Category: फिचर

  • महिला फुटबल : भारतविरुद्ध नेपालको सानदार जित

    महिला फुटबल : भारतविरुद्ध नेपालको सानदार जित

    १० कात्तिक, काठमाडौं । ट्राई नेसन्स अन्तर्राष्ट्रिय महिला फुटबलको दोस्रो खेलमा नेपालले भारतमाथि सानदार जित निकालेको छ । शिलोङस्थित जवाहरलाल नेहरु स्टेडियममा भएको खेलमा कप्तान सावित्रा भण्डारी साम्बाको दुई गोल मद्तमा नेपालले भारतलाई २–१ ले हरायो । सावित्राले खेलको दोस्रो मिनेटमै गोल गरी नेपाललाई अग्रता दिलाइन् । विमला विकले मैदानको आफ्नै भागबाट दिएको लामो पासमा सावित्राले भारतीय डिफेण्डरलाई पछि पार्दै गोल गरेकी हुन् ।

    सावित्राले नै ६२औं मिनेटमा फ्रिकिकमार्फत उत्कृष्ट गोल गर्दै नेपालको अग्रता दोब्बर पारिन् । घरेलु टोली भारतले ८१औं मिनेटमा गोल फर्कायो । भारतका लागि करिष्मा श्रीरभोइकारले गोल गरिन् । ट्राईनेसन्स कपमा इरानले भारत र नेपाललाई हराएर यसअघि नै उपाधि जितिसकेको छ । भारत विरुद्ध जितमा फेरि एकपटक सावित्रा नै नायक रहिन् । उनले भारत विरुद्ध अहिलेसम्म १० गोल गरिसकेकी छिन् । समग्रमा भने सावित्राले नेपालका लागि ६८ गोल पुर्‍याएकी छिन् । पहिलो खेलमा नेपाल इरानसँग ३–० ले हारेको थियो । त्यसअघि भारत इरानसँग २–० ले हारेको हो ।

  • अमेरिका नेपालको पाँचौ ठूलो व्यापार साझेदार मुलुक, तीन महिनामै साढे १२ अर्बको व्यापार

    अमेरिका नेपालको पाँचौ ठूलो व्यापार साझेदार मुलुक, तीन महिनामै साढे १२ अर्बको व्यापार

    १० कात्तिक, काठमाडौं । संयुक्त राज्य अमेरिका नेपालको पाँचौं ठूलो व्यापारिक साझेदार मुलुक रहेको देखिएको छ । चालु आव २०८२\८३ को पहिलो त्रैमासिक (साउन–असोज)तथ्यांक अनुसार अमेरिकासँग तीन महिनामा साढे १२ अर्ब रुपैयाँ बराबरको व्यापार भएको छ । अमेरिकाबाट नेपालमा ७ अर्ब ७१ करोड रुपैयाँको वस्तु आयात भएको छ । नेपालबाट अमेरिकामा भने ४ अर्ब ८१ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदार मुलुक भने भारत हो ।

    भारतबाट ३ महिनामा २ खर्ब ५८ अर्बको वस्तु नेपाल आएको छ । नेपालबाट ५९ अर्ब १२ करोड रुपैयाँ बराबर निर्यात भारततर्फ भएको छ । चीन दोस्रो स्थानमा छ । चीनबाट नेपालमा १ खर्ब ४ अर्बको वस्तु आएको छ । निर्यात भने १८ करोड रुपैयाँको मात्र भएको छ । तेस्रो स्थानमा अर्जेण्टिना रहेको छ । यस मुलुकबाट २७ अर्ब ८९ करोडको सामान नेपाल आएको छ ।

    नेपालबाट भने मात्र ५ लाख ८८ हजारको वस्तु निर्यात भएको छ । चौथो स्थानमा यूएइ रहेको छ । यस मुलुकबाट १३ अर्ब ७२ करोडको सामान नेपाल आएको छ । नेपालबाट भने ६१ करोडको वस्तु यूएई निर्यात भएको छ । तीन महिनामा ४ खर्ब ६८ अर्बको कुल आयात भएको छ । ७२ अर्ब ७८ करोडको निर्यात भएको तथ्यांक छ ।

  • अमेरिकी नौसेनाका फाइटर जेट र हेलिकप्टर दक्षिण चीन सागरमा खसे, ५ जनाको सुरक्षित उद्धार

    अमेरिकी नौसेनाका फाइटर जेट र हेलिकप्टर दक्षिण चीन सागरमा खसे, ५ जनाको सुरक्षित उद्धार

    १० कात्तिक, काठमाडौं । अमेरिकी नौसेनाको एक फाइटर जेट र एक हेलिकप्टर दक्षिण चीन सागरमा खसेका छन् । एकै दिन फरक–फरक समयमा भएका यी दुर्घटनास्थलबाट चालक दलका पाँच सदस्यहरूलाई सकुशल उद्धार गरिएको छ । दक्षिण चीन सागरमा आफ्नो उपस्थिति बलियो बनाउन अमेरिका सक्रिय भइरहेका बेला पहिलो दुर्घटना आइतबार स्थानीय समय अनुसार दिउँसो करिब २ः४५ बजे भएको थियो । ‘ब्याटल क्याट्स’ स्क्वाड्रन–७३सँग सम्बन्धित एमएच–६० आर सी–हक हेलिकप्टर दुर्घटनाग्रस्त भएको थियो । खोज तथा उद्धार टोलीहरूले तत्काल हेलिकप्टरको चालक दलका तीन सदस्यहरुलाई सुरक्षित उद्धार गरेका थिए ।

    त्यसको करीब ३० मिनेटपछि, दिउँसो करिब ३ः१५ बजे, ‘फाइटिङ रेडकक्स’ स्क्वाड्रन–२२ को एक सुपर हर्नेट फाइटर जेट पनि त्यही समु्द्रमा खसेको थियो । जेटमा रहेका दुबै पाइलट समयमै प्यारासुटको सहायताले बाहिर निस्कन सफल भएका र पछि सुरक्षित उद्धार गरिएको अमेरिकी नौसेनाले जनाएको छ । अमेरिकी नौसेनाले जारी गरेको विज्ञप्तिमा पाँचै जनालाई उपचारका लागि पठाइएको र उनीहरुको स्वास्थ्य अवस्था स्थिर रहेको उल्लेख छ । दुबै घटनाको कारणबारे अहिले अनुसन्धान भइरहेको छ । नौसेनाले भविष्यमा यस्ता दुर्घटना नोहाउन् भन्नका लागि सुरक्षा प्रोटोकल अन्तर्गत सबै अपरेसनहरूको समीक्षा गरिने जनाएको छ ।

  • छठ पर्वले राष्ट्रिय एकता सुदृढ बनाउने छ : राष्ट्रपति

    छठ पर्वले राष्ट्रिय एकता सुदृढ बनाउने छ : राष्ट्रपति

    १० कात्तिक, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले नेपालीको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।
    छठ पर्व २०८२ को अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उनले भनेका छन्, ‘यस पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत सबै प्रकारका विभेद, कुरिति एवं विसङ्गतिको अन्त्य गरी सम्पूर्ण नेपालीमा राष्ट्रिय एकता अभिवृद्धि गर्न, मौलिक संस्कृतिको संरक्षण तथा सम्वर्द्धन गर्न र आपसी सद्भाव थप सुदृढ पार्न प्रेरणा प्रदान गर्नेछ भन्ने मैले विश्वास लिएको छु ।’

    छठ पर्वले दिगो शान्ति, सुशासन, विकास र समृद्धि प्राप्तिका लागि थप सहयोग पुग्ने राष्ट्रपति पौडेलको भनाइ छ । सूर्य, जल र पृथ्वीप्रति श्रद्धा गर्दै छठी माताको पूजा, अर्चना र व्रत गरी रातभर खोला, पोखरी तथा तालतलैयाको किनारमा जाग्राम बसी धुमधाम एवं हर्षोल्लासका साथ यो पर्व मनाउने चलन छ ।

    छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दुःख र कष्ट हटेर शुभ हुँदै जाने जनविश्वास छ । राष्ट्रपति पौडेलले भनेका छन्, ‘सूर्यविना पृथ्वीमा जीवन सम्भव नरहने सन्दर्भलाई आत्मसात् गर्दै तन, मन लगाएर कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीका दिनसम्म जल प्रवाह हुने स्थानमा रहेर अस्ताउँदो र उदाउँदो सूर्यको किरणलाई दूधको अघ्र्य दिएर पूजा आराधना गरी यो पर्व मनाउनाले मानिसलाई प्रकृति प्रतिको दायित्व र पर्यावरणीय चेतना एवं पारिवारिक र सामाजिक ऐक्यबद्धता प्रकट गर्न सहयोग पुग्ने देखिन्छ ।’

  • छठमा प्रधानमन्त्रीको शुभकामना : नेपालबीच एकता र सद्भावको खाँचो

    छठमा प्रधानमन्त्रीको शुभकामना : नेपालबीच एकता र सद्भावको खाँचो

    १० कात्तिक, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सूर्य आराधनाको महान् पर्व छठका अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्रिय एकता, सद्भाव र लोकतान्त्रिक प्रक्रियाप्रति प्रतिबद्ध रहन सबैलाई आग्रह गरेकी छन् । शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री कार्कीले अहिलेको अवस्थामा सबै नेपालीबीच अझै बढी एकता र सद्भावको खाँचो औंल्याएकी छन् । सत्य, अहिंसा र प्रकृतिप्रेममा अभिप्रेरित यो पर्वले तराई–पहाडबीचको सांस्कृतिक र सामाजिक एकता सुदृढ गर्ने सेतुको काम गरिरहेको उनले उल्लेख गरेकी छन् ।

    उनको शुभकामना सन्देशमा लेखिएको छ, ‘छठसहित हाम्रा चाडपर्वहरू हाम्रो सामाजिक एकता, सद्भाव र भ्रातृत्वका मानक पनि हुन् । अहिलेको अवस्थामा हामी सबै नेपालीबीच अझ बढी एकता र सद्भावको खाँचो छ ।’ प्रधानमन्त्रीले हालको राजनीतिक परिस्थितिलाई सन्तुलित बनाउँदै आउँदो फागुन २१ गते निर्धारित प्रतिनिधि सभा निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न सबै पक्षको सहकार्यमा जोड दिएकी छन् ।

