५ कात्तिक, काठमाडौं । चितवनमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । खैरहनी नगरपालिका–२ जनजोन टोलस्थित भित्रि सडकमा मंगलबार राति करिब साढे १२ बजे बागमती प्रदेश ०३–००५ प ४३०२ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो । प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका चालकको उपचारका क्रममा भरतपुर सरकारी अस्पतालमा मृत्यु भएको हो । अन्दाजी २२–२३ वर्ष देखि युवाको नाम थर र वतन नखुलेको प्रहरीले जनाएको छ ।
Category: फिचर
-

चुनावमा सहकार्य गर्न प्रधानमन्त्रीको अपिल
५ कात्तिक, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी २१ फागुनका लागि तोकिएको निर्वाचनमा सहकार्य गर्न अपिल गरेकी छिन् । नेपाल संवत् ११४६ को अवसरमा ललितपुरको मंगलबजारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो अपिल गरेकी हुन् । नेपाली जनतालाई मताधिकार प्रयोग गर्ने वातावरण बनाउन सरकार कटिबद्ध भएको बताउँदै उनले सचेत नागरिकको भूमिका निर्वाह गर्न समेत भनेकी छिन् ।
‘सरकारसँग नेपालको संविधानको अधीनमा रही जेनजी आन्दोलनको सुशासनको आवाजलाई सम्बोधन गर्नुपर्ने दायित्व रहेको छ । यसका लागि समाजका सबै तह, तप्का र वर्ग समुदायको उत्तिकै भूमिका हुन्छ । आउनुहोस्, यसमा सहाकार्य गरौँ र सचेत नागरिकको भूमिका निर्वाह गरौं,’ उनले भनेकी छिन्, ‘लोकतान्त्रिक सबलीकरण, आर्थिक समृद्धि र नागरिक अधिकारको रक्षा गर्न आगामी फागुन २१ गते हुने निर्वाचनमा भयरहित ढंगले नेपाली जनतालाई मताधिकार प्रयोग गर्ने वातावरण बनाउन सरकार कटिबद्ध छ ।’उनले सबै राजनीति दल, वर्ग, समूहको साथ र सहयोग रहनेछ भन्नेमा विश्वस्त रहेको बताएकी छिन् । उनले राष्ट्रिय विभूति शंखधर साख्वास्ले देखाएको सामाजिक एकता, त्याग र मानवीयताको बाटोमा हिँड्न हामी सबैलाई प्रेरणा मिलोस् भन्दै शुभकामना दिएकी छिन् । ११४६ वर्षअघि, राजा राघवदेवको शासनकालमा शंखधरले गरिबी र ऋणमा डुबेका नागरिकहरूको ऋणमोचन गरिदिएका थिए । ऋणको भारबाट पीडित जनतालाई मुक्त गर्ने त्यो ऐतिहासिक निर्णय भएको प्रधानमन्त्री कार्कीले भनेकी छिन् । ‘यो दिन नै नेपाल संवतको शुभारम्भको आधार हो,’ उनले भनेकी छिन् ।
शंखधरलाई वि.सं. २०५६ मा राष्ट्रिय विभूति घोषणा गरिएको थियो भने २०६५ कात्तिक ७ गतेदेखि नेपाल संवतलाई राष्ट्रिय संवत घोषणा गरिएका थियो । ‘यस संवतको प्रवर्तन गर्ने ती महान् व्यक्तित्व साख्वाबाट आज पनि हामीले सिक्ने कुरा के छ भने व्यक्तिगत हितभन्दा सामूहिक हित र दलगत हितभन्दा माथि राष्ट्रिय हितलाई राखी हिँड्न सके मात्र हाम्रो राष्ट्रिय अभीष्ट पूरा हुन सक्छ,’ उनले भनेकी छिन् ।
-

रोल्पामा वृद्ध मृत फेला
५ कात्तिक, काठमाडौं । रोल्पाको थबाङ गाउँपालिका–४ गुँरासेका एक वृद्ध मृत अवस्थामा फेला परेका छन् । ७९ वर्षीय देवसिंह घर्तीमगर झिम्रुक खोलामा मृत अवस्थामा फेला परेका हुन् । उनी मंगलबार बिहान ससुराली जान भन्दै गुँरासेबाट थबाङतर्फ हिँडेका थिए । स्थानीयले झिम्रुक खोलामा उनको शव फेला पारेको वडा नम्बर १ का अध्यक्ष हिरा प्रसाद बुढामगरले जानकारी दिए । बाटोदेखि करिब १५० मिटर तल उनको शव भेटिएको बुढामगरले बताए ।
मृतकको परिवार र आफन्तलाई खबर गरिसकिएको बताएका छन् । ‘विकट र दुर्गम भौगोलिक कारणले आफन्त र प्रहरी टोलीलाई घटनास्थलमा पुग्न केही समय लाग्नेछ,’ उनले भने । घटनाको थप विवरण र मृत्युको कारणबारे अनुसन्धान गर्न प्रहरी त्यसतर्फ गइरहेको छ ।
-

राष्ट्रिय सम्मानसहित महाकाली किनारमा गरियो विपिनको अन्त्येष्टि
४ कात्तिक, काठमाडौं । कञ्चनपुरका विपिन जोशीको मङ्गलबार महाकाली नदी किनारमा अन्त्येष्टि गरिएको छ । विपिनको अन्तिम श्रद्धाञ्जलीका लागि भुजेलाघाटमा राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिएको हो । विपिनको सम्मानमा सशस्त्र प्रहरीले सलामी अर्पण गरेको थियो । स्थानीय तहका जनप्रतिनिधि, नेता कार्यकर्ता, प्रमुख जिल्ला अधिकारी, सुरक्षाकर्मी स्थानीय, परिवारजन तथा शुभेच्छुकलगायतले दिवङ्गत विपिनप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।
राष्ट्रिय सम्मानका साथ चितामा दागबत्ती दिएर शवको अन्त्येष्टि गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले बताए । भुजेलाघाटमा इजरायली राजदूत, जनप्रतिनिधि, सुरक्षाकर्मी, स्थानीय, आफन्त, परिवारजन, कूटनीतिक नियोगका पदाधिकारी तथा शुभेच्छुक उपस्थित भए । “सिक्दै सिकाउँदै” कार्यक्रमअन्तर्गत विसं २०८० असोजमा इजरायल गएका विपिनको हमास र इजरायलबिच भएको द्वन्द्वमा परी ज्यान गएको थियो । दुई वर्ष पहिले नै ज्यान गुमाएका विपिनको कूटनीतिक पहल हुन नसक्दा असोज २७ गते मात्रै परिवारलाई जानकारी गराइएको थियो ।
-

