Category: फिचर

  • गहुँ, चिनीजस्ता वस्तुको नेपाल निर्यातमा रोक नलगाएको भारतको स्पष्टीकरण

    गहुँ, चिनीजस्ता वस्तुको नेपाल निर्यातमा रोक नलगाएको भारतको स्पष्टीकरण

    काठमाडौं । भारतले गहुँ, चिनी लगायत केही वस्तुहरूमा लगाएको निर्यात प्रतिबन्ध नेपालको हकमा लागू नहुने स्पष्ट पारेको छ । नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिसँगको भेटवार्ताका क्रममा नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले यस्तो जानकारी गराएका हुन् । महासंघ सचिवालयमा भएको औपचारिक भेटवार्तामा राजदूत श्रीवास्तवले नेपालको पनि आर्थिक विकास हुनुुपर्ने पक्षमा भारत रहेको बताए । भेटवार्तामा महासंघका अध्यक्ष शेखर गोल्छाले अत्यावश्यक वस्तुुहरूको निर्यातमा भारतले लगाएको प्रतिबन्धले नेपालका उद्योगहरूलाई समस्या उत्पन्न हुन थालेको बताएका थिए ।

    तर राजदूत श्रीवास्तवले प्रतिबन्ध नेपाललाई नहुने बताउँदै दुवै देश ज्वाइन्ट भेन्चर जसरी नै काम गर्न चाहेको बताएका थिए । गोल्छाले नेपालमा लगानी विस्तार, व्यापारिक नाकाहरूको पूर्वधार विकास, प्रयोगशालाहरूको स्तरीकरण तथा थप ल्याबहरूको विस्तार, गैर भन्सार अवरोधहरूका विषयलाई बैठकमा मुख्य रूपमा उठाएका थिए । त्यस्तै भारतसँगको व्यापार घाटा नेपालका लागि चिन्ताको विषय भएकाले यसलाई कम गर्ने कार्यमा भारतीय सहयोग अपरिहार्य रहेको बताए । लामो समयदेखि मिरगन्ज पुल बन्न नसकेकोतर्फ ध्यानाकर्षण गराउँदै उनले निर्माणका लागि आग्रह गरे ।

    नेपालमा भारतीय संयूक्त लगानी विस्तार, मुख्य नाकासम्म रेलमार्गको विस्तार, प्रयोगशालाको अभावमा कृषिजन्य उत्पादनहरूको निर्यातमा हुने गरेको ढिलाइलाई भारत सरकारले सम्बोधन गर्नुपर्ने सुझाव दिइएको छ । गैर भन्सार अवरोधका कारण मुख्यतया कृषिजन्य उत्पादन र जडिबुटी निर्यातमा समस्या देखिएको छ । ‘सडक, रेल, हवाई र डिजिटल कनेक्टिभिटिमा देखापरेका समस्याहरूको समाधान गर्दै नेपालको अर्थतन्त्रलाई मजबुत बनाउन भारत सरकार तयार छु सो क्रममा राजदूत श्रीवास्तवले भने, ‘भारत सरकारले रक्सौलमा अन्तर्राष्ट्रियस्तको ल्याब स्थापना गरेको छ, काठमाडौंमा रहेको ल्याबलाई भारतमा एक महिनाभित्रै मान्यता दिने गरी काम भैरहेको छ ।’

    अर्को ल्याब उपयुक्त स्थानमा बनाउन आफूले नेपालका वाणिज्य मन्त्रीसमक्ष अनुुरोध गरेको पनि उनले बताए । महासंघका उपाध्यक्षहरू दिनेश श्रेष्ठ, रामचन्द्र संघई, कार्यकारिणी समितिका सदस्यहरू, विभिन्न संघका अध्यक्षहरू, महासंघका महानिर्देशक समेतको भेटवार्तामा उपस्थिति थियो ।

  • प्रचण्ड शुक्रबार भारत भ्रमणमा जाने

    प्रचण्ड शुक्रबार भारत भ्रमणमा जाने

    काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार भारत भ्रमणमा जाने भएका छन्। माओवादी स्रोतलाई उदृत गर्दै सञ्चारमाध्यमले जनाए अनुसार उनी नयाँदिल्लीमा उच्चस्तरीय राजनीतिक भेटवार्ताका लागि जान लागेका हुन् । भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष जेपी नड्डाले उनर्ला औपचारिक निमन्त्रणा गरेका छन् ।

    त्यहाँ हुने भेटघाट र केही कार्यक्रमका लागि परराष्ट्र मन्त्रालय र काठमाडौंस्थित भारतीय दूतावासले समन्वय गरिरहेको समेत खबर छ । प्रचण्ड दुई दिने भ्रमणका लागि भारत जान लागेका हुन् । प्रचण्डले भारतीय राजदूत नवीन श्रीवास्तवमार्फत भारत भ्रमणको निम्तो पाएका थिए । भ्रमणबारे सरकार र पार्टीले भने कुनै विषय सार्वजनिक गरेको छैन । प्रधानमन्त्री देउवाकी पत्नी आरजु राणा अहिले नयाँदिल्लीमै छिन् ।

  • श्रीलङ्काबाट भागेका राष्ट्रपति राजपक्ष कहाँ जालान्, सिंगापुर वा दुबई

    श्रीलङ्काबाट भागेका राष्ट्रपति राजपक्ष कहाँ जालान्, सिंगापुर वा दुबई

    कोलम्बो । श्रीलङ्काका राष्ट्रपति गोटाबय राजपक्ष अहिले माल्दिभ्समा छन् । तर, उनी त्यहाँबाट समेत तेस्रो मुलुक जाने तयारीमा रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । आर्थिक सङ्कटलाई लिएर भइरहेको व्यापक प्रदर्शनका बीच उनी भागेर माल्दिभ्स पुगेका हुन् । त्यहाँबाट उनी सिङ्गापुर वा दुबई जाने तयारीमा रहेको बताइएको छ । स्थानीय समय अनुसार बुधवार बिहान तीन बजे उनी माल्दिभ्सको राजधानी माले पुगेका थिए । राजापक्ष श्रीमती र दुईजना अङ्गरक्षकलाई आफूसँगै लिएर एउटा सैन्य जहाजमा माल्दिभ्स पुगेको समाचार संस्था एएफपीले लेखेको छ ।

    राष्ट्रपति हुँदा अभियोगहरूबाट उन्मुक्ति पाएका राजापक्ष नयाँ सरकार बनेपछि हुनसक्ने गिरफ्तारीबाट बच्न माल्दिभ्स भागेको अनुमान गरिएको बीबीसीको भनाई छ । उनले देश छाडेपछि प्रधानमन्त्री रनिल विक्रमसिङ्घ देशको कार्यवाहक राष्ट्रपति नियुक्त भएको संसद्का सभामुखले बताएका छन्। गत शनिवार प्रदर्शनकारीले उनको कार्यालय र घर कब्जा गरेपछि राजापक्ष लुकेर बसेका थिए। उनले बुधवारै राजीनामा दिने प्रतिबद्धता जनाएका थिए।

