Category: फिचर

  • बञ्चरेडाँडामा फोहोर बोकेका गाडी जान थाले

    बञ्चरेडाँडामा फोहोर बोकेका गाडी जान थाले

    काठमाडौँ, १६ कात्तिकः स्थानीयको अवरोधका कारण विगत चार दिनदेखि बञ्चरेडाँडा ल्याण्डफिल साइटमा जान नसकेका फोहर बोकेका गाडीहरु सहमति जुटेसँगै जान थालेका छन् । सहरी विकासमन्त्री कुलमान घिसिङले आज बञ्चरेडाँडा ल्याण्डफिल साइटमा पुगी स्थानीयसँग यसअघि भएका सम्झौता कार्यान्वयन गर्ने प्रतिबद्धता गरेसँगै फोहरका गाडी जान सुरु गरेको मन्त्री घिसिङको सचिवालयले जनाएको छ । स्थानीय सरकारले पटकपटक गरेका सहमति कार्यान्वयन नगरेको भन्दै दबाब दिने उद्देश्यले फोहर फाल्न अवरोध गरेका थिए । चार दिनसम्म फोहर फाल्न अवरोध हुँदा काठमाडौँका अधिकांश घर गल्लीमा फोहरको थुप्रो लागेको छ ।

  • सङ्घीय सरकारसँग सहकार्य गरेर अघि बढ्ने मुख्यमन्त्रीहरूको प्रतिबद्धता

    सङ्घीय सरकारसँग सहकार्य गरेर अघि बढ्ने मुख्यमन्त्रीहरूको प्रतिबद्धता

    काठमाडौँ, १७ कात्तिकः प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनको वातावरण निर्माणका लागि आह्वान गर्नुभएको सातै प्रदेशका मुख्यमन्त्रीहरूसँगको बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा सातै प्रदेशका मुख्यमन्त्रीहरूले निर्वाचनको वातावरण निर्माणका लागि सङ्घ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध रहेको बताएको उनको सचिवालयले जनाएको छ ।

    प्रधानमन्त्री कार्कीले राजनीतिक दलसहित सबै पक्षसँग संवाद र छलफल अघि बढाएकामा सराहना गर्दै उहाँहरूले निर्वाचनका पक्षमा वातावरण बनाउन यो कदम फलदायी हुने विश्वास व्यक्त गरिन् । मुख्यमन्त्रीहरूले शान्ति सुरक्षाको विषय निर्वाचनको प्रमुख चुनौती रहेकाले यसमा गम्भीरताका साथ लाग्नुपर्ने धारणा राख्नुभएको थियो । सङ्घ, प्रदेश र स्थानीय सरकारले आपसी सहकार्य, समन्वय र सहअस्तित्वको भावनासहित काम गरेमा तोकिएकै मितिमा निर्वाचन गर्न सकिने उनीहरुको भनाइ थियो ।

    कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले भने, “म एमालेको प्रतिनिधित्व गर्छु । हामी चुनावका विरोधी होइनौँ, तर चुनावको वातावरण बनाउन सङ्घ सरकार लागोस् र त्यसमा हाम्रो भूमिकालाई पनि नबिर्सोस् । अबको निकास चुनाव नै हो ।” यस्तै, ‘जेनजी’ प्रदर्शनका क्रममा क्षति पुगेका संरचना पुनर्निर्माणका लागि सङ्घ सरकारले नै ‘प्याकेज’ ल्याउनुपर्ने मुख्यमन्त्रीहरूले सुझाव दिए । उनीहरुले खर्च कटौतीका लागि सङ्घीय सरकारले गरेको परिपत्रले प्रदेश सरकारको क्षेत्राधिकारमा हस्तक्षेप गर्न खोजेको हो कि भन्ने आशङ्का उत्पन्न भएको पनि बताए ।


    सङ्घ सरकारले कानुनले तोकेभन्दा बढी सहयोगी र सल्लाहकार राख्न नपाउने, रु १० लाखभन्दा माथिका योजनाको ठेक्कामा अनिवार्य बोलपत्र आह्वान गरी प्रतिस्पर्धा गराउनुपर्नेजस्ता मार्गदर्शन गरेको थियो । ‘जेनजी’ प्रदर्शनपछि उत्पन्न परिस्थितिका बीच गठित सरकारले न्यायिक, प्रशासनिक सुधारका काम नगरेको तर प्रदेशका राजनीतिक पदाधिकारीको सुविधामा मात्र लक्षित गरी परिपत्र गरेको हो कि भन्ने आशङ्का रहेको पनि मुख्यमन्त्रीहरुले बताए ।

    मधेस प्रदेशका मुख्यमन्त्री जीतेन्द्रप्रसाद सोनार (सोनल)ले खडेरी र अतिवृष्टिबाट प्रभावित किसानका लागि राहत घोषणा गर्न माग गरे । मुख्यमन्त्रीहरूले ‘डेडिकेटेड फिडर’को बक्यौता नबुझाउने उद्योगको बिजुलीको लाइन काट्ने निर्णयले उद्योगका साथै मजदुर र सरकारको राजस्वमा असर पर्र्नेतर्फ पनि ध्यानाकर्षण गराए । प्रधानमन्त्री कार्कीले पनि राजनीतिक दल नै यस व्यवस्थाकावाहक भएकाले जतिसक्दो छिटो निर्वाचन गरी दलीय सरकारलाई सत्ता हस्तान्तरण गर्न आतुर रहेको बताएको उनको सचिवालयले जनाएको छ ।

  • विदेशमा रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल

    विदेशमा रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल

    काठमाडौँ, १७ कात्तिकः गृह मन्त्रालय र नेपाल नीति अध्ययन प्रतिष्ठानबीच विदेशमा रहेका नेपाली नागरिकलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल भएको छ । आइतबार भएको बैठकमा गृह मन्त्रालयका तर्फबाट ओमप्रकाश अर्याल, गृहसचिव रामेश्वर दङ्गाल, मन्त्रालयअन्तर्गतका कानुन महाशाखाका सहसचिव र प्रतिष्ठानका तर्फबाट कार्यकारी अध्यक्ष प्रा डा लेखनाथ शर्मा, डा दीपक खड्कासहितको टोली सहभागी भएको थियो ।

    बैठकमा विदेशबाट मतदानको सम्भावना, मतदाता नामावली, मतदान प्रक्रिया र यसलाई सम्भव बनाउन आवश्यक संयन्त्र, कानुन र अन्य आवश्यकताबारे छलफल गरिएको जनाइएको छ । विदेशमा रहेका नागरिकको मतदानका विषयमा विद्यमान कानुनी अवस्था, अन्य मुलुकको कार्यान्वयन अनुभव र चुनौतीहरूबारे प्रारम्भिक छलफलका लागि प्रतिष्ठानलाई आमन्त्रण गरिएको गृह मन्त्रालयले जनाएको छ ।

    बैठकमा ‘आउट अफ कन्ट्री भोटिङ’ का विषयमा नीति प्रतिष्ठानले अघि बढाएको अनुसन्धानको कार्यप्रगति र प्रयोग हुन सक्ने विधिहरू प्रस्तुत गरिएको थियो । विदेशमा हुने मतदान प्रक्रिया, हुन सक्ने सुरक्षा चुनौती, आवश्यक जनशक्ति र यसका कार्यान्वयनका लागि निर्माण हुनुपर्ने राजनीतिक वातावरण आदि विषयबारे पनि चर्चा भएको गृहमन्त्री अर्यालको सचिवालयले जनाएको छ ।

  • राजदूत फिर्ता बोलाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

    राजदूत फिर्ता बोलाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

    काठमाडौँ, १७ कात्तिकः सर्वोच्च अदालतले अन्तरिम सरकारले राजदूतहरू फिर्ता बोलाउन गरेको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । न्यायाधीशहरू शारङ्गा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले आज राजदूत फिर्ता बोलाउनेसम्बन्धी सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको हो ।

    आदेशमा भनिएको छ, “विभिन्न देशका १७ जना आवासीय राजदूतमध्ये ११ जनालाई मात्र छनोट र पदमुक्त गरी फिर्ता बोलाउने निर्णय गर्दा त्यसको आवश्कता र औचित्य पुष्टि हुने कुनै कारणसमेत निर्णयमा उल्लेख भएको छैन । प्रस्तुत निवेदन अन्तिम आदेश हुँदा ठहर भएबमोजिम हुने हुँदा हाललाई मन्त्रिपरिषद्को २०८२ असोज ३० मा भएको राजदूत फिर्ता बोलाउनेसम्बन्धी निर्णय हाललाई कार्यान्व्यन नगर्नू ।”

    यसअघि, न्यायाधीश विनोद शर्माको एकल इजलासले यही कात्तिक ९ गते यस विषयमा लिखित जवाफ माग गरेको थियो । अदालतले दुवै पक्षको छलफलपछि आज अन्तरिम आदेश जारी गर्दै राजदूत फिर्ता बोलाउने निर्णय कार्यान्वयन नगर्न भनेको हो ।

    अधिवक्ता प्रतिभा उप्रेतीले यही कात्तिक २ गते प्रतिनिधिसभा नै विघटन भएको अवस्थामा संसदीय सुनुवाइ हुनसक्ने कुनै गुञ्जायस नै नभएकाले संविधानतः राजदूत नियुक्ति हुन नसक्ने अवस्था नै नभएकाले राजदूत फिर्ता बोलाउने सरकारको निर्णय गैरकानुनी भएको उल्लेख गर्दै उक्त निर्णय बदरको मागसहित रिट निवेदन दायर गरेका थिए ।

