Category: फिचर

  • झिनो अंकले घट्यो नेप्से, ४ अर्ब ३४ करोडको कारोबार

    झिनो अंकले घट्यो नेप्से, ४ अर्ब ३४ करोडको कारोबार

    काठमाडौं । शेयर बजारमा झिनो अंकको गिरावट आएको छ । साताको पहिलो दोस्रो कारोबार शुरु भएदेखि नै उतारचढाव लागेको शेयर बजार मापक सूचक (नेप्से) ९.७५ अंकले घटेर २०७६.६७ विन्दुमा झरेको छ ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार २३४ कम्पनीको ४ अर्ब ३४ करोड ९२ लाख ७३ हजार ५९३ रुपैयाँ बराबरको १ करोड ८ लाख ८१ हजार ५९१ कित्ता शेयर किनबेच भएका छन् ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ । आइतवार २ अर्ब ४८ करोड ४ लाख ७३ हजार ९९८ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    आज कारोबारमा आएका १३ समूहमध्ये ४ वटा हरियो भएको छ भने अन्य घटेको छ ।

    बैंकिङ १ विकास बैंक ५२, फाइनान्स ६, होटल तथा पर्यटन ४६, जलविद्युत् १३, उत्पादन४५, लघुवित्त ६० र अन्य २७ अंकले घटेको छ ।

    निर्जीवन बीमा ५५, र ब्यापार उपसमूह १०४ अंक र जीवन बीमा ४८ अंकले बढेको छ ।

    यसमध्ये दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । सिवाईसी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशत र ङादी ग्रुप पावरको शेयरमूल्य ९.९८ प्रतिशतले बढेको छ ।

    नेप्सेका अनुसार ग्लोबल आईएमइ बैंक डिभेञ्चरका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले घटेको छ ।

    त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्टको भएको छ । यसको आज १७ करोड ९८ लाख भन्दा बढीको कारोबार भएको छ ।

    दोस्रोमा हिमालय डिस्टिलरीको १६ करोड ९० लाख र तेस्रोमा एशियन लाइफको १२ करोड ९६ लाखको कारोबार भएको छ ।

  • काठमाडौंस्थित भारतीय दूतावासभित्र गोली चल्यो, एक सुरक्षाकर्मीको घटनास्थलमै मृत्यु

    काठमाडौंस्थित भारतीय दूतावासभित्र गोली चल्यो, एक सुरक्षाकर्मीको घटनास्थलमै मृत्यु

    काठमाडौं । काठमाडौंको लैनचौरस्थित भारतीय दूतावासभित्र गोली चलेको छ।

    दूतावासमा कार्यरत भारतीय सुरक्षागार्डले ड्युटी समयमै आफैंलाई गोली हानी आत्महत्या गरेका हुन् ।

    दूतावास सुरक्षार्थ तैनाथ निजी सुरक्षा गार्ड ३२ वर्षीय दीपक सिंहले आफूसँग रहेको इन्सास राइफलले आफैंलाई गोली हानेका प्रहरीले जनाएको छ ।

    घटनास्थल दूतावासभित्रै भएका कारण भारतीय पक्षले नै त्यसको अनुसन्धान गरी शव व्यवस्थापन गर्ने तयारी गरेको छ । उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ ।

  • ‘बजेट हेर्दै दुई चार व्यापारिक घरानाका अनुहार देखिन्छ, अनाधिृकत मानिस राखेर बजेट बनाइयो’- ओली

    ‘बजेट हेर्दै दुई चार व्यापारिक घरानाका अनुहार देखिन्छ, अनाधिृकत मानिस राखेर बजेट बनाइयो’- ओली

    काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको बजेट सरकारले नभै दुई चार व्यापारिक घरानाले ल्याएको आरोप लगाएका छन् ।

    सोमबार प्रतिनिधिसभा बैठकमा समय लिएर विपक्षी दलको नेताको हैसियतमा बोल्दै उनले यस्तो बताएका हुन् ।

    सम्बोधनको क्रममा ओलीले भने, ‘यो त देशको बजेट नै होइन, व्यापारीको बजेट हो । बजेट हेर्दै थाहा हुन्छ, त्यसमा दुई चार घरानाका अनुहार देखिन्छन् ।’

    ‘यसरी अनुहार हेरेर निश्चित घरानालाई फाइदा हुने गरी अरुलाई फाइदा नहुने गरी बजेट किन बनाइयो ?’

    उनले बजेट अनधिकृत मान्छे रााखेर बनाएको उल्लेख गर्दै बजेट बनाउनका लागि अर्थ मन्त्रालयका कर्मचारीको भर नपरिएको टिप्पणी गरे ।

    ‘करका दर फाइनल हुने दिन अर्थ सचिव, सम्बन्धित सहसचिवहरु घर जानसमेत पाउँदैनन्, त्यहीँ रात बस्नुपर्छ’ उनले भने, ‘यहाँ त करका दर कति राखौं, तिमीहरुलाई कति कति चाहिन्छ भनेर बनाइयो ?’

    बजेट बनाउने बेलामा अर्थसचिव, राजस्वसचिव लगायत उच्च अधिकारी मन्त्रालयमै बस्नुपर्ने भए पनि उनीहरुलाई निर्देशित गर्न अन्यत्रबाट मान्छे ल्याइएको बताए ।

    अनधिकृत व्यक्तिले बजेटमा हेरफेर गरेको विषयमा संसदमा प्रमुख प्रतिपक्षी दलले उठाएको प्रश्नलाई अवमूल्यन गरिएको भन्दै उनले आपत्ति जनाए ।

    कानुनअनुसार तीन महिनासम्म राख्नुपर्ने सिसिटीभी फुटेज अर्थमन्त्रालयले डिलिट गरेर कानुनी राज्यको धज्जी उडाएको उनको आरोप छ ।

  • सरकारप्रति लक्षित गर्दै ओलीले भने- ‘इनफ भएपछि बोल्न यहाँ आएको हुँ,इनफ इज इनफ’

    सरकारप्रति लक्षित गर्दै ओलीले भने- ‘इनफ भएपछि बोल्न यहाँ आएको हुँ,इनफ इज इनफ’

    काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफू अत्ति नै भएर संसदमा बोल्न उभिएको बताएका छन् ।

    सोमबार प्रतिनिधिसभा बैठकमा समय लिएर विपक्षी दलको नेताको हैसियतमा बोल्दै उनले यस्तो बताएका हुन् ।

    एसपीपी आफ्नो पालोमा आएको र आफूहरुले त्यसलाई अस्विकार गरेको भनेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले लगाएको आरोपमा कुनै सत्यता नभएको पनि ओलीको भनाई छ । उनले प्रचण्डको आरोप भ्रमपूर्ण रहेको जिकिर गरे ।

    उनले सरकारप्रति लक्षित गर्दै भने, ‘इनफ भएपछि बोल्न यहाँ आएको हुँ, इज इनफ, अब चाहिँ अति नै भयो ।’ ओलीले एसपीपीका सम्बन्धमा तत्कालीन प्रधानसेनापतिले पठाएको पत्रका बारेमा आफू नेतृत्वको सरकारलाई कुनै जानकारी नगराइएको दाबी गरे ।

    सरकारले यथार्थ कुरा बाहिर ल्याउनुपर्यो। जस्तो एसपीपीको विषय के होरु एकजना सत्तापक्षका नेताले मेरै पालामा आएको थियो र पछि हामीले रद्द गरेको भन्नुभयो,’ उनले भने, ‘यस्तो भ्रम राज्यमा बसेका नेताहरुले गर्न पाउँदैनन्।

