Category: फिचर

  • बिपी राजमार्गमा शनिबार बिहानदेखि सवारी खुलाइने

    बिपी राजमार्गमा शनिबार बिहानदेखि सवारी खुलाइने

    काभ्रेपलाञ्चोक, २४ असोजः गत साताको बाढीले क्षतिग्रस्त बिपी राजमार्गको विभिन्न खण्डमा अस्थायी सडक बनाइ शनिबार बिहानदेखि सवारी सञ्चालनको तयारी गरिएको छ । हाल राजमार्गको काभ्रेपलाञ्चोकको सडकखण्डमा खोला फर्काएर ‘डाइभर्सन’ निर्माण भइरहेको छ ।

    आज बिहानसम्मा राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–६ स्थित चौकीडाँडादेखि रोशी गाउँपालिकाको चिउरीबाससम्म ‘ट्रयाक’ खोली सकिएको डिभिजन सडक कार्यालय भक्तपुरका प्रमुख सिनियर डिभिजनल इान्जिनियर सुमान योगेशले बताए । उनका अनुसार आज दिउँसोसम्म क्षतिग्रस्त राजमार्गको सम्पूर्ण खण्डमा ट्र्याक खोल्ने योजना छ ।

    “ट्र्याक खोलिसकेपछि पुनः एकपटक सडकको अवस्था हेरेर केही गाडीद्वारा परीक्षण गर्नेछौँ, शनिबार बिहानदेखि पूर्णरुपमा राजमार्ग सञ्चालनमा ल्याइनेछ”, उनल भने । रोशी खोलाको बाढीले रोशी क्षेत्रमा करिब चार किलोमिटर सडक कटान गरेको थियो । मङ्गलबारदेखि औपचारिक रुपमा डाइभर्सन निर्माण थालिएको हो ।

    योगेशले बिहीबार दिउँसोदेखि रातको समयमा करिब दुई दर्जन मेसिनद्वारा अस्थायी सडक निर्माण गरिरहेको बताए । उनले भने, “सबै ट्र्याक खोलिसकेपछि बनेको सडकका घुम्ती र साँघुरा स्थानमा थप मर्मत गर्नुपर्ने देखिन्छ, आज साँझसम्ममा सडक खोल्ने काम पूरा भइसक्छ ।” उनका अनुसार अहिले रोशी गाउँपालिकाको माम्ती क्षेत्रमा डाइभर्सन निर्माण भइरहेको छ ।

    बाढीपहिरोले राजमार्गको १७ स्थानमा क्षति पु¥याएको थियो । सोही क्षेत्रमा गत वर्षको बाढीपहिरोले सडक क्षतिग्रस्त बनाएपछि डाइभर्सन बनाएर अस्थायी रुपमा सडक सञ्चालन हुँदै आएको थियो । बिहीबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले क्षतिग्रस्त उक्त राजमार्गको विभिन्न खण्डको अवलोकन गरी छिटोभन्दा छिटो राजमार्ग सञ्चालन गर्नेगरी बनाइरहेको ‘डाइभर्सन’ निर्माण कार्यलाई तीव्र बनाउन सडक विभागका अधिकारीलाई निर्देशन दिएका थिए ।

    घिसिङले रातको समयमा काम गरेर भए पनि आज बेलुकासम्ममा यातायात सञ्चालन हुनेगरी कामलाई तीव्रता दिन भनेका थिए । कार्यालयले क्षतिग्रस्त राजमार्ग स्थायी निर्माणका लागि चार खण्डमा ठेक्काको प्रक्रियामा अघि बढाइरहेको थियो । पूर्वी नेपाल जोड्ने छोटो दूरीका रुपमा रहेको उक्त राजमार्गबाट दैनिक हजारौँ यातायातका साधन आवतजावत हुने गर्छन् ।

  • टिकटक भिडियो बनाउन खोलामा हाम फालेका व्यक्ति मृत फेला

    टिकटक भिडियो बनाउन खोलामा हाम फालेका व्यक्ति मृत फेला

    बारा, २४ असोजः लगातार परेको अविरल वर्षाका कारण दुधौरा खोलाको पुलबाट यही असोज १९ गते हाम फालेको टिकटक भिडियो बनाउने क्रममा बेपत्ता भएका बाराको प्रसौनी गाउँपालिका–२ निवासी २१ वर्षीय विकी गोसाइँको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

    उनको छ दिनपछि गण्डक जाने बङ्गरी पुल नजिक शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता विजयराज पण्डितले जानकारी दिए । गोसाइँ असोज १९ गते आइतबार बिहान ८ः३० बजे दुधौरा खोलाको पुलबाट हाम फालेका थिए । उनको सशस्त्र प्रहरी र नेपाली सेनाको गाताखोरले खोजतलास गरेको थियो । गोसाइँका साथमा हामफालेका २० वर्षीय अनुराग केशरवानी पौडेर नदी किनारमा आएका थिए ।

    इलाका प्रहरी कार्यालय प्रसौनीका प्रमुख प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठका अनुसार, नेपाली सेनाका लप्टन नीरज राईको कमान्डमा २३ जना, सशस्त्र प्रहरी निरीक्षक इन्द्रजङ्ग थापाको नेतृत्वमा १० जना र प्रहरी सहायक निरीक्षक राजनारायण महतोको कमान्डमा १० जना गरी ४३ जनाको टोली मोटरबोट र गोताखोरको सहयोगमा खोजीमा खटिएको छ ।

    सशस्त्र प्रहरी विपद् व्यवस्थापन गण निजगढका प्रहरी नायब उपरीक्षक सन्दीप अर्यालको नेतृत्वमा खोलाको एक किलोमिटर क्षेत्रमा तीव्र खोजबिन भइरहेको छ । खोजी दुधौरा खोलाको पुलदेखि फेटा गाउँपालिका–१ त्रिवेणीको झुलेङ्गे पुल, त्रिवेणीको नहर पुल, विश्रामपुर गाउँपालिका–५ नकटुवा हुँदै फेटा गाउँपालिका–२ चिलझपटीसम्म सञ्चालन गरिएको छ ।

  • सुनको मूल्यमा एकै दिन भारी गिरावट

    सुनको मूल्यमा एकै दिन भारी गिरावट

    काठमाडौँ, २४ असोजः सुनको मूल्यमा सामान्य गिरावट भएको छ । बिहीबारको तुलनामा एक तोला सुन रु चार हजार २०० ले सस्तो भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार रु दुई लाख ३९ हजार २०० मा कारोबार भएको एक तोला सुनको मोल आज रु रु चार हजार २०० ले घटेर रु दुई लाख ३५ हजार कायम भएको छ ।

    चाँदीको मूल्य भने बढेको छ । बिहीबार एक तोला चाँदी रु तीन हजार २५ मा खरिदबिक्री भएकामा आज त्यति नै परिमाणको चाँदी रु तीन हजार ८५ मा क्रयविक्रय भइरहेको महासङ्घले जनाएको छ । अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ५८ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

  • सकसपूर्ण दसैँयात्रा

    सकसपूर्ण दसैँयात्रा

    सिबी अधिकारी/रासस

    काठमाडौँ, २४ असोज । सामान्य अवस्थामै पनि हरेक वर्ष दसैँको यात्रा निकै सकसपूर्ण हुने गरेको छ । चाहे त्यो हवाईजहाजको यात्रा होस् या सडकयात्रा दुवै कष्टकरपूर्ण हुन्छ । सङ्घीय राजधानी काठमाडौँ बाहिरका गन्तव्य जाने र दसैँ सकिएपछि गन्तव्य फर्किने नागरिकको सङ्ख्या अत्यधिक भएकाले हरेक वर्ष दसैँको यात्रा कष्टकर हुने गरेको छ । हवाई उडान महँगो भए पनि यात्रुले सहज रूपमा टिकट नपाउने समस्या छ । बसकोे टिकट पाउन पनि मुस्किल पर्छ । सधैँजसो दसैँको सकसपूर्ण यात्रालाई यसपटकको प्राकृतिक विपत्तिले झनै सकसपूर्ण बनायो ।

    दसैँको विजयादशमीको भोलिपल्ट अर्थात् असोज १७ देखि २० सम्म निरन्तरको भारी वर्षाले मुलुकभरको जनजीवन प्रभावित भयो । मानवीय क्षति व्यहोर्नुपर्यो । राजधानी प्रवेश गर्ने मुख्य नाकाहरू अवरुद्ध भए । हवाई आवागमन पनि एक दिन पूर्ण रूपमा अवरुद्ध भयो । असोज १८ गते उडान प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने सबै आन्तरिक उडान रद्दसमेत भयो । उक्त दिन प्रतिकूल मौसम तथा खराब ‘इनरुट’का कारण हवाई उडान रद्द हुँदा उडानमा समेत अत्यधिक चाप बढ्यो ।

    वायुसेवा सञ्चालक सङ्घका अध्यक्ष मनोज कार्कीले हरेक वर्ष दसैँको बेला उडान चाप व्यहोरिरहेका हवाई कम्पनीलाई यसपटक दसैँमै भएको प्राकृतिक विपत्तिले उडान चाप हुँदा यात्रुले निकै सकस व्यहोर्नुपरेको बताउनुभयो । उहाँले भन्नुभयो, “दसैँमा सामान्य अवस्थामा पनि हवाई उडान अत्यधिक चाप हुन्थ्यो । यसपटक प्राकृतिक विपत्तिले झनै सास्ती दियो । गन्तव्य पुगेकालाई फर्कन झनै सकस भयो । सडक अवरुद्ध हुँदा हवाई उडान चाप बढ्यो ।”

    दसैँमा आवतजावत गर्ने महत्त्वपूर्ण माध्यम भनेको सडक तथा हवाई यातायात नै हो । अझ प्रभावकारी यातायातका रूपमा हवाईसेवालाई लिइन्छ । बर्सेनि दसैँका बेला यात्रुलाई हवाई जहाजको टिकट पाउन सकस हुन्छ । वायुसेवा प्रदायक कम्पनीले दसैँ आउन एक महिनाअघि नै जहाजको टिकट बुकिङ पूर्ण भइसकेको बताउँछन् ।

    उसै पनि दसैँमा चाप हुने गरेको हवाई उडान वर्षात्पछिका बाढीपहिरोको विपत्तिले थप समस्या निम्त्यायो । यात्रुले महँगो मूल्य तिरेर पनि हवाई टिकट पाउन सकेनन् । समस्यामा परेका यात्रु दुई÷चार दिनसम्म टिकटका लागि भौतारिनुपर्यो । हवाईसेवा कम्पनीलाई पनि यात्रुको चाप र प्रेसर धान्न ठूलै सकस भयो । यात्रुलाई मागबमोजिम टिकट उपलब्ध गराउन नसक्नु र हवाई उडान व्यवस्थापनको चुनौतीले एयरलाइन्स कम्पनीले पनि उत्तिकै सकस व्यहोरे । यात्रुको चाप बढेपछि एयरलाइन्सले केही गन्तव्यमा उडान थपेर पनि सेवा दिए । राति २ः०० देखि ३ः०० बजेसम्म पनि उडान गर्नुपर्ने बाध्यता रह्यो ।

