Category: फिचर

  • ऊर्जा व्यापारमा ऐतिहासिक कीर्तिमान: भारत र बङ्गलादेश निर्यातबाट नेपालले कमायो २९ अर्ब ३२ करोड

    ऊर्जा व्यापारमा ऐतिहासिक कीर्तिमान: भारत र बङ्गलादेश निर्यातबाट नेपालले कमायो २९ अर्ब ३२ करोड

    ७ असार, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणद्वारा सार्वजनिक आर्थिक वर्ष २०८१/०८२ र समीक्षा वर्ष २०८२/०८३ को क्रस-बोर्डर विद्युत् आयात-निर्यातको तथ्याङ्कले नेपालको ऊर्जा क्षेत्रमा नयाँ कीर्तिमान कायम भएको देखाएको छ। समीक्षा वर्ष २०८२/०८३ मा भारत तथा बङ्गलादेशतर्फको विद्युत् निर्यातबाट नेपालले कुल २९ अर्ब ३२ करोड ४७ लाख रुपैयाँ आम्दानी गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ६७.९६ प्रतिशतले बढी हो।

    प्राधिकरणको तथ्याङ्क अनुसार अघिल्लो आर्थिक वर्ष २०८१/०८२ मा २ अर्ब ३८ करोड २९ लाख युनिट विद्युत् निर्यात गरी १७ अर्ब ४५ करोड ८७ लाख रुपैयाँ आम्दानी भएको थियो। तर समीक्षा वर्ष २०८२/०८३ मा निर्यात परिमाण ६२.८९ प्रतिशतले बढेर ३ अर्ब ८७ करोड ७४ लाख ९२ हजार युनिट पुगेको छ। भारतीय खुला बजार (IEX-DAM, IEX-RTM, NVVN) तथा बङ्गलादेशसँगको त्रिपक्षीय व्यापारमार्फत समीक्षा वर्षमा औसत ७.५६ रुपैयाँ प्रति युनिटका दरले बिजुली बिक्री गरी यो ऐतिहासिक आम्दानी हासिल भएको हो।

    निर्यात आम्दानीमा अभूतपूर्व वृद्धि हुँदा समीक्षा वर्षमा बाह्य स्रोतबाट हुने विद्युत् आयात भने उल्लेख्य रूपमा घटेको छ। अघिल्लो आर्थिक वर्ष २०८१/०८२ मा १ अर्ब ६८ करोड ४ लाख युनिट विद्युत् आयात गर्दा १२ अर्ब ९२ करोड ३० लाख रुपैयाँ बाहिरिएको थियो। तर समीक्षा वर्ष २०८२/०८३ मा आयात परिमाण ३१.५७ प्रतिशतले घटेर १ अर्ब १४ करोड ९८ लाख युनिटमा सीमित भएको छ। आयात परिमाण घटेसँगै समीक्षा वर्षमा कुल आयात खर्च पनि घटेर १० अर्ब ५५ करोड ९९ लाख रुपैयाँमा झरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १८.२९ प्रतिशतले कम हो।

    समीक्षा वर्ष २०८२/०८३ मा २९ अर्ब ३२ करोड ४७ लाख रुपैयाँको निर्यात आम्दानीबाट १० अर्ब ५५ करोड ९९ लाख रुपैयाँको कुल आयात खर्च कटाउँदा नेपालले विद्युत् व्यापारबाट मात्रै कुल १८ अर्ब ७६ करोड ४८ लाख रुपैयाँ खुद व्यापार बचत (Net Trade Surplus) हासिल गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८१/०८२ मा यस्तो खुद बचत ४ अर्ब ५३ करोड ५७ लाख रुपैयाँ मात्र रहेकोमा समीक्षा वर्षमा यो बचत ३१३ प्रतिशत (करिब चार गुणाभन्दा बढी) ले वृद्धि भएको छ।

    देशभित्रै जलविद्युत् उत्पादनमा भएको वृद्धि, सीमापार प्रसारण लाइनको विस्तार र प्रभावकारी ऊर्जा व्यवस्थापनका कारण नेपाल दक्षिण एसियाली क्षेत्रमै एक सबल, आत्मनिर्भर र नाफामूलक ऊर्जा निर्यातक राष्ट्रको रूपमा स्थापित भएको पुष्टि हुन्छ।

  • झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी

    झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी

    काठमाडौं ।जिल्ला भूमि समस्या समाधान समिति झापाले अर्जुनधारामा नगरपालिकामा अव्यवस्थित बसोबास गरेका १८ परिवारलाइ जग्गाधनी पुर्जा वितरण गरेको छ ।

    लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेपछि उनीहरू कानुनी रूपमा जग्गाधनी बनेका छन्।

    सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई उच्च प्राथमिकतामा राखेको छ। यसअघि सरकारले बर्दियाको बढैयातालका
    र झापाको बुद्दशान्तीका भूमिहिनलाई लालपुर्जा वितरण गरेको थियो।

    भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन रूपमा समाधान गर्दै उनीहरूलाई कानुनी रूपमा जग्गाधनी बनाउने सरकारको लक्ष्यअनुसार लालपुर्जा वितरणलाई थप प्रभावकारी रूपमा अघि बढाइएको हो।

  • नेपालका रैथाने उत्पादनको संरक्षणका लागि जीआई कानुन ल्याइने

    नेपालका रैथाने उत्पादनको संरक्षणका लागि जीआई कानुन ल्याइने

    ७ साउन, काठमाडौँ — उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादव र खाद्य तथा कृषि संगठनका नेपाल प्रतिनिधि केन सिमिजु बीच शिष्टाचार भेटवार्ता भएको छ।

    भेटवार्ताका क्रममा नेपालका विभिन्न भौगोलिक क्षेत्रमा उत्पादन हुने मौलिक तथा रैथाने वस्तुहरूलाई ब्रान्डिङ गर्ने र तिनलाई स्थायित्व दिने विषयमा विस्तृत छलफल भएको छ। सो अवसरमा भौगोलिक संकेत (GI – Geographical Indication) को अन्तर्राष्ट्रिय प्रावधान र यसको महत्त्वबारे प्रकाश पारिएको थियो।

    भेटका क्रममा FAO का प्रतिनिधिले विश्वका अधिकांश देशहरूका साथै एसियाका लगभग सबै राष्ट्रमा जीआई (GI) प्रणाली लागू भइसके तापनि नेपालमा अझै प्रयोगमा आउन नसकेकोप्रति ध्यानाकर्षण गराए । नेपाली रैथाने वस्तुहरूको जीआई दर्ता नहुँदा यहाँका बहुमूल्य ब्रान्डहरू अन्य देशले दर्ता गरिरहेको र त्यसको प्रत्यक्ष मार नेपालले खेप्नु परेको उल्लेख गर्दै उनले यसलाई रोक्न तत्काल पक्का कानुन बनाएर कार्यान्वयनमा लैजान जोड दिए ।

    जवाफमा मन्त्री यादवले नेपालको रैथाने उत्पादनको संरक्षण र प्रवर्द्धनका लागि आवश्यक कानुन निर्माण गर्न आफू प्रतिबद्ध रहेको र यस विषयमा पहल सुरु गरिसकेको जानकारी गराइन । उनले यस विषयलाई गम्भीरताका साथ लिँदै कानुन मन्त्रालयसँग सहकार्य गरी चाँडै विधेयक तयार पारेर अगाडि बढ्ने बताइन ।

  • राजस्व लक्ष्य प्राप्तिको तयारी बुझ्न अर्थमन्त्री डा.स्वर्णिम वाग्ले आन्तरिक राजस्व विभागमा

    राजस्व लक्ष्य प्राप्तिको तयारी बुझ्न अर्थमन्त्री डा.स्वर्णिम वाग्ले आन्तरिक राजस्व विभागमा

    ७ साउन, काठमाडौँ। अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आन्तरिक राजस्व विभाग लाजिम्पाटको स्थलगत अनुगमन गरी ब्रिफिङ लिएका छन् ।

    बिहीबार विभाग पुगेर उनले नयाँ बजेट कार्यान्वयन र बजेटमा तोकिएको राजस्वको लक्ष्य प्राप्तिमा विभागको तयारीबारे जानकारी लिए ।

    कार्यक्रममा अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र अर्थसचिव घनश्याम उपाध्यायले विभाग र मातहतका देशभरका कर्मचारीहरूलाई निर्देशन दिए ।

    सो अवसरमा आन्तरिक राजस्व विभागका महानिर्देशक भीष्मकुमार भुसालले विभागको साङ्गठनिक संरचना,कर संकलनको लक्ष्य र तयारीबारे प्रस्तुतीकरण गरेका थिए ।

  • अर्ग्यानिक  कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्रीको निर्देशन

    अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्रीको निर्देशन

    ७ साउन, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालमा अग्र्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन सम्बन्धित निकायहरूलाई निर्देशन दिएका छन् ।


    सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अग्र्यानिक कृषि व्यवसायीहरुको छाता संगठन ‘अग्र्यानिक एसोसियसन नेपाल’का पदाधिकारीहरुलाई उनले आज छलफलका लागि बोलाएका थिए ।

    सो क्रममा पदाधिकारीहरुले अग्र्यानिक उत्पादनमा अन्तर्राष्ट्रिय प्रमाणीकरणको व्यवस्था निकै खर्चिलो भएकाले सरकारको नियन्त्रणमा अन्तर्राष्ट्रिय मान्यताप्राप्त प्रमाणीकरण एजेन्सी नेपालमै स्थापना हुनुपर्ने माग राखेकामा प्रधानमन्त्रीले त्यसलाई तत्काल सम्बोधन गरे ।


    यस्तै, अग्र्यानिक उत्पादनको अन्तर्राष्ट्रिय प्रमाणीकरण गर्न महँगो हुने गरेकाले सरकारले प्रमाणीकरणमा दिँदै आएको ७५ प्रतिशतसम्म अनुदान पनि बन्द भएकोमा त्यसलाई सुचारु गर्न पदाधिकारीले माग गरेका थिए ।

