Category: फिचर

  • आकर्षक वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ

    आकर्षक वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ


    काठमाडौँ, ६ साउनः आकर्षक वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ओखलढुङ्गा लिखुका प्रदीपकुमार श्रेष्ठ र कपिलवस्तु शिवराजकी कविता वेल्वासे छन् । प्रहरीका अनुसार प्रदीपकुमारले कम्बोडिया पठाइदिन्छु भन्दै एक जनाबाट रु चार लाख र कविताले युएई पठाइदिने भन्दै रु एक लाख आठ हजार लिएर सम्पर्कविहीन भएको भन्ने उजुरीका आधारमा खोजतलास गरिएको थियो । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई काठमाडौँबाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौँ पठाइएको छ ।

  • धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग

    धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग


    युवराज पाण्डे / रासस
    नेपालगन्ज, ६ साउनः बाँकेका कुनै पनि स्थानमा अहिले धान रोपाइँका बेला गोरु वा राँगाले खेत जोतेको दृश्य देख्न पाइँदैन । ह ह माले, ह ह तारेको कुनै आवाज पनि सुनिँदैन । खेतमा गह्रामा गोरु जुधेको र दौडेको देख्न मुस्किल छ । कृषि समयसँगै कृषि प्रणालीमा आएको परिवर्तनले खेतका फाँटमा ट्याक्टर र पावर टिलरको प्रयोग व्यापक रूपमा बढेको छ ।

    कृषि कर्ममा गोरुको महत्व आफ्नै खालको थियो । तर आजकल न त गोरु देख्न पाइन्छ, न त किसानले गोरु धपाएको नै भेटिन्छ । जिल्लाभरका खेतमा अहिले ट्याक्टर र पावर टिलर कुदिरहेका छन् । यसले किसानलाई समय बचत हुनाका साथै रोपाइँको काम छिटो र सहज रूपमा सम्पन्न गर्न मद्दत पुगेको छ । बाँकेको जानकी गाउँपालिका–३, कर्मनाका किसान सुन्दर खटिकले समयसँगै धान रोपाइँ प्रणालीमा पनि परिवर्तन बताउनुहुन्छ । आफूले धेरै वर्षदेखि ट्याक्टरको सहायताले खेत जोतेर धान रोपाइँ गर्दै आएको उहाँले जानकारी दिनुभयो ।


    उहाँले यस वर्ष पनि दुई बिघा जमिन (बटैया) अधियामा खेती गर्नुभएको छ । खेतीका लागि ट्याक्टर प्रयोग गरेर खेत जोतेको बताउँदै उहाँले प्रतिघण्टा रु दुई हजार पाँचदेखि तीन हजारसम्म शुल्क तिरेको जानकारी दिनुभयो । “केही किसानले आफ्नै घरमा ट्याक्टर राखेका छन, तर हामीसँग छैन । त्यसैले पैसा तिरेर जोत्न लगाउँछौँ,” उहाँले भन्नुभयो ।

    अहिले धेरै किसानका घरमा खेत जोत्नका लागि गोरु वा राँगा नभएकाले अधिकांश किसानले ट्याक्टर वा पावर टिलरकै सहायताले खेत जोतेर धान रोपाइँ गरिरहेको उहाँको भनाइ छ । “अहिलेसम्म जति पनि रोपाइँ भएको छ, केहीमा पावर टिलर र केहीमा ट्याक्टरको रोटाभेटर प्रयोग गरेर खेत जोतिएको छ,” उहाँले भन्नुभयो । किसान खटिकले खेत जोत्नका लागि यान्त्रिकीकरण बढ्दै गएको उल्लेख गर्दै रोपाइँ गर्ने मजदुरले पनि प्रतिदिन रु ५०० देखि ८०० सम्म ज्याला लिने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “मलखाद, रोपाइँ गर्ने मजदुरको ज्याला र ट्याक्टरलाई तिर्नुपर्ने रकमका कारण धानखेतीको लागत बर्सेनि बढ्दै गएको छ ।”

    समयमै रासायनिक मल नपाउँदा धान उत्पादन घट्ने चिन्ता व्यक्त गर्दै उहाँले न्यून आय भएका किसानलाई सहुलियत उपलब्ध गराउन आग्रह गर्नुभयो ।

    कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख विनोद घिमिरेले धान रोपाइँ पहिलेभन्दा आधुनिक बन्दै गएको छ । उपकरणको प्रयोग बढेको छ । उहाँले किसान यान्त्रिकीकरणतर्फ लागेका छन् । उहाँले भन्नुभयो, “अहिले किसानले गोरु र राँगा पाल्न छाडेका छन् । त्यसैले कृषि प्रणालीमा यान्त्रिकीकरण तीव्र रूपमा बढिरहेको छ ।” प्रमुख घिमिरेका अनुसार पछिल्लो समय स्थानीय तहहरूले किसानलाई हाते ट्याक्टर, पावर टिलरलगायत कृषि औजार वितरण गर्दै आएका छन् ।

    जिल्लामा हालसम्म करिब ७० प्रतिशत धान रोपाइँ सम्पन्न भइसकेको उहाँले जानकारी दिनुभयो । सिँचाइ सुविधा भएका अधिकांश क्षेत्रमा रोपाइँ सकिएको छ भने आकाशे पानीको भरमा खेती गर्ने किसानले अझै रोपाइँ जारी राखेका छन् । विशेषगरी कोहलपुर, बैजनाथ र राप्तीसोनारीका अधिकांश क्षेत्रमा रोपाइँ सम्पन्न भइसकेको जनाइएको छ ।

    नेपालगन्ज उपमहानगरपालिका–१७ का किसान जैनुल शेखले करिब १२ वर्षदेखि खेतमा गोरु वा राँगाले जोतेको दृश्य नदेखेको बताउनुभयो । “अहिले जमाना फेरिएको छ । किसानले ट्याक्टर र पावर टिलरबाट खेत जोतेर लाभ लिइरहेका छन्,” उहाँले भन्नुभयो ।

    उहाँले यस वर्ष ‘राम’ धानको खेती बढी भएको र ‘हाइब्रिड’ जातका धानको रोपाइँ पनि उल्लेख्य रूपमा बढेको जानकारी दिनुभयो । किसान शेखले विगतका वर्षको तुलनामा खेतमा रोपाइँ गर्ने मजदुरको पारिश्रमिक पनि बढेको छ । हाल दिनभर काम गरेबापत रु ६०० देखि रु ९०० सम्म पारिश्रमिक लिन थालेका छन् । “अहिले धेरैले आफ्नै घरमा ट्याक्टर र पावर टिलर राख्न थालेका छन्, तर हामीले भने ट्याक्टरबाट खेत जोताएर भुक्तानी गरेका थियौँ,” उहाँले भन्नुभयो ।

    कृषि ज्ञान केन्द्र बाँकेकी कृषि प्रसार अधिकृत तथा सूचना अधिकारी सुजिता शर्माले प्रदेश सरकार स्थापना भएपछि यान्त्रिकीकरण कार्यक्रमअन्तर्गत जिल्लामा हालसम्म १८० वटा पावर टिलर, थ्रेसरलगायत कृषि उपकरण वितरण गरिएको जानकारी दिनुभयो । उहाँले ती उपकरण ५० प्रतिशत अनुदानमा वितरण गरिएको उल्लेख गर्दै पछिल्लो समय उपकरण वितरणसँगै सञ्चालन र मर्मतसम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम पनि सञ्चालन भइरहेको बताउनुभयो । जिल्लाको ५५ हजार ८२६ हेक्टर खेतीयोग्य क्षेत्रफलमध्ये ३३ हजार ७८० हेक्टरमा धानखेती हुने गरेको छ । कृषि ज्ञान केन्द्र बाँकेका अनुसार हालसम्म २० हजार २६८ हेक्टरभन्दा बढी क्षेत्रमा धान रोपाइँ सम्पन्न भइसकेको छ ।

  • मध्यपूर्व युद्ध विस्तार गर्ने हुथीको धम्की पछि इरानद्वारा अमेरिकी सैन्य सुविधा केन्द्रित आक्रमणमा वृद्धि

    मध्यपूर्व युद्ध विस्तार गर्ने हुथीको धम्की पछि इरानद्वारा अमेरिकी सैन्य सुविधा केन्द्रित आक्रमणमा वृद्धि


    तेहरान, ५ साउन (रासस/एएफपी) :

    यमनका हुथी विद्रोहीहरूले साउदी बन्दरगाहमा नाकाबन्दी गरेर युद्ध भड्काउने खतरा उत्पन्न भए पछि इरानले खाडीमा अस्थित अमेरिकी राडार, हवाई रक्षा प्रतिष्ठानहरू लगायत सैन्य सुविधाहरुलाई निशाना बनाएर थप निर्णायक र शक्तिशाली आक्रमण गर्ने चेतावनी दिएको छ । इरानको रिभोलुसनरी गार्ड्सले उनीहरूले होर्मुजको जलमार्ग पार गर्ने प्रयास गरिरहेका दुई वटा तेल ट्याङ्करहरू मा आक्रमण गरी रोकेको जनाइएको छ ।

    पछिल्लो समयको झडपमा कम्तिमा तीन जना अमेरिकी सैनिकको मृत्यु भए पछि, संयुक्त राज्य अमेरिकाले इरान विरुद्ध नयाँ चरणको आक्रमण सुरु गरेको छ भने आक्रमणको उदेश्य हर्मुज जलमार्गमा व्यापारिक जहाजमा आक्रमण गर्ने इरानी सैन्य क्षमतालाई कमजोर पार्नु भएको जनाइएको छ । यसअघि इरानी सेनाले कुवेत र बहराइनमा हवाई रक्षा प्रणाली, राडार स्थापना र प्रशासनिक भवनहरूसहित अमेरिकी सुविधालाई लक्षित गरी आक्रमण गरेको बताएको थियो ।

    मिसाइल आक्रमणको अझै निर्णायक र शक्तिशाली तयारी थालिएको आईआरएनएले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले द्वन्द्वमा मारिएका प्रत्येक अमेरिकी सैनिकका लागि चर्को मुल्य तिर्नुपर्ने चेतावनी दिनु भएको थियो भने इरानी राष्ट्रपति मसूद पेजेस्कियनले द्वन्द्व पूर्णरूपमा भड्किएको बताउनुभएको थियो ।

    द्वन्द्वका कारण गत जुलाई –७ देखि लगभग एक सय जना अमेरिकी सैनिकहरू घाइते भएको पेन्टागनले जनाएको छ । यसैबिच तेहरानका यमनी सहयोगी, हुथी विद्रोहीहरूले साउदी बन्दरगाहहरू अवरुद्ध गर्ने घोषणा गर्दै युद्धको विस्तार गर्ने धम्की दिएका छन् । हुथीहरूको यस्तो कदमले रियादको केही तेल निर्यातका लागि हर्मुजको क्षमतालाई जोखिममा पारी विश्वव्यापी अर्थतन्त्रमा ठुलो असर पार्ने आकलन गरिएको छ ।