    दश दिनमा एक लाख ३४ हजारले गरे हवाईयात्रा

    त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको तथ्याङ्कानुसार दश दिनमा करिब डेढ लाखले हवाईयात्रा गरेका छन् । असोज १२ देखि २१ गतेसम्म कुल एक लाख ३४ हजार ५१५ यात्रुले हवाईयात्रा गरेका हुन् । यसमध्ये ७४ हजार ५९१ यात्रु बाहिरिए भने ५९ हजार ५४४ यात्रु काठमाडौँ भित्रिएका छन् । उक्त अवधिमा एक हजार २८५ उडान र एक हजार २६३ अवतरण गरी कुल दुई हजार ५४८ उडान भएका छन् ।

    एकै दिन १९ हजार २५५ हवाईयात्रु

    विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार गत असोज २० गते आन्तरिकतर्फ एकैदिन १९ हजार २५५ यात्रु आवतजावत गरेका छन् । जसमध्ये नौ हजार ९३६ हवाई यात्रु काठमाडौँ भित्रिए भने नौ हजार १३८ बाहिरिएका छन् । एक सय ८१ यात्रुले पर्वतीय उडान ९माउन्टेन फ्लाइट० गरेका छन् । उक्त दिन आन्तरिकतर्फ १६४ उडान र १६० अवतरण गरी ३२४ उडान भएका थिए ।

    आकडाअनुसार असोज १२ गते १४ हजार १८९, १३ गते १३ हजार १३५, १४ गते ११ हजार ७६९, १५ गते ११ हजार ८९१, १६ गते १३ हजार ३०९, १७ गते १६ हजार ३४५, १८ गते मात्र ६०३, १९ गते १६ हजार ३००, २० गते १९ हजार २५५ र २१ गते १७ हजार ७२२ यात्रुले हवाईयात्रा गरेका छन् ।

    वर्षाले सडक अवरुद्ध भएपछि सडक सवारीसाधनबाट यात्रा गर्ने यात्रुले पनि हवाईयात्रा रोज्नुपर्ने बाध्यता भएकाले यसपटक हवाई उडानमा बढी चाप भएको सङ्घका अध्यक्ष कार्कीले बताउनुभयो । यात्रुको चापले एयरलाइन्सलाई उडान व्यवस्थापन गर्न पनि कठिनाइ भएको उहाँको भनाइ छ ।

    दसैँको समयमा भएको प्राकृतिक विपत्तिले एयरलाइन्सलाई उडान व्यवस्था गर्न निकै चुनौती भएको बुद्ध एयरका बजार निर्देशक रूपेश जोशीले बताउनुभयो । “दसैँको एक दिन सम्पूर्ण उडान रद्द हुँदा त्यसको तीनचार दिनसम्म उडान व्यवस्थापन गर्न कठिन भयो”, उहाँले भन्नुभयो, “बिहीबारसम्म एयरलाइन्सलाई उडान व्यवस्थापनमा समस्या भएको छ । शनिबारदेखि सामान्य अवस्थामा आउला ।”

    बुद्ध एयरले मात्रै असार २० गते एकै दिन ११ हजार र २१ गते ११ हजार हाराहारी उडान गरेको छ । कम्पनीले अहिले दुईतर्फी दैनिक १६० उडान गर्दै आएको छ । उडान चाप बढेका बेला प्रतिकूल मौसमले उडान अवरोध हुँदा थप समस्या भएको निर्देशक जोशीको भनाइ छ ।

    यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले दसैँको बेलाको प्राकृतिक विपत्तिले हवाई उडान व्यवस्थापन निकै सास्ती व्यहोर्नुपरेको बताउनुभयो । उहाँले भन्नुभयो, “दसैँमै एक्कासी परेको वर्षाले प्रतिकूल मौसम हुँदा उडानमा समस्या भयो । गत वर्ष दसैँ अगाडि नै मनसुनी वर्षा भएकाले तुलनात्मक रूपमा दसैँमा उडान व्यवस्थापन गर्न कठिन भएको थिएन । यो पटक हवाईयात्रा सकसपूर्ण रह्यो ।” क्षमताभन्दा बढी उडान गर्नुपर्ने र टिकटका लागि यात्रुको प्रेसर थेगिनसक्नु रहेको प्रवक्ता बर्तौलाले बताउनुभयो । यतीले अहिले दैनिक दुइतर्फी ६० देखि ७० उडान गरिरहेको छ ।

    यता श्री एयरलाइन्सका संस्थागत प्रबन्धक अनिल मानन्धर पनि यसपटक उडान व्यवस्थापन र यात्रुको चाप धान्न निकै कठिन भएको बताउनुहुन्छ । केही गन्तव्यमा उडान थपिए पनि उडान ‘डिले’ हुँदा व्यवस्थापनमा चुनौती बढेको बताउनुभयो । टिकटका लागि यात्रुको निकै प्रेसर थेग्नुपरेको उहाँले उल्लेख गर्नुभयो । श्रीएयरले पनि दैनिक दुईतर्फी करिब ७० उडान गर्दै आएको छ ।

    नेपाल नागरिक उड्डयन प्राधिकरणले तोकेको भाडादरअनुसार काठमाडौँदेखि सबैभन्दा लामो गन्तव्य धनगढीमा रु १७ हजार ५७९ र सबैभन्दा नजिक काठमाडौँ–सिमरामा रु तीन हजार ९७८ रहेको छ ।

    अविरल वर्षापछि आएको बाढीले बिपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध हुँदा हवाईयात्रा गर्ने यात्रुलाई समेत निकै सास्ती भयो । हाइवेको बाटो लामो घुम्ती पार गरेर यात्रा गर्नुपर्ने भएकाले करिब ८ देखि १० घण्टाको यात्रा थप १० घण्टा लामो सकसपूर्ण यात्रा गर्नुपर्ने बाध्यता भयो । बसको भाडा पनि झण्डै दोब्बर तिर्नुपर्यो यात्रुले । उदाहरणका रूपमा धरानबाट काठमाडौँ आउने बोलेरो जिपले साबिकमा रु दुई हजार भाडा लिने गरेकामा दसैँमा रु तीन हजारदेखि चार हजारसम्म भाडा लिएको पाइयो । त्यसैगरी, कटारी–काठमाडौँ साविकमा रु एक हजार २०० भाडा थियो । अहिले यात्रुले रु तीन हजारसम्म तिरेर यात्रा गर्न बाध्य भएका छन् ।

    हरेक वर्ष दसैँमा गाउँघर पुगेर आफन्त र साथीभाइसँग रामाइलो गर्ने चाहना सबैलाई हुन्छ । तर, दसैँमा एयरलाइन्सको टिकट पाउन मुस्किल हुन्छ । हवाईयात्रुको चाप बढ्छ । सीमित जहाज र पर्याप्त उडान नहुँदा बर्सेनि हवाईयात्रुले सास्ती व्यहोर्दै आएका छन् । हवाईयात्रा सहज, सुलभ र उडान सहजीकरण बनाउन सम्बन्धित निकायको बेलैमा ध्यान पुग्न जरुरी छ ।

  • एमाले सचिवालय बैठक आज

    एमाले सचिवालय बैठक आज

    काठमाडौँ, २४ असोज । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ५८ औँ सचिवालय बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको गुण्डुस्थित निवासमा आज ११ः०० बजे हुँदैछ । एमाले केन्द्रीय कार्यालय सचिव भीष्म अधिकारीका अनुसार बैठकमा आगामी केन्द्रीय कमिटीको कार्यसूची र समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ । केन्द्रीय कमिटी बैठक यही असोज २७ देखि २९ गतेसम्म यहाँ हुँदैछ ।

  • यसरी पुनहिलमा परिणत भयो ‘लुङटुङ’ डाँडा

    यसरी पुनहिलमा परिणत भयो ‘लुङटुङ’ डाँडा

    राम थापा र सन्तोष गौतम\रासस
    घोडेपानी (म्याग्दी), २४ असोज । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा अवस्थित पुनहिल चार दशकअघिसम्म ‘लुङटुङ’ डाँडामा सीमित थियो । कुनैबेला खिवाङगाउँका किसानको चरन क्षेत्र उक्त लुङटुङ डाँडा अहिले पुनहिलको नामले विश्व पर्यटन बजारमा चिनिएको छ ।

    समुद्री सतहबाट तीन हजार २१० मिटरको उचाइमा रहेको पुनहिल प्रकृतिप्रेमी पर्यटकको आकर्षणको केन्द्रमात्र बनेको छैन । आर्थिक रूपमा पछाडि परेको बस्तीलाई सबल बनाउनेदेखि स्थानीय तहको आन्तरिक आयस्रोतको दरिलो आधारसमेत बन्न पुगेको छ ।

    पुनहिलको फेदीमा रहेको घोडेपानीका होटल व्यवसायी एवं अन्नपूर्ण गाउँपालिकाका पूर्वअध्यक्ष डमबहादुर पुनका अनुसार पुनहिलको पर्यटन विकास र प्रवर्द्धनमा खिवाङका दिवङ्गत टेकबहादुर पुनको महत्त्वपूर्ण योगदान रहेको छ ।

    “विसं २०३० को दशकमा भारतीय सेनाबाट सेवानिवृत्त मेजर टेकबहादुरले अगुवाइ गरेर लुङटुङको डाँडामा पर्यटक भित्र्याउन पहल नगरेको भए जति नै सुन्दर भए पनि यो क्षेत्र ओझेलमै रहन्थ्यो”, उहाँले भन्नुभयो, “मेजर टेकबहादुरले लुङटुङको डाँडालाई पुनहिलको नामले चिनाएकै कारण यसको पहिचान देशविदेशमा फैलियो, पर्यटकीय गतिविधि सुरु भएपछि गाउँलेको आर्थिक हैसियत पनि बदलियो ।”

    पहिले घोडेपानी पोखरा हुँदै मुस्ताङ नुन बोक्ने, मुक्तिनाथ तीर्थयात्राका क्रममा थकान मेटाउने र बटुवाहरूले घोडालाई पानी खुवाउने थलो थियो । पोखरादेखि उल्लेरी हुँदै मुक्तिनाथको दर्शन र थाकखोलाको नुन ल्याउन जाने मानिसहरूले खिवाङका बासिन्दाले गाईभैँसी चराउनका लागि बनाएको गोठमा चिया, खाजा बनाएर खान्थे । उल्लेरीदेखि घोडेपानी हुँदै शिख र घारमा बास बस्न पुग्थे ।

    दर्जनौँ हिमाललाई एकै ठाउँबाट अवलोकन गर्न सकिने लुङटुङ डाँडामा गोठाला जाने क्रममा दिवङ्गत मेजर टेकबहादुरले देखेको पर्यटकीयस्थल बनाउने सपना साकार भएसँगै घोडेपानी र पुनहिलको परिचय फेरिएको गाउँपालिकाका पूर्वअध्यक्ष पुनले बताउनुभयो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनामा समेटिएपछि यस क्षेत्रका बारेमा अन्तरराष्ट्रियस्तरमा प्रचारप्रसारमा थप सहयोग पुगेको उहाँले बताउनुभयो ।

