Category: फिचर

  • प्रधानमन्त्रीसहित शीर्ष नेता निजगढ विमानस्थल निर्माण क्षेत्रमा

    प्रधानमन्त्रीसहित शीर्ष नेता निजगढ विमानस्थल निर्माण क्षेत्रमा

    बारा । प्रधानमन्त्रीसहित सत्तारुढ दलका शीर्ष नेताहरू निजगढ विमानस्थलको प्रस्तावित क्षेत्र बाराको निजगढ पुगेका छन् । प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणस्थलको अवलोकन गर्नका लागि प्रधानमन्त्री शेरबहादुर देउवासहितका शीर्ष नेताहरु निजगढ पुगेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । विमानस्थलबारे सर्वोच्चको निर्णय आएको केही दिनमै प्रधानमन्त्रीसहितका सत्तारुढ दलका शीर्ष नेता अवलोकनका लागि पुगेका हुन् ।

    प्रधानमन्त्रीसहितको टोलीमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत नेता रहेका छन् । शीर्ष नेतासहितको सरकारी टोली विमानस्थल निर्माणस्थल र हालसम्मको प्रगतिबारे जानकारी लिएर आज शनिबार नै काटठमाडौं फर्किने कार्यक्रम रहेको छ ।

  • पाँचथरमा पहिरोमा परी वेपत्ता तीन जनाकै भेटियो शव

    पाँचथरमा पहिरोमा परी वेपत्ता तीन जनाकै भेटियो शव

    पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिकामा पहिरोमा बेपत्ता भएका तीन जनाको शव भेटिएको छ । पहिरोमा बेपत्ता भएका ४२ वर्षीय रुपलाल मगर, उनकी श्रीमती ३८ वर्षीया गोमा र १९ वर्षीया भतिजी एलिसाको शव फेला परेको प्रहरीले जनाएको छ ।

    गतराति गएको पहिरोले फालेलुङ गाउँपालिका–७ विहीदिनका रुपलालको घर बगाएको थियो। घर बगाउँदा रुपलालका काका ७१ वर्षीय दलप्रसाद मगर भने उछिट्टिएर बाँच्न सफल भएका छन् । पहिरोले ढुङ्गा, माटोले बनेको घर तथा गोठ बगाएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी गराएको छ ।

  • अविरल वर्षाका कारण मेलम्ची नदीमा बाढीको जोखिम

    अविरल वर्षाका कारण मेलम्ची नदीमा बाढीको जोखिम

    सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची नदीको जलाधार क्षेत्रमा भारी वर्षा भएसँगै मेलम्ची नदीमा बाढीको जोखिम बढेको छ । बाढी पूर्वानुमा महाशाखाका अनुसार गुम्थाङ, धाप, नकोटेलगायत स्थानमा शनिबार भारी वर्षा मापन भएको छ। मेलम्ची नदी नकोटेको बाढीमापन केन्द्रमा जलसतह हिजो साँझ भन्दा १.५ मिटरले बढेको छ । महाशाखाले मेलम्चीको तटीय क्षेत्रमा आकस्मिक बाढी आउनुका साथै कमजोर भिरालो जमिनमा पहिरोको जोखिम रहेको उल्लेख गरेको छ ।

    उता झापाको शनिश्चरे, चन्द्रगढीलगायत क्षेत्रमा पनि भारी वर्षा भइरहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार इलाम र झापाको सीमा आसपास केही स्थानमा पछिल्लो ३ घण्टामा अति भारी वर्षा भएको छ। मेची, विरिङ, निन्दा, अदुवाखोला लगायत साना खोलामा बाढीको जोखिम बढेका तटीय क्षेत्र तथा डुबान भइरहने होचा भूभागमा दिउँसोसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

  • विदेश जाँदा अरुका बच्चा साथमा लैजान अब सिफारिस अनिवार्य

    विदेश जाँदा अरुका बच्चा साथमा लैजान अब सिफारिस अनिवार्य

    काठमाडौं । विदेश जाँदा साथमा आफ्नो बाहेक अरु कसैका बालबालिका लैजाने हो भने अब सिफारिस अनिवार्य साथमा बोक्नु पर्ने भएको छ । नभए अध्यागमनले विमानस्थलबाटै रोक्ने छ । अध्यागमन विभागको त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालय एक सूचना प्रकाशित गरी यसरी बालबालिका लैजानेहरुका लागि प्रक्रियाबारे सूचित गरेको छ ।

    बालबालिकाको कुनै आधिकारिक संरक्षकत्वबीना विदेश लगेर जाने विषय ज्यादै संवेदनशील भएको भन्दै कार्यालयले आफ्नो सन्तान बाहेक अरु कसैका नाबालक छोरा-छोरी साथमा लिएर विदेश जाँदा तोकिएको प्रक्रिया पूरा गर्न अनुरोध गरेको छ ।

    अब छोराछारीबाहेक नाबालकलाई विदेश लैजाँदा नाबालकको अभिभावक-संरक्षक-संघ संस्थाले नाबालक स्थायी ठेगाना भएको सम्बन्धित स्थानीय तहको वडा कार्यालयमा मन्जुरीनामा दिइएको व्यक्ति र नाबालकको विवरण खोली विवरण दिनु पर्ने भएको छ । सम्बन्धित वडा कार्यालय वा स्थानीय तह वा प्रशासनले मन्जुरीनामा पाउने व्यक्तिको नाम र नावालक दुबैको फोटो समेत राखी अभिभावक भएको गन्तव्यस्थल खोली यात्रा सहजीकरणका लागि सिफारिस गरेको अवस्थामा मात्र अध्यागमनले यात्राको अनुमति दिने छ ।

    यस्तो सिफारिस स्थानीय तह वा जिल्ला प्रशासन कार्यालयले गरेमा समेत मान्य हुने भएको छ । यस्तो सिफारिस गर्ने पदाधिकारीको नाम, पद र सम्पर्क नम्बर सिफारिस पत्रमा राख्नु पर्ने समेत सूचनामा उल्लेख छ ।

  • पाँचथरमा पहिरो, तीन जना वेपत्ता

    पाँचथरमा पहिरो, तीन जना वेपत्ता

    पाँचथर । अविरल वर्षापछि आएका पहिरोमा परी पाँचथरमा तीन जना बेपत्ता भएका छन् । प्रहरीका अनुसार पाँचथरको फालेलुङ गाउँपालिका–७ विहीदिनका रुपलाल मगरको घर पहिराले बगाउँदा ४२ वर्षीय रुपलालसहित तीन जना बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा उनकी श्रीमती ३८ वर्षीया गोमा र १९ वर्षीया भतिजी एलिसा छन् । रुपलालका काका ७१ वर्षीय दलप्रसाद मगर भने सकुसल छन् । शुक्रबार राति पहिरो झरेर ढुङ्गा, माटोले बनेको रुपलालको घर तथा गोठ बगाएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

    घटनास्थलबाट करिब ५०० मिटरको दूरीमा रहेको प्रहरीचौकी सिदिनको टोली घटनाको जानकारी पाउनासाथ घटनास्थल पुगेको थियो । उद्धारका नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायब उपरीक्षक राकेश थापालाई उदृत गर्दै स्थानीय सञ्चारमध्यमले जनाएका छन् ।

  • अमेरिका भ्रमणमा के गरिरहेका छन् प्रधानसेनापति ?

    अमेरिका भ्रमणमा के गरिरहेका छन् प्रधानसेनापति ?