    ‘म चुनौतीका साथ के भन्न चाहन्छु भने २०७२ साल भदौं २४ गते संविधान जारी हुनु भन्दा १० दिन अगाडि नेपाली सेनाले रक्षा मन्त्रालयलाई एसपीपीमा सहभागिताका सम्बन्धमा पत्राचार गरेको रहेछ।’

  • जसपाका मन्त्रीहरू हेरफेर, यस्तो छ नयाँ मन्त्रिपरिषद्

    जसपाका मन्त्रीहरू हेरफेर, यस्तो छ नयाँ मन्त्रिपरिषद्

    काठमाडौं । मन्त्रिपरिषद पुनर्गठन भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सोमवार जनता समाजवादी पार्टीका तीन नेतालाई सहभागी गराएर मन्त्रिपरिषद पुनर्गठन गरेका हुन् ।

    जसपाबाट भौतिक पूर्वाधार मन्त्रीमा मोहम्मद इस्तियाक राई, वन मन्त्रीमा प्रदीप यादव र कृषि मन्त्रीमा मृगेन्द्रकुमार सिंह यादव नियुक्त भएका छन्।

    जसपाले भौतिक पूर्वाधार मन्त्री रेनु यादव, वनमन्त्री रामसहाय यादव र कृषि मन्त्री महिन्द्र राय यादवलाई फिर्ता बोलाएको थियो।

    सपथ सोमबार अपरान्ह साढे ४ बजे राष्ट्रपति कार्यालयमा नयाँ मन्त्रीहरूको सपथ हुने राष्ट्रपति कार्यालयले जनाएको छ।

    उनीहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ खुवाइने छिन्।

  • निर्वाचनमा घात गर्नेमाथि एमालेले कारवाही गर्ने, छानविन गर्न समिति गठन

    निर्वाचनमा घात गर्नेमाथि एमालेले कारवाही गर्ने, छानविन गर्न समिति गठन

    काठमाडौं । नेकपा एमालेले स्थानीय तह निर्वाचनमा घात गर्नेमाथि कारवाही गर्ने भएको छ । आइतबार बसेको पार्टीको सचिवालय बैठकले स्थानीय निर्वाचनमा परेका उजुरीमाथि छानबिन तथा आवश्यक कारबाही गर्न उपाध्यक्ष विष्णु पौडेलको संयोजनमा समिति गठन गरेको हो । पार्टी प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङका अनुसार पौडेलको नेतृत्वमा केन्द्रीय निर्वाचन विभाग प्रमुख र संगठन विभाग प्रमुखसहित तीन सदस्यीय समिति गठन भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा आइतबार ललितपुरस्थित केन्द्रीय कर्यालयमा बसेको बैठकले १३ विभागको सचिव समेत मनोनयन गरेको छ ।

    वित्त तथा आर्थिक विभागमा डा. भीष्म अधिकारी, संगठन विभागमा सम्झना देवकोटा, उपभोक्ता हित संरक्षणमा मोहिनी खनाल, श्रम तथा रोजगारमा जनक चौधरी, संसदीय विभागमा डा. सूर्य पाठक, सामाजिक सेवामा नेत्र तिम्सिना मनोनयन गरिएको छ । संस्कृति विभाग राजेश थापा, स्थानीय तह विकासमा हर्क राई, प्रचार तथा प्रकाश विभागमा गगन विष्ट, परराष्ट्रमा अन्जान शाक्य, संघीय मामिलामा शिव गुरुङ, ऊर्जा तथा जलश्रोतमा पुष्प ज्योति ढुंगाना र कानुन विभागमा डिल्लीराम मैनाली मनोनयन भएका छन् ।

  • कांग्रेस महामन्त्री शर्मा अमेरिका भ्रमणमा, के के छन् कार्यक्रम ?

    कांग्रेस महामन्त्री शर्मा अमेरिका भ्रमणमा, के के छन् कार्यक्रम ?

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा अमेरिका भ्रमणमा पुगेका छन् । नर्थ क्यारोलिना गैरआवासीय नेपाली संघको साधारण सभा र ज्ञान सम्मेलनका लागि उनी केही दिनदेखि अमेरिकामा छन्। साधारण सभा उद्घाटन समारोहमा बोल्दै महामन्त्री शर्माले नेपालको हितका लागि दुरगामी ढंगले सोच्नुपर्ने बताए । संसारभर छरिएका नेपालीहरू एक छौं भन्ने भावनाका साथ अगाडि बढ्नुपर्ने महामन्त्री शर्माको भनाइ छ । ‘नेपालको रूपान्तरणमा एकखालको सन्देश दिनुपर्दछ, एनआरएनएले पनि यसमा भूमिका खेल्नुपर्छ,’ उनले भने ।

    एनआरएनले नेपालमा गर्ने लगानी स्वागतको विषय भएको उनले बताएका थिए। ‘नेपालको समुन्नतिका लागि तन, मन र धनले पूर्वाग्रहभन्दा माथि उठेर आउने एक दशक काम गरौं,’ एनआरएनएलाई नेपालमा लगानी गर्न आग्रह गर्दै महामन्त्री शर्माले भने। उक्त कार्यक्रममा राष्ट्रिय सभा सांसद कमला पन्त, कांग्रेस केन्द्रीय सदस्य प्रतिमा गौतम, भक्तपुर जिल्ला सभापति दुर्लभ थापा, नेताहरू मनोजमणि आचार्य, शंकर डाँगी, वंशलाल तामाङ, अमृत भट्टचन, महेश खनाललगायत पनि सहभागी छन्।

  • बालबालिकालाई लगाउन २३ लाख मात्रा खोप नेपाल ल्याइयो

    बालबालिकालाई लगाउन २३ लाख मात्रा खोप नेपाल ल्याइयो

    काठमाडौं । बालबालिकालाई लगाइने कोरोना भाइरस विरुद्धको खोपको करिब २३ लाख मात्रा नेपाल ल्याइएको छ । कोभ्याक्स सुविधामार्फत ‘फाइजर बायोएनटेक’ खोप नेपाल आइपुगेको स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखाप्रमुख सुरेन्द्र चौरसियाले बताए। उनकाअनुसार २२ लाख ९९ हजार २०० मात्रा खोप नेपाल आइपुगेको हो। उक्त खोप ५ देखि १२ वर्षमुनिका बालबालिकाका लागि लगाइने छ। आइतबार प्राप्त भएको खोप यसअघि असार ९ देखि १५ गतेसम्म खोप लगाएका बालबालिकालाई दोस्रो मात्रा खोप लगाइने छ। यसअघि बालबालिकालाई लगाइने खोप २२ लाख तीन हजार २०० मात्रा आएको थियो।

    सरकारले ५ देखि १२ वर्षमुनिका ३९ लाख बालबालिकालाई दुई चरणमा खोप लगाइरहेको छ। पहिलो चरणमा २७ जिल्लामा यही असार ९ देखि १५ गतेसम्म बालबालिकालाई विद्यालयमा गएर खोप प्रदान गरिएको थियो। सोही समूहलाई साउन २ देखि ८ गतेसम्म दोस्रो मात्राको खोप दिइने छ। दोस्रो चरणमा ५० जिल्लामा भदौ ५ देखि ११ गतेसम्म पहिलो मात्रा र सोही समूहलाई दोस्रो मात्रा भदौ २७ देखि असोज १ गतेसम्म सञ्चालन गरिने छ। रासस

  • डेनमार्कको राजधानीस्थित सबैभन्दा व्यस्त सपिङ मलमा अन्धाधुन्ध गोलीबारी, कम्तिमा तीनको मृत्यु