    स्थानीय अगुवा हरिबहादुर पुनको डिजाइनमा स्थानीयवासीको श्रमदानमार्फत पुनहिलबाट दृश्यावलोकनका लागि २०३५ सालमा काठको टावर बनाइएको थियो । काठको टावर दिगो नभएपछि मेजर पुनकै ज्वाइँ लेप्टेन राजु पुनको पहलमा चन्दा सङ्कलन गरी २०५७ सालमा अहिले रहेको आकर्षक र पक्की भ्यूटावर निर्माण गरिएको थियो ।

    सूर्योदय, सूर्यास्त, गुर्जा हिमालदेखि धवलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे, निलगिरिलगायतका दर्जनौँ हिमशृङ्खलाको अवलोकन गर्न सकिने यहाँको प्रमुख विशेषता भएको पथप्रर्दशक रूपक रिमालले बताउनुभयो । “चैतवैशाखमा पाखाभरि ढकमक्क फुल्ने थरिथरिका लालीगुराँससँग रमाउन र पुसमाघमा यहाँ हिउँ खेल्न पाइन्छ”, उहाँले भन्नुभयो, “प्रकृतिप्रेमी पर्यटकका लागि घोडेपानी–पुनहिल क्षेत्र उत्कृष्ट गन्तव्य हो, शान्त र एकान्त वातावरणमा रमाउन पाउँदा यहाँ आउने पर्यटकले यात्राको थकान पनि भुल्छन् ।”

    घोडेपानी–पुनहिल क्षेत्रको भ्रमणका लागि असोज, कात्तिक, फागुन, चैत र वैशाख महिना उपयुक्त समय हो । यस क्षेत्रमा वार्षिक ३० हजारको हाराहारीमा पर्यटक भित्रिने गरेका पर्यटक प्रहरी चौकी घोडेपानीको तथ्याङ्क छ । पुनहिल भ्रमण गर्ने पर्यटकबाट प्रवेश शुल्क उठाउन र चिया पसल सञ्चालन गर्न अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षमा रु ५४ लाखमा ठेक्का सम्झौता गरेको छ ।

    विदेशीले प्रतिव्यक्ति रु एक सय ५० र नेपालीले रु ५० का दरले प्रवेश शुल्क तिर्नुपर्छ । प्रवेश शुल्क सङ्कलन र चिया पसल सञ्चालनको ठेक्का लिएका व्यवसायी सुदीप पुर्जा पुनले पछिल्लो एक हप्तायता दैनिक एक सय ५० देखि दुई सय जनासम्म विदेशी पर्यटक आएका बताउनुभयो ।

    “गत वर्ष यही याममा दैनिक चार सय जनाको अनुपातमा पर्यटक आएका थिए”, उहाँले भन्नुभयो, “जेनजी प्रदर्शन र प्रतिकूल मौसमका कारण यसपालि पर्यटक आगमन केही घटेको छ ।” घोडेपानीमा बास बसेका पर्यटकहरू एकाबिहानै करिब ४० मिनेट उकालो पैदलयात्रा गरेर सूर्योदय र हिमशृङ्खलाको अवलोकनका लागि पुनहिल पुग्ने गर्छन् ।

    घोडेपानीमा हाल दैनिक एक हजार जनाभन्दा बढी बास बस्न सक्ने क्षमताको २३ वटा सुविधासम्पन्न होटल छन् । पर्यटकलाई अग्र्यानिक खानाका परिकार, सुविधासम्पन्न कोठा, इन्टरनेटलगायत सुविधा उपलब्ध गराइएको छ ।

    समुद्री सतहदेखि दुई हजार ८०० मिटर उचाइमा पहाडको टाकुरामा अवस्थित घोडेपानीका अधिकांश होटलका कोठाबाटै हिमाल देख्न पाउनु अर्को विशेषता हो । पर्यटकीय नगरी पोखरादेखि नयाँपुल हुँदै एकै दिनमा घोडेपानी पुग्न सकिन्छ ।

    यस्तै कास्कीको घान्द्रुक, म्याग्दीको भुरुङ तातोपानी र मोहरेडाँडा भएर पनि घोडेपानी पुग्न सकिन्छ । कास्कीको वीरेठाँटी–उलेरी–घोडेपानी, नयाँपुल–घान्द्रुक–घोडेपानी, म्याग्दीको नागी–महरे–फूलबारी–घोडेपानी र तातोपानी–घार–शिख हुँदै घोडेपानी पुग्न सकिने गरी पदमार्गहरू सञ्चालनमा छन् ।

    अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर हुँदै घार, शिख हुँदै सडकको प्रयोग गरेर पनि घोडेपानी पुग्न सकिन्छ । सङ्घीय र प्रदेश सरकारसँग सहकार्य गरेर पोखरेबगरदेखि घोडेपानी जोड्ने सडक स्तरोन्नति कार्य भइरहेको छ । कास्कीको नयाँपुल हुँदै घोडेपानी जोड्ने सडकको मार्ग खोलिएको अन्नपूर्ण गाउँपालिका–६ का वडाध्यक्ष रामबहादुर खड्काले बताउनुभयो ।

    “पुनहिलको ठेक्काबाट हुने आम्दानीको केही हिस्सा सोही क्षेत्रको पर्यटन पूर्वाधार विकासमा लगानी गरिरहेका छौँ ”, उहाँले भन्नुभयो, “पदयात्रा गर्न रुचाउने विदेशी पर्यटकसहित सवारीसाधनको सुविधा खोज्ने आन्तरिक पर्यटकलाई पनि पुनहिलमा भित्र्याउन प्रयास गरिरहेका छौँ ।”

    हालै मार्ग खुलेको कास्कीको नयाँपुलदेखि घोडेपानी हुँदै पोखरेबगर जोड्ने सडकलाई पोखरा–जोमसोम आवतजावतका लागि छोटो र विकल्पका रूपमा विकास गर्न लागिएको वडाध्यक्ष खड्काले बताउनुभयो ।

  • ‘दसैँ–तिहार, चेलीलाई उपहार’ अभियानमा ४३६ जनाले लिए निःशुल्क यातायात सेवा

    ‘दसैँ–तिहार, चेलीलाई उपहार’ अभियानमा ४३६ जनाले लिए निःशुल्क यातायात सेवा

    राष्ट्रिय समाचार समिति (रासस)
    खोटाङ, २४ असोज । जिल्लाका एक युवा समूहले चाडपर्वलाई लक्षित गरेर सञ्चालन गरेको ‘दसैँ–तिहार, चेलीलाई उपहार’ अभियानमा जिल्लाका चार सय ३६ जना छोरीचेलीले निःशुल्क यातायात सेवा दिएका छन् । नेपाल खेलकुद प्रतिष्ठानका अध्यक्ष सञ्जयकुमार राईको अगुवाइमा सञ्चालन गरिएको अभियानमा विभिन्न स्थानीय तहका युवाले आफ्नै मोटरसाइकलमार्फत निःशुल्क यातायात सेवा प्रदान गरेका हुन् ।

    जिल्लाका दशवटै स्थानीय तहका युवाले आफ्नै मोटरसाइकलमार्फत छोरीचेलीलाई घरदेखि माइतीघर र माइतीघरदेखि घरसम्म तथा मावलीघरसम्म लैजान र फर्काउने सेवा दिएका छन् । चाडपर्वको मौकामा अर्थाभाव तथा यातायातको पहुँच नपुगेको र सार्वजनिक सवारीसाधन भरिभराउ हँुदा भनेजस्तो सिट नपाएर माइती÷मावली जान नपाउने छोरीचेलीलाई लक्षित गरेर अभियान चलाइएको हो ।

    दसैँको टीका (असोज १६ देखि असोज १९ गते) सम्म सञ्चालन गरिएको अभियानका क्रममा जिल्लाका विभिन्न सडकखण्डको ३५ किलोमिटर दूरीभित्रका छोरीचेलीलाई माइत, मावल र घर फर्काउने सेवा दिइएको थियो । अभियानमा जोडिएका युवाले ६६ वटा मोटरसाइकल र शुभम् फाउण्डेसनको एउटा चारपाङ्ग्रे जीपमार्फत सेवा दिएका हुन् ।

    दशवटै स्थानीय तहमा संयोजक तोकेर सञ्चालन गरिएको अभियानअन्तर्गत दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल बजारबाट २०५ जनालाई मोटरसाइकल र ९० जनालाई जीपबाट निःशुल्क यातायात सेवा प्रदान गरिएको युवा समूहले जनाएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ हलेसी बजारबाट २३ जना, केपिलासगढी गाउँपालिकाको बाक्सिला बजारबाट ७५, दिप्रुङ चुइचुम्माबाट २१ तथा रावाबेँसीबाट २२ जनाले मोटरसाइकल सेवा लिएका छन् ।

    पहाडी भूगोल, कच्ची सडक र बर्खायामका कारण बिग्रेर अवरुद्ध बनेका सडकमा सबैतिर सार्वजनिक यातायात पुग्न नसक्ने अवस्था भएपछि छोरीचेलीलाई घरदेखि माइती तथा माइतीघरदेखि आफ्नो घरसम्म आवतजावत गराउन अभियान सञ्चालन गरिएको संयोजक राईले जानकारी दिनुभयो । “बिनास्वार्थ चाडपर्वमा समयमै गन्तव्य पुग्न र फर्कन सहज होस् भन्ने मानवीय भावनाले अभियान चलाएका हौँ । अब तिहारलक्षित अभियान पनि चलाउने योजना बनाएका छौँ”, उहाँले भन्नुभयो, “तिहारका लागि आउँदो कात्तिक ५ देखि ७ गतेसम्म अभियान चलाउने तयारी गरिएको छ । यस वर्षको दसैँ र तिहारमा करिब एक हजार छोरीचेलीलाई सेवा प्रदान गर्ने लक्ष्य राखिएको छ ।”

    यस वर्षका लागि अभियान चलाउन जनसम्पर्कका लागि दिक्तेल बजारस्थित किरातचोकमा सचिवालय नै स्थापना गरिएको थियो । मौसममा आएको खराबी तथा सबै ठाउँमा मोबाईल फोनको टावर नटिप्ने भएकाले सम्पर्कका लागि सचिवालय स्थापना गरेर निःशुल्क यातायात सेवा प्रदान गरिएको थियो ।

    आर्थिक अवस्था कमजोर भएका र सवारीसाधनको पहुँच नभएका छोरीचेलीलाई घरबाट माइतीघर र माइतीघरबाट घरसम्म आउनेजाने सेवा दिइएको युवा समूहले जनाएको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा स्थापना गरिएको सचिवालयमा सेवाग्राहीको विवरण सङ्कलन गर्दै निःशुल्क यातायात सेवा दिइएको सचिवालय सदस्य अनिशा रम्तेलले जानकारी दिनुभयो ।

    युवा समूहले सञचालन गरेको अभियानका लागि विभिन्न निकायले इन्धन तथा अन्य आवश्यक सामग्री उपलब्ध गराएको थियो । यो समूहले गत वर्षको दसैँतिहारमा चार सय १५ छोरीचेलीलाई निःशुल्क यातायात सेवा उपलब्ध गराएको थियो ।

