Category: फिचर

  • एनपिएल फाइनल शनिबार, सुदूरपश्चिम र लुम्बिनी उपाधी भिडन्तमा

    एनपिएल फाइनल शनिबार, सुदूरपश्चिम र लुम्बिनी उपाधी भिडन्तमा

    काठमाडौँ, २६ मङ्सिरः यहाँ जारी दोस्रो यामको नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनल खेल शनिबार हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा दिउँसो ३ः३० बजे हुने फाइनल खेलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्नेछन् । सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगरलाई ७७ रनले हराउँदै उपाधि नजिक पुगेको हो । लुम्बिनीले पनि दोस्रो क्वालिफायरमा विराटनगरलाई नै ४० रनले पाखा लगाउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो । पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग पराजित भएको विराटनगरले दोस्रो क्वालिफायर खेल्ने मौका पाएको थियो ।

    दीपेन्द्रसिंह ऐेरीको कप्तानीमा रहेको सुदूरपश्चिम उपाधि दाबेदार टोली हो । गत वर्ष फाइनलमा जनकपुर बोल्टससँग ५ विकेटले पराजित भएको सुदूरपश्चिम यसपटक उपाधि रक्षा गर्ने लक्ष्यमा छ । गत संस्करणमा लिग चरणबाटै बाहिरिएको रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनी यसपटक जसरी भए पनि ट्रफी भित्र्याउने दाउमा छ ।

    लिग चरणमा भएको यी दुवबैबीचको खेलमा सुदूरपश्चिमले ७ विकेटको जित हात पारेको थियो । एपिएलको विजेताले रु एक करोड १० लाख पुरस्कार प्राप्त गर्नेछ । दोस्रो हुने टोलीले रु ५१ लाख, तेस्रो टोलीले रु २५ लाख र चौथो रु १५ लाख प्राप्त गर्नेछ । नेपाल क्रिकेट सङ्घको आयोजनामा मङ्सिर १ गतेदेखि सुरू भएको प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको थियोे ।

  • नारायणगढ–बुटवल सडक : पूर्वी खण्डमा ३३ वटा पुल निर्माण

    नारायणगढ–बुटवल सडक : पूर्वी खण्डमा ३३ वटा पुल निर्माण

    त्रिवेणी (नवलपरासी), २६ मङ्सिर ः नारायणगढ–बुटवल सडक विस्तार आयोजनाअन्तर्गत पूर्वी खण्डमा ३३ वटा पुल निर्माणको काम सकिएको छ । योजनाको पूर्वी खण्ड नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा पर्ने ३३ वटा पुल निर्माणको काम सकिएको नारायणगढ–बुटवल सडक विस्तार आयोजनाका सूचना अधिकारी शिव खनालले बताए ।

    गैँडाकोटदेखि दाउन्नेसम्मको पूर्वी खण्डमा ३४ वटा पुल निर्माण गर्नुपर्नेमा अब एउटा पुल निर्माणको काम बाँकी रहेको सूचना अधिकारी खनालले बताए । यस खण्डमा २५ मिटर लम्बाइसम्मका छोटा २२ वटा पुल र २५ मिटरभन्दा लामा १२ वटा पुल निर्माण गर्नुपर्नेमा एउटा पुलमात्र निर्माणको काम बाँकी रहेको सूचना अधिकारी खनालले जानकारी दिए ।


    सूचना अधिकारी खनालका अनुसार लामा पुलमा पनि दुई सय मिटरभन्दा लामा गिरुवारी खोला, अरुणखोला र विनयी खोलाको पुलमध्ये अरुणखोलाको पुलमात्र निर्माणको काम बाँकी छ । अरुणखोला पुलको काम अन्तिम चरणमा रहेको छ । निर्माण गरिएका पुलमध्य कावासोतीको केरुङ्गे खोला र चोरमाराको गिरुबारी खोलामा ‘एप्रोच’ सडकको काम भइरहेको छ । केही दिनमा यी पुलबाट सवारी सञ्चालन हुने छ । “पुलहरू बनाउने काम लगभग अन्तिम चरणमा पुगेको छ, एउटा अरुणखोलाको पुलमा केही काम बाँकी छ, त्यो पनि चाँडै सकिन्छ”, सूचना अधिकारी खनालले भने । दाउन्ने खण्डमा केही कल्भर्टको काम बाँकी रहेकाले ती कल्भर्ट निर्माणसमेत अन्तिम चरणमा चलिरहेको छ ।

    नारायणगढ–बुटवल सडक विस्तार आयोजनाको हालसम्म भौतिक प्रगति ७६ प्रतिशत पुगेको छ । पूर्वी खण्डमा दाउन्नेबाहेकका क्षेत्रमा कालोपत्रको धेरैजसो काम भएकाले यात्रा सहज बनेको छ । दाउन्ने क्षेत्रमा भने अझै सडक ढलानको काम बाँकी रहेकाले यात्रा सहज हुनसकेको छैन । नारायणगढ–बुटवल सडक विस्तारको काम २०७५ माघ २४ गते सम्झौता भएर २०७९ साउन २२ गते सम्पन्न गर्नेगरी चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालिले काम सुरु गरेको थियो । नारायणगढ–बुटवल सडकको कुल एक सय १३ किलोमिटरलाई दुई खण्डमा विभाजन गरी काम अघि बढाइएको थियो ।

    निर्धारित समयमा काम सम्पन्न नभएपछि २०८१ साउन ८ गतेसम्मका लागि दोस्रोपटक म्याद थप भएको थियो । यस अवधिमा समेत काम सम्पन्न भएपछि गत साउनमा २०८२ साउन ८ गतेसम्मका लागि तेस्रोपटक म्याद थप गरिएको थियो । अहिले चौथोपटक २०८३ असारसम्म म्याद थप गरिएको छ ।

    एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा अघि बढेको सडक विस्तार योजनाको दुवै खण्ड गरेर कुल रु १६ अर्ब ९९ करोड ५२ लाख ९६ हजार लागत रहेको छ । एक सय १३ किलोमिटर सडकमध्ये ७० किलोमिटर चार लेन, २९ किलोमिटरमा चार लेनसहित दुवैतर्फ छ–छ मिटरको सर्भिस लेन हुनेछ । दाउन्नको १४ किलोमिटर क्षेत्रमा तीन लेनको सडक निर्माण हुनेछ ।

  • अमेरिकी डलरको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा, अन्यको कति ?

    अमेरिकी डलरको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा, अन्यको कति ?

    काठमाडौँ, २६ मङ्सिर स् नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रूपैयाँ ३० पैसा र बिक्रीदर १४४ रूपैयाँ ९० पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रूपैयाँ ०९ पैसा र बिक्रीदर १६९ रूपैयाँ ७९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रूपैयाँ १२ पैसा र बिक्रीदर १९३ रूपैयाँ ९२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८१ रूपैयाँ १८ पैसा र बिक्रीदर १८१ रूपैयाँ ९३ पैसा कायम गरिएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिददर ९६ रूपैयाँ १० पैसा र बिक्रीदर ९६ रूपैयाँ ५० पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रूपैयाँ ६१ पैसा र बिक्रीदर १०५ रूपैयाँ ०४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १११ रूपैयाँ ५५ पैसा र बिक्रीदर ११२ रूपैयाँ ०२ पैसा तोकिएको छ ।

    जापानी येन १० को खरिददर नौ रूपैयाँ २६ पैसा र बिक्रीदर नौ रूपैयाँ ३० पैसा, चिनियाँ युआन एकको खरिददर २० रूपैयाँ ४४ पैसा र बिक्रीदर २० रूपैयाँ ५३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रूपैयाँ ४५ पैसा र बिक्रीदर ३८ रूपैयाँ ६१ पैसा, कतारी रियाल एकको खरिददर ३९ रूपैयाँ ५९ पैसा र बिक्रीदर ३९ रूपैयाँ ७५ पैसा कायम भएको छ ।

    केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रूपैयाँ ५४ पैसा र बिक्रीदर चार रूपैयाँ ५६ पैसा, युएई दिराम एकको खरिददर ३९ रूपैयाँ २९ पैसा र बिक्रीदर ३९ रूपैयाँ ४५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रूपैयाँ ११ पैसा र बिक्रीदर ३५ रूपैयाँ २६ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ८० पैसा र बिक्रीदर नौ रूपैयाँ ८५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रूपैयाँ ६१ पैसा र बिक्रीदर १५ रूपैयाँ ६८ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रूपैयाँ ६४ पैसा र बिक्रीदर २२ रूपैयाँ ७३ पैसा तोकिएको छ ।

    राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रूपैयाँ ५४ पैसा र बिक्रीदर १८ रूपैयाँ ६२ पैसा, कुवेती दिनार एकको खरिददर ४७० रूपैयाँ ४० पैसा र बिक्रीदर ४७२ रूपैयाँ ३६ पैसा, बहराइन दिनार एकको खरिददर ३८२ रूपैयाँ ७८ पैसा र बिक्रीदर ३८४ रूपैयाँ ३८ पैसा, ओमनी रियाल एकको खरिददर ३७४ रूपैयाँ ८० पैसा र बिक्रीदर ३७६ रूपैयाँ ३६ पैसा छ । भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकेको छ ।

    राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

  • निर्वाचन ८३ दिन बाँकी : जनसङ्ख्याका आधारमा समावेशी प्रतिनिधित्व गराउन समिति गठन

    निर्वाचन ८३ दिन बाँकी : जनसङ्ख्याका आधारमा समावेशी प्रतिनिधित्व गराउन समिति गठन

    काठमाडौँ, २६ मङ्सिर । निर्वाचन आयोगले जनसङ्ख्याका आधारमा समानुपातिकतर्फको प्रतिशत निर्धारणको प्रक्रिया अगाडि बढाएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र, २०७४ ले गरेको व्यवस्थाबमोजिम दलित, आदिवासी, जनजाति, खस आर्य, मधेसी, थारू, मुस्लिम समूहका लागि प्रतिशत निर्धारण गर्न लागिएको हो ।

    जनसङ्ख्याका आधारमा समावेशी समूहको प्रतिनिधित्व गराउने सन्दर्भमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव सुभाषकुमार भट्टराईको संयोजकत्वमा निर्वाचन आयोग, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रतिनिधि रहेको छ सदस्यीय समिति गठन गरिएको छ ।

    सो समितिले राष्ट्रिय जनगणनाका आधारमा समावेशी आधार प्रतिशत तय गरी तीन दिनभित्र प्रतिवेदन पेस गर्ने कार्यादेश तोकिएको प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । राष्ट्रिय जनगणना, २०७८ अनुसार जनसङ्ख्याका आधारमा प्रतिशत निर्धारण गर्ने आयोगको तयारी छ ।

    आयोगले त्यसका लागि गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, मुख्यसचिव सुमनराज अर्याल, निर्वाचन आयुक्त डा जानकी तुलाधरसहितका आयोगका पदाधिकारी, गृहसचिव रामेश्वर दङ्गाल, प्रमुख तथ्याङ्क अधिकृत मधुसुदन बुर्लाकोटीबीच छलफल भएको आयोगका प्रवक्ता भट्टराईले जानकारी दिए ।

  • सम्पादकहरुसँग ओलीको भेट, के भने ?

    सम्पादकहरुसँग ओलीको भेट, के भने ?

