Category: फिचर

  • ध्वनि प्रदूषण नियन्त्रण गर्न ट्राफिक प्रहरीले थाल्यो विशेष अभियान

    ध्वनि प्रदूषण नियन्त्रण गर्न ट्राफिक प्रहरीले थाल्यो विशेष अभियान

    ३० असोज, काठमाडौं । काठमाडौँ उपत्यकामा सवारी साधनबाट हुने ध्वनि प्रदूषण नियन्त्रण गर्न उपत्यका ट्राफिक प्रहरीले विशेष अभियान सुरु गरेको छ । चर्को आवाजमा हर्न बजाउने र मोटरसाइकलमा गैरकानुनी तरिकाले परिमार्जन गरिएको साइलेन्सर पाइप गरिएका सवारीसाधनका कारण उत्पन्न हुने ध्वनि प्रदूषणमाथि कडाइ गर्न यो अभियान सुरु गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

    काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्ला केही दिनयता उपत्यकाका मुख्य सहर काठमाडौँ, ललितपुर र भक्तपुरसहित विभिन्न स्थानमा स्वरूप परिवर्तन गरी ध्वनि निकाल्ने कम्तीमा पनि दुई सयभन्दा बढी मोटरसाइकलहरू नियन्त्रणमा लिइएको छ । भारी आवाज निकाल्ने मोटरसाइकलहरूलाई नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । उनले भने, “हामी सबैको जीवनशैलीमा ध्वनि प्रदूषणले प्रत्यक्ष असर पारिरहेको छ । मोटरसाइकलबाट आउने चर्को आवाजका कारण राति निद्रा लाग्न नसक्ने, तनाव हुने र समाजमा त्रासको वातावरण सिर्जना हुने अवस्था देखियो । रमाइलोको नाममा अरूलाई पीडा दिने प्रवृत्तिविरुद्ध अब कडा निगरानी गरिन्छ ।”

    सवारी तथा यातायात व्यवस्था ऐनले कम्पनीले तोकेको मापदण्ड अनुसार मात्र सवारी सञ्चालन गर्न दिने व्यवस्था गरेको भए पनि पछिल्लो समय धेरै मोटरसाइकल चालकले यो नियम उल्लङ्घन गर्दै मनपरी साइलेन्सर पाइप परिवर्तन गरी चर्को आवाज निकाल्दै चलाउने गर्न थालेपछि कडाइ गर्नुपरेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले बताए ।

  • अमेरिकासहित ११ मुलुकका राजदूत फिर्ता बोलाउने सरकारको निर्णय

    अमेरिकासहित ११ मुलुकका राजदूत फिर्ता बोलाउने सरकारको निर्णय

    काठमाडौँ, ३० असोजः सरकारले ११ मुलुकका नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले चीन, जर्मनी, इजरायल, मलेसिया, कतार, रुस, साउदी अरब, स्पेन, संयुक्तअधिराज्य, संयुक्तराज्य अमेरिका र जापानका लागि नेपाली आवासीय राजदूतलाई आगामी कात्तिक २० गतेभित्र नेपाल फर्किसक्ने गरी फिर्ता बोलाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।

    चीनमा प्रा डा कृष्णप्रसाद ओली, जर्मनीमा डा शैल रुपाखेती, इजरायलमा प्राध्यापक धनप्रसाद पण्डित, मलेसियामा डा नेत्रप्रसाद तिमिल्सिना, कतारमा रमेशचन्द्र पौडेल, रुसमा जङ्गबहादुर चौहान, साउदी अरबमा नरेशविक्रम ढकाल, स्पेनमा सनील नेपाल, संयुक्तअधिराज्य बेलायतमा चन्द्रकुमार घिमिरे, संयुक्तराज्य अमेरिकामा लोकदर्शन रेग्मी र जापानमा डा दुर्गाबहादुर सुवेदी कार्यरत छन् ।


    बैठकले सार्वजनिक वित्त व्यवस्थापन परियोजनाका लागि विश्व बैंकको व्यवस्थापनमा ‘मल्टिडोनर ट्रस्ट फण्ड’बाट प्राप्त हुने १० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । सरकारले इनरुवा(पूर्णिया र दोधारा(बरेली ४०० केभी अन्तदेशीय प्रसारण लाइन निर्माण गर्न ‘नेपाल विद्युत् प्राधिकरण र भारतको पावर ग्रीड कर्पोरेशन अफ लिमिटेड’को संयुक्त लगानीमा नेपाल र भारतमा दुई वटा संयुक्त कम्पनी स्थापना गर्ने निर्णय गरेको छ । ती कम्पनीमा नेपाल विद्युत् प्राधिकरणबाट क्रमशः रु एक अर्ब र दुई अर्ब रकम बराबरको स्वपुँजी लगानी गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरिएको प्रवक्ता खरेलले जानकारी दिए ।


    बैठकले नेपाल र भारतबीच पारस्परिक कानुनी सहायता सन्धिसम्बन्धी सम्झौता स्वीकृत गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्ले नेपालले अन्य मुलुकसँग आवश्यकताअनुसार फौजदारी मामिलामा पारस्परिक कानुनी सहायता सन्धि गर्न वार्ताका लागि प्रस्ताव गर्न स्वीकृत गर्ने र आवश्यकताअनुसार कूटनीतिक माध्यमबाट विभिन्न मुलुकसमक्ष प्र्रस्ताव पठाउन स्वीकृति दिने निर्णय गरेको छ ।

    बैठकले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान आयोजनाको गुरुयोजना स्वीकृत गरी राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाका रुपमा निर्धारण गर्ने निर्णय गरेको छ । सो योजनाबमोजिमको बाँकी कार्यका लागि बोलपत्र आह्वान गरी खरिद प्रक्रिया अघि बढाउन स्वीकृत दिने निर्णय पनि भएको छ । नेपालले क्रिकेटमा प्राप्त गरेको सफलता र उक्त आयोजना पनि सँगसँगै अघि बढेको मन्त्री खरेलले बताए । सरकारले नेपाल न्यायसेवा समूहको राजपत्राङ्कीत प्रथम श्रेणीका राजिष्टार जितेन्द्रबाबु थपलियालाई राजपत्राङ्कीत विशिष्ट श्रेणीमा बढुवा गरी न्यायपरिषद्को सचिव पदमा पदस्थापन गर्ने निर्णय गरेको छ ।

    सोही सेवाका सरकारी वकिल समूहका कामु नायब महान्यायाधिवक्ता उद्धवप्रसाद पुडासैनीलाई विशिष्ट श्रेणीमा बढुवा गरी बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगको सचिवमा पदस्थापन गर्ने निर्णय गरेको छ । रासस

  • समाजवादी मोर्चाबीचको एकता यथाशीघ्र हुन्छः प्रचण्ड

    समाजवादी मोर्चाबीचको एकता यथाशीघ्र हुन्छः प्रचण्ड

    चितवन, ३० असोजः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजवादी मोर्चाको बीचमा यथाशीघ्र एकता हुने बताएका छन् । आज यहाँ आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले समाजवादी मोर्चामा रहेका दलहरूका बीचमा एकताको प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिए ।


    संयोजक दाहालले भने, “यस पटक धेरै वामपन्थी पार्टीहरूका बीचमा एकता समाजवादी मोर्चाबाट सुरु गर्छौैँ”, सबै वामपन्थी दललाई एक ठाउँमा ल्याएर अघि बढ्ने योजनाका साथ आफूहरू अघि बढेका छौँ ।” सामाजवादी मोर्चामा रहेका दलहरूबीच एकता केही दिनमा हुने भन्दै उनले यो एकताले राजनीतिक दलहरूको ध्रुवीकरणको सुरुआत गर्दै राजनीतिक शक्ति सञ्चय गरी समाजवादी क्रान्तिको सुरुआत गर्ने विश्वास व्यक्त गरे । पार्टी एकता एमालेसम्म पुगेर रोकिने उनको भनाइ छ ।

    संयोजक दाहालले पछिल्लो समय सामाजिक सञ्जालमार्फत सङ्गठित भएको युवाको आन्दोलनलाई ‘नयाँ राजनीतिक चेतना’को सङ्केतका रूपमा लिँदै यसले विगतदेखि उठाउँदै आएका माओवादीका मागहरूसँग मेल खाने धारणा राखे । उनले भने, “युवाहरूले भ्रष्टाचार विरोधी माग उठाएका छन् । अहिलेको पुस्ताले भ्रष्टाचार अन्त्य र सुशासनको मार्ग खोज्नु गौरवको विषय हो ।”

  • २ लाख ५० हजार नाघ्यो सुनको मूल्य

    २ लाख ५० हजार नाघ्यो सुनको मूल्य

    काठमाडौँ, ३० असोजः स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ । आज सुनको मूल्य प्रतितोला दुई हजारले बढेर दुई लाख ५० हजार ९०० पुगेको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला रु ३५ ले बढेर आज तीन हजार २७५ मा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बुधबार सुन प्रतितोला रु दुई लाख ४८ हजार ९०० र चाँदी प्रतितोला रु तीन हजार २४० मा किनबेच भएको थियो ।

  • निर्वाचन आयोग र राजनीतिक दलबीच छलफल, के आयो सुझाव ?