    गत असोज ३० गते सरकारले कात्तिक २० गतेभित्र ११ जना राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । फिर्ता बेलाइएका राजदूतमा चीनका प्रा डा कृष्णप्रसाद ओली, जर्मनीका डा शैल रुपाखेती, इजरायलका प्रा धनप्रसाद पण्डित, मलेसियाका डा नेत्रप्रसाद तिमल्सिना, कतारका रमेशचन्द्र पौडेल, रुसका जङ्गबहादुर चौहान, साउदी अरबका नरेशविक्रम ढकाल, स्पेनका सनिल नेपाल, संयुक्त अधिराज्य बेलायतका चन्द्रकुमार घिमिरे, संयुक्त राज्य अमेरिकाका लोकदर्शन रेग्मी र जापानका डा दुर्गाबहादुर सुवेदी छन् ।

  • लन्डन जाने रेलमा छुरा प्रहारः ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ

    लन्डन जाने रेलमा छुरा प्रहारः ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ

    लन्डन, १६ कात्तिक (रासस\एपी) । पूर्वी इङ्गल्यान्डबाट लन्डनतर्फ गइरहेको रेलमा भएको सामूहिक छुरा प्रहारको घटनापछि बेलायतभर त्रास र अराजकता फैलिएको छ । आइतबार बिहानसम्म अस्पतालमा रहेका १० जनामध्ये नौ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । प्रहरीका अनुसार दुई जना संदिग्धलाई नियन्त्रणमा लिइएको छ र उनीहरूको उद्देश्य पत्ता लगाउने कार्य तीव्र गतिमा भइरहेको छ ।

    आक्रमणको प्रारम्भिक विवरण अझै अस्पष्ट छ । शनिबार साँझ करिब साढे सात बजे लामो दूरीको रेल हन्टिङडन सहरमा आपतकालीन रूपमा रोकिँदा रगतले लथपथ यात्रुहरू बाहिर निस्कँदै थिए । ती यात्रुलाई भेट्न दर्जनौँ सशस्त्र प्रहरीहरू स्टेसनमा पहिल्यै उपस्थित थिए । स्टेसनमै प्रहरीले तत्कालै दुई जना संदिग्धलाई पक्राउ गरेको थियो । यद्यपि, प्रहरी अधिकारीहरूले उनीहरूको परिचय सार्वजनिक गरेका छैनन् र घटनाको उद्देश्य पनि खुलासा गरिएको छैन । ब्रिटिस ट्रान्सपोर्ट प्रहरीले आतङ्कवाद विरोधी एकाइले अनुसन्धानमा सहयोग गरिरहेको बताएको छ ।

    रक्षामन्त्री जोन हिलीले स्काई न्युजसँगको अन्तर्वार्तामा प्रारम्भिक मूल्याङ्कन अनुसार यो ‘एक पृथक र एकल आक्रमण’ भएको विश्वास व्यक्त गरे । ब्रिटिस ट्रान्सपोर्ट प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यो ठूलो घटना घोषणा गरिएको छ । दस जनालाई अस्पतालमा भर्ना गरिएको छ र तिनीहरूमध्ये नौ जनाको अवस्था चिन्ताजनक छ । काउन्टर टेररिज्म पुलिसिङले हाम्रो अनुसन्धानमा सहयोग गरिरहेको छ र हामी घटनाको सम्पूर्ण परिस्थिति र प्रेरणा पत्ता लगाउने प्रयासमा छौँ ।”

    प्रहरीका अनुसार घातक आतङ्ककारी आक्रमणको सम्भावनामा प्रयोग गरिने ‘प्लेटो’ नामक राष्ट्रिय कोड शब्दलाई केही समयका लागि सक्रिय गरिएको थियो, तर पछि खारेज गरिएको थियो । प्रमुख उपरीक्षक क्रिस केसिले भने, “हामी घटनाको कारण र प्रकृति पत्ता लगाउन सोधपुछ जारी राखिरहेका छौँ । प्रारम्भिक चरणमा अनुमान लगाउनु उचित हुने छैन ।”

    यो आक्रमण उत्तरी इङ्गल्यान्डको डोनकास्टरबाट लन्डनको किङ्स क्रस स्टेसनतर्फ गइरहेको रेल क्याम्ब्रिज विश्वविद्यालय सहरभन्दा केही माइल उत्तरपश्चिममा रहेको बजार सहर हन्टिङडन नजिक पुग्दा भएको बताइएको छ । एक यात्रु ओली फोस्टरले बिबिसीलाई भने, “मैले कसैले ‘दौड्नुहोस्, दौड्नुहोस्, त्यहाँ एक व्यक्तिले सबैलाई छुरा प्रहार गरिरहेको छ ?’ भनेर चिच्याएको सुनेँ । सुरुमा मलाई लाग्यो, सायद यो हेलोविनको मजाक होला । तर जब यात्रुहरू भाग्दै थिए, मैले आफ्नो छेउको सीटमा बस्ने एक जनाको हात रगतले ढाकिएको देखेँ ।”

    घटनापछि केही मिनेटमै सशस्त्र प्रहरी, एम्बुलेन्स र एयर एम्बुलेन्स घटनास्थलमा पुगेका थिए । हन्टिङडन स्टेसनमा पुगेपछि आक्रमण नियन्त्रणमा आएको बताइएको छ । फरेन्सिक पोशाकमा रहेका प्रहरी अधिकारीहरू र प्रहरी कुकुरहरू प्लेटफर्ममा देखिएका थिए । स्थानीय प्रहरी निकाय क्याम्ब्रिजसायर कन्स्टेबुलरीका अनुसार अधिकारीहरू घटनाको करिब केही मिनेटमै स्थलमा पुगेका थिए ।

    यस घटनाप्रति बेलायती प्रधानमन्त्री किर स्टार्मरले गहिरो दुःख प्रकट गर्दै भने, “यो एक भयावह घटना हो । मेरा विचारहरू पीडित र उनीहरूको परिवारसँग छन् ।” क्याम्ब्रिजसायर र पिटरबरोका मेयर पल ब्रिस्टोले पनि रेलमा देखिएका ‘भयानक दृश्यहरू’ बारे दुःख व्यक्त गरे । लन्डन उत्तरपूर्वी रेलवेका अधिकारीहरूले आफ्ना रेलमध्ये एकमा घटना भएको पुष्टि गर्दै सोमबारसम्म उक्त मार्गमा ठूलो अवरोध रहने जनाएका छन् ।

  • सुक्खा पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

    सुक्खा पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

    १६ कात्तिक, भरतपुर । सुख्खा पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–३ चुमखोलास्थित सडकमा केहीबेर अघि माथिबाट सुक्खा पहिरो खसेका कारण सडक दुइतर्फी अवरुद्ध भएको प्रहरीले जनाएको छ । सडक खुलाउन पहिरो पन्छाउने काम सुरु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए ।

  • एक महिनामा एक लाख २८ हजार पर्यटक भित्रिए, अमेरिकी दोस्रो स्थानमा

    एक महिनामा एक लाख २८ हजार पर्यटक भित्रिए, अमेरिकी दोस्रो स्थानमा

    काठमाडौँ, १६ कात्तिकः सन् २०२५ को अक्टोवर महिनामा एक लाख २८ हजार ४४३ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । पदयात्रा र पर्वतारोहणका लागि नेपालको मुख्य पर्यटकीय याम मानिने अक्टोबरमा विभिन्न देशका पर्यटक नेपाल भित्रिएका हुन् । नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार अक्टोबर महिनामा सबैभन्दा धेरै पर्यटक भारतबाट नेपाल आएका छन् । भारतबाट अक्टोबर महिनामा मात्र १७ हजार २९८ पर्यटक नेपाल घुम्न आएका हुन् । यस्तै, अमेरिकाबाट १३ हजार २८६ र बेलायतबाट आठ हजार ७१८ पर्यटक नेपाल आएका छन् ।

    यसबाहेक छिमेकी मुलुक चीनबाट छ हजार ७५५ तथा जर्मनीबाट छ हजार ३६६ पर्यटक नेपाल आएका छन् । पर्यटक आगमन अवस्था हेर्दा कूल पर्यटकमध्ये युरोपेलीको हिस्सा ३१.६ प्रतिशत रहेको छ । युरोपेली मुलुकबाट मात्र ४० हजार ६० पर्यटक नेपाल आएका छन् । दक्षिण एसियाली राष्ट्र (सार्क) बाट २२।६ प्रतिशत पर्यटक आएका छन् । भारतसहित सार्क देशबाट २९ हजार ६० पर्यटक नेपाल भित्रिएको नेपाल पर्यटन बोर्डले जनाएको छ । अन्य एसियाली देशबाट २३ हजार १२७ पर्यटक नेपाल आएका छन् । गत वर्ष अक्टोबर महिनाको तुलनामा यस वर्ष ३.३ प्रतिशत बढी पर्यटक नेपाल घुम्न आएका हुन् ।

    सन् २०२४ को अक्टोबरमा एक लाख २४ हजार ३९१ पर्यटक नेपाल घुम्न आएका थिए । नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार सन् २०२५ को १० महिनामा नौ लाख ४३ हजार ७१६ पर्यटक नेपाल घुम्न आएका छन् । सन् २०२४ को १० महिनामा नौ लाख ४१ हजार २४ पर्यटक नेपाल घुम्न आएका थिए ।

  • आठ पार्टीबीच कात्तिक १९ मा एकता, आज भयो हस्ताक्षर

    आठ पार्टीबीच कात्तिक १९ मा एकता, आज भयो हस्ताक्षर

    १६ कात्तिक, काठमाडौं । यही कात्तिक १९ गते विभिन्न आठ पार्टीबीच एकता हुने भएको छ । ती पार्टीले आज ‘पार्टी एकता सहमति पत्र’ जारी गरी १९ गते एकता घोषणा गर्ने जनाएका हुन् । सहमति पत्रमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी, नेकपा (समाजवादी), जनसमाजवादी पार्टी नेपाल, नेपाल कम्युनिष्ट पाटी नेकपा (माओवादी–समाजवादी), नेपाल कम्युनिष्ट पार्टी (चिरन पुन) र नेकपा (साम्यवादी)का नेताहरूले हस्ताक्षर गरेका छन् ।
    सहमति पत्रमा भनिएको छ, “पार्टीको एकता राष्ट्रिय सम्मेलन एकता प्रक्रियामा सहभागी सबै घटकका केन्द्रीय समितिको संयुक्त भेलाको रुपमा एकता राष्ट्रिय सम्मेलनको आयोजना २०८२ कात्तिक १९ गते गरिने छ । एकता राष्ट्रिय सम्मेलनबाट पार्टी एकताको घोषणा, घोषणा पत्र र अन्तरिम विधान पारित र केन्द्रीय समितिको गठनलगायत कार्य गरिने छन् ।”

