Category: फिचर

  • तीन करोड ५१ लाखभन्दा बढीको अवैध सामग्री बरामद

    तीन करोड ५१ लाखभन्दा बढीको अवैध सामग्री बरामद

    रसुवा, १६ असारः चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म रसुवा भन्सार कार्यालय, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलले बरामद भएका अवैध सामग्री सार्वजनिक गरेको छ । राजस्व चुहावट नियन्त्रण अभियानअन्तर्गत ती निकायको संयुक्त प्रयासबाट रु तीन करोड ५१ लाख ७६ हजार ४२० मूल्य बराबरका अवैध सामग्री बरामद गरेको हो ।

    भन्सार कार्यालयका सूचना अधिकारी करवीर गैह अनुसार भन्सार कार्यालयले १५, प्रहरी कार्यालयले १९ र सशस्त्र प्रहरी बल नम्बर २० गुल्मले २३ पटक विभिन्न स्थानमा छापा तथा जाँच गरेको थियो । बरामद गरिएका सामग्रीमा विभिन्न प्रकारका चकलेट, अचार, चाउमिनमा प्रयोग हुने सस, तयारी पोसाक, रोल कपडा, कफी, बालबालिकाका खेलौना, थर्मस, भेप तथा चुरोटलगायतका सामग्री रहेका छन् । बरामद सामग्रीमध्ये ८० प्रतिशतभन्दा बढीमा खाद्य उपभोग्य वस्तु रहेको भन्सार कार्यालयले जनाएको छ ।

    भन्सार कार्यालयका सूचना अधिकारी गैह्रेलेसुरक्षाकर्मीले प्रारम्भिक रूपमा बजार मूल्यका आधारमा मूल्याङ्कन गरे पनि अन्तिम मूल्य भने खाद्य गुण नियन्त्रणसम्बन्धी परीक्षण, अन्तरराष्ट्रिय बजार मूल्य तथा मूल्य निर्धारण समितिको निर्णयका आधारमा कायम गरी बिक्रीयोग्य सामग्री लिलाम गरिने र खान अयोग्य वस्तु सम्बन्धित निकायका प्रतिनिधिको रोहवरमा नष्ट गरिने व्यवस्था रहेको बताउनुभयो ।

    जिल्ला प्रहरी प्रमुख अशोक थापाका अनुसार प्रहरीको गस्ती, सवारीसाधन जाँच तथा प्राप्त सूचनाका आधारमा भेटिएका सबै प्रकारका अवैध सामग्री नियन्त्रणमा लिएर तत्काल भन्सार कार्यालयमा बुझाउने कार्यलाई कडाइका साथ निरन्तरता दिइएको छ ।

    यसैबीच, बिरामी ओसार्ने एम्बुलेन्समा चिनियाँ चुरोट लुकाएर ओसारपसार गरिएको घटनामा आमाछोदिङ्मो गाउँपालिकाको एम्बुलेन्स चालकले गरेको र गैरकानुनी क्रियाकलाप गरेको भेटेपछि चालकलाई गत चैत ६ गते बेत्रावतीबाट रसुवा प्रहरीले पक्राउ गरेको थियो । कानुनी प्रक्रिया पूरा भएपछि चालकलाई धरौटीमा रिहा गरिएको गरी एम्बुलेन्स सम्बन्धित गाउँपालिकालाई फिर्ता बुझाइएको भन्सार कार्यालयले जनाएको छ ।

    राजस्व चुहावट नियन्त्रण तथा अवैध आयात रोक्न सुरक्षा निकाय र भन्सार कार्यालयले संयुक्त अनुगमन तथा जाँचलाई थप प्रभावकारी बनाउँदै जाने भन्सार अधिकारीले बताएका छन् ।

  • केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादन

    केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादन

    रासस
    नारायणगढ (चितवन), १६ असारः विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आउनुभएका चितवनको रत्ननगर नगरपालिका–१२ जिरौनाका कृषक ठाकुर सापकोटाले केराको विविधिकरण गर्दै यसबाट मदिराजन्य पेय पदार्थ उत्पादन ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादन गर्न सफल भएका छन् । उनले यसको सफल परीक्षण गरेका छन् ।


    उत्पादनमुखी कृषि प्रणालीलाई उद्योगसँग जोड्ने उद्देश्यले विगत एक वर्षदेखि उहाँले केराका बाइ–प्रोडक्ट उत्पादनका लागि अध्ययन तथा प्रयोगात्मक अनुसन्धान सुरु गरेका हुन् । एक एण्ड बी केरा फार्ममार्फत करिब १२ बिघा क्षेत्रफलमा व्यावसायिक रूपमा केराखेती गर्दै आउनुभएका उहाँले हावाहुरी, बजार अभाव तथा अन्य प्राविधिक कारणले बोटमै कुहिने र खेर जाने केरालाई कच्चा पदार्थका रूपमा उपयोग गर्ने सोचका साथ मदिराजन्य पेय पदार्थ उत्पादनको परीक्षण थालेको बताए ।
    कृषि विकास कार्यालय, भरतपुरको सहयोग, प्राविधिक उपकरण तथा प्रोत्साहनमा सञ्चालन गरिएको अनुसन्धानबाट केराको वाइन उत्पादन पूर्ण रूपमा सफल भएको छ भने ब्रान्डी उत्पादनसम्बन्धी अनुसन्धान सफल चरणमा पुगेको उनले बताए । उनका अनुसार एक पटकमा ५०० केजी पाकेको केरा प्रशोधन गर्दा करिब २०० लिटर वाइन उत्पादन गर्न सकिन्छ ।

    त्यसैगरी, ३०० केजी केराबाट करिब १२० देखि १३० लिटर ब्रान्डी उत्पादन हुने गरेको छ । यो प्रविधि पूर्ण रूपमा पाकेको केरामा हुने प्राकृतिक चिनीको फर्मेन्टेसन प्रक्रियामा आधारित रहेको उनले बताए ।


    सापकोटाले यस व्यवसायलाई ठूलो डिस्टिलरीका रूपमा नभई स्थानीयस्तरमै सञ्चालन हुने ‘माइक्रो–डिस्टिलरी’ (लघु मदिरा उद्योग)का रूपमा दर्ता गर्ने प्रक्रिया अघि बढाएको जानकारी दिए । उनले गण्डकी गाउँपालिका तथा खोटाङका स्थानीय तहहरूले कोदोको ब्रान्डिङ गरेजस्तै चितवनको केरालाई पनि स्थानीय कानुन तथा कार्यविधिमार्फत ब्रान्डिङ गर्नुपर्ने आवश्यकता औँल्याए ।


    उनले भने, “हामी ठूलो डिस्टिलरी होइन, स्थानीय स्तरको माइक्रो–डिस्टिलरीका रूपमा दर्ता प्रक्रिया अगाडि बढाउँदैछौँ । गण्डकी गाउँपालिका वा खोटाङले कोदोको ब्रान्डिङ गरेजस्तै चितवनको केरालाई पनि ब्रान्डिङ गर्न सकियो भने यसले कृषि पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउनेछ । चितवन आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि यो उत्कृष्ट चिनोसमेत बन्न सक्छ ।”

    हाल परीक्षणका रूपमा करिब एक हजार जनालाई केराबाट उत्पादित पेय पदार्थ चखाइएकामा अत्यन्त सकारात्मक प्रतिक्रिया प्राप्त भएको र आगामी आर्थिक वर्षदेखि व्यावसायिक उत्पादन तथा बजार विस्तार गर्ने तयारी भइरहेको सापकोटाले बताए । उनका अनुसार हाल परीक्षण चरणमा परिवारका सदस्यसहित उद्योग र बजार व्यवस्थापनमा प्रत्यक्ष रूपमा आठदेखि नौ जना संलग्न छन् ।

    यसका साथै, केराका बहुउपयोगी परिकारको प्रवद्र्धन गर्ने उद्देश्यले रत्ननगरको टाँडी बजारस्थित बकुलहर चोकमा छुट्टै आउटलेट सञ्चालनमा ल्याइएको छ । उक्त आउटलेटमा केराको मःमः, चिप्स, पकौडा, छोइला, बनाना चिल्ली तथा अचारलगायतका विभिन्न परिकार उपलब्ध गराइएको छ, जसले स्थानीय उपभोक्ता तथा पर्यटकलाई आकर्षित गरिरहेको छ ।

    सापकोटा भन्छन्, “धेरै वर्षदेखि व्यावसायिक केरा खेती गर्दै आउँदा बजारीकरण र प्राकृतिक विपत्तिका कारण ठूलो समस्या भोग्नुप¥यो । बारीमै पाकेर खेर जाने केरालाई कसरी सदुपयोग गर्न सकिन्छ भन्ने सोच्दै जाँदा यो अवधारणा विकसित भएको हो ।” केरालाई विविधीकरण गरी चितवनको पहिचानका रूपमा स्थापित गर्ने तथा यसको व्यावसायिक विस्तारमार्फत स्थानीय कृषि अर्थतन्त्रलाई बलियो बनाउने लक्ष्य रहेको उनले बताए ।

  • गोरखामा अफ्रिकन स्वाइन फिभरबाट २५० सुँगुर-बङ्गुर मरे

    गोरखामा अफ्रिकन स्वाइन फिभरबाट २५० सुँगुर-बङ्गुर मरे

    रासस
    गोरखा, १६ असारः अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुररबङ्गुर मरेका छन् । दुई महिनायता फैलिएको अफ्रिकन स्वाइन फिभरको सङ्क्रमणबाट हालसम्म २५० भन्दा बढी सुँगुररबङ्गुर मरेको जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ ।

    केन्द्रका प्रमुख अनन्त कोइरालाका अनुसार गोरखा नगरपालिका(६, मानवसेवा आश्रम टोलका किसान राजकुमार श्रेष्ठको फार्मका ८० वटा र सोही क्षेत्रकी जुना रेग्मीको फार्मका १० वटा बङ्गुर मरेका छन् । त्यस्तै मान्द्रेढुङ्गाका धनकुमार गुरुङको फार्मका ६० वटा बङ्गुर दुई साताको अवधिमा मरेका उहाँले जानकारी दिनुभयो । बाँकी अन्य किसानका फार्मका सुँगुररबङ्गुर पनि सङ्क्रमणका कारण मरेका हुन् ।

    अहिलेसम्मको तथ्याङ्कअनुसार गोरखा नगरपालिका ६, ७ र ८ तथा सहिद लखन गाउँपालिका–७ का फार्ममा रहेका सुँगुररबङ्गुरमा अफ्रिकन स्वाइन फिभरको सङ्क्रमण फैलिएको कोइरालाले जानकारी दिए । उनका अनुसार जिल्लामा यो रोगको सङ्क्रमण पहिचान भएको करिब दुई महिना मात्र भएको छ ।

    कार्यालय प्रमुख कोइरालाले भने, “अहिलेसम्म यस रोगको न उपचार छ, न त खोप नै उपलब्ध छ । त्यसैले सङ्क्रमण भएपछि सुँगुररबङ्गुर मर्नु निश्चितजस्तै हुन्छ । सङ्क्रमित स्थानमा पुगेका मानिसको लसपस, दाना तथा औषधिमार्फत पनि यो रोग सर्न सक्छ ।” उनका अनुसार उपचार नभएकाले यसबाट बच्न आवश्यक सावधानी अपनाउनु नै एक मात्र उपाय हो ।

    “अफ्रिकन स्वाइन फिभरका कारण धमाधम सुँगुररबङ्गुर मरेका जानकारी आएका छन् । केही फार्म दर्ता भएका छन् भने केही दर्ताविहीन भएकाले सबै विवरण प्राप्त नभएको हुन सक्छ”, कोइरालाले भने । उनले रोगबाट बच्न सङ्क्रमित खोर तथा त्यहाँको संसर्गबाट टाढा रहन सुझाव दिए ।
    किसान धनकुमार गुरुङका अनुसार सङ्क्रमण भएपछि सुँगुररबङ्गुरमा ज्वरो आउने, खाना खान छाड्ने, शरीरमा धब्बा वा दाग देखिने तथा करिब एक साताभित्र मर्ने लक्षण देखिने गर्दछ ।

  • आजदेखि बेँसीसहर-चामे र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक

    आजदेखि बेँसीसहर-चामे र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक

    लमजुङ, १६ असारः यात्रा गर्न जोखिम बढेको भन्दै आजदेखि रात्रिकालीन समयमा बेँसीसहर(चामे सडक र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक लगाएको छ । सोमबार बसेको जिल्ला सुरक्षा समिति लमजुङको बैठकले यस वर्षको मनसुजन्य विपद्बाट हुनसक्ने सम्भावित जनधनको क्षतिलाई न्यूनीकरण गर्न असार मसान्तसम्म अत्यावश्यक बाहेकका अन्य सवारीसाधन सञ्चालनमा रोक लगाएको हो ।

    लमजुङका सहायक प्रमुख जिल्ला अधिकारी थम्मनसिंह गौतमले भन्नुभयो, “बेँसीसहर(चामे सडकको बेँसीसहरबाट मनाङ जिल्लाको सीमानासम्मको खण्डमा प्रत्येक दिन साँझ ६ः०० बजेदेखि बिहान ६ः०० बजेसम्म र पुष्पलाल मध्यपहाडी लोकमार्गको सुन्दरबजार-भोर्लेटार सडकखण्डको बिमिरे भञ्ज्याङ क्षेत्रमा प्रत्येक दिन साँझ ७ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ ।”

    यस सडकखण्डमा अत्यावश्यक रहेका सवारीसाधन भने सञ्चालन गर्न दिने उनले बताए । जिल्ला प्रशासन कार्यालय लमजुङले सो बैठकको निर्णय सार्वजनिक गर्दै यसबाट असुविधा भएकामा क्षमासमेत मागेको छ । आजदेखि धेरै वर्षा हुने सम्भावना रहेको जानकारी भएकाले रात्रिकालीन समयमा जोखिम न्यूनीकरण गर्ने उद्देश्यले सवारी सञ्चालनमा रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी गौतमले जानकारी दिए । वर्षाको समयमा पहिरो जानसक्ने सम्भावना रहेकाले यसरी जिल्लामा दुर्घटना न्यूनीकरणको उपाय अवलम्बन गरिएको उनको भनाइ छ ।