    निर्वाचन आयोग र राजनीतिक दलबीच छलफल, के आयो सुझाव ?

    काठमाडौँ, ३० असोजः निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनका लागि आज पहिलो पटक राजनीतिक दलहरुसँग छलफल गरेको छ । आयोगले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने तथा गत निर्वाचनका कम्तीमा एक वडा सदस्यसम्म विजय हासिल गर्ने राजनीतिक दललाई आशन्न निर्वाचनको तयारीको छलफलमा आउन पत्राचार गरेको थियो ।

    छलफलमा नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्मा, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष गुरु बराल, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सचिवालय सदस्य देव गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महासचिव कविन्द्र बुर्लाकोटी, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेलगायत अन्य दलका प्रतिनिधि छन् ।

    छलफलमा कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन घोषणा भई तयारी सुरु भएको अवस्थामा निर्वाचनको वातावरण सृजना गरी सक्रिय हुन दललाई आग्रह गरे । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि पूर्वप्रधानन्यायाधीश कार्कीको नेतृत्वमा सरकार गठन र प्रतिनिधिसभाको विघटन भई आगामी फागुन २१ गते निर्धारित निर्वाचनको मिति घोषणा भएको थियो । छलफलमा पार्टीहरुले अहिले निर्वाचनको वातावरण नबनेको बारे ध्यानाकर्षण गराएका छन् ।

  • मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, दुईको अवस्था गम्भीर

    मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, दुईको अवस्था गम्भीर

    अर्घाखाँची, ३० असोज : यहाँको छत्रदेव गाउँपालिका–१ सौरेखोलामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छभने दुई जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार बुधबार साँझ दुई मोटरसाइकल एकापसमा ठोक्किँदा पाणिनी गाउँपालिका–५ का २१ वर्षीय तारा बेलबासे र गुल्मीको छत्रकोट गाउपालिका–६ का ३५ वर्षीय सुमन सुनारको मृत्यु भएको हो । उनीहरू दुवै मोटरसाइकल चालक रहेको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा मोटरसाइकलको पछाडि सवार अर्घाखाँचीकी १८ वर्षीया दीपा बेल्बासे र गुल्मीका ४४ वर्षीय सुरज सुनार गम्भीर घाइते भएको जिल्ला प्रहरीका प्रहरी निरीक्षक झलकप्रसाद शर्माले जानकारी दिए । गम्भीर घाइते दुवैलाई थप उपचारका लागि पाल्पा रेफर गरिएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • रेसुङ्गा र मदाने दुर्लभ चराको वासस्थान

    रेसुङ्गा र मदाने दुर्लभ चराको वासस्थान

    रासस
    गुल्मी, ३० असोजः गुल्मीको रेसुङ्गा र मदाने वन संरक्षीत क्षेत्र दुर्लभ चराहरुको मुख्य आश्रयस्थल बन्दै गएको छ । विश्वमा पाइने दुर्लभ चराहरुमध्ये गुल्मीमा ६ प्रजातिका फेला परेका छन् । गुल्मीको रेसुङ्गा र मदाने वन संरक्षण क्षेत्र दुर्लभ चराहरुको मुख्य वासस्थान रहेको नेपाल पंक्षी संरक्षण सङ्घका परियोजना अधिकृत शम्भु भट्टराईले जानकारी दिए । दुर्लभ प्रजातिका चरामध्ये रेसुङ्गा वन संरक्षित क्षेत्रमा चिरकालीज, रणमत्त महाचिल, डङ्गर गिद्ध, सोतो गिद्ध, सुन गिद्ध र गोमायो माहाचिल रहेका छन् ।

    रेसुङ्गा र मदाने वन क्षेत्रमा नेपालमा मात्र पाइने काँडे भ्याकुर पाइन्छ । नेपालमा पाइने ९०२ प्रजातिका चरामध्ये गुल्मीमा मात्र विभिन्न प्रजातिका ३५ प्रतिशतभन्दा बढी चरा फेला परेका अधिकृत भट्टराईले जानकारी दिए । नेपाल पंक्षी संरक्षण सङ्घले विभिन्न समयमा गरेकोे पंक्षी सर्भेक्षणअनुसार रेसुङ्गा वन क्षेत्रमा २७६ प्रजाति र मदाने वन संरक्षण क्षेत्रमा २८९ प्रजातिका चरा फेला परेका हुन् । जिल्लाका दुई वन संरक्षण क्षेत्रमा गरिएको पछिल्लो सर्भेक्षणअनुसार रेसुङ्गा र मदाने वन संरक्षित क्षेत्रमा गरी ३२५ प्रजातिका चराहरुको तथ्याङ्क रेकर्ड गरिएको छ । यो सङ्ख्या नेपालमा पाइने चरा प्रजातिको सङ्ख्याअनुसार हाल ३५ प्रतिशतभन्दा बढी रहेको नेपाल पंक्षी संरक्षण सङ्घले जनाएको छ ।

    विश्वमा नेपालमा मात्र पाइने काँडे भ्याकुर रेसुङ्गा वन क्षेत्रमा समेत पाइने भएको कारण यसको संरक्षणका लागि अति सङ्कटापूर्ण अवस्थामा रहेका चराको वासस्थानलाई जोगाई राख्नुपर्नेमा यहाँका स्थानीय एवं सरोकारवालाले जोड दिएका छन् । सङ्घले जिल्लामा जीविकोपार्जन तथा संरक्षण समायोजन कार्यक्रममार्फत दुर्लभ चराको खोजी गर्दै तिनीहरुको संरक्षणका लागि विभिन्न प्रयास गर्दै आएको छ ।

    सङ्घले वन क्षेत्रसँग जोडिएका स्थानीयवासीलाई वन जङ्गलको संरक्षण र सम्वद्र्धनसँगै विभिन्न सचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ । गुल्मीमा धार्मिक पर्यटन सँगैसँगै चरा पर्यापर्यटनको समेत प्रचुर सम्भावना रहेको रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले बताए । यसबाट जिल्लाका अन्य पर्यटकीय क्षेत्रको विकासमा सहयोग पुग्नुका साथै यसले स्थानीयको जीविकोपार्जनमा समेत ठूलो टेवा पुग्ने विश्वास गरिएको छ ।

    दुर्लभ प्रजातिका चरा संरक्षणका लागि पछिल्लो समयमा मुख्य चुनौतीको रुपमा वासस्थान विनास, पानीको अभाव, वन–डढेलो, अवैध शिकार, जनचेतनाको अभावजस्ता कारण रहेको सङ्घले जनाएको छ । सङ्घले विगत दश वर्षदेखि जिल्लामा डिभिजन वन कार्यालयसँग सहकार्य गरी चरा संरक्षणको क्षेत्रमा काम गर्दै आएको छ ।

  • दुुर्लभ खनिजमा ‘चीन र बाँकी विश्व’ बीचको विवाद

    दुुर्लभ खनिजमा ‘चीन र बाँकी विश्व’ बीचको विवाद

    वासिङ्टन, २९ असोज (रासस\एएफपी) । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले बुधबार बेइजिङको दुर्लभ खनिज नियन्त्रण गर्ने चिनियाँ कदमको आलोचना गर्दै यो ‘चीन र बाँकी विश्व’ बचिको विवाद भएको बताएका छन् । वाशिङ्गटन र उसका सहयोगीहरूलाई यस सम्बन्धमा न त निर्देशित हुनेछन् न नियन्त्रण नै गरिनेछ। “हामी सँगै काम गर्नुपर्दछ र गर्नेछौँ भन्ने हाम्रा सहयोगीहरूका लागि स्पष्ट सङ्केत हुनुपर्दछ,” बेसेन्टले एक पत्रकार सम्मेलनमा भने ।


    अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैङ्कको बार्षिक बैठकका लागि यस हप्ता विभिन्न देशका प्रतिनिधिहरू वाशिङ्गटनमा भेला भएका बेला उनको यो टिप्पणी आएको हो। “हामी कसैलाई छुटाउन चाहँदैनौं। हामीले जोखिमलाई कम गर्न र हाम्रो आपूर्ति श्रृङ्खलालाई सकेसम्म चाँडो चीनबाट टाढा गर्न सँगै काम गर्नुपर्छ,“ बेसेन्टले भने ।
    बेइजिङले दुर्लभ खनिज तत्व, प्रविधि र वस्तुहरूको निर्यातमा नयाँ नियन्त्रण गरेको केही दिनपछि उनले यस्तो बताएका हुन् ।

    चीन कार, विद्युतीय र रक्षा उद्योग सामानको लागि चुम्बक बनाउन प्रयोग गरिने खनिजहरूको विश्वको अग्रणी उत्पादक हो। अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रीरले पत्रकार सम्मेलनमा भने, “यो केवल अमेरिकाको बारेमा मात्र होइन ।” उनले भने, “चीनको घोषणा विश्वव्यापी आपूर्ति श्रृङ्खलाको शक्ति कब्जाभन्दा बढी केही होइन।

    “यो कदम समानुपातिक प्रतिशोध होइन। यो विश्वका हरेक देशमाथि आर्थिक जबर्जस्ती गर्ने अभ्यास हो,” उनले भने। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालमा वासिङ्टन र बेइजिङबीचको व्यापार तनाव फेरि बढेको छ । उनले दोस्रो कार्यकाल सम्हालेपछि कुनै बिन्दुमा प्रतिशोधात्मक कर तीन अङ्कमा पुगेको थियो।

