Category: फिचर

  • वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित

    वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित

    १ साउन, काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न राजमार्गमा पहिरो, ढुङ्गा खस्ने तथा हिलोका कारण यातायात प्रभावित भएको छ । नेपाल प्रहरीका अनुसार मकवानपुरको कान्तिलोकपथ भने पहिरो पन्छाएपछि आज बिहानदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ । मकवानपुरको बकैया गाउँपालिका–११ घट्टेपाखास्थित कान्तिलोकपथ सडकखण्डमा बुधबार साँझ सडकमाथिबाट पहिरो खस्दा यातायात पूर्ण रूपमा अवरुद्ध भएको थियो ।

    काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने खुर्कोट–नेपालथोक–कटुन्जेबेँसीस्थित बिपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गर्दै बेलुका ६ः०० बजेदेखि बिहान ४ः०० बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । मकवानपुरस्थित कान्तिलोकपथमा पनि वर्षायामको जोखिमका कारण बेलुका ५ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ ।

    यसैबीच, इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्ग हिलो हुँदा पूर्ण रूपमा अवरुद्ध भएको छ । उक्त बाटोको वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ । अर्घाखाँचीको पाणिनि गाउँपालिका–२सालझन्डी–ढोरपाटन सडकखण्डमा ढुङ्गा खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

    त्यसैगरी, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ जिरोकिलोस्थित अरनिको राजमार्ग पहिरोले अवरुद्ध भएको नेपाल प्रहरीले जनाउँदै सडक विभागलगायत निकायले अवरुद्ध सडक खुलाउने प्रयास जारी राखेका बताएको छ ।

  • तीन महिनामा नेपालभरि तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु

    तीन महिनामा नेपालभरि तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु

    काठमाडौँ, १ साउनः बितेका तीन महिनामा देशभर विपद्का तीन हजार २९६ घटना भएका छन् । ती घटनामा १६० जनाको मृत्यु छ । राट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यस्थापन प्राधिकरणका अनुसार वैशाख १ देखि असार ३२ गतेसम्मका विपद्का घटनामा दुई जना बेपत्ता तथा ९४५ जना घाइते भएका छन् । यस अवधिमा चार हजार ३७५ परिवार प्रभावित भएका छन् ।

    प्राधिकरणले सबैभन्दा बढी ८९७ आगलागीका घटना भएका तथा तिनमा १७ जनाको मृत्यु, १०९ जना घाइते तथा ९९० परिवार प्रभावित भएका जनाएको छ । उक्त अवधिमा सर्पदंशका ५१४ घटना भएका त्यसबाट ३८ जनाको मृत्यु, ४७९ जना घाइते तथा ५१७ परिवार प्रभावित भएका छन् । त्यसैगरी, हुरीका ४७७ घटनामा १३ जनाको मृत्यु भएको ६८ जना घाइते तथा एक हजार ३५६ परिवार प्रभावित भएका जनाइएको छ । पहिरोका ४३३ घटनामा १२ जनाको मृत्यु, १५ जना घाइते तथा ३५१ परिवार प्रभावित भएका छन् ।

    चट्याङका २२३ घटनामा २४ जनाको मृत्यु, १२० जना घाइते तथा २६२ परिवार प्रभावित भएका छन् जनाउँदै प्राधिकरणले सार्वजनिक गरेको विवरणमा वन्यजन्तुको आक्रमणका १८१ घटनामा १७ जनाको मृत्यु, १०३ जना घाइते तथा २८७ परिवार प्रभावित भएका उल्लेख छ । यसैगरी, बाढीका १६१ घटनामा नौ जनाको मृत्यु, दुई जना बेपत्ता, नौ जना घाइते तथा ३९६ परिवार प्रभावित भएका छन् । भारी वर्षाका १५३ घटनामा चार जनाको मृत्यु, एक जना घाइते तथा १३२ परिवार प्रभावित भएका छन् ।

    त्यसैगरी, लेक लागेका ५५ घटनामा २१ जनाको मृत्यु र ३५ जना अझै अस्वस्थ छन् । ढुङ्गा खसेर भएको एक घटनामा दुई जनाको ज्यान गएको छ । तीन महिनामा वन डढेलोका १९१ घटना भएका, त्यसमा एक जनाको मृत्यु र दुई जना घाइते भएका जनाइएको छ । हिउँपहिरोका दुई घटनामा एक जनाको मृत्यु र एक जना घाइते भएका छन् ।

  • संविधान संशोधन बहस पत्र” कार्यदलले बुझायो प्रतिवेदन

    संविधान संशोधन बहस पत्र” कार्यदलले बुझायो प्रतिवेदन

    ३२ असार, काठमाडौं । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले आफ्नो प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेश गरेको छ । प्रधानमन्त्री शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलले २०८३ असार ३२ गते आफ्नो प्रतिवेदन पेश गरेको हो। २०८२ चैत १३ गते गठित सरकारले जारी गरेको शासकीय सुधार सम्बन्धी सय बुँदे कार्यसूचीको बुँदा नं. ४ मा “देशको दीर्घकालीन राजनीतिक तथा संस्थागत सुधार, निर्वाचन प्रणाली लगायतका विषयमा संविधान संशोधन सम्बन्धी विषयहरूमा राष्ट्रिय सहमति निर्माण गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सात दिनभित्र ‘संविधान संशोधन बहस पत्र’ तयार गर्न कार्यदल गठन गर्ने तथा उक्त बहस प्रक्रियालाई सहभागितामूलक, पारदर्शी र तथ्यमा आधारित बनाउने” उल्लेख छ।


    सोही अनुसार २०८२ चैत १६ गतेको मन्त्रिपरिषद् बैठकले उक्त कार्यदल गठन गरेको थियो। कार्यदलले २०८२ चैत २५ गतेदेखि कार्य प्रारम्भ गरी दोस्रो पटक थपिएको म्याद भित्र अर्थात आज आफ्नो जिम्मेवारी पूरा गरेर प्रतिवेदन बुझाएको हो। प्रतिवेदन तयार गर्ने क्रममा कार्यदलले २२ वटा औपचारिक र अन्य अनौपचारिक बैठकहरू सञ्चालन गरेको थियो। त्यस क्रममा पूर्वराष्ट्रपति, पूर्व प्रधानमन्त्री, विभिन्न राजनीतिक दलका नेतृत्व, संविधानविद्, कानूनविद्, पूर्वन्यायाधीश, पूर्वमहान्यायाधिवक्ता, पूर्वकानुन सचिव, पूर्वप्रशासक, विभिन्न क्षेत्रमा क्रियाशिल महिला, सञ्चारकर्मी र निजी क्षेत्रका प्रतिनिधिसहित १८४ जना विज्ञ व्यक्तिहरूसँग प्रत्यक्ष छलफल गरेको थियो।


    साथै संवैधानिक निकाय, महान्यायाधिवक्ताको कार्यालय, प्रदेश तथा स्थानीय सरकार, नेपाल बार एशोसिएसन, विभिन्न धार्मिक संघसंस्थाहरु लगायत १५० भन्दा बढी संघ–संस्थाहरूसँग लिखित सुझाव माग गरिएको थियो। आम नागरिकको सुझावका लागि वेबसाइटमा सूचना प्रकाशन गरिएकामा स्वदेश तथा विदेशमा रहेका नेपालीहरूबाट ईमेल र ह्वाट्सएप मार्फत कुल ४४,६१३ वटा डिजिटल सुझावहरू प्राप्त भएका थिए भने टेलिफोन र अन्य विद्युतीय माध्यमबाट पनि सुझावहरू संकलन गरिएका थिए।


    नेपालको संविधान निर्माणका ऐतिहासिक दस्तावेज, संविधानसभाका समितिका प्रतिवेदन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यास र नजिरहरूको अध्ययन गरी प्राप्त सुझावहरूलाई विभिन्न २० वटा विषय क्षेत्रमा वर्गीकरण गरेर कार्यकारी सारांश सहितको प्रतिवेदन तयार गरिएको छ।

  • सेयर बजार र उद्यम प्रवद्र्धनमा सहजीकरण गर्न प्रधानमन्त्री शाहको गभर्नरलाई सुझाव

    सेयर बजार र उद्यम प्रवद्र्धनमा सहजीकरण गर्न प्रधानमन्त्री शाहको गभर्नरलाई सुझाव

    काठमाडौँ, ३२ असारः प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय अर्थतन्त्रलाई तत्काल थप गतिशील, बलियो र व्यावसायिक बनाउन विशेष अग्रसरता देखाएका छन् । प्रधानमन्त्री शाहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज नेपाल राष्ट्र बैङ्कका गभर्नर विश्वनाथ पौडेलसँग छलफल गर्दै मुलुकको समग्र आर्थिक विकास, सेयर बजारको स्थायित्व र उद्यमशीलता प्रवद्र्धनका लागि आगामी मौद्रिक नीतिमा आवश्यक सहजीकरण र लचकता अपनाउन सुझावहरू दिए ।


    करिब एक घण्टासम्म चलेको उक्त छलफलमा प्रधानमन्त्री शाहले सरकार र केन्द्रीय बैङ्क दुवैको सहकार्यबाट मात्र मुलुकमा आर्थिक आत्मविश्वास जगाउन सकिने विश्वास व्यक्त गरे । भेटका क्रममा प्रधानमन्त्री शाहले पुँजी बजारमा आबद्ध आम सर्वसाधारण लगानीकर्ताहरूको मनोबल उच्च राख्न राष्ट्र बैङ्कले अभिभावकीय भूमिका खेल्नुपर्नेमा विशेष जोड दिए ।


    मौद्रिक नीतिमा रहेका कतिपय सीमा वा अप्ठ्यारा प्रावधानहरूलाई खुकुलो पार्दै सेयर बजारमा लगानी गर्ने वातावरणलाई थप सहज र उत्साहजनक बनाउन सुझाव दिँदै प्रधानमन्त्री शाहले उद्यम क्षेत्रमा सकारात्मक सुधारको खाँचो औँल्याए । मुलुकभित्रै उद्योग, व्यवसाय र रोजगारी सिर्जना गर्न चाहने साना तथा ठूला उद्यमीहरूलाई बिनाकुनै त्रास सहज रूपमा लगानी गर्ने वातावरण सुनिश्चित गर्न र बैङ्कहरूको ब्याजदर एवं कर्जा प्रवाहका सर्तहरूलाई उद्यममैत्री बनाउन प्रधानमन्त्री शाहले आग्रह गरे ।


    यसका साथै, नेपालको जगैदेखिको आर्थिक विकासका लागि महिला उद्यमीहरू र आर्थिक–सामाजिक रूपमा पछाडि परेका क्षेत्रका व्यवसायीहरूलाई कर्जा सहुलियतमा विशेष प्राथमिकता दिई उहाँहरूलाई अर्थतन्त्रको मूल प्रवाहमा ल्याउने गरी मौद्रिक उपकरणहरू परिचालन गर्नुपर्ने प्रधानमन्त्री शाहको भनाइ थियो ।

    छलफलमा गभर्नर पौडेलले राष्ट्र बैङ्क आगामी मौद्रिक नीति र आफ्ना कार्यदिशालाई अत्यन्त व्यावसायिक, लचिलो र समयसापेक्ष बनाउन प्रतिबद्ध रहेको प्रष्ट पारे । उनले सरकार र राष्ट्र बैङ्क दुवैको साझा लक्ष्य अर्थतन्त्रलाई गति दिनु नै भएको स्पष्ट पार्दै राष्ट्र बैङ्कले कसैलाई पनि अप्ठ्यारो पार्ने वा त्रसित बनाउने नीति नलिने दृढता व्यक्त गरे । सेयर बजारका लगानीकर्तादेखि घरेलु उद्यमीसम्म सबैलाई राष्ट्र बैङ्कले नीतिगत रूपमा पूर्ण रूपमा सहजीकरण गर्ने र मुलुकको समग्र अर्थतन्त्रलाई गतिशील बनाउने गभर्नर पौडेलको प्रतिबद्धता थियो ।

  • पहिलो खेपमा आठ सय ३६ नेपाली कामदार इजरायल जाँदै

    पहिलो खेपमा आठ सय ३६ नेपाली कामदार इजरायल जाँदै

    काठमाडौँ, ३२ असारः इजरायलमा सुसारेका रूपमा काम गर्न निकट भविष्यमा आठ सय ३६ जना इजरायल जाने भएका छन् । इजरायलको जनसङ्ख्या तथा अध्यागमन प्राधिकरणले आज नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरीबास,वैदेशिक रोजगार विभागका प्रतिनिधि तथा सञ्चारमाध्यमका प्रतिनिधिको उपस्थितिमा पहिलो खेपमा इजरायल जाने कामदार श्रव्यदृश्यका माध्यमबाट चिट्ठा प्रणालीमार्फत छनोट गरेको हो ।

    यहाँस्थित इजरायली दूतावासले जारी गरेको प्रेस विज्ञप्तिअनुसार चिट्ठा प्रक्रियामा एक हजार ११५ जना सहभागी भएकामा ७८४ पुरुष र ३३१ महिला चयन भएका छन् । त्यस अवसरमा राजदूत एरीबासले इजरायलको सेवाशुश्रूषा क्षेत्रमा निकट भविष्यमा थप दुई हजार १०० भन्दा बढी रोजगारीका अवसर खुल्ने जानकारी दिए । उनले ‘घरमा आधारित स्याहार सेवा’ तथा ‘कृषि श्रमिक’सम्बन्धी द्विपक्षीय सहमति कार्यान्वयनको चरणमा पुगेको बताए ।

