Category: फिचर

  • अमेरिकाभर ‘नो किङ्ग्स’ र्‍याली, ट्रम्पको अधिनायकवादी शैलीविरुद्ध लाखौँ प्रदर्शनकारी सडकमा

    अमेरिकाभर ‘नो किङ्ग्स’ र्‍याली, ट्रम्पको अधिनायकवादी शैलीविरुद्ध लाखौँ प्रदर्शनकारी सडकमा

    वासिङ्टन, २ कात्तिक (रासस\एएफपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कठोर नीति र अधिनायकवादी व्यवहारविरुद्ध शनिबार देशभरै ‘नो किङ्ग्स’ नामक विशाल प्रदर्शन गरिएको छ । सबै ५० अमेरिकी राज्यका सहर–सहरमा लाखौँ मानिस लोकतन्त्रको पक्षमा र राष्ट्रपति ट्रम्पको नीतिविरुद्ध सडकमा उत्रिएका थिए । आयोजकहरूका अनुसार न्युयोर्कदेखि लस एन्जलससम्म फैलिएको यो आन्दोलनमा करिब ७० लाखभन्दा बढी नागरिकले सहभागिता जनाएका थिए । फ्लोरिडास्थित ट्रम्पको निवास नजिक र अमेरिकी हार्टल्यान्डका साना सहरहरूमा समेत विरोध प्रदर्शन भएका थिए ।

    वासिङ्टनस्थित अमेरिकी क्यापिटल नजिकै हजारौँ प्रदर्शनकारीले ‘लोकतन्त्र यस्तो देखिन्छ १’ भन्ने नारा लगाउँदै सरकारको दीर्घकालीन बन्द (शटडाउन) विरुद्ध पनि आक्रोश प्रकट गरेका थिए । रङ्गीन पोस्टरहरूमा ‘लोकतन्त्रको रक्षा गरौँ’ भन्ने सन्देश झल्किन्थ्यो भने कतिपयले आप्रवासीमाथि दमन गर्ने अध्यागमन तथा भन्सार प्रवर्तन (आइसिई) निकायको अन्त्य गर्न माग गरेका थिए । न्युयोर्ककी ६९ वर्षीया सेवानिवृत्त कोलिन हफम्यानले आँसु झर्दै भनिन्, “लोकतान्त्रिक देशको मृत्यु आफ्नै आँखाबाट हेर्नुपर्ने दिन आउनेछ भन्ने मैले कहिल्यै सोचेकी थिइनँ । हामी अहिले सङ्कटमा छौँ — यो शासनको क्रूरता र अधिनायकवादले हामीलाई घुँडा टेकाउन खोजिरहेको छ ।”

    लस एन्जलसमा प्रदर्शनकारीहरूले डाइपर लगाएको ट्रम्पको विशाल बेलुन आकाशमा उडाए । कतिपयले हालैका विश्वव्यापी विरोधहरूमा प्रचलित ‘खोपडी लोगो’ अङ्कित झण्डा फहराएका थिए । ह्युस्टनमा ‘अज्ञानताविरुद्ध लडौँ, आप्रवासीविरुद्ध होइनौँ’ भन्ने सन्देशले नागरिकको ध्यान खिचेको थियो । प्रदर्शन अधिकांश ठाउँमा शान्तिपूर्ण रहे पनि लस एन्जलसको डाउनटाउनमा केही भिड नियन्त्रणका क्रममा प्रहरीले गैरघातक गोली र अश्रुग्याँस प्रयोग गरेको लस एन्जलस टाइम्सले जनाएको छ । लस एन्जलस प्रहरीले ‘कानूनी आदेशपछि प्रदर्शनकारीहरूलाई तितरबितर गरियो’ भने पनि गिरफ्तारीबारे विवरण सार्वजनिक गरिएको थिएन ।

    न्युयोर्कमा करिब एक लाखभन्दा बढी र वासिङ्टनमा आठदेखि १० हजारसम्म प्रदर्शनकारीको भीड अनुमान गरिएको थियो । आयोजकहरूको उपस्थिति तथ्याङ्क स्वतन्त्र रूपमा पुष्टि हुन सकेको थिएन । राष्ट्रपति ट्रम्पले भने आफ्नो ‘ट्रुथ सोसल’ प्लेटफर्ममार्फत प्रतिक्रिया दिँदै आफूलाई राजाको रूपमा चित्रण गर्ने एआई–निर्मित भिडियोहरूको शृङखला सार्वजनिक गरे । एउटामा उहाँलाई मुकुट लगाएर लडाकू जेट उडाउन र विरोधीहरूलाई अपमानित गर्ने दृश्य देखाइएको थियो । उहाँका सहयोगीहरूले पनि प्रदर्शनलाई ‘घृणा अमेरिका र्‍याली’ भन्दै व्यङ्ग्य गरेका थिए । सदनका अध्यक्ष माइक जोनसनले प्रदर्शनकारीहरूलाई ‘मार्क्सवादी, समाजवादी र हमास समर्थक वामपन्थीहरू’ को मिश्रण भएको बताए ।


    तर प्रदर्शनकारीहरूले ती आरोपलाई हास्यात्मक रूपमा खारेज गरे । वासिङ्टनमा सहभागी ६३ वर्षीया पाओलोले भने, “यदि यो घृणा हो भने ती आलोचकहरूलाई फेरि विद्यालय फर्किनु पर्छ ।” अर्का प्रदर्शनकारी ३४ वर्षीय सफ्टवेयर इन्जिनियर टोनीले भन्नुभयो, “हामीमाथि दक्षिणपन्थीहरूले घृणा गर्छन्, तर हामी सत्यको पक्षमा अडिएका छौँ ।”

    अमेरिकन सिभिल लिबर्टिज युनियनकी डेरड्रे सिफेलिङका अनुसार प्रदर्शनकारीहरूको मुख्य सन्देश ‘हामी समानता र कानूनको देश हौँ’ भन्ने थियो । उनले भने, “हामी सबैका लागि न्याय, प्रक्रिया र लोकतन्त्रमा विश्वास गर्छौं । हामी चुप लाग्ने छैनौँ ।” अविभाज्य परियोजनाका सह–संस्थापक लेह ग्रिनबर्गले ट्रम्प प्रशासनले डेमोक्रेटिक नेतृत्व भएका सहरहरू—लस एन्जलस, वासिङ्टन, शिकागो, पोर्टल्यान्ड र मेम्फिसमा नेसनल गार्ड पठाउने प्रयासको कडा आलोचना गरे । उनका शब्दमा, “यो धम्की, भ्रम र डरद्वारा नागरिकहरूलाई मौन पार्ने अधिनायकवादी शासनको पुरानो रणनीति हो ।”

    अमेरिकी क्यापिटल अगाडि बोल्दै प्रगतिशील सिनेटर बर्नी स्यान्डर्सले ट्रम्प शासनले लोकतन्त्रमा गम्भीर खतरा उत्पन्न गरिरहेको चेतावनी दिए । उनले भने, “हामीसँग यस्तो राष्ट्रपति छन् जसले सबै शक्ति आफ्नो र आफ्नो निकट वर्गको हातमा केन्द्रित गर्न खोजिरहेका छन् ।” १६ वर्षीय विद्यार्थी आइज्याक हार्डरले भने, “हाम्रो पुस्ताको भविष्य अन्धकारमय देखिन्छ । यो फासिस्ट बाटो हो र यसलाई रोक्नका लागि म आफ्नो हिस्साको योगदान गर्न चाहन्छु ।”

  • कीर्तिपुर क्रिकेट मैदानमा फ्लडलाइटका ६ वटै टावर ठड्याइयो

    कीर्तिपुर क्रिकेट मैदानमा फ्लडलाइटका ६ वटै टावर ठड्याइयो

    काठमाडौं, २ कात्तिक, त्रिभुवन विश्वविद्यालय परिसर कीर्तिपुरमा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानका फ्लडलाइटका ६ वटै टावर ठड्याइएको छ । फ्लडलाइटको निर्माणव्यवसायीले आइतबार एक दिनमै दुईवटा पोल उठाएपछि ६ वटै पोल ठड्याउने काम सम्पन्न भएको छ । रंगशालामा ४५ मिटर तथा ६० मिटर अग्ला ६ वटा ३०÷३० टनका हाइमास्ट लाइट जडान गरिएको हो ।

    पोल नं १, ४, ५ र ६मा फ्लडलाइट आंशिक रुपमा जडान भइसकेको छ । पोल ठड्याइसकिएकाले दुईवटामा अब लाइट राख्ने काम सुरु हुने आयोजना प्रमुख चक्रवर्ती कण्ठले बताए । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले गत २३ असोजमा निर्माणाधीन अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदानको अनुगमन गरेका थिए ।

    दुवै निर्माण व्यवसायीले नेपाल प्रिमियर लिग (एनपिएल) भन्दा अगावै प्यारापेट र फ्लडलाइट जडान सक्ने प्रतिबद्धता जनाएका थिए । परापेटको निर्माण व्यवसायीले काम सम्पन्न गरिसकेको छ । एनपिएल आगामी १ मङ्सिरबाट सुरु हुँदैछ ।
    सरकारले गुरुयोजना स्वीकृत गर्दै आयोजनालाई राष्ट्रिय प्राथमिकता निर्धारण गर्दै रङ्गशाला विस्तारका लागि दोस्रो चरणको निर्माण सुरु गर्ने निर्णय गरिसकेको छ ।

    मन्त्रिपरिषद्को ३० असोजको बैठकले शहरी विकास मन्त्रालयको प्रस्तावमा रङ्गशालाको गुरुयोजना स्वीकृत गर्दै आयोजनालाई राष्ट्रिय प्राथमिकता निर्धारण गरेको छ । गुरुयोजना बमोजिम रङ्गशाला निर्माणका लागि करिब १० अर्ब रुपैयाँ बजेट सुनिश्चित गर्दै दोस्रो चरणको निर्माण अगाडि बढाउने निर्णय गरेको थियो ।

  • ढाकास्थित विमानस्थलमा भएको भीषण आगलागीको अनुसन्धान सुरु

    ढाकास्थित विमानस्थलमा भएको भीषण आगलागीको अनुसन्धान सुरु

    ढाका, २ कात्तिक (रासस÷एएफपी) । बङ्गलादेशका व्यापारीहरूले आइतबार देशको प्रमुख अन्तर्राष्ट्रिय विमानस्थलमा भएको भीषण आगलागीपछि ठूलो आर्थिक क्षतिको आशङ्का व्यक्त गरेका छन् । सरकारले घटनाको कारण पत्ता लगाउन तत्काल अनुसन्धान सुरु गरेको छ । हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलका कार्यकारी निर्देशक एस. एम. रागिब समदका अनुसार कार्गो कम्प्लेक्समा लागेको आगोबाट बाक्लो कालो धुवाँ धावनमार्गमा फैलिएकोले केही समयका लागि सबै उडान स्थगित गर्नुपरेको थियो ।

    उक्त कार्गो कम्प्लेक्समा कपडा, तयारी कपडा, औषधि, रसायन तथा अन्य आयात वस्तुहरू भण्डारण हुने गर्दथे । अहिले यो भवन भग्नावशेषमा परिणत भएको अधिकारीहरूले बताएका छन् । राष्ट्रिय राजस्व बोर्ड (एनबिआर) ले क्षतिको मूल्याङ्कन सुरु गरेको जनाएको छ । व्यापारिक समूहहरूले भने प्रत्यक्ष घाटा र व्यापारिक प्रभाव लाखौँ अमेरिकी डलरसम्म पुग्न सक्ने चेतावनी दिएका छन् । बङ्गलादेश विश्वको दोस्रो ठूलो तयारी पोशाक (गार्मेन्ट) उत्पादक देश हो । कपडा तथा तयारी कपडाबाट देशको कुल निर्यातको करिब ८० प्रतिशत हिस्सा ओगटेको छ ।

    एनबिआरका अधिकारी मोसिउर रहमानले भने, “हामीले हाम्रो मूल्याङ्कन सुरु गरिसकेका छौँ ।” उहाँले क्षतिको परिमाण अत्यन्त ठूलो हुने सङ्केत गर्नुभयो ।
    आगो अत्यन्त तीव्र भएकाले ३७ वटा दमकलका एकाइ र सुरक्षाकर्मीहरू घण्टौँसम्म आगो नियन्त्रणमा ल्याउन प्रयासरत रहे । आइतबार बिहानसम्म पनि जलेको भग्नावशेषबाट धुवाँ निस्किरहेको थियो । एक थकित अग्निनियन्त्रकले भने, “आगो हरेक कुनामा फैलिएको थियो । कुनै पनि भाग जोगिन सकेको छैन होला ।”