    काठमाडौँ, २५ मङ्सिरः नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा सहमति भएमा वा प्रतिनिधिले चुनेमा आफू पार्टीको अध्यक्षमा पुनः रहनसक्ने बताएका छन् । प्रेस चौतारी नेपालद्वारा आज आयोजित सम्पादकहरूसँगको संवाद कार्यक्रममा अध्यक्ष ओलीले महाधिवेशनले यथास्थितिमा केही परिवर्तन दिने र नेतृत्वमा क्रमशः पुस्तान्तरण तथा हस्तान्तरण हुने विश्वास व्यक्त गरे । उनले कुनै पूर्वसर्त राखेर आफूले कुनै दबाबमा काम नगर्ने स्पष्ट गर्दै बाहिर प्रस्ताव दिनुभन्दा पार्टीभित्र बसेर सहमतिको पहल गर्न वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायत नेतालाई आग्रह गरे ।


    पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले एमाले लामो इतिहास भएको पार्टीका रूपमा रहेको बताउँदै यो जनचाहना अनुसार चल्ने पार्टी भएकाले यसले देश बनाउने मार्गमा आफूलाई सक्रिय बनाइरहेको उल्लेख गरे । अध्यक्ष ओलीले संसद् पुनःस्थापनालगायत राष्ट्रिय राजनीतिका विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको भेटमा संवाद भएको जनाउँदै एमाले संसद् पुनःस्थापनाको पक्षमा रहेको बताए ।

    अदालतको फैसलालाई चित्त नबुझे पनि मान्दै आएको सन्दर्भ उल्लेख गर्दै अध्यक्ष ओलीले गत भदौ २३ र २४ गतेको आन्दोलनबारे छानबिन गर्न गठित जाँचबुझ आयोगमा आफूले बयान दिन जानुपर्ने कानुनी व्यवस्था नभएको जिकिर गरे । एमालेको महाधिवेशन यही मङ्सिर २७ देअि २९ गतेसम्म काठमाडौँमा हुँदैछ ।

  • मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन

    मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन

    काठमाडौँ, २५ मङ्सिर । नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकले सरकार र जेनजी प्रतिनिधिबीच बुधबार भएको सम्झौता अनुमोदन गरी सम्बन्धित मन्त्रालयबाट उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भएको बैठकले उक्त सम्झौतालाई नेपाल राजपत्रमा अतिरिक्ताङ्कका रुपमा प्रकाशन गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता जगदीश खरेलले जानकारी दिए । बुधबार प्रधानमन्त्री सुशीला कार्की र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति भएको थियो ।

    बैठकले गत भदौ २३ र २४ गतेको घटनाका सम्बन्धमा छानबिन गर्न गठित जाँचबुझ आयोगको कार्यक्षेत्र विस्तार गर्ने निर्णय गरेको मन्त्री खरेलले बताए । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आयोगमा बयान दिन जाने विषयमा दिएको अभिव्यक्ति सम्बन्धमा सोधिएको प्रश्नमा मन्त्री खरेलले आयोगको कार्यक्षेत्र विस्तार गरिएको र आयोगले आफ्नो काम कानुनबमोजिम गर्ने विश्वास रहेको प्रतिक्रिया दिए ।
    आजको बैठकमा भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएका सार्वजनिक सम्पति र भौतिक क्षतिको पुनः मूल्याङ्कन तथा पुनःनिर्माण गर्न गठित समितिको प्रतिवेदन प्रधानमन्त्री कार्कीलाई हस्तान्तरण गरिएको थियो । बैठकले न्याय सेवाका सहसचिव पुष्कर सापकोटालाई सचिवमा बढुवा गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदस्थापन गर्ने निर्णय गरेको छ । यस्तै समाजकल्याण परिषद्को रिक्त सदस्यसचिवमा पनि नियुक्ति गरिएको मन्त्री खरेलले जानकारी दिए ।

  • राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस

    राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस

    काठमाडौँ, २५ मङ्सिर । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि नवनियुक्त राजदूतहरूले आआफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । राष्ट्रपति भवनमा आज आयोजित छुट्टाछुट्टै विशेष समारोहमा उहाँहरुले आआफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

    नेपालका लागि उज्वेकिस्तानका राजदूत सर्दोर मिर्जायुसुपोभिच रुस्तामबायेभ, रोमानियाकी राजदूत सेना लतिफ, ताजिकिस्तानका राजदूत लुक्मोर बोबोकालोन्जोदा, आइसल्याण्डका राजदूत बेनेडिक्ट हेओस्कुल्द्सन र क्युवाका राजदूत हुवान कार्लोस मार्सान अगुइलेराले ओहोदाको प्रमाणपत्र बुझाएका हुन् ।


    उक्त समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको थियो । नवनियुक्त राजदूतहरूलाई लाजिम्पाटदेखि राष्ट्रपति भवनसम्म रिसल्ला सहितको बग्गीमा सवार गराइएको थियो ।

  • एमाले महाधिवेशन : कार्यकर्ताको आगमनले चहलपहल बढ्यो

    एमाले महाधिवेशन : कार्यकर्ताको आगमनले चहलपहल बढ्यो

    भक्तपुर, २५ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ महाधिवेशनको उद्घाटनस्थल भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको १०८ रोपनी चौरमा हुँदै छ । महाधिवेशनका लागि देशभरबाट आएका प्रतिनिधिका कारण यहाँ आज चहलपहल बढेको छ । विभिन्न जिल्लाबाट आएका महाधिवेशन प्रतिनिधिका कारण उद्घाटनस्थलमा घुइँचो लागेको थियो । उद्घाटनस्थलमा विश्वसम्पदा सूचीमा रहेको चाँगुनारायण मन्दिरदेखि भक्तपुरसहित उपत्यकाका ऐतिहासिक, पुरातात्विक सम्पदा र परम्परा झल्कने गरी मञ्च तयार गरिएको छ । मञ्चको दायाँबायाँ हिमाल झल्किने आकृति निर्माण गरिएका छन् ।

    आज रातभर पनि उद्घाटनस्थलमा मञ्चलगायत विभिन्न संरचना निर्माण कार्य जारी रहने मञ्च निर्माणमा खटिएका नेकपा (एमाले) भक्तपुरका जिल्ला उपाध्यक्ष एवं बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले जानकारी दिए । ऐतिहासिक सांस्कृतिक सम्पदाले भरिपूर्ण भक्तपुरको सम्पदाको झल्को दिनेगरी मल्लकालीन शैलीमा चाँगुनारायण मन्दिरको स्वरुपमा मञ्च निर्माण गरिएको उनले बताए ।


    उद्घाटनस्थलको मञ्चमा नेवारी कला, संस्कृति झल्कने दृश्य राखिएका छन् । उद्घाटनका दिन करिब तीन लाख व्यक्ति बस्न मिल्ने व्यवस्था गर्न लागिएको उपाध्यक्ष थापाले जानकारी दिए । एमालेको ११औँ महाधिवेशनको उद्घाटन यही मङ्सिर २७ गते पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम तय भएको छ ।

  • लुम्बिनी लायन्स एनपिएल  फाइनलमा, उपाधिका लागि सुदूरपश्चिमसँग खेल्ने

    लुम्बिनी लायन्स एनपिएल फाइनलमा, उपाधिका लागि सुदूरपश्चिमसँग खेल्ने

    काठमाडौँ,२५ मङ्सिरः लुम्बिनी लायन्स दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा पुगेको छ । आज सम्पन्न दोस्रो क्वालिफायरमा विराटनगर किङ्सलाई ४० रनले पराजित गरेर लुम्बिनीले उपाधि भिडन्त पक्का गरेको हो । लुम्बिनीले अब फाइनलमा शनिबार सुदूरपश्चिम रोयल्ससँग खेल्ने छ ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको लुम्बिनी लायन्सले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ३४ रन बनायो । एक सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगरले १७ दशमलव ४ ओभरमा सवै विकेट गुमाउँदै ९४ रन मात्र बनाउन सक्यो । विराटनगरका लागि साम हेजल्टले सर्वाधिक ३४ रन बनाए । यस्तै नरेन भट्टले २१ रन बनाए । बलिङतर्फ लुम्बिनीका लागि तिलक भण्डारीले तीन, रूबेन ट्रम्पलम्यान, अभिषेश गौतम र जेजे स्मिथले दुई दुई विकेट लिए ।

    त्यसअघि पहिला ब्याटिङ गर्ने क्रममा लुम्बिनिका लागि डार्शी शर्टले सर्वाधिक ४५ रनको योगदान दिएका थिए । उनले ४१ बल खेल्दै तीन चौका र एक छक्का प्रहार गरेका थिए । त्यसैगरी कप्तान रोहितकुमार पौडेलले ३० बलमा दुई चौका र दुई छक्काको मद्दतमा ३४ रन बनाए । यस्तै निशोसन डिक्वेलाले २२ बलमा चार चौका प्रहार गर्दै २९ रन जोडे । रुबेल ट्रम्पलम्यानले अविजित ११ रन बनाए । बलिङतर्फ विराटनगरका सुवास भण्डारी र प्रशित जिसिले समान तीन\तीन तथा कप्तान सन्दीप लामिछानेले दुई विकेट लिए । एनपिएलको फाइनल खेल शनिबार हुनेछ ।

  • जेन जी आन्दोलनमा सरकारी र निजी क्षेत्रतर्फ ८४ अर्ब ४५ करोड ७७ लाख बराबर आर्थिक क्षति

    जेन जी आन्दोलनमा सरकारी र निजी क्षेत्रतर्फ ८४ अर्ब ४५ करोड ७७ लाख बराबर आर्थिक क्षति

    काठमाडौँ, २५ मङ्सिर । जेनजी आन्दोलनमा भएको क्षतिको मूल्याङ्कन तथा सार्वजनिक संरचनाको पुनःनिर्माण योजना तयार गर्न गठित समितिले आफ्नो प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीसमक्ष पेस गरेको छ । उक्त समितिका संयोजक एवं राष्ट्रिय योजना आयोगका सचिव रविलाल पन्थले आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रतिवेदन सारांशको प्रस्तुतीकरण गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयले राष्ट्रिय योजना आयोगका सचिवको संयोजकत्वमा गत असोज ५ गते यो समिति गठन भएको थियो । समितिले ७५ दिनमा आफ्नो प्रतिवेदन बुझाएको हो ।

    समितिका अनुसार जेनजी आन्दोलनका क्रममा सातै प्रदेशमा क्षति भएको थियो । यस्तो क्षति हुने जिल्ला ५४ र स्थानीय तह २६२ रहेका छन् । प्रतिवेदनअनुसार भदौ २३ गते २० जना, २४ गते ३७ जना र त्यसपछि २० जना गरी कूल ७७ जनाको ज्यान गएको छ । दुई हजार ४२९ जना घाइते भएकामा १७ जना १३ वर्षमुनिका छन् । १३ देखि २८ वर्षका एक हजार ४३३ जना घाइते भएको प्रतिवेदनमा उल्लेख छ । समग्र भौतिक क्षति हेर्दा रु ८४ अर्ब ४५ करोड ७७ लाख बराबरको भएको समितिको मूल्याङ्कन छ । जसमध्ये प्रभावित निकाय÷संस्था दुई हजार १६८ छन् । दुई हजार ६७१ भवनमा क्षति पुगेको छ । जसमा क्षतिको मूल्याङ्कन रु ३९ अर्ब ३१ करोड ७५ लाख बराबर रहेको छ ।

    १२ हजार ६५९ वटा सवारीसाधनमा क्षति पुग्दा रु १२ अर्ब ९३ लाख ६१ हजार बराबरको नोक्सान हुन पुगेको छ । सरकारी÷सार्वजनिक क्षेत्रको रु ४४ अर्ब ९३ करोड ७३ लाख बराबरको क्षति पुगेको छ । निजी क्षेत्रको क्षतिको मूल्याङ्कन रु ३३ अर्ब ५४ करोड ८७ लाख बराबर छ । सामुदायिक तथा अन्य क्षेत्रको ५ अर्ब ९७ करोड १७ लाख रुपैयाँ बराबरको क्षति भएको छ । सरकारी क्षतिमा तीन तहमध्ये सङ्घीय सरकारको ६८ प्रतिशत छ भने प्रदेश र स्थानीय तहको क्रमशः १० र २२ प्रतिशत छ । समितिले पुनःनिर्माण कार्ययोजना पनि पेस गरेको छ । पुनःनिर्माण गर्न रु ३६ अर्ब ३० करोड २१ लाख बराबरको बजेट आवश्यक पर्ने अनुमान गरिएको छ ।

  • चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु

    चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु

    बेइजिङ, २५ मङ्सिर (रासस–एएफपी) । दक्षिणी चीनको आवासीय भवनमा आगलागी हुँदा १२ जनाको मृत्यु भएको चिनियाँ सरकारी मिडियाले बुधबार जनाएको छ । गुआङ्गडोङ प्रान्तको सान्टौमा रहेको चार तले भवनमा मङ्गलबार राति ९ः२० बजे सूरु भएको आगलागी राति १०ः०० बजे पछि नियन्त्रणमा लिएको स्थानीय अग्निशमन विभागले विज्ञप्ति मार्फत जनाएको छ । यस अघि गुआङडोङ र हङकङका आवासीय टावरहरूमा ठुलो आगलागी हुँदा १६० जनाको मृत्यु भएको थियो ।

    “आगोले भवनको १५० वर्ग मिटर क्षेत्रलाई असर गरेको जनाउदै चाओनान जिल्ला फायर एण्ड रेस्क्यु टोलीले आगलागीको कारण अनुसन्धान तथा र व्यवस्थापनको कार्य भइरहेको बताएको छ । यस अघि बुधबार बिहानको प्रारम्भिक रिपोर्टमा आठ जनाको मृत्यु भएको र चार घाइतेलाई अस्पताल लगिएको जनाइएको थियो । हाल चिनियाँ सरकारी समाचार एजेन्सि सिन्ह्वाले १२ जनाको मृत्यु भएको बताएको छ । गत महिना हङकङमा आगलागी भएपछि चीनले अग्ला भवनहरूमा आगोको खतरा विरुद्ध अभियानसमेत चलाएको छ ।

