Category: फिचर

  • १६ वर्षपछि कालीगण्डकी बेसीनमा दुर्लभ पन्छी चिरकालिजको सङ्ख्या १८ जोडी

    १६ वर्षपछि कालीगण्डकी बेसीनमा दुर्लभ पन्छी चिरकालिजको सङ्ख्या १८ जोडी

    राष्ट्रिय समाचार समिति (रासस)
    म्याग्दी, १८ कात्तिक । कालीगण्डकी नदी आसपासको उच्च पहाडी क्षेत्रमा दुर्लभ पन्छी चिरकालिजको सङ्ख्या बढेको छ । नेपाल पन्छीविद् सङ्घले गरेको अध्ययनअनुुसार १६ वर्षअघिको तुलनामा यस वर्ष चिरकालिजको सङ्ख्या बढेको हो । सङ्घले हालै मुुस्ताङको थासाङ गाउँपालिकाको घाँसा, लेते, कुुञ्जो, टिटीताल, खन्ती, झिप्रा देउरालीमा चिरकालिजको अध्ययन गरेको थियो ।

    मुस्ताङमा गरेको अध्ययनको प्रतिवेदन तयार पारेको टोली चिरकालिजको अवस्था अध्ययनका लागि म्याग्दीको धवलागिरि गाउँपालिका र ढोरपाटन सिकार आरक्षमा आएको छ । अध्ययन टोलीमा सहभागी अनुुसन्धानकर्ता विराट रजकले सन् २००९ मा छ जोडी चिरकालिज रहेको उक्त सात ठाउँमा यसपालि १८ जोडी भेटिएका जानकारी दिए ।
    “सन् २००४ मा १७ र २००६ मा ११ जोडी कालिज भेटिएका थिए”, उनले भने, “सन् २००९ पछि अध्ययन भएको थिएन । सोह्र वर्षपछि यसपालि भएको अध्ययनका क्रममा कालीगण्डकीको माथिल्लो क्षेत्रमा चिरकालिजको सङ्ख्या बढेको पाइएको छ ।” समुदायमा संरक्षण शिक्षा, चेतनाको विकास, चोरी सिकारी नियन्त्रण, बासस्थान वरपर मानवीय र घरपालुुवा जनावरको गतिविधि बढ्दा चिरकालिजको सङ्ख्या वृद्धिमा सहयोग पुुगेको अनुुसन्धानकर्ता रजकले बताए ।


    खरबारी, पाखोबारीमा मानिसले घाँस काट्ने, पशुुचौपायाको चरन क्षेत्र हुँदा झाडी हटेर आहारा खोज्न सजिलो हुने भएकाले चिरकालिजको बसोबासका लागि अनुुकूल वातावरण बनेको उनको भनाइ छ । चिरकालिजले फुल कोरल्नेबाहेकका समयमा डढेलो लाग्दा झाडी नष्ट हुुने र प्रशस्त आहारा पाउँदा उसका लागि अनुुकूल मानिन्छ । चैत, वैशाख र जेठ चिरकालिजले फुल पार्ने, कोरल्ने र चल्ला निकाल्ने समय हो ।

    समुद्री सतहबाट एक हजार चार सय मिटरदेखि तीन हजार छ सय मिटरसम्मको उचाइमा चिरकालिज पाइने गर्छ । सामान्य कालिजजस्तै यो तल्लो तटीय क्षेत्रमा पाइँदैन । यो चरा झट्ट हेर्दा कालिजको पोथीजस्तै देखिए पनि धेरै भिन्नता रहने अनुुसन्धानकर्ता केशव चोखालले जानकारी दिए । “चिरकालिजको भालेको पुच्छर लामो, आँखाको रङ पनि रातो हुने, शरीरमा सेतो थोप्लामा कालो बुट्टा हुन्छ भने आकारमा पोथी भालेभन्दा सानो र पुच्छर पनि छोटो हुन्छ”, उनले भने, “बिहान सूर्योदय हुनुभन्दा अगाडि र साँझमा सूर्यास्त भएपछि दिनको दुईपटक मात्र चिरचिर गरेर कराउने भएकाले यसलाई चिरकालिज भनिएको हो ।”

    ‘क्याट्रस वालिची’ वैज्ञानिक नाम रहेको यस पन्छीलाई अङ्ग्रेजीमा चिरफेजेन अर्थात् नेपालीमा चिरकालिज र सुदूरपश्चिममा चेडु चराको नामले चिनिने गरिएको छ । भिरमा नै बासस्थान बनाउने यो पन्छीले एकपटकमा सातदेखि १५ वटासम्म फुल पार्ने जनाइएको छ । चिरकालिज नेपालमा मुख्यगरी अन्नपूर्ण संरक्षण क्षेत्र, ढोरपाटन सिकार आरक्ष र रारा राष्ट्रिय निकुञ्जका साथै संरक्षित क्षेत्रभन्दा बाहिर पर्वतसँगै म्याग्दी र बागलुङ तथा कर्णाली तथा सुदूरपश्चिम क्षेत्रमा पाइन्छ ।

    राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ मै यसलाई लोपोन्मुख प्रजातिका रूपमा सूचीकृत गरेको डिभिजन वन कार्यालय म्याग्दीका प्रमुख विष्णुु अधिकारीले बताउनुभयो । कालीगण्डकीका साथै म्याग्दी र रघुगङ्गाको तटीय क्षेत्रमा देखिएकाले अनुुसन्धान थालिएको हो । चिरकालिजको अध्ययनका लागि दातृ निकाय टोलेडोजुुले सहयोग गरेको नेपाल पन्छीविद् सङ्घले जनाएको छ ।

    धवलागिरि गाउँपालिकाको म्याग्दी नदी आसपास र ढोरपाटन सिकार आरक्ष क्षेत्रमा अध्ययनपछि प्राप्त हुुने प्रतिवेदनका आधारमा चिरकालिज संरक्षण कार्यक्रम गरिने जैविक बिविधता संरक्षण समाज नेपालका कार्यक्रम अधिकृत पवन राईले बताए । दुर्लभ पन्छी हेर्नका लागि विदेशी पर्यटक आउँदा स्थानीयस्तरमा रोजगारी सृजना र आयआर्जन वृद्धिमा सघाउ पुुग्ने उनले बताए ।

  • वर्षाले धानबालीमा क्षति, समस्यामा किसान

    वर्षाले धानबालीमा क्षति, समस्यामा किसान

    १८ कात्तिक, चन्द्रपुर । गत असोजको अविरल वर्षापछि रौतहटको बकैया नदी र बागमती नदीले बाँध कटान गरेर पसेको बाढीले धानबालीमा क्षतिको आँकलन सार्वजनिक भएको छ । कृषि ज्ञान केन्द्रका अनुसार गत असोज १७ देखि १९ गतेसम्म आएको अविरल वर्षाको बाढीले जिल्लामा १७ हजार ६३८ हेक्टर खेतमा लगाएको धानबालीमा क्षति पुर्याएको छ ।

    जिल्लामा बाढीले १७ हजार ६३८ हेक्टर खेतको धानबाली, एक हजार ८०४ हेक्टर क्षेत्रफलको उखुबाली, छ सय ८५ हेक्टरको तरकारी, चार सय सात हेक्टरको फलफूलबाली र पाँच सय हेक्टर अन्य बालीमा क्षति पुर्याएको कृषि ज्ञान केन्द्रका निमित्त कार्यालय प्रमुख सुरेन्द्रप्रसाद कुर्मीले जानकारी दिए ।


    जिल्लाका १८ वटै पालिकासँग समन्वय गरेर क्षतिको विवरण सङ्कलन गरिएको उनले बताए । बाढीले सबैभन्दा बढी राजदेवी, परोहा, राजपुर, माधव नारायण, गढीमाई, इशनाथ, मौलापुर नगरपालिका र दुर्गाभगवती गाउँपालिकालगायतमा क्षति पुर्याएको उनले जानकारी दिए ।


    क्षतिको विवरण जिल्ला प्रशासन कार्यालयलाई बुझाइसकेको र राहतका लागि कुरा भइरहेको उनले जानकारी दिए । जिल्लाको करिब ५१ हजार हेक्टर धानखेतीयोग्य जमिनमध्ये ३८ हजार ५०० हेक्टरमा धानबाली लगाइएकामा बाढीले एक हजार ६३८ हेक्टर खेतको धानबालीमा क्षति पुर्याएको उनको भनाइ छ ।

    जिल्लामा ७४ हजार मेट्रिक टन धान उत्पादन घट्ने अनुमान गरिएको छ । यसैबीच दुर्गा भगवती गाउँपालिकाका अध्यक्ष शम्भु सिंहले किसानले पाउनुपर्ने राहत रकम चाँडोभन्दा चाँडो उपलब्ध गराउन माग गरे । बाढीले रौतहटका करिब साढे चार सय घरपरिवार विस्थापित भएका थिए ।

    त्यसैगरी, पछिल्लोपटक आएको वर्षाले धानबालीमा क्षति पुर्याएको छ । भित्र्याउने बेलाको धान वर्षाले भिजाएपछि किसान चिन्तित बनेका हुन् । वर्षाले किसानले धान भित्र्याउन नपाएको बृन्दावन– १ का किसान शिवमङ्गल पटेलले गुनासो गरे । खेतमा काटेर राखेको धान सबै वर्षाले डुबाएको छ ।

  • तराई भेगमा सुरु भयो हुस्सुको कहर

    तराई भेगमा सुरु भयो हुस्सुको कहर

    १८ कात्तिक, काठमाडौं । नेपालको तराई भेगमा हुस्सुको कहर सुरु भएको छ । जसले गर्दा हवाई उडानदेखि सामान्य जनजीवन समेत प्रभावित हुने गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले तत्कालका लागि मौसममा प्रतिकुल प्रभाव पार्ने अर्को प्रणाली देखिएको छैन । जसले गर्दा तराई भेगमा मौसममा परिवर्तन आउने सम्भावना समेत छैन । बाक्लो हुस्सुसँगै तापक्रम समेत तल झर्ने क्रम सुरु हुन्छ ।

    सुनसरीको इनरुवा नगरपालिका-४ मा मङ्गलबार बिहान लागेको हुस्सु र उदाउँदै गरेको सूर्य । तस्बिर : नवीन गड्तौला / रासस
  • निषेधित क्षेत्रमा पर्यटक लगेपछि एजेन्सी कारवाहीमा

    निषेधित क्षेत्रमा पर्यटक लगेपछि एजेन्सी कारवाहीमा

    १८ कात्तिक, काठमाडौं । अध्यागमन विभागले पदयात्रा अनुमति पत्रको अवधिभन्दा अगावै निषेधित क्षेत्रमा विदेशी पर्यटक लैजाने ट्रेकिङ एजेन्सीलाई कारबाही गरेको छ। विभागले अध्यागमन ऐन, २०४९ बमोजिम पहिलोपटकका लागि मल्टिएड्भेन्चर प्रालिलाई ४० हजार रुपैयाँ जरिवाना तिराएर कारबाही गरेको हो। एजेन्सीले जर्मन नागरिक मार्टिन श्रामलाई ताप्लेजुङस्थित कञ्चनजंघा क्षेत्रमा पदयात्रा गराएको थियो। नेपाल सरकारले तोकेको निषेधित क्षेत्रमा पदयात्रा गर्नुअघि अध्यागमन विभागबाट पदयात्रा अनुमति पत्र लिनुपर्ने कानुनी व्यवस्था छ। अध्यागमन नियमावली, २०५१ अनुसार पदयात्रा गर्न चाहने विदेशी नागरिकले ट्रेकिङ एजेन्सीमार्फत विभागमा निवेदन दिनुपर्ने व्यवस्था छ।

