Category: फिचर

  • नेपाली उद्योगको सिमेन्ट भारतमा निर्यात शुरु

    नेपाली उद्योगको सिमेन्ट भारतमा निर्यात शुरु

    नवलपरासी । नेपाली उद्योगबाट उत्पादन भएको सिमेन्ट भारतमा निर्यात थालिएको छ । पश्चिम नवलपरासीको पाल्पा सिमेन्ट उद्योगले आफ्नो उत्पादन भारत पठाउन थालेको हो । शुक्रबार सुनौली नाका हुँदै तीन ट्रक सिमेन्ट भारत पठाइएको आरएमसी ग्रुपका प्रबन्ध निर्देशक राकेश अग्रवालले जानकारी गराए । उनका अनुसार परीक्षणका लागि तीन ट्रक पठाइएको हो । उद्योगले तानसेन ब्राण्डको पिपिसी सिमेन्ट निर्यात गरेको हो।

    आगामी दिनमा भारतीय बजारमा नेपाली सिमेन्टको बजार विस्तार गर्दै लैजाने उनले बताए। सरकारले आगामी आर्थिक वर्षको बजेटमा सिमेन्ट निर्यातमा ८ प्रतिशत नगद अनुदान दिने उल्लेख गरेको थियो। ८ प्रतिशत नगद अनुदान पाउने भएपछि उद्योगीहरू उत्साहित भएका छन्। जगदम्बा, सर्वोत्तम, सौर्य, अर्घाखाँचीलगायत सिमेन्ट उद्योग पनि निर्यातको तयारीमा छन्।

  • पृथ्वी राजमार्गको जामुने-खैरेनी सडक पहिरोका कारण अवरुद्ध

    पृथ्वी राजमार्गको जामुने-खैरेनी सडक पहिरोका कारण अवरुद्ध

    तनहुँ । पृथ्वी राजमार्गस्थित तनहुँको म्याग्दे गाउँपालिक ४ स्थित तुरतुरेमा बिहान पहिरो खस्दा जामुने–खैरेनी सडक अवरुद्ध बनेको छ । शुक्रबार रातिदेखि परेको वर्षाले पहिरो खसेपछि पृथ्वी राजमार्गको उक्त खण्ड अवरुद्ध बनेको प्रहरीले जनाएको छ ।

    सडकभन्दा माथिबाट पहिरो खसेपछि उक्त खण्ड दुईतर्फी रुपमा अवरुद्ध भएको हो । सडक डिभिजन कार्यालयको समन्वयमा पहिरो हटाउने कार्य जारी छ ।

  • र्‍यापर यमबुद्धको सालिक बनाउन काठमाडौं महानगरले छुट्यायो बजेट

    र्‍यापर यमबुद्धको सालिक बनाउन काठमाडौं महानगरले छुट्यायो बजेट

    काठमाडौं । काठमाडौं महानगरपालिकाले र्‍याप गायक यमबुद्धको सालिक बनाउन बजेट छुट्याएको छ । महानगरपालिकाले आगामी आर्थिक वर्षको बजेटमा स्वर्गीय र्‍यापर यमबुद्धको सालिक निर्माण गर्न बजेट राखेको हो ।

    महानगरपालिकाले १५ लाख रुपैयाँ यमबुद्धको सालिक निर्माणका लागि विनियोजन गरेको बताइएको छ । ‘हिपहप र नेपहप जेनरा’को श्रीवृद्धिका पुर्‍याएको योगदानको कदर गर्दै यमुद्धको सालिक निर्माण गर्न लागिएको महानगरको तयारी छ । यमबुद्धको सालिक कहाँ स्थापना गर्ने भन्ने तय भने नभएको बताइएको छ ।

  • राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने दुई जनालाई ७ वर्षको जेल सजाय

    राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने दुई जनालाई ७ वर्षको जेल सजाय

    काठमाडौं । दुई जना राउटे युवतीलाई मदिरा खुवाएर यौन दुर्व्यवहार गरेको पुष्टी भएपछि तीन जनालाई कैद तथा जरिवाना सुनाइएको छ । सुर्खेत जिल्ला अदालतले उनीलाई कैद र जरिवानाको सजाय सुनाएको हो । अदालतले सुर्खेत गुर्भाकोट नगरपालिकाका चौमन घर्तीमगर र भूपेन्द्र बुढा मगरलाई सात\सात वर्ष कैद र जनही दुई लाख रुपैयाँ जरिवाना गरेको छ । यौन दुर्व्यवहार भएको भनिएको होटलका सञ्चालक मनबहादुर पुनलाई तीन वर्ष ६ महिना कैद र एक लाख रुपैयाँ जरिवानाको फैसला भएको छ ।

    फैसला अनुसार घर्ती र बुढाले जनही ८ हजार र पुनले ४ हजार रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्नु पर्नेछ। जिल्ला न्यायाधीश राजेन्द्रकुमार आचार्यको इजलासले बिहीवार उक्त फैसला गरेको हो। सुर्खेत गुर्भाकोटको एक होटलमा अभियुक्तहरूले २०७८ साल जेठ २१ गते राउटे युवतीहरूमाथि यौन हिंसा गरेको भिडियो सार्वजनिक भएको थियो । जेठ २३ मा उनीहरू पक्राउ परेका थिए।

  • नेपालमा ६० हजार १८५ वटा उद्योग\प्रतिष्ठान, ६ खर्ब १९ अर्ब पूँजी

    नेपालमा ६० हजार १८५ वटा उद्योग\प्रतिष्ठान, ६ खर्ब १९ अर्ब पूँजी

    नेपालमा ६० हजार १८५ वटा उद्योग\प्रतिष्ठान रहेको सरकारी तथ्यांकले देखाएको छ । केन्द्रित तथ्यांक विभागले सार्वजनिक गरेको आंकडा अनुसार अर्थतन्त्रको संरचनामा योगदान गर्ने १७ वटा क्षेत्रमध्ये औद्योगिक क्षेत्र भित्र पर्ने चार वटा क्षेत्रको सर्वेक्षणबाट ती उद्योगको संख्या यकिन गरिएको हो । जस अनुसार खानी तथा उत्खनन क्षेत्रमा ३५६, औद्योगिक उत्पादनको क्षेत्रमा ५६ हजार ६११, विद्युत्, ग्याँस, वाफ तथा वातानुकूलित सेवा क्षेत्रमा ९९४ र पानीको आपूर्ति, ढलनिकास, फोहोर व्यवस्थापन र त्यसको उपचारात्मक क्रियाकलापको क्षेत्रमा २ हजार २२४ वटा उद्योग–प्रतिष्ठान रहेको पाइएको छ ।

    औद्योगिक क्षेत्रले नेपालको अर्थतन्त्रमा वार्षिक ३ खर्ब ५४ अर्ब ५१ करोड बराबरको मूल्य अभिवृद्धि गर्ने गरेको पाइएको छ । नेपालका औद्योगिक प्रतिष्ठानले ८ खर्ब ४६ अर्ब ६६ करोड रुपैयाँ लागत लगानी गर्छन् । यसबाट १२ खर्ब १ अर्ब १७ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा उत्पादन हुँदा साढे ३ खर्ब रुपैयाँ बराबर जीडीपीमा योगदान मिल्ने गरेको तथ्यांकले देखाएको छ ।

