Category: फिचर

  • देशभरका २६ लाख किसानको सूचीकरण सम्पन्न

    देशभरका २६ लाख किसानको सूचीकरण सम्पन्न

    काठमाडौँ, ११ असारः किसान सूचीकरण प्रणालीमा अहिलेसम्म देशभरका २६ लाख किसान आबद्ध भएका छन् । कृषि, वन तथा पर्यावरण मन्त्रालयले जमिनको विवरण र खेती उत्पादनका आधारमा किसानलाई सूचीकरण गरेको हो । विद्युतीय प्रणालीमार्फत सूचीकृत गरी किसानलाई चार तहमा वर्गीकरण गरेर आवश्यक सहुलियत तथा सुविधा दिने लक्ष्यअनुसार काम भइरहेको कृषि सूचना केन्द्रका अधिकृत सञ्जीव पण्डितले जानकारी दिए ।

    उनका अनुसार मन्त्रालयले निर्वाहमुखी किसान, साना किसान, मझौला किसान र ठूला किसान गरी चारप्रकारमा वर्गीकरण गर्ने योजना बनाएको छ । वर्गीकरणपश्चात् किसानलाई परिचयपत्र वितरण गरिने जनाइएको छ । सरकारले किसानलाई परिचयपत्रका आधारमा अनुदानसहित रासायनिक मल, बीउ, अनुदान, सेवा व्यवस्थापनलगायत सुविधासहित उपलब्ध गराउने जनाएको छ ।

    कृषि जनगणना, २०७८ अनुसार ४१ लाख ३० हजारको सङ्ख्या रहेकाले बाँकी १५ लाखभन्दा बढी किसानलाई पनि सूचीकृत गर्ने कार्य भइरहेको छ । केन्द्रले यस कार्यक्रममा आफ्नो नाम दर्ता गराउन किसानलाई आह्वानसमेत गरेको छ । सूचीकरण कार्यक्रमलाई व्यवस्थित बनाउन देशभर स्थानीय तहसँग समन्वय गरी किसानको प्रमाणीकरण गरी तथ्याङ्क सङ्कलन गरिएको छ ।

  • मनसुन प्रतिकार्यका लागि ५४ स्थानमा सशस्त्रका अस्थायी वेश

    मनसुन प्रतिकार्यका लागि ५४ स्थानमा सशस्त्रका अस्थायी वेश

    काठमाडौँ, ११ असारः सशस्त्र प्रहरी बलले मनसुनजन्य विपद् प्रतिकार्यका लागि देशका विभन्न ५४ स्थानमा अस्थायी मनसुन प्रतिकार्य वेश स्थापना गरेको छ । सशस्त्र प्रहरीका कार्यालयबाट विपद् उद्धारमा परिचालन हुन समय लाग्ने विपद्जन्य स्थानको पहिचान गरी अस्थायी वेश स्थापना गरिएको हो । त्यसअनुसार कोशी प्रदेशमा छ, मधेसमा ११, बागमतीमा १६, गण्डकीमा चार, लुम्बिनीमा सात, कर्णालीमा दुई र सुदूरपश्चिम प्रदेशमा आठ वटा अस्थायी वेस स्थापना भएका छन् ।

    सशस्त्र प्रहरीले हिमाल, पहाड र तराईका १६ स्थानमा विपद् व्यवस्थापन वेश स्थापना गरी आवश्यक जनशक्ति र स्रोतसाधनलाई तयारी अवस्थामा राखेको छ । धनकुटा, सुनसरी, बारा, सप्तरी, धादिङ, सिन्धुली, मकवानपुर, काभ्रेपलाञ्चोक, म्याग्दी, गोरखा, दाङ, सुर्खेत, जुम्ला, डडेल्धुरा, डोटी र कैलालीमा स्थायी वेस स्थापना गरिसकेको छ ।

    “यी स्थायी कार्यालय हुन, जुन वर्षैभरि रहन्छन्”, सशस्त्र प्रहरीका प्रवक्ता एवं सशस्त्र प्रहरी नायब महानिरीक्षक नेत्रबहादुर कार्कीले भने, “उपलब्ध स्रोत र साधनको प्रयोग गरी विपद् प्रतिकार्य गर्नेगरी योजना बनेका छन् ।” यसवर्षको मनसुनजन्य विपद्सँग जुध्नका लागि आठ हजार एक सय ८० सशस्त्र प्रहरी कर्मचारीलाई २४ सै घन्टा तयारी अवस्थामा राखिएको जानकारी दिँदै उनले यही असार मसान्तसम्म सम्पूर्ण सशस्त्र प्रहरीलाई विपद् व्यवस्थापन अनुशिक्षण तालिम प्रदान गरिने बताए ।


    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यसवर्षको मनुसनमा सरदरभन्दा कम वर्षाको आँकल गरिए पनि मनसुनजन्य विपद्बाट देशभर करिब ५१ हजार आठ सय ८६ घरधुरीका करिब दुई लाख २६ हजार ६६१ जनसङ्ख्या प्रभावित हुने जनाएको छ । प्राधिकरणका अनुसार कोशीमा ३८ हजार सात सय ३६, मधेसमा ३५ हजार ३६१, बागमतीमा ३२ हजार ८९७, गण्डकीमा २१ हजार ६४१, लुम्बिनीमा ५१ हजार ६२६, कर्णालीमा १३ हजार १७५ र सुदूरपश्चिम प्रदेशमा ३३ हजार २२७ जनसङ्ख्या प्रभावित हुने अनुमान छ ।

    बाढी तथा डुबानबाट प्रभावितलाई उद्धार गर्न सशस्त्र प्रहरीसँग रहेका ८२ वटा ‘¥याफ्ट बोट’ र ५३ वटा ‘मोटर बोट’ तथा विशिष्टकृत तालिमप्राप्त चार हजार ७१० जना दक्ष सशस्त्र प्रहरी र १३४ गोताखोर तालिमप्राप्त जनशक्तिलाई देशभर ११ वटा जोखिमयुक्त स्थानमा आवश्यक उपकरणसहित तयारी अवस्थामा राखिएको प्रवक्ता कार्कीले जानकारी दिए ।

    एक लाख ६८ हजार रहेको विपद् सूचक सञ्जाल तयार

    सशस्त्र प्रहरीले विपद्सम्बन्धी सूचना समयमै प्राप्त गर्ने उद्देश्यले एक लाख ६८ हजार ९५६ जना विपद् सूचक रहेको सञ्जाल तयार पारेको छ । ती सूचकले आफू नजिकको स्थानमा विपद् भएको अवस्थामा तत्कालै नजिकको सशस्त्र प्रहरीको युनिटमा सूचना दिनेछन् ।

    सशस्त्र प्रहरीले विपद्का समयमा उद्धारका लागि सूचना प्रवाह गर्न सहज होस् भन्ने उद्देश्यले ‘एपिएफ–कम्युनिटी अलर्ट सिस्टम’ (एपिएफ–सिएएस) प्रणाली सञ्चालनमा ल्याएको छ । सो प्रणालीबाट हरेक बाहिनी तहमा रहेको परिचालन कक्षमा तत्काल सूचना प्राप्त हुने र शीघ्र परिचालनका लागि आदेश दिइने प्रवक्ता कार्कीले जानकारी दिए ।

  • ओमानमा नेपाल–ओमान आर्थिक सहकार्य प्रवर्द्धन कार्यक्रम आयोजना

    ओमानमा नेपाल–ओमान आर्थिक सहकार्य प्रवर्द्धन कार्यक्रम आयोजना

    काठमाडौँ, ११ असारः ओमानस्थित नेपाली राजदूतावासले नेपाल र ओमानबीच व्यापार, लगानी, पर्यटन तथा रोजगारीका अवसर प्रवर्द्धन गर्ने उद्देश्यले ‘समृद्धिका लागि आर्थिक साझेदारी’ शीर्षकमा विशेष कार्यक्रम आयोजना गरेको छ । बुधबार आयोजित कार्यक्रममा विभिन्न कम्पनी तथा ‘सुपरमार्केट’का प्रमुख कार्यकारी अधिकृत, निर्देशक, प्रबन्धक, सञ्चारकर्मी, नेपाली उद्यमी र ओमानस्थित नेपाली समुदायका प्रतिनिधिसहित १०० भन्दा बढीको सहभागिता थियो ।

    त्यस अवसरमा ओमानका लागि नेपाल राजदूत डोरनाथ अर्यालले नेपालमा व्यापार, लगानी तथा पर्यटनका प्रशस्त सम्भावना रहेका बताउँदै वैदेशिक लगानीका प्राथमिकताका क्षेत्रबारे विस्तृत रुपमा जानकारी दिए । उक्त राजदूतावासका अनुसार उहाँले ओमानी लगानीकर्तालाई नेपालमा उपलब्ध अवसरहरूको खोजी गर्न आग्रह गर्दै नेपाल भारत र चीनजस्ता तीव्र गतिमा विकासोन्मुख दुई ठूला अर्थतन्त्रबीच अवस्थित रहेकाले व्यापार, लगानी र पर्यटनका लागि महत्त्वपूर्ण सेतु बन्नसक्ने बताए ।


    कर्पोरेट तथा मुद्दा मामिलासम्बन्धी अधिवक्ता खावला मोहम्मद अल सदुनीले ओमानको श्रम ऐन तथा नियमावलीका व्यावहारिक पक्षका साथै श्रमिक र रोजगारदाताले पालना गर्नुपर्ने कानुनी व्यवस्थाका तथा श्रमसम्बन्धी विवाद समाधानका उपायबारे चर्चा गरेका थिए । कार्यक्रममा नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता तथा पर्यटन सम्भावनालाई समेटिएको भिडियो प्रदर्शन गरिएको थियो । सहभागीहरूलाई नेपाल र ओमानबीच व्यापार, लगानी तथा पर्यटन क्षेत्रमा सम्भावित सहकार्य विस्तार गर्न प्रोत्साहित गरिएको थियो ।