    सडक प्रदर्शन मात्र सबै समस्याको समाधान होइन भन्दै उनले आफ्ना अडान वा असन्तुष्टि भए पनि शान्तिपूर्ण रूपमा राखी आम जनताको मन जितेर निर्वाचनबाट अनुमोदित गराउनु नै लोकतन्त्रको सर्वोत्तम विधि भएको उल्लेख गरेकी छन् । प्रधानमन्त्री कार्कीले आगामी निर्वाचनलाई एक ‘राष्ट्रिय अनुष्ठान’ का रूपमा ग्रहण गरी सफल बनाउन सम्पूर्ण नागरिक, राजनीतिक दल र सरोकारवालालाई आह्वान गरेकी छन् ।

    ‘जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिलाई सामान्यीकरण गर्दै आउँदो फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्नुपर्ने दायित्व हामीमाथि छ,’ उनले भनेकी छन्, ‘सबै पक्षले परिस्थितिको संवेदनशीलता र आ–आफ्नो जिम्मेवारीको बोध गर्दै निर्वाचन सफल पार्न जुट्नुपर्ने बेला छ ।’ छठको सन्दर्भमा उनले पवित्र आस्था, कठिन व्रत र सिंगारिएका नदी तथा तलाउका किनारमा देखिने उत्सवका दृश्यहरूले नेपाली समाजमा सद्भाव र खुशी फैलाओस् भन्ने कामना पनि गरेकी छन् ।

  • अबको केही दिन मौसम प्रतिकुल बन्दै, सूचना लिएर मात्र पदयात्रामा जान आह्वान

    अबको केही दिन मौसम प्रतिकुल बन्दै, सूचना लिएर मात्र पदयात्रामा जान आह्वान

    १० कात्तिक, काठमाडौं । सरकारले हिमाली तथा उच्च पहाडी क्षेत्रको यात्रामा निस्कनुअघि जल तथा मौसम विज्ञान विभागबाट जारी हुने मौसम पूर्वानुमानको बारेमा आवश्यक जानकारी लिन आग्रह गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पदयात्रामा जानुपूर्व पूर्वसूचना एवं ‘अलर्ट’बारे जानकारी लिन, लेक लाग्ने जोखिमबारे जानकारी प्राप्त गर्न आग्रह गरेको हो । यस्तै, पदयात्राका लागि आवश्यक पूर्वतयारी गर्न एवं लेक लागिहालेमा यात्रा रोकी तलतिर झरेर उपचार प्रक्रियामा लाग्न एवं एक्लै यात्रामा ननिस्कनसमेत अनुरोध गरेको छ ।

    पछिल्ला दुई दिन अर्थात् यही कात्तिक ८ र ९ गते लेक लागेर मनाङ र कास्कीमा गरी चार जनाको ज्यान गएको छ भने एक जना स्पेनी नागरिकलाई उपचारका लागि काठमाडौं ल्याइएको छ । लेक लागेर जीवन गुमाएकाप्रति प्राधिकरणले गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ ।
    साथै, मृतकका परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै लेक लागेर बिरामी परेका व्यक्तिको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको प्राधिकरणका प्रवक्ता शान्ति महतले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

    जल तथा मौसम विज्ञान विभागबाट जारी मौसम पूर्वानुमानअनुसार यही कात्तिक १० र ११ गते केही प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ । बङ्गालको खाडी र अरब सागरमा बनेको दुई वटा न्यून चापीय प्रणालीले आगामी मङ्गलबारदेखि शुक्रबारसम्म नेपालमा वर्षा र हिमपात गराउने सम्भावना रहेको सन्दर्भमा जल तथा मौसम विज्ञान विभागबाट सोसम्बन्धी सूक्ष्म विश्लेषण भइरहेको र छिट्टै पूर्वानुमान जारी हुने जानकारीसमेत प्राप्त भएको प्राधिकरणले जनाएको छ ।

  • आज छठ पर्वको मुख्य दिन, अस्ताउँदो सूर्यलाई अर्घ दिएर मनाइदै

    आज छठ पर्वको मुख्य दिन, अस्ताउँदो सूर्यलाई अर्घ दिएर मनाइदै

    १० कात्तिक, काठमाडौं । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइँदैछ । छठ पर्वको मुख्य दिन अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइन्छ भने त्यसको भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर छठ समापन गरिन्छ । अस्ताउँदो सूर्यलाई अर्घ दिने छठ पर्वको मुख्य दिन सरकारले सार्वजनिक बिदा दिएको छ । ब्रतालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिन्छन् ।

    अस्ताउँदो सूर्यलाई अर्घ दिन राजधानीका गौरीघाट, कमलपोखरी, विष्णुमती, नख्खु, गहनापोखरी, कुपण्डोललगायत काठमाडौंका विभिन्न स्थानमा पूजास्थल निर्माण गरिएको छ । विशेषगरी तराई क्षेत्रमा मनाइने छठ पछिल्लो समय पहाडी र हिमाली क्षेत्रका मानिसले पनि मनाउँदै आएको पाइन्छ । यसले सामाजिक सद्भाव र एकता कायम गरेको छ।

    छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दुःख र कष्ट हटेर जाने जनविश्वास छ । छठका व्रतालुले कार्तिक शुक्ल चतुर्थीदेखि नै चोखो खानपान गरी शुद्ध भएर बस्ने गर्छन् । केही व्रतालुले भने कोजाग्रत पूर्णिमाको भोलिपल्ट अर्थात् कार्तिक कृष्ण प्रतिपदादेखि लसुन, प्याजलगायत तामसी खाद्यपदार्थ नखाइ चोखो अर्थात् सात्विक भोजन गरेर बस्छन् । यसैले यो पर्व अत्यन्तै पवित्र भएर मनाउने चाडका रुपमा पनि स्थापित भएको छ ।

  • थाईल्यान्ड र क्याम्बोडियाबीच शान्ति सम्झौता, ट्रम्प पनि सहभागी

    थाईल्यान्ड र क्याम्बोडियाबीच शान्ति सम्झौता, ट्रम्प पनि सहभागी

    १० कात्तिक, काठमाडौं । सीमा विवादका कारण हालै लडाइँ गरेका थाईल्यान्ड र क्याम्बोडियाले आपसी सम्बन्ध सामान्य बनाउने प्रयासमा औपचारिक शान्ति सम्झौता गरेका छन्। सम्झौता समारोहमा संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प पनि सहभागी भए । ट्रम्पले यसै महिनाको शुरू तिर इजरेल र हमास समूहबीच युद्धविराम गराएको पृष्ठभूमिमा यो खबर प्रकाशमा आएको हो। मलेशियाको राजधानी क्वालाम्पुर पुगेका अमेरिकी राष्ट्रपतिले जुलाईमा क्याम्बोडिया र थाईल्यान्डबीच सीमामा भएको लडाइँ अन्त्य हुनुको श्रेय लिँदै आएका छन्।

    लडाइँ नरोकेसम्म दुवै देशसँग व्यापार वार्ता रोक्ने चेतावनी ट्रम्पले दिएपछि एउटा धरमराउँदो युद्धविराम सम्झौतामा दुई मुलुक पुगेका थिए। गत जुलाईमा भएको पाँचदिने द्वन्द्वका क्रममा करिब दुई दर्जन व्यक्तिको ज्यान गएको थियो। दुई देशबीच लामो समयदेखि सीमासम्बन्धी विवाद रहिआएको छ। थाईल्यान्ड र क्याम्बोडियाबीच देखिएको सीमा विवाद नौलो चाहिँ होइन।

    क्याम्बोडियालाई फ्रान्सले उपनिवेश बनाएर सीमाङ्कन गरिएपश्चात्‌ दक्षिण पूर्वी यी दुई एशियाली मुलुकबीच एक शताब्दीभन्दा बढी समयदेखि सीमासम्बन्धी विवाद रहिआएको छ। विवादित क्षेत्रमा अवस्थित ११औँ शताब्दीको एउटा मन्दिरलाई क्याम्बोडियाले युनेस्को विश्व सम्पदा सूचीमा दर्ता गराउन खोजेपछि सन् २००८ मा विवाद चर्कियो। क्याम्बोडियाको उक्त कदमले थाईल्यान्डमा व्यापक प्रदर्शन पनि निम्त्यायो।

    पछिल्ला वर्षहरूमा दुई देशबीच बेलाबखत भिडन्त हुँदै आएका छन्, जसमा दुवै पक्षका सैनिक तथा सर्वसाधारणले ज्यान गुमाउने गरेका छन्।
    पछिल्लो तनाव गत मेमा उत्पन्न भएको थियो जब भिडन्तमा एक कम्बोडियाली सैनिक मारिए। उक्त घटनाका कारण दुई देशबीच एक दशकभन्दा बढी समयताकै द्विपक्षीय सम्बन्ध चिसिन पुग्यो।

    त्यसपछि जुलाई २४ मा तनाव उत्कर्षमा पुग्यो। सीमा क्षेत्रमा पाँच दिन लडाइँ चल्दा ३३ जना मारिए भने दशौँ हजार मानिस विस्थापित भए। बीबीसीकी टेसा वोङका अनुसार ट्रम्पले दुई देशबीच हुन लागेको समझदारीलाई शान्ति सम्झौता भनेका छन्। तर त्यो के साँच्चिकै शान्ति सम्झौता हो ? थाईल्यान्डका विदेशमन्त्रीले त्यसलाई शान्ति सम्झौता भन्न अस्वीकार गरे।

