजार ७९३ वटा टिकट बिक्री भएका छन् ।

    भ्रष्टाचार र बेथितिविरुद्धको आवाज चलचित्रमा उठाउन प्रयास गरिएको उक्त चलचित्रमा अभिनेता गणेश उप्रेती, रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, विमोचन दवाडी, जेसिका पोखरेल, प्रियना आचार्य ९मुन्नी०, अंशु महर्जन, राजेन्द्र नेपालीलगायतका कलाकारले अभिनय गरेका छन् । हाल प्रदर्शनरत चलचित्रमध्ये गत कात्तिक १४ गतेदेखि प्रदर्शन सुरू भएको ‘परान’ ले रु १७ करोड ६७ लाख ३६ हजार ८२८ कमाइ गरेको छ ।

    दीपकप्रसाद आचार्यले निर्देशन गर्नुभएको उक्त चलचित्रले प्रदर्शनको ५१ औँ दिन पूरा गर्दा गएको शनिबारसम्म छ लाख २७ हजार ५८५ वटा टिकट बिक्री भएका छन् । उक्त चलचित्रमा नीर शाह, मदनकृष्ण श्रेष्ठ, केकी अधिकारी, महेश त्रिपाठी, सुव्रत आचार्यलगायतले अभिनय गरेका छन् । चलचित्र विकास बोर्डले पछिल्लो केही महिनादेखि नेपालमा प्रदर्शन भएका स्वदेशी र विदेशी चलचित्रको व्यावसायिक विवरण सार्वजनिक हरेक सोमबार गर्दै आएको छ।

  • तराईमा हुस्सु, हिमाल–पहाडमा आंशिक बदली

    तराईमा हुस्सु, हिमाल–पहाडमा आंशिक बदली

    काठमाडौँ, १६ पुस । देशभर पश्चिमी वायुको आंशिक प्रभावका कारण मौसममा परिवर्तन भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज तराई भू–भागका अधिकांश स्थानमा हुस्सु लाग्नेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशसहित बाँकी पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहने अनुमान गरिएको छ । यसैबीच, कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    हुस्सु र कुहिरोका कारण तराई क्षेत्रमा हवाई तथा स्थल यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ । काठमाडौँ उपत्यकाको आज बिहानको न्यूनतम तापक्रम ५ डिग्री सेल्सीयस रह्यो भने अधिकतम तापक्रम १७ देखि १८ डिग्री सेल्सीयसका बीच रहने पूर्वानुमान छ ।

  • अर्थतन्त्र उकास्न आज सर्वपक्षीय राष्ट्रिय संवाद

    अर्थतन्त्र उकास्न आज सर्वपक्षीय राष्ट्रिय संवाद

    काठमाडौँ, १६ पुसः देशको अर्थतन्त्र उकास्ने उद्देश्यले आज यहाँ शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य शीर्षकमा सर्वपक्षीय राष्ट्रिय संवाद आयोजना हुँदैछ छ । नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसिसिआई)को आयोजनामा हुने संवादमा प्रधानमन्त्री सुशीला कार्की प्रमुख आतिथि रहने एफएनसिसिआईले जनाएको छ । संवादमा प्रमुख राजनीतिक दल, निजी क्षेत्र, युवा पुस्ता (जेनजी), नागरिक समाज तथा सञ्चार क्षेत्रका प्रतिनिधि सहभागी हुनेछन् ।

    संवादमार्फत राजनीतिक स्थायित्व, आर्थिक सुधार, लगानी अभिवृद्धि र युवाको भूमिकाबारे साझा धारणा निर्माण गर्ने लक्ष्य रहेको महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए । अर्थतन्त्रका चुनौती समाधानका निम्ति संवाद र सहकार्यको वातावरण बनाउन कार्यक्रम आयोजना गरिएको एफएनसिसिआईले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

  • शीतलहरले वीरगन्जमा तीन दिन सार्वजनिक बिदा

    शीतलहरले वीरगन्जमा तीन दिन सार्वजनिक बिदा

    वीरगञ्ज (पर्सा), १६ पुसः वीरगञ्ज महानगरले यहाँ शीतलहर चलेसँगै यहाँ तेस्रोपटक फेरि तीन दिन विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ ।
    पछिल्लो दुई सातादेखि महानगर आपसपासमा लगातार चिसो बढेसँगै महानगरले पुस १६ देखि १८ गतसम्म तीन दिन थप बिदा दिने निर्णय गरेको हो । यसअघि महानगरले दुईपटक गरेर पाँच दिन जाडो बिदा दिइसकेको छ ।

    वीरगञ्ज महानगर शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेका अनुसार विगत केही दिनदेखि बढ्दै गएको चिसोका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै बर्खे बिदाबाट कट्टा हुनेगरी यहाँका सामुदायिक र संस्थागत विद्यालयलाई थप बिदा दिइएको हो । आगामी पुस २० गतेदेखि विद्यालय फेरि सञ्चालन हुने जनाइएको छ ।

