Category: फिचर

  • सातै प्रदेशमा ‘ब्लु बस’ सञ्चालनको तयारी

    सातै प्रदेशमा ‘ब्लु बस’ सञ्चालनको तयारी

    काठमाडौँ, ६ असारः सरकारले महिलालाई लक्षित गरी सातवटै प्रदेशमा ‘ब्लु बस’ सञ्चालनको तयारीलाई अघि बढाएको छ । सरकारको १०० दिनको कार्यसूचीअनुसार महिलाको सुरक्षित, सहज र सम्मानजनक सार्वजनिक आवागमन सुनिश्चित गर्न निःशुल्क ‘ब्लु बस’ सेवा सञ्चालनको तयारी अघि बढाइएको हो । कार्ययोजनाअनुसार पहिलो चरणमा १०० दिनभित्र कम्तीमा २५ वटा बस सञ्चालनमा ल्याउने लक्ष्य राखिएको जनाइएको छ । यसअन्तर्गत काठमाडौँ उपत्यकामा साझा यातायातसँगको सहकार्यमा कम्तीमा सात वटा बसलाई ‘ब्लु बस’का रूपमा सञ्चालन गर्ने योजना अघि बढाइएको छ । साथै काठमाडौँ उपत्यका बाहिर सबै प्रदेशका यातायात व्यवसायी सङ्घसँग समन्वय गरी कम्तीमा १८ वटा बस सञ्चालनको तयारी गरिएको छ ।

    मन्त्रालयका अनुसार ब्लु बस सेवा सञ्चालनका लागि आवश्यक कार्यविधि, समय सारिणीसहितको कार्ययोजना, शीर्षकगत लागत अनुमान तथा सञ्चालनको जिम्मेवारी निर्धारण गरिएको मस्यौदा प्रस्ताव साझा यातायातबाट प्राप्त भइसकेको छ । प्राप्त प्रस्तावका आधारमा आवश्यक प्रशासनिक तथा प्राविधिक तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा ब्लु बस सेवा सञ्चालनका लागि साझा यातायातसँग निरन्तर समन्वय भइरहेको छ । सेवा सञ्चालनका विभिन्न विकल्पसहित तयार पारिएको प्रस्ताव मन्त्रालयमा निर्णयका लागि पेस गरिएको छ भने आवश्यक प्रक्रियाहरू अगाडि बढाइएको छ । सरकारले सार्वजनिक यातायातमा महिला तथा बालिकाको सुरक्षालाई प्राथमिकता दिँदै ब्लु बस सेवालाई क्रमशः विस्तार गर्ने योजना बनाएको छ । आगामी आर्थिक वर्षमा सातै प्रदेशमा ब्लु बस सेवा सञ्चालनका लागि आवश्यक बजेट तथा कार्यक्रमसमेत प्रस्ताव गरिएको मन्त्रालयले जनाएको छ ।

    ब्लु बस सेवा सञ्चालनमा आएपछि विशेष गरी विद्यार्थी, श्रमिक, कर्मचारी तथा दैनिक रूपमा सार्वजनिक यातायात प्रयोग गर्ने महिलालाई सुरक्षित र सहज यात्राको वातावरण उपलब्ध हुने अपेक्षा गरिएको छ । यसले सार्वजनिक यातायातमा हुने दुव्र्यवहार तथा असुरक्षाको अनुभूति न्यूनीकरण गर्नसमेत सहयोग पुग्ने विश्वास गरिएको छ । सार्वजनिक यातायातमा सिसीटिभी र ड्यासक्याम सार्वजनिक यातायातमा हुने लैङ्गिक हिंसा तथा अपराध नियन्त्रणका लागि सिसीटिभी र ड्यासक्याम जडानलाई प्राथमिकता दिइएको छ ।