    आयातकर्ता आनन्द कुमार घोषले दुःख व्यक्त गर्दै भने, “हामीले आज हाम्रा ग्राहकहरूलाई कन्साइनमेन्टहरू डेलिभर गर्ने योजना बनाएका थियौँ, तर सबै जलेको छ । मैले ५२ वटा कन्साइनमेन्ट गुमाएँ ।” स्वास्थ्य निर्देशनालयका वरिष्ठ अधिकारी मोइनुल अहसानका अनुसार कम्तीमा चार व्यक्ति हल्का घाइते भएका छन् र उपचारका लागि अस्पताल लगिएको छ । आगलागीको कारण भने हालसम्म पत्ता लागेको छैन । तर सरकारले हालै ढाका र चटगाँवका विभिन्न रासायनिक र गार्मेन्ट उद्योगमा भएका आगलागी र १६ जनाको ज्यान गएको घटनापछि बढ्दो सार्वजनिक चिन्तालाई गम्भीरताका साथ लिएको जनाएको छ ।

    An airline plane stands on the tarmac as firefighters try to extinguish a fire that broke out in the cargo section of Hazrat Shahjalal International Airport in Dhaka on October 18, 2025. (Photo by Maruf Rahman / AFP) / ALTERNATE CROP

    सरकारका अनुसार सबै आगलागी घटनाको ‘गम्भीर र निस्पक्ष अनुसन्धान’ भइरहेको छ र तोडफोड वा आगजनीको कुनै पनि प्रमाण भेटिएमा ‘द्रुत र दृढ कार्यवाही’ गरिनेछ । विज्ञप्तिमा भनिएको छ, “आपराधिकता वा उक्साहटका कुनै पनि कार्यले सार्वजनिक जीवन वा राजनीतिक प्रक्रियामा बाधा पु¥याउन अनुमति दिइने छैन । देशमा शान्ति र एकताको आवश्यकता अत्यन्त महत्त्वपूर्ण छ ।”

    सन् २०२४ को अगस्टमा विद्यार्थी नेतृत्वको आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री शेख हसिना पदच्युत भएकी थिइन् । त्यसयता १७ करोड जनसङ्ख्या भएको यो दक्षिण एसियाली देश राजनीतिक उथलपुथलमा फँसेको छ र सन् २०२६ को फेब्रुअरीमा हुने तीव्र प्रतिस्पर्धात्मक चुनावको तयारी भइरहेको छ ।

    विज्ञप्तिमा थप भनिएको छ, “यदि यी आगलागीहरू तोडफोडका कार्यहरू साबित भए भने तिनीहरूको उद्देश्य देशमा आतङ्क र विभाजन फैलाउने हो । तर हामी डरलाई हाम्रो तर्क र सङ्कल्पमाथि हावी हुन दिँदैनौँ । बङ्गलादेशले विगतमा पनि धेरै चुनौतीको सामना गरेको छ र यसपटक पनि एकता, शान्ति र दृढ सङ्कल्पका साथ नयाँ लोकतन्त्रका लागि हरेक खतराको सामना गर्नेछ । हामीसँग डराउनु बाहेक अरू केही छैन ।”

  • केपी ओलीको चूनौति : मेरो सम्पत्ति छानबिन गर, बयान दिन जान्न

    केपी ओलीको चूनौति : मेरो सम्पत्ति छानबिन गर, बयान दिन जान्न

    काठमाडौँ, २ कात्तिकः नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नोसहित शङ्का लागेका सबैको सम्पत्ति निष्पक्ष ढङ्गबाट छानबिन गर्न चूनौति दिएका छन् । प्रेस चौतारी नेपालद्वारा आज यहाँ आयोजित सम्पादकहरूसँगको संवाद कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले आफूले एक पैसा पनि भ्रष्टाचार नगरेको र सुशासनका पक्षमा सदैव दृढ रहेको जनाउँदै सम्पत्ति छानबिनका लागि आफू तयार रहेको बताए । उनले बेथिति, विकृति र भ्रष्टाचार अन्त्यसहित सुशासन र सामाजिक सञ्जाल सञ्चालनको मुद्दा उठाएर जेनजी समूहले गरेको शान्तिपूर्ण आन्दोलनमा घुसपैठ भई धनजनको क्षति भएको बताए ।


    “म कुनै आवेग र आक्रोसमा भन्दा सत्य स्थापित होस् भन्ने चाहन्छु । म हरेक नागरिकले सम्मानजनक जीवन बाँच्न पाउनुपर्छ र मुलुकमा समृद्धि, समानता र शान्ति कायम हुनुपर्दछ भनी देश र जनताप्रति सदैव बफादर हुँदै आएको छु । सत्यप्रतिको मूल्यमान्यताबाट कहिल्यै विचलित हुन्न”, अध्यक्ष ओलीले भने, “सत्यको पक्ष लिँदा अहङ्कार र दम्भको भाषा बोल्यो भन्ने पर्न सक्छ । उक्त घटनाको यथार्थ क्रमशः खुल्दै जाला, हामी जनताको शान्ति, न्याय र लोकतन्त्रका पक्षमा कसैसँग सम्झौता नगरी लागिरहने छौँ ।”

    निर्वाचनको सहज वातावरण नभएको आशङ्का गर्दै एमाले अध्यक्ष ओलीले विघटित प्रतिनिधिसभाका पुनःस्थापनाका पक्षमा आफ्नो पार्टी रहेको स्पष्ट गरे । उनले प्रतिशोधका आधारमा हुने बयानमा आफु नजाने समेत बताए ।

  • सरकारको मन्त्री सिफारिस मिश्रामाथि भ्रष्टाचार अभियोगमा मुद्दा दायर

    सरकारको मन्त्री सिफारिस मिश्रामाथि भ्रष्टाचार अभियोगमा मुद्दा दायर

    काठमाडौँ, २ कात्तिकः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य सेवा विभागका तत्कालीन महानिर्देशक डा सङ्गीता कौशल मिश्रासहित १४ जनाउपर विभागको ‘मेमोग्राफी’ मेसिन खरिदका क्रममा झुट्टा विवरण र बिल पेस गरी भ्रष्टाचार गरेको अभियोगमा आरोपपत्र दायर गरेको छ । निजहरूले लागत अनुमान तयार गर्दा सम्झौताको सर्तबमोजिम सम्पूर्ण सामग्री प्राप्त नै नभएको अवस्थामा बद्नियत राखी सम्पूर्ण सामग्री आएको भनी गलत दाखिला प्रतिवेदन, झुठो बीलबिजकलगायत तयार गरी÷गराई भुक्तानी दिइ लिइ भ्रष्टाचार गरेको अभियोगमा आयोगले आज विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ ।

    आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार तत्कालीन महानिर्देशक डा मिश्रा, विभागको व्यवस्थापन महाशाखाका तत्कालीन निर्देशक डा श्रवणकुमार थापा, विभागको आपूर्ति व्यवस्थापन शाखा प्रमुख तथा वरिष्ठ स्वास्थ्य प्रशासक डा सुरेन्द्रप्रसाद चौरसिया, विभागका निर्देशक डा विवेककुमार लाल, विभागका तत्कालीन प्रमुख लेखा नियन्त्रक भुवनप्रसाद काफ्ले, विभागका कानुन अधिकृत सीता घिमिरे, विभागका वरिष्ठ जनस्वास्थ्य अधिकृत दीपक अधिकारी, विभागका तत्कालीन शाखा अधिकृत यादवप्रसाद सापकोटाविरुद्ध जनही रु १४ करोड छ लाख ८५ हजार ५०० बिगो कसुर तथा सजायको मागदाबी गरिएको छ ।

    यसैगरी, विभागका तत्कालीन लेखा अधिकृत शम्भुप्रसाद ढकाल, विभागका लेखापाल तिलकराम ढकाल, स्वास्थ्य सेवा विभागका बायोमेडिकल इञ्जिनियर आशिष चौहान, विभागका तत्कालीन बायोमेडिकल इञ्जिनियर पद्मा मिश्र, विभागको केन्द्रीय स्टोर पथलैयाका जनस्वास्थ्य निरीक्षक सञ्जयकुमार साह, म्याक्सिम इन्कर्पोरेशन ट्रेडर्स प्रालि तथा उक्त कम्पनीका मुख्य भई कार्य गर्ने सुन्दर भुसालविरुद्ध जनही रु १४ करोड छ लाख ८५ हजार ५०० बिगो कसुर तथा सजायको मागदाबी गरी विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ । मिश्राको नाम वर्तमान अन्तरिम सरकारको मन्त्रीका रुपमा सिफारिस भएको थियो । अन्तिम समयमा आएर उृनको नाम काटिएको थियो ।

  • प्रहरी माथि आक्रमण र हतियार लुट्ने घिसिङ पक्राउ, फरार अभियुक्त रहेको पुष्टी

    प्रहरी माथि आक्रमण र हतियार लुट्ने घिसिङ पक्राउ, फरार अभियुक्त रहेको पुष्टी

    २ कात्तिक, काठमाडौं । २४ भदौको जेनजी प्रदर्शनका क्रममा प्रहरीमाथि आक्रमण गर्दै हतियार लुटपाटमा संलग्न रहेको आरोपमा एक जना पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा दोलखाको शैलुङ गाउँपालिका–१ घर भई काठमाडौं महानगरपालिका–३२ जडीबुटी बस्ने ४८ वर्षीय गौतम घिसिङ रहेका छन् ।

    घिसिङलाई काठमाडौं जिल्ला अदालतबाट ज्यान मार्ने उद्योग र आपराधिक उपद्रव गर्न नहुने कसुरमा थप ८ दिन म्याद अनुमति लिएर अनुसन्धान भइरहेको काठमाडौं प्रहरी परिसरका सूचना अधिकारी पवनकुमार भट्टराईले जानकारी दिए । भट्टराईका अनुसार घिसिङ बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त हुन् । उनीमाथि ४ असोज २०७९ र १० फागुन २०७९ मा बैंकिङ कसुर मुद्दामा प्रहरी वृत्त गौशालामा मुद्दा दर्ता भएको थियो ।

  • प्राधिकरणको भवन काठमाडौँ जिल्ला अदालतलाई दिइने

    प्राधिकरणको भवन काठमाडौँ जिल्ला अदालतलाई दिइने

    काठमाडौँ, २ कात्तिकः बबरमहलस्थित नेपाल नागरिक उड्डयन प्राधिकरण, प्रधान कार्यालयको ‘एनेक्स’ भवन काठमाडौंँ जिल्ला अदालतलाई दिने निर्णय गरिएको छ । महानिर्देशक प्रदीप अधिकारीले प्राधिकरण सञ्चालक समितिको असोज ३० गतेको बैठकले अदालतसँग करार गरी उक्त भवन दिने निर्णय गरेको जानकारी दिए । सञ्चालक समितिले उक्त निर्णयमा सञ्चालक समितिका अध्यक्ष एवं प्रधानमन्त्री सुशीला कार्कीले आज हस्ताक्षर गरेकी छिन् ।

    निर्णयमा लेखिएको छ, “२०८२ भदौ २३ र २४ मा भएको प्रदर्शनका क्रममा काठमाडौँ जिल्ला अदालतको भवनमा क्षति हुन गई कार्य सञ्चालनमा बाधा पुगेको, सर्वोच्च अदालत एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट समेत उक्त भवन जिल्ला अदालत काठमाडौँलाई तत्काल उपलब्ध गराई सेवा सञ्चालनमा सहजीकरण गर्न प्राधिकरणलाई अनुरोध भई आएको सन्दर्भमा अर्को व्यवस्था नभएसम्मका लागि बबरमहलस्थित प्राधिकरणको मूल भवनको पूर्वतर्फको ‘ब्लक बी’ भवन दुई पक्ष (काठमाडौँ जिल्ला अदालत र प्राधिकरण) बीच आवश्यक सम्झौता गरी काठमाडौंँ जिल्ला अदालतको सेवा सञ्चालन गर्न दिने ।” काठमाडौँ जिल्ला अदालत र सँगै रहेको प्राधिकरणको मूल भवन आजगनीका कारण क्षतिग्रस्त छन् ।

  • पर्वतमा नेपालकै अग्लो हाइलाइनको सफल परीक्षण

    पर्वतमा नेपालकै अग्लो हाइलाइनको सफल परीक्षण

    पर्वत, २ कात्तिकः साहसिक पर्यटकको प्रमुख गन्तव्यका रूपमा विकास हुँदै गएको पर्वतमा नेपालकै अग्लो स्थानमा हाइलाइनको सफल परीक्षण गरिएको छ । जिल्ला सदरमुकाम कुश्माबजार र छिमेकी जिल्ला बागलुङको बलेवा जोड्ने गरी ‘द क्लिफ’ले सञ्चालन गरेको विश्वकै अग्लो बञ्जी पुल र ‘द हार्नेस’ प्रालीले सञ्चालन गरेको विश्वकै लामो ‘सुपरम्यान’ शैलीको जिपलाइनलाई जोडेर मुदुकमा पहिलोपटक अग्लो र लामो दूरीमा हाइलाइनको अभ्यास गरिएको हो ।