    द्विपक्षीय श्रम सम्झौताअन्तर्गत इजरायल जाने नेपाली कामदारले इजरायली कानुनबमोजिम स्थानीय कामदारसरह न्यूनतम पारिश्रमिक तथा सेवासुविधा प्राप्त गर्नेछन् । इजरायल र नेपालबीचको श्रम सहकार्यलाई थप सुदृढ बनाउने दिशामा यो छनोट प्रक्रिया अर्को महत्वपूर्ण उपलब्धि भएको जनाउँदै दुवै देशले भर्ती प्रक्रियामा पारदर्शिता, निष्पक्षता र समान अवसरप्रतिको प्रतिबद्धता दोहोर्याएका छन् ।

  • नेपाल-कोरिया श्रम सहयोग सेमिनार सम्पन्न

    नेपाल-कोरिया श्रम सहयोग सेमिनार सम्पन्न

    काठमाडौँ — नेपाल र दक्षिण कोरियाबिचको श्रम सहयोगलाई थप सुदृढ बनाउने उद्देश्यका साथ नेपाल–कोरिया श्रम सहयोग सेमिनार २०२६ सम्पन्न भएको छ । दक्षिण कोरियाली दूतावास र ईपीएस सेन्टरको सहकार्यमा युवा, श्रम तथा रोजगार मन्त्रालयद्वारा आयोजित उक्त कार्यक्रममा वैदेशिक रोजगारीबाट प्राप्त सीप र पुँजीलाई नेपालको आर्थिक रूपान्तरणमा लगाउनुपर्नेमा जोड दिइएको छ।

    कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री रामजी यादवले ईपीएस कार्यक्रमले वित्तीय रेमिट्यान्स मात्र नभई सामाजिक रेमिट्यान्स समेत सिर्जना गरिरहेको बताए । उनका अनुसार कोरियाबाट फर्केका नेपालीहरूले सीप, अनुशासन, आत्मविश्वास र व्यावसायिक अनुभव लिएर आउने गरेका छन्, जसले उनीहरूलाई रोजगारी खोज्नेबाट रोजगारदातामा रूपान्तरण गर्न मद्दत पुर्‍याएको छ।

    मन्त्रालयले हालै सम्मान गरेका सात सफल उद्यमी रिटर्ननीहरूमध्ये दुई जना दक्षिण कोरियाबाटै फर्केका व्यक्तिहरू हुनु यसको सफल उदाहरण रहेको मन्त्री यादवले उल्लेख गरे ।


    दक्षिण कोरियाको आफ्नै विकास यात्राको उदाहरण दिँदै मन्त्रीयादवले कुनै समय कोरियाली नागरिकहरू पनि कामको खोजीमा जाने गरेको स्मरण गराउनुभयो। ‘कोरियाको यात्राले नेपालका लागि एउटा महत्त्वपूर्ण सन्देश दिन्छ—कुनै पनि देश श्रमिक पठाउने मुलुकबाट सुरु भएर आफ्नै देशमा आकर्षक अवसरहरू सिर्जना गर्ने राष्ट्रमा रूपान्तरण हुन सक्छ,’ उनले भने । यसका लागि आप्रवासनलाई सीप, बचत, लगानी र उद्यमशीलतामा बदल्ने स्पष्ट राष्ट्रिय दृष्टिकोण र नीति आवश्यक रहेको उनको तर्क थियो।


    ईपीएस मोडललाई अन्तर्राष्ट्रिय श्रम आप्रवासनका लागि एउटा उदाहरणीय मोडल मान्दै मन्त्री यादवले यसको पारदर्शी छनोट प्रक्रिया र डिजिटल प्रणालीको प्रशंसा गरे । सरकारले वैदेशिक रोजगारीलाई थप सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन महत्त्वपूर्ण सुधारहरू गरिरहेको र यसमा ईपीएस मोडलबाट धेरै कुरा सिक्न सकिने उनले बताए ।

    मन्त्री यादवले दुवै सरकारलाई ईपीएस आकांक्षीहरूका लागि स्पष्ट र भरपर्दो सूचना उपलब्ध गराउन र कार्यस्थलको सुरक्षा तथा कामदारको मानसिक स्वास्थ्यमा ध्यान दिन अनुरोध गर्नुभयो। साथै, कोरियाबाट फर्केका र फर्कने तयारीमा रहेका कामदारहरूका लागि सञ्चालित पुनः एकीकरण कार्यक्रमहरूमा थप सहकार्य गर्न दक्षिण कोरियाली सरकारसँग आग्रह गरिएको छ।


    कार्यक्रममा नेपालका लागि दक्षिण कोरियाली राजदूत, मलेसियाली राजदूत, विभिन्न कूटनीतिक नियोगका प्रतिनिधिहरू, सरकारी अधिकारीहरू र ईपीएसमार्फत फर्केका नेपालीहरूको उपस्थिति रहेको थियो।

  • राष्ट्रपतिसँग फ्रान्सका राजदूतको बिदाइ भेट

    राष्ट्रपतिसँग फ्रान्सका राजदूतको बिदाइ भेट

    काठमाडौँ, ३२ असारः राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि फ्रान्सका राजदूत भर्जिनी कोर्टेभालले आज राष्ट्रपति भवनमा शिष्टाचार बिदाइ भेट गरेका छन् । त्यस अवसरमा नेपाल र फ्रान्सबीचको द्विपक्षीय सम्बन्ध, आपसी हित तथा चासोका विषयमा कुराकानी भएको थियो । राष्ट्रपति पौडेलले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा राजदूत कोर्टेभाललाई बधाई दिँदै आगामी दिनका लागि शुभकामना व्यक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

  • महिला उद्यमीका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री शाह

    महिला उद्यमीका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री शाह

    काठमाडौँ, ३२ असारः प्रधानमन्त्री वालेन्द्र शाहले महिला उद्यमीहरूको उद्यमशीलता विकासका लागि हरसम्भव सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज महिला उद्यमी महासङ्घ नेपालका पदाधिकारीसँग भएको छलफलमा उहाँले महिला उद्यमीका समाधान गर्न सरकार सक्रिय रहेको तथा उनीहरूले उत्पादन गरेका वस्तुको पर्यटकीय स्थलहरूमा प्रवद्र्धन गर्ने वातावरण निर्माण गरिने बताए ।


    छलफलमा महासङ्घका प्रतिनिधिले व्यवसायमैत्री वातावरण सुनिश्चित गर्न, वस्तु तथा सेवालाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारमा पु¥याउन विशेष कार्यक्रम सञ्चालन गर्न तथा व्यापार मेला, प्रदर्शनी, ‘बिजनेस–टु–बिजने म्याचिङ’ र निर्यात प्रवद्र्धनका कार्यक्रममा अनिवार्य सहभागी हुन आग्रह गरे । महासङ्घले विकास गरेको ‘म उद्यमी ट्रेडमार्क’लाई स्थापित गर्न भएको आग्रहप्रति प्रधानमन्त्री शाहले सकारात्मक जवाफ दिँदै उक्त ट्रेडमार्कलाई शीघ्र बजारमा ल्याउन सुझाए ।


    छलफलका क्रममा महासङ्घको वार्षिक अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेलामा सरकारको संस्थागत सहकार्यको माग पनि गरिएको थियो । साथै, सार्वजनिक खरिद ऐन तथा नियमावलीमा आवश्यक व्यवस्था गरी महिला उद्यमीलाई सार्वजनिक खरिद प्रक्रियामा प्राथमिकता दिन तथा सरकारी कार्यालय र शैक्षिक संस्थाले महिला उद्यमीका वस्तु तथा सेवा खरिद गर्नुपर्ने व्यवस्था लागू गर्न अनुरोध गरिएको थियो ।

    महिला उद्यमीहरूले वित्तीय सहुलियत वास्तविक उद्योगीसम्म पुग्न नसकेको गुनासो गर्दै उक्त सुविधा गाउँ–गाउँसम्म विस्तार गर्न, पहुँच बढाउन तथा पुँजी अभावका कारण उद्यम रोकिन नदिन धितोको वैकल्पिक व्यवस्था गर्न पनि सरकारसँग माग गरे ।

    महिला उद्यमीहरूको छाता संस्था महासङ्घलाई सरकारका नीति निर्माण तथा निर्णय प्रक्रियामा सहभागी गराउनुपर्ने माग गर्दै उहाँहरूले स्थानीय तहमा सीपमूलक तालिम सञ्चालनका लागि महासङ्घले दक्ष स्रोत व्यक्ति उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे । आफ्ना समस्या गम्भीरपूर्वक सुनेर तत्काल पहल सुरु गरेकोमा उनीहरुले प्रधानमन्त्री शाह समक्ष कृतज्ञता समेत व्यक्त गरे ।


    “प्रधानमन्त्रीले हामीलाई सुन्नु मात्र भएन उहाँले समस्याको समाधानका लागि तत्काल पहल अघि बढाउनेदेखि आवश्यक सबै किसिमका सहकार्य गर्न तत्परता देखाउनुभयो”, महासङ्घका अध्यक्ष दर्शना श्रेष्ठले भनिन्, “एक्सन ओरिएन्टेट प्रधानमन्त्रीसँगको संवादले महिला उद्यमशीलताको प्रवद्र्धनमा मद्दत हुने हाम्रो विश्वास छ ।”

    महिला उद्यमशीलताको प्रवद्र्धन, लगानी तथा वित्तीय पहुँच विस्तार, उद्यममैत्री नीतिगत सुधार, सीप तथा क्षमता विकास, नवप्रवर्तन, डिजिटल उद्यमशीलता तथा महिला नेतृत्वमा आधारित उद्यमहरुको दिगो विकाससम्बन्धमा छलफल भएको थियो । छलफलमा महासङ्घका प्रथम उपाध्यक्ष सुनिता वैद्य , महासचिव सविता सुवेदी, सचिव डिकीला लामा तृतीय, उपाध्यक्ष महालक्ष्मी श्रेष्ठलगायत सहभागी थिए ।

  • अमेरिकी बजारमा नेपाली उत्पादनको पहुँच सुनिश्चित गर्न आग्रह

    अमेरिकी बजारमा नेपाली उत्पादनको पहुँच सुनिश्चित गर्न आग्रह

    काठमाडौँ, ३२ असारः उद्योग, वणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले अमेरिकी बजारमा नेपाली उत्पादनको पहुँच सुनिश्चितताका लागि आग्रह गरेकी छिन् । यहाँस्थित अमेरिकी दूतावासका कार्यवाहक राजदूत स्कट अर्बमले आज मन्त्रालयमा गरेको शिष्टाचार भेटमा उद्योगमन्त्रीले सन् २०१५ मा सुरु भएको ‘नेपाल ट्रेड प्रिफरेन्स प्रोग्राम’ को अवधि सन् २०२५ डिसेम्बरमा पूरा भएकाले नेपाली उत्पादनलाई सो सुविधा पुनः थप गर्न आग्रह गरिन् ।


    मन्त्री यादवले दुई देशबीच भएको ‘व्यापार तथा लगानी ढाँचा सम्झौता’ अन्तर्गतको संयन्त्रलाई नियमित संवादमार्फत सक्रिय बनाइ द्विपक्षीय व्यापार र लगानी प्रवर्द्धन गर्नुपर्नेमा जोड दिइन् । नेपालमा नीतिगत तथा कानुनी सुधारमार्फत लगानीमैत्री वातावरण सुदृढ बनाइएको जानकारी दिँदै उनले थप अमेरिकी लगानीलाई आकर्षित गर्न सरकार उत्सुक रहेको बताइन् ।


    मन्त्री यादवले जलविद्युत् तथा नवीकरणीय ऊर्जा, पर्यटन पूर्वाधार, कृषि प्रशोधन, उत्पादनमूलक उद्योग र डिजिटल अर्थतन्त्र जस्ता क्षेत्रमा अमेरिकी लगानीका लागि आग्रह गरेको उनको सचिवालयले जनाएको छ । भेटमा अमेरिकी कार्यवाहक राजदूत स्कटले व्यापार सहुलियतको निरन्तरता र लगानी प्रवर्द्धनमा अमेरिका सकारात्मक रहेको बताए ।

  • शिक्षामन्त्रीसँग जापानी राजदूत तोरुको शिष्टाचार भेटवार्ता

    शिक्षामन्त्रीसँग जापानी राजदूत तोरुको शिष्टाचार भेटवार्ता

    काठमाडौँ, ३२ असारः शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि जापानी राजदूत मायदा तोरुले आज शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा उहाँहरुबीच नेपाल–जापानबीचको मैत्रीपूर्ण द्विपक्षीय सम्बन्ध, साझा हित तथा बहुआयामिक सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको छ । आगामी दिनमा शिक्षा क्षेत्रमा गर्न सकिने सम्भावित सहकार्यका क्षेत्रबारे पनि उनीहरुबीच विचार–विमर्श भयो ।

    भेटका क्रममा नेपाल सरकारको प्रवक्ता समेत रहेका मन्त्री पोखरेलले नेपाल र जापानबीचको ऐतिहासिक, मैत्रीपूर्ण तथा विश्वासमा आधारित सम्बन्ध आगामी दिनमा अझ प्रगाढ हुने विश्वास व्यक्त गरे । उनले सार्वजनिक शिक्षा सुधारका लागि सरकार प्रतिबद्धताका साथ अघि बढिरहेको उल्लेख गर्दै भने, “सार्वजनिक शिक्षा सुधारका चुनौतीहरू छन् । त्यसलाई स्वीकार्नु नै सुधारको प्रारम्भिक पूर्वशर्त हो । त्यसमा शिक्षा तथा खेलकुद मन्त्रालय पूर्ण रूपमा प्रतिबद्ध छ ।”

