Category: फिचर

  • धादिङमा स्थानीयले लुटे अवैध रुपमा आएको रासायनिक मल

    धादिङमा स्थानीयले लुटे अवैध रुपमा आएको रासायनिक मल

    धादिङ । धादिङको धार्केमा रासायनिक मल बोकेर काठमाडौंतर्फ आउँदै गरेका दुई ट्रक स्थानीयबाट लुटिएका छन् । मल बोकेको ट्रकलाई राजमार्ग छेउ रोकेर किसानले मल झिकेका छन् । अवैध रासायनिक मल लिएर आएको ट्रकलाई राजस्व अनुसन्धान विभागले शुक्रबार राति धादिङको चरौंदीबाट नियन्त्रणमा लिएको थियो । त्यसपछि सशस्त्र प्रहरीको बलको सुरक्षामा काठमाडौंतर्फ ल्याइँदै गरेका बेला किसानले ट्रकको मल लुटेका हुन् ।

    भिडियोमा सुरक्षाकर्मीले हतियारले महिलालाई हिर्काएको देखिन्छ । शनिबार दिउँसो मल बोकेको ट्रक काठमाडौंतर्फ जाँदै गरेको सूचना पाएपछि धार्केमा राजमार्गमा ४÷५ सय किसान भेला भएका थिए । मल बोकेको ट्रक आइपुग्नेवित्तिकै किसानले ट्रक रोकेर मल झिकेर लगेका हुन् । एउटामा गहुँ र अर्कोमा सिमेन्ट भनेर रासायनिक मल ल्याइएको खुलेको छ ।

  • मुग्लिन–नारायणगढ सडक पटक पटक अवरुद्ध, हजारौं यात्रु मर्कामा

    मुग्लिन–नारायणगढ सडक पटक पटक अवरुद्ध, हजारौं यात्रु मर्कामा

    काठमाडौं । पश्चिम नेपाललाई राजधानी काठमाडौंसँग जोड्ने एक मात्र राजमार्गको भरपर्दो विकल्प खडा नगर्दा वर्षायाम सुरु भएसँगै यात्रुले सास्ती भोग्नु परेको छ । नारायणगढ–मुग्लिन सडक शनिबार समेत बन्द भएको छ ।

    चितवन जिल्ला प्रहरी कार्यालयका अनुसार चितवनको इच्छाकामना ६ चारकिलोमा बिहान साढे ११ बजेतिर सुक्खा पहिरो खसेपछि सडक दुईतर्फी बन्द भएको हो । यो राजमार्गको अर्को विकल्प छैन । सोहीकारण हरेक दिन जसो लामो लाइन र जोखिमपूर्ण यात्रा गर्न यात्रु बाध्य भएका हुन् ।

  • दुबईका राजकुमार नेपाल भ्रमणमा

    दुबईका राजकुमार नेपाल भ्रमणमा

    काठमाडौं । दुबईका राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुम तीनदिने नेपाल भ्रमणको सिलसिलामा काठमाडौं आएका छन् । उनी पूर्वाञ्चल क्यान्सर अस्पतालमा राखिएको पेटको सिटिस्क्यान उपकरण शुभारम्भ गर्न शनिबार नै झापा पुगेका छन् । उनको भ्रमणबारे विस्तृतमा भने सार्वजनिक गरिएको छैन ।

  • प्रधानसेनापति शर्मा लेवनान उडे, उतैबाट अमेरिका जाने

    प्रधानसेनापति शर्मा लेवनान उडे, उतैबाट अमेरिका जाने

    काठमाडौं । प्रधानसेनापति महारथी पर्भुराम शर्मा औपचारिक भ्रमणका लागि लेवनान उडेका छन् । सात सदस्यीय टोलीसहित प्रधानसेनापति शर्मा आज लेवनान प्रस्थान गरेका हुन् । द्वन्दग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ फौजको हौसला अभिवृद्धि गर्नुका साथै यूएन मिसनको भावी योजनाका बारेमा जानकारी लिन शर्मा लेवनान गएका हुन् । प्रधानसेनापति शर्मा नेतृत्वको भ्रमणदललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी कक्षमा बलाधिकृत रथी बालकृष्ण कार्कीले बिदाइ गरेका छन् ।

    भ्रमणदलले यही असार १० गतेसम्म यूएनको आह्वानमा शान्ति स्थापनार्थ नेपाली शान्ति सैनिकहरु तैनाथ मिसनहरूको निरीक्षण, मिसनको वस्तुस्थिति, अपरेशनल गतिविधि, फौज तैनाथीको अवस्थालगायतको जानकारी लिनेछ । भ्रमणको क्रममा, प्रधान सेनापति महारथी शर्माले लेवनान, सिरियाका विभिन्न मिसनका उच्च पदस्थ अधिकारीहरुसँग भेटघाट गर्ने कार्यक्रम पनि रहेको छ ।यो भ्रमण सकेर प्रधानसेनापति शर्माले यही असार १३ गते संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा जाने छन् । प्रधानसेनापति शर्मा असार १९ मा काठमाडौं आउने छन् ।

  • आफुले कसैमाथि हातपात नगरेको पर्यटन मन्त्री आलेको स्पष्टीकरण

    आफुले कसैमाथि हातपात नगरेको पर्यटन मन्त्री आलेको स्पष्टीकरण

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई हातपात नगरेको दावि गरेका छन् । शुक्रबार भाइरस अडियो र समाचारको खण्डन गर्दै उनले कुनै पनि कर्मचारीमाथि दुर्व्यवहार नगरेको बताएका हुन् । उनले विभिन्न सञ्चारमाध्यममा कार्यकारी अध्यक्षमाथि हातपात गरेको भनी आफूलाई जोडेर आएका समाचारप्रति आफ्नोे गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् । उनले मन्त्रालय र सिंहदरबार परिसरमा रहेका सीसीटिभी क्यामेरा हेर्न समेत भनेका छन् ।

    आवश्यक परे मन्त्रालय र प्रशासनले सीसीटिभीका फुटेज उपलब्ध गराउन सक्नेछ । कतिपय कामहरूमा निर्देशन दिनुपर्ने, सचेत गराउनुपर्ने, सम्झाउनुपर्ने हुनसक्ने र मन्त्रालयलको नेतृत्वकर्ताको हैसियतले त्यो क्रम निरन्तर पनि रहने भन्दै मन्त्री आलेले कर्मचारीमाथि भने दुर्व्यवहार नभएको उल्लेख गरेका छन् ।

    पछिल्ला दिनमा उडान सङ्ख्या वृद्धि हुँदै गएको तर जापानलगायतका गन्तव्यमा सर्वसाधारण, विद्यार्थी, भारतमा उपचारमा जाने बिरामीलगायतले टिकट सहजै नपाउने, निगमकै कारण बजारमा कृत्रिम अभाव गराइ आफू निकट एजेन्सीबाट मात्रै टिकट बिक्री गर्ने गरेको भन्नेजस्ता गुनासो अत्यधिक आएपछि पालिका चुनावअघि नै कार्यकारी अध्यक्षलाई स्पष्टीकरण सोधिएको र त्यसपछि पनि सचेत गराउने काम भने जारी नै रहेको उनको भनाई छ । आफ्नाविरुद्ध निरन्तर प्रचारमा लागेका केही व्यक्तिहरूले आफूलाई बदनाम गर्नका लागि समाचार लेखाएको समेत उनको आरोप छ ।

  • मिस नेपालको फाइनल आज, २४ जनाबाट छानिनेछिन् नेपाल सुन्दरी

    मिस नेपालको फाइनल आज, २४ जनाबाट छानिनेछिन् नेपाल सुन्दरी

    काठमाडौं । मिस नेपाल २०२२ को फाइनल आज हुने भएको छ । शनिबार ललितपुरस्थित गोदावरी हलमा मिस नेपालको ग्रान्ड फिनाले हुन लागेको हो । जहाँ २४ जना सुन्दरी ताजको प्रतिस्पर्धामा छन् । कोरोना महामारीको कारण अघिल्ला दुई वर्षमा रोकिएको मिस नेपाल यसपटक भने भौतिकरुपमै आयोजना हुन लागेको हो । द हिडन ट्रेजरले यसपटकको संस्करणलाई भव्य बनाउने बताएको छ । यस पटक ६ जना चिकित्सक मिस नेपालको प्रतिस्पर्धामा छन् ।

    मिस नेपाल वर्ल्ड, मिस नेपाल इन्टरनेसनल र मिस नेपाल अर्थ यसै प्रतियोगिताबाट छानिनेछन् । मुख्य तीन टाइटल र त्यसपछि थप ९ वटा सब(टाइटलको विजेता आज घोषणा गरिनेछ । ११ जना निर्णायकले अन्तिम विजेता घोषणा गर्नेछन् । नयाँ विजेतालाई मिस नेपाल नम्रता श्रेष्ठले ताज पहिर्‍याउने छिन् । फिनालेमा गीत तथा नृत्य प्रस्तुतिसमेत दिइनेछ । देशभरबाट आएका ८ सय सुन्दरीबाट अन्तिम छनोट हुन लागेको हो ।

  • अहिले भारतभर किन चर्किरहेको छ आन्दोलन ?