    काठमाडौं । अमेरिकाको भ्रमणमा रहेका नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले पेन्टागनमा महत्त्वपूर्ण भेटवार्ता गरेका छन्। अमेरिकासँगको एउटा प्रमुख सुरक्षा साझेदारी स्टेट पार्टनरसिप प्रोग्रामबाट पछि हट्ने निर्णय नेपाल सरकारले लिएको केही दिनपछि उनले अमेरिकाको भ्रमण थालेका थिए। उक्त सम्झौतालाई लिएर नेपालमा चौतर्फी विरोध भएको थियो र सम्झौताबाट अलग हुने नेपालको निर्णयको चीनले स्वागत गरेको थियो। भ्रमणका क्रममा भएका छलफलहरूबारे नखुलाइए पनि नेपाल र अमेरिकाबीचको सैन्य सम्बन्धलाई थप बलियो बनाउने विषयमा छलफल गरेको अधिकारीहरूले जनाएका छन्।

    प्रधानसेनापति बिहीवार अमेरिकी रक्षा मन्त्रालय पेन्टागनमा उच्च रक्षा र सैनिक अधिकारीहरूसँग भेट गरेको नेपाली सेनाले जनाएको छ। सेनाका अनुसार प्रधानसेनापति शर्माले अमेरिकी जोइन्ट चिफ अफ स्टाफका भाइस चेअरमेन एडमिरल क्रिस्टोफर डब्ल्यु ग्राडी, दक्षिण एशिया तथा दक्षिण पूर्वी एशिया हेर्ने अमेरिकी रक्षा उपमन्त्री लिन्ड्जे डब्ल्यू फोर्ड र अमेरिकी सेनाका चिफ अफ द स्टाफ जेम्स चार्ल्स मकोनभिलसँग भेटवार्ता गरेका छन्।

    नेपाली सेनाले भनेको छ, ‘उक्त भेटघाटका क्रममा, नेपाल र मित्रराष्ट्र संयुक्त राज्य अमेरिका बीचको सैनिक सम्बन्ध तथा दुई राष्ट्रबीच रही आएको पारस्परिक सम्बन्ध एवं हितका विषयहरूमा छलफल तथा विचार विमर्श भएको थियो ।’ यसअघि उनले मङ्गलवार पेन्सिलभिनियामा रहेको अमेरिकी सेनाको वार कलेजको भ्रमण गरेका थिए। उनले बुधवार न्याश्नल डिफेन्स युनिभर्सिटीको भ्रमण गरेका थिए भने विभिन्न सैनिक निकायका प्रमुखहरूसँग भेटवार्ता गरेका थिए।

    अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्रीले प्रधानसेनापतिको सम्मानमा आयोजना गरेको कार्यक्रममा अमेरिकी सरकार र विभिन्न राजदूतावासका प्रतिनिधि सहभागी भएको वाशिङ्टन डिसीस्थित नेपाली राजदूतावासले यसै हप्ता जनाएको थियो। प्रधानसेनापतिले अमेरिकी वार कलेजको पनि भ्रमण गरेका छन् । वाशिङ्टन डिसीबाट बिहीवार नै न्यूयोर्क पुगेका शर्माले त्यहाँ राष्ट्रसङ्घको शान्ति सेना हेर्ने निकाय सहितका उच्च अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ।

    संयुक्त राज्य अमेरिका नेपाली सेनाको एउटा महत्त्वपूर्ण रक्षा साझेदार हो। दुई देशबीच सन् १९७० को दशकबाट नै सैन्य सम्बन्ध सुरु भएको अमेरिकी अधिकारीहरूले बताउने गरेका छन्। विदेश मन्त्रालय र रक्षा मन्त्रालयले नेपाली सेनासँग फलदायी सुरक्षा सहकार्य गरिरहेका छन् जसका क्रममा अमेरिकाले नेपाललाई हालैका दशकमा १० करोड डलरभन्दा बढीको सैन्य सहयोग उपलब्ध गराइसकेको छ।
    बीबीसी

  • काठमाडौं र बैंककलाई जोड्यो थाइ स्माइलले

    काठमाडौं र बैंककलाई जोड्यो थाइ स्माइलले

    काठमाडौं । थाइल्याण्डको वायुसेवा कम्पनी थाइ स्माइल एयरवेजले बैंकक–काठमाडौं–बैंकक रुटमा उडान थालेको छ । यो रुटमा शुक्रबारदेखि दुई तर्फी हवाई सेवा सुरु भएको हो । कम्पनीका अनुसार अब दैनिक एक उडान यस रुटमा हुनेछ । कम्पनीले एयरबस–३२० मा इकोनोमी क्लासमा १५० र प्रिमियम इकोनोमी क्लासमा १२ सिट गरी जम्मा १६२ सिटको क्षमताको जहाज उडाएको छ । जसमा अन–बोर्ड मिल सर्भिस (विमानभित्रै खानाको सुविधा) समेत रहेको कम्पनीले जनाएको छ ।

    थाइ स्माइलले थाइल्यान्डको फुकेट र पटाया लगायत अन्य सम्पूर्ण आन्तरिक विमानस्थलहरुमा उडान गर्दै आएको छ । थाइ एयरवेज इन्टरनेशनलले अष्ट्रेलिया, जापान र क्वालालम्पुरसहित अन्तर्राष्ट्रिय गन्तव्यमा सेवा दिइरहेको छ । आरआर ग्रुप अफ कम्पनिज अन्तर्गतको एक संस्था सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसेसले थाइ स्माइल एयरवेजका लागि बिक्री, मार्केटिङ र एयरपोर्ट सञ्चालन सेवाको साथै सम्पूर्ण ग्राहक र एजेन्सी सपोर्ट सेवाहरू प्रदान गर्दै आइरहेको छ ।

  • सीमावर्ती भारतीय भूमिमा गोली चल्दा बर्दियाका एक जनाको मृत्यु

    सीमावर्ती भारतीय भूमिमा गोली चल्दा बर्दियाका एक जनाको मृत्यु

    बर्दिया । बर्दियाको गुलरिया नगरपालिका–३ मा भारतीय जङ्गलमा गोली लागि एक जनाको मृत्यु भएको छ । बिहान करिब १० बजे सीमावर्ती भारतीय जङ्गलमा निउरो टिप्न गएका हेमराज गोडियाको अज्ञात व्यक्तिले चलाएको गोली दायाँ खुट्टामा लागेको थियो ।

    उनलाई अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको बर्दियाका प्रहरी नायब उपरीक्षक सूर्य सुवेदीले जानकारी दिएका छन् । गोली कसले कसरी चलाएको हालसम्म जानकारी नभएको प्रहरीको भनाई छ । शव परीक्षण गरी आफन्तको जिम्मा लगाइएको छ ।

  • काठमाडौं उपत्यकामा १७ जनामा हैजा पुष्टी, सतर्कता अपनाउन आग्रह

    काठमाडौं उपत्यकामा १७ जनामा हैजा पुष्टी, सतर्कता अपनाउन आग्रह

    काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा हैजाको संक्रमण देखिएको छ ।

    इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार बागबजार, डिल्लीबजार, बल्खु, कालोपुल, बोहोराटार, बूढानीलकण्ठ, घट्टेकुलो लगायत क्षेत्रका मानिसमा हैजाको संक्रमण पुष्टी भएको हो ।

    योसँग हैजाको संक्रमण पुष्टी हुनेको संख्या १७ पुगेको छ ।

    उपत्यकाका धेरै ठाउँमा हैजा फैलिसकेको छ । तर, सरकारले हैजाबाट बच्न सतर्कता अपनाउन आग्रह गरेको छ ।

    काठमाडौं, ललितपुर महानगरले पानीपुरी, चटपटेलगायत सडकमा बेचिने खानेकुरामा प्रतिबन्ध लगाएको छ।

  • रवि लामिछानेले पाए दल दर्ताको प्रमाणपत्र, चुनाव चिन्ह गोलाकारभित्र ‘घण्टी’

    रवि लामिछानेले पाए दल दर्ताको प्रमाणपत्र, चुनाव चिन्ह गोलाकारभित्र ‘घण्टी’

    काठमाडौं । सञ्चार क्षेत्र छाडेर राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका रवि लामिछानेले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएका छन् ।

    आयोगले लामिछानेलाई शुक्रबार दल दर्ताको प्रमाणपत्रसहित चुनाव चिन्ह गोलाकारभित्र घण्टी प्रदान गरेको हो ।

    आयोगले दल दर्तासँगै लामिछानेले चुनाव चिन्ह प्रदान गरेसँगै पार्टीको वैधानिकता प्रदान गरेका छन् । यसअघि पार्टीको नामका स्वतन्त्र उम्मेदवार मिलेर लामिछानले घोषणा गरेको दलविरुद्ध उजुरी दिएका थिए ।

    उक्त उजुरी खारेज गर्दै आयोगले रविलाई दल दर्ताको प्रमाणपत्र प्रदान गरेको छ । ऐनमा कतै पनि उजुरीको कुनै औचित्य नभएको ठहर गर्दै आयोगले दल दर्ताको प्रमाण प्रदान गरेको छ ।

