Category: फिचर

  • सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति

    सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति

    काठमाडौँ, २४ मङ्सिर । नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति भएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज साँझ आयोजित समारोहमा प्रधानमन्त्री सुशीला कार्की र जेनजी आन्दोलनमा सहादात प्राप्त र घाइते प्रतिनिधिका तर्फबाट भोजविक्रम थापाले सम्झौतापत्रमा हस्ताक्षर गरे । सहमतिपछि प्रधानममन्त्री सुशीला कार्कीले सरकार र जेनजी पुस्ताका प्रतिनिधिबीच भएको सम्झौता परिवर्तनका लागि कोसेढुङ्गाका रूपमा खडा रहने विश्वास व्यक्त गरिन् ।

    उनले अहिले भएको सम्झौतापत्र भोलिको परिवर्तनलाई निर्देशन गर्ने बताइन् । प्रधानमन्त्री कार्कीले भनिन्, “यसले संविधान बनाउन गाइड गर्छ । भविष्यमा रक्तपातको आन्दोलन र विपद् रोक्न प्रयास गर्छ । हामी एउटै पक्ष छौँ । जेनजी मेरा सन्तान हुन् । हामी सबैको एउटै विचार हो, युवा शक्तिले सत्ता लिओस् । उनीहरूका विचारअनुसार राज्य चलोस् । हामी सन्तानको भविष्य हेर्न चाहन्छौँ ।”

    गत भदौ २३ र २४ गतेको आन्दोलनको मर्म र भावना तथा जेनजी पुस्ताले उठाउँदै आएको सुशासनका मुद्दा, संविधान संशोधन, निर्वाचन प्रणालीमा सुधारलगायत विषयहरू समेटिएका छन् । सो अवसरमा सरकारका मन्त्रीहरू, मुख्यसचिवलगायत उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो ।

  • नवीनतम यान्त्रिक सिँचाइ आयोजना सञ्चालन गर्न सिँचाइ व्यवस्थापन कम्पनी

    नवीनतम यान्त्रिक सिँचाइ आयोजना सञ्चालन गर्न सिँचाइ व्यवस्थापन कम्पनी

    २४ मंसिर, काठमाडौं । सरकारले नवीनतम यान्त्रिक सिँचाइ आयोजना सञ्चालनका लागि सिँचाइ व्यवस्थापन कम्पनी लिमिटेड संस्थापना गर्ने निर्णय गरेको छ ।
    कम्पनी संस्थापना गर्ने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको प्रस्तावलाई मन्त्रिपरिषद्को सोमबारको बैठकले स्वीकृति दिएको छ । कम्पनीमा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहको वहुमत सेयर रहनेछ ।

    कम्पनीमा नेपाल सरकारका विभिन्न निकाय, सम्बन्धित प्रदेश मन्त्रालय, स्थानीय तह,सम्बन्धित क्षेत्रका कृषक, कृषि क्षेत्रसँग सम्बन्धित वित्तीय संस्था, उद्योगी÷व्यवसायी र नेपाल विद्युत प्राधिकरणको लगानी रहनेछ । कम्पनी संस्थापना ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गर्ने छ । कम्पनीको कारोबार प्रकृति सेवा प्रदान गर्ने र उत्पादनमूलक हुनेछ ।


    सरकारको लगानी र एशियाली विकास बैंक (एडिबी)को सहायतामा नवीनतम यान्त्रिक सिँचाइ आयोजनाबाट हाललाई रौतहट र सर्लाहीमा भूमिगत जलस्रोतको उपभोगमार्फत प्रारम्भिक चरणमा पाँच सय डिप ट्युबवेलको निर्माण गरिने छ । यसबाट साढे २२ हजार हेक्टरमा सिँचाइ सुविधा उपलब्ध गराउने र कृषि व्यवसायीकरणमार्फत उत्पादन बृद्धिमा टेवा पुर्याउने ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले बताउनुभयो ।

    उहाँले आवश्यकता र मागका आधारमा अन्य जिल्ला र क्षेत्रमासमेत सेवा विस्तार गर्न सकिने उल्लेख गरे । हाल दुई जिल्लामा सञ्चालन गरिने आयोजनाको अनुमानित लागत १६ करोड अमेरिकी डलर (करिब २२ अर्ब ४० करोड रुपैयाँ) रहेको छ । यसमध्ये सरकारको ४ अर्ब ९३ करोड रुपैयाँ लगानी रहेको छ । एडिबीको १७ अर्ब ४७ करोड रुपैयाँ सहयाता रहने छ । यसमा २ अर्ब १० करोड अनुदान र बाँकी रकम सहुलितपूर्ण ऋण रहेको छ ।


    कम्पनीले सतह तथा भूमिगत जलस्रोतको एकल तथा संयोजनात्मक उपयोगमार्फत सिँचाइ सुविधा उपलब्ध गराउने, किसानसँग ग्राहकी सम्झौता गर्ने, पानी वितरणका शर्त र सिँचाइ महशुल निर्धारण तथा संकलन गर्ने, सिँचाइ प्रणालीको विकास, संचालन, मर्मत सम्भार तथा प्रस्तिस्थापन गर्ने, किसानलाई तालिम प्रदान गरी क्षमता विकास गर्नेलगायतका काम गर्ने छ ।


    कम्पननीको अधिकृत पूँजी तीन अर्ब रुपैयाँ रहनेछ । अधिकृत पूँजीलाई प्रतिशेयर एक सय रुपैयाँ दरका तीन करोडड थानका साधारण शेयरमा विभाजन गरिएको छ । कम्पनीको तत्काल जारी पूँजी दुई करोड रुपैयाँको हुनेछ । कम्पनीमा ८५ प्रतिशत संस्थापक र १५ प्रतिशत साधारण शेयरधनी रहनेछन् ।
    संस्थापकहरुले तत्काल चुक्ता गर्न कबूल गरेको पूँजी १ करोड ७० लाख रुपैयाँ हुनेछ । जारी पूँजीको १५ प्रतिशतले हुने रकम बरारको शेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।


    संस्थापकतर्फ ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको ११ प्रतिशत (२२ लाख रुपैयाँ), अर्थ तथा कृषि तथा पशुपन्छी मन्त्रालय तथा नेपाल विद्युत प्राधिकरणको १०\१० प्रतिशत (२०\२० लाख रुपैयाँ),कृषि\सिचाइसँग सम्बन्धित मधेश प्रदेश सरकारको १५ प्रतिशत (३० लाख रुपैयाँ), रौतहट र सर्लाहीका स्थानीय तह २५ प्रतिशत (५० लाख रुपैयाँ) र कृषि विकास बैंक २ प्रतिशत (४ लाख रुपैयाँ) शेयर रहनेछ ।


    साधारण शेयरतर्फ सम्बन्धित जिल्लाका कृषि उद्यमीको ५ प्रतिशत (१० लाख रुपैयाँ) र आयोजना लाभान्वित क्षेत्रका कृषक\जल उपभोक्ता समितिको १० प्रतिशत (२० लाख रुपैयाँ) शेयर रहनेछ । कम्पनीको सञ्चालक समिति सात सदस्यीय रहनेछ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव (सिँचाइतर्फ), नेपाल सरकारको प्रतिनिधिका रुपमा सिँचाइ विभागका महानिर्देशक, अर्थ तथा कृषि मन्त्रालयकातर्फबाट सहसचिव स्तरको कर्मचारी,प्रदेश सरकार, रौतहट र सर्लाहीका स्थानीय तह,किसान प्रयोगकर्ता\उपभोक्ता समितिकातर्फबाट एक÷एक जना प्रतिनिधि रहनेछन् । प्रमुख कार्यकारी अधिकृत\प्रबन्ध—सञ्चालकले कम्पनीको सदस्य—सचिवको रुपमा काम गर्ने व्यवस्था गरिएको छ ।

  • काठमाडौँ विश्वविद्यालयको दीक्षान्त समारोह आज

    काठमाडौँ विश्वविद्यालयको दीक्षान्त समारोह आज

    काभ्रेपलाञ्चोक, २४ मङ्सिर ः काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयु)को ३१औँ दीक्षान्त समारोह आज हुँदै छ । पहिलो चरणमा दुई हजार २०९ विद्यार्थी दीक्षित हुने भएका छन् । यसमध्ये १७ देशका १९६ विदेशी विद्यार्थी दीक्षित हुने बताइएको छ ।

    समारोहमा प्रधानमन्त्री तथा कुलपति सुशीला कार्कीको अध्यक्षतामा आयोजना हुने समारोहमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा सहकुलपति महावीर पुनलगायत सहभागी हुनेुहुने कार्यक्रम रहेको छ । समारोहमा नयाँदिल्लीस्थित जवाहरलाल–नेहरु विश्वविद्यालयका उपकुलपति प्राध्यापक धुलिपुडी पण्डितले प्रमुख आतिथ्यतासहित दीक्षान्त मन्तव्य दिनुहुने कार्यक्रम, तय भएको काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा डा अच्युत वाग्लेले जानकारी दिए ।


    समारोहमा विश्वविद्यालयको स्कुल अफ आर्टस्का ८३, स्कुल अफ एजुकेसनका २९४, स्कुल अफ इञ्जिनियरिङका ३४०, स्कुल अफ लका ३६, स्कुल अफ म्यानेजमेन्टका ३७८, स्कुल अफ मेडिकल साइन्सेजका ८८१ र स्कुल अफ साइन्सका १९७ गरी कूल दुई हजार २०९ विद्यार्थी यसपटक दीक्षित हुने छन् । दीक्षितमध्ये विद्यावारिधी, डिएम र एमसिएच तहका सात, स्नातकोत्तर तहका ३९७, पिजिडी तहका ५० र स्नातक तहका एक हजार ७२८ जना रहेका छन् ।

    दीक्षितमध्ये हुनेमा अष्ट्रेलिया, अस्ट्रिया, बङ्गलादेश, भुटान, बेलायत, भारत, जापान, मलेसिया, माल्दिभ्स, मेक्सिको, नामिबिया, रसिया, स्पेन, श्रीलङ्का, स्वीडेन, संयुक्तराज्य अमेरिका र भियतनामका १९६ विदेशी विद्यार्थी रहेका छन् । समारोहमा विभिन्न पदकसमेत प्रदान गरिने जनाइएको छ । ३१औँ दीक्षान्तको पहिलो चरणसम्म काठमाडौँ विश्वविद्यालयबाट दीक्षितको हुनेको सङ्ख्या ५० हजार ४० जना पुगेको छ । तीमध्ये पाँच हजार ८६० विदेशी विद्यार्थी अर्थात् करिब १२ प्रतिशत रहेका छन् । दीक्षित विदेशी विद्यार्थीमध्ये सबैभन्दा बढी भारतका हुन् । यस अवधीमा भारतका चार हजार ९७६ विद्यार्थी दीक्षित भएका हुन् ।

    त्यस्तै, श्रीलङ्काबाट ३९९, अमेरिकाबाट ८५, माल्दिभ्स ७५, जर्मनी ३३, बङ्गलादेश २५, बेलायत २१, क्यानाडा २१, भुटान २०, चीन १९, जाम्बिया १८, दक्षिण अफ्रिका १४, पाकिस्तान १३, अष्ट्रेलिया १०, रुस १० जना छन् । हालसम्म विविध विधामा कूल ५८ देशका विद्यार्थी दीक्षित भएको अच्युत वाग्लेले बताए ।

  • पूर्व–पश्चिम राजमार्ग विस्तार गर्न ६ हजार रुख काटिने

    पूर्व–पश्चिम राजमार्ग विस्तार गर्न ६ हजार रुख काटिने

    जलेश्वर (महोत्तरी), २४ मङ्सिर : पूर्व–पश्चिम राजमार्ग विस्तारका लागि महोत्तरी जिल्लामा ६ हजार २७ रुख कटान गरिने भएको छ । पूर्व–पश्चिम राजमार्ग विस्तारअन्तर्गत कमला–ढल्केवर–पथलैया सडक पूर्वीखण्ड आयोजनाका प्रमुख राजेशकुमार दासका अनुसार विभिन्न समस्या र चुनौतीकाबीच लामो समयपश्चात् डिभिजन वनकार्यालय, वन तथा भूसंरक्षण विभाग र वन तथा वातावरण मन्त्रालयहुँदै सम्पूर्ण प्रक्रिया पूरा भएपछि रुख काटिने आदेश प्राप्त भएको हो ।

