Category: फिचर

  • निर्वाचन ८० दिन बाँकी : चुनावी खर्च पारदर्शी बनाउने आयोगको प्रस्ताव

    निर्वाचन ८० दिन बाँकी : चुनावी खर्च पारदर्शी बनाउने आयोगको प्रस्ताव

    काठमाडौँ, २९ मङ्सिर । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय गरेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तय गरेको र हाल राय सुझावका लागि सार्वजनिक गरेको निर्वाचन आचारसंहिता– २०८२ मा केही नयाँ व्यवस्था थप गरेको छ । खर्च वा आम्दानी सबै बैंक तथा वित्तीय संस्थामार्फत गर्नुपर्ने, सबै बिल तथा भरपाई राख्नुपर्नेलगायतका नयाँ व्यवस्था थप गरेको हो ।

    निर्वाचनमा हुने खर्चको स्रोतको पारदर्शिता कायम गर्न यस्तो व्यवस्था गर्न लागिएको आयोगले जनाएको छ । आयोगले निर्वाचन खर्चसम्बन्धी आचरण शीर्षकमा राजनीतिक दल तथा उम्मेद्वारले मनोनयनपत्र दर्ता निर्वाचनमा आफूले खर्च गर्ने अनुमानित रकम र सो को स्रोत समेत खुलाउनुपर्ने उल्लेख गरेको छ ।

    उम्मेद्वारले खर्च गर्दा बैंक तथा वित्तीय संस्थामा छुट्टै खाता खोली सोही खाताबाट गर्नुपर्नेछ । यस्तै निर्वाचन खर्चसम्बन्धी खर्च गर्दा निजको तर्फबाट खर्च गर्ने ज्म्मिेवार पदाधिकारी तोक्नुपर्नेछ । तोकिएका पदाधिकारीको नाम नामेसीसहितको विवरण निर्वाचन अधिकृतको कार्यालय तथा निर्वाचन कार्यालयमा जानकारी गराउनुपर्ने व्यवस्था गरिएको छ ।

    प्रस्तावित आचारसंहितामा राजनीतिक दलले निर्वाचनसम्बन्धी खर्च गर्दा बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोली दलले तोकेको जिम्मेवार पदाधिकारीबाट सो खाताबाट मात्रै खर्च गर्नुपर्नेछ । यसैगरी रु २५ हजारभन्दा बढी आर्थिक सहयोग प्राप्त गर्दा बैंक वा वित्तीय संस्था मार्फत नै गर्नुपर्ने जनाइएको छ ।

    व्यक्ति वा संस्थाबाट स्वेच्छिक सहयोगका रुपमा नगद लिएमा सो रकम बुझेको रसिद वा भरपाई दिई बैंक वा वित्तीय संस्थामा जम्मा गराउनुपर्नेछ । खर्चको विवरणसमेत तथा बिल भरपाई राख्नुपर्नेछ । आम्दानी तथा खर्चको विवरण प्रचलित कानुन बमोजिम आयोगले तोकेका ढाँचामा जिल्ला निर्वाचन कार्यालय वा आयोगमा बुझाउनुपर्नेछ ।

    आयोगले खर्चको बिल भरपाई तथा बैंक तथा वित्तीय संस्थामा रहेको खाताको विवरण पेस गर्न आदेश दिएमा सक्कल बिल भरपाई तथा बैंक वा वित्तीय संस्थाको खाताको विवरण पेश गर्नुपर्ने सो थप गरिएको व्यवस्थामा उल्लेख गरेको छ । निर्वाचन खर्चको विवरण निर्वाचन सम्पन्न भएपछि सार्वजनिक गरी प्रचलित निर्वाचनसम्बन्धी कानुनले तोकेको अवधिभित्र आयोग वा निर्वाचन कार्यालयमा पेस गर्नुपर्ने जनाइएको छ । रासस

  • खोरसोरका दुई छावा पुस २ गते कतार पठाइने

    खोरसोरका दुई छावा पुस २ गते कतार पठाइने

    रासस
    चितवन, २८ मङ्सिरः चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा जन्मिएका दुई हात्तीका छावालाई आगामी पुस २ गते कतार पठाइने भएको छ । प्रजनन केन्द्रमा हुर्किएर तालिमपछि सौराहा हात्तीसारमा लागिएका रुद्रकली र खगेन्द्र प्रसादलाई कतार पठाउन लागिएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी डा हरिभद्र आचार्यका अनुसार यही डिसेम्बर १७ तारिखमा कतार पठाउन लागिएको हो । भैरहवा विमानस्थलबाट हात्ती पठाउन लागिएको हो । चार्टर कार्गो विमानमार्फत हात्ती पठाइने उहाँले बताउनुभयो । जहाजको समय मिलाएर बाटोको अवस्था हेरी सौराहाबाट अघिल्लो दिन हात्ती लगिने तयारी छ ।

    कतारको दोहास्थित अलखोर पार्कको चिडियाखानामा राख्नका लागि यी हात्ती पठाउन लागिएको हो । रुद्रकली सात वर्ष र खगेन्द्र प्रसाद छ वर्षका छावा हुन् । रुद्रकली पूजाकली र खगेन्द्र कोशीकलीको बच्चा हो । खगेन्द्र र रुद्रको बाबु जङ्गली भाले हात्ती रोनाल्डो भएको हात्ती प्रजनन केन्द्रका प्रमुख मनिपुरण चौधरीले जानकारी दिनुभयो ।

    हात्ती प्रजनन केन्द्र खोरसोरमा रहेका पोथी हात्ती जङ्गली भाले हात्ती रोनाल्डो, ध्रुवे, गोविन्देजस्ता शक्तिशाली हात्तीसँगको सहवासमा गर्भवती हुने गर्दछन् । सरकारले हात्ती दिने निर्णय गरेपछि सबै प्रक्रिया पूरा गरी पठाउन लागिएको हो । राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाले हात्तीको नाप गरी हात्ती राख्न खोर निर्माण गरेको छ । खोरसहित ट्रकमा राखेर सौराहाबाट अन्तरराष्ट्रिय विमानस्थल लुम्बिनी लगिनेछ । लुम्बिनीबाट कार्गो विमानमा राखी कतार लगिनेछ । हात्तीसँगै निकुञ्जका पशु प्राविधिक दिनेश ढकालको नेतृत्वमा दुई जना हात्तीका माउते पनि कतार जाँदै हुनुहुन्छ ।

    उहाँहरुले हात्तीले त्यहाँ व्यवस्थापन मिलाएर फर्कनुहुनेछ । यसअघि नेपालले विभिन्न मित्र राष्ट्रलाई एकसिङ्गे गैँडा, हात्तीलगायत वन्यजन्तु उपहारस्वरूप प्रदान गर्दै आएको छ । दुई देशबीचको सम्बन्ध बलियो बनाउन र नेपालको जैविक विविधताको महत्व अन्तरराष्ट्रियस्तरमा परिचित गर्न वन्यजन्तु उपहार दिइँदै आइएको छ । आचार्यका अनुसार पहिलो पटक नेपालले हात्ती उपहारस्वरुप अन्य देशमा पठाउन लागिएको हो ।

    विसं २०४४ मा भारतबाट १६, म्यानमार दुई र थाइल्यान्डबाट दुई गरी २० हात्तीबाट स्थापना गरिएको हात्ती प्रजनन केन्द्रले अहिलेसम्म ६८ हात्तीलाई जन्म दिइसकेको छ । यहाँ ६१ वटालाई तालिम दिइएको केन्द्रले जनाएको छ । यहाँ जन्मिएका मध्ये छ को मृत्यु भएको छ । यसअघि नेपालले सन् १९८५ देखि हालसम्म विभिन्न देशलाई २६ गैँडा, १० घडियाल गोही, एक ब्वाँसो र दुई चितुवा उपहार दिइसकेको तथ्याङ्क छ । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको कतार भ्रमणका क्रममा विसं २०७५ मा नेपालले कतारलाई हात्ती उपहार दिने प्रतिबद्धता जनाएको थियो । सोपश्चात् कतार सरकारको कूटनीतिक निकायबाट माग भएअनुसार प्रक्रिया अघि बढाएर हात्ती पठाउन लागिएको हो ।

  • पोखरामा २७ औँ पोखरा सडक महोत्सव पुस १३ देखि

    पोखरामा २७ औँ पोखरा सडक महोत्सव पुस १३ देखि

    धरान (सुनसरी), २८ मङ्सिरः पोखराको लेकसाइड क्षेत्रमा आगामी पुस १३ देखि १७ गतेसम्म २७औँ संस्करणको पोखरा सडक महोत्सव आयोजना हुने भएको छ । आगामी जनवरी १ तारिखमा रेष्टुराँ एण्ड बार एसोसिएसन नेपाल ९रेवान० पोखराको आयोजनामा फेवाताल किनारको लेकसाइड क्षेत्रमा करिब तीन दशमलव पाँच किलोमिटर क्षेत्रमा महोत्सव सञ्चालन गरिने आयोजकले आज इटहरीमा पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो । रेवान पोखराका संयोजक वसन्त गौतमका अनुसार ‘सडकमै खाऔँ, सडकमै नाचौँ, सडकमै रमाऔँ’ भन्ने मूल नाराका साथ आयोजना हुँदै आएको महोत्सवले खाना, संस्कृति र सङ्गीतको प्रवर्द्धनका साथै पोखराको पर्यटन विकासमा महत्त्वपूर्ण योगदान पु¥याउँदै आएको छ ।

    एक समय अङ्ग्रेजी नयाँ वर्ष मनाउन नेपाली पर्यटक भारतको गोवा र थाइल्याण्ड जाने प्रचलन रहेकामा पोखरा सडक महोत्सवले ‘अङ्ग्रेजी नयाँ वर्षको प्रमुख गन्तव्य’का रूपमा पोखरालाई स्थापित गर्न सफल भएको उनले बताए । “हाल यो महोत्सव पोखराको पहिचान र पर्यटन प्रवर्द्धनका क्षेत्रमा ‘ब्रान्ड’का रूपमा अघि बढिरहेको छ”, उनले भने ।


    विसं २०७२ को विनाशकारी भूकम्प, कोभिड–१९ महामारी तथा पछिल्ला विभिन्न आन्दोलनजस्ता चुनौतीका बाबजुत पनि महोत्सव निरन्तर आयोजना हुँदै आएको संयोजक गौतमले बताए । उनले प्रत्येक सङ्कटपछि सुस्ताएको पर्यटन क्षेत्रलाई पुनःरुत्थान गर्न तथा ‘पोखरा सुरक्षित र खुला छ’ भन्ने सन्देश विश्वसामु प्रवाह गर्न महोत्सवले महत्त्वपूर्ण भूमिका खेल्दै आएको धारणा राखे ।


    पोखरा भ्रमण वर्ष २०२५ का संयोजक गोपी भट्टराईले महोत्सवले जाडोयाममा सुस्ताउने पर्यटन व्यवसायलाई चलायमान बनाउँदै स्थानीय कृषिउपज, हस्तकला तथा घरेलु सामग्रीको प्रवर्द्धन र बजारीकरणमा टेवा पु¥याउने विश्वास व्यक्त गरे । क्रिसमस र नयाँ वर्षको अवसरमा विदेशी पर्यटकलाई नेपालमै आकर्षित गरी विदेशी मुद्रा आर्जनमा सहयोग पुग्ने उनको भनाइ छ ।

    यस वर्ष पोखरा महानगरपालिकाद्वारा घोषणा गरिएको ‘पोखरा भ्रमण वर्ष २०२५’सँग सहकार्य गर्दै महोत्सव आयोजना हुन लागेको आयोजकले जनाएको छ । महोत्सवका प्रमुख आकर्षणमा नेपालका विभिन्न जातजातिका सांस्कृतिक झाँकी र नृत्य, राष्ट्रिय तथा अन्तरराष्ट्रिय परिकारसहितका खानाको फुड फेस्टिभल (खाना महोत्सव), ख्यातिप्राप्त कलाकारद्वारा कला प्रस्तुत, लोकदोहोरी, फेवातालमा ‘बोट रेस’, ‘वेटर रेस’, रस्साकस्सी, पर्यटनसम्बन्धी ‘टक सो’, वृत्तचित्र तथा फोटो प्रदर्शनी रहेका संयोजक गौतमले जानकारी दिए ।

    महोत्सवको मुख्य प्रायोजक गोर्खा ब्रुअरी प्रालि रहेको छ भने सहप्रायोजकमा बोटलर्स नेपाल (तराई) लिमिटेड, दि नेपाल डिस्टिलरी प्रालि, यति डिस्टिलरी प्रालि र नेपाल टेलिकम रहेका छन् । बैंकिङ पार्टनरमा सिद्धार्थ बैंक रहेको आयोजकले जनाएको छ ।

  • राजधानीमै छैन पर्यटक बस बसपार्क

    राजधानीमै छैन पर्यटक बस बसपार्क

    काठमाडौँ, २९ मङ्सिरः मुलुकको सङ्घीय राजधानी काठमाडौँमा पर्यटक बसका लागि छुट्टै बसपार्क नहुँदा सडकबाट गुड्न बाध्य भएका छन् । मुलुकको आर्थिक मेरुदण्डको मुख्य आधारका रुपमा रहेको पर्यटक बसका लागि व्यवस्थित बसपार्क नहुँदा काठमाडौँ महानगरपालिका–१६ सोह्रखुट्टेस्थित सडकबाट पर्यटक बस गुड्न बाध्य भएका हुन् ।

    विगत तीन दशकदेखि काठमाडौँको कान्तिपथ सडकलाई पर्यटक बसपार्कका रुपमा सञ्चालन गर्दै आए पनि विसं २०७५ असार १६ गतेदेखि उक्त बसलाई काठमाडौँ महानगरपालिका–१६ सोह्रखुट्टेको सडकबाट सञ्चालन गरिएको थियो । महानगरपालिका, ट्राफिक प्रहरीलगायतले कान्तिपथ क्षेत्रमा धेरै भीडभाड हुने भएकाले उक्त क्षेत्रबाट पर्यटकीय बसपार्क हटाएर सोह्रखुट्टे सडकमा सारेको थियो ।

    कान्तिपथबाट सोह्रखुट्टे सडकमा पर्यटक बसपार्क सरेको सात वर्ष बितिसक्दा पनि पर्यटक बसपार्कका लागि छुट्टै स्थान नहुँदा सडकबाटै पर्यटक बस गुड्न बाध्य भएका छन् । हाल पर्यटक बस काठमाडौँदेखि पोखरा, चितवनको सौराहा, लुम्बिनी र जनकपुरलगायतका प्रमुख पर्यटकीयस्थलमा स्वदेशी तथा विदेशी पर्यटक लैजानका लागि सञ्चालन हुँदै आएका छन् ।