    पार्टीको मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद–लेनिनवाद, नेपाली क्रान्तिको कार्यक्रम नेपाली विशेषताको वैज्ञानिक समाजवाद, पार्टीको तत्कालीन कार्यनीति पुँजीवादी जनवादी क्रान्तिका उपलब्धिहरूको रक्षा, राष्ट्रिय स्वाधीनताको संरक्षण, सुशासन, सामाजिक न्याय, सामाजिक आर्थिक समृद्धि र रुपान्तरण गर्दै समाजवादको आधार तयार गरिने जनाइएको छ ।

    पार्टी एकताबारे थप प्रष्ट पार्दै भनिएको छ, “पुँजीवादी जनवादी क्रान्तिको उपलब्धिको रूपमा रहेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रिय स्वाधीनताको रक्षा, सुशासन, सामाजिक न्याय र आर्थिक सामाजिक रुपान्तरण गर्दै समाजवादी क्रान्तिको लक्ष्य पूरा गर्न बृहत् कम्युनिष्ट आन्दोलनको एकीकरण आजको वस्तुगत आवश्यकता हो ।”

    आन्दोलनको स्वरूपमा आन्दोलन मूलतः शान्तिपूर्ण हुने र परिस्थितिअनुसार सडक, सदन र सरकारलगायत सबै मोर्चा प्रयोग गरिने उल्लेख छ । यस्तै, आगामी छ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशनको आयोजना गरिने सहमति पत्रमा जनाइएको छ ।

    सहमति पत्रमा भनिएको छ, “केन्द्रीय समितिको गठन एकता प्रक्रियामा सहभागी भएका पार्टीहरूका साविकका केन्द्रीय समितिहरूलाई समायोजन गर्दै आपसी सहमतिको आधारमा केन्द्रीय समिति गठन गरिने छ, केन्द्रीय समितिभित्रको संरचना केन्द्रीय समिति, राजनीतिक समिति, सचिवालय, कार्यसंयोजन समिति हुनेछ ।”

  • तीन दिनदेखि अवरुद्ध बीपी राजमार्ग सञ्चालन

    तीन दिनदेखि अवरुद्ध बीपी राजमार्ग सञ्चालन

    काभ्रेपलाञ्चोक, १६ कात्तिकः बाढीपहिरोका कारण तीन दिनदेखि अवरुद्ध बिपी राजमार्ग सञ्चालनमा आएको छ । राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकतर्फ चौकीडाँडा(नेपालथोक सडकखण्डका विभिन्न स्थानमा पहिरो तथा लेदो खसेकाले अवरुद्ध भएको थियो । अवरोध हटाउनुका साथै लेदो बगेको स्थानमा ‘डाइभर्सन’ बनाएर आज बिहानदेखि राजमार्ग सञ्चालनमा ल्याइएको डिभिजन सडक कार्यालय भक्तपुरका प्रमुख डिभिजनल सिनियर इञ्जिनियर सुमन योगेशले जानकारी दिए । उनका अनुसार काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–८ चारसयबेँसीमा ५० मिटर डाइभर्सन बनाएपछि राजमार्ग सञ्चालनमा ल्याइएको हो ।

    सुक्खा पहिरोका कारण डाइभर्सन तथा अवरोध हटाउन केही समस्या भएको इञ्जिनियर योगेशले बताए । यस्तै, रोशी–१२ माम्ती क्षेत्रमा सुक्खा पहिरो खसिरहेकाले शनिबार पनि अवरोध पन्छाउन नसकिएको उनले बताए । “सुक्खा पहिरो रोकिएपछि अवरोध हटाउँदै राजमार्ग सञ्चालनमा ल्याइएको छ”, उनले भने । यही कात्तिक १३ गतेदेखिको अविरल वर्षाका कारण राजमार्गको विभिन्न सडकखण्डमा ढुङ्गा खस्ने तथा लेदोसहितको पहिरो खसेर चौकीडाँडा–नेपालथोक सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो ।

    सडक माथिबाट निरन्तर सुक्खा पहिरो खसेकाले बिहीबार रातिदेखि यातायात सञ्चालनमा रोक लगाइएको इञ्जिनियर योगेशले जानकारी दिए । उनका अनुसार बिहीबारदेखिको अविरल वर्षाले नमोबुद्ध नगरपालिका–६ चौकीडाँडा, बिरुवाडाँडा डालाबेँसी, नार्के, चारसयबेँसी, घुमाउनेलगायत स्थानमा ढुङ्गा र लेदोसहितको पहिरो खसेर राजमार्गका विभिन्न भाग अवरुद्ध भएका थिए । यसअघि उक्त राजमार्गमा मनसुनको जोखिमका कारण पटकपटक सवारी सञ्चालनमा रोक लगाइँदै आइएको थियो ।

    गत वर्षको असोजको बाढीपहिरोले बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको चौकीडाँडाबाट सिन्धुलीको बर्खेखोलासम्मको आठ किलोमिटर सडक बगाएको थियो । “सडक बगेपछि खोलामा कतै एकतर्फ, कतै दुईतर्फी यातायात सञ्चालन हुनेगरी अस्थायी सडक सञ्चालनमा ल्याइएको थियो”, उनले भने । बाढीपहिरोले राजमार्गको कूल १६० किमीमध्ये तेस्रो खण्डअन्तर्गत सिन्धुलीको खुर्कोटबाट नेपालथोकसम्म ३४ किमी र चौथोखण्ड नेपालथोकबाट काभ्रेपलाञ्चोकको धुलिखेलसम्म ५० किमी सडकको विभिन्न स्थानमा बढी क्षति पुर्‍याएको थियो ।

    कार्यालयले क्षतिग्रस्त राजमार्ग स्थायी निर्माणका लागि चार खण्डमा ठेक्काको प्रक्रियामा अघि बढाइएको जनाएको छ । पूर्वी नेपाल जोड्ने छोटो दूरीका रूपमा रहेको उक्त राजमार्गबाट दैनिक हजारौँ यातायातका साधन आवतजावत हुने गर्छन् ।

  • सुनको मूल्यमा सामान्य वृद्धि

    सुनको मूल्यमा सामान्य वृद्धि

    काठमाडौँ, १६ कात्तिकः गत शुक्रबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन प्रतितोला रु ७०० ले बढेको छ भने चाँदी प्रतितोला रु पाँचले घटेको छ । गत शुक्रबार तोलाको रु दुई लाख ३९ हजारमा कारोबार भएको एक तोला सुनको मूल्य आज रु दुई लाख ३९ हजार ७०० कायम भएको महासङ्घले जनाएको छ । यसैगरी, चाँदीको मोल प्रतितोला रु तीन हजार ५५ निर्धारण भएको छ । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा प्रतिऔँस सुन चार हजार अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

  • सामाजिक सुरक्षा कोषमा अहिलेसम्म ९४ अर्ब जम्मा

    सामाजिक सुरक्षा कोषमा अहिलेसम्म ९४ अर्ब जम्मा

    १६ कात्तिक, काठमाडौं । सामाजिक सुरक्षा कोषमा हालसम्म कूल रु ९४ अर्ब नौ करोड एक लाख ७९ हजार बराबरको रकम जम्मा भएको छ । कोषले रु १७ अर्ब २९ करोड ३० लाख ५१ हजार बराबरको रकम योगदानकर्तालाई भुक्तानी समेत गरेको छ । कोषमा कूल २५ लाख ९२ हजार एक सय ४१ जना सूचीकृत योगदानकर्ताका रुपमा समावेश भएका छन् । कोषमा २२ हजार एक सय २५ सूचीकृत रोजगारदाता रहेका छन् । रोजगारदातालाई क्रमशः सूचीकृत गराउन कोषले आवश्यक पहल समेत गरिरहेको जनाएको छ ।

    कोषमा औषधी उपचार, स्वास्थ्य तथा मातृत्व दावी रकम रु दुई अर्ब ४२ करोड ५० लाख ८१ हजार रहेको छ । यस्तै, दुर्घटना तथा अशक्तता सुरक्षा दावी रकम रु २२ करोड ३१ लाख ६३ हजार, आश्रित परिवार सुरक्षा दावी रकम रु २८ करोड ३५ लाख ९७ हजार र अवकाश दावी रकम रु १४ अर्ब ३६ करोड १२ लाख आठ हजार रहेको छ ।

  • मेडरी नाच सीप युवा पुस्तामा सिकाउँदै पाका पुस्ता

    मेडरी नाच सीप युवा पुस्तामा सिकाउँदै पाका पुस्ता

    राष्ट्रिय समाचार समिति
    १६ कात्तिक, मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–३ लेडाहाका ७० वर्षीय दुलामणि गुरौ केही वर्षदेखि मेडरी नाच युवाहरूलाई सिकाउँदै आएका छन् । थारू समुदायको पौराणिक महत्त्व बोकेको मेडरी नाच लोप हुन थालेपछि दुलामणिसँगै पाका पुस्ता यसको संरक्षणमा जुटेका हुन् ।
    थारू समुदायले परापूर्वकालदेखि नाच्दै आएको मेडरी नाचप्रति युवा पुस्ताको चासो कम हुँदै जान थालेपछि पाका पुस्ताले नाच संरक्षणका लागि कला, सीप हस्तान्तरण गर्ने अभियान सञ्चालन गरेका हुन् । दुलामणि गुरौले अहिले मेडरी नाच समूहको नेतृत्वसँगै नाचको संरक्षणका लागि नयाँ पुस्तालाई पनि सिकाउन थालेका हुन् । पुरानो पाको पुस्ताकाले मात्र मेडरी नाचको जगेर्ना गर्न सम्भव नभएकाले युवालाई पनि सिकाउने पहल गरिरहेको गुरौले बताए ।