    बेँसीसहरबाट मनाङको सिमाना म्यार्दी खोलासम्म ३५ किलोमिटर पर्दछ भने बेँसीसहरबाट चामे मनाङसम्म ६५ किलोमिटर दूरी पर्दछ । यो जिल्लाको उत्तरी क्षेत्रका स्थानीय र मनाङको नागरिक यात्रा गर्ने सडक हो । लमजुङ र मनाङ जोड्ने एक मात्रै सडकका रूपमा रहेको यो खण्डमा बर्सेनि बर्खायाममा विभिन्न ठाउँमा पहिरो गई सडक अवरुद्ध हुँदा मनाङबासी बढी मर्कामा पर्दै आएको छन् ।

    यो सडक लामो समय अवरुद्ध हुँदा हेलिक्टरमार्फत स्थानीय आवतजावत गर्न बाध्य हुँदै आएको छन् । त्यस्तै राइनास नगरपालिकाबाट मध्यनेपाल नगरपालिका तथा कास्की जिल्लाको सिमानासम्म लमजुङ खण्डमा ४८ किलोमिटर पर्दछ । यस सडकको विशेष गरी मध्यनेपाल नगरपालिका–१० बीमिरे भञ्ज्याङमा बढीपहिरो जाने र सडक अवरुद्ध हुने समस्या सहँदै आएको छ । विशेष गरी यो सडक मनाङ र लमजुङका स्थानीयले पोखरा जानआउनको लागि प्रयोग गर्दछन् ।

  • पाल्पामा गोरुले खेतबारी जोत्ने प्रचलन हराउँदै

    पाल्पामा गोरुले खेतबारी जोत्ने प्रचलन हराउँदै

    तानसेन (पाल्पा), १६ असारः एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल गोरुले खेत जोतेर धान रोपाइँ गर्ने दृश्य माथागढी गाउँपालिका देउगीरका ७२ वर्षीय जीवन घर्तीको मानस्पटमा अझै ताजै छन् । “हँ हँ माले हँ हँ, हँ हँ तारे गर्दै असार र साउन महिनामा खेतमा गोरु कुदाउने गर्थे, अघिअघि हली पछिपछि रोपाराले गीत गाउँदै खेत जोत्ने गरेको देख्दा रमाइलो लाग्थ्यो । हामीले पनि गोरु जोतैरै रोपाइँ गर्यौंं तर हिजोआज भने ट्याक्टरले जोत्न थाले”, घर्तीले भने, “अहिले गाउँमा हलगोरु भेट्याउनै मुस्किल पर्छ ।” गाउँमा अहिले एक–दुई हल गोरु मात्रै रहेका उहाँले बताउनुभयो ।

    आफूले ६० वर्ष पुग्दासम्म पनि हलगोरु पालेरै जोतेको घर्तीको भनाइ छ । “पहिला सबैले गोरु पालेरै जोत्थे तर अब त किसानहरूले गोरु पाल्नै छाडे”, उनले भने, “गाउँघरमा अहिले एक, दुई हल मात्रै गोरु छन्, मैले उमेर हुँदासम्म घरमै गोरु पालेरै जोत्ने गर्थे तर अहिले बुढो भएर सक्दिन ।” मकै रोप्ने र जोत्नेबेला छोराहरुले ट्याक्टर ल्याएर जोत्ने गरेको उनले सुनाए ।


    पूर्वखोला गाउँपालिका रिङनेरहका वीरबहादुर सारुले खेतबारी जोत्न सहज रूपमा ट्याक्टर पाइन थालेपछि विगत पाँच वर्षदेखि गोरु पाल्न छाडेको बताए । पाखाको बारी र फेदीको खेत ट्याक्टरले जोत्न थालेपछि गोरु बेचेको सारुको भनाइ छ ।

    गाउँघरबाट युवापुस्ता वैदेशिक रोजगारीमा पलाएन हुनेक्रम बढेसँगै हलगोरु पालेर खेती लगाउने प्रचलन पनि हराउँदै गएको ६० वर्षीय सारुले बताए । “बढेका छोरा, बुहारी सहर र विदेशतिर पसेकाले गाउँघरमा घाँस काट्ने, गोरु जोत्ने मान्छे पनि छैनन्”, उनले भने, “अब सबै सुखसँग बस्ने भए, गोरु पाल्ने मान्छे गाउँघरमा भेट्नै मुस्किल छ ।”

    यी त केही उदाहरण मात्रै हुन् । पछिल्लो समय यहाँका अधिकांश फाँटमा गोरुले खेतबारी जोत्ने परम्परा विस्तारै हराएको छ । कृषि क्षेत्रमा आधुनिक मेसिनको प्रयोग बढ्दै जाँदा गोरुको स्थान ट्याक्टर, मिनी टिलर र पावर टिलरले लिन थालेका छन् । पहिले हरेक किसानले खेतीका लागि गोरु पाल्ने चलन थियो । रोपाइँ, मकै, गहुँ तथा अन्य बाली लगाउन खेत जोत्न गोरु अनिवार्य मानिन्थ्यो । तर पछिल्ला वर्षमा कृषि मजदुरको अभाव, समयको बचत र कृषि उपकरणबाट छिटो काम हुने भएकाले किसान यान्त्रिक उपकरणतर्फ आकर्षित भएका सारुको बुझाइ छ ।

    विशेषगरी अन्नको भण्डारका रूपमा लिइने तानसेनको माडीफाँट, अर्गेली, रम्भा गाउँपालिकाको हुँगी, हेक्लाङ, रामपुरको रामपुर फाँट, पूर्वखोलाका केही फाँट, निस्दी गाउँपालिकाको ढुँनावेसी, तिनाउ गाउँपालिकाको कचल, झ्याङ्ला, रिब्दीकोट र रैनादेवी छहराका तल्ला फाँटहरुमा एक दशकअघिसम्म गोरुले जोतेर धान रोप्ने प्रचलन थियो ।

    अहिले यी ठाउँमा ट्याक्टरले जोतेर धान रोपाइँ हुने गरेको छ । गाउँमा गोरु पाल्ने किसानको सङ्ख्या घट्दै जाँदा हलो, जुवा, फालीलगायत परम्परागत कृषि सामग्री पनि प्रयोगविहीन बन्दै गएका छन् । यसले ग्रामीण जीवनसँग जोडिएका पुराना कृषि संस्कार र सीपसमेत लोप हुने अवस्थामा पुगेको छ ।

    यान्त्रिकीकरणले उत्पादन लागत र समय घटाउन सहयोग गरे पनि परम्परागत कृषि ज्ञान तथा जैविकखेतीसँग जोडिएका अभ्यासको संरक्षणमा पनि ध्यान दिन आवश्यक रहेको कृषि केन्द्र पाल्पाका कृषि अर्थविज्ञ मातिवर यावदले बताए । केही वर्षयता गाउँका कृषकहरूले आधुनिक हलो प्रयोग गर्न थालेका भन्दै गोरुमार्फत जोत्ने कृषकलाई पनि ज्ञान केन्द्रले प्रेरित गर्दै आएको उनले बताए ।

  • जोमसोममा शालिग्राम शीला मूर्ति धार्मिक आस्थाको केन्द्र बन्दै

    जोमसोममा शालिग्राम शीला मूर्ति धार्मिक आस्थाको केन्द्र बन्दै

    मुस्ताङ, १६ असारः यहाँको घरपझोङ गाउँपालिका(४, जोमसोमस्थित कालिगण्डकी नदीको तटमा रहेको ढुङ्गामा कुँदिएको विश्वकै ठूलो २२ फिट उचाइको शालिग्राम शीला मूर्ति धार्मिक आस्थाको केन्द्र बन्दै गएको छ । गत वैशाखअघि कालिगण्डकी नदीको छेउमा रहेको विशाल ढुङ्गालाई नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका मूर्तिकारहरूले शालिग्राम शीलाको आकार दिएर मूर्ति निर्माण गरेपछि उक्त स्थान धार्मिक पर्यटकका लागि आकर्षक केन्द्र बन्दै गएको हो ।

    घरपझोङ गाउँपालिकाको आयोजना र एकीकृत सेवा कार्यालय मुस्ताङको सहलगानीमा नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानसँगको समन्वयमा गत वैशाख ७ देखि २१ गतेसम्म जोमसोममा १५ दिने मूर्तिकला कार्यशाला सञ्चालन गरिएको थियो । कार्यशालामा सहभागी ३६ भन्दा बढी मूर्तिकारले कालिगण्डकी नदीको तटमा रहेका विशाल ढुङ्गालाई विभिन्न स्वरूपका मूर्तिमा रूपान्तरण गरेका थिए ।

    मूर्तिकारहरूले जिल्लाका ऐतिहासिक, धार्मिक, सांस्कृतिक, सामाजिक तथा जैविक विविधतालाई समेट्दै कालिगण्डकी नदीका डेढ दर्जन ढुङ्गालाई कलात्मक मूर्तिका रूपमा प्रस्तुत गरेका थिए ।

    मूर्तिकारहरूले कार्यशालाका क्रममा कालिगण्डकी नदी किनारका ढुङ्गामा शालिग्राम शीला, भगवान् महादेव, पार्वती, विष्णु, बुद्ध, हिमचितुवा, हिमाली भेँडा, बौद्ध स्तूप, माने, छोर्तेनलगायत सम्पदाका कलात्मक मूर्ति सिर्जना गरेका घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले जानकारी दिए । उनका अनुसार मूर्तिकारद्वारा कुँदिएका डेढ दर्जन मूर्तिमध्ये अहिले सबैको ध्यान विश्वकै ठूलो आकारको शालिग्राम शीलातर्फ तानिएको छ ।

    घरपझोङ गाउँपालिकाले उक्त शालिग्राम शीलाको प्राणप्रतिष्ठा गरेसँगै धार्मिक पर्यटकको चहलपहल बढेको अध्यक्ष लालचनले जानकारी दिए । उनका अनुसार कालिगण्डकी नदीछेउको विशाल ढुङ्गामा कुँदिएको उक्त मूर्तिको भारतको कर्नाटक राज्यस्थित शृङ्गेश्री शारदा पीठका पीठाधीश्वर जगद्गुरु शङ्कराचार्य स्वामी विधुशेखर भारती महाराजले विशेष पूजाअर्चनासहित प्राणप्रतिष्ठा गरेका हुन् ।


    भारतीय स्वामी महाराजबाट कालिगण्डकी नदीमा निर्मित शालिग्राम शीलाको गत जेठको पहिलो साता विभिन्न धार्मिक स्वामीहरूको उपस्थितिमा प्राणप्रतिष्ठा गरिएको थियो । अहिले मुक्तिनाथ दर्शनका लागि मुस्ताङ आउने स्वदेशी तथा विदेशी धार्मिक पर्यटकका लागि यो मूर्ति आस्थाको केन्द्र बन्दै गएको उनले बताए ।
    घरपझोङ गाउँपालिका ४, जोमसोमका कार्यपालिका सदस्य भीषण थकालीका अनुसार शालिग्राम शीलाको प्राणप्रतिष्ठापछि दैनिक एक सयभन्दा बढी दर्शनार्थीले उक्त शीलाको दर्शन तथा अवलोकन गर्ने गरेका छन् । विशेषगरी मुक्तिनाथ दर्शन गर्न आएका भारतीय दर्शनार्थीको यहाँ उल्लेख्य घुइँचो लाग्ने गरेको उनको भनाइ छ ।

    उक्त शीलाको प्राणप्रतिष्ठापछि विश्वकै ठूलो आकारको शालिग्राम दर्शन गर्न आउने दर्शनार्थीको सङ्ख्या बढेसँगै सदरमुकाम जोमसोममा पर्यटकको बसाइँसमेत लम्बिन थालेको कार्यपालिका सदस्य थकालीले जानकारी दिए । उनका अनुसार गाउँपालिकाले उक्त स्थानलाई घेराबार गरी शालिग्राम पार्क निर्माण गर्ने योजना बनाएको छ ।

    उक्त शालिग्राम पार्कमा दर्शनार्थीलाई सहज हुने गरी गोरेटो बाटो निर्माण गर्नुका साथै मूर्तिकारहरूले कुँदेका अन्य मूर्तिसमेत सोही स्थानमा स्थापना गरिने कार्यपालिका सदस्य थकालीले जानकारी दिए । भारतको मुम्बईबाट मुक्तिनाथ दर्शन गरी फर्किएकी जेनिशा जेनले जीवनमा पहिलोपटक यति ठूलो आकारको शालिग्रामको दर्शन गर्न पाएकोमा खुसी व्यक्त गरिन् । भगवान् विष्णुको स्वरूपसहित अन्य मूर्तिको महत्व धार्मिक आस्था र विश्वाससँग जोडिएको उनले बताइन् ।


    मुक्तिनाथ दर्शनका लागि मुस्ताङ आउने पर्यटकका लागि शालिग्राम शीला यहाँको आकर्षक धार्मिक पर्यटकीय गन्तव्य बनेको अध्यक्ष लालचनले बताए । मुस्ताङ सदरमुकाम जोमसोम बजारसँग जोडिएको कालिगण्डकी नदीको तटमा अवस्थित शालिग्राम शीला, नीलगिरि हिमाल र धौलागिरि हिमालको मनमोहक दृश्यले शालिग्राम शीला पार्क पुगेका धार्मिक पर्यटकलाई मोहित बनाउने गरेको स्थानीयवासी बताउँछन् ।

  • फिफा विश्वकपको अन्तिम १६ मा ब्राजिल प्रवेश, जापान पराजित

    फिफा विश्वकपको अन्तिम १६ मा ब्राजिल प्रवेश, जापान पराजित

    काठमाडौँ, १६ असारः फिफा विश्वकप २०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा ब्राजिलले जापालाई पराजित गर्दै जित हासिल गरेको छ । अमेरिकाको ह्युस्टन खेल मैदानमा आज भएको खेलमा ब्राजिलले जापालाई २१ गोलअन्तरले पराजित गर्दै विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको हो । पाँच पटकको विश्वकप विजेता ब्राजिल पहिलो हाफमा एक गोलले पछि परेको स्थितिलाई पुनरागमन गर्दै जित हासिल गरेको हो ।