    दुबै पक्षले तनाव कम गरेका छन् तर उनीहरूको युद्धविराम अस्थनयी हो र नोभेम्बरको सुरूमा समाप्त हुनेछ। चीनबाट दुर्लभ खनिजको पछिल्लो नियन्त्रणसँगै ट्रम्पले नोभेम्बरदेखि चीनबाट आउने सामानमा थप १०० प्रतिशत कर लगाउने चेतावनी दिएका छन् । बेसेन्टले भने, “दुर्लभ खजिनको प्रतिबन्धमा ढिलाइका कारण उच्च करमा नियन्त्रण सम्भव छ ।”

  • सञ्चार सुविधा नहुँदा पर्यटकलाई सास्ती

    सञ्चार सुविधा नहुँदा पर्यटकलाई सास्ती

    कमल खत्री–रासस
    म्याग्दी, ३० असोजः अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाने ‘मौरिस हर्जोग’ पदमार्गमा सञ्चार सुविधाको अभाव भएको छ । हिमाल आरोहणको इतिहासमा जेठो हिमालको नामले चिनिने अन्नपूर्ण प्रथम आधार शिविर जाने पदमार्गमा होटल सुविधा र पदमार्गको व्यवस्थापनले पर्यटकको आगमन बढे पनि सञ्चारको पहुँच नहुँदा पर्यटकले सास्ती पाएका छन् ।

    असोजको सुरुआतदेखि दैनिक १५० देखि ३०० जनासम्म पर्यटक आधार शिविर क्षेत्रको भ्रमणमा पुगेका छन् । सञ्चारको पहुँच नहुँदा पदमार्ग र आधार शिविर क्षेत्रमा सञ्चालनमा रहेका होटलसँग सम्पर्क नगरिकनै पुग्नुपर्ने बाध्यताले पर्यटकको बसोबासमा समस्या भएको मौरिस हर्जोग पदमार्गका अभियन्ता समेत रहनुभएका पर्यटन व्यवसायी तेज गुरुङले बताए । उनका अनुसार, यस पदमार्गको हुमखोलासम्म विद्युत् र मोबाइल फोनको पहुँच पुगेको छ ।

    “हुमखोलादेखि आधार शिविरसम्मको क्षेत्रमा मोबाइल फोनको सञ्चार र विद्युत् पहुँच पुग्न सकेको छैन, साँधीखर्कको गुराँसेडाँडामा नेपाल टेलिकमको मोबाइल फोनको सामान्य पहुँच छ, आधार शिविर पुगेर फर्कने करिब दुईदिनको यात्राअवधिमा सञ्चार सम्पर्कविच्छेद हुने भएकाले पर्यटकको सुविधा र सुरक्षाका लागि सञ्चारको पहुँच अनिवार्य बनेको छ”, पर्यटन व्यवसायी गुरुङले भने ।


    विसं २०६८ देखि स्थानीयवासीको अग्रसरतामा नारच्याङगाउँदेखि अन्नपूर्ण प्रथम आधार शिविरसम्म पदमार्ग निर्माण सुरु भएको थियो । गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि हुमखोलासम्मको २० किलोमिटर दूरीको बाटोमा सडकको पहुँच पुगेको र हुमखोलादेखि १६ किलोमिटर दूरीमा पदमार्ग निर्माण गरी ठाउँ–ठाउँमा होटल सञ्चालनमा आएपछि अहिले यो क्षेत्रमा आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ । आधार शिविरको मनोरम पञ्चकुण्ड तालसँगै झरना, खोला र रमणीय भू–वनोटका कारण पर्यटकको आगमन बढेको छ । होटलको क्षमताभन्दा बढी पर्यटक आउँदा होटल व्यवसायीलाई पर्यटकको खाना र बसोबासको प्रबन्ध मिलाउन हम्मेहम्मे हुने गरेको छ ।

    अन्नपूर्ण आधार शिविर पुग्ने पदमार्ग प्राकृतिक सौन्दर्यताले भरिपूर्ण रहे पनि विद्युत् र सञ्चारको पहुँच, खानेपानीको सुविधा विस्तार तथा सडकमार्गको स्तरोन्नति तत्काल गर्नेपर्ने देखिएको विराटनगरबाट समूहमा भ्रमणमा आउनुभएका मोहन अटलले गुनासो गरे । पदमार्ग क्षेत्रमा रहेका होटलमा बुकिङ गर्न मोबाइल फोन र इन्टरनेटको पहुँच पु¥याउनतर्फ सरकार तथा सरोकारवालाको ध्यान जानुपर्ने उनले बताए ।
    यस पदमार्गअन्तर्गत हुमखोला, फुतफुते झरना, साँधीखर्क, गुफाफाँट, भुसकेटमेला र पञ्चकुण्ड ताल परिसरमा टेन्टमा बस्ने सुविधासहितका होटल सञ्चालनमा रहेका छन् । सञ्चारसँगै विद्युत् सुविधा नहुँदा खाना पकाउने ग्याँस र बत्तीको लागि जेनेरेटरको व्यवस्था गर्दा खर्चिलो तथा झण्झट व्यहोर्नुपरेको होटल व्यवसायी बताउँछन् । कम्तीमा दुईदिनको पदयात्रा अवधिमा पर्यटक सञ्चार सम्र्पकबाट विच्छेद हुँदा बिरामी भएको र हिमपातको कारण अलपत्र परेको समयमा उद्धारमासमेत समस्या हुँदै आएको छ । हिमाल आरोहणमा आउने टोलीले स्याटेलाइट प्रविधिको फोनको प्रयोग गर्ने गरे पनि अन्य पर्यटकमाझ सञ्चार सम्पर्कको माध्यम र पहुँच छैन ।

    हिमाली क्षेत्रको पर्यटक उद्धारमा सक्रिय रहनुभएका पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले दुई दिनको पदयात्रा अवधिमा सञ्चार सम्पर्क नहुँदा पर्यटक बेखबर हुने भएकाले आपत्कालीन समय र बिरामी भएको समयमा उद्धारमा सकस हुने गरेको बताए । “पर्यटक घुम्न आएको समयमा बेमौसममा हिमपात हुनसक्छ, हिमपहिरो नै जान पनि सक्छ, आपत्कालीन रुपमा कसरी उद्धार माग्ने सञ्चारको कुनै पहुँच छैन, पर्यटकको हराएको समयमा धेरै पटक खोजीकार्यमा सञ्चार नहुँदा कठिन हुने गरको छ, पदमार्गमा रहेका होटलमा कम्तीमा स्याटेलाइट वा वाकिटकी फोन राख्न आवश्यक छ”, उनले भने ।


    नेपालको पर्वतारोहण इतिहासमा सन् १९५० जुन ३ मा फान्सेली पर्वतारोही मौरिस हार्जोगको नेतृत्वमा लुइस लचेनल र दुई नेपाली शेर्पासमेत चार जनाले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गर्नुभएको थियो । पर्वतारोहणको क्षेत्रमा इतिहास बोकेको यस पदमार्गको पहिचान गरि पदमार्ग, आश्रयस्थल, टिसप, होटल लगायतका पूर्वाधार बनेर प्रचारप्रसार हुन थालेपछि अहिले यस पदमार्गमा पर्यटकको आगमन बढेको छ । विगतका वर्षमा खाना र बस्नका लागि आफैँ बन्दोबस्तीको सामान बोकेर जानुपर्ने बाध्यता होटल सञ्चालनमा आएसँगै हटे पनि सञ्चार र विद्युत्को पहुँच विस्तारमा लाग्नुपर्ने आवश्यकता देखिएको छ ।

  • एमाले केन्द्रीय कमिटीको बैठक आज पनि जारी

    एमाले केन्द्रीय कमिटीको बैठक आज पनि जारी

    काठमाडौँ, ३० असोजः नेकपा (एमाले)को १०औँ केन्द्रीय कमिटी बैठकको आज पनि जारी छ । ललितपुरको जावालाखेलमा जारी उक्त बैठकमा अध्यक्ष केपी शर्मा ओलीले बुधबार प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले आफ्ना धारणा र सुझाव राखिरहेका छन् ।

    पार्टी प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार बुधबार बसेको बैठकमा ५० केन्द्रीय सदस्यले आफ्ना धारणा राखेका थिए । बैठकमा प्रत्येक केन्द्रीय सदस्यलाई तीन मिनेट बोल्ने समय दिइएको छ । बैठकमा केन्द्रीय सदस्यहरुलाई बोल्नका लागि वर्णानुक्रमअनुसार उल्टोतिरबाट (ज्ञ बाट) पालो मिलाइएको छ ।

    बुधबारको बैठकमा अध्यक्ष ओलीले आगामी मङ्सिर २७ देखि २९ गतेसम्म पोखरामा पार्टीको ११औँ महाधिवेशन गर्ने प्रस्ताव गर्नुभएको थियो । बैठकमा केन्द्रीय सदस्यहरुका धारणाा सुनेपछि पदाधिकारीहरुले पनि आफ्ना धारणा राख्ने तय भएको छ । अन्त्यमा अध्यक्ष ओलीले बैठकमा आएका सुझाव र जिज्ञासाको एकमुष्टजवाफ दिने तयारी छ ।

