Category: फिचर

  • चार लेनको मादी पुल अन्तिम चरणमा

    चार लेनको मादी पुल अन्तिम चरणमा

    रासस
    दमौली (तनहुँ), १ पुस ः मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–४ र ५ मादी नदीमाथि निर्माण भइरहेको पुलमा ७४ प्रतिशत प्रगति भएको मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड)ले जनाएको छ ।

    उक्त खण्डका इन्जिनियर एवं सूचना अधिकारी विष्णुप्रसाद पाण्डेले अब २६ प्रतिशतमात्र काम बाँकी रहेको जानकारी दिए । उनका अनुसार पुल निर्माण तीव्रगतिमा अगाडि बढाइएको छ । तीन वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी उक्त पुलको काम सुरु गरिएकामा गत भदौ २१ गते ठेक्काको म्याद सकिएपछि आगामी असार १९ गतेसम्म म्याद थप भएको उनले बताए ।


    सूचना अधिकारी पाण्डेका अनुसार पुल निर्माणका लागि २०७९ साल साउन २६ गते निर्माण कम्पनीसँग सम्झौता भएको थियो । उनले भने, “पुल निर्माणको म्याद सकिएपछि पुनः म्याद थपिएको छ । थप भएको म्यादभित्र काम सम्पन्न गर्ने प्रतिबद्धता आएको छ ।” उक्त पुलमा ७० प्रतिशत वित्तीय प्रगति भएको छ ।

    तीन सय १५ मिटर लामो पुलमा छवटा स्पान रहनेछ । पुलको वारिपारि दुई–दुई ‘प्रिस्टेटस् बक्स गडर’ स्पान सम्पन्न भइसकेको छ । उनका अनुसार फाउन्डेसनदेखि सुपर स्ट्रक्चरको काम सकिएको छ । उनले भने, “मिडल स्पान दुईवटा कङ्क्रिट नेचर आर्क ब्रिज हो । त्यसको काम पनि भइरहेको छ ।”
    रु एक अर्ब २१ करोड भ्याटसहित लागतमा निर्माण भइरहेको पुल २३ मिटर चौडाइको एउटै मोनोलेथिक स्क्ट्रक्चर भएको यो नेपालकै पहिलो पुल भएको पाण्डेको भनाइ छ ।

    सूचना अधिकारी पाण्डेले मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत पूर्वीतर्फ ८८ प्रतिशत प्रगति भएको जानकारी दिए । कालोपत्र सबै सकिएको बताउँदै उनले सडकका अन्तिम चरणका काममात्र बाँकी रहेको उल्लेख गरे । पुलको पहुँचमार्गको काम भने बल्ल सुरु भएको पाण्डेले बताए । निर्माण कम्पनी व्यवस्थापक दिनेशकुमार श्रेष्ठले निर्धारित मितिअगावै पुल निर्माणको काम सकिने जानकारी दिए । उनका अनुसार असार १९ गतेसम्म म्याद रहे पनि वैशाखमा पुल निर्माणको काम सक्नेगरी काम भइरहेको छ । पुल निर्माणका लागि हाल दैनिक एक सय ५० कामदार खटाइएको छ ।

    छवटा स्पानमध्ये दुईदुई स्पानको काम सकिएको र बीचको दुईवटा स्पान ६३ मिटरको काम भइरहेको उनले जानकारी दिए । पुलको दायाँबायाँ पाँच सय मिटर पहुँच सडक निर्माण गर्न बाँकी रहेको उनले उल्लेख गर्नुभयो । उनले भने, “बायाँतर्फ व्यक्तिका घर परेकाले मुआब्जा दिनुपर्ने र दायाँतर्फ सडक डिभिजन कार्यालयको भवन रहेकाले भवन भत्काएर पहुँच सडक निर्माण गर्नुपर्ने अवस्था छ ।” पृथ्वी राजमार्गको सबैभन्दा लामो आर्क डिजाइनको उक्त पुल चार लेनको हुनेछ । हाल नदीमाथि रहेको दुई लेनको पुल तीन सय ७० मिटर लम्बाइको छ । सोही पुलभन्दा करिब ५० मिटरको दूरीमा नयाँ पुल निर्माण भइरहेको छ ।

  • स्थानीयको पहलमा ‘पेमा छ्योलिङ गुम्बा’ निर्माण

    स्थानीयको पहलमा ‘पेमा छ्योलिङ गुम्बा’ निर्माण

    भोजपुर, १ पुस । स्थानीयवासीको पहल, श्रम र आर्थिक सहयोगबाट भोजपुर सदरमुकाम नजिकैको पानीट्याङ्की क्षेत्रमा ‘पेमा छ्योलिङ बौद्ध गुम्बा’ निर्माण गरिएको छ । बौद्ध धर्म–संस्कृतिको संरक्षणसँगै धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले करिब रु दुई करोड ३५ लाख लागतमा गुम्बा निर्माण गरिएको हो । देश तथा विदेशमा रहेका शेर्पा समुदायको उल्लेख्य योगदान र प्रदेश तथा स्थानीय सरकारको सहकार्यमा गुम्बा निर्माण गरिएको गुम्बा व्यवस्थापन समितिका कोषाध्यक्ष आङदावा शेर्पाले जानकारी दिए । उनका अनुसार कूल लागतको करिब ७८ प्रतिशत रकम शेर्पा समुदायबाट चन्दा सङ्कलन गरी जुटाइएको हो ।

    “धर्म, संस्कार र संस्कृतिको संरक्षणका लागि स्थानीयको सक्रियतामा गुम्बा निर्माण गरिरहेका छौँ”, कोषाध्यक्ष शेर्पाले भने, “हालसम्म करिब रु दुई करोड ३५ लाख बराबरको निर्माण सम्पन्न भइसकेको छ ।” हालसम्म प्रदेश सरकारबाट रु ३१ लाख, भोजपुर नगरपालिकाबाट रु १७ लाख, वडा कार्यालयबाट रु छ लाख तथा स्थानीय समुदायबाट रु एक करोड ८१ लाख चन्दा सङ्कलन गरिएको समितिले जनाएको छ । गुम्बा परिसरमा एक जना व्यक्तिले व्यक्तिगत रूपमा रु २७ लाख खर्च गरी छोर्तेन निर्माण गरिदिएका हुन् । हाल अमेरिका रहेका फराडेन्डी शेर्पाले आफ्नै लगानीमा छोर्तेन निर्माण गरिदिएका हनु ् ।

    गुम्बा निर्माणका लागि वडा नं ७ र ९ का करिब ११४ शेर्पा परिवारले न्यूनतम रु २० हजारका दरले सहयोग गरेका गुम्बा व्यवस्थापन समितिले जनाएको छ । गुम्बा निर्माण कार्य विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरी योजनाबद्ध रूपमा अघि बढाइएको छ । गुम्बाको बाँकी तथा थप संरचना निर्माणका लागि आवमा वडा कार्यालयबाट रु दुई लाख र नगरपालिकाबाट रु पाँच लाख बजेट विनियोजन गरिएको वडाध्यक्ष रामबहादुर तामाङले बताए । उनका अनुसार विगतका वर्षदेखि नै वडाको उपलब्ध स्रोत–साधनअनुसार गुम्बाको संरक्षण र विकासमा निरन्तर सहयोग हुँदै आएको छ ।

    “वडा नं ९ मा गुम्बा, मन्दिरलगायत धार्मिक संरचना धेरै रहेकाले यहाँ धार्मिक पर्यटनको राम्रो सम्भावना छ”, वडाध्यक्ष तामाङले भने, “बौद्ध धर्म–संस्कृतिको संरक्षणसँगै धार्मिक पर्यटन विकास गर्न गुम्बा निर्माण गरिएको हो ।” भोजपुर बजार क्षेत्रमै पर्ने पानीट्याङ्की क्षेत्रमा चार रोपनी आठ आना क्षेत्रफलमा गुम्बा निर्माण गरिएको छ । बजार नजिकै भएकाले यस क्षेत्रका धार्मिकस्थलको संरक्षण तथा प्रवद्र्धनमा वडाले विशेष जोड दिएको जनाइएको छ ।

  • विदेशमा पढ्न चार महिनामा बाहिरियो ४२ अर्ब ९६ करोड

    विदेशमा पढ्न चार महिनामा बाहिरियो ४२ अर्ब ९६ करोड

    काठमाडौँ, १ पुस : देशभित्र विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा भए पनि शिक्षाका लागि ठूलो रकम विदेशिने गरेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो चार महिनामा शिक्षातर्फको व्यय रु ४२ अर्ब ९६ करोड बराबर रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शिक्षातर्फको व्यय रु ३२ अर्ब २२ करोड थियो । अघिल्लो आवको तुलनाका चालु आवको चार महिनामा करिब रु १० अर्ब बढी रकम शैक्षिक गतिविधिका लागि देशबाट बाहिरिएको हो ।

    समीक्षा अवधिमा सेवा खाताअन्तर्गत भ्रमण व्यय १६ दशमलव चार प्रतिशतले वृद्धि भई रु ६४ अर्ब ५९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय रु ५५ अर्ब ४९ करोड रहेको थियो । सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय आठ दशमलव एक प्रतिशतले वृद्धि भई रु १९ अर्ब १९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु १७ अर्ब ७६ करोड रहेको थियो । समीक्षा अवधिमा खुद सेवा आय रु ३२ अर्ब ६८ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय रु २३ अर्ब एक करोडले घाटामा रहेको थियो ।

  • अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा

    अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा

    काठमाडौँ, १ पुसः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ २० पैसा र बिक्रीदर १७० रुपैयाँ ९० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ९५ पैसा र बिक्रीदर १९४ रुपैयाँ ७५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८२ रुपैयाँ र बिक्रीदर १८२ रुपैयाँ ७५ पैसा कायम गरिएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ २९ पैसा र बिक्रीदर ९६ रुपैयाँ ६९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०५ रुपैयाँ २० पैसा र बिक्रीदर १०५ रुपैयाँ ६४ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११२ रुपैयाँ ३८ पैसा र बिक्रीदर ११२ रुपैयाँ ८५ पैसा तोकिएको छ ।

    जापानी येन १० को खरिददर नौ रुपैयाँ ३५ पैसा र बिक्रीदर नौ रुपैयाँ ३९ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ५६ पैसा र बिक्रीदर २० रुपैयाँ ६४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३८ रुपैयाँ ७७ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३९ रुपैयाँ ९२ पैसा कायम भएको छ ।

    केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६१ पैसा र बिक्रीदर चार रुपैयाँ ६३ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३९ रुपैयाँ ६१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपैयाँ ४० पैसा र बिक्रीदर ३५ रुपैयाँ ५५ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ८९ पैसा र बिक्रीदर नौ रुपैयाँ ९३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ५९ पैसा र बिक्रीदर १५ रुपैयाँ ६६ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ७८ पैसा र बिक्रीदर २२ रुपैयाँ ८८ पैसा तोकिएको छ ।

    राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ६२ पैसा र बिक्रीदर १८ रुपैयाँ ६९ पैसा, कुवेती दिनार एकको खरिददर ४७२ रुपैयाँ १४ पैसा र बिक्रीदर ४७४ रुपैयाँ नौ पैसा, बहराइन दिनार एकको खरिददर ३८४ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३८५ रुपैयाँ ९१ पैसा, ओमनी रियाल एकको खरिददर ३७६ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ८७ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

    राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

  • निर्वाचन ७९ दिन बाँकी : समानुपातिकतर्फ १४ राजनीतिक दल सहभागी नहुने

    निर्वाचन ७९ दिन बाँकी : समानुपातिकतर्फ १४ राजनीतिक दल सहभागी नहुने

    काठमाडौँ, १ पुस । नेपालको संविधानले मिश्रित निर्वाचन प्रणाली अङ्गीकार गरेको छ । कूल २७५ सदस्यीय प्रतिनिधिसभामा १६५ जना प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत निर्वाचित हुने व्यवस्था छ । यस्तै, ११० सदस्य भने समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित हुने व्यवस्था छ । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि निर्वाचनको मिति तय गरेको छ । सो निर्वाचनमा पनि मतदाताले दुई वटा मतपत्रमार्फत मतदान गर्नेछन् ।

    सामान्यता निर्वाचनमा सहभागी हुने राजनीतिक दलले मिश्रित निर्वाचन प्रणालीमा भाग लिन्छन् भन्ने मान्यता रहन्छ । संविधान प्रदत्त व्यवस्थाअनुसार प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीमा भाग लिएर राजनीतिक दलले सोहीअनुसार उम्मेदवार छनोट गर्ने गरिन्छ । निर्वाचन आयोगले उपलब्ध गराएको विवरणअनुसार केही राजनीतिक दलले प्रत्यक्ष निर्वाचन प्रणालीमा भाग लिएर समानुपातिकतर्फ सहभागी नभएको देखिएको छ ।

    आयोगका अनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिनका लागि १०० राजनीतिक दलले दर्ता गराएका छन् । उनीहरूका लागि ९३ वटा निर्वाचन चिन्ह उपलब्ध गराइएको छ । यस्तै, प्रत्यक्षतर्फ कूल ११४ राजनीतक दल दर्ता भएका छन् । आयोगले तोकेको कार्यविधि पूरागरी निर्वाचन प्रयोजनका लागि १०२ राजनीतिक दल र राजनीतिक दलसम्बन्धी नियमावलीअनुसार एकल चुनाव चिन्ह लिइ १२ राजनीतिक दलले दल दर्ता गराएका छन् ।

    आयोगका अनुसार प्रत्यक्ष मात्रै सहभागी हुने राजनीतिक दलमा राष्ट्रिय समता पार्टी नेपाल, विकासशील जनता पार्टी, राष्ट्रिय साझा पार्टी, परिवर्तन पार्टी, युनाइटेड नेपाल डिमोक्र्याटिक पार्टी, नेपाल नौलो जनवादी पार्टी, राष्ट्रिय समुन्नति पार्टी छन् ।
    यस्तै, राष्ट्रवादी केन्द्र नेपाल, राष्ट्रवाद युवा मोर्चा, लोक दल, राष्ट्रवादी एकता पार्टी, विवेकशील साझा पार्टी, देशभक्त लोकतान्त्रिक पार्टी, नेपाल र सर्वोदय पार्टी छन् । यी राजनीतिक दलले प्रत्यक्ष निर्वाचन प्रणालीमा भाग लिए पनि समानुपातिक निर्वाचन प्रणालीमा भने भाग नलिने भएका छन् । समानुपातिकतर्फका सहायक निर्वाचन अधिकृत एवं आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईका अनुसार कतिपय दलले भने अर्को दलको निर्वाचन चिन्हमा समानुपातिकतर्फ भाग लिने भएकाले छुट्टै दल दर्ता नगरेका हुन् ।

  • चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो

    चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो

    काठमाडौँ, १ पुस, चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो चौमासिकमा करिब रु सात खर्ब रेमिट्यान्स भित्रिएको छ । गत कात्तिक महिनासम्म विप्रेषण आप्रवाह ३१ दशमलव चार प्रतिशतले वृद्धि भई रु छ खर्ब ८७ अर्ब १३ करोड पुगेको नेपाल राष्ट्र बैङ्कले जनाएको छ । गत कात्तिक महिनामा मात्रै रु एक खर्ब ३३ अर्ब ८२ करोड बराबर विप्रेषण आप्रवाह भएको छ ।

    केन्द्रीय बैङ्कका अनुसार यही अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु सात खर्ब ५४ अर्ब ९३ करोड पुगेको छ । चालु आवको पहिलो चौमासिकमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या एक लाख ४५ हजार ९७३ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या एक लाख २७ हजार ८३७ रहेको बैङ्कले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

  • भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने

    भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने

    काठमाडौँ, १ पुस, भारतीय रुपैयाँ २०० र ५०० दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने भएको छ । सरकारले सन् २०१६ नोभेम्बर ९ देखि निष्काशनमा आएका ती दरका नोट नेपाली तथा भारतीय नागरिकले प्रतिव्यक्ति अधिकतम २५ हजारसम्म भारतबाट नेपाल भित्र्याउन र नेपालबाट भारत लैजान पाउने व्यवस्था गरेको हो । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको जानकारी दिए ।

  • योजना आयोगको उपाध्यक्षमा डा श्रेष्ठ नियुक्त

    योजना आयोगको उपाध्यक्षमा डा श्रेष्ठ नियुक्त

    काठमाडौँ, १ पुस । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा प्रकाशकुमार श्रेष्ठ र सदस्यमा प्रा डा सुनिति श्रेष्ठ हाडालाई नियुक्त गरेको छ ।
    सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।

    बैठकले प्रचलित कानुनमा व्यवस्था भएको अवस्थामा बाहेक सेवा प्रवाहको प्रक्रियामा कागजातको आधिकारिकताका लागि आय–टिकटका रूपमा हुलाक टिकट टाँस्ने प्रचलन हटाउने निर्णयसमेत गरेको उनले बताए ।

  • कतार पठाउन लागेका दुई हात्तीको बिदाइ

    कतार पठाउन लागेका दुई हात्तीको बिदाइ

    चितवन, १ पुस । चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा जन्मिएका दुई हात्तीका छावालाई चितवनवासीले बिदाइ गरेका छन् । सोमबार सौराहामा बिदाइ कार्यक्रमको आयोजना गरिएको थियो । प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा गणेश पन्त, रत्ननगर नगरपालिकाका प्रमुख प्रह्लाद सापकोटासहित संरक्षणकर्मीहरुले माला, अबिर लगाएर फलफूल खुवाएर हात्तीको बिदाइ गरे । हात्तीलाई आज साँझ भैरहवाका लागि पठाइने छ भने पुस २ गते गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट कार्गो विमानमार्फत कतार पठाइने छ ।

    विदेश पठाउन लागिएका हात्तीमा सात वर्षको रुद्रकली र छ वर्षको खगेन्द्रप्रसाद रहेका छन् । हात्तीसँगै माउतेहरू रुद्रकलीका बुद्धिलाल श्रेष्ठ र खगेन्द्रका पचुखाँ चौधरी एवं पशु स्वास्थ्य प्राविधिक दिनेश ढकालसमेत कतार जाने कार्यक्रम रहेको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा पन्तका अनुसार दुवै जनाले कतारमा हात्तीको स्याहारसुसारका विषयमा त्यहाँका माउतेलाई तालिम दिएर फर्कने छन् ।

    नेपाल सरकार मन्त्रिपरिषद्को विसं २०८१ कात्तिक २ गतेको निर्णयअनुसार हात्तीलाई कतार पठाउन लागिएको हो । कतारमा नेपालको वातावरण अनुकूलित हुने गरी प्राविधिकहरु गएर अध्ययन गरेपछि हात्ती पठाउन लागिएको उनले जानकारी दिए । यी दुई हात्ती जन्मिएदेखि स्याहारसुसार गर्दै आउनुभएका हात्ती प्रजनन केन्द्र खोरसोरका प्रमुख मनिपुरण चौधरी अहिले हात्ती विदेश पठाउन भनेपछि नरमाइलो महसुस भएको बताउँछन् । उनले भने, “सुत्केरी हुँदादेखि स्याहारसुसार गरेर, तालिम गराएर निकुञ्ज पोष्टमा पठाइएको हो । मायाँ लाग्छ । विदेश पठाउँदा नरमाइलो महसुस भइरहेको छ”, उनले भने, “माथिको आदेशअनुसार पठाउनुप¥यो । जे होस् राम्रो होस् भन्ने आफ्नो चाहना रहेको छ ।”

    रुद्रकलीका माउते बुद्धिलाल श्रेष्ठले पनि विगत चार वर्षदेखि स्याहार हात्ती अर्को देश पठाउन लाग्दा दुःख लागेको बताए । यहाँबाट बिदाइ गरिएका हात्तीलाई ट्रकमा राखेर भैरहवा विमानस्थल पु¥याइने छ । भैरहवामा एक कार्यक्रमको आयोजना गरी कतार दुतावासलाई हस्तान्तरण गरिने जनाइएको छ । कतारको दोहास्थित अलखोर पार्ककको चिडियाखानामा राख्नका लागि यी हात्ती पठाउन लागिएको हात्ती प्रजनन केन्द्रका प्रमुख चौधरीले जानकारी दिए ।


    यसअघि नेपालले विभिन्न मित्र राष्ट्रलाई एक सिङ्गे गैँडा, हात्तीलगायत वन्यजन्तु उपहारस्वरूप प्रदान गर्दै आएको छ । दुई देशबीचको सम्बन्ध बलियो बनाउन र नेपालको जैविक विविधताको महत्त्व अन्तरराष्ट्रियस्तरमा परिचित गर्न वन्यजन्तु उपहार दिँदै आइएको छ । पन्तका अनुसार पहिलोपटक नेपालले हात्ती उपहारस्वरुप अन्य देशमा पठाउन लागेको हो ।

    विसं २०४४ मा भारतबाट १६, म्यानमार दुई र थाइल्यान्डबाट दुई गरी २० वटा हात्तीबाट स्थापना गरिएको हात्ती प्रजनन केन्द्रले हालसम्म ६८ हात्तीलाई जन्म दिइसकेको छ । यहाँ ६१ वटालाई तालिम दिइएको केन्द्रले जनाएको छ । यहाँ जन्मिएकामध्ये छ वटाको मृत्यु भएको छ । नेपालमा हाल सरकारी तवरबाट पालिएका १०५ वटा हात्ती रहेका छन्, जसमध्ये चितवनमा ५८ वटा रहेका निकुञ्ज प्रशासनले जनाएको छ । यस्तै, नेपालमा निजी क्षेत्रबाट पालिएका ७३ वटा हात्ती छन् भने जङ्गली हात्ती ४०० भन्दा बढी भएको अनुमान गरिएको छ ।