    हाइलाइन मानसिक तथा शारीरिक शक्ति परीक्षण गर्ने अत्यन्त रोमाञ्चक खेलका रूपमा मानिन्छ । कालीगण्डकी खोँचमा ४०८ मिटर लामो र २२८ मिटरको उचाइमा पहिलोपटक हाइलाइनको परीक्षण सफल भएको द क्लिफका अध्यक्ष राजु कार्कीले जानकारी दिए । हाल जर्मनीमा बसोबास गर्दै आउनुभएका धनकुटाको हिलेका शङ्कर कोइरालाले लामो समयदेखिको गहन योजनाका रूपमा यो कार्यक्रम गरेका हुन् । कोइरालाले १५ वर्षदेखि युरोपका विभिन्न ठाउँमा हाइलाइन गर्दै आएको बताउँदै लामो प्रयासपछि पर्वतमा पनि यो सम्भव भएको उल्लेख गरे ।


    साहसिक पर्यटन प्रवर्द्धनको उद्देश्यले कोइरालाको संयोजनमा नेपालमा हाइलाइनको यस्तो प्रयास हुनु पर्यटकका लागि नयाँ खेलका रूपमा स्थापित हुने क्लिफका अध्यक्ष कार्कीले विश्वास व्यक्त गरे । पहिलोपटक गरिएको हाइलाइनको क्रु सदस्यमा कोइरालासहित तीन जना नेपाली र तीन विदेशी छन् । गत असोज २९ गतेदेखि सुरु भएको हाइलाइन कार्यक्रम शनिबार सकिएको छ । नेपाल स्ल्याकलाइन कम्युनिटी र लोकप्रिय एड्भेञ्चर हब ‘द क्लिफ’को सहकार्यमा यो हाइलाइन आयोजना गरिएको हो ।

    क्लिफका अध्यक्ष कार्कीका अनुसार नेपालमा पहिलोपटक यति उचाइमा हाइलाइन गरिएको हो । “यसले साहसिक पर्यटनमा नयाँ सम्भावनाका ढोका खोल्ने अपेक्षा गरिएको छ”, उनले भने । नेपाल स्ल्याकलाइन कम्युनिटीका सदस्यको अनुभव र युरोपेली प्रशिक्षकको सहयोगमा यो परियोजना अघि बढाइएको कोइरालाले बताए । उनका अनुसार खेल हेर्दा डरलाग्दो देखिए पनि पूर्ण रूपमा सुरक्षा मापदण्ड अपनाइएको थियो ।

    “हाइलाइन २० मिटरबाट सयौँ मिटर उचाइमा तानिएको लाइनमा सेफ्टी हार्नेस र लिस प्रणालीसहित हिँड्ने साहसिक खेल हो । सन्तुलनका लागि गहिरो ध्यान, स्थिर नजर र श्वास नियन्त्रण अत्यावश्यक हुन्छ”, उनले भने । वर्षायाम सकिएसँगै पर्वतमा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्न थालेको छ । सोही अवसरमा गरिएको हाइलाइन हेर्न पनि सयौँ पर्यटक सहभागी भएका थिए । यसबाहेक जिपनलाइन, बञ्जी, स्वीङ, स्काइसाइक्लिङ, मेगाट्रोल, पिङ, रक क्लाइम्बिङ, र्‍याफ्टिङका लागि पर्यटकको आकर्षण बढ्दै गएको छ ।

  • पुरानै कालजयी गितले धान्दैछ तिहारको संगित

    पुरानै कालजयी गितले धान्दैछ तिहारको संगित

    काठमाडौँ, २ कात्तिकः उज्यालोको पर्व तिहार हाम्रो घरआँगनमा आइसकेको छ । कार्तिक कृष्णपक्ष त्रयोदशीका दिनबाट सुरु भई पाँच दिनसम्म मनाइने यो पर्वमा घर उज्यालो पारेर देउसी र भैलो खेल्नुका साथै गुञ्जिने गीतसङगीतको पनि आफ्नै विशेषता छ । ती गीतसङ्गीतमा अधिकांश नेपाली चलचित्रकै छन् । कालजयी ती गीतहरू अहिलेको पुस्तामा पनि उत्तिकै लोकप्रिय छन् । तिहारको प्रसङ्ग नेपाली चलचित्रमा राखिनुका साथै गीतसङ्गीत पनि समेटिएको छ ।

    चलचित्र ‘स्वर्ग’मा समावेश ‘तिहारै आयो लौ झिलीमिली’ यो गीत सुनेपछि तिहार आएको आभास हुन्छ । यो गीत तिहारमा गाउँदेखि सहरसम्म गुञ्जिने गर्छ । पच्चीस वर्षदेखि यो गीत सबैको रोजाइमा परिरहेको छ । अभिनेता शिव श्रेष्ठ र अभिनेत्री गौरी मल्ल प्रस्तुत भएको गीतमा लोचन भट्टराई र नुतन प्रधानले स्वर दिएका हुन् । यादव खरेलको रचना गरेको गीतमा शम्भुजीत बाँस्कोटाले सङ्गीत सृजना गरेका थिए ।
    ‘दियो बाली साँझको’ गीत उत्तिकै लोकप्रिय छ । चलचित्र ‘चिनो’मा समावेश यस गीतमा अभिनेत्री शुभद्रा अधिकारी र अभिनेता केशव भट्टराईले नृत्य गरेका छन् । कुशुम गजमेरले शब्द रचना, रञ्जित गजमेरले सङ्गीत सृजना गर्नुभएको गीतमा गायिका आशा भोस्लेले स्वर दिएका थिए । निर्देशक तुलसी घिमिरेले चलचित्र तिहारको गीत र प्रसङ्गलाई कथावस्तुअनुसार नै प्रस्तुत गरेका थिए ।

    मनिला सोताङले गाएको चलचित्र ‘अन्याय’मा समावेश ‘अधरमा आज उनकै छ’ तिहारमा गुञ्जिने अर्को लोकप्रिय गीत हो । गीतकार रत्नशमशेर थापाले शब्द रचना गरेको गीतमा रञ्जित गजमेरले सङ्गीत सृजना गरेका छन् । अभिनेता विश्व बस्नेत, अभिनेत्री मीरा माधुरी, गीताञ्जली सुनारलगायतका कलाकारहरू प्रस्तुत भएको गीतको श्रव्यदृश्य पनि दर्शकको रोजाइमा पर्छ ।

    चलचित्र ‘विजय पराजय’मा समावेश ‘निधारमा लार्काएर सप्तरङ्गी टीका’, चलचित्र ‘माइती’मा समावेश ‘हाँसेर बोल बैनी’लगायतका गीतहरू नै तिहारमा देउसीभैलोसँगै स्रोताको रोजाइमा पर्ने गरेका छन् । नेपाली संस्कृतिलाई समेटेर यी गीतहरू अझै लोकप्रिय हुनुको कारण प्रसङ्ग र श्रव्यदृश्यको उत्तिकै भूमिका रहेको गायक तथा सङ्गीतकार अर्जुन पोखरेलले बताए ।


    उनले भने, “ती समयमा कथामै गीत र चाडपर्वको प्रसङ्ग थियो । गीतिसङ्ग्रहको तुलनामा चलचित्रका गीतहरू बढी प्रचार हुने गरेका छन् । त्यहीँ कारण तिहारमात्र नभई दसैँ, होलीलगायतका पर्वमा पनि पुरानै गीत रोजाइमा पर्ने गरेका छन् ।” गायक तथा सङ्गीतकार पोखरेलले उल्लेखित गीतहरू चाडपर्वमा मात्र गुञ्जिने र लागत खर्च बढी हुने भएकाले नयाँ चलचित्रमा देख्न नपाइएको हुनसक्ने बताए ।

    पछिल्लो समय पनि चाडपर्व लक्षित गीतसङ्गीत नबन्ने गरेका होइनन् । तर सङ्ख्या निकै न्यून छ । पुराना गीतको मिठास दर्शक तथा स्रोताको मनमा बसेकाले पछिल्लो समय बनेका गीतसङ्गीतले पुराना कालजयी गीतलाई विस्थापित गर्न सकेका छैनन् ।

    राससको सहयोगमा

  • पाकिस्तानमा हालैको बाढीबाट २.९ अर्ब अमेरिकी डलर बराबरको क्षति

    पाकिस्तानमा हालैको बाढीबाट २.९ अर्ब अमेरिकी डलर बराबरको क्षति

    इस्लामाबाद, २ कात्तिक (रासस\सिन्ह्वा) । पाकिस्तानमा हालै आएको बाढीबाट करिब २.९ अर्ब अमेरिकी डलर (झण्डै ८२२ अर्ब पाकिस्तानी रुपैयाँ) बराबरको क्षति भएको पाकिस्तानका योजना, विकास तथा विशेष पहल मन्त्री अहसान इकबालले बताएका छन् । शुक्रबार मन्त्रालयको मासिक विकास अद्यावधिक तथा प्रारम्भिक बाढी क्षति मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गर्ने कार्यक्रममा बोल्दै इकबालले पूर्ण आर्थिक क्षतिको ठ्याक्कै मूल्याङ्कन गर्न विस्तृत अध्ययन भइरहेको जानकारी दिए ।


    उनका अनुसार प्रारम्भिक अनुमानमा सबैभन्दा धेरै क्षति कृषि क्षेत्रमा देखिएको छ । त्यसपछि पूर्वाधार क्षेत्रमा ३०७ अर्ब रुपैयाँ (१.१ अर्ब डलर) बराबरको क्षति भएको छ । बाढीका कारण देशभर करिब दुई लाख २९ हजार घरहरूमा क्षति पुगेको उनले जानकारी दिए । मन्त्री इकबालले भनेअनुसार, यी बाढीजन्य क्षतिहरूका कारण चालू आर्थिक वर्ष (जुलाई २०२५ देखि जुन २०२६ सम्म) मा पाकिस्तानको कुल गार्हस्थ उत्पादन (जीडीपी) वृद्धि दरमा ०.३ देखि ०.७ प्रतिशत अंकले कमी आउनेछ ।

    यसअघि ४.२ प्रतिशतको लक्ष्य राखिएको भए पनि अहिले ३.५ देखि ३.९ प्रतिशतको दरमा सीमित हुने अनुमान गरिएको छ । उनले भने, “यी प्रारम्भिक अनुमानहरूले सरकारलाई पुर्ननिर्माण र राहत कार्यमा मार्गदर्शन गर्नेछ । विशेषगरी पूर्वाधार पुनः निर्माण, जनजीविका पुनःस्थापना र भावी जलवायु जोखिमको सामना गर्ने क्षमता विकासमा ध्यान दिइनेछ ।”

  • नारायणहिटी दरबार सङ्ग्रहालय अगाडि दुलालको काग सम्मेलन

    नारायणहिटी दरबार सङ्ग्रहालय अगाडि दुलालको काग सम्मेलन

    काठमाडौँ, २ कात्तिकः काग तिहारका अवसरमा कलाकार रमेश दुलाल ‘कागे’ले राजधानीको नारायणहिटी दरबार सङ्ग्रहालयद्वार अगाडि ‘२२औँ काग सम्मेलन’सम्पन्न गरेका छन् । टप राजधानी रोधी र ग्रीनसिटी अस्पताल वसुन्धाराको सहआयोजनामा भएको कार्यक्रममा दुलालले आफ्नो विशेष कला प्रस्तुत गर्दै कागलाई आकर्षित गरे । आज बिहान पौने ६ बजे सुरु भएको कार्यक्रममा उहाँले कागको आवाज निकाल्नासाथ काग भेला भएका थिए । दुलालले कागसहित १७३ प्रकारका जनावर र चराचुरुङ्गीका आवाज नक्कल गर्छन् । उनीसँग मुखकै सहायताले मादल, सनाई, सारङ्गी, पियानो, ड्रम सेट, मुर्चुङ्गा र गितारको धुन निकाल्ने कला पनि छ ।