    मन्त्री पोखरेलले शिक्षामा गरिएको लगानीको प्रतिफल प्राप्त हुन समय लाग्ने भएतापनि सुधार र परिवर्तनको प्रक्रिया तत्काल सुरु गर्नुपर्ने भएकाले विद्यालयको भौतिक पूर्वाधार मूल्याङ्कनको काम अघि बढाइएको बताए । सोही आधारमा आगामी दिनमा आवश्यकता अनुसार विद्यालयमा बजेट विनियोजन गरिने बताउँदै भौतिक पूर्वाधार, शैक्षिक सुविधा तथा शिक्षक तालिमलगायतका क्षेत्रमा मन्त्रालयले प्राथमिकताका साथ काम गर्ने विश्वास दिलाए ।

    उनले सुरक्षित विद्यालय पूर्वाधार, ‘डिजिटल’ तथा ‘स्मार्ट लर्निङ’, शिक्षकको पेसागत क्षमता विकास, विद्यालय स्वास्थ्य तथा पोषणलगायतका क्षेत्रमा जापान सरकारसँग सहकार्य गर्न सकिने उल्लेख गरे ।


    मन्त्री पोखरेलले जापानमा विद्यालयतहदेखि नै विद्यार्थीलाई सांस्कृतिक, मूल्य र अनुशासन सिकाउने अभ्यासलाई नेपालले पनि अनुशरण गरी संस्कृति, मूल्य–मान्यता तथा सहकार्यको भावना विकास गर्ने कार्यक्रम सञ्चालन गर्न सकिने धारणा राखे । मन्त्री पोखरेलले परिवर्तित सन्दर्भअनुसार नयाँ सोच र सुधारसहित सरकार अघि बढिरहेको उल्लेख गर्दै सम्भावित क्षेत्रमा जापान सरकारसँग सहकार्य गर्न नेपाल तयार रहेको बताए ।

    जापानी राजदूत तोरुले सार्वजनिक विद्यालय शिक्षा सुधारका लागि नेपाल सरकारले थालेका प्रयासमा जापान सरकारको निरन्तर सहयोग रहने विश्वास व्यक्त गरे । उनले विद्यालय शिक्षाको सुधार र सुशासनका लागि दीर्घकालीन राजनीतिक प्रतिबद्धता, सक्षम कर्मचारीतन्त्र तथा समग्र प्रणालीको विश्वास आवश्यक हुने उल्लेख गर्दै त्यस पहलमा जापानले आवश्यक सहयोग गर्ने बताए ।

    उनले गुणस्तरीय विद्यालय शिक्षाका लागि शिक्षक तालिम अपरिहार्य रहेको उल्लेख गर्दै शिक्षकको पेसागत विकासका कार्यक्रम सञ्चालनमा प्रभावकारी रूपमा उपयोग गर्न सुझाव दिए । राजदूत तोरुले सार्वजनिक शिक्षा सुधारका लागि समग्र शिक्षा प्रणालीमा सुशासन स्थापना गर्न दीर्घकालीन प्रतिबद्धता आवश्यक रहेको बताए ।

    उनले शिक्षा क्षेत्रमा हुने सुधारले अपेक्षित परिणाम दिन समय लाग्ने भएकाले प्रारम्भिक चरणमै दृढ प्रतिबद्धता र धैर्य आवश्यक रहेको उल्लेख गरे । राजदूत तोरुले नीतिगत स्थायित्व, प्रशासनिक सहजीकरण तथा पूर्वाधार विकासलाई थप गति दिन सके जापानी निजी क्षेत्रको नेपालप्रतिको आकर्षण अझ बढ्न सक्ने धारणा राखे ।

    सूचना प्रविधि क्षेत्रमा नेपाल–जापानबीच सहकार्य विस्तार गर्ने प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै उनले डिजिटल पूर्वाधार विस्तार, प्राविधिक जनशक्ति विकास, नवप्रवर्तन तथा लगानी प्रवर्द्धनका क्षेत्रमा दुई देशबीच सहकार्यलाई अझ मजबुत बनाउन सकिने बताए ।

  • पूर्वमुख्यमन्त्री शाक्यको आकस्मिकरुपमा ‘एन्जियोप्लाष्टी’ शल्यक्रिया

    पूर्वमुख्यमन्त्री शाक्यको आकस्मिकरुपमा ‘एन्जियोप्लाष्टी’ शल्यक्रिया

    काठमाडौँ, ३२ असारः मुटुसम्बन्धी समस्याका कारण बागमती प्रदेशका पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको आकस्मिकरुपमा ‘एन्जियोप्लाष्टी’ शल्यक्रिया गरिएको छ । नेकपा (एमाले) का पूर्वउपाध्यक्ष शाक्यको आज बिहान पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शल्यक्रिया गरिएको हो ।

    हाल नेत्री शाक्यको सघन उपचार कक्षमा उपचार भइरहेको छ । अस्पतालका मुटुरोग विभागका प्रमुख डा अशोक अधिकारीका अनुसार नेत्री शाक्यलाई बिहान छाती दुखेका कारण अस्पताल ल्याइएकामा परीक्षणबाट ‘हार्ट अट्याक (एक्युट मायोकोर्डियल इन्फरक्सन’ भएकाले ‘एन्जियोप्लाष्टी’ गरिएको हो । शल्यक्रियामा डा अधिकारी, डा प्रबिन्द्र महर्जन, डा आनन्द जिसीको टोली संलग्न थियो ।

  • श्रीमानको कुटाइः श्रीमतीको मृत्यु

    श्रीमानको कुटाइः श्रीमतीको मृत्यु

    दोधारा चाँदनी (कञ्चनपुर), ३२ असारः सोच्नै सकिँदैन । जीवनभर दुःख सुखमा सँगै बाँच्ने र सँगै जिउने कमस खाएका श्रीमान् रणबहादुर सुनारले अन्ततः आफ्नै श्रीमतीको ज्यान लिएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख टेकबहादुर रावतले ४२ वर्षीया पारु सुनारको उनका ४५ वर्षीय श्रीमान् रणबहादुर सुनारको कुटाइबाट बिहीबार मृत्यु भएको बताए ।

    कुटपिटबाट घाइते भएकी पारु र कुटपिट गर्ने सुनार दुवै जनालाई उपचारका लागि बुधबार दोधाराचाँदनीस्थित नगर अस्पतालमा पुगेका थिए । प्रहरीले कुटपिटमा संलग्न रणबहादुरलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको छ ।

  • कङ्गोमा इबोला सङ्क्रमितको सङ्ख्या दुई हजार नाग्यो : डब्लुएचओ

    कङ्गोमा इबोला सङ्क्रमितको सङ्ख्या दुई हजार नाग्यो : डब्लुएचओ

    किन्शासा (कङ्गो) ३२ असार (रासस–सिन्ह्वा) । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले प्रकोपको वास्तविक मात्रा रिपोर्ट गरिएको भन्दा दुई देखि चार गुणा बढी हुन सक्ने चेतावनी दिँदै कङ्कोमा इबोला सङ्क्रमितको सङ्ख्या दुई हजार नाघेको पुष्टि गरेको छ । देशका स्वास्थ्य अधिकारीहरूले जारी गरेको पछिल्लो प्रतिवेदन अनुसार सन् २०११ मा ७५४ जनाको मृत्यु सहित कुल सङ्क्रमितको पुष्टि भएको थियो ।

    पत्ता नलागेको सङ्क्रमण, सामुदायिक मृत्यु र द्रुत भौगोलिक विस्तारले प्रतिक्रियालाई महामारीको उच्च खतराको रुप दिदै डब्लुएचओले तथ्याङ्क घोषणा गरेको जनाएको छ । विश्व स्वास्थ्य सङ्गठन आपतकालिन स्वास्थ्य कार्यक्रमा कार्यकारी निर्देशक चिकवे इहक्वियाजुले बुन्डिबुग्यो इबोला भाइरसका कारण हालको प्रकोप कुनै पनि इबोला प्रकोप भन्दा तीव्र गतिमा बढिरहेको बताए ।


    गत मे महिनाको मध्यमा घोषणा गरिएको यो प्रकोप पाँच प्रान्तमा फैलिएको छ भने विश्व स्वास्थ्य संगठनका अनुसार यो अहिले सम्म रेकर्ड गरिएको तेस्रो ठूलो इबोला प्रकोप हो । यो प्रकोप इटुरी प्रान्तमा यसको मूल केन्द्रभन्दा बाहिर प्रगतिशील भौगोलिक विस्तारको विशेषता रहेको “नयाँ चरण“ मा प्रवेश गरिरहेको देखिन्छ, अफ्रिकाका लागि डब्ल्यूएचओको क्षेत्रीय कार्यालयले मङ्ंगलबार जारी गरेको साप्ताहिक अवस्था रिपोर्टले जनाएको छ ।

    प्रकोप थप दुई वटा प्रान्तहरू, सोपो र हाट–उलेमा फैलिएको जनाइएको छ, जसले प्रतिक्रियाको जटिलता बढाउनुका साथै थप राष्ट्रिय र सीमापार फैलावटको जोखिम बढाएको छ, प्रतिवेदनमा उल्लेख गरिएको छ । कङ्गो स्वास्थ्य अधिकारीहरूले हाट–उलेमा नयाँ सङ्क्रमण देखिएको र अहिलेसम्म १४ जनामा सङ्क्रमणदर्ता भएकोमा १३ जनाको मृत्यु भएको जनाएका छन् ।

    १६ लाख भन्दा बढी मानिसहरूको बसोबास रहेको सहर किसाङ्गानीमा नयाँ सङ्क्रमणहरु पत्ता लागेकोले कङ्गो नदी लगायत प्रमुख यातायात मार्गमा व्यापक प्रसारणको जोखिम रहेको मानवीय मामिलाको समन्वयका लागि संयुक्त राष्ट्रसङ्घको कार्यालयले चेतावनी दिएको छ ।

  • जुम्ल्याहा शिशुको हत्या आरोपमा अमेरिकामा आमा पक्राउ

    जुम्ल्याहा शिशुको हत्या आरोपमा अमेरिकामा आमा पक्राउ

    लस एन्जलस, ३२ असार (रासस–एएफपी) । अमेरिकाको इडाहो राज्यमा १८ महिनाका जुम्ल्याहा शिशुको हत्या गरेको आरोपमा पक्राउ परेकी एक आमालाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । ती आमाले आफ्ना शिशुको मृत्यु खोपका कारण भएको दाबी गर्दै आएकी भए पनि अनुसन्धानपछि प्रहरीले उहाँमाथि शिशुको श्वास अवरुद्ध गरी हत्या गरेको अभियोग लगाएको हो ।

    प्रहरीका अनुसार २३ वर्षीया एन्ड्रिया शाले फ्लू, हेपाटाइटिस–ए र टिटानससहितका नियमित बाल खोप लगाएको आठ दिनपछि आफ्ना जुम्ल्याहा शिशुको मृत्यु भएको दाबी गरेकी थिइन् । उनी खोपविरोधी संस्था ‘चिल्ड्रेन्स हेल्थ डिफेन्स’ ले दायर गरेको मुद्दाकी मुख्य वादीसमेत हुन् । उक्त संस्थाको स्थापना तथा नेतृत्व वर्तमान अमेरिकी स्वास्थ्यमन्त्री बन्नुअघि रोबर्ट एफ केनेडी जुनियरले गरेका थिए ।


    अमेरिकाको उत्तरपश्चिमी इडाहो राज्यस्थित पेएट प्रहरी विभागले लामो र विस्तृत अनुसन्धानपछि शालाई पक्राउ गरी अभियोग दर्ता गरिएको जनाएको छ । प्रहरीले शिशुको मृत्यु प्राकृतिक नभई श्वास रोकी हत्या गरिएको निष्कर्ष निकालेको बताएको छ । मङ्गलबार भएको अदालतको सुनुवाइमा शाका कानून व्यवसायी जोसेफ फिलिसेट्टीले उनलाई ‘मायालु र जिम्मेवार आमा’ भएको दाबी गर्दै राज्यले प्रस्तुत गरेको चित्रण वास्तविकताभन्दा फरक रहेको बताए ।


    मृत्युदण्डसम्मको सजाय हुन सक्ने अभियोग सामना गरिरहेकी शाले २० लाख अमेरिकी डलर बराबरको धरौटी रकम घटाइदिन आग्रह गरेकी थिइन् । पक्राउ पर्नुभन्दा केही दिनअघि जन्मिएकी आफ्नी नवजात छोरीसँग बस्न पाउने आधारमा उनले यस्तो अनुरोध गरेकी थिइन् । तर न्यायाधीश किली स्टुचलिकले घटनाको गम्भीरताप्रति चिन्ता व्यक्त गर्दै धरौटीको सुविधा नदिई पुर्पक्षका लागि थुनामै राख्ने आदेश दिनुभएको इडाहो स्टेट्सम्यानले जनाएको छ ।

    सन् २०२५ को मे महिनामा जुम्ल्याहा शिशुको मृत्यु भएपछि शाले आफूले उनीहरूलाई ओछ्यानमा अचेत अवस्थामा फेला पारेको बताउँदै सार्वजनिक रूपमा खोपकै कारण मृत्यु भएको दाबी गरेकी थिइन् । यद्यपि स्वास्थ्य विज्ञहरूले नियमित बाल खोपले श्वासप्रश्वास रोकिने वा अवरुद्ध हुने जोखिम बढाउँदैन भन्ने वैज्ञानिक प्रमाण रहेको दोहो¥याएका छन् ।