    प्रगति विवरणअनुसार साझा यातायातका १११ बस, महागर यातायातका ४६ बस तथा पाँचपोखरी सुनौलो यातायातका तीन बसमा सिसीटिभी तथा ड्यासक्याम जडान गरी सञ्चालनमा ल्याइएको छ । अन्य सार्वजनिक यातायातका साधनमा पनि जडान विस्तारको काम भइरहेको मन्त्रालयले जनाएको छ । ट्राफिक प्रहरीमार्फत अनुगमन गर्ने व्यवस्था मिलाइएको छ । सार्वजनिक सवारीलाई प्रविधिमैत्री, सुरक्षित र यात्रुमैत्री बनाउने मापदण्डको मस्यौदा तयार गरी स्वीकृतिका लागि मन्त्रालयमा पठाइएको छ ।

  • निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान

    निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान

    ६ असार, काठमाडौं । सरकारले निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान गरेको छ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना जारी गर्दै कार्यकारी निर्देशकका लागि आवेदन माग गरेको हो । 

    योग्यता पुगेका इच्छुक नेपाली नागरिकले १५ दिन भित्र मन्त्रालयको कर्मचारी कल्याण शाखामा व्यावसायिक कार्य योजना पेस गर्न भनिएको छ । सूचनामा भनिएको छ ,निजामती कर्मचारी अस्पताल विकास समिति (गठन)आदेश, २०६४ को दफा ६ बमोजिम निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकको पदमा नियुक्तिका लागि सोही दफा ६ र निजामती कर्मचारी अस्पताल (कार्यकारी निर्देशकको नियुक्ति, काम, कर्तव्य, अधिकार र सेवा सुविधा) विनियमावली, २०७७ बमोजिम योग्यता पुगेका इच्छुक नेपाली नागरिकले वेबसाइटमा राखिएको विस्तृत सूचनामा उल्लेख भएका विवरणहरू सहित यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र कार्यालय समयमा भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कर्मचारी कल्याण शाखामा सिलबन्दी खामभित्र व्यावसायिक कार्य यो जना संलग्न गरी आवेदन दस्तुर बापत रु. ५,००० जम्मा गरेको सक्कल भौचर सहित आवेदन पेस गर्नुहुन सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।

  • विश्व शरणार्थी दिवसः शरणार्थीको संरक्षण र सम्मान सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान

    विश्व शरणार्थी दिवसः शरणार्थीको संरक्षण र सम्मान सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान

    काठमाडौँ, ६ असारः आज विश्व शरणार्थी दिवस हो । यो दिवस आज विश्वका विभिन्न देशमा विविध कार्यक्रमका साथ मनाइँदै छ । द्वन्द्व, हिंसा, उत्पीडन तथा मानवअधिकार उल्लङ्घनका कारण आफ्नो घरबार छाड्न बाध्य भएका लाखौँ शरणार्थीप्रति सम्मान व्यक्त गर्दै यो दिवस प्रत्येक वर्ष जुन २० मा मनाउने गरिन्छ ।

    शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तको कार्यालय ९युएनएचसीआर० का अनुसार सन् २०२५ को मध्यसम्म विश्वभर ११ करोड ७३ लाखभन्दा बढी मानिस उत्पीडन, द्वन्द्व, हिंसा, मानवअधिकार उल्लङ्घन वा सार्वजनिक शान्ति–सुरक्षामा गम्भीर असर पार्ने घटनाका कारण विस्थापित भएका छन् । सुडान, युक्रेन, अफगानिस्तान, सिरियाली अरब गणराज्य, म्यान्मार तथा प्रजातान्त्रिक गणतन्त्र कङ्गोलगायत मुलुकमा जारी सङ्कटले लाखौँलाई घरबार छाड्न बाध्य बनाएको छ ।