  • सडक नखुल्दा जलजला पुग्न पाएनन् पर्यटक

    सडक नखुल्दा जलजला पुग्न पाएनन् पर्यटक

    राष्ट्रिय समाचार समिति (रासस)
    ढोरपाटन, २४ असोज । अघिल्लो वर्ष दसैँमै आन्तरिक तथा बाह्य पर्यटक जलजला पुगेका थिए । यस वर्ष लामो वर्षा र सडक नखुल्दा अहिलेसम्म पर्यटक ढोरपाटन उपत्यका र बुकीपाटनबाटै फर्किने गरेका छन् । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा पर्ने जलजला बागलुङ र म्याग्दी जिल्ला दुवैतिरबाट जोडिएको छ । नजिकैबाट यहाँका दर्जनौँ हिमशृङ्खला र सूर्योदयको अवलोकन गर्न सकिने हुँदा पर्यटकको आकर्षण बढ्दो छ ।

    पाँच वर्ष अगाडिसम्म जलजला ओझेलमै थियो । तर पछिल्लो समय तीव्र रूपमा प्रचारप्रसार हुँदा हिउँदयाममा पर्यटक यहाँ आउने गरेका छन् । ढोरपाटन उपत्यकादेखि करिब २२ किलोमिटर पश्चिममा पर्ने जलजलामा अघिल्लो वर्षमात्र सडक पुगेको छ । ढोरपाटन र म्याग्दीको धवलागिरि गाउँपालिकाबाट तल्लो जलजला सडक सञ्जालले जोडिएको हो । सडक जोडिए पनि बर्खाको समयमा सवारी नचल्दा पर्यटकले सास्ती खेप्नुपरेको छ ।

    ढोरपाटन उपत्यकाबाट घनाजङ्गल र ठूला जङ्घार पार गर्नुपर्ने हुँदा यस वर्ष दसैँमा पर्यटक जलजला पुग्न सकेनन् । जलजला पुग्नका लागि तीन स्थानमा गाठेसाँघु तर्नुपर्ने हुन्छ । तर यस वर्ष वर्षाका कारण अहिलेसम्म साँघु नहालिएको ढोरपाटन उपत्यका होटल व्यवसायी सङ्घका अध्यक्ष जीवन पुनले बताउनुभयो । दुई वर्षयता जलजला जाने पर्यटकको सङ्ख्या बढ्दै गएको भन्दै यस वर्ष मौसमका कारण पर्यटक पुग्न नसकेको उहाँले सुनाउनुभयो ।

    ढोरपाटन–जलजला सडकको गुरुघाटमा एउटा र दुईवटा गुर्जाघाट काठको साँघु हाल्नुपर्ने उहाँको भनाइ छ । गत वर्ष हालेको साँघु बर्खामा खोलाले बगाइदिएको भन्दै अब केही दिनमा सडक सफाइ गर्ने र साँघु हाल्ने अध्यक्ष पुनले बताउनुभयो । म्याग्दीको धवलागिरि गाउँपालिकाले मरेनी सडक सफाइ गरे पर्यटक सहज रूपमा जलजला आउने उहाँ बताउनुहुन्छ । अहिले दैनिक एक सय पर्यटक ढोरपाटनमा आउने गरेका र ढोरपाटन आएका पर्यटक जलजला जान नपाउँदा गुनासो गर्ने गरेको उहाँको भनाइ छ ।

    “अघिल्लो वर्षदेखि जलजला जाने पर्यटकको भीड बढ्न थालेको छ, पहिले जलजला क्षेत्र सुनसान थियो, गोठालामात्र पुग्थे, यो ठाउँ वास्तवमै सुन्दर छ, प्रचारप्रसारले गर्दा अहिले पर्यटकको आगमन बढेको हो”, अध्यक्ष पुनले भन्नुभयो, “यस वर्ष लामो वर्षा भयो, ठाउँठाउँमा बाटो बिग्रिएकाले साँघु हाल्नुपर्ने छ, अब केही दिनमै त्यो काम गर्छौँ, तिहारसम्म पर्यटक पुग्ने छन् ।”

    समुद्री सतहबाट तीन हजार ४०० मिटर उचाइमा रहेको जलजलाबाट धवलागिरि, माछापुच्छ«े, अन्नपूर्ण, मानापाथी, पुथा, चुरेन, गुर्जा, निलगिरिलगायत दुई दर्जन बढी हिमाल एकैठाउँ उभिएर नजिकै देख्न सकिने हुँदा पर्यटकको आकर्षण बढ्दो छ । तुलसीपुर दाङबाट घुम्न आउनुभएका रावल रोकायाले सडक नखुल्दा जलजला जान नपाएको गुनासो पोख्नुभयो । सामाजिक सञ्जालमा जलजलाबाट देखिने हिमशृङ्खलाले आफूलाई मोहित बनाएको भन्दै प्रत्यक्ष घुम्न आएको सुनाउनुभयो ।

    उहाँले भन्नुभयो, “ढोरपाटन उपत्यकाबाट मोटरसाइकलमै जान सकिन्छ भन्ने सुनेको थिएँ, तर अहिलेसम्म सडक व्यवस्थित भइसकेको रहेनछ, ठाउँठाउँमा पहिरो र खोलाका कारण यात्रा गर्न सकिँदैन भन्ने सुनियो, त्यहीँ भएर यसपालि जलजला पुग्ने इच्छा पूरा हुन सकेन, हुन त यो साल धेरै वर्षा भयो त्यही भएर पनि होला ।” रोकायाले १२ जनाको सूमहमा घुम्न आएको सुनाउनुभयो । जलजला जान नपाए पनि बुकीपाटन गएर फर्किएको उहाँको भनाइ छ । यतिबेला जलजला पुग्नेगरी ढोरपाटन आएकाहरू उपत्यकाबाटै फर्किने गरेका छन् ।

  • एकल महिलाको लोभलाग्दो अग्र्यानिक तरकारीखेती

    एकल महिलाको लोभलाग्दो अग्र्यानिक तरकारीखेती

    राष्ट्रिय समाचार समिति (रासस)
    भोजपुर, २४ असोज । टेम्केमैयुङ गाउँपालिका–४ नागीकी एकल महिला मायादेवी राई अहिले गाउँकै प्रेरणादायी किसान बनेकी छिन् । राई शिक्षण पेसा छाडेर चार वर्षअघिदेखि अग्र्यानिक तरकारी खेतीमा लागेकी हुन् । राईले ‘इसुक्षा पशुपन्छी तथा मत्स्यपालन फार्म’ दर्ता गरी व्यावसायिक तरकारीखेती गर्दै आएकी छिन । उनले बन्दाकोभी, काउली, ब्रोकोली, टमाटर, भेडेखुर्सानी, एक्वास, प्याजलगायत तरकारी अग्र्यानिक विधिबाट उत्पादन गर्दै आएकी छिन् । गाउँघरमै पाइने गाईभैँसी, बाख्रा र बङ्गुरको गोबर प्रयोग गरेर बनाइएको प्राङ्गरिक मल प्रयोग गरी पूर्णतया अग्र्यानिक उत्पादनमा जोड दिएको उनको भनाइ छ ।

    “व्यावसायिक रूपमा अग्र्यानिक तरकारी उत्पादन गर्दै आएकी छु”, उनले भने, “यहाँ उत्पादन भएको तरकारी स्थानीय बजारमा लगेर बिक्री गर्छु । घरखर्च चलाउन समस्या छैन, अब अझै विस्तार गर्ने योजनासहित काम गरिरहेको छु ।” उनले शिक्षण पेसा छाडेर खेतीमा लागेको कारणबारे बताउँदै भनिन्, “कृषि कर्ममा मेहेनत गर्न सके राम्रो आम्दानी गर्न सकिन्छ । तर हामी व्यावसायिक बन्न सक्नुपर्छ । राज्यका तर्फबाट आवश्यक सहयोग र बजार व्यवस्थापन भए अझ धेरै किसानलाई राहत पुग्छ ।”

    गाउँपालिका उपाध्यक्ष रमादेवी राईले टेम्केमैयुङमा कृषि र पर्यटनको राम्रो सम्भावना भएकाले गाउँपालिकाले यी दुई क्षेत्रलाई प्राथमिकतामा राखेर नीति तय गरेको बताइन् । “टेम्केमैयुङमा कृषि र पर्यटनको राम्रो सम्भवाना छ”, उपाध्यक्ष राईले भनिन्, “किसानलाई व्यावसायिक बनाएर आयआर्जनसँग जोड्न विभिन्न कार्यक्रम सञ्चालन भइरहेको छ ।”

    वडा नं ४ का वडाध्यक्ष हर्कराज राईले किसानलाई मौरीपालन, जडीबुटीखेती, सुन्तला र कागतीखेतीमा व्यावसायिक बन्न सहयोग गरिएको बताए । “हाम्रो वडामा तरकारीखेतीमा लाग्ने किसानको सङ्ख्या बढ्दो छ”, वडाध्यक्ष राईले भने, “नागी क्षेत्र मौरीपालनका लागि पनि उपयुक्त भएकाले मौरीपालक किसानलाई प्रोत्साहनका कार्यक्रम चलाइरहेका छौँ ।”

    गाउँपालिका अध्यक्ष सरोज बस्नेतले माटो सुहाउँदो खेती प्रणालीमा जोड दिँदै किसानलाई नगदेबालीतर्फ आकर्षित गर्न कार्यक्रम अघि बढाइएको जानकारी दिए । टेम्केमैयुङमा धेरै उर्वरभूमि भएकाले किसानलाई व्यावसायिक योजनाका आधारमा प्रोत्साहनका कार्यक्रम सञ्चालन भइरहेको उनले बताए ।

  • सिरहामा गुडिरहेको बसबाट खसेर सह-चालकको मृत्यु

    सिरहा, २३ असोजः यहाँको धनगढीमाई नगरपालिका-९ स्थित जिरोमाइल नजिकै आज बिहान गुडिरहेको बसबाट खसेर सहचालकको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गमा विराटनगरबाट जनकपुरधामतर्फ जाँदै गरेको ना ७ ख २६५ नं को यात्रुबाहक बसबाट खसेर लहान नगरपालिका—१ निवासी २१ वर्षीय सहचालक पवनकुमार यादव गम्भीर घाइते भएका थिए ।

    जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रमेश पालका अनुसार बसको पछाडिको चक्काले किचिएर गम्भीर घाइते भएका सहचालक यादवलाई तत्कालै उपचारका लागि लहानस्थित प्रादेशिक अस्पताल पु¥याइएको थियो । तर, मध्यान्ह १२ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

    घटनालगत्तै इलाका प्रहरी कार्यालय धनगढीबाट प्रहरी नायब निरीक्षक दिलीपकुमार सिंहको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो । बसका चालक ४० वर्षीय लक्ष्मी महतोलाई तत्काल नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक पालले जानकारी दिए ।

  • ‘प्रतिनिधिसभा पुनःस्थापनाका पक्षमा एमाले’

    ‘प्रतिनिधिसभा पुनःस्थापनाका पक्षमा एमाले’