    यद्यपि हालसम्म उनको राजीनामा आइसकेको छैन। यसअघि सभामुखले राजापक्षले आफ्नो राजीनामापत्र आज हस्तान्तरण गर्ने योजना बनाएको बताएका थिए। उनको राजीनामाले विगत दुई दशकदेखि श्रीलङ्काको राजनीतिमा प्रभुत्व जमाउँदै आएको राजपक्ष परिवारको शासनको अन्त्य हुनेछ। उनका भाइ पूर्व अर्थमन्त्री बसिल राजापक्ष पनि श्रीलङ्काबाट भागेका छन्।

  • आज उपसभामुखको मनोनयन दर्ता

    आज उपसभामुखको मनोनयन दर्ता

    काठमाडौं । आगामी शुक्रबार हुने प्रतिनिधि सभाको उपसभामुखको निर्वाचनका क्रममा आज मनोनयन दर्ताको कार्यसूची रहेको छ । बुधबार सार्वजनिक कार्यसूची अनुसार आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्मका लागि मनोनयनको समय तोकिएको छ ।

    मनोनयनपश्चात आजै दिउँसो साढे १ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यसूची रहेको छ । मतदान शुक्रबार दिउँसो ३ बजेदेखि सुरु हुनेछ । तत्कालीन उपसभामुख शिवमाया तुमबाहाम्फेले राजीनामा दिएपछि करिब तीन वर्षदेखि यो पद रिक्त छ ।

  • काठमाडौंमा घर भित्रै पसेर चितुवाको आक्रमण, ५ जना घाइते

    काठमाडौंमा घर भित्रै पसेर चितुवाको आक्रमण, ५ जना घाइते

    काठमाडौं । काठमाडौंमा घर भित्रै पसेर चितुवाले मानिसमाथि आक्रमण गरेको छ । प्रहरीका अनुसार घटनामा पाँच जना घाइते भएका छन् । बुधबार राति साढे एक बजे नागार्जुन नगरपालिका ८ भीमढुङ्गामा घरमा पसेर चितुवाले आक्रमण गरेको हो ।

    भीमढुङ्गास्थित हर्सनखोलामा ४९ वर्षीय पन्चकुमार भट्टराईको घरमा चितुवाले आक्रमण गरेको थियो । चितुवाको आक्रमणबाट उनको परिवारका पाँच जना घाइते भएक हुन् । घाइतेहरूको मनमोहन अस्पतालमा उपचार जारी छ । चितुवाको आक्रमण गर्दा विभिन्न भागमा चिथोरेको थियो ।

  • जहाजमा चुरोट सल्काउने व्यक्ति प्रहरीको फन्दामा

    जहाजमा चुरोट सल्काउने व्यक्ति प्रहरीको फन्दामा

    काठमाडौं । काठमाडौंबाट धनगढी उडेको बुद्ध एयरको जहाजमा चुरोट तान्ने एक यात्रुलाई प्रहरीले पक्राउ गरेको छ । बुद्ध एयरका अनुसार उडान नं २५३ बाट बुधबार दिउँसो धनगढी उडेको जहाजको सीट नं ‘११ ए’मा बसेका एक यात्रुले शौचालय छिरेर चुरोट सल्याएका थिए । त्यसपछि धुँवा उडेपछि यात्रु आत्तिएका थिए ।

    त्यसपछि उनलाई उडानमा खटिएका कर्मचारीले उडान अवधिभर निगरानीमा राखेको कम्पनीको भनाई छ । धनगढी अवतरण भइसकेपछि उनलाई धनगढी प्रहरीको जिम्मा लगाइएको छ । जहाजमा सलाई, लाइटरसहितका प्रज्वलनशील वस्तु साथमा लैजान निषेध छ । चुरोट तान्न निषेध छ ।

  • बलियो स्कटल्याण्डमाथि नेपालको रवाफिलो जित

    बलियो स्कटल्याण्डमाथि नेपालको रवाफिलो जित

    काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु क्रिकेटमा नेपालले घरेलु टोली स्कटल्याण्डमाथि रवाफिलो जित निकालेको छ । ग्लास्कोमा १४५ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको नेपालले २५.१ ओभरमा ५ विकेट गुमाएर भेट्टाउन सफल भयो । स्कटल्याण्ड नेपाल भन्दा बलियो टीम हो । यसअघि लिस्ट ए क्रिकेटमा समेत नेपालले यो टीमलाई हराउन सकेको थिएन । एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा स्कटल्याण्डमाथि यो नेपालको पहिलो कीर्तिमानी जित हो ।

    बलरहरुको उत्कृष्ट प्रदर्शन र आसिफ शेखको ब्याटिङले नेपालको जितको आधार बन्यो । शेखले उत्कृष्ट ब्याटिङ गर्दै ७१ रन बनाए । आसिफले पहिलो विकेटका लागि कुशल भुर्तेलसँग ४७ रनको साझेदारी गरे । यस्तै दोस्रो विकेटका लागि देव खनालसँग ३० तथा तेस्रो विकेटका लागि रोहित पौडेलसँग ४८ रनको साझेदारी गरे । कुशल भुर्तेलले २७ बलमा २७ रन बनाए । देव खनाल ४ रनमा आउट भए ।

    उपकप्तान रोहित पौडेलले अविजित ३४ रन जोडे । उनले ३१ बल खेल्दै चार चौका प्रहार गरे । स्कटल्याण्डका गेभिन मेइनले ३ विकेट लिए । यसअघि सोमपाल कामी र आदिल आलामले उत्कृष्ट बलिङ गरेपछि नेपालले स्कटल्याण्डलाई १४४ रनमा अलआउट गरेको थियो ।

  • भृकुटीमण्डपमा आगलागी, वर्षाका कारण धेरै क्षति हुनबाट बच्यो

    भृकुटीमण्डपमा आगलागी, वर्षाका कारण धेरै क्षति हुनबाट बच्यो

    काठमाडौं । भृकुटीमण्डपमा लागेको आगो झन्डै साढे दुई घण्टापछि नियन्त्रणमा आएको छ । काठमाण्डौ, भक्तपुर र ललितपुर लगायतका विभिन्न ठाउँका दमकल, पानी ट्याङ्कर, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा आगो निभाइएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ । साथै सोही समयमा काठमाडौंमा परेको ठूलो वर्षाले समेत आगो निभाउन सहयोग गरेको थियो ।

    भृकुटीमण्डपको बजारसँगै रहेको ह्वीलचेअरको गोदाममा आगो लागेको हो । आगलागीबाट गोदाममा रहेका सामान जलेर नष्ट भएका छन् । आगलागी भएको ठाउँमा गएर महानगरपालिकाका मेयर बालेन्द्र शाहले पनि अवलोकन गरेका छन् । आगलागीबाट मानवीय क्षति भएको छैन । अरु क्षतिको पूर्ण विवरण भने आइसकेको छैन ।

  • मानवरहित उडानमा नयाँ रेकर्ड

    मानवरहित उडानमा नयाँ रेकर्ड

    काठमाडौं । एउटा विमान निर्माण कम्पनी एअर बसले सबैभन्दा लामो समयसम्म मानवरहित विमान उडाएर नयाँ रेकर्ड कायम गरेको उडान अनुगमन विवरणहरूले देखाएका छन्। सौर्य ऊर्जाबाट सञ्चालन हुने एअर बसको जेफर एसु नामको मानवरहित विमानले लगातार २६ दिनसम्म उडान गरेर आफ्नै सन् २०१८ को रेकर्ड भङ्ग गरेको हो।

