Category: फिचर

  • पाटन अस्पताललाई तोकियो हैजा रोगको ‘डेडिकेटेड’ अस्पताल

    पाटन अस्पताललाई तोकियो हैजा रोगको ‘डेडिकेटेड’ अस्पताल

    काठमाडौं । पाटन अस्पताललाई हैजा रोगको उपचारका लागि ‘डेडिकेटेड’ अस्पताल तोकिएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरले यस्तो निर्णय गरेको हो । ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायको संयोजकत्वमा आइतबार बसेको जिल्लास्थित सुरक्षा अधिकारी, स्थानीय तह, जनस्वास्थ्य अधिकृत, काठमाडौं उपत्यका खानेपानी लिमिटेड, खानेपानी वितरक, ट्यांकर व्यवसायी, उपभोक्ता अधिकारवादी, व्यवसायीसहितको बैठकले हैजा रोग तथा यससँग मिल्दोजुल्दो लक्षणको उपचारमा पाटन अस्पताललाई डेडिकेटेड अस्पताल तोक्ने निर्णय गरेको हो ।

    डेडिकेटेड तोकिएसँगै हैजा रोगका लागि पाटन अस्पतालमा छुट्टै हेल्थ डेस्क खडा गरी सोहीअनुसार उपचारको प्रबन्ध मिलाइने प्रशासनले जनाएको छ । प्रजिअ उपाध्यायका अनुसार ललितपुर जिल्ला र अरु ठाउबाट आउने हैजा रोगका बिरामी तथा यससँग मिल्दोजुल्दो लक्षण भएका सबैले अस्पतालबाट उपचार सेवा लिन सक्नेछन् ।

  • नयाँ मन्त्रिहरुको सपथ आज

    नयाँ मन्त्रिहरुको सपथ आज

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद् पुनर्गठन गरेकी छिन् । उनले आइतवार पाँच जना मन्त्री फेरबदल गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । एकीकृत समाजवादी पार्टीको सिफारिसमा प्रधानमन्त्रीले त्यही पार्टीका नयाँ मन्त्रीको नाम पठाएका हुन् ।

    राष्ट्रपतिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा जीवनराम श्रेष्ठ, सहरी विकास मन्त्रीमा मेटमणि चौधरी, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीमा भवानीप्रसाद खापुङ, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा शेरबहादुर कुँवर र स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्रीमा हिराचन्द्र केसी नियुक्त गरेकी छिन् । खापुङ यसअघि स्वास्थ्य राज्यमन्त्री थिए, उनलाई मन्त्रीमा बढुवा गरिएको छ । मन्त्रीहरूको शपथ ग्रहण आज हुने राष्ट्रपति कार्यालयले जनाएको छ ।

  • अष्ट्रेलिया र इजरायलका लागि नेपाली राजदूत नियुक्त

    अष्ट्रेलिया र इजरायलका लागि नेपाली राजदूत नियुक्त

    काठमाडौं । अस्ट्रेलिया र इजरायलका लागि नेपाली राजदूत नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आज आइतवार दुई देशका लागि नेपाली राजदूत नियुक्त गरेकी हुन् । राष्ट्रपति भण्डारीले कैलाशराज पोखरेललाई अस्ट्रेलिया र कान्ता रिजाललाई इजरायलका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरेकी छिन् । उनले संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उनीहरुलाई नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

  • वन पैदावारजन्य उत्पादन बढाउनु पर्नेमा राष्ट्रपतिको जोड

    वन पैदावारजन्य उत्पादन बढाउनु पर्नेमा राष्ट्रपतिको जोड

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सबल राष्ट्रिय अर्थतन्त्र निर्माणका लागि वन(पैदावारजन्य उत्पादनमा वृद्धि हुनुपर्नेमा जोड दिएकी छिन् । सामुदायिक वन उपभोक्त महासंघले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा राष्ट्रपति भण्डारीले त्यसखाले उत्पादनमा वृद्धि गरेर आयात प्रतिस्थापन गर्नुपर्ने उल्लेख गरिन् । पानीका मुहान जोगाउन तथा भूमिगत पानीको पुनर्भरण प्रक्रिया दीगो बनाउन पूर्वजले अपनाएको पोखरी खन्ने र संरक्षण गर्ने उपायलाई नयाँ अभियानका साथ सञ्चालन गर्नुपर्ने उनको भनाई छ ।

    “हरेक सामुदायिक वनले कम्तीमा एउटा पोखरी निर्माण गर्ने अभियान चलाएर सम्भाव्यता अनुसार कतिपय स्थानमा माछापालन लगायतका व्यवसाय गर्न सकिनेतर्फ पनि म यहाँहरुको ध्यानाकर्षण गर्न चाहन्छु,” उनले भनिन् । उनले प्रकृति र मानिसबीचको पारस्परिक निर्भरताका कारण व्यक्ति, समुदाय र राष्ट्रकै समृद्धिका लागि वनजंल अति महत्त्वपूर्ण प्राकृतिक श्रोत रहेको बताइन् ।

    नागरिकको स्वस्फूर्तरुपमा सिन्धुपाल्चोकबाट सुरु भएको सामुदायिक वनको अभ्यास देशव्यापीरुपमा सफलतापूर्वक लागू भएको र यो अन्तर्राष्ट्रिय जगतमा समेत स्थापित हुनु नेपालका लागि गौरवको विषय भएको उनले बताइन् । वातावरणको दीगो व्यवस्थापन गर्दै मानवीय आवश्यकता र प्रकृतिको स्वभाविक गतिका बीचमा सन्तुलन कायम हुनुपर्नेमा जोड दिनुहुँदै उहाँले यसबाट आर्थिक वृद्धिको बाटो पहिल्याउनु हरित अर्थतन्त्र भएको उनको भनाई छ ।

  • इलाममा जिप दुर्घटना, तीन जनाको निधन

    इलाममा जिप दुर्घटना, तीन जनाको निधन

    इलाम । इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँमा जिप दुर्घटना हुँदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । पाँचथरको रविबाट झापातर्फ जाँदै गरेको जिप आइतबार दिउँसो १२ बजेतिर मिक्लाजुङ–२ दहगाउँमा सडकबाट २०० मिटर तल खसेको थियो ।

    दुर्घटनामा इलामको मिक्लाजुङ गाउँपालिका–५ का ६५ वर्षका हिमप्रसाद लावती, उनकी श्रीमती ६० वर्षकी पदमकुमारी लावती र उनीहरुका ज्वाइँ इलामको माङ्सेबुङ गाउँपालिका ६ का ५० वर्षका जयराम राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रवक्ता डीएसपी गंगाबहादुर थापाले जानकारी दिए ।

    थापाका अनुसार हिमप्रसाद र जयरामको घटनास्थलमै मृत्यु भएको हो भने पदमकुमारीको अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो । जिपका चालक अनुप राई भने सामान्य घाइते छन् । चिप्लो सडकमा जिप अनियन्त्रित भएर पल्टिएको देखिएको प्रहरीको भनाई छ ।

  • मन्त्रिपरिषद पुनर्गठन, यस्तो बन्यो मन्त्रिमण्डल

    मन्त्रिपरिषद पुनर्गठन, यस्तो बन्यो मन्त्रिमण्डल

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । नेकपा एकीकृत समाजवादीबाट सरकारमा सहभागी मन्त्री हेरफेर भएका छन् ।
    एकीकृत समाजवादीबाट नेताहरु जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरी शहरी विकास मन्त्री, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री र हीरा केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनेका छन् ।

    राष्ट्रपति कार्यालयले आइतबार साँझ एक विज्ञप्ति जारी गरी प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद पुनर्गठन गरेको उल्लेख गरेको छ । नेकपा एकीकृत समाजवादीले २२ जेठमा मन्त्रीहरु फिर्ता बोलाएर सरकारमा नयाँ मन्त्रीहरुलाई पठाउने निर्णय गरेको हो । त्यसै दिन मन्त्री बन्ने नेताहरुको नाम प्रधानमन्त्रीलाई बुझाइएको थियो ।

    संसदमा आगामी आर्थिक वर्ष ०७९\८० को बजेटमाथि छलफल चलिरहेका बेला मन्त्रीहरुले जवाफ नदिई हेरफेर गर्नु उचित नहुने भन्दै मन्त्री हेरफेर रोकिएको हो । लामो समय भइसक्दा पनि प्रधानमन्त्रीले मन्त्री हेरफेर नगरेको भन्दै शनिबार बसेको एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठकले पार्टीको निर्णय अनुसार मन्त्री हेरफेर नगरे अपमान भएको ठान्ने चेतावनी दिएको थियो ।