    सर्वेक्षण अनुसार नेपालमा उद्योग÷प्रतिष्ठानले कुल ४ लाख ९१ हजार २२७ जनालाई रोजिरोटीको अवसर दिएको छ । जसमध्ये ३ लाख ८१ हजार ६८७ जना तलवी कामदार हुन् । सर्वेक्षणले देखाएअनुसार नेपालमा उद्योगरप्रतिष्ठानमा काम गर्ने कामदारका लागि वार्षिक १ खर्ब ७ अर्ब ८९ करोड रुपैयाँ खर्च हुने गरेको छ । सर्वेक्षण अनुसार नेपालमा रहेका उद्योग÷प्रतिष्ठानसँग ६ खर्ब १९ अर्ब ५१ करोड रुपैयाँ मूल्य बराबरको सम्पत्ति रहेको छ । यो चार वटै क्षेत्रका औद्योगिक प्रतिष्ठानको सम्पत्तिको संयुक्त योग हो ।

  • उच्च अदालतकी न्यायाधीश साहलाई बर्खास्त गर्न सिफारिस

    उच्च अदालतकी न्यायाधीश साहलाई बर्खास्त गर्न सिफारिस

    काठमाडौं । न्यायपरिषदले उच्च अदालतकी न्यायाधीश रेणुका साहलाई बर्खास्त गर्न प्रधानन्यायाधीश सामु सिफारिस गरेको छ । योग्यता नपुगी नियुक्ति लिएको ठहर न्यायपरिषद्ले गरेको हो । न्यायपरिषदले जिल्लादेखि उच्च अदालतको मुख्य न्यायाधीश नियुक्ती, सरुवा, बढुवा र बर्खास्तसम्मको सिफारिस गर्न सक्ने अधिकार राख्छ । परिषदको सिफारिस प्रधानन्यायाधीशले कार्यान्वयन गरेपछि लागू हुनेछ । प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरामाथि महाभियोग लागेका कारण यो सिफारिस कामू प्रधानन्यायधीश दिपककुमार कार्कीले कार्यान्वयन गर्ने जिम्मेवारीमा छन् । साह उच्च अदालत तुलसीपुरको बुटबल इजलासमा कार्यरत थिइन् ।

    साह पूर्वप्रधानन्यायाधीश रामकुमारप्रसाद साहकी छोरी हुन् । यसअघि प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदमा कार्यरत उनी प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको जोडबलमा न्यायाधीय बनेकी थिइन् । उनले निरन्तर १० वर्ष वकालत गरेको तथा न्याय क्षेत्रमा काम गरेका प्रमाण पेश गर्न नसकेपछि परिषद्ले अयोग्यता लुकाएको ठहर भएको हो ।

  • जापानका पूर्वप्रधानमन्त्री आबेको निधनमा नेपाल सरकारद्धारा शोक घोषणा

    जापानका पूर्वप्रधानमन्त्री आबेको निधनमा नेपाल सरकारद्धारा शोक घोषणा

    काठमाडौं । सरकारले जापानका पूर्व प्रधानमन्त्री सिन्जु आबेको निधनमा एक दिने राष्ट्रिय शोक घोषणा गरेको छ । आबेको शुक्रबार हत्या भएको छ । चुनावी सभालाई सम्बोधन गरिहेका बेला उनीमाथि गोली प्रहार भएको हो । गोली लागेर ढलेका उनलाई हृदयघात समेत भएको थियो । नेपाल सरकारको शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले आबे हत्याको घोर भत्सर्ना गरेको छ र उनको निधनप्रति भोलि शनिबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । उता, नेताहरुले समेत उनको निधनमा शोक व्यक्त गरेका छन् ।

    प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरूले आबेको निधनप्रति शोक जनाएका छन् । ‘ पूर्वप्रधानमन्त्री आबेको निधनको खबर सुनेर गहिरो दुःख लागेको छ । मेरो हार्दिक श्रद्धाञ्जली,’ देउवले ट्वीटमा लेखेका छन्, ‘उहाँ विश्वका चर्चित नेता मात्र नभएर नेपालको असल मित्र पनि हुनुहुन्थ्यो । यस दुस्खद घडीमा जापानका जनता र शोक सन्तप्त परिवारजनसँग हाम्रो विचार र प्रार्थना छ ।’

    ओलीले आबेको निधनप्रति दुख व्यक्त गर्दै ट्वीट गरेका छन्, ‘पूर्वप्रधानमन्त्रीको जघन्य हत्याको घोर भर्त्सना गर्दछु । आबे नेपालको मित्र हुनुहुन्थ्यो र उहाँले आफ्नो प्रधानमन्त्री हुँदा नेपाल(जापान सम्बन्धलाई मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्नु भएको थियो, यस दुस्खद घडीमा उहाँको शोक सन्तप्त परिवारमा मेरो विचार र हार्दिक समवेदना छ ।’

  • नेपालमा एकैदिन ९८ जना कोरोना संक्रमित थपिए, २७ जना संक्रमण मुक्त

    नेपालमा एकैदिन ९८ जना कोरोना संक्रमित थपिए, २७ जना संक्रमण मुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ९८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ६१ जनाको पीसीआर परीक्षण गर्दा ८३ जना र १ हजार ९३ जनाको एन्टिजेन परीक्षण गर्दा १५ गरी ९८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ८० हजार १४१ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा २७ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ९ लाख ६७ हजार ६२५ पुगेको छ । संक्रिय संक्रमितको संख्या ५६४ रहेको छ ।

    पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ ।

  • बलात्कारको घटनामा दुई वर्ष हदम्याद राख्ने सहमति, बालबालिका र अशक्तका लागि तीन बर्षे समयसीमा

    बलात्कारको घटनामा दुई वर्ष हदम्याद राख्ने सहमति, बालबालिका र अशक्तका लागि तीन बर्षे समयसीमा

    काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको कानून न्याय तथा मानवअधिकार समितिले बलात्कारको घटनामा दुई वर्ष हदम्याद राख्ने सहमति जुटाएको छ ।

    सिदरबारमा बसेको बैठकले यौन हिंसा विरुद्धका केही ऐन संसोधन बिधेयकमाथि छलफल गर्दे दुई बर्ष हदम्याद राख्ने सहमति जुटाएको हो । यसअघि बलात्कारका घटनामा एकबर्षे हदम्याद हटाउनुपर्ने भन्दै महिला अधिकारकर्मीहरुले आन्दोलन नै गरेका थिए ।

    त्यस्तै बालबालिका अपांग, अशक्त, मानसिक अवस्था कमजोर भएकाको हकमा ३ वर्षको हदम्याद राख्ने सहमति भएको छ । बलात्कारमा परेका नाबालिगले बालिग भएको तीन वर्षसम्म उजुरी गर्न सक्ने व्यवस्था बिधेयकमा राखिएको छ ।

    त्यस्तै बिधेयकमा यौन हिंसामा परेकाहरुलाई राज्य कोषबाट क्षतिपूर्ति दिलाउने सहमति भएको जुटेको छ । बैठकले यौनजन्य हिंसा सम्बन्धी सम्पूर्ण कानूनहरुको सरोकारवालासंग छलफल र अध्ययन गरि छिटो भन्दा छिटो समग्र कानून सुधारका लागि बिधेयक प्रस्तुत गर्न सरकारलाई निर्देशन समेत गरेको छ ।