    प्रमुख दासले यस आयोजनाअन्तर्गत पूर्वी खण्डले निर्माण कार्य गर्ने महोत्तरी, धनुषा र सर्लाही जिल्लामा जम्मा ११ हजार ५७७ रुख कटान गर्ने आदेश प्राप्त भएको बताउनुभयो । सोअन्तर्गत सर्लाहीमा तीन हजार ६७४ र धनुषामा एक हजार ८७६ रुख कटान गर्ने आदेश भएको प्रमुख दासले बताए । उनका अनुसार सडक विस्तारका क्रममा सहरी तथा बजार क्षेत्रमा ६ लेनसहित ३१ मिटर चौडाइ र अन्य क्षेत्रमा चार लेनसहित १८ मिटर चौडाइ कायम गरिने भएको छ ।

    सडक विस्तारका लागि सबैभन्दा बढी सालका रुख कटान गरिने भएका छन् । सडक विस्तारमा बिजुलीका खम्बा सार्ने र खानेपानीको पाइप बिछ्याउने कामसमेत चुनौतीका रुपमा रहेको आयोजना प्रमुख दासले बताए । धनुषा र सर्लाहीमा रुख कटानको काम सुरु भइसकेको र महोत्तरीमा पनि चाँडै उक्त कार्य आरम्भ हुने उनले बताए ।

  • निर्वाचन ८५ दिन बाँकी : आयोगले केही मतदानस्थलको पुनरावलोकन गर्दै

    निर्वाचन ८५ दिन बाँकी : आयोगले केही मतदानस्थलको पुनरावलोकन गर्दै

    काठमाडौँ, २४ मङ्सिरः निर्वाचन आयोगले मतदाताको सहजताका लागि देशका विभिन्न मतदानस्थलको पुनरावलोकन गर्ने भएको छ । आयोगले एक सूचनामार्फत सहज रुपमा मतदान गर्ने प्रयोजनका लागि मतदानस्थल पुनरावलोकन गर्न लागिएकाले आममतदातालाई आवश्यक जानकारी गराइएको उल्लेख गरेको छ । आयोगले पुनरावलोकनका क्रममा कुनै मतदाताको नाम सम्बन्धित मतदानस्थलमा सार्न वा समावेश हुन छुट भएको भए हाल सञ्चालन भइरहेको मतदाता नामावली अद्यावधिक कार्यक्रममा मिलाउन भनेको छ । सो कार्यक्रम यही मङ्सिर २६ गतेसम्म चल्नेछ ।

    नामावलीमा रहेको त्रुटि सच्याउने नाम हटाउने, दाबी विरोध गर्ने कामका अतिरिक्त एउटै वडाभित्र रहेको कुनै एक मतदानस्थलबाट आफूलाई पायकपर्ने अर्को मतदानस्थलमा नाम सार्नका लागि निवेदन दिनसक्ने सुविधा रहेको सूचनामा उल्लेख छ । मतदाताले सम्बन्धित वडाभित्रकै अर्को मतदानस्थलमा आफ्नो नाम सार्न चाहेमा सम्बन्धित निर्वाचन कार्यालयमा गई वा आयोगको वेबसाइटमार्फत अनलाइन निवेदन दिन अनुरोध गरिएको छ ।

  • समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता

    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता

    काठमाडौँ, २४ मङ्सिरः समानुपातिक निर्वाचन प्रणालीका लागि १०० राजनीतिक दलले निर्वाचन आयोगमा आवेदन दिएका छन् । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ निवेदन दिने समयसीमा भित्र ती राजनीतिक दलले निवेदन दिएका हुन् । आयोगले यही मङ्सिर २१ देखि २३ गतेसम्म समानुपातिक निर्वाचन प्रयोजनका लागि दल दर्ताको समयसीमा निर्धारण गरेको थियो । सो समयभित्र एक सय राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीका लागि आवेदन दिएको आयोगले जनाएको छ ।

    यसरी आवेदन गर्नेमा संयुक्त निर्वाचन चिन्ह लिएका र एकल चुनाव चिन्ह लिएका राजनीतिक दल छन् । प्राप्त भएको आवेदन माथि आवश्यक अध्ययन गरी यही मङ्सिर २६ गतेसम्म स्वीकृत गरिने आयोगले उल्लेख गरेको छ । आयोगले तय गरेको कार्यसूची अनुसार आगामी पुस १३ र १४ गते समानुपातिकतर्फको बन्द सूची पेश गर्नुपर्नेछ ।

    सो सूचीमाथि आवश्यक अध्ययन पश्चात् आगामी माघ ४ गते प्रारम्भिक सूची प्रकाशित हुनेछ । उक्त सूचीमाथि दावी विरोध र आवश्यक छानबिन गरी आगामी माघ २० गते अन्तिम सूची प्रकाशित हुनेछ । कूल २७५ सदस्यीय प्रतिनिधिसभामा १६५ सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत निर्वाचित हुनेछन् । यस्तै, ११० सदस्य भने समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित हुनेछन् ।

  • यस्तो रहने छ आजको मौसम

    यस्तो रहने छ आजको मौसम

    काठमाडौँ, २४ मङ्सिर । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ ।

    महाशाखाले राति पनि देशभरको मौसम मुख्यतया सफा रहने बताएको छ । काठमाडौँ उपत्यका आज बिहान ५ः४५ बजेको न्यूनतम तापक्रम ६.० डिग्री सेल्सियस मापन गरिएको थियो । आज यहाँको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसका बीच रहने विभागको पूर्वानुमान छ।

  • एनपिएल : एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै

    एनपिएल : एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै

    काठमाडौँ, २४ मङ्सिरः त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत इलिमिनेटरमा आज अपराह्न ४ः०० बजे काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स भिड्दैछन् ।

    काठमाडौँ तेस्रो र लुम्बिनी चौथो स्थानमा छ । लिग चरणको खेलमा काठमाडौँले लुम्बिनीलाई २२ रनले हराएको थियो । आज जित्ने टोली दोस्रो क्वालिफायरमा विराटनगर किङ्ससँग भोलि खेल्नेछ । विराटनगर पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससंग पराजित भएको थियो ।

  • चीनमा १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड

    चीनमा १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड

    बेइजिङ, २४ मङ्सिर (रासस–एएफपी) । चीनले राज्यनियन्त्रित सम्पत्ति व्यवस्थापन कम्पनीका पूर्व कार्यकारीलाई भ्रष्टाचारको आरोपमा मङ्गलबार मृत्युदण्ड दिएको चिनियाँ सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन् । चिनियाँ हुआरोङ इन्टरनेसनल होल्डिङ्स (सिएचएच) की पूर्व महाप्रबन्धक बाई तियानहुईलाई सन् २०१४ देखि सन् २०१८ को बीचमा परियोजनाहरूको अधिग्रहण र वित्तपोषणमा अनुकूल व्यवहार गर्ने क्रममा १५६ मिलियन डलरभन्दा बढी रकम स्वीकार गरेको अभियोगमा दोषी ठहर गरिएको छ ।

    सिएचएच चाइना हुआरोङ एसेट म्यानेजमेन्टको सहायक कम्पनी हो, जसले देशको सबैभन्दा ठूलो सम्पत्ति व्यवस्थापन कोषको रूपमा खराब ऋण व्यवस्थापनका बारेमा चासो राख्छ । ह्वारोङ राष्ट्रपति सी जिनपिङको वर्षौं लामो भ्रष्टाचारको दमनको एक प्रमुख लक्ष्य भएको छ र यसका पूर्व अध्यक्ष सियाओमिनलाई सन् २०२१ जनवरीमा २५ करोड ३० लाख डलरको घुस लिएको आरोपमा मृत्युदण्ड दिइएको थियो।

    अन्य धेरै हुआरोङ अधिकारीहरू पनि भ्रष्टाचार विरोधी अनुसन्धानमा फसेका छन्। चीनमा भ्रष्टाचारका लागि मृत्युदण्डको सजाय प्रायः दुई वर्षको छुटका साथ जारी गरिन्छ र त्यसपछि आजीवन कारावासमा परिवर्तन गरिन्छ। उत्तरी शहर तियानजिनको अदालतले सन् २०२४ मेमा पहिलो पटक सुनाएको बाईको सजाय निलम्बन गरिएको थिएन। उनले आफ्नो सजायबिरूद्ध अपील गर्नुभएको थियो तर मूल फैसलालाई फेब्रुअरीमा सदर गरिएको थियो ।

    चीनको सर्वोच्च अदालत सुप्रिम पिपुल्स कोर्टले समीक्षापछि निर्णयको पुष्टि गर्दै बाईको अपराध ‘अत्यन्त गम्भीर’ भएको बताएको छ । “बाइले असाधारण रूपमा ठूलो रकम घूस स्वीकार गरेकाले उनको अपराधको अवस्था असाधारण थियो । यसको सामाजिक प्रभाव विशेष थियो र राज्य र जनताको हितले असाधारण रूपमा ठूलो क्षति बेहोरेको थियो,” सीसीटीभीले एसपिसीलाई उद्धृत गर्दै लेखेको छ।

    मङ्गलबार बिहान तियानजिनमा नजिकका आफन्तहरूसँग भेटेपछि उनलाई मृत्युदण्ड दिइएको थियो तर उनलाई कसरी मृत्युदण्ड दिइयो भन्ने खुलाएको छैन।
    चीनले मृत्युदण्डको तथ्याङ्कलाई राज्यको गोप्य रूपमा वर्गीकृत गरेको छ, यद्यपि एम्नेस्टी र अन्य अधिकारवादी समूहहरूले देशमा हरेक वर्ष हजारौँ मानिसहरूलाई मृत्युदण्ड दिने गरेको विश्वास गर्छन्।

    बाई चीनको वित्त उद्योगमा भ्रष्टाचारविरुद्ध लामो समयदेखि चलिरहेको कारबाहीमा सजाय भोग्ने पछिल्लो उच्च पदका व्यक्ति हुन् । चीनको शीर्ष सेक्युरिटिज रेगुलेटरका पूर्व प्रमुख यी हुइमानलाई गत सेप्टेम्बरमा भ्रष्टाचारको आरोपमा छानबिनको दायरामा राखिएको थियो । गत मार्चमा सरकारी स्वामित्वको बैङ्किङ कम्पनी एभरब्राइट ग्रुपका पूर्व प्रमुख ली सियाओपेङलाई छ करोड युआनको घुस लिएको अभियोगमा १५ वर्षको जेल सजाय सुनाइएको थियो ।

    बैङ्क अफ चाइनाका पूर्व अध्यक्ष लिउ लियान्गेलाई सन् २०२४ नोभेम्बरमा दुई वर्षको छुटसहित मृत्युदण्डको सजाय सुनाइएको थियो। भ्रष्टाचार विरोधी अभियानले स्वच्छ शासनलाई बढावा दिएको अभियानका समर्थकहरूले बताएका छन् तर आलोचकहरूले यसले सीलाई राजनीतिक प्रतिद्वन्द्वीहरूलाई सफाया गर्ने शक्ति प्रदान गरेको मात्र देख्छन् ।

  • इजरायली आक्रमणमा यस वर्ष ६७ पत्रकारको मृत्यु

    इजरायली आक्रमणमा यस वर्ष ६७ पत्रकारको मृत्यु

    पेरिस, २४ मङ्सिर (रासस–एएफपी) । यस वर्ष विश्वभर मारिएका सबै पत्रकारमध्ये लगभग आधाको मृत्युका लागि इजरायल जिम्मेवार रहेको रिपोर्टर्स विदाउट बोर्डर्स ९आरएसएफ०ले मङ्गलबार जानकारी गराएको छ। इजरायलको सेनाको आक्रमणमा परी गाजामा २९ प्यालेस्टिनी पत्रकारहरूको मृत्यु भएको आरएसएफले जनाएको छ ।