    तर मल्टिएड्भेञ्चर प्रालिले सो व्यवस्थाको उल्लङ्घन गर्दै २५ अक्टोबरदेखि १० दिनका लागि अनुमति लिएकोमा अनुमति अवधिभन्दा एक दिन अगावै विदेशी पर्यटक श्रामलाई निषेधित क्षेत्रमा पुर्‍याएको पाइएको विभागले जनाएको छ। कम्पनीको तर्फबाट ट्रेकिङ गाइड दाईला शेर्पा विदेशी नागरिकलाई लिएर पदयात्रामा गएका थिए। शेर्पामाथि समेत आवश्यक कारबाहीका लागि पर्यटन बोर्डमा पत्राचार गरिएको विभागका प्रवक्ता टीकाराम ढकालले जानकारी दिएका छन्।
    नेपाल सरकारले सुरक्षात्मक र सीमा संवेदनशीलताको कारण देखाउँदै देशका १५ जिल्लाभित्रका केही क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ। तीमध्ये माथिल्लो मुस्ताङ, माथिल्लो डोल्पा, हुम्लाको सिमकोट, नाम्खा र चुंखेली, गोरखाको मनास्लु क्षेत्र, ताप्लेजुङको कञ्चनजंघा, दोलखाको गौरीशंकर–लामाबगर क्षेत्र, संखुवासभाको किमाथांका, गोरखाको छेकम्पार र चुञ्चेतलगायतका क्षेत्र छन्।

  • आज यस्तो छ नेपालको मौसम पूर्वानुमान

    आज यस्तो छ नेपालको मौसम पूर्वानुमान

    काठमाडौँ, १८ कात्तिक : नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसैगरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा बाँकी प्रदेशका पहाडी भागका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

    त्यसैगरी, आज राति बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहने महाशाखाद्वारा आज यहाँ जारी विज्ञप्तिमा उल्लेख छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थान तथा बाँकी पहाडी भागका एकदुई स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

  • धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘ऋषिकेश’

    धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘ऋषिकेश’

    रासस
    तानसेन, १८ कात्तिकः यहाँको तानसेन नगरपालिका–१४ रिडीस्थित प्रसिद्ध ऋषिकेश मन्दिर धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास भएको छ । मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वासका साथ यहाँ विभिन्न जिल्लाबाट भक्तजन आउने गरेका छन् । पाल्पा, गुल्मी र स्याङ्जा जिल्लाको सङ्गमस्थल रुरुक्षेत्र (रिडी) मा रहेको ऋषिकेशलाई भगवान् नारायणको रुप मानिन्छ । पाल्पाका तत्कालीन राजा मणिमुकुन्द सेनले विसं १५७५ मा कालीगण्डकी नदीमा नुहाउने क्रममा भेटिएको शिला अर्थात् मूर्तिलाई कालीगण्डकी र रिडी खोलाको सङ्गम स्थानमा ऋषिकेश मन्दिर निर्माण गरेका हुन् ।

    पाँच सय वर्ष पुरानो ऋषिकेश मन्दिरमा हरिबोधनी एकादशीको भोलिपल्ट रथयात्रा निकाल्ने परम्परा छ । यस वर्ष पनि ऋषिकेश भगवान्को रथयात्रा निकालिएको छ । देशका विभिन्न स्थानबाट आएका तीर्थयात्री, साधुसन्त र भक्तजनको यहाँ ठूलो उपस्थिति थियो । मन्दिरमा रथयात्राका दिनमात्रै करिब पाँच हजार भक्तजनले पूजाआजा गरेका छन् । अघिपछि पनि मन्दिरमा भक्तजनको उल्लेख्य उपस्थिति रहने गरेको पुजारी विवेक भट्टराईले बताए । उनका अनुसार ठूलो सङ्ख्यामा आएका भक्तजनले रथलाई रुरु क्षेत्रधामस्थित ऋषिकेश मन्दिर परिसरबाट रिडी बजार, ऋषिकेश क्षेत्र, अर्गली बजार क्षेत्रमा परिक्रमा गराई भगवान्को दर्शन पूजाआजा गरेका थिए ।

    रुरु क्षेत्रधामलाई ‘नेपालको चारधाम’मध्ये एक मानिन्छ । यहाँको धार्मिक महत्त्व विष्णु भगवान्को अवतार ऋषिकेशसँग जोडिएको छ । धार्मिक विश्वासअनुसार रुरु क्षेत्रको रिडीमा स्नान गरी भगवान् ऋषिकेशको दर्शन गरे पापकर्म नाश भई मोक्ष प्राप्ति हुन्छ भन्ने जनविश्वास रहिआएको ऋषिकेश मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पर्शुराम भट्टराईले जानकारी दिए ।


    यहाँ वर्षभरि तीर्थयात्रीको आगमन हुने गरेको छ । विशेषगरी माघेसङ्क्रान्ति र ऋषिकेश रथयात्राका अवसरमा हजारौँ सङ्ख्यामा भक्तजन जम्मा हुने गर्छन् । हालका वर्षमा रुरु क्षेत्रलाई धार्मिक पर्यटनस्थलका रूपमा विकास गर्न स्थानीय सरकार, धार्मिक गुठी संस्था र विभिन्न सङ्घसंस्थाले पहल गरेका छन् ।

    मन्दिर पुनःनिर्माण, तीर्थपथ सुधार, खानेपानी र सरसफाइजस्ता आधारभूत संरचना विस्तारसँगै रुरुक्षेत्र अहिले आन्तरिक पर्यटकको आकर्षण बन्दै गएको स्थानीयवासी कमल खनालले बताउनुभयो । यो रथयात्रा केबल धार्मिक श्रद्धाको प्रतीक मात्र नभई सांस्कृतिक एकताको प्रतीकका रूपमा पनि स्थापित हुँदै गएको स्थानीयवासीको भनाइ छ । ऋषिकेश भगवानको रथयात्राका लागि तानसेन नगरपालिकाले स्थानीय बिदासमेत दिने गरेको छ ।

  • उपत्यकामा अत्यधिक धुवाँ फाल्ने ३७ सवारीसाधन प्रहरीको नियन्त्रणमा

    उपत्यकामा अत्यधिक धुवाँ फाल्ने ३७ सवारीसाधन प्रहरीको नियन्त्रणमा

    काठमाडौँ, १८ कात्तिकः काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकामा धुवाँ फाल्दै वातावरण फोहर बनाएर गुड्ने सवारीसाधनलाई नियन्त्रणमा लिन थालेको छ । सोमबार ट्राफिक प्रहरीले जाँचपास नभएका तथा सडकमा अत्यधिक धुवाँ फाल्दै गुडिरहेका ३७ वटा सवारीसाधनलाई नियन्त्रणमा लिएर पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेको हो ।

    उपत्यकाका विभिन्न स्थानमा गरिएको चेकिङका क्रममा सवारी जाँचपास नभएका तथा अत्यधिक धुवाँ फाल्ने भाँडाका बस १६, पिकअप भ्यान १४, स्कुल बस चार, व्यक्तिगत कार दुई र भाडाका कार एक गरी ३७ वटा सवारीसाधनलाई नियन्त्रणमा लिइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।


    उनले भने, “अत्यधिक धुवाँ फाल्ने र सवारी जाँचपास नभएका गरी ३७ सवारीसाधन नियन्त्रणमा लिइएको छ । नियन्त्रणमा लिएका सवारीसाधनलाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार अवस्था ठीक नभएको सवारीसाधन चलाउन नहुने कसुरमा कारबाही हुन्छ ।” वायु प्रदूषण नियन्त्रण गर्न र सडक दुर्घटनाको जोखिम न्यूनीकरण गर्न ट्राफिक प्रहरीले पछिल्ला दिनमा कडाइका साथ अनुगमन अभियान सञ्चालन गरिरहेको र सोही क्रममा सोमबार ३७ सवारीसाधन नियन्त्रणमा लिइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।


    उनले भने, “अत्यधिक धुवाँ फाल्ने सवारीसाधन चलाउँदा वातावरण प्रदूषित हुन्छ, जसको असर सर्वसाधारणको स्वास्थ्यमा पर्छ । त्यस्तै, मर्मत नभएका सवारीसाधन चलाउँदा दुर्घटनाको जोखिम पनि उच्च हुने भएकाले मर्मत गरी दुरुस्त अवस्थामा मात्रै सञ्चालन गर्न सबै चालक र सवारी मालिकलाई मेरो आग्रह छ ।”

    उनले सवारी चालकलाई सवारीको प्राविधिक अवस्था समयसमयमा परीक्षण गर्न र जाँचपास अवधि समाप्त हुन नदिन आग्रह गरे । सोमबार नियन्त्रणमा लिइएका सवारीसाधनलाई आवश्यक मर्मत कार्य सम्पन्न गरी तोकिएको जरिवाना तिरेपछि मात्रै कागजपत्र फिर्ता दिइने ट्राफिक प्रहरीले जनाएको छ । यसअघि पनि उपत्यका ट्राफिक प्रहरीले धुवाँ फाल्ने सवारीसाधन र जाँचपास नभएका गाडीविरुद्ध नियमित रूपमा कारबाही गर्दै आएको छ ।

    ट्राफिक प्रहरीले पछिल्लो समय वायु प्रदूषण नियन्त्रणलाई प्राथमिकतामा राख्दै, पेट्रोल र डिजेलबाट चल्ने पुराना सवारीसाधनको अवस्था परीक्षण, अनुगमन तथा चालक सचेतना कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ । साथै, सवारी जाँचपास तथा बिमा नवीकरणका विषयमा चालकलाई जानकारीमूलक अभियान सञ्चालन गरिरहेको छ ।

    वातावरणविद्का अनुसार उपत्यकामा वायु प्रदूषणका प्रमुख कारण अत्यधिक धुवाँ फाल्ने पुराना सवारीसाधन हुन् । यसले खासगरी बालबालिका, वृद्धवृद्धा र दम, रोगीमा स्वास्थ्य समस्या बढाउने गरेको पाइएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी धुवाँ परीक्षणलाई अझ प्रभावकारी बनाउन मोबाइल इमिसन टेस्ट युनिट थप गर्ने तयारी गरेको जनाएको छ ।

    कार्यालयका अनुसार आगामी दिनमा पनि यस्ता चेकिङ अभियानलाई निरन्तरता दिइनेछ र नियमविपरीत सञ्चालनमा रहेका सवारीसाधन माथि थप कडाइ गरिनेछ । उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सञ्चालन र सुरक्षित बनाउन ट्राफिक प्रहरीले सर्वसाधारणसँग सहकार्यको पनि आह्वान गरेको छ । रासस

  • दक्षिणी भारतमा सडक दुर्घटनाः ट्रक बसमा ठोक्किँदा कम्तीमा २० जनाको मृत्यु, दर्जनौँ घाइते

