Category: फिचर

  • वर्षा बाधक बन्दा नेपाल एसीसी महिला क्रिकेट टी–२० च्याम्पियनसिपबाट बाहिरियो

    वर्षा बाधक बन्दा नेपाल एसीसी महिला क्रिकेट टी–२० च्याम्पियनसिपबाट बाहिरियो

    काठमाडौं । नेपाल मलेसियामा जारी एसिसी महिला टी–२० च्याम्पियनसिप प्रतियोगिताबाट बाहिरिएको छ ।

    किनरारा एकेडेमी ओभलमा भइरहेको यूएईविरुद्धको खेलमा वर्षा बाधक बन्दा नेपाल बाहिरिएको हो ।

    नेपालले उत्कृष्ट बलिङ गर्दै यूएईलाई सस्तैमा समेटे पनि जवाफी ब्याटिङ गर्न नपाएको हो ।

    त्यसअघि टस हारेर ब्याटिङको मौका पाएको यूएई १९.५ ओभरमा ८१ रनमा अलआउट भएको थियो ।

    उसका लागि वैश्णवी महेशले १६, इशा ओझाले १५ र छाया मुगलले १४ र खुसी शर्माले १२ रन बनाए । नेपालका लागि अस्मिना कर्माचार्यले शानदार बलिङ गरिन् । ३.५ ओभर बलिङ गरेकी उनले १० रन दिएर महत्वपूर्ण ५ विकेट लिइन् ।

    त्यस्तै, इन्दु वर्माले तीन र सीताराना मगरले दुई विकेट लिइन् ।

    खेल रद्द भएपछि समूह विजेतका रूपमा यूएई फाइनल पुगेको छ । अब यूएईले हङकङ र मलेसियाबीच खेलको विजेतासँग फाइनलमा प्रतिस्पर्धा गर्नेछ ।

  • हजयात्रीलाई गृहमन्त्रीले गरे विदाई

    हजयात्रीलाई गृहमन्त्रीले गरे विदाई

    काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले साउदी अरबको मक्का-मदिनामा हजयात्रा गर्न जाने हजयात्रीलाई बिदाइ गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गृहमन्त्री खाणले शुक्रबार बिहान ११३ हजयात्रीलाई बिदाइ गरेका हुन् । यस वर्ष हजका लागि नेपाललाई छुट्टयाइएको ५५५ जनाको कोटामध्य शुक्रबार बिहान अन्तिम टोली हज गर्नका लागि त्यसतर्फ गएको हो । हजयात्रीलाई बिदाइ गर्दै गृहमन्त्री खाणले सरकारले सबै धर्मलाई सम्मान गर्ने बताए ।

    उनले हज गर्न जाने परम्पराले विश्वभरमा नेपालको पहिचान गराउँदै भाइचाराको सम्बन्ध पनि बिस्तार हुने बताए । हजयात्रीलाई बिदाइ गर्न नेपाली काङ्ग्रेसका सह महामन्त्री महेन्द्र यादव, नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ सहितको उपस्थिति थियो । असार ६ गतेदेखि दैनिक एयर अरेबियाको हवाइजहाजबाट एक टोली हज गर्न गइरहेको थियो । नेपालबाट हजयात्रामा जाने टोलीको साउदीमा जेब्दास्थित महावाणिज्यदूतावासले समन्वयको काम गर्छ ।

    महावाणिज्यदूतावासबाट १० जनाको स्वयमसेवकको टोली हजयात्रीको व्यवस्थापनका लागि खटिएको छ । टोलीमा ८ जना डेलिकेट्स् र ३ जना मेडिकल सपोर्ट टीम सहभागी छ । हज यात्रा गरेर प्रत्येक टोली ३४ दिनपछि नेपाल फर्कनेछ । मुस्लिम समुदायको पवित्र तिर्थस्थलको रूपमा रहेको मक्कामदिनामा विश्वभरका लाखौँ मुस्लिम समुदाय हज गर्नका लागि जाने गर्दछन् ।

  • मौद्रिक नीतिको तयारी गरिरहेको राष्ट्र बैंकका गभर्नरसँग कांग्रेस महामन्त्री थापाको भेट

    मौद्रिक नीतिको तयारी गरिरहेको राष्ट्र बैंकका गभर्नरसँग कांग्रेस महामन्त्री थापाको भेट

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग भेट गरेका छन् । नेपाल राष्ट्र बैंक यतिबेला मौद्रिक नीतिको तयारीमा रहेको छ । गभर्नर अधिकारीसँग हालको तरलता अभाव, मुद्रा सञ्चितीको अवस्था र पूँजी बजारको समस्या सम्बोधनलगायत विषयमा छलफल गरिएको थापाले बताएका छन् ।

    नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलगायत वरिष्ठ अधिकारीसँग भेटेर हालको तरलता अभाव, मुद्रा सञ्चितीको अवस्था र पुँजी बजारको समस्या सम्बोधन गर्न आवश्यक विषयहरूमा छलफल गरेको उनले जनाएका छन् । अर्थतन्त्रमा देखिएका यी लगायतका समस्या समाधानका उपायहरू सहित अबको मौद्रिक नीति तयार पार्न पनि उनले आग्रह गरेका छन्।

  • एमाले नेता कार्कीको घर अगाडी राखिएको शंकास्पद वस्तु हटाइयो

    एमाले नेता कार्कीको घर अगाडी राखिएको शंकास्पद वस्तु हटाइयो

    काठमाडौं । प्रदेश नम्बर १ का पूर्वमन्त्री एवं नेकपा एमालेका नेता हिक्मत कार्की र एमाले झापा अध्यक्ष दीपक कार्कीको गौरादह ३ स्थित घरअगाडि आज बिहान फेला परेको शंकास्पद वस्तु हटाइएको छ। कुकरमा तार जडान गरेर राखिएको अवस्थामा उक्त वस्तु फेला परेपछि प्रहरीलाई खबर गरिएको थियो। प्रहरीले शंकास्पद वस्तु हटाउन नेपाली सेनालाई आग्रह गरेको थियो।

    घटनास्थल पुगेर नेपाली सेनाले उक्त वस्तु हटाएको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार चारआलीस्थित सेनाको डिस्पोजल टोलीले उक्त शंकास्पद वस्तुको डिस्पोज गरेका हुन्। कुकरमा तार जडान गरिए पनि उक्त कुकर खाली रहेको प्रहरीले जनाएको छ ।