    व्यावसायिक विमानहरूलाई अवरोध नपुर्याउन र प्रतिकूल मौसमबाट जोगिन मानवरहित यो विमानले वायुमण्डलको उच्च भागमा उडान गरेको थियो। रातभर हावामा तैरिनका लागि आवश्यक उर्जाका निम्ति यो विमानमा ब्याटरीको प्रयोग गरिएको छ। जसकारण यसलाई इन्धन भर्न रोकिइराख्नु पर्दैन। उडान सम्बन्धी विवरणहरूमा यो विमान अमेरिकाको एरिजोनास्थित परीक्षण क्षेत्रबाट मध्य अमेरिकाको बेलिजसम्म पुगेको र पुनः फर्किएको देखिन्छ।

    बीबीसीले राखेको जिज्ञासामा एअर बसले उडानबारे कुनै प्रतिक्रिया नदिने जवाफ दिएको छ। अमेरिकी सेनाको एउटा इकाई आर्मी फ्युचर्स कमान्डुले द ड्राइभुसँग कुरा गर्दै पछिल्लो उडान विमानको ऊर्जा सञ्चय क्षमता, ब्याटरीको टिकाउपना, सौर्य पाताको प्रभावकारिता र स्टेसन कायम गर्ने क्षमता परीक्षणका लागि गरिएको जनाएको छ। एरोस्पेस म्यागेजिनका प्रधान सम्पादक टिम रोबिन्सनले बीबीसीसँग कुरा गर्दै विमानले पार गरेको दुरी एउटा महत्त्वपूर्ण कोसे ढुङ्गा भएको बताएका छन्।

    यसले अघिल्लो रेकर्ड राखेको सन् २०१८ मा भन्दा यो पटक बढी उडान गरेको उनले जानकारी दिए । उनका अनुसार सैन्य प्रयोग वा प्रकोप सहायता जस्ता कार्यमा यस्तो विमानको व्यवहारिक प्रयोगका बारेमा परीक्षण उडानले ढोका खोल्ने काम गरेको छ। यो विमानले भू-उपग्रह जसरी नै तस्बिरहरू पठाउन सक्छ।

    तर यो पृथ्वीको कक्षमा परिक्रमा गर्ने नभई एक ठाउँमा रहेर निरन्तर जानकारी पठाउन काम लाग्न सक्छ। एक पटक प्रक्षेपण गरेपछि पृथ्वीमा फर्काउन नमिल्ने भू-उपग्रह भन्दा यो विमानमा केही सबल पक्षहरू पनि छन्। त्यो भनेको यो पुनः पृथ्वीमा अवतरण गर्न सक्छ। ‘यो पुनः फर्केर हामी भएको ठाउँमा आउन सक्छ। यसको सेन्सरहरूको र यसमा भएका प्रविधिहरूको पनि स्तरोन्नति गर्न सकिन्छ,’ रोबिन्सन भन्छन्।

    यो उडानको रेकर्ड सबैभन्दा पछिल्लो सौर्य ऊर्जाबाट सञ्चालन हुने विमानबाट राखिएको हो। विमानको परिकल्पना र निर्माण यूकेमा गरिएको हो। जेफर नामको यो विमान क्रिस केलेहरले आविष्कार गरेका हुन्। तर उनको सन् २०१५ मै मृत्यु भइसक्यो।
    बीबीसी

  • दुई आवमा कोरोना नियन्त्रणमा ३२ अर्ब ६२ करोड खर्च

    दुई आवमा कोरोना नियन्त्रणमा ३२ अर्ब ६२ करोड खर्च

    काठमाडौं । कोरोना भाइरसको महामारी नियन्त्रण गर्न दुई आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ मा ३२ अर्ब ६२ करोड रुपैयाँ खर्च भएको छ । महालेखा परीक्षकको ५९औं प्रतिवेदन अनुसार दुई आर्थिक वर्षमा सरकारले यो रकम खर्च गरेको हो । यो रकम संघीय सरकारदेखि स्थानीय तहबाट समेत भएको खर्चको एकमुष्ट हिसाव हो । निजामती प्रशासन, सुरक्षा निकाय र अन्य निकायबाट यस्तो खर्च भएको महालेखाले जनाएको छ ।

    स्वास्थ्य सामग्री, औषधि उपकरण, संक्रमित व्यक्तिको व्यवस्थापन, क्वारेन्टिन तथा आइसोलेसन केन्द्र निर्माण, राहत सामग्री, जोखिम भत्ता लगायतमा सो रकम खर्च भएको पाइएको छ । कोरोना महामारीका दौरान सरकारले ३ अर्ब रुपैयाँ बराबरको आयकर छुट दिएको पाइएको छ । यस्तो छुट कुल ५ लाख १२ हजार जना करदाताले लिएका छन् ।


    आर्थिक वर्ष २०७७\७८ मा मात्र २ अर्ब ८९ करोड २९ लाख रुपैयाँ बराबरको आयकरमा छुट पाएको प्रतिवेदनमा उल्लेख छ । सरकारले सो वर्ष वार्षिक २ लाखसम्म आय हुनेलाई ९० प्रतिशत, २० लाख देखि ५० लाख रुपैयाँसम्म कारोबार गर्नेलाई ७५ प्रतिशत र वार्षिक १ करोडसम्म कारोबार गर्नेलाई ५० प्रतिशत आयकर छुट दिएको थियो ।

    यसै आवमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सिफारिसमा ४० अर्ब ८१ करोड ८२ लाख रुपैयाँ बराबरको स्वास्थ्य उपकरण आयातमा राजस्व छूट दिइएको छ । तर, यसरी दिइएको भन्सार छुटबाट उपभोक्ताले लाभ पाए वा पाएनन् भन्ने अध्ययन भने नभएको महालेखाले उल्लेख गरेको छ ।

  • सरकारको बेरुजु चार खर्ब ८३ अर्ब ६० करोड पुग्यो

    सरकारको बेरुजु चार खर्ब ८३ अर्ब ६० करोड पुग्यो

    काठमाडौं । सरकारको बेरुजु चार खर्ब ८३ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । महालेखा परीक्षकको कार्यालयले ५९ औं वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो । महालेखाले यो वर्ष संघीय, प्रदेश सरकारी निकाय र स्थानीय तह, संगठित संस्था, समिति र अन्य संस्थाहरू समेतको ७५ खर्ब ३३ अर्ब ९ करोडको लेखा परीक्षण सम्पन्न गरी प्रतिवेदन सार्वजनिक गरेको हो।

    संघ, प्रदेश र स्थानीय तह समेतको लेखा परीक्षणबाट एकै वर्षमा एक खर्ब १५ अर्ब पाँच करोड बेरुजु कायम भएको प्रतिवेदनले औंल्याएको छ। गत वर्षसम्मको बाँकी बेरुजु ४ खर्ब १८ अर्ब ८५ करोड थियो। यसमा समायोजन तथा फर्स्यौट गरिएको अंक घटाई यो वर्ष थप भएको बेरुजु जोड्दा कुल बेरुजु चार खर्ब ८३ अर्ब ६० करोड पुगेको हो।