  • कम्बोडियासँगको सीमा विवादका कारण चार लाख थाई बासिन्दा विस्थापित

    कम्बोडियासँगको सीमा विवादका कारण चार लाख थाई बासिन्दा विस्थापित

    बैङ्कक, २५ मङ्सिर (रासस–सिन्ह्वा) । कम्बोडियासँग चलिरहेको सीमा विवादका कारण चार लाख भन्दा बढी थाई बासिन्दाहरूलाई आफ्नो आश्रय स्थल छोडी अनेत्र जना बाध्य पारेको थाई रक्षा मन्त्रालयका प्रवक्ता सुरासान्ट कोङ्सिरीले बुधबार बताउनु भएको छ । थाइल्यान्डको आर्मी एरिया कमान्डले सामाजिक सञ्जाल मार्फत विज्ञप्ति जारी गर्दै बुधबार स्थानीय समय अनुसार विहान ५ः०० बजे देखि सुरु भएको आक्रमण बुरिराम, सुरिन, सिसाकेट र उबोन रत्चथानी प्रान्तको सिमानाका धेरै क्षेत्रहरूमा भएको र अहिलेसम्म कुनै हताहत नभएको जनाएको छ ।

    विज्ञप्तिमा विहान ८ः४० मा कम्बोडियन पक्षबाट फायर गरिएको बीएम–२१ रकेट सुरिन प्रान्तको एक अस्पताल नजिकै अवतरण भए पछि बिरामी र कर्मचारीहरूलाई सुरक्षित आश्रयमा सारेको जनाइएको छ । थाई मिडियाका अनुसार थाइल्यान्ड र कम्बोडियाबिचको सीमा झडपले थाइल्यान्डको सीमावर्ती प्रान्तहरूमा ८०० भन्दा बढी विद्यालय र ठुलो सङ्ख्यामा अस्पतालहरू अस्थायी रूपमा बन्द गर्न बाध्य पारेको छ । कम्बोडिया–थाइल्यान्ड सीमा द्वन्द्व आइतबार दिउँसो देखि पुनः सुरु भएको छ भने दुवै पक्षले एक अर्कालाई आक्रमण सुरु गरेको आरोप लगाउदै आएका छन् ।

  • बङ्गलादेशमा सन् २०२५ मा डेङ्गुका कारण चार सय भन्दा बढीको मृत्यु

    बङ्गलादेशमा सन् २०२५ मा डेङ्गुका कारण चार सय भन्दा बढीको मृत्यु

    ढाका, २५मङ्सिर (रासस–सिन्ह्वा) । बङ्गलादेशमा डेंगुको प्रकोपका कारण यस वर्षमा अहिलेसम्म ४०१ जनाको ज्यान गएको बङ्गलादेशको स्वास्थ्य विभागको तथ्याङ्कले बुधबार देखाएको छ । स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा महानिर्देशनालय (डिजिएचएस) ले जारी गरेको तथ्याङ्क अनुसार दक्षिण एसियाली मुलुक बङ्गलादेशमा जनवरी देखि डेङ्गु ज्वरोका सङ्क्रमितको सङ्ख्या ९८ हजार ७०५ पुगेको छ । बङ्गलादेशमा पछिल्लो २४ घण्टामा थप तीन जनाको मृत्यु भएको र थप ४२१ जनालाई डेंगु संक्रमण भएको रेकर्ड गरेको जनाइएको छ ।

    डिजिएचएसका अनुसार डेङ्गुका कारण मृत्यु हुनेको सङ्ख्या ४०१ नागेको छ, जसमा डिसेम्बरमा १९ र नोभेम्बरमा १०४ र अक्टोबरमा ८० जनाको मृत्यु भएको छ । नोभेम्बरमा २४ हजार ५३५ जनालाई नयाँ सङ्क्रमण भएकोमा डिसेम्बरमा अहिलेसम्म ४ हजार ३०८ जना सङ्क्रमित भेटिएको जनाइएको छ ।


    तिव्र डेङ्गु सङ्क्रमण नियन्त्रण गर्न बङ्गलादेशी स्वास्थ्य अधिकारीहरूले लामखुट्टेको प्रजनन नियन्त्रण गर्न र लार्भा विरोधी अपरेसनहरू सञ्चालन गर्ने तयारी गरेको जनाइएको छ । डेङ्गु ज्वरो सङक्रमित एडिस लामखुट्टेको टोकाइबाट सर्ने भाइरल रोग हो । यस रोगले टाउको दुख्ने, उच्च ज्वरो आउने थकान, गम्भीर मांसपेशी र जोर्नी दुख्ने, बान्ता हुने चक्कर लमग्ने जस्ता लक्षणहरूसहित मानिसहरुलाई सिथिल बनाउने जनाइएको छ ।

  • आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द

    आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द

    वासिङ्टन डीसी , २५ मङ्सिर (रासस–एएनआई) । अमेरिकी विदेश विभागले आप्रवासन नियम र सीमा सुरक्षामा कडाई गरे पछि सन् २०२५ जनवरी देखि ८५ हजार भिसा रद्द गरेको घोषणा गरेको छ । सामाजिक सञ्जाल एक्स मार्फत विदेश विभागले कडा आप्रवासन निरीक्षणका लागि ट्रम्प प्रशासनको निरन्तर प्रतिबद्धतालाई जोड दिदै यस्तो घोषणा गरेका जनाएको छ । घोषणाको साथमा राष्ट्रपति डोनाल्ड ट्रम्पको तस्बिर “अमेरिकालाई फेरि सुरक्षित बनाउनुहोस भन्ने शब्दहरूसहित राखिएको थियो, जसले कडा भिसा नियमन राष्ट्रिय सुरक्षा प्रयासहरूको केन्द्रबिन्दु हो भन्ने प्रशासनको तर्कलाई बलियो बनाएको छ ।

    भिसा प्रणालीमा भएको कडाइलाई प्रष्ट पार्दै विदेश विभागका एक वरिष्ठ अधिकारीले रद्द गरिएका भिसा मध्ये आठ हजार भन्दा बढी विद्यार्थीहरूको रहेको खुलासा गर्नु भएको छ । असुरक्षित गाडी चलाउनु, चोरी र आक्रमण जस्ता अपराधहरूका कारणहरु पहिचान गरि गत वर्ष अधिकाशं भिसा रद्द गरेको अधिकारीलाई उद्धृत गर्दै सिएनएनले जनाएको छ । विभागको विगतका स्पष्टीकरणहरूमा भिसा म्याद सकिने र “आतङ्कवादलाई समर्थन लगाएतका कारणहरूले भिसा रद्द गरिएको जनाइएको छ ।

    गाजा द्वन्द्वसँग सम्बन्धित विरोध प्रदर्शनमा भाग लिने अन्तर्राष्ट्रिय विद्यार्थीहरू पनि त्यस्तै गरी कडा छानविनमा परेको जनाइएको छ । यो कार्यले गत अगस्तमा उल्लिखित विभागको योजना अनुरुप भएको र वैध अमेरिकी भिसा भएका पाँच करोड पचास लाख भन्दा बढी विदेशीहरूका लागि “निरन्तर जाँच“ प्रणाली लागू गर्न र देशमा बस्ने व्यक्तिहरूलाई निगरानी गर्ने उद्देश्यलाई कार्यन्वयन गरेको जनाइएको छ ।

    राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालमा, विदेश विभागले भिसा आवेदनहरूको समीक्षा र भिसा भएकाहरुको अनुगमनका लागि आफ्नो मापदण्ड विस्तार गरेको छ । प्रशासनले “एच–१बी” आवेदकहरूको जाँच पनि बढाएको छ, जुन विशेष विदेशी प्रतिभा खोज्ने अमेरिकी रोजगारदाताहरूका लागि एक प्रमुख कार्यक्रम हो । विस्तारित भिसा रद्द, तीव्र जाँच र फराकिलो छानविनले आप्रवासन नियन्त्रणलाई कडा बनाइ आप्रवासीहरु विचमा भएको उल्लङ्घनलाई थप चुस्त दुरुस्त बनाउने प्रशासनको व्यापक दबाबलाई चित्रण गर्दछ ।

  • मोरक्कोमा भवन भत्किँदा १९ जनाको मृत्यु, उद्धार कार्य तीव्र

    मोरक्कोमा भवन भत्किँदा १९ जनाको मृत्यु, उद्धार कार्य तीव्र

    रबात, मोरक्को, २५ मङ्सिर (रासस–एएफपी) । मोरक्कोको फे्स शहरमा दुई चारतले भवन भत्किँदा कम्तीमा उन्नाइस जनाको मृत्यु भएको छ भने सोह्र जना घाइते भएका छन् । स्थानीय अधिकारीहरूले उद्धार कार्य अझै जारी रहेको र पुरिएका अरू मानिसलाई जोगाउने प्रयास भइरहेको बताएका छन् ।

    भवन फे्सको अल–मस्सिरा क्षेत्रमा रहेका थिए, र आठ परिवार त्यहाँ बस्दै आएका थिए । प्रारम्भिक दृश्यमा उद्धारकर्मीहरूले शव बोकेर सवारीमा लैजाँदै गरेको देखिएको छ, जबकि स्थानीय बासिन्दाहरू उद्धार प्रयास हेर्न जम्मा भएका थिए । स्थानीय अधिकारीहरूले मृतकको सङ्ख्या आगामी घण्टामा बढ्न सक्ने चेतावनी दिएका छन् ।

    सुरक्षा अधिकारीहरूले वरिपरि क्षेत्र सुरक्षित गर्ने आवश्यक कदमहरू उठाइरहेका छन् । घाइतेहरू फे्सको विश्वविद्यालय अस्पताल केन्द्रमा उपचारका लागि भर्ना गरिएका छन् । यो दुर्घटना पछिल्ला वर्षहरूमा यस्तै प्रकारको सबैभन्दा घातक घटना मानिएको छ । गत वर्ष फेब्रुअरीमा फे्सको पुरानो शहरमा एउटा घर भत्किँदा पाँच जनाको मृत्यु भएको थियो ।

    करिब एक दशकअघि, सन् २०१६ मा एक हप्ताभित्र दुई भवन भत्किएका थिए । पश्चिमी शहर मेराकेशमा एउटा घर भत्किँदा दुई बच्चाको मृत्यु भएको थियो भने अर्को चारतले भवन भत्किँदा चार जनाको मृत्यु र दुई दर्जन बढी घाइते भएका थिए । सन् २०१४ मा पश्चिमी शहर कासाब्लाङ्कामा तीन भवन भत्किँदा तेइस जनाको मृत्यु भएको थियो ।

  • दक्षिण कोरियाको श्रम बजारमा सुधार

    दक्षिण कोरियाको श्रम बजारमा सुधार

    सिओल, २५ मङ्सिर (रासस–सिन्ह्वा) । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ । विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर व्याख्या गरेका छन् । यसले आर्थिक स्थिरता र समाजमा वृद्ध व्यक्तिहरूको सक्रिय सहभागितालाई देखाउँछ । १५ वर्षभन्दा माथिका कुल रोजगारी वर्षैपिच्छे ०।८ प्रतिशतले बढेर दुई करोड ९० लाख ४६ हजार पुगेको छ, जसअन्तर्गत ६० वर्षभन्दा माथिका व्यक्तिहरूका रोजगारी मात्र तीन लाख ३३ हजारले बढेका छन्, तर १५–२९ वर्ष उमेर समूहमा एक लाख ७७ हजार र ४० को दशकमा ९ हजारले रोजगारी घटेको छ ।

    स्वास्थ्य तथा सामाजिक सेवा, व्यवसाय व्यवस्थापन, खेलकुद तथा मनोरञ्जन क्षेत्रमा क्रमशः दुई लाख ८१ हजार, ६३ हजार र ६१ हजार रोजगारी बढेका छन्, भने निर्माण र उत्पादन क्षेत्र क्रमशः एक लाख ३१ हजार रहेका छन् । नियमित र अनियमित कर्मचारी सङ्ख्या बढे पनि दैनिक मजदुर र एक्लै व्यवसाय गर्ने स्व–रोजगार घटेका छन् । रोजगार दर १५ वर्षमाथिका जनसङ्ख्यामा ०.२ प्रतिशतले बढेर ६३.४ प्रतिशत पुगेको छ, जबकि ओईसीडी विधिअनुसार १५–६४ वर्ष समूहको दर ७०.२ प्रतिशतमा उक्लिएको छ । बेरोजगारी दर २.२ प्रतिशतमै स्थिर रहे पनि बेरोजगार सङ्ख्या पाँच हजारले बढेर ६ लाख ६१ हजारमा पुगेको छ । आर्थिक रूपमा निष्क्रिय जनसङ्ख्या अलि घटेको छ ।

  • विश्वव्यापी व्यापारमा वृद्धि, पूर्वी एशियाको योगदान उच्च

    विश्वव्यापी व्यापारमा वृद्धि, पूर्वी एशियाको योगदान उच्च

    जेनेभा,२५ मङ्सिर (रासस–सिन्ह्वा) । संयुक्त राष्ट्र व्यापार र विकास निकायले विश्वव्यापी व्यापार सन् २०२५ मा पहिलो पटक ३५ खर्ब अमेरिकी डलर भन्दा बढी पुग्ने अपेक्षा गरिएको जनाएको छ । विश्वव्यापी व्यापारमा भौगोलिक र राजनीतिक तनाव, लागत वृद्धि र असमान मागका बावजुद पनि व्यापार निरन्तर बढ्दै गएको प्रतिवेदनले देखाएको छ । प्रतिवेदन अनुसार, यस वर्ष विश्वव्यापी व्यापार वर्षैपिच्छे करिब सात प्रतिशतले वृद्धि हुने अनुमान छ । मूल्य वृद्धिले नभई व्यापारको मात्रा वृद्धि मुख्य कारण रहेको देखिन्छ, जसले विश्वव्यापी माग स्थिर रहेको सङ्केत गर्दछ ।