    अहिले भारतभर किन चर्किरहेको छ आन्दोलन ?

    नयाँ दिल्ली । भारतमा छोटो निश्चित अवधिका लागि सैनिक भर्ती गर्ने नयाँ सरकारी योजनाको विरोधमा देशव्यापी प्रदर्शन जारी छ । खासगरी उत्तर प्रदेश र विहार राज्यमा चर्को विरोध प्रदर्शनहरू भएका छन् । जहाँ प्रदर्शनकारीले रेलमा आगजनी गर्नुका साथै मुख्य राजमार्गमा बन्द गराइदिएका छन् । उनीहरूले उक्त योजना फिर्ता हुनु पर्ने माग गरेका छन्। समाचारहरूका अनुसार तेलङ्गाना राज्यको दक्षिणी शहर सिकन्दराबादमा समेत हिंस्रक प्रदर्शनहरू भएका छन् जहाँ युवाहरूले स्थानीय रेल स्टेसनमा जबरजस्ती प्रवेश गरेर रेल र पसलहरूमा क्षति पुर्‍याएका छन्।

    मङ्गलवार सार्वजनिक गरिएको अग्निपथ कार्यक्रमले साढे १७ देखि २१ वर्षबिचका व्यक्तिहरूलाई लक्षित गरेको छ। सफल आकाङ्क्षीहरू चार वर्षका लागि सेनामा भर्ती हुनेछन् र त्यसपछि २५ प्रतिशतले मात्र सेवा जारी राख्न पाउनेछन्। प्रदर्शनकारीहरूलाई शान्त पार्ने प्रयास स्वरूप सङ्घीय सरकारले बिहीवार अबेर यो वर्षका लागि मात्र भनेर २३ वर्षसम्मले पनि यस कार्यक्रम अन्तर्गत रहेर आवेदन दिन पाउने जनाएको छ। कोभिड महामारी सुरु भएदेखि सेनामा भर्ती रोकिएका छन् र दशौँ लाख आकाङ्क्षीहरूमा सेनामा जागीर खान पाइने उमेर हद यसै नाघ्ने हो की भनेर निराशा छाएको छ। यस्तो सुधारिएको भर्ती योजना सेनाको बढ्दो खर्च कटौती गर्ने उद्देश्यबाट प्रेरित छ।


    बढिरहेको तलब र निवृत्तीभरणमा सेनाको आधा जसो बजेट खर्च हुन्छ। भारतीय रक्षामन्त्री राजनाथ सिंहले मङ्गलवार अग्निपथ योजना सार्वजनिक गरेका हुन् ।
    नयाँ योजनाले सेनाको आधुनिकीकरण गर्नलाई रकमको चाप कम गर्ने ठानिएको छ। सरकारले यसले सेनालाई युवामय बनाउने समेत बताएको छ।
    तर सेनामा जान खोजिरहेकाहरूले यस योजनाले रोजगारी र अवसरहरू सिर्जना गर्ने मामिलामा निकै कम योगदान दिने जनाएको छ। केही वरिष्ठ सैन्य जेनरल र रक्षा विज्ञहरूले समेत उक्त कार्यक्रमको आलोचना गर्दै त्यसले सेनाको संरचनालाई कमजोर बनाउन सक्ने एवं राष्ट्रिय सुरक्षामा गम्भीर असर पर्न सक्ने भन्दै सजग गराएका छन्।

    संसारमा धेरै सशस्त्र सैनिकहरू हुनेमध्येको देशमा भारत पर्छ। १४ लाख जवान काम गर्ने भारतीय सेना देशको एउटा मुख्य रोजगारदाता समेत हो जसका लागि वर्षेनी दशौँ लाखले आवेदन दिन्छन्। वर्षेनी झण्डै ६० हजार जना सैनिक सेवाबाट बाहिरिन्छन् र ती स्थान पूर्ति गर्न सयवटा सम्म भर्ती योजनाहरू सञ्चालन हुन्छन्। अग्निपथ अन्तर्गत ४६ हजार सैनिकहरू यो वर्ष भर्ती हुनेछन्। तिनीहरू ६ महिनाका लागि तालिममा जानेछन् र बाँकी साढे तीन वर्ष सेवामा तैनाथ हुनेछन्। त्यस अवधिमा उनीहरूले मासिक तलब ३० हजार भारतीय रूपैयाँबाट सुरु भएर थप लाभहरू जोडिन आउँदा चारवर्षे सेवाको अन्त्यमा ४० हजार भारतीय रुपैयाँसम्म बुझ्नेछन्।
    बीबीसी

  • एसपीपीमा संलग्न नहुने पत्र अमेरिकालाई पठाउन संसदीय समितिको निर्देशन

    एसपीपीमा संलग्न नहुने पत्र अमेरिकालाई पठाउन संसदीय समितिको निर्देशन

    काठमाडौं । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा संलग्न नहुनेबारे औपचारिक रूपमा अमेरिकी सरकारलाई जानकारी दिन सरकारलाई निर्देशन दिएको छ । समितिले परराष्ट्रमन्त्री नारायण खड्का, प्रधानसेनापति प्रभुराम शर्मा, परराष्ट्र र रक्षा सचिवहरूसँगको छलफलपछि शुक्रबार उक्त निर्देशन दिएको हो । एसपीपी अमेरिकी सैन्य रणनीतिको हिस्सा रहेको तथ्यहरूले देखाएको भन्दै संसदीय समितिले उक्त कार्यक्रममा नेपाल नरहने जानकारी अमेरिकालाई लिखित रूपमा गर्न भनेको हो ।

    ‘नेपालको संविकानद्वारा निर्दिष्ट संयुक्त राष्ट्रसंघको वडापत्र, पञ्चशील र असंलग्नताका सिद्धान्त अनुरुप स्वतन्त्र परराष्ट्र नीति प्रतिकूल नहुनेगरी नेपाल सरकारले परराष्ट्र नीतिको सञ्चालन गर्नुपर्छ ।

    यस सन्दर्भमा हालै अमेरिकी राज्य साझेदारी कार्यक्रम (एसपीपी) मा नेपालको संलग्नता सम्बन्धमा सार्वजनिक भएका कुराहरू एवं विवादास्पद विषयमा नेपाल सरकारको औपचारिक धारणा निर्णयको रूपमा आउनुपर्छ,’ समितिले निर्देशन दिने क्रममा भनेको छ, ‘अमेरिकी राज्य साझेदारी कार्यक्रम अमेरिकी हिन्द प्रशान्त रणनीतिको हिस्साको रूपमा रहेको तथ्य संयुक्त राज्य अमेरिका सरकारद्वारा प्रकाशित रणनीतिक प्रतिवेदनमा उल्लेख भएकाले उक्त कार्यक्रममा अब उप्रान्त नेपाल संलग्न नहुने् कुरा स्पष्ट रूपमा औपचारिक किसिमले अमेरिकालाई अवगत गराउन नेपाल सरकार, परराष्ट्र मन्त्रालयलाई निर्देशन दिने ।’


    समितिले प्रधानमन्त्री शेरबहादुर देउवाको हुने भनिएको अमेरिका भ्रमणमा विवादास्पद र असंलग्न परराष्ट्र नीतिसँग मेल नखाने सम्झौता नगर्न पनि निर्देशन दिएको छ । त्यस्तै, एसपीपीका सम्बन्धमा रक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय र सेनाले अमेरिकालाई पठाएका पत्राचार सात दिनभित्र समितिलाई उपलब्ध गराउन पनि निर्देशन दिएको छ ।

  • मङ्कीपक्स आशङ्का गरिएका व्यक्तिमा कुष्टरोग पुष्टी भएपछि…

    मङ्कीपक्स आशङ्का गरिएका व्यक्तिमा कुष्टरोग पुष्टी भएपछि…

    काठमाडौं । काठमाडौंको टेकु अस्पतालमा भर्ना भएका एक पुरुषमा मङ्कीपक्स नभएको पुष्टि भएको छ । बिहीवार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मङ्कीपक्स भएको आशङ्कामा भर्ना गरिएका ती पुरुषमा मङ्कीपक्स पुष्टि नभएको अस्पतालका सूचना अधिकृत नवराज गौतमले जानकारी गराए । हिजो र आज शुक्रवार प्रयोगशाला परीक्षण टोलीले गरेको अनुसन्धानबाट मङ्कीपक्स नभएको पुष्टि गरिएको छ । प्रयोगशालाको विज्ञ टोलीबाट जाँचका क्रममा विभिन्न ६ ठाउँबाट जाँच गर्दा आँखा र कानको तीन वटा नमुनामा कुष्ठ रोग पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

    दुबईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका पुरुषलाई विमानस्थालको हेल्थ डेक्सले मङ्कीपक्ससँग मिल्दोजुल्दो लक्षण देखिएको भन्दै टेकु अस्पताल पठाएको थियो । मङ्कीपक्स सङ्क्रमण भएपछि ठेउलाको जस्तो डाबर देखिन्छ । सङ्क्रमित व्यक्तिको निकट सम्पर्कमा आउने अरूमा पनि यो भाइरस सर्न सक्छ । अहिले विश्वभर एक हजार ६ सय जनाभन्दा धेरै जनामा मङ्कीपक्स रोग पुष्टि भएको छ । नेपालसहित दक्षिण एसियाका कुनै पनि देशमा अहिलेसम्म मङ्कीपक्सबारे पुष्टि भएको छैन ।

  • मौसम परिवर्तनसँगै बढ्न थाले कोरोना संक्रमित

    मौसम परिवर्तनसँगै बढ्न थाले कोरोना संक्रमित

    काठमाडौं । पछिल्लो २४ घण्टामा ३४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो केही दिनयता नेपालमा कोरोना भाइरसका संक्रमित बढीरहेको तथ्यांक आएको छ । मौसमी भाइरलले ज्वरो बढाएपछि परीक्षण गर्नेहरु समेत बढेका छन् । जसले गर्दा कोरोनाका बिरामी समेत बढेको देखिएको हो । शुक्रबार पीसीआर र एन्टिजेन गरी तीन हजार ६ सय १० जनाको नमुना परीक्षण गर्दा ३४ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    यही अवधिमा थप १५ जना कोरोना सङ्क्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा सङ्क्रमणका कारण कसैको पनि ज्यान गएन । अहिले नेपालमा एक सय चार जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् । यसैबीच पछिल्लो २४ घण्टामा एक लाख ५२ हजार तीन सय ३७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

  • युवती प्रयोग गरेर ब्ल्याकमेल गर्ने गिरोह पक्राउ

    युवती प्रयोग गरेर ब्ल्याकमेल गर्ने गिरोह पक्राउ

    काठमाडौं । युवतीहरुलाई प्रयोग गरेर ब्ल्याकमेल गरेको अभियोगमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले उपत्यकाका विभिन्न स्थानमा अपराधिक लाभ लिने उद्देश्यले युवतीको प्रयोग गरी ब्ल्याकमेल गर्ने गिरोहलाई समातेको हो ।

    कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार पक्राउ पर्नेमा सूर्यविनायक–९ भक्तपुरकी १९ वर्षीय निकिता केसी, ढुसेनी–३, काभ्रपलाञ्चोककी १८ वर्षीय मनिषा परियार, हलेसी–७, खोटाङका ३२ वर्षीय डिकबहादुर शर्मा, इटहरी–७, सुनसरीका ३० वर्षीय सञ्जिब दर्जी, मेलुङ–५, दोलखाका २५ वर्षीय निमा लामा र ३० वर्षीय पासाङ लामा छन् ।

    एसपी कोइरालाका अनुसार उनीहरुले सामाजिक सञ्जालको माध्यमबाट युवतीको प्रयोग गरेर पुरुषहरुलाई खाजा खाने बहानामा रेष्टुरेन्टमा लगेर भेटघाट गर्ने गराउने गरेका थिए । त्यसपछि ती व्यक्तिहरुको घर, कार्यालय तथा सवारीसाधन लगायतका सम्पूर्ण विवरण राख्ने गरेका थिए ।

    ‘सबै विवरण संकलन गरेर झुठ्ठा मुद्दा लगाएर फसाइदिने भन्दै डर, धम्की तथा त्रास देखाएर मोलमोलाई गर्ने गरेको प्रहरीको भनाई छ । दबाबमुलक रुपमा रकम दिनलाई बाध्य गराउन केटीको नक्कली पारिवारिक सदस्य, वकिल तथा पत्रकार खडा गरेर मोलमोलाई गरी मासिक हैरानी दिने गरेको खुलेको समेत प्रहरीले जनाएको छ ।

  • बिन्ध्यबासिनी हाइड्रोपावरको आइपीओ बाँडफाँड, यसरी हेर्नुहोस् नतिजा

    बिन्ध्यबासिनी हाइड्रोपावरको आइपीओ बाँडफाँड, यसरी हेर्नुहोस् नतिजा

    काठमाडौं । बिन्ध्यबासिनी हाइड्रोपावरको आइपीओ बाँडफाँड भएको छ । विक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा दिउँसो ३ बजे आइपीओ बाँडफाँड गरेको हो ।

    सर्वसाधारणलाई छुट्याइएको १३ लाख ६५ हजार कित्ता आइपीओ एक लाख ३६ हजार ५ सय जनाले गोलाप्रथाबाट १० कित्ताका दरले पाएका छन् ।

    मागभन्दा बढी आवेदन परेका कारण यो गोलाप्रथाबाट बाँडफाँड गरिएको छ। कम्पनीले जेठ २० गतेदेखि २५ गतेसम्म १५ करोड रुपियाँ बराबरको १५ लाख कित्ता आईपीओ निष्काशन खुला गरेको थियो ।

    कूल निष्काशन मध्ये ६० हजार कित्ता कर्मचारीको लागि, ७५ हजार कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याएर बाँकी १३ लाख ६५ हजार कित्ता सर्बसाधारणका लागि छुट्याइएको थियो ।

    कम्पनीको आईपीओमा १८ लाख ४५ हजार ६७ जनाले २ अर्ब १९ करोड ३५ लाख १ हजार रुपियाँ बराबरको २ करोड १९ लाख ३५ हजार १० कित्ताका लागि आवेदन दिएको थिए ।

    तीमध्ये १७ लाख ८९ हजार १५७ आवेदकबाट परेको २ करोड १ लाख ३९ हजार १९० कित्तामात्रै सदर भएको छ।

    बाँकी २ हजार ७३८ आवेदकबाट माग भएको ३२ हजार ५४० कित्ता शेयर बदर भएको छ।

    यसरी हेर्नुहोस् नतिजा

    लगानीकर्ताले https://iporesult.cdsc.com.np मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै हेर्न सक्नेछन् ।

    वेबसाइट www.sanima.capita र मेरोसेयर एकाउन्ट बाट आइपीओको नतिजा हेर्न सक्नेछन् ।

    कम्पनीको वेबसाइट www.bindhyabasinihydro.com.np बाट पनि रिजल्ट हेर्न सकिनेछ । यद्यपि, भर्खरै मात्र आइपीओ बाँडफाँड भएकाले नतिजा आउन केही समय लाग्ने जनाइएको छ ।

  • प्रधानसेनापतिले भने-‘अमेरिकालाई पत्र पठाइएको सत्य हो, आशंका नगरौं सैन्य गठबन्धनका लागि होइन’

    प्रधानसेनापतिले भने-‘अमेरिकालाई पत्र पठाइएको सत्य हो, आशंका नगरौं सैन्य गठबन्धनका लागि होइन’

    काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले अमेरिकालाई नेपाली सेनाले पत्र लेखेको स्वीकारेका छन् ।

    शुक्रबार प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठककमा पत्रका बारेमा जवाफ दिँदै प्रधानसेनापति शर्माले सेनाको तत्कालीन नेतृत्वले अमेरिकालाई पत्र लेखेको विषय सत्य भएको बताएका हुन्।

    तर नेपाल कुनै पनि सैन्य गठबन्धनमा सहभागी नहुने स्पष्ट पारे । सैन्य गठबन्धन हुँदैन भनेर अमेरिकी अधिकारीहरुलाई भनिसकेको जानकारी पनि उनले दिए ।

    ‘अहिले नेपाली सेनाले लेखेको जुन पत्र आएको छ, यो सत्य हो । चिठी लेखिएको साँचो हो । तर चिठी लेख्दैमा सैन्य अलाएन्स लेखिएको छैन,’ उनले भने।

    प्रधानसेनापति शर्माले भूकम्पको समयमा मानवीय सहायताका लागि पत्र लेखिएको बताए । उनले भुकम्पको बेला २७ देशका सैनिक आएको र उनीहरूलाई नै सम्बोधन गरेर लेखेको प्रस्ट्याएका हुन्।

    ‘अमेरिकाको एउटा राज्यले नेपालको प्राकृतिक विपदमा मानवीय सहायता ल्याउने हिसाबले लेखिएको पत्र हो । पत्र नेपाल सरकारको परराष्ट्र नीति बिपरित लेखिएको छैन’, सेनाप्रमुख शर्माले भने।

  • शेयर बजारमा झिनो अंकको गिरावट, कारोबार डेढ वर्ष यताकै कम

    शेयर बजारमा झिनो अंकको गिरावट, कारोबार डेढ वर्ष यताकै कम

    काठमाडौं । शेयर बजारमा झिनो अंकको गिरावट आएको छ । साताको कारोबारको अन्तिमदिन दिन शेयर बजार मापक सूचक नेप्से ७.५७ अंकले घटेर १९७१.३६ विन्दुमा आइपुगेको छ ।