    साउदी अरेबियाले भने हुथी विद्रोहिको खतराको कडा निन्दा गर्दै यसले भाइचारा यमनी जनता र उनीहरूको सरकारलाई समर्थन गरिरहेको बताएको छ । अप्रिलमा जारी गरिएको युद्धविराम र जुनमा गरिएको सम्झौता ध्वस्त भए पछि मध्यपूर्व युद्ध पुनः भड्किएको छ ।

    तेहरानले हर्मुजको जलमार्गमा आफ्नो नाकाबंदी पुनः लागु गरेको छ भने वासिङ्टनले इरानका बन्दरगाहहरू अवरुद्ध गरेर प्रतिक्रिया दिइ रहेको छ । विश्व वजारमा तेलको आयात गर्ने मुख्य जलमार्ग प्रभावितहुने गरी भएको लामो युद्धले तेलको मूल्य बढेर उच्च स्तरमा पुगेको थियो ।

    हाल हर्मुज अवरुद्ध भएता पनि साउदी अरेबियाले यसको लाल सागर बन्दरगाह यानबु हुँदै लाखौं ब्यारेल तेल निर्यात जारी राख्न सक्षम भएको जनाइएको छ । कूटनीतिक आदान–प्रदान बिच, हर्मुजको जलमार्गमा, रिभोलुसनरी गार्ड्सले मङ्गलबार जलमार्ग पार गर्ने प्रयास गरिरहेका दुई वटा ट्याङ्करमा विस्फोटको गराउदा ठुलो आगलागी हुनुका साथै तिनीहरूलाई नियन्त्रणमा लिएको जनाइको छ ।

    युके मेरिटाइम ट्रेड अपरेसन एजेन्सी (युकेएमटीओ) ले यस अघि ओमानको तटमा एउटा अज्ञात प्रक्षपण तेल ट्याङ्करमा ठोक्किएको रिपोर्ट गरेको थियो । पछिल्लो लडाइँको बावजुद, इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले मध्यस्थकर्ताहरू मार्फत वासिङ्टनसँग कूटनीतिक आदान–प्रदान जारी रहेको बताउनुभएको छ ।

    इरानका आन्तरिक मन्त्री इस्कन्दर मोमेनी दुई दिने भ्रमणका लागि इस्लामाबादमा रहेको जनाइएको छ भने उहाँले पाकिस्तानी प्रधानमन्त्री शाहबाज सरिफ र सेना प्रमुख असीम मुनीरलाई भेट्ने कार्यक्रम तय भएको जनाइएको छ । यसैबीच लेबनानका राष्ट्रपति जोसेफ आउनले मङ्गलबार वासिङ्टनमा ट्रम्पसँग भेट्ने कार्यक्रम तय भएको जनाइएको छ ।

  • निराश रोहिङ्ग्याको समुद्री पलायन

    निराश रोहिङ्ग्याको समुद्री पलायन

    कक्स बजार (बङ्गलादेश), ५ साउन (रासस/एएफपी । म्यान्मामा जारी द्वन्द्व, बङ्गलादेशका शरणार्थी शिविरमा बढ्दो अभाव र मानव बेचबिखनको जालोका कारण हजारौँ रोहिङ्ग्या शरणार्थीले जीवनको जोखिम मोलेर समुद्री मार्ग हुँदै दक्षिणपूर्वी एसियातर्फ पलायन गर्ने क्रम तीव्र बनेको छ ।

    संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ समुद्री यात्राका क्रममा रोहिङ्ग्याका लागि सबैभन्दा घातक वर्ष बनेको थियो भने सन् २०२६ मा पनि मृत्यु र बेपत्ताको क्रम रोकिएको छैन । २५ वर्षीया राहेला बेगम त्यही जोखिमपूर्ण यात्राबाट जीवित फर्किन सफल हुनुभएकामध्ये एक हुनुहुन्छ ।

    सन् २०१७ मा म्यान्माको राखाइन राज्यबाट भागेर बङ्गलादेशको कक्स बजार शरणार्थी शिविरमा पुग्नुभएकी उहाँले शिविरमा बढ्दो कठिनाइपछि गत अप्रिलमा मलेसिया जाने उद्देश्यले समुद्री यात्रा सुरु गर्नुभएको थियो । करिब २८० जना यात्रु बोकेको डुङ्गा चार दिनपछि अन्डमान सागरमा डुबेपछि उहाँ दुई दिन र एक रात काठको एउटा पाटामा अडिएर समुद्रमा बग्नुभएको थियो ।

    अन्ततः उद्धार जहाजको ध्यानाकर्षण भएपछि उहाँको ज्यान जोगिएको थियो । “मैले एउटा काठको फलेक समात्न सफल भएँ । त्यसैको सहारामा दुई दिन र एक रात बिताएँ । म मृत शरीरजस्तै समुद्रमा तैरिरहेको थिएँ, धेरै प्रयासपछि मात्र टाउको उठाएर उद्धारकर्ताको ध्यान खिच्न सकेँ”, उहाँले भन्नुभयो ।

    हाल कक्स बजार क्षेत्रमा १० लाखभन्दा बढी रोहिङ्ग्या शरणार्थी बसोबास गरिरहेका छन् । बङ्गलादेश सरकारले उनीहरूलाई शिविरबाहिर स्वतन्त्र रूपमा आवतजावत गर्न वा रोजगारी गर्न नदिने नीति अपनाएको छ । यही अवस्थाले धेरैलाई समुद्री मार्गबाट मलेसिया, इन्डोनेसिया र थाइल्यान्ड पुग्ने जोखिमपूर्ण निर्णय गर्न बाध्य बनाइरहेको छ ।

    संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्त (युएनएचसीआर) का अनुसार सन् २०२५ मा छ हजार ५०० भन्दा बढी रोहिङ्ग्याले समुद्री मार्गबाट शिविर छोड्ने प्रयास गरेका थिए । तीमध्ये करिब ९०० जनाको मृत्यु भएको वा उनीहरू बेपत्ता भएका थिए । यो अहिलेसम्मकै सबैभन्दा उच्च सङ्ख्या हो ।

    यस वर्ष जनवरीदेखि मेसम्म मात्रै कक्स बजारका शिविरबाट दुई हजार ३०० जनाले समुद्री यात्रा थालेका छन् । यो सङ्ख्या गत वर्षको सोही अवधिको तुलनामा झण्डै दोब्बर हो । मानव बेचबिखन गर्ने गिरोहले राम्रो जीवनको आश्वासन दिँदै शरणार्थीलाई प्रलोभनमा पार्ने गरेका छन् ।

    कक्स बजारबाट करिब एक घण्टाको दूरीमा रहेको टेकनाफबाट यात्रुहरूलाई ट्रलरमार्फत समुद्रमा पु¥याइन्छ र त्यसपछि ठूला जहाजमा सारेर दक्षिणपूर्वी एसियातर्फ पठाइने गरेको छ ।

    नाम नखुलाउने सर्तमा एक तस्करले प्रत्येक यात्राबाट आफूले दुई लाख ५० हजार टकासम्म आम्दानी गर्ने गरेको स्वीकार गर्नुभयो । उहाँका अनुसार यस्तो सञ्जाल बङ्गलादेश, म्यान्मा, थाइल्यान्ड र मलेसियासम्म फैलिएको छ । बङ्गलादेशी अधिकारीहरूले भने मानव बेचबिखन नियन्त्रणका लागि प्रयास जारी रहेको बताएका छन् ।

    तटरक्षक बलका लेफ्टिनेन्ट मोहम्मद रनक रहमानका अनुसार यस वर्ष मात्रै ६१८ जना मानव बेचबिखनका पीडितको उद्धार गरिएको छ । नाफ नदी क्षेत्रमा नियमित गस्ती भइरहेको र थप घटना रोक्न अधिकतम सतर्कता अपनाइएको उहाँले बताउनुभयो ।

    यद्यपि स्थानीय अधिकारीहरूले सीमित स्रोतसाधनका कारण मानव बेचबिखनको सञ्जाल नियन्त्रण गर्न कठिन भइरहेको स्वीकार गरेका छन् । कक्स बजार अदालतका सरकारी वकिल तौहिदुल अन्वरका अनुसार हाल करिब ५०० वटा मानव बेचबिखनसम्बन्धी मुद्दा अदालतमा विचाराधीन छन् ।

    उहाँले अनुसन्धानमा प्रमाण जुटाउन कठिन हुने र तस्करहरूको प्रभाव बलियो रहेकाले कारबाही चुनौतीपूर्ण बनेको बताउनुभयो । स्थानीय प्रहरी प्रमुख ए.एन.एम. साजेदुर रहमानले रोहिङ्ग्याहरू जुनसुकै मूल्य चुकाएर पनि शिविरबाट बाहिरिन चाहने भएकाले समस्या अझ जटिल बनेको उल्लेख गर्नुभयो ।

    युनाइटेड रोहिङ्ग्या काउन्सिलका अध्यक्ष सैयद उल्लाले शिविरको कठोर जीवन नै पलायनको मुख्य कारण भएको बताउनुभयो । उहाँका अनुसार धेरै शरणार्थी दैनिक दुई छाक खाना र अत्यन्त न्यून आर्थिक सहयोगमा जीवन गुजार्न बाध्य छन्, त्यसैले राम्रो भविष्यको आशामा उनीहरू जोखिमपूर्ण यात्रा रोजिरहेका छन् ।

    उहाँले रोहिङ्ग्या सङ्कटको दीर्घकालीन समाधान म्यान्मामा स्थायी शान्ति स्थापना र सुरक्षित स्वदेश फिर्ती नै भएको बताउनुभयो । तर सन् २०२१ को सैन्य ‘कू’ पछि म्यान्मामा जारी द्वन्द्व अझै रोकिएको छैन ।

    अमेरिकास्थित संस्था एसीएलइडीका अनुसार उक्त द्वन्द्वमा हालसम्म एक लाखभन्दा बढी मानिसको ज्यान गइसकेको छ । कक्स बजारस्थित बाँस र त्रिपालले बनेको आफ्नो अस्थायी बासमा फर्किनुभएकी राहेला बेगमले समुद्री दुर्घटनासँगै आफ्नो स्वतन्त्र जीवनको सपना पनि डुबेको बताउनुभयो । “भगवानले मलाई कतै पनि शान्ति दिनुभएन । आफ्नै देशमा पनि होइन, यहाँ पनि होइन”, उहाँले पीडाभाव व्यक्त गर्नुभयो ।

  • कीर्तिपुरमा जलेको कारबाट शव निकालियो

    कीर्तिपुरमा जलेको कारबाट शव निकालियो


    काठमाडौँ, ५ साउन : काठमाडौँको कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटमा आज बिहान एक कारमा अकस्मात आगलागी भएपछि त्यसमा रहेका एक जना पुरुषको शव निकालिएको छ ।

    स्थानीयका अनुसार बा५च ३०३८ नम्बरको कारमा अकस्मात आगलागी भएको थियो । आगो लागिरहेकै कारबाट प्रहरीले एक जना पुरुषको शव फेलापारेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो ।

