Category: फिचर

  • भारतले द्यौलीगंगा जलविद्युत आयोजनाको बाँध खोल्ने, महाकालीमा जोखिम

    भारतले द्यौलीगंगा जलविद्युत आयोजनाको बाँध खोल्ने, महाकालीमा जोखिम

    काठमाडौं । भारतले धारचुलाको धौलीगंगा जलविद्युत परियोजनाको बाँधको ढोका खोल्ने भएको छ । जसका कारण महाकाली नदीमा बाढीको सतह बढ्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय दार्चुलाले आह्वान गरेको छ । भारतको पिथौरागढस्थित धौलीगंगा पावर स्टेशनले आज बिहान ५ बजेदेखि बेलुकी ८ बजेसम्म बाँधको ढोका खोलिने जानकारी दिन जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्र पठाएको थियो ।

    पत्रमा लेखिएअनुसार विद्युत परियोजनाको ड्याम साइटमा सिल्ट फ्लशिङ्ग हुने र सो कामका लागि आज बेलुकी ८ बजेसम्म बाँधको ढोका खोलिने भएको हो । ले जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सूचना जारी गर्दै बाँधको ढोका खोलिंदा जलसतह बढ्ने र क्षति पुग्न सक्ने हुँदा तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन भनेको हो ।

    बेलुकी ८ बजेसम्म बाँधको ढोका खोलिने भने पनि त्यसपछि पनि महाकालीमा जलसतह बढ्न सक्ने सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउदले जारी गरेको सूचनामा उल्लेख छ । जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले पनि महाकाली जलाधारका केही स्थानमा भारी वर्षा भई नदीमा बहाव बढ्ने भएकाले सतर्कता अपनाउन भनेको छ ।

  • रुससँग लड्न युक्रेनलाई मासिक ५ अर्ब डलर चाहिने

    रुससँग लड्न युक्रेनलाई मासिक ५ अर्ब डलर चाहिने

    काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी सेनासँग लड्न आफ्नो देशलाई मासिक पाँच अर्ब डलर आवश्यक पर्ने उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नेटो)का नेताहरूलाई बताएका छन्। स्पेनमा भइरहेको उक्त सैन्य गठबन्धनको महत्त्वपूर्ण शिखर सम्मेलनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उनले युक्रेनलाई आधुनिक हातहतियार अति आवश्यक रहेको बताएका हुन्। जेलेन्स्कीले भ्लादिमिर पुटिनको हमला युक्रेनमा मात्र सीमित नहुने चेतावनी पनि दिए। उनले उक्त युद्धलाई भविष्यको विश्व व्यवस्थाका लागि लडिएको लडाइँ भनेका छन्।

    यसअघि अमेरिकी राष्ट्रपति जो बाइडनले पुटिनले शान्ति भङ्ग गरेकाले अमेरिकाले युरोपभरि आफ्नो सैन्य उपस्थिति विस्तार गर्ने घोषणा गरेका थिए। नेटो प्रमुख येन्स स्टोल्टनबर्गले शीतयुद्धको अन्त्यपछि गठबन्धनमा सबैभन्दा ठूलो फेरबदल हुने बताए। उनले रुसी राष्ट्रपति पुटिनलाई चेतावनी दिँदै युक्रेनमा उनको आक्रमणले उनले चाहेको भन्दा विपरीत नतिजा हासिल गरेको बताए। यसैबीच नेटोले स्वीडेन र फिनल्यान्डलाई चाँडो प्रक्रियाद्वारा सदस्यता दिने सम्झौतासम्बन्धी विवरण प्रकाशित गरेको छ। योसँगै ती दुई देशहरूले दशकौँदेखि अपनाउँदै आएको सैन्य तटस्थताको नीति अन्त्य भएको छ।

    यद्यपि उक्त गठबन्धनको सदस्य टर्कीले उक्त योजनाको विरोध गरेको थियो। टर्कीले आतङ्ककारी मान्दै आएका कुर्दिश कार्यकर्ताहरूलाई ती दुई देशहरूले संरक्षण दिएको आरोप लगाएको थियो। यद्यपि टर्कीका राष्ट्रपति रेजेप तय्यिप एर्दोआनले सुरक्षा ग्यारेन्टीको बदलामा रातारात आफ्नो अडान त्यागेका छन्। मस्कोले नेटोको विस्तारलाई अस्थिरता निम्त्याउने कदम भनेको छ। समझदारीपछि टर्कीका न्याय मन्त्रीले स्वीडेन र फिनल्यान्डमा रहेका तेत्तिस संदिग्ध आतङ्ककारी भनिएका व्यक्तिलाई चाँडै सुपुर्दगी गर्न आह्वान गरेका छन्।
    बीबीसी

  • निजगढबारे सर्वोच्चको पूर्णपाठ सार्वजनिक, पुनः सम्भाव्यता अध्ययन गरेर सोही स्थानमा बनाउने विकल्प खुला

    निजगढबारे सर्वोच्चको पूर्णपाठ सार्वजनिक, पुनः सम्भाव्यता अध्ययन गरेर सोही स्थानमा बनाउने विकल्प खुला

    काठमाडौं । निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि सरकारले हालसम्म गरेका निर्णय र कार्यलाई रोक्ने गरी सर्वोच्च अदालतको बृतह पूर्ण इजलासले गरेको फैसलाको पूर्णपाठ बुधबार सार्वजनिक गरिएको छ । न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत र मनोजकुमार शर्माको बृहत पूर्ण इजलासले जेठ १२ गते सरकारले हालसम्म निजगढ विमानस्थलका विषयमा गरेका निर्णयहरु उत्प्रेषणको आदेशले बदर गरेको थियो ।

    वातावरणीय र जैविक विविधतामा कम क्षति हुने गरी उपयुक्त स्थानमा विमानस्थल निर्माणका लागि परमादेश जारी गरेको थियो । पूर्णपाठमा अदालतले अहिलेसम्म भएका प्रक्रिया खारेज गरिदिएको छ । तर, पुनः सम्भाब्यता अध्ययन गरी सोही स्थानमा विमानस्थल बनाउन सकिने सम्भावनाको ढोका भने खुलै राखेको छ । सम्भव भएसम्म अहिलेको स्थानमा नबनाउन र सम्भव नभए पुनः सम्भाब्यता अध्ययन र वातावरणीय प्रभाव अध्ययन मूल्यांकन गरी विमानस्थल निर्माण प्रक्रिया अगाडी बढाउन सकिने सर्वोच्चको पूर्ण पाठको आषय रहेको छ ।

  • नेपालका कोरोना संक्रमण बढ्यो,एकैदिन ६२ जनामा संक्रमण पुष्टि

    नेपालका कोरोना संक्रमण बढ्यो,एकैदिन ६२ जनामा संक्रमण पुष्टि

    काठमाडौं । नेपालमा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ६ सय २० जनामा कोरोना परीक्षण गर्दा ६२ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

    १ हजार ८ पिसिआर परीक्षणमा ५१ जना र ६ सय १२ एन्टिजेन परीक्षणमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    पछिल्लो २४ घण्टामा १९ जना संक्रमणमुक्त भएका छन् भने सक्रिय संक्रमितको संख्या २ सय ६१ पुगेको छ ।

