Category: फिचर

  • विश्वकप फुटबलः स्पेन र केप भर्डे नकआउट चरणमा

    विश्वकप फुटबलः स्पेन र केप भर्डे नकआउट चरणमा

    काठमाडौँ, १३ असारः एलेक्स बाएनाको गोलमा उरुग्वेलाई पराजित गर्दै स्पेन विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ । मेक्सिकोको ग्वाडालाजारमा भएको खेलमा स्पेनले उरुग्वेलाई १–० ले पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेको हो । एलेक्सले खेलको ४१ औँ मिनेटमा गोल गरेका हुन् । यो विजयसँगै स्पेन सात अङ्क जोडेर समूह विजेता बनेको छ ।

    आजै भएको अर्को खेलमा केप भर्डेले साउदी अरबसँग गोलरहित बराबरी खेल्यो । केप भर्डेको समूह चरणको यात्रा जारी छ । पहिलोपटक विश्वकप खेलेको केप भर्डे नकआउट चरणमा प्रवेश गरेको छ । तीन खेल बराबरी खेलेको यो देश तीन अङ्कका साथ समूह उपविजेता बनेको छ ।

  • फिफा विश्वकप २०२६ : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

    फिफा विश्वकप २०२६ : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

    काठमाडौँ, १३ असारः उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप २०२६ अन्तर्गत समूह आइको विजेता बन्दै नकाउट चरणमा पुगेको छ । अमेरिकाको बोस्ट्न स्टेडियममा सम्पन्न समूहको अन्तिम खेलमा नर्वेलाई ४–१ ले पराजित गर्दै फ्रान्स समूह बिजेता बनेको हो । फ्रान्सको लगातार यो तेस्रो जित हो । फ्रान्सले यसअघि सेनेगलाई ३–१ र इराकलाई ३–० ले पराजित गरेको थियो ।

    अठाइस वर्षपछि विश्वकपमा फर्कको नर्वे भने समूह उपविजेता बन्दै नकआउट चरणमा पुगेको छ । खेलमा डेम्बेलेले खेलको पहिलो हाफको ३२आँै मिनेटभित्रै ह्याट्रिक पुरा गरेका थिए । उनले खेलको सातौँ मिनेटमा गोल गर्दै फ्रान्सलाई पहिलो अग्रता दिलाए । त्यसपछि खेलको २०औँ मिनेटमा डेम्बेलेले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सको अग्रता दोब्बर बनाए । खेलको २१आँै मिनेटमा नर्वेका लागि थेलो आसगार्डले गोल गर्दै खेलमा फर्काउने प्रयास गरे । तर खेलको ३२औँ मिनेटमा डेम्बेलेले गोल गर्दै ह्याट्रिक पूरा गर्दै फ्रान्सलाई ३–१ को अग्रता दिलाए ।

    खेलको ५०औँ मिनेटमा नर्वेका योर्गन स्ट्रान्ड लार्सनले पेनाल्टीमा गोल गर्न चुके सकेनन् । त्यसपछि खेलको दोस्रो हाफको अतिरिक्त समयमा फ्रान्सका डिजायर डोएले गोल गरेपछी फ्रान्सले नर्बेमाथी ४–१ को जित निकाल्यो । आजै भएको यसै समूहको अर्को खेलमा सेनेगलले इराकलाई ५–० गोलअन्तरको पराजित गर्दै जित हासिल गरेको छ । यससङै समूह आइमा अमेरिकाले नौ अङ्क बटुलेको छ भने नर्बेको ६ अङ्क छ । तेस्तै सेनेगलले तीन अङ्क जोड्दा इराक भने अङ्कबिहीन रहँदै विश्वकपबाट बाहिरियो ।

  • एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

    एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

    काठमाडौँ, १३ असारः नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) टोलीले ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा अनुसन्धानका लागि शुक्रबार साँझ पक्राउ गरेको हो ।

    ब्यूरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अनुपम शमशेर जबराले हात्तीगौँडामा सञ्चालित टुङ्गराम ईन्टरनेशनल एकेडेमीको आठ करोड ७८ लाख ३० हजार रकम अपचलन गरेर आरोपमा अनुसन्धानका लागि पक्राउ गरिएको जानकारी दिए ।

    विद्यालयको कार्यकारी प्रमुख भएर काम गर्दा शेर्पाले विभिन्न प्रपञ्च गरेर लाभ लिएको र विद्यालयलाई हानि पु¥याएको कसुरमा अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ । शेर्पाले विद्यालयलाई अनुचित हानि गर्ने नियतले डर, त्रास र अनुचित प्रभावमा पारेर भक्तपुरको दधिकोटमा रहेको २९ रोपनी चार आना जग्गा आफ्नो स्वामित्वको कम्पनीमा बेचेको अनुसन्धानका क्रममा पाइएको जनाइएको छ ।

  • साहित्यकार कोइरालाद्वारा काठमाडौँ बाल अस्पताललाई आर्थिक सहयोग

    साहित्यकार कोइरालाद्वारा काठमाडौँ बाल अस्पताललाई आर्थिक सहयोग

    काठमाडौँ, १३ असारः साहित्यकार रामप्रसाद कोइरालाले काठमाडौँ बाल अस्पताललाई रु एक करोड ५० लाख आर्थिक सहयोग गरेका छन् । साहित्यकार कोइरालाको उपन्यास ‘मेरी, उनी र म’ उपन्यासको दोस्रो संस्करणको शुक्रबार विमोचन समारोहमा उनले काठमाडौँ बाल अस्पतालको इएनटी सेवा स्थापनाको लागि उक्त रकम सहयोग गरेका हुन् । मन्त्रीपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीको उपस्थितीमा आयोजित कार्यक्रममा साहित्कार कोइरालाले बाल अस्पतालका परिकल्पनाकार प्राडा भगवान कोइरालालाई उक्त रकम हस्तान्तरण गरे ।


    पूर्वअध्यक्ष रेग्मीले प्राडा कोइरालाको नेतृत्वमा निर्माण भएको बाल अस्पतालमा सहयोग गरेकोमा साहित्यकार कोइरालालाई धन्यवाद दिए । “धन हुनेको मन हुँदैन र मन हुनेको धन हुँदैन भन्ने गरिन्छ, तर रामप्रसाद जी यसको अपवाद बन्नुभएको छ, उहाँसँग धन र मन दुवै छ,” उनले भने । कार्यक्रममा बाल अस्पतालका परिकल्पनाकार एवम् अध्यक्ष प्राडा कोइरालाले सातै प्रदेशमा बाल अस्पताल निर्माण गर्ने लक्ष्यका साथ आफू अगाडि बढेको बताउँदै सहयोग गरेकामा साहित्यकार कोेइरालाप्रति आभार व्यक्त गरे ।


    साहित्यकार कोइरालाले आफ्नो पुस्तक र जीवनको कमाइ समाजका लागि समर्पित गर्न पाउँदा खुसी व्यक्त गरे । उनले आफ्नो कृति केवल सम्झना मात्र नभई आफ्नो हजुरआमा प्रतिको अगाध प्रेम, सामाजिक परिवेश र जीवनका उकाली–ओराली समेटिएको बताए । वरिष्ठ साहित्कार प्रकाश सायमीले कोइरालाले आफ्नो जीवनको आत्मकथा लेख्दै गर्दा उपन्यास तयार गरेको बताए । उनले कोइरालाको कृति मेरी, उनी र म आँसु नै आँसुले भरिएको संस्करण भएको बताए ।

    साहित्यकार कोइरालाले पहिलो संस्करण सन् २०२२को अप्रिलमा प्रकाशनमा आएको थियो । उनको पुस्तकको सफलताको शुभकामना पुस्तकमार्फत दिँदै पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले कोइरालाको उक्त कृति नेपालको सामाजिक, सांस्कृतिक, आर्थिक र राजनीतिक परिवेशको रोचक आख्यान भएको बताए ।

  • मोरङमा चैते धानको उत्पादन वृद्धि, मूल्यमा गिरावट

    मोरङमा चैते धानको उत्पादन वृद्धि, मूल्यमा गिरावट

    बेलबारी (मोरङ), १३ असारः मोरङमा चैते धान उत्पादनमा वृद्धि भएको छ । गत वर्षभन्दा यस वर्ष दुई हजार १९६ मेट्रिकटन बढी धान उत्पादन भएको कृषि ज्ञान केन्द्र मोरङले जनाएको छ । चैते धानको उत्पादन बढेपनि मूल्यमा गिरावटका कारण किसानले जनाएका छन् ।

    जिल्लामा गत वर्ष एक लाख एक हजार ३७४ दशमलव १० मेट्रिकटन धान उत्पादन भएकोमा यस वर्ष वृद्धि भई एक लाख तीन हजार ५७० दशमलव ६० मेट्रिकटन उत्पादन भएको कृषि ज्ञान केन्द्रका सूचना अधिकृत आदर्श सिंहले जानकारी दिए । गतवर्ष १७ हजार ७५५ हेक्टर जमिनमा चैते धान लगाइएकोमा यस पटक वृद्धि भई १७ हजार ८५७ हेक्टर पुगेको उहाँले बताउनुभयो । गत वर्ष ५ दशमलव ७१ उत्पादकत्व भएकोमा यसवर्ष वृद्धिभई ५ दशमलव ८० पुगेको हो ।

    अघिल्लो साल चैते धानको मूल्य क्वीन्टल दुई हजार सात सयसम्म पुगेकोमा यस वर्ष घटेर क्वीन्टल दुई हजार सम्मममा भइरहेको रङ्गेली नगरपालिका–१ का किसान चन्द्र अधिकारी बताउँछन् । चैते धानले लगानी पनि नउठेको गुनासो गर्दै बेलबारी ९ नलबारीका किसान नरबहादुर कटुवालले भने, भण्डारणको समस्याले गर्दा पनि धान सस्तोमा बेच्नुपरेको छ, किसानको पहुचमा भण्डारण हुनेथियो भने यति सस्तोमा धान बेच्नुपर्ने थिएन । ” कृषि ज्ञान केन्द्रका अनुसार १७ पालिकामध्ये सुन्दरहरैचा, बेलबारी, पथरीसनिश्चरे, उर्लाबारी, कानेपोखरी, रतुवामाई, सुनवर्षी, रङ्गेली र जहदाका किसानले विशेषगरी चैते धानको खेती गर्ने गरेका छन् ।

  • लागुऔषध दुरूपयोग तथा अवैध ओसारपसारविरूद्ध सुक्ष्म ध्यान दिनुपर्छ : सभापति थापा

    लागुऔषध दुरूपयोग तथा अवैध ओसारपसारविरूद्ध सुक्ष्म ध्यान दिनुपर्छ : सभापति थापा

    पाटन (ललितपुर), १२ असारः नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लागुऔषध दुरूपयोग तथा अवैध ओसारपसारविरूद्ध सुक्ष्म रूपमा ध्यान दिएर काम गर्नुपर्ने बताए । कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा लागुऔषध दुरूपयोग तथा अवैध ओसारपसारविरूद्ध अन्तरराष्ट्रिय दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उनले ञलागुऔषध दुरूपयोग तथा अवैध ओसारपसारविरुद्धको विषय राजनीतिक दलहरूले छलफल गर्नुपर्नेमा जोड दिए ।


    “नीति निर्माणमा सहभागी हुनेहरूले लागुऔषधको समस्याका बारेमा विभिन्न कोणबाट थाहा पाउनुपर्छ, हामीले सदनमा बसेर सुधारका लागि काम गर्नुपर्छ, यो अत्यन्तै ठूलो सरोकारको विषय हो”, सभापति थापाले भने । उनले सरकारमा नहुँदा लागुऔषध दुरूपयोग र अवैध ओसारपसारविरुद्ध काम गर्नका लागि क्रियाशील हुनुपर्नेमा जोड दिए ।


    सशस्त्र प्रहरी बलका पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक रविराज थापा, सशस्त्र भूमिगत समूहका पूर्वसदस्य भाजु राउत कुर्मी, रिकभरिङ्ग नेपालका सदस्य यमकला राई र अभियान्ता विवेक कर्णले लागुऔषध रोकथामका लागि सरकार, समुदाय र व्यक्ति मिलेर लाग्नुपर्नेमा जोड दिए ।

    कार्यक्रममा पूर्वलागुऔषध प्रयोगकर्ता राजकुमार तामाङले लागुऔषध प्रयोगका कारण आफ्नो जीवनमा पारेको नकारात्मक प्रभाव, लागुऔषध प्रयोगकर्ता हुँदा नशा र कुलतको क्षणिक आनन्दमा फसेर गुमाएको समय, परिवारमा पारेको नकारात्मक प्रभाव, समाजमा परेको समस्याका बारेमा आफ्नो दुःखदायी र पीडादायी अनुभव प्रस्तुत गरेका थिए ।

  • भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

    भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

    ला गुआइरा (भेनेजुएला), १२ असार (रासस–एएफपी) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा कम समयको अन्तरमा आएका दुई शक्तिशाली भूकम्पले व्यापक जनधनको क्षति पुर्‍याएको छ । कम्तीमा २३५ जनाको मृत्यु भएको छ भने करिब चार हजार ३०० जना घाइते भएका छन् ।

    भग्नावशेषमुनि अझै पनि धेरै मानिस फसेको आशङ्का गरिएकाले उद्धार कार्य तीव्र पारिएको छ । संयुक्त राज्य अमेरिकाको भूगर्भीय सर्वेक्षणका अनुसार ७.२ र ७.५ म्याग्निच्युडका दुई भूकम्पले उत्तरी भेनेजुएलाका भवनहरू भत्किएका, चर्किएका र ढलेका छन् । बिहीबारसम्म पनि शक्तिशाली परकम्पहरू महसुस भइरहेका छन् ।

    स्वास्थ्यमन्त्री कार्लोस अल्भाराडोले मृतकको सङ्ख्या २३५ पुगेको जानकारी दिए । घाइतेहरूको सङ्ख्या निरन्तर बढिरहेको र केहीको अवस्था गम्भीर रहेको बताइएको छ । सबैभन्दा बढी प्रभावित ला गुआइरा राज्यका विभिन्न क्षेत्रमा उद्धारकर्मी र स्थानीय बासिन्दाहरू भग्नावशेष हटाएर जीवित मानिसको खोजीमा जुटेका छन् । धेरै स्थानमा पर्याप्त उपकरण र दक्ष जनशक्तिको अभाव देखिएको छ ।