  • शेयर बजारमा हरियालीः ५९.५४ अंकले बढ्यो, दुई अर्ब बढीको कारोबार

    शेयर बजारमा हरियालीः ५९.५४ अंकले बढ्यो, दुई अर्ब बढीको कारोबार

    काठमाडौं । शेयर बजारमा उछाल आएको छ । कारोबार शुरु भएदेखि नै उकालो लागेको शेयर बजार मापक सूचक (नेप्से) ५९.५४अंकले बढेर १९८६.८२ विन्दुमा पुगेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २२५ कम्पनीको २ अर्ब ४ करोड ४४ लाख ४३ हजार ७ रुपैयाँ बराबरको ५७ लाख ८७ हजार १२६ कित्ता शेयर किनबेच भएका छन् । अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ ।

    मंगलवार १ अर्ब ७० करोड ७७ लाख ५२ हजार ९७७ रुपैयाँ बराबरको कारोबार भएको थियो । आज कारोबारमा आएका १३ उपसमूहहरू हरियो भएको छ ।

    फाइनान्स समूह सबैभन्दा धेरै ६.९८ प्रतिशतले बढेको छ । त्यस्तै, विकास बैंक समूहको परिसूचक पनि ६ प्रतिशतभन्दा धेरैले बढेको छ ।

    आउच्च अंकले बढेको बजारमा आज ४ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

    रिलायन्स फाइनान्स र नेपाल फाइनान्सको शेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ भने सीईडीबी हाइड्रोपावर र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

    त्यसैगरी, सिटिजन्स म्युचुअल फण्ड २, नबिल ब्यालेन्स फण्ड २, कुमारी इक्वीटी फण्ड, ग्रीन डेभलपमेन्ट बैंक, माउन्टेन हाइड्रो, ग्रीन लाइफ हाइड्रोपावर र लक्ष्मी लघुवित्तका शेयरधनीले ९ प्रतिशतभन्दा धेरै कमाएका छन् ।

    त्यस्तै, गुडविल फाइनान्स, समृद्धि फाइनान्स, नारायणी विकास बैंक, हिमालयन पावर, सिभिल बैंक लगायत १ दर्जन कम्पनीको शेयर मूल्य ८ प्रतिशतभन्दा धेरैले बढेको छ ।

    आज शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको ९ करोड रुपैयाँ बढीको शेयर किनबेच भएको छ । त्यस्तै, एनआइसी एशिया बैंक ८ करोड र नेपाल बैंक साढे ७ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

    राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी विवादमा तानिएका छन्। बुधबारको संसद बैठकमा गभर्नर अधिकारीमाथि प्रश्न उठेको छ।

    प्रतिनिधिसभाको बैठकमा गभर्नर अधिकारी नेकपा एमालेको अर्थ तथा योजना विभागको सदस्य रहेको विषय सार्वजनिक भएको भन्दै छानबिनको माग भएको हो।

    एमालेको पछिल्लो अन्तरपार्टी निर्देशनमा एम अधिकारी (खोटाङ) लाई उक्त विभागको सदस्य राखिएको उल्लेख छ। जसमा छानबिन हुनुपर्ने माग भइरहेको छ।

  • विश्व बैंकले दियो नेपाललाई १० अर्ब रुपैयाँ सहयोग, खानेपानी तथा सरसफाइ सेवा सुधारका लागि खर्चिने

    विश्व बैंकले दियो नेपाललाई १० अर्ब रुपैयाँ सहयोग, खानेपानी तथा सरसफाइ सेवा सुधारका लागि खर्चिने

    काठमाडौं । नेपाल सरकार र विश्व बैंकबीच आठ करोड अमेरिकी डलर अर्थात १० अर्ब नेपाली रूपैंया बराबरको आयोजनाका लागि सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भएको छ ।

    खानेपानी र सरसफाई सेवाको वितरणमा सुधार गर्न तथा एकीकृत जलस्रोत व्यवस्थापनको प्रवर्द्धनमा मद्दत गर्न उद्देश्यसहित विश्व बैंक र नेपाल सरकार बिच आजसम्झौता भएको हो ।

    यस सम्झौतामा नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी र मल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक श्री फारिस हदाद-जर्भोसले हस्ताक्षर गरेका हुन् ।

    नेपालको संविधानमा उल्लेखित सङ्घीयताका सिद्धान्तहरू अनुरूप दिगो र समावेशी वृद्धि हासिल गर्ने उद्देश्यले मुख्य प्राथमिकताहरू निर्देशित छन्।

    यस आयोजनाले अति आवश्यक खानेपानी आपूर्ति र सरसफाइ सेवाहरू उपलब्ध गराउने र अति जोखिममा परेका समुदायहरूलाई, पानी क्षेत्रको राम्रो समन्वय सुनिश्चित गर्न र उच्च पानीको गुणस्तर र सेवाको स्तरलाई प्रवर्द्धन गर्न मद्दत गर्नेछ,” अर्थ मन्त्रालयका सचिव मरासिनीले बताए ।

    खानेपानी क्षेत्र सुशासन तथा पूर्वाधार सहयोग आयोजना कर्णाली र सुदूरपश्चिम प्रदेशका रणनैतिक नगर र गाउँपालिकामा कार्यान्वयन गरिनेछ । यी दुवै प्रदेशमा खानेपानी आपूर्ति र सरसफाई सेवाहरूको पहुँच न्युन हुनु, गरिबी उच्च हुनुका साथै यी प्रदेशहरू जलवायु परिवर्तनको समेत जोखिममा छन् ।

    आयोजनाले नगरपालिकाहरूको क्षमता अभिवृद्धि गरी स्थानीय तहमा खानेपानी र सरसफाई सेवाको आपूर्तिलाई सुदृढ गर्न मद्दत गर्नुका साथै नेपालको आर्थिक प्रगति र हरित, उत्थानशिल तथा समावेशी विकास हासिल गर्नमा खानेपानी र सरसफाई पूर्वाधारमा रहेको महत्वपूर्ण कमीलाई समेत सम्बोधन गर्ने माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद(जर्भोसले बताए ।

    यस आयोजनाले उक्त दुई प्रदेशका स्थानीय सरकारहरूलाई खानेपानी र सरसफाई सेवाहरू दिगो र प्रभावकारी रूपमा उपलब्ध गराउन सक्षम संयन्त्रहरू विकास गर्न मद्दत गर्ने समेत जानकारी दिए ।

    साथै यस आयोजनाले यस क्षेत्रको प्रादेशिक र संघीय सरकारका निकायहरूको अनुगमन र नियामक क्षमताको विकास गरी सेवाग्राहीहरूप्रति यस क्षेत्रको जवाफदेहितालाई पनि बलियो बनाउनेछ।

    यी कार्यक्रमका अतिरिक्त, यस आयोजनामा खानेपानी आपूर्ति र सरसफाई पूर्वाधारहरूको निर्माण र पुनर्स्थापना गर्नुका साथै पानीको गुणस्तर नियमन गर्ने सुविधाहरू र अनुगमन प्रणालीहरूमा समेत लगानी गरिने बताइएको छ ।

  • ‘देशलाई श्रीलंका बन्छ भन्ने हनुमानलाई बाधेर राख्नुपर्छ नत्र नेपाल जल्छ’

    ‘देशलाई श्रीलंका बन्छ भन्ने हनुमानलाई बाधेर राख्नुपर्छ नत्र नेपाल जल्छ’

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का सांसद गजेन्द्र बहादुर महतले देशलाई श्रीलंका बन्छ भन्ने हनुमानलाई बाधेर राख्नुपर्ने बताएका छन् ।

    बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै गभर्नर महाप्रसाद अधिकारीलाई हनुमानको संज्ञा दिदै जसरी द्वापर युगमा हनुमानले श्रीलंका जलाएका थिए त्यसैगरी अहिले गभर्नरले नेपाल जलाउन सक्ने आरोप लगाएका हुन् ।

    प्रमुख प्रतिपक्षी एमालेको अर्थ तथा योजना विभागको सदस्यमा गभर्नर अधिकारीलाई राखिएको विषय सार्वजनिक भएको भन्दै माओवादी सांसदहरूले उनीमाथि छानबिन गर्नुपर्ने माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा गभर्नरको चर्को विरोध भएको छ।

  • राष्ट्रपति भागेपछि श्रीलंकामा संकटकाल घोषणा

    राष्ट्रपति भागेपछि श्रीलंकामा संकटकाल घोषणा

    काठमाडौं । श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमसिंघेले देशमा संकटकाल लगाएका छन् ।

    प्रधानमन्त्री रनिल विक्रमासिंघेले बुधबार संकटकाल घोषणा गरेको समाचार संस्था एएफपीले जनाएको छ। सरकारले पश्चिमी प्रान्तमा कर्फ्यु आदेश पनि जारी गरेको छ ।

    प्रदर्शनकारीले राष्ट्रपति भवन कब्जा गरेपछि राष्ट्रपति गोटाबाया राजपक्षे देश छाडेर भागेका छन् । उनी भागेर माल्दिभ्स पुगे लगत्तै विक्रमसिंघेले देशमा ‌संकटकाल घोषणा गरेका हुन् ।

    प्रधानमन्त्री विक्रमासिंघेले हिंसात्मक तरिकाले प्रदर्शन गर्नेहरूलाई पक्राउ गर्न सुरक्षा निकायलाई निर्देशन समेत दिएका छन्। वेस्टर्न पोभिन्समा कर्फ्यूको पनि घोषणा गरिएको छ।

    देशमा आर्थिक संकट आएपछि त्यहाँका जनताले राष्ट्रपति राजापाक्षे र प्रधानमन्त्री विक्रमासिंघेको राजीनामा मागेर राजधानी कोलोम्बोमा प्रदर्शन गरिरहेका छन्। आक्रोशित प्रदर्शनकारीहरूले राष्ट्रपति भवन समेत कब्जा गरेका छन्।

    उनीहरूले प्रधानमन्त्री कार्यालयमा समेत तोडफोड तथा आगजनी गरेका छन्। बुधबार पनि उनीहरूले प्रधानमन्त्री कार्यालय नजिकै प्रदर्शनकारी गरेका छन्।

  • उपत्यकामा ६ बालबालिका सहित २८ जनामा हैजा, सतर्कता अपनाउन आग्रह

    उपत्यकामा ६ बालबालिका सहित २८ जनामा हैजा, सतर्कता अपनाउन आग्रह

    काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा हैजाको संक्रमण देखिएको छ ।

    इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार बागबजार, डिल्लीबजार, बल्खु, कालोपुल, बोहोराटार, बूढानीलकण्ठ, घट्टेकुलो लगायत क्षेत्रका मानिसमा हैजाको संक्रमण पुष्टी भएको हो ।

    योसँग हैजाको संक्रमण पुष्टी हुनेको संख्या २८ पुगेको छ । हैजा देखिएकामध्ये ३ जना ५ वर्षमूनिका बालबालिका रहेका छन्।

    संक्रमित हुनेमा ६ जना १४ वर्षमुनिका बालबालिका छन्, जसमध्ये ३ जना ५ वर्षमुनिका शिशु रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार मंगलबारसम्म हैजा संक्रमितको संख्यामध्ये काठमाडौं महानगरपालिकामा ११, कागेश्वरी मनोहरामा ८, चन्द्रागिरीमा २, बुढानीलकण्ठमा १ र कीर्तिपुरमा १ जना संक्रमित देखिएका छन् ।

    त्यस्तै, भक्तपुरका चाँगुनारायण नगरपालिकामा १ र सूर्यविनायकमा १ जनामा हैजा पुष्टि भएको छ भने ललितपुर महानगरभित्र २ जनामा हैजा संक्रमण पुष्टि भएको छ ।
    उपत्यकाका धेरै ठाउँमा हैजा फैलिसकेको छ । तर, सरकारले हैजाबाट बच्न सतर्कता अपनाउन आग्रह गरेको छ ।

    हैजा देखिएकामध्ये तीन जनाको उपचार भइरहेको छ। अन्य बिरामी निको भएर घर फर्किसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    पहिलो पटक काठमाडौंको बागबजार क्षेत्रमा असार २ गते दुई जनामा हैजा देखिएको थियो। त्यसपछि बिरामीको संख्या बढ्दै आएको छ।

    काठमाडौं, ललितपुर महानगरले पानीपुरी, चटपटेलगायत सडकमा बेचिने खानेकुरामा प्रतिबन्ध लगाएको छ।

  • उपसभामुख निर्वाचनका लागि कार्यतालिका सार्वजनिक

    उपसभामुख निर्वाचनका लागि कार्यतालिका सार्वजनिक

    काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख चयनका लागि यही असार ३१ गते शुक्रबार निर्वाचन हुने भएको छ ।

    प्रतिनिधिसभाको आज बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले निर्वाचन तालिका सार्वजनिक गरेका हुन् ।

    उपसभामुखका लागि ३० असारमा उपसभामुख निर्वाचित गरियोस भन्ने प्रस्तावको सुचना दर्ता हुने, सोही दिन अपरान्ह १ बजे उपसभामुखका लागि उम्मेदवारी दर्ताका लागि आब्हान गर्ने र ३१ असारमा बस्ने बैठकवाट उपसभामुख चयन गर्ने तालिका तय भएको छ ।

    तत्कालिन उपसभामुख शिवमाया तुम्वाहाम्फेले राजिनामा दिए पछि झन्डै २ वर्षदेखिि उपसभामुख खाली रहदैँ आएको थियो ।

    संविधानअनुसार सभामुख र उपसभामुखमध्ये एक जना महिला हुनुपर्ने र फरक-फरक दलको हुनुपर्ने संवैधानिक प्रावधान छ।

  • देउवा सरकारको एक वर्ष, कमजोर सुशासन-अर्थतन्त्रमा जोखिम

    देउवा सरकारको एक वर्ष, कमजोर सुशासन-अर्थतन्त्रमा जोखिम

    काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले पछिल्लो पटक सत्ता सम्हालेको आज एक वर्ष पुरा भएको छ । सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री बनेका शेरबहादुर देउवाको पाँचौ कार्यकाल सुशासन र आर्थिक स्थायित्वका दृष्टिकोणबाट सबैभन्दा बढी आलोचित बन्न पुगेको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक गरेको संसद् विघटन असंवैधानिक भन्दै सर्वोच्च अदालतले २०७८ असार २८ गते खारेज गरेको थियो ।

    साथै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न समय सीमासहितको परमादेशसमेत जारी भएपछि शेर बहादुर देउवालाई सत्तामा आउने बाटो खुलेको हो । प्रधानमन्त्री देउवाको एक वर्षे कार्यकाल अनेक विवादमा बितेको छ । एक वर्ष अगाडिसम्म ओलीले जे–जस्ता आरोपको सामना गरेका थिए, देउवामाथि पार्टीभित्रबाट तथा प्रमुख प्रतिपक्ष दल एमालेबाट उस्तै प्रकृतिका आरोप लाग्न थालेका छन् । कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा शेखर कोइराला समूहले प्रधानमन्त्रीका रूपमा देउवाका काम र कार्यशैलीमाथि प्रश्न उठाएको छ ।

