Category: फिचर

  • प्रतिकुल मौसमका कारण विभिन्न विमानस्थल बन्द

    प्रतिकुल मौसमका कारण विभिन्न विमानस्थल बन्द

    १५ कात्तिक, काठमाडौं । प्रतिकुल मौसमका कारण आज आन्तरिक उडान प्रभावित भएको छ । काठमाडौं विमानस्थल कार्यालयका अनुसार भरतपुर, सुर्खेत र तुम्लिङटार विमानस्थलमा शनिबार उडान स्थगित गरिएको छ । बाक्लो बादलले हिमाल ढाकिएपछि माउन्टेन फ्लाइट समेत रद्द भएका छन् ।

    आज पनि नेपालमा पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतयादेखि अधिकांश बदली भएको छ भने बाँकी प्रदेशमा आंशिक बदली भएको छ । बागमती प्रदेशका केही स्थानहरूमा तथा कोशी, मधेश, र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

  • बुद्ध एयरले कोलकातामा थप्यो उडान

    बुद्ध एयरले कोलकातामा थप्यो उडान

    १५ कात्तिक, काठमाडौं । निजी वायुसेवा कम्पनी बुद्ध एयरले भारत कोलकातामा उडान थपेको छ । बुद्धले यसअघि साताका तीन दिन उडान गरिरहेकोमा अब चार उडान गर्ने भएको हो । नयाँ उडान तालिका अनुसार अब आइतबार, मंगलबार, बिहीबार र शनिबार उडान हुनेछ । नयाँ उडान तालिका १५ नोभेम्बरबाट कार्यान्वयनमा ल्याउन लागिएको बुद्धले जनाएको छ । कोलकाता नेपालको मूख्य व्यापारिक सम्बन्ध भएको शहर हो । यहाँको सामुन्द्रिक बन्दरगाह हुँदै नेपालमा धेरै सामान आउने गर्छ ।

  • दक्षिण अफ्रिकी क्रिकेट स्टार फाप डु प्लेसिस एनपीएल खेल्न नेपाल आउने, विराटनगरमा आवद्ध

    दक्षिण अफ्रिकी क्रिकेट स्टार फाप डु प्लेसिस एनपीएल खेल्न नेपाल आउने, विराटनगरमा आवद्ध

    १४ कात्तिक, काठमाडौं । दक्षिण अफ्रिकाका मध्यक्रमका ब्याटर फाप डु प्लेसिस नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण खेल्न नेपाल आउने भएका छन्। उनी अर्को महिनादेखि सुरु हुने एनपिएलका लागि विराटनगर किंग्समा आवद्ध भएका हुन् । ४१ वर्षीय प्लेसिस पछिल्लो समय व्यवसायिक क्रिकेटमा व्यस्त छन् । उनी सन् २०२१ देखि भने राष्ट्रिय टोलीमा छैनन् । पछिल्लो पटक उनले अमेरिकाको फ्रेञ्चाइज लिग खेलेका थिए।

    आइपिएल टोली दिल्ली क्यापिटल्स, चेन्नई सुपरकिंग्स, राइजिङ पुने सुपर जायन्ट र रोयल च्यालेन्जर्स बेंगलुरु गरी चार टोलीबाट उनले १५४ वटा आइपिएल खेल खेलेका छन्। आइपिएलमा उनले ४७ सय रन बनाउँदा ३९ पटक अर्धशतक पूरा गरेका छन्। उनले चेन्नईबाट सन् २०१८ र २०२१ मा उपाधि समेत जितेका छन्। अस्ट्रेलिया, पाकिस्तान र वेस्ट इन्डिजको फ्रेञ्चाइज क्रिकेट लिग समेत खेलेका प्लेसिसले राष्ट्रिय टोलीबाट ६९ टेस्ट, १४३ एकदिवसीय र ५० टी२० खेल खेलेका छन्। दक्षिण अफ्रिकाको कप्तानको भूमिका समेत निर्वाह गरेका उनले टेस्टमा १०, एकदिवसीयमा १२ र टी–२० मा १ शतक प्रहार गरेका छन्।

    यसअघि विराटनगरले ‍स्टकल्यान्डको ओपनर ब्याटर जर्ज मुन्से र अस्ट्रेलियाका अलराउण्डर साम हिजलेटलाई अनुबन्ध गरेको थियो। आगामी मंसिर १ देखि कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने एनपिएलका लागि विराटनगरको टोलीमा मार्की खेलाडी सन्दीप लामिछानेसहित लोकेश बम, प्रतिश जिसी, बसिर अहमद, नरेन भट्ट, सुवास भण्डारी, सूर्य तामाङ, साहिल पटेल, नारायण जोशी, श्रवण किस्कु र शंकर राना छन्। उनी दोस्रो सिजनमा आवद्ध अहिलेसम्मकै ठूला खेलाडी हुन्
    ।

  • भ्रमण भिसामा विदेश जाने प्रावधान खुकुलो बनाइयो, डलर बोक्नुपर्ने अनिवार्य नियम हट्यो

    भ्रमण भिसामा विदेश जाने प्रावधान खुकुलो बनाइयो, डलर बोक्नुपर्ने अनिवार्य नियम हट्यो

    १४ कात्तिक, काठमाडौं । सरकारले भिजिट भिसा सम्बन्धी मापदण्ड खुकुलो बनाएको छ । २०८० माघ १० देखि लागू भएको ६ बुँदे कडा मापदण्ड खारेज भएको छ । अध्यागमन विभागले शुक्रबार पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएको हो । अध्यागमन र भिजिट भिसाको सम्बन्धमा विगतदेखि देखिएका समस्या समाधान गर्ने सम्बन्धी उच्चस्तरीय अध्ययन एवं छानबिन समिति, २०८२ ले अध्यागमन प्रशासनमा सुशासन तथा व्यावसायिकता प्रवर्द्धनका लागि उक्त ६ बुँदे मापदण्ड पुनरावलोकन गर्न सिफारिस गरेको थियो। सोहीअनुसार ६ बुँदे मापदण्ड लगायत यसअघि विभिन्न समयमा जारी गरिएका भिजिट भिसा सम्बन्धी प्रावधानहरू खारेज गरिएको विभागले जनाएको छ ।


    भिजिट भिसा सम्बन्धी बनेको आयोगले पनि स्वार्थ चलखेल भयो यो ६ बुँदेलाई पुनरावलोकन गर्नू भन्ने सिफारिस गरेको थियो। त्यसको आधारमा पुनरावलोकन गरेको हो,’ महानिर्देशक रामचन्द्र तिवारीले भने। यही कात्तिक १३ गतेको मन्त्रिस्तरीय निर्णयअनुरूप विभागले चार बुँदे नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको जनाएको हो।

    अब भिजिट भिसामा विदेश जान यी चार कागजात भए हुने विभागले व्यवस्था गरेको हो। अब कम्तीमा ६ महिना वैध अवधि भएको राहदानी हुनेपर्ने प्रावधान राखिएको छ । साथै, सम्बन्धित देशको प्रवेशाज्ञा (भिसा) वा अन अराइभल भिसा प्राप्त हुने मुलुक भए प्रवेशाज्ञा नचाहिने व्यवस्था भएको छ । प्रस्थान गर्ने गन्तव्यसम्मको हवाई टिकट साथमा हुनुपर्ने छ । आफू भ्रमण गर्ने प्रयोजनको लागि जान लागेको, सोको लागि आवश्यक कागजात साथमा रहेको र यसबाट सिर्जित परिणाममा स्वयम् जिम्मेवार रहने समेत व्यहोराको प्रस्थान गर्ने व्यक्तिले गरेको स्वःघोषणा समेत गर्नुपर्ने छ ।


    ुयो व्यवस्था आजैका मितिदेखि कार्यान्वयन हुने भएकोले सबै नेपाली नागरिकहरूलाई कुनै पनि बिचौलियाको प्रभावमा नपरी आफ्नो गन्तव्य र यात्राको बारेमा पूर्ण रूपमा सुसूचित भई निर्धक्क भई यात्रा गर्न अनुरोध गरिएको छ । सबै स्थानीय तह र जिल्ला प्रशासन कार्यालयहरूबाट समेत यस सूचनालाई सबै नागरिकसम्म सम्प्रेषण र सुसूचित गराउने कार्यमा सहयोग गरिदिन अनुरोध गरिएको छ,ु विभागले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ।

    यसअघि दुईतर्फी हवाई टिकट अनिवार्य थियो । भ्रमण अवधिभर होटल बुकिङ गरेको प्रमाण वा होटल बुकिङ नभई आफन्तसँग रहने भएका एकाघरका तीन पुस्ता भित्रको नाता खुल्ने नागरिकता प्रमाणपत्र वा अन्य कुनै प्रमाणपत्र अनिवार्य थियो ।