    भक्तपुर, २३ असोज । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको पुनःस्थापना हुनुपर्ने धारणा व्यक्त गरेका छन् । एमालेको भक्तपुर जिल्ला कमिटीद्वारा आज गुण्डुमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले प्रतिनिधिसभा पुनःस्थापनाका पक्षमा आफ्नो पार्टी रहेको र त्यसमा नेपाली कांग्रेस पनि सहमत हुने विश्वास व्यक्त गरे ।


    सम्बोधनका क्रममा अध्यक्ष ओलीले सरकारले निर्वाचन गराउने हो भने राजनीतिक दलहरुको विश्वास जितेर निर्वाचन प्रक्रियामा सबैलाई सहभागी गराउनुपर्ने बताए । “यतिबेला राष्ट्रलाई एकता र स्थिरता चाहिएको छ । लोकतान्त्रिक शक्तिहरु एक ठाउँमा आएर शान्ति सुव्यवस्था कायम गर्दै देशलाई समृद्ध बनाउनुपर्छ’’, उनले भने, “सरकारले यसका लागि सकारात्मक र अनुकूल वातावरण निर्माण गर्नुपर्छ ।’’

    कार्यक्रममा एमालेका महासचिव शङ्कर पोखरेलले मुलुकमा समस्या उत्पन्न भएका बेला देशभित्रै एकता र सहमतिको वातावरण निर्माण गर्नुपर्नेमा पार्टीभित्र विवाद सिर्जना गर्न नहुने धारणा राखे । कार्यक्रममा एमालेका बागमती प्रदेश कमिटीका इञ्चार्ज डा राजन भट्टराई, पोलिटब्यूरो सदस्य महेश बस्नेतलगायतले लोकतन्त्र र मुलुकको रक्षाका लागि एमालेलाई एकताबद्ध र बलियो शक्ति बनाउनुपर्ने बताए ।
    गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा सरकार गठन र प्रतिनिधिसभाको विघटन भई आगामी फागुन २१ गते निर्धारित निर्वाचनको मिति घोषणा भएको थियो ।

  • ओहोदाको प्रमाणपत्र प्रस्तुत

    ओहोदाको प्रमाणपत्र प्रस्तुत

    काठमाडौँ, २३ असोजः इराकका लागि नेपालका राजदूत घनश्याम लम्सालले त्यहाँका राष्ट्रपति डा अब्दुल्लातिफ जमाल रसिदसमक्ष बुधबार बग्दादस्थित राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् ।

    त्यसअवसरमा राजदूत लम्सालले राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट राष्ट्रपति रसिदको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै इराकका जनताको निरन्तर प्रगतिको कामना गरेको कुवेतस्थित नेपाली राजदूतावासले जनाएको छ । प्रत्युत्तरमा इराकी राष्ट्रपतिले राजदूत लम्सालप्रति बधाई ज्ञापन गर्दै राष्ट्रपति पौडेलको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै नेपाली जनताको निरन्तर प्रगतिको कामना गरे । लम्साल कुवेतका लागि नेपालका आवासीय राजदूत हुन् ।

  • बर्सातले खानेपानी प्रणालीमा पुगेको क्षतिको विवरण सङ्कलन गरिँदै

    बर्सातले खानेपानी प्रणालीमा पुगेको क्षतिको विवरण सङ्कलन गरिँदै

    काठमाडौँ, २३ असोजः खानेपानी तथा ढल व्यवस्थापन विभागले अविरल वर्षाका कारण आएको बाढीपहिरोका कारण देशभरका खानेपानी तथा सरसफाइ प्रणालीमा पुगेको क्षतिको विवरण सङ्कलन प्रक्रिया सुरु गरेको छ । देशका सातै प्रदेशबाट क्षतिको प्रारम्भिक विवरण सङ्कलन गरी केन्द्रमा पठाउन विभागअन्तर्गतका खानेपानी तथा ढल व्यवस्थापन कार्यालयलाई परिपत्र गरिएको विभागले जनाएको छ ।

    विभागअन्तर्गत हाल देशभर १५ वटा खानेपानी तथा ढल व्यवस्थापन कार्यालय रहेका र ती कार्यालयले खानेपानी तथा सरसफाइ क्षेत्रमा पुगेको क्षतिको विवरण सङ्कलन गरी विभागमा पठाउन परिपत्र गरिएको महानिर्देशक ई कमलराज श्रेष्ठले जानकारी दिए । उनले भने, “बाढीपहिराले गरेको क्षतिको विवरण पठाउन हामीले सम्बन्धित कार्यालयलाई परिपत्र गरिसकेका छौँ । खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाई पनि आ–आफ्नो आयोजनाअन्तर्गत भएको क्षतिको विवरण सम्बन्धित कार्यालयमा पठाउन आग्रह गरेका छौँ ।”

    महानिर्देशक ई श्रेष्ठले सङ्कलन गरिएका विवरणलाई आधार बनाई तत्कालीन राहत तथा दीर्घकालीन पुनःस्थापनाको योजना बनाइने बताए । विशेषगरी इलाम र तराईमा बाढीपहिरोले खानेपानीमा क्षति पु¥याएको भन्दै उनले विवरण सङ्कलन भएपश्चात् प्रभावित क्षेत्रको पहिचान, क्षतिको प्रकार, अनुमानित लागत तथा पुनःस्थापनाको प्राथमिकता निर्धारण गर्न सहयोग पुग्ने धारणा राखे ।


    यही असोज १८ र १९ गतेको अविरल वर्षाले पहाडी र भिरालो भू–भागमा रहेका धेरै खानेपानी स्रोत तथा वितरण प्रणालीमा गम्भीर असर पु¥याउनाका साथै पाइपलाइन बगाएका, इन्टेक संरचनामा क्षति, जलाशय ट्याङ्की माटो–ढुङ्गाले पुरेको, मोटर पम्प डुबानमा परेको, सरसफाइ उपकरणहरू क्षतिग्रस्तलगायत समस्या देखापरेका विभागले जनाएको छ ।

    गत वर्ष असोज ११ र १२ गतेको अविरल वर्षा र बाढीपहिरोबाट खानेपानी तथा सरसफाइ क्षेत्रमा रु चार अर्बभन्दा बढीको क्षति भएको खानेपानी मन्त्रालयले जनाएको थियो ।

  • विपि राजमार्गको विकल्पमा चरिकोट- खाडिचौर सडक प्रयोग

    विपि राजमार्गको विकल्पमा चरिकोट- खाडिचौर सडक प्रयोग

    मन्थली (रामेछाप), २३ असोजः यही असोज १७ र १८ को अविरल वर्षाका कारण रोशी खोलामा आएको बाढीले बिपी राजमार्गको अधिकांश बाटो बगाएपछि आवागमनमा समस्या भएको छ । हिजोआज तराईका विभिन्न भाग र पूर्वी जिल्लाबाट आएका साना तथा ठूला सवारीसाधनहरू वैकल्पिक मार्गको प्रयोग गर्न थालेका छन् । यहाँ खुर्कोट-मन्थली-चरिकोट- मुडे – खाडिचउर हुँदै दोललघाटको वैकल्पिक सडक प्रयोग हुन थालेको छ ।

    सवारी अवागमनलाई व्यवस्थित बनाउन ट्राफिक प्रहरीले मन्थलीस्थित देवकोटा चोकबाट प्रहरी कार्यालय हुँदै बसपार्क निस्केर काठमाडाँै पठाउने र उताबाट आउने सवारीसाधनलाई बसपार्कबाट कटहरबोट चोक हुँदै देवकोटा चोकमा निस्कने गरी एकतर्फी यातायात सञ्चालन गर्ने गरेको छ ।

    बिपी राजमार्ग हुँदै तराईका विभिन्न भागदेखि पूर्वको कोशी प्रदेशका अधिकांश जिल्ला र काठमाडौँ आउजाउ गर्ने सवारीसाधनले वैकल्पिक मार्गका रूपमा यो सडक प्रयोग गर्ने गरेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कौशल न्यौपानेले बताए । दसँै मनाएर आआफ्नो कार्य क्षेत्र फर्कने यात्रुको सहजताका लागि आफूहरू निरन्तर क्रियाशील रहेको उनले बताए ।

  • नेपालले कुवेतलाई हरायो

    नेपालले कुवेतलाई हरायो

    काठमाडौँ, २३ असोजः आइसिसी टी ट्वान्टी विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट खेलमा नेपाल विजयी भएको छ । ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी—१ मा आज सम्पन्न समूह ‘बी’को पहिलो खेलमा नेपाल कुवेतलाई ५८ रनले पराजित गर्दै विजयी भएको हो । नेपालले प्रस्तुत गरेको १४२ रनको प्रतिस्पर्धात्मक लक्ष्य पछाएको कुवेत १८ दशमलव एक ओभरमा सबै ‘विकेट’ गुमाउँदै ८३ रनमा समेटियो ।

    कुवेतका लागि ‘ओपनर’ क्लिन्टो आन्टोले २६ तथा यासिन पटेलले १९ रन जोडे । बलिङतर्फ नेपालका सन्दीप लामिछाने, ललितनारायण राजवंशी र रोहित पौडेलले समान दुई –दुई विकेट लिए भने कुशल भुर्तेल, सोमपाल कामी र नन्दन यादवले समान एक–एक विकेट लिए ।

    त्यसअघि टस हारेर पहिला ‘ब्याटिङ’को निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४१ रन बनायो । नेपालका लागि भुर्तेलले सर्वाधिक ६६ रनको योगदान दिए । उनले ५६ बलमा तीन छक्का र तीन चौकासहित ६६ रन बनाए । यस्तै, गुल्सन झा र दीपेन्द्रसिंह ऐरीले समान २०÷२० रन बनाए भने कप्तान रोहित पौडेलले १६ बनाए ।

    कुवेतका लागि नवीनराज राजेन्द्रन र अनुदीप चन्दामाराले समान दुई–दुई विकेट लिए । मोहम्मद आकिफ फरुकले एक विकेट लिए । अब नेपालले समूह चरणको अर्को खेल शुक्रबार जापानसँग खेल्नेछ ।

  • दसैँको समयमा उपत्यकामा सवारी दुर्घटनाबाट सात जनाको मृत्यु

    दसैँको समयमा उपत्यकामा सवारी दुर्घटनाबाट सात जनाको मृत्यु

    काठमाडौँ, २२ असोज । काठमाडौँ उपत्यकामा दसैँको समयमा सवारी दुर्घटनाबाट सात जनाको मृत्यु भएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदीले असोज ६ गते घटस्थापनादेखि असोज २१ गते कोजाग्रत पूर्णिमासम्म सवारी दुर्घटनामा परी सात जनाको मृत्यु भएको राससलाई जानकारी दिए ।


    उक्त अवधिमा १५३ सवारी दुर्घटना भएको थियो । सोही दुर्घटनामा परेर १६६ जना सामान्य घाइते र सात जना गम्भीर घाइते भएको उनले बताए । ट्राफिक प्रहरीले यातायात व्यवस्था विभागसँगको सहकार्यमा चाडबाडलाई लक्षित गरी काठमाडौँ उपत्यकाको १५ स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गरेको थियो ।