  • नेपाली शेयर बजारमा उच्च अंकको गिरावट

    नेपाली शेयर बजारमा उच्च अंकको गिरावट

    काठमाडौं । शेयर बजारमा उच्च अंकको गिरावट आएको छ ।

    साताको कारोबारको अन्तिम दिन शेयर बजार मापक सूचक नेप्से ३४.७१ अंकले घटेर १९९२.६१ विन्दुमा झरेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार शुक्रवार २१७ कम्पनीको १ अर्ब १६ करोड ८४ लाख ५१ हजार ३९५ रुपैयाँ बराबरको ३० लाख ६३ हजार ४७६ कित्ता शेयर किनबेच भएका छन् ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकममा गिरावट आएको छ । विहीवार १ अर्ब ८० करोड ६२ लाख ४ हजार ७६४ रुपैयाँ बाराबरको कारोबार भएको थियो । आज दुइ घण्टामात्र कारोबार भएको हो ।

    आज कारोबार भएका १३ वटा समूह राताम्मे भएका छन् । आज सर्वाधिक शिवम् सिमेन्ट्सको शेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ५ करोड ५९ लाख रुपैयाँ माथिको कारोबार भएको हो ।

    त्यस्तै, युनाइटेड इदी मार्दीको ३ करोड ९७ लाख, लाइफ इन्स्योरेन्स कर्पोरेशनको ३ करोड ९१ लाख, अरुण काबेली पावरको ३ करोड ७९ लाख र एनटिसीको ३ करोड ७३ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।

    कारोबार मध्ये तीन कम्पनीको शेयरमूल्यमा सामान्य वृद्धि भएको छ । ग्लोबल आईएमई समुन्नत स्किम १, नबिल इन्क्युटी फण्ड र केबीएल डिभेञ्चरको शेयरमूल्यमा सामान्य वृद्धि भएको छ । यसको शेयरमूल्य आज २ प्रतिशत भन्दा बढीले बढेको छ ।

    नेप्सेका अनुसार हिमालयन उर्जा विकास कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ ।

  • आक्रमणमा परेका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आवेको निधन

    आक्रमणमा परेका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आवेको निधन

    काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आवेको निधन भएको छ।

    शुक्रबार बिहान आक्रमणमा परेका आबेको दिउँसो उपचारका क्रममा निधन भएको रोयटर्सले जनाएको छ।

    नारा सहरमा एक कार्यक्रममा भाषण गरिरहेका बेला उनलाई गोली हानिएको थियो ।

    प्रधानमन्त्री फुमियो किशिदाले पश्चिमी सहर नारामा भएको गोलीकाण्डलाई जापानको लोकतन्त्रको जगमा अस्वीकार्य आक्रमण भएको भन्दै निन्दा गरेका छन्।

    प्रहरीले गोली चलाएको आशंकामा ४१ वर्षीय व्यक्तिलाई पक्राउ गरेको जनाएको छ। संदिग्ध व्यक्ति तेत्सुया यामागामीलाई उद्धृत गर्दै पुलिसले आबेसँग असन्तुष्ट रहेको र उनलाई मार्न चाहेको बताएकाे छ।

    सन् २०२० को सेप्टेम्बर १४ मा प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए। ​ आवे जापानमा सबैभन्दा लामो समय कार्यकारी पदमा रहने नेता पर्छन्।

    उनी सन् २००६ देखि सन् २००७ सम्ममा पहिले पनि प्रधानमन्त्री बनेका थिए।

  • जापानका पूर्व लोकप्रिय प्रधानमन्त्री आबेमाथि गोली प्रहार, अवस्था गम्भीर

    जापानका पूर्व लोकप्रिय प्रधानमन्त्री आबेमाथि गोली प्रहार, अवस्था गम्भीर

    टोकियो । जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि गोली प्रहार भएको छ। उनी जापानका लाोकप्रिय नेता हुन् । उनको अवस्था निकै गम्भीर भएको बीबीसीले लेखेको छ । नारा सहरमा आयोजित एउटा कार्यक्रममा सहभागी भएको बेला उनीमाथि गोली प्रहार भएको हो । जापानको समाचारसंस्था एनएचकेका अनुसार भाषण गरिरहेका शिन्जो आबेलाई पछाडिबाट गोली हानिएको थियो। गोली लागेपछि उनी ढलेका थिए। उनको शरीर रक्ताम्मे देखिएको थियो। समाचार विवरणहरूका अनुसार उनलाई आक्रमण गर्ने व्यक्तिलाई प्रहरीले हिरासतमा लिएको छ। जापानमा हाते बन्दुक प्रतिबन्धित छ।

    त्यहाँ यस प्रकारको घटनालाई एकदमै दुर्लभ मानिन्छ। टोक्योका पूर्वगभर्नर योइची मासुजोएले ट्वीट गर्दै आबे मुटु र श्वासप्रश्वास नचलेको अवस्थामा भएको बताएका छन्। शिन्जो आबे जापानमा सर्वाधिक समय प्रधानमन्त्री बनेका नेता हुन्। स्वास्थ्यको कारण देखाउँदै उनले सन् २०२० मा पदत्याग गरेका थिए। पछि उनले आफू पेटको रोगबाट पीडित भएको बताए। योशिहिदे सुगा उनको उत्तराधिकारी बने। त्यसपछि फुमिओ किशिदा जापानको प्रधानमन्त्री बने।

  • बजारमा अवैध भिटामिनजन्य औषधीको विगविगी, विभागले गरायो सचेत

    बजारमा अवैध भिटामिनजन्य औषधीको विगविगी, विभागले गरायो सचेत

    काठमाडौं । नेपाली बजारमा खाद्यवस्तु जस्तै गरी केही औषधि र भिटामिनजन्य औषधिको जथाभाबी बिक्री भइरहेको भन्दै औषधि व्यवस्था विभागले सचेत गराएको छ । शुक्रबार एक सूचना निकाल्दै विभागले यसरी बिक्री भइरहेका औषधि तथा भिटामिनले स्वास्थ्यमा असर पारिरहेको बताएको छ । विभागले ट्याबलेट, क्याप्सुल तथा झोलमा पाइने औषधि खाद्यवस्तु जस्तै गरी आयात र बिक्री भइरहेकाले प्रयोग नगर्न सचेत गराएको हो ।

    विभागले यस्ता औषधिलाई प्रतिबन्धसमेत लगाएको जनाएको छ । जी ल्याब्रोटोरिज, भारतमा बनेको बायोदी ड्रप्स बालबालिकाका लागि प्रयोग गर्दा असर देखिएको सूचनामा उल्लेख छ । विभागका अनुसार यी औषधि नेपालमा दर्ता भएका छैनन् । यी र यस्ता अनुमति नपाएका र दर्ता नभएका औषधि र भिटामिन प्रयोग नगर्न समेत विभागले सचेत बनाएको छ ।

  • कृषि विकास बैंकमा एकै पटक खुल्यो १५२ जनाको रोजगारी

    कृषि विकास बैंकमा एकै पटक खुल्यो १५२ जनाको रोजगारी

    काठमाडौं । कृषि विकास बैंकमा १ सय ५२ पदमा स्थायी पदपूर्तिका लागि दरखास्त खुलेको छ । बैंकले शुक्रबार सूचना प्रकाशित गरी खुला तथा समावेशीतर्फ आठौँदेखि चौथो तहसम्मका लागि आवेदन माग गरेको छ । बैंकले ५ अधिकृत (शाखा प्रमुख), ४७ व्यवसाय अधिकृत (अधिकृत), १७ कम्प्युटर अधिकृत, तीन इञ्जिनियर (सिभिल) र १२ कर्जा अधिकृतका लागि आवेदन मागेको हो ।

