Category: फिचर

  • हायात होटेलको सेवा बन्द भएकोबारे प्रधानमन्त्रीको चासो

    हायात होटेलको सेवा बन्द भएकोबारे प्रधानमन्त्रीको चासो

    ८ कात्तिक, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले ह्यात होटलको सेवा बन्दर र कर्मचारी प्रवेशमा गरिएको निषेधबारे चासो व्यक्त गरेकी छिन् । प्रधानमन्त्री कार्कीको चासोपछि अर्थमन्त्री रामेश्वर खनालले शनिकार बिहान ह्यात रिजेन्सी व्यवस्थापनसँग जानकारी लिएका हुन् । त्यस क्रममा अर्थमन्त्री खनालले सुरक्षाको पूर्ण प्रत्याभूति दिन सरकार तयार रहेको र कत्ति पनि विचलित नभई सेवा सुचारु गर्न आग्रह गरेको बताइएको छ ।

    खनालले भनेका छन्, ‘‘तपाईँहरु आत्तिन भएन । उच्च मनोबलका साथ आफ्नो सेवा सुचारु गर्नुहोस् । हामी साथमा छौँ । सुरक्षाको व्यवस्था हामी मिलाउँछौँ । कत्ति पनि विचलित नभएर आफ्नो व्यवसायलाई निरन्तरता दिनुहोस् ।’’यसबारे भोलि (आइतबार) होटल व्यवस्थापनसँग सरकारले थप छलफल गरी आवश्यक पहल गर्ने बताइएको छ ।

  • बाँकेमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

    बाँकेमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

    ८ कात्तिक, काठमाडौं । पछिल्लो समयमा बाँके र बर्दियामा बाघ र चितुवाको आक्रमणबाट मृत्यु र घाइते हुनेको सङ्ख्या बढ्दै गएको छ । बाँके र बर्दिया राष्ट्रिय निकुञ्जबाट बाहिर निस्कने बाघ र चितुवाले निकुञ्ज वरिपरिका क्षेत्रमा घाँस दाउरा गर्न गएका मानिसहरुमाथि निरन्तर आक्रमण गरिरहेका छन् । सोही क्रममा पछिल्लो पटक बाघको आक्रमणमा परी बाँकेको राप्ती सोनारी गाउँपालिकाको ढकेरीमा एक पुरुषको मृत्यु भएको छ । राप्ती सोनारी गाउँपालिका वडा नम्बर ९ गुरुवागाउ नमुना टोल निवासी ४० वर्षीय इन्द्र बहादुर खत्रीको मृत्यु बाघको आक्रमणबाट भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक पातलीका अनुसार राप्ती सोनारीको रिम्ना सामुदायिक वनमा शुक्रबार दिउँसोबाट बेपत्ता हुनुभएका खत्री साँझसम्म पनि घर नफर्कंदा स्थानीयवासीहरूले खोजतलास गर्दा शनिबार बिहान करिब ७ः३० बजे बाघले आक्रमण गरेको अवस्थामा शव फेला परेको हो । तीन टुक्रा भएको अवस्थामा शव भेटिएकाले उनको मृत्यु बाघकै आक्रमणबाट भएको देखिएको जनाउँदै उनले सो बारेमा अनुसन्धान भइरहेको बताए ।
    बाँके निकुञ्ज वरिपरिका क्षेत्रमा प्रायजसो बाघ र चितुवाको आक्रमणका घटनाहरु भइरहेकाले स्थानीय बासिन्दालाई घाँस दाउरा गर्न जाँदा एक्लै नजान र साँझको समयमा अनावश्यक रुपमा वनजङ्गल नजिक नजान पनि अनुरोध गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । निकुञ्ज वरिपरिका क्षेत्रमा पटक पटक बाघ र चितुवाको आक्रमण हुने गरेकाले सो क्षेत्रका स्थानीय निकै त्रसित र आतङ्कित बनेको राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले बताए ।

  • रुकुमपश्चिम दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ७ पुग्यो, ६ जनाको पहिचान

    रुकुमपश्चिम दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ७ पुग्यो, ६ जनाको पहिचान


    ७ कात्तिक, काठमाडौं । रुकुमपश्चिमको बाँफिकोट गाउँपालिका–७ लिस्नेस्थित भित्री सडकखण्डमा भएको जिप दुर्घटनामा मृत्यु भएका ७ जनामध्ये ६ जनाको परिचय खुलेको छ ।

    मृत्यु हुनेमा रूकुमपश्चिम आठबिसकोट नगरपालिका–२ स्यालाकी ३० वर्षीया कमला ओली, आठबिसकोट नगरपालिकाकै १६ वर्षीय टेकजंग बुढा, १५ वर्षीया दिलमाया बुढा, १७ वर्षीया मनिका ओली, १८ वर्षीया शर्मिला वि.क., २२ वर्षीया गोपाल ओली रहेका छन् ।

    प्रहरीका अनुसार मृतक एक जना महिलाको सनाखत हुन सकेको छैन । दुर्घटनामा परेर १० जना घाइते भएका छन् । घाइतेहरूको  परिचय खुलेको छैन ।घाइतेहरूलाई उपचारको लागि जिल्ला अस्पताल सल्ले पठाइएको छ । जीप सडकदेखि ७०० मिटर तल खसेको छ । 

  • गायिका आत्महत्या प्रकरण : गायक गिरी पक्राउ

    गायिका आत्महत्या प्रकरण : गायक गिरी पक्राउ


    ७ कात्तिक, काठमाडौं । गायक तथा संगीतकार बाबुल (धनबहादुर) गिरी आत्महत्या दुरूत्साहन मुद्दामा पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार गिरी शुक्रबार पक्राउ परेका हुन् । 

    अनामनगरस्थित एक स्टुडियोमा आत्मदाहको प्रयास गरेकी गायिका नितु पौडेलको उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएपछि गायक गिरी पक्राउ परेका हुन् । पौडेलको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको थियो ।


    आफैंमाथि आगो लगाइरहेको अवस्थामा गायिका पौडेललाई गत शनिबार प्रहरीले उद्धार गरेर कीर्तिपुर बर्न अस्पताल पुर्‍याएको थियो । उक्त घटनामा गिरी पनि सामान्य घाइते भएका थिए ।
    प्रहरीका अनुसार गिरी र पौडेल झन्डै ९ वर्षदेखि प्रेम सम्बन्धमा थिए ।

  • कैलालीमा तीन बालिकाको डुबेर मृत्यु

    कैलालीमा तीन बालिकाको डुबेर मृत्यु


    ७ कात्तिक, काठमाडौं । कैलालीमा तीन बालिकाको पानीमा डुबेर मृत्यू भएको छ । रानी जमरा सिँचाइ प्रणाली अन्तर्गतको कुलरीया नदीमा पौेडी खेल्न गएका बालिकाहरूको डुबेर मृत्यू भएको हो ।

    इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीका अनुसारका मृत्यु हुनेमा जानकी गाउँपालिका–५, नवलपुरकी १२ वर्षकी सुलोचना उपाध्याय, १० वर्षकी निशा बजगाई र ८ वर्षकी मानसी बजगाई छिन् ।

    शुक्रबार मध्यान्ह कुलरियामा पौडी खेल्न गएकी बालिका डुबेपछि दुई जना उद्धार गर्न लागेकाले तीनै जना डुबेको बताइएको छ । स्थानीयले देखेपछि उद्धार गरी टीकापुर अस्पतालमा उपचारका लागि ल्याए पनि अस्पताल पुग्दा चिकित्सकले मृत घोषणा गरेका थिए ।

    मृतक बजगाई दिदीबहिनी हुन् । टीकापुर नगरपालिका–१ ब्लक नम्बर १० मा बस्ने बजगाई दिदीबहिनी तिहारको बेला मामाको घर गएकी थिइन । सुलोचना बजगाईकी मामाकी छोरी हुन् । बजगाई दिदीबहिनी जनजागृति मावि टीकापुरमा कक्षा ५ मा अध्ययनरत थिइन ।