    नेपालमै अन्तर्राष्ट्रिय मापदण्डको प्रमाणीकरण एजेन्सी स्थापना नभएसम्म उक्त अनुदान प्रदान गर्ने विषयमा समेत प्रधानमन्त्री शाह सकारात्मक भए ।


    प्रधानमन्त्री शाहले अनियन्त्रित रासायनिक मल र विषादीको नियन्त्रण गर्दै अग्र्यानिक कृषि प्रवद्र्धनका लागि सरकारले आवश्यक कदम चाल्ने पनि बताए ।


    प्रांगारिक मल उत्पादनमा सरकारले अनुदान दिनुपर्ने माग पदाधिकारीले राख्नुभएको थियो। प्रांगारिक मल उत्पादन गर्ने निजी उद्योग तथा सहकारी संस्थालाई सहयोग अनुदान दिनुपर्ने उनिहरुको मागअनुरुप व्यवस्था गर्न समेत प्रधानमन्त्री शाहले सम्बन्धित निकायलाई निर्देशन दिए ।

    अग्र्यानिक मलको उत्पादन वा खरिद गर्न रासायनिक मलले पाएको सुविधासरह सुविधा हुनुपर्ने मागमा प्रधानमन्त्री सकारात्मक भए ।
    साथै, अग्र्यानिक उत्पादन निर्यातमा सरकारले दिने गरेको अनुदान दुई वर्षयता रोकिएकोमा उक्त समस्या कानूनी रुपमै निराकरण गर्ने प्रयासमा सम्बन्धित मन्त्रालयले कार्यविधि बनाइरहेको उनले बताए ।


    छलफलमा एसोसियसनका अध्यक्ष दीपक बास्कोटा, महासचिव शान्ता बास्कोटा कोइराला, सदस्यहरु तथा गोर्खा टि इस्टेटका अध्यक्ष उदय चापागाईं, हिमालयन सांग्रिला टि फ्याक्ट्रीका अध्यक्ष कमल मैनाली र अन्नपूर्ण अर्गानिक एग्रो इन्डस्ट्रीका अध्यक्ष फर्शुराम आचार्य सहभागी थिए ।

  • हदबन्दीभन्दा बढि जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगेर अनुगमन गरिने

    हदबन्दीभन्दा बढि जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगेर अनुगमन गरिने

    ७ साउन, काठमाडौं । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा खरिद वा राख्न नेपाल सरकारबाट स्वीकृति प्राप्त गरेका कम्पनी, उद्योग, प्रतिष्ठान तथा संस्थाको स्थलगत अनुगमन तथा निरीक्षण गरी प्रतिवेदन पेश गर्न देशभरका सम्बन्धित भूमि प्रशासन कार्यालयलाई निर्देशन दिएको छ।

    विभागले आज ४० जिल्लाका भूमि प्रशासन कार्यालयलाई पत्राचार गर्दै यसअघि पटकपटक प्रतिवेदन माग्दा पनि अधिकांश कार्यालयबाट प्रतिवेदन प्राप्त नभएकाले अनुगमन तथा निरीक्षण समितिले स्थलमै पुगेर वस्तुस्थितिको अध्ययन गरी प्रतिवेदन बुझाउन निर्देशन दिएको हो।

    विभागले जारी गरेको पत्र अनुसार नेपाल सरकारको स्वीकृतिमा हदबन्दीभन्दा बढी जग्गा प्राप्त गरेका उद्योग, कम्पनी, प्रतिष्ठान, आयोजना, शिक्षण संस्था तथा अन्य संघ–संस्थाले स्वीकृत उद्देश्यअनुसार नै जग्गा प्रयोग गरिरहेका छन् वा छैनन् भन्ने विषयमा स्थलगत रूपमा छानबिन गर्नुपर्ने कानुनी व्यवस्था छ। तर, यसअघि पटकपटक पत्राचार गर्दा पनि अधिकांश कार्यालयबाट प्रतिवेदन प्राप्त नभएपछि विभागले पुनः निर्देशन जारी गरेको हो।

    भूमि सम्बन्धी ऐन अनुसार हदबन्दीभन्दा बढी जग्गा राख्न स्वीकृति पाएका संस्थाको नियमित अनुगमन तथा निरीक्षण गर्ने जिम्मेवारी सम्बन्धित समितिलाई तोकिएको छ। ऐनले आर्थिक वर्ष समाप्त भएको दुई महिनाभित्र स्थानीय तहसँग समन्वय गरी जग्गाको वास्तविक उपयोग अवस्था निरीक्षण गर्न र त्यसको प्रतिवेदन विभागमा पेश गर्नुपर्ने व्यवस्था गरेको छ।

    विभागले ढिलाइ नगरी सम्बन्धित कार्यालय आफैं फिल्डमा खटिएर अनुगमन सम्पन्न गर्न, स्वीकृत उद्देश्यअनुसार जग्गा प्रयोग भए नभएको स्पष्ट विवरणसहित प्रतिवेदन बुझाउन निर्देशन दिएको छ।

  • अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी

    अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी

    ७ साउन, काठमाडौँ । सिटिइभिटी बाट सीप प्रशिक्षणको मात्र अनुमति लिएर अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्दै आएको इन्डस्ट्री ट्रेनिङ इन्स्टिच्युटमा श्रम मन्त्रालय, शिक्षा मन्त्रालय, सिटिइभिटी र विभागको संयुक्त टोलीले अनुगमनका क्रममा सिलबन्दी गरेको छ।

    युवा, श्रम तथा रोजगार मन्त्रालय,शिक्षा तथा खेलकुद मन्त्रालय, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) र वैदेशिक रोजगार विभागको संयुक्त अनुगमन टोलीले उक्त संस्थाको निरीक्षण गरी सिलबन्दी गरेको हो। विशेष गरी वैदेशिक रोजगारमा जाने श्रमिकहरूलाई लक्षित गरी तोकिएको सर्त विपरीत सीप प्रमाणीकरण प्रमाणपत्र उपलब्ध गराउने गरेको प्राप्त गुनासोका आधारमा कारबाही अघि बढाइएको हो। अनुगमनका क्रममा उक्त संस्थाले प्रचलित कानुन र सर्तहरूको गम्भीर उल्लङ्घन समेत देखिएको छ ।

    सीप प्रशिक्षण दिन मात्रै अनुमति पाएको संस्थाले सरकारी निकाय (सिटिइभिटी) लाई मात्र भएको सीप परीक्षण र प्रमाणीकरणको अधिकार अनधिकृत रूपमा प्रयोग गरेको भेटिएको छ। संस्थाले अनुमति लिँदा तोकिएका विधाहरू भन्दा फरक विषयहरूमा पनि तालिम दिने गरेको पाइएको छ।

    अनुगमन टोलीले उक्त संस्थाको कार्यालयमा सिलबन्दी गरी आवश्यक कागजात र प्रमाणपत्रहरू अध्ययनका लागि नियन्त्रणमा लिएको छ। अनुगमन टोलीले उपलब्ध गराएको कागजातहरूको अध्ययन अनुसन्धान पश्चात् संस्थामाथि थप कानुनी कारबाही अगाडि बढाइनेछ।

  • वैदेशिक रोजगार विभागमा उजुरी तथा गुनासो व्यवस्थापन प्रणाली सुरु

    वैदेशिक रोजगार विभागमा उजुरी तथा गुनासो व्यवस्थापन प्रणाली सुरु

    ७ साउन, काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले वैदेशिक रोजगार विभागमा गुनासो तथा उजुरी व्यवस्थापन अनलाइन प्रणाली (ujuri.dofe.gov.np) को सुरुवात गर्नुभएको छ ।
    मुद्दा तथा अनुसन्धान साथै राहत तथा उद्धार लगायतका संस्थागत उजुरीका लागि अनलाइन प्रणालीको सुरुवात र विभागले पुराना फाइल डिजिटल गरिरहेको कार्यको निरीक्षण गर्दै मन्त्री यादवले अब पीडितहरूले गुनासो तथा उजुरीका लागि काठमाडौँको विभाग धाउनु नपर्ने र विदेशबाटै पनि उजुरी दर्ता गरी कारबाही बारे बुझ्न सकिने बताउनु भयो।


    उहाँले भन्नुभयो “तपाईँ विदेशमा हुनुहोस् वा नेपालकै कुनै कुनामा, सरकार तपाईँको साथमा छ। न्यायका लागि अब काठमाडौँ धाइरहनु पर्दैन, आफ्नै हातमा भएको मोबाइलबाट उजुरी दिन र न्यायको प्रक्रिया अगाडि बढाउन सक्नुहुन्छ।”
    वैदेशिक रोजगारमा हुने ठगी नियन्त्रण गरी श्रमिकलाई सहजै सेवा दिनका लागि सरकार लागिपरेको समेत मन्त्री यादवले बताउनुभयो।
    निरीक्षणमा विभागकी महानिर्देशक मिरा आचार्य, मन्त्रालयका प्रवक्ता तथा सह-सचिव पीताम्बर घिमिरे लगायतको उपस्थिति थियो।

  • नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगत परिषद् गठन

    नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगत परिषद् गठन

    ७ साउन, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत विभिन्न वस्तुगत संघ–संस्थाको प्रतिनिधित्व रहने वस्तुगत परिषद् गठन गरिएको छ । परिषद् गठनसँगै नवनियुक्त सदस्यहरूलाई मनोनयन पत्र हस्तान्तरण गरिएको हो ।