    पेरिसस्थित मिडिया फ्रिडम ग्रुपले आफ्नो वार्षिक प्रतिवेदनमा सन् २०२४ मा ६६ पत्रकारको हत्या गरिएकोमा यस वर्ष विश्वभर मारिने पत्रकारको संख्या ६७ पुगेको जनाएको छ । इजरायली सेनामने आक्रमणमा मृत्यु हुने पत्रकारको सङ्ख्या यो बर्ष आक्रमणमा मारिने पत्रकारको कुल सङ्ख्याको ४३ प्रतिशत हिस्सा रहेको ओगटेको आरएसएफले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ।

    पत्रकारमाथिको आक्रमणले इजरायललाई ‘पत्रकारहरूको सबैभन्दा ठूलो शत्रु’ बनाएको छ, आरएसएफले आफ्नो रिपोर्टमा भनेको छ । आरएसएफले सन् २०२४ डिसेम्बरदेखि १२ महिनामा भएका मृत्युको दस्तावेजीकरण गरेको छ । सबैभन्दा घातक एकल आक्रमण तथाकथित ‘डबल–ट्याप’ आक्रमण थियो । ‘डबल–ट्याप’ आक्रमणमा दोहोरो बम विस्फोट गरिन्छ र यो अगस्ट २५ मा दक्षिण गाजाको एक अस्पतालमा भएको थियो । ‘डबल–ट्याप’ आक्रमणमा अन्तर्राष्ट्रिय समाचार निकाय रोयटर्स र एसोसिएटेड प्रेस ९एपी० का दुई योगदानकर्तासहित पाँच पत्रकारको मृत्यु भएको थियो।

    समग्रमा अक्टोबर २०२३ मा गाजा युद्ध सुरु भएदेखि इजरायलमा हमासको आक्रमणपछि, लगभग २२० पत्रकारहरूको मृत्यु भएको छ, जसले इजरायललाई तीन वर्षसम्म विश्वव्यापी पत्रकारहरूको सबैभन्दा ठूलो हत्यारा बनाएको आरएसएफको तथ्याङ्कले देखाउँछ। इजरायली सेनाले हमासका लडाकु र नेताहरूलाई लक्षित गरी आक्रमण र गोलाबारी गरेको बताएको छ। मिडिया समूह र प्रेस स्वतन्त्रता संगठनहरूले पहुँचका लागि आह्वान गरे पनि विदेशी पत्रकारहरू अझै पनि गाजा प्रवेश गर्न असमर्थ छन् । उनीहरू इजरायली सेनाको कडा नियन्त्रणमा गाजा प्रवेश गर्नुलाई प्रेस स्वतन्त्रता मान्न सकिँदैन ।

    मेक्सिकोका वामपन्थी राष्ट्रपति क्लाउडिया शेनबामले पत्रकारको सुरक्षा गर्ने प्रतिबद्धता व्यक्त गरे पनि सन् २०२५ मा मेक्सिकोमा कम्तिमा तीन वर्षमा सबैभन्दा घातक वर्ष भएको र नौ जना पत्रकारको मृत्यु भएको आरएसएफको वार्षिक प्रतिवेदनले बताएको छ । आरएसएफका अनुसार पत्रकारहरूका लागि सबैभन्दा खतरनाक देश भनिएका युद्धग्रस्त युक्रेनमा तीन र सुडानमा चार पत्रकारको मृत्यु भएको छ ।

    गत वर्ष मृत्यु हुनेको कुल सङ्ख्या सन् २०१२ मा मारिएका १४२ पत्रकारको तुलनामा कम हो । सन् २०१२ मा सिरियाली गृहयुद्धका क्रममा पछिल्लो तीन दशकमा सबैभन्दा बढी पत्रकार मारिएका थिए । यो बर्षको पत्रकारको मृत्यु सन् २००३ देखि प्रति वर्ष लगभग ८० जनाको मृत्यु हुने गरेको औसत तथ्याङ्कभन्दा भने कम हो।

    आरएसएफका सम्पादकीय निर्देशक एनी बोकान्डेले पत्रकारहरूलाई लक्षित गर्ने अपराधलाई ‘न्यायोचित’ साबित गर्ने तरिकाको रूपमा ‘धब्बा’ लगाउने बढ्दो प्रवृत्तिलाई उल्लेख गर्नुभयो । यी एक्कासी लागेका गोली र मृत्यु होइनन्। यो पत्रकारहरूलाई जानाजानी निशाना बनाइएको हो किनकि उनीहरूले विश्वलाई द्वन्द्वमा के भइरहेको छ भनेर जानकारी दिन्छन्,” उहाँले एएफपीलाई भन्नुभयो ।

    आरएसएफको वार्षिक प्रतिवेदनले आफ्नो कामका लागि जेलमा परेका पत्रकारहरूको सङ्ख्या पनि गणना गरेको छ । चीनमा १२१, रुसमा ४८ र म्यानमारमा ४७ जना पत्रकार जेलमा परेका छन् र यी पत्रकारहरूका लागि सबैभन्दा दमनकारी देशहरू मानिएका छन् । सन् २०२५ को डिसेम्बर १ सम्ममा ४७ देशमा ५०३ जना पत्रकारलाई हिरासतमा लिइएको रिपोर्टमा उल्लेख छ । अन्य संगठनहरूले पत्रकारको मृत्युको गणना गर्न फरक प्रमाणहरू प्रयोग गर्छन्। युनेस्कोका अनुसार सन् २०२५ मा ९१ जना पत्रकारको हत्या भएको थियो ।

  • विश्वव्यापी मानवीय आवश्यकतामा तीव्र वृद्धि , राहतको लागि ३३ अर्ब डलर माग

    विश्वव्यापी मानवीय आवश्यकतामा तीव्र वृद्धि , राहतको लागि ३३ अर्ब डलर माग

    संयुक्त राष्ट्र , २४ मङ्सिर (रासस–सिन्ह्वा) । संयुक्त राष्ट्र मानवीय सहायता समन्वय कार्यालय ९ओचा० ले सन् २०२६ मा एक करोड ३५ लाख मानिसलाई सहयोग पु¥याउन ३३ अर्ब अमेरिकी डलर सङ्कलन गर्ने लक्ष्य राखेको जनाएको छ । यो सहयोग २३ देशमा सञ्चालन हुने कार्यक्रम तथा शरणार्थी र आप्रवासीसम्बन्धी छवटा योजनामार्फत पु¥याइनेछ । ओचाले आगामी वर्षको मुख्य लक्ष्य ८७ लाख मानिसको ज्यान बचाउन २३ अर्ब डलर जुटाउनुपर्ने बताएको छ ।

    संयुक्त राष्ट्र र उसका साझेदारहरूले सन् २०२६ का लागि मानवीय अपिल सार्वजनिक गर्दै युद्ध, जलवायु विपद्, भूकम्प, महामारी र बाली नष्ट हुने घटनाले सबैभन्दा बढी असर पारेका क्षेत्रमा सहयोग केन्द्रित गरिने जानकारी दिएका छन् । मानवीय मामिलाका अवर–महासचिव तथा आकस्मिक राहत संयोजक टम फेलेचरका अनुसार यसले ‘ज्यान बचाउने कामलाई पहिलो प्राथमिकतामा राखेको’ छ । उनले भने, “२०२६ को प्रतिवेदन सुधार, प्रमाण र कार्यक्षमतामा आधारित छ, र संयुक्त राष्ट्रले स्थानीय संस्थालाई थप अधिकार दिँदै आवश्यक व्यक्तिलाई सहयोग सीधै पु¥याउने दिशामा अघि बढिरहेको छ ।”

    ‘विश्व मानवीय अवलोकन २०२६’ नामक प्रतिवेदनले विश्वभरका मानवीय आवश्यकता, तिनका कारण तथा सहयोगका लागि कति स्रोत आवश्यक पर्छ भन्ने विस्तृत विवरण प्रस्तुत गर्दछ । संयुक्त राष्ट्र महासचिवका प्रवक्ता स्टेफान दुजारिकले यो वर्ष देखा परेको गम्भीर वित्तीय सङ्कटले धेरै मानवीय कार्यक्रममा कठिनाइ उत्पन्न गरेको बताए ।

  • इन्डोनेसियाको राजधानीमा भीषण आगलागी, महिलासहित २२ जनाको मृत्यु

    इन्डोनेसियाको राजधानीमा भीषण आगलागी, महिलासहित २२ जनाको मृत्यु

    जकार्ता, २४ मङ्सिर (रासस–एएफपी) । इन्डोनेसियाको राजधानी जकार्तामा मङ्गलबार सात तल्ले कार्यालय भवनमा लागेको आगलागीमा कम्तीमा २२ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार, आगो पहिलो तलामा विस्फोट भएको ड्रोनको ब्याट्रीबाट सुरु भएको हुन सक्ने प्रारम्भिक अनुमान छ, जसले माथिल्ला तलाहरूमा फैलियो । सेंट्रल जकार्ता प्रहरी प्रमुख सुसात्यो पुर्नोमो कोंद्रोले पत्रकारहरूसँग भने, “आगलागीको सही कारण फोरेंसिक प्रयोगशालाले अझै अनुसन्धान गरिरहेको छ । हामी यस घटनाको पूर्ण रूपमा अनुसन्धानमा प्रतिबद्ध छौं ।”

    एक साक्षीले बताए अनुसार आगो खाना खाने समयमा सुरू भएको थियो र दमकल टोली पुग्दा आगो पहिले नै ठूलो भएको थियो । ५३ वर्षीया नुरहायतीले भनिन्, “ढोका बन्द थियो । आगो पहिले नै ठूलो र भयावह देखिन्थ्यो ।” प्रहरीले प्रारम्भिक मृत्यु सङ्ख्या १७ बाट अपडेट गर्दै २२ जनाको मृत्यु पुष्टि गरेको छ, जसमा १५ जना महिला छन् । तीमध्ये एक महिला गर्भवती रहेको बताइएको छ । जकार्ता दमकल विभागले कम्तीमा १०० दमकलकर्मी र २९ वटा दमकल गाडी परिचालन गरेर आगो निभाएको थियो । प्रहरीका अनुसार भवन खाली गराउँदा स्थानीय एक प्रहरी कमाण्डर घाइते भएका छन् ।

    प्रहरी प्रमुखले बताए अनुसार दमकलकर्मीहरू अहिले भवन चिसो पार्न र केही तलाबाट बाक्लो धुवाँ हटाउनमा केन्द्रित छन् । “भवन पूर्ण रूपमा खाली भएपछि हामी फेरि खोजी गर्नेछौं,” उनले भने, घटनास्थलमा हेर्दा अधिकांश मृतकहरूमा सम्भवतः धुवाँमा सास फेर्न नसक्दा मृत्यु भएको देखिन्छ । आगलागीमा क्षतिग्रस्त भवनको बाहिरी भाग कालो भएको छ र केही झ्याल फुटेका छन् । भवन कृषि ड्रोन सेवा कम्पनीले प्रयोग गर्दै आएको थियो । दमकलकर्मीहरूले ठूलो पङ्खा प्रयोग गरेर भवन चिसो पारेका थिए ।


    प्रहरीले सबै साक्षी, व्यवसायी र भवन मालिकसँग सोधपुछ गर्दैछ । अनुसन्धानले आगलागी लापरबाहीका कारण भएको हो कि अन्य कुनै जिम्मेवार पक्षसँग सम्बन्धित छ भनी जाँच गर्नेछ । सन् २०२३ मा देशको पूर्वी भागमा निकल प्रशोधन कारखानामा विस्फोट हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको थियो ।

  • थाइल्यान्ड–कम्बोडिया सीमामा झडप, सात जनाको मृत्यु

    थाइल्यान्ड–कम्बोडिया सीमामा झडप, सात जनाको मृत्यु

    नोमपेन्हरबैङ्कक, २४ मङ्सिर (रासस–क्युएनए) । दुई देश बिचको सीमामा झडप र हिंसा बढ्दै जाँदा थाईल्यान्डले कम्बोडियाको क्षेत्रमा प्रहार गरे पछि मङ्गलबार सात जना सर्वसाधारणको मृत्यु हुनुका साथै कम्तिमा २० जना घाइते भएको जनाइएको छ । कम्बोडियाको संघिय रक्षा मन्त्रालयका प्रवक्ता लेफ्टिनेन्ट जनरल माली सोचेटाले कम्बोडिया भित्रका क्षेत्रहरूमा गोलाबारी भएको जनाउदै घटनाको पुष्टि गरेका छन् ।

