९ असार, काठमाडौं । न्यूयोर्क न्यू जर्सी स्टेडियममा मंगलबार बिहान सम्पन्न खेलमा सेनेगललाई ३–२ ले हराउँदै नर्वे २८ वर्षपछि नकआउट चरण प्रवेश गरेको छ । नर्वेको जितमा एर्लिङ हाल्यान्डले दुई र मार्कस होल्मग्रेन पेडरसनले एक गोल गरे । सेनेगलका इस्माइला सारले दुई गोल गरे । खेलको ४३औं मिनेटमा मार्कसले गोल गर्दै नर्वेलाई पहिलो अग्रता दिलाए नर्वेका एर्लिङ हाल्यान्ड ४८औं मिनेटमा गोल गर्दै टोलीलाई २ गोलको अग्रता दिलाए । ५३औं मिनेटमा इस्माइला सारले गोल गर्दै सेनेगललाई खेल फर्काउने कोसिस गरे । तर, ५८औं मिनेटमा हाल्यान्डले व्यक्तिगत दोस्रो गोल गर्दा नर्वेको अग्रताको दुरी बढाए ।
दोस्रो हाफको इन्जुरी समयमा इस्माइलाले व्यक्तिगत दोस्रो गोल गर्दे खेलमा फर्किएपनि सफल हुन सकेनन् । २८ वर्षपछि विश्वकपमा खेलेको नर्वे एक खेलअगावै नकआउट चरण प्रवेश गरेको हो । नर्वेले पछिल्लोपटक सन् १९९८ मा भएको विश्वकप खेलेको थियो । जितपछि नर्वे ६ अंकसहित समूह ‘आइ’ को दोस्रो स्थानमा छ । समान ६ अंक रहेको फ्रान्स गोलअन्तरका आधारमा शीर्ष स्थानमा छ । नर्वे र फ्रान्सले नकआउट चरणमा स्थान पक्का गरिसकेका छन् । दुवै खेलमा पराजित भएका सेनेगल र इराक अंकविहीन छन् ।
काठमाडौँ, ९ असारः कप्तान लियोनल मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना जारी विश्वकप फुटबल २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ । आज सम्पन्न खेलमा अर्जेन्टिनाले अष्ट्रियालाई २–० गोलअन्तरले पराजित गरेको हो । अमेरिकाको डालास स्टेडियममा मेस्सीले खेलको ३८औँ मिनेटमा पहिलो गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए ।
त्यसपछि खेलको दोस्रोे हाफको अतिरिक्त समयमा उनले व्यक्तिगत दोस्रो गोल गर्दै आफनो देशको जित सुनिश्चित गरे । जितसँगै अर्जेन्टिनाका कप्तान मेस्सीले जर्मनीका मिरोस्लाभ क्लोजको नाममा रहेको १६ गोलको कीर्तिमानलाई पछि पार्दै विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् ।
मेस्सीले आजको खेलसँगै विश्वकपमा १८ गोल गरिसकेका छन् । यसअघि अल्जेरियाविरुद्धको पहिलो खेलमा अर्जेनिन्टना विजयी हुँदा मेस्सीले ह्याट्रिक गोल गरेका थिए । समूह ‘जे’ मा रहेको अर्जेन्टिना लगातार दोस्रो जित निकाल्दै ६ अङ्क जोडेर अङ्क तालिकाको शीर्ष स्थानमा रहेको छ । त्यस्तै पराजित अष्ट्रिया दुई खेलबाट ३ अङ्क जोड्दै दोस्रो स्थानमा छ । यसै समूहमा रहेका जोर्डन र अल्जेरिया अङ्कबिहीन छन् । उनीहरुले समान एक\एक खेल खेलेका छन् ।
लन्डन, ८ असार (रासस–एएफपी) । बेलायतका प्रधानमन्त्री किर स्टार्मरले दुई वर्षभन्दा कम कार्यकालपछि सोमबार राजीनामाको घोषणा गरेका छन् । नीतिगत यू–टर्न तथा बढ्दो अलोकप्रियताबीच उनले लेबर पार्टीको नेताबाट राजीनामा दिने घोषणा गरेका हुन् । लन्डनस्थित ‘टेन डाउनिङ स्ट्रिट’ बाहिर सम्बोधन गर्दै स्टार्मरले आफूले लिएका सबै निर्णय देशको हितलाई केन्द्रमा राखेर गरिएको बताए ।
“मैले लिएका हरेक निर्णय मैले माया गरेको देशलाई पहिलो स्थानमा राख्ने उद्देश्यका साथ गरिएको हो । त्यसैले म लेबर पार्टीको नेताको पदबाट राजीनामा दिन्छु”, उनले भावुक हुँदै भने । स्टार्मरका अनुसार नयाँ लेबर पार्टी नेता चयन प्रक्रिया आगामी जुलाईमा सुरु हुनेछ ।
नयाँ नेता सेप्टेम्बरभित्र चयन हुने अपेक्षा गरिएको छ । सन् २०२४ मा लेबर पार्टीलाई आमनिर्वाचनमा विजय दिलाउँदै प्रधानमन्त्री बनेका स्टार्मरको कार्यकाल नीतिगत परिवर्तन र घट्दो जनसमर्थनका कारण चुनौतीपूर्ण बनेको थियो ।
काठमाडौँ, ८ असार । कृषि विभागले यही असार १५ गते २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव आयोजना गर्ने भएको छ । विभागको समन्वयमा बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले धान दिवस तथा रोपाइँ महोत्सव मनाउने तयारी गरेको हो । महोत्सवका अवसरमा धानसम्बन्धी प्रदर्शनी, जानकारीमूलक कार्यक्रम, पोस्टर, सन्देशलगायतका सामग्री प्रकाशित र प्रसारण गरिने र विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ । विभागले यस वर्षका लागि ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ नारा तय गरेको छ ।
उत्पादनमा वैज्ञानिक विधिको प्रयोग, जलवायु अनुकूल प्रजातिको प्रवर्द्धन गर्नुपर्ने बताउँदै महानिर्देशक सञ्जेलले विभागले कृषकको जीवनस्तर उकास्न नीति निर्माणदेखि व्यावहारिक कार्यान्वयनसम्म सबै तहमा संवेदनशील हुनुपर्नेमा जोड दिए । दिवसमा राष्ट्रिय तथा स्थानीय तहका नीति निर्माता, कृषि समुदाय, कृषक समूह÷सहकारी, कृषि बालीसम्बन्धी संस्थालगायतको सहभागिता रहनेछ ।
काठमाडौँ, ८ असार । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले लालीगुराँस सहकारी र आइडियल यमूना सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ । समितिका अनुसार लालीगुराँस सहकारीका थप ७० जना बचतकर्ताले बचत फिर्ता पाएका हुन् भने आइडियल यमूना सहकारीका १२ जनाले बचत फिर्ता पाएका हुन् ।
सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ । हालसम्म लालीगुराँस सहकारीको ३०८ जनाको बचत फिर्ता गरेको समितिले आज जनाएको छ । समितिका अनुसार पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिएको हो । यसरी नै क्रमशः बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिने छ ।
समितिका अनुसार समस्याग्रस्त सहकारीका करिब ७६ हजार बचतकर्ताहरूको करिब रु ४६ अर्ब बचत फिर्ता गर्नुपर्ने छ । तीमध्ये अधिकांश साना बचतकर्ता रहेका छन् । रु पाँच लाखभन्दा कम रकम बचतकर्तालाई साना बचतकर्ता र रु पाँच लाखभन्दा बढी रकम बचतकर्तालाई ठूला बचतकर्ताका रूपमा वर्गीकरण गरिएको छ ।
कूल ७६ हजारमध्ये पाँच लाखभन्दा बढी बचत गर्ने जम्मा १८ हजार रहेको समितिले जनाएको छ । समस्याग्रस्त सहकारी संस्थाहरुबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमबाट सम्बन्धित सहकारीका बचतकर्ताहरुलाई बचत फिर्ता गर्ने कार्य प्रचलित कानुनी व्यवस्था बमोजिम निरन्तर रुपमा सञ्चालन भइरहेको छ ।
काठमाडौँ, ८ असार । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुलाई अनावश्यक दुःख तथा हैरानी दिएको आरोपमा १० जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटिएको टोलीले कोटेश्वर र जडिबुटी क्षेत्रमा सञ्चालित बस काउन्टरका कर्मचारी, चालक तथा सहचालकले यात्रुलाई अनावश्यक दुःख हैरानी दिएको आरोपमा आज १० जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धनुषाका ४० वर्षीय सूर्यबहादुर देवकोटा, दोलखाका ३२ वर्षीय प्रकाश शिवाकोटी, भक्तपुरका ५५ वर्षीय हरिभजन थापा, दोलखाका ३८ वर्षीय डिल्लीप्रसाद लामिछाने, सिन्धुपाल्चोकका २८ वर्षीय सुरेश तामाङ रहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिए । त्यस्तै सिन्धुलीका २७ वर्षीय तिलककुमार थापा, दोलखाका २६ वर्षीय खड्कबहादुर तामाङ, सिन्धुलीका ३६ वर्षीय डोरकुमार श्रेष्ठ, ओखलढुङ्गाका ४५ वर्षीय नन्दलाल बुढाथोकी र सिन्धुपाल्चोकका ३६ वर्षीय राजेश सापकोटालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यात्रु तानातान गर्ने र झोला खोस्ने जस्ता अमर्यादित कार्य गरिरहेकाले उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेका सबैलाई आवश्यक अनुसन्धान तथा थप कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको प्रवक्ता सुवेदीले बताए ।
राम थापा–रासस गण्डकी, ८ असार । फ्लाइ दुबईले आगामी असोज ७ गतेदेखि पोखरा–दुबई सिधा उडान सेवा सुरु गर्दैछ । विश्वव्यापी हवाई ट्रान्जिट हब दुबईसम्मको सिधा उडानले पोखरालाई अन्तरराष्ट्रिय हवाई सञ्जालमा जोड्ने छ । सञ्चालनमा आएको तीन वर्ष बितिसक्दासमेत पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट नियमित अन्तरदेशीय उडान हुन सकेको थिएन ।
सन् २०२५ को मार्चमा हिमालय एयरलाइन्सले पहिलोपटक पोखरा–ल्हासा नियमित व्यावसायिक उडान सुरू गरे पनि यात्रु सङ्ख्या न्यून हुँदा उक्त उडान सेवा हाल स्थगन छ । पोखरा–दुबई उडान पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट हुन लागेको दोस्रो व्यावसायिक उडान हो । यसअघि चीन, भारत र भुटानका विभिन्न गन्तव्यमा चार्टर उडान भने हुँदै आएको थियो ।
पोखरा अन्तरराष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले दुबई–पोखरा–दुबईको उडान तालिका स्वीकृत भएसँगै फ्लाई दुबईले टिकट बुकिङ खुला गरिसकेको बताए । “पोखराको अन्तरराष्ट्रिय हवाई पहुँच विस्तारमा यो महत्वपूर्ण उपलब्धि हो, यसले सिङ्गो गण्डकी प्रदेश र मुलुकलाई नै प्रत्यक्ष लाभ पुग्छ”, उनले भने । “पोखरादेखि दुबई भएर युरोप, अमेरिकालगायत विभिन्न गन्तव्य मुलुकमा जाने यात्रुलाई धेरै सहजता थपिन्छ, यात्राअवधि छोटिँदा खर्च पनि घट्छ ।”
पर्यटकीय राजधानीसमेत रहेको पोखरासहित यहाँका पर्यटकीय क्षेत्रको घुमफिरका लागि विदेशी पर्यटकहरु सिधँै पोखरा आउन सक्ने महाप्रबन्धक निरौलाले बताए । वैदेशिक राजगोरी, अध्ययन, घुमफिर आदिका लागि अरब मुलुकसहित अन्य देशमा जाने यात्रु तथा सर्वसाधारणका लागि पोखरा–दुबई उडान सेवा लाभदायी हुने देखिएको छ ।
विश्वकै व्यस्त र महत्वपूर्ण मानिने हवाई ट्रान्जिट हब दुबईमा हुने उडानले अन्तरराष्ट्रिय क्षेत्रमा पोखराको सिधा हवाई पहुँच पुग्ने पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताए । उनका अनुसार फ्लाइ दुबई र इमिरेट्स एयरलाइन्सबीच रणनीतिक कोडसेयर साझेदारीअन्तर्गत पोखरा–दुबई उडान सेवा सञ्चालन हुनेछ । पोखरादेखि अष्ट्रेलिया, युरोप वा अमेरिकी सहरहरुमा पुग्ने यात्रुहरुले एउटै टिकटबाट यात्रा गर्न सक्ने र गन्तव्यसम्म पुग्दा कुनै झण्झट नुहने प्रमुख आचार्यले बताए ।