    दक्षिणी भारतमा सडक दुर्घटनाः ट्रक बसमा ठोक्किँदा कम्तीमा २० जनाको मृत्यु, दर्जनौँ घाइते

    हैदराबाद, १८ कात्तिक (रासस\एपी) । दक्षिणी भारतको तेलङ्गाना राज्यमा सोमबार बिहान भएको एक भीषण सडक दुर्घटनामा कम्तीमा २० जनाको मृत्यु भएको र करिब दुई दर्जन व्यक्ति घाइते भएको पुष्टि भएको छ । कङ्क्रिट ढुङ्गा बोकेको ट्रक यात्रुबसमा ठोक्किँदा यो दुःखद घटना भएको स्थानीय अधिकारीहरूले जनाएका छन् ।

    राज्य सञ्चालित यातायात बस करिब ७० जना यात्रु बोकी राजधानी हैदराबादतर्फ गइरहेको थियो । विपरीत दिशाबाट अत्यधिक गतिमा आइरहेको ट्रक चेभल्ला सहर नजिकै बससँग ठोक्किएको जिल्ला अधिकारी के। चन्द्रकलाले जानकारी दिनुभयो । उहाँका अनुसार बसको अगाडिको भाग पूर्ण रूपमा क्षतिग्रस्त भएको र धेरै यात्रु भित्रै फसेका थिए ।

    चेभल्ला अस्पतालका सुपरिटेन्डेन्ट डा। राजेन्द्र प्रसादका अनुसार दुर्घटनास्थलबाट २० जनाको शव शवगृहमा लगिएको छ र कानूनी प्रक्रिया पूरा भएपछि तिनीहरूका पारिवारिकजनलाई हस्तान्तरण गरिनेछ । घाइतेहरूलाई नजिकका विभिन्न अस्पतालमा उपचारका लागि लगिएको बताइएको छ ।

    यो दुर्घटना भारतको पश्चिमी राज्य राजस्थानमा आइतबार राति भएको अर्को दुर्घटनाको ठीक भोलिपल्ट भएको हो । राजस्थानमा यात्रु बोकेको मिनीबस राजमार्गमा पार्क गरिएको ट्रकमा ठोक्किँदा कम्तीमा १५ जनाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए । राजस्थानको कोलायत तीर्थस्थलमा पूजापाठ गरेर फर्किरहेका ती यात्रुहरू मरुभूमि सहर जोधपुरतर्फ गइरहेका थिए । मृतकमध्ये १० महिला, चार बालबालिका र बस चालक रहेको वरिष्ठ सरकारी अधिकारी श्रीमती श्वेता चौहानले जानकारी दिनुभयो । उहाँका अनुसार घाइतेहरूलाई स्थानीय अस्पतालमा भर्ना गरी उपचार भइरहेको छ ।

    दुर्घटनामा मिनीबसको अगाडिको भाग च्यातिएको थियो र धातुको टुक्रामा पीडितहरू फसेका थिए । वरिष्ठ प्रहरी अधिकारी कुन्दन कन्वारियाले प्रारम्भिक अनुसन्धानको नतिजा उद्धृत गर्दै भने, “बस चालकले अर्को सवारीलाई ओभरटेक गर्ने प्रयास गर्दा राजमार्गमा पार्क गरिएको ट्रकमा ठोक्किएको देखिन्छ । सम्भवतः उनले ब्रेक लगाउन पनि समय पाएनन् ।”

    भारतमा राजमार्गहरूमा ट्रक र ट्रेलरहरू चेतावनी बत्ती वा परावर्तक चिह्नबिना नै अव्यवस्थित रूपमा पार्क गरिने सामान्य प्रवृत्ति रहेको बताउँदै अधिकारीहरूले यस्तो लापरवाहीले रातको समयमा गम्भीर जोखिम निम्त्याउने र पछिल्ला वर्षहरूमा यस्तै कारणले धेरै घातक दुर्घटनाहरू भएको उल्लेख गरेका छन् ।

    प्रधानमन्त्री नरेन्द्र मोदी, तेलङ्गानाका मुख्यमन्त्री रेवन्त रेड्डी तथा राजस्थानका मुख्यमन्त्री भजनलाल शर्माले दुवै दुर्घटनाप्रति गहिरो शोक व्यक्त गर्दै मृतकका परिवारप्रति हार्दिक समवेदना प्रकट गरेका छन् । राजस्थानमै करिब तीन हप्ताअघि यात्रुबसमा सर्ट सर्किटका कारण आगलागी भई कम्तीमा २० जनाको ज्यान गएको घटनापछि पुनः यस्तो ठूलो दुर्घटना हुनुका कारण भारतको सडक सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठेको छ ।

  • अफगानिस्तानमा भूकम्प, २० जनाको मृत्यु, तीन सय भन्दा बढी घाइते

    अफगानिस्तानमा भूकम्प, २० जनाको मृत्यु, तीन सय भन्दा बढी घाइते

    अफगानिस्तान, १८ कात्तिक (रासस÷एएफपी) । उत्तरी अफगानिस्तानमा आएको ६।३ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी कम्तीमा २० जनाको मृत्यु भएको अधिकारीहरूले सोमबार बताएका छन् । अमेरिकी भूगर्भीय सर्वेक्षणका अनुसार अफगानिस्तानको मजार–ए–सरिफ सहर नजिकै २८ किलोमिटर गहिराइमा उक्त भूकम्प गएको थियो ।

    स्वास्थ्य मन्त्रालयका प्रवक्ता सराफत जमानले घटनाको पुष्टि गर्दै भूकम्पका कारण बल्ख र समङ्गान प्रान्तमा ३२० जना घाइते भएको बताए । अफगानिस्तानको उत्तरी सहर मजार–ए–सरिफका बासिन्दाहरू आफ्ना घरहरू भूकम्पले ढल्ने डरले सडकमा उत्रिएको एएफपीले जनाएको छ । प्रभावित क्षेत्र देखि करिब ४२० किलोमिटर टाढाको राजधानी काबुलका संवाददाताहरूले पनि कम्पन महसुस गरेको बताएका छन् । पाहाडी अफगानिस्तानमा कमजोर सञ्चार सञ्जाल र पूर्वाधारले उद्धार प्रक्रियामा बाधा पुर्याएकाले अधिकारीहरूलाई प्रभावित क्षेत्रमा पुग्न असहज भएको जनाइएको छ ।

    Damage is seen along a road near the site of a powerful 6.3-magnitude earthquake in a rural area of the Khulm District in Samangan Province, northern Afghanistan, Monday, Nov. 3, 2025. (AP Photo/Sirat Noori)

    यो तालिबान सरकारका लागि पछिल्लो प्राकृतिक प्रकोप हो, जसले सन् २०२१ मा अफगानिस्तान कब्जा गरेदेखि तीनवटा ठूला घातक भूकम्पहरूको सामना गरेको छ । अगस्टमा, देशको पूर्वमा ६.०–म्याग्निच्युडको भूकम्पले पहाडी गाउँहरू नष्ट गर्नु का साथै दुई हजार २०० भन्दा बढीको ज्यान लिएको थियो ।

    सन् २०२३ मा इरानी सीमा नजिकैको पश्चिमी हेरात र सन् २०२२ मा पूर्वी नङ्गरहार प्रान्तमा ठुलो भूकम्पले सयौंको ज्यान लिनुका साथै हजारौं घरहरू ध्वस्त पारेको थियो । संयुक्त राष्ट्र संघ र सहायता एजेन्सीहरूले अफगानीस्तानमा भोकमरी बढिरहेको चेतावनी दिएका छन् । अफगानिस्तान खडेरी, बैङ्किङ क्षेत्रमा आर्थिक प्रतिबन्ध र छिमेकी इरान र पाकिस्तानबाट लाखौं अफगान नागरिकहरू निरन्तर स्वदेश फर्कका कारणले मानवीय सङ्कटबाट ग्रस्त भएको जनाइएको छ ।

  • दाउन्ने छिचोल्नै सकस

    दाउन्ने छिचोल्नै सकस

    १८ कात्तिक, त्रिवेणी । कावासोतीका दीप काफ्लेलाई आइतबार बर्दघाटबाट दाउन्ने पार गरी दुम्किबास निस्किन झण्डै १२ घण्टा लाग्यो । आइतबार दिनभरी निरन्तरको झरी र सडक मर्मतका कारणले उनी जस्ता कैयौँ यात्रुहरुले भोग्नु परेको समस्या हो यो । केही दिनअघिको झरीका कारण बाटो हिलो र चिप्लो हुँदा दाउन्नेको यात्रा निकै कष्टकर बनेको यात्रुहरुको गुनासो छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने खण्डको यात्रा सकसपूर्ण हुन थालेको लामो समय भइसक्यो ।

    नारायणगढ–बुटवल सडक विस्तारको काम सुरु भएदेखि दाउन्नेबाहेकको अन्य क्षेत्रमा धेरै जसो काम सकिए पनि दाउन्ने खण्ड नसकिँदा यात्रा कष्टकर भएको हो । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र नवलपरासी (बर्दघाट पश्चिम) दुई जिल्लाको सीमामा पर्ने दाउन्नेमा करिब १४ किलोमिटर खण्डमा यो समस्या छ । जसमध्ये पश्चिम खण्डमा ठूलो समस्या नभएपनि पूर्वी खण्डमा भने जीर्ण सडकका कारण यात्रा कष्टकर हुने गरेको यात्रु काफ्लेले सुनाए ।


    पानी परेको समयमा मात्रै नभइ अन्य समयमा समेत दाउन्ने खण्डमा कल्भर्ट निर्माण, ढलानलगायतका काम गर्दा बाटो एकतर्फी सञ्चालन गर्ने गरिएकाले दाउन्ने वारपार गर्न घण्टौँ लाग्ने गरेको छ । सडक विस्तार दाउन्ने खण्डमा सुस्ता हुँदा समेत यो खण्डमा यात्रा गर्न समस्या हुँदै आएको यात्रुहरुको भनाइ छ । सडक निर्माणका क्रममा कतिपय ठाउँमा एकतर्फी रूपमा सडक सञ्चालनमा छ ।

    मुख्यगरी विश्वकर्मा मन्दिर, घ्यूखोला, त्रिसठ्ठी मोडमा समस्या हुँदै आएको छ । एकतर्फ जीर्ण सडक अर्कोतर्फ उक्त खण्डमा बेलाबेलामा सवारी बिग्रिँदा सडक पूर्ण अवरोधजस्तै हुने गरेको यात्रुको गुनासो रहेको छ । पानी पर्दा सधैँजसो दाउन्नेको सडक चिप्लो भएर यातायात सञ्चालनमा समस्या हुने गरेको छ । अन्य समयमा समेत यात्रा उस्तै कष्टकर हुने गरेको छ । केही दिनअघि परेको झरीले सहज रूपमा यातायात सञ्चालन नहुँदा अहिले दाउन्ने क्षेत्रमा सवारीको ठूलो जाम लागेको छ ।

    जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व, नवलपुरले सोमबार एक सूचना जारी गरी वैकल्पिक मार्ग प्रयोग गर्न यात्रुहरूलाई अनुरोध गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक युवराज खड्काले दाउन्नेमा अहिले पनि बाटो चिप्लो हुँदा सवारी सहज रूपमा वारपार हुन नसकेको बताए । कतिपय स्थानमा सवारी बिग्रिएकाले समेत सडक एकतर्फी रूपमा सञ्चालन भएपनि अवस्था सहज नभएको उनले बताए ।

    “केही दिनदेखिको सवारीको चाप छ, बाटो चिप्लो हुँदा उकालोमा सवारी उक्लिन सकिरहेका छैनन्, ठाउँठाउँमा बिग्रिएका सवारीले समेत बाटो छेकेको छ, हामीले सहज बनाउने प्रयास गरिरहेका छौँ, सकभर अहिले यो बाटो भएर यात्रा गर्नेहरूले वैकल्पिक बाटो प्रयोग गरिदिनुहोला भन्ने अनुरोध छ”, प्रहरी उपरीक्षक खड्काले भने ।

  • किराँती नेतृत्वको समाजवादी मोर्चा माओवादी केन्द्रमा समाहित

    किराँती नेतृत्वको समाजवादी मोर्चा माओवादी केन्द्रमा समाहित

    काठमाडौँ, १८ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट छुट्टिएर गोपाल किराँतीको नेतृत्वमा गठन भएको देशभक्त समाजवादी मोर्चा झण्डै आठ वर्षपछि माओवादी केन्द्रमै समाहित भएको छ । माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र मोर्चाका अध्यक्ष किराँतीले सोमबार पार्टी एकतासम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरे ।


    मुलुकको पछिल्लो परिस्थितिलाई सही दिशा दिन क्रान्तिकारीबीच एकता र ध्रुवीकरण अनिवार्य भएको सहमतिपत्रमा उल्लेख छ । दुई पार्टीबीच विगतमा भए गरेका वैचारिक–राजनीतिक एवं साङ्गठनिक गल्ती कमजोरीको वस्तुनिष्ठ समीक्षा गर्ने, किरातीद्वारा विकसित देशभक्तिपूर्ण पहिचानसहितको समाजवादी लोकतन्त्रबारे पार्टीमा व्यवस्थित छलफल गर्दै पूर्ण जनवादका आधारमा निर्णय लिने सहमति भएको छ ।

    तत्कालीन अवस्थामा माओवादी केन्द्र र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बीचको एकताप्रति असन्तुष्टि देखाउँदै नेता किराँतीले माओवादी केन्द्र परित्याग गरी नयाँ दल गठन गरेका थिए ।

  • चीनमा रोबोटिक उपकरणको सहयोगमा चार हजार किलोमिटर टाढाबाट आँखाको सफल शल्यक्रिया

    चीनमा रोबोटिक उपकरणको सहयोगमा चार हजार किलोमिटर टाढाबाट आँखाको सफल शल्यक्रिया

    ग्वाङझाउ, १८ कात्तिक (रासस\एएफपी) । चीनको एक मेडिकल टिमले चार हजार किलोमिटर टाढाको बिरामीको उपचार गर्न फाइभजी जडित रोबोटको प्रयोग गरेर आँखाको सफल शल्यक्रिया गरेको छ। उत्तरी चीनको सिन्जियाङ उइगुर स्वायत्त क्षेत्रको उरुम्कीस्थित एक अस्पतालमा आइतवार दक्षिणी शहर ग्वाङझाउका शल्य चिकित्सकहरूले रोबोटको हातलाई टाढैबाट नियन्त्रण गरेर आँखाको शल्यक्रिया गरेका हुन् । माइक्रोन–स्तरको सटीकताका साथ गरिएको शल्यक्रियाले प्रविधिको लाभ उठाउँदै विकसित तटीय क्षेत्र र दुर्गम क्षेत्रहरू बीचको चिकित्सा संसाधन खाडललाई कम गर्न महत्त्वपूर्ण कदम मानिएको छ।

    उरुम्कीमा रोबोटले बिरामीको आँखामा माइक्रोस्कोपिक सुई राखेपछि, ग्वाङझाउका शल्य चिकित्सकहरूले रिमोट कन्ट्रोलको सहायतामा सुईलाई रेटिनाको सतहमा लगी पूर्व–निर्धारित गहिराइमा इन्जेक्सनमार्फत् औषधि दिएका थिए। टाढाबाट उपकरणको सहयोगमा गरिएको सम्पूर्ण शल्यक्रियाका लागिसात मिनेट भन्दा कम समय लागेको बताइएको छ । शल्यक्रियाका क्रममा नेटवर्क स्थिर रहेकोले रोबोटले कुनै कम्पन बिना सजिलैसँग काम गरेको थियो ।

    ‘सवरेटिनल इन्जेक्सन’ एउटा यस्तो कमजोर नाजुक माइक्रोसर्जिकल प्रविधि हो जसले ‘सबम्याकुलर हेमोरेज’ जस्ता अन्धा विकारहरूमा दृष्टि बचाउन प्रयोग गरिन्छ। “यो क्लिनिकल शल्यक्रिया चीनमा रिमोटद्वारा आँखाको शल्यक्रियाको सफल उपचारको सम्भाव्यताको व्यावहारिकतामा एक महत्वपूर्ण फड्को हो,” सन यात–सेन विश्वविद्यालयको झोङशान आँखा उपचार केन्द्रका परियोजनाका प्रमुख लिन हाओटियनले भने ।

  • मन्त्री र सचिवहरुलाई प्रधानमन्त्रीको निर्देशन : सार्वजनिक खर्च मितव्ययी गर्नुस

    मन्त्री र सचिवहरुलाई प्रधानमन्त्रीको निर्देशन : सार्वजनिक खर्च मितव्ययी गर्नुस

    काठमाडौँ, १७ कात्तिक । प्रधानमन्त्री सुशीला कार्कीले सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्न र सार्वजनिक कोषको प्रभावकारी एवं नतिजामूलक उपयोग गर्न निर्देशन दिएकी छिन् । उनले नयाँ पुस्ताले सुम्पेको समृद्धि, विकास, सुशासन, समानता र भ्रष्टाचारविहीन शासकीय प्रबन्धको सुनिश्चितता गर्न निर्देशन दिइन् ।


    वर्तमान सरकार गठन भएपछि सम्पन्न भएका कार्यप्रगतिको विवरण दिन आज आयोजित मन्त्री र सचिवहरूको बैठकमा प्रधानमन्त्री कार्कीले गत भदौ २३ र २४ गतेको आन्दोलनको मर्म र भावनाबमोजिम नतिजामुखी हुन मातहतका निकायलाई निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।

    “भ्रष्टाचार नियन्त्रण, सुशासन कायम र प्रभावकारी सेवा प्रवाहका उल्लेख्य सुधार भएको सबै नागरिकले प्रत्यक्ष अनुभूति गर्नेगरी सबै मन्त्रालयहरूले ‘ब्लुप्रिन्ट’ तयार गरी कार्यान्वयन गर्नुहोस्”, प्रधानमन्त्री कार्कीले भनिन्, “निजी क्षेत्रको मनोबल वृद्धि गरी औद्योगिक वातावरणमा सुधार गर्न आवश्यक संवाद, सहजीकरण र सहकार्य गर्नुहोस् ।”

    आम नागरिकमा सरकारप्रतिको भरोसा वृद्धि गर्ने एवं निजामती कर्मचारी र सुरक्षाकर्मीहरूमा मनोबल वृद्धि गर्ने उपायहरू अवलम्बन गर्नुपर्नेलगायतका १४ बुँदे निर्देशन दिँदै उनले कर्मचारीहरूको सरुवा बढुवा प्रणालीलाई व्यवस्थित गरी अनुमानयोग्य, पारदर्शी र न्यायोचित बनाउने उपाय अवलम्बन गर्नुपर्नेमा जोड दिइन् ।


    “आन्दोलनका क्रममा क्षतिग्रस्त संरचनाको क्षति तथा नोक्सानीको प्रतिवेदन तत्काल तयार गरी पुनर्निर्माणको नीति र कार्ययोजना बनाउनुहोस्”, प्रधानमन्त्री कार्कीले भनिन्, “भौतिक संरचना मेसिनरी औजार तथा उपकरणमा पुगेको क्षतिबाट सेवा प्रवाह अवरुद्ध हुन नदिन तत्काल खरिद वा वैकल्पिक सेवा प्रवाहको व्यवस्था गर्नुहोस् ।”

    निर्वाचनको वातावरण बनाउन आफूले निर्वाचन आयोग, सुरक्षा निकाय राजनीतिक दल र अन्य सरोकारवालाहरूसँग निरन्तर संवाद गरिरहेको जानकारी दिँदै उनले निर्वाचनको पूर्वतयारीका लागि आआफ्ना जिम्मेवारीका कार्यहरूलाई चुस्त दुरुस्त रूपमा सम्पादन गर्न निर्देशन दिइन् । प्रधानमन्त्री कार्कीले सबै मन्त्रालयहरूको वार्षिक कार्ययोजना कार्यान्वयनको समीक्षा गर्दै परम्परागत शैलीबाट माथि उठेर नयाँ मानकहरू स्थापनाका लागि आवश्यक पहल गर्न सुझाव दिइन् ।


    आफ्नो अध्यक्षताका अन्तरप्रदेश परिषद्लगायतका सबै परिषद् वा समितिका बैठकका लागि प्रबन्ध मिलाउन निर्देशन दिँदै प्रधानमन्त्री कार्कीले नवनियुक्त मन्त्रीहरू र प्रदेशका मुख्यमन्त्रीहरूको उपस्थितिमा कूटनीतिक मामिलासम्बन्धी छलफल आयोजना गर्नसमेत ध्यानाकर्षण गराइन् ।

    प्रदेशमा जनशक्ति व्यवस्थापनलाई प्रभावकारी बनाउनुपर्ने र तीनै तहका सरकारबीचको समन्वयलाई थप प्रभावकारी बनाउनका लागि आवश्यक कार्य गर्न निर्देशन दिँदै उनले भनिन्, “कानुनको शासन प्रत्याभूत गर्न सबै खाले आपराधिक क्रियाकलापहरू नियन्त्रण गर्नुपर्नेछ । यसमा कुनै सम्झौता नगर्नुहोस् ।”

    प्रधानमन्त्री कार्कीले अनावश्यक देखिएका संरचना खारेज गर्ने, गाभ्ने तथा हस्तान्तरण गरी सार्वजनिक प्रशासनलाई चुस्त दुरुस्त र उच्च उत्पादकत्वयुक्त बनाउने कार्य तत्काल प्रारम्भ गर्न निर्देशन दिइन् । उनले भनिन्, “तपाइँहरू स्थायी सरकार हो । आफ्नो ज्ञान सीप अनुभवको प्रयोग गरी कर्तव्य र उत्तरदायित्व पालनामा खरो उत्रनु हुनेछ ।’

  • पहिरोमा पुरिएकी विदेशी पर्यटक फेला परिनन्

    पहिरोमा पुरिएकी विदेशी पर्यटक फेला परिनन्

    गोरखा, १७ कात्तिक । मनास्लु क्षेत्रमा गत शुक्रबार पहिरोमा पुरिएकी एक विदेशी महिला पर्यटक चार दिनसम्म भेटिएकी छैनन् । मनास्लु भ्रमणबाट फर्कँदै गर्दा गत शुक्रबार चुमनुब्री–३ न्याकफेदी नजिकै पहिरोमा पुरिएकी चेक रिपब्लिककी ५४ वर्षीया क्याटरिना रास्कोभा सोमबार अपराह्नसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

    नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको संयुक्त टोलीले लगातार दुई दिनसम्म खोज्दा पनि फेला पार्न नसकिएको प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताए । ठाउँठाउँमा झरेको पहिराका कारण उद्धारकर्ता शुक्रबार र शनिबार घटनास्थलसम्म पुग्न सकेका थिएनन् । पहिरो पन्छाउँदै सो टोली आइतबार घटनास्थल पुगेको थियो । उनीसँगै पदयात्रामा गएका श्रीमान् र पथप्रदर्शकले भने भागेर ज्यान बचाएका थिए ।

  • फागुन २१ को निर्वाचन युवा पुस्ताको आन्दोलनको उपलब्धि : राष्ट्रपति पौडेल

    फागुन २१ को निर्वाचन युवा पुस्ताको आन्दोलनको उपलब्धि : राष्ट्रपति पौडेल

    काठमाडौँ, १७ कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा हुने आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन युवा पुस्ताको आन्दोलनको उपलब्धि भएको बताएका छन् । निर्वाचन सफल बनाउन उनले सबैलाई आग्रह गरे । कतारको दोहास्थित नेपाली राजदूतावासमा आज आयोजित स्वागत कार्यक्रममा सरिक हुने क्रममा सम्बोधन गर्दै उनले निर्वाचन नेपालको विकास र भाग्यका लागि महत्त्वपूर्ण हुने पनि बताए ।


    युवा पुस्ताले भ्रष्टाचारको अन्त्य, सुशासन, विकास र नेपाली युवाहरूले विदेशिनु पर्ने अवस्थाको अन्त्यका लागि आन्दोलन गरेको तर यो तापमा रोटी सेकाउन खोज्नेहरू असफल भएकाले संविधान र प्रणाली जोगाउन सकिएको पनि राष्ट्रपति पौडेलले बताए । उनले संसारका अन्य देशमा युवाको आन्दोलनले ल्याएको आँधीबेरीको समाधान निकाल्न कठिन भए पनि नेपालमा प्रणाली र संविधान जोगाएर राजनीतिलाई सुरक्षित अवतरण गराउन सकिएको उल्लेख गरे । कतारको विकास, उन्नति र प्रविधिबाट लिएको अनुभवलाई नेपालको विकासमा लगाउन राष्ट्रपति पौडेलले नेपाली समुदायलाई आग्रह गरे ।

    कतारको राजधानी दोहामा यही कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन आज नै त्यहाँ पुगेका राष्ट्रपति पौडेल र प्रथम महिला सबिता पौडेलसहितको नेपाली प्रतिनिधिमण्डललाई कतारका लागि नेपालका राजदूत रमेशचन्द्र पौडेल, उच्चपदस्थ कर्मचारी, गैरआवासीय नेपाली सङ्घका प्रतिनिधिले स्वागत गरेका थिए । उनी सम्मेलनका लागि कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कतार पुगेका हुन् ।

    सो अवसरमा राजदूत पौडेलले कतारमा रहेका नेपाली श्रमिकहरूका बारेमा जानकारी गराएका थिए । राष्ट्रपति पौडेलले संयुक्त राष्ट्रसङ्घको महासभाको निर्णयअनुसार ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’ को मुख्य सत्रलाई कात्तिक १८ गते सम्बोधन गर्ने कार्यक्रम छ । साथै, उनले सम्मेलनका अवसरमा कतारका अमिर शेख तमिम बिन हमद अल थानी र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलगायतसँग भेटवार्ता गर्नेछन् ।

    यसअघि उक्त सम्मेलन १९९५ मा डेनमार्कको कोपनहेगनमा भएको थियो । सम्मेलनमा वर्तमान विश्वले सामना गर्नुपरेको विकासको असमानता, जनसङ्ख्यामा आएको असन्तुलन र प्रविधिका कारण समाजमा परेको प्रभावलगायत विषयमा छलफल हुने बताइएको छ । सन् १९५५ मा संयुक्त राष्ट्रसङ्घको सदस्य भएपछि नेपाल शान्ति र स्थायित्वका लागि सधैँ सक्रिय र प्रतिबद्ध रहिआएको छ । राष्ट्रसङ्घको आर्थिक तथा सामाजिक परिषद्को हाल नेपाल अध्यक्ष रहेको छ । कतारको औपचारिक भ्रमण पूरा गरी राष्ट्रपति पौडेल कात्तिक २० गते स्वदेश फर्किनेछन् ।

  • राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्कन सरकारको पत्राचार

    राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्कन सरकारको पत्राचार

    काठमाडौँ, १७ कात्तिक । सरकारले ११ देशका नेपाली राजदूतहरूलाई परराष्ट्र मन्त्रालयमै कामकाज गर्नेगरी फिर्ता बोलाउन पत्राचार गरेको छ । सरकारको निर्णयविरुद्ध आइतबार सर्वोच्च अदालतले अन्तरिम आदेश दिएपछि सरकारले आज पत्र पठाउँदै उनीहरुलाई फर्कन पत्राचार गरेको मन्त्रालयले जनाएको छ । सबै राजदूतहरूलाई मन्त्रालयमै बोलाउन आजै पत्राचार गरिएको मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले जानकारी दिए ।

    गत असोज ३० गते बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक नियुक्ति लिएका ११ राजदूतहरूलाई यही कात्तिक २० गतेभित्र फिर्ता बोलाउने निर्णय गरेको थियो । सरकारको उक्त निर्णय कानुनसम्मत नभएको भन्दै सर्वोच्च अदालतमा रिट परेको थियो । उक्त मुद्दाको प्रारम्भिक सुनुवाइपछि सर्वोच्च अदालतले आइतबार निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।

  • हिमपहिरोमा परेर तीन जनाको मृत्युु, आठ बेपत्ता

    हिमपहिरोमा परेर तीन जनाको मृत्युु, आठ बेपत्ता

    दोलखा, १७ कात्तिक : गौरीशङ्कर गाउँपालिका–९ स्थित गौरीशङ्कर तथा रोल्वालिङ हिमशृङ्खलाअन्तर्गत आरोहणका लागि गएका विदेशीसहित स्वदेशी पथप्रदर्शक रोल्वालिङ क्षेत्रमा रहेको यलुङरी हिमालको आधारशिविर नजिकै आज बिहान हिमपहिरोमा परेका छन् । हिमपहिरोमा परेर एक विदेशीसहित दुई नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    आरोहणका लागि गएका १५ विदेशीसहित स्वदेशी पथप्रदर्शकको समूह आज बिहान ९ः०० बजेतिर यलुङरी नजिकै हिमपहिरोमा परेको प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले जानकारी दिए । उनीहरूको अवस्था अझै एकिन हुनसकेको छैन । आज बिहानैदेखि उद्धारका लागि प्रशासनलाई आग्रह गरे पनि उद्धारमा ढिलाइ भएको वडाध्यक्ष निमगेली शेर्पाले बताए । हेलिकप्टर उडानका लागि रोल्वालिङ क्षेत्र प्रतिबन्धित भएकाले प्रशासनले अनुमतिमा ढिलाइ गर्दा थप समस्या भएको शेर्पाको भनाइ छ ।

    हिमपहिरोमा परेकाको खोजीको प्रयास भइरहेको प्रहरीले जनाएको छ । सम्पर्कविहीनहरुको खोजी र उद्धारका लागि हेलिकोप्टर त्यसतर्फ पठाएपनि प्रतिकूल मौसमका कारण घटनास्थलमा पुग्न नसकेको प्रहरीले जनाएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी घटनास्थलतर्फ गइरहेको पनि प्रहरीले जानकारी दिएको छ ।

  • ‘जेनजी’ प्रदर्शनमा मृत्यु भएका ४५ जनालाई सहिद घोषणा

    ‘जेनजी’ प्रदर्शनमा मृत्यु भएका ४५ जनालाई सहिद घोषणा

    काठमाडौँ, १७ कात्तिक : सरकारले गत भदौ २३ र २४ गते ‘जेनजी’ प्रदर्शनका क्रममा मृत्यु भएका ४५ जनालाई सहिद घोषणा गर्ने निर्णय गरेको छ ।
    आजको मन्त्रिपरिषद् बैठकले प्रदर्शनका क्रममा काठमाडौँलगायत मुलुकका विभिन्न भागमा मृत्यु भएका ४५ जनालाई राज्यका तर्फबाट सहिद घोषणा गर्ने निर्णय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।

    गृह मन्त्रालयअन्तर्गत सहसचिव नेतृत्वमा रहेको समिति र विभिन्न जिल्ला प्रशासन कार्यालय, सरोकार भएका, सुरक्षा निकाय सबैतिरबाट आएको अध्ययनका आधारमा हाल ४५ जनालाई सहिद घोषणा गरिएको उनले बताए । अन्य मृतकबारे अध्ययन भइरहेको र त्यसबाट निक्र्यौल भएअनुसार निर्णय गरिने मन्त्री खरेलले बताए ।


    सरकारले विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा भएको इलाम जिल्लाका प्रभावित स्थानीय तहहरूलाई सहयोग उपलब्ध गराउन आवश्यक पर्ने रकम रु पाँच करोड ३० लाख विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय गरेको छ । यस्तै, वैदेशिक रोजगार न्यायाधीकरणको सदस्यमा सहन्यायाधीवक्ता घनश्याम ओझालाई तोक्ने निर्णय भएको छ । मन्त्रिपरिषद्ले बेपत्ता पारिएका व्यक्तिको छानबिन–सत्य निरुपण मेलमिलाप कोष सञ्चालन नियमावली २०८२ स्वीकृतसमेत गरेको छ ।

  • चार उद्योगले तिरे पहिलो किस्ता, काटिएको बिजुली जोडियो

    चार उद्योगले तिरे पहिलो किस्ता, काटिएको बिजुली जोडियो

    १७ कात्तिक, बुटवल । डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेको रुपन्देहीमा सञ्चालित चार उद्योगले प्रिमियम महसुलको बक्यौता रकम नेपाल विद्युत प्राधिकरणलाई तिरेका छन् । भैरहवा क्षेत्रमा सञ्चालित पञ्चकन्या प्लाष्टिक उद्योग, पञ्चकन्या स्टील इण्डष्ट्रिज, सिद्धार्थ पेटप्लान्ट र श्याम प्लास्टिकले सोमबार बक्यौताको पहिलो किस्ता तिरेका हुन् । पहिलो किस्ता तिरेपछि उद्योगहरूको विच्छेद गरिएको विद्युत लाइन जडान गरिएको प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिए ।

    उद्योगहरुले २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रङ्क लाइन प्रयोग बापतको प्रिमियम महसुलको पहिलो किस्ता बुझाएका हुन् । पञ्चकन्या प्लाष्टिकको २४ लाख ६३ हजार, पञ्जकन्या स्टीलको ५२ लाख १९ हजार, सिद्धार्थ पेटप्लान्टको १ करोड ८३ लाख र श्याम प्लास्टिकको ४९ लाख १० हजार रुपैयाँ बक्यौता रहेको छ । बक्यौतालाई २८ किस्तामा विभाजन गरी उद्योगहरुले पहिलो किस्ता तिरेका छन् ।