    उहाँले सो कारबाट एक पुरुषको शव निकालिएको र शव पूर्ण रूपमा जलेको अवस्थामा रहेको बताउनुभयो । आगलागी भएको उक्त कार बैंकको नाममा रहेको खुलेको र कारभित्र जलेका व्यक्तिको पहिचान नखुलेको जानकारी पनि उहाँले दिनुभयो । उक्त घटनाका बारेमा थप अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।

  • शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो

    शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो



    काठमाडौँ, ५ साउन : सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता कर हटाएको छ । प्रधानमन्त्री वालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत उक्त व्यवस्था कार्यान्वयन गर्दा आममानिसले थप खर्च र निराशा भोग्नु पर्ने देखिएको उल्लेख गर्दै अहिलेका लागि समता कर हटाइएको उल्लेख गर्नुभएको छ ।


    प्रधानमन्त्री शाहले अर्थमन्त्री स्वर्णिम वाग्लेसँगको परामर्शपछि हालका लागि शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क लागु नगर्ने निर्णय गरिएको बताउनुभयो । “यो सरकार जनताको विश्वास र अपेक्षाबाट बनेको जनमुखी सरकार हो । हाम्रो मुख्य उद्देश्य सुशासन कायम गर्दै सबै नागरिकलाई गुणस्तरीय जीवनको अनुभूति गराउनु हो,” प्रधानमन्त्री शाहले भन्नुभएको छ ।

    तीन प्रतिशत समता कर ल्याउनुको उद्देश्य दुर्गम र पछाडि परेका क्षेत्रका नागरिकलाई राम्रो शिक्षा र स्वास्थ्य सेवा उपलब्ध गराउनु, दलित, सिमान्तकृत तथा विपन्न बालबालिकालाई सहयोग गर्नु, स्वास्थ्य बीमा विस्तार गर्नु र त्यसका लागि आवश्यक आर्थिक स्रोत जुटाउनु रहेको प्रधानमन्त्रीको भनाइ छ ।

    उहाँले करको दायरा विस्तार गरेर अर्थतन्त्रलाई अझ व्यवस्थित बनाउने लक्ष्यसहित उक्त व्यवस्था ल्याइएको बताउनुभयो । उहाँले नागरिक तहमा समता देखिएको समता करप्रतिको प्रतिक्रियाले सरकारको गम्भीर ध्यानाकर्षण गरेको र नागरिकको माग सुन्दै अगाडि बढ्न तथा समतामूलक समाज निर्माण गर्न आफूहरुको प्रतिबद्धता अटल र स्पष्ट रहेको बताउनुभयो ।

    “सरकारका सबै निर्णय नागरिकको हितलाई केन्द्रमा राखेर गरिएका छन् र गरिने छन् । कुनै निर्णयप्रति नागरिक असन्तुष्ट भएमा त्यसमा सुधार र परिमार्जन गर्न सरकार सधैं तयार रहनेछ”, प्रधानमन्त्री शाहले भन्नुभयो, “विपन्न र गरिब नागरिकले गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा पाउन सकून् भन्ने उद्देश्यले निजी अस्पतालमा १० प्रतिशत शय्या र निजी क्याम्पस तथा विश्वविद्यालयमा १० प्रतिशत सिट पारदर्शी र न्यायोचित रूपमा उपलब्ध गराउने नीति कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ ।”

  • स्थानीय तहसङ्ग सम्बन्धित जनगुनासो मुख्यसचिवबाट सम्बोधन गरिने

    स्थानीय तहसङ्ग सम्बन्धित जनगुनासो मुख्यसचिवबाट सम्बोधन गरिने


    काठमाडौँ, ५ साउन : ‘हेलो सरकार’मा प्राप्त हुने स्थानीय तहसम्बन्धी जनगुनासा मुख्यसचिवमार्फत सम्बोधन हुने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता हेमराज अर्यालले जारी गर्नुभएको विज्ञप्तिमा त्यसप्रकारका गुनासा मुख्यसचिवमार्फत प्रभावकारी रुपमा सम्बोधन हुने व्यवस्था मिलाइएको जनाइएको छ ।

    “स्थानीय तहमा हुने सार्वजनिक सेवा प्रवाहमा ढिलासुस्ती, ठेक्का पट्टा र निर्माण कार्यमा अनियमितता भ्रष्टाचार र बेथितिलगायतका गुनासोहरु हेलो सरकारको पोर्टल तथा सुनुवाइका विभिन्न पोर्टलमार्फत प्राप्त भइरहेकाले उल्लेखित गुनासोहरु नेपाल सरकारका मुख्य सचिवमार्फत प्रभावकारी रुपमा सम्बोधन हुने व्यवस्था मिलाइएको छ”, विज्ञप्तिमा भनिएको छ ।

  • टेलिकमद्वारा हुम्ला, नुवाकोट, रसुवा र बाराका दुर्गम तथा सीमावर्ती क्षेत्रमा टुजी र फोरजी सेवा विस्तार

    टेलिकमद्वारा हुम्ला, नुवाकोट, रसुवा र बाराका दुर्गम तथा सीमावर्ती क्षेत्रमा टुजी र फोरजी सेवा विस्तार

    काठमाडौँ, ५ साउन : नेपाल टेलिकमले देशका दुर्गम हिमाली तथा तराईका क्षेत्रमा उच्च गतिको इन्टरनेट र गुणस्तरीय दूरसञ्चार सेवा पहुँच पुर्याउने अभियानलाई तीव्रता दिएको छ । यसै क्रममा कम्पनीले हुम्लाको केर्मी, नुवाकोटको जिम्नाङ र बाहुनबेँसी, रसुवाको टिमुरे तथा बाराको भगवानपुर र मधुरीजाब्दीमा टुजी र फोरजी सेवा व्यावसायिक रूपमा सञ्चालनमा ल्याएको छ ।

    भौगोलिक रूपमा अतिविकट हुम्लाको नाम्खा गाउँपालिकास्थित केर्मी टावर सञ्चालनमा आएसँगै नाम्खा गाउँपालिका–२ र ४ अन्तर्गतका केर्मी, च्यादुक र चालागाउँका साथै सिमकोट–हिल्सा सडकखण्ड, तातोपानी खोला पर्यटकीय क्षेत्र, स्थानीय स्वास्थ्य एकाइ, सरकारी कार्यालय, विद्यालय तथा गुम्बाहरू प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् ।

    त्यसैगरी, बारा जिल्लाको मधुरीजाब्दी टावरबाट इटहर, औलिया, बेलाही, सिर्सिया, कलैयामाईलगायत क्षेत्रका चारवटा विद्यालय क्षेत्र र भगवानपुर टावरबाट पटेर्वा, हरिहरपुर, हर्नैयाचोक, सिम्रौनगढ क्षेत्रका पाँचवटा विद्यालय क्षेत्र आसपासका बस्तीहरू लाभान्वित भएका छन् ।

    रसुवाको टिमुरेस्थित टावरबाट उत्तरी सीमानाका आसपासका बस्तीहरू लाभान्वित भएका छन् भने नुवाकोटको जिम्नाङ टावरबाट दुप्चेश्वर गाउँपालिकाका वडा नं ३ र ४ तथा बाहुनबेँसी टावरबाट तादी, लिखु र चौघडा क्षेत्रका बासिन्दाले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै सो क्षेत्र आसपासका बस्तीहरू लाभान्वित भएका छन् ।

  • शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य छ : सभापति थापा

    शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य छ : सभापति थापा


    काठमाडौँ, ५ साउन : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले चालु आर्थिक वर्षदेखि शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य भएको बताउनुभएको छ ।

    आज सामाजिक सञ्जालमार्फत सभापति थापाले यो व्यवस्था अनुपयुक्त भएको कुरा आफूहरुले प्रारम्भबाट नै उठाउँदै आएको उल्लेख गर्दै शिक्षा र स्वास्थ्य विलासिता नभएको बताउनुभएको छ ।

    “निजी अस्पताल र विद्यालय रोज्ने सबै नागरिक सम्पन्न हुँदैनन्, धेरैका लागि त्यो कुनै विलासिता होइन, बाध्यता हो”, उहाँले भन्नुभएको छ, “निजी क्षेत्र पनि देशको शिक्षा र स्वास्थ्य प्रणालीको अभिन्न साझेदार हो, सेवा प्रवाहमै अतिरिक्त शुल्क वा करको भार थप्ने नीतिले कहिल्यै पनि समस्याको समाधान गर्दैन ।”

    प्रमुख प्रतिपक्ष दल कांग्रेसका सभापति थापाले समता कर हटाउने सरकारको निर्णयलाई कार्यान्वयनमा लैजान आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पनि रीतपूर्वक हुनुपर्ने धारणा राख्नुभयो । –

  • नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल

    नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल


    जनकपुरधाम, ५ साउन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताउनुभएको छ ।

    जनकपुरधाम विमानस्थलमा आज साँझ सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्नुहुँदै संयोजक दाहालले आफ्नो पार्टी र नेकपा (एमाले)सँग सहकार्यको प्रक्रिया औपचारिक रूपमा अघि बढेको उल्लेख गर्नुभयो । तीन दलबीचको समझदारी अझै अन्तिम निष्कर्षमा नपुगेको बताउनुहुँदै संयोजक दाहालले प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा नेपाली कांग्रेससँग पनि छलफल भइरहेको बताउनुभयो ।

    नेकपाको मधेस प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन जनकपुरधाम आउनुभएका संयोजक दाहालले पार्टीको प्रशिक्षण र सङ्गठन सुदृढीकरणलाई प्राथमिकताका साथ अघि बढाइने उल्लेख गर्नुभयो । नेकपाको मधेस प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई बुधबार साउन ६ गते पार्टीका संयोजक दाहाल, सहसंयोजक माधवकुमार नेपाल र वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

  • सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने छ उद्योगलाई जरिवाना

    सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने छ उद्योगलाई जरिवाना

    काठमाडौँ, ५ साउन : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत उद्योग विभागले सिर्सिया नदीमा फोहर फ्याक्ने छ वटा उद्योगलाई प्रत्येकलाई १० लाखको दरले जरिवाना गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको अगुवाईमा सिर्सिया नदी दुर्गन्धित गर्ने उद्योग तथा कलकारखानालाई प्रदूषण नियन्त्रण गर्नका एक महिनाको समय सीमा दिइएको थियो ।

    एक महिनाको अवधिमा उद्योग कलकारखानाबाट निस्कने फोहरमैला तथा प्रदूषण नियन्त्रण नगरेको भन्दै उद्योग विभागले १२ वटा उद्योगलाई कारबाही प्रक्रिया अघि बढाएको छ । उद्योग विभागका महानिर्देशक जितेन्द्र बस्नेतले छ वटा उद्योग १० लाखका दरले जरिवाना गरेको बताउनुभयो ।