  • नेपालमा थप ५० जनामा कोरोना संक्रमण, मृत्‍यु शून्‍य

    नेपालमा थप ५० जनामा कोरोना संक्रमण, मृत्‍यु शून्‍य

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ४६७ जनाको पीसीआर परीक्षणमा ३५ जना र १ हजार ३८७ जनाको एन्टीजेन परीक्षणमा १५ जना गरी ५० जनामा संक्रमण पुष्टि भएको हो।

    पछिल्लो २४ घण्टामा कसैको मृत्‍यु भएको छैन। कोरोनाबाट १८ जना निको भएका छन् भने हाल देशभर २९७ जना सक्रिय संक्रमित रहेका छन्।

  • विद्युत प्राधिकरणले भारतलाई बिजुली बेचेर एक महिनामा कमायो एक अर्ब ७२ करोड

    विद्युत प्राधिकरणले भारतलाई बिजुली बेचेर एक महिनामा कमायो एक अर्ब ७२ करोड

    काठमाडौं । नेपालले भारतीय बजारमा १ अर्ब ७२ करोड ३० लाख रुपैयाँको विद्युत बिक्री गरेको छ ।

    नेपाल विद्युत प्राधिकरणले जुन महिनामा यति मूल्यमा नेपालमा उत्पादन भएको ६ जलविद्युत आयोजनाको विद्युत भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) बजारमा प्रतिस्पर्धा दरमा बिक्री गरेको हो ।

    जुनमा नेपालको १७ करोड ८१ लाख ९१ हजार युनिट विद्युत भारतीय बजारमा बिक्री गरिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

    उनका अनुसार प्राधिकरणले यो अवधिमा भारतमा बिक्री गरेको विद्युतबाट सम्पूर्ण शुल्क कटाउँदा खुद १ अर्ब ७२ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको छ ।

    यो महिनाभर प्रतिश्पर्धी बजारमा बिक्री गरिएको विद्युतको औसत प्रति युनिट दर ९ रुपैयाँ ६७ पैसा छ ।

    प्राधिकरणले यस अवधिमा विद्युत बिक्रीको औसत दर सबैभन्दा बढी १५ जुन (१ असार) मा पाएको छ । त्यस दिनको प्रतियुनिट औसत दर १५ रुपैयाँ ९३ पैसा थियो । सबैभन्दा कम औसत दर २१ जुन (७ असार)मा थियो । त्यसदिन औसत दर प्रतियुनिट ४ रुपैयाँ ९२ पैसा थियो ।

    यस अवधिमा ३ जुन (२० जेठ)मा सबैभन्दा कम ५६ लाख ६७ हजार रुपैयाँको विद्युत बिक्री गरिएको छ । त्यस दिन ९ लाख ४ हजार ८ सय युनिट विद्युत बिक्री भयाे । सबैभन्दा बढी १४ जुन (३१ जेठ) ७ करोड २८ लाख रुपैयाँको विद्युत बिक्री भएको छ । त्यस दिन ७८ लाख १३ हजार ३ सय युनिट विद्युत बिक्री गरिएको थियो ।

    आइएक्समा २४ घण्टालाई १५/१५ मिनेटको ९६ वटा ब्ल्कमा विभाजन गरी बजारले तय गरेको प्रतिश्पर्धी दरमा विद्युतको कारोबार गरिन्छ । त्यसैले हरेक ब्ल्कको मूल्य फरक–फरक हुने गरेको छ ।

    घिसिङले नेपालले गत वर्षबाट भारतीय प्रतिश्पर्धी बजारमा सुरु गरेको विद्युत व्यापार यस वर्षबाट थप प्रभावकारीरूपमा अगाडि बढेको बताए ।

    ‘जुन महिनामा निर्यात गरिएको विद्युतको परिमाण र त्यसबाट प्राप्त भएको बिक्री मूल्यलाई हेर्दा भारतसँगको विद्युत व्यापार प्रभावकारी रुपमा अगाडि बढेको छ,’ उनले भने, ‘विदेशी मुद्रा सञ्चितिको चाप परिरहेको हालको अवस्थामा देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत बिक्री गरी विदेशी मुद्रा आर्जन गर्न सफल भएका छौं ।’

    उनले विद्युत बिक्रीबाट भएको आम्दानीले नेपालको भारतसँगको व्यापार घाटालाई केही कम गर्न तथा देशको सोधानान्तर बचतमासमेत योगदान पुग्ने बताए । उनले चालु आर्थिक वर्षमा करिब ५ अर्ब र आगामी वर्षमा करिब २० अर्ब रुपैयाँको विद्युत निर्यातको प्रक्षेपण गरिएको बताए ।

    भारतसँगको विद्युत व्यापारले नेपालको जलविद्युतको विकासमा ठूलो सहयोग पुग्ने उनको भनाइ छ । पहिलो प्राथमिकता देशभित्रै विद्युत खपत गर्ने र त्यसका लागि प्रसारण र वितरण प्रणालीका पूर्वाधार संरचनामा राज्यले अझै लगानी बढाउनु पर्ने देखिएको पनि उनले बताए ।

    प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत गत जेठ १९ गतेबाट आइएक्समा बिक्री गर्न सुरु गरेको हो ।

    सुरुमा २ वटा जलविद्युत आयोजनाको ३९ मेगावाट विद्युत दैनिक रुपमा आइएक्समा बिक्री गरिएको थियो । त्यसपछि २७ जेठबाट दैनिकरूपमा ६ जलविद्युत आयोजनाको ३६४ मेगावाट विद्युत भारतीय बजारमा प्रतिश्पर्धी दरमा बिक्री हुँदै आएको छ ।

    विद्युत प्राधिकरणले भारतको विद्युत मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणबाट ६ वटा जलविद्युत आयोजनाबाट उत्पादित विद्युतलाई स्रोत मानी ३६४ मेगावाट विद्युत आइएक्स मार्केटमा बिक्री गर्न स्वीकृति पाएको छ ।

    ‘मुख्य रुपमा औद्योगिक ग्राहकबाट भोल्टेजको कारणले छिनछिनमा लाइन ट्रिपिङ हुँदा भरपर्दो र गुणस्तरीय विद्युत नपाएको गुनासो आउने गरेको छ ।

    प्रायः वर्षायाममा हुने यस्ता समस्या समाधान गर्न देशभरी नै प्रसारण तथा वितरण प्रणाली संरचनाको सुधार, विस्तार र स्तरोन्नति अभियानकै रुपमा चलाइएको छ । यसको नतिजा विस्तारै देखिन थाल्नेछ ’ उनले भने ।

    कार्यकारी निर्देशक घिसिङले २ मुलुकबीचको विद्युत व्यापारलाई यो चरणसम्म ल्याउन पहल तथा सहयोग गर्ने सम्बद्ध सबै व्यक्ति र निकायको योगदान रहेको बताए ।

    गत चैतमा प्रधानमन्त्री शेर बहादुर देउवाको भारत भ्रमणका क्रममा नेपाल–भारतबीच ऊर्जा क्षेत्रमा सहकार्य सम्बन्धी संयुक्त दृष्टिकोण पत्र जारी भएको थियो । त्यसलगत्तै विद्युत प्राधिकरणले थप ४ जलविद्युतगृहबाट उत्पादित विद्युत भारतमा निर्यातका लागि स्वीकृति पाएको थियो ।

    भारतको केन्द्रीय विद्युत प्रणाली अन्तर्गत दैनिक विद्युत् बजार (डे अहेड मार्केट) मा विद्युत बिक्री गरिन्छ छ । प्राधिकरणले हरेक दिन बिहान १० बजेदेखि मध्यान्न १२ बजेसम्म एक्सचेन्ज बजारमा बिक्री गरिने विद्युतको परिमाणसहित बिडमा प्रतिस्पर्धा छ ।

    विद्युत् प्रणालीमार्फत तय हुने ‘मार्केट क्लियरिङ प्राइस’का आधारमा विद्युत्को प्रतियुनिट बिक्री दर तय हुन्छ । प्रतिस्पर्धी दर तय भएपछि रातिको १२ बजेदेखि अर्को दिनको रातको १२ बजेसम्म अर्थात् २४ घण्टा विद्युत् निर्यात गरिन्छ ।