    राष्ट्रसङ्घले शरणार्थीको संरक्षण केवल मानवीय संवेदनाको विषय मात्र नभई विश्व शान्ति र स्थायित्वको आधारसमेत भएको जनाएको छ । शरणार्थीलाई संरक्षण नपाउँदा परिवारहरू थप जोखिमपूर्ण यात्रामा जान बाध्य हुने, बालबालिकाको शिक्षा प्रभावित हुने तथा महिला र बालिकाहरू थप जोखिममा पर्ने बताइएको छ ।

    सन् १९५१ को शरणार्थी महासन्धि तथा सन् १९६७ को त्यससम्बन्धी प्रोटोकल शरणार्थी अधिकार संरक्षणका प्रमुख अन्तरराष्ट्रिय कानुनी आधार मानिन्छन् । ती व्यवस्थाअनुसार शरणार्थीलाई काम गर्ने, शिक्षा प्राप्त गर्ने, आवास पाउने, धार्मिक स्वतन्त्रता उपभोग गर्ने तथा पहिचान र यात्रा सम्बन्धी कागजात प्राप्त गर्ने अधिकार सुनिश्चित गरिएको छ । महासन्धिको मूल सिद्धान्त ‘नन–रिफाउलमेन्ट’ अनुसार कुनै पनि शरणार्थीलाई उसको जीवन वा स्वतन्त्रतामा गम्भीर खतरा रहेको स्थानमा फिर्ता पठाउन पाइँदैन ।

    विश्व शरणार्थी दिवसले शरणार्थीहरूको साहस, धैर्य र जीवन पुनःनिर्माणका प्रयासप्रति सम्मान व्यक्त गर्ने अवसर प्रदान गर्ने जनाउँदै उक्त विश्व संस्थाले विश्वका विभिन्न देशका सरकार, दातृ निकाय, स्थानीय समुदाय तथा विश्व समुदायलाई शरणार्थीको सुरक्षा, सम्मान र अधिकारको संरक्षणका लागि साझा प्रतिबद्धता जनाउन आह्वान गरेको छ ।

    राष्ट्रसङ्का अनुसार युद्ध, हिंसा र उत्पीडनबाट भाग्न बाध्य भएका व्यक्तिलाई जोखिमयुक्त स्थानमा जबर्जस्ती फर्काउन नहुने तथा विस्थापनको अवस्थामा पनि उनीहरूले सम्मानपूर्वक जीवनयापन गर्न पाउनुपर्ने व्यवस्था अन्तरराष्ट्रिय समुदायको महत्वपूर्ण प्रतिबद्धता हो ।

    यसैबीच, महासचिव एन्टोनियो गुटेरेसले यस अवसरमा जारी सन्देशमा शरण लिन बाध्य भएका सबै व्यक्ति तथा उनीहरूलाई आश्रय प्रदान गर्ने मुलुक र समुदायलाई थप बलियो समर्थन आवश्यक भएको बताएका छन् । महासचिव गुटेरेसले सन् १९५१ को शरणार्थीको अवस्थासम्बन्धी महासन्धि स्वीकृत भएको ७५ वर्ष पूरा भइरहँदा सुरक्षा र संरक्षणको प्रतिज्ञा विश्व समुदायका लागि उत्तिकै सान्दर्भिक भएको सन्देशमा उल्लेख गरेका छन् ।
    तस्बिरः संयुक्त राष्ट्रसङ्घ

  • विश्वकप फुटबलः पाराग्वेसँग टर्की पराजित

    विश्वकप फुटबलः पाराग्वेसँग टर्की पराजित

    काठमाडौँ, ६ असारः फिफा विश्वकप फुटबल, २०२६ अन्तर्गत आज भएको खेलमा पाराग्वेले टर्कीलाई पराजित गरेको छ । अमेरिकाको सान फ्रान्सिस्को बे एरिया स्टेडियममा भएको खेलमा पाराग्वेले टर्कीलाई १–० गोलअन्तरले पराजित गरेको हो । हारसँगै टर्की प्रतियोगिताबाट बाहिरिएको छ । पाराग्वेको जितमा माटियास गालार्जा नायक बने । उनले खेल सुरुआत दोस्रो मिनेटमा गरेको एक गोल नै पाराग्वेको लागि निर्णायक गोल सावित भयो ।

