Category: फिचर

  • बजेट नल्याउने स्थानीय तहलाई सामान्य प्रशासन मन्त्रालयको स्पष्टीकरण

    बजेट नल्याउने स्थानीय तहलाई सामान्य प्रशासन मन्त्रालयको स्पष्टीकरण

    काठमाडौँ, १७ असारः भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०८३–८४ को वार्षिक नीति, कार्यक्रम तथा बजेट तोकिएको समयभित्र सभामा पेस नगरेका २३ वटा स्थानीय तहसँग स्पष्टीकरण मागेको छ । मन्त्रालयले पत्रमार्फत आज विभिन्न गाउँपालिका र नगरपालिकालाई तीन दिनभित्र बजेट तर्जुमा प्रक्रियाको अवस्था र ढिलाइको कारण स्पष्ट पारेर विवरण पठाउन निर्देशन दिएको हो ।

    पत्रमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ अनुसार स्थानीय तहले आगामी आर्थिक वर्षको राजस्व र व्यय (बजेट) असार १० गतेभित्र कार्यपालिकाबाट स्वीकृत गरी सभामा पेस गर्नुपर्ने तथा असार मसान्तभित्र पारित गरिसक्नुपर्ने कानुनी व्यवस्था रहेको उल्लेख गरिएको छ ।

    मन्त्रालयले आफ्नो पोर्टलमा प्रविष्ट विवरण तथा प्राप्त प्रतिवेदनका आधारमा केही स्थानीय तहले हालसम्म आव २०८३–८४ को बजेट कानुनले तोकेको समयसीमाभित्र पेस नगरेको देखिएकाले आवश्यक स्पष्टीकरण मागिएको जनाएको छ ।

    पत्रमा बजेट तर्जुमा प्रक्रिया हाल कुन चरणमा रहेको, तोकिएको समयभित्र बजेट सभामा पेस गर्न नसक्नुको कारण के हो, तथा मन्त्रालयबाट थप समन्वय वा सहजीकरण आवश्यक भए सो समेत खुलाएर पत्र प्राप्त भएको मितिले तीन दिनभित्र जानकारी गराउन भनिएको छ ।

    यसका साथै, असार मसान्तभित्र बजेट पारित गर्न सहज हुने गरी स्थानीय तहको सभाको आगामी कार्यतालिका समेत मन्त्रालयमा उपलब्ध गराउन अनुरोध गरिएको छ । मन्त्रालयले स्थानीय तहमा बजेट निर्माण प्रक्रियालाई समयमै सम्पन्न गराई कानुनी व्यवस्थाको पूर्ण कार्यान्वयन सुनिश्चित गर्न यो पहल गरिएको जनाएको छ ।

  • युरोनियम खानी उत्खननका सम्बन्धमा कोही कसैसँग सम्झौता भएको छैनः मन्त्री खनाल

    युरोनियम खानी उत्खननका सम्बन्धमा कोही कसैसँग सम्झौता भएको छैनः मन्त्री खनाल

    काठमाडौँ, १८ असारः परराष्ट्रमन्त्री शिशिर खनालले मुस्ताङमा रहेको युरोनियम खानी उत्खननका सम्बन्धमा हालसम्म कोही कसैसँग सहमति एवं सम्झौता नभएको स्पष्ट पारेका छन् । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूको जिज्ञासाको जवाफमा उनले प्रारम्भिक अध्ययनका क्रममा खानी रहेको भन्ने जानकारी प्राप्त भए पनि उत्खननका लागि कुनै पनि प्रकारको सहमति नभएको उल्लेख गरे । उनले डिजिटल मिडियामा आएका असत्य समाचारको यसअघि नै सरकारका सम्बद्ध निकायले खण्डन गरिसकेको बताए ।


    सांसद भुवनबहादुर सुनारको प्रश्नको जवाफमा मन्त्री खनालले प्राकृतिक स्रोतको उपयोगका सम्बन्धमा नेपालको संविधानमा गरिएको व्यवस्थाप्रति सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको जानकारी दिए । मन्त्री खनालले असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तप्रति प्रतिकूल हुनेगरी कुनै पनि सम्झौता नगरिने स्पष्ट पारे । मुस्ताङमा खानी रहेको प्रारम्भिक अध्ययनले पुष्टि गरेको भए पनि थप अध्ययन र अन्वेषण आवश्यक रहेको स्पष्ट पार्दै उनले खानी तथा भूगर्भ विभागले थप अध्ययन गर्ने उल्लेख गरे ।


    सांसद विष्णुबहादुर विश्वकर्माको प्रश्नको जवाफमा मन्त्री खनालले नेपाल भारतबीच सुस्ता, लिम्पियाधुरा, लिपुलेक तथा कालापानी क्षेत्रमा नक्साङ्कन हुन बाँकी रहेको र द्विपक्षीय संयन्त्र ‘बाउन्ड्री वर्किङ ग्रुप’ र त्यस अन्तर्गतका संयन्त्रको बैठक निरन्तर हुने गरेको उल्लेख गरे । सुस्तामा निर्माणाधीन अन्दाजी एक किलोमिटर तटबन्ध निर्माण कार्य भइरहेका सम्बन्धमा भारतीय पक्षबाट कुनै आपत्ति नरहेको जनाएको उनले बताए ।


    यस्तै, थप १३२ मिटर तटबन्धका सम्बन्धमा भने निर्माण कार्यअघि दुवै देशका सम्बन्धित अधिकारीबीच आवश्यक समन्वय हुनुपर्ने देखिएको भनी भारतीय पक्षले आपसी छलफलपश्चात् मात्र अगाडि बढाउन आग्रह गरेको सदनलाई जानकारी दिए । नेपालको सशस्त्र प्रहरी बल तथा भारतको सीमा सुरक्षा बल ९एसएसबी०को संयुक्त टोलीले नेपालतर्फ पश्चिम नवलपरासी, सुस्ता गाउँपालिका सुस्ता र भारततर्फ चम्पारण, रामपुरवास्थित नेपाल भारत सीमा क्षेत्रको अनुगमन गरेको उहाँले सदनलाई जानकारी दिए ।


    नारायणी नदीको किनारमा सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना, भरतपुर (चितवन)बाट सुस्ता गाउँपालिका–५ मा नेपाल–भारत सीमादेखि अन्दाजी २५० मिटर पश्चिमतर्फ नेपाली भूभागमा अन्तिम बिन्दु हुनेगरी अन्दाजी एक किलोमिटर तटबन्ध निर्माण कार्य भइरहेको छ । नेपाल र भारतबीचको घनिष्ठ सम्बन्धको मर्म र भावनाअनुरूप ऐतिहासिक सन्धि, सम्झौता तथा नक्साका आधारमा सीमासम्बन्धी समस्याको समाधान कूटनीतिक वार्ताका माध्यमबाट गर्न नेपाल सरकार सधैँ प्रतिबद्ध रहेको मन्त्री खनालको प्रष्टोक्ति छ ।

    नेपाल र भारतबीचको द्विपक्षीय प्राविधिक समितिले नेपाल र भारतको धेरै भू–भागबीचको सीमाङ्कन टुङ्ग्याएको भए पनि लिम्पियाधुरा, लिपुलेक, कालापानी र सुस्ता क्षेत्रमा दुईपक्षीयको प्राविधिक टोलीले सीमाङ्कन नगरेको सत्य हो भने । उनले भने, “यो सत्य हो र तथ्य हो । हामी स्पष्ट छौँ, ती भूभागहरू नेपालको हो । हामीसँग ऐतिहासिक आधार छन्, प्रमाणहरू छन्, नक्साहरू छन र त्यसका आधारमा हामी हाम्रो दाबीसहित द्विपक्षीय कूटनीतिक वार्तामार्फत मतभेद टुङ्ग्याउन चाहन्छौँ भनेर मैले यस अगाडि पनि सदनलाई जानकारी गराएको थिएँ ।”

    छिमेकीबीच केही विभेद, केही विवाद हुनु स्वाभाविक भएको उल्लेख गर्दै उनले ऐतिहासिक तथ्य, प्रमाणका आधारमा कूटनीतिक वार्ताबाट यो विवाद समाधान गर्न चाहेको बताए । परराष्ट्रमन्त्री खनालले हालै गरेको चीन भ्रमणका बारेमा सदनलाई जानकारी गराए । भ्रमणका क्रममा दुवै देशका प्रतिनिधिमण्डलबीच नेपाल चीन द्विपक्षीय सम्बन्धका सबै पक्षमा गहन छलफल भएको उनको कथन छ ।

    आपसी मित्रता, सद्भावना र सहयोगमा आधारित नेपाल–चीन सम्बन्धलाई थप सुदृढ तुल्याउने विषयमा दुवै पक्षबीच मतैक्यता रहेको उनले बताए । नेपालको चिया निर्यातमा देखिएको समस्या समाधानमा सरकार लागिपरेको उच्चस्तरीय छलफलपछि सहज भएको परराष्ट्रमन्त्री खनालले जानकारी दिए । उनले केही दिन पहिले भारतीय हेलिकप्टर मौसमको खराबीले नेपाली भू–भागमा आएको जानकारी प्राप्त भएको बताए ।

  • जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

    जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

    काठमाडौँ, १७ असारः हरित जलवायु कोष (जिसिएफ) बोर्डको ४५औँ बैठकले नेपालमा जलवायु उत्थानशीलताका लागि ८.५ मिलियन अमेरिकी डलर अनुदानको वित्तीय प्रस्ताव स्वीकृत गरेको छ । बोर्डले ‘कर्णाली प्रदेशमा जीविकोपार्जनका अवसर तथा स्थानीय क्षमता अभिवृद्धिमार्फत वनमा निर्भर समुदायको जलवायु उत्थानशीलता निर्माण’ शीर्षकको उक्त वित्तीय प्रस्ताव बुधबार स्वीकृत गरेको हो ।

    यसले नेपालको जलवायु वित्त यात्रामा अर्को महत्त्वपूर्ण उपलब्धि थपेको छ । यो परियोजना राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी)ले जिसिएफको प्रत्यक्ष पहुँच प्राप्त निकायका रूपमा सरलीकृत स्वीकृति प्रक्रियाअन्तर्गत विकास गरेको हो । कूल ९.२ मिलियन अमेरिकी डलर लगानी रहेको यस चार वर्षे पहलमा जिसिएफबाट ८.५ मिलियन अमेरिकी डलर अनुदान समावेश छ । यस परियोजनाले नेपालको जलवायु परिवर्तनप्रति सबैभन्दा संवेदनशील प्रदेशहरूमध्ये एक कर्णाली प्रदेशमा पारिस्थितिकीय प्रणालीको सहनशीलता, जलवायु–सहनशील जीविकोपार्जन तथा संस्थागत क्षमता सुदृढ गर्नेछ ।