    समझदारीलाई थाईल्यान्ड र क्याम्बोडियाबीचको सम्बन्धको संयुक्त घोषणा भनी नाम दिइएको छ। सञ्चारमाध्यमहरूमाझ सार्वजनिक गरिएका शर्तहरूलाई हेर्दा समझदारीले द्वन्द्व कम गर्नका निम्ति शुरूवाती कदमहरूको ढाँचा प्रस्तुत गरेको देखिन्छ। त्यसअन्तर्गत भारी अस्त्रहरू फिर्ता ल्याउने, संयुक्त रूपमा बारुदी सुरुङहरू हटाउने तथा सीमाहरूलाई स्पष्ट रूपमा चिह्नित गर्ने कदम समेटिएका छन्। समझदारीमा औपचारिक रूपमा शान्तिको घोषणा गरिएको छैन। हुन त गल जुलाईमा पहिलो पटक लडाइँ बन्द गरेकै बेला दुई देशले अविलम्ब शत्रुता अन्त्य गर्ने समझदारी गरेका थिए।


    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प एशिया भ्रमणका क्रममा शुरूमा क्वालालम्पुर पुगेका हुन्। त्यहाँ रहँदा उनी दक्षिणपूर्वी एशियाली राष्ट्रहरूको सङ्गठन आसीआनको शिखर बैठकमा पनि सहभागी हुने छन्। एक साता लामो एशिया भ्रमणमा निस्केका ट्रम्पले अमेरिकाको प्रमुख साझेदार रहिआएको जापानका नयाँ रूढीवादी नेतृत्वसँग टोक्योमा भेट्ने छन्। दक्षिण कोरियामा चाहिँ एशिया प्यासिफिक इकनमिक फोरम एपेकको शिखर बैठकमा सहभागी हुने छन्।
    त्यहाँ उनले चिनियाँ राष्ट्रपति सी जिन्पिङसँग भेटवार्ता गर्ने छन्, जसलाई उनको भ्रमणको एउटा महत्त्वपूर्ण हिस्साको रूपमा हेरिँदै छ।
    बीबीसीबाट

  • सुरक्षा निकायलाई २५१ नयाँ गाडी किन्न अर्थले दियो सहमति

    सुरक्षा निकायलाई २५१ नयाँ गाडी किन्न अर्थले दियो सहमति

    १० कात्तिक, काठमाडौं । अर्थ मन्त्रालयले तीन वटा सुरक्षा निकायलाई २५१ वटा गाडी किन्न स्रोत सहमति दिएको छ। जेनजी आन्दोलन क्रममा भदौ २४ गते धेरै सुरक्षा निकाय र सरकारी गाडीमाथि आगजनी र तोडफोड गरिएको थियो। मन्त्रालय मातहतका प्रयोगका लागि थप गाडी नकिन्ने निर्णय गरे पनि सुरक्षा निकायका लागि भने अर्थ मन्त्रालयले स्रोत सहमति दिएको हो।

    ६ वटा गाडी राष्ट्रिय अनुसन्धान विभागका लागि, १७५ वटा नेपाल प्रहरीका लागि र ७० वटा सशस्त्र प्रहरीका लागि किन्न स्रोत सहमति दिएको अर्थ मन्त्रालयले जनाएको छ । जेनजी प्रदर्शनपछि बनेको वर्तमान सरकारले फागुन २१ गतेका लागि प्रतिनिधि सभाको निर्वाचन तोकेको छ। निर्वाचन र सुरक्षाका लागि आवश्यक पर्ने बजेटमा सम्झौता नहुने अर्थको प्रतिवद्धता छ । अर्थले अन्य निकायलाई भने नयाँ गाडी खरीदमा कडाई गरेको छ ।

  • विभिन्न जिल्लाका प्रजिअसहित गृहका कर्मचारीको सरुवा

    विभिन्न जिल्लाका प्रजिअसहित गृहका कर्मचारीको सरुवा

    ९ कात्तिक, काठमाडौं । गृह मन्त्रालयले आज विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सहसचिवहरुको सरुवा गरेको छ । मन्त्रालयको आजको निर्णयानुसार सहसचिव र प्रजिअ गरी ३६ कर्मचारीको सरुवा तथा पदस्थापन गरिएको हो । मन्त्रालयले आज साँझ जारी गरेको सूचनामा कुल ३१ प्रमुख जिल्ला अधिकारी, एक प्रमुख अध्यागमन अधिकृत, दुई सहसचिव र दुई महानिर्देशकको सरुवा तथा पदस्थापन गरिएको जनाएको छ ।

    गौतबुद्ध अन्तरराष्ट्रिय विमानस्थलका प्रमुख अध्यागमन अधिकृत खिमबादुर रायमाझीलाई जुम्लाको प्रमुख जिल्ला अधिकारी बनाइएको छ । जुम्लाका प्रजिअ केदारनाथ शर्मालाई गौतबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको प्रमुख अध्यागमन अधिकृत बनाइएको छ । गृह मन्त्रालयका सहसचिव वासुदेव घिमिरेलाई झापाको प्रजिअमा सरुवा गरिएको छ भने झापाका प्रजिअ गोपालकुमार अधिकारीलाई काभ्रेपलाञ्चोकको प्रजिअमा सरुवा गरिएको छ ।

    यस्तै गृहका सहसचिव गोगनबहादुर हमाललाई बर्दियाको प्रजिअमा पदस्थापन गरिएको छ भने बर्दियाका प्रजिअ सुरेन्द्र पौडेललाई सिरहामा सरुवा गएिको छ । यस्तै राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक युवराज कट्टेललाई मोरङको प्रजिअमा सरुवा गरिएको छ भने मोरङका प्रजिअ इन्द्रदेव यादवलाई महोत्तरी पठाइएको छ ।

    गृहको कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागका महानिर्देशक प्रेमप्रसाद भट्टराईलाई ललितपुरको प्रजिअमा पठाइएको छ भने ललितपुरका प्रजिअ सुमन घिमिरेलाई सोही विभागमा ल्याइएको छ । रुपन्देही, कैलाली, नवलपरासी, महोत्तरी, दोलखा, पर्सा, उदयपुर, डडेलधुरा, लमजुङ, बाँके, बर्दिया, जुम्ला, अर्घाखाँची, रौतहट, कपिलवस्तु, सिन्धुली, अछाम, गुल्मी, सुनसरी, ललितपुर, भक्तपुर, मोरङ, झापा, काभ्रे, बारा, धनकुटा, धनुषा, मकवानपुर, गोरखा, सर्लाही र सिरहाका प्रजिअको सरुवा गरिएको मन्त्रालयको सूचनामा उल्लेख छ । रासस

  • पाँच तारे होटेल हायातको पुनर्निर्माणमा एक वर्ष लाग्ने व्यवस्थापनको अनुमान, सेवा बन्द

    पाँच तारे होटेल हायातको पुनर्निर्माणमा एक वर्ष लाग्ने व्यवस्थापनको अनुमान, सेवा बन्द

    ९ कात्तिक, काठमाडौं । प्रमुख पाँचतारे होटल तारागाउँ रिजेन्सी होटल्स (ह्यात रिजेन्सी काठमाडौं) ले जेनजी आन्दोलन क्रममा होटलमा ठूलो क्षति भएको उल्लेख गर्दै पुनर्निर्माणपछि यथाशीघ्र सञ्चालनमा आउने जनाएको छ । आइतबार होटलका कार्यकारी निर्देशक सुरेशलाल श्रेष्ठद्वारा जारी विज्ञप्ति अनुसार होटलमा भएको क्षतिका सम्बन्धमा प्रधानमन्त्री सुशीला कार्की र अर्थमन्त्री रामेश्वर खनालले सरकारबाट आवश्यक साथ–सहयोग प्रदान गरिने भनी दिइएको आश्वासनप्रति होटलले आभार व्यक्त गरेको छ ।

    २३ र २४ भदौमा भएको जेनजी आन्दोलन क्रममा होटलमा भएको क्षतिको मूल्यांकन भइरहेको र पुनर्निर्माणपछि पर्यटन क्षेत्रमा नेपालको मान–प्रतिष्ठा अझ उच्च बनाउने दृढ संकल्प सहित सञ्चालन हुने विज्ञप्तिमा छ । ‘आन्दोलन क्रममा होटलमा भएको तोडफोड, लुटपाट तथा आगलागीजन्य क्रियाकलापबाट होटलका अतिथि कक्ष, कार्यकक्ष, रिसेप्सन, लबी, रेस्टुरेन्ट, ब्यांक्वेट, चैत्यसहित होटलको समष्टिगत संरचनामा ठूलो क्षति पुगेको छ, त्यसयता होटल पूर्णरूपमा बन्द छ,’ होटलले भनेको छ, ‘हाल क्षतिको पूर्ण मूल्यांकनपछि होटल स्तरोन्नति र पुनर्निर्माण गरी अझ विस्तारित र उत्कृष्ट सेवासहित यथाशीघ्र पुनस् सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गर्दछौं ।’ स्तरोन्नति र पुनर्निर्माणका लागि कम्तीमा एक वर्ष लाग्ने होटलको भनाइ छ ।

    होटलले आगामी दिनमा सरकारको राजस्व स्रोतमा वृद्धि गरी मुलुकको आर्थिक विकासमा थप योगदान पुर्‍याउने र नेपालको फ्ल्यागसिप होटलको अभिभारा बोक्दै पर्यटन क्षेत्रमा नेपालको मान–प्रतिष्ठा अझ उच्च बनाउने दृढ संकल्प सहित सञ्चालन हुने प्रतिबद्धता समेत जनाएको छ । ‘होटल पछिल्ला साढे दुई दशकमा नेपालमा भएका विभिन्न राजनीतिक तथा सामाजिक परिवर्तनको साक्षी रहँदै आएको छ, यस अवधिमा हामीले चरम सशस्त्र द्वन्द्व, शान्ति प्रक्रिया, संविधान निर्माण, भूकम्प तथा कोरोना महामारी जस्ता चुनौतीपूर्ण अवस्थाहरूको सामना गर्दै वर्षौदेखि हजारौं व्यक्तिलाई रोजगारी दिँदै मुलुकको पर्यटन र अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएका छौं,’ होटलले भनेको छ ।

    होटल पर्यटन मार्फत मुलुकको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गर्दै पटक–पटक सरकारबाट सम्मानित भइसकेको छ । होटल हालसम्म पर्यटन क्षेत्रमा सबैभन्दा बढी आयकर तिर्ने करदाताका रूपमा सात पटक र पर्यटन क्षेत्रमा सबैभन्दा धेरै विदेशी मुद्रा संकलन गर्ने होटलका रूपमा दुई पटक सम्मानित भइसकेको छ ।