    महासंघ सचिवालयमा बुधबार आयोजित कार्यक्रममा महासंघका कार्यबाहक अध्यक्ष सुरकृष्ण वैद्यले नवनियुक्त सदस्यहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै वस्तुगत परिषद्ले निजी क्षेत्रका साझा आवाजलाई थप सशक्त बनाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले उद्योग तथा व्यवसायसँग सम्बन्धित नीतिगत सुधार, लगानी प्रवद्र्धन, उत्पादन र निर्यात विस्तार तथा निजी क्षेत्रका समस्या समाधानका लागि परिषद्ले सक्रिय र परिणाममुखी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

    निजी क्षेत्र र सरकारबीच प्रभावकारी समन्वय स्थापित गर्दै मुलुकको आर्थिक विकासमा परिषद्को योगदान महत्त्वपूर्ण रहने उहाँको भनाइ थियो ।


    त्यसैगरी महासंघका जिल्लानगर उपाध्यक्ष दील सुन्दर श्रेष्ठले वस्तुगत परिषद् महासंघको महत्वपूर्ण अंग रहेको उल्लेख गर्दै क्षेत्रगत रुपमा आएका समस्या समाधानमा परिषद्को महत्वूर्ण भूमिका रहने बताउनुभयो ।


    वस्तुगत उपाध्यक्ष तथा वस्तुगत परिषद्का सभापति नरेशलाल श्रेष्ठले महासंघका वस्तुगत सदस्य संघहरू नै निजी क्षेत्रको मेरुदण्ड भएको उल्लेख गर्दै परिषद्ले उद्योग–व्यवसायका साझा एजेन्डालाई एकीकृत रूपमा अघि बढाउने विश्वास व्यक्त गर्नुभयो ।


    उहाँले परिषद्का सदस्यहरूले आ–आफ्नो क्षेत्रको अनुभव, सुझाव र नीतिगत धारणा महासंघमार्फत प्रभावकारी रूपमा प्रस्तुत गरी निजी क्षेत्रको हित संरक्षण र प्रवद्र्धनमा सक्रिय भूमिका खेल्न आग्रह गर्नुभयो । उहाँले वस्तुगत परिषद्का सदस्यहरुलाई विषयगत समितीको तथ्याङ्कमा आधारित रहेर असुनधान गरि समस्या समाधानको लागि पहल गर्न आग्रह गर्नु भयो ।


    एसोसिएट उपाध्यक्ष एवं रोजगारदाता परिषद्का सभापति प्रवलजंग पाण्डेले मुलुकको अर्थतन्त्र अझै पनि लयमा फर्किन नसकेको, लगानीको वातावरण बन्न नसकको वर्तमान परिवेशमा व्यावसायिक गतिविधि मार्फत अर्थतन्त्र चलायमान बनाउन परिपाद्को भूमिमा महत्वपूर्ण हुने धारणा राख्नु भयो ।


    महासंघका कोषाध्यक्ष मनिषलाल प्रधानले परिषद् तथा समितिहरूका गतिविधिले नै महासंघलाई चलायमान बनाउने उल्लेख गर्दै परिणाममुखी कार्यशैलीलाई प्राथमिकता दिदै अर्थतन्त्र चलायमान बनाउने गरि काम गर्नु पर्ने आवश्यक्ता माथी जोड दिनुभयो ।


    कार्यक्रममा महासंघ अन्तर्गत गठित वस्तुगत परिषद्का सदस्यहरूलाई कार्यबाहक अध्यक्ष सुरकृष्ण वैद्यले तथा उपाध्यक्ष एवं परिषद्का सभापति नरेशलाल श्रेष्ठले मनोनित सदस्य तथा सल्लाहकारहरुलाई पत्र हस्तान्तरण गर्नु भएको थियो । यसैबीच वस्तुगत परिषद्को बुधबार बसेको बैठकले परिषद्को उपसभापतिमा भक्त बहादुर हमाललाई मनोननयन गरेको छ । महासंघमा विभिन्न १४२ वटा वस्तुगत सदस्यहरु रहेका छन् ।

  • शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय

    शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय

    काठमाडौँ, ७ साउन । शिक्षा तथा खेलकुद मन्त्रालयले शैक्षिक परामर्श (एजुकेसन कन्सल्टेन्सी) क्षेत्रका समस्या, चुनौती र नीतिगत सुधारका विषयमा आज सरोकारवालासँग छलफल गर्ने भएको छ।


    सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलको उपस्थितिमा मन्त्रालयमा हुने छलफलमा शैक्षिक परामर्श क्षेत्रसँग आबद्ध विभिन्न संघ–संस्थाका पदाधिकारी तथा प्रतिनिधिहरू सहभागी हुनेछन् ।


    मन्त्रालयका अनुसार शैक्षिक परामर्श क्षेत्रलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले आयोजना गरिएको छलफलमा कन्सल्टेन्सी व्यवसायको वर्तमान अवस्था, निजी क्षेत्रले भोगिरहेका समस्या तथा चुनौती, गुणस्तरीय शैक्षिक परामर्श सेवाको प्रवद्र्धन, नीतिगत सुधार र नियामकीय व्यवस्थाबारे विस्तृत छलफल हुनेछ ।


    छलफलमा नेपाल शैक्षिक परामर्श संघ (इक्यान), स्वतन्त्र शैक्षिक परामर्श संघ (फेकन), सक्रिय शैक्षिक परामर्श संघ (एइक्यान), शैक्षिक परामर्श व्यवसायी संस्था (एरी), जापानिज भाषा स्कुल संघ (जालसान), नेपलिज एसोसिएसन अफ अस्ट्रेलियन एजुकेशन रिप्रिजेन्टेटिभ (नायर), नेशनल एजुकेसन कन्सल्टेन्सी एसोसिएसन (नेका), एक्यान, नेवा र नेक्सालगायतका संघ–संस्थाका प्रतिनिधिहरूको सहभागिता रहनेछ ।
    मन्त्रालयका अनुसार छलफलमा शैक्षिक परामर्श, भाषा, शिक्षण तथा तयारी कक्षा (सञ्चालन र व्यवस्थापन) नियमावली, २०८३ सम्बन्धी व्यवस्थाका साथै शैक्षिक परामर्श क्षेत्रसँग सम्बन्धित समसामयिक विषयमा सरोकारवालाको सुझावसमेत संकलन गरिनेछ ।


    शिक्षामन्त्री पोखरेलले पछिल्लो समय शिक्षा क्षेत्रसँग सम्बन्धित विभिन्न सरोकारवाला, शैक्षिक संस्था तथा निजी क्षेत्रका प्रतिनिधिसँग निरन्तर संवाद गर्दै उनीहरूका सुझावका आधारमा नीतिगत सुधार र आवश्यक समन्वयलाई प्राथमिकता दिँदै आउनुभएको मन्त्रालयले जनाएको छ ।

  • गणेश नेपाली मृत्यु प्रकरण :  छानबिन न्यायिक समिति गठन

    गणेश नेपाली मृत्यु प्रकरण : छानबिन न्यायिक समिति गठन

    ७ साउन, काठमाडौं । सरकारले मुगुको सोरु गाउँपालिका–१ का गणेश नेपालीको मृत्यु प्रकरणमा छानबिन गर्न न्यायिक समिति गठन गरेको छ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले उच्च अदालतका पूर्वन्यायाधीश केशवप्रसाद बास्तोलाको संयोजकत्वमा समिति गठन गरेको हो। समितिमा पूर्व–सहन्यायाधिवक्ता कृष्णमोहन कोइराला र पूर्व–सहसचिव रामुराज कडरिया सदस्य रहनुभएको छ। बैठकले समितिलाई अबको सात दिनभित्र घटनासम्बन्धी छानबिन गरी प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिएको छ।

    नेपालीको गत असार २६ गते वीर अस्पतालको ‘बर्न युनिट’मा उपचारको क्रममा निधन भएको थियो। उहाँको मृत्युपछि नेपाल सरकार तथा काठमाडौँ महानगरपालिका र पीडित पक्षबीच ९ बुँदे सहमति भएको थियो। सहमतिको पहिलो बुँदामा भनिएको थियो, “यस घटनाको सत्यतथ्य र निस्पक्ष छानबिन गर्न नेपाल सरकारले पूर्वन्यायाधीशको संयोजकत्वमा यथाशीघ्र एक स्वतन्त्र छानबिन समिति गठन गर्नेछ। उक्त समतिले गठन भएको मितिले सात दिनभित्र प्रतिवेदन नेपाल सरकारसमक्ष पेस गर्नेछ।” त्यसैअनुसार मन्त्रिपरिषद् बैठकले यो समिति गठन गरेको हो।

  • प्रधानमन्त्रीले नेपाल अर्ग्यानिक संघका पदाधिकारी तथा व्यवसायीहरुसँग छलफल गर्दै

    प्रधानमन्त्रीले नेपाल अर्ग्यानिक संघका पदाधिकारी तथा व्यवसायीहरुसँग छलफल गर्दै

    ७ साउन, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल अर्ग्यानिक संघका पदाधिकारी तथा व्यवसायीहरुसँग आज ११:३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल गर्ने कार्यक्रम रहेको छ। छलफलमा संघका अध्यक्ष दीपक बास्कोटा, उपाध्यक्ष प्रेम लामा तथा गोर्खा टि इस्टेटका अध्यक्ष उदय चापागाईं, हिमालयन सांग्रिला टि फ्याक्ट्रीका अध्यक्ष कमल मैनाली र अन्नपूर्ण अर्गानिक एग्रो इन्डस्ट्रीका अध्यक्ष पर्शुराम आचार्य सहभागी रहने भएका छन् ।

    यो नेपालमा जैविक (अर्ग्यानिक) कृषि उत्पादन, प्रशोधन, व्यापार र उपभोगको प्रवर्द्धन गर्ने संस्था हो। प्रधानमन्त्री शाहले नेपालमा उद्योग, व्यवसाय प्रवर्द्धनका निम्ति उद्योगी-व्यवसायीसँग निरन्तर छलफल गरी उनिहरुका जायज माग सम्बोधन गर्दै आएका छन् ।