    डेनमार्कको राजधानीस्थित सबैभन्दा व्यस्त सपिङ मलमा अन्धाधुन्ध गोलीबारी, कम्तिमा तीनको मृत्यु

    कोपनहेगन । डेनमार्कको सबैभन्दा ठूलो सपिङ मल मध्ये एकमा एक जना बन्दुकधारीले तीन जनाको हत्या गरेका छन्। अन्य घाइते भएको र उनीहरूमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। बीबीसीका अनुसार दक्षिण कोपनहेगनस्थित फिल्ड्स मलमा आम मानिसमा आतङ्क फैलाउने आक्रमण गरेको आरोपमा २२ वर्षीय व्यक्तिलाई पक्राउ गरी अभियोग लगाइएको छ। प्रहरी प्रमुख सोरेन थोमसेनले आक्रमणको कारण स्पष्ट नभएको र उनले उक्त कार्यलाई आतङ्कवाद सम्बन्धी कार्य होइन भन्न नसकिने बताए।

    प्रधानमन्त्री मेट फ्रेड्रिकसेनले डेनमार्कले क्रूर आक्रमण भोगेको बताए। मृतकका आफन्तलाई समवेदना सन्देशसहित उनले सम्पूर्ण डेनिशहरूलाई यस कठिन घडीमा एकअर्कालाई साथ र सहयोग प्रदान गर्न प्रोत्साहित गर्न चाहेको बताइन्।
    ‘हाम्रो सुन्दर र सामान्यतया सुरक्षित राजधानी केही बेरमै परिवर्तन भयो’ उनले भनिन्। डेनमार्कको राज परिवारले पीडितहरू, उनीहरूका आफन्तजन र उक्त घटनाबाट प्रभावित सबैप्रति आफ्नो गहिरो सहानुभूति व्यक्त गरेको छ।

    ‘हामीलाई त्रासदीबारे पूर्ण रूपमा थाहा छैन तर मानिसहरूले ज्यान गुमाएको स्पष्ट छ र अझ बढी घाइते भएका छन्, रानी मार्गरेट, युवराज फ्रेड्रिक र युवराज मेरीको संयुक्त वक्तव्यमा लेखिएको छ। आक्रमणका शङ्कास्पदलाई पक्राउ गर्दा उनको हातमा राइफल र गोलाबारी रहेको प्रहरीले जनाएको छ। सन्दिग्धसँग सोमवार न्यायाधीशले सोधपुछको गर्ने बताइएको छ।

    प्रहरीका अनुसार उनीसँग अन्य आक्रमणकारीहरू संलग्न रहेको कुनै सङ्केत भेटिएको छैन र पसल सञ्चालकहरूलाई उनीहरूसँग हुन सक्ने कुनै पनि भिडिओ फुटेज सुरक्षित गर्न आग्रह गरिएको छ। फिल्ड्स मलमा १४० भन्दा बढी पसल र रेस्टुराँहरू छन्। थुप्रै तलाको यस मल कोपनहेगनको बाहिरी भागमा छ र यो सहरको केन्द्रसँग जोडिने सबवे लाइन नजिकै रहेको छ। गोली चल्दा किनमेल गर्न आएका मानिसहरूले भोगेको आतङ्कबारे प्रत्यक्षदर्शीहरू बोलेका छन्।

  • नेकपा फुटनु अगाडीका बहुमत सचिवालय सदस्यबीच भेटवार्ता ? एकताको सम्भावना कति ?

    नेकपा फुटनु अगाडीका बहुमत सचिवालय सदस्यबीच भेटवार्ता ? एकताको सम्भावना कति ?

    काठमाडौं । आइतबार अबेर सार्वजनिक एक तस्वीरले राजनीतिक वृत्तमा पुनः एक बहस सिर्जना गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुट्नु अगाडीका बहुमत सचिवालय सदस्यबीच आइतबार ललितपुरमा भेटवार्ता भएको हो। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल, नेकपा एकता अभियानका संयोजक वामदेव गौतम र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको हो । यो भेटलाई अर्थपूर्ण रुपले हेरिएको छ।

    ललितपुरको हात्तीवनस्थित एक निजी निवासमा भएको भेटमा वर्तमान राष्ट्रिय राजनीतिलगायत विविध विषयमा छलफल भएको माओवादी केन्द्रका अध्यक्ष दाहालकी छोरी गांगा दाहालले जानकारी गराएकी छिन् । भेटमा स्थानीय निर्वाचन, वाम तथा समाजवादी आन्दोलन, कांग्रेससँगको गठबन्धनका विषयमा छलफल भएको उनको भनाई छ । पाँच नेताबीचको भेटमा छलफललाई निरन्तरता दिने समझदारी भएको छ ।

  • युक्रेनको थप एक शहर कब्जा गरेको रुसको दाबी

    युक्रेनको थप एक शहर कब्जा गरेको रुसको दाबी

    काठमाडौं । रुस र पूर्वी युक्रेनमा रहेका पृथकतावादी फौजले युक्रेनको लिसेचान्स्क सहर कब्जामा लिएको रुसको रक्षा मन्त्रालयले दाबी गरेको छ। रुसी रक्षामन्त्रीले राष्ट्रपति पुटिनलाई युक्रेनको पूरै लुहान्स्क क्षेत्रलाई मुक्त पारेको बताएका हुन्। तर युक्रेनको रक्षा मन्त्रालयका प्रवक्ताले बीबीसीसँग कुरा गर्दै लिसेचान्स्क रुसी फौजको पूर्ण नियन्त्रणमा नरहेको बताएका छन्। त्यसअघि रुस र युक्रेन दुवैले पूर्वी युक्रेनको लिसेचान्स्क सहर आफ्नो कब्जामा रहेको दाबी गरेका थिए।

    आफ्नो फौजले निरन्तरको रुसी आक्रमणको सामना गरिरहे पनि सहर कब्जामा नगएको दाबी युक्रेनले गरेको छ। रुसले समर्थन गरेका पृथकतावादीहरूले आफूहरू सफलतापूर्वक सहर प्रवेश गरेको र केन्द्र भागसम्म पुगेको बताएका थिए। रुसी सञ्चारमाध्यमले आफ्ना फौज वा पृथकतावादीहरू सडकमा परेड खेलिरहेका जस्तो देखिने दृश्यहरू प्रसारण गरेका छन्। रुसी समाचार स्रोतले सहरमा ध्वस्त अवस्थामा रहेको प्रशासनिक भवनमा सोभियत झण्डा गाडिएको दाबी गर्दै भिडिओहरू ट्वीट गरे पनि त्यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन।

    डोन्बास औद्योगिक क्षेत्रमा रहेको यो सहर युक्रेनले लुहान्स्कमा अन्तिमसम्म आफ्नो नियन्त्रणमा राखेको स्थान हो। रुसले नजिकैको सहर सेभेरोडोनेट्स्क गत महिना मात्रै आफ्नो नियन्त्रणमा लिएको थियो। लुहान्स्क क्षेत्रका गभर्नर सर्ही हैदाले लिसेचान्स्क सबैतिरबाट रुसी फौजबाट घेरिएको र उनीहरू अघि बढिरहेको बताएका छन्। रक्षासम्बन्धी ब्लगर रोब लीले चेचेन रुसी फौजहरू सहरमा देखिएको तस्बिरहरू सार्वजनिक गरेका छन्।

