Category: फिचर

  • दार्चुलामा तुइनबाट खसेर एक वेपत्ता

    दार्चुलामा तुइनबाट खसेर एक वेपत्ता

    दार्चुला । तुइनबाट खसेर दार्चुलाको ब्यास गाउँपालिका–२, छुम्लिङमा एक युवक बेपत्ता भएका छन् । भारतबाट नेपालतर्फ आउने क्रममा तुइन चुँडिदा स्थानीय १८ वर्षीय सचिन बुढाथोकी महाकाली नदीमा खसेर बेपत्ता भएका हुन् । दार्चुलाका सीमा क्षेत्रका बासिन्दा किनमेलका लागि भारतीय बजार जाने गर्छन् । सीमा पार गर्नका लागि पक्की पुल नभएका कारण तुइन चढ्नुपर्ने बाध्यता छ । तुइन के कारण चुँडियो भन्ने हालसम्म खुलिसकेको छैन ।

    यसअघि यो स्थानमा गत वर्ष भारतीय सुरक्षाकमीएले तुइन काट्दा जयसिंह धामी बेपत्ता भएका थिए । गत वर्ष घटना भएको स्थान मै भने अहिले पुल बनिसकेको छ, तर मान्छेहरुले लुकिछिपी अन्यत्र पनि तुइन हालिहाल्दा घटना हुने गरेको स्थानीय प्रशासनको भनाई छ । गृहमन्त्री बालकृष्ण खाणले तुइनबाट खसेर बेपत्ता बुढाथोकीको खोजी कार्य तीब्र बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

  • नेपालमा दुई जनामा ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति ‘बीए फाइभ’ पुष्टी

    नेपालमा दुई जनामा ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति ‘बीए फाइभ’ पुष्टी

    काठमाडौं । नेपालमा दुई जनामा ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति ‘बीए फाइभ’ पुष्टी भएको छ।

    स्वास्थ्य मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाले गरेको जिन सिक्वेन्सिङ परीक्षणमा दुई वटा नुमनामा ‘बीए फाइभ’ पुष्टी भएको हो।

  • पछिल्लो २४ घण्टामा थप ११३ जनामा कोरोना पुष्टी

    पछिल्लो २४ घण्टामा थप ११३ जनामा कोरोना पुष्टी

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ११३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ५४९ जनाको पीसीआर परीक्षण गर्दा ९० जना र १ हजार १७५ जनाको एन्टिजेन परीक्षण गर्दा २३ गरी ११३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ८० हजार २१ जना पुगेको छ ।

    नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४७१ पुगेको छ।

    पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ ।

  • अर्थमन्त्री जर्नादन शर्माले दिए पदबाट राजीनामा

    अर्थमन्त्री जर्नादन शर्माले दिए पदबाट राजीनामा

    काठमाडौं । अर्थमन्त्री जर्नादन शर्माले राजीनामा दिएका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै राजीनामा घोषणा गरेका हुन् ।

    संसदीय छानबिन समितिलाई सहयोग गर्न आफुले राजीनामा दिएको उनले घोषणा गरेका हुन् । बजेट बनाउँदा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दरमा हेरफेर गरेको आरोप शर्मामाथि लागेको छ।

    ‘सभामुखको पहलमा जुन छानबिन समिति बनेको छ, त्यसको स्वागत गर्छु, धन्यबाद दिन्छु,’ संसदको रोष्टमबाट शर्माले भने, ‘यो छानबिनका लागि मैले मार्गप्रशस्त गर्दै आफ्नो पदबाट राजीनामा दिएको घोषणा पनि गर्दछु।’

    शर्माले बजेट बनाउँदा आफूले कुनै गल्ती नगरेको पनि बताए । विगतमा मन्त्रीमाथि छानबिन गर्दा पदमा बहालै रहेका उदाहरण भए पनि आफू त्यो नगर्ने उनले बताए ।

    शर्मामाथि छानबिन गर्न आज प्रतिनिधि सभाले ११ सदस्यीय छानबिन समिति गठन गरेको थियो।

    छानबिन गर्न समितिमा एमालेबाट ४, कांग्रेस र माओवादी केन्द्रबाट २/२, लोकतान्त्रिक समाजवादी, जनता समाजवादी र एकीकृत समाजवादीबाट १/१ जना सदस्य रहनेगरी समिति बनेको छ ।

    संसदीय विशेष समितिमा सांसदहरु खगराज अधिकारी, देव गुरुङ, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, बिमला बिक, लक्ष्मणलाल कर्ण, शक्ति बस्नेत, सरला यादव, सीताराम महतो र सुरेन्द्र यादव रहेका छन् ।

    सो समितिले बजेटमा करका दर हेरफेर गर्ने सम्बन्धमा अनधिकृत व्यक्ति प्रवेश गरेको विषय छनबिन गरी १० दिनभित्र प्रतिनिधिसभामा पेश गर्नुपर्नेछ ।

  • अर्थमन्त्रीमाथि छानबिन गर्न ११ सदस्यीय संसदीय समिति गठन

    अर्थमन्त्रीमाथि छानबिन गर्न ११ सदस्यीय संसदीय समिति गठन

    काठमाडौं । अर्थमन्त्री जर्नादन शर्माबारे छानबिन गर्न ११ सदस्यीय संसदीय छानबिन विशेष समिति गठन भएको छ ।

    बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले ११ सदस्यीय विशेष समिति गठन गरेको जानकारी गराएका छन् ।

    समितिमा एमालेबाट ४, कांग्रेस र माओवादी केन्द्रबाट २/२, लोकतान्त्रिक समाजवादी, जनता समाजवादी र एकीकृत समाजवादीबाट १/१ जना सदस्य रहनेगरी समिति बन्ने भएको हो।

    सो समितिले बजेटमा करका दर हेरफेर गर्ने सम्बन्धमा अनधिकृत व्यक्ति प्रवेश गरेको विषय छनबिन गरी १० दिनभित्र प्रतिनिधिसभामा पेश गर्नुपर्नेछ ।

  • नेप्सेमा दोहोरो अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी

    नेप्सेमा दोहोरो अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी

    काठमाडौं । शेयर बजार दोहोरो अंकले बढेको छ । साताको कारोबारको चौंथोदिन शेयर बजार मापक सूचक (नेप्से)१३.३३ अंकले बढेर २०४३.९२ विन्दुमा पुगेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २२८ कम्पनीको २ अर्ब १७ करोड ८६ लाख ५५ हजार ७०० रुपैयाँ बराबरको ६२ लाख ६३ हजार ३१० कित्ता शेयर किनबेच भएका छन् ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकममा भारी गिरावट आएको छ । मंगलवार २ अर्ब ९६ करोड ८४ लाख ८५ हजार २२३ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    आज कारोबारमा आएका १३ वटा समूह मध्ये १० वटाको बढेको छ भने ३ वटा समूह घटेको छ । फाइनान्स समूह सबैभन्दा धेरै २.७२ प्रतिशतले बढेको छ भने विकास बैंक र जीवन बीमा समूह पनि २ प्रतिशतभन्दा धेरैले बढेको छ ।

    दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । लाइफ इन्स्योरेन्स कर्पोरेशन शेयरमूल्य १० प्रतिशतले बढेर को छ ।

    सिवाईसी लघुवित्त वित्तीय शेयरमूल्य आज ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता १६९८.२० रुपैयाँ पुगेको छ ।

    त्यसैगरी, तेह्रथुम पावर ७.७८, सिभिल बैंक ७, रिलायन्स फाइनान्स ६.४२, इमर्जिङ नेपाल ६.१६, कालिका पावर ५.०३, श्री इन्भेष्टमेन्ट, अपर तामाकोशी, छ्याङ्दी र युनाटेड मोदी हाइडोपावरको शेयर मूल्य ४ प्रतिशतले बढेको छ ।

    नेप्सेका अनुसार एनसीसी डिभेञ्चर, स्वाभिमान लघुवित्त वित्तीय संस्था र सिटिजन्स म्युचुअल फण्डका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् ।

    यसको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी गोर्खाज फाइनान्सको भएको छ । यसको आज ११ करोड ७२ लाख भन्दा बढीको कारोबार भएको छ ।

    दोस्रोमा लाइफ इन्स्योरेन्स कर्पोरेशनको ११ करोड ५३ लाख र तेस्रोमा सिभिल बैकको १० करोड ५४ लाखको कारोबार भएको छ ।

  • शिकागो हत्याकाण्ड मच्याउने युवकले यसअघि पनि दिएका थिए ‘हत्या गर्ने’ धम्की

    शिकागो हत्याकाण्ड मच्याउने युवकले यसअघि पनि दिएका थिए ‘हत्या गर्ने’ धम्की

    शिकागो । स्वतन्त्रता दिवसको अवसरमा शिकागोनजिकै आयोजित एक सार्वजनिक कार्यक्रममा बन्दुक आक्रमण गर्ने व्यक्तिलाई सात वटा हत्याको आरोप लगाइएको छ । लेक काउन्टी राज्यका अधिवक्ता एरिक राइनहार्टले २१ वर्षीय रोबर्ट क्रेमोलाई सजाय दिइने बताएका छन् । हाइल्यान्ड पार्कमा भएको आक्रमणमा परी सात जनाको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएका थिए। राइनहार्टका अनुसार अनुसन्धानका क्रममा उनी विरुद्ध थप आरोप दर्ता गरिनेछ। ‘अहिले दर्ता गरिएको आरोप क्रेमोविरुद्ध दर्ता गरिने थुप्रै आरोपहरू मध्ये पहिलो हा,’ उनले मङ्गलवार एक पत्रकार सम्मेलनमा भने।

    सन्दिग्धले उच्च क्षमता भएको राइफलले परेडमा जम्मा भएको भिड लक्षित ७० वटा गोली प्रहार गरेका थिए। त्यसपछि उनी पीडितहरूसँगै भाग्नका निम्ति महिलाको भेषमा देखिएका थिए। सोमवार आठ घण्टा लामो अनुसन्धान पछि प्रहरीले क्रेमोलाई पक्राउ गर्‍यो र उनीबाट आक्रमणमा प्रयोग गरिएको जस्तै दोस्रो राइफल बरामद भयो। उनको घरमा अन्य तीन वटा हतियार फेला परेको प्रहरीले जनाएको छ। ती सन्दिग्ध व्यक्तिले गत वर्ष पाँच वटा बन्दुक खरिद गर्नु अघि कानुनी जानकारसँग दुई पटक सम्पर्क गरेको प्रहरीले जानकारी दिएको छ।

    सन् २०१९मा आत्महत्या गर्ने प्रयास गरेको बताइएको एक साता पछि प्रहरीलाई ती व्यक्तिको घरमा बोलाइएको थियो। सोही वर्ष सेप्टेम्बरमा एक परिवारका सदस्यले प्रहरी समक्ष क्रेमोले सबैलाई मार्ने हिंसात्मक धम्की दिइरहेको बताएका थिए। त्यति बेला प्रहरीले उनको घरबाट १६ वटा चक्कु, एउटा भाला र एउटा तरबार जफत गरेको थियो। उनी पक्राउ भने परेनन् र उनी विरुद्ध थप कारबाही पनि भएन।

    अधिकारीहरूले मङ्गलवार राज्यको रेड फ्ल्याग कानुनहरूबारे सचेतना अभियान सञ्चालन गर्न आह्वान गरे जसले न्यायाधीशलाई खतरनाक मानिने व्यक्तिलाई उनीहरूको हतियार जफत गर्न र थप बन्दुकहरू किन्नबाट प्रतिबन्ध लगाउन आदेश दिने अनुमति दिन्छ। क्रेमो बुधवार अदालतमा उपस्थित हुने अपेक्षा गरिएको छ। सरकारी वकिलले पत्रकार सम्मेलनमा उनी विरुद्ध लगाइने आरोपहरू पढ्दा त्यहाँ मानिसहरू खुसी हुँदै ताली बजाएका थिए ।

    बीबीसी

  • भारतमा होटल तथा रेष्टुरेन्टमा लाग्दै आएको सेवा शूल्क हट्यो

    भारतमा होटल तथा रेष्टुरेन्टमा लाग्दै आएको सेवा शूल्क हट्यो

    नयाँ दिल्ली । भारतमा होटेल तथा रेष्टुरेन्टमा लाग्दै आएको सेवा शूल्क हटेको छ । भारतको केन्द्रिय उपभोक्ता संरक्षण प्राधिकरण (सीसीपीए)ले सोमवार होटेल, रेष्टुरेन्ट तथा ढावाले लिने गरेको सेवा शूल्क हटाउने निर्णय गरेको हो । अब भारतमा सेवा शूल्क प्रतिवन्धित भएको छ । त्यो त भारतमा सन् २०१७ मा समेत यस्तो घोषणा भएको थियो ।

    तर, सरकारले बाध्य बनाउन नसकेपछि भारतभर यो नियम लागु थियो । जसले गर्दा उपभोक्ताले महंगो मूल्य तिरिरहेका थिए । अब भने कुनै पनि होटेल तथा रेष्टुरेन्टले यस्तो शूल्क लिएमा त्यस विरुद्ध उजरी समेत गर्न सकिने गरी नियम बनेको छ । अहिले पनि मानिसहरुले सेवा शूल्क लिएको बिल सामाजिक संजालमा राखेर प्रश्न भने गरिरहेका छन् ।