  • नेतान्याहुलाई पक्राउ गर्ने अधिकार छैन : न्युयोर्क मेयर

    नेतान्याहुलाई पक्राउ गर्ने अधिकार छैन : न्युयोर्क मेयर

    न्युयोर्कका मेयर जोहरान ममदानीले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) ले जारी गरेको पक्राउ पुर्जी कार्यान्वयन गर्ने स्वतन्त्र कानूनी अधिकार न्युयोर्क सहरसँग नरहेको स्पष्ट पार्दै त्यसका लागि अमेरिकी सङ्घीय सरकारले आवश्यक कदम चाल्नुपर्ने बताउनुभएको छ ।

    सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नुभएको भिडियो सन्देशमा मेयर ममदानीले नेतान्याहु न्युयोर्क आएमा आइसिसीको पक्राउ पुर्जी कार्यान्वयन गर्न सकिने वा नसकिने विषयमा आफ्नो प्रशासनले लागू कानूनका सबै पक्षको समीक्षा गरेको जानकारी दिनुभयो । त्यसक्रममा न्युयोर्क सहरसँग उक्त पक्राउ पुर्जी कार्यान्वयन गर्ने स्वतन्त्र कानूनी अधिकार नभएको निष्कर्षमा पुगेको उहाँले बताउनुभयो । उहाँले सङ्घीय सरकारसँग भने यस्तो अधिकार रहेको उल्लेख गर्दै संयुक्त राज्य अमेरिकालाई आइसिसीसँग सहकार्य गरी पक्राउ पुर्जी कार्यान्वयन गर्न आग्रह गर्नुभयो ।

    हेगस्थित आइसिसीले सन् २०२४ मा गाजा युद्धसँग सम्बन्धित कथित युद्ध अपराध तथा मानवताविरुद्धका अपराधमा नेतान्याहु जिम्मेवार रहेको विश्वास गर्ने पर्याप्त आधार रहेको भन्दै उहाँविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । यो मुद्दा सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आक्रमणपछि गाजामा इजरायलले सञ्चालन गरेको सैन्य कारबाहीसँग सम्बन्धित छ ।

    यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार नेतान्याहु आगामी सेप्टेम्बरमा न्युयोर्कमा हुने संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी भए पक्राउको सामना गर्नुपर्ने अवस्था नआउने आश्वासन दिनुभएको थियो । मेयर ममदानीले भिडियो सन्देशमा गाजामा भएको विनाशलाई विश्वले गम्भीर रूपमा हेर्नुपर्ने बताउँदै आफू आइसिसीको धारणा अनुसार नेतान्याहुलाई पक्राउ गरी आरोपबमोजिम कानूनी प्रक्रिया अघि बढाइनुपर्ने पक्षमा रहेको उल्लेख गर्नुभयो ।

    उहाँले आइसिसीले आरोप लगाएका अन्य सबै व्यक्तिको हकमा पनि समान कानूनी मापदण्ड लागू हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । यता, नेतान्याहुको कार्यालयले भने मेयर ममदानीको अभिव्यक्तिलाई अस्वीकार गर्दै आइसिसीलाई ‘कङ्गारु अदालत’ को संज्ञा दिएको छ ।

  • पछिल्लो २४ घन्टामा सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

    पछिल्लो २४ घन्टामा सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

    काठमाडौं, ६ साउनः बितेका २४ घण्टामा स्याङ्जा, सप्तरी, मकवानपुर, रौतहट र बाँकेमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार स्याङ्जाको वालिङ नगरपालिका–८ मिर्दीस्थित सडकमा ट्रेलरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक वालिङ नगरपालिका–६ आमडालीका ५५ वर्षीय विनोद अर्यालको मृत्यु भएको हो । सप्तरीको शम्भुनाथ नगरपालिका–८ बेरियाइमा ट्रकमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक सुरुङ्गा नगरपालिका–१ चहकाका ५५ वर्षीय खडकबहादुर आले मगरको मृत्यु भएको छ ।

    यसैगरी, हेटौँडा उपमहानगरपालिका–११ झमसिङटारमा ट्याक्टर दुर्घटना हुँदा त्यसका चालक सल्ल्यानको कपुरकोट गाउँपालिका–३ का २२ वर्षीय विक्रम खड्काको मृत्यु भएको छ । रौतहटको गुजरा नगरपालिका–९ सिमराभनानिपुर चोकमो अटो र भारतमा दर्ता भएको मोटरसाइकल एकापसमा ठोक्किँदा २२ वर्षीय मोटरसाइकल चालक आमोद ठाकुरको मृत्यु भएको समाचारकक्षले जनाएको छ ।

    त्यसैगरी, बाँकेको बैजनाथ गाउँपालिका–५ बाँसगढीबाट कोहलपुरतर्फ गइरहेकोे मोटरसाइकलको ठक्करबाट सोही स्थानकी ६९ वर्षीया रूपावती सुनारको मृत्यु भएको छ ।

  • अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म

    अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म

    अस्ट्रेलियामा प्राकृतिक रूपमा भएको अत्यन्त दुर्लभ गर्भधारणबाट एउटै निषेचित अण्डा चार भागमा विभाजित भई समान चम्ल्याहा (चार) छोरी जन्मिएका छन् । चिकित्सकहरूका अनुसार यस्तो गर्भधारण करिब एक करोड ५० लाखमध्ये एकमा मात्र हुने सम्भावना रहने भएकाले यसलाई अत्यन्त असाधारण घटना मानिएको छ ।

    क्विन्सल्यान्डस्थित रोयल ब्रिस्बेन एन्ड वुमेन्स अस्पतालमा ३४ वर्षीया जेनिटर साउ नामोनाले गत १४ जुलाईमा सिजेरियन शल्यक्रियामार्फत चार छोरीलाई जन्म दिनुभएको हो । यसअघि नै चार सन्तानकी आमा रहनुभएकी नामोना र उहाँका पति जोर्थमले थप सन्तान जन्माउने योजना नबनाएका बेला चौगुना गर्भ रहेको जानकारी पाएपछि परिवार नै आश्चर्यमा परेको अस्पतालले जनाएको छ ।

    नामोनाको उपचारमा संलग्न मातृ–भ्रूण विशेषज्ञ डा. एलेक्सा बेन्डलका अनुसार चारै शिशु एउटै निषेचित अण्डाबाट विकसित भएका हुन् । गर्भाधानपछि अण्डा चार भागमा विभाजित हुँदा समान चम्ल्याहा शिशुको जन्म भएको उहाँले बताउनुभयो ।

    उहाँका अनुसार यस्तो घटना विश्वमै अत्यन्त दुर्लभ मानिन्छ र अस्ट्रेलियामा यसअघि यस्तै चिकित्सकीय तथ्याङ्कअनुसार प्राकृतिक रूपमा चम्ल्याहा गर्भधारण हुने सम्भावना करिब सात लाखमध्ये एक मात्र हुन्छ । तर एउटै निषेचित अण्डाबाट समान चम्ल्याहा (चार) शिशु जन्मिने सम्भावना अझ निकै कम रहने भएकाले यस घटनाले चिकित्सकहरूको समेत ध्यान आकर्षित गरेको छ ।

    अधिकांश चम्ल्याहा गर्भधारण भने सहायक प्रजनन प्रविधिको प्रयोगपछि हुने गरेका छन् । चारै भ्रूणले एउटै प्लेसेन्टा साझा गरेका कारण नामोनाको गर्भावस्था उच्च जोखिमयुक्त थियो । यस्ता अवस्थामा समयपूर्व प्रसूति, गर्भपतन, जन्मजात समस्या तथा अन्य जटिलता देखिने जोखिम उच्च हुने भएकाले गर्भावस्थाको १०औँ सातादेखि नै विशेषज्ञ चिकित्सकहरूको टोलीले उहाँको नियमित निगरानी गरेको थियो ।

    २५औँ सातामा उहाँलाई अस्पतालमै भर्ना गरी निरन्तर उपचार तथा निगरानी गरिएको थियो । डा. बेन्डलले २८ हप्ता चार दिनको गर्भावस्थामै चार स्वस्थ शिशुको जन्म हुनु निकै उत्साहजनक उपलब्धि भएको बताउनुभयो । शल्यक्रियाका क्रममा आमामा सामान्य रक्तस्राव भए पनि अवस्था नियन्त्रणमै रहेको र अहिले उहाँको स्वास्थ्य राम्रो रहेको उहाँले जानकारी दिनुभयो ।

    हाल चारै नवजात शिशुको सघन उपचार कक्ष (एनआइसीयू) मा उपचार भइरहेको छ । उनीहरूको नाम एमिली, ह्यारिएट, क्याथरिन र एलेक्सा राखिएको छ । तीमध्ये एक शिशुको नाम आफ्नो सम्मानमा राखिएको जानकारी दिँदै डा. बेन्डलले यसलाई सुन्दर सम्मानका रूपमा लिनुभएको बताउनुभयो ।

    उहाँले चिकित्सकीय रूपमा यो घटना अत्यन्त अध्ययनयोग्य भए पनि आफूका लागि सबैभन्दा ठूलो खुसी स्वस्थ आमासहित चार स्वस्थ शिशुलाई सुरक्षित रूपमा संसारमा ल्याउन सफल हुनु रहेको उल्लेख गर्नुभयो जन्म भएको जानकारी उहाँहरूसँग छैन ।

  • अन्नपूर्ण क्षेत्रमा लेक लागेर एक वर्षमा २५ पर्यटकको मृत्यु

    अन्नपूर्ण क्षेत्रमा लेक लागेर एक वर्षमा २५ पर्यटकको मृत्यु

    गण्डकी, ६ साउनः अन्नपूर्ण पदमार्गमा पुगेकामध्ये २५ जना पर्यटकको लेक लागेर मृत्यु भएको छ । आर्थिक वर्ष २०८२/८३ मा उक्त मार्गमा भ्रमणका लागि निस्किएका १२ जना नेपाली, नौ जना भारतीय र जापान, मेक्सिको, स्पेन र सिङ्गापुरका क्रमशः एक एक जना गरी २५ व्यक्तिको मृत्यु भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले जनाएको छ ।