    नाजुक पर्वतीय पारिस्थितिकीय प्रणाली, कठिन भूगोल, उच्च गरिबी दर तथा पहिरो, बाढी र लामो खडेरीजस्ता जलवायुजन्य विपद्हरूप्रतिको बढ्दो जोखिमले कर्णाली प्रदेश मुलुकमा जलवायु परिवर्तनका प्रभावप्रति सबैभन्दा संवेदनशील क्षेत्रहरूमध्ये एक हो । यस परियोजनाले नेपालको राष्ट्रिय अनुकूलन योजना (२०२१–२०५०), राष्ट्रिय निर्धारित योगदान (एनडिसी ३.०) तथा अन्य राष्ट्रिय जलवायु प्राथमिकताहरूको कार्यान्वयनमा प्रत्यक्ष योगदान पुर्‍याउने विश्वास गरिएको छ । साथै जलवायु नीतिहरूलाई स्थानीय तहमा ठोस कार्यमा रूपान्तरण गर्नेछ ।

    पारिस्थितिकीय पुनःस्थापना, प्रकृतिमा आधारित समाधान, जलवायु–सहनशील जीविकोपार्जनका अवसर, समुदायमा आधारित पूर्वसूचना प्रणाली तथा स्थानीय संस्थाको सुदृढीकरणमार्फत यस परियोजनाबाट एक लाखभन्दा बढी मानिसले प्रत्यक्ष लाभ प्राप्त गर्ने विश्वास छ ।

    साथै कर्णाली प्रदेशभर चार लाखभन्दा बढी मानिसको जलवायु उत्थानशीलता अप्रत्यक्ष रूपमा अभिवृद्धि हुनेछ । विशेषगरी महिला, आदिवासी जनजाति, दलित तथा अन्य सीमान्तकृत र जलवायु–संवेदनशील समुदायहरूको अर्थपूर्ण सहभागिता तथा समान लाभ सुनिश्चित गर्न विशेष जोड दिइएको छ ।

    यो परियोजना राष्ट्रिय, प्रादेशिक तथा स्थानीय संस्थाहरूबीचको साझेदारीमार्फत कार्यान्वयन गरिनेछ । जिसिएफको मान्यताप्राप्त निकायका रूपमा रहेको एनटिएनसीले सहकार्यान्वयन निकायको भूमिका निर्वाह गर्नेछ ।

    नेपाल सरकारको तर्फबाट थप दुई सहकार्यान्वयन निकाय रहनेछन् । त्यसमध्ये अर्थ मन्त्रालयले जिसिएफ स्रोतहरूको प्रवाह तथा व्यवस्थापनलाई सहजीकरण गर्नेछ । त्यस्तै कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रदेशस्तरीय हस्तक्षेपको कार्यान्वयनको नेतृत्व गर्दै सहभागी स्थानीय सरकारहरूसँग परियोजना गतिविधिको समन्वय गर्नेछ ।

    यो कार्यान्वयन व्यवस्था सङ्घीय शासन संरचनाअनुरूप तयार गरिएको र सरकारका सबै तहबीच सुदृढ समन्वय सुनिश्चित गर्ने उद्देश्य लिइएको छ । बोर्डको स्वीकृतिप्रति प्रतिक्रिया जनाउँदै कृषि, वन तथा पर्यावरणमन्त्री तथा एनटिएनसीका अध्यक्ष गिता चौधरीले सो निर्णयलाई नेपालको जलवायु सहनशीलता मुद्दाका लागि महत्त्वपूर्ण उपलब्धि भएको बताइन् ।

    “यो स्वीकृतिले राष्ट्रिय जलवायु नीतिलाई व्यवहारिक कार्यमा रूपान्तरण गरी सबैभन्दा जलवायु–संवेदनशील समुदायसम्म पुर्‍याउने नेपालको निरन्तर प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ”, उनले भनिन्, “यस लगानीमार्फत हामी सहनशील पारिस्थितिकीय प्रणालीलाई सुदृढ गर्दै, दिगो जीविकोपार्जनमा सुधार ल्याउँदै र कसैलाई पनि पछाडि नछोड्ने सुनिश्चिततासहित पेरिस सम्झौताअन्तर्गत नेपालका प्रतिबद्धतालाई अगाडि बढाइरहेका छौँ ।”

    स्वीकृतिप्रति एनटिएनसीलाई बधाई दिँदै अर्थ मन्त्रालयअन्तर्गत अन्तरराष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका प्रमुख तथा जिसिएफका लागि राष्ट्रिय नामित प्राधिकरण (एनडिए) फोकल प्वाइन्ट धनीराम शर्माले यस स्वीकृतिले अन्तरराष्ट्रिय जलवायु वित्त पहुँच र व्यवस्थापनमा नेपालको बढ्दो संस्थागत क्षमतालाई प्रमाणित गरेको बताए ।

    एनटिएनसीका सदस्य–सचिव डा चिरञ्जीवीप्रसाद पोखरेलले सरकारी निकाय तथा समुदायसँग सहकार्य गर्दै प्रकृतिमा आधारित दीर्घकालीन जलवायु उत्थानशीलता प्रदान गर्न तथा अन्तरराष्ट्रिय जलवायु वित्तमा काम गर्न उत्साहित रहेको बताए । परियोजनाअन्तर्गत जाजरकोट, जुम्ला, डोल्पा र दैलेख जिल्लाभरका प्रदेश सरकार, ३१ स्थानीय सरकार, सामुदायिक वन उपभोक्ता समूह, महिला समूह, आदिवासी जनजाति, प्राविधिक विज्ञ तथा अन्य सरोकारवालासँग परामर्श र प्रमाणमा आधारित प्रक्रियामार्फत तयार गरिएको हो ।

    एनटिएनसीका जलवायु परिवर्तन विभाग प्रमुख तथा जिसिएफका प्राथमिक फोकल प्वाइन्ट डा मनिषराज पाण्डे र जिसिएफका द्वितीय फोकल प्वाइन्ट लीना चालिसेको सहयोगमा परियोजना प्रस्ताव विकास गरिएको थियो ।

  • सरकारी कागजात ‘स्क्यान’ नगर्न प्रधानमन्त्री कार्यालयको परिपत्र

    सरकारी कागजात ‘स्क्यान’ नगर्न प्रधानमन्त्री कार्यालयको परिपत्र

    १७ असार, काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारी कामकाजका आधिकारिक कागजातहरू मोबाइल एप प्रयोग गरेर स्क्यान नगर्न तीनै तहका सरकारलाई निर्देशन दिएको छ। कार्यालयको सूचना प्रविधि शाखाले जारी गरेको परिपत्र अनुसार यो कदम मुख्य रूपमा डिजिटल सुरक्षा र तथ्याङ्क गोपनीयता सुनिश्चित गर्नका लागि चालिएको हो।

    बजारमा उपलब्ध विभिन्न बाह्य मोबाइल स्क्यानिङ एपहरू (जस्तै स्क्याम स्क्यानर) प्रयोग गर्दा स्क्यान गरिएका सामग्रीहरू विदेशी सर्भरहरूमा पुग्ने र भण्डारण हुने जोखिम उच्च रहन्छ। यसरी राज्यका नीतिगत निर्णय, गोप्य टिप्पणी र संवेदनशील दस्ताबेजहरू डिजिटल माध्यमबाट बाहिरिनु राष्ट्रिय सुरक्षाका लागि ठुलो चुनौती हो।

    परिपत्रमा सरकारी कामकाजमा प्रयोग हुने आधिकारिक कागजातहरूको गोपनीयता र सुरक्षित अभिलेखीकरणको सुनिश्चित गर्नु प्रत्येक कार्यालय तथा कर्मचारीको दायित्व भएको प्रष्ट पारिएको छ। हाल सरकारी कार्यालयहरूमा मोबाइल क्यामेराबाट कागजात स्क्यान गर्ने वा तस्विर खिची सरकारी पत्राचार, निर्णय र अभिलेखका लागि प्रयोग गर्ने प्रवृत्ति बढ्दै जाँदा संवेदनशील सूचनाहरू अनधिकृत व्यक्तिको हातमा पुग्न सक्ने खतरा बढेको छ।

    प्रधानमन्त्री वालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार सरकारी कागजातहरू मोबाइल एपबाट स्क्यान गर्दा राष्ट्रिय सुरक्षा र गोपनीयता पूर्ण रूपमा असुरक्षित हुन्छ। धेरैजसो मोबाइल स्क्यानिङ एपहरूले प्रयोगकर्ताका तथ्याङ्कमा सिधै पहुँच राख्छन् र ती तथ्याङ्कहरू कस्ता सर्भरमा कसरी सुरक्षित राखिएका छन् भन्ने कुनै ग्यारेन्टी हुन्न। राज्यका संवेदनशील दस्ताबेजहरू यसरी डिजिटल माध्यमबाट बाहिरिनु तथ्याङ्क गोपनीयताको गम्भीर उल्लङ्घन हो। त्यसैले यो निर्देशनलाई प्राविधिक सजगता मात्र नभई राष्ट्रिय सुरक्षाको अनिवार्य कदमका रूपमा बुझ्नुपर्छ।

  • सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

    सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

    काठमाडौँ, १७ असार । लक्षित वर्ग निःशुल्क उपचार पोर्टल (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८३ को यथार्थ अवस्था अनुगमन गरी कार्यान्वयन नगर्ने निकायलाई कानुन बमोजिम कारबाही गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइएको छ । गृह मन्त्रालयद्वारा आज जारी परिपत्रमा कार्यविधिमा उल्लेख भएको छुट–सहुलियत दिए नदिएको अनुगमन गरी तत्काल छुट दिने व्यवस्था मिलाउन र छुटरसहुलियत नदिने अस्पताललाई कानून बमोजिम कारवाही गर्न भनिएको छ ।

    विपन्न, असहाय र वेवारिसे नागरिकका लागि अस्पतालले छुट्ट्याउनुपर्ने कुल शैय्याको १० प्रतिशत निःशुल्क उपचार सेवालाई थप व्यवस्थित, पारदर्शी र पहुँचयोग्य बनाउन सो कार्यविधि जारी गरिएको थियो । कार्यविधिअनुसार सरकारी, गैरसरकारी, नीजी, सहकारी वा गैर नाफामुलक अस्पतालहरूबाट स्वास्थ्य उपचारका क्रममा लक्षित वर्गका नागरिकहरूले कार्यविधिमा व्यवस्था भएअनुसार छुटरसहुलियत पाउनुपर्नेमा पाउन नसकेको भन्ने गुनासो प्राप्त भएको उल्लेख गरिएको छ ।

  • त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

    त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

    काठमाडौँ, १७ असारः त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका पूर्वसचिव तथा वरिष्ठ सहरी योजनाविद् किशोर थापा नियुक्त भएका छन् । प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले थापालाई सेवा आयोगको अध्यक्षमा नियुक्त गरेका हुन् । यसैगरी, सेवा आयोगको सदस्यमा प्रा डा रेजिना मास्के नियुक्त भएकी छिन् । दुवै नियुक्ति त्रिभुवन विश्वविद्यालयको सेवा आयोगलाई प्रभावकारी, पारदर्शी र योग्य जनशक्तिमैत्री बनाउने उद्देश्यका साथ गरिएको हो।