    उनका अनुसार, विगतका वर्षहरूमा उनले कहिले रत्नपार्कस्थित शान्ति बाटिकामा, कहिले विमानस्थल परिसरमा, त कहिले सामाजिक सन्देशसहित ‘काग सम्मेलन’ गर्दै आएका छन् । दुलालले भने, “काग तिहारको दिन काग सम्मेलन गर्न थालेको अहिले २२ वर्ष भयो । कागलाई यमराजको दूतका रूपमा मानिन्छ । यसपटक भने शुद्ध सांस्कृतिक उद्देश्यले यो सम्मेलन गरेको हुँ ।”

    काग तिहारलाई धार्मिक र सांस्कृतिक दुवै अर्थमा मनाइने परम्परालाई जोगाउन तथा जनचेतना जगाउन दुलालको यो कार्यक्रमलाई उपस्थित दर्शकहरूले सराहना गर्नुभएको छभने बहुप्रतिभाको धनी दुलालको चर्चा गरेका छन् । कार्यक्रमको मुख्य प्रायोजकमा मोर्डन राप्ती रियल स्टेट र भरत विश्वकर्मा रहेका छन् । सहप्रायोजकमा ह्याम्स हस्पिटल, शङ्करप्रसाद आचार्य, चुडा मैनाली, होराइजन स्पा, नौकरी नेपाल र शान्ति तथा ग्रामीण विकास केन्द्र नेपाल रहेका थिए ।

  • बुद्धशान्तिमा नवजात शिशु फेला

    बुद्धशान्तिमा नवजात शिशु फेला

    भद्रपुर, २ कात्तिकः यहाँस्थित बुद्धशान्ति गाउँपालिका–७ सुनमाईमा एक नवजात शिशु फेलापरेका छन् । सीमा आचार्यको घरको बरन्डामा अनुमानित ४–५ दिन उमेरको शिशु अलपत्र अवस्थामा फेलापरेकी हुन् । आचार्यको घरमा भाडामा बस्दै आएका ताप्लेजुङ श्रीजगा गाउँपालिका–७ का ओमप्रकाश तुमिहाङ लिम्बूले गए राति करिब ९ः०० बजेतिर शिशु देखेपछि इलाका प्रहरी कार्यालय बुधबारेलाई जानकारी गराएका थिए ।


    सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेको प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए । स्थानीय, जनप्रतिनिधि र भद्रभलादमीको उपस्थितिमा शिशुलाई उद्धार गरी प्रादेशिक अस्पताल भद्रपुर पठाइएको उनले बताए । शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • सप्तरीमा गोली प्रहारबाट पुजारीको हत्या

    सप्तरीमा गोली प्रहारबाट पुजारीको हत्या

    सप्तरी, २ कात्तिकः सप्तरीको बोदेबर्साइन नगरपालिका–८ काचनको रजकपट्टीस्थित कबिर बाबा मन्दिरका पुजारीको आज बिहान हत्या भएको छ । त्रिहत्तर वर्षीय पुजारी रामदुलार साहको बिहान २ः०० बजे अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको पुजारीका परिवारका सदस्य रामसुन्दर साहले जानकारी दिए ।
    गाउँको पूर्वतर्फ रहेको मन्दिरका पुजारी साह कुटी बनाएर एक्लै बस्दै आएका थिए । अज्ञात समूहले पुजारीलाई सडकमा निकालेर पिठ्युमा गोली प्रहार गरेका थिए । घटना भएको केही मिनेटमै स्थानीयले काचनलीस्थित प्रहरी चौकीमा खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय कडरबोनाबाट समेत प्रहरी टोली पुगेर आवश्यक अनुसन्धान थालेको छ ।

    घटनास्थलबाट दुईवटा गोलीका खोका फेलापरेको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक गौतमकुमार केसीले जानकारी दिए । उनका अनुसार सीमावर्ती क्षेत्रमा शङ्कास्पद व्यक्तिमाथि चेकजाँच तीव्र बनाइएको छ ।

  • क्याम्बोडियामा पक्राउ परेका ६४ जना दक्षिण कोरियन नागरिक स्वदेश फिर्ता

    क्याम्बोडियामा पक्राउ परेका ६४ जना दक्षिण कोरियन नागरिक स्वदेश फिर्ता

    सिओल, २ कार्तिक (रासस\एएफपी) । क्याम्बोडियामा साइबर अपराधमा संलग्न भएको आरोपमा पक्राउ परेका ६४ जना दक्षिण कोरियन नागरिक शनिबार चार्टर्ड विमानमार्फत स्वदेश फर्किएपछि सिओलको इन्चोन अन्तर्राष्ट्रिय विमानस्थलमै पक्राउ परेका छन्। दक्षिण कोरियाली प्रहरीले जनाएको अनुसार, ती व्यक्तिहरू विभिन्न अनलाइन ठगी योजनामा संलग्न रहेको आशंकामा अनुसन्धानको घेरामा छन्। उनीहरूलाई विमानमा चढेपछि नै कानुनी प्रक्रियाअनुसार नियन्त्रणमा लिइएको र अब उनीहरूलाई आ–आफ्नो अपराधसँग सम्बन्धित प्रहरी कार्यालयमा लगिने जनाइएको छ।

    अधिकांश व्यक्तिहरूले मास्क र टोपी लगाएका थिए र हरेकलाई दुई–दुई जना सुरक्षाकर्मीले नियन्त्रणमा लिएर विमानस्थलको आगमन कक्षतर्फ ल्याइएको टेलिभिजन फुटेजमा देखाइएको छ। धेरैजना हातकडीमा थिए तर हात बाँधिएको भाग कपडाले छोपिएको थियो। दक्षिण कोरियाली राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुख पार्क सुंग–जूका अनुसार, ती व्यक्तिहरू भ्वाइस फिसिङ, अनलाइन प्रेम ठगी, लगानीको नाउँमा गरिएको ठगी (पिग बुट्चरिङ स्क्याम) लगायतका अपराधमा संलग्न रहेको बताइएको छ।

    उनले भने, “क्याम्बोडियामा लागूपदार्थको प्रयोग भएको आशंका पनि रहेकाले, सबैलाई स्ट्यान्डर्ड प्रक्रिया अनुसार ड्रग टेस्ट गरिनेछ।” यस घटनाक्रमको पृष्ठभूमिमा एक कोरियन विद्यार्थीको क्याम्बोडियामा अपहरणपछि यातना दिइ हत्या गरिएको घटना रहेको छ, जसले दक्षिण कोरियामा व्यापक जनआक्रोश जन्माएको थियो। सो विद्यार्थीको शव अगस्ट ८ मा एउटा पिकअप ट्रकभित्र फेला परेको थियो। दक्षिण कोरियाका राष्ट्रिय सुरक्षा सल्लाहकार वी सुंग–लकले बताएअनुसार, पक्राउ परेका केही व्यक्तिहरू स्वयंले सहभागिता जनाएका थिए भने केही जबरजस्ती संलग्न गरिएका थिए।

    दक्षिण कोरियाली परराष्ट्र उपमन्त्री किम जिनाले क्याम्बोडियाली अधिकारीहरूलाई धन्यवाद दिँदै भने, “साइबर अपराधविरुद्धको क्याम्बोडियाको निरन्तर प्रयास र हाम्रो देशसँगको सहकार्यप्रति हामी कृतज्ञ छौं।” सिओलका अनुसार हाल क्याम्बोडियामा करिब एक हजार कोरियन नागरिक यस्ता अनलाइन ठगी केन्द्रहरूमा कार्यरत छन्, जहाँ धेरैलाई हिंसाको धम्की दिएर जबरजस्ती काम गराइन्छ।

    एम्नेस्टी इन्टरनेशनलले यस्ता स्क्याम केन्द्रहरूमा मानव बेचबिखन, जबरजस्ती श्रम, यातना र स्वतन्त्रताको उल्लंघन भइरहेको चेतावनी दिएको छ। क्याम्बोडियाको साइबर अपराध आयोगका अनुसार, पछिल्लो केही महिनामा २० देशका झन्डै ३,५०० अनलाइन ठगीमा संलग्न विदेशी नागरिक पक्राउ परेका छन् र दुई हजार ८०० भन्दा बढी विदेशीलाई देशनिकाला गरिएको छ।

  • कतारमा इजरायलले गरेको आक्रमण ‘विश्वासघात’ : अमेरिकी दूत विटकोफ

    कतारमा इजरायलले गरेको आक्रमण ‘विश्वासघात’ : अमेरिकी दूत विटकोफ

    वासिङ्टन, २ कात्तिक, (रासस÷एएफपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्वका प्रमुख वार्ताकार स्टिभ विटकोफले गत महिना कतारमा हमासका वार्ताकारहरूलाई लक्षित गरी इजरायलले आक्रमण गर्दा आफूले ‘विश्वासघात’ भएको महसुस गरेको बताएका छन् । इजरायल र हमासबीच गाजा युद्धविराम सम्झौताको मध्यस्थतामा विटकोफसँग काम गरेका ट्रम्पका ज्वाइँ जारेड कुश्नरसँग सीबीएस अन्तर्वार्तामा उनले भने, “उहाँले सेप्टेम्बर ९ मा दोहामा भएको आक्रमणको बारेमा बिहान मात्रै थाहा पाएको बताउनुभयो।

    कतार अमेरिकाको एक प्रमुख सहयोगी हो र गाजा युद्ध अन्त्यको प्रयासमा मध्यस्थकर्ताको रूपमा काम गरेको थियो। “मलाई लाग्छ, जेरेड र म दुवैले कतारमा आक्रमण हुनुलाई थोरै धोका महसुस गर्यौं,” विटकोफले सीबीएस समाचार कार्यक्रम ‘सिक्स्टी मिनेट’ लाई दिएको अन्तवार्ताको शुक्रबार सार्वजनिक एक अंशमा भनेका छन्, पूर्ण अन्तर्वार्ता आइतबार प्रसारण हुने कार्यक्रम छ।

    त्यस समयमा, हमासको सन् २०२३ अक्टोबर ७ मा इजरायलमा भएको आक्रमणबाट सुरु भएको विनाशकारी गाजा पट्टीमा लडाइँ अन्त्य गर्न अप्रत्यक्ष वार्ता प्रक्रिया रोकिएको थियो। “यसले युद्धविराम पहलमा प्रभाव पारेको थियो किनकि इजिप्ट र तुर्कहरूजस्तै कतारीहरू वार्ताका लागि महत्वपूर्ण थिए,” विटकोफले भने ।
    उनले भने, “हामीले कतारीमाथिको विश्वास गुमाएका थियौँ । यसैले हमासका अधिकारी भूमिगत भए र कतारविना उनीहरूलाई प्राप्त गर्न धेरै गाह्रो थियो।” त्यतिबेला सामाजिक सञ्जालमा ट्रम्पले दोहामा हवाई आक्रमण गर्ने निर्णय प्रधानमन्त्री बेन्जामिन नेतान्याहुबाट आएको बताएका थिए ।


    इजरायल र हमासले अन्ततः ट्रम्पले प्रस्तुत गरेको बन्धक र कैदीहरूको रिहाई र दुई वर्षको घातक द्वन्द्वपछि युद्धविरामको आह्वान गरिएको २० बुँदे शान्ति योजनालाई स्वीकार गरे। यसै महिना ह्वाइट हाउस भ्रमणका क्रममा ट्रम्पको दबाबमा नेतान्याहूले कतारका प्रधानमन्त्रीलाई फोन गरी दोहा आक्रमणका लागि माफी माग्न बाध्य हुनुपरेको थियो ।

  • पोर्चुगलमा एक नेपाली युवा बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

    पोर्चुगलमा एक नेपाली युवा बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

    लिस्बन, २ कात्तिकः वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगल आएका एक नेपाली युवा बेपत्ता भएका छन् । तनहुँ, भानु नगरपालिका–९ पिपलपानी घर भई विगत दुई वर्षदेखि पोर्चुगल बस्दै आएका ३४ वर्षीय जितेन्द्र पाण्डे बेपत्ता भएका हुन् । उनी गत साता सोमबारदेखि राजधानी लिस्बन नजिकैको सिन्ट्रा क्षेत्रबाट सम्पर्कविहीन भई बेपत्ता भएको पाण्डेका साथी विदुर तामाङले राससलाई जानकारी दिए ।

    गत आइतबार राति घरमा तामाङको आएका पाण्डे साथीको फोन आयो भनेर गएका थिए । त्यसपछि पाण्डे सम्पर्कविहीन भएको तामाङले बताए ।
    सँगै काम गर्ने साथीलाई आफ्ना लागि पनि खाना लगिदिन भनेका पाण्डे सोमबार काममै नगएपछि उनको खोजी गरिएको थियो । “पाण्डे सम्पर्कबिहीन भएपछि नेपालस्थित परिवारलाई सम्पर्क गरेका थियौँ, त्यहाँबाट पाण्डेले बिहान आफन्तलाई फोन गरेर केही दिन सम्पर्कमा हुन्न भनेको खबर प्राप्त भयो, अहिले उहाँको कसैसँग पनि सम्पर्क छैन”, तामाङले भने ।