    भ्रमणको सम्पूर्ण खर्च बेहोर्ने सरकारी तथा गैरसरकारी संस्थको निमन्त्रणा पत्र वा सो नभएमा कम्तीमा ५०० अमेरिकी डलर बराबरको नगद सटही भएको प्रमाण (नगद वा डेबिट– क्रेडिट कार्ड) अनिवार्य थियो । युएई, बहराइन, कुवेत, कतार, ओमान र साउदी अरेबियामा भिजिट भिसामा भ्रमण गर्दा अनुसूची २ बमोजिम स्वःघोषणा गर्नुपर्नेछ र स्वघोषणामा संलग्न विवरणको प्रमाणको भार सम्बन्धित व्यक्तिमा रहने समेत मापदण्डमा थियो । सो मापदण्ड खारेज भएको छ ।

  • विवादका कारण काठमाडौंको फोहोर उठेन, घर भित्रै राख्न महानगरको आग्रह

    विवादका कारण काठमाडौंको फोहोर उठेन, घर भित्रै राख्न महानगरको आग्रह

    १४ कात्तिक, काठमाडौं । बन्चरेडाँडाका स्थानीयले अवरोध गरेपछि काठमाडौंमा फोहोर उठ्न छाडेको छ । काठमाडौं महानगरपालिकाले फोहोर घर भित्रै राख्न समेत आग्रह गरेको छ । आज शहरी विकास मन्त्रालयमा स्थानीय बासी र सरकारबीच छलफल भएको थियो । छलफलमा स्थानीयले १८ बुँदे सहमति महानगरले पालना नगरेको भन्दै मेयर बालेन शाहसँग छलफल गर्ने अडान राखेका छन् । बालेन भने उपस्थित भएनन् ।


    छलफलमा सहभागी प्रभावित स्थानीयले २० वर्षदेखि संघर्ष गर्दा पनि आफूहरूलाई न्याय नदिइएको भन्दै आक्रोश पोखे। आफूहरूलाई संघीय सरकार र काठमाडौं महानगरपालिको पटकपटक झुक्याएको, भुलाएको भन्दै समस्या समाधान गर्न सक्ने आधिकारिक व्यक्तिहरू सम्मिलित वार्ताको माग गरे।

    ‘यो छलफलले समाधान दिन सक्दैन। हामीसँग यसअघि १८ बुँदे सहमति गरेका काठमाडौं महानगरपालिका मेयर, उपमेयर, कार्यकारी अधिकृतसहित संघीय सरकारका मन्त्रीहरूसँग हामी वार्ता चाहिरहेका छौं,’ छलफलमा सहभागी धुनिबेसी २ का स्थानीय सुवास पाठकले भने, ‘समाधान दिन नसक्ने यस्तो छलफलको अर्थ छैन।’

    बेलकोटगढी नगरपालिका २ का वडाध्यक्ष रामचन्द्र तिमल्सिनाले काठमाडौं महानगरपालिकालाई सोधेमा सहरी विकास मन्त्रालयलाई देखाउने, मन्त्रालयलाई सोधेमा महानगरलाई दोषारोपण गर्ने काम भइरहेको बताए। उनले पटकपटक अल्झाउने गर्दा जनता आक्रोशित भएको बताए। प्रभावित क्षेत्रका नागरिकले दुई दिन फोहोर रोक्दा काठमाडौं, भक्तपुर र बनेपासम्मका मानिसको टाउको दुख्ने, हामी २० वर्षदेखि फोहोरमा बस्दा हाम्रो समस्या कसले देख्ने ? भन्दै उनले प्रश्न गरे।

    साढे दुई घण्टासम्म चलेको छलफलका अन्त्यमा सहरी विकास मन्त्रालयका सचिव सिग्देलले समस्या समाधानका लागि मन्त्रालय र मन्त्री (कुलमान घिसिङ) गम्भीर रहेको बताए। प्रभावित क्षेत्रका जनप्रतिनिधिले पत्र पठाएर मन्त्रालयलाई समस्या समाधानको पहल गरिदिन आग्रह गरेकाले आफूहरूले छलफलको आयोजना गरेको भन्दै उनले लगातारका छलफलबाट समाधान निस्कने विश्वास व्यक्त गरे।

    यसअघि पीडित स्थानीयले गत असोज २६ गते भौतिक पूर्वाधार, शहरी विकासमन्त्री कुलमान घिसिङसमक्ष समस्या राखेका थिए। ल्यान्डफिल साइट निर्माण सम्पन्न नहुँदै फोहोर फाल्ने काम भइरहेको तर स्थानीय प्रभावितहरूसँग गरिएको सम्झौता कार्यान्वयन नभएको भन्दै उनीहरूले समस्या समाधानको पहल गरिदिन मन्त्री घिसिङको ध्यानाकर्षण गराएका थिए।

  • मुस्ताङको सरिबुङ पासमा विदेशी पदयात्रीसहित १४ जना सम्पर्कविहीन

    मुस्ताङको सरिबुङ पासमा विदेशी पदयात्रीसहित १४ जना सम्पर्कविहीन

    रासस
    १४ कात्तिक, काठमाडौं । मुस्ताङ र मनाङ जोड्ने पर्यटकीय पदमार्ग सरिबुङ पास गएका १४ जना पदयात्री तीन दिनदेखि सम्पर्कविहीन भएका छन् । यहाँको लोघेकर दामोदरकुण्ड ४ याराबाट दामोदरकुण्ड हुँदै सरिबुङ पास हुँदै मनाङको फुगाउँ निस्किने क्रममा हिमपातका कारण मङ्गलबारदेखि तीन जना अष्ट्रियन नागरिकसहित ११ जना नेपाली पथप्रदर्शक सम्पर्कविहीन भएका हुन् ।

    मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले उनीहरू बिहीबार साँझ सम्पर्कविहीन भएको सूचना प्राप्त भएको बताए । चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको सीमावर्ती दामोदरकुण्ड क्षेत्रको मुस्ताङ–मनाङ सरिबुङ पास समुन्द्री सतहदेखि ६ हजार मिटर उचाइमा पर्दछ। त्यहाँ भारी हिमपात भएकाले विदेशी पदयात्रीसहित १४ जनाको टोली सम्पर्कविहीन भएको उनले उल्लेख गरे ।

    यसैबीच, जिल्ला प्रशासन कार्यालय मुस्ताङले सम्पर्कविहीन रहेका पदयात्रीहरू दामोदरकुण्डस्थित तीर्थयात्री धर्मशालामा सुरक्षित हुनसक्ने अनुमान गरेको छ । सो धर्मशालामा खाने, बस्नेसहित अत्यावश्यक सामान व्यवस्थित रहेकाले सम्पर्कविहीन टोली त्यहाँ हुनसक्ने भन्दै प्रजिअ भुसालले धर्मशालामा उनीहरूलाई कुनै समस्या नपर्ने बताए ।

    हिमालय एडभेन्चर ट्राभल कम्पनीमार्फत सरिबुङ पासको पदयात्रामा निस्किएक सबै दुई साताअघि काठमाडौँबाट त्यसतर्फ प्रस्थान गरेका हिमालयन एडभेन्चरका व्यवस्थापक दीपक मैनालीले जानकारी दिए । मुस्ताङको दामोदरकुण्ड हुँदै सरिबुङ पास निस्किएका तीन अष्ट्रियन पर्यटकसहित नेपाली पदप्रदर्शकको टोली गत मङ्गलबारदेखि सम्पर्कमा नरहेको उनको भनाइ छ ।

    आज बिहान मात्रै फोन सम्पर्कमा आएका जनाउँदै मैनालीले स्पष्ट कुराकानी भने हुन नसकेको बताए । अक्टोबर २६ तारिखमा दामोदरकुण्डबाट सरिबुङ पासतर्फ हिँडेको जानकारी प्राप्त भएको बताउँदै उनले त्यसयता कुनै सम्पर्क नभएको उल्लेख गरे । ‘हामीलाई आज मात्रै पथप्रदर्शकले फोन सम्पर्क गरेका थिए, तर प्रतिकूल मौसम र सञ्चार अवरोधका कारण राम्ररी कुराकानी हुन सकेन’, व्यवस्थापक मैनालीले भने, ‘हामीले फोनको ‘ट्रयाकिङ’ गरेर स्थान पत्ता लगाउन गृह मन्त्रालयसँग अनुरोध गरेका छौँ।’

    सम्पर्कविहीन भएका पदयात्री रहेको स्थान पत्ता लगाउन सकेमा उद्धारका लागि हेलिकप्टर पठाउने तरी तयारी भएकोबारे गृहमन्त्रालयमा जानकारी गराइएको उनले उल्लेख गरे । सम्पर्कविहीन पदयात्री सरिबुङबाट मनाङको फुगाउँ हुँदै चाँमे निस्किने योजनामा रहेका व्यवस्थापक मैनालीले बताए ।

  • माधव नेपाल नेतृत्वको नेकपा एसले गर्यो माओवादीसँग एकता गर्ने निर्णय, केही नेता भने विरोधमा

    माधव नेपाल नेतृत्वको नेकपा एसले गर्यो माओवादीसँग एकता गर्ने निर्णय, केही नेता भने विरोधमा