  • सुनको मूल्यमा भारी गिरावट, प्रतितोला ११ हजार ६ सय घट्यो

    सुनको मूल्यमा भारी गिरावट, प्रतितोला ११ हजार ६ सय घट्यो

    ९ कात्तिक, काठमाडौं । तिहारपछि नेपाली बजारमा सुनको भाउ तोलामा ११ हजार ६ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि सुनको भाउ प्रतितोला २ लाख ४१ हजार ९ सय रुपैयाँ निर्धारण गरेको छ । तिहारअघि कात्तिक ३ गते सुनको भाउ प्रतितोला २ लाख ५३ हजार ५ सय रुपैयाँ थियो । तिहारपछि नेपालमा पहिलो पटक आइतबार मूल्य समायोजन गरिएको हो । अन्तर्राष्ट्रिय बजारमा कात्तिक ४ गते नै सुनको भाउ करिब ५ प्रतिशत घटेको थियो ।

    असोज ३ गते अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस ४३५८ अमेरिकी डलरसम्म पुगेको सुनको भाउ अहिले ४१११ डलर छ । एक औंस बराबर २. ४३ तोला हुन्छ । नेपालमा भने सार्वजनिक विदा परेसँगै महासंघले कात्तिक ४ र त्यसयता मूल्य समायोजन गरेन ।

    यसको प्रभाव आइतबार मात्रै देखिएको हो । असोज ३१ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला २ लाख ५८ हजार रुपैयाँ पुगेको थियो । त्यस्तै चाँदीको भाउ प्रतितोला २६५ रुपैयाँ घटेको छ । तिहारअघि चाँदी प्रतितोला ३ हजार २८० रुपैयाँमा कारोबार भएकोमा आज ३ हजार १५ रुपैयाँ कायम भएको छ । असोज ३१ गते चाँदीको भाउ हालसम्मकै उच्च प्रतितोला ३३५० रुपैयाँ पुगेको थियो ।

  • भैरहवामा थाई एयर एसियाले थाल्यो नियमित उडान

    भैरहवामा थाई एयर एसियाले थाल्यो नियमित उडान

    ९ कात्तिक, काठमाडौं । थाई एयर एसियाले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आजदेखि पुनः उडान थालेको छ । विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीका अनुसार थाइ एयर एसियाले बैंकक–भैरहवा–बैंकक सातामा दुई उडान गर्दैछ ।

    आइतबार र बुधबार यहाँ नियमित उडान गर्ने गरी कम्पनीले उडान तालिका स्वीकृत गराएको थियो । अहिले भैरहवामा नियमित उडान गर्ने कम्पनीमा थाई एयर एसिया एक्लो कम्पनी बनेको छ । नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्सले समेत यहाँ नियमित उडान गर्न सकेका छैनन् ।

  • अमादब्लम आरोहण क्रममा दुई विदेशी आरोहीको ज्यान गयो

    अमादब्लम आरोहण क्रममा दुई विदेशी आरोहीको ज्यान गयो

    ९ कात्तिक, काठमाडौं । जारी शरद ऋतुमा अमादब्लम हिमाल आरोहण क्रममा दुई विदेशी आरोहीको मृत्यु भएको छ । पर्यटन विभागका अनुसार हिमालयन भिजन ट्रेक्स एन्ड एक्सपिडिसन प्रालिमार्फत गएका फ्रान्सेली नागरिक हुगो लुसियो लाजारोको मृत्यु भएको छ ।

    ६ कात्तिकमा अमादब्लम सफल आरोहण गरी फर्कने क्रममा उनको स्वास्थ्यमा समस्या आएको थियो । उनलाई क्याम्प ३ बाट हेलिकप्टरबाट उद्धार गरी काठमाडौंको ह्याम्स अस्पताल ल्याइएको थियो । उपचार क्रममा उनको ७ कात्तिकमा मृत्यु भएको विभागले जनाएको छ ।

    यसैगरी ८के एक्सपिडिसन मार्फत गएका कोरियाली नागरिक होङखाई पार्कको आइतबार मृत्यु भएको छ । उनको अमादब्लम आरोहण गर्ने क्रममा क्याम्प १ र क्याम्प २ को बीचमा मृत्यु भएको हो । विभागका अनुसार दुवै विदेशी आरोहीको मृत शरीर सम्बन्धित मुलुकमा फिर्ता लैजाने प्रयोजनका लागि समन्वय र सहजीकरण भइरहेको विभागले जनाएको छ ।

  • अमेरिकासँग नेपालको लज्जाष्पद हार

    अमेरिकासँग नेपालको लज्जाष्पद हार

    ९ कात्तिक, काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत युएई शृङ्खलाको पहिलो खेलमा नेपाल अमेरिकासँग एक सय ६ रनले पराजित भएको छ । दुबई इन्टरनेशनल क्रिकेट मैदानमा आइतबार जितका लागि दुई सय ६३ रनको लक्ष्य पछ्याएको नेपाल ३९।१ ओभरमा सबै विकेटको क्षतिमा एक सय ५६ रनमा समेटियो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४० रन बनाए । यस्तै आशिफ शेखले ३७, भिम सार्कीले २० र सोमपाल कामीले ११ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

    बलिङमा अमेरिकाका हर्मित सिंह एक्लैले ६ विकेट लिए । शुभम् रन्जनेले दुई तथा रसिल उर्गकरले एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अमेरिकाले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा एक सय ६२ रन बनाएको थियो । अमेरिकाका लागि स्मित पटेल र मिलन्दु कुमारले शानदार अर्धशतक बनाए । पट्टेलले सय बलको सामना गर्दा नौ चौकाको मद्दतमा ७५ रन बनाएर अमेरिकी इनिङ् उकासे । मिलन्दुले ५० बलको सामना गर्दा नटआउट ७० रन बनाए ।


    सुरुको १० ओभर कसिलो बलिङ गरेको नेपालले त्यसपछि अमेरिकालाई रन दिएको हो । बलिङमा नेपालका लागि सन्दीप लामिछानेले दुई विकेट लिँदा सोमपाल कामी, आरिफ शेख र दीपेन्द्रसिंह ऐरी एकएक विकेट हात पारे । त्रिकोणात्मक शृङ्खलामा नेपाल, अमेरिका र युएई छन् । जारी लिगमा नेपाल चार शृङ्खलामा १७ खेल खेलेर १२ अङ्कका साथ सातौँ स्थानमा छ । अमेरिका २१ खेलमा ३० अङ्कका साथ रन रेटका आधारमा शीर्षस्थानमा उक्लिएको छ । दोस्रो स्थानमा रहेको स्कटल्यान्डको २४ खेलबाट ३० अङ्क छ ।

    लिग–२ मा सहभागी आठ राष्ट्रले कुल नौ शृङ्खलामा कूल ३६ खेल खेल्नेछन् । प्रत्येक राष्ट्रले घरेलु मैदानमा तीन शृङ्खला खेल्नेछन् भने ६ शृङ्खला अन्य राष्ट्रका मैदानमा खेल्नेछन् । प्रतियोगितामा शीर्ष चारमा रहने टोली सोझै सन् २०२७ मा हुने एकदिवसीय विश्वकपमा छनोट हुनेछन् ।

  • चर्चा चार जनाको, तर दुई मन्त्री मात्र नियुक्त

    चर्चा चार जनाको, तर दुई मन्त्री मात्र नियुक्त

    ९ कात्तिक, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद् विस्तार भएको छ । आइतबार दिउँसो राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले शपथ ग्रहण गरे । स्वास्थ्यमन्त्री शर्मा पूर्व सचिव हुन् भने खेलकुदमन्त्री गुप्ता सामाजिक अभियन्ता हुन् । शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री कार्की, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, सभामुख देवराज घिमिरे, पूर्वप्रधानमन्त्री, संवैधानिक निकायका प्रमुख तथा पदाधिकारी, कूटनीतिक नियोगका प्रमुख, नेपाल सरकारका उच्चपदस्थ अधिकृत, सुरक्षा निकायका प्रमुख तथा अधिकारीलगायत उपस्थित थिए ।


    कार्की नेतृत्वको मन्त्रिपरिषदमा भदौ ३० गते अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास कुलमान घिसिङ र गृह र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ओमप्रकाश अर्याल मन्त्री बनेका थिए । असोज ६ गते महावीर पुन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री, अनिलकुमार सिन्हा उद्योग वाणिज्य, आपूर्ति तथा भूमिसुधार, मदन परियार कृषि तथा पशुपन्छी विकास, जगदीश खरेल सञ्चार तथा सूचना प्रविधिमन्त्री नियुक्त भएका थिए ।

    आइतबार स्वास्थ्य र खेलकुद मन्त्रीको शपथ ग्रहणसँगै कार्की नेतृत्वको मन्त्रिपरिषद् १० सदस्यीय भएको छ । यसअघि आइतबार चार जनालाई मन्त्री नियुक्ति गर्ने चर्चा थियो । अभियन्ता खगेन्द्र सुनार र गणपतिलाल श्रेष्ठको नाम पनि मन्त्रीका रुपमा चर्चामा थियो । उनीहरुको नाम अन्तिम समयमा आएर काटिएको छ । सुनारको नाममा भने विभिन्न विवाद सार्वजनिक भएका थिए ।

  • विश्वकप लिग २ क्रिकेटको १५ औं शृंखला आजबाट सुरु, नेपाल र अमेरिका भिड्दै

    विश्वकप लिग २ क्रिकेटको १५ औं शृंखला आजबाट सुरु, नेपाल र अमेरिका भिड्दै

    ९ कात्तिक, काठमाडौं । नेपाल र अमेरिकाबीच विश्वकप लिग २ क्रिकेटको १५ औं शृंखला अन्तर्गत आज पहिलो भिडन्त हुँदैछ । खेल यूएईको दुबईमा आयोजना भएको छ । यस श्रृङ्खलामा नेपाल र अमेरिकासहित घरेलु टोली यूएईले प्रतिस्पर्धा गर्दैैछ । दुबई क्रिकेट अन्तर्राष्ट्रिय रंगशालामा हुने पहिलो दिनको खेलमा नेपाल र अमेरिका आमने सामने हुँदैछन् । नेपालले ओमानमा गएर ट्वान्टी–२० एसिया–इस्ट एसिया प्यासिफिक छनोट जित्दै तेस्रो पटक विश्वकपमा पुगेलगत्तै दुबई पुगेको हो । आईसीसीले गत महिना अमेरिकाको क्रिकेटलाई निलम्बन गरेको थियो ।