    बाध्यात्मक अवस्थाका कारण बक्यौताको २८ किस्ता मध्ये एक किस्ता बापत दुई लाख ८० हजार रुपैयाँ तिरेपछि प्राधिकरणले दुई उद्योगमा लाइन जोडिदिएको पञ्चकन्या समुहका महाप्रबन्धक देवेन्द्र साहुले बताए । आजै पञ्चकन्या स्टिल र पञ्चकन्या प्लास्टिक्सले विद्युत् नियमन आयोगमा उजुरी दिएका थिए । ‘राष्ट्रिय गौरवका आयोजना र उपभोक्तालाई दिनुपर्ने समान समयमा दिनुपर्ने र सयौं कर्मचारीको रोजगारीको दायित्वबाट पन्छिन नमिल्ने बाध्यात्मक अवस्थाले कानुनी लडाइँ जारी राख्ने निर्णय सहित एक किस्ता तिरेका हौ,’ साहुले भने, ‘एक किस्ता तिर्नुको अर्थ हामीले ट्रङ्क लाइन प्रयोग गरेको स्विकारेको कदापी होइन ।’

    उनले पूर्वी नेपालका उद्योगहरू र पञ्चकन्या कोरिडोरका उद्योगको विवाद एउटै नभएको भन्दै यहाँका उद्योगले ट्रङ्क लाइन माग पनि नगरेको र प्रयोग नगरेको दाबी गरे । विद्युत प्राधिकरणले माग र प्रयोग गरेको प्रमाण टीओडी मिटर समेत दिन नसकेको साहुको भनाइ छ ।

  • भीमफेदी कारागारबाट भागेका २६ विदेशी कैदीबन्दी अझै सम्पर्कका आएनन्

    भीमफेदी कारागारबाट भागेका २६ विदेशी कैदीबन्दी अझै सम्पर्कका आएनन्

    बागमती, १७ कात्तिकः मकवानपुरको भीमफेदी गाउँपालिकास्थित क्षेत्रीय कारागारबाट फरार भएकामध्ये २६ जना अझै फरार छन् । गत भदौ २४ गते राति १ बजेतिर कारागारको पर्खाल भत्काएर फरार भएका ३९ विदेशी कैदीबन्दी १३ जना कारागार फर्किएको र २६ जना अझै फरार रहेको कारागारका प्रमुख सुवास पौडेलले जानकारी दिए । भीमफेदी कारागारबाट फरार विदेशीसहित चार सय ४० कैदीबन्दीमध्ये हालसम्म दुई सय ८६ जना कैदीबन्दी कारागार फर्केका छन्,भने एक सय ५४ जना कैदीबन्दी अझै फर्किन बाँकी रहेका छन् ।

    कारागार प्रमुख पौडेलका अनुसार अन्य कारागारबाट फरार भएका ७१ जनासमेत भिमफेदी कारागार फर्किएका छन् । अन्य कारागारका ७१ कैदीबन्दीमध्ये ३५ जनालाई स्थानान्तरण पठाइएको, एक जना थुनामुक्त भएको र ३५ जना कारागारमा रहेको प्रमुख पौडेलले बताए । कारागारको तीन वटा गेट फुटाई पश्चिमतर्फको पर्खाल भत्काएर (क) ब्लकबाट दुई ६० र (क) ब्लकबाट एक सय ८० गरी चार सय ४० कैदीबन्दी फरार भएका थिए । फरार कैदीबन्दीको खोजीको क्रममा सुरक्षाकर्मीले विभिन्न स्थानबाट कैदीबन्दीलाई नियन्त्रणमा लिई कारागारमा बुझाएको प्रमुख पौडेलले बताए । कारागारबाट भागेका फरार कैदीबन्दीको खोजी कार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले बताए ।

  • भियतनाममा भीषण बाढी, ३५ जनाको मृत्यु, हजारौँ घर डुबानमा

    भियतनाममा भीषण बाढी, ३५ जनाको मृत्यु, हजारौँ घर डुबानमा

    हनोई, १७ कात्तिक (रासस–एएफपी) । यस हप्ताको लगातार भारी वर्षा र बाढीका कारण मध्य भियतनाममा कम्तीमा ३५ जनाको मृत्यु भएको छ भने पाँच जना अझै बेपत्ता रहेका छन् । विपद् व्यवस्थापन अधिकारीहरूका अनुसार २४ घण्टाभित्र १.७ मिटर (५ फिट ६ इन्च) सम्मको रेकर्ड वर्षा भएपछि तटीय प्रान्तहरू तहसनहस भएका छन् । भियतनाम विपद् तथा डाइक व्यवस्थापन प्राधिकरण (भिडिडिएमए) का अनुसार मृतकहरू ह्यु, दा नाङ, लाम डोङ र क्वाङ त्रि प्रान्तका रहेका छन् । युनेस्को विश्व सम्पदा सूचीमा रहेको प्राचीन सहर होइ एन पनि कम्मर–गहिरो पानीमा डुबानमा परेको छ । स्थानीय नदी ६० वर्षयताको उच्चतम स्तरमा पुगेपछि बासिन्दाहरू काठका डुङ्गा प्रयोग गरी सहरमा यात्रा गर्न बाध्य भएका छन् ।

    होइ एनका निवासी चुओङ गुयेनले भने, “सबैजना स्तब्ध छन् । हामीले बाढीका लागि तयारी गरेका थियौँ तर पानी यति बढ्ने अपेक्षा गरेका थिएनौँ । धेरै घरहरू समयमै तयार हुन नसक्दा धेरै सामान नष्ट भए ।” भिडिडिएमएका अनुसार १६ हजार ५०० भन्दा बढी घर डुबानमा परेका छन्, ४० हजारभन्दा बढी कुखुरा र गाईवस्तु बगाएका छन् र करिब पाँच हजार ३०० हेक्टर ९१३ हजार एकड० बाली जमिन बाढीले नष्ट गरेको छ । वातावरण मन्त्रालयका अनुसार कुल एक लाखभन्दा बढी घर बाढीले प्रभावित भएका छन् र १५० भन्दा बढी स्थानमा भूस्खलन भएको छ ।

    वैज्ञानिकहरूका अनुसार मानव–सिर्जित जलवायु परिवर्तनका कारण बाढी, आँधीबेहरी र भूस्खलनजस्ता चरम मौसमी घटनाहरू अझ घातक र विनाशकारी बन्दै गएका छन् । भियतनाम पृथ्वीको सबैभन्दा सक्रिय उष्णकटिबन्धीय चक्रवात क्षेत्रहरूमध्ये एक हो, जहाँ सामान्यतया जुनदेखि सेप्टेम्बरसम्म भारी वर्षा हुन्छ ।

    तर सन् २०२५ मा मात्र देशले १२ वटा उष्णकटिबन्धीय आँधीबेहरीको सामना गरिसकेको छ । प्राकृतिक प्रकोप—मुख्यतया आँधीबेहरी, बाढी र भूस्खलन—का कारण यस वर्षको पहिलो नौ महिनामा मात्रै १८७ जनाको मृत्यु वा बेपत्ता भएको सरकारी तथ्याङ्कले जनाउँछ । सरकारका अनुसार बाढी र प्रकोपजन्य क्षतिको आर्थिक मूल्य ६१ करोड अमेरिकी डलरभन्दा बढी पुगेको छ । राहत र उद्धारका लागि स्थानीय निकायहरू सक्रिय रहेका छन् तर लगातार वर्षाका कारण कार्य कठिन बनेको छ ।

  • हिमपहिरोमा परी इटालीमा पाँच जर्मन आरोहीको मृत्यु

    हिमपहिरोमा परी इटालीमा पाँच जर्मन आरोहीको मृत्यु

    रोम, १७ कात्तिक (रासस–सिन्ह्वा) । उत्तरी इटालीको आल्प्सस्थित माउन्ट ओर्टल्समा हिमपहिरोमा परी पाँच जर्मन स्की आरोहीको मृत्यु भएको स्थानीय अधिकारीले आइतबार जानकारी दिएका छन् । इटालीको एएनएसए समाचार एजेन्सीका अनुसार स्थानीय समयानुसार शनिबार अपराह्न ४ बजे दक्षिणी टायरोलको सिमा भर्टानाको उत्तरी ढलानमा हिमपहिरो जाँदा पाँच जना जर्मन पर्यटकहरूलाई हिउँले बगाएको हो ।

    शनिबार तीन जनाको शव फेला परेको थियो भने आइतबार बिहान दुई जनाको शव फेला परेको हो । अधिकारीहरूले यस क्षेत्रमा बढ्दो तापक्रमले हिउँको अवस्था अस्थिर बनाएको र हिमपहिरोको जोखिम बढाएको चेतावनी दिएका छन्। उनीहरूले पर्वतारोही र स्की उत्साहीहरूलाई मौसम र हिमपहिरोबाट सावधानी अपनाउन र उच्च जोखिम भएका हिमाली क्षेत्रहरूमा आरोहण नगर्न आग्रह गरे।

  • भारतद्वारा सीएमएस–०३ उपग्रहको सफल प्रक्षेपण

    भारतद्वारा सीएमएस–०३ उपग्रहको सफल प्रक्षेपण

    श्रीहरिकोटा, भारत, १६ कात्तिक (रासस–एएफपी) । भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले सीएमएस–०३ नामक भारी सञ्चार उपग्रहको सफल प्रक्षेपण गरेको छ । सीएमएस–०३ उपग्रह दक्षिणी राज्य आन्ध्र प्रदेशको श्रीहरिकोटाबाट साँझ ५ः२६ बजे प्रक्षेपण गरिएको थियो भने यसको वजन चार हजार ४०० किलोग्राम रहेको र यो भारतबाट प्रक्षेपण गरिएको अहिलेसम्मकै सबैभन्दा भारी उपग्रह हो । यो उपग्रह ‘बहु–ब्यान्ड’ सञ्चार उपग्रह हो।

    सन् २०४० सम्ममा भारतीय अन्तरिक्ष यात्रीलाई चन्द्रमामा पठाउने चाहनामा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उपग्रह प्रक्षेपणपछि भने, “हाम्रो अन्तरिक्ष क्षेत्रले हामीलाई गौरवान्वित बनाइरहेको छ।” उनले भने, “भारतको सबैभन्दा भारी संचार उपग्रह सीएमएस–०३ को सफल प्रक्षेपणमा इसरोलाई बधाई छ। हाम्रा अन्तरिक्ष वैज्ञानिकहरूद्वारा भएको यो कार्य प्रशंसनीय छ ।” प्रधानमन्त्री मोदीले भने, “उहाँहरूको योगदानले हाम्रो अन्तरिक्ष क्षेत्र उत्कृष्टता र नवीनताको पर्याय बनेको छ। उनीहरूको सफलताले राष्ट्रिय प्रगतिलाई अगाडि बढाएको छ र अनगिन्ती जीवनहरूलाई सशक्त बनाएको छ।”

    भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठनका अध्यक्ष भी नारायणनले अन्तरिक्ष यानको प्रक्षेपणपछि सीएमएस–०३ सञ्चार उपग्रहलाई सफलतापूर्वक अन्तरिक्षमा पु¥याएको बताए । उनले भने, “म इसरोको सम्पूर्ण टीम र सबै साझेदारहरूलाई उनीहरूको भूमिका र योगदानका लागि बधाई दिन्छु। आजको मिसनले भारतका लागि अर्को गौरव ल्याएको छ ।”

    अध्यक्ष भी नारायणनले भने, “आर्थिक वर्षको अन्त्यसम्ममा थप सात भूउपग्रह प्रक्षेपण गरिनेछ । गगनयानको पहिलो मानवरहित मिसन पनि अन्तिम चरणमा पुगेको छ । इसरोका अनुसार आइतबार साँझ प्रक्षेपण गरिएको सीएमएस–०३ उपग्रह बहु–ब्यान्ड सञ्चार उपग्रह हो। भारतीय नौसेनाले यो भू–उपग्रहले जहाज, विमान र पनडुब्बीबीच सञ्चार सम्पर्क सुरक्षित गर्न मद्दत गर्ने बताएको छ। सीएमएस–०३ उपग्रहलाई ४३.५ मिटर (१४३ फिट) अग्लो एलभीएमथ्री–एम–फाइभ प्रक्षेपण यानबाट कक्षमा पठाइएको हो। यो रकेटको उन्नत संस्करण हो जसले सन् २०२३ अगस्टमा चन्द्रमामा अवतरण गरेको भारतको मानवरहित यान प्रक्षेपण गरेको थियो।

  • धवलागिरिका जलजला, मुना र मरेनी क्षेत्रमा थप ‘रेडपाण्डा’ भेटियो

    धवलागिरिका जलजला, मुना र मरेनी क्षेत्रमा थप ‘रेडपाण्डा’ भेटियो

    सन्तोष गौतम \रासस
    म्याग्दी, १७ कात्तिकः यहाँको धवलागिरि गाउँपालिकाको वडा नं –२ र ३ का जलजला, मुना र मरेनी क्षेत्रमा थप सङ्कटापन्न रेडपाण्डा ९हाब्रे० भेटिएका छन् । यसका लागि सो क्षेत्रमा तीन ‘क्यामेरा’ जडान गरिएकामा दुईमा रेडपाण्डा भेटिएको हो । “एक महिनासम्म स्थलगत अध्ययनका क्रममा रेडपाण्डाको दिसा भेटिएपछि क्यामेरा ट्यापिङ गरिएको थियो,” जैविक विविधता संरक्षण समाज नेपालका कार्यक्रम अधिकृत पवन राईले भने, “सो क्षेत्रमा छ देखि २५ वटासम्म रेडपाण्डाको बसोबास भएको हाम्रो अध्ययनबाट पुष्टि भएको छ ।”

    स्थानीयवासीसहित अनुसन्धानकर्ताको टोलीले धवलागिरिको खिवाङ, मुदी, अर्चे, दर, ताकम, बगर, सिम्कोश, इटली आधार शिविर, मरेनी, लुलाङ, गुर्जाखानी, गुर्जा देउराली क्षेत्रमा समेत रेडपाण्डा भए ÷नभएको स्थलगत अध्ययन गरेका थिए । स्थानीयवासीले विसं २०८० को असोजमा ढोरपाटन सिकार आरक्षको गुर्जाघाट र २०८१ को मङ्सिरमा मुनाको दहपातल सामुदायिक वनको बञ्चरेडाँडा क्षेत्रमा हाब्रे भेटिएको तस्बिर भिडियो सार्वजनिक गरेका थिए ।

    विसं २०७३ मा विश्व वन्यजन्तु कोषको र हरियो वन कार्यक्रमको आर्थिक सहयोगमार्फत रेडपाण्डा नेटवर्क र हिमाली संरक्षण मञ्चका अनुसन्धानकर्ताले जलजला क्षेत्रमा पर्ने मरेनीमा रेडपाण्डाको दिसा भेट्टाएका थिए । अनुसन्धानकर्ता लरिसा गौतमले यस क्षेत्रमा रेडपाण्डा देखाउन पर्यटक भित्र्याएर समुदायमा आम्दानी र रोजगारीको अवसर सिर्जना गर्न सकिने जानकारी दिए ।
    “पर्यटकीय राजधानी पोखरादेखि नजिकै पर्ने जलजला क्षेत्रमा रेडपाण्डासँगै हिमाल, मनमोहक पहाडी भूगोलको अवलोकन गर्न पाउनु रेडपाण्डा पाइने अन्य ठाउँको भन्दा फरक विशेषता छ,” उनले भने, “रेडपाण्डासँग जोडेर खेलकुद प्रतियोगिता , घरवास र पदमार्ग सञ्चालन गर्न सकिन्छ ।”

    डिभिजन वन कार्यालयका प्रमुख विष्णुप्रसाद अधिकारीले गुर्जा, लुलाङ र मुनाको जङ्गलमा रहेका रेडपाण्डाको एकीन गणना नभए पनि प्रशस्तै रहेको अनुमान गरिएको जानकारी दिए । रातका समयमा रूखको टोड्कामा बास लिने र दिउँसोमा रूखका हाँगा बसी आराम गर्ने रेडपाण्डा भोक लागेको बेला निगालोको टुसालगायत झारपात खान भूइँमा झर्ने बताइएको छ ।

    रेडपाण्डाका लागि आवश्यक आहारा निगालो तथा पालिङ्गो र टोट्का परेका रुख गूर्जा, लुलाङ र मुनाको जङ्गलमा पर्याप्त छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अन्तर्गत रेडपाण्डालाई संरक्षितको सूचीमा राखिएको छ । रेडपाण्डाको चोरी सिकारमा संलग्नलाई एक वर्षदेखि १० वर्ष कैद र रु एक लाखदेखि पाँच लाखसम्म जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था छ । पछिल्लो अध्ययन अनुसार हाब्रेको सङ्ख्या नेपालमा पाँच सयदेखि एक हजार वटा रहेको अनुमान गरिएको छ । विश्वमा नेपाल, चीन, भारत, भुटान र म्यानमारमा मात्र हाब्रेको बासस्थान छ । अनुुसन्धानकर्ताका अनुसार नेपालमा एलुरेन्स फ्युजन्स जातको हाब्रे रहेको बताइएको छ ।

    यसैबीच दातृ निकाय टोलेडोजुका आर्थिक सहयोगमा जैविक विविधता संरक्षण समाज नेपाल (वायोकस) नेपालले रेडपाण्डाको बसोबास भएको धवलागिरि –२ र ३ मा पर्ने जलजला, मुना र मरेनी क्षेत्रमा संरक्षण कार्यक्रम लागू गरेको छ । समुद्री सतहबाट दुई हजार दुई सयदेखि चार हजार पाँच सय मिटरको उचाइमा बसोबास गर्ने रेडपाण्डालाई सरकारले सङ्टापन्न वन्यजन्तुको सूचीमा राखेको छ । जैविक विविधता संरक्षण समाज नेपालका अध्यक्ष लक्ष्मणप्रसाद पौडेलले डिभिजन वन कार्यालय, ढोरपाटन सिकार आरक्ष र सम्बद्ध स्थानीय तहसँग समन्वय गरेर समुदायस्तरमा रेडपाण्डा संरक्षणका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने जानकारी दिए ।


    “चोरीसिकारी, डढेलो, सडक विस्तार र मानवीय गतिविधिका कारण रेडपाण्डाको सङ्ख्या वृद्धि र संरक्षणमा चुनौती देखिएको छ,” उनले भने, “समुदायस्तरमा रेडपाण्डाको महत्व बुझाएर संरक्षणको प्रयास गरेका हौँ ।” जनप्रतिनिधि, शिक्षक, विद्यार्थी, युवा क्लब, आमा समूह, सामुदायिक वन उपभोक्ता समूह, किसानलाई रेडपाण्डा संरक्षणमा परिचालन गरिने अध्यक्ष पौडेलले जानकारी दिए । “हेर्दा आकर्षक देखिने लज्जालु र अल्छी स्वभावको रेडपाण्डाको महत्व नबुझेर अनायासै मार्ने गरेको पाइन्छ,” उनले भने, “रेडपाण्डाको छाला महँगोमा बिक्री हुने भ्रमका कारण अनायासै चोरीशिकार गर्ने समस्या हटाउन सकेमा मात्रै पनि यसलाई जोगाउन सकिन्छ ।”

  • कतार उडे राष्ट्रपति

    कतार उडे राष्ट्रपति

    १७ कात्तिक, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा यही कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका छन् । कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणमा १२ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी सम्मेलनमा सहभागी हुँदैछन् । राष्ट्रपति पौडेलले कात्तिक १८ गते सम्मेलनको मुख्य सत्रलाई सम्बोधन गर्नेछन् ।

    संयुक्त राष्ट्रसङ्घ, महासभाको निर्णयअनुसार हुन लागेको उक्त सम्मेलन सदस्य राष्ट्रका लागि धेरै महत्त्वपूर्ण हुने विश्वास लिइएको छ । आय त्रिभुवन विमानस्थलमा उनलाई प्रधानमन्त्री सुशीला कार्कीसहितले बिदाई गरेका छन् । हाल नेपाल राष्ट्रसङ्घको आर्थिक तथा सामाजिक परिषद्को अध्यक्ष रहेकाले पनि सम्मेलनमा सहभागिता अर्थपूर्ण छ । कतारको औपचारिक भ्रमण पूरा गरी राष्ट्रपति पौडेल यही कात्तिक २० गते स्वदेश फर्कने मन्त्रालयले जनाएको छ ।

    राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा यही कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन आज सोमबार त्यसतर्फ प्रस्थान गर्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा । राष्ट्रपति पौडेललाई विमानस्थलमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालले विदाई गर्नुभयो । तस्बिर : किरणराज बिष्ट / रासस
  • राजकुमार एन्ड्रयुले अन्तिम सैन्य उपाधि समेत गुमाउने

    राजकुमार एन्ड्रयुले अन्तिम सैन्य उपाधि समेत गुमाउने

    लन्डन,१७ कात्तिक (रासस–एएफपी) । बेलायत सरकारले आइतबार पूर्व राजकुमार एन्ड्रयुको उप–एडमिरलको मानार्थ उपाधि खोस्ने निर्णय गरेको छ। अमेरिकी यौन अपराधी जेफरी एपस्टीनको मुख्य अभियुक्त भर्जिनिया जुफ्रेले सन् २०२२ मा मुद्दा दायर गरेपछि एन्ड्रयुलाई उहाँकी आमा स्वर्गीय महारानी एलिजाबेथ द्वितीयले दिएको उनको मानार्थ सैन्य उपाधि खोसिएको हो । एन्ड्रयुको एपस्टीनसँगको सम्बन्धलाई लिएर बेलायतको बढ्दो आक्रोशको बीचमा राजा चाल्र्स तृतीयले बिहीबार आफ्नो कान्छो भाइको बाँकी सबै शाही उपाधि र सम्मान हटाएपछि पछिल्लो कदम चालिएको हो।