    खेलको पहिलो हाफको अतिरिक्त समयमा मिगुएल अल्मिरोन रातो कार्ड पाएर मैदान बाहिरिएसँगै पाराग्वे १० खेलाडीमा सीमित भएको थियो । त्यसपछि टर्कीले निरन्तर दबाबमा राखे पनि गोल गर्न सकेन । यस जितसँगै समूह ‘डि’ मा रहेको पाराग्वेले शीर्ष तीन अङ्क बटुलेको छ । यसै समूहमा रहेको अमेरिकाले दुई खेलमा छ अङ्क जोड्दै विश्वकपको नकआउट चरणमा प्रवेश गरिसकेको छ । समान दुई–दुई खेल खेलेका अष्ट्रेलिया तीन अङ्क जोड्दै अङ्क तालिकाको दोस्रो स्थानमा छ भने समान तीन अङ्क नै बुटुलेको पाराग्वे तेस्रो स्थानमा छ ।

  • आज केही स्थानमा हल्का वर्षाको सम्भावना

    आज केही स्थानमा हल्का वर्षाको सम्भावना

    काठमाडौँ, ६ असारः हाल नेपालको कोशी प्रदेशका केही भू–भागमा मनसुनी प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनसार अन्य भू–भागमा स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव रहेको छ । विभागका अनुसार कोशी प्रदेशमा तथा बाँकी प्रदेशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लागेको छ । अन्य तराई भू–भागमा मुख्यतया सफा रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।

    आज दिउँसो देशका हिमाली र पहाडी भू–भाग साथै कोशी प्रदेशका तराई भू–भागमा पनि साधारणतया बादल लाग्नेछ । मधेस प्रदेशमा आंशिक बादल लाग्नेछ । अन्य तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेशका हिमाली र पहाडी भू–भागका केही स्थानमा तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका थोरै स्थानमा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन\चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ ।

    कोशी प्रदेशका तराई भू–भागका केही स्थानमा तथा मधेस प्रदेशका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशका तराई भू–भागका केही स्थानमा पनि तातो दिन हुने सम्भावना छ ।

    आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भाग साथै कोशी प्रदेशका तराई भू–भागमा साधारणतया बादल लाग्नेछ ।

    मधेस प्रदेश र अन्य हिमाली र पहाडी भू–भागमा आंशिक बादल तथा अन्य तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका केही स्थानमा तथा लुम्बिनी र कर्णाली प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन\चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ । मधेस प्रदेशमा एक–दुई स्थान र कोशी प्रदेशको तराईका केही स्थानहरूमा मेघगर्जन\चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी र गण्डकी प्रदेशका पहाडी भू–भाग तथा कोशी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाकोसमेत सम्भावना छ ।

  • विश्वकप फुटबलः ब्राजिलद्वारा हाइटी पराजित

    विश्वकप फुटबलः ब्राजिलद्वारा हाइटी पराजित

    काठमाडौँ, ६ असारः फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा ब्राजिलले हाइटीलाई पराजित गरेको छ । अमेरिकाको फिलाडेल्फिया रङ्गशालामा भएको खेलमा ब्राजिलले समूह चरणका आफ्नो दोस्रो खेलमा हाइटीलाई ३–० गोलअन्तरले पराजित गरेको हो ।

    ब्राजिलका लागि खेलको २३औँ मिनेटमा माथेउस कुन्हाले गोल गर्दै ब्राजिललाई अग्रता दिलाए । उनले ३६औँ मिनेटमा थप एक गोल गर्दै ब्राजिलको अग्रतालाई दोब्बर बनाए । त्यसपछि भिनिसियस जुनियरले पहिलो हाफको अतिरिक्त समयमा गोल गर्दै ब्राजिललाई ३–० को अग्रता दिलाए ।