    आईसीसीले पटकपटक सुधारका लागि चेतावनी दिँदा पनि अमेरिकी क्रिकेट बोर्डले त्यसको सुनुवाइ नगरेपछि निलम्बन गरेको थियो । तर टोलीले भने प्रतियोगिता खेल्न पाउनेछ । त्यसयता अमेरिकाले पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको हो । अमेरिका २० खेलमा २८ अंक लिएर लिग २ को अंक तालिकामा दोस्रो स्थानमा छ । स्कटल्यान्ड २४ खेलमा ३० अंक जोडि शीर्ष स्थानमा छ । नेपाल १६ खेल खेली १२ अंकसहित सातौं स्थानमा छ । यूएई १३ खेलमा ६ अंक जोडी पुछारमा रहेको छ । खेल नेपाली समय अनुसार बिहान सवा ११ बजेबाट सुरु हुनेछ ।

  • सडकका थप ४० रुग्ण ठेक्का तोड्दै सरकार

    सडकका थप ४० रुग्ण ठेक्का तोड्दै सरकार

    ९ कात्तिक, काठमाडौं । सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षौंदेखि अलपत्र पारिएका थप ४० रुग्ण ठेक्का तोड्ने प्रक्रिया पनि सुरु भएको छ । सडक विभागअन्तर्गत सडक डिभिजन कार्यालय तुम्लिङ्टार, इलाम, हेटौंडा र नेपालगञ्जले आइतबार आफू मातहत रुग्ण अवस्थामा रहेका ४० वटा ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाएका हुन् ।

    तुम्लिङ्टारले १७, इलामले १२, हेटौंडाले ७ र नेपालगञ्जले ४ ठेक्का गरी ४० ठेक्का ठेक्का किन नतोड्ने रु भन्दै आइतबार सार्वजनिक सूचना जारी गरेका छन् । विभिन्न सडक डिभिजन कार्यालयले यसअघि रुग्ण रहेका ६८ ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाइसकेका छन् । विभिन्न मितिमा लिखित तथा मौखिक रुपमा कार्य सम्पन्न गर्न अनुरोध तथा जानकारी गराउँदा समेत निर्माण व्यवसायीबाट निर्माण कार्य सम्पन्नतर्फ कुनै चासो नदेखाई ठेक्का सम्झौता उल्लङ्घन गरिएको जनाइएको छ ।

    सूचना प्रकाशित भएको १५ दिनभित्र काम सम्पन्न गर्न सक्ने संसोधित कार्यतालिका, स्रोत साधन परिचालनको भरपर्दो योजना, कार्य सम्पन्न गर्ने प्रतिबद्धता र ठेक्का नतोड्ने कुनै मनासिब कारण भए सत्यतथ्य प्रमाण राखी स्पष्टीकरणसहित आधिकारिक व्यक्ति कार्यालयमा उपस्थित हुन सार्वजनिक आह्वान गरिएको छ ।

    उक्त अवधमिा काम सुरु गर्ने तदारुकता नदेखाएमा सार्वजनिक खरिद कानूनमा भएको व्यवस्था बमोजिम ठेक्का सम्झौता अन्त्य गरी कालोसूचीमा राख्ने तथा कार्यसम्पादन जमानत, धरौटी बापतको रकम, पेश्की जमानत जफत र पेश्की रकमको १० प्रतिशत ब्याज असुल गर्नुको साथै बाँकी काम गर्न लाग्ने खर्च सरकारी बाँकी सरह असुलउपर गर्नेतर्फ कारबाही अगाडि बढाइने उल्लेख गरिएको छ । ठेक्का व्यवस्थापनमा अहिले भौतिक, पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङ कडा एक्सनमा उत्रिएका छन् ।

  • एक्सनमा कुलमान, सरकारले तोड्यो सिंचाइका १२ रुग्ण ठेक्का

    एक्सनमा कुलमान, सरकारले तोड्यो सिंचाइका १२ रुग्ण ठेक्का

    ९ कात्तिक, काठमाडौं । ठेक्का सम्झौता गरी काम नगरेर वर्षौंदेखि अलपत्र पारिएका सिँचाइतर्फका १२ रुग्ण ठेक्का तोडिएको छ । साविकको जनताको तटबन्ध कार्यक्रम फिल्ड कार्यालय नं २ जलेश्वर महोत्तरीअन्तर्गतका १२ रुग्ण ठेक्का तोडिएको हो । बबई सिँचाइ आयोजनाका ६ रुग्ण ठेक्का तोड्ने तयारी अनुसार ३० असोजमा १५ दिने सार्वजनिक सूचना प्रकाशित भइसकेको छ ।

    ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले ठेक्का लिने तर काम नगर्ने र आयोजना अलपत्र पार्ने प्रवृत्ति अन्त्यका लागि रुग्ण ठेक्का तोड्न मातहतका निकायलाई निर्देशन दिएका थिए । सोही बमोजिम ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाइएको थियो । सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना, जनकपुरधामले आइतबार सार्वजनिक सूचनामार्फत १६ जेठ २०८१ र १ साउन २०८१ मा ठेक्का अन्त्य गर्ने आशयको सूचना दिइए पनि निर्माण व्यवसायीबाट सम्झौता बमोजिम काम सम्पन्न नगरी निर्माण अलपत्र पारेकाले ठेक्का अन्त्य गरिएको जनाएको छ ।

    कार्यालयबाट पटक पटकको अनुरोध तथा सर्वाजनिक सूचना जारी गर्दासमेत काम गर्न कुनै ध्यान नदिइएको हुँदा सम्झौतामा उल्लेखित प्रावधानअनुसार कार्यसम्पादन जमानत जफत गर्ने कारबाही अगाडि बढिसकेको जनाएको छ । साथै, सार्वजनिक खरिद कानुनको व्यवस्था बमोजिम अन्य आवश्यक कारबाही अगाडि बढाउन हालसम्म गरिएको कामको नापजाँच एवम् बाँकी कामको मूल्याङ्कन गर्न १५ दिनभित्र सम्पन्न गर्न जानकारी गराइएको छ । रद्द गरिएका ठेक्का आर्थिक वर्ष २०६८\६९, २०६९\७०, २०७३\०७४ र २०७४\०७५मा सम्झौता गरिएका थिए ।

  • मनसुन लगत्तै बढ्न थाले आगलागीका घटना

    मनसुन लगत्तै बढ्न थाले आगलागीका घटना

    ९ कात्तिक, काठमाडौं । एकैदिन देशभर १४ आगलागीका घटना भएका छन् । पूर्वसावधानी तथा चेतना अभावमा देशव्यापी रूपमा आगलागीका घटनामा वृद्धि भएको तथ्याङ्क राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार पाँचथर, सुनसरी, सप्तरी, धनुषा, महोत्तरी, रौतहट, दोलखा, ललितपुर, नवलपुरपूर्व, रोल्पा, गुल्मी, रुकुमपश्चिम, कञ्चनपुर र दार्चुलामा एकैदिन अर्थात् कात्तिक ७ गते आगलागीका घटना घटेका छन् । अधिकांश आगलागीका घटना असावधानीका कारण भएको देखिन्छ ।

    प्राधिकरणका अनुसार कात्तिक ६ गते पनि १३ आगलागीका घटना भएका थिए । झापा, इलाम, सुनसरी, सङ्खुवासभा, धनुषा, महोत्तरी, सर्लाही, कैलाली, कालीकोट र पर्सामा दुई आगलागीका घटना भएका थिए । यस्तै पाल्पामा तीन आगलागीका घटना घटेका थिए । कात्तिक ५ गते १७ आगलागीका घटना घटेका थिए । प्राधिकरणको उपलब्ध गराएको तीन दिनको विवरणमा अधिकांश विपद्का घटनामा आगलागी देखिएको छ । मनसुन सकिएर वर्षा हुन छाडेपछि देशव्यापी रूपमा आगलागीका घटनामा वृद्धि भएको देखिएको छ ।

    आगलागीबाट जोगिनका लागि विशेष सावधानी अपनाउनसमेत प्राधिकरणले आग्रह गरेको छ । कात्तिक ७ गते देशभर कुल १८ विपद्का घटना घटेका थिए । ती घटनामा परेर ६ जना घाइते भएका छन् । ती घटनामा परेर रु ७७ लाख ९१ हजारबराबरको अनुमानित क्षति भएको छ । यस्तै, सर्पदंशका दुई, पहिरो एक र चट्याङ, जनावर आक्रमणका एकएक घटना घटेका थिए । रासस

  • न्यूयोर्कको बलिङ ग्रिन पार्कमा फहराइयो नेपालको झण्डा

    न्यूयोर्कको बलिङ ग्रिन पार्कमा फहराइयो नेपालको झण्डा

    ९ कात्तिक, काठमाडौं । न्यूयोर्कको बलिङ ग्रिन पार्कमा नेपालको राष्ट्रिय झण्डा फहराइएको छ । न्युयोर्क सिटी मेयरको कार्यालय र बलिङ ग्रिन पार्क एसोसिएसनको आयोजनामा नेपालको राष्ट्रिय झण्डा फहराइएको हो । अमेरिकी झण्डाको समान उचाइ र आकारमा नेपालको झण्डा राखिएको छ । यो झण्डा आगामी केही साता सो पार्कमा रहने नेपाली महावाणिज्य दूतावासले जनाएको छ । यस पार्कमा सन् १९९६ देखि विभिन्न देशका झण्डाहरू फहराउने गरिएको छ । नेपालको झण्डा पहिलोपटक सन् २०२३ मा फहराइएको थियो । त्यसयता हरेक वर्ष नेपालको झण्डा पनि राख्ने गरिएको छ ।