इमिरेट्स एयरलाइन्सले दुबई अन्तरराष्ट्रिय विमानस्थलको टर्मिनल ३ लाई आफ्नो प्रमुख हब बनाएर विश्वका छ वटा महादेशका ७६ देशमा रहेका १४३ भन्दाबढी देशहरुमा जोड्दै आएको उनको भनाइ छ । पोखरा अन्तरराष्ट्रिय विमानस्थलका महाप्रबन्धक निरौलाले एयरलाइन्सहरुबीच हुने कोडसेयर साझेदारीले यात्रुको ट्रान्जिटलाई सहज बनाउने बताए । “पोखरादेखि दुबई हुँदै अन्य देशमा जाने यात्रुहरु एउटै टिकटबाट यात्रा गर्न सक्छन्, लगेज आफैँ सार्नुपर्ने झण्झट पनि हुँदैन”, उनले भने, “दुबईसम्म एउटा विमानले यात्रु बोक्छ, त्यहाँ ट्रान्जिटपछि अर्को विमानले गन्तव्यमा पु¥याउँछ ।”
पोखरा–दुबई उडानका लागि गत जेठ २५ गते नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाई दुबईलाई अनुमति दिएको थियो । त्यसअघि फ्लाई दुबईको टोलीले पोखरा अन्तरराष्ट्रिय विमानस्थलको उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी निरीक्षण गरेको थियो । सरकारले आगामी आव २०८३÷८४ को नीति तथा कार्यक्रममा पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा अन्तरराष्ट्रिय वायुसेवा प्रदायकलाई आकर्षित गर्न कूटनीतिक पहल गर्ने जनाएको केही समयमै फ्लाई दुबईले उडान अनुमति पाएको हो ।
विमानस्थलका महाप्रबन्धक निरौलाले पोखराबाट उडान सेवा सुरु गर्न एयर अरेबियाले चासो देखाएको बताए । “पोखराबाट अन्तरराष्ट्रिय उडान सञ्चालनको दिगोपनाका लागि निजी क्षेत्रलगायत सबै पक्षको सकारात्मक सहयोगको खाँचो छ”, उनले भने, “पोखराबाट नियमित अन्तरराष्ट्रिय उडान हुँदा मुलुकको पर्यटन र अर्थतन्त्रमा ठूलो टेवा पुग्छ, सर्वसाधारण यात्रुहरुले सहज सुविधा पाउँछन् ।”
पोखरा अन्तरराष्ट्रिय विमानस्थल नेपालको तेस्रो अन्तरराष्ट्रिय हवाई प्रवेशद्वारका रहेको छ । काठमाडौँ केन्द्रित रहेको हवाई चापलाई विकेन्द्रीकरणसँगै पर्यटन प्रवर्द्धन र आर्थिक गतिविधिका लागि पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट नियमित अन्तरदेशीय उडान हुनुपर्ने आवाज उठ्दै आएको छ । दुबईसँग प्रत्यक्ष हवाई सम्पर्क स्थापित हुँदा मध्यपूर्व, युरोप, अफ्रिका लगायतका ३०० भन्दा बढी सहरहरूसँग पोखराको पहुँच पुग्ने जनाइएको छ ।
झण्डै रु २२ अर्ब ऋणमा बनेको यस विमानस्थल हाल आन्तरिक उडानमा मात्र सीमित छ । सन् २०२३ को जनवरी १ मा यस विमानस्थलको उद्घाटन गरिएको थियो । स्वदेशी वायुसेवा प्रदायक कम्पनीले पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट सङ्घीय राजधानी काठमाडौँ, भरतपुर, भैरहवालगायतका गन्तव्यमा आन्तरिक उडान गर्दै आएका छन् । पोखरामा अन्तरराष्ट्रिय विमानस्थल बनाउने ५० वर्षअघिको योजनाले सार्थकता पाए पनि विमानस्थल पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन । अन्तरराष्ट्रिय विमानस्थल बनेपछि ठूलो सङ्ख्यामा विदेशी पर्यटक भित्रने आशमा रहेका पर्यटन व्यवसायी विमानस्थलबाट नियमित अन्तरराष्ट्रिय उडानको पर्खाइमा छन् ।
पोखरा–दुबई सिधा उडानले पोखरा र सिङ्ग्रो गण्डकी प्रदेशको आर्थिक समृद्धिको ढोका खुल्ने उद्योग वाणिज्य महासङ्घ, गण्डकीका अध्यक्ष नरेश कँडेलले बताए । “गण्डकी प्रदेशबाट मध्यूपूर्वका देशदेखि युरोप, अमेरिकासम्म रोजगार र अध्ययनका लागि जानेको सङ्ख्या ठूलो छ”, उनले भने, “पोखरा–दुबई उडानले ती यात्रुलाई घर आउन सहज र कम खर्चिलो बन्नेछ, पोखरालगायत आसपासका गन्तव्यमा आउने पर्यटक अब सिधँै पोखरा आउन पाउँछन् ।’
काठमाडौँ, ८ असारः सरकार र निजी क्षेत्रका सबै छाता संस्थाहरूको समन्वय र सहयोगमा सञ्चालन भएको ‘आर्थिक गणना,२०८२’ मा केही उद्योग तथा व्यवसायिक प्रतिष्ठानले सूचना दिन अस्वीकार गरेका छन् । राष्ट्रिय अभियानका क्रममा राष्ट्रिय तथ्याङ्क कार्यालयले सञ्चालन गरेको आर्थिक गणनामा केहीले जानकारी नपाएर तथा केहीले तथ्याङ्कको गोपनीयताप्रति विश्वस्त नभएको भन्दै तथ्याङ्क उपलब्ध गराउन अस्वीकार गरेका हुन् ।
सङ्कलन गरिएका विवरण तथ्याङ्क ऐन, २०७९ अनुसार गोप्य राखिने छ । सामूिहक रूपमा तथ्याङ्कीय प्रयोजनका लागि मात्र प्रयोग गरिने भनेर पटकपटक तथ्याङ्क कार्यालयले स्पष्ट पार्दै आएको छ । व्यक्तिगत वा संस्थागत पहिचान खुल्ने गरी कुनै पनि विवरण सार्वजनिक नगरिने जानकारी दिँदै प्रमुख तथ्याङ्क अधिकारी डा कमलप्रसाद पोख्रेलले कहीकतै कोही बाँकी रहेको भए विवरण उपलब्ध गराइदिन आग्रह गरे । तथ्याङ्क दिन अस्वीकार गर्नु फौजदारी अभियोग बराबर हुने भएकाले विवरण नलुकाउनसमेत उनले आग्रह गरे ।
तथ्याङ्क कार्यालयले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उपप्रमुख तथ्याङ्क अधिकारी एवं प्रवक्ता ढुण्डीराज लामिछानेका अनुसार केहीले अज्ञानताका कारण सूचना दिन नमानेका हुन् । स्थानीय तहको विशेष सहयोगमा तथ्याङ्क दिन अस्वीकार गरेका व्यावसायिक प्रतिष्ठानको विवरण सङ्कलन गरिएको उनको भनाइ छ । कतिपयको भने अझै पनि बाँकी रहेका जानकारी दिँदै उनले कुनै पनि प्रतिष्ठान नछुटुन् भनेर आफूहरू सचेत रहेको उल्लेख गरे ।
तथ्याङ्क दिन अस्वीकार गर्नेलाई कानुनी कारबाही गर्न सकिने व्यवस्था भए पनि त्यस्तो अवस्था नआउने तथ्याङ्क कार्यालयको विश्वास छ । विशेष गरी काठमाडौँ उपत्यका र सहरी क्षेत्रका केही उद्योग, प्रतिष्ठान तथा व्यावसायिक सङ्घ संस्थाले राष्ट्रिय अभियानमा असहयोग गरेको भए पनि अन्तिमसम्म सबै विवरण सङ्कलन हुने विश्वास व्यक्त गरिएको छ ।
प्रवक्ता लामिछानेले गत चैत १ गतेदेखि यही असार ७ गतेसम्म गणनाको स्थलगत तथ्याङ्क सङ्कलन गर्ने समय सीमा निर्धारण गरिएको जानकारी दिए । असार मसान्तसम्म जिल्लास्तरमा जिल्ला आर्थिक गणना कार्यालय सञ्चालनमा रहने छ । गणनाको प्रक्रिया विधिमार्फत आशिंक विवरण भरेका, पूर्ण विवरण भर्न बाँकी रहेका प्रतिष्ठान, गणना छुट भएका र हामी छुट्यौँ भन्ने सबैलाई बाँकी अवधिमा समेटिने छ ।
विवरण प्रशोधन गर्न छ महिना लाग्ने
आर्थिक गणनाबाट प्राप्त भएको विवरण प्रशोधन गर्न छ महिना लाग्नेछ । चार महिनाभित्र तथ्याङ्कको कोडिङ तथा तथ्याङ्क प्रविष्ट गर्न समय लाग्नेछ । यस गण्नाबाट उद्योग, व्यापार, सेवा क्षेत्र, निजी तथा सार्वजनिक सङ्घ संस्थाको सङ्ख्या, भौगोलिक वितरण, रोजगारी, उत्पादन र सेवा प्रवाहसम्बन्धी विवरण सङ्कलन गर्ने मुख्य उद्देश्य राखिएको छ ।
यसबाट प्राप्त हुने तथ्याङ्कका आधारमा देशको कूल गार्हस्थ्य उत्पादनका अनुमान सुदृढीकरण गर्न, राष्ट्रिय लेखाको आधार वर्ष परिवर्तन गर्ने र सरकारले तय गर्ने नीति निर्माण र योजना तर्जुमा गर्न सहयोग पुग्नेछ । राज्यले तय गर्ने अल्पकालीन तथा दीर्घकालीन आर्थिक योजना, लगानी प्रवर्द्धन र रोजगारी सिर्जनामा अति आवश्यक विवरण प्राप्त गर्ने अपेक्षा गरिएको छ । राष्ट्रिय आर्थिक गणनामा तीन हजार ९०७ गणक, ५२६ सुपरिवेक्षक परिचालन भएको थियो । व्यवस्थापन समूहअन्तर्गत जिल्लामा ५०४, केन्द्रमा ५३ जनाको छ ।
१३ लाख ५१ हजारको विवरण प्राप्त कार्यालयका अनुसार हालसम्म १३ लाख ५१ हजार १६७ वटा उद्योग, व्यावसायिक सङ्घ संस्था र प्रतिष्ठानको विवरण प्राप्त भएको छ । प्रवक्ता लामिछानेले कागजी प्रश्नावलीमा १३ लाख ४४ हजार ५०० र इ–सेन्ससमार्फत छ हजार ६६७ वटा विवरण प्राप्त भएको जानकारी दिए । कार्यालयका अनुसार, २०७५ मा पहिलो पटक आर्थिक गणना गर्दा देशभर नौ लाख २३ हजार ३५६ वटा उद्योग प्रतिष्ठानको विवरण सङ्कलन भएको थियो ।
यस पटक १४ लाख २५ हजार बराबरको विवरण सङ्कलन हुने अनुमान गरिएको छ । असार मसान्तसम्म उक्त विवरण प्राप्त हुने प्रवक्ता लामिछानेले विश्वास व्यक्त गर्नुभयो । सो गणनाका लागि निजी क्षेत्रका छाता संस्थाहरू, नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल चेम्बर अफ कमर्स, अन्य व्यवसाय सम्वद्ध सङ्घ संस्थालगायतले सम्झौता गरेका थिए ।
राष्ट्रिय रूपमा आर्थिक गणना र त्यसबाट प्राप्त हुने विवरण आर्थिक क्रियाकलापका लागि महत्वपूर्ण हुने भएकाले छाता संस्थाले खुलेर सहयोग गरेका थिए । एकाधले असहयोग गर्नु, विवरण दिन अस्वीकार गर्नु सामान्य भए पनि असार मसान्तसम्म सबै विवरण प्राप्त हुने राष्ट्रिय तथ्याङ्क कार्यालयको भनाइ छ ।तथ्याङ्क सङ्कलनका लागि काठमाडौँमा पाँच, झापा, मोरङ र रुपन्देहीमा दुई÷दुई थप कार्यालय स्थापना गरिएका थिए । अन्य जिल्लामा भने एउटा कार्यालय स्थापना गरिएको थियो । सरकारले १०० खर्ब बराबर मुलुकको अर्थतन्त्रको आकार पुर्याउने लक्ष्य राखेको सन्दर्भमा आर्थिक गणना त्यसका लागि सहयोगी बन्ने प्रवक्ता लामिछानेको भनाइ छ ।
चितवन, ८ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको बन्दसत्र सरेको छ । रास्वपाले अब बन्द सत्र मङ्गलबार बिहान ७ बजेपछि सुरु हुने जनाएको छ । रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बिहान ७ बजेपछि बन्द सत्र गर्ने गरी आजको बन्दसत्र स्थगित भएको हो । प्रतिनिधिहरु विरुद्धमा परेको उजुरीमाथिको छानबिनका लागि समय आवश्यक भएकाले बन्दसत्र सारिएको हो । बन्दसत्र उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा हुँदैछ ।
उनका अनुसार बन्दसत्रको सुरुमा अनुशासन आयोगबाट रमाकान्त रिमालले अनुशासन आयोगको प्रतिवेदन प्रस्तुत गर्नुहुने छ । त्यसमा छलफल हुनेछ । सो पश्चात कोषाध्यक्ष लिमा अधिकारीको आर्थिक प्रतिवेदन प्रस्तुति र छलफल हुनेछ । कोषाध्यक्षको प्रतिवेदनपछि महामन्त्री कविन्द्र बुर्लाकोटीले सङ्गठनात्मक प्रतिवेदन प्रस्तुत गर्नेछन् । त्यसमाथि छलफल पनि हुनेछ ।