  • स्थानीय तहले आज ल्याउँदैछन् बजेट

    स्थानीय तहले आज ल्याउँदैछन् बजेट

    काठमाडौं । स्थानीय तहको बजेट आज आउने भएको छ । अधिकांश पालिकामा नीति तथा कार्यक्रम र बजेट सार्वजनिक हुने भएको हो । केही पालिकामा भने यसअघि नै सार्वजनिक भइसकेको छ । पालिकाहरुले असार १० गतेभित्र नीति तथा कार्यक्रम र बजेट पेश गरेर असार मसान्तभित्र पारित गरिसक्नुपर्ने कानुनी व्यवस्था छ । सोही अनुसार धेरैजसो पालिकाहरुले आज नीति तथा कार्यक्रम र बजेट ल्याउन लागेका हुन् । केन्द्र सरकारले जेठ १५ गते र प्रदेश सरकारले असार १ गते बजेट ल्याएका थिए । यसैको आधारमा स्थानीय तहहरुले बजेट ल्याउने गर्दछन् ।

    अन्तरसरकारी वित्त हस्तान्तरण ऐनअनुसार स्थानीय तहले असार १० सम्म बजेट पेश गरिसक्नुपर्छ । यो व्यवस्था स्मरण गराउँदै संघीय सरकारले स्थानीय तहलाई समयमै बजेट ल्याउन ध्यानाकर्षण गरएको थियो । समयमै बजेट नआएमा संघीय सरकारबाट सम्बन्धित स्थानीयत तहमा जाने अनुदान र राजश्व बाँडफाँटमा समस्या पर्ने चेतावनी अर्थ मन्त्रालयले दिएको छ ।

    यसअघि कतिपय पालिकाहरुले निर्धारित समयमा बजेट पारित गर्न नसक्दा वित्तीय अनुशासन कायम नभएको र पालिकाहरुले खर्च गर्न पनि नसकेको अवस्था थियो । फेरि पनि त्यस्तै अवस्था नआओस् भनेर संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले अर्थमन्त्रालयको पत्रअनुसार असार १० बजेभित्रै स्थानीय तहले आफ्नो गाउँ तथा नगरसभामा बजेट पेश गरिसक्न निर्देशन दिएको थियो ।

  • नारायणीमा बढ्यो जल सतह, सतर्कता अपनाउन आग्रह

    नारायणीमा बढ्यो जल सतह, सतर्कता अपनाउन आग्रह

    काठमाडौं । नारायणी र यसका साना सहायक नदीहरुमा जल सतह उल्लेख्य बढ्ने सम्भावना रहेकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । नारायणी र यसका साना सहायक नदीहरुमा जलसतह बढेर सतर्कता तह आसपास पुग्नसक्ने पूर्वानुमान महाशाखाको छ । त्यसैले नदी तटीय क्षेत्रका कृयाकलाप नगर्न वा गर्नुपर्ने भएमा उच्च सतर्कता अपनाउन महाशाखाले सूचना जारी गर्दै आग्रह गरेको हो ।

    महाशाखाले जारी गरेको सूचनामा लेखिए अनुसार नारायणी जलाधार क्षेत्रका बुढीगण्डकी, मर्स्याङ्दी, सेती र कालीगण्डकीमा आज र भोलि जलसतह उल्लेख्य बढेर मध्यम जोखिमको अवस्थासम्म पुग्ने पूर्वानुमान छ । जलसतह बढ्दा कास्की र लमजुङमा आज उच्च जोखिमको अवस्थासम्म पुग्ने महाशाखाले जनाएको छ । कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबईमा जल सतह उल्लेख्य बढ्ने छ ।

  • लगातारको हारपछि फिफा वरियतामा नेपाल ८ स्थान तल खस्कियो

    लगातारको हारपछि फिफा वरियतामा नेपाल ८ स्थान तल खस्कियो

    काठमाडौं । नेपाल फिफा वरीयतामा आठ स्थान खस्किएको छ । विश्व फुटबल महासंघ (फिफा)ले बिहीबार सार्वजनिक गरेको वरीयतामा नेपाल आठ स्थान खस्किँदै एक सय ७६औं स्थानमा पुगेको हो । यसअघि नेपाल एक सय ६८औं स्थानमा थियो । नेपाल हालै कुवेतमा भएको एएफसी एसियन कप छनोटको तेस्रो चरणको खेलमा पराजित भएपछि वरीयता खस्किएको हो । समूह ‘ए’ मा रहेको नेपालले सबै खेलमा हार खेपेको थियो । नेपाल जोर्डनसँग २–०, कुवेतसँग ४–१ र इन्डोनेसियासँग ७–० गोलले पराजित भएको थियो ।

    नेपाल दक्षिण एसियाली राष्ट्रमा भने तेस्रो वरीयतामा छ । नेपालमाथि भारत र माल्दिभ्स रहेका छन् । भारत एक सय चारौं र माल्दिभ्स एक सय ५६औं स्थानमा छ । दक्षिण एसियामा भुटान एक सय ८६औं, बंगलादेश एक सय ९२औं, पाकिस्तान एक सय ९६औं र श्रीलंका दुई सय सातौं स्थानमा छ । विश्व वरीयताको शीर्षस्थानमा ब्राजिल छ । बेल्जियम दोस्रो, अर्जेन्टिना तेस्रो, फ्रान्स चौथो र इङ्ल्यान्ड पाँचौं स्थानमा छ । शीर्ष १०मा क्रमशः स्पेन, इटाली, नेदरल्यान्ड्स, पोर्चुगल र डेनमार्क रहेका छन् ।

  • चीनका लागि नेपाली राजदूत बने श्रेष्ठ

    चीनका लागि नेपाली राजदूत बने श्रेष्ठ

    काठमाडौं । जनवादी गणतन्त्र चीनको आवासीय राजदूतमा विष्णुपुकार श्रेष्ठ नियुक्त भएका छन्। बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले श्रेष्ठलाई चीनको राजदूत नियुक्त गरेकी राष्ट्रपतिको कार्यालयले उल्लेख गरेको छ । राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार नेपालको संविधानको धारा २८२ बमोजिम नेपाल सरकार मन्त्रिपरिषदको सिफारिसमा श्रेष्ठलाई चीनको राजदूत नियुक्त गरिएको हो।

  • बौद्धबाट प्रहरीले ठूलो मात्रामा गर्यो लागुऔषध बरामद, चार पक्राउ

    बौद्धबाट प्रहरीले ठूलो मात्रामा गर्यो लागुऔषध बरामद, चार पक्राउ

    काठमाडौं । प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले ४.९ किलो लागूऔषध हेरोइनसहित ४ जनालाई पक्राउ गरेको छ । विगतमा केही मानिसहरुलाई पटक(पटक पक्राउ गरेको अनुभवको आधारमा शंकास्पदको पहिचान गरेर अनुसन्धान गर्ने क्रममा झण्डै ५ किलो लागूऔषध हेरोइन बरामद भएको ब्यूरोका एसपी जीवन श्रेष्ठले बताए । उनका अनुसार पक्राउ पर्नेमा तान्जानियन नागरिक अब्दल्ला बुल्लिकक, भारतीय नागरिक मुनिम सिंह, विक्रमजित सिंह र वीरगञ्ज घर भएका नेपाली नागरिक कोबिक्की रौनियार छन् । श्रेष्ठका अनुसार तान्जानियन नागरिकको गतिविधि शंकास्पद लागेपछि ब्यूरोबाट खटिएको टोलीले उनलाई निगरानी गर्दै बौद्धस्थित एक होटलसम्म पुगेको थियो ।