    जापानका काइसु सानोले खेलको २९औँ मिनेटमा गोल गर्दै टोलिलाई पहिलो अग्रता दिलाए । त्यसपछि खेलको ५६आँ मिनेटमा ब्राजिलका कासेमिरोले हेडमार्फत गोल गर्दै खेललाई एक–एक गोलको बराबरीमा ल्याए । खेलको दोस्रो हाफको अतिरिक्त समयमा गाब्रीएल माटीनेलीले निर्णायक गोल गरेपछि जापानलाई २-१ ले पराजित गर्दै ब्राजिल विश्वकपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएको हो ।

  • आलेख– पनौती हिलेजात्रा यौनिकताको दर्साउने अनौठो परम्परा

    आलेख– पनौती हिलेजात्रा यौनिकताको दर्साउने अनौठो परम्परा

    राजकुमार पराजुली–रासस

    काभ्रेपलाञ्चोक, १५ असारः हरेक वर्षको ‘जेष्ठ शुक्ल पूर्णिमा’का अवसरमा काभ्रेपलाञ्चोकको पनौतीमा हिलेजात्राअर्थात् ज्याःपुन्ही मनाइन्छ । त्रयोदशीदेखि पूर्णिमाको रात रहुञ्जेल हिलेजात्रा मनाउँछन् पनौतीवासी । जात्रा सकिएको भोलिपल्टैदेखि खेतको काम थाल्ने यहाँको परम्परा नै हो । अझ ‘जेष्ठ शुक्ल पूर्णिमाको दिन जात्रा नमान्ने र मङ्सिर पूर्णिमाको रात निद्रा नपु¥याउनेले कहिल्यै सुख पाउँदैन’ भन्ने मान्यतासमेत यहाँ रहिआएको छ ।

    यहाँको परम्परा पनि अनौठो, मौसम पनि अनौठो तरिकाले जात्रासँगै मेलोमेसोमा लागेकै पाइन्छ । जात्रा मनाएको चार दिनदेखि पनौतीमा हावाहुरी चल्छ, अनि वर्षा सुरु हुन्छ । यहाँको जनविश्वासअनुसार जात्राको अन्तिम दिन पनि वर्षा हुनैपर्छ र भइरहेको पनि यहाँका स्थानीयसँग अनुभव छ । स्थानीय बूढापाकाको भनाइमा पनौती जात्रामा सामेल हुनैपर्ने परम्परागत तथ्य पनि छ । यस वर्षको जात्रा गत शनिबारदेखि सुरु भएको छ ।

    जात्रा सकेर खेतमा रोपाइँ सुरु गर्ने परम्परा पहिल्यैदेखि चलिआएकाले यसलाई हिलेजात्रा अर्थात् नेवारी भाषामा ज्याःपुन्हीसमेत भन्ने गरिएको हो । किम्वदन्तीअनुसार परापूर्वकालमा यसै समयमा पनौती पारीपट्टीका ब्रह्मायणी र भद्रकालीको पूजा गर्न जान समस्या परेपछि ललितपुरको बुङ्गमतीबाट वासुकी नाग पनौती आएर पुण्यमाताको उर्लंदो बाढीमा पुलजस्तै तेर्सो परी देवतालाई तार्ने काम गरेका थिए । त्यसैको स्मरणमा जात्रा मनाउँदै आइएको स्थानीय वृद्ध विकुनारायण ताम्राकार बताउनुहुन्छ ।

    करिब ५० मिटर चौडा पुण्यमाता खोलामा हरेक वर्षको त्रयोदशीका दिन नागको प्रतीकका रुपमा दुईवटा बाँस तेस्र्याइने र एक घण्टा लगाएर देवतालाई तार्ने काम गरिन्छ । तीन दिनसम्म मनाइने यो जात्रालाई निकै ठूलो जात्राका रुपमा लिने गरिन्छ । जात्रा मनाउने क्रममा त्रयोदशीका दिन खोला तर्ने काम सकिएपछि चतुर्दशीका दिन पनौती नगरका सम्पूर्ण देवीदेवताका मठमन्दिरमा पूजाअर्चना गर्ने चलन छ ।

    यस्तै सोही दिन इन्द्रेश्वर महादेव मन्दिरको पूर्वमा रहेको गणेशको मूर्तिलाई खटमा राखी धुमधामका साथ नगर परिक्रमा गराइन्छ । जात्राको मुख्य आकर्षणअर्थात् पूर्णिमाका दिन सबेरै बजारमा भद्रकाली, महादेव र इन्द्रेश्वरका तीनवटा रथको भागदौड गराउने र रथ भेटिँदा ‘यौन क्रियाकलाप’मा रथलाई एकापसमा जुधाउने काम हुन्छ । यही क्रियाकलापलाई जात्राको मुख्य आकर्षणका रुपमा लिँदै युवायुवतीको सहभागिता उत्साहजनक रहने गर्दछ ।

    स्थानीय वृद्धवृद्धाको भनाइमा पूर्णिमाको दिन भद्रकालीले ६४ योगिनीको एउटै रुप धारण गरी कामोत्तेजक भई महादेवलाई लखेट्छिन् । महादेव भने त्रिवेणीमा हामफली लुक्छन् तर त्यहाँ पनि भद्रकालीले नछाडेपछि महादेवले उन्मक्त भैरवको रुप धारण गरी भद्रकालीलाई भगाउँछन् । भाग्ने र पिछा गर्ने कार्यका रुपमा रथ जुधाइन्छ । रथ जुधाइसँगै भव्यरुपमा अबीर जात्रा पनि हुन्छ । लखेट्दै गएर भैरवले चौतर्फी घेरा हाली भद्रकालीलाई बीचमा पारेपछि पछाडिबाट ठक्कर दिन्छन् भने अगाडिबाट आएका इन्दे्रश्वर महादेवले पनि अगाडिबाटै धकेल्छन् ।

    धार्मिक विश्लेषणका आधारमा रथ जुधाउने परम्परालाई यौनजन्य प्रस्तुतिका रुपमा लिइएको हो । रथ जुधाउँदा जोश झनै बढ्ने भएकाले युवायुवती अबिर जात्रासहित रथ जुधाउन तँछाडमछाड गर्छन् । इन्दे्रश्वर मन्दिरका पुजारी रमेश जङ्गमका अनुसार रथ जुधाइमा कामोत्तेजक कार्य प्रदर्शन गर्नुपर्ने भएकाले पहिलेपहिले झिसमिसेअगावै रथ जुधाइने गरिएको थियो । विशेषतः काम–क्रिडासँग सरोकार राख्ने जात्रा भएकाले मध्यरातदेखि झिसमिसेको बीचमा समापन गर्नुपर्ने मान्यता रहिआएको थियो तर पछिल्ला केही वर्षदेखि देवता रुपी रथलाई दिउँसो जुधाउने गरिँदै आएको छ ।

    जात्राको विधि÷परम्पराअनुसार विशेष पूजामा सामग्री, सुकुण्डा बोकेर कर्माचार्य ९आचाजू० हरु सुस्तरी हिँड्नुपर्छ । यो परम्परालाई नेवारी भाषामा न्ह्यायकेगू भन्ने गरिन्छ । कर्माचार्य खोला पारी गोरखनाथ पुगेपछि नाग आसनबाट उठ्ने भएकाले ती नाग राजाको कृपाले पानी र रोपाइँ सफल हुने जनविश्वास रहेको छ । कुनै वर्ष कारणवश जात्रा रोकिएमा पनौतीमा ठूलो अनिष्ठ हुने, खडेरीले दुःख दिनेजस्ता जनविश्वासकै आधारमा यो जात्रालाई निरन्तरता दिएको छ । अर्को रोचक प्रसङ्ग जात्रामा चिउली र केरा खाएर घुम किन्नुपर्ने मान्यता पनि छ । जात्रामा चिउली चपाएर जीब्रो पड्काउँदै युवायुवती हौसिएका देखिन्छन् । स्थानीयले जात्रा अवधिभर आफ्ना पाहुना बोलाई स्वागत सत्कारका साथ भोज गर्छन् । भोजका लागि अधिकांशका घरमा बलि दिने प्रथा अझै कायम रहेको छ ।

    पनौती धार्मिक रुपले पनि उत्तिकै महत्वको क्षेत्र मानिँदै आएको छ । पनौतीस्थित इन्द्रेश्वर महादेव मन्दिरको उत्तरपूर्व कुनामा अवस्थित अहिल्या ९शिला०लाई काठमाडौँको काष्ठमण्डपपछि पुरानो कलाकौशलयुक्त मन्दिरको रुपमा गनिएको छ । शरीरभरि योनी भएका देवराज इन्द्र पनौतीमा आई १२ वर्षसम्म ‘श्री महादेव’को तपस्या ९भक्ति० गर्दा पापमुक्त भएपछि सोही बेलादेखि १२ वर्षे मकर मेला निरन्तर रुपमा चल्दै आएको जनविश्वास छ ।

    यस्तै राजा प्रताप मल्लले १७२७ सालमा रानीपोखरी बनाइसकेपछि विभिन्न तीर्थस्थलको जल राख्ने क्रममा पनौतीस्थित त्रिवेणीघाटको जल पनि राखेको शिलालेखमा उल्लेख गरिएको इतिहासविद्ले जनाएका छन् । तीन नदीको सङ्गमस्थल त्रिवेणीघाटमा पुण्यमाता र रोशी खोलाबाहेक पद्यमावती नदी गुप्त रुपमा बहिरहेको मान्यता रहेको छ । भारतको प्रयागमा गङ्गा र यमुना नदीको सङ्गममा गुप्तरुपले सरस्वती मिसन नदी बहेझैँ पनौतीस्थित रोशीलाई रुद्रावती नदी, पूण्यमाता नदीलाई लीलावती र गुप्तरुपले बहेकी ब्रह्मायणी मन्दिरको मुनिबाट दूध बग्ने नदीलाई पद्यमावती मानिदै आइएको हो ।

    स्कन्दपूराणअन्तर्गत हिमवत्खण्ड ९नेपाल महात्म्य०मा वर्णन गरिएअनुसार परापूर्वकालमा श्रृष्किर्ता परब्रम्हाले ‘अहिल्या’ सुन्दरी सिर्जना गरी दश इन्द्रिया वशमा राख्नसक्ने गौतम ऋषिलाई नासोको रुपमा सुम्पिएपछि यो कुरा थाहा पाएका देवराज इन्द्रले अहिल्याको रुपबाट कामातुर भई ऋषिको भेषमा अहिल्याको सतित्व हरण गरेका थिए । स्नान गरी फर्कंदा इन्द्रबाट अहिल्याको सतित्व हरण भएको थाहा पाएपछि रिसले चुर भएका ऋषिले उनलाई ‘जुन वस्तुमा बढी लालसा राख्यो, त्यही वस्तु शरीरमा उत्पन्न होस् भनी श्राप दिएँ’ भनेपछि इन्द्रमा हजारौँ योनीहरु पाप चिन्हका रुपमा देखिएको कथन छ । सतित्व हरणपछि पत्थर झैँ विवेकरहीत अवस्थामा रहेपछि ऋषिले अहिल्यालाई शिला हुने श्राप दिएको र त्रेता युगमा मर्यादापुरुष रामचन्द्रको जन्म हुने र उनकै पाउ स्पर्शपछि उनको श्राप मोचन भयो भनिएको छ ।

    अर्को किम्वदन्तीअनुसार पाटन र पनौतीमा ठूलो खडेरीपछि अनिकाल हुँदा दुवै ठाउँका तान्त्रिकहरु फुल्चोकीमाई कहाँ पूजापाठ गरी पानी माग्थे । दुई क्षेत्रबीच पानी लैजाने होडबाजी चलिरहेपछि फुल्चोकी माताले जसले पहिले चाँदी र सुनको फूल चढाउँछ उसलाई वरदान दिने भन्नुभएको थियो । यसपछि सुन र चाँदीवाला पाटनका तान्त्रिकले सोहीअनुसार फूल बनाउन दिए, यता पनौतीका तान्त्रिकले आफूसँग जान्ने कालीगढ नभएको जनाउँदै तोरी र मूलाको फूल ९सुन र चाँदीजस्तो देखिने०चढाएपछि सुन–चाँदीका निम्ति प्रख्यात पाटनलाई भन्दा मूला, तोरी र साग खेती गर्नेलाई पानीको अभाव छ भन्दै खुसी हुँदै फुल्चोकी माताले पनौतीतर्फ पानी पठाइदिनुभएको थियो ।

    छ वर्षपछि सुन र चाँदीको फूल बनाएर फुल्चोकी मातालाई चढाएर आफूहरुलाई पनि वरदान मिल्नुपर्ने बताएपछि माताले उक्त पानी आधा गोदावरी पठाएकी थिइन् । यसपछि छ÷छ वर्षको अन्तरमा गोदावरी मेला र १२÷१२ वर्षमा मकर मेला लाग्ने गरेको जनविश्वास छ ।

    जन्मदेखि मृत्युसम्मका धार्मिक क्रियाकलाप हुने पनौतीको उक्त त्रिवेणीमा हरेक वर्ष माघ महिनामा साँखु र भक्तपुरका माधवनारायण देवतालाई यहाँ ल्याई दुई दिनसम्म राखिने पनि गरिन्छ । बाह्रवर्षे मकर सङ्क्रान्तिमा पनौतीस्थित त्रिवेणीघाटमा एकमहिने मकर मेला लाग्ने गर्दछ । मेलामा उत्तर भारत प्रयागबाट समेत तीर्थालु आउने गर्दछन् । उक्त स्थानमा नुहाई त्यहाँको जल उत्तरतर्फ कुञ्जगिरिमा अवस्थित गोरखनाथलाई अर्पण गर्नाले ठूलो पुण्य मिल्ने धार्मिक विश्वास रहेको छ ।

  • जर्मनीको युवा कल्याण केन्द्रमा गोलीकाण्ड, पाँच जनाको मृत्यु

    जर्मनीको युवा कल्याण केन्द्रमा गोलीकाण्ड, पाँच जनाको मृत्यु

    स्टेड (जर्मनी), १५ असार (रासस–एएफपी) । जर्मनीको उत्तरी सहर स्टेडस्थित एक युवा कल्याण केन्द्रमा सोमबार भएको गोलीकाण्डमा पाँच जनाको मृत्यु भएको छ । घटनामा सङ्गलग्न रहेको आशङ्कामा दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गोलीकाण्डमा पाँच जना घाइते भएका छन् भने केही अन्य व्यक्तिले पनि सामान्य चोटपटक भोगेका छन् । घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको र हाल सर्वसाधारणका लागि कुनै सुरक्षा जोखिम नरहेको जनाइएको छ ।