    शिक्षा तथा खेलकुदमन्त्रीसमेत रहनुभएका सहकुलपति सस्मित पोखरेलको नेतृत्वमा गठित अध्यक्ष सिफारिस समितिले सेवा आयोग अध्यक्ष पदका लागि प्राप्त आवेदनहरूको अध्ययन, मूल्याङ्कन तथा अन्तर्वार्तापछि तीन जनाको नाम कुलपतिसमक्ष सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा कुलपति शाहले थापालाई अध्यक्षमा नियुक्त गरेका हुन् । सिफारिस समितिले गत जेठ महिनामा सेवा आयोग अध्यक्ष पदका लागि इच्छुक योग्य व्यक्तिहरूबाट आवेदन आह्वान गरेको थियो । निर्धारित प्रक्रियाअनुसार प्राप्त आवेदनहरूको योग्यता, अनुभव, नेतृत्व क्षमता तथा कार्यसम्पादनको मूल्याङ्कन गरी योग्य उम्मेदवारहरूको नाम सिफारिस गरिएको थियो ।

    आर्किटेक्ट तथा सहरी योजनाविद्का रूपमा परिचित किशोर थापाले नेपाल सरकारको निजामती सेवामा चार दशकभन्दा बढी समय विभिन्न जिम्मेवारीमा रहेर योगदान दिएका छन् । उनी सहरी विकास मन्त्रालय, शिक्षा मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, जल तथा ऊर्जा आयोग सचिवालयलगायतका निकायमा सचिवका रूपमा कार्यरत रहेका थिए ।


    उनले राष्ट्रिय आवास योजना, राष्ट्रिय सहरी विकास रणनीति, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम नीति, नेपाल पर्यटन वर्ष २०११ लगायतका महत्त्वपूर्ण सरकारी नीति तथा कार्यक्रमको निर्माण र कार्यान्वयनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । भूकम्पपछिको पुनर्निर्माण अभियानमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समितिको विज्ञ सदस्यका रूपमा समेत योगदान दिएका थापा हाल नेपाल इन्स्टिच्युट अफ अर्बन एन्ड रिजनल स्टडिजमा सहरी योजनाविज्ञ तथा काठमाडौँ विश्वविद्यालयमा ‘भिजिटिङ फ्याकल्टी’का रूपमा आबद्ध छन् । उनले आवास, सहरी विकास, पूर्वाधार, विपद् व्यवस्थापन तथा सार्वजनिक नीतिका क्षेत्रमा लामो अनुभव हासिल गरेका छन् ।

  • भ्रष्टाचार अभियोगमा मुद्दा दायर

    भ्रष्टाचार अभियोगमा मुद्दा दायर

    काठमाडौँ, १७ असारः अख्तियार दुरूपयोग आयोगले ओखलढुङ्गाको चम्पादेवी गाउँपालिकाको तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतलगायतलाई भ्रष्टाचार अभियोगमा मुद्दा दायर गरेको छ । पलापु खानेपानी लिफ्टको बैंक ग्यारेन्टी रकम हिनामिना गरेको तथा आम्दानी नजनाएको भन्नेसमेतको उजुरीका सम्बन्धमा छानबिन गर्दा भ्रष्टाचार भएको आयोगको ठहर छ ।

    आयोगले चम्पादेवी गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेमप्रसाद सुवेदी, शिरिस कन्स्ट्रक्सन मध्यपुर ठिमी ६ भक्तपुर र सो कम्पनीका सञ्चालक प्रकाश नाछिरिङ राईविरुद्ध रु १८ लाख ५० हजार बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरिएको आयोगले जनाएको छ । आयोजना सञ्चालनमा क्रममा राखिएको बैंक ग्यारेन्टी वापतको कार्यसम्पादन जमानतको रकम आपसी मिलेमतोमा सार्वजनिक सम्पत्ति हिनामिना गरेको आरोप लागेको छ ।

  • भेनेजुएलामा भूकम्पका कारण ५८ हजार भन्दा बढी भवनहरू क्षतिग्रस्त

    भेनेजुएलामा भूकम्पका कारण ५८ हजार भन्दा बढी भवनहरू क्षतिग्रस्त

    वाशिंगटन, १७ असार (रासस–एएफपी) । अमेरिकी अन्तरिक्ष एजेन्सी नासा द्वारा प्रकाशित उपग्रह तथ्याङ्को प्रारम्भिक मूल्याङ्कन अनुसार गत हप्ता भेनेजुएलामा आएका शक्तिशाली दुई वटा भूकम्पका कारण ५८ हजार भन्दा बढी भवनहरूलाई क्षतिग्रस्त भएको उल्लेख गरिएको छ । भेनेजुएलामा गत हप्ता ७।२ र ७।५ म्याग्निच्युडको भूकम्पमा परी एक हजार ७०० जनाको मृत्यु भएको पुष्टि हुनुका साथै हजारौं अझै बेपत्ता भएको बताइएको छ ।

    ओरेगन स्टेट युनिभर्सिटीका अनुसन्धानकर्ता कोरी शेर र जामोन भान डेन होकका अनुसार भूकम्पको भोलिपल्ट जुन –२५ मा सङ्कलन गरिएको उपग्रह राडार तथ्याङ्को आधारमा “प्रभावित क्षेत्रमा लगभग ५८ हजार ८७० वटा भवनहरू क्षतिग्रस्त भएको जनाइएको हो । युरोपेली अन्तरिक्ष एजेन्सीको “उच्च–रिजोल्युसन राडार इमेजरी उपग्रह सेन्टिनेल–१” बाट तथ्याङ्क उद्धृत गरिरहेको जनाइएको छ ।

    यो प्रारम्भिक तथाङ्क द्रुत मूल्याङ्कनले क्षतिसँग मिल्दोजुल्दो अवस्थालाई प्रतिबिम्बित गर्ने अनुसन्धानकर्ताहरूले जनाइएका छन् उनीहरुका अनुसार यो तथ्याङ् प्रमाणित हुने प्रक्रिया अझै बाँकी नै छ । नासाले उपग्रहहरूले “जमिनमा रहेका उद्धार टोलीहरूलाई प्रभावहरूको मूल्याङ्कन गर्न र प्रतिक्रिया प्रयासहरूलाई मार्ग–दर्शन गर्न मद्दत गर्नको लागि महत्वपूर्ण तथ्याङ्क उपलब्ध गराएको जनाएको छ ।

  • येन ४० वर्षयताकै कमजोर, हस्तक्षेपको तयारीमा जापान

    येन ४० वर्षयताकै कमजोर, हस्तक्षेपको तयारीमा जापान

    टोकियो, १७ असार (रासस–एएफपी) । अमेरिकी डलरको तुलनामा जापानी मुद्रा येन ४० वर्षयताकै न्यून स्तरमा पुगेपछि जापानले आवश्यक परे विदेशी विनिमय बजारमा हस्तक्षेप गर्न तयार रहेको जनाएको छ । जापानका अर्थमन्त्रीले मङ्गलबार अधिकारीले परिस्थितिमाथि नजिकबाट निगरानी गरिरहेको र आवश्यक परे उपयुक्त कदम चालिने बताए । स्थानीय सञ्चारमाध्यमका अनुसार आवश्यकता अनुसार जुनसुकै बेला उचित हस्तक्षेप गर्न सकिने सङ्केत दिएका छन् ।


    मध्यपूर्वमा जारी द्वन्द्व तथा अमेरिका र जापानबीचको ब्याजदर अन्तरका कारण पछिल्ला वर्षमा येनमाथि निरन्तर दबाब पर्दै आएको छ । गत सोमबार लन्डन बजारमा एक अमेरिकी डलर बराबर १६१ दशमलव ९६ येन पुगेपछि जापानी मुद्रा सन् १९८६ यताकै कमजोरस्तरमा पुगेको थियो । मङ्गलबार एसियाली कारोबारका क्रममा डलरको विनिमय दर १६२ दशमलव ४० येनसम्म पुगेपछि केही सुधार भई १६२ दशमलव १७ येनमा कारोबार भएको थियो ।

    बजारलाई सन्देश दिन जापान सरकारले गत महिना ७० अर्ब अमेरिकी डलरभन्दा बढी खर्च गर्दै येनलाई समर्थन गर्न हस्तक्षेप गरेको थियो । पछिल्लो अभिव्यक्तिलाई पनि आवश्यक परे पुनः हस्तक्षेप गर्न सकिने सङ्केतका रूपमा हेरिएको छ । कमजोर येनका कारण ऊर्जा तथा कच्चा पदार्थ आयातमा निर्भर जापानमा आयात लागत बढेको छ । विशेषगरी अमेरिकी डलरमा कारोबार हुने पेट्रोलियम पदार्थ महँगो बनेको छ । यसबाट उपभोक्तालाई राहत दिन प्रधानमन्त्री साने ताकाइची नेतृत्वको सरकारले इन्धन तथा ऊर्जामा अनुदान उपलब्ध गराउँदै आएको छ ।

    यद्यपि कमजोर येनका कारण जापान विदेशी पर्यटकका लागि तुलनात्मक रूपमा सस्तो गन्तव्य बनेको छ, जसले पर्यटन तथा उपभोगमा सकारात्मक प्रभाव पारेको छ । यसै महिना जापानको केन्द्रीय बैंकले ब्याजदर ३१ वर्षयताकै उच्च स्तरमा पु¥याए पनि अमेरिकी सङ्घीय रिजर्भले यस वर्ष थप ब्याजदर वृद्धि गर्न सक्ने अपेक्षा गरिएको छ । यसले दुई देशबीचको ब्याजदर अन्तर कायम रहने र येनमाथिको दबाब तत्काल कम नहुने विश्लेषण गरिएको छ ।यसैबीच, जापानको अर्थ मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार मे २८ देखि जुन २६ सम्मको अवधिमा विदेशी विनिमय बजारमा कुनै हस्तक्षेप गरिएको थिएन ।

  • मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी

    मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी

    बेरूत, १७ असार (रासस–सिन्ह्वा) । मध्यपूर्वमा जारी सङ्कटले अरब मुलुकको अर्थतन्त्रमा १९४ अर्ब अमेरिकी डलरसम्मको क्षति पु¥याउन सक्ने संयुक्त राष्ट्रसङ्घका एजेन्सीले चेतावनी दिएका छन् । सङ्कटले श्रम बजारमा असमानता बढाउँदै महिलाको रोजगारीमा गम्भीर असर पार्ने राष्ट्रसङ्घीय प्रतिवेदनमा उल्लेख छ । ‘युएन वुमन’ र ‘युनाइटेड नेशनस् इकोनोमिक एण्ड सोसियल कमिसन् फर वेष्टर्न एसिया’ले मङ्गलबार सार्वजनिक गरेको नीतिगत विवरणमा सङ्कटका कारण अरब मुलुकमा ३६ लाख रोजगारी जोखिममा पर्न सक्ने र थप ४० लाख मानिस गरिबीको चपेटामा पर्न सक्ने अनुमान गरिएको छ ।

    प्रतिवेदन अनुसार श्रम बजारमा विद्यमान संरचनागत असमानता, अनौपचारिक रोजगारीको उच्च हिस्सा तथा कमजोर आर्थिक क्षेत्रमा महिलाको बढी संलग्नताका कारण उनीहरू सङ्कटबाट असमान रूपमा प्रभावित हुनेछन् । इराक, जोर्डन, लेबनान, प्यालेस्टाइन र सिरियामा अल्पकालीन अवधिमा ३४ हजारदेखि ५६ हजार महिलाको रोजगारी गुम्न सक्ने अनुमान गरिएको छ । सङ्कट अझ गहिरिएमा यो सङ्ख्या करिब ८० हजारसम्म पुग्न सक्ने प्रतिवेदनमा उल्लेख छ ।