सो पश्चात पार्टीका सहमहामन्त्रीले विधानमाथिको छलफल र त्यसलाई अनुमोदन गराइने छ । विधान अनुमोदनपछि पार्टी सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन पेस गर्नेछन् । उक्त प्रतिवेदनमा छलफल र अनुमोदन गरिने छ । पार्टी सभापति लामिछानेले अन्तरिम व्यवस्थापन समिति गठन घोषणा एवं आयोजक समितिले सम्पूर्ण जिम्मेवारी निर्वाचन आयोगलाई दिने तालिका छ ।
काठमाडौँ, ८ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी छपाइसम्बन्धी कार्यमा भ्रष्टाचार भएको अभियोगमा राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित १६ जना तथा सम्वद्ध कम्पनी विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगले आज विभागका महानिर्देशक अर्याल, सूचना प्रविधि निर्देशक सुनिलकुमार केसीविरुद्ध रु १० अर्ब १३ करोड चार लाख ६१ हजार ४७७ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरेको हो । तत्कालीन निर्देशक शत्रुध्वनप्रसाद शर्मा पोखरेल, निर्देशक रवीन्द्र राजभण्डारी, लेखा अधिकृत तुलसीप्रसाद आचार्य, कम्प्युटर इञ्जिनियर विपीन प्रसार्इं, शाखा अधिकृत सोमेश थापा विरुद्ध समान बिगो माग दाबी गरिएको छ ।
आयोगले परराष्ट्र मन्त्रालयका तत्कालीन उपसचिवद्वय राजाराम दाहाल र पुस्करराज नेपाल (कानुन), उपसचिव (लेखा) भेषप्रसाद भूर्तेल विरुद्ध समान बिगो माग दाबी गरेको छ । राहदानीको ठेक्का लिएको जर्मन कम्पनी भेरिडास जिएमबिएचका नेपाल प्रतिनिधि सिद्धार्थ थापा विरुद्ध रु आठ अर्ब २२ करोड ३५ लाख चार हजार ४४४ बराबरको बिगो माग दाबी गरिएको छ ।
म्यूलबैरका नेपाल प्रतिनिधि मणिन्द्रराज मल्ल विरुद्ध रु एक अर्ब ९० करोड ६९ लाख ५७ हजार ३२ बराबरको बिगो दाबी गरिएको छ । बोलपत्रको सुरुवाती चरणबाटै गम्भीर अनियमितात र भ्रष्टाचार गरेको पाइएको भन्ने सूचनाका आधारमा आयोगले छानबिन गरेको थियो ।
राष्ट्रसेवक कर्मचारी र आपूर्तिकर्ता कम्पनीबीच आपसी मिलेमतो, योजना र संलग्नतामा गैरकानुनी लाभ प्राप्त गर्ने उद्देश्य राखिएको आयोगले उल्लेख गरेको छ । प्रचलित कानुनको प्रतिकूल हुने गरी बदनियमतपूर्वक बोलपत्र मूल्याङ्कन गरे गराएको, साथै प्रचलित कानुन विपरीत बोलपत्रहरुको प्राविधिक र आर्थिक मूल्याङ्कन गरी गराएको आयोगको ठहर छ ।
बदनियतपूर्वक राहदानी विभागलाई रु १० अर्ब १३ करोड चार लाख ६१ हजार ४७७ बराबरको हानी नोक्सानी पु¥याई भ्रष्टाचार गरेको आरोपमा आयोगले आज मुद्दा दायर गरेको हो । आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार कानुन बमोजिम बिगो जरिवाना र कैद सजायको माग गर्दै मुद्दा दायर गरिएको छ ।
शुरबहादुर सिंह–रासस कर्णाली, ८ असार । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई पक्राउ गरिएको छ । सम्पत्ति शुद्धीकरणको कसुरमा उपाध्यक्ष पौडेललाई आज साँझ ६ः०० पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ठाकुरप्रसाद पोखरेलले जानकारी दिए । उनका अनुसार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ स्थित शुभ होटलको सभाहलबाट पक्राउ गरिएको हो ।
पौडेललाई आजै काठमाडौँ पठाउनका लागि स्थलगत मार्गबाट सुर्खेत प्रहरीले नेपालगञ्ज लिएर गएको प्रहरी उपरीक्षक पोखरेलले बताए । उपाध्यक्ष पौडेल एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनःगठनसम्बन्धी सुझाव सङ्कलन कार्यक्रमका लागि सुर्खेत आएका थिए ।
पूर्वअर्थमन्त्रीसमेत रहेका उपाध्यक्ष बुटवल उपमहानगरपालिका–९ रुपन्देही घर भई हाल ललितपुर महानगरपालिका–२५ ललितपुरस्थित सैबु आवास आयोजनामा बसोबास गर्दै आएको प्रहरीले जनाएको छ । उनलाई प्रहरी उपरीक्षक पोखरेलको नेतृत्वमा १० विशेष प्रहरी टोलीले पक्राउ गरेको जनाइएको छ ।
दोहा, ८ असार (रासस–एएफपी) । अमेरिका र इरानबीच मध्यपूर्वको युद्धको स्थायी अन्त्यका लागि लक्षित वार्ता आइतबार स्विट्जरल्याण्डमा सुरु भएको मध्यस्थकर्ता कतारले पुष्टि गरेको छ । कतारको विदेश मन्त्रालयले एक विज्ञप्तिमार्फत् जनाएको छ, “‘लेक लुसर्न समिट’को सुरुवात र उच्च–स्तरीय समितिको पहिलो बैठक अमेरिका, इस्लामिक गणतन्त्र इरान र दुई मध्यस्थकर्ता राष्ट्र, कतार र पाकिस्तानका प्रतिनिधिहरूको सहभागितामा’ सुरु भएको छ।”
इन्धन उत्पादनका लागि सम्पन्न कतारले अगाडि भनेको छ, “कतारले यी बैठकहरूले अमेरिका र इरानबीच भएको ‘समझदारी पत्र’ मा उल्लेखित सबै पक्षहरूलाई सम्बोधन गर्ने व्यापक र स्थायी सम्झौतातर्फ नेतृत्व गर्नेछन्।” उक्त सहमतिको घोषणा गत हप्ताको बिहीबार अमेरिका र इरानबीच हस्ताक्षर भएको समझदारी पत्रमा उल्लेख गरिएको थियो ।
पेरिस, ८ असार (रासस–एएफपी) । युरोपका केही भागमा बढिरहेको भीषण गर्मीको सामना गर्न फ्रान्सले आइतबार आपतकालीन सेवा र सेनालाई जङ्गली आगो ९डढेलो० को खतरासम्बन्धी चेतावनी जारी गरेको छ । सार्वजनिक स्थलहरूमा रक्सी पिउन प्रतिबन्ध लगाएको छ र केही खुला आकाशमा खेलिने खेलकुद कार्यक्रमहरू रद्द गरेको छ । आइतबार फ्रान्सको करिब एक तिहाई भागमा राष्ट्रिय मौसम सेवाको ‘तापक्रम वृद्धिसम्बन्धी खतरा’ को चेतावनी जारी गरिएको छ । पूरै देशमा अत्यधिक गर्मी छ । केही क्षेत्रमा आइतबार तापक्रम ४० डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ । सोमबार अझ बढी गर्मी हुने अनुमान गरिएको छ ।
जोखिम घटाउन राष्ट्रिय तथा स्थानीय अधिकारीहरूले विभिन्न उपायहरू अपनाएका छन् । भीडलाई चिसो राख्न एफेल टावर र पेरिसका अन्य स्थानहरूमा ‘मिस्टिङ स्टेसन’ ९चिसोको फोहोरा छोड्ने मेसिन० जडान गरिएको छ ।
–चार वर्षमा दूई लाखभन्दा बढीको गर्मीजन्य समस्याबाट मृत्यु–
विश्व स्वास्थ्य सङ्गठन ९डब्ल्युएचओ० को युरोप कार्यालयले पछिल्ला चार वर्षमा युरोपमा गर्मीसम्बन्धी कारणले दुई लाखभन्दा बढी व्यक्तिको मृत्यु भएको बताएको छ । सङ्गठनले यीमध्ये धेरैजसो मृत्यु रोक्न सकिने थिए भनेको छ । यो गर्मीमा औसतभन्दा बढी तापक्रम रहने अपेक्षा छ, जसले गर्मीबाट अत्यधिक थकान र घातक ‘हीट स्ट्रोक’ (लू लाग्ने) हुन सक्छ ।
–देशहरूलाई गर्मीबाट बच्न योजना लागू गर्न सुझाव–
डब्ल्युएचओको युरोप कार्यालयले देश तथा संस्थाहरूलाई देशहरूलाई गर्मीबाट बच्न योजना (हिट प्लान) लागू गर्न आग्रह गरेको छ । कर्मचारीहरू दिउँसोको तीव्र घामबाट बच्न सकून् भनी शीतल क्षेत्रको निर्माण गरी कामको बीचबीचमा यसको उपयोग गराउने, आराम दिने वा लचकतापूर्ण कामको समय सुरु गर्ने व्यवस्थाको थालनी गर्न सुझाब दिएको छ ।
आइतबार फ्रान्समा हुने वार्षिक ‘म्युजिक दिवस’ अधिकारीहरूका लागि विशेष चिन्ताको विषय बनेको छ । गर्मीको सबैभन्दा लामो दिन ९समर सोल्स्टिस० को अवसरमा आयोजित यो देशव्यापी उत्सवमा गाउँका चोक र पेरिसका क्लबहरूमा हजारौँ कन्सर्टहरू हुन्छन्। यसमा ठूलो सङ्ख्यामा विदेशी पर्यटकहरू पनि आउँछन्।
–रक्सीमा नियन्त्रणको आदेश–
सरकारले इमर्जेन्सी सेवाहरूमाथि दबाब कम होस् र चिकित्सक तथा स्वास्थ्यकर्मीप्रति सबैभन्दा कमजोर व्यक्तिहरूको हेरचाहमा ध्यान केन्द्रित गर्न सकोस्।म्युजिक डे कार्यक्रमका आयोजकहरूलाई रक्सीको प्रयोग सीमित गर्न आदेश दिएको छ।
अधिकारीहरूलाई विशेष रूपमा गर्मीमा सडकमा बसिरहेका मानिसकासाथै नर्सिङ होममा रहेका वा घरमा एक्लै बस्ने वृद्धहरूको। वर्ष २००३ मा आएको भीषण गर्मीमा करिब १५ हजार वृद्धहरूको मृत्यु भएको थियो, जुन फ्रान्सका लागि ठूलो पाठ बनेको थियो ।
–डढेलो र परमाणु प्लान्टमा विशेष निगरानी–
सरकारले शनिबार जङ्गलको आगोबाट बच्ने तयारीलाई थप मजबुत बनाउने घोषणा गरेको छ र फ्रान्सका धेरै परमाणु रियाक्टरहरूमा पानी आपूर्तिमा कडा निगरानी राख्न निर्देशन दिएको छ ।
सरकारले विद्यालय बन्द गर्ने निर्णय अन्तिम विकल्पको रूपमा लिने बताएको छ । तर दिउँसो हुने वर्षको अन्तिम परीक्षाहरूलाई अर्को बिहानसम्म सारे वा समय परिवर्तन गर्न सकिनेछ ।
प्रधानमन्त्री सेबेस्टियन लेकोर्नूले शनिबार गर्मी सङ्कटबारे सरकारी बैठक बोलाएका थिए । आइतबार अर्को बैठक गर्ने योजना बनाएका छन् । यो कदम राष्ट्रिय मौसम सेवाले गर्मीको ’व्यापक, लामो समयसम्म चल्ने र तीव्र’ चरणको चेतावनी दिएपछि उठाइएको हो । भविष्यमा लूको राम्रोसँग सामना गर्न फ्रान्सलाई तयार पार्ने योजना बनाउन र ‘आवश्यक परे एयर कन्डिसनिङको प्रयोग’ गर्न पनि लेकोर्नूले मन्त्रीहरूलाई निर्देशन दिएका छन् ।
तेहरान, ८ असार (रासस–एएफपी) । इरानले लेबनानमा इजरायल र हिजबुल्लाहबीच जारी द्वन्द्वलाई स्विट्जरल्याण्डमा अमेरिकासँग हुने वार्ताको मुख्य विषय बनाइने जनाएको छ । इरानको सरकारी समाचार संस्था ‘इर्ना’ले सार्वजनिक गरेको भिडियो सन्देशमा विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाइले इजरायलले लेबनानसम्बन्धी आफ्ना प्रतिबद्धता उल्लङ्घ गरिरहेकाले उक्त विषय वार्ताको प्रमुख एजेन्डा हुने बताए ।
उनका अनुसार वार्तामा इरानका रोक्का तथा प्रतिबन्धित सम्पत्ति फुकुवा गर्ने विषय, साथै इरानी तेल बिक्रीका लागि आवश्यक अनुमति तथा इजाजतपत्र जारी गर्ने सम्बन्धमा पनि छलफल हुनेछ ।इरान र अमेरिकाबीच क्षेत्रीय सुरक्षा, आर्थिक प्रतिबन्ध तथा अन्य द्विपक्षीय चासोका विषयमा वार्ता हुन लागेको हो ।
इस्लामाबाद, ८ असार (रासस–सिन्ह्वा) । पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरीफ र सेना प्रमुख फिल्ड मार्शल सैयद असिम मुनीर आइतबार स्विट्जरल्याण्डको बर्गेनस्टक प्रस्थान गरेका छन् । उनीहरू इस्लामाबाद समझदारीपत्र (एमओयू) कार्यान्वयनसम्बन्धी उच्चस्तरीय वार्तामा सहभागी हुन गएको विदेश मन्त्रालयले जनाएको छ ।