    काराकासको उत्तरस्थित एक बस्तीमा एक युवती घण्टौँसम्म उद्धारको प्रतीक्षा गर्दै सहयोगका लागि चिच्याइरहेकी थिइन् । स्थानीय बासिन्दा डानी रिजोले उद्धार टोली र सुरक्षाकर्मीको तत्काल आवश्यकता रहेको बताएका थिए । केही समयपछि ती युवतीको मृत्यु भएको स्थानीयवासीहरूले जानकारी दिएका छन् ।

    ला गुआइराका अन्य क्षेत्रमा पनि भग्नावशेषभित्रबाट मानिसहरूको आवाज सुनिएको छ । स्थानीय बासिन्दा एन्टोनियो बर्मुडेजले आवश्यक उपकरण र उद्धार सामग्री नहुँदा असहाय बनेको बताए । डोमिङ्गो लुसियानी अस्पतालका एक चिकित्सकले नाम सार्वजनिक नगर्ने सर्तमा धेरै बालबालिका अभिभावकविहीन अवस्थामा अस्पताल पुगिरहेको जानकारी दिए । केही बालबालिकाले आफ्नो परिचय दिन सकेका छन् भने केहीको हातमा पहिचान पट्टी बाँधिएको अवस्थामा उनीहरूलाई एम्बुलेन्समार्फत ल्याइएको छ ।

    एक उद्धारकर्मीले प्रशिक्षित जनशक्ति र आधुनिक उपकरणको अभावले उद्धार अभियान प्रभावित भएको बताए । प्रभावित क्षेत्रलाई विपद् क्षेत्र घोषणा गरिएपछि अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिग्जले ला गुआइराको भ्रमण गरेका छन् । यसबीच केही स्थानमा खाद्यान्न तथा दैनिक उपभोग्य सामग्रीका पसलहरूमा लुटपाटसमेत भएको एएफपीका पत्रकारहरूले जनाएका छन् । भेनेजुएलाको अन्तर्राष्ट्रिय उद्धार समितिकी निर्देशक निकोल कास्टले अवस्थालाई अत्यन्त विनाशकारी बताए ।


    भूकम्पपछि विश्वका विभिन्न देशहरूले सहयोगको प्रतिबद्धता जनाएका छन् । स्विट्जरल्यान्ड, स्पेन, फ्रान्स, पोर्चुगल र मेक्सिकोले विशेषज्ञ र उद्धार टोली पठाउने घोषणा गरेका छन् । संयुक्त राज्य अमेरिकाले दुई युद्धपोत, यातायात विमान र हेलिकप्टर परिचालन गर्नुका साथै १५ करोड अमेरिकी डलर बराबरको सहायता उपलब्ध गराउने जनाएको छ ।

    अमेरिकी विदेशमन्त्री मार्को रुबियोले आफ्नो देशको प्रतिक्रिया तीव्र, प्रभावकारी र व्यापक हुने बताए । जनवरीमा अमेरिकी सेनाको हस्तक्षेपपछि राष्ट्रपति निकोलस मदुरोलाई सत्ताच्युत गरी पक्राउ गरिएपछि भेनेजुएलामा वासिङ्टनको प्रभाव बढेको छ ।

    चीन, भारत, ब्राजिल र युद्धग्रस्त इरानले पनि सहयोगको प्रस्ताव गरेका छन् । पोप लियो चौधौँले प्रारम्भिक एक लाख युरो सहायता घोषणा गरेका छन् । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै भेनेजुएलालाई सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन् ।


    संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायता प्रमुख टम फ्लेचरले १२६ वर्षयताकै शक्तिशाली भूकम्पका कारण व्यापक अन्तर्राष्ट्रिय सहयोग आवश्यक पर्ने बताए ।
    उद्धार र राहत कार्यलाई थप जटिल बनाउँदै ला गुआइरास्थित अन्तर्राष्ट्रिय विमानस्थलमा गम्भीर क्षति पुगेपछि त्यसलाई बन्द गरिएको छ । मृतकमध्ये दुई ब्राजिलियाली, दुई चिनियाँ, एक इटालेली र एक पोर्चुगाली नागरिक रहेको सम्बन्धित देशहरूले पुष्टि गरेका छन् ।

    क्यारिबियन र दक्षिण अमेरिकी टेक्टोनिक प्लेटको सीमामा अवस्थित भेनेजुएलाको उत्तरी तट भूकम्पीय दृष्टिले संवेदनशील मानिन्छ । सन् १९९७ मा आएको भूकम्पमा ७३ जनाको मृत्यु भएको थियो भने सन् १९६७ को भूकम्पमा २३६ जनाले ज्यान गुमाएका थिए । सन् १९०० को ७.७ म्याग्निच्युडको भूकम्पपछि अहिलेको ७.५ म्याग्निच्युडको भूकम्पलाई सबैभन्दा शक्तिशाली मानिएको छ ।

    भूकम्पको धक्का छिमेकी कोलम्बियासम्म महसुस गरिएको थियो । बोगोटाका बासिन्दाहरूले सावधानीस्वरूप भवनहरू खाली गरेका थिए । उत्तरी ब्राजिलका धेरै सहरहरूमा पनि कम्पन महसुस भएको त्यहाँको भूकम्पीय निगरानी निकायले जनाएको छ । राजधानी काराकासमा पनि त्रासको वातावरण फैलिएको छ । धेरै नागरिकले सडक र गाडीमै रात बिताएका छन् ।

    ६० वर्षीया रिटा गोमेज आफ्नी छोरी बस्ने भवन ढलेको सामाजिक सञ्जालमार्फत थाहा पाएपछि राजधानी पुगेका थिए । उनले उद्धारका लागि भारी उपकरण परिचालन गरिएको र स्थानीय बासिन्दाहरूले उल्लेखनीय सहयोग गरिरहेको बताउँदै आफ्नी छोरी जीवितै भेटिने आशा अझै कायम रहेको बताए ।

  • शुक्रबार समूह चरणका निर्णायक खेल हुँदै : एमबाप्पे र हाल्यान्ड भिड्दै

    शुक्रबार समूह चरणका निर्णायक खेल हुँदै : एमबाप्पे र हाल्यान्ड भिड्दै

    लस एन्जलस, १२ असार (रासस÷एएफपी) । फ्रान्स र नर्वेबीच शुक्रबार विश्वकपको महत्वपूर्ण समूह ‘आई’ को निर्णायक खेलमा लयमा रहेका गोलकर्ता किलियन एमबाप्पे र एर्लिङ हालान्डबीच रोमाञ्चक भिडन्त हुने भएको छ । रियल मड्रिडका स्टार एमबाप्पे र म्यानचेस्टर सिटीका स्ट्राइकर हाल्यान्डले प्रतिस्पर्धाको सुरुवातदेखि नै उत्कृष्ट प्रदर्शन गरेका छन् । अर्जेन्टिनाका लियोनल मेसी पाँच गोलसहित गोल्डेन बुटको दौडमा पहिलो स्थानमा रहेपनि एमबाप्पे र हाल्यान्ड दुवैले ४–४ गोल गरेका छन् र गोल्डेन बुटको दौडमा दोस्रो स्थानमा छन् ।

    स्थानीय समय अनुसार शुक्रबार दिउँसो ३ः०० बजे बोस्टनको फक्सबरोमा हुने यो भिडन्तमा समूहको शीर्ष स्थानका लागि प्रतिस्पर्धा हुनेछ । सेनेगल र इराकलाई सहजै हराएको फ्रान्सको प्रदर्शन प्रभावशाली छ । उनीहरूको राम्रो गोल अन्तरका कारण फ्रान्सलाई समूहको पहिलो स्थानमा रहनका लागि बराबरी मात्र काफी छ ।

    त्यसैगरी नर्वेको पनि अहिलेसम्मको खेलमा निकै राम्रो प्रदर्शन भइरहेको छ । नर्वेले आफ्नो पहिलो खेलमा इराकलाई ४–१ ले हराएको थियो भने सोमबार सेनेगललाई ३–२ ले पराजित गरेको थियो । पहिलो पटक विश्वकप खेलिरहेका २५ वर्षीय हाल्यान्डप्रतिको विश्वव्यापी ध्यानाकर्षणले उहाँलाई थप उत्साहित बनाएको छ । उनको आक्रामक र उत्साही खेलशैलीले फ्रान्सको अनुभवी प्रतिरक्षालाई पनि चुनौती दिन सक्छ ।

    सेनेगलमाथिको जितपछि अन्तिम ३२ मा स्थान बनाएपछि हल्यान्डले फ्रान्ससँग खेल्नु कुनै चिन्ताको बिषय नभएको बताएका थिए । नर्वेलाई उपाधि दाबेदार हो भनी सोधिएको सवालमा उनले प्रतिस्पर्धामा रहेको कुनै पनि टोलीको उद्देश्य राम्रो नतिजा हात पार्नु रहने बताएका थिए । “बिल्कुल पनि विश्वकप जित्ने अभिलाषा कुनै पनि खेलाडीको लागि सुनौलो सपना हुन्छ,तर निर्णय ९० मिनेटको प्रतिस्पर्धामा खेलमा टोलीले समात्ने लयले निर्धारण गर्छ,” उनले फक्स टेलिभिजनसँग भने ।


    “हामीले अहिले १२ खेलमा लगातार जित हासिल गरेका छौँ। म एउटा विशेष कुराको हिस्सा बनेको छु, इतिहास रचिरहेको छु र नर्वेजियन भएकोमा अत्यन्त गर्व गरिरहेको छु”, उनले भने, “फ्रान्ससँग खेल्नु ‘मेरो लागि कुनै विशेष होइन ।” “हामीहरूले उनीहरूमाथि जित्ने सम्भावना जति रहेको छ त्यति नै सम्भावना उनीहरूको रहन्छ । त्यो सबै खेलले बताउनेछ,” उनले भने ।

    फ्रान्स र एमबाप्पेको तयारीमा यस हप्ता टोलीका व्यवस्थापक दिदिएर देसाम्प्सको आमाको निधनले टोलीलाई अस्थायी रूपमा सहायक प्रशिक्षक गाई स्टेफानले देसाम्प्सले हेर्नेछन् । यद्यपि फ्रान्स समूहमा दोस्रो भएमा जुलाई १९ को फाइनलसम्मको बाटो थप कठिन हुन सक्ने भएकाले कुनै गल्ती गर्न चाहँदैन । पराजय भएमा उनीहरूले अन्तिम ३२ मा आइभरी कोस्टसँग खेल्नुपर्नेछ, त्यसपछि सम्भवतः ब्राजिलसँग अन्तिम १६ मा खेल्नुपर्नेछ । फ्रान्सको क्वार्टरफाइनलमा इङ्ल्यान्ड र सेमिफाइनलमा अर्जेन्टिनासँग भेट हुन सक्नेछ ।

    शुक्रबारका अन्य खेलहरूमा, स्पेनले मेक्सिकोको ग्वाडालाहारामा उरुग्वेसँगको खेलमा समूह ‘एच’ को शीर्ष स्थान पक्का गर्न प्रयास गर्नेछ ।

    उरुग्वेलाई अन्तिम ३२ मा पुग्नका लागि यो खेलमा कम्तीमा एक अंक आवश्यक छ, किनकि उनीहरूले दोस्रो खेलमा कमजोर टोली केप भर्डेसँग २–२ को बराबरी खेलेका थिए । स्पेन बराबरीबाटै समूहको पहिलो स्थानमा पुग्नेछ। केप भर्डेले भने साउदी अरबमाथि जित हासिल गर्दै आफ्नो सपना (अभियान) लाई जारी राख्ने प्रयास गर्नेछ ।

    समूह ‘जी’ मा इजिप्टले सियाटलमा इरानलाई हराएर शीर्ष स्थान पक्का गर्न प्रयास गर्नेछ। यो खेल विवादास्पद बनेको छ। यो खेल सियाटलमा गौरवको उत्सवको भाग हो र स्थानीय अधिकारीहरूले यसलाई ‘प्राइड म्याच’ नाम दिएका छन् । इरान र इजिप्टका अधिकारीहरूले यो खेलको क्रममा हुने गौरव गाथाको विरोध गरेका छन् । इरानमा समलिङ्गी सम्बन्ध इस्लामिक कानुनअनुसार अवैध छ र मृत्युदण्डसम्म हुन सक्छ। इजिप्टमा पनि अस्पष्ट कानुनअन्तर्गत यसलाई दण्डनीय बनाइन्छ ।

    समूह ‘जी’को को अर्को खेलमा, केभिन डे ब्रुइन र रोमेलु लुकाकु भएको बेल्जियमको टोलीले न्यूजिल्यान्डलाई हराएर नकआउट चरणमा पुग्ने प्रयास गर्नेछ । यदि उनीहरू सफल भए भने मोरक्को र ब्राजिलसँग हारेर तेस्रो स्थानको दर्जामा पुछारमा रहेको स्कटल्याण्डले बाहिरिनु पर्ने सम्भावना छ ।

    “मलाई लाग्छ हामीले आफैँलाई अलिकति निराश बनायौँ”, स्कटल्याण्डका मिडफिल्डर लुइस फर्गुसनले भने, “केही खेल हेर्न र नतिजा पर्खन अलिक तनावपूर्ण हुनेछ, तर यो पर्खाइको खेल मात्र हो ।” यसैबीच, इक्वेडरले जर्मनीमाथि २–१ को जित हासिल गरी अन्तिम ३२ मा स्थान बनाएको छ । विश्वप्रसिद्ध टोलीलाई हराएको उत्साहमा इक्वेडरमा शुक्रबारलाई सार्वजनिक बिदा दिइएको छ ।

  • रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने

    रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने

    नारायणगढ (चितवनं, १२ असारः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सभापति रवि लामिछानेले प्रथम ऐतिहासिक महाधिवेशनसँगै आफ्नो पार्टीले देशकै एक प्रमुख र परिपक्व राजनीतिक शक्तिका रूपमा उदीयमान वैधानिकता प्राप्त गरेको बताए । चितवन उद्योग सङ्घको प्रदर्शनी हलको बन्दसत्रस्थलमा आज साँझ रास्वपा केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीबाट उहाँले पद तथा गोपनीयताको शपथग्रहण गरेपछि पार्टीका नेता तथा कार्यकर्तालाई सम्बोधन गर्ने क्रममा अब राष्ट्र निर्माणको महाअभियानमा पार्टी जिम्मेवार र प्रतिबद्ध भएर अगाडि बढ्ने दृढता व्यक्त गरे ।