  • काठमाडौं उपत्यकामा १४ जनामा हैजा संक्रमण

    काठमाडौं उपत्यकामा १४ जनामा हैजा संक्रमण

    काठमाडौं । काठमाडौं उपत्यकामा १४ जनामा हैजाको संक्रमण देखिएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा असार २ देखि बुधबारसम्म गरिएको परीक्षणमा १४ जनामा हैजाको संक्रमण पुष्टि भएको हो ।

    पहिलो संक्रमित बस्ने ठाउँ वरपर पानीको नमूना परीक्षण गर्दा कोलिफर्म भन्ने जिवाणु भेटिएको मन्त्रालयले जनाएको छ ।

    यस्तै ललितपुरबाट १८ ठाउँको नमूना परीक्षण गर्दा १२ नमूनामा इकोलाइजी भन्ने जिवाणु भेटिएको मन्त्रालयले जानकारी दिएको छ ।

    हैजाबाट बच्न पानी उमालेर मात्र खान र ताजा खानेकुरा खान स्वास्थ्य मन्त्रालयले सबैलाई आग्रह गरेको छ ।

  • ११ महिनामा भित्रियो २७ अर्बको चामल र १५ अर्बको धान

    ११ महिनामा भित्रियो २७ अर्बको चामल र १५ अर्बको धान

    काठमाडौं । असार १५ गते धान दिवस । सरकारले विसं २०६१ देखि हरेक वर्ष धान दिवस मनाउँदै आएको छ । मुलुक कृषिप्रधान भएकाले पनि त्यसको महत्व दर्शाउन र धानको सर्वव्यापकता फैलाउनका लागि यो दिवस मनाउने गरिएको हो ।

    नेपालमा अत्यावश्यक वस्तुमा परनिर्भरता बढेको छ । कृषिप्रधान मुलुकमा पछिल्लो ११ महिनामा २७ अर्बको चामल र १५ अर्बको धान आयात गरेको छ ।

    स्थानीय उत्पादनले माग धान्न नसक्नु तथा खानेबानी परिवर्तन नहुँदा बर्सेनि चामल आयात बढ्दै गएको हो । तर, मुलुकबाट धान निर्यात भएर पुनः चामलको रूपमा नेपाल भित्रिने गरेको छ ।

    हरेक वर्ष धान रोप्ने खेत क्रमशः घट्दै गएको छ । मलिलो र बढी उब्जनी हुने फराकिला फाँटमा आजकल धान होइन, कङ्क्रिटका जङ्गल बढ्दै गएको छ ।

    विभागका अनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्म रु २७ अर्ब १२ करोड एक लाख २३ हजार मूल्य बराबरको ४९ करोड ३० लाख ८१ हजार ८०३ केजी चामल आयात भएको छ । त्यसबाट सरकारले रु दुई अर्ब ५४ करोड ९२ लाख ८२ हजार बराबरको राजस्व सङ्कलन गरेको छ ।

    भारतबाट मात्रै रु २६ अर्ब ९३ करोड २९ लाख १० हजार मूल्य बराबरमा ४९ करोड छ लाख ८६ हजार ९३५ केजी चामल आयात भएको छ ।

    त्यस्तै मुलुकमा रु १५ अर्बभन्दा बढीको धान आयात भएको छ । विभागका अनुसार चालु आवको पहिलो ११ महिनामा १५ अर्ब ९२ करोड ११ लाख ७७ हजार मूल्य बराबरको ५४ करोड दुई हजार १८० केजी धान आयात भएको छ । त्यसबाट सरकारले रु ७९ करोड ८० लाख ८७ हजार बराबरको राजस्व सङ्कलन गरेको छ ।

    त्यस्तै धानको बीउमात्रै रु ८७ करोड पाँच लाख ७२ हजार बराबरको कूल ५१ लाख १५ हजार ३० केजी आयात भएको छ ।

    विभागले सार्वजनिक गरेको विवरणमा मकैको आयातमा समेत अर्बौँ रकम बाहिरिएको देखिन्छ । नेपालको हावापानी अनुकूल रहने मकैखेती व्यावसायिक बन्न नसक्दा यस्ता खाद्यान्नमा अर्बौँ रकम विदेशिने गरेको हो ।

    विभागको विवरणअनुसार चालु आवको जेठ मसान्तसम्म रु १६ अर्ब बढीको मकै आयात भएको देखिन्छ । कूल ४७ करोड ५७ लाख ७३ हजार ११३ केजी मकै सो अवधिमा नेपाल भित्रिएको छ । त्यसको लागत मूल्यमात्रै रु १६ अर्ब ७५ करोड ३९ लाख ६२ हजार बराबर रहेको छ ।

    यसैगरी सोही अवधिमा एक करोड ४९ लाख ७३ हजार १९६ केजी मकैको बीउ आयात भएको छ । त्यसको लागत मूल्य रु एक अर्ब आठ करोड १० लाख २५ हजार बराबर छ । मकै तथा यसको बीउको आयातबाट सरकारले रु ९३ करोड ३० लाख २२ हजार बराबरको राजस्व सङ्कलन गरेको छ ।

    आधाभन्दा धेरै जनसंख्या कृषि पेशमा संलग्न रहेको कृषिप्रदान देश नेपालमा स्थानिय उत्पादनहरुले मात्रै माग धान्न नसक्दा नेपालमा वार्षिक अर्बौ रकमको चामल आयात हुने गरेको छ ।

    सरकारले कृषि क्षेत्रको आधुनिकीकरण र व्यावसायीकरण गर्दै खाद्यान्नमा आत्मनिर्भर बन्नका लगि विभिन्न कार्यक्रम सञ्चालन गरिएको छ । तर स्थानीय मागले धान्न नसक्दा बर्सेनि अर्बौं रुपैयाँको चामल आयात हुने गरेको छ ।

    सरकारले कृषिमा आत्मनिर्भर बन्ने भएर ल्याएको कुनैपनि कार्यक्रम प्रभावकारी बन्न नसकेको देखिन्छ । नेपालमा बर्खे धान र चैते धान भन्ने दुई जातिका धान रोपिने गर्छ । जुन चैते धान विशेष गरी तराई क्षेत्रमा रोपिने गर्छ । बर्खे धान पहाडी क्षेत्रमा धेरै रोपिन्छ ।

    नेपालमा मोटो धान बढि रोपिन्छ भने मसिनो धान थोरै मात्रामा रोपिने गर्छ । नयाँ उन्नत जातका धानको बीउको कमि हुँदा उत्पादन फस्टाउन सकेको छैन । सरकारले मसिनो धान उत्पादन तथा क्षेत्र विस्तारमा जोड दिन सकेको छैन ।

    वर्षेनी कृषि जमिन घट्दै गइरहेको छ । घट्दै गएको कृषि जमिनमा धान उत्पादन गरेर आत्म निभर हुने सपना देख्नु निकै चुनौतिपूर्ण रहेको छ । खाद्यान्न उत्पादन बढाउन सरकारले बर्सेनि विभिन्न कार्यक्रम सञ्चालन गरे पनि आयात भने प्रतिस्थापन हुन सकेको छैन ।

  • कोसी ब्यारेजमा खतराको संकेतस्वरूप रातो बत्ती बालियो, २१ ढोका खुल्ला

    कोसी ब्यारेजमा खतराको संकेतस्वरूप रातो बत्ती बालियो, २१ ढोका खुल्ला

    काठमाडौं । सप्तकोसी नदीमा जलसतह बढेसँगै खतराको संकेतस्वरूप रातो बत्ती बालिएको छ । पहाडी र तराई क्षेत्रमा लगातार वर्षा भइरहेका कारण सप्तकोसीमा पानीको बहाव निकै बढेको छ ।

    बुधबार पानीको बहाव एक लाख ५८ हजार १२५ क्युसेक पुगेको छ । एक लाख ५० हजार क्युसेकभन्दा बढी बहाव भएपछि त्यसलाई खतरा मान्ने गरिन्छ ।

    अहिले कोसी ब्यारेजका ५६ मध्ये अहिले २१ ढोका खोलिएको छ ।

    कोसीमा बहाव र जलस्तर बढेसँगै सुनसरीको श्रीलंका टापु क्षेत्रमा कटान सुरु भएको बताइएको छ ।

  • टेक्सासमा लरि भित्र मृत भेटिनेको सङ्ख्या ५० पुग्यो, कुन देशका हुन नागरिक ?