    यो एक वर्षमा सबैभन्दा धेरै छलफल गठबन्धन जोगाउने विषयमै केन्द्रित भएको छ । देउवाले एक वर्षमा सात पटक मन्त्री हेरफेर गरेका छन् ।नागरिकले भोगिरहेको महँगीतर्फ सरकारको ध्यान पुग्न सकेको छैन । महँगी ६ वर्षयताकै उच्च विन्दुमा पुगेको छ । दैनिक जनजीवन कष्टकर बन्दै गइरहेको अवस्थामा सरकारको प्राथमिकता केवल सरकार जोगाउनुमात्रै देखिएको छ ।

    देउवा नेतृत्वको गठबन्धन सरकारले आफ्नो प्राथमिकतामा कोभिड–१९ को महामारीबाट उत्पन्न मानवीय सङ्कटको समाधान गर्ने, सुशासनको प्रत्याभूति दिने, सङ्घीयता कार्यान्वयन गर्नेलगायत राखेको थियो । यसबीचमा परराष्ट्र मामला, अर्थमन्त्रीको बजेट बनाउने क्रममा अनाधिकृत व्यक्तिको प्रवेशसहितका काण्ड भए । प्रधानमन्त्री स्वयमःको सार्वजनिक स्थलमा कमजोर उपस्थिति पनि आलोचित बन्यो । देउवा सरकारले स्थानीय तहको सफल निर्वाचन गरी जस भने लिएको छ ।

  • सिद्धार्थ राजमार्गमा पहिरो, यातायात अवरुद्ध

    सिद्धार्थ राजमार्गमा पहिरो, यातायात अवरुद्ध

    पाल्पा । ढुंगासहितको पहिरो झरेपछि बुटवल–पाल्पा सडक खण्ड अवरूद्ध बनेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल पाल्पा सडकखण्डको तल्लो सिद्धबाबा र माथिल्लो सिद्धबाबा मन्दिरको बीचमा बुधबार बिहान ढुङ्गा सहितको पहिरो झरेपछि यातायात रोकिएको हो । पहिरो झरेपछि सिद्धार्थ राजमार्गहुँदै बुटवलबाट पाल्पा, गुल्मी जाने र उताबाट बुटवल आउने सवारी साधन बाटोमा रोकिएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ।

    बुटवलदेखि दोभान सम्मको करिब ८ किलोमिटर सडक खण्डमा हिउँद होस् वा वर्षा हिले र धुले पहिरो झर्दा यात्रुले जोखिम मोलेर यात्रा गर्न बाध्य छन्। यसअघि माथिल्लो सिद्धबाबा मन्दिरदेखि अगाडिको भागमा पहिरो झर्दै आएकोमा बुधबार बिहान भने माथिल्लो सिद्धबाबा मन्दिरदेखि तल्लो भागमा पहिरो झरेको हो। अप्ठ्यारो र ठूलो चट्टान सहितको पहरो बीचमा रहेको सडकमा पहिरो झर्न थालेपछि सरकारले सिद्धबाबा सुरूङमार्ग निर्माण गर्दैछ।

  • आज गुरु पूर्णिमा, सम्मान र आदरसहित मनाइंदै

    आज गुरु पूर्णिमा, सम्मान र आदरसहित मनाइंदै

    काठमाडौं । आसाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ ।
    ‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरूपी प्रकाशले अज्ञानरूपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउँछन् । अन्धकारको नाश गरी जीवनमा उज्यालो फैल्याउने व्यक्तित्वलाई नै गुरु भनिन्छ ।

    यस्ता गुरुलाई हाम्रो शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रूपमा समेत मानेको छ । यसैले विभिन्न ग्रन्थमा यसो भनिएको पाइन्छ( माता पिताजस्तै गुरुलाई पनि देवता समान मानी ‘आचार्यदेवो भव’ भनिन्छ । गुरु पूर्णिमाका अवसरमा यस दिन विभिन्न विद्यालय एवं सङ्घसंस्थाले कार्यक्रम गरी शिक्षा, दीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गर्ने गरेका छन् ।

    आजै वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा १८ पुराण र १८ उपपुराणको रचना गर्नुहुने वेदव्यासको सम्झनामा व्यास जयन्ती पनि मनाइन्छ । आषाढ शुक्ल पूर्णिमाकै दिन वेद व्यास जन्मिएकाले यसै दिन व्यास जयन्ती मनाउने गरिएको हो । अरूको उपकार गरे धर्म हुन्छ एवं अरूलाई पीडा दिए पाप लाग्छ भनी मानवतावादी सन्देश दिनुभएको छ । पाँचौँ वेदसमेत भनिने महाभारत पनि व्यासले नै रचना गरेका हुन् ।

  • आदिकवि भानुभक्त आचार्यको २०९ औं जन्म जयन्ती देशभर मनाइंदै

    आदिकवि भानुभक्त आचार्यको २०९ औं जन्म जयन्ती देशभर मनाइंदै

    काठमाडौं । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०९औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाएका थिए । उनले लेखेको रामायण अहिले पनि नेपालीहरूको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ ।

    पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गरेको मानिन्छ । विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ती उपदेश दिएकाले उनले रामायणलाई नेपालीमा रचना गर्न प्रेरित भएका थिए । ‘बधुशिक्षा’ उनको अर्को प्रसिद्ध कृति हो । ‘

    प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’, फुटकर रचनालगायत कृति छन् । कुमारी चोकको हिसाब मिलाउन नसकेर झ्यालखानामा परेका आदिकवि आचार्यले सरकारी कार्यालयमा हुने ढिलासुस्ती र ‘भोलिवाद’ का कट्टर विरोधी भएर कवितामा भोलिको विरोध गर्दै लेखेका थिए । नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनमा भानुभक्तको ऐतिहासिक योगदान छ ।

    त्रिभुवन विश्वविद्यालयबाट भानुभक्तबारे स्नात्तकोत्तरमा थुप्रै शोधग्रन्थ लेखिएका छन् । घरघरमा उनले नेपाली भाषामा भावानुवाद गरेको रामायण पाठ गरी भानुजयन्ती मनाइन्छ । यस अवसरमा भाषा, साहित्य र संस्कृतिका क्षेत्रमा काम गर्ने संस्थाले आज विभिन्न कार्यक्रम गरी भानुजयन्ती मनाउँदै छन् । भानुभक्तको निधन विसं १९२५ असोजमा भएको थियो । भानुभक्तको जन्मजयन्ती भारतको दार्जिलिङ, सिक्किम, भुटान, बर्मालगायत नेपाली भाषाभाषी रहेका देश एवं स्थानमा समेत मनाउने गरिएको छ । रासस