    कडा वित्तीय अवस्थाका कारण शिक्षा, स्वास्थ्य र सार्वजनिक प्रशासन क्षेत्रमा महिलाको रोजगारी थप प्रभावित हुनसक्ने जनाइएको छ । यसबाट नयाँ नियुक्ति रोक्ने, तलब कटौती गर्ने तथा पारिश्रमिक भुक्तानीमा ढिलाइ हुने अवस्था आउन सक्ने प्रतिवेदनमा उल्लेख छ ।

    अरब राज्यका लागि संयुक्त राष्टसङ्घीय महिला निकायकी क्षेत्रीय निर्देशक मोएज डोरेडले आर्थिक सङ्टको प्रभाव सबै वर्गमा समान रूपमा नपर्ने बताउँदै महिलाको जीविकोपार्जन सुरक्षाका लागि लक्षित कार्यक्रम आवश्यक रहेको बताए । उनले पर्याप्त उपाय नअपनाए सङ्कटले विद्यमान असमानता अझ गहिरो बनाउने र महिलाको आर्थिक सशक्तीकरणमा भएका प्रगतिलाई पछाडि धकेल्न सक्ने चेतावनी दिए ।

    प्रतिवेदनले अनौपचारिक तथा निजी क्षेत्रमा कार्यरत महिलाका लागि आयस्रोतको सुरक्षा विस्तार गर्न, शिक्षा र स्वास्थ्य क्षेत्रको खर्च संरक्षण गर्न, महिला नेतृत्वका व्यवसायलाई सहयोग गर्न तथा लैङ्गिक आधारमा विभाजित श्रम बजारको निगरानी प्रणाली बलियो बनाउन सुझाव दिएको छ ।

  • युरोपमा ३५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम, नौ करोड ५० लाखभन्दा बढी मानिस प्रभावित

    युरोपमा ३५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम, नौ करोड ५० लाखभन्दा बढी मानिस प्रभावित

    पेरिस, १७ असार (रासस–एएफपी) । युरोपमा यस वर्षको ग्रीष्मयामको सुरुमै देखिएको तीव्र गर्मीको लहरका कारण आज नौ करोड ५० लाखभन्दा बढी मानिसले ३५ डिग्री सेल्सियसभन्दा बढी तापक्रमको सामना गर्ने अनुमान गरिएको छ । एएफपीको विश्लेषणअनुसार सोमबार १३ करोडभन्दा बढी मानिसले ३५ डिग्री सेल्सियसभन्दा माथिको तापक्रम अनुभव गरेको अनुमान गरिए पनि आज प्रभावित जनसङ्ख्या केही घट्ने देखिएको छ । यद्यपि युरोप (टर्कीबाहेक)का करिब पाँचमध्ये दुई जनाले ३० डिग्री सेल्सियसभन्दा माथिको तापक्रमको सामना गर्ने अपेक्षा गरिएको छ ।

    युरोपमा विशेषगरी ग्रीष्मयामको सुरुआतमै यस्तो उच्च तापक्रम असामान्य मानिन्छ । यसले अत्यधिक मृत्यु, विद्यालय बन्द तथा बाहिरी गतिविधि रद्द गर्नुपर्ने अवस्था सिर्जना गरेको छ । ‘वल्र्ड वेदर अट्रिब्युसन ग्रुप’का वैज्ञानिकले जलवायु परिवर्तन नभएको भए जुन महिनामा यति तीव्र गर्मीको लहर आउनु ‘लगभग असम्भव’ हुने बताएका छन् ।

    आजको गर्मीको लहरबाट मुख्य रूपमा युरोपका पूर्वी र दक्षिणी क्षेत्र प्रभावित हुने जनाइएको छ । हङ्गेरीमा लगभग सम्पूर्ण जनसङ्ख्याले ३५ डिग्री सेल्सियस वा सोभन्दा बढी तापक्रमको सामना गर्ने अनुमान गरिएको छ । यस्तै स्लोभाकिया, मोल्डोभा, युक्रेन, रोमानिया, सर्बिया र क्रोएसियामा पनि तापक्रम ३५ डिग्री सेल्सियसभन्दा माथि पुग्ने प्रक्षेपण गरिएको छ । साथै स्पेन र इटालीमा पनि लाखौँ मानिस उच्च तापक्रमबाट प्रभावित हुने अनुमान छ ।

    एएफपीले यो विश्लेषण जर्मनीको राष्ट्रिय मौसम सेवा ‘ड्यूचर वेटरडिएन्स्ट’को मौसम पूर्वानुमान तथा संयुक्त अनुसन्धान केन्द्रको जनघनत्वसम्बन्धी तथ्याङ्कका आधारमा तयार गरेको जनाएको छ । विश्लेषणमा कुनै स्थानमा दिउसोको समयमा ३० देखि ३५ डिग्री सेल्सियसभन्दा माथिको तापक्रम पुग्ने पूर्वानुमान भए त्यहाँका बासिन्दालाई प्रभावित जनसङ्ख्यामा समावेश गरिएको जनाइएको छ ।

  • समझदारीपत्र उल्लङ्घन भए जवाफ दिने इरानको चेतावनी

    समझदारीपत्र उल्लङ्घन भए जवाफ दिने इरानको चेतावनी

    तेहरान, १७ असार (रासस–एएफपी) । मध्यपूर्वमा युद्ध अन्त्य गर्ने उद्देश्यले गरिएको समझदारीपत्र (एमओयू)को अमेरिकाले कुनै पनि उल्लङ्घन गरे त्यसको जवाफ दिइने इरानले चेतावनी दिएको छ । इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाइले मङ्गलबार आयोजित नियमित पत्रकार सम्मेलनमा समझदारीपत्रको उल्लङ्घन भए त्यसलाई बेवास्ता नगरिने बताए । “हामी कुनै पनि कार्यलाई अनुत्तरित छोड्ने छैनौँ । इस्लामिक गणतन्त्र इरानका उद्देश्यविरुद्ध हुने कुनै पनि आक्रामक कदमको तत्काल र निर्णायक जवाफ दिइनेछ,” उनले भने ।


    प्रवक्ता बकाइले त्यस्ता गतिविधि समझदारीपत्रको पहिलो धाराको उल्लङ्घन हुने बताउँदै उल्लङ्घन दोहोरिएमा सम्झौता कार्यान्वयन प्रक्रियाअघि बढाउन कठिनाइ उत्पन्न हुनसक्ने चेतावनी दिए । यसैबीच, उक्त समझदारी कार्यान्वयनका विषयमा छलफल गर्न दुवै पक्षका प्रतिनिधिमण्डलबीच कतारमा अप्रत्यक्ष वार्ता हुने अपेक्षा गरिएको छ । पछिल्लो घटनाक्रमले मध्यपूर्वमा जारी तनाव कम गर्ने प्रयासमा नयाँ चुनौती थपिन सक्ने देखिएको छ ।

  • बागलुङमा कुकुरलाई ‘होस्टेल’

    बागलुङमा कुकुरलाई ‘होस्टेल’

    गलकोट (बागलुङ), १७ असारः बागलुङ नगरपालिकाले सामुदायिक तथा समस्याग्रस्त कुकुरलाई आवासीय सुविधासहित व्यवस्थापन सुरु गरेको छ । नगरपालिकाले ‘कुकुर होस्टेल’ स्थापना गरी कुकुरको उद्धार सुरु गरेको हो । बागलुङ बजारमा सामुदायिक कुकुरका कारण समस्या बढेपछि नगरपालिकाले दिगो व्यवस्थापनका लागि जग्गा व्यवस्थापन, आवास तथा कुकुर खेल्न सक्ने चौर निर्माण गरेको थियो ।

    पचास वटा कुकुर राख्ने क्षमताको होस्टेलमा पहिलो चरणमा बेवारिसे, बिरामी तथा अशक्त भएका २० सामुदायिक कुकुरलाई राखिएको बागलुङ नगपालिकाले जनाएको छ । बागलुङ नगरपालिका–३ स्थित पाँच रोपनी जग्गामा रु एक करोड खर्चेर जग्गा तारबारसहित होस्टेल निर्माण गरिएको र कुकुरलाई हेरचाहका लागि कर्मचारी र खानपानको व्यवस्था मिलाइएको नगरपालिका पशु शाखा प्रमुख मित्रप्रसाद सापकोटाले जानकारी दिए ।


    नगरपालिका–३ सिम्लेस्थित पाँच रोपनी सार्वजनिक जग्गामा बागलुङ नगरको रु ३५ लाख र मुख्यमन्त्री कार्यालयको रु ६५ लाख खर्च गरेर होस्टेल बनाइएको थियोे । नगरपालिकाले दुई वर्षअघि नै सामुदायिक कुकुरको व्यवस्थापनका लागि नीति तथा कार्यक्रममा कुकुर होस्टेल निर्माण गर्ने लक्ष्य ल्याएको थियो ।

    “कुकुर बन्ध्याकरणसमेत भइरहेको र छाडा कुकुरलाई होस्टेलमा खानपानसहित व्यवस्थापन गर्ने योजना छ,” नगर प्रमुख वसन्तकुमार श्रेष्ठले भने, “घरपालुवा कुकुर बिरामी परेपछि बजारमा छोड्ने चलनले बजारमा यात्रुलाई टोकेर, दुर्घटना निम्ताउने समस्या भएकाले होस्टेल निर्माण गरिएको हो ।”

    नगरपालिकाले घरमा पाल्ने कुकुरको दर्ता अनिवार्य गरेको छ । साथै कुकुरको पहिचान गर्ने र औषधि र खोपको समेत व्यवस्था मिलाएको छ । दर्ता गरेको कुकुर सडकमा आएमा घरधनीलाई जिम्मेवार बनाउन अनिवार्य दर्ताको व्यवस्था मिलाएको पशु शाखाले जनाएको छ । दर्ता गर्दा रु २०० शुल्क तिर्नुपर्ने छ ।

  • आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द

    आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द

    चितवन, १७ असारः चितवन राष्ट्रिय निकुञ्जभित्रको जङ्गल सफारी सेवा आजदेखि बन्द हुने भएको छ । निकुञ्जले वर्षात्को समयमा भलबाढी आउने, रुख ढलेर बाटो अवरुद्ध हुनेजस्ता कारणले पर्यटकलाई असहज हुने जनाउँदै सफारी बन्द गरेको हो । निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार अर्को सूचना नगरिएसम्मका लागि सफारी सेवा बन्द गरिएको हो ।