  • मैत्रीपुर्ण फुटबल : इरान सङ्ग हार्यो नेपाल

    मैत्रीपुर्ण फुटबल : इरान सङ्ग हार्यो नेपाल


    ७ कात्तिक, काठमाडौं । मैत्रीपुर्ण फुटबलमा महिला राष्ट्रिय टोलि इरान सङ्ग पराजित भएको छ । भारतको सिलोङमा इरानसँगको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको हो । इरानले नेपाललाई ३-० ले पराजित गरेको छ। नेपाली अब दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल भारतसँग अक्टोबर २७ मा खेल्नेछ। पहिलो हाफ गोल रहित थियोे । दोस्रो हाफमा इरान आक्रामक खेलेको हो ।

  • रुकुम पश्चिममा जिप दुर्घटना, कम्तीमा ५ जनाको मृत्यु

    रुकुम पश्चिममा जिप दुर्घटना, कम्तीमा ५ जनाको मृत्यु

    ७ कात्तिक । रुकुम । रुकुमपश्चिमको बाँफिकोट गाउँपालिका ७ झारमारेमा जिप दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ । 
    शुक्रबार साँझ जिल्ला सदरमुकाम मुसीकोट खलंगाबाट आठबिसकोट नगरपालिकाको स्यालाखदीतर्फ जाँदै गरेको रा १ ज ४२२ नम्बरको जिप आठबिसकोट नगरपालिका र बाँफिकोट गाउँपालिकाको सिमाना पर्ने झारमारे लेकमा दुर्घटना भएको प्रहरीले जनाएको छ । 
    जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले दुर्घटनामा परेर पाँच जनाको घटनास्थलमै ज्यान गएको जानकारी प्राप्त भएको बताए । उनका अनुसार घाइतेको उद्धार कार्य भैरहेको छ । केही घाइतेको अवस्था गम्भीर भएकाले मृतकको संख्या बढ्न सक्ने जनाइएको छ । 

    दुर्घटनाको सूचना लगत्तै नदुवास्थित प्रहरी चौकीबाट प्रहरी घटनास्थलमा पुगेर उद्धारमा सक्रिय रहेको छ । प्रहरीका अनुसार जीपमा करिब १८ जना यात्रु थिए । 
    जीप चालक टोपजंग बुढा गम्भीर रहेको प्रहरीको भनाइ छ । मृतकको पहिचान खुलेको छैन । 

  • हैदरावादबाट बैंलौर जाँदै गरेको बसमा भयानक आगलागी, कम्तिमा १२ को मृत्यु, दर्जन बढी वेपत्ता

    हैदरावादबाट बैंलौर जाँदै गरेको बसमा भयानक आगलागी, कम्तिमा १२ को मृत्यु, दर्जन बढी वेपत्ता

    ७ कात्तिक, काठमाडौंं । भारतको हैदरावादबाट बैंलौर जाँदै गरेको यात्रुबाहक बसमा भयानक आगलागी भएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार यस घटनामा कम्तिमा १२ जना यात्रुको ज्यान गएको छ भने दर्जन बढी यात्रु बेपत्ता छन् । बसमा ४२ यात्रु सवार थिए । घटना आज कर्नुल जिल्लाको चिन्ना टेकुरु गाउँको नजिकै भएको सञ्चारमाध्यमले जनाएका छन् । बस जलेर खरानी बनेको छ ।

    मृतकको संख्या अझ बढ्न सक्ने आशंका गरिएको छ । प्रारम्भीक खबर अनुसार बसमा आगो लाग्नु अगाडी बाइकसँग ठक्कर खाएको थियो । बाइक बसको मुनी छिरेको थियो । जसले इन्धन ट्याङ्कमा ठक्कर दिँदा तेल चुहिएको आशंका गरिएको छ । स्थानीय प्रशासनबाट यसबारे पुष्टी हुन बाँकी रहेको बताइएको छ । मूख्यमन्त्री चन्दूबाबु नायडूले कर्नुल दुर्घटनाबारे एक्समा लेख्दै घटनाको पुष्टी गरेका छन् ।

  • ट्रम्प र सि जिनपिङ दक्षिण कोरियामा भेट गर्दै

    ट्रम्प र सि जिनपिङ दक्षिण कोरियामा भेट गर्दै

    ७ कात्तिक, काठमाडौंं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सि जिन पिङबीच दक्षिण कोरियामा भेटवार्ता हुने भएको छ । ह्वाइट हाउसले यस भेटबारे पुष्टी गरेको हो । दक्षिण कोरियामा आयोजना हुने एसिया प्यासिफिक इकोनोमिक कोअपरेशन (एपेक) बैठकमा सहभागी हुने क्रममा दुई शक्ति सम्पन्न राष्ट्रपतिहरुबीच भेटवार्ता हुन लागेको हो ।

    ३० अक्टोवरका दिन यो भेटघाट हुने तय भएको छ । शिखर सम्मेलन भने ३१ अक्टोवरबाट १ नोभेम्बरसम्म चल्ने छ । ट्रम्पले दोस्रो कार्यकाल सम्हालेयता पहिलो पटक दुई राष्ट्रपति बीच भेटवार्ता हुन लागेको हो । अहिले अमेरिका र चीनबीच व्यापार युद्ध चलिरहेको छ । यसबीच हुन लागेको भेटलाई महत्वका साथ हेरिएको छ । एजेन्सी

  • यस्तो छ आज नेपालभर मौसम पूर्वानुमान

    यस्तो छ आज नेपालभर मौसम पूर्वानुमान

    काठमाडौँ, कात्तिक ७ । जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जनाएको छ । महाशाखाका अनुसार सबै प्रदेशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ ।

    शुक्रबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना रहेको छ । आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षाहिमपातको सम्भावना रहेको छ ।

  • गाजामा हमासले बन्धक बनाएका थाइ नागरिकको शव स्वदेश ल्याइयो

    गाजामा हमासले बन्धक बनाएका थाइ नागरिकको शव स्वदेश ल्याइयो

    बैङ्कक, कात्तिक ७ गते । सन् २०२३ अक्टोबर ७ मा इजरायलमा भएको आक्रमणमा मारिएका र गाजामा हमासद्वारा कब्जा गरिएका थाइ कृषि मजदुरको शव बिहीबार थाइल्यान्ड फिर्ता पठाइएको अधिकारीहरूले बताएका छन् । इजरायल र हमासबीच भएको युद्धविरामको सम्झौताका क्रममा सोन्थाया ओक्खराश्रीको अवशेष बिहीबार साँझ तेल अभिभबाट बैङ्ककको सुवर्णभूमि विमानस्थलमा आइपुगेको छ ।

    इजरायली अधिकारीहरूले सोन्थायाको शव प्राप्त यसै हप्ता प्राप्त गरेको र औपचारिक रूपमा उनका पहिचान भएको बताएका छन् । युद्धविराम सम्झौताअन्तर्गत हमासले अन्तिम २० जीवित बन्धकहरूलाई फिर्ता गरेको छ र अहिलेसम्म मारिएका अन्य २८ मध्ये १५ जनालाई रिहा गरेको छ ।
    थाइल्यान्डको श्रम मन्त्रालयका अनुसार इजरायलमा करिब ३० हजार थाइ नागरिक कृषि क्षेत्रमा काम गर्छन् । सोन्थाया ३० वर्षका थिए । र बेरी किबुत्जमा काम गर्थे । उनको सन् २०२३ मा इजरायलमा भएको आक्रमणमा मृत्यु भएको थियो, तर उनको लास आक्रमणकारी हमासले लगेका थिए ।