  • कर्णालीका तीन जिल्लामा ८६ वटा टेलिकमका टावर विस्तार

    कर्णालीका तीन जिल्लामा ८६ वटा टेलिकमका टावर विस्तार

    जुम्ला, १५ पुस । ग्रामीण क्षेत्रमा टेलिफोन नेटवर्कको सुदृढीकरण र दुर्गम बस्तीमा सञ्चार सेवा पु(याउने उद्देश्यका साथ नेपाल टेलिकमले कर्णाली प्रदेशका दुर्गम भेगमा टावर विस्तार गरेको छ । नेपाल टेलिकम शाखा कार्यालय जुम्लाको कार्यक्षेत्र पर्ने जुम्लालगायत कालीकोट र मुगुमा ८६ वटा टावर विस्तार गरिएको नेपाल टेलिकम शाखा कार्यालय जुम्लाका प्रमुख पारस पुजाराले जानकारी दिए ।

    कालीकोटमा २२, मुगुमा १९ र जुम्लामा ४५ वटा टावर विस्तार गरिएका छन् । कार्यालय प्रमुख पुजाराले भने, “जुम्लाको हिमा गाउँपालिकामा नेपाल टेलिकमको टावर निर्माण भइ सुचारु भएको छ । लामो समयदेखि टेलिफोन टावर निर्माण नुहँदा यहाँका स्थानीयवासी टेलिफोन सेवाबाट वञ्चित भएका थिए ।”

    सोमबारदेखि टावर निर्माण सम्पन्न भई टेलिफोन र फोरजी इन्टरनेट सेवा सञ्चालन भएको हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले बताए । टेलिकमको फाइबर इन्टरनेट सेवा हाल सदरमुकाम खलङ्गामा मात्र विस्तार गरिएको छ । जिल्लाका आठवटै स्थानीय तहसम्म विस्तार गर्न काम भइरहेको टेलिकम शाखा कार्यालयले जनाएको छ । नेपाल टेलिकमको कर्णाली प्रादेशिक निर्देशनालय सुर्खेतका अनुसार हालसम्म कर्णालीका ३७ स्थानीय तहमा सञ्चार सेवा विस्तार गरिएको जनाएको छ ।

  • सोमबारदेखि अवरुद्ध दाउन्ने खण्ड अझै सञ्चालनमा कठिनाइ

    सोमबारदेखि अवरुद्ध दाउन्ने खण्ड अझै सञ्चालनमा कठिनाइ

    मध्यविन्दु (नवलपरासी), १५ पुस । नारायणगढ–बुटवल सडक खण्डअन्तर्गत दाउन्नेमा सोमबार बिहानदेखि अवरुद्ध सडक अझै सञ्चालनमा आउन सकेको छैन । केही दिनदेखिको शीतलहरले सडक चिप्लो तथा हिलाम्य बनेपछि अवरुद्ध भएको हो । दाउन्नेस्थित खुर्सानी खोला आसपासको सडकमा सवारीसाधन चिप्लिने र उकालो चढ्न नसक्ने समस्या देखिएपछि सोमबार बिहानदेखि राजमार्गमा समस्या भइरहेको छ ।

    जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व_का सूचना अधिकारी प्रहरी वरिष्ठ नायब निरीक्षक विनोद जोशीका अनुसार सवारीसाधनको जाम विस्तारै हटाउने प्रयास भइरहेको छ । बाक्लो हुस्सु र चिप्लो सडकका कारण सवारी सञ्चालनमा कठिनाइ भएको पनि उनले बताए । जोशीका अनुसार दाउन्नेबाट दुम्कीबास जङ्गलसम्म करिब एक हजार पाँच सय सवारीसाधन जाममा फसेका छन् । नारायणगढ–बुटवल सडक योजना पश्चिम खण्डका सूचना अधिकारी ई विकास खनालले निर्माणाधीन क्षेत्रमा शीतलहरको प्रभाव अझ बढिरहेको जानकारी दिए ।

    विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले सोमबारदेखि समस्या भएपछि यात्रुलाई निकै सास्ती भएको बताए । “चिसोले बालबालिका, महिला तथा ज्येष्ठ नागरिकलाई निकै दुःख भएको छ । घण्टौँदेखि गन्तव्य नपुगेका यात्रु र सडकमै रोकिएका मालबाहक सवारीले दाउन्नेदेखि दुम्कीवाससम्मको अवस्था थप कष्टकर बनिरहेको छ”,उनले भने । यसैबीच आयोजनाले आज सूचना जारी गर्दै अत्यावश्यक बाहेकका सवारीसाधनलाई वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरेको छ । साथै सवारीसाधन सञ्चालन गर्दा ट्राफिक नियमको पूर्ण पालना गर्न र सावधानी अपनाउन पनि आग्रह गरिएको छ ।