    घटनापछि ह्याम्बर्गबाट करिब ५० किलोमिटर पश्चिममा रहेको स्टेड सहरमा ठूलो सङ्ख्यामा प्रहरी, एम्बुलेन्स र उद्धार टोली परिचालन गरिएको थियो । स्थानीय सञ्चारमाध्यमले घटनास्थल वरपर हेलिकप्टरसमेत परिचालन गरिएको जनाएका छन् । प्रहरीले सर्वसाधारणलाई घटनास्थलबाट टाढा रहन र सुरक्षाका लागि सम्बन्धित क्षेत्र खाली गर्न आग्रह गरेको थियो ।

    जर्मनीमा युरोपकै कडा बन्दुक नियन्त्रण कानुन लागू छ । २५ वर्षभन्दा कम उमेरका व्यक्तिले बन्दुकको अनुमतिपत्र लिनुअघि अनिवार्य रूपमा मनोवैज्ञानिक परीक्षण उत्तीर्ण गर्नुपर्छ । त्यसका बाबजुद समय–समयमा यस्ता सामूहिक गोलीकाण्डका घटना हुने गरेका छन् । फेब्रुअरी २०२० मा मध्यजर्मनीको हानाउ सहरमा एक अतिदक्षिणपन्थी आक्रमणकारीले नौ जनाको गोली हानी हत्या गरेको थियो । त्यसैगरी मार्च २०२३ मा ह्याम्बर्गमा यहोवाका साक्षीको प्रार्थना सभामा भएको गोलीकाण्डमा छ जनाको मृत्यु भएको थियो ।

  • सरकारी अस्पतालहरूको गुणस्तर अनुगमन तीव्र

    सरकारी अस्पतालहरूको गुणस्तर अनुगमन तीव्र

    काठमाडौं, असार १५ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनमा सरकारी अस्पतालहरूको सेवा प्रवाह, व्यवस्थापन तथा गुणस्तर सुधारको अवस्थाबारे अनुगमनलाई तीव्र बनाइएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको गुणस्तर मापन तथा नियमन महाशाखाको नेतृत्वमा आज वीर अस्पताल, ट्रमा सेन्टर तथा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा अस्पताल सुधार कार्यक्रमअन्तर्गत भएका प्रगतिको स्थलगत अनुगमन गरिएको हो।
    अनुगमनका क्रममा अस्पतालहरूले प्रदान गर्ने स्वास्थ्य सेवा, सेवाग्राही सहजीकरण, भीड व्यवस्थापन, सरसफाइ तथा समग्र व्यवस्थापकीय पक्षको मूल्याङ्कन गरिएको मन्त्रालयले जनाएको छ।

    अनुगमनका क्रममा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा सुलभ फार्मेसी प्रभावकारी रूपमा सञ्चालन भइरहेको पाइएको छ। मन्त्रालयका अनुसार सुलभ फार्मेसीमार्फत सेवाग्राहीले गुणस्तरीय औषधि सस्तो तथा सहज मूल्यमा प्राप्त गर्न सक्नेछन्।


    मन्त्री मेहताको निर्देशनअनुसार ट्रमा सेन्टरले सोमबारदेखि सुलभ फार्मेसी सञ्चालन गर्ने भएको छ भने वीर अस्पतालमा समेत यही हप्ताभित्र सञ्चालनमा ल्याइने भएको छ।
    यसैगरी, अस्पतालहरूले उपलब्ध गराउँदै आएको १० प्रतिशत निःशुल्क सेवा, भीड व्यवस्थापन, सरसफाइ तथा सेवाको प्रभावकारिताबारे समेत निरीक्षण गरी आवश्यक सुधार तत्काल कार्यान्वयन गर्न निर्देशन दिइएको छ। यसैक्रममा, वीर अस्पतालले केडी जोशी बर्न युनिटलाई थप स्तरीय बनाउन आवश्यक सुधारका कार्य अघि बढाएको छ। साथै, बर्न उपचारमा संलग्न स्वास्थ्यकर्मी तथा कर्मचारीहरूलाई आवश्यक तालिमसमेत प्रदान गरिरहेको पाइएको छ।

    यसैगरी, भीड व्यवस्थापनलाई थप प्रभावकारी बनाउन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा सेवा काउन्टरको संख्या ३ बाट ५ पुर्‍याइएको पाइएको छ। साथै, अस्पतालमा क्युआर ९त्तच्० प्रणालीमार्फत औषधिको उपलब्धताबारे सेवाग्राहीले सहज रूपमा जानकारी लिन सक्ने व्यवस्था रहेको मन्त्रालयले जनाएको छ। वीर अस्पताल र टेकुमा भने क्युआर प्रणालीमार्फत नै बिरामीले आफ्नो रिपोर्टसमेत निकाल्न सक्नेछन्।

    यसैगरी, सबै अस्पतालहरूले कर्मचारीको सेवा व्यवहार सुधारका लागि सबै अस्पतालहरूले सफ्ट स्किल तालिम सञ्चालन गरिरहेका छन्।
    मन्त्रालयले सरकारी अस्पतालहरूको सेवा गुणस्तर सुधार, सेवाग्राहीमैत्री वातावरण निर्माण तथा स्वास्थ्य सेवामा आम नागरिकको पहुँच थप प्रभावकारी बनाउन यस्ता अनुगमनलाई निरन्तरता दिने जनाएको छ।

  • चितवनका विद्यार्थी धान रोप्न सिक्दै

    चितवनका विद्यार्थी धान रोप्न सिक्दै

    काठमाडौँ, १५ असारः आज असार १५, राष्ट्रिय धान दिवस । देशभर किसान र विभिन्न सङ्घसंस्थाले रोपाइँ गर्दै दही चिउरा खएर त कतै हिलो खेलेर धान दिवस मनाएका छन् । तर, चितवनको साँराहामा भने फरक तरिकाले धान दिवस मनाइएको छ । यहाँको ग्रिन सोसाइटी पब्लिक स्कुलले दिवस नितान्त विद्यार्थीको सिकाइलाई ध्यानमा राखेर मनाएको हो ।

    विद्यालयले धान दिवसको सन्दर्भ पारेर विद्यार्थीलाई धान, खेत र हिलोको महत्त्वबारे बुझायो । त्यसपछि विद्यार्थीले नै धान दिवससम्बन्धी प्रतियोगितात्मक गीत प्रस्तुत गरेका थिए । त्यसपछि सुरु भयो आजको मुख्य आकर्षण धान रोप्ने काम । स्कुल नजिकैको खेतमा विद्यार्थीले धान रोप्न सिके ।

    विद्यार्थीलाई कार्यालय सहायक दुर्गा खनालले सिकाइ सहजीकरण गरे । उनले धान रोप्दा बीउ समाउने तरिकादेखि कति दूरीको फरकमा रोप्ने र एउटा गुबोमा कतिवटा धान रोप्ने भनेर सिकाएपछि विद्यार्थीले रोप्न सुरु गरे । विद्यार्थीलाई सबै पूर्वतयारीका साथ नियमित व्यावहारिक सीप दिने गरिएको र आजको सिकाइ त्यसैको निरन्तरता भएको स्कुलका अतिरिक्त क्रियाकलाप प्रमुख रोविन अधिकारीले बताए ।


    विद्यार्थीहरू उत्साहित हुँदै रोपाइँमा सहभागी भए । यसरी सिकाउँदा आफूलाई बुझ्न सजिलो भएको र काम नै गरेर सिक्दा ज्ञान दिगो हुने अनुभूति भएको विद्यार्थीहरुले बताए । “नेपालमा व्यावहारिक शिक्षाको कमी भएको गुनासो आइरहेका बेला विद्यार्थीलाई कृषि कर्मलगायत काम व्यावहारिक रूपमा सिकाउनुपर्छ भनेर कार्यक्रम गरिएको हो, स्कुलका प्रधानाध्यापक गोपिलाल श्रेष्ठले भने, “यसले विद्यार्थीलाई हिलोसँग खेल्न र धान रोप्ने कार्य आफैँले अनुभव गरेर सिक्न सक्छन् ।“

    स्कुलका प्रबन्ध निर्देशक शीलाल परियार यसअघि विद्यार्थीलाई आलु, केराउ रोप्न सिकाएको बताउँछन् । विद्यार्थीलाई किताबी ज्ञानले पुग्दैन, प्रत्यक्ष हेरेर र गरेर सिकेको कुरा दिगो हुन्छ । सोही अनुसार उनीहरुलाई सिकाउन थालिएको बिद्यालयले जनाएको छ ।

  • भ्रष्टाचार गरेको अभियोगमा नौ जनाविरुद्ध मुद्दा दायर

    भ्रष्टाचार गरेको अभियोगमा नौ जनाविरुद्ध मुद्दा दायर

    काठमाडौँ, १५ असारः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नयाँ पर्यटन गन्तव्य पहिचान गर्ने उद्देश्यले सञ्चालित कार्यक्रममा भ्रष्टाचार भएको अभियोगमा बझाङको दर्गाथली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतलगायत नौ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

    सो कार्यक्रमका लागि आर्थिक वर्ष २०७५–७६ को स्वीकृत कार्यक्रमअन्तर्गत मन्दिर निर्माणका लागि निकासा भएको रकम हिनामिना गरेको पाइएको छ । आयोगले गरेको अध्ययनअनुसार छवीसपाथीभेरा गाउँपालिका–६ स्थित बाँठपाली देवता मन्दिर निर्माणका लागि रु ४५ लाख बराबरको रकम विनियोजन भएको थियो ।

    संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलको बजेट तथा कार्यक्रमसहितको पत्रबमोजिम निकासा लिने, खर्च गर्ने, लेखा राख्ने, लेखापरीक्षण गराउने र बेरुजु फछ्र्यौट समेतको जिम्मेवारी दुर्गाथली गाउँपालिकालाई दिइएको थियो । स्वीकृत लागत अनुमान रु ५६ लाख सात हजार ८९७ मध्ये उपभोक्ता सहभागिता रु ११ लाख सात हजार ८९७ र कन्टिन्जेन्सीतर्फ रु दुई लाख २५ बराबरको बजेट थियो ।

    निर्माण भएकोभन्दा बढी काम भएको देखाई अस्वाभाविक दर राखी र सम्झौता बमोजिमको जनसहभागिता रकम कट्टा गरी नक्कली बिल भरपाईका आधारमा रु २२ लाख एक हजार ६६५ बराबरको रकम भुक्तानी गरेको आयोगको भनाइ छ ।

    आयोगले दुर्गाथली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मकरबहादुर मण्डेल, लेखापाल प्रेमप्रसाद पौडेल, छविसपाथीभेरा गाउँपालिकाका इञ्जिनियर हिक्मत रावल र सबइन्जिनियर बमबहादुर बोहराविरुद्ध रु २२ लाख एक हजार ६६५ बराबरको बिगो माग दाबी गरेको छ ।

    छविसपाथीभेरा गाउँपालिकाका तत्कालीन उपाध्यक्ष राधिकाकुमारी रतला, वडा नं ६ का वडाअध्यक्ष मोहनलाल विकविरुद्ध पनि समान बिगो बराबरको मागदाबी गरिएको छ । बाँठपाली देवता मन्दिर निर्माण समितिका अध्यक्ष कृष्णबहादुर बुढा, सचिव जयबहादुर बुढा र कोषाध्यक्ष मधुलीदेवी बुढाविरुद्ध पनि समान बिगो र कैद सजायको माग दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

  • कोहलपुरमा भाइद्वारा दाजुको हत्या

    कोहलपुरमा भाइद्वारा दाजुको हत्या

    नेपालगञ्ज, १५ असार । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको अभियोगमा कोहलपुर नगरपालिका–४ गोहुवाका विनोद चौधरीलाई आज पक्राउ गरेको छ । आइतबार बेलुका २६ वर्षीय दाजु मनोज चौधरीलाई हत्या गरी नहरमा फालेर फरार भएका २० वर्षीय विनोदलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी निरीक्षक जीवराज थापाले जनाएको छ ।


    प्रहरीले निजलाई कोहलपुर नगरपालिका–१५ स्थित चन्हवाबाट पक्राउ गरेको थियो । कुटपिटबाट हत्या भएकाले घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागि भेरी अस्पताल, नेपालगञ्ज ल्याइएको छ । पक्राउ परेका विनोदको म्याद थपका लागि जिल्ला अदालत, बाँकेमा ल्याइएको प्रहरीले जनाएको छ ।

  • पूर्वउपप्रधानमन्त्री पौडेललाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

    पूर्वउपप्रधानमन्त्री पौडेललाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

    काठमाडौँ, १५ असार । विशेष अदालतले पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले आज पूर्वअर्थमन्त्री पौडेललाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अनुमति दिएको हो ।

    विशेष अदालतले यसअघि उपाध्यक्ष पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा सात दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । आदेशमा भनिएको छ, “सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानको क्रममा पक्राउ परेका आरोपी विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट अनुसन्धान प्रयोजनार्थ म्याद थपका लागि पेस भएकोमा आज दोस्रो पटक तीन दिन म्याद थप भएको छ ।”

    नेकपा (एमाले) का उपाध्यक्षसमेत रहेका पौडेललाई यही असार ८ गते सुर्खेतबाट पक्राउ गरी काठमाडौँ ल्याएर अदालत उपस्थित गराइएको थियो । उनलाई अनुसन्धानका लागि न्यायिक हिरासतमा राखिएको छ ।

  • एकै दिन भक्तपुरबाट ४० टन ताइचिन चिउरा बिक्री

    एकै दिन भक्तपुरबाट ४० टन ताइचिन चिउरा बिक्री

    भक्तपुर, १५ असार । आज असार १५ गते, लोकल उत्पादनको रूपमा प्रख्यात भक्तपुरको ताइचिन चिउरा एकै दिन ४० टन बिक्री भएको छ । काठमाडौँ उपत्यकाभित्रका तीन जिल्लाका विभिन्न सहर र काभ्रेपलाञ्चोक जिल्लामा असार १५ का लागि यहाँका चिउरा व्यवसायीले ४० टन ताइचिन चिउरा बिक्री गरेको चिउरा व्यवसायी एवं भक्तपुर घरेलु तथा साना उद्योग सङ्घका निवर्तमान अध्यक्ष वीरेन्द्र जतिले जानकारी दिए ।