    थाइल्यान्डका श्रम मन्त्री ट्रिनुच थिएन्थोङ र थाइल्यान्डका लागि इजरायलका राजदूत अलोना फिसर–कामले बिहीबार विमानस्थलमा सोन्थायाको पार्थिव शरीरलाई स्वदेश फर्काउन माल्यार्पण गरे । सोन्थायाकी आमाले स्थानीय सञ्चारमाध्यमसँग भनिन्, “छोराको मृत्युले मलाई स्तब्ध बनाएको छ । छोराको शव उत्तरी नोङ बुआ लाम्फू प्रान्तमा रहेको गृहनगर फर्किएका छ । यसका लागि आभारी छु।”

    उनको शवलाई बौद्ध परम्पराअनुसार अन्त्येष्टिका लागि पठाइने र थाइ सरकारले उनको परिवारलाई ५४ हजार डलरसम्मको क्षतिपूर्ति प्रदान गर्ने स्थानीय अनलाइन पत्रिका थाइरथले जनाएको छ । थाई विदेश मन्त्रालयले बिहीबार एएफपीलाई दिएको जानकारीअनुसार दुई वर्षदेखि जारी द्वन्द्वमा ४७ थाई नागरिकको मृत्यु भएको छ । युद्ध सुरु भएयता गाजामा कम्तीमा ६८ हजार २३४ जनाको मृत्यु भएको संयुक्त राष्ट्रसंघको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हमासको सन् २०२३ को आक्रमणमा एक हजार २२१ जनाको मृत्यु भएको थियो, जसमा अधिकांश सर्वसाधारण नागरिक थिए । रासस÷एएफपी

  • कोशी पर्यटन वर्ष : भारतीय पर्यटकको रोजाइमा पूर्वी पहाड

    कोशी पर्यटन वर्ष : भारतीय पर्यटकको रोजाइमा पूर्वी पहाड

    ७ कात्तिक, बेलबारी। प्रदेशको पर्यटन विकास र प्रवर्द्धनका लागि कोशी प्रदेश सरकारले पर्यटन वर्ष २०८२ मनाइरहेको छ । छिमेकी मुलुक भारत र तेस्रो मुलुकबाट १५ लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सुरु भएको पर्यटन वर्षको छ महिना पूरा गरिसकेको छ । भारतको बिहार घर भएका कमलेश शर्मा आफ्ना चार जनाको परिवारसहित एक सातादेखि नेपाल बसिरहेका छन् । ‘यसअघि पनि साथीहरूसँग घुम्न नेपाल आएको थिएँ, तर परिवारसँग पहिलोपटक नेपाल आएको छु’, इलामको कन्याममा भेटिएका उनले बताए।

    उनका अनुसार अघिल्लो समयमा भन्दा यस वर्ष भ्रमण निकै सहज र रमाइलो भएको छ । आफूजस्तै अरु पनि थुप्रै भारतीय नागरिक नेपाल घुम्न रुचाउने शर्मा बताउँछन् । उनले सस्तो मूल्यमै स्तरीय होटलमा बस्न पाइएको बताए । सुरुआती तीन महिना वैशाख, जेठ र असारमा प्रदेश सरकारले पर्यटन वर्षको कार्यक्रम देखिए तापनि पछिल्ला तीन महिना पर्यटन प्रचारप्रसारसम्बन्धी कार्यक्रम न्यून देखिए ।

    ‘कोशीको गौरव हिमालको शान, पर्यटन वर्षमा सबैलाई सम्मान’ भन्ने मूल नाराको साथ कोशी प्रदेश सरकारले ल्याएको उक्त कार्यक्रमलाई सरकार सँगसँगै निजी क्षेत्रको पनि उत्तिकै सहभागितामा पर्यटन वर्ष सफल बनाउन लागिरहेको कोशी पर्यटन वर्ष २०८२ का सहसंयोजक भविष श्रेष्ठ बताउँछन् । उनका अनुसार धार्मिक, प्राकृतिक, सांस्कृतिकसँगै शिक्षा, स्वास्थ्य, खेलकुदलगायत क्षेत्रका पर्यटक पनि आउने गरेका छन् ।

    कोरोना महामारीपछि थलिएको पर्यटन क्षेत्रलाई पुनः चलायमान बनाउन कोशी प्रदेश सरकारले पर्यटन वर्ष २०८२ कार्यक्रम ल्याएको छ । पर्यटनको माध्यमबाट नेपालको वैदेशिक ऋण र व्यापार घाटा कम गर्न सकिने उल्लेख गर्दै कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ऊर्जा, जलविद्युत्, पर्यटन, जडीबुटीका क्षेत्रमा काम गर्ने बताउनुभयो । प्रदेशमा पर्यटकस्तर होटल करिब पाँच सय होटल र वानस्टार स्तरदेखि फाइभस्टार स्तरसम्मका डेढ सय होटल रहेको पर्यटन व्यवसायी तथा कोशी पर्यटन वर्ष २०८२ का सहसंयोजक भविष श्रेष्ठ बताउँछन् ।

    उनका अनुसार यी होटलहरूमा दैनिक तीन हजार पर्यटक बस्न सक्ने क्षमता रहेको छ । गत महिना पूर्वी पहाडी जिल्लामा आएको बाढीपहिरोले पर्यटन क्षेत्रलाई पनि प्रत्यक्ष असर गरेको श्रेष्ठ बताउँछन् । छठपर्व पछाडि पर्यटन वर्ष २०८२ को थप प्रचारप्रसार गरिने उनले बताए । कोशी प्रदेश भौगोलिक, सांस्कृतिक र धार्मिक पर्यटनका हिसाबले रमणीय मानिन्छ । यहाँ विभिन्न प्रसिद्ध धार्मिकस्थलसहित आठ हजार आठ सय ४८ मिटर अल्गो विश्वको सर्वोच्च शिखर सगरमाथादेखि समुद्री सतहबाट ७० मिटर उचाइमा रहेको नेपालकै होचो भूभाग कचनकवल पनि छ ।

    सूर्योदय हेर्न इलामको श्रीअन्तुडाँडामा दैनिक हजारौं स्वदेशी तथा बाह्य पर्यटकको भीड नै लाग्ने गर्दछ । कोशीटप्पु आरक्ष क्षेत्रमा चरा हेर्नेदेखि वेतना सिमसारका कछुवाले पर्यटकलाई लोभ्याउने गरेको छ । कोशी प्रदेश सरकारले यो प्रदेशमा पर्यावरणीय गन्तव्यको सूचीमा १३ र ट्रेकिङ ट्रेलका रूपमा १० स्थान समावेश गरेको छ । सर्वोच्च शिखर सगरमाथा अवलोकन गर्न ४३ प्रतिशत बाह्य र ५७ प्रतिशत आन्तरिक पर्यटक हरेक वर्ष यो प्रदेशमा आउने गरेको सरकारी तथ्याङ्क छ ।

    धनकुटाको छिन्ताङ, ताप्लेजुङका पाथिभरा मन्दिर, खोटाङको हलेसी, सुनसरीको बराह क्षेत्र धार्मिक पर्यटनका हिसाबले महत्त्वपूर्ण क्षेत्र हुन् । इलामको चियाबारी, धनकुटाको भेडेटार, भोजपुरको ट्याम्केमयुङडाँडा, पाँचथरको साधुटारलगायत पर्यटकीय आकर्षक गन्तव्य मानिन्छन् । सगरमाथा, मकालु, कञ्चनजङ्घा, ल्होत्से र चोयुलगायत हिमशृङ्खलाले विदेशी पर्यटकलाई आकर्षित गर्ने गरेको छ । सगरमाथा, मकालु र कञ्चनजङ्घा बेस क्याम्पसम्मको ट्रेक साहसी र रोचक मानिन्छ । त्यससँगै फाल्गुनन्द ट्रेकिङ, मुन्दुम ट्रेल, सभापोखरी ट्रेक पर्यवरणीय पर्यटनको आधार मानिन्छ ।