    उहाँका अनुसार जगदम्बा स्टिल इन्डस्ट्रिज लिमिटेड, बारा, हुलास स्टिल इन्डस्ट्रिज प्रालि बारा, शिवशक्ति घिउ उद्योग प्रालि, बारा, सुशील वनस्पति प्रालि, पर्सा, अन्नपूर्ण भेजिटेबल प्रोडक्ट्स, बारा र अशोक स्टिल इन्डष्ट्रिज प्रालि बारालाई १० लाखको दरले जरिवाना गरिएको छ । उद्योग विभागले मधेस प्रदेश सरकार मातहत पर्ने छ वटा उद्योग तथा कलकारखानालाई आवश्यक कारबाही गर्नका लागि सिफारिस गरेको जनाएको छ । यसअघि वातावरण विभागको प्राविधिकसहितको अनुगमन टोलीले बारा र पर्साका २१ उद्योगको स्थलगत निरीक्षण गरी फोहर पानीको नमूना सङ्कलन गरेको थियो ।

    नमूना सङ्कलन गरेकामध्ये १२ वटा उद्योग कलकारखानाबाट निस्कने पानी प्रदूषित भेटिएपछि कारबाही प्रक्रिया अघि बढाइएको हो । सिर्सिया नदी वीरगञ्ज–पथलैया औद्योगिक करिडोरका उद्योगबाट वर्षौँदेखि रसायनयुक्त फोहर पानी मिसिँदै आएपछि अत्यधिक प्रदूषित हुँदै आइरहेको छ । मन्त्री यादवले उद्योगबाट निस्कने फोहरमैलाले नदीलाई प्रदूषित गराएको खण्डमा आवश्यक निरीक्षण गरेर जरिवाना गर्नका लागि निर्देशन दिनुभएको छ ।

  • काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो

    काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो


    काठमाडौँ, ५ साउन : काठमाडौँ उपत्यकामा १९ प्रतिशतले दुर्घटनामा कमी आएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८०/८१ मा आठ हजार ८८१ सडक दुर्घटना भएकामा आव २०८१/८२ मा सात हजार १६९ र आव २०८२/८३ मा पाँच हजार ८०३ रहेको छ ।

    काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक तथा सूचना अधिकारी नरेशराज सुवेदीले दुर्घटना न्यूनीकरणमा नेपाल प्रहरी, ट्राफिक प्रहरी तथा अन्य सरोकारवाला निकायले अपनाएको सतर्कता, प्रभावकारी ट्राफिक व्यवस्थापन र जिम्मेवारीपूर्ण कार्यसम्पादनको सकारात्मक प्रभाव परेको बताउनुभयो ।

    “दुर्घटना हुनु आफैँमा दुखद् हो तर सडक नियमको पालाना आफ्नै सुरक्षाको लागि हो भन्ने महसुस सबै सडक प्रयोग कर्ताहरूले गर्नुभयो भने नतिजा सकारात्मक नै आउँछ । त्यसैले ट्राफिक नियमको पालानाप्रति सबै नागरिक जिम्मेवार बन्नुपर्दछ”, उहाँले भन्नुभयो । उहाँका अनुसार वर्षभरिका दुर्घटनाको तथ्याङ्क विश्लेषण गर्दा सबैभन्दा धेरै दुर्घटना गत शुक्रबार भएको देखिएको छ ।

    “शुक्रबार एक हजार १०३ वटा दुर्घटना भएका छन् । त्यसैगरी सबैभन्दा कम दुर्घटना बुधबार भएको छ, जहाँ ६४५ वटा दुर्घटना भएका छन्”, सुवेदीले भन्नुभयो । ट्राफिक प्रहरीले सडक सुरक्षामा सुधार ल्याउन चालक र पैदलयात्री दुवैले ट्राफिक नियमको पूर्णपालना गर्नुपर्नेमा जोड दिएको छ ।

  • वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान

    वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान


    तेहरान, ५ साउन । रासस/सिन्ह्वा । इरान र अमेरिकाबीच लगातार जवाफमा हमलाहरू भइरहेको समय इरानले मध्यस्थकर्ताहरूबाट युद्धविरामका लागि कुटनीतिक प्रस्तावहरू प्राप्त गरेको जनाएको छ ।

    विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाइले सोमबार तेहरानमा साप्ताहिक पत्रकार सम्मेलनमा कतारले अमेरिका–इरान वार्ता पुनः सुरु गर्न र १० दिनको युद्धविरामका लागि नयाँ प्रस्ताव ल्याएको रिपोर्टबारे उहाँलाई सोधिएको प्रश्नको जवाफमा अन्य विवरण नदिई मध्यस्थकर्ताहरूबाट युद्धविरामका लागि कुटनीतिक प्रस्तावहरू प्राप्त गरेको पुष्टि गर्नुभएको हो । बघाइले इरानको कूटनीतिक संयन्त्र अमेरिकाको हमलाको सैन्य जवाफसँगै सक्रिय रहेको बताउनुभएको होे ।

    उहाँले अमेरिकाले हालै गरेको नागरिक पूर्वाधार (पुल र चिकित्सा केन्द्र) माथिको हमलाको निन्दा गर्दै यसलाई ‘जनताको जीवन, सुरक्षा र मानवीय सम्मानको अधिकार’ को उल्लङ्घनको संज्ञा दिनुभयो । जुन १८ मा वाशिङ्टनसँग हस्ताक्षर गरिएको शान्ति समझदारी पत्रबारे उहाँले भन्नुभयो, “उक्त सम्झौताको ‘पाठ पूर्ण रूपमा स्पष्ट छ’ र सम्झौताको वाचा तोड्न वाशिङ्टनसँग कुनै बहाना छैन।” उहाँले तेहरानले ‘प्रतिबद्धता’ अनुसार अघि बढेको उहाँले बताउनुभयो ।

    वाशिङ्टनले बारम्बार आफ्नो प्रतिबद्धता तोडेपछि तेहरानले पनि आफ्नो दायित्व रोकेको बताउनुभयो । हरमुज जलडमरूमध्यबारे उहाँले इरानले उक्त जलमार्गमाथि आफ्नो सार्वभौमिकता प्रयोग गर्ने र आफ्नो हितविरुद्ध कुनै ‘दुरुपयोग’ रोक्ने अडान दोहो¥याउनुभयो ।

  • वर्षमा ९९ जलविद्युत् आयोजनालाई सर्वेक्षण अनुमति

    वर्षमा ९९ जलविद्युत् आयोजनालाई सर्वेक्षण अनुमति

    काठमाडौँ, ५ साउनः विद्युत् विकास विभागले आर्थिक वर्ष २०८२/८३ मा जलविद्युत्तर्फ ९९ वटा आयोजनालाई सर्वेक्षण अनुमतिपत्र जारी गरेको छ । ती आयोजनाको कूल क्षमता तीन हजार २११ मेगावाट बराबर छ । सौर्य ऊर्जातर्फ सात वटा आयोजना छन् । ती आयोजनाको क्षमता ३११ मेगावाट छ ।

    यस्तै, प्रसारण लाइनतर्फ २२० केभी क्षमताको १७९ सर्किट किलोमिटर, १३२ केभी क्षमताको २७० सर्किट किलोमिटर बराबरको आयोजनालाई सर्वेक्षण अनुमतिपत्र प्रदान गरिएको छ । यसैगरी, ३३ केभी क्षमताको १३२ सर्किट किलोमिटर बराबरको आयोजनालाई सर्वेक्षण अनुमतिपत्र दिइएको छ । उत्पादन अनुमतिपत्र पाएका २९ आयोजना छन् ।

    ती आयोजनाको क्षमता एक हजार ८५७ मेगावाट बराबर छ । सौर्य ऊर्जातर्फ तीन आयोजनाले उत्पादन अनुमतिपत्र प्राप्त गरेको छ । ती आयोजनाको क्षमता ३१ मेगावाट छ । विभागले वार्षिक रुपमा करिब रु तीन अर्ब ५० करोड बराबरको रोयल्टी सङ्कलन गर्ने गरेको छ । प्राप्त भएको रोयल्टी रकम प्रदेश तथा स्थानीय तहमा बाँडफाँट हुने गरेको छ ।

    त्यसबाट प्रदेश र स्थानीय तहको आर्थिक उन्नयन र विकासमा महत्वपूर्ण योगदान पुगेको विभागले जनाएको छ । विभागले हालसम्म जारी गरेको उत्पादन अनुमतिपत्रमध्ये जलविद्युत्तर्फ २६४ आयोजना छन् । ती आयोजनाको कूल क्षमता १२ हजार ३३६ मेगावाट छ । सौर्य ऊर्जातर्फ कूल १० आयोजना छन् ।

    ती आयोजनाको कूल क्षमता ७४ दशमलव छ मेगावाट छ । प्रसारण लाइनतर्फ ४०० केभी क्षमताका एक हजार ९७ सर्किट किलोमिटर निर्माणका लागि अनुमति दिइएको छ । यस्तै, २२० केभी क्षमताका ६५६ सर्किट किलोमिटर, १३२ केभी क्षमताको एक हजार ६०८ सर्किट किलोमिटर निर्माणका लागि अनुमति दिइएको छ । त्यस्तै, ३३ केभी क्षमताको ३३७ सर्किट किलोमिटर बराबरको आयोजनाले अनुमति प्राप्त गरेको विभागका महानिर्देशक मनदेवी श्रेष्ठले जानकारी दिनुभयो ।

  • सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध

    सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध


    काठमाडौँ, ५ साउनः सामाजिक सुरक्षा कोषमा कूल रु एक खर्ब १६ अर्ब ७१ करोड ८९ लाख ५० हजार ५२५ बराबरको योगदान रकम जम्मा भएको छ । आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म उक्त योगदान रकम जम्मा भएको हो ।

    सूचीकृत रोजगारदाता र सूचीकृत योगदानकर्ताले उक्त रकम जम्मा गरेका हुन् । कोषका अनुसार सूचीकृत रोजगारदाताको सङ्ख्या २३ हजार ४९० पुगेको छ भने सूचीकृत योगदानकर्ताको सङ्ख्या ३० लाख ४३ हजार २०० पुगेको छ । कोषले रु २१ अर्ब २७ करोड एक लाख २० हजार २५२ बराबर दाबी भुक्तानी गरेको छ । यस्तै, औषधि उपचार, स्वास्थ्य तथा मातृत्व दाबीतर्फ रु तीन अर्ब ५२ करोड पाँच लाख ४७ हजार ४६२ उपलब्ध गराएको छ ।

    दुर्घटना तथा अशक्तता सुरक्षा दाबीतर्फ रु ३० करोड ४६ लाख छ हजार ५१४, आश्रित परिवार सुरक्षा दाबीतर्फ रु ३८ करोड चार लाख २५ हजार २१६ र अवकाश दाबीतर्फ रु १७ अर्ब छ करोड ४५ लाख ४१ हजार ६१ बराबर रकम उपलब्ध गराएको छ । पछिल्लो पटक वैदेशिक रोजगारीमा जाने श्रमिकलाई समेत कोषमा समेटिएपछि योगदान रकम वृद्धि भएको छ ।