    टेक्सासमा लरि भित्र मृत भेटिनेको सङ्ख्या ५० पुग्यो, कुन देशका हुन नागरिक ?

    टेक्सास । अमेरिकाको टेक्सास राज्यमा बेवारिसे अवस्था फेला परेको लरि भित्र मृत भेटिनेको सङ्ख्या ५० पुगेको छ । ह्वाइट हाउसले उक्त घटनालाई “भयानक र हृदयविदारक” भनेको छ। मेक्सिकोका राष्ट्रपति आन्द्रेस म्यानुअल लोपेज् अब्राडोरले उक्त घटना “तस्करी र त्यसको नियन्त्रणको कमीका कारण” भएको बताएका छन्।

    टेक्सस राज्यस्थित सान एन्टोनियोको बाह्य भेगमा बेवारिसे अवस्थामा भेटिएको एउटा लरीमा ती शवहरू भेटिएका थिए। अमेरिका हुने मानव तस्करीसँग जोडिएको अनुमान गरिएको यो पछिल्लो सबैभन्दा खराब घटना भएको ठानिएको छ । शव भेटिएकामध्ये २२ जना मेक्सिकोका नागरिक भएको पुष्टि गरिएसँगै राष्ट्रपतिको यस्तो प्रतिक्रिया आएको हो। मृत्यु हुनेमा सातजना ग्वाटेमाला र दुईजना होन्डुरसका नागरिक भएको पुष्टि भएको छ। थप पीडितहरू कुन देशका थिए भनेर पत्ता लगाउने काम भइरहेको अधिकारीहरूले बताएका छन्।

    आफ्नो दैनिक पत्रकार सम्मेलनमा बोल्दै अब्राडोरले उक्त घटनालाई “अत्यन्त दु:खद” भनेका छन्। उनले आफ्ना नागरिकहरूको शव स्वदेश ल्याउन काम गर्ने बताए।

    अब्राडोरले भने, “हाम्रा मध्य अमेरिकी देशका दाजुभाइ र मेक्सिकनहरूको गरिबी र त्यसबाट निस्कने तीव्र चाहनाका कारणले भएको यो अर्को आप्रवासी मृत्युको घटना हो।”

    उनले त्यसमा थप जोड दिँदै भने, “यो किन हुन्छ भने मानिसहरूको तस्करी भइरहेको छ र नियन्त्रणको कमी छ। यो मामिलामा मेक्सिको-अमेरिकी सीमाको कुरा हो तर त्यो अमेरिकाको भित्री भागमा पनि छ।”

    उद्धारकार्यमा संलग्न एक अधिकारीका अनुसार चार बालबालिकासहित १६ जनालाई अस्पताल लगिएको छ।
    लरीमा जीवित फेला परेका व्यक्तिहरूको शरीर छुँदा तातो थियो। गर्मीका कारण उनीहरूलाई थकान र ‘हीट स्ट्रोक’ भएको थियो।

    सान एन्टोनियो अमेरिका-मेक्सिको सीमाभन्दा २५० किलोमिटर टाढा छ। मानवतस्करहरूले उक्त सहरलाई बाटोका रूपमा प्रयोग गर्दै आएका छन्। वैधानिक कागजपत्रबिनै अमेरिका प्रवेश गरिसकेका आप्रवासीहरूलाई तस्करहरूले दुर्गम भेगमा भेटेर उनीहरूलाई अन्यत्र लैजान लरी प्रयोग गर्छन्।
    “उनीहरूका परिवार थिए… अनि सम्भवतः अझ राम्रो जीवनको खोजीमा थिए,” सान एन्टोनियोका नगरप्रमुख रोन निरेन्बर्गले भने।”यो एउटा भयानक, मानवीय वियोगभन्दा कम अरू केही हैन।”

    एउटा शव फेला परेको सूचना पाएपछि आपत्कालीन सेवाका कर्मचारीहरू साँझ ६ बजेतिर घटनास्थलमा पुगेका थिए। सामाजिक सञ्जालमा प्रेषित तस्बिरहरूमा एउटा ठूलो ट्रकको वरिपरि आपत्कालीन सेवामा खटिने कैयौँ कर्मचारीहरूले घेरिएको देख्न सकिन्थ्यो।

    केएसएट टेलिभिजन च्यानलका अनुसार उक्त ट्रक एउटा रेलको पटरीनजिकै फेला परेको थियो। द न्यूयोर्क टाइम्सका अनुसार सान एन्टोनियोका प्रहरीले घटनास्थलमा नरहेका सवारीचालकको खोजी गर्न थालेका थिए।
    बिबिसी

  • देशका विभिन्न स्थानमा आज पनि ठूलो वर्षा

    देशका विभिन्न स्थानमा आज पनि ठूलो वर्षा

    काठमाडौं । बुधबार पनि मौसम बदली भई देशभर वर्षा हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशैभर मौसम फैलिएको छ ।

    बुधबार आज देशका केही ठाउँमा चट्याङसहित भारी वर्षा हुनेछ भने केही ठाउँमा सामान्य वर्षा हुने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार सातै प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना हरेको छ ।

    पछिल्ला दिनमा कम पानी परेको कर्णाली र सुदूरपश्चिमका केही भागमा पनि आज भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    भारी वर्षाको सम्भावना भएकोले पहाडी क्षेत्रमा पहिरो, खोलाहरूमा बाढी आउन सक्ने र यातायात क्षेत्रसमेत प्रभावित हुने भन्दै महाशाखाले सतर्क रहन सूचित गरेको छ ।

  • आज राष्ट्रिय धान दिवस, देश भर मनाइदै

    आज राष्ट्रिय धान दिवस, देश भर मनाइदै

    काठमाडौं । नेपाली कृषकको सम्मानमा १९ औं राष्ट्रिय धान दिवस आज मनाइँदै छ । यो वर्ष ‘धान रोपौं, खाद्यान्नमा आत्मनिर्भर बनौं’ नाराका साथ राष्ट्रिय धान दिवस मनाउन लागिएको हो । दिवसको अवसरमा देशभर रोपाइँ लगायतका कार्यक्रम आयोजना गरिएको छ ।

    वि.सं २०६१ सालमा विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसंघलाई अन्तर्राष्ट्रिय धान वर्ष घोषणा गरेपछि नेपालमा वि.सं २०६१ मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णय अनुसार विसं २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन सुरु गरिएको हो ।