    यसअघि नेपालले सन् १९८५ देखि हालसम्म विभिन्न देशलाई २६ वटा गैँडा, १० वटा घडियाल गोही, एक ब्वाँसो र दुई चितुवा उपहार दिइसकेको तथ्याङ्क छ । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको कतार भ्रमणका क्रममा विसं २०७५ मा नेपालले कतारलाई हात्ती उपहार दिने प्रतिबद्धता जनाएको थियो । सोही आधारमा कतार सरकारको कूटनीनिक निकायबाट माग भएअनुसार प्रक्रिया अघि बढाएर हात्ती पठाउन लागिएको हो ।

  • एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

    एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

    काठमाडौँ, २९ मङ्सिरः नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन मतदानका लागि प्रयोग गर्ने भएको छ । महाधिवेशनमा १०० वटा मेसिन ल्याइएपनि ८० वटा मेसिन मतदानका लागि प्रयोग गरिने एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाले जानकारी दिए । उनका अनुसार एक जना मतदातालाई मतदान गर्न कम्तीमा २५ देखि ३० मिनेट लाग्ने छ ।

    महाधिवेशनमा दुई हजार २६३ प्रतिनिधि सहभागी छन् । रामलक्ष्मण इनोभेसन प्रालिका सञ्चालक लक्ष्मण रिमालले १० वटा नमूना अभ्यास र १० वटा अतिरिक्त मेसिन राखिएको बताए । आज साँझ ८ः३० बजेसम्म उम्मेद्वारको अन्तिम नामावली सार्वजनिक गर्ने आयोगका अध्यक्ष सुब्बाले जानकारी दिए । एमाले पार्टीको नयाँ नेतृत्वका लागि भोलि पुस १ गते अपरान्ह १२ बजेदेखि बेलुका ६ बजेसम्म मतदानको समय तोकिएको छ ।

  • सरकार र राष्ट्रियता बचाउ अभियानले गरे वार्ता टोली गठन

    सरकार र राष्ट्रियता बचाउ अभियानले गरे वार्ता टोली गठन

    काठमाडौँ, २९ मङ्सिरः सरकारसँग वार्ता गर्न राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियानले तीन सदस्यीय समिति गठन गरेको छ । सो अभियानले राखेका सम्बोधन गर्न सकिने मागबारे छलफल गर्न सरकारले सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको संयोजकत्वमा आन्तरिक सहजीकरण तथा समस्या समाधान समिति गठन गरेसँगै अभियानले पनि वार्ता टोली गठन गरेको आज विज्ञप्तिमार्फत जनाएको छ ।

    मेडिकल व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको महाभियानले केन्द्रीय सचिव प्रेमदीप लिम्बूलाई वार्ता समितिका संयोजक र सदस्यहरूमा देवीप्रसाद सङ्ग्रौला र प्रेम थापा मगरलाई राखेको छ । विज्ञप्तिमा भनिएको छ, “आइतबार मात्रै सरकारले आगामी २ पुसमा वार्ता गर्ने भनी भनेको छ, हामीले पनि छलफलका लागि वार्ता टोलीको नाम टुङ्गो लगाएर पठाएका छौँ ।” अभियानले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुनुपर्ने र रोजगारी सिर्जना गर्नुपर्नेलगायत विभिन्न २७ बुँदे माग राख्दै सरकारलाई ज्ञापनपत्र बुझाएको थियो ।

  • जनताको दूत भएर सेवा प्रवाह गर्न गृहमन्त्री अर्यालको आग्रह

    जनताको दूत भएर सेवा प्रवाह गर्न गृहमन्त्री अर्यालको आग्रह

    काठमाडौं, २९ मङ्सिर । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकार गैर दलीय भएकाले सम्पूर्ण सुरक्षा सङ्गठन र निजामती प्रशासनले आफ्ना सेवा प्रवाह गर्दा जनताकै दूत भएर काम गर्न आग्रह गरेका छन् । आज गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको समापनमा मन्त्री अर्यालले भने, “हाम्रो सेवा प्रवाहमा पहिलेभन्दा अझै बढी रफ्तार र सेवा भावको भावना झल्किने गरी काम गर्न सके मात्रै जनताले चाहेको सुशासन र भ्रष्टाचार मुक्त समाजको परिकल्पना गर्न सकिन्छ ।”

    जेनजी पुस्ताले गरेको आन्दोलन सुशासनकै लागि गरिएको आन्दोलन भएको र राज्यको तर्फबाट भएको कमीकमजोरीले नै यो अवस्था सिर्जनाको भएको उनको भनाइ छ । अब पनि कुनै बहानामा जेनजीको आन्दोलन र सडक सङ्घर्षलाई नजरअन्दाज, अवमूल्यन गर्ने होभने पुनः त्यस्ता घटनाको पुनरावृत्ति नहोला भन्न नसकिने उनले बताए । यसै आन्दोलनले गर्दा अब नवपुस्ताको राजनीतिमा मूल प्रवाहीकरण हुँदै जाने विश्वाससमेत उनले व्यक्त गरे ।

  • डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

    डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

    काठमाडौँ, २९ मङ्सिर । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छभने पेट्रोलको मूल्य बढाएको छ । निगमको सञ्चालक समितिको बैठकले आज मध्यरातदेखि लागू हुने गरी डिजेल र मट्टितेलमा प्रतिलिटर चार रुपैयाँ घटाएको हो । पेट्रोलमा भने प्रतिलिटर दुई रुपैयाँ बढाइएको छ । मूल्य समायोजनसँगै डिजेल र मट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर १३९ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १४१ रुपैयाँ र तेस्रो वर्गका लागि १४२ रुपैयाँ कायम भएको छ ।

    त्यसैगरी पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर १६० रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १६२ रुपैयाँ र तेस्रो वर्गका लागि १६३ रुपैयाँ कायम भएको छ । निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगञ्ज डिपोलाई पहिलो वर्ग, सुर्खेत र दाङ डिपोलाई दोस्रो वर्ग र काठमाडौँ, पोखरा र दिपायल डिपोलाई तेस्रो वर्गमा राखेको छ । निगमको डिपोदेखि १५ किलोमिटरसम्मका लागि उक्त खुद्रा बिक्री मूल्य लागू हुनेछ ।

    निगमले हवाई इन्धन र खाना पकाउने ग्याँसको मूल्य भने यथावत राखेको छ । इण्डियन आयल कर्पोरेशनबाट आज प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार डिजेल र मट्टितेलमा प्रतिलिटर छ रुपैयाँ ९३ पैसा घटेर तथा पेट्रोलमा एक रुपैयाँ ९४ पैसा बढेर आएकाले खुद्रा बिक्री मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

  • नेपाली शान्ति सैनिकको अदलीबदली

    नेपाली शान्ति सैनिकको अदलीबदली

    काठमाडौँ, २९ मङ्सिर । संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ युद्धभैरव गण (शान्ति सैनिक) तेस्रो डफ्फालाई बदली गर्न गोरखनाथ गणका शान्ति सैनिकको टोली मिसन इलाका प्रस्थान गरेका छन् ।

    चौथो डफ्फाका एक सय ७५ जना शान्ति सैनिकको पहिलो टोली आइतबार राति त्यसतर्फ प्रस्थान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । उक्त मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरेका दुई सय २५ जना नेपाली शान्ति सैनिक स्वदेश फिर्ता भएका छन् । हाल उक्त मिसनमा नेपाली सेनाका एक हजार एक सय ८९ जना शान्ति सैनिकहरू कार्यरत रहेको नेपाली सेनाले जनाएको छ ।

  • कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति हो : गगन

    कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति हो : गगन

    पाटन (ललितपुर), २९ मङ्सिरः नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस केवल राष्ट्रिय पार्टी मात्रै नभएर देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण राष्ट्रिय शक्ति भएको बताएका छन् । नेपाली कांग्रेस ललितपुरले जिल्ला पार्टी कार्यालय नखिपोटमा आज आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा महामन्त्री थापाले राष्ट्रिय शक्तिसँग राष्ट्रिय जिम्मेवारी हुन्छ भन्दै राष्ट्रिय शक्ति चुक्दा त्यसको मुल्य देशले समेत चुकाउनुपरेको बताए ।


    “कांग्रेसलाई केवल निर्वाचनका लागि मात्रै शक्ति चाहिएको हैन, देशलाई निकास दिनका लागि पनि शक्ति आवश्यक छ, कांग्रेस पार्टी मात्रै हैन राष्ट्रिय शक्ति समेत हो, तसर्थ कांग्रेसलाई हिम्मत र साथ आवश्यक छ, विगतमा कांग्रेसले देशलाई हिंसाबाट बाहिर ल्यायो, नेपाली कांग्रेस आफू हारेर पनि देशलाई जिताउने पार्टी हो भनेर प्रमाणित गरेको छ, कांग्रेसले सबैलाई समेट्ने प्रयास गरेको छ”, महामन्त्री थापाले भने ।


    निर्वाचनबाट जुन पार्टीले फाइदा लिए पनि देशलाई जिताउने काम नेपाली कांग्रेसको हो भन्दै महामन्त्री थापाले कांग्रेसले राम्रो काम गरे मतदाताले आफै पछ्याउने बताए । भीडलाई उचाल्ने र उत्तेजित बनाउने काम कांग्रेसको हैन भन्दै उनले कुशासनबाट आजित भएका नागरिकलाई सम्हालेर देशलाई सुशासन तथा विकासको उचाईमा पु¥याउने जिम्मेवारी रहेको बताए ।


    “कांग्रेसले फेरि एकपटक देशलाई सम्हाल्ने जिम्मेवारी निर्वाह गर्नुपर्ने छ, गल्ती कमजोरी सुधार्नुपर्ने छ”, उनले भने । विगतमा पार्टी छोडेकाहरुको पार्टी पुनरागमनले कांग्रेसले शक्ति हासिल गर्ने महामन्त्री थापाको भनाइ थियो । कांग्रेस ललितपुरका सभापति जितेन्द्रकुमार श्रेष्ठले विगतको स्थानीय चुनावमा कांग्रेसले जिल्लाभर ५६ प्रतिशत जीत हासिल गर्न सफल भएको उल्लेख गर्दै यसपटक कांग्रेसले थप उपलब्धि हासिल गर्ने विश्वास व्यक्त गरे । कार्यक्रममा ललितपुर महानगरपालिका–१ का वडाध्यक्ष निर्मल तण्डुकार र वडा नं १३ का वडाध्यक्ष गणेश केसी, सुशील सापकोटा, जितेन्द्र गजुरेललगायत कांग्रेसमा प्रवेश गरेका थिए ।

  • भैरहवामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

    भैरहवामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

    भैरहवा (रूपन्देही), २९ मङ्सिर । सोमबार बिहान सडक दुर्घटनामा परी रूपन्देहीका दुई जनाको मृत्यु भएको छ । रूपन्देहीको भैरहवा–परासी सडक खण्डमा रोहिणी गाउँपालिका वडा नम्बर ३, परासीझुवामा रोकिरहेको ट्रकमा मोटरसाइकल ठोक्किएको रूपन्देही प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीले बताए ।

    मृत्यु हुनेमा ओमसतिया गाउँपालिका वडा नम्बर ३ का २१ वर्षीय राजु हरिजन र सोही ठाँउ बस्ने २३ वर्षीय रोहित यादव रहेको नायब उपरीक्षक कार्कीले जानकारी दिए । आज बिहान करिब ६ बजे परासीबाट भैरहवातर्फ आउँदै गर्दा ग ११ प ८६२५ नम्बरको मोटरसाइकल रोकिरहेका एचआर ५५ डब्लु ०३१ नम्बरको भारतीय ट्रकमा ठोकिएको थियो ।

    गम्भीर घाइते भएका सो मोटरसाइकलमा सवार दुबै जनालाई तत्काल भैरहवा स्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज पु¥याइए पनि उपचारको क्रममा उनीहरूको मृत्यु भएको प्रहरी नायब उपरीक्षक कार्कीले बताए । प्रहरीले दुर्घटनाग्रस्त ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिएको र यसबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

    यसैगरी रूपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३, दरखस्वामा एक जनाको शव पानीमा अर्ध डुबेको अवस्थामा फेला परेको छ । आज करिब सवा ८ बजे स्थानीय बासिन्दाले नारायण सिंह थापाको खाली जग्गामा जमेको पानीमा करिब ६५ वर्षीया एक महिलाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी सुरज कार्कीले जानकारी दिए ।

    हालसम्म मृतको नाम, थर र ठेगाना खुल्न सकेको छैन । घटनाको प्रकृती, मृत्युको कारण र मृतक महिलाको पहिचान पत्ता लगाउन थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट विशेषज्ञ टोली खटिएको कार्कीले बताए ।

  • एनआरएनएको १२औँ महाधिवेशन फागुन दोस्रो साता

    एनआरएनएको १२औँ महाधिवेशन फागुन दोस्रो साता

    काठमाडौँ, २९ मङ्सिरः गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १२औँ महाधिवेशन आगामी फागुन ११ देखि १३ गतेसम्म हुने भएको छ । विगतमा भिन्नभिन्न समूहमा रहेका एनआरएनएको एकतापछि आइतबार बसेको ‘स्टेरिङ’ समितिको बैठकले एनआरएनएको १२औँ एकता महाधिवेशन काठमाडौँमा गर्ने निर्णय गरेको हो । सङ्घका महासचिवद्वय गौरीराज जोशी र बीआर लामाले संयुक्त विज्ञप्ति जारी गरी ‘स्टेरिङ कमिटी’ले महाधिवेशनको तयारीलाई तीव्रता दिँदै मिति घोषणा गरेको जानकारी दिए ।

    उक्त बैठकले महाधिवेशनको मिति तय गर्नुका साथै साङ्गठनिक एकता र आन्तरिक व्यवस्थापनका लागि विभिन्न निर्णयसमेत गरेको छ । बैठकले राष्ट्रिय समन्वय समिति (एनसिसी) बिचको एकतालाई निष्कर्षमा पु¥याउन गङ्गाधर गौतमको संयोजकत्वमा पाँच सदस्यीय ‘एनसिसी एकता समिति’ गठन गरेको छ । उक्त समितिको सहसंयोजकमा टीका गुरुङ र सदस्यमा शनि ओली, नारायण काफ्ले र चिरञ्जीवी खड्का छन् ।

    सङ्घले एनआरएनएको एकताको सन्देश विश्वभरका नेपालीमाझ पु¥याउन क्षेत्रीयस्तरमा अन्तरक्रिया तथा संवाद कार्यक्रम गर्ने भएको छ । सङ्घले १२औँ महाधिवेशनलाई ऐतिहासिक र सफल बनाउन विश्वभर छरिएका गैरआवासीय नेपाली समुदाय, राष्ट्रिय समन्वय परिषदहरू र सरोकारवाला सबै पक्षलाई सहयोगका लागि अपिल गरेको छ ।

  • महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधार : प्रमुख शाह

    महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधार : प्रमुख शाह

    काठमाडौँ, २९ मङ्सिर ः काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले महानगरले कार्यालय सञ्चालन खर्च घटाउँदै पुँजीगत खर्चलाई विशेष महत्व दिएर बढाउने नीति अपनाएको बताएका छन् । काठमाडौँ महानगरपालिकाको ३१औँ स्थापना दिवसको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा प्रमुख शाहले बहाल करको क्षेत्र विस्तार गरिएको र नागरिकबाट सङ्कलित राजस्व नागरिककै सामूहिक हितमा प्रयोग भइरहेको स्पष्ट पारे । उनले महानगरको कार्य सम्पादन र प्रगतिबारे कार्यक्रममार्फत जानकारी दिए ।


    प्रमुख शाहका अनुसार महानगरबाट धुलोरहित सडक कार्यक्रमअन्तर्गत ५५ किलोमिटर सडक सुधार सम्पन्न भएको छ । ६२ चोकमा हाईमास्ट लाइट जडान गरिएका छन् । साथै पाँच हजार ३१८ पोलमा १३ हजार ३४० बत्ती जडान गरी रात्रिकालीन सहरी सौन्दर्य विस्तार गरिएको छ । गत आर्थिक वर्षमा रु दुई अर्ब ८६ करोड बराबरका पूर्वाधार योजना सम्पन्न भएका छन् । करिब रु ९१ करोडको लागतमा सम्पदा संरक्षणका काम हुँदा २७६ मूर्त सम्पदा आयोजना र १२५ अमूर्त सम्पदा कार्यक्रम सञ्चालन गरिएका प्रमुख शाहले जानकारी दिए ।


    महानगर प्रमुख शाहका अनुसार महानगरले हालसम्म रु २३ अर्ब बराबरको २०८ रोपनी सार्वजनिक जग्गा फिर्ता गरिसकेको छ । आगामी दिनमा करिब रु दुई खर्ब बराबरको एक हजार ८५९ रोपनी जग्गा अतिक्रमणमुक्त गराउने लक्ष्य रहेको उनले बताए । उनले स्थानीय स्रोतसाधन र सीपको अधिकतम प्रयोग गर्दै रैथाने सीपलाई आयमा रूपान्तरण गर्न ‘एक वडा–एक कार्यक्रम’ सञ्चालन भइरहेको जानकारी दिए ।


    महानगर प्रमुख शाहले आर्थिक, सामाजिक र पूर्वाधार विकास, सुशासन तथा प्रशासनिक सुधार महानगरका नियमित कार्यक्षेत्र भएको बताए । उनले प्राकृतिक सम्पदा र मानव–निर्मित सृजनाको संरक्षण, संवर्द्धन र प्रवर्द्धनमार्फत सहरको सांस्कृतिक पहिचान जोगाउने, सहरी स्वच्छता र सरसफाइ विस्तार गर्ने तथा एकीकृत पूर्वाधार विकासमार्फत सेवा प्रवाहलाई सहज र चुस्त बनाउने महानगरको दायित्व भएको बताए ।


    महानगरले स्वास्थ्य, शिक्षा, रोजगारी प्रवर्द्धन, वातावरण सुधार र पूर्वाधार कार्यक्रमलाई थप प्राथमिकतासहित कार्यान्वयनमा ल्याएको जनाएको छ । स्वास्थ्यतर्फ एक हजार ८६ विपन्न नागरिकलाई उपचारका लागि सिफारिस गरिएको, २१० जनाको निःशुल्क उपचार गरिएको तथा ३२ वडामा स्वास्थ्य प्रवद्र्धन केन्द्रसहित ३५ स्वास्थ्य संस्था र जनस्वास्थ्य प्रयोगशाला स्थापना गरिएको प्रमुख शाहले जानकारी दिए । यस्तै, विद्युतीय शासनअन्तर्गत इ–सिफारिस र इ–कार्यालय प्रणाली कार्यान्वयनमा ल्याइएको छ ।

    यसैगरी १५२ आगलागीका घटना र १४३ जोखिमयुक्त रुख व्यवस्थापन गरिएको महानगरले जनाएको छ । सहरी योजना आयोगमार्फत १६४ योजनाको विस्तृत डीपीआर तयार गरिएको छ भने रु ६ अर्ब ३३ करोड ५८ लाखको लागत अनुमान भएका २५१ योजना बोलपत्रमार्फत खरिद हुँदा रु एक अर्ब २३ करोड बचत भएको उनले जानकारी दिए ।


    “महानगरमा कल सेन्टर र हेलो सरकारमार्फत प्राप्त नौ हजारभन्दा बढी गुनासामध्ये अधिकांश फछ्र्यौट गरिएका छन् । तीस हजार ३२३ ज्येष्ठ नागरिकलाई मासिक रु चार हजारका दरले सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ”, उनले भने । प्रमुख शाहले तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजनाको प्रभावकारी कार्यान्वयनबाट महानगरवासीलाई काठमाडौँमा बसोबास गरेको गर्व हुने वातावरण बनाइने प्रतिबद्धता व्यक्त गरे । त्यसका लागि उहाँले सङ्घ, प्रदेश, विकास साझेदार, नागरिक समाज र निजी क्षेत्रसँग सहकार्यको अपेक्षा व्यक्त गरे ।

  • एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता

    एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता

    काठमाडौँ, २९ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आ–आफनो उम्मेदवारी दर्ता गराएका छन् । काठमाडौँको भृकुटीमण्डपस्थित बन्दसत्र स्थलको केन्द्रीय निर्वाचन आयोगको कार्यालयमा दुवैजनाले समर्थकसहित पुगेर आज आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । अध्यक्ष ओलीले अपराह्न ३ः३० बजे र वरिष्ठ उपाध्यक्ष पोखरेलले करिब ३ बजे अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराए ।


    महाधिवेशनमा विभिन्न पदाधिकारी र केन्द्रीय सदस्यका लागि उम्मेदवारी मनोनयन दर्ताको कार्य जारी छ । उम्मेदवारी मनोनयनको समय यसअघि ३ः३० बजेसम्म कायम गरिएकामा उम्मेदवारको लाइन कायम रहेकाले केही समय लम्बिने देखिएको छ । एमाले महाधिवशेनले ३०१ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने छ ।

  • मध्यावधिमा रिपब्लिकनले हार्न सक्ने ट्रम्पको सङ्केत

    मध्यावधिमा रिपब्लिकनले हार्न सक्ने ट्रम्पको सङ्केत

    वासिङ्टन, २९ मङ्सिर (रासस–एएफपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार प्रकाशित वाल स्ट्रिट जर्नलसँगको अन्तर्वार्तामा अमेरिकी अर्थतन्त्रलाई ‘इतिहासकै सबैभन्दा ठूलो’ बताएका छन् । तर, उनले सन् २०२६ को मध्यावधि चुनावमा रिपब्लिकन पार्टीले हार भोग्न सक्ने सम्भावनाको सङ्केत गरेका छन् ।
    जनवरीमा ह्वाइट हाउसमा पुनः फर्किएका ट्रम्प नेतृत्वको रिपब्लिकन प्रशासनले अमेरिकी अर्थतन्त्र हाल फस्टाउँदै गएको दाबी गर्दै आएको छ ।