    त्यसक्रममा उनले ल्याएको सुटेकसभित्र झण्डै ५ किलो लागूऔषध हेरोइन बरामद भएको हो । हेरोइन लुकाउनलाई उनले सुटकेसभित्र पिँधको भागमा रहेको फल्सबटममा लागूऔषध लुकाएका थिए । पक्राउ परेका भारतीय नागरिक चाहिँ उनीसँग लागूऔषध लिन आएका थिए । ताञ्जिनियन नागकिरले दक्षिण अफ्रिकाबाट दुबई हुँदै काठमाडौंमा लागूऔषध ल्याएको खुलेको छ । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ब्यूरोले जेठ अन्तिम साता पनि विशेष अपरेशन चलाएर ५१ किलो हेरोइनसहित ७ जना महिलालाई पक्राउ गरेको थियो ।

  • नेपाल वायुसेवा निगमको महाप्रबन्धकमा दीपु ज्वारचन नियुक्त

    नेपाल वायुसेवा निगमको महाप्रबन्धकमा दीपु ज्वारचन नियुक्त

    काठमाडौं । नेपाल वायु सेवा निगमको निमित्त महाप्रबन्धकमा वरिष्ठ क्याप्टेन दीपु ज्वारचन नियुक्त भएका छन् । पर्यटनमन्त्री प्रेमबहादुर आलेको प्रस्तावमा मन्त्रिपरिषद् बैठकबाट ज्वारचनलाई महाप्रबन्धक नियुक्त गरिएको हो।

    कार्यकारी अध्यक्ष युवराज अधिकारी निलम्बनमा परेपछि उक्त पद रिक्त रहेको थियो ।

    यसअघि निगमको अप्रेसन निर्देशक रहेका ज्वारचनले बरिष्ठ क्याप्टेनको हैसियतमा न्यूनतम उडान गर्ने गरी जिम्मेवारी पाएका हुन् ।

    सरकारले निगमका प्रबन्ध निर्देशक डिमप्रसाद पौडेललाई हटाइसकेको छ भने कार्यकारी अध्यक्ष अधिकारी निलम्बनमा परेका छन् ।

    पछिल्लो समय प्रशिक्षक पाइलटको जिम्मेवारीमा रहेका ज्वारचन कोभिड महामारीको बेला अत्यवाश्यक स्वास्थ्य सामग्री ढुवानी गर्न अग्रपङ्तीमा खटिएका थिए ।

    आलेले निगमभित्र रहेका १०औं तहका चारजना हुँदाहुँदै नवौं तहका ज्वारचनलाई महाप्रवन्धक बनाएका छन्। यो निर्णयले निगमभित्र असन्तुष्टी चुलिएको छ।

    ज्वारचनभन्दा माथि कमर्सियल डाइरेक्टर जनक कालाखेती, क्ववालिटी एस्योरेन्स डाइरेक्टर विक्रम के.सी., इन्जिनियरिङ मेन्टिनेन्स डाइरेक्टर प्रज्वल श्रेष्ठ ,अपरेशन डाइरेक्टर रवीन्द्र कुमार शेरचन छन्।

  • नेपाली शेयर बजार निरन्तर घट्दो क्रममा,लगानीकर्तालाई विश्वस्त आधार भेट्नै मुस्किल

    नेपाली शेयर बजार निरन्तर घट्दो क्रममा,लगानीकर्तालाई विश्वस्त आधार भेट्नै मुस्किल

    काठमाडौं । नेपाली शेयर बजार निरन्तर घट्दो क्रममा रहेको छ । बजेटपछि लगातार नेप्से परिसूचक घट्न थालेपछि लगानीकर्तामा निराशा छाएको छ।

    लगानीकर्ता अन्योलमा देखिएका छन् । साना लगानीकर्ता बजारमा त्यति खुल्ल सकेका छैनन्।

    बजार निरन्तर घट्न थालेपछि लगानी नै डुब्ने चिन्तामा उनीहरु रहेको देखिन्छ। सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट ल्याएपछि बढ्ने आशा गरेको शेयर बजार लगातार ओरालो लागेको लाग्दै आएको छ ।

    लगानीकर्ताले बजारप्रति विश्वस्त हुने आधार नभेट्दा बजार ओरालो गतिमा नै देखिएको छ।

    अहिले उनीहरू मौद्रिक नीतिको पर्खाइमा देखिन्छन्। मौद्रिक नीतिमार्फत पनि शेयर धितोमा झनै कडाइ गर्ने संकेत देखिएकाले विश्वस्त हुने आधार भने भेटिएको छैन् ।

    साताको कारोबारको पाँचौदिन विहीवार नेप्से ४५.२५ अंकले घटेर १८४८.२८ विन्दुमा आइपुगेको छ ।

    यसदिन २३७ कम्पनीको १ अर्ब ४९ करोड ९७ लाख ९ हजार ६३४ रुपैयाँ बराबरको ५० लाख ८ हजार ७७१ कित्ता शेयर किनबेच भएको छ ।

    आज कारोबारमा आएका १३ उपसमूहहरूमध्ये सबैको मूल्य घटेको छ। दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज आँधिखोला लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ९६०.७० रुपैयाँ पुगेको छ ।

    सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ६०५.३० रुपैयाँ पुगेको छ ।

    त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कुमारी बैंक लिमिटेडको भएको छ । यस कम्पनीको आज ९ करोड ५३ लाख भन्दा बढीको कारोबार भएको छ ।

    नेप्सेका अनुसार शिवश्री हाइड्रोपावर र लिवर्टी इनर्जी कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले घटेको छ ।

  • अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च विन्दुमा, झनै कमजोर बन्दै नेपाली मुद्रा

    अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च विन्दुमा, झनै कमजोर बन्दै नेपाली मुद्रा

    काठमाडौं । अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ ।

    नेपाल राष्ट्र बैंकले विहीवारका लागि सार्वजनिक गरेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १२५ रुपैयाँ १२ पैसा र बिक्री दर १२५ रुपैयाँ ७२ पैसा निर्धारण गरेको छ ।

    पछिल्ला दिनमा नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको भाउ लगातार बढेर हरेक दिन नयाँ उचाइमा पुगिरहेको छ । बुधवार १ सय २५ रुपैयाँ २२ पैसा थियो ।

    विश्वबजारमा अमेरिकी डलरप्रतिको आकर्षण बढेसँगै नेरु कमजोर हुन थालेको हो ।

    केही महिनायता अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा कमजोर बन्दै गएको छ । विश्वबजारमा अमेरिकी डलरप्रतिको आकर्षण बढेसँगै नेरु कमजोर हुन थालेको हो ।