    रासस

  • राष्ट्रपति पौडेलबाट शुभसाईतमा बहिनीहरूबाट तिहारको टीका ग्रहण

    राष्ट्रपति पौडेलबाट शुभसाईतमा बहिनीहरूबाट तिहारको टीका ग्रहण

    ६ कात्तिक, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट शुभसाइतमा यस वर्षको तिहारको टीका लगाएका छन् । राष्ट्रपति पौडेलले बिहिबार राष्ट्रपति भवन शितलनिवासमा ११ बजेर ३९ मिनेटको शुभसाइतमा बहिनीहरू शारदा र चन्दाको हातबाट टीका लगाएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

    नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३९ मिनेटका लागि निर्धारण गरेको थियो । भाइटीकाको उत्तम साइत तय गरिए पनि दिनभर नै टीका लगाउन सकिने समितिले जनाएको छ । यमपञ्चकको अन्तिम दिन आज दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । अहिले विश्वभर रहेका नेपालीले भाइटिका लगाइरहेका छन् ।

  • भारतले तेल खरीद गरिरहेका दुई रुसी कम्पनी माथि अमेरिकाले लगायो प्रतिवन्ध, नेपालसम्म पर्न सक्छ असर

    भारतले तेल खरीद गरिरहेका दुई रुसी कम्पनी माथि अमेरिकाले लगायो प्रतिवन्ध, नेपालसम्म पर्न सक्छ असर

    ६ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो दोस्रो कार्यकालमा पहिलो पटक रूसविरुद्ध महत्त्वपूर्ण प्रतिबन्धहरूको घोषणा गरेका छन्। राष्ट्रपति ट्रम्पले ओभल अफिसमा नेटोका महासचिव मार्क रुट्टेसँगको भेटका क्रममा यो घोषणा गरेका हुन्। प्रतिबन्धहरूले रूसका दुई ठूला तेल कम्पनीहरू रोस्नेफ्ट र लुकओइललाई निशाना बनाएको छ। युक्रेन युद्ध समाप्त गर्न रूसमाथि दबाब बढाउने उद्देश्यका साथ अमेरिकाद्वारा चालिएको एउटा ठूलो आर्थिक कदमका रूपमा यसलाई विश्लेषण गरिएको छ ।

    अमेरिकी अर्थ मन्त्रालयले रूसका दुई सबैभन्दा ठूला तेल कम्पनीहरू रोसनेफ्ट र लुकोइलमाथि प्रतिबन्ध लगाएको जानकारी दिंदै यी प्रतिबन्धहरूको सीधा उद्देश्य रूसको युद्ध मेसिनका लागि राजस्व जुटाउने र उसको कमजोर अर्थतन्त्रलाई सहयोग गर्ने क्षमतालाई कम गर्नु हो। युक्रेनमाथि पूर्ण-स्तरीय आक्रमण गरेपछि अमेरिकाले रूसी ऊर्जा क्षेत्रमाथि चालेका सबैभन्दा महत्त्वपूर्ण कदमहरूमध्ये यो पनि एक हो।

    रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग बुडापेस्टमा गर्ने भनिएको भेटवार्ता असफल भएपछि ट्रम्पको पुटिनप्रतिको असन्तुष्टि नयाँ स्तरमा पुगेको देखिन्छ।
    रूसी अधिकारीहरूले युद्ध अन्त्य गर्न कुनै सम्झौता गर्ने मनसाय नदेखाएपछि ट्रम्पले पुटिनसँगको भेटको योजना स्थगित गरेका थिए। नेटोका महासचिव मार्क रुट्टे युक्रेनलाई समर्थन जारी राख्न युरोपेली नेताहरूको गठबन्धनको तर्फबाट ट्रम्पसँग भेट्न वासिङ्टन आएका थिए। ट्रम्पले रुट्टेलाई भेटे लगत्तै यी प्रतिबन्धहरूको घोषणा गर्नुलाई युक्रेनको समर्थनका लागि महत्त्वपूर्ण कदम मानिएको छ।

    अर्थमन्त्री स्कट बेसेन्टले रूसलाई हत्याहरू रोक्न र तत्काल युद्धविराम गर्न आह्वान गरेका छन् । उनले भने, ‘राष्ट्रपति पुटिनले यो निरर्थक युद्ध अन्त्य गर्न अस्वीकार गरेपछि अर्थ मन्त्रालयले क्रेमलिनको युद्ध मेसिनरीलाई वित्तपोषण गर्ने रूसका दुई सबैभन्दा ठूला तेल कम्पनीहरूमाथि प्रतिबन्ध लगाइरहेको छ।’
    बेसेन्टले अर्थ मन्त्रालय राष्ट्रपति ट्रम्पको युद्ध समाप्त गर्ने प्रयासहरूलाई समर्थन गर्न, आवश्यक भएमा थप कारबाही गर्न तयार रहेको बताए । उनले सहयोगी देशहरूलाई पनि यी प्रतिबन्धहरूको पालना गर्न आग्रह गरे।

    यी प्रतिबन्धहरूको परिणामस्वरूप, रोसनेफ्ट र लुकोइलका अमेरिकामा रहेका सबै सम्पत्तिहरू जफत गरिएका छन्। यसका अतिरिक्त, अमेरिकी नागरिकहरूलाई यी कम्पनीहरूसँग कुनै पनि प्रकारको वित्तीय लेनदेन गर्नमा पनि प्रतिबन्ध लगाइएको छ। रोसनेफ्ट र लुकोइलको ५० प्रतिशत वा सोभन्दा बढी स्वामित्व भएका सबै संस्थाहरूमा पनि प्रतिबन्धहरू लागू हुनेछन् । जुन विदेशी वित्तीय संस्थाहरूले जानीजानी यी तोकिएका संस्थाहरूसँग महत्त्वपूर्ण लेनदेन गर्छन्, उनीहरूमाथि द्वितीयक प्रतिबन्धहरू लाग्ने जोखिम रहने चेतावनी अमेरिकाले दिएको छ ।

    अमेरिकी कारबाहीमा रोसनेफ्ट र लुकोइलका रूसमा रहेका धेरै सहायक कम्पनीहरूलाई पनि प्रतिबन्धित गरिएको छ। यी कम्पनीहरुसँग भारतले पनि तेल किन्ने गर्छ । भारतबाट नेपालले तेल किन्छ । त्यसकारण यस्ता कम्पनीहरुमाथि अमेरिकी प्रतिवन्धले विश्वभर असर पर्ने विश्लेषण गरिएको छ । पछिल्लो तथ्यांक अनुसार भारतले यी दुई कम्पनीसँग कुल मागको एक तिहाई तेल किनिरहेको छ ।

  • अमेरिकी सेनाले  महासागरमा हिडिँरहेका डुंगामा किन गरिरहेको छ आक्रमण ?

    अमेरिकी सेनाले महासागरमा हिडिँरहेका डुंगामा किन गरिरहेको छ आक्रमण ?

    ६ कात्तिक, काठमाडौं । अमेरिकी रक्षा मन्त्रालयले अमेरिकी सेनाले प्रशान्त महासागरमा एक शङ्कास्पद लागुऔषध डुङ्गामा हमला गरेको जनाएको छ। बीबीसीका अनुसार, हमलामा दुई जनाको मृत्यु भएको छ। रक्षा मन्त्री पीट हेगसेथले घटनाको पुष्टि गरेका छन् ।

    उनका अनुसार, अमेरिकी सेनालाई कुनै क्षति पुगेको छैन । हेगसेथका अनुसार, उक्त डुङ्गा अमेरिकी खुफिया एजेन्सीहरूको निगरानीमा थियो र त्यो अन्तर्राष्ट्रिय जलक्षेत्रमा मादक पदार्थको खेप लिएर गइरहेको अनुमान गरिएको थियो। यो सेप्टेम्बर २ यता शङ्कास्पद लागुऔषध डुङ्गाहरूमा अमेरिकी सेनाको आठौँ कारबाही हो, तर प्रशान्त क्षेत्रमा यस प्रकारको यो पहिलो हमला हो।

  • अमेरिकासहित कुन देशमा कति बजे भाइटिकाको उत्तम साइत ?