  • काठमाडौँको तापक्रम थप घट्यो, जुम्लामा माइनस ४.५

    काठमाडौँको तापक्रम थप घट्यो, जुम्लामा माइनस ४.५

    काठमाडौँ, १५ पुस । काठमाडौँको तापक्रम आज यो वर्षकै सबैभन्दा कम मापन गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज काठमाडौँको न्यूनतम तापक्रम ४.८ डिग्री रेकर्ड भएको छ । यो तापक्रम वर्षकै सबैभन्दा कम हो । यसअघि यही पुस ८ गते काठमाडौँको न्यूनतम तापक्रम ४.९ डिग्री मापन भएको थियो । त्यसपछिको कम तापक्रम आज मापन भएको हो । जल तथा मौसम विज्ञान विभागका सूचना अधिकारी दिनकर कायस्थले तराई क्षेत्रमा हुस्सु, कुहिरो र शीतलहर कायम रहेको र हिमाली क्षेत्रमा केही ठाउँमा हिमपात रहेको बताउनुभयो । चिसो अझै बढ्ने अनुमान गरिएको छ । आज जुम्लाको तापक्रम माइनस ४.५ रहेको छ ।

    विभागले आज राति सार्वजनिक गरेको बुलेटिनमा पुस १६ गते तराई भू–भागका अधिकांश स्थानहरूमा हुस्सुरकुहिरो रहने तथा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत बाँकी पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहने जनाइएको छ । कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना रहेको पनि विभागले जनाएको छ । यही पुस १७ गते पनि उस्तै अवस्था रहने भएकाले आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ । देशका तराई भू–भागमा हुस्सु\कुहिरोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्ने देखिएको जनाइएको छ।

  • कृषिमन्त्री परियारको सय दिन : किसानको बक्यौता रकम भुक्तानीदेखि कृषि बजार सुधारसम्म

    कृषिमन्त्री परियारको सय दिन : किसानको बक्यौता रकम भुक्तानीदेखि कृषि बजार सुधारसम्म

    काठमाडौँ, १५ पुस । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको जिम्मेवारीमा डा मदनप्रसाद परियार बहाली भएको आज १०० दिन पूरा भएको छ । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्मा रहेर आम किसानहरूसँग प्रत्यक्ष वा परोक्ष जोडिएका समस्या समाधान गर्न र उनीहरू आवश्यकता सम्बोधन गर्न उनी लागिपरेका छन् ।


    यस अवधिमा मन्त्री परियारको प्रयासबाट कृषि जन्य उत्पादन प्रवद्र्धन र बजारीकरण, प्रविधिको प्रयोग र कृषि अनुसन्धानसँग सम्बन्धित नीतिगत तथा व्यवस्थापकीय सुधार तथा कार्य सम्पादन भएका छन् । यसबीचमा उनीबाट देशका विभिन्न स्थानमा किसानको खेत बारीमै पुगेर भेटघाट तथा छलफलमार्फत आम किसानका समस्याहरू बुझी सम्भव भएसम्म तत्काल समाधान गर्ने प्रयास भएका छन् । मन्त्री परियारको प्रत्यक्ष संलग्नता र निर्देशनमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट सम्पादन भएका महत्त्वपूर्ण कार्य तथा उपलब्धिहरू निम्न बमोजिम रहेका छन्…

    दुग्ध उत्पादक किसानको बक्यौता रकम भुक्तानी

    १. दुग्ध विकास संस्थान (डिडिसि) ले २०८२ भदौ मसान्तसम्मको दुग्ध उत्पादक कृषकहरूको बाँकी बक्यौता रकम रु एक अर्ब तीन करोड रहेकामा असोजदेखि पुस ९ गतेसम्म तीन महिनाको समयावधिमा रु ८१ करोडको भुक्तानी भइसकेको र बाँकी रहेको रकम करिब २२ करोड आगामी फागुन मसान्तसम्म भुक्तानी भइसक्ने अपेक्षा गरिएको छ ।

    २. पाँचथर भ्रमणको क्रममा बन्द र जीर्ण अवस्थामा रहेको राँके चिज उत्पादन केन्द्रको अवलोकन गरी दुग्ध कृषकहरूको गुनासो र उत्पादनको खपत बजार सुनिश्चित हुनुपर्ने मागबमोजिम २० दिनभित्र नयाँ संरचना बनाउन दिइएको निर्देशन बमोजिम द्रुत गतिमा कार्य भइरहेको छ ।

    ३. संस्थानका विभिन्न कार्यस्थलहरू बालाजु, लैनचौर, र हेटौडामा स्थलगत अनुगमनको क्रममा दुग्ध किसान र कर्मचारीहरूसँग छलफल गरी आवश्यक सुधारका लागि निर्देशन भएको छ ।

    ४.मन्त्रीको निर्देशनमा राष्ट्रिय दुग्ध विकास बोर्ड मार्फत निरन्तर पहल गरी निजी डेरी उद्योगहरूले दुग्ध उत्पादक किसानलाई तिर्न बाँकी रहेको दूधको बक्यौता रकम भुक्तानि भई यस अवधिमा करिब रु साढे दुई अर्बबाट करिब एक अर्बमा झरेको छ ।