    उनले आक्रमणहरूलाई “अमानवीय र क्रूर“ भन्दै आक्रमणहरू अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमको निर्देशनमा अक्टोबर–२६ मा दुवै देशका प्रधानमन्त्रीहरूले हस्ताक्षर गरेको युद्धविराम सम्झौता र संयुक्त घोषणापत्रको विरुद्ध भएको बताए । बैङ्ककमा, थाई सेनाले कम्बोडियासँगको सीमा झडपमा दुई सैनिकको मृत्यु भएको घोषणा गरेको छ, यो सँगै आइतबार लडाइँ पुनः सुरु भए देखि मृत्यु हुने थाई सेनाको सङ्ख्या तीन पुगेको जनाइएको छ ।

    सेनाले विज्ञप्ति जारी गर्दै एकजना सैनिकको डिसेम्बर–८ मा र दुई जना डिसेम्बर–९ मा मृत्यु भएको उल्लेख गर्दै थाइल्यान्डले थाई क्षेत्रबाट कम्बोडियन सेनालाई निष्कासन गर्न कदम चाल्ने जनाएको छ । थाइल्यान्ड – कम्बोडियाको ८१७ किलोमिटरको साझा भूमि सीमामा रहेका धेरै क्षेत्रहरूमा लामो समय देखि विवाद छ, जुन विवाद एक शताब्दी भन्दा पुरानो हो ।

    जसका कारण सशस्त्र झडपहरू बिच–बिचमा भइरहेको जनाइएको छ भने सबैभन्दा गम्भीर झडप सन् २०११ मा एक हप्ता लामो बमबारी भएको थियो । गत मे महिनामा भएको झडपमा एक कम्बोडियन सैनिकको मृत्यु भए पछि तनाव फेरि बढेको थियो । घटना पछि दुवै पक्षले आफ्नो सीमा तैनातीलाई उल्लेखनीय रूपमा बलियो बनाएको र कूटनीतिक प्रयासहरू असफल भए पछि हाल स्थिति सशस्त्र झडपमा परिणत भएको छ ।

  • सन् २०२५ रेकर्डमा दोस्रो सबैभन्दा तातो वर्ष

    सन् २०२५ रेकर्डमा दोस्रो सबैभन्दा तातो वर्ष

    पेरिस, २४ मङ्सिर (रासस–एएफपी) । सन् २०२५ मा पृथ्वी दोस्रो सबैभन्दा तातो वर्षको रूपमा रेकर्ड हुने देखिएको युरोपको वैश्विक तापमान अनुगमन निकायले मङ्गलबार जनाएको छ। यो बर्षको तापमान सन् २०२३ सँग बराबरी हुने बाटोमा रहेको उक्त संस्थाले जनाएको हो । सन् २०२४ मा विश्वको तापक्रम पृथ्वीको तपक्रम रेकर्ड गर्न थालिएपछि पहिलो पटक उच्च विन्दुमा पुगेको थियो । ‘कोपर्निकस क्लाइमेट चेन्ज सर्भिस’ को तथ्याङ्कले विश्वव्यापी तापक्रम पूर्व–औद्योगिक स्तरभन्दा १।५ डिग्री सेल्सियसले बढ्ने बाटोमा रहेको कुरा पुनः पुष्टि गर्दछ । यो सीमा सन् २०१५ को पेरिस सम्झौतामा सुरक्षित मानिएको थियो।

    सेवाको मासिक अपडेट अनुसार, जनवरी र नोभेम्बरको बीचमा औसत तापक्रम १।४८ डिग्री सेल्सियसले बढेका र रेकर्डमा दोस्रो सबैभन्दा तातो वर्ष बनेको छ । “सन् २०२३÷२५ को तीन–वर्षे औसत तापक्रम पहिलो पटक १।५ डिग्री सेल्सियसभन्दा बढी हुने बाटोमा छ,’ कोपर्निकसकी जलवायु रणनीतिक प्रमुख सामन्था बर्गसले एक विज्ञप्ति जारी गरी जानकारी गराएकी छिन् ।


    “यी उपलब्धिहरू अमूर्त छैनन् तर तिनीहरूले जलवायु परिवर्तनको तीव्र गतिलाई प्रतिबिम्बित गर्छन् । भविष्यमा बढ्दो तापक्रमलाई कम गर्ने एकमात्र तरिका हरितगृह ग्यास उत्सर्जनलाई द्रुत रूपमा घटाउनु हो,” बर्गसले भनिन्। संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले विश्वले आगामी केही वर्षमा ग्लोबल वार्मिङलाई १.५ डिग्री सेल्सियसभन्दा तल राख्न नसक्ने चेतावनी अक्टोबरमा दिएका थिए । कोपर्निकसका अनुसार, गत महिना औद्योगिक पूर्वको स्तरभन्दा १।५४ डिग्री सेल्सियसले बढी रहेर रेकर्डमा तेस्रो सबैभन्दा तातो नोभेम्बर बनेको थियो । गत महिना औसत सतहको हावाको तापक्रम १४.०२ डिग्री सेल्सियस पुगेको थियो।

    यस्तो क्रमिक वृद्धि सानो देखिन सक्छ तर यसले पहिले नै जलवायुलाई अस्थिर बनाइरहेको छ र आँधी, बाढी तथा अन्य विपद्हरूलाई अझ तीव्र र बारम्बार बनाइरहेको वैज्ञानिकहरूले चेतावनी दिएका छन् । अनुगमनकर्ताले भनेको छ, “यो महिना दक्षिणपूर्वी एसियामा उष्णकटिबन्धीय चक्रवातसहितका धेरै चरम मौसमी घटनाहरूका लागि चिनिएको थियो । यसले व्यापक, विनाशकारी बाढी र जनधनको क्षति गराएको थियो।”

    – जीवाश्म इन्धन नियन्त्रणको लडाईँ –

    नोभेम्बरमा फिलिपिन्स लगातार आँधीबेहरीको चपेटामा प¥यो जसमा करिब २६० जनाको मृत्यु भयो भने इन्डोनेसिया, मलेसिया र थाइल्याण्डमा पनि ठूलो बाढी आएको थियो। सेप्टेम्बरदेखि नोभेम्बरसम्म, उत्तरी गोलार्धको शरद ऋतुको लागि विश्वव्यापी औसत तापक्रम पनि सन् २०२३ र सन् २०२४ पछि रेकर्डमा तेस्रो सबैभन्दा उच्च रहेको थियो। “समग्रमा विश्वभर र खासगरी उत्तरी क्यानडा, आर्कटिक महासागरमाथि र अन्टार्कटिकाभरि तापक्रम सामान्यतया औसतभन्दा माथि देखिएको मौसम अनुगमनकारी उक्त संस्थाले जनाएको छ। यद्यपि, उत्तरपूर्वी रुसमा उल्लेखनीय चिसोको विसङ्गति देखिएको थियो।

    सन् १९४० तथ्याङ्क रेकर्ड गर्न थालेको कोपर्निकसले जमिन र समुद्र दुवैमा अर्बौं भू–उपग्रह र मौसमका मापनहरू प्रयोग गरेर तथ्याङ्कको रेकर्ड लिन्छ ।
    खासगरी औद्योगिक क्रान्तिदेखि ठूलो मात्रामा जलाइएको जीवाश्म इन्धनबाट निस्कने ग्यास र मानवजातिले उत्सर्जन गरेका पृथ्वीलाई तताउने ग्यासहरूले विश्वव्यापी तापक्रमलाई अझ बढाएको छ। सन् २०२३ मा दुबईमा भएको संयुक्त राष्ट्रसङ्घको जलवायु शिखर सम्मेलन (कोप–२८)मा राष्ट्रहरूले जीवाश्म इन्धनबाट रूपान्तरण गर्न सहमति जनाएका थिए तर त्यसयता यी महत्वाकाङ्क्षाहरू रोकिएका छन्। ब्राजिलको बेलेममा भएको कोप–३० सम्मेलन गत महिना समाप्त भयो, जसमा जीवाश्म इन्धन उत्पादन गर्ने देशहरूको आपत्तिपछि तेल, ग्यास र कोइलालाई क्रमशः हटाउने नयाँ, स्पष्ट आह्वानबाट बच्ने सम्झौता भएको थियो।

  • दार्चुला जिल्लाको उत्तरी क्षेत्र कालापानी आसपास केन्द्रविन्दु भएर भूकम्प

    दार्चुला जिल्लाको उत्तरी क्षेत्र कालापानी आसपास केन्द्रविन्दु भएर भूकम्प

    काठमाडौँ, २३ मङ्सिर । दार्चुला जिल्लाको उत्तरी क्षेत्र कालापानी र चीनको नाका आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार दार्चुला जिल्लाको उत्तरी क्षेत्र कालापानी र चीनको नाका आसपास केन्द्रविन्दु भएर केहीबेर अघि ९ः२४ मिनेट जाँदा चार दशमलव तीन रेक्टरस्केलको भूकम्प गएको हो ।

    यसअघि हिजो साँझ बाजुरा जिल्लाको मार्तडी आसपास केन्द्रविन्दु भएर तीन दशमलव छ रेक्टरस्केलको भूकम्प गएको थियो । पछिल्लो समय नेपालको पश्चिमी क्षेत्र भएर स साना भूकम्प जाने क्रम जारी रहेको छ । नेपाल हिमालय क्षेत्र भएकाले विभिन्न समयमा सानाठूला भूकम्प जाने गरेको छ ।

  • एमालेको महाधिवेशनका लागि यसरी हुँदैछ यातायात व्यवस्थापन

    एमालेको महाधिवेशनका लागि यसरी हुँदैछ यातायात व्यवस्थापन

    काठमाडौँ, २३ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनमा आउने प्रतिनिधि तथा पर्यवेक्षकका सवारीसाधन राख्नका लागि तीन ठाउँमा पार्किङको व्यवस्था गरिएको छ । एमालेका सचिव गोकर्ण विष्टको संयोजकत्वमा रहेको यातायात व्यवस्थापन समितिले सार्वजनिक तथा निजी सवारीसाधनलाई व्यवस्थित रुपमा पार्किङ गर्नका लागि भक्तपुरका तीन ठाउँमा पार्किङको व्यवस्था मिलाएको हो ।

    काठमाडौँदेखि पश्चिमबाट आएका सवारीसाधनलाई गट्ठाघरबाट उत्तरतर्फ नेपाल नागरिक उड्डयन प्राधिकरण र सिटिइभिटीको चौरमा राखिने व्यवस्था मिलाइएको नेपाल लोकतान्त्रिक यातायात व्यवसायी सङ्गठनका अध्यक्ष डेकनाथ गौतमले राससलाई जानकारी दिए । यस्तै, काठमाडौँदेखि पूर्वतर्फबाट आएका सवारी साधनलाई जगातीस्थित भाइरल प्लानिङमा पार्किङको व्यवस्था मिलाइएको छ ।

    यस्तै, सिन्धुपाल्चोक, दोलखा, रसुवा, नुवाकोटलगायतका स्थानबाट आएका सवारीसाधनलाई भने कमलविनायक करिडोरमा पार्किङको व्यवस्था मिलाइएको अध्यक्ष गौतमले बताए । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को महाधिवेशन यातायात व्यवस्थापन समितिले महाधिवेशनमा भाग लिन आएका सार्वजनिक तथा निजी सवारीसाधनलाई व्यवस्थापन गर्नका लागि नेपाल लोकतान्त्रिक यातायात व्यवसायी सङ्गठन र नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनको संयुक्त प्रतिनिधि रहनेगरी १५ सदस्यीय यातायात व्यवस्थापन समिति गठन गरेको थियो ।

    अध्यक्ष गौतमले हाल तीन हजार सार्वजनिक भाडाका सवारीसाधन र दुई हजार निजी सवारीसाधन पार्किङका लागि व्यवस्थापन गरिए पनि थप सवारीसाधन आएमा अन्य ठाउँमा पार्किङ गर्नेगरी व्यवस्था मिलाइएको बताए । उनले महाधिवेशनमा आएका सवारीसाधन पार्किङका लागि समस्या नहुने उल्लेख गरे । आगामी मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुन लागेको एमालेको महाधिवेशनमा भाग लिन हाल ३० प्रतिशत नेता तथा कार्यकर्ता काठमाडौँ आइसकेको बताइएको छ ।