    १४ कात्तिक, काठमाडौं । माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गर्दै एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक सकिएको छ । बुधबारदेखि सुरु भएको बैठकमा बहुमत केन्द्रीय सदस्यले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेका हुन् । अध्यक्ष माधवकुमार नेपालले माओवादी केन्द्रसँगको एकता प्रस्तावलाई बैठकमा बहुमत सदस्यले ताली बजाएर अनुमोदन गरे ।

    एकीकृत समाजवादीले माओवादीसँगै महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी (नेसपा) सँग पनि एकता गर्ने निर्णय गरेको छ । बैठकमा अध्यक्ष नेपालले एकताका लागि पार्टीको सचिवालय बैठकले थप गृहकार्य गर्ने जानकारी दिएका उपाध्यक्ष प्रकाश ज्वालाले बताए ।

    एकीकृत समाजवादीमा अध्यक्ष नेपाल इतरका एउटा पक्षले भने माओवादीसँग एकता गर्न नहुने अडान लिएको छ । एकता भए पार्टी पुनर्गठन गर्ने उनीहरूले बताउँदै आएका छन् । समाजवादीका सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्यास भूसाल, नेताहरू विजय पौडेल, राम कुमारी झाँक्री लगायत नेता भने माओवादीसँगको एकताको विरोधमा छन् ।

  • माओवादीसँग एकताको विषयमा नेकपा एसमा असन्तुष्टी , ओलीले भने : हाम्रोमा आउनुस

    माओवादीसँग एकताको विषयमा नेकपा एसमा असन्तुष्टी , ओलीले भने : हाम्रोमा आउनुस

    १४ कात्तिक, काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी छाडेर गएका नेता तथा कार्यकर्तालाई घर फर्कन आग्रह गरेका छन् । नेकपा एकीकृत समाजवादीमा माओवादीसँग एकता गर्नेबारे विवाद भइरहेका बेला ओलीले फरक मत राख्नेलाई एमालेमा फर्कन सार्वजनिक रुपमा आहृवान गरेका हुन् । ‘विगतमा नेकपा (एमाले)को निर्माण गर्न र यसलाई बलियो बनाउने यात्रामा सँगै हिँड्नु भएका सबै नेता–कार्यकर्तालाई हृदयदेखि आहृवान गर्न चाहन्छु,’ उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘जहाँ हुनुहुन्छ, फर्किनुस् आफ्नै घर फर्किनुस् । यो घर तपाईंहरूको पसिना र रगतले बनेको हो ।’

    उनले एमालेमा एकजुट भएर आशाको ज्याति बाल्न सकिने बताएका छन् । ‘फेरि हामी सबै काँधमा काँध मिलाएर अघि बढौं, देशको स्वाधीनता जोगाऔं । लोकतन्त्रको रक्षा गरौं र जनताको जीवनमा सुख, समृद्धि र आशाको ज्योति बालौं,’ उनले आग्रह छ, ‘हामी एउटै परिवार हौं । हाम्रो लक्ष्य स्पष्ट छ, समृद्ध नेपाल, सुखी नेपाली । कोही अलमलमा नपर्नुस्, आउनुस्, आफ्नै घरमा–हाम्रो साझा सपना साकार पार्न । निर्णायक राष्ट्रिय शक्ति निर्माणमा जुटौं ।’


    उनले मुलुकमा देखिएको राजनीतिक संकट टार्ने दिशामा अघि बढ्न आवश्यक भएको बताएका छन् । ‘आज फेरि महाविनाश निम्त्याएर देशको सार्वभौम अस्तित्वमाथि चुनौती खडा गरिएको छ, लोकतान्क्रिक संविधानमाथि आत्रमण भइरहेको छ,’ ओली थप्छन्, ‘यस्तो बेला हामी मौन रहन सक्दैनौं । राष्ट्रिय एकता, देशको स्वाभिमान र लोकतन्त्रको रक्षाका लागि हामी सबै एकै मन, एकै स्वर र एकै दिशामा अघि बढ्नुपर्छ ।’

  • पेट्रोलियम पदार्थको मूल्य हेरफेर, हवाई इन्धनको बढ्यो

    पेट्रोलियम पदार्थको मूल्य हेरफेर, हवाई इन्धनको बढ्यो

    १४ कात्तिक, काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य हेरफेर गरिएको छ । नेपाल आयल निगमका अनुसार आज राती १२ बजेदेखि लागु हुने गरी डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँले घटाइएको छ । हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर अमेरिकी डलर ७ ले बढाईको छ । पेट्रोलको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ ।

    भारतबाट पेट्रोलको मूल्य सामान्य घटेर आएको थियो । हवाई इन्धन पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका भने खरीद मूल्य नै कायम गरिएको छ । नयाँ मूल्य अनुसार काठमाडौंमा डिजेलको मूल्य प्रतिलिटर १४४ रुपैयाँ कायम भएको छ । यसअघि १४५ रुपैयाँ प्रतिलिटर थियो ।

  • राष्ट्रपति १७ कात्तिकदेखि कतार भ्रमणमा जाँदै

    राष्ट्रपति १७ कात्तिकदेखि कतार भ्रमणमा जाँदै

    काठमाडौँ, कात्तिक १४ गते । राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा यही कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुने भएका छन् । कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणमा १२ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी सम्मेलनमा सहभागी हुन लाग्नुभएको परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले जानकारी दिए । सो औपचारिक भ्रमणका लागि उहाँ यही कात्तिक १७ गते त्यसतर्फ प्रस्थान गर्ने उनले बताए । राष्ट्रपति पौडेलले सम्मेलनको मुख्य सत्रलाई कात्तिक १८ गते सम्बोधन गर्नेछन् ।

    संयुक्त राष्ट्रसङ्घको महासभाको निर्णयअनुसार हुन लागेको उक्त सम्मेलन सदस्य राष्ट्रका लागि धेरै महत्त्वपूर्ण हुने विश्वास लिइएको छ । भ्रमणबारेमा जानकारी दिन आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सचिव राईले ३० वर्षपछि हुन लागेको सो दोस्रो सम्मेलनको महत्त्व र गरिमा अनुरूप नेपालबाट राष्ट्रपतिको सहभागिता हुन लागेको उल्लेख गरे । सम्मेलनका दौरान राष्ट्रपति पौडेलसँग कतारका अमिर र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलगायत विभिन्न विशिष्ट व्यक्तिहरूको भेटवार्ता हुनेछ ।

    यसअघि उक्त सम्मेलन १९९५ मा डेनमार्कको कोपनहेगनमा भएको थियो । यसपटक सम्मेलन कतारले आयोजना गरेको हो । सम्मेलनमा वर्तमान विश्वले सामना गर्नुपरेको विकासको असमानता, जनसङ्ख्यामा आएको असन्तुलन र प्रविधिका कारण समाजमा परेको प्रभावलगायत विषयमा विभिन्न कोणबाट गहन छलफल हुने बताइएको छ । सचिव राईले भने, “सम्मेलनले सामाजिक विकासका लागि सहकार्य र सहयोगका विषयमा साझा प्रतिबद्धता जाहेर गर्नेछ ।”

    संयुक्त राष्ट्रसङ्घको १९५५ मा सदस्य भएपछि नेपाल शान्ति र स्थायित्वका लागि सधैँ सक्रिय र प्रतिबद्ध सदस्य रहिआएको छ । राष्ट्रसङ्घको आर्थिक तथा सामाजिक परिषद्को हाल नेपाल अध्यक्ष रहेकाले पनि सम्मेलनमा नेपालको सहभागिता अर्थपूर्ण छ । कतारको औपचारिक भ्रमण पूरा गरी राष्ट्रपति पौडेल कात्तिक २० गते स्वदेश फर्कनुहुने मन्त्रालयले जनाएको छ ।रासस

  • राष्ट्रिय परिचय पत्र अनिवार्य भएका क्षेत्रको दायरा बिस्तार, अब कुन कुन सेवामा थपियो ?

    राष्ट्रिय परिचय पत्र अनिवार्य भएका क्षेत्रको दायरा बिस्तार, अब कुन कुन सेवामा थपियो ?