  • एक्सनमा कुलमान : सिँचाइका रुग्ण ठेक्का तोडिँदै

    एक्सनमा कुलमान : सिँचाइका रुग्ण ठेक्का तोडिँदै

    काठमाडौँ, ३० असोजः ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र पारी रुग्ण बनाइएका सिँचाइतर्फका ठेक्का तोड्न थालिएको छ । बबई सिँचाइ आयोजनाले करिब ६ वर्षअघि अमन कन्स्ट्रक्सन कम्पनी गुलरिया–५ सँग गरिएको ठेक्का सम्झौता तोड्ने आज सार्वजनिक सूचना जारी गरेको छ । आयोजनाले कम्पनीसँग नहर मर्मत, कमाण्ड क्षेत्र संरक्षण, भवन मर्मतलगायतका काम गर्न आर्थिक वर्ष २०७७÷७८ मा ठेक्का सम्झौता गरेको थियो । छ वटा ठेक्कामध्ये चारको निर्माण प्रगति शून्य छ । एउटाको ३० र अर्कोको ५५ प्रतिशत प्रगति रहेको छ ।

    ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले ठेक्का लिने तर काम नगर्ने तथा आयोजना अलपत्र पार्ने प्रवृत्ति अन्त्यका लागि रुग्ण ठेक्का तोड्न मातहतका निकायलाई निर्देशन दिनुभएको थियो । आयोजनाले पटकपटक सूचना प्रकाशन गर्दासमेत सम्झौताबमोजिम काम सुरु नगरी बीचैमा छोडी ठेक्काको म्याद समाप्त हुँदासम्म पनि काम सम्पन्न गर्नेतर्फ कुनै चासो नदिएको जनाएको छ ।

    ठेक्का सम्झौता अन्त्य गरी कारबाहीको प्रक्रिया अगाडि बढाउनुनपर्ने कुनै ठोस कारण भएमा १५ दिनभित्र प्रमाणसहित सम्बन्धित आधिकारिक व्यक्ति आयोजना कार्यालयमा उपस्थित हुन सूचना जारी गरिएको छ । पेस गरिएका प्रमाण नियमसङ्गत भरपर्दो वा चित्त बुझ्दो नभएमा सम्झौता र सार्वजनिक खरिद कानूनमा भएको व्यवस्थाबमोजिम कार्यसम्पादन जमानत तथा धरौटी बापत राखिएको रकम जफत तथा कालोसूचीमा राख्ने प्रक्रिया अगाडि बढ्नेछ । सिँचाइ विभागअन्तर्गत राष्ट्रिय गौरबका भेरी बबई तथा सुनकोशी मरिण बहुउद्देश्यीयसहित २५ आयोजनाका ठेक्का रुग्ण छन् । त्यसमध्ये छ वटाको ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाइएको हो ।

  • तिहारको फूलले ढकमक्क देश

    तिहारको फूलले ढकमक्क देश

    ३० असोज, काठमाडौं । नेपालीहरुको दोस्रो महान चाड तिहार घर आगनमै आइपुगेको छ । यस चाडमा फूल र बत्तिको अधिक माग हुन्छ । पछिल्लो समय व्यवसायीहरुले नेपाललाई फूलमा आत्मनिर्भर बनाउँदै लगेका छन् । फलस्वरुप यतिबेला देशका विभिन्न स्थानमा तिहारका फूलले ढकमक्क भएको देखिन्छ ।

    भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुण्डुकी किसान अनिला बस्नेत सयपत्री फूल टिप्दै । तीन रोपनी जमिनमा व्यावसायिक रुपमा गरेको फूलखतीबाट रु तीन लाख आम्दानी भएको उहाँ बताउनुहुन्छ । तस्बिरः रमेश गिरी/रासस
    प्रदर्शनीमा सजाइएको फूल ललितपुर, २९ असोजः फ्लोरिकल्चर एशोसिएशन नेपालले ललितपुरको जावलाखेल खेल मैदानमा आयोजना गरेको ‘१८औँ गोदावरी फूल प्रतियोगितात्मक प्रदर्शनी २०८२’ को प्रदर्शनी स्टलमा सजाएर राखिएको फूल । तस्बिरः हरिराम भेटुवाल/ रासस
    तिहारलाई लक्षित गर्दै भक्तपुरको पोटरी स्क्वायरमा सुकाइएकाे माटोका भाँडा । तस्बिर ः रमेश गिरी / रासस
  • गोदावरी पुष्प मेलाको रौनक

    गोदावरी पुष्प मेलाको रौनक

    पाटन, ३० असोज । १८औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८२ ललितपुरमा सुरु भएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा आजदेखि सुरु भएको प्रदर्शनी कात्तिक २ गतेसम्म सञ्चालन हुने जानकारी गराइएको छ । प्रदर्शनीको उद्घाटन समारोहमा मन्तव्य राख्नुहुँदै कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डाक्टर गोविन्दप्रसाद शर्माले नेपालको पुष्प व्यवसायको विकास, विस्तर र प्रवर्द्धनका लागि व्यवसायीहरूले उठाएको मुद्दा सम्बोधनका लागि नीतिगत विषयमा सहजीकरण गर्ने बताए ।

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा गोविन्दप्रसाद शर्मा फ्लोरिकल्चर एशोसिएशन नेपालले ललितपुरको जावलाखेल खेल मैदानमा आयोजना गरेको ‘१८औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८२ उद्घाटन समारोहमा मन्तव्य राख्नुहुँदै । तस्बिरः हरिराम भेटुवाल/रासस


    “पुष्प व्यवसायको विकास र प्रवर्द्धनमा निजी क्षेत्रको मेहनतले आफ्नै प्रयासमा भए गरेको काम सराहनीय छ, पुष्प व्यवसायमा विश्वमा आएको परिवर्तन र अभ्यासलाई स्वीकार गरेर अगाडि बढ्नुपर्छ, गुणस्तरीय स्वनियमनलाई उद्यमीहरूले ध्यान दिनुपर्छ”, उनले भने । उनले नेपाल सरकारले लागू गरेको बीउबिजन नियमावलीका आधारमा आलंकारिक बिरुवाहरूलाई दर्ता गर्ने कार्यलाई अगाडि बढाइएको जानकारी गराउँदै नेपाली पुष्प व्यवसायको विकास र विस्तारका लागि अवैधानिक रूपमा आउने फूललाई रोकेर देशभित्रका पुष्प व्यवसायीहरूलाई प्रोत्साहन गर्न व्यवसायीहरूले नै सहयोग गर्नुपर्नेमा जोड दिए ।


    “कृषि विधेयक तयार भएर पनि संसद् नभएको कारणले अल्झिएर रहेको छ, कृषि क्षेत्रका हितलाई समेटेर कृषि नीति तयार भएको छ, मन्त्रिपरिषद्मा पठाउने तयारी भइरहेको छ, पुष्प व्यवसायीहरूको हितका लागि व्यवसायको संरचनाको जोखिमको मूल्याङ्कन गरेर बिमा गर्ने व्यवस्थाका लागि नीतिगत व्यवस्था गर्ने प्रयास जारी छ”, उनले भने ।

    कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा गोविन्दप्रसाद शर्मा बुधबार फ्लोरिकल्चर एशोसिएशन नेपालले ललितपुरको जावलाखेल खेल मैदानमा आयोजना गरेको ‘१८औँ गोदावरी फूल प्रतियोगितात्मक प्रदर्शनी २०८२’ समारोह उदघाटन गर्नुहुँदै । उक्त प्रदर्शनी आजदेखि कात्तिक २ गतेसम्म सञ्चालन हुनेछ । तस्बिरः हरिराम भेटुवाल/रासस


    उनले प्लास्टिकका फूलहरूलाई उपयोगमा नियन्त्रण गरेर पुष्प व्यवसायीहरूलाई प्रोत्साहनमा जोड दिनुपर्छ भन्दै देश बाहिरबाट आउने कृषिजन्य एवं पुष्पजन्य सामग्रीको क्वारेन्टाइन परीक्षणका विषयमा ध्यान दिएर नियन्त्रण गर्ने काम गर्छौं भने ।
    नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष वस्तुगत परिषद्का सभापति हेमराज ढकालले पुष्प व्यवसायको प्रवर्द्धनका लागि बीउबिजनको विकास र प्रदर्शनीका लागि सुविधाको व्यवस्था गरिनुपर्नेमा जोड दिए । उनले जेनजी आन्दोलनमा घुसपैठ भएर समाजले पचाउन नसक्ने र २१ औँ शताब्दीमा नसुहाउने खालको अपराधिक काम भएको भन्दै त्यसलाई निरुत्साहित गर्दै व्यावसायिक वातावरण बनाउन सरकारले ध्यान दिनुपर्ने बताए ।

    फ्लोरिकल्चर एशोसिएशन नेपालले ललितपुरको जावलाखेल खेल मैदानमा आयोजना गरेको ‘१८औँ गोदावरी फूल प्रतियोगितात्मक प्रदर्शनी’मा राखिएका फूल अवलोकन गर्दै सर्वसाधारण ।तस्बिरः हरिराम भेटुवाल/रासस