  • कक्षा १२ को नतिजामा त्रुटि सच्याउन विद्यार्थीको माग

    कक्षा १२ को नतिजामा त्रुटि सच्याउन विद्यार्थीको माग

    काठमाडौँ, ११ असारः कक्षा १२ को नतिजा प्रकाशनमा र मूल्याङ्कनमा त्रृटि भएको भन्दै सच्याउन विद्यार्थीले माग गरेका छन् । काठमाडौँको माइतीघरमा ‘प्ले’ कार्डसहित भेला भएर उनीहरूले नतिजा पुनःमूल्याङ्कन र पुनःयोग गर्न शिक्षा तथा खेलकुद मन्त्रालयको ध्यानाकर्षण गराएका हुन् ।

    राष्ट्रिय परीक्षा बोर्डले यही असार ५ गते कक्षा १२ को परीक्षाको नतिजा प्रकाशन गरेको थियो । यसैबीच शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले परीक्षाफल छिटो प्रकाशन होस् भन्ने चाहे पनि हतारो नगरिएको स्पष्ट पार्दै नतिजाप्रति उठेको आवाजबारे समितिमार्फत सुनुवाइ गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

  • अमेरिका–इरान समझदारी कार्यान्वयन हुनुपर्छः चीन

    अमेरिका–इरान समझदारी कार्यान्वयन हुनुपर्छः चीन

    बेइजिङ, ११ असार (रासस–सिन्ह्वा) । चीनले संयुक्त राज्य अमेरिका र इरानबीच सम्पन्न समझदारीपत्र (एमओयू)को संरक्षण तथा प्रभावकारी कार्यान्वयनमा दुवै पक्षले प्रतिबद्ध हुनुपर्ने जनाएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा अमेरिका र इरानले एकअर्काको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको सम्मान गर्ने, सैन्य कारबाही नगर्ने तथा आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने प्रतिबद्धतासहित समझदारीपत्रमा हस्ताक्षर गरेको बताए ।

    उनले उक्त समझदारीले अन्तरराष्ट्रिय समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको उल्लेख गर्दै त्यसको संरक्षण र कार्यान्वयन दुवै पक्षको साझा जिम्मेवारी भएको बताए । प्रवक्ता गुओले क्षेत्रीय शान्ति र स्थायित्वको शीघ्र पुनःस्थापनाका लागि चीन आफ्नो तर्फबाट आवश्यक सहयोग गर्न तथा रचनात्मक भूमिका निर्वाह गर्न तयार रहेको स्पष्ट पारे ।

  • आप्रवासन अदालत परिसरमा पक्राउ नगर्न ट्रम्प प्रशासनलाई अदालतको आदेश

    आप्रवासन अदालत परिसरमा पक्राउ नगर्न ट्रम्प प्रशासनलाई अदालतको आदेश

    वाशिङ्टन, ११ असार (रासस–एएफपी) । अमेरिकाको क्यालिफोर्निया राज्यका एक सङ्घीय न्यायाधीशले ट्रम्प प्रशासनलाई देशभरका आप्रवासन अदालत परिसरमा आप्रवासीलाई पक्राउ गर्न तत्काल रोक्न आदेश दिएका छन् ।

    राष्ट्रपति डोनाल्ड ट्रम्प पुनः ह्वाइट हाउसमा फर्किएयता गृह सुरक्षा विभागका अधिकारीले शरणसम्बन्धी सुनुवाइ सकेर अदालतबाट बाहिरिने आप्रवासीलाई पक्राउ गर्ने अभ्यास अपनाएका थिए । आप्रवासन अदालतको सुनुवाइमा अनुपस्थित हुनु कतिपय अवस्थामा कानुनी उल्लङ्घन मानिने तथा त्यसका आधारमा देशनिकालासमेत हुनसक्ने भएकाले धेरै आप्रवासी सुनुवाइमा उपस्थित हुन बाध्य हुने गरेका छन् ।

    अमेरिकी जिल्ला न्यायाधीश पी केसी पिट्सको आदेशमा उक्त नीति प्रशासनिक प्रक्रिया ऐनविपरीत रहेको ठहर गर्दै त्यसलाई ‘मनोमानीपूर्ण’ भनिएको छ । न्यायाधीश पिट्सका अनुसार आप्रवासन तथा भन्सार प्रवर्तन निकाय (आइसीई) र आप्रवासन समीक्षा कार्यकारी कार्यालय (इओआइआर)ले आफ्ना कार्यको पर्याप्त र तर्कसङ्गत आधार प्रस्तुत गर्न सकेका छैनन् । अदालत परिसरमा सुरक्षा अधिकारीको उपस्थितिले आप्रवासीमा त्रास सिर्जना गरेको उनको टिप्पणी छ ।

    गृह सुरक्षा विभागका कानुनी सल्लाहकार जेम्स पर्सिभलले भने उक्त फैसलाको आलोचना गरेका छन् । उनले आप्रवासन न्यायाधीशबाट देशनिकालाको आदेश पाएका गैर–नागरिकलाई अपराधमा दोषी ठहर भएका व्यक्तिसरह व्यवहार गरिनुपर्ने बताए ।

    सामाजिक सञ्जाल एक्समार्फत प्रतिक्रिया दिँदै उनले अदालतको आदेशलाई ‘खुला सीमाना समर्थक एजेन्डा प्रवद्र्धन गर्ने न्यायिक सक्रियता’को सङ्ज्ञा दिए । ट्रम्प प्रशासनले कागजातविहीन आप्रवासीमाथि कडाइ गर्ने नीति अघि बढाउँदै आएको छ । राष्ट्रपति ट्रम्पले अमेरिका अपराधी तथा अवाञ्छित व्यक्तिको प्रवेशबाट प्रभावित भएको दाबी गर्दै आप्रवासन नियन्त्रणलाई आफ्नो प्रमुख प्राथमिकतामध्ये एक बनाए ।

  • भारत–अमेरिका व्यापार सम्झौता नजिक, केही विषयमा सहमति बाँकी

    भारत–अमेरिका व्यापार सम्झौता नजिक, केही विषयमा सहमति बाँकी

    नयाँदिल्ली, ११ असार (रासस–एएफपी) । भारतले संयुक्त राज्य अमेरिकासँग जारी व्यापार वार्तामा भएको प्रगतिलाई सकारात्मक रूपमा लिँदै यसलाई सम्भावित व्यापार सम्झौतातर्फको महत्वपूर्ण कदम भएको जनाएको छ । यद्यपि दुवै पक्षबीच केही विषयमा अझै सहमति हुन बाँकी रहेकाले अन्तिम सम्झौता भने सम्पन्न भइसकेको छैन ।

    भारतीय वाणिज्य तथा उद्योगमन्त्री पियुष गोयलले भारत भ्रमणमा रहेका अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रीरसँग दुई दिनसम्म भएको वार्ता रचनात्मक तथा परिणाममुखी रहेको बताए । भारत र अमेरिकाले गत फेब्रुअरीमा प्रारम्भिक समझदारी घोषणा गरेका थिए । त्यसअनुसार अमेरिकाले भारतीय वस्तुमाथिको केही भन्सार दर २५ प्रतिशतबाट १८ प्रतिशतमा झार्ने तथा भारतले विभिन्न औद्योगिक र कृषि उत्पादनमा भन्सार शुल्क घटाउने अपेक्षा गरिएको छ ।

    अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापक भन्सार नीतिलाई खारेज गरेपछि वार्ताको गति प्रभावित भएको थियो । त्यसपछि वाशिङ्टनले भारतसहित विभिन्न मुलुकविरुद्ध कथित अनुचित व्यापार अभ्यासबारे अनुसन्धान सुरु गरेपछि वार्ता थप जटिल बनेको बताइएको छ ।

    भारतीय वाणिज्य मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार गोयल र ग्रीरबीच विभिन्न चरणमा विस्तृत छलफल भएको थियो । मन्त्रालयले उक्त भ्रमणलाई जारी व्यापार वार्ताको महत्वपूर्ण उपलब्धिका रूपमा वर्णन गरेको छ । दुवै पक्षले अन्तरिम व्यापार सम्झौता छिट्टै अन्तिम रूप दिन सकिने विश्वास व्यक्त गरेका छन् । मन्त्री गोयलले सम्झौताको प्रारम्भिक चरणको करिब ९९ प्रतिशत काम सम्पन्न भइसकेको बताए ।


    भारतका लागि अमेरिकी राजदूत सर्जियो गोरले पनि वार्ताकार बाँकी रहेको ‘अन्तिम एक प्रतिशत’ विषयमा सहमति खोज्न केन्द्रित रहेको बताए । मन्त्री गोयलका अनुसार भारतले अन्य प्रतिस्पर्धी मुलुकको तुलनामा आफ्ना उत्पादनका लागि प्रतिस्पर्धी भन्सार दर सुनिश्चित गर्नुपर्ने विषयलाई प्राथमिकतामा राखेको छ । भारतीय वाणिज्य मन्त्रालयका एक अधिकारीका अनुसार नयाँदिल्लीले निश्चित अवधि पश्चात् दुवै पक्षलाई सम्झौताका प्रावधान पुनरावलोकन गर्न सकिने व्यवस्था समेट्ने प्रस्ताव पनि अघि सारेको छ ।

  • अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी

    अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी

    मेलबर्न, ११ असार (रासस–सिन्ह्वा) । अष्ट्रेलियाको मुख्य भूमिमा अत्यधिक रोगजनक एभियन इन्फ्लुएन्जा (एच–फाइभ एन–वान) को तेस्रो केस पुष्टि भएपछि विज्ञहरूले देशको जैविक विविधतामाथि गम्भीर जोखिम उत्पन्न हुन सक्ने चेतावनी दिएका छन् । दक्षिण अष्ट्रेलिया राज्यमा तीन समुद्री चराको मृत्यु एच–फाइभ एन–वान सङ्क्रमणका कारण भएको पुष्टि भएको छ । यसअघि पश्चिमी अष्ट्रेलिया राज्यमा पनि सङ्क्रमणका घटना देखिएका थिए ।

    अष्ट्रेलियाको डेकिन विश्वविद्यालयका प्राध्यापक युआन रिचीका अनुसार हालसम्म सङ्क्रमण सीमित देखिए पनि यसले अन्य वन्यजन्तु तथा पशुधनमा फैलिने सम्भावना रहेको छ । उनले अष्ट्रेलियाका धेरै स्थानीय प्रजातिको जनसङ्ख्या सानो, घट्दो वा सीमित भौगोलिक क्षेत्रमा केन्द्रित रहेकाले भाइरसले ती प्रजातिलाई विशेष जोखिममा पार्न सक्ने बताए । उनका अनुसार ठूलो मात्रामा एकैपटक हुने मृत्युका घटनाले केही प्रजातिलाई अपरिवर्तनीय क्षतिसमेत पु¥याउन सक्छ ।

    विश्वभर एच–फाइभ एन–वान सङ्क्रमणका कारण लाखौँ चराको मृत्यु भइसकेको छ भने सङ्क्रमित जनावरको शव खाने स्तनधारी जनावरहरूमा समेत सङ्क्रमण फैलिरहेको छ । रिचीले अष्ट्रेलियाका लोपोन्मुख तास्मानियन डेविल तथा क्वोलजस्ता मांसाहारी मार्सुपियल प्रजातिहरू पनि जोखिममा पर्न सक्ने चेतावनी दिएका छन् । उनका अनुसार कङ्गारु, वालाबी, पोसम र ब्यान्डिकुटजस्ता जनावरहरू पनि सङ्क्रमित मासुसँग सम्पर्कमा आउन सक्ने भएकाले सङ्क्रमणको जोखिमबाट मुक्त छैनन् । उनले अष्ट्रेलियाली समुद्री सिंह तथा कालो हाँसको जनसङ्ख्याका लागि पनि यो भाइरस घातक हुन सक्ने बताए ।

    गत साता वैज्ञानिकहरूले अष्ट्रेलियाको बाह्य क्षेत्रअन्तर्गत पर्ने हर्ड टापुमा एच–फाइभ एन–वान सङ्क्रमणका कारण करिब १३ हजार दक्षिणी हात्ती सिलका बच्चा मरेको अनुमान सार्वजनिक गरेका थिए । उक्त भाइरस हर्ड र म्याकडोनाल्ड टापुका पेन्गुइन, फर सिल तथा समुद्री चरालगायत अन्य प्रजातिमा पनि फेला परेको छ ।

    विज्ञहरूले सङ्क्रमणले एकल प्रजातिमा मात्र नभई सम्पूर्ण पारिस्थितिक प्रणालीमा असर पार्न सक्ने बताएका छन् । शिकारी प्रजातिमा सङ्क्रमण फैलिएमा शिकार प्रजातिको सङ्ख्या असन्तुलित रूपमा बढ्न सक्ने तथा जलचर पंक्षीहरूको ठूलो मात्रामा मृत्यु हुँदा जलस्रोतको गुणस्तरमा असर पर्नुका साथै माछाको व्यापक क्षति हुन सक्ने उनीहरूको भनाइ छ ।

    अष्ट्रेलिया सरकारले मुख्य भूमिमा सङ्क्रमण पुष्टि हुनुअघि नै एच–फाइभ एन–वान विरुद्धको तयारी सुदृढ बनाउन ११३ मिलियन अष्ट्रेलियाली डलर विनियोजन गरेको थियो । अधिकारीहरूले बिरामी वा मृत अवस्थामा भेटिएका वन्यजन्तुबारे सम्बन्धित निकायलाई जानकारी गराउन तथा वन्यजन्तुसँग प्रत्यक्ष सम्पर्क नगर्न सर्वसाधारणलाई आग्रह गरेका छन् ।

  • ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी

    ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी

    वासिङ्टन, ११ असार (रासस–सिन्ह्वा) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले ‘स्टेट अफ हर्मुज’ हुँदै आवतजावत गर्ने जहाजहरूमाथि कुनै पनि प्रकारको शुल्क, बीमा लागत वा अतिरिक्त कर नलगाउने जानकारी दिएको बताएका छन् । सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा बुधबार लेख्दै ट्रम्पले इरानबाट प्राप्त जानकारीअनुसार ‘स्टेट अफ हर्मुज’ प्रयोग गर्ने जहाजहरूबाट कुनै शुल्क असुल नगरिने उल्लेख गरे ।

    उनले केही सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति असन्तुष्टि जनाउँदै ती विवरणहरू वास्तविकताभन्दा फरक रहेको दाबी गरे । ट्रम्पले इरानले दिएको जानकारी गलत सावित भएमा अमेरिका र इरानबीच जारी वार्ता तत्काल अन्त्य हुने चेतावनी दिए । “यदि यो जानकारी गलत भयो भने वार्ता तुरुन्तै समाप्त हुनेछ”, ट्रम्पले लेखेका छन् । अमेरिका र इरानबीच क्षेत्रीय सुरक्षा तथा आपसी सम्बन्ध सुधारका विषयमा विभिन्न चरणमा संवाद जारी रहेका बेला ट्रम्पको यो अभिव्यक्ति आएको हो ।

  • कङ्गोमा इबोलाविरुद्ध दुई औषधिको परीक्षण अर्को साता सुरु हुने

    कङ्गोमा इबोलाविरुद्ध दुई औषधिको परीक्षण अर्को साता सुरु हुने

    जेनेभा, ११ असार (रासस–एएफपी) । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा फैलिएको इबोला सङ्क्रमण नियन्त्रणका लागि दुई उपचारात्मक औषधिको परीक्षण अर्को साता सुरु हुने जनाएको छ । डब्लुएचओका महानिर्देशक टेड्रोस अधानोम घेब्रेयससले बुधबार जेनेभामा आयोजित पत्रकार सम्मेलनमा परीक्षणअन्तर्गत दुई एन्टिभाइरल औषधि एमबिपिसी¬–१३४ र रेमडेसिभिरको प्रभावकारिता मूल्याङ्कन गरिने जानकारी दिए ।


    उनका अनुसार हालको प्रकोपको कारण बनेको इबोलाको बुन्डिबुग्यो प्रजातिबाट सङ्क्रमित बिरामीमा यी औषधिले मृत्युदर घटाउन सहयोग पु¥याउन सक्छन् वा सक्दैनन् भन्ने विषयमा अध्ययन गरिनेछ । डब्लुएचओले दुवै औषधिको प्रयोग छुट्टाछुट्टै तथा संयुक्त रूपमा गरेर पनि परीक्षण गरिने जनाएको छ । हाल कङ्गोमा इबोला सङ्क्रमण नियन्त्रणका लागि स्वास्थ्य अधिकारीले विभिन्न रोकथाम तथा उपचारात्मक उपाय लागू गरिरहेका छन् ।

  • ज्येष्ठ शुक्ल एकादशीः घरघरका मठमा तुलसीको दल राखिँदै

    ज्येष्ठ शुक्ल एकादशीः घरघरका मठमा तुलसीको दल राखिँदै

    काठमाडौँ, ११ असारः वैदिक सनातन धर्मावलम्बीले आ–आफ्नो घरको मठमा आज तुलसीको दल राख्दै छन् । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको दल राख्ने गरिन्छ । यस दिनलाई निर्जला एकादशी पनि भनिन्छ । यस दिन रोपेको बीउ एक महिनापछि आषाढ शुक्ल एकादशीअर्थात् हरिशयनी एकादशीका दिन रोपिन्छ । यस वर्ष अधिकमासका कारण सौरमासअनुसारको ज्येष्ठ शुक्ल एकादशीमा तुलसी रोप्न नहुने भएकाले शुद्ध ज्येष्ठ एकादशीका दिन आज तुलसीको दल राख्न लागिएको हो ।

    आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा गरिन्छ । यसलाई तुलसी हुर्काई बढाई दामोदरसँग विवाह गरिने भन्ने पनि बुझिन्छ । यो चार महिनालाई चतुर्मास पनि भनिन्छ । चतुर्मासमा स्नान, पूजन र दान गर्नाले मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ । निर्जला एकादशीसमेत भनिने भएकाले यस दिन पानीसमेत नपिई व्रत गर्नाले अभिष्ट फल पाइने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वसदस्य प्रा डा देवमणि भट्टराईले राससलाई जानकारी दिए ।

    सक्नेले पानी नखाई व्रत गरे पनि नसक्नेका लागि फलफूल खाएर बस्न सकिने पनि उहाँले जानकारी दिनुभयो । आयुर्वेदिक रुपमा पनि लाभकारी औषधि मानिने तुलसी विभिन्न रोगको उपचारमा समेत प्रयोग गरिन्छ । तुलसीमा धेरै अक्सिजन पाइने आधुनिक विज्ञानले समेत प्रमाणित गरेको छ ।