    १४ कात्तिक, काठमाडौं । सरकारले विद्युतीय प्रणालीमार्फत राष्ट्रिय परिचयपत्रको पहुँच विस्तार गरी अनिवार्य गरेको छ । कात्तिक १२ गतेको मन्त्रीपरिषद् बैठकका निर्णय बिहीबार सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले गृह मन्त्रालयको प्रस्तावमा राष्ट्रिय परिचयपत्रको आबद्धता विस्तार गरेको जानकारी दिए । मन्त्री खरेलका अनुसार वैदेशिक रोजगार सेवासम्बन्धी, अदालतका मुद्दा व्यवस्थापनसम्बन्धी, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको वैदेशिक अध्ययन अनुमति सेवासम्बन्धी, स्थानीय तहको पञ्जीकरण, नागरिकता, सामाजिक सुरक्षा, राहत तथा विपत् व्यवस्थापन सम्बन्धमा राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ ।

    अध्यागमन सेवा, बन्दीको पहिचान, प्रमाणीकरण तथा बन्दीहरूको विवरण सम्बन्धमा राष्ट्रिय परिचयपत्र आबद्धता विस्तार गरेको उनले बतए । समरजङ्ग कम्पनी कार्यालयलाई गृह मन्त्रालय अन्तर्गत रहने गरी सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति दिने निर्णय भएको पनि उनले जानकारी दिए । यसअघि राहदानी, बैंक खाता खोल्नेलगायतका सेवामा परिचय पत्र अनिवार्य छ ।

  • आज दिनभर वर्षा, साँझबाट सुधार

    आज दिनभर वर्षा, साँझबाट सुधार

    १४ कात्तिक, काठमाडौं । बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ तथा न्यूनचापीय प्रणालीको प्रभावका कारण देशका अधिकांश भागमा वर्षा र बदली भएकामा शुक्रबार साँझदेखि क्रमिक रूपमा मौसममा सुधार हुने मौसम पूर्वानुमान महाशाखाले बताएको छ । हाल देशका अधिकांश प्रदेशहरूमा वर्षा र हिमपातको सम्भावना रहेको कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पूर्ण बदली रहनेछ भने बाँकी प्रदेशहरूमा साधारणतया बदली रहने महाशाखाको पूर्वानुमान छ ।

    महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मध्यम वर्षा हुनेछ । साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का वर्षा हुने सम्भावना छ । कोशी, मधेश र बागमती प्रदेशका केही तथा लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको संभावना छ ।

    यसैगरी, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा मध्यम हिमपात हुन सक्नेछ । यस्तै, ती प्रदेशका केही स्थानमा भारी हिमपात हुने सम्भावना पनि छ । भारी वर्षा र हिमपातको पूर्वानुमान गरिएका स्थानका सर्वसाधारण एवं किसानका साथै यात्रामा निस्किएका तथा सवारीचालकलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । रासस

  • चितवनमा दुई बस र ट्रक एक आपसमा ठोक्किए, ३३ घाइते

    चितवनमा दुई बस र ट्रक एक आपसमा ठोक्किए, ३३ घाइते

    १४ कात्तिक, काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–९ टिकौली जंगलमा एउटा ट्रक र दुईवटा बस आपसमा ठोक्किँदा ३३ जना घाइते भएका छन् । घाइतेमध्ये ८ जनाको अवस्था मध्यम खालको छ । गतराति पौने २ बजे इँट्टा लोड गरेर पार्किङ गरिराखेको ना ६ ख ८१३ नम्बरको ट्रकमा गौरबाट काठमाडौंतर्फ जाँदै गरेको बा. प्र. ०३०० ख ०१२३ नम्बरको डल्फिन यात्रुबाहक बस ठोक्किएको र सोही बसमा जनकपुरबाट काठमाडौं तर्फ जाँदै गरेको बा. प्र.०३०० ख ३९०२ नम्बरको रुद्राक्ष यात्रुबाहक बस समेत ठोक्किएको थियो ।

    बस सडकमा पल्टिएको थियो । लगत्तै सशस्त्र प्रहरी बल, नेपाल नं. १७ गण आँपटारी चितवनबाट खटिएको टोलीले घाइतेहरुलाई उद्धार गरी उपचारका लागि अस्पताल पठाएको थियो । घाइतेहरुमध्ये चितवन मेडिकल कलेजमा १५ जना, नेशनल सिटी अस्पतालमा १३ जना र भरतपुर अस्पतालमा ५ जनाको उपचार भइरहेको छ । क्रेनको सहायताले बसलाई सडक क्षेत्रबाट हटाएर आज बिहान करिब ३ बजेतिर सडक एकतर्फी खुलाइएको थियो । बा.प्र.०३–००१ख ३९०२ नम्बरको रुद्राक्ष बसका चालक धनुषा जिल्ला शहीद नगरपालिका–४ बस्ने ४३ वर्षीय कृष्ण मण्डललाई जिल्ला प्रहरी कार्यालय चितवनले नियन्त्रणमा लिएको छ ।

    घाइतेहरुमा उदयपुरको त्रियुगा नगरपालिका– १० बस्ने २० वर्षीय सार्थक बाबु श्रेष्ठ, धनुषाको जनकपुर उपमहानगरपालिका– १७ बस्ने ३९ वर्षीय सदाकत मिया, सोही ठाउँ बस्ने ५२ वर्षीय नरेन्द्र शाह छन् । यसैगरी धनुषाको जनकपुर उपमहानगरपालिका– ७ बस्ने १७ वर्षीय समिर अन्सारी, धनुषाको जनकपुर उपमहानगरपालिका– १ बस्ने ४६ वर्षीय बसन्त झा, धनुषाको जनकपर उपमहानगरपालिका– ४ वस्ने ४९ वर्षीय मुकेशलाल कर्ण, सोही ठाउँ बस्ने ३४ वर्षीया अन्जु कर्ण, सोही ठाउँ बस्ने आरुष कर्ण र धनुषाको लक्ष्मीनिया गाउँपालिका– ४ बस्ने १९ वर्षीया विद्या चौधरी छन् ।


    साथै, रौतहटको राजदेवी नगरपालिका– १ बस्ने २० वर्षीय अनिकेत कुमार साह, रौतहटको बृन्दावन नगरपालिका– ३ बस्ने ११ वर्षीय आरभ मिश्र, रौतहटको राजदेवी नगरपालिका– १ बस्ने कुष्ण कमार साह, रौतहटको गौर नगरपालिका–५ बस्ने ४१ वर्षीय मुकेश कुमार केसरी, महोत्तरीको पिपरा गाउँपालिका– १ बस्ने गितादेवी यादव, महोत्तरीको पिपरा गाउँपालिका–१ बस्ने ३७ वर्षीय राम श्रेष्ठ छन् ।

    यसैगरी धनुषाको जनकपुरधाम उपमहानगरपालिका–८ बस्ने २८ वर्षीय आलोक कुमार राउत, धनुषाको जलेश्वर नगरपालिका–५ बस्ने २० वर्षीय आदित्य कुमार सिंह, सोही ठाउँ बस्ने ४३ वर्षीया रेखा सिंह, सोही ठाउँ बस्ने २१ वर्षीया अञ्जली सिंह, रौतहटको राजदेवी नगरपालिका–२ बस्ने २१ वर्षीय मोनु कुमार महतो, रौतहटको गौर नगरपालिका–९ बस्ने ६६ वर्षीया गम्भिरादेवी ठाकुर र रौतहटको गरुडा नगरपालिका–७ बस्ने ५० वर्षीय विजय साह छन् । साथै सोही ठाउँ बस्ने ४० वर्षीय उर्मिला कुमारी साह, रौतहटको बृन्दावन नगरपालिका–३ बस्ने ६२ वर्षीया सुनितादेवी मिश्रा, भारत मोतिहारी बस्ने ३२ वर्षीय सुनिल प्रसाद, भारत मोतिहारी बस्ने २५ वर्षीया सुभद्रा कुमारी चौधरी, भारत मोतिहारी बस्ने ७ वर्षीया पृया जैशवाल छन् ।
    भारत मोतिहारी बस्ने ४ वर्षीया कृती जैशवाल, धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–४ बस्ने १९ वर्षीया दिव्या चौधरी, रौतहटको दुर्गाभगवती गाउँपालिका–२ बस्ने ३० वर्षीय राजकिशोर दास, रौतहटको माधवनारायण नगरपालिका–५ बस्ने १९ वर्षीय रोशी कुमार साह। सोही ठाउँ बस्ने २५ वर्षीय राजु दास र भारत मोतिहारी बस्ने २२ वर्षीय महमद साहेब समेत घाइते छन् ।

  • काठमाडौंका अतिक्रमित जग्गा खाली गराउन दिइयो सात दिने अल्टिमेटम

    काठमाडौंका अतिक्रमित जग्गा खाली गराउन दिइयो सात दिने अल्टिमेटम

    १४ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका विकास प्राधिकरणले सात दिनभित्र अतिक्रमिक जग्गा तथा मापदण्ड विपरीतका संरचना हटाउन निर्देशन दिएका छन् । महानगरपालिका र उपत्यका विकास प्राधिकरणको गत असोज २ गते बसेको संयुक्त बैठकको निर्णय अनुसार आज सार्वजनिक सूचना जारी गरी अतिक्रमित क्षेत्र खाली गराउन निर्देशन दिइएको हो ।

    काठमाडौं महानगरपालिका क्षेत्रभित्र र सिमाना जोडिएका काठमाडौं जिल्ला भित्रका सार्वजनिक स्थानका अतिक्रमित तथा मापदण्ड विपरीतका संरचना नहटाए कारबाही गर्ने चेतावनी समेत दिइएको छ । काठमाडौं महानगरपालिकाले काठमाडौंका खोला किनारमा अतिक्रमण गरेर बसाइएका बस्ती खाली गराउने प्रयास गर्दै आएको छ । कतिपय स्थानमा सफल भए पनि बागमती नदी किनारको सुकुमबासी वस्ती लगायतका संरचना भने हटाउन सकेको छैन ।