जुन १७ मा इस्लामाबाद एमओयूमा हस्ताक्षर भएपछि पहिलो औपचारिक संवादका रूपमा हुने उक्त वार्तामा इरान, संयुक्त राज्य अमेरिका र कतारका वरिष्ठ प्रतिनिधिमण्डल सहभागी हुने जनाइएको छ । पाकिस्तानले सहजीकरण गरेको सम्झौता अन्तर्गत वाशिङ्टन र तेहरानबीच भएका समझदारीको कार्यान्वयनलाई अगाडि बढाउने विषयमा छलफल केन्द्रित रहने अपेक्षा गरिएको छ ।
विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा पाकिस्तानले क्षेत्रीय संवाद र दीर्घकालीन शान्ति प्रवद्र्धनका प्रयासलाई निरन्तर समर्थन गर्ने उल्लेख गरिएको छ । वार्ताका क्रममा प्रधानमन्त्री शरिफले इरान, कतार, स्विट्जरल्याण्ड र संयुक्त राज्य अमेरिकाका प्रतिनिधिमण्डलसँग भेटवार्ता गर्ने कार्यक्रम पनि रहेको छ । ती भेटहरूमा क्षेत्रीय स्थिरता र संवादप्रतिको पाकिस्तानको प्रतिबद्धता पुनः पुष्टि गरिने अपेक्षा गरिएको छ ।
सिड्नी, ८ असार (रासस–सिन्ह्वा) । अन्तरराष्ट्रिय अनुसन्धानकर्ताले क्वान्टम प्रकाश स्रोत नियन्त्रण गर्ने नयाँ तरिका विकास गरेका छन्, जुन वास्तविक–विश्व प्रणालीमा क्वान्टम प्रविधिलाई भरपर्दो रूपमा प्रयोग गर्न आवश्यक प्रमुख तत्वहरूमध्ये एक हो । अष्ट्रेलियाको युनिभर्सिटी अफ टेक्नोलोजी सिड्नी (यूटीएस)ले शनिबार जारी गरेको विज्ञप्तिअनुसार उक्त अनुसन्धानले साना क्वान्टम प्रकाश स्रोतका लागि नयाँ नियन्त्रण संयन्त्र प्रदान गरेको छ, जसले तिनीलाई क्वान्टम कम्प्युटिङ, सुरक्षित सञ्चार तथा अति–संवेदनशील सेन्सिङजस्ता व्यावहारिक क्वान्टम प्रविधिमा प्रयोग हुने दिशामा एक कदम नजिक पु¥याएको छ ।
साइन्स एडभान्सेसमा प्रकाशित निष्कर्षअनुसार प्रयोगका क्रममा अनुसन्धानकर्ताले उत्सर्जित प्रकाशको रङ र तरंग लम्बाइलाई उल्लेखनीय मात्रामा परिवर्तन गरे । उनीहरूले तहयुक्त सामग्रीलाई बारम्बार उठाउन, घुमाउन र पुनः तह मिलाउन पनि सफलता प्राप्त गरे, जुन निश्चित ट्विस्ट कोण प्रयोग गरिएका अघिल्ला प्रयोगभन्दा फरक उपलब्धि हो ।
यूटीएसको नेतृत्वमा रहेको अन्तर्राष्ट्रिय टोलीले हेक्सागोनल बोरोन नाइट्राइडको संरचनाले अनुसन्धानकर्तालाई यसको पातलो, तहयुक्त र घुमाउन मिल्ने संरचनाको उपयोग गर्न अनुमति दिएको जनाएको छ । यसले हिरा वा सिलिकन कार्बाइडजस्ता परम्परागत ठोस–अवस्था सामग्रीसरह व्यवहार गराउने प्रयास गर्नुको सट्टा यसको प्राकृतिक विशेषताको उपयोग गर्न सम्भव बनाएको छ ।
बैङ्कक, ८ असार (रासस–सिन्ह्वा) । उत्तरी थाइल्याण्डमा निर्माणाधीन रेलवे सुरुङभित्र भारी उपकरण खस्दा दुई कामदारको मृत्यु भएको छ भने कम्तीमा दुई जना गम्भीर घाइते भएका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार दुर्घटना शनिबार चियाङ राई प्रान्तस्थित तीन दशमलव चार किलोमिटर लामो दोई लुआङ सुरुङमा भएको हो ।
उक्त सुरुङ डेन चाइ–चियाङ राई–चियाङ खोङ रेलमार्ग परियोजनाअन्तर्गत निर्माणाधीन छ । सुरुङभित्र जलरोधक संरचना जडान गर्ने क्रममा भारी उपकरण खस्दा दुई कामदारको घटनास्थलमै मृत्यु भएको र अन्य दुई जना गम्भीर घाइते भएको जनाइएको छ । घाइतेलाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।
प्रारम्भिक अनुसन्धानबाट कामदार सुरुङभित्र वाटरप्रूफिङ जडानकार्यमा सङ्लग्न रहेको देखिएको छ । दुर्घटनापछि थाइल्याण्डको राज्य रेलवेले घटनास्थलमा दुई दिनका लागि निर्माणकार्य स्थगित गरेको छ । संरचनाको अवस्था निरीक्षण गर्न तथा दुर्घटनाको कारण पत्ता लगाउन विज्ञ र सम्बन्धित निकायलाई परिचालन गरिएको जनाइएको छ ।
क्यानबेरा, ८ असार (रासस–सिन्ह्वा) । अष्ट्रेलियाली सरकारले इन्धनमा लाग्ने अन्तःशुल्क कटौतीको अवधि थप एक महिना विस्तार गर्ने घोषणा गरेको छ । प्रधानमन्त्री एन्थोनी अल्बानीजले आइतबार वक्तव्य जारी गर्दै आगामी जुलाई १ देखि अगस्ट २ सम्म इन्धन अन्तःशुल्कमा प्रतिलिटर १६ सेन्ट छुट कायम रहने बताएका हुन् । हाल लागू रहेको प्रति लिटर ३२ सेन्टको छुट उक्त अवधिमा आधा घटाइने र अगस्ट २ पछि पूर्ण अन्तःशुल्क दर प्रति लिटर ५२ दशमलव छ सेन्ट पुनः लागू गरिनेछ ।
मध्यपूर्वको द्वन्द्वका कारण उत्पन्न विश्वव्यापी तेल सङ्कट र इन्धन मूल्यमा आएको तीव्र वृद्धिको प्रभाव न्यूनीकरण गर्न अष्ट्रेलियाको सङ्घीय सरकारले गत अप्रिल १ देखि तीन महिनाका लागि प्रति लिटर २६ दशमलव तीन सेन्ट अन्तःशुल्क कटौती गरेको थियो । उक्त अवधिमा राज्य तथा क्षेत्रीय सरकारले थप पाँच दशमलव सात सेन्ट प्रतिलिटर बराबरको राहत प्रदान गर्न सहमति जनाएका थिए ।
प्रधानमन्त्री अल्बानीजले अर्थमन्त्री जिम चाल्मर्स, ऊर्जामन्त्री क्रिस बोवेन तथा यातायातमन्त्री क्याथरिन किङसँगको संयुक्त वक्तव्यमा इन्धन अन्तःशुल्क कटौती क्रमिक रूपमा फिर्ता गर्दा बढ्दो जीवनयापन खर्चको दबाब सामना गरिरहेका नागरिकलाई राहत पुग्ने बताए । वक्तव्यमा भनिएको छ, “आर्थिक तथा इन्धन बजारको स्थायित्व पुनःस्थापित हुन समय लाग्ने भएकाले अन्तःशुल्क कटौतीको अवधि विस्तार गरिएको हो ।” उनीहरूले हालै पेट्रोलियम पदार्थको मूल्यमा उल्लेखनीय गिरावट आए पनि सर्वसाधारण अझै आर्थिक दबाबमा रहेको स्वीकार गरेका छन् ।
म्याग्दी, ८ असारः म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दर्मीजामा ‘होमस्टे’ (घरबास) सञ्चालन भएको छ । दर्मीजाका स्थानीय बिप्रसाद पुनले वैदेशिक रोजगारीको विकल्प र सहरको बसाई छाडेर जन्मथलो फर्किएर होमस्टे सञ्चालन गरेका हुन् । पुर्खाले बनाएको पुरानौ शैलीको मौलिक घरलाई मर्मत गरेर पुनले सञ्चालन गरेको घरबासलाई ‘दर्मीजा होमस्टे’ नामकरण गरेका छन् ।
“करिब एक दशक रोजगारीका लागि इराक र व्यवसाय गरेर काठमाडौमा बिताए”, उनले भने, “विदेश र बजारमा आर्जेको व्यावसायिक ज्ञान, सीप र पुँजी परिचालन गरेर ग्रामीण क्षेत्रमा कृषिमा आधारित पर्यटन विकासका लागि होमस्टे सञ्चालन गरेको हो ।” होमस्टे सञ्चालन गर्न विसं २०१९ मा हजुरबुबाले दर्मीजामा बनाएको घरलाई पुरानै मौलिक शैलीमा मर्मत गरेका छन् । चार वटा कोठामा दैनिक १० जना पाहुना बास बस्न सक्छन् । घर र कोठामा परम्परागत मौलिक घरायसी सामग्री, भाँडाकुँडा र कृषि औजारलाई सजाएर राखिएको छ ।
काठको ठेकी, मुडुस, तामाका भाडा, घैटो, हलो, जुवा, स्याखु, हरडुब्लो, लाफु, डोका, डालीलगायतका सामग्री सजाएको घरका झ्याल, ढोका र भित्रि भाग पनि मौलिक छन् । यहाँ पुराना घरमा बसेको अनुभव गर्न पाइने आन्तरिक पर्यटक प्रदीप मगरले बताए । पृष्ठभूमिमा धौलागिरि हिमाल रहेको दर्मीजामा मगर समुदायको बाहुल्य बसोबास छ । प्रकृति, संस्कृति र ग्रामीण जीवनशैलीमा रमाउन पाउनु यहाँको आकर्षण हो । घरबासको कोठाबाटै दर्मीजा गाउँ र हिमालको अवलोकन गर्न सकिन्छ ।
स्थानीय खाद्यान्न र तरकारी तथा पशुजन्य वस्तु होमस्टेका परिकार हुन् । ढिडो, रातो च्याउ, कुखुरा, खसीबोकाको मासु, साग, सब्जी, तरकारी, गाउँघरमा पालेका गाईभैँसीको दूध, दही र मोहीको स्वाद लिन पाइन्छ । खाना र बसेको दैनिक रु एक हजार ५० शुल्क तोकिएको छ । दर्मीजा गाउँको फेदी र राहुघाट नदीको किनारमा रहेको प्राकृतिक तातोपानी कुण्डमा स्नान गरेर थकान मेटाउन सकिन्छ । जागा छहरा दर्मीजाको आकर्षण हो । दर्मीजामा आउने पर्यटकको बसाई सम्बाउनका लागि दुई घण्टा पैदलयात्रापछि पुगिने नागींडाँडालाई सहायक गन्तब्यको रुपमा विकास गराउन पूर्वाधार निर्माण भइरहेको रघुगङ्गा गाउँपालिका–४ का वडाध्यक्ष पविन गर्बुजाले बतार्ए ।
होमस्टेले ओझेलमा परेको दर्मीजामा पर्यटकको चहलपहल बढाएको उनले बताए । बेनीदेखि २४ किलोमिटर उत्तरतर्फ रहेको दर्मीजा पुग्न कच्चि सडकमा एक घण्टा ३० मिनेटको यात्रा गर्नुपर्छ । दर्मीजादेखि चिमखोला हुँदै सोवाङ धुरी, धौलागिरि आइसफल, आधार शिविर र कालीबराह ताल हँुदै मुस्ताङ जान सकिन्छ । धौलागिरि आइसफल हुँदै मुस्ताङ जोड्ने पदमार्गमा पूर्वाधार बनाएर सडकका कारण विस्थापित बनेको बेनी–जोमसोमको वैकल्पिक पदमार्ग बनाउन काम भइरहेको छ । हाल वार्षिक दुईदेखि तीन समूह पर्यटक दर्मीजा हुँदै धौलागिरि आइसफल भएर मुस्ताङ जाने गरेको छन् ।
पुनले होमस्टेको साथै फलफूल बगँैचा पनि स्थापना गर्नुभएको छ । होमस्टे परिसरमा किबी, सुन्तला र कागतीका बगैँचा छन् । पुनका परिवारका सदस्यहरु काठमाडौँमै व्यवसाय गरेर बसेका छन् । होमस्टे र कृषि फार्ममा दुई जनाले नियमित रोजगारी पाएका छन् । अधिकांश मानिसहरु सुविधा, अवसर र रोजगारीको खोजीमा गाउँबाट सहर र सहरबाट विदेश पलायन भइरहेको अवस्थामा विप्रसादले गाउँमै सम्भावना र अवसर भएको सन्देश दिएका छन् । रासस
काभ्रेपलाञ्चोक, ८ असारः काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकाको दुई वडामा करिब पाँच दशकअघिदेखिको लालपुर्जाको समस्या समाधान हुँदै गएको छ । उक्त समस्यामा यसअघिका प्रक्रिया जिल्लास्थित सराकारवाला निकायले गर्दै आएका थिए भने अब बाँकी प्रक्रिया गाउँपालिका कार्यालयले नै गर्ने भएको हो । यसका लागि गाउँपालिकामा भूमि व्यवस्थापन शाखा सञ्चालनमा ल्याइएको छ ।
यसअघि जिल्लास्थित नापी र मालपोत कार्यलयका कर्मचारीले जग्गाधनीको पहिचान गर्दै लालपुर्जा दिलाउँदै आएका थिए । हालसम्म ५३१ परिवारलाई लालपुर्जा वितरण गरिसकिएको छ । अब बाँकी करिब ५०० लालपुर्जा आजदेखि वितरण गर्ने कार्यक्रम बनाइएको ८ नं वडाका अध्यक्ष मोतीलाल लामाले बताए । उनका अनुसार जिल्लास्थित नापी र मालपोत कार्यालयद्वारा तयार लालपुर्जा वितरण गर्न लागिएको हो भने त्यसपछिका कित्ताकाटलगायतको काम गाउँपालिकास्थित भूमि व्यवस्थापन शाखाले गर्नेछ ।
शाखाको शुक्रबार गाउँपालिका अध्यक्ष प्रेम भुजेलले शुभाररम्भ गर्नुभएको छ । लालपुर्जाका समस्याका बाँकी काम शाखाले नै गर्ने अध्यक्ष उहाँले बताउनुभयो । उहाँका अनुसार केही जटिलता आए जिल्लास्थित मालपोत तथा नापी कार्यालयसँग समन्वय गरिनेछ । सङ्घीय सरकारले पहिलो चरणमा छनोट गरेको ३५ स्थानीय तहमध्ये काभ्रेको भुम्लु र रोशी गाउँपालिका छनोटमा परेका थिए ।