    प्राधिकरणका तर्फबाट एक्सचेन्ज बजारको सम्पूर्ण कारोबार नेपालसँगको विद्युत् व्यापारका लागि तोकिएको सम्पर्क निकाय एनटिपिसी विद्युत् व्यापार निगम (एनभिभीएन)ले गर्छ ।

    एनभिभीएनले हरेक दिनको कारोबारसम्बन्धी विवरण प्रत्येक दिन साँझ ६ बजे प्राधिकरणलाई पठाउँछ । सोही आधारमा बिजुली बिक्री हुन्छ । वर्षाको समयमा विशेषगरी रातको समयमा खेर जाने बिजुली निर्यातका लागि पनि प्राधिकरणले पहल गरिरहेको छ ।

  • झिनो अंकले घट्यो नेप्से, दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

    झिनो अंकले घट्यो नेप्से, दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

    काठमाडौं । शेयर बजारमा झिनो अंकको गिरावट आएको छ ।

    साताको कारोबारको अन्तिमदिन शेयर बजार मापक सूचक नेप्से ८.८७ अंकले घटेर २०२८.७७ विन्दुमा झरेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार शुक्रवार दुई घण्टाको कारोबारमा २२१ कम्पनीको १ अर्ब ४५ करोड ९३ लाख १२ हजार १५ रुपैयाँ बराबरको ३६ लाख ६३ हजार२२० कित्ता शेयर किनबेच भएका छन् ।

    आज कारोबारमा आएका १३ समूहको परिसूचक मध्ये ३ वटामा बढेको छ भने अन्य १० वटा राताम्मे भएका छन् ।

    आज आँधीखोला लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य र सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९।९९ प्रतिशतले बढेको छ ।

    त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम सिमेन्ट भएको छ । यसको ५ करोड ५७ लाख भन्दा बढीको कारोबार भएको छ ।

    दोस्रोमा एशियन लाईफ इन्सोरेन्सको ५ करोड २२ लाख र तेस्रोमा पूनर्बीमा कम्पनीको ४ करोड ९० लाख बढीको कारोबार भएको छ ।

    नेप्सेका अनुसार स्ट्याण्डर्ड चार्टर्ड बैंक र युनाइटेड इन्स्योरेन्स कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ४ प्रतिशत भन्दा बढीले घटेको छ ।

  • उद्योग दर्तादेखि नगद अनुदानसम्मका सेवा अब अनलाइनबाटै

    उद्योग दर्तादेखि नगद अनुदानसम्मका सेवा अब अनलाइनबाटै

    काठमाडौं । उद्योग विभागका सबै सेवा अब अनलाइनबाटै प्रवाह हुने भएका छन् । विभागका अनुसार उद्योग दर्ता, बिदेशी लगानी स्वीकृती तथा निर्यातमा नगद अनुदान जस्ता सेवाका लागि अब विभागसम्म धाइरहनु पर्दैन ।

    यस्तै, भिसा स्वीकृती, लगानी फिर्ता सिफारिस, व्यावसायिक भिसा तथा कामदार भिसा सिफारिस लगायतका सम्पुर्ण सेवाहरु अब अनलाइनमार्फत हुनेछन् ।

    अनलाइनबाट यी सेवा संचालन गर्नका लागि विभागले इन्डष्ट्री म्यानेजमेन्ट इन्फरमेसन सिस्टम (आइएमआईएएस) लागू गरेको छ । यो व्यवस्था असार १५ गतेदेखि संचालनमा ल्याइएको विभागले जनाएको छ ।

    यो सेवाको सफ्टवेयर निर्माण सम्मन्न भई कार्यान्वयनको प्रारम्भिक चरणमा नै रहेको हुँदा संचालनको क्रममा देखा पर्न सक्ने समस्याहरुलाई तत्काल समाधान गरी यथाशक्य सेवाग्राहीमैत्री बनाइने विभागको भनाइ छ ।

  • भारतले ‘युथ एण्ड थ्रो’ प्लाष्टिकको उत्पादन, बिक्रि र प्रयोगमा लगायो रोक

    भारतले ‘युथ एण्ड थ्रो’ प्लाष्टिकको उत्पादन, बिक्रि र प्रयोगमा लगायो रोक

    नयाँ दिल्ली । भारतले एकल प्रयोग हुने (यु एण्ड थ्रो) प्लाष्टिकका सामान उत्पादन, बिक्री र प्रयोग निधेष गरेको छ । प्लास्टिक फोहोर व्यवस्थापन नियमावली अन्तर्गत एकल प्रयोगका प्लाष्टिकका वस्तुमा जुलाई १ बाट प्रतिबन्ध लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । थर्मोकोल प्लेट, कप, चस्मा, काँटा, चम्चा, चक्कु, स्ट्र, ट्रे, मिठाईको बक्समा र्‍यापिङ गर्ने फिलिम, निमन्त्रणा कार्ड, चुरोटको प्याकेटका लागि फिल्म, प्लाष्टिकको झण्डा, बेलुन स्टक र आइसक्रिमका स्टिकहरू आजदेखि प्रयोगमा ल्याउन पाइने छैन ।

    डिसेम्बर ३१, २०२२ सम्म प्लास्टिक बोक्ने झोलाको न्यूनतम मोटाई अवस्थिति ७५ माइक्रोनबाट १२० माइक्रोनमा परिवर्तन गरिने भारत सरकारको तयारी छ । एकल प्रयोग हुने प्लाष्टिकको प्रयोग उन्मूलन गर्ने उद्देश्यले बाक्लो क्यारी ब्याग ल्याइनेछ। प्रतिबन्धलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न राष्ट्रिय र प्रदेश स्तरमा कन्ट्रोल रुमहरू स्थापना गरी प्रतिबन्धित एकल प्रयोगका प्लास्टिक वस्तुहरूको अवैध उत्पादन, आयात, वितरण, बिक्री वितरण नियन्त्रण गर्न अधिकारीहरूको टोली खटाइने भएको छ ।

    सरकारले प्लाष्टिकको झोलाको मोटाईको मापदण्ड तोकेर खुद्रा बिक्रेताले झोला उपलब्ध गराउन अनिवार्य गरेको छ। प्लास्टिक प्रदूषण रोक्न सार्वजनिक स्थल, राष्ट्रिय सम्पदा, वन तथा समुद्री तटमा सरसफाई अभियान सुरु गरिएको छ । देशभर करिब एक सय स्मारक समावेश गरिएको छ। जुलाई १ गतेदेखि प्रतिबन्धित वस्तु प्रयोग गर्ने सर्वसाधारणलाई ५ सयदेखि २ हजार रुपैयाँसम्म जरीवाना हुने समाचारमा उल्लेख छ ।

  • काठमाडौं महानगरभित्र भिख माग्न निषेध, अटेर गरे कारवाही

    काठमाडौं महानगरभित्र भिख माग्न निषेध, अटेर गरे कारवाही

    काठमाडौं । काठमाडौं महानगरपालिका भित्र भिख माग्ने कामलाई निषेध गरिएको छ । काठमाडौं महानगरपालिकाले शुक्रबार एक सूचना प्रकाशित गरी महानगर क्षेत्रभित्रका सडक, गल्ली, पार्क, बस बिसौनी, सरकारी कार्यालय परिसर, सार्वजनिक गाडी र अन्य सार्वजनिक ठाउँमा भीख माग्न निषेध गरेको जनाएको हो । तर, साधु, सन्त, जोगी वा भिक्षुलाई सनातनदेखि चली आएको परम्परअनुसार घर घरमा पुगी भिक्षा माग्न वा धार्मिक तथा सांस्कृतिक कार्यका लागि भिक्षा माग्न भने पाइने सूचनामा उल्लेख छ ।