    असार १५ लाई नेपाली समाजमा दहीच्युरा खाने पर्वका रूपमा पनि लिइन्छ । कृषिसहित सबै पेशा व्यवसायमा लागेका नेपालीहरुले आज दहीच्यूरा खाई असार १५ मनाउँछन् ।

    औपचारिकरूपमा सरकारले निर्णय गरेर राष्ट्रिय धान दिवस घोषणा गर्नु अघिदेखि नै नेपालमा असार १५ गते दहीच्युरा खाने चलन चल्दै आएको थियो ।

    दहीच्युराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवर्द्धक मानिन्छ

  • फिफा अध्यक्षले एन्फा अध्यक्ष नेम्वाङलाई दिए बधाई

    फिफा अध्यक्षले एन्फा अध्यक्ष नेम्वाङलाई दिए बधाई

    काठमाडौं । विश्व फुटबल महासंघ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनिर्वाचित अध्यक्ष पंकजविक्रम नेम्वाङलाई बधाई दिएका छन् । फिफा अध्यक्ष इन्फान्टिनोले मंगलबार नेम्वाङलाई पत्र लेख्दै नव निर्वाचित एन्फा कमिटिलाई
    इन्फान्टिनोले पत्रमार्फत नेम्वाङको कार्यकालमा नेपाली फुटबलको थप विकास हुनेमा विश्वास समेत लिएका छन् । उनले भनेका छन्,  ‘तपाईको ज्ञान, क्षमता र अनुभवले सुन्दर खेल फुटबलको नेपालमा विकास हुनेमा पूर्ण आशावादी छु । निर्वाचित टिमले विभिन्न चुनौतीलाई सहज रुपले पार लगाउन सफल हुनेछ ।’

    असार ६ गते भएको एन्फाको भएको २१औं चुनावी साधारण सभाबाट निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतेल पराजित गर्दै एन्फा अध्यक्ष नेम्वाङ विजयी भएका थिए । एन्फा निर्वाचनमा खसेको कूल ८४ मत मध्ये नेम्वाङले ४५ र कर्माले ३९ मत प्राप्त गरेका थिए ।

  • मनोहरा नदिमा बढ्यो पानीको बहाव, जोखिम बढ्यो

    मनोहरा नदिमा बढ्यो पानीको बहाव, जोखिम बढ्यो

    काठमाडौं । भक्तपुर र काठमाडौंका तीनवटा नगरपालिकाका प्रमुखले अविरल वर्षाका कारण मनोहरा खोलाको बहाव बढेर धार परिवर्तन गरी खोलाले दुवैतर्फ जमीन कटान गरिरहेकाले सचेतना अपनाउन नगरबासीसँग आग्रह गरेका छन् ।

    मङ्गलबार संयुक्तरुपमा सार्वजनिक अपील जारी गर्दै उनिहरुले भनेका छन्, ‘‘खोलाको वहावले कागेश्वरी मनोहरा नगरपालिका, चाँगुनारायण नगरपालिका र मध्यपुरथिमि नगरपालिकाको भू–भाग हुँदै दुवैतर्फ जमीन कटान भई घर, बस्तीलगायतको अन्य संरचनामा समेत क्षति पुर्‍याउँदै आएको छ । यसबाट मानवीय क्षतिसमेत हुनसक्ने भएकाले सचेतना अपनाउन सम्पूर्ण नगरवासीहरुमा अनुरोध गर्दछौं ।’’

    यसरी अपील गर्ने नगरप्रमुखत्रयमा सुरेन्द्र श्रेष्ठ, जीवन खत्री र उपेन्द्र कार्की छन् । अपीलमा हाल अल्पकालीन रुपमा खोलाको कटानलाई नियन्त्रण गरी धन जनको क्षति हुन नदिन खोलाको वहावलाई सामान्य अवस्थामा ल्याउन प्रयास भइरहेको उल्लेख छ ।

  • काठमाडौँ उपत्यकामा हैजाका बिरामी बढ्दो, सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

    काठमाडौँ उपत्यकामा हैजाका बिरामी बढ्दो, सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

    काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपत्यकामा हैजाका बिरामी बढेसँगै सतर्कता अपनाउन आग्रह गरेको छ ।

    मन्त्रालयले गर्मी तथा वर्षायाम शुरू भएसँगै हैजा, झाडापखाला जस्ता रोग फैलिरहेकाले सावधानी अपनाउन आग्रह गरेको छ । मन्त्रालयले खानेपानी, खाद्य पदार्थको गुणस्तरमा ध्यान दिन र सरसफाइमा ध्यान दिन आग्रह गरेकोहो । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले हैजाको प्रकोप बढेकाले सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरिएको बताए ।

    उनले प्रदूषित खानेपानीले हैजा देखिएकाले खानेपानी शुद्धिकरण गरेर र उमालेर खान मात्र अनुरोध गरेका छन् । अहिलेसम्म १२ जनामा हैजा देखिएको मन्त्रालयले जनाएको छ । दूषित खानेपानी कारणले हैजा देखिएको छ ।

    झाडापखालाबाट बच्न चर्पीमा मात्र दिसापिसाब गर्न, दिसापिसाब गरिसकेपछि साबुन पानीले मिचिमिची हात धुन, खाना बनाउनु, खुवाउनु र खानुअघि साबुन पानीले मिचिमिची हात धुन, पानी उमालेर वा फिल्टर गरेर पिउन वा एक लिटर पानीमा तीन थोपा क्लोरिन झोल मिलाएर मात्रै पिउन आग्रह गरिएको छ ।

    पेट दुख्ने, बान्ता हुने, असाध्यै तिर्खा लाग्ने, पातलो दिसा हुनेजस्ता लक्षण झाडापखलाको रहेको भन्दै मन्त्रालयले नजिकैको स्वास्थ्य संस्थामा उपचारका लागि जान आग्रह गरेको छ भने खान पिउनसमेत नसक्ने गरी बिरामी भएमा, दिसामा रगत देखा परेमा, बारम्बार वान्ता भइरहेमा, ज्वरो आएमा र धेरैपटक पातलो दिसा गएमा पनि अस्पताल लैजान भनिएको छ ।

    मन्त्रालयले खानपान, सरसफाइ र शरीरमा देखिने लक्षणमा विशेष ध्यान दिन जरुरी रहेको औंल्याएको छ । बासी, सडेगलेको, झिँगा भन्किएको, खानेकुरा नखान र खानेपानीको मुहान सफा र सुरक्षित राख्न पनि आग्रह गरिएको छ ।

  • दुई दिन काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने

    दुई दिन काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने

    काठमाडौं । सिसडोलदेखि बञ्चरेडाँडासम्म जाने बाटो मर्मतको काम गर्नुपर्ने भएकाले आज र भोलि काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन कार्य प्रभावित हुने भएको छ ।

    नुवाकोटको सिसडोलमा यसअघि थुपारिएको फोहरको कारण बञ्चरेडाँडासम्म गाडी आउनजानका लागि समस्या भएकाले आज र भोलि फोहर लाने काम रोकिएको हो । सिसडोलदेखि दुई किलोमिटर पर बञ्चरेडाँडासम्म जान यसअघि थुपारिएको फोहरको डङ्गुर पार गर्नुपर्ने बाध्यता छ ।