    उनले महाधिवेशनले नयाँ राजनीतिक दललाई दलका रूपमा वास्तविक वैधानिक र राजनीतिक पहिचान प्रदान गर्ने उल्लेख गरे । देशका विभिन्न क्षेत्रबाट अनेकन कठिनाइ र मौसमको प्रतिकूलताका बाबजुद महाधिवेशनमा उत्साहजनक सहभागिता जनाउने प्रतिनिधि, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा शुभचिन्तकहरूलाई उहाँले विशेष धन्यवाद समेत ज्ञापन गरे ।


    पहिलो अनुभव भएकाले व्यवस्थापन र आयोजनामा केही प्राविधिक तथा व्यवस्थापकीय कमजोरीहरू भएको स्वीकार गर्दै सभापति लामिछानेले भने, “यो हाम्रो पहिलो महाधिवेशन हो । पहिलो अनुभव भएका कारण व्यवस्थापनमा केही स–साना कमजोरीहरू भएका हुन सक्छन्, त्यसलाई हामी स्वीकार गर्छौँ । आगामी दिनमा यी कमजोरीहरूबाट पाठ सिक्दै अझ सचेततापूर्वक र परिपक्व ढङ्गले सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।”

    पार्टीभित्रको आन्तरिक लोकतन्त्र र चुनावी प्रतिस्पर्धाका विषयमा चर्चा गर्दै उहाँले लोकतान्त्रिक अभ्यासमा पदका आकाङ्क्षाहरू हुनु स्वाभाविक भएको स्पष्ट पारे । उनले थपे, “पार्टीभित्रका आन्तरिक निर्वाचन र पदका आकाङ्क्षाहरूलाई हामीले विशुद्ध लोकतान्त्रिक अभ्यासको रूपमा लिएका छौँ । यो हलभित्र प्रतिस्पर्धा जे–जस्तो भए पनि, यस हलबाट बाहिर निस्किएपछि हामी सबै मनमुटाव त्यागेर एकजुट भई देश निर्माणको एउटै लक्ष्यमा अगाडि बढ्नुपर्छ ।”

    सभापति लामिछानेले देशको भविष्य र वर्तमान व्यवस्था परिवर्तनका लागि पार्टीका हरेक नेता, सांसद र कार्यकर्ता अत्यन्तै जिम्मेवार हुनुपर्नेमा जोड दिए । जनताले राखेको ठुलो आशा र विश्वासलाई मर्न नदिने दृढता व्यक्त गर्दै उनले भने, “हामीमाथि जनताको ठुलो भरोसा छ । जनताको यो विश्वासलाई कायम राख्दै देश र जनताको हितमा निरन्तर लागिरहनु हाम्रो प्रमुख उत्तरदायित्व हो ।”

    नयाँ र पुराना साथीहरूको सम्बन्धलाई प्रस्ट्याउँदै उनले निर्वाचनका क्रममा रास्वपा परिवारमा देखिएको प्रेम दुई नदी जस्तै भएको टिप्पणी गरे । पुराना र भर्खरै आएका साथीहरू दुवैलाई मिलाएर लैजानुपर्ने चेतना नै बलियो रास्वपाको संकेत भएको उनको भनाइ थियो ।

    चुनावमा प्यानल र लिस्ट बनाइएका हल्लाहरूका बीच पनि आम पार्टी सदस्य र मतदाताहरूले आफ्नो विवेक प्रयोग गरेको उल्लेख गर्दै उनले भने, “हाम्रा आम पार्टी सदस्य र मतदाताहरूले विवेक प्रयोग गरे । उनीहरूका लागि कुनै प्यानल वा ग्रुप होइन, बनाउनेहरूले बनाए होलान्, त्यो पछि अध्ययनको विषय बन्ला । त्यसमा हामी समीक्षा गरौँला, हेरौँला, अध्ययन गरौँला ।”

    भर्खरै पार्टी प्रवेश गरेका साथीहरूलाई पनि उच्च मत दिएर पठाउनुले रास्वपामा सबैलाई स्वागत छ भन्ने सन्देश दिएको उनले बताए । आन्तरिक प्रतिस्पर्धाका क्रममा उत्पन्न हुन सक्ने गुटबन्दी र मनमुटावलाई हलभित्रै अन्त्य गर्नुपर्नेमा जोड दिँदै सभापति लामिछानेले भने, “नयाँ र पुरानोको द्वन्द्व पनि आज अन्त्य भएको छ । यो गुट र त्यो गुटको कुरा पनि अन्त्य भएको छ । अंशहरू केही बाँकी रहेका छन् भने, यसलाई यहीँ दफन गरेर जाऔँ । कहीँकतै वैमनस्यता बाँकी रहेको छ भने, यसले यहीँ अन्त्य पायो । यसको अन्त्येष्टि यहीँ, यही हलबाट गरेर हामी अगाडि बढ्नुपर्ने हुन्छ ।”

    सम्बोधनका क्रममा सभापति लामिछानेले नवनिर्वाचित पदाधिकारी एवं केन्द्रीय सदस्यहरूको शपथग्रहण कार्यक्रम भने पार्टीको केन्द्रीय कार्यालयमा आयोजना गरिने जानकारी दिए ।

  • उपत्यकामा बर्डफ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

    उपत्यकामा बर्डफ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

    काठमाडौँ, १२ असारः पशुसेवा विभागले काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रमा बर्डफ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन गरी नियन्त्रणको काम अघि बढाएको छ । विभागले विभिन्न प्रयोगशालामार्फत नियमित नमूना परीक्षण गरी निगरानी बढाएको हो । काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेमा सङ्क्रमणको जोखिम बढी देखिएकाले रोग नियन्त्रण कार्यलाई उच्च प्राथमिकता राखिएको विभागका महानिर्देशक डा उमेश दाहालले बताए । उनका अनुसार तीन महिना अघि सुरु भएको सङ्क्रमण विभिन्न ११ जिल्लामा फैलिएको छ ।

    करिब एक सय कुखुरा फार्ममा बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि ती फार्ममा पन्छी, अण्डा, दाना नष्ट गरिएका छन् । करिब डेढ महिना नयाँ चल्ला नराख्न आग्रह गरेको विभागले उच्च सतर्कता अपनाउन आह्वान गरेको छ । काठमाडौँ उपत्यकाका चन्द्रागिरि, कीर्तिपुर, टोखा, तारकेश्वर, गोदावरी, चाँगुनारायण, सूर्यविनायकलगायत क्षेत्रका फार्ममा सङ्क्रमण पुष्टि भएको छ ।

    बर्डफ्लुका उपचार र प्रभावकारी खोप नभएको हुँदा भाइरस कडा सङ्क्रामक हुने र कुखुरालगायत पन्छी नष्ट उत्तम विकल्प हुने जनाइएको छ । सङ्क्रमण मानिसमा पनि सर्न सक्ने सम्भावना रहेको बताउँदै विभागका महानिर्देशक दाहालले सङ्क्रमणलाई चाँडो नियन्त्रण गर्न पन्छी व्यवसायी तथा उपभोक्तालाई थप सावधानी अपनाउन आग्रह गरे ।


    विभागका महानिर्देशकको संयोजकत्वमा केन्द्रमा बर्डफ्लु समन्वय समिति तथा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्लामा बर्डफ्लु समन्वय समिति गठन गरिएको छ । नष्ट गरिएका कुखुरा, अण्डा तथा दानाको प्रमाणका आधारमा जिल्लाबाट समितिले निर्धारण गर्ने दररेटका आधारमा लागत मूल्यको ७५ प्रतिशतसम्म किसानलाई क्षतिपूर्ति दिने व्यवस्था रहेको विभागका सूचना अधिकारी मुकुल उपाध्यायले जानकारी दिए ।

  • तेइस वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य

    तेइस वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य

    चितवन, १२ असारः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनले चितवनकी २३ वर्षीया आकाङ्क्षा पोखरेललाई केन्द्रीय सदस्यमा निर्वाचित गरेको छ । जिल्लामा दुई वर्ष पत्रकारिता गरेकी पोखरेल हाल भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलको सचिवालयमा कार्यरत छिन् । भरतपुर निवासी पोखरेल बागमती प्रदेशको भूगोलतर्फबाट ८८० मत प्राप्त गरी केन्द्रीय सदस्य पदमा विजयी भइन् । रास्वपाको स्थापनाकालदेखि नै सक्रिय रहँदै आउनुभएकी पोखरेलले यसअघि पार्टीको भरतपुर महानगर सदस्य र महानगर कोषाध्यक्षको जिम्मेवारी सम्हालिसकेकी छिन् ।


    केन्द्रीय सदस्य पदमा निर्वाचित भएपछि सङ्क्षिप्त प्रतिक्रिया दिँदै उनले नेपालका प्रमुख राजनीतिक दलहरुमा सम्भवतः सबैभन्दा कम उमेरको पहिलो केन्द्रीय सदस्यका रुपमा आफू निर्वाचित भएको दाबी गरिन् । ‘जेनजी’ पुस्ताको अपेक्षाअनुसार पार्टीलाई अगाडि बढाउन सक्दो प्रयास गर्ने उल्लेख गर्दै युवा नेत्री पोखरेलले भनिन्, “मुलुकको सबैभन्दा ठूलो पार्टीको केन्द्रीय सदस्यमा विजयी भएसँगै आफ्नो जिम्मेवारी बढेको छ । यस अवसरमा मलाई विश्वास गरी मतदान गर्नुहुने सम्पूर्ण महाधिवेशन प्रतिनिधिसहित रास्वपाका नेता तथा कार्यकर्ता एवं शुभचिन्तक सबैलाई धन्यवाद भन्न चाहन्छु ।”

  • मनसुन कमजोर हुँदा वर्षा औसतभन्दा कम

    मनसुन कमजोर हुँदा वर्षा औसतभन्दा कम

    काठमाडौँ, १२ असारः देशभर मनसुन सक्रिय भए पनि अपेक्षाअनुसार वर्षा हुन नसक्दा कुल वर्षा औसतभन्दा उल्लेख्य रूपमा कम रहेको छ । जल तथा मौसम विभागको तथ्याङ्कअनुसार जुन १ देखि २५ तारिखसम्म देशभर औसत १४९ मिलीमिटर वर्षा मापन भएको छ, जुन यस अवधिको औसत वर्षा ९२१४ मिलीमिटर० को ६९।६ प्रतिशत हो । हरेक दिन दैनिक औसतको ९० प्रतिशतभन्दा कम वर्षा मापन भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।

    विभागका अनुसार विशेषगरी महिनाको सुरुआती दिनहरूमा वर्षा अत्यन्त न्यून रह्यो भने पछिल्ला दिनहरूमा केही सुधार देखिए पनि सामान्य अवस्थासम्म पुग्न सकेको छैन । मौसमविद् डेभिड ढकालका अनुसार यस वर्ष मनसुन नेपालमा सरदर मितिभन्दा ढिला प्रवेश गर्नुका साथै प्रारम्भिक चरणमा कमजोर सक्रियतामा रहेकाले वर्षामा कमी देखिएको हो । कमजोर मनसुनका कारण कृषि रोपाइँ, जलस्रोत व्यवस्थापन तथा खानेपानी आपूर्तिमा समेत असर पर्न सक्ने चिन्ता व्यक्त गरिएको छ ।

    देशभर मनसुन विस्तार हुनसकेको छैन । मौसमविद् ढकालले पाँच प्रदेशका केही भूभागमा मात्रै विस्तार भएको मनसुनी प्रणाली अझै कमजोर अवस्थामै रहेकाले देशका बाँकी क्षेत्रमा विस्तार हुन केही दिन लाग्न सक्ने बताउनुभएको छ । विभागले यस मनसुन अवधिमा नेपालमा सरदरभन्दा कम वर्षा हुने र तापक्रम बढ्ने प्रक्षेपण गरेको छ ।

    विभागका मौसमविद् सुदर्शन हुमागाईँका अनुसार आगामी मनसुन ऋतुमा देशका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षाको हुने सम्भावना छ । विभागका अनुसार यस वर्ष कर्णाली प्रदेशका दक्षिणी भूभाग, लुम्बिनी प्रदेशका अधिकांश क्षेत्र, मधेस प्रदेशका पूर्वी भूभाग तथा कोशी प्रदेशका दक्षिणी क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको छ ।

  • उपसभापतिमा गौतम, महामन्त्रीमा आचार्य निर्वाचित, अन्य पदाधिकारीमा कोको ?

    उपसभापतिमा गौतम, महामन्त्रीमा आचार्य निर्वाचित, अन्य पदाधिकारीमा कोको ?