    नेपलको राष्ट्रिय झण्डा राख्ने कार्यक्रममा नेपाली महावाणिज्य दूतावास, न्यूयोर्कमा रहेका नेपाली समुदायका प्रतिनिधि र न्यूयोर्क मेयर कार्यालयका प्रतिनिधिहरू सहभागी थिए । कार्यक्रमलाई नेपाली महावाणिज्यदूत दधिराम भण्डारी, सन् २०२३ मा पहिलोपटक नेपाली झण्डा राख्ने कार्यक्रमकी युवा संयोजक श्रीया तुलाधर, बलिङ ग्रिन एसोसिएसनका अध्यक्ष आर्थर पिकालो, मेयर कार्यालयको प्रतिनिधित्व गरेका दक्षिण एसियाली सम्पर्क अधिकारी सुक्रानी धनपत लगायतले सम्बोधन गरेका थिए ।

  • छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै

    छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै

    ९ कात्तिक, जनकपुरधाम । आदिदेव सूर्यको उपासना गरेर मनाइने महापर्व छठको दोस्रो दिन आज खरना मनाइँदै छ । आज दिनभरको उपवासपछि साँझ ब्रतालुहरू चामल, दूध र सक्खर मिसाइ तयार गरिएको खीर पकाएर प्रसादको रूपमा ग्रहण गर्दै खरना मनाउने गर्दछन् ।

    यो खीर घरका सबै सदस्यले प्रसादस्वरूप ग्रहण गर्ने र पर्व नहुने घरमा वितरण गर्ने परम्परा पनि रहेको छ । सन्तान र पारिवारिक सुख-समृद्धिको कामना गर्दै चारदिनसम्म मनाइने यो पर्व हिजो शनिबार ‘नहाय-खाय’ विधिबाट सुरु भएको थियो । सो दिन ब्रतालुहरूले स्नान गरी अरबा–अरबाइन तथा चोखो भोजन ग्रहण गरेर आगामी उपवासको तयारी गर्छन् ।

    भोलि सोमबार छठ पर्वको तेस्रो तथा मुख्य दिन सौझकारक अर्थात् ब्रतालुहरूले जलाशयमा गई अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्छन् । मंगलबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि पर्व छठपर्व विधिवत समापन हुने छ । छठ पर्वमा बाँसका ढाकी, डगरी, माटोका कोसिया-कुरबार र हाँडीलगायत सामग्री चढाउने गरिन्छ । प्रसादमा ठकुवा, भुसुवा, केरा, उखु, हल्दी, अदुवा, विभिन्न मिठाई तथा फलफूल चढाइन्छ ।

    अर्घ्य दिने ब्रतालुहरूले ४८ घण्टासम्म जलसमेत नखाई कठोर उपवास बस्ने परम्परा रहेको छ । सबै परिकार र विधिहरू पूर्ण अत्यन्त नियम निष्ठाका साथ तयार गर्नुपर्ने गर्नुपर्ने भएकाले छठलाई अत्यन्तै निष्ठाको कठोर पर्वका रूपमा मानिन्छ ।

  • जेन-जी आन्दोलनका दौरान साँखु  चौकी आगजनी र प्रहरी कुटपिट गर्ने दुई जना पक्राउ

    जेन-जी आन्दोलनका दौरान साँखु चौकी आगजनी र प्रहरी कुटपिट गर्ने दुई जना पक्राउ

    ९ कात्तिक, काठमाडौं । जेनजी आन्दोलनको क्रममा प्रहरी प्रभाग साँखुमा आगजनी तथा प्रहरीमाथि कुटपिटमा संलग्न भएको भन्दै दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा मकवानपुरको मकवानपुरगढी गाउँपालिका– ३ घर भई हाल काठमाडौंको शंखरापुर नगरपालिका– ७ बस्ने ४३ वर्षीय प्रल्हाद दाहाल र शंखरापुर नगरपालिका– ३ घर भएका ४७ वर्षीय सानुकान्छा वाइबा छन् । उनीहरुलाई नियन्त्रणमा लिएर प्रहरी वृत्त बौद्ध पठाइएको प्रहरी प्रभाग साँखुले जनाएको छ ।

    यसैबीच प्रहरी वृत्त बौद्धले जेनजी आन्दोलनको क्रममा लुटपाट भएको हतकडी र सोको चाबीसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको दमक नगरपालिका वडानम्बर २ घर भई हाल काठमाडौंको बालाजु बस्ने २९ वर्षीय साजन श्रेष्ठ छन् । उनलाई यही कात्तिक ८ गते बेलुकी ७ बजे काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ७ दक्षिण ढोकाबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

  • उत्तर कोरियाबारे ‘सफ्ट’ सुनिए ट्रम्प, दक्षिण कोरियामा किम जोङ उनसँग भेट्ने सम्भावना

    उत्तर कोरियाबारे ‘सफ्ट’ सुनिए ट्रम्प, दक्षिण कोरियामा किम जोङ उनसँग भेट्ने सम्भावना

    एयर फोर्स वान (अमेरिका) । कात्तिक ८ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार उत्तर कोरियालाई ‘एक प्रकारको आणविक शक्ति’ भएको बताएका छन् । प्योङयाङका नेता किम जोङ उनसँगको सम्भावित भेटसमेत समावेश हुनसक्ने एसियाली भ्रमणका लागि अमेरिकाबाट प्रस्थान गर्नुअघि उनी दक्षिण कोरियाबारे केही नरम सुनिएका छन् ।


    एयर फोर्स वानमा पत्रकारले वासिङ्टनसँगको वार्ताका पूर्वशर्तका रूपमा उत्तर कोरियालाई आणविक राष्ट्रको रूपमा मान्यता दिनेबारे सोध्दा ट्रम्पले भने, “ठिक छ, मलाई लाग्छ उनीहरू एक प्रकारका आणविक शक्ति हुन् । जब तपाईं भन्नुहुन्छ कि तिनीहरूलाई मान्यता दिनुपर्छ, ठिक छ, उनीहरूसँग धेरै आणविक हतियार छन्, म त्यसो भन्छु ।”

    राष्ट्रपति ट्रम्प आगामी बुधबार दक्षिण कोरियामा हुने एसिया प्यासिफिक इकोनोमिक कोअपरेसन (एपेक)सम्मेलनमा सहभागी हुने अपेक्षा गरिएको छ । अमेरिकी सञ्चार माध्यमले यसअघि ट्रम्प प्रशासनका केही अधिकारीले उनी र उत्तर कोरियाली नेता किमबिच पुनः वार्ताको सम्भावना खोज्दै अनौपचारिक छलफल चलाएको बताएका थिए ।

    ट्रम्पले पनि किमलाई फेरि भेट्ने आशा व्यक्त गरेका छन । सम्भवतः यही वर्षभित्र । उता, किम जोङ उनले हालै आफूलाई राष्ट्रपति ट्रम्पसँगका ‘सुखद सम्झना’ रहेको बताउँदै अमेरिकाले प्योङयाङलाई आफ्नो आणविक हतियार त्याग्न बाध्य पार्ने ‘भ्रमपूर्ण माग’ त्यागेमा वार्ताका लागि तयार रहेको उल्लेख गरेका थिए ।

    दक्षिण कोरियाका एकीकरण मन्त्री चुङ डोङ–युङले पनि राष्ट्रपति ट्रम्पको आगामी भ्रमणका क्रममा किमसँग भेट हुने ‘पर्याप्त सम्भावना’ रहेको विश्वास व्यक्त गरे । तर एक वरिष्ठ अमेरिकी अधिकारीले भने नाम नखुलाउने सर्तमा सञ्चारकर्मीलाई जानकारी दिँदै सो भेट ‘यस भ्रमणको आधिकारिक तालिकामा नरहेको’ बताए ।
    हालसम्म दुवै नेताबिच भेटवार्ताको औपचारिक घोषणा गरिएको छैन । यद्यपि, दक्षिण कोरिया र संयुक्त राष्ट्रसङ्घीय कमान्डले अक्टोबरको अन्त्यदेखि नोभेम्बरको सुरुसम्मका लागि संयुक्त सुरक्षा क्षेत्र (जेएसए) भ्रमण रोकिएको जानकारी दिएका छन् ।

    किम र ट्रम्पबिच अन्तिम भेट सन् २०१९ मा दुई कोरियालाई छुट्याउने असैन्य क्षेत्र (डिमिलिट्राइज्ड जोन) भित्र पर्ने पान्मुन्जोमको जेएसएमा भएको थियो । यही स्थानमा दुवै देशका सैनिक नियमित रूपमा आमनेसामने हुने गर्छन् । मन्त्री चुङका अनुसार यस वर्ष उत्तर कोरियाली जेएसए नजिकको क्षेत्र सफा गर्ने, फुल रोप्ने, फोटो खिच्ने जस्ता गतिविधिमा व्यस्त देखिएका छन् ।

    राष्ट्रपति ट्रम्पको पहिलो कार्यकालमा किम जोङ उनसँग तीन पटक उच्चस्तरीय शिखर वार्ता भएको थियो । तीमध्ये एक भेट सन् २०१९ मा ट्रम्पले ट्विटरमार्फत अचानक निमन्त्रणापछि पान्मुन्जोममा भएको थियो । त्यहाँ दुवै नेताले सीमामा हात मिलाएका थिए । त्यस बेला ट्रम्प उत्तर कोरियाको भूमिमा पाइला टेक्ने पहिलो अमेरिकी राष्ट्रपति बनेका थिए । तर, उत्तर कोरियाले आफ्नो आणविक हतियार कति त्याग्ने र त्यसको सट्टामा पाउने लाभबारे सहमति नजुट्दा वार्ता अन्ततः असफल भएको थियो । त्यसयता प्योङयाङले आफूलाई ‘अपरिवर्तनीय आणविक शक्ति’ का रूपमा घोषणा गर्दै आएको छ । रासस\एएफपी

  • प्रधानमन्त्रीसहित सुरक्षा प्रमुखको बैठकमा के भयो छलफल ?