  • नेपालमा अमेरिकी डलरको मूल्यमा निरन्तर कीर्तिमान

    नेपालमा अमेरिकी डलरको मूल्यमा निरन्तर कीर्तिमान

    काठमाडौं । नेपाली रुपैयाँको तुलनामा अमेरिकी डलर बलियो हुँँदै नयाँ नयाँ कीर्तिमान बनिरहेका छन् । बुधबार अघिल्लो दिनको तुलनामा ०.६७ पैसाले मूल्य बढेपछि अमेरिकी डलरको भाउले उच्च कीर्तिमान छोएको हो । बुधबारका लागि राष्ट्र बैंकले एक अमेरिकी डलरको विनिमय दर १ सय २७.३० पैसा तोकेको छ । यो अहिलेसम्मकै माथिल्लो विन्दु हो । यसअघि गत सोमबार एक अमेरिकी डलरको विनिमय दर १२६.७८ रुपैयाँ पुगेको थियो । गत सातादेखि हरेक दिनजसो अमेरिकी डलरको भाउ उकालो लागिरहेको छ ।

    सोही क्रममा बुधबार हालसम्मकै उच्च दरमा पुगेको छ । पछिल्ला केही महिनायता विश्व बजारमा अमेरिकी डलरको माग बढ्दा त्यसको असर भारतीय मुद्रा (भारु) र नेपाली मुद्रामा समेत आएको हो । डलर बलियो बन्दा नेपालमा आउने रेमिट्यान्सको आकार ठूलो बन्छ । जसका कारण नेपाललाई फाइदा पनि पुग्छ । तर, बस्तु आयात गर्दा भने नेपालले महंगो सामान किन्नु पर्छ । नेपाल आयातमा आधारित अर्थतन्त्र भएको मुलुक हो । निर्यातमा समेत डलरको मूल्यले सकारात्मक प्रभाव पार्छ ।

  • बेलायतका अर्थ र स्वास्थ्य मन्त्रीले किन दिए राजिनामा ?

    बेलायतका अर्थ र स्वास्थ्य मन्त्रीले किन दिए राजिनामा ?

    लण्डन । बेलायतका अर्थमन्त्री ऋषि सुनक र स्वास्थ्यमन्त्री साजिद जावेदले प्रधानमन्त्रीको कार्यशैलीमाथि प्रश्न उठाउँदै पदबाट राजीनामा गरेका छन् । बोरिस जोन्सन नेतृत्वको सरकार जनअपेक्षा अनुरुप नचलेको भन्दै उनीहरुले राजीनामा दिएका हुन् । अर्थमन्त्री सुनकले राजीनामाको घोषणा गर्दै भनेका छन्, ‘सरकार गम्भीरताका साथ र ठीक ढंगले चलोस् भन्ने जनताको अपेक्षा एकदम ठिक छ । मलाई लाग्छ यो कुराका लागि हामीले संघर्ष गर्नुपर्छ । त्यसैले मैले राजीनामा दिने निर्णय लिएँ ।’

    उनले आफ्नो देशले निकै ठूलो चुनौतीको सामना गरिरहेको पनि बताएका छन् । सुनकसँगै बेलायतका स्वास्थ्यमन्त्रीले पनि राजीनामा दिएका छन् । स्वास्थ्यमन्त्री साजिद जावेदले प्रधानमन्त्री जोन्सनमा राष्ट्रिय हित अनुकूल सरकार चलाउने क्षमता नभएको आरोप लगाएका छन् । यो सरकारले अब राष्ट्रिय हित र जनअपेक्षा अनुसार काम गर्न नसक्ने दाबी गर्दै उनले भनेका छन्, ‘प्रधानमन्त्री बोरिस जोन्सनले राष्ट्रिय हित अनुकूल सरकार चलाउँछन् भन्ने जनविश्वास गुमाइसकेका छन् ।’ बोरिसले हालै संसद विश्वासको मत लिएका थिए ।

  • इटलीमा ७० वर्षयताकै भयानक खडेरी, संकटकाल घोषणा

    इटलीमा ७० वर्षयताकै भयानक खडेरी, संकटकाल घोषणा

    काठमाडौं । इटलीले ७० वर्षयताकै सबैभन्दा खराब खडेरीको सामना गरिरहेको छ । त्यहाँको सरकारले पो नदी वरपरका पाँच उत्तरी क्षेत्रमा आपत्काल घोषणा गरेको छ। कोल्डिरेट्टी कृषि युनियनका अनुसार खडेरीले इटलीको ३० प्रतिशतभन्दा बढी कृषि उत्पादन नष्ट हुने खतरा भएको समेत अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । एमिलिया(रोमान्या, फ्रियूली भेनेत्सा जोलिया, लोम्बार्डि, पिडमन्ट र भेनेटो क्षेत्रलाई पानीको अभाव सम्बोधन गर्न आपत्कालीन कोषमा तीन करोड ८० लाख डलर रकम दिइनेछ।

    बीबीसीका अनुसार कतिपय नगरपालिकाले यसअघि नै नगरवासीले व्यक्तिगत रूपमा कति पिउने पानी पाउनेछन् भनेर मात्रा तोकिसकेका छन्। इटलीको सरकारले भनेको छ, ‘सङ्कटकालको उद्देश्य भनेको वर्तमान अवस्थालाई असाधारण साधन र शक्तिका साथ व्यवस्थापन गर्ने भन्ने हो।’ उसले स्थितिमा सुधार नभए थप कदम चाल्नसक्ने जनाएको छ। असामान्य रूपमा गर्मी मौसम र हिउँद तथा वसन्त ऋतुमा कम वर्षा हुँदा उत्तरी इटलीमा पानीको अभाव जटिल बनेको छ। त्यसले जलवायु परिवर्तनका प्रभावका डरलाई थप बढाएको छ।

    प्रधानमन्त्री मारियो ड्रागीले आइतवार डोलोमिटस हिमनदीमा आएको भयानक पहिरो पनि निःसन्देह रूपमा जलवायु परिवर्तनसँग जोडिएको बताए। उक्त घटनामा सातजनाको मृत्यु भएको थियो भने १३ जना अझै बेपत्ता छन्। पो इटलीको सबैभन्दा लामो नदी हो। उक्त नदी ६५० किलोमिटर लामो छ र पूर्वतिर बग्छ। पो उपत्यकाका कृषकहरूले अहिले नुनिलो समुद्री पानी नदीमा पसेर आएको र त्यसले बाली नष्ट भएको बताएका छन्।

  • सिड्नीमा बाढी, ५० हजार मानिस प्रभावित

    सिड्नीमा बाढी, ५० हजार मानिस प्रभावित

    सिड्नी । अस्ट्रेलियाको सबैभन्दा ठूलो सहर सिड्नीमा बाढीका कारण ५० हजार मानिसलाई सुरक्षित स्थानमा सर्न सूचित गरिएको छ। सिड्नीको केही भागमा चार दिनमा झन्डै आठ महिनामा हुने वर्षा भएको बीबीसीले लेखेको छ । बाढीका कारण त्यहाँ सडक अवरुद्ध भएको छ भने केही घरहरू पानीमा डुबेका छन्। आपूर्ति बन्द हुँदा हजारौँ मानिसले बिजुली प्रयोग गर्न पाएका छैनन्। ला निना मौसमी प्रणालीका कारण ठूलो वर्षा भएपछि आएको बाढीका कारण यो वर्ष २० जनाभन्दा बढीको मृत्यु भइसकेको छ।