    २३ व्यवसाय सहायक, ६ कानुन सहायक, ५ ऋण सहायक र ४ लेखपालका लागि आवेदन दिन सकिने छ । आवेदन आउँदो साउन १२ गतेसम्म दिन पाइने सूचनामा उल्लेख छ । दोब्बर दस्तुर तिरेर साउन १९ गतेसम्म दिन पाइने छ।

  • ५ कक्षामा भर्ना भए ६१ वर्षीय रिमबहादुर

    ५ कक्षामा भर्ना भए ६१ वर्षीय रिमबहादुर

    दाङ । कक्षामा वरिपरि नातिनातिना उमेरका सहपाठी छन्। उनीहरुकै बीचमा पाका व्यक्ति पनि ध्यान दिएर पढिरहेका हुन्छन्। कपाल सेताम्य भएका ती व्यक्ति कक्षा कहिल्यै छुटाउँदैनन्। अरु विद्यार्थी सरह उनको पनि पढाइमै ध्यान केन्द्रित हुन्छ। दाङको बबई गाउँपालिका–५ स्थित जनज्योति आधारभूत विद्यालयको कक्षा ५ मा दिनहुँ देखिने दृश्य हो यो। उक्त दृश्यले हिजोआज सबैलाई आश्चार्यचकित बनाएको छ। यसले सबैलाई खुसी तुल्याएको छ। बबई गाउँपालिका–५ सिमगैराका ६१ वर्षीय रिमबहादुर खड्का कक्षा ५ मा अध्ययन गर्दैछन्। पढ्न उमेरले छेक्दैन भन्ने चरितार्थ उनले सत्य सावित गरिदिए।


    रिमबहादुर सानोमा विद्यालय जान पाएका थिएनन्। विद्यालय जाने उमेरमा उनलाई घरको कामले फुर्सद भएन। कक्षा १ पनि नपढेका रिमबहादुर यस वर्ष सोझै कक्षा ५ मा भर्ना भएर नियमित विद्यालय गइरहेका छन्। ‘मैले सानोमा पढ्न पाइनँ, म घरको जेठो छोरा हुँ, घरकै काममा व्यस्त हुनुपर्‍यो। बाल्यकालमा पढ्न नपाए पनि विद्यालय जाने ठूलो धोको थियो, त्यही धोको पूरा गर्न अहिले पढ्न थालेको छु,’ उनले भने।

    आर्थिक अवस्था कमजोर भएकाले बाल्यकालमा विद्यालय गएर पढ्न नपाएको रिमबहादुरले बताए। ‘अरु भाइहरूलाई पढाउनमै व्यस्त रहे, घरको कामबाट कहिल्यै छुटकारा पाइएन’, उनले भने। रिमबहादुर यही असार १४ गते विद्यालय भर्ना भए। त्यसयता उनी नियमितरुपमा विद्यालय गइरहेका छन्। उनले बिहान र बेलुकाको समयमा घरको काम गर्छन्।

    ‘घरमा धेरै काम हुन्छ, तर त्यो सबै बिहानै सक्छु। दिउँसोको सम्पूर्ण समय पढाइलाई दिने गरेको छु,’ उनले भने। आर्थिक अवस्था कमजोर भएकै कारण उनी रोजगारको सिलसिलामा भारत जानुपर्ने अवस्था आयो। भारतमा बिहान र रातिको समय व्यवस्थापन गरी वर्णमाला सिकेपछि नाम लेख्न सक्ने भएको उनले बताए। रिमबहादुरको अब कक्षा १० सम्म पढ्ने धोको छ। ‘उमेरले पढ्न छेक्दो रहेनछ। त्यसैले नाति–नातिना उमेरका बाबुनानीहरूसँग पढ्न थालेको हुँ,’ उनले भने। रिमबहादुर बुढेसकालमा विद्यालय गएर पढ्न थालेकामा ६१ वर्षीया श्रीमती लालमती खड्का पनि खुसी छिन्।

    श्रीमानको पढ्ने इच्छामा सहयोग गर्ने उनले बताइन्। ‘पढ्ने इच्छा पहिल्यैदेखिको हो, यसमा म सहयोग गर्छु, दिउँसो घरको काम म आफैँ गर्छु’, उनले भनिन्। श्रीमान् विद्यालय गएको देख्दा आफूलाई पनि पढ्ने इच्छा जागेको उनले बताइन्। रिमबहादुर कक्षामा छँदा बालबालिकाले हो–हल्ला पनि कम गर्ने गरेको विद्यालयका शिक्षकहरू बताउँछन्।

    प्रधानाध्यापक कुम्भकर्ण खत्रीका अनुसार रिमबहादुर पढ्न आउँदा सुरुमा सबैलाई अनौठो लागेको थियो। ‘यो उमेरमा पढ्न आउँदा हामी सबै खुसी छौँ’, उनले भने। शिक्षकहरूलाई सुरुमा रिमबहादुर आउँदा पढाउन अप्ठ्यारो लागेको खत्रीले बताए। अहिले विस्तारै बानी परेका छन्। ‘रिमबहादुर नातामा दाइ पर्नुहुन्छ, त्यसैले सुरुमा अप्ठ्यारो लाग्यो। अहिले बानी परेका छौँ, अप्ठ्यारो लाग्न छोडेको छ,’ प्रअ खत्रीले भने।
    रासस

  • बुढीगंगामा आजबाट मतगणना

    बुढीगंगामा आजबाट मतगणना

    बाजुरा । बाजुराको बुढीगंगा नगरपालिकामा बिहीबार भएको स्थानीय तहको निर्वाचनको मतगणना आजबाट सुरु हुँदै छ । मतगणना सुरु गर्न सर्वदलीय बैठक बस्ने तयारी भइरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

    गत वैशाख ३० गते भएको निर्वाचन विवादित भएपछि निर्वाचन आयोगले बिहीबार पुनः मतदान गराएको हो । नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका रंगबहादुर खाती र नेकपा एमालेका रामबहादुर बानियाँ प्रतिस्पर्धामा छन् । बिहीबार भएको निर्वाचनमा छिटपूट घटनाबाहेक शान्तीपूर्ण भएको प्रहरीले बताएको छ ।

  • चिनियाँ कम्यूनिष्ट पार्टीका विदेश विभाग प्रमुख नेपाल आउँदै, कम्यूनिष्ट एकताको माहोल पुनः बन्ला ?

    चिनियाँ कम्यूनिष्ट पार्टीका विदेश विभाग प्रमुख नेपाल आउँदै, कम्यूनिष्ट एकताको माहोल पुनः बन्ला ?

    काठमाडौं । नेपालमा संसदीय निर्वाचन नजिकिएको सन्दर्भमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का नवनियुक्त विदेश विभाग प्रमुख लिउ जियानचाओ काठमाडौं आउने भएका छन् । उनी आगामी आइतबार नेपाल भ्रमणमा आउने भएका छन् । उनी सद्भावना भ्रमणका सिलसिलामा नेपाल आउन लागेको बताइएको छ ।

    उनले नेपालमा राष्ट्रपति र प्रधानमन्त्रीका साथै नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुलाई भेट्ने भएका छन् । नेपालमा चार दिनसम्म रहँदा उनले कम्यूनिष्ट एकताको माहोल बनाउन सक्ने बताइएको छ । पछिल्लो समय एमाले बाहेकका कम्यूनिष्ट दलबीच संवाद बाक्लिएको छ ।

  • युवराज अधिकारीलाई निगमको कार्यकारी अध्यक्षमा निरन्तरता दिन सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

    युवराज अधिकारीलाई निगमको कार्यकारी अध्यक्षमा निरन्तरता दिन सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