    उनले भने, “वन्यजन्तु र चराचुरुङ्गीको प्रजननका लागि वर्षायाम उपयुक्त समय हुने, निकुञ्जभित्रका कच्ची वनपथहरू बिग्रिने, जङ्गलमा भएका स–साना खोलाखोल्सीमा भलबाढी आउने, रुख ढलेर बाटो अवरुद्ध हुनेजस्ता कारणले गर्दा सफारी बन्द गरेका हौँ ।” निकुञ्जले हरेक वर्ष वर्षात्को समयमा सफारी बन्द गर्दै आएको छ । वर्षात्को अवस्था हेरेर दसैँको आसपासबाट निकुञ्जभित्रको सफारी खोल्ने विगतको परम्परा छ ।

    निकुञ्जभित्र हुने सफारी रोकिएको भए पनि सामुदायिक वनहरूमा हुने सफारी भने नरोकिने उनले बताए । चितवनको सौराहा, कसरा, मेघौली, डी र नवलपरासीका विभिन्न ठाउँबाट जीप व्यावसायिक सफारीका लागि निकुञ्ज प्रवेश गर्ने गर्दछ । यहाँ घुम्न आउने पर्यटक जीपमा सफारी गरेर वन र वन्यजन्तु हेर्न रमाउँछन् ।

  • म्याग्दीलाई पूर्णखोपयुक्त घोषणा

    म्याग्दीलाई पूर्णखोपयुक्त घोषणा

    म्याग्दी, १७ असारः म्याग्दीलाई पाँच वर्षमुनिका बालबालिकाले पूर्णखोप पाएको सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । छ वटा स्थानीय तह र ४५ वडा रहेको जिल्लाका सबै लक्षित बालबालिकाले तोकिएको खोपको सबै मात्रा लगाएपछि मङ्गलबार पूर्णखोप घोषणा गरिएको हो । जिल्लामा रहेका १५ महिनाभित्रका एक हजार ८० बालबालिकाले नियमित र पाँच वर्षमुनिका तीन हजार ९७४ जना बालबालिकाले पूर्णखोप लगाएका प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख भुवन ठकुराठीले बताए ।


    बालबालिकाले बिसीजी, डिपिटी, पोलियो, दादुरा, रुवेला, जेइलगायत १३ प्रकारका खोपको पूर्णमात्रा पाएको उनले बताउनुभयो । म्याग्दीमा एउटा जिल्लास्तरीय अस्पताल, एउटा आधारभूत अस्पताल, ३९ स्वास्थ्य चौकी, चार सहरी स्वास्थ्य केन्द्र, २८ सामुदायिक स्वास्थ्य एकाइ, ८९ खोप केन्द्र, ४८ गाउँघर क्लिनिक छन् ।

    बालबालिकालाई पूर्णखोप लगाउनका लागि ३७२ महिला स्वास्थ्य स्वयंसेविका परिचालन भएका थिए । यसअघि वडा र पालिकास्तरमा पनि पूूर्णखोप दिगोपना सुनिश्चितता घोषणा गरिएको थियो । घोषणाअघि स्वास्थ्यकर्मीले घरदैलो गरेर खोप लगाएको÷नलगाएको विषयमा अध्ययन गरेका थिए ।

    यस वर्ष गण्डकी प्रदेशका ११ मध्ये पूर्णखोप दिगोपना सुनिश्चितता घोषणा गर्ने म्याग्दी चौथो जिल्ला बनेको जिसस म्याग्दीका कार्यवाहक प्रमुुखसमेत रहेका जिल्ला खोप समन्वय समितिका प्रमुख डिलकुमारी खत्रीले बताइन् । कार्यक्रममा गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री लक्ष्मण पाण्डेले खोप कार्यक्रमले नवजात शिशुको मृत्युघर घटाउन र रोग लाग्नबाट बचाउन महत्त्वपूर्ण योगदान गरेको बताए । खोप कार्यक्रमलाई सरकारले प्राथमिकता दिएको र सर्वसाधारणले पनि यसलाई महत्वका साथ लिनुपर्ने मन्त्री पाण्डेले बताए ।


    गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली (सुविन)ले प्रदेश पूर्णखोप अभियानको निरन्तरतामा जोड दिँदै प्रदेश सरकारमातहतको बेनी अस्पतालमा विशेषज्ञ चिकित्सक र उपकरणको व्यवस्था मिलाउन मन्त्री पाण्डेको ध्यानाकर्षण गराए । मन्त्री पाण्डेले बेनी अस्पतालमा जनशक्ति र उपकरण व्यवस्थापनमा प्राथमिकता दिने प्रतिबद्धता जनाए । म्याग्दीलाई २०७१ साल चैत १५ गते नेपालको छैटाँै पूर्णखोपयुक्त जिल्ला घोषणा गरिएको थियो । त्यसयता म्याग्दीलाई हरेक वर्ष पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणालाई निरन्तरता दिइँदै आएको छ ।

  • आजको मौसम : यी स्थानमा भारी वर्षाको सम्भावना

    आजको मौसम : यी स्थानमा भारी वर्षाको सम्भावना

    काठमाडौँ, १७ असारः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भूभाग, कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण भूभागमा मनसुन विस्तार भएको छ । हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकांश बादल लागेको छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लागेको छ । बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा कोशी प्रदेशको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा भइरहेको छ जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार आज दिउँसो देशभर पूर्णतया बादल लाग्नेछ । देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । देशका पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा र हिमपातको तथा तराई भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    त्यसैगरी, राति देशभर पूर्णतया बादल लाग्नेछ । देशको हिमाली भूभागको थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । देशको पहाडी भूभागका केही स्थानमा र देशका तराई भूभागको थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती र लुम्बिनी प्रदेशको पहाडी भूभाग एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

  • विश्वकप फुटबलः फ्रान्सद्वारा स्विडेन पराजित

    विश्वकप फुटबलः फ्रान्सद्वारा स्विडेन पराजित

    काठमाडौँ, १७ असारः फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा फ्रान्स स्विडेनलाई पराजित गर्दै अन्तिम १६ मा पुगेको छ । अमेरिकाको न्यूयोर्कस्थित न्यूजर्सी रङ्गशालाा भएको खेलमा फ्रान्सले स्विडेनलाई ३–० गोलअन्तरले पराजित ग¥यो । फ्रान्सको जितमा खेलको ४५औँ र ७४औँ मिनेटमा किलियन एम्बाप्पेले गोल गरे भने खेलको ५३औँ मिनेटमा ब्राडली बारकोलाले गोल गरे । अब अन्तिम १६ मा फ्रान्सले पाराग्वेको सामना गर्नेछ । अन्तिम–३२ को खेलअन्तर्गत गए राति भएको खेलमा नर्वेले आइभरी कोस्टलाई २–१ गोलअन्तरले पराजित गरेको थियो ।

  • विश्वकप फुटबलः नर्वेद्वारा आइभरी कोस्ट पराजित

    विश्वकप फुटबलः नर्वेद्वारा आइभरी कोस्ट पराजित

    काठमाडौँ, १७ असारः फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा आइभरी कोस्टलाई पराजित गर्दै नर्वे अन्तिम १६ मा पुगेको छ ।
    अमेरिकाको डलास रङ्गशालामा भएको खेलमा नर्वेले आइभरी कोस्टलाई २–१ गोलअन्तरले पराजित ग¥यो । नर्वेका लागि खेलको ३९औँ मिनेटमा एन्टोनियो नुसाले गोल गरे ।

    खेलको ७४औँ मिनेटमा आइभरी कोस्टका लागि अमाद डियाल्लोले गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसपछि खेलको ८६औँ मिनेटमा एर्लिङ हल्याण्डले गोल गर्दै नर्वेलाई २–१ को अग्रता दिलाए । त्यसपछि खेलमा कुनै पनि गोल भएन र नर्वे अन्तिम १६ मा पुग्यो । अब अन्तिम १६ मा नर्वेले ब्राजिलको सामना गर्नेछ ।

  • मलेसियामा फिफा विश्वकप सँग सम्बन्धित सट्टेबाजीमा संलग्न ३३१ जना पक्राउ

    मलेसियामा फिफा विश्वकप सँग सम्बन्धित सट्टेबाजीमा संलग्न ३३१ जना पक्राउ

    कोलालम्पुर, १६ असार (रासस–सिन्ह्वा) । फिफा विश्व कप सन् २०२६ सँग सम्बन्धित अवैध खेलकुद सट्टेबाजी र अनलाइन जुवा गतिविधिहरूलाई लक्षित गरी सुरु गरीएको राष्ट्रव्यापी अपरेसनमा ३३१ जनालाई पक्राउ गरिएको मलेसियन अधिकारीहरूले घोषणा गरेका छन् । उनीहरुको बीचबाट लगभग ३५ हजार अमेरिकी डलर नगद जफत गरिएको तथा छ लाख ४० हजार अमेरिकी डलर भन्दा बढीको सट्टेबाजी लेनदेनको पर्दाफास भएको बुकिट अमन आपराधिक अनुसन्धान विभागका निर्देशक एम कुमार एस मुथुवेलुले विज्ञप्ति मार्फत जनाउनु भएको छ ।

    मलेसियन कम्युनिकेसन एण्ड मल्टिमेडिया कमिसन ९एमसीएमसी० को सहकार्यमा गत जुन –११ मा सुरु भइ जुलाई –१९ सम्म जारी रहने अपरेसनले देशव्यापी रुपमा २९३ वटा छापा मारी वेबसाइट र सामाजिक सञ्जाल मार्फत जुवा सम्बन्धी विज्ञापन र प्रचार गतिविधिहरूको निगरानी गरिएको उनले बताए । उनका अनुसार अधिकारीहरूले १८५ वटा वेबसाइटहरू, विभिन्न अनलाइन प्लेटफर्महरू, र सामाजिक सञ्जालका खाताहरू फुटबल सट्टेबाजी र जुवा प्रचारका लागि प्रयोग भइरहेको पहिचान गरेको उल्लेख गरेका छन् ।

  • कङ्गोमा इबोला संक्रमित एक हजार ३०७ पुगे, सामूहिक जमघटमा प्रतिबन्ध

    कङ्गोमा इबोला संक्रमित एक हजार ३०७ पुगे, सामूहिक जमघटमा प्रतिबन्ध

    किन्शासा, १६ असार (रासस–सिन्ह्वा) । प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी)मा इबोला भाइरस सङ्क्रमितको सङ्ख्या एक हजार ३०७ पुगेको छ । सङ्क्रमणका कारण हालसम्म ३७७ जनाको मृत्यु भएको सरकारी अधिकारीले जनाएका छन् । सरकारका अनुसार आइतबारसम्म १८० जना उपचारपछि निको भएका छन् भने ६१५ जना उपचार तथा स्वास्थ्य निगरानीमा रहेका छन् । हाल इबोलाको मृत्युदर २८ दशमलव ८० प्रतिशत रहेको र सङ्क्रमितको सम्पर्कमा आएका व्यक्तिको पहिचान तथा अनुगमन (कन्ट्याक्ट ट्रेसिङ) दर ८१ दशमलव ३० प्रतिशत पुगेको छ ।

    सङ्क्रमण नियन्त्रणका लागि सरकारले राजधानी किन्शासासहित त्सोपो, हाउत–उले र बास–उले प्रान्तमा सामूहिक जमघटमा प्रतिबन्ध लगाएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार गृह मन्त्रालयले जारी गरेको परिपत्रमार्फत उक्त निर्णय कार्यान्वयनमा ल्याइएको हो ।