    तीमध्ये अधिकांश मानिस न्यू साउथ वेल्सका छन्। ग्रेटर सिड्नी भनिने तीन ठूला सहर भएको भूभागमा अहिलेको आपत्कालीन अवस्थामा १०० वटाभन्दा बढी स्थानान्तरणको निर्देशन जारी गरिएको छ। थुप्रै ठूला नदीमा बाढी आएपछि अन्य ५० क्षेत्रमा बसोबास गर्ने मानिसलाई पनि स्थानान्तरणका लागि तयारी अवस्थामा रहन सूचित गरिएको छ। चरम मौसमका कारण निकट क्षेत्रहरू हन्टर र इलावारा पनि प्रभावित भएका छन्। न्यू साउथ वेल्सका केही क्षेत्रमा चार दिनमा ८०० मिलिमिटर वर्षा भएको छ। मौसम हेर्ने निकायका अनुसार उक्त परिमाण ग्रेटर लन्डनमा एक वर्षमा हुने औसत वर्षाभन्दा झन्डै एकतिहाई बढी हो।

    सिड्नीमा मङ्गलवारबाट मुसलधारे वर्षा सुरु हुने अपेक्षा गरिएको छ। साथै आँधीबेहरीको पनि पूर्वानुमान गरिएको छ। आँधी आउँदा रूख ढल्ने र विद्युत् आपूर्ति बिग्रिने सम्भावना हुन्छ। अधिकारीहरूले स्थानीयवासीलाई जोखिम भएका ठाउँ छाड्ने दिइएको सुझावप्रति ध्यान दिन आग्रह गरेका छन्। जोखिम भएका स्थल छोड्ने आदेश दिइएका मानिसलाई अन्यन्त्र जान सघाउन उद्धारकर्ताहरूलाई दुई दिनअघि नै बोलाइएको थियो।

  • आलुको बोरामा ८३ लाख नगद भेटिएपछि…

    आलुको बोरामा ८३ लाख नगद भेटिएपछि…

    जनकपुर । धनुषामा स्रोत नखुलेको साढे ८३ लाख रुपैयाँभन्दा बढी रकमसहित दुई जना पक्राउ परेका छन् । जनकन्दिनी गाउँपालिका वडा नम्बर १ मा आलुको बोरा बोकेर आउँदै गरेको ज ७ प ५००७ नम्बरको मोटरसाइकललाई जाँच गर्दा ८३ लाख ६४ हजार पाँच सयसहित दुई जनालाई पक्राउ गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक सुमन शर्माले जानकारी गराएका छन् ।

    पक्राउ पर्नेमा जनकनन्दिनी गाउँपालिका वडा नम्बर ५ का ईश्वर मण्डल र राजेश मण्डल रहेका छन् । उनीहरुबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • रामेछाप दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुग्यो, सबैको पहिचान

    काठमाडौं । रामेछापबाट काठमाडौं आउँदै गरेको बस दुर्घटनामा परि मृत्यु हुनेको संख्या १३ पुगेको छ । नौ जनाको घटनास्थलमा र चार जनाको धुलिखेल अस्पतालमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । दुर्घटनामा अन्य २२ जना घाइते भएका छन् ।

    दुर्घटनामा सुनापति गाउँपालिका ५ रामेछापका ठूलो तामाङ, बुद्ध लामा, रामबहादुर श्रेष्ठ, नेमा तामाङ, सन्जु आले मगर, विपना तामाङ र खटबहादुर तामाङको ज्यान गएको हो । यस्तै सुनापति गाउँपालिका ४ की समिता तामाङ, सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका ९ की धनमाया तामाङ, रोशी गाउँपालिका ४ काभ्रेका कमल तामाङ, पाँचखाल नगरपालिका ८ काभ्रेका सुदीप बस्नेत, मन्डनदेउपुर ९ काभ्रेका शुभलक्ष्मी मानन्धर र पाँचखाल नगरपालिका ५ काभ्रेका कुलबहादुर विकको दुर्घटनामा ज्यान गएको प्रहरीले जनाएको छ ।

    २२ जना घाइतेमध्ये एक जना उपचारपछि डिस्चार्ज भएका छन् । २१ जनामध्ये १२ जनाको धुलिखेल अस्पताल काभ्रे, सात जनाको बीएण्डबी अस्पताल काठमाण्डौ र दुई जनाको केएमसी अस्पताल सिनामङ्गलमा उपचार जारी छ । बुधबार बिहान बा ३ ख ८३९६ नम्बरको बस रामेछापको सुनापती गाउँपालिका ५ र खाँडादेवी गाउँपालिका १ को सिमानामा दुर्घटनामा परेको हो । बसका चालक प्रहरीको नियन्त्रणमा छन् ।

  • सन्दीप लामिछाने लंका प्रिमियर लिगमा आवद्ध

    सन्दीप लामिछाने लंका प्रिमियर लिगमा आवद्ध

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले श्रीलंकामा हुने लंका प्रिमियर लिग क्रिकेटमा आवद्ध भएका छन् । उनलाई दाम्बुला जायन्ट्सले इन्टरनेशनल डायमण्ड ए क्याटगोरीबाट समावेश गरेको हो ।

    दाम्बुलाले श्रीलंकन कप्तान दसुन सनाका, भानुका राजापाक्षदेखि अष्ट्रेलियाका डी आर्च सर्ट र बेन कटपङ सम्मलाई अनुबन्ध गरेको छ । लामिछाने विश्वभरका ठूला क्रिकेट लिग खेल्ने नेपालका एक्ला क्रिकेटर हुन् ।

  • मलेसियाको आइटी कम्पनी विस्टर्न टेक्नोलोजीले नेपालबाट शून्य लागतमा कामदार लैजाने

    मलेसियाको आइटी कम्पनी विस्टर्न टेक्नोलोजीले नेपालबाट शून्य लागतमा कामदार लैजाने

    काठमाडौं । मलेसियामा रहेको विश्वकै ठूलो आइटी कम्पनीले शून्य लागतमा नेपाली श्रमिक लैजाने गरी सम्झौता गरेको छ । मंगलबार एक कार्यक्रममा मलेसियाको विस्टर्न टेक्नोलोजी र नेपालस्थित मेनपावर कम्पनी आकर्षण इन्टरनेशनल र लालधनुष इन्टरनेशनलबीच द्विपक्षीय सम्झौता भयो । सम्झौतापत्रमा विस्टर्न टेक्नोलोजीका तर्फबाट डेपुटी जनरल म्यानेजर डेभिड र आकर्षण इन्टरनेशनलका तर्फबाट अध्यक्ष विष्णुबहादुर केसी तथा लालधनुष इन्टरनेशनलका तर्फबाट अध्यक्ष दावा नवाङ शेर्पाले हस्ताक्षर गरे।