    काठमाडौं । सर्वोच्च अदालतले वायु सेवा निगमको कार्यकारी अध्यक्षमा युवराज अधिकारीलाई निरन्तरता दिन अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

    सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले आगामी असार २८ गते अर्को पेसी राख्दै त्यतिन्जेलसम्म अधिकारीलाई काम गर्न दिनेगरी अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

    अधिकारीले २०७८ कात्तिक ११ गते निगमको कार्यकारी अध्यक्षमा नियुक्त गरिएको थियो । उनलाई ४ वर्षका लागि नियुक्त गरिएको भन्दै सर्वोच्चले कार्यकारी अध्यक्षमा उनलैलाई निरन्तरता दिन अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

  • माओवादी केन्द्रद्वारा १५६ सदस्यीय पोलिटब्यूरो कमिटी गठन , को-को परे ? (सूचीसहित)

    माओवादी केन्द्रद्वारा १५६ सदस्यीय पोलिटब्यूरो कमिटी गठन , को-को परे ? (सूचीसहित)

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको पोलिटब्युरोमा रहनेहरूको नामावली तेस्रो पटक पढेर सुनाएका छन्।

    बिहीबार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा भइरहेको केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पोलिटब्युरो समिति १५६ सदस्यीय हुने प्रस्ताव गरेका हुन् ।

    पहिला १२५ सदस्यीय पोलिटब्यूरो कमिटीको नाम सुनाएपछि विवाद भएको थियो । विवाद उत्पन्न भएपछि अध्यक्ष प्रचण्डले १२५ जनामा ३१ सदस्य थप गरी पोलिब्युरोको आकार १५६ पुर्याउने प्रस्ताव राखेका छन्।

    विवादपछि एक घन्टा रोकिएको बैठक पुनः सुरु भएलगत्तै प्रचण्डले तेस्रो पटक सूची वाचन गरेका हुन्।

    प्रचण्डले थप गरिएको ३१ जनालाई बैकल्पिक बनाएर १५६ जनाको पोलिटब्युरो बनाउने प्रस्ताव गरेका छन् ।

    यी हुन् माओवादी केन्द्रका पोलिटब्युरो सदस्यहरु

    पुष्पकमल दाहाल ‘प्रचण्ड’, नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, देवप्रसाद गुरुङ, गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, शक्तिबहादुर बस्नेत, जनार्दन शर्मा, चक्रपाणि खनाल, पम्फा भुसाल, हितमान शाक्य, कुलप्रसाद केसी, मातृकाप्रसाद यादव, जयपुरी घर्ती, लीलामणि पोखरेल, दिनानाथ शर्मा, हितराज पाण्डे रहेका छन्।

    त्यस्तै राजकुमार यादव, मायाप्रसाद शर्मा, यशोदा सुवेदी, सूर्य सुवेदी, सावित्रीकुमार काफ्ले, दिलीप प्रजापति, लक्ष्मण पन्त, हरिबहादुर चुमान, लेखनाथ न्यौपाने, रामेश्वर राय, देवेन्द्र पौडेल, गणेश शाह, सुनील मानन्धर, देवेन्द्र पराजुली, सीता पोख्रेल, अजम्बर काम्वाङ, ओनसरी घर्ती, महेन्द्र पासवान, वामदेव क्षेत्री, बलावती शर्मा, प्रकाशहरि पोखरेल, दीपेन्द्र पुन, सत्या पहाडी, सन्तुकुमार चौधरी, नेपबहादुर चौधरी, दुर्गाजयन्ती राई, रेनु दाहाल, देवराज रेग्मी, केशव नेपाल, बीना मगर, शिवराज चौलागाई, युवराज दुलाल छन्।

    यस्तै रामप्रसाद सापकोटा, अजयशंकर नायक, सुशिला सिम्खडा, कुमारी मोक्तान, राजकुमार शर्मा, धर्मशीला चापागाई, चूडामणि खड्का, हरि दाहाल, ओम शर्मा, लोकेन्द्र लम्साल, रामदीप आचार्य, वसन्त घर्ती, राजन दाहाल, टीका बुढाथोकी, शालिकराम जमकट्टेल, विमला सुवेदी, गोपाल शर्मा, निर्मल बराल, कृष्ण केसी, हिमाल शर्मा, रेनु चन्द, श्याम श्रेष्ठ, खिमलाल देवकोटा, त्रिलोचन भट्ट, महेन्द्रबहादुर शाही लगायत छन्।

    त्यस्तै विश्वनाथ साह, डिलाराम आचार्य, उर्मिला अर्याल, श्रीराम ढकाल, सुरेन्द्रकुमार कार्की, नारायण दाहाल, सन्तु दराई, गणेशमान पुन, हितमान शाक्य, कालीबहादुर मल्ल, कमला रोका, झक्कुप्रसाद सुवेदी, सुरेशकुमार राई, शशी श्रेष्ठ, रेखा शर्मा, पूर्णकुमारी सुवेदी, गंगा कार्की, महेश्वरजंग गहतराज, कृष्णध्वज खड्का, भरतप्रसाद शाह, जोखबहादुर महरा पोलिटव्युरो सदस्य चयन भएका छन्।

    थप गरिएका प्रस्तावित नाम ​​​​​:

    पूर्ण कुमारी सुवेदी
    जयपुरी घर्ती
    रेखा शर्मा
    ओनसरी घर्ती
    अन्जना बिसंखे
    यशोदा सुवेदी
    अमृता थापा
    झक्कु सुवेदी
    कमला रोक्का
    नारायण दाहाल
    प्रल्हाद बुढाथोकी
    हितवहादुर तामाङ
    महेश्वर गहतराज
    रामेश्वर राय
    उर्मिला अर्याल
    सत्या पहाडी
    गणेशमान पुन
    साबित्री काफ्ले
    सुर्य सुवेदी
    सुनिल मानन्धर
    विश्वनाथ साह
    सन्तकुमार चौधरी
    नेपवहादुर चौधरी
    पर्शुराम तामाङ
    पर्शुराम रम्तेल
    दलजीत श्रीपाइली
    कुलप्रसाद केसी
    जोगखवहादुर महरा
    हरि अधिकारी
    जगप्रसाद शर्मा
    मायाप्रसाद शर्मा
    कालीवहादुर मल्ल
    सिता पोखरेल
    रामकुमार शर्मा
    नारायणी शर्मा
    हकिकुल्ला खाँ
    महेन्द पासवान
    महेन्द्र शाही
    नरेश भण्डारी
    सुरेश आले
    टेकवहादुर बस्नेत
    डोरप्रसाद उपााध्याय
    भरत साह
    वण यादव

    बलावती शर्मा
    गंगा कार्की

  • काठमाडौंमा गुड्न थाले साझाका विद्युतीय बस, यस्तो छ रुट

    काठमाडौंमा गुड्न थाले साझाका विद्युतीय बस, यस्तो छ रुट

    काठमाडौं । साझा यातायातले पहिलो चरणमा ल्याएका ३ वटा बिजुली बस काठमाडौं उपत्यकाका सडकमा गुड्न थालेका छन् । साझाले आजदेखि ती विद्युतीय बस संचालनमा ल्याएको हो ।

    वैशाख २३ गते काठमाडौंं ल्याइएका ती विद्युतीय बस आजदेखि औपचारिक रुपमा संचालनमा आएको हो । साझा यातायातका कार्याकारी निर्देशक भुषण तुलाधारले अहिले बसहरुमा चलिरहेकै भाडामा विद्युतीय बस सञ्चालन गर्ने बताए । उनले उक्त बस हाल २ वटा रुटमा गुड्ने बताए ।