    उनले आजको दिन ताइचिन चिउराको माग अत्यधिक बढेको उनले बताए । दहीसँग ताइचिन चिउरा निकै स्वादिलो हुने मान्यता अनुरूप वर्षौँदेखि चिउराका पारखीले ताइचिन चिउरानै रोज्ने गर्छन् । भक्तपुरमा करिब २५ वटा चिउरा मिलबाट दैनिक २५ टन ताइचिन चिउरा उत्पादन हुने गरेको उनले बताए । भक्तपुर नगरपालिका–६ भालाछेँमा लक्ष्मी चिउरा उद्योगको नामले प्रख्यात जतिको उक्त चिउरा उद्योगमा मात्रै दैनिक ८०० किलो ताइचिन चिउरा बिक्री हुने गरेको उनी बताउँछन् ।


    दही चिउरा खाने दिन काठमाडौँ उपत्यकाका व्यापारी तथा रेष्टुरेष्टहरूमा ताइचिन चिउराको माग अत्यधिक बढेको उनले बताए । आज मात्रै आफ्नो चिउरा मिलबाट एक हजार किलो चिउरा माग भएकोमा ८०० किलो मात्रै दिन सकेको सङ्घका निवर्तमान अध्यक्ष जति बताउँछन् । भक्तपुरबाट प्रतिकिलो रु २५० मा ताइचिन चिउरा बिक्री हुँदै आएको छ ।

    खानलाई स्वादिलो र स्वस्थ्यवद्र्धक हुने भएकाले दहीसँग ताइचिन चिउरा खाने प्रचलन रहेको उनी बताउँछन् । भक्तपुरबाट वार्षिक ३०० टन ताइचिन चिउरा काठमाडौँ उपत्यकामा बिक्री हुने गरेको उनी बताउँछन् ।
    चिउराका लागि चैतेधानको साथै चितवन, नुवाकोट, पनौती, नाला, भक्तपुरबाट सिजनअनुसार धान आयात गरेर चिउरा उत्पादन गर्ने गरेको सङ्घका पूर्वअध्यक्ष जति बताउँछन् ।

  • बढ्दो सहरीकरणसँग उपत्यकामा धान रोप्ने ठाउँको अभाव

    बढ्दो सहरीकरणसँग उपत्यकामा धान रोप्ने ठाउँको अभाव

    काठमाडौँ, १५ असार । बढ्दो सहरीकरणसँगै काठमाडौँ उपत्यकामा धान रोप्ने ठाउँका अभाव भइरहेको भन्दै किसानले चिन्ता व्यक्त गरेका छन् । टोखा नगरपालिकाले आज वडा नम्बर २ को लबुमा आयोजना गरेको २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवमा स्थानीय किसानले बढ्दो सहरीकरणले गर्दा खेतीयोग्य जमिन घट्दै गएको भन्दै चिन्ता व्यक्त गरेका हुन् ।

    टोखाका स्थानीय कृषक केदार बिडारी जनघनत्व बढ्दै जाँदा टोखा मात्र नभई काठमाडौँ उपत्यकाकै खेतीयोग्य जमिन मासिँदै गएको बताउँछन् । “काठमाडौँ उपत्यका कृषिका लागि उर्भर भूमी हो, बढ्दो सहरीकरणका कारण यहाँका खेतीयोग्य जमिन मासिँदै गएका छन्”, उनी भन्छन् ।

    नेपालमा धान उत्पादन र किसानको श्रमको सम्मान गर्न प्रत्येक वर्ष असार १५ गते राष्ट्रिय धान दिवस मनाइन्छ । टोखाकै अर्का किसान साम्बाल श्रेष्ठ पछिल्लो समय काठमाडौँभित्रका खेतीयोग्य जमिनमा घर बन्न थालेकाले यहाँको खेती हराउँदै गएको बताउँछन् ।


    पछिल्ला वर्षमा सहर विस्तार, अव्यवस्थित बस्ती विकास तथा खेतीयोग्य जमिन घडेरीमा रूपान्तरण हुने क्रम बढेसँगै धान रोप्ने खेतहरू निरन्तर घटिरहेको उनको भनाइ छ । यसले धान उत्पादनमा प्रत्यक्ष असर पार्नुका साथै खाद्य सुरक्षामा चुनौती थपिएको उनको भनाइ छ। पछिल्लो समय युवा जनशक्तिको वैदेशिक रोजगारीतर्फ आकर्षण, सिँचाइको अभाव, उन्नत बीउ तथा मलको सीमित उपलब्धता र खेतीयोग्य जमिनको खण्डीकरणले धान खेती प्रभावित भइरहेको छ ।

    टोखा नगरपालिका कृषि शाखाकी प्रमुख सुमित्रा पाठक टोखाभित्र मात्र हाल ४०० हेक्टर जग्गा खेतीयोग्य रहेको बताउछिन् । टोखा क्षेत्रलाई कृषिमा आत्मनिर्भर बनाउनका लागि नगरपालिकाले प्रविधियुक्त खेती प्रणालीको विकासमा जोड दिइएको उनको भनाइ छ ।

    टोखाले विभिन्न समयमा किसानलाई मल, बीउ, बिरुवालगायत उपलब्ध गराउँदै आएको छ । यसबाहेक टोखाले तरकारीमा आत्मनिर्भर बनाउनका लागि छतमा तरकारी खेतीलाई समेत प्रोत्साहन गरेको छ । कृषियोग्य जमिन संरक्षण, आधुनिक प्रविधिको प्रयोग, प्रभावकारी सिँचाइ व्यवस्था र किसानलाई प्रोत्साहन गर्ने नीति टोखाले लिएको उहाँको भनाइ छ । टोखाले प्रत्येक वर्ष असार १५ का दिनमा राष्ट्रिय धान दिवस मनाउँदै आएको छ ।

    उक्त धान दिवस कार्यक्रममा नगरपालिकाका विभिन्न वडाका वडाध्यक्ष जनप्रतिनिधि, कर्मचारी, स्थानीय किसानको सहभागिता रहेको थियो । सोही अवसरमा टोखाभित्रका विभिन्न विद्यालयका विद्यार्थीलाई धान रोप्न तरिकाबारे सिकाइएको थियो । सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिएको थियो । टोखा नगरपालिकाको वडा नं १, २ र ३ मा हालसम्म खेतीयोग्य जमिन रहेको छ । अन्य वडा भने क्रमशः सहरीकरण हुँदै गएका छन् ।

  • अफगानिस्तानमा पाकिस्तानी आक्रमण

    अफगानिस्तानमा पाकिस्तानी आक्रमण

    इस्लामाबाद, १५ असार (रासस–एएफपी) । पाकिस्तानले पूर्वी अफगानिस्तानमा रातभर गरेको हवाई तथा स्थलगत कारबाहीपछि दुई छिमेकी मुलुकबीचको तनाव फेरि चर्किएको छ । पाकिस्तानले उक्त कारबाही आतङ्कवादी समूहविरुद्ध लक्षित रहेको दाबी गरेको छ भने तालिबान नेतृत्वको अफगान सरकारले हवाई आक्रमणमा दर्जनौँ सर्वसाधारण मारिएको वा घाइते भएको जनाएको छ ।

    पाकिस्तानका सूचनामन्त्री अत्ताउल्लाह तरारले कराचीमा सप्ताहन्तमा भएको घातक आक्रमणमा संलग्न समूहलाई निशाना बनाएर अफगानिस्तानको पाक्तिया, पाक्तिका र कुनार प्रान्तमा सटीक हवाई आक्रमण गरिएको बताए । उनका अनुसार उक्त कारबाहीमा २५ जना आतङ्कवादी मारिएका छन् भने सीमावर्ती क्षेत्रमा सञ्चालन गरिएको स्थलगत कारबाहीमा थप चार जना लडाकू मारिएका छन् । पाकिस्तानले प्रतिबन्धित तहरीक–ए–तालिबान पाकिस्तान (टिटिपी) बाट अलगिएको जमात–उल–अहरार समूहलाई लक्षित गरिएको जनाएको छ ।

    यता तालिबान सरकारले तीनवटै पूर्वी प्रान्तमा भएका आक्रमणका कारण ठूलो मानवीय क्षति भएको दाबी गरेको छ । तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले सैन्य कारबाहीको निन्दा गर्दै यसलाई ‘कायरतापूर्ण आक्रमण’ को संज्ञा दिएका छन् । अफगान अधिकारीहरूले आफ्नो भूमिमा विदेशी विद्रोही समूहलाई आश्रय दिएको आरोप निरन्तर अस्वीकार गर्दै आएका छन् ।

    सन् २०२१ मा तालिबान पुनः सत्तामा आएयता पाकिस्तान र अफगानिस्तानबीचको सम्बन्ध निरन्तर तनावपूर्ण रहँदै आएको छ । फेब्रुअरीमा एक सातासम्म चलेको भीषण सङ्घर्षपछि दुवै देशले मार्चमा युद्धविराममा सहमति गरेका थिए, तर त्यसयता सीमावर्ती क्षेत्रमा छिटफुट हिंसात्मक घटना दोहोरिँदै आएका छन् । अफगान अधिकारीहरूका अनुसार जुन महिनामा भएको पाकिस्तानी आक्रमणमा कम्तीमा १३ जनाको ज्यान गएको थियो ।

    पछिल्लो घटनाको पृष्ठभूमिमा कराचीस्थित रेन्जर्स अर्धसैनिक शिविरमा शनिबार भएको आक्रमणलाई लिइएको छ । विस्फोटक पदार्थ र गोली प्रहार गरिएको उक्त घटनामा तीन जना अर्धसैनिक जवान मारिएका थिए । पाकिस्तानले घटनामा संलग्न व्यक्तिहरूमध्ये एक अफगान नागरिकलाई पक्राउ गरिएको जनाएको छ ।

    इस्लामाबादले वर्षौंदेखि पाकिस्तानविरुद्ध हिंसात्मक गतिविधि सञ्चालन गर्दै आएका टिटिपीका लडाकूहरूको आश्रयस्थल र हतियार भण्डारलाई लक्षित गरेर सीमापार सटीक कारबाही गर्न बाध्य भएको बताएको छ । तर अफगान पक्षले आफ्ना भूभागलाई उग्रवादीहरूले प्रयोग गरेको आरोप अस्वीकार गर्दै आएको छ ।

    संयुक्त राष्ट्रसङ्घका अनुसार पछिल्ला महिनाहरूमा भएका पाकिस्तानी कारबाही तथा सीमावर्ती सङ्घर्षका कारण सयौँ व्यक्तिको ज्यान गइसकेको छ । फेब्रुअरीको अन्त्यतिर भएको युद्धमा सयौँ मानिस मारिनुका साथै दशौँ हजार नागरिक विस्थापित भएका थिए । त्यसक्रममा सीमाक्षेत्रमा तीव्र लडाइँ भएको थियो भने तालिबानका सर्वोच्च नेता बस्ने दक्षिणी सहर कान्दाहारसहित विभिन्न अफगान सहरहरूमा अभूतपूर्व पाकिस्तानी हवाई आक्रमण भएका थिए ।

    चीनसहित विभिन्न देशहरूले मध्यस्थताको प्रयास गरे पनि दुई छिमेकी राष्ट्रबीच स्थायी समाधानको पहल सफल हुन सकेको छैन । गत अक्टोबरमा सीमापार हिंसा बढेपछि अधिकांश सीमा नाकाहरू आंशिक वा पूर्ण रूपमा बन्द भएका छन् र दुवै देशबीचको अविश्वास अझ गहिरिँदै गएको छ ।

  • बङ्गलादेशकी पूर्व प्रधानमन्त्री हसिना यसै बर्ष स्वदेश फर्किने

    बङ्गलादेशकी पूर्व प्रधानमन्त्री हसिना यसै बर्ष स्वदेश फर्किने

    नयाँ दिल्ली, १५ असार (रासस–एएफपी) । विद्यार्थी नेतृत्वको विद्रोहपछि भारतमा निर्वासनमा रहेकी बङ्गलादेशकी पूर्व प्रधानमन्त्री शेख हसीनाले यो वर्ष आफ्नो देश फर्किने प्रतिबद्धता जनाएकी छिन् । उनले आइतबार प्रकाशित एक अन्तर्वार्तामा आफू यसै बर्ष स्वदेश फर्किने उल्लेख गरेकी छिन् ।

    उनीविरुद्ध गत महिनाहरूमा मानवता विरुद्धको अपराधमा अनुपस्थितिमै मृत्युदण्डको फैसला सुनाइएको थियो । सन् २०२४ को अगस्टमा विद्यार्थी नेतृत्वको विद्रोहले ७८ वर्षीया आवामी लिगकी नेतृसमेत रहेकी पूर्वप्रधानमन्त्री हसीनाको १५ वर्ष लामो कठोर शासन अन्त्य गरेपछि सुरक्षाका लागि केही निकट आफन्तसहित उहाँ छिमेकी भारततर्फ भागेकी थिइन् ।


    त्यसपछि नयाँ दिल्लीको एउटा पत्रकार सम्मेलनमा जनवरीमा प्रसारित सम्बोधनमा बाहेक उनी सार्वजनिक रूपमा देखिएकी छैनन्् । भारतीय ब्रोडकास्टर एनडिटिभीसँगको अन्तर्वार्तामा हसीनाले आफू मृत्युसँग नडराउने बताइन् । उनले आफूलगायतका आफ्ना सहयोगीविरुद्धको फैसलालाई ‘अवैध, असंवैधानिक र राजनीतिक रूपमा प्रेरित’ प्रक्रियाको एक भाग भनेकी छिन् ।


    हसीनाले भनिन्, “मेरो विरुद्ध धेरै षड्यन्त्र रचिएका छन् । तर हरेक षड्यन्त्रको जाल तोड्दै मलाई जनताको मतबाट पाँच पटक प्रधानमन्त्री चुनिएको छ र मैले लामो समय देशको अभूतपूर्व विकासमा काम गरेको छु।” पूर्व प्रधानमन्त्री हसीनाले भनिन्, “म स्पष्ट रूपमा भन्न चाहन्छुः हरेक बाधा र हरेक षड्यन्त्रलाई पार गर्दै यो वर्ष म आफ्नो देश फर्किनेछु।” गत नोभेम्बरमा ढाका अदालतले हसीनालाई उत्तेजना फैलाउने, हत्या आदेश दिने र अत्याचार रोक्न नसकेको अभियोगमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको थियो ।