    ५. दुग्ध पदार्थ, ऊन र मासुजन्य वस्तुको उत्पादन तथा निर्यात प्रवर्द्धन गर्न खोरेत रोग नियन्त्रणको लागि गरिएको खोप कार्यको प्रभावकारिता अनुगमन गर्न सिरोमनिटरिङको लागि ११ हजार ८०४ वटा नमूना सङ्कलन, परीक्षण तथा नतिजा अभिलेखीकरण गरिएको र खोरेत रोग निदानको लागि सात हजार २५ वटा नमूना सङ्कलन तथा परीक्षण गरिएको छ ।

    कालीमाटी फलफूल तथा तरकारी बजार र अन्य कृषि बजारको सुधार

    १. कालीमाटी फलफूल तथा तरकारी बजारलाई थप व्यवस्थित बनाई प्रभावकारी रूपमा सञ्चालन गर्न हालको विद्यमान समिति संरचना, पूर्वाधार सुधार, व्यवस्थापन सुधार, सरसफाइलगायत विषयमा मन्त्रीको निर्देशनबमोजिम आवश्यक सर्वेक्षण गरी कार्यान्वयन कार्ययोजनासहितको प्रतिवेदन प्राप्त भएको र सो प्रतिवेदन कार्यान्वयनको क्रममा रहेको छ ।

    २. कालीमाटीमा रहेको माछा बजारलाई व्यवस्थित र गुणस्तरीय बनाउनका लागि छुट्टै बजारको परिकल्पना अगाडि बढाइएको छ ।

    ३. चोभारमा निर्माण भई अलपत्र अवस्थामा रहेका फलफूल तथा पुष्प व्यापारका लागि निर्माण भएका बजार संरचनाहरूको स्थलगत अवलोकन गरी यथासिघ्र संचालनमा ल्याउनका लागि सम्बन्धित निकायहरूलाई निर्देशन दिइएको छ ।

    ४. अत्तरिया, कोहलपुर र धरान कृषि थोक बजारहरूमा विषादी अवशेष द्रुत परीक्षण प्रयोगशाला निर्माण कार्य प्रारम्भ गरिएको छ ।

    माछा उत्पादन व्यवस्थापन

    १. मकवानपुर, बारा र पर्सा जिल्लाका मत्य उत्पादक किसान र मत्स्य प्रवर्द्धन केन्द्रसँग मत्स्यपालनको क्षेत्रमा देखिएका विभिन्न समस्याहरू, आयातित माछासँग प्रतिस्पर्धा, क्षमता विकास तथा बजारीकरणका लागि मूल्यशृङ्खलामा सहजीकरणका विषयमा छलफलगरी समाधानार्थ आवश्यक कार्य अगाडि बढाउन निर्देशन दिइएको छ ।

    २. माछापालनमा प्रयोग हुने विद्युत् मिटरलाई कृषि मिटरमा समावेश गर्न ऊर्जा मन्त्रालयसँग अनुरोध गरिएको छ ।

    ३. केन्द्रीय मत्स्य प्रवर्द्धन तथा संरक्षण केन्द्र बालाजुको स्थलगत निरीक्षण गरी नेपालमा उत्पादित माछाको लागत न्यूनीकरणलगायतका समस्याहरू सम्बोधन गर्नको लागि आवश्यक अध्ययन गरी प्रतिवेदन पेस गर्न निर्देशन दिइएको ।

    ४. मत्स्य क्षेत्रको उत्पादन वृद्धि गरी मुलुकलाई माछामा आत्मनिर्भरतर्फ उन्मुख गराउन यस अवधिमा एक करोड ६९ लाख ६१ हजारभन्दा बढी भूरा माछाको उत्पादन भई किसानहरूलाई वितरण भएको ।

    च्याउ उत्पादन प्रवर्द्धन

    १. च्याउ उत्पादक किसानहरूलाई च्याउ उत्पादनमा कच्चा पदार्थको रूपमा प्रयोग हुने पराल ढुवानीमा सहजीकरणका लागि गृह मन्त्रालय र यातायात व्यवस्था विभागसँग अनुरोध गरिएको छ ।

    २. विगत लामो समयदेखि च्याउ उत्पादक किसानहरूको माग पूरा नभइरहेको अवस्थामा गुणस्तरीय च्याउको उत्पादन प्रवर्द्धन तथा च्याउ उत्पादन कृषकहरूलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ यही वर्षदेखि पुस १५ गतेलाई राष्ट्रिय च्याउ दिवसका रूपमा घोषणा गरिएको छ ।

    केरा उत्पादन प्रवर्द्धन

    १. नेपाली केरा उत्पादक किसान र नेपाली उत्पादनलाई जैविक सुरक्षा प्रदान गर्न आयात नियन्त्रणका लागि सरोकारवाला निकायहरूसँग अनुरोध गरिएको छ ।

    २. स्वदेशी केरा उत्पादनलाई प्रवर्द्धन गर्न जातीय सम्भावना, आम उपभोक्ताको रोजाइका जात तथा नेपाली केराको बजारीकरणका लागि प्याकेजिङमा सुधार गरी प्रतिस्पर्धी बनाउनका लागि ४५ दिनभित्र कार्ययोजनासहितको प्रतिवेदन पेस गर्न कार्यदल गठन गरिएको छ ।