    पूर्वी एशियामा निर्यात वृद्धि सबैभन्दा धेरै देखिएको छ, जहाँ व्यापार नौ प्रतिशतले बढेको छ, र क्षेत्रीय भित्रको व्यापार १० प्रतिशतले बढेको छ । अफ्रिका र दक्षिण व्यापारमा पनि बलियो वृद्धि देखिएको छ, जसले उदाउँदो अर्थतन्त्रहरूको विश्वव्यापी व्यापारमा भूमिका बढ्दै गएको देखाउँछ । प्रतिवेदनले मित्र राष्ट्रहरूसँग र नजिकका भौगोलिक साझेदारसँगको व्यापार बढाउने प्रवृत्ति बढिरहेको उल्लेख गरेको छ, जसले विश्वव्यापी व्यापारको ढाँचा फेरबदल गर्दैछ । आगामी वर्ष सन् २०२६ मा व्यापार वृद्धिदर अलि सुस्त हुने पनि प्रतिवेदनले अनुमान गरेको छ, जसका कारणमा विश्वव्यापी आर्थिक क्रियाकलापमा कमी, ऋण वृद्धि, व्यापार लागत बढ्नु र अनिश्चितता रहनु समावेश छ ।

  • कञ्चनपुरको मोहना नदी-दैजी सडक निर्माणको ठेक्का तोडियो

    कञ्चनपुरको मोहना नदी-दैजी सडक निर्माणको ठेक्का तोडियो

    २४ मंसिर, काठमाडौं । हुलाकी राजमार्गअन्तर्गत कञ्चनपुरको मोहना नदी —डोकेबजार-बेलौरी-बेलडाँगी-दैजी सडक खण्ड निर्माणको ठेक्का तोडिएको छ ।
    सडक विभाग मातहतको हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय धनगढीले बिहीबार सडक निर्माणका लागि बाबा हन्स-सिद्धीसाई संयुक्त उपक्रम (जेभी) काठमाडौंसँगको ठेक्का सम्झौता अन्त्य गरिएको सार्वजनिक सूचना जारी गरेको छ । सडक स्तरोन्नतिका लागि आर्थिक वर्ष २०७३\७४मा ठेक्का सम्झौता भएको थियो । करिब २० किलोमिटर सडकमध्ये ५ किलोमिटर मात्र कालोपत्रे गर्न बाँकी रहेको छ । निर्माण प्रगति करिब ८२ प्रतिशत रहेको छ ।


    पटक—पटक ताकेता गर्दा काम नगरेको, प्रतिबद्धता बमोजिम काम नगरेको र साइट ठप्प बनाएकाले ठेक्का तोडिएको योजना कार्यायल धनगढीले जनाएको छ । ठेक्का सम्झौता रद्ध गरिएको निर्माण व्यवसायीको कार्य सम्पादन जमानत जफत गरिनेछ । योजना कार्यालय धनगढीबाट गत १४ कात्तिकमा ठेक्का किन नतोड्ने रु भन्दै निर्माण व्यवसायीलाई १५ दिने स्पष्टीकरण सोधिएको थियो । निर्माण व्यवसायीबाट पेश भएको स्पष्टीकरण चित्तबुझ्दो नभएकाले सार्वजनिक खरिद कानूनमा भएको व्यवस्था बमोजिम ठेक्का रद्ध गरिएको हो ।


    निर्धारित अवधिमा कार्य सम्पन्न हुन नसकेको कारण र कार्य सम्पन्न गर्न सक्ने अद्यावधिक कार्यतालिका, स्रोत परिचालनको भरपर्दो योजना र कार्य सम्पन्न गर्ने प्रतिबद्धतासहित निर्माण व्यवसायीको आधिकारी प्रतिनिधि उपस्थित नभएको, पेश भएको स्पष्टीकरण चित्त बुझ्नो नभएको र कार्य सुचारु गर्नेतर्फसमेत तदारुकता नदेखाएको हुँदा सार्वजनिक खरिद ऐन तथा ठेक्का सम्झौता उल्लङ्गन गरिएको जनाइएको छ ।

    ऐनको प्रावधान बमोजिम कार्य सम्पादन जमानत वापतको रकम जफत गरिने, बाँकी काम पूरा गर्न आवश्यक पर्ने रकम सरकारी बाँकी सरह असूल उपर गरिने र कालोसूचीमा राख्न सिफारिस गरिएको जनाइएको छ । हालसम्मको अद्यावधिक भएको काम र बाँकी कामको नापजाँच मूल्याकन गरी वित्तीय फरफारख गर्न १५ दिनभित्र कार्यालयमा उपस्थित हुन अनुरोध गरिएको छ । निर्माण व्यवसायी कार्यालयमा उपस्थित नभएमा कार्यालयबाट नापचाँच गरिनेछ ।

  • दरबार सौन्दर्यीकरणपछि पर्यटक आकर्षण बढ्दै

    दरबार सौन्दर्यीकरणपछि पर्यटक आकर्षण बढ्दै

    गलकोट (बागलुङ), २५ मङ्सिरः एक सय वर्ष पुरानो बागलुङको ऐतिहासिक गलकोट दरबार अवलोनक गर्ने आन्तरिक पर्यटकको सङ्ख्या एक वर्षमै २० हजार पुगेको छ । यहाँको पुरानो सदरमुकाम रहेको गलकोटको हरिचौर बजारस्थित दरबारको संरक्षणसँगै दरबार क्षेत्रलाई थप सौन्दर्य बनाएपछि यहाँ आन्तरिक पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको हो । दरबार संरक्षण अभियानमा लागिरहनुभएका मन्जेस बम मल्लका अनुसार दरबारको सौन्दर्यीकरण र यहाँ खाने तथा बासोबासको व्यवस्थापनसमेत भएपछि आन्तरिक पर्यटकको आकर्षण बढेको हो ।

    द्वन्द्वकालमा तत्कालीन मल्ल राजाका सन्तान विस्थापित भएपछि जीर्ण भएको दरबार हाल पुरानै स्वरुपमा फर्काइएको छ । दरबारका झ्यालढोका पुरानै स्वरुपमा बनाइएका छन् भने रङरोगन र मर्मतपछि चिटिक्क बनाइएको छ । दरबार क्षेत्रमै तीन वर्षदेखि रेष्टुराँ सञ्चालनमा ल्याइएको छ । दरबार क्षेत्रमा रहेको पुरानो घर र गोठलाई मौलिक रूपमा पुनर्निर्माण गरी रेष्टुराँ सञ्चालनमा ल्याइएको हो ।

    गलकोट राज्य सञ्चालन भएको जीवित इतिहास रहेको दरबार संरक्षणसँगै पर्यटक आर्कषण गर्ने प्रमुख माध्यम बनेको तत्कालीन राजा भरतबम मल्लका नाति मञ्जेश बम मल्लले बताउनुभयो । उहाँले पुर्खाको नासोलाई संरक्षण गरेर पर्यटक लोभ्याउने नीतिअनुसार काम गर्दा गत वर्ष मात्र २० हजारले दरबार अवलोकन गरेको बताउनुभयो । दरबारमा तस्बिर खिच्न, भिडियो बनाउन, अध्ययन तथा अवलोकन गर्न आउनेको सङ्ख्या दैनिक रूपमा बढ्दै गएको मल्लले जानकारी दिनुभयो ।

    मल्लसहितका चार युवाले रु ५० लाख लगानीमा यहाँ रेष्टुराँ सञ्चालनमा ल्याउनुभएको छ । दरबार परिसरमा माछापोखरी बनाएर विभिन्न प्रजातिका माछा पाल्न थालिएको छ । उक्त गलकोट दरबार र वरपरको जग्गा मल्लकी आमा सरोजा मल्लको नाममा छ । विसं २०३९ मा राजा भरतबमको निधन भएको थियो । राजा मल्लको निधनपछि दरबार संरक्षणको जिम्मा छोरा माधव मल्ललाई दिइएको थियो । परिवारसहित दरबारमा बस्दै आएका मल्ल द्वन्द्वको समयमा सोही दरबारमै मारिनुभएको थियो ।

    विसं २०५९ वैशाखमा भएको हत्यापछि मल्ल परिवार त्यहाँबाट विस्थापित भएर काठमाडौँमा बस्न थालेपछि दरबार जीर्ण बनेको थियो । पछिल्लो समय नाति मन्जेशले दरबारको संरक्षण गरेपछि पर्यटकहरू आउने क्रम क्रमशः बढिरहेको छ । राससबाट

  • ‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

    ‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

    काठमाडौँ, २५ मङ्सिरस् सरकार र जेनजीबीच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति भएको छ । त्यसका लागि प्राथमिकताका साथ आवश्यक कानुनी, प्राविधिक तथा संस्थागत पूर्वाधार विकास गरी कार्यान्वयन गरिने सहमति भएको छ । प्रधानमन्त्री सुशीला कार्की र जेनजी सहिद परिवारका तर्फबाट आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको सहमतिमा योग्य नेपाली नागरिक मतदाताका रूपमा नाम दर्ता गर्ने अभियानलाई सहज र प्रभावकारी बनाइनेसमेत उल्लेख छ ।

    बेजिल्ला तथा अन्तरनिर्वाचन क्षेत्रमा अस्थायी रूपमा बसोबास गर्ने मतदातालाई निजहरू रहेकै जिल्लाबाट आसन्न निर्वाचनमा नै मतदान गर्ने व्यवस्था गरिने पनि सहमतिपत्रमा उल्लेख छ । संसारका विभिन्न देशमा औपचारिक तथा अनौपचारिक रूपमा श्रम गर्ने प्रवासी नेपाली नागरिक, पेसा व्यवसायमा रहेका र प्रवासी नेपाली विद्यार्थीको मताधिकार सुनिश्चित गर्न नीतिगत, कानुनी तथा संस्थागत पूर्वाधार विकासको प्रक्रिया अगाडि बढाइने पनि सहमति भएको छ ।

    यस्तै, निर्वाचनमा मनोनयन दर्ता गर्दाकै बखत उम्मेदवारले आफ्नो सम्पत्ति विवरणसमेत बुझाउनुपर्नेलगायत राजनीतिक दल र उम्मेदवारको खर्च पारदर्शी बनाउन कानुनमा संशोधन गरिने छ । सबै राजनीतिक दलका सम्पत्ति तथा आर्थिक स्रोतको विवरण अनिवार्य रूपमा मागी सोउपर छानबिन गरी स्रोत नखुलेको सम्पत्ति राष्ट्रियकरण गरी दोषीउपर कारबाही गर्न आवश्यक कानुनी प्रबन्ध गरिने पनि सहमति भएको छ ।

    निर्वाचन प्रणाली सुधारका लागि प्रचलित कानुनमा तत्काल संशोधन गरिने, मतपत्रमा ‘माथिका कसैलाई मतदान गर्दिनँ’ विकल्प राखिने सम्झौतामा उल्लेख छ । राजनीतिक दलभित्र अनिवार्य रूपमा प्राथमिक प्रतिस्पर्धा (प्राइमरी इलेक्सन) गरी छनोट भएको व्यक्तिमात्र निर्वाचनका लागि उम्मेदवार हुन पाउने कानुनी व्यवस्था गरिने पनि सम्झौता भएको छ ।

    निर्वाचन आयोगद्वारा तयार गरिने मतपत्रमा दल÷उम्मेदवारको क्रमाङ्क गोला प्रथाबाट निर्धारण गरिनेछ । राजनीतिक दलमा अध्यक्ष वा सभापति अधिकतम दुई कार्यकालका लागि मात्र हुनसक्ने प्रबन्ध गरिने भएको छ । निर्वाचन प्रयोजनका लागि मात्र हुने अस्वस्थ गठबन्धन नियन्त्रणका लागि कानुनी प्रबन्ध गरिने जनाइएको छ ।

    आगामी निर्वाचनमा ‘पहिलो हुने निर्वाचित हुने’ निर्वाचन प्रणालीमा समेत उम्मेदवार चयन गर्दा समानुपातिक समावेशी सिद्धान्तको पालना गर्न कानुनी प्रबन्ध गरिने सम्झौतामा जनाइएको छ ।रासस

  • एनपिएल : लुम्बिनी र विराटनगर भिड्दै

    एनपिएल : लुम्बिनी र विराटनगर भिड्दै

    काठमाडौँ, २५ मङ्सिर ः त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दैछन् । पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग ७७ रनले पराजित भएपछि विराटनगरले दोस्रो क्वालिफायर खेल्ने मौका पाएको हो ।