    मुस्ताङमा १५, मनाङमा आठ, अन्नपूर्ण आधार शिविरमा एक र मर्दी हिमालमा एक जनाको मृत्यु भएको हो । मृत्यु भएका नेपालीमध्ये चार जना पथप्रदर्शक र भरिया रहेको आयोजना प्रमुख डा रविन कडरियाले जानकारी दिनुभयो ।

    पदत्रायाका क्रममा लडेर र अन्य दुर्घटनाका कारण सोही अवधिमा पाँच जना पर्यटकले ज्यान गुमाएका छन् । भारतीय पर्यटकको मनाङको पदयात्राका क्रममा भारी हिमपात हुँदा मृत्यु भएको थियो ।

    एक जना अष्ट्रेलियन पर्यटकको मनाङको हिमलुङ हिमाल चढेर फर्कने क्रममा ज्यान गएको हो । मर्दी हिमालको पदयात्राका क्रममा एक जना नेपाली पदयात्री र जर्मनी नागरिकको म्याग्दीको खोप्रा लेकमा पदयात्राका क्रममा मुत्यु भएको थियो । लेक लाग्ने घटना मुस्ताङ र मनाङको उपल्लो भेगमा हुने गरेका छन् । आव २०८०/८१ मा २१ र आव २०८१/०८२ मा १९ जना पर्यटकको लेक लागेर मृत्यु भएको थियो ।

    लेक लाग्ने घटना मुस्ताङ र मनाङको उपल्लो भेगमा हुने गरेका छन् । आव २०८०/८१ मा २१ र आव २०८१/०८२ मा १९ जना पर्यटकको लेक लागेर मृत्यु भएको थियो । सडकमार्ग भएर मुक्तिनाथ दर्शनका लागि जाने नेपाली र भारतीय पर्यटकमा लेक लाग्ने समस्या बढी देखिने गरेको आयोजना प्रमुख डा कडरियाले बताउनुभयो ।

    “हिमाली तथा उच्च पहाडी भेगको यात्रामा जाँदा एकैपटकमा धेरै उचाइमा पुग्न हुँदैन, विश्राम लिँदै जानुपर्छ”, उहाँले भन्नुभयो, “लेक लागेको लक्षण अनुभव भएमा तत्कालै कम उचाइ भएको ठाउँमा फर्किहाल्नुपर्छ ।”

    पदयात्रामा लडेर मृत्यु हुने गरेका घटना बर्सेनि दोहोरिने गरेका छन् । लामो दूरीको पदयात्रामा निस्कँदा एक्लै नगई समूहमा या पथप्रदर्शक लिएर जानुपर्छ । कम उचाइ भएको ठाउँबाट गाडीमा एकैपटकमा मुक्तिनाथलगायत उच्च भेगमा पुग्दा लेक लाग्ने समस्या देखिने गरेको छ ।

    स्थानीय हावापानीसँग अनुकूलन हुँदै विश्राम लिँदै यात्रा गर्नु नै लेक लाग्ने समस्याबाट बच्ने उत्तम उपाय रहेको पथप्रदर्शक दिवस गुरुङले बताउनुभयो । पदयात्रा गर्ने पर्यटकलाई एक दिनमा ५०० भन्दाबढीको उचाइ पार नगर्न सुझाव दिनुभयो ।

  • श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन

    श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन

    काठमाडौँ, ६ साउनः श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले श्रमिक तथा पीडितले दिएका उजुरी वा निवेदनलाई कार्यालय प्रमुख र सम्बन्धित कर्मचारीले प्राप्त भएको एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन जारी गरेको छ । विभागले आफ्ना मातहतका सबै श्रम तथा रोजगार कार्यालय र व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्रलाई मङ्गलबार परिपत्र जारी गर्दै यस्तो निर्देशन दिएको हो ।

    विगतमा हेल्लो सरकार, मन्त्रालय वा विभागलगायत विभिन्न माध्यमबाट आएका वा सिधै कार्यालयमा दिइएका उजुरी समयमै सम्बोधन नभएको, कर्मचारीले उचित व्यवहार नगरेको र न्याय दिन ढिलाइ गरेको गुनासो आएपछि विभागले यस्तो परिपत्र जारी गरेको हो ।

    श्रमिकका उजुरी वा निवेदन प्राप्त भएको एक घण्टाभित्रै सम्बोधन गरी सोको जानकारी सम्बन्धित व्यक्तिलाई दिनुपर्ने तथा सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ र निजामती सेवा ऐन, २०४९ बमोजिम कर्मचारीले आफ्नो जिम्मेवारी र आचरण पालना गर्नुपर्ने परिपत्रमा उल्लेख छ ।

    कुनै विषय आफ्नो क्षेत्राधिकारभित्र नपर्ने भएमा सोको जानकारी तत्काल सेवाग्राहीलाई गराई सम्बन्धित निकायमा पठाउनुपर्ने तथा श्रमिकका उजुरीउपर प्रतिष्ठानबाट समयमै प्रतिक्रिया लिने व्यवस्था मिलाउन पनि भनिएको छ ।

    श्रम कानुनअनुसार वार्ता गराउने र वार्ताबाट समाधान नभएमा कार्यालयले यथाशीघ्र निर्णय गर्नुपर्ने तथा श्रम अदालत र कार्यालयबाट भएका आदेश वा निर्णय समयमै कार्यान्वयन गर्नुपर्नेलगायत विषय विभागले जारी गरेको परिपत्रमा उल्लेख छ । हेल्लो सरकारबाट प्राप्त गुनासो सम्बोधन भएपछि सोको जानकारी यथाशीघ्र गराउनसमेत विभागले निर्देशन दिएको छ ।

  • हस्तकलामार्फत रोजगारी सिर्जना गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

    हस्तकलामार्फत रोजगारी सिर्जना गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

    काठमाडौँ, ६ साउनः प्रधानमन्त्री वालेन्द्र शाहले हस्तकला व्यवसायसम्बन्धी नीति निर्माण, हस्तकला व्यवसायको संरक्षण, रोजगारी सिर्जना र हस्तकलाको पुस्तान्तरण गर्ने विषयमा सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित छलफलमा उहाँले सार्वजनिक निजी साझेदारी (पिपिपी) मोडलमा हस्तकला विकास बोर्ड गठन गर्नुपर्ने मागप्रति सरकार सकारात्मक रहेको बताउनुभयो । छलफलका क्रममा नेपाल हस्तकला व्यवसायी महासङ्घका प्रतिनिधिहरूले हस्तकला व्यवसायको विकास, विस्तार र संरक्षणका लागि सरकारसँग सहकार्य गर्न आफूहरू तयार रहेको स्पष्ट पार्नुभएको थियो ।

    प्रधानमन्त्री शाहले आज उहाँहरूलाई छलफलका लागि बोलाउनुभएको हो । वर्तमान सरकारले हस्तकला व्यवसायलाई प्राथमिकता दिएको आफूहरूलाई महसुस भएको भन्दै सरकारसँग कुनै पनि किसिमको सहकार्य गर्न तयार रहेको महासङ्घका प्रतिनिधिहरूले बताउनुभएको थियो ।

    अहिलेसम्म महासङ्घले मङ्सिर २८ मा आफ्नै ढङ्गले हस्तकला दिवस मनाइरहेका अवस्थामा अब राष्ट्रिय स्तरमा मनाउनुपर्ने महासङ्घका पदाधिकारीले माग गर्नुभएको थियो । दिवस मनाउने विषयमा तत्कालै गृह मन्त्रालयसँग समन्वय गर्न आफ्नो टिमलाई निर्देशन प्रधानमन्त्रीले निर्देशन दिनुभएको थियो ।

    यस्तै, हस्तकला सामग्री निर्यात अहिलेसम्म स्वघोषणामा भइरहेकामा त्यसको साटो बिजक मूल्याङ्कन अनिवार्य गर्दा राजस्व वृद्धिमा सहयोग पुग्ने पदाधिकारीको सुझावअनुसार काम गरिने पनि प्रधानमन्त्री शाहले आश्वस्त पार्नुभयो । हस्तकला सामग्री निर्यात गर्दा पाउनुपर्ने सोको पाँच प्रतिशत रकम तीन वर्षयता रोकिएकामा प्रधानमन्त्री शाहले त्यसलाई पुनः निरन्तरता दिने विषयमा पनि आश्वस्त हुन व्यवसायीलाई आग्रह गर्नुभएको थियो ।

    हस्तकलाको वस्तु उत्पादन र विकासका लागि उद्योग विभागमा सार्क हस्तकला विकास केन्द्रको भवन निर्माण भइसके पनि त्यहाँ अरु नै कार्यालय रहेकामा त्यो कार्यालय आफूहरूलाई फिर्ता हुनुपर्ने माग पदाधिकारीले राख्नुभएको थियो । यस्तै, उपत्यकामा हस्तकला ग्राम खडा गर्ने र सातै प्रदेशमा हस्तकलासम्बन्धी सीप प्रशिक्षण केन्द्र खोल्ने विषयमा प्रधानमन्त्री शाहले विशेष चासो देखाउनुभएको छ ।

    परम्परागत सीप कलालाई जगेर्ना गर्ने र हस्तकलाकर्मीलाई परिचयपत्र दिनुपर्नेलगायत पदाधिकारीले विभिन्न माग राख्नुभएको थियो । छलफलमा महासङ्घका अध्यक्ष रविन्द्र शाक्य, वरिष्ठ उपाध्यक्ष राजमान बज्राचार्य, उपाध्यक्ष किरण कुमार स्थापित, सल्लाहकार विकास रत्न ढाक्वा र शीर्ष निर्यातकर्ता महेश्वर श्रेष्ठ सहभागी हुनुहुन्थ्यो ।

  • दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु

    दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु

    दाङ, ६ साउनः गत चैत ५ गते बिहीबार बेलुका तुलसीपुर उपमहानगरपालिका–९ दुधेनाको चमिखोलामा टिपरको ठक्करबाट स्कुटरमा सवार तुलसीपुर–९का ४९ वर्षीया पुष्पा कँडेलको मृत्यु भयो । सोही महिनाको ३ गते गढवा गाउँपालिका–५ बाँकी गाउँमा ठोकिँदा स्थानीय ४२ वर्षीय भानु रिजालको पनि घटनास्थलमै मृत्यु भयो ।

    जिल्ला प्रहरी कार्यालयले गरेको अनुसन्धानले ती दुवै दुर्घटना चालकले तीव्रगतिमा सवारी चलाएका कारण भएको निष्कर्ष दिएको छ । दुवै घटना सडक दुर्घटनाका उदाहरण मात्र हुन् । यसैबीच, दाङ जिल्लामा आव २०८२/८३ मा ३४७ सवारी दुर्घटनामा ७२ जनाको मृत्यु भयो ।

    मृत्यु हुनेमा ५० पुरुष, १९ महिला र तीन बालबालिका रहेको ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी निरीक्षक केशव खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार ती दुर्घटनामा परी १६३ पुरुष, ४७ महिला, १६ बालक र छ बालिका गम्भीर घाइते भए । त्यस्ता दुर्घटनामा सबैभन्दा बढी २८१ वटा मोटरसाइकल दुर्घटना भएका थिए ।

    सडक दुर्घटना हुनुका मुख्यकारण तीव्रगति र मादकपदार्थ सेवन, चालकको लापरबाही, सडककोे अवस्था, यान्त्रिक गडबडी रहेको प्रहरीको भनाइ छ । प्रहरीले यस्ता दुर्घटना नदोहोरिन नदिन र दुर्घटना न्यूनीकरण गर्न नागरिक सचेतना तथा सडक सुरक्षा कार्यक्रम गर्दै आएको छ । यसैबीच, पछिल्लो समय ट्राफिक प्रहरीले जतथाभावी सडक वारपार गर्ने पैदल यात्रुलाई सचेतना तथा चालकका लागि निःशुल्क स्वास्थ्य परीक्षण अभियान पनि सञ्चालन गरिरहेको छ ।

  • मन्त्रिपरिषद्द्वारा मिटरब्याज पीडितसँग भएको सहमति अनुमोदन

    मन्त्रिपरिषद्द्वारा मिटरब्याज पीडितसँग भएको सहमति अनुमोदन

    काठमाडौँ, ६ साउन : यही साउन १ गते मिटरब्याज (अनुचित लेनदेन) पीडितसँग सरकारले गरेको सहमति अनुमोदन गर्दै उनीहरूसँग सम्बन्धित फर्जी लिखतहरू तत्काल लागू हुनेगरी अवैध घोषणा गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले त्यस्तो निर्णय गरेको हो ।

    त्यसैगरी बैठकले गणेश नेपालीको आत्मदाह घटनाको सत्यतथ्य छानबिन गर्न न्यायिक छानबिन समिति गठन गर्ने निर्णय गरेको छ । उच्च अदालतका पूर्व न्यायाधीश केशवप्रसाद बास्तोलाको संयोजकत्वमा न्यायिक छानबिन समिति गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।

    बैठकले विशेष अदालतको अध्यक्ष पदमा उच्च अदालत तुलसीपुरका न्यायाधीश वासुदेव आचार्यलाई तोक्ने निर्णय गरेको छ । यस्तै, श्रम अदालतको अध्यक्ष पदमा उच्च अदालत सुर्खेतका न्यायाधीश दीपेन्द्र अधिकारीलाई तोक्ने निर्णय गरिएको छ । मन्त्रिपरिषद्ले गुठी संस्थानको प्रशासक पदमा शैलेशराज कुँवरलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ ।

    बैठकले हवाई उड्डयन क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्यले २०८५ साल भदौ मसान्तसम्म पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने नियमित अन्तर्राष्ट्रिय उडानका लागि पार्किङ, ल्याण्डिङ र नेभिगेसन शुल्कमा शतप्रतिशत छुट तथा ग्राउण्ड ह्याण्डलिङ शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय गरेको मन्त्री पोखरेलले बताउनुभयो । त्यसैगरी, यसैबीच, आर्थिक ऐन, २०८३ को दफा १८ को उपदफा (१) बमोजिम शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा मिनाहा गर्ने निर्णयसमेत मन्त्रिपरिषद्ले गरेको छ ।

  • दाङमा पानीट्याङ्कीका मृतक दुवैको पहिचान खुल्यो

    दाङमा पानीट्याङ्कीका मृतक दुवैको पहिचान खुल्यो

    दाङ, ६ साउनः तुलसीपुर उपमहानगरपालिका–६ रजौरास्थित निर्माणाधीन घरकोल पानी ट्याङ्कीमा मृत्यु भएका दुवै जनाको पहिचान खुलेको छ । मृत्यु हुनेमा सल्यान माल्टा घर भई हाल तुलसीपुर उपमहानगरपालिका–९ दोघरका कमल गिरी र घनश्याम गिरी भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीले जानकारी दिनुभयो ।

    उहाँकाअनुसार कमल पूर्वाधार निर्माणका ठेकेदार र घनश्याम मिस्त्री हुन् । दुवै जनाले ठेक्कामा काम गर्ने हुँदा पानीट्याङ्की सफा गर्ने क्रममा निसास्सिएर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ । स्थानीयले उनीहरुलाई पानीट्याङ्कीमा मृतक अवस्थामा देखेपछि आज बिहान प्रहरीलाई खबर गरेका थिए । उनीहरुले गए राति प्रयोग गरेको मोटरसाइकल पनि घटनास्थल नजिक फेला परेको थियो । उक्त घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • आयुर्वेद सेवालाई थप प्रभावकारी बनाउन छलफल

    आयुर्वेद सेवालाई थप प्रभावकारी बनाउन छलफल

    काठमाडौँ, ६ साउनः आयुर्वेद सेवालाई थप प्रभावकारी बनाउन र स्वास्थ्य प्रणालीसँग एकीकृत गर्ने विषयमा आज उच्चस्तरीय छलफल भएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताको उपस्थितिमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा क्षेत्रको सुधार, सेवा विस्तार तथा नीतिगत व्यवस्थापनका विषयमा छलफल भएको हो ।

    सो क्रममा नेपाललाई आयुर्वेदिक पर्यटनको गन्तव्यका रूपमा विकास गर्ने विषयमा विशेष जोड दिइएको छ । मन्त्री मेहताले आयुर्वेद तथा वैकल्पिक चिकित्सा सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै नेपाल आयुर्वेदको उद्गमस्थल भएकाले यसको संरक्षण, प्रवर्द्धन र स्वास्थ्य पर्यटनसँग जोडेर विकास गर्नुपर्ने बताउनुभएको छ ।

    सरकार यस क्षेत्रको विकासका लागि आवश्यक नीतिगत तथा संस्थागत सहयोग गर्न प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । पोखरास्थित गण्डकी आयुर्वेद अस्पताल, कीर्तिपुरस्थित आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र र बूढानीलकण्ठस्थित राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग केन्द्रलाई आयुर्वेदिक स्वास्थ्य पर्यटनका प्रमुख केन्द्रका रूपमा विकास गर्ने विषयमा पनि विशेष जोड दिइएको छ ।

    ती संस्थाहरूको पूर्वाधार, सेवा, विशेषज्ञ जनशक्ति र अन्तरराष्ट्रियस्तरको वेलनेस सेवाको क्षमता अभिवृद्धि गर्दै नेपाललाई आयुर्वेदिक स्वास्थ्य पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने रणनीतिमा मन्त्रालयले काम अघि बढाउने जनाएको छ । यसका साथै आयुर्वेद सेवालाई स्वास्थ्य बिमा कार्यक्रममा समावेश गर्ने, सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण सम्पन्न गर्ने, मन्त्रालयमा आयुर्वेदसम्बन्धी संस्थागत संरचना सुदृढ गर्ने, जडीबुटी उत्पादनदेखि प्रशोधन र औषधि उत्पादनसम्मको मूल्य शृङ्खला विकास गर्ने तथा विश्व स्वास्थ्य सङ्गठन मापदण्डअनुसार उत्पादन प्रणाली सुदृढ गर्ने विषयमा सहभागीहरूले सुझाव दिएका थिए ।

  • बैंकिङ्ग कसूर मुद्दाका फरार प्रतिवादी डिल्लीबजारबाट पक्राउ

    बैंकिङ्ग कसूर मुद्दाका फरार प्रतिवादी डिल्लीबजारबाट पक्राउ

    काठमाडौँ, ६ साउनः बैंकिङ्ग कसूर मुद्दामा फरार एक प्रतिवादी पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरोले काठमाडौँ महानगरपालिका–४ स्थायी ठेगाना भएका शङ्करलाल अग्रवाललाई आज डिल्लीबजारबाट पक्राउ गरेको हो ।

    दीपक भट्टसमेत प्रतिवादी रहेको बैंकिङ्ग कसूर तथा सजाय ऐन, २०६४ अन्तर्गतको मुद्दामा अग्रवाल फैसला मितिदेखि नै फरार रहँदै आएका थिए । अग्रवाललाई आवश्यक कानुनी कारबाहीका लागि उच्च अदालत पाटनमा उपस्थित गराइएको ब्यूरोका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शमशेर जबराले जानकारी दिनुभयो । —

  • दमकमा घरायसी विवादमा श्रीमतीको हत्या, आत्महत्या प्रयास गरेका श्रीमानको पनि मृत्यु