    साधुसन्तबाहेक बालबालिकालाई गीत गाउने, नाच्ने, खेल्ने वा कुनै काम गर्ने बहानामा वा अन्य व्यक्तिलाई कुनै प्रकारको रकम र ज्याला दिइ भीख माग्न वा भीख माग्न दुरुत्साहन नगर्न नगराउन आग्रह गरिएको छ । असहाय, बिरामी, बेवारिसे, अशक्त लगायतले पनि सडकमा भीख माग्न नपाउने भएका छन् । यस्ता व्यक्तिका लागि काठमाडौं महानगरपालिकाले मानव सेवा आश्रमसँग सहकार्य गरी व्यवस्थापन गर्दै आएको महानगरले जनाएको छ ।

    मानव सेवा आश्रमको सेवा आवश्यक परेमा महानगर वा आश्रममा सम्पर्क गर्न पनि आग्रह गरिएको छ । अबको १० दिनभित्र यो सूचनाको उल्लङ्घन गर्दै भीख मागेमा कानुन अनुसार कारबाही गरिने सूचनामा भनिएको छ ।

  • दाङमा मोटरसाइकल र साइकल ठोक्किँदा दुई जनाको मृत्यु

    दाङमा मोटरसाइकल र साइकल ठोक्किँदा दुई जनाको मृत्यु

    दाङ । दाङको घोराहीमा भएको दुर्घटनामा दुुई जनाको मृत्यु भएको छ। दुई घाइते भएका छन्। गए राति घोराही उपमहानगरपालिका–७ बेसाईमा सौडियारबाट सर्रातर्फ आउँदै गरेको रा३प २९२२ नम्बरको मोटरसाइकलले दुई साइकललाई ठक्कर दिएको प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले बताए। उक्त दुर्घटनामा परी मोटरसाइकल चालक घोराही–१५ का ३५ वर्षीय गङ्गाबहादुर कवर र साइकलयात्री घोराही–७ का १६ वर्षीय रितेश केसीको मृत्यु भएको छ। दुवैको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

    दुर्घटनामा परी मोटरसाइकलमा सवार घोराही–७ का ३८ वर्षीय वसन्त चौधरी र साइकलयात्री सोही ठाउँका १५ वर्षीय विनोद भण्डारी घाइते भएका छन्। घाइते दुवैको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ। भण्डारीको हात र खुट्टामा चोट लागेको छ। चौधरीको मुख, नाक र टाउकोमा चोट रहेको रिजालले बताए। रासस

  • पृथ्वी राजमार्गमा सडकमै पल्टियो बस, ३१ जना घाइते

    पृथ्वी राजमार्गमा सडकमै पल्टियो बस, ३१ जना घाइते

    धादिङ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गल्छी गाउँपालिका–६ मा बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् । काठमाडौंबाट रौतहट जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९७२९ नम्बरको बस आज बिहान करिब २ बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएकाहरुमध्ये सात जनालाई काठमाडौंको ट्रमा सेन्टरमा ल्याइएको छ । अन्यको गल्छी र आदमघाट अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ । बस सडकमै पल्टिएको छ । खाल्डाखुल्डीका कारण बस पल्टिएको प्रहरीको अनुमान छ ।

  • दक्षिण कोरियामा अवैध रुपमा बसिरहेका १३ नेपाली पक्राउ

    दक्षिण कोरियामा अवैध रुपमा बसिरहेका १३ नेपाली पक्राउ

    काठमाडौं । दक्षिण कोरियामा अवैध रुपमा काम गरिरहेका १३ जना नेपाली पक्राउ परेका छन् । दक्षिण कोरियाको अध्यागमन ऐन उल्लंघन गरेको आरोपमा नेपालीहरु पक्राउ परेका हुन् । पक्राउ परेका नेपालीहरुको नाम ठेगाना भने खुलेको छैन । ती सबै नेपालीहरुलाई नेपाल फर्काउने योजना बनाइएको अध्यागमन कार्यालयले जनाएको छ । अध्यागमन अधिकारीका अनुसार चार जना नेपालीहरु कृषि तथा माछा पालन मौसमी काम ९इ–८०को रुपमा प्रवेश गरी ठेक्का अवधि नपुग्दै गैरकानुनी रुपमा अर्को ठाउँमा काम गरिरहेको बेला पक्राउ परेका छन् ।

    अन्य नौ जना बसाइँ अवधि सकिएपछि पनि दक्षिण कोरिया नछाडेका कारण पक्राउ परेका हुन् । उनीहरुमध्ये दुई जनाले दक्षिण कोरियाका प्रतिनिधिसँग मिलेर मौसमी कामदारको रुपमा प्रवेश गर्ने नेपालीलाई गैरकानुनी रुपमा रोजगारीमा लैजाने र मध्यस्थता गरिदिएवाफत रकम असुल्ने गरेका थिए ।

  • नेपालका लागि भारतीय राजदुतले राष्ट्रपति समक्ष बुझाए ओहदाको प्रमाणपत्र

    नेपालका लागि भारतीय राजदुतले राष्ट्रपति समक्ष बुझाए ओहदाको प्रमाणपत्र

    काठमाडौं , नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन्।
    राष्ट्रपति भवन शितल निवासमा बिहिबार आयोजित एक समारोहमा राजदूत श्रीवास्तवले ओहोदाको प्रमाणपत्र पेश गरेका हुन्। ओहोदाको प्रमाणपत्र पेश गरेलगत्तै राजदूत श्रीवास्तवले प्रधानमन्त्री शेर बहादुर देउवासँग शिष्टाचार भेट गरेका छन्। भेटमा उनले भारतका राष्ट्रपति र प्रधानमन्त्रीले पठाएका शुभकामना सन्देश सुनाएका थिए।

    राजदूत श्रीवास्तवले हालै भएको प्रधानमन्त्री शेर बहादुर देउवाको भारत भ्रमण र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणले दुई देशबीचको द्विपक्षीय सम्बन्धमा नयाँ गति प्रदान गरेको उल्लेख गरे। साथै उनले दुई देशबीचको मैत्री सम्बन्धलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। श्रीवास्तव नेपालका लागि भारतका २६ औं राजदूत हुन्। पूर्व राजदूत विनय मोहन क्वात्रा विदेश सचिवको कार्यभार सम्हाल्न २०२२ अप्रिलमा दिल्ली गएपछि श्रीवास्तव नयाँ राजदूतका रूपमा काठमाडौं आएका हुन्।

  • प्रचण्ड र बाबुराम भट्टराईबीच उपराष्ट्रपति निवासमा भेटवार्ता

    प्रचण्ड र बाबुराम भट्टराईबीच उपराष्ट्रपति निवासमा भेटवार्ता

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईबीच उपराष्ट्रपति निवासमा भेटवार्ता भएको छ । बिहीबार बिहान लैनचौरस्थित उपराष्ट्रपति निवासमा प्रचण्ड र बाबुरामको भेट भएको नेपाली सञ्चारमाध्यमहरुले पुष्टी गरेका छन् । जनता समाजवादी पार्टी भित्र उपेन्द्र यादव र बाबुराम भट्टराईबीच चरम विवाद उत्पन्न भएको छ ।

    यसले पार्टी नै विभाजन हुने अवस्था आएको समयमा प्रचण्डसँग भएको भेटलाई महत्वका साथ हेरिएको छ । स्रोतका अनुसार बुधबार जसपा अध्यक्ष उपेन्द्र यादवसँग बाबुराम भट्टराईबीच सहमतिमै पार्टी विभाजन गर्ने सहमति भइसकेको छ । यस अवस्थामा सत्ता गठबन्धन समेत प्रभावित बन्छ । भट्टराईले २०७२ सालमा माओवादी त्यागेका थिए । पछिल्लो समय प्रचण्डले भने माओवादी खेमा एक ठाउँमा आउने वातावरण बनेको बताउँदै आएका छन् ।

  • पोखरामा घर नै भाडामा लिएर चिनियाँ नागरिकले अवैध गतिविधि गर्ने गरेको खुलासा

    पोखरामा घर नै भाडामा लिएर चिनियाँ नागरिकले अवैध गतिविधि गर्ने गरेको खुलासा

    पोखरा । पोखरा महानगरपालिका–१७, ड्यामसाइटमा घर भाडामा लिएर चिनियाँ नागरिकले अवैध गतिविधि गर्ने गरेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय, कास्कीका अनुसार चिनियाँ नागरिकको संलग्नतामा अवैध काम भइरहेको आधारमा प्रहरीले बिहीबार चिनियाँ नागरिकले चलाएको कम्पनीमा छापा हानेको छ । नेपाली नागरिक ककनी, नुवाकोटका सुमन तामाङको नाममा दर्ता रहेको डायमन्ड टेक्नोलोजी नामक कम्पनीमार्फत उनीहरुले अवैध गतिविधि गरिरहेको प्रहरीले जानकारी गराएको छ । उनीहरुले पोखरामा पूरै घर भाडामा लिएर कार्यालय चलाएका थिए । ७५ नेपाली युवालाई रोजगारी दिने प्रलोभनमा चिनियाँ नागरिकले त्यहाँ भेला गराएका थिए ।