    पेन्सन, औषधि उपचार तथा अन्य सामाजिक सुरक्षाका कार्यक्रमसमेत अगाडि बढाइएकाले कोषप्रति आम मानिसको चासो बढ्दै गएको पाइएको छ । कोषले विभिन्न उत्पादनमूलक क्षेत्रमा लगानी सुरु गरेको छ । यसबाट बहुआयामिक लाभ हासिल हुने विश्वास लिइएको छ ।

  • तेह्र स्थानीय तहले ल्याएनन् चालु आवको बजेट

    तेह्र स्थानीय तहले ल्याएनन् चालु आवको बजेट


    काठमाडौँ, ५ साउनः तेह्र स्थानीय तहले हालसम्म चालु आर्थिक वर्षको बजेट सार्वजनिक गर्न नसकेको पाइएको छ । कूल ७५३ स्थानीय तहमध्ये ७४० ले बजेट सार्वजनिक गरी कार्यान्वयनको प्रक्रिया सुरु गरिसकेका छन् । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पोर्टलमा सम्बन्धित स्थानीय तहले प्रविष्ट गरेको विवरणका आधारमा मधेश प्रदेशका १० स्थानीय तहले हालसम्म बजेट प्रस्तुत गर्न सकेका छैनन् ।

    सिराहाको सुखीपुर नगरपालिका, औरही गाउँपालिका, धनुषाको कमला नगरपालिका, रौतहटको गरुडा नगरपालिका, कटहरीया नगरपालिका, फतुवा विजयपुर नगरपालिका, मौलापुर नगरपालिका र यमुनामाई गाउँपालिकाले चालु आवको बजेट प्रस्तुत गरेका छैनन् ।

    पर्साको छिपहरमाई गाउँपालिका र पकाहा मैनपुर गाउँपालिकाले विभिन्न कारणले बजेट सार्वजनिक गर्न सकेका छैनन् । कोशी प्रदेशको धरान उपमहानगरपालिका, लुम्बिनी प्रदेशको रुपन्देही कोटहीमाई गाउँपालिका, कपलिवस्तुको शुद्धोधन गाउँपालिकाले बजेट ल्याएका छैनन् । कोशी प्रदेशमा १३७ स्थानीय तहमध्ये १३६ स्थानीय तहले बजेट ल्याएका छन् । वाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका सबै स्थानीय

    गत असार भित्रै बजेट सार्वजनिक गरी कार्यान्वयनको प्रक्रिया सुरु गरिसकेका छन् ।

    संविधानअनुसार हरेक वर्षको जेठ १५ गते सङ्घीय सरकारको, असार १ गते प्रदेश सरकार र असार महिनाभर स्थानीय तहको बजेट सार्वजनिक हुने गरेको छ । स्थानीय तहमा उत्पन्न राजनीतिक विवाद, प्राविधिक समस्यालगायत कारणले ती स्थानीय तहले बजेट सार्वजनिक गर्न नसकेको बताइएको छ । विपद्को समयमा कार्यालय नछाड्न निर्देशन यसैबीच, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विपद्को समयमा कार्यालयमा अनिवार्य उपस्थिति भई सेवा प्रवाह गर्न जिल्ला समन्वय अधिकारी र प्रमुख प्रशासकीय अधिकृतलाई परिपत्र गरेको छ ।

    मन्त्रालयले विपद्को संवेदनशील समयावधीभर आफ्नो कार्यालय नछाड्न तथा कार्यालयमा नियमति रुपमा उपस्थित भई आवश्यक समन्वय, सहजीकरण र निर्णय प्रक्रियामा सक्रिय रहन निर्देशन दिएको छ । देशका विभिन्न स्थानमा अविरल बर्षा, बाढी पहिरोलगायतका विपद्जन्य घटनाको जोखिम तथा प्रभावलाई दृष्टिगत गरी विपद व्यवस्थापन, उद्धार, राहत, समन्वय तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन मन्त्रालयले आग्रह गरेको छ ।

    कुनै प्रकारको बिदामा रहेको भए उक्त बिदा छोट्याइ यथाशीघ्र सम्बन्धित कार्यालयमा उपस्थित भई आफ्नो जिम्मेवारी सम्हाल्न भनिएको छ । विपद्सँग सम्बन्धित सूचना, उद्धार तथा राहत कार्य, क्षतिको विवरण तथा अन्य आवश्यक समन्वय कार्यमा सम्बन्धित जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, प्रदेश तथा सङ्घीय निकायसँग निरन्तर सम्पर्क र समन्वय कायम गर्न मन्त्रालयले आग्रह गरेको छ ।

    कुनै विशेष कारणबस कार्यालय छाड्नुपर्ने अवस्था सिर्जना भएका सम्बन्धित निकायको पूर्वस्वीकृति लिइ जिम्मेवारीको उचित व्यवस्थापन गरेर मात्र कार्यालय छाड्न मन्त्रालयले पत्राचार गरेको छ ।

  • पूर्वसहमति नलिइ सरकारी निकायले सवारीसाधन खरिद गर्न नपाइने

    पूर्वसहमति नलिइ सरकारी निकायले सवारीसाधन खरिद गर्न नपाइने


    काठमाडौँ, ५ साउन : विनियोजित बजेटबाट नयाँ चारपाङ्ग्रे सवारीसाधन खरिद गर्नुपर्ने भएमा अनिवार्य रुपमा अर्थ मन्त्रालयसँग पूर्वसहमति लिनुपर्ने व्यवस्था गरिएको छ । अर्थमन्त्रालयले सोमबार जारी गरेको ‘चालु आवको बजेट कार्यान्वयनसम्बन्धी मार्गदर्शनमा’ पूर्वसहमति नलिइ कुनै पनि सवारीसाधन खरिद गर्न पाइने छैन । वैदेशिक भ्रमणका लागि पनि अनिवार्य रुपमा मन्त्रालयको पूर्वसहमति लिनुपर्नेछ ।

    सरकारी स्वामित्वको भवन उपलब्ध नभएको अवस्थामा मात्र मुख्य व्यापारिक केन्द्र वा प्रमुख मार्गभन्दा बाहिर रहेका न्यूनतम पूर्वाधार र सुविधाका घर मात्रै भाडामा लिनुपर्नेछ ।

    कार्यालयको कार्य सम्पादनजका लागि सरकारी निकायले खाली रहेका सरकारी भवनलाई प्राथमिकतामा साथ उपयोग गर्नुपर्नेछ । भाडामा लिने घर पूर्ण रुपमा सरकारी प्रयोजनमा मात्र प्रयोग हुने व्यवस्था मिलाउनुपर्ने मार्गदर्शनमा उल्लेख छ । पानी, बिजुली, सञ्चार महसुल, घरभाडा, इन्धन, मर्मत खर्च, मसलन्द तथा कार्यालय सामग्री खर्च, भक्ता, तालिम, गोष्ठी, सेवा शुल्क, भ्रमण खर्चलगायत प्रशासनिक खर्चमा अधिकतम मितव्ययिता अपनाई खर्च गर्नुपर्नेछ । सार्वजनिक खर्चलाई मितव्ययिता कायम गर्नुपर्ने व्यवस्था मार्गदर्शनले गरेको छ ।

    भुक्तानी प्रणालीलाई सहज र व्यवस्थित बनाई सरकारी कोषको प्रभावकारी उपयोगका लागि मासिक नगद योजना तर्जुमा गरी अर्थ मन्त्रालयमा पठाउनुपर्नेछ । नगद प्रवाहलाई व्यवस्थित गर्न रु एक अर्ब बढीको भुक्तानी दिनुपर्ने भएमा सात दिनभित्रै अर्थमन्त्रालयलाई अनिवार्य अनिवार्य जानकारी गराउनुपर्नेछ । आयोजना तथा कार्यक्रम कार्यान्वयनको सिलसिलामा सिर्जना हुन सक्ने वित्त जोखिमको आँकलन गरी वित्त जोखिम न्यूनीकरणका उपाय अवलम्बन गर्नुपर्नेछ ।

    अर्थ मन्त्रालयका सचिव डा घनश्याम उपाध्यायका अनुसार, ठूला पूर्वाधार एवं आयोजनाको प्रभावकारी कार्यान्वयन सुनिश्चित गरी जोखिमको लेखाजोखा गर्ने प्रणालीको विकास तथा वित्त जोखिम व्यवस्थापनलाई सबल बनाउँदै पुँजीगत खर्चएमा उल्लेखनीय सुधारको प्रयास गर्नुपर्नेछ । बजेट कार्यान्वयनमा आइपरेका समस्या, कारणहरु उल्लेख गरी राष्ट्रिय योजना आयोग र अर्थमन्त्रालयमा पठाउने व्यवस्था मिलाउन मार्गदर्शनमा आग्रह गरिएको छ । प्रत्येक दुई महिनामा अर्थ मन्त्रालयमा हुने बजेट कार्यान्वयनसम्बन्धी समीक्षा हुनेछ ।

  • केही स्थानमा भारी वर्षाको सम्भावना

    केही स्थानमा भारी वर्षाको सम्भावना

    काठमाडौँ, ५ साउन : हाल देशभर मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ छ । विभागका अनुसार देशभर अधिकांश बादल लागेको छ । देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ । देशको पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । विभागद्वारा मौसम ‘बुलेटिन’का अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । महाशाखाका अनुसार आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ ।

    कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा, मधेस प्रदेश तथा कर्णाली पहाडी भू–भागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

  • पछिल्ला २४ घण्टामा विपद्का ६२ घटना, दुई जनाको मृत्यु

    पछिल्ला २४ घण्टामा विपद्का ६२ घटना, दुई जनाको मृत्यु


    काठमाडौँ, ५ साउन : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पछिल्लो २४ घण्टामा देशभर विपद्जन्य ६२ वटा घटना भएका छन् । सो अवधिमा मुलुकका विभिन्न भागमा बाढीपहिरो, डुबान सर्पदंश जस्ता प्राकृतिक विपद्का घटना भएका छन् ।

    प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार ती घटनामा दुई जनाको मृत्यु र १५ जना घाइते भएका छन् । “सर्पदंशका कारण दुई जनाको मृत्यु भएको हो भने ११ जाना घाईते भएका छन् । उक्त घटनाबाट नौ जिल्ला प्रभावित छ । पहिरोबाट दुई घाइते र ११ जिल्ला प्रभावित छन्”, उनले भने । प्राधिकरण्का अनुसार पछिल्ला २४ घण्टाको अवधिमा ११ वटा सडक अवरुद्ध भएका छन् ।

    प्राधिकरणले आज सार्वजनिक गरेको दैनिक विपद् बुलेटिनअनुसार विपद्का कारण करिब रु १२ लाख २७ हजार बराबरको अनुमानित आर्थिक क्षति भएको छ । घटनामा छ वटा चौपाया पनि क्षति भएको छ ।