    चितवन, १२ असारः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट महिला उपसभापतिमा सोविता गौतम विजयी भएका छन् । उनले तोसिमा कार्कीलाई २१७ मतको अन्तरले पराजित गरेकी हुन् । उनले उपसभापति पदमा ७८९ मत पाइन् । उनका प्रतिस्पर्धी तोसिमा कार्कीले ५७२ मत पाइन् । महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित भए । उनले ६७३ मत पाए ।


    सोही पदमा उम्मेदवारी दिनुभएका मनिष झाले ३४६ मत, गणेश कार्कीले १६९ मत, सागर ढकालले १३९ मत र रञ्जु दर्शना ३४ मत पाए । पार्टीको केन्द्रीय निर्वाचन आयोगले दिएको जानकारीअनुसार दुई जना सहमहामन्त्रीमा हरि ढकाल र असिम शाह निर्वाचित भए । शाहले ४७१ मत र ढकालले ४०४ मतका साथ निर्वाचित भए ।
    सोही पदका उम्मेदवार पुकार बम ३३४ मत, यज्ञमणि न्यौपानेले ३०० मत, रमेश प्रसाईँले २०७ मत, सुलभ खरेलले २९१ मत, अशोककुमार चौधरीले १७९ मत, मिलन लिम्बूले १५१ मत, राजीव खत्री १४८ मत, विजय जैरु ११४ मत र हिमेश पन्तले ५३ मत प्राप्त गरे ।

    एक जना महिला सहमहामन्त्रीमा निशा डाँगी विजयी भइन् । सहमहामन्त्रीमा डाँगीले ७३७ मत प्राप्त गर्दै विजयी भइन् । सहमहामन्त्रीमा रिमा विश्वकर्मा २८२, कामिनीकुमारी चौधरी १४६ मत, जमुना शर्मा (बिदुसी)ले ८२ मत, जुली यादवले ७८ प्राप्त गरे ।


    यसअघि खुला उपसभापतिमा डा स्वर्णिम वाग्लेको एकल उम्मेदवारी परेसँगै निर्विरोध निर्वाचित भएका थिए । पार्टी सभापतिमा रवि लामिछानेको मात्र उम्मेद्वारी परेको थियो । वरिष्ठ नेता स्वतः प्रधानमन्त्री वालेन्द्र शाह भएका छन् । यसअघि भएको पहिलो चरणको निर्वाचनमा ९९ जना केन्द्रीय सदस्य निर्वाचित हुनुभएको थियो । निर्वाचित भएकाहरूमध्येबाट उम्मेद्वार बनेर छ जना पदाधिकारी निर्वाचित भएका हुन् । निर्वाचित कार्यसमितिलाई आजै शपथ गराइएको छ ।

  • रास्वपा महाधिवेशनका कारण पुनः सर्यो संसद बैठक

    रास्वपा महाधिवेशनका कारण पुनः सर्यो संसद बैठक

    काठमाडौँ, १२ असारः प्रतिनिधिसभाको आगामी बैठक यही असार १४ गते आइतबार ११ः०० बजे बस्ने भएको छ । सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले आज सूचना जारी गरेर बैठक स्थगन भएको जानकारी दिए । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको नियमावली, २०८३ को नियम ६ को ३ बमोजिम बैठकको मिति सारेका हुन् । सत्तारुढ दल रास्वपाको महाधिवेशनका कारण संसद बैठक समेत पटक पटक सरिरहेको छ ।

  • भनेनेजुएला भूकम्पः रुबियोद्वारा ‘छिटो र प्रभावकारी’ सहयोगको प्रतिबद्धता

    भनेनेजुएला भूकम्पः रुबियोद्वारा ‘छिटो र प्रभावकारी’ सहयोगको प्रतिबद्धता

    मनामा, १२ असार (रासस–एएफपी) । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भेनेजुएलामा गएको दुई ठूला भूकम्पमा १६४ जनाको ज्यान गएको घटनामा संयुक्त राज्य अमेरिकाले ‘सम्पूर्ण सरकार स्तर’को सहयोग दिने बताएका छन् । उनले बिहीबार भने, “यो भूकम्पले राजधानी नजिकैका धेरै भवनहरू ध्वस्त बनाएको छ र बासिन्दाहरू हराएका आफन्तहरूको खोजीमा छन्।” रक्षा मन्त्रालयले यहाँ ठूलो व्यवस्थापकीय भूमिका खेल्नुपर्ने छ किनकि उनीहरू अहिले सीमित स्रोत र साधनबीच उद्धार तथा खोजी कार्यलाई अघि बढाइरहेका छन्, चुनौतीपूर्ण अवस्थामा सहयोगको पर्खाइमा छन्,” बहराइनको भ्रमणका क्रममा पत्रकारहरूसँग कुरा गर्दै रुबियोले भने ।


    उनले भने, “हामीले पूर्णरूपमा सरकारको स्तरबाट सहयोग गर्नेछौँ । यो व्यापक हुनेछ, छिटो हुनेछ र प्रभावकारी हुनेछ।” रुबियोले जनवरीमा अमेरिकी सेनाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरेपछि अमेरिकाको स्थिरता प्रयासमा यसको प्रभावबारे आफूले नसोचेको बताए । “अहिले हाम्रो चिन्ता भग्नावशेषमा पुरिएका मानिसहरूको हो। हामी उनीहरूलाई बाहिर निकाल्न मद्दत गर्न चाहन्छौं,” उनले भने । “तीमध्ये केहीका आफन्तहरू अमेरिकामा बस्छन्, तर जे भए पनि संयुक्त राज्य अमेरिकाले विशेषगरी हाम्रो आफ्नै गोलार्धमा सधैँ मानवीय सङ्कटमा सघाएको छ ।”

  • प्रतिनिधिसभाको आजको बैठकमा पाँच विधेयक प्रस्तुत हुने, आर्थिक विधेयक पारित गर्ने कार्यसूची

    प्रतिनिधिसभाको आजको बैठकमा पाँच विधेयक प्रस्तुत हुने, आर्थिक विधेयक पारित गर्ने कार्यसूची

    काठमाडौँ, १२ असारः प्रतिनिधिसभाको आजको बैठकमा पाँच वटा विधेयक प्रस्तुत हुँदैछन् । बैठकमा महालेखा परीक्षकको वार्षिक प्रतिवेदन तथा आर्थिक विधेयक, २०८३ पारित गर्ने कार्यसूची छ । सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार आज दिउँसो १ः०० बजे बस्ने बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले महालेखा परीक्षकको ३९औँ वार्षिक प्रतिवेदन, २०८३ सदनमा पेस गर्नेछन् ।

    त्यसपछि मन्त्री गौतमले सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव राखी उक्त विधेयक सदनमा प्रस्तुत गर्नुहुने कार्यसूची छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ प्रस्तुत गर्नेछन् ।


    बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावसहित सम्बन्धित विधेयक सदनमा पेस गर्ने कार्यसूची छ । बैठकमा आर्थिक विधेयक, २०८३ माथि प्राप्त संशोधनसहित छलफल हुने, संशोधनहरू निर्णयार्थ प्रस्तुत गरिने तथा उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव अर्थमन्त्रीले प्रस्तुत गर्नेछन् ।

    यसैगरी, अर्थमन्त्री वाग्लेले राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । प्राप्त संशोधनहरू निर्णयार्थ प्रस्तुत गरिएपछि उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पनि उनले नै सदनमा प्रस्तुत गर्नुहुने कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

  • रास्वपा महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए

    रास्वपा महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए

    चितवन, १२ असारः राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत ३२ जना केन्द्रीय सदस्यले प्राप्त गरेको मत सार्वजनिक भएको छ । निर्वाचन आयोगका अनुसार खुलातर्फ स्वर्णिम वाग्लेले सर्वाधिक दुई हजार ६५६ मत प्राप्त गरे । खुलातर्फ सोविता गौतम दुई हजार ६४१, शिशिर खनाल दुई हजार ५३८, सागर ढकाल दुई हजार ३७६, डा तोसिमा कार्की दुई हजार ३०२, रञ्जु दर्शना दुई हजार २९३, मनिष झाले दुई हजार २८१, हरि ढकालले दुई हजार २६२, कविन्द्र बुर्लाकोटीले दुई हजार २२७, विपिनकुमार आचार्यले दुई हजार १६९, रमेश प्रसाईँले दुई हजार १६६ र निशा डाँगीले दुई हजार १३२ भोट पाए ।


    यसैगरी, विराजभक्त श्रेष्ठले दुई हजार १२३, इन्दिरा राना मगरले दुई हजार ९०, गणेश पराजुलीले दुई हजार ८७, पुकार बमले दुई हजार ७०, जगदीश खरेल (ललितपुर)ले दुई हजार ६५, शुलभ खरेलले दुई हजार ४३, यज्ञमणि न्यौपानेले एक हजार ९०३, प्रमोद न्यौपानेले एक हजार ८९२, सस्मित पोखरेलले एक हजार ८६४ र रिमा विश्वकर्माले एक हजार ८४५ मत प्राप्त गरेको आयोगले जनाएको छ ।

    उम्मेदवार रघुराज पाण्डेले एक हजार ८४०, राजीव खत्रीले एक हजार ७४५, समीक्षा बास्कोटाले एक हजार ७३९, गणेश कार्कीले एक हजार ७३४, खगेन्द्र सुनारले एक हजार ७३३, अशिम शाहले एक हजार ७३०, हिमेश पन्तले एक हजार ६५०, जगदीश खरेल ९दोलखा०ले एक हजार ५५२, गीता चौधरीले एक हजार ५३७ तथा लिमा अधिकारी आचार्यले एक हजार ५३६ मत प्राप्त गरे ।

    यसैगरी, समावेशी समूहअन्तर्गत खस आर्यबाट १० जना, आदिवासी जनजातिबाट नौ जना, थारुबाट दुई जना, मधेसीबाट पाँच जना, दलितबाट चार जना, मुस्लिमबाट दुई जना तथा सातै प्रदेशबाट पाँच–पाँच जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।

  • पोपद्वारा भेनेजुएलालाई एक लाख युरो सहायता

    पोपद्वारा भेनेजुएलालाई एक लाख युरो सहायता

    भ्याटिकन सिटी, १२ असार (रासस–एएफपी) । पोप लियो चौधौँले भूकम्प प्रभावित भेनेजुएलालाई ‘प्रारम्भिक’ आपतकालीन सहायताको रूपमा एक लाख युरो (करिब एक लाख १४ हजार अमेरिकी डलर) पठाएको भ्याटिकनले बिहीबार जनाएको छ । यो रकम पोपको परोपकारी कार्य र कठिनाइमा परेका जनतालाई सहायता पु¥याउने भ्याटिकनको कार्यालय एपोस्टोलिक अल्मोन्री बाट उपलब्ध गराइएको हो। “यो ‘प्रारम्भिक रहयोग’ ले आपतकालीन राहत प्रयासहरूलाई सहयोग गर्नेछ,” भ्याटिकनको आधिकारिक समाचार वेबसाइट भ्याटिकन न्यूजले भनेको छ ।

    भेनेजुएलामा बुधबार राति ७।२ र ७।५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्पसहितका सयौँ पराकम्पन गएका छन् । अहिलेसम्मको प्रारम्भिक तथ्याङ्कअनुसार कम्तीमा १६४ जनाको मृत्यु भएको छ । अर्थतन्त्र र सामाजिक सङ्कटबाट पहिले नै कमजोर भइसकेको भेनेजुएलालाई क्युबा, इरान, इटाली, संयुक्त राज्य अमेरिका र युरोपेली सङ्घलगायत धेरै देशहरूले सहयोगको प्रस्ताव गरेका छन् ।

  • ओपेकलाई उत्पादन कोटा बढाउन बग्दादको आग्रह

    ओपेकलाई उत्पादन कोटा बढाउन बग्दादको आग्रह

    बग्दाद, १२ असार (रासस–एएफपी) । बग्दादले तेल उत्पादक राष्ट्रहरूको समूह (ओपेक) लाई इराकको तेल उत्पादन कोटा बढाउन आग्रह गरेको इराकको पेट्रोलियम पदार्थमामिला हेर्ने मन्त्रालयले बिहीबार बताएकोे छ। यसमा देशको तेल उद्योगलाई इतिहासका द्वन्द्वहरू र हालको क्षेत्रीय युद्धले पु¥याएको क्षतिलाई ध्यानमा राखिएको छ । अन्य तेल उत्पादक देशहरू जस्तै, ओपेकको संस्थापक सदस्य इराक पनि मध्यपूर्व युद्धबाट निकै प्रभावित भएको छ । इराकको अर्थतन्त्र अत्यधिक तेल निर्यातमा निर्भर छ, जसले देशको बजेटको आम्दानीको स्रोतको करिब ९० प्रतिशत हिस्सा ओगट्छ ।

    इराकको इन्धन मन्त्रालयले सदस्य देशहरूको ‘दिगो उत्पादन क्षमतासँग उत्पादन आधार रेखालाई मिलाउन’ पुनरावलोकन गर्नुपर्ने बताएको छ । यसमा ‘इराकको विशेष सुरक्षा तथा आर्थिक परिस्थितिलाई’ समेत ध्यान दिइनुपर्ने उल्लेख छ । मन्त्रालयले ओपेकले ‘सदस्य देशहरूको क्षमता पुनरावलोकन प्रक्रिया’ सुरु गरेको बताएको छ । इराक ओपेकबाट बाहिरिने सम्भावनाका समाचारहरू आएपछि तेल मन्त्रालयका प्रवक्ता सलीम अल–रिकाबीले एएफपीसँग भन्नुभयो, “इराकले सङ्गठनबाट बाहिरिने कुनै योजना बनाएको छैन र यसका संयन्त्रहरूप्रति प्रतिबद्ध छ।”

    उहाँले थप्नुभयो, “ओपेकले इराकको उत्पादन कोटा बढाउनै पर्छ । अन्यथा, सङ्गठनमा बस्ने वा छोड्ने बारे निर्णय लिनुपर्नेछ।” उहाँका अनुसार इराकले आफ्नो क्षमता र आवश्यकता अनुसार उत्पादन बढाउन थालेको छ । मन्त्रालयले ‘इराकले ओपेकको सदस्यता समाप्त गर्ने विचार गरिरहेको’ समाचारहरूले सरकारको आधिकारिक धारणालाई प्रतिबिम्बित नगर्ने स्पष्ट गरेको छ ।

    मे महिनामा संयुक्त अरब इमिराट्स ९युएई० ले ‘राष्ट्रिय हित’ र अर्थतन्त्रलाई भविष्यप्रति सुरक्षित बनाउने योजनाका कारण ओपेकबाट बाहिरिएपछि इराकको बाहिरिने सम्भावनाले ओपेकलाई थप कमजोर बनाउन सक्नेछ । इराकको मन्त्रालयले कुनै पनि परिवर्तन ओपेकको विद्यमान ढाँचाभित्र नै गरिने बताएको छ । तर दशकौँदेखिका युद्ध, प्रतिबन्ध र मध्यपूर्व युद्धका क्रममा क्षेत्रमा भएका आक्रमणपछि सदस्यहरूबीच इराकको अवस्थाप्रति ‘उच्च समझदारी’ रहेको उल्लेख गरेको छ।