  • काठमाडौं उपत्यकामा १५ जनासहित देशभर २९ जना संक्रमित थपिए, १७ जना संक्रमणमुक्त

    काठमाडौं उपत्यकामा १५ जनासहित देशभर २९ जना संक्रमित थपिए, १७ जना संक्रमणमुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर कोभिड–१९ का २९ संक्रमित थपिएका छन् ।

    एक हजार ७३० वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

    यो अवधिमा देशभर १७ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या १९२ छ ।

    यो अवधिमा ५७ हजार ७२४ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार जनाएको छ ।

    पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा कोभिड–१९ का १५ संक्रमित थपिएका छन् । काठमाडौंमा १० र भक्तपुरमा पाँच संक्रमित थपिएका हुन् । हाल काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या १०८ छ ।

  • काठमाडौं उपत्यकाका ९ स्थानमा देखियो हैजा, सतर्कता अपनाउन आग्रह

    काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न नौ स्थानमा हैजाको संक्रमण देखिएको छ ।

    इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका काठमाडौंका बागबजार, डिल्लीबजार, कपन, सानेपा, बालाजु, बल्खु र थानकोटका मानिसमा हैजाको संक्रमण पुष्टी भएको हो । शनिबार पाटन अस्पतालमा उपचाररत एकजनामा हैजाको संक्रमण देखियो हो । योसँग हैजाको संक्रमण पुष्टी हुनेको संख्या ९ पुगेको छ ।

    असार २ गते टेकु अस्पतालमा भर्ना भएका दुई बिरामीमा परीक्षण गर्दा हैजाको जीवाणु फेला परेको थियो। उनीहरू दुबै जना बागबजारस्थित एकै परिवारका थिए।

    सरकारले हैजाबाट बच्न सतर्कता अपनाउन आग्रह गरेको छ ।

    ललितपुर महानगरले आइतबार पानीपुरी, चटपटेलगायत सडकमा बेचिने खानेकुरामा प्रतिबन्ध लगाएको छ।

  • शेयर बजारमा उछालः उच्च अंकले बढ्यो नेप्से, ३५ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

    शेयर बजारमा उछालः उच्च अंकले बढ्यो नेप्से, ३५ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

    काठमाडौं । पूँजी बजार तथा सेयर बजारको स्थायित्व र सुधारका लागि अनशनमा बसेका तिलक कोइराला र नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालबीच भएको सहमतिको प्रभाव शेयर बजारमा परेको छ ।

    अनशन तोड्नुअघि पूँजीबजार सुधार संघर्ष समितिका संयोजकसमेत रहेका कोइराला र सेबोन अध्यक्ष हमालबीच शुक्रवार १९ बुँदे माग पूरा गर्ने प्रतिबद्धतापत्रमा हस्ताक्षर भएको थियो।

    उक्त प्रभावले आइतबार शेयर बजारमा उछाल आएको छ । कारोबार शुरु भएदेखि नै उकालो लागेको शेयर बजार मापक सूचक (नेप्से) ९४.९२ अंकले बढेर १९५६.९८ विन्दुमा पुगेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २३० कम्पनीको २ अर्ब १९ करोड ६१ लाख ४१ हजार ८४८ रुपैयाँ बराबरको ६३ लाख ६३ हजार ५९० कित्ता शेयर किनबेच भएका छन् । अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ ।

    आज कारोबारमा आएका १३ समूहमध्ये हरियो भएको छ । सबैभन्दा धेरै मूल्य बढ्नेमा विकास बैकको समूह रहेको छ ।

    बैंकिङ ३५, विकास बैंक २५७, फाइनान्स १०२, होटल तथा पर्यटन १४०, जलविद्युत् १५६, जीवन बीमा ३६६, उत्पादन २८४, लघुवित्त २३१, निर्जीवन बीमा ३६२, अन्य ९६ र ब्यापार उपसमूह १२१ अंकले बढे ।

    नेप्सेका अनुसार आज ३५ कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । यसमध्ये २१ कम्पनीको शेयरमूल्यमा १० प्रतिशतले वृद्धि भएको छ । अन्य कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ ।

    स्वाभिमान लघुवित्त, युनियन हाइड्रोपावर, सबैको लघुवित्त, नेपाल पुनर्बीमा कम्पनी, एनआरएन इन्फ्रास्ट्रक्चर, जनरल इन्स्योरेन्स, सानिमा जनरल इन्स्योरेन्स, सानिमा लाइफ, सीवाईसी लघुवित्त, नागरिक लगानी कोष, हिमालयन डिस्टिलरीको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।

    त्यस्तै नेसनल हाइड्रोपावर, गुहेश्वरी मर्चेन्ट, प्रोग्रेसिभ फाइनान्स, कर्पोरेट डेभलपमेन्ट, रिलायन्स फाइनान्स, एचआईडीसीएल, सिनर्जी पावर, घलेम्दी, युनिभर्सल पावर, सप्तकोसी विकास बैंकको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।

    माल दोलखा हाइड्रो, छ्याङ्दी हाइड्रोपावर, विशाल बजार, नबिल ब्यालेन्स फण्ड २, लिबर्टी इनर्जी, हिमालयन पावर, जनउत्थान लघुवित्त, सानिमा माइ, ग्रीन डेभलपमेन्ट, जोशी हाइड्रोपावर, हिमालय ऊर्जा विकास र पोखरा फाइनान्सको मूल्य ९.९ प्रतिशतले बढेको छ ।

    नेप्सेका अनुसार नेपाल इन्भेष्टमेन्ट बैंकको डिभेञ्चरका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य २ प्रतिशत भन्दा बढीले घटेको छ ।

    त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कुमारी बैंकको भएको छ । यस कम्पनीको आज ८ करोड ६४ लाख भन्दा बढीको कारोबार भएको छ ।

    दोस्रोमा हिमालय डिस्टिलरीको शेयर कारोबार भएको छ । यसको ८ करोड ३७ लाख र न्यादीको ८ करोड ३३ को कारोबार हुँदै शीर्ष तीनमा रहे ।

  • सार्वजनिक यातायातको भाडादर घट्यो

    सार्वजनिक यातायातको भाडादर घट्यो

    काठमाडौं । सरकारको निर्देशनमा नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएसँगै सार्वजनिक यातायातको भाडादर पनि घटेको छ।

    यातायात व्यवस्था विभागले एक सूचना निकालेर अन्तरप्रदेश चल्ने यात्रीवाहक र मालवाहक सवारीसाधनको भाडादर घटाएको जानकारी दिएको हो।

    सूचनामा उल्लेख भएअनुसार यात्रीवाहक सवारीमा साबिकको भाडादरमा ५.४१ प्रतिशत भाडा घटाइएको छ।

    त्यसैगरी पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ६.९७ र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ७.६८ प्रतिशतले भाडा घटाइएको छ।

    नयाँ भाडादर आजकै दिनदेखि लागु हुने यातायात व्यवस्था विभागले जनाएको छ।

  • ललितपुर महानगरका सडकमा पानीपुरी बेच्न नपाइने

    ललितपुर महानगरका सडकमा पानीपुरी बेच्न नपाइने

    काठमाडौं । ललितपुर महानगरपालिकामा पानीपुरी बेच्न रोक लगाएको छ ।

    महानगरले हैजा फैलिने उच्च जोखिमलाई मध्यनजर गर्दै महानगरभित्रका सडकमा पानीपुरी बेच्न रोक रोक लगाएको हो ।

    पानीपुरीमा प्रयोग गरिएको पानीमा हैजाको जिवाणु भेटिएको भन्दै महानगरपालिकाले नबेच्न आग्रह गर्दै नगर प्रहरीले आइतबार माइकिङ गरेर जानकारी दिइरहेको छ।

    होटल रेस्टुरेन्टहरूमा भएको पानी सफा भए नभएअनुसार बेचबिखन गर्ने दिइनेछ ।

    सडकमा ठेलागाडा, फुटपाथमा राखिएको पानीपुरी अत्यधिक दूषित हुँदा हैजा फैलिएको सम्भावना उच्च रहेको महानगरको ठहर छ ।

    यसअघि काठमाडौंको बागबजार क्षेत्रमा बसोबास गर्ने दुई जनामा हैजाको जीवाणु देखिएको थियो। त्यस क्षेत्रका पानीका स्रोतमा हैजाको जीवाणु रहेको पाइएको थियो।

    हैजा नियन्त्रणका लागि सडक छेउमा बिक्री वितरण गरिने खाद्य पदार्थ (स्ट्रिट फुड) र सकेसम्म घर बाहिरको खाना सेवन नगर्न विज्ञहरूले सुझाव दिएका छन्।

  • पर्यटनमन्त्री आलेले दिए पदबाट राजीनामा

    पर्यटनमन्त्री आलेले दिए पदबाट राजीनामा

    काठमाडौं । नागरिक उड्यन तथा पर्यटनमन्त्री प्रेमबहादुर आले मन्त्री पदबाट राजीनामा दिएका छन् ।