    उनीहरूले आनुवंशिक रूपमा समान नभएका जुम्ल्याहा शिशुको एउटै समयमा खोपको प्रतिकूल प्रतिक्रियाबाट मृत्यु भएको दाबी पनि अस्वाभाविक भएको बताएका छन् । खोप र अटिजमबीच सम्बन्ध रहेको दाबी गर्दै आएका स्वास्थ्यमन्त्री रोबर्ट एफ केनेडी जुनियरले यस घटनाबारे कुनै सार्वजनिक प्रतिक्रिया दिएका छैनन् । यस्तै, चिल्ड्रेन्स हेल्थ डिफेन्सले पनि एएफपीको प्रतिक्रिया मागको जवाफ दिएको छैन ।

  • मोन्टेनेग्रोको चराको आश्रय सङ्कटमा

    मोन्टेनेग्रोको चराको आश्रय सङ्कटमा

    उल्सिन्ज (मोन्टेनेग्रो), ३२ असार (रासस–एएफपी) । मोन्टेनेग्रोको उल्सिन्ज सेलिना क्षेत्रमा रहेको भूमध्यसागरकै ठूलो नुन उत्पादन क्षेत्र संरक्षण अभावका कारण तीव्र रूपमा नष्ट हुँदै गएको भन्दै वातावरणविद्हरूले तत्काल पुनःस्थापनाको माग गरेका छन् । उनीहरूका अनुसार समयमै आवश्यक कदम नचालिए युरोपका लागि अत्यन्त महत्त्वपूर्ण प्रवासी चराको प्रमुख विश्रामस्थल गुम्ने जोखिम बढेको छ ।

    हरेक वर्ष हजारौँ फ्लेमिङ्गो, पेलिकन तथा अन्य प्रवासी चरा अफ्रिका र युरोपबीचको बसाइँसराइका क्रममा उल्सिन्ज सेलिनामा विश्राम गर्छन् । तर सन् २०१३ मा नुन उत्पादन बन्द भएपछि नुनिलो पानीको व्यवस्थापन रोकिँदा चराहरूको प्राकृतिक बासस्थान क्रमशः बिग्रँदै गएको वातावरणविद्हरूले बताएका छन् ।

    वातावरण अभियन्ता जेनेपा लिकाले अहिलेको अवस्थालाई तत्काल सुधार नगरे केही वर्षमै यस क्षेत्रको मौलिक स्वरूप हराउन सक्ने चेतावनी दिनुभयो । उहाँका अनुसार नुन उत्पादन बन्द भएसँगै जलाशयको नियमित व्यवस्थापन रोकिएकाले जैविक विविधता निरन्तर घटिरहेको छ ।

    उल्सिन्जमा करिब एक शताब्दीअघि नुन उत्पादन सुरु भएको थियो । नुनिलो पानी पम्प गरेर सञ्चालन गरिने कृत्रिम जलाशयले नुन उत्पादनसँगै प्रवासी चराका लागि उपयुक्त वातावरण पनि सिर्जना गरेको थियो । यही कारण यो क्षेत्र युरोपका प्रमुख चराको बसाइँसराइ मार्गमध्ये एकको महत्त्वपूर्ण विश्रामस्थलका रूपमा विकसित भएको थियो ।

    विज्ञहरूका अनुसार सेलिनाले कम्तीमा सात प्रजातिका चराको विश्वव्यापी जनसङ्ख्याको एक प्रतिशतभन्दा बढी हिस्सा आश्रय दिने भएकाले यसको अन्तर्राष्ट्रिय संरक्षण महत्त्व छ । सन् २०१९ मा यस क्षेत्रलाई रामसर महासन्धिअन्तर्गत अन्तर्राष्ट्रिय महत्त्वको सिमसार क्षेत्रका रूपमा सूचीकृत गरिएको थियो । तर कानूनी मान्यता पाए पनि संरक्षणका लागि आवश्यक व्यवस्थापन प्रभावकारी रूपमा हुन नसकेको वातावरणविद्हरूको भनाइ छ ।

    स्थानीय बासिन्दाका लागि नुन उद्योग रोजगारी, पहिचान र गर्वको विषय पनि थियो । तर कम्पनी आर्थिक सङ्कटमा परेर बन्द भएपछि विशाल नुन गोदाम, जलाशय र अन्य संरचना जीर्ण बनेका छन् । पूर्व नुन उद्योगका कर्मचारीहरूले संरक्षणसँगै नुन उत्पादन पुनः सञ्चालन गर्नुपर्ने माग गर्दै आएका छन् ।

    यसै वर्ष मोन्टेनेग्रो सरकार र उल्सिन्ज नगरपालिकाले करिब ४० लाख युरोको संयुक्त लगानीमा क्षेत्रलाई प्रकृति आरक्षका रूपमा सञ्चालन गर्दै नुन उत्पादन पुनः सुरु गर्ने योजना सार्वजनिक गरेका छन् । युरोपेली सङ्घ ९इयु० को सदस्यता प्रक्रियासँग सम्बन्धित वातावरणीय मापदण्ड पूरा गर्न पनि यो परियोजनालाई महत्त्वपूर्ण मानिएको छ ।

    तर स्थानीय पत्रकार मुस्तफा कान्काले प्रस्तावित बजेट पर्याप्त नहुने बताउँदै नुन उद्योग पुनः सञ्चालन र सम्पूर्ण क्षेत्रको पुनःस्थापनाका लागि यसभन्दा धेरै लगानी आवश्यक पर्ने धारणा राखे । उनले समस्या समाधानका लागि आवश्यक अध्ययन भइसकेकाले अब निर्णय कार्यान्वयनमा केन्द्रित हुनुपर्ने बताए ।

    उनका अनुसार लामो समयदेखि भइरहेको ढिलाइका कारण नुन उद्योग सञ्चालनको अनुभव भएका अधिकांश दक्ष जनशक्ति अवकाश लिइसकेका वा निधन भइसकेका छन् । त्यसैले उनीहरूको ज्ञान र अनुभव उपयोग गर्दै पुनःस्थापना प्रक्रिया तत्काल अघि बढाउनुपर्ने आवश्यकता रहेको उनले बताए ।


    एएफपीले यस विषयमा स्थानीय तथा केन्द्रीय सरकारसँग प्रतिक्रिया मागे पनि कुनै जवाफ प्राप्त भएको छैन । वातावरण अभियन्ता लिकाले उल्सिन्ज सेलिनालाई चराहरूका लागि ‘हिथ्रो विमानस्थल’ सरहको विश्रामस्थलको संज्ञा दिँदै समयमै संरक्षण र पुनःस्थापना गर्न नसके युरोपकै एक महत्त्वपूर्ण प्राकृतिक सम्पदा गुम्ने चेतावनी दिए ।

  • अमेरिकाद्वारा होर्मुजमा सैनिक नाकाबन्दी नवीकरण

    अमेरिकाद्वारा होर्मुजमा सैनिक नाकाबन्दी नवीकरण

    तेहरान, ३२ असार (रासस–एएफपी) । अमेरिकी सेनाले इरानमा आक्रमण जारी राख्दै होर्मुजलगायतका बन्दरगाहहरूमा नौसैनिक नाकाबन्दी पुनः लागू गरेको जनाइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हार्मुज जलमार्ग प्रयोग गर्ने जहाजहरूमा २० प्रतिशत कर लगाउने आफ्नो योजना फिर्ता लिएको केही घन्टा पछि पुनः आक्रमण भएको थियो भने मध्य पूर्वमा भड्किएको युद्धले विश्वव्यापी ऊर्जाको मूल्यमा उछाल ल्याएको जनाइएको छ ।

    तेहरानले प्रमुख तेल ढुवानी कोरिडोर हार्मुजलाई नियन्त्रण गर्ने कुरामा जोड दिएको छ भने जुन गत फेब्रुअरीको अन्त्यमा अमेरिका– इजरायली आक्रमणले द्वन्द्व निम्त्याउनु अघि स्वतन्त्र आवागमनका लागि खुला थियो । इरानको रिभोलुसनरी गाड्र्सले नयाँ अमेरिकी नाकाबन्दीले अमेरिकाका आर्थिक प्रतिद्वन्द्वीहरू सहित विश्वमा तेल तथा ग्याँसको निर्यातमा कटौती गर्दै अमेरिका र सहयोगीहरूको अन्य सेवा मार्गहरू पनि बन्द हुन सक्ने चेतावनी दिएको छ ।

    यस क्षेत्रबाट हुने तेल र ग्यास निर्यात सहज भए सबैका लागि उपलब्ध हुने तर युद्ध भड्किए कसैका लागि पनि उपलब्ध नहुने जनाइएको छ । इरानी उपविदेशमन्त्री काजेम गरिबाबादीले गत महिना शत्रुता रोक्न र शान्ति वार्तालाई अगाडि बढाउनका लागि भएको अन्तरिम सम्झौतालाई उल्लेख गर्दै नाकाबन्दी पुनस्र्थापना गर्ने अमेरिकी निर्णयले इस्लामाबाद सम्झौतालार्ई ध्वस्त पारेको बताएका छन् ।


    पाँचौँ दिनमा प्रवेश गरेको लगातारको झडपमा, युएस सेन्ट्रल कमान्ड (सेन्टकम) ले “व्यापारिक जहाज र नागरिक कर्मचारीहरूलाई धम्की दिने इरानको क्षमतालाई कम गर्न“ देशको तटमा रहेको जलमार्ग र अन्य दर्जनौँ इरानी सैन्य लक्ष्यहरू प्रहार गरेको बताएको छ । इरानी मिडियाले बन्दरगाह सहर बन्दर अब्बास नजिकै, केशम टापु र बन्दर इमाम खोमेनीमा विस्फोट भएको रिपोर्ट गरेका छन् । आक्रमणको लगत्तै पछि बहराइनमा साइरन बजेर कुवेत र जोर्डनले इरानबाट फायर गरिएका ड्रोन तथा मिसाइलहरू रोकेको रिपोर्ट गरिएको छ ।

    आईआरएनए समाचार एजेन्सीले इरानी सेनाले जोर्डनको सैन्य अड्डामा ड्रोन आक्रमण गरेको रिपोर्ट गरेको छ जहाँ अमेरिकी लडाकु विमानहरू राखिएको छ । यदि तेहरान वार्ताको टेबलमा फर्किएन भने ट्रम्पले अर्को हप्ता पावर प्लान्ट र पुलहरूमा आक्रमण गर्ने चेतावनी दिएको फक्स न्यूजले जनाएको छ ।

    लडाकुहरूको जवाफी कारबाही जारी रहनेछ, र संयुक्त राज्य अमेरिकाले आफ्नो आक्रमणको कार्यहरू अन्त्य नगरे सम्म स्ट्रेट अफ होर्मुज बन्द रहने गार्डहरूले विज्ञप्ति जारी गर्दै जनाएका छन् । सेन्टकमका प्रमुख एडमिरल ब्राड कुपरले गत हप्तामा इरानले सात वटा व्यावसायिक जहाजहरूमा आक्रमण गरेर जानाजानी यस क्षेत्रका नागरिकहरूलाई लक्षित गरेको छ जसको परिणामस्वरूप लगभग एक दर्जन नागरिक चालक दलका सदस्यहरू मारिएको बताउनुभएको छ ।

    अमेरिकी सेनाले निर्दोष जनताहरुको जीवनलाई खतरामा पार्ने अनावश्यक आक्रमणका लागि इरानलाई जवाफदेही बनाउन खोजिरहेको उनले बताए ।
    मङ्गलबार ओमानको तटमा अज्ञात उपकरणले गर्दा भएको विस्फोटले नर्वेको ट्याङ्करमा ठोक्किएको संकट प्रतिक्रिया कम्पनी एमटिआई नेटवर्कले जनाएको छ ।

    यसै गरी कुवेतले इरानी क्षेप्यास्त्र र ड्रोन ब्यारेजको क्रममा यसको एउटा नौसेना जहाजमा प्रहार भएको र चालक दलका चार सदस्य घाइते भएको बताएको छ । यसै बिच ट्रम्पले सोमबार घोषणा गरेको होर्मुजको जलमार्गबाट जाने जहाजहरूमा लगाइएको योजनाबद्ध शुल्कलाई खाडीका सहयोगीहरूसँग व्यापार सम्झौताको साथ प्रतिस्थापन गर्दै आफूले खारेज गरिरहेको बताए ।

    इरानी मिडिया र आधिकारिक घोषणाहरूलाई यदृत गर्दै एएफपीले गत हप्ता देखि इरानमा नयाँ अमेरिकी आक्रमणमा कम्तीमा २८ जनाको मृत्यु भएको जनाएको छ । इरानको आणविक महत्वाकाक्षाका कट्टर विरोधी इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले मङ्गलबार इरानी नेताहरूलाई चेतावनी दिदै यदि उनीहरूले आफ्नो देशमा आक्रमण गरे भने इजरायलले ठुलो प्रहार गर्ने बताए ।