    सोह्रखुट्टेबाट चल्ने पर्यटकीय बस बिहान ७ः०० बजे स्वदेशी तथा विदेशी पर्यटक बोकेर पोखरा, सौराहा, लुम्बिनी र जनकपुर जाने गरेका छन् । टुरिष्ट बस एशोसिएसन अफ नेपाल (टिवान)का अध्यक्ष भीष्म न्यौपाने सरकारले पर्यटक बसलाई उपेक्षा गरेको बताउँछन् । “सरकारले पर्यटनमार्फत मुलुकको अर्थतन्त्रलाई उकास्ने भनिरहेको छ, तर पर्यटक बसका लागि पार्किङ गर्न छुट्टै बसपार्क नहुँदा समस्या परेको छ”, उनी भन्छन्। राज्यले पर्यटकीय बसपार्कले पहिलो प्राथमिकता दिनुपर्ने उनको भनाइ छ । विश्वका धेरै मुलुकले पर्यटन क्षेत्रको विकासका लागि पर्यटक बोक्ने सवारीसाधनलाई छुट्टै बसपार्कका रुपमा विकास गरेको भए पनि नेपालमा भने विकास नगरेको अध्यक्ष न्यौपाने बताउँछन् ।


    कान्तिपथ सडकबाट बसपार्क हटाएर सोह्रखुट्टे लगे पनि सरकारले राजधानीको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको ठमेल क्षेत्र वरपर नै बसपार्क निर्माण गर्नुपर्ने अध्यक्ष न्यौपानेको भनाइ छ । हाल काठमाडौँबाट पोखरा, चितवनको सौराहा, लुम्बिनी र जनकपुरका लागि झण्डै १०० पर्यटकीय बस आवतजावत गर्दै आएका छन् । उक्त सवारीसाधनले दैनिक दुई हजारदेखि तीन हजारको हाराहारीमा स्वदेशी तथा विदेशी पर्यटकलाई गन्तव्यस्थलमा पु¥याउँदै आएका छन् ।

    टिवानका पूर्वध्यक्ष एवं बाबा एड्भाञ्चर प्रालिका सञ्चालक प्रह्लाद लोहनी पर्यटक बसको बसपार्क निर्माणका लागि टिवानले पहिलेदेखि नै सम्बन्धित निकायमा झकझक्याउँदै आए पनि हालसम्म बसपार्क निर्माण हुन नसकेको बताउँछन् । सरकारले पर्यटक बसपार्क निर्माणका लागि आवश्यक चासो नदिँदा बसपार्क बन्न नसकेको उनको भनाइ थियो । व्यवसायीले हाल बिहान ५ः०० देखि ७ः०० बजेसम्म सोह्रखुट्टे सडकमा पर्यटकीय बस पार्किङ गरेर यात्रु बोक्दै आएका छन् भने रातको समयमा विभिन्न ग्यारेजमा शुल्क तिर्न बाध्य छन् ।

  • एमाले केन्द्रीय कमिटी तीनसय एक सदस्यीय हुने

    एमाले केन्द्रीय कमिटी तीनसय एक सदस्यीय हुने

    काठमाडौँ, २९ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि सम्पन्न बैठकले १० औँ महाधिवेशनमा कायम केन्द्रीय कमिटी तीनसय एक सदस्यीय हुने निर्णय गरेको छ । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले उक्त निर्णयबारे जानकारी दिए । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायत विधान महाधिवेशनबाट पारित विषयलाई नचलाउन माग गरेको भए पनि बहुमतले १० औँ महाधिवेशनअनुसार नै कायम गर्ने निर्णय भएको छ ।

    बैठकको आरम्भ गर्दै अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन उद्घाटन समारोहमा भएको पार्टी कार्यकर्ताको उपस्थितिले मुलुकमा राजनीतिक दलको औचित्य रहेको पुष्टि भएको बताए । बैठकमा महासचिव शङ्कर पोखरेलले बन्दसत्रमा प्रस्तुत गरिने निर्वाचन कार्यतालिका, आचारसंहिता, समसामयिकलगायत एजेण्डा प्रस्तुत गरे ।

  • समृद्धिका पक्षमा पार्टी एक लयमा प्रस्तुत हुन अध्यक्ष ओलीको आग्रह

    समृद्धिका पक्षमा पार्टी एक लयमा प्रस्तुत हुन अध्यक्ष ओलीको आग्रह

    काठमाडौँ, २९ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशीविदेशी पक्षका चुनौतीकाबीच पार्टीलाई एकढिक्का बनाउनुपर्ने बताएका छन् । सो पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनको आजदेखि सुरु भएको बन्दसत्रमा सम्बोधन गर्दै उनले राष्ट्रिय राजनीति, विकास र समृद्धिका पक्षमा पार्टी एक लय र सुरका साथ प्रस्तुत हुनुपर्नेमा जोड दिए । गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनको क्रममा भएका घटनाको तत्कालीन प्रधानमन्त्रीले जिम्मेवारी लिनुपर्छ भन्ने खालका तर्कहरुमा पार्टीका नेताहरु बहकिन नहुने आग्रह गरे ।

  • एमाले महाधिवेशन : उपमहासचिव गुरुङको संयोजकमा कमिटी गठन

    एमाले महाधिवेशन : उपमहासचिव गुरुङको संयोजकमा कमिटी गठन

    काठमाडौँ, २८ मङ्सिरः नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले ११औं राष्ट्रिय महाधिवेशनको निर्णय र छलफललाई औपचारिक रुपमा अभिलेखीकरण गर्न माइन्युट कमिटी गठन गरेको छ । महाधिवेशनको बन्दसत्रमा महासचिव शङ्कर पोखरेलले उपमहासचिव पृथ्वीसुब्बा गुरुङको संयोजकमा माइन्युट कमिटी गठन गरिएको जानकारी दिए । समितिमा सूर्यबहादुर थापा क्षेत्री, ज्वालाकुमारी साह, ईश्वरी रिजाल, लीला भण्डारी, विष्णु रिजाल र नीरज आचार्य सदस्य रहेका छन् । महाधिवेशनका क्रममा प्रस्तुत प्रस्ताव, छलफल, निर्णय र निष्कर्षलाई व्यवस्थित रुपमा अभिलेख राख्ने जिम्मेवारी उक्त समितिलाई दिइएको छ ।

  • भ्रष्टाचार मुद्दामा खानेपानी मन्त्रालयका सचिवसहित १७ जनाविरुद्ध सर्वोच्चमा पुनरावेदन

    भ्रष्टाचार मुद्दामा खानेपानी मन्त्रालयका सचिवसहित १७ जनाविरुद्ध सर्वोच्चमा पुनरावेदन

    काठमाडौँ, २८ मङ्सिरः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी आयोजनमा भएको भ्रष्टाचारमा विशेष अदालतद्वारा सफाइ पाएका खानेपानी मन्त्रालयका सचिव डा सञ्जय शर्माविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ । आयोगले आज विज्ञप्ति जारी गरी मेलम्ची खानेपानी विकास समितिका तत्कालिन अध्यक्ष र खानेपानी मन्त्रालका सचिवहरु भीमप्रसाद उपाध्याय, गजेन्द्रकुमार ठाकुर, मेलम्ची खानेपानी विकास समितिका तत्कालीन बोर्ड सदस्य रुद्रसिंह तामाङ, तत्कालीन बोर्ड सदस्य मुकुन्दप्रसाद पौडेललगायत १७ जनाविरुद्ध अख्तियारले सर्वोच्च अदालतमा पुनरावेदन दिएको जनाएको छ ।

    फैसला पुनरावलोकनका लागि आज सर्वोच्चमा गरिएको पुनरावेदनमा जेनजी सहिद परिवारको तर्फबाट सरकार तथा जेनजी आन्दोलनकारीबीचको सम्झौतामा हस्ताक्षर गरेका भोजविक्रम थापालाई विपक्षी बनाइएको छ । मेलम्ची आयोजना भ्रष्टाचारबारे अख्तियारले २०८० फागुनमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

    भ्रष्टाचार मुद्दामा थापाविरुद्ध रु ३२ करोड ३५ लाख ६१ हजार ६६३ बिगो कायम गरी जरिवाना र कैद सजाय माग दाबी गरिएको थियो । विशेष अदालतले सफाइ दिएपछि अख्तियार सर्वोच्च गएको हो । विशेष अदालतले २०८१ भदौ १६ गतेको फैसलाबाट आंशिक सफाइ दिएकाले उल्लेखित फैसलाउपर चित्त नबुझेकाले आज सर्वोच्च अदालतमा पुनरावेदन निवेदन दर्ता गरिएको हो ।

  • कांग्रेस सांसद तथा अर्थ समिति सभापति चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    कांग्रेस सांसद तथा अर्थ समिति सभापति चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    काठमाडौँ, २८ मङ्सिर । विघटित प्रतिनिधिसभा सदस्य सन्तोष चालिसेविरुद्ध गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिका निवर्तमान सभापति चालिसेमाथि गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

    गोकर्णेश्वर नगरपालिकाका तत्कालीन नगरप्रमुख चालिसेले सार्वजनिक पदमा रहँदा पदीय मर्यादा विपरीत कार्य गरी अस्वाभाविक रुपमा सम्पत्ति जोडेको भन्दै रु तीन करोड ६८ लाख ४७ हजार ७६१ बिगो दाबीसहित विशेष अदालतमा आरोपपत्र दायर भएको हो ।

    काठमाडौँ क्षेत्र नम्बर ३ बाट निर्वाचित भई सङ्घीय संसद्को अर्थ समितिका सभापतिसमेत रहनुभएका चालिसेले गोकर्णेश्वर नगरपालिकाको प्रमुख छँदा (२०७४ जेठ ८ देखि २०७९ असार ३२ सम्म) को अवधिलाई आधार मानेर सम्पत्ति छानबिन गरिएको अख्तियारले जनाएको छ ।

  • कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार

    कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार

    काठमाडौँ, २८ मङ्सिर । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक यही मङ्सिर २९ गते सोमबार बस्ने भएको छ । पार्टीका पूर्वकेन्द्रीय सदस्य एवं पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायको निधनमा शोक प्रस्ताव पारित गर्न केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाइएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

    सोमबार बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको उक्त बैठकमा उपस्थित हुन कांग्रेसले केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातवटै प्रदेश सभापतिलाई निर्देशानुसार अनुरोध गरेको छ ।

  • सधैँ पदमा रहनुपर्छ भन्ने मान्यता एमाले नेताहरु ज्ञवाली, शाक्य र बडालबाट तोडिएपछि…

    सधैँ पदमा रहनुपर्छ भन्ने मान्यता एमाले नेताहरु ज्ञवाली, शाक्य र बडालबाट तोडिएपछि…

    काठमाडौँ, २८ मङ्सिर । राजनीतिमा सधँै पदमा रहिरहनुपर्छ र आफू मात्रै सक्रिय रहिरहनुपर्छ भन्ने मान्यता नेताहरुमा छ भन्ने भाष्य नेकपा (एमाले) का केही पुराना नेताहरुबाट खण्डित भएको छ । अन्य नेताहरु पद र अवसरका लागि सक्रिय रहेको स्थितिमा नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनबाट उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य तथा केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडाललगायतले अब आफूहरु पार्टीको नेतृत्वदायी वा कार्यकारी पदमा नरहने घोषणा गरेर नयाँ उदाहरण प्रस्तुत गरेका छन् ।


    एमालेकै अधिकांश नेताहरु आफू पुनः पदमा आउन अध्यक्ष केपी शर्मा ओली वा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको समूहबाट वा स्वतन्त्ररुपमा उम्मेदवारी हुन तछाडमछाड गरिरहेका बेला एमालेको महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि केन्द्रीय कमिटीको अन्तिम बैठकमा उपाध्यक्षहरु ज्ञवाली र शाक्यले लगातार एकै व्यक्ति पदमा रहिरहन नहुने र अब आफूहरुको पालो पुगेकाले अब कुनै पदमा उम्मेदवार नबन्ने जानकारी गराए । यस्तै बन्दसत्रमा समय लिएर आयोगका अध्यक्ष बडालले आफू अब जिम्मेवारीमा नहरने उद्घोष गरे । उनीहरुले पदमा नहरने भए पनि पार्टीको नीति र विचारका पक्षमा जहाँ रहेर पनि दृढतापूर्वक लाग्ने प्रतिबद्धता व्यक्त गरे ।


    पार्टीको दुई कार्यकाल एकै पदमा नरहने र कार्यकारी पदमा ७० वर्षे उमेर हद आवश्यक छ भन्ने पक्षमा रहनुभएका उहाँहरुले पार्टीले विधानमा ती व्यवस्था कायम नराखेको अवस्थामा आफूहरु पदबाट अलग हुने स्पष्ट गरे । एमाले केन्द्रीय सदस्यहरु दलबहादुर राना, भीम केसी र ईश्वरी जिएमले अबको नेतृत्वमा नआउने भन्दै स्वैच्छिक अवकाश लिने घोषणा गरे । पञ्चायती व्यवस्था विरुद्धको सङ्घर्षदेखि बहुदलीय लोकतन्त्र, संविधान निर्माण र सङ्घीय व्यवस्थासम्मको लामो राजनीतिक यात्रा पार गरेर पार्टीको माथिल्लो तहमा पुगेका उनीहरु वैचारिक र सादगी नेताहरुमध्येमा पर्छन् ।


    लामो समय पार्टीको सङ्गठन, सरकार सञ्चालन र वैचारिक बहसमा संलग्न रहँदै आएका नेताहरूको सक्रिय राजनीतिबाट बिदाइले नयाँ पुस्तालाई बाटो खोलेको अवसरका रुपमा लिइएको छ । विसं २०२६ देखि कम्युनिष्ट पार्टीमा लाग्नुभएका पूर्वसंविधानसभा सदस्य उपाध्यक्ष ज्ञवाली २०६० सालमा स्थानीय विकासमन्त्री बनेका थिए । उनले पार्टीको केन्द्रीय कमिटीमा लामो समय रहेर सङ्गठन विभाग प्रमुखको जिम्मेवारी पनि सम्हालेका थिए ।


    पार्टीको सल्लाहकार पूर्वमहिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री रहनुभएका नेत्री शाक्य एमालेको सङ्गठन निर्माण र महिला नेतृत्व सुदृढीकरणमा अग्रणी नेतृ मानिन्छन् । बागमती प्रदेश सरकारको पूर्वमुख्यमन्त्री शाक्य राष्ट्रपति पदका उम्मेदवार बनेकी थिइन् । बडाल पूर्वसांसद तथा सहकारी अभियानका अगुवा हुन् । नेपाली राजनीतिमा पुस्तान्तरण केवल उमेरको विषय नभई दृष्टिकोण, कार्यशैली र राजनीतिक संस्कारसँग जोडिएको विषयका रुपमा चर्चाको विषय हुँदै आएको छ ।