    मह उत्पादन प्रवर्द्धन

    १. मह उत्पादक कृषकहरूको समस्याहरूको बारेमा किसान, उद्योगी र व्यवसायीसमेतको उपस्थितिमा मन्त्रालयमा छलफल भई नेपाली मह उत्पादन, प्याकेजिङ र बजारीकरण तथा निर्यातमा रहेका समस्या समाधानार्थ एक अध्ययन कार्यदल गठन गरिएको छ ।

    २. आयातित र स्वदेशमै उत्पादित महको गुणस्तरबारे प्रयोगशाला परीक्षण गरी प्रतिवेदन पेस गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई निर्देशन दिईएको छ ।

    खाद्य स्वच्छता तथा गुणस्तर सुधार

    १. काठमाडौँ उपत्यकामा ठूलो मात्रामा भित्रिने तरकारी नाकामा नै विषादी अवशेष विश्लेषण गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई निर्देशन दिई परीक्षण कार्य सुरुआत भएको छ ।

    २. उपभोक्ताको स्वास्थ्यलाई प्राथमिकतामा राखी खाद्य स्वच्छता तथा खाद्य पदार्थको गुणस्तर कायम गर्न खाद्य पदार्थको परीक्षणलाई थप प्रभावकारी बनाइएको । खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८९२० को प्रावधानबमोजिम खाद्य पदार्थको जाच विश्लेषण गर्दा कैफियत देखिएका पाँच किसिमका खाद्य पदार्थ फिर्ता गर्न तथा सोही ऐनको दफा ३८९४० बमोजिम कैफियत देखिएका खाद्य पदार्थ बिक्री वितरण नगर्न आदेश जारी गरिएको छ ।

    ३.यस अवधिमा तरकारी तथा फलफूल बालीका करिब १० हजार नमूनाहरूमा विषादी अवशेष द्रुत परीक्षण विधिमार्फत विषादी परीक्षण गरिएको जसमा करिब ०।०७ प्रतिशत नमूना उपयोग अयोग्य पाइएको छ । थप दुई वर्गका विषादी परीक्षणका लागि आवश्यक किट खरिदको प्रक्रिया अगाडि बढाइएको छ ।

    निर्यात प्रवर्द्धनका लागि जोनिङ कार्यक्रम

    १.नेपालबाट निर्यात हुने प्रमुख पशुजन्य पदार्थजस्तै मासु, दुध, छुर्पी, घ्यूको अन्तरराष्ट्रिय बजार विस्तार सुनिश्चित गर्न ‘जोनिङ एन्ड कम्पार्टमेन्टलाइजेसन’ कार्यक्रममार्फत खोरेत रोगमुक्त क्षेत्र घोषणा गर्न सङ्घीय सरकार र कोशी प्रदेश सरकारको संयुक्त पहलमा इलाम जिल्लाका तीन वटा जोनमा कार्य सञ्चालन भइरहेको छ ।

    २. चीन सरकारसँग राँगाभैंसीको मासु निर्यातका लागि भएको सम्झौताअनुसार उत्पादन वृद्ध गर्न सङ्घीय सरकार र बागमती प्रदेश सरकारको संयुक्त पहलमा सिन्धुली र मकवानपुर जिल्लाका चार वटा स्थानीय तहहरूमा खोरेत रोगमुक्त क्षेत्र घोषणाका लागि जोनिङ तथा कम्पार्टमेन्टलाइजेसनसम्बन्धी कार्यको सुरुआत भएको छ ।

    सङ्क्रामक तथा महामारीजन्य पशु रोग नियन्त्रण

    १. पशुपन्छीमा लाग्ने रोग तथा महामारी नियन्त्रणका लागि पशुपन्छीको सङ्क्रामक रोगविरुद्धको ३६ लाख डोज पिपिआररचरचरे भ्यागुतेररानीखेत लगायतका ११ प्रकारको खोप उत्पादन गरी वितरण गरिएको छ ।

    २. पशुपन्छीको सङ्क्रामक रोग नियन्त्रण एवं रोकथामका लागि २३ हजार ६३५ वटा नमूना सङ्कलन तथा परीक्षण गरी रोग निदानका कार्य गरिएको छ ।

    पशुपन्छीको नश्ल सुधार

    १. पशु नश्ल सुधारका कार्यक्रममार्फत कृत्रिम गर्भाधान गराई पशुपालनको उत्पादकत्व वृद्धि गर्न एक लाख २६ हजार ३५३ लिटर तरल नाइट्रोजन र पाँच लाख ३१ हजार २७० डोज जमेको वीर्य उत्पादन तथा खरिद गरी वितरण गरिएको छ ।

    २.पशु नश्ल सुधारका लागि तीन लाख १७ हजार ३८० सङ्ख्या पशुवस्तुमा कृत्रिम गर्भाधान सेवा पुर्‍याइएको छ ।