    उक्त कक्षबाट चाडबाडको समयमा यातायातका साधनमा दोहोरो टिकट काटेर यात्रुले दुःख पाउने, भाडाका कारण यात्रु ठगिने, यात्रुहरूको सामान हराउने, सवारीमा क्षमताभन्दा बढी यात्रु राख्दा दुर्घटनाको जोखिम हुनेलगायत समस्या कम गराउन सहयोग गरिएको थियो ।

  • मतदाता नामावली अद्यावधिक गर्न कार्यकर्तालाई माओवादीको निर्देशन

    मतदाता नामावली अद्यावधिक गर्न कार्यकर्तालाई माओवादीको निर्देशन

    काठमाडौं, २२ असोज स् नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले आगामी निर्वाचनलाई लक्षित गर्दै आफ्ना सबै तहका पार्टी पङ्क्तिलाई निर्वाचन कार्यालयहरूसँग समन्वय गरी मतदाता नामावली अद्यावधिक प्रक्रियामा सक्रिय सहभागिता जनाउन विशेष निर्देशन दिएको छ ।

    पार्टीका महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा जारी गरिएको परिपत्रमा पार्टी कार्यकर्ताहरूलाई आगामी कात्तिक ३० गतेभित्र १६ वर्ष उमेर पुगेका नागरिकहरूको नाम समावेश गर्न, विवाह तथा बसाइँ सराइका कारण मतदान केन्द्र परिवर्तन गर्नुपरेमा आवश्यक प्रक्रिया पुर्‍याउन, साथै नाम, जन्म मिति वा अन्य विवरणमा त्रुटि भएमा त्यसको सच्याउन पहल गर्न आग्रह गरिएको छ ।

    परिपत्रमा भनिएको छ, “निर्वाचनमा सहभागी हुने जनताको नामावली अद्यावधिक गर्नु लोकतान्त्रिक अभ्यासको पहिलो खुड्किलो हो । त्यसैले सम्पूर्ण पार्टी पङ्क्तिले यो कार्यलाई गम्भीरतापूर्वक लिई आवश्यक समन्वय र सहजीकरण गर्नुपर्छ ।” यो अभियान निर्वाचन आयोगले सुरु गरेको नामावली अद्यावधिक कार्यक्रम सँग मेल खाने गरी सञ्चालन गर्न भनिएको छ ।

  • दुई पूर्व मन्त्रीसहित सात जनाविरुद्ध भ्रष्टाचारसम्बन्धी आरोपपत्र दायर

    दुई पूर्व मन्त्रीसहित सात जनाविरुद्ध भ्रष्टाचारसम्बन्धी आरोपपत्र दायर

    काठमाडौँ, २२ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुसररिसवत लिई भ्रष्टाचार गरेको अभियोगमा दुई पूर्व मन्त्रीसहित सात जनाविरुद्ध आरोपपत्र दायर गरेको छ । आयोगले आज सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका तत्कालिन मन्त्री राजकुमार गुप्ता एवं भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका पूर्वमन्त्री रन्जिता श्रेष्ठसमेत सात जना उपर घुसररिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरेको हो ।

    तत्कालिन मन्त्री गुप्ताले कास्की जिल्लास्थित मालपोत कार्यालयका तत्कालिन प्रमुख रामचन्द्र अधिकारीलाई सरुवा थमौतीका लागि घरजग्गा व्यवसायीसँग ५३ लाख रुपैयाँ लिएको र भूमि आयोगको सदस्य बनाउनका लागि २५ लाखको घुस डिल गरेको अडियोसमेतलाई अनुसन्धान गरेका आधारमा विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो ।

    आयोगले तत्कालिन मन्त्री गुप्ताविरुद्ध रु ७८ लाख, पूर्वमन्त्री श्रेष्ठविरुद्ध रु ७८ लाख, मालपोत कार्यालय, कास्की, पोखराका तत्कालीन प्रमुख मालपोत अधिकृत रामचन्द्र अधिकारीविरुद्ध रु ५३ लाख, घरजग्गा व्यवसायीरबिचौलिया प्रतिवादी सुजन लामा वा सुजनकुमार लामा भन्ने सुजनकुमार तामाङविरुद्ध रु ७८ लाख, प्रतिवादी खेम पुन भन्ने खमबहादुर पुनविरुद्ध रु २५ लाख, प्रतिवादी यामकुमारी गुरुङविरुद्ध रु ७८ लाख, प्रतिवादी तुल्सीराम बुढा मगरविरुद्ध रु ७८ लाख विगोसहित कसुर तथा सजायको मागदाबी गर्दै मुद्दा दायर गरेको हो ।

  • नेपाल सरकार र जर्मन सरकारबीच विभिन्न सम्झौतामा हस्ताक्षर

    नेपाल सरकार र जर्मन सरकारबीच विभिन्न सम्झौतामा हस्ताक्षर

    काठमाडौँ, २२ असोज । नेपाल सरकार र सङ्घीय गणतन्त्र जर्मनीबीच वित्तीय सहयोग र प्राविधिक सहयोगसम्बन्धी दुई महत्त्वपूर्ण सम्झौतामा आज हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा भएको उक्त सम्झौतामा नेपाल सरकारको तर्फबाट मन्त्रालयका सहसचिव धनिराम शर्मा र जर्मन सरकारको तर्फबाट काठमाडौँस्थित नेपालका लागि सङ्घीय गणतन्त्र जर्मनीका राजदूत उडो भोल्जले हस्ताक्षर गर्नुभयो । यी सम्झौताले नेपालको ऊर्जा, स्वास्थ्य, कृषि, शासन तथा समावेशी विकासका प्राथमिकतालाई सहायता गर्ने लक्ष्य लिएको मन्त्रालयले जनाएको छ ।

    वित्तीय सहयोग सम्झौताअन्तर्गत जर्मन सरकारले “पावर डिस्ट्रीब्युसन स्ट्रेन्थेनिङ कार्यक्रम” मा सहयोगस्वरूप २० मिलियन युरो सम्मको प्रतिबद्धता जनाएको छ । यस परियोजना नेपालको विद्युतीय विवरण प्रणालीको स्तरोन्नति र सुदृढीकरणमा केन्द्रित हुने जनाइएको छ ।

    यो परियोजना नेपाल विद्युत् प्राधिकरणमार्फत कार्यान्वयन गरिने र त्यसका लागि नेपाल विद्युत् प्राधिकरण र जर्मन विकास बैंकबीच कार्यान्वयन सम्झौता पनि हुने उल्लेख छ । सम्झौताको कार्यान्वयन पाँच वर्ष भित्र अर्थात् ५ सेप्टेम्बर २०२९ सम्ममा सम्पन्न हुनुपर्ने उल्लेख गरिएको छ ।

    प्राविधिक सहयोग सम्झौता सन् १९७४ मा हस्ताक्षर गरिएको दीर्घकालीन ढाँचागत सम्झौता र सन् २००९ मा संशोधित सम्झौतामा आधारित रहेको जनाइएको छ । यसअन्तर्गत २१ मिलियन युरोसम्मको अनुमानित प्रतिबद्धतासहित जर्मनीले विभिन्न क्षेत्रमा सहयोग पु(याउने बताइएको छ ।

    उक्त परियोजना स्वास्थ्य क्षेत्रमा, राष्ट्रिय लैङ्गिक समानता तथा सामाजिक समावेशी रणनीतिका लागि निरन्तर समर्थन प्रदान गर्दै स्वास्थ्य प्रणालीमा गुणस्तरीय पूर्वाधारलाई थप स्तरीय बनाउन सहयोग गर्नेछ ।

    त्यसैगरी कृषि तथा निजी क्षेत्रको विकास, समावेशी र जलवायु–प्रतिकारशील आर्थिक विकासलाई प्रवर्द्धन गर्ने कार्यक्रममासमेत सहयोग पु(याउने परियोजनाको लक्ष्य छ । परियोजनाले थप अध्ययन तथा विज्ञ कोषमार्फत सल्लाहकार तथा प्राविधिक सहायता प्रदान गर्नेछ । यस प्राविधिक सहायता सम्झौताको कार्यान्वयन समेत पाँच वर्ष भित्रअर्थात् ५ सेप्टेम्बर २०२९ सम्ममा सम्पन्न हुने सम्झौतामा उल्लेख छ ।

    कार्यक्रममा अर्थ मन्त्रालयका सहसचिव शर्माले जर्मनीको निरन्तर सहयोगप्रति आभार व्यक्त गर्नुभयो । नेपालका लागि जर्मन सङ्घीय गणतन्त्रका राजदूत भोल्जले यो नयाँ प्रतिबद्धताले ऊर्जा, दिगो आर्थिक विकास र स्वास्थ्य क्षेत्रमा नेपाल र नेपाली जनतासँगको सहकार्यलाई अझ प्रगाढ बनाएको उल्लेख गर्नुभयो ।

  • स्वच्छ प्रतिस्पर्धामार्फत राजनीतिक निकास खोज्न आयोगको आग्रह

    स्वच्छ प्रतिस्पर्धामार्फत राजनीतिक निकास खोज्न आयोगको आग्रह

    काठमाडौँ, २२ असोज । राष्ट्रिय मानवअधिकार आयोगले जनमतमा आधारित स्वच्छ राजनीतिक प्रतिस्पर्धामार्फत राजनीतिक निकासको प्रक्रियामा सहभागी हुन राजनीतिक दल र समूहलाई आग्रह गरेको छ ।

    आयोगले सो कार्यमा सघाउन नागरिक समाज, सञ्चारकर्मी तथा मानव अधिकारकर्मीलाई अनुरोध गरेको छ । “विभिन्न समूहले आगामी दिनमा गर्ने भनिएका प्रदर्शनलाई मर्यादित र संयमित बनाउन, अरुप्रति लक्षित घृणायुक्त अभिव्यक्ति बन्द गर्न, सामाजिक सद्भाव कायम राख्न र जनमतमा आधारित स्वच्छ राजनीतिक प्रतिस्पर्धामार्फत राजनीतिक निकासको प्रक्रियामा सहभागी हुन आयोग राजनीतिक दल र समूहलाई आग्रह गर्दछ”, आयोगका प्रवक्ता डा टीकाराम पोखरेलद्वारा आज जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।

    आयोगले विकसित परिस्थितिमा शान्ति सुरक्षा र विधिको शासनलाई मजबुत बनाउन सुरक्षा निकायको मनोबल उच्च बनाउँदै धैर्यता र संयमतापूर्वक आवश्यक कदमहरु चाल्न आयोग नेपाल सरकारलाई निर्देशन समेत दिएको छ ।

    विज्ञप्तिमा भनिएको छ, “हिंसात्मक गतिविधि, अरुप्रति लक्षित नकारात्मक टीकाटिप्पणी र घृणायुक्त अभिव्यक्तिले सामाजिक सद्भाव खल्बलिने र राजनीतिक वातावरण समेत धुमिलहुने हुँदा यसबाट शान्ति सुरक्षा र विधिको शासनमाथि नै प्रतिकूल असर पर्न जान्छ ।”