    यसदिन २२० कम्पनीको ७३ करोड ६२ लाख ३५ हजार २९८ रुपैयाँ बराबरको २३ लाख ५४ हजार ९११ कित्ता शेयर किनबेच भएको छ ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकम ७४ करोडले घटेर पौने अर्बमा सीमित भएको छ । यो पछिल्लो डेढ वर्ष यताकै कम कारोबार हो । आज शेयर कारोबार दुई घण्टा भएको थियो ।

    आज कारोबारमा आएका १३ वटा समूहमध्ये म्युचुअल फण्ड बाहेक अरु सबै समूहको परिसूचक राताम्मे भएको छ । हाइड्रोपावर समूह सबैभन्दा धेरै ०.८२ प्रतिशतले घटेको छ ।

    यसमध्ये पनि एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज आँधिखोला लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ५९६.७० रुपैयाँ पुगेको छ ।

    नेप्सेका अनुसार रिभर फल्स पावर लिमिटेडको नेपालका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ ।

    बुद्धभूमि हाइड्रो ४.६४, सिंगटी हाइड्रो ४.३४, गणपति लघुवित्त, माउन्टेन हाइड्रो, लिबर्टी इनर्जी र माउन्टेन इनर्जीको शेयर मूल्य ३ प्रतिशतभन्दा धेरैले घटेको छ ।

    आज नेपाल टेलिकमको सर्वाधिक कारोबार भएको छ । यसको १० करोड रुपैयाँ बढीकोे सेयर किनबेच भएको छ । त्यसैगरी, सेञ्चुरी कमर्शियल बैंकको झन्डै साढे ६ करोड र एनसीसी बैंकको ४ करोडको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

  • युद्धकै बीच जब चार विदेशी सरकार प्रमुख युक्रेन पुगे

    युद्धकै बीच जब चार विदेशी सरकार प्रमुख युक्रेन पुगे

    पेरिस । फ्रान्सका राष्ट्रपति एमानुअल माँक्रोले युक्रेनले प्रतिरोध गर्नैपर्ने र जित्नैपर्ने बताउँदै रुसी बर्बरता को आलोचना गरेका छन्। फ्रान्सका राष्ट्रपति, जर्मनीका चान्सलर ओलाफ सोल्ज र इटलीका प्रधानमन्त्री मारिओ ड्रागी बिहीवार बिहान युक्रेन पुगेर राष्ट्रपति भोलिदिमिर जेलेन्स्कीसँग भेटेका छन्। माँक्रो, सोल्ज र ड्रागीको भ्रमणको उद्देश्य आफूहरूले गरिरहेको सहायताप्रति भएको आलोचनाको विरोध गर्ने, युक्रेनलाई आर्थिक र मानवीय सहायतासहित अस्त्र पनि दिने रहेको छ।

    उनीहरू पोल्याण्डबाट रातीको रेलयात्रा गरेर बिहीबार बिहान किएभ पुगेका थिए। राष्ट्रपति निवासमा उनीहरूसँगपछि रुमेनियाका राष्ट्रपति क्लाउस यो हानिस समेत मिसिएर कुराकानी भएका थिए। उक्त परिसर सबैखाले उच्च सुरक्षाबाट घेरिएको थियो। ती तीनजना नेताहरूले युक्रेन युद्धको सुरुमा रुसले नियन्त्रण जमाएको इरपिन शहरमा पुगेर युद्धको क्षति अनुगमन गरेका छन्। चान्स्लर सोल्जले त्यहाँको क्षतिलाई अकल्पनीय क्रूरता र चेतना शून्य हिंसा बताएका छन्।

    युक्रेनी राष्ट्रपति जेलेन्स्कीले ईयूका नेताहरूलाई सैन्य सहायतामा तीब्रता दिन आग्रह गरेका छन्। केही युक्रेनीहरूले उनीहरूमाथि केवल उदासिन समर्थन गरेको आरोप लगाउने गर्छन्। क्रेमलिनका एकजना वरिष्ठ अधिकारी दिमित्री मेद्भेदेभले सो भ्रमणप्रति व्यङ्ग्य गर्दै नेताहरू शून्य प्रयोजनका लागि किएभ गइरहेको बताए।

    मेद्भेदेभले उक्त भ्रमण युक्रेनलाई हतियार दिनेबारे मात्र केन्द्रित होला भन्ने आफूले नठानेको बताउँदै त्यसो भए युक्रेनलाई थप क्षति हुने बताए। यस भ्रमण युरोपेली आयोगले युक्रेनलाई ईयू सदस्यता दिने कि नदिने भन्नेबारे सिफारिस गर्नेभन्दा एक दिनअघि भएको छ। माँक्रोले किएभ पुगेका युरोपेली नेताहरू तत्काल ईयूमा जोडिन युक्रेनलाई उम्मेद्वार हैसियत दिन सहयोगी रहेको बताएका छन्।
    बीबीसी

  • पर्यटनमन्त्री प्रेम आले पुनः विवादित, अपशब्द बोलेको अडियो सार्वजनिक

    पर्यटनमन्त्री प्रेम आले पुनः विवादित, अपशब्द बोलेको अडियो सार्वजनिक

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेम आले पुनः विवादमा तानिएका छन् । उनले नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारीलाई अपशब्द तथा अश्लील गाली गरेको अडियो सार्वजनिक भएको छ । अश्लिल गालीगलौज समेटिएको अडियो सार्वजनिक भएपछि उनको सामाजिक सञ्जालमा आलोचना थालिएको छ । यसअघि मन्त्री आलेले भारतको मुम्बई पुगेका एक नेपाली युवकसँग गालीगलौज गरेको भिडियो सार्वजनिक भएपछि आलोचित भएका थिए । खासगरी अश्लिल बोल्दै गाली गर्ने शैलीका कारण उनी बदनाम बनेका हुन् ।

  • निरन्तरको वर्षाले नदीहरुका वहाव बढ्दै

    निरन्तरको वर्षाले नदीहरुका वहाव बढ्दै

    काठमाडौं । काठमाडौं उपत्यकासहित मुलकका अधिकांश स्थानमा भइरहेको वर्षाले नदीहरुमा जल प्रवाहको बहाव बढेको छ । प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन÷चट्याङसहित हल्का वर्षा भइरहेको छ जल तथा मौसम विज्ञान विभागले जनाएको छ। शुक्रबार दिउँसो पनि वर्षाको सम्भावना रहेको छ। प्रदेश १ र मधेश प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकाले उक्त प्रदेशहरूको पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको विभागले जानकारी दिएको छ।

    साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवनर यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु अनुरोध गरेको छ। वर्षा नभएका क्षेत्रहरूमा तापक्रमको वृद्धिका कारण हुन सक्ने असरहरूबाट बच्न आवश्यक सतर्कता अपनाउनसमेत विभागले भनेको छ। हाल प्रदेश–१, मधेस प्रदेश, बागमी प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव छ। अन्य प्रदेशका भू–भागमा स्थानीय वायु तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व–पश्चिमी न्यूनचापीय रेखाको प्रभाव रहेको विभागले जनाएको छ। मनसुन सुरू भएसँगै परिरहेको पानीका कारण नदी तथा खोलाको बहाव बढ्न सुरु भएको छ।

    खासगरी पूर्वी नेपालका नदी तथा खोलामा पानीको बहाव धेरै बढेको छ। पाँचथरस्थित तमोर नदी माझिटारमा जल सतहले सतर्कता तह पार गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। ताप्लेजुङको काबेली नदीमा पनि जल सतहले सतर्कता तह पार गरेको छ। यस्तै मुलघाटस्थित तमोर नदीले पनि सतर्कता तह पार गरेको छ। बहाव बढ्दो क्रममा रहेकोले काबेली र तमोर नदीको तटीय क्षेत्रमा रहनेहरूले उच्च सतर्कता अपनाउन पनि विभागले अनुरोध गरेको छ । तमोर नदी माझिटारमा समेत सतर्कता तह पार गरेको छ ।

  • ताप्लेजुङमा पहिरोमा परी २ जना बेपत्ता

    ताप्लेजुङमा पहिरोमा परी २ जना बेपत्ता

    ताप्लेजुङ । ताप्लेजुङको सिरीजंघा गाउँपालिका–७ खेवाङमा गतराति पहिरोमा पुरिएर दुई जना बेपत्ता भएका छन् । राति करिब साढे ८ बजे झरेको पहिरोमा पुरिएर तुलसा अधिकारी र यशोदा अधिकारी बेपत्ता भएको प्रहरीले जनाएको छ । तुलसा सासु र यशोदा बुहारी हुन् । यशोदाका श्रीमान् विष्णु अधिकारी भने भागेर ज्यान जोगाउन सफल भएको स्थानीय लक्ष्मण अधिकारीलाई उदृत गर्दै स्थानीय संचारमाध्यमले जनाएका छन् ।