    यी सबै चुनौतीहरूलाई विचार गरी ‘इराकी तेल उत्पादनलाई न्यायोचित स्तरमा पु¥याउने’ सुनिश्चित गरिने बताइएको छ । मध्यपूर्व युद्ध र इरानले हर्मुज जलडमरू खण्डमा लगाएको नाकाबन्दीले आपूर्ति अवरुद्ध गर्दा इराकसहित प्रमुख तेल उत्पादक देशहरूमा उत्पादन कटौती भएको थियो, जसले विश्व ऊर्जा बजारलाई प्रभावित पारेको थियो । यो प्रभाव अहिले पनि देखिएको छ। युद्धका क्रममा इराकका केही तेल क्षेत्रमा मुख्य रूपमा इरान समर्थक सशस्त्र समूहहरूले पठाएका ड्रोनबाट हमला भएका थिए।

    युद्धअघि इराकले दैनिक करिब ४० लाख ब्यारेल तेल उत्पादन गथ्र्यो र दैनिक औसत ३५ लाख ब्यारेल निर्यात गथ्र्यो, जसमध्ये अधिकांश हर्मुज हुँदै हुन्थ्यो। वाशिङटन र तेहरानबीच युद्ध समाप्त गर्ने सम्झौतापछि इराकले अब दुई महिनाभित्र आफ्नो पुरानो उत्पादन स्तरमा फर्किने आशा गरेको छ।एक पूर्व तेल मन्त्रालयका अधिकारीले नाम उल्लेख नगर्ने शर्तमा इराकको ओपेकबाट बाहिरिने कदमको विरोध गर्नुभयो । उहाँले भन्नुभयो, “बाहिरिने कदमले इराकको हितमा काम गर्दैन, किनकि यो पूर्ण रूपमा तेल व्यापारमा निर्भर छ।”

    रिस्टाड इनर्जीका विश्लेषक जर्ज लियोनले भन्नुभयो, “मलाई लाग्छ, इराकसँग ओपेक छोड्ने वास्तविक प्रोत्साहन छ।” बदलामा उनले भने, इराकले समूहले हाल गरिरहेको “क्षमता पुनरावलोकन अभ्यास” मा दबाब दिन खोजेको हुन सक्छ, जुन सन् २०२७ को कोटाको आधार बन्नेछ।

  • लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस आज

    लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस आज

    काठमाडौँ, १२ असारः आज लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस हो । लागुऔषधले समाजमा पारिरहेको गम्भीर असरबारे चेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ यो दिवस मनाइँदै छ ।

    राष्ट्रसङ्घको महासभाले सन् १९८७ डिसेम्बर ७ मा एक प्रस्ताव पारित गरी हरेक वर्ष जुन २६ मा यो दिवस मनाउन प्रारम्भ भएको हो । लागुऔषध दुरुपयोगमुक्त अन्तरराष्ट्रिय समाज निर्माण गर्ने लक्ष्यका साथ अन्तरराष्ट्रिय सहयोग र साझा प्रयासलाई सुदृढ बनाउने प्रतिबद्धताका रूपमा यो दिवस मनाइन्छ ।

    संयुक्त राष्ट्रसङ्घका अनुसार पछिल्ला दशकमा विश्वभर लागुऔषधको प्रयोग र बजारमा उपलब्ध लागुऔषधको सङ्ख्या निरन्तर बढिरहेको छ । कोकिनको उत्पादन, बरामद र प्रयोगमा पनि वृद्धि भइरहेको छ भने कम लागतमा उत्पादन गर्न सकिने तथा पत्ता लगाउन कठिन हुने कृत्रिम लागुऔषधको अवैध कारोबार पनि विस्तार भइरहेको छ ।
    तस्बिरः संयुक्त राष्ट्रसङ्घ

  • विश्वकप फुटबल : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

    विश्वकप फुटबल : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

    काठमाडौँ १२ असार । जर्मनीलाई हराउँदै इक्वेडर फिफा विश्वकप फुटबल प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको छ । अमेरिकाको न्युयोर्क न्यु जर्सी स्टेडियममा आज भएको खेलमा जर्मनीलाई २–१ को गोल अन्तरले पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश गरेको हो । खेलमा पहिलो अग्रता भने जर्मनीले लिएको थियो ।

    खेल सुरु भएको दोस्रो मिनेटमा लेरोय सानेले गोल गरेपछी जर्मनीले अग्रता लिएको हो । त्यसपछि खेलको नवौँ मिनेटमा इक्वेडरका निल्सन एङ्गुलोले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । खेलको दोस्रो हाफको ७७ औँ मिनेटमा इक्वेडरका अर्का खेलाडी लियोगोन्जालो प्लाटाले गोल गर्दै इक्वेडरलाई अग्रता दिलाए । त्यसपछि खेलमा थप गोल हुन सकेन र इक्वेडरले जर्मनीमाथि जित निकाल्यो ।

    यसैबीच आजै भएको यसै समुहको अर्को खेलमा कुरासाओसँग जित निकाल्दै आइभरी कोस्टले नकआउट चरणको यात्रा सुनिश्चित गरेको छ ।

    आइभरी कोस्टले कुरासाओविरुद्ध २–० गोलअन्तरको जित निकालेको हो । खेलमा आइभरी कोस्टका लागि दुवै गोल निकोलस पेपेले गरे । उनले खेलको सातौँ मिनेट र ६४ औँ मिनेटमा गोल गरेका हुन् ।

    समूह ‘इ’ मा इक्वेडरसँग पराजित भएको जर्मनी छ अङ्क जोड्दै विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ भने समान अङ्क बनाएको आइभोरी कोस्ट गोलअन्तरका आधारमा उपविजेता बन्दै नकआउटमा प्रवेश गरेको छ । त्यस्तै इक्वेडर पनि तेस्रो भएका टोलीमध्ये उत्कृष्ट ८ मा पर्दै नकआउट चरणमा पुगेको छ । इक्वेडरले चार अङ्क बनायो । एक अङ्क जोडेको कुरासाओ भने प्रतियोगिताबाट बाहिरिएको छ ।

  • जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

    जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

    टिकाराम सुनार–रासस

    सुदूरपश्चिम, १२ असारः माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी जब कैलालीको चिसापानी पुग्छ, तब एक छिन आफ्नै सौन्दर्य नियाल्न रोकिएझैँ लाग्छ । नदीमाथि एक खम्बामा उभिएको चिसापानी पुल हावासँगै हल्लिँदा प्रकृति र प्रविधिबीचको अद्भुत संवाद झल्किन्छ । नदीको सुसेली, वरिपरिका हरिया डाँडा र पुलको दृश्यले त्यसमा सौन्दर्य थप्छन्, यसले यहाँ पुग्ने जोकोही सजिलै मोहित हुन्छन् ।

    चिसापानीको सानो भूगोलमात्रै होइन, प्रकृतिले सुदूरपश्चिमलाई धेरै दिएको छ, तर वर्षौँदेखि ती उपहारहरू सम्भावनाको सीमाभित्रै कैद छन् । त्यसैले यहाँ दशकौँदेखि एउटा प्रश्न अनुत्तरित छ– के यहाँका प्राकृतिक सम्पदा कहिल्यै समृद्धिको आधार बन्न सक्छन् रु पछिल्ला दिनमा भने सरकारी तथा निजी क्षेत्रबाट त्यसको उत्तर दिन केही प्रयास सुरु भएका छन् । तिनै प्रयासमध्येको एक महत्त्वकाङ्क्षी परियोजना हो– जालपादेवी केबलकार ।

    कैलालीको लम्कीचुहा नगरपालिका–३ चिसापानीदेखि मोहन्याल गाउँपालिका–७ राजकाँडा क्षेत्रमा केबलकार र यस परियोजनाअन्तर्गत विभिन्न पूर्वाधार बन्दैछन् । आइएमई समूहको मुख्य लगानीमा बन्न लागेको यस परियोजनालाई सुदूरपश्चिमको पर्यटन र आर्थिक विकासका लागि महत्त्वपूर्ण पूर्वाधारका रूपमा हेरिएको छ । विभिन्न चरणमा गरी करिब रु छ अर्ब लगानी अनुमान गरिएको परियोजनामा तीन दशमलव एक किलोमिटर लामो केबलकार, होटल, रेष्टुरेन्ट, स्काइवाक, पार्क, पदमार्ग तथा अन्य पर्यटकीय पूर्वाधार निर्माण भइरहेका छन् ।

    यस परियोजनाले सुदूरपश्चिमको आर्थिक भविष्यको ‘जग’ हाल्नुका साथै चिसापानीलाई नेपालकै आकर्षक पर्यटन गन्तव्यका रूपमा स्थापित गर्ने धेरैको विश्वास छ । त्यसैले यसलाई एउटा पूर्वाधारमात्र होइन, सुदूरपश्चिमको पर्यटन, रोजगारी र आर्थिक विकाससँग जोडिएको ठूलो सपनाका रूपमा हेर्ने गरिएको छ ।

    नेपाल उद्योग वाणिज्य महासङ्घ सुदूरपश्चिमका अध्यक्ष पुष्पराज कुवँर यति ठूलो निजी लगानीको पर्यटन आयोजनालाई ऐतिहासिक अवसरका रूपमा लिनुपर्ने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “सुदूरपश्चिममा यति ठूलो निजी लगानीको पर्यटन आयोजना निर्माण हुनु आफैँमा ऐतिहासिक छ । केबलकार सञ्चालनमा आएपछि होटल, यातायात, कृषि, व्यापार र सेवा क्षेत्र सबैले प्रत्यक्ष लाभ पाउनेछन् ।”

    त्यसैगरी, टीकापुर र लम्की उद्योग वाणिज्य सङ्घका अध्यक्ष सन्तोष खड्का र पदमराज चौलागाईँ पनि सुदूरपश्चिम क्षेत्रमा आएको यो ठूलो लगानीको आयोजना प्रदेशवासीकै गौरव हो भन्दै यसले प्रदेशमा थप लगानी आकर्षित गर्नका लागि ठूलो मद्दत पुग्ने धारणा राख्नुहुन्छ ।

    गोण्डोलासँगै झुल्नेछन् समृद्धिका सपना

    करिब एक दशकअघि स्थानीय व्यवसायीहरूले चिसापानी क्षेत्रमा पर्यटन पूर्वाधार विकास गर्ने महत्वाकाङ्क्षी सपना देखेका थिए । त्यो सपनासँग विभिन्न क्षेत्रका ९९ जना व्यवसायी जोडिएका थिए । विभिन्न कारणले लामो समयसम्म अघि बढ्न नसकेको उक्त योजना आइएमई समूहको सहभागितापछि निर्माणको चरणमा पुगेको हो । यो परियोजना २०८१ साल पुुस १३ मा शिलान्यास भई गत वर्ष असारमा निर्माण सुरु भएको थियो ।

    आयोजनाका इन्जिनियर विजय पौडेलका अनुसार परियोजनाको निर्माणकार्य हाल तीव्रगतिमा अघि बढिरहेको छ । हाल यहाँ पोल ठड्याउने, बटम तथा टप स्टेशन निर्माणलगायतका काम अन्तिम चरणमा छन् । त्यसपछि तार तान्ने र गोण्डोला जडान गर्ने प्राविधिक प्रक्रिया अघि बढ्नेछ ।

    “हामी तोकिएकै समयमा आयोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम गरिरहेका छौँ । आगामी असोजसम्म परियोजना सञ्चालनमा ल्याउने तयारी छ । सो लक्ष्यसहित प्रथम चरणका काम धमाधम गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “पोल ठड्याउने ९इरेक्सन०, बटम तथा टप स्टेशन निर्माणको काम सम्पन्न हुने क्रममा छ । त्यसलगत्तै तार तान्ने ९स्ट्रिङगिङ० र गोण्डोलाहरू जडान गर्ने प्राविधिक काम अगाडि बढ्नेछन् ।”

    हाल टप स्टेशनमा होटल, रेष्टुरेन्ट, पार्क, जालपादेवी मन्दिर, स्काई वाक, वाकिङ ट्रेल तथा अन्य पर्यटकीय संरचना निर्माण भइरहेका छन् भने बटम स्टेशनमा पाँचतारे होटल, ब्यान्क्वेट हल र अन्य सुविधायुक्त संरचना तयार हुँदैछन् । इन्जिनियर पौडेल भन्नुहुन्छ, “यहाँ निर्माण भइरहेका पूर्वाधारले यस क्षेत्रलाई देशकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्नेछन् ।”

    लम्कीचुहा उद्योग वाणिज्य सङ्घका अध्यक्ष दीपक तिमिल्सेना करिब १३ वर्षअघिको सपनाले साकार रूप लिन थालेकाले स्थानीय क्षेत्रमा उत्साह थपिएको बताउनुहुन्छ । केवलकार परियोजना सञ्चालनमा आए कैलालीको अत्यधिक गर्मीबाट जोगिन शीतलता खोज्ने रैथाने नागरिक र बाह्य पर्यटक दुवैका लागि राजकाँडा एउटा उत्कृष्ट ‘हिल स्टेसन’ बन्ने उहाँको भनाइ छ । यहाँ निर्माण हुने सुविधासम्पन्न पूर्वाधारले पर्यटकको बसाइँ लम्ब्याउन, खर्च बढाउन र स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन कोशेढुङ्गाको काम गर्ने तिमिल्सेनाको विश्वास छ ।

    पर्यटन र अर्थतन्त्र सुधारको आधार

    हाल चिसापानी क्षेत्रमा चिसापानी पुलबाहेक धेरै पूर्वाधार छैनन्, तथापि दैनिकजसो करिब पाँचदेखि सात सय आन्तरिक पर्यटक पुल हेर्नकै लागि यहाँ आउने गरेका जानकारहरू बताउँछन् । यसरी आउने अधिकांश पर्यटक केही घण्टा बिताएर फर्किने गरेका छन्, तर नयाँ संरचना सञ्चालनमा आएमा उनीहरूको बसाइँ लम्बिने र यसबाट स्थानीयस्तरमा आर्थिक अवसरका ढोका खोल्ने पर्यटन व्यवसायी देवराज जैशीको विश्वास छ ।

    यहाँ निर्माण हुने केबलकारले चिसापानीलाई राजकाँडासँग जोड्नेछ, तर यसको प्रभाव केबल केही मिनेटको यात्रामा सीमित रहने छैन । यहाँ निर्माण हुने पूर्वाधारले राजकाँडालाई नयाँ पर्यटकीय केन्द्रका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ । त्यसका लागि बर्दिया राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी, र्‍याफ्टिङ ९जलपर्यटन० लगायत साहसिक पर्यटनलाई ‘प्याकेज’कै रूपमा विकास गरिनुपर्ने व्यवसायी जैसीको सुझाव छ ।