    दमकमा घरायसी विवादमा श्रीमतीको हत्या, आत्महत्या प्रयास गरेका श्रीमानको पनि मृत्यु

    भद्रपुर (झापा), ६ साउन : झापाको दमकमा घरायसी विवादका क्रममा श्रीमान्को खुकुरी प्रहारबाट गम्भीर घाइते भएकी श्रीमतीको मृत्यु भएको छ भने आक्रमणपछि आत्महत्याको प्रयास गरेका श्रीमान्को पनि उपचारका क्रममा ज्यान गएको छ ।

    दमक नगरपालिका–१ श्रीपाली चोकका ४२ वर्षीय धनबहादुर दर्जी र उनकी ४२ वर्षीया श्रीमती विजयकुमारी दर्जीको उपचारका क्रममा मृत्यु भएको हो ।

    जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक रञ्जन अवाका अनुसार आज दिउँसो करिब २ः०० बजे श्रीमान्–श्रीमतीबीच सामान्य विषयमा विवाद भएको थियो ।

    सोही विवाद बढ्दै जाँदा धनबहादुरले श्रीमती विजयकुमारीमाथि खुकुरी प्रहार गरेका थिए । खुकुरीको चोटबाट विजयकुमारीको टाउको र बायाँ हातमा गम्भीर क्षती पुगेको थियो । श्रीमतीमाथि ज्यानै लिने गरी आक्रमण गरेलगत्तै धनबहादुरले घरको अर्को कोठामा गएर सिलिङ पङ्खामा सलको पासो लगाई आत्महत्याको प्रयास गरेका थिए ।

    सोही क्रममा उनकी २५ वर्षीया छोरीले बुबालाई झुण्डिएको अवस्थामा देखेपछि तत्काल पासो काटेर भुइँमा झारेकी थिइन् । घटनाबारे जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी निरीक्षक प्रमोद खड्काको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको प्रहरी नायब उपरीक्षक अवाले जानकारी दिनुभयो ।

    प्रहरीले घाइते दुवै जनालाई तत्काल उद्धार गरी उपचारका लागि दमक अस्पताल पठाएकामा उपचारकै क्रममा दुवैको मृत्यु भएको हो । घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • संस्कृत विश्वविद्यालयका नवनियुक्त उपकुलपति खतिवडाको शपथ

    संस्कृत विश्वविद्यालयका नवनियुक्त उपकुलपति खतिवडाको शपथ

    काठमाडौँ, ६ साउनः नेपाल संस्कृत विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा डा भीमप्रसाद खतिवडाले मङ्गलबार पद तथा गोपनीयताको शपथ लिनुभएको छ । शिक्षा तथा खेलकुदमन्त्री तथा विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले शिक्षा मन्त्रालयमा आयोजित कार्यक्रममा खतिवडालाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।

    प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले आजै खतिवडालाई उपकुलपतिमा नियुक्त गर्नुभएको थियो । मन्त्रालयका अनुसार नेपाल संस्कृत विश्वविद्यालयको रिक्त उपकुलपति, शिक्षाध्यक्ष र कुलसचिव पदका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिको सिफारिसका आधारमा कार्यविधि, २०८३ बमोजिम खतिवडालाई उपकुलपतिमा नियुक्त गरिएको हो ।

    नाट्य विद्यामा विद्यावारिधि गर्नुभएका खतिवडा लामो समयदेखि संस्कृत साहित्य, अध्यापन र अनुसन्धानमा सक्रिय रहँदै आउनुभएको छ । उहाँ यसअघि विश्वविद्यालयको निमित्त उपकुलपति तथा शिक्षाध्यक्षको जिम्मेवारीसमेत सम्हालिसक्नुभएको छ ।

    झापामा जन्मिएका खतिवडाले सुनसरीको धरानलाई कर्मथलो बनाउँदै पिण्डेश्वर विद्यापीठ तथा नेपाल संस्कृत विश्वविद्यालयको शैक्षिक विकासमा योगदान पु¥याउनुभएको छ । संस्कृत साहित्यमा स्वर्णपदक प्राप्त उहाँले नेपाली विद्वान्हरूद्वारा लिखित संस्कृत कृतिमाथि अनुसन्धान गर्दै ‘दुःखान्त नाटकको दुःखान्तता सिद्धि’ विषयमा विद्यावारिधि गर्नुभएको हो । शपथपछि खतिवडाले विश्वविद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, संस्थागत सम्पदाको संरक्षण तथा व्यवस्थापन, साथै कला, साहित्य, संस्कृति र धर्मसम्बन्धी अध्ययन–अनुसन्धानलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    नेपाल संस्कृत विश्वविद्यालय मुलुकको दोस्रो पुरानो विश्वविद्यालयका रूपमा परिचित छ । विश्वविद्यालयमा संस्कृत भाषा, साहित्य, दर्शन, संस्कृति तथा धर्मसम्बन्धी विषयमा स्नातकदेखि विद्यावारिधिसम्म अध्ययन–अध्यापन र अनुसन्धान हुँदै आएको छ ।

  • मगर संघ अमेरिकाको १०औं बार्षिक साधारण सभा बोस्टनमा, अमेरिकी मगरहरुको बृहत झमघट

    मगर संघ अमेरिकाको १०औं बार्षिक साधारण सभा बोस्टनमा, अमेरिकी मगरहरुको बृहत झमघट

    ६ साउन, काठमाडौं । “अमेरिकाको मूल प्रवाहमा मगरहरुको उपस्थिति र सहभागिता
    उदाँउदो मगर पुस्तालाई मगर भाषा , संस्कार , संस्कृति पुस्तान्तरण आजको आवश्यकता ’’ भन्ने मूल नाराको साथ मगर संघ अमेरिका केन्द्रीय समितिको १०औं बार्षिक साधारण सभा अगस्ट ०८, २०२६ मा म्यासाचुसेट्स राज्यको बोस्टन शहरमा हुने भएको छ ।साधरण सभाको अन्तिम तयारीमा रहेको अध्यक्ष दिप सागर बुढा मगरले बताउनु भयो ।

    मगर संघ अमेरिका केन्द्रीय समितिको आयोजना र मगर संघ अमेरिका म्यासाचुसेट्स च्याप्टरको मुख्य ब्यबस्थापनमा हुन लागेको साधारण सभामा प्रमुख अतिथिको रुपमा बिश्वप्रसिद्व पर्वतारोही तथा प्रेरक बक्ता (Motivational Speaker) हरि बुढा मगर बेलायतबाट आउने भएका छन । अफगानिस्तानको युद्वभूमिमा भएको बिस्फोटनमा दुवै खुट्टा गुमाएका बुढा मगर कृत्रिम खुट्टा (प्रोस्थेटिक) को सहायताले विश्वका सातै महाद्वीपका अग्ला हिमाल आरोहण पूरा गर्ने पहिलो ‘डबल एभब नी’ (दुवै खुट्टा घुँडा माथिबाट काटिएको अवस्था) आरोहीका रूपमा कीर्तिमान कायम गरेका व्यक्ति हुन् । रोल्पाको विकट गाउँदेखि ब्रिटिस गोर्खा सैनिक बन्ने सपना, त्यसपछि युद्वमा भोगेको चोट, अनि अन्ततः सातै महादेशका सर्वोच्च शिखरमा पुगेर संसारलाई देखाइएको साहस—हरिको जीवन कथा भावी पुस्ता, विशेषगरी अपांगता भएकाहरूका लागि थप प्रेरणा दिने एउटा जीवित पाठशाला हो ।

    नेपाल आदिवासी जनजाति अन्तर्राष्ट्रिय महासंघका अध्यक्ष मान बहादुर राना मगर अलबानीबाट आदिवासी समुदायको अधिकार र अन्तर्राष्ट्रिय महासंघका सवाल बारे बिशेष सम्बोधन गर्न , अन्तर्राष्ट्रिय मगर महासंघका महासचिब बिरभान घर्ति मगर बेल्जियमबाट अन्तर्राष्ट्रिय मगर महासंघको आवश्यकता र महत्व बारे प्रकाश पार्न र त्रिभुवन विश्वविधालयका प्रोफेसर झकेन्द्र घर्ति मगर नेपालबाट “मगरात सभ्यता, मगर जातिको इतिहास र पहिचान” बारे कार्यपत्र प्रस्तुत गर्न र कार्यक्रमको सफलताको शुभकामना दिन विशिष्ट अतिथिको रुपमा आउदै हुनुहुन्छ । मगर संघ अमेरिका केन्द्रीय समितिका पुर्व अध्यक्ष महेन्द्र थापा मगर, रुद्र आले मगर, कुलदिप राना मगर र निवर्तमान अध्यक्ष याम पुन मगरको बिशेष उपस्थिति रहनेछ ।

    संस्थाको इतिहासमै पहिलो पटक बोस्टन शहरबाट “बोस्टन घोषणा पत्र २०२६” पारित हुने र मगर संघ अमेरिका, अमेरिका भर फैलिएको, अमेरिका भर रहेका मगरहरुको एकताको सन्देश दिने अध्यक्ष दिप सागर बुढा मगरले बताउनु भयो । अध्यक्ष बुढा मगरको अनुसार कार्यक्रमलाई “मगर सांस्कृतिक परेड (Magar Cultural Parade) 2026” , “समुदघाटन समारोह” , “बन्द सत्र” र “शुभकामना सांस्कृतिक साँझ 2026” गरि चार चरणमा बिभाजन गरिएको छ । करिब दुई माइलको लामो मगर सांस्कृतिकझाँकी सहितको “मगर सांस्कृतिक परेड (Magar Cultural Parade) 2026” पदयात्रा गरिनेछ । प्रमुख अतिथि बुढा मगरलाई बिशेष अभिनन्दन गरिने छ र बिबिध विधामा संस्थाका धरोहरहरुलाई सम्मान गरिनेछ । “मगर छात्रवृति २०२६” अमेरिकामा अध्यनरत १० जना उतकृष्ट बिधार्थीहरुलाई प्रदान गरिनेछ । संस्थाका नयाँ आजिवन सदस्यहरुलाई सदस्यता प्रदान गरिनेछ। बन्द सत्रको समापन पछि “शुभकामान सांस्कृतिक साँझ 2026” मा चर्चित कलाकारहरुको साथमा बिभिन्न च्याप्टरहरुको बेजोड सांगेतिक प्रस्तुति रहनेछ ।