    पाण्डेको खोजीका लागि रोजगारदातामार्फत मङ्गलबार नै स्थानीय प्रहरीलाई खबर गरिएको उनले बताए । बेपत्ता भएका पाण्डेको रेसिडेन्सी कार्ड, बैंक कार्ड र राहदानीका साथै सबै सामान उनी बस्ने कोठामै भेटिएको छ । पाण्डेको नेपालमा वृद्ध बुबाआमा र दिदीबहिनी छन् ।

    पाण्डे बेपत्ता भएको खबर दूतावासलाई प्राप्त हुनासाथ तत्काल खोजबिनका लागि स्थानीय प्रहरी प्रशासनलाई खबर गरिएको पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेलले राससलाई जानकारी दिए । उनको खोजीका लागि दूतावालले सक्दो पहल गरिरहेको राजदूत पौडेलले बताए । क्रोएसिया हुँदै दुई वर्षअघि पोर्चुगल आएका पाण्डे सिन्ट्रास्थित एक प्याकिङ कम्पनीमा कार्यरत थिए ।

  • डेढ महिनामा सात हजार पर्यटक मनाङमा

    डेढ महिनामा सात हजार पर्यटक मनाङमा

    २ कात्तिक, मनाङ । मनसुन सकिएपछि यतिबेला हिमाली जिल्ला मनाङको मौसम खुलेको छ । मौसम खुल्ने समयको सुरुआतसँगै यहाँ विदेशी पर्यटकको आगमन हुने गर्दछ । यस मौसमलाई पर्यटक आउने यामका रूपमा पनि लिइन्छ । यस वर्षको याम सुरुआतसँगै पहिलो अर्थात् डेढ महिनामा सात हजार बढी पर्यटकको आगमन भएको अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना (एक्याप) एकाइ कार्यालयले जनाएको छ ।

    डेढ महिनामा सात हजार ४६१ पर्यटकको आगमन भएको एक्यापका संरक्षण शिक्षा सहायक भूपेन्द्र गुरुङले जानकारी दिए । उनका अनुसार याम सुरु भएपछि इजरायलका एक हजार १२७, जर्मनीका पाँच सय एक, बेलायतका चार सय ६६ र अष्टे«लियाका चार सय ४१ जनाले मनाङअन्तर्गत अन्नपूर्ण पदमार्ग, थोराङ्ला भञ्ज्याङ (पास), लार्के भञ्ज्याङ (पास), तिलिचो तालको भ्रमण गरेका छन् ।

    “ती देशसँगै विश्वका ८७ देशका नागरिकले मनाङका रमणीय स्थानको भ्रमण गरेका छन् । निराश भएका मनाङवासीका साथै देशकै अर्थतन्त्रले गति लिने अपेक्षा गरिएको छ”, संरक्षण शिक्षा सहायक गुरुङले भने । जेनजी आन्दोलन र मनसुनको अन्त्यमा बाढीपहिराका कारण पर्यटकको आगमनमा समस्या भएकामा अहिले चहलपहल हुन थालेको पर्यटन व्यवसायी सङ्घका अध्यक्ष विनोद गुरुङले बताए । उनले भने, “मनाङको आयस्तरले देशकै अर्थतन्त्रमा प्रभाव पार्ने गर्छ । जेनजी आन्दोलनले विदेशी पर्यटकले बुकिङ गरेका होटल पनि फिर्ता लिइरहेका थिए । अहिले देशमा शान्ति कायम हुँदै गएपछि आगमन बढ्दै गएको छ ।”

    जेनजी आन्दोलनपछि सुनसान बनेको मनाङमा विदेशी तथा स्वदेशी पर्यटकको चहलपहल बढेको छ । मनसुन सकिएपछि पर्यटकको आगमन बढ्नुपर्ने यहाँ मनसुन अन्त्यमा सक्रिय भएर ठूलो धनजनको क्षति हुँदा पर्यटन व्यवासय पनि सुस्ताएकामा अहिले पर्यटन व्यवसायमा अपेक्षाकृत बन्ने व्यावसायीको भनाइ छ ।

    बुकिङ रद्द गरिएका होटल अहिले भरिन थालेका होटल व्यवसायी नवीनविक्रम सिंहले बताउनुभयो । उहाँले भन्नुभयो, “जति पर्यटकको आगमन हुनुपर्ने हो त्यति भएको छैन । तर अहिले केही मात्रामा विदेशी पर्यटकको आगमनचाहिँ भएको छ ।” विशेषगरी देशकै ठूलो मानिएको हिल्टन होटल जलाइएपछि पर्यटक बढी त्रसित भएको हुनसक्ने पर्यटन तथा होटल व्यवसायीको अनुमान रहको उनको भनाइ छ ।

    यस समयमा मनाङका सडक तथा पदमार्गमा पर्यटक प्रशस्त देखिन्थे । तर यस वर्ष त्यति छैनन् । पूर्ण रूपमा पर्यटकको आगमन पनि हुनसकेको छैन । देशको अर्थतन्त्रलाई प्रभाव पार्ने मनाङको पदमार्गको यात्रा तथा सडक सहज बनाउन तीनै तहको सरकारको ध्यानाकर्षण हुनुपर्ने देखिन्छ । अहिले नेपाली नागरिकमा पनि भ्रमणमा निस्कने प्रचलन बढ्दै गएको पाइन्छ । जोखिमयुक्त भ्रमण गर्ने र ग्रामीण पर्यटनको प्रवर्द्धनमा जोडिएको पाइएको छ । यसले पनि स्वदेशी पर्यटन प्रवर्द्धन भइरहेको छ ।

    विदेशी पर्यटक विशेषगरी यहाँको मानवीय जिन्दगीको आभास गर्न र मौलिक संस्कृतिका साथै प्राकृतिक सौन्दर्यतामा रमाउन आउने गरेका पाइन्छन् । प्रविधिको युगमा वास्तविक प्राकृतिक मानवीय जीवनको महसुस गर्न आउने गरेका छन् । हिमाल, पहाडका दृश्य, मनाङवासीको संस्कार, संस्कृति, रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्न पर्यटकको आगमन हुने गर्दछ । साथै विश्वकै १०औँ स्थानमा पर्ने जोखिमयुक्त पदमार्गमध्येको अन्नपूर्ण पदमार्गमार्फत पर्यटक मनाङबाट थोराङ्ला भञ्ज्याङ पार गरी मुस्ताङ हुँदै पोखरा पुग्ने गर्दछन् ।

    अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका–७ मनाङ्गे चौताराबाट यात्राको सुरुआत हुन्छ । अन्नपूर्ण पदमार्गमा लमजुङसहित मनाङ, मुस्ताङ, म्याग्दी र कास्की जिल्ला जोडिएका छन् । काठमाडौँदेखि बेँसीसहरसम्म सवारीसाधनमा पर्यटक आउने गर्दछन् । पछिल्लो समय सडक यातायात सहज भएपछि सवारीसाधनमा नै चामे, खाङ्सारसम्म सवारीसाधनमा नै पुग्ने गरेको पाइन्छ । त्यसपछि मात्र मुख्य गन्तव्यतर्फ पदमार्गको यात्रा गर्ने गरेको भेटिन्छ ।

  • कार्तिक कृष्ण त्रयोदशीः धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै

    कार्तिक कृष्ण त्रयोदशीः धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै

    काठमाडौँ, २ कात्तिकः प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । वनजङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीनतम् वैदिक चिकित्सापद्धति आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरीको उत्पत्ति भएको सम्झनामा देशभर विविध कार्यक्रम गरी आज धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाउन लागिएको हो । बिहान त्रयोदशी तिथि परेका दिन धनवन्तरी जयन्ती मनाउनुपर्ने भएकाले आज मनाउन लागिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

    देव र असुर मिली नागको नेती तथा मन्दराचल पर्वतको मदानी बनाई समुद्र मन्थन गर्दा रोगग्रस्त व्यक्तिको रोग निवारणका लागि कार्तिक कृष्ण त्रयोदशीका दिन अमृत कलश लिएर भगवान् धन्वन्तरीको उत्पत्ति भएको चर्चा वैदिक सनातन हिन्दू ग्रन्थमा गरिएको छ । आजको दिनलाई आयुर्वेदका चिकित्सकहरूले सत्सङ्कल्प गरी शुभकार्य प्रारम्भ गर्ने अवसरका रूपमा लिने गर्छन् । काठमाडौँको नरदेवीमा आयुर्वेद क्याम्पसको स्थापना भएपछि नेपालमा विधिवत् धन्वन्तरी जयन्ती मनाउन थालिएको थियो ।

    त्यसबेला राजकीय आयुर्वेद महाविद्यालयका नाममा स्थापना भएको आयुर्वेद क्याम्पस आयुर्वेद अस्पतालको शिक्षण अस्पतालका रूपमा सञ्चालनमा थियो । विसं २०२९ देखि भने त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानअन्तर्गत आङ्गिक क्याम्पसका रूपमा सञ्चालनमा रहेको छ । आयुर्वेद क्याम्पस हाल कीर्तिपुरमा सरेको छ । धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवसका अवसरमा भगवान् धन्वन्तरीको पूजाआराधना हुने गर्छ ।

    आयुर्वेद क्षेत्रका व्यक्तिहरूको पहलमा २०५६ सालदेखि धन्वन्तरी जयन्तीको दिनलाई आरोग्यता दिवसका रूपमा पनि मनाउन थालिएको हो । हातमा वैदिक हिन्दू दर्शनका चार उपवेदमध्येको आयुर्वेदको पुस्तक र प्रकृतिले दिएको औषधिको प्रतीकका रूपमा जडीबुटी लिएका भगवान् धन्वन्तरीलाई आयुर्वेद चिकित्सा क्षेत्रका संस्थापक मानिन्छ । धन्वन्तरी जयन्तीका अवसरमा आज सिंहदरबार वैद्यखाना विकास समिति, आयुर्वेद अस्पताल नरदेवी, आयुर्वेद क्याम्पस कीर्तिपुर, नेपाल संस्कृत विश्वविद्यालयको आयुर्वेद क्याम्पस दाङ, जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड कोटेश्वर र निजी क्षेत्रबाट खुलेका आयुर्वेद अस्पतालहरूमा समेत विविध कार्यक्रम गरी मनाइँदै छ ।

    कोरोना भाइरस एवं डेङ्गु रोगबाट बच्न मानव शरीरमा रोगप्रतिरोधी क्षमता बढाउनसमेत आयुर्वेद चिकित्सा पद्धति प्रभावकारी प्रमाणित भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले कोरोना भाइरसको उपचारमा आयुर्वेद औषधिको प्रभावकारिताका विषयमा अनुसन्धान गरिरहेको जनाइएको छ । कोरोना र डेङ्गु रोगबाट बच्न मानव शरीरमा रोगप्रतिरोधी क्षमता बढाउने वनस्पति गुर्जोको माग तीव्र भएको छ । गुर्जोजस्तै जडीबुटीबाट बनेका अन्य औषधिको माग पनि कोरोना एवं डेङ्गु रोगकालमा बढिरहेको छ । विगतको तुलनामा आयुर्वेदिक औषधिको माग चार गुणासम्म बढेको सिंहदरबार वैद्यखाना विकास समितिले जनाएको छ ।

  • कार्तिक कृष्ण त्रयोदशीः आज काग तिहार मनाइँदै

    कार्तिक कृष्ण त्रयोदशीः आज काग तिहार मनाइँदै

    काठमाडौँ, २ कात्तिकः प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रूपमा कागलाई मीठोमीठो चिजबीज खान दिएर मनाइँदैछ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रूपमा आज आइतबारलाई यो पर्व मनाउनुपर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले राससलाई जानकारी दिए ।


    यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रूपमा मान्ने शास्त्रीय विधान रहेको छ । कागले यमराजसमक्ष राम्रो खबर लगिदिओस् भनेर आजका दिन कागलाई पूजा आराधनासहित मीठोमीठो खान दिई खुसी पार्ने गरिएको हो । लोक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल, शुभ बोल भनी भन्ने प्रचलनसमेत रहेको छ । काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वाससमेत गर्ने गरिन्छ ।