    सम्झौताअनुसार उक्त कम्पनीमा दुई मेनपावर कम्पनीमार्फत नेपाली श्रमिक शून्य लागतमा मलेसिया जान पाउनेछन् । मलेसियाको सो कम्पनीले पहिलो चरणमा ४५० श्रमिक लैजान लागेको छ । आकर्षण इन्टरनेशनलबाट १४० महिला र ६० पुरुष तथा लालधनुष इन्टरनेशनलबाट १७५ महिला र ७५ पुरुष श्रमिक मलेसिया जाँदैछन् । नेपाली श्रमिक मलेसिया लैजान कम्पनीको उच्च व्यवस्थापक टोली काठमाडौँमै आएको छ । बुधबार र बिहीबार श्रमिक छनोटका लागि अन्तर्वार्ता तोकिएको छ । छनोट भएर मलेसिया जाने नेपाली श्रमिकको सम्पूर्ण खर्च कम्पनीले बेहोर्ने विस्टर्न टेक्नोलोजीका डेपुटी जनरल म्यानेजर डेभिडले बताए ।

    ‘कामदारको सुरक्षा र स्वास्थ्यका बारेमा हामी अत्यन्त सजक छौँ,’ उनले भने, ‘नेपाली श्रमिक र मलेसियाका श्रमिकका बीचमा ज्याला तथा अवसरमा कुनै विभेद हुने छैन ।’ सो कम्पनीको विभिन्न चीन, भारत, ताइवान, मेक्सिको, चेक रिपब्लिक, फिलिपिन्सलगायत देशमा उद्योग रहेको छ । मलेसियामा मात्रै दुई उद्योग छन् । सो कम्पनीमा विभिन्न देशमा गरी करिब ८० हजार श्रमिक कार्यरत छन् । डेपुटी जनरल म्यानेजर डेभिडले श्रमिकको आरामदायी बसोबासका लागि आफ्नै अपार्टमेन्ट रहेको बताए ।

    उक्त कम्पनीले नेपाली श्रमिकलाई न्यूनतम एक हजार ५०० मलेसियन रि¬ङ्गेट तलब पाउनेछन् । त्यसका अतिरिक्त भत्ता र बोनसका साथै वार्षिक बिदाको पनि व्यवस्था रहेको छ । आकर्षण इन्टरनेशनलका अध्यक्ष केसीले श्रमिकको न्यायोचित भर्नाको सुरुआत गरिएको र नमूना मेनपावर लक्ष्यसहित लागि परेको बताए । १८ वर्षदेखि वैदेशिक रोजगारीमा श्रमिक पठाउँदै आएको सो मेनपावरले सन् २०१५ देखि शून्य लागतमा श्रमिक पठाउँदै आएको छ

  • दैनिक ज्यालादारी जनशक्ति थपेर सरसफाइमा जुट्यो काठमाडौं महानगर

    दैनिक ज्यालादारी जनशक्ति थपेर सरसफाइमा जुट्यो काठमाडौं महानगर

    काठमाडौं । काठमाडौं महानगरपालिकाले नगर क्षेत्रको सरसफाइ र वातावरणीय सुधारका लागि थप जनशक्ति परिचालन गरेको छ। महानगरका अनुसार अहिले थपिएका जनशक्तिले सडक र किनारा सफाइ गर्ने, फोहोर बटुल्ने काम गरिरहेका छ्न्।

    साथै, सडक किनाराको झार उखेल्ने, बर्खे पानी बग्ने नालीमा जम्मा भएको माटो निकाल्ने, बोट विरुवा गोडमेल गर्ने र काँटछाँट गर्नेजस्ता काम भइरहेको महानगरले जनाएको छ।

    काठमाडौं महानगरले सहरी सरसफाइका लागि थप १ सय १५० जना जनशक्ति परिचालन गरेको हो। महानगरले प्रधानमन्त्री रोजगार कार्यक्रमबाट आएका र दैनिक ज्यालादारीमा लिएका जनशक्ति थपेको बताइएको छ।

    यसअघि नियमित सरसफाइमा काम गर्ने करिब ६ सय कर्मचारी परिचालन हुने गरेको थियो।

  • नेपालमा एकैदिन ९० जना कोरोना संक्रमित थपिए, २० जना संक्रमण मुक्त

    नेपालमा एकैदिन ९० जना कोरोना संक्रमित थपिए, २० जना संक्रमण मुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ९० जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ९४४ जनाको पीसीआर परीक्षण गर्दा ७३ जना र १ हजार १६८ जनाको एन्टिजेन परीक्षण गर्दा १७ गरी ९० जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ७९ हजार ९०८ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा २० जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ९ लाख ६७ हजार ५५५ पुगेको छ । संक्रिय संक्रमितको संख्या ४०१ रहेको छ ।

    पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ ।

  • रामेछापमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु, घाइते २५ जना घाइते

    काठमाडौं । रामेछापमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ।

    आज बिहान रामेछापको सुनापती गाउँपालिका ५ मा बस दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ।

    हिलेदेबीबाट काठमाडौं आउँदै गरेको बा.३ ख ८३९६ नम्बरको बस दुर्घटना हुँदा ९ जनाको घटनास्थलमा मृत्यु भएको रामेछापका डिएसपी राजकुमार थिङले बताए।

    ‘म घटनास्थलमा पुग्न लागें। हाम्रो प्रहरी निरीक्षकसहितको टोली खटिएर उद्दार गरिरहेको छ,’ उनले भने, ‘९ जनाको घटनास्थलमै मृत्यु भएको छ।’

    त्यस्तै बस दुर्घटनामा घाइते भएका २५ जनालाई उपचारको लागि धुलिखेल अस्पताल पठाइएको छ।

    दुर्घटनाको कारण भने खुलिसकेको छैन। प्रहरीको टोलीले उद्धार कार्य जारी राखेको छ।

  • फ्रान्सेली चलचित्र ‘दिग्वी’को छायाङ्कन नेपालमा हुने

    फ्रान्सेली चलचित्र ‘दिग्वी’को छायाङ्कन नेपालमा हुने

    काठमाडौं । फ्रान्सेली चलचित्र ‘दिग्वी’को छायाङ्कन नेपालमा हुने निश्चित भएको छ । फ्रान्सेली भाषामै निर्माण हुने चलचित्रको छायाङ्कन काठमाडौं र सगरमाथा क्षेत्रको नाम्चे आसपासमा गरिने निर्माण पक्षले जानकारी गराएको छ । फिल्म छायाङ्कनका लागि उपयुक्त स्थानको खोजीमा नेपाल आएको निर्देशक एलन सिमोनसहितको टोलीले यसबारे जानकारी गराएको हो । नेपालमा ३५ दिनको छायाङ्कन तालिका राखिएको छ । चलचित्रमा केही नेपाली कलाकारसमेत रहने भएका छन् । रक ओपेरा सङ्गीतका चर्चित फ्रान्सेली सङ्गीतकार, निर्देशक तथा लेखकसमेत रहेका सिमोनले ९० प्रतिशत छायाङ्कन नेपाल र बाँकी फ्रान्समा गरिने जनाएका छन् ।