    आयोगले सार्वजनिक तथा व्यक्तिगत सम्पत्तिको संरक्षण गर्नु, विधिको शासन कायम गर्नु, सामाजिक सद्भाव कायम राख्दै जनमतमा आधारित स्वच्छ राजनीतिक प्रतिस्पर्धामार्फत वर्तमान सङ्क्रमणकालीन अवस्थालाई निकास दिनु राज्यका निकायको दायित्व हुने र त्यस्तो प्रक्रियालाई सघाउनु आमनागरिकको कर्तव्य हुने उल्लेख गरेको छ ।

  • निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार

    निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार

    काठमाडौँ, २२ असोज । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनसम्बन्धी छलफलका लागि यही असोज ३० गते राजनीतिक दललाई बोलाएको छ ।

    आयोगले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने तथा गत निर्वाचनमा कम्तीमा एक वडा सदस्यसम्म विजय हासिल गर्ने राजनीतिक दललाई आसन्न निर्वाचनको तयारीबारे छलफलमा आउन पत्राचार गरेको आयोगका आयुक्त डा जानकीकुमारी तुलाधरले जानकारी दिइन् । आयोगले नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका दललाई पत्राचार गरेको जनाएको छ ।

    आयोगले यही असोज २० गते निर्वाचन कार्यतालिका सार्वजनिक गरे पनि त्यो आयोगको आन्तरिक कामको योजनाका लागि भएकाले निर्वाचन कार्यक्रमलगायत विषयमा राजनीतिक दलको छलफलपछि निर्णय लिइने आयुक्त डा तुलाधरले बताइन् ।

  • मलेसियाविरुद्धको अन्तरराष्ट्रिय शृङ्खला नेपालले जित्यो

    मलेसियाविरुद्धको अन्तरराष्ट्रिय शृङ्खला नेपालले जित्यो

    काठमाडौँ, २२ असोजः मलेसियाविरुद्धको महिला टि–ट्वान्टी अन्तराष्ट्रिय शृङ्खला नेपालले जितको छ । मलेसियाको बायोमास क्रिकेट ओभल मैदानमा आज सम्पन्न पाँचौँ तथा निर्णायक खेलमा मलेसियालाई पाँच विकेटले पराजित गरेसँगै नेपालले पाँच खेलको उक्त शङ्खला जितेको हो । यस जितसँगै नेपालले पाँच खेलको शृङ्खला ३–२ ले आफ्नो पक्षमा पार्न सफल भयो ।

    यसअघिको खेलमा मलेसिया तीन र १३ रनले विजयी हुँदा यता नेपालले दुवै खेलमा ६ विकेटको जित हासिल गरेको थियो । मलेसियाले प्रस्तुत गरेको १०४ रनको लक्ष्य पच्छाएको नेपालले १८ ओभरमा पाँच विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । नेपालका लागि रुवि पोदारले २६, पूजा महतोले २३, रुविना क्षेत्रीले अविजित १५ तथा सम्झना खड्काले १३ रन बनाए ।

    मलेसियाका लागि आइन हामिजा हसिम, नुर डानिया स्युहदा, आइसा एलिसा फिर्डाजु र नुर आल्याले समान एकरएक विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय तीन रनको योगफल बनाएको थियो । मलेसियाका लागि विनिफ्रेड दुराइसिंघमले सर्वाधिक ४० रनको योगदान दिइन । त्यसैगरी माहिरा इज्जती इस्माइलले १९, आइन हामिजा हसिमले १५ र नुर डानिया स्युहदाले ११ रन बनाए ।

    नेपालका लागि कविता कुँवर र राजमति ऐरीले समान तीन/तीन विकेट लिए भने रचना चौधरीले एक विकेट लिइन् । रासस

  • सडकका संरचना पुनर्निर्माणमा १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान

    सडकका संरचना पुनर्निर्माणमा १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान

    २२ असोज, काठमाडौं । बाढीपहिरोका कारण क्षति पुगेका सडकका संरचना पुनर्निर्माणमा करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान सरकारले गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यस वर्षको मनसुनजन्य विपदबाट क्षति पुगेका मुख्य राजमार्ग, वैकल्पिक सडक, बेलिब्रिज र स्थायी पुल पुनर्निर्माणका लागि मात्रै १० अर्ब ६८ करोड रुपैयाँ लाग्ने अनुमान गरेको हो । गत वर्षको विपदबाट क्षति पुगेका संरचना पुनर्निर्माणका लागि १ अर्ब ७० करोड रुपैयाँ बाँकी नै छ ।

    यस वर्षको मनसुनजन्य विपदबाट सबैभन्दा बढी क्षति मेची राजमार्गमा पुगेको छ । मेची राजमार्गको पुनर्निर्माणका लागि डेढ अर्ब रुपैयाँ लाग्ने अनुमान छ । क्षति भएका कोशी, मध्यपहाडी, हुलाकी, अरनिको, कान्ति, नारायणघाट—मुग्लिङलगायतका राजमार्गको पुनर्निर्माणका लागि झण्डै तीन अर्ब ७७ करोड रुपैयाँ लाग्ने अनुमान छ ।

    त्यस्तै, क्षति पुगेका १७ वटा स्थायी पुल पुनर्निर्माणमा चार अर्ब ५२ करोड रुपैयाँ लाग्ने अनुमान छ । क्षति पुगेका र सडक सञ्चालनका लागि राख्नु पर्ने बेलिब्रिजका लागि ८० करोड रुपैयाँ लाग्ने अनुमान छ । वैकल्पिक सडक पुनर्निर्माणका लागि एक अर्ब ५९ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

    ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले बाढीपहिरोबाट क्षति पुगेर अवरुद्ध भएका सडक सञ्चालन उच्च प्राथमिकतामा राखी मातहतका निकायले काम गरिरहेको बताए । अवरुद्ध सडक सञ्चालन जतिसक्दो छिट्टो सञ्चालनका लागि उपकरण र जनशक्ति परिचालन गरिएको र कामको आफू एवम् मन्त्रालयका तर्फबाट नियमित अनुगमन भइरहेको मन्त्री घिसिङको भनाइ छ ।

  • इजरायल–प्यालेस्टाइन द्वन्द्वमा ६० हजारभन्दा बढी बालबालिका प्रत्यक्ष प्रभावित

    इजरायल–प्यालेस्टाइन द्वन्द्वमा ६० हजारभन्दा बढी बालबालिका प्रत्यक्ष प्रभावित

    जेनेभा, २२ असोज (रासस-एएफपी)
    संयुक्त राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ) ले इजरायल–प्यालेस्टाइन द्वन्द्व सुरु भएको दुई वर्षको अवधिमा करिब ६१ हजार बालबालिकाको मृत्यु भएको वा अपाङ्ग भएको जानकारी दिएको छ । स्विट्जरल्यान्डको जेनेभामा आयोजित पत्रकार सम्मेलनमा युनिसेफका प्रवक्ता रिकार्डो पिरेसले हरेक १७ मिनेटमा औसतमा एक बालक मृत्यु हुने वा घाइते हुने गरेको बताए ।


    पिरेसले यस तथ्यप्रति खेद व्यक्त गर्दै भने, बच्चाहरू ‘शारीरिक र मानसिक’ रूपमा धेरै लामो समयदेखि पीडित छन् र आघातमा बाँचिरहेका छन।”
    उनले अगाडी थपे, “कुनै पनि बच्चाले कहिल्यै देख्नु नपर्ने डरलाग्दो अवस्थाको सामना गरिरहेका र अत्यधिक पीडाबीच बाँच्नुपरेको छ।” उनले भने, “गाजामा प्रत्येक पाँच बच्चामध्ये एक समय नपुगीकन जन्मन्छ । यसरी जन्मने बच्चाहरूलाई जीवित रहनको लागि अक्सिजन मास्क आवश्यक पर्ने तर यस क्षेत्रमा उनीहरूको अस्तित्व सुनिश्चित गर्न आवश्यक पूर्वाधारको अभाव छ ।

    युनिसेफले गाजामा उसको टोलीहरू अझै पनि गाजा क्षेत्रकोे उत्तरबाट निकालिएका र समय नपुगी जन्मिएका बच्चाहरूको लागि इन्क्युबेटर र भेन्टिलेटर भित्राउनका लागि सकारात्मक सन्देशको पर्खाइमा छन्। पाइरेसले भने, “हामीले अर्को स्वास्थ्य क्षेत्रमा बच्चाहरूलाई सारेर भएपनि सम्भव भएसम्म सुविधा दिएका छौँ । गाजाको सुरक्षा अवस्थाले यसका लागि पनि सहज वातावरण सुनिश्चित गर्दैन । हामीले इन्क्युबेटरहरू सार्न सकेका छैनौँ, यो अहिलेसम्म अस्वीकार गरिएको छ।”

  • मनसुन क्रमशः कमजोर हुँदै

    मनसुन क्रमशः कमजोर हुँदै

    काठमाडौँ, २२ असोजःजल तथा मौसम विज्ञान विभागले आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका अधिकांश तथा गण्डकी प्रदेशका पश्चिमी भागका केही स्थानमा पश्चिमी वायुको प्रभाव तथा बाँकी भेगमा मनसुनी एवं स्थानीय वायुको कमजोर प्रभाव रहेको जनाएको छ ।

    आज दिउँसो कोशी , कर्णाली र सुदुरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली तथा तराईमा आंशिक बदली हुने छ । कोशी, कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।

    त्यसैगरी, आज राति कोशी र मधेस प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मुख्यतया मौसम सफा रहने छ । कोशी, मधेस वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले आज बिहान जारी गरेको दैनिक मौसम बुलेटिनमा उल्लेख छ ।

  • आइसिसी टी–२०ः नेपाल र कुवेत आमनेसामने

    आइसिसी टी–२०ः नेपाल र कुवेत आमनेसामने

    काठमाडौँ, २२ असोजः तेस्रो पटक ट्वेन्टी–२० विश्वकपमा सहभागी हुने उद्देश्यका साथ नेपाली राष्ट्रिय क्रिकेट टोली आज आइसिसी टी–२० विश्वकप एसिया तथा इष्ट एसिया प्यासिफिक रिजनल छनोट खेलअन्तर्गत आज कुवेतसँग आमनेसामने हुँदैछ । ओमानमा आजदेखि सुरु हुने उक्त प्रतियोगिताअन्तर्गत नेपाल र कुवेतबीचको खेल नेपाली समयअनुसार बेलुका ८ः४५ बजे हुनेछ । यसअघि नेपाल सन् २०१४ र २०२४ को विश्वकपमा सहभागी भएको थियो ।

    आइसिसी ट्वान्टी–२० विश्वकप एसिया एण्ड इष्ट एसिया प्यासिफिक छनोटमा नेपाल समूह ‘बी’ छ । यो समूहमा कुवेत र जापान छन् । प्रतियोगितामा नौ टोली सहभागी हुँदैछन् । सहभागी टोलीलाई तीन समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा मलेसिया, कतार र युएई छन् भने समूह ‘सी’ मा ओमान, पपुवा न्युगिनी र सामोआ आइल्याण्ड छन् । समूहको शीर्ष दुई टिम सुपर सिक्समा पुग्नेछन् ।

    नेपाली टोलीमा कप्तान रोहित पौडेलसहित उपकप्तान दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, आदील आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललितनारायण राजवंशी, गुलशन झा र सोमपाल कामी छ्न ।