    डलरको भाउ अझै माथि जाने संकेतहरु देखिएको छ। पछिल्लो समय अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ निरन्तर कमजोर भइरहेको छ ।

    विहीवारका लागि युरो एकको खरिद दर १३१रुपैयाँ ६३ पैसा र बिक्री दर १३२ रुपैयाँ २६ पैसा कायम गरिएको छ। पाउन्ड स्टर्लिङ एकको खरिद दर १५३ रुपैयाँ २८ पैसा र बिक्री दर १५४ रुपैयाँ ०१ पैसा छ।

    यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १२९ रुपैयाँ ६६ पैसा र बिक्री दर १३० रुपैयाँ २८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ

    अस्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ३१ पैसा र बिक्री दर ८६ रुपैयाँ ७२ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ३९ पैसा रहेको छ भने बिक्री दर ९६ रुपैयाँ ८५ पैसा छ।

    जापानी येन १० को खरिद दर ९ रुपैयाँ १९पैसा र बिक्री दर ९ रुपैयाँ २४ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ६३पैसा र बिक्री दर १८ रुपैयाँ ३२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

    यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३३ रुपैयाँ ३५ पैसा र बिक्री दर ३३ रुपैयाँ ५१ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३४ रुपैयाँ २५ पैसा र बिक्री दर ३४ रुपैयाँ ४२ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाामा उल्लेख छ।

    मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ४० पैसा छ भने बिक्री दर २८ रुपैयाँ ५४ पैसा रहेको छ। भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ।

  • पुनर्बीमा कम्पनीसहित २२ बीमा कम्पनीलाई कारवाही, कुन-कुन परे ?

    पुनर्बीमा कम्पनीसहित २२ बीमा कम्पनीलाई कारवाही, कुन-कुन परे ?

    काठमाडौं । बीमा समितिले नेपाल पुनर्बीमा कम्पनीसहित २२ वटा कम्पनीहरुलाई कारवाही गरेको छ ।

    समितिले समयमा लेखापरिक्षण नबुझाउने जीवन, निर्जीवन र पुनर्बीमा गरी कूल २२ वटा कम्पनीलाई कारवाही गरेको हो ।

    कारवाही पर्नेमा अधिकांश जीवन बीमा कम्पनीहरु रहेका छन् । जसमा लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल), एशियन लाईफ इन्स्योरेन्स कम्पनी, सूर्या लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स, रिलायन्स लाइफ इन्स्योरेन्स रहेका छन् ।

    त्यस्तै ज्योति लाइफ इन्स्योरेन्स, सिटिजन लाइफ इन्स्योरेन्स, प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्स रहेका छन् ।

    त्यस्तै, राष्ट्रिय बीमा संस्थान, नेशनल लाईफ इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स, आईएमई लाइफ इन्स्योरेन्स, यूनियन लाइफ इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, सानिमा लाइफ इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी रहेका छन् ।

    नेपाल पुनर्बीमा कम्पनी, दि ओरियन्टल इन्स्योरेन्स, नेशनल इन्स्योरेन्स कम्पनी पनि कारवाहीमा परेको छ । कारवाहीको दायरामा परेका २२ वटा कम्पनीमध्ये १० वटालाई १० हजार रुपैयाँ र १२ वटालाई १० हजार ५ सय रुपैयाँ नगद जरिवाना गरेको छ ।

    समितिले बीमा ऐन, २०४९ र बीमा नियमावली, २०४९ बमोजिम तोकिएको समयसिमाभित्र बीमा समितिमा आर्थिक वर्ष २०७६/ ०७७ मा आफूले गरेको बीमा व्यवसायको हिसाव कितावको लेखापरीक्षण प्रतिवेदन नबुझाउने बीमा कम्पनीहरू प्रत्येकलाई दश हजारका दरले जरीवाना गर्ने निर्णय समितिले गरेको छ ।

    बीमा समितिले आज प्रकाशित गरेको बक्तव्यमा भनिएको छ, ‘बीमा ऐन, २०४९ को दफा २५ बमोजिम बीमा कम्पनीहरूले आफूले गरेका बीमा व्यवसायको हिसाव कितावको लेखापरीक्षण मान्यताप्राप्त लेखापरीक्षकबाट गराई सोको प्रतिवेदन प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले १० महिनाभित्र समितिसमक्ष पेश गर्नुपर्ने अनिवार्य कानूनी व्यवस्थाको जानी–जानी उल्लङ्घन गरेकाले बीमा ऐन, २०४९ को दफा ३६ को उपदफा (१) बमोजिम ती कम्पनीहरूलाई जरिवाना गरिएको हो।’

    त्यस्तै, अघिल्लो वर्ष सोही कारणले १० हजार रुपैयाँ जरिवाना गरिएका कम्पनीहरुले आर्थिक वर्ष २०७७//७८ मा समेत पुनः उल्लंघन गरेकोले थप ५०० रुपैयाँ जरिवाना गरिएको समितिले जानकारी गराएको छ ।

  • विनासकारी भूकम्पछि तालिवानले माग्यो अन्तर्राष्ट्रिय सहयोग, पश्चिमा देशको प्रतिक्रिया के ?

    विनासकारी भूकम्पछि तालिवानले माग्यो अन्तर्राष्ट्रिय सहयोग, पश्चिमा देशको प्रतिक्रिया के ?

    काबुल । विनासकारी भूकम्पका कारण हजारौं मानिसको ज्यान गएपछि अफगानिस्तानमा तालिबानले अन्तर्राष्ट्रिय सहायताको लागि आग्रह गरेको छ । काबुलस्थित युनिसेफ कार्यालयका अनुसार तालिवानले अन्तर्राष्ट्रिय समुदायसँग सहयोगको आह्वान गरेको हो । अफगानिस्तान केही समययता खाद्य संकटसँग जुधिरहेको मुलुक हो । जहाँ प्राकृतिक प्रकोपको मार थपिएसँगै ठूलोृ संकट उत्पन्न भएको हो । यूकेका अफगानिस्तान मामिला सम्बन्धी विशेष प्रतिनिधि नाइजल केइसीले आफ्नो देश संयुक्त राष्ट्रसङ्घसँग सम्पर्कमा रहेको र अन्तर्राष्ट्रिय प्रयासमा सघाउन तयार रहेकोू बताएका छन्।

    ‘हिजो पाक्तिका प्रान्तका चार जिल्लामा शक्तिशाली भूकम्प गयो। भूकम्पका कारण हाम्रा सयौँ नागरिकको ज्यान जानुका साथै दर्जनौँ घरहरू ध्वस्त भएका छन्,’ सरकारका प्रवक्ता बिलाल करिमीले ट्विटरमा लेखेका छन्। ‘उक्त क्षेत्रमा थप विपद् आउन नदिन तत्काल उद्धार टोली पठाउन हामी दाताहरूलाई आग्रह गर्छौँ,’ उनले भनेका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार भूकम्पबाट कम्तिमा १ हजार मानिसको ज्यान गएको पुष्टी भइसकेको छ । उद्धारको काम अझै पनि जारी छ । यहा मंगलबार राती मानिसहरु सुतिरहेको समयमा भूकम्प आएको थियो ।