    “मेडरी नाच्न धेरै जना हुनुपर्छ, अहिले धेरै हामी ७० वर्ष पार गरेका पाका पुस्ता छौँ, इच्छा देखाउने युवाहरूलाई पनि सिकाउँदै नाचमा जोडिरहेका छौँ”, उनले भने, “युवा पुस्तालाई यो नाचको महत्त्व बुझाउँदै सिक्न प्रेरित गरिरहेका छौँ ।” हरेक वर्ष हरिबोधिनी एकादशीका दिन मध्यविन्दु नगरपालिका–३ लेडाहादेखि कावासोती नगरपालिका–१५ गुन्द्रहीसम्म धार्मिक विधिअनुसार नाच्दै जाने गरिएको छ । महाभारतमा आधारित मेडरी नाच थारू समुदायको ऐतिहासिक नाचमध्येको एक रहेको मेडरी नाच नचनिया गुरौले बताए ।


    “मेडरी नाचमा कम्तीमा एक सय र बढीमा एक सय ५० नचनिया गोलाकार रूपमा नाच्ने गरिन्छ”, उनले भने, “यो नाच कृष्ण लीलामा आधारित भवरा, महाभारतमा आधारित र रामलीलामा आधारित सीता हरण गरी तीन प्रकारको हुन्छ, महाभारतको लडाइँमा पाँच पाण्डवले प्रयोग गरेका सामान लिएर समूहमा गोलाकार भएर नाचिन्छ ।”

    थारू समुदायका अन्य नाच युवा पुस्ताले जगेर्ना गर्दै आए पनि मेडरी नाचप्रति भने उनीहरूले चासो नदिएको स्थानीय गेनाराम महतोले बताए । “दैवी शक्तिमा आधारित मेडरी नाच विशेषगरी दसैँ, तिहारलगायत पर्वमा नचाइने गरिन्छ, अन्य शुभकार्यमा पनि यो नाच नाच्ने गरिन्छ”, उनले भने, “पितृ औँसीमा पितृ विसर्जन गरेपछि सुरु हुने यो नाच प्रत्येक वर्ष हरिबोधिनी एकादशीसम्म नचाइने गरिन्छ ।”

    महाभारतको लडाइँमा अर्जुनको रथको ध्वजाका रूपमा बीचमा ध्वजापताकासहितको ठूलो बाँसको लिङ्गो लिएर घुम्ने गरिन्छ भने मेडरी नाच्दा मादल, झ्याली, तरबारको प्रयोग हुन्छ । यस नाचप्रति केही युवाहरूले चासो देखाएर सिक्न थालेको हुमबहादुर थनेतले बताए ।

    “यस नाचका लागि आवश्यक सामान बनाउन समस्या हुँदा यसको संरक्षणमा चुनौती छ, युवाहरूमा हस्तान्तरण गर्न पनि कठिन भइरहेको छ”, थनेतले भने । थारू समुदायको लाठीनाच र झाम्टा नाचप्रति युवा पुस्ताको आकर्षण देखिए पनि मेडरी नाच अहिले पनि पाका पुस्ताकै भर पर्नुपर्ने अवस्था रहेको छ । थारू संस्कृतिको पहिचान स्थापित गर्नमा यो नाचको निकै महत्त्व रहेको चुनिलाल थनेतले बताए । अहिलेको नयाँ पिँढीले भने मेडरी नाचको महत्त्व बिर्सिँदै गएको उनको गुनासो छ ।

    “पहिलेपहिले मेडरी नाच धेरै नचाइने गरिन्थ्यो, गाउँघरमा सबै मिली नाच्ने गरिन्थ्यो, अहिले पुराना पुस्ताले मात्र नाच नचाउन गाह्रो हुन थालेको छ”, थनेतले भने, “अहिले केही युवाको सहभागिता बढ्न थालेको छ ।” थारू समुदायमा कृष्ण लीला र महाभारतमा आधारित मेडरी नाच मात्र देखाउने गरिएको छ भने सीता हरण नाच लोप हुने अवस्थामा पुगेको दुलामणि गुरौले बताए ।

  • धनुषामा बसको ठक्करबाट चार जनाको मृत्यु

    धनुषामा बसको ठक्करबाट चार जनाको मृत्यु

    १६ कात्तिक, जनकपुर । धनुषामा यात्रुवाहक बसको ठक्करबाट चार जनाको मृत्यु भएको छ । शनिवार राति पूर्व-पश्चिम राजमार्ग अन्तर्गत वीरेन्द्रबजारस्थित सवारी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो । विराटनगरबाट ढल्केवरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख २५८८ नम्बरको बसले प्रदेश ०२–०१–००१ घ १२२० नम्बरको अटोलाई ठक्कर दिएको थियो । ठक्कर दिएपछि अटोमा सवार धनुषा गणेशमान चारनाथ नगरपालिका–४ का ४० वर्षीय रमेश मगर, उनकी श्रीमती ३२ वर्षकी निशा मगर, सोही ठाउँ बस्ने ठुला मगर र अटो चालक वर्ष ४० को डम्बर राई को मृत्यु भएको धनुषाका प्रहरी नायव उपरीक्षक गणेश बहादुर बमले जानकारी दिए ।

    उनका अनुसार ठक्करबाट गम्भीर घाइते भएका ठुला मगर र निशाको घटनास्थलमै मृत्यु भएको थियो भने अटो चालक र रमेशको उपचारको क्रममा जनकपुर न्युरो हस्पिटलमा मृत्यु भएको छ । सो दुर्घटनामा मृतक रमेश र निशाका दुई बच्चाहरू समेत गम्भीर घाइते भएका छन् । १४ वर्षीय शीतल मगर र ९ वर्षीय रोशन मगर गम्भीर घाइते भई उनीहरूको उपचार जनकपुर न्युरो हस्पिटलमा भइरहेको उनले बताए । ठक्कर दिने बस चालक लखिराम दनुवार थारुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतकहरूको शव पोस्टमार्टमको लागि जनकपुर प्रादेशिक अस्पताल पठाउने तयारी भइरहेको छ ।

  • मध्यरातमा बालेनको अश्लिल स्टाटस, १५ मिनेटमै डिलिट

    मध्यरातमा बालेनको अश्लिल स्टाटस, १५ मिनेटमै डिलिट

    १६ कात्तिक, काठमाडौं । मध्यरातमा बालेनले अश्लिल शब्दसहित राखेको स्टाटसका कारण विवादमा तानिएका छन् । बालेनले सो स्टाटस १५ मिनेटमै हटाएका थिए । तर, सामाजिक संजालमा भने चर्को आलोचना भइरहेको छ ।

    उनले अमेरिका, भारत र विभिन्न राजनीतिक दलको नाम लेख्दै स्टाटस राखेका थिए । समर्थकबाटै आलोचना भएपछि उनले सो स्टाटस हटाएका हुन् । सार्वजनिक जिवनमा नदेखिने तर सामाजिक संजालबाट विवादित स्टाटस लेख्ने बालेनको पुरानै बानी हो ।

  • वैशाखयता विपद्जन्य घटनामा तीन सय ३५ जनाको मृत्यु

    वैशाखयता विपद्जन्य घटनामा तीन सय ३५ जनाको मृत्यु

    १६ कात्तिक, काठमाडौं । कात्तिक १५ गतेसम्म देशभर चार हजार ५९७ वटा विपद्जन्य घटना भएका छन् । वैशाखयताका ती विपद्का घटनामा परेर शनिबारसम्म तीन सय ३५ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार उक्त अवधिमा ४१ जना बेपत्ता भएका छन् भने एक हजार २६४ जना घाइते भएका छन् ।

    बाढीका मात्रै तीन सय १६ घटना हुँदा ३७ जनाको मृत्यु र २७ जना बेपत्ता भएका छन् । त्यसैगरी, पहिरोका पाँच सय ५० घटना हुँदा ६७ जनाको मृत्यु र चार जना बेपत्ता तथा चट्याङका तीन सय ५६ घटना हुँदा ४४ जनाको मृत्यु, सर्पदंशका पाँच सय ३८ घटना हुँदा ९२ जनाको मृत्यु भएको छ । त्यसैगरी, जनावरको आक्रमणका दुई सय ६९ घटनामा २५ जनाको मृत्यु र एक बेपत्ता, लेक लागेका ८० घटनामा २७ जनाको मृत्यु भएको छ ।

    भारी वर्षाका चार सय २० घटनामा सात, आगलागीका एक हजार ६१४ घटनामा २६ र हुरीबतासका दुई सय ८६ घटनामा आठ जनाको मृत्यु भएको प्रवक्ता महतले जानकारी दिए। हिउँ पहिरोमा परी नौ जना बेपत्ता भएको प्राधिकरणले जनाएको छ । शनिबार मात्रै विभिन्न विपद्जन्य घटनामा दुई जनाको मृत्यु भएको छ । विपदजन्य ४६ घटना भएको र उक्त विपद्ले ३१ जिल्ला प्रभावित बनाएको प्राधिकरणले जानकारी दिएको छ ।

  • आजबाट मौसम खुल्ने, कमजोर बन्यो ‘मोन्था चक्रवात’ प्रभाव

    आजबाट मौसम खुल्ने, कमजोर बन्यो ‘मोन्था चक्रवात’ प्रभाव

    १६ कात्तिक, काठमाडौं । बङ्गालको खाडीबाट उठेको ‘मोन्था’ चक्रवातका कारण प्रभावित भएको देशभरको मौसममा क्रमशः सुधार हुँदै गएको छ । चक्रवातको प्रभाव कमजोर हुँदै गएपछि आजदेखि मौसममा थप सुधार हुने मौसमविद्हरुको पूर्वानुमान छ । तर, केही स्थानमा भने आज पनि वर्षाको सम्भावना कायमै छ । पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव बलियो भएकाले बदली जारी रहेको छ ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । पहाडी भू–भागमा केही बदली भए पनि बाँकी भूभागमा भने मौसम आज मुख्यतया सफा रहने विभागले जनाएको छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बदली रही मधेस प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