    सन् २०१५ को महाभूकम्पको समयमा नेपालीलाई सघाउन उनले कन्सर्ट आयोजना गरेका थिए । सिमोनले त्यतिबेलादेखि नै नेपालमा फिल्म सुटिङको योजना बनाएको बताए । फिल्मले आध्यात्मिकता, सङ्गीत र जीवनको अर्थ खोज्दै युरोपबाट नेपाल आइपुग्ने एक यायावरको कथा बोक्ने बताइएको छ । पाभेल नामक मुख्य पात्र नेपालमा आउँदा एक सारङ्गी वादक बालकलाई भेटेपछि उसमा आउने परिवर्तन फिल्मको कथावस्तु हुनेछ । काठमाडौंका पर्यटकीय सम्पदा र पर्यटकीय स्थलमा छायाङ्कन हुने भएको छ ।

  • नेपाल र क्यानडाबीच एक दिवसीय सिरिजको पहिलो खेल आज

    नेपाल र क्यानडाबीच एक दिवसीय सिरिजको पहिलो खेल आज

    काठमाडौं । नेपाल र क्यानडाबीच एक दिवसीय सिरिजको पहिलो खेल आज हुुँदैछ । खेल क्यानडाको किङ्ग सिटीमा बेलुका पौने ९ बजे सुरु हुने तालिका छ । सन्दीप लामिछानेको कप्तानीमा नेपालले क्यानडासँग क्यानडासँग सिरिजमा दुई खेल खेल्दैछ । दोस्रो खेल बुधबार हुने छ । क्यानडाले साद बिन जाफरको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ । यसअघि क्यानडा पुगेको नेपाली टोलीले स्थानीय क्लब ओन्टारियोसँग दुई अभ्यास खेल खेलिसकेको छ ।

    नेपालले टी–२० अभ्यास खेलमा ओन्टारियोलाई ५५ रन र एक दिवसीय अभ्यास खेलमा ६९ रनले हराएको थियो । क्यानडामा दुई एक दिवसीय खेलपछि नेपाल स्कटल्यान्ड जानेछ । नेपालले स्कटल्यान्डमा विश्व कप लिग–२ अन्तर्गत त्रिदेशीय एक दिवसीय श्रृङ्खला खेल्नेछ । नेपालले असार २७ र ३२ गते नामिबियासँग तथा असार २९ र साउन १ गते स्कटल्यान्डसँग खेल्ने तालिका रहेको छ ।

  • इन्धन नभएपछि श्रीलंकामा विद्यालय बन्दको घोषणा

    इन्धन नभएपछि श्रीलंकामा विद्यालय बन्दको घोषणा

    कोलम्बो । चरम आर्थिक शंकटको सामना गरिरहेको श्रीलंकामा विद्यालय बन्दको घोषणा भएको छ । इन्धन अभावका कारण गाडी नै गुड्न नसक्ने अवस्था आएसँगै श्रीलङ्कामा विद्यालय बन्दको घोषणा गरिएको हो । पहिलो चरणमा जुलाई ४ देखि एक साता बन्द गर्ने घोषणा गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । शिक्षा मन्त्रालयले सरकारको स्वामित्वमा रहेका र सरकारको स्वीकृतिमा सञ्चालन भएका सबै निजी विद्यालय बन्द हुने जनाएको छ । विद्यालयहरू बन्द गरिएपछि इन्धनको खपत कम हुने विश्वास छ ।

    ऊर्जा मन्त्रीले आइतबार एक दिनका लागि मात्र इन्धनको सञ्चय रहेको सार्वजनिक गरेका थिए । देशमा आर्थिक सङ्कट थप जटिल बन्दै जाँदा सरकारले इन्धन आयात गर्न नसकेकाले सार्वजनिक यातायात ठप्प जस्तै भएको छ। श्रीलङ्काले पेट्रोल र डिजेल बचत गर्न भन्दै अत्यावश्यक सेवाबाहेक सबै क्षेत्रका लागि इन्धन बिक्री दुई साता रोक्ने घोषणा गरेको थियो। सोमबार बैंक तथा कार्यालयहरू पुनः खोलिँदा स्थिति खराब हुने अनुमानसहित अधिकांश पेट्रोल पम्प बन्द गरिएका छन् ।

  • शिकागोमा ६ जनाको हत्या गर्ने २२ वर्षिय युवक पक्राउ

    शिकागोमा ६ जनाको हत्या गर्ने २२ वर्षिय युवक पक्राउ

    शिकागो । अमेरिकाको शिकागो सहर नजिकै स्वतन्त्रता दिवसको अवसरमा आयोजित परेडमा ६ जनाको मृत्यु हुने गरी बन्दुक आक्रमण गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। स्थानीय समय अनुसार दश बजे अचानक विस्फोटक आवाज सुनिए पछि इलिनोइसस्थित हाइल्यान्ड पार्क सहरमा आयोजित कार्यक्रम रद्द भएको थियो। अधिकारीहरूका अनुसार २४ जनालाई अस्पताल लगिएको छ। घटनामा संलग्नताको सन्दिग्ध २२ वर्षीय रोबर्ट ई क्रिमो तृतीय हुन्। हतियारधारी ती व्यक्तिलाई प्रहरीले खतरनाकको संज्ञा दिएको छ।

    सन्दिग्धले उच्च क्षमता भएको राइफलले परेडमा सहभागीहरूलाई लक्षित प्रहार गरेको प्रहरीले जनाएको छ। सन्दिग्ध बन्दुकधारीले परेड सुरु भएको केही मिनेट पछि, स्थानीय समय अनुसार १०ः१५ मा गोली चलाएका थिए। सहरको स्वतन्त्रता दिवस समारोहमा साङ्गीतिक र्‍यालीदेखि अन्य सामुदायिक मनोरञ्जनात्मक कार्यक्रमहरू तय भएका थिए। तर, वर्षको सर्वाधिक रमाइलो दिनहरू मध्ये एक हुनु पर्ने उक्त दिनमा आतङ्क मच्चियो।

    घटनास्थलमा उपस्थित मानिसहरू भाग दौड गर्दा विभिन्न किसिमका कुर्सी तथा झोलाहरू सडकभरि यत्रतत्र छाडिए। सन्दिग्ध व्यक्तिले नजिकैको पसलको छतबाट आम मानिस लक्षित गोली प्रहार गरेको ठानिएको छ। त्यहाँबाट प्रहरीले बन्दुकको प्रमाण बरामद गरेको छ। गोलाबारीमा परी पाँच जनाको घटनास्थलमै र अर्का एक जनाको उपचारको क्रममा नजिकैको अस्पतालमा मृत्यु भएको हत्या सम्बन्धी अनुसन्धान गर्ने स्थानीय अधिकारीले बताए।