  • कास्की र गोरखामा छुट्टाछुट्टै भूकम्पको धक्का

    कास्की र गोरखामा छुट्टाछुट्टै भूकम्पको धक्का

    पोखरा । बिहीबार बिहान कास्की र गोरखामा छुट्टाछुट्टै समय भूकम्पको धक्का महसुश भएको छ । नेपालका छिमेकी मुलुक अफगानिस्तान र पाकिस्तानमा ठूलो भूकम्पले जनजीवन प्रभावित पारेको समयमा नेपालमा समेत भूकम्पको धक्का महसुस गरिएको हो । बिहान ७ः२२ बजे गोरखाको आरूघाट गाउँपालिकास्थित थुमी आसपास केन्द्र रहेर भूकम्प गएको हो।

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गोरखामा ४.१ म्याग्निच्युडको भूकम्प गएको हो। बिहान कास्कीमा पनि भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार कास्कीको लुम्ले र धम्पुसबीचमा केन्द्र बनाएर ४.९ म्याग्निच्युडको भूकम्प गएको हो । बिहान ३ः५७ बजे भूकम्पको धक्का महसुस भएको थियो ।

  • काठमाडौंमा १ साउनबाट अनिवार्य घरमै फोहोर कुहिने र नकुहिने गरी छुट्याउनु पर्ने, नत्र ५ सय जरिवाना

    काठमाडौंमा १ साउनबाट अनिवार्य घरमै फोहोर कुहिने र नकुहिने गरी छुट्याउनु पर्ने, नत्र ५ सय जरिवाना

    काठमाडौं । काठमाडौं महानगरपालिकामा १ साउनबाट कुहिने र नकुहिने फोहोर अनिवार्य रुपमा घरमै छुट्याउनुपर्ने भएको छ । महानगरपालिकाकाले एक सूचना प्रकाशित गर्दै यस्तो जानकारी गराएको हो । कुहिने र नकुहिने फोहोर छुट्याउने जिम्मेवारी उत्पादनकर्ता कै भएकोले कुहिने र नकुहिने फोहोरका लागि बेग्लाबेग्लै दिन फोहोर संकलन गर्न गाडी पठाइने महानगरले जनाएको छ।

    स्रोत (घरमा) नै फोहोर कुहिने र नकुहिने नछुट्याए त्यस्ता फोहोर नउठाउने पनि महानगरले बताएको छ। कुहिने र नकुहिने फोहोर एकै ठाउँमा राखेमा प्रत्येक पटक पाँच सयका दरले जरिवाना हुने पनि महानगरको वातावरण तथा कृषि विभागले जानकारी दिएको छ।

  • एन्फाले अल्मुताइरीले बाहिर राखेका खेलाडीलाई टीममा फर्काउने

    एन्फाले अल्मुताइरीले बाहिर राखेका खेलाडीलाई टीममा फर्काउने

    काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले राष्ट्रिय टिमबाट बाहिर राखेका सबै खेलाडीलाई ससम्मान राष्ट्रिय टिममा फिर्ता ल्याउने निर्णय गरेको छ । नवनिर्वाचित कार्यसमितिको बुधबार बसेको पहिलो बैठकले राष्ट्रिय टिमबाट बाहिर परेका सबै खेलाडीलाई ससम्मान फिर्ता बोलाउने निर्णय गरेको हो । मुख्य प्रशिक्षक अल्मुताइरीले आफ्नो अनुमतिविना बन्द प्रशिक्षण छाडेको भन्दै रोहित चन्द, अनन्त तामाङ, अञ्जन विष्ट, विशाल राईसहित १० खेलाडीलाई राष्ट्रिय टोलीबाट निकालेका थिए ।

    एन्फा कार्यसमितिको बैठकले मुख्य प्रशिक्षक अल्मुताइरीका विषयमा छानबिन गर्न गठित समितिको प्रतिवेदनलाई ध्यानमा राख्दै अन्तर्राष्ट्रिय सम्बन्ध नबिग्रिने गरी सम्बन्धित सबै पक्षसँग छलफल र समन्वय गर्न महासचिव किरण राईलाई जिम्मेवारी दिने निर्णय गरेको छ । अध्यक्षमा निर्वाचित भएलगत्तै नेम्वाङले खेलाडी प्रशिक्षक विवादबारे निर्णय गर्ने बताएका थिए ।

  • आजबाट बालबालिकालाई खोप दिइने

    आजबाट बालबालिकालाई खोप दिइने

    काठमाडौं । आजदेखि ५ देखि ११ वर्षसम्मका बालबालिकालाई कोरोना विरुद्धको पहिलो मात्रा खोप दिइने भएको छ । ंबालबालिकाहरुलाई आफू अध्ययनरत विद्यालयमै खोप लगाउने व्यवस्था मिलाइएको छ । बालबालिकाहरुलाई फाइजर–बायोएनटेक खोप दिइने छ । यो खोप बालबालिकालाई ०.२ एमएलका दरले दुई डोज लगाउनुपर्छ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बसन्त अधिकारीले यो खोपको प्रभावकारिता ९१ प्रतिशत रहेको भन्दै ढुक्क भएर लगाउन आग्रह गरे ।

    पहिलो चरणमा काठमाडौं उपत्यकासहित २७ जिल्लामा असार ९ देखि १५ गतेसम्म पहिलो मात्रा खोप दिइनेछ भने दोस्रो मात्रा आगामी साउन २ देखि ८ गतेसम्म दिइने छ । बाँकी जिल्लामा भने भदौ ५ गतेदेखि ११ गतेसम्म पहिलो मात्रा र भदौ २७ देखि असोज १ गतेसम्म दोस्रो मात्रा खोप दिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तयारी छ ।

  • काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम पारित

    काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम पारित

    काठमाडौं । काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको छ। आइतबार महानगरपालिकाले राष्ट्रिय सभा गृहमा सार्वजनिक गरेको आर्थिक वर्ष २०७९\८० को नीति तथा कार्यक्रम बुधबार सर्वसम्मतले पारित भएको हो । काठमाडौं महानगरका मेयर बालेन शाहले काठमाडौंको स‌स्कृति र सम्पदा संरक्षणलाई विशेष प्राथमिकता दिँदै नीति तथा कार्यक्रम सार्वजनिक गरेका थिए। ‘सांस्कृतिक सहर समृद्ध नगर’ को मूल नारा बोकी महानगरको आर्थिक, सामाजिक, सांस्कृतिक सुधार एवं विकाससँगै पर्यावरणीय सन्तुलन कायम राख्दै महानगरलाई हराभरा बनाउने नीति तथा कार्यक्रममा उल्लेख छ।