  • रास्वपा प्रथम महाधिवेशनः पहिलो चरणको मतदान जारी

    रास्वपा प्रथम महाधिवेशनः पहिलो चरणको मतदान जारी

    चितवन, ११ असारः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत मतदान जारी छ । गएरातिदेखि पार्टीको नयाँ पदाधिकारी (सदस्य) चयनका लागि मतदान थालिएको थियो । आज दिउँसो १२ः०० बजेसम्म पहिलो चरणको मतदान हुने पार्टीको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।

    हालसम्म करिव एकहजार ६०० भन्दा वढी प्रतिनिधिले आफ्नो मताधिकारको प्रयोग गरेका जनाइएको छ । आयोगका प्रमुख भुवन केसीका अनुसार पहिलो चरणको केन्द्रीय सदस्यको निर्वाचनमा ३८४ जनाले उम्मेदवार आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । यसमा खुलातर्फ २१० जनाको उम्मेदवारी परेको छ भने भूगोलतर्फ १७४ जनाको उम्मेदवारी परेको छ । एउटा प्रदेशबाट पाँच निर्वाचित हुने छन् । सात प्रदेशबाट ३५ निर्वाचित हुने छन् भने ६४ खुलाका लागि २१० जनाको उम्मेदवारी दर्ता हो ।

    प्रमुख केसीका अनुसार सुदूरपश्चिम प्रदेशमा १८, मधेस प्रदेशमा २०, लुम्बिनी प्रदेशमा ३१, कोशी प्रदेशमा २०, कर्णाली प्रदेशमा ३१, बागमती प्रदेशमा २७ र गण्डकी प्रदेशमा २७ जनाको उम्मेदवारी परेको छ । उनान्सय जना केन्द्रीय सदस्यका लागि ती उम्मेदवारी परेको हो । मतदान उद्योग सङ्घ चितवनको प्रदर्शनी केन्द्रमा जारी रहेको छ । पहिलो चरणको मतदान सकिए पछि दुई घण्टाभित्र मतपरिणाम घोषणा हुने छ । मतपरिणाम घोषणासँगै दोस्रो चरणको मतदान सुरु हुने छ । दोस्रो चरणमा सबै प्रतिनिधिले पदाधिकारीका लागि मतदान गर्ने छन् ।

  • विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

    विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

    काठमाठौँ, ११ असारः ब्राजिलले स्कटल्याण्ड र मोरक्काले हाइटीलाई पराजित गर्दै फिफा विश्वकप फुटबल २०२६ को नकआउट चरणमा प्रवेश गरेका छन् । समूह ‘सी’ अन्तर्गत मियामी स्टेडियममा आज भएको खेलमा ब्राजिलले स्कटल्यान्डलाई ३–० ले हराउँदै समूह विजेताको रुपमा नकआउट चरणमा प्रवेश गरेको हो । तीन खेलमा ब्राजिलको ७ अङ्क छ । समान ७ अङ्क रहेको मोरक्को हेड टु हेडअनुसार उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो । एटलान्टा स्टेडियममा आजै भएको खेलमा मोरक्कोले हाइटीलाई ४–२ ले पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेको हो ।

    स्कटल्यान्डमाथि सहज जित निकाल्दा ब्राजिलका भिनिसियस जुनियरले दुई गोल गरे भने मथेउस कुन्हाले एक गोल थपे । भिनिसियसले खेलको सातौँ मिनेटमा गोल गर्दै ब्राजिलाई पहिलो अग्रता दिलाए । त्यसैगरी भिनिसियसले खेलको पहिलो हाफको अतिरिक्त समयमा गोल गर्दै ब्राजिलको अग्रता दोब्बर बनाए । खेलको ६०औँ मिनेटमा कुन्हाले गोल गर्दै बाज्रिलको अग्रता तेब्बर बनाए । त्यसपछि खेलमा थप गोल हुन सकेन र ब्राजिलको जित सुनिश्चित भयो । यससँगै समूह सी बाट स्कटल्यान्ड र हाइटी विश्वककपबाट बाहिरिएका छन् ।

  • स्विट्जरल्यान्ड विश्वकपको ‘नकआउट’ चरणमा प्रवेश

    स्विट्जरल्यान्ड विश्वकपको ‘नकआउट’ चरणमा प्रवेश

    काठमाडौँ, ११ असारः स्विट्जरल्यान्डले क्यानडालाई पराजित गर्दै फिफा विश्वकप(२०२६ को ‘नकआउट’ चरणमा प्रवेश गरेको छ । क्यानडाको भ्यानकुभरस्थित बिसी प्लेस स्टेडियममा आज भएको खेलमा घरेलु टोली क्यानडालाई २(१ गोलअन्तरले हराउँदै स्विट्जरल्यान्ड समूह ‘बी’को समूह विजेता बन्दै नकआउट चरणमा पुगेको हो ।

    स्विट्जरल्यान्डको जितमा रुबेन वर्गासले गोल गरे । उनले खेलको ४६ मिनेटमा गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाए । खेलको ५७ औ मिनेटमा जोहान मान्जाम्बीले गोल गर्दै स्विट्जरल्यान्डको अग्रता दोब्बर बनाए । त्यसपछि खेलको ७६औँ मिनेटमा क्यानडाका प्रमिस डेभिडले एक गोल गर्दै खेलमा फर्कने कोसिस गरे । तर खेलमा त्यसपछि गोल हुन सकेन र अन्ततः स्विट्जरल्यान्डले क्यानडामाथि २(१ गोलको जित निकाल्यो ।

    स्विट्जरल्यान्डले तीन खेलबाट सात अङ्क जोड्यो । पराजित क्यानडा पनि समूह ‘बी’को दोस्रो स्थानमा रहँदै नकआउट चरणमा प्रवेश गरेको छ । क्यानडाको चार अङ्क छ । यसै समूहमा रहेको बोस्निया एन्ड हर्जगोभिनाको पनि समान चार अङ्क रहे पनि गोलअन्तरका कारण पछि प¥यो ।

    आजै भएको अर्को खेलमा बोस्निया एण्ड हर्जगोभिनाले कतारलाई पराजित गर्दै जित निकालेको थियो । अङ्क तालिकाको तेस्रो स्थानमा रहेको बोस्निया एन्ड हर्जगोभिनाको तेस्रो टोली बनेर नकआउटमा जाने सम्भावना भने कायमै रहेको छ । बोस्निया एण्ड हर्जगोभिनाले कतारलाई ३-१ गोल अन्तरले पराजित गरेको थियो । एक अङ्क बटुलेको कतार भने विश्वकप छनोटबाट बाहिरिएको छ ।

  • बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

    बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

    पाल्हीनन्दन (नवलपरासी पश्चिम), १० असारः बर्दघाट सुस्तापश्चिम नवलपरासी क्षेत्रमा दुई हप्तादेखि वर्षा नभई खडेरी लम्बिँदा अत्यधिक गर्मीसहित धानखेतका बिरुवा सुक्न थालेसँगै किसान चिन्तित देखिएका छन् । लामो समयदेखि वर्षा नहँुदा पानीको हाहाकार भएको, गर्मी अत्यधिक बढेको र धानखेतमा धाँजा फाटी रोपेका बिरुवा सुक्न थालेपछि स्थानीय किसान चिन्तित देखिएका हुन् ।

    खेतमा धाँजा फाटी लगाइएका धानका बिरुवा सुक्न थालेपछि रोपाइँ बन्द गरेको पाल्हीनन्दन–६ निवासी दीनानाथ यादव बताउँछन् । उनका अनुसार यस वर्षको लामो खडेरीसँगै डिपबोरिङ र चापाकलसमेत सुक्न थालेपछि सिँचाइको अतिरिक्त पिउने पानीको समेत समस्या थपिएको छ ।

    पाल्हीनन्दन–५ का वडाध्यक्ष दयाशङ्कर त्रिपाठी गण्डक नहरदेखि दक्षिणतर्फका गाउँमा चापाकलमा थारै भए पनि पानी आइदिँदा लत्ताकपडा धुन र नुहाउन राहत मिलेको भए पनि आफ्नो गाउँठाउँतर्फ भने पानीको हाहाकार भएको बताउँछन् । खानेपानीको अभाव भएपछि चन्दा उठाएर मोटर सञ्चालन गरी खानेपानी संस्थानले गाडेको डिप बोरिङबाट पानीको व्यवस्था गर्न बाध्य हुनुपरेको अध्यक्ष त्रिपाठीले जानकारी दिए ।


    अध्यक्ष त्रिपाठीका अनुसार दुई साताभन्दा बढी समयदेखि पानी नपर्दा गर्मी अचाक्ली बढी रोपेको धानका बिरुवा सुक्न थालेपछि बाँकी खेतमा धान रोप्ने काम बन्द गरिएको छ ।

    कृषि ज्ञान केन्द्र नवलपरासीका कार्यालय प्रमुख शिवप्रसाद अर्यालले पश्चिमी वायु प्रणाली सक्रिय हुँदा खुसी भई रोपेका धानका बिरुवा सुक्न थालेपछि किसान आत्तिन थालेको बताए । जिल्लामा अहिलेम्म करिब चालिस प्रतिशत धान रोपाइँको काम सकिएको जानकारी दिँदै प्रमुख अर्यालले भने, “दुई सातादेखि पानी नपर्दा रोपेका धानका बिरुवा सुक्न थालेका छन् । खानेपानीको समेत हाहाकार भइदिँदा किसानसहित स्थानीय जनता आँत्तिएका छन् । बोरिङ र चापाकलसमेत सुक्दा पश्चिम नवलपरासी क्षेत्रमा झन् समस्या देखिएको अवस्था छ ।”