    पुष्प विकास केन्द्रका प्रमुख रवीन्द्र थापाले प्रदर्शनीले पुष्प व्यवसायको प्रवद्र्धनका साथै रोजगारीमा समेत महत्त्वपूर्ण योगदान दिने धारणा राखे । फ्लोरिकल्चर एसोसिएनि नेपालका अध्यक्ष राजेशभक्त श्रेष्ठले पुष्प व्यवसायको विकास र प्रवर्द्धनका लागि हरेक वर्ष लगातार रूपमा प्रतियोगितात्मक प्रदर्शनी गर्दै आइरहेको जानकारी गराए । पाँच दिनसम्म सञ्चालन हुने प्रतियोगितामा ९० वटा स्टल रहेका छन् । प्रदर्शनीमा रु ४० लाखभन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको अध्यक्ष श्रेष्ठले जानकारी गराए ।

    प्रदर्शनीमा सजाइएको फूल ललितपुर, २९ असोजः फ्लोरिकल्चर एशोसिएशन नेपालले ललितपुरको जावलाखेल खेल मैदानमा आयोजना गरेको ‘१८औँ गोदावरी फूल प्रतियोगितात्मक प्रदर्शनी २०८२’ को प्रदर्शनी स्टलमा सजाएर राखिएको फूल । तस्बिरः हरिराम भेटुवाल/ रासस
  • अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबीच अमेरिकामा भेट

    अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबीच अमेरिकामा भेट

    वाशिङ्टन डिसी, ३० असोजः विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहेका अर्थमन्त्री रामेश्वरप्रसाद खनालले बुधबार एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डासँग भेटवार्ता गरेका छन् । भेटका अवसरमा नेपालमा सञ्चालित परियोजनाको प्रगति, उपलब्धि र चुनौतीको बारेमा छलफल भएको यहाँस्थित राजदूतावासले जनाएको छ । भेटघाटमा अमेरिकाका लागि नेपालका राजदूत लोकदर्शन रेग्मी, दूतावासका आर्थिक कन्सुलर युगराज पाण्डे, भ्रमण दलका सदस्य त्था विकास बैंकका उच्च कर्मचारीको सहभागिता रहेको थियो ।

  • कंचनपुरमा विश्व बैङ्कको अनुदानमा सडक स्तरोन्नति गरिँदै

    कंचनपुरमा विश्व बैङ्कको अनुदानमा सडक स्तरोन्नति गरिँदै

    कञ्चनपुर, ३० असोज । लालझाडी गाउँपालिकामा विश्व बैङ्कको रु २९ करोड ४६ लाख ४३ हजार ७२३ को अनुदानमा सडक स्तरोन्नति कार्य अगाडि बढेको छ । प्रादेशिक तथा स्थानीय सडक पूर्वाधार कार्यक्रमअन्तर्गत सडक स्तरोन्नति तथा कालोपत्रको हुन लागेको हो । गाउँपालिका–६ चानदेवदेखि वडा नं २ काठमाडौँ डाँडासम्मको १३ दशमलव छ किलोमिटर सडक कालोपत्रका लागि कार्य अगाडि बढाइएको गाउँपालिका अध्यक्ष निर्मल रानाले बताए ।


    उनका अनुसार पाँच मिटर चौडाइमा कालोपत्रको कार्य गरिने छ भने सडकको चौडाइ नालासहित आठ मिटरदेखि १० मिटरसम्म हुनेछ । “सडक कालोपत्र कार्यका लागि डुकुचु÷अनक÷जोशी जेभीसँग गत वैशाख महिनामै ठेक्का भइसकेको छ । अब केही दिनभित्रै निर्माणकार्य सुरु हुन्छ”, अध्यक्ष रानाले भने ।


    सडक निर्माणको कार्य आगामी जेठ महिनाभित्रै पूरा गर्ने समयसीमा निर्धारण गरिएको छ । सडक कालोपत्र भएमा पूर्वमा सुदूरपश्चिम प्रदेश सदरमुकामतर्फ जाने सडक र पश्चिममा जिल्ला सदरमुकाम, बेलौरी-कलुवापुर राजमार्गसम्मको पहुँचमा सहज हुनेछ । प्रादेशिक तथा स्थानीय सडक पूर्वाधार कार्यक्रमका व्यवस्थापक रामचन्द्र खत्रीका अनुसार निर्माणकार्य अगाडि बढाउन जग्गाको समस्या भएका क्षेत्रमा प्रभावित परिवारसँग छलफल भई समाधानको प्रयास भइरहेको बताए ।

  • विश्वकपमा स्थान बनाइसकेका दुई टोलीको भिडन्त, नेपाल विजयी

    विश्वकपमा स्थान बनाइसकेका दुई टोलीको भिडन्त, नेपाल विजयी

    काठमाडौँ, ३० असोज । आइसीसी टी–२० विश्वकप एसिया तथा इष्ट एसिया पेसिफिक छनोटमा नेपालले ओमानलाई ३८ रनले पराजित गरेको छ । ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ–१ मा भर्खरै सम्पन्न खेलमा नेपालले दिएको १५२ रनको लक्ष्य पछ्याएको ओमानले २० ओभरमा नौ विकेट गुमाएर ११३ रन बनायो । ओमानका लागि विनायक शुम्लाले १९ बलमा सर्वाधिक ३२ रन बनाए । यस्तै, मोहम्मद नदीमले २५ रन बनाए । नेपालका लागि गुल्शन झाले तीन विकेट लिँदा नन्दन यादव र सोमपाल कामीले समान दुई\दुई विकेट लिए । सन्दीप लामिछानेले एक विकेट लिए ।

    त्यसअघि घरेलु टोलीविरुद्ध टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १५१ रनको योगफल बनाएको थियो । नेपालका लागि कुशल भुर्तेलले ५१ बलमा सात चौका र एक छक्कासहित सर्वाधिक ६९ रनको योगदान दिए । आसिफ शेखले २० बलमा दुई चौका र एक छक्कासहित २४ रनको योगदान गरे । गुल्शन झाले दुई छक्कासहित १८ रन जोडे भने आदिल आलमले १६ रन बनाए ।

    ओमानका लागि नदीम खानले चार विकेट लिए भने शुफिया मेहमुद र जितेन रामानन्दीले समान दुईरदुई विकेट लिए । यसअघि नै टी–२० विश्वकपमा स्थान बनाइसकेको नेपाल आठ अङ्क बटुल्दै उपाधि नजिक पुगेको छ । नेपाल अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । दोस्रो स्थानमा रहेको ओमानको छ अङ्क छ । अब नेपालले शुक्रबार सुपर सिक्सको अन्तिम खेल सामोआसँग खेल्नेछ ।

  • इजरायलले बन्धकको अवशेष फिर्ताका लागि दबाब दिन सीमा नाकामा पुनः कडाइ

    इजरायलले बन्धकको अवशेष फिर्ताका लागि दबाब दिन सीमा नाकामा पुनः कडाइ

    जेरुसलेम, ३० असोज (रासस\एएफपी) । गाजा र इजिप्टबीचको सहायता मार्ग राफा सीमा बुधबार पुनः बन्द गरियो । इजरायलले हमासलाई आफ्नो अन्तिम मृतक बन्धकहरूको अवशेष हस्तान्तरण गर्न आग्रह गर्दै उक्त सीमालाई बन्द गरेको हो। इजरायली सार्वजनिक प्रसारक ९कान०ले सीमा पार विन्दु पुनः खुल्ने जानकारी दिएपनि बुधबार अवेरसम्म यो नाका खुल्न सकेको छैन । इजरायली सरकारका एक प्रवक्ताले यस विषयमा सोधिएको प्रश्नबारे कुनै प्रतिक्रिया दिन चाहेनन् ।

    संयुक्त राष्ट्रसङ्घका मानवीय सहायता प्रमुख टम फ्लेचरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा भएको युद्धविरामले ध्वस्त प्यालेस्टाइन क्षेत्रमा आवश्यक राहतका लागि सहयोग गर्न नसकेकोमा निराशा व्यक्त गरे । “हमासले बन्धकका सबै शव तत्काल फिर्ता गर्न कडा प्रयास गर्ने सहमति जनाएको छ ।

    मलाई गाजामा हमासबाट भएको नागरिकहरूविरुद्धको हिंसाले पनि गम्भीर रूपमा चिन्तित बनाएको छ,” फ्लेचरले भने । इजरायलले हप्तामा हजारौं ट्रकहरू पुग्ने गरी मानवीय सहायताको व्यापक वृद्धि गर्न अनुमति दिनुपर्छ,”उनले भने ।
    उनले भने, “इजरायलले यसका लागि सहमति जनाएको छ । अहिले धेरै मानिसहरूको जीवन सहायता निर्भर छ र यसमा विश्वले जोड दिएको छ। हामीलाई थप खुला नाका चाहिन्छ।”

    A convoy of Red Cross vehicles transports the bodies of deceased Palestinians held by Israel during the war, after their release, in Deir al-Balah, Gaza, Wednesday, Oct. 15, 2025. (AP Photo/Abdel Kareem Hana)