    “राज्यले पनि अब गन्तव्य सुदूरपश्चिमको नीतिअनुसार काम गर्नुपर्छ । यहाँका सम्भावनालाई एउटा प्याकेजमा जोडेर विकास गर्न सकिए कर्णाली चिसापानीबाट समृद्धिको नयाँ यात्रा तय गर्न सकिन्छ । त्यसको आधारका रूपमा केबलकार र त्यससँग जोडिएका संरचनालाई लिन सकिन्छ”, उहाँ भन्नुहुन्छ ।

    पर्यटन विकासको सबैभन्दा ठूलो लाभ स्थानीय समुदायले पाउनुपर्छ भन्ने मान्यता छ । होटल व्यवसायी टङ्क पराजुली जालपादेवी केबलकार परियोजना सञ्चालनमा आए स्थानीयस्तरमा रोजगारीका अवसर सृजनामा टेवा पुग्ने बताउनुहुन्छ । “परियोजना सञ्चालनमा आए निश्चय पनि यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्ने छ, जसले राजकाँडा र आसपासका गाउँमा उत्पादित सामग्रीले बजार पाउनेछन् । यसले किसानलाई उत्पादन बढाउन र युवालाई उद्यमशीलतातर्फ आकर्षित गर्न सहयोग पुर्याउनेछ । त्यसैले यस्ता परियोजनाहरू हाम्रो क्षेत्रमा बन्नु निकै खुसीको कुरा भएकाले नै स्थानीयहरूमा पनि यस्ता आयोजना साझा सम्पत्ति हुन् भन्ने भावना जागृत हुनु आवश्यक छ”, उहाँले भन्नुभयो ।

    रोजगारीका नयाँ ढोका

    सुदूरपश्चिमका धेरै युवाको रोजगारीको अन्तिम विकल्प अझै भारत वा खाडी मुलुक हुन् । गाउँका खाली हुँदै गएका घर, वृद्धवृद्धा र बालबालिकामा सीमित हुँदै गएको सामाजिक संरचनाले यही यथार्थ बोलिरहेको छ, तर जालपादेवी केबलकार परियोजनाले त्यो प्रवृत्तिलाई केही हदसम्म रोक्न सक्ने स्थानीयको आशा छ ।

    केबलकार सञ्चालनसँगै होटल, रिसोर्ट, रेष्टुरेन्ट, यातायात, मनोरञ्जन तथा सेवा क्षेत्र विस्तार हुनेछन् । ती गतिविधिबाट प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा हजारौँ रोजगारी सृजना हुने व्यवसायी कालु हमालको अपेक्षा छ ।

    “हालसम्म एउटा पुल छ, अब केबलकारलगायत पूर्वाधार थपिने भए । त्यसले पर्यटकको आकर्षण बढाउने छ । साहसिक पर्यटकका लागि जलपर्यटन, धार्मिक आस्था राख्नेका लागि जालपादेवी र वातानुकूलित मौसममा रमाउनेका लागि यहाँ तमाम विकल्प छन्”, उहाँ भन्नुहुन्छ, “यहाँबाट काठमाडौँ छ सय किलोमिटर छ, तर दिल्ली चार सय मात्रै । धेरै जनसङ्ख्या भएका भारतका विभिन्न स्थानबाट समेत पर्यटक आउने वातावरण बनाएर केबलकारलाई केन्द्रमा राखेर कर्णाली नदीको किनारैकिनार नयाँ सम्भावना स्थापित गर्न सकिन्छ, जसले स्थानीयस्तरमा रोजगारीका धेरै अवसर सृजना गर्नेछ ।”

    राजकाँडा क्षेत्रतर्फमात्र नभई कणाली नदीको तीन–चार सय किलोमिटर क्षेत्रमै पर्यटनका नयाँ सम्भावना खोज्न सकिने भएकाले सरकारले सार्वजनिक जग्गाको व्यावसायिक उपयोग र व्यवसायीले एकीकृत प्याकेज बनाएर विकासमा लाग्नुपर्ने हमालको सुझाव छ ।

    बसेरा थारू होमस्टे बल्चौरका अध्यक्ष किशोर थारू पर्यटकको आगमनसँगै घरमै पाहुँनाको स्वागत गरी आर्थिक लाभ लिने अवस्था बन्नेमा आफू विश्वस्त रहेको बताउनुहुन्छ । “केवलकार सञ्चालनमा आएपछि हाम्रा रैथाने सीप, सभ्यता र संस्कारको प्रचारप्रसार गर्दै आर्थिक लाभ लिन सहज हुनेछ । स्थानीय कृषिउपज, हस्तकला, होटल व्यवसाय र साना उद्यमले नयाँ जीवन पाउनेमा हामी आशावादी छौँ”, उहाँ भन्नुहुन्छ ।

    परियोजनाका लागि यहाँको भूगोल महत्त्वपूर्ण छ । खुला सीमा, सहज सडक सञ्जाल र विशाल भारतीय बजारको निकटताले यस क्षेत्रलाई अन्तरदेशीय पर्यटन केन्द्रका रूपमा विकास गर्न सक्ने सम्भावना छ । भारतसँगको खुला सीमा, निकट बजार र सहज यातायात पहुँचका कारण यस क्षेत्रको सम्भावना निकै ठूलो छ । उत्तराखण्ड र उत्तरप्रदेशजस्ता दुई ठूला भारतीय राज्यसँग हाम्रो प्रत्यक्ष पहुँच छ, जहाँ २७ करोडभन्दा बढी जनसङ्ख्या बसोबास गर्छ । दिल्ली, लखनऊ, बरेली, देहरादुनलगायतका सहरबाट सडकमार्ग हुँदै सहज रूपमा यहाँ पुग्न सकिन्छ । स्थानीय व्यवसायी एवं नागरिकहरू भने परियोजनाको प्रचारप्रसार व्यापक मात्रामा गर्नुपर्ने र यसबाट बहुआयामिक लाभ लिन सकिने सुझाव दिन्छन् ।

    कञ्चनपुरको गड्डाचौकी ९१२५ किमी०, कैलालीको गौरीफन्टा ९करिब ८८ किमी० र बाँकेको रूपैडिहा नाका ९९३ किमी० बाट सहज सडक पहुँच भएकाले यो क्षेत्र सीमावर्ती भारतीय पर्यटकका लागि पनि आकर्षक गन्तव्य बन्न सक्ने देखिन्छ । यस्तै, टीकापुरस्थित सत्ति छोटी भन्सार र तीकुनिया क्षेत्र पनि नजिकै रहेकाले विशेषगरी गर्मी मौसममा राहत खोज्ने भारतीय पर्यटकका लागि राजकाँडाको शीतल वातावरण, कर्णाली नदीको मनोरम दृश्य, रोमाञ्चक केबलकार यात्रा र धार्मिक पर्यटन विशेष आकर्षण बन्न सक्छ ।

    चिसापानी भौगोलिक रूपमा सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको सङ्गमस्थलजस्तै छ । लामो समयदेखि पथप्रदर्शकको रूपमा काम गर्दै आउनुभएका बर्दियाका राजन चौधरी कर्णाली क्षेत्र मनोरञ्जन, जङ्गल सफारी, जलपर्यटन र धार्मिक आस्था राख्ने सबै किसिमका पर्यटकका लागि उपयुक्त गन्तव्य रहेको र केवलकार सञ्चालनले त्यसमा थप आकर्षण थप्ने बताउनुहुन्छ ।

    “पछिल्लो समय नेपालीहरूमा पनि नयाँ ठाउँ जाने र रमाउने बानीको विकास भइरहेको छ । करिब दुईतीन घण्टाको दूरीमा भारतका ठूलो जनसङ्ख्या भएका क्षेत्र चिसापानीसँग जोडिन सहज सडक सञ्जाल छ । उत्तराखण्डका बनबासा, खटीमा, हल्द्वानी र रुद्रपुरजस्ता सहरबाट पनि सडकमार्ग हुँदै केही घण्टामै चिसापानी पुग्न सकिन्छ । त्यहाँबाट आउने पर्यटकको सानो अंशमात्रै आकर्षित गर्न सकियो भने पनि पर्यटनमार्फत सुदूरपश्चिमको अर्थतन्त्रमा ठूलो परिवर्तन टेवा पुग्न सक्छ । जालपादेवी केबलकार त्यसको एउटा बलियो आधार बन्दैछ”, उहाँले भन्नुभयो ।

    समृद्धिको भावी मार्गचित्र र बहुप्रादेशिक लगानी

    जालपादेवी केबलकार प्रालि तथा आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकाल यसलाई केवल पर्यटन परियोजना नभई आर्थिक रूपान्तरणको माध्यमका रूपमा हेर्नुपर्ने बताउनुहुन्छ । यस आयोजनाले सुदूरपश्चिमको विकासमा पार्ने बहुआयामिक आर्थिक तथा सामाजिक प्रभावबारे उहाँ भन्नुहुन्छ, “नेपालमा पर्यटन पूर्वाधारमा लगानी विस्तार गर्न सकेमात्र पर्यटकको सङ्ख्या बढाउन, उनीहरूको बसाइ लम्ब्याउन र स्थानीय अर्थतन्त्रलाई मजबुत बनाउन सकिन्छ । त्यसलाई मध्यनजर गरी बनाउन लागिएको यो आयोजना सुदूरपश्चिमको आर्थिक समृद्धिको संवाहक बन्नेछ भन्नेमा हामी विश्वस्त छौँ ।”

    अध्यक्ष ढकालका अनुसार जालपादेवी केबलकार देशभर पर्यटन पूर्वाधार विस्तार गर्ने दीर्घकालीन सोचको एक महत्त्वपूर्ण अध्याय हो । “हाम्रो लक्ष्य एउटा परियोजनामा सीमित रहने होइन, सातै प्रदेशमा यस्तै खालका ठूला पर्यटन पूर्वाधार विकास गर्ने हो । सोही रणनीतिक योजनासहित अघि बढिरहेका छौँ । यसले समग्र देशकै आर्थिक रूपान्तरणमा योगदान पुर्याउनेछ”, उहाँले भन्नुभयो ।

    वर्षौँदेखि सम्भावनाको रूपमा मात्र चर्चा हुँदै आएका कर्णाली किनारका प्राकृतिक र सांस्कृतिक सम्पदालाई अब जालपादेवी केबलकारले आर्थिक अवसरमा रूपान्तरण गर्ने अपेक्षा गरिएको छ । चिसापानी पुल, कर्णाली नदी र राजकाँडाको प्राकृतिक सौन्दर्यलाई एउटै पर्यटकीय परिपथमा जोड्ने यो परियोजनाले सुदूरपश्चिमको पर्यटन सम्भावनालाई नयाँ उचाइ दिने यहाँका उद्योगी व्यवसायीको विश्वास छ ।

  • जापान र स्विडेन नकआउट चरणमा

    जापान र स्विडेन नकआउट चरणमा

    काठमाडौँ, १२ असारः विश्वकप फुटबलअन्तर्गत आज बिहान भएको जापान र स्विडेनबीचको खेल १–१ गोलको बराबरीमा टुङ्गिएको छ । यससँगै दुवै टोलीे नकआउट चरणमा प्रवेश गरेका छन् । खेलको ५६औँ मिनेटमा दाइजेन माएदाले गोल गर्दै जापानलाई सुरुआती अग्रता दिलाएका थिए । प्रतिस्पर्धां प्रारम्भ भएको ६२ औँ मिनेटमा स्वीडेनका एन्थोनी एलान्गाले गोल गर्दै खेललाई बराबरीमा पुर्याएका हुन् । जापान ५ र स्वीडेन ४ अङ्कसहित नकआउट चरणमा प्रवेश गरेको हो ।

  • मनसुनको प्रभाव सीमित, तराईका केही क्षेत्रमा तातो हावा चल्ने पूर्वानुमान

    मनसुनको प्रभाव सीमित, तराईका केही क्षेत्रमा तातो हावा चल्ने पूर्वानुमान

    काठमाडौँ, १२ असारः हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको पूर्वी भेगमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भागमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका हिमाली र पहाडी क्षेत्रमा सामान्यतया बदली रहेको छ भने तराईमा आंशिक बदली छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

    आज दिउँसो देशका हिमाली र पहाडी भाग तथा कोशी प्रदेशको तराईमा सामान्यतया बदली रहनेछ । मधेस प्रदेश तथा बागमती र गण्डकी प्रदेशको तराईमा आंशिक बदली रहने तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईमा मुख्यतया मौसम सफा रहने छ । देशका हिमाली र पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ । कोशी प्रदेशका तराईका तथा मधेस प्रदेशका केही स्थानमा, बागमती र गण्डकी प्रदेशका तराईका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

    यसैगरी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा तातो हावा तथा बागमती र गण्डकी प्रदेशका तराईका केही स्थानमा तापक्रम बढ्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका साथै कोशी प्रदेशका तराई र मधेस प्रदेशमा सामान्यतया बदली रहनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्र तथा बागमती र गण्डकी प्रदेशको तराईमा आंशिक बदली रहने छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईमा मुख्यतया मौसम सफा रहने छ ।

    आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही तथा लुम्बिनी प्रदेशका हिमाली एवं पहाडी क्षेत्रका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । कोशी प्रदेशका तराई तथा मधेस प्रदेशका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    महाशाखाले तातो हावा चल्ने र तापक्रम वृद्धि हुने पूर्वानुमान गरिएका स्थानका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ । साथै महाशाखाका मौसमसम्बन्धी सूचनामा अद्यावधिक रहन पनि अनुरोध गरिएको छ ।

  • फिफा’को निलम्बनपछि नेपाली फुटबल अन्यौलमा

    फिफा’को निलम्बनपछि नेपाली फुटबल अन्यौलमा

    मुना कार्की–रासस
    काठमाडौँ, ११ असारः विश्वसँगै नेपालको सहरदेखि गाउँगाउँसम्म विश्वकप फुटबल प्रतियोगिता २०२६ को चर्चा चलिरहँदा यतिबेला नेपाली फुटबल क्षेत्रमा भने अन्यौलता छाएको छ । अन्तरराष्ट्रिय फुटबल महासङ्घ ९फिफा०ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई निलम्बन गरेसँगै नेपाली फुटबल क्षेत्रमा अन्यौलता छाएको हो ।