लालपुर्जाविहीन भुम्लुवासीलाई जिल्लास्थित नापी कार्यालय तथा मालपोत कार्यालयको पहलमा प्रक्रिया पु¥याएर औपचारिक रुपमा २०८२ भदौदेखि वितरण गर्न थालिएको हो । विसं २०३२ देखि गाउँपालिकाको (तत्कालीन भुम्लु र फलाँटे गाविस) हालका दुई वडाका बासिन्दा विविध कारण लालपुर्जाको पर्खाइमा थिए । प्रारम्भिक चरणमा भुम्लु गाउँपालिका वडा नं ७ र ८ का ४ सय ३१ जग्गाधनीलाई लालपुर्जा वितरण गरिएको छ । कार्यालयका अनुसार त्यतिबेला वडा नं ७ का १८५ र वडा नं ८ मा २४६ गरी ४३१ जग्गाधनीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको हो ।
क्रमिकरुपमा तयार १०० लालपुर्जा वितरण गरिएको जिल्ला नापी कार्यालयका प्रमुख अशोककुमार भुसालले जानकारी दिए । उनका अनुसार ‘फिल्ड’ कार्यालयमार्फत प्रमाण पु¥याएर लालपुर्जा वितरण भइरहेको हो भने हालसम्म थप तयार करिब ५०० लालपुर्जा वितरणको तयारी भएको हो । समस्या समाधनका लागि जिल्लास्थित नापी कार्यालयले विसं २०७१ जेठ २५ गतेदेखि स्थानीय तहमा नापी टोली खटाई काम गरिरहेको थियो । टोली मात्र नभई कार्यालयको आवश्यकताले विसं २०७६ मङ्सिर २० गते भुम्लु गाउँपालिकामा फिल्ड कार्यालय स्थापना गरियो । कार्यालयका अनुसार वडा नं ७ मा ३००र ८ मा ६०० लालपुर्जा बनाउनुपर्ने देखिएको थियो ।
घटनाक्रमअनुसार साविकको पिपलटार गाविस हुँदादेखि नै कमाइ गर्दै आइएको ‘टार’ भन्ने खेतियोग्य जमिन पिपलटार गाविस फुट्दा भुम्लुटार र फलाँटे गाविस दुवैमा परेपछि त्यो खेतीयोग्य जमिन कुन गाविसले लिने भन्ने विषयमा विवाद हुँदा विसं २०३२ मा नापी गर्न गएको टोली र दुई गाविसका नेतृत्वको विवादका कारण नापी टोली फर्किएपछि स्थानीयले लालपुर्जा पाउन सकेका थिएनन् । विसं २०३५ मा नापी टोली पुनः उक्त गाविसमा नापीका लागि जाँदा जग्गाको विषयमा विवाद चर्किएपछि नापी टोली काम नगरी फर्किएको थियो ।
कार्यालयले लालपुर्जा विरतण गरेपछि जग्गासम्बन्धी सबै स्रेस्ता मालपोत कार्यालय, नक्सा, फिल्ड बुकहरु नापी कार्यालयमा ल्याई हालै गाउँपालिकामा स्थापित भूमि व्यवस्थापन कार्यालयसँगको समन्वयमा जग्गा प्रशासनको काम सुरु हुने जनाइएको छ । केही जग्गाधनीले आफ्नो जग्गाको ‘लगत–भिड्ने’ आवश्यक कागजात नल्याउँदा भने काम गर्न केही समस्या भइरहेको भुषालले बताए । यस्तै तत्कालीन समयमा उक्त स्थानमा बसेका नागरिक बसाइँसराइ एवं केहीले तिरो तिरेको आधारमा जग्गा बिक्री गरेकाले थप समस्या देखिएको जनाइएको छ ।
उक्त स्थानमा लालपुर्जाको समस्या वर्षौंसम्म समाधान नभएपछि पटकपटक समस्या समाधान अध्ययन समिति गठन गरिएको थियो भने कयौँ पटक सरकारीस्तरबाट ‘फिल्ड भिजिट र अनुगमन–निरीक्षण’ गर्दा पनि यसअघि कुनै निकास निस्किएको थिएन । गाउँपालिकामा आएका निवदेन छानबिन गर्दा प्रारम्भिक चरणमा करिब एक हजार परिवार समस्यामा रहेको देखिएको कार्यालयले जनाएको छ ।
डुम्रे (तनहुँ) ८ असारः आधुनिकता र बदलिँदो जीवनशैलीका कारण लोपोन्मुख बन्दै गएको सीमान्कृत अल्पसङ्ख्यक समुदाय दरैको मौलिक सांस्कृतिक सम्पदाका रूपमा रहेको चुड्का नाच संरक्षणमा जुटेको छ । ‘चुड्काको लयमा प्रतिस्पर्धा, सांस्कृतिक संरक्षणमा प्रतिबद्धता’ भन्ने नाराका साथ पुस्तौँदेखि दरै समुदायको पहिचानसँग जोडिएको चुड्का नाचलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्ने उद्देश्यले लोपोन्मुख बन्दै गएका अभौतिक सम्पदाको संरक्षणमा जुटेको हो ।
चुड्का नाच दरै समुदायको परम्परागत लोकनृत्य हो, जसमा सामूहिक रूपमा गीत गाउँदै र तालबद्ध रूपमा नृत्य प्रस्तुत गर्ने प्रचलन रहेको दरै समाज तनहुँका अध्यक्ष ठाकुरबहादर दरैले जानकारी दिए । “व्यास नगर प्रज्ञा प्रतिष्ठानको सहयोगमा प्रतियोगिता गरिएको हो । विशेषगरी विवाह, पर्व, उत्सव तथा सामुदायिक कार्यक्रममा प्रस्तुत गरिने यो नाच दरै समुदायको सांस्कृतिक पहिचानका रूपमा महत्त्वपूर्ण रहेको छ”, उनले भने, “पठनपाठन, सहरीकरणले गर्दा अहिले समुदायको युवापुस्ता रोजगारीलगायतका कार्यले चुड्का नाच हराउँदै गएको छ । यसको संरक्षणका लागि प्रतियोगिता गरिएको हो ।”
राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा दरै समुदायको कुल जनसङ्ख्या १८ हजार ६९५ रहेको छ । गण्डकी प्रदेशका तनहुँ, गोरखा र नवलपुर जिल्लामा दरै समुदायको उल्लेख्य बसोबास छ । जनसङ्ख्या कम हुनु र युवापुस्ता वैदेशिक रोजगारी तथा अध्ययनका लागि बाहिरिनुले चुड्का नाच संरक्षणमा चुनौती थपिएको समाजका सचिव विजय दरैले बताए ।
तनहुँको व्यास नगरपालिका उद्गम थलो मानिएका यस समुदायको बाक्लो बासोबास रहेको छ भने ऋषिङ र घिरिङ गाउँपालिकामा पनि बसोबास गर्दै आएका यी समुदायको पछिल्लो समय युवालाई लक्षित गरी चुड्का नाच प्रतियोगिता कार्यक्रम सञ्चालन गरिएका विजयले बताए । “दरै समाज तथा सांस्कृतिक समूहले ज्येष्ठ पुस्ताबाट गीत र नृत्य सिकाएर नयाँ पुस्तामा हस्तान्तरण गर्ने प्रयास थालिएको हो”, उनले भने । दरै समाज तनहुँका उपाध्यक्ष विमल दरैले पहिले गाउँका अधिकांश युवा चुड्का नाचमा सहभागी हुने गर्थे । तर, अहिले मोबाइल, इन्टरनेट र आधुनिक मनोरञ्जनका साधनको प्रभाव बढेसँगै परम्परागत संस्कृतिप्रतिको आकर्षण घट्दै गएको छ”, उनले भने, “त्यसैले समुदायस्तरमै संरक्षणका कार्यक्रम आवश्यक बनेका छन् ।”
व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले चुड्का नाच केवल मनोरञ्जनको माध्यममात्र नभई दरै समुदायको इतिहास, सामाजिक सम्बन्ध, जीवनशैली र सामूहिक भावनाको अभिव्यक्ति भएको बताए । “गीतका शब्दमा प्रकृति, प्रेम, श्रम, कृषि र सामाजिक जीवनका विविध पक्ष समेटिएका हुन्छन्”, उनले भने, “समुदायका ज्येष्ठ नागरिकसँग रहेका पुराना चुड्का गीत सङ्कलन गर्ने कामलाई प्रोत्साहन गर्नेछ ।” मौखिक रूपमा पुस्तान्तरण हुँदै आएको सांस्कृतिक सम्पदा लिखित र डिजिटल अभिलेखमा राख्नुपर्ने आवश्यकता महसुस गरिएको नगरप्रमुख न्यौपानेले बताए ।
लोपोन्मुख सांस्कृतिक सम्पदाको संरक्षणका लागि बजेट विनियोजन गर्दै आएका उनले बताए । दरै समुदायका युवाले सामाजिक सञ्जाल र डिजिटल माध्यममार्फत चुड्का नाचको प्रचारप्रसार बढाउन थालेका छन् । संरक्षण अभियानलाई दिगो बनाउन आर्थिक स्रोत, प्रशिक्षण, अनुसन्धान तथा अभिलेखीकरणमा थप लगानी आवश्यक रहेको सरोकारवाला बताउँछन् । विद्यालय तहदेखि स्थानीय पाठ्यक्रममा दरै समुदायको संस्कृति समावेश गर्न सके संरक्षण अभियान अझ प्रभावकारी हुने उनीहरूको सुझाव छ ।
प्रतियोगितामा व्यास–१० स्थित दुम्सी दरै समाज प्रथम, बैरेनी दरै समाज द्वितीय र दुम्सीचौर दरै समाज तृतीय भएका छन् । रु सात हजार, रु पाँच हजार र रु तीन हजार पुरस्कार वितरण गरिएको समाजले जनाएको छ । व्यास–११ स्थित पोल्याङ दरै समाज चौथो र साँखर दरै समाज पाँचौँ भएका छन् । नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुक भएकाले यस्ता मौलिक सांस्कृतिक सम्पदाको संरक्षण राष्ट्रिय दायित्वसमेत हो ।
दरै समुदायले आफ्नो पहिचानसँग जोडिएको चुड्का नाच जोगाउन थालेका प्रयासले सांस्कृतिक विविधताको संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ । चुड्का नाच केवल एउटा नृत्यमात्र होइन, दरै समुदायको इतिहास, पहिचान र अस्तित्वसँग जोडिएको अमूल्य सम्पदा हो । त्यसैले यसको संरक्षणमा समुदाय, स्थानीय सरकार र सम्बन्धित निकायको साझा प्रयास आवश्यक देखिएको छ ।
चितवन, ८ असारः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय महाधिवेशनपूर्व विधान संशोधन गरेर समावेशी बनाउन लागिएको हो । विधान संशोधन समितिका सदस्य गणेश पराजुलीका अनुसार विधान संशोधनपछि अब बन्ने कार्यसमितिमा उपसभापतिमा महिला अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको छ । जसअनुसार सभापति एक, एक महिलासहित तीन उपसभापति, दुई महामन्त्री तथा एक महिलासहित पाँच सहमहामन्त्री निर्वाचित हुने व्यवस्था गरिएको छ ।
त्यसैगरी, एक कोषाध्यक्ष, दुई सहकोषाध्यक्ष, एक प्रवक्ता र तीन सहप्रवक्ता मनोनयन गरिने छ । अब समिति १५१ सदस्यीय हुनेछ । ९९ जना सदस्य र सभापति निर्वाचित हुने व्यवस्था छ भने ५१ जना सदस्य समावेशी प्रक्रियाबाट सभापतिले मनोनयन गर्ने व्यवस्था गरिएको छ । सात प्रदेशका सभापति स्वतः पदेन सदस्य हुनेछन् । विधानले यसभन्दाअघि कोषाध्यक्ष र प्रवक्ता सभापतिले मनोनित गर्ने गरेकामा अब एक उपसभापति, एक महामन्त्री र दुई सहमहामन्त्रीसमेत मनोनित गर्ने व्यवस्था गरिएको छ ।
पराजुलीले भने, “समावेशिताको सिद्धान्तलाई समेट्ने गरी विधानले सम्बोधन गरेको छ ।” सबै तहमा महिलाको सहभागिता रहने व्यवस्था गरिएको छ । प्रत्यक्ष निर्वाचित हुने ९९ सदस्यमध्ये एउटा प्रदेशबाट पाँच जनाका दरले केन्द्रीय सदस्य आउनेछन् । प्रदेशबाट आउने ३५ जनामध्ये एउटा प्रदेशबाट दुई महिलाको अनिवार्य उपस्थिति हुनेछ ।
प्रदेशमा उपस्थित जनसङ्ख्याका आधारमा गण्डकी र कोशी प्रदेशमा एक–एक जना जनजाति अनिवार्य हुनेछ भने सुदूरपश्चिम र कोशी प्रदेशमा एक–एक दलित अनिवार्य हुनुपर्ने छ । लुम्बिनीमा एक थारू र मधेस प्रदेशमा मधेस दलित अनिवार्य हुनेगरी समावेशिताको सिद्धान्तलाई समावेश गरिएको छ ।
समायोजनको भावनालाई सम्बोधन गर्दै सभापतिलाई मनोनयनको अधिकार विधानले थप गरेको पराजुलीले जानकारी दिनुभयो । विधानले वरिष्ठ नेता स्वतः रहने व्यवस्था गरेको छ । आइतबार उद्घाटन भएको महाधिवेशनको बन्दसत्र आज हुँदैछ । उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा हुने बन्दसत्रपछि भोलिपल्टबाट निर्वाचन प्रक्रिया अघि बढ्नेछ ।