    वर्षाको समय सुरु भएसँगै फोहर कुहिन थालेको छ । कुहिएको फोहर माथिबाट आवतजावत गर्दा दुर्घटना हुने खतरा भएकाले कामपा वातावरण विभागले उपत्यकाबाट फोहर लाने काम बन्द नै गरेर उक्त स्थानमा सफा गर्न लागेको जनाएको छ ।

    कामपा वातावरण विभाग प्रमुख सरिता राईका अनुसार केही दिनदेखि नियमित परेको वर्षाका कारण समस्या आएको छ । निरन्तर परेको पानीले काठमाडौँदेखि अन्तिम फोहर व्यवस्थापन स्थल बञ्चरेडाँडासम्म पुग्ने सडकमा समस्या आउँदा नियमित रूपमा सबै फोहरका गाडी जान सकेका छैनन् ।

    सामान्य अवस्थामा प्रतिदिन ३०० सम्म फोहरका गाडी बञ्चरेडाँडा पुग्ने गरेका थिए । वर्षाका कारण बाटो अवरोध हुँदा अहिले मुस्किलले १०० गाडीले मात्र फोहर व्यवस्थापन हुँदै आएको छ । हरेक वर्ष वर्षाको समयमा नियमित पानी पर्न थालेपछि काठमाडौँ उपत्यकाका १८ स्थानीय तहको फोहर व्यवस्थापन कार्य समस्या बन्दै आएको छ ।

    गत फागुनदेखि जेठ सम्ममा सिसडोल बञ्चरेडाँडाका स्थानीय र जनप्रतिनिधिले विभिन्न माग राख्दै अवरोध गर्दा काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहोर ४६ दिनसम्म व्यवस्थापन हुन नसक्दा उपत्यकामा दुर्गन्ध नै फैलिएको थियो ।

    सिसडोल बञ्चरेडाँडा स्थानीयवासीको समस्यालाई समाधान गर्न केही दिनअघि स्थानीय र जनप्रतिनिधिसँग कामपाले १८ बुँदे सहमति गरी फोहर व्यवस्थापनको काम नियमित गर्ने वातावरण बनेपनि बाटोको कारण सहज भने भएको छैन ।

    यसैबीच कामपाले आगामी साउन १ गतेदेखि स्रोतबाटै फोहरको वर्गीकरण नगरे जरिवाना लाग्ने भन्दै सूचना जारी गरिसकेको छ । विभागका अनुसार फोहर सङ्कलनका क्रममा पृथकीकरण नगरेको पाइए हरेक पटक रु पाँच सय जरिवाना गरिनेछ ।

  • अब फलफूल पकाउन एसिटिलिन ग्यासको प्रयोग गर्न नपाइने

    अब फलफूल पकाउन एसिटिलिन ग्यासको प्रयोग गर्न नपाइने

    काठमाडौं । फलफूल पकाउन कार्वाइड (एसिटिलिन ग्यास) को प्रयोग गर्न नपाइने भएको छ ।

    मंगलबार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग एक सूचना जारी गर्दै फलफूलको आयात, उत्पादन, भण्डारण तथा बिक्री वितरणमा संलग्न सबै व्यवसायीहरूलाई फलफूल पकाउन कार्वाइड (एसिटिलिन ग्यास) को प्रयोग नगर्न भनेको हो ।

    खाद्य नियमावली २०२७ को दफा १५ (घ) बमोजिम कार्वाइड (एसिटिलिन ग्यास) को प्रयोग गरी कृत्रिम रूपमा फलफूल पकाउन तथा विक्री गर्न वा विक्रीको लागी राख्न निषेध गरिएको हो ।

    साथै व्यावसायिक रूपमा फलफूल पकाउने व्यवसायीहरूले रसायन प्रयोग गरी फलफूल पकाउनु पर्ने भएमा अन्तर्राष्ट्रिय प्रचलनमा रहेका फलफूल पकाउन स्वीकृत रसायनहरूको तोकिएको विधि अनुरूप मात्र पाउने भएका छन् ।

    व्यवसायिक रुपमा फलफूल पकाउन पर्ने व्यवसायीलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसारको स्वीकृत रसायन मात्रै प्रयोग गर्न पनि विभागले सचेत गराएको छ ।

    विभागले आँप लगायतका सिजनल फलफूलको प्रत्यक्ष सम्पर्कमा रहने गरी केमिकल प्रयोग नगर्न र त्यस्तो गरेको पाइए तत्काल विभागमा खबर गर्न उपभोक्तालाई आग्रह समेत गरेको छ ।

    यसका साथै फलफूल उपभोग गर्दा राम्ररी सफा पानीले पखालेर मात्र उपभोग गर्न पनि उपभोक्तामा आग्रह गरेको छ ।

    त्यस्तै सरकारले निश्चित मापदण्डको जारको पानी मात्रै पिउन सुझाव दिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सूचना जारी गर्दै बोतल र जारको पानी पिउँदा डीएफटीक्युसी नम्बर हेर्न भनेको हो।

    डीएफटीक्युसी नम्बर रहेको र बिर्को सिलबन्दी भएको पानी मात्रै पिउन भनेको हो। खाद्य अनुज्ञापत्र नलिई उत्पादन बिक्री वितरण गरेको जानकारी भएमा विभागलाई सूचना दिन नागरिकलाई आग्रह गरेको छ। मापदण्डविपरीतको पानी पाइएमा कारबाही समेत हुने विभागले बताएको छ।

    आग्रहको अटेर गरे यस्ता उद्योगीलाई खाद्य ऐन अनुसार कारबाही हुने विभागले जनाएको छ । यस्तै, विभागले पानीका बोटल तथा जारमा लेवल तथा बिर्को सिलबन्दी भए/नभएको हेरेर मात्रै उपभोग गर्न पनि आग्रह गरेको छ ।

    वर्षायाममा पानीका कारण हैजा, झाडापखालाजस्ता सरुवा रोग फैलने भएकाले उमालेर वा शुद्धीकरण गरेर मात्रै पानी पिउन तथा सफा र स्वस्थ खानेकुरा खान विभागको आग्रह छ ।

  • दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकममा भारी गिरावट

    दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकममा भारी गिरावट

    काठमाडौं । शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।

    साताको कारोबारको तेस्रो दिन शेयर बजार मापक सूचक नेप्से ११.८२ अंकले घटेर १९२१.३१ विन्दुमा झरेको छ ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २२९ कम्पनीको १ अर्ब ५ करोड ८२ लाख ६३ हजार ५२२ रुपैयाँ बराबरको ३० लाख ३७ हजार ६८० कित्ता शेयर किनबेच भएका छन् ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको छ । सोमवार २ अर्ब ४ करोड ४८ लाख ३१ हजार ९४७ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    कारोबारमा आएको १३ वटा समूहको परिसूचक मध्ये ११ वटा घटेको छ भने २ वटाको हरियो भएको छ । यसमध्ये एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । सिवाइसी को शेयरमूल्य ९.९९ प्रतिशतले बढे को छ ।

    नेप्सेका अनुसार लक्ष्मी इक्विटी फण्डका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ ।

    त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी एशियन लाइफ इन्स्योरेन्सको भएको छ । यसको आज ७ करोड ३१ लाख भन्दा बढीको कारोबार भएको छ ।

    दोस्रोमा लाइफ इन्स्योरेन्स कर्पोरेसनको ५ करोड ४३ लाख र तेस्रोमा सीआइटीको ५ करोड ३४ लाखको कारोबार भएको छ ।