    आन्तरिक मामिलामन्त्री ज्याकमेन शाबानीले प्रभावित प्रान्तका गभर्नरलाई पठाएको पत्रमा इबोलाको सङ्क्रमणबाट उत्पन्न बढ्दो स्वास्थ्य जोखिमलाई दृष्टिगत गर्दै प्रतिबन्ध लगाइएको उल्लेख गरिएको छ । प्रतिबन्धअन्तर्गत राजनीतिकसभा, सार्वजनिक प्रदर्शन, जुलुस तथा अन्य सामूहिक कार्यक्रम सञ्चालन गर्न नपाइने व्यवस्था गरिएको छ ।

    राष्ट्रपति फेलिक्स शिसेकेदीले सोमबार राष्ट्रको स्वतन्त्रता दिवसका अवसरमा सम्बोधन गर्दै इबोला नियन्त्रणका लागि ३१९ मिलियन अमेरिकी डलर बराबरको विस्तृत कार्ययोजना तयार गरिएको जानकारी दिए । उनले प्रारम्भिक आपत्कालीन कोष परिचालन गरिसकिएको र त्यसबाट प्रभावित क्षेत्रमा नियन्त्रण अभियान सञ्चालन तथा जीवनरक्षा कार्यक्रमलाई सहयोग पुगिरहेको बताए ।


    राष्ट्रपति शिसेकेदीले इबोला कुनै अफवाह वा लाजमर्दो विषय नभई गम्भीर सार्वजनिक स्वास्थ्य सङ्कट भएको उल्लेख गर्दै स्वास्थ्यसम्बन्धी निर्देशन पालना गर्न, शङ्कास्पद बिरामीबारे तत्काल जानकारी दिन तथा भ्रमपूर्ण सूचनाको पछि नलाग्न नागरिकलाई आग्रह गरे । डीआरसीले गत मे महिनाको मध्यतिर हालको इबोला प्रकोप घोषणा गरेको थियो । त्यसयता स्वास्थ्य अधिकारीले समुदायस्तरमा भइरहेको सङ्क्रमण, जनसङ्ख्याको आवतजावत तथा केही प्रभावित क्षेत्रमा सीमित पहुँचका कारण नियन्त्रण अभियान चुनौतीपूर्ण बनेको बताएका छन् ।

  • चुनावमा सबैभन्दा बढी मिथ्या सूचना सामाजिक सञ्जालबाट

    चुनावमा सबैभन्दा बढी मिथ्या सूचना सामाजिक सञ्जालबाट

    काठमाडौँ, १६ असार । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा सबैभन्दा बढी मिथ्या सूचना सामाजिक सञ्जालबाट फैलाइएको पाइएको एक अनुसन्धानले देखाएको छ । सेन्टर फर मिडिया रिसर्च (सिएमआर)ले गरेको अनुसन्धान प्रतिवेदनअनुसार निर्वाचनको समयमा सामाजिक सञ्जालमार्फत सबैभन्दा बढी मिथ्या सूचना प्रवाह भएको थियो ।

    आज यहाँ आयोजित कार्यक्रममा सिएमआरका कार्यकारी निर्देशक तिलक पाठकले निर्वाचनका समयमा गरिएको अनुसन्धानमा सबैभन्दा बढी अर्थात् ८७ प्रतिशत मिथ्या सूचना सामाजिक सञ्जालले फैलाएको पाइएको जानकारी दिनुभयो । सामाजिक सञ्जालमा पनि सबैभन्दा ठूलो मिथ्या सूचनाको बाहक फेसबुक रहेको पनि उक्त अनुसन्धानबाट खुलेको उनको भनाइ छ ।

    त्यसपछि सबैभन्दा बढी मिथ्या सूचनाको बाहक आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) निर्मित सामग्रीहरू पाइएको पनि सो अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । यस्ता सामग्रीको बाहक पनि अधिकांश सामाजिक सञ्जाल नै रहेको र कतिपयले अन्य माध्यमबाट पनि सम्प्रेषण एवं प्रचारप्रसार गर्ने गरेका पाइएको छ ।

    यस्ता कतिपय भिडियो या सामग्री मनगढन्ते र सन्दर्भ बङ्ग्याइएको अवस्थामा पाइएका पनि भेटिएको थियो । पूरै काल्पनिक या कृत्रिम सामग्री निर्माण, नयाँ घटनाजस्तो बनाएर पुराना फुटेजहरूको प्रयोग, घटना भएकै जस्तो गरी निर्माण गरिएका दृश्यहरू मिथ्या सूचनाका रूपमा प्रयोगमा ल्याइएको अनुसन्धानका क्रममा पाइएको थियो ।

    सो अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्दै कार्यकारी निर्देशक पाठकले एआई अहिलेको अवस्थामा हेर्दा मिथ्या सूचना निर्माणकर्ता जस्तो देखिए पनि यो प्रमुख नभएर हाल उदाउँदो अवस्थामा रहेको र मुख्य बाहक त फेसबुकसहितका सामाजिक सञ्जालहरू देखिएको बताउनुभयो । त्यस क्रममा आएका मिडियाका सामग्रीको तथ्य जाँच भएको भए पनि तथ्यजाँचकर्तासँग पर्याप्त मात्रामा एआई पहिचान गर्ने उपकरण नभएको सम्पादित भिडियो नै प्रयोग हुने गरेकाले त्यो बढी चूनौतीपूर्ण रहेको उनले बताए ।


    पत्रकारिताका सामग्रीहरू पनि मिथ्या सूचनालाई प्रवर्द्धन गर्नेगरी उत्पादन भएका पाइएको तर ती समाचार सामग्रीको भने तथ्या जाँच गर्ने काम भएको पनि सो अनुसन्धानमा पाइएको छ । राज्यका तर्फबाट, निर्वाचन आयोग, नागरिक समाज, मिडिया, स्वयं राजनीतिक दल र उम्मेदवारहरूले पनि यस्ता मिथ्या सूचनाको तथ्यजाँच गर्ने गरेका तर ती प्रयास पनि अपुग रहेका सो अनुसन्धानमा पाइएको छ ।

    त्यस्तै सामाजिक सञ्जालमा प्रयोग गरिएका कतिपय पोष्टहरू पछि मेट्ने गरिएकाले तिनलाई पछि पुनःपुष्टि गर्न सजिलो नभएको पाइएको छ । यसरी तथ्य जाँचपछि कतिपय सामग्री सामाजिक सञ्जालबाट हटाइएको र यसका लागि मेटा कम्पनीसँग निर्वाचन आयोगले सम्झौता पनि गरेको थियो ।

    साथै सो अनुसन्धानले निर्वाचनपूर्व दू्रत प्रतिक्रिया संयन्त्र स्थापना गर्न, सामाजिक सञ्जाल प्लेटफर्म जवाफदेहिताको आधिकारिक र अधिकारसहितको ढाँचा निर्माण गर्न, मिथ्या सूचनालाई द्वन्द्व सूचकका रूपमा लिएर त्यसमाथि आवश्यक कारबाहीको प्रक्रिया निर्माण गर्न पनि सुझाव दिइएको छ ।

  • साउदी अरब सरकारद्वारा ३३ जना नेपाली कैदीबन्दीलाई आममाफी

    साउदी अरब सरकारद्वारा ३३ जना नेपाली कैदीबन्दीलाई आममाफी

    काठमाडौँ, १६ असार । नेपाल सरकारले पवित्र रमजान १४४७ हिजरी (२०२६) को अवसरमा ३३ नेपाली कैदीबन्दीलाई शाही आममाफी प्रदान गरेकामा साउदी अरब अधिराज्यको सरकारप्रति आज कृतज्ञता तथा प्रशंसा व्यक्त गरेको छ । नेपाल सरकारले यस उदार कदमलाई नेपाल र साउदी अरब अधिराज्यबीच विद्यमान दीर्घकालीन मित्रता, सद्भाव तथा सौहार्दपूर्ण द्विपक्षीय सम्बन्धको प्रतिबिम्बका रूपमा उच्च मूल्याङ्कन गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    यो आममाफी रियादस्थित नेपाली दूतावासमार्फत नेपाल सरकारले गरेको अनुरोधपश्चात प्रदान गरिएको हो । उक्त कैदीबन्दीहरू साउदी अरबको कानुनी प्रक्रिया पूरा भएपछि नेपाल फर्किने मन्त्रालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

  • गृहद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

    गृहद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

    काठमाडौँ, १६ असार । देशभर सञ्चालित होटल, रेष्टुरेण्टहरूका खानाको गुणस्तर र स्वच्छताको नियमित अनुगमन गर्न गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासनलाई निर्देशन दिएको छ । गृहमन्त्रीस्तरीय निर्णयको आधारमा मन्त्रालयका शाखा अधिकृत सङ्गम सापकोटाले सबै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेर अनुगमन त्यस्तो निर्देशन पठाउनुभएको हो । पत्रमा नियमनलाई केवल प्रक्रियामा मात्र सीमित नगरी परिणाममुखी बनाउनेतर्फ अग्रसर हुनका लागि आब्हान गरिएकोे छ ।

    नागरिकको स्वास्थ्यमा प्रत्यक्ष प्रतिकूल असर पु¥याउने वा प्रचलित कानुनको उल्लङ्घन गर्ने जुनसुकै पक्षलाई कानुन बमोजिम हदैसम्मको कडा कारबाही गरिने शाखा अधिकृत सापकोटाद्वारा जारी परिपत्रमा भनिएको छ । गृह मन्त्रालयले देशभर सञ्चालित कतिपय होटल तथा रेष्टुरेण्टहरूमा खानाको गुणस्तर र स्वच्छता ज्यादै कमजोर रहेको सम्बन्धमा सर्वसाधारण नागरिकहरूबाट प्राप्त व्यापक गुनासाहरूप्रति गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

    गृह मन्त्रालयले आमनागरिकका गुनासाहरू सहजै दर्ता गर्न सक्ने गरी जिल्ला प्रशासन कार्यालयमा एक गुनासो सुनुवाइ संयन्त्र (हटलाइन वा द्रूत सेवा डेस्क) तुरुन्त स्थापना गर्नका लागि निर्देशन दिएको छ । नागरिकस्तरबाट प्राप्त हुने प्रत्येक गुनासोलाई उच्च प्राथमिकतामा राखी तत्काल समाधान गर्न अनुरोध गरिएको छ । स्थानीय प्रशासनको प्रभावकारिता र नागरिक विश्वासलाई कायम राख्न साना–तिना विषयमा गुनासोकर्ताहरू केन्द्र वा मन्त्रालयसम्म धाउनुपर्ने स्थितिको पूर्णरूपमा अन्त्य गर्ने परम्पराको अन्त्य गर्न भनिएको छ ।

  • कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने

    कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने

    काठमाडौँ, १६ असार । कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुने कम्पनीहरूको स्थायी लेखा नम्बर (प्यान) र प्रमाणपत्र सेवाग्राहीले सोझै डाउनलोड गरी प्रिन्ट गर्ने व्यवस्था सञ्चालनमा ल्याइएको छ । कार्यालयका सूचना अधिकारी रामप्रसाद ज्ञवालीले आज सार्वजनिक सूचना जारी गरेर कम्पनी रजिष्ट्रारको कार्यालय र आन्तरिक राजस्व विभागबीच विद्युतीय प्रणाली अन्तरआबद्धता गर्ने समझदारीपत्रमा हस्ताक्षर भए बमोजिम ‘केमिस’ प्रणाली सोमबारदेखि लाइभ भइसकेको बताए ।


    उनले कार्यालयमा दर्ता हुने कम्पनीहरूको स्थायी लेखा नम्बर र सोको प्रमाणपत्र कार्यालयको केमिस प्रणालीमार्फत सेवाग्राहीले सोझै डाउनलोड गरी प्रिन्ट गर्न सक्ने बताए । दुवै कार्यालयबीच विद्युतीय प्रणाली अन्तरआबद्धता गर्नेसम्बन्धी समझदारी पत्रमा विसं २०८३ वैशाख ३१ गते हस्ताक्षर भएको थियो ।

  • २५ वर्षदेखि थन्किएका वैदेशिक रोजगार ठगीका हजारौँ फाइल डिजिटलाइज गरिने

    २५ वर्षदेखि थन्किएका वैदेशिक रोजगार ठगीका हजारौँ फाइल डिजिटलाइज गरिने

    १६ असार, काठमाडौं । वैदेशिक रोजगार ठगी सम्बन्धी करिब २५ वर्षदेखि विभागमा थन्किएर रहेका हजारौँ मुद्दा तथा अनुसन्धान फायल खोजी, व्यवस्थापन र डिजिटलाइज गर्ने कार्य तीव्र रूपमा अघि बढाइएको छ। वि.सं. २०४२ सालमा वैदेशिक रोजगार ऐन जारी भएपछि श्रम विभागको कार्यक्षेत्र विस्तार गर्दै वि।सं। २०५६ सालबाट श्रम तथा रोजगार प्रवर्द्धन विभाग स्थापना गरिएको थियो। त्यसयता वैदेशिक रोजगारमा जाने नेपाली श्रमिकले आफूलाई परेको मर्कासम्बन्धी उजुरी विभागमा दर्ता गर्दै आएका थिए।

    वि।सं। २०६४ सालमा वैदेशिक रोजगार विभाग गठन भएपछि वैदेशिक रोजगार सम्बन्धी कार्यहरू विभागमार्फत सम्पादन हुन थालेका थिए । ती कार्यमध्ये मुद्दा तथा अनुसन्धान एक महत्वपूर्ण क्षेत्रका रूपमा रहेको छ। वैदेशिक रोजगार ठगीसम्बन्धी गुनासो बढ्दै गएपछि युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले मुद्दा तथा अनुसन्धानको कार्यलाई पहिलो प्राथमिकतामा राख्दै विभागलाई निरन्तर सक्रिय रहन निर्देशन दिँदै आएका छन्।

    मन्त्री यादवको विशेष चासो तथा मिरा आचार्य को नेतृत्वमा विभागले लामो समयदेखि अलपत्र रहेका मुद्दा तथा अनुसन्धानका फायलहरू खोज्ने, मिलाउने तथा व्यवस्थित अभिलेख तयार गर्ने कार्यलाई तीव्रता दिएको हो। अभिलेख व्यवस्थापनका क्रममा विभागले वि।सं। २०५७ सालदेखिका मुद्दा तथा अनुसन्धानसम्बन्धी महत्वपूर्ण फायलहरू समेत फेला पारेको जनाएको छ। करिब २५ वर्षदेखि डम्प अवस्थामा रहेका हजारौँ फायलहरू खोजी गरी सालवसाली रूपमा भौतिक अभिलेख तयार गर्ने कार्य सम्पन्न भइसकेको छ।

    साथै, प्राप्त फायलहरूको स्क्यानिङ गरी डिजिटल प्रतिलिपि तयार गर्ने कार्य समेत तीव्र गतिमा अगाडि बढिरहेको छ। आगामी दिनमा मुद्दा तथा अनुसन्धान प्रक्रियालाई थप प्रभावकारी बनाउन डिजिटल ट्र्याकिङ प्रणाली विकास गर्ने तयारी विभागले गरेको छ। वि.सं. २०५७ सालदेखिका उपलब्ध सबै फायलहरूको विवरण डिजिटल प्रणालीमा अद्यावधिक गरी न्याय सम्पादन प्रक्रियासँग आबद्ध गर्ने विभागको तयारी रहेको छ। यसबाट लामो समयदेखि न्यायको प्रतीक्षामा रहेका वैदेशिक रोजगार ठगी पीडितलाई छिटो, पारदर्शी र प्रभावकारी सेवा प्रदान हुने अपेक्षा गरिएको छ।

  • कर्मचारीहरूको सम्पूर्ण सरुवा प्रक्रिया अब अनिवार्य रूपमा डिजिटल प्रणालीमार्फत

    कर्मचारीहरूको सम्पूर्ण सरुवा प्रक्रिया अब अनिवार्य रूपमा डिजिटल प्रणालीमार्फत

    १६ असार, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्रालयले कर्मचारी सरुवा प्रक्रियालाई पूर्ण रूपमा डिजिटल बनाएको छ। सरुवा प्रक्रियालाई पारदर्शी, व्यवस्थित, छिटोछरितो र प्रविधिमैत्री बनाउने उद्देश्यसहित मन्त्रालयले डिजिटल सरुवा प्रणाली बनाएको हो । मन्त्रालयका अनुसार सो प्रणाली कर्मचारीको डिजिटल प्रोफाइलमा आधारित हुनेछ। कर्मचारीको व्यक्तिगत तथा सेवासम्बन्धी विवरण सम्बन्धित प्रणालीसँग प्रत्यक्ष वा Application Programming Interface (API) मार्फत आबद्ध हुने भएकाले आवश्यक विवरण स्वतः अद्यावधिक हुनेछ।

    यस प्रणालीमा सरुवासम्बन्धी आवेदनका लागि फ्ल्यागिङ प्रणाली समेत रहनेछ। यसले दोहोरिने, विशेष निगरानी आवश्यक पर्ने वा थप परीक्षण गर्नुपर्ने आवेदनको सहज पहिचान गर्न सहयोग गर्नेछ। साथै, कर्मचारीले आफ्नो सरुवा आवेदन कुन चरणमा पुगेको छ भन्ने जानकारी प्रोसेस ट्र्याकिङ प्रणाली मार्फत अनलाइनबाटै हेर्न सक्नेछन्।

    मन्त्रालयका अनुसार सरुवासम्बन्धी पत्रहरू प्रणालीबाटै स्वचालित रूपमा तयार हुनेछन्। आवश्यक परे अन्य सम्बन्धित निकायका प्रणालीसँग मार्फत सूचना आदान–प्रदान गर्न सकिने व्यवस्था पनि हुनेछ। साथै, सरुवासम्बन्धी निर्णय तथा विवरण मन्त्रालयको वेबसाइटमा २४ घण्टाभित्र स्वतः सार्वजनिक गरिने व्यवस्था मिलाइनेछ।

    भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्री प्रतिभा रावलले कर्मचारी प्रशासनलाई पारदर्शी, उत्तरदायी र प्रविधिमैत्री बनाउने सरकारको नीतिअनुसार डिजिटल सरुवा प्रणालीलाई प्राथमिकताका साथ अघि बढाइएको बताइन्। उनले यो प्रणाली कार्यान्वयनमा आएपछि सरुवा प्रक्रियामा हुने ढिलाइ घट्ने, पारदर्शिता बढ्ने र कर्मचारीले सहज तथा विश्वासयोग्य सेवा प्राप्त गर्ने विश्वास व्यक्त गरिन्।

  • विदेशी आवासिय अनुमति लिएका ४ कर्मचारी सरकारी सेवाबाट अयोग्य ठहरिने गरि कारबाही सिफारिस

    विदेशी आवासिय अनुमति लिएका ४ कर्मचारी सरकारी सेवाबाट अयोग्य ठहरिने गरि कारबाही सिफारिस

    १६ असार, काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका ४ कर्मचारीसँग स्पष्टीकरण माग गरेको छ। मन्त्रालयले सूचना जारी गर्दै बिदा समाप्त भएपछि आफ्नो पदाधिकार रहेको कार्यालयमा हाजिर नभई विदेशमै बसोबास गरिरहेकोले उनीहरूमाथि कानुनी प्रक्रिया अघि बढाएको हो। उनीहरुले अस्थायी आवासीय अनुमति, स्थायी आवासीय अनुमति र डाइभर्सिटी भिसा(डिभी) लिएको पाइएको मन्त्रालयको सुचनामा उल्लेख छ ।

    निजामती कर्मचारीले पदमा बहाल रहँदै विदेशी मुलुकको आवासीय अनुमति लिन वा सोका लागि आवेदन समेत दिन नपाइने कानुनि व्यवस्था छ । स्वीकृत बिदा समाप्त भएपछि ३० दिन भित्र कार्यालयमा उपस्थित हुनुपर्नेमा अनुपस्थित रही निजामती सेवा ऐनविपरीतको कार्य गरेकोले उनीहरुलाई स्पष्टीकरणको सोधिएको हो । मन्त्रालयका अनुसार निजामती सेवा ऐन, २०४९ बमोजिम उनीहरूलाई भविष्यमा सरकारी सेवाका लागि समेत अयोग्य ठहरिने गरि कारबाही अघि बढाउनुपर्ने अवस्था देखिएकाले १५ दिनभित्र चित्तबुझ्दो आधार र प्रमाणसहित सफाइ पेश गर्न भनिएको छ ।

    भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले निजामती सेवामा अनुशासन र जवाफदेहितालाई थप मजबुत बनाउन यस्ता गतिविधिमाथि निगरानी बढाइएको बताइन्। मन्त्री रावलले निजामती सेवामा अनुशासन कायम गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताउँदै कार्यालयमा अनुपस्थित रहेका कर्मचारीहरूको अवस्थाबारे अध्ययन भइरहेको र कानुनअनुसार आवश्यक निर्णय गरिने जानकारी दिइन्।

    मन्त्रालयले कार्यालयमा अनुपस्थित भई विदेशमा बसोबास गरिरहेका तथा लामो समयदेखि सम्पर्कविहीन रहेका अन्य कर्मचारीहरूको अवस्थाबारे समेत अध्ययन तथा खोजी कार्यलाई तीव्रता दिएको जनाएको छ।

  • जहाजमाथि आक्रमणपछि होर्मुज जलमार्गमा आवागमन सुस्त

    जहाजमाथि आक्रमणपछि होर्मुज जलमार्गमा आवागमन सुस्त

    लन्डन, १६ असार (रासस–एएफपी) । होर्मुज जलमार्ग हुँदै आवतजावत गर्ने एउटा जहाजमाथि शनिबार आक्रमण भएपछि सप्ताहान्तमा उक्त जलमार्गको समुद्री आवागमन उल्लेख्य रूपमा घटेको छ । अमेरिका र इरानबीच जारी तनावका कारण समुद्री सुरक्षा अवस्थाप्रति पनि चिन्ता बढेको छ । सामुद्रिक अनुगमन संस्था केप्लरका अनुसार शनिबार २९ वटा मालवाहक जहाजले होर्मुज जलमार्ग पार गरेका थिए भने आइतबार यो सङ्ख्या घटेर १२ मा सीमित भएको छ ।