  • एआई नियमन गर्ने कानून बनाउने अष्ट्रेलियाको घोषणा

    एआई नियमन गर्ने कानून बनाउने अष्ट्रेलियाको घोषणा

    सिड्नी, ३३ असार (रासस–एएफपी) । अष्ट्रेलियाले “आर्टिफिसियल इन्टेलिजेन्स” (ए आई) प्रयोग गर्न मार्ग दर्शन तय गर्न र रचनात्मक प्रतिलिपि अधिकारको रक्षा गर्न आवाश्यक कानून बनाउने तयारीमा रहेको प्रधानमन्त्री एन्थोनी अल्बनिजले घोषण गरेका छन् । सरकारको नीति तथा कार्यक्रम निर्धारण सम्बन्धि भाषणमा, अल्बेनिजले एआईमाथि जनताको चिन्ता कम गरी यसलाई राष्ट्रिय हित तर्फ अघि बढाउने तरिका अपनाउन सकिने बताएका छन् ।


    एआईमा विश्वास निर्माण गर्न र राष्ट्रिय सुरक्षाको रक्षा गर्न अर्को वर्ष पेस गरिने प्रस्तावित नयाँ कानुनबारे छलफल गर्न अस्ट्रेलियाका राज्य र क्षेत्रका नेताहरूबीच छलफल हुने जनाइएको छ । अस्ट्रेलियाले बालबालिकाका लागि सामाजिक सञ्जाल प्रयोगमा प्रतिवन्द लगाउन अन्य देशहरूको नेतृत्व गरेको उल्लेख गर्दै उहाँले तर अस्ट्रेलियाको सन्दर्भमा एआईलाई आकार नियमन गर्ने चुनौती अझै ठूलो भएको जनाइएको छ ।

    अमेरिकी स्टार्टअप एन्थ्रोपिकले एआई मोडेलहरूको प्रशिक्षणमा सहयोग गर्न प्रतिलिपि अधिकार कानुन परिवर्तन गर्न अष्ट्रेलियाका अधिकारीहरूसँग समन्वय गरेको कुरा यस हप्ता बाहिर आएपछि अल्बनिजको घोषणा आएको हो । यसैबीच सङ्गीतकार, लेखक तथा प्रकाशकहरूले यस्तो दबाबको प्रतिरोध गर्न र आफ्नो कामको रक्षा गर्न सरकारलाई आग्रह गरेका छन् ।

    कुनै पनि कम्पनीले कलाकारको नियन्त्रणबिना एआई निर्माण गर्न वा तालिम दिन अस्ट्रेलियाली पुस्तक, सङ्गीत, कला वा समाचार प्रयोग गर्नु नहुने बताउदै यस्ता कार्यहरु गौर कानूनी भएको उनले बताएका छन् । सरकारी तथ्याङ्क अनुसार मार्च सम्मका तीन महिनामा देशको आर्थिक वृद्धिमा डाटा सेन्टरमा भएको लगानी सबैभन्दा ठुलो योगदान भएको जनाइएको छ । अल्बनिजले सरकारले अष्ट्रेलियाको रोजगार बजारमा एआईको प्रभाव अहिलेसम्म नदेखेको बताएका छन् । सरकारले आफ्नो विभागको नीति निरीक्षण गर्न समर्पित कार्यालयसहित एआइ प्रति आफ्नो प्रतिक्रिया अगाडी बढाउने उनले बताए ।

  • इरानमाथि अमेरिकी आक्रमण तीव्र

    इरानमाथि अमेरिकी आक्रमण तीव्र

    तेहरान, ३२ असार (रासस–एएफपी) । अमेरिकाले इरानविरुद्धको सैन्य अभियानलाई थप तीव्र बनाउँदै लगातार चौथो दिन मङ्गलबार पनि विभिन्न स्थानमा आक्रमण गरेको छ । साथै, इरानी बन्दरगाहतर्फ आउने–जाने जहाजहरू रोक्ने उद्देश्यसहित नौसैनिक नाकाबन्दी पुनः लागू गरेपछि वासिङ्टन र तेहरानबीचको तनाव थप चुलिएको छ । इरानी पक्षले यस कदमले युद्धविराम तथा शान्ति वार्ताका लागि भएको सहमति प्रभावकारी रूपमा समाप्त भएको जनाएको छ ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानले वार्तामा नआए अर्को सातादेखि इरानका विद्युत् उत्पादन केन्द्र र रणनीतिक पुलहरूलाई लक्षित गरी आक्रमण अझ विस्तार गरिने चेतावनी दिएका छन् । फक्स न्युजसँगको अन्तर्वार्तामा उहाँले इरान वार्तामा सहमत नभएसम्म ऊर्जा पूर्वाधार र पुलहरू निष्क्रिय बनाउने अभियान जारी रहने बताए । यसअघि हर्मुज जलघाँटी हुँदै आवतजावत गर्ने जहाजमाथि अतिरिक्त शुल्क लगाउने योजना भने उनले फिर्ता लिए ।


    अमेरिकी सेनाको सेन्ट्रल कमान्ड (सेन्टकम) ले पछिल्लो आक्रमणको उद्देश्य हर्मुज जलघाँटीमा व्यावसायिक जहाजमाथि आक्रमण गर्न प्रयोग हुने इरानी सैन्य क्षमता कमजोर पार्नु रहेको जनाएको छ । सेन्टकमका अनुसार गत साताभित्र इरानले सातवटा व्यापारिक जहाजमाथि आक्रमण गर्दा करिब एक दर्जन चालकदलका सदस्यको मृत्यु, बेपत्ता वा घाइते भएका छन् । निर्दोष नागरिकको ज्यान जोखिममा पार्ने गतिविधिका लागि इरानलाई जवाफदेही बनाइएको सेन्टकमका प्रमुख एडमिरल ब्राड कुपरले बताए ।


    इरानी सरकारी सञ्चारमाध्यमहरूले बन्दर अब्बास, हर्मुज नजिकको केशम टापु तथा अन्य स्थानमा विस्फोट भएको जनाएका छन् । स्थानीय अधिकारीहरूका अनुसार अमेरिकी आक्रमण बुसेहर प्रान्तका विभिन्न स्थान, त्यहाँ रहेको इरानको एकमात्र नागरिक आणविक विद्युत् केन्द्र तथा इराक र कुवेत सीमावर्ती क्षेत्रमा समेत केन्द्रित थियो ।

    इरानी सरकारी समाचार एजेन्सी इरनाले त्यसको प्रत्युत्तरमा इरानी सेनाले जोर्डनस्थित अमेरिकी लडाकू विमान रहेको सैन्य अड्डामा ड्रोन आक्रमण गरेको जनाएको छ । रिभोलुसनरी गार्ड्सले बहराइनमा अमेरिकी सैन्य सुविधा र आवासीय संरचनालाई लक्षित गरी मिसाइल तथा ड्रोन प्रहार गरिएको दाबी पनि गरेको छ ।

    इरानका उपविदेशमन्त्री काजेम गरिबाबादीले अमेरिकी नौसैनिक नाकाबन्दी पुनः लागू गर्ने निर्णयले वासिङ्टनसँग द्वन्द्व रोक्न भएको इस्लामाबाद सम्झौतालाई प्रभावहीन बनाएको बताए । यसैबीच अन्तर्राष्ट्रिय समुद्री सङ्गठनका अनुसार हर्मुज जलघाँटीमा दुईवटा जहाजमाथि भएको आक्रमणमा दुई चालकदल सदस्यको मृत्यु भएको छ । ओमानको तट नजिक अज्ञात विस्फोटका कारण नर्वेली तेल ट्याङ्करमा क्षति पुगेको एमटिआई नेटवर्कले जनाएको छ भने कुवेतले इरानी क्षेप्यास्त्र र ड्रोन आक्रमणका क्रममा आफ्नो एउटा नौसैनिक जहाजमा प्रहार हुँदा चार सैनिक घाइते भएको जनाएको छ ।

    ट्रम्पले सोमबार हर्मुज हुँदै आवतजावत गर्ने जहाजमाथि प्रस्तावित २० प्रतिशत शुल्क हटाएर त्यसको सट्टा खाडीका साझेदार राष्ट्रहरूसँग व्यापार तथा लगानी सम्झौता गर्ने निर्णय गरिएको जानकारी दिए । उनका अनुसार ती सम्झौतामार्फत अमेरिकी अर्थतन्त्रमा थप लगानी भित्र्याइनेछ । इरानी सञ्चारमाध्यम र सरकारी विवरणका आधारमा एएफपीले सङ्कलन गरेको तथ्याङ्कअनुसार गत सातादेखिको अमेरिकी आक्रमणमा इरानमा कम्तीमा २८ जनाको मृत्यु भइसकेको छ ।

    तनाव क्षेत्रीय रूपमा फैलिँदै जाँदा बहराइनले इरानबाट प्रहार गरिएका धेरै हवाई आक्रमणहरू निष्क्रिय बनाइएको दाबी गरेको छ भने जोर्डनले पनि इरानबाट प्रहार गरिएका चारवटा क्षेप्यास्त्र खसालिएको जनाएको छ । यता, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानले इजरायलमाथि आक्रमण गरे कडा प्रतिकार गरिने चेतावनी दिएका छन् । दक्षिणी सहर डिमोनाबाट सम्बोधन गर्दै उहाँले इजरायलमाथि हुने कुनै पनि आक्रमणको निर्णायक जवाफ दिइने र विगतजस्तो मौन नबस्ने स्पष्ट पारे ।

  • अमेरिकी आक्रमण नरोकेसम्म हर्मुज नखुल्ने इरानको चेतावनी

    अमेरिकी आक्रमण नरोकेसम्म हर्मुज नखुल्ने इरानको चेतावनी

    तेहरान, ३२ असार (रासस–एएफपी) । इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स (आइआरजिसी) ले अमेरिकाले आफ्नो ‘आक्रमणकारी गतिविधि’ अन्त्य नगरेसम्म विश्वकै प्रमुख ऊर्जा पारवहन मार्गमध्ये एक हर्मुज जलघाँटी बन्द रहने चेतावनी दिएको छ । साथै, अमेरिकाको हितसँग जोडिएका अन्य क्षेत्रीय तेल तथा ग्यास निर्यात मार्गहरू पनि निशानामा पर्न सक्ने आइआरजिसीको भनाइ छ ।

    फेब्रुअरीको अन्त्यदेखि जारी अमेरिका–इरान द्वन्द्वका कारण खाडी क्षेत्रबाट हुने तेल तथा ग्यास ढुवानीमा गम्भीर असर परेको छ । विशेषगरी विश्व ऊर्जा आपूर्तिको महत्त्वपूर्ण मार्ग मानिने हर्मुज जलघाँटीमा अवरोध उत्पन्न भएपछि अन्तर्राष्ट्रिय ऊर्जा बजारमा समेत चिन्ता बढेको छ । इरानी सरकारी टेलिभिजन आइआरआइबीका अनुसार आइआरजिसीले अमेरिकी आक्रमणको प्रत्युत्तरस्वरूप बहराइन र कुवेतस्थित अमेरिकी सैन्य सुविधामाथि आक्रमण गरिएको जनाएको छ । त्यससँगै अमेरिकाको आर्थिक तथा रणनीतिक हितसँग सम्बन्धित समुद्री ऊर्जा मार्गहरू थप जोखिममा पर्न सक्ने चेतावनी पनि दिइएको छ ।

    आइआरजिसीले जारी गरेको विज्ञप्तिमा अमेरिकाले आफ्नो समुद्री गतिविधिमार्फत विश्वव्यापी तेल तथा ग्यास आपूर्ति शृङ्खलामा प्रभाव पार्ने प्रयास गरेको आरोप लगाउँदै त्यसको परिणामस्वरूप अमेरिकाका सहयोगी राष्ट्रहरूले प्रयोग गर्ने अन्य ऊर्जा निर्यात मार्गहरू पनि अवरुद्ध हुन सक्ने उल्लेख गरिएको छ । यद्यपि कुन–कुन मार्ग प्रभावित हुन सक्छन् भन्नेबारे कुनै विवरण सार्वजनिक गरिएको छैन ।

    विज्ञप्तिमा ‘यस क्षेत्रबाट हुने तेल र ग्यास निर्यात या त सबैका लागि हुनेछ वा कसैका लागि पनि हुनेछैन’ भन्ने चेतावनीसमेत दिइएको छ । आइआरजिसीले आफ्नो प्रतिकारात्मक कारबाही निरन्तर जारी रहने र अमेरिकाले आक्रमण नरोकेसम्म हर्मुज जलघाँटी बन्द रहने स्पष्ट गरेको छ । यता, अमेरिकी अधिकारीहरूले भने इरानले हर्मुज जलघाँटीमा पूर्ण नियन्त्रण कायम गर्न सक्ने दाबी अस्वीकार गर्दै अन्तर्राष्ट्रिय समुद्री ढुवानी मार्गहरू खुला राख्न आवश्यक सबै कदम चालिने बताउँदै आएका छन् ।

  • वर्षा हुन थालेपछि रोपाइँ तीव्र

    वर्षा हुन थालेपछि रोपाइँ तीव्र

    मध्यविन्दु (नवलपरासी), ३२ असारः नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा यस वर्ष हालसम्म ८० प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । जिल्लामा धानखेती हुने कूल १८ हजार ५०० हेक्टर क्षेत्रफलमध्ये करिब १४ हजार ८०० हेक्टरमा रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र नवलपुरका कृषि अर्थविज्ञ सञ्जय ढकालले जानकारी दिए ।
    उहाँका अनुसार लगातार वर्षा हुन थालेपछि तराई क्षेत्रका अधिकांश स्थानमा रोपाइँ तीव्र बनेको छ भने पहाडी भूभागका केही क्षेत्रमा अझै रोपाइँ जारी छ ।