    ती बसमध्ये दुई माछापोखरी–बालाजु–सोह्रखुट्टे–जमल–पुरानो बसपार्क–माइतीघर–नयाँबानेश्वर–तीनकुने–सिनामङ्गल–एयरपोर्टको रुटमा र एक लगनखेल–जावलाखेल–कुपण्डोल–त्रिपुरेश्वर–नेपाल वायुसेवा निगम–लैनचौर–शिक्षण अस्पताल–नारायण गोपालचोक–बाँसबारी–बूढानीलकण्ठ रुटमा सञ्चालन हुने साझाले जनाएको छ ।

    यी ३ वटा बस चीनमै ‘ग्रेडबिलिटी टेस्ट’ (उकालो तान्न सक्ने क्षमता) परीक्षण गरेपछि नेपालमा ल्याइएको थियो । साझाले ल्याउने भनेको ४० वटा विद्युतीय बस मध्ये हाल ३ वटा मात्र बस आएको हो ।

    चिनियाँ कम्पनी सीएचटीसी (नान्जिङ) अटो कम्पनी लिमिटेडले साझा यातायातका लागि ४० वटा विद्युतीय बस निर्माण गर्ने ठेक्का लिएको हो ।

    साढे ८ मिटरको २६ सिटे बस आयात गरिने भएको हो । साझा यातायातले भ्याट सहित ६१ करोड रुपैयाँ लगानीमा ४० वटा विद्युतीय बस ल्याउने भएको हो । बसका लागि आवश्यक चार्जर सोही कम्पनीले ल्याउने छ ।

    एउटा गाडीको मूल्य भ्याट सहित डेढ करोड रुपैयाँ हाराहारी पर्ने अनुमान गरिएको छ । कम्पनीले २० वटा चार्जिङ स्टेसन बनाएर दिने छ । २६ सिट क्षमताका बस अपाङ्गतामैत्री रहने छन् । यी बस एकपटक चार्ज गरेपछि ४२ भन्दाबढी यात्रु लिइ २०० किमी गुड्न सक्नेछन् ।

    यी बसहरुमा वाइफाइ, टिभी डिस्प्ले, सीसी क्यामेरा लगायतका विशेषता पनि हुनेछन् । क्रमैसँग आधुनिक सुविधासहितको विद्युतीय बसहरु थप्दै जाने साझाले जनाएको छ ।

    ४० वटा विद्युतीय बस ल्याएर सफलता पूर्वक सञ्चालनमा आएपछि साझाले १२ मिटर लामा र अन्तरप्रदेश चल्ने विद्युतीय बसहरु पनि ल्याउने योजना बनाएको छ ।

  • दोहोरो अंकले घट्यो नेप्से, अर्थमन्त्रीको राजीनामाले बढ्ने लगानीकर्ताको आँकलन फेल

    दोहोरो अंकले घट्यो नेप्से, अर्थमन्त्रीको राजीनामाले बढ्ने लगानीकर्ताको आँकलन फेल

    काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको पाँचौंदिन शेयर बजार मापक सूचक (नेप्से)१६.६० अंकले घटेर २०२७.३२ विन्दुमा झरेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार विहीवार २२९ कम्पनीको १ अर्ब ८० करोड ६२ लाख ४ हजार ७६४ रुपैयाँ बराबरको ४७ लाख ११ हजार २५ कित्ता शेयर किनबेच भएका छन् ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकममा गिरावट आएको छ । बुधवार २ अर्ब १७ करोड ८६ लाख ५५ हजार ७०० रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    आज कारोबार भएका १३ वटा समूह मध्ये १२ वटा राताम्मे भएका छन् भने १ वटा बढेको छ । म्युचल फन्डबाहेक सबै समूहको शेयर ओरालो लागेको छ ।

    समग्रमा बजार घटे पनि माउन्टेन हाइड्रो नेपालको शेयर भने ३ प्रतिशतभन्दा धेरैले बढेको छ । नेप्सेका अनुसार समिट लघुवित्त वित्तीय संस्था र लिबर्टी इनर्जी कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् ।

    यसको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी लाइफ इन्स्योरेन्स कर्पोरेशनको भएको छ । यसको आज ७ करोड ६५ लाख भन्दा बढीको कारोबार भएको छ ।

    दोस्रोमा अरुण काबेलीको ६ करोड ३० लाखको कारोबार भएको छ । तेस्रोमा शिवम् सिमेन्टको ६ करोड २५ लाख, हिमालय डिस्टिलरीको ५ करोड ९० लाख र अपर तामाकोशीको ५ करोड ८२ लाखको कारोबार भएको छ ।

    अर्थमन्त्रीबाट जनार्दन शर्माले राजीनामा दिएपछि बजार बढ्ने लगानीकर्ताको आँकलन थियो तर शर्माको राजीनामापछि पनि बजार ओरालो लागेको छ ।

  • अब काठमाडौँका सडकमा साहित्य पढ्न नपाइने, सायरी र गजल हटाउँदै ट्राफिक प्रहरी

    अब काठमाडौँका सडकमा साहित्य पढ्न नपाइने, सायरी र गजल हटाउँदै ट्राफिक प्रहरी

    काठमाडौँ । ट्राफिक प्रहरीले सवारीसाधनमा लेखिएका सायरी, कविता, गजल तथा विभिन्न भनाइलाई हटाउने अभियान सञ्चालन गरेको छ । काठमाडौँ उपत्यका भित्र चल्ने सार्वजनिक तथा निजी सवारीसाधनमा साहित्य तथा गजलका लाइन यात्रु र पैदल यात्रीले पढन् पाउने छैनन् ।

    काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय,रामशाहपथले सवारी साधनमा लेखिएको अश्लिल, अपाच्य, गाली, कानून विपरित तथा सामाजमा विकृत्ति ल्याउने तथा कविता, गजल र साहित्य समेत हटाउने भएको हो ।

    सवारीका विभिन्न भागमा लेखिएका त्यस्ता कन्टेन्टहरूले चालकको ध्यान मोडिई दुर्घटना निम्त्याएको पाइएपछि काठमाडौं उपत्यकाको ट्राफिक प्रहरीले हटाउन थालेको हो ।

    नेपालको कानून विपरीत महिला, बालबालिका,सिमान्तकृत समूदायलाई अपमान र अवहेलना गर्ने गरी कविता सायरी वा कुनै पनि प्रकारका सामग्री प्रचार प्रसार गर्न वा लेख्न नपाईने भएकोले यसलाई अभियानकै रुपमा सञ्चालनमा ल्याइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

    अश्लिल लाग्ने र द्विअर्थी लेखहरूले सामाजिक र मानसिक खलल, हिंसा र विकृति बढाएको र सडक सभ्यतामा पनि आँच पुर्‍याएकोले त्यस्ता गतिविधि रोक्नतर्फ ट्राफिक प्रहरी लागि परेको हो ।

    सवारीको सिसामा स्टिँकर वा अन्य कुनै प्रचार सामग्री नटाँस्न पनि ट्राफिक प्रहरीले चालकहरूलाई सुसूचित गरेको छ । ट्राफिक प्रहरीले चालक आसपास क्याबिनको भागमा सजावटका लागि झल्लरलगायतका सामाग्री तथा म्युजिक सिस्टम क्याबिनमा राख्न पनि निषेध गरेको छ ।

  • बाजुराको बूढीगंगामा जारी पुनः मतदानमा सत्ता गठबन्धन र एमाले कार्यकर्ताबीच विवाद, प्रहरीद्वारा हवाइ फायर