    फिफा काउन्सिल ब्युरोले फिफा विधानको धारा १४ बमोजिम एन्फालाई अर्को सूचना जारी नहुँदासम्मका लागि निलम्वन गर्ने निर्णय गरेको छ । एन्फाको निर्वाचन प्रक्रिया, राष्ट्रिय खेलकुद परिषद्का निर्णयहरू तथा सरकारी निकायको हस्तक्षेप भएको भन्दै फिफाले विस्तृत समीक्षा गरेको थियो । राष्ट्रिय फुटबल सङ्घहरु स्वतन्त्र रुपमा सञ्चालन हुनुपर्ने र कुनै पनि सरकारी वा बाह्य निकायको हस्तक्षेप हुन नहुने फिफाको मान्यता छ ।

    विसं २०७९ असार ६ गते निर्वाचित पङ्कजविक्रम नेम्वाङको वर्तमान कार्यसमितिले समयअगावै निर्वाचनको मिति सार्वजनिक गरेपछि एन्फाभित्र विभिन्न विवाद हँुदै आएको थियो । वर्तमान कार्यसमितिले बहुमतका आधारमा गत पुस १६ गते जिल्ला र प्रदेशको निर्वाचन नैै नगरी गत चैत १३ गते केन्द्रीय निर्वाचनको मिति सार्वजनिक गरेपछि विवाद झन लम्बिएको थियो ।

    यस विषयमा फिफा र एएफसीले कुनै आपत्ति नजनाएपछि एन्फाले जबर्जस्ती चुनावी प्रक्रिया अगाडि बनाउने कोसिस ग¥यो । यही विवादबीच सरकारको नियमनकारी निकाय राष्ट्रिय खेलकुद परिषद्ले विधानविपरीत भएको भन्दै निर्वाचन प्रक्रिया रोक्नका लागि निर्देशनसमेत दियो । त्यसबीच एन्फाका केही कार्यसमिति सदस्यहरूले निर्वाचन प्रक्रियाविरुद्ध उजुरी दिएका थिए । यसै क्रममा पाटन उच्च अदालतले निर्वाचन गतिविधि रोक्न अन्तरिम आदेश जारी गरेको थियो भने राष्ट्रिय खेलकुद परिषद्ले एन्फालाई राष्ट्रिय खेलकुद विकास ऐनअनुसार विधान संशोधन गर्न निर्देशन दिएको थियो ।

    त्यसपछि राखेपको निर्देशन अवज्ञा गरेको भन्दै गत चैत ११ गते एन्फालाई राखेपले तीन महिनाका लागि निलम्बनसमेत ग¥यो । पटकपटक वार्ता गरेपछि राखेपले गत जेठ १ गते निलम्बन फुकुवा गरेको थियो । निलम्बन फुकुवासँगै नेपाली राष्ट्रिय महिला टोलीले भारतमा आयोजना भएको महिला साफ च्याम्पियनसिपमा सहभागिता जनाएको थियो । विभिन्न विवादबीच सहभागिता जनाएको नेपाली महिला टोलीले उल्लेखनीय प्रदर्शन गर्न सकेन । त्यतिबेला नेपाल सेमिफाइनल खेलबाट बाहिरिएको थियो । सेमिफाइनल खेलमा नेपाल बङ्गलादेशसँग पराजित भएर घर फर्किएको थियो ।

    पछिल्लो पटक एन्फाका अध्यक्ष नेम्बाङ र महासचिव किरण राई विश्वकप फुटबल प्रतियोगिताका लागि मेक्सिको प्रस्थान गर्न लाग्दा अध्यागमन विभागले विमानस्थलबाटै नै फर्काएको थियो । अखिल नेपाल फुटबल सङ्घका प्रवक्ता सुरेश शाहले सरकारले समयमा नै समन्वयनको भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

    उहाँले भन्नुभयो, “फिफाको चाहना सरकार वा कुनै पनि निकायको हस्तक्षेपबिना चल्नुपर्ने थियो तर फिफाको विधानविपरीत एन्फा सञ्चालनमा रोक लागेपछि फिफाले निलम्बन गरेको हो । उहाँले भन्नुभयो, “जतिसक्दो चाँडो सरकारले यस विषयमा समन्वय गर्न आवश्यक छ । तेस्रो पक्षको हस्तछेप नभएमा फिफाले निलम्बन हटाउन सक्छ । त्यसैले सरकारले यस विषयमा समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने आवश्यक छ ।”

    राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रामचरित्र मेहताले फिफाबाट एन्फा निलम्बन हुनु नेपाली फुटबलका लागि दुःखद् घटना भएको बताउनुभयो । उहाँले यस अवस्थाको मुख्य जिम्मेवारी एन्फाको वर्तमान कार्यसमितिले लिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

    “यस्तो अवस्था आउनसक्ने सम्भावनालाई मध्यजनर गर्दै राखेपले यसअघि एन्फामाथिको निलम्बनसमेत फुकुवा गरेको थियो । नेपाली फुटबललाई अन्तरराष्ट्रिय प्रतिबन्धको जोखिमबाट जोगाउने उद्देश्यले हामीले लचकता अपनाएका थियौँ । तर दुर्भाग्यपूर्ण भएको छ”, उहाँले भन्नुभयो ।

    सदस्य सचिव मेहताले यस विषयमा विषेश छलफल गरेर आगाडि बढ्ने बताउनुभयो । उहाँले भन्नुभयो, “राखेप बोर्ड बैठकमा यस विषयमा गम्भीर छलफल गछौँ र त्यसपछि फिफासँग आवश्यक संवाद तथा समन्वयको प्रक्रिया अगाडि बढाउछौँ ।”

    पूर्वखेलाडी तथा फुटबल प्रशिक्षक राजुकाजी शाक्यले फिफाद्वारा एन्फा निलम्बन हुनु नेपाली फुटबलका लागि अत्यन्त दुःखद् घटना भएको बताउनुभयो । उहाँले यस विवादलाई लम्ब्याउनुको सट्टा सम्बन्धित सबैपक्ष मिलेर समाधानको बाटो खोज्नुपर्नेमा जोड दिनुभयो ।

    “फिफाबाट एन्फा निलम्बन हुनु नेपाली फुटबलका लागि अप्रिय घटना हो । अब दुवैपक्ष आपसी संवाद र सहकार्यबाट समस्या समाधानतर्फ अघि बढ्नुपर्छ । नेपाली फुटबलप्रति आमसमर्थकको ठूलो आकर्षण छ । त्यसैले नेपाली फुटबललाई थप क्षति पुग्न नदिन सबै सरोकारवाला पक्ष मिलेर समाधान गर्नुपर्छ”, प्रशिक्षक शाक्यले भन्नुभयो ।

    फिफाको यस निर्णयले नेपाली फुटबलमा देखिएको विवाद अन्तरराष्ट्रियस्तरमा समेत गम्भीर रूपमा हेरिएको छ । अब एन्फा, नेपाल सरकार, फिफा र एएफसीबीच हुने आगामी संवाद तथा निर्णयले नेपाली फुटबलको भविष्य निर्धारण गर्ने अपेक्षा गरिएको छ ।

    निलम्बन कायम रहुन्जेलसम्म एन्फाका प्रतिनिधि टोली तथा क्लब टोलीहरू अन्तरराष्ट्रिय प्रतियोगितामा सहभागी हुन नपाउने फिफाले उल्लेख गरेको छ । यस्तै एन्फा वा एन्फासँग सम्बन्धित कुनै पनि सदस्य वा पदाधिकारीले फिफा तथा एएफसीद्वारा सञ्चालित विकास कार्यक्रम, तालिम वा प्रशिक्षणबाट लाभ लिन पाउने छैनन् ।

  • भेनेजुएला भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ठूलो सङ्ख्यामा संरचनामा क्षति

    भेनेजुएला भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ठूलो सङ्ख्यामा संरचनामा क्षति

    ला गुएरा, भेनेजुएला, ११ असार (रासस–एएफपी) । एक शताब्दीभन्दा बढी समयमा भेनेजुएलामा गएका दुई ठूला विनाशकारी भूकम्पका कारण बिहीबार दिउसोसम्म कम्तीमा १६४ जनाको मृत्यु भएको त्यहाँको सरकारले पुष्टि गरेको छ । भूकम्पमा परी राजधानी र नजिकैका धेरै भवनहरूमा व्यापक क्षति पुगेको छ । बिहीबार स्थानीय बासिन्दाहरू आफ्नै क्षमतामा हराएका आफन्तहरूको खोजीमा व्यस्त देखिएका पाइन्थ्यो ।

    बुधबार साँझ राजधानीको पश्चिमी क्षेत्रमा ७.२ म्याग्निच्युड र ७.५ म्याग्निच्युडको भूकम्प भेनेजुएलाको सन् १९०० यताको सबैभन्दा शक्तिशाली भूकम्प भएको भूगर्भ सर्वेक्षण अधिकारीहरूले जनाएका छन् । उद्धारकर्मी र स्थानीयहरूले भूकम्पपछि भत्किएका अपार्टमेन्टहरूमा अँध्यारोमा माथि चढेर बाँचेकाहरूको खोजी गर्न र भग्नावशेषमुनि पुरिएकाहरूलाई निकाल्ने प्रयास गरिरहेको देखिन्थ्यो ।

    फ्रान्स, स्पेन र अमेरिकाले तत्काल उद्धार टोली पठाउने प्रस्ताव गरेका छन् । अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार बुधबार साँझ राजधानीको पश्चिमी क्षेत्रमा म्याग्निच्युड ७।२ र ७।५ को भूकम्प गएको थियो। उद्धार र खोजी कार्य जारी रहेको र भूकम्पले ठूलो क्षति पुर्‍याएको अधिकारीहरूले बताएका छन् । क्षतिको प्रकृति हेर्दा मृतक सङ्ख्या अहिलेकोभन्दा निकै बढ्नेअनुमान गरिएको उनीहरूले बताएका छन् ।

    अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले कम्तीमा १६४ जनाको मृत्यु भएको र ९७० भन्दा बढी घाइते भएको बताउनुभएको छ । भूकम्पका कारण राजधानी काराकासको उत्तरमा रहेको ला गुएरा राज्य सबैभन्दा बढी प्रभावित भएको छ ।

    ला गुएराको काटिया ला मार शहरमा आफ्नो परिवार पुरिएको भत्किएको भवनको अगाडि उभिएका ४९ वर्षीय ल्यारी रोहासले एएफपीसँग भन्नुभयो, “अहिले हामीसँग केही पनि छैन । न त शक्ति छ, न साहस नै । उद्धारका लागि भग्नावशेषमा पस्ने कल्पना पनि गर्न सकिँदैन । भूकम्पपछि लगातार पराकम्पहरू गइरहेका छन् ।” तटीय शहरमा विद्युत आपूर्ति बन्द भएका छन् र धेरै बासिन्दाहरू सडकमा रात बिताएका वा आफन्तहरूको खोजीमा व्यस्त रहेका सञ्चारकर्मीहरूले बताएका छन् ।

    बुधबार गएको ७।५ म्याग्निच्युडको भूकम्प सन् १९०० अक्टोबर २९ मा समुद्रमा गएको ७।७ म्याग्निच्युडको भूकम्पपछि गएको भेनेजुएलाको सबैभन्दा शक्तिशाली भूकम्प हो ।

    –उपकरण र जनशक्तिको अभावमा उद्धारकार्य प्रभावित–

    बुधबारको भूकम्पपछि केही आवासीय भवनहरूमा ठूला चिरा परेका र पर्खालहरू भत्किएका थिए भने दर्जनौं भवन पूरै ध्वस्त भएका थिए । “त्यहाँ मानिसहरू जीवित छन् तर कसैले उनीहरूलाई बचाउन आइरहेको छैन”, एउटी महिलाले आफ्नी छोरीको उद्धारमा खटेका स्थानीयमार्फत् खबर पर्खिरहँदा भग्नावशेषको एक छेउमा सञ्चारकर्मीसँगको प्रतिक्रियामा बताउनुभयो, “छोरी १२ तले भवन भत्किएर बनेको भग्नावशेषमा पुरिएकी छन् ।”

    फ्रान्सले ८५ जना उद्धारकर्मी पठाउने र स्पेनले ५४ जना सैनिक उद्धार तथा खोजी टोली पठाउने घोषणा गरेको छ । चीन, भारत, ब्राजिल र अमेरिका लगायतका देशहरूले पनि सहयोगको प्रस्ताव गरेका छन् । “अमेरिकाले तत्काल खोज तथा उद्धार टोली, चिकित्सा सामग्री र मानवीय सहायता भेनेजुएला पठाउने तयारी गरिसकेको छ,” अमेरिकी विदेशमन्त्री मार्को रुबियोले बिहीबार भन्नुभयो ।

    मोरोन तटीय शहरबाट २१ किलोमिटर पश्चिममा केन्द्रविन्दु बनाएर ७।२ पहिलो भूकम्प बुधबार साँझ १०ः०४ बजे गएको थियो । एक मिनेटभित्रै त्यसको ४५ किलोमिटर टाढा ७।५ म्याग्निच्युडको दोस्रो भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेक्षण विभागले जनाएको छ ।

    गृहमन्त्री डियोस्डाडो काबेल्लोले सुरक्षाको लागि धेरै भवनहरूमा ग्यास आपूर्ति बन्द गरिएको र जनतालाई घरबाट बाहिर निस्कन आग्रह गर्नुभएको छ ।

    “हाम्रा केही संरचनाहरू क्षतिग्रस्त छन् र हामी ग्याससम्बन्धी कुनै दुर्घटना हुनबाट रोक्न ग्यासको आपूर्तिलाई बन्द गरेका छौँ,” उहाँले भन्नुभयो ।

    काराकास नजिकै रहेको माइक्वेटिया अन्तर्राष्ट्रिय विमानस्थल पूर्वाधारमा ‘गम्भीर क्षति’ भएकाले बन्द गरिएको छ । सामाजिक सञ्जालहरूमा विमानस्थलको क्षतिग्रस्त तस्बिरहरू सार्वजनिक भएका छन् ।