जापानमा पहिलो महिला प्रधानमन्त्रीः पुरुषप्रधान राजनीतिमा उदाएकी नेत्री ताकाइची
४ कात्तिक, काठमाडौं । जापानको पुरुष–प्रधान राजनीतिमा दुर्लभ रूपमा शीर्ष स्थानमा पुगेकी अल्ट्रा रूढीवादी नेत्री साने ताकाइची देशको पहिलो महिला प्रधानमन्त्री बन्न सफल भएकी छिन् । ६४ वर्षीया ताकाइची जापानको युद्धपछिको राजनीतिमा लामो समयदेखि प्रभाव जमाउँदै आएको लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) की पहिलो महिला अध्यक्षसमेत हुन् ।
उनी पूर्वप्रधानमन्त्री सिन्जो आबेका नजिकका सहयोगी र उनकै रूढीवादी दृष्टिकोणकी दृढ समर्थक रहेका छन् । उनले पूर्व बेलायती प्रधानमन्त्री मार्गरेट थ्याचरलाई आफ्नो प्रेरणाका रूपमा सम्मान गर्दै आएकी छिन् । चीन र कोरियाले विवादास्पद मानेको यासुकुनी मन्दिरमा नियमित रूपमा दर्शन गर्न जानुहुने ताकाइचीलाई ‘चिनियाँ बाज’ भनेर पनि चिनिन्छ। यो मन्दिर जापानको द्वितीय विश्वयुद्धकालीन आक्रमणको प्रतीक मानिँदै आएको छ।
जापान अझै लैङ्गिक समानताका सूचकाङ्कमा पछाडि रहेको अवस्थामा ताकाइचीले प्रधानमन्त्री पदका लागि चुनावी अभियानका क्रममा यस विषयमा धेरै चर्चा गर्नुभएको थिएन। तर, पार्टीको अध्यक्षमा निर्वाचित भएपछि उनले भनिन्, “अब एलडिपीको पहिलो महिला अध्यक्ष भएपछि यसको रूपरेखा केही परिवर्तन हुनेछ।”
सन् १९९३ मा आफ्नै गृहनगर नारा प्रान्तबाट संसद्मा निर्वाचित ताकाइचीले त्यसयता आर्थिक सुरक्षा, आन्तरिक मामिला र लैङ्गिक समानता मन्त्रालयका जिम्मेवारी बहन गरेकी छिन् । यद्यपि, उहाँको कूटनीतिक अनुभव सीमित रहेको बताइन्छ। उनले बलियो सैन्य क्षमता, विकासका लागि वित्तीय खर्च विस्तार, आणविक संलयन प्रवर्द्धन, साइबर सुरक्षा सुदृढीकरण र आप्रवासन नीतिमा कडाइको पक्षमा आवाज उठाउँदै र्आएकी छिन् ।
ताकाइची एक अत्यन्तै परिश्रमी नेत्रीका रूपमा परिचित छिन् । विद्यार्थी जीवनमा उनी हेभी मेटल ब्यान्डकी ड्रमर र मोटरसाइकल प्रेमी रहेकी थिइन् । उनले आफूलाई ‘वर्कहोलिक’ भनेर परिभाषित गर्दै भन्छिन्, “म ‘कार्य–जीवन सन्तुलन’ भन्ने शब्द त्याग्छु—म काम गर्छु, काम गर्छु, काम गर्छु र फेरि काम गर्छु।”तर, पुरुषप्रधान एलडिपीमा महिला सांसदहरूको सहभागिता सधैँ चुनौतीपूर्ण रहँदै आएको छ। जापानको तल्लो सदनमा महिलाको प्रतिनिधित्व मात्र १५ प्रतिशत छ, जबकि देशका ४७ प्रान्तीय गभर्नरमध्ये दुई जना मात्र महिला छन्। ताकाइचीले विगतमा लैङ्गिक समानताबारे खुला रूपमा बोल्न हिचकिचाउने गरेको पाइन्छ। यद्यपि, प्रधानमन्त्री बनेपछि उहाँले महिलाको सशक्त सहभागिता सुनिश्चित गर्ने वाचा गरेकी छिन् ।
तर सोमबार घोषणा गरिएको मन्त्रिपरिषद्मा दुई जना मात्र महिला मन्त्री र तीन विशेष सहयोगीमध्ये एक महिला नियुक्त गरिएको छ। उनी शाही परिवारको पुरुष–मात्र उत्तराधिकारको पक्षमा छिन र समलिङ्गी विवाह तथा दम्पतीहरूले फरक उपनाम राख्न पाउने कानूनी संशोधनको विरोध गर्छिन् ।
राजनीतिक विश्लेषक चियाको सातोका अनुसार ताकाइचीका नीतिहरू अत्यन्तै रूढीवादी छन् र विविधतालाई स्वीकार गर्ने दृष्टिकोण अपनाउनेमा शङ्का छ।
ताकाइचीले महिलाको स्वास्थ्य, विशेष गरी प्रजनन उपचार र रजोनिवृत्ति सम्बन्धी चुनौतीबारे खुलेर बोल्दै विद्यालय तथा कार्यस्थलमा महिलामैत्री वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिएकी छिन् । उनको कडा दक्षिणपन्थी दृष्टिकोणले जापानी सरकारलाई दायाँतिर मोड्न सक्ने विश्लेषकहरूको आकलन छ। बौद्ध समर्थित मध्यमपन्थी कोमेइटो पार्टीले उहाँका विचारहरूको विरोध गर्दै गठबन्धन तोडेपछि ताकाइचीको पार्टीले दक्षिणपन्थी जापान इनोभेसन पार्टीसँग सहकार्य गरेको छ।इतिहास र सुरक्षासम्बन्धी उहाँको दृष्टिकोण विवादास्पद रहँदै आएको छ। उहाँले जापानको युद्धकालीन आक्रमण र अत्याचार स्वीकार गर्न अस्वीकार गर्नुभएको छ। साथै द्वितीय विश्वयुद्धमा यौन दासत्वमा परेका कोरियाली महिलाबारेको सन्दर्भ विद्यालयका पाठ्यपुस्तकबाट हटाउने अभियानमा समेत संलग्न छिन् ।
यसले चीन र दक्षिण कोरियासँगको सम्बन्धलाई जटिल बनाउन सक्ने विश्लेषकहरूको भनाइ छ। गत हप्ता तनाव कम गर्न ताकाइचीले व्यक्तिगत रूपमा मन्दिरमा नगई यासुकुनीको शरद पर्वका लागि धार्मिक प्रतीक पठाएकी थिइन् । उनले चीनसँग स्थिर सम्बन्ध कायम राख्ने र दक्षिण कोरियासँग सुरक्षा साझेदारीलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेकी छिन् । रासस\एपी
-

जेनजी आन्दोलनका घाइतेलाई ४८ लाख रुपियाँ भैपरी खर्च निकासा
४ कात्तिक, काठमाडौं । जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिको भैपरी खर्चबापत सरकारले ४८ लाख ५८ हजार रुपियाँ निकासा दिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रारम्भिक प्रतिवेदनका आधारमा भैपरी खर्चबापत प्रत्येक घाइतेलाई २० हजार रुपियाँका दरले वितरण गर्न यो रकम पठाइएको हो। पहिलो चरणमा झापा, मोरङ, सुनसरी, काठमाडौँ, ललितपुर, कास्की, सुर्खेत, कैलाली र डडेलधुरामा रकम पठाइसकिएको गृह मन्त्रालयले जनाएको छ।
प्राविधिक समितिले वर्गीकरण गरेपश्चात् घाइते भएका व्यक्तिहरूलाई वर्गीकरणका आधारमा उचित राहतको व्यवस्था गर्ने गरी तत्कालका लागि भैपरी खर्चबापत रकम उपलब्ध गराउने निर्णय मन्त्रिपरिषद्ले गत असोज १२ गते गरेको थियो। हालसम्म स्वस्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २ हजार ४२९ जना घाइतेको विवरण गृह मन्त्रालयमा उपलब्ध गराएको छ। गत भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा घाइते भएका व्यक्तिहरूको पहिचान एवं सहज र प्रभावकारी उपचारको व्यवस्थाका लागि परिचयपत्र वितरण पनि गरेको छ। गृहले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा २ हजार ८७६ परिचयपत्र पठाएको छ। ३८ वटा परिचयपत्र अस्पतालबाट वितरण गरिएको छ।
घाइते भएका व्यक्तिहरूको पुनस् उपचारका लागि अस्पतालहरू तोकी ती अस्पतालहरूमा जेनजी क्लिनिक सञ्चालनमा ल्याइएको छ। यसरी पुनस् उपचारमा जाने घाइतेलाई निःशुल्क आवतजावतको व्यवस्था मिलाइएको छ। घाइतेको उपचारकै लागि स्वास्थ्य मन्त्रालयले हटलाइनको व्यवस्था मिलाउनुका साथै सहजीकरणका लागि सम्पर्क व्यक्तिसमेत तोकिदिएको छ। घाइतेहरूको अवस्थाका आधारमा वर्गीकरण गरी स्वास्थ्य मन्त्रालयमा प्राविधिक समिति गठन गरिँदै छ। यस समितिमा घाइतेका प्रतिनिधि पनि सामेल हुने छन्।
सरकारले जेनजी आन्दोलनका घाइतेहरूको निःशुल्क उपचार गरिरहेको छ। अहिलेसम्म एक अर्बभन्दा बढी रकम घाइतेको उपचारमा खर्च भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। प्रधानमन्त्री सुशीला कार्कीले गत बिहीबार स्वास्थ्य मन्त्रालयका सचिव विकास देवकोटासहितको टोलीलाई बोलाएर घाइतेहरूको अवस्थाबारे जानकारी लिँदै उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिएका थिए ।
मन्त्रिपरिषद्को भदौ ३० गते बसेको बैठकले आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको निःशुल्क उपचार गर्ने निर्णय गरेको थियो। घाइतेलाई दीर्घकालीन पुनर्स्थापनका विषयमा पनि सरकारी निकायबिच गम्भीर छलफल भइरहेको गृहमन्त्री ओमप्रकाश अर्यालले बताए । गृह मन्त्रालयले जेनजी आन्दोलनका क्रममा मृत्यु भएका ५३ जनाका परिवारलाई १५ लाख रुपैयाँका दरले आर्थिक सहायता तथा किरिया खर्च पठाएको छ। तीमध्ये ४९ जनाका परिवारले प्राप्त गरिसकेको छ र ४ जनाका परिवारलाई बुझाउने प्रक्रिया चलिरहेको छ। सहिदका आफन्तबिच सहमति कायम गरी बाँकी ४ जनालाई पनि सहायता उपलब्ध गराउने प्रयास भइरहेको छ।भदौ ३० कै मन्त्रिपरिषद् बैठकले मृतक नेपाली नागरिकका परिवारलाई १० लाख रुपियाँ आर्थिक सहायता र ५ लाख रुपियाँका दरले काजकिरिया तथा अन्य खर्चका लागि वितरण गर्ने निर्णय गरेको छ। आन्दोलनको मौका छोपी भाग्ने क्रममा मृत्यु भएका कैदीबन्दीलाई भने यो रकम वितरण गरिने छैन। सो अनुसार हालसम्म पहिचान खुलेका ५३ जना मृतक परिवारलाई १५ लाखका दरले उक्त रकम पठाइएकोमा ४९ जनाको परिवारले बुझेको र अन्य ४ जनाको परिवारलाई बुझाउने प्रक्रियामा रहेको बताइएको छ ।
परिवारका सदस्यहरूको आग्रह बमोजिम मृतकका शवहरूको व्यवस्थापनका लागि निःशुल्क सवारी साधन एवम् दुर्गमको हकमा हेलिकोप्टरको व्यवस्थापन गरिएको थियो। यस अनुसार सङ्खुवासभा, धनकुटा, सिराहा, सुनसरी र उदयपुर जिल्लामा ६ जनाको शव हेलिकोप्टरमार्फत पठाइएर परिवारको जिम्मा लगाइएको थियो।सहिदको सम्मानमा गत असोज १ गते राष्ट्रिय शोक मनाउन सार्वजनिक सूचना प्रकाशित गरी उक्त दिन सार्वजनिक बिदा दिइएको थियो। त्यस दिन राष्ट्रिय झण्डा आधा झुकाइएको थियो। जेनजी पुस्ताको नाममा काठमाडौँ उपत्यकाभित्रको उपयुक्त स्थानमा जेनजी जागरण स्मारक पार्क निर्माण गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ। यो निर्णय कार्यान्वयनका लागि सहरी विकास मन्त्रालयले प्रक्रिया अघि बढाइरहेको छ।
जेनजी आन्दोलनका क्रममा ७६ जनाको मृत्यु भएको छ। जसमा नेपाल प्रहरी ३ सहित पहिचान खुलेका नागरिक ५३ जना छन्। १२ जनाको अझै पहिचान खुल्न सकेको छैन। कारागारबाट भाग्न लाग्दा सुरक्षाकर्मीले चलाएको गोली लागी १० जना कैदीको मृत्यु भएको छ। एक जना विदेशीको पनि ज्यान गएको छ।
सहिद घोषणा प्रयोजनका लागि मृतकहरूको पुष्टयाइँसहितको प्रहरी प्रतिवेदन र सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत यकिन विवरण सङ्कलनको कार्य भइरहेको गृह मन्त्रालयले जनाएको छ। जेनजी आन्दोलनमा भएको दमन र क्षतिको जाँचबुझ गर्न सरकारले न्यायिक आयोग गठन गरेको छ। पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको उक्त आयोगले तीव्रताका साथ काम अघि बढाएको छ।
-