  • एमाले महाधिवेशनमा १६ राजनीतिक दललाई निमन्त्रणा

    एमाले महाधिवेशनमा १६ राजनीतिक दललाई निमन्त्रणा

    काठमाडौँ, २३ मङ्सिरः नेपाल कम्युनिष्ट पार्टी (एमाले) ११औँ राष्ट्रिय महाधिवेशनमा १६ राजनीतिक दललाई निमन्त्रणा पठाइएको छ । महाधिवेशनको उद्घाटन सत्रमा अतिथिका रुपमा सहभागी हुन १६ राजनीतिक दललाई निमन्त्रणा पठाइएको महाधिवेशन अतिथि सत्कार समितिका सचिव महेश बर्तौलाले जानकारी दिए । उनले संसद्मा प्रतिनिधित्व गर्ने राष्ट्रिय दल र कम्युनिष्ट पृष्ठभूमिका १६ राजनीतिक दललाई उद्घाटन सत्रमा अतिथिका रुपमा बोलाइएको बताए । ।

    उनका अनुसार नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाल मजदुर किसान पार्टी, नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (माले), नेपाल कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय जनमोर्चा, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी (जसपा), नागरिक उन्मुक्ति पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टीलगायत दललाई निम्तो दिइएको छ ।

    कांग्रेसका सभापति शेरबहादुर देउवा, रास्वपाका कार्यवाहक सभापति डिपी अर्याल, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई भेटेर निमन्त्रणा दिइएको अतिथि सत्कार समितिका सदस्य सुनिता बरालले जानकारी दिइन् । उनका अनुसार नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपत्यका बाहिर रहेकाले भेट्ने निमन्त्रणा दिन बाँकी रहेको छ । एमालेको महाधिवेशनको उद्घाटन यही मङ्सिर २७ गते भक्तपुरस्थित सल्लाघारीमा हुँदैछ ।

  • निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता

    निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता

    काठमाडौँ, २३ मङ्सिर । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न छिमेकी भारतले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
    गृहमन्त्री ओमप्रकाश अर्यालसँग भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले आज गरेको भेटमा उनले निर्वाचनका लागि आवश्यक स्रोतसाधन र सुरक्षा बन्दोबस्तीका सामग्री सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । भारतीय विदेश मन्त्रालयको उत्तर मामिला हेर्ने अतिरिक्त सचिव मुनु नेपाल भ्रमणको सिलसिलामा आइतबार काठमाडौँ आएका हुन् ।

    भेटमा भारतीय अतिरिक्त सचिवले जाजरकोट भूकम्पपछिको पुनर्निर्माण तथा विपद्बाट क्षति भएका संरचनाको पुनस्र्थापना र व्यवस्थापनमा सहयोग गर्ने प्रतिबद्धता जनाएको गृहमन्त्रीको स्वकीय सचिवालयले जनाएको छ । अतिरिक्त सचिव महावरले गृहमन्त्री अर्याललाई उपयुक्त समयमा भारत भ्रमणको निमन्त्रणासमेत दिए ।

    सो क्रममा गृहमन्त्री अर्यालले कञ्चनपुरको दोधारा–चाँदनीमा निर्माणाधीन सुक्खा बन्दरगाहको कामलाई तीव्रता दिन आग्रह गरे । सीमा अपराध रोकथाम, चोरी तस्करी, अवैधवस्तुको ओसारपसार र आपराधिक गतिविधि नियन्त्रण गर्न दुवैतर्फका सीमा सुरक्षा सङ्गठनको क्षमता अभिवृद्धि र सूचना आदानप्रदान प्रभावकारी बनाउनुपर्नेमा गृहमन्त्रीले जोड दिए ।

  • प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता

    प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता

    काठमाडौँ, २३ मङ्सिर । प्रधानमन्त्री सुशीला कार्कीसँग जेनजी आन्दोलनका अगुवा सुदन गुरुङले आज भेट गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भएको भेटमा गुरुङले सरकार र जेनजीबीच हुन लागेको सम्झौतामा भएको प्रगतिबारे चासो राखेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    जेनजी आन्दोलनलाई वैधता दिनेगरी सम्झौताको प्रक्रिया चाँडो टुङ्ग्याउनुपर्ने र राष्ट्रपतिसमक्ष हस्ताक्षर गर्नुपर्ने उनको भनाइ थियो । यस्तै उनले आन्दोलनमा गएकै कारण कतिपय युवालाई प्रहरीले धरपकड गरेको, धरौटी तिर्ने रकम नभएर पनि पुर्पक्षका लागि थुनामा जानुपरेको गुनासो गरे ।

  • एनपिएल : सुदूरपश्चिम ‘फाइनल’मा

    एनपिएल : सुदूरपश्चिम ‘फाइनल’मा

    काठमाडौँ, २३ मङ्सिरः नेपाल प्रिमियर लिग (एनपिएल) जारी सिजनमा सुदूरपश्चिम रोयल्स फाइनलमा पुगेको छ । आज सम्पन्न पहिलो ‘क्वालिफायर’ खेलमा विराटनगर किङ्ग्सलाई ७७ रनले पराजित गर्दै सुदूरपश्चिम फाइनलमा पुगेको हो । पराजित विराटनगरले भने ‘इलिमिनेटर’ खेल्ने मौका पाउनेछ । सुदूरपश्चिमले दिएको १५६ रनको लक्ष्य पछ्याएको विराटनगर १४ दशमलव एक ओभरमा ७८ रनमा अलआउट भयो । जसमा फाफ डु प्लेसिसले सर्वाधिक ३६ रन जोडे पनि हार टार्न सकेनन् । सुदूरपश्चिमका स्कट कुगेलेइन, अभिनाश बोहरा र हर्मित सिंहले दुईरदुई विकेट लिए ।

    यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ५५ रनको योगफल बनायो । सुदूरपश्चिमको लागि विनोद भण्डारीले सर्वाधिक ६३ रनको योगदान दिए । उनले ५२ बलमा तीन चौका र दुई छक्काको मद्दतमा ६३ रन बनाएका हुन् । यस्तै, आसिफ शेख र शेरडोन ज्याकसनले समान २०र२० रन जोडे । यसैगरी हरमित सिङले १४ रन बनाए भने इसान पाण्डेले १३ रन जोडे । यता बलिङतर्फ विराटनगरका प्रतिश जिसी र मार्सेन्ट दिलाङले समान दुईरदुई विकेट लिए भने सूर्य तामाङ र साम हेजलेटले समान एकरएक विकेट लिए ।

  • ब्रिटिस र्‍यापर स्यामुएद्वारा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको स्वीकार

    ब्रिटिस र्‍यापर स्यामुएद्वारा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको स्वीकार

    बेलायत, २३ मङ्सिर । चर्चित ब्रिटिस र्‍यापर क्लार्क स्यामुयलले आफूले चलाएको कारको ठक्करबाट एक नेपाली युवकको ज्यान गएको स्वीकार गरेका छन् । बेलायतको महानगरीय प्रहरी लन्डनले, दुर्घटनामा संलग्न भएका गेट्स नामले चर्चित कलाकार स्यामुयलले दुर्घटनामा आफ्नो संलग्नता स्वीकार गरेको जानकारी दिएको हो । आफ्नो आधिकारिक वेभसाइटमार्फत प्रहरीले भनेको छ,“३० माइल प्रतिघण्टा गति निर्धारण गरिएको सडकमा ४१ वर्षीय स्यामुयलले ६० माइलप्रति घण्टाभन्दा बढी गतिमा गाडी चलाइरहेका थिए र सडक पार गर्दै गरेका युविन तामाङलाई ठक्कर दिएका थिए ।”

    प्रहरीका अनुसार, स्थानीय समयअनुसार गत अक्टोबर १८ राति ११ः३० बजे इल्फोर्डको रेडब्रिजमा २० वर्षीय नेपाली विद्यार्थी युविन लामाङलाई ठक्कर दिएपछि स्यामुयल घटनास्थलमा नरोकिई भागेका थिए । ठक्कर दिएको दुई दिनपछि उपचारका क्रममा तामाङको मृत्यु भएको थियो । गतवर्ष सेप्टेम्बरमा बेलायत आएका उनी युनिभर्सिटी अफ रोह्याम्पटनमा ‘बिएस्सी विजनेश म्यानेजमेन्ट’ दोस्रो वर्षमा अध्ययनरत थिए ।


    दुर्घटनाको अनुसन्धानमा संलग्न महानगरीय प्रहरी इनिस्पेक्टर मार्क ब्रथवेटले भने, “हाम्रो समवेदना युविनको परिवारको साथ छ, यो क्षतिको कुनै पनि हालतमा भरपाई हुनसक्दैन, तर अपराधमा संलग्नता स्वीकार न्याय प्राप्तिको बाटोमा एक महत्त्वपूर्ण कदम हो । यसले युविनको परिवारलाई केही राहत मिल्ने हाम्रो विश्वास छ ।”

    बेलायतस्थित कार्यवाहक नेपाली राजदूत विपिन दुवाडिले घटनामा संलग्न व्यक्तिले स्वीकार गर्नु पीडित परिवारको न्यायका लागि सकारात्मक पाटो भएको बताए । तामाङको निधनपछि न्यायका लागि दूतावासले सक्रिय भूमिका खेलिरहेको पनि उनले बताए । दुर्घटनापछि भागेका स्यामुयलको वुडफोर्डस्थित घरमा खोजतलास गर्दा प्रहरीले भोलिपल्ट बिहानै उनको नाममा दर्ता र बिमा गरिएको कार क्षतिग्रस्त अवस्थामा फेला परेको थियो । यसैबीच यहाँको अदालतले स्यामुयललाई आगामी माघ २९ गते (फेब्रुअरी १२) मा सजाय सुनाउने जनाइएको छ।

  • ‘पानी बोकेरै गयो जवानी’

    ‘पानी बोकेरै गयो जवानी’

    राष्ट्रिय समाचार समिति
    देवारतोली (कालिकोट), २३ मङ्सिर । देवारतोली गाउँको उत्तरतर्फको पुछारमा कञ्चन तिलानदी अविछिन्न बगिरहेको छ । तर करिब दुई किलोमिटर माथिको बस्तीका बारिकापाटा उजाड छन् । गाउँ आउन केही वर्ष अगाडि मात्र नदीमा झुलुङ्गे पुल बनेको थियो । यही पुल तरेर करिब २० मिनेट पश्चिमतर्फको समथर बाटो हिँडेपछि नाक नै ठोकिने भीर आइपुग्छ ।

    भीरबाट तलतिर हेर्दा आङ सिरिङ हुने कहाली लाग्छ । तिलगुफा नगरपालिका–२ स्थित यस भीरबाट लडेर देवारतोलीका ४२ वर्षीय चन्द्रबहादुर विश्वकर्माले तीन वर्ष अगाडि अकालमा झण्डै ज्यान गुमाउनुपरेको थियो । चामलको बोरा बोकेर भीरमा उक्लिँदै गर्दा उनी चिप्लिएर भीरमै अड्किएका थिए । गाउँले मिलेर उनलाई उद्धार गरे ।

    उनले त्यो दिनको त्रासदी सम्झिदै भने, “चालमको बोरा लिएर साँझमा घर आउँदै थिए । आधाआधि भीरमा पुगेपछि चिप्लिए छु । झण्डै तिलानदीमा पुगेको । धन्न भीरमै अड्किएछु । भोलिपल्ट गाउँलेले देखेर उद्धार गरेछन् । टाउँकामा चोट लागेछ । नेपालगञ्जमा गएर उपचार गर्दा रु सात लाख सकियो ।”

    भीरको पुछारबाट माथि उक्लन करिब झण्डै ४५ मिनेट बढी लाग्छ । यो भीरबाट कति बस्तुभाउ लडेर तिलानदीमा पुगे, पानी लिनजाँदा कति गाग्रा गाग्री गुल्टे देवारतोलीवासी सम्झन चाहँदैनन् । पछिल्लो समय गाउँलेले भीरको नाम नै ‘चन्दे्रभिर’ राखिदिएका छन् । तिला नदी पारी अर्थात् सुक्खा पहाडी क्षेत्र तिलगुफा–१ ढाटाक्किवासी अहिले पनि यही भीर माथिका जङ्गलमा घाँस दाउरा लिन आउँदछन् ।