    यसैबीच, देशको पूर्वतर्फबाट मनसुन भित्रियो भन्ने खबर सुन्न पाइएको छ भन्दै स्थानीय किसानबाट अब छिट्टै वर्षा भइदिए गर्मी कम हुने, खानेपानी तथा सिँचाइको समस्या समाधान हुने, धानका बिरुवाले जीवन पाउने र कृषि व्यवसायमा सक्रिय भई आनन्द लिन पाउने अपेक्षा गरिएको छ ।

  • देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ

    देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ

    काठमाडौँ, १० असारः देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ भएको छ । कृषि विभागले देशभर करिब १० प्रतिशत धान रोपाइँ भएको जनाएको हो । गत वर्षको तुलनामा रोपाइँ ०।४ प्रतिशतले बढेको छ । मुलुकभर करिब १३ लाख ८१ हजार हेक्टर जमिनमा रोपाइँ हुने गर्दछ । यही असार ८ गतेसम्म सबैभन्दा बढी कर्णाली प्रदेशमा २२।८ प्रतिशत र बागमती प्रदेशमा २।३ प्रतिशत रोपाइँ भएको छ ।

    मधेस प्रदेशमा करिब पाँच प्रतिशत मात्र रोपाइँ भएको छ । धान उत्पादन तथा क्षेत्रफलका हिसाबले तराई क्षेत्र उपयुक्त मानिन्छ । सो क्षेत्रबाट धानको उत्पादकत्व वृद्धि भई कूल उत्पादनको ७० प्रतिशत योगदान रहेको छ भने पहाडी क्षेत्रमा ३० प्रतिशत उत्पादन हुने गरेको छ ।

    विभागका महानिर्देशक प्रकाशकुमार संजेलका अनुसार मनसुन अलि ढिला सक्रिय भएकाले रोपाइँका लागि देशका अधिकांश ठाउँमा आवश्यक वर्षा हुन सकेको छैन । मौसमको प्रतिकूलता, प्राकृतिक विपद्, अतिवृष्टि तथा अनावृष्टि, मलको समस्याले कतिपय क्षेत्रमा ढिलो रोपाइँ हुने गरेको छ । कृषि सूचना केन्द्रले कृषि उत्पादन बढाउन पछिल्लोपटक विकास भएका ज्ञान, सीप, प्रविधि प्रयोग, मनसुनका अवस्थासम्बन्धी जानकारी दिँदै आएको छ ।

  • प्रतिनिधिसभा निर्वाचन खर्च अध्ययन प्रतिवेदनः जित्नेले भन्दा हार्ने उम्मेदवारको बढी

    प्रतिनिधिसभा निर्वाचन खर्च अध्ययन प्रतिवेदनः जित्नेले भन्दा हार्ने उम्मेदवारको बढी

    रासस
    काठमाडौँ, १० असारः निर्वाचन पर्यवेक्षण समिति (इओसी) नेपालले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारको प्रचार खर्चसम्बन्धी अध्ययन प्रतिवेदन आज सार्वजनिक गरेको छ । प्रतिवेदनले जित्नेले भन्दा हार्ने उम्मेदवारले बढी खर्च गरेको पाइएको जनाएको छ । सो संस्थाले मुलुकभरका १६५ क्षेत्रमध्ये छानिएका १० निर्वाचन क्षेत्रका तीन हजार ४०६ उम्मेदवारमध्ये १४४ नमुना उम्मेदवारको खर्चको विश्लेषण गरेको हो । इओसी नेपालका अध्यक्ष श्रीकृष्ण सुवेदीका अनुसार विजयी उम्मेदवारले निर्वाचन प्रचारप्रसारमा औसत रु ८८ लाख र उपविजेताले त्यसको लगभग तीन गुणा बढी, औसत रु दुई करोड ८३ लाख खर्च गरेका पाइएको छ । निर्वाचन खर्चको करिब ६७ प्रतिशत रकम पराजित उम्मेदवारले खर्च गरेका छन् ।

    नतिजाले स्रोत व्यवस्थापनमा गम्भीर असन्तुलन रहेको देखाएको छ । निर्वाचन आयोगले प्रत्यक्ष निर्वाचन प्रणालीका उम्मेदवारका लागि रु २५ देखि ३३ लाखसम्म खर्चको सीमा तोकेकोमा, औसतमा उम्मेदवारले रु ७२ लाख अर्थात् कानुनी सीमाभन्दा ११८ प्रतिशत बढी खर्च गरेको पाइएको छ ।

    “उम्मेदवारले खर्च देखिने ब्यानर, र्‍याली, कोणसभा, भोजभतेर आदिको साटो नदेखिने च्यानल ९अदृश्य तर प्रभावशाली सूचना तथा सञ्चार प्रणाली, डिजिटल प्रचार, सामाजिक सञ्जाल, अनौपचारिक परिचालन०तर्फ सरेको देखियो । जसले अनुगमनलाई थप कठिन बनाउँछ र बनाएको देखियो । मित्थ्या सूचना, दुष्प्रचार, चरित्रहत्याजस्ता प्रणालीगत दुष्प्रचार तथा प्रयोग रोकथाम तथा नियन्त्रणमा आवश्यक कानुनी प्रबन्धको अभाव देखियो”, प्रतिवेदनमा भनिएको छ ।

    कूल खर्चको ८२ प्रतिशत प्रचार अभियान अवधिमा भएको र चार प्रतिशत खर्च निर्वाचनको दिन ९प्रचार निषेधको अवधि०मै भएको देखिएको प्रतिवेदनले जनाएको छ । उम्मेदवारको आम्दानीको स्रोत सार्वजनिक र अनिवार्यरूपमा खुलासा गरिनुपपर्ने, डिजिटल माध्यमबाट हुने आचारसंहिता उल्लङ्घन पत्ता लगाउन प्रविधिमैत्री अनुगमन प्रणाली विकास गरिनुपर्ने, खर्च विवरण पेस गर्ने हालको प्रक्रियाको सट्टा निर्वाचन आयोगले सक्रिय अनुगमन टोली परिचालन गरी आचारसंहिता उल्लङ्घकर्तालाई तत्काल कारबाही गर्ने व्यवस्था मिलाउनुपर्ने सुझावहरू दिइएको इओसीका अध्यक्ष सुवेदीले बताए ।
    यससैगरी छुट्टै बैंक खाताबाट खर्च गर्ने व्यवस्थालाई व्यावहारिक र सरल बनाइनुपर्ने, निर्वाचन प्रक्रियामा सार्वजनिक लेखापरीक्षणलाई सहायक संरचनाका रूपमा अनुमति दिइनुपर्ने प्रतिवेदनले सुझाव दिएको छ ।

  • पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध

    पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध

    काठमाडौँ, १० असारः मनसुन प्रतिकार्य कमाण्ड पोष्टको पहिलो बैठकले ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८३’ को प्रभावकारी कार्यान्वयन गर्न र उक्त कार्ययोजना अनुरुप मासिक रुपमा प्राधिकरणमा प्रतिवेदन गर्न सम्बद्ध सबै निकायलाई निर्देशन दिने निर्णय गरेको छ ।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख प्रदीपकुमार कोइरालाको अध्यक्षतामा आज बसेको बैठकले सम्भावित जोखिम रहेका क्षेत्र, खोलानाला, नदी र पानीको बहाव उच्च हुन सक्ने राष्ट्रिय राजमार्ग, स्थानीय सडक सञ्जालमा विपद्को गाम्भीर्यताबमोजिम आवश्यकताअनुसार सवारीसाधन सञ्चालनमा रोक लगाउन ७७ वटै जिल्ला सुरक्षा समितिलाई निर्देशन दिन गृह मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

    यसैगरी अवरोध भएका राजमार्ग÷सडक तत्काल सञ्चालन गर्न आवश्यक पर्ने हेभी इक्युपमेन्ट चालकसहित चौबिसै घण्टा तयारीमा राख्न सडक विभाग, सातवटै प्रदेश र ७५३ वटै स्थानीय सरकारलाई अनुरोध गर्ने, खोज, उद्धार तथा राहतमा प्रयोग हुने न्यूनतम सामग्री तयारी अवस्थामा राख्न र सडक अवरुद्ध भई सवारी साधन चल्न नसक्ने परिस्थितिमा कम्तीमा १५ दिनका लागि खाद्यान्न अभाव नहुने व्यवस्था मिलाउन स्थानीय सरकारलाई अनुरोध गर्ने, समयमै अन्तरदेशीय विपद्सम्बन्धी पूर्वसूचना प्राप्त गर्न कूटनीतिक पहलका लागि परराष्ट्र मन्त्रालयलाई अनुरोध गर्नेलगायतका निर्णय बैठकले गरेको छ ।

    बैठकले जल तथा मौसम विज्ञान विभागको मौसम तथा बाढी पूर्वानुमान महाशाखा मनसुन अवधिभर सातै दिन चौबिसै घण्टा सञ्चालन गर्ने प्रबन्ध मिलाउन विभागलाई अनुरोध गर्ने, भारत सरकारको प्रतिबद्धताअनुसार आउन बाँकी बेलिब्रिजका लागि आवश्यक पहल गर्न परराष्ट्र मन्त्रालयलगायत सम्बन्धित निकायमा अनुरोध गर्ने, खोज तथा उद्धार सामग्री अभाव हुन नदिन निजी क्षेत्र, सङ्घ, संस्था, नागरिक समाजलगायतसँग सहकार्य गरी ड्रोन एसोसिएसन, नेपाल एसोसिएसन अफ ¥याफ्टिङ एजेन्सिज्लगायतलाई अनुरोध गर्नेलगायत निर्णय गरेको छ ।

  • अपराध नियन्त्रण र अनुसन्धानमा प्रविधिको प्रयोगमा प्रहरी महानिरीक्षक कार्कीको जोड