  • बीपी राजमार्गका विभिन्न स्थानमा अवरोध, यातायात अवरुद्ध

    बीपी राजमार्गका विभिन्न स्थानमा अवरोध, यातायात अवरुद्ध

    १४ कात्तिक, काठमाडौं । बीपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोक खण्डको विभिन्न स्थानमा पहिरो र लेदोको कारण सवारी आवागमन पूर्णरुपमा अवरुद्ध भएको छ । राजमार्गको अवरोध हटाएर सडक सञ्चालन गर्न समय लाग्ने भएकाले पूर्व जाने गाडीहरु काभ्रेपलाञ्चोकको भकुन्डेमा रोकिएका छन् । अविरल वर्षाका कारण बीपी राजमार्ग अन्तरगत चौकीडाँडा, चारसयबेसीको नाङसाल क्रसर, बोक्सीकुना र माम्तीमा पहिरो खसेर सडक अवरुद्ध छ । नार्के, पिन्थलीबेसी, विरुवाडाँडा लगायतका स्थानमा लेदोका कारण राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ ।

    इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीका अनुसार चौकीडाँडामा खसेको पहिरो पन्छाउन लाग्दा पुनस् माथिबाट पहिरो खसेको छ । पानी परिरहेकाले जोखिम बढेको भन्दै हाल पहिरो पन्छाउन रोकिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख कोमल शाहले बीपी राजमार्ग अन्तर्गत काभ्रे जिल्ला भित्रको अवरोध हटाएर सडक सञ्चालन गर्न समय लाग्ने बताए । उनले सुरक्षित यात्राका लागि सडकको अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न अनुरोध गरे ।

  • मुम्बईमा बन्धक बनाएका १५ बालबालिकाको सकुशल उद्धार

    मुम्बईमा बन्धक बनाएका १५ बालबालिकाको सकुशल उद्धार

    १३ कात्तिक, मुम्बई । मुम्बईको पवई क्षेत्रमा कैयौँ बालबालिकालाई बन्धक बनाउने व्यक्तिलाई मुम्बई प्रहरीले बिहीबार पक्राउ गरेको छ । प्रहरीका अनुसार बालबालिकालाई बन्धक बनाएका रोहित आर्याले एक भिडियो जारी गर्दै आफूले केही बालबालिकालाई बन्धक बनाएको आफ्नो माग पूरा नगरे सबै कुरामा आगो लगाउने र बच्चासहित आफैंलाई हानि पुर्‍याउने धम्की दिएका थिए । अपहरणकारी ती व्यक्तिले बन्धक रिहाइका लागि आफूले केही व्यक्तिसँग कुरा गर्न चाहेको बताएका थिए।

    प्रहरी अधिकारीहरूका अनुसार ती व्यक्ति मानसिक रूपमा अस्थिर देखिएका थिए भने प्रहरीले परिस्थितिलाई सावधानीपूर्वक सम्हालेको छ। अपहरणपछि तत्काल मुम्बई प्रहरीद्वारा जारी गरिएको एक विज्ञप्तिमा घटनाको पुष्टि गर्दै भनिएको छ, “मुम्बईको पवई क्षेत्रमा रोहित आर्या नाम गरेका एक व्यक्तिले केही बालबालिकालाई बन्धक बनाएका छन् । उनले सार्वजनिक गरेको एक भिडियोमा उनी केही व्यक्तिहरूसँग कुरा गर्न चाहेको र त्यसो गर्न अनुमति दिइएन भने उनले सबै चीजमा आगो लगाइदिने र आफू र बच्चाहरूलाई हानि पुराउने चेतावनी दिएका थिए ।”

    प्रहरीले सबै बालबालिकालाई सकुशल उद्धार गरी अभिभावकको जिम्मा लगाएको पुष्टि गरेको छ । प्रहरीले अभियुक्तलाई हिरासतमा लिइएको र उनको कार्यको कारण पत्ता लगाउन र उनको मानसिक अवस्थाको परीक्षण गर्न सोधपुछ भइरहेको बताएको छ। प्रहरीद्वारा बालबालिकाको रिहाइपछि दिइएको जानकारीमा भनिएको छ, “घटनास्थलबाट सबै बालबालिकाको सकुशल उद्धार गरिसकेको छ। रोहित आर्या नाम गरेका ती व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको र उनीसँग कुरा गरिरहेको छ । उनले किन यस्तो कदम चाले र के उनी वास्तवमै मानसिक रूपमा अस्वस्थ छन् भनेर पत्ता लगाउने प्रयास पनि भइरहेको छ।

    अधिकारीहरूले अगाडि भनेका छन्, थप विवरणहरू अनुसन्धानपछि सार्वजनिक गरिने बताएका छन्। “सबै बालबालिका सकुशल छन् र उनीहरूलाई अभिभावकको जिम्मा लगाइएको छ । अन्य विवरणहरू उचित प्रमाणीकरण पछि चाँडै साझा गरिनेछ,” मुम्बई प्रहरीले भनेको छ। रासस-एएनआई

  • कप्तान रोहितको सानदार ब्याटिङका बावजुत हार्यो नेपाल

    कप्तान रोहितको सानदार ब्याटिङका बावजुत हार्यो नेपाल

    १३ कात्तिक, काठमाडौं । दुबईमा जारी आइसिसी विश्वकप लिग–२ शृङ्खलाको दोस्रो खेलमा नेपाल संयुक्त अरव इमिरेट्स (युएई) सँग पाँच विकेटले हारेको छ ।
    जारी श्रृङ्खलामा नेपालको यो लगातार दोस्रो हार हो । यसअघि पहिलो खेलमा नेपाल अमेरिकासँग एक सय ६ रनले पराजित भएको थियो । दुबई एकेडेमी मैदानमा जितका लागि दुई सय ३४ रनको लक्ष्य पछ्याएको युएईले ४३.३ ओभरमा पाँच विकेटको क्षतिमा दुई सय ३७ रन जोड्दै लक्ष्य पूरा गरेको हो ।

    युएईका लागि आर्याम्स शर्माले सर्वाधिक ९८ रन बनाए । उनले ९८ बलमा १० चौका र तीन छक्का प्रहार गरे । ओपनर आलिसान सरफुले ४५, मुहमद वासिमले २६, अर्षित कौशिकले १३, ध्रुव परासरले अविजित १६ र जाहिद अलीले अविजित ११ रन बनाए । कप्तान राहुल चोप्रा १५ रनमा रिटायर्ड हट भए ।


    बलिङमा नेपालका सन्दीप लामिछानेले दुई तथा करण केसी र दीपेन्द्रसिंह एरीले एक एक विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेटको क्षतिमा दुई सय ३३ रन बनाएको थियो ।

    नेपालका लागि कप्तान रोहितकुमार पौडेलले पाँच चौका र दुई छक्काको मद्दतमा १०९ रन बनाए । एकदिवसीयमा कप्तान पौडेलको यो दोस्रो शतक हो । यसअघि उनले पपुवा न्युगिनीविरुद्ध शतक प्रहार गरेका थिए । ओपनर आशिफ शेखले ३५, आरिफ शेख २७, दीपेन्द्रसिंह ऐरीले २३, करण केसीले १३ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य रन जोड्न जोड्न सकेनन् ।


    नेपाललाई सस्तैमा रोक्न यूएईका लागि जाहिद अलीले चार र जुनैद सिद्दिकीले तीन विकेट हात पार्दा मोहम्मद रोहिद र हैदर अलीले एकएक विकेट हात पारे । यस जितसँगै १८ खेलबाट आठ अङ्क बनाएको युएई अन्तिममै छ । समान खेलबाट १२ अङ्क बनाएको नेपाल सातौँ स्थानमा छ । नेपालले युएईपछि शृङ्खलाको अर्को खेल कात्तिक १५ गते शनिबार अमेरिकासँग र अन्तिम खेल कात्तिक १९ गते बुधबार युएईसँग खेल्नेछ । आठ टोली सहभागी लिगमा हाल अमेरिका २२ खेलबाट ३२ अङ्क जोड्दै शीर्षस्थानमा छ ।

    दोस्रो स्थानमा रहेको स्कटल्यान्डको २४ खेलबाट ३० अङ्क छ । यस्तै तेस्रो स्थानमा रहेको नेदरल्यान्ड्सको २४ खेलबाट २८, चौथो स्थानमा रहेको ओमानको २० खेलबाट २४, पाँचौँ स्थानमा रहेको क्यानडाको २४ खेलबाट २१ र छैटौँ स्थानमा रहेको नामिबियाको २४ खेलबाट १९ अङ्क छ । लिग–२ मा सहभागी आठ राष्ट्रले कुल नौ शृङ्खलामा ३६ खेल खेल्नेछन् । प्रत्येक राष्ट्रले घरेलु मैदानमा तीन शृङ्खला खेल्नेछन् भने ६ शृङ्खला अन्य राष्ट्रका मैदानमा खेल्नेछन् । प्रतियोगितामा शीर्ष चारमा रहने टोली सोझै सन् २०२७ मा हुने एकदिवसीय विश्वकपमा छनोट हुनेछन् ।