    बाजुराको बूढीगंगामा जारी पुनः मतदानमा सत्ता गठबन्धन र एमाले कार्यकर्ताबीच विवाद, प्रहरीद्वारा हवाइ फायर

    काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिकामा जारी पुनः मतदानमा विवाद भएपछि प्रहरीले हवाई फायर गरेको छ ।

    नगरपालिकाको वडा नम्बर ९ स्थित त्रिशक्ति मावि मतदान केन्द्रमा सत्ता गठबन्धन र नेकपा एमालेका कार्यकर्ताबीच तनावको स्थिति बनेपछि प्रहरीले हवाइ फायर गरेको थियो।

    तनावपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन हवाई फायर गर्नुपरेको अहिले स्थिति शान्त भएपछि पुनः मतदान जारी रहेको प्रहरीले जनाएको छ ।

    वैशाख ३० गतेको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमाले दुवै पक्षबाट धाँधली भएको भन्दै निर्वाचन आयोगले पालिकाभरिकै निर्वाचन बदर गरेको थियो।

    त्यसपछि एमालेले मतगणना गर्नुपर्ने अडान राखेको थियो। सर्वोच्च र उच्च अदालतमा मुद्दा दायर गरेको थियो। तर, विभिन्न दलका स्थानीय नेताहरुले फेरि निर्वाचन गर्ने आयोगको निर्णय कार्यान्वयन गर्ने सहमति जुटाएका हुन्।

  • संसदीय निर्वाचन २ मंसिरमा गर्न सिफारिस, १० अर्ब रुपैयाँ खर्च लाग्ने

    संसदीय निर्वाचन २ मंसिरमा गर्न सिफारिस, १० अर्ब रुपैयाँ खर्च लाग्ने

    काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचन मंसिर २ मा गर्न सरकारलाई सिफारिस गरेको छ । त्यसका लागि करिब १० अर्ब रुपियाँ खर्च लाग्ने प्रारम्भिक अनुमान समेत आयोगले गरेको छ । आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलले मतदाता संख्यामा भएको वृद्धि, मतदानस्थल र मतदान केन्द्रको बढोत्तरी, सूचना प्रविधिको प्रयोग बढाउनुपर्ने अवस्था र मतदान सामग्री तथा मतदाता शिक्षा सामग्रीको तयारीमा खर्च वृद्धि हुने देखिएको बताए ।

    यसअघि २०७४ मा भएको प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि ७ अर्ब ८० करोड खर्च भएको आयोगले जनाएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ६ (१) र प्रदेशसभा सदस्य निर्वाचन २०७४ को दफा ६ (१) बमोजिम आयोगले आगामी निर्वाचन २०७९ मंसिर २ गतेका शुक्रबार एकै चरणमा सम्पन्न गर्नेगरी निर्वाचन मिति तोक्न सरकारलाई परामर्श गरेको प्रवक्ता पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

  • धान रोप्ने क्रममा चट्याङ पर्दा चितवनमा १२ जना घाइते

    धान रोप्ने क्रममा चट्याङ पर्दा चितवनमा १२ जना घाइते

    चितवन । चितवनको कालीका नगरपालिकामा धान रोप्न गएका १४ जना रोपाहार चट्याङ लागेर घाइते भएका छन् । कालीका–८ मझुवामा रहेको कमला विकको खेतमा बुधवार धान रोपाइँ गरिरहेको अवस्थामा पानी परेपछि उनीहरु स्थानीय जन्तरी प्रजाको घरमा ओत लाग्न गएका थिए ।

    त्यही क्रममा हुरी, बतास र पानीसँगै परेको चट्याङले रोपाहार घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइतेमध्ये पाँच जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । अन्य नौ जना गए राति नै उपचारपछि घर फर्किएका प्रहरीले जनाएको छ । घाइते पाँच जनाको अवस्था खतरामुक्त रहेको छ । हिजो बेलुका ६ बजेतिर चट्याङ परेको बताइएको छ ।

  • जलवायु परिवर्तनबारे जनचेतना जगाउन शे-फुक्सुण्डो क्षेत्रमा महिलाले पदयात्रा गर्ने

    जलवायु परिवर्तनबारे जनचेतना जगाउन शे-फुक्सुण्डो क्षेत्रमा महिलाले पदयात्रा गर्ने

    काठमाडौं । जलवायु परिवर्तनले महिलाका जनजीवन र पर्यटन क्षेत्रमा पारेको असरबारे ध्यानाकर्षण गराउन डोल्पाको शे-फुक्सुण्डो क्षेत्रमा पदयात्रा गरिने भएको छ। आगामी अक्टोबरमा सातै प्रदेशका जनप्रतिनिधिसहित ६० जना महिलाको समूहले पदयात्रा गर्न लागेका छन्। यो समूहमा विविध क्षेत्रका अगुवा महिलाको सहभागिता रहनेछ। साथसाथै संस्थाले यसअघि मार्च ८ मा सगरमाथाको कालापत्थरमा पदयात्रा आयोजना गरेको थियो।

    बुधबार भएको कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री जीवनराम श्रेष्ठले नेपालको पर्यटनलाई विश्वस्तरमा पुर्‍याउन र जलवायु परिवर्तनको असरबारे सन्देश दिन यो पदयात्रा प्रभावकारी हुने बताए । कार्यक्रममा सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले पदयात्रा र हिमाल आरोहण नै नेपालको पर्यटनको मुख्य आधार भएकाले यसलाई बचाउन सरकार र जनस्तरबाट पहल हुनुपर्ने बताइन् । संस्थाकी अध्यक्ष प्रजिता कार्कीले जलवायु परिवर्तनले उच्च हिमाली क्षेत्रमा पारेको असर, प्रकृतिमा अधारित पर्यटन र स्थानीय महिलामाथि पारेको समस्यालाई विशेष रुपमा उजागर गर्न र त्यसको समाधानका लागि विभिन्न निकायको ध्यानाकर्षण गराउने तयारी रहेको जानकारी दिएकी थिइन्।

    यात्रामा सरकारका विभिन्न तह, कूट्नीतिक नियोग, पत्रकारसहितको सहभागिता हुने आयोजकले जनाएको छ। हवाईमार्ग हुँदै डोल्पाको जुफाल विमानस्थल, त्यसपछि सदरमुकाम दुनैबाट तीन दिनको पैदलयात्रा गरी महिला टोली फुक्सुण्डो क्षेत्रमा पुग्ने तयारी छ। संस्थाले गत मार्च ८ मा नारी दिवसका दिन विभिन्न ४० जना महिला लुक्लादेखि सगरमाथाको कालापत्थर क्षेत्रमा पैदल पुगेर जलवायु परिवर्तनसम्बन्धी विशेष घोषणापत्र जारी गरेको थियो।

    फोक्सुण्डु पदयात्रामा मधेशसहित विभिन्न प्रदेशबाट प्रतिनिधित्वमूलक रुपमा सांसद र अन्य जनप्रतिनिधि, डोल्पाका स्थानीय जनप्रतिनिधि र सरोकारवाला पक्षसमेत सहभागी भई सेफुक्सुण्डो घोषणापत्र जारी गर्ने कार्यक्रम छ। ‘वुमन युनाइटेड फर क्लाइमेट जस्टिस एण्ड नेचर वेस टुरिज्जम डेभलपमेण्ट’ भन्ने नारासहित उक्त अभियानको तयारीमा आयोजक जुटेको छ।