    लुम्बिनीले इलिमिनेटरमा काठमाडौँ गोर्खाजलाई ४ विकेटले हराएर दोस्रो क्वालिफायरमा पुग्न सफल भएको छ । लिग चरणमा लुम्बिनीले विराटनगरलाई ५ विकेटले हराएको हो । आज विजयी हुने टोली फाइनलमा पुग्ने भएकाले दुवै टोलीका लागि यो खेल महत्त्वपूर्ण छ । विजयी टोली उपाधिका लागि सुदूरपश्चिमसँग सामना गर्नेछ । फाइनल खेल यही मङ्सिर २७ गते हुनेछ ।

  • आज अन्तरराष्ट्रिय पर्वत दिवस मनाइदैं

    आज अन्तरराष्ट्रिय पर्वत दिवस मनाइदैं

    काठमाडौँ, २५ मङ्सिरः हिमनदी पग्लिँदा पहाड तथा पर्वतीय जीवनमा पर्ने प्रभाव, पर्वतीय विकासका अवसर र चुनौतीबारे जनचेतना बढाउने तथा विश्वभर पर्वतीय समुदाय एवं वातावरणका पक्षमा सकारात्मक परिवर्तन ल्याउन सहकार्य निर्माण गर्ने उद्देश्यका साथ आज विश्वका विभिन्न मुलकमा अन्तरराष्ट्रिय पर्वत दिवस मनाइँदै छ ।

    संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २००३ देखि हरेक वर्ष ११ डिसेम्बरमा यो दिवस राष्ट्रसङ्घका अधिकांश सदस्य देशमा यो दिवस मनाइने गरेको छ । रोमस्थित राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ)को प्रधान कार्यालयमा आज पर्वतीय जीवन, हिमनदी तथा पर्यावरणसम्बन्धी प्रवचन, प्रदर्शनीलगायत विविध कार्यक्रम आयोजना हुँदैछन् ।

    राष्ट्रसङ्घका अनुसार विश्वको दुई अर्ब जनसङ्ख्या पर्वतीय क्षेत्रबाट प्रवाह हुने पानीमा निर्भर छन् । पछिल्ला वर्षहरूमा पर्वतीय वातावरण तीव्र जोखिममा परेकाले पानी स्रोत जोखिममा परेका छन् । द्रुत गतिमा हिमनदी पग्लिएका छन् । विश्व तापक्रम बढ्ने क्रम जारी रहे अरु हिमनदी हराउने छन् ।

    यसैगरी विश्वको एक करोड ५० लाखभन्दा बढी जनसङ्ख्या हिमनदीहरूको पग्लेर बनेका ताल फुट्ने सम्भावित जोखिमका कारण अत्यधिक संवेदनशील अवस्थामा छन् । यो दिवसले यस्ता जोखिम र चुनौतीबारे विश्व समुदायलाई सतर्क गराउँदै पहाड–पर्वत संरक्षण, दिगो विकास तथा सुरक्षित भविष्यका लागि सहकार्यमा जोड दिएको छ ।

  • देशका अधिकांश भागमा आज मौसम सफा रहने

    देशका अधिकांश भागमा आज मौसम सफा रहने

    काठमाडौँ, २५ मङ्सिरः जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ ।

    महाशाखाका अनुसार आज राति देशभर मौसम मुख्यतया सफा रहने छ । काठमाडौँ उपत्यकामा आज बिहान ५ः४५ बजे न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस मापन गरिएको थियो भने अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ ।

  • सरकार-जेनजी  सम्झौता : दलीय भागबन्डाका आधारमा नियुक्ति गरिने प्रचलनको अन्त्य गरिने

    सरकार-जेनजी सम्झौता : दलीय भागबन्डाका आधारमा नियुक्ति गरिने प्रचलनको अन्त्य गरिने

    काठमाडौँ, २४ मङ्सिर : सरकार र जेनजीबीच राजनीतिक तथा नीतिगत भ्रष्टाचार, सार्वजनिक संस्थाहरूको दलीयकरण र दलीय भागबन्डाका आधारमा नियुक्ति गरिने प्रचलनको अन्त्य गर्ने सहमति भएको छ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको सम्झौतापत्रमा सरकारका तर्फबाट प्रधानमन्त्री सुशीला कार्की र जेनजीका तर्फबाट सहिद परिवारका सदस्य भोजविक्रम थापाले हस्ताक्षर गर्नुभएको सहमतिमा भनिएको छ, “राजनीतिक, नीतिगत तथा संस्थागत भ्रष्टाचार, सार्वजनिक संस्थाहरूको दलीयकरण र दलीय भागबन्डाका आधारमा गरिने नियुक्तिको अन्त्य लगायतका देहायका विषयमा निष्पक्ष छानबिन गरी सिफारिस गर्न एक उच्चस्तरीय आयोग गठन गर्ने, सम्पूर्ण सार्वजनिक पदमा नियुक्त, निर्वाचित वा मनोनीत व्यक्तिको जीवनशैली, आयस्रोत र अकूत सम्पत्ति आर्जनका सम्बन्धमा दोषीलाई कानुनबमोजिमको कारबाही गर्ने ।”

    सार्वजनिक संस्थाहरूको दलीयकरण र भागबन्डाका आधारमा गरिने नियुक्तिको अभ्यास अन्त्य गर्न सम्बन्धित नीति र कानुनमा गर्नुपर्ने सुधार तथा मौजुदा कानुनको प्रभावकारी कार्यान्वयन गर्ने पनि सहमति भएको छ । विभिन्न सार्वजनिक पदधारण गरेका व्यक्ति तथा राजनीतिक दलले आफ्ना नेताहरूको नाउँमा सार्वजनिक जग्गा, सम्पत्ति र बजेटको प्रयोग गरी देशभर सञ्चालन गरेका प्रतिष्ठान, कोष, ट्रष्ट, परिषद्, केन्द्र जस्ता निकायको कार्य तथा आर्थिक गतिविधि छानबिन गरी सम्बन्धित संस्थाले सार्वजनिक हित र उद्देश्य विपरीत वा गैरकानुनी गतिविधि गरेको पाइएमा यस्ता निकायलाई खारेज गरी सम्पत्ति राष्ट्रियकरण गर्ने पनि सहमति भएको छ ।

    सम्झौतामा भनिएको छ, “नेपालको सार्वजनिक निकायमा हुने अनियमितता तथा भ्रष्टाचार निवारण, प्रशासकीय प्रणालीको पुनःसंरचना, सार्वजनिक सेवा प्रवाहको सरलीकरण, सहज पहुँच, गुनासो सुनुवाइको व्यवस्था र विद्युतीय सुशासन प्रवद्र्धनलगायत स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण र भयरहित निर्वाचनको सुनिश्चितता गर्ने ।”

    स्क्रिनिङ तथा छानबिनबाट सम्बन्धित व्यक्ति ज्यान मार्ने कसुर वा सुनियोजित/सङ्गठित रूपमा कुनै आपराधिक गिरोहद्वारा भएका हुनसक्ने गम्भीर अपराधमा संलग्न रहेको नदेखिएमा पछि जाँचबुझ आयोगको प्रतिवेदनबमोजिम हुनेगरी सो व्यक्तिलाई तत्काल हिरासत/थुनामुक्त गर्न र निजविरुद्ध दायर भएका मुद्दा फिर्ता लिन नेपाल सरकारलाई सिफारिस गर्ने पनि सहमति भएको छ ।

    सहमति पत्रमा भनिएको छ, “नेपाल सरकारका सम्बन्धित निकायले माथि उल्लिखित सिफारिस बमोजिमको कारबाही यथाशीघ्र अगाडि बढाउनेछ, विसं २०८२ भाद्र २३ र २४ गते जनआन्दोलनसँग सम्बन्धित राजनीतिक विरोधको गतिविधिमा सहभागी भएकै कारण कसैउपर फौजदारी अनुसन्धान वा अभियोजन गरिने छैन ।”

    उक्त सम्झौताको पूर्ण विवरण यसप्रकार रहेको छ :

    जेन–जी जनआन्दोलनका प्रतिनिधि र नेपाल सरकारबीच भएको सम्झौता प्रस्तावना देशमा व्याप्त भ्रष्टाचार, कुशासन, दण्डहीनता, भेदभाव, बहिष्करण तथा आर्थिक–सामाजिक असमानता र अन्याय जस्ता संरचनात्मक कारणहरूबाट सिर्जित द्वन्द्वको समयमै सम्बोधन नहुँदा उत्पन्न आम वितृष्णा र निराशाले जेन–जीको नेतृत्वमा वि.सं. २०८२ साल भाद्र २३ र २४ गते भएको राजनीतिक–सामाजिक जनआन्दोलन निम्त्याएको वास्तविकतालाई स्वीकार गर्दै जनआन्दोलनका क्रममा जीवन बलिदान गर्ने शहीद, घाइते एवं तिनका समस्त परिवारजनप्रति सम्मान प्रकट गर्दै, जनआन्दोलनका क्रममा भएका अपूरणीय मानवीय, सामाजिक, मानसिक, भौतिक, आर्थिक तथा अन्य सबै प्रकारका क्षतिप्रति दुःख व्यक्त गर्दै, जनआन्दोलनको सन्दर्भमा भएका सम्पूर्ण गम्भीर मानव अधिकार उल्लङ्घन तथा हिंसाजन्य ज्यादतीका घटनाहरूको स्वतन्त्र छानबिन गरी सत्य, न्याय, परिपूरण र संस्थागत सुधारका उपाय अवलम्बन गरी दण्डहीनताको अवस्था अन्त्य गर्नुपर्ने अपरिहार्यता बोध गर्दै, जेन–जीको नेतृत्वमा भएको जनआन्दोलनपश्चात् सिर्जित असाधारण परिस्थितिमा जनआन्दोलनका मागहरू सम्बोधन गर्न एउटा गैरदलीय, पारदर्शी, जवाफदेही, समावेशी र सक्षम अन्तरिम नागरिक सरकारको ऐतिहासिक आवश्यकताको उपजको रूपमा वर्तमान सरकार बनेको तथा जनविश्वास गुमाइसकेको सङ्घीय संसद्को प्रतिनिधि सभाको विघटन गरी निर्वाचनको मिति तय गरिएको ऐतिहासिक तथ्यलाई स्वीकार गर्दै, नेपालमा विभिन्न कालखण्डमा नेपाली जनताले पटकपटक गर्दै आएका ऐतिहासिक जनआन्दोलन, सशस्त्र सङ्घर्ष, नारीवादी आन्दोलन, आदिवासी आन्दोलन, दलित आन्दोलन, मुस्लिम आन्दोलन, मधेश आन्दोलन, थरुहट आन्दोलन लगायतका हरेक आन्दोलनहरूबाट हासिल गरिएको प्रत्येक नागरिकको सम्मानपूर्वक बाँच्न पाउने हक, अभिव्यक्ति तथा साङ्गठनिक स्वतन्त्रता, सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समानतामा आधारित समानुपातिक समावेशी राज्य प्रणाली, सामाजिक र आर्थिक न्याय सुनिश्चित गर्दै नेपाली जनताले संविधान सभामार्फत जारी गरेको नेपालको संविधानको सान्दर्भिकता र वैधतालाई आत्मसात् गर्दै, नेपाली जनताले प्रयोग गर्ने ‘डिजिटल’ माध्यमलाई नागरिक अभिव्यक्तिको वैध माध्यमका रूपमा ग्रहण गरी यस जनआन्दोलनका क्रममा आन्दोलनकारीहरूले प्रयोग गरेका नयाँ डिजिटल माध्यम, सांस्कृतिक प्रतीक र सिर्जनात्मक अभिव्यक्तिलाई वैध नागरिक राजनीतिक संलग्नताको रूपमा स्वीकार गर्दै, सामाजिक, राजनीतिक, धार्मिक, सांस्कृतिक, संरचनागत विभेद तथा आर्थिक शोषणको कारणले सिर्जना भएको वर्गीय, जातीय, लैङ्गिक तथा यौनिक असमानता, गरिबी, सिमान्तीकरण एवम् बहिष्करण अन्त्य गर्ने दृढ सङ्कल्प लिँदै, राज्यका स्रोत साधनसम्म हरेक नेपालीको न्यायिक पहुँच र ती स्रोतसाधनको समतामूलक वितरण, बाँडफाँट र दिगो प्रयोग गर्नुपर्ने आवश्यकतामा जोड दिँदै, सुशासन, समावेशिता र जनसहभागिताका मान्यतामा आधारित सङ्घीयता, स्थानीय स्वायत्तता र विकेन्द्रीकरणको सुदृढीकरणबाट शिक्षा, स्वास्थ्य, रोजगार, आवास, भूमि, भाषा, संस्कृति, लैङ्गिक तथा सामूहिक अधिकारहरूको कार्यान्वयन तथा उद्यमशीलता, नवप्रवर्तन र अन्वेषण राज्यका भावी नीति र कार्यक्रमका मुख्य प्राथमिकता बन्नुपर्ने आवश्यकतामा जोड दिँदै, जनआन्दोलनपश्चात्को नवनिर्माणका हरेक क्रियाकलापहरूलाई सुशासनका मूल्यमान्यताबाट अनुप्राणित गरी भ्रष्टाचारमुक्त, पारदर्शी, जवाफदेही, चुस्त, मितव्ययी, समावेशी, प्रभावकारी र स्वार्थको द्वन्द्वरहित बनाउने प्रण गर्दै, नेपाली जनताको सुशासनको तीव्र आकाङ्क्षाबाट प्रेरित भई जेन–जीको नेतृत्वमा भएको जनआन्दोलनबाट प्राप्त जनादेश एवं संविधानले अङ्गीकार गरेका मूल्यमान्यतालाई आत्मसात् गर्दै नेपाल सरकार र जेन–जी जनआन्दोलनका प्रतिनिधिबीच यो सम्झौता सम्पन्न गरिएको छ । सम्झौताका उल्लिखित प्रावधानहरूको इमानदारिताका साथ प्रभावकारी कार्यान्वयनका लागि दुवै पक्ष दृढ प्रतिज्ञा व्यक्त गर्दछन् ।