    यस्तै, आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

  • काठमाडौंको शहरीकरण व्यवस्थित गर्न ५० वर्षे गुरुयोजना बनाउँदै सरकार

    काठमाडौंको शहरीकरण व्यवस्थित गर्न ५० वर्षे गुरुयोजना बनाउँदै सरकार

    १६ कात्तिक, काठमाडौं । सरकारले काठमाडौँ उपत्यकाको सहरीकरणको ५० बर्से गुरुयोजना तयार गर्ने भएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा सहरी विकासमन्त्री कुलमान घिसिङले काठमाडौँ उपत्यका सहरीकरणको गुरुयोजना तयार गरी सोहीबमोजिम योजना कार्यान्वयन अगाडि बढाइने जानकारी दिए ।


    “काठमाडौँ उपत्यकामा आगामी ५० वर्षमा बढ्ने जनसङ्ख्याको प्रक्षेपण गरी सुन्दर बनाउन दीर्घकालीन गुरुयोजना बनाएर सोहीबमोजिम सहरलाई सुन्दर बनाउन खोजेका छौँ,” मन्त्री घिसिङले भने, “ढल, विद्युत्, खानेपानी, सडक, फोहोर व्यवस्थापन, ढल प्रशोधन केन्द्र स्थापनालगायतका योजना एकीकृत रूपमा बनाएर सोहीबमोजिम काम अगाडि बढाउन लागेका छौं ।” पूर्वमुख्य सचिव लीलामणि पौड्यालले सहरीकरणका अन्य काममा भन्दा योजनाबद्ध रूपमा ढल निर्माण र प्रशोधनमा केन्द्रित गराउन सुझाव दिए ।

    यसैबिच मन्त्री घिसिङले डेडिकेटेड तथा ट्रङ्कलाइन महसुलको बक्यौता रकम भुक्तान गर्न उद्योगीलाई आग्रह गरेका छन् । शनिबार बागमती सफाइ महाअभियानको ६५० हप्ता पूरा भएको अवसरमा आयोजित विशेष कार्यक्रममा मन्त्री घिसिङले नियमित बिल तिरे पनि प्रिमियम महसुलको बक्यौता केही औद्योगिक ग्राहकले तिर्न नमान्दा नेपाल विद्युत् प्राधिकरण कानुनबमोजिम लाइन काट्न बाध्य भएको बताए । आफू प्राधिकरणको कार्यकारी निर्देशक रहँदा पनि चार पटकसम्म लाइन काटिएको स्मरण गर्दै घिसिङले तत्कालीन अवस्थामा राजनीतिक तहबाट विरोध र अवरोध भएको जिकिर गरे ।


    “लाइन काट्ने निर्णय नयाँ होइन, विगतमा चार पटकसम्म बक्यौता असुली गर्ने प्रयास हुँदा पनि राजनीतिक तहबाट अवरोध र हस्तक्षेप भयो,” घिसिङले आफ्नो आधिकारिक फेसबुक एकाउन्टमा समेत लेखेका छन् । “२०८१ साल चैत ११ गते मैले कार्यकारी निर्देशकको हैसियतमा, विनियमावली अनुसार बक्यौता उठाउन विद्युत् नियमन आयोगमा पत्राचार गरेको थिएँ । त्यसै दिन मलाई पदबाट हटाइयो । हो, बक्यौता असुली गर्ने मेरो इमानदार प्रयास नै पद गुमाउने कारण बन्यो ।”

    घिसिङले महसुल नतिर्दा बर्सेनि लाखौँ सर्वसाधारण ग्राहकको पनि लाइन काटिने गरेकोसमेत बताए । मन्त्री घिसिङले सबैले आफ्नो जिम्मेवारी बुझेर कानुनको सम्मान गर्दै देशको हितमा इमानदार बन्न आग्रह गरे । “प्राधिकरणले दिएको किस्ता सुविधा प्रयोग गरेर बक्यौता रकम बुझाउन सबै उद्योगी–व्यवसायीलाई अनुरोध गर्दछु,” उनले भने, “यदि कसैलाई अन्याय भएको महसुस छ भने न्यायिक निकायमार्फत आफ्नो हक खोज्ने अधिकार सबैलाई छ ।”

  • प्रधानमन्त्रीको आह्वानमा आज सातै प्रदेशका मूख्यमन्त्रीहरुको बैठक बस्दै

    प्रधानमन्त्रीको आह्वानमा आज सातै प्रदेशका मूख्यमन्त्रीहरुको बैठक बस्दै

    १६ कात्तिक, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज सातै प्रदेशका मुख्यमन्त्रीसहितको बैठक आह्वान गरेकी छन् । बैठक आज अपराह्न चार बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ । प्रधानमन्त्री कार्कीले परिवर्तित अवस्थामा संघ र प्रदेश सरकारबीच संवाद गर्न र सहकार्य थप सघन बनाउनका लागि बैठक आह्वान गरेको उनको सचिवालयले जनाएको छ ।

    बैठकमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्की, मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार, बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई निम्तो दिइएको छ ।

  • रुकुम पूर्वमा अटो दुर्घटना, २ जनाको मृतयु

    रुकुम पूर्वमा अटो दुर्घटना, २ जनाको मृतयु

    १६ कात्तिक, काठमाडौं । रुकुमपूर्वको भूमे गाउँपालिका–१ स्यावालस्थित मध्यपहाडी लोकमार्गमा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वको अनुसार शनिबार राति लुकुमबाट ब्राहतालतर्फ जाँदै गरेको रा१ह ६७९७ नम्बरको अटो सडकबाट करिब ३०० मिटर तल खस्दा दुर्घटना भएको हो । घाइतेहरूलाई उद्धार गरी उपचारका लागि रुकुमपूर्व अस्पताल ल्याइएको थियो । अस्पतालका अनुसार उपचारका क्रममा भूमे–१ की ३० वर्षीया रेजिना घर्ती र २५ वर्षीया सबिता घर्तीको मृत्यु भएको हो ।

    दुर्घटनामा घाइते भएका २६ वर्षीय प्रतीक्षा बुढा, उनका ११ महिनाका छोरा सुभम बुढा, २८ वर्षीय ब्युटी पुन, २ वर्षीया समृद्धि पुन र ३ वर्षीय सक्षम घर्ती सामान्य उपचारपछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । अटो चालक भूमे–१ लुकुमका २९ वर्षीय जोते घर्ती फरार रहेको प्रहरीको भनाइ छ । दुर्घटनापछि प्रहरी चौकी लुकुम, इलाका प्रहरी कार्यालय काँक्री र जिल्ला प्रहरी कार्यालयको २० जनाको संयुक्त टोलीले उद्धार गरेको थियो ।

  • नागढुंगा सुरुङ सञ्चालनको तयारी, व्यवस्थापन र मर्मत गर्ने कम्पनी छनोट गर्न बोलपत्र आह्वान

    नागढुंगा सुरुङ सञ्चालनको तयारी, व्यवस्थापन र मर्मत गर्ने कम्पनी छनोट गर्न बोलपत्र आह्वान

    १६ कात्तिक, काठमाडौं । नागढुंगा—सिस्नेखोला सुरुङ मार्ग सञ्चालन तथा मर्मतका लागि सेवा प्रदायक छनोटका लागि अन्तर्राष्ट्रिय बोलपत्र टेण्डर आह्वान भएको छ । नागढुंगा सुरुङ निर्माण आयोजनाले आइतबार अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट अनुभवी तथा सक्षम सेवा प्रदायक छनोटका लागि टेण्डर आह्वान गरेको हो । बोलपत्र बुझाउने अन्तिम दिन आगामी २ पुस ९१७ डिसेम्बर २०२५० रहेको छ । सुरुङ मार्गमार्फत सवारी साधन चलाउन सक्ने अवस्था भए तापनि दक्ष जनशक्ति एवम् सुरक्षाका कारण सञ्चालनमा आउन सकिरहेको छैन ।

    सुरुङमा अत्याधुनिक प्रणाली समावेश रहेको तर सडक विभागको हालको कार्यबोझ तथा सीमित अनुभव र उपलब्ध जनशक्तिबाट सुरुङ सञ्चालन एवम् मर्मत कठिन हुने भन्दै विशेष तालिम प्राप्त दक्ष जनशक्तिमार्फत सञ्चालनका लागि अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट सेवा प्रदायक छनोट गर्न लागिएको हो । सेवा प्रदायकले पाँच वर्षको सुरुङ मार्ग सञ्चालन तथा मर्मत गर्ने छ । यस अवधिमा पर्याप्त मात्रामा विदेशी विज्ञहरुबाट नेपाली प्राविधिक र व्यवस्थापकलाई प्रविधि हस्तान्तरण हुने र भविष्यमा अन्य सुरुङ, फास्ट ट्रयाकजस्ता संरचनाहरु स्वदेशी जनशक्तिबाटै सञ्चालन गर्न सहज हुने विश्वास छ ।

    सुरुङ २४ सै घण्टा सञ्चालन गर्नुपर्ने हुनाले दुर्घटना, आगलागी वा प्रणाली बिग्रिएमा तत्कालै आपत्कालीन सेवा आवश्यक पर्ने भन्दै त्यसका लागि १५० जनाको दरबन्दी प्रस्ताव गरिएको छ । सुरुङ सञ्चालन तथा मर्मत प्रमुखको नेतृत्वमा कर्मचारी रहनेछन् । सुरक्षा व्यवस्थापन युनिटमा सबैभन्दा बढी ६४ जना कर्मचारी रहने व्यवस्था गरिएको छ । सडक उपभोग दस्तुर (टोल) उठाउन ५४ जना कर्मचारी रहनेछन् । ट्राफिक सुविधा अनुगमन तथा नियन्त्रणका लागि १४ जना, सिभिल संरचना तथा अन्य संरचना मर्मतका लागि ८र८ जना कर्मचारी रहने व्यवस्था गरिएको छ ।