काठमाडौँ, ८ असारः फिफा विश्वकप फुटबल प्रतियोगिता २०२६ अन्तर्गत समुह ‘एच’को आज भएको खेलमा स्पेनले साउदी अरेबियामथि जित निकालेको छ । एटलान्टा स्टेडियममा भरखरै सम्पन्न खेलमा स्पेनले साउदी अरेबियामाथि ४–० गोलअन्तरको जित निकालेको हो । स्पेनले खेलको पहिलो हाफमा तीन गोल गरयो भने खेलको दोस्रो हाफमा एक गोल उपहार पायो । खेलको १०औं मिनेटमा स्पेनका लामिन यामालले गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाए । त्यसपछि खेलको २१ औँ मिनेटमा मिकेल ओयार्जाबलले गोल गर्दै स्पेनको अग्रता दोब्बर बनाए । त्यसको तीन मिनेटमा उनै मिकेलले गोल गर्दै स्पेनको अग्रता तेब्बर बनाए ।
खेलको ४९ औ मिनेटमा साउदीका खेलाडी हसन अल्ताम्बक्तिले स्पेनका लागि आत्मघाती गोल गरे । त्यसपछि खेलमा दुवै टोलीबाट गोल हुन सकेन र अन्तत स्पेनले साउदी अरेबियामाथि ४–० गोलको जित निकाल्यो । जितसँगै स्पेन दुई खेलबाट ४ अङ्क जोड्दै समूह ‘एच’ को शीर्ष स्थानमा उक्लिएको छ । स्पेनले विश्वकपको नकआउट चरणमा पुग्ने सम्भवना मजबुत बनाएको छ । यसै समुहमा रहेका उरुग्वे, साउदी अरेबिया र केप भर्डेको समान एक एक अङ्क रहेको छ ।
चितवन, ८ असारः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको बन्दसत्र अहिले बिहान ८ः३० बजेदेखि हुने भएको छ । उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा बन्दसत्रका कार्यक्रम आयोजना हुने जनाइएको छ । प्रदर्शनी केन्द्रमा रहेका तीन ठूला हलमध्ये दुईवटामा बन्दसत्र गर्नका लागि तयारी गरिएको छ भने अर्को एउटामा खाजा र खानाको व्यवस्था गरिँदै छ ।
रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बन्दसत्रका सुरुमा अनुशासन आयोगबाट रमाकान्त रिमालले अनुशासन आयोगको प्रतिवेदन प्रस्तुत गर्नेछन् । यसपछि प्रतिवेदनमाथि छलफल हुनेछ भने बिहान ९ः०० बजे कोषाध्यक्ष लिमा अधिकारीको आर्थिक प्रतिवेदन प्रस्तुति र छलफल हुने सम्भावित कार्यसूची रहेको जनाइएको छ ।
बिहान १०ः०० बजे महामन्त्री कविन्द्र बुर्लाकोटीले सङ्गठनात्मक प्रतिवेदन प्रस्तुति र यसमाथि छलफल हुने र बिहान १०ः४५ बजे पार्टीका सहमहामन्त्रीले विधानमाथिको छलफल र त्यसलाई अनुमोदन गराइने छ । यसैगरी बन्दसत्रमा पार्टी सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन पेस तथा छलफल र अनुमोदन गरिने र पार्टी सभापति लामिछानेले अन्तरिम व्यवस्थापन समिति गठन घोषणा एवं आयोजक समितिले सम्पूर्ण जिम्मेवारी निर्वाचन आयोगलाई दिने तालिका रहेको छ ।
सोपश्चात् दिउँसोे खानापछि निर्वाचन आयोगले निर्वाचन प्रक्रियासम्बन्धी जानकारी र तालिका प्रकाशन गर्ने कार्यसूची रहेको छ । रास्वपाका केन्द्रीय सदस्य राजन गौतमका अनुसार आज र भोलि दिनभरको खाना सोही स्थानमा व्यवस्थापन गरिएको छ । बन्दसत्रमा रास्वपाका चार हजार २११ जना प्रतिनिधि, परिवेक्षक र स्वयंसेवक हुने रहनेछन् ।
केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले आज दिउँसो १ः०० बजेपछि उम्मेदवार मनोनयनका लागि फारम वितरण गरिने जानकारी दिए । उनले दिउँसो २ः०० बजेदेखि ४ः०० बजेसम्म उम्मेदवार मनोनयन दर्ता गरिने छ भने साँझ ६ः०० बजे उम्मेदवारको नामावली प्रकाशन गरिने बताए ।
यस्तै बेलुका ६ः०० बजेदेखि ७ः०० बजेसम्म उम्मेदवारविरुद्ध दावीविरोध, ७ः०० बजेदेखि ९ः०० बजेसम्म दावीविरोध परेका उम्मेदवारबारे जाँचबुझ गरिने छ । उनका अनुसार बेलुकी ९ः१५ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिने अन्तिम समय तोकिएको छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन राति ११ः०० बजे गरिने छ ।
यही असार ९ गते मङ्गलबार बिहान ८ः३० बजेदेखि दिउँसो ३ः०० बजेसम्म पहिलो चरणको मतदान सुरु गरिनेछ । यसमा एक जना सभापति र ९९ जना केन्द्रीय सदस्यका लागि मतदान गरिने उनले बताए । मतदानपछि पहिलो चरणको मत गणना र मत परिणाम घोषणा दुई घण्टापछि गरिने जनाइएको छ । यसपछि दोस्रो चरणको मतदान प्रक्रिया अघि बढाइने उनले बताए । प्रथम महाधिवेशनको उद्घाटन सत्र गेष्टहाउस चौरमा शनिबार भव्य रुपमा सम्पन्न भएको थियो ।
काठमाडौँ, ७ असारः राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनका अवसरमा भारतीय जनता पार्टीलगायत विश्वका विभिन्न पार्टी र राजनीतिक दलले शुभकामना सन्देश पठाएका छन् । चितवनको भरतपुरमा जारी महाधिवेशनको उद्घाटनसत्रमा परराष्ट्रमन्त्री एवं रास्वपाका नेता शिशिर खनालले ती शुभकामना सन्देश वाचन गरेर सुनाए ।
भारतीय जनता पार्टी (भाजपा) का राष्ट्रिय अध्यक्ष नीतिन नवीन, चिनियाँ कम्युनिष्ट पार्टीका अन्तरराष्ट्रिय विभाग प्रमुख, इन्टरनेशनल कन्फरेन्स अफ एसियन पोलिटिकल पार्टी (आइसिएपिपी), सत्तारुढ भुटान, बङ्गलादेश, मलेसिया, दक्षिण कोरियाका पार्टीलगायतले शुभकामना दिएको मन्त्री खनालले जानकारी गराए । सन्देशमा नेपालको स्थिरत, विकास र समृद्धिका लागि रास्वपाले पाएको अभिमतको प्रशंसा गर्दै आपसी सम्बन्ध र सहकार्यवृद्धिमा जोड दिइएको छ ।
रासस रसुवा, ७ असारः स्याफ्रुबेँसी-रसुवागढी खण्डमा सडक स्तरोन्नति तीव्र गतिमा भइरहेको छ । नेपाल र चीनबीचको ऐतिहासिक मित्रता, व्यापारिक सम्बन्ध तथा आर्थिक सहकार्यलाई थप मजबुत बनाउने उद्देश्यले गल्छी–त्रिशूली–मैलुङ–रसुवागढी अन्तरराष्ट्रिय राजमार्गअन्तर्गत स्याफ्रुबेँसीबाट रसुवागढीसम्म स्तरोन्नति थालिएको हो । उक्त खण्डको स्तरोन्नतिका लागि चीन सरकारले आर्थिक तथा प्राविधिक सहयोग गरेको गल्छी–त्रिशूली–मैलुङ–रसुवागढी सडक आयोजना कार्यालयले जनाएको छ । यसअघि पनि उक्त सडक चीन सरकारले निर्माण गरिदिएको सडक विभागले जनाएको छ ।
चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा चिनियाँ निर्माण कम्पनीमार्फत सञ्चालित आयोजनाले सडकलाई आधुनिक, सुरक्षित र दिगो बनाउने लक्ष्यसहित निर्माणलाई गति दिइएको आयोजनाका स्थलगत अनुगमनकर्ता एवं इञ्जिनियर कुमार पराजुलीले बताए । नेपालको उत्तरी व्यापारिक नाकाका रूपमा परिचित रसुवागढीलाई अझ व्यवस्थित र सुविधा सम्पन्न बनाउने यो आयोजना नेपाल–चीन सहकार्यको अर्को महत्वपूर्ण उदाहरणका रूपमा हेरिएको उनको भनाइ छ ।
इञ्जिनियर पराजुलीका अनुसार पहिलो चरणमा विभिन्न स्थानमा मेसिनरी टेवा पर्खाल निर्माण, पहरा कटिङ तथा सडक सुरक्षासम्बन्धी संरचना निर्माण तीव्र गतिमा भइरहेको छ । कतिपय स्थानमा पर्खाल निर्माण र पहरा कटिङको काम सुरु भए पनि लाङ्टाङ राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्ने केही स्थानमा रूख कटानको अनुमति प्राप्त हुन नसक्दा कुनातर्फको कटिङमा केही ढिलाइ भइरहेको उनले जानकारी दिए । गत पुसदेखि सुरु भएको स्तरोन्नति हालसम्म करिब सात प्रतिशत काम भएको आयोजनाले जनाएको छ । निर्माण कम्पनीले रोङ्गा दोभानमाथि राजमार्ग नजिकै कामदार तथा प्राविधिकहरूको आवास निर्माण गरिसकेको छ । आवासीय व्यवस्थाले कार्यस्थलमा जनशक्ति परिचालन गर्न सहज भएकाले दिनरात निर्माण सञ्चालन भइरहेको इञ्जिनियर पराजुलीले बताए ।
“नेपाल सरकारले निर्माणलाई सहज बनाउन स्थानीय खोलाबाट आवश्यक गिट्टी, बालुवा सङ्कलन गर्ने अनुमति प्रदान गरिसकेको छ । तर सडक विस्तारका क्रममा कटान गर्नुपर्ने रूखको स्वीकृति समयमा प्राप्त हुन नसक्दा केही क्षेत्रमा निर्माणको गति प्रभावित भएको छ”, उनले भने । करिब १६ किलोमिटर लम्बाइ रहेको स्याफ्रुबेँसी–रसुवागढी खण्डको स्तरोन्नति सम्पन्न गर्न ३९ महिनाको समयावधि निर्धारण गरिएको छ । सडक स्तरोन्नति सम्पन्न भएपछि नेपाल–चीनबीचको व्यापार, पर्यटन, पारवहन तथा जनस्तरको आवागमन अझ सहज र प्रभावकारी हुने अपेक्षा गरिएको छ ।
यसैबीच टिमुरे क्षेत्रमा विसं २०६५ मा अधिग्रहण गरिएको सडकको दायाँबायाँको क्षेत्रभित्र स्थानीय बासिन्दाले पुनः घरटहरा निर्माण गरेकाले त्यस्ता संरचना हटाउन सम्बन्धित पक्षलाई सूचना जारी गरिएको आयोजना कार्यालयले जनाएको छ । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको बाढी र भोटेकोशी नदीको कटानका कारण सडकका विभिन्न भागमा ठूलो क्षति पुगेको थियो । विशेष गरी तातोपानी डाँडा, घट्टेखोला, घट्टेखोलाको दक्षिणी भीर तथा टिमुरे गाउँमुनिको पाखोलगायत क्षेत्रमा सडक संरचना कमजोर बनेपछि स्तरोन्नति कार्यलाई थप प्राथमिकता दिइएको इञ्जिनियर पराजुलीले उल्लेख गरे ।
नेपाल र चीनबीचको शताब्दीयौँ पुरानो व्यापारिक तथा सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउने विश्वासका साथ अघि बढाइएको यो परियोजनाले उत्तरी नाकाको पूर्वाधार विकासमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ । सडक स्तरोन्नतिसँगै रसुवागढी नाका हुँदै हुने द्विपक्षीय व्यापार विस्तार, पर्यटन प्रवर्द्धन तथा क्षेत्रीय आर्थिक गतिविधिमा उल्लेखनीय वृद्धि हुने स्थानीय तथा सरोकार भएकाहरूले विश्वास व्यक्त गरेका छन् ।
चितवन, ७ असारः वाह्य पर्यटकको चहलपहल हुने सौराहाका धेरै होटलले सामान्यतया असारदेखि भदौ महिनासम्म आफ्ना कर्मचारीलाई बिदा दिने गर्दथे । सामान्यतया होटलको सुरक्षा र सरसफाइमा खटिनेबाहेक सबैजसो कर्मचारीले बिदा पाउँथे । तर, यस वर्ष भने असारको पहिलो साता सकिनैलाग्दा सौराहका होटल मुख्य ‘सिजनमा’जस्तै भरिभराउ छन् । होटलमा कोठा पाउन कठिन अवस्था छ ।
सौराहासहित भरतपुर आसपासका होटल व्यवसाय भीडभाड देखिनुको कारण ‘राष्ट्रिय स्वातन्त्र पार्टी’ (रास्वपा)को महाधिवेशन हो । प्रतिनिधिसभा सदस्यका लाग हालै सम्पन्न निर्वाचनमा दुई तिहाइ नजिकको सङ्ख्या जित्न सफल सबैभन्दा ठूलो राजनीतिक दल ‘रास्वपा’को आज भरतपुरमा उद्घाटन हुने तीन दिने राष्ट्रिय महाधिवेशनका कारण चहलपहल बढेको भनी होटल व्यवसायी खुशी देखिन्छन् ।