  • समानुपातिकको बन्दसूचीमा २२ दलले मात्रै दिए ११० स्थानमा उम्मेदवारी

    समानुपातिकको बन्दसूचीमा २२ दलले मात्रै दिए ११० स्थानमा उम्मेदवारी

    काठमाडौँ, १५ पुसः आशन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको बन्दसूची पेस गर्ने ६४ राजनीतिक दलमध्ये २२ दलले मात्रै ११० स्थानमा उम्मेदवारी दिएका छन् । निर्वाचन आयोगमा यही पुस १३ र १४ गते पेस भएको बन्दसूचीमा २२ दलले मात्रै समानुपातिकको सबै स्थान ११० उम्मेदवारी मनोनयन गरेका हुन् । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले कूल ६४ दलले सूची बुझाएकामा ५८ दलले ५८ निर्वाचन चिह्नमा उम्मेदवारी दिएको बताए ।


    सबै (११०) स्थानमा उम्मेदवारी दिने राजनीतिक दलमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, मङ्गोल नेशनल अर्गनाइजेशन, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल कम्युनिष्ट पार्टी (माले), श्रम संस्कृति पार्टी, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपाल सद्भावना पार्टी, जनमत पार्टी, मितेरी पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) रहेको छन् ।

    यस्तै नेपाली जनता दल, राष्ट्रिय प्रजातान्त्रिक पार्टी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी), प्रगतिशील लोकतान्त्रिक पार्टी रहेका छन् । केही दलहरूले साझा निर्वाचन कायम गरी एकापसको सूची मिलाएर ११० स्थानमा बन्दसूची बुझाएका छन् । उक्त सूचीअनुसार औसत प्रति निर्वाचन चिह्नमा उम्मेदवारी दिने दलको सङ्ख्या ६० देखिएको छ । यस्तै न्यूनतम ११ स्थानमा बन्दसूची पेस गर्ने दलको सङ्ख्या १० रहेको छ । यसैगरी एकल चिह्न लिएका दलहरू १० रहेका छन् ।

    आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा २०७८ को जनगणनाअनुसार समावेशी समूहको प्रतिशतका आधारमा दलहरूले उम्मेदवारी दिएका छन् । यसबीचमा कतिपय दलबीच एकता र सहकार्यको सहमति भएकाले राति अबेरसम्म बन्दसूची बुझाउने क्रम जारी रहेको थियो । आयोगमा ९३ राजनीतिक दलले यस प्रणालीमा उम्मेदवारी दिन आवेदन दिएकामा जम्मा ६४ दलले मात्रै उक्त प्रणालीका लागि उम्मेदवारी दिएका हुन् ।

    प्राप्त बन्दसूचीका सम्बन्धमा यही पुस १५ देखि ० गतेसम्म छानबिन गर्ने कार्यतालिकाअनुसार काम हुने बताए । आयोगले पुस २० गतेसम्म बन्दसूची छानबिन गरेपछि सच्याउनुपर्ने वा अपुग भाग जति भएमा पुस २१ गतेदेखि २७ गतेसम्म मिलाउन दललाई समय दिनेछ । यही पुस २८ गतेदेखि माघ ३ गतेसम्म दलले मिलाएको बन्दसूची जाँच गरिने आयोगले जनाएको छ । आगामी माघ २० गते अन्तिम सूची प्रकाशन हुनेछ ।

    प्रतिनिधिसभा सदस्य निर्वाचन ९पहिलो संशोधन० अध्यादेश, २०८२ बमोजिम नेपाल सरकारले २०७८ को जनगणनाको प्रतिवेदनबमोजिमको दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारु, मुस्लिमको जनसङ्ख्या प्रतिशतको आधारमा दलहरूले बन्दसूची पेस गरेका हुन् । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ अनुसूची १ लाई संशोधन गर्न सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि यही पुस ४ गते अध्यादेश जारी भएको थियो ।

    प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ अनुसूची–१ मा राष्ट्रिय जनगणना २०६८ अनुसार समावेशी समूहको प्रतिशत उल्लेख थियो । आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्यअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ राष्ट्रिय जनगणना २०७८ को जनसङ्ख्याका आधारमा समावेशी आधार प्रतिशतका आधारमा दलहरूले उम्मेदवारको बन्द सूची पेस गर्नुपर्ने छ ।

    पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष)तर्फको निर्वाचन कार्यक्रमअनुसार आगामी माघ ६ गते उम्मेदवारको मनोनयनपत्र दर्ता हुनेछ । सोही दिन नै उम्मेदवारको सूची प्रकाशन हुने कार्यक्रम तय भएको छ । उम्मेदवारीमाथि आगामी माघ ७ गते विरोधमा उजुरी दिने समय निर्धारण गरिएको छ । आगामी माघ ८ गते उम्मेदवारको नामावली प्रकाशन हुनेछ । यस्तै, माघ ९ गते उम्मेदवारले आफ्नो नाम फिर्ता लिन सक्नेछन् र सोही दिन नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ ।