  • नुवाकोटमा श्रीमानले गरे श्रीमतीको हत्या

    नुवाकोटमा श्रीमानले गरे श्रीमतीको हत्या

    २२ असोज, त्रिशूली । घरायसी विवाद बढेपछि शिवपुरी गाउँपालिका–७ का जीतमान तामाङले ४९ वर्षीया श्रीमतीको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विक्रम लामाका अनुसार मङ्गलबार साँझ निजले खुकुरी हानेर श्रीमती सविनाको हत्या गरेका हुन् ।

    सविनाको घटनास्थलमा नै मृत्यु भएको हो । घटनाबारे जानकारी प्राप्त हुनासाथ अभियुक्त तामाङलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही थालिएको छ । अभियुक्तले आवेशमा श्रीमतीको हत्या स्वीकार गरेका छन् ।

  • सामान्य विवादले ठूलो रुप लिँदा दलित बस्तीमा तोडफोड र लुटपाट

    सामान्य विवादले ठूलो रुप लिँदा दलित बस्तीमा तोडफोड र लुटपाट

    राष्ट्रिय समाचार समिति

    सिरहा, २२ असोजः यही असोज १ गते विश्वकर्मा पूजाका क्रममा भएको एउटा विवादले ठूलो रुप लिँदा कल्याणपुर नगरपालिका–८ स्थित अरङ गाउँको ठूलोपोखरी डिलमा पाँच दलित परिवार समस्यामा परेका छन् । विश्वकर्मा पूजामा गाउँमा आर्केस्ट्रा ल्याइएको थियो । आर्केष्ट्रामा नाचगान गर्ने क्रममा भएको सामान्य विवादपछि दलित परिवारका घरमा तोडफोड तथा लुटपाट भएको छ ।

    पीडितका अनुसार नाचगानका क्रममा केहीले मदिरा पनि सेवन गरेका थिए । यसैक्रममा केही दलित युवा र स्थानीय प्रभाषसिंह राजपुतबीच भनाभन भयो । सुरुमा सामान्य लागेको विवाद यत्तिकै सुल्झिएन । दलित परिवारमा बस्तीबाट उठाइदिने धम्की समेत आयो । धम्की आएपछि दलित परिवार सुरक्षा माग गर्दै इलाका प्रहरी कार्यालय, कल्याणपुर पुगेका थिए ।

    प्रहरीले विवाद समाधान गर्न यही असोज १२ मा छलफल राखेको थियो । तर त्यस दिन छलफल नभएपछि अर्को छलफल असोज २१ गतेका लागि तोकिएको थियो । उक्त छलफल हुनुअघि अर्थात् असोज १७ गते शुक्रबार दिउँसो करिब २ बजेतिर २०÷२५ जनाको समूहले दलित बस्ती तहसनहस पा¥यो ।

    उक्त समूहले पाँचवटा दलितका घरमा तोडफोड र लुटपाट गरेको पीडित सोभित पासमानले बताए । तोडफोड र लुटपाटको समयमा इलाका प्रहरी कार्यालय कल्याणपुरका केही प्रहरी घटनास्थलमै थिए, तर कसैले केही बोलेन । उनीहरुले रोक्ने प्रयास पनि गरेनन्, यसले हामीलाई थप भयभित बनायो”, उनले भने ।
    पीडितहरूका अनुसार, अशोक पासमानको घरबाट चार आना सुन र ३० तोला चाँदीका गहना, राजकुमार पासमानको घरबाट खाद्यान्न, रासलाल पासमानको घरबाट खाद्यान्नका साथै चार आना सुन, १० तोला चाँदीका गहना र रु १८ हजार र बिन्दे पासमानको घरबाट २० तोला चाँदी, दुई आना सुन र रु तीन हजार लुटिएको छ ।

    त्यस्तै, खाना पकाउने भाँडा, लत्ताकपडादेखि बगैंचाबाट आँप, अम्बा, केरा र कागतीका बोटमा पनि क्षति पु¥याइएको छ । पीडित राजकुमार पासमानका अनुसार पाँचवटा परिवारका ३० जनाको परिवार अहिले अलपत्र अवस्थामा छ । घटना भएको भोलिपल्ट प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी र जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख तथा प्रहरी उपरीक्षक अनन्तराम शर्मा बस्तीमा पुगेका थिए । उनीहरुले स्थलगत अनुगमनपछि पीडित परिवारलाई त्रिपाल, कम्बल र झुल वितरण गरेका थिए ।


    १३ जनाविरुद्ध जाहेरी
    बस्तीमा भएको तोडफोड र लुटपाट प्रकरणमा वडाध्यक्ष रामकिशोर यादवसहित १३ जनाविरुद्ध किटानी जाहेरी परेको छ । पीडितहरूले इलाका प्रहरी कार्यालय मिर्चैयामा सोमबार आपराधिक उपद्रवसम्बन्धी जाहेरी दिएका हुन् । उनीहरूले वडाध्यक्ष यादव, प्रभास सिंह, कलास सिंह, रामनारायण सिंह, मुस्तफा राइन, गणेश कामतीलगायतका व्यक्तिविरुद्ध तोडफोड, लुटपाट र दुरुत्साहनको आरोप लगाएका छन् ।

    वडाध्यक्षसहति तीन जना पक्राउ
    प्रहरीले वडाध्यक्ष यादवलाई भिडलाई उक्साएको आरोपमा नियन्त्रणमा लिएको छ । यादवलाई गत शनिबार नै इलाका प्रहरी कार्यालय, मिर्चैयाबाट पक्राउ गरी हिरासतमा राखिएको हो । इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख प्रहरी नायब उपरीक्षक राजेशराज पुरीले जाहेरीमा समेत नाम उल्लेख रहेका वडाध्यक्ष यादवसहित कामती र कलासलाई पक्राउ गरिसकेको र अन्यको खोजतलास र अनुसन्धान भइरहेको जानकारी दिए ।


    पीडित परिवारलाई नगरपालिकाको राहत
    पीडित परिवारलाई नगरपालिकाले सोमबार राहत सामग्री प्रदान गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादवका अनुसार, प्रतिपरिवार २५ किलो चामल, पाँच किलोका दरले दाल, चिउरा, मुरही, सोयाबिन, आलु, प्याज, आटालगायतका सामग्री उपलब्ध गराइएको छ ।
    पीडित परिवारको आवासका लागि समेत पहल भइरहेको जानकारी दिँदै कार्यबाहक नगर प्रमुख रेखादेवी यादवले भने, “उहाँहरूलाई तत्कालका लागि राहत दिएका छौं, आवासको व्यवस्थापनबारे नगरपालिकामा छलफल भइरहेको छ ।”

  • देशभर कृषि तथा पशुपालनमा क्षतिको विवरण संकलन गरिँदै

    देशभर कृषि तथा पशुपालनमा क्षतिको विवरण संकलन गरिँदै

    काठमाडौँ, २२ असोजः कृषि तथा पशुपंछी विकास मन्त्रालयले हालै भएको भारी वर्षाका कारण देशभर कृषि तथा पशुपालनका क्षेत्रमा भएको क्षतिको विवरण सङ्कलन गर्न सुुरू गरेको छ । मन्त्रालयले सातै प्रदेशबाट क्षतिको प्रारम्भिक विवरण सङ्कलन गरी केन्द्रमा पठाउन निर्देशन दिएको हो ।

    बाढीबाट नोक्सान भएको कृषि वस्तुको प्रकार, परिमाण, पशुपंक्षीको नोक्सानी, गोठमा भएको क्षतिको अवस्था तथा व्यावसायिक फार्म, प्रभावित कृषकको अवस्थाबारे विवरण सङ्कलन गरिने मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिए । मन्त्रालय मातहतका सबै प्रदेशमा रहेका कृषि कार्यालयले सम्बन्धित स्थानीय तहको समन्वय र सहयोगमा क्षतिको तथ्याङ्क सङ्कलन गरिने छ ।


    बाढीका कारण कृषि क्षेत्रमा भएको क्षतिको विवरण सङ्कलनपछि तथ्याङ्कको आधारमा किसानले गरेको योगदानको मूल्याङ्कन गरी सम्बन्धित किसानलाई आवश्यकताअनुसार सहयोग तथा सुविधा उपलब्ध गराइने छ । मन्त्रालयले किसानले बाली तथा पशु धनमा बिमा गरेको भए त्यसको सहजीकरण मल, बिउ विजन, प्रविधि, प्राविधिक सिपलगायतमा सहयोग उपलब्ध गराउने तथा आवश्यकता भएको स्थानमा क्षतिपूर्ति समेत उपलब्ध गराउने जनाएको छ ।

    विवरण प्राप्त भएपछि तथ्याङ्कका आधारमा आगामी दिनमा थप सतर्कता तथा जोखिम न्यूनीकरणका उपायसम्बन्धी अध्ययन तथा अनुसन्धान गरी विस्तृत रूपमा योजना निर्माण र कार्यान्वयन गरिने सूचना अधिकारी जोशीले जानकारी दिए । रासस

  • ‘जेनजी’ आन्दोलनका मृतकका परिवारले ओलीसहित नेताको विरुद्धमा दिएको जाहेरी आयोगमा पठाइयो

    ‘जेनजी’ आन्दोलनका मृतकका परिवारले ओलीसहित नेताको विरुद्धमा दिएको जाहेरी आयोगमा पठाइयो

    काठमाडौँ, २१ असोज स् जिल्ला प्रहरी परिसर काठमाडौँले ‘जेनजी’ आन्दोलनका मृतकका परिवारले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीसहितको किटानी जाहेरी आफ्नो कार्यादेशभित्र नपर्ने भन्दै ‘भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोग, २०८२’ मा पठाएको छ । मृतकका परिवारमध्ये चाररपाँच जनाले घटनाका दोषीलाई कारबाही गर्न माग गर्दै आज जाहेरी दर्ता गराउन आएका र आफूहरूले आयोगसमक्ष पठाएको परिसरका प्रहरी उपरीक्षक पवन भट्टराईले जानकारी दिए ।


    उक्त उजुरी आयोगसमक्ष आइपुगेको र अध्ययन गरेर थप पक्रिया अघि बढाउने अध्यक्ष गौरीबहादुर कार्कीले जानकारी दिए । गृह मन्त्रालयले यही असोज ९ गते विज्ञप्ति जारी गरी आन्दोलनको अवधिमा भएका घटनाका सम्बन्धमा आयोगले छानबिन गर्ने जनाएको थियो ।

    आयोगलाई भौतिक एवं मानवीय क्षतिसँग सम्बन्धित सूचना वा निवेदन ग्रहण गरी विश्लेषण गर्ने र कारबाहीका सम्बन्धमा आवश्यक राय दिने कार्यादेश रहेको छ । गत भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा काठमाडौँलगायत मुलुकका विभिन्न भागमा भएका भौतिक एवं मानवीय क्षतिको यथार्थ छानबिन गरी प्रतिवेदन पेस गर्न उक्त आयोग गठन भएको थियो । आयोगले यही असोज ९ गतेदेखि कार्य प्रारम्भ गरेको छ ।