    अमेरिकासहित कुन देशमा कति बजे भाइटिकाको उत्तम साइत ?

    ६ कात्तिक, काठमाडौं । नेपालसहित नेपाली र नेपाली भाषी रहेका विश्वका अन्य देशमा पनि भाइटीका मनाइँदै छ । अन्तर्राष्ट्रिय पञ्चांग निर्णय समितिले विश्वका विभिन्न देशका लागि भाइटीकाको उत्तम साइत निर्धारण गरेको छ । नेपालमा कात्तिक ६ गते अर्थात् अक्टुर २३ मा भाइटीकाको उत्तम साइत ११ बजेर ३९ मिनेटमा निर्धारण गरिए पनि भारतको दिल्लीमा २३ अक्टुबरमा ११ बजेर ५५ मिनेटमा टीकाको साइत जुराइएको छ । अमेरिका र क्यानडामा भने २२ अक्टोबरमै भाइटीका लगाउने शुभ साइत थियो ।

    यस्तो छ विश्वका विभिन्न देशमा लगाइने भाइटीकाको उत्तम साइत

  • आज भाइटीका मनाईदै, उत्तम साइत ११ः३९ बजे

    आज भाइटीका मनाईदै, उत्तम साइत ११ः३९ बजे

    ५ कात्तिक, काठमाडौं । नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज भाइटीका मनाइँदैछ । आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ पञ्चरंगी वा सप्तरंगी टीका लगाइदिँदै दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दछन् । दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाइदिएर दक्षिणा, उपहार आदि दिने चलन छ । दिदीबहिनीलाई पूजा गर्नाले ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता छ ।

    नेपाल पञ्चांग निर्णायक विकास समितिले भाइटीकाको उत्तम साइत आज बिहान ११ बजेर ३९ मिनेटमा रहेको जनाएको छ । तर आज आज दिनभर टीका लगाउन कुनै बाधा नपर्ने समितिका अध्यक्ष प्राध्यापक शम्भु प्रसाद ढकालले बताए । तर राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने समितिले जनाएको छ । यमपञ्चकसमेत भनिने तिहार पाँच दिनको हुने भए पनि यस वर्ष तिथि वृद्धि भई छैटौं दिनमा भाइटीका परेको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ ।

    तिहारको भाइटीकाको दिनलाई यमद्वितीया पनि भनिन्छ । यस दिन भाइटीका लगाइदिने दिदीबहिनी पूर्व र लगाइमाग्ने दाजुभाइ पश्चिम फर्कनुपर्ने समितिले जनाएको छ । यसो गरेमा तुला राशिमा रहेका पश्चिमका चन्द्रमा सम्मुख पर्नेछन् । शुभ कर्ममा चन्द्रमालाई अघि (सम्मुख) वा दाहिने पार्नुपर्ने शास्त्रीय नियम छ । आज लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवता, नवग्रहको समेत पूजाआराधना गर्नु पर्दछ ।

    त्यसपछि दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्पराअनुसार टीका लगाइदिने गर्दछन् । अनि मखमली, सयपत्री वा गोदावरीलगायत फूलका माला लगाइदिएर आशीर्वाद दिन्छन् ।

    तिहारमा सप्तरङ्गी टीका लगाउने भनी प्रचारप्रसार गरिए पनि शास्त्रीय मान्यता भने तिहारमा लगाउने टीका पाँच रंगको हुनुपर्ने धर्मशास्त्रविद एवम् नेपाल पञ्चांग निर्णायक विकास समितिका सदस्य देवमणि भट्टराईले बताए । उनका अनुसार तिहारको भाइटीकामा रातो, सेतो, पहेंलो, हरियो र नीलो गरी पाँचवटा रंगको प्रयोग गर्नुपर्छ । टीका लगाएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मसला एवं सेलरोटीलगायत खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा छ ।

  • दल र नेतालक्षित बालेनको आक्रोशित स्टाटस

    दल र नेतालक्षित बालेनको आक्रोशित स्टाटस

    ५ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफूलाई ‘लुसिफर’ भनिएकोप्रति आक्रोश पोखेका छन् । उनले आफूलाई आरोप लगाउनेहरू नै लुसिफर रहेको टिप्पणी गरेका छन् । बुधबार सामाजिक सञ्जालमा स्टाटस लेखेर प्रश्‍न गरेका छन्, ‘आन्दोलनमा पुरै देश एमालेले कांग्रेसको जलाउँछ, कांग्रेसले एमालेको जलाउँछ, दोष आफ्नो बालबच्चालाई दिन्छौ । चियाको टाइममा रगत पिएर अरुलाई लुसिफर भन्छौ । लाज लाग्दैन ?’

    उनले तुइन र काठको पुल बनाउने नेताहरुले देश विदेशीले बिगारेको आरोप लगाउनेहरु र अरुलाई ‘विदेशी एजेन्ट’ भनेर आरोप लगाउनेहरुप्रति पनि कडा कटाक्ष गरेका छन् । उनले लेखेका छन्, ‘तुइन र काठको पूल बनाउने नेताहरु भन्छन्, यो देश विदेशीले बिगार्यो, भिसा पाउनलाई तिमीहरुको घर धाउनु पर्छ, अरुलाई एजेन्ट भन्छौ ।’

  • मूर्ति विसर्जन गर्ने क्रममा डुबेर रुपन्देहीमा तीन जनाको मृत्यु

    मूर्ति विसर्जन गर्ने क्रममा डुबेर रुपन्देहीमा तीन जनाको मृत्यु

    ५ कात्तिक, काठमाडौं । मूर्ति विसर्जन गर्ने क्रममा डुबेर बुधबार रुपन्देहीमा तीन जना युवाको मृत्यु भएको छ। गैडहवा गाउँपालिका वडा नम्बर ६ सूर्यपुराघाटमा मूर्ति सेलाउने क्रममा घटना भएको हो। मायादेवी गाउँपालिका वडा नम्बर–१ का १३ वर्षीय अजय हरिजन, १५ वर्षीय दीपु हरिजन र २८ वर्षीय रोहित हरिजनको मृत्यु भएको रुपन्देही प्रहरी प्रवक्ता सुरज कार्कीले जानकारी दिए। बेपत्ता भएको खबरपछि प्रहरी र स्थानीयले खोजी गर्दा शव फेला परेको थियो। करिब २०० मिटर तल शव फेला परेको रुपन्देहीका प्रहरी प्रवक्ता कार्कीले बताए।

    दानव र कञ्चन नदी शंगम सूर्यपुरास्थित सन्तेश्वर घाटमा बुधबार दिउँसो तीन बजे उनीहरू मूर्ति सेलाउन पुगेका थिए। सोही घाटमा छठको तयारी पनि सुरु भइसकेको थियो। तिहारको बेला गाउँका तीन युवाको पनि डुबेर मृत्यु भएको थियो। बुधबारको घटनापछि सूर्यपुरा र मायादेवी शोकमा डुबेको स्थानीय सन्दीप गुप्ताले बताए ।

  • थाइल्यान्डकी पूर्व प्रधानमन्त्री पेटोङटार्न सिनावात्राले दिइन् पार्टी नेतृत्वबाट राजीनामा

    थाइल्यान्डकी पूर्व प्रधानमन्त्री पेटोङटार्न सिनावात्राले दिइन् पार्टी नेतृत्वबाट राजीनामा