    उनीहरुले त्यहाँ के गरिरहेका थिए भन्ने विषयमा भने विस्तृतमा खुलेके छैन । प्रहरीले चारजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तीन चिनियाँ र एक नेपाली छन् । दुई चिनियाँको कागजपत्र नभेटिएका कारण अध्यागमन कानून अनुसार पनि उनीहरु दोषि देखिएकोप्रहरीले बताएको छ । कार्यालयबाट ४७ लाख ९७ हजार रुपैयाँ पनि बरामद भएको छ । यो रकमको स्रोत खुलेको छैन । नेपालमा बसेर चिनियाँ नागरिकले साइबर अपराध र ठगीजन्य गतिविधि गरिरहेको सूचना प्रहरी समक्ष पुगेको बताइएको छ ।

    नेपालस्थित चिनियाँ दूतावासले दिएको सूचनाको आधारमा प्रहरीले ७ पुस २०७७ मा अपरेशन चलाएर काठमाडौं उपत्यकाबाट १२२ जना चिनियाँलाई पक्राउ गरेको थियो । त्यतिवेला दिइएको सूचनामा काठमाडौं बाहेक पोखरा, विराटनगर, चितवनसहितका शहरमा गरी करिब ४ हजार चिनियाँ नागरिकले नेपालमा बसेर चीनविरुद्ध अवैध गतिविधि गरिरहेको भनिएको थियो ।

  • क्युआर कोडसहितको ‘परीक्षणकालीन लाइसेन्स’ छपाइ र वितरण बन्द

    क्युआर कोडसहितको ‘परीक्षणकालीन लाइसेन्स’ छपाइ र वितरण बन्द

    काठमाडौं । काठमाडौं उपत्यकामा रहेका यातायात कार्यालयहरुले परीक्षणकालिन लाइसेन्स (अस्थायी) छपाइ र वितरण बन्द गरेका छन् ।

    बजेटको अभाव देखाउँदै यातायात व्यवस्था कार्यालय ठूलो भर्‍याङ एकान्तकुना, चाबहिल तथा भक्तपुर कार्यालयले परीक्षण लाइसेन्स छाप्न बन्द गरेका हुन् ।

    केन्द्र र प्रदेश सरकारको समन्वय हुन नसक्दा अस्थायी कार्ड वितरणमा समस्या निम्तिएको यातायात व्यवस्था कार्यालयहरूले बताएका छन्।

    परीक्षणकालीन लाइसेन्स प्रिन्ट र वितरण रोकिएकाले पुनः सवारी चालकहरूले परीक्षा पास गरी रसिदकै भरमा सवारी चलाउनुपर्ने छ ।

    स्मार्ट लाइसेन्स छपाइमा भएको ढिलाइका कारण लाइसेन्स लिन सेवाग्राही वर्ष दिन कुर्नुपर्ने बाध्यताको विकल्पमा विभागले अस्थायी रूपमा एक वर्ष अवधिको परीक्षणकालीन लाइसेन्स दिन सुरू गरेको थियो।

    यस्तो लाइसेन्स ट्रायल पास भएर राजस्व बुझाएकै दिन एक वर्षको म्याद राखेर वितरण भइरहेको थियो।

    यस्तो कार्ड एक वर्षभित्र पाँच पटकसम्म ट्राफिक नियम उल्लंघन गरी कारबाहीमा परे खारेज हुने व्यवस्था छ। पाँच पटकसम्म कारबाहीमा नपरे मात्रै चालकले एक वर्षपछि स्मार्ट लाइसेन्स पाउने छन्।

  • वामदेवको प्रस्ताव-‘आफू-आफू चुनाव लड्ने हो भने कम्युनिष्टको हार निश्चित छ, वाम गठबन्धन गरौं ’

    वामदेवको प्रस्ताव-‘आफू-आफू चुनाव लड्ने हो भने कम्युनिष्टको हार निश्चित छ, वाम गठबन्धन गरौं ’

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकता राष्ट्रिय अभियान) का संयोजक वामदेव गौतमबीच बालकोटमा भेटवार्ता भएको छ।

    नेकपा विभाजन र खारेजीपछि राजनीतिबाट निष्क्रिय गौतमले करिब एक वर्षपछि बालकोट पुगेर ओलीसँग संवाद गरेका हुन्।

    एमाले र माओवादी केन्द्रको एकतापछि बनेको नेकपा भंग भएयता गौतम तटस्थ थिए। उनले फेरि पनि एकताको प्रयास गर्दै नेकपा एमाले, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पुन: एक हुनुपर्ने आवश्यकता औँल्याउँदै आएका छन्।

    गौतमले बिहीबार बिहान एमाले अध्यक्ष केपी ओलीसँगको भेटमा आसन्न दुवै तहको निर्वाचनमा कम्युनिष्ट शक्तिहरु मिलेर लडनुपर्ने प्रस्ताव गरे ।

    ‘आफू-आफू चुनाव लड्ने हो भने कम्युनिष्टहरुको हार निश्चित छ, त्यसैले प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा मिलेर चुनाव लडौं,’ भेटमा ओलीसँग गौतमले प्रस्ताव राखेका थिए।

    गौतमले आफू तत्कालीन नेकपालाई एकजुट बनाउने अभियानमा लागि पर्ने धारणा राखे।

    तत्कालीन नेकपालाई फुटबाट जोगाउन त्यतिबेला अध्यक्ष ओली र पुष्पकमल दाहाल प्रचण्डले रातदिन गौतमलाई फकाउने प्रयास गरेका थिए। यद्यपि, नेता गौतम दुवैतर्फ नलागी तटस्थ बसिरहे।

  • थप ६३ फिल्मकर्मीलाई सरकारी परिचयपत्र, क-कसले पाए ? (नामावलीसहित)

    थप ६३ फिल्मकर्मीलाई सरकारी परिचयपत्र, क-कसले पाए ? (नामावलीसहित)

    काठमाडौं । नेपाल सरकारले थप ६३ जना फिल्मकर्मीलाई सरकारी परिचयपत्र प्रदान गरेको छ ।

    बिहीबार नेपाल चलचित्र विकास बोर्डको २२ औं वार्षिकोत्सवको अवसर पारेर सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले परिचयपत्र प्रदान गरेका हुन् ।

    विशिष्ट श्रेणीको चलचित्रकर्मी परिचयपत्र प्राप्त गर्नेमा अभिनेता भुवन केसी, सन्तोष पन्त, चैत्यदेवी सिंह, मोहनलाल सर्राफ, गौरीशंकर धुजु, अर्जुनजंग शाही, रवि गिरी, राजाराम पौडेल, पवन मैनाली लगायत छन् ।

    आर्थिक वर्ष २०७३/७४ सालमै कार्यविधिअनुसार फारम भरेका कलाकारलाई परिचयपत्र प्रदान गरिएको बोर्डले जनाएको छ ।