    उनले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा पत्र बुझाएका हुन । आलेले शुक्रबार आफूले ४८ घण्टाभित्र राजीनामा दिने घोषणा गरेका थिए । त्यसै अनुसार अध्यक्ष नेपाललाई राजीनामा पत्र बुझाएको आले निकट स्रोतले बतायो ।

    आलेसहित, विरोध खतिवडा, किसान श्रेष्ठ, रामकुमारी झाँक्री र मन्त्री नबनेका अरु सांसद समेत गरी १० जनाले मन्त्रिपरिषद हेरफेरप्रति असन्तुष्टि जनाउँदै अध्यक्ष माधवकुमार नेपाललाई ध्यानाकर्षण पत्र बुझाएका थिए ।

    तर पछि हस्ताक्षर गर्नेहरुमध्ये पर्यटनमन्त्री आलेसहित ६ जना सांसदले नाम फिर्ता लिएका थिए ।

  • अमेरिकी राष्ट्रपति बाइडेन र नेपाली राजदूत खत्रीबीच भेट

    अमेरिकी राष्ट्रपति बाइडेन र नेपाली राजदूत खत्रीबीच भेट

    काठमाडौं । अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्रीले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेट गरेका छन् । उनीहरुबीच जेठ ३० मा भेट भएको हो । राजदूत खत्रीले अमेरिका गएपछि कोभिड–१९ संक्रमणका कारण भर्चुअल रुपमै राजदूतको ओहदाको प्रमाणपत्र बुझाएका थिए । त्यसबेला व्यक्तिगत रुपमा भेटवार्ता भएको थिएन । राष्ट्रपति बाइडेनलले भर्चुअल रुपमै ओहदाको प्रमाणपत्र बुझाएका राजदूतहरूसँग व्यक्तिगत भेटवार्ता गर्न ह्वाइट हाउसमा बोलाएका थिए ।

    सोही क्रममा राजदूत खत्री र बाइडेनबीच भेट भएको हो । दूतावासले भेटबारे औपचारिक जानकारी भने सार्वजनिक गरेको छैन । छोटो भेटवार्तामा राष्ट्रपति बाइडेनले नेपालको विषयमा चासो राखेको र राष्ट्रपतिले नेपाल र नेपाली आफूलाई मन पर्ने बताएको खत्रीले प्रतिक्रिया दिएको कान्तिपुर दैनिकले समाचार प्रकाशित गरेको छ ।

  • नेपाल माथिको प्रतिवन्ध फुकुवापछि आइसीसीको टोली काठमाडौंमा

    नेपाल माथिको प्रतिवन्ध फुकुवापछि आइसीसीको टोली काठमाडौंमा

    काठमाडौं । नेपालमाथिको सबै प्रकारको प्रतिवन्ध फुकुवा गरेपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)का प्रतिनिधि नेपाल आएका छन् । टोलीले शनिबार युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज भेटवार्ता गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को बैठक कक्षमा भएको भेटमा राखेपका उपाध्यक्ष शिव कोईराला, राखेपका सदस्य सचिव टंकलाल घिसिङ, नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द, आईसीसी डेभलप्मेन्टका चेयरम्यान इमरान ख्वाजा, आईसीसी डेभलप्मेन्टका जेनरल म्यानेजर विलियम्स ग्लानराईट र आईसीसी फाइनान्स एन्ड ओपरेसन अफिसर नितिशा कोठारीको उपस्थित थिए ।

    सो अवसरमा मन्त्री गहतराजले नेपाल सरकारले क्रिकेटको विकासमा ध्यान केन्द्रीत गरी क्रिकेट रंगशाला निर्माणमा लगानी गरेको बताउदै झापा, चितवन, लुम्बिनी, मूलपानीलगायतका स्थानमा पूर्वाधार निर्माणको कार्य अघि बढिरहेको अवगत गराउनुभयो । मन्त्री गहतराजले नेपालमा क्रिकेटले पनि फुटबल सरहनै लोकप्रियता हासिल गरेको बताउदै आईसीसीले नेपाली क्रिकेटको विकासमा गरेको लगानीका लागि धन्यवाद ज्ञापन गरे । सदस्यसचिव घिसिङले आईसीसी र परिषद्को दीर्घकालीन सम्बन्धको विकास गर्न क्रिकेट एकेडेमी र टेक्निकल हबको विकास र निर्माणमा सहकार्य गर्नुपर्नेमा जोड दिदै नेपाल अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न इच्छुक रहेकाले त्यसमा आईसीसीको सहयोग आवश्यक रहेको बताए ।

    आईसीसी प्रतिनिधिले नेपालमा क्रिकेटको ठूलो सम्भावना रहेको बताउदै विद्यालयमा क्रिकेटको विकास गर्न सके सरकारको मात्र भर परिरहनु पर्ने अवस्थाको अन्त्य हुने धारणा राखे । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले नेपाली क्रिकेट विकास लागि सधै सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाएको छ । नेपाल भ्रमणमा रहेको आईसीसी प्रनिनिधि मण्डलले शनिबार सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा उक्त प्रतिबद्धता जनाएको हो । क्यानमा राजनीतिक हस्तक्षेप र आर्थिक पारदर्शिता कायम नभएको भन्दै आईसीसीले सन् २०१६ अप्रिलमा निलम्बन गरेको थियो ।

    यसबीचमा नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा भने सहभागिता जनाउँदै आएको छ । २०७६ असोजमा सम्पन्न विशेष साधारण सभामार्फ चतुरबहादुर चन्दको नेतृत्वमा नयाँ कार्यसमिति गठन भएको थियो । त्यसपछि आईसीसीले क्यानमाथि लगाएको निलम्बन सर्त राख्दै फुकूवा गरेको थियो । आईसीसीले क्यानको आर्थिक गतिविधिमा नियन्त्रण गरेकाले आर्थिक मामिलामा आईसीसीको भर पर्नुपर्ने अवस्था नेपाली क्रिकेटमा थियो । अब भने आर्थिक गतिविधि सहितको सबै निलम्बन हटेको छ ।

  • वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या कोभिड अगाडीकै अवस्थामा

    वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या कोभिड अगाडीकै अवस्थामा

    काठमाडौं । वैदेशिक रोजगारीमा जाने नेपालीको संखया कोभिड महामारी भन्दा अगाडी कै अवस्थामा पुगेको छ । चालु आर्थिक वर्ष २०७८\७९ को पहिलो महिनाबाटै श्रम स्वीकृति लिनेको सङ्ख्या बढेको देखिएको छ । यस आवको ११ महिना (जेठ मसान्त)सम्म श्रम स्वीकृति लिनेको सङ्ख्या पाँच लाख ७१ हजार ७७९ पुगेको छ । यो गत आवको ११ महिनाको तुलनामा करिब चार गुणा धेरै हो । वैदेशिक रोजगार विभागका अनुसार सो आवमा समिक्षा अवधिमा मात्र एक लाख ४६ हजार ४० जनाले श्रम स्वीकृति लिएका थिए । जेठमा मात्र ७२ हजार ३४९ जनाले श्रम स्वीकृति लिएका छन् ।

    आव २०७६\७७ मा एक लाख ९० हजार ४५३ जनाले श्रम स्वीकृति लिएका थिए । नेपालमा २०७६ चैत ११ गतेदेखि कोभिड–१९ का कारण बन्दाबन्दी प्रारम्भ भएको हो । त्यसपछि वैदेशिक रोजगारीमा जानलाई श्रम स्वीकृति लिएका र बिदामा आएर फर्किन लागेका सबै रोकिएका थिए । विभागको तथ्याङ्कअनुसार नेपालबाट वैदेशिक रोजगारीमा जाने युवाको सङ्ख्या कोभिड अगाडिको अर्थात् आव २०७५\७६ को अवस्थामा पुगेको छ । विगत तीन आवको तथ्यांक हेर्दा कतार, संयुक्त अरब इमिरेटस्म, लेसिया, साउदी अरब, बहराइन, कुवेत र ओमानमा धेरै नेपाली पुगेका छन् ।

  • ७ वटा नेपाली स्टार्टअपका लागि जुट्यो साढे २४ करोड लगानी

    ७ वटा नेपाली स्टार्टअपका लागि जुट्यो साढे २४ करोड लगानी

    काठमाडौं । सातवटा नेपाली स्टार्टअपका लागि साढे २४ करोड लगानी जुटेको छ । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले आयोजना गरेको नेपाल स्टार्टअप फेस्ट २०२२ मा यी स्टार्टअप कम्पनीहरुसँग २४ करोड ५० लाख लगानीको प्रारम्भिक सम्झौता भएको छ । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले स्टार्टअप फेस्टमा सहभागी हुन परियोजनासहित लगानी प्रस्ताब आह्वान गरेको थियो । देशभरबाट प्राप्त ३०० बढी प्रस्तावमध्येबाट अन्तिम छनौटमा परेका परियोजनाहरुलाई फेस्टमा आफ्नो प्रस्तुती गर्ने अवसर दिइएको थियो ।