  • बैतडीमा भिरबाट लडेर तीन जनाको मृत्यु

    बैतडीमा भिरबाट लडेर तीन जनाको मृत्यु

    १३ कात्तिक, काठमाडौं । बैतडीमा भिरबाट लडेर तीन जनाको मृत्यु भएको छ । जिल्लाको मेलौली नगरपालिका ७ पचकोराका ५५ वर्षीय भीमसिंह रावत, शिवनाथ गाउँपालिका ५ बारुलोजनीका ६१ वर्षीय इन्द्रसिंह साउद र डिलासैनी गाउँपालिका ७ ढाँणकी ५८ वर्षीया हरुली कार्कीको भिरबाट लडेर मृत्यु भएको हो ।
    बुधबार शिवनाथ धाममा जात्रा हेर्न गएका भीमसिंह घर नफर्केपछि प्रहरीले खोजतलास गर्दै जाँदा बिहीबार दिउँसो भिरमा मृत अवस्थामा फेला परेका बैतडीका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिए । उनका अनुसार शिवनाथ–६ ओल्या भिरभन्दा करिब ५०० मिटर तल भीमको शव फेला परेको हो ।

    इन्द्रसिंहको पनि शिवनाथ जात्राबाट फर्किने क्रममा भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै, बुधबारदेखि हराइरहेकी कार्कीको खोजी गर्दा भिरबाट करिब एक मिटर तल लडेको अवस्थामा शव फेला परेको प्रहरी निरीक्षक बडूले जानकारी दिए । न्यौटे भन्ने ठाउँमा खर काट्ने क्रममा उनको भिरबाट लडेर मृत्यु भएको जनाइएको छ । तीन वटै घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

    रासस

  • राहदानी छपाईमा पहल गरिदिन प्रधानमन्त्रीले जर्मनीका राजदूतसँग  गरिन् आग्रह

    राहदानी छपाईमा पहल गरिदिन प्रधानमन्त्रीले जर्मनीका राजदूतसँग गरिन् आग्रह

    १३ कात्तिक, काठमाडौं । नेपालका लागि जर्मनीका राजदूत उडो भोल्जले प्रधानमन्त्री सुशीला कार्कीसँग आज शिष्टाचार भेट गरेकी छिन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटमा नेपाल र जर्मनीबीच द्विपक्षीय हित र मित्रताका विषयमा विचार आदानप्रदान भएको थियो। प्रधानमन्त्रीमा कार्की नियुक्त भएपछि उनीहरूबीचको यो पहिलो भेट हो । यस क्रममा जर्मनीका राजदूत उडो भोल्जले प्रधानमन्त्री कार्कीलाई सफल कार्यका लागि शुभकामना व्यक्त गर्दै सदाझैं नेपालको प्राथमिकताअनुसार आवश्यक सहयोग गर्न तयार रहेको बताए ।

    प्रधानमन्त्री कार्कीले धन्यवाद व्यक्त गरेको उनको सचिवालयले जनाएको छ । यसैबीच प्रधानमन्त्री कार्कीले नेपालको राहदानी छपाइको जिम्मा पाएको जर्मन कम्पनीसँग सम्झौतामा भएको मिति अगावैदेखि राहदानी छपाइका लागि आवश्यक पहल गरिदिन आग्रह गरिन् ।

    नेपाली नागरिकलाई छिटोछरितो सेवा प्रवाह गर्ने यस कार्यमा जर्मन पक्षबाट सहयोग प्राप्त हुने विश्वास पनि व्यक्त गरिन् । जवाफमा राजदूत भोल्जले आफ्नो तर्फबाट कम्पनीलाई अनुरोध गरी यस विषयमा सक्दो पहल गर्ने बताए । भेटमा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई लगायत कूटनीतिक अधिकारीहरूको उपस्थिति थियो ।

  • मुगुको कोइकी हिमाल आरोहण गर्दै पाँच आरोहीले बनाए कीर्तिमान

    मुगुको कोइकी हिमाल आरोहण गर्दै पाँच आरोहीले बनाए कीर्तिमान

    १३ कात्तिक, मुगु । मुगुको मुगुम कार्मारोङ गाउँपालिका–२ मा पर्ने कोइकी हिमालमा पहिलो पटक सफल आरोहण भएको छ । कात्तिक ३ गते चार अष्ट्रियन र एक जर्मन गरी पाँच जनाको टोलीले सो हिमालमा सफल आरोहण गरेका हुन् । सफल आरोहीहरुमा अष्ट्रियाका एर्विन पल विसम्यान, भ्यालेन्टिन म्याक, स्यान्द्रो फ्रान्ज कान्डुथ, ग्रेगर प्रिबर्निग र जर्मनीका स्टेफन लिब लिन्ड छन् । समुद्री सतहदेखि ६ हजार १६९ मिटर अग्लो कोइकी हिमालको सफल आरोहणले मुगुम कार्मारोङवासी उत्साहित भएका छन्।


    ‘गाउँकै सामुन्ने रहेको यो हिमालको शिखरमा पहिलो पटक मान्छे पुगेको खबरले हामी हर्षित छौं। चोरी र याक चराउन फेदसम्म पुग्ने स्थानीय कसैले पनि यो हिमाल आरोहण गरेको सुनेका देखेका थिएनन्’, स्थानीय तुण्डुल तामाङले भने, ‘अब यस हिमालमा पनि आरोहणका लागि अरु आरोही आउँछन् भन्ने लागेको छ।’
    पहिलो पटक रिजन ट्रेक प्रालिको व्यवस्थापनमा चार जना अष्ट्रियाका, एकजना जर्मन आरोहीले आरोहण गरेको जनाइएको छ। मुगुम कार्मारोङ गाउँपालिका–२ का पूर्व वडाअध्यक्ष कार्मा तामाङ भने, ‘कोइकी हिमालको सफल आरोहणले मुगु मात्र होइन, देशकै पर्यटनको सम्भावना थपिएको छ। अब यस क्षेत्रको प्रचारप्रसारमा सरकार र सरोकारवाला निकायको ध्यान पुग्न जरुरी छ।’

    सो हिमालका सफल आरोही मध्येका २८ वर्षीय अष्ट्रियाका नागरिक सेन्द्रोकले भने, ‘मैले संसारका थुप्रै हिमाल आरोहण गरेको छु, तर कोइकी हिमालमा उभिँदा बेग्लै अनुभूति भयो । यो हिमाल सफा, शान्त र सुन्दर छ । कतै फोहर छैन, हावामा ताजगी छ । यस्तो प्राकृतिक शुद्धता मैले पहिलो पटक महसूस गर्दै थिएँ।’\


    उनले यहाँका स्थानीयको माया र आतिथ्यले आफू प्रभावित बनाएको र आफ्नो देश फर्केर साथीभाइलाई यो हिमाल चढ्न प्रेरित गर्ने बताए । “यो ठाउँको अझ प्रचार भयो भने, मजस्ता सयौँ विदेशी पर्यटक यहाँ आउनेछन्’, उनले भने । रिजन ट्रेक प्रालिका पथप्रदर्शक पासाङ शेर्पाका अनुसार, कोइकी हिमाल चढ्दा कुनै ठूला कठिनाई परेन । मौसम अनुकूल रह्यो, बाटो रमणीय थियो र दृश्य अद्भुत । अरू हिमालको तुलना गर्दा यहाँको यात्रा सहज र यादगार रह्यो। उनी भन्छ्न्, ‘विदेशी आरोही अत्यन्त उत्साहित थिए । उनीहरू फर्कँदा पनि बारम्बार यही कुरा भन्दै थिए हामी फेरि फर्कनेछौँ । कोइकी हिमाल पुग्ने बाटोमा कुनै कठिनाइ भोग्नु परेन।’


    पहिलो सफल आरोहणसँगै प्रचारप्रसारमा जोड दिएमा कोइकी हिमाल अब मुगुको पर्यटनको अर्को सम्भावना बन्ने पर्यटन व्यवसायी राजु कार्की बताउँछन् । ।


    यसरी पुग्न सकिन्छ कोइकी
    हवाई या स्थलमार्ग भएर नेपालगञ्ज जाने । नेपालगञ्जबाट रारा विमानस्थल करिब ३५ मिनेटको हवाई उडानमार्फत पुग्न सकिन्छ । रारा विमानस्थलबाट १५–२० मिनेटको जीप यात्रामा सदरमुकाम गमगढी पुगिन्छ । त्यसैगरी स्थलमार्ग भएर जानेका लागि नेपालगञ्ज वा कोहलपुरबाट बसमार्फत सुर्खेत, दैलेख, कालीकोट हुँदै पहिलो दिन मान्म वा नाग्मा त्यसपछि दोस्रो दिन बिहानै हिँडेर जुम्लाको गोठी ज्युला वा बुलबुले हुँदै दिउँसो गमगढी पुग्न सकिन्छ।