    पछिल्लो २४ घण्टामा १८ जिल्लामा २६ वटा पहिरो, १३ वटा सर्पदंश, आठ वटा आगलागी, सात वटा अविरल वर्षा, पाँच वटा जनावर आक्रमण तथा तीन वटा बाढीका घटना भएको प्राधिरकणको तथ्याङ्कमा उल्लेख छ । ती घटनाबाट ४७ जिल्ला प्रभावित भएको र उद्धारका लागि सुरक्षा निकायका २६७ जाना जनशक्ति परिचालन भएको प्राधिकरणले जनाएको छ । शनिबार र आइतबार देशका विभिन्न स्थानमा भएको मध्यम, भारी र अति भारी वर्षाका कारण बाढीपहिरो, डुबान जस्ता विपद्का घटना बढ्न सक्ने भन्दै प्राधिकरणले प्रतिकार्यका लागि व्यापक तयारी गरेको थियो ।

    अधिकतम तापक्रम रामेछापको मन्थलीमा ३५.७ डिग्री सेल्सियस मापन गरिएको छ भने न्यूनतम तापक्रम मनाङको हुम्देमा ९.६ डिग्री सेल्सियस छ । विभागका मौसमविद् डेविट ढकालका अनुसार मनसुन सक्रिय रहेकाले देशका विभिन्न स्थानमा वर्षाको सम्भावना कायम छ । विशेष गरी पहाडी तथा तराईका केही क्षेत्रमा मेघगर्जन, चट्याङसहित मध्यमदेखि भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरिएको छ ।

  • ‘जुलाई’मा औसतभन्दा कम वर्षा

    ‘जुलाई’मा औसतभन्दा कम वर्षा


    काठमाडौँ, ४ साउन : जल तथा मौसम विज्ञान विभागले ‘जुलाई’ महिनामा देशभर औसतभन्दा कम वर्षा मापन भएको जनाएको छ । जुलाई महिनामा औसत ५५८.८ मिलिमिटर वर्षा हुनुपर्नेमा हालसम्म ३०४.३० मिलिमिटर भएको छ ।

    विभागका अनुसार पछिल्लो २४ घण्टामा देशका ४१४ वर्षा मापन केन्द्रमध्ये ३७२ केन्द्रमा वर्षा भएको छ । सो अवधिमा नेपालभर औसत ११.७ मिलिमिटर वर्षा मापन गरिएको छ । पछिल्लो २४ घण्टामा कपिलवस्तुको पथरकोटामा सबैभन्दा धेरै १६७.० मिलिमिटर वर्षा भएको छ

    अधिकतम तापक्रम रामेछापको मन्थलीमा ३५.७ डिग्री सेल्सियस मापन गरिएको छ भने न्यूनतम तापक्रम मनाङको हुम्देमा ९.६ डिग्री सेल्सियस छ । विभागका मौसमविद् डेविट ढकालका अनुसार मनसुन सक्रिय रहेकाले देशका विभिन्न स्थानमा वर्षाको सम्भावना कायम छ । विशेष गरी पहाडी तथा तराईका केही क्षेत्रमा मेघगर्जन, चट्याङसहित मध्यमदेखि भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरिएको छ ।

  • सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन गरिने

    सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन गरिने



    काठमाडौँ, ४ साउनः सरकारले सार्वजनिक विदालाई पुनरावलोकन गर्न गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा चार सदस्यीय कार्यदल गठन गर्ने भएको छ । मुख्यसचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा आज भएको सचिवहरुको बैठकले हप्तामा शनिबार र आइतबार दुई दिन बिदा दिन थालिएपश्चात साविकमा रहेका अन्य सार्वजनिक बिदाको पुनरावलोकनका लागि उक्त कार्यदल गठन गर्ने निर्णय गरेको हो ।

    कार्यदलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशानसन र अर्थमन्त्रालयको प्रतिनिधि रहने र उक्त कार्यदलले १५ दिनभित्र गृह मन्त्रालयमा प्रतिवेदन पेस गर्ने मुख्यसचिव कार्कीद्वारा हस्ताक्षरित निर्णयमा उल्लेख छ । चालु आर्थिक वर्षमा तर्जुमा गर्ने गरी पहिचान भएका विधेयकको मस्यौदा तयार गर्ने कार्य सम्बन्धित मन्त्रालयले शीघ्र प्रारम्भ गर्ने बैठकको निर्णय छ । बैठकले धेरै पुराना, असान्दर्भिक र कार्यसम्पादनमा बाधा पु¥याउने खालका कानुनलाई खारेज गर्नका लागि सम्बन्धित मन्त्रालयले प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।

  • शासकीय सुधारलाई निरन्तरता दिइने सचिव बैठकको निर्णय

    शासकीय सुधारलाई निरन्तरता दिइने सचिव बैठकको निर्णय

    काठमाडौँ, ४ साउनः सरकारका सचिवहरुको बैठकले शासकीय सुधारको एकसय कार्यसूचीअन्तर्गत सम्पन्न भएका सुशासन प्रवद्र्धन, सेवाप्रवाह सुधार र निर्णय प्रक्रिया सरलीकरणलगायत क्षेत्रमा भएका असल अभ्यासलाई निरन्तता दिने निर्णय गरेको छ । मुख्यसचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा आज भएको सचिव बैठकले कार्यसूचीमा उल्लेखित बुँदा कार्यान्वयनका लागि गठित कार्यदल र समितिबाट प्राप्त सुझाव कार्यान्वयन गर्ने र त्यसको प्रभाव मूल्याङ्कन गर्न आन्तरिक संयन्त्र बनाई शासकीय सुधारलाई निरन्तरता दिने निर्णय गरेको छ ।

    बैठकले कार्यसूचीअन्तर्गत मन्त्रालय-निकायले पूर्णरुपमा सम्पन्न गर्न बाँकी कार्य यथाशीघ्र टुङ्ग्याउन सम्बन्धित सचिव आफैँले त्यसको प्रगति ‘ट्रयाकिङ’ गर्ने निर्णय गरेको छ ।

    ‘विजनेश प्रोसेस रि–इन्जिनियरिङ’ मार्फत पहिचान गरिएको अनावश्यक प्रक्रिया, कागजात तथा तहहरु हटाइ निर्णय निर्माण छिटो, सरल र नागरिकमैत्री बनाउने बैठकको निर्णय छ । बैठकले जेन–जी आन्दोलनका सहिद परिवार र घाइेतका लागि गत असार १८ गतेको मन्त्रिपरिषद्ले स्वीकृत गरेको एकीकृत प्याकेजको शीघ्र कार्यान्वयन गर्ने निर्णय गरेको छ । बैठकले सेवा प्रवाहमा थप सहजीकरण र विकेन्द्रीकरण गर्ने, कर्मचारीको क्षमता विकास, विपद् पूर्वतयारी र प्रतिकार्य, आर्थिक अनुशासन र खर्चमा मितव्ययितालगायत २२ बुँदे निर्णय गरेको छ ।

  • खाद्य तथा कृषि सङ्गठनको सहकार्यमा खाद्य प्रणाली सुदृढीकरण परियोजना सुरु

    खाद्य तथा कृषि सङ्गठनको सहकार्यमा खाद्य प्रणाली सुदृढीकरण परियोजना सुरु


    काठमाडौँ, ४ साउनः नेपाल सरकार, संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ) र चीन सरकारको साझेदारीमा कृषि खाद्य प्रणाली सु्दृढीकरण परियोजना औपचारिक रूपमा शुभारम्भ भएको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालका अनुसार, २४ महिने उक्त परियोजनाले पहाडी तथा हिमाली क्षेत्रमा जलवायु–उत्थानशील कृषि, ग्रामीण जीविकोपार्जन सुधार र खाद्य तथा पोषण सुरक्षा सुदृढ बनाउने लक्ष्य राखेको छ ।

    चीनको ग्लोबल डेभलपमेन्ट एण्ड साउथ–साउथ कोपरेशन फण्डको आर्थिक सहयोग रहेको परियोजनाले स्थानीय संस्थाको क्षमता अभिवृद्धि, जलवायु–स्मार्ट, कृषि पोषण सुधार, डिजिटल नवप्रवर्तन तथा समावेशी ग्रामीण विकासमा सहयोग पुर्याउने विश्वास लिइएको छ ।

    कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले खाद्य सुरक्षा, ग्रामीण समृद्धि र दिगो विकासका राष्ट्रिय लक्ष्य हासिल गर्न परियोजनाले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन । चिनियाँ राजदूत माओमिङ झाङले कृषि आधुनिकीकरण र दिगो विकास लक्ष्य प्राप्तिमा चीनको निरन्तर साथ रहेको बताए । एअफएओकी निर्देशक हुआ याङले यस परियोजना एसिया तथा अन्य क्षेत्रका लागि दक्षिण–दक्षिण सहयोगको सफल नमुना बन्ने विश्वास व्यक्त गरे । काभ्रेपलाञ्चोक र इलाममा कार्यान्वयन हुने उक्त परियोजनाअन्तर्गत डिजिटल कृषि विस्तार सेवामार्फत किसानलाई प्राविधिक परामर्श, मौसम सूचना, वित्तीय सेवा, कृषि बीमा र बजार जानकारी उपलब्ध गराइनेछ ।

    परियोजना कार्यान्वयनबाट महिला, युवा र सीमान्तकृत समुदायको सहभागिता बढाउने, स्थानीय संस्थाको क्षमता अभिवृद्धि गर्ने तथा जलवायु–अनुकूलन क्षमता सुदृढ पार्ने छ । सहकार्यले अन्तरराष्ट्रिय प्राविधिक ज्ञान र अनुभवको आदानप्रदान गर्दै स्थानीय नेतृत्वमा कृषि तथा खाद्य प्रणालीको दीर्घकालीन रूपान्तरणमा टेवा पुर्याउने अपेक्षा गरिएको छ । कार्यक्रममा एफएओका प्रतिनिधि केन शिमिजुलगायत उच्च अधिकारी, सङ्घीय, प्रदेश तथा स्थानीय तहका प्रतिनिधि, किसान सङ्गठन र सरोकारवालाको सहभागिता थियो ।

  • उच्च अदालत पोखरामा डेढ वर्ष नाघेका मुद्दाको सङ्ख्या शून्य

    उच्च अदालत पोखरामा डेढ वर्ष नाघेका मुद्दाको सङ्ख्या शून्य

    गण्डकी, ४ साउन : पोखरा उच्च अदालतमा डेढ वर्ष नाघेका मुद्दाको सङ्ख्या गत आवमा शून्यमा झरेको छ । अदालतमा एक वर्षदेखि १८ महिनाभित्रका आठ, छ महिनादेखि एक वर्षभित्रका एक सय ७७ र छ महिनाभित्रका तीन सय १४ मुद्दा मात्र बाँकी छन् । चार सय ९९ मुद्दा पछर्योट हुन बाँकी रहेको अदालतका उप–रजिष्ट्रार निलप्रसाद पनेरुले जानकारी दिए ।