    यीमध्ये कम्युनिकेशन सोल्युसन प्रदायक भक्सक्रो स्टार्टअपले अध्ययन्ता भेन्चरबाट १ करोड रुपैयाँ लगानी प्राप्त गरेको छ । यस्तै स्किलसेवाले टीम भेन्चर, टेलि भेन्चर, अध्ययन्ता र ग्लोबल इक्वीटी फण्डबाट संयुक्तरुपमा साढे ८ करोड रुपैयाँ लगानी प्राप्त गरेको छ । स्किल सेवाले होम इन्सपेक्सन सर्भिस प्रदान गर्दछ । यसैगरी डक्टर्स अन कलले टीम भेन्चर, हिमालयन क्यापिटल र ग्लोबल इक्वीटीबाट संयुक्तरुपमा २ करोड ५० लाख रुपैयाँ लगानी प्राप्त गरेको छ । कृषि क्षेत्रमा काम गरिरहेको खेतीले पनि दुई करोड रुपैयाँ लगानी प्राप्त गरेको छ ।

    उनीहरुलाई टीभ भेन्चर ग्लोबल इक्वीटीले संयुक्तरुपमा लगानी गरेको हो । स्कूल म्यानेजमेन्ट एप भेदाले साढे ८ करोड रुपैयाँ लगानी प्राप्त गरेको छ । टीम भेन्चर, हिमालयन क्यापिटल र ग्लोबल इक्वीटीले संयुक्तरुपमा लगानी गर्ने सम्झौता गरेका छन् । यसैगरी डिजिटल एज नेपाल नामक स्टार्टअपमा अध्ययन्ता र मिालयन क्यापिटलले १ करोड रुपैयाँ लगानी गर्ने सम्झौता गरेका छन् । डार्क म्याटर्स प्रोडक्सन कम्पनीमा ग्लोबल इक्वीटी, टीम भेन्चर र अध्ययताले डेढ करोड रुपैयाँ लगानी गर्न सम्झौता गरेका छन् ।

  • कास्कीको लुम्ले आसपास ठूलो वर्षा, सतर्क रहन आग्रह

    कास्कीको लुम्ले आसपास ठूलो वर्षा, सतर्क रहन आग्रह

    कास्की । कास्कीको लुम्ले र जुमलेटीमा अति भारी वर्षा मापन हुँदा त्यस आसपासको क्षेत्रमा जोमि बढेको छ । जल तथा मौसम विज्ञान विभागले सतर्क रहन भनेको छ । विभागको बाढी सूचना केन्द्रले आज बिहान ३ बजे सूचना जारी गर्दै पछिल्लो ६ घण्टामा अति भारी वर्षा मापन भएको जानकारी दिंदै आज बिहान ९ बजेसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । बाढी सूचना केन्द्रका अनुसार त्यहाँ पछिल्लो चौबिस घण्टामा १७१.५ मिलिमिटर वर्षा मापन भएको छ । २४ घण्टामा १४० मिलिमिटरसम्म वर्षा मापन भएमा बाढीपहिरोको जोखिमको खतरा हुने बताइन्छ ।

    अति भारी वर्षाका कारण कास्की र आसपासका खोलामा आकस्मिक बाढी आउन सक्ने र कमजोर तथा भिरालो जमिनमा पहिरो जान सक्ने जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले जनाएको छ । बाढी सूचना केन्द्रले आज असार १२ गते त्रिशूली, बुढीगण्डकी, मर्स्याङ्दी, कालीगण्डकी, पश्चिम राप्तीका शाखा नदीहरु लगायत प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी प्रदेश भई बग्ने नदीहरुम बहाव बढ्ने र आकस्मिक बहाव हुन सक्ने पूर्वानुमान अघिल्लो दिन नै सार्वजनिक गरेको थियो । अविरल वर्षाका कारण पोखरा महानगरपालिका–२५ हेम्जाका ३०० भन्दा बढी घर डुबानमा परेका छन् । डुबान र पहिराको कारण ५०० हाराहारीमा मानिस विस्थापित भएका छन्

  • धनकुटामा पोखरीमा डुबेर दुई किशोरको मृत्यु

    धनकुटामा पोखरीमा डुबेर दुई किशोरको मृत्यु

    धनकुटा । धनकुटामा पोखरीमा डुबेर दुई किशोरको ज्यान गएको छ । पोखरीमा पौडी खेल्ने क्रममा धनकुटा नगरपालिका ५ का १५ वर्षीय स्वर्णिम राई र धनकुटा नगरपालिका २ का १५ वर्षीय उदय राईको मृत्यु भएको प्रहरीले जनाएको छ। धनकुटा नगरपालिका–६ पात्लेखोला किनारामा रहेको धनकुटा एग्रो टुरिजम फन एण्ड भ्यालीले पर्यटकका लागि बोटिङ गर्न र माछापालनका लागि बनाएको पोखरीमा डुबेर शनिबार दिउँसो उनीहरुको मृत्यु भएको हो।

    पौडी खेल्ने क्रममा पोखरीमा डुबेरका दुवै जनाको धनकुटा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। घरबाट स्वर्णिम र उदयसँगै गएका धनकुटा नगरपालिका ५ का सन्देश राईको भने उद्धार भएको छ। घरबाट बिहान निस्केका उनीहरु हिँड्दै ११ बजे पोखरीमा पुगेको र पौडी खेल्ने क्रममा हराएपछि पोखरीमा खोजी गर्ने क्रममा डुबिरहेका दुवैलाई निकालिएको थियो। पोखरीबाट निकालेर उपचारका लागि धनकुटा अस्पताल ल्याइएको र उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।

  • अमेरिकामा धमाधम बन्द हुन थाले गर्भपतन गराउने क्लिनिक

    अमेरिकामा धमाधम बन्द हुन थाले गर्भपतन गराउने क्लिनिक

    न्यूयोर्क । अमेरिकाको सर्वोच्च अदालतले महिलाले गर्भपतन गर्न पाउने सम्बन्धी संवैधानिक अधिकार समाप्त हुने फैसला गरेलगत्तै कतिपय राज्यमा गर्भपतन गराउने क्लिनिकहरू बन्द हुन थालेका छन्। रो भर्सस वेड भनिने गर्भपतनलाई कानुनी मान्यता दिने ५० वर्ष पुरानो आदेश अदालतले उल्टाएपछि अमेरिकाका आधाजसो राज्यले गर्भपतनमा नयाँ प्रतिबन्ध वा कडाइ गर्ने अपेक्षा गरिएको छ। तीमध्येका १३ राज्यले ट्रिगर ल भनिने कानुन बनाएर गर्भपतनलाई प्रतिबन्धित गर्ने व्यवस्था मिलाइसकेका छन्। शुक्रवारको आदेशसँगै ती राज्यमा अब गर्भपतन स्वतः गैरकानुनी ठहरिनेछ। राष्ट्रपति जो बाइडनले अदालतको आदेश एउटा दुःखद गल्ती भएको टिप्पणी गरेका छन्।

    अमेरिकाका विभिन्न सहरहरूमा फैसलापछि प्रदर्शनहरू भइरहेका छन्। गर्भपतनमा तत्काल प्रतिबन्ध लगाउने कानुन बनाइसकेको आर्कन्सा राज्यको लिटल रकस्थित एउटा गर्भपतन क्लिनिकले अदालतको आदेश अनलाइनमा प्रकाशित भएलगत्तै गर्भपतन सेवा बन्द गरेको छ। त्यहाँ बाहिरैबाट मानिसहरू सुँक्कसुँक्क गरेको सुन्न सकिन्थ्यो।

    कर्मचारीहरूले डाक्टरसँग भेट्ने समय लिइसकेका महिलालाई टेलिफोन गरेर उनीहरूको भेट रद्द गरिएको जानकारी दिइरहेका थिए। ‘यस्तो खराब समाचार सुन्न हामीले जतिसुकै कठिन तयारी गरे पनि समाचार आउँदा गाह्रो हुन्छ। सेवाग्राही महिलाहरूलाई टेलिफोन गरेर रो भर्सस वेड खारेज भयो भन्नु हृदयविदारक हुन्छ,’ नर्स एश्ली हन्टले भनिन्।


    प्रदर्शनकारीहरूको माझबाट क्लिनिकमा आउने बिरामीहरूलाई सुरक्षा प्रदान गर्न आर्कन्साको गर्मीमा दिनभरि खटिएका सुरक्षाकर्मीहरूले सामूहिक अङ्कमाल गरे। ‘मैले यो देशले अझै पनि मानिसहरूको ख्याल राख्छ भन्ने सोचेकी थिएँ। महिलाहरूको ख्याल राख्छ भन्ने सोचेकी थिएँ, सुरक्षा दिने समूहकी प्रमुख मिस करिनले भनिन्। क्लिनिकबाहिर गर्भपतनविरोधी प्रदर्शनकारीहरूले हर्षोल्लास गरिरहेका थिए। ‘तिमी निगरानीमा छौ’ क्लिनिकमा आफ्नो कार पार्क गरिरहेका र अझैसम्म अदालतको आदेशबारे थाहा नभएका मानिसलाई एक प्रदर्शनकारीले चेतावनी दिए। ‘मेरो सुझावमा तिमी यहाँबाट फर्किएर गइहाल। यो पापी ठाउँ, असमानताको ठाउँ र खराब ठाउँमा नबस।’

    अदालतको आदेश तत्काल कार्यान्वयन हुने लुईजियाना राज्यस्थित तीनवटा गर्भपतन केन्द्रमध्येको एक न्यू ओर्लन्सस्थित विमिन्स हेल्थ केअर सेन्टरका कर्मचारीहरू फैसलालगत्तै घर फर्किन थालेका थिए। सर्वोच्च अदालतको फैसलाले अमेरिकामा प्रजनन गर्न सक्ने उमेरका तीन करोड ६० लाख महिलाई आफ्नो राज्यमा गर्भपतनको पहुँचबाट रोक्ने एक अध्ययनले देखाएको छ। अदालतको फैसलालगत्तै वाशिङ्टनस्थित अदालतबाहिर गर्भपतनको विरोध गर्दै प्रदर्शन गर्न ठूलो सङ्ख्यामा मानिसहरू भेला भएका थिए। गर्भपतन अधिकारका पक्षधरहरूले पनि ५० वटै राज्यमा प्रदर्शनको तयारी गरिरहेका छन्।
    बीबीसी

  • रवि लामिछाने र पुकार बम बीच भेट, स्वतन्त्र उम्मेदवार एकै पार्टीमा समाहित हुने वातावरणको खोजी ?

    रवि लामिछाने र पुकार बम बीच भेट, स्वतन्त्र उम्मेदवार एकै पार्टीमा समाहित हुने वातावरणको खोजी ?

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र स्वतन्त्र उम्मेदवारी घोषणा गरेका पुकार बमबीच भेट भएको छ। शनिबार कलाकार निर्मल शर्माको समन्वयमा सभापति लामिछाने र बमबीच भेटघाट भएको हो। लामिछाने पूर्व पत्रकार हुन् भने बम विवेकशील नेपाली दल स्थापना गरेका संस्थापकमध्ये एक नेता हुन्। विवेकशील अभियान, युवाहरूको स्वतन्त्र उम्मेदवारी अभियान र लामिछानेले सुरू गरेको नयाँ पार्टीका बारेमा छलफल भएको बमले सामाजिक सञ्जालमार्फत् बताएका छन्।पुकार बमले काठमाडौंको क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिने घोषणा गरेका छन्।

    त्यसबारेमा पनि छलफल भएको उनले बताए। दुई नेताहरूबीच छलफल सकारात्मक भएको र सहकार्य समेत गर्दै जानेबारे छलफल भएको थियो। रविले चुनाव लड्न राष्ट्रिय स्वतन्त्र पार्टी खोलेको घोषणा गर्नु एक दिन अघि मात्रै उनका दाइ हरिशरणले पनि चुनाव उठ्ने घोषणा गरेका थिए। हरिशरणले स्वतन्त्र उम्मेदवारहरूको अलाइन्स बनाएर चुनाव लड्ने घोषणा गरेका थिए।

    जसमा पुकार बम समेत सामेल भएका थिए। हरिशरण काठमाडौं-३ बाट, रन्जु दर्शना काठमाडौं-५, पुकार बम काठमाडौं-१ र सुमन सायमी काठमाडौं-८ बाट चुनाव लड्ने घोषणा गरेका थिए। बम इनफ इज इनफ अभियानका अभियन्ता समेत हुन्। उनले सरकारलाई कोरोनाको बेलामा जवाफदेही बन्न माग राख्दै ईस् सँग मिलेर १२ दिन सत्याग्रह गरेका थिए।

  • मन्त्री हटाउने विषयमा पार्टी निर्णयको कदर गर्न एकीकृत समाजवादीको प्रधानमन्त्री समक्ष आग्रह

    मन्त्री हटाउने विषयमा पार्टी निर्णयको कदर गर्न एकीकृत समाजवादीको प्रधानमन्त्री समक्ष आग्रह

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले मन्त्री हटाउने बारे आफ्नो पार्टीको निर्णयको कदर गर्न प्रधानमन्त्री समक्ष आग्रह गरेको छ । पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले सरकारले नयाँ मन्त्रीहरूको सपथ ग्रहण छिटो नगराए अपमान भएको ठहरिने उल्लेख गरे । शनिबार काठमाडौंको बानेश्वरमा बसेको केन्द्रीय कमिटीको बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै उनले आफ्नो पार्टीको निर्णयको कदर गर्न आग्रह गरेका हुन् । अब मन्त्रिमण्डलको पुनर्गठनमा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई पर्खिन नसक्ने उनको भनाई छ ।

    ‘मन्त्रिमण्डलका सन्दर्भमा आजसम्म जति हामीले प्रधानमन्त्रीलाई पर्खियौं, माओवादी अध्यक्ष प्रचण्डलाई पर्खियौं। अब हामी उहाँहरूलाई पर्खिने छैनौं,’ उनले भने । तत्काल हाम्रा कामहरू पूरा गर्नुहोस् नयाँ मन्त्रीहरूलाई सपथ ग्रहण गराउनुहोस्। पार्टीको निर्णयको कदर गर्नुहोस्। अब उप्रान्त पनि ढिलो गर्नुभयो भने यसलाई हामी तपाईंहरूले हामीलाई गरेको अपमान हो भन्ने सम्झिनेछौं भन्ने कुरा केन्द्रीय कमिटीको बैठकमा भएको समेत उनले जानकारी गराए ।

  • नेपालमा २७ जनामा कोरोना पुष्टी

    नेपालमा २७ जनामा कोरोना पुष्टी

    काठमाडौं । पछिल्लो २४ घण्टामा २७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९३७ पीसीआर परीक्षणमा २३ जना र ८६५ एन्टिजेन परीक्षणमा ४ जना गरी २७ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये १३ जना काठमाडौं उपत्यकाका र अरु उपत्यका बाहिरका छन् ।

    योसँगै देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १८८ पुगेको छ । जसमध्ये १८१ जना होम आइसोलेसनमा र ७ जना अस्पतालमा छन् । अस्पतालमा भएमाभध्ये ४ जनाको आईसीयूमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १६ रहेको छ ।

  • पेट्रोलियम पदार्थको मूल्यमा भारि कटौती

    पेट्रोलियम पदार्थको मूल्यमा भारि कटौती

    काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्यमा भारी कटौती गरेको छ । सत्ता गठबन्धनको निर्णयअनुसार नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा कटौती गरेको हो । शनिबार बसेको निगम सञ्चालक समिति बैठकले मूल्य घटाउने निर्णय गरेको हो । निगमले पेट्रोलमा २० रुपैयाँ र डिजेल-मट्टितेलमा २९ रुपैयाँ मूल्य घटाएको हो । यसअनुसार अब पेट्रोलको मूल्य १७९ निर्धारण हुनेछ भने डिजेल(मट्टितेलको १६३ कायम हुनेछ । घटेको मूल्य आजै राति १२ बजेदेखि लागू हुने भएको छ । यसअघि शनिबार बिहान बसेको सत्ता गठबन्धनको बैठकले कर कटौती गरेर पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको थियो ।

  • युक्रेनले रणनीतिक शहर सेभेरोडोनेट्स्कबाट आफ्ना फौजलाई किन फिर्ता बोलायो ?

    युक्रेनले रणनीतिक शहर सेभेरोडोनेट्स्कबाट आफ्ना फौजलाई किन फिर्ता बोलायो ?

    काठमाडौं । युक्रेनी फौजलाई पूर्वी शहर सेभेरोडोनेट्स्कबाट पछाडि हट्ने आदेश दिइएको त्यस क्षेत्रका मुख्य अधिकारीहरूले बताएका छन्। रुसी फौजले लुहान्स्क क्षेत्रलाई पूर्ण नियन्त्रणमा लिन खोजिरहँदा उक्त रणनीतिक महत्त्वको शहरमा हप्तौँदेखि बमबारी र लडाइँ भएका छन्। यस युक्रेनी फिर्ती किन पनि महत्त्वपूर्ण छ भने यससँगै अब लिसिचान्स्क शहरबाहेक लुहान्स्कको सबै भाग रुसी नियन्त्रणमा पुग्नेछ। रुसी फौजले पछिल्ला दिनमा सेभेरोडोनेत्स्कलाई लगभग घेरा हालिसकेका थिए र उनीहरूको निशानामा त्यसछेउको लिसिचान्स्क शहर समेत छ। लुहान्स्क क्षेत्रका प्रमुख सेर्हेई हाइडाईले युक्रेनी टेलिभिजनमा बोल्दै ‘महिनौँदेखि लगातार बमबारी भइरहेको ठाउँमा अडिग हुनुको कुनै अर्थ नरहेको’बताएका छन्।

    गभर्नर हाइडाईले भने, ‘उनीहरूलाई नयाँ ठाउँमा आड लिन र त्यहाँबाट लडाइँ जारी राख्न निर्देशन दिइएको छ।’ राष्ट्रपति पुटिनको खास प्राथमिकतामा रहेको लुहान्स्क पूर्वी युक्रेनमा मुख्य रूपमा रुसी भाषा बोलिने क्षेत्र हो। डोनेट्स्कसँग लुहान्स्क मिल्दा त्यस पूरै भेगलाई डोनबास भनिन्छ जुन एउटा ठूलो औद्योगिक क्षेत्र पनि हो। सन् २०१४ यता त्यो रुसी साथ पाएको पृथकतावादी अभियानको केन्द्रमा छ। भ्लादिमिर पुटिनले गलत रूपले डोनबासमा रुसी भाषीहरूलाई नरसंहार गर्ने गरिएको दाबी गर्ने गर्छन्। त्यसैलाई उनले युक्रेन अतिक्रमणपछाडिको एउटा मुख्य कारण बताउने गरेका छन्।

    त्यसैगरी युक्रेनले समेत मस्कोलाई आफ्ना नागरिकहरूमाथि जथाभावी बमबारी र गोलाबारी गरेर नरसंहार मच्चाएको आरोप लगाएको छ। गभर्नर हाइडाईले यतिखेर सेभेरोडोनेट्स्क शहरको पूर्वाधार पूर्ण रूपले ध्वस्त भएको बताउँदै ९० प्रतिशत घरमा बमबारी भएको र तीमध्ये ८० प्रतिशतमा गम्भीर क्षति पुगेको बताएका छन्। युद्ध सुरु हुनुअघि उक्त शहरको जनसङ्ख्या झण्डै १ लाख थियो। त्यहाँ अझै सयौँ मानिसहरू एउटा विशाल रासायनिक कारखानामा आश्रय लिइरहेका छन्।

    बीबीसी

  • पाँच दशक देखि अमेरिकी महिलाले उपयोग गर्दै आएको गर्भपतन अधिकार सर्बोच्च अदालतले उल्ट्याउँदा देश नै तरंगित

    पाँच दशक देखि अमेरिकी महिलाले उपयोग गर्दै आएको गर्भपतन अधिकार सर्बोच्च अदालतले उल्ट्याउँदा देश नै तरंगित

    प्रभात भट्टराई/अमेरिका

    अमेरिकाको सर्बोच्च अदालतले अमेरिकी महिलाहरुले ५० बर्ष देखि उपयोग गर्दै आएको गर्भपतन सम्बन्धि अधिकार उल्ट्याइ दिँदा देश नै तरंगित बनेको छ । राष्ट्रपति जो बाइडेन देखि उदार विचारधारा बोकेका राजनीतिक र सामाजिक अभियन्ताहरुले रिपब्लिकन बहुल सर्बोच्च अदालतको फैसलाप्रति गम्भीर आपत्ति जनाएका छन् ।

    महिलाले आफ्नो शरिरबारे निर्णय गर्न पाउने अधिकारमाथि बन्देज लगाउन मिल्ने गरि सर्बोच्चले बाटो खोलिदिएकोमा शुक्रबार दिनभर सडक प्रदर्शन समेत भए । नौ जना न्यायाधिश रहेको सर्बोच्च अदालतमा पाँच जनाको बहुमतले गर्भपतन सम्बन्धि विद्यमान व्यवस्था अन्त्यको पक्ष लिएका हुन् । ती पाँचमध्ये तीन जनालाई पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले सर्बोच्च अदालतमा नियुक्त गरेका थिए । अरु दुई जना पनि रिपब्लकिन राष्ट्रपतिकै पालामा सर्बोच्च अदालत पुगेका थिए ।

    रिपब्लिकन राष्ट्रपति जर्ज डब्लु बुसले नियुक्त गरेका भए पनि प्रधान न्यायाधिश जोन रोबर्ट बाँकी न्यायाधिश जस्तो चर्को आवाजमा फैसलाको पक्षमा उभिएनन् । उनले वहुमतको निर्णयलाई सम्मान गर्ने राय दिएका छन् भने डेमोक्रेटिक राष्ट्रपतिको पालामा सर्बोच्च अदालतमा नियुक्त भएका तीन जना न्यायाधिशले फैसलाको प्रति तिब्र असन्तुष्टि जनाएका छन् ।

    चरम विवादित कार्यकाल विताएर पुनः निर्वाचन हारेका ट्रम्पलाई सर्बोच्चको नियुक्तिमा भने ठूलो सफलता मिलेको थियो । आफ्नो पुरा कार्यकाल सिनेटमा बहुमत रहेका कारण उनले सर्बोच्चका सबै रिक्त दरबन्दी पूर्ती गर्न पाए । यतिसम्मकी उनीभन्दा अघिल्ला राष्ट्रपति बाराक ओबामाको पालामै रिक्त भएको सर्बोच्चको एउटा सिट समेत त्यसबेला सिनेटमा बहुमत रहेका रिपब्लिकनहरुले परिपूर्ती गर्न दिएनन् । ओबामाले मनोनित गरेका न्यायाधिशको संसदीय सुनुवाइ नै नगरि सिनेटले टारिदिएपछि ट्रम्पले नयाँ नियुक्ति गर्न पाए । एक रिपब्लिकन बिचारधाराका बृद्ध न्यायाधिशले स्वैच्छिक अवकास घोषणा गरेर ट्रम्पलाई युवा पुस्ताको न्यायाधिश ल्याउने बाटो खोलिदिए । यति हुँदासम्म पनि अमेरिकी सर्बोच्च अदालत सन्तुलित नै थियो । रिपब्लकिन र डेमोक्रेटिक लाइनका चार/चार जना न्यायाधिश थिए भने रिपब्लिकन मनोनित भए पनि प्रधान न्यायाधिश रोबर्ट विवेकसम्मत तवरले औचित्यको आधारमा एउटा लाइन लिन्थे । उनी जता उभिए त्यतै बहुमत पुग्थ्यो ।

    तर, २०२० को राष्ट्रपति चुनावको दुई महिना पनि बाँकी नरहँदा उदार विचारधाराको बिम्बको छवी बनाएकी न्यायाधिश रुथ बाडर गिन्सबर्गको निधनले अदालतलाई पुरै रिपब्लिकन कित्तामा पुर्याइदियो । सिनेटमा रहेको बुहमतको बलमा ट्रम्पले एमीकोनी बेरेथलाई मनोनित गरे हतारमा सुनुवाइ गरेर रिपब्लकिन सिनेटले उनलाई सर्बोच्च छिरायो । त्यसैको परिणाम स्वरुप सर्बोच्चमा कट्टर रिपब्लिकन न्यायाधिशहरुको बहुमत हुनपुग्यो र ५० बर्ष देखि अमेरिकी महिलाले पाउँदै आएको अधिकार खोसियो ।

    अमेरिकी संविधानमा गर्भपतनबारे प्रष्ट व्यवस्था छैन । त्यसैले यो लामो समय विवादकै विषयमा रहँदै आएको थियो । दासप्रथा उन्मुक्तिसँगै गर्भपतनको पक्षमा पनि चर्को आवाज उठ्न थाल्यो । गोराहरुबाट बलत्कृत काला महिलाहरु जबरजस्ती सन्तान नजन्माउने पक्षमा उभिए । लामो विवाद पछि सर्बोच्च पुगेको गर्भपतनको मुद्दालाई सन् १९७३ मा अदालतले महिलाको संवैधानिक अधिकारको रुपमा ब्याख्या गरिदिएको थियो । रोए भर्सेस वेड भनेर चिनिने त्यही फैसला शुक्रबार सर्बोच्चले उल्ट्याएको हो ।

    फैसला उल्ट्याउने क्रममा रिपब्लकिन न्यायाधिशहरुले आफ्नै अग्रजहरुको निर्णयप्रति रुखो टिप्पणी समेत गरेका छन् । उनीहरुले रोए भरसेस वेड फैसलालाई अत्यन्त कमजोर, हचुवा एवं न्यायीक अधिकारको दुरुपयोग जस्ता संज्ञा समेत दिएका छन् ।

    शुक्रबारको फैसलाले रिपब्लिकहरुलाई भने खुसी तुल्याएको छ । कुल महिला मतदातामध्ये ४० प्रतिशतभन्दा कमको मात्र समर्थन गरेका रिपब्लिकहरु बाइबल र धर्मको आड देखाएर महिलालाई नियन्त्रण गर्ने कानून बनाउन उद्यत देखिएका छन् । शुक्रबार सर्बोच्चले उनीहरुकै लागि बाटो खोलिदिएको हो । सर्बोच्चको फैसलासँगै टेक्सास लगायत १३ राज्यमा गर्भपतनमा बन्देज लगाउने कानून कार्यान्वयनमा गइ सकेको छ । गर्भपतन गर्न पाइने कानून रहेका २० राज्य बाहेक बाँकीले पनि नियन्त्रणको बाटो अपनाउन सक्ने विश्लेषण सुरु भएको छ ।

    अमेरिकी राजनीतिमा अहिले अल्पमतमा रहेका रिपब्लकिनहरुले अदालतलाई प्रयोग गरेर आफ्नो राजनीतिक अभिष्ट पुरा गरेकोमा डेमोक्र्याटहरुबाट चर्को रोष सुनिन थालेका छ । केही डेमोक्रेटिक सांसद एवं नेताहरु त फैसलाको विरोधमा सडकमै ओर्लिएका छन् । तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले फैसालालाई महिलाको अनुहारमा हानिएको झापडको संज्ञा दिएकी छिन् । अधिकांश महिला अधिकारवादीहरुले पनि त्यही शैलीको आक्रोश प्रकट गरेका छन् । त्यो रोष आगामी नोभेम्बरको मध्यावधी निर्वाचनमा कसरी प्रकट होला भन्नेमा भावी राजनीति तय हुने विश्लेषकहरुको राय छ । सर्बोच्च अदालतको आडमा दक्षिणपन्थी मार्गमा ढल्किन थालेको अमेरिकालाई फेरि कसरी ‘ट्र्याक’मा ल्याउने भन्ने चिन्ता समेत सुरु भएको छ। निर्वाचनबाट आफूहरुलाई बहुमत दिए यस्ता फैसलालाई कानूनबाटै निषेध गर्ने डेमोक्रेटिक नेताहरुले बताएका छन् ।

  • सिन्धुपाल्चोकको भिरमा खुल्यो अत्याधुनिक हेली रिसोर्ट, विदेश बस्ने नेपालीलाई बम्पर अफर

    सिन्धुपाल्चोकको भिरमा खुल्यो अत्याधुनिक हेली रिसोर्ट, विदेश बस्ने नेपालीलाई बम्पर अफर

    काठमाडौं । अरनिको राजमार्ग हुँदै पुगिने चर्चित तातोपानी कुण्ड र त्यही बाटो हुँदै पुगिने तिब्बतस्थित खासा बजार नेपाल र नेपालीको लागि नौलो गन्तब्य होईन । त्यही अरनिको राजमार्गको नपत्याउने, भिरमा अपत्यारिलो संरचना बनेको छ । जसमा निर्माण भएर हालै मात्र संचालनमा आएको छ, सुबिधा सम्पन्न “ भोटेकोशी हेली रिसोर्ट” । त्यहाँ पुग्नेहरु नेपालको पर्यटन क्षेत्रको आठौ आश्चर्यका रुपमा यसलाई लिन्छन् । देश भित्र अवसर अभाबका कारण हरेक दिन ठुलो संख्यामा नेपाली वैदेशिक रोजगारी र अवसरको लागि पलायन हुँदै गर्दा भोटेकोशीको भिरमा फुलेको करोडौको लगानीको ४ तारे होटेलले पर्यटन क्षेत्रमा अपार सम्भाबना मुलुक भित्रै भित्र्याएको छ ।

    कोरोना महामारी कल्पना नै नगर्दा, हेली रिसोर्ट संचालकले महामारी सुरु हुनु भन्दा केही महिना अगाडी मात्र होटल निर्माण सुरु गरेका थिए । झन्डै ६० करोड लागतमा सम्पन्न गरिने होटलको पहिलो चरणको तयारी स्वरुप २५ वटा सुबिधा सम्पन्न रुम संचालनमा ल्याईएको हेली रिसोर्टलाई कुल ६० कोठा सहित टुँग्याउने लक्ष्य रहेको प्रवन्ध निर्देशक छिरिङ् शेर्पा बताउछन् ।

    भोटेकोशी भिरको सय रोपनी जग्गामा सुबिधा सम्पन्न क्यासिनो ब्ल्याक स्टोन स्पा, तातो पानी कुण्ड कै तातो पानीको स्विमिङ पुल, ट्राउट फिसिङ् मात्र होईन रिजोर्टले होटल पारीको भित्तोमा २०० फिटको प्रोजेक्टर स्क्रिनमा विश्व कप फुटबल जस्ता विश्व प्रसिद्ध् कार्यक्रमहरुलाई लाईभ प्रसारण गरेर होटलकै बरण्डाबाट हेर्न मिल्ने जस्ता महात्वाकांक्षी योजना सुरु गर्न लागेको छिरिङ् शेर्पाले जानकारी दिए । होटल निर्माणको अनुभब सुनाउदै छिरिङ् भन्छन् ‘भोटेकोशी क्षेत्रमा नै आमुल परिवर्तन स्थानिय रोजगारी र विकासलाई मध्यनजर गर्दै त्यहा होटल निर्माण गरेका हौ ।’ उनका अनुसार सम्पन्न शहरका होटलसँग प्रतिस्पर्धा गर्नु भन्दा भुकम्पले क्षतविक्षत भएको सिन्धुपाल्चोकको बिकासमा पनि टेवा पुर्याउने हेतुले भोटेकोशीको भिरमा यती ठुलो लगानी गरिएको हो ।

    कोरोनाले बढायो लागत
    अकस्मात विश्व ठप्प पार्ने कोरोना महामारी सुरु भयो । कोरोना महामारीका कारण लागत रकम ३० प्रतिशतले बढेको लगानीकर्ताहरुले जानकारी गराएका छन् । होटल फुल फेजमा सुरु भए पछि चाईनिज पर्यटकको लागि सजिलो गन्तब्य हुने र क्यासिनो चाईनिज पर्यटकले नै भरिने विश्वास उनको छ । पोखरास्थित फिसटेल एकेडेमीका संचालक चिनु रानाभाट लगायतका ब्यापारिहरुको सन्लग्नता रहेको हेली रिजोर्टमा हाल २५ वटै रुमहरु प्याक हुने गरेको व्यवस्थापनले जनाएको छ । अहिले हेली रिजोर्टमा २५ रुम साजिसजाउ फाईन डाईनिङ् रेस्टुरेण्ट र दुई वटा स्विमिङ पुल लबी संचालनमा आएका छन् ।

    हेलिकप्टर किनेर प्याकेज बिक्रि गर्ने लक्ष्य
    रिसोर्टले छिट्टै हेलिकप्टर खरिद गरेर फरक फरक प्याकेज बजारमा ल्याउने जनाएको छ । काठमाण्डौ–रिसोर्ट, गोसाईकुण्ड, कालीन्चोक प्याकेज बिक्री गर्ने लक्ष्य राखेको कम्पनीको भनाई छ । अर्को प्याकेजमा माउण्टेन फ्लाईट हुने छ । हेलिकप्टर सहितको प्याकेज खरिद गर्न नस्कने ग्राहकका लागि भने काठमाडौंबाट गाडीमा रिसोर्टसम्म ल्याउने र एक रात राखेर कालिन्चोक घुमाउने अर्क्रो प्याकेजको पनि तयारी गरेको छ ।

    होटलका बिशेषता

    होटलका थुप्रै विशेषतामध्ये रुम फरक छन । होटलमा सुत्ने रुम भन्दा भन्दा ठुला बाथरुम छन् र रुम भन्दा बाहिरको बरण्डा कोठा जत्रै क्षेत्रफलका छन । रुम बाहिर रहेको बरण्डामा बस्नेले बाहिरको भ्यु मज्जाले देख्ने तर बाहिरबाट बरण्डा भने देख्दै नदेख्ने, ईन्जिनीयरिङमा निर्माण गरिएको छ । जापानिज प्रविधीको नेचुरल हट वाटर ब्ल्याक स्टोन स्पा नेपालमा नै हेली रिसोर्टमा नौलो प्रयोग हुने व्यवस्थापनको दाबी छ । हट वाटर ब्ल्याक स्टोन स्पालाई थेरापिस्ट सहित संचालन गरिने होटल व्यवस्थापनले जनाएको छ ।

    होटलको बरण्डामा बसेर पारी पट्टीको भित्तामा रहेको बिशाल प्रोजेक्टर स्क्रिनमा टि भि हेर्न सकिने छ । भोटेकोशी नदीमा संचालित चर्चित बन्जी जम्पिङको ठ्याक्कै माथि संचालित रिसोर्टले होटलमा बस्न आउने ग्राहक लाई आफ्नै जग्गामा उत्पादन गरिएको अर्ग्यानिक तरकारी खुवाउने मात्र होईन होटल आफैले पालेर तयार पारेको लोकल कुखुरा, कालिज, खसी–बोका खुवाउने समेत तयारी गरेको छ । बसाई सुबिधा सम्पन्न रिसोर्टको तर खुवाई पुरै नेपाली स्टाईलको अर्ग्यानिक खुवाउने होटलको दाबी छ ।

    एनआरएन लक्षित प्याकेज

    देशमा आर्थिक संकट गहिरिदै जाँदा विदेशमा बस्ने नेपालीहरुलाई विभिन्न किसिमले आकर्शित गर्ने योजना होटल व्यवस्थापनले सुरु गर्ने जनाएको छ । दोश्रो र तेश्रो देशका पर्यटक भन्दा आफ्नै देशका लाखौं नेपालीलाई लक्षित गरी रिसोर्टले प्याकेल ल्याउने तयारी छ । वर्षौदेखि बाहिर रहेका नेपालीलाई स्वदेश फर्कदाँको पहिलो गन्तब्य भोटेकोशी हेली रिसोर्टलाई बनाउन चाहेको छिरिङ् शेर्पाले बताए ।

    उनका अनुसार विदेशबाट फर्किएका नेपालीले स्वदेशमा घुमघाम गर्ने क्रम बढेको छ । हामी एनआरएनहरुलाई होटलको वार्षिक सदस्यता कार्ड वितरणको तयारी गरिएको छ । ‘हामी मुल्यको आधारमा सिल्भर, गोल्ड र डाईमण्ड मेम्बरसिप वितरण गर्दै छौ । त्यो मेम्बरसिप लिएपछी विदेशबाट नेपाल आउँदा विमानस्थलमा पिक अप, ड्रप अपदेखी रिसोर्टमा ल्याउने र लाने, त्यो क्षेत्रमा घुमाउने अनी आफ्नै घरमा बसे जस्तो महसुस हुने गरी रिसोर्टमा राख्नेछौ,’ उनले भने ।

    उनका अनुसार मेम्बरसिप लिएपछी मेम्बरसिपको क्याटागोरीको आधारमा सदस्य र उनका परिवार, नातागोतालाई सेवा निःशूल्क दिइने भएको छ । ‘चर्चित तातोपानी कुण्ड धार्मिक पौराणिक हिसाबले पनि प्रख्यात छ । थुप्रै एनआरएन साथीहरुको आफ्ना माता पितालाई तातोपानी, कालिन्चोक दर्शन गराउने ईच्छा हुन्छ । त्यसका लागी पनि हामीले मेम्बरसिप सुरु गर्न लागेका हौ,’ उनले भने ।

    सेयर किन्ने अवसर
    होटल प्रशासनले संसारभर रहेका एनआरएन लाई १०, २० र ३० लाखको सेयर खरिदको लागि आह्वान समेत गरेको छ । होटल व्यवस्थापनका अनुसार अहिले बितरण गर्न लागिएको १० देखी १५ करोड सेयर संस्थापक हुनेछ । खरिद गरिएको सेयर दुई वर्षपछी फिर्ता लिन चाहेमा होटलले १० प्रतिशत दरमा ब्याज समेत थपेर फिर्ता दिने ग्यारेण्टी गरेको जनाएको छ । वर्षको २० वटा होटलका कोठा त्यस्ता सेयर होल्डरलाई निःशूल्क दिईने छ । त्यस्ता सेयर होल्डरले वर्षमा निःशुल्क प्राप्त गर्ने २० वटा कोठालाई आफु र आफ्ना परिवार आफन्तका लागि प्रायोग गर्न सक्ने छन् ।

    सम्पादक\प्रकाशक विजय राम पौडेलले होटल व्यवस्थापकसँग गरेको सम्वादका आधारमा तयार रिर्पोट

  • शनिबार पनि देशका विभिन्न भेगमा ठूलो वर्षाको सम्भावना, कुन स्थानमा कस्तो मौसम ?

    शनिबार पनि देशका विभिन्न भेगमा ठूलो वर्षाको सम्भावना, कुन स्थानमा कस्तो मौसम ?

    काठमाडौं । देशका विभिन्न भू–भागमा शनिबार बिहानैदेखि पानी परिरहेको छ। दिउँसो प्रदेश–१, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने भएको छ। प्रदेश–१ को एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। राति देशभरका पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश–१ र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । भारी वर्षाको सम्भावना रहेकाले उक्त प्रदेशका पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ।

    नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानमा र बाँकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १ को एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशभरका पहाडी भू(भागका धेरै स्थानहरुमा र बाँकी भू(भागका केहि स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ र गण्डकी प्रदेश एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

  • विवाद चर्किदै गएको एकीकृत समाजवादीको केन्द्रिय कमिटी बैठक आज

    विवाद चर्किदै गएको एकीकृत समाजवादीको केन्द्रिय कमिटी बैठक आज

    काठमाडौं । पार्टी भित्र मन्त्री फिर्ता बोलाउने विषयमा विवाद चर्किदै गएको सन्दर्भमा नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । काठमाडौंको बबरमहलस्थित कार्की पार्टी ब्यांकेटमा बिहान ११ बजे बैठक बोलाइएको छ । केन्द्रीय कमिटी बैठकको तयारी लगायतका विषयमा समाजवादीको पोलिट व्यूरो बैठक शुक्रबार बसेको थियो । तर, बैठक एजेण्डाभन्दा केन्द्रित हुने सकेन ।

    स्थानीय तह निर्वाचनको समीक्षासमेतका एजेण्डा भए पनि पार्टीबाट सरकारकामा नेतृत्व गरेका मन्त्री हेरफेर गर्ने विषयले अन्य एजेन्डा ओझेलमा परे । बैठक नै बरालिएको थियो । हालका मन्त्रीलाई फिर्ता बोलाएर नयाँलाई मन्त्री बनाउने निर्णयका कारण अहिले समाजवादीमा समस्या उत्पन्न भएको छ । मन्त्री र केही सांसदहरू फेरबदलको विपक्षमा उभिएपछि समाजवादीमा समस्या आएको हो । आज बस्ने बैठकमा पनि स्थानीय तह निर्वाचनको समीक्षा, पार्टीको संगठन विस्तारलगायतका एजेण्डा रहेका छन् ।

  • ललितपुर महानगरले ल्यायो ६ अर्ब ३५ करोडको बजेट

    ललितपुर महानगरले ल्यायो ६ अर्ब ३५ करोडको बजेट

    काठमाडौं । ललितपुर महानगरपालिकाले ६ अर्ब ३५ करोड ३५ लाख नयाँ बजेट ल्याएको छ ।

    ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ६ अर्ब ३५ करोड ३५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेका हुन् ।

    ललितपुर महानगरपालिकाबाट कालोपत्रे भएको भएका सडकहरु कम्तिमा २ वर्षसम्म खन्न स्वीकृती नदिने महानगरले बजेट मार्फत जनाएको छ ।

    यस्तै ललितपुर महानगरपालिकाले उपभोक्ता समितिबाट निर्माण गराउँदा विश्व सम्पदा सूचीमा परेका बाहेक अन्य सबै योजनामा लागत जनसहभागिता १० प्रतिशत अनिवार्य गरिने नीतिमा लिइएको छ ।

    ललितपुर महानगरले कल सेन्टर चलाउने पनि जनाएको छ ।

  • काठमाडौं महानगरले ल्यायो २५ अर्ब ४१ करोडको बजेट

    काठमाडौं महानगरले ल्यायो २५ अर्ब ४१ करोडको बजेट

    काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८०को लागि बजेट सार्वजनिक गरेको छ ।

    नगरसभामा उपमेयर सुनिता डंगोलले २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजारको बजेट पेश गरेकी हुन् ।

    महानगरले पूर्वाधार विकासका लागि ११ अर्ब ८ करोड बजेट वनियोजन गरेको छ । जुन कुल बजेटको ४९ दशमलव ५७ प्रतिशत रहेको छ ।

    काठमाडौं महानगरले ल्याएको बजेट मध्ये २२ अर्ब ३६ करोड महानगरको सञ्चिति र संघिय र प्रदेश सरकारबाट हुने ३ अर्ब ५ करोड प्राप्त हुने अनुमान गरिएको छ।

    काठमाडौं महानगरको चालू आर्थिक वर्षमा १८ अर्ब ९५ करोड ७७ लाख बजेट ल्याएको थियो ।

    चालू आवमा भन्दा आगमी आर्थिक वर्षमा करिब ७ अर्ब धेरै बजेट ल्याएको हो ।