    यस क्रममा उनले मुद्रास्फीति बढ्नुका लागि आफ्ना डेमोक्रेटिक पूर्ववर्ती राष्ट्रपति जो बाइडेनलाई दोष दिँदै आएका छन् । जर्नलसँग ओभल अफिसमा भएको अन्तर्वार्तामा ट्रम्पले भने, “मैले इतिहासकै सबैभन्दा ठूलो अर्थतन्त्र निर्माण गरेको छु, तर मानिसहरूलाई त्यसको अनुभूति हुन केही समय लाग्न सक्छ ।”

    उनले देशभित्र ठूलो मात्रामा लगानी भइरहेको उल्लेख गर्दै कारखाना, कार उत्पादन केन्द्र, कृत्रिम बौद्धिकता ९एआई० लगायतका परियोजनाहरू अघि बढिरहेको बताए । “यी सबै मतदाताले कसरी मूल्याङ्कन गर्नेछन्, म ठ्याक्कै भन्न सक्दिनँ । म मेरो काम मात्र गर्न सक्छु”, उनले भने । सन् २०२६ को मध्यावधि चुनाव नजिकिँदै गर्दा ट्रम्पले मूल्यहरू नियन्त्रणमा रहेको दाबी गरे । ‘सफल राष्ट्रपति भएका व्यक्तिहरूले पनि कहिलेकाहीँ हार भोगेका छन्’ भन्दै उनले परिणाम हेर्न बाँकी रहेको बताए । “हामीले जित्नै पर्छ, तर तथ्याङ्कीय रूपमा हेर्दा यो सजिलो छैन”, उनको भनाइ थियो ।

    पुनः निर्वाचित भएमा मुद्रास्फीति घटाउने आफ्नो प्रतिबद्धता पूरा गरेको दाबी गर्दै ट्रम्पले केही जनमत सर्वेक्षणमा देखिएको कम अनुमोदन दरलाई अस्वीकार गरे । युनिभर्सिटी अफ शिकागोले एसोसिएटेड प्रेसका लागि गरेको सर्वेक्षणअनुसार ट्रम्पको आर्थिक व्यवस्थापनलाई अनुमोदन गर्ने अमेरिकी वयस्कहरूको प्रतिशत ३१ मात्र रहेको छ । यो मार्चमा ४० प्रतिशत थियो ।

    यसैबीच, ट्रम्पले सामाजिक सञ्जालमार्फत ‘मुद्रास्फीति बिना देशको इतिहासकै सबैभन्दा ठूलो अर्थतन्त्र बनाउँदा कहिले श्रेय पाइन्छ ?’ भनी प्रश्न गरेका छन् । बाइडेनको कार्यकालमा बढेको मुद्रास्फीति ट्रम्प सत्तामा फर्किएपछि केही समय सुस्त भए पनि अप्रिलदेखि फेरि तीव्र भएको छ । सेप्टेम्बरमा वार्षिक मुद्रास्फीति २.८ प्रतिशत रहेको देखिएको छ भने सरकारी बन्दका कारण अक्टोबरको तथ्याङ्क सार्वजनिक हुन सकेको छैन । नोभेम्बरको आँकडा अर्को साता आउने अपेक्षा गरिएको छ ।

  • घोटाला केन्द्र कारबाहीपछि विदेशी नागरिक फिर्ता लिन म्यान्माको आग्रह

    घोटाला केन्द्र कारबाहीपछि विदेशी नागरिक फिर्ता लिन म्यान्माको आग्रह

    बैङ्कक, २९ मङ्सिर (रासस–एपी) । म्यान्माको सैन्य शासनले थाइल्यान्डसँगको सीमाना नजिक पूर्वी कायिन राज्यमा रहेका अनलाइन घोटाला केन्द्रहरूमा गरिएको कारबाहीका क्रममा पक्राउ परेका सयौँ विदेशी नागरिक चाँडो फिर्ता लिन सम्बन्धित देशहरूलाई आग्रह गरेको छ । हालैका महिनामा अधिकारीहरूले थाइल्यान्ड सीमा क्षेत्रको व्यापारिक सहर म्यावड्डी नजिक रहेका केके पार्क र स्वे कोक्को नामक दुई ठूला घोटाला केन्द्रमा छापा मारेका थिए ।

    ती कारबाहीका क्रममा हजारौँ विदेशी नागरिक नियन्त्रणमा परेका थिए । अपरेसनको नेतृत्व गर्नुभएका कर्नल मिन थु क्यावले यति ठूलो सङ्ख्याका बन्दीहरूलाई व्यवस्थापन गर्न कठिन भइरहेको बताए । “उनीहरू फरक–फरक देश, धर्म र पृष्ठभूमिका मानिस हुन् । अन्तर्राष्ट्रिय समुदायले छिटो पहल गरेर आफ्ना नागरिक फिर्ता लगे सहज हुन्छ”, उनको भनाइ थियो ।

    आइतबार याङ्गुनमा आयोजित पत्रकार सम्मेलनमा गृह मामिला उपमन्त्री मेजर–जनरल आङ क्याव क्यावले जनवरीदेखि सुरु भएको कारबाहीमा ४७ देशका १३ हजार २७२ विदेशी नागरिकलाई हिरासतमा लिइएको जानकारी दिए । उनका अनुसार अधिकांशलाई पहिले नै निर्वासन गरिएको छ भने एक हजार ६५५ जना अझै हिरासतमा छन् ।

    म्यान्मा अनलाइन ठगी सञ्चालनका लागि कुख्यात मानिन्छ, जहाँ साइबर घोटालामार्फत विश्वभरका मानिसहरूलाई लक्षित गरिन्छ । यी घोटालामा प्रायः विश्वास जितेर नक्कली लगानी योजनामा फसाउने तरिका प्रयोग हुने गरेको संयुक्त राष्ट्रसङ्घको लागुऔषध तथा अपराध कार्यालयले जनाएको छ । त्यस्ता गतिविधिबाट आपराधिक गिरोहहरूले वार्षिक अर्बौँ डलर आम्दानी गर्ने अनुमान छ ।

    कायिन राज्य सरकारका सुरक्षा तथा सीमा मामिला मन्त्री कर्नल मिन थु क्यावका अनुसार निर्वासनको प्रतीक्षामा रहेका एक हजार ६५५ मध्ये अधिकांशलाई सहरका खेलकुद परिसर, बोर्डर गार्ड फोर्सद्वारा नियन्त्रणमा रहेका भवन तथा पूर्व स्क्याम कम्पाउन्डहरूमा राखिएको छ । तीमध्ये सबैभन्दा धेरै चिनियाँ नागरिकहरू छन्, जसको सङ्ख्या ५०० भन्दा बढी छ । साथै इन्डोनेसिया, इथियोपिया, भियतनाम, केन्या र भारतका सयदेखि तीन सयसम्म नागरिकहरू पनि रहेका छन् ।


    म्यान्मा वा थाइल्यान्डमा दूतावास नभएका केही अफ्रिकी देशका नागरिकहरूको हकमा प्रक्रिया ढिलो भएको र यसले निर्वासन पाँच महिनासम्म लम्बिएको मन्त्रीले बताउनुभयो । यसैबीच, राज्य सञ्चालित एमआरटिभीले म्यावड्डी नजिकका घोटाला केन्द्रहरू ध्वस्त पारिएको दृश्य प्रसारण गरेको छ । सैन्य सरकारले सेप्टेम्बरदेखि अनलाइन घोटाला र अवैध जुवाविरुद्ध व्यापक कारबाही सुरु गरेको दाबी गरे पनि आलोचकहरूले मुख्य योजनाकारहरू अन्य स्थानबाट अझै सक्रिय रहेको आरोप लगाउँदै आएका छन् । म्यावड्डी क्षेत्रमा सक्रिय विभिन्न जातीय मिलिसिया समूहहरूको भूमिकाबारे पनि विवाद कायमै छ, यद्यपि सबै पक्षले घोटालामा संलग्नता अस्वीकार गरेका छन् ।

  • सिड्नी गोलीबारीको इजरायलद्वारा निन्दा

    सिड्नी गोलीबारीको इजरायलद्वारा निन्दा

    जेरुसेलम, २९ मङ्सिर (रासस–एएफपी) । इजरायली नेताहरूले सिड्नीमा हनुक्का उत्सवलाई लक्षित गरी भएको गोलीबारीको कडा निन्दा गरेका छन् । आइतबार भएको गोलीबारीमा ११ जनाको ज्यान गएको थियो । यस घटनापछि इजरायली नेतृत्वले अस्ट्रेलियाले यहुदी विरोधविरुद्ध प्रभावकारी कदम चाल्न असफल भएको आरोप लगाएको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले क्यानबेराले लामो समयदेखि यहुदी विरोधी भावनालाई बढ्न दिएको आरोप लगाए ।

    उनले अस्ट्रेलियाले प्यालेस्टिनी राज्यलाई मान्यता दिने घोषणा गरेपछि प्रधानमन्त्री एन्थोनी अल्बानिजलाई अगस्टमा लेख्नुभएको पत्र स्मरण गर्दै ‘तपाईंहरूको नीतिले यहुदी विरोधको आगोमा तेल खन्याइरहेको छ’ भनेका थिए । दक्षिणी इजरायलमा आयोजित एक कार्यक्रममा टेलिभिजनमार्फत सम्बोधन गर्दै नेतान्याहुले भने, “नेताहरू मौन बस्दा यहुदी विरोध क्यान्सरझैँ फैलिन्छ ।”

    इजरायली विदेशमन्त्री गिडियोन सारले आफ्ना अूट्रेलियाली समकक्षी पेनी वोङसँग फोनवार्ता गर्दै अस्ट्रेलियामा यहुदी विरोध बढिरहेको भन्दै त्यसविरुद्ध कडा कारबाही गर्न आग्रह गरेका छन् । सामाजिक सञ्जालमा उहाँले अक्टोबर ७ पछि अस्ट्रेलियामा इजरायल र यहुदी समुदायविरुद्ध हिंसात्मक उक्साहट बढेको दाबी गर्नुभयो र केही प्रदर्शनमा सुनिने नाराहरूप्रति गम्भीर चिन्ता व्यक्त गरे ।