    एमाले महाधिवेशनको बन्दसत्रअन्तर्गत सोमबार उम्मेदवारीको मनोनयन भएकाले थप कुन कुन नेताले पुनः केन्द्रीय कमिटीमा उम्मेदवारी दिँदैनन् भन्ने त्यसपछि थप स्पष्ट हुनेछ । विसं २०७१ असारमा सम्पन्न एमालेको नवौँ राष्ट्रिय महाधिवेशनमा पार्टीका दुई कार्यकाल एकै पदमा नरहने र कार्यकारी पदमा ७० वर्षे उमेर हद लगाउने प्रबन्ध गरिलगत्तै तत्कालीन स्थायी कमिटी सदस्य एवं पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारी र पार्टीको केन्द्रीय सल्लाहकार कमिटीका अध्यक्ष सिद्धिलाल सिंहले सक्रिय राजनीति परित्यागको घोषणा गरेका थिए । एमालेको २०७८ सालमा भएको दशौँ राष्ट्रिय महाधिवेशनमा दुई कार्यकाल एकै पदमा नरहने र कार्यकारी पदमा ७० वर्षे उमेर हद लगाउने व्यवस्था हटाइएको थियो ।

  • राष्ट्रपतिद्वारा चुनावमा सम्पूर्ण ध्यान केन्द्रित गर्न सरकारलाई सुझाव

    राष्ट्रपतिद्वारा चुनावमा सम्पूर्ण ध्यान केन्द्रित गर्न सरकारलाई सुझाव

    काठमाडौँ, २८ मङ्सिर । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी प्रतिनिधिसभाको चुनावमा आफ्नो सम्पूर्ण ध्यान केन्द्रित गर्न सरकारलाई सुझाव दिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रिय सुरक्षा परिषद्को आर्थिक वर्ष २०८१–८२ को वार्षिक प्रतिवेदन ग्रहण गर्दै राष्ट्रपतिले चुनावलाई प्रभावित नुहने गरी काम गर्न सरकारलाई सुझाव दिएको उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

    राष्ट्रपति पौडेलले अघिपछि भन्दा अत्यन्त तदारुकताका साथ सुरक्षा व्यवस्थामा ध्यान दिन नेपाली सेनासहितका सुरक्षा निकायलाई निर्देशन दिएका थिए । राष्ट्रपति पौडेल समक्ष प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष सुशीला कार्कीले राष्ट्रिय सुरक्षा परिषद्को आर्थिक वर्ष २०८१–८२ को वार्षिक प्रतिवेदन पेस गरेकी छिन् । सोही अवसरमा राष्ट्रपति पौडेलले वर्तमान अवस्थामा थपिएका तथा भविष्यमा आइपर्ने सुरक्षा चुनौतीहरुसमेत आँकलन गरी राष्ट्रिय सुरक्षा परिषद्ले आगामी दिनमा आफ्नो जिम्मेवारी अझ प्रभावकारी रुपमा निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

  • सिड्नीको बोन्डी बिचमा गोली चल्यो, कम्तिमा १० जनाको मृत्यु

    सिड्नीको बोन्डी बिचमा गोली चल्यो, कम्तिमा १० जनाको मृत्यु

    सिड्नी, २८ मङ्सिर (रासस–सिन्ह्वा) । सिड्नीको बोन्डी बिचमा आइतबार भएको गोलीकाण्डमा कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । सिड्नीको प्रहरीले एक अज्ञात समूहको आक्रमणमा ‘केही व्यक्ति’ को मृत्यु भएको र घटनामा संलग्नता रहेको आशङ्कामा दुई जनालाई हिरासतमा लिइएको जनाएको छ। यहूदी समुदायका धेरै सदस्यहरू साँझमा दीप प्रज्वलन गरी मनाइने आठ दिन लामो यहूदी पर्व हनुक्का मनाउने क्रममा छुट्टीमा समुद्र तटमा भेला भएका थिए।

    ‘अष्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसन’का अनुसार कम्तीमा १६ जनालाई अस्पताल लगिएको छ र धेरैको घटनास्थलमै उपचार भइरहेको छ। अस्ट्रेलियाको यहुदी सङ्घका प्रमुख रोबर्ट ग्रेगरीले सिड्नीको बोन्डी समुद्री तटमा हनुक्का कार्यक्रमका क्रममा आइतबार भएको गोलीकाण्ड ‘त्रासदीपूर्ण तर पूर्ण रूपमा पूर्वानुमानित’ भएको बताए । “अल्बानिज सरकारलाई धेरै पटक चेतावनी दिइयो तर सरकार यहुदी समुदायको रक्षाका लागि पर्याप्त कदम चाल्न असफल भएको छ,” फ्रान्सको प्रसिद्ध समाचार संस्था एएफपीले ग्रेगरीलेलाई उद्धृत गरी लेखेको छ ।

  • कोरला सडक आयोजनामा भइसक्यो ८ अर्ब खर्च

    कोरला सडक आयोजनामा भइसक्यो ८ अर्ब खर्च

    मुस्ताङ, २८ मङ्सिर : यहाँको उत्तरदक्षिण व्यापारिक मार्ग विस्तारित आयोजनाअन्तर्गत कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडकमा रु आठ अर्ब २० करोड खर्च भएको छ । आव २०८१\८२ सम्म आयोजनाको प्रस्तावित लागत अनुमान रु १० अर्ब ५७ करोड रहेकामा आयोजनाले ८२ प्रतिशत बजेट खर्च गरेको हो ।

    भारत र चीन जोड्ने राष्ट्रिय गौरवको कोरला सडकअन्तर्गत पर्वतको मालुढुङ्गादेखि नेपाल–चीन कोरलानाकासम्मको दुई सय दुई किलोमिटर सडकको ट्रयाक खुलाइसकिएको छ । विसं २०७३ साल मङ्सिर १२ गते मन्त्रिपरिषद्को निर्णयअनुसार कालीगण्डकी करिडोर (बेनी–जोमसाम–कोरला) सडकलाई छुट्टै आयोजनाका रूपमा स्थापना गरिएको थियो ।

    जसअन्तर्गत आयोजनाले यहाँ २०७३\७४ सालदेखि निरन्तर पर्वत, म्याग्दी र मुस्ताङ खण्डमा दुई सय दुई किलोमिटर सडकको क्रमबद्ध रूपमा सडक स्तरोन्नति गरिरहेको छ । आयोजनाको पछिल्लो संशोधित सम्पन्न अवधि आव २०८२\८३ प्रस्ताव गरिएको छ । तर कोरलानाकासम्मको सडक कालोपत्र गर्नुपर्ने आवश्यकता रहेकाले सम्पन्न अवधि पुनः संशोधन हुने निश्चित छ ।

    यस कालीगण्डकी करिडोर सडक आयोजनाअन्तर्गत दुई सय दुई किलोमिटर सडकको ट्रयाक खोल्ने, ९७ किलोमिटर सडक ग्राभेल, एक सय पाँच किलोमिटरमा कालोपत्र र १९ वटा पुल निर्माण गर्ने लक्ष्य छ । उक्त लक्ष्यअनुरुप आव २०८१\८२ सम्ममा आयोजनाले दुई सय दुई किलोमिटर सडकको ट्रयाक खोलिसकेको, ९४ किलोमिटर सडक ग्राभेल, ८८ किलोमिटर कालोपत्र र १४ वटा पुल निर्माण सम्पन्न भइसकेको आयोजना प्रमुख तेजस्वी शर्माले जानकारी दिनुभयो ।

    कोरला सडकका लागि आयोजनामार्फत तीन किलोमिटर ग्राभेल र कागबेनी–छुसाङ १० किमी कालोपत्रसहित २७ किलोमिटर सडकमा कालोपत्र गर्नुपर्ने र बाँकी स्थानमा नयाँ ठेक्का लगाउनुपर्ने छ । यस आयोजनाअन्तर्गत (कागबेनी–कोरला) सडकखण्डसमेत कालोपत्र गर्ने अवस्था रहेमा आयोजनाका कुल लागत अनुमान १५ अर्ब बढी हुनसक्ने आयोजना प्रमुख शर्माको भनाइ छ । जसअन्तर्गत कोरला सडकखण्डको पूरै दुई सय दुई किमी डबल लेनमा सडक स्तरोन्नति गरी कालोपत्र गर्ने र आवश्यक पुल निर्माण गर्ने लक्ष्य रहेको आयोजना प्रमुख शर्माले बताउनुभयो ।

    कोरला सडकका लागि चालु आव २०८२\८३ मा सडकतर्फ रु ६८ करोड १३ लाख विनियोजन भएको छ । आयोजनाले विनियोजित उक्त बजेटमध्ये प्रथम चौमासिकमा रु २३ करोड ७७ लाख अर्थात् ३४ दशमलव ८८ प्रतिशत बजेट खर्च गरेको छ । यसैगरी रणनीतिक सडक पुल निर्माण तथा पुलपुलेसा संरक्षणका लागि एक करोड ४५ लाख बजेट विनियोजन गरिएको छ । यस शीर्षकमा चालु वर्षको पहिलो चौमासिकसम्म कुनै वित्तिय भुक्तानी नभएको आयोजनाले जनाएको छ ।

    त्यसैगरी, गत आवमा यस आयोजनाका लागि सुरुआती पुँजीगतर्फ ९२ करोड ४५ लाख विनियोजन भएको थियो । उक्त बजेट संशोधन भई रु ९३ करोड ८० लाख बजेट कायम भएको थियो । गत वर्ष कोरला सडकको वित्तिय प्रगति ९९ करोड ९६ लाख भएको थियोभने भौतिक प्रगति शतप्रतिशत भएको आयोजना प्रमुख शर्माको भनाइ छ ।

    आयोजना अनुसार गतवर्ष १० किलोमिटर ग्राभेल सडक, ३० किलोमिटर कालोपत्र, एक सडक मर्मत तथा स्तरोन्नति र छवटा पक्की पुल सम्पन्न भएका आयोजना प्रमुख शर्माले उल्लेख गर्नुभयो । राष्ट्रिय गौरवको कोरला सडकका लागि आव २०७३\७४ मा रु ४५ करोड ९३ लाख, आव २०७४\७५ मा एक अर्ब ५१ करोड २८ लाख, आव २०७५\७६ मा रु एक अर्ब ३१ करोड, आव २०७६\७७ मा रु ९० करोड २५ लाख, आव २०७७\७८ मा रु ९३ करोड ४९ लाख, आव २०७८\७९ मा रु ८४ करोड ८६ लाख, आव २०७९\८० मा रु ५७ करोड एक लाख, आव २०८०\८१ मा ७२ करोड ७८ लाख र आव २०८१\८२ मा रु ९३ करोड ७७ लाख बजेट खर्च भएको आयोजनाको तथ्याङ्कमा उल्लेख छ ।

    कोरला सडकअन्तर्गत मालढुङ्गा बेनी सडकखण्डमा दुई सय मिटर सडकमा पहिरो रोकथाम गर्नुपर्ने, मालढुङ्गा बेनी खण्डको नौ सय मिटर बेनीबजार क्षेत्रमा विवादको कारण सडक निर्माणमा बाधा पुगेको र त्यहाँ विवाद समाधान गरी सडक एलाइमेन्ट परिवर्तन गरी नयाँ ठेक्का खुल्नुपर्ने आवश्यकता रहेको आयोजनाले जनाएको छ । बेनीदेखि तातोपानी खण्डको चार किलोमिटर दूरीमा पहिरो रोकथामका लागि आवश्यक सडक स्थिरीकरण गरी दायाँ फुटपाथको कार्य गर्नुपर्ने देखिन्छ । यसैगरी म्याग्दीको तातोपानीदेखि जोमसोम खण्डको २।५ किलोमिटर क्षेत्रमा पहिरो रोकथामका लागि आवश्यक सडक स्थिरीकरण गर्दै दाया फुटपाथको काम गर्नुपर्ने चुनौती रहेको छ ।

    बेनीदेखि जोमसोमसम्मको टुकुचे, भुरुङखोला र बोक्सी खोलामा दुईवटा गरी चार वटा थप पुल निर्माण गर्नुपर्नेछ । यहाँको जोमसोम–कोरला सडकअन्तर्गत छुसाङदेखि घमीसम्म ४० किलोमिटरको वातावरण प्रभाव मूल्याङ्कन इआइए तथा डिपिआर भइसकेको र त्यसका लागि कालोपत्र गर्न रु दुई अर्ब चार करोड लागतमा बहुवर्षीय ठेक्का लगाउनुपर्ने देखिएको छ । घमीदखि कोरला ५० किलोमिटर सडकको इआइए र सडक डिपिआर भइसकेकाले रु तीन अर्ब लागतको बहुवर्षीय ठेक्का व्यवस्थापन गर्नुपर्ने आयोजनाले जनाएको छ ।

  • धावक सनमाया र रनमाया थाइल्याण्डमा सम्मानित

    धावक सनमाया र रनमाया थाइल्याण्डमा सम्मानित

    काठमाडौँ, २८ मङ्सिरः थाइल्याण्डको प्रसिद्ध पर्यटकीय तथा साहसिक खेलकुद गन्तव्य च्याङ्गमाईमा गत साता आयोजित विश्वप्रसिद्ध अन्तरराष्ट्रिय ट्रेल रन प्रतियोगितामा उल्लेखनीय सफलता हासिल गरेका नेपाली धावकद्वय सनमाया बुढा र रनमाया बुढालाई नेपाली राजदूतावास बैङ्ककले सम्मान गरेको छ ।
    उक्त अन्तरराष्ट्रिय ट्रेल रन प्रतियोगिता विश्वकै सबैभन्दा प्रतिष्ठित र चुनौतीपूर्ण अल्ट्रा ट्रेल रन प्रतियोगितामध्ये एक मानिन्छ । थाइल्याण्डको उत्तरी पहाडी भूभाग, जङ्गल उकालो–ओरालो तथा कठिन भौगोलिक संरचनालाई समेटेर आयोजना गरिएको उक्त प्रतियोगितामा विश्वका विभिन्न देशका व्यावसायिक तथा अनुभवी धावकको सहभागिता थियो ।