    त्यहाँ एक रात बास बसेर भोलिपल्ट बिहानै मुगुम कार्मारोङ गाउँपालिकाको छायल बजार, माग्री गाउँ र ढुङ्गेधारा बजार हुँदै जानुपर्छ । रिउस बगर वा पुलु बजार, लादेगाड, चिताई बगर हुँदै तेस्रो दिन साँझ मुगुम गाउँ पुगिन्छ। चौथो दिन बिहानै मुगुम गाउँको पाटन क्षेत्र हुँदै पाँचौँ दिन समुन्द्री सतहबाट चार हजार ६०० मिटर उचाइमा रहेको सो हिमालको आधारशिविर पुग्न सकिन्छ।

  • बीपी राजमार्ग पुनर्निर्माण गर्न जापानले दियो २ अर्ब ६० करोड अनुदान

    बीपी राजमार्ग पुनर्निर्माण गर्न जापानले दियो २ अर्ब ६० करोड अनुदान

    १३ कात्तिक, काठमाडौं । बीपी राजमार्ग पुनर्निर्माण तथा मर्मत सम्भारका लागि नेपाल सरकार र जापान सरकारबीच अनुदान सम्झौतामा हस्ताक्षर भएको छ ।
    जापान सरकारले यो राजमार्गको मर्मत र पुनर्निर्माणका लागि २ अर्ब ८० करोड जापानी येन (२ अर्ब ६० करोड रुपैयाँ) बराबर अनुदान सहायता दिने भएको छ । सम्झौता अर्थमन्त्री रामेश्वर खनाल र गृहमन्त्री ओम प्रकाश अर्यालको उपस्थितिमा अर्थ मन्त्रालयमा आज भएको हो । महोत्तरी जिल्लाको बर्दिबासदेखि काभ्रेपलान्चोक जिल्लाको धुलिखेलसम्मको यो राजमार्गको कुल लम्बाई १५९ किलोमिटर रहेको छ । राजमार्ग जापान सरकारको अनुदान सहयोगमा बनेको हो ।

    गत वर्षको विनासकारी बाढी र पहिरोका कारण राजमार्गका विभिन्न खण्डमा गम्भीर क्षति पुगेको छ । जसमा रोशी खोला आसपासको खण्ड पूर्ण रुपमा नष्ट भएको छ । सम्झौतामा अर्थसचिव घनश्याम उपाध्याय र जापानको तर्फबाट नेपालका लागि राजदूत तोरु माएदाले हस्ताक्षर गरेका हुन् । कार्यक्रममा अर्थमन्त्री खनालले अनुदान सहायता नेपाल र जापानबीचको मित्रता र सहकार्यको महत्त्वपूर्ण प्रतिक भएको बताए । जापानी राजदूत माएदाले यो सहयोगले बीपी राजमार्गका क्षतिग्रस्त भाग पुनर्स्थापना गर्न सहयोग पुग्ने बताए ।

  • जमैकामा शक्तिशाली तुफान मेलिसाले पार्दैछ तहसनहस, २० भन्दा बढीको मृत्यु

    जमैकामा शक्तिशाली तुफान मेलिसाले पार्दैछ तहसनहस, २० भन्दा बढीको मृत्यु

    १३ कात्तिक, काठमाडौं । क्यारेवियन मुलुक जमैकामा शक्तिशाली तुफान मेलिसाले तहसनहस बढाएको छ । यस आँधीका कारण कैयौं इलाकामा बाढी आएको छ । जसले गर्दा ठूलो मात्रामा जन धनको क्षति भएको विवरण सार्वजनिक भएका छन् । अहिलेसम्म २० जनाको मृत्युको विवरण आएको छ ।

    कतिपय मानिस छतमा फसिरहेको देख्न सकिन्छ । विजुली र खानेपानीको आपूर्ति बन्द भएको छ । प्रधानमन्त्री एन्ड्रयूले मुलुकमा अहिले पूर्णतया क्षतिग्रस्त अवस्था देखिएको बताएका छन् । अधिकांश स्थानमा अन्धकार छाएको छ । फोन सेवा समेत ठप्प् बनेको छ । एजेन्सी

  • ट्रम्प र सीबीच भेटवार्ता सुरु, सुरुवाती प्रतिक्रिया सार्वजनिक

    ट्रम्प र सीबीच भेटवार्ता सुरु, सुरुवाती प्रतिक्रिया सार्वजनिक

    १३ कात्तिक, काठमाडौं । दक्षिण कोरियामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिङपिङबीच भेटवार्ता सुरु भएको छ । यस भेटवार्तामा व्यापारका अनेक मुद्दामा कुराकानी हुने अपेक्षा गरिएको छ । भेट अघि ट्रम्पले एक संक्षिप्त प्रतिक्रिया पत्रकारलाई दिएका छन् ।

    त्यहाँ उनले बैठक फलदायी हुने बताए । उनले भने, ‘दुई मुलुकबीच सधै राम्रो सम्बन्ध रहेको छ ।’ दोस्रो पटक राष्ट्रपति बनेपछि आफुले ट्रम्पसँग तेस्रो पटक कुराकानी गर्न लागेको सीले प्रतिक्रिया दिए । दक्षिण कोरियामा आयोजित एसिया प्यासिफिक इकोनोमिक कोअपरेशन शिखर सम्मेलनका दौरान दुबै नेता कोरिया पुगेका हुन् ।

  • बैतडीमा जिप दुर्घटना, एक जनाको मृत्यु

    बैतडीमा जिप दुर्घटना, एक जनाको मृत्यु

    १३ कात्तिक, बैतडी । मेलौली नगरपालिका – ७ स्वाखानीमा जीप दुर्घटना भएको छ । शिवनाथबाट मेलालीतर्फ आइरहेको से१ज ७३२ नम्बरको जीप स्वाखानीमा बुधबार राति राति दुर्घटना भएको हो । दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका मेलाली नगरपालिका–२ की २३ वर्षीय तुलसी पाण्डेयको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बल्देव बडूले बताए । अन्य घाइतेहरुलाई थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ । रासस

  • कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज, के छन् एजेण्डा ?

    कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज, के छन् एजेण्डा ?

    १३ कात्तिक, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । आज दिउँसो १ बजेदेखि पार्टीको केन्द्रीय कार्यालय, बिपी स्मृति भवन ललितपुरमा बैठक बस्दैछ । कांग्रेस बैठक गत असोज २८ गतेदेखि सुरु भएको थियो । बैठक गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शन, अन्तरिम सरकार गठन र प्रतिनिधिसभा विघटनपछि विकसित राजनीतिक अवस्था र पार्टीको भूमिकाका विषयमा केन्द्रित रहेको जनाइएको छ ।

    आजको बैठकमा पार्टीको १५औँ महाधिवेशनका विषयमा केन्द्रीत रहेर छलफल हुँदैछ । हाल सभापति शेरबहादुर देउवा नेतृत्वमा रहेको कार्यसमितिको कार्यकाल मङ्सिरभित्र सकिँदैछ । यस अवस्थामा सुरुदेखि नै पार्टीको नियमित महाधिवेशन गर्ने वा नगर्ने विषयमा चर्चा भइरहेको छ ।

    नियमित महाधिवेशन नहुने अवस्थामा विशेष महाधिवेशन हुनुपर्ने मागसहित केही नेताहरूले महाधिवेशन प्रतिनिधिको हस्ताक्षर अभियान सञ्चालन गरेका थिए । त्यस क्रममा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेको जनाइएको छ ।

    यसअघि असोज २८ गते सुरु भएको भएको बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले स्वास्थ्य अवस्थाको कारण देखाउँदै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन् । त्यसयता उनको सभापतित्वमा कार्यसमितिको बैठक बसिरहेको छ ।

    यसबीचमा तिहार तथा छठ पर्वसमेत परेकाले यही कात्तिक १ गतेको अन्तिम पटक बसेको बैठकले पूर्वकेन्द्रीय सदस्य ऋषिकेश गौतमको निधनप्रति शोक प्रस्ताव पारित गरी अर्को बैठक आजका लागि तोकेको थियो ।

    रासस

  • पश्चिमी वायु र ‘मोन्था’ चक्रवातको प्रभावले नेपालका अधिकांश स्थानमा वर्षा

    पश्चिमी वायु र ‘मोन्था’ चक्रवातको प्रभावले नेपालका अधिकांश स्थानमा वर्षा

    १३ कात्तिक, काठमाडौं । हाल देशका देशका विभिन्न भागमा पश्चिमी वायु र ‘मोन्था’ चक्रवातको आंशिक प्रभाव परेकाले विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै देशमा पश्चिमी वायुको सक्रिय प्रभाव छ भने अरब सागरमा बनेको न्यून चापीय प्रणाली र बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ को आंशिक प्रभाव परेको छ ।

    महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहितका पहाडी भू–भागमा आज दिउँसो अधिकांश समय बादल लाग्ने छ भने तराईका भू–भागमा सामान्य बदली रहनेछ । कोशी, मधेश र बागमती प्रदेशका धेरै स्थानहरूमा मध्यम वर्षा हुने सम्भावना छ । गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा वर्षा र हिमपातको सम्भावना छ ।

    कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा हुने विभागको पूर्वानुमान छ । महाशाखााले देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही भागमा मध्यम हिमपात हुन सक्ने जनाएको छ । वर्षा र हिमपातको सम्भावना रहेका स्थानको यात्रा गर्ने तथा ती भेगका किसानलाई महाशाखाले सतर्कता अपनाउन पनि आग्रह गरेको छ ।

  • जितको दवावमा रहेको नेपालले लिग २ मा यूएईको सामना गर्दै

    जितको दवावमा रहेको नेपालले लिग २ मा यूएईको सामना गर्दै

    १३ कात्तिक, काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग २ अन्तर्गत यूएईमा जारी ओडिआई शृंखलाको आफ्नो दोस्रो खेलमा नेपालले आज यूएईसँग खेल्दै छ । दुबईस्थित आईसीसी एकेडेमीमा हुने खेल नेपाली समय अनुसार विहान सवा ११ बजेदेखि सुरु हुनेछ । जारी शृंखलामा दुवै टोली आफ्नो पहिलो खेलमा अमेरिकासँग पराजित भएका थिए । नेपालले १०६ रनको लज्जास्पद हार बेहोरेको थियो भने यूएई ४ विकेटले पराजित भएको थियो । दुवै टोली शृंखलामा पहिलो जितको खोजीमा हुनेछन् ।

    यूएईसँग नेपालले हालसम्म १५ पटक ओडिआईमा खेलेको छ । नेपाल ९ खेलमा विजयी हुँदा यूएईले ६ खेल जितेको छ । लिग २ को तालिकामा हाल अमेरिका २२ खेलमा ३२ अंक जोडेर शीर्ष स्थानमा छ । स्कटल्याण्ड ३० अंकसहित दोस्रो स्थानमा छ । त्यस्तै १७ खेलमा १२ अंक जोडेर नेपाल सातौं स्थानमा छ भने १७ खेलमा ६ अंकसहित यूएई पुछारमा छ ।

  • ट्रम्प र सीबीच आज दक्षिण कोरियामा भेटवार्ता

    ट्रम्प र सीबीच आज दक्षिण कोरियामा भेटवार्ता

    १२ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच आज दक्षिण कोरियामा भेटवार्ता हुँदैछ । दुई देशबीच तीव्र व्यापार युद्ध चर्किरहेका बेला शीर्ष दुई नेता दक्षिण कोरियामा भेट्न लागेका हुन् । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले दिएको जानकारी अनुसार आज कोरियाको स्थानीय समय अनुसार बिहान ११ बजे ट्रम्प र सी बीच भेट हुनेछ ।


    यता चिनियाँ विदेश मन्त्रालयले पनि ट्रम्प र सी बीचको भेट समय तय भएको पुष्टि गरेको छ । भेट दक्षिण कोरियाको बुसान शहरमा हुनेछ । चिनियाँ विदेश मन्त्रालयले दिएको जानकारी अनुसार दुई नेताबीच द्विपक्षीय सम्बन्ध र आपसी हित जस्ता मुद्दामा कुराकानी हुनेछ । ट्रम्प र सी बीचको भेटअघि मलेसियामा दुई देशका उच्चाधिकारीबीच भएको वार्ताले व्यापार सम्झौताको ढाँचा तयार गरेको बताइएको थियो ।

    ट्रम्प र सी ले दक्षिण कोरियाको ग्यांग्झूमा एशिया प्यासेफिक इकोनोमिक कोअपरेशन (एपेक) को शिखर सम्मेलनमा पनि भाग लिनेछन् । सोही सम्मेलनमा भाग लिनुअघि उनीहरुबीच भेटवार्ता तय भएको हो । ट्रम्प र सीबीच अमेरिकी किसानका सोयाबिन र कृषि उत्पादन खरिद, सन्तुलित व्यापारका विषयमा छलफल हुनेछ । समाचार संस्था रोयटर्सका अनुसार ट्रम्प र सीको भेटअघि चीनको सरकारी स्वामित्वको कम्पनी कोफ्कोले अमेरिकाबाट तीन खेप सोयाबिन खरिद गरेको छ ।

    यसलाई चीनका तर्फबाट यस वर्षको अमेरिकी कृषि उपजको पहिलो खरिद भनिएको छ । दुवै देशबीच व्यापारिक शुल्क विवाद चलिरहेको अवस्थामा चीनले अमेरिकाबाट खरिद घटाएको कारण अमेरिकी किसानहरूलाई अरबौँ डलर बराबरको क्षति भएको बताइएको छ । यो भेटवार्ताले अमेरिकी(चीन व्यापार युद्धको अन्त्य हुने विश्वास लिइएको छ ।

  • महिला फुटबल : अन्जना चम्किएको खेलमा नेपालले भारतलाई पेनाल्टीमा हरायो

    महिला फुटबल : अन्जना चम्किएको खेलमा नेपालले भारतलाई पेनाल्टीमा हरायो

    १२ कात्तिक, काठमाडौं । मैत्रीपूर्ण महिला फुटबल खेलमा नेपालले भारतलाई पेनाल्टीसुटआउटमा पराजित गरेको छ । सिक्किमको पाल्जोर स्टेडियममा बुधबार भएको अनअफिसियल मैत्रीपूर्ण खेलमा नेपालले भारतलाई पेनाल्टीसुटआउटमा ३–० ले पराजित गरेको हो । निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि विजेताको निर्णय पेनाल्टीसुटआउटबाट भएको हो । जहाँ अन्जना राना मगर नायक बन्दै दुई पेनाल्टी बचाइन् ।

    पेनाल्टीसुटआउटमा नेपालका लागि सविता राना मगर, रश्मि कुमारी घिसिङ र निशा थोकरले गोल गरे । अनिता बस्नेतको प्रहार बाहिरिएको थियो । यस्तै भारतको दुई प्रहार नेपाली गोलकिपर अन्जना राना मगरले बचाइन् । उनले प्रियदर्शनी र अस्ताम ओरामको प्रहार बचाइन् भने सन्तोषको प्रहार बाहिरिएको थियो ।

    त्यसअघि निर्धारित समयमा भारतले पहिले अग्रता लिएको थियो । सौम्य गोगुलोथले ३०औं मिनेटमा गोल गर्दै भारतलाई अग्रता दिलाएकी थिइन् । नेपालका डिफेण्डर निशा थोकरको गल्तीमा सौम्यले गोल गरेकी हुन् । तर त्यो अग्रता लामो समय भने टिकेन । नेपालका लागि रश्मि कुमारी घिसिङले पहिलो हाफको इन्जुरी टाइमको दोस्रो मिनेटमा बराबरी गोल फर्काइन् । कप्तान अनिता बस्नेतको कर्नरमा पेनाल्टी बक्समा रहेकी रश्मिले गोल गरेकी हुन् ।

    सिक्किम राज्यको ५०औं स्थापना दिवसको अवसर पारेर नेपाल र भारतको महिला टिमबीच खेल आयोजना गरिएको हो । जहाँ नेपालले दोस्रो रोजाईँका खेलाडीहरुलाई अवसर दिइएको थियो । यस्तै भारतले पनि रिजर्भ टिम र युवा खेलाडीहरुलाई खेलाएको थियो । शिलोङमा भएको ट्राईनेसन्स महिला अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलेर नेपाल र भारतको टोली सिक्किम पुगेको थियो । ट्राईनेसन्स मैत्रीपूर्ण खेलमा नेपालले भारतलाई २१ ले पराजित गरेको थियो ।

  • पाल्पामा सवारी दुर्घटना, कम्तिमा ३ जनाको मृत्यु

    पाल्पामा सवारी दुर्घटना, कम्तिमा ३ जनाको मृत्यु

    १२ कात्तिक, काठमाडौं । पाल्पामा इभी गाडी दुर्घटना हुँदा चालकसहित तीन जनाको घटनास्थल मै मृत्यु भएको छ । मृत्यु हुनेमा सवारी चालक रैनादेवी छहरा ४ का ३४ वर्षीय कमल रायमाझी, रैनादेवी छहरा वडा नं। २ सोमादीका ३७ वर्षीय मुक्तबहादुर बुढाथोकी र वडा नं. ४ मेहलढापका ४१ वर्षीय रामबहादुर गाहा रहेको प्रहरीले पाल्पा प्रहरीका सूचना अधिकारी होम प्रसाद चौधरीले जानकारी दिए । रैनादेवी छहरा गाउँपालिकाको वडा नं. ४ स्थित छहरा मेहलढाप भित्री सडक खण्डको पीपलभञ्याङ्गमा ईभी गाडी दुर्घटना भएको थियो ।

    बुटवलबाट छहराको मेहलढापका लागि छुटेको लु प्र ०१ ००१ ज ००९१ नम्बरको ईभी गाडी बुधबार दिउँसो २ः १० बजेतिर दुर्घटना भएको थियो । मृतक तीनै जनाको शवलाई पोष्टमार्टमका लागि पाल्पा अस्पताल पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण नखुलेपनि सवारी सडकबाट करिब तीन सय ५० मिटर तल खसेको प्रहरीको भनाइ छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरी जनाएको छ ।