    एक समय देशको सबैभन्दा लोकप्रिय दल उनको पूर्व सत्तारूढ दल अवामी लिगलाई कुनै गतिविधि गर्न अहिले प्रतिबन्धित गरिएको छ । हसीनाको भारत पलायनपछि बनेको अन्तरिम सरकारका समय नेतृ हसीनालाई सुपुर्दगी गर्न तत्कालिन सरकारले भारतमाथि दवाव दिएपछि विग्रिएको भारत र बङ्गलादेशबीचको सम्बन्ध अहिले निर्वाचित सरकार आएसँगै सुधारिएको छ ।

    फेब्रुअरीमा प्रधानमन्त्री तारिक रहमानले १७ करोड जनसङ्ख्या भएको बङ्गलादेशको प्रधानमन्त्री बन्न भारी मतले चुनाव जितेपछि यो सुधार भएको हो । यद्यपि, तनाव अझै कायम छ । बङ्गलादेशले बारम्बार हसीनाको सुपुर्दगीको माग गरिरहेको छ ।

  • भ्रष्टाचार विरुद्धको अभियानमा इराकमा ४७ अधिकारी पक्राउ

    भ्रष्टाचार विरुद्धको अभियानमा इराकमा ४७ अधिकारी पक्राउ

    बग्दाद, १५ असार (रासस–एएफपी) । इराकी सुरक्षा निकायले भ्रष्टाचार विरुद्ध सञ्चालन गरिएको अभियानका क्रममा संसद्का सदस्यसहित ४७ जना अधिकारीलाई पक्राउ गरेको सरकारी सञ्चारमाध्यमले जनाएको छ । हालै प्रधानमन्त्री नियुक्त हुनुभएका अली अल–जैदीले पदभार ग्रहण गरेसँगै भ्रष्टाचार नियन्त्रण र राज्यको सुरक्षा संयन्त्रलाई सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए । उनको नेतृत्वमा सञ्चालन गरिएको यो अभियान आगामी महिना हुने अपेक्षित संयुक्त राज्य अमेरिकाको भ्रमणअघि सुरु गरिएको हो ।

    सरकारी समाचार संस्था आईएनएका अनुसार भ्रष्टाचारसम्बन्धी आरोपमा पक्राउ परेकामध्ये संसद्का सदस्य, विभिन्न सरकारी अधिकारी तथा तेल मन्त्रालयका कम्तीमा एक अधिकारी रहेका छन् । आइतबार बिहान बग्दादस्थित उच्च सुरक्षा व्यवस्था रहेको ‘ग्रीन जोन’ तथा राजधानीका अन्य क्षेत्रमा आतंकवादविरोधी एकाइसहितका सुरक्षा बलले छापा मारेपछि पक्राउ प्रक्रिया सुरु भएको थियो ।


    ग्रीन जोनमा अमेरिकी दूतावास, अन्य कूटनीतिक नियोग, अन्तर्राष्ट्रिय संस्थाका कार्यालय तथा सरकारी निकाय रहेका छन् । उच्चपदस्थ सरकारी अधिकारी र राजनीतिज्ञहरूको आवास पनि यही क्षेत्रमा छ । स्थानीय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोमा सुरक्षा बललाई बख्तरबन्द सवारीसाधनसहित ग्रीन जोनका विभिन्न स्थानमा परिचालन गरिएको देखिएको छ ।


    बग्दादस्थित एक कूटनीतिक स्रोतलाई उद्धृत गर्दै एएफपीले जनाएअनुसार प्रधानमन्त्री जैदीको भ्रष्टाचारविरुद्धको अभियानलाई उहाँको वासिङ्टन भ्रमणको तयारी तथा सुधारप्रतिको प्रतिबद्धता प्रदर्शनका रूपमा पनि हेरिएको छ । यसैबीच, इरानी विदेशमन्त्री अब्बास अराघचीको बग्दाद भ्रमणसँगै उक्त अभियान सञ्चालन गरिएको हो । उनले नयाँ इराकी सरकारसँग सबै क्षेत्रमा सहयोग विस्तार गर्न तेहरान प्रतिबद्ध रहेको बताए ।

    इराक लामो समयदेखि आफ्नो छिमेकी इरान र संयुक्त राज्य अमेरिकाबीचको प्रतिस्पर्धी प्रभावको सन्तुलन कायम गर्ने प्रयासमा रहेको छ । एक सुरक्षा अधिकारीका अनुसार पछिल्लो अभियान भ्रष्टाचार नियन्त्रणका साथै अवैध वित्तीय कारोबार, अमेरिकी डलर तथा इरानी तेल तस्करीमा संलग्न समूह विरुद्धको व्यापक कारबाहीको पनि हिस्सा हो ।

  • जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी कृषिमा आधुनिकीकरण आवश्यकः राष्ट्रपति

    जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी कृषिमा आधुनिकीकरण आवश्यकः राष्ट्रपति

    काठमाडौँ, १५ असारः राष्ट्रपति रामचन्द्र पौडेलले जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी कृषिमा आधुनिकीकरण आवश्यक भएको बताएका छन् ।
    आज २३औँ राष्ट्रिय धान दिवस, २०८३ का अवसरमा सम्पूर्ण कृषक दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना गर्दै उनले भने, “कृषिमा आधुनिकीकरण गर्दै विदेश पलायन हुन बाध्य जनशक्तिलाई स्वदेशमै रोकी कृषिलाई आकर्षक पेसाका रूपमा विकास गर्न सके धान एवं चामल आयात न्यूनीकरण गर्न सकिन्छ ।”

    “श्रम गर्ने संस्कृतिको विकाससँगै धान उत्पादनमा आत्मनिर्भर हुनेतर्फ हाम्रो सम्पूर्ण ध्यान केन्द्रित गर्नुपर्ने खाँचो छ । जीवन धान्नका लागि मात्र कृषि पेसा होइन, अब व्यावसायिक कृषितर्फ लाग्न म सबैलाई आह्वान गर्दछु । यसका लागि सम्बन्धित निकायले त्यसतर्फ ध्यान देओस् भन्ने चाहन्छु”, उनले भने ।

    धान रोप्ने अनि मानो रोपेर मुरी फलाउने यस महिना कृषि कार्यका लागि विशिष्ट भएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले नेपाली परिवेशको जीवनशैली प्रकृति र माटोसँग अत्यन्त निकट रहेको बताए । हिलोसँग खेल्दै खेतभित्र छुपुछुपु धान रोप्ने र दही, चिउरा, अचारलगायतका परिकारहरूले यस दिनलाई अझ विशेष बनाउने उनको भनाइ छ ।

    “जलवायु परिवर्तनले धानखेतीमा पारेको बढ्दो नकारात्मक असरलाई न्यूनीकरण गर्न सरकार, कृषक र सरोकारवाला पक्षलाई सचेत र जागरुक बनाई हाम्रो मागअनुसारको धान उत्पादन एवं उत्पादकत्व बढाउनुपर्ने आजको आवश्यकता हो”, उनले भने । कृषिमा परनिर्भरता बढ्दै गएका कारण आफ्नै देशमा धानको उत्पादन वृद्धि, आधुनिकीकरण र व्यवसायीकरणलाई प्रवद्र्धन गर्ने उद्देश्यले विसं २०६१ देखि प्रत्येक वर्ष असार १५ लाई राष्ट्रिय धान दिवसका रूपमा मनाउन सुरु गरिएको हो । यस वर्ष ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने आदर्श वाक्यका साथ यो दिवस मनाइँदै छ ।

    नेपालको संविधानले प्रत्येक नागरिकको खाद्यसम्बन्धी हकलाई मौलिक हकका रूपमा सुनिश्चित गर्दै खाद्यवस्तुको अभावमा जीवन जोखिममा पर्ने अवस्थाबाट सुरक्षित हुने हक पनि सुनिश्चित गरेको छ । साथै, कृषकका लागि कृषि सामग्री, कृषि उपजको उचित मूल्य र बजारमा पहुँचको व्यवस्था गर्नेसम्बन्धी नीति पनि संविधानमा व्यवस्था छ । धान हाम्रो प्रमुख खाद्यान्न बाली भएकाले यसको हाम्रो जीवनमा आर्थिक, सामाजिक, सांस्कृतिक एवं धार्मिक महत्त्व पनि रहेको राष्ट्रपतिको भनाइ छ ।

    सन्देशमा भनिएको छ, “नेपालको धानखेती वर्षामा निर्भर छ । वर्षा राम्रो नभएको वर्ष धान उत्पादन घट्ने र वर्षा राम्रो हुँदा उत्पादन बढ्ने गरेको सन्दर्भमा धानखेतीयोग्य जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउन राज्यको सम्पूर्ण ध्यान केन्द्रित हुन जरुरी छ भन्ने म ठान्दछु ।”

  • पर्यटनलाई कृषिसँग जोड्न ‘रोपाइँ महोत्सव’

    पर्यटनलाई कृषिसँग जोड्न ‘रोपाइँ महोत्सव’

    काठमाडौँ, १५ असार स् पर्यटनलाई कृषिसँग जोड्दै मुलुकको अर्थतन्त्रलाई मजबुद बनाउने उद्देश्यले ‘रोपाइँ’ महोत्सव आयोजना गरिएको छ । तीन दशकदेखि मुलुकको ग्रामीण क्षेत्रको पर्यटन प्रवद्र्धनमा क्रियाशील गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) नेपालले आइतबार धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–७ सुकौरा फाँटमा रोपाईँ महोत्सव आयोजना गरेको हो ।

    ‘समुन्नत नेपालको प्राथमिक आधारः पर्यटन र कृषि नेपाली अर्थतन्त्रका जराधार’ भन्ने मूल नाराका साथ महोत्सव आयोजना गरिएको भिटोफ नेपालका अध्यक्ष हरिशरण थपलियाले बताए । स्थानीय संस्कृति, परम्परा, कृषि तथा ग्रामीण पर्यटनको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको रोपाईँ महोत्सवले ग्रामीण अर्थतन्त्रमा विशेष योगदान पु¥याउनेमा उनले विश्वास व्यक्त गरे ।

    त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष राजु उप्रेतीले पर्यटन र कृषिलाई नेपाली अर्थतन्त्रको मेरुदण्ड बनाउनका लागि यस्ता महोत्सवले सहयोग पुग्ने बताए । गाउँपालिकाका उपाध्यक्ष देवराज धरेलले स्थानीय तहले पछिल्लो समय पर्यटनलाई मुख्य प्राथमिकता दिएर नीति तथा कार्यक्रम बनाएको बताए । टोफका संस्थापक महासचिव शम्भु पाठकले पर्यटनसँग जोडिएका यस्ता कार्यक्रमले ग्रामीण विकासमा इँटा थप्ने बताउँदै सबैलाई पर्यटन अभियानमा समर्पित हुन आग्रह गरे ।


    महोत्सवमा भिटोफका प्रमुख सल्लाहकार आलोक प्रसाईं, सल्लाहकार दीपक दाहाल, पर्यटन महिला सञ्जालकी पूर्व अध्यक्ष निर्मला धमला, भिटोफका पूर्वअध्यक्ष बोधराज भण्डारी र शिव लामिछानेको सहभागीता रहेको थियो । महोत्सवले स्थानीय पर्यटन र कृषिको प्रचारप्रसारमा ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

  • उदयपुरमा जङ्गली हात्तीले ६ घर भत्कायो

    उदयपुरमा जङ्गली हात्तीले ६ घर भत्कायो

    गाईघाट (उदयपुर), १५ असारः चौदण्डीगढी नगरपालिका–७ कुमाङ लामाचौर क्षेत्रमा जङ्गली हात्ती प्रवेश गरेर उपद्रो गरेको छ । कुमाङमा गए राति जङ्गली हात्ती प्रवेश गरेर ६ वटा घर भत्काएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गणेश बमले बताए । प्रहरीका अनुसार हात्तीले स्थानीय बुद्धिमान राई, राधा विक, रोशन विक, बमबहादुर विक, वीरबहादुर मगर, दिलबहादुर मगरलगायतको कर्कटपाताको छानो भएको काठको घर भत्काएको हो ।

    यस्तै, हात्तीले स्थानीयको घरको अन्नपातसमेत खाएको छ । राति हात्ती गाउँ प्रवेश गरेपछि स्थानीयले भागेर ज्यान बचाएको स्थानीय पुष्प राईले बताए । हात्तीले घर भत्काएका स्थानीयलाई चौदण्डीगढी नगरपालिकाले सुरक्षित बस्ने स्थानको व्यवस्था गरेको छ । कोशीटप्पु क्षेत्रबाट प्रवेश गरेको हात्तीको समूह लामाचौरी र ४५ चोक आसपास क्षेत्रको जङ्गलमा रहेको बताइएको छ । अहिले गाउँलेको सुरक्षाका लागि प्रहरी टोली परिचालन गरिएको सूचना अधिकारी बमले बताए ।

  • बाँकेमा खेतका फाँट धुलाम्मे

    बाँकेमा खेतका फाँट धुलाम्मे

    नेपालगन्ज (बाँके), १५ असारः यस वर्ष असारमा पनि पर्याप्त वर्षा नहुँदा बाँकेका खेतका फाँट धुलाम्मे देखिएका छन् । जिल्लाका केही स्थानमा बीउ राखेको खेतको ब्याडमा धाजा फाटेको छ । असारमा पनि खेतका फाँट धुलाम्मे भएको देख्दा बाँकेको राप्तीसोनारी गाउँपालिका–७ फत्तेपुरका किसान धुमलिया थारूले विगत वर्षहरुमा यस्तो समस्या भोग्न नपरेको सुनाउनुभयो ।

    “वैकल्पिक सिँचाइ वा पानी लाग्ने अवस्था छैन, त्यसैले हामीलाई धेरै गाह्रो छ”, उनले रासससँग भने । आफ्नो १० कट्ठामात्रै खेत रहेको उल्लेख गर्दै थारुले परिवार पाल्न करिब डेढ बिघा क्षेत्रफलमा धानखेती गर्दै आएको बताए । यसपटक पर्याप्त वर्षा नभए धानको उत्पादन घट्दा त्यसको प्रत्यक्ष असर उनको परिवारमा पर्ने निश्चित छ ।