    नेटोको सदस्यता लिन अघि बढेको युक्रेनलाई निःशस्त्र बनाउने र नाजीमुक्त बनाउने दाबी गर्दै रुसले फेब्रुअरी २४ मा युक्रेनमाथि आक्रमण थालेयता हजारौँ गैरसैनिक र सुरक्षाकर्मीहरू मारिएका वा घाइते भएका छन्। युक्रेनमा एक करोड २० लाख मानिसहरू घर छोड्न बाध्य भएको छन्। रुसी आक्रमणको प्रतिक्रिया स्वरूप पश्चिमा देशहरूले युक्रेनलाई अस्त्र सहयोग गरेका छन्। उनीहरूले आणविक महाशक्ति र विश्व बजारमा ऊर्जाको प्रमुख आपूर्तिकर्तामध्ये एक रुसमाथि अभूतपूर्व प्रतिबन्ध पनि लगाएका छन्।


    निरन्तरको आक्रमणका कारण उत्तरी खार्किभमा रेलमार्ग र विद्युत् प्रसारण लाइनहरूमा क्षति पुगेको छ। बन्दरगाह रहेको सहर ओडेसा जाने प्रमुख मार्गमा रहेको दक्षिणी सहर मिकोलिएभमा पनि कैयौँ विस्फोट भएका विवरणहरू आएका छन्। रुसको रक्षा मन्त्रालयले आफ्नो वायुसेनाले पाँच युक्रेनी कमान्ड पोस्ट र कैयौँ गोला बारुदका भण्डार ध्वस्त बनाइदिएको दाबी गरे पनि स्वतन्त्र पुष्टि हुन सकेको छैन। ओसेडा नजिकैको एक आवासमा २० जना मानिसहरू मारिने गरी क्षेप्यास्त्र आक्रमण गरेको आरोप लागेपछि रुसले पनि यस्तो दाबी गरेको हो।
    बीबीसी

  • नेपालमा आउने पर्यटकमध्ये आधा भारतीय, दोस्रो स्थानमा अमेरिकी

    नेपालमा आउने पर्यटकमध्ये आधा भारतीय, दोस्रो स्थानमा अमेरिकी

    काठमाडौं । नेपालमा आउने पर्यटकमध्ये आधा पर्यटक भारतीय भएको तथ्यांकले देखाएको छ । सन् २०२२ को ६ महिना (जनवरी–जुन) मा कुल २ लाख ३७ हजार ६९६ जना पर्यटक नेपाल भ्रमणमा आएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार जुन महिनामा मात्र ४६ हजार ९५७ जना पर्यटक नेपाल आएका छन् । यसमध्ये भारतबाट मात्र २३ हजार २४८ जना आएका छन् । यो संख्या कुल आगमनको ४९.५ प्रतिशत हो । दोस्रो स्थानमा अमेरिका रहेको छ ।

    अमेरिकाबाट एक महिनामा ८ हजार ३५१ जना पर्यटक आएको देखिएको छ । बंगलादेशबाट २ हजार ५९ जना पर्यटक नेपाल आउँदा बेलायतबाट २ हजार २ जना पर्यटक आएका छन् । चीनबाट मात्र ४५१ जना नोपल भित्रिएको तथ्यांक छ । सन् २०१९ जुनमा ६१ हजार ३५१ जना पर्यटक नेपाल आएका थिए । जुन २०२० मा ७६ र जुन २०२१ मा १ हजार १४३ जना पर्यटक नेपाल आएका थिए ।

  • अर्थ मन्त्रालयको स्पष्टीकरण- बजेट निर्माण बेलाको सीसीटिभी फुटेज मेटियो

    अर्थ मन्त्रालयको स्पष्टीकरण- बजेट निर्माण बेलाको सीसीटिभी फुटेज मेटियो

    काठमाडौं । अर्थमन्त्रालयले बजेट निर्माणको समयको सीसीटिभी फुटेज मेटिएको जनाएको छ ।

    मन्त्रालयले आइतवार उपभोक्ता हित संरक्षण मञ्च नेपाललाई पत्रचार गर्दै बजेट निर्माणको समयको सीसीटिभी फुटेज सुरक्षित नरहेको स्पष्टीकरण दिएको हो ।

    मन्त्रालयले सूचना माग गर्ने उपभोक्ता हित संरक्षण मञ्च नेपालका जयप्रसाद पौडेललाई पत्र पठाएर बढीमा १३ दिनसम्मको सीसीटीभी फुटेज अभिलेखमा रहने र त्यसपछि स्वतः मेटिँदै जाने भएकाले बजेट घोषणाको अघिल्लो दिन अर्थात् जेठ १४ गतेदेखि १५ गते बिहानसम्मको फुटेज मेटिएको जनाएको छ ।

    बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश दिइएको भन्दै अर्थमन्त्रीको राजीनामा मागेको प्रमुख प्रतिपक्षी नेकपा एमालेले सीसीटिभी फुटेज सार्वजनिक गर्न माग गर्दै आएको थियो ।

    अर्थमन्त्रीले एमालेको आरोपको खण्डन गरे पनि सीसीटिभी फुटेजबारे भने मन्त्रालय बोलेको थिएन ।

    अर्थ मन्त्री जनार्दन शर्माले असम्बन्धित व्यक्तिलाई मन्त्रालयमा बोलाएर रातारात करका दर परिवर्तन गर्न लगाएको आरोप लाग्दै आएको छ । अर्थ मन्त्रीले असम्बन्धित व्यक्तिलाई करका दर निर्धारणमा स्थान दिएको विषयमा नेकपा एमालेले संसदमा चर्को विरोध गरेको थियो ।

  • नेपालमा ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति ‘बीए फाइभ’ देखियो

    नेपालमा ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति ‘बीए फाइभ’ देखियो

    काठमाडौं । नेपालमा ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति ‘बीए फाइभ’ भेटिएको छ ।

    धुलिखेल अस्पतालले गरेको जिन सिक्वेन्सिङ परीक्षणमा ओमिक्रोनको उपप्रजाति ‘बीए फाइभ’ भेटिएको हो ।

    यसले ओमिक्रोनको उपप्रजाति ‘बीए फाइभ’ नेपालमा फैलिएको छ भन्ने देखाउँछ ।

    बीए ५ अहिलेसम्म देखिएका ओमिक्रोनका उपप्रजातिहरूमध्ये झन्डै चार गुणा संक्रामक भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

    तर, ‘बीए फाइभ’ उपप्रजातिको कारण मानिस कति जोखिममा पर्छन् भन्नेबारे पत्ता लागिसकेको छैन ।

  • नेपाल र क्यानडाबीच हुने एकदिवसीय सिरिजको तालिका परिवर्तन

    नेपाल र क्यानडाबीच हुने एकदिवसीय सिरिजको तालिका परिवर्तन

    काठमाडौं । नेपालले क्यानडासँग खेल्ने तय भएको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको खेल तालिका परिवर्तन भएको छ ।

    नेपाल र स्थानीय ओन्टारियो क्लबबीच टी-ट्वान्टी अभ्यास खेल थपिएकाले सिरिजको खेल एकदिन सरेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।उक्त सिरिज अब जुलाई ५ र ६ मा हुने जनाएको छ ।

    यसअघि यो सिरिज जुलाई ४ र पाँचमा हुने तालिका थियो । नेपालले आज क्यानडाको स्थानीय क्लब ओन्टारियोसँग टी–२० अभ्यास खेल खेल्ने भएकाले सिरिजलाई एक दिन पछाडि सारिएको क्यानले बताएको छ ।

    नेपालले स्कटल्याण्डमा हुने आइसिसी विश्वकप लिग–२ अन्तर्गतको एकदिवसीय त्रिकोणात्मक सिरिजका लागि क्यानडा भ्रमण गरेको हो । नेपाल, स्कटल्याण्ड र नामिबिया सम्मिलित सिरिज जुलाई १० देखि १७ सम्म हुनेछ ।