    पहिरोले अधिकारीका दुईवटै घर बगाएको छ । नजिकै रहेका पशुचौपायसमेत पुरेको छ । क्षतिको थप विवरण आउन बाँकी छ । अत्यधिक वर्षाका कारण जिल्लाका विभिन्न ठाउँमा ठुल्ठूला पहिरो झरेका छन् ।

  • गैरआवासीय नेपालीका माग सम्बोधन हुने प्रधानमन्त्री देउवाको आश्वासन

    गैरआवासीय नेपालीका माग सम्बोधन हुने प्रधानमन्त्री देउवाको आश्वासन

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले लामो समयदेखि उठाउँदै आएको नागरिकतासम्बन्धी विषय शीघ्र सम्बोधन गर्ने आश्वासन दिएका छन् । सङ्घले बिहीबार राजधानीमा आयोजना गरेको ‘नागरिकता, मताधिकार, लगानी तथा वैदेशिक रोजगार’ विषयक सेमिनारको उद्घाटन गर्दै उनले नागरिकताको विषय सबै सरोकारवालासँग छलफल गरेर टुङ्गो लगाइने बताए । उनले भने, “तपाईंहरुले गैरआवासीय नेपालीलाई नागरिकताको विषय जतिसक्दो चाडो सम्बोधन गर्न आग्रह गर्दै आउनुभएको छ, यस विषयलाई सबै पक्षसँग समन्वय गरी यथाशीघ्र सम्बोधन गर्ने कुरा पुनः म यहाँहरुलाई आश्वास्त तुल्याउन चाहन्छु।”

    प्रधानमन्त्री देउवाले एनआरएनएले उठाएका जायज मागप्रति सरकार संवेदनशील रहेको र उनीहरुको नेपाल आवागमन सहज गर्नेदेखि लगानी र सम्पत्तिको संरक्षण गर्ने काममा सरकारले आवश्यक सहयोग गर्ने बताए । उनले संसारभर छरिएर रहेका प्रवासी नेपालीलाई मातृभूमिप्रतिको दायित्व निर्वाह गर्न अपिल गर्दै विदेशमा आर्जन गरेको पूँजी, ज्ञान र सीपलाई नेपालको विकासमा उपयोग गर्न पनि आग्रह गरे ।


    प्रधानमन्त्री देउवाले गैरआवासीय नेपाली समुदायले विदेशमा नेपालमा उत्पादित वस्तुको उपभोगलाई प्रोत्साहन गर्नसके निर्यात प्रवद्र्धन हुने र नेपाली उद्योगधन्दाको सदुपयोग हुने भन्दै विदेशस्थित नेपाली दूतावास र कूटनीतिक नियोगसँग समन्वय र सहकार्य गरेर विदेशी पुँजी नेपाल भित्र्याउने कार्यमा पनि सक्रिय हुन आव्हान गरे । प्रधानमन्त्री देउवाले आगामी आर्थिक वर्षको बजेटमा नेपाल सरकारले विदेशी लगानीको न्यूनतम सीमा पाँच करोडबाट घटाएर दुई करोड कायम गरेको, त्यस्तै १० करोड सम्मको वैदेशिक लगानीको स्वीकृति स्वचालित प्रणालीबाट हुने व्यवस्था मिलाउने कुरा उल्लेख गरेको गरे ।

    वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा कोषमार्फत योगदानमा आधारित सामाजिक सुरक्षाको दायरामा आबद्ध गर्ने निर्णय भएको उनले जानकराी गराए । प्रधानमन्त्री देउवाले सरकारले विदेशमा बसोबास गरिरहेका नेपालीहरुलाई नेपालका बैंकमा डलर खाता खोल्न सहज गरेको साथै गत जुन १ देखि नेपाल राष्ट्र बैंकले ब्याज दिने गरी वैदेशिक रोजगार बचतपत्र निष्काशन गरेको बताए ।

    रासस

  • एसपीपीबारे संसदीय समितिले प्रधानसेनापति शर्मासँग छलफल गर्ने

    एसपीपीबारे संसदीय समितिले प्रधानसेनापति शर्मासँग छलफल गर्ने

    काठमाडौं । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले एसपीपी सम्झौताबारे प्रधानसेनापति प्रभुराम शर्मासँग छलफल गर्ने भएको छ । नेपाली सेनाले अमेरिकाको नेसनल गार्डसँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) का लागि पत्राचार गरेको विषय सार्वजनिक भएपछि संसदीय समितिले शुक्रबार बिहानको बैठकमा प्रधानसेनापति शर्मालाई छलफलमा बोलाएको छ ।

    समिति सचिवालयका अनुसार एसपीपीकै विषयमा प्रधान सेनापतिसहित सरकारी अधिकारीहरुसँग जवाफ माग्न थालिएको हो । प्रधानसेनापति शर्मा निकट भविश्यमा मिसन मुलुक र त्यसपछि अमेरिका भ्रमणमा जाँदैछन् । सो भ्रमणमा एसपीपीमा सम्झौतामा हस्ताक्षर हुने सम्भावना समेत रहेको बाहिरिए पछि प्रतिनिधिसभामा यसबारे जवाफ माग भइरहेको छ ।

  • एसपीपीमा सहभागी हुन लेखेको पत्र सार्वजनिक भएपछि नेपाली सेनापनि विवादमा तानियो

    एसपीपीमा सहभागी हुन लेखेको पत्र सार्वजनिक भएपछि नेपाली सेनापनि विवादमा तानियो

    काठमाडौं । अमेरिकी सेनाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) मा संलग्न हुन नेपाली सेनाले सन् २०१५ मा पत्राचार गरेको पुष्टि भएसँगै नेपाली सेना समेत विवादमा तानिएको छ । सेनाले बुधबार मात्र यसको कडा खण्डन गरेको थियो । तर, बिहीबार भने सन् २०१५ अक्टोबर २७ मा (२०७२ कात्तिक १०) तत्कालीन प्रधान सेनापति राजेन्द्र क्षेत्रीले नेपालस्थित अमेरिकी राजदूत अलाइना बी तेप्लिजलाई पत्र लेख्दै नेपाल सरकारका तर्फबाट आधिकारिक रुपमा नेशनल गार्ड स्टेट पार्टनरसिप प्रोग्राम (एनजीएसएसपी) सहभागी हुन अनुरोध गरेको पत्र सार्वजनिक भएको छ ।

    त्यसबेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री थिए । ओली २०७२ असोज २५ गते पहिलो कार्यकालमा प्रधानमन्त्री नियुक्त भएका थिए । त्यसबेला रक्षा मन्त्रालय समेत ओलीको जिम्ममा थियो । बुधबार अमेरिकी दूतावासले पत्रकारहरुसँगको कुराकानीमा नेपालले सन् २०१५ र सन् २०१७ मा एसपीपीमा सहभागी हुन पत्राचार गरेको र सन् २०१९ मा अमेरिकाले स्वीकार गरेको प्रष्टीकरण दिएको थियो । उता, एमालले समेत आफ्नो पालामा कुनै पत्राचार नभएको बताइरहेको थियो ।

  • १ अर्ब भन्दा बढी मूल्य पर्ने लागु औषधसहित काठमाडौंबाट ७ अफ्रिकन महिला पक्राउ

    १ अर्ब भन्दा बढी मूल्य पर्ने लागु औषधसहित काठमाडौंबाट ७ अफ्रिकन महिला पक्राउ

    काठमाडौं । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले एक अर्ब दुई करोड रुपैयाँ बराबरको सेतो हेरोइनसहित सात अफ्रिकन महिलालाई पक्राउ गरेको छ । बिहीवार पत्रकार सम्मेलन गर्दै गएको जेठ २६ देखि ३१ गते एक हप्ताको अवधिमा ५१ किलो सेतो हेरोइनसहित सात जना अफ्रिकी महिलालाई पक्राउ गरेको जानकारी गराएको हो । लागुऔषध नियन्त्रण ब्युरो कार्यालय प्रमुख जीवनकुमार श्रेष्ठका अनुसार नेपाललाई ट्रान्जिट बनाएर भारत लगायतका देशमा कारोबार गर्ने उद्देश्यले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरी लागुऔषध कारोबार गर्नेहरू पक्राउ परेका हुन् ।

    उनका अनुसार विगतमा पनि लागुऔषध कारोबारीहरू पक्राउ गरिएको आधारमा निगरानी राख्दै जाँदा ५१ केजी हेरोइन फेला परेको हो । उनका अनुसार बरामद गरिएको ५१ केजी हेरोइन अहिलको बजार मूल्यअनुसार एक अर्ब दुई करोड रुपैयाँ बराबार हुन आउँछ । पक्राउ परेकाहरु विभिन्न मितिमा फ्लाई दुबईको विमानबाट नेपाल आएका थिए । प्रहरीले यो समूहलाई नियन्त्रणमा लिन त्रिभुवन विमानस्थल र ठमेल क्षेत्रमा सक्रियता बढाएर सात दिनभित्रमा सफल भएको हो । पक्राउ परेकाहरू मध्ये दुई जना नेपाल आउजाउ गरिरहने गरेका र पाँच जना पहिलो पटक नेपाल आएको अनुसन्धानबाट पत्ता लागेको छ ।