    बैङ्कक, कात्तिक ५ । थाइल्यान्डकी हालै पदच्युत पूर्व प्रधानमन्त्री पेटोङटार्न सिनावात्राले आफ्ना पिता, पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राले स्थापना गरेको फेउ थाई पार्टी प्रमुखबाट बुधबार राजीनामा दिएकी छिन् । यो कदमले थाइल्यान्डमा दुई दशकदेखि प्रभावशाली रहँदै आएको सिनावात्रा परिवारको राजनीतिक वंश अन्त्यतर्फ सङ्केत गरेको राजनीतिक विश्लेषकले बताएका छन् । ३९ वर्षीया पेटोङटार्नले प्रधानमन्त्रीको रूपमा एक वर्ष पनि पूरा गर्नुअघि नै कम्बोडियासँगको सीमा विवादमा देखिएको भनिएको नैतिकता उल्लङ्घनको आरोपका कारण गत अगस्टमा अदालतले उहाँलाई पदबाट बर्खास्त गरेको थियो ।

    थाक्सिन सिनावात्रा परिवार पछिल्लो दुई दशकदेखि थाइल्यान्डको सैन्य समर्थक र शाही अभिजात वर्गको प्रमुख प्रतिद्वन्द्वी रहँदै आएको छ । ती वर्गले सिनावात्रा परिवारको लोकप्रियतावादी राजनीति परम्परागत सामाजिक संरचनाका लागि खतरा भएको आरोप लगाउँदै आएका छन् । तर हालका वर्षमा सिनावात्रा परिवारले कानूनी र राजनीतिकरूपमा कठिन चरणको सामना गर्दै आएको छ । ७६ वर्षीया थाक्सिनले आफ्नै शासनकालमा भएका भ्रष्टाचारका मुद्दामा जेल सजाय भोगिरहेका छन् । यसले परिवारमाथि थप दबाब सिर्जना गरेको छ ।

    फेउ थाई पार्टीले बुधबार जारी गरेको विज्ञप्तिमा पेटोङटार्नको राजीनामा औपचारिकरूपमा स्वीकृत गरेको उल्लेख छ । विज्ञप्तिमा उनले भनेकी छिन्, “मेरो राजीनामाले पार्टीलाई पूर्णरूपमा सुधार गर्न मद्दत गर्नेछ र अन्ततः हामी पुनः चुनाव जित्न सक्षम हुने छौँ ।” थाक्सिनले सन् १९९० को दशकको उत्तरार्धमा फेउ थाईको पहिलो रूप थाइ राख थाइ पार्टी स्थापना गरेका हुन् । उनलाई सन् २००६ को सैनिक विद्रोहमा पदच्युत गरिएपछि एक दशकभन्दा बढी समय निर्वासनमा बस्नुपरेको थियो । पेटोङटार्न आफ्ना पिता थाक्सिन र काकी यिङलक सिनावात्रापछि प्रधानमन्त्री बन्ने तेस्री सिनावात्रा हुन् । उनी हाल पनि सक्रियरूपमा राजनीतिमा संलग्न परिवारकी अन्तिम सदस्य हुन् ।

    राजनीति विश्लेषकको भनाइमा उनको राजीनामाले थाइल्यान्डको राजनीतिमा सिनावात्रा परिवारको प्रभाव क्रमशः क्षीण हुँदै गएको सङ्केत गर्छ । तथापि, कतिपयले भने अझै पनि फेउ थाई पार्टीको पछाडि परिवारको प्रभाव कायम रहेको विश्वास गर्छन् । “फेउ थाईको नेतृत्व जोसुकैले गरे पनि यसको वास्तविक नियन्त्रण सधैँ ब्याकरूपमा सिनावात्रा परिवारकै हातमा रहने छ”, सुखोथाई थम्माथिरत ओपन युनिभर्सिटीका राजनीति विज्ञ युटापोर्न इसाराचाईले भने । उनका अनुसार अदालतले पेटोङटार्नलाई पदबाट हटाएपछि पार्टीलाई कानूनी जोखिमबाट जोगाउनकै लागि उनको राजीनामा मुख्यरूपमा आवश्यक भएको हो । राससएएफपी

  • जापानमा नेपाली बहु सांस्कृतिक केन्द्र निर्माणका लागि ‘टोकियो सप्ताह’ हुने

    जापानमा नेपाली बहु सांस्कृतिक केन्द्र निर्माणका लागि ‘टोकियो सप्ताह’ हुने

    ५ कात्तिक, टोकियो । जापानमा ‘एकीकृत नेपाली घरः बहु सांस्कृतिक केन्द्र’ निर्माणका लागि टोकियो सप्ताह हुने भएको छ । गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) जापानको आयोजना र जापानमा रहेका विभिन्न सङ्घ संस्थाको सहकार्यमा आगामी नोभेम्वर ८ देखि १५ तारिखसम्म ‘टोेकियो सप्ताह’ हुन लागेको हो । जापानको टोकियोस्थित शिन्ज्युकुमा हुन लागेको उक्त सप्ताहव्यापी महायज्ञमा वाचनप्रवीण पण्डित दिनबन्धु पोखरेल र बौद्ध गुरु टुल्कु सोनाम गर्वाङ रिम्पोछेले कथा वाचन गर्ने कार्यक्रम रहेको एनआरएनए जापानका अध्यक्ष सुभास लामिछानेले जानकारी दिए ।


    “जापानमा नेपालीबीचको एकता, भाइचारा र एक अर्का पुस्ताबिचको पारस्परिक सम्बन्धलाई थप मजबुत बनाउँदै आध्यात्मिक चिन्तनको उजागर गर्न र गराउन महायज्ञ कार्यक्रमको आयोजना गरिएको हो”, अध्यक्ष लामिछानेले भने । अध्यक्ष लामिछानेले एकिकृत नेपाली घर निर्माणका लागि स्रोत जुटाउने महायज्ञको लक्ष्य भएता पनि नेपालीबिच मेलमिलाप, शान्ति र सकारात्मक भाव जगाउँदै पूण्यकर्ममा सरिक गराउने उद्देश्य रहेको बताए ।


    एनआरएनए जापानका पूर्वअध्यक्ष नविन निउरेले जापानमा एकिकृत नेपाली घरः बहु सांस्कृतिक केन्द्र निर्माणका लागि टोकियोको चिवा केनमा जमिन खरीद भइसकेकाले उक्त जग्गामा भवन निर्माणका लागि महायज्ञ आयोजना गरिएको जानकारी दिए । महायज्ञले नेपाली कला संस्कृतिलाई जापानमा प्रवद्र्धन गर्न र अर्को पुस्तालाई पूर्वीय दर्शन पुस्तान्तरण गर्न एक महत्वपूर्ण कदम हुने विश्वास आयोजकले लिएको छ ।

    सप्ताहव्यापी ज्ञान महायज्ञ ‘शान्तिका लागि कलशयात्रा’ बाट सुरु गरिने र हरेक दिन पूजा पाठ, प्रवचन, भजनकीर्तन र प्रसाद ग्रहण(वितरण गरिने कार्यक्रम रहेको छ । महायज्ञलाई व्यवस्थित, मर्यादित र अनुशासित ढंगले परिणाममुखी बनाउन विभिन्न उपसमिति समेत निर्माण गरिएको एनआरएनए जापानले जनाएको छ । रासस

  • कलाकार र प्रधानमन्त्रीबीच संयुक्त छलफल

    कलाकार र प्रधानमन्त्रीबीच संयुक्त छलफल

    ५ कात्तिक, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले बुधबार कलाकारसँग सामूहिक छलफल गरेकी छिन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार दिउँसो प्रधानमन्त्री सुशीला कार्कीले कलाकारसँग छलफल गरेकी हुन् ।

    प्रधानमन्त्रीसँगै गृहमन्त्री ओमप्रकाश अर्यालको उपस्थितिमा भएको छलफलमा नेपाली चलचित्र र संगीत क्षेत्रका कलाकारको उपस्थिति थियो । छलफलमा विजय बराल, कालीप्रसाद रिजाल, निश्चल बस्नेत, ऋचा शर्मा, बिपिन कार्कीलगायत कलाकारको उपस्थिति थियो ।

  • आन्दोलनमा जलाइएको बालकोटस्थित निवास पुगे ओली, के भने ?

    आन्दोलनमा जलाइएको बालकोटस्थित निवास पुगे ओली, के भने ?