    गैँडाकोट, देवचुली, कावासोती र मध्यविन्दु नगरपालिका तथा हुप्सेकोट गाउँपालिकाका अधिकांश क्षेत्रमा रोपाइँ अन्तिम चरणमा पुगेको छ भने विनयी त्रिवेणी, बुलिङटार र बौदीकाली गाउँपालिकाका केही स्थानमा अझै रोपाइँ भइरहेको उनले बताए ।


    “मनसुन सुरुआतमा केही कमजोर रहे पनि पछिल्ला दिनमा पर्याप्त वर्षा भएपछि किसानले धमाधम रोपाइँ गरिरहेका छन्,” उनले भने, “मौसम अनुकूल रहे आगामी केही दिनमै अधिकांश क्षेत्रमा रोपाइँ सम्पन्न हुने अपेक्षा गरेका छौँ ।”

    कृषि ज्ञान केन्द्रका अनुसार जिल्लाको कूल ६१ हजार ३०० हेक्टर खेतीयोग्य जमिनमध्ये करिब ५५ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा पुगेको छ भने बाँकी ४५ प्रतिशत क्षेत्र अझै आकाशे पानीमै निर्भर छ । सिँचाइ सुविधा नपुगेका क्षेत्रका किसान वर्षाको भरमा रोपाइँ गर्नुपर्ने भएकाले रोपाइँको गति मौसमसँग प्रत्यक्ष रूपमा जोडिएको छ ।

    जिल्लामा मनसुली, सावित्री, अनदी, झिनुवा तथा विभिन्न हाइब्रिड जातका धानखेती हुँदै आएको छ । जिल्लामा धानको औसत उत्पादकत्व प्रतिहेक्टर करिब तीन टन रहेको अर्थविज्ञ ढकालले बताए ।


    गत आर्थिक वर्ष २०८२\८३ मा जिल्लामा करिब १८ हजार ६०० हेक्टर क्षेत्रफलमा धानखेती गरिएको थियो । यस वर्ष धानखेती हुने क्षेत्रफल १८ हजार ५०० हेक्टर कायम गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । कृषि प्राविधिकका अनुसार आगामी केही दिन मौसम अनुकूल रहे यस वर्ष पनि लक्ष्यअनुसार सम्पूर्ण क्षेत्रमा रोपाइँ सम्पन्न हुने अपेक्षा गरिएको छ ।

  • ‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेर छाडियो

    ‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेर छाडियो

    चितवन, ३२ साउनः चितवन राष्ट्रिय निकुञ्जले जङ्गली हात्ती ‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेको छ । निकुञ्ज र मध्यवर्ती क्षेत्रमा २५ जनाको ज्यान लिइसकेको हात्तीलाई डार्ट (बेहोस बनाउने औषधि)गरी रेडियो कलर लगाइएको हो । निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार हात्तीलाई डार्ट गरी घाँटीमा स्याटेलाइट रेडियो कलर जडान गरिएको छ । त्यसपछि दाह्रा काटेर छाडिएको हो ।

    रेडियो कलर जडानपछि हात्तीको अवस्थाबारे छोटो समयमै जानकारी प्राप्त हुने र जिपिएस ट्र्याकिङमार्फत गतिविधि निगरानी गर्न सकिने उहाँले बताए । निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको नयाँ गोरख गण, निकुञ्जका प्राविधिक कर्मचारी र राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिकसहितको टोलीले हात्तीलाई रेडियो कलर जडान गरेको हो ।

    गत असार २० गते भरतपुर–२३ मा सोही हात्तीको आक्रमणबाट २५ वर्षीया आशिका बोटे र उनका चार वर्षीय छोरा भरत बोटेको मृत्यु भएपछि निकुञ्जले हात्तीको खोजी र निगरानी बढाएको थियो । प्रतिकूल मौसम र घना झाडीका कारण हात्तीलाई नियन्त्रणमा लिन समय लागेको निकुञ्जले जनाएको छ । निकुञ्जले स्थानीय बासिन्दालाई सचेत रहन, जारी सूचनाको पालना गर्न र जङ्गली हात्ती देखिए तत्काल सम्बन्धित निकायलाई खबर गर्न आग्रह गरेको छ ।

  • सिसी क्यामेराको निगरानीमा भरतपुर

    सिसी क्यामेराको निगरानीमा भरतपुर

    चितवन, ३२ असारः भरतपुर महानगरपालिकाले जिल्ला प्रहरी कार्यालय चितवनसँगको समन्वयमा २९ वटै वडामा सिसी क्यामेरा जडान गरेको छ ।महानगरपालिकाले कुल ४१८ वटा सिसी क्यामेरा जडान गरेको सूचना प्रविधि अधिकृत विकल्प काफ्लेले जानकारी दिए । उनका अनुसार महानगरको सहरी क्षेत्रमा बढी र ग्रामीण क्षेत्रका सडकमा आवश्यकताअनुसार क्यामेरा जडान गरिएको छ ।

    एउटा वडामा आवश्यकताअनुसार आठदेखि २० वटासम्म क्यामेरा जडान गरिएको छ । महानगरपालिकाले चालु आर्थिक वर्षको बजेटबाट मूल्य अभिवृद्धि करसहित रु पाँच करोड ५८ लाख २० हजार ६५९ खर्च गरी क्यामेरा जडान गरेको हो । महानगरले पहिलोपटक आह्वान गरेको बोलपत्र प्राविधिक मूल्याङ्कनमा असफल भएपछि पुनः बोलपत्रमार्फत क्यामेरा जडान गरिएको जनाएको छ । जडान गरिएका क्यामेरामध्ये आठ वटा गति मापन गर्ने र चार वटा स्वचालित नम्बर प्लेट पहिचान गर्ने छन् । त्यस्तै, ३६० डिग्री घुमाउन र जुम गर्न मिल्ने नौ वटा छन् ।

    गति मापन र नम्बर प्लेट पहिचान गर्ने क्यामेरा भरतपुर महानगरपालिका प्रवेश गर्ने नाकामा राखिएका छन् । मानिसको आवतजावत र भीडभाड बढी हुने मुख्य सहरी क्षेत्रमा जडान गरिएको क्यामेरा प्रभावकारी देखिएको छ । प्रहरीको अध्ययनका आधारमा संवेदनशील क्षेत्र पहिचान गरी क्यामेरा जडान गरिएको हो । साथै, नेपाल टेलिकमको तार प्रयोगका लागि टेलिकमसँग सम्झौता भएको छ ।

    महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीका अनुसार नेपाल टेलिकम भरतपुरको जिपिएन नेटवर्क प्रयोग गरेबापत वार्षिक रु ४७ लाख भुक्तानी गर्ने गरी सम्झौता गरिएको छ । सिसी क्यामेराको मनिटर जिल्ला प्रहरी कार्यालयमा रहेको छ । यसले ट्राफिक व्यवस्थापनमा सहजता ल्याउने, सडक दुर्घटना न्यूनीकरण गर्न सहयोग गर्ने, अपराध नियन्त्रण तथा शान्तिसुरक्षामा प्रभावकारी भूमिका खेल्ने महानगरको विश्वास छ । महानगरपालिकाले समग्र सहरी क्षेत्रलाई लक्षित गरी सिसी क्यामेरा जडान गरिएको जनाएको छ ।

  • रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती

    रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती

    रासस
    लमजुङ, ३२ असारः लमजुङका धेरै ग्रामीण बस्ती अहिले सुनसान बन्दै गएका छन् । पुराना घरमा लागेको ताल्चा, आँगनमा उम्रिएको झार, भत्किँदै गरेका घर र बाँझो जमिन गाउँको परिचय जस्तै बनेको छ । चौतारा र बस्तीहरू सुनसान छन् । बस्ती शून्य लाग्छन् । केही वर्षअघिसम्म चहलपहल हुने गाउँहरू अहिले मानिसविहीन बन्दै गएका छन् । गाउँमा सडक, बिजुली, खानेपानी र सञ्चार सुविधा पुगे पनि रोजगारी, शिक्षा र स्वास्थ्यको खोजीमा मानिसहरू सहर तथा विदेश जान थालेपछि गाउँ खाली हुँदै गएका हुन् ।

    यसको असर घर र जमिनमा मात्र नभई सामाजिक सम्बन्ध, संस्कृति, स्थानीय अर्थतन्त्र र परम्परागत सीपमा परेको छ । दोर्दी गाउँपालिका–३ श्रीमञ्ज्याङको पुरानो नेवार बस्ती रत्तिँदै गएको छ । केही दशकअघिसम्म बाक्लो बस्ती रहेको यो ठाउँ अहिले पातलिएको छ । धेरै घर खाली छन् भने केही घर जीर्ण अवस्थामा छन् ।

    पचासी वर्षीय शेरबहादुर श्रेष्ठका अनुसार पहिले गाउँमा बिहानदेखि बेलुकासम्म चहलपहल हुन्थ्यो । चाडपर्व, मेलापात र सामाजिक काममा सबै गाउँले सहभागी हुन्थे । अहिले धेरै मानिस गाउँ छाडेर गएपछि पहिलेको जस्तो रमाइलो र सहयोगी वातावरण नरहेको उनी बताउँछन् । राइनास नगरपालिका–८ हराबोटको सिक्रा गाउँको अवस्था पनि उस्तै छ । स्थानीय लालमाया श्रेष्ठका अनुसार पहिले सुविधा नभए पनि गाउँमा मानिस धेरै थिए । अहिले सुविधा थपिए पनि गाउँमा बस्ने मानिस घटेका छन् । गाउँ खाली हुँदै जाँदा यसको असर कृषि क्षेत्रमा पनि परेको छ ।

    कृषि विकास कार्यालय लमजुङका सूचना अधिकारी सरोज थापाका अनुसार युवा पुस्ता बाहिरिँदा कृषि श्रमिकको अभाव भएको छ । खेतीयोग्य जमिन बाँझो रहने र उत्पादन घट्ने अवस्था आएको छ । उनका अनुसार पुस्तौँदेखि चलिआएका खेती गर्ने सीप, रैथाने बाली र स्थानीय ज्ञान नयाँ पुस्तामा हस्तान्तरण हुन कठिन भएको छ ।

    कृषि विकास कार्यालयका अनुसार लमजुङमा ६१ हजार ८१९ हेक्टर खेतीयोग्य जमिनमध्ये ४५ हजार ७५७ हेक्टरमा मात्र खेती भइरहेको छ । १६ हजार ६२ हेक्टर जमिन बाँझोे छ । सुन्दरबजार नगरपालिका–६ को पुरानो दिही गाउँ पनि बसाइँसराइको प्रभावमा परेको छ । स्थानीय मदन रेग्मीका अनुसार कुनै समय करिब ५० घरधुरी रहेको गाउँ अहिले निकै पातलिएको छ ।

    गाउँमा मानिसको सङ्ख्या घट्दा खेतीपाती, स्थानीय संस्कृति र सामाजिक गतिविधिमा असर परेको छ । जिल्ला समन्वय समिति लमजुङकी उपप्रमुख बुनाकुमारी रिमालले गाउँ खाली हुनु सामाजिक, सांस्कृतिक र आर्थिक चुनौती भएको बताइन् । उनका अनुसार युवा पुस्ता गाउँमा नहुँदा भाषा, संस्कार, संस्कृति र परम्परागत ज्ञान नयाँ पुस्तासम्म पु¥याउन कठिन भएको छ ।

    दोर्दी गाउँपालिकाका उपाध्यक्ष बिच्छबहादुर गुरुङका अनुसार गाउँमा मानिस टिकाइराख्न आयआर्जनको आधार बलियो बनाउन आवश्यक छ । त्यसका लागि कृषि र पर्यटनलाई प्राथमिकता दिइएको उनले बताए ।


    गाउँपालिकाले घरबास सञ्चालन, कृषि प्रवद्र्धन र स्थानीय उत्पादनलाई बजारसँग जोड्ने काम गरिरहेको छ । कफी, खुर्सानीलगायत उत्पादनबाट किसानलाई आम्दानीसँग जोड्ने प्रयास गरिएको छ । गाउँ रित्तिँदै जानु केवल खाली घरको समस्या नभई कृषि, संस्कृति र स्थानीय अर्थतन्त्रसँग जोडिएको विषय हो । गाउँ जोगाउन कृषि आधुनिकीकरण, पर्यटन विकास र स्थानीय रोजगारी सिर्जना गर्नुपर्ने आवश्यकता देखिएको छ ।

    दोर्दी क्षेत्रमा रहेका इलामपोखरी, दूधपोखरी, मेमेपोखरी र बारापोखरीलगायत धार्मिक तथा पर्यटकीय क्षेत्रलाई संरक्षण गर्दै पर्यटनसँग जोड्ने प्रयास भइरहेको छ । राष्ट्रिय जनगणना २०७८ ले पनि देशभर आन्तरिक बसाइँसराइको प्रवृत्ति बढ्दै गएको देखाएको छ । यसको प्रभाव लमजुङका ग्रामीण क्षेत्रमा देखिएको छ । गाउँ रित्तिँदै जानु केवल खाली घरको कथा मात्रै होइन, यो त देशका अनेकन बस्तीका उस्तै उस्तै अवस्थाको फेहरिस्त पनि हो ।

    खाली घरमा फेरि धुवाँ उड्ने, बाँझो जमिनमा फेरि उत्पादन हुने र गाउँको मौलिकता जोगिने अवस्था सिर्जना गर्नु नै अबको मुख्य चुनौती बनेको छ । त्यसका लागि कृषि आधुनिकीकरण, पर्यटन प्रवद्र्धन र स्थानीय उत्पादन बढाउनु र गाउँमा रोजगारीको अवसर बढाउनु जरुरी भइसकेको छ । अन्यथा, गाउँहरू एकादेशको कथा बन्न सक्ने भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।

  • नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै

    नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै

    रासस
    नवलपुर (नवलपरासी), ३१ असारः देशकै कान्छो जिल्ला नवलपुरमा निर्माणाधीन नमूना जिल्ला सदरमुकामको कामले तीव्रता पाएको छ । सङ्घ र प्रदेश सरकारका अधिकांश कार्यालय एउटै प्रशासनिक परिसरमा सञ्चालन गर्ने उद्देश्यले कावासोती नगरपालिका–३ मा नमूना सदरमुकाम निर्माण भइरहेको हो । नेपालको संविधान–२०७२ अनुसार नवलपरासी विभाजनपछि बनेको नवलपरासी (बर्दघाट–सुस्तापूर्व) जिल्लाका लागि करिब १८४ बिगाहा क्षेत्रफलमा यो आयोजना अघि बढाइएको हो । आयोजनाको शिलान्यास २०७६ वैशाख ७ मा भए पनि निर्माण कार्य २०८१ सालपछि मात्रै तीव्र रूपमा अघि बढेको हो ।

    सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय चितवनका सूचना अधिकारी इन्जिनियर द्रोणमानदेव कटुवालका अनुसार हाल दुई वटा ठेक्कामार्फत पहिलो चरणमा १४ वटा भवन निर्माण भइरहेको छ ।

    पहिलो ठेक्काअन्तर्गत चौधरी कन्स्ट्रक्सनले जिल्ला प्रशासन कार्यालय र दुई वटा एकीकृत प्रशासनिक भवन निर्माण गरिरहेको छ । रु २७ करोड लागतमा उक्त निर्माण कार्य आगामी पुसभित्र सम्पन्न गर्ने लक्ष्य छ । हालसम्म यसमा ५० प्रतिशत भौतिक र ४५ प्रतिशत वित्तीय प्रगति भएको कार्यालयले जनाएको छ । एकीकृत भवनमा हुलाक, आन्तरिक राजस्व, कोष तथा लेखा नियन्त्रक, जिल्ला निर्वाचन कार्यालय, शिक्षा विकास तथा समन्वय इकाइलगायतका कार्यालय सञ्चालन हुनेछन् ।

    यस्तै, जिल्ला अदालत, जिल्ला समन्वय समिति र सशस्त्र प्रहरी बलका लागि भने छुट्टै भवन निर्माण भइरहेको छ । सबै भवन अपाङ्गमैत्री हुनेछन् । तीनतले भवनमा लिफ्ट र ¥याम्पको व्यवस्था गरिनेछ भने जिल्ला अदालतको भवन चारतले हुनेछ । दोस्रो ठेक्काअन्तर्गत समानान्तर–बुद्ध हिमाली जेभीले सिटी हलसहित ११ वटा भवन, सडक, खानेपानी, विद्युत्, तटबन्ध र पर्खाल निर्माणको काम गरिरहेको छ । रु तीन अर्ब ५० करोडको यो ठेक्कामा हाल ४२ प्रतिशत भौतिक र ४० प्रतिशत वित्तीय प्रगति भएको छ ।

    विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० अनुसार आयोजना सम्पन्न भएपछि यहाँ २३ मिटर चौडाइका सडक, फुटपाथ, साइकल लेन, सडक बत्ती, पार्क, हरियाली क्षेत्र र करिब आठ किलोमिटर आन्तरिक सडक सञ्जाल निर्माण हुनेछ । पहिलो चरणमै ५०० क्षमताको सिटी हल, जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालत तथा अन्य सङ्घीय कार्यालय सञ्चालनमा आउनेछन् ।

    गुरुयोजनाअनुसार प्रशासनिक, न्यायिक, सुरक्षा, सार्वजनिक सेवा र हरियाली क्षेत्र छुट्टाछुट्टै व्यवस्थापन गरिनेछ । प्रमुख जिल्ला अधिकारी, जिल्ला न्यायाधीशलगायत कर्मचारीका लागि आवास, अतिथिगृह, पुस्तकालय, सभाहल, खाजाघर, पार्किङ, फुटबल र क्रिकेट मैदानसमेत निर्माण गर्ने योजना छ ।


    आयोजनाअन्तर्गत कुल ४५ वटा सरकारी भवन निर्माण गर्ने लक्ष्य राखिएको छ । कुल क्षेत्रफलको ६० प्रतिशत भाग कङ्क्रिटरहित हुनेछ भने २१ दशमलव ५९ प्रतिशत क्षेत्र खुला रहनेछ । पार्किङ क्षेत्रमा एकैपटक ९५० वटा कार र १०० वटा बस पार्किङ गर्न सकिनेछ ।

  • धोबीघाटको ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा

    धोबीघाटको ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा

    काठमाडौँ, ३२ असारः ललितपुरको धोबीघाटमा निर्माण सम्पन्न भएको अत्याधुनिक ढल प्रशोधन केन्द्रको परीक्षण सञ्चालन सुरु भएको छ । आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी( का अनुसार यही असार ३० गतेदेखि परीक्षण सञ्चालनमा आएको केन्द्रले दैनिक तीन करोड ७२ लाख लिटर ढल प्रशोधन गर्ने क्षमता छ ।

    पिआइडीका प्रमुख एवं इञ्जिनियर रामकुमार श्रेष्ठका अनुसार सिजिसिओसी–अटल जेभीले निर्माण गरेको यो केन्द्रले काठमाडौँ उपत्यकाको ढल व्यवस्थापनमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ । बागमती नदीका दुवै किनारामा मुख्य ढल बिछ्याउने काम भने अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले सम्पन्न गरेको हो ।

    प्रमुख श्रेष्ठका अनुसार केन्द्र पूर्ण रूपमा सञ्चालनमा आएपछि बागमती नदीमा मिसिने ढलको मात्रा उल्लेखनीय रूपमा घट्ने, नदी सफा हुने र उपत्यकाको वातावरणीय स्वच्छतामा सकारात्मक प्रभाव पर्नेछ । पिआइडीले धोबीघाटमै दैनिक तीन करोड ७२ लाख लिटर क्षमताकै अर्को ढल प्रशोधन केन्द्र निर्माण गरिरहेको छ । त्यसैगरी, कोडकुमा दैनिक एक करोड ४२ लाख लिटर, सल्लाघारीमा एक करोड ७० लाख लिटर, हनुमानघाटमा १० लाख लिटर र गोकर्णमा ३० लाख लिटर क्षमता भएका ढल प्रशोधन केन्द्र निर्माणाधीन छन् ।

    निर्देशनालयका अनुसार पिउने पानीको करिब ८० प्रतिशत भाग ढलमा परिणत हुन्छ । हाल काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले दैनिक करिब २० करोड लिटर पानी वितरण गरिरहेकाले भविष्यमा थप ढल प्रशोधन केन्द्र आवश्यक पर्ने देखिएको प्रमुख श्रेष्ठले बताए ।

    उनले नदी किनारका सुकुम्वासी बस्ती हटाइएका क्षेत्रमा व्यवस्थित ढल प्रशोधन केन्द्र निर्माणका लागि आवश्यक जग्गा उपलब्ध गराइदिन मन्त्रालयसँग अनुरोध गरिएको जानकारी दिए । उनका अनुसार उपत्यकाका अन्य स्थानमा पनि विकेन्द्रीकृत ढल प्रशोधन प्रणाली स्थापना गर्ने सम्भावनाबारे अध्ययन भइरहेको छ ।

  • सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला

    सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला

    इनरुवा (सुनसरी), ३२ असारः बर्सात् सुरु भएसँगै सप्तकोसीमा पानीको बहाव बढ्ने क्रम जारी छ । बुधबार अबेर कोशी ब्यारेजमा पानीको बहाव एक लाख ६३ हजार २३० क्युसेक पुगेको सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए । पूर्वी नेपालमा पानी पर्ने क्रम जारी रहेकाले नदीमा बहाव थप बढ्न सक्ने अनुमान छ । कोसी ब्यारेजका ५६ वटा ढोकामध्ये २१ वटा ढोका खोलिएको छ । ब्यारेजका ५२ वटा मूल ढोका र चार वटा नहर गरी ५६ वटा ढोका रहेका छन् । पानीको बहाव एक लाख ५० हजार क्युसेकभन्दा माथि पुगेपछि जोखिमको सङ्केतस्वरूप कोसी ब्यारेजमा रातो बत्ती बाल्ने र रातो झण्डा फहराउने गरिएको कोसी ब्यारेज नियन्त्रण कक्षले जनाएको छ ।

    सुक्खा मौसममा शान्त देखिने सप्तकोसी वर्षायाम सुरु भएसँगै उग्र रूप लिने भएकाले यस नदीमा नेपालसहित भारतका विभिन्न क्षेत्रको समेत ध्यान जाने गरेको छ । असार, साउन र भदौ महिनामा पूर्वी पहाडी तथा तराई क्षेत्रमा हुने वर्षाका कारण विभिन्न नदीमा पानीको सतह बढ्ने गर्दछ । सप्तकोसीमा पनि बहाव बढ्ने र नदी आसपासका क्षेत्रमा डुबान तथा कटानको जोखिम बढ्ने गरेको छ । सप्तकोसीमा तमोर, अरुण, सुनकोसी, दूधकोसी, तामाकोसी, भोटेकोसी र इन्द्रावती नदीको पानी मिसिन्छ । वर्षायाममा पानीले भरिने सप्तकोसी सुख्खा समयमा भने धेरै स्थानमा बालुवाले भरिएको देखिन्छ ।

  • अर्जेन्टिना लगातार दोस्रो विश्वकप फाइनल प्रवेश

    अर्जेन्टिना लगातार दोस्रो विश्वकप फाइनल प्रवेश

    काठमाडौँ, ३२ असारः इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना ‘फिफा विश्वकप २०२६’ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको एटलान्टा स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले इङल्यान्डलाई २–१ गोलले हराउँदै फाइनल यात्रा तय गरेको हो । अर्जेन्टिना लगातार दोस्रोपटक विश्वकप फाइनलमा पुगेको छ । यसअघि अघिल्लो संस्करणमा अर्जेन्टिनाले फ्रान्सलाई हराउँदै विश्वकप उपाधि जितेको थियो ।

    खेलको सुरुआती अग्रता भने इङल्यान्डले लिएको थियो । खेलको ५५औँ मिनेटमा एन्थोनी गोर्डनले गोल गर्दै इङल्यान्डलाई अघि बढाएका थिए । तर ८५औँ मिनेटमा अर्जेन्टिनाका एन्जो फर्नान्डेजले गोल गर्दै खेल बराबरीमा ल्याए । अतिरिक्त समयको दोस्रो मिनेटमा लाउटारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई २–१ को जित दिलाए । यससँगै अर्जेन्टिनाले विश्वकप फाइनलमा स्थान पक्का गरेको हो ।

  • राजधानीको सौन्दर्य बढाउने प्रयासः दुई साताभित्र अव्यवस्थित तार व्यवस्थापन गर्न निर्देशन

    राजधानीको सौन्दर्य बढाउने प्रयासः दुई साताभित्र अव्यवस्थित तार व्यवस्थापन गर्न निर्देशन

    काठमाडौँ ३१ असारः काठमाडौँ उपत्यकामा वर्षौंदेखि सडकका खम्बामा गुजुल्टिएका र सडकपेटीमा लत्रिएका तथा प्रयोगविहीन इन्टरनेट, टेलिफोन र टेलिभिजनका तार व्यवस्थापन गर्न सरकारले समयसीमासहितको कार्ययोजना बनाएर अघि बढ्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

    सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको उपस्थितिमा आज ऊर्जा मन्त्रालयमा बसेको उच्चस्तरीय अन्तरनिकाय बैठकले नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल विद्युत् प्राधिकरण, नेपाल टेलिकम, एनसेल तथा इन्टरनेट सेवा प्रदायकहरूको छाता संस्था आईस्पानलाई एकीकृत कार्ययोजना बनाएर साउन दोस्रो साताभित्र पहिलो चरणमा उपत्यकाका छ स्थानका प्रयोगविहीन तार हटाउन निर्देशन दिएको हो ।

    बैठकले तार व्यवस्थापनलाई प्रभावकारी बनाउन नेपाल दूरसञ्चार प्राधिकरणले नेतृत्व निर्वाह गर्ने, सबै सेवा प्रदायकले आफ्ना तारमा स्पष्ट पहिचान खुल्ने ‘ट्याग’ अनिवार्य रूपमा राख्ने, सम्बन्धित निकायबीच नियमित समन्वय कायम गर्ने तथा कामको प्रगतिको नियमित समीक्षा गर्दै नागरिकले परिणाम महसुस गर्नेगरी काम गर्ने निर्णय पनि गरेको छ ।

    अव्यवस्थित तारका कारण नागरिकको सुरक्षामा जोखिम उत्पन्न हुनका साथै सहरी सौन्दर्यसमेत प्रभावित भएकाले पहिलो चरणमा अब त्रिपुरेश्वर–कालिमाटी–कलङ्की, जडीबुटी–पेप्सीकोला, त्रिपुरेश्वर–लाजिम्पाट, सामाखुशी–टाउन प्लानिङ–गोँगबु, कीर्तिपुर क्षेत्र तथा पुरानो बानेश्वर–गौशाला–चाबहिल गरी छ स्थानमा तार व्यवस्थापन हुनेछ ।