    –मानवीय जोखिम –

    यसैबीच, अन्तर्राष्ट्रिय मध्यस्थकर्ताहरूले बुधबार अप्रत्यासितरूपमा अवरोध हुनपुगेको ट्रम्प योजना अन्तर्गत युद्धविराम सम्झौतामा सहमति भएको मानव अवशेषको आदानप्रदानलाई इजरायल र हमासले जारी राख्ने अपेक्षा गरिएको छ । यो आदानप्रदानले हमासले बन्धक बनाइ लगेका अन्तिम २० जीवित बन्धकहरू प्यालेष्टिनी लडाकूहरूको नियन्त्रणबबाट मुक्त भइसकेका छन् भने बदलामा इजरायली जेलबाट मुक्त भएका लगभग दुई हजार प्यालेस्टिनी कैदीहरू रिहा भएका छन् ।

    सम्झौताले लडाई र बमबारीमा रोक लगाइएको छ। हमासले अहिलेसम्म आठ शव फिर्ता गरिसकेको छ, जसमध्ये सातको पहिचान भइसकेको छ । अन्य २० जनाको अवशेष गाजामा रहेको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई शवहरूलाई स्वदेश ल्याउन घरेलु दबाब छ। फिर्ता भएकामध्ये आठौँ शव पूर्व बन्धकको नभएको र यसको पहिचान हुन नसकेको इजरायली सेनाले बताएको छ। यस घटनालाई लिएर केही इजरायली राजनीतिज्ञहरूले हमासलाई युद्धविराम सम्झौता तोडेको आरोप लगाएका छन्।

    इजरायलका अति दक्षिणपन्थी राष्ट्रिय सुरक्षा मन्त्री इतामार बेन गिभरले हमासले गाजामा रहेका सैनिकको अवशेष फिर्ता नगरेमा सहायता आपूर्ति बन्द गर्ने चेतावनी दिएका छन्। यसैबीच, इजरायलले आफ्नो हिरासतमा रहेका थप ४५ प्यालेस्टिनी शवहरू दक्षिणी गाजाको नासिर अस्पतालमा स्थानान्तरण गरिएसँगै अहिलेसम्म ९० जनाको अवशेष फिर्ता भइसकेको हमास नियन्त्रित गाजाका स्वास्थ्य मन्त्रालयले जनाएको छ। ट्रम्पको योजना अन्तर्गत इजरायलले प्रत्येक मृतक इजरायलीका लागि १५ प्यालेस्टिनीको मृत शरीर फिर्ता गर्नेछ।

  • भारतको राजस्थानमा बसमा आगलागी हुँदा २० जनाको मृत्यु

    भारतको राजस्थानमा बसमा आगलागी हुँदा २० जनाको मृत्यु

    नयाँ दिल्ली, २९ असोज (रासस\सिन्ह्वा) । भारतको पश्चिमी राज्य राजस्थानमा एक निजी बसमा आगलागी हुँदा मङ्गलबार कम्तीमा २० जनाको ज्यान गएको सरकारी अधिकारीहरूले बताएका छन् । उक्त चलिरहेको बस राजस्थानको जैसलमेर जिल्लास्थित थायत गाउँ नजिकै सडकमा अचानक आगो लागेको थियो । यो स्थान राजस्थानको राजधानी जयपुरबाट करिब ५४८ किलोमिटर पश्चिममा पर्दछ ।

    अधिकारीहरूका अनुसार ५७ यात्रु सवार रहेको बस राजमार्गमा यात्रा गरिरहेको बेला पछाडिको भागबाट धुवा निस्कन थालेपछि चालकले बस रोकेका थिए । तर केही समयमै बस पुरै आगोमा परिणत भयो र धेरै यात्रुहरू बसमै फसे । केही घाइतेहरूको अवस्था गम्भीर रहेको जनाइएको छ । यद्यपि आगलागीको कारण अझै पत्ता लाग्न बाँकी रहेको बताइएको छ, प्रहरीका अनुसार बसको भित्र विद्युतीय सर्ट सर्किटका कारण आगो लागेको हुन सक्ने अनुमान गरिएको छ ।

  • भेनेजुएलानजिकै लागुऔषध बोकेको डुङ्गामा अमेरिकी आक्रमण, ६ को मृत्यु

    भेनेजुएलानजिकै लागुऔषध बोकेको डुङ्गामा अमेरिकी आक्रमण, ६ को मृत्यु

    वाशिङ्टन, ३० असोज (रासस\एपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलानजिकै समुद्रमा लागूपदार्थ ओसारिरहेको आशङ्कामा एक सानो डुङ्गामाथि गरिएको हवाई आक्रमणमा ६ जनाको ज्यान गएको पुष्टि गरेका छन् । राष्ट्रपति ट्रम्पका अनुसार यो डुङ्गा ‘नार्कोटेररिस्ट नेटवर्क’ सँग सम्बन्धित थियो र एक चिनिएको लागूपदार्थ मार्गमा रहेको खुफिया सूचनाका आधारमा लक्षित गरिएको हो ।

    उक्त आक्रमणको भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको छ, जसमा डुङ्गा एक प्रक्षेपास्त्रको प्रहारबाट विस्फोट भएको देखिन्छ । आक्रमणपश्चात डुंगा आगलागी भएको अवस्थामा देखिन्छ । अमेरिकी पक्षका कुनैपनि सुरक्षाकर्मीलाई क्षति पुगेको छैन । यो आक्रमण हालसम्म ट्रम्प प्रशासनद्वारा गरिएका यस्ता पाँचौं कारबाहीमध्ये एक हो, जसमा राष्ट्रपति प्रशासनले लागूपदार्थ ओसारपसारमा संलग्नहरूलाई ‘अवैध लडाकु’को रूपमा मान्दै सैन्य कारबाही गरिरहेको छ ।

    पूर्व अमेरिकी राजदूत जेम्स स्टोरीले यस्ता आक्रमणहरूले अमेरिका र त्यसका साझेदार राष्ट्रहरूबीचको खुफिया साझेदारीमा नकारात्मक असर पर्न सक्ने बताए । यसैबीच अमेरिकी संसदमा पनि यस विषयमा बहस चर्किएको छ । केही सांसदहरूले राष्ट्रपति ट्रम्पले यस्ता कारबाही गर्न कानुनी अधिकार राख्दैनन् भनी जिकिर गरेका छन् ।

    सेन्टर अडम शिफले भन्नुभयो,“यी कारबाहीहरूले अमेरिका एक खुला युद्धमा तानिने जोखिम पैदा गर्छ।” भेनेजुएलाको तर्फबाट राष्ट्रिय सभाका अध्यक्ष जोर्ज रोड्रिगेजले प्रेस सम्मेलनमार्फत आक्रमणको निन्दा गर्दै अमेरिकाले ‘झूटा बहानामा आक्रमणको आधार बनाउँदैछ’ भन्ने आरोप लगाएका छन् ।

  • बङ्गलादेशको कपडा कारखानामा आगलागी हुुदाँ १६ जनाको मृत्यु

    बङ्गलादेशको कपडा कारखानामा आगलागी हुुदाँ १६ जनाको मृत्यु

    ढाका, ३० असोज (रासस\क्यूएनए) । बङ्गलादेशको उत्तरी ढाकामा रहेको कपडा कारखाना र नजिकैको रासायनिक गोदाममा आगलागी हुँदा १६ जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको जनाइएको छ । अग्निशमन विभागका निर्देशक ताजुल इस्लाम चौधरीले मृतकको सङ्ख्या बढ्न सक्ने उल्लेख गर्दै आगलागीको कारण अहिले सम्म थाहा नभएको बताए । कपडा कारखानाको दोस्रो र तेस्रो तलामा १६ जनाको शव फेला परेको र खोजी जारी रहेकाले मृतकको सङ्ख्या बढ्ने अनुमान गरिएको चौधरीले जनाए ।


    नागरिक सुरक्षा अधिकारीले प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै ढाकाको उत्तरी क्षेत्र मिरपुरमा रहेको कारखाना बाट आगलागी सुरु भई नजिकैको रासायनिक गोदाममा फैलिएको बताए । यस अघि बङ्गलादेशमा सन् २०१२ मा ढाकामा पश्चिमी देशहरूमा निर्यातका लागि कपडा उत्पादन गर्ने कपडा कारखानामा आगलागी हुँदा कम्तिमा १११ जना कामदारको मृत्यु भएको थियो भने २०० भन्दा बढी घाइते भएका थिए ।

  • पूर्वसभामुख महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

    पूर्वसभामुख महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

    काठमाडौँ, २९ असोजः जिल्ला अदालत काठमाडौँले सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले तत्काल प्राप्त प्रमाणबाट सुन तस्करीमा महराको पनि संलग्नता देखिएको ठहर गर्दै पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएकोे हो ।

    जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी दीपक श्रेष्ठका अनुसार अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । अदालतले महरालाई सुन्धाराको जगननाथ देवलमा पठाउन आदेश दिएको हो । यही असोज २७ गते महराविरुद्ध मुद्दा दर्ता गरिएको थियोे । जिल्ला सरकारी वकिलको कार्यालयका प्रमुख रामहरि काफ्लेका अनुसार महराविरुद्ध रू आठ करोड ५५ लाख २८ हजार ३७४ बिगो र तीन वर्षभन्दा बढी अवधि कैद सजाय माग दाबी गरिएको छ । मङ्गलबारदेखि थुनछेक बहस सुरू भएको थियो ।