    मतपत्र छपाइ तयारी सुरु

    यसैबीच उम्मेदवारीको मनोनय प्रक्रिया सुरु भएसँगै आयोगले निर्वाचनका लागि आवश्यक करिब चार करोड थान मतपत्र छपाइको प्रक्रिया अघि बढाएको छ । आयोगका कार्यवाहक आयुक्त रामप्रसाद भण्डारीसहित आयुक्तहरू, उच्चाधिकारी र सम्बन्धित शाखाका कर्मचारीले आज बैठक गरी मतपत्रको सम्भावित ढाँचा, आकार र ‘डिजाइन’बारे परामर्श गरेका छन् ।

  • पूर्वराष्ट्रपतिद्वय यादव र भण्डारीबीच भेटवार्ता

    पूर्वराष्ट्रपतिद्वय यादव र भण्डारीबीच भेटवार्ता

    काठमाडौँ, १५ पुस । पूर्वराष्ट्रपतिद्वय डा रामवरण यादव र विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य किरण यादवको निवास लाजिम्पाटमा आज भएको भेटमा वर्तमान राजनीतिक अवस्थाको विषयमा छलफल भएको पूर्वराष्ट्रपति भण्डारीको सचिवालयले जनाएको छ । उनीहरुबीच वर्तमान सरकारको गतिविधि, आगामी फागुन २१ हुने निर्वाचन र वर्तमान राजनीतिक निकासलगायत समसामयिक विषयमा छलफल भएको जनाइएको छ ।

  • युवाले चाहेजस्तो देश निर्माणमा अग्रसर छौँ : प्रधानमन्त्री

    युवाले चाहेजस्तो देश निर्माणमा अग्रसर छौँ : प्रधानमन्त्री

    काठमाडौँ, १५ पुस । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा विकसित घटनाक्रमबाट पाठ सिक्दै शान्तिपूर्ण, संविधानसम्मत र लोकतान्त्रिक विधिप्रक्रियाबाट युवाले चाहेजस्तो देश निर्माण गर्न सरकार अग्रसर रहेको बताएकी छिन् । उनले जतिसुकै मतभेद भए पनि एकापसमा हातेमालो गर्दै आपसी संवाद र सहमतिका आधारमा मुलुकलाई राजनीतिक निकास दिनेगरी निर्वाचनका पक्षमा देश होमिएको बताइन् । ‘तमु ह्युल छोज धिँ गुरुङ राष्ट्रिय परिषद्’द्वारा आज टुँडिखेलमा आयोजित तमु ल्होसार महोत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले लोकतन्त्रको मुख्य आधार उल्लासमय वातावरणसहित स्वच्छ र निष्पक्ष निर्वाचन रहेको बताइन् ।


    उनले राजनीतिक दलका तर्फबाट उत्साहका साथ समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको बन्द सूची निर्वाचन आयोगमा पेस भएसँगै प्रतिनिधि सभा सदस्यको निर्वाचन सुनिश्चित भएको छ भनिन् । आसन्न निर्वाचनका सन्दर्भमा जिम्मेवार राजनीतिक दलसहित र युवाहरूबाट प्राप्त अमूल्य सहयोगका लागि धन्यवाद दिँदै प्रधानमन्त्री कार्कीले सम्बद्ध सबै पक्षको सहयोगमा उत्साहपूर्ण ढङ्गबाट निर्वाचन सफल हुने विश्वास व्यक्त गरिन् ।

    शान्ति, सुरक्षाको प्रत्याभूतिसहित भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्दै उनले प्रतिनिधि सभा सदस्यको निर्वाचन सम्पन्न गरी मुलुकलाई राजनीतिक निकास दिन अहोरात्र खटिरहेको सरकारलाई साथ दिन सबैसँग अनुरोध गरेकी छिन् ।

  • काठमाडौंमा छुट्टाछुट्टै सडक दुर्घटनामा दुई जनाको मृत्यु

    काठमाडौंमा छुट्टाछुट्टै सडक दुर्घटनामा दुई जनाको मृत्यु

    काठमाडौँ, १५ पुस । काठमाडौँका दुई छुट्टाछुट्टै स्थानमा भएका दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । आज बूढानीलकण्ठ नगरपालिका–७ गल्फुटार चोकस्थित सडकमा चक्रपथबाट बूढानीलकण्ठतर्फ जाँदै गरेको बा प्र०२–०५२ प ५४०२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक रामेछाप खाँडादेवी गाउँपालिका–३ का अवि श्रेष्ठको मृत्यु भएको हो । दुर्घटनामा घाइते उहाँको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा मृत्यु भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए ।

    यस्तै, आजै काठमाडौँ महानगरपालिका–१२ टेकुस्थित सडकमा बागमती प्रदेश ०१–००१ य १७४३ नम्बरको इभी गाडी र बा ९१ प ७५६४ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक काभ्रेको बेथानचोक गाउँपालिका–२ का ३० वर्षीय दीपक बजगाईँ रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते उहाँको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको हो ।