    भीर सकिने बित्तिकै केही समथरको जङ्गलमा सल्ला प्रजाति रहेको छ । जङ्गल सकिएपछि गाउँ आउन पुनःउकालो लाग्नुपर्छ । यही उकालोकै बीचमा सीमसार क्षेत्रमा पानीको सानो मुहान छ । पानी सङ्कलन गर्न ट्याङ्की बनाइएको छ । महिलालाई गाउँका पुछारमा रहेको ट्याङ्कीबाट पानी भर्न घण्टौँ लाग्दथ्यो । यत्तिकै सयम पानी लिएर घर आउँदा व्यतित हुन्थ्यो । यहाँका स्थानीयवासी हिउँदका समयमा मूल सुक्दा तिला नदीमा नै जान्थे ।

    देवारतोलीकी ६८ वर्षीया सानी विकले कष्टकर ती दिन सम्झिदै भनिन्, “पानी बोकेरै जवानी बित्यो । भीरबाट कति गाग्रा लडे भनिसक्नु छैन । थकान मार्ने र काखे बच्चालाई हेर्ने समय पानी खेप्दैमा सकिन्थ्यो । तिर्खा मेटाउने गरेर पानी पिउन सक्ने अवस्था थिएन । बस्तुभाउलाई त पानी खुवाउन तिलानदीमै लैजानुपर्दथ्यो । सागसब्जी लगाउन त परै जाओस् ।”

    पछिल्ला केही दिनयता देवारतोली गाउँका महिलाको दैनिकी परिर्वतन भएको छ । हिजोजस्तो उनीहरु साँझ बिहान नत गाग्री बोकेर हिँड्छन् नत पानी भएन भनेर चिन्तित हुन्छन् । बालबालिका समयमै विद्यालय जान पाएका छन् । आगनका डिलमुनिका बारिमा खेर गएका पानीबाट सागसब्जी लगाउन थालिएको छन् । घरका आँगनआँगनमा जडान गरिएका धाराबाट पानी खस्न थालेका छन् ।

    दलित समुदायको करिब ४५ घरमा करिब ३०० जनसङ्ख्या रहेको यो गाउँमा वर्षौपछि खुसीका दिन आएको हो । उनले भनिन्, “आँगनमा धाराबाट पानी झरेको दिन खुसीले रातभर निद्रा लागेन । धारा नै हेरिरहुँ जस्तो भइराखेको छ । बल्ल पानीको चिन्ता हट्यो । अब त सागसब्जी खान पाइने भयो । बस्तुभाउलाई खुवाउन समस्या नहोला । आलु लगाउन पाइएला ।” उब्जिनीले वर्ष दिन खान नपुगेपछि यहाँका पुरुष कामको खोजीमा अन्यत्र जाने गर्दछन् ।

    नेपाल रेडक्रस सोसाइटी कालिकोट शाखाले तिलागुफा नगरपालिकासँगको सहकार्यमा यहाँ सञ्चालित ‘एकीकृत पुनर्लाभ तथा विपद् जोखिम न्यूनीकरण कार्यक्रम’ ले यहाँका गाउँमा ‘एक घर एक धारा’ निर्माणमा सहयोग गरेको हो । लक्जम्बर्ग रेडक्रसको आर्थिक एवं प्राविधिक सहयोगमा यहाँ सो कार्यक्रम सञ्जालित छ । देवारतोली खानेपानी योजना समितिका अध्यक्ष हरिचन्द्र विक गाउँका अब खानेपानीको सङ्कट अन्त्य भएको बताउँछन् ।

    उनी भन्छन्, “गाउँभन्दा करिब चार किलोमिटर माथिको जङ्गलको मुहानबाट पानी ल्याएर ट्याङ्कीमा सङ्कलन गरेका छौँ । ट्याङ्की बनाउनदेखि घरघरमा धारा बनाउन नगरपालिका र रेडक्रसले सहयोग ग¥यो । यसमा हामी खुसी छौँ ।” उहाँका अनुसार गाउँका धारमा समान रुपमा पानी वितरण गरिएको हुँदा समुदाय रमाएका छन् ।

    समितिका सदस्यसमेत रहेका चन्द्रबहादुरले भने, “भीरबाट लडेर पनि बाँच्नु त आँगनमा धाराबाट पानी आएको देख्न पो रहेछ । यसका लागि नगरपालिका र रेडक्रसलाई धन्यवाद दिन्छु ।” तिलागुफा नगरपालिकाका प्रमुख शङ्करप्रसाद उपाध्याय देवारतोलीका सबै घरमा ‘एक घर एक धारा’ निर्माण गरेर खानेपानीको पहुँच पु¥याउने आफ्नो ध्येय रहेको र यो ध्येय सफलता पाएको बताउँछन् ।


    नेपाल रेडक्रस सोसाइटीका निर्देशक मोना अर्यालले विपन्न समुदायमा खानेपानी, सरसफाइ तथा स्वच्छता कार्यक्रमलाई रेडक्रसले प्रवर्द्धन गरिराखेको जानकारी दिइन् । ‘एकीकृत पुनर्लाभ तथा विपद् जोखिम न्यूनीकरण कार्यक्रम’ का जिल्ला संयोजक रवि लामिछाने स्थानीय समुदायको मागअनुसार कार्यक्रमले गाउँका ४५ घरमा ‘एक घर एक धारा’ निर्माण तथा ‘चन्दे्रभीर’ मा रेलिङ बनाउन स्थानीय समुदायलाई सहयोग गरेको बताए ।


    उनले भने, “देवारतोलीमा चरम खानेपानीको सङ्कट समाधान भयो । समुदायको मागअनुसार नै चन्द्रेभीरमा रेलिङ निर्माण गरिएको छ । अब भीरमा लडेर अकालमा गाउँवासीको ज्यान जाँदैन ।” सोही कार्यक्रमले नगरपालिकासँगको सहकार्यमा तिलागुफा–३ बदमबाडा टोलका ४८ घरमा ‘एक घर, एक धारा’ निर्माण गरेर समुदायलाई हस्तान्तरण गरिसकेको छ ।

    दलित टोल बदमबाडा खानेपानी उपभोक्ता समितिका सदस्य एवं कालिका माविका शिक्षक धीरेन्द्र पाण्डेले भने, “खानेपानीको चरम सङ्कट भएर गाउँबाट बसाइसाराइ बढ्दै थियो । यस्तो अवस्थामा नगरपालिकाले रेडक्रससँगको सहकार्यमा ‘एक घर एक धारा’ को सुविधा पु¥याएको छ । महिलाको समय बचत भएको छ । बालबालिकाल पढ्ने समय पाउँदा शैक्षिक गुणस्तरसमेत वृद्धि भएको देखिएको छ ।”

  • पर्यटकको रोजाइमा अन्नपूर्ण–धौलागिरि पदमार्ग

    पर्यटकको रोजाइमा अन्नपूर्ण–धौलागिरि पदमार्ग

    म्याग्दी, २३ मङ्सिरः म्याग्दी, कास्की र पर्वत जोड्ने नयाँ वैकल्पिक पदमार्ग सञ्चालन भएको छ । अन्नपूर्ण चक्रीयमा पर्ने भुरुङ–तातोपानी–घोडेपानी–उल्लेरी–वीरेठाँटी–नयाँपुल खण्डको पुरानो पदमार्ग असहजताका कारण सडक विस्थापित भएपछि पदयात्रीले वैकल्पिक पदमार्ग प्रयोग गर्न थालेका हुन् । पदमार्गले कास्की र म्याग्दीको अन्नपूर्ण तथा पवर्तको मोदी गाउँपालिकामा रहेका पर्यटकीय स्थललाई समेटेको छ । कास्कीको उल्लेरी, म्याग्दीको मोहरेडाँडा, पुनहिल, घोडेपानी, स्वाँत, खोप्रा, खयरबराही ताल, बयली, मुल्डे भ्यु पोइन्ट, घान्द्रुक, लान्द्रुक हुँदै घम्पुस जोड्ने पदमार्ग सञ्चालनमा आएको हो ।

    दशदेखि १५ दिनमा यात्रा पूरा गर्न सकिने यस पदमार्गलाई सडकले असर नगरेको पदयात्री बताउँछन् । उच्च पहाडी र हिमाली क्षेत्रको भूगोलमा हिमशृङ्खला, सूर्योदय, वनजङ्गल, पक्षी, भेडा, चौँरीको घुम्ती गोठ, वन्यजन्तुको अवलोकन गर्दै यात्रा गर्न पाइने पथप्रदर्शक दिनेशकुमार घिमिरेले बताए । “ग्रामीण जीवनशैली, शान्त र एकान्त वातावरण यो पदमार्गको आकर्षण हो”, उनले भने, “सडकलाई छलेर विशुद्ध पदयात्रा गर्न र प्रकृतिसँग रमाउन पाइने भएकाले पर्यटकको रोजाइमा परेको छ ।”

    गाउँगाउँमा सडक विस्तारसँगै पुराना पदमार्ग विलय भएको घिमिरेले बताए । पर्यटकीय राजधानी पोखराबाट नजिक भएकाले पनि नयाँ वैकल्पिक पदमार्गमा पर्यटक आकर्षित भएका उनको भनाइ छ । गत महिना घिमिरेले बेलायतका पाँच जना पर्यटकलाई यो पदमार्गको भ्रमण गराएका थिए । पर्यटन व्यवसायीले पदमार्गलाई धौलागिरि अन्नपूर्ण नामकरण गरेका छन् ।

    पदमार्गमा पर्ने स्वाँतका होटल व्यवसायी बलबहादुर तिलिजा पुनका अनुसार हाल दैनिक १०० जना पर्यटक यो नयाँ वैकल्पिक पदमार्गको भ्रमणमा आउने गरेका छन् । “पर्यटक आउन थालेपछि बजारबाट गाउँ फर्किएर होटल व्यवसाय सुरु गरेको छु”, उनले भने, “अन्य ठाउँमा होटल र रेष्टुरेन्ट थपिनेक्रम बढेको छ ।”

    समुन्द्री सतहबाट दुई हजार ३०० मिटर उचाइमा रहेको स्वाँतलाई पदयात्रीले थकान मेटाउन विश्राम गर्ने थलोका रुपमा विकास भएको छ । समुन्द्री सतहबाट तीन हजार ६०० मिटर उचाइको खोप्रा लेक यस पदमार्गको मुख्य आकर्षण हो । क्याम्पिङ र होटलमा बास बस्ने गरेर पदयात्रा गर्न सकिने विकल्प रहेको बयलीका होटल व्यवसायी लोकबहादुर पुर्जाले बताए । वनजङ्गल, भिर र खोल्सा भएकाले गाइडसहित यात्रामा आउन उनले सुझाव दिए । अन्नपूर्ण गाउँपालिका–५ का वडाध्यक्ष राजेश तिलिजा पुनले पदमार्गका सामुदायिक लजको क्षमता विस्तार, पदमार्ग स्तरोन्नति, निर्माण र नयाँ गन्तव्य पहिचानसँगै प्रवद्र्धनमा जोड दिएको बताए ।

  • साउदी अरब-कतारबीच उच्च गतिको रेलमार्ग निर्माणका लागि सम्झौता

    साउदी अरब-कतारबीच उच्च गतिको रेलमार्ग निर्माणका लागि सम्झौता

    रियाद, साउदी अरब, २३ मङ्सिर (रासस–एएफपी) । साउदी अरब र कतारले सोमबार खाडी राज्यका राजधानीहरू जोड्ने उच्च गतिको रेल निर्माण गर्ने सम्झौतामा हस्ताक्षर गरेका छन् । यो दुई देशबीचको कुटनीतिक सम्बन्ध सुधारको पछिल्लो सङ्केत हो। साउदी अरबको राज्य नियन्त्रित सञ्चारमाध्यमले सरकारद्वारा जारी विज्ञप्तिलाई उद्धृत गर्दै लेखेकोे छ, “उच्च गतिको विद्युतीय यात्री रेलमार्गले रियाद र दोहालाई जोड्नेछ ।” साउदी अरबका अल–होफुफ र दमाम पनि यो सञ्जालमा आउने अपेक्षा गरिएको छ ।