    ‘काकेन दधि भक्षितम्’ अर्थात् कागलाई दही भात मीठो लाग्ने भएकाले आजको दिन कागलाई दही भात खुवाएमा यमराजसमक्ष राम्रो सन्देश लगिदिने भएकाले कागलाई दही भात खुवाउने प्रचलन रहिआएको छ । यस अवसरमा कागेश्वरी मनोहरा नगरपालिका–१ स्थित कागेश्वरी महादेव मन्दिरमा आज विशेष पूजाआराधना हुने गर्छ । त्यसैगरी हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा पनि कागको विशेष पूजाआराधना गरिन्छ । यहाँ कागको ठूलो मूर्ति बनाइएको छ ।

    दुष्कर्म गर्नेलाई यमराज भएर दण्ड दिने र सत्कर्म गर्नेलाई धर्मराज भएर रक्षा गर्ने विश्वाससित पनि तिहार पर्व गाँसिएको छ । यमयातनाबाट मुक्तिका लागि परिवारका सबै सदस्यका नाममा यम दीपदान गर्ने क्रम भने शनिबार साँझदेखि नै सुरु भएको छ । यम दीपदान दक्षिण फर्काएर गर्नुपर्ने वैदिक सनातन शास्त्रीय विधि रहेको छ । यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ ।

    यस वर्ष तिथिको घटबढका कारण सायंकालमा कार्तिक कृष्ण त्रयोदशी परेका दिन सुरु हुने यमपञ्चक शनिबार बेलुकीदेखि नै सुरु भएको हो । यसैगरी लक्ष्मी स्थिर राख्नका लागि गरगहना एवं तामाका भाँडाकुँडा किन्ने धनतेरस पर्व पनि शनिबार नै मनाइएको छ । यस दिन गरगहना तथा भाँडाकुँडा किनेमा लक्ष्मी घरमै स्थिर भई बस्ने धार्मिक मान्यता छ ।

  • सडकका थप ५० ठेक्का तोड्दै सरकार

    सडकका थप ५० ठेक्का तोड्दै सरकार

    २ कात्तिक, काठमाडौं । सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षौंदेखि अलपत्र पारिएका थप ५० रुग्ण ठेक्का तोड्ने प्रक्रिया सुरु भएको छ । सडक विभागअन्तर्गत पुष्पलाल (मध्यपहाडी) राजमार्ग, संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौं, इटहरी, पोखरा, सुर्खेत, जनकपुर, दमौली लगायतका कार्यालयले रुग्ण अवस्थामा रहेका ५० वटा ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाएका छन् । शुक्रबार १७ र शनिबार एउटा रुग्ण ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाइएको थियो । सडक डिभिजन कार्यालय जनकपुरले सबैभन्दा धेरै २१ वटा ठेक्का किन तोड्ने भन्दै सार्वजनिक सूचना जारी गरेको छ ।

    यसैगरी काठमाडौंले सात, ओखलढुङ्गा तथा अछाम डिभिजनले पाँचरपाँच, दमौली र पाल्पाले चाररचार वटा ठेक्का किन तोड्ने भन्दै सूचना जारी गरेका छन् । धनकुटा, पोखरा, मध्यपहाडी तथा गोरखा सडक योजनाले पनि त्यही व्यहोराको सूचना जारी गरेका छन् । सडकअन्तर्गत २५८ ठेक्का रुग्ण छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का लिने तर काम नगर्ने र आयोजना अलपत्र पार्ने प्रवृत्ति अन्त्यका लागि रुग्ण ठेक्का तोड्न मातहतका निकायलाई निर्देशन दिएका थिए ।

    सार्वजनिक सूचनामा ठेक्का तथा योजनाको पटकपटक म्याद थप भई तोकिएको अवधिमासमेत निर्माण कार्य सम्पन्न गर्नेतर्फ चासो नदेखाइ निर्माण कार्य अधुरो तथा अलपत्र परी निर्माण व्यवसायी लामो समयदेखि कार्यस्थलमा भौतिक रुपमा उपस्थित नभएर आधारभूत रुपमा ठेक्का उल्लंघन गरेको उल्लेख छ । विभिन्न मितिमा लिखित तथा मौखिक रुपमा कार्य सम्पन्न गर्न अनुरोध तथा जानकारी गराउँदा समेत निर्माण व्यवसायीबाट निर्माण कार्य सम्पन्नतर्फ कुनै चासो नदेखाई ठेक्का सम्झौता उल्लंघन गरिएको जनाइएको छ ।

    सूचना प्रकाशित भएको १५ दिनभित्र काम सम्पन्न गर्न सक्ने संशोधित कार्यतालिका, स्रोत साधन परिचालनको भरपर्दो योजना, कार्य सम्पन्न गर्ने प्रतिबद्धता र ठेक्का नतोड्ने कुनै मनासिब कारण भए सत्यतथ्य प्रमाण राखी स्पष्टीकरणसहित आधिकारिक व्यक्ति कार्यालयमा उपस्थित हुन सार्वजनिक आह्वान गरिएको छ । उक्त अवधिमा काम सुरु गर्ने तदारुकता नदेखाएमा सार्वजनिक खरिद कानूनमा भएको व्यवस्था बमोजिम ठेक्का सम्झौता अन्त्य गरी कालोसूचीमा राख्ने तथा कार्यसम्पादन जमानत, धरौती बापतको रकम, पेश्की जमानत जफत र पेश्की रकमको १० प्रतिशत ब्याज असुल गर्नुको साथै बाँकी काम गर्न लाग्ने खर्च सरकारी बाँकी सरह असुलउपर गर्नेतर्फ कारबाही अगाडि बढाइने उल्लेख गरिएको छ ।

  • अफगानिस्तानमा भएको पाकिस्तानी हवाई आक्रमणमा १७ जनाको मृत्यु

    अफगानिस्तानमा भएको पाकिस्तानी हवाई आक्रमणमा १७ जनाको मृत्यु

    काबुल, २ कात्तिक (रासस\सिन्ह्वा) । पूर्वी अफगानिस्तानको पक्तिका प्रान्तमा शुक्रबार राति भएको पाकिस्तानी हवाई आक्रमणमा तीन क्रिकेट खेलाडीसहित कम्तीमा १७ जनाको मृत्यु भएको स्थानीय टोलो न्युजले शनिबार सुरक्षा स्रोतलाई उद्धृत गर्दै जनाएको छ । स्रोतका अनुसार अर्गुन जिल्लाको खन्डारो गाउँमा स्थानीय समय अनुसार बेलुका करिब ८ः३० मा आक्रमण भएको थियो । पाकिस्तानी जेट विमानले एउटा घरलाई लक्षित गरी गरेको हवाई आक्रमणमा महिला तथा बालबालिकासहित अन्य १६ जना घाइते भएका छन् ।

    वार्ताका लागि रक्षामन्त्री मावलवी मोहम्मद याकूब मुजाहिदको नेतृत्वमा अफगान सरकारको उच्चस्तरीय प्रतिनिधिमण्डल शनिबार कतारको दोहा गएको अफगान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले विज्ञप्ति मार्फत जनाएका छन् । स्थानीय मिडियाका अनुसार अफगानिस्तान र पाकिस्तानका प्रतिनिधिमण्डलले युद्धविराम विस्तार गर्ने र अन्य मुद्दाहरूमा छलफल गर्न दोहामा वार्ता गर्नेछन् ।

  • ट्रम्प र ज़ेलन्स्कीबीच भेटवार्ता : युद्ध रोक्न र शान्ति स्थापना गर्न आग्रह

    ट्रम्प र ज़ेलन्स्कीबीच भेटवार्ता : युद्ध रोक्न र शान्ति स्थापना गर्न आग्रह

    वासिङ्टन, २ कार्तिक (रासस\एपी) । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर ज़ेलन्स्की सँग व्हाइट हाउसमा लामो भेटवार्तापछि युक्रेन र रसियालाई हालको सीमा रेखामा युद्ध तुरुन्त रोक्न र त्यसलाई अन्त्य गर्न आग्रह गरेका छन् । उनले सामाजिक सञ्जालमा लेख्दै भने, “धेरै रगत बगिसकेको छ, अब दुवै पक्षले जितेको दाबी गर्न सक्छन्, तर इतिहासले त्यस निर्णय गर्नेछ।” ट्रम्पले थप्नुभयो, “तपाईंहरू जहाँ हुनुहुन्छ, त्यहीँ रोकिनुहोस्, आफ्ना परिवारमा फर्कनुहोस् र शान्ति कायम राख्नुहोस्।”

    यसअघि केही हप्ताअघि ट्रम्पले युक्रेनले रसियाबाट कब्जा गरेको सम्पूर्ण भूभाग फिर्ता लिन सक्ने विश्वास व्यक्त गरेका थिए, तर हालको अभिव्यक्तिले उनको दृष्टिकोणमा केही परिमार्जन आएको देखिन्छ। ज़ेलन्स्कीले भने, “अहिले नै युद्ध रोकिनु आवश्यक छ र त्यसपछि वार्ता अगाडि बढाउनुपर्छ,” तर ट्रम्पले युक्रेनलाई भूभाग फिर्ता दिन दबाब दिएको सम्बन्धी प्रश्नमा उनले स्पष्ट जवाफ दिन सकेनन्।

    ट्रम्पले रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनसँगको टेलिफोन वार्तापछि युक्रेनलाई लामो दूरीका टोमाहक मिसाइल उपलब्ध गराउने विषयमा केही अनिच्छा देखाएका छन् । यी मिसाइलले युक्रेनी सेनालाई रसियाको भित्री क्षेत्रमा लक्षित गर्न सक्षम बनाउने विश्वास गरिएको छ। पुटिनले यस विषयमा अमेरिकासँगको सम्बन्धमा असर पर्ने चेतावनी समेत दिएका छन् ।


    ट्रम्पले भने, “हामीसँग आवश्यक मिसाइल भण्डार हुनु जरूरी छ, किनभने कहिले पनि युद्धको अवस्था आउन सक्छ, तर हामी चाहन्छौं कि युद्ध सकिएपछि मिसाइल आवश्यक नपरोस्।” ट्रम्पले आगामी हंगेरीमा हुने बैठकमा पुटिन र ज़ेलन्स्की दुवैलाई भेट्ने सम्भावना रहेको संकेत गरे । भने ज़ेलन्स्कीले पुटिन युक्रेनमाथि आक्रमण गरिरहेका छन् र शान्ति चाहँदैनन् भनी उल्लेख गरेका छन् ।

  • बङ्गलादेशको प्रमुख विमानस्थलमा आगलागी हुँदा उडान अवरूद्ध

    बङ्गलादेशको प्रमुख विमानस्थलमा आगलागी हुँदा उडान अवरूद्ध

    ढाका, १ कात्तिक (रासस\एएफपी) । बङ्गलादेशको राजधानी ढाकास्थित अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो टर्मिनलमा शनिबार ठूलो आगलागी भएपछि सबै उडान अनिश्चितकालका लागि अवरूद्ध भएका छन्। विमानस्थलको मुख्य टर्मिनलमा कुनै असर नपरेपनि धावनमार्गमा बाक्लो धुवाँ फैलिएपछि उडानसेवा अवद्ध बनेका छन्। फायर सर्भिसका प्रवक्ता ताल्हा बिन जासिमले भने, आगलागी नियन्त्रणका लागि ३७ अग्निनियन्त्रक युनिटहरू परिचालन गरिएको थियो भने दिउँसो सुरु भएको आगलागी सहजै नियन्त्रणमा नआएपछि थप सुरक्षा बललाई परिचालित गरिएको छ।

    द डेली स्टार पत्रिकाले विमानस्थलका अधिकारीहरूलाई उद्धृत गर्दै उडानहरू अन्य विमानस्थलमा डाइभर्ट गरिएको जनाएको छ। अग्निनियन्त्रकहरूले आगोलाई नियन्त्रण गरेसँगै विमानस्थल केही घण्टाभित्रै सञ्चालन सुरु हुने अपेक्षा गरिएको छ। स्वास्थ्य निर्देशनालयका एक वरिष्ठ अधिकारी मोइनुल असानले कम्तिमा चार जनालाई सामान्य चोटपटक लागेपछि अस्पताल लगिएको बताए । आगलागीको कारण भने खुल्न सकेको छैन ।

  • एनपिएलको ट्रफीलाई जानकी मन्दिरमा पूजापाठ गरी नगर परिक्रमा

    एनपिएलको ट्रफीलाई जानकी मन्दिरमा पूजापाठ गरी नगर परिक्रमा

    महेन्द्रनगर (धनुषा), १ कात्तिकः जनकपुरधाममा नेपाल प्रिमियर लिग (एनपिएल) को ट्रफीको आज पूजापाठ गरी नगर परिक्रमा गराइएको छ । सात वटै प्रदेशमा ट्रफी परिक्रमा गराउने कार्यक्रमअन्तर्गत मधेस प्रदेशको राजधानी जनकपुरधामस्थित जानकी मन्दिरमा पूजापाठ गरिएको हो । जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवले ट्रफीको पूजापाठ गरेपछि आयोजकले जानकी मन्दिरको प्राङ्गणमा बनाइएको मञ्चमा राखेर उक्त कपको प्रदर्शन गर्नुका साथै नगरका विभिन्न भागमा परिक्रमा गराइएको हो ।