    अपराध नियन्त्रण र अनुसन्धानमा प्रविधिको प्रयोगमा प्रहरी महानिरीक्षक कार्कीको जोड

    काठमाडौँ, १० असारः प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले अपराधको स्वरूप र प्रवृत्तिमा आएको परिवर्तनले सुरक्षित समाज निर्माणमा थप चुनौती थपेको उल्लेख गर्दै सङ्गठित अपराध, साइबर अपराध, लागुऔषध, मानव बेचबिखनलगायत आपराधिक क्रियाकलापमा संलग्नलाई कानुनी दायरामा ल्याउन प्रहरी थप क्रियाशील हुनुपर्ने बताए ।

    नेपाल पुलिस क्लबमा आज आयोजित ‘प्रहरी कार्यसम्बन्धी समीक्षा सम्मेलन, २०८३’लाई सम्बोधन गर्दै उनले अपराध नियन्त्रण र अनुसन्धानमा प्रविधिको प्रयोगलाई उच्च प्राथमिकतामा राख्न निर्देशन दिए ।
    महिला बालबालिका तथा ज्येष्ठ नागरिकविरूद्ध हुने अपराधप्रति संवेदनशीलता अपनाई पीडितमैत्री व्यवहारका साथ अनुसन्धान गर्नुपर्ने उनको भनाइ थियो ।

    प्रहरी अतिरिक्त महानिरीक्षक उमाप्रसाद चतुर्बेदी, काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल र काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले मन्तव्य व्यक्त गरेका थिए ।

    कार्यक्रममा प्रहरीको सञ्चार निर्देशनालय, राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालय, काठमाडौँ उपत्यका प्रहरी कार्यालय, काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख तथा प्रतिनिधिलगायतको सहभागिता रहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

    बदलिँदो अपराधको स्वरूप, प्रविधिको तीव्र विकास र जनअपेक्षाको वृद्धिसँगै प्रहरी कार्यलाई थप प्रभावकारी, उत्तरदायी र परिणाममुखी बनाउने तथा आगामी कार्यदिशा निर्धारण गर्ने उद्देश्यले सम्मेलनको आयोजना गरिएको हो ।

  • गैरकानूनीरूपमा चिकित्सा अभ्यासमा संलग्न व्यक्ति पक्राउ

    गैरकानूनीरूपमा चिकित्सा अभ्यासमा संलग्न व्यक्ति पक्राउ

    काठमाडौँ, १० असारः चन्द्रागिरी नगरपालिका वडा नं ८ मा सञ्चालित स्पार्क इन्टरनेशनल हेल्थ रिसोर्टमा नेपाल मेडिकल काउन्सिल दर्ता प्रमाणपत्र प्राप्त नगरी बिरामीको आधुनिक चिकित्सा उपचारमा संलग्न रहेकी चेतन एएम (पौडेल) पक्राउ परेकी छिन् ।

    नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले सोही ठाउँकी वर्ष ४७ की पौडेललाई पक्राउ गरेको हो । नियमित अनुगमनका क्रममा निजले नपाएको चिकित्सकको उपाधिको प्रयोग गर्नुका साथै बिरामीलाई औषधि सिफारिस गरिएको ‘प्रेस्क्रिप्सन’ फेला परेपछि नेपाल मेडिकल काउन्सिलको कारबाहीका लागि ब्यूरोलाई अनुरोध गरेको थियो ।

    प्रारम्भिक अनुसन्धानपश्चात काठमाडौँ जिल्ला अदालतबाट अनुमति लिई उनलाई पक्राउ गरिएको व्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शमशेर जबराले जानकारी दिए । निजमाथि मुलुकी अपराध संहिता, २०७४ को इलाजसम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको छ ।

  • सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ

    सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ

    काठमाडौँ, १० असारः सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा चन्द्रागिरी नगरपालिका–४ त्रिभुवन पार्क बस्ने रौतहट चन्द्रपुर नगरपालिका–४ घर भएका १९ वर्षीय विज्ञान शर्मा तिमलसिना पक्राउ परेका छन् । पीडित महिलाको अश्लिल तस्बिर–भिडियो दुरूपयोग गरी सामाजिक सञ्जाल डिसकोर्ड तथा टेलिग्राममा समेत पोष्ट गरेको भन्ने पीडितको उजुरीको आधारमा साइबर ब्यूरोबाट खटिएको प्रहरीले आज उनलाई पक्राउ गरेको हो ।

    उनीउपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौँबाट चार दिनको म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

  • प्रतिनिधिसभाको बैठकको मिति सर्‍यो

    प्रतिनिधिसभाको बैठकको मिति सर्‍यो

    काठमाडौँ, १० असारः प्रतिनिधिसभाको यही असार ११ गते बिहीबारका लागि पूर्वनिर्धारित बैठक यही असार १२ गते शुक्रबारका लागि सरेको छ । सङ्घीय संसद्का महासचिव पदमप्रसाद पाण्डेयले आज एक सूचना जारी गरेर सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको नियमावली, २०८३ को नियम ६ को ३ बमोजिम असार १२ गते शुक्रबार दिउँसो १ः०० बजेका लागि बैठक तोक्नुभएको जानकारी दिए । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन लम्बिएका कारण बैठक सरेको आँकलन गरिएको छ । राष्ट्रियसभाको बैठक भने पूर्वनिर्धारित असार ११ गते नै बस्नेछ ।

  • चुनाव प्रचारमा भएको फोहर सङ्कलन गर्दै उम्मेदवार

    चुनाव प्रचारमा भएको फोहर सङ्कलन गर्दै उम्मेदवार

    चितवन, १० असारः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा उम्मेदवारले प्रचारका क्रममा गरेको फोहर सरसफाइ गरिएको छ । रास्वपाका उम्मेदवारहरूले अन्य नेता कार्यकर्ताको सहकार्यमा सरसफाइ गरेका छन् । प्रतिनिधिसभा सदस्य एवं रास्वपाका केन्द्रीय सदस्यका उम्मेदवार केपी खनाल, अर्का उम्मेदवार एवं प्रधानमन्त्री वालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार असिम शाह र अर्का उम्मेदवार प्रधानमन्त्रीका नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकालसहितका उम्मेदवार एवं प्रतिनिधिले सरसफाइ गरेका हुन् ।


    रास्वपाको बन्दसत्र गरिएको उद्योग सङ्घको गेट बाहिरको फोहर तीन जना उम्मेदवारसहितका रास्वपा नेता कार्यकर्ताले सरसफाइ गरेका हुन् । सो क्षेत्रमा छरिएका उम्मेदवारका ‘भिजिटिङ कार्ड’, पर्चा पम्प्लेट, पानीका बोटललगायत फोहर उनीहरुले सफा गरेका हुन् । खनालले राजनीतिक फोहर मात्रै होइन हामीले गरेका अन्य फोहर पनि सफा गर्नुपर्ने भन्दै सरसफाइमा जुटेको बताए ।

    उनले भने, “हामीलाई भोट हालेका जनताले हामीले फोहर गरेको देख्न चाहँदैनन् । चितवन महाधिवेशनमा अत्यधिक फोहर देखेर हामीले सफा गरेका हौँ ।” हरेक नेपालीको घरघरसम्म रास्वपाले फोहर गर्दैन भन्ने सन्देश प्रवाहका लागि उम्मेदवार अशिम साह, सुदीप ढकालसहित आफूहरूले सरसफाइ गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी फोहर गर्ने होइन सफा गर्ने मान्छे हो ।”

  • रास्वपाको महाधिवेशनः नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा

    रास्वपाको महाधिवेशनः नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा

    काठमाडौँ, १० असार । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को चितवनको भरतपुरमा जारी प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय समितिको निर्वाचनका लागि वर्तमान मन्त्रिपरिषद्का नौ जना सदस्यहरूले उम्मेदवारी दिएका छन् । प्रारम्भिक सूचीअनुसार अर्थमन्त्री डा स्वर्णिम वाग्लेले गण्डकी प्रदेश खुलातर्फबाट उम्मेदवारी दिएका छन् ।


    परराष्ट्रमन्त्री शिशिर खनालले खुलातर्फ, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागमती प्रदेश खुलातर्फ र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले बागमती प्रदेशतर्फबाट उम्मेदवारी दिए । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षामन्त्री सीता वादीले कर्णाली भूगोलतर्फ, स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले कोशी भूगोलतर्फ, शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले खुला केन्द्रीय सदस्यतर्फ तथा कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले सुदूरपश्चिम खुलातर्फ केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिए ।

    युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले खुला मधेशी समूहबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । प्रथम महाधिवेशनमार्फत रास्वपाले नयाँ नेतृत्व चयन गर्न केन्द्रीय समितिका विभिन्न पद तथा सदस्यका लागि निर्वाचन प्रक्रिया अघि बढाएको जनाएको छ । प्रारम्भिक सूचीअनुसार केन्द्रीय समितिमा विभिन्न क्लस्टरबाट ३८४ जनाले उम्मेदवारी दिएका छन् ।

  • ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड

    ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड

    पाटन (ललितपुर), १० असारः ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०८३–८४ का लागि रु सात अर्ब ४८ करोड ८७ लाख ८० हजारको बजेट सार्वजनिक गरेको छ । महानगर उपप्रमुख मञ्जली शाक्य बज्राचार्यको अध्यक्षतामा आज बसेको नवौँ नगरसभाको तेस्रो बैठकले चालु खर्चतर्फ रु तीन अर्ब २५ करोड १८ लाख ५१ हजार र पुँजीगततर्फ रु चार अर्ब २३ करोड ६९ लाख २७ हजारको बजेट प्रस्तुत गरेको हो ।