    यसैगरी सभाको मुख्य व्यवस्थापनको हैसियतले म्यसचुसेट्स च्याप्टरले बिभिन्न उप-समितिहरु गठन गरेर कार्यक्रमलाई चुस्त बनाउन लागि परेको म्यसचुसेट्स च्याप्टरका अध्यक्ष देबराज पुन मगरले बताउनु भयो ।
    अमेरिका भर छरिएर रहेका नेपाली र नेपाली मुलका सम्पुर्ण मगरहरुलाई मगर संघ अमेरिकको एउटै छातामुनी गोल्बद्व गरेर आपसी भेटघाट सहयोग आदानप्रदान लगायत बिबिधतामा एकता रहेका हामी मगरहरुको भाषा, भेष, संस्कार संस्कृति र रितिरिवाज तथा परम्पराहरुलाई अमेरिकामा संरक्षण र सम्बर्द्वन गर्दै अमेरिका मै रहेका अन्य नेपाली समुदायहरु संग समन्वय र सहकार्य गर्ने उद्देश्यका साथ मगर संघ अमेरिकाको स्थापना सन २००४ मार्च २८ को दिन न्युयोर्कमा गरिएको हो ।

  • कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान

    कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान


    काठमाडौँ, ६ साउन : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश साथै कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने मधेस र कोशी प्रदेशका तराई भूभागमा आंशिक बादल लागेको छ ।

    बागमती र गण्डकी प्रदेशका केही स्थानमा कोशी, लुम्बिनी र कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।

    देशका पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका तराईका केही स्थान र मधेश प्रदेश तथा सुदूरपश्चिमको तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

    बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । त्यसैगरी आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।

    कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका केही स्थान मधेस तथा कर्णाली पहाडी भूभागका र सुदुरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनुहुन र विभागको पछिल्लो सूचनामा अद्यावधिक रहन महाशाखाको अनुरोध छ ।

  • पछिल्लो २४ घण्टामा ६६ वटा विपद्मा घटना

    पछिल्लो २४ घण्टामा ६६ वटा विपद्मा घटना

    काठमाडौँ, ६ साउनः पछिल्लो २४ घण्टामा देशभर विपदका ६६ वटा घटना घटेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपद्का कारण ५२ जिल्ला प्रभावित भएका छन् । सोमबार बिहानदेखि मङ्गलबार बिहानसम्मको विवरणअनुसार विपद्मा परेर दुई जनाको ज्यान गएको छ भने १३ जना घाइते भएका छन् । प्राधिकरणको तथ्याङ्कअनुसार, सर्पदंश आठ, आगलागी सात, बाढी छ, पहिरो १७, अविरल बर्षा १०, चट्याङ र जनावर आक्रमणका एक/एक र भूकम्पका दुई वटा घटना भएका छन् ।

    विपद्का कारण रु १० लाख ७४ हजार ५०० बराबरको क्षति भएको छ । सात स्थानमा सडक अवरोध भएको थियो । वर्षाको मौसममा देशका विभिन्न स्थानमा बाढी पहिरोको जोखिम हुने भएकाले यात्रा गर्दा सावधानी अपनाउन प्राधिकरणले आग्रह गरेको छ ।

    बाढी पहिरो जान सक्ने जोखिमयुक्त स्थानमा नजान, मौसमसम्बन्धी जानकारी लिएर मात्र यात्रा गर्न प्राधिकरणले सबैलाई ध्यानाकर्षण गराएको छ ।

  • लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ

    लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ


    काठमाडौँ, ६ साउनः नेपाल प्रहरीले लागूऔषधसहित देशका विभिन्न स्थानबाट १७ जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीका अनुसार काठमाडौँ, मकवानपुर, बारा, धनकुटा, कैलाली र रूपन्देहीबाट खैरो हेरोइन, ब्राउन सुगर, गाँजा, नाइट्राजेपाम र ट्रामाडोलसहित उनीहरूलाई पक्राउ गरिएको हो । काठमाडौँ महानगरपालिकाबाट खैरो हेरोइनसहित पाँच जना, चन्द्रागिरि–२ नागढुङ्गाबाट नाइट्राजेपामसहित दुई जना, बाराबाट गाँजासहित एक जना, मकवानपुरबाट ब्राउन सुगरसहित पाँच जना र धनकुटाबाट ट्रामाडोलसहित एक जना पक्राउ परेका छन् ।

    यस्तै, कैलालीबाट खैरो हेरोइनसहित चार जना तथा रूपन्देहीबाट खैरो हेरोइनसहित एक जना पक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूको आवश्यक अनुसन्धान भइरहेको प्रहरीले उल्लेख गरेको छ ।

  • ऊर्जा र जलस्रोतको विकासका लागि तीन तहका सरकारबीच समन्वय बढाइने

    ऊर्जा र जलस्रोतको विकासका लागि तीन तहका सरकारबीच समन्वय बढाइने

    काठमाडौँ, ६ साउनः ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रको विकासका लागि नीतिगत सामञ्जस्यता कायम गर्दै अगाडि बढ्ने विषयमा बृहत्तर छलफल भएको छ । त्यसका लागि तीन तहका सरकारबीच समन्वय सुदृढ गर्ने विषयमा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको विषयगत समितिको बैठकमा महत्वपूर्ण छलफल भएको हो ।

    ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री तथा विषयगत समितिका अध्यक्ष विराज भक्त श्रेष्ठको अध्यक्षतामा मङ्गलबार बसेको बैठकमा सङ्घीयताको मर्मअनुसार ऊर्जा, जलस्रोत, सिँचाइ तथा खानेपानी क्षेत्रको विकासका लागि नीतिगत सामञ्जस्यता कायम गर्दै आपसी समन्वय कायम गर्ने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

    बैठकमा लुम्बिनी प्रदेशका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री डिल्लीराज भुसाल, बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री कृष्णकुमार तामाङ, कोशी प्रदेशका खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री तिलचन पाठक तथा धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाल सहभागी हुनुहुन्थ्यो ।

    बैठकमा जल तथा ऊर्जा आयोग सचिवालयका सचिव सरजुकुमार वैद्य, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सरिता दवाडी, मन्त्रालयका सहसचिवहरू, विभिन्न प्रदेशका मन्त्रालयका सचिव, विद्युत् विकास विभाग तथा जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक र नेपाल विद्युत् प्राधिकरणका कामु कार्यकारी निर्देशकलगायतको सहभागिता थियो ।

    बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक, २०८३ सम्बन्धमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले कार्यपत्रसहित प्रस्तुति गर्नुभएको थियो । यस्तै, जलस्रोत विधेयक सम्बन्धमा मन्त्रालयका सहसचिव सुशीलचन्द्र आचार्यले आफ्नो प्रस्तुति प्रस्तुत गर्नुभएको थियो ।

    बैठकमा जलस्रोत र ऊर्जाको क्षेत्रमा अवसरको न्यायोचित बाँडफाँड गर्दै सङ्घ प्रदेश र स्थानीय तहबीच समन्वय थप सुदृढ बनाउने, जलस्रोतको सदुपयोगलाई प्रोत्साहन गर्ने विषयमा छलफल भएको थियो । यस्तै, जलस्रोतको दुरुपयोगलाई निरुत्साहित गर्ने निर्णय बैठकले गरेको छ ।

    जलस्रोतलाई केवल वस्तुका रूपमा नभई बहुआयामिक महत्वका स्रोतका रूपमा उपयोग गर्नुपर्नेमा पनि जोड दिइएको थियो । त्यसैगरी, जल तथा ऊर्जा आयोगलाई संस्थागत स्मरणलाई थप विकास गर्दै ज्ञान केन्द्र (नलेज सेन्टर) का रूपमा विकास गर्ने, खडेरी, भूमिगत जलस्रोतको अत्यधिक दोहन तथा पानीको पुनर्भरण अभावलाई ध्यानमा राखी ‘वाटर अडिट’ गर्ने विषयमा पनि साझा धारणा बनेको छ ।

    बैठकले जलस्रोत नियमनलाई थप प्रभावकारी बनाउन आवश्यक कानुनी तथा नीतिगत सुधार गर्ने, अर्थ मन्त्रालयको सहमतिमा ‘रिभर बेसिन मास्टरप्लान’ कार्यान्वयन अघि बढाउने तथा सञ्चार र समन्वयलाई केन्द्रीकृत राख्दै अधिकारलाई पूर्ण रूपमा विकेन्द्रीकरण गर्ने नीति अवलम्बन गर्ने निर्णय गरेको छ । यस्तै, जलस्रोत र सिँचाइ क्षेत्रमा परम्परागत तथा आदिवासी ज्ञान, सीप र आधुनिक वैज्ञानिक प्रविधिलाई समायोजन गर्दै जनचेतनामूलक कार्यक्रमलाई सरकारी नीति तथा कार्यक्रममा निरन्तर समावेश गरिने उल्लेख छ ।

    बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयकले ऊर्जा मिश्रण, विद्युत् चुहावट नियन्त्रण तथा सामाजिक न्याय प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको थियो । बैठकका सहभागीहरूले सङ्घ, प्रदेश र स्थानीय तहबीच सहकार्य, सहअस्तित्व र समन्वयका आधारमा ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रको एकीकृत विकास अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।