    जानकी मन्दिरबाट सुरु भएको नगर परिक्रमा राम मन्दिर–मुरलीचौक–जिरो माइल–रामानन्द चौक–पिडारी चौक–मिल्स एरिया–भानु चौक–कदम चौक–मुरलीचौक जिरोमाइल हुँदै बसपार्कमा पुगेर सम्पन्न भएको आयोजकले जनाएको छ । नेपाल प्रिमियर लिगको पहिलो शृङ्खला जनकपुर बोल्ट्सले जितेको थियो ।

  • आन्दोलन प्रभाव : ब्रेथलाइजर लुटिँदा मापसे जाँचमा समस्या

    आन्दोलन प्रभाव : ब्रेथलाइजर लुटिँदा मापसे जाँचमा समस्या

    काठमाडौँ, १ कात्तिकः काठमाडौँ उपत्यकामा मादक पदार्थ सेवन (मापसे) विरुद्धको कारबाहीमा प्रयोग गरिने ब्रेथलाइजर मेसिन पर्याप्त नहुँदा ट्राफिक प्रहरीलाई मापसे जाँचमा समस्या भएको छ । गत भदौ २३ र २४ गते काठमाडौँमा भएको ‘जेनजी’ युवाहरूको आन्दोलनका क्रममा भएको तोडफोड तथा आगजनीका कारण उपत्यकाका ट्राफिक प्रहरी पोस्टमा रहेका ब्रेथलाइजर मेसिन जलेर नष्ट भएकाले अहिले समस्या भएको हो ।

    ट्राफिक प्रहरीले हाल उपलब्ध भएका ब्रेथलाइजर मेसिन विभिन्न क्षेत्रमा खटिएका ट्राफिक प्रहरीको टोलीबीच आलोपालो प्रणालीअनुसार प्रयोग भइरहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।


    उनका अनुसार यसअघि करिब तीन सय वटा ब्रेथलाइजर मेसिन भए पनि हाल २७ वटा मात्रै बाँकी रहेको उनको भनाइ छ । ट्राफिक प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले भने, “हामीसँग पहिले तीन सय वटा मेसिन थिए, जसको प्रयोग गरेर नियमित रूपमा सवारी चालकमा मादक पदार्थको सेवन भए÷नभएको परीक्षण गर्न सकिन्थ्यो । तर आन्दोलनका क्रममा ती मेसिनहरू नष्ट भएपछिको अवस्थाले अहिले हामीलाई समस्या भएको छ ।”

  • नयाँ भाँडा किनेर मनाइयो धनतेरस

    नयाँ भाँडा किनेर मनाइयो धनतेरस

    काठमाडौँ, १ कात्तिकः कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धनतेरस पर्व आज सुन, चाँदी, तामालगायत धातुका नयाँ भाँडाकुँडा किनेर घरका पूजाकोठामा राखी कुबेरको पूजाआराधना गरी मनाइएको छ । धनका रक्षक देवता कुबेरको जयन्तीका अवसरमा आज कुबेरको विशेष पूजाआराधना गरिएको हो । केहीले आज कुबेरको पूजा गरे पनि कुल परम्पराअनुसार कसैले भने लक्ष्मीपूजाको दिन गर्दछन् ।

    भाण्ड त्रयोदशीसमेत भनिने आजको दिन ल्याइएको भाँडाकुँडामा कार्तिक कृष्ण औँसीका दिन लक्ष्मीपूजा गरिन्छ । यसरी पूजाआराधना गरेमा लक्ष्मी स्थिर भई बस्छिन् भन्ने वैदिक सनातन हिन्दू धर्मावलम्बीको परम्परादेखिको विश्वास छ । धनतेरसका दिन सुनचाँदीका गहना किनेर ल्याउने प्रचलनसमेत छ । धार्मिक विश्वासकै कारण आज भाँडाकुँडा एवं गरगहना किन्नेको बजारमा घुइँचो लागेको छ ।

    आजको दिनलाई धन त्रयोदशी, भाण्ड त्रयोदशीजस्ता नामले पनि चिनिन्छ । आजका दिन नयाँ भाँडा किनेमा लक्ष्मीले सधैँ घरमा बास गर्छिन् भन्ने धार्मिक विश्वास छ । यस विश्वासका आधारमा भाँडा पसलमा बिहानदेखि ग्राहकको भीड लागेको थियो । तिहार लाग्नु एक साताअघिदेखि नै भाँडाको बिक्री बढेको भाँडा व्यवसायी देवप्रसाद बानियाँले जानकारी दिए । भाँडा पसलमा एक साताअघिदेखि तामा, पित्तललगायत धातुका भाँडा आकर्षक रूपमा साजसज्जा गरी राख्ने गरिन्छ । नयाँ भाँडा एवं गरगहना किन्ने क्रम लक्ष्मीपूजाका दिनसम्म पनि जारी रहन्छ ।

  • जेन जी आन्दोलनका अगुवा मिराज ढुङ्गानाले गरे पार्टी खोल्ने घोषणा

    जेन जी आन्दोलनका अगुवा मिराज ढुङ्गानाले गरे पार्टी खोल्ने घोषणा

    काठमाडौँ, १ कात्तिकः ‘जेनजी’ आन्दोलनका अगुवा मिराज ढुङ्गाना समूहले प्रत्यक्ष कार्यकारीको ‘बटमलाइन’ पूरा नभएसम्म निर्वाचनमा भाग नलिने जनाएको छ । नयाँ बानेश्वरमा आज पत्रकार सम्मेलनमार्फत आफ्ना ‘एजेण्डा’ सार्वजनिक गर्दै ‘जेनजी’ पुस्तालाई गोलबन्द गर्न राजनीतिक दल गठन गरे पनि प्रत्यक्ष कार्यकारी शासकीय स्वरुप र विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको व्यवस्था हुने पर्ने आफ्नो ‘बटमलाइन’ पूरा नभएसम्म चुनावमा सहभागी नहुने बताए । उनले भ्रष्टाचार नियन्त्रणका लागि नागरिकस्तरीय छानबिन समिति गठन र आर्थिक रुपान्तरणको स्पष्ट नीति अख्तियार गरिनुपर्नेमा जोड दिए ।


    ‘जेनजी’ प्रदर्शनलाई दिशाहीन हुन नदिन राजनीतिक दल गठन गर्ने निष्कर्षमा पुगिएको जनाउँदै ढुङ्गानाले पार्टीको नामबारे सुझाव लिने काम भइरहेको बताए । “भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनलगायत मुद्दाका लागि निरन्तर लड्छौँ, जेनजीको बलिदानलाई खेर जान दिँदैनाँै”, उनले भने, “देश विकासमा सामूहिक प्रतिबद्धता र सहकार्यको आवश्यकता छ । आर्थिक समृद्धिलाई साझा सङ्कल्प बनाउन सबैलाई हाम्रो आग्रह छ ।”

    स्वदेशमा रोजगारीका अवसर नहुँदा लाखौँ युवा विदेशिनुपरेको र देश विकासमा लाग्नुपर्ने ऊर्जावान् शक्ति विदेश पलायन हुँदा मुलुक आर्थिक रूपले कमजोर बनेकाले यस्ता विषयमा सरकार जिम्मेवार हुनुपर्ने ढुङ्गानाको भनाइ छ । “बन्द कलकाखाना तुरुन्त सञ्चालनको प्रक्रिया अघि बढाउनुपर्छ, रोजगारीको सिर्जना गर्नुपर्छ । पर्यटन क्षेत्रको विकास र प्रवर्द्धन गर्नुपर्छ”, आफ्नो समूहको अवधारणाबारे स्पष्ट पार्दै उनले भने, “छिमेकमा दुई ठूला जनसङ्ख्या भएका मुलुक छन्, त्यसलाई लक्षित गरेर उत्पादन वृद्धि गर्नुपर्छ ।”

  • जेनजी पुस्ता क्रान्तिकारी आन्दोलनका उत्तराधिकारी हुन् : प्रचण्ड

    जेनजी पुस्ता क्रान्तिकारी आन्दोलनका उत्तराधिकारी हुन् : प्रचण्ड

    काठमाडौँ, १ कात्तिकः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी फागुन २१ गतेको निर्वाचन सफल पार्न सबै पक्षको ऐक्यबद्धता आवश्यक रहेको बताएका छन् । दीपावली, नेपाल संवत् र छठ पर्वका अवसरमा अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुफ)ले आज पार्टी मुख्यालय पेरिसडाँडामा आयोजना गरेको चियापान तथा शुभकामना आदाप्रदान कार्यक्रममा उनले अहिलेको राजनीतिक समस्या समाधान गर्न सबै राष्ट्रवादी, लोकतान्त्रिक र क्रान्तिकारी शक्ति एकजुट हुनुपर्ने बताए ।


    संयोजक दाहालले भने, “हामी यतिबेला अत्यन्त जटिल परिस्थितिबाट गुज्रिरहेका छौँ । संविधान र लोकतन्त्र जोगाउने अहिलेको सबैभन्दा सहज, समावेशी र राष्ट्रहितको विकल्प भनेकै आगामी फागुन २१ गते तोकिएको निर्वाचन हो । यसलाई सफल पार्न सबै दल, नागरिक समाज, बुद्धिजीवी, पत्रकारलगायत सबै पक्षको ऐक्यबद्धता आवश्यक छ ।”

    अन्तरिम सरकार तोकिएको मितिमा नै निर्वाचन गर्न गम्भीर रहेको आफूले पाएको जनाउँदै पूर्वप्रधानमन्त्री दाहालले अन्तरराष्ट्रिय समुदायले पनि निर्वाचन सफल बनाउन सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरे । जेनजी आन्दोलनको भावना सम्बोधन गर्नेगरी संविधान संशोधन गर्नुपर्नेमा जोड दिँदै उनले भने, “निर्वाचनबाट आउने नयाँ संसद्ले संविधान परिमार्जन गर्ने प्रक्रियामा प्रवेश गर्नुपर्छ । जनताको अपेक्षा पूरा गर्न हामी तयार छौँ ।” आसन्न निर्वाचन संविधानसम्मत र लोकतान्त्रिक प्रक्रियाको हिस्सा भएको उल्लेख गर्दै संयोजक दाहालले मुलुकमा थप अराजकता सिर्जना हुन नदिन राष्ट्रिय सहमतिका साथ चुनाव सम्पन्न गराउनु अपरिहार्य रहेको बताए ।


    समाजवादी मोर्चामा आबद्ध वामशक्तिबीच चाँडै औपचारिक एकता घोषणा हुने जानकारी दिँदै संयोजक दाहालले लोकतन्त्रवादी र राष्ट्रवादी शक्ति पनि एक हुनुपर्ने आवश्यकता औँल्याए । जेनजी पुस्ता क्रान्तिकारी आन्दोलनको उत्तराधिकारी हो भन्दै उनले भने, “भदौ २३ गते भएको आन्दोलनमार्फत युवा पुस्ताले आफ्नो राजनीतिक उपस्थिति प्रमाणित गरिसकेको छ । उनीहरू अरूका होइनन्, क्रान्तिकारीका उत्तराधिकारी हुन् ।”

    माओवादी नेता वर्षमान पुनले जेनजी युवाको चाहना र भावना सम्बोधन गर्नुको कुनै विकल्प नरहेको जनाउँदै जेनजी आन्दोलनपछि आफ्नो पार्टीले सोचविचार र नीति बदलेको बताए । उनले जेनजी आन्दोलनका क्रममा भएको घुसपैठको निष्पक्ष छानबिन हुनुपर्ने माग गरे ।

  • नगरविकास कोषको रकम प्रतिफल दिने क्षेत्रमा लगानी गरिने

    नगरविकास कोषको रकम प्रतिफल दिने क्षेत्रमा लगानी गरिने

    १ कात्तिक, काठमाडौं । सहरी विकासमन्त्री कुलमान घिसिङले क्षेत्राधिकार विस्तार गरी नगर विकास कोषलाई प्रभावकारी बनाइने बताएका छन् । कोषका कामकारबाहीबारे जानकारी लिँदै आज उनले प्रतिफल प्राप्त हुने क्षेत्रमा लगानी विस्तार गरी कोषलाई प्रभावकारी रूपमा अगाडि बढाउन आवश्यक रहेको बताए । मन्त्री घिसिङले विद्युतीय सवारीसाधन, चार्जिङ स्टेसनजस्ता ‘इ—मोबिलिटी’का क्षेत्रमा लगानी गर्न सम्बद्ध पक्षलाई सुझाव दिए ।