    राष्ट्रपति आइज्याक हर्जोगले बोन्डी समुद्र तटमा हनुक्काको पहिलो मैनबत्ती बाल्न भेला भएका यहुदीहरूमाथि भएको आक्रमणलाई ‘अत्यन्तै क्रूर’ भनेर निन्दा गरे । जेरुसेलममा आयोजित एक कार्यक्रममा उनले अस्ट्रेलियालाई आफ्नो समाजलाई सताइरहेको ‘यहुदी विरोधको विशाल लहर’ विरुद्ध दृढतापूर्वक उभिन आह्वान गरे ।
    सिड्नीको प्रसिद्ध बोन्डी समुद्र तटमा हनुक्काको पहिलो रातको अवसरमा आयोजना गरिएको ‘हनुक्का बाय द सी’ कार्यक्रममा गोलीबारी भएको थियो ।

    अस्ट्रेलियाली प्रधानमन्त्री अल्बानिजले घटनालाई ‘दुष्टता, यहुदी विरोध र आतङ्कवादको कार्य’ भन्दै निन्दा गर्नुभयो र ‘यहुदी अस्ट्रेलियालीमाथि भएको आक्रमण प्रत्येक अस्ट्रेलियालीमाथिको आक्रमण हो’ भनेका थिए ।
    यसैबीच राष्ट्रिय सुरक्षामन्त्री इटामार बेन गभिरले अस्ट्रेलियाली सरकारमाथि यहुदीविरुद्धको आतङ्कवादलाई वैधानिकता दिएको आरोप लगाए । विपक्षी नेता यायर लापिदले विश्वका विभिन्न सहरमा यहुदी समुदाय लक्षित घातक आक्रमण बढ्दै गएकोप्रति गहिरो चिन्ता व्यक्त गर्दै तत्काल र निर्णायक अन्तर्राष्ट्रिय कदम आवश्यक रहेको बताए ।

  • सिकारीको बन्दुक पड्किँदा सहकर्मीको मृत्यु

    सिकारीको बन्दुक पड्किँदा सहकर्मीको मृत्यु

    बागमती, २९ मङ्सिर । मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सिस्नेरीपखेरा जङ्गलमा सिकार गर्न हिँडेका सिकारीको भरुवा बन्दुक पड्किँदा सहकर्मीको मृत्यु भएको छ । जङ्गलमा मकवानपुरको राक्सिराङ गाउँपालिका–८ राजराङ्गका ४५ वर्षीय गोपाल ब्लोनले बोकेको भरुवा बन्दुक पड्किएर उनीसँगै सिकार गर्न हिँडेका मनहरी गाउँपालिका–६ बालुभञ्जाङ निवासी ५० वर्षीय सेते थिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीका अनुसार ब्लोन र सेते दुवै जनासँगै एकएक थान भरुवा बन्दुक बोकेर जङ्गलमा सिकार गर्न हिँडेकामा अगाडि हिँडिरहेका ब्लोन लहरामा अल्झिएर लडेपछि अचानक बन्दुक पड्किएको र पछिपछि आइरहेका थिङको बन्दुकको गोली लागेर घटनास्थलमै मृत्यु भएको हो ।

    घटनालगत्तै इलाका प्रहरी कार्यालय मनहरी र प्रहरी चौकी सुनाचरीबाट खटिएको प्रहरी टोलीले दुवै हतियारसहित ब्लोनलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक बोगटीले बताए । मृतकको परीक्षणका लागि अस्पताल ल्याउने तयारी भइरहेको र घटनाबारे थप अनुसन्धान अघि बढाइएको प्रहरीको भनाइ छ ।

    विद्युत् सर्ट भएर आगलागी हुँदा पाँच लाखको क्षति

    उता, विद्युत् सर्ट भएर मकवानपुरको बकैया गाउँपालिका–९ कुडुलेमा गए राति आगलागी हुँदा करिब रु पाँच लाख मूल्य बराबर क्षति भएको छ । स्थानीय प्रकाश थिङको घरमा कोही नभएको अवस्थामा विद्युत् सर्ट भई अचानक आगो लाग्दा घरभित्र रहेको भाँडावर्तन, अन्नपात, लत्ताकपडा, फर्निचरका सम्पूर्ण सामान जलेको प्रहरी प्रवक्ता बोगटीले जानकारी दिए । आगलागीबाट मानवीय क्षति नभएको र प्रहरी चौकी हात्तीसुडेबाट खटिएको प्रहरी टोली र स्थानीयको सहयोगमा आगो निभाइएको उनले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

  • कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

    कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

    मुस्ताङ, २९ मङ्सिर । नेपाल–चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती गरिएको छ । आइतबार अन्नपूर्ण संरक्षण आयोजना (एक्याप) लोमान्थाङसहित सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले सीमाक्षेत्रको संयुक्त गस्ती सम्पन्न गरेको हो ।

    हिउँदयायमा नेपाल–चीन सीमाक्षेत्रमा हुनसक्ने सम्भावित वन्यजन्तुको चोरी सिकारी तथा तस्करीका साथै सीमाक्षेत्रमा हुनसक्ने सम्भावित अपराध, अवैध क्रियाकलाप र अवान्छित गतिविधि नियन्त्रणका लागि एक्याप लोमान्थाङ कार्यालयका कर्मचारी प्रतिनिधिसहित सशस्त्र प्रहरी र नेपाल प्रहरीले संयुक्त सुरक्षा गस्ती गरेको एक्याप लोेमान्थाङका कार्यालय प्रमुख उमेश पौडेलले जानकारी दिए ।


    प्रमुख पौडेलसहित लोमान्थाङ–२ नेचुङमा रहेको सशस्त्र प्रहरी बोर्डर आउटपोस्ट (बिओपी) र नेपाल प्रहरी गरी करिब एक दर्जन टोली सेताम्मे हिउँमा माइनस डिग्री तापक्रमको प्रवाह नगरी कोरलास्थित सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्तीमा खटिएका एक्याप लोमान्थाङले जनाएको छ । नेपाल–चीन उत्तरी सीमाक्षेत्रमा हिउँदयाममा पहिलो संयुक्त सीमा सुरक्षा गस्ती सुरु गरिएको हो । हिउँदयाममा सीमाक्षेत्र सुनसान हुने र यस्तो अवस्थामा सीमाक्षेत्रमा चोरी सिकारी र तस्करीलगायतका घटना हुनसक्ने भएकाले एक्यापसहितको सुरक्षा टोलीको कोरला क्षेत्रको संयुक्त सुरक्षा गस्ती गरेको एक्याप लोमान्थाङको भनाइ छ ।

    संयुक्त सुरक्षा गस्तीको टोलीले उत्तरी नेपाल–चीन कोरलानाकाको २४ नम्बर सीमास्तम्भदेखि मनाङतर्फ पर्ने सीमास्तम्भ २५, २६, २७ र २८ नम्बर सीमाक्षेत्रमा पुगेर गस्ती गरेको हो । उपल्लो मुस्ताङमा गत कात्तिक १० गते भारी हिमपात भए पनि त्यसयता भएको छैन । यद्यपि नेपाल–चीन सीमाक्षेत्रमा कात्तिक १० गते परेको हिउँ यथास्थितिमै छ । त्यहाँ सीमाक्षेत्रमा कार्यरत सुरक्षाकर्मीको सहयोगमा एक्याप लोमान्थाङले संयुक्त सुरक्षा गस्ती प्रारम्भ गरेको जनाएको छ ।

    हिउँदयामसँगै उपल्लो मुस्ताङमा चिसो अत्यधिक बढेको छ । उपल्लो मुस्ताङमा बिहान र बेलुकीपखको तापक्रम माइनस २० डिग्रीमा झर्ने गरेको छ । चिसोका कारण उपल्लो मुस्ताङका अधिकांश नागरिक जाडो छल्न बेँसी झरिसकेका छन् । सीमावर्ती क्षेत्रमा कार्यरत सुरक्षाकर्मी भने चिसो सहदै सीमा सुरक्षाका लागि खटिएका छन् ।

  • एमाले महाधिवेशन : आज उम्मेदवारको मनोनयन

    एमाले महाधिवेशन : आज उम्मेदवारको मनोनयन

    काठमाडौँ, २९ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले जारी ११औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रको दोस्रो दिन आज नयाँ नेतृत्वका लागि उम्मेदवार मनोनयन हुँदैछ । निर्वाचन कार्यतालिकाअनुसार आज बिहान १०ः३० देखि १ः३० बजेसम्म उम्मेदवारको दर्ता मनोनयन हुने एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाले जानकारी दिए । आयोगले आज बिहान १०ः१५ बजे मतदाताको अन्तिम नामावली प्रकाशन गरेर उम्मेदवारको दर्ता प्रक्रिया सुरु गर्ने उनले बताए ।


    आयोगले हिजो मतादाता नामावली सार्वजनिक गर्दै निर्वाचन प्रक्रिया सुरु गरेको हो । निर्वाचन कार्यतालिकाअनुसार आज मनोनयनका लागि बिहान ९ः०० देखि दिउँसो १२ः०० बजेसम्म उम्मेदवारको दरखास्त फारम विवरण गरिनेछ । मनोनयनपछि आजै दिउँसो २ः३० बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गर्ने र दिउँसो २ः३० देखि ३ः०० बजेसम्म उम्मेदवारको विरोधमा उजुरी लिने समय तालिका तोकिएको छ ।

    यस्तै आयोगले उम्मेदवारको नाम फिर्ता लिनका लागि आज दिउँसो ३ः१० देखि ५ः०० बजेसम्म समय तोकेको छ र उम्मेदवारको अन्तिम नामावली साँझ ६ः०० बजे प्रकाशित गर्ने निर्वाचन कार्यतालिकामा उल्लेख गरिएको छ । निर्वाचन आयोगले आज सबै प्रक्रिया सकेर भोलि पुस १ गते निर्वाचन हुने जनाएको छ ।

    आयोगका अध्यक्ष डा सुब्बाका अनुसार नयाँ नेतृत्वका लागि यही पुस १ गते बिहान ११ः०० देखि बेलुका ५ः०० बजेसम्म मतदान हुनेछ । मतदान महाधिवेशनस्थल भृकुटीमण्डपमा हुनेछ । एमालेले यसपटक पनि विद्युतीय भोटिङ मेसिनबाट मतदान गर्ने भएको छ । महाधिवेशनमा दुई हजार २६२ प्रतिनिधि सहभागी छन् । नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने भएको छ । यसअघि चितवनमा सम्पन्न १०औँ राष्ट्रिय महाधिवेशनमा पनि विद्युतीय भोटिङ मेसिन प्रयोग गरेको थियो ।

  • बजार अनुमगनमा थप सक्रिय बन्दै विभाग

    बजार अनुमगनमा थप सक्रिय बन्दै विभाग

    काठमाडौँ, २९ मङ्सिरः बजार अनुमगन तथा निरीक्षणलाई तीव्र पारिरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आइतबार काठमाडौँका विभिन्न १४ वटा उद्योग तथा फर्मको निरीक्षण गरेको छ । त्यसमध्ये दुई वटालाई कारबाहीको दायरामा ल्याइएको विभागले विज्ञप्तिमार्फत जनाएको छ । कागेश्वरी मनोहरा–९ महानटारमा रहेको दाहाल गाई फार्मलाई विभागले रु पाँच हजार जरिवाना गरेको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १५, दफा ३८ ‘घ’ बमोजिमको कसुरमा सोही ऐनको दफा ३९, १ ‘क’ बमोजिम कारवाही गरिएको विभागले जनाएको हो ।