  • ग्यास बुलेट राजमार्गमा पल्टियो, दिनभर खुलेन पूर्व–पश्चिम महेन्द्र राजमार्ग

    ग्यास बुलेट राजमार्गमा पल्टियो, दिनभर खुलेन पूर्व–पश्चिम महेन्द्र राजमार्ग

    चन्द्रपुर (रौतहट), १५ पुष । आज बिहान ७ः३० बजेदेखि अवरुद्ध भएको पूर्व–पश्चिम महेन्द्र राजमार्ग अझै खुल्न सकेको छैन । महेन्द्र राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहपुर—धन्सार सडक खण्डको लमाह पुल नजिक एलपी ग्यास बोकेको बुलेट दुर्घटना हुँदा राजमार्ग अवरुद्ध भएको हो । भारतको रक्सौलबाट एलपी ग्यास बोकेर धनुषाको महेन्द्रनगरतर्फ जाँदै गरेको युपी १७ ए टी २११४ नम्बरको ट्याङ्कर आज बिहान दुर्घटना भएको हो ।

    अवरुद्ध राजमार्ग बिहानैदेखि खुलाउने प्रयास भए पनि प्राविधिक कारणले खुलाउन नसकिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकी प्रहरी नायब उपरीक्षक रुपा लाबुङले जानकारी दिइन् । बिहान ९ बजेदेखि नै ग्यास कम्पनीका प्राविधिक र नेपाल आयल निगम वीरगञ्ज शाखाका प्राविधिक टोलीले उक्त बुलेट हटाउन प्रयास गरे पनि अझै समय लाग्ने उपरीक्षक लाबुङले जानकारी दिइन् । उक्त ग्यास बुलेट हटाउन छ वटा क्रेन प्रयोग गरिएका छन् ।

    दुर्घटनापछि बुलेटबाट लिक भएको ग्यास प्राविधिकले टाल्न नसकेपछि समस्या भएको उनले बताइन् । दुर्घटनामा ट्याङ्कर चालक भारतको कदोरा जिल्ला जयनगर थाना निवासी ३५ वर्षीय पवन यादव घाइते भएका थिए । हाल पूर्वबाट आएका सवारीसाधन चन्द्रनिगाहपुरमा थन्किएको छन् भने केही सवारीसाधन रौतहटको चन्द्रनिगाहपुर—गौर राजमार्ग हँुदै बालचनपुर, जङ्गल सहिया हुँदै धन्सारको करिब ३५ किलोमिटर लामो बाटो घुमेर आवतजाबत गरिरहेका छन् ।

  • ओलीको व्यङ्ग्य : जसलाई भेट्यो उसलाई प्रधानमन्त्री बाँडेर केही हुँदैन

    ओलीको व्यङ्ग्य : जसलाई भेट्यो उसलाई प्रधानमन्त्री बाँडेर केही हुँदैन

    काठमाडौँ, १५ पुस । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी दिनमा एमाले र नेपाली कांग्रेसबाहेक अरुले सरकार बनाउन नसक्ने दाबी गरेका छन् । ‘नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनको सन्देश र राजनीतिक निकास’ विषयक आज मदन–आश्रित स्मृति प्रतिष्ठानद्वारा आयोजित विचारगोष्ठीमा पूर्वप्रधानमन्त्री ओलीले पछिल्ला दिनमा प्रधानमन्त्री पदका सहमति गरेर भन्ने खबर आफूले सुनेको उल्लेख गर्दै एमाले–कांग्रेस बाहेक अरुले सरकार बनाउन नसक्ने दाबी गरे ।


    अध्यक्ष ओलीले भने, “जसलाई जहाँ भेट्यो, त्यहाँ प्रधानमन्त्री बाँडेर हुँदैन ।” उनले मोर्चाबन्दीले एमालेलाई कुनै फरक नपर्ने टिप्पणी गर्दै ठूला र पुराना लोकतान्त्रिक शक्तिले नै देशको नेतृत्व गर्ने विश्वास व्यक्त गरे । संसद् पुनःस्थापना आफूहरूको प्राथमिकता रहेको स्पष्ट पार्दै अध्यक्ष ओलीले पछिल्लो राजनीतिक निकासको सोही बाटो अपनाउनुपर्नेमा जोड दिए ।


    एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले लोकतन्त्र र मुलुकको रक्षाका लागि वामपन्थी र लोकतन्त्रवादीहरू मिलेर जानुपर्ने बताए । नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले भदौ २३ र २४ को घटनापछि पुराना ठूला दलका नेतालाई छानी छानी आक्रमण गर्ने प्रवृत्ति गलत भएको बताए । प्रतिष्ठानका अध्यक्ष एवं एमालेका नेता प्रदीपकुमार ज्ञवालीले लोकतन्त्र र मुलुकको रक्षाका लागि पुराना दलहरूको सक्रियताको विकल्प नरहेको बताए ।

    एमालेका केन्द्रीय सदस्य एवं काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनीता डङ्गोलले एमालेको महाधिवेशनमा नयाँ र पुराना पुस्ताका नेता कार्यकर्ताबीच अनुभव आदान प्रदान भई अहिलेको परिस्थितिमा ऊर्जा उत्पन्न भएको बताइन् ।