  • श्रीलंकाका राष्ट्रपति राजपाक्षे देश छाडेर भागेको पुष्टी

    श्रीलंकाका राष्ट्रपति राजपाक्षे देश छाडेर भागेको पुष्टी

    कोलम्बो । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपाक्षे देश छाडेर भागेको पुष्टी भएको छ । श्रीलंकाका लाखौं नागरिकले प्रदर्शनसहित राष्ट्रपति निवास कब्जा गरेपछि राष्ट्रपति राजपक्षे केही दिनदेखि देश छाडेर भाग्ने प्रयासमा थिए । यसअघि देश छाड्ने प्रयास असफल भएपछि उनी सैन्य शिविरमा बस्दै आएका थिए । राष्ट्रपति गोटाबायाले स्थानीय समय अनुसार मंगलबार ३ बजे कोलम्बोको अन्तर्राष्ट्रिय विमानस्थलबाट श्रीलंकाको सैन्य विमानसँगै देश छाडेको अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले उल्लेख गरेको छ । राष्ट्रपति राजापाक्षे केही सैनिक सुरक्षा र परिवारको साथमा माल्दिभ्स पुगेका छन् ।

    बीबीसीका अनुसार ७३ बर्षीय राष्ट्रपति गोटाबायासँगै उहाँकी श्रीमती र अंगरक्षकसहित चार यात्रु रहेका छन् । बीबीसीका अनुसार राष्ट्रपतिका भाई एवं पूर्व फाइनान्स मन्त्री बासिल राजपाक्षे पनि देश छाडेका छन् । राजपाक्षेलाई माल्दिभ्समा अवतरणको अनुमति नदिईँदा केही समय अन्योलमा परेको र उनको विमान एक घण्टाभन्दा बढी समय टार्माकमा रोकिएको विमानस्थलका अधिकारीहरूले बताएका छन् ।

    अध्यागमनका अधिकारीहरूले उनको राहदानीमा छाप लगाउन विमानस्थलको भीआईपी कक्षमा जानबाट समेत रोकेका थिए । यसअघि पनि देश छाड्न प्रयास गरेका उई भारतले श्रीलंकाको सैन्य विमान अवतरण गर्न अनुमति दिएको थिएन भने अमेरिकी दूताबासले समेत भ्रमण भिसा दिन अस्वीकार गरेको थियो । राष्ट्रपतिले देश छाडेको खबर सार्वजनिक भएपछि राजधानी कोलम्बोको प्रमुख प्रदर्शनस्थलमा सर्वसाधारण मानिसले उत्सव मनाएका छन् ।

  • मौलिक गहना लगाएर आवतजावत गर्दा विमानस्थलमा अवरोध नगर्न सुनचाँदी व्यवसायीको माग

    मौलिक गहना लगाएर आवतजावत गर्दा विमानस्थलमा अवरोध नगर्न सुनचाँदी व्यवसायीको माग

    काठमाडौं । नेपाली मौलिक गरगहना लगाएर विदेशबाट नेपाल आउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा अनावश्यक रुपमा कडाइ हुने गरेको भन्दै सुनचाँदी व्यवसायीले त्यसमा सहजीकरण गर्न भन्सार विभगसँग आग्रह गरेका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा मंगलबार गएको महासंघको प्रतिनिधिमण्डलले विभागका महानिर्देशक कमलप्रसाद भट्टराईसँग भेट गरी यस्तो आग्रह गरेको हो ।

    महानिर्देशक भट्टराईसँगको भेटका क्रममा अध्यक्ष शाक्यले नेपाली मौलिक गरगहना लगाएर विदेशबाट नेपाल आउँदा ५० ग्रामभन्दा बढीको सुनका गहना ल्याएमा त्यसको भन्सार लिने गरिएको प्रति असन्तुष्टि जनाउँदै विमानस्थल भन्सारबाट आवात–जावत गर्दा भन्सारमा अवरोध गर्न नहुने धारणा राखे । विद्यमान व्यवस्था अनुसार विदेशबाट नेपाल आउँदा प्रत्येक व्यक्तिले ५० ग्रामसम्म सुनका गहना भन्सार छुटमा ल्याउन पाउने व्यवस्था छ । तर गरगहनाको हकमा यस्तो सीमा निर्धारण गरिएको छैन ।

    नेपालबाट बाहिर जाँदा गरगहना लगाएर जान पाइने तर विदेशबाट नेपाल आउँदा ५० ग्राम भन्दा बढी गरगहना लगाएको पाइए त्यसको समेत भन्सार लिने गरेको पाइएपछि व्यवसायीले त्यसको विरोध गरेका हुन् । भन्सार विभागका महानिर्देशक भट्टराईले व्यवसायीका समस्याको अध्ययनगरी त्यसलाई सम्बोधनगर्न पहल गर्ने बताए । कतिपय व्यक्तिले गरगहनाको बाहनामा सुन ल्याउन खोजेको भेटिएपछि यसका कडाइ गर्नु परेको उनको भनाइ छ ।

  • काठमाडौं उपत्यकामा मतदाता नामावली अनलाइनबाटै हुने

    काठमाडौं उपत्यकामा मतदाता नामावली अनलाइनबाटै हुने

    काठमाडौं । अबदेखि काठमाडौं उपत्यकामा अनलाइनबाटै मतदाता नामावली दर्ता गर्न सकिने भएको छ। निर्वाचन आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलले मंगलबार एक विज्ञप्ति जारी गर्दै उपत्यकाका नागरिकहरूले अनलाइनबाटै मतदाता नामावली दर्ता गर्न सकिने जानकारी गराएका हुन् । पौडेलका अनुसार आयोगले मंगलबार काठमाडौं, ललितपुर र भक्तपुरको लागि पाइलट अपरेसनको रूपमा सुरू गर्ने निर्णय गरेको हो।

    ‘फोटोसहितको मतदाता नामावली संकलनको कार्यलाई सरलीकरण गर्दै अनलाइनबाटै फारम भरी मतदाता नामावली दर्ता गर्न सकिने गरी आयोगले ुवेब बेस्ड भोटर लिस्ट प्रि रेजिष्ट्रेसन सिस्टमु तयार गरेको हो,’ विज्ञप्तिमा भनिएको छ,‘पाइलट अपरेसनको रूपमा काठमाडौं, भक्तपुर र ललितपुरबाट बुधबारदेखि सुरू गर्नेगरी आयोगले मंगलबार निर्णय गरेको छ।’

    फोटोसहितको मतदाता नामावलीमा हालसम्म नाम दर्ता नगरेका नागरिकले आयोगको वेवसाइटमा गएर व्यक्तिगत विवरण भर्न सकिन्छ। त्यसपछि अनलाइन फारममा उल्लेख भएको संकेत नम्बरसहित प्रिन्ट कपी र आवश्यक अन्य प्रमाण कागजात लिएर फोटो खिच्न र औंठा छाप दिन सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा जानुपर्ने आयोगले जनाएको छ।

    ‘मतदाता नामावलीमा हालसम्म नाम दर्ता नगरेका नेपाली नागरिकले यस अनलाइन सेवाको उपयोग गरी आफ्नो मताधिकार सुनिश्चित गर्नु गराउनुहुन आयोग अनुरोध गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।