    सो कठिन र प्रतिष्ठित एक सय किलोमिटर लामो ट्रेल रनमा जुम्लाकी धावक सनमाया बुढाले चौथो स्थान हासिल गर्न सफल भएकी थिइन् । त्यस्तै, ५० किलोमिटर लामो ट्रेल रनमा सहभागी धावक सनमायाकी बहिनी रनमाया बुढाले सातौँ स्थान हासिल गर्दै नेपाली धावकको क्षमताको उत्कृष्ट उदाहरण प्रस्तुत गरेकी थिइन् । उक्त सफलताको कदर गर्दै शनिबार नेपाली राजदूतावास, बैङ्ककमा आयोजित सम्मान कार्यक्रममा धावक सनमायाले जुम्लाको दुर्गम भूगोल, अभावपूर्ण जीवन अवस्था, निरन्तर सङ्घर्ष, कठोर अभ्यास र आत्मविश्वासको यात्राबारे आफ्नो प्रेरणादायी अनुभव सुनाइन् । उनको सङ्घर्षशील यात्राले कार्यक्रममा उपस्थित सबैलाई भावुक र प्रेरित बनाएको थियो ।

    कार्यक्रममा नेपाली राजदूतावासका उपनियोग प्रमुख मोतीबहादुर श्रीसले धावकद्वयलाई बधाई दिँदै खादा लगाई मायाको चिनो प्रदान गरी सम्मान गर्नुभयो । उहाँले नेपाली खेलाडीको अन्तरराष्ट्रिय सफलताले नेपाललाई विश्वमा चिनाउन महत्त्वपूर्ण योगदान पुर्याउने उल्लेख गर्दै भविष्यमा पनि यस्ता प्रतिभालाई प्रोत्साहन गर्न राजदूतावास सधैँ साथमा रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले दूतावासले आयोजना गर्न लागेको लुम्बिनी नेपाल मिनी म्याराथुनका बारेमा समेत प्रकाश पार्नुभएको नेपाली दूतावास बैङ्ककले जनाएको छ ।

    कार्यक्रममा नेपाली राजदूतावासका कर्मचारी, गैरआवासीय नेपाली सङ्घ, थाइ–नेपाली सङ्घ, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि तथा शिक्षा, पेसा, व्यवसायमा संलग्न लब्धप्रतिष्ठितको उपस्थिति थियो । कार्यक्रममा सहभागी संस्थाका अध्यक्ष कुमार कार्कीले धावकद्वयलाई प्रोत्साहनस्वरुप रु एक लाख सहयोग प्रदान गर्नुभयो । साथै, कार्यक्रममा उपस्थित अन्य नेपाली तथा गैरआवासीय नेपाली सङ्घका पदाधिकारीले पनि आ–आफ्नो तर्फबाट आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । राससबाट

  • मुआब्जा नपाएपछि माथिल्लो रावाखोला आयोजना बन्द

    मुआब्जा नपाएपछि माथिल्लो रावाखोला आयोजना बन्द

    खोटाङ, २८ मङ्सिरः प्रवर्द्धक कम्पनीले मुआब्जा नदिएपछि केपिलासगढी गाउँपालिकाका जग्गाधनीले माथिल्लो रावाखोला साना जलविद्युत् आयोजना पुनः बन्द गराएका छन् । विद्युत् आयोजनाले ओगटेको निजी जग्गाको उचित मुआब्जा तथा क्षतिपूर्ति नपाएको भन्दै जग्गाधनीले तीन मेगावाट क्षमताको माथिल्लो रावाखोला जलविद्युत् आयोजनाको उत्पादन बन्द गराएका हुन् ।

    यही मङ्सिर ६ गते प्रवर्द्धक कम्पनीका प्रतिनिधि र जग्गाधनीबीच मङ्सिर २५ गतेभित्र क्षतिपूर्ति उपलब्ध गराउने सहमति भएको थियो । दुई पक्षबीच गरिएको लिखित सहमति प्रवर्द्धक कम्पनीले कार्यान्वयन नगरेपछि जग्गाधनीले सोही दिनदेखि पानी टरबाइनबाट हटाएर खोलातिर फर्काइदिएका थिए । लामो समयदेखि मुआब्जा नपाएको भन्दै चरणबद्ध आन्दोलनमा उत्रिएका स्थानीयवासीले गत चैतमा पनि उक्त जलविद्युत् आयोजना बन्द गराएका थिए । जग्गाधनीले मुआब्जा नदिएसम्म जलविद्युत् आयोजनाको उत्पादन बन्द गर्ने चेतावनी दिएका छन् ।

    सुङ्देल र केपिलासगढी गाउँपालिका–६, दिप्सुङको सिमानामा रहेको रावाखोलाबाट उत्पादन गरिएको तीन मेगावाट क्षमताको आयोजना २०७७ भदौ १६ गते नेसनल ग्रिडमा जोडिएको थियो । कम्पनीले पोल गाडिएका जग्गाको क्षतिपूर्ति दिए पनि तार र पाइपलाइनले ओगटेको जग्गाको क्षतिपूर्ति नदिएको स्थानीयले बताएका छन् । जलविद्युत् आयोजना सञ्चालन भएको वर्षौँ वित्दा पनि रावा इनर्जी डेभलपमेन्ट प्रालिले उपयोग गरेको जग्गाको मुआब्जा तथा क्षतिपूर्ति नदिएका कारण आयोजना बन्द गरेको स्थानीय माइतीराज राईले जानकारी दिनुभयो ।

    “गत चैतमा पनि स्थानीयले उक्त जलविद्युत् आयोजना बन्द गराएका थिए । मुआब्जा तथा क्षतिपूर्ति उपलब्ध गराउने सहमतिपश्चात सञ्चालनमा आएको थियो”, उहाँले भन्नुभयो, “सहमति कार्यान्वयनमा नआएपछि उपभोक्ताले पुनः आयोजना बन्द गराएका हुन् । यस विषयमा सम्बन्धित निकायले ध्यान दिन जरुरी छ ।”

    स्थानीय जग्गाधनीले आयोजना सञ्चालन गर्न ओगटिएको सम्पूर्ण जग्गाको निष्पक्ष मूल्याङ्कनसहित तुरुन्त क्षतिपूर्तिदिनुपर्ने, जालपादेखि विद्युत् गृहसम्मको सडक मर्मत, सोलिङ तथा ढल व्यवस्थापन गर्नुपर्ने, हिउँदमा खोलामा १०–१५ प्रतिशत पानी अनिवार्य छाड्नुपर्ने, सरकारी जग्गा प्रयोग गर्दा कानुनी अनुमति लिनुपर्ने, प्रभावित स्थानीयलाई प्राथमिकतामा राखेर समस्या समाधान गर्नुपर्नेलगायत माग राखेका छन् ।

    आयोजनाका सञ्चालक समितिका सदस्य राजन दाहालले अहिले उठाइएका कतिपय माग सम्बोधन गर्न नसकिने बताउनुभयो । केपिलासगढी गाउँपालिकाको समन्वयमा रावा इनर्जी डेभलपमेन्ट कम्पनी र निजी तथा सार्वजनिक सम्पत्ति संरक्षण सङ्घर्ष समितिबीच २०८१ चैत ५ गते बसेको बैठकमा मुआब्जा समन्वय समिति गठन गरिएको थियो । स्थानीय पटनबहादुर राईको संयोजकत्वमा गठित समितिले रावा इनर्जी डेभलपमेन्ट कम्पनीसँग समन्वय गरेर ३५ दिनभित्र जग्गादातालाई मुआब्जा उपलब्ध गराउने सहमति गरेको थियो ।

    गाउँपालिकाको कार्यालयमा बसेर गरिएको सहमति कार्यान्वयन नभएपछि जिल्ला प्रशासन कार्यालयलाई समेत ज्ञापनपत्र बुझाएका थिए । गत वैशाख ३० गते ज्ञापनपत्र बुझ्नुहुँदै तत्कालीन निमित्त प्रमुख जिल्ला अधिकारी सागर साहले समस्या समाधान गर्न पहल गर्ने बताउनुभएको थियो । तर हालसम्म प्रशासनले कुनै पहल नगरेको स्थानीयवासीको आरोप छ ।

  • एमाले केन्द्रीय कमिटी बैठक बस्दै

    एमाले केन्द्रीय कमिटी बैठक बस्दै

    काठमाडौँ, २८ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले केन्द्रीय कमिटी बैठक बोलाएको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले अहिले बिहान ९ः०० बजे महाधिवेशनको पार्टी ११औँ राष्ट्रिय महाधिवेशन बन्दसत्रस्थल भृकुटीमण्डपमा बैठक बोलाइएको जानकारी दिए । उनले पार्टीको विधान संशोधनसहित समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बोलाइएको बताए ।


    यस्तै, बिहान ८ः०० बजे बोलाइएको महाधिवेशनको बन्दसत्र १२ः३० बजे हुने प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए । केन्द्रीय कमिटी बैठक राखिएकाले बन्दसत्र सरेको हो । शनिबारदेखि सुरु भएको महाधिवेशनको बन्दसत्र आजदेखि हुँदैछ । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

  • एमाले महाधिवेशन : सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग

    एमाले महाधिवेशन : सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग

    रमेश गिरी–रासस
    भक्तपुर, २८ मङ्सिरः नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन शनिबार भक्तपुरको सल्लाघारस्थित मैदानमा भव्य रुपमा भएको छ । देशैभरबाट आएका एमालेका नेता तथा कार्यकर्ता एवं शुभेच्छुकको उल्लेखनीय सहभागिता रहेको तीनदिने महाधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नुभयो । महाधिवेशनको उद्घाटन सत्रपछिका बाँकी कार्यक्रम काठमाडौँको भृकुटीमण्डपमा हुनेछन् ।

    ऐतिहासिक, धार्मिक एवं पुरातात्विक महत्व बोकेको काठमाडौँ उपत्यकाको सबैभन्दा पुरानो मन्दिर एवं विश्वसम्पदा सूचीमा सूचीकृत चाँगुनारायण मन्दिरको काख सल्लाघारीमा कलात्मक ढङ्गबाट बनाइएको मञ्च आकर्षणको केन्द्र बन्यो । नेपाल ट्रष्टको स्वामित्वमा रहेको एक सय आठ रोपनी चौरमा उपस्थित अधिकांश सहभागीले उक्त ऐतिहासिक मन्दिरका बारेमा चासो राख्दै घुमफिर तथा दर्शन गर्ने सन्दर्भमा एकापसमा कुराकानी गरिरहेको सुनिन्थ्यो । ओखलढुङ्गाबाट महाधिवेशनस्थलमा आउनुभएका सन्तोष खड्काले चाँगुनारायण मन्दिरलाई स्टेजमा देखेर मन्दिर पुग्न मन आतुर भएको बताउनुभयो । साथीहरूसहितको टोलीले मन्दिर अवलोकन गर्ने जानकारी दिनुभयो ।

    खड्काले भन्नुभयो, “चाँगुनारायण मन्दिर अहिलेसम्म पुगेका छैनाँै, महाधिवेशनको उद्घाटन सत्रअन्तर्गत मञ्च व्यवस्थापनका क्रममा निर्माण गरिएको मन्दिरको संरचना देख्दा त्यहाँ पुग्न मन लाग्यो, नजिकै रहेछ, अब चाँगुनारायण मन्दिर जाने भयौँ ।”

    त्यसैगरी, खोटाङबाट आउनुभएका रवीन्द्र श्रेष्ठ महाधिवेशनमा बनाइएको ‘स्टेज’ले इतिहास र धार्मिक महत्वको मात्र प्रचार गरेन, मन्दिरको महत्वसँगै आन्तरिक पर्यटन प्रवर्द्धनमा पनि सहयोग पुग्ने बताउनुहुन्छ । स्टेजमा देखिएको मन्दिरको आँगनमा प्रत्यक्ष पुग्न अधिकांश सहभागी लालायित भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “महाधिवेशनका क्रममा काठमाडौँ आएका बेला अब एकपटक मन्दिर पुगिन्छ, साथीभाइसँगै घुमफिर गरी मन्दिरको दर्शन पनि गरिन्छ ।”

    सांस्कृतिक झाँकी, न्याउली बाजादेखि जङ्कुसम्मले थप्यो रौनक

    एमालेको महाधिवेशनमा समावेश गरिएका विभिन्न जातजाति, वेशभूषा एवं कला र संस्कृति झल्कने बाजागाजा, झाँकी एवं नृत्यदेखि नेवार समुदायमा ज्येष्ठ नागरिकले मनाउने जङ्कुसमेतको प्रदर्शनले महाधिवेशनको उद्घाटनसत्रलाई रौनकता थपेको देखिन्थ्यो । भक्तपुरका चारवटै पालिकाबाट आएका बाजागाजासहितको र्यालीमा धिमेबाजा, बैण्डबाजा, बाँसुरी बाजा, न्याउली बाजासहित नेवार सुमदायका महिलाले लगाउने पहिरन हाकुपटासीमा नृत्य, मगर, लामालगायत विभिन्न जातजातिको सांस्कृतिक झल्कोसहितको नृत्य, झाँक्री नृत्यलगायतको प्रदर्शनले उद्घाटनस्थललाई रोमञ्चित बनाएको थियो ।

    त्यसैगरी, विभिन्न जिल्लाबाट आएका सहभागी सम्मिलित स्थानीय बाजा तथा सांस्कृतिक नाचसहितको र्याली हेर्नलायक देखिन्थ्यो । सहभागीहरू स्वःस्फूर्त रूपमा नाचगान गर्दै रमाइरहेका देखिन्थे । सल्लाघारीस्थित चौरमा कोही भाषण सुन्नमै मस्त थिए भने केही चौरमा विभिन्न जातजातिको पहिचान बोकेको नृत्यमाण्डलीसँगै मिसिएर नाचगान गर्न तल्लिन देखिन्थे ।

    कार्यक्रमस्थलमा भक्तपुरको नेवार समुदायले ९९ वर्षीया हजुरआमालाई जङ्कुको भेषमा सिङ्गारिएको रथमा राखी ६ छोरानातिले बोकेर कार्यक्रमस्थलको अग्रभागमा प्रवेश गर्दा निकै रौनकता थपेको थियो । यस किसिमको जीवन्त संस्कृति र पहिचानलाई ७७ जिल्लाकै सहभागीले देख्ने, जान्ने मौका पाए । कार्यक्रम सम्पन्न हुने बेलासम्म पनि विभिन्न झाँकी एवं नाच प्रदर्शन भइरहेका थिए भने उद्घाटनसत्रको स्टेजमा समेत कार्यक्रमका बीचबीचमा विभिन्न गीत, नृत्य एवं सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

    एमालेको १०औँ महाधिवेशनका क्रममा चितवनमा सडक अवरुद्ध भई जनजीवन अस्तव्यस्त भएको पाठबाट सिकी यसपटक एमाले भक्तपुर जिल्ला कमिटीले सम्बद्ध सुरक्षा निकायका पदाधिकारीसँग समन्वय गरी तयार गरेको रुटमा र्याली निकाल्दा कुनै पनि सडकमा कुनै पनि बाधाव्यवधान हुन पाएन । उल्लेखनीय जनसहभागिता रहे पनि काठमाडौँबाट भक्तपुर हुँदै काभ्रे जाने मुख्य सडक अरनिको राजमार्ग दिनभर सञ्चालनमा रह्यो ।