  • वामदेवले घोषणा गरे नयाँ पार्टी, ७५ सदस्यीय केन्द्रीय कमिटी

    वामदेवले घोषणा गरे नयाँ पार्टी, ७५ सदस्यीय केन्द्रीय कमिटी

    काठमाडौं । नेकपा (एमाले)का पूर्वउपाध्यक्ष तथा राष्ट्रियसभा सदस्य वामदेव गौतमले नयाँ पार्टीको घोषणा गरेका छन् । मंगलबार काठमाडौंस्थित रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर पार्टी घोषणा गरेका हुन् ।

    पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान रहेको छ । पार्टीको केन्द्रीय कमिटी ७५ सदस्यीय रहने पत्रकार सम्मेलनमा जनकारी दिइयो ।

    आज बिहान ६९ सदस्यीय केन्द्रीय कमिटी रहने भनिए पनि थप भएको प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले जानकारी दिए ।

    पार्टीको संयोजकमा वामदेव तथा सचिवमा डिबी कार्की छन् । पार्टीको आठ सदस्यीय सचिवालय पनि घोषणा गरिएको छ ।

    यस्तो छ सचिवालय–

    संयोजक – वामदेव गौतम
    सचिव– डिबी काकी
    सदस्य – ओम शर्मा चालिसे, डिल्लीराज भट्टराई, दुर्गा भण्डारी, निमकान्त पाण्डे, भगवती विष्ट र युवराज सफल ।

  • अमेरिकाको टेक्सासमा लरिमा मृत भेटिए ४० आप्रवासी

    अमेरिकाको टेक्सासमा लरिमा मृत भेटिए ४० आप्रवासी

    टेक्सास । अमेरिकाको टेक्सासमा ४० जना व्यक्ति मृत फेला परेका छन् । टेक्सासको सान एन्टोनियोको बाहिरी क्षेत्रमा एक लरीमा कम्तीमा ४० जना व्यक्ति मृत फेला परेको बीबीसीले लेखेको छ । अन्य १६ जनालाई अस्पताल लगिएको छ।

    मृतकहरू आप्रवासी हुन् । तर, कुन देशका हुन् भन्ने बारेमा नखुलेको सञ्चार माध्यमहरूले जनाएका छन् । सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्वीरमा एउटा ठूलो ट्रकको वरिपरि अहिले ठूलो संख्यामा आपतकालीन उद्धारकर्ताहरू देखिएका छन् ।

    गाडी सान एन्टोनियोको दक्षिणपश्चिमी भागमा रेल ट्रयाकको छेउमा फेला परेको थियो। गाडी फेला परेको क्षेत्र अमेरिका-मेक्सिको सिमानाबाट २५० किलोमिटरमा पर्छ । सान एन्टोनियोको प्रहरीले शव गाडीका चालकलाई खोजिरहेको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

  • एसपीपीमा आवद्ध नहुने पत्र नेपालले अमेरिकालाइ पठायो

    एसपीपीमा आवद्ध नहुने पत्र नेपालले अमेरिकालाइ पठायो

    काठमाडौं । नेपालले अमेरिकालाई स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) मा आबद्ध नहुने जानकारीसहितको पत्र पठाएको छ । साेमवारको राष्ट्रिय सभाको बैठकमा गृह मन्त्री बालकृष्ण खाणले एसपीपीमा आबद्ध नहुने भनी मन्त्रिपरिषद्ले गरेको निर्णय परराष्ट्र मन्त्रालयमार्फत अमेरिकी सरकारलाई पठाइएको जानकारी गराए।

    अमेरिकी र नेपाली सेनाको बीचमा सहयोग आदानप्रदानको सन्दर्भमा स्टेट पार्टनरशिप प्रोग्राम अब के हुन्छ भनेर गम्भीरतापूर्वक छलफल र बहस भएपछि मन्त्रिपरिषद्ले नै अगाडि बढाइने छैन भन्ने निर्णय गरेपछि त्यो निर्णय परराष्ट्र मन्त्रालयमार्फत अमेरीकालाई पठाइएको खाणले बताए ।

    यही असार ६ गते बसेको मन्त्रिपरिषद् बैठकले एसपीपीमा सहभागी नहुने निर्णय गरेको थियो । त्यही दिनको बैठकले अमेरिकी सरकारलाई पत्र लेखेर एसपीपीमा सहभागी नहुने भनेर जानकारी गराउने निर्णय पनि गरेको थियो । सरकारले निर्णय गरे पनि अमेरिकालाई पत्र नलेखेको भनी सदनभित्र र बाहिरबाट दबाब परिरहेका बेला सरकारले परराष्ट्र मन्त्रालयमार्फत अमेरिकी सरकारलाई एसपीपीमा आबद्ध नहुने निर्णयबारे जानकारी दिन औपचारिक पत्र पठाएको हो ।

    एसपीपीसँगै जोडिएर आएको प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणबारे भने सरकारले केही जानकारी दिएको छैन

  • मनसुन सक्रिय, लगातार पानी पर्ने

    मनसुन सक्रिय, लगातार पानी पर्ने

    काठमाडौं । आजदेखि पर्सिसम्म नै देशका धेरै ठाउँमा पानी पर्ने भएको छ ।  मौसमविद् पुर्वानुमान महाशाखाका अनुसार आजदेखि पर्सिसम्म नै पानी पर्ने र केही ठाउँमा ठूलो वर्षासमेत हुने भएको छ । यसले बाढी पहिरोको जोखिम धेरै रहेको छ । अहिले देशैभर मनसुनी वायुको प्रभाव छ भने मनसुनको न्यून चापीय रेखा नेपालको तराई क्षेत्र नजिक आइपुग्ने सम्भावना रहेकाले मनसुन थप सक्रिय हुनेछ । यसले गर्दा पर्सीसम्म नै वर्षा हुने अनुमान गरिएको हो ।

    राति पनि ठूलो पानी पर्ने भएकाले जोखिम अझै बढेको छ । भिरालो जमिन र नदी आसपासका क्षेत्रमा बस्नेलाई सावधानी अपनाउन मौमविद्ले आग्रह गर्दै आएका छन् । यसपालिको वर्खामा औसत भन्दा बढी पानी पर्ने भएकाले पनि बाढी पहिरोको जोखिम धेरै छ । प्रि मनसुनमा नै औसत भन्दा धेरै वर्षा हुँदा धेरै ठाउँमा पहिरो गएको थियो

  • नेपाली क्रिकेट टोलि आज क्यानडा जाँदै

    नेपाली क्रिकेट टोलि आज क्यानडा जाँदै

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली आज क्यानडा जाने भएको छ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत श्रृंखला तयारीका लागि नेपाली टोली आज बिहान क्यानडा जान लागेको हो ।

    भिसा र उडान टिकटका कारण यसअघि टोलीको क्यानडा भ्रमण अनिश्चित बनेको थियो । क्यानडामा अभ्यासपछि टोली उतैबाट स्कटल्याण्ड पुग्नेछ । नेपाली टोलीलाई हिजो राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले बिदाई गरेका छन् । क्यानडा र स्कटल्यान्ड भ्रमणका लागि सन्दीप लामिछानेको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको थियो । नेपालले क्यानडाको राष्ट्रिय टोलीसँग जुलाई ४ र ५ मा दुई वटा एकदिवसीय श्रृंखला तथा स्थानीय क्लबसँग एक खेल खेल्ने तालिका छ ।