  • रोकियो शेयर बजारको यात्रा, कारोबार रकममा गिरावट

    रोकियो शेयर बजारको यात्रा, कारोबार रकममा गिरावट

    काठमाडौं । शेयर बजार दोहोरो अंकले बढेको छ । केही सातादेखि ओरालो लागेको बजारमा विहीवार न्यून अंकको सुधार आएको हो ।

    विहीवार बजार मापक सूचक नेप्से १२.५७ अंकले बढेर १९७८.९४ विन्दुमा पुगेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार आज २२१ कम्पनीको १ अर्ब १८ करोड ७१ लाख ४५ हजार ५१८ रुपैयाँ बराबरको ३५ लाख ९४ हजार ५९४ कित्ता शेयर किनबेच भएका छन् ।

    अघिल्लो दिनको तुलनाममा कारोबार रकममा गिरावट आएको छ । बुधवार १ अर्ब ४९ करोड १७ लाख ५८ हजार ८१७ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    लामो समय घटेको शेयर बजार बढेसँग लगानीकर्ता अलमलमा परेपछि आजको कारवार घटेको छ ।

    कारोबारमा आएका १३ वटा उपसमूहमध्ये जीवन बीमा र लगानी बाहेक बाँकी सबै समूहको परिसूचकमा हरियाली छाएको छ । त्यस्तै, अन्य समूह सबैभन्दा धेरै २.८१ प्रतिशतले बढेको छ ।

    दोहोरो अंकले बढेको बजारमा आज ३ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । आँधिखोला लघुवित्तको शेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ भने रिभर फल्स पावर र सामुदायिक लघुवित्तका शेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

    त्यसैगरी, किसान लघुवित्त ७.६९, एनसीसी बैंक ६.६५, लिबर्टी इनर्जी ५.२९, सपोर्ट माइक्रोफाइनान्स ५.०२, माछापुच्छे बैंक ४.०६, ओरेन्ट होटलको शेयर मूल्य ४.०२ प्रतिशतले बढेको छ ।

    आज नेपाल टेलिकमको सर्वाधिक कारोबार भएको छ । यसको झन्डै १४ करोड रुपैयाँ बढीको शेयर किनबेच भएको छ ।

    त्यसैगरी, एनसीसी बैंकको १० करोड र सिभिल बैंकको साढे ४ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

  • गगन थापालाई एमाले सांसदको प्रश्न : अब अमेरिकी सेनालाई टुँडिखेल हस्तान्तरण गर्ने कि आफू झुण्डिने?

    गगन थापालाई एमाले सांसदको प्रश्न : अब अमेरिकी सेनालाई टुँडिखेल हस्तान्तरण गर्ने कि आफू झुण्डिने?

    काठमाडौं । नेकपा एमालेकी सांसद रेखा कुमारी झाले कांग्रेस महामन्त्री गगनकुमार थापालाई प्रश्न गरेकी छन्।

    अहिले अमेरिकी सेनाको आवतजावत बाक्लिएको र १० बुँदे मस्यौदा पठाएर अमेरिकी सेनालाई नेपालमा राख्ने अत्यन्तै दबाब आएको भन्दै एमाले सांसद झाले गगनलाई केन्द्रीत गरेर प्रश्न गरेकी हुन्।

    एमसीसी सदनबाट अनुमोदन गर्ने बेला कांग्रेस महामन्त्री थापाले अमेरिकी सेना आउँदैन, सेना आएमा आफूलाई नागरिकता छिनेर थानकोट कटाइयोस् भनेका थिए।

    सांसद गगन थापाले ‘अमेरिकी सेना आए चारपाटा मोडेर थानकोट कटाउनु, टुँडिखेलमा झुन्ड्याउनु भनेको’ भन्दै अमेरिकी सेना आए उसलाई टुँडिखेल हस्तान्तरण गर्ने कि आफू टुँडिखेलमा झुन्डिने ? भनी प्रश्न गरिन् ।

    ‘एसपीपीले नेपाली सेनाजस्तै अमेरिकी सेनालाई व्यवहार गर्नुपर्ने भनिएको छ । नेपालमा अमेरिकी सेना आउँदैन भनिएको थियो,’ उनले भनिन्, ‘यदि, आयो भने चारपाटा मोडेर थानकोट कटाउनु, टुँडिखेलमा झुन्ड्याउनु भनेर एकजना सत्तापक्षको सांसदले भन्नुभएको थियो । अब अमेरिकी सेनालाई टुँडिखेल हस्तान्तरण गर्ने कि आफू टुँडिखेलमा झुन्डिने ?’

  • ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूबीच मर्जर सहमति

    ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूबीच मर्जर सहमति

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेड एक आपसमा गाभिने भएको छ । बिहीबार कार्यक्रम बीच गाभ्न गाभिनको लागि प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको हो ।

    समझदारीपत्रमा ग्लोबल आइएमई बैंकको तर्फबाट बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा बैंक अफ काठमाण्डू लिमिटेडका तर्फबाट बैंकका अध्यक्ष प्रकाश श्रेष्ठले हस्ताक्षर गरे ।

    मर्जर पश्चात् बन्ने नयाँ बैंकको नाम ग्लोबल आइएमई बिओके लिमिटेड हुने छ । त्यस्तै बैंकको सञ्चालक समितिमा ग्लोबल आइएमई बैकको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकाल सहित ५ जना र बैंक अफ काठमाण्डूको तर्फबाट २ जना रहने सहमति भएको छ । त्यसैगरी बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा रत्नराज बज्राचार्य रहने प्रारम्भिक सहमति भएको छ ।

    ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडको सम्पत्ति तथा दायित्वको मूल्याङ्कनबाट शिफारिस भई आउने स्वाप रेसियोबाट अन्यथा कायम हुन आएमा सोही अनुसार समायोजन हुने गरी हाललाई १ः१ को स्वाप रेसियो कायम गर्ने प्रारम्भिक समझदारी भएको छ ।

    २१ वटा बैंक तथा वित्तीय संस्थाहरु गाभिएर बन्ने ग्लोबल आइएमई बिओके लिमिटेडमा ५ वटा क वर्गका वाणिज्य बैंक, १० वटा विकास बैंक तथा ६ वटा फाइनान्स कम्पनी समाहित हुनेछन् ।

    मर्जर पश्चात् बैंकको कूल पुँजी रु.५२.२९ अर्ब, चुक्ता पूँजी रु. ३४.४१ अर्ब, कूल निक्षेप रु. ३८४ अर्ब, कूल कर्जा रु. ३८० अर्ब सहित कूल पुँजी , चुक्ता पुँजी तथा व्यवसायको आकारको हिसाबले नेपालको सबै भन्दा ठूलो बैंक हुनेछ ।

    साथै, दुवै बैंकले जेष्ठ मसान्त सम्म ६ अर्ब रुपैयाँ भन्दा बढी खुद नाफा आर्जन गरी सकेका छन् । दुई बैंकहरुको ३८५ शाखा कार्यालय, ३६७ एटिएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ६१ विस्तारित शाखा कार्यालयहरु, ३ वटा विदेश स्थित सम्पर्क कार्यालयहरु, ३७ लाख भन्दा बढि ग्राहकहरु सहित अन्य धेरै वित्तीय परिसुचकहरुमा ग्लोबल आइएमई बिओके लिमिटेड मुलुकको सबै भन्दा ठुलो बैंक हुनेछ ।

    दुवै बैंकहरु एक आपसमा गाभिए पश्चात् संस्थाको पुँजी वृद्धि, कार्य क्षेत्र तथा कार्य क्षमतामा अभिवृद्धि हुनुका साथै मुलुकको सबैभन्दा सबल एवम् सक्षम बैंकको रुपमा वित्तीय बजारमा स्थापित भई ग्राहकहरुलाई थप उत्कृष्ट सेवा तथा सुबिधा प्रदान गर्न तथा लगानीकर्ताहरुलाई उच्चतम् प्रतिफल दिने विश्वास बैंकले लिएको छ ।
    साथै, बैंकले वित्तीय क्षेत्रमा नयाँ अवसरहरु ल्याई ग्राहक, शेयरधनी, बैंकसँग प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सरोकार राख्नुहुने सबैको हितलाई ध्यानमा राखी बैंकले कार्य सम्पादन गर्ने दुवै बैंकका सञ्चालक समिति अध्यक्षहरुले सयुंक्त रुपमा प्रतिवद्धता ब्यक्त गरे ।

    कार्यक्रममा ग्लोबल आइएमई बैंकका अध्यक्ष ढकालले नेपालको बैंकिङ्ग इतिहासमा एउटा ऐतिहासिक कार्य भएको बताए ।