    “ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र नगरपालिकासँगको साझेदारीमा लगानी परिचालन गरिने यस कोषबाट फोहर व्यवस्थापन र ऊर्जा उत्पादनजस्ता परियोजनामा लगानी गर्न सकिन्छ । त्यसको सम्भाव्यता अध्ययन गरौँ । अब लगानी गर्नुपर्ने तथा लगानी गर्ने क्षेत्राधिकारलाई अझ विस्तार गर्नका लागि आवश्यक कानुनी प्रबन्ध गर्न सरकार तयार छ”, उनले भने ।


    हाल हरित जलवायु कोषबाट मान्यता प्राप्त हुने क्रममा रहेको र मान्यता प्राप्त भएपछि कोषलाई हरित ऊर्जासम्बन्धी परियोजनामा लगानीका लागि ठूलो आर्थिक अनुदान सहयोग उपलब्ध हुने मन्त्री घिसिङको विश्वास थियो । कोषका कार्यकारी निर्देशक विनोदप्रकाश पण्डितले कोषकोे वित्तीय स्रोतका रूपमा रु सात अर्ब स्वःपुँजी (इक्विटी) रहेको, एसियाली विकास बैंकमार्फत रु पाँच अर्ब १९ करोड, विश्व बैंकबाट रु १२ करोड र नेपाल सरकारबाट रु दुई अर्ब ऋणका रूपमा प्राप्त भएको जानकारी दिनुभयो । कोषले रु १६ अर्ब ऋण प्रवाह गरेको उनले बताए ।


    कोषले सहरी पूर्वाधार आयोजनामा वित्तीय (ऋण÷अनुदान) र प्राविधिक सहयोग प्रदान गर्दै आएको छ । कोषबाट नगर क्षेत्रमा बसपार्क, खानेपानी, जग्गा विकास, बहुउद्देश्यीय भवन निर्माणलगायत क्षेत्रमा लगानी भइरहेको छ । हालैको ‘जेनजी’ आन्दोलनका कारण क्षति भएका नगरका भवनको पुनर्निर्माणमा कोषलाई परिचालन गर्न सकिनेबारे पनि त्यसअवसरमा छलफल भएको मन्त्री घिसिङको सचिवालयले जनाएको छ ।

  • पेट्रोलियम पाइपलाइनबाट साढे छ अर्ब लिटर इन्धन आयात, वार्षिक तीन अर्ब ढुवानी वचत

    पेट्रोलियम पाइपलाइनबाट साढे छ अर्ब लिटर इन्धन आयात, वार्षिक तीन अर्ब ढुवानी वचत

    अशोक घिमिरे\रासस
    काठमाडौँ, १ कात्तिकः नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजना सञ्चालनमा आएको छ वर्ष पूरा भएको छ । भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्म रहेको पाइपलाइन सञ्चालन भएयता छ अर्ब ३४ करोड ९२ लाख लिटर पेट्रोलियम पदार्थ पाइपलाइनबाट आयात भएको नेपाल आयल निगमको मधेस प्रादेशिक कार्यालय अमलेखगञ्जले जनाएको छ ।

    पाइपलाइनबाट हालसम्म छ अर्ब १४ करोड ३५ लाख लिटर डिजेल, २० करोड १५ लाख लिटर पेट्रोल र ४१ लाख लिटर मट्टितेल आयात भएको प्रादेशिक प्रमुख प्रलयङ्कर आचार्यले जानकारी दिए । अहिले मोतिहारीबाट पाइपलाइनमार्फत अमलेखगञ्जसम्म पेट्रोल, डिजेल र मट्टितेल आयात भइरहेको छ । विसं २०७६ भदौ २४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीले सो परियोजनाको संयुक्त रूपमा उद्घाटन गरेका थिए ।

    सोही दिनदेखि नै पाइपलाइनबाट डिजेल आयात भइरहेको छ । यस्तै २०८१ असोज २४ देखि पेट्रोल र २०८१ मङ्सिर १९ गतेदेखि मट्टितेल पाइपलाइनबाट ल्याउन थालिएको हो । दक्षिण एसियाकै पहिलो अन्तरदेशीय पाइपलाइन परियोजनाको कूल लम्बाइ ६९ दशमलव दुई किलोमिटर छ । यसमध्ये भारततर्फ ३३ किलोमिटर र नेपालतर्फ ३६ दशमलव दुई किलोमिटर छ ।

    पेट्रोल, डिजेल र मट्टितेल आयात गर्न सकिने गरी ‘मल्टी प्रोडक्ट पाइपलाइन’ निर्माण गरिएको छ । पाइपलाइनबाट आयातित पेट्रोलियम पदार्थले नेपालको करिब ७० प्रतिशत माग पूर्ति हुँदै आएको छ । अमलेखगञ्जबाट काठमाडौँ, विराटनगर, भैरहवा, थानकोट, पोखरा, वीरगञ्ज, जनकपुरस्थिति डिपोमा इन्धन आपूर्ति हुँदै आएको छ । अमलेखगञ्जबाट स्थानीयस्तरका पम्पका लागि पनि पेट्रोलिमय पदार्थ बिक्रीवितरण हुँदै आएको छ ।

    “नेपालको खपतको ७० प्रतिशत पेट्रोलियम पदार्थ अमलेखगञ्जबाटै आपूर्ति हुन्छ”, प्रमुख आचार्यले भन्नुभयो । पाइपलाइनबाट दैनिक छ हजार किलोलिटर पेट्रोलियम पदार्थ अमलेखगञ्ज ल्याउन सकिन्छ । तर पेट्रोलियम पदार्थको माग नबढेकाले पूर्ण क्षमतामा पाइपलाइन सञ्चालन हुने अवस्था बनेको छैन । “दैनिक छ हजार किलोलिटर पेट्रोलियम पदार्थ आयत गर्नुपर्ने अवस्थामा निगम पुगेको छैन”, प्रमुख आचार्यले भने ।


    पेट्रोलियम पाइपलाइन परियोजनाको पहिलो चरणअन्तर्गत भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्म पाइपलाई बिच्छयाइएको थियो । दोस्रो चरणमा अमलेखगञ्जमा पेट्रोलियम भण्डारण क्षमता अभिवृद्धिसँगै ‘अटोमेसन’को काम सम्पन्न गरिएको हो । पाइपलाइन परियोजनाको दोस्रो चरणअन्तर्गत डिपोमा पेट्रोल, डिजेल र मट्टिटेल भण्डारणका लागि चार वटा नयाँ ‘भर्टिकल ट्याङ्क’ निर्माण गरिएको छ । पाइपलाइनबाट ल्याइएका पेट्रोलियम पदार्थको शुद्धता कायम राख्न दुई वटा ट्रान्समिक्स ट्रयाङ्क, अग्नि नियन्त्रण प्रणालीको व्यवस्था गरिएको छ ।

    अमलेखगञ्जमा भण्डारण क्षमता विस्तार गरी १७ हजार ५०० किलोलिटर पेट्रोल, २७ हजार ५०० किलोलिटर डिजेल र दुई हजार २०० किलोलिटर मट्टितेल राख्न सकिने बनाइएको छ । अमलेगञ्ज डिपो नेपालको सबैभन्दा ठूलो र अत्याधुनिक रहेको छ । पूराना र नयाँ गरी अमलेखगन्जमा ९४ हजार किलोलिटर पेट्रोलियम पदार्थ भण्डारण गर्न सकिने भएको छ ।

    मुलुकमा पेट्रोलियम पदार्थको सहज आपूर्ति र वितरण प्रणालीलाई सुनिश्चित गर्न विसं २०३० मा अमलेखगञ्ज डिपोको निर्माण सुरु गरिएको थियो । करिब ६७ हजार सात सय २४ वर्गमिटरमा फैलिएको सो डिपो निर्माण सम्पन्न गरी २०३३ माघबाट सञ्चालनमा आएको थियो । देशकै सबैभन्दा ठूलो डिपोका रूपमा रहेको छ ।

    अमलेखगन्जस्थित डिपोमा हाल १५ हजार ११० किलोलिटर पेट्रोल, २४ हजार ८१० किलोलिटर डिजेल र दुई हजार २७० किलोकिलटर मट्टितेलको भण्डारण क्षमता रहेको छ । सरकारले सातै प्रदेशमा कम्तीमा तीन महिनाको माग धान्न सक्ने गरी भण्डारण क्षमता विस्तारको योजना अघि सारेको छ । सोही योजनाअनुसार निगमले अहिले विभिन्न प्रदेशमा भण्डारण क्षमता विस्तारका कार्यक्रम अघि बढाइरहेको छ ।

    पेट्रोलियम पाइपलाइनबाट इन्धन आयात गर्दा सडक मार्गमा आउने अवरोध अन्त्य भएको छ । “टयाङ्कर दुर्घटनामा पर्नेदेखि सडक मार्गमा आउनसक्ने समस्याको जोखिम कम भएको छ”, प्रमुख आचार्यले भने, “इन्धन चोरी तथा मिसावटको प्रश्न उठ्ने नै भएन ।” पाइपलाइनबाट इन्धन ढुवानी गर्दा वातावरणीय प्रभाव पनि कम पर्ने उहाँको भनाइ छ ।

    पेट्रोलियम पदार्थ ढुवानीका क्रममा लाग्ने ठूलो खर्च पनि जोगिएको छ । पाइपलाइनबाट तेल आउन थालेपछि वार्षिक रु तीन अर्ब ढुवानी खर्च बचत भएको छ । ढुवानी खर्च वचत भएपछि निगमले इन्धनको उपभोक्ता मूल्य पनि घटाएको छ ।

    सरकारले सिलगुडी ९भारत०–चारलआली (झापा) र अमलेखगञ्ज–लोथर पेट्रोलियम पाइपलाइन र ग्रीन फिल्ड टर्मिनल निर्माण आयोजनालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना तोकी निर्माणको काम अघि बढाएको छ । बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्ने कार्य प्रारम्भ भइसकेको छ । निगमले गत साउन १६ गतेदेखि दोस्रो चरणको पेट्रोलियम पाइपलाइन विस्तारको काम थालेको हो ।

    राप्ती नगरपालिका–१ लोथरस्थित करिब २३ विघा १२ कठ्ठा जग्गामा अत्याधुनिक सुविधासहितको ग्रीन फिल्ड टर्मिनल निर्माण गरिनेछ । अमलेखगञ्जदेखि लोथरसम्मको दूरी ६२ किलोमिटरको दूरीमा १० दशमलव ७५ इञ्चको पाइपलाइन बिच्छयाइने निगमले जनाएको छ । उक्त परियोजना तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको परियोजना प्रमुख प्रदीप यादवले जानकारी दिए । पूर्वपश्चिम राजमार्गको समानान्तर पाइपलाइन निर्माण गरिनेछ । बासठ्ठी किलोमिटर लामो पाइपलाइनमा जुनसुकै बेला नियमित रूपले ३२ सय किलोलिटर इन्धन भण्डारण भइरहेको हुनेछ । पाइपलाइनबाट २७३ किलोलिटर प्रतिघन्टाको गतिमा तेल आपूर्ति गर्न सकिनेछ ।

    पाइपलाइनबाट वार्षिक २० मिलियन टन इन्धन ढुवानी गर्न सकिने निगमले जनाएको छ । लोथरमा १६० वर्गमिटरको क्षेत्रफलमा पाइपलाइन स्टेसन निर्माण हुनेछ । त्यसस्थानमा पेट्रोल भण्डारणका लागि ११ हजार किलोलिटर क्षमताका तीन वटा भर्टिकल ट्याङ्की निर्माण हुनेछ । यस्तै डिजेल भण्डारणका लागि १५ हजार ५०० किलोलिटर क्षमताका तीन वटा र मट्टितेल भण्डारणका लागि आठ सय किलोलिटर क्षमताका दुई वटा ट्याङ्की निर्माण गरिनेछ ।

    यसै हवाई इन्धनका लागि तीन हजार ६०० किलोलिटर क्षमताका तीन वटा टयाङ्क निर्माण गरिने निगमले जनाएको छ । लोथरमा बन्ने नयाँ डिपोमा ९१ हजार ९०० किलोलिटर पेट्रोलियम पदार्थ भण्डारण हुनेछ । यसबाहेक दुई वटा ट्रान्समिक्स टयाङ्क निर्माण गरिनेछ । पाइपलाइनसहित भण्डारण गृह निर्माण लागत रु १४ अर्ब नौ करोड ६० लाख लाग्ने अनुमान गरिएको छ ।