    १. शहीद र घाइतेको त्याग तथा बलिदानलाई सम्मान, न्याय तथा अर्थपूर्ण स्मृतीकरणसहितको परिपूरण

    १.१ वि.सं. २०८२ साल भाद्र २३ र २४ गते जेन–जीको नेतृत्वमा भएको जनआन्दोलनको क्रममा तत्कालीन सरकारबाट भएको दमन र व्यापक हिंसाका घटनामा सहादत प्राप्त गर्नु भएका व्यक्तिलाई शहीद घोषणा गर्नेलगायत शहीद परिवारको माग र भावनाको यथाशीघ्र सम्बोधन गर्ने व्यवस्था गरिनेछ ।

    १.२ शहीद परिवार तथा घाइतेको तत्कालीन र दीर्घकालीन आवश्यकताको यथोचित सम्बोधन गर्न सम्बन्धित शहीद परिवार र घाइतेसँगको परामर्श तथा समन्वयमा तत्काल एक उच्चस्तरीय कार्यदल गठन गरी अन्तरिम राहत, क्षतिपूर्ति, निःशुल्क स्वास्थ्य उपचार तथा मनोसामाजिक परामर्श, निःशुल्क शिक्षा, रोजगारी, सामाजिक सुरक्षा एवं अर्थपूर्ण स्मृतीकरण (मेमोरियलाइजेशन) समेतको परिपूरणीय व्यवस्था सुनिश्चित गरिनेछ।

    १.३ जेन–जी आन्दोलनका शहीद परिवार तथा घाइतेको सामूहिक माग अनुरूप मुलुकमा सदाचार तथा सुशासन प्रवद्र्धन, भ्रष्ट्राचार निवारण तथा दण्डहीनता अन्त्य गर्न छुट्टै स्थायी प्रकृतिको आयोग गठन गरिनेछ ।

    २. भाद्र २३ र २४ का घटनाको अनुसन्धान, अभियोजन र पुनरावृत्ति हुन नदिन आवश्यक संस्थागत सुधार २.१ नेपाल सरकारले गठन गरेको भाद्र २३ र २४ को घटना सम्बन्धी जाँचबुझ आयोगलाई देहायबमोजिमको कार्यादेश थप गरिनेछः

    (क) यस जनआन्दोलनका क्रममा भएको अत्यधिक बल प्रयोगको परिणामस्वरूप गैरन्यायिक हत्यालगायतका मानव अधिकार उल्लङ्घनसम्बन्धी आरोपहरूको बिना विभेद छानबिन गरी सत्य तथ्य खोज गरी फौजदारी जवाफदेहिता बहन गर्न सिफारिस गर्ने ।

    (ख) जाँचबुझ, सत्य निरूपण तथा मेलमिलापको मान्यतालाई ध्यानमा राखी उपयुक्त प्रक्रिया अपनाई जनआन्दोलनको प्रकृति तथा भाद्र २३ र २४ को विशिष्ट परिस्थितिजन्य अवस्थालाई दृष्टिगत गरी जनआन्दोलनका क्रममा भएका घटना र अन्य व्यक्ति वा समूहले आपराधिक मनसायका साथ सुनियोजित तथा सङ्गठित तरिकाले गरेका हिंसात्मक कार्यहरूको भेदलाई पूर्वाग्रहरहित रूपमा छुट्याई छानबिन गरी प्रतिवेदन पेश गर्ने ।

    (ग) कसैलाई आन्दोलनमा सहभागी भएकै कारण अनुसन्धान वा अभियोजनको दायरामा पारिएको छ भनी आन्दोलनकारी स्वयं वा निजका तर्फबाट अन्य कसैले अनलाइन, लिखित वा हटलाइनमार्फत उजुरी दिएमा सो सम्बन्धमा सम्बन्धित निकायबाट विवरण झिकाई सो विवरणका आधारमा यो सम्झौता भएको मितिले १५ दिनभित्र स्क्रिनिङ तथा छानबिन गर्ने ।

    (घ) स्क्रिनिङ तथा छानबिनबाट सम्बन्धित व्यक्ति ज्यान मार्ने कसुर वा सुनियोजित/सङ्गठित रूपमा कुनै आपराधिक गिरोहद्वारा भएका हुनसक्ने गम्भीर अपराधमा संलग्न रहेको नदेखिएमा पछि जाँचबुझ आयोगको प्रतिवेदनबमोजिम हुनेगरी सो व्यक्तिलाई तत्काल हिरासत/थुनामुक्त गर्न र निजविरुद्ध दायर भएका मुद्दा फिर्ता लिन नेपाल सरकारलाई सिफारिस गर्ने ।

    २.२ नेपाल सरकारका सम्बन्धित निकायले माथि उल्लिखित सिफारिस बमोजिमको कारबाही यथाशीघ्र अगाडि बढाउनेछन् ।

    २.३ यस जनआन्दोलनसँग सम्बन्धित राजनीतिक विरोधको गतिविधिमा सहभागी भएकै कारण कसै उपर फौजदारी मुद्दाको अनुसन्धान वा अभियोजन गरिने छैन ।

    २.४ यस जनआन्दोलनसहित नेपालका विभिन्न आन्दोलनका क्रममा सुरक्षा निकायबाट भएका अन्यायपूर्ण तथा गैरकानुनी बल प्रयोगसम्बन्धी घटनाको आवश्यक जाँचबुझ गरी भविष्यमा यस्ता घटनाको पुनरावृत्ति हुनबाट रोक्नका लागि नेपालको प्रचलित कानुन, सुरक्षा निकायका कमीकमजोरी, सुरक्षाकर्मीलाई सामाजिक, मानसिक सुरक्षाको अभावलगायत अन्य कारणहरू पहिचान गरी सम्बन्धित कानुन तथा सुरक्षा निकायमा आवश्यक संस्थागत सुधारका उपायहरूको अध्ययन तथा सिफारिस गर्न छुट्टै संयन्त्र गठन गर्ने र सो संयन्त्रले पेस गर्ने प्रतिवेदन सार्वजनिक गरी प्रतिवेदनमा उल्लिखित सिफारिसहरू तत्काल कार्यान्वयन गरिनेछ ।

    ३. राजनीतिक तथा नीतिगत भ्रष्टाचार, सार्वजनिक संस्थाहरूको दलीयकरण र दलीय भागबन्डाका आधारमा नियुक्ति गरिने प्रचलनको अन्त्य

    ३.१ राजनीतिक, नीतिगत तथा संस्थागत भ्रष्टाचार, सार्वजनिक संस्थाहरूको दलीयकरण र दलीय भागबन्डाका आधारमा गरिने नियुक्तिको अन्त्य लगायतका देहायका विषयमा निष्पक्ष छानबिन गरी सिफारिस गर्न एक उच्चस्तरीय आयोग गठन गरिनेछः

    क) सम्पूर्ण सार्वजनिक पदमा नियुक्त, निर्वाचित वा मनोनीत व्यक्तिको जीवनशैली, आयस्रोत र अकूत सम्पत्ति आर्जनका सम्बन्धमा दोषीलाई कानुनबमोजिमको कारबाही गर्ने प्रक्रिया,

    (ख) सार्वजनिक संस्थाहरूको दलीयकरण र भागबन्डाका आधारमा गरिने नियुक्तिको अभ्यास अन्त्य गर्न सम्बन्धित नीति र कानुनमा गर्नुपर्ने सुधार तथा मौजुदा कानुनको प्रभावकारी कार्यान्वयनको विषय,

    (ग) विभिन्न सार्वजनिक पदधारण गरेका व्यक्ति तथा राजनीतिक दलले आफ्ना नेताहरूको नाउँमा सार्वजनिक जग्गा, सम्पत्ति र बजेटको प्रयोग गरी देशभर सञ्चालन गरेका प्रतिष्ठान, कोष, ट्रष्ट, परिषद्, केन्द्र जस्ता निकायको कार्य तथा आर्थिक गतिविधि छानबिन गरी सम्बन्धित संस्थाले सार्वजनिक हित र उद्देश्य विपरीत वा गैरकानुनी गतिविधि गरेको पाइएमा यस्ता निकायलाई खारेज गरी सम्पत्ति राष्ट्रियकरण गर्ने विषय,

    (घ) नेपालको सार्वजनिक निकायमा हुने अनियमितता तथा भ्रष्टाचार निवारण, प्रशासकीय प्रणालीको पुनःसंरचना, सार्वजनिक सेवा प्रवाहको सरलीकरण, सहज पहुँच, गुनासो सुनुवाइको व्यवस्था र विद्युतीय सुशासन प्रवद्र्धन लगायतका विषय ।

    ४. स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण र भयरहित निर्वाचनको सुनिश्चितता

    ४.१ आगामी प्रतिनिधि सभा तथा हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउन प्राथमिकताका साथ आवश्यक कानुनी, प्राविधिक तथा संस्थागत पूर्वाधार विकास गरी कार्यान्वयन गरिनेछ ।

    ४.२ योग्य नेपाली नागरिक मतदाताका रूपमा नाम दर्ता गर्ने अभियानलाई सहज र प्रभावकारी बनाइनेछ । बेजिल्ला तथा अन्तरनिर्वाचन क्षेत्रमा अस्थायी रूपमा बसोबास गर्ने मतदातालाई निजहरू रहेकै जिल्लाबाट आसन्न निर्वाचनमा नै मतदान गर्ने व्यवस्था गरिनेछ । संसारका विभिन्न देशमा औपचारिक तथा अनौपचारिक रूपमा श्रम गर्ने प्रवासी नेपाली नागरिकहरू, पेसा व्यवसायमा रहेका र प्रवासी नेपाली विद्यार्थीहरूको मताधिकार सुनिश्चित गर्न नीतिगत, कानुनी तथा संस्थागत पूर्वाधार विकासको प्रक्रिया अगाडि बढाइनेछ ।

    ४.३ निर्वाचनमा मनोनयन दर्ता गर्दाकै बखत उम्मेदवारले आफ्नो सम्पत्ति विवरणसमेत बुझाउनुपर्नेलगायत राजनीतिक दल र उम्मेदवारको खर्च पारदर्शी बनाउन कानुनमा संशोधन गरिनेछ ।

    ४.४ सबै राजनीतिक दलका सम्पत्ति तथा आर्थिक स्रोतको विवरण अनिवार्य रूपमा मागी सो उपर छानबिन गरी स्रोत नखुलेको सम्पत्ति राष्ट्रियकरण गरी दोषी उपर कारबाही गर्न आवश्यक कानुनी प्रबन्ध गरिनेछ ।

    ४.५ निर्वाचन प्रणाली सुधारका लागि माथि उल्लिखित कुराको अतिरिक्त प्रचलित कानुनमा तत्काल संशोधन गरी निम्न व्यवस्था लागू गरिनेछः

    (क) मतपत्रमा ‘माथिका कसैलाई मतदान गर्दिन (NOTA)” विकल्प राखिनेछ।

    (ख) राजनीतिक दलभित्र अनिवार्य रूपमा प्राथमिक प्रतिस्पर्धा (प्राइमरी इलेक्सन) गरी छनोट भएको व्यक्ति मात्र निर्वाचनका लागि उम्मेदवार हुन पाउने कानुनी व्यवस्था गरिनेछ ।

    (ग) निर्वाचन आयोगद्वारा तयार गरिने मतपत्रमा दल/उम्मेदवारको क्रमाङ्क गोला प्रथाबाट निर्धारण गरिनेछ ।

    (घ) राजनीतिक दलमा अध्यक्ष वा सभापति अधिकतम दुई कार्यकालका लागि मात्रै हुन सक्ने प्रबन्ध गरिनेछ ।

    (ङ) निर्वाचन प्रयोजनका लागि मात्रै हुने अस्वस्थ गठबन्धन नियन्त्रणका लागि कानुनी प्रबन्ध गरिनेछ ।

    (च) आगामी निर्वाचनमा ‘पहिलो हुने निर्वाचित हुने’ निर्वाचन प्रणालीमा समेत उम्मेदवार चयन गर्दा समानुपातिक समावेशी सिद्धान्तको पालना गर्न कानुनी प्रबन्ध गरिनेछ ।