    यसैगरी कागेश्वरी मनोहरा–९ गोठाटारमा रहेको डिएनएस काष्ठ तथा फर्निचर उद्योगलाई व्यवसायसँग सम्बन्धित कागजात लिई तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ । विभागले अन्य १२ उद्योग वा फर्मलाई भने तत्काल सुधार गर्नुपर्ने केही राय सुझावसहित निर्देशन दिएको छ । विभागले सार्वजनिक बिदाको दिन बाहेक अन्य दिन देशव्यापी रूपमा स्थानीय प्रशासनसमेतको सहयोगमा बजार अनुमगन तथा निरीक्षण गर्दै आएको छ । बजारमा स्वच्छता कायम राख्न, बिल बिजक जारी गराउन र कालोबजारी अन्त्यका लागि क्रियाशिल भएको विभागले स्पष्ट पारेको छ ।

    विभागको पछिल्लो विवरणअनुसार यही मङ्सिर २६ गते ११ वटा उद्योग र फर्मको अनुमगन गरेको थियो । मङ्सिर २५ गते २० वटा उद्योग वा फर्ममा अनुमगन गरेको थियो । सो दिन दावा सुज एण्ड फेसन सेन्टरलाई रु ५० हजार जरिवाना तिराएको थियो । त्यसैगरी मङ्सिर २४ गते १३ वटा फर्ममा अनुमगन गरेको थियो । सो दिन चार वटा फर्मलाई रु ५० हजार जरिवाना तिराएको थियो । मङ्सिर २३ गते १५ वटा फर्ममा अनुगमन गरेको थियो भने मङ्सिर २२ गते १५ वटा फर्ममा अनुमगन गरी तीन वटा फर्मलाई रु ५० हजार जरिवाना तिराएको थियो ।

  • राजनीतिसँगै कृषिजन्य उत्पादनको व्यापारमा नेत्री राई

    राजनीतिसँगै कृषिजन्य उत्पादनको व्यापारमा नेत्री राई

    केदार मगर–रासस
    खोटाङ, २९ मङ्सिरः राजनीति गर्दैमा अरु कुनै पेसा गर्नु हुँदैन भन्ने छैन । कतिपयले राजनीतिलाई नै पेसाझैँ बनाउँदा मुलकुमा भ्रष्टाचार बढेको आरोप पनि लाग्दै आएको छ । यस्तै सन्दर्भमा संविधानसभा सदस्य दुर्गाजयन्ती राईले दिक्तेल बजारमा कृषि उत्पादनको मूल्य अभिवृद्धि र स्थानीय उद्योग प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘नमूना कृषिजन्य सामग्री प्रशोधन केन्द्र’ सञ्चालन गर्दै आउनुभएको छ । स्थानीयले उत्पादन गरेका मकै, फापर–कोदो, धान, तोरीको तेल, राँगाको मासु, रायोको सागलगायत सङ्कलन तथा प्रशोधन गरेर उहाँले बिक्री गर्दै आउनुभएको छ ।

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय सदस्यसमेत रहनुभएकी संविधानसभा सदस्य राईले विसं २०७६ सालमा रु पाँच हजार लगानीमा २५ केजी मकैको च्याँख्ला र दश प्याकेट गुन्द्रुक–सिन्की राखेर व्यवसाय सुरु गर्नुभएको थियो । नेता राईको पसलमा अहिले मकैको च्याँख्ला, फापर–कोदोको पिठो, धानको चामल, घ्यू, मह, तोरीको तेल, राँगाको सुकुटी, गुन्द्रुक, सिन्की, गेडागुडीदेखि हरियो सागसब्जीका साथै डालो÷नाङ्लोसम्मका कृषि उपज तथा सामग्री पाइन्छ ।

    भूमिगत राजनीतिदेखि चार वर्षसम्म सङ्घीय संसद्को जिम्मेवारी निर्वाह गरिसक्नुभएकी नेता राईलाई सुरुमा व्यापारमा हात हाल्न निकै जोखिम थियो । कृषि उपजको व्यवसायमा बजार कत्तिको राम्रो होला भन्ने अनिश्चितता थियो । तर, परम्परागत स्वाद खोज्ने ग्राहकहरुले नेता राईको पसलप्रति चासो देखाए । कृषि व्यवसाय विस्तार हुँदै गएपछि नेता राईले हाल धरान, काठमाडौँ, हङकङ, सिङ्गापुर र स्थानीय हाटबजारसमेतमा सामग्री आपूर्ति गर्दै आउनुभएको छ । विदेशमा नेपालीले मन पराउने परम्परागत खाद्यवस्तुको मागले आफ्नो व्यवसाय अझै विस्तार गर्न मद्दत पुगेको नेता राईले जानकारी दिनुभयो ।

    हेटौँडा महाधिवेशनपछि तत्कालीन नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०ले नेता तथा कार्यकर्ताले उत्पादन र उद्यममा पनि जोडिनुपर्छ भन्ने नीतिगत निर्णय गरेपछि उद्यमलाई नियमित, दीर्घकालीन र व्यवस्थितरूपमा अघि बढाउने मनस्थिति बनाएको नेता राईले बताउनुभयो । “पहिलाको समयमा मैले सिङ्गै समय पार्टीलाई दिएकी थिएँ । त्यहीँ परिस्थिति पनि थियो । तर, मुलुकमा शान्ति सम्झौता भयो, गणतन्त्र आयो, त्यसपछि पार्टीलाई पूरा समय दिनै नपर्ने अवस्था आयो”, उहाँले भन्नुभयो, “सङ्गठनको काम आंशिक रूपमा गरे पनि पुग्ने वातावरण बनेपछि मैले उत्पादनमूलक क्षेत्रमा हात हालेको हुँ ।”

    ‘नेताले पनि आयआर्जनका स्रोत बनाउनुपर्छ’ भन्ने पार्टीकै निर्णयले यस कामप्रति आफूलाई प्रेरणा मिलेको नेता राईले बताउनुभयो । “किसानसँग घुलमिल हुन पाउँदा सामाजिक चिन्तन बलियो हुन्छ । उपभोक्ता बुझ्दा हाम्रो व्यवहारिक धरातल अझै मजबुत बन्दो रहेछ,” उहाँले भन्नुभयो, “उद्यमले मेरो राजनीतिक जीवनलाई पनि सकारात्मक प्रभाव पारेको छ । राजनीति निःस्वार्थ हुनुपर्छ । राजनीति गर्छु भन्ने सबै नेताले केही न केही आम्दानी हुने व्यवसाय गर्नुपर्छ भन्ने मेरो बुझाइ छ ।”

    प्रशोधन केन्द्रमा उत्पादनका लागि कच्चा सामग्री पर्याप्त मात्रामा नपाउनु नै प्रमुख चुनौतीको देखिएको उहाँको भनाइ छ । “सिजनमा त किसानले धेरै सामान ल्याउनुहुन्छ । तर, वर्षभरि समानरूपमा कच्चा पदार्थ पाइँदैन । त्यो नै मुख्य चुनौती हो”, उहाँले भन्नुभयो, “पसलमा आउने हरेक सामानको शत प्रतिशत लागतमा २०–२५ प्रतिशत नाफा जोडेर मूल्य निर्धारण गर्ने गरेकी छु । उपभोक्ताले सधैँ यथार्थ मूल्यमै सामान पाउने गर्नुभएको छ ।”

    स्थानीय उत्पादनमा आधारित व्यवसायले रोजगारी, आत्मनिर्भरता र स्थानीय आर्थिक चक्रलाई मजबुत बनाउने जानकारी दिनुहुँदै नेता राईले राजनीति क्षेत्रका अन्य व्यक्तित्वलाई पनि कृषि वा स्थानीय उद्योगमा जोडिन प्रोत्साहन दिनुभएको छ । व्यवसायको माध्यमबाट किसान र उपभोक्तासँग सीधा जोडिन पाउँदा सामाजिक तथा राजनीतिक यात्रा नै बलियो भएको नेता राईको बुझाइ छ । सरकारका तीनवटै तह सङ्घ, प्रदेश र स्थानीय सरकारले कृषि क्षेत्रमा अनुदानमार्फत उत्पादन वृद्धि गर्न सके देशको समग्र अर्थतन्त्रलाई टेवा पुग्ने नेता उहाँ बताउनुहुन्छ ।

    दिक्तेल बहुमुखी क्याम्पसको सञ्चालक समिति अध्यक्षसमेत रहनुभएकी राई विसं २०६४ सालमा सम्पन्न पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन जनमोर्चा नेपाल पार्टीबाट समानुपातिकतर्फबाट संविधानसभा सदस्य बन्नुभएको थियो ।

  • पालिकास्तरीय बाल कचहरीः बालविवाह अन्त्य गर्न माग

    पालिकास्तरीय बाल कचहरीः बालविवाह अन्त्य गर्न माग

    रासस
    म्याग्दी, २९ मङ्सिर । धवलागिरि गाउँपालिका–३ मुनामा आइतबार सम्पन्न पालिकास्तरीय बाल कचहरीबाट बालअधिकारको सुनिश्चितता, संरक्षण तथा प्रवर्द्धन र बालविवाह न्यूनीकरणका लागि १० बुदे घोषणापत्र जारी भएको छ । बाल क्लबका प्रतिनिधि, जनप्रतिनिधि, शिक्षकसम्बद्ध सङ्घसंस्था र सरोकारवालाबीच धवलागिरि गाउँपालिकामा रहेको बालबालिकासम्बन्धी समस्या र समाधान उपायका विषयमा छलफल गरी घोषणापत्र जारी भएको हो ।

    बालविवाह, विभेद, बाल मजदुरजस्ता सामाजिक कुसंस्कारका विरुद्ध सामूहिक आवाज उठाउन र त्यस्ता घटनाको न्यूनीकरणमा कटिबद्ध भएर लाग्ने, बालबालिकाको बाँच्न पाउने, संरक्षण, विकास र सहभागिताको नैसर्गिक अधिकारको परिपालनामा संवेदनशील र कार्यान्वयनमा प्रतिबद्ध रहने घोषणापत्रमा उल्लेख छ ।

    विद्यालयमा बालमैत्री वातावरण र भौतिक संरचनालाई बालमैत्री बनाउने, विद्यालयमा सरकारले उपलब्ध गराउने सेनेटरी प्याडको गुणस्तरीयतामा ध्यान दिने, बालविवाह गर्ने र गराउनेलाई कानुनी दायरामा ल्याउने, गुणस्तरीय शिक्षा कायम गराउने, बालबालिकामा अन्तर्निहित प्रतिभा प्रस्फुटनको अवसर दिलाउने प्रतिबद्धता जनाइएको छ ।