    उपप्रमुख शाक्यले प्रस्तुत गर्नुभएको बजेटमा संस्थागत सुदृढीकरण र सुशासन, दिगो पूर्वाधार तथा सहरी विकास, कला, संस्कृति, सम्पदा संरक्षण र सम्वद्र्धन, सुलभ आधारभूत स्वास्थ्य सेवा तथा नगरवासीको जीवन रक्षा, रोजगारमूलक एवं स्तरीय आधारभूत शिक्षालाई प्राथमिकता दिइएको छ ।

    यसैगरी बजेटमा लैङ्गिक समानता, महिला सशक्तीकरण तथा सामाजिक समावेशीकरण, वातावरण संरक्षण, स्थानीय सहकारी तथा उद्यम व्यवसायको प्रवद्र्धन र विकास, सम्पदा तथा सांस्कृतिक एवं धार्मिक पर्यटनको प्रवद्र्धन, अपाङ्गतामैत्री व्यवहार र व्यवस्था, युवा तथा खेलकुद, बालमैत्री व्यवहार र व्यवस्था, विपद् जोखिम न्यूनीकरण र उद्धार, उद्यमशीलता विकासमार्फत रोजगार प्रवद्र्धन तथा गरिबी न्यूनीकरण, निजी क्षेत्र, गैरसरकारी संस्था र नागरिक समाजसँग सहकार्य, प्रविधियुक्त एवं नागरिक मैत्री र जवाफदेही सेवा प्रवाह तथा प्रत्येक घरमा स्वच्छ खानेपानीलाई प्राथमिकता दिइएको छ ।

    प्रस्तुत वार्षिक बजेटका लागि महानगरले स्रोत व्यवस्थापनतर्फ सङ्घीय सरकारबाट रु एक अर्ब ३६ करोड ५३ लाख ९० हजार र बागमती प्रदेश सरकारबाट रु १७ करोड ६३ लाख ९० हजार प्राप्त हुने अनुमान गरिएको छ । त्यस्तै आन्तरिक आयबाट रु तीन अर्ब ३५ करोड ५० लाख सङ्कलन हुने अनुमान बजेटमा उल्लेख छ । त्यस्तै अन्तर सरकारी अख्तियारीबाट रु एक अर्ब ६ करोड २० लाख प्राप्त हुने अपेक्षा गरिएको छ । रु एक अर्ब ४७ करोड नगद मौज्दातबाट बेहोरिने उपप्रमुख शाक्यले जानकारी दिनुभयो ।

    महानगरले गत वर्ष रु सात अर्ब ४७ करोड ४१ लाख ४७ हजारको वार्षिक बजेट प्रस्तुत गरेकामा २०८३ को जेठ मसान्तसम्म रु तीन अर्ब ४३ करोड ७६ लाख ९१ हजार अर्थात् ५१.२ प्रतिशत बजेट खर्च भएको उपप्रमुख शाक्यले जानकारी दिइन् । यसअघि यही असार ५ गते भएको नगरसभाको पहिलो बैठकमा महानगरप्रमुख चिरीबाबु महर्जनले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । सोही नीति तथा कार्यक्रमको आधारमा आज बजेट प्रस्तुत गरिएको महानगरका प्रवक्ता राजु महर्जनले जानकारी दिए ।

  • गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ

    गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ

    काठमाडौँ, १० असारः नेपाल प्रहरीले गैरकानुनी रुपमा नेपालमा बसेका २४ बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भुबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका–१५ डल्लु र सितापाइला क्षेत्रमा गैरकानूनी रुपमा बसोबास गर्दैआएका बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको हो ।

    जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले नेपाल प्रवेश गरेका स्थायी परिचय खुल्ने कागजात, पासपोर्ट नरहेका तथा म्याद सकिएको पर्यटक भिसा लिई गैरकानुनी रुपमा नेपाल बस्दै आएका उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए ।

    प्रहरीले उनीहरुलाई डल्लु, सीतापाइलालगायतका क्षेत्रमा कपडा कारखानामा काम गर्दै गरेको अवस्थामा पक्राउ गरेको प्रवक्ता भट्टराईले बताए । पक्राउ परेका उनीहरुलाई आवश्यक कानुनी कारबाहीका लागि आज अध्यागमन विभाग कालिकास्थान पठाइएको छ ।

  • द्वन्द्व सुरु भएयता ‘स्ट्रेट अफ हर्मुज’मा उच्च जहाज आवागमन

    द्वन्द्व सुरु भएयता ‘स्ट्रेट अफ हर्मुज’मा उच्च जहाज आवागमन

    पेरिस, १० असार (रासस–सिन्ह्वा) । इरानसँग सम्बन्धित द्वन्द्व सुरु भएयता सोमबार ‘स्टे«ट अफ हर्मुज’ हुँदै कम्तीमा ३६ वटा वस्तुवाहक जहाज आवतजावत गरेको फ्रान्सेली दैनिक ‘ले मोन्डे’ले जनाएको छ । समुद्री विश्लेषण कम्पनी केप्लरको तथ्याङ्क उद्धृत गर्दै मङ्गबार प्रकाशित समाचारमा उक्त सङ्ख्या द्वन्द्व सुरु भएयताकै उच्च रहेको उल्लेख गरिएको छ । प्रतिवेदनअनुसार शान्तिकालमा ‘स्टे«ट अफ हर्मुज’ हुँदै दैनिक औसत १२० जहाज आवतजावत गर्ने गरेका थिए । सोमबारको आवागमन सामान्य अवस्थाको करिब एक तिहाइ बराबर रहेको जनाइएको छ ।

    ‘स्टे«ट अफ हर्मुज’ विश्वकै महत्वपूर्ण ऊर्जा ढुवानी मार्गमध्ये एक मानिन्छ । द्वन्द्वअघि विश्वव्यापी तेल तथा तरलीकृत प्राकृतिक ग्यास (एलएनजी)को २० प्रतिशतभन्दा बढी हिस्सा यही जलमार्ग हुँदै ढुवानी हुने गरेको थियो । खाडी क्षेत्रतर्फ अन्न तथा उपभोग्य वस्तु आपूर्तिका लागि पनि यो मार्ग महत्वपूर्ण मानिन्छ । यसैबीच कतार र पाकिस्तानको मध्यस्थतामा अमेरिकी तथा इरानी वार्ताकारबीच आइतबार मध्यस्विट्जरल्याण्डस्थित बुर्गेनस्टक पर्वतीय रिसोर्टमा वार्ता सुरु भएको छ । गत साता इस्लामाबाद समझदारीपत्र ९एमओयू०मा हस्ताक्षर भएपछि दुवै पक्षबीच भएको यो पहिलो प्रत्यक्ष वार्ता हो ।

    समझदारीपत्रअनुसार अमेरिका र इरानले लेबनानसहित सबै मोर्चामा सैन्य गतिविधि तत्काल र स्थायी रूपमा अन्त्य गर्ने घोषणा गरेका छन् । साथै, अधिकतम ६० दिनभित्र वार्तामार्फत अन्तिम शान्ति सम्झौतामा पुग्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

  • आणविक निरीक्षणबारे इरान र अमेरिकाबीच मतभेद

    आणविक निरीक्षणबारे इरान र अमेरिकाबीच मतभेद

    तेहरान, १० असार (रासस–एएफपी) । इरानले गत वर्ष अमेरिका र इजरायलद्वारा आक्रमण गरिएका आफ्ना प्रमुख आणविकस्थलको निरीक्षणका लागि संयुक्त राष्ट्रसङ्घीय आणविक निगरानी निकायका निरीक्षकलाई अनुमति नदिने जनाएको छ । मध्यपूर्वमा जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले स्विट्जरल्याण्डमा पहिलो चरणको वार्ता सम्पन्न भएपछि इरानले मङ्गलबार यस्तो धारणा सार्वजनिक गरेको हो । तेहरान र वासिङ्टनबीच भएको समझदारीपछि इरानको आणविक कार्यक्रम तथा प्रतिबन्ध राहतलगायत विषयमा अन्तिम सहमति खोज्न ६० दिनको वार्ता प्रक्रिया सुरु भएको जनाइएको छ ।

    मङ्गलबार अन्तिम सम्झौताका लागि कूटनीतिक प्रयास तीव्र बनाइएको छ । इरानी अधिकारी मध्यस्थकर्ता पाकिस्तानसँग वार्ताका लागि अघि बढेका छन् भने अमेरिकी विदेशमन्त्री मार्को रुबियोले खाडी क्षेत्रका सहयोगी राष्ट्रको भ्रमण सुरु गर्नुभएको छ । लेबनान र इजरायलका प्रतिनिधि पनि वासिङ्टनमा प्रत्यक्ष वार्ताका लागि जाने तयारीमा छन् ।

    यसैबीच इरानले अन्तरराष्ट्रिय आणविक ऊर्जा निकाय ९आइएइए०का निरीक्षकलाई पुनः प्रवेश दिन सहमत भएको भन्ने अमेरिकी दाबी अस्वीकार गरेको छ ।इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाएईले आइएइएका महानिर्देशकसँग कुनै भेटवार्ता नभएको तथा अमेरिका र इजरायलको सैन्य आक्रमणबाट क्षति पुगेका आणविक केन्द्रको निरीक्षणसम्बन्धी कुनै योजना नरहेको बताउनुभयो ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने इरानले भविष्यमा उच्चस्तरीय आणविक निरीक्षण स्वीकार गर्ने सहमति जनाएको दाबी गर्नुभएको छ । गत वर्ष अमेरिका इजरायलसँगको द्वन्द्वमा सहभागी भएपछि फोर्डो, नातान्ज र इस्फहानस्थित इरानका आणविक केन्द्रमा आक्रमण गरिएको थियो । उक्त आक्रमणबाट भएको क्षतिको वास्तविक अवस्था भने स्पष्ट नभएको जनाइएको छ ।