    पूर्वसभामुख महरालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले विद्युतीय चुरोट भेपमा लुकाएर ल्याइएको सुन विमानस्थल भन्सारबाट छुटाउन दबाब दिएको आरोपमा यही असोज २६ गते पक्राउ गरेको थियो ।

  • पेट्रोलको मूल्य घट्यो, डिजेलको यथावत

    पेट्रोलको मूल्य घट्यो, डिजेलको यथावत

    काठमाडौँ, २९ असोजः नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । निगमले आज राति १२ बजेपछि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर रु दुईले घटाएको हो । निगमका अनुसार डिजेल र मट्टितेलको मूल्य भने यथावत राखिएको छ । नयाँ कायम मूल्यअनुसार आज रातिबाट काठमाडौँ उपत्यका, पोखरा र दीपायलमा पेट्रोल प्रतिलिटर रू १५९, सुर्खेत र दाङमा रू १५८ अन्य क्षेत्रमा रू १५६.५० कायम गरिएको छ ।

    “इण्डियन आयल कर्पोरेशनबाट मूल्य बढेर आए पनि चाडपर्वलाई मध्यनगर गरी पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गर्दा आम उपभोक्ता वर्गमा पर्न जाने मूल्यवृद्धिको चापलाई कम गर्न र मूल्य स्थिरता कायम गरी मुलुकभर पेट्रोलियम पदार्थको सहज आपूर्ति व्यवस्था गर्न खुद्रा बिक्री मूल्यलाई यथावत कायम गरिएको छ”, निगमले भनेको छ ।

  • सुरक्षाकर्मीको एसएलआर लुटेर प्रदर्शन गर्ने पक्राउ, यसअघि नै अपराधमा रहेको पुष्टी

    सुरक्षाकर्मीको एसएलआर लुटेर प्रदर्शन गर्ने पक्राउ, यसअघि नै अपराधमा रहेको पुष्टी

    काठमाडौँ, २९ असोजः जेनजी आन्दोलनका क्रममा सुरक्षाकर्मीको हतियार लुटपाट गरी प्रदर्शन गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–२६ सुनाकोठीका सम्राट भन्ने राजु परियार रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।

    उनले भने, “गत भदौ २४ गते भएको प्रदर्शनका क्रममा तोडफोड तथा आगजनी गर्ने कार्यमा संलग्न रही सुरक्षाकर्मीले प्रयोग गर्ने एसएलआर बोकेर सिंहदरबार मूलद्वार अगाडिलगायतका विभिन्न स्थानमा सार्वजनिक सम्पत्ति तोडफोड तथा आगजनी गरी क्षति पु¥याएको अभियोगमा परियारलाई पक्राउ गरिएको हो ।”

    पक्राउ परेका परियारबिरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा २८५ बमोजिम आपराधिक उपद्रव गर्न नहुने समेतको कसुरमा काठमाडौँ जिल्ला अदालतबाट आज पाँचको म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रवक्ता भट्टराईले बताए । साथै निजको यसअघि पनि विभिन्न मितिमा बैंकिङ कसूर तथा ठगी कसूर जस्ता आपराधिक गतिविधिमा संलग्नता रहेको देखिएको प्रहरीले जनाएको छ ।

  • मधेस प्रदेशको मुख्यमन्त्री पदमा सोनल नियुक्त

    मधेस प्रदेशको मुख्यमन्त्री पदमा सोनल नियुक्त

    महेन्द्रनगर, २९ असोजः लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका नेता जितेन्द्रप्रसाद सोनल आज मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् । नयाँ नेतृत्वका लागि आज दिउँसो ४ः०० बजेसम्म प्रदेश प्रमुख भण्डारीले समयसीमा तोकिएकोमा बिहान कांग्रस एमालेबाहेकको छ दलको ५७ सांसदसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका सोनललाई प्रदेश प्रमुख भण्डारीले मुख्यमन्त्रीमा नियुक्त गरिन् ।


    सोनलले लोसपा, जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीको समर्थनमा सरकार गठनका लागि बहुमत दाबी गर्दै मुख्यमन्त्री नियुक्तिका लागि प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका हुन् । संविधानमा कुनै एक दलको स्पष्ट बहुमत नहुँदा प्रदेशसभामा बहुमत पु¥याउने आधारमा मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ ।

  • उद्योगको भित्तो भत्किँदा तीन जनाको मृत्यु

    उद्योगको भित्तो भत्किँदा तीन जनाको मृत्यु

    चितवन, २९ असोज । पूर्वी चितवनको रत्ननगरमा रहेको किसान दाना उद्योगको पर्खाल भत्किँदा तीन जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । रत्ननगर नगरपालिका–१२ शान्तिकुञ्ज टोलमा रहेको दानाको ४ नम्बर भित्तो आज बिहान ९ः५० बजे भत्किएको थियो । भित्तो भत्किँदा उद्योगमा काम गर्ने पाँच जना घाइते भएका थिए ।

    उनीहरूमध्ये तीन जनाको उपचारका क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा खैरहनी नगरपालिका–२ का ४५ वर्षीय सुमरा दराई, गोरखा घर भई हाल रत्ननगर नगरपालिका–१२ बस्ने ४५ वर्षीय रमेश दमाई र सोही स्थानका ४५ वर्षीय कमल गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए । उनीहरूको चितवन मेडिकल कलेजमा उपचारका त्रममा मृत्यु भएको हो ।

    यस्तै घाइते हुनेमा पर्सा घर भई हाल रत्ननगर नगरपालिका–१२ बस्ने ३९ वर्षीय जीतेन्द्र महतो र ४० वर्षीय अकजप्रसाद थारु रहेका छन् । घाइते दुवैको सोही अस्पतालमा उपचार भइरहेको छभने अवस्था मध्यम रहेको खनालले जानकारी दिए ।

  • एमालेको केन्द्रीय कमिटी बैठक सुरु, ओलीले गरे लामो सम्बोधन

    एमालेको केन्द्रीय कमिटी बैठक सुरु, ओलीले गरे लामो सम्बोधन

    ललितपुर, २९ असोजः नेकपा ९एमाले०को दशौँँ केन्द्रीय कमिटी बैठक आजदेखि ललितपुरको भनिमण्डलस्थित रामबाघ महलमा सुरु भएको छ । जेनजी आन्दोलन, प्रतिनिधिसभाको विघटन र नयाँ सरकार गठनपछिको विशेष परिस्थितिका बीच पहिलोपटक एमाले केन्द्रीय कमिटीको बैठक बोलाइएको हो । बैठकलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले नेपालको कम्युनिष्ट आन्दोलन ऐतिहासिक घटनाक्रमबाट अघि बढेको दृष्टान्त प्रस्तुत गर्दै राष्ट्रिय स्वाभिमानका साथ देशको शिरमाथि उठाउने पार्टी एमाले मात्रै भएको बताए । उनले मुलुकलाई लोकतन्त्र, शान्ति, विकास, सामाजिक न्याय, समृद्धिको लयमा फर्काउन एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिए । बैठकमा अध्यक्ष ओलीबाट समसामयिक राजनीतिक प्रतिवेदन प्रस्तुत हुनेछ ।

    यसअघि यही असोज २६ गते सम्पन्न केन्द्रीय सचिवालयको बैठकले आउँदो मङ्सिर अन्तिम साता पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशन आयोजना गर्ने निर्णय गरेको थियो । बैठकमा समसामयिक प्रस्ताव लेखनका लागि पार्टी उपमहासचिव प्रदीप ज्ञवाली, स्थायी कमिटीका सदस्य राजेन्द्र गौतम र विघटित प्रनिनिधिसभाका प्रमुख सचेतक महेश बर्तौला रहेको समिति गठन गरिएको छ । बैठकमा सबै केन्द्रीय सदस्यहरुलाई तोकिएको समयमा बोल्न समय उपलब्ध गराउने र बहस नोटका लागि पोलिटब्युरो सदस्य सूर्य थापा र केन्द्रीय सदस्यद्वय विष्णु रिजाल एवं निरज आचार्यलाई जिम्मेवारी तोकिएको महासचिव शङ्कर पोखरेलले जानकारी गराए । बैठकमा अध्यक्ष ओलीले गत भदौ २२ गते सम्पन्न दोस्रो विधान महाधिवेशनबाट निर्वाचित केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बालाई पद तथा गोपनीयताको शपथ गराए ।

  • सुनको मूल्यले राख्यो पुनः कीर्तिमान

    सुनको मूल्यले राख्यो पुनः कीर्तिमान

    काठमाडौँ, २९ असोजः स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ । आज सुनको मूल्य प्रतितोला रु चार सयले बढेर रु दुई लाख ४८ हजार ९०० पुगेको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला रु ८५ ले घटेर आज तीन हजार २४० मा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो मङ्गलबार सुन प्रतितोला रु दुई लाख ४८ हजार ५०० र चाँदी प्रतितोला रु तीन हजार ३२५ मा किनबेच भएको थियो ।