    “एन्ड्रयुले सेनामा पाएको मानार्थ भाइस एडमिरल पद राजाको निर्देशनमा हामी अहिले हटाउने काम गरिरहेका छौँ,” रक्षामन्त्री जोन हेलीलाई उद्धृत गरी बीबीसीले जनाएको छ। रक्षामन्त्री हेलीले लौरा कुएन्सबर्ग कार्यक्रममा एन्ड्रयुले आफ्नो सैन्य उपाधि गुमाउनु पर्छ कि पर्दैन भन्ने विषयमा पनि राजाले नै सरकारलाई निर्देशन दिएको बताएका छन् ।


    सन् १९८२ को फकल्याण्ड युद्धमा रोयल नेवी हेलिकप्टर पायलटको रूपमा उनको भूमिकाको लागि एन्ड्रयुलाई उप–एडमिरल उपाधिबाट सम्मानित गरिएको थियो। उनी २२ वर्षको सेवापछि सन् २००१ मा सेवानिवृत्त भएका हुन् । एन्ड्रयुले जुफ्रेलाई यौन दुव्र्यवहार गरेको कुरालाई सधैँ अस्वीकार गर्दै आएका छन् ।

    जुफ्रेको अक्टोबरमा मरणोपरान्त प्रकाशित संस्मरणमा जुफ्रेले तत्कालिन राजकुमार एन्ड्रयुसँग तीन पटक यौन सम्बन्ध राखेको र दुई पटकसम्म यौन सम्पर्क राख्दा उनी केबल १७ वर्षकी रहेको उल्लेख छ । गत बिहीबार बकिङ्घम प्यालेसले एक विज्ञप्ति जारी गर्दै भनेको थियो, “राजकुमार एन्ड्रयु अब एन्ड्रयू माउन्टबेटन विन्डसरको रूपमा मात्र चिनिनुहुनेछ।” विज्ञप्तिमा भनिएको छ, “उहाँले अस्वीकार गरे पनि ‘उहाँमाथि लागेका यी निन्दाहरूविरूद्ध कारबाही आवश्यक मानिन्छ।”

  • पर्यटक बोलाउन ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रम

    पर्यटक बोलाउन ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रम

    १७ कात्तिक, गण्डकी । होटल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथको आयोजना एवम् नेपाल पर्यटन बोर्ड र पोखरा भ्रमण वर्ष २०२५ को सहयोगमा आइतबारदेखि पश्चिम नेपालमा जाउँ है बेगनास पोखरा कार्यक्रम सञ्चालन गरिएको छ । पश्चिम नेपालका बुटबल, बर्दिया, सुर्खेतलगायतका क्षेत्रलाई लक्षित गरी लेखनाथ क्षेत्रका पर्यटन व्यवसायी एवम् पर्यटन सम्बद्ध ३७ सदस्यीय प्रतिनिधिमण्डल प्रवर्द्धनात्मक कार्यक्रममा निस्केको होटेल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथका अध्यक्ष वीरभद्र कँडेलले जानकारी दिए ।


    आन्तरिक पर्यटनको प्रवर्द्धनसँगै पर्यटकीय साझेदारी बढाउने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको उनले बताए । यसैबीच टोलीले लुम्बिनी प्रदेशको बुटवलमा यहाँका पर्यटन व्यवसायीसँग आज अन्तरक्रिया गरेको छ । कार्यक्रममा होटल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथका सल्लाहकार एवम् पोखरा भ्रमण वर्ष २०२५ का सहसंयोजक दामोदरभक्त थापाले लेखनाथ क्षेत्रमा रहेका रामसार सूचिमा सूचिकृत बेगनासताल, रुपाताललगायतका सात तालले पर्यटकीय सम्भावना बोकेको बताए ।


    पोखरासहित लेखनाथ क्षेत्रका पर्यटकीय गन्तव्यमा आउन उहाँले बुटवलका पर्यटन व्यवसायीसँग आग्रह गरे । पर्यटकीय साझेदारीका लागि आफूहरू तयार रहेको उनको भनाइ थियो । होटेल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथका अध्यक्ष कँडेलले पोखरा आएका पर्यटकलाई बुटवल पठाउने र बुटवल आएका पर्यटकलाई पोखरा पठाएर दुुवै क्षेत्र लाभान्वित बन्ने धारणा राखे ।


    होटल तथा रेष्टुरेन्ट एशोसिएसन रुपन्देहीका अध्यक्ष माधवकुमार खनालले पोखरासँग रुपन्देही पर्यटकीय साझेदारीका लागि तयार रहेको बताउँदै आफूहरूले बुटवलमा आएका पर्यटकलाई पोखरा पठाउने गरेको बताए । रुपन्देही गौतमबुद्धको जन्मस्थलसँगै धेरै ऐतिहासिक महत्वका स्थलरहेको उनले बताए । पोखरा महानगरपालिकाका लेखा अधिकृत छविलाल शर्माले आपसी भाइचारासँगै साझेदारीले दुुवै गन्तव्य लाभान्वित हुने बताए ।


    होटेल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथका महासचिव सुरेश लामिछानले तीन दिने प्रवद्र्धनात्मक कार्यक्रमका साथ सो टोली बर्दिया हुँदै सुर्खेतसम्म पुुगी पर्यटन सम्बद्ध व्यवसायीसँग छलफल एवम् अन्तरक्रिया गरी पोखरा फर्कने जानकारी दिए । छलफलमा बुटवल क्षेत्रका पर्यटन व्यवसायी एवम् सञ्चारकर्मीको उपस्थिति थियो ।

  • अब दैनिक एक हजार थान राहदानी उपलब्ध गराइने

    अब दैनिक एक हजार थान राहदानी उपलब्ध गराइने

    काठमाडौँ, १७ कात्तिकः राहदानी विभागले दैनिक एक हजार थान राहदानी वितरण गरिने स्पष्ट पारेको छ । विभागले आज साँझदेखि दैनिक (सार्वजनिक विदाको दिन बाहेक) राहदानी उपलब्ध गराउने जनाएको हो । विभागले विद्युतीय राहदानी आपूर्तिका लागि नयाँ आपूर्तिकर्तासँग गत साउनमा खरिद सम्झौता गरिसकेको र उक्त सम्झौताअनुसार आगामी फागुन ११ देखि राहदानी सेवा सुरु हुने गरी नयाँ पूर्वाधार तथा प्रणाली निर्माण भइरहेको आज जारी विज्ञप्तिमा उल्लेख गरेको छ ।

    नयाँ आपूर्तिकर्ता र हालको आपूर्तिकर्ताबीच हुने सङ्क्रमणकालीन अवस्था (ह्याण्डओभर र टेकओभर) तथा राहदानी पुस्तिकाको सीमित सङ्ख्या र सेवाग्राहीको उच्च मागलगायतका कारणले राहदानी वितरणमा केही समस्या हुन गएको विभागले जनाएको छ ।

    उक्त अवधिसम्म राहदानीको अभाव नहुने व्यवस्था गर्न आवश्यक पहल भइरहेको र अर्को सूचना नभएसम्मका लागि अत्यावश्यक पर्ने सेवाग्राहीले मात्रै राहदानीका लागि आवेदन गर्न विभागले सबैलाई आग्रह गरेको छ । राहदानीका विषयमा अनधिकृत व्यक्तिको भर नपर्न, त्यस्ता व्यक्तिबाट हुन सक्ने ठगीबाट सावधान रहन विभागले ध्यानाकर्षण गराएको छ ।

  • राष्ट्रपति पौडेल सोमबार कतार भ्रमणमा जाँदै

    राष्ट्रपति पौडेल सोमबार कतार भ्रमणमा जाँदै

    काठमाडौँ, १७ कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा यही कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्दैछन् । कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणमा १२ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ सम्मेलनमा सहभागी हुन सोमबार त्यहाँ प्रस्थान गर्न लागेको परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले जानकारी दिए ।

    राष्ट्रपति पौडेलले कात्तिक १८ गते सम्मेलनको मुख्य सत्रलाई सम्बोधन गर्नेछन् ।
    संयुक्त राष्ट्रसङ्घ, महासभाको निर्णयअनुसार हुन लागेको उक्त सम्मेलन सदस्य राष्ट्रका लागि धेरै महत्त्वपूर्ण हुने विश्वास लिइएको छ । भ्रमणबारे जानकारी दिन मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सचिव राईले ३० वर्षपछि हुन लागेको सम्मेलनको महत्त्व र गरिमाअनुरूप नेपालबाट राष्ट्रपतिको सहभागिता हुन लागेको उल्लेख गरे । सम्मेलनका क्रममा राष्ट्रपति पौडेलसँग कतारका अमिर र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलगायत विभिन्न विशिष्ट व्यक्तिहरूको भेटवार्ता हुनेछ ।

    यसअघि उक्त सम्मेलन १९९५ मा डेनमार्कको कोपनहेगनमा भएको थियो । यसपटक कतारले सम्मेलन आयोजना गरेको हो । सम्मेलनमा वर्तमान विश्वले सामना गर्नुपरेका विकास असमानता, जनसङ्ख्यामा आएको असन्तुलन र प्रविधिका कारण समाजमा परेको प्रभावलगायत विषयमा विभिन्न कोणबाट गहन छलफल हुने बताइएको छ । सम्मेलनले सामाजिक विकासका लागि सहकार्य र सहयोगका विषयमा साझा प्रतिबद्धता जाहेर गर्ने जनाइएको छ ।

    सन् १९५५ मा संयुक्त राष्ट्रसङ्घको सदस्य भएपछि नेपाल शान्ति र स्थायित्वका लागि सधैँ सक्रिय र प्रतिबद्ध रहिआएको छ । हाल नेपाल राष्ट्रसङ्घको आर्थिक तथा सामाजिक परिषद्को अध्यक्ष रहेकाले पनि सम्मेलनमा सहभागिता अर्थपूर्ण छ । कतारको औपचारिक भ्रमण पूरा गरी राष्ट्रपति पौडेल यही कात्तिक २० गते स्वदेश फर्कने मन्त्रालयले जनाएको छ ।

  • हर्क साम्पाङ नेतृत्वको पार्टीलाई दल दर्ताको प्रमाणपत्र प्रदान

    हर्क साम्पाङ नेतृत्वको पार्टीलाई दल दर्ताको प्रमाणपत्र प्रदान

    काठमाडौंँ, १७ कात्तिकः निर्वाचन आयोगले धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ नेतृत्वको नयाँ राजनीतिक दल श्रम संस्कृति पार्टीलाई दल दर्ताको प्रमाणपत्र प्रदान गरेको छ । आयोगले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४ र ५ अनुसार उक्त पार्टीलाई दल दर्ताको प्रमाणपत्र आज प्रदान गरेको हो ।

    आयोगका अनुसार जेन जी आन्दोलनपछि आयोगमा सातवटा नयाँ दलले दर्ताका लागि आवेदन गरेकामा साम्पाङ नेतृत्वको पार्टीले सबैभन्दा पहिले प्रमाणपत्र प्राप्त गरेको हो । आयोगमा १२५ दलको दर्ता कायम छ । दल दर्ताको प्रमाणपत्र प्राप्त गरेपछि साम्पाङले भने, “ हामीले २८ सदस्यीय कार्यसमिति बनाएका छौँ, हामी देशका लागि काम गरेर देखाउँछौँ । देश र जनताप्रति हामी इमानदार छौँ ।”