    मुख्य सुरुङ मार्गको लम्बाइ २.७ किलोमिटर र आपत्कालीनको २.६ किलोमिटर रहेको छ । सरकारले सुरुङ मार्गबाट गुड्ने सवारी साधनका लागि सडक उपभोग दस्तुर तोकिसकेको छ । नागढुंगा सुरुङमार्ग मार्फत कार तथा भ्यानहरूले काठमाडौं आउँदा ६५ रुपैयाँ र जाँदा ६० रुपैयाँ दस्तुर तिर्नुपर्ने निर्णय सरकारले गरेको छ । त्यस्तै मिनिबस र मिनिट्रकले काठमाडौं आउँदा १ सय १५ रुपैयाँ र जाँदा ८० रुपैयाँ तोकिएको छ भने बस तथा ट्रकले काठमाडौं आउँदा २ सय ६० र जाँदा २ सय रुपैयाँ दस्तुर तिर्नुपर्ने छ । यसैगरी भारी उपकरणका सवारीसाधनका लागि भने काठमाडौं आउँदा ६ सय र जाँदा २ सय ५० दस्तुर तोकिएको छ ।

  • हरिबोधिनी एकादशीः एक दिनमै २६ हजारले गरे चाँगुनारायण दर्शन

    हरिबोधिनी एकादशीः एक दिनमै २६ हजारले गरे चाँगुनारायण दर्शन

    भक्तपुर, कात्तिक १५ गते। भक्तपुरको चाँगुनारायण मन्दिरमा हरिबोधनी एकादशीका दिन आज २६ हजारभन्दा बढीले भक्तजनले दर्शन गरेका छन्। नेपालकै सबैभन्दा पुरानो प्राचीन धरोहरका रूपमा परिचित एक हजार ८०० वर्ष पुरानो लिच्छवीकालीन ऐतिहासिक चाँगुनारायण मन्दिरको आज २६ हजारभन्दा बढीले भक्तजनले दर्शन गरेका हुन्। मन्दिरका मूल पुजारी चक्रधरानन्द राजोपाध्यायले उपत्यकाका चारमध्येको जेठो नारायणका रूपमा मानिँदै आइएको चाँगुनारायण नगरपालिका–४ स्थित विश्व सम्पदा सूचीमा सूचीकृत चाँगुनारायण मन्दिरमा आज बिहानदेखि दर्शनार्थीको भीड घुइँचो लागेको बताए ।

    पुजारी राजोपाध्यायले चार नारायणको दर्शन गर्दा जेठो नारायणका रूपमा रहेको चाँगुनारायणको पहिला दर्शन गर्नसके उत्तम हुने मान्यता रहेको जानकारी दिए । चार नारायण जान नसक्नेले चाँगुनारायणको मात्रै दर्शन गर्दा पनि पुण्य प्राप्त हुने मान्यता रहेकाले यहाँ बिहानदेखि भक्तजनको घुइँचो लागेको उनको भनाई छ ।
    धार्मिक मान्यताअनुसार सृष्टिकालमा मधु र कैटभ नामक दुई दैत्यसँग युद्ध गरी विजयी प्राप्तपछि थकित भगवान् विष्णुले आषाढ शुक्ल एकादशीका दिन क्षीरसागरमा शयन गरेको दिनलाई हरिशयनी एकादशी भनिने र त्यसको ठीक चार महिनापछि भगवान् विष्णु पुनः जागा हुने भएकाले यसलाई हरिबोधनी अर्थात् ‘हरि जागरण’को प्रतीकका रूपमा मानिने परम्परा रहँदै आएको छ ।


    आजका दिन नारायण शयनबाट जागा हुने भएकाले यस दिन चाँगुनारायणमा दर्शन गर्दा भगवान्को नगर पर्ने र आशीर्वाद प्राप्त हुने जनविश्वास रहिआएको छ । चाँगुनारायण नगरपालिकाले यस वर्ष सञ्चालन गरेको नगरकोट भ्रमण वर्षका अवसरमा आन्तरिक तथा बाह्य पर्यटक र दर्शनार्थीको आगमन वृद्धि गर्न नगरले मेलालाई विशेष बनाएको नगरप्रमुख जीवन खत्रीले जानकारी दिए । मन्दिरलाई सयपत्री फूलको मालाले सिङ्गारिनाका साथै रात्रिकालीन प्रहरका लागि झिलीमिली बत्तीले रौनक बनाइएको थियो ।


    मन्दिर आउने नाका तथा स्वागतद्वार सिङ्गारिएको बताउँदै उनले मेलाका लागि स्वयंसेवक र सुरक्षाकर्मी परिचालन गरी व्यवस्थित बनाइएको उल्लेख गरे । नगरप्रमुख खत्रीले मन्दिर आउने दर्शनार्थीलाई भक्तपुर नगरपालिकाको देकोचा र व्यासी, चाँगुनारायण नगरपालिकाको तेलकोट, दुवाकोट, काठमाडौँ मूलपानीलगायत पाँचवटा नाकाबाट मन्दिर आउन सक्ने गरी सडकको व्यवस्थापन गर्नाका साथै ट्राफिक व्यवस्थापनका लागि प्रहरीसँग समन्वय गरिएको जानकारी दिए ।


    हरिशयनी एकादशीका दिन घरघरमा रोपिएको तुलसीको आज परम्पराअनुसार मठलाई सिङ्गारेर पूजा गरी माला लगाई दामोदरसँग विवाह गरिदिने परम्परा छ। आजको दिनमा व्रत बस्ने र चामलको परिकार खान नहुने परम्पराअनुसार पिँडालु र सक्खरखण्डको परिकार खाने प्रचलनसमेत रहेको छ। त्यसैगरी चाँगुनारायण नगरपालिकाल–५ छालिङ गोकुल गाउँस्थित प्रसिद्ध मच्छेनारायण मन्दिरमा पनि बिहानदेखि दर्शनार्थीको घुइँचो लागेको छ। नारायणका पूजा एवं दर्शन गर्न बर्तालुहरुको भीड लागेको स्थानीय गोकर्ण पुरीले जानकारी दिए । रासस

  • देशभरीका नारायण मन्दिरमा आज दिनभर भक्तजनको घुँइचो

    देशभरीका नारायण मन्दिरमा आज दिनभर भक्तजनको घुँइचो

    काठमाडौँ, कात्तिक १५ गते । हरिबोधिनी एकादशीको अवसरमा देशका विभिन्न भागमा अवस्थित नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । काठमाडौँ उपत्यकाका चार नारायण, भक्तपुरको चाँगुनारायण, ललितपुरको विशङ्खुनारायण, काठमाडौँका शेषनारायण र इचङ्गुनारायण स्थानका साथै काठमाडौँ उपत्यका र बाहिरका अन्य साना ठूला नारायण मन्दिरमा पनि भक्तजनको घुइँचो लागेको हो ।

    मन्दिरमा आज विशेष मेला लागेको छ । साथै नागार्जुन नगरपालिका –७ रामकोटस्थित बद्रीनारायण धाममा पनि मेला लागेको छ । यसैगरी तनहुँको व्यास नगरपालिका –९ स्थित सिद्धेश्वर राजापानी महादेव मन्दिरमा एकादशी मेला लागेको छ। काठमाडौँ उपत्यकाका चार नारायणस्थानमा जान नसक्नेले काठमाडौँको उत्तरमा रहेका बूढानीलकण्ठ नारायणस्थान र नारायणहिटीस्थित चतुर्बाहु नारायण मन्दिरको दर्शन गर्दा चार नारायणको दर्शन एवं पूजा गरे बराबरको फल पाइने विश्वास गरिन्छ । यी दुवै मन्दिर शेषशायी भगवान् नारायण विराजमान हुनुहुन्छ ।

    बूढानीलकण्ठको नारायणस्थानमा ठूलो ढुङ्गामा निर्मित हर र हरि भगवानको यस्तो मूर्ति विश्वमा अन्यत्र कतै नभएको बताइन्छ । वर्षमा एक दिन धेरै दर्शनार्थीले पूजा गर्न आउने गरेकाले दक्षिणकालीको शेषनारायण मन्दिरमा विशेष व्यवस्था गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । यसैगरी, बूढानीलकण्ठ नारायणस्थानमा पनि आजदेखि कार्तिक शुक्ल पूर्णिमाका दिनसम्म विशेष मेला लागेको छ।

    प्रत्येक वर्ष कात्तिक शुक्ल एकादशीका दिन भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँझिने भएकाले आजको दिनलाई हरिबोधिनी एकादशी भनिन्छ ।

    हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रतगरी विशेष पूजा गर्दैआएकोमा आज दामोदरसँग तुलसीको विवाह गर्ने प्रचलन छ । तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको दामोदरसँग विवाह गर्ने परम्परा बसेको हो । तुलसीको मठनजिकै विष्णुको प्रतीकका रुपमा निगालाका लिङ्ग गाडेर विधिपूर्वक पूजा गरिन्छ । कार्तिक महिनाभर सबै देवदेवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ । रासस

  • कांग्रेसका दुई महामन्त्री थापा र शर्मासँग प्रधानमन्त्रीको भेट, के भयो कुराकानी ?

    कांग्रेसका दुई महामन्त्री थापा र शर्मासँग प्रधानमन्त्रीको भेट, के भयो कुराकानी ?