    लिग–२ मा नेपाल तालिकाको पाँचौ स्थानमा छ । नेपालले १६ खेलमा सात जित, आठमा हार र एक बराबरीसहित १५ अंक जोडेको छ । आईसीसी विश्वकप क्रिकेट लिगमा नेपालले २० खेल खेल्न बाँकी छ । विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, स्कटल्याण्ड र नामिबियाबीचको एकदिवसीय श्रृङ्खला जुलाई ११ तारिख अर्थात असारको २७ गतेदेखि सुरु हुनेछ । नेपालले असार २७ र ३२ गते नामिबियासँग तथा २९ गते र साउन १ गते स्कटल्याण्डसँग खेल्ने तालिका छ ।

  • पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

    पोखरीमा डुबेर दुई बालिकाको मृत्यु


    धनगढी । कैलालीमा खेल्ने क्रममा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ । जिल्लाको लम्कीचुहा नगरपालिका- ८ का स्थानीय लालबहादुर बिष्टकी ७ वर्षीया आश्रिया बिष्ट र सोही ठाउँका भीमबहादुर कुवँरकी ६ वर्षीया छोरी भावना कुवँरको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
    स्थानीय बडिमालिका इटाभट्टा पछाडि खेलिरहेको अवस्थामा नजिकै रहेको पोखरीमा डुबेको अवस्थामा भेटिएपछि तत्काल उनीहरूको उद्धार गरे पनि बचाउन नसकिएको प्रहरीको भनाइ छ।

  • वैदेशिक रोजगारीमा ठगिएकालाई दिलाइयो २ करोड ४ लाख क्षतिपुर्ती

    वैदेशिक रोजगारीमा ठगिएकालाई दिलाइयो २ करोड ४ लाख क्षतिपुर्ती

    तनहुँ । सुरक्षित आप्रवासन (सामी) परियोजना तनहुँले वैदेशिक रोजगारीका क्रममा ठगिएकालाई दुई करोड चार लाख ६५ हजार क्षतिपूर्ति दिलाएको छ ।

    आव २०७७/७८ मा वैदेशिक रोजगारीका क्रममा ठगी, जालसाजी तथा पासपोर्ट होल्डमा राखिएका घटनाका पीडितलाई सामीले उक्त क्षतिपूर्ति रकम दिलाउन सहजीकरण गरेको हो ।

    वैदेशिक रोजगारमा गएका कामदार र उनीहरूका परिवारलाई कानुनी सहायताका लागि प्राप्त उजुरी एक सय पाँचमध्ये ५६ घटनाको पूर्ण रुपमा र ४९ वटाको आंशिक समाधान गरिएको परियोजनाले जनाएको छ । विसं २०७६ मङ्सिर १ गतेदेखि तनहुँमा सुरक्षित आप्रवासन सामी परियोजना सञ्चालन हुँदै आएको छ ।

  • शरणार्थीलाई परिचयपत्र वितरणको तयारी

    शरणार्थीलाई परिचयपत्र वितरणको तयारी

    काठमाडौं । सरकारले नेपालमा रहेका र विगतमा विभिन्न कारणले परिचयपत्र पाउनबाट छुटेका शरणार्थीहरुलाई परिचयपत्र दिने भएको छ । सोमबार राष्ट्रियसभाको बैठकमा बोल्दै गृहमन्त्री बालकृष्ण खाँणले यस्तो जानकारी गराए ।

    छुटेकाहरुलाई उनीहरुको परिचयपत्र बनाउने सन्दर्भमा गृहकार्य भइराखेको छ । उनीहरुले पनि नेपालमा सहज जीवन जिउन सक्नुहोस् भन्ने नै हाम्रो सद्भाव रहेको छ’ गृहमन्त्री खाँणले भने ।
    नेपालमा रहेका सबैको मानव अधिकारका विषयमा सरकार सजग रहेको उनले बताए ।
    मन्त्री खाँणले यसैमा थपे, ‘मान्छेहरु दुनियाँका जुनसुकै कुनामा जन्मिएको भए पनि उनीहरु मानव हुन्, नागरिकहरु नै हुन् । उनीहरुको पनि मानव अधिकार रहेको छ । नेपालमा पनि विभिन्न काल खण्डमा बिभिन्न भू-भागबाट आएर बसेका शरणार्थीहरु हुनुहुन्छ । ती हशरणार्थीहरु पनि मानव नै हुन् । त्यसकारण उनीहरुको जीवनयापन सहज होस्, उनीहरुले मानव अधिकार प्राप्त गरुन भन्ने नै सरकारको चाहना छ ।’

  • छानबिनमा परेका न्यायाधीशले काम गर्न नपाउने

    छानबिनमा परेका न्यायाधीशले काम गर्न नपाउने

    काठमाडौं । न्याय परिषदले काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्रप्रसाद पोखरेलबीच भएको घुस मोलमोलाई संवादको छानबिन गर्न अधिकारसम्पन्न जाँचबुझ समिति गठन गरेको छ ।

    न्यायपरिषदले सोमबार राजपत्रमा प्रकाशित सूचनामा न्यायपरिषदका सदस्य एवं वरिष्ठ अधिवक्ता रामप्रसाद श्रेष्ठको संयोजकत्वमा उच्च अदालतका पाटनका कायम मुकायम मुख्यन्यायाधीश महेशप्रसाद पुडासैनी र न्यायाधीश महेश शर्मा पौडेल विज्ञका हैसियतले सदस्य हुने उल्लेख छ ।

    राजपत्रमा उक्त सूचना प्रकाशित भएपछि न्यायाधीश कोइरालाले कामकाज गर्न नपाउने भएका छन् । न्याय परिषद ऐन २०७३ को दफा २५ मा उच्च वा जिल्ला अदालतका कुनै न्यायाधीशविरुद्ध जाँचबुझ गर्न समिति गठन भएमा कारबाही टुंगो नलागेसम्म त्यस्ता न्यायाधीशले कार्यसम्पादन गर्न नपाउने व्यवस्था छ ।
    जाँचबुझ आयोग ऐन, २०२६ अनुसार गठन हुने आयोगले सरह अधिकार प्रयोग गर्न पाउने यो समितिले जाँचबुझमा असहयोग गरे जरिवाना र कैद सजाय तोक्न समेत सक्नेछ ।

    न्यायपरिषद ऐन, २०७३ को दफा १९ अनुसार, न्याय परिषदले उच्च वा जिल्ला अदालतको कुनै न्यायाधीशको विरुद्धमा जाँचबुझ गराउन आवश्यक देखेमा न्याय परिषदको सदस्य वा सर्वाेच्च अदालतको न्यायाधीशको अध्यक्षतामा सम्बन्धित क्षेत्रको विज्ञ सहितको तीन सदस्यीय जाँचबुझ समिति गठन गर्नसक्ने उल्लेख छ । उक्त समितिले डेढ महिनाभित्र न्यायपरिषदमा प्रतिवेदन पेश गर्नुपर्नेछ ।

  • काठमाडौं उपत्यकामा १२ जनामा देखियो हैजा

    काठमाडौं उपत्यकामा १२ जनामा देखियो हैजा

    काठमाडौं । काठमाडौं उपत्यकामा १२ जना हैजाका बिरामी भेटिएका छन्।

    प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको आजको बैठकमा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले हालसम्म १२ जनामा हैजा पुष्टि भएको जानकारी दिए।