    निर्माणसँगै उक्त रेलमार्गमा प्रतिघण्टा ३०० किलोमिटरभन्दा बढी गतिमा उच्च गतिका विद्युतीय रेल गुड्ने र यसले दुई राजधानीबीच यात्रा लगभग दुई घण्टाको बनाउने अधिकारीहरूले बताएका छन् । अहिले खाडी राष्ट्रका उक्त प्रमुख दुई शहरहरू बीचको सीधा उडान लगभग ९० मिनेटमा हुने गरेको छ। छ वर्षमा पूरा हुने यस परियोजनाले प्रति वर्ष एक करोड यात्रुहरूलाई सेवा दिने अपेक्षा गरेको छ।

    साउदी राजकुमार मोहम्मद बिन सलमान र कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् । हालैका वर्षहरूमा खाडी राज्यहरूबीचको सम्बन्धमा नाटकीय सुधारलाई चिह्नित गर्ने कदमहरूको श्रृङ्खलामा यो सम्झौता सबैभन्दा महत्त्वपूर्ण र पछिल्लो हो ।

    सन् २०१७ को जुनमा साउदी अरब, संयुक्त अरब इमिरेट्स (युएई), बहराइन र इजिप्टले कतारसँगको कुटनीतिक र यातायात सम्बन्ध तोडेका थिए । सन् २०२१ जनवरीमा साउदी सहर अलउलामा भएको शिखर सम्मेलनपछि सम्बन्ध पूर्ण रूपमा पुनस्र्थापित भएको थियो। चार राष्ट्रहरूले दोहालाई मुस्लिम ब्रदरहुडसहित कट्टरपन्थी इस्लामवादीहरूलाई समर्थन गरेको र साउदी अरबको कट्टर प्रतिद्वन्द्वी तेहरानसँग घनिष्ठ सम्बन्ध राख्न खोजेको आरोप लगाउँदै कुटनीतिक तथा भौगोलिकरूपमा सम्बन्ध तोडी एक्लाउने घोषणा गरेका थिए ।

    राजकुमार मोहम्मदले क्षेत्रीय खाडी भ्रमणको एक भागको रूपमा सम्बन्धलाई पुनः स्थापित गर्ने घोषणापछि पहिलो पटक सन् २०२१ डिसेम्बरमा दोहाको भ्रमण गरेका थिए । त्यसबेलादेखि, दुई राज्यका नेताहरूले नियमित रूपमा भेट गर्दै आएका छन् र गाजामा युद्धविरामको आह्वानसहित कूटनीतिक पहललाई समर्थन गर्न सेनामा सामेल भएका छन्। गर्मीयाममा दोहामा इजरायलले आक्रमण गरेपछि रियादले पनि कतारलाई समर्थन गरेको छ।

  • एआई नियमन रोक्ने आदेशमा हस्ताक्षर गर्ने ट्रम्पको घोषणा

    एआई नियमन रोक्ने आदेशमा हस्ताक्षर गर्ने ट्रम्पको घोषणा

    वासिङ्टन, २३ मङ्सिर (रासस–एएफपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी प्रभुत्व कायम राख्न केन्द्रीकृत नियम निर्माण महत्त्वपूर्ण रहेको तर्क गर्दै बढ्दो कृत्तिम बुद्धिमत्ता (एआई) उद्योगलाई नियमन गर्ने अधिकार राज्यहरूलाई नदिइने बताएका छन् । “यदि हामी एआईको नेतृत्व गर्न चाहन्छौँ भने त्यहाँ केवल एक नियमन पुस्तिका हुनुपर्दछ,” उनले एक कार्यकारी आदेश जारी गर्ने घोषणा गर्दै आफ्नो लगानीको सामाजिक सञ्जाल ट्रुथ सोशल प्लेटफर्ममा लेखेका छन् ।


    राष्ट्रपति ट्रम्पले अर्थव्यवस्थाको काम गर्ने तरिकादेखि सैन्य प्रविधिसम्म सबै कुरा रूपान्तरण गर्ने भविष्यवाणी गरिएको संयुक्त राज्य अमेरिकालाई एआई उपकरण निर्माण र नियन्त्रण गर्ने विश्वव्यापी दौडको शीर्ष स्थानमा उभ्याउन प्रमुख भूमिका खेल्ने भूमिकाका लागि यो आवश्यक हुने बताए । अमेरिकी संसद् (कङ्ग्रेस) र उहाँको आफ्नै मेगा आन्दोलनप्रति वासिङ्टन विश्वस्त छैन । धेरै आलोचकहरू प्रविधिको सम्भावित आर्थिक र सामाजिक हानिबाट सावधान हुनुपर्ने बताउँछन् ।

    उनको एआई नियमन केन्द्रीकृत गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गर्ने घोषणा काङ्ग्रेसले एआईमा राज्य–स्तरीय कानूनलाई निर्णय गर्न अनुमति दिन दुई पटक मतदान गर्न अस्वीकार गरेपछि आएको हो। ट्रम्पले आफ्नो पोस्टमा लेखेका छन्, “हामी दौडको यस बिन्दुमा सबै देशहरूलाई हराइरहेका छौँ तर यदि हामीसँग नियमनका लागि ५० राज्यहरूलाई नै अधिकार दिइयो भने यो लामो समय टिक्ने छैन।

    उनले भने, “यसमा कुनै शङ्का हुन सक्दैन (एआई यसको शैशवकालमा नष्ट हुनेछ) म यसै हप्ता एक नियम कार्यकारी आदेश गर्नेछु।” यो आदेशले थप राजनीतिक विरोध र कानुनी चुनौतीहरू निम्त्याउने सम्भावना छ, यद्यपि यसले के भन्छ भन्ने बारेमा कुनै विवरण थाहा छैन। गत महिना ‘द हिल’ले प्राप्त गरेको एक मस्यौदा आदेशले राज्य एआई कानूनलाई चुनौती दिन समर्पित एक कार्यदल सिर्जना गरेको थियो र एआई कानूनहरू भएका राज्यहरूको लागि निश्चित ‘ब्रोडब्यान्ड’ कोषलाई सीमित गरेको थियो।

    उद्योग मालिकहरूले हाल एक हजारभन्दा बढी एआई–सम्बन्धित बिलहरू हाल राज्यको विधायिकाहरू मार्फत अघि बढिरहेका छन्। “तपाईं कसरी ती विविध नियमहरूको सामना गर्नुहुन्छ र चीनजस्ता देशहरूसँग प्रतिस्पर्धा गर्नुहुन्छ जुन यस प्रविधिमा द्रुत गतिमा अघि बढिरहेका छन्” गुगलका कार्यकारी प्रमुख सुन्दर पिचाईले फक्स न्युज सन्डेलाई बताए ।

  • अरुण नदीमा रहेको अवैध क्रसर उद्योग सञ्चालनमा रोक

    अरुण नदीमा रहेको अवैध क्रसर उद्योग सञ्चालनमा रोक

    भोजपुर, २३ मङ्सिर । भोजपुरको अरुण गाउँपालिका–६ लेगुवाघाटमा अवैध रूपमा सञ्चालन हुँदै आएको क्रसर उद्योग सञ्चालनमा रोक लगाइएको छ । कुनै पनि कानुनी प्रक्रिया पूरा नगरी विगत लामो समयदेखि चल्दै आएको उक्त उद्योग जिल्ला अनुगमन समितिले स्थलगत अनुगमनपछि बन्द गराएको हो । स्थलगत अनुगमनका क्रममा यो क्रसरले अवैध रुपमा प्राकृतिक स्रोतको दोहन गरेको पाइएपछि सञ्चालनमा रोक लगाइएको जिल्ला समन्वय समिति प्रमुख कमल थुलुङले जानकारी दिए । अन्य क्रसर उद्योगहरु अनुगमन भइरहेको उनको भनाइ छ ।

    “हामीले जिल्ला सञ्चालनमा रहेका क्रसर उद्योगको अनुगमन गरिरहेका छौँ”, प्रमुख थुलुङले भने, “कानुन विपरीत रहेका क्रसर उद्योगलाई कानुनी दायरामा ल्याउन बन्द गराउँदै आएका छौँ । अनुगमनका क्रममा अवैध रुपमा सञ्चालनमा रहेको पाइएपछि लेगुवाघाटमा रहेको क्रसर उद्योगलाई बन्द गराएका छौँ ।” यो क्रसर उद्योगले अनधिकृत रुपमा नदी जन्यपदार्थ उन्खनन् गरेको पाइएको प्रमुख थुलुङले जानकारी दिए । आवश्यक कानुनी प्रक्रिया पूरा नगरेसम्म सञ्चालनको लागि रोक लगाइएको उनको भनाइ छ । अवैध रुपमा चलिरहेको उक्त क्रसर उद्योग सञ्चालनमा रोक लगाएपछि विभिन्न व्यक्ति तथा समूहले सञ्चालनको लागि दबाब दिइरहेको उनले बताए ।


    “राज्यको सम्पत्ति दोहन गर्न पाइँदैन”, उनले भने, “सबै क्रसर उद्योगलाई कानुनी दायरामा ल्याउनको लागि आवश्यक कदम अघि बढाएका छौँ ।” जिल्ला अनुगमन समितिले नदीजन्य पदार्थ ढुङ्गा, गिट्टी, बालुवा उन्खनन् बिक्री तथा व्यवस्थापन मापदण्ड २०७७ विपरीत सञ्चालनमा रहेको जनाएको छ । पक्की पुलबाट ५०० मिटर, सडक मार्ग, खोला किनाराबाट २०० मिटर र हाइटेन्सन लाइनभन्दा १०० मिटर टाढाको दुरीमा क्रसर सञ्चालन गर्नुपर्ने कानुनी प्रावधन रहेपनिछ यो उद्योगले कुनै पनि प्रक्रिया पूरा नगरेको अनुगमन समिमिले जनाएको छ ।

    हाल यो क्रसर यो उद्योग लेगुवा–भोजपुर राजमार्गको पक्की पुलदेखि करिब ३०० मिटर उत्तर, अरुण नदी किनाराबाट ६० मिटरको दुरीमा सञ्चालनमा रहेको छ । बस्तीभन्दा ५०० मिटरभित्र भए बन्द गर्नुपर्ने प्रावधान रहेको छ । क्रसर भोजपुरको लेगुवा बजार र धनकुटाको राम बजारबाट ३५० मिटरभित्र रहेको समितिको ठहर छ । मध्यपहाडी राजमार्गको लेगुवास्थित अरुण नदी किनारामा विसं २०७२ को माघ महिनादेखि अवैध रुपमा क्रसर उद्योग सञ्चालनमा छ ।

  • बालबालिकाले पक्की भवनको कक्षा कोठामा बसेर पढ्न पाउँदा…

    बालबालिकाले पक्की भवनको कक्षा कोठामा बसेर पढ्न पाउँदा…

    चौरभिग्म (कालिकोट), २३ मङ्सिर । श्री जनता आधारभूत विद्यालयका बालबालिकाले बल्ल पक्की भवनका कक्षा कोठामा बसेर पढ्न पाउने भएका छन् ।
    तिलागुफा नगरपालिका–१ चौरभिग्मस्थित सो विद्यालय भवनलाई विसं २०७२ वैशाख १२ गतेको विनाशकारी गोरखा भूकम्प एवं विसं २०७९ को वर्षाका कारणले केही क्षति पु¥याएको थियो । हालसम्म बालबालिका त्यही क्षतिग्रस्त भवनको कक्षा कोठामा पढ्न बाध्य थिए । भूकम्प गएको करिब १० वर्षपछि विद्यालयको हाताभित्र नयाँ तीनकोठे पक्की भवन तयार भएको हो ।


    नेपाल रेडक्रस सोसाइटी कालिकोट शाखाले तिलागुफा नगरपालिकासँगको सहकार्यमा विद्यालय भवन बनाउन सहयोग गरेको हो । लक्जम्बर्ग रेडक्रसको आर्थिक एवं प्राविधिक सहयोगमा यहाँ सञ्चालित ‘एकीकृत पुनर्लाभ तथा विपद् जोखिम न्यूनीकरण कार्यक्रमले भवन बनाउन सहयोग गरेको हो । विद्यालयका शिक्षिका रञ्जना अधिकारीका अनुसार विसं २०६४ मा स्थापना भएको सो विद्यालयमा हाल ४० बालबालिका मात्र अध्ययन गर्दछन् ।