    विद्यालयमा दिवा खाजालाई पोषणयुक्त र आत्मनिर्भर बनाउन विद्यालयमै करेसाबारी बनाउने, विद्यालय तथा समुदायमा हुने सबै किसिमका विभेद तथा भेदभावविरुद्ध शून्य सहनशीलताको रणनीति अपनाइने घोषणापत्रमा उल्लेख छ ।

    गाउँ कार्यपालिकाको सामाजिक विकास समितिका संयोजक तथा वडा नं ३ का अध्यक्ष देवेन्द्र रोकाको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले बालअधिकारको संरक्षण र बालविवाह न्यूनीकरणमा जोड दिएको बताउँदै दिवाखाजा र छात्राबासका लागि आवश्यक तरकारी विद्यालयमै उत्पादन गर्ने अभ्यास सुरु भएको जानकारी गराउनुभयो ।

    कार्यक्रममा सहभागी धवलागिरि मावि मुना, बुद्धि विकास मावि मुदी, लमसुङ, हेम नमूना आवासीय मावि र ताकम माविका छ–छ जना विद्यार्थीले जनप्रतिनिधि र सरोकारवालालाई गाउँपालिकामा बालअधिकारसम्बन्धी कार्यक्रम, बालविवाह न्यूनीकरण, विपन्न विद्यार्थीको शिक्षामा पहुँच, शैक्षिक गुणस्तरलगायतका विषयमा जिज्ञासा राखेका थिए ।

    गाउँपालिकाका उपाध्यक्ष पुन, सामाजिक विकास समितिका संयोजक रोका, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्मा, स्वास्थ्य शाखा प्रमुख सम्झना खाती, शिक्षा शाखा प्रमुख ख्यामराज सुवेदी, महिला बालबालिका शाखाका पुष्पा दवाडी, ताकम प्रहरी चौकीका प्रमुख विक्रम तिवारीले जिज्ञासाको जवाफ दिनुभएको थियो ।

    गुड नेवर्स इन्टरनेसनलको आर्थिक तथा प्राविधिक सहयोगमा सङ्गम म्याग्दीद्वारा सञ्चालित एकीकृत विकास परियोजनाको आयोजनामा भएको कार्यक्रममा रामबहादुर रावतले बालअधिकारको अवस्था, चुनौती र आवश्यकताका विषयमा सहजीकरण गर्नुभएको थियो ।

    गुड नेवर्स इन्टरनेसनलको पर्वत कलस्टरका संयोजक रञ्जीतकुमार चौधरीले परियोजनाका बारेमा प्रकाश पार्दै स्वागत गर्नुभएको थियो । सङ्गम म्याग्दीले सन् २०१३ देखि धवलागिरि गाउँपालिकामा एकीकृत विकास परियोजना सञ्चालन गर्दै आएका परियोजनाका जीविकोपार्जन अधिकृत अनुषा लामिछानेले बताउनुभयो । सङ्गमले गल्र्स फस्ट फण्डको सहयोगमा धवलागिरि गाउँपालिकामा बालविवाह न्यूनीकरणसम्बन्धी छुट्टै अर्को कार्यक्रम पनि सञ्चालन गरेको छ ।

  • महबाटै करोड कारोबार गर्दै विनोद हमाल

    महबाटै करोड कारोबार गर्दै विनोद हमाल

    राष्ट्रिय समाचार समिति (रासस)

    भजनी (कैलाली), २९ मङ्सिर । परिश्रम गरे स्वदेशमै मनग्य आम्दानी गर्न सकिन्छ भन्ने एक उदाहरण हुनुहुन्छ दाङको तुलसीपुर उपमहानगरपालिका–६ मदन नगरका विनोद हमाल । व्यावसायिक माहुरीपालनबाट बर्सेनि करोडौँको कारोबार गर्दै आउनुभएका हमाल व्यवसायीमात्र होइन समाजका लागि एक प्रेरणा पनि हुनुहुन्छ ।

    विसं २०५५ देखि माहुरीपालन व्यवसाय गर्दै आउनुभएका उहाँबाटै सिकेको सीपबाट कैयौँ युवाहरू माहुरीपालन व्यवसायमा संलग्न हुनुभएको छ । त्यो समयमा १२–१५ जना माहुरीपालक किसान रहेका दाङमा अहिले चार–पाँच सय युवा त्यसैमा भविष्य खोजिरहेको हमाल बताउनुहुन्छ । “सुरुमा सीमित व्यक्ति मौरीपालनमा थियौँ । अहिले दाङमा मात्र चार–पाँच सय जना पुगिसक्नुभएको छ”, उहाँ भन्नुहुन्छ, “थोरै लगानीले मनग्य आम्दानी दिने भएपछि युवाहरूको आकर्षण बढ्दै गएको छ ।”

    दाङदेखि कैलालीसम्मका तराईका जिल्लामा घुमिरहने अनि माहुरीका घार घुमाइरहने हमाल यतिबेला कैलालीको भजनी नगरपालिकामा पुग्नुभएको छ । उहाँले कैलाली र बर्दियाका विभिन्न ठाउँमा पाँच सय माहुरीका घार तोरी फुलेका खेतहरूमा राख्नुभएको छ । “आजभोलि तोरीको फूल जता फुल्यो त्यतै माहुरीका घार बोकेर हिँड्ने गरेका छौँ”, उहाँ भन्नुहुन्छ, “तोरीको सिजन सकिएपछि जता फूल फुल्यो माहुरी घार त्यतै पुग्छन् ।”

    उहाँका अनुसार कैलालीलगायतका तराईका जिल्लामा बर्सेनि तोरी फुल्ने समयमा दाङबाट दर्जनौँ मौरीपालक किसान माहुरीका घार बोकेर आउने गरेका छन् । उहाँहरू कैलाली, बर्दिया, बाँके, दाङका विभिन्न क्षेत्रमा माहुरीका घार बोकेर चराउन जाने गर्छन् । मौरीका लागि उपयुक्त हावापानी भएका कारण दाङमा माहुरी व्यवसाय फस्टाएको पाइन्छ । “दाङको हावापानी माहुरीका लागि राम्रो छ । तोरी अनि मकैखेती राम्रो हुने हुँदा पनि मौरी व्यवसाय राम्रो भएको पाइन्छ”, हमाल भन्नुहुन्छ, “तोरी र मकैको फूल माहुरीको चरनका लागि निकै महत्त्वपूर्ण मानिन्छ ।”

    स्वर्गद्वारी विकन्सर्न प्रालिमार्फत माहुरीपालन गर्दै आउनुभएका हमालले १५ जनालाई प्रत्यक्ष रोजगारी दिनुभएको छभने अप्रत्यक्ष रूपमा सयौँ व्यवसायसँग जोडिएका छन् । हमालले एक वर्षमा एक लाख केजीसम्म मह उत्पादन गरेर बिक्री गर्दै आएको बताउनुभयो । “आम्दानी कति हुन्छ त्यो ठ्याक्कै भन्नुभन्दा पनि हामीले वर्षमा एक लाख केजी मह उत्पादन गर्छौँ”, उहाँ भन्नुहुन्छ, “त्यो मह न्यूनतम रु पाँच सय प्रतिकेजीभन्दा बढीमा बिक्री गर्दै आएका छौँ ।” महको मूल्य पनि फूलको स्रोतका आधारमा तय गरिने उहाँ बताउनुहुन्छ ।

    माहुरीपालक किसानलाई बजारको कुनै समस्या छैन । अहिले पनि बजारको मागलाई पूरा गर्न नसकिएको हमालको भनाइ छ । काठमाडौँलगायत देशका तीन क्षेत्रबाट महको व्यापार गर्दै आउनुभएका उहाँ धेरै उत्पादन कम्पनीमा नपुर्याएरै बिक्री हुने गरेको विनोद बताउनुहुन्छ । उहाँको परिवार नै माहुरी व्यवसायमा लागेको छ ।

    पैसा कमाउनका लागि विदेश जान नपर्ने उहाँ बताउनुहुन्छ । “पैसा विदेशभन्दा स्वदेशमा धेरै छ । हामी जसरी खटिएर विदेशमा आठ घण्टा काम गर्छौैँ, त्यसैगरी स्वदेशमा गरौँ त”, उहाँ भन्नुहुन्छ, “दश घण्टा कुरा गरेर अनि सामाजिक सञ्जाल चलाएर व्यतित गर्दा बाँकी दुईतीन घण्टा काम गरेजस्तो गएर पैसा कमाउन सकिँदैन । आम्दानी हुँदैन । व्यवसायमा दत्तचित्त भएर लाग्यो भने हरेक व्यवसायको स्वदेशमा सम्भावना छ ।”

  • २४ घण्टामा देशभर २२ स्थानमा आगलागी

    २४ घण्टामा देशभर २२ स्थानमा आगलागी

    काठमाडौँ, २९ मङ्सिर । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शनिबार बिहान १० बजेदेखि आइतबार बिहानसम्म देशभर कूल २५ वटा विपद्जन्य घटना घटेका छन् । ती घटनामध्ये सबैभन्दा बढी अर्थात् २२ वटा घटना आगलागीसँग जोडिएका छन् । कतै डढेलो त कतै भान्सामा खाना पकाउने ग्याँस लिक हुँदा आगो लागेको छ । बिजुली सर्ट भएर, असावधानी एवम् जनचेतनाका अभावमा पनि आगो लागेको प्राधिकरणको विवरणमा उल्लेख छ । रौतहटमा तीन, पाँचथर, झापा, कास्की र स्याङजाका दुई ÷दुई स्थानमा आगलागीका घटना घटेका छन् ।

    मोरङ, भोजपुर, उदयपुर, सर्लाही, काठमाडौँ, स्याङजा, रुपन्देही, दाङ, अछाम र दार्चुलाका एक÷एक स्थानमा आगलागीका घटना घटेका छन् । हिउँदको समयमा आगो ताप्दा, सलाइको काटी खेलाउँदा र धानको कुन्युमा केटाकेटी खेल्दासमेत आगलागी भएको पाइएको छ । प्राधिकरणका अनुसार, काठमाडौँको दक्षिणकाली नगरपालिका–५ पूरानो दक्षिणकाली जंगलमा आगलागी भएको थियो ।

    इलाका प्रहरी कार्यालय फर्पिङ टोली र स्थानीयको सहयोगमा डढेलो नियन्त्रण गरिएको थियो । पाल्पामा पहिरो, मोरङका दुई स्थानमा जङ्गली हात्तीले आक्रमण गरेको छ । त्यसमध्ये मोरङको सुन्दरहरैचा नगरपालिका १२ मा हात्तीको आक्रमणमा परेर एकको मृत्यु भएको छ । विपद्मा परेर एक जनाको निधन र चार जना घाइते भएका छन् । विपद्जन्य घटनाका कारण कूल ७२ लाख ९०० बराबरको क्षति भएको अनुमान गरिएको छ ।