    ग्लोबल आइएमई बैंक नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकले दिने निर्देशनहरु परिपालनामा सधै पहिलो हुने गरेको बताउँदै तदअनुरुप यो मर्जरको समझदारीपत्रमा हस्ताक्षर गरिएको जानकारी उनले दिए । मर्जरपछि बन्ने नयाँ बैंक ठूलो मात्र नभएर सबै हिसावले सर्वोकृष्ट बैंक बनाउने प्रतिवद्धता समेत व्यक्त गरे ।

    बैंक अफ काठमाण्डूका अध्यक्ष श्रेष्ठले बैंकिङ्ग क्षेत्रमा आजको दिन सधै संस्मरणमा रहने बताए । सो अवसरमा उनले मर्ज हुनु प्राकृतिक प्रकृया हो तर मर्जरपछि बन्ने बैंक कस्तो बन्छ भन्ने मूल विषय रहेको जानकारी दिए । नयाँ बैंकले नेपालको बैंकिङ्ग क्षेत्रमा ठूलो सफलता हासिल गर्नेमा बिश्वास समेत व्यक्त गरे ।

  • ‘एमालेलाई सिद्धयाउन खोजेका थिए, महासंग्रामको लडाइँ एमाले जितेर देखाइदियो’- केपी ओली

    ‘एमालेलाई सिद्धयाउन खोजेका थिए, महासंग्रामको लडाइँ एमाले जितेर देखाइदियो’- केपी ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई सिद्धाउन खोज्नेहरुबाट जोगिएर यहाँसम्म आइपुगेको बताएका छन्।

    राष्ट्रियसभा गृहमा स्थानीय तहका जनप्रतिनिधिहरुका लागि आयोजित प्रशिक्षण कार्यक्रमलाई बिहीबार सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्।

    कार्यक्रममा ओलीले महासंग्राम जितेर आएको भन्दै जनप्रतिनिधिलाई बधाई दिए ।

    उनले चुनावका नाममा गरिएका अस्वस्थ र अलोकतान्त्रिक गतिविधिसँग पनि लडेर आएका कारण एमालेका जनप्रतिनिधिले महासंग्राम लडेको बताए ।

    ओलीले एमाले बाहेक अरुसँग विकासको कुनै योजना नरहेको आरोप लगाएका छन् ।

    उनले आफूहरुको अस्तित्व मेटाउन खोजिए पनि तानाशाहीहरुविरुद्ध एमालेले बलियोसँग डटेर उभिन सकेको बताए।

    ‘हाम्रो अस्तित्व मेटाउन खोजिएको थियो। तर आज पनि देशको प्रमुख राजनीतिक शक्ति हौँ’, उनले भने, ‘गठबन्धनका नाममा बनेको तानाशाहविरुद्ध हामीले बलियो प्रतिरोध गर्यौँ। राज्य शक्ति लगाएर, पैसा बाँडेर मतदाता रिझाउन खोजे पनि त्यसलाई हामीले पराजित गरेका छौँ।’

    उनले स्थानीय तह निर्वाचनमा एमालेले जीवन मरणको लडाइँ लडेको जिकिर गर्दै विपक्षीले अस्तित्व मेटाउन खोज्दा पनि प्रमुख दलबाट हटाउन नसकेको जिकिर गरे।

    ‘हाम्रो पार्टीले जीवन मरणको लडाइँ लड्यो। यो सामान्य लडाइँ थिएन। अस्तित्व मेटाउन खोज्दा पनि आज देशको प्रमुख दल हौँ,’ अध्यक्ष ओलीले भने, ‘एमालेबाहेक अरु दलसँग कुनै देश विकासको भिजन छैन।’

  • अमेरिकामा ३० वर्षयताकै माथि पुग्यो ब्याजदर, विश्वभर के पर्ला असर ?

    अमेरिकामा ३० वर्षयताकै माथि पुग्यो ब्याजदर, विश्वभर के पर्ला असर ?

    काठमाडौं (बीबीसी) । अमेरिकी केन्द्रीय ब्याङ्कले बढ्दो उपभोक्ता मूल्यमा लगाम लगाउने आफ्नो कदमलाई अघि बढाउँदै झन्डै ३० वर्षयताकै सबैभन्दा ठूलो ब्याजदर वृद्धिको घोषणा गरेको छ। फेडरल रिजर्भले आफ्नो मुख्य ब्याजदरलाई प्रतिशत बिन्दुको तीन चौथाइका दरले वृद्धि गर्दै १।५ प्रतिशतदेखि १।७५ प्रतिशतको दायरामा पुर्‍याउने बताएको छ। गत महिना अप्रत्याशित रूपमा अमेरिकामा मुद्रास्फीति बढेपछि मार्च यताको यो तेस्रो यस्तो वृद्धि हो। योसँगै अर्थतन्त्रले सामना गरिरहेको अनिश्चितता थप बढ्ने ठानिएको छ।

    बैठकपछि जारी गरिएको प्रक्षेपणले केन्द्रीय ब्याङ्कले ब्याङ्कहरूले सापटी लिँदा लिने शुल्कको दर वर्षको अन्त्यसम्ममा ३।४ पुग्न सक्ने अपेक्षा अधिकारीहरूले गरेको देखाएको छ। यो कदमका कारण धितोबन्धक, क्रेडिट कार्ड र अन्य ऋणका लागि सर्वसाधारणले उच्च लागतको सामाना गर्नुपर्ने हुन सक्छ। विश्वभरका केन्द्रीय ब्याङ्हरूले यस्तै खाले कदम चाल्नसक्छन् र त्यसले विश्वव्यापी अर्थतन्त्रमा ठूलो परिवर्तन ल्याउन सक्छ। फेडरल रिजर्भका अध्यक्षले मुद्रास्फीतिलाई अस्वाभाविक भनेका छन् ।

    त्यसले वर्षौँका लागि न्यून लागतको कर्जा र सापटीको फाइदा लिएका व्यवसाय र घरपरिवारहरूलाई प्रभावित पार्नसक्छ। एउटा रणनीतिक परामर्शदातृ संस्था ईवाई(पार्थेनन्‌का प्रमुख अर्थशास्त्री ग्रेगरी डाकोले भने, ‘अधिकांश उच्च अर्थतन्त्र भएका देशहरूका केन्द्रीय ब्याङ्क र केही उदीयमान बजारका केन्द्रीय ब्याङ्कले आफूलाई पनि अनुकूल बनाउने नीतिहरू कडा पार्दैछन्।’

    एप्रिलमा उपभोक्ता मूल्य ९ प्रतिशत बढेको यूकेमा ब्याङ्क अफ इङ्गल्यान्डले बिहीवार डिसेम्बरदेखि आफ्नो आधार दरलाई सन् २००९ पछि पहिलो पटक एक प्रतिशतभन्दा माथि धकेल्दै पाँचौँ वृद्धिको घोषणा गर्ने अपेक्षा गरिएको छ। ब्राजिल, क्यानाडा र अस्ट्रिलियाले पनि ब्याजदर बढाएका छन्। युरोपेली केन्द्रीय ब्याङ्कले पनि यसपालिको गर्मीयामपछि त्यस्तै गर्ने योजना बनाएको छ।

    सन् २०२० मा महामारीले अर्थतन्त्रलाई पारेको प्रभावसँग जुझ्नका लागि अमेरिकामा केन्द्रीय ब्याङ्कले यस वर्षको मार्चमा ०.२५ प्रतिशत र मेमा अर्को आधा प्रतिशत बिन्दु गरी दुई पटक ब्याजदर बढाइकेको छ । त्यसबेला फेडरल रिजर्भका अध्यक्ष जेरोम पावेलले अधिकारीले तीव्र वृद्धिबारे नसोचेको बताएका थिए। तर गत शुक्रवारको तथ्याङ्कले मे महिनामा अमेरिकी मुद्रास्फीति ८.६ ले बढेको बढेको देखाएको छ। त्यो भनेको सन् १९८१ पछिको सबैभन्दा तीव्र गतिको वृद्धि हो।

    त्यसले अधिकारीहरूलाई थप आक्रामक रूपमा अघि बढ्न दबाव परेको पावेलले यसै साताको बैठकपछि पत्रकारहरूलाई बताएका थिए। फेडरल ब्याङ्कले ब्याङ्कहरूले सापटी लिँदा लिने आफ्नो शुल्कको दरको दर सन् २०१९ को अवस्थामा फर्कनेछ। त्यो ऐतिहासिक मापदण्डहरूका आधारमा अपेक्षाकृत कम हो। तर वृद्धिले पहिले नै असर गरिरहेको छ। त्यसले गर्दा डलरको माग उच्च दरले बढाउन मद्दत गरेको छ। वर्षको सुरुवातयत उक्त मुद्रा १० प्रतिशत माथि पुगेको छ र विशेषगरी उदीयमान बजारलाई डलरमा ठूलो मात्रामा ऋणको दबाबमा परेको छ।