प्रधानमन्त्रीले दलहरुसँग गरिन् निर्वाचन लक्षित सर्वदलीय बैठक
४ कात्तिक, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सर्वदलीय बैठक जारी छ। सर्वदलीय बैठकमा विभिन्न राजनीतिक दलका दोस्रो तहका नेता सहभागी छन्। प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालका अनुसार बैठकमा कांग्रेस, एमाले, माओवादीसहित राष्ट्रिय मान्यता प्राप्त दलका साथै निवर्तमान संसद्मा प्रतिनिधित्व गर्ने दलका नेता र प्रतिनिधि सहभागी छन् ।
दलसँगको आगामी चुनावका लागि आयोजित राजनीतिक दलसँगको संवादमा सरकारका तर्फबाट उपस्थित प्रधानमन्त्री कार्कीसँगै अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जामन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल, कृषिमन्त्री मदन परियार, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेल सहभागी भए । सञ्चारमन्त्री जगदीश खरेलले सुरुमा स्वागत र विषयवस्तुमा प्रकाश पारेका थिए ।दलका नेतासँगको छलफल प्रधानमन्त्री निवासको सगरमाथा कक्षमा जारी छ। छलफलमा कांग्रेसका महामन्त्री गगन थापा, प्रवक्ता प्रकाशशरण महत, नेकपा ९एमाले०का महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीपकुमार ज्ञवाली, नेकपा (माओवादी केन्द्र) का वर्षमान पुन, पम्फा भुसाल, राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले, सोविता गौतम, राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र गुरुङ, मोहन श्रेष्ठ, एकीकृत समाजवादीबाट राजेन्द्र पाण्डे, प्रकाश ज्वाला उपस्थित छन् ।
त्यसैगरी छलफलमा जनता समाजवादी पार्टीबाट उपेन्द्र यादव र प्रकाश अधिकारी, लोकतान्त्रिक समाजवादी पार्टीबाट सर्वेन्द्रनाथ शुक्ल, नागरिक उन्मुक्त पार्टीबाट रेशम चौधरी, नेपाल मजदुर किसान पार्टीबाट प्रेम सुवाल र जनमत पार्टीबाट चन्दन सिंहलगायत नेता सहभागी छन् । छलफलमा प्रधानमन्त्री कार्कीले केदारभक्त माथेमा र विद्याधर मल्लिकले पर्यवेक्षकका रूपमा बोलाएकी हुन् ।
-

प्रधानमन्त्री र जेन-जी आन्दोलनका घाइतेहरुबीच भेट, के भयो कुराकानी ?
४ कात्तिक, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेन–जी आन्दोलका घाइतेहरूसँग बालुवाटारमा ४ घण्टाभन्दा बढी समय छलफल गरेकी छन् । आज बिहान साढे १० बजे सुरु भएको छलफल केहीबेरअघि सकिएको छ। घाइतेहरूले सरकारलाई भ्रष्टाचारी र दमनकारीविरुद्ध कठोर ढंगले प्रस्तुत हुन सुझाव दिएका छन्। भ्रष्टाचारीमाथि कारबाही नभए सडकमा उत्रिएर अर्को आन्दोलन गर्ने चेतावनी पनि दिएका छन् ।
घाइते रुपिन खड्काको नेतृत्वमा आएको १८ जनाको समूहले क्रान्तिबाट आएको सरकारले क्रान्तिकारी कदम चाल्नुपर्ने बतायो । घाइतेहरूका तर्फबाट खड्काले भने, ‘जसकाविरुद्ध हामीले आन्दोलन गरेका थियौँ, तिनीहरूलाई तत्काल पक्राउ गर्न केले छेकेको छरु नियमले छेक्यो कि कानुन र संविधानले छेक्यो कि ? जहाँ बाधा छ, त्यहीँबाट फुकाउनु सुरु गरौँ।’
गृहमन्त्री ओमप्रकाश अर्यालले भ्रष्टाचार र आन्दोलनमा भएको दमनबारे छानबिनमा भएको प्रगतिबारे अवगत गराए । ‘तपाईँ चुनाव चुनाव मात्र भनिरहनुभएको छ। के ०८४ को चुनाव ०८२ मा सार्न मात्र यो सरकार आएको हो ?’ घाइते प्रतिनिधिहरूको भनाइ थियो । छलफलमा प्रधानमन्त्री कार्की,गृहमन्त्री अर्याल,ऊर्जामन्त्री कुलमान घिसिङ,शिक्षामन्त्री महावीर पुन,सञ्चारमन्त्री जगदीश खरेलको पनि सहभागिता थियो।
प्रधानमन्त्री कार्कीले भनिन्, ‘हामी जेन–जी आन्दोलनको मर्मभन्दा बाहिर जाँदैनौँ । प्रक्रियासम्मत ढंगले कानुनी रुपमा तल नपर्ने गरी हामी काम गर्छौँ। हामीलाई दिइएको म्यान्डेटअनुसार चल्छौँ। चुनाव पनि हुन्छ, भ्रष्टाचारको अनुसन्धान पनि हुन्छ। राज्यका स्थापित निकायले तीव्र गतिका साथ भ्रष्टाचारको छानबिन गरिरहेका छन्। आआफ्नो ठाउँबाट काम भइरहेको छ। तपाईँहरू बोल्न नछाड्नुहोस्। हामीलाई दबाब दिन पनि नछाड्नुहोस्। हेर्नुहोला, अब नतिजा आउँछ। छानबिनमा परेपछि बाहिर कसले केके बोलिरहेका छन्, सुन्नुभएकै होला।’ घाइतेहरूले कतिपय आरोपित व्यक्ति भाग्न खोजेको र अकुत सम्पत्ति लुकाउन लागेको भन्दै चिन्ता व्यक्त गरेका थिए। गृहमन्त्री अर्यालले भाग्न खोजेकाहरू,लुकेकाहरू पनि भाग्न नसक्ने अवस्था आएपछि ‘नेपालमै छु’ भनेर देखापर्न थालेको बताएका थिए।
-

२०२८ देखि इयूले रुसी तेल आयातमा पूर्ण रोक लगाउने
४ कात्तिक, काठमाडौं । युरोपेली संघ (इयु)ले रुसबाट इन्धन आयात बन्द गर्ने निर्णय गरेको छ । २०२८ को जनवरी १ देखि इयुले रूसबाट हुने सबै खाले इन्धन आयातमा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेको हो । सोमबार लक्जमबर्गमा आयोजित इयुका ऊर्जामन्त्रीहरूको बैठकमा उक्त निर्णय भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अलजजिराले जनाएको छ । अलजजिराका अनुसार इयुका लगभग सबै सदस्य देशहरूले युरोपेली आयोगको प्रस्तावलाई समर्थन गरेका छन् ।
यो प्रस्ताव युरोपलाई ऊर्जामा आत्मनिर्भर बनाउने दिशामा निर्णायक कदम भएको इयु परिषद्को अध्यक्षता गर्ने डेनमार्कका ऊर्जामन्त्री लार्स अगार्डले बताए । यद्यपि, हंगेरीका विदेशमन्त्री पिटर सिज्जार्टोले उक्त प्रस्तावको विरोध जनाउँदै यसले युरोपेली मुलुकहरूको ऊर्जा सुरक्षामा गम्भीर संकट निम्त्याउने बताए ।
यो प्रतिबन्ध पाइपलाइनमार्फत आयात गरिने तेल र तरल प्राकृतिक ग्यास (एलएनजी) दुवैमा लागू हुनेछ ।२०२६ को जनवरी १देखि रूसी ग्यासको आयात बन्द हुनेछ । तर पहिलादेखि नै चलिरहेको छोटो अवधिका सम्झौताहरूलाई २०२६ को जुनसम्म छुट दिइनेछ । दीर्घकालीन सम्झौताहरू भने २०२८ सम्म जारी रहन सक्ने भनिएको छ । रूस–युक्रेन युद्ध सुरु भएयता रूसले ग्यास आपूर्तिलाई हतियारको रूपमा प्रयोग गरेको अनि आपूर्तिमा बारम्बार अवरोध आएपछि इयुले यो कदम चालेको हो । हाल युरोपेली संघमा रुसबाट करिब १३ प्रतिशत प्राकृतिक ग्यास आयात हुने गरेको छ, जसको वार्षिक मूल्य लगभग १५ अर्ब युरो (अन्दाजी १७.५ अर्ब अमेरिकी डलर) बराबर छ ।
-