    अघिल्लो आवबाट जिम्मेवारी सरेर आएका सात सय ५० र नयाँ दर्ता भएका १३ सय १९ गरी गत आवमा दुई हजार ६९ मुद्दा रहेकामा १५ सय ७० अर्थात ७५.८८ प्रतिशत मुद्दा फर्छोट भएका थिए । उच्च अदालतले आव २०८१/०८२ मा लक्ष्यको ७८.०७ प्रतिशत मुद्दा फछर्योट गरेकामा गत आवमा भने फछर्योट दर केही घटेको हो । गत आवमा फछर्योट भएका मुद्दामध्ये देवानी प्रकृतिका चार सय ७५, फौजदारी मुद्दा नौ सय तीन र रिट एक सय ९२ रहेका छन् । सर्वोच्च अदालतको पञ्चवर्षीय रणनीतिक योजनाअन्तर्गत अदालतले मुद्दाको फछर्योटमा तीव्रता दिँदै आएको उप–रजिष्ट्रार पनेरुले बताए ।

    छरितो र चुस्त कार्यसम्पादनका कारण मुद्दा फछर्योटमा सुधार आएको उहाँको भनाइ छ । उच्च अदालतले जुनसुकै प्रकृतिका मुद्दालाई १८ महिनाभित्रमा फछर्योट गर्ने र दुई वर्ष नाघेका मुद्दाको संख्या शून्यमा पु¥याउने लक्ष्यसहित न्याय सम्पादन गर्दै आएको थियो ।

    उच्च अदालतले मुद्दाका मिसिलको विद्युतीय अभिलख राख्ने कार्यलाई पनि अगाडि बढाएको छ । गत आवमा पाँच सय ४४ मिसिलको विद्युतीय अभिलेख तयार पारिएको जनाइएको छ । अदालतले हालसम्म पाँच हजार तीन सय ४१ थान मिसिलको विद्युतीय अभिलेख राखेको छ ।

  • देशको आर्थिक विकासमा पुँजी बजारको महत्त्वपूर्ण भूमिका : प्रधानमन्त्री शाह

    देशको आर्थिक विकासमा पुँजी बजारको महत्त्वपूर्ण भूमिका : प्रधानमन्त्री शाह


    काठमाडौँ,४ साउनः प्रधानमन्त्री वालेन्द्र शाहले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् । आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताए ।

    प्रधानमन्त्री शाहले व्यवसायीलाई उच्च मनोबलका साथ काम गर्न आग्रह गर्दै काम गर्नेलाई प्रोत्साहन र गल्ती गर्ने विरुद्ध शून्य सहनशीलताको नीति अपनाउने सरकारको स्पष्ट नीति रहेको जानकारी दिए । प्रधानमन्त्री समक्ष सरोकारवाला संस्थाका प्रतिनिधिले बजारको दिगो विकासका लागि कानुनी, नीतिगत, संस्थागत र प्रणालीगत सुधारको आवश्यकता रहेको भावना व्यक्त गरेका थिए ।  सरोकारवालाले छलफलपछि प्रधानमन्त्री शाहसँगको संवादले आफूहरू सकारात्मक भएको भावना व्यक्त गरेका छन् । उनिहरुले प्रारम्भिक शेयर निष्कासन प्रणालीमा सुधार, दोस्रो बजारमा माग र आपूर्तिलाई सन्तुलन कायम राख्न तथा दैनिक कारोबार रकमलाई रु ३० अर्ब पुर्याउने वातावरण मिलाइदिन आग्रह गरे ।

    त्यसैगरी,  बैंक तथा वित्तीय संस्थामार्फत मार्जिन कारोबारसँग सम्बन्धित ब्रोकर कम्पनीलाई कर्जा प्रवाह सहज बनाउन नेपाल राष्ट्र बैंकले आवश्यक कदम चाल्नुपर्ने जानकारी दिए । बैंक तथा वित्तीय संस्थाले धितोपत्रमा लगानी गरेपछि कम्तीमा छ महिनासम्म बिक्री गर्न नपाउने विद्यमान व्यवस्था खारेज गर्न तथा सेयर धितो कर्जाको सीमालाई प्राथमिक पुँजीसँग आबद्ध गर्नुको सट्टा कूल कर्जाको पाँच प्रतिशत कायम गर्ने व्यवस्था मिलाइ दिन प्रधानमन्त्रीलाई आग्रह गरे ।

    अर्थ मन्त्रालयले व्यक्तिगत कारोबारमा हुने नोक्सानीमा कर समायोजनको व्यवस्था गरिदिनुपर्ने, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोष जस्ता ठूला संस्थालाई दोस्रो बजारमा लगानी गर्न प्रोत्साहन गर्नुपर्ने, नेपाल स्टक एक्सचेन्जको रणनीतिक साझेदारसहित पुनःसंरचना तथा गैरआवासीय नेपालीलाई पुँजी बजारमा लगानी गर्ने मार्ग प्रशस्त गरिदिन माग राखे । छलफलमा स्टक ब्रोकर एशोसिएशन अफ नेपालका अध्यक्ष सागर ढकाल, नासा सेक्युरिटिजका प्रतिनिधि सन्दीप जलान, नेपाल लाइफ इन्स्योरेन्सका प्रतिनिधि नवराज सिलवाल, नागरिक स्टक डिलर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत महेश्वरलाल श्रेष्ठ, पुँजी बजार समितिका सभापति प्रियराज रेग्मी र लगानीकर्ता अम्बिकाप्रसाद पौडेल सहभागी थिए ।

    नियमनकारी निकायका तर्फबाट नेपाल धितोपत्र बोर्डका अध्यक्ष गोपाल भट्टले सरोकारवालाका सुझावलाई आत्मसात गर्दै बोर्डले आर्थिक वर्ष २०८३/८४ को पुँजी बजार नीति तथा नेपालको पुँजी बजार मार्गचित्र २०८३ लागु गरिसकेको जानकारी दिए ।

    नेपाल स्टक एक्सचेन्जका अध्यक्ष अमृत लम्सालले बैंक तथा वित्तीय संस्था, बिमा तथा पुँजी बजार सुधारका लागि आवश्यक ऐनको तर्जुमा तथा संशोधन प्रक्रिया सुरु भइसकेको बताए । नेप्सेको पुनःसंरचनाका लागि उपयुक्त मोडालिटी तय गरी अघि बढाइने उल्लेख गर्दै उहाँले धितोपत्र बोर्डद्वारा जारी गरिएका नीतिअनुरूप प्रणालीको विकास गरी धितोपत्र कारोबारलाई थप प्रभावकारी र व्यवस्थित बनाइने प्रतिबद्धता व्यक्त गरे ।

  • स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि

    स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि

    काठमाडौँ ४ साउनः साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६ वर्षपछि फिफा विश्वकप २०२६ को उपाधि जितेको छ । स्पेनले यसअघि सन् २०१० मा विश्वकपको उपाधि हासिल गरेको थियो । अमेरिकाको न्युयोर्कस्थित न्युजर्सी स्टेडियममा आज भएको खेलको निर्धारित ९० मिनेटसम्म दुवै टोलीबाट गोल हुन नसकेपछि खेल अत्तिरिक्त समयमा धकेलिएको थियो । अत्तिरिक्त समयमा स्पेनका फेर्रान टोरेजले गोल गरे । उनले खेलको १०६औँ मिनेटमा गोल गर्दै अर्जेन्टिनाविरुद्ध एक शून्यको अग्रता लिएका थिए ।

    त्यसपछि खेलमा थप गोल हुन सकेन र स्पेनले अर्जेन्टिनामाथि एक शून्य गोलको जित हासिल गर्यो । खेलको निर्धारित ९० मिनेटको समयमा एन्जो फर्नान्डेजले दोहोरो पहेँलो कार्ड पाएपछि अर्जेन्टिना १० खेलाडीमा सीमित बनेको थियो । त्यसैको फाइदा उठाउँदै स्पेनले गोल गर्न सफल भयो । सेमिफाइनलमा अर्जेन्टिनाले इङ्ग्ल्यान्डलाई २–१ ले गोलअन्तरले पराजित गर्दै विश्वकपको फाइनलयात्रा तय गरेको थियो । स्पेनले फ्रान्सलाई २–० गोलअन्तरले हराउँदै फाइनलमा पुगेको थियो ।

  • शनिबारको खेलमा फ्रान्सका स्ट्राइकर एम्बाप्पे विश्वकप इतिहासका सर्वाधिक गोलकर्ता

    शनिबारको खेलमा फ्रान्सका स्ट्राइकर एम्बाप्पे विश्वकप इतिहासका सर्वाधिक गोलकर्ता

    न्यूयोर्क, ३ साउन (राससएएफपी) । फिफा विश्व कप २०२६ मा गोलको नयाँ रेकर्ड बनेका छन् । शनिबार रातिको खृलबाट फ्रान्सका अग्र पङ्तीका किलियन एम्बाप्पेले २२ गोल गर्दै विश्वकप इतिहासमा सबैभन्दा बढी गोल गर्ने रेकर्ड आफ्नो नाममा दर्ता गरेका छन् । अर्जेन्टिनाका लियोनल मेसी २१ गोलसहित उनको ठीक पछाडि छन् । तर उनले फाइनलको एक खेल खेल्न अझै बाँकी छ । फाइनल दुवै खेलाडीको रेकर्ड चर्चाको केन्द्र बनेको छ ।

    फिफा विश्वकप सन् १९३० देखि नै विश्वका महान फुटबल खेलाडीहरूको सबैभन्दा ठूलो मञ्च रहँदै आएको छ । यस प्रतियोगितामा धेरै दिग्गजले गोलबाट इतिहास रचेका छन्, तर २०२६ विश्वकपले गोल रेकर्डको तस्बिर पूरै बदलिदिएको छ ।

    लामो समयसम्म १६ गोलसहित शीर्ष स्थानमा रहेका जर्मनीका मिरोस्लाभ क्लोजलाई यो बर्षको खेलमा पहिले मेसी र पछि एम्बाप्पेले उछिनेका छन्। मेसीले एक पटक फेरि एम्बाप्पेलाई पछाडि पार्न सम्भव छ वा एम्बाप्पेले यस शीर्षकमा जादुमयी फुटबलर मेसीलाई उछिन्नेछन् । नेपाली समय अनुसार आइतबार राती १२ः४५ बजे सुरु हुने विश्वकप फाइनलअघि सबैको ध्यान यो कुरामा छ ।

    –सर्वाधिक गोलकर्ता एम्बाप्पे–

    फ्रान्सका स्टार स्ट्राइकर एम्बाप्पेले सन् २०२६ को विश्वकपमा १० गोल गर्दै आफ्नो कुल गोल सङ्ख्या २२ पु¥याएका छन् । उनले २०१८ मा चार गोल, सन् २०२२ मा आठ गोल र सन् २०२६ मा १० गोल गरेका छन् । उल्लेखनीय कुरा के छ भने उनले यो उपलब्धि मात्र २२ खेलमा हासिल गर्दै अहिलेसम्म विश्वकप इतिहासका सर्वाधिक गोलकर्ता बने ।