    नेपालले ११ जुलाईमा नामिबियाविरुद्धको खेलबाट सिरिजको सुरुवात गर्नेछ । यस्तै, नेपालले दोस्रो खेल स्कटल्याण्डविरुद्ध १३ जुलाईमा, तेस्रो खेल नामिबियाविरुद्ध १६ जुलाई र चौथो तथा अन्तिम खेल स्कटल्याण्डविरुद्ध १७ जुलाईमा खेल्ने तालिका छ ।

    नेपालले आज आइतबार राति ओन्टारियोविरुद्ध दोस्रो अभ्यास खेल खेल्नेछ ।

    क्यानडाको भ्रमणपछि नेपालले स्कटल्यान्डमा विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नेछ।

  • राष्ट्रिय एकता अभियान पार्टीमा लफडा,‘वामदेवलाई निकाल्यौँ’ भन्ने पाँच जना निकालिए

    राष्ट्रिय एकता अभियान पार्टीमा लफडा,‘वामदेवलाई निकाल्यौँ’ भन्ने पाँच जना निकालिए

    काठमाडौं । राष्ट्रिय एकता अभियान पार्टीका संयोजक वामदेव गौतमले आफूविरुद्ध उभिएका ५ जनालाई पार्टीबाट निष्काशन गरेका छन् ।

    हिजो बसेको पार्टीको सचिवालय बैठकले संयोजक वामदेवलाई निष्काशन गरेको भनी विज्ञप्ती निकाल्ने सचिवालय सदस्य युवराज सफलसहितका ५ जनालाई निष्कासन गर्ने निर्णय लिएको हो । त्यसअघि सफलले संयोजक गौतमलाई पार्टीबाट निष्काशन गरेको भनी विज्ञप्ती निकालेका थिए ।

    हिजोको सचिवालय बैठकमार्फत गौतमले उनीहरुविरुद्ध जवाफी कारबाही गरेर माफी माग्नुपर्ने निर्णय गरेका छन् । उक्त बैठकले युवराज सफललाई कुनै पनि हालतमा पार्टीमा नफर्काउने निर्णय गरेको छ भने अन्य ४ जनालाई भने आत्मालोचना गरेर माफी मागेमा पुनः पार्टीमा फर्कन सक्ने विकल्पसहित निष्काशन गरिएको छ । उक्त बैठकमा पार्टीका ९ जना सचिवालय सदस्यमध्ये ७ जना सहभागी रहेको जनाइएको छ ।

    युवराजले आफूसँग बहुमत सचिवालय सदस्य रहेको भनी दाबी गरे पनि उक्त दाबी झुटो देखिएको छ । किनभने ९ मध्ये ८ जना सदस्य वामदेवसँगै रहेको बताइएको छ । युवराजको साथमा भने केही केन्द्रीय सदस्य रहेको जनाइएको छ ।

  • राहदानी विभागको आग्रह-‘१० देखि १५ दिनमै जिल्लामा पासपोर्ट पुग्छ, अत्यावश्यकबाहेकका काठमाडौं धाउनुपर्दैन’

    राहदानी विभागको आग्रह-‘१० देखि १५ दिनमै जिल्लामा पासपोर्ट पुग्छ, अत्यावश्यकबाहेकका काठमाडौं धाउनुपर्दैन’

    काठमाडौं । राहदानी विभागले १० देखि १५ दिनमै जिल्लामा राहदानी (पासपोर्ट) पुग्ने बताएको छ ।

    राहदानी वितरण गर्दा ढिलाइ गरेको र सेवाग्राहीले दु:ख पाएको गुनासो बढेपछि एक सूचना जारी गर्दै विभागले जिल्ला प्रशासन कार्यालयहरुबाट आवेदन भएका राहदानीहरु प्रत्येक हप्ता प्रिन्ट गरी पठाउने व्यवस्था गरेको बताएको हो ।

    पासपोर्ट बनाउन काठमाडौंमा भिडभाड बढेपछि अत्यावश्यकबाहेकका सेवाग्राहीलाई नआउन अनुरोध गरेको छ ।

    ‘सबै सेवाग्राहीहरु बिहान एकैपटक आउँदा विभागमा उल्लेख्य भीड हुने भएकोले काठमाडौं उपत्यकाभित्रका जिल्ला र काभ्रेमा आवेदन गर्नेहरुले १ हप्ता भित्रमा र अन्य जिल्लाको हकमा १० देखि १५ दिन भित्र राहदानी प्राप्त गर्ने सुनिश्चितता मिलाइएको विभागले सूचनामा भनेको छ ।

    ‘अत्यन्त जरुरी परेका सेवाग्राहीहरुले राहदानी विभागमा आवेदन गर्नुहुन र अन्य कम जरुरी हुनेले आफ्नो सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाटै सहज रुपमा राहदानी प्राप्त गर्न सकिने हुँदा सो सेवा लिनु हुन सेवाग्राहीमा अनुरोध गरेको छ ।’

    विभागले राहदानी लिनेहरुको संख्या तीन महिनादेखि उल्लेख्य बढिरहेको जनाँदै सेवा प्रभावकारी बनाउन क्षमता अभिवृद्धिका साथै सबै जिल्ला प्रशासन कार्यालय र १७ वटा इलाका प्रशासन कार्यालयबाट समेत नियमित रुपमा राहदानी आवेदन गर्ने व्यवस्था मिलाइएको जनाएको छ।

    विभागले विद्युतीय राहदानी प्रणालीमा समयसापेक्ष अद्यावधिक गर्नुका साथै अनलाइन प्रणालीको निरन्तर सुधार गरिरहेको पनि जनाएको छ।

    सार्वजनिक विदाको दिनमा समेत सेवाग्राहीलाई सेवा दिएको विभागले जनाएको छ। ‘दैनिक विभागमा आवेदन दिनेको संख्या २४ सय रहेको छ। राहदानी तयार भएपछि लिन आउनेको संख्या र अन्य आपतकालीन कार्यका लागि दैनिक ५००० भन्दा बढी सेवाग्राहीलाई विभागले सेवा प्रदान गरिरहेको छ’, आरणले विज्ञप्तिमा भनेका छन्, ‘विभागले हाल दैनिक ६५ सय राहदानी उत्पादन गरी वितरणको व्यवस्था मिलाएको छ।’

    विभागले सेवाग्राहीहरुको सहजताको लागि प्रत्येक दिन २४ सयजनाले अनलाइनबाट फाराम भर्न सक्ने र भरिसकेपछि १ देखि ४ दिनभित्र विभागमा राहदानी फाराम बुझाउन सक्ने जनाएको छ।

  • उच्च अंकले बढ्यो नेप्से, २ अर्ब ४८ करोडको कारोबार

    उच्च अंकले बढ्यो नेप्से, २ अर्ब ४८ करोडको कारोबार

    काठमाडौं । शेयर बजारमा उछाल आएको छ । साताको पहिलो दिन कारोबार शुरु भएदेखि नै उकालो लागेको शेयर बजार मापक सूचक (नेप्से) ५७.६१ अंकले बढेर २०८६.३८ विन्दुमा पुगेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २३१ कम्पनीको २ अर्ब ४८ करोड ४ लाख ७३ हजार ९९८ रुपैयाँ बराबरको ७२ लाख २७ हजार ६९२ कित्ता शेयर किनबेच भएका छन् । अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ ।

    आज कारोबारमा आएका १३ समूहमध्ये हरियो भएको छ । बैंकिङ १६ विकास बैंक ११८, फाइनान्स ६५, होटल तथा पर्यटन ९४, जलविद्युत् १२८, जीवन बीमा १७०, उत्पादन २५०, लघुवित्त १३९, निर्जीवन बीमा १८१, अन्य ७२ र ब्यापार उपसमूह १७४ अंकले बढे ।