कार्तिक कृष्ण अमावास्यः श्रद्धा भक्तिपूर्वक गरियो लक्ष्मीपूजा
काठमाडौँ, कात्तिक ४ गते । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन सोमबार साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको विधिपूर्वक पूजाआराधना गरी श्रद्धा भक्तिका साथ लक्ष्मीपूजा पर्व मनाइएको छ । प्रत्येक वर्ष कार्तिक कृष्ण औँसीको साँझ विधिपूर्वक सम्पन्नताकी देवी लक्ष्मीको विधिपूर्वक पूजाआराधना गर्ने वैदिक सनातनी परम्परा छ । लक्ष्मी पूजाका लागि सोमबार साँझ आँगन, मूलढोका हुँदै लक्ष्मी स्थापना गर्ने पूजाकोठा वा ढुकुटीसम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरेर चामलको पीठो र अविरले लक्ष्मीको पाइला बनाएर लक्ष्मी आउने बाटो देखाइन्छ । पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्ज्वलन गरी झिलीमिली बनाउँदै लक्ष्मीपूजा गर्ने परम्परा छ ।
दीपमालिकासमेत गरेर मनाइने यो पर्वमा दीपावली गरिसकेपछि पूजाकोठामा दीयो, कलश र गणेशसहित थालीमा अष्टदल लेखेर लक्ष्मीको प्रतिमा स्थापना गरी गरगहना, पैसा पूजा गर्नुका साथै फलफूल, सेलरोटी र फूलमाला चढाइएको छ । लक्ष्मीपूजापछि कन्या केटी र छोरीचेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरेर दक्षिणासमेत दिने गरिन्छ । सोमबार घरमा लक्ष्मीपूजा गरेपछि धनदौलत वा अन्य सामान घरबाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वाससमेत छ ।
घरका साथै व्यापारिक प्रतिष्ठानमा विधिपूर्वक लक्ष्मीपूजा गरिएको छ । यसअघि गरिएको दीपावलीले काठमाडौँ उपत्यकासहित प्रमुख सहर उज्यालोले झिलिमिलि बनेको छ । उज्यालोले घरबाहिरको वातावरण उल्लासमय बनेको छ । उपत्यकामा दशैँको भन्दा बढी चहलपहल तिहारमा देखिएको छ । यसैले लक्ष्मीपूजाको रातलाई सुखरात्रि पनि भनिन्छ । वर्षभर पर्ने चार प्रमुख रात्रिमध्ये यो पनि एक रात्रि हो ।
सोमबार साँझ युवायुवतीहरूले समूह बनाई घरघरमा भैलो खेलेका छन् । भगवान् विष्णुबाट यमपञ्चकको पाँच दिन स्वर्ग, मत्र्य र पाताल तीनै लोकको शासन गर्ने वरदान पाएका बलिराजाले भलो होस् भनी घरघरमा गाउन लगाएको सम्झनामा भैलो खेल्ने गरिएको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले बताउनुभयो । “भलो होस् भन्ने शब्द अपभ्रंश भई समयक्रममा भैलो हुन आएको हो, सबैको भलो होस् भनी भैलो खेल्ने परम्परा बसेको हो”, उहाँले भन्नुभयो ।
कर्णाली प्रदेशको खसराज्यमा शासन गरेका बलिराजाले भैलोको चलन चलाएको भनी त्यस क्षेत्रमा चर्चा हुने गरेको छ । यो पर्वमा भैलो खेल्न आउनेलाई धान, चामल, फूलमाला, पैसा र सेलरोटीसमेत दिने गरिन्छ । भैलो खेल्न आउनेलाई दिइने दान कात्तिकको दान भएकाले नदिएमा नकारात्मक असर गर्ने र दिएमा पुण्य प्राप्त हुने धार्मिक विश्वास रहिआएको प्राडा गौतमले बताए ।
सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा सोमबार बिहानै घर सफासुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरेपछि धार्मिक विधिपूर्वक लक्ष्मीपूजा गरिएको प्राडा गौतमले जानकारी दिए ।
उनका अनुसार विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली, भर्याङलगायत स्थानमा सरसफाइ गरी दीपावली गरेपछि लक्ष्मी घरमा प्रवेश गर्ने जनविश्वास रहेकाले सोहीअनुसार लक्ष्मीपूजा गरिएको हो । रासस -

मुस्ताङमा पर्यटकको घुइँचो, एक महिनामै साढे ७५ हजार पुगे
४ कात्तिक, काठमाडौं । मुस्ताङमा असोज महिनामा ७५ हजार ५९९ पर्यटकले भ्रमण गरेका छन् । दसैँ तथा तिहार पर्वको विदाका अवसरमा मुस्ताङ भ्रमण गर्ने पर्यटकको सङ्ख्या बढेको हो । प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको दर्शनसँगै हिमाली क्षेत्रको पृथक भूगोल, यहाँको मनोरम जैविक तथा प्राकृतिक सौन्दर्यता अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ भ्रमण गर्न लालायित हुन्छन । यहाँको कोरलानाका, लोमान्थाङ दरबार, छोसेर गुफा, ढुम्बाताल, ठिनी र जोमसोम र मार्फा बस्तीसँगै यहाँको निलगिरि र धौलागिरि हिमशृङ्खला अवलोकन गर्न यहाँ पर्यटक आउने गरेका छन् ।
असोजमा बेनी–जोमसोम सडकमार्ग हुँदै ६५ हजार ७४० आन्तरिक पर्यटक र ९ हजार ८५९ विदेशी पर्यटक मुस्ताङ भित्रिएका प्रहरी नायव उपरीक्षक छिरिङ किप्पा लामाले जानकारी दिए । असोज २१ गतेदेखि ३१ गतेसम्मको १० दिनको अवधिमा बेनी–जोमसोम सडकमार्ग हुँदै ४९ हजार ३७१ आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ भित्रिएका थिए।
प्रहरी नायव उपरीक्षक लामाका अनुसार आन्तरिक तथा बाह्य गरी १४ हजार ३८९ पर्यटकले उपल्लो मुस्ताङको भ्रमण गरेका थिए । यसमा १३ हजार ९२९ आन्तरिक र ४५० विदेशी पर्यटक रहेका थिए । गत वर्ष असोजमा कूल ५९ हजार ८३१ आन्तरिक तथा बाह्य पर्यटकले मुस्ताङको भ्रमण गरेका थिए । सो अवधिमा ४७ हजार २९३ आन्तरिक र १२ हजार ५३८ विदेशी पर्यटकले मुस्ताङको भ्रमण गरेको तथ्याङ्कमा उल्लेख छ ।
मुस्ताङमा गतवर्षको तुलनामा यसवर्ष आन्तरिक र बाह्य गरी २०.८५ प्रतिशतले पर्यटक सख्या घटेको देखिएको छ । मुस्ताङमा चालु आवको साउनदेखि असोजसम्ममा एक लाख १८ हजार ६८९ पर्यटक भित्रिएका थिए । साउनदेखि असोजसम्ममा ९१ हजार १२५ आन्तरिक र २७ हजार ४६४ विदेशी पर्यटक मुस्ताङ भित्रिएका हुन्।
आर्थिक वर्ष २०८१–८२ मा आन्तरिक तथा बाह्य गरी सात लाख पाँच हजार ७७९ पर्यटकले मुस्ताङको भ्रमण गरेका थिए । सो अवधिमा पाँच लाख ५५ हजार ३२६ आन्तरिक र एक लाख ५० हजार ४५३ विदेशी पर्यटकले मुस्ताङको भ्रमण गरेको तथ्याङ्क छ । रासस
-

कस्तो रहनेछ आजको मौसम ?
४ कात्तिक, काठमाडौं । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । जल तथा मौसम विभागका अनुसार मङ्गलबार दिउँसो सबै प्रदेशको पहाडी भू भागमा आंशिक बदली रही बाँकी भू भागमा मुख्यतया सफा रहने छ । कोशी, कर्णाली प्रदेशका पहाडी भू भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । विभागका अनुसार आज राति देशभरको मौसम मुख्यतया सफा रहने छ । रासस
-

कागेश्वरी मनोहरमा कार र स्कुटर ठोक्किए, एक जनाको मृत्यु
४ कात्तिक, काठमाडौं । काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका –६ मुलपानी नर्लिङगेटस्थित सडकमा कारको ठक्करबाट गम्भीर घाइते भएका स्कुटर चालकको उपचारका क्रममा मृत्यु भएको छ ।
उक्त सडक खण्डमा बा ५ च ८३२० नम्बरको कारले बाप्र.०२–०२७ प ६७३० नम्बरको स्कुटरलाई ठक्कर दिँदा सिन्धुपाल्चोक बलेफी गाउँपालिका –३ घर भइ हाल कागेश्वरी मनोहरा नगरपालिका –६ थली बस्ने ३६ वर्षीय मिङ्मार पाख्रिनको उपचारको क्रममा मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिए ।
उनले भने, “कारको ठक्करबाट पाख्रिन आइतबार राति गम्भीर घाइते भएका थिए । उनको शङ्खरापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।” ठक्कर दिने कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
-

दिपावलीकै दिन विपिनको घरमा शव, परिवारजनमा बज्रपात
४ कात्तिक, काठमाडौं । कञ्चनपुरका विपिन जोशीको शव उनको घरमा पु¥याइएको छ । सोमबार इजरायलबाट काठमाडौं पुगेको शव सोही दिन नै उनको घर लगिएको हो । नेपाली सेनाको स्काइ ट्रकमा काठमाडौंबाट धनगढी ल्याइएको शव धनगढी विमानस्थलबाट धनगढी उपमहानगरपालिकाको शव बाहनमा राखेर भीमदत्त नगरपालिका–३ जोशीको घरमा लगिएको थियो । नेपाल प्रहरीको स्कर्टिङमा शव लगिएको थियो । शव घरमा पुगिसकेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
सबैतिर तिहारको रमझम चलेको बेला छोराको शव पुगेपछि जोशी परिवार शोकमा डुबेको छ । टीकापुर कृषि क्याम्पसमा अन्तिम वर्षको परीक्षा दिएर सिक्दै कमाउँदै कार्यक्रम अन्तर्गत ११ महिनासम्म इन्टर्नका लागि विपिनसहित ४९ जना विद्यार्थी इजरायल पुगेका थिए । २०२३ अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गर्दा १० जनाको ज्यान गएको थियो । विपिनलाई भने हमासले बन्धक बनाएर लगेको थियो । बन्धक बनाइएको विपिनको दुई वर्ष अगाडि नै हत्या गरिएको इजरायलले पुष्टि गरेको छ । विपनको आज राष्ट्रिय सम्मानका साथ अन्त्येष्टी गरिँदैछ ।
-

भरतपुरमा स्कुटर दुर्घटना, दुई जनाको मृत्यु
४ कात्तिक, काठमाडौं । भरतपुर महानगरपालिका–१० स्थित एयरपोट नजिकै सोमबार राति भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यलय चितवनका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार राति २ बजे बा.प्र.०६–००३ प ०६९२ नं।को स्कुटर आफैँ अनियन्त्रित भई पल्टदा सो दुर्घटना भएको हो ।
दुर्घटनामा परी स्कुटर चालक भरतपुर म.न.पा.२१ वस्ने वर्ष २५ को संदिप घिमिरे र स्कुटर पछाडी सवार वर्ष २८ को कुशल अर्यालको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनापछि गम्भीर घाइते भएका दुवैको भरतपुर अस्पतालमा उपचारका क्रममा राति नै निधन भएको हो । उनिहरु दुबै जनाको टाउकोमा गम्भीर चोट थियो ।
-

लक्ष्मी पूजाकै दिन टियू मैदानमा फ्लडलाइट परीक्षण, यस्तो देखियो माहोल (फोटो फिचर)
३ कात्तिक, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज फ्लडलाइटको परीक्षण गरिएको छ । लक्ष्मी पूजाका दिन गरिएको यो परीक्षणका दौरान क्रिकेट मैदान मनमोहक देखिएको छ । अब यो विमानस्थलमा रातको समयमा समेत क्रिकेट खेल्न सम्भव हुने भएको छ ।
यस्तो छ आजको दृष्य





-

लक्ष्मी पूजाको साँझ विद्युतको उच्च माग १६५० मेगावाट मात्र
लक्ष्मी पूजाको साँझ विद्युतको अधिकतम माग १६५० मेगावाट मात्र रहेको पाइएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार आज ६ः५० बजे सबैभन्दा उच्च माग मापन गरिएको छ । साँझ आन्तरिक माग १६५० पुरा गरी १०१५ मेगावाट विद्युत निर्यात समेत भएको छ । यससँगै आजको माग धान्न कुल २६६५ मेगावाट नै पर्याप्त भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । आज काठमाडौं सहित ठूलो शहरमा विद्युत अपत ह्वात्तै बढ्छ । तर, पछिल्ला दिनमा लक्ष्मी पूजामा समेत अधिकतम माग कम हुन थालेको छ ।
-

दिपावलीमा धपक्कै बल्यो काठमाडौं
३ कात्तिक, काठमाडौं । लक्ष्मी पूजा तथा दिपावली आज नेपालभर हर्षोल्लाससहित मनाइयो । यस अवसरमा आज काठमाडौं विशेष रुपमा सिंगारियो । झिलिमिली लाइटका कारण आजको साँझ काठमाडौं धपक्कै बलेको थियो । सन्ध्याकालिन काठमाडौं नियाल्न अग्लो स्थानमा जाने प्रचलन समेत बढेको छ ।
-

महावीरले मन्त्री भएपछि गरे पहिलो पत्रकार भेटघाट, के भने ?
३ कात्तिक, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले त्रिभुवन विश्वविद्यालयको जग्गा खोजबिन समितिको प्रतिवेदनमा प्राप्त सुझावका आधारमा मन्त्रालयले उपयुक्त कदम चाल्ने बताएका छन् । मन्त्रालयको जिम्मेवारी सम्हालेपछि आज पत्रकार सम्मेलन आयोजना गरी उनले खोजबिन समितिले औँल्याएका केही विषय कार्यान्वयनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइने बताए ।
“त्रिभुवन विश्वविद्यालयको जग्गा हड्पेर धेरै वर्षदेखि उपयोग गरेर नाजायज फाइदा लिइरहेको अवस्था रहेको छ । समितिको प्रतिवेदनका आधारमा मन्त्रालयले उपयुक्त कदम चाल्ने छ । मन्त्रालयबाट सल्टाउन नसकिने विषयको थप छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लेखी पठाइनेछ”, मन्त्री पुनले भने ।
त्रिविको जग्गा खोजबिनसम्बन्धी समितिको प्रतिवेदन अपूरो रहेको उल्लेख गर्दै उहाँले अझै गहन छानबिन गर्न गर्नुपर्ने आवश्यकता रहेको बताए । समितिको सिफारिसलाई नै टेकेर अर्को छानबिन समिति बनाउने तयारी गरिएको उनको भनाइ छ ।
यस्तै सुदूरपश्चिम विश्वविद्यालयको धेरै जग्गा हड्पेको भन्ने उजुरी मन्त्रालयमा प्राप्त भएको जानकारी दिँदै उनले त्यसका लागि पनि छानबिन समिति गठन गरिने बताए । मन्त्री पुनले पछिल्लो समय प्रविधिको विकास भएअनुसार हाम्रा विद्यार्थी पछि नपरून् भनेर माध्यमिक तहसम्म एक सय पूर्णाङ्कको ‘कम्प्युटर’ विषय थप गर्ने निर्णय भएको जानकारी दिए । सो अवसरमा उनले पत्रकारसँग थुप्रै विषयमा अन्तरंग कुराकानी गरेका थिए ।
-

प्रचण्डको सचिवालयबाट गंगाले दिइन् राजिनामा
३ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डकी छोरी गंगा दाहालले सचिवालयबाट राजीनामा दिएकी छिन् । आफूलाई देखाएर निरन्तर बुवा प्रचण्ड र सिंगो पार्टीविरुद्ध प्रहार भएका कारणले आफूले राजीनामा दिएको गंगाले बताएकी छिन् । ‘निरन्तर मलाई देखाएर नेकपा ९माओवादी केन्द्र०का संयोजक प्रचण्ड र समग्र पार्टीविरुद्ध योजनावद्ध प्रहार भइरहेका कारणले गर्दा मैले संयोजकको सचिवालयबाट राजीनामा दिएकी छु,’ उनले भनेकी छिन् ।
पार्टीमा जिम्मेवार कार्यकर्ता भएर सधैं क्रियाशील रहने पनि उनले बताएकी छिन् । ‘पार्टीको जिम्मेवार कार्यकर्ता भएकाले आजीवन रूपमा पार्टीमा भने क्रियाशील रहनेछु। सचिवालयमा रहँदा पार्टीका नेताहरू, कार्यकर्ताहरू र आम नागरिकले गरेको सहयोगप्रति हार्दिक आभार व्यक्त गर्दछु,’ उनले भनेकी छिन् । आफ्नाबारे विभिन्न सञ्चारमाध्यममा भ्रामक समाचार आएको दाबी गर्दै उनले ध्यानाकर्षण पनि गराएकी छिन् ।
-

लक्ष्मीपूजाको दिन विद्युत् विद्युत् माग र आपूर्ति व्यवस्थापनको जानकारी लिन फिल्डमै कुलमान
३ कात्तिक, काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले लक्ष्मीपूजाको दिन विद्युत् विद्युत् माग र आपूर्ति व्यवस्थापनको जानकारी लिन सोमबार साँझ नेपाल विद्युत प्राधिकरणको स्यूचाटारस्थित प्रेषण केन्द्रको नियन्त्रण कक्षको भ्रमण गरेका छन् । ऊर्जा,जलस्रोत मन्त्रालयका सचिव चिरञ्जीवी चटौत, विद्युत नियमन आयोगका अध्यक्ष रामप्रसाद धिताल, मन्त्रालयका सहसचिवहरु, विद्युत विकास विभागका महानिर्देशन, प्राधिकरणका कार्यकारी निर्देशक, उपकार्यकारी निर्देशहरुलगायत सम्मिलित टोली विद्युत् र आपूर्ति अवस्थाका बारेमा जानकारी लिएको थियो ।
विगत वर्षमा झै यस वर्ष लक्ष्मीपूजाका दिन मुलकभर विनाअवरोध विद्युत् आपूर्ति गर्न प्राधिकरण सफल भएको छ । प्राधिकरणले लक्ष्मीपूजाको दिन विद्युत अवरोध हुन नदिन मुलुकभर रहेका वितरण केन्द्र विद्युत गृहका प्रमुखहरु र त्यहाँ रहेका प्राविधिक कर्मचारीलाई तयारी अवस्थामा राखेको थियो । २०७३ सालको भदौमा कार्यकारी निर्देशकमा नियुक्त भएका घिसिङ नेतृत्वको टोलीले विद्युत माग र आपूर्तिको व्यवस्थापन गरी सोही वर्षको लक्ष्मीपूजाको दिनबाट परीक्षणका रुपमा काठमाडौं उपत्यकाबाट लोडसेडिङ अन्त्यको सुरुवात गरेको थियो । -

विपिनलाई श्रद्धान्जली दिन प्रधानमन्त्रीसहित क्याविनेट टिम विमानस्थलमा
३ कात्तिक, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले इजरायलमा मारिएका विपिन जोशीको पार्थिव शरीरमा श्रद्धाञ्जली व्यक्त गरेकी छिन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित सभामा पुगेर उनले श्रद्धाञ्जली व्यक्त गरेकी हुन् । उनको साथमा क्याविनेट टिम सहभागी थियो । सो क्रममा उनले केहीबेर सम्बोधन गरिन् । उनले हमासको आक्रमणमा पर्ने बेलामा त्यतिबेला विपिनसहित नेपाली युवाहरूलाई परेको दुस्ख र संघर्ष हामीले यहाँ बसेर अनुभव गर्न नसकिने बताइन् ।
‘त्यहाँ अपहरणको शिकार हुँदा कति दुःख खेपे होलान् । कति कष्ट खेपे होलान् । के भएको थियो होला त्यो युवाको मनमा,’ उनले भनिन् ।
साथै, उनले विपिन जन्म दिने आमाको मात्रै नभइ सिंगो नेपाली र प्रत्येक नेपाली आमाको छोरा भएको बताइन् । हामीलाई त लाग्छ नि, विपिन एउटा नेपाली छोरो, हामी सबैको हो । प्रत्येक नेपाली आमाको छोरो । अब कसैले विपिनलाई बिर्सन सक्दैन । उसले गरेको संघर्ष, हिम्मत साहसको गौरव छ,’ उनले भनिन्, ‘तर पनि विपिन छ हाम्रो लागि । उसलाई सशरीर नदेखे पनि हाम्रो मनमा छ । विपिन कहिल्यै पनि मर्ने छैन ।’अध्ययनको सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका विपिन जोशी गत २०२३ अक्टुबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए । त्यसपछि उनको अवस्था अज्ञात रहेकोमा गत असोज २७ गते इजरायली अधिकारीहरुले उनको मृत्यु पुष्टि गरेका थिए । इजरायल र हमासबीच युद्धविराम सम्झौतापछि बन्दी साटासाट गर्ने क्रममा हमासले विपिनको भनेर इजरायली सेनालाई शव हस्तान्तरण गरेको थियो ।
उनको डीएनए परीक्षणबाट शव विपिनकै भएको पुष्टि भएको थियो भने फरेन्सिक जाँचमा अपहरण भएताका नै मृत्यु भएको पाइएको इजरायलस्थित नेपाली दूतावासका अधिकारीहरुले बताएका छन् । विपिनको शव नेपाल ल्याउनुअघि आइतबार इजरायलको राजधानी तेल अवीवस्थित खटिभा ८ को स्मारक, बेनगुरिएन विमानस्थलमा श्रद्धाञ्जली दिइएको थियो । उनको अव आजै कञ्चनपुरस्थित घरमा लगिएको छ ।
-