होटल व्यवसायी सङ्घ चितवनका अनुसार रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशमा भाग लिन आउने स्वदेशी तथा विदेशी प्रतिनिधि, शुभेच्छुक, नेता तथा कार्यकर्ता, पर्यवेक्षक, सञ्चारकर्मीलगायतको उल्लेख्य उपस्थितिका कारण चहलपहल बढेको हो । महाधिवेशनमा भाग लिन आउने प्रतिनिधिको सङ्ख्या चार हजार २११ छ । क्षेत्रीय होटल सङ्घ सौराहाका उपाध्यक्ष गुणराज थपलिया रास्वपाको महाधिवेशनका कारण अहिले बेमौसममा पनि अपेक्षा गरेभन्दा बढी पर्यटक वृद्धि भएको बताउँछन् । उनले भने, “आइतबार सार्वजनिक बिदा हुनथालेपछि यसअघि जस्तो बजार सुनसान थिएन । यसैबीच महाधिवेशन घोषणा भएसँगै सौराहामा चहलपहल बढेको छ । समग्रमा यस वर्ष यहाँका होटल व्यवसायी लाभान्वित भएका छन् ।” सौराहामा रहेका १५० हाराहारी होटलमा सात हजार जनाको क्षमता रहेको उनले बताए । सौराहाको होटल भिष्टाका सञ्चालक रमेश सिलवाल महाधिवेशनस्थल भरतपुरबाट केही टाढा भएपनि पर्यटकीयस्थलका रूपमा परिचित सौराहा घुम्नबस्न आउने नेता तथा कार्यकर्ताको सङ्ख्या उल्लेख्य रहेको बताउँछन् । होटल व्यवसायी सिलवाका अनुसार नेकपा एमालेको यसअघि सम्पन्न महाधिवेशनपछि रास्वपाको महाधिवेशनका कारण अहिले सौराहले प्रचारप्रसारसहित वाह्य पर्यटक पाएको छ ।
सौराहाका ‘रेष्टुरेन्ट’ व्यवसायी दीपेन्द्र खतिवडा होटल बासका लागि सोधखोज गर्नेको निकै बढेको छ । होटल व्यवसायी सङ्घअन्तर्गतका ७३१ होटल रेष्टुरेन्टमध्ये आवास सुविधा भएका अधिकांश भरिएको व्यवसायीले बताएका छन् । सङ्घका निवर्तमान अध्यक्ष कृष्ण भट्ट गत वर्षमा यतिबेला करिब ४० प्रतिशत हुनेगरेकामा अहिले ८० प्रतिशतभन्दा बढी होटल भरिएको बताउँछन् । उनले भने, “राम्रा अधिकांश होटल भरिएका छन् । मध्यमस्तरकामा केही बाँकी छन् ।” स्तरीय होटल खोज्ने सौराहालगायतका क्षेत्र गएको उनी बताउँछन् ।
भरतपुर गार्डेनका महाप्रबन्धक घनश्याम चापागाईं दुई दिनदेखि होटल भरिएको बताउँछन् । महाधिवेशन अवधिभर होटलमा कोठा खाली नभएको बताउँदै उनले भने, “हाम्रो होटलमा अरु बेलामा आइरहने पाहुना नै महाधिवेशनमा आएकाले भरिएको छ ।”
दियालो फुडल्याण्डका प्रबन्ध निर्देशक रमेश अधिकारी झण्डै एक हप्ता अघिदेखि नै महाधिवेशनको चहलपहल र बैठकले होटल भरिएको बताउँछन् । महाधिवेशनअघि शनिबार यसै होटलमा रास्वपाको केन्द्रीय समितिको बैठक सम्पन्न भएको थियो । चितवनमा मात्रै होइन नवलपरासीको गैँडाकोटका होटल पनि भरिएका छन् । गैँडाकोटमा रहेको ‘द नारायणी रिसोर्ट’का प्रबन्धनिर्देशक रविन पण्डित तीनदिनदेखि आफ्ना दुई वटै होटल भरिएको बताउँछन् । रास्वपाको भोजन तथा आवास उपसमितिका संयोजक राजन गौतमका अनुसार महाधिवेशनका क्रममा करिब १० हजार मानिस चितवन आएका छन् । होटल व्यवसायीसँग कोठाको विवरण माग गरी रास्वपाका प्रतिनिधिलाई यस अघिनै पठाइएको थियो । नेता गौतमका अनुसार होटल व्यवसायीले अन्य समयमा भन्दा सहुलियतमा कोठा र खानाको व्यवस्था गरेका छन् । सहभागी आफैँले कोठाको खर्च तिर्नुपर्ने भएकाले घुम्न पाइने भन्दै श्रीमान्–श्रीमती र छोरा–छोरी आउनेको सङ्ख्या पनि ठूलो रहेको छ । आयोजकले सोमबारबाट बन्दसत्रमा मात्र खानाको व्यवस्था गरेको छ । अन्य समयमा सहभागी आफैँले खाना खानुपर्ने भएकाले होटल व्यवसायमा यसको प्रत्यक्ष रूपमा प्रभाव परी अहिले चितवनका होटल भरिभराउ भएका हुन् ।
चितवन, ७ असारः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको निर्वाचन तालिका सार्वजनिक गरिएको छ । केन्द्रीय निर्वाचन आयोगका अनुसार शनिबार राति नै महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली प्रकाशन भइसकेको छ । तालिकाअनुसार आज राति ११ बजे प्रतिनिधिहरूको अन्तिम नामावली प्रकाशन गरिने छ । सोमबार दिउँसो १ बजेदेखि उम्मेदवार मनोनयनका लागि फारम वितरण गरिने आयोगका प्रमुख भुवन केसीले जानकारी दिए ।
सोमबार दिउँसो २ बजेदेखि ४ बजेसम्म उम्मेदवार मनोनयन दर्ता गरिने छ भने साँझ ६ बजे उम्मेदवारहरूको नामावली प्रकाशन गरिने छ । यस्तै, सोमबार बेलुका ६ बजेदेखि ७ बजेसम्म उम्मेदवारविरुद्ध दाबी–विरोध, ७ बजेदेखि ९ बजेसम्म दाबी–विरोध परेका उम्मेदवारबारे जाँचबुझ गरिने छ । उनका अनुसार बेलुकी ९ः१५ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिने अन्तिम समय तोकिएको छ । उम्मेदवारको अन्तिम नामावली राति ११ बजे प्रकाशन गरिने छ ।
यही असार ९ गते मङ्लबार बिहान ८ः३० बजेदेखि दिउँसो ३ बजेसम्म पहिलो चरणको मतदान सुरु गरिनेछ । जसमा एक जना सभापति र ९९ जना केन्द्रीय सदस्यका लागि मतदान गरिने उनले बताए । मतदानपछि पहिलो चरणको मतगणना र मतपरिणाम घोषणा दुई घण्टापछि गरिने छ । त्यसपछि दोस्रो चरणको मतदान प्रक्रिया अघि बढाइने उनले बताए ।
आयोगले पार्टी सभापतिको उम्मेदवारका लागि रु ५१ हजार शुल्क र एक जना प्रस्तावक एवं ५१ जनाको समर्थन आवश्यक पर्ने जनाएको छ । यस्तै, पार्टी पदाधिकारीका लागि रु ४१ हजार शुल्क र एक जना प्रस्तावक तथा २१ जनाको समर्थन, र केन्द्रीय सदस्यका लागि रु २१ हजार शुल्क र एक जना प्रस्तावक एवं २१ जनाको समर्थन आवश्यक पर्ने आयोगले जनाएको छ । महाधिवेशनमा ४,२११ जना प्रतिनिधि छन् ।
वासिङ्टन डिसी, ७ असारः अमेरिकामा रहेका नेपालीलाई नेपालका तुलनात्मक लाभका क्षेत्रमा लगानी गरी प्रतिफल प्राप्त गर्न यहाँस्थित नेपाली दूतावासले आग्रह गरेको छ । ‘नेपाली डायस्पोरा र नेपालको समृद्धि, व्यापार, लगानी र नवप्रवर्तनमा चुनौती र अवसर’ शीर्षकमा दूतावासले आज यहाँ आयोजना गरेको छलफलमा कार्यवाहक राजदूत शरद्राज अरणले मातृभूमिको उन्नयनका निम्ति पुँजी परिचालन गर्न अनुरोध गरेका हुन् ।
विदेशमा रहेका नेपालीको ज्ञान, सीप र पुँजीलाई नेपालको विकासमा उपयोग गर्नुपर्नेमा जोड दिँदै उहाँले गैरआवासीय नेपालीका लागि लगानीमैत्री वातावरण निर्माण गरिएकाले ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गरे । सहभागीहरूले नेपालमा लगानीको सम्भावना, अवसर र चुनौतीबारे विस्तृत छलफल गरेका थिए ।
महावाणिज्यदूत लक्ष्मण खनालले नेपालमा सूचना प्रविधि, पर्यटन र ऊर्जा क्षेत्रबाट उच्च प्रतिफल प्राप्त हुने जानकारी दिँदै प्रवासी नेपालीले ती क्षेत्रमा उपलब्ध लगानीका अवसर गुमाउन नहुनेमा जोड दिए । उद्यमी लोक तिवारीले अमेरिकामा विभिन्न पेशा र व्यवसायमा रहेका नेपालीले आफ्नो सीप र अनुभवलाई नेपालको विकासमा उपयोग गर्नपर्छ भन्दै नेपाललाई प्राप्त विप्रेषण उत्पादनशील क्षेत्रमा लगानी गर्न सुझाए ।
नारायणगढ (चितवन), ७ असारः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनमा शुभकामना दिने अधिकांश नेताहरुले पार्टीले प्राप्त गरेको जनमत जोगाउन, आन्तरिक लोकतन्त्र सुदृढ गर्न र सुशासनको अभियानलाई प्रभावकारी रूपमा अघि बढाउन सुझाव दिएका छन् ।
नेपाली कांग्रेस सभापति गगनकुमार थापाले राजनीतिक दलहरू जनमतको कदर गर्दै सत्ताको उन्माद र आन्तरिक अहंकारबाट मुक्त रहनुपर्ने बताए । “इतिहासमा राजनीतिक दलहरूले पाएको जनमत नेताहरूको अहंकार, आपसी टकराव र सत्ताको उन्मादका कारण पटकपटक दुर्घटनामा परेको छ । रास्वपाले यी दुवै अवस्थाको सामना गर्न नपरोस् र प्राप्त जनसमर्थनलाई सही ढङ्गले स्थिरताका निम्ति अगाडि बढाओस् ।”
चितवन, ७ असारः
नेपाली कांग्रेसका सभापति थापा-मन्तव्य
चितवनमा आजदेखि सुरु भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा शुभकामना मन्तव्य व्यक्त गर्नुहुँदै नेपाली कांग्रेसका सभापति गगन थापा । तस्बिरः प्रदीपराज वन्त/रासस
नेपाली कांग्रेस र रास्वपाबीचको सम्बन्धलाई प्रष्ट पार्दै सभापति थापाले संसद्मा आफ्नो दल सशक्त प्रतिपक्षको भूमिकामा रहने उल्लेख गरे । उनले भने, “नेपाली कांग्रेस रास्वपाको प्रतिस्पर्धी हो, दुश्मन होइन । हामी संसद्मा प्रतिपक्षमा छौँ । जहाँ औँला ठड्याउनुपर्ने हो, त्यहाँ औंला ठड्याउँछौँ, जहाँ ताली बजाउनुपर्ने हो त्यहाँ ताली बजाउँछौँ ।”
पछिल्लो समय राजनीतिमा विगतलाई पूर्ण रूपमा नकार्ने प्रवृत्ति बढेकोप्रति चिन्ता व्यक्त गर्दै उहाँले प्रजातन्त्रका लागि भएको ऐतिहासिक सङ्घर्षलाई भुल्न नहुनेमा जोड दिए । उनले भने, “चितवनमा निलो झण्डा फहराउँदै गर्दा विगत ३५ वर्षमा केही पनि भएन भनेर इतिहासलाई इन्कार नगर्नुहोला, तपाईंहरू जुन ठाउँमा उभिनुभएको छ, त्यहाँ मुनि प्रजातन्त्रका लागि लड्ने सहिदहरूको रगत र बलिदान जोडिएको छ । त्यो इतिहासलाई कसैले पनि बिर्सन मिल्दैन ।”
सभापति थापाले गरिबी, अज्ञानता, विभेद र अक्षमता नै देशको मुख्य दुश्मन भएको औँल्याउँदै यी साझा चुनौतीविरुद्ध र संविधान एवं व्यवस्थाको रक्षाका लागि रास्वपासँग सहकार्य हुने स्पष्ट पारे । उनले रास्वपाको स्थापनाको छोटो समयमै प्राप्त जनसमर्थनको प्रशंसा गर्दै महाधिवेशनको पूर्ण सफलताको कामनासमेत गरे ।
पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले रास्वपाले छोटो समयमै हासिल गरेको राजनीतिक सफलता नेपाली इतिहासकै एउटा नयाँ क्रान्तिको कडी भएको बताए । उनले आफूले विगत १०–११ वर्षदेखि सुरु गरेको वैकल्पिक राजनीतिको अभियानको सबैभन्दा महत्त्वपूर्ण उपलब्धिका रूपमा रास्वपालाई लिएको स्पष्ट पारे । उनले आफूलाई सधैँ परिवर्तन र न्यायका पक्षमा उभिने एक निरन्तर विद्रोहीको रूपमा प्रस्तुत गर्दै आफ्नो सारा जीवन यसैमा सुम्पिएको उल्लेख गरे ।
चितवन, ७ असारः
पूर्वप्रधानमन्त्री डा भट्टराई-मन्तव्य