    ५ कात्तिक, काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली दम्पतीले जेनजी आन्दोलनमा आगजनी गरिएको बालकोटस्थित आफ्नो घरको अवलोकन गरेका छन् । अध्यक्ष ओलीसँगै राधिका शाक्य, पोलिटब्युरो सदस्य महेश बस्नेतसहित नेता कार्यकर्ता सहभागि थिए ।

    अवलोकनको क्रममा अध्यक्ष ओलीले राष्ट्रको नाममा गरिसकिएको घर जलाएर राष्ट्रको सम्पत्ति खरानी भएको बताए । उनले घरको सबै संरचनालाई स्थलगत अवलोकन गरे । गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा एक समूहले अध्यक्ष ओलीको घरमा आगजनी गरेको थियो । ओलीले गृहमन्त्रीले आफुविरुद्ध व्यक्तिगत रिसिइवी साध्न खोजेको समेत बताए ।

  • राष्ट्रिय सभा अध्यक्ष जेनेभामा उच्चस्तरीय भेटघाटमा व्यस्त

    राष्ट्रिय सभा अध्यक्ष जेनेभामा उच्चस्तरीय भेटघाटमा व्यस्त

    ५ कात्तिक, काठमाडौं । जेनेभामा जारी अन्तर व्यवस्थापिका संघको १५१ औँ महासभामा सहभागिताका लागि जेनेभामा रहेका राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले विभिन्न देशका संसदीय प्रतिनिधि मण्डलसँग द्विपक्षीय भेटवार्ता गरेका छन् । अध्यक्ष दाहालले महासभामा सहभागी हुन आएका संयुक्त अधिराज्य (बेलायत), जनवादी गणतन्त्र चीन र श्रीलङ्काका संसदीय प्रतिनिधि मण्डलसँग छुट्टाछुट्टै भेटवार्ता गरेका हुन् ।

    अध्यक्ष दाहालले सीचन टाङ नेतृत्वको चिनियाँ संसदीय प्रतिनिधि मण्डल, फेबियन ह्यामिल्टन नेतृत्वको वेलायती संसदीय प्रतिनिधि मण्डल र सुनिल वाटगाला नेतृत्वको श्रीलङ्काको संसदीय प्रतिनिधि मण्डलसँग छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता गरेका हुन् ।
    भेटमा राष्ट्रको आपसी सम्बन्ध, संसदीय मैत्री समूहमार्फत् संसदीय अनुभव आदानप्रदान, अन्तर्राष्ट्रिय मञ्चमा सहकार्य र सहयोग लगायतका विषयमा छलफल भएको थियो।

    अध्यक्ष दाहालले नेपालमा पछिल्लो समयमा भएको जेनजी आन्दोलन, त्यसबाट उत्पन्न नयाँ राजनीतिक परिवेशमा अन्तरिम सरकार गठन भएको र चुनाव घोषणा भएको जानकारी गराउँदै तोकिएको समयमै निर्वाचन सम्पन्न गरी लोकतान्त्रिक सुदृढीकरणका लागि नेपाल प्रयत्नशील रहेको बताए ।


    त्यस्तै, आन्दोलनका क्रममा क्षति पुगेका संरचनाको पुनर्निमाण र नयाँ निर्वाचनका लागि मित्र राष्ट्रहरूको साथ र सहयोगको लागि अध्यक्ष दाहालले आग्रह गरे । भेटमा अध्यक्ष दाहालले जलवायु परिवर्तनको असर नेपालीले प्रत्यक्ष भोगिरहेको प्रसङ्ग उल्लेख गर्दै विकासोन्मुख देशलाई विश्व समुदायले सहयोग गर्नुपर्नेमा जोड दिए ।

  • उत्तर कोरियाले गर्‍यो दक्षिण कोरियातर्फ मिसाइल प्रक्षेपण

    उत्तर कोरियाले गर्‍यो दक्षिण कोरियातर्फ मिसाइल प्रक्षेपण

    ५ कात्तिक, काठमाडौं । उत्तर कोरियाले दक्षिण कोरियातर्फ ब्यालिस्टिक मिसाइल प्रक्षेपण गरेको छ । बुधबार बिहान उत्तर कोरियाले आफ्नो पूर्वी क्षेत्रमा मिसाइल प्रक्षेपण गरेको दक्षिण कोरियाको सेनाले जनाएको छ। दक्षिण कोरियामा हुन लागेको एशिया–प्रशान्त आर्थिक सहयोग (एपीईसी) शिखर सम्मेलनभन्दा एक साताअघि भएको हो मिसाइल प्रक्षेपण भएको हो ।

    उक्त सम्मेलनमा चिनियाँ राष्ट्रपति सी चिनफिङ, अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र अन्य विश्व नेताहरू दक्षिण कोरियाको ग्येङ्जु सहरमा भेला हुने भनिएको छ । दक्षिण कोरियाको सेनाका अनुसार केही छोटो दूरीका ब्यालिस्टिक मिसाइल भएको र जापान सागर (पूर्वी सागर) तर्फ प्रक्षेपण गरिएको पाइएको छ । यसबारे दक्षिण कोरियाली समाचार एजेन्सी योनहापले पनि जानकारी दिएको छ ।

    दक्षिण कोरियाली सञ्चार माध्यमका अनुसार थप प्रक्षेपणा हुनसक्ने भन्दै सेनाले निगरानी बढाएको छ । यसबारेमा जापान र अमेरिकालाई पनि जानकारी गराएर सतर्कता अपनाइएको छ । समाचार एजेन्सी योनहापका अनुसार, उत्तर कोरियाले यसअघि मे ८ र मे २२ मा छोटो दूरीका ब्यालिस्टिक र क्रूज मिसाइलहरू पूर्वी सागरतर्फ प्रक्षेपण गरेको थियो । त्यसपछि यो पहिलो प्रक्षेपण हो, जुन दक्षिण कोरियाका नयाँ राष्ट्रपति ली जे म्युंगले जूनमा पदभार लिएपछि भएको हो ।

  • कोरला नाकाले उठायो ३ अर्ब बढी राजस्व

    कोरला नाकाले उठायो ३ अर्ब बढी राजस्व

    ५ कात्तिक, काठमाडौं । नेपाल–चीन उत्तरी कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयले ३ अर्ब १ करोड ४४ लाख ३६ हजार रूपैयाँ राजस्व संकलन गरेको छ। यो चिनियाँ विद्युतीय कार आयात हुने मुख्य नाका हो। गत भदौ ३१ गते पूर्ण रूपले व्यापारिक मार्गका रुपमा सञ्चालनमा आएको कोरला नाकाबाट मुस्ताङ भन्सार कार्यालयले मंगलबारसम्म उक्त राजस्व संकलन गरेको जनाएको छ। हालसम्म कार्यालयले ६६४ वटा मालवाहक कन्टेनरको जाँचपास गरी गन्तव्यमा पठाएको न्हेचुङस्थित मुस्ताङ भन्सार कार्यालयका प्रमुख रमेश खड्काले जानकारी दिए।

    चीनबाट पैठारी गरिएका मालसामानमा दसैं–तिहार लक्षित रेडिमेड लत्ताकपडा, कस्मेटिक र इलेक्ट्रोनिक सामान रहेको मुस्ताङ भन्सारले जनाएको छ। नेपालतर्फबाट भने हस्तकला सामग्री र नेपाली उत्पादन निकासी भएको भन्सार प्रमुख खड्काको भनाइ छ। हालसम्म कोरला नाका हुँदै चीनबाट पैठारी गरिएका १४९८ वटा विद्युतीय कारको भन्सार जाँचपास भई गन्तव्यतर्फ प्रस्थान गरिसकेको भन्सार प्रमुख खड्काले जानकारी दिए।