    मेयर शाहले भाषा, संस्कृति तथा सम्पदा संरक्षण र प्रवर्द्धनसँगै भौतिक पूर्वाधार विकास, विद्युतीय शासनमार्फत् सुशासन प्रवर्द्धन, उद्यमशीलता, कोभिड-१९ रोकथाम, नियन्त्रण तथा उपचार, फोहोरमैला व्यवस्थापनलगायत लैंगिक समानता र सामाजिक समावेशीकरणलाई नीति तथा कार्यक्रममा जोड दिएका छन्। महानगरभित्र सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुहरूको विश्रामका लागि बस स्टपमा फल्चा निर्माण गर्ने कार्यक्रममा छ। उनले डबलीहरू पनि पुनर्स्थापना गर्ने कार्यक्रम समेत समेटेका छन् ।

  • सेयर लगानीकर्ताको आन्दोलनमा बालेनले दिए ऐकिवद्धता

    सेयर लगानीकर्ताको आन्दोलनमा बालेनले दिए ऐकिवद्धता

    काठमाडौं । सेयर लगानीकर्ताको आन्दोलनलाई सर्मथन जनाउन काठमाडौं महानगरपालिकाका मेयर बालेन (बालेन्द्र) साह आन्दोलन स्थल पुगेका छन् । मेयर साहले बुधबार अनसनरत तिलक कोइरालालाई भेटेर आफ्नो तर्फबाट आन्दोलनमा समर्थन रहेको बताएका हुन् । साहले अनसनकर्ता कोइरालालाई लगानीकर्ताको माग सम्बोधन गर्न आफूले सक्ने पहल गर्ने बाचा पनि गरे ।

    ‘हाम्रो तर्फबाट पूर्ण समर्थन छ,’ मेयर शाहले भने, ‘के गर्न सक्छौं आफ्नोतर्फबाट पहल गर्छौं ।’ मेयर साहले अर्थतन्त्रको प्रभाव हेरेर मात्रै नीति नियम तर्जुमा गर्नुपर्नेमा जोड दिए । नयाँ नियम ल्याउँदा त्यसले अर्थतन्त्रमा कस्तो प्रभाव पर्छ भन्ने कुरा पनि विचार गर्नुपर्ने उनले बताए । अहिलेको लगानीकर्ताको आन्दोलनलाई राष्ट्र बैंक तथा अर्थमन्त्रालयले वार्ताकै माध्यमबाट निकास निकाल्नु पर्नेमा उनको जोड थियो ।

  • न्यायाधीश राजकुमार कोइरालाको लेनदेनको अडियो सार्वजनिक भएपछि छानविन गर्न बन्यो समिति

    न्यायाधीश राजकुमार कोइरालाको लेनदेनको अडियो सार्वजनिक भएपछि छानविन गर्न बन्यो समिति

    काठमाडौं । न्यायपरिषदले काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालामाथि छानबिन गर्न समिति गठन गरेको छ । न्यायपरिषदका सदस्य एवं वरिष्ठ अधिवक्ता रामप्रसाद श्रेष्ठको अध्यक्षतामा गठित समितिमा उच्च अदालत पाटनका न्यायाधीश महेश पुडासैनी र महेश शर्मा पौडेल सदस्य रहनेछन् ।
    समितिलाई ४५ दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ ।

    न्यायाधीश कोइरालाले अधिवक्ता रुद्र पोखरेलसँग घुस लेनदेनको विषयमा कुराकानी गरेको अडियो सार्वजनिक भएपछि त्यस विषयमा छलफल गर्न बुधबार न्याय परिषदको बैठक बसेको थियो । बैठकले न्यायाधीश कोइरालालाई न्याय सम्पादनमा पनि रोक लगाएको छ । सिभिल वचत तथा ऋण सहकारी संस्थाका तत्कालिन अध्यक्ष इच्छाराज तामाङको मुद्दाको विषयमा अधिवक्ता पोखरेल र न्यायाधीश कोइरालाबीच घुस लेनदेनको विषयमा भएको संवाद अडियो सार्वजनिक भएको छ ।

  • प्रधानमन्त्रीले गठबन्धन बैठकमा नागरिकता विधेयक अगाडी बढाउन राखे प्रस्ताव

    प्रधानमन्त्रीले गठबन्धन बैठकमा नागरिकता विधेयक अगाडी बढाउन राखे प्रस्ताव

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा विचाराधीन नागरिकता विधेयक अघि बढाउन सत्तारुढ गठबन्धनमा प्रस्ताव गरेका छन् । बुधबार बालुवाटारमा बसेको बैठकमा नागरिकता विधेयक र शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने विषयमा छलफल भएको बताइएको छ । सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार प्रधानमन्त्रीले नागरिकता विधेयक अगाडि बढाउने प्रस्ताव राखेका छन् । बाँकी प्रक्रिया पूरा गरेर चाँडै पेश हुने उनले जानकारी गराए ।

    तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रस्ताव अनुसार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले नेपाली पुरुषसँग बिहे गर्ने विदेशी महिलालाई सुरुमा राजनीतिक अधिकार नपाउने गरी आवासीय अनुमति पत्र दिने र ७ वर्षपछि मात्र नागरिकता लिने प्रस्ताव गरेको थियो । त्यसबेला नेपाली कांग्रेस र मधेस केन्द्रित दलहरुले हालकै व्यवस्था जस्तो तत्काल नागरिकता दिनुपर्ने मत राखेका थिए ।

    तर बहुमतका आधारमा त्यतिबेला ७ वर्षे प्रावधान राखेर नगरिकता विधेयकको प्रतिवेदन राज्य व्यवस्था समितिले टुंग्याएर प्रतिनिधिसभा बैठकमा पेश गरिसकेको छ । नेकपा विभाजित भएर अहिले एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी बनेको छ । माओवादी केन्द्र र एकीकृत समाजवादी, कांग्रेस नेतृत्वको सरकारमा छ ।

  • अफगानिस्तानमा भूकम्पबाट ठूलो मानवीय क्षति, १ हजार भन्दा बढीको मृत्यु भएको पुष्टी

    अफगानिस्तानमा भूकम्पबाट ठूलो मानवीय क्षति, १ हजार भन्दा बढीको मृत्यु भएको पुष्टी

    काठमाडौं । अफगानिस्तानमा बुधबार राती आएको भूकम्पमा ठूलो हताहती भएको छ । अधिकारीहरुका अनुसार १ हजार भन्दा बढी मानिसको मृतयु भएको पुष्टी भइसकेको छ । तालिवानका नेता हिब्तुल्लाह अखुन्दजादले अहिलेसम्म १ हजार ५०० बढी घाइतेलाई उपचारका लागि अस्पतालहरुमा भर्ना गरिएको जानकारी गराएका छन् । उद्धारकर्ताहरुले भत्किएका घरमा पुरिएकाहरुको खोजी जारी राखेका छन् । विकट पहाडी क्षेत्रमा भएको क्षतिको विवरण आउन अझै बाँकी रहेकाले मृतकको संख्या अझै बढ्ने अनुमान गरिएको छ ।