विपिन जोशीको शव नेपाल ल्याइयो, परिवारलाई हस्तान्तरण
३ कात्तिक, काठमाडौं । इजरायलमा मारिएका विपिन जोशीको पार्थिव शरीर उनको परिवारलाई बुझाइएको छ । सोमबार साँझ धनगढी विमानस्थल पुर्याइएको विपिनको शव नेपाली सेनाको टोलीले सम्मानसहित परिवारलाई बुझाएको हो । जोशीका दाजु किशोर जोशीसहितका आफन्तले शव बुझेका हुन्। उनको महाकाली घाटमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।
आजै दिउँसो उनको शव नेपाल ल्याइएको थियो । उनको शव आजै कञ्चनपुरको भिमदत्तनगरपालिकास्थित घरमा लगिएको छ । कञ्चनपुरमै उनको अन्तिम दाह संस्कार गरिने छ । अध्ययनको सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका विपिन जोशी गत २०२३ अक्टुबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए । त्यसपछि उनको अवस्था अज्ञात रहेकोमा गत असोज २७ गते इजरायली अधिकारीहरूले उनको मृत्यु पुष्टि गरेका थिए ।
इजरायल र हमासबीच युद्धविराम सम्झौतापछि बन्दी साटासाट गर्ने क्रममा हमासले विपिनको भनेर इजरायली सेनालाई शव हस्तान्तरण गरेको थियो । उनको डीएनए परीक्षणबाट शव विपिनकै भएको पुष्टि भएको थियो भने फरेन्सिक जाँचमा अपहरण भएताका नै मृत्यु भएको पाइएको इजरायलस्थित नेपाली दूतावासका अधिकारीहरूले बताएका छन् । विपिनको शव नेपाल ल्याउनुअघि आइतबार इजरायलको राजधानी तेल अवीवस्थित खटिभा ८ को स्मारक, बेनगुरिएन विमास्थलमा श्रद्धाञ्जली दिइएको थियो । उनको शव रहेको कफिनमा नेपाली झण्डा ओढाइएको छ ।

-

‘नेचर’ र ‘कल्चर’को अद्भुत संगमस्थल ‘मौरिस हर्जोग’ पदमार्ग : ‘जेनजी’ पुस्ताको पहिलो रोजाइ
सन्तोष गौतम
म्याग्दी, कात्तिक ३ गते । स्नाकोत्तर तहको तेस्रो वर्षमा अध्ययनरत पोखराकी २५ वर्षीया दिवाना सुनुवार यसपालीको दसैँ–तिहारको छुट्टी मनाउन साथीहरुसँगै यहाँस्थित अन्नपूर्ण आधार शिविर र ‘मौरिस हर्जोग’ पदमार्गका यात्रामा निस्कनुभयो । काभ्रे बनेपाकी अनुषा लामा पनि क्याम्पसका साथीहरुसँगै अन्नपूर्ण आधार शिविर पुगेर फर्कनुभयो । पोखराकी दिवाना र बनेपाकी अनुषा लामा अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण आधार शिविरको भ्रमणमा आएका ‘जेनजी’ उमेर समूहका किशोरकिशोरी र युवायुवतिका प्रतिनिधि पात्र हुन् ।दसँैलगत्तै मौसममा सुधार आएपछि बिदामा मौरिस हर्जोग पदमार्ग र अन्नपूर्ण आधार शिविरमा अपेक्षा गरेभन्दा धेरै आन्तरिक पर्यटक आएका छन् । दैनिक तीन सय जनाको अनुपातमा अन्नपूर्ण आधार शिविर घुम्न आउने आन्तरिक पर्यटकमध्ये ८० प्रतिशत ‘जेनजी’ पुस्ताका रहेका पञ्चकुण्ड ताल नजिकै होटल सञ्चालन गरेकी नरिमाया गर्बुजा गुरुङले बताउनुभयो ।
“सामाजिक सञ्जाल र सञ्चार माध्यमको भिडियो, फोटो हेरेर यहाँ आउनेहरु धेरै छन्,” उहाँले भन्नुभयो “अपेक्षा गरेभन्दा र हाम्रो होटलको क्षमता भन्दा धेरै पर्यटक आउँदा खाना र बसाइ व्यवस्थापन गर्न हम्मेहम्मे भएको छ ।” विदेशी पर्यटक न्यून मात्रामा छन् । पदमार्गमा प्रौढ र पाका उमेरका पदयात्रीहरु कमै भेटिन्छन् । दश जोड दुई र क्याम्पस तहको अध्ययन गर्ने उमेर समूहका युवायुवतीका समूह तस्बिर, भिडियो बनाएर प्रकृतिसँग रमाइहेको भेटिन्छ । सामाजिक सञ्जाल र सञ्चार माध्यममा देखेको तस्बिर र भिडियोले लोभ्याएर अन्नपूर्ण आधार शिविर घुम्न आएको तनहुँको देवघाटकी सङ्गीता लामाले बताउनुभयो ।
“हिमाल र फेदीमा ठूलो ताल एकै पटक अवलोकन गर्न पाउनु यहाँको मुख्य विशेषता हो,” उहाँले भन्नुभयो “हाम्रो पुस्तामा नयाँ नयाँ ठाउँ घुमघाम गरेर छुट्टी मनाउने ‘टे«ण्ड’ बढेको छ ।” सामाजिक सञ्जाल र प्रविधिमा अभ्यस्त ‘जेनजी’हरु नयाँ, नयाँ ठाउँ घुम्न र प्रकृतिमा रमाउन चाहने पर्वतको जलजला गाउँपालिका–४ का सन्दर्भ आचार्यले बताउनुभयो ।
छोटो दुरीमा आधार शिविरमा पुग्न सकिने, हिमाल, ताल, फरक फरक भूगोल, नदीनाला, झरना, वनजङ्गल, वन्यजन्तु र पक्षीहरुको एकै पटकको यात्रामा अवलोकन गर्न पाइने भएकाले जेनीहरुको रोजाइमा अन्नपूर्ण आधार शिविर र मौरिस हर्गोज पदमार्ग परेको उहाँको भनाइ छ । कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडक अन्तर्गत नारच्याङदेखि हुमखोलासम्म २० किलोमिटर कच्ची सडक र १८ किलोमिटर पदमार्गको यात्रा गरेपछि समुद्री सतहदेखि चार हजार एक सय ५० मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविर पुगिन्छ ।
निलगिरि खोलाको किनारै किनार रहेको पदमार्गमा फुतफुते, छयाली, रातो लगायतका मनमोहक झरना छन् । आकाशे गुफालगायत अनौठा र पृथक भूगोल अवलोकन गर्न सकिन्छ । फुच्चे प्रजातिको गुराँस पाइने यो पदमार्गमा मृग, घोरललगायत वन्यजन्तुको बासस्थान छ । अन्नपूर्ण हिमालको फेदीमा पञ्चकुण्ड ताल छ । निलो ताल र पृष्ठभूमिको हिमाललाई एकै साथ अवलोकन गर्न पाउँदा यात्राको सबै थकान मेटिने र मनमा उमङ्ग छाउने झापाबाट आएका विजय सेनताङले अनुभव सुनाउनुभयो ।
समुद्री सतहदेखि चार हजार ५० मिटर उचाइमा रहेको पञ्चकुण्ड तालदेखि एक घण्टा पैदलयात्रा गरेपछि अन्नपूर्ण आधार शिविरमा पुगिन्छ । निलगिरि र अन्नपूर्ण हिमालको फेदीमा समथर जमिनमा आधार शिविर छ । पञ्चकुण्ड ताल नजिकै रहेको कागभुसुन्डी डाँडाको धार्मिक महत्व छ । कागभुसुण्डी ऋषि र पञ्चकुण्ड तालको बारेमा हिन्दू धर्मग्रन्थ पञ्चरामाणयमा उल्लेख छ ।
सन् १९५० जुन ३ मा पहिलो पटक अन्नपूर्ण हिमाल आरोहण गरेका फ्रान्सका मौरिस हर्जोगको सम्मानमा अन्नपूर्ण गाउँपालिकाले विसं २०७७ मा नारच्याङदेखि आधार शिविर जोड्ने ‘मौरिस हर्जोग’ पदमार्ग घोषणा गरेको थियो । अन्नपूर्ण आरोहण भएको ७५ वर्ष पूरा भएको अवसरमा गत जेठमा गाउँपालिकाले आधार शिविरमा पहिलो आरोहण दलका सदस्यहरुको शालिक र आरोहीहरुको नामावली सहितको विवरण भएको खुल्ला सङ्ग्रहालय स्थापना गरेको छ ।
आठ हजार मिटरभन्दा अग्लो पहिलो मानव पाइला परेको हुँदा अन्नपूर्णलाई जेठो हिमाल भनिन्छ । विसं २०६८ मा नारच्याङका तेज गुरुङको अगुवाइमा पहिचान भएको मौरिस हर्जोग पदमार्गमा आधारभूत पूर्वाधार तयार भएपछि विसं २०८० देखि सञ्चालन गरिएको थियो । मानव बस्ती नभएको यो पदमार्गमा दुई वर्ष पर्यटक आफैले बन्दोबस्तीका सामान लिएर आधार शिविर भ्रमणमा गए । हिमाल आरोहण गर्ने टोली हेलिकप्टरबाट जाने गरेका थिए । गत वसन्तयामदेखि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना र गाउँपालिकाबाट अनुमति लिएर नारच्याङका बासिन्दाले हुमखोला, फुतफुते झरना, साँघीखर्क, गुफाफाँट, भुसकेत र पञ्चकुण्डमा अस्थायी संरचना बनाएर ५०÷५० जना क्षमताको होटल सुरु गरेका थिए ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप०मा स्थायी भौतिक संरचना निर्माणका लागि प्रक्रिया पूरा गरेर सरकारको अनुमति लिनुपर्छ । भुसकेतका होटल व्यवसायी माइकल पुनले काठ, त्रिपाल, जस्तापाताको टहरा, तथा टेन्टमा पर्यटकलाई राख्ने गरिएको बताउनुभयो । “एक्यापले पक्की संरचना बनाउन नदिने भएकाले ‘टेन्ट’, टहरामा पाहुना राख्नु परेको हो,” उहाँले भन्नुभयो “पाहुनाको चापसँगै क्षमता र सुविधा थप गर्न एक्यापले सहज गरिदिनुपर्छ ।”
होटलमा काम गर्नेदेखि भरियाको रुपमा सामान ओसार्न स्थानीयवासीले रोजगारी पाएका छन् । यसअघि वसन्तयाममा आरोही र स्थानीयहरु मात्र जाने आधार शिविरमा अहिले अन्य याममा पनि पर्यटक आउन थालेका छन् । विद्युत् र सञ्चार सुविधाको समस्या छ । अग्रिम बुक गरेर मात्र भ्रमणमा आउन होटल व्यवसायीहरुले अनुरोध गरेका छन् । पाहुनाको बढ्दो चापसँगै फोहरको चुनौती थपिएको छ । काठका अस्थायी झोलुङ्गे पुल र केही ठाउँमा साँघुरा पदमार्गमा आवतजावत गर्न समस्या भएको छ । फोहर व्यवस्थापन र पाहुनाको सहजताका लागि होटलको क्षमता बढाउन गाउँपालिका र एक्यापसँग पहल गरेको पदमार्गका अभियान्ता तेज गुरुङले बताउनुभयो ।
अन्नपूर्ण आधार शिविरको भ्रमण गरेर फर्कनुभएका गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले तातोपानीदेखि हुमखोलासम्मको सडक स्तरोन्नति, झोलुङ्गे पुल, पदमार्ग र होटल तथा आश्रयस्थलको क्षमता विस्तारका लागि गाउँपालिका, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, प्रदेश र सङ्घीय सरकारसँग समन्वय गर्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो “नेचर र कल्चरको अद्भुत संगमस्थल अन्नपूर्ण आधार शिविर र ‘मौरिस हर्जोग’ पदमार्गमा सञ्चार पहुँच पु¥याउन र सरसफाइमा ध्यान दिन जरुरी छ । यसका लागि म सक्दो सहयोग गर्दछु ।”
अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले मौरिस हर्जोग पदमार्गको प्रवद्र्धनका लागि महोत्सव, आरोहण दिवस मनाउने, अन्नपूर्ण हिमाल चढ्ने आधार शिविर म्याग्दीको भूगोलमा पर्ने तथ्य स्थापित, एकीकृत गुरुयोजना बनाएर पूर्वाधार निर्माणको कामलाई निरन्तरता दिएको जानकारी दिनुभयो । गाउँपालिकाले पदमार्ग, सार्वजनिक शौचालय, खानेपानी व्यवस्थापन, आश्रयस्थल निर्माणको कामलाई निरन्तरता दिएको छ । रासस
-