    यसअघि ४० जना फिल्मकर्मीलाई विशिष्ट श्रेणीको परिचयपत्र प्रदान गरिएको थियो ।

    विशिष्ट चलचित्रकर्मी परिचयपत्र प्राप्त गर्नेको सूची

    १. चैत्यदेवी सिंह

    २. मोहनलाल सर्राफ

    ३. गौरीशंकर धुजु,

    ४. नगेन्द्र खड्का क्षेत्री

    ५. अर्जुनजंग शाही

    ६. रवि गिरी

    ७. सानुकुमार ताम्राकार

    ८. रिदीचन्द्र श्रेष्ठ

    ९. राजाराम पौडेल

    १०. सन्तोष पन्त

    ११. मञ्जिल श्रेष्ठ

    १२. उज्वल घिमिरे

    १३. पवन मैनाली

    १४. भुवन केसी

    १५. सुन्दरलाल श्रेष्ठ

    १६. शिव ढकाल

    १७. वीरेन्द्रनारायण श्रेष्ठ

    १८. किरण केसी

    १९. जुजुभाइ महर्जन

    २०. जय श्रेष्ठ

    २१. मदन घिमिरे

    २२. प्रकाशचन्द्र सुवेदी

    २३. देशभक्त खनाल

    २४. नानीबाबु महर्जन

    २५. उत्तम केसी

    २६. अर्जुन श्रेष्ठ

    २७. गोपालकाजी कायस्थ

    २८. राजेन्द्र सलभ

    २९. दिनेश डीसी

    ३०. धीरेन शाक्य

    ३१. आरपी पन्त

    ३२. हिमाल केसी

    ३३. सुशील पोखरेल

    ३४. भोला रिजाल

    ३५. दयाराम दाहाल

    ३६. वनिशविक्रम शाह

    ३७. नरेन्द्र महर्जन

    ३८. माधव थपलिया

    ३९. लक्ष्मणविक्रम बस्नेत

    ४०. कुलबहादुर महत

    ४१. उद्धवराज भट्टराई

    ४२. कमल मैनाली

    ४३. ज्योतिलाल राना

    ४४. मनोजकुमार आचार्य

    ४५. मुकुन्दकिशोर भट्टराई

    ४६. किशोरकुमार ढकाल

    ४७. नारायण प्रधान

    ४८. उत्तक द्वा

    ४९. शिवहरि वैरागी

    ५०. चिरञ्जीवी बस्नेत

    ५१. दीर्घ गुरुङ

    ५२. लव वैष्णव

    ५३. मनोजकुमार केसी

    ५४. केशवप्रसाद पण्डित

    ५५. रीता राना

    ५६. सपना श्रेष्ठ

    ५७. प्रदीपलाल श्रेष्ठ

    ५८. रामकाजी घिमिरे

    ५९. विकासराज आचार्य

    ६०. विजय देउजा

    ६१. ज्ञानेन्द्र देउजा

    ६२. मदनमान बज्राचार्य

    ६३. राजकुमार पोखरेल

  • लयमा फर्कियो नेपाली शेयर बजार, नेप्से उच्च अंकले बढ्दा २ अर्ब ४५ करोडको कारोबार

    लयमा फर्कियो नेपाली शेयर बजार, नेप्से उच्च अंकले बढ्दा २ अर्ब ४५ करोडको कारोबार

    काठमाडौ । विहीवार शेयर बजारमा उछाल आएको छ । कारोबार शुरु भएदेखि नै उकालो लागेको शेयर बजार मापक सूचक (नेप्से) ७४.९३ अंकले बढेर २०३७.६४ विन्दुमा पुगेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार विहीवार २२७ कम्पनीको २ अर्ब ४५ करोड ८६ लाख १९ हजार ४९४ रुपैयाँ बराबरको ७२ लाख ५४ हजार ७० कित्ता शेयर किनबेच भएका छन् । अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ ।

    बुधवार १ अर्ब ४३ करोड १४ लाख ६४० रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    आज कारोबारमा आएका १३ समूहमध्ये हरियो भएको छ । बैंकिङ २९, विकास बैंक २०४, फाइनान्स १००, होटल तथा पर्यटन १२७, जलविद्युत् १०६, जीवन बीमा २९६, उत्पादन २५०, लघुवित्त २०४, निर्जीवन बीमा ३८७, अन्य ८६ र ब्यापार उपसमूह १२६ अंकले बढे ।

    आज नेपाल फाइनान्स, मैलुङ खोला जलविद्युत कम्पनी र न्यादी हाइड्रोपावर लिमिटेडको शेयरमूल्य शेयरमूल्य १० प्रतिशतले बढेको छ ।

    त्यस्तै, आँधिखोला लघुवित्त वित्तीय संस्था, सिवाईसी लघुवित्त वित्तीय संस्था, सुर्योदल लघुवित्त वित्तीय संस्था, कर्पोरेट डेभलपमेन्ट बैंक, शिवम् सिमेन्ट, रिलायन्स फाइनान्सको शेय् मूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ ।

    त्यस्तै पञ्चकन्यामाई हाइड्रोपावर कम्पनी, नेपाल रिइन्स्योरेन्स कम्पनी, पाँचथर पावर कम्पनी, कालिका पावर कम्पनी, मितेरी डेभलपमेन्ट बैंक र सेन्ट्रल फाइनान्स कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । यी कम्पनीको शेयरमूल्य आज ९ प्रतिशत भन्दा बढीले बढेको छ ।

    नेप्सेका अनुसार ग्लोबल आईएमई बैंक डिभेञ्चरका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ३ प्रतिशत भन्दा बढीले घटेको छ ।

    कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्टको भएको छ । यसको आज ९ करोड ९५ लाख भन्दा बढीको कारोबार भएको छ ।

    दोस्रमा हिमालय डिस्टिलरीको ७ करोड ९७ हजार र तेस्रोमा एशियन लाइफको ५ करोड ९९ लाखको कारोबार भएको छ ।

  • दुई दशकपछि थपिए ६६० जना भन्सार एजेन्ट, व्यापारमा सहजीकरण हुने

    दुई दशकपछि थपिए ६६० जना भन्सार एजेन्ट, व्यापारमा सहजीकरण हुने

    काठमाडौं । भन्सार विभागले दुई दशकपछि ६६० जना भन्सार एजेन्ट थप गरेको छ । लिखितमा उर्तिण भएका आवेदकलाई अन्र्तवार्ताबाट उर्तिण गराएर विहीबार ६६० जनाको अन्तिम छनोट भएको हो । भन्सार एजेन्टको संख्या कम भएको भन्दै विभागले २०५७ साल पछि ६६० जना एजेन्टका लागि २०७७ चैत १६ गते आवेदन माग गरेको थियो । उक्त पदका लागि १० हजार बढीले आवेदन दिएका थिए । पटक पटक परीक्षा स्थगित हुँदै आएपनि विभागले दुई वर्ष पछि गत महिना परीक्षा सञ्चालन गरेको थियो ।

    भन्सार नाका र व्यापारमा उल्लेख्य बृद्धि भएसँगै एजेन्टको संख्या न्युन भएपछि सरकारले ६६० जना भन्सार एजेन्ट थप गर्ने निर्णय गरी आवेदन गरेपनि विभागले छनौट प्रकृया अघि बढाएको थियो । समयक्रमसँगै भन्सार नाका र व्यापारमा उल्लेख्य बृद्धि हुँदा एजेन्ट थपिन सकेको थिएन । हाल ३८ मूल भन्सारमध्ये २८ वटा सञ्चालनमा छन् ।

    निकासी र पैठारी हुने मालवस्तु भन्सार कार्यालयबाट छुटाउन वा भन्सार कार्यालयसँग सम्बन्धित कामका लागि निकासी–पैठारीकर्ताले भन्सार एजेन्ट राख्नु पर्ने व्यवस्था छ । २०५७ सालमा ५६ वटा एजेन्ट नियुक्ति भएयता कुनै पनि एजेन्ट नियुक्ति हुन सकेको थिएन । हालसम्म ४ सय ८१ जना भन्सार एजेन्ट नियुक्ति गरेको छ । यी मध्ये हाल १६९ जना भन्सार एजेन्टले मात्र अनुमतिपत्र नवीकरण गराएका थिए । अब भन्सारमा व्यापार सहजीकरण हुने विभागको विश्वास छ ।

  • समाजिक सञ्जालमा स्टार फर्डिनान्ड बने फिलिपिन्सका नयाँ राष्ट्रपति

    समाजिक सञ्जालमा स्टार फर्डिनान्ड बने फिलिपिन्सका नयाँ राष्ट्रपति

    मनिला । फिलिपिन्सका निवर्तमान राष्ट्रपति रोड्रिगो डुटेर्टेको उत्तराधिकारीका रूपमा बिहीवार फर्डिनान्ड मार्कोस जुनियरले शपथ लिने भएका छन् । धेरैको चासो रहेको निर्वाचनमा बोङबोङ उपनामले चिनिने मार्कोसले प्रतिद्वन्द्वी लेनी रोब्रेडोलाई ६० प्रतिशत मत ल्याइ पराजित गरेका हुन् । उनको जीतले मार्कोस राजनीतिक वंशको रोचक पुनरागमनको सङ्केत गर्छ जुन सन् १९८६ मा भएको आम विद्रोह पछि पदच्युत भएको थियो। निवर्तमान राष्ट्रपतिकी छोरी सारा डुटेर्टेले उपराष्ट्रपतिको शपथ लिने छिन्।