    इरानका संयुक्त राष्ट्रसङ्घका राजदूत अली बहरेनीले पनि आइएइए निरीक्षकलाई प्रवेश दिने सम्बन्धमा कुनै निर्णय नभएको बताउनुभयो । यसैबीच इरानका प्रमुख वार्ताकार मोहम्मद बाघेर गालिबाफले हर्मुज जलडमरू युद्धअघिको पूर्ण स्वतन्त्र अवस्थामा तत्काल फर्कन नसकिने धारणा राख्नुभएको छ । यद्यपि दुवै पक्षले जलमार्ग खुला राख्न सञ्चार संयन्त्र स्थापना गर्न सहमति जनाएका छन् ।

    समुद्री अनुगमन संस्था केप्लरका अनुसार सोमबार हर्मुज जलडमरू हुँदै ३५ वटा वस्तुवाहक जहाज पार भएका थिए, जुन द्वन्द्व सुरु भएयताकै उच्च सङ्ख्या हो । यसैबीच ओमान र इरानले हर्मुज जलडमरूको व्यवस्थापन तथा त्यहाँ प्रदान गरिने सेवाका लागि लाग्ने लागतबारे अध्ययन गर्ने सहमति गरेका छन् ।

  • चीनको सुपर कम्प्युटरले अमेरिकालाई पछि पार्दै बन्यो विश्वकै शक्तिशाली

    चीनको सुपर कम्प्युटरले अमेरिकालाई पछि पार्दै बन्यो विश्वकै शक्तिशाली

    वासिङ्टन, १० असार (एएफपी–रासस) । चीनको एक सुपर कम्प्युटरले विश्वकै सबैभन्दा शक्तिशाली सुपर कम्प्युटरको उपाधि हासिल गरेको छ । यससँगै झण्डै एक दशकदेखि कायम रहेको संयुक्त राज्य अमेरिकाको प्रभुत्व अन्त्य भएको छ भने स्वदेशी प्रविधिमार्फत अत्याधुनिक कम्प्युटिङ क्षमता विकास गर्ने चीनको प्रयास थप बलियो बनेको छ । जर्मनीको ह्याम्बर्गमा सोमबार आयोजित प्रमुख कम्प्युटिङ सम्मेलन ‘आइएससी’ २०२६मा सार्वजनिक गरिएको चर्चित शीर्ष पाँचसयको सूचीमध्ये ‘लाइनशाइन’ नामक चिनियाँ प्रणाली शीर्ष स्थानमा पुगेको हो ।

    सन् २०१७ पछि पहिलो पटक कुनै चिनियाँ सुपर कम्प्युटरले यो सूचीको नेतृत्व गरेको हो । सन् १९९३ देखि वर्षमा दुई पटक सार्वजनिक हुँदै आएको शीर्ष पाँच सय सूचीलाई विश्वका कम्प्युटिङ शक्तिको अनौपचारिक प्रतिस्पर्धात्मक सूचकका रूपमा हेरिन्छ । लाइनशाइनले यसअघिको शीर्ष स्थानमा रहेको अमेरिकी ऊर्जा विभागअन्तर्गतको ‘एल क्यापिटन’ सुपर कम्प्युटरलाई पछि पार्दै पहिलो स्थान हासिल गरेको हो ।

    दक्षिणी चिनियाँ सहर शेन्जेनमा रहेको यो मेसिनले निरन्तर कार्यसम्पादनमा दुई दशमलव दुई एक्साफ्लप्स गति हासिल गरेको छ । एक्साफ्लप्सले कम्प्युटरले एक सेकेन्डमा गर्न सक्ने गणनाको सङ्ख्या मापन गर्छ । विशेष रूपमा, लाइनशाइन पूर्णरूपमा चिनियाँ डिजाइन गरिएका प्रोसेसर प्रयोग गरेर निर्माण गरिएको बताइएको छ । यसले विश्वका धेरैजसो शक्तिशाली प्रणालीमा प्रयोग हुने अमेरिकी प्रविधिमा आधारित चिपको विकल्पका रूपमा चीनको स्वदेशी क्षमता देखाएको छ ।

    यद्यपि अमेरिका अझै पनि शीर्ष चारमध्ये तीन स्थानमा रहेको छ । क्यालिफोर्नियास्थित लरेन्स लिभरमोर राष्ट्रिय प्रयोगशाला मा रहेको एल क्यापिटन दोस्रो स्थानमा छ । युरोपमा जर्मनीको जुपिटर बूस्टर प्रणालीले शीर्ष पाँचमा स्थान बनाएको छ ।

  • चोरी गरी अमेरिका पुर्याइएका नेपालका दुई अमूल्य मूर्ति फिर्ता

    चोरी गरी अमेरिका पुर्याइएका नेपालका दुई अमूल्य मूर्ति फिर्ता

    काठमाडौँ, १० असारः नेपालबाट चोरी गरी अमेरिका पुर्याइएका नेपालका दुई वटा अमूल्य मूर्ति फिर्ता नेपाललाई फिर्ता गरिएको छ । न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासमा आज आयोजित विशेष हस्तान्तरण समारोहमा न्युयोर्कको सरकारी वकिलको कार्यालयले पद्मपाणी र नृत्यदेवीका मूर्तिको स्वामित्व औपचारिक रूपमा नेपाल सरकारलाई हस्तान्तरण गरेको हो ।

    समारोहमा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूत दधिराम भण्डारी तथा म्यानहटन सरकरी वकिलको कार्यालयअन्तर्गतको पुरातात्विक वस्तु तस्करी नियन्त्रण एकाइका प्रमुख कर्नेल म्याथ्यु बोग्डानोसले हस्तान्तरणसम्बन्धी सहमति पत्रमा हस्ताक्षर गरे । महावाणिज्य दूतावासले जारी गरेको विज्ञप्ति अनुसार तेह्रौँ शताब्दीको कास्य पद्मपाणीको मूर्ति काठमाडौँस्थित थमबहिल (विक्रमशील महाविहार, भगवानबहाल)को अनुपम कलाकृति मानिन्छ । उक्त मूर्तिको अन्तिम तस्बिर सन् १९७१ मा लिइएको अभिलेखमा उल्लेख छ भने सन् १९७१ र १९७७ बीच कुनै समयमा अवैध रूपमा अमेरिका पु¥याइएको ठानिएको छ ।

    त्यसैगरी, सोह्रौँ शताब्दीको काठबाट निर्मित नृत्यदेवीको मूर्ति ललितपुरको इबहा बहीको उत्कृष्ट काष्ठकलाको नमुना मानिन्छ । उक्त मूर्ति सन् १९६९ र १९८३ बीच कुनै समयमा चोरी गरी अमेरिका लगिएको अनुमान गरिएको छ । पछि यो मूर्ति न्युयोर्कस्थित महानगर सङ्ग्रहालयबाट बरामद गरिएको थियो । यी दुवै सम्पदा न्युयोर्क सरकारी वकिलको कार्यालयले अमेरिकी गृह सुरक्षा अनुसन्धान निकाय तथा अन्य साझेदार संस्थासँगको सहकार्यमा खोजी गरेर नेपाललाई हस्तान्तरण गरिएको हो ।

    त्यस अवसरमा महावाणिज्यदूत भण्डारीले नेपाल सरकार तथा नेपाली जनताका तर्फबाट अमेरिकी सरकार, न्युयोर्क सरकारी वकिलको कार्यालय, गृह सुरक्षा अनुसन्धान निकाय, अनुसन्धानकर्ता, सङ्ग्रहालय, सम्पदा संरक्षण अभियन्ता तथा समुदायका सदस्यप्रति आभार व्यक्त गरे । उनले सबैको संयुक्त प्रयासबाट यी अमूल्य सांस्कृतिक सम्पदाको खोजी, नेपाललाई पुनः स्वामित्व प्राप्ति र स्वदेश फिर्ती सम्भव भएको बताए ।


    नेपाल र अमेरिकाबीच सांस्कृतिक सम्पदाको अवैध ओसारपसार नियन्त्रणका लागि विकसित हुँदै गएको सहकार्य अन्तरराष्ट्रिय साझेदारीको उत्कृष्ट उदाहरण भएको तथा साझा सांस्कृतिक सम्पदा संरक्षणप्रतिको प्रतिबद्धताको प्रतीक भएको उनको भनाइ थियो । उनले अमेरिकास्थित नेपाली समुदाय तथा सामुदायिक संस्थाहरू, विशेषगरी नेवा गुठी न्युयोर्कलाई नेपालका सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धनमा पु¥याएको योगदानका लागि धन्यवाद दिए ।

    हस्तान्तरणपछि ती दुवै सम्पदालाई यही जुन २५ मा नेपाल पठाइने जनाइएको छ । ढुवानी तथा व्यवस्थापनको कार्य नेपाली महावाणिज्यदूतावास र नेवा गुठी न्युयोर्कको समन्वयमा गरिनेछ भने गुठीका प्रतिनिधिहरूले सम्पदासँगै नेपालसम्म यात्रा गर्नेछन् ।

    काठमाडौँ आइपुगेपछि ती सम्पदा पुरातत्त्व विभागलगायत सम्बन्धित सरकारी निकायलाई हस्तान्तरण गरिनेछ । समारोहमा न्युयोर्क सरकारी वकिलको कार्यालय, गृह सुरक्षा अनुसन्धान निकाय, नेवा गुठी, मेट्रोपोलिटन म्युजियम, प्राध्यापक, नेपाली समुदायका सदस्य, सम्पदा संरक्षणकर्मी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।