    धरैले र्याली अव्यवस्थित भई सडक अवरुद्ध हुने आकलन गरिरहेको अवस्थामा गठ्ठाघर र जगातिबाट आएको र्याली ६ लेन सडकको ‘सर्भिस ट्रयाक’मात्र प्रयोग गरेको देखिन्थ्यो । दिनभर नै सवारीसाधन कुदिरहेका देखिन्थे । एमाले भक्तपुर जिल्ला अध्यक्ष बचन देउजाले पार्टीले र्याली आउने रुट निर्धारण गर्दै सर्भिस ट्रयाकमात्र प्रयोग गर्न ठाउँठाउँमा स्वयंसेवक र जिल्ला प्रशासन कार्यालयले सुरक्षाकर्मी परिचालन गरेकाले सडक अवरुद्ध नभएको बताउनुभयो ।

    जुजुधौ बिक्रेतादेखि साना व्यापारी खुसी

    एमालेको उद्घाटनस्थलमा भक्तपुरको पहिचान बोकेको जुजुधौदेखि नवारी खाजासम्मका परिकारले सहभागीलाई सहज मात्र बनाएन विशेषगरी साना व्यापारी लाभान्वित भए । चौरको पश्चिम कुनामा राखिएको खाजाका केही कक्षमध्ये ‘जय शम्भो जुजुधौ सेन्टर’ले विभिन्न जिल्लाबाट आएका सहभागीलाई देशभर प्रख्यात भक्तपुरको उत्कृष्ट जुजुधौ खुवाउन पाएकामा खुसी व्यक्त गरेको छ । व्यवसायी कान्छाराम सैँजुले व्यापार राम्रो भएर खुसी भएको बताउँदै विभिन्न जिल्लाबाट आएका नेपाली दाजुभाइ, दिदीबहिनीलाई जुजुधौ खुवाउन पाउँदा थप खुसी लागेको बताउनुभयो ।

    नजिकै मःमः व्यापारीले पनि राम्रो व्यापार गरेको बताउँदै पश्चिमतर्फको नेवारी खाजाघरमा समेत दिनभरका भीडले निकै राम्रो व्यापार भएको रामप्रसाद श्रेष्ठले बताउनुभयो । बदाम, सुन्तलादेखि विभिन्न परिकार बिक्री राम्रो भएको भन्दै बदाम व्यापारी अनिल भजुले आज एकैदिन एक सातामा बिक्री हुने बदाम बिक्री गरेको बताउनुभयो ।

    महाधिवेशन उद्घाटनस्थलको सुरक्षाका लागि जिल्ला प्रशासन कार्यालयले तीन तहको सुरक्षा तैनाथ गरेको जानकारी दिँदै सुरक्षा व्यवस्थालाई साँझसम्म नै मजबुत बनाइएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो । उहाँले बिहान ‘बम डिटेक्टर’ उपकरण प्रयोग गरी मञ्च, सभास्थल र वरपरका क्षेत्रमा सुक्ष्म जाँच गरेको, सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र सादा पोसाकका प्रहरी गरी दुई हजार ५०० सुरक्षाकर्मी परिचालन गरेको, सभास्थलमा राखिएका सिसी क्यामेराबाटसमेत निगरानी गरेको बताउनुभयो ।

    सहभागीको उल्लेख्य उपस्थिति

    दुई हजार २६२ प्रतिनिधिको सहभागिता रहेको महाधिवेशनको उद्घाटन कार्यक्रममा ७७ वटै जिल्लाका सहभागीले एक सय आठ रोपनी क्षेत्रफल भरिएको थियो । महाधिवेशन उद्घाटनका अवसरमा भरिएको चौरमा कतिपय आउने र फर्कनेक्रम जारी रहेकाले सहभागी सङ्ख्या एकिन गर्न कठिन भएको थियो ।

    अपेक्षा गरिएभन्दा बढी व्यक्तिको उपस्थिति रहेको एमाले भक्तपुर जिल्ला उपाध्यक्ष किरण थापामगरले जानकारी दिनुभयो । उहाँले टाढासम्म रहेका सहभागीले वक्तालाई देख्ने र बोलेको सुनिनेगरी मञ्चको दायाँबायाँ ३० फिट अग्ला दुईवटा ‘एलइडी स्क्रिन’ राखेको र मञ्चबाट तीन किलोमिटर परसम्म सुन्न सकिने एक सय १५ उच्च गुणस्तरका ‘साउन्ड सिस्टम’ जडान गरेकाले सल्लाघारी चौरभन्दा बाहिर रहेका हजारौँले नेताको सम्बोधन सहजै सुन्न सक्नेगरी व्यवस्था मिलाइएको बताउनुभयो ।

    पार्किङमा भएन समस्या

    महाधिवेशन उद्घाटनसत्रमा सहभागी विभिन्न जिल्लाबाट आउने सवारीसाधन तोकिएको क्षेत्रमा पार्किङ गरिएकाले कुनै समस्या झेल्नु नपरेको उपाध्यक्ष थापामगरले जानकारी दिनुभयो । थानकोट हुँदै विभिन्न जिल्लाबाट आएका सवारीसाधनलाई नागरिक उड्डयन प्राधिकरण गठ्ठाघरको खाली चौरमा तथा काभ्रे हुँदै आउने सवारीका लागि जगातिस्थित भाइरल प्लानिङमा पार्किङको व्यवस्था गरिएकाले सवारी व्यवस्थापनमा सहज भएको एमाले जिल्ला अध्यक्ष देउजाले स्पष्ट पार्नुभयो ।

    आन्तरिक पर्यटन प्रवर्द्धनका टेवा

    महाधिवेशनमा विभिन्न जिल्लाबाट सहभागी हुन आएका प्रतिनिधि एवं कार्यकर्ता कार्यक्रमस्थलबाट भक्तपुर नगरपालिकाभित्रका सम्पदाको अवलोकन गर्न पुगेका देखिन्थ्यो । कतिपय कार्यक्रम सकिनु अगाडि नै र कतिपय कार्यक्रम सकिएपछि भक्तपुर दरबार स्क्वायरमा रहेको ५५ झ्याले दरबार, पाँचतले मन्दिरलगायतका सम्पदा अवलोकनका लागि त्यसतर्फ लामबद्ध देखिन्थ्यो ।

    महाधिवेशनमा आएर शनिबार नफर्किएकाहरु आज भक्तपुरका सम्पदा, मध्यपुरथिमिका सम्पदा र चाँगुनारायणको सम्पदा अवलोकनका लागि जाने भएकाले यहाँको आन्तरिक पर्यटनमा केही हदसम्म सहयोग पुग्ने देखिन्छ । भक्तपुर नगरपालिकाका रामचन्द्र प्रजापति भक्तपुरको सम्पदा अवलोकनका लागि महाधिवेशनमा आएकाले भक्तपुरको प्रमुख बजार तथा सम्पदा क्षेत्रमा दिनभर भीडभाड लागेको, विशेषगरी होटल तथा रेष्टुराँले मनग्य आम्दानी गरेको, जुजुधौ अत्यधिक बिक्री भएको, पेय पदार्थसहित बदाम र सुन्तलाको व्यापार अत्यधिक भएको बताउनुहुन्छ ।

    उद्घाटनस्थलको सरसफाइ

    महाधिवेशन उद्घाटनस्थलको सरसफाइ र व्यवस्थापन शनिबार साँझदेखि सुरु भएको छ । चौरमा फालिएको फोहर सबै सफा गरिने पार्टी उपाध्यक्ष किरण थापाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कार्यक्रमस्थलको सबै सरसफाइ शनिबार रातिसम्म सक्छाँै, अस्थायी शौचालयको व्यवस्थापन गर्छौँ, मञ्चलाई आज नै भत्काएर आज भृकुटीमण्डपमा राख्नेगरी आवश्यक तयारी गरेका छौँ ।”

  • निर्वाचन ८१ दिन बाँकी : देशव्यापी माहोल बन्दै, राजनीतिक गतिविधि बढ्यो

    निर्वाचन ८१ दिन बाँकी : देशव्यापी माहोल बन्दै, राजनीतिक गतिविधि बढ्यो

    काठमाडौँ, २८ मङ्सिर ः प्रतिनिधिसभाको निर्वाचन आउन अब मात्र ८१ दिन बाँकी छ । निर्वाचन आयोगले निर्वाचनका लागि आवश्यक तयारी गरिरहेको छ । आयोगले प्रत्यक्ष र समानुपातिकतर्फको दल दर्ताको प्रक्रिया सकाइसकेको छ । सरकारले पनि निर्वाचनका लागि आवश्यक तयारी तथा सहजीकरण गरिसकेको छ ।

    राजनीतिक दलहरूले पनि निर्वाचनका गतिविधि अगाडि बढाएका छन् । मुलुक क्रमशः निर्वाचनको माहोलमा अगाडि बढिरहेको आभास भएको छ । देशव्यापी रूपमा राजनीतिक गतिविधि बढ्न थालेको छ । प्रमुख राजनीतिक दलदेखि नयाँ राजनीतिक दलले पनि देशव्यापी रूपमा निर्वाचन केन्द्रित अभियान सुरु गरिसकेका छन् ।

    नेपाली कांग्रेसले देशव्यापी रूपमा उम्मेदवार छनोट गरी केन्द्रमा पठाउन थालिसकेको छ । सो दलले प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीको उम्मेदवार छनोट गरिरहेको छ । प्रतिनिधिसभा सदस्यको उम्मेदवारसँगै राष्ट्रियसभाको उम्मेदवारसमेत कांग्रेसले छनोट गरिरहेको छ । उम्मेदवार छनोटमा अन्य राजनीतिक दलभन्दा कांग्रेस अगाडि देखिएको छ ।

    नेकपा (एमाले)को शनिबारदेखि ११औँ महाधिवेशन सुरु भएको छ । महाधिवेशनको उद्घाटनसत्रमा सो दलका अध्यक्ष केपी शर्मा ओलीले दबाब र प्रतिशोधको छायाँबाट मुक्त चुनाव हुँदा बहुमत ल्याउने ल्याकत भएको एमाले चुनावबाट भाग्छ ? भन्ने प्रश्न गरेका छन् । उनले सरकारले निष्पक्ष र स्वतन्त्र चुनाव हुने वातावरण बनाउनुपर्ने धारणा राखे । अध्यक्ष ओलीले निर्वाचनका लागि आवश्यक वातावरण बनाउन र राजनीतिक दलका गतिविधिलाई प्रोत्साहित गर्न आग्रह गरे । एमालेले निर्वाचनका लागि आयोगले तय गरेको समयसीमाभित्रै दल दर्तालगायतका गतिविधि सम्पन्न गरिसकेको छ ।


    यस्तै, विभिन्न कम्युनिस्ट पार्टी एकीकृत भएर बनेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सन्देशसभाका नाममा देशव्यापी रूपमा निर्वाचन केन्द्रित गतिविधिलाई तीव्र पारेको छ । सो दलले शनिबार सुर्खेतको वीरेन्द्रनगरमा जनसभाको आयोजना गरेको थियो । धनगढी, दाङ, पोखरा, विराटनगर र जनकपुरमा सन्देशसभा गरिसकेको नेपाली कम्युनिष्ट पार्टीले आगामी पुस ५ गते काठमाडौँमा सन्देशसभा आयोजना गर्दैछ । देशभर नै सन्देशसभा आयोजना गरेर निर्वाचनको पक्षमा उभ्याएको सो दलले तोकिएको मितिमा नै निर्वाचन हुनुपर्ने प्रष्ट मत जाहेर गरेको छ ।

    सो दलका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार सुर्खेतमा आयोजित सभामा निर्वाचन तोकिएको मितिमा नै सम्पन्न हुनुपर्ने र त्यसका लागि आफ्नो पार्टी क्रियाशील भइसकेको बताए । राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचनका लागि वाचापत्र तयार पार्नेदेखि उम्मेदवार छनोटको प्रक्रिया अगाडि बढाइसकेको छ । समानुपातिकतर्फको उम्मेदवारको आवेदन गरेको सो पार्टीले पनि भेला सभामार्फत निर्वाचन केन्द्रित गतिविधि गरिरहेको छ ।

    आगामी फागुन २१ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले जनसङ्ख्याका आधारमा समानुपातिकतर्फको प्रतिशत निर्धारणको प्रक्रिया अगाडि बढाइसकेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्रको व्यवस्थाबमोजिम दलित, आदिवासी, जनजाति, खस आर्य, मधेसी, थारू, मुस्लिम समूहका लागि प्रतिशत निर्धारण गर्न लागिएको हो ।

    यस्तै, समानुपातिक प्रणालीतर्फ कुल एक सय राजनीतिक दलले भाग लिने भएका छन् । निर्वाचन आयोगले शुक्रबार ती राजनीतिक दल दर्ता भएको र निर्वाचन चिह्नसमेत उपलब्ध गराइसकेको छ । यही मङ्सिर २१, २२ र २३ गते तीन दिनको समयभित्र समानुपातिकतर्फको निर्वाचनमा भाग लिनका लागि आवेदन दिएका राजनीतिक दलमध्ये अन्तिम रूपमा एक सय दल कायम भएका छन् ।

    सो निर्वाचन प्रणालीतर्फ एक सय दलले आवेदन दिएको भए पनि दुई वा दुईभन्दा बढी दलले एकल निर्वाचन चिह्नमा भाग लिनेगरी आवेदन दिएकाले कुल ९३ वटा निर्वाचन चिह्न कायम गरिएको छ । यस्तै, प्रत्यक्षतर्फ एक सय १४ राजनीतिक दल सहभागी हुँदैछन् ।

    आयोगले निर्वाचन आचारसंहिताको मस्यौदा तयार पारेर आवश्यक सुझाव सङ्कलन गरिरहेको छ । निर्वाचनका लागि नै सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सेना परिचालनको स्वीकृति दिइसकेका छन् । शान्ति सुरक्षा कायम गर्दै स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन गृह मन्त्रालयले आवश्यक तयारी गरिसकेको गृहमन्त्री ओमप्रकाश अर्यालले स्पष्ट पारेका छन् ।

  • अमेरिकामा मौसमी फ्लु प्रकोप : अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो

    अमेरिकामा मौसमी फ्लु प्रकोप : अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो

    लस एन्जलस, २८ मङ्सिर (रासस–सिन्ह्वा) । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रका पछिल्लो अनुमानअनुसार, हाल मौसमी फ्लुका कारण संयुक्त राज्य अमेरिकामा करिब २९ लाख व्यक्ति सङ्क्रमित भएका छन्, जसमा तीस हजार जना अस्पताल भर्ना भएका छन् भने एक हजार दुई सय जनाको मृत्यु भएको छ ।