    RSS
  • एकदिवसीय क्रिकेट : क्यानडा सामु निरिह नेपाल

    एकदिवसीय क्रिकेट : क्यानडा सामु निरिह नेपाल

    काठमाडौं । दोस्रो एकदिवसीय खेलमा नेपाल घरेलु टिम क्यानडा सामु निरिह देखिएको छ । वान डेमा सामान्य लक्ष्य पाए पनि नेपालले त्यसलाई भेटाउन नसक्दा ८३ रनले पराजित भयो । बिहीबार विहान सकिएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको क्यानडाले ९ विकेटको क्षतिमा १८८ रन जोडेको थियो । श्रेयस मोभाले ५० रन र आरोन जोनसनले ४४ रन बनाएपछि क्यानडाले सो योगफल बनाएको हो ।

    बलिङमा नेपालका कप्तान सन्दीप लामिछानेले विकेट र दीपेन्द्रसिंह ऐरीले २ विकेट लिए। १८९ रनको लक्ष्य पछ्याएको नेपाल ३९.२ ओभरमा १०५ रनमै अलआउट भयो। नेपालका लागि देव खनालले सबैभन्दा बढी २६ रन जोडे। ओपनर कुशल भुर्तेल १ रनमा आउट हुँदा अर्का ओपनर पवन सर्राफले १४ रन मात्र जोडे।

    रोहित पौडेल ६ रनमा आउट हुँदा दीपेन्द्र र आसिफ शेख डकआउट भए। बासिर अहमेद, विनोद भण्डारी र आदील अन्सारीले १३\१३ रन मात्र बनाए । करण केसी ५ रनमा नटआउट हुँदा सन्दीप लामिछाने ११ रनमा आउट भए।

  • हेटौडा र भक्तपुरमा पनि हैजा पुष्टी

    हेटौडा र भक्तपुरमा पनि हैजा पुष्टी

    काठमाडौं । काठमाडौंपछि हेटौडा र भक्तपुरमा समेत हैजा पुष्टी भएको छ । चाँगुनारायण नगरपालिका वडा नम्बर ४ दुवाकोट र हेटौंडा नगरपालिकामा हैजाका संक्रमित भेटिएका हुन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार उक्त दुई संक्रमितको अस्पतालमा उपचार भइरहेको छ । दुवाकोटका संक्रमितको टेकु र हेटौंडाका संक्रमितको काठमाडौंस्थित विरेन्द्र सैनिक अस्पतालमा उपचार भइरहेको छ । अहिलेसम्म २१ जनामा हैजाको संक्रमित भेटिएको छ ।

    काठमाडौं उपत्यकामा हालसम्म बागबजार र कालीमाटी, सानेपा, डिल्लीबजार, कपन, बालाजु ९बोहोराटार०, बल्खु, थानकोट, नैकाप, कोटेश्वर, कंलकी (खसीबजार) , किर्तिपुर, कागेश्वरी मनहरा, टेकु, र ग्वार्कोमा हैजाका संक्रमित भेटिएका छन् । काठमाडौं उपत्यकाका धारा र इनारको पानी, ट्याङकरबाट वितरण गरिने र जारको पानीमा ईकोलाई र कोलिफर्म देखिएको छ । ईकोलाई मानिसको दिसामा हुने जीवाणु हो ।

    काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा आजभोलि झाडापखालाका बिरामी बढिरहेका छन् । गर्मी तथा वर्षायाम सुरु भएसँगै झाडापखाला, हैजाजस्ता रोगहरू फैलने हुँदा सावधानी र सतर्कता अपनाउन असाध्यै जरुरी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हैजाको संक्रमण हुँदा पेट दुख्ने, बान्ता हुने, असाध्यै तिर्खा लाग्ने, पातलो दिसा हुने जस्ता लक्षण देखिन्छन् ।

  • स्थानीय निर्वाचनमा विवादका कारण रोकिएको बाजुराको बुढिगंगा नगरपालिकामा आज मतदान

    स्थानीय निर्वाचनमा विवादका कारण रोकिएको बाजुराको बुढिगंगा नगरपालिकामा आज मतदान

    बाजुरा । बाजुराको बूढीगंगा नगरपालिकामा आज मतदान जारी छ । वैशाख ३० मा सम्पन्न मतदान विवादित भएपछि त्यसलाई रद्द गरेर आज मतदान गर्न लागिएको हो । बिहान ७ बजेदेखि मतदान सुरु भएको छ । बूढीगंगा नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका रंग खाती र एमालेका रामबहादुर बानियाँ उम्मेदवार छन् । १० वटा मतदानस्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट प्रहरी निरीक्षक (इन्सपेक्टर)को नेतृत्वमा प्रहरी खटेको छ ।

    गत वैशाख ३० गते भएको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेबीच मतदानमा धाँधली भएको भन्दै विवाद भएपछि मतदान नै स्थगित गरिएको थियो । निर्वाचन आयोगले गरेको स्थलगत अध्ययनले पुनःनिर्वाचन गर्ने निष्कर्ष निकालेको थियो । निर्वाचन पुनः हुनुपर्ने माग गर्दै अदालतमा मुद्दासमेत परेको थियो । पछि सर्वदलीय सहमतिका आधारमा पुनः निर्वाचनको मिति तय गरिएको थियो । बूढीगंगाका केही वडाहरुमा कांग्रेस र एमालेका कार्यकर्ताहरुले बुथ कब्जा गरेर मतदान गरेको आरोप लागेपछि मतगणना हुन सकेको थिएन ।

    स्थिति असहज भएपछि त्यहाँका निर्वाचन अधिकृत नै फिर्ता भएका थिए । पुनः निर्वाचन गर्नका लागि निर्वाचन आयोगले नयाँ निर्वाचन अधिकृतको रुपमा लक्ष्मण बहादुर कडायतलाई तोकेको छ । यसैगरी पहिलेका प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेलको सट्टा प्रकाशचन्द्र अधिकारीलाई बाजुराको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको नेतृत्व पनि सरकारले फेरेको थियो ।

  • चन्द्रागिरी केवलकार बिग्रदा सयौं मानिस अलपत्र, प्रहरीले गर्यो उद्धार

    चन्द्रागिरी केवलकार बिग्रदा सयौं मानिस अलपत्र, प्रहरीले गर्यो उद्धार

    काठमाडौं । चन्द्रागिरि केवलकारमा आएको प्राविधिक समस्याका कारण बुधबार सयौं मानिस माथिल्लो स्टेशनमा रोकिएका छन् । बुधबार दिउँसो पौने २ बजेदेखि केबलकार बिग्रिएपछि चार सय जना मानिस डाँडामा अलपत्र परेको प्रहरीले जनाएको छ । साँझसम्म पनि मानिसहरुले केबलकार चल्ने आशमा कुरेका थिए । तर, चल्न नसकेपछि नेपाल प्रहरीले उनीहरुलाई उद्धार गरेको हो ।

    टावर नं. ४ मा समस्या देखिएपछि दिउँसो पौने २ बजे राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिम्सिनासहित उनको परिवार पनि बीचमै अलपत्र परेको थियो । उनीहरुलाई उद्धार गर्न झण्डै आधा घन्टा लागेको थियो । तिम्सिना अलपत्र परेका बेला अन्य २८ केबलकार बीचमै रोकिएका थिए । त्यतिबेला १२० जनालाई तानेर उद्धार गरिएको थियो । गाडीमार्फत उनीहरुलाई तल्लो स्टेशनमा ओरालिएको छ ।