तिहारमा राष्ट्रपतिको सन्देश : पर्वले एकताको सुत्रमा बाध्ने छ
३ कात्तिक, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तिहार पर्वले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, भातृत्व, सुशासन र समृद्धिको भावना अझ अभिवृद्धि गर्न उत्प्रेरित गरोस भनी कामना गरेका छन् । तिहारको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइमा आज एक सन्देश जारी गर्दै उनले सुख, शान्ति, समृद्धि एवम उत्तरोत्तर प्रगतिको कामना गरेका हुन् ।
‘नेपाल मौलिक संस्कृतिले भरिपूर्ण मुलुक हो । हामीले मनाउने विभिन्न चाड पर्वहरूले विविधतालाई एकतामा बाँध्ने कार्य गर्दै आएको छ । यस्ता पर्वहरूमध्ये तिहार हिन्दुको महान पर्वको रूपमा रहेको छ । यस पर्वले विभिन्न जातजाति, भाषाभाषी र संस्कृतिलाई एकताको सुत्रमा बाँध्ने प्रयत्न गरेको छ’, राष्ट्रपतिले सन्देशमा भनेका छन् ।
राष्ट्रपति पौडेलले सांस्कृतिक, पौराणिक, व्यावहारिक, मनोवैज्ञानिक तथा वैज्ञानिक महत्व बोकेको तिहार पर्व उज्यालो र प्रकाशको पर्व पनि भएको उल्लेख गरेका छन् । तिहारका माध्यमबाट प्रकट हुने विभिन्न सांस्कृतिक अभ्यासले मानवीय जीवनमा प्रकाश छरी हामी सबैलाई सत्य, न्याय र सामाजिक सुशासनको मार्गमा अग्रसर रहन प्रेरित गर्न सकोस भन्ने उनले कामना गरेका छन् ।
तिहार पर्वलाई यमपञ्चक पनि भनिन्छ । यस पर्वमा काग, कुकुर, गाई, गोरु, पर्वत आदिको सम्मान गर्ने, पूजा गर्ने तथा लक्ष्मी पूजाको दिनमा भगवती लक्ष्मीको पूजा आराधना गरिन्छ । भाइटीकाका दिनमा दाजुभाइ तथा दिदीबहिनीबीच आपसमा टीका लगाई सद्भावका साथ पूजा अर्चना गरी हर्षोल्लासका साथ यो पर्व मनाइन्छ । भाइटीका लगाउने, म्हपूजा गरी आत्मशुद्धि गर्नेजस्ता चलनले प्रेम र स्नेह, सामाजिक एकता र समृद्धि, धर्म, दया र करुणा तथा अन्धकार माथिको प्रकाशको विजयजस्ता सन्देशहरू प्रवाह गरेको देखिने राष्ट्रपतिले उल्लेख गरेका छन् ।
-

प्रधानमन्त्रीबाट तिहारको सन्देश : एकताबद्ध रहने हाम्रो मौलिक संस्कृति हो
३ कात्तिक, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले शान्ति, समृद्धि र सुशासनको आकाङ्क्षा पूरा गर्न राष्ट्रिय सङ्कल्पका साथ अघि बढ्न आग्रह गरेकी छन् । प्रधानमन्त्री कार्कीले तिहार, म्हं पूजा, नेपाल संवत्को नयाँ वर्ष ११४६, छठ लगायतका पर्वका अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा स्वदेश र विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूलाई उक्त शुभकामना व्यक्त गरेकी हुन् । ‘कठिन परिस्थितिमा एकताबद्ध रहने हाम्रो मौलिक संस्कृति नै हो’, शुभकामना सन्देशमा भनिएको छ,’तसर्थ कुनै पनि भ्रममा नपरी हामी सबै मिलेर निराशा र अन्धकारको अन्त्य गर्दै नयाँ नेपालको उज्यालो भविष्य निर्माणतर्फ एकजुट होऔं ।’
प्रधानमन्त्री कार्कीले ६ महिनाभित्र स्थिर सरकार दिने प्रतिज्ञाका साथ निर्वाचनको वातावरण बनाउन दत्तचित्त भएर लागि परेको र यसका निम्ति राजनीतिक संवाद र सुरक्षास्थिति सुधारको काम सन्तोषजनक ढङ्गले अघि बढिरहेको सन्देशमा उल्लेख गरेकी छन् । सन्देशमा भनिएको छ, ‘फागुन २१ गते स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने, सुशासन कायम गर्ने, भ्रष्टाचारविरुद्ध ठोस् कदम चाल्ने र जेनजी आन्दोलनका क्रममा भएका दमन तथा हिंसाको निष्पक्ष छानबिन गर्ने कार्य हाम्रो प्राथमिक जिम्मेवारी हो भन्नेमा हामी स्पष्ट छौं ।’
यस वर्षको परिवर्तनको असिम आकाङ्क्षा र नयाँ यात्राको जिम्मेवारीसहित अघि बढिरहेको उल्लेख गर्दै सन्देशमा भनिएको छ, ‘भदौको महान् जेनजी आन्दोलनले हामीमाथि जुन भरोसा र दायित्व सुम्पेको छ, त्यसको सम्मान गर्दै सरकारले समावेशी, पारदर्शी र उत्तरदायी शासनको मार्ग अवलम्बन गर्ने दृढ प्रतिबद्धता प्रकट गरेको छ, यसबीचमा जेनजीले चाहेको सुशासन र विकासको आधारशीला तयार पनि भएको छ ।’ दीपावलीको उज्यालोसँगै आउने यी पर्व जीवनमा आशा, विश्वास र समृद्धिका प्रतीक भएको र अन्धकारमाथि उज्यालोको, निराशामाथि आशाको र अन्यायमाथि न्यायको विजयको प्रतीकका रूपमा यी पर्वहरू मनाउने गरेको सन्देशमा छ ।
रासस
-