    भूकम्पले राजधानीमा त्रास फैलाएको थियो र मानिसहरू सडकमा निस्किएका देखेको एएफपीका पत्रकारहरूले बताएका छन् ।

    एएफपीका एक पत्रकारले राजधानीको अल्टामिरा इलाकामा एउटा २२ तले भवन पूरै ध्वस्त भएको आफूले देखेको पुष्टि गरेका छन् ।

    भूकम्प क्रमशः २२ किलोमिटर र १० किलोमिटरको गहिराइमा केन्द्रविन्दु बनाएर गएका थिए ।

    काराकासको एउटा व्यापारिक भवनमा भूकम्पले त्रास फैलाएको एएफपी पत्रकार खिचेको तस्वीरमा देख्न सकिन्छ ।

    “यो अविश्वसनीय थियो, मलाई थाहा छैन कति समयसम्म चलेको थियो,” पसल सञ्चालक हेडी रोमेरोले भन्नुभयो । उहाँ भूकम्प जाँदा माथिल्लो तलामा रहेको बताउनुभयो । “हामीलाई ‘आकस्मिक प्रयोग’का लागि बनाइएको भ¥याङबाट बाहिर निस्किन सहयोग गरिएको थियो,” ४२ वर्षीया रोमेरोले बताउनुभयो ।

    राजधानीका धेरै मानिसहरू भवनबाट बाहिर निस्केर केही समय बाहिर बसेपछि कार्यालय र घर फर्किएका थिए।

    भूकम्पबाट ट्रुजिलो, काराबोबो, मिरान्डा र ला गुएरा राज्य सबैभन्दा बढी प्रभावित भएका छन्।

    भूकम्पको प्रभाव कोलम्बियाको राजधानी बोगोटासम्म महसुस गरिएको थियो । त्यहाँ पनि भूकम्पको चेतावनी दिँदै घण्टी बजेपछि केही बासिन्दाहरू सतर्कताका लागि भवनबाट बाहिर निस्किएका थिए ।

    भूकम्पका लागि जोखिमयुक्त मानिने भेनेजुएलाको हालैका इतिहासमा सबैभन्दा शक्तिशाली भूकम्प सन् १९९७ मा उत्तर–पूर्वमा गएको थियो जसमा ७३ जनाको मृत्यु भएको थियो । त्यस्र्त अर्को सन् १९६७ मा काराकासमा गएको भूकम्पमा २३६ जनाले ज्यान गुमाएका थिए ।

  • भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट

    भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट

    भक्तपुर, ११ असार । जिल्लामा पंक्षीमा लाग्ने ‘बर्डफ्लू’ पुष्टि भएको छ चाँगुनारायण र सूर्यविनायक नगरपालिकाका कुखुरा फार्ममा बर्डफ्लू पुष्टि भएपछि कुखुरा नष्ट गरिएको छ । बर्डफ्लू रोग कुखुरामा सरेपछि हालसम्म चाँगुनारायण २, ८ र ९ मा पालिएका ३८ हजार ७९५ कुखुराहरू नष्ट गरिएको पशु सेवा कार्यालयका पशु चिकित्सक डा अमिक श्रेष्ठले जानकारी दिए ।

    बर्डफ्लु रोगका कारण सुर्यविनायक १, ४ र ८ मा नौ हजार ३७८ कुखराहरू नष्ट गरिएको उनले जानकारी दिए । जिल्लामा ४८ हजार १७३ कुखुरा नष्ट गरेको जानकारी दिँदै उहाँले बर्डफ्लू रोग कुखुरा फार्ममा फैलिएको पुष्टि भएका फार्मका कुखुरा नष्ट गरिएको बताए ।

  • विपी राजमार्गमा पुनर्निर्मित ‘ट्रयाक’बाट यातायात सञ्चालनको तयारी

    विपी राजमार्गमा पुनर्निर्मित ‘ट्रयाक’बाट यातायात सञ्चालनको तयारी

    काभ्रेपलाञ्चोक, ११ असारः पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त विपी राजमार्गको काभे्रपलाञ्चोक–सिन्धुली खण्डमा स्थायी रुपमा थालिएको पुनर्निर्माणकार्यसँगै अबको केही दिनमै पुनर्निर्मित ट्रयाकबाटै सवारी आवागमनको तयारी भइरहेको छ । यसका लागि पछिल्ला केही महिनादेखि पुनर्निर्माणलाई तीव्रता दिइँदै आइएको हो ।

    पूर्वी तथा मध्यपहाडी क्षेत्रलाई सङ्घीय राजधानी काठमाडौँसँग जोड्ने छोटो दूरीको रुपमा रहेको उक्त राजमार्गको क्षतिग्रस्त क्षेत्रको अधिकांश स्थानमा ग्राभेलसम्मको काम तथा केही स्थानमा भने बर्षाका ठूला ढुङ्गा राखेर सडक तयार गरिरहेको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ । वर्षायामलाई मध्यनजर गर्दै पुरानै सडकमा खोलिएको ट्रयायकबाट असार दोस्रो साताअर्थात् केही दिनमै सवारीसाधन सञ्चालन गर्नेगरी तयारी भइरहेको कार्यालयका प्रमुख सुमन योगेशले बताउनुभयो । उहाँका अनुसार हाल पनि चार स्थानमा माथिबाट गाडी सञ्चालन गर्नसक्ने अवस्थामा छ भने तत्कालै पनि बाढी आयो भने माथिबाटै चलाउन सुरु गर्न सकिनेछ । बाढीपपहिरोले राजमार्गको सडक क्षतिग्रस्त बनाएपछि हाल रोशी खोलामा अस्थायी डाइभर्सन बनाएर सवारी आवागमन गराउँदै आइएको छ ।

    चारसयबेँसी, बोक्सीकुना, कालढुङ्गा र डालाबेँसीको एउटा खण्ड तयार भइसकेको योगेशको भनाइ छ । “यीबाहेक अन्य क्षेत्रका डाइभर्सनमा समस्या आए अब गाडी रोकिने अवस्था देखिँदैन”, उहाँले भन्नुभयो । विसं २०८१ असोजको बाढीपहिरोले राजमार्गअन्तर्गत भकुन्डेबेँसीदेखि नेपालथोकसम्म करिब ३० किलोमिटर सडकमा क्षति पु¥याएको थियो । त्यसपछि पटकपटकका वर्षाले सवारी सञ्चालन गर्न रोशी खोलामा अस्थायी रुपमा बनाइएको डाइभर्सन पनि बाढीले बगाउने गरेको थियो । हाल वर्षायामअघि सात मिटर उचाइसम्म सडक बनाएर ग्राभेल राख्न थालिएको छ भने वर्षापछि खोलाबाट करिब १० मिटर उचाइसम्म सडक बनाएर कालोपत्रे गरिने जनाइएको छ ।

    कतिपय स्थानमा आरसिसी वालको फाउण्डेसन पूरा भई अन्य काम भइरहेको छ भने ट्रयाक निर्माण भएका सडकमा ग्राभेल हालेर सवारीसाधन सञ्चालनमा ल्याइने योगेशले बताउनुभयो । उहाँका अनुसार अहिलेसम्म असार १५ गतेदेखिनै नयाँ ट्रयाकबाट आवागमनको तयारी भइरहेको छ । उक्त क्षेत्रमा भने आउँदो आर्थिक वर्षमा कालोपत्रको काम थालिने योगेशको भनाइ छ ।

    क्षतिग्रस्त चार खण्डमध्ये बाँकी एक खण्ड बर्खेखोलादेखि पिप्लेसम्मको तीन दशमलव दुई किलोमिटर सडक निर्माणको काम जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका_ले पुनर्निर्माण गरिरहेको छ । जाइकाले उक्त खण्डमा माटो भरेर बोल्डर (ठूला ढुङ्गा) राख्ने काम भइरहेको जनाइएको छ । वर्षाका बेला भने यस खण्डमा खोलाबाट सवारीसाधन चलाउनुपर्ने अवस्था नभएको योगेशले बताउनुभयो । राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकतर्फ तीन र सिन्धुलीतर्फ एक गरी चार प्याकेज बनाएर ठेक्का सम्झौता गरी कामअघि बढाइएको हो ।

    सम्भावित जोखिम तथा निर्माणकार्यलाई मध्यनजर गर्दै हाल पनि साँझ ५ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म रातको समयमा आवागमनमा भने रोक लगाइएको छ । यसअघि रोशी खोलामा बाढी आउनेबित्तिकै अस्थायी डाइभर्सन बगाउँदा राजमार्ग अवरुद्ध हुँदै आएको छ ।

    अबको पुनर्निर्माणमा राजमार्गको स्तरोन्नति गर्दै दुई लेनको सडक निर्माण गरिने भएको हो । “पुनर्निर्माण हुने सडकखण्डमा दुई लेनको सडक बन्नेछ भने यसभित्र रहेका पुलसँगै अर्को पुल निर्माण गरेर पुललाई समेत दुई लेनको निर्माण गरिनेछ”, योगेशले भन्नुभयो । उहाँका अनुसार पाँच वटा पुललाई दुई लेनमा परिणत गर्नेसमेत योजना बनाइएको छ ।

    डालाबेँसीदेखि चारसयबेँसीसम्म आठ दशमलव पाँच किमी सडक पुनर्निर्माणका लागि खानी–एवन–कमलजीत जेभीले रु एक अर्ब ४२ करोड ३७ लाख ९भ्याटसहित०मा निर्माण गर्ने गरी ठेक्का दिइएको छ । यस्तै चारसयबेँसीदेखि भकुन्डेबेँसीसम्मको ११ दशमलव ०८ किमी सडक पुनर्निर्माणका लागि लामा–नवकान्तिपुर जेभीलाई रु एक अर्ब ३३ करोड ५३ लाख, नेपालथोकदेखि बर्खेखोलासम्म चार दशमलव ९० किमी सडक पुनर्निर्माणका लागि रु ६१ करोड ९भ्याटसहित०मा निर्माण गर्ने गरी खरिढुङ्गा–घिसिङ–क्षितिज जेभीसँग ठेक्का सम्झौता गरिएको छ ।

    क्षतिग्रस्त कूल २९ दशमलव पाँच किमी सडकमध्ये बर्खेखोलादेखि पिप्लेसम्मको तीन दशमलव दुई किमी सडकलाई जाइकाले रु दुई अर्ब ६३ करोड बराबरको अनुदान उपलब्ध गराउने समझदारी भएको हो । कार्यालयले जाइकाले निर्माण गर्ने सडकखण्डबाहेकका अन्य खण्डमा सरकारले गत असोजअघिनै ठेक्का लगाइसकेको थियो । क्षतिग्रस्त खण्ड पुनर्निर्माणका लागि सरकारले रु आठ अर्ब ५० करोड स्रोत सहमति दिएको हो । जसमध्ये काभ्रेपलाञ्चोकतर्फका तीन सडकखण्डलाई रु सात अर्ब ५० करोड र सिन्धुलीको एक सडकखण्डलाई रु एक अर्बको स्रोत सहमति दिइएको हो ।

    जापान सरकारको अनुदान सहयोगमा आव २०५३-०५४ बाट विपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास १६० किमी सडक) निर्माण कार्य सुरु गरिएको थियो । खण्डखण्ड विभाजन गरी निर्माण सम्पन्न राजमार्गको विसं २०७२ असार १८ गते औपचारिक रुपमा जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो ।

  • सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

    सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

    गोदावरी (कैलाली), ११ असार । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका क्रममा ‘ग्रिनेड’ विस्फोट हुँदा सैनिक जवान हिमालविक्रम विष्टको मृत्यु भएको छ । नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार ग्रिनेड विस्फोटमा गम्भीर घाइते भएका निजको लम्कीस्थित लालरत्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । घटनामा घाइते भएका सह–सेनानी हेमराज जोशीलाई उपचारका लागि नेपालगञ्ज लगिएको जानकारी दिए । घटना आज बिहानको हो ।

  • कक्षा १२ को नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइनः मन्त्री पोखरेल

    कक्षा १२ को नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइनः मन्त्री पोखरेल

    काठमाडौँ, ११ असारः शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डले नतिजा समयमै प्रकाशन गर्न कुनै हतार नगरेको स्पष्ट पारेका छन् । मन्त्री पाखरेलले आज सामाजिक सञ्जालमा पोस्ट गर्दै आवश्यक जनशक्ति थप गरी तथा अनावश्यक प्रशासनिक प्रक्रिया छोट्याएर नतिजा प्रकाशित हुनुपर्ने समयमा नै सार्वजनिक गरिएको बताए । “राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रक्रियाप्रति हामी स्पष्ट र विस्वस्त छौँ । नतिजा समयमै प्रकाशन गर्न कुनै हतारो गरिएको हैन, बरु आवश्यक जनशक्ति थप गरी र अनावश्यक प्रशासनिक प्रक्रिया छोट्याएर नतिजा प्रकाशित हुनुपर्ने समयमा नै प्रकाशित गरिएको हो”, मन्त्री पोखरेलले उल्लेख गरेका छन् ।
    मन्त्री पोखरेलले नतिजासम्बन्धी विषयमा शान्तिपूर्ण रूपमा भइरहेका आन्दोलनप्रति सम्मान व्यक्त गर्दै लोकतान्त्रिक समाजमा नागरिकले आफ्ना धारणा राख्ने अधिकारको सम्मान गरिनुपर्ने बताए । आन्दोलनरत विद्यार्थी वा कुनै पनि समूहप्रति गालीगलौज, दुव्र्यवहार तथा अपमानजनक टिप्पणी नगर्न उहाँले सबैमा आग्रह गर्नुभएको छ । यसैबीच नतिजा प्रक्रियाबारे उठेका जिज्ञासा र प्रश्नको निष्पक्ष परीक्षणका लागि शिक्षा तथा खेलकुद मन्त्रालय र पाठ्यक्रम विकास केन्द्रका उपसचिवको प्रतिनिधित्व रहने समिति गठन गरिएको मन्त्री पोखरेलले जानकारी दिए । उक्त समितिले उत्तर पुस्तिकाको नमूना परीक्षण गर्नुका साथै परीक्षाङ्क र ‘डेटा इन्ट्री’को रुजु गर्नेछ ।