    आज साल्ट ट्रडिङ कर्पोरेसन, हिमालयन पावर पार्टनर, अप्पर तामाकोशी हाइड्रोपावर, साञ्जेन जलविद्युत कम्पनी, नेष्डो समृद्ध लघसवित्त वित्तीय संस्था, सिवाईसी लघुवित्त वित्तीय संस्था, रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेड, मध्यभोटेकोशी जलविद्युत कम्पनी र कर्णाली डेभलपमेन्ट बैंकको शेयरमूल्यमा उच्च वृद्धि छ ।

    नेप्सेका अनुसार बैंक अफ काठमाण्डूको डिभेञ्चरका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले घटेको छ ।

    त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी ङादी ग्रुप पावर कम्पनीको भएको छ । यसको आज २२ करोड २८ लाख भन्दा बढीको कारोबार भएको छ ।

    दोस्रमा हिमालय डिस्टिलरीको ८ करोड ८१ लाख हजार र तेस्रोमा शिवम् सिमेन्टको ६ करोड ९७ लाखको कारोबार भएको छ ।

  • नेपाल प्रहरीमा एकै पटक खुल्यो करीव ३ हजारलाई रोजगारी

    नेपाल प्रहरीमा एकै पटक खुल्यो करीव ३ हजारलाई रोजगारी

    काठमाडौं । नेपाल प्रहरीले एकै पटक करीव ३ हजार दरवन्दीमा कर्मचारी माग गरेको छ । प्रहरी प्रधान कार्यालयले ४४३ जना प्रहरी सहायक निरीक्षक र २ हजार ४७४ जना प्रहरी जवान पदमा दरखास्त आह्वान गरेको हो । आइतबार सूचना प्रकाशन गर्दै प्रहरी प्रधान कार्यालयले यस अघि माग गरिएका संख्यामा थप गरी कुल जम्मा ४४३ जना असई र दुई हजार ४७४ जना प्रहरी जवान माग गरेको हो ।

    २०७८ असोज २२ गते सूचना प्रकाशन गरी ३६७ जना असई माग भएपनि ७६ जना थप गरी कुल जम्मा ४४३ जना असई माग गरेको हो । २०७८ मंङ्सिर १० गते विज्ञापन प्रकाशन गरी एक हजार ९७१ जना प्रहरी जवान माग गरेको थियो यसमा ५०३ जना थप गरी कुल जम्मा दुई हजार ४७४ जना प्रहरी जवान माग गरेको छ । माग गरिएका मध्ये असईमा ४० जना र जवानमा २१९ जना महिला रहेको सूचनामा उल्लेख छ ।

  • पार्टी गठन भएको एक साता मै बामदेव गौतम निष्काशनमा परेपछि..

    पार्टी गठन भएको एक साता मै बामदेव गौतम निष्काशनमा परेपछि..

    काठमाडौं । बामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानबाट उनी स्वयमः निस्कासनमा परेका छन् । विरलै हुने यस्तो घटना हुने पार्टी घोषणा गरेको एक सातामै भएको हो । गौतमले नेकपा एकता राष्ट्रिय अभियान घोषणा गर्दा उनलाई आम नेपाली पार्टी, नेकपा (राष्ट्रवादी), आधुनिक नेपाल समाजवादी पार्टी र समाजवादी केन्द्र नेपालले साथ दिएका थिए। तर आफूहरूलाई देखाएर गौतमले जथाभावी गर्न खोजेको आरोप लगाउँदै चार वटै पार्टीले उनलाई निष्काशन गरेको विज्ञप्ती निकाल्दै जनाएका छन् ।

    गौतमलाई हटाएर उनको ठाउँमा समाजवादी केन्द्रका सर्वोच्च नेता युवराज सफललाई नेतृत्व घोषणा समेत गरिएको छ । सांगठनिक अराजकता, निरंकुश तानाशाही शैली, चरम अवसरवादी चरित्र र अराजनीतिक व्यवहार प्रस्तुत गरेकाले गौतमलाई कारबाही गरेको ती पार्टीको भनाई छ ।

    सम्पूर्ण बामपन्थी र समाजवादी शक्तिलाई एक ठाउँमा जोड्ने गरी नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान गठन गरिएकोमा सत्ता र शक्ति र पदका लागि बार्गेनिङको माध्यम बनाइएको समेत आरोप उनीमाथि लागेको छ । अभियान घोषणापछि उनले केपी ओली, प्रचण्ड र माधव नेपाललाई भेटेका थिए । यसबाट अभियान भित्रका गुटहरु असन्तुष्ट बनेका हुन् ।

  • एमालेको सचिवालय बैठक आज, के छन् एजेण्डा ?

    एमालेको सचिवालय बैठक आज, के छन् एजेण्डा ?

    काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचन नजिकिएको सन्दर्भमा नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय च्यासल ललितपुरमा बस्ने छ ।

    बैठकमा आगामी निर्वाचनको तयारी, प्रचार कामको व्यवस्थापन, वैचारिक–राजनीतिक प्रशिक्षण, सदस्यता विस्तार तथा नवीकरण र विभागहरूको काम व्यवस्थापनलगायत एजेण्डाहरुमा छलफल हुने नेकपा एमालेले जनाएको छ । संसदमा बजेट सम्बन्धी विजनेश पुरा भएसँगै दलहरु अब आगामी निर्वाचनमा केन्द्रित बनेका छन् ।

  • काठमाडौं क्षेत्र नं ५ बाट निर्वाचनमा उठ्ने रञ्जु दर्शनाको घोषणा

    काठमाडौं क्षेत्र नं ५ बाट निर्वाचनमा उठ्ने रञ्जु दर्शनाको घोषणा

    काठमाडौं । रञ्जु दर्शना काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा निर्वाचनमा उठ्ने भएकी छिन् । उनले फेसबुकमार्फत यस्तो घोषणा गरेकी हुन् । उनले काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यका लागि प्रतिस्पर्धामा उत्रिने औपचारिक घोषणा गर्न पाउँदा हषिर्त भएको उल्लेख गरेकी छन् । काठमाडौंमा क्षेत्र नं १ र ५ सबैभन्दा बढी चर्चित उम्मेदवारहरुले प्रतिस्पर्धा गर्ने क्षेत्र मानिन्छ । किनकी यहाँ रैथाने भन्दा धेरै बसाई सेर आएका मतदाताको बाहुल्य छ ।

    यो एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले जितेको क्षेत्र हो । मानुषी यमी भट्टराई समेत क्षेत्र नं. ५ बाट चुनाव लड्ने तयारी गरिरहेकी छिन् । २०७४ सालमा इश्वर पोखरेलले जित्दा यो क्षेत्रबाट नेपाली कांग्रेसका नेता प्रकाशशरण महत र विवेकशील नेपाली दलका स्वर्गीय उज्ज्वल थापा समेत प्रतिस्पर्धामा थिए ।

  • बुद्धनगरस्थित केएमसी स्कुलको क्यान्टिनमा कार्यरत कर्मचारी मृत फेला

    बुद्धनगरस्थित केएमसी स्कुलको क्यान्टिनमा कार्यरत कर्मचारी मृत फेला

    काठमाडढौं । काठमाडौंको बुद्धनगरमा रहेको केएमसी स्कुलको क्यान्टिनमा कार्यरत एक कर्मचारी मृत फेला परेकी छन् । काभ्रे तेमाल गाउँपालिका स्थायी घर भएकी २१ वर्षीया रमा रायमाझी स्कुलको गर्ल्स होस्टेलको छेउमा झुण्डिएको अवस्थामा शनिबार बेलुका मृत फेला परेको काठमाडौं प्रहरी परिसरले जनाएको छ । रायमाझी त्यहाँ डेढ वर्षदेखि कार्यरत थिइन् ।