    प्रधानमन्त्रीसहित सुरक्षा प्रमुखको बैठकमा के भयो छलफल ?

    ८ कात्तिक, काठमाडौं । मुलुकको वर्तमान सुरक्षा अवस्थाको विश्लेषण गरी आवश्यक कदम चाल्न प्रधानमन्त्री निवास बालुवाटारमा उच्चस्तरीय बैठक सम्पन्न भएको छ । बैठकमा प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव रामेश्वर दङ्गाल र चारवटै सुरक्षा निकायका प्रमुख थिए । बैठकमा सुरक्षा प्रमुखले वर्तमान अवस्थाबारे जानकारी दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    बैठकपछि गृहमन्त्री ओमप्रकाश अर्यालले भने, “सुरक्षा अवस्थाबारे हामीले सूक्ष्म विश्लेषण गरेका छौँ । विभिन्न समूहले प्रदर्शनका लागि तयारी गरेका जानकारी प्राप्त भएको छ । आफ्ना राजनीतिक माग जिम्मेवार ढङ्गले राख्न सबै स्वतन्त्र छन् ।” उनले राजनीतिक मुद्दाको सम्बोधनका लागि सरकारले संवादको ढोका खुला राखेको र सम्बद्ध पक्षहरूसँग वार्ता गर्ने बताए ।

  • सडकमा प्रदर्शन नगर्न गृहमन्त्रीको आग्रह

    सडकमा प्रदर्शन नगर्न गृहमन्त्रीको आग्रह

    ८ कात्तिक, काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले विभिन्न माग राखेर सडक प्रदर्शनमा रहेका समूहलाई संवादका लागि आग्रह गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सुरक्षा निकायका प्रमुखसहितको छलफलपछि रासससँगको कुराकानीमा उनले सरकार संवादका लागि तयार रहेको बताए । “राजनीतिक माग सरकारले संवादको माध्यमबाट सम्बोधन गर्छ । संवादमा आउनुपर्‍यो । संवाद गर्न सरकार तयार छ । सडकमा जानु जरुरी छैन”, गृहमन्त्री अर्यालले भने। लोकतान्त्रिक अधिकार प्रयोग गर्दा अरुको अधिकार हनन् नहुनेतर्फ प्रदर्शनकारी सचेत हुनुपर्ने उनको भनाइ छ ।

    “सार्वजनिक र निजी सम्पत्तिमा क्षति पुर्‍याउनु भएन। कहीँकतै हिंसात्मक गतिविधि हुनु भएन । विभिन्न राजनीतिक शक्ति र आन्दोलनकारीलाई सरकारको अनुरोध हो”, गृहमन्त्रीले भने । बालुवाटार सुरक्षा बैठकमा मुलुकको पछिल्लो सुरक्षा अवस्थाको सुक्ष्म विश्लेषण भएको जानकारी दिँदै उनले सुरक्षा स्थितिलाई समान्यीकरण गर्दै चुनावको वातावरण बनाउन सरकार केन्द्रित रहेको बताए ।

  • निर्माणाधीन संसद भवन समयमै नसके ठेकेदारमाथि कारवाहीको चेतावनी

    निर्माणाधीन संसद भवन समयमै नसके ठेकेदारमाथि कारवाहीको चेतावनी

    ८ कात्तिक, काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र शहरी विकास मन्त्री कुलमान घिसिङले शनिबार सिंहदरबार परिसरमा निर्माणाधीन संघीय संसद भवनको स्थलगत अनुगमन गरेका छन् । मन्त्री घिसिङ, शहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देल,शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मचाकाजी महर्जनलगायत सम्मिलित टोलीले निर्माणस्थलको अनुमगन गरेको हो । सो क्रममा निर्माण सम्पन्न हुन समय तालिकाका विषयमा छलफल गरिएको छ ।


    संसद भवन तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी २०७६ असोजमा ठेक्का सम्झौता भएको थियो। पाँचौपल्ट थपिएको ठेक्का सम्झौताको म्याद आगामी १६ पुसमा सकिँदैछ। आयोजनाको सिभिललगायतका संरचना निर्माणको प्रगति करिब ८७ प्रतिशत रहेको छ। इन्टेरियर, सुरक्षा प्रणालीलगायतका काम गर्न २०८० मा अर्को ठेक्का सम्झौता भएको थियो । यस प्याकेजको निर्माण प्रगति ३० प्रतिशत रहेको छ ।

    मन्त्री घिसिङले दुवै निर्माण व्यवसायीलाई निर्माणस्थलमै सम्पन्न हुने तालिकाका विषयमा प्रतिवद्धता माग गरेका छन् । उनले नेपालमा निर्माण भइरहेको भवनहरुमध्ये सबैभन्दा ठूलो र महत्वको परियोजना रहेकाले १६ पुसभित्र सम्पन्न सुनिश्चित हुने गरी हरेक दिनको कार्यतालिका बनाएर काम गर्न आग्रह गरे ।

    धेरै मेहनत नगरिएमा तोकिएको समयमा निर्माण सम्पन्न हुन गाह्रो रहेकाले हरेक दिनको बेलुका निर्माण कार्य प्रगतिको समीक्षा गरी सोहीअनुसार आवश्यक स्रोतसाधन परिचालन गर्न निर्देशन दिंदै उनले निर्माण कार्यको आफैंलेसमेत नियमित अनुमगन गर्ने बताए ।

    ‘जेन—जी आन्दोलनका क्रममा पुरानो संसद भएन क्षतिग्रस्त भएको छ, राष्ट्रिय सभाको बैठक चलाउनु पर्नेछ, आगामी २१ फागुनको चुनावपछि प्रतिनिधि सभा पनि चलाउनु पर्ने हुन्छ, संसद भवनको निर्माण छिटोभन्दा छिटो सम्पन्न गरिएन भने धेरै असर पर्ने देखिएको छ, आजको निर्माण गति हेर्दा तोकिएको समयमा सम्पन्न गर्न गाह्रो देखिएको छ, दुवै निर्माण व्यवसायी एक आपसमा समन्वय गरेर काम गर्नुहोस्,’ मन्त्री घिसिङले भने । ‘कामको गति बढाउनतर्फ लाग्नु भएन भने ठेक्का सम्झौता बमोजिम कारबाहीको प्रक्रिया अगाडि बढ्छ, त्यसको सम्पूर्ण दायित्व निर्माण व्यवसायीले बहोर्नुपर्नेछ, त्यसैले सबै गम्भीर भएर लाग्नुहोला ।’

    उनले संसद भवन निर्माण राष्ट्रिय महत्वको परियोजना भएकाले यसको प्रगति बारे नियमित रुपमा खवरदारी गर्न सञ्चारमाध्यमसहित आम नागरिकलाई आग्रह गरे । सचिव सिग्देले तोकिएको समयमा निर्माण सम्पन्न गर्न मन्त्रालयकातर्फबाट आवश्यक सहयोग, समन्वय सहजीकरण र अनुगमन गरिने बताए । निर्माण व्यवसायीका प्रतिनिधिबाट तोकिएकै समयका काम सम्पन्न गर्ने लक्ष्यका साथ काम गरिरहेको बताइएको थियो । उनीहरुबाट तालिकाभन्दा केही पछाडि भएता पनि अहिले देखिएको ढिलाइलाई पूर्ति गरी काम गर्ने प्रतिबद्धता जनाइएको थियो ।

    राष्ट्रिय र प्रतिनिधि सभा हलमा फल्स सिलिङका लागि थप ट्रस तथा दुवै भवनको पहिलो तलामा रहेको मल्टिपरपोज हलमा फल्स सिलिङ लागि थप ट्रसको निर्माण, इलेक्ट्रिकलअन्तर्गत मेन एलटी प्यानल, सब एलटी प्यानल, मेन, सम्पूर्ण स्यानेटरी, इलेक्ट्रिकल फायर फाइटिङ, एचभिएसी परीक्षण तथा सञ्चालन लगायतका काम बाँकी रहेका छन् ।

  • नेपाली मुलका उद्यमीले चलाएको कम्पनी अमेरिकाको स्टक एक्सचेन्ज नास्डाकमा सूचीकृत, सुरु भयो कारोबार

    नेपाली मुलका उद्यमीले चलाएको कम्पनी अमेरिकाको स्टक एक्सचेन्ज नास्डाकमा सूचीकृत, सुरु भयो कारोबार

    ८ कात्तिक, काठमाडौं । एआई क्षेत्रमा काम गरिरहेको कम्पनी फ्युजमसिन्सले अमेरिकाको स्टक एक्सचेन्ज नास्डाकमा सेयर सूचीकृत गरेर कारोबार थालेको छ । कम्पनीले ‘फ्युज’ टिकरसहित स्थानीय समयअनुसार बिहीबारबाट कारोबार सुरु गरेको हो । विशेषगरी प्रविधि उद्योगका ठूला कम्पनीको सूचीकरणका लागि प्रसिद्ध नास्डाकमा एप्पल, माइक्रोसफ्ट, गुगल, अमेजन, मेटाजस्ता ठूला टेक कम्पनी सूचीकृत छन् । फ्युजमसिन्सले सीएसएलएम एक्विजिसन करसँगको व्यापारिक संयोजन पूरा गरेपछि नास्डाक ग्लोबल मार्केटअन्तर्गत सूचीकृत भएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    बिहीबार ३।३३ डलर रहेको कम्पनीको प्रतिसेयर मूल्य शुक्रबार ४ डलर पुगेको छ । कम्प्युटर वैज्ञानिक समीर मास्केले सन् २०१३ मा संयुक्त राज्य अमेरिकामा फ्युजमसिन्स इंक स्थापना गरेका थिए । हाल यो कम्पनी नेपालसहित क्यानडा, डोमिनिकन रिपब्लिकलगायत विभिन्न देशमा विस्तार भएको छ ।
    नेपाली मूलका उद्यमीले स्थापना गरेको प्रविधि कम्पनी अमेरिकी स्टक एक्सजेन्जमा सूचीकृत हुनुलाई नेपालको प्रविधि क्षेत्रले उपलब्धिका रूपमा लिएको छ । एआईलाई सबै मानिसको पहुँचमा पुर्‍याउने आफूहरूको लक्ष्यमा यो उपलब्धि थप नयाँ अध्याय बनेको कम्पनीले जनाएको छ ।