    केन्द्रका अनुसार मौसमी इन्फ्लुएन्जा देशका अधिकांश भागमा बढ्दो क्रममा छ र यस सिजनमा इन्फ्लुएन्जा ए (एच३एन२) प्रमुख भाइरसको रूपमा फैलिरहेको छ । छ डिसेम्बरसम्मको हप्तामा अमेरिकी सार्वजनिक स्वास्थ्य प्रयोगशालाहरूले राष्ट्रव्यापी रूपमा पाँच सय सत्तालिस इन्फ्लुएन्जा भाइरस पत्ता लगाएका छन् । यसै हप्तामा यस सिजनको पहिलो बालबालिका मृत्युसँग सम्बन्धित फ्लुको रिपोर्ट पनि आएको छ ।

    केन्द्रले विशेष गरी छ महिना भन्दा माथिका व्यक्तिलाई, वार्षिक फ्लु खोप लगाउन सिफारिस गरेको छ । त्यसैगरी, केन्द्रका अनुसार, फ्लु उपचारका लागि केही औषधिहरू उपलब्ध छन् । यी औषधिहरू समयमै सुरु गर्दा सबैभन्दा प्रभावकारी हुन्छन् र विशेषगरी ती व्यक्तिहरूका लागि महत्वपूर्ण छन्, जसलाई गम्भीर फ्लु–सम्बन्धित जटिलता हुने जोखिम बढी हुन्छ ।

  • कम्बोडियासँगको युद्धमा चार थाई सैनिकको मृत्यु

    कम्बोडियासँगको युद्धमा चार थाई सैनिकको मृत्यु

    बैङ्कक, २८ मङ्सिर (रासस–एएफपी) । कम्बोडियाली सेनाले शनिबारको झडपका क्रममा चार थाई सैनिकको हत्या गरेको थाई अधिकारीले बताएका छन् ।
    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामका लागि सहमति भएको भन्ने भनाइलाई थाई प्रधानमन्त्रीले खण्डन गरेका छन् । दक्षिणपूर्वी एसियाली छिमेकीहरूबीचको हिंसा उनीहरूको ८०० किलोमिटर (५०० माइल) सीमाको औपनिवेशिक युगको सीमाङ्कनलाई लिएर लामो समयदेखि चलिरहेको विवादबाट उत्पन्न भएको हो । दुबै पक्षका लगभग पाँच लाख मानिसहरू विस्थापित भएका छन् । द्वन्द्वमा कम्तीमा चार थाई सैनिकसहित २४ जनाको मृत्यु भएको रक्षा मन्त्रालयले जनाएको छ ।

    ट्रम्पले युद्धविराममा सहमति भएको भन्नुअघि दुवै पक्षले द्वन्द्व भड्काएको आरोप एक अर्कोमाथि लगाएका थिए । थाई प्रधानमन्त्री अनुतिन चर्नविराकुलले शुक्रबार टेलिफोन वार्ताका क्रममा ट्रम्पले युद्धविराम गर्ने वा नगर्ने भन्ने कुरा उल्लेख नगरेको बताएका छन् । अनुतिनले शनिबार सञ्चारमाध्यमहरूलाई दिएको जानकारीमा भनिएको छ, “दुई देशका नेताहरूले यस विषयमा ‘छलफल गरेका छैनन्’।” ट्रम्पले शुक्रबार अनुतिन र कम्बोडियाली प्रधानमन्त्री हुन मानेटसँगको ‘धेरै राम्रो कुराकानी’ को प्रशंसा गरेका थिए ।


    ट्रम्पले आफ्नै लगानीको सामाजिक सञ्जाल ‘ट्रुथ सोसल प्लेटफर्म’ मा लेखेका छन्, “उनीहरु आज साँझदेखि लागू हुने गरी सबै आक्रमण बन्द गर्न सहमत भएका छन् र जुलाईमा भएको मूल शान्ति सम्झौतामा फर्कन सहमत भएका छन् । ” संयुक्त राज्य अमेरिका, चीन र क्षेत्रीय समूह आसियानको अध्यक्षका रूपमा मलेसियाले जुलाईमा पाँच दिनको हिंसापछि युद्धविरामको मध्यस्थता गरेका थिए । गत अक्टोबरमा ट्रम्पले थाइल्यान्ड र कम्बोडियाबीचको संयुक्त घोषणालाई समर्थन गर्दै युद्धविरामलाई लम्ब्याउन सहमति जनाएपछि नयाँ व्यापार सम्झौताको घोषणा गर्नुभएको थियो तर थाई सैनिकहरू सीमामा बारुदी सुरुङमा घाइते भएपछि थाइल्यान्डले अर्को महिना यो सम्झौता स्थगित गरेको थियो ।

    थाइल्यान्डबाट विस्थापित कन्यापत साओप्रियाले आफू अब कम्बोडियालाई विश्वास नगरेको बताएका छन् । “शान्ति प्रयासको अन्तिम चरणको प्रयास सफल भएन । यो पनि हुन्छ कि हुँदैन मलाई थाहा छैन,” ३९ वर्षीय सीले एएफपीसँग भने । सीमा पार गरेर आएकी एक कम्बोडियाली शरणार्थीले ट्रम्पको हस्तक्षेपका बाबजुद पनि लडाइँ नरोकिएकोमा आफू ‘दुःखी’ भएको बताए । “म क्रूर कार्यबाट खुसी छैन,” ४३ वर्षीया भि रिनाले भनिन्,

    – नागरिकहरूमाथि दोषारोपण –

    बैंकक र नोमपेनमा सर्वसाधारणमाथि आक्रमण भएको आरोप लगाइएको छ भने थाई सेनाले शनिबार कम्बोडियाली रकेट आक्रमणबाट छ जना घाइते भएको जनाएको छ । यसैबीच, कम्बोडियाका सूचना मन्त्री नेथ फेक्ट्राले भन्नुभयो, “थाई सेनाले आक्रमणलाई विस्तार गर्दै ‘नागरिक पूर्वाधार र कम्बोडियाली नागरिक’ लाई लक्षित गरेको छ । ” थाई नौसेनाका प्रवक्ताले द्वन्द्वग्रस्त क्षेत्रमा हतियार ओसारपसार गर्न प्रयोग गरिएका कम्बोडियाका दुईवटा पुललाई ध्वस्त पारेको बताएका छन् ।

    थाइल्यान्डको बुरिरामस्थित एक शिविरमा कुरा गर्दै विस्थापित बासिन्दाहरूले सीमा नजिकै आफन्तहरूलाई फोन गरेको देखेका र उनीहरूले लडाइँ जारी रहेको बताएका स्थानीय सञ्चारकर्मीले बताए । थाइल्यान्डका प्रधानमन्त्रीले ‘आफ्नोे भूमि र जनतामाथि कुनै हानि र खतरा महसुस नगरेसम्म’ सैन्य कारवाही जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । ट्रम्पसँगको टेलिफोनपछि अनुतिनले भने, “सम्झौताको उल्लङ्घन गर्नेले परिस्थितिलाई सुधार गर्न आवश्यक छ ।”
    यसैबीच, कम्बोडियाका नेता हुन मानेटले आफ्नो देशले ‘विवाद समाधानका लागि सधैं शान्तिपूर्ण उपायहरूको पालना गर्दै आएको बताएका छन् ।

  • नेपाल–चीन कूटनीतिक सम्बन्ध ७०औँ वार्षिकोत्सव : छोङछिङ महानगरमा सांस्कृतिक कार्यक्रम

    नेपाल–चीन कूटनीतिक सम्बन्ध ७०औँ वार्षिकोत्सव : छोङछिङ महानगरमा सांस्कृतिक कार्यक्रम

    काठमाडौँ, २७ मङ्सिरः नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवका अवसरमा बिहीबार छोङछिङ महानगरमा विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छन्दुस्थित नेपाली महावाणिज्यदूतावासले आज जनाएको छ । त्यस क्रममा नेपाली चिया, कफी, फेल्ट, पश्मिना, धूप, सिङिङ बाउल, थान्कालगायतका नेपाली उत्पादनहरूको प्रदर्शनी गरिएको थियो ।

    सांस्कृतिक आदानप्रदानअन्तर्गत चिनियाँ परम्परागत वाद्ययन्त्र ‘गुछिन’को वादन तथा नेपाली विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूद्वारा परम्परागत नृत्यहरू प्रदर्शन गरिएका थिए । महावाणिज्यदूतावासको संयोजनमा भएका ती कार्यक्रममा छोङछिङ युझोङ जिल्ला सरकार, छोङछिङ नगरपालिका र नेपाल पर्यटन बोर्डका पदाधिकारीलगातय ५० जना सहभागी थिए ।

  • नेकपा स्थापनादेखि एमालेको ११औँ महाधिवेशनसम्म

    नेकपा स्थापनादेखि एमालेको ११औँ महाधिवेशनसम्म

    प्रकाश सिलवाल–रासस
    काठमाडौँ, २७ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७६औँ वर्ष पुग्दा कम्युनिष्ट आन्दोलनको प्रमुख पार्टीका रूपमा रहेको नेकपा (एमाले) विभिन्न आरोह अवरोहबीच ११औँ राष्ट्रिय महाधिवेशनसम्म आइपुगेको छ । नेपाल कम्युनिस्ट पार्टीको स्थापना पुष्पलाल श्रेष्ठको नेतृत्वमा विसं २००६ वैशाख १० गते भएको थियो । श्रेष्ठको नेतृत्वमा निरञ्जनगोविन्द वैद्य, नरबहादुर कर्माचार्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठ संस्थापक रहेर भारतको कोलकाताको श्यामबजार इलाका २८, नवीन सरकार लेनस्थित एक घरबाट आरम्भ भएको नेकपा अहिले विभिन्न धार र पार्टीमा क्रियाशील छ ।

    विश्व कम्युनिष्ट घोषणापत्र जारी भएको १०२ वर्षपछि र सोभियत सङ्घमा अक्टोबर क्रान्ति सम्पन्न भएको ३२ वर्षपछि नेपाली कम्युनिस्ट आन्दोलनको स्थापना भएको थियो । त्यसबेला चीनमा माओत्सेतुङको नेतृत्वमा जनवादी क्रान्ति सफल हुनुभन्दा चार महिनाअघिको यस समयमै अङ्ग्रेज उपनिवेशबाट छिमेकी भारत मुक्त बनिसकेको थियो भने नेपालीहरू १०४ वर्ष लामो जहानियाँ राणा शासनको निरङ्कुशताबाट मुक्त हुन खोजिरहेको बेला थियो ।

    त्यहीबीचमा स्थापना भएको नेकपाको पहिलो महाधिवेशन २०१० साल माघ १० देखि २० गतेसम्म ललिपुरको पाटनमा सम्पन्न भएको थियो । उक्त महाधिवेशनले महामन्त्रीमा मनमोहन अधिकारीलाई चयन गरेको थियो । दोस्रो महाधिवेशन २०१४ साल जेठ १५ देखि २५ गतेसम्म काठमाडौँको दरबारमार्गमा भई महासचिवमा डा केशरजङ्ग रायमाझीलाई जिम्मेवारी दिएको थियो । यो महाधिवेशनपछि पार्टीभित्र प्रजातन्त्र कि राजतन्त्र भन्ने विवाद उत्पन्न भएको थियो ।

    नेकपाको तेस्रो महाधिवेशन पञ्चायतकालकै बीचमा २०१९ साल वैशाख ४ देखि १५ गतेसम्म भई महासचिवमा तुल्सीलाल अमात्य चुनिनुभएको थियो । नेकपाको चौथो महाधिवेशन भने २०४६ भदौ ९ देखि १४ गतेसम्म सिरहाको विष्णुपुरकट्टी, सर्रे अम्बासमा भई महासचिवमा मदनकुमार भण्डारी निर्वाचित हुनुभएको थियो । यो महाधिधवेशनपछि नेकपाका विभिन्न समूह र उपसमूह देखा पर्न थाले भने एमालेले ‘जडसूत्रवाद र विसर्जनवादको विरोध गरौँ, माक्र्सवादको सिर्जनात्मक प्रयोग र विकास गरौँ’ भन्ने नाराका साथ आफूलाई अलग धारका रूपमा अगाडि बढाएको देखिन्छ ।

    एमालेको पाँचौँ महाधिवेशन २०४९ माघ १४ देखि २० गतेसम्म काठमाडौँको दशरथ रङ्गशालामा भएको थियो । यस महाधिवेशनबाट पार्टीको अध्यक्षमा मनमोहन अधिकारी र महासचिवमा मदनकुमार भण्डारी नेतृत्वमा आएका थिए । एमालेको हालसम्मको मार्गदर्शक सिद्धान्तका रूपमा रहेको जनताको बहुदलीय जनवाद (जबज)लाई महासचिव भण्डारीले प्रस्तुत गरी पारित भएकाले यो महाधिवेशन एमालेको वैचारिक इतिहासमा महत्त्वपूर्ण मानिएको छ ।

    RSS

    यस्तै, एमालेको छैठौँ महाधिवेशन विसं २०५४ माघ १२ देखि १८ गतेसम्म नेपालगन्ज, बाँकेमा भई अध्यक्षमा मनमोहन अधिकारी र महासचिवमा माधवकुमार नेपाल चयन भए । यो महाधिवेशनको मूलनारा ‘विकृति र विसङ्गतिका विरुद्ध सङ्घर्ष गरौँ, विचारधारात्मक रूपमा पार्टीलाई एकताबद्ध पारौँ’ रहेको थियो । एमालेको सातौँ महाधिवेशन विसं २०५९ माघ १८ देखि २२ गतेसम्म, जनकपुर, धनुषामा भएको थियो । ‘प्रजातन्त्र, शान्ति र समग्र विकास, प्रतिगमनविरुद्ध अग्रगामी निकास १’ को मूल नारा रहेको उक्त महाधिवेशनले महासचिवमा माधवकुमार नेपाललाई चयन गरेको थियो ।

    त्यसपछि विसं २०६५ फागुृन ५ देखि १४ गतेसम्म, बुटवलको रुपन्देहीमा भएको आठौँ महाधिवेशनले अध्यक्षमा झलनाथ खनाल र महासचिवमा ईश्वर पोखरेल निर्वाचित भए । उक्त महाधिवेशनको मूल नारा ‘यथास्थिति, अराजकता र विखण्डनका विरुद्ध आठौँ महाधिवेशन, राष्ट्रिय एकता, सामाजिक रूपान्तरण र लोकतान्त्रिक गणतन्त्रका लागि नयाँ संविधान १’ रहेको थियो । एमालेको नवौँ महाधिवेशन भने विसं २०७१ असार १९ देखि साउन १ गतेसम्म भृकुटीमण्डप, काठमाडौँमा भई अध्यक्षमा केपी शर्मा ओली र महासचिवमा ईश्वर पोखरेललाई निर्वाचित ग¥यो । महाधिवेशनको नारा ‘शान्तिपूर्ण जनक्रान्तिका उपलब्धिलाई संस्थागत गरौँ, जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समृद्ध नेपाल निर्माण गरौँ १’ रहेको थियो ।