  • बानेश्वरमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

    बानेश्वरमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

    काठमाडौँ, २९ असोजः यातायात विभाग मीनभवनस्थित सडकखण्ड नयाँबानेश्वरमा जिप र मोटरसाइकल ठोक्किँदा घाइते भएका मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखा सिरानचोक–४ का २३ वर्षीय बालकृष्ण परियार रहेका काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले राससलाई जानकारी दिए ।

    यातायात विभाग मीनभवनस्थित सडकखण्डमा नयाँबानेश्वरबाट आएर सोही स्थानमा ‘राइट टर्न’ गर्दै गरेको वाग्मती बिएबी ०३६५ नम्बरको जिप नयाँबानेश्वरबाट तीनकुनेतर्फ आउँदै गरेको बा८१प ४०१० नम्बरको मोटरसाइकल गए राति एकापसमा ठोक्किँदा उक्त दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकल चालक परियार घाइते भएका थिए । उनको उपचारका क्रममा सभिल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

  • क्रिकेटः नेपाल टी–२० विश्वकपमा छनोट

    क्रिकेटः नेपाल टी–२० विश्वकपमा छनोट

    काठमाडौँ, २९ असोजः नेपालले अर्को वर्ष भारत र श्रीलङ्कामा आयोजना हुने टि–२० आइसिसी विश्वकप, २०२६ का लागि छनोट भएको छ । ओमानमा जारी एसिया एण्ड इएपी छनोटमा शीर्ष तीनमा परेसँगै नेपाल विश्वकपका लागि छनोट भएको हो । जारी प्रतियोगिताको ‘सुपर सिक्स’मा आज युएईले सोमाओलाई ७७ रनले पराजित गरेसँगै नेपालले विश्वकपमा स्थान सुरक्षित गरेको हो । यससँगै नेपालले लगातार दोस्रो तथा समग्रमा तेस्रो पटक विश्वकपमा पुग्न सफल भएको हो । यसअघि नेपालले सन् २०१४ र २०२४ को विश्वकप खेलेको थियो ।

    गणितीय समीकरण अनुसार यदि सामोआले युएईलाई हराएको भए विश्वकपमा पुग्न नेपाललाई थप दुई अङ्कको आवश्यक पर्दथ्यो । तर खेल युएईले जित निकालेसँगै नेपालको विश्वकप यात्रा सहज बनेको हो । साथै ओमानले पनि विश्वकपमा स्थान पक्का गरेको छ । आजै सम्पन्न अर्को खेलमा कतारले जापानलाई तीन विकेटले हराएसँगै ओमान पनि विश्वकपमा पुगेको हो । नेपाल र ओमानले हाल तीन खेलबाट ६ अङ्क जोडेका छन् । युएईको चार अङ्क रहँदा जापान र कतारको समान दुई अङ्क छ । अब अन्तिम खेलमा युएईले जापानको सामना गर्दैछ । उक्त खेलपछि विश्वकपमा पुग्ने तेस्रो टोलीको टुङ्गो लगाउने छ । आजै हुने सुपर सिक्सको आफ्नो तेस्रो खेलमा नेपाल ओमानसँग खेलिरहेको छ ।

  • भारतमा गुगलको १५ अर्ब डलर लगानी, अमेरिका बाहिरको सबैभन्दा ठूलो एआई हब निर्माण हुने

    भारतमा गुगलको १५ अर्ब डलर लगानी, अमेरिका बाहिरको सबैभन्दा ठूलो एआई हब निर्माण हुने

    नयाँदिल्ली, २८ असोज (रासस\एएफपी) । विश्वप्रसिद्ध प्रविधि कम्पनी गुगलले भारतमा अभूतपूर्व लगानी योजना घोषणा गरेको छ । कम्पनीले आगामी पाँच वर्षभित्र १५ अर्ब अमेरिकी डलर बराबरको पूँजी लगानी गर्दै भारतको दक्षिणी राज्य आन्ध्र प्रदेशको विशाखापट्टनम सहरमा अमेरिका बाहिरको सबैभन्दा ठूलो आर्टिफिसियल इन्टेलिजेन्स (एआई) हब निर्माण गर्ने बताएको छ ।

    गुगल क्लाउडका प्रमुख कार्यकारी अधिकारी थोमस कुरियनले नयाँदिल्लीमा आयोजित समारोहमा यस हबलाई ‘गिगावाट–स्केल एआई आधार’ का रूपमा विकास गरिने जानकारी दिए । उनले भने, “यो गुगलले अमेरिका बाहिर गर्ने सबैभन्दा ठूलो एआई लगानी हो । हामीले आगामी पाँच वर्षमा १५ अर्ब डलरको पूँजी लगानी गर्दै यस्तो पूर्वाधार तयार गर्नेछौँ जसले भारतलाई एआई प्रविधिको विश्वव्यापी नक्सामा अग्रस्थानमा पुर्‍याउनेछ ।”

    कुरियनका अनुसार गुगलले निर्माण गर्न लागेको उक्त एआई केन्द्रलाई अन्ततः ‘धेरै गिगावाट क्षमतामा’ विस्तार गर्ने योजना छ । यस लगानीले भारतमा तीव्र रूपमा बढिरहेको डिजिटल बजार र एआई उपकरणहरूको मागलाई सम्बोधन गर्नेछ । हाल भारतमा इन्टरनेट प्रयोगकर्ताहरूको सङ्ख्या ९० करोड नाघ्ने अनुमान गरिएको छ, जसले व्यवसाय र व्यक्तिगत दुवै तहमा प्रविधिको प्रयोगलाई नयाँ उचाइमा पुर्‍याएको छ ।

    भारतका सूचना प्रविधिमन्त्री अश्विनी वैष्णवले गुगलको लगानीप्रति धन्यवाद ज्ञापन गर्दै भने, “यो डिजिटल पूर्वाधार हाम्रो ‘भारत एआई’ दृष्टिकोणका लक्ष्यहरू पूरा गर्नको दिशामा महत्त्वपूर्ण कोसेढुङ्गा सावित हुनेछ । यसले भारतलाई एआई प्रविधिको उत्पादन र नवप्रवर्तन केन्द्रका रूपमा स्थापित गर्न मद्दत पुर्‍याउनेछ ।”

    त्यसैगरी, आन्ध्र प्रदेशका मुख्यमन्त्री चन्द्रबाबु नायडूले यो परियोजनालाई राज्यका लागि ‘एक ऐतिहासिक र अत्यन्त खुशीको दिन’ का रूपमा वर्णन गरे । उनका छोरा तथा राज्यका प्रविधिमन्त्री नारा लोकेशले सामाजिक सञ्जाल ‘एक्स’ मा लेख्दै भने, “यो लगानी एक वर्षको गहन छलफल र अथक प्रयासपछि सम्भव भएको हो। यो केवल सुरुआत हो—हाम्रो राज्यको डिजिटल भविष्य, नवीनता र विश्वव्यापी प्रतिष्ठाका लागि यो एक ठूलो छलाङ हो ।”

    गुगलको यो निर्णय भारतमा तीव्र रूपमा विकसित भइरहेको कृत्रिम बुद्धिमत्ता (एआई) बजारप्रति अन्तर्राष्ट्रिय कम्पनीहरूको बढ्दो चासोको अर्को उदाहरण बनेको छ । यसै महिना अमेरिकी एआई स्टार्टअप एन्थ्रोपिकका प्रमुख कार्यकारी अधिकारी डारियो अमोदेईले प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्दै अर्को वर्ष भारतमा आफ्नो कार्यालय स्थापना गर्ने योजना घोषणा गरेका थिए ।


    प्रधानमन्त्री मोदीले एक्समा लेख्दै अमोदेईलाई धन्यवाद ज्ञापन गर्दै भने, “भारतको जीवन्त टेक इकोसिस्टम र प्रतिभाशाली युवाहरूले एआई इनोभेसनलाई गति दिइरहेका छन् । हामी विकासका लागि एआईको अधिकतम उपयोग गर्न प्रतिबद्ध छौंँ ।” एन्थ्रोपिकको यो निर्णयपछि अन्य शीर्ष एआई कम्पनीले पनि भारतीय बजारमा आफ्नो उपस्थिति विस्तार गर्ने घोषणा गरेका छन् । ओपनएआईले यस वर्षको अन्त्यमा भारतमा आफ्नो कार्यालय खोल्ने तयारी गरेको जनाएको छ । यसका प्रमुख साम अल्टम्यानका अनुसार भारतमा च्याटजिपिटीको प्रयोग गत वर्षको तुलनामा चार गुणा बढेको छ ।

    यस्तै, एआई कम्पनी पप्र्लेक्सिटीले गत जुलाईमा भारतीय टेलिकम कम्पनी एयरटेलसँग साझेदारी गरेको थियो, जसअनुसार एयरटेलका ३६ करोड ग्राहकलाई एक वर्षका लागि पप्र्लेक्सिटी प्रोको निःशुल्क सदस्यता प्रदान गरिएको छ । गुगलको यो १५ अर्ब डलरको लगानीसँगै भारत एआई प्रविधिको प्रमुख केन्द्र बन्ने मात्र नभई यसले देशको डिजिटल पूर्वाधार, रोजगारी र अनुसन्धान क्षेत्रमा समेत नयाँ अध्याय खोल्ने अपेक्षा गरिएको छ ।