महाकवि देवकोटाको ११७ औं जन्मजयन्ती आज
३ कात्तिक, काठमाडौं । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औं जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ मा कात्र्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो । दश वर्षको उमेरमा कविता लेख्न सुरु गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् । उनले नेपाली साहित्यलाई सयभन्दा बढी कृति दिएका छन् । यी कृतिका माध्यमबाट देवकोटाले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाएका छन् ।
नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गरेका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित हालसम्म सबैभन्दा बढी विकेको पुस्तक हो । नेपाली साहित्यमा स्वच्छन्दतावादी-प्रगतिवादी धाराका प्रवर्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र क्रान्तिकारिता झल्कन्छ । उनका सिर्जनामा पूर्वीय र पाश्चात्य दर्शनको संयोजन पाइन्छ । भारतका महापण्डित राहुल साङ्कृत्यायनले देवकोटा एक्लैलाई भारतका महाकवि सुमित्रानन्दन पन्त, जयशङ्करप्रसाद र सूर्यकान्त निरालाको संयुक्त रूपसँग तुलना गरेका थिए भन्ने मान्यता छ ।
नाट्यसम्राट बालकृष्ण समले देवकोटा ‘मुनामदन’, ‘शाकुन्तल’ महाकाव्य र ‘पागल’ कवितासँगै तीन पटक जन्मेको बताएका थिए । विदेशी भाषामा नेपाली कृतिहरूको अनुवाद र विदेशमा भएका विभिन्न सम्मेलनमा नेपालको प्रतिनिधित्व गरी नेपाली साहित्यको विश्वव्यापी प्रचारप्रसारमासमेत उनले महत्वपूर्ण योगदान दिएका छन् । महाकवि देवकोटाले अङ्ग्रेजी साहित्यका फ्रान्सिस बेकन, चाल्र्स ल्यास जस्ता १५ जना गद्य लेखकका निबन्धको चयन गरी विसं १९९७ मा ‘प्रसिद्ध प्रबन्ध सङ्ग्रह’ प्रकाशित गरेका थिए ।
विसं २०१६ मा उहाँ शिक्षा तथा स्वायत्त शासनमन्त्री हुँदा नेपालभर नेपाली भाषालाई अनिवार्य विषयका रूपमा लागू गराएका थिए । वर्तमान नेपाल प्रज्ञा(प्रतिष्ठानको स्थापनामा सक्रिय योगदान दिएको अविस्मरणीय देन हो । तीन महिनामा ‘शाकुन्तल’ महाकाव्य, दश दिनमै ‘सुलोचना’ महाकाव्य र एकै दिनमा ‘कुञ्जिनी’ खण्डकाव्य लेखेका देवकोटामा तुरुन्त कविता लेख्नसक्ने क्षमता थियो । देवकोटाको कवि–प्रतिभा, कविताको गुणात्मक मूल्य र सङ्ख्यात्मक योगदान आज पनि अद्वितीय छ ।
चरम आर्थिक अभाव र पारिवारिक वियोगसँगै राजनीतिक सक्रियताकाबीच पनि उच्चस्तरका साहित्य नेपाल र नेपालीलाई प्रदान गर्नु उनको साहित्यिक विशेषता हो । महाकवि देवकोटाले ‘पागल’ कवितालाई आफैँले अङ्ग्रेजीमा अनुवाद गरेका थिए । उनले पाश्चात्य ग्रीसेली स्रोतबाट अनेकौँ गाथाको नेपालीकरण गरेका छन् । विसं २०२४ मा प्रकाशित भएको ‘मायावीनी’ ‘सुन्दरी प्रोजर्पिना’ जस्ता खण्डकाव्य र ‘प्रमिथस’ महाकाव्य यसका उदाहरण हुन् ।
-

तिहारको तेस्रो दिन आज कुकुर पूजा
३ कात्तिक, काठमाडौं । तिहारको तेस्रो दिन आज घरघरमा कुकुरलाई पूजा गरी मीठा खानेकुरा दिइ कुकुर तिहार मनाइँदैछ । कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भएपनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । समितिका सदस्य एवं वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका अध्यक्ष प्रा डा देवमणि भट्टराई नरक चतुर्दशी र कुकुर तिहार सूर्योदय कालमा चतुर्दशी भएको दिन मनाउनुपर्ने बताउँछन् ।
कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रूपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिएको धर्मशास्त्रविद् प्रा तोयराज नेपालले राससलाई जानकारी दिए । वैवस्वतः मन्वन्तरको कुलमा जन्मिएको कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ दिएको धार्मिक विश्वास छ । कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रूपमा लिइन्छ ।
आज बिहानै अरूणोदयकालमा विभिन्न तीर्थ, नदी वा तलाउमा गई स्नान, तर्पण गरेर यमदीप दक्षिण फर्काएर बाली बगाउनाले मृत्युपश्चात् नरकको दर्शन गर्नु नपर्ने धार्मिक विश्वासका कारण नरक चतुर्दशीमा नुहाउने विधि रहेको धर्मशास्त्रविद् बताउँछन् । यसरी बत्ती बालेर बगाउनुलाई नरके बगाउने भनिन्छ ।
यमपञ्चक अर्थात् तिहारका पाँचै दिन तिलको तेल लगाएर स्नान गर्ने प्रचलन छ । यसो गरेमा शरीर स्वस्थ हुने आयुर्वेदिक मत आयुर्वेदका चिकित्सक डा वंशदीप शर्मा खरेल बताउँछन् । यसैले तिहार स्वास्थ्य सुरक्षाका दृष्टिले पनि महत्त्वपूर्ण पर्वका रूपमा मनाइन्छ । तिथि घटबढका कारण लक्ष्मी पूजा पनि आजै गरिँदैछ । बिहान कुकुर पूजा गरेपछि साँझ लक्ष्मी पूजा गरिँदैछ ।रासस
-

विपिनको निधन नेपाली अर्थ व्यवस्थाको डरलाग्दो ऐना हो : कुलमान
३ कात्तिक, काठमाडौं । ऊर्जा मन्त्री कुलमान घिसिङले विपिन जोशीको निधन केवल एउटा दुःखद समाचार मात्र नभई नेपाली राष्ट्रिय आर्थिक व्यवस्था र प्रणालीको एउटा डरलाग्दो ऐना भएको बताएका छन् । उनी लेख्छन्, ‘एउटा यस्तो ऐना, जहाँ हाम्रा होनहार युवाका सपना, उनीहरूको भविष्य, र कहिलेकाहीँ त उनीहरूको जीवन नै हराएर जान्छ।’ आज तीन बजे विपिनको शव काठमाडौं ल्याइदैछ ।
जोशीको पार्थिव शरीर बुझ्न र श्रद्दान्जली व्यक्त गर्न दिउसो तीन बजे आफुहरु विमानस्थल जान लागेको उनले बताएका छन् । उनी भन्छन्, ‘यो खबर सुनेदेखि म स्तब्ध छु। हाम्रो एउटा होनहार युवाले अन्तर्राष्ट्रिय स्तरको अमानवीय र क्रूर हिंसाको सिकार बन्नुपर्यो। उहाँको अकाल निधनप्रति म गहिरो दुःख व्यक्त गर्दै हार्दिक श्रद्दान्जली व्यक्त गर्दछु । साथै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछु।’
अन्तिम त्रासदीको क्षणमा पनि विपिनले देखाएको अपूर्व साहस, बहादुरी र त्यागले अरू धेरै साथीहरूको जीवन बचाएको कुलमानको भनाई छ । विपिनको यो विरतापूर्ण कार्य उनको जीवनको सर्वोच्च विरासत समेत भएको कुलमानले उल्लेख गरे । उनी भने, ‘यसले हामी सबैलाई उहाँप्रति सदाकाल गर्वान्वित बनाइरहनेछ। उहाँ नेपाली गौरवको प्रतीकका रूपमा हामीमाझ सधैं जीवित रहनुहुनेछ।’
उनले नेपाली वर्तमान अर्थ व्यवस्थाको अन्त्य हरेक नेपालीले नेपालमै बसी स्वाभिमानपूर्वक आफ्नो सपना साकार पार्ने भविश्य देख्ने अवस्था सृजना गर्ने तर्फ हामी सवै एक भएर लाग्न समेत अपिल गरेका छन् । -

विपिन जोशीको शव आज नेपाल ल्याइदै
३ कात्तिक, काठमाडौं । इजरायलमा मारिएका कञ्चनपरका विपिन जोशीको शव आज नेपाल ल्याइँदैछ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार उनको शव फ्लाई दुबईको विमानमार्फत् काठमाडौं ल्याउन लागिएको हो । सो विमान दिउँसो काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तालिका छ । विपिनप्रति श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री, मन्त्रीहरु र परराष्ट्र मन्त्रालयका अधिकारीहरु पनि सहभागी हुने तयारी छ ।
अध्ययनको सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका विपिन जोशी गत २०२३ अक्टुबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए । त्यसपछि उनको अवस्था अज्ञात रहेकोमा गत असोज २७ गते इजरायली अधिकारीहरुले उनको मृत्यु पुष्टि गरेका थिए । इजरायल र हमासबीच युद्धविराम सम्झौतापछि बन्दी साटासाट गर्ने क्रममा हमासले विपिनको भनेर इजरायली सेनालाई शव हस्तान्तरण गरेको थियो ।
उनको डीएनए परीक्षणबाट शव विपिनकै भएको पुष्टि भएको थियो भने फरेन्सिक जाँचमा अपहरण भएताका नै मृत्यु भएको पाइएको इजरायलस्थित नेपाली दूतावासका अधिकारीहरुले बताएका छन् । विपिनको शव नेपाल ल्याउनुअघि आइतबार इजरायलको राजधानी तेल अवीवस्थित खटिभा ८ को स्मारक, बेनगुरिएन विमास्थलमा श्रद्धाञ्जली दिइएको थियो । उनको शव रहेको कफिनमा नेपाली झण्डा ओढाइएको छ ।