    –मेसीलाई फाइनलमा रेकर्ड फर्काउने मौका–

    अर्जेन्टिनाका कप्तान लियोनल मेसीले छ वटा विश्वकप खेल्नुभएको छ र ३३ खेलमा २१ गोल गरेका छन् । सन् २०२६ को संस्करणमा उनले आठ गोल गर्दै क्लोजको रेकर्ड तोडेर अग्रस्थान लिएका थिए । तर एम्बाप्पेले पछि उनीहरूलाई उछिने । अब स्पेनविरुद्धको फाइनलमा मेसीसँग फेरि नम्बर–१ बन्ने सुनौलो अवसर छ। उहाँलाई यसका लागि दुई गोल चाहिन्छ ।

    –क्लोज र ब्राजिलका रोनाल्डो क्रमशः तेस्रो र चौथो स्थानमा–

    जर्मनीका मिरोस्लाभ क्लोज १६ गोलसहित तेस्रो स्थानमा झर्नुभएको छ भने ब्राजिलका महान स्ट्राइकर रोनाल्डो नाजारियो १५ गोलसहित चौथो स्थानमा छन् । इङ्ल्याण्डका ह्यारी केन, जर्मनीका गर्ड म्युलर र फ्रान्सका जस्ट फोन्टेन पनि विश्वकप खेल इतिहासमा धेरै गोलकर्तामध्येको सूचीमा छन् । इङ्ल्यान्डका कप्तान ह्यारी केन र पश्चिम जर्मनीका गर्ड म्युलर १४ गोलसहित संयुक्त पाँचौं स्थानमा रहेका छन् । फ्रान्सका जस्ट फोन्टेनले सन् १९५८ मा एकै विश्वकपमा १३ गोलको रेकर्ड बनाउनुभएको थियो । यो रेकर्ड अहिलेसम्म कायम छ ।

    अब सबैको ध्यान स्पेन र अर्जेन्टिनाबीच हुने फाइनलमा छ। यदि मेसीले यो फाइनलमा दुई वा सोभन्दा बढी गोल गरे भने उनी एम्बाप्पेलाई पछाडि पारेर फेरि विश्वकप इतिहासका सर्वाधिक गोलकर्ता बन्न सक्नेछन् ।

  • चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो, २७ करोडभन्दा बढी राजस्व

    चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो, २७ करोडभन्दा बढी राजस्व

    चितवन, ३ साउनः अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा पर्यटक आगमन बढेको पाइएको छ । गत आर्थिक वर्षमा दुई लाख ७२ हजार ९२३ पर्यटक उक्त क्षेत्रमा आएकामा अघिल्लो आवमा दुई लाख ३१ हजार ३२९ पर्यटकले भ्रमण गरेका निकुञ्जका सूचना अधिकारी अविनास थापामगरले बताए । सार्क मुलुकका २२ हजार ८८३ तथा अन्य मुलुकका ८८ हजार ६६५ पर्यटकले निकुञ्जको भ्रमण गरेका हुन् ।

    एकसिङ्गे गैँडा, पाटेबाघ, भालु, हात्ती तथा विभिन्न प्रजातिका चराचुरुङ्गी अवलोकनका लागि पर्यटक निकुञ्ज पुग्ने गरेका छन् । गत आर्थिक वर्षमा निकुञ्जले पर्यापर्यटनबाट रु २७ करोड ६३ लाख ३९ हजार ९५० राजस्व सङ्कलन गरेको जनाएको छ । काठदाउरा, गैरकाष्ठ वन पैदावार बिक्री, जरिवानालगायत शीर्षकमा रु ३१ करोड एक लाख ६४ हजार ५५१ राजस्व सङ्कलन भएको छ ।

  • सुदूरपश्चिमका सबैजसो जिल्लामा वर्षा, सबैभन्दा बढी बेलौरीमा

    सुदूरपश्चिमका सबैजसो जिल्लामा वर्षा, सबैभन्दा बढी बेलौरीमा

    सुदूरपश्चिम, ३ साउनः सुदूरपश्चिमका सबैजसो जिल्लामा आज बिहानैदेखि वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान कार्यालय अत्तरियाले हाल प्रदेशका हिमाली, पहाड र तराईका सबैजसो स्थानमा मेघगर्जनसहित मध्यम वर्षा भइरहेको जनाएको हो । कार्यालय प्रमुख इन्जिनियर सञ्जयकुमार साहले पहाडी क्षेत्रमा साधारणतया बदली रही धेरै स्थानमा मेघगर्जनसहित मध्यम वर्षा तथा थोरै स्थानमा भारी वर्षा भएको जानकारी दिए । हालसम्म सबैभन्दा बढी कञ्चनपुरको कान्तिपुर बेलौरीमा ७९ दशमलव छ मिलिमिटर पानी परेको छ भने अत्तरियामा १२ मिलिमिटर पानी परेको छ ।

    यहाँका नदीमा पानीको बहाव सामान्यतया चेतावनी तह पुगेको जनाउँदै आजको तुलनामा सोमबार बढी पानी पर्ने सम्भावना रहेकाले नदीमा पानीको सतह बढ्न सक्ने साहले बताए । “आजको भन्दा भोलि बढी पानी पर्ने पूर्वानुमान छ । त्यसो हुँदा नदी तथा खोलामा पानीको तह बढ्न सक्छ । त्यसैले नदी तटीय क्षेत्रमा बस्ने नागरिकले विशेष सतर्कता अपनाउन आवश्यक छ”, उनले भने ।

    आज राति सुदूरपश्चिमका हिमाली क्षेत्रमा साधारणतया बदली रही केही स्थानमा मेघगर्जन, चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ । यस्तै, पहाडी क्षेत्रमा साधारणतया बदली रही धेरै स्थानमा मेघगर्जन, चट्याङ्गसहित मध्यम वर्षा तथा थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान कार्यालयले जनाएको छ । तराई क्षेत्रमा साधारणतया बदली रही धेरै स्थानमा मेघगर्जन, चट्याङ्गसहित मध्यम वर्षा तथा थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको पनि कार्यालय जानकारी दिएको छ ।

  • सुशासनलाई केन्द्रमा राखेर संविधान संशोधन गरौँः सभापति थापा

    सुशासनलाई केन्द्रमा राखेर संविधान संशोधन गरौँः सभापति थापा

    गण्डकी, ३ साउनः नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुशासनलाई केन्द्रमा राखेर संविधान संशोधनको बहस चलाउनुपर्ने बताएका छन् । प्रजातान्त्रिक विचार समाज, कास्कीद्वारा आज पोखरामा आयोजित ‘संविधान संशोधन सुझाव’ विषयक विचार गोष्ठीमा सभापति थापाले संविधान संशोधनका लागि पहिला प्राथमिकता निर्धारण गर्नुपर्ने बताए ।


    “सुशासन, संविधानको संस्थागत विकास र सङ्घीयताको सवलीकरणका लागि संविधान संशोधन गर्ने विषयलाई नेपाली कांग्रेसले आफ्नो चुनावी प्रतिज्ञापत्रमै उल्लेख गरेको थियो”, सभापति थापाले भने, “सुशासन अहिलेको सबैभन्दा महत्वपूर्ण कुरा हो, नयाँ पुस्ताले पनि यही विषय उठाइरहेको छ, सुशासनलाई केन्द्रमा राखेर संविधान संशोधनको बहस प्रारम्भ गरौँ ।”

    संविधान संशोधनको विषयले ठीक ढङ्गले लय पक्रेन भने मुलुक नयाँ द्वन्द्वमा जाने उनको भनाइ थियो । “संविधान केवल कागजी दस्तावेज मात्र होइन, यो त जीवन्त प्रकृया हो”, सभापति थापाले भने, “संविधान संशोधनका विषयलाई ऐतिहासिक दृष्टिकोण र चेतबाट हेनुपर्छ, यो आवेश र उत्तेजनामा आई गर्ने कुरा होइन, संविधान संशोधन आफैमा संवेदनशील विषय हो ।”

    लोकतन्त्र, विधिको शासन, नागरिक अधिकार र संविधानवादका आधारभूत विषयबाहेक संविधान संशोधनका हरेक मुद्दामा नेपाली कांग्रेस बहस गर्न तयार रहेको सभापति थापाले उल्लेख गर । उनले नेपाली कांग्रेस राष्ट्रिय राजनीतिक शक्ति भएकाले लोकतन्त्र र नागरिक अधिकार रक्षाको मुख्य जिम्मेवारी पनि कांग्रेससँग रहेको धारणा राखे ।


    “संसद्मा सानो पार्टी भए पनि राष्ट्रिय भूमिकाका हिसाबले हामी राष्ट्रिय पार्टी हो”, सभापति थापाले भने, “संविधानको सर्वोच्चता र नागरिक अधिकारमाथि कुनै पनि किसिमको खेलवाड हुन हामी दिँदैनौँ ।” नेपाल जस्तो मुलुकमा संसदबाट कार्यकारी प्रमुख चुनिने शासकीय स्वरुप र मिश्रित निर्वाचन प्रणाली नै उपयुक्त हुने उनले बताए ।

    प्रदेश सरकार र स्थानीय तहलाई अधिकारसम्पन्न बनाउनुपर्ने सभापति थापाले जिकिर गरे । सरकारसँग कांग्रेसले कुनै पूर्वाग्रह नराख्ने उनले उल्लेख गरे । पाँच वर्ष सरकार चलाउने जिम्मेवारी राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको उल्लेख गर्दै सभापति थापाले सरकारले कमीकमजोरी गर्दा भने प्रमुख प्रतिपक्षी दलका हिसाबले सधैँ खबरदारी गरिरहने बताए ।


    विचार गोष्ठीमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सङ्घीयतालाई थप सुदृढ गनुपर्ने बताए । सङ्घीयता कार्यान्वयनका क्रममा देखिएका विकृतिलाई हटाउनुपर्ने उनको भनाइ थियो । सङ्घीय सरकारले कानुन निर्माण नगरेका कारण पनि प्रदेश सरकारका कानुन कार्यान्वयनमा चुनौती देखिएको मुख्यमन्त्री पाण्डेले बताए ।


    प्रजातान्त्रिक विचार समाजका केन्द्रीय अध्यक्ष कुलचन्द्र वाग्लले लोकतन्त्रका आधारभूत मूल्यमान्यतामा आँच नआउने गरी संविधान संशोधनको विषयलाई अगाडि बढाउनुपर्ने धारणा राखे । विचार गोष्ठीमा नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी, कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मा, प्रजातान्त्रिक विचार समाज, कास्कीका अध्यक्ष शिशुकला पराजुलीलगायतले संविधान संशोधनको आवश्यकता र औचित्यका विषयमा आ–आफ्ना धारणा राखेका थिए ।

    विचार गोष्ठीमा अधिवक्ता कपिलमणि दाहालले संविधान संशोधनका विषयमा कार्यपत्र गरेका थिए । कार्यपत्रमाथि गण्डकी प्रदेश सरकारका मुख्य न्यायाधीवक्ता चिरञ्जीवी शर्माले टिप्पणी गरेका थिए ।