    बहुराष्ट्रिय कम्पनीहरूले मुद्रास्फीति र डलरको मूल्य वृद्धिले उनीहरूको नाफामा असर गरिरहेको चेतावनी दिएका कारण अमेरिकाका सयौँ ठूला कम्पनीहरूको वित्तीय अवस्था ओरालो लागेको बताइएको छ। पेट्रोलको बढ्दो लागतका कारण मानिसहरूले कारजस्ता सामानको खरीद स्थगित भएका कारण त्यस्तो हुन गएको हो। पावेलले मूल्यवृद्धिलाई नियन्त्रण गर्न आर्थिक स्थायित्वका लागि आवश्यक रहेको र त्यस्तो प्रगतिका लागि समय लाग्ने बताए ।

  • आज चुरे दिवस, वृक्षारोपण गर्न राष्ट्रपति सिन्धुली जाने

    आज चुरे दिवस, वृक्षारोपण गर्न राष्ट्रपति सिन्धुली जाने

    काठमाडौं । चुरे क्षेत्रको संरक्षणमा जोड दिँदै बिहीबार आठौँ चुरे दिवस मनाइँदैछ । चुरेलाई संरक्षण क्षेत्र घोषणा गरेको दिनलाई हरेक वर्ष चुरे दिवसको रूपमा मनाउने गरिएको छ । दिवसका अवसरमा राष्ट्रपति तराई चुरे मधेस संरक्षण विकास समितिले यसपालि एकै दिन कम्तीमा एक लाख रुख, फलफूलका बिरुवा र बाँस रोप्न लागेको छ । वृक्षारोपण अभियानको राष्ट्रपति विद्यादेवी भण्डारीले सिन्धुलीको दुधौली नगरपालिकामा रहेको विशाल सामुदायिक वनबाट शुभारम्भ गर्ने कार्यक्रम छ ।

    असार महिना वृक्षारोपण महिनाका रूपमा मनाउँदै महिनाभरी कम्तीमा पाँच लाख वृक्षारोपण गर्ने कार्यक्रम रहेको समितिले जनाएको छ । चुरे क्षेत्र हिमालय पर्वत शृङ्खलाको सबैभन्दा दक्षिणमा रहेको माथिबाट बगेर आएका सामग्रीले बनेको कमलो र कमजोर पर्वत शृङ्खला हो । यसले देशको करिब १३ प्रतिशत भूभाग ओगटेको छ भने पूर्वमा इलामदेखि पश्चिममा डडेलधुरासम्म ३७ वटा जिल्लाहरूमा यो क्षेत्र फैलिएको छ ।

    पश्चिममा पाकिस्तानको इन्डस नदीदेखि पूर्वमा भारतको ब्रह्मपुत्र नदीसम्म फैलिएको चुरे श्रृङ्खला शिवालिकको नामबाट पनि चिनिन्छ । यो क्षेत्रमा राम्ररी नखाँदिएका खुकुलो पत्रे चट्टान भएको र महाभारतबाट बग्ने नदीहरू यही चुरे क्षेत्र भई तराईतर्फ बग्ने हुँदा प्राकृतिक रूपले यो क्षेत्र अत्यन्त संवेदनशील रहेको बताइन्छ ।

    चुरे क्षेत्र भौगर्भिकरूपमा कमजोर, धेरै पानी पर्ने, भूकम्पीय कारणबाट अति जोखिमयुक्त, जैविक विविधतामा धनी, दुर्लभ वन्यजन्तुको बासस्थान र जैविक मार्ग हो । अव्यवस्थित बसोबास, वन अतिक्रमण, वन डढेलो, खुला चरिचरन र नदीजन्य पदार्थको दोहन, अनियन्त्रित भौतिक पूर्वाधार निर्माण, भू–क्षयजस्ता कारणले यो क्षेत्र झनै संवेदनशील बन्दै गएको छ । तराई मधेस मरुभूमीकरण हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै चुरे तराई मधेस क्षेत्रका ३७ जिल्लाका ३ सय २५ पालिकाका झन्डै ५८ लाख मानिसको जीवन पद्धतिसँग सम्बन्धित यो क्षेत्रलाई संरक्षण गर्न समिति गठन गरिएको छ ।

    यो क्षेत्रका १ सय ६४ नदी प्रणाली र तिनका जलाधार क्षेत्रलाई संवेदनशील एवम् जोखिमपूर्ण भौगोलिक क्षेत्र घोषणा गर्दै वातावरण संरक्षण क्षेत्र कायम गरी सरकारले २०७१ साल असार २ गते राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिको गठन गरेको थियो । सरकारले उच्च प्राथमिकता दिएर सञ्चालन गरिरहेको चुरे संरक्षण कार्यक्रममा तीन तहका सरकारबीच समन्वयको अभाव देखिएपछि पालिकामार्फत सञ्चालन हुने गरी गुरुयोजना संशोधन गर्न लागिएको छ ।

  • एमालले स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै

    एमालले स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै

    काठमाडौं । नेकपा एमालेले पार्टीबाट स्थानीय तहमा निर्वाचति भएका प्रमुख तथा उपप्रमुख र अध्यक्ष तथा उपाध्यक्षलाई प्रशिक्षण दिन लागेको छ । एमाले सचिवालय बैठकले जनप्रतिनिधिलाई प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम गर्ने निर्णय गरेको थियो। उक्त निर्णयअनुसार बिहीबार र शुक्रबार जनप्रतिनिधिलाई प्रशिक्षण दिने कार्यक्रम रहेको एमाले केन्द्रीय कार्यालयले जनाएको छ। बिहीबार बिहान ११ बजे काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनीमार्गमा रहेको राष्ट्रिय सभा गृहमा प्रशिक्षण कार्यक्रमको उद्घाटन हुनेछ।

    अध्यक्ष केपी शर्मा ओलीले प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्नेछन्। त्यसपछि एमाले स्कुल विभागले जनप्रतिनिधिलाई प्रशिक्षण दिने कार्यक्रम छ। प्रशिक्षणमा सहभागी हुन एमालेबाट उम्मेदवार भई निर्वाचित भएका जनप्रतिनिधिहरू काठमाडौं आइसकेका छन्। एमालेले चुनाव भएका ७५२ मध्ये २०५ पालिकामा प्रमुख जितेको छ । यसअघि यस्तो कार्यक्रम माओवादी केन्द्रले गरेको थियो ।

  • आईसीसी क्रिकेट विश्वकप लिग टु : नेपाललाई अमेरिकाले ३९ रनले हरायो

    आईसीसी क्रिकेट विश्वकप लिग टु : नेपाललाई अमेरिकाले ३९ रनले हरायो

    काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा भएको श्रृङ्खलाको अन्तिम खेलमा नेपाललाई आयोजक अमेरिकाले ३९ रनले हराएको छ । आरिफ शेख र सोमपाल कामीले कीर्तिमानी साझेदारी गरेपनि अमेरिकाले दिएको २४६ रनको लक्ष्य पछ्याएको नेपालले २०६ रन मात्र बनायो । श्रृङ्खलामा नेपालको यो दोस्रो हार हो । चार खेल मध्ये एक जित र एक बराबरीबाट नेपालले ३ अंक मात्र जोड्न सक्यो । अंकतालिकामा १६ खेलबाट १५ अंकसहित नेपाल पाँचौ स्थानमा छ ।

    अमेरिका २४ खेलबाट २३ अंकसहित चौथो स्थानमा छ । आरिफ र सोमपालले छैटौं विकेटका लागि १०६ रनको साझेदारी गरेपनि नेपाललाई जितसम्म पुर्‍याउन सकेनन् । नेपाललाई अन्तिम ५ ओभरमा ५० रन भन्दा कम चाहिएको अवस्थामा दुव खेलाडी ४५औं ओभरमा आउट भएका थिए । ९३ रनमै ५ विकेट गुमेको अवस्थामा आरिफ र सोमपालले कीर्तिमानी शतकिय साझेदारी गरेका थिए । छैटौं विकेटका लागि नेपालको यो अहिलेसम्मको ठूलो साझेदारी हो ।

    यसअघि छैटौं विकेटका लागि २०२० मा कुशल मल्ल र विनोद भण्डारीले अमेरिका विरुद्ध नै ८४ रनको साजेदारी गरेका थिए । नेपालका लागि आरिफले सर्वाधिक ६३ रन बनाए भने सोमपालले ४७ रन जोडे । यसबाहेक देव खनालले ३४, आसिफ शेखले १८, रोहित पौडेलले १६ र कुशल भुर्तेलले १० रन बनाए । त्यसअघि मोसा क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २४५ रन बनाएको थियो ।

    अमेरिकाका लागि गजानन्द सिंहले सर्वाधिक ५८ रन बनाउँदा सुशान्त मोदानीले ५४ रन बनाए । यस्तै आरोन जोन्सले ४३ र साइतेजा मुम्मकामालाले ३६ रन जोडे । नेपालका करण केसीले ३, सन्दीप लामिछानेले २ तथा सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले समान १ विकेट लिएका थिए ।