    ‘स्वतन्त्रता मनाउन जम्मा भएका हामीले एउटा दुःखद घडीको शोक मनाउँदै छौँ,’ सहरका मेयर न्यान्सी रोटरिङले भनिन्। सन् १७७६ मा ग्रेट ब्रिटेनबाट स्वतन्त्र भएको उपलक्ष्यमा अमेरिकी उपनिवेशहरूले हरेक वर्ष ४ जुलाईको दिन राष्ट्रिय बिदा मनाउँछन्। घटनास्थलमा रहेका प्रत्यक्षदर्शीहरूले गोली चलेको आवाज सुने पछि भयावह बनेको परिस्थितिबारे वर्णन गरेका छन्।

    बीबीसी

  • कांग्रेस पदाधिकारीको बैठक आज, के छन् एजेण्डा

    कांग्रेस पदाधिकारीको बैठक आज, के छन् एजेण्डा

    काठमाडौं । समसामयिक राजनीतिक अवस्था लगायतका विषयमा छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्ने भएको छ । दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा समसामयिक राजनीतिका साथै आगामी २७ गते बोलाइएको केन्द्रीय समिति बैठकका एजेण्डाका विषयमा छलफल हुने छ ।

    कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बैठकमा स्थानीय तहको समीक्षा र भ्रातृ तथा शुभेच्छुक संस्थाका विधान लगायतका विषयमा पनि छलफल हुने जानकारी दिएका छन् । कांग्रेसमा पछिल्लो समय शेखर कोइराला समूह असनतुष्ट देखिएको छ ।

  • सिकागोमा स्वतन्त्रता दिवसको परेडमा गोली चल्दा ६ जनाको मृत्‍यु

    सिकागोमा स्वतन्त्रता दिवसको परेडमा गोली चल्दा ६ जनाको मृत्‍यु

    शिकागो

    शिकागोस्थित अमेरिकि स्वतन्त्रता दिवसको दिन आयोजित एक परेडमा गोली चल्दा ६ जनाको ज्यान गएको छ भने २४ जना घाइते भएका छन् । अधिकारीका अनुसार गोली चलाऊने ब्यक्तिले रुफटपबाट चलाएको अनुमान गरिएको छ । प्रहरीले सुटरको सोमबार व्यापक खोजी सुरु गरेको अधिकारीहरूले बताएका छन्।

    घटनास्थलमा एउटा राइफल फेला परेको छ । प्रहरीले एक बन्दुकधारीको खोजी गरिरहेको छ । गोली प्रहार गरेर ६ जनाको ज्यान लिने ब्यक्ती अन्दाजी १८-२० वर्षको लामो कालो कपाल भएको सेतो व्यक्ति भएको सुरक्षा अधिकारीहरुले जनाएका छन । सीडीटी हाईल्याण्ड पार्कमा बिहान १० बजेर १४ मिनेट जाँदा गोली चलाईएको हो ।
    हाइल्याण्ड पार्क शहरले “सक्रिय शूटर घटना” भएको पुष्टि गरे संगै सबैलाई आ-आफ्नो ठाँऊमा रहन आग्रह गरेको थियो ।

  • पेट्रोलियम पदार्थको भाउ बढ्यो, कुन इन्धनको मूल्य कति ?

    पेट्रोलियम पदार्थको भाउ बढ्यो, कुन इन्धनको मूल्य कति ?

    काठमार्डौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । आजै राती १२ बजेबाट लागु हुने गरी पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा ९\९ तथा हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ मूल्य बढेको निगमले जनाएको छ ।

    अब पेट्रोलको मूल्य प्रतिलिटर १८१, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १७२ र आन्तरिकतर्फको हवाइ इन्धनको मूल्य प्रतिलिटर १९० पुगेको छ । खाना पकाउने ग्यासको मूल्य भने यथावत छ । निगमले आजै सरकारलाई इन्धनको खपत घटाउन विभिन्न उपाय सुझाएको थियो ।

  • श्रीलंका चरम आर्थिक संकटमा, तेल भण्डारण रित्तियो

    श्रीलंका चरम आर्थिक संकटमा, तेल भण्डारण रित्तियो

    कोलम्बो । सात दशकमा सबैभन्दा चरम आर्थिक सङ्कट खेपिरहेको श्रीलङ्कामा इन्धनको भण्डार रित्तिने चेतावनी देशका ऊर्जामन्त्रीले दिएका छन्। नियमित माग पूरा गर्नेगरी वितरण गर्न हो भने श्रीलङ्कामा बाँकी भएको पेट्रोल एक दिनका लागि पनि नपुग्ने कञ्चन विजेशेकरले बताएका हुन्। अब दुई सातापछि मात्रा श्रीलङ्कामा थप पेट्रोल आइपुग्ने उनले आइतवार बताए। इन्धन, खाद्यपदार्थ र औषधि आयात गर्न पनि निकै गाह्रो परिरहेको बेला गत साता श्रीलङ्काले अत्यावश्यक सेवाका बाहेक अरू सवारीसाधनलाई डीजल र पेट्रोल बेच्न रोक लगाएको थियो। श्रीलङ्कामा केवल १२,७७४ टन डीजल र ४,०६१ टन पेट्रोल बाँकी भएको विजेशेकरले संवाददाताहरूलाई बताए।

    पेट्रोलको अर्को खेप जुलाई २२ र २३ का बीचमा आउने अपेक्षा रहेको उनले जानकारी दिए । डीजल यही साताको अन्त्यतिर आइपुग्न सक्छ। यद्यपि विजेशेकरले इन्धन र कच्चा तेल आयात गर्ने योजनाका लागि पर्याप्त रकम नभएको चेतावनी उनले दिएका छन्। उनका अनुसार श्रीलङ्काको केन्द्रीय ब्याङ्कले इन्धन किन्न केवल १२.५ करोड डलर दिन सकेको छ। अहिले ल्याउन खोजिएको इन्धनका लागि ५८.७ करोड डलर तिर्नुपर्छ। यो वर्ष यसअघि विभिन्न सात आपूर्तिकर्तासँग किनेको तेलको ८० करोड डलर तिर्न अझै बाँकी भएको उनले बताए।

    श्रीलङ्कामा आगामी सातासम्मका लागि निजी सवारीसाधनलाई तेल बेच्न विक्रेताहरूलाई रोक लगाइएको छ। सन् १९७० को दशकमा इन्धन आपूर्तिमा देखा परेको सङ्कटपछि तेल बेच्न रोक लगाउने श्रीलङ्का पहिलो देश भएको विज्ञहरू बताउँछन्। त्यतिबेला संयुक्त राज्य अमेरिका र युरोपमा इन्धन बेच्न कोटा लगाइएको थियो। श्रीलङ्का सन् १९४८ मा यूकेबाट स्वतन्त्र भएको थियो। स्वतन्त्रतापछि श्रीलङ्काले भोगेको यो सबैभन्दा नराम्रो आर्थिक सङ्कट हो। अत्यावश्यक सामग्री आयात गर्न पनि श्रीलङ्कासँग पर्याप्त विदेशी मुद्रा छैन। इन्धन, खाद्यान्न र औषधिको चरम अभावका कारण श्रीलङ्कामा महँगी ह्वात्तै बढेको छ। धेरै मानिसहरू आफ्नो जीविकोपार्जनका लागि कुनै न कुनै रूपमा सवारीसाधनमा भर पर्ने भएकाले उनीहरूको खर्च पनि बढेको छ।
    बीबीसी