चितवनमा आजदेखि सुरु भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा शुभकामना मन्तव्य व्यक्त गर्नुहुँदै पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई । तस्बिरः प्रदीपराज वन्त/रासस
रास्वपाको उदयलाई लिएर पुराना राजनीतिक दलहरूले वैदेशिक शक्तिको हात रहेको भनी लगाउने गरेको ‘षड्यन्त्र सिद्धान्त’ को खण्डन गर्दै उनले भने, “मेरा पुस्ताका साथीहरूलाई ठूलो भ्रम छ । उहाँहरू खाली यो दक्षिणले गरायो, उत्तरले गरायो, पश्चिमले गरायो भनेर कथा बुनेर बस्नुभएको छ । तर मेरो स्पष्ट धारणा के छ भने, समाज बदल्न हिँडेका युवा सधैँ सत्य र न्यायका पक्षमा उभिनुपर्छ र तपाईंहरू उभिनुभएको छ ।” रास्वपाले आन्दोलन र सङ्घर्षबाट मात्र नभई आधुनिक विज्ञान र प्रविधिको प्रयोग गरी जनताको मन जितेर यो ऐतिहासिक सफलता हासिल गरेको उनको भनाइ थियो ।
आफ्नो आलोचना गर्नेहरूलाई जवाफ दिँदै डा भट्टराईले भने, “कतिपयले मलाई सोध्छनु के ललिपप पाएर यो उमेरमा रास्वपाको महाधिवेशनमा गएको ? म सारा जीवन मर्न तयार भएको मान्छे, मलाई केको ललिपप ? तपाईंहरूकै सद्भावले म मुलुकको प्रधानमन्त्री भइसकेको मान्छे हुँ, मलाई कुनै ललिपप चाहिँदैन, म त नेपाली जनता र युवा पुस्ताले देशमा सुशासन र समृद्धि पाएको हेर्न चाहन्छु ।”
राजनीतिक क्रान्तिलाई एउटा ‘रिले दौड’का रूपमा व्याख्या गर्दै पूर्वप्रधानमन्त्री डा भट्टराईले पहिलो पुस्ताका टङ्कप्रसाद आचार्य, पुष्पलालहरूले सुरु गरेको क्रान्तिलाई आफ्नो पुस्ताले गणतन्त्र र संविधानसभासम्म पु¥याएको र अब देशलाई सुशासन र समृद्धिको शिखरमा पु¥याउने जिम्मेवारी रवि लामिछाने र वालेन्द्र शाहको नयाँ पुस्ताको काँधमा आएको बताए । उनले रास्वपाको नयाँ नेतृत्वले आगामी पूरा पाँच वर्षको कार्यकाल दृढताका साथ पूरा गर्नुपर्नेमा जोड दिए ।
चितवन, ७ असारः
नेकपा एमालेका नेता ज्ञवाली-मन्तव्य
चितवनमा आजदेखि सुरु भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा शुभकामना मन्तव्य व्यक्त गर्नुहुँदै नेकपा एमालेका नेता प्रदीप ज्ञवाली। तस्बिरः प्रदीपराज वन्त/रासस
नेकपा (एमाले) का नेता प्रदीप ज्ञवालीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को काँधमा देश र लोकतन्त्रलाई सुदृढ बनाउने ऐतिहासिक जिम्मेवारी आएको बताए । यो महाधिवेशनले केबल नयाँ नेतृत्व मात्र चयन नगरी पार्टीको स्पष्ट राजनीतिक नीति, सिद्धान्त र मार्गचित्र तय गर्नुपर्नेमा उनले जोड दिए । “रास्वपा राष्ट्रिय राजनीतिमा कुन स्थानमा उभिन्छ भन्ने कुराभन्दा पनि यसले संविधानवाद, विधिको शासन, मौलिक अधिकार, सामाजिक न्याय र उत्तरदायी राज्यको अवधारणालाई कसरी अगाडि बढाउँछ भन्ने कुरा महत्त्वपूर्ण रहन्छ”, उनले भने ।
छोटो समयमा रास्वपाले प्राप्त गरेको जनमतलाई विश्व इतिहासका विभिन्न सन्दर्भसँग जोड्दै नेता ज्ञवालीले जनादेश पाउनु जत्तिकै महत्वपूर्ण त्यसको सही सदुपयोग गर्नु रहेको बताए । इतिहासमा जनमतको सही सदुपयोग र दुरुपयोगका फरकफरक दृष्टान्त रहेको उल्लेख गर्दै उनले रास्वपाले इतिहासका गलत शिक्षाहरूबाट सिकेर जनताको अनुहारमा उज्यालो ल्याउने गरी अघि बढ्नुपर्ने सुझाव दिए । लोकतन्त्रमा ‘चेक एण्ड ब्यालेन्स’को ठूलो भूमिका हुने चर्चा गर्दै उहाँले न्यायालय, राष्ट्रपति र संसद्जस्ता राज्यका मुख्य संस्था सधैँ बलियो हुनुपर्ने तथा जनताका आलोचनात्मक स्वरहरूलाई सम्मान गरिनुपर्ने धारणा राखे । उनले रास्वपाभित्र काम गर्ने तीव्र हुटहुटीसँगै आवश्यक संयम र कानुनी सन्तुलन कायम रहन सकोस् भन्दै महाधिवेशनको पूर्ण सफलताको कामना गरे ।
चितवन, ७ असारः
नेपाली कम्युनिष्ट पार्टीका नेता पुन-मन्तव्य
चितवनमा आजदेखि सुरु भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा शुभकामना मन्तव्य व्यक्त गर्नुहुँदै नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता वर्षमान पुन। तस्बिरः प्रदीपराज वन्त/रासस
नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य वर्षमान पुनले थिति बसाल्न चालिने जुनसुकै कदम पनि विधिसम्मत र संविधानको दायराभित्र हुनुपर्ने बताए । उनले सुशासन र भ्रष्टाचार नियन्त्रणको अभियानमा आफ्नो पार्टी र रास्वपाबीच कार्यगत सहकार्य रहँदै आएको उल्लेख गरे ।
पुनले भने, “भ्रष्टाचार र विकृति अन्त्य तथा सुशासनको एजेन्डामा हामी सँगै थियौँ, छौँ र रहनेछौँ । यस सन्दर्भमा एउटा सुझाव र आग्रह छ, थिति बसाल्न चालिएका कदमहरू विधिसम्मत र संविधानभन्दा बाहिर नहोऊन् भन्नेमा तपाईंहरूको पर्याप्त ध्यान पुग्ने नै छ ।”
उनले पृष्ठभूमि र कार्यशैली फरक भए पनि क्रान्ति, परिवर्तन र समाज रूपान्तरणका मुद्दामा दुवै शक्तिबीच निकटता रहेको दाबी गरे । “हामी दुवै शक्तिले निरन्तरतालाई क्रमभङ्ग गरेर आफ्नो राजनीतिक बाटो तय गरेका हौँ,” उनले भने, “सुशासनको एजेन्डामा नेपाली कम्युनिष्ट पार्टी र रास्वपाको जतिको निकट सहकार्य सायद अरूका बीचमा भएको छैन ।”
सङ्घीय समावेशी लोकतान्त्रिक गणतन्त्र विभिन्न ऐतिहासिक आन्दोलन र सहिदहरूको बलिदानको जगमा स्थापना भएको स्मरण गर्दै उनले वर्तमान राजनीतिक प्रणालीप्रति रास्वपाबाट अझ उच्च तहको प्रतिबद्धताको अपेक्षा गरिएको बताए । पहिलो पटक देशव्यापी रूपमा पूर्ण सङ्गठनको आकारमा जान लागेको रास्वपाको यस महाधिवेशनले पार्टीमाथिका विविध प्रश्न, आरोप र आशङ्काहरूलाई मेट्दै वैचारिक तथा सङ्गठनात्मक स्पष्टता प्रदान गर्ने विश्वाससमेत नेता पुनले व्यक्त गरे ।
चितवन, ७ असारः
राप्रपाका अध्यक्ष लिङ्देन-मन्तव्य
चितवनमा आजदेखि सुरु भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा शुभकामना मन्तव्य व्यक्त गर्नुहुँदै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन। तस्बिरः प्रदीपराज वन्त/रासस
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले देशमा विद्यमान समस्या नेताहरूमा मात्र नभई वर्तमान संविधान र संवैधानिक व्यवस्थामा समेत रहेको दाबी गरे । समारोहलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले देशलाई सही निकास दिन राजनीतिक प्रणालीमै परिमार्जन आवश्यक रहेको औँल्याए । उनले भने, “इतिहासले तपाईंहरूलाई एउटा यस्तो विशिष्ट अवसर दिएको छ, जुन कुनै पार्टी वा व्यक्तिको जीवनमा बारम्बार आउँदैन । यदि यो अवसर चुक्यो भने, यसले तपाईंको पार्टीलाई मात्र होइन, सिङ्गो देशलाई नै ठूलो धोका हुनेछ ।”
जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले मुलुकको समृद्धि र परिवर्तनका लागि राजनीतिक दलहरू सङ्कुचित दायराभन्दा माथि उठ्नुपर्ने बताए । उनले महाधिवेशनहरू केबल नयाँ नेतृत्व चयन गर्ने थलो मात्र नभई राष्ट्रिय राजनीति र जनअपेक्षालाई मार्गनिर्देश गर्ने कडी भएको उल्लेख गरे ।
चितवन, ७ असार :
जसपा नेपालका अध्यक्ष यादव-मन्तव्य
चितवनमा आजदेखि सुरु भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा शुभकामना मन्तव्य व्यक्त गर्नुहुँदै जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव। तस्बिर : प्रदीपराज वन्त/रासस
“सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै आर्थिक क्रान्ति र सामाजिक रूपान्तरणको दिशामा अघि बढ्नु आजको मुख्य आवश्यकता हो”, अध्यक्ष यादवले भने । उनले जनअपेक्षाअनुरूप काम गर्न राजनीतिक दलहरूबीच साझा मुद्दामा सहकार्य हुनुपर्नेमा जोड दिँदै रास्वपा महाधिवेशनले मुलुकको समसामयिक चुनौतीलाई सम्बोधन गर्ने गरी ठोस नीति र रणनीति तय गर्ने विश्वास व्यक्त गरे ।
जनमत पार्टीका अध्यक्ष डा सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम ऐतिहासिक महाधिवेशन केवल एउटा राजनीतिक भेला मात्र नभएर ‘क्रान्तिको महोत्सव’ भएको बताए । उनले देशभरिका ७७ वटै जिल्लाबाट अनेकन् कष्ट, ऋण र भोक सहेर पनि हजारौँ युवा भरतपुर ओर्लनु पद वा प्रतिष्ठाका लागि नभई देश बदल्ने एउटा साझा जुनुन र आर्थिक समृद्धिको चाहनाका कारण भएको उल्लेख गरे । संसदीय राजनीतिबाट आफू सन्यास लिइसकेको मान्छे भए तापनि आयोजकले यस ऐतिहासिक समारोहमा सम्झिएकामा आभार प्रकट गर्दै उनले भने, “जुन सपना तपाईंहरूले देख्नुभएको छ, त्यही चाहना मैले पनि देखेको हुनाले म यहाँ कुनै प्रतिस्पर्धीका रूपमा होइन, तपाईंहरूको सहयात्री र सहयोगीका रूपमा शुभकामना दिन उपस्थित भएको हुँ ।”
चितवन, ७ असारः
जनमत पार्टीका अध्यक्ष डा राउत-मन्तव्य
चितवनमा आजदेखि सुरु भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा शुभकामना मन्तव्य व्यक्त गर्नुहुँदै जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त (सिके) राउत । तस्बिरः प्रदीपराज वन्त/रासस
रास्वपाको पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशनका अवसरमा एसियाका प्रमुख राजनीतिक दलहरूले ऐक्यबद्धता जनाएका छन् । महाधिवेशनमा रास्वपाका अन्तरराष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनालले अन्तरराष्ट्रिय क्षेत्रबाट प्राप्त शुभकामना सन्देशहरू वाचन गरेका थिए ।
एसियाली राजनीतिक दलहरूको सङ्गठन, भारतको भारतीय जनता पार्टी, चिनियाँ कम्युनिष्ट पार्टी तथा भुटान, बङ्गलादेश, पाकिस्तान, मलेसिया र दक्षिण कोरियाका सत्तारुढ तथा प्रमुख राजनीतिक दलहरूबाट समेत शुभकामना प्राप्त भएको खनालले बताए ।
कार्यक्रममा भरतपुर–२७ का थारु समुदायको डम्फु नाच प्रदर्शन गरिएको थियो भने केन्द्रीय सांस्कृतिक विभागले स्वागत गीत तथा नृत्यमार्फत अतिथिहरूलाई स्वागत गरेको थियो । महाधिवेशनको बन्दसत्र उद्योग सङ्घ चितवनको प्रदर्शनी केन्द्रमा सञ्चालन हुनेछ । बन्दसत्रमा चार हजारभन्दा बढी प्रतिनिधिको सहभागिता रहने पार्टीले जनाएको छ ।