    तीमध्ये आठ जना उपचारपछि घर फर्किसकेका छन् भने चार जनाको उपचार भइरहेको छ।

    यस वर्ष उपत्यकामा पहिलो पटक यही असार ५ गते दुई जनामा हैजा पुष्टि भएको थियो। यही असार २ गते शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल टेकुमा भर्ना भएका १८ र २३ वर्षीय बिरामीमा हैजा पुष्टि भएको थियो।

    उनीहरू कामपा–२८ बागबजारमा बस्दै आएका थिए।

  • एकदिन पनि टिकेन् शेयर बजारको उकालो यात्रा, नेप्सेमा दोहोरो अंकको गिरावट

    एकदिन पनि टिकेन् शेयर बजारको उकालो यात्रा, नेप्सेमा दोहोरो अंकको गिरावट

    काठमाडौं । शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।

    साताको कारोबारको दोस्रो दिन शेयर बजार मापक सूचक नेप्से २३.८५ अंकले घटेर १९३३.१३ विन्दुमा झरेको छ ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार २२९ कम्पनीको २ अर्ब ४ करोड ४८ लाख ३१ हजार ९४७ रुपैयाँ बराबरको ५६ लाख ४१ हजार ५४० कित्ता शेयर किनबेच भएका छन् ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको छ । आइतवार २ अर्ब १९ करोड ६१ लाख ४१ हजार ८४८ रुपैयाँ बराबरको बराबरको कारोबार भएको थियो ।

    आइतवार पूँजी बजार तथा सेयर बजारको स्थायित्व र सुधारका लागि अनशनमा बसेका तिलक कोइराला र नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालबीच भएको सहमतिको प्रभावले लगानीकर्ता उत्साहित हुँदा बजारमा उछाल आएको थियो ।

    अनशन तोड्नुअघि पूँजीबजार सुधार संघर्ष समितिका संयोजकसमेत रहेका कोइराला र सेबोन अध्यक्ष हमालबीच शुक्रवार १९ बुँदे माग पूरा गर्ने प्रतिबद्धतापत्रमा हस्ताक्षर भएको थियो।

    कारोबारमा आएको १३ वटा समूहको परिसूचक मध्ये ११ वटा घटेको छ भने २ वटाको हरियो भएको छ ।

    तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.९९ प्रतिशतले बढेरको छ ।

    न्यादी हाइड्रोको शेयरमूल्य ९.९६ प्रतिशत र लाइफ इन्स्योरेन्स कर्पोरेसनको शेयरमूल्य ९.१५ प्रतिशतले को छ ।

    नेप्सेका अनुसार उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य १० प्रतिशतले घटेको छ ।

    त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी सिटिजन्स इन्भेष्टमेन्ट ट्रष्टको भएको छ । यसको आज १५ करोड ६५ लाख भन्दा बढीको कारोबार भएको छ ।

    दोस्रोमा हिमालय डिस्टिलरीको शेयर कारोबार भएको छ । यसको ९ करोड
    ७ लाख र लाइफ इन्स्योरेन्स कर्पोरेसनको ८ करोड २ लाख बराबरको कारोबार हुँदै शीर्ष तीनमा रहेको छ ।

  • ‘कुर्सीको दुरुपयोग गर्दिनँ, ‘मेरो योग्यता,क्षमताले भ्याएसम्म इमानदार भएर काम गर्छु’

    ‘कुर्सीको दुरुपयोग गर्दिनँ, ‘मेरो योग्यता,क्षमताले भ्याएसम्म इमानदार भएर काम गर्छु’

    काठमाडौं । नवनियुक्त सहरी विकासमन्त्री मेटमणि चौधरीले मन्त्रालयमा रहेर आफ्नो क्षमताले भ्याएसम्म इमानदार भएर काम गर्ने बताएका छन्।

    सोमबार सपथ लिएपछि सिंहदरबार पुगेर पदभार ग्रहण गरेका मन्त्री चौधरीले समय छोटो भएपनि धेरै काम गर्नुपर्ने भएकाले कामको गति सुस्त नहुने बताएका हुन्। उनले स्पोर्ट्स बाइकको गतिमा काम गर्ने दाबी गरे ।

    ‘म यो कुर्सीको दुरुपयोग गर्दिनँ । हामी थोरै समयका लागि यो ठाउँमा आएका छौँ र धेरै गर्नुपर्नेछ’, उनले भने, ‘६ महिनाको अवधिमा आफ्नो स्पीडमा इमानदारिताका साथ सरकारको पोलिसीसँग नबाझिने गरी कार्यसम्पादन गर्छु ।’

    मन्त्रालयको जिम्मेवारी सम्हालेपछि कुर्सीको दुरुपयोग नगर्ने पनि मन्त्री चौधरीले बताए। यसअघिका मन्त्रीले गरेका कामलाई निरन्तरता दिँदै बाँकी रहेका कामलाई समयमै सम्पन्न गर्ने मन्त्री चौधरीले प्रतिवद्धता व्यक्त गरे।

  • ‘पर्यटन क्षेत्रलाई पुन:स्थापना गर्न सफल हुने योजना एक सातामै ल्याउँछु’- मन्त्री श्रेष्ठ

    ‘पर्यटन क्षेत्रलाई पुन:स्थापना गर्न सफल हुने योजना एक सातामै ल्याउँछु’- मन्त्री श्रेष्ठ

    काठमाडौं । नवनियुक्त सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले आज पदबहाली गरेका छन् ।

    पदबहालीको क्रममा उनले कोभिड महामारीका कारण थला परेको पर्यटन क्षेत्रलाई उकास्ने गरी एक सातामै योजना ल्याउने बताए ।

    कोभिड महामारीबाट प्रभावित भएको पर्यटन क्षेत्रलाई उत्थानका लागि कार्ययोजना बनाएर पेश गर्ने निर्णयसमेत गरेको मन्त्री श्रेष्ठले जानकारी दिए ।

    यस सम्बन्धमा विगतमा विभिन्न अध्ययन प्रतिवेदन भएको र अब कार्ययोजना नै बनाएर पेश गर्ने निर्णय भएको उनले बताए ।

  • नवनियुक्त मन्त्री र राज्यमन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

    नवनियुक्त मन्त्री र राज्यमन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) बाट नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

    सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले शीतलनिवासमा आयोजित समारोहकाबीच नवनियुक्त मन्त्रीहरुलाई शपथ ग्रहण गराएकी हुन् । समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाले राज्यमन्त्रीलाई शपथ ग्रहण गराएका छन्।

    राष्ट्रपति भण्डारीले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ, सहरी विकास मन्त्री मेटमणी चौधरी, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर र स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी खापुङलाई पद तथा गोपनीयताको शपथ खुवाएकी हुन्। त्यस्तै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीरा केसीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले शपथ खुवाए।

    शपथ ग्रहण समारोहमा राष्ट्रपति, प्रधामन्त्रीसहित उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख अग्निप्रसाद सापकोटा लगायतको उपस्थिति थियो।

    एकीकृत समाजवादीको निर्णयअनुसार आइतबार प्रेम आले, किसान श्रेष्ठ, विरोध खतिवडा र रामकुमारी झाँक्री मन्त्रीबाट फर्किएका थिए । यसअघि स्वास्थ्य राज्यमन्त्री रहेका भवानी खापुङ स्वास्थ्यमन्त्री बने।