    १५ कात्तिक, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले विभिन्न राजनीतिक दलका नेतासँग निर्वाचनका विषयमा परामर्श जारी राखेकी छिन् । शनिबार उनले नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग छलफल गरेकी छिन् । करिब एक घण्टा महामन्त्रीद्वयसँग आगामी निर्वाचनबारे छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ। हालसम्म सरकार र राजनीतिक दलका तर्फबाट भएका तयारी र आउँदा दिनमा गर्नुपर्ने कामका विषयमा खुलेर कुराकानी भएको प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले जानकारी दिए ।


    प्रधानमन्त्री कार्कीले चुनावमा राजनीतिक दलको स्पष्ट प्रतिबद्धता आउनुपर्ने बताइन् । त्यस क्रममा महामन्त्रीद्वयको भनाइ थियो, ‘औपचारिक निर्णय गर्न बाँकी भएता पनि नेपाली कांग्रेस निर्वाचनमा जान प्रतिबद्ध छ। अब चाँडै निर्णय गर्छौँ। नेकपा (एमाले) पनि राष्ट्रलाई निकास दिनका लागि निर्वाचनबाट भाग्न सक्दैन भन्ने नै लाग्छ। एमालेलाई मनाउन सरकारले पनि थप प्रयास गरोस्। हामी पनि प्रयास गर्छौँ।’

    उनीहरुले आफ्नो पार्टीले जेनजी युवालगायत अन्य दलसँग पनि तुरुन्तै गहन संवाद गर्ने बताए । जेनजीलगायत सबै राजनीतिक दलसँग गहन छलफल गरेर युवा आन्दोलनका मागलाई निर्वाचनअघि केके सम्बोधन गर्न सकिन्छ र निर्वाचनपछिको संसदको पहिलो बैठकले के के निर्णय गर्ने भन्ने विषयमा पनि अहिले नै सहमति गरेर जानुपर्ने धारणा उन्रीहरुले राखेका छन् । प्रधानमन्त्री कार्कीले एमाले नेतालाई पनि छलफलका लागि बोलाएकी छिन् । आज पार्टीको बैठक भएका कारण अर्को दिन भेट्ने एमाले नेतृत्वले बालुवाटारलाई जानकारी गराएको छ।

    प्रधानमन्त्री कार्कीले यसअघि पनि विभिन्न चरणमा फरकफरक दलका नेताहरुसँग छलफल गरेकी थिइन् । प्रधानमन्त्रीकै आह्वानमा सरकार, राजनीतिक दल र जेनजी युवाबीच त्रिपक्षीय संवाद पनि सौहार्दपूर्ण वातावरणमा सम्पन्न भइसकेको छ।

  • भोजपुरमा सडक दुर्घटना, दुई जनाको मृत्यु

    भोजपुरमा सडक दुर्घटना, दुई जनाको मृत्यु

    १५ कात्तिक, काठमाडौं । भोजपुरको उत्तरी षडानन्द नगरपालिका –४ दुबेस्थित चाम्लादाङबाट दिङ्ला आउँदैगरेको ट्याक्टर अनियन्त्रित भएर दुर्घटना हुँदा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । प्रदेश नं १–०२–००३ त १२१३ नम्बरको ट्याक्टर लकडी लिएर आउने क्रममा अनियन्त्रित भएर सडकबाट ३० मिटर तल झरेको थियो ।

    ट्याक्टरमा सवार ६ जनामध्ये २ जनाको घटनास्थलमै मृत्यु भएको छ । घाइते ४ जनाको उपचारका लागि नगर अस्पताल दिङ्ला लगिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी दिपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार ट्याक्टर चालक षडानन्द नगरपालिका –४ केराबारीका आइतबहादुर तामाङ र अरुण गाउँपालिका –४ चरम्बी निवासी नवीन तामाङको ट्याक्टरले किचेर घटनास्थलमै मृत्यु भएको छ ।

    त्यस्तै, घाइते षडानन्द नगरपालिकाका १९ वर्षीय दाछिरी शेर्पा, २२ वर्षीय अम्बरबहादुर तामाङ, १८ वर्षीय सागर तामाङ र १८ वर्षीय सुनिता तामाङको नगर अस्पताल दिङलामा उपचार भइरहेको छ । शवलाई कानुनी प्रक्रिया पूरागरी पोस्टमार्टम गर्न लैजाने तयारी हुदैँछ । घटना बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • काठमाडौंको तीनकुनेमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

    काठमाडौंको तीनकुनेमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

    १५ कात्तिक, काठमाडौं । काठमाडौंको तिनकुनेमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका–३२ तिनकुनेस्थित सडकमा नयाँ बानेश्वरबाट कोटेश्वरतर्फ जाँदै गरेको बाप्र–०२–०५९प ४८९१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक काभ्रे पनौती घर भएका ३३ वर्षीय नवराज पुरीको आज दिउँसो मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका पुरीको उपचारका क्रममा सिभिल अस्पतालमा मृत्यु भएको छ भने एकजना घाइतेको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

  • लिग-२ मा नेपालको कमजोर प्रदर्शन जारी, अमेरिकासँग पुनः हार

    लिग-२ मा नेपालको कमजोर प्रदर्शन जारी, अमेरिकासँग पुनः हार

    १५ कात्तिक, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत यूएईमा भइरहेको ओडिआई शृंखलामा नेपालले लगातार तेस्रो हार बेहोरेको छ । शनिबार भएको खेलमा नेपाललाई अमेरिकाले ४ विकेटले हराएको हो । नेपालले दिएको २७२ रनको लक्ष्य अमेरिकाले ४९ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्‍यो । अमेरिकाका लागि साइतेजा मुक्कमल्लाले सर्वाधिक ७५ रन बनाए । त्यस्तै मिलिन्द कुमारले ७० रन बनाए । शयान जहागिरले ३६ रन बनाए ।

    नेपालका लागि सन्दीप लामिछानेले १० ओभरमा ५३ रन दिएर ३ विकेट लिए । नन्दन यादव, करण केसी र गुल्शन झाले १–१ विकेट लिए । त्यसअघि दुबईस्थित आईसीसी एकेडेमीमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले दीपेन्द्रसिंह ऐरीको अर्धशतक तथा करण केसीको फिनिसिङ मद्दतमा ४९ ओभर ५ बलमा अलआउट हुँदै २७१ रन बनाएको थियो ।

    दीपेन्द्रले सर्वाधिक ७५ रन बनाए । करण केसीले अन्त्यतिर आक्रामक फिनिसिङ गर्दै ३१ बलमा ४९ रन बनाए । त्यस्तै कुशल भुर्तेलले ४७, भीम सार्कीले ४३, कप्तान रोहित पौडेलले ३६ रन बनाए । अमेरिकाका लागि हर्मीत सिंहले १० ओभरमा ३३ रन दिएर ३ विकेट लिए । सौरभ नेत्रभल्कर र नोशथुस केन्जिगेले २-२ विकेट लिए भने जसदिप सिंह र शुभम रन्जानेले १-१ विकेट लिए ।

    जारी शृंखलामा लगातार तेस्रो जित निकालेको अमेरिका लिग २ तालिकाकै शीर्ष स्थानमा यथावत् छ । अमेरिकाको २३ खेलमा ३४ अंक छ । नेपाल १९ खेलमा १२ अंकसहित सातौंमा यथावत् छ । पहिलो खेलमा नेपालले अमेरिकासँग १०६ रनको ठूलो हार बेहोरेको थियो । त्यस्तै दोस्रो खेलमा बिहीबार यूएईसँग ५ विकेटले पराजित भएको थियो ।

  • प्रचण्डसँग बिच्किए जनार्दन, प्रचण्डले भने : अराजक

    प्रचण्डसँग बिच्किए जनार्दन, प्रचण्डले भने : अराजक

    १५ कात्तिक, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पार्टीका नेता जनार्दन शर्माले अराजक व्यवहार देखाएको आरोप लगाएका छन्। शनिबार बसेको पार्टीको सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनका अनुसार बैठक राम्रो किसिमले चलिरहेको थियो तर आफ्ना कुरा राखेपछि शर्मा बाहिरिएका थिए । दाहालले शर्माको त्यो शैली राम्रो नभएको टिप्पणी गरे । माओवादी केन्द्रले माओवाद छोडेर पार्टी एकता गर्न खोजेको र महाधिवेशन टार्न लागेको शर्माले आरोप लगाएका थिए ।

    दाहालले भने, ‘केही जाँदैन, हाम्रो पार्टी सबै एकजुट भएको छ । केन्द्रीय समिति बैठकसम्म जनार्दन पनि एक हुनेछन् र हुनै पर्छ भन्ने विश्वास हामीलाई छ । बैठक राम्रो रूपमा सुरु भएको थियो । उहाँले विषय राख्नुभयो, ल, बस्नुस्, सबैका कुरा सुन्ने, भनेर भनिएको थियो, तर उहाँ उठेर हिँड्नुभयो । उहाँको त्यो शैली राम्रो होइन, कसैलाई मन पर्ने शैली होइन । त्यो अराजकता हो ।’ दाहालले केन्द्रीय समिति बैठकसम्म शर्मा पनि एक हुने विश्वास व्यक्त गर्दै माओवादी केन्द्र एकजुट रहेको दाबी गरे ।

  • आज हरि बोधिनी एकादशी : घरमा रोपिएको तुलसीलाई दामोदरसँग विवाह गरिँदै

    आज हरि बोधिनी एकादशी : घरमा रोपिएको तुलसीलाई दामोदरसँग विवाह गरिँदै

    १५ कात्तिक, काठमाडौं । वैदिक सनातन हिन्दू धर्मावलम्बीले भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गर्दैछन् । प्रत्येक वर्ष कात्तिक शुक्ल एकादशीका दिनमा मनाइने हरि बोधिनी एकादशी पर्व आज तुलसी र दामोदरको विवाह गरी मनाउन लागिएको हो । असार शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँतिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ । हरि शयनीदेखि हरि बोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दछन् ।

    विष्णु क्षिर सागरमा सुतेकाले यी चार महिना विवाह ब्रतवन्धजस्ता माङ्गलिककार्य नगरिने परम्परा छ । यस समयमा खोला, नदी नालामा बाढी पहिरो आउने र सर्पजस्ता जीवको भयका कारण यात्रा नगर्नु शुभ मानिन्छ । हरिशयनी एकादशीका दिन घरघरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूल मालाले सजाएर विवाह गरिन्छ । तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको दामोदरसँग विवाह गर्ने परम्परा बसेको हो । तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रूपमा निगालाको लिङ्ग गाडेर विधिपूर्वक पूजा गरिन्छ ।