    ‘एउटा सानो समूहसँग विचार–विमर्श र नवप्रवर्तनको प्रयासबाट सुरु गरेको यो कम्पनी नास्डाकमा सूचीकृत भइन्जेल हामीले लामो यात्रा तय गरेका छौं,’ फ्युजमसिन्सका प्रमुख मास्के भन्छन्, ‘यो उपलब्धि हाम्रो सामूहिक प्रयासबिना सम्भव हुने थिएन । यो हाम्रा लागि एउटा निर्णायक क्षण हो र वर्षौंको मिहिनेतको परिणाम पनि हो । तथापि यसलाई हामीले यात्रा सुरुवात मानेका छौं ।’

  • क्वालालम्पुरमा अमेरिका–चीन व्यापार वार्ता प्रारम्भ

    क्वालालम्पुरमा अमेरिका–चीन व्यापार वार्ता प्रारम्भ

    ८ कात्तिक, क्वालालम्पुर चीन र संयुक्त राज्य अमेरिकाबिचको पछिल्लो व्यापार वार्ता शनिबार मलेसियाको राजधानी क्वालालम्पुरमा सुरु भएको छ ।
    अमेरिकी अर्थ मन्त्रालयका प्रवक्ता र बेइजिङको सरकारी मिडियाले उक्त वार्ताको पुष्टि गरेका छन् । यो वार्ता आगामी हप्ता दक्षिण कोरियामा हुने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीचको बहुप्रतिक्षित भेटको पूर्वतयारीस्वरूप प्रारम्भ गरिएको बताइएको छ ।

    बेइजिङको वाणिज्य मन्त्रालयका अनुसार उपप्रधानमन्त्री हे लिफेङको नेतृत्वमा चिनियाँ प्रतिनिधिमण्डल मलेसियामा सोमबारसम्म रहनेछ । एएफपीका संवाददाताहरूले हे लिफेङ र उनको टोलीलाई विश्वकै दोस्रो अग्लो भवन ‘मर्डेका ११८’ मा प्रवेश गर्दै देखेका थिए । उनीहरु पत्रकारहरूसँग कुनै टिप्पणी नगरी भवनको लबी हुँदै माथिल्लो तलातर्फ गएका छन् । अमेरिकी प्रतिनिधिमण्डलले भने छुट्टै प्रवेशद्वार प्रयोग गरेको थियो । भवनका कर्मचारीहरूका अनुसार दुई देशका प्रतिनिधिहरू ९२औँ तलामा औपचारिक बैठकमा सहभागी छन् ।

    विश्वका दुई ठुला अर्थतन्त्र पछिल्ला वर्षहरूमा चलेको प्रतिशोधात्मक कर युद्धबाट थप हानि बेहोर्नु नपरोस् भनेर सहमतिको खोजीमा छन् । राष्ट्रपति ट्रम्प र राष्ट्रपति सीबीचको भेट आगामी बिहीबार दक्षिण कोरियामा आयोजना हुने एसिया–प्यासिफिक आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनको साइडलाइनमा हुने अपेक्षा गरिएको छ ।

    राष्ट्रपति ट्रम्पले केही दिनअघि उक्त बैठक रद्द गर्न सक्ने चेतावनी दिनुभए पनि उहाँले पुनः चीनसँग ‘राम्रो सम्झौता’ गर्न चाहने र व्यापार युद्ध अन्त्य गर्ने आशा प्रकट गरेका थिए । अमेरिकी अर्थ मन्त्रालयका प्रवक्ताले शनिबार वार्ता औपचारिक रूपमा प्रारम्भ भएको पुष्टि गरे । चीनको सरकारी समाचार संस्था सिन्ह्वाले पनि दुई देशका प्रतिनिधिमण्डलबीच ‘बैठक भएको’ उल्लेख गरेको छ ।

    यसैबिच, बेइजिङले हालै आफ्नो दुर्लभ पृथ्वी (खनिज तत्व) उद्योगमा व्यापक नियन्त्रण लगाउने निर्णय गरेपछि वासिङ्टनले त्यसको प्रतिकारमा चीनबाट आयात हुने सामानमा १०० प्रतिशतसम्म कर लगाउने धम्की दिएको थियो । दुवै देशले एकअर्काका जहाजहरूमा आगमन शुल्क लगाउन थालेका छन् । अमेरिकी ‘धारा ३०१’ अनुसन्धानले उक्त उद्योगमा चीनको प्रभुत्व अनुचित भएको निष्कर्ष निकालेपछि तनाव झनै बढेको हो । रासस\एएफपी

  • मिथिलामा आजदेखि औपचारिक रूपमा छठ सुरु

    मिथिलामा आजदेखि औपचारिक रूपमा छठ सुरु

    ८ कात्तिक, काठमाडौं । मिथिलामा आजदेखि औपचारिक रूपमा छठ सुरु भएको छ । मिथिलाको सबैभन्दा ठुलो पर्वको रूपमा रहेको छठका लागि जनकपुरधामका घाटहरूलाई सिँगार्ने काम भइरहेको छ । यहाँ रहेका गङ्गासागर, अरगजा सर, दशरथ तलाउ, धनुष सागर, मटकोरर्वा पोखरीलगायतमा सजावटको काम भइरहेको छ ।

    गङ्गासागर छठ समितिका अध्यक्ष हरिनारायण गुप्ताले विगतजस्तै यो वर्षपछि गङ्गासागरको आधा भागमा सजावटको काम गरिरहेको बताए । उनले घाटको सरसफाइ, सजावटदेखि घाटमा विगतभन्दा पनि राम्रो व्यवस्था गरिरहेको बताए । गुप्ताले यो वर्ष प्रतिअर्घ्य ६०० निर्धारण गरिएको बताए । उनले भने, “सबैले दिँदैनन् । नदिनेले पनि यहाँ अर्घ्य राख्छन् । प्रत्येक वर्ष तीन ३००–३५० रुपियाँ पुर्जा काट्ने गरेको छ । श्रद्धालु भक्तजनहरूबाट आएको रुपियाँले यसको व्यवस्थापनमा लाग्ने खर्च निस्किहाल्छ ।”

    गङ्गासागरको घाटमा अहिले पण्डाल लगाउने काम अन्तिम चरणमा रहेको छ भने झिलीमिली बत्तीको काम बाँकी रहेको छ । गङ्गासागरमा तीन वटा समितिले सजावटको काम गर्ने गरेको छ । यस्तै, अरगजासरमा छठको घाटको निर्माण गरिरहेका समितिका सचिव वीरेन्द्र कर्णले दसैँ सकिएपछि आफूहरू तयारीमा जुटिसकेको बताए । उनले सजावट तथा सफाइका लागि अहिले काम भइरहेको जानकारी दिए ।
    कर्णले यस पोखरीमा हिन्दूहरू मात्र नभई मुस्लिम समुदायका पनि केही व्यक्तिहरू रहने गरेको बताए । “कर्णले घाटमा अर्घ्य राख्नेहरूबाट सहयोगस्वरूप रकम लिने गरिएको र अर्घ्य राख्नेसँग कुनै दबाव हुँदैन, हामीले सहयोगस्वरूप आर्थिक सहयोग गरिदिन आग्रह गर्छौँ”, उनले भने ।

    शान्ति सुरक्षाका लागि प्रहरीसँग पनि समन्वय गरिएको छ । यस पोखरीमा पाँच हजारभन्दा बढी अर्घ्य रहने गरेको र यो प्रत्येक वर्ष बढ्ने गरेको छ । मिथिलाञ्चल क्षेत्रमा मनाइने पर्वहरू पूर्ण रूपले घरेलु उत्पादनमा निर्भर रहेकाले आफ्नै खेतबारीमा उत्पादन गरेको गहुँ, चामललगायतको व्यवस्था गरेर त्यसलाई धोइ पखालेर आफ्नै घरमा रहेको जाँतोमा पिसेर त्यसको पिठोबाट छठको सामग्रीहरू बनाउने गरिन्छ ।

    त्यस्तै, यस पर्वमा प्रयोग हुने विभिन्न सामग्री किन्नेहरूको बजारमा भीड लागेको छ । जनकपुरधामको बजारहरूमा बाँसबाट र माटोबाट बनेको सामग्रीहरू जताततै बिक्री भइरहेको छ । छठपर्वमा बाँस तथा माटोबाट बनेको सामानहरू शुद्ध मानिने भएकोले यसको माग अहिले बजारमा बढेको छ । मिथिलानीहरू अहिले माटोबाट बनेको घैँटो, हात्ती त्यस्तै बाँसबाट बनेको छिट्टी (टोकरी), नाङ्लो, कन्सुपतीलगायतको सामान किन्नमा व्यस्त छन् ।

    चारदिनसम्म मनाइने छठपर्व भोलिदेखि औपचारिक रूपमा सुरु हुँदैछ । चार दिनको यस पर्वमा बर्तालुले दुई दिन बिना अन्नपानीको भोकै बस्नुपर्दछ । यस पर्वअन्तर्गत पहिलो दिन आज ‘नहाय–खाए’ हुनेछ । दोस्रो दिन आइतबार दिनभरि उपवास बसी रातिमा ‘खीर’ बनाई देउतालाई चढाएर खानेछन् । यस विधिलाई ‘खरना’ भनिन्छ ।

    त्यस्तै, मूल दिन सोमबार ठेकुवा, भुसवालगायत कृषिजन्य अन्नको पिठोबाट बनाइएका पकवानहरूसँगै केराको घरी, माटोको हात्ती, सूप, कनसुपती, कलशसहितको घैँटोलगायत सामग्रीको स्वच्छता र पवित्रतापूर्वक व्यवस्था गरिन्छ र साँझतिर अस्ताउने सूर्यको नमन गर्दै अर्घ्य दिइन्छ । यस्तै, छठपर्वको अन्तिम दिन मङ्गलबार बिहानपख उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएर पर्वको समापन गरिनेछ । रासस