    नेपाल दूरसञ्चार प्राधिकरणले गत जेठ २८ गते १५ दिनभित्र तार व्यवस्थापन गर्न सार्वजनिक सूचना जारी गरेको भए पनि अपेक्षित प्रगति हुन नसकेपछि आजको बैठकमा त्यसको समीक्षा गरिएको थियो । बैठकमा सूचना तथा सञ्चारमन्त्री डा. तिमिल्सिनाले अव्यवस्थित तारको समस्या सबै निकायको साझा कमजोरीका कारण सिर्जना भएको बताउँदै अब समाधानमा केन्द्रित हुनुपर्नेमा जोड दिए । उनले भने, “यो हामी आफैँले सिर्जना गरेको समस्या हो । कतै न कतै सबै निकायका कमजोरी छन् । पन्ध्र दिनभित्र तार व्यवस्थापन गर्ने सूचना जारी भएको थियो तर अपेक्षाअनुसार काम हुन सकेन । अब तत्काल के गर्न सकिन्छ, त्यहीबाट सुरु गरौँ ।”

    मन्त्री तिमिल्सिनाले प्रयोगविहीन केबल तत्काल हटाउन निर्देशन दिँदै त्यसका लागि आवश्यक सहयोग कुन निकायबाट चाहिन्छ वा कहाँ समस्या छ भन्ने जानकारी मन्त्रालयलाई दिन आग्रह गरे । “तार झुण्ड्याएपछि त्यसलाई हटाउने जिम्मेवारी पनि सम्बन्धित सेवा प्रदायककै हो। नागरिकले तत्काल परिणाम चाहेका छन् । समस्या समाधानमा ढिलाइ गर्ने छुट कसैलाई छैन,” उनले भने ।


    उनले नेपाल दूरसञ्चार प्राधिकरणलाई प्रभावकारी नियमन गर्दै सबै निकायबीच समन्वय कायम गर्न तथा कुन क्षेत्रमा कहिले काम गर्ने भन्ने स्पष्ट समयसीमासहितको एकीकृत कार्ययोजना तयार गर्न निर्देशन दिए । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले अव्यवस्थित तार व्यवस्थापनका लागि सबै निकायबीच प्रभावकारी समन्वय अपरिहार्य रहेको बताए । कसैलाई अप्ठ्यारो पार्ने उद्देश्य नभई दीर्घकालीन समाधान खोज्ने लक्ष्यका साथ सरकारले पहल गरिरहेको उनको भनाइ थियो ।

    “हामी सबैले एउटै समस्या र चुनौती भोगिरहेका छौँ । त्यसलाई सबै मिलेर समाधान गर्नुपर्छ । नियामक र सेवाप्रदायक दुवैले यस काममा सहयोग गर्नुपर्छ,” मन्त्री श्रेष्ठले भने । उनले निश्चित क्षेत्र तोकेर पाइलट परियोजनाका रूपमा काम सुरु गरी त्यसबाट प्राप्त अनुभवका आधारमा अन्य क्षेत्रमा विस्तार गरिने बताए । साथै मन्त्रालयको कार्यक्षेत्रभित्र पर्ने आवश्यक कानुनी सुधारका काम पनि अघि बढिरहेको जानकारी दिए ।


    इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले नेपाल विद्युत् प्राधिकरणलाई तिर्न बाँकी पोल भाडा असुलीसम्बन्धी विषयमा सरकारले छिट्टै आवश्यक निर्णय लिने पनि उनले बताए । दूरसञ्चार तथा विद्युत् तार व्यवस्थापनका लागि पूर्वाधार कम्पनी स्थापना गर्ने विषयमा सरकार सकारात्मक रहेको उल्लेख गर्दै उनले सबै निकायले व्यवहारिक रूपमा जिम्मेवारी निर्वाह गरे दीर्घकालीन समाधान सम्भव हुने विश्वास व्यक्त गरे ।


    बैठकमा आईस्पानले पुरानो बानेश्वर–गौशाला–चाबहिल क्षेत्रमा तार हटाउने काम भइरहेको र काठमाडौं महानगरपालिकाले प्राथमिकतामा राखेका अन्य क्षेत्रमा पनि व्यवस्थापन जारी रहेको जनाएको छ । वर्षायामका कारण विद्युत् पूर्वाधारसँगै काम गर्न कठिनाइ भएको तथा दिउँसो सडक क्षेत्रमा काम गर्न अनुमति नपाउँदा लक्ष्यअनुसार काम अघि बढाउन समस्या भएको संस्थाको भनाइ थियो ।

    नेपाल विद्युत् प्राधिकरणले धेरै स्थानमा विद्युत्का तार व्यवस्थापन गरिसकेको भए पनि पोलमा रहेका विभिन्न सेवा प्रदायकका तार यथावत् रहेको जनाएको छ । ती तार कसको स्वामित्वका हुन् भन्ने पहिचान गर्नसमेत कठिनाइ भइरहेको, अधिकांश सेवा प्रदायकले पोल भाडा नियमित रूपमा नतिरेको तथा नयाँ केबल जडान गरेपछि पुराना केबल नहटाइएकाले समस्या जटिल बनेको प्राधिकरणले जनाएको छ ।

    आईस्पानका अध्यक्ष सुधीर पराजुलीले धेरै ठाउँमा पोलमा रहेका तारको स्वामित्व नै स्पष्ट नरहेकाले व्यवस्थित पहिचान आवश्यक रहेको बताए । उनले भूमिगत विद्युत् संरचना निर्माण गर्दा दूरसञ्चार तथा इन्टरनेट पूर्वाधारलाई समेट्ने व्यवस्था नगरिएकाले समस्या बढेको उल्लेख गरे । इन्द्रचोक र असनजस्ता घना बस्तीमा तत्काल भूमिगत केबल विस्तार सम्भव नभए पनि बानेश्वर क्षेत्रमा पाइलट परियोजनाका रूपमा इन्टरनेटका तार भूमिगत गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।

    नेपाल टेलिकमले हाल दुई वटा रुटमा सक्रिय रूपमा काम भइरहेको र आगामी एक महिनाभित्र जनशक्ति दोब्बर बनाएर आफ्ना सबै तारमा ट्यागिङ गर्ने प्रतिबद्धता जनाएको छ । एनसेलले पनि आफ्ना तार क्रमिक रूपमा व्यवस्थापन गरिरहेको जनाएको छ । बैठकले प्रत्येक सेवा प्रदायकले छुट्टाछुट्टै ट्यागिङ गर्नुको सट्टा आगामी दिनमा संयुक्त टोलीमार्फत एउटै मापदण्डअनुसार ‘ट्यागिङ’ गरे काम अझ प्रभावकारी हुने निष्कर्ष निकालेको छ

    नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार हाल त्रिपुरेश्वर–कालिमाटी–कलङ्की, जडीबुटी–पेप्सीकोला, त्रिपुरेश्वर–लाजिम्पाट, सामाखुशी–टाउन प्लानिङ–गोंगबु, कीर्तिपुर क्षेत्र तथा पुरानो बानेश्वर–गौशाला–चाबहिल गरी छ स्थानमा चरणबद्ध रूपमा तार व्यवस्थापन जारी छ । ती क्षेत्रमा कार्यरत सबै दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायकलाई आफ्ना पहिचान खुल्नेगरी ‘ट्याग’ राख्न निर्देशन पनि दिइएको छ ।

  • मन लोभ्याउँदै जखेराको मनमोहक दृश्य

    मन लोभ्याउँदै जखेराको मनमोहक दृश्य

    नारायणी रजौरे–रासस
    दाङ, ३१ असारः यहाँस्थित जखेरा तालको मनमोहक दृश्यले आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याइरहेको छ । दाङको लमही नगरपालिका–३ मा पर्ने जखेरा सरोवर उत्कृष्ट पर्यटकीय केन्द्रका रुपमा परिचित छ । चुरे पहाडको फेदमा अवस्थित छ, जखेरा । नजिकै मुसुण्डी गाउँ, उतरतर्फ चुरे पहाड र पहाडको बीचमा सरोवर । यस्तै दृश्यले यहाँ आउने जो कोही लठ्ठ पर्ने गरेको बताइन्छ ।

    गत वैशाख, जेठ महिनामा ताल अवलोकनका लागि झण्डै दुई लाख आन्तरिक तथा बाह्य पर्यटक आएका तालका कर्मचारी ओमभक्त चौधरीले जानकारी दिए । सरोवरमा घुमघाम र वन भोजका लागि आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । झण्डै आठ बिघा क्षेत्रफलमा फैलिएको छ, ताल । गहिराइ सात फिट रहेको छ । उत्तरतर्फ गणेश तथा पूर्वमा सिद्देश्वर महादेवको मन्दिर पनि ।

    जलाशयमा ढुङ्गाबाट सयर गर्न सकिन्छ, तालका बीचमा मन्दिरको पूजा पनि । पूर्वमा भगवान् गौमबुद्धको मूर्ति, वरपर बनभोज स्थल, बगैँचा, जलविहार, प्राकृतिक पदयात्रा, चरा तथा अन्य जीवजन्तुको अवलोकन यहाँ गर्न सकिन्छ । सरोवरमा पाँच वटा डुङ्गा छन् । सङ्ख्या कम भएकाले ढुङ्गा चढ्न नपाई केही पर्यटक दुःखी पनि भएका छन् । एक व्यक्तिले तालमा ढुङ्गा चढेर जलविहार गरेमा रु एक सय तथा मन्दिर दर्शनका लागि रु ५० शुल्क निर्धारण गरिएको छ ।

    तुलसीपुरबाट आउनुभएकी ४८ वर्षीया निरा कुँवरले तालको अवलोकनबाट आनन्दित भएको बताइन् । उनले तालको सरसफाइमा ध्यान पुगेको छैन भनिन् । तुलसीपुरका अर्की ३७ वर्षीया शारदा देवी ओलीले जलाशयको आकर्षण देखेर मन लोभिएको बताइन् । जनश्रमदान र राज्यका निकायले गरेको सहयोगले उक्त जलाशय जिल्लाकै मुख्य पर्यटकीय केन्द्रका रुपमा विकास भएको छ । स्थानीय थारु भाषामा जुन ठाउँमा आकाशे पानी सङ्कलन हुन्छ, त्यस ठाउँलाई जखेरा भनिन्छ ।

    विसं २०३० मा साविकको सोनपुर गाविस हालको लमही नगरपालिका– ३ मा जखेरा ताल रहेको छ । जखेराको संरक्षणका लागि स्व दिपु चौधरीको भूमिका महत्वपूर्ण थियो । उनले सोनपुर, टिकुलीगढ, फल्कापुर, श्रीगाउँका स्थानीय बुद्धिजीवीसँग सहकार्य गरी खेर गइराखेको आकाशे पानी सङ्कलन गर्न थाले । क्रमशः पोखरी बन्न पुग्यो । सो पोखरीमा वन क्षेत्रबाट बगी आएको पानीसमेत जम्मा हुन थाल्यो । सिँचाइ सुविधाका लागि सङ्कलन गरिएको ठूलो पोखरी अन्ततः लामो समयपछि जखेरा तालका नाममा परिचित छ ।

    दाङको लमही बजारबाट छ किलोमिटरपूर्व र सुनडबरी गाउँबाट उत्तर दुई किलोमिटर टाढा जखेरा ताल पर्छ । पूर्वपश्चिम राजर्मागबाट नजिकै रहेकाले भारत, तथा तेस्रो मुलुकबाट पनि जखेराको अवलोकनका लागि पर्यटक आउने गर्छन् ।

  • प्रतिनिधिसभाः बाध्यकारी श्रम महासन्धिको प्रोटोकल नं २९ अनुमोदित

    प्रतिनिधिसभाः बाध्यकारी श्रम महासन्धिको प्रोटोकल नं २९ अनुमोदित

    काठमाडौँ, ३१ असारः प्रतिनिधिसभाको आजको बैठकबाट ‘अन्तरराष्ट्रिय श्रम सङ्गठनको बाध्यकारी श्रम महासन्धि, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नं २९ सर्वसम्मतिले अनुमोदन भएको छ । बैठकमा युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले सो प्रोटोकल नं २९ का प्रावधानलाई अनुमोदनका लागि प्रस्ताव गर्नुभएको थियो । छलफलमा उठेका विषयमा जवाफ दिँदै मन्त्री यादवले सांसदहरूका सुझावलाई ग्रहण गर्दै आगामी दिनका श्रमसम्बन्धी नीति र कानुनमा आवश्यक संशोधन गर्दै प्रभावकारी कार्यान्वयन गर्ने बताए ।


    सो प्रस्तावमाथिको छलफलमा सांसदहरू प्रकाश पाठक, रीना उप्रेती, माधवबहादुर थापा, नरेन्द्रकुमार केरुङ, श्रद्धा कुँवर क्षेत्री, डा अर्जुनकुमार कार्की, अशोककुमार चौधरी, ज्ञानु पौडेल, गङ्गालक्ष्मी अवाल, शाहजान खातुन, गुरु बराल, कृष्णहरि बुढाथोकी, गणेशबहादुर विश्वकर्मा र अमृता विकले भाग लिए ।


    सांसदहरुले एकातिर अन्तररष्ट्रिय श्रम प्रोटोकल पारित गर्ने र अर्कातिर श्रम सङ्गठनहरू खारेज गर्ने सोच एकापसमा मेल नखाने टिप्पणी गर्दै श्रम शक्तिले राष्ट्र निर्माण हुन्छ भन्ने मान्यताका साथ रोजगारदाता र श्रमिकबीच सरकारले समन्वय बढाउनुपर्ने बताए ।