    उनको हत्या भएको आशंका गर्दै आफन्तले शव उठाउन दिएका छैनन् । आइतबार बिहानैबाट घटनास्थलमा आफन्त र स्थानीयको भिड लागेको छ । गएराति त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विशेषज्ञ गोपाल चौधरीसहितको टोली स्कुल पुगेर अनुसन्धान थालेको छ ।

  • आगो लगाएर श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

    आगो लगाएर श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

    मोरङ । मोरङमा शुक्रबार राति महिलाको आगो लगाएर हत्या भएको छ । शुक्रबार राति करिब १० बजे रंगेली नगरपालिका वडा नं १ बिर्ताबजारमा स्थानीय ३१ वर्षकी बबिता मल्लिकको मट्टितेल छर्की आगो लगाई हत्या भएको प्रहरीले जनाएको छ । प्रहरीले हत्या आरोपमा उनका श्रीमान तिलक मल्लिकलाई पक्राउ गरेको छ । शुक्रबार राति घरायसी विवादमा तिलकले श्रीमती बबितालाई मट्टितेल छर्केर आगो लगाएको प्रारम्भिक अनुसन्धानबाट देखिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी दीपक श्रेष्ठलाई उदृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

    आगलागीबाट उनीहरुको घर समेत जलेको छ । शुक्रबार राति घर जलेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घरमा गम्भीर अवस्थामा रहेकी बबितालाई प्रहरीले उद्दार गरी उपचारका लागि कोशी अस्पताल पठाएको थियो । उनको उपचारकै क्रममा शनिबार विहान ६ बजे मृत्यु भएको हो । उनीहरुको विवाह भएको ५ वर्ष भएको थियो । घरमा उनीहरु दुई जनामात्र बस्थे ।

  • ओलीको आरोप : एमालेले सरकार छाडेपछि ४९ अर्बको चामल आयात भयो

    ओलीको आरोप : एमालेले सरकार छाडेपछि ४९ अर्बको चामल आयात भयो

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालले सरकार छाडेपछि ४९ अर्ब रुपैयाँको चामल आयात भएको बताएका छन् । शनिबार अखिल नेपाल किसान महासंघले एमाले मूख्यालयमा आयोजना गरेको कार्यक्रममा ओलीले कृषि प्रधान देशमा यति धेरै चामल आयात हुनु अशोभनीय भएको उल्लेख गरे ।

    ‘हामीले सरकार छाडेपछिको मात्र हिसाब गर्दा ४९ अर्बको चामल आयात कसरी भयो ?’ उनको प्रश्न छ, ‘‘यस्तो उर्बर देशमा जहाँ यति हिमाली नदीनाला, उर्बर फाँटहरु छन्, जहाँको जनसंख्या ३ करोड भन्दा कम छ, त्यस्तो देशमा किन हामी खाद्यान्नमा आत्मनिर्भर हुन नसकेर ४९ अर्बको आयात गर्छौं, यो अशोभनीय स्थिति हो ।’

    सरकारले उपयुक्त नीति नलिएका कारण कृषि क्षेत्र धरासायी हुँदै गएको उनको आरोप छ । सरकारले अझै पनि किसानका लागि मल ल्याउने प्रबन्ध गर्न नसकेको भन्दै उनले आलोचना गरे । उनले मल ल्याउन नसकेको भन्दै कृषि मन्त्रीले राजिनामा दिनु पर्ने बताए ।

  • नेपालमा ४४ जनामा कोरोना पुष्टी

    नेपालमा ४४ जनामा कोरोना पुष्टी

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार ४६७ परीक्षणमा ४४ जनामा संक्रमण पुष्टि भएको हो । एक हजार २०१ पीसीआर परीक्षणमा ३३ जना र एक हजार २६६ एन्टिजेन परीक्षणमा ११ जना गरी ४४ जनामा संक्रमण पुष्टि भएको हो ।

    शनिबार नै कोरोना संक्रमणमुक्त हुनेको संख्या १६ रहेको छ । देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३१४ पुगेको छ । जसमध्ये ३०७ जना होम आइसोलेसनमा र ७ जना संस्थागत आइसोलेसनमा छन् । संस्थागत आइसोलेसनमा रहेकामध्ये ४ जना आईसीयूमा छन् ।

  • स्वतन्त्र उम्मेदवारहरु आगामी निर्वाचनमा गठबन्धन बनाएर जाने तयारीमा

    स्वतन्त्र उम्मेदवारहरु आगामी निर्वाचनमा गठबन्धन बनाएर जाने तयारीमा

    काठमाडौं । आगामी प्रदेश तथा संघीय निर्वाचनमा स्वतन्त्रबाट उठ्ने तयारी गरेका उम्मेदवारहरु समेत अन्ततः गठबन्धन बनाएर जाने तयारीमा जुटेका छन् । दलको विकल्प दल नै हुने भन्दै उनीहरु आगामी निर्वाचनमा संयुक्त रुपमा निर्वाचनमा जाने तयारी गरेका हुन् ।

    शनिबार ललितपुरको सानेपास्थित हेरिटेज प्लाजामा विशेष भेलाको आयोजना गरी प्रदेश र प्रतिनिधिसभा चुनावमा स्वतन्त्र उम्मेदवारहरुको छुट्टै दल गठन गर्ने विषयमा केन्द्रित भएर छलफल सुरु गरेका छन् । आगामी संसदीय चुनावमा दल नै गठन गरेर जानेसम्मको तयारीस्वरुप विशेष भेला आयोजना गरिएको बताइएको छ ।

    काठमाडौं महानगरपालिकाको स्वतन्त्रमा मेयरका उम्मेदवार बनेका सुमन सायमीले दल ठिक छैन भन्ने जनतामा भ्रम परेको बताए । उनले त्यस्तो भ्रम हटाउन र संसदमा कानुन निर्माणका लागि वहुमत आवश्यक पर्ने भएकाले एउटा दल गठन गरेर निर्वाचनमा जाने विषयमा देशभरका स्वतन्त्र उम्मेदवारहरुबीच छलफल सुरु गरिएको उल्लेख गरे ।

    सायमीले संसदीय चुनाव भनेको नीति निर्माण गर्ने ठाउँ भएको उल्लेख गर्दै त्यहाँ बहुमतको कदर हुने उल्लेख गे । एक व्यक्तिले कानुन बनाउन नसक्ने भन्दै उनले दलको विकल्प दल नै भएको बताए । देशभरका पालिका तह चुनावमा भाग लिएका तथा प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेकाहरु सो विशेष भेलामा सहभागी भएका छन ।

  • निजगढ पुगेर शीर्ष नेताले भने : कम वातावरणीय क्षतिमा विमानस्थल बन्छ

    निजगढ पुगेर शीर्ष नेताले भने : कम वातावरणीय क्षतिमा विमानस्थल बन्छ

    काठमाडौं । बाराको निजगढमा पुगेर शीर्ष नेताहरुले कुनै पनि हालतमा निजगढमा विमानस्थल बन्ने बताएका छन् । तर, यस क्रममा कम वातावरणीय क्षतिमा विमानस्थल बन्ने उनीहरुको भनाई छ । प्रधानमन्त्री शेरबहादुर देउवाले कम क्षतिमा निजगढमै अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सकिने बताए । उनले अहिले प्रस्तावित भएको ठाउँमै विमानस्थल बनाइने बताए । प्रधानमन्त्री देउवाले विमानस्थल निर्माणका लागि विज्ञसँग छलफल भइरहेको समेत बताए। उनले दुई वटा रनवे सहितको विमानस्थल बनाइने भन्दै कम क्षतिमा जसरी पनि विमानस्थल बन्ने बताएका हुन् ।

    कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले अदालतको फैसलाले विमानस्थल निर्माणमा रोक नलगाएको बताए । उनले सर्वोच्च अदालतबाट विमानस्थल अवरूद्ध गर्ने कुनै आदेश नआएको स्पष्ट पार्दै विमानस्थल बनेरै छोड्ने बताए। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष मावधकुमार नेपालले पनि निजगढमै विमानस्थल बनाउने विषयमा सर्वोच्च अदालतको फैसलाले बाटो खुलेको बताए। शनिबार प्रधानमन्त्री देउवा सहित गठबन्धनका शीर्ष नेता जिगढ पुगेर स्थलगत अध्ययन गरेका हुन् ।

  • संयुक्त राष्ट्रसंघको मूख्यालयमा पुगे प्रधानसेनापति

    संयुक्त राष्ट्रसंघको मूख्यालयमा पुगे प्रधानसेनापति

    काठमाडौं । संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमण दलका सदस्यहरुले शुक्रबार संयुक्त राष्ट्रसङ्घ मुख्यालयको भ्रमण गरेका छन् । शर्माले मुख्यालयस्थित राष्ट्रसङ्घका उच्च पदस्थ पदाधिकारीसँग भेटघाट तथा छलफल गरी दुई पक्षीय आपसी हित र पारस्परिक सम्बन्ध एवं युएन मिसनका विविध पक्षका बारेमा छलफल गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

    उनले त्यहाँको सैन्य मामला कार्यालयका सैन्य सल्लाहकार बिरामे दिओप, शान्ति स्थापना कार्यसञ्चालन विभागका उपमहासचिव जाँ पिये लाक्रोइ, कार्य सञ्चालन सहायता विभागका उपमहासचिव अतुल खारे र राजनीतिक तथा शान्ति निर्माण मामिलाका उपमहासचिव रोजमेरी डिकार्लोसँग भेटवार्ता गरेका थिए ।

    प्रधानसेनापति शर्मा यही असार ४ देखि ८ गतेसम्म लेवनान तथा असार ९ र १० गते सिरियास्थित शान्ति मिसन क्षेत्रको भ्रमण सम्पन्न गरी असार १३ देखि संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा छन् । प्रधानसेनापति शर्मा भ्रमण सम्पन्न गरी आइतबार स्वदेश फिर्ता हुने कार्यक्रम छ ।

  • टेक्सस आप्रवासी मृत्यु प्रकरण : लरीमा वातानुकूलित प्रणालीले काम नगरेको चालकले थाहै पाएनन्

    टेक्सस आप्रवासी मृत्यु प्रकरण : लरीमा वातानुकूलित प्रणालीले काम नगरेको चालकले थाहै पाएनन्

    टेक्सस । हालै अमेरिकाको टेक्ससमा ज्यान गुमाएका ५३ जना आप्रवासी बोकेको लरीका चालक भनेर ठानिएका व्यक्तिलाई उक्त सवारी साधनभित्र वातानुकूलित प्रणालीले काम नगरिरहेको भन्ने थाहा नभएको बताइएको एक जना सुराकीले जनाएका छन्। सङ्घीय अदालतमा प्रस्तुत गरिएका कागजपत्रमा होमेरो सामोरानोलाई त्यसबारे थाहा नभएको उल्लेख गरिएको छ। अधिकारीहरूले उनी ट्रक नजिकै लुकेको अवस्थामा फेला परेको जनाएका छन्।

    टेक्ससका यी व्यक्ति अमेरिकी इतिहासकै सबैभन्दा खराब मानव तस्करीसँग सम्बन्धित घटनामा आरोपित गरिएका चार जनामध्ये एक हुन्। उक्त सवारी साधनमा फेला परेकामध्ये कैयौँ बालबालिकाको अझै उपचार भइरहेको छ। यसैबीच अर्को घटनामा आप्रवासीहरू बोकिरहेको अर्को ट्रक टेक्ससको सोही क्षेत्रमा फेला परेको छ। ४५ वर्षका सामोरानो र अर्का आरोपित षडयन्त्रकारी क्रिस्टिअन मार्टिनेज, २८ लाई एकदमै उच्च तापक्रममा ट्रक फेला पर्नुअघि र पछि उक्त तस्करी अभियानसँग सम्बन्धित सन्देशहरू एक अर्कालाई आदानप्रदान गरेको आरोप लगाइएको छ।

    आप्रवासन र भन्सार कार्यान्वयन तथा टेक्सस प्रहरीलाई जानकारी दिने गोप्य सरकारी सुराकीले मृत्यु भएका विवरण आएपछि पनि ती दुईबीच कुराकानी भएको ती सुराकीले अधिकारीहरूलाई बताएका थिए। अदालतको दस्तावेजमा चालकलाई वातानुकूलित प्रणालीले काम गर्न बन्द गरेको र त्यसै कारण ती व्यक्तिहरूले ज्यान गुमाएको थाहा थिएन, भनेको जनाइएको छ। सामोरानो ट्रक नजिकै एउटा झाडीमा लुकेको अवस्थामा फेला परेका थिए। मेक्सिकोका अधिकारीहरूले सामारानोले सुरुमा बेहोस भएको बहाना गरेर ज्यान बचेको व्यक्तिका रूपमा आफूलाई देखाउन खोजेको जनाएका छन्।

    तर पछि टेक्ससको लरेडोको जाँच चौकी पार गर्न खोज्दा निगरानीका लागि खिचिएका तस्बिरमा उनले ट्रक चलाइरहेको देखिएको थियो। त्यसैका आधारमा उनलाई गिरफ्तार गरिएको छ। टेक्ससका एक जना सांसदका अनुसार पक्राउ परेको समयमा उनमा मेथम्फेटमिन भन्ने एक प्रकारको कृत्रिम शक्तिवर्धकको उच्च मात्रा पाइएको थियो। दुवै व्यक्ति तस्करी र षडयन्त्रको आरोपमा दोषी ठहर भए उनीहरूले मृत्युदण्डको सजाय पाउनेछन्। उक्त घटनामा संलग्न भएको आरोप लागेको अन्य दुई व्यक्तिहरूलाई हातहतियार राखेको र अमेरिकामा गैरकानुनी रूपमा बसेको आरोप लगाइएको छ। ती दुवै मेक्सिकोका नागरिक हुन्।

    मेक्सिकोका अधिकारीहरूले उक्त लरी भित्र ६७ जना रहेको बताएका छन्। तर सान एन्टोनियोस्थित अमेरिकी अभियोजनकर्ताहरूले ६४ जना भनेका छन्।शुक्रवार बेक्स काउन्टीका स्वास्थ्य परीक्षण अधिकारीले मृतक ५३ मध्ये ६ जनाको ठोस रूपमा पहिचान गरिएको बताएका थिए। त्यसबाहेक ४२ जनाको सम्भावित पहिचान खुलेको बताइएको छ भने पाँच जनाको पहिचान खुल्न बाँकी छ। पीडितमध्ये २७ जना मेक्सिको, १४ जना होन्डुरस, ७ जना ग्वाटेमाला र २ साल्भाडोरको रहेको हुनसक्ने ठानिएको छ।

    BBC