    बर्सेनि (बटैया) अधिया धानखेती गरेर करिब १० क्विन्टल धान उत्पादन हुने गरेको अनुभव सुनाउँदै थारुले भने, “जति सकिन्छ त्यति नै रोप्ने हो तर अहिलेसम्म वर्षा भएको छैन ।” सिक्टा सिँचाइका सुविधा भएका स्थान र डिपबोरिङमार्फत हुने सिँचाइबाट बाँकेका केही स्थानीय तहमा रोपाइँ गरिएको छ । तर अधिकांश खेतका फाँट धुलाम्मे देखिएका छन् । खासगरी डुडुवा, नरैनापुर र राप्तीसोनारीका दक्षिणी भेगका खेत धुलाम्मे अवस्थामा छन् ।

    कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख विनोद घिमिरेले वर्षा नभएका कारण आत्तिनुपर्ने अवस्था नरहेको उल्लेख गर्दै भदौको पहिलो सातासम्म रोपाइँ गर्न मिल्ने बताए । उनले अहिले पनि किसानका ब्याडमा रहेको बीउ ठूलो नभएकाले जिल्लाको उत्तरी भेगमा मात्रै केही मात्रामा रोपाइँ भएको जानकारी दिए ।


    “अब केही दिनमा वर्षा सुरु हुँदैछ, त्यसबेला खेत बनाउन पनि समय लाग्छ, त्यसैले एक सातापछि बाँकेमा रोपाइँ सुरु होला”, प्रमुख घिमिरेले भने । गत वर्ष जिल्लामा कुल खेतीयोग्य जमिनमध्ये तीन हजार ८१८ हेक्टरमा रोपाइँ भएको थियो । रोपाइँ हुने क्षेत्रफल कुल ३४ हजार ७११ हेक्टर जमिनमध्ये गत वर्ष ११ प्रतिशतमात्रै रोपाइँ भएको थियो । तर अहिले असार १२ गतेसम्म जिल्लाका केही भेगबाहेक अधिकांश क्षेत्रमा रोपाइँ भएको छैन ।

    कृषि ज्ञान केन्द्र नेपालगन्जका अनुसार असार १२ गतेसम्म धान रोपाइँ हुने कुल ३३ हजार ७८० हेक्टर जमिनमध्ये १६८.९ हेक्टरमा रोपाइँ भएको छ । प्रतिशतका आधारमा यस रोपाइँलाई ०.५ प्रतिशतका रूपमा लिन सकिन्छ । ज्ञान केन्द्रका अनुसार कतिपय स्थानमा त किसानले वर्षा नहुँदा धानको ब्याड समेत राख्न पाएका छैनन् ।

  • बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो

    बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो

    झापा, १५ असारः असारको मध्य महिना किसानका लागि वर्षभरि खाने अन्नबाली भित्र्याउन खेतमा पसिना बगाउने मुख्य समय हो । तर, झापाको मेचीनगर–४ बाहुनडाँगीका बासिन्दालाई भने यो बेला रोपाइँको चटारोभन्दा पनि ज्यान र धन जोगाउने चिन्ताले सताएको छ ।

    भारततर्फबाट छावा (हात्तीका बच्चा)सहित आएका जङ्गली हात्तीहरू गाउँमै दिनभर अखडा जमाएर बस्न थालेपछि यहाँका बासिन्दा यतिबेला त्रासमा बाँच्न विवश छन् । दैनिक ४० देखि ५० वटाको सङ्ख्यामा आउने हात्तीका बथान कहिले भारततर्फ फर्कन्छन् त कहिले दिनभर बाहुनडाँगीकै चियाबारी र झाडीहरूमा बस्ने गरेका छन् । छावासहित आएका हात्ती बढी आक्रामक हुने भएकाले गाउँमा कतिखेर कुन अप्रिय घटना हुने हो भन्ने त्रास फैलिएको स्थानीयवासीको भनाइ छ ।

    हात्तीको आतङ्क अभिभावकहरूले आफ्ना छोराछोरीलाई विद्यालय पठाउनसमेत नसकिरहेको अवस्था छ । बाटोमै हात्ती भेटिने डरले बालबालिकाको पढाइ प्रभावित भएको छ । किसानहरू असारको हिलोमा धान रोप्न छाडेर ज्यान हत्केलामा राख्दै दिनभर हात्ती धपाउन हिँडिरहेका छन् । स्थानीय युवाहरू, गाउँले र प्रहरी प्रशासनको टोलीले साइरन बजाएर तथा विभिन्न उपाय अपनाएर चियाबारीभित्र लुकेर बसेका हात्तीलाई मानव बस्तीभन्दा टाढा सुरक्षित स्थानतर्फ धपाउने प्रयास त गरिरहेका छन्, तर यो प्रयास ‘अल्पकालीन’मात्र सावित भएको छ ।

    मेचीनगर–४ का वडाध्यक्ष अर्जुन कार्कीले स्थानीय सरकार र सुरक्षा निकायको टोली नागरिकको सुरक्षाका लागि निरन्तर फिल्डमा खटिएको बताउनुभएको छ । उहाँले भन्नुभयो, “हामीले स्थानीय युवा, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा साइरन बजाएर हात्तीलाई बस्ती तथा चियाबारीबाट भारततर्फ धपाउने काम गरिरहेका छौँ । यो समस्या स्थानीय तहको एकल प्रयासले मात्र हल हुन सक्दैन, यसका लागि सङ्घीय सरकारले नै ठोस कदम चाल्नुपर्छ ।”

    लामो समयदेखि समस्या झेल्दै आएका बाहुनडाँगीका स्थानीयवासी नीलकण्ठ तिवारीले भने आक्रोश र दुखेसो पोख्दै भन्नुभयो, “धनजन जोगाउन मुस्किल पर्न थाल्यो भनेर प्रधानमन्त्रीलाई समेत मुख्यमन्त्री र प्रमुख जिल्ला अधिकारीमार्फत नियन्त्रणका लागि पहल गरिदिन ज्ञापनपत्र बुझायौँ । तर सुनुवाइ भएन ।”

    बाहुनडाँगी र हात्तीबीचको द्वन्द्व दशकौँदेखि छ । भारतको आसाम र पश्चिम बङ्गालबाट नेपालको कोशीटप्पु वन्यजन्तु आरक्षसम्म हात्ती आवतजावत गर्ने परापूर्वकालदेखिको यो प्राकृतिक बाटो ९करिडोर० हो । मानव बस्ती विस्तार र वन फडानीका कारण हात्तीको बाटोमा अवरोध पुगेपछि उनीहरू गाउँ पस्न थालेका हुन् ।

    हात्ती रोक्न सीमा क्षेत्रमा करोडौँको लागतमा लगाइएको विद्युतीय तारबार (फेन्सिङ) धेरै ठाउँमा जीर्ण भएको छ भने हात्तीले रुखका हाँगाले तार थिचेर वा पोल ढालेर गाउँ छिर्ने नयाँ बाटो पहिल्याइसकेका छन् । त्यस्तै वन क्षेत्रमा हात्तीका लागि पर्याप्त आहारा (बाँस, सिरु, केरा) नहुनु र गाउँमा थन्क्याइएको अन्न वा खेतको धान पाउनुले उनीहरू गाउँतर्फ आकर्षित हुन्छन् ।

    स्थानीयस्तरमा साइरन बजाएर वा केहीबेर धपाएरमात्र यो समस्या समाधान हुँदैन । यसका लागि नेपाल र भारत दुवै देशका सरकारबीच ‘क्रस–बोर्डर’ (सीमापार) समन्वय गरी हात्तीको पुरानो करिडोरलाई व्यवस्थापन गर्न जरुरी छ । तत्कालका लागि स्थानीय प्रशासनले फेन्सिङको मर्मत गर्ने, प्रभावित क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाउने र किसानलाई उचित क्षतिपूर्तिको ग्यारेन्टी नगरे बाहुनडाँगीमा मानवीय सङ्कट आउन सक्ने देखिन्छ ।

  • केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

    केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

    काठमाडौँ, १५ असारः मुलुकका केही स्थानमा मनसुनी वायुको प्रभाव कायमै छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भू–भाग, गण्डकी प्रदेशको केही भू–भाग र लुम्बिनी प्रदेशको पूर्वी भू–भागको थोरै स्थानमा मनसुनी वायुको प्रभाव कायम भने अन्य भू–भागमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव छ ।

    साथै गण्डकी र लुम्बिनी प्रदेशको बाँकी भू–भाग, कर्णाली र सुदुरपश्चिम प्रदेशका सम्पूर्ण भू–भागमा २–३ दिनमा मनसुन विस्तार हुने सम्भावना छ ।

    विभागका अनुसार कोशी र मधेस प्रदेश तथा देशको पहाडी र हिमाली भू–भागमा साधाराणतया बादल लागेको छ र तराईका भू–भागमा आंशिक बादल लागेको छ । देशभर साधारणतया बादल लागेको छ । कोशी, बागमती र लुम्बिनी प्रदेशको थोरै स्थानमा तथा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एकदुई स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ ।

    आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ विभागको अनुमान छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भू–भागका धेरै स्थानमा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भागका केही स्थान मेघगर्जन÷चट्याङसहित मध्यमसम्म वर्षा हिमपातको तथा देशका तराई भू–भागका केही स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ । कोशी प्रदेशका पहाडी र तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । कोशी प्रदेशको तराई र मधेस प्रदेशको केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको छ ।

    साथै आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी र हिमाली भू–भागका धेरै स्थान, र लुम्बिनी प्रदेशका पहाडी भु–भागका केही स्थानमा र हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ ।

    कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका थोरै स्थान तथा हिमाली भू–भागका एकदुई स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ । मधेस प्रदेश तथा कोशी, बागमती, गण्डकी प्रदेशका तराईका धेरै तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

    कोशी प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । मधेस, बागमती, गण्डकी प्रदेशको एकदुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई तथा मधेस प्रदेशको केही स्थानमा हावाहुरीको पनि सम्भावना छ ।

  • असार १५ः धान दिवससहित दही चिउरा खाएर मनाइँदै

    असार १५ः धान दिवससहित दही चिउरा खाएर मनाइँदै

    काठमाडौँ, १५ असारः प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदैछ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि लिइन्छ ।

    खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन् । हाम्रो संस्कृतिमा दहीको स्थान महत्त्वपूर्ण छ । शुभकार्यका लागि घरबाहिर निस्कने, विदेश जाने आदि महत्त्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ । यस्ता शुभ काममा निस्कनुअघि सगुनका रूपमा पनि दही खुवाएर बिदाइ गरिन्छ । निस्कने बेलामा दही खाएर हिँडे साइत पर्ने जनविश्वास रहिआएको छ ।

    दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवर्द्धक मानिन्छ । गुरु गोरखनाथले नेपालको एकीकरणकर्ता पृथ्वीनारायण शाहलाई दही खान दिएर पराक्रमी हुने भविष्यवाणी गर्नुभएको थियो भनिन्छ । आयुर्वेदमा भोजनको अन्त्यमा दही मथेर बनाएको मोही पिएमा औषधि उपचारका लागि स्वास्थ्यकर्मीकहाँ जानु नपर्ने बताइएको छ । “भोजनान्ते पिबेत् तक्रं वैद्यस्य किं प्रयोजनम्’ भन्ने जस्ता वाक्य पनि आयुर्वेदमा उल्लेख गरिएको छ । दहीले पाचन शक्ति पनि बढाउँछ । पखाला लागेका बेला दही चिउरा खाएमा औषधिको काम गर्छ । यसैले दही चिउरा खाने संस्कारले नेपाली संस्कृतिमा बृहद् रुप लिएको छ । यसरी असार १५ गते नेपाली समाजमा राष्ट्रिय सांस्कृतिक पर्व बन्न सफल भएको छ ।

    धान दिवस

    विसं २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषिप्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा खेतीपाती हो । किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ ।

    ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’जस्ता लोकलयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ । मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन् । असारमा एकपटक हिलोमा पस्नैपर्ने मान्यता पनि नेपालीमा समाजमा रहेको छ ।

    यस वर्ष असार मध्यसम्म पनि देशका सबै भागमा पर्याप्त मात्रामा वर्षा नभएका कारण हुनुपर्ने जति रोपाइँ हुनसकेको छैन । कति ठाउँमा रासायनिक मलको पनि अभाव भएको छ ।

  • तिनाउको बाढीमा फसेका युवकको उद्धार

    तिनाउको बाढीमा फसेका युवकको उद्धार

    सिद्धार्थनगर (भैरहवा), १५ असारः बुटवलस्थित तिनाउ नदीमा आएको बाढीमा फसेका एक युवकको नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले सकुशल उद्धार गरेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार गुल्मीको मालिका गाउँपालिका–३ पैयुखर्क घर भई हाल बुटवल उपमहानगरपालिका–१७ रानीगन्ज बस्दै आएका ३१ वर्षीय गोरखबहादुर विक आइतबार तिलोत्तमा नगरपालिका–४ डिङ्गारनगरस्थित तिनाउ नदीबाट दाउरा सङ्कलन गर्ने क्रममा बाढीमा फसेका थिए ।

    इलाका प्रहरी कार्यालय बुटवल र सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस बुटवलबाट खटिएको संयुक्त उद्धार टोलीले विकलाई सकुशल उद्धार गरेको प्रहरीले जनाएको छ । पाल्पा र बुटवल क्षेत्रमा वर्षा भएपछि तिनाउ नदीमा पानीको बहाव एक्कासी बढेको थियो । सोही क्रममा दाउरा निकाल्न नदीमा पुगेका विक बाढीको बीच धारमा फसेका थिए ।

    प्रहरीले वर्षायाम सुरु भएसँगै नदी तथा खोलामा पानीको बहाव अचानक बढ्न सक्ने भएकाले दाउरा सङ्कलन, पौडी खेल्न वा अन्य प्रयोजनका लागि नदीमा नजान तथा आवश्यक परे अत्यन्त सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

  • असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

    असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

    कास्की,१४ असार । पोखरा महानगरपालिका–३० शिशुवा देउरालीस्थित खोलाको छेउमा आज बिहानदेखि छुट्टै रौनक थियो । मध्य असारको महिना खेताला र बाउसेलाई भ्याइनभ्याइ थियो । गोरुले खेत हिलाउने, बिउ काढ्ने र धान रोप्न कृषक बिहानदेखि व्यस्त थिए । तर आज स्थानीय कृषकसँगै स्वदेशी तथा विदेशी पर्यटक पनि हिलोमा उत्रिए । पर्यटक अनुहार र शरीरभर हिलो दलेर रमाएका थिए । खेतमै धान रोप्दै, असारे भाका गाउँदै र हिलो खेल्दै रमाएका उनीहरूको सहभागिताले असारे रोपाइँ महोत्सवलाई कृषि र पर्यटनको सङ्गमका रूपमा फेरि एकपटक जीवन्त बनायो ।

    पोखरा पर्यटन परिषद्को आयोजनामा हरेक वर्ष सञ्चालन हुँदै आएको असारे रोपाइँ महोत्सवलाई यस वर्ष पनि निरन्तरता दिइएको हो । २१ औँ संस्करणको महोत्सवमा छिमेकी मुलुक भारतसहित अमेरिका, बेलायत, फ्रान्स, जर्मनी, चीनलगायत विभिन्न देशका विदेशी पर्यटक तथा स्वदेशी आगन्तुक सहभागी थिए । सहभागी पर्यटकले स्थानीय कृषकसँगै धान रोपे, हिलो खेले, हिलोमै फुटबल खेल्ने र असारे गीतमा नाच्दै नेपाली ग्रामीण संस्कृति नजिकबाट अनुभव गरे ।

    परिषद्का अनुसार ‘पोखरा सबै मौसमका लागि’ भन्ने नारासहित पोखरालाई कृषि, पर्यटन र मौलिक संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले असारे रोपाइँ महोत्सव आयोजना गरिएको हो । हरेक वर्ष राष्ट्रिय धान दिवसका अवसरमा असार १५ गते रोपाइँ महोत्सव गर्ने गरिए पनि यस वर्ष पूर्णिमा परेको र कृषकले हल गोरु नचलाउने परम्परा रहेकाले एक दिनअघि महोत्सव गरिएको आयोजक पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले बताए । उनका अनुसार पोखराको प्राकृतिक सौन्दर्यसँगै कृषि तथा सांस्कृतिक पर्यटनको गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सवलाई निरन्तरता दिइएको हो ।

    “यस्ता कार्यक्रमले विदेशी पर्यटकलाई नेपाली जीवनशैली, कृषि परम्परा र मौलिक संस्कृतिसँग प्रत्यक्ष साक्षात्कार गराउनुका साथै पोखराको पर्यटन प्रवर्द्धनमा समेत योगदान पुग्ने गरेको छ । स्वदेशी तथा विदेशी पर्यटकलाई नेपाली असारे रोपाइँ संस्कृतिको प्रत्यक्ष अनुभव गराउन महोत्सव गरिएको हो । रोपाइँलाई उत्सवका रूपमा मनाउने परम्पराले कृषि र पर्यटनबीचको सम्बन्धलाई अझ बलियो बनाउँछ”, पहारीले भने ।


    महोत्सवको उद्घाटन गर्दै पोखरा महानगर प्रमुख धनराज आचार्यले नेपालको प्रमुख खाद्यबाली धानको व्यावसायिक उत्पादनका लागि महानगरले कृषकलाई अनुदानलगायत सहयोग गर्दै आएको बताउनुभयो । पोखराको पहिचान बनेको ‘पोखरेली जेठोबुढो’ धानको ‘ब्रान्डिङ’ गर्न सुरु गरिएको उनले बताए ।
    “परम्परागत खेती प्रणालीले गर्दा उत्पादनलगायत बढेको छ । हामीले आधुनिकीकरणमा जोड दिनुपर्छ । केही मौलिक र परम्परागत संस्कृतिलाई जोगाउँदै चक्लाबन्दी र आधुनिक कृषिखेतीमा कृषकलाई उत्प्रेरित गर्न लागत साझेदारीमा अनुदान, कृषि उपकरण, मल, बीउमा सहयोग गरेका छौँ”, प्रमुख आचार्यले भने ।


    महोत्सवका संयोजकसमेत रहनुभएका पोखरा पर्यटन परिषद्का महासचिव जीवनराज सापकोटाले महोत्सवले विदेशी पर्यटकलाई धान रोपाइँ, हिलो खेल तथा ग्रामीण जीवनशैलीको अनुभव गराएको बताए । “कृषि र पर्यटनलाई एकै सूत्रमा जोड्दै स्थानीय उत्पादन, संस्कृति र जीवनशैलीको प्रवर्द्धनमा महोत्सवले योगदान पुग्नुका साथै स्थानीय आर्थिक गतिविधि र पर्यटन व्यवसायलाई चलायमान बनाएको छ”, सापकोटाले भने ।

    पोखरामा दुई दशकभन्दा बढी समयदेखि सञ्चालन हुँदै आएको असारे रोपाइँ महोत्सव पोखराको कृषि संस्कृति तथा पर्यटन प्रवर्द्धनलाई जोड्ने विशिष्ट कार्यक्रमका रूपमा स्थापित हुँदै आएको छ । रोपाइँ महोत्सवमा आन्तरिकसहित विदेशी पर्यटकसमेत सहभागी हुँदा अझ महोत्सवको छुट्टै रौनक हुने गरेको छ ।

  • प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक पारित

    प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक पारित

    काठमाडौँ, १४ असारः प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक, २०८३ पारित भएको छ । सभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राखेको ‘विधेयकलाई पारित गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिबाट पारित भएको हो । उक्त विधेयकमाथिको दफावार छलफमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले ऋण लिएर उत्पादनमूलक आयोजनामा खर्च गरिने बताए ।

    “विदेशी ऋण पूर्वाधार आयोजनाका लागि तोकिएर आउँछन्, ती आयोजनाले अर्थतन्त्रका गतिविधिलाई चुस्त बनाउने, दूरी छोट्याउने र लागत घटाउने काम गरेको हुन्छन्”, उनले भने, “तर, ऋण लिएर निर्माण गरिएको दुई वटा अन्तरराष्ट्रिय विमानस्थलको अवस्थाले फरक परिदृश्य देखाएको छ, हामीले निगरानी गर्नै पर्छ ।”

    त्यसअघि बैठकमा सभामुख डोलप्रसाद अर्यालले विधेयकमाथि प्राप्त संशोधनलाई निर्णयार्थ प्रस्तुत गरेका थिए । सांसद परशुराम तामाङ र रेखाकुमारी यादवले राख्नुभएको संशोधन प्रस्ताव बैठकले अस्वीकृत गरेको थियो भने सांसद हरिप्रसाद भुसालले आफ्नो संशोधन फिर्ता लिए ।

  • मधेस प्रदेशमा रोपाइँको चटारो, पर्याप्त वर्षापछि किसान उत्साहित

    मधेस प्रदेशमा रोपाइँको चटारो, पर्याप्त वर्षापछि किसान उत्साहित

    राष्ट्रिय समाचार समिति (रासस)
    जनकपुरधाम, १४ असार । धनुषाको धनुषाधाम नगरपालिका–४ का श्याम यादवलाई यति बेला धान रोपाइँ गर्न चटारो छ । पर्याप्त वर्षापछि उहाँलाई धमाधम धान रोपाइँको चटारो भएको हो । अघिल्ला वर्षमा थोरै वर्षा हुँदा ढिला गरी धान रोपाइँ गर्दै आउनुभएका यादव यस वर्ष समयमै पर्याप्त वर्षा भएपछि धमाधन धान रोपाइँ गर्न व्यस्त हुनुभएको हो ।

    “पोहर परार साल साउन भदौ महिनातिर वर्षा भएको थियो, त्यसैले सोचेको जस्तो धान रोपाइँ गर्न सकेका थिएनौँ”, यादव भन्नुहुन्छ, “यसवर्ष असारको पहिलो हप्तादेखि नै पर्याप्त वर्षा भयो, त्यसैले धान रोपाइँ गर्न भ्याइ नभ्याई छ ।” हालसम्म करिब तीन बिगाह जग्गामा धान रोपाइँ गरिसके, अबको केही दिनमै रोपाइँ सकिने उहाँको भनाइ छ ।

    यस्तै धनुषाको सहिद नगरनगरपालिका–६ का रामकिसुन साहलाई पनि रोपाइँ गर्न चटारो छ । अघिल्ला वर्ष बर्सात्को अभावमा धेरै जग्गा बाँझो छोडेका साहले यसवर्ष असारको दोश्रो सातामै अधिकांश खेतमा धान रोपाइँ गरिसकेको बताउनुहुन्छ ।

    धनुषाको यादव र साह मात्र होइनन्, मधेश प्रदेशका अधिकांश जिल्लाका किसान धान रोपाइँ व्यस्त हुनुहुन्छ । लामो समयसम्म पर्याप्त वर्षा नहुँदा रोपाइँ प्रभावित भए पनि पछिल्ला दिनमा निरन्तर पानी परेपछि किसान खेतमा व्यस्त भएका छन् । कतै ब्याड निकालिँदै छ त कतै धान रोप्ने काम भइरहेको छ । असार लागेसँगै मधेश प्रदेशमा धमाधम रोपाइँ भइरहेका छन् ।

    धनुषा, महोत्तरी, सिरहा, सप्तरी, सर्लाही, रौतहट, बारा र पर्सालगायत जिल्लाका किसानले रोपाइँमा व्यस्त छन् । मधेश प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार असार दोस्रो सातासम्ममा मधेश प्रदेशमा कुल क्षेत्रफलको ४ दशमलव ३६ प्रतिशत हेक्टर क्षेत्रफलमा धान रोपाई भएको छ ।

    सबैभन्दा बढी महोत्तरीमा ८ दशमलव १७ प्रतिशत हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ भने सबैभन्दा कम पर्सा र रौतहटमा शून्य प्रतिशत धान रोपाइँ भएको मन्त्रालयले जनाएको छ । जिल्लागत हिसाबले महोत्तरीमा ४० हजार हेक्टर खेतीयोग्ग जग्गामध्ये तीन हजार २६६ हेक्टरमा धान रोपाइँ भएको मन्त्रालयका सूचना अधिकारी अजय ज्ञवालीले जानकारी दिनुभयो ।

    सप्तरीमा ६८ हजार हेक्टर खेतीयोग्य जग्गामध्ये तीन हजार ४०० हेक्टर, बारामा ४५ हजार १०० हेक्टर खेतीयोग्य जग्गामध्ये तीन हजार २५० हेक्टर, धनुषामा ४३ हजार ७०० हेक्टर खेतीयोग्य जग्गामध्ये तीन हजार ५९ हेक्टर, सिरहामा ५४ हजार हेक्टर खेतीयोग्य जग्गामध्ये दुई हजार ७०० हेक्टर र सर्लाहीमा ४२ हजार ६९५ हेक्टर खेतीयोग्य जग्गामध्ये एक हजार ३६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको सूचना अधिकारी ज्ञवालीले बताउनुभयो ।

    कृषि प्राविधिकका अनुसार असार महिनाभित्र धान रोपाइँ सम्पन्न गर्न सके उत्पादनमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ । पर्याप्त चिस्यान भएपछि खेत तयारी, बीउ उखेल्ने र रोपाइँको काम एकै साथ भइरहेको छ । यसवर्ष किसानले उन्नत जातका धानका बीउ प्रयोगसँगै रासायनिक तथा प्राङ्गारिक मलको उचित व्यवस्थापनमा ध्यान दिएका छन् । यद्यपि केही स्थानमा मलको उपलब्धता र सिँचाइ पूर्वाधार अझै चुनौतीका रूपमा रहेको सप्तरीको बोदे बसाइका किसान अजयकुमार यादव बताउनुहुन्छ ।

    धान नेपालको प्रमुख खाद्यान्न बालीमध्ये एक हो । मधेस प्रदेश देशकै प्रमुख धान उत्पादन क्षेत्र भएकाले यहाँको उत्पादनले राष्ट्रिय खाद्य सुरक्षामा महत्त्वपूर्ण योगदान पु¥याउने गरेको छ । समयमै पर्याप्त वर्षा भई रोपाइँ सम्पन्न भए उत्पादन वृद्धि हुने अपेक्षा गरिएको छ । यसैबीच किसान धमाधम रोपाइँमा व्यस्त हुँदा मधेस प्रदेश सरकारले प्रदेशका स्थानीय तहलाई वर्षे धानबालीलाई लक्षित बफर रासायनिक मलको बाँडफाँट गरेको छ ।

    भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको अनुसार रासायनिक मल युरिया र डिएपी कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङलाई वितरणका लागि स्थानीय तहअनुसार बाँडफाँट गरेको हो । प्रदेशको आठवटै जिल्लाको १३६ वटै स्थानीय तहका लागि सात हजार ३२८ मेट्रिकटन युरिया र छ हजार ६१० मेट्रिकटन डिएपी मल बाँडफाँड गरिएको मन्त्रालयका सूचना अधिकारी ज्ञवालीले बताउनुभयो ।

    उहाँका अनुसार सप्तरीको स्थानीय तहका लागि ९७५ मेट्रिकटन युरिया र एक हजार ३५ मेट्रिकटन डिएपी, सिरहाका लागि एक हजार ७२ मेट्रिकटन युरिया र एक हजार १३७ मेट्रिकटन डिएपी, धनुषाका लागि ९२६ मेट्रिकटन युरिया र ७७८ मेट्रिकटन डिएपी, महोत्तरीका लागि ८८० मेट्रिकटन युरिया र ७४० मेट्रिक टन डिएपी छुट्टयाएको छ ।

    सर्लाहीका लागि एक हजार ९३ मेट्रिकटन युरिया र ९१९ मेट्रिकटन डिएपी, रौतहटका लागि ८७५ मेट्रिकटन युरिया र ७३६ मेट्रिकटन डिएपी, बाराका लागि ८१९ मेट्रिकटन युरिया र ६८९ मेट्रिक टन डिएपी र पर्साका लागि ६८७ मेट्रिक टन युरिया र ५७८ मेट्रिकटन डिएपी बाँडफाँड गरिएको मन्त्रालयका सूचना अधिकारी ज्ञवालीले जानकारी दिनुभयो ।