    ५. नेपालको संविधानमा गर्नुपर्ने सुधार

    ५.१ नेपालको संविधानले सुनिश्चित गरेको सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्त, प्रतिस्पर्धात्मक सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक बहुदलीय व्यवस्था, धर्मनिरपेक्षता, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानवअधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका तथा कानुनी राज्यका आधारभूत मूल्य मान्यताहरूलाई अक्षुण्ण राख्दै सुशासन कायम गर्न, संविधानको प्रभावकारी कार्यान्वयनमार्फत सामाजिक–आर्थिक रूपान्तरण तथा समतामूलक समृद्धि, दिगो शान्ति र दिगो विकासका वाचा पूरा गर्न तथा बदलिँदो परिप्रेक्ष्यमा नेपाली जनताको सामूहिक विवेक र आकाङ्क्षालाई समेट्न गरिनुपर्ने संवैधानिक, कानुनी तथा संस्थागत सुधारका विषयहरूको पहिचान, अध्ययन र विश्लेषण गरी अग्रगामी परिवर्तनका लागि सुझावसहितको प्रतिवेदन पेस गर्न स्वतन्त्र विज्ञ, जेन–जी र युवासहित सरोकारवालाहरूको सहभागिता रहने गरी एक उच्चस्तरीय ‘संविधान संशोधन सुझाव आयोग’ गठन गरिनेछ ।

    ५.२ उल्लिखित आयोगले स्थानीय, प्रदेश र सङ्घीय तहमा व्यापक बहस, संवाद, अन्तरक्रिया तथा नागरिक परामर्श गरी सुझावसहितको प्रतिवेदन तयार गर्नेछ ।

    ५.३ संविधान संशोधन सुझाव आयोगको कार्यादेशमा अन्य कुराको अतिरिक्त निम्नानुसारका विषयवस्तु समेत तोकिनेछः–

    (क) संविधान कार्यान्वयनका दस वर्षको सिंहावलोकन गरी कार्यान्वयनका उपलब्धि र कमीकमजोरी पहिचान गर्ने तथा कार्यान्वयनको प्रभावकारिताका लागि ठोस सुझाव दिने,

    (ख) सुशासन कायम गर्न, अख्तियारको दुरूपयोग तथा भ्रष्टाचार निवारण गर्न, स्वार्थको द्वन्द्वको निराकरण गर्न, संविधानको कार्यान्वयनलाई प्रभावकारी बनाउने उपाय खोज्न तथा बदलिँदो परिप्रेक्ष्यमा नेपाली जनताको सामूहिक विवेक र आकाङ्क्षाको समीक्षा गरी समयानुकूल संविधान संशोधनका लागि सुझाव दिने,

    (ग) माथि प्रकरण १.३ बमोजिमको आयोगलाई संवैधानिक हैसियत प्रदान गर्ने सम्बन्धमा सुझाव दिने,

    (घ) सङ्घीय संसद् एवम् प्रदेश सभाको संरचनाको सम्बन्धमा स्थानीय, प्रदेश र केन्द्रस्तरमा बहस एवम् अन्तरक्रियामार्फत सुझाव सङ्कलन गरी देहायका विषयमा सिफारिस सहितको प्रतिवेदन पेस गर्नेः

    (१) जनसङ्ख्याका आधारमा पूर्ण समानुपातिक तथा समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न निर्वाचन प्रणालीमा आवश्यक सुधार,

    (२) अधिकतम परिपूरणीय, अधिकारपूर्ण र अर्थपूर्ण प्रतिनिधित्वको सिद्धान्तलाई आत्मसात् गर्दै महिला, दलित, आदिवासी जनजाति, मधेसी, थारू, मुस्लिम, पछाडि पारिएका वर्ग, अल्पसङ्ख्यक, सीमान्तकृत, अपाङ्गता भएका व्यक्ति, लैङ्गिक तथा यौनिक रूपमा विविध पहिचान गर्ने समुदाय, किसान, श्रमिक, उत्पीडित वा पछाडि पारिएका क्षेत्रका नागरिक तथा आर्थिक रूपमा विपन्न खस आर्य लगायतको प्रतिनिधित्व सुनिश्चित गर्न सुधारात्मक व्यवस्था,

    (३) राज्यको राष्ट्रप्रमुख, तीनै तहको सरकारका कार्यकारी प्रमुख र मन्त्रिपरिषद्का सदस्यको कार्यकाल १० वर्षमा नबढ्ने गरी दुई पूर्ण कार्यकालसम्म सीमित गर्ने विषय,

    (४) प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहको जनप्रतिनिधिका लागि उम्मेदवार हुन न्यूनतम उमेर २१ वर्ष राख्ने विषय,

    (५) न्यायपालिका, संवैधानिक परिषद्, संवैधानिक आयोग र न्यायपरिषद्लाई राजनीतिक तथा दलीय हस्तक्षेपबाट पूर्ण रूपमा मुक्त राख्न र स्वायत्त तथा स्वतन्त्र ढङ्गले कार्यसम्पादन गर्न सक्षम बनाउन र राज्यका संरचनामा युवाहरूको प्रतिनिधित्व र सहभागिता सुनिश्चित गर्न उक्त आयोगहरूको संरचना तथा पदाधिकारी नियुक्तिको प्रक्रियामा सुधार,

    (६) राजनीतिक दलहरूको आन्तरिक समावेशी लोकतन्त्र र सुशासनका क्षेत्रमा गर्नुपर्ने सुधारका उपाय ।

    ६. पूर्ण समानुपातिक समावेशिता र सहभागितामूलक प्रतिनिधित्व

    ६.१ यो सम्झौताबमोजिम बन्ने संयन्त्रहरूमा यथासक्य समावेशिता सुनिश्चित गरिनेछ । राज्यका संयन्त्रहरूमा अधिकतम परिपूरणीय, अधिकारपूर्ण र अर्थपूर्ण प्रतिनिधित्वका सिद्धान्तका आधारमा महिला, दलित, आदिवासी जनजाति, मधेसी, थारू, मुस्लिम, पछाडि पारिएका वर्ग, अल्पसङ्ख्यक, सीमान्तकृत, अपाङ्गता भएका व्यक्ति, लैङ्गिक तथा यौनिक रूपमा विविध पहिचान गर्ने समुदाय, किसान, श्रमिक, उत्पीडित वा पछाडि पारिएका क्षेत्रका नागरिक तथा आर्थिक रूपमा विपन्न खस आर्य लगायतको प्रतिनिधित्व सुनिश्चित गर्न यस सम्झौताबमोजिम गठन हुने जेन–जी परिषद्ले सल्लाहकारको भूमिका निर्वाह गर्नेछ ।

    ७. पारदर्शिता

    ७.१ पारदर्शी र जवाफदेही सरकारको अवधारणाअनुरूप सरकारले आफ्ना कामकारबाही, निर्णय तथा खर्चमा पारदर्शिता सुनिश्चित गर्नका लागि विधि, प्रक्रिया, कानुन, प्रविधि तथा संयन्त्रहरूमा आवश्यक सुधार, समायोजन र परिमार्जन गरिनेछ । सरकारका यस्ता निर्णय तथा कार्यलाई सूचनापाटी, वेबसाइट, सामाजिक सञ्जाल र आम प्रयोगमा रहेका सूचना तथा सञ्चारका माध्यममार्फत समेत सर्वसाधारणको सहज पहुँचमा पु¥याउने व्यवस्था मिलाइनेछ ।

    ७.२ नेपालमा विगतमा भएका मानव अधिकार उल्लङ्घन तथा हिंसाका घटना र भ्रष्टाचारसँग सम्बन्धित छानबिन लगायतका विषयमा अध्ययन अनुसन्धान गर्न गठन गरिएका सम्पूर्ण छानबिन, जाँचबुझ आयोगका प्रतिवेदन प्रचलित कानुनको अधीनमा रही सार्वजनिक गरिनेछ ।

    ७.३ नेपाल सरकारको सार्वजनिक पदहरूमा हुने सबै नियुक्तिका लागि पारदर्शी, प्रतिस्पर्धी र विश्वसनीय छनोट प्रक्रिया सुनिश्चित गर्न, अवसरको समानता सुनिश्चित गर्न तथा नातावाद, कृपावाद र भेदभावको अवस्था अन्त्य गर्न जेन–जीलगायत सरोकारवालासँग परामर्श गरी आवश्यक उपायहरू अवलम्बन गरिनेछ ।

    ८. अभिव्यक्ति स्वतन्त्रता र डिजिटल स्वतन्त्रता

    ८.१ इन्टरनेट र डिजिटल माध्यममा अभिव्यक्ति, सूचना प्रवाह र संवादमा कुनै किसिमको स्वेच्छिक, गैरकानुनी नियमन, निषेध वा पूर्वाग्रही सेन्सरसिप हुन नदिन आवश्यक कानुनी, भौतिक र प्राविधिक पूर्वाधारको व्यवस्था गरिनेछ ।

    ८.२ सर्वसाधारण नागरिकको डिजिटल तथ्याङ्क (डेटा) माथि राज्य वा तेस्रो पक्षका तर्फबाट गैरकानुनी निगरानी र दुरूपयोग हुन नदिने गरी कानुनी, भौतिक र प्राविधिक सुधारसहित आवश्यक पूर्वाधारको व्यवस्था गरिनेछ ।

    ९. जेन–जी परिषद्को गठन ९.१ जेन–जी आन्दोलनको मर्म र भावनाअनुसार शासन व्यवस्था सञ्चालनमा सरकारलाई योगदान गर्न, खबरदारी गर्न, सुशासन, दिगो विकास तथा समृद्धिका लागि नेपाल सरकारलाई सल्लाह, सुझाव र सहयोग प्रदान गर्नका लागि जेन–जी परिषद् गठन गरिनेछ ।

    १०. सम्झौता लागू हुने मिति र सम्झौताको कार्यान्वयन

    १०.१ दुवै पक्षका प्रतिनिधिद्वारा हस्ताक्षर भएको मितिदेखि यो सम्झौता लागू हुनेछ ।

    १०.२ यो सम्झौताको कार्यान्वयन नेपाल सरकार र जेन–जी जनआन्दोलनका प्रतिनिधिको आपसी सहमतिमा हुनेछ ।

    १०.३ यो सम्झौताको अधीनमा रहेर दुवै पक्षको सहमतिमा अन्य सम्झौता गर्न बाधा पुगेको मानिने छैन । —

  • दोहोरो करमुक्ति सम्झौता खारेज भएकाबारे मौरिससलाई औपचारिक जानकारी

    दोहोरो करमुक्ति सम्झौता खारेज भएकाबारे मौरिससलाई औपचारिक जानकारी

    काठमाडौँ, २४ मङ्सिर । नेपाल सरकारले मौरिसससँग सन् १९९९ अगस्त ३ मा सम्पन्न भएको द्विपक्षीय दोहोरो कर मुक्ति सम्झौता खारेज गर्ने निर्णयको औपचारिक जानकारी कूटनीतिक माध्यमबाट पठाएको छ । आन्तरिक राजस्व विभागका महानिर्देशक मदन दाहालले नेपालका तर्फबाट तोकिएका सक्षम अधिकारीको हैसियतमा सम्झौताको धारा २९, उपधारा १ बमोजिम खारेजीको सूचना औपचारिक पत्रमार्फत मौरिसस सरकारलाई प्रेषण गरेका हुन् ।

    विभागद्वारा आज जारी प्रेस विज्ञप्तिअनुसार यो कदम हालको घरेलु कर कानुन तथा विश्वव्यापी कर शासन व्यवस्थामा आएका महत्त्वपूर्ण परिवर्तनहरूसँग नेपाललाई मिलाएर लैजान आवश्यक भएकाले चालिएको रणनीतिक निर्णय हो । नेपालले आयकर ऐन, २०५८ ले कर प्रणालीमा व्यापक सुधार गरेको र ऐनमा कर दुरुपयोग नियन्त्रणसम्बन्धी आधुनिक प्रावधानहरू समावेश हुँदा विद्यमान दोहोरो करमुक्ति सम्झौताका केही धारासँग मेल नखाने अवस्था उत्पन्न भएको विभागले जनाएको छ ।

    विशेषगरी, ऐनको दफा ७३(५०)मा समावेश सीमित लाभको प्रावधानले सन्धि कार्यान्वयनमा प्रत्यक्ष प्रभाव पार्ने उल्लेख गरिएको छ । नेपालले पुरानो सन्धि खारेज गरेर समकालीन आवश्यकताका अनुरूप नयाँ कर सम्झौताका लागि मार्ग प्रशस्त गर्न खोजेको सरकारको भनाइ छ । नेपालले मौरिसससँग आर्थिक तथा कर सहयोगका क्षेत्रमा सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ । सरकारका अनुसार दुवै पक्षबीच नयाँ तथा आधुनिक दोहोरो करमुक्ति सम्झौता र द्विपक्षीय लगानी संरक्षण सम्झौता मा वार्ता गर्ने सम्भावना खुला छ ।