    भूकम्पबाट सबैभन्दा बढी प्रभावित पूर्वी प्रान्त पक्तिकामा ठाउँ ठाँउमा पहिरो गएका र भत्किएका घरहरुको तस्वीर र दृष्यहरु आइरहेका छन् । अफगानिस्तानको खोस्त सहरभन्दा करिब ४४ किलोमिटर टाढा केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युटको भूकम्प गएको थियो । त्यसको धक्का पाकिस्तान र भारतमा समेत महसुस भएको थियो । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार यो पछिल्लो २ दशकमा अफगानिस्तानमा गएको खतरनाक भूकम्प हो । तालिवानले शासन गरिरहेको अफगानिस्तानमा खाद्य संकट छ । यो भूकम्पपछि थप संकटको खतरा बढेको छ ।

  • रामायण सर्किटमा हिँडेको रेल बिहीबार जनकपुर आउँदै

    रामायण सर्किटमा हिँडेको रेल बिहीबार जनकपुर आउँदै

    काठमाडौं । नेपाल र भारतको संयुक्त पर्यटकीय अभियान रामायण सर्किटमा अब नियमित रेल चल्ने भएको छ । भारतीय रेल बिहीबार नेपालको धनुषाको जनकपुरधाम आउने भएको हो । ‘भारत गौरव पर्यटक रेल’ नाम दिइएको रेल भारतीय पर्यटक बोकेर मंगलबार साँझ भारतीय समय अनुसार साँझ साढे ५ बजे नयाँ दिल्लीको सफदरजंग रेल्वे स्टेशनबाट प्रस्थान गरेको छ । सो रेल भारतको अयोध्या, नन्दीग्राम हुँदै बिहीबार जनकपुरधाम आउने छ ।

    जनकपुरधामबाट सीतामढी, बनारस, प्रयागराज, चित्रकुट, पञ्चवटी, नसिका, हम्पी, रामेश्वरम, काँचिपुरम, भद्राचलम हुँदै उक्त रेल पुनः दिल्ली फर्किने छ । भारतीय राजदूतावासको समन्वयमा ‘भारत गौरव पर्यटक रेल’मा करिब ५०० भारतीय पर्यटक जनकपुर आउने छन् । ती पर्यटकले जनकपुरधामका विभिन्न धार्मिकस्थलको भ्रमण गर्ने कार्यक्रम छ ।

    भारतीय राजदूतावासका अनुसार सो रेलको प्रत्येक डिब्बामा भारतीय स्मारक, नृत्य, परिकार, पोशाक, पर्व, वनस्पति तथा जीवजन्तु, योग, लोककलाजस्ता भारतको कला, संस्कृति, परम्परा, सम्पदालगायत झल्को देख्न पाइन्छ ।

  • डलर भन्दै कागजका टुक्रा दिएर ठगी गर्ने एक जना काठमाडौंमा पक्राउ

    काठमाडौं । अमेरिकी डलर भन्दै कागजका टुक्रा दिएर ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी वृत्त कालिमाटीको टोलीले जेठ १७ गते काठमाडौं महानगरपालिका–१४ कलङ्कीमा सिन्धुपाल्चोक सुनकोशीका ६२ वर्षीय एक व्यक्तिलाई ठगी गर्ने सिन्धुपाल्चोक बाह्रबिसेका ३३ वर्षीय कुमार श्रेष्ठलाई पक्राउ गरेर मंगलबार सार्वजनिक गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार आमा बिरामी भएको बहाना बनाइ डलर भनी कागजको टुक्रा दिएर ठगी गर्ने श्रेष्ठलाई कलङ्कीबाट पक्राउ गरिएको हो।

    ‘श्रेष्ठले पीडितसँग डलर भन्दै प्लाष्टिकको थैलीमा डलरको साइजमा काटिएका कागजका टुक्रा राखेर ठगी गरेको अनुसन्धानबाट खुलेको छ,’ उनले भने। पक्राउ परेका श्रेष्ठलाई मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद–२१ को २४९ को ठगी गर्न नहुने कसूरमा जिल्ला अदालत काठमाडौंबाट सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रवक्ता मैनालीले बताए। रासस

  • पाकिस्तान र अफगानिस्तानमा भूकम्प, क्षतिको विवरण आउन बाँकी

    पाकिस्तान र अफगानिस्तानमा भूकम्प, क्षतिको विवरण आउन बाँकी

    इश्लामावाद । पाकिस्तान र अफगानिस्तानमा शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)को मापन अनुसार बुधबार बिहान अफगानिस्तान र पाकिस्तानका केही भागमा गएको भूकम्पको तीव्रता ६.१ रेक्टरस्केल मापन गरिएको छ । दक्षिणपूर्वी अफगानिस्तानको खोस्ट सहरबाट करिब ४४ किलोमिटर टाढा रहेको क्षेत्रमा भूकम्प गएको यूएसजीएसले जनाएको छ। भूकम्पको गहिराइ ५१ किलोमिटर छ ।

    भूकम्पले गरेको क्षतिको विवरण सार्वजनिक हुन बाँकी छ । पाकिस्तानी सञ्चारमाध्यमका अनुसार भूकम्प इस्लामबाद र देशका अन्य भागमा महशुस गरिएको थियो । पाकिस्तानको लाहोर, मुल्तान, क्वेटा र अन्य धेरै क्षेत्रमा पनि भूकम्पको धक्का महसुस गरिएको प्राप्त विवरणमा जनाइएको छ । भूकम्प भारतका केही भूभागमा महशुस गरिएको युरोपेली मेडिटेरेनियन सिस्मोलोजिकल सेन्टर (ईएमएससी) उल्लेख गरेको छ ।

  • आन्तरिक उडान नियमित, वार्ता जारी राख्ने सहमती

    आन्तरिक उडान नियमित, वार्ता जारी राख्ने सहमती

    ८ असार, काठमाडौं । बुधबार बाट रोक्ने भनिएको आन्तरिक उडान नियमित भएको छ । बुधबारबाट उडान रोक्ने घोषणा गरेका वायुसेवा कम्पनीले आज ११ बजेपछि सबै उडान नियमित हुने बताएका हुन् । गृह सचिवको संयोजकत्वमा मंगलबार मध्यरातमा प्राधिकरणका पदाधिकारी र वायुसेवा संचालकहरुबीचको वार्तामा उडान नरोकी समस्या समाधानका उपाय खोज्ने सहमती जुटेकोसँगै उडान नियमित हुन लागेको हो ।