  • मुगुको रारा तालमा पहिलो पटक पुग्यो विजुली

    मुगुको रारा तालमा पहिलो पटक पुग्यो विजुली

    मुगु । मुगुको रारा तालमा विजुली पुगेको छ । नेपाल विद्युत प्राधिकरणले मुगुमा २ हजार ९९० मिटर उचाईमा रहेको रारा ताल क्षेत्रमा विद्युत पुगेको जनाएको छ । प्राधिकरणले आफ्नो स्वामित्वमा मुगुमा रहेको ४ सय किलोवाट क्षमताको गमगाढ जलविद्युत गृहबाट उत्पादित विद्युत करिब २५ किलोमिटर प्रसारण लाइन निर्माण गरी पुर्‍याएको हो। सोमबारबाट रारा क्षेत्रका ग्राहकलाई विद्युत उपलब्ध गराएको प्राधिकरणले जानकारी दिएको छ। हाल त्यस क्षेत्रमा सौर्य ऊर्जाबाट घरायसी प्रयोजनमा मात्र विद्युत प्रयोग हुँदै आएको थियो।

    अब जलविद्युत गृहबाट उत्पादित विद्युत २४सै घण्टा आपूर्ति हुने प्राधिकरणले जनाएको छ। रारा ताल परिसरमा सञ्चालनमा रहेका होटलहरू, कार्यालयहरू र छेउछाउका घरहरूले विद्युत पाएका छन्। रारा ताल परिसरमा २५ केभिए क्षमताको वितरण ट्रान्सफर्मर जडान गरी विद्युत आपूर्ति गरिएको छ। प्राधिकरणका प्रादेशिक कार्यालय कर्णालीका प्रमुख सम्भू कुसियत यादवले ट्रान्सफर्मर सोमबारबाट सञ्चालनमा ल्याइएको बताए। रारा राष्ट्रिय निकुञ्जको जंगलमा करिब १० किलोमिटर लाइन बनाएसँगै रारामा विजुली पुगेको हो ।

  • निजी सवारीमा जोर-विजोर देखि इन्धनमा कोटा प्रणाली लागु गर्न आयल निगमको प्रस्ताव

    निजी सवारीमा जोर-विजोर देखि इन्धनमा कोटा प्रणाली लागु गर्न आयल निगमको प्रस्ताव

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खपत कम गर्न सरकार समक्ष विभिन्न प्रस्ताव गरेका। छ । दुई पांग्रे र साना सवारी साधनलाई कम पेट्रोल दिनेदेखि जोर विजोरसम्मको प्रस्ताव गरिएको छ । इन्धनको बढ्दो मूल्यका कारण वित्तीय अवस्था नाजुक बनेको भन्दै निगमको सोमबार सरकारलाई १० वटा उपाय सिफारिस गरेको छ । इन्धनको मूल्य वृद्धिका कारण मुलुकको अर्थतन्त्र र निगमलाई जोगाउन यस्ता उपाय तत्काल अवलम्बन गर्न निगमले आग्रह गरेको हो ।

    सोमबार बसेको निगमको बैठकले इन्धनको खपत कम गर्न तत्काल १० वटा उपाय अबलम्बन गर्न आग्रह गरिएको छ । प्रस्ताव अनुसार मोटरसाइकललाई ५ लिटर, कार र जीपलाई २० लिटर बढीमा एक पटकमा मात्रै इन्धन दिन आग्रह गरिएको छ । शनिबार देशका प्रमुख शहरमा सवारी साधन निषेध गर्न समेत निगमले भनेको छ । सरकारले हटाएको आइतबार सार्वजनिक बिदाको व्यवस्था पुनः लागू नगरी नहुने अवस्था आएको पनि निगमले जनाएको छ ।

    निगमले सरकारलाई पठाएको सुझावमा डिजेल र पेट्रोल गाडीको आयात प्रतिबन्ध गर्न, सरकारी, निजी र दुई पांग्रसहितका सबै खाले सवारी सधान पूर्ण क्षमतामा सञ्चालन गर्न, जोरबिजोर प्रणाली कार्यान्वयनमा ल्याउन, छोटो दुरीमा सवारी सधनको प्रयाग नगर्न, ढुवानीका सवारीसाधनहरु पूर्ण क्षमतामा चलाउने व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ । निगमले अधिकतम् मात्रामा सवारी साधन तथा घरायसी प्रयोगमा विद्युत् खपत गर्ने वातावरण मिलाउन पनि सरकारलाई भनेको छ ।

  • गगन थापाले मागे अर्थमन्त्रीको राजिनामा

    गगन थापाले मागे अर्थमन्त्रीको राजिनामा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले अर्थमन्त्री जनार्दन शर्माको राजिनामा माग गरेका छन् । सोमबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै महामन्त्री थापाले अर्थमन्त्रीमाथि संसद भित्र र बाहिर प्रश्न उठेकाले राजीनामा दिनुपर्ने बताए । अर्थमन्त्रीले स्वेच्छाले राजीनामा नदिए प्रधानमन्त्रीले हटाएर तत्काल छानबिन गर्नुपर्ने पनि थापाले बताए । अर्थ मन्त्रालयले सीसीटीभी फुटेज जम्मा १३ दिनको छ भनेर भनिसके पछाडि तत्काल प्रधानमन्त्रीले यसका बारेमा एउटा एक्सनमा जानुपर्ने उनको तर्क छ ।

    उनले भने, ‘यत्रो विषय संसदमा उठ्यो । बाहिर उठ्यो । हो, होइन मलाई थाहा छैन । तर यो विषय उठिसकेपछि मैले बुझेको कि अर्थमन्त्रीजीले अहिले राजीनामा दिनुपर्छ । कि प्रधानमन्त्रीजीले उहाँलाई अहिले हटाउनु पर्छ । र तत्काल छानबिन गर्नुपर्छ ।’

    कम्तीमा तीन महिनासम्मको सीसीटीभी फुटेज सुरक्षित राख्नुपर्ने नियम रहेको तर अर्थ मन्त्रालयले त्यो नियम पनि नमानेको थापाले बताए । अर्थमन्त्री जनार्दन शर्मामाथि बजेट निर्माणमा अनधिकृत व्यक्ति सहभागी गराएको र करको दर हेरफेर गराएको आरोप लागेको छ । नेकपा एमालेले संसदमा यो विषय उठाउँदै संसदीय छानबिन माग गरेको छ ।