    आगामी कुनै पनि सम्झौता पारस्परिक हित, पारदर्शिता र वर्तमान विश्वव्यापी आर्थिक परिवेशसँग मेल खाने आधारमा गर्नुपर्नेमा सरकार दृढ रहेको विज्ञप्तिमा उल्लेख छ । दोहोरो करमुक्ति सम्झौताको खारेजीको प्रभाव नेपालका लागि आर्थिक वर्ष २०८३–८४ को साउन १ गतेदेखि लागू हुनेछ । यो मिति सम्झौतामा उल्लिखित समाप्ति प्रावधानअनुसार निर्धारण गरिएको हो ।

  • काठमाडौँ विश्वविद्यालयका दुई हजार दुई सय विद्यार्थी दीक्षित

    काठमाडौँ विश्वविद्यालयका दुई हजार दुई सय विद्यार्थी दीक्षित

    काभ्रेपलाञ्चोक, २४ मङ्सिर । यहाँको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू)मा आज ३१औँ दीक्षान्त समारोह (पहिलो चरण)मा दुई हजार २०९ विद्यार्थी दीक्षित भएका छन् । यसमध्ये १७ देशका १९६ विदेशी विद्यार्थी रहेका छन् । समारोहमा विश्वविद्यालयको स्कुल अफ आर्टसका ८३, स्कुल अफ एजुकेसनका २९४, स्कुल अफ इन्जिनियरिङका ३४०, स्कुल अफ लका ३६, स्कुल अफ मेनेजमेन्टका ३७८, स्कुल अफ मेडिकल साइन्सेजका ८८१ र स्कुल अफ साइन्सका १९७ गरी कुल दुई हजार २०९ विद्यार्थी यसपटक दीक्षित भएका छन् । दीक्षितमध्ये पिएचडी, डिएम र एमसिएच तहका सात, स्नातकोत्तर तहका ३९७, पिजिडी तहका ५० र स्नातक तहका एक हजार ७२८ जना रहेका छन् ।

    दीक्षितमध्ये अष्ट्रेलिया, अस्ट्रिया, बङ्गलादेश, भूटान, बेलायत, भारत, जापान, मलेसिया, माल्दिभ्स, मेक्सिको, नामिबिया, रसिया, स्पेन, श्रीलङ्का, स्विडेन, संयुक्त राज्य अमेरिका र भियतनामका १९६ विदेशी विद्यार्थी रहेको विश्वविद्यालयका उपकुलपति प्राडा अच्युत वाग्लेले जानकारी दिए ।

    स्नातकोत्तर तहमा सबैभन्दा बढी चार सिजिपिए प्राप्त गर्ने मास्टर्स अफ आर्टस इन ट्रान्सलेसन, टेक्सुअल इन्टरप्रिटेसन एन्ड फिलोलोजी अध्यनरत स्पेनकी माइते कास्टेलानो मेन्चाकालाई चान्सलर स्वर्णपदक, स्नातक तहमा सबैभन्दा बढी ८५ दशमलव ४५ प्रतिशत अङ्क प्राप्त गर्ने एमबिबिएसतर्फ नोबेल मेडिकल कलेज विराटनगरका गौरव सिंह साउदलाई भाइस चान्सलर स्वर्ण पदक, एमबिए तहमा सबैभन्दा बढी सिजिपिए तीन दशमलव ९४ ल्याउने स्कुल अफ म्यानेजमेन्टका अरुणा बुढाथोकीलाई जुद्धबहादुर श्रेष्ठ स्वर्ण पदक र एमबिए तहका सर्वोत्कृष्ट विद्यार्थीलाई प्रदान गरिने रणबहादुर शाह स्वर्णपदक तीन दशमलव ९४ सजिपिए ल्याउने स्कुल अफ मेनेजमेन्टका सौगात दङ्गाललाई प्रदान गरिएको छ ।

    प्रधानमन्त्री तथा कुलपति सुशीला कार्कीको अध्यक्षतामा आयोजित समारोहमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा सहकुलपति महावीर पुन तथा नयाँ दिल्लीस्थित जवाहरलाल–नेहरू विश्वविद्यालयका उपकुलपति प्राध्यापक शान्तिश्री धुलिपुडी पण्डितको सहभागिता रहेको थियो । ३१औँ दीक्षान्तको पहिलो चरणसम्म काठमाडौँ विश्वविद्यालयबाट दीक्षितको हुनेको सङ्ख्या ५० हजार ४० जना पुगेको छ । तीमध्ये पाँच हजार ८६० विदेशी विद्यार्थी अर्थात् करिब १२ प्रतिशत रहेका छन् ।

    काभ्रेपलाञ्चोकको धुलिखेलमा रहेको काठमाडौँ विश्वविद्यालयको ३१औँ दीक्षान्त समारोह (पहिलो चरण)को कार्यक्रममा सहभागी प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति सुशीला कार्की, कार्यक्रमका प्रमुख अतिथि भारतको नयाँ दिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालयका उपकुलपति प्रा सान्तीश्री धुलिपुडी पण्डित, शिक्षा विज्ञान तथा प्रविधि मन्त्री एवं विश्वविद्यालयका सहकुलपति महावीर पुन र केयूका उपकुलपति प्राडा अच्युत वाग्लेलगायत । तस्बिरः पेमा लामा/रासस
  • केपी ओलीसँग एमाले अध्यक्षका लागि भिड्दै इश्वर पोखरेल

    केपी ओलीसँग एमाले अध्यक्षका लागि भिड्दै इश्वर पोखरेल

    काठमाडौँ, २४ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो विचार समूहका तर्फबाट अध्यक्ष पदमा प्रतिस्पर्धा गर्न लागेको बताएका छन् । एमालेको ११औँ राष्ट्रिय महाधिवेशन यही मङ्सिर २७–२९ गतेसम्म काठमाडौँमा हुन गइरहेको सन्दर्भमा आज सम्पादकहरूसँग अन्तर संवाद गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले अध्यक्ष पदमा प्रतिस्पर्धा गर्न लागेको बताउए । उनले नेतृत्व पुस्तान्तरण र हस्तान्तरणसहित विधि र प्रक्रियाका आधारमा सबैलाई समेटेर पार्टी सञ्चालन गर्नुपर्दछ भन्ने आम नेता तथा कार्यकर्ताको भावनलाई सम्मान गर्दै अध्यक्ष पदमा उम्मेदवारी दिन लागेको स्पष्ट गरे ।


    वरिष्ठ उपाध्यक्ष पोखरेलले चुनावी प्रतिस्पर्धामा जितहारको अवस्थालाई स्वाभाविक रुपमा लिनुपर्ने धारणा व्यक्त गर्दै निर्वाचनको परिणाम जेजस्तो आए पनि आफूहरू पार्टीका पक्षमा दृढताका साथ उभिने स्पष्ट गरे । एक प्रश्नको जिज्ञासामा वरिष्ठ उपाध्यक्ष पोखरेलले राज्यको संविधान, पार्टीको विधान, अन्तरराष्ट्रिय असल अभ्यास र सम्बन्धित व्यक्तिको चाहना भए जो कोहीलाई राजनीतिमा आउन दिनुपर्ने धारणा व्यक्त गरे ।


    यसैगरी प्रतिनिधि सभाको पुनःस्थापनासम्बन्धी विषय हाल अदालतमा विचाराधीन रहेकाले अनावश्यक टीकाटिप्पणी गर्न नहुने बताउँदै उनले लोकतन्त्र र निर्वाचनमा विश्वास गर्ने पार्टी भएकाले एमालेले आगामी निर्वाचनमा भाग लिने स्पष्ट गरे । वरिष्ठ उपाध्यक्ष पोखरेलले मुलुकका वामपन्थी शक्तिहरूबीच एकता हुनुपर्ने पक्षमा आफूहरू रहेको बताए । प्रमुख सञ्चारमाध्यमका सम्पादकहरूसँगको अन्तरसंवाद कार्यक्रममा पार्टीका उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली र सुरेन्द्र पाण्डे, सचिव योगेश भट्टराई र गोकर्ण विष्टलगायतका नेताको उपस्थिति थियो ।

  • एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    काठमाडौँ, २४ मङ्सिर । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशालामा आज सम्पन्न इलिमिनेटर खेलमा काठमाडौँ गोर्खाजलाई चार विकेटले हराउँदै लुम्बिनी क्वालिफायरमा प्रवेश गरेको हो । काठमाडौँ भने बाहिरिएको छ । जितका लागि पाएको ११२ रनको लक्ष्य लुम्बिनीले १७.४ ओभरमा ६ विकेटको क्षतिमा भेट्टायो । जसमा डार्सी सर्टले सर्वाधिक ३३ रनको योगदान गरे ।

    काठमाडौँका सन्तोष यादवले दुई विकेट लिए । यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौँले १९ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै १११ रनमा समेटियो । काठमाडौँका लागि सन्तोष यादवले सर्वाधिक २३ रनको योगदान दिए । उनले १७ बलमा एक छक्काको सहयोगमा २३ रन जोडेका हुन् । त्यसैगरी, जोन सिमसन र मोहमद आदिल आलमले समान १८\१८ रन जोडे भने भीम सार्कीले १४ रन बनाए । कप्तान करण केसी नौ रनमा आउट भए ।

    काठमाडौँलाई सस्तैमा समेट्ने क्रममा लुम्बिनीका शेर मल्ल र कप्तान रोहित पौडेलले समान तीनरतीन विकेट लिए । यस्तै ट्रम्पलम्यानले दुई विकेट लिए भने अभिशेष गौतमले एक विकेट झारे । लुम्बिनीले अब विराटनगर किंग्ससँग दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा गर्नेछ । दोस्रो क्वालिफायरको विजेताले फाइनलमा मङ्सिर २७ गते सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ ।

  • युवा राम्रो राजनीतिज्ञ बनुन् र देश चलाउन् भन्ने इच्छा छ : प्रधानमन्त्री कार्की

    युवा राम्रो राजनीतिज्ञ बनुन् र देश चलाउन् भन्ने इच्छा छ : प्रधानमन्त्री कार्की

    काठमाडौँ, २४ मङ्सिर । प्रधानमन्त्री सुशीला कार्कीले युवा राम्रो राजनीतिज्ञ बनुन् र देश चलाउन् भन्ने आफूहरूको इच्छा भएको बताएकी छिन् । सरकार र जेनजी समूहबीच आज सिंहदरबारमा भएको सम्झौतापछि सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले एउटै दस्तावेजबाट सबैका इच्छा भने पूरा नहुने पनि स्पष्ट गरिन् ।


    “हाम्रा जति पनि हाम्रा युवा शक्तिहरू छन्, तिनीहरू देशमै बसुन्, रोजगारी गरुन् । राम्रो राजनीतिज्ञ गरुन् र देश चलाउनन् भन्ने हाम्रो इच्छा छ । एउटै दस्तावेजबाट सबैका इच्छा त पूरा हुँदैन”, प्रधानमन्त्री कार्कीले भनिन् । उनले उक्त सहमति नेपाल राजपत्रमा प्रकाशन हुने र यो ऐतिहासिक अभिलेख हुने बताइन् । सम्झौता हस्ताक्षर समारोहमा सहभागी केही जेनजी प्रतिनिधिले भने सम्झौतामा आफूहरूलाई चित्त नबुझेको गुनासो गरेका थिए ।

  • सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति

    सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति

    काठमाडौँ, २४ मङ्सिर । नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति भएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज साँझ आयोजित समारोहमा प्रधानमन्त्री सुशीला कार्की र जेनजी आन्दोलनमा सहादात प्राप्त र घाइते प्रतिनिधिका तर्फबाट भोजविक्रम थापाले सम्झौतापत्रमा हस्ताक्षर गरे । सहमतिपछि प्रधानममन्त्री सुशीला कार्कीले सरकार र जेनजी पुस्ताका प्रतिनिधिबीच भएको सम्झौता परिवर्तनका लागि कोसेढुङ्गाका रूपमा खडा रहने विश्वास व्यक्त गरिन् ।

    उनले अहिले भएको सम्झौतापत्र भोलिको परिवर्तनलाई निर्देशन गर्ने बताइन् । प्रधानमन्त्री कार्कीले भनिन्, “यसले संविधान बनाउन गाइड गर्छ । भविष्यमा रक्तपातको आन्दोलन र विपद् रोक्न प्रयास गर्छ । हामी एउटै पक्ष छौँ । जेनजी मेरा सन्तान हुन् । हामी सबैको एउटै विचार हो, युवा शक्तिले सत्ता लिओस् । उनीहरूका विचारअनुसार राज्य चलोस् । हामी सन्तानको भविष्य हेर्न चाहन्छौँ ।”

    गत भदौ २३ र २४ गतेको आन्दोलनको मर्म र भावना तथा जेनजी पुस्ताले उठाउँदै आएको सुशासनका मुद्दा, संविधान संशोधन, निर्वाचन प्रणालीमा सुधारलगायत विषयहरू समेटिएका छन् । सो अवसरमा सरकारका मन्त्रीहरू, मुख्यसचिवलगायत उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो ।