Category: फिचर

  • बुधबारदेखि सबै उडान रोक्ने वायुसेवा सञ्चालक संघको निर्णय, सरकारसँग राख्यो ५ बुँदे माग

    बुधबारदेखि सबै उडान रोक्ने वायुसेवा सञ्चालक संघको निर्णय, सरकारसँग राख्यो ५ बुँदे माग

    काठमाडौं । वायुसेवा सञ्चालक संघ नेपालले हवाई क्षेत्रमा रहेका दीर्घकालीन समस्या समाधानको माग राख्दै बुधबारदेखि नियमित उडान रोक्ने घोषणा गरेको छ ।

    संघले मंगलबार पत्रकार सम्मेलनमार्फत ५ बुँदे माग अघि सार्दै उक्त माग सम्बोधन नभएसम्म उडान रोक्ने घोषणा गरेको हो ।

    संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणबाट भएका एकपक्षीय, स्वेच्छाचारी र अव्यवहारिक निर्णय फिर्ता तथा सुधारको माग गर्दै वायुसेवा सञ्चालकहरुले उद्धार र नियमित उडानहरू बन्द गर्ने निर्णय गरेका हुन्।

    विमानस्थल सेवा शुल्क नियमावली २०७८ मा यात्रु सेवा शुल्क ल्यान्डिङ, पार्किङ, नेभिगेसन लगायतका सम्पूर्ण शुल्क वृद्धि फिर्ता लिई पूर्ववत कायम गर्न संघले माग गरेको छ ।

    यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हेलिकप्टर सञ्चालनका लागि दीर्घकालीन हेलिप्याड, मर्मत सम्भारका लागि ह्याङर लगायतका भौतिक पूर्वाधारहरुका लागि स्थान उपलब्ध गराउनुपर्ने माग संघको छ ।

    त्यसैगरी असार ५ गतेको नागरिक उड्डयन प्राधिकरणको बाहिर आएको अपरेटिङ वेससम्बन्धी प्रावधानहरु विमानसेवा कम्पनीहरुको हकमा खारेज गर्नुपर्ने, हालसम्म भइरहेकै व्यवस्थाअनुसार त्रिभुवनलगायत विमानस्थलहरुबाट बिना अवरोध सेना यथावत् सञ्चालन गर्न पाउनुपर्ने माग संघले राखेको छ।

    नियामक निकाय र सेवा प्रदायक संस्था नागरिक उड्डयन प्राधिकरण एकै निकायबाट भई रहेको कारण युरोपियन एभियसन सेफ्टी एजेन्सीबाट नेपाललाई हवाई सुरक्षा सूचीमा राखिएबाट देशको सम्पूर्ण पर्यटन क्षेत्र नै तहस नहस भइरहेकाले नेपाललाई युरोपियन हवाई सुरक्षाको सूचीबाट हटाउनका लागि नेपाल सरकार र प्राधिकरणबाट यथाशिघ्र पहल गरिनुपर्ने संघको माग छ।

  • दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकममा गिरावट

    दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकममा गिरावट

    काठमाडौं । शेयर बजार दोहोरो अंकले बढेको छ । केही दिनदेखि ओरालो लागेको बजारमा मंगलबार दोहोरो अंकको सुधार आएको हो ।

    मंलगबार बजार मापक सूचक नेप्से ३७.४९ अंकले बढेर १९२२.३० विन्दुमा पुगेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार आज २३१ कम्पनीको १ अर्ब २५ करोड ३७ लाख ५७ हजार ७१४ रुपैयाँ बराबरको ३७ लाख ६५ हजार ५१६ कित्ता शेयर किनबेच भएका छन् ।

    कारोबारमा आएका १३ वटा समूहको परिसूचकमा हरियाली छाएको छ । विकास बैंक समूह सबैभन्दा धेरै ३.८९ प्रतिशतले बढेको छ । त्यस्तै, म्युचुअल फण्ड र फाइनान्स समूह पनि ३ प्रतिशतले बढेको छ ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको छ । सोमवार १ अर्ब ७५ करोड ६ लाख १७१ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    आज ३ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । आँधिखोला लघुवित्त, सीवाइसी लघुवित्त र सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ ।

    त्यसैगरी, सामुदायिक लघुवित्त ८.९८, रिभर फल्स पावर ८.८८, शिवश्री हाइड्रोपावर ८.३४, हिमाल दोलखा हाइड्रोपावर, राष्ट्रिय बीमा कम्पनीको प्रमोटर सेयर र इिफिन्टी लघुवित्तको शेयर मूल्य ७ प्रतिशतभन्दा धेरैले बढेको छ ।

    आज नेपाल टेलिकमको सर्वाधिक कारोबार भएको छ । यसको पौने १२ करोड रुपैयाँ बढीकोे शेयर किनबेच भएको छ । त्यसैगरी, नबिल बैंक ४ करोड र अरुण भ्याली हाइड्रोपावर ३ करोडको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

  • रवि लामिछानेले खोले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’, चुनाव चिन्ह घण्टी

    रवि लामिछानेले खोले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’, चुनाव चिन्ह घण्टी

    काठमाडौं । टेलिभिजनकर्मी रवि लामिछाने औपचारिक रुपमा राजनीतिमा होमिएका छन्। मंगलबार औपचारिक राजनीतिको यात्रा र पार्टी घोषणा कार्यक्रममा उनले आफ्नो पार्टीको नाम सार्वजनिक गरेका हुन्।

    क्षमतावान व्यक्तिका लागि आफ्नो पार्टीको ढोका सदैव ढोका खुला रहेको पनि उनले स्पष्ट पारेका छन्।

    ‘म यही मञ्चबाट नयाँ राजनीतिक दल खोल्ने घोषणा गर्छुु, उनले भने, ‘हाम्रो पार्टीको नाम हुनेछ, ‘राष्ट्रिय स्वतन्त्र पार्टी।’

    लामिछानेको पार्टीको चुनाव चिन्ह घण्टी रहेको छ । २१ सदस्य रहेको पार्टी आजै निर्वाचन आयोगमा दर्ता गरिने लामिछानेले बताएका छन् । पार्टीको केन्द्रीय कार्यालय बसुन्धरामा आजैदेखि सञ्चालन हुने लामिछानेले बताए ।

    पार्टीका ७ विशेषता
    • प्रारम्भिक निर्वाचन
    • बहुसंख्यक युवा
    • प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री-मुख्यमन्त्री
    • राइट टु रिकल एन्ड राइट टु रिजेक्ट
    • डिजिटल डेमोक्रेसी
    • परिवारवाद निषेध
    • भ्रातृ संगठन र कार्यकर्तारहित

  • अब कुटनीतिक पत्र परराष्ट्र मन्त्रालयबाट मात्र आदान-प्रदान

    अब कुटनीतिक पत्र परराष्ट्र मन्त्रालयबाट मात्र आदान-प्रदान

    काठमाडौं । सरकारले अब विदेशी कूटनीतिक नियोगलाई गरिने सबै पत्राचार परराष्ट्र मन्त्रालयबाट मात्र गर्ने निर्णय औपचारिक रुपमा गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले अब अरु निकायबाट पत्राचार गर्न नपाउने गरी निर्णय भएको छ । विदेशी कूटनीतिक नियोगलाई लेखिने पत्र परराष्ट्र मन्त्रालयबाट मात्र गरिने पनि बैठकले निर्णय गरेको हो । अमेरिकासँगको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा सँग सम्बन्धित नेपाली सेनाले अमेरिकी राजदूतावासमा गरेको पत्राचार विवादमा परेपछि सरकारले सबै पत्राचार परराष्ट्र मन्त्रालयबाट मात्र गर्ने निर्णय गरिएको बताइएको छ ।

    अन्य सरकारी निकायहरुले पनि आफ्ना सरोकारका विषयमा कूटनीतिक नियोगमा पत्राचार गर्दै आएका थिए । नेपाली सेनाले सन् २०१५ र २०१७ मा सरकारको तर्फबाट भन्दै अमेरकी राजदूतावासमा तत्कालिन प्रधानसेनापति राजेन्द्र क्षत्रीको हस्ताक्षरसहितको पत्र पठाएको थियो । उक्त पत्रबारे आफूले जानकारी नै नपाएको भन्दै तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । यससँगै सरकारले अब विदेशमा हुने पत्राचार औपचारिक माध्यमबाट मात्र गर्ने निर्णय गरेको हो ।

  • ग्यासमा दोहोरो मूल्य कहिलेबाट ?

    ग्यासमा दोहोरो मूल्य कहिलेबाट ?

    काठमाडौं । सरकारले खाना पकाउने ग्यासमा उच्च घाटा बेहोरिरहेको छ । जसका कारण अन्य पेट्रोलियम पदार्थको मूल्य बढाउँदा समेत नेपाल आयल निगमलाई उच्च घाटा छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पुनः एक पटक ग्यासमा दोहोरो मूल्य लागु गर्ने विषय बहसमा ल्याएको छ । मन्त्रालयका सचिव गणेश प्रसाद पाण्डेयले अर्थमन्त्रालयले सरकारले यस्तो जानकारी गराएका हुन् । उनका अनुसार सरकारको नीति पेट्रोलियम पदार्थमा घाटा नबेहोर्ने रहेको छ । सोहीकारण निगमले मूल्य बढाएको हो ।

    नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसनलाई २२ अर्ब रूपैयाँ बुझाउन बाँकी छ । आइओसीले असार २ गते पठाएको मूल्यका आधारमा निगमले आइतबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल लिटरमा २१ रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा २७ रूपैयाँ बढाएको थियो। खाना पकाउने ग्यासमा मूल्य बढेको छैन । ग्यासमा तत्काल मूल्य नबढ्ने तर दोहोरो मूल्य लागु गर्ने तयारीमा सरकार जुटेको उनले जानकारी दिए ।

    आयल निगमको ६० प्रतिशत घाटा एलपी ग्यासमा भएको भन्दै नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशकको संयोजकत्वमा विज्ञ सदस्य सहितको समिति गठन भएको छ। समितिले द्रुत गतिमा अध्ययन गरिरहेको छ । त्यसको प्रतिवेदन आएपछि ग्यासको दोहोरो मूल्य कायम हुनेछ । यसअघि पनि सरकारले पहिला रातो र हरियो सिलिन्डरको लागु गर्ने बताएका थिए । त्यसपछि व्यावसायिक प्रयोजनका लागि लागत मूल्य र घरायसी प्रयोजनमा सहुलियत लागू हुने भएको छ । एलपी ग्यासको भाउ भने एक हजार ८ सय रूपैयाँ छ।

  • प्रवासी नेपालीलाई मताधिकार दिलाउनेबारे कांग्रेसले पहल गर्ने

    प्रवासी नेपालीलाई मताधिकार दिलाउनेबारे कांग्रेसले पहल गर्ने

    काठमाडौं । नेपाली कांग्रेसले प्रवासी नेपालीलाई मताधिकार दिलाउने बारे पहल गर्ने भएको छ । कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विदेशमा रहेका नेपालीहरुलाई पनि मताधिकारको व्यवस्था मिलाउन निर्वाचन आयोगको ध्यानाकर्षण गराउन लागेका हुन् । उनीहरुले मंगलबार बिहान आयोगका प्रमुख आयुक्त दिनेश प्रसाद थपलियालाई भेटेर ध्यानाकर्षण गराउन लागेका हुन् । सर्वोच्च अदालतले विदेशमा रहेका नेपालीलाई मताधिकारको व्यवस्थाका लागि कानुन निर्माण गर्न सरकारका नाममा परमादेश जारी गरेको छ ।

    सर्वोच्चको अदालतको परमादेश अनुसार प्रधानमन्त्रीलाई यस विषयमा ध्यानाकर्षण गराइसकेका उनीहरुले प्रमुख निर्वाचन आयुक्तलाई भेट्न लागेको बताएका छन् । विदेशमा बस्ने नागरिकको मताधिकार, मतदातामा नामावली दर्ता गर्दा नागरिकले पाएका समस्या लगायतका विषय कांग्रेसले उठाउने भएको छ ।

  • मेयर बालेनको चुनाव खर्च ३,९४,४८९

    मेयर बालेनको चुनाव खर्च ३,९४,४८९

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले चनाुव खर्च सार्वजनिक गरेका छन् । उनका अनुसार स्थानीय चुनावमा ३ लाख ९४ हजार ४८९ रुपैयाँ मात्र खर्च भएको छ । यसमा मतगणनाको समयमा मात्रै १ लाख भन्दा बढी खर्च भएको उनले बताएका छन् ।

    चुनावी खर्च सार्वजनिक गर्दै उनले भनेका छन्, ‘मतगणना ढिलो भएर निर्वाचन प्रक्रियालाई लामो र बोझिलो मात्रै बनाएको छैन, उम्मेदवारका लागि महंगो बनाइरहेको छ । यसमा सबैको ध्यान जान जरुरी छ ।’उनले खर्चको विवरण केहि समय अगाडि नै सार्वजनिक भइसक्नु पर्ने थियो तर विभिन्न कारणहरुले सो ढिलो भएकोमा माफी पनि मागेका छन् ।

    ‘एउटा उम्मेदवारका रुपमा हामीले जुन साथ र विश्वास पायौँ, त्यसलाई संसारको सबै भन्दा शक्तिशाली कम्प्युटरले जस्तो सुकै तालिकामा कुनै पनि संख्या राखेर देखाउन सक्दैन । त्यो अमुल्य साथ र विश्वासले दिएको जिम्मेवारी पूरा गराउन हामी हरसमय खटिरहनेछौँ’, बालेनले भनेका छन् ।

  • अन्ततः एसपीपीबाट पछि हट्यो सरकार, अमेरिकालाई सहभागी नहुने ब्यहोराको पत्र लेखिने

    अन्ततः एसपीपीबाट पछि हट्यो सरकार, अमेरिकालाई सहभागी नहुने ब्यहोराको पत्र लेखिने

    काठमाडौं । तिव्र आलोचनापछि सरकार अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा सहभागी नहुने निर्णयमा पुगेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एसपीपीमा सहभागी नहुने भनेर अमेरिकी सरकारलाई पत्र लेख्ने निर्णय गरेसँगै यो विषयको टुंगो लागेको हो । एसपीपीमा सहभागी हुन नेपालले नै प्रस्ताव गरेको भए पनि प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न अमेरिका भ्रमणको पूर्वसन्ध्यामा एसपीपीबारे विाद उत्पन्न भएको हो ।

    उच्च क्षेत्रमा सैन्य अभ्यास गर्ने लगायतका विषय यस सम्झौतामा उल्लेख थिए । सत्तारुढ र विपक्षी सांसदहरुले विरोध गरेपछि गृहमन्त्री बालकृष्ण खाँणले संसदलाई एसपीपीमा सहभागी नभएको र अब पनि नहुने स्पष्टीकरण सार्वजनिक गरेका थिए । नेपाली सेनाले वक्तव्य निकालेर एसपीपीम्बन्धी कुनै सम्झौता वा समझदारी नगरेको र गर्ने प्रक्रिया पनि नरहेको स्पष्ट पारेको थियो । उता, तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले २०१५ मै एसपीपीमा सहभागी गराउन आग्रह गर्दै काठमाडौंस्थित अमेरिकी राजदूतलाई लेखेको पत्र सार्वजनिक भएपछि भने सेना समेत विवादमा तानिएको थियो ।

    सेनाले प्राकृतिक विपदमा सहकार्य गर्ने उद्देश्यले एसपीपीमा सहभागी गराउन २०१५ सँगै २०१७ मा पनि पत्र लेखिएको, तर आईपीएस अन्तर्गत लगेपछि पुनरावलोकन गर्न सरकारलाई भनेको पुनः स्पष्टीकरण दियो । यो विषयमा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार समेत जोडिएपछि विपक्षी नेताहरु मत्थर बने । उता, अमेरिकाले समेत नेपालले चाहे सहभागी नहुनसक्ने स्पष्ट पारेपछि नेपाल सरकार यो सम्झौताबाट पछि हटेको हो ।

  • एन्फाको अध्यक्षमा पंकजविक्रम नेम्वाङ निर्वाचित

    एन्फाको अध्यक्षमा पंकजविक्रम नेम्वाङ निर्वाचित

    काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षमा पंकजविक्रम नेम्वाङ विजयी भएका छन् । सोमबार सम्पन्न निर्वाचनमा वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतअन्तरले हराउँदै नेम्वाङ अध्यक्ष निर्वाचित भएका हुन् । नेम्वाङले ४५ मत पाए । शेर्पाले ३९ मत मात्र पाए । अध्यक्षका अर्का उम्मेदवार राजिव पौडेलले भने एक मत पनि पाएनन् ।

    नेम्वाङ यसअघि वरिष्ठ उपाध्यक्ष र शेर्पा अध्यक्ष थिए । एन्फामा गणेश थापा अध्यक्ष हुँदा उनको कार्यशैलीको विरोध जनाउँदै कर्माछिरिङ शेर्पा र पंकजविक्रम नेम्वाङले ‘चेन्ज एन्फा’ अभियान सुरु गरेका थिए । वरिष्ठ उपाध्यक्षमा नेम्वाङकै प्यानलका वीरबहादुर खड्का विजयी भए । उनले ४४ मत पाए भने शेर्पाको प्यानलका शिक्षित पराजुलीले ४० मत मात्र पाएका छन् ।

  • आन्तरिक हवाई भाडा बढ्यो,कुन गन्तब्यमा कति ? (सूचीसहित)

    आन्तरिक हवाई भाडा बढ्यो,कुन गन्तब्यमा कति ? (सूचीसहित)

    काठमाडौं । हवाइ सेवाप्रदायकहरुले भाडा बढाएका छन्। नेपाल आयल निगमले हवाई इन्धनमा प्रतिलिटर १९ रुपैयाँ बढाएसँगै हवाई भाडा बढाउने निर्णय गरेका हुन्।

    संघका अनुसार सबैभन्दा बढी ५५५ रुपैयाँ र न्यूनतम १७० रुपैयाँले भाडा बढेको छ।

    काठमाडौं–धनगढी पुग्न अधिकतम १६ हजार ८०५ रुपैयाँ लाग्ने भएको छ । यो रुटमा एकै पटक ८४० रुपैयाँ भाडा बढेको हो ।

    काठमाडौं– विराटनगर ४५५, काठमाडौं–जनकपुर २४५, काठमाडौं–भरतपुर २००, काठमाडौं–पोखरा ३००, काठमाडौं–भैरहवा ३९५, काठमाडौं–नेपालगञ्ज ६३०, काठमाडौं–तुम्लिङटार ३५० र काठमाडौं–सिमरा रुटमा १७० रुपैयाँ भाडा बढेको छ ।

    नेपाल आयल निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर १९ रुपैयाँ वृद्धि गरी १८५ रुपैयाँ पुर्‍याएको छ ।

  • उद्योगमन्त्री भन्छन् -‘पेट्रोलियम पदार्थको मूल्यवृद्धि बाध्यात्मक, अझै घाटामा छौं’

    उद्योगमन्त्री भन्छन् -‘पेट्रोलियम पदार्थको मूल्यवृद्धि बाध्यात्मक, अझै घाटामा छौं’

    काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र प्रसाद बडूले पेट्रोलियम पदार्थको मूल्यवृद्धि बाध्यात्मक भएको बताएका छन्।

    सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभाअन्तर्गतको उद्योग समिति बैठकमा उद्योगमन्त्री बडूले उक्त कुरा बताएका हुन् ।

    उनले पेट्रोलियम पदार्थ खरीदभन्दा बिक्रि मूल्य कम हुँदा अझै पनि घाटा नै रहेको तर जनतालाई थप मारमा नपार्नका लागि ग्यासमा मूल्यवृद्धि गर्न नदिएको बताए।

    पेट्रोलियम पदार्थमा लगाइएको कर १० रुपैयाँ घटाइएको र त्योभन्दा बढी घटाउन सकिदैन् उनले भने ।

    उद्योगलाई सहज सञ्चालनका लागि सरकारले आवश्यक सहजीकरण गर्ने बताए।

  • सार्वजनिक यातायातको नयाँ भाडादर सार्वजनिक

    सार्वजनिक यातायातको नयाँ भाडादर सार्वजनिक

    काठमाडौं । सरकारले लामो दूरीका सार्वजनिक गाडीमा बढाएको भाडा दर सार्वजनिक गरेको छ ।

    सरकारले विभिन्न आधार बनाएर अन्तर प्रदेश चल्ने देशभरका रुटमा लागू हुने गरी सार्वजनिक यातायातको नयाँ भाडादर सार्वजनिक गरेको हो ।

    विभागले दुई वा सोभन्दा बढी प्रदेश भई सञ्चालन हुने (राष्ट्रिय स्तरका सार्वजनिक यातातात रुटमा सञ्चालन हुने) सार्वजनिक यात्रुबाहक सवारी साधनको भाडादर ५.३० प्रतिशतले वृद्धि गरेको छ ।

    पहाडी बाटोमा चल्ने मालबाहक सवारीको हकमा ६.९४ प्रतिशत र तराईको बाटोमा चल्ने मालबाहक सवारीमा ७.७ प्रतिशत मूल्य बढेको विभागले जनाएको छ ।

    इन्धनको मूल्य थपघटका आधारमा एकै पटक ५ प्रतिशतले बढेमा वा घटेमा भाडा समायोजना गर्ने नीति रहेको समेत विभागले जनाएको छ । विभागका अनुसार बढेको भाडा ४ जेठबाटै लागु हुने भएको छ ।

    बढेको भाडा दर दुई वा दुईभन्दा धेरै प्रदेश भएर चल्ने लामो दुरीका गाडीमा लागू हुनेछ । प्रदेशभित्र चल्ने गाडीको भाडा प्रदेश सरकारले नै तोक्ने अधिकार पाएको छ ।

    स्थानीय रुटमा सञ्चालन हुने यातायातको भाडा भने यथावत रहने विभागले जनाएको छ ।

  • रोकिएन् शेयर बजारको ओरालो यात्रा, उच्च अंकले घट्यो नेप्से

    रोकिएन् शेयर बजारको ओरालो यात्रा, उच्च अंकले घट्यो नेप्से

    काठमाडौं । नेपाली शेयर बजार निरन्तर घट्दो क्रममा रहेको छ । बजेटपछि लगातार नेप्से परिसूचक घट्न थालेपछि लगानीकर्तामा निराशा छाएको छ।

    लगानीकर्ता अन्योलमा देखिएका छन् । साना लगानीकर्ता बजारमा त्यति खुल्ल सकेका छैनन्।

    बजार निरन्तर घट्न थालेपछि लगानी नै डुब्ने चिन्तामा उनीहरु रहेको देखिन्छ। सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट ल्याएपछि बढ्ने आशा गरेको शेयर बजार लगातार ओरालो लागेको लाग्दै आएको छ ।

    लगानीकर्ताले बजारप्रति विश्वस्त हुने आधार नभेट्दा बजार ओरालो गतिमा नै देखिएको छ।

    अहिले उनीहरू मौद्रिक नीतिको पर्खाइमा देखिन्छन्। मौद्रिक नीतिमार्फत पनि शेयर धितोमा झनै कडाइ गर्ने संकेत देखिएकाले विश्वस्त हुने आधार भने भेटिएको छैन् ।

    साताको कारोबारको दोस्रोदिन सोमवार नेप्से ४९.३१ अंकले घटेर १८८४.८१ विन्दुमा आइपुगेको छ ।

    यसदिन २३० कम्पनीको १ अर्ब ७५ करोड ६ लाख १७१ रुपैयाँ बराबरको ६१ लाख ८६ हजार ९४१कित्ता शेयर किनबेच भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ ।

    आइतवार १ अर्ब १३ करोड ४० लाख ९१ हजार २१२ रुपैयाँ बराबरको बराबरको कारोबार भएको थियो ।

    आज कारोबारमा आएका १३ उपसमूहहरूमध्ये सबैको मूल्य घटेको छ। तीमध्ये पनि सबैभन्दा धेरै हाइड्रोपावरको ४.२८ प्रतिशत र विकास बैंकको ४.१३ प्रतिशतले घटेको छ।

    कारोबार रकमको आधारमा आज सबैभन्दा धेरै प्रभु बैंकको संस्थापक शेयरको ११ करोड ८३ लाख २० हजार रुपैयाँको कारोबार भएको छ।

    यसपछि एनटिसीको १० करोड ९२ लाख २६ हजार रुपैयाँ, हिमालयन डिस्टिलरीको ५ करोड ७३ लाख ५५ हजार रुपैयाँ, एनआइसी एसिया बैंकको ४ करोड ३५ लाख ७३ हजार रुपैयाँ र नबिल बैंकको ४ करोड ७ लाख ४४ हजार रुपैयाँको कारोबार भएको छ।

    दुुइ कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।

    आज आँधिखोला लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ७२१.९० रुपैयाँ पुगेको छ भने सिवाइसी लघुवित्तको शेयरमूल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता ५००.३० रुपैयाँ पुगेको छ ।

    नेप्सेका अनुसार तेह्रथुुम पावर कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् ।

  • बालबालिकालाई लगाउन अमेरिकाले नेपाललाई दियो २२ लाख कोरोना खोप

    बालबालिकालाई लगाउन अमेरिकाले नेपाललाई दियो २२ लाख कोरोना खोप

    काठमाडौं । बालबालिकालाई लगाउन अमेरिकाले करिब २२ लाख मात्रा कोरोनाविरूद्धको खोप नेपाललाई अनुदानमा दिएको छ । ती खोप पाँच वर्षदेखि ११ वर्षका बालबालिकालाई प्रयोग गर्न मिल्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    अहिलेसम्म अमेरिकाले नेपाललाई प्रदान गरेको फाइजर खोपका २२ लाख ६० हजार मात्रा र जोन्सन एन्ड जोन्सनको एकल मात्रा खोप १५ लाख मात्राको परिमाणमा थप गरिने जनाइएको छ। अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसआइडी)ले बाल फाइजर खोप अभियानको तयारीका साथै विभिन्न ५६ जिल्लाका अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मीलाई प्रशिक्षण दिन आग्रह गरेको छ ।

  • भिआइपी उडानका हेलिकप्टरमा अनिवार्य दुई पाइलट राख्नु पर्ने

    भिआइपी उडानका हेलिकप्टरमा अनिवार्य दुई पाइलट राख्नु पर्ने

    काठमाडौं । भीआइपी सवार हेलिकप्टरमा अनिवार्य दुई पाइलट राख्नु पर्ने भएको छ । नेपाल नागरिक उडड्यन प्राधिकरणले आइतबार यस्तो निर्णय गरेको हो । उता, वायुसेवा कम्पनीले तोकिएको आधार विमानस्थल (अपरेटिङ बेस)मा रात्री विसान गरेर पहिलो उडान सोही विमानस्थलबाट गर्नुपर्ने भएको छ । विमान कम्पनीलेहरु उडान अनुमति लिँदा नै आफ्नो आधार विमानस्थल तोकेका हुन्छन् । तर, अहिले अधिकांश वायु सेवा कम्पनीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रात्री विसान गर्ने गर्ने गरेका छन् ।

    अब हेलिकप्टर र हवाईजहाजले तोकिएको आधार विमानस्थलबाट दिनको पहिलो उडान गर्नु पर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले गरेको निर्णयअनुसार अब हेलिकप्टरको प्रत्येक उडान पूर्व प्रयोग गर्ने गरी उडान सुरक्षा जोखिम मूल्यांकन र जोखिम न्यूनीकरणको लागि एक स्वचालित विद्युतीय प्रणाली (सफ्टवेयर एप्लिकेसन) सञ्चालनमा ल्याइने भएको छ ।

    हेलिकप्टर उडान सुरक्षालाई सवलीकरण गर्न मौसमी अवस्था, उडान अवधि, हेलिकप्टर पाइलटको अनुभव, भौगोलिक अवस्था तथा अन्य अवस्थालाई समेत मध्यनजर गरी यस्तो प्रणालीबाट हरेक उडानको सुरक्षा सवलीकरणको व्यवस्था मिलाउने निर्णयमा उल्लेख छ । स्वचालित प्रणालीले तोकेमा दुई जना हेलिकप्टर पाइलट राख्नुपर्ने व्यवस्था समेत हेलिकप्टर कम्पनीले गर्नुपर्ने निर्णयमा उल्लेख छ । तर, नेपाल सरकारले तोकेको विशिष्ट व्यक्तिको उडानमा दुई जना हेलिकप्टर पाइलट अनिर्वाय रहनु पर्ने प्राधिकरणले बताएको छ ।

    अबको बढीमा ३ वर्षभित्र पाइलट तयार पार्नको लागि हेलिकप्टर कम्पनीहरुले पेश गरी प्राधिकरणले स्वीकृत गरेको संख्या बमोजिम पाइलट पदपूर्तिको व्यवस्था अनिवार्य रुपमा मिलाउनुपर्ने निर्णय पनि भएको छ ।

  • काठमाडौंमा कल सेन्टर चलाएर अमेरिकी र क्यानेडियन नागरिकलाई ठग्ने नेपाली गिरोह पक्राउ

    काठमाडौंमा कल सेन्टर चलाएर अमेरिकी र क्यानेडियन नागरिकलाई ठग्ने नेपाली गिरोह पक्राउ

    काठमाडौं । काठमाडौंमा कल सेन्टरको आवरणमा संगठितरुपमा अन्तरदेशीय ठगी धन्दा चलाउने गिरोह पक्राउ परेको छ । नेपाल प्रहरीको साइबर ब्यूरोले सार्वजनिक गरेको विवरण अनुसार नेपालमा कल सेन्टरको आवरणमा ठगी गर्ने गिरोहका १३ जना पक्राउ परेका हुन् । हालसम्म उनीहरुको निशानामा अमेरिकी र क्यानेडियन नागरिक थिए । ब्यूरोले आइतबार पत्रकार सम्मेलन गरेर गिरोहका नेपाली नाइके बुढानिलकण्ठ नगरपालिका–१२, कपनका विजय श्रेष्ठ, भारतीय नागरिक ३२ वर्षीय निसान खैरे र २४ वर्षीय मनीष तिवारीसहित १३ जनालाई पक्राउ गरिएको जानकारी गराएको छ । पक्राउ परेकामध्ये यी तीन जनाबाहेक अन्य सबै कल सेन्टरमा काम गर्न राखिएका कर्मचारी हुन् ।

    अर्बिट नेक्सस नामक कम्पनीको कल सेन्टरमा जागिर खुलेको थाहा पाएपछि दर्खास्त दिएर ती कर्मचारीले काम गरिरहेका थिए । ्गिरोहले अमेरिकालाई टार्गेट बनाएकाले दर्खास्त माग्दै राम्रोसँग अंग्रेजी भाषामा बोल्न सक्ने हुनुपर्ने मापदण्ड राखिएको थियो । त्यही प्रक्रियाबाट छानिएका युवायुवतीहरूले गलत काम गरिरहेको थाहा पाएपनि प्रहरीलाई सूचित नगरेकाले पक्राउ परेका हुन् । प्रहरीका अनुसार पक्राउ परेका सबै जनामाथि विद्युतीय कारोबार ऐन, २०६३ अनुसार सात दिन म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

    विजय श्रेष्ठको नाममा काठमाडौंमा अर्बिट नेक्सस नामक कम्पनी दर्ता छ । त्यही कम्पनीको नाममा दुई महिनादेखि धम्बाराहीमा कल सेन्टर सञ्चालनमा आएको हो । अमेरिकाका विभिन्न राज्यका वृद्धवृद्धाहरुलाई कम्युटर उत्पादक कम्पनीको नाममा अपरिचत व्यक्तिबाट फोन आउने गरेको छ । त्यसक्रममा उनीहरुलाई एन्टी ह्याकिङ सुरक्षाका लागि कम्पनीले लिएको पैसा फिर्ता गर्ने भन्दै बैंकको विवरण माग्ने गरिएको छ । त्यसरी विवरण लिने क्रममा उनीहरुको कम्प्युटरसम्म एक्सेस लिएर रकम चोरी गर्ने गरेका छन् । अनुसन्धानका क्रममा यो कम्पनीको नाममा पनि उही शैलीमा ठगी भइरहेको खुलेको हो ।

  • मध्यरातमा नेपाल आयल निगमले बढायो पेट्रोलियम पदार्थको उच्च मूल्य

    मध्यरातमा नेपाल आयल निगमले बढायो पेट्रोलियम पदार्थको उच्च मूल्य

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा उच्चदरमा मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँले र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले मूल्य वृद्धि गरेको हो । बढेको मूल्य गत राति १२ बजेदेखि नै लागु भएको छ ।

    अब एक लिटर पेट्रोलको मूल्य १९९ रुपैयाँ र एक लिटर डिजेल तथा मट्टीतेलको मूल्य १९२ रुपैयाँ पुगेको छ । निगमले हवाई इन्धनमा आन्तरिक तर्फ १९ रुपैयाँले बढाएर १८५ रुपैयाँ प्रतिलिटर पुर्याएको छ । हवाई इन्धनको बाह्यतर्फ १०० अमेरिकी डलरले मूल्यवृद्धि गरिएको छ । खाना पकाउने ग्याँसको मूल्य भने यसपटक नबढाइएको नेपाल आयल निगमले जनाएको छ ।

  • काठमाडौंमा हैजा पुष्टी

    काठमाडौंमा हैजा पुष्टी

    काठमाडौं । काठमाडौंमा हैजाका बिरामी भेटिएका छन् । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका दुई जनामा हैजा पुष्टि भएको हो । उनहिरुको दिसाको परीक्षणबाट हैजा पुष्टि भएको अस्पतालले जनाएको छ । र्‍यापिड टेस्टमा रिपोर्ट पोजेटिभ आएपछि हैजाको आंशकामा बिहीबार अस्पतालको आइसीयूमा भर्ना गरिएको थियो। उनीहरुको अवस्था सामान्य छ ।

    सोमबार आईसीयूबाट वार्डमा सार्ने तयारी समेत गरिएको छ । काठमाडौंमा लामो समयदेखि फोहोर उठ्न सकेको छैन । यसले हैजाको जोखिम बढेको आशंका गरिएको थियो । ठूलो जनसंख्या, खानेपानीको सुरक्षित व्यवस्थापन नहुनुका कारण काठमाडौंमा हैजा अझ जोखिमपूर्ण मानिन्छ । हैजा सरुवा रोग हो ।

  • काठमाडौं महानगरले ल्यायो नीति तथा कार्यक्रम, के-के परे प्राथमिकतामा ?

    काठमाडौं महानगरले ल्यायो नीति तथा कार्यक्रम, के-के परे प्राथमिकतामा ?

    काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९\८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । मेयर बालेन्द्र साहले आइतबार आयोजित ११ औं नगरसभामा नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । उनले आकासे पानीको उपयोग देखि फोहोर मैला व्यवस्थापन सम्मका योजनालाई नीति तथा कार्यक्रममा समेटेका छन् । उनले महानगरभित्र होमस्टे सञ्चालनको घोषणा पनि गरेका छन् ।

    उनका अनुसार प्राचीन सभ्यताको धरोहरको रुपमा रहेको हाँडीगाउँ क्षेत्रमा आगामी आर्थिक वर्षमा सम्पदा पुनर्उद्धार गर्दै होमस्टे सञ्चालनको व्यवस्था मिलाइने भएको छ । काठमाडौंमा ‘एमफी थिएटर’ निर्माणको घोषणा समेत उनले गरे । उनका अनुसार कला क्षेत्रलाई प्रबर्द्धन गर्न काठमाडौं महानगर क्षेत्र भित्रका डबलीहरुको पुनर्स्थापना र एम्फी थियटर निर्माण गरिने भएको हो ।

    विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति, बौद्ध, स्वयम्भु र बसन्तपुर क्षेत्रको संरक्षण गरिने, स्वयम्भु र बौद्धको व्यवस्थापन काठमाडौं महानगरपालिका अन्तर्गत ल्याउन पहल गरिने भएको छ । महानगर क्षेत्र भित्र मनाइने जात्रा, पर्व, मेला, पूजा, परम्परागत जीवन शैली एवं अन्य सांस्कृतिक सम्पदाहरुको मुख्य परिचयात्मक विवरण समेटी काठमाडौं महानगरको सांस्कृतिक प्रोफाइल तयार गरी प्रकाशित गर्ने नीति तथा कार्यक्रममा भनिएको छ । काठमाडौं महानगरपालिकाकाले तीनकुनेको विवाद समाधान गरेर पूर्वाधार बनाउने योजना ल्याएको छ ।

    वडा नम्बर ३२ स्थित तीनकुनेको जग्गा विवाद सामधान गरी आवश्यक पूर्वाधार निर्माणका लागि संघीय सरकारसँग समन्वय गरी कार्य गर्ने घोषणा मेयर साहको छ । काठमाडौं महानगरपालिकाले महानगरभित्रका रहेका सरकारी, सार्वजनिक, निजी संस्थाहरुको परिसरमा रहेको खाली जग्गामा पानी पुनर्भरणका लागि पोखरीको निर्माण गर्ने समेत योजना बनाएको छ ।

    काठमाडौं महानगरपालिकाका मेयर बालेन (बालेन्द्र) साहले आर्थिक वर्ष २०७९\०८०को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै बोरिङ गरिँदै आएका स्थानमा रिभर्स बोरिङ गर्ने व्यवस्था मिलाउने बताएका छन् । उनले सार्वजनिक निजी साझेदारीमा सार्वजनिक शौचालयहरु सञ्चालन गर्ने नीति सेमत लिएको बताए । पुराना हिटी र पोखरीहरुको पुननिर्माण गर्ने योजना पनि महानगरले ल्याएको छ ।

    काठमाडौं महानगरपालिकाले प्रत्येक हप्ताको आइतबार जनतासँग मेयर कार्यक्रम सञ्चालन गर्ने भएको छ । बालेनले नीति तथा कार्यक्रममा महानगरपालिकालाई पारदर्शी र सुशासनको लागि मातहतका सबै कार्यालयमा सीसी क्यामेरा जडान गरिने बताए । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्रका बस स्टपमा पुराना मौलिक शैलीमा फल्चाहरु निर्माण गर्ने भएको छ ।

    काठमाडौं महानगरपालिकाले नेवाः समुदायमा प्रचलनमा रहेको स्थानीय पेय पदार्थलाई अन्तर्राष्ट्रिय स्तरमा ब्रान्डिङ गर्ने घोषणा गरेको छ । नेवार समुदायले उत्पादन गर्ने घरेलु ‘ऐला’ लाई संकेत गर्दै महानगरले यस्तो घोषणा गरेको हो । काठमाडौंमा सञ्चालन हुने विभिन्न जात्रा, पर्वहरुलाई अन्तर्राष्ट्रियस्तरमा परिचित गराई पर्यटन प्रवर्द्धन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

  • मेट्रो योजना काठमाडौंको नीति तथा कार्यक्रममा, सफल होलान बालेन ?

    मेट्रो योजना काठमाडौंको नीति तथा कार्यक्रममा, सफल होलान बालेन ?

    काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौं उपत्यकामा मेट्रो स्थापानाको सम्भाव्यता अध्ययन गर्न सरकारी तथा अन्य निकयहरुसँग सहकार्य गर्ने घोषणा गरेको छ । आइतबार काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आर्थिक वर्ष २०७९÷०८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । जसमा मेट्रो रेल अध्ययन गर्ने र यसका लागि संघीय सरकारसँग पहल र सहकार्य गर्ने योजना छ ।

    यसअघि उनी स्वयमःले तत्काल काठमाडौंमा मेट्रो योजना सम्भव नरहेको बताएका थिए । यद्दपी काठमाडौंमा मेट्रोल रेल चलाउन रेल विभाग र लगानी बोर्डबाट भने सम्भाव्यता अध्ययन भइरहेको छ । यस पटक बालेनको परीक्षा समेत यो घोषणामा हुने छ । किनकी बालेन आफै पनि पूर्वाधार इन्जिनियर हुन् ।

  • नेटोको आंशका : रुस-युक्रेन युद्ध लामो समय चल्न सक्छ

    नेटोको आंशका : रुस-युक्रेन युद्ध लामो समय चल्न सक्छ

    काठमाडौं । पश्चिमा विश्वले युक्रेनलाई वर्षौँसम्म चल्न सक्ने लडाइँका लागि निरन्तर सहयोग गर्न तयारी गर्नुपर्ने नेटोका प्रमुखले बताएका छन्। नेटोका महासचिव येन्स स्टोलटेनबेर्गले युद्धको मूल्य उच्च भए पनि मस्कोलाई उसका सैनिक लक्ष्यहरू पूरा गर्न दिनु अझै घातक हुने बताए। यूकेका प्रधानमन्त्री बोरिस जोनसनले दीर्घकालीन द्वन्द्वको सामना गर्न तयारी गर्नुपर्ने चेतावनी दिएपछि नेटोका महासचिवको पछिल्लो धारणा आएको हो। स्टोलटेनबेर्ग र जोनसन दुवैले धेरै अस्त्रहरू उपलब्ध गराइए युक्रेनको विजयको सम्भावना बढ्ने बताए।

    ‘हामीले यो लामो समय चल्न सक्छ भन्ने तथ्यलाई ध्यान दिएर तयारी गर्नुपर्छ। हामीले युक्रेनलाई सहयोग गर्न छाड्न हुन्न,’ नेटोका प्रमुखले समाचारपत्र बील्डसँग भनेका छन्। सैनिक सहयोग मात्रै होइन, बढ्दो ऊर्जा र खाद्यान्नको मूल्यका कारण यसको मूल्य अझ बढी पर्न सक्ने उनको भनाई छ ।

    पश्चिमा सैनिक गठबन्धनका प्रमुखले युक्रेनलाई अझ आधुनिक अस्त्रहरू उपलब्ध गराइए त्यसले उक्त देशको पूर्वी डोन्बास भूभाग स्वतन्त्र हुने सम्भावना बढाउने बताएका छन्। पछिल्लो केही महिनायता रुसी र युक्रेनी फौजहरूले युक्रेनको पूर्वमा रहेका भूभाग नियन्त्रणमा लिन लडाइँ गरिरहेका छन्। हालैका हप्ताहरूमा मस्कोले बिस्तारै कब्जा बढाउँदै गएको छ। सन्डे टाइम्समा लेख लेख्दै ब्रिटेनका प्रधानमन्त्री जोनसनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिस्तारै ध्वंस गर्ने अभियान चलाएको र क्रूरताका माध्यमबाट युक्रेनलाई घुँडा टेकाउन चाहेको बताएका छन्।


    लामो युद्धका लागि तयारी गर्नुपर्नेमा जोड दिँदै उनले समय महत्त्वपूर्ण रहेको लेखेका छन्। उनले थपेका छन्, ‘सबै कुरा युक्रेनले आफ्नो भूमि रुसले आफ्नो हमला गर्ने क्षमता विस्तार गर्नुभन्दा अघि नै जोगाउने क्षमता अभिवृद्धि गर्न सक्छ कि सक्दैन भन्नेमा निर्भर गर्छ।’ जोनसनले युक्रेनको राजधानी किएभको शुक्रवार भ्रमण गरेका थिए। त्यस क्रममा उनले आफूलाई पुनः अस्त्रले सुसज्जित गर्ने मस्कोको प्रयासलाई पछि पार्ने हिसाबमा किएभलाई हतियार, गोलीगठ्ठा, बन्दोबस्तका सामग्री र तालिम उपलब्ध गराइनुपर्ने बताए।

    हालैका दिनमा युक्रेनी अधिकारीहरूले रुसी फौजहरूलाई पराजित गर्ने हो भने शक्तिशाली हतियारहरूको आपूर्ति बढाइनुपर्ने बताएका छन्। बुधवार युक्रेनी रक्षामन्त्री ओलेक्सी रेस्नीकोभले युक्रेनको रक्षा सम्पर्क समूहका करिब ५० वटा देशका प्रतिनिधिलाई ब्रसल्समा भेटेर थप हतियार र गोलीगठ्ठा उपलब्ध गराउन अनुरोध गरेका थिए। युक्रेनका पश्चिमा साझेदारहरूले अहिलेसम्म उसलाई मुख्य हतियारहरू उपलब्ध गराइरहेका छन्।

    तर युक्रेनले आफ्नो रक्षाका लागि आवश्यक हतियारको सानो अंश मात्रै प्राप्त गरेको भन्दै थप शक्तिशाली हतियारहरूको माग गरेको छ। रुसी अधिकारीहरूले बेलाबेलामा नेटोले युक्रेनलाई दिएको सैनिक सहयोगको आलोचना गर्ने गरेका छन्।

    बीबीसीलाई अघिल्लो साता दिएको अन्तर्वार्तामा रुसी विदेशमन्त्री सर्गेइ लाभरोवले पश्चिमा गठबन्धनमा युक्रेन आबद्ध हुने सम्भावना आक्रमणको प्रमुख कारण रहेको बताएका थिए। उनले भने, ‘हामीले विशेष सैनिक कारबाही घोषणा गर्‍यौँ किनभने हामीसँग पश्चिमा विश्वलाई युक्रेनलाई पश्चिमा गठबन्धनमा तान्नु अपराध हो भनेर बुझाउने अरू कुनै उपाय नै थिएन।’
    बीबीसी

  • नेपालमा भेटिए २३ कोरोना संक्रमित

    नेपालमा भेटिए २३ कोरोना संक्रमित

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस अवधिमा मृत्‍यु भने शून्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । १ हजार २५४ जनाको पीसीआर परीक्षणमा १८ जना र ७७३ जनाको एन्टीजेन परीक्षणमा ५ जना गरी २३ जनामा संक्रमण पुष्टि भएको हो ।


    पछिल्लो २४ घण्टामा कोरोनाबाट १२ जना निको भएका छन् भने हाल देशभर १०८ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये २ जना होम आइसोलेसनमा रहेका छन् । आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ३९ पुगेको छ । नेपालमा मृत्‍यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ भने ९ लाख ६७ हजार ३०० जना संक्रमणमुक्त भएका छन् ।

  • ठूलो दुर्घटनाबाट बच्यो स्पाइसजेटको जहाज, आकासमै आगो लागेपछि आकस्मिक अवतरण

    ठूलो दुर्घटनाबाट बच्यो स्पाइसजेटको जहाज, आकासमै आगो लागेपछि आकस्मिक अवतरण

    पटना । भारतमा स्पाइसजेटको जहाज ठूलो दुर्घटनाबाट बचेको छ । जहाजको एक इन्जिनमा आगो लागेपछि आकस्मिक अवतरण गरिएको भारतयि संचारमाध्यमले जनाएका छन् । आइतबार दिउँसो बिहारको पटनाबाट राजधानी दिल्लीका लागि उडेको स्पाइसजेटको जहाजमा टेकअफका बेला चरा ठोक्किएको थियो। उडेको केहीबेरमै जहाजको इन्जिनमा आगो लागेपछि आकस्मिक अवतरण गरिएको हो।

    उडिरहेको जहाजको एकातिर धुँवाको मुस्लो आएको स्थानीयले देखेका थिए। उनीहरूले त्यसको भिडिओ समेत बनाएका छन् । स्पाइसजेटको बोइङ ७३७ जहाजमा १८५ यात्रु थिए। चालक दलका सदस्य र सबै यात्रु सकुशल रहेको टाइम्स अफ इन्डियाले जनाएको छ। यस घटनाको जाँच शुरु भएको बताइएको छ ।

  • संसदीय समितिमा प्रधानमन्त्री उपस्थित नभएपछि विवाद

    संसदीय समितिमा प्रधानमन्त्री उपस्थित नभएपछि विवाद

    काठमाडौं । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा प्रधानमन्त्री शेरबहादुर देउवा अनुपस्थिति भएपछि विवाद उत्पन्न भएको छ । समितिनले उनलाई बैठकमा अनुपस्थित हुनुको कारण सोध्ने निर्णय गरेको छ । समितिले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) र आसन्न अमेरिका भ्रमणबारे छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आइतबार बोलाएको थियो । तर अन्तिम समयमा प्रधानमन्त्रीको सचिवालयले आइतबारको बैठकमा उपस्थित हुन नसक्ने जानकारी गराएको थियो ।

    समिति सभापति पवित्रा निरौला खरेलले प्रधानमन्त्रीले समितिलाई अपमान गरेको महसुस भएको बताइन् । कांग्रेस सांसदहरुले भने कार्यव्यस्तताका कारण नआएको भन्दै बैठकमा बचाउ गरे । निकै बेरे चलेको छलफलपछि सभापति खरेलले प्रधानमन्त्री संसदीय समितिमा अनुपस्थित हुनु लोकतन्त्र तथा संसदको संसदीय प्रणाली प्रतिकुल भएकाले ध्यानाकर्षण गराउने निर्णय गर्ने प्रस्ताव गरेकी छिन् । कांग्रेस र माओवादी केन्द्रका सांसदहरुले भने समिति सभापतिको निर्णयप्रति असहमति जनाएका थिए ।

  • सडक खन्दा कसौडीभरी प्राचिन चाँदीका सिक्का भेटिएपछि…

    सडक खन्दा कसौडीभरी प्राचिन चाँदीका सिक्का भेटिएपछि…

    दाङ । दाङको तुलसीपुरमा सडकको नयाँ ट्र्याक खन्ने क्रममा गाडेको अवस्थामा एक कसौँडी पुराना चाँदीका सिक्का भेटिएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं ४ सिमराटोलको खेत हुँदै आँखा अस्पतालसम्मको नयाँ ट्र्याक खोल्ने क्रममा डोजरका चालकले गत बुधवार गाडेको अवस्थामा एक कसौँडी प्राचीन सिक्का फेला पारेका हुन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक बखतबहादुर शाहीका अनुसार ५ सय ३७ वटा सिक्का फेला परेको छ । जसमा ७६ वटा भारतीय र ४ सय ६१ वटा सिक्कामा श्री ३ लेखिएको छ ।

    फेला परेका सबै प्राचीन मुद्राहरु डोजरका चालक सुवासचन्द्र चौधरीले आफ्नो घरमा लागेर राखेको र अर्का चालक राजन खड्काले भागबन्डा नमिले पछि त्यो कुरा जग्गा धनी शोभा भण्डारीलाई भनेपछि गाडेको धन फेला परेको कुरा सार्वजनिक भएको हो । प्रहरी निरीक्षक शाहीका अनुसार चौधरीले ती सिक्काहरु घरमा लगेर धातुको कसौँडीको भाँडोबाट निकालेर छुट्टै एउटा पोलेथिनमा राखेको अवस्थामा फेला परेको हो । यी सबै सिक्काहरु झन्डै साढे दुई सय वर्ष पहिलेका हुन्।

  • नदीहरुमा पानीको वहाव बढ्दै, कुनमा कति जोखिम ?

    नदीहरुमा पानीको वहाव बढ्दै, कुनमा कति जोखिम ?

    काठमाडौं । अविरल वर्षाका कारण देशका केही नदीमा आइतबार समेत पानीको बहाव उल्लेख्य बढ्ने भएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार आइतबार कोशी, तमोर, सुनकोशी, नारायणी, मर्स्याङ्दी, कन्काई, कमला, बागमती, पूर्वी राप्तीलगायत नदीहरूको बहाव उल्लेख्य बढ्नेछ। यी नदीहरूमा बहाव सतर्कता तह आसपास पुग्ने पूर्वानुमान छ। अरू प्रमुख नदीहरूमा बहाव सतर्कता तहभन्दा तलै रहने जनाइएको छ।

    आज बिहानको मापन अनुसार कोशीको सहायक नदी तमोरको त्रिवेणीमा जलसतह सतर्कता तह आसपास रहेको र हाल बढ्दो क्रममा छ। कोशीकै सहायक नदी सुनकोशी हम्पचुवारमा पनि बहाव उल्ल्खे बढेर सतर्कता तह आसपास पुगेको छ।

    महाशाखाले आज पाँचथर, ताप्लेजुङ, संखुवासभा, झापा, मोरङ, सुनसरी, इलाम, यस्तै मधेश प्रदेशको सप्तरी, सिरहा, धनुषा, बागमती प्रदेशको सिन्धुली, गण्डकी प्रदेशको गोरखा, लमजुङ र कास्की आसपास भइ बहने ससाना नदीहरूमा बहाव बढ्ने र केही आकस्मिक बहाव हुनसक्ने पूर्वानुमान गरेको छ। नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

  • टोखामा कामदारबीच झडप, एक जनाको मृत्यु

    टोखामा कामदारबीच झडप, एक जनाको मृत्यु

    काठमाडौं । काठमाडौंको टोखा नगरपालिकामा कामदारबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । कामदारहरूबीच झडप हुँदा टोखा नगरपालिका १ मालुङ बस्ने पाँचथरका २२ वर्षीय दिपेन लिम्बुको मृत्यु भएको हो । लिम्बुलाई कुटपिट गरेको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले मोरङ घर भई टोखा बस्ने ४० वर्षीय खगेन्द्र लिम्बुसहित तीन जनालाई शनिबार राति नै पक्राउ गरेको छ ।

    टोखा–१ मालुङस्थित निर्माणाधीध घरमा काम गर्ने उनीहरूबीच एकापसमा झगडा हुँदा दिपेन गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । कुटपिटमा संलग्न तीनै जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

  • रुकुम पश्चिममा जिप दुर्घटना, २ जनाको मृत्यु

    रुकुम पश्चिममा जिप दुर्घटना, २ जनाको मृत्यु

    रुकुम । रुकुमपश्चिम आठबिसकोट नगरपालिका ११ चिसापनी नजिकै राडीबाट रिम्नातर्फ जाँदै गरेको ग१ज १८९७ नंको जिप दुर्घटना हुँदा चालक र सहचालकको घटनास्थलमै मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय आठबिसकोटका अनुसार शनिबार साँझ भएको सो दुर्घटनामा मृत्यु हुनेमा चालक बाँफिकोट गाउँपालिका ८ दुलिका कविराम विक र सहचालक मुसिकोट नगरपालिका ११ का कमल खड्का छन् । जिपमा चालक र सहचालक मात्र रहेको जनाएको छ । प्रहरीका अनुसार जिप अनियन्त्रित भई भेरी नदीमा खसेको हो ।

  • प्रियंका रानी जोशी बनिन् मिस नेपाल

    प्रियंका रानी जोशी बनिन् मिस नेपाल

    काठमाडौं । काठमाडौंकी प्रियंका रानी जोशी यसवर्षको मिस नेपाल वर्ल्ड घोषित भएकी छिन् । शनिबार साँझ सम्पन्न ललितपुरको गोदावरीमा ग्रान्ड फिनालेबाट उनले उपाधी जितेकी हुन् । उनलाई मिस नेपाल नम्रता श्रेष्ठले ताज पहिर्‍याइदिएकी छिन् । सरिशा श्रेष्ठ मिस नेपाल अर्थ र न्यान्सी खड्का मिस नेपाल इन्टरनेशनल घोषित भए ।

    गोदावरीको नवनिर्मित सनराइज कन्भेन्सन सेन्टरमा भएको फिनालीमा २४ जनाले प्रतिस्पर्धा गरेका थिए । विभिन्न ९ वटा सब–टाइटलमा विजेता पनि घोषणा गरियो । नीति शाहसहितका ११ जना निर्णायकले फाइनलिस्टलाई प्रश्नहरु सोधेका थिए । कोभिड(१९ महामारीले अघिल्ला दुईवर्ष स्थगित भएको मिस नेपाल यसपटक भौतिकरुपमै सम्पन्न भएको हो ।

  • एसीसी महिला टी-२० च्याम्पियनसिप : नेपालको लगातार दोस्रो जित

    एसीसी महिला टी-२० च्याम्पियनसिप : नेपालको लगातार दोस्रो जित

    काठमाडौं । एसीसी महिला टी–२० च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले कुवेतलाई २५ रनले पराजित गरेको छ । नेपालले पहिलो खेलमा भुटानलाई ५० रनले हराएको थियो । शनिबार दोस्रो जित निकाल्ने क्रममा नेपालले १०८ रनको लक्ष्य पछ्याएको कुवेतलाई निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ८२ रनमात्र बनायो । कुवेतका लागि कप्तान अम्ना तारिक १४, मर्याम ओमर ५, जीफा जिलानी ६ र मरिम्मा हैदरले १४ रन बनाए । नेपालकी सीता रानामगरले २, अस्मिना कर्माचार्य, संगीता राई र इन्दु बर्माले १(१ विकेट लिए ।

    टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १०७ रन बनाएको थियो । नेपालका लागि कप्तान रुविना क्षेत्री र उपकप्तान इन्दु बर्माले ६० रनको साझेदारी गरे । रुविनाले २७ बलमा ४ चौकासहित ३४ र इन्दु ३३ बलमा २ चौकासहित २८ रनमा अविजित रहिन् । ओपनर विन्दु रावलले ११ र ज्योति पाण्डेले १५ रन जोडे । बलिङतर्फ कुवेतका लागि मरिम्मा हैदरले ४ ओभरमा १० रन खर्चेर २ विकेट लिइन् । मर्याम ओमरले ४ ओभरमा १५ रन खर्चेर १ विकेट लिइन् । खदिजा खालिलले एक विकेट लिइन् ।