    मार्कोस जुनियरले स्थानीय समय अनुसार दिउँसो १२ बजे मनिलास्थित राष्ट्रिय सङ्ग्रहालयमा शपथ लिनेछन्। कार्यक्रममा सयौँ स्वदेशी तथा विदेशी प्रतिष्ठित व्यक्तित्वहरू सहभागी हुनेछन्। समारोहका निम्ति फिलिपिन्सको राजधानीमा करिब १५ हजार सुरक्षाकर्मी तैनाथ गरिने छन्। त्यहाँको सर्वोच्च अदालतले मार्कोस जुनियरको पुनः निर्वाचन विरुद्धको बाँकी चुनौतीहरू खारेज गरेको केही दिन पछि उनी विजयी भएका हुन्। मार्कोस जुनियरको चुनावी जीत मार्कोस परिवारका सदस्यहरूले आफ्नो राजनीतिक ख्याति पुनः प्राप्त गर्नका लागि दशकौँसम्म जारी राखेको सङ्घर्षको परिणामको रूपमा हेरिएको छ।

    उनका बुबा फर्डिनान्डले सन् १९६५ देखि १९८६ सम्म देशको नेतृत्व गरेका थिए। उनले मार्शल कानुन लागू गरे र उनको नेतृत्व अवधिमा देशभरि व्यापक मानवअधिकार हनन भयो र भ्रष्टाचार बढ्यो। सन् १९९६ मा जन विद्रोह गर्न लाखौँ मानिसहरू सडकमा उत्रिए पछि उनको शासन अन्त्य भयो। लगत्तै त्यतिबेला २८ वर्षीय बोङबोङ सहित मार्कोस परिवारले देश छोडेर हवाई गए। लामो समय राजनीति गरेका उनी सन् १९९१ मा फिलिपिन्स फर्केका थिए। त्यति बेला देखि उनी आफ्नो बुबाले राष्ट्रपतिको रूपमा बिताएको समयलाई विकास र समृद्धिको सुनौलो अवधिको रूपमा चित्रण गर्न तल्लीन छन्।

    मार्कोस जुनियरको सामाजिक सञ्जाल अभियानले उनको लोकप्रियतालाई ह्वात्तै बढायो। विशेष गरी तानाशाहलाई प्रत्यक्ष रूपमा अनुभव गर्न नपाएका युवा जमातहरू माझ उनी चर्चित बने। आलोचकहरूले भने उनको सामाजिक सञ्जाल अभियान अन्तर्गत गलत जानकारीहरूको प्रवाह भएको र उनको बुवाको शासनकालमा भएको अत्याचारबारे तथ्य लुकाइएको आरोप लगाएका छन्। यद्यपि, उनले ती आरोपहरूको खण्डन गरे। उनको चुनावी अभियान भर सारा डुटेर्टे पनि सँगै रहिन् जसले दुई सम्भ्रान्त परिवारहरू उत्तरी फिलिपिन्सको मार्कोस र दक्षिणी मिन्डानाओ टापुका डुटेर्टेसको राजनीतिक शक्ति संयोजन गर्दै व्यापक बनाएको छ।

    तर ६४ वर्षीय यी नेताले महामारीको असरबाट अझै बाहिर ननिस्किएको देशमा बढ्दो मुद्रास्फीति दर र ऋणका कारण प्रभावित अर्थतन्त्रको उत्तराधिकार सम्हाल्दै छन्। आलोचकहरूले उनले रोजगारी बढाउने र मूल्य वृद्धिलाई सम्बोधन गर्ने प्रतिज्ञाहरू गरे पनि वास्तविक नीति सुधारका लागि कम छलफल गरेको बताएका छन्। केहीले मार्कोस जुनियरले डुटेर्टेको कार्यकालमा लागूपदार्थ नीति विरुद्धको रक्तपातपूर्ण युद्ध र प्रेस स्वतन्त्रतामा कडाइका कारण स्थापित देशको छवि पुनर्स्थापना गरिदिउन् भन्ने चाहेका छन्।

    यद्यपि, राष्ट्रपतिको शपथ कार्यक्रमभन्दा एक दिन अघि फिलिपिन्सको एक नियामक निकायले आफू खोजमूलक समाचार माध्यम र्‍यापलर बन्द गर्ने निर्णयमा दृढ रहेको जनायो। र्‍यापलर ती सञ्चार माध्यममध्ये एक हो जसले रोड्रिगो डुटेर्टेको सरकारको आलोचना गर्दै आएको छ।
    बीबीसी

  • नेप्लिज-अमेरिका कन्भेन्सन सकर प्रतियोगिता खेल्न नवयुग र भरत अमेरिका प्रस्थान

    नेप्लिज-अमेरिका कन्भेन्सन सकर प्रतियोगिता खेल्न नवयुग र भरत अमेरिका प्रस्थान

    काठमाडौं । नेप्लिज अमेरिका कन्भेन्सन सकर प्रतियोगिता खेल्ने नेपालका फरवार्डद्वय नवयुग श्रेष्ठ र भरत खवास अमेरिका प्रस्थान गरेका छन्। दुई खेलाडी अहिले त्रिभुवन आर्मी फुटबल क्लबबाट व्यवसायिक फुटबल खेल्छन् । दुवै जनाले प्रतियोगिता खेल्नेछन्। उनीहरू एलए टिमबाट प्रतिस्पर्धा गर्नेछन् । भरत पछिल्लो समय राष्ट्रिय टिममा हटाएका छैनन् । उनी आर्मी फुटबल टिमका भने कप्तान हुन्। नवयुगले अघिल्लो महिना भएको एएफसी एसियन कप छनोटको तेस्रो चरणमा नेपाली टिमको कप्तानी सम्हालेका थिए।

  • शेखर कोइराला पक्षका कांग्रेस नेताहरुको भेला आज

    शेखर कोइराला पक्षका कांग्रेस नेताहरुको भेला आज

    काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षधर नेताहरूको भेला आज बोलाइएको छ । बिहीबार दिउँसो २ बजे बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बस्ने भेलामा सभापति शेर बहादुर देउवामाथि दवाव सिर्जना गर्ने रणनीति रहेको नेताहरुले बताएका छन् । पार्टीको आन्तरिक जीवन, समसामयिक राजनीति र देशको आर्थिक अवस्थाबारे छलफल गरी धारणा तय गरिने बताइएको छ । प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले पार्टी गतिविधि र सरकारका कामकारबाहीलाई सँगसँगै लैजान नसकेको भन्दै निष्कर्ष निकाल्दै उनीहरुले दवाव सिर्जना गर्न लागेका हुन् । सभापति देउवाले विधानअनुसार गठन गर्नुपर्ने विभाग तथा समितिहरूलाई पूर्णता दिएका छैनन्।

    मंसिरमा कांग्रेसको १४ औं महाधिवेशन भएको थियो। विधानअनुसार छ महिनाभित्र कोषाध्यक्ष, केन्द्रीय समिति, कार्यसम्पादन, संसदीय समिति र विभाग गठन गरिनुपर्नेमा कुनै पनि कामलाई सभापति देउवाले पूर्णता दिन नसकेका हुन् । सभापति देउवाले निर्वाचित केन्द्रीय सदस्यमध्ये एक जनालाई कोषाध्यक्ष मनोनीत गर्नुपर्छ । ३३ जना केन्द्रीय सदस्य मनोनीत गर्नुपर्नेमा देउवाले १३ जनालाई मात्रै मनोनीत गरेका छन्, उनीहरू सबै सभापति देउवानिकटका हुन्। कांग्रेस केन्द्रीय कार्यसमिति १६९ सदस्यीय हो। सभापतिमा देउवासँग पराजित कोइराला स्वत केन्द्रीय सदस्य छन्।