    यहाँको नेपाल–चीन उत्तरी कोरला नाकालाई भन्सार विभागले तातोपानी नाका र रसुवागढी नाका अवरूद्ध भएपछि वैकल्पिक नाकाका रुपमा सञ्चालनमा ल्याएको थियो। त्यसैबीच, भन्सार विभागले यहाँको कोरला नाकालाई पूर्ण रूपमा सञ्चालनमा ल्याउने गरी मुस्ताङ भन्सार कार्यालयलाई अनलाइन प्रणाली भन्सार आशिकुडा प्रणालीमा जोडेको छ।
    विभागले यो नाकालाई व्यापारिक आयात-निर्यात सहज तुल्याउन भन्सार प्रतितपत्र (एलसी) खोल्न अनुमति दिएको थियो। नाका पूर्ण रूपमा सञ्चालनमा आए पनि बाह्रै महिना यहाँको नाकाबाट आयात-निर्यात गर्न चिसो र उच्च भूगोलका कारण चुनौती हुने भन्सार प्रमुख खड्काले बताए। कोरला नाका ४६१० मिटरको अग्लो उचाइमा रहेकाले चिसोले इन्धन जमेर ढुवानीका साधन स्टार्ट नहुने र धकेलेर तल झार्नुपर्ने बाध्यता रहेको भन्सार प्रमुख खड्काको भनाइ छ।

    कोरला नाकालाई बाह्रै महिना एकैनासले सञ्चालन गर्न सडकको अवस्थामा सुधार र कोरला नाकामा आवश्यक पूर्वाधार निर्माण गर्नुपर्ने आवश्यकता रहेको भन्सार प्रमुख खड्काले औंल्याए। यसअघि कोरला नाका २०८० कात्तिक २७ गते उपल्लो मुस्ताङका नागरिकका लागि मात्रै घरायसी मालसामान किनमेल गर्न चीन पक्षले बाह्रै महिना खुला गरेको थियो।

    त्यस बेला चीनले तामझामका साथ उपल्लो मुस्ताङका नागरिकका लागि नाका बाह्रै महिना खुला भएको सन्देश दिएको थियो। कोरलाबाट नेचुङ–लिजीसम्म जान जिल्ला प्रशासन कार्यालयले दिएको सीमापार पास देखाएर मुस्ताङका नागरिक चीन प्रवेश गर्न पाउने व्यवस्था गरिएको हो। रासस

  • आजदेखि सुरु भयो नेपाल संवत् ११४६

    आजदेखि सुरु भयो नेपाल संवत् ११४६

    ५ कात्तिक, काठमाडौं । नेपाल सम्वत् ११४६ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस सम्वतलाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शंखधर साःख्वाले विसं ९३७ ९इ सं ८८०० मा गरिब जनताको ऋणमोचन गरी नेपाल सम्वत्को सुरुवात् गराउनुभएको थियो । नेपाल सम्वत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय सम्वत्को मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा त्रिरत्न मानन्धरको भनाइ छ ।

    ‘लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल सम्वत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक सम्वत्का रुपमा चलेको थियो, लिच्छविकालअघि शक सम्वत प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक सम्वत् हो’, उनले भने । विसं २००७ मा प्रजातन्त्रको स्थापना भएपछि नै नेपाल सम्वत्लाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ । नेपाल सम्वत्लाई नयाँ वर्षका रुपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत क्षेत्रमा बसोबास गर्ने नेवार समुदायले विशेषरुपमा मनाउने गरिन्छ ।

    गरिब जनताको ऋणमोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक सम्वत्समेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साःख्वालाई राष्टिय विभूति घोषणा गरेका थिए । विसं २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल सम्वत्ले राष्ट्रिय मान्यता पाउने घोषणा गर्नुभएको थियो । कात्तिक कृष्ण औँसीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात् कात्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको सुरुआत गर्ने परम्परा समेत काठमाडौँमा अझै छ । राससबाट

  • नेवार समुदायले आज म्हः पूजा गर्दै

    नेवार समुदायले आज म्हः पूजा गर्दै

    ५ कात्तिक, काठमाडौं । कात्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायमा म्हः (आत्म) पूजा गरिँदैछ । प्रत्येक वर्ष कार्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदायका मानिसले आत्म (म्हः) पूजा पर्व मनाउने गर्दछन् । मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्वपूर्ण भएकाले आत्म पूजा गर्ने परम्परा शास्त्रीय भएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन् ।

    आत्म सन्तुष्ट बनाई खुसी राख्न सके देवी देवता पनि प्रसन्न भई आशीर्वाद दिने र जीवन लिएको पनि सार्थक हुने धार्मिक विश्वास समेत छ । यही शास्त्रीय मान्यता र विश्वासका आधारमा आत्म (म्हः) पूजा गर्ने परम्परा बसेको हो । यो पर्व नेवारी समुदायको बाहुल्यता रहेको काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, पनौती, बाह्रबिसे, चौतारालगायत स्थानमा मनाउने गरिएको छ ।

  • आज तिहारको ५ औं दिन, गाइ पूजा गरिँदै

    आज तिहारको ५ औं दिन, गाइ पूजा गरिँदै

    ५ कात्तिक, काठमाडौं । कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको पाँचौं दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदै छ ।
    गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ ।

    गाईको पूजा गरी आजका दिन मीठा मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैं प्राप्त हुने धार्मिक विश्वास छ । नेपालका कतिपय भाग र केही समुदायमा कात्तिक कृष्ण औँसीकै दिनमा गाई पूजा गर्ने परम्परा रहे पनि औँसीको अन्त्य र प्रतिपदाको सुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्रा तोयराज नेपालले जानकारी दिए ।

    वैदिक सनातन हिन्दू धर्मावलम्बीले गर्ने प्रत्येक कर्ममा गाईदान गर्ने विधि छ । पछिल्लो समय गाईको अभावमा पैसा राखेर गाईको अभावमा भनी सङ्कल्प पढिन्छ । गाईलाई गौमाताका रुपमा सम्मान पनि गरिन्छ । गाईलाई सम्मानका साथ राष्ट्रिय जनावरका रुपमा राखिएको छ । आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वास समेत रहेको छ ।

    राससबाट

  • प्रधानमन्त्रीसँगको छलफलमा एमालेले राख्यो यस्तो शर्त

    प्रधानमन्त्रीसँगको छलफलमा एमालेले राख्यो यस्तो शर्त

    ५ कात्तिक, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकारका केही मन्त्रीहरूको व्यवहार तत्काल नियन्त्रणमा लिन आवश्यक भएको बताएका छन् । बुधबार प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वदलीय बैठकमा सहभागी भएका महासचिव पोखरेलले त्यसपछि पार्टीको औपचारिक धारणा सार्वजनिक गर्ने क्रममा यस्तो बताएका हुन् । सामाजिक सञ्जालमार्फत विभिन्न बुँदामा पार्टीको धारणा राख्दै उनले सरकारले राजनीतिक दलहरूसँग संवाद र सहकार्यको वातावरण सुनिश्चित हुनुपर्ने माग राखेका छन् ।

    ‘मुख्य दलहरूलाई निषेध गरेर गरिने निर्वाचनले राजनीतिक वैधता पाउन सक्दैन । राजनीतिक दलका नेताहरूको क्रियाशीलतामा अवरोध गर्न खोज्ने प्रवृत्तिको प्रतिवाद सरकारतर्फबाट भएको देखिँदैन,’ उनले भनेका छन् । साथै, कतिपय समूहहरू समानान्तर सत्ता सञ्चालन गर्नेजस्ता गतिविधिमा सक्रिय भएको उनले बताए । ‘यस्ता अवस्थाको नियन्त्रण अनिवार्य छ । सरकारले राजनीतिक दलहरूसँग संवाद र सहकार्यको वातावरण सुनिश्चित गर्नुपर्छ । तर, अहिलेका केही मन्त्रीहरू त्यसको विपरीत व्यवहार गरिरहेका छन्, जसमा तत्काल नियन्त्रण आवश्यक छ,’ पोखरेलले बताएका छन् ।