    पछिल्लो पाँच वर्षयता एमालेले नीति र विधान तथा नेतृत्व चयनका लागि छुट्टाछुट्टै महाधिवेशनको परिपाटी थालनी गरेको छ । एमालेको प्रथम विधान महाधिवेशन विसं २०७८ असोज १५ देखि १७ गतेसम्म, गोदावरी, ललितपुरमा भएको थियो । उक्त महाधिवेशनको नारा ‘दक्षिणपन्थी अवसरवाद र सङ्गठनात्मक अराजकतालाई परास्त गरौँ, जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौँ १’ रहेको थियो ।

    एमालेको दसौँ राष्ट्रिय महाधिवेशन २०७८ मङसिर १० देखि १२ गतेसम्म, सौराहा, चितवनमा भएको थियो । सो महाधिवेशनको नारा ‘दक्षिणपन्थी अवसरवाद र सङ्गठनात्मक अराजकतालाई परास्त गरौँ, जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौँ १’ भन्ने रहेको थियो । उक्त महाधिवेशनले अध्यक्षमा केपी शर्मा ओली र महाचिवमा शङ्कर पोखरेललाई निर्वाचित गरेको थियो ।

    एमालेको दोस्रो विधान महाधिवेशन २०८२ भदौ २० देखि २२ गतेसम्म, गोदावरी, ललितपुरमा भई नेतृत्वमा दुई कार्यकालभन्दा बढी रहन र ७० वर्षे उमेर हद हटाउने व्यवस्था गरिएको छ । आजदेखि पार्टीको ११औँ महाधिवेशन सुरुभएको छ । भक्तपुरको सल्लाघारीमा महाधिवेशनको उद्घाटन भएको छ भने बन्दसत्र आइतबारदेखि काठमाडौँको भृकुटीमण्डपमा हुनेछ । यस महाधिवेशनको मूल नारा ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ रहेको छ ।

  • राष्ट्रपति र प्रधानमन्त्रीले दिए एनपिएल विजेतालाई बधाई

    राष्ट्रपति र प्रधानमन्त्रीले दिए एनपिएल विजेतालाई बधाई

    काठमाडौँ, २७ मङ्सिर । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल प्रिमियर लिग (एनपिएल) को विजेता टोली लुम्बिनी लायन्सलाई बधाई दिएका छन् । उनले आज सामाजिक सञ्जाल (फेसबुक)मार्फत विजेतालगायत सबैलाई बधाई दिएका हुन् । राष्ट्रपति पौडेलले भनेका छन्, “खेलप्रतिको लगाव, उत्साह र समर्पणका लागि विजेता, उपविजेतालगायत सम्पूर्ण टोलीलाई बधाई छ । साथै खेलाडी, प्रशिक्षक, आयोजक र खेलप्रेमी सबैलाई विशेष धन्यवाद छ ।”

    यसैगरी प्रधानमन्त्री सुशीला कार्कीले पनि एनपिएल विजेता लुम्बिनी लायन्सलाई बधाई दिएकी छिन् । सामाजिक सञ्जाल (फेसबुक)मार्फत आज उनले विजेता टोलीलाई बधाई दिएकी हुन् । बधाई सन्देशमा प्रधानमन्त्री कार्कीले भनेकी छिन्, “राष्ट्रिय आत्मविश्वासमा ऊर्जा थप्न सफल यस उत्सवमा सहभागी सबै टिम, आयोजक र समर्थकलाई धन्यवाद ।” लुम्बिनी लायन्सले आज भएको फाइनल खेलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै सिद्धार्थ बैङ्क नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि जितेको हो । सुदूरपश्चिम भने दोस्रोपटक पनि उपविजेतामै समेटिएको छ ।

  • एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’

    एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’

    काठमाडौँ, २७ मङ्सिर । कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशालामा यही मङ्सिर १ गतेदेखि सुरु भएको दोस्रो संस्करणको खेल आज लुम्बिनी लायन्सले उपाधि जितेसँगै सम्पन्न भएको छ । यसैबीच खेलाडीलाई प्रोत्साहनका लागि ‘एनपिएल नाइट’ आयोजना हुने भएको छ । ठमेलस्थित एलओडी क्लबमा आज राति ९ः०० बजेदेखि एनपिएलका विजेता टोलीका खेलाडीसहित अन्य आठ वटै टोलीका खेलाडीको सहभागितामा ‘एनपिएल नाइट’ हुन लागेको हो ।

    कार्यक्रममा एनपिएल दोस्रो संस्करणको विजेता लुम्बिनी लायन्स, उपविजेता सुदूरपश्चिम रोयल्ससहित विराटनगर किंग्स, काठमाडौँ गोर्खाज, पोखरा एभेञ्जर्स, कर्णाली याक्स, चितवन राइनोज र जनकपुर बोल्टुस्का खेलाडीको सहभागिता रहने क्लबका प्रमुख रविन श्रेष्ठले जानकारी दिए । “नेपालमा क्रिकेटको राम्रो इतिहास रचिँदैछ । एनपिएल खेल्न विभिन्न मुलुकका खेलाडी यहाँ आएका छन् । यसले नेपालको पहिचान थप बढाउनुका साथै एनपिएलका माध्यमबाट प्रचारप्रसार हुँदा पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने छ”, उनले भने ।


    एनपिएलको दोस्रो सिजनमा एलओडी क्लब मनोरञ्जनात्मक साझेदार बनेको थियो । यसअघि क्लबका प्रमुख श्रेष्ठ र नेपाल क्रिकेट सङ्घ (क्यान)का सचिव पारस खड्काले एनपिएल दोस्रो सिजनका लागि एलओडी मनोरञ्जनात्मक साझेदार बन्ने सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । आगामी वर्षमा पनि क्लब मनोरञ्जनात्मक साझेदार बन्ने क्यानले जनाएको छ ।

  • लुम्बिनी लायन्सलाई एनपिएल दोस्रो संस्करणको उपाधि, सुदुरपश्चिम लगातार उपविजेतामा सिमित

    लुम्बिनी लायन्सलाई एनपिएल दोस्रो संस्करणको उपाधि, सुदुरपश्चिम लगातार उपविजेतामा सिमित

    काठमाडौँ, २७ मङ्सिरः लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को उपाधि जितेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा आज भएको खेलमा लुम्बिनी लायन्सले गत संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्सलाई छ विकेटले पराजित गर्दै उपाधि जितेको हो । सुदूरपश्चिम यसपट्क पनि उपविजेतामै रोकियो । पहिलो संस्करणको फाइन खेलमा सुदूरपश्चिम जनकपुर बोट्ल्ससँग पराजित भएको थियो । यसपटक उपाधिसहित लुम्बिनीले रु एक करोड १० लाख हात पा¥यो । उपविजेता सुदूरपश्चिमले रु ५१ लाखमा चित्त बुझायो ।

    सुदूरपश्चिमले जितका लागि दिएको ८६ रनको लक्ष्य पछ्याएको लुम्बिनीले नौ ओभरमा चार विकेट गुमाउदै लक्ष्य पूरा ग¥यो । लुम्बिनीका लागि दिनेश अधिकारीले सर्वाधिक ४२ रनको योगदान दिए । उनले १३ बलमा एक चौका र पाँच छक्का प्रहार गर्दै ४२ रनको योगदान गरेका हुन् । यस्तै, डार्शी शर्टले १४ रन बनाए । उनले १३ बलमा तीन चौका प्रहार गर्दै १४ रन बनाए । कप्तान रोहित पौडेलले १६ रन बनाए । उनले १२ बलमा दुई चौका र एक छक्का प्रहार गर्दै १६ रन बनाएका हुन् । निरोशन डिक्वेलले ११ रनमा अविजित रहे । यस्तै, सन्दिप जोरा शून्यमा आउट भए ।

    बलिङतर्फ सुदूरपश्चिमका हेमन्त धामीले दुई विकेट लिए भने अविनाश बोहोरा र दिपेन्द्रसिंह ऐरीले समान एकरएक विकेट लिए । यसअघि, टस जितेर पहिला ब्याटिङ रोजेको सुदूरपश्चिम १९ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै ८५ रनमा समेटिएको थियो । सुदूरपश्चिमका लागि इशान पाण्डेले सर्वाधिक ३३ रन जोडे । उनले ५१ बलमा एक चौकाको सहयोगमा ३३ रन जोडेका हुन् ।

    यस्तै, कप्तान दिपेन्द्रसिंह ऐरीले १३ रन बनाए भने हरमीत सिंह र स्कट कुगेलिइनले समान १०र१० रन जोडे । त्यसबाहेक अन्य ब्याट्सम्यानहरूले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । सुदूरपश्चिमलाई सस्तैमा समेट्ने क्रममा लुम्बिनी लायन्सका बलरहरूले उत्कृष्ट प्रदर्शन गरे । लुम्बिनीका लागि शेर मल्ल, रुबेन ट्रम्पेलमान र कप्तान रोहित पौडेलले समान तीनतीन विकेट हात पारे । यस्तै, टीका भन्डारीले एक विकेट लिए ।

  • विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ : संयोजक प्रचण्ड

    विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ : संयोजक प्रचण्ड

    काँक्रेविहार (सुर्खेत), २७ मङ्सिर नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतका गल्तीबाट शिक्षा लिँदै आफूहरू एकीकृत पार्टी बनाउन अगाडि बढेको बताएका छन् । आज यहाँको वीरेन्द्रनगरमा भएको एकता सभालाई सम्बोधन गर्दै उहाँले अब नेता तथा कार्यकर्ताको उत्साहजनक सहभागितासहित एक नम्बर पार्टी बनाउन लाग्नुपर्ने र आज कर्णालीले देखाएको मायाले आफू उत्साहित भएको बताए ।


    संयोजक दाहालले १४ भन्दा बढी पार्टी मिलेर विगतका कमजोरी सच्याउँदै अगाडि बढ्ने सङ्कल्प गरेको उल्लेख गर्दै देशका विभिन्न स्थानमा भएका एकतासभामा देखिएको सहभागिताले अभियानलाई नयाँ उचाइमा पु¥याउने विश्वास जागेको धारणा राखे । उनले विसं २०४१र४२ देखि नै पार्टी माधव नेपाल र आफूबीचमा एकताका लागि छलफल सुरु भएको स्मरण गर्दै सशस्त्र द्वन्द्वका सामयमा पनि निरन्तर छलफल भएको धारणा राखे ।


    संयोजक दाहालले भने, ‘हामी सुरुदेखि नै एकताका पक्षमा थियौँ, सशस्त्र युद्ध सुरु भएको दुई वर्षदेखि नेपाल र आफूहरूले देशको विकास र नेपाललाई कसरी उचाइमा पु¥याउन सकिन्छ भनेर छलफलमा जुटका थियौँ । एमाले र माओवादी सहमति भएपछि मात्र देशमा १२ बुँदे सहमति भएको थियो । ४० वर्षदेखि एकताका काम भइरहेका थिए ।”

    उनले कर्णाली नेपाली सभ्याताको जननी, जडीबुटी, जलस्रोतको भण्डार रहेको भन्दै यहाँको विकासलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । अब विदेशिएका युवालाई स्वदेश फर्कने वातावरण तयार गर्न आफूहरू क्रियाशील भएको दाहालको भनाइ थियो । पार्टीका सहसंयोजक माधवकुमार नेपालले अलगअलग पार्टीलाई एकै ठाउँमा ल्याएर राजनीतिमा महत्वपूर्ण काम गरिएको र यसले सबैमा उत्साह थपिएको बताए ।


    उनले जनता र देशको हितका पक्षमा काम गर्ने पार्टीको रूपमा नेकपालाई स्थापित गरिने उनको भनाइ छ । सहसंयोजक नेपालले भने, देशका हरेक महत्वपूर्ण समयमा हामी सही ठाउँमा उभिँदै आएका छौँ । जनतालाई देशको मालिक बनाउनका लागि लोकतन्त, गणतन्त्र चाहिएको छ । यसर्थ देशको स्वतन्त्रतता, स्वाधीनता, देशभक्त पार्टीको रुपमा नेकपालाई स्थापित गर्र्नेगरी हामी लागिरहेका छौँ ।”

  • एमालेले देशलाई गलत दिशामा जान दिँदैन : अध्यक्ष ओली

    एमालेले देशलाई गलत दिशामा जान दिँदैन : अध्यक्ष ओली

    काठमाडौँ, २७ मङ्सिरः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले देशलाई गलत दिशामा जान नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनको भक्तपुरको सल्लाघारीमा आयोजित उद्घाटनसत्रलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अनेक चुनौती र प्रहारलाई चिर्दै एमालेको पक्षमा जनलहर उर्लिएको बताए । एमाले कुनै राजनीतिक ‘स्टन्ट’ नगरी समृद्ध मुलुक बनाउने सङ्कल्पमा अग्रसर रहने जनाउँदै सुशासन र विकास चाहने सम्पूर्ण शक्तिले एमालेलाई साथ दिएको उल्लेख गरे ।


    “लोकतन्त्र अजेय छ, नेकपा एमाले अजम्मरी छ । लोकतन्त्र र जनताको हितमा समर्पित एमाले जस्तो शक्तिलाई निर्णायक राष्ट्रिय शक्ति बनाउनुपर्छ । सिङ्गो देशलाई समृद्ध र सुखी बनाउने गन्तव्यतर्फ हामी अघि बढिरहेका छौँ”, अध्यक्ष ओलीले भने, “कम्युनिष्ट पार्टी जति बलियो भयो, त्यति नै राष्ट्रियता बलियो हुन्छ । एमाले सामाजिक न्याय र सामाजिक न्यायको सुरुआती अभियन्ता पार्टी हो । नागरिकले जीवनको आधार यही शक्ति हो ।”

    एमाले समावेशिताको अगुवा भएको बताउँदै उहाँले राष्ट्रिय राजनीतिमा एमालेले सबै क्षेत्रको समावेशीतालाई स्थापित गरेको बताए । एमाले नेपाली विशेषतासहितको समाजवाद निर्माणमा लागेको उल्लेख गर्दै उहाँले एमाले गाउँमुखी र जनसहभागितामूलक विकास तथा ठूला विकास योजनाको अभियन्ता भएको बताए ।
    महाधिवेशनको विशाल उपस्थितिलाई बेवास्ता नगर्न स्मरण गराउँदै उहाँले विघटित संसद् पुनःस्थापना हुनेमा आफूहरु विश्वस्त रहेको अध्यक्ष ओलीले बताए । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा घुसपैठका कारण राज्य र राज्यका संरचनालाई कमजोर बनाइए पनि शान्तिपूर्ण र न्यायपूर्ण बलको जगमा लोकतन्त्रलाई फर्काइने अध्यक्ष ओलीको भनाइ थियो । उनले अहिलेको सरकार निर्वाचनको वातावरण बनाउनभन्दा पूर्वाग्रह र संविधानविपरीतका काममा लागेको आरोप पनि लगाए ।

  • एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड, कार्यक्रम सुरु हुने तयारी

    एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड, कार्यक्रम सुरु हुने तयारी

    भक्तपुर, २७ मङ्सिरः सल्लाघारीस्थित नेपाल ट्रष्टको १०८ रोपनी चौरमा आजबाट सुरु हुने नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन बिहानैदेखि विभिन्न जिल्लाबाट आएका नेता, महाधिवेशन प्रतिनिधि एवं कार्यकर्ताको भीड लागेको छ । विभिन्न जिल्लाबाट बस रिर्जभ गरी रात्रिको समयमा आएका प्रतिनिधि एवं कार्यकर्ताको उद्घाटनस्थलको गेट बाहिर भीड लागेको हो । महाधिवेशनका लागि निर्माण गरिएको विशाल मञ्च, सभास्थल तथा आवश्यक भौतिक संरचनाको काम पूर्णरूपमा सम्पन्न भइसकेको एमाले भक्तपुरका अध्यक्ष बचन देउजाले जानकारी दिए ।


    उनका अनुसार मञ्च, ध्वनि प्रणाली, प्रकाश व्यवस्था, एलइडी स्क्रिन, बसाइँ व्यवस्था तथा व्यवस्थापनसम्बन्धी सबै तयारी तोकिएकै समयमै सम्पन्न गरिएको थियो । आज बिहानैदेखि आएका नेता तथा कार्यकर्तालाई गेट बाहिरै राखिएको उनले बताए । उद्घाटनस्थलाई व्यवस्थित गर्न, सुरक्षा जाँचलाई दुरुस्त राख्नका लागि बिहान १०ः३० सम्मका लागि गेट बन्द गरिए ११ बजेबाट प्रवेश कार्यक्रमस्थलमा प्रवेश गर्नेको भीड लागेको छ ।

    आज दिउँसो १२ः३० बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीले मञ्चमा बनाइएको चाँगुनारायण मन्दिरको छेउमा राखिएको विद्युतीय पालालाई रिमोटद्वारा बालेर उद्घाटन गर्ने गरी तयारी भएको छ । पार्टीको ११औँ महाधिवेशन भएकाले पार्टीका ११ झण्डा राखिएकामा १० वटा झण्डा सुरुमै फहराइने, एउटा झण्डा रिमोटबाट फहराउने गरी तयारी गरिएको छ । औपचारिक रूपमा उद्घाटन गर्न महाधिवेशनको शुभारम्भ गर्ने तयारी सम्पन्न भएको जानकारी दिँदै उनले महाधिवेशनस्थलमा सुरक्षाका नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्वयंसेवक परिचालन गरिएको जानकारी दिए ।
    दुई हजार ५०० सुरक्षाकर्मी तैनाथ

    महाधिवेशन उद्घाटनस्थलको सुरक्षालाई ध्यानमा राख्दै बम विस्फोटक पदार्थ तथा हतियार सुँघेर पत्ता लगाउने तालिम प्राप्त कुकुरसहितको प्रहरी टोलीले आज बिहान जाँच गरेको जानकारी दिँदै सुरक्षा व्यवस्थालाई कडा पारिएको प्रमुख जिल्ला अधिकारी उमेशप्रसाद ढकालले जानकारी दिए । उनले बम डिटेक्टर उपकरण प्रयोग गरी मञ्च, सभास्थल र वरपरका क्षेत्रमा सुक्ष्म जाँच गरेको जानकारी दिँदै सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र सादा पोसाकका प्रहरी गरी दुई हजार ५०० सुरक्षाकर्मी उद्घाटनस्थलमा तैनाथ गरिएको जानकारी दिए । सुरक्षाको व्यवस्थामा कुनै कमी नरहने गरी व्यवस्थापन गरेको जानकारी दिँदै उहाँले सिसी क्यामराबाट निगरानी गर्ने टोलीसमेत खटाएर सुरक्षा निगरानी गरिरहेको बताए ।

    सभास्थलका साथै र्याली आउने स्थल, सडक, पार्किङस्थललगायत क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र सादा पोसाकका सुरक्षाकर्मी तैनाथ गरिएको जानकारी दिए । कार्यक्रमस्थलमा कहिकतै शङ्कास्पद गतिविधि भएको देखिए तत्कालै पक्राउ गर्ने गरी तयारी गरेको उनले जानकारी दिए ।

    ५० भन्दा बढी सिसी क्यामरा

    उद्घाटनस्थलको मञ्च, मञ्च प्रवेश गर्ने गेट, आसपासका क्षेत्र र सभास्थलको बीच तथा वरिपरिका क्षेत्रमा ५० भन्दा बढी सिसी क्यामरा जडान गरिएको छ । एमाले अध्यक्ष देउजाले कार्यक्रमस्थलमा ५० भन्दा बढी सिसि क्यामरा जडान गरिएको र त्यसको निगरानी एमालेको एक युवा टोली र सुरक्षाकर्मीले गरिरहेको जानकारी दिए ।

    गाउँगाउँबाट र्याली सुरु

    महाधिवेशनको उद्घाटनस्थलमा आउनका लागि भक्तपुरका चारवटै पालिकाले गाउँगाउँबाट र्याली सुरु गरेको छ । सूर्यविनायक नगरपालिकाअन्तर्गत वडा नं १ देखि ५ सम्मल कटुञ्जेबाट, वडा नं ७ ले गुण्डुबाट, वडा नं ६ देखि १० सम्मले जगाती एवं सूर्यविनायक चोकबाट ¥याली सुरु गरेको छ ।

    चाँगुनारायण नगरपालिकाअन्तर्गत वडा नं। १ देखि ४ सम्मले दुवाकोटबाट, वडा नं ५ देखि ८ सम्मले कमलविनायकबाट र वडा नं ९ ले भक्तपुर नगरपालिकाबाट सुरु हुने च्यायामासिंहस्थित ¥यालीमा मिसिएर ¥याली सुरु भएको छ । भक्तपर नगरपालिकाले नगर क्षेत्र परिक्रमा गर्दै कार्यक्रमस्थलमा आउने गरी ¥याली सुरु गरेको छ भने मध्यपुथिमि नगरपालिकाले शङ्खधर चोकबाट ¥याली सुरु गरेको छ ।

    सबै ¥यालीमा विभिन्न जाति, भेषभूषा एवं कला र संस्कृति झल्कने बाजा तथा झाकी एवं नृत्य प्रदर्शन गर्दै ¥याली सुरु भएको छ । विभिन्न जिल्लाबाट आउने सहभागीहरुको ¥याली भने पूर्वतर्फ जगातीबाट र पश्चिमतर्फ गठ्ठाघरबाट सुरु हुँदैछ ।

    यस्तो रहनेछ उपस्थिति

    महाधिवेशनमा दुई हजार २६२ प्रतिनिधिको सहभागिता रहने जानकारी दिँदै महाधिवेशन जनपरिचालनका सञ्चालक एवं एमाले स्थायी कमिटी सदस्य डा राजन भट्टराईले महाधिवेशनको उद्घाटन सत्रमा देशभरबाट तीन लाख नेता तथा कार्यकर्ताको उपस्थित रहने बताए । उनले कार्यक्रममा नेपालको एकताको प्रतिकका रुपमा २०० भन्दा बढी नेपाली विभिन्न जातजातिको कला, संस्कृति झल्काउने झाँकीको प्रदर्शन हुने बताए ।


    उद्घाटन कार्यक्रममा नेपाली कांग्रेस सभापति, नेकपाका अध्यक्ष पुष्पकमल दाहाललगायतका १६ पार्टीका अध्यक्ष एवं नेताले शुभकामना दिने कार्यतालिका तय भएको जानकारी दिँदै उनले भ्रातृत्व, मैत्रीपूर्ण कूटनीतिक सम्बन्ध रहेका विभिन्न देशका विदेशी कूटनीतिक नियोग एवं विभिन्न पार्टीका प्रतिनिधिको शुभकामना सन्देश प्राप्त भइसकेको जानकारी दिए ।


    त्यसैगरी महाधिवेशन स्वयंसेवक परिचालन समितिका संयोजक भानुभक्त ढकालले महाधिवेशन शान्तिपूर्ण भयरहित वातावरणमा सम्पन्न गर्न पार्टीको २४ का जनसङ्गठनहरूको प्रतिनिधित्व रहने गरी ५०० बढी स्वयंसेवक ककड्रेसकोडमा खटिएको जानकारी दिए । जनसेवालाई व्यवस्थित र शान्तिपूर्ण बनाउन १० हजार तालिम प्राप्त स्वयंसेवक परिचालन गरिएको जानकारी दिए ।


    एमालेले लिच्छविकालमा राजा हरिदत्तले स्थापना गरेको चाँगुनारायणको ऐतिहासिक मन्दिरलाई मुख्य स्वरुपमा राखेर उपत्यकाका महत्वपूर्ण विभिन्न मन्दिर एकै ठाउँ देखाउने गरी नेपालकै इतिहासमा पहिलो पटक यति ठूलो र कलात्मक एवं ऐतिहासिकता झल्कने आकर्षक मञ्च निर्माण गरिएको छ । मञ्चलई धेरै सहभागीहरुले उत्कृष्ठताको नमूनाको संज्ञा दिएका छन् ।

    टाढासम्म रहेका सहभागीले वक्ताले बोलेको प्रस्ट देखिने गरी मञ्चको दायाँबायाँ ३० फिट अग्ला दुई वटा एलइडी स्क्रिन राखिएको, तीन किलोमिटर परसम्म सुन्न सकिने ११५ वटा उच्च गुणस्तरका साउन्ड सिस्टम जडान गरिएको र मञ्च अगाडि देशभरबाट आएका नेता, मन्त्री, सांसद एवं विभिन्न कूटनीतिक नियोगका प्रतिनिधिहरुका लागि २५ हजार कुर्सी राखिएको छ ।

    यस्तो छ पार्किङको व्यवस्था

    महाधिवेशनको उद्घाटन सत्रमा सहभागी विभिन्न जिल्लाबाट आउने सवारीसाधनका लागि निम्ति कोटेश्वरबाट गट्ठाघरसम्म गाडीमा आउन सकिने र गठ्ठारघमार रहेको नागरिक उड्डयन प्राधिकरणको खाली चौरमा तथा काभ्रे हँुदै आउने सवारीका लागि जगातीस्थित भाइरल प्लानिङमा पार्किङको व्यवस्था गरिएको जानकारी दिँदै गठ्ठाघर र जगातीबाट भव्य ¥याली कार्यक्रमस्थल आउने गरि व्यवस्था गरिएको जानकारी दिएको छ ।

  • एक महिनाभित्र काम सुरु नगरे घुमाउने पुलको ठेक्का तोडिनेछ : मन्त्री घिसिङ

    एक महिनाभित्र काम सुरु नगरे घुमाउने पुलको ठेक्का तोडिनेछ : मन्त्री घिसिङ

    दमौली (तनहुँ), २७ मङ्सिर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले एक महिनाभित्र काम सुरु नगरे घुमाउने पुलको ठेक्का तोड्ने चेतावनी दिएका छन् । तनहुँको आँबुखैरेनी गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका–२९ जोड्ने अलपत्र घुमाउने पुलको आज निरीक्षण गर्र्दै मन्त्री घिसिङले एक महिनाभित्र काम सुरु गर्न निर्माण व्यवसायीलाई निर्देशन दिए ।
    मन्त्री घिसिङले लामो समयदेखि अलपत्र पुलको बारेमा राष्ट्रियस्तरमा चर्चा रहेको बताउँदै काम नगर्ने भए ठेक्का तोड्नुभन्दा अर्को विकल्प नरहेको उल्लेख गरे ।

    उनले भने, “घुमाउने पुल जसरी पनि निर्माण गर्नुपर्नेछ । यहाँ राष्ट्रपतिको पनि चासो छ । काम गर्नुस्, नगर्ने भए भन्नुस् ।” मन्त्री घिसिङले घुमाउने पुलको डिजाइन परिवर्तन गरी सडक विभागमा आएकोबारे तत्कालै डिजाइन स्वीकृत गर्न सडक विभागलाई निर्देशन दिए । उनले भने, “पुरानै डिजाइनमा पनि नौ वर्षसम्म किन काम नगर्नुभएको ? विकास निर्माणमा ढिलासुस्ती सैह्य हुँदैन ।”

    आँबुखैरेनी गाउँपालिका–५ र भरतपुर महानगरपालिका–२९ घुमाउने जोड्ने त्रिशूली नदीमाथिको घुमाउनेमा सम्झौताअनुसार काम भएको भए यतिबेला पक्की पुल बनिसक्थ्यो । एघार वर्ष अगाडि घुमाउनेमा पुल निर्माण थालिए पनि अहिलेसम्म दुईतिरको भागमा पिल्लर मात्रै ठडिएको छ । मृत सञ्जीवनी निर्माण कम्पनी हेटौँडासँग पहिलोपटक विसं २०७० असारमा उक्त पुल निर्माणका लागि सम्झौता भएको थियो । बारम्बारको म्याद थप र डिजाइन परिवर्तन पछि अन्तिम पटक विसं २०७५ माघमा निर्माणका लागि पुनः सम्झौता गरेकामा विसं २०७८ चैतमा पुल निर्माण सकिनुपर्नेमा अहिलेसम्म जम्मा करिब ५० प्रतिशत मात्र काम भएको सडक डिभिजन कार्यालयले जनाएको छ ।

    उक्त पुल १०५ मिटर लम्बाइ र फुटपाथसहित ११ मिटर चौडाइ रहने छ । सम्झौता बेला पुलको लागत रु नौ करोड ५६ लाख थियो । गण्डकी प्रदेशलाई चितवनको नारायणगढसम्म जोड्ने सबैभन्दा छोटो दूरीको बुद्धसिंहमार्गको घुमाउनेको उक्त मोटरेबल पुलको निर्माण सम्पन्नपश्चात् पोखरा र दमौलीलाई नारायणगढ आउन जान हाल सञ्चालन भइरहेको मुग्लिङ–नारायणगढ सडकभन्दा २३ किलोमिटरको दूरी छोटो पर्छ । घुमाउनेमा मोटरेबल पुल नहुँदा यातायातका साधन तनहुँकै सिमानामा पुगेर फर्कन बाध्य छन् ।