    कात्तिक महिनाभर सबै देवदेवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ । हरिशयनी एकादशीदेखि पूजा गरिएको तुलसीको उद्यापन अग्निस्थापना विधिबाट विशेष पूजा र हवनसहित गरिन्छ । आजदेखि मार्गशीर्ष कृष्ण पञ्चमीसम्म अग्निस्थापना नजुरेका दिन पनि अग्निस्थापना विधिबाट विशेष पूजा र हवन गर्न सकिने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् प्रा तोयराज नेपालले बताए ।

    आदिकालदेखि पूजाको परम्परा बसेको तुलसीको महिमा वैज्ञानिकरूपमा पनि लाभदायक प्रमाणित भएको छ । यसैले तुलसीको मठ हुने घरलाई तीर्थ समान मानिन्छ । तुलसीको सुगन्धले दश दिशा पवित्र हुन्छ भनिन्छ । तुलसीको पूजा गरिएको घरमा यमदूत पनि पस्दैनन् भन्ने आस्थाका कारण हिन्दू धर्मावलम्बीले घरमा तुलसीको मठ बनाउँछन् ।

    तुलसीको पात, डाँठ, वा फूलको रस रुघाखोकी र औलो लगायत रोगका लागि औषधि हुन्छ । यो रस शरीरमा लगाएर सुतेमा लामखुट्टेले टोक्दैन । तुलसीको मठ भएको स्थल वरपर विषालु सर्प पनि आउँदैन । मठको वरपर वहने हावाले विषालु कीटाणुलाई नष्ट गर्दछ । शरद ऋतुभर सबै प्राणीका लागि तुलसीलाई महा औषधि मानिन्छ ।

    तुलसीबाट बनेको चिया मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्न उपयुक्त मानिन्छ । कात्तिक महिनामा तुलसीको माला लगाउँदा र एक लाख तुलसीपत्र विष्णुलाई अर्पण गर्दा मनोकांक्षा पूरा हुन्छ भन्ने विश्वास छ । गरुड पुराणमा उल्लेख भएअनुसार यस महिनामा एउटा तुलसीपत्र भगवान् विष्णुलाई अर्पण गर्दा १० हजार गाई दान गरे बराबरको फल मिल्दछ ।

    आजका दिन भगवान् विष्णुको मूर्तिलाई रथमा राखी यात्रा गराउने प्रचलन पनि छ । रात्रिमा “गोविन्द उठ्नुस् तपाईँ सुते जगत् सुत्छ, तपार्इँ उठे जगत् उठ्छ” भन्दै शङ्ख, घन्ट र ढोल बजाएर विष्णुलाई जगाउने गरिन्छ । यसको प्रतीकका रूपमा मानवका पाँच ज्ञानेन्द्रिय र पाँच कर्मेन्द्रिय एवम् मन गरी एघार वटालाई जित्न उपयोग गरिने शास्त्रीय मान्यता छ ।

    किसानले उखुको बोट मठमा गाड्छन् । आजको दिन अन्न खान नहुने भएकाले सखरखन्ड, पिँडालु र वनतरुल उसिनेर फलाहार गरिन्छ । यसरी व्रत गरेमा पापको नाश भई पुण्य वृद्धि हुने र मोक्ष प्राप्ति हुन्छ भन्ने धार्मिक विश्वास छ । ठूलो एकादशी पनि भनिने आजको एकादशी व्रतले हजार अश्वमेध यज्ञ तथा राजसूय यज्ञ गरे बराबरको फल पाइने शास्त्रीय मान्यता छ ।

    कात्तिक महिनामा भगवान् विष्णुलाई भक्तिपूर्वक सम्झी गरिएको स्नान, दान, जप र होमले फल पाइने एवम् सय जन्मका पापबाट मुक्ति मिल्ने प्रसङ्ग विभिन्न ग्रन्थमा वर्णन गरिएको छ ।

    आजका दिन धादिङको नीलकण्ठ नगरपालिका वडा ४ स्थित ऐतिहासिक कालिका मन्दिरमा विशेष मेला लाग्ने गर्दछ । यसैगरी काठमाडौँ उपत्यकाका चार नारायण, भक्तपुरको चाँगुनारायण, ललितपुरको विशङ्खुनारायण, काठमाडौँका शेष नारायण र इचँगुनारायण स्थानमा विशेष मेला लाग्दछ । यहाँ जान नसक्नेले काठमाडौँको उत्तरमा रहेका बूढानीलकण्ठ नारायणस्थानको दर्शन गर्दा चार नारायणको दर्शन र पूजा गरे बराबरको फल पाइने विश्वास गरिन्छ ।

    यसैगरी नारायणहिटस्थित चातुव्र्युह नारायणस्थानमा गई पूजा, आराधना एवं दर्शन गर्नाले पनि काठमाडौँ उपत्यकाका चारै नारायणस्थानमा पुगे बराबरको फल पाइने शास्त्रीय मान्यता रहेको मन्दिरका मठाधीश डा राजेश्वरानन्दले जानकारी दिनुभयो । आजै देशभरका नारायण मन्दिरमा विशेष पूजा गरी यो पर्व मनाइन्छ ।

    रासस

  • तिलिचो बेस क्याम्पमा फसेका ११ पर्यटकको उद्धार

    तिलिचो बेस क्याम्पमा फसेका ११ पर्यटकको उद्धार

    १५ कात्तिक, काठमाडौं । उच्च हिमपात र अविरल वर्षाका कारण पाँच दिनदेखि तिलिचो बेस क्याम्पमा फसेका ११ जना आन्तरिक पर्यटकको उद्धार गरिएको छ । सशस्त्र प्रहरी बलको माउण्टेन रेस्क्यु ट्रेनिङ्ग स्कूल (एमआरटीएस) बाट खटिएको माउन्टेन रेस्क्यू टिमले उनीहरुको सफलतापूर्वक उद्धार गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता एवम् डिएसपी शैलेन्द्र थापाले जानकारी दिए । उद्धार गरिएका पर्यटकहरूमा एक जनाको खुट्टामा चोट लागेका, एक जना नौ वर्षीय बालक, एक जना महिला बिरामी र अन्य सामान्य अवस्थाका व्यक्ति रहेका छन् । सबैको अक्सिजन लेभल कम रहेको बताइएको छ ।

    उद्धार कार्य साँघुरो, भिरालो र दुई फिट बरफ जमेको कठिन बाटो हुँदै नौ घण्टाको यात्रापछि सम्पन्न भएको हो । पर्वतीय उद्धार तालिम शिक्षालयबाट एसपी टोपबहादुर डाँगीको कमान्डमा मेडिकल तथा माउन्टेन रेस्क्यू टिमले विशेष माउन्टेन रेस्क्यू गियर र उपकरणहरूको प्रयोग गरी यो जोखिमपूर्ण कार्य सम्पन्न गरेको छ । पर्यटकहरूको अवस्था सामान्य रहेको र उनीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

    उक्त शिक्षालयमा यो आर्थिक वर्षमा पहिलो पटक ‘हाई अल्टिच्युड सर्च एन्ड रेस्क्यू तालिम सञ्चालन गरिएको थियो । यस तालिमका क्रममा पर्वतीय उद्धार तालिम शिक्षालयका प्रशिक्षक तथा प्रशिक्षार्थी गरी ३९ जनाले अश्विन महिनाको अन्तिम सातामा चुलु फार इस्ट ९६,०३८ मिटर० को सफल आरोहण गरेका थिए । यसले सशस्त्र प्रहरी बल्को माउन्टेन रेस्क्यूको क्षमता अभिवृद्धि गरेको छ र भविष्यमा यस्ता घटनाहरूमा थप प्रभावकारी भूमिका निर्वाह गर्न सक्षम बनाएको छ ।

    सशस्त्र प्रहरी बलले उच्च हिमाली क्षेत्रमा पर्यटकहरूको सुरक्षाका लागि यस्ता तालिम र अभ्यासहरूलाई निरन्तरता दिने छ । हिमाली क्षेत्रमा भएका यस्ता घटनाले नेपालको पर्यटन क्षेत्रमा मौसमी जोखिमहरूको सामना गर्न आवश्यक पूर्वतयारीको महत्त्वलाई उजागर गरेको सशस्त्र प्रहरी बलको अनुभव रहेको छ ।

  • विश्व क्रिकेट लिग २ मा आज नेपाल र अमेरिका भिड्दै

    विश्व क्रिकेट लिग २ मा आज नेपाल र अमेरिका भिड्दै

    १५ कात्तिक, काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग २ अन्तर्गत यूएईमा जारी ओडिआई शृंखलाको आफ्नो तेस्रो खेलमा नेपालले आज अमेरिकासँग खेल्दै छ । दुबईस्थित आईसीसी एकेडेमीमा हुने खेल नेपाली समय अनुसार बिहान सवा ११ बजेदेखि सुरु हुनेछ । जारी शृंखलामा नेपालले हालसम्म खेलेका दुवै खेल हारेको छ । पहिलो खेलमा नेपालले अमेरिकासँग १०६ रनको ठूलो हार बेहोरेको थियो ।

    त्यस्तै दोस्रो खेलमा बिहीबार यूएईसँग ५ विकेटले पराजित भएको थियो । नेपाललाई अब बाँकी दुवै खेल जित्नुपर्ने दबाब छ । अमेरिकाले भने नेपाल र यूएई दुवैलाई हराइसकेको छ र लिग २ मा दबदबा कायमै राखेको छ । लिग २ को तालिकामा हाल अमेरिका २२ खेलमा ३२ अंक जोडेर शीर्ष स्थानमा छ भने नेपाल १८ खेलमा १२ अंक जोडेर सातौं स्थानमा छ ।