  • अमेरिका पुगेको ७ सय वर्ष पुरानो टुँडाल नेपाल फर्काइयो

    अमेरिका पुगेको ७ सय वर्ष पुरानो टुँडाल नेपाल फर्काइयो

    काठमाडौं । काठमाडौंको टेकु नजिकै हृयुमत टोलस्थित नारायण मन्दिरबाट चोरी भएर अमेरिका पुगेका करिब ७०० वर्ष पुराना पुरातात्विक टुँडालहरू नेपालमा फर्काइएको छ । १९८०को दशकमा नारायण मन्दिरबाट हराएका १२\१३ औं शताब्दीका दुई टुँडालहरू बुधबार नेपाल फिर्ता ल्याइएको हो । एक अमेरिकी कलाप्रेमी नागरिकले न्युयोर्कस्थित नेपाली कन्सुलेट जनरलमार्फत ती कलाकृतिहरू नेपाल फिर्ता गराएको नेपालस्थिति अमेरिकी दूतावासले जनााएको छ ।

    ‘उहाँले आफैंले नेपालसम्म ल्याउन लाग्ने खर्च पनि बेहोरी दिनुभयो,’ दूतावासले भनकेो छ । दूतावासकी निमित्त मिसन उपप्रमुख एबिगेल अरोन्सनले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानलाई पुरातात्विक टुँडाल हस्तान्तरण गरिन् ।

  • पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

    पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

    सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिका–५ मा मंगलबार पोखरीमा डुबेर एकै गाउँका दुईजना बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनरुप नगरपालिका–५ बस्ने सुकदेव सदाको १३ वर्षीया छोरी रजनी सदा र जितन सदाकी १४ वर्षीया छोरी सेन्द्री सदा रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

    प्रहरीका अनुसार अत्यधिक गर्मी बढेका कारण सात\आठ जना बालिकाहरू मिलेर सोही ठाउँका दीपक चौधरीको पोखरीमा आज नुहाउन गएका थिए । सोही क्रममा रजनी र सेन्द्री पानीमा डुबेको स्थानीयवासीले जनाएको छ । सेन्द्रीको पोखरीमा डुबेकै अवस्थामा मृत्यु भएको छ भने रजनीको कञ्चनपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

    रासस

  • काठमाडौं कोरोनाको ‘रेड जोन’मा,एकै दिन ९० जना संक्रमित थपिए

    काठमाडौं कोरोनाको ‘रेड जोन’मा,एकै दिन ९० जना संक्रमित थपिए

    काठमाडौं । पछिल्लो चौबिस घण्टामा काठमाडौं उपत्यकामा १०४ जना कोभिड १९ संक्रमित थपिएका छन् । काठमाडौंमा ९०, भक्तपुरमा एक र ललितपुरमा तीनजना संक्रमित थपिएका हुन् ।

    योसँगै उपत्यकामा सक्रिय संक्रमितको संख्या ५९६ पुगेको छ । पाँच सयभन्दा बढी सक्रिय संक्रमित देखिएपछि काठमाडौं कोभिड १९ को ‘रेड जोन’मा परेको छ ।

    काठमाडौं उपत्यकाका तीनै जिल्लासहित आज २१ जिल्लामा कोभिड १९ संक्रमित थपिएका छन् ।

    देशभरका आज देशभर रहेका ८७३ जना सक्रिय संक्रमितमध्ये ८५३ जना होम आइसोलेसनमा र २० जना संस्थागत आइसोलेसन छन् ।

  • २० बर्षपछि अमेरिकी डलर र यूरोको भाउ बराबर

    २० बर्षपछि अमेरिकी डलर र यूरोको भाउ बराबर

    काठमाडौं । २० बर्षपछि अमेरिकी डलर र युरोपियन मुद्राको भाउ उस्तै भएको छ ।

    यूरो र अमेरिकी डलर बीचको विनिमय दर समानताबाट एक सेन्ट भन्दा कम टाढा छन्।

    २० बर्षयता युरोको मूल्य वा विनिमय दर जहिले पनि डलरभन्दा माथि हुने गर्थ्यो।

    पछिल्ला चार महिनायता डलरको भाउ निरन्तर बढ्ने र युरो घट्ने हुँदा असार २८ गते बराबर मूल्यमा आएको हो ।

    रुस-युक्रेन युद्ध र कोभिड पछाडिको आर्थिक मन्दीका कारण डलरको भाउ बढ्ने र युरो घट्ने भइरहेको छ। महाद्वीपमा मन्दीको प्रचुर मात्रामा डर र उच्च मुद्रास्फीति तथा युक्रेनमा रूसको आक्रमणको कारण ऊर्जा आपूर्ति अनिश्चितताको कारण युरोको भाउ घटेको हो ।

  • नेपालमा थप १७७ जनामा कोरोना संक्रमण पुष्टी, ४१ जना संक्रमण मुक्त

    नेपालमा थप १७७ जनामा कोरोना संक्रमण पुष्टी, ४१ जना संक्रमण मुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १७७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ८०५ जनाको पीसीआर परीक्षण गर्दा १४४ जना र १ हजार ३२१ जनाको एन्टिजेन परीक्षण गर्दा ३३ गरी १७७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ८० हजार ५९० जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ४१ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ९ लाख ६७ हजार ६६५ पुगेको छ । सक्रिय संक्रमितको संख्या ८७३ रहेको छ ।

    पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ ।

  • दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकममा गिरावट

    दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकममा गिरावट

    काठमाडौं । शेयर बजार दोहोरो अंकले बढेको छ । साताको कारोबारको पहिलो दिन उच्च अंकले घटेको बजार दोस्रोदिन भने दोहोरो अंकको सुधार आएको हो ।

    मंगलवारशेयर बजार मापक सूचक नेप्से ११.६८ अंकले बढेर १९२७.२८ विन्दुमा पुगेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २२६ कम्पनीको १ अर्ब ७० करोड ७७ लाख ५२ हजार ९७७ रुपैयाँ बराबरको ४९ लाख ६७ हजार ५६१ कित्ता शेयर किनबेच भएका छन् ।

    आज कारोबारमा आएका १३ उपसमूहहरू हरियो भएको छ । होटल समूह सबैभन्दा धेरै १.६८ प्रतिशतले बढेको छ । त्यस्तै, फाइनान्स, हाइड्रोपावर, उत्पादनमूलक र व्यपार समूहको परिसूचक पनि १ प्रतिशतभन्दा धेरैले बढेको छ ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको छ । सोमवार २ अर्ब ३२ करोड ५६ लाख ४१ हजार २२ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    आज यसमध्ये पनि दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।

    सप्तकोसी डेभलपमेन्ट बैंकको शेयरमूल्य ९.३५ प्रतिशतले बढेको छ भने एनआरएन इन्फाइन्ट्रक्चर एण्ड डेभलपमेन्ट बैंकको ८.२२ प्रतिशतले बढेको छ ।

    सनराइज फर्स्ट म्युचुअल फण्ड ६.२७, अरुण काबेली ५.८५, बलेफी हाइड्रोपावर ५.७१, सेन्टर फाइनान्स, ग्रामीण विकास लघुवित्त, सनराइज ब्लूचिप फण्ड, मिथिला लघुवित्त, सिभिल लघुवित्त र ग्रीन लाइफ हाइड्रोपावरको शेयर मूल्य ४ प्रतिशतभन्दा धेरैले बढेको छ ।

    नेप्सेका अनुसार नयाँ सारथी लुघवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ४ प्रतिशत भन्दा बढीले घटेको छ ।

    त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी अरुण काबेली पावर कम्पनीको भएको छ । यसको आज ७ करोड ९५ लाख भन्दा बढीको कारोबार भएको छ । त्यस्तै, गोर्खा फाइनान्स साढे ७ करोड र शिवम् सिमेन्टको ७ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।