    केप्लरका तथ्याङ्कअनुसार १५ जुनपछि मध्यपूर्वमा तनाव बढ्दै जाँदा बुधबार मात्रै ७० वटा जहाजले उक्त जलमार्ग पार गरेका थिए, जुन पछिल्लो अवधिकै उच्च सङ्ख्या हो । इरानले स्वीकृत मार्गबाहेक अन्य जलमार्ग प्रयोग नगर्न चेतावनी दिए पनि सप्ताहान्तमा केही जहाजले विभिन्न मार्ग प्रयोग गरेका थिए । केप्लरअन्तर्गतको ‘मरिन ट्राफिक’ वेबसाइटका अनुसार शनिबार बिहान आक्रमण भएको जहाजपछि केही घण्टासम्म जहाजले ओमानको जलक्षेत्र हुँदै दक्षिणी मार्ग प्रयोग गरे पनि त्यसपछि आवागमन सुस्त बनेको थियो ।

    उक्त वेबसाइटले सक्रिय ट्रान्सपोन्डर भएका जहाजको मात्र अनुगमन गर्ने भएकाले सिग्नल बन्द गरेका अन्य जहाज पनि जलमार्ग पार गरेको हुन सक्ने जनाइएको छ । सप्ताहान्तमा खाडी क्षेत्रबाट बाहिरिनेभन्दा भित्रिने जहाजको सङ्ख्या बढी रहेको केप्लरले जनाएको छ । अघिल्लो साताको तुलनामा यो प्रवृत्ति फरक हो । त्यसबेला खाडी क्षेत्रमा अलपत्र परेका नाविकलाई सुरक्षित बाहिर निकाल्ने प्रयासलाई प्राथमिकता दिइएको थियो ।

    संयुक्त राष्ट्रसङ्घको नेतृत्वमा सञ्चालित करिब ११ हजार नाविकको उद्धार अभियान भने ओमानको खाडीमा भएको जहाजमाथिको आक्रमणपछि बिहीबार स्थगित गरिएको थियो । एचएफआई रिसर्चका अनुसार आइतबार चारवटा तेल ट्याङ्कर र एउटा कन्टेनर जहाज अमेरिकी नौसेनाको सुरक्षा व्यवस्थामा ओमानको दक्षिणी मार्ग हुँदै खाडी क्षेत्रमा प्रवेश गरेका थिए । यद्यपि आइतबार खाडीबाट बाहिरिने कुनै पनि जहाजले उक्त मार्ग प्रयोग नगरेको केप्लरले जनाएको छ ।

    इरानले सोमबार होर्मुज जलमार्गको व्यवस्थापनसम्बन्धी विषयमा ओमानसँग पहिलो चरणको छलफल गरेको जनाएको छ । यता अमेरिकाले अन्तरराष्ट्रिय जलमार्ग प्रयोग गरेबापत कुनै पनि प्रकारको ‘ट्रान्जिट शुल्क’ स्वीकार नगर्ने स्पष्ट पारेको छ ।

  • तीन अत्याधुनिक पनडुब्बी खरिद गर्दै पोल्याण्ड

    तीन अत्याधुनिक पनडुब्बी खरिद गर्दै पोल्याण्ड

    वारसा, १६ असार (रासस–एएफपी) । बढ्दो रूसी सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै पोल्याण्डले स्वीडेनबाट अत्याधुनिक पनडुब्बी खरिद गर्न चार दशमलव आठ अर्ब अमेरिकी डलर बराबरको सम्झौतामा हस्ताक्षर गरेको छ । सोमबार बाल्टिक सागरस्थित ग्दान्स्क बन्दरगाहमा सम्पन्न सम्झौताअनुसार पोल्याण्डले पाँचौँ पुस्ताका तीनवटा ‘ए–२६’ वर्गका पनडुब्बी प्राप्त गर्नेछ । पोल्याण्डका रक्षामन्त्री व्लादिस्लाव कोसिनियाक–कामिस्जले ती पनडुब्बी बाल्टिक सागरमा प्रभावकारी सञ्चालनका लागि विशेष रूपमा डिजाइन गरिएको र नौसेना तथा विशेष बलको क्षमता अभिवृद्धिमा उपयोगी हुने बताए ।


    सम्झौतामा पोल्याण्डका प्रधानमन्त्री डोनाल्ड टस्क र स्वीडेनका प्रधानमन्त्री उल्फ क्रिस्टरसनले हस्ताक्षर गरेका हुन् । स्वीडिस रक्षा कम्पनी साबका अनुसार सम्झौतामा पनडुब्बीसँगै तालिम, प्राविधिक सहयोग तथा सञ्चालन समर्थनसम्बन्धी कार्यक्रम पनि समावेश छन् ।

    सम्झौताअनुसार पहिलो पनडुब्बी सन् २०३१ मा पोल्याण्डलाई हस्तान्तरण गरिनेछ भने अन्तिम पनडुब्बी सन् २०३८ सम्म उपलब्ध गराइनेछ । यसबीच स्वीडेनले पोलिश नाविकलाई तालिम दिन आगामी वर्षदेखि आफ्नो आधुनिक ‘ए–१७’ वर्गको पनडुब्बी अस्थायी रूपमा उपलब्ध गराउनेछ ।

    ‘ओर्का’ नाम दिइएको पोल्याण्डको पनडुब्बी आधुनिकीकरण कार्यक्रम पोलिश नौसेनाको प्रमुख प्राथमिकतामध्ये एक हो । हाल पोल्याण्डसँग सन् १९८५ मा तत्कालीन सोभियत सङ्घमा निर्मित एउटा मात्र पुरानो पनडुब्बी सञ्चालनमा रहेको छ । सम्झौतामा औद्योगिक सहकार्य, रसद सहयोग, सञ्चालन समर्थन, आवश्यक पूर्वाधार निर्माण तथा पोलिश शिपयार्डमा निर्माण हुने उद्धार जहाज स्वीडेनले खरिद गर्ने व्यवस्था पनि समावेश गरिएको छ ।

    स्वीडेनका प्रधानमन्त्री क्रिस्टरसनले यस सम्झौताले दुवै देशबीचको रक्षा सहकार्यमा ऐतिहासिक उपलब्धि हासिल गरेको उल्लेख गर्दै यसबाट पोल्याण्डमा करिब सात हजार रोजगारी सिर्जना हुने तथा स्वीडेनमा पनि उल्लेखनीय रोजगारी थपिने बताए । पोल्याण्डले जर्मनी, स्पेन, इटाली, दक्षिण कोरिया तथा फ्रान्सको नेभल ग्रुपलगायतका प्रस्तावलाई अस्वीकार गर्दै स्वीडिस कम्पनी साबलाई पनडुब्बी आपूर्तिकर्ताका रूपमा छनोट गरेको हो ।

  • इराकले इरान समर्थक सशस्त्र समूहलाई निशस्त्रीकरण गर्न सेप्टेम्बर ३० सम्मको समयसीमा दियो

    इराकले इरान समर्थक सशस्त्र समूहलाई निशस्त्रीकरण गर्न सेप्टेम्बर ३० सम्मको समयसीमा दियो

    बगदाद, १६ असार (रासस–एएफपी) । इराक सरकारले देशमा सक्रिय इरान समर्थक सशस्त्र समूहलाई आगामी सेप्टेम्बर ३० भित्र निशस्त्रीकरण प्रक्रिया पूरा गर्न समयसीमा तोकेको छ। उक्त मिति अमेरिकाको नेतृत्वमा रहेको जिहादीविरोधी अन्तरराष्ट्रिय गठबन्धनको इराकस्थित सैन्य मिसन समाप्त हुने दिनसँग पनि मेल खान्छ।

    सरकारका प्रवक्ता हैदर अल–अबौदीले सोमबार आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा सबै सशस्त्र समूहलाई सेप्टेम्बर ३० सम्म निशस्त्रीकरणसम्बन्धी प्रक्रिया पूरा गर्न जानकारी गराइएको बताए । उनका अनुसार त्यसपछि राज्यको नियन्त्रणबाहिर रहेका सबै हतियार कानुनी कारबाहीको दायरामा पर्नेछन्।
    यो घोषणा प्रधानमन्त्री अली अल–जैदीको संयुक्त राज्य अमेरिका भ्रमणअघि गरिएको हो। वाशिङ्टनले लामो समयदेखि बगदादलाई इरान समर्थक सशस्त्र समूहलाई निशस्त्रीकरण गरी राज्यको नियन्त्रणमा ल्याउन दबाब दिँदै आएको छ।

    इराकमा सक्रिय दर्जनौँ इरान समर्थक सशस्त्र समूहमध्ये धेरैजसो ‘पपुलर मोबिलाइजेसन फोर्स’ (पीएमएफ) वा ‘हशेद अल–शाबी’ अन्तर्गत आबद्ध छन्। सन् २००३ मा अमेरिकी नेतृत्वको आक्रमणपछि उदाएका यी समूहले सन् २०१४ देखि इस्लामिक स्टेट (आईएस) विरुद्धको लडाइँमा महत्वपूर्ण भूमिका खेलेका थिए। हालैका महिनामा इराक सरकारले पीएमएफमा आबद्ध समूहलाई सरकारी सुरक्षा संयन्त्रमा पूर्ण रूपमा समायोजन गर्ने प्रयासलाई तीव्र बनाएको छ। सरकारको लक्ष्य पीएमएफ बाहिर सञ्चालनमा रहेका सशस्त्र समूहलाई पनि राज्यको सुरक्षा संरचनाभित्र समेट्नु रहेको बताइएको छ।

    यसअघि केही इरान समर्थक समूहले इराकमा रहेका अमेरिकी स्वार्थमाथि आक्रमण गरेपछि वाशिङ्टनले पनि ती समूहविरुद्ध सैन्य कारबाही गरेको थियो। त्यसयता इराकी सरकारले राज्यबाहिर रहेका हतियारलाई नियन्त्रणमा ल्याउने प्रयासलाई प्राथमिकता दिएको छ। यसै महिनाको सुरुमा इराकी अधिकारीहरूले इरान समर्थक समूह कताइब इमाम अलीसँग सम्बन्धित हतियारको विवरण सङ्कलन गरिएको जानकारी दिएका थिए, जसलाई ती समूहलाई राज्य सेनामा समायोजन गर्ने योजनाको पहिलो चरणका रूपमा हेरिएको छ।

    कताइब इमाम अली र असाइब अहल अल–हकले पनि आफ्ना केही ब्रिगेडको प्रशासनिक जिम्मेवारी राज्यलाई हस्तान्तरण गर्ने घोषणा गरिसकेका छन्।सन् २०१४ मा इस्लामिक स्टेटले इराकका ठूलो भूभाग कब्जा गरेपछि विभिन्न सशस्त्र समूहलाई एकीकृत गर्दै ‘पपुलर मोबिलाइजेसन फोर्स’ गठन गरिएको थियो।