    यसपछि थप अध्ययन गर्न यहाँका बालबालिका मालिका माविमा जाने गर्दछन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कर्णजीत बुढाले भने, “कक्षा कोठा नहुँदा बालबालिका कहिले खुला चौर त कहिले जीर्ण भवनका कोठमा बस्न बाध्य थिए । बल्ल नयाँ भवन बन्यो । यसका लागि तिलागुफा नगरपालिकाका मेयर र नेपाल रेडक्रसलाई धन्यवाद दिन चाहन्छु ।”

    नवनिर्मित भवनको अवलोकन गर्न यहाँ आइपुग्नुभएका तिलागुफा नगरपालिकाका प्रमुख शङ्करप्रसाद उपाध्यायले आगामी दिनमा विद्यालयलाई आवश्यक पर्ने अन्य स्रोतसाधन सहयोग गर्ने जानकारी दिए । यस विद्यालयमा अतिविपन्न समुदायका बालबालिका अध्ययन गर्दछन् । नगरप्रमुख उपाध्यायको विशेष सक्रियतामा विद्यालयको नयाँ भवन बनेको हो ।

    तिलागुफा–१ का वडाध्यक्ष मनबहादुर बुढाले बालबालिका चौरमा बसेर पढ्नुपर्ने अवस्था अन्त्य भएको र आगामी दिनमा विद्यालयलाई आवश्यक पर्ने स्रोत-साधन उपलब्ध गराउन वडाले पहल र समन्वय गर्ने जानकारी दिए । नेपाल रेडक्रस सोसाइटीका निर्देशक मोना अर्यालका अनुसार विनाशकारी गोरखा भूकम्पबाट क्षति भएका विद्यालय भवन र अन्य विपद्बाट क्षति भएका विद्यालय, स्वास्थ्य सस्था, खानेपानीका संरचना जस्ता सार्वजनिक संरचनालाई पुनःनिर्माण गर्न नेपाल रेडक्रसले निरन्तर सहयोग गर्दै आएको छ । ‘एकीकृत पुनर्लाभ तथा विपद् जोखिम न्यूनीकरण कार्यक्रम’ का जिल्ला संयोजक रवि लामिछाने विकट क्षेत्रका समुदायका मागलाई सम्बोधन गर्न कार्यक्रमले आफ्ना गतिविधिमा नगरपालिकालाई सहयोग गरिराखेको जानकारी दिए ।

    शौच गर्न जंगल छिर्नुपर्ने अवस्थाको अन्त्य

    सत्यदेवी माध्यमिक विद्यालयका बालबालिकाले घरबाटै खानेपानी लिएर विद्यालय आउन नपर्न भएको छ । तिलागुफा नगरपालिका वडा ६ जुविथास्थित बालीचौर स्थित सो विद्यालयमा खानेपानी सुबिधा भएपछि वर्षौपछि बालबालिकाले घरबाटै खानेपानी लिएर विद्यालय आउन नपर्ने भएको हो । विसं २०३८ मा यो विद्यालय स्थापना भएको थियो । तिलागुफा नगरपालिकाले लक्जम्बर्ग रेडक्रसको आर्थिक एवं प्राविधिक सहयोगमा यहाँ सञ्चालित ‘एकीकृत पुनर्लाभ तथा विपद् जोखिम न्यूनिकरण कार्यक्रम मार्फत् खानेपानी सहित शौचालय, विद्यालय भवनमा ‘च्यानल गेट’ राख्न सहयोग गरेको थियो ।

    कक्षा नौमा अध्ययनरत नर्जन शाहीले भने, “विद्यालय मै खानेपानीको धारा जडान भएपछि घरबाटै खानेपानी लिएर विद्यालय आउनुपर्ने अवस्था र शौच गर्न जङ्गल छिर्नुपर्ने अवस्था अन्त्य भएको छ ।” जुनियर तथा युवा रेडक्रस सर्कल कार्यसमितिका अध्यक्षसमेत रहनुभएका शाहीले भने, “शौच गर्न जङ्गल छिर्नु पर्दा पठनपाठनमा समस्या भएको थियो । शौचालय बनेपछि सुविधा भएको छ । यसका लागि नेपाल रेडक्रसलाई धन्यवाद ।”

    विद्यालयका प्रधानाध्यापक सनम शाहीले, “विद्यालय भवनको तल्लो तलामा बालबालिका माथिल्लो तलामा गाईवस्तु हुन्थे । गाईवस्तुका गोबर सफा गरेर र गाईवस्तुलाई बाहिर धपाएर मात्र बालबालिका कक्षाकोठामा पस्नुपर्ने अवस्था थियो । भवनमा च्यानल गेटको व्यवस्था भएपछि विद्यालय भवनमा गाईवस्तु छिर्न बन्द भएका छन् ।” उनले विद्यालयमै खानेपानी सुविधा र शौचालय हुँदा विद्यार्थीको शैक्षिक गुणस्तरमाथि उठ्ने विश्वास व्यक्त गरे ।

  • सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की

    सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की

    काठमाडौँ, २३ मङ्सिर ः प्रधानमन्त्री एवं परराष्ट्रमन्त्री सुशीला कार्कीले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) लाई पुनर्जीवित गर्ने, अझ गतिशील, समावेशी र कार्यमुखी बनाउने नयाँ संकल्प आवश्यक रहेकामा जोड दिएकी छिन् । सार्कको ४१औँ चार्टर दिवसको अवसरमा सदस्य राष्ट्रका सरकार र जनतामा शुभकामना व्यक्त गर्दै उनले साझा उद्देश्यमा एकताबद्ध भएर यस क्षेत्रका चुनौतीहरूको सामना गर्न, आम हितको रक्षा गर्न र जनताका आकांक्षा पूर्ण गर्न सकिने उल्लेख गरिन् ।


    “झण्डै चार दशकअघि हाम्रा संस्थापक नेताहरूले शान्ति, स्थिरता र साझा समृद्धिले एकीकृत दक्षिण एसियाको कल्पना गर्नुभएको थियो । उहाँहरूको सामूहिक दूरदृष्टिले सार्कको जन्म दियो, एक यस्तो मञ्चको रूपमा, जसले क्षेत्रीय सहयोग प्रवर्द्धन गर्ने, मित्रताको सम्बन्ध सुदृढ गर्ने र हाम्रा जनताको कल्याण वृद्धि गर्ने उद्देश्य राख्दछ”, उनले सन्देशमा उल्लेख गरेकी छिन् ।


    प्रधानमन्त्री कार्कीले विगत वर्षहरूमा सार्कले आपसी समझदारी अभिवृद्धि गर्ने, पारस्परिक विश्वास मजबुत पार्ने र यस क्षेत्रभर जीवनस्तर सुधार गर्ने लक्ष्यसहितका पहलहरू अघि बढाउन महत्वपूर्ण मञ्चको रूप लिन सफल भएको बताएकी छिन् । खाद्य तथा ऊर्जा सुरक्षा, जलवायु परिवर्तन, डिजिटल विभेद र गरिबी न्यूनीकरणजस्ता समयका जटिल चुनौतीहरूको सामना गर्न सामूहिक आत्मनिर्भरता गहिरो बनाउने, साझा क्षेत्रीय पहिचानलाई पोषित गर्ने कार्यमा सार्क चार्टर निरन्तर मार्गदर्शक बनेको उनले बताइन् ।


    उनले हालका अध्यक्षको रूपमा, नेपालले सार्क चार्टरमा निहित सिद्धान्तअनुसार मित्रता, एकता तथा सहमतिको भावनाअनुसार सबै सदस्य राष्ट्रहरूसँग नजिकबाट सहकार्य गर्ने दृढ प्रतिबद्धता पुनः व्यक्त गरेको उल्लेख गरेकी छिन् । संयुक्त प्रयासमार्फत साझा विकास लक्ष्यतर्फको प्रगतिलाई छिटो पार्न सकिने र यस क्षेत्रमा बसोबास गर्ने विश्वको एक चौथाइ जनताका लागि ठोस लाभहरू पु¥याउन सकिने प्रधानमन्त्री कार्कीको भनाइ छ । उनले यस चार्टर दिवसले सबैमा नयाँ प्रतिबद्धता, गहिरो सहकार्य र क्षेत्रीय एकताको पुनर्जीवित भावना जगाओस् भनी शुभकामना गरेकी छिन् ।


    सार्कको स्थापना ८ डिसेम्बर १९८५ मा बङ्गलादेशको ढाकामा सार्क चार्टरमा हस्ताक्षरसँगै भएको हो । सार्कमा अफगानिस्तान, बङ्गलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलङ्का गरी आठ सदस्य राष्ट्रहरू समावेश छन । यस सङ्गठनको सचिवालय १७ जनवरी १९८७ मा काठमाडौँमा स्थापना गरिएको हो ।

    सदस्य राष्ट्रका राष्ट्रप्रमुख वा सरकार प्रमुखको बैठक सार्कअन्तर्गतको सबैभन्दा उच्च निर्णय–निर्माण निकाय हो । शिखर बैठकहरू सामान्यतया दुई–दुई वर्षको अन्तरालमा आयोजित गरिन्छन् र वर्णानुक्रमअनुसार सदस्य राष्ट्रहरूले आयोजना गर्छन् । शिखर सम्मेलन आयोजना गर्ने सदस्य राष्ट्रले उक्त अवधिमा सङ्गठनको अध्यक्षता ग्रहण गर्छ ।

    सार्कका हालसम्म १८ शिखर सम्मेलन भइसकेका छन् । सार्कको १८औँ शिखर सम्मेलन सन् २०१४ नोभेम्बर २६ र २७ मा काठमाडौँमा भएको थियो । त्यसयता र्साकको शिखर सम्मेलन हुन सकेको छैन । सङ्गठनका सबै तहका निर्णयहरू सर्वसम्मतिका आधारमा गरिने, साथै द्विपक्षीय तथा विवादास्पद विषयहरूलाई सङ्गठनको छलफलबाट बाहिर राखिनेलगायत सार्क चार्टरका उद्देश्य रहेका छन् ।

  • एनपिएल : पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर आमनेसामने

    एनपिएल : पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर आमनेसामने

    काठमाडौँ, २३ मङ्सिर । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा पहिलो क्वालिफायर खेल हुनेछ । त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा आज अपराह्न ४ बजे हुने उक्त खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङस प्रतिस्पर्धा गर्नेछन् । सुदूरपश्चिम अङ्क तालिकाको शीर्ष र विराटनगर दोस्रो स्थानमा पुगेर पहिलो क्वालिफायर खेल्ने पक्का गरेका हुन् ।

    सुदूरपश्चिम लिग चरणका सात खेलमध्ये छ र विराटनगरले भने सातमध्ये पाँच खेल जितेको थियो । सुदूरपश्चिमले विराटनगरसँग मात्रै लिग चरणमा पराजय भोग्नुपरेको थियो । विराटनगर भने चितवन र लुम्बिनीसँग पराजित भएको हो ।आज जित्ने टोली सिधैँ फाइनल पुग्नेछ । पराजित टोली इलिमिनेटर खेल्ने मौका पाउनेछ ।

  • हितन्द्रको प्रतिक्रिया : न्यायको जीत भयो

    हितन्द्रको प्रतिक्रिया : न्यायको जीत भयो

    काठमाडौँ, २३ मङ्सिरः सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुनःबहाली गरेपछि हितेन्द्र शाक्यले न्यायको जीत भएको प्रतिक्रिया दिएका छन् । रासससँग कुरा गर्दै उनले सरकारको निर्णयबाट आहात भएकोमा न्यायालयले राहत दिएको बताए । शाक्यले भने, “न्यायलयको निर्णयले राहत महसुस भएको छ ।”

    उनले आफ्नो योग्यता र क्षमताअनुसार देश, जनता र प्राधिकरणको हितमा काम गर्ने पूर्ववत् प्रतिबद्धता दोहोर्‍याए । सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलाशले शाक्यका पक्षमा परमादेश जारी गरेको हो । सरकारले गत असोज ५ गते शाक्यलाई कार्यकारी निर्देशकबाट जल तथा ऊर्जा आयोगमा सरुवा गरी मनोज सिलवाललाई नियुक्त गरेको थियो । सरकारको निर्णयविरुद्ध शाक्यले सर्वोच्चमा रिट दायर गरेका थिए ।