    उडान रोकेमा कानून अनुसार कारवाही गर्ने चेतावनी प्राधिकरणले दिएको थियो । मंगलबारको वार्तामा उडान नरोक्ने र मागका बारे छलफलका माध्यमबाट सम्बोधन गर्ने सहमती जुटेको हो । त्यसपछि कम्पनीहरु पछाडी हटेका छन् । सबै कम्पनीहरुले सूचना निकालेर उडान सूचारु हुने जानकारी गराएका छन् । काठमाडौंबाट दैनिक सयौं उडान गर्ने जहाज अब उपत्यका बाहिर राखेर बिहानी उडान गर्नुपर्ने भएको छ ।

  • विश्व बैंकको उपक्षेत्रीय कार्यालय श्रीलंकाबाट नेपालमा सर्यो

    विश्व बैंकको उपक्षेत्रीय कार्यालय श्रीलंकाबाट नेपालमा सर्यो

    काठमाडौं । विश्व बैंकको उपक्षेत्रीय कार्यालय श्रीलंकाबाट नेपालमा सरेको छ । अर्थमन्त्री जनार्दन शर्मा र विश्व बैंक प्रबन्ध निर्देशक मारी अल्का मान्जेस्तुले काठमाडौं दरबारमार्गमा रहने नेपालस्थित कार्यालयको संयूक्त रुपमा उद्घाटन गरे । यो कार्यालयको उद्घाटनपश्चात् श्रीलंकामा अवस्थित उपक्षेत्रीय कार्यालय विधिवत् रुपमा नेपालमा सरेको हो । अब यहीं कार्यालयबाट नेपाल, माल्दिभ्स र श्रीलंकाको कार्य संचालन हुनेछ । नयाँ उपक्षेत्रीय कार्यालयको निर्माण अन्तर्राष्ट्रिय मापदण्डमा आधारित भई सम्पन्न गरेको विश्व बैंकले जनाएको छ ।

    नयाँ उपक्षेत्रीय कार्यालयको उद्घाटन गर्दै अर्थमन्त्री शर्माले नेपालको विकास प्रयासमा विश्व बैंक लामो समयदेखि भरपर्दो साझेदारका रुपमा रहेको बताए । ‘विश्व बैंकले वित्तीय स्रोतलगायत ज्ञान, अनुभव र विश्वव्यापी असल अभ्यास पनि आदान प्रदान गर्दछ । विश्व बैंक अनुभवी र विषय विज्ञले भरिएको संस्थाका रुपमा चिनिँदै आएको छ’ उनले भने ‘त्यसको लाभ नेपालले पनि लिने विश्वास छ ।’ सन् १९६९ मा विश्व बैंकबाट नेपालले पहिलो पटक १७ लाख अमेरिकी डलर बराबरको सहयोग लिएकोमा हाल ३ अर्ब अमेरिकी डलर बराबर पुगेको छ । विश्व बैंकले नेपालका २५ आयोजनाहरुमा सहयोग गरेको छ । विश्व बैंक अन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगमले सन् २००७ देखि नै नेपालमा काम सुरु गरेको हो ।

  • लेवनानका प्रधानमन्त्री र सेनापति शर्माबीच भेटवार्ता

    लेवनानका प्रधानमन्त्री र सेनापति शर्माबीच भेटवार्ता

    काठमाडौं । लेवनानको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्माले लेवनानका प्रधानमन्त्री नाजीव आदमी मिकातीसँग शिष्टाचार भेट गरेका छन् । नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार भेटमा लेवनानको शान्ति स्थापनार्थ नेपाली शान्ति सैनिकको भूमिका, नेपाल र लेवनानबीचको सैनिक सम्बन्ध तथा दुई राष्ट्रबीच रहिआएको पारस्परिक सम्बन्ध एवम् हितका विषयमा छलफल भएको छ।

    लेवनान भ्रमणमा रहनुभएका प्रधानसेनापति शर्माले त्यहाँका रक्षामन्त्री माउरिस स्लिम, सभामुख नाबी बेरी र त्यहाँको आर्मी फोर्सका प्रमुख जोसेफ खलिल औन सँगसमेत शिष्टाचार भेट गरेका छन् । असार ४ गते लेवनान प्रस्थान गरेका प्रधानसेनापति शर्मा लेवनानबाटै असार १३ गते अमेरिका जाने कार्यक्रम छ । अमेरिका भ्रमण सकेर शर्मा असार १९ गते स्वदेश फिर्ता हुनेछन् ।

  • वैदेशिक व्यापार करीव २० खर्ब, उच्च व्यापार घाटाले समस्यामा अर्थतन्त्र

    वैदेशिक व्यापार करीव २० खर्ब, उच्च व्यापार घाटाले समस्यामा अर्थतन्त्र

    काठमाडौं । चालु आर्थिक वर्ष २०७८\७९ को ११ औं महिनासम्म नेपालको वैदेशिक व्यापार करीव २० खर्ब पुगेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार जेठ मसान्तसम्म १९ खर्ब ४९ अर्ब ६ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । यो गतवर्ष यसै अवधिको तुलनामा २९.५ प्रतिशत बढी हो । गत वर्ष ११ महिनामा १५ खर्ब ४ अर्ब रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो । यस अवधिमा १७ खर्ब ६३ अर्ब २२ करोड रुपैयाँको आयात भएको छ । निर्यातः १ खर्ब ८५ अर्ब ८३ करोड रुपैयाँको भएको छ ।

    यसबाट मुलुकको व्यापारघाटा १५ खर्ब ७७ अर्ब रुपैयाँ कायम भएको भन्सार विभागले जानकारी दिएको छ । गत वर्ष यसै अवधिमा व्यापार घाटा १२ खर्ब ६२ अर्ब रुपैयाँको थियो । यो वर्ष १७ खर्ब ६३ अर्बको आयात भएकोमा गत वर्षको यसै अवधिको तुलनामा २७.५ प्रतिशत वृद्धि भएको छ । गत आवको ११ महिनामा १३ खर्ब ८३ अर्ब रुपैयाँको आयात भएको थियो । निर्यातको वृद्धिदर भने ५३.३ प्रतिशत रहेको छ ।

    गत वर्षको यसै अवधिमा निर्यात व्यापार १ खर्ब २१ अर्ब रुपैयाँ रहेको छ । यस वर्ष वैदेशिक व्यापारमा आयातको हिस्सा ९०.४७ प्रतिशत हुँदा निर्यात ९.५३ प्रतिशत रहेको छ । ११औं महिनासम्म सबैभन्दा धेरै पेट्रोलियम पदार्थको आयात भएको छ । यसका लागि मुलुकको ३ खर्ब ४० अर्ब रुपैयाँ विदेशिएको छ ।

    फलाम तथा स्टिलको आयातमा १ खर्ब ५३ अर्ब रुपैयाँ बाहिरिएको छ । यस्ता वस्तुको निर्यातबाट भने मात्र २ अर्ब ७३ करोड रुपैयाँ प्राप्त भएको छ । १ खर्ब १३ अर्बको विद्युतीय सामग्रीको आयात हुँदा ९३ अर्ब रुपैयाँ बराबरको सवारी साधन र यसको पार्टपुर्जा आयात भएको छ ।