    जितसँगै समूह ‘सि’मा रहेको ब्राजिलले दुई खेलमा चार अङ्क जोड्दै शीर्ष स्थानमा उक्लिएको छ । समान चार अङ्क नै जोडेको मोरक्को गोलअन्तरका आधारमा दोस्रो स्थानमा छ । दुई खेलमा तीन अङ्क जोडेको स्कटल्यान्ड तेस्रो र जितविहीन हाइटी चौथो स्थानमा छ । यससँगै लगातार दोस्रो हार बेहोरेको हाइटीको भने नकआउट चरणमा पुग्ने सम्भावना समाप्त भएको छ । अब समूह ‘सी’मा ब्राजिलले स्कटल्यान्ड र मोरक्कोले हाइटीसँग खेल्न बाँकी रहेको छ ।

    विश्वकप फुटबल प्रतियोगिताअन्र्तत आजै विहान सम्पन्न खेलमा मोरोक्कोले स्कटल्यान्डलाई १–० गोलअन्तरले पराजित गरेको थियो । मोरोक्कोका इस्माइल साइबारीले खेल सुरुआती मिनेटमा नै गरेको एक गोल नै मोरोक्कोको लागि निर्णायक सावित भएको थियो । खेलको दोस्रो हाफमा कुनै गोल भएन र ब्राजिल विजयी भयो । समूह ‘डि’अन्तर्गत आज ८ः४५ बजे हुने खेलमा टर्की र पाराग्वे भिड्दैछन् ।

  • मन्त्रिपरिषद् बैठकः धितोपत्र बोर्डको अध्यक्षमा डा गोपाल भट्ट नियुक्त

    मन्त्रिपरिषद् बैठकः धितोपत्र बोर्डको अध्यक्षमा डा गोपाल भट्ट नियुक्त

    काठमाडौँ, ५ असारः सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा डा गोपालप्रसाद भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सञ्चारकर्मीलाई जानकारी दिए ।

    बैठकले नेपाल विशेष सेवा ऐन, २०४२ को साबिक व्यवस्था जगाउनेसम्बन्धी विधेयक सङ्घीय संसद्मा पेस गर्न स्वीकृति दिएको छ । साथै, राष्ट्रिय सेवा दलसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक पनि संसद्मा पेस गर्ने निर्णय गरिएको सञ्चारमन्त्री डा तिमिल्सिनाले बताए ।


    सहकारी क्षेत्रको सुधार र प्रभावकारी नियमनका लागि मन्त्रिपरिषद्ले सहकारीसम्बन्धी प्रचलित कानुनलाई संशोधन तथा एकीकरण गर्न विधेयक तर्जुमाका लागि सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ । बचत तथा ऋण सहकारी (नियमन तथा सुपरीवेक्षण) सम्बन्धमा व्यवस्था गर्न छुट्टै विधेयक तर्जुमाका लागि समेत स्वीकृति दिइएको छ ।

    बैठकले सहकारी ऐन, २०७४, सार्वजनिक खरिद ऐन, २०६३, सम्पत्ति शुद्धीकरण ९मनी लाउन्डरिङ० निवारण ऐन, २०६४ तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेका प्रतिस्थापन विधेयकहरू सङ्घीय संसद्समक्ष पेस गर्न स्वीकृति प्रदान गरेको छ ।

  • पोखरा महानगरको बजेट रु सात अर्ब १५ करोड

    पोखरा महानगरको बजेट रु सात अर्ब १५ करोड

    रासस
    कास्की, ५ असारः पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३–८४ का लागि रु सात अर्ब १५ करोड २५ लाख बजेट ल्याएको छ । महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले आज पोखरा सभागृहमा बसेको १९औँ नगरसभामा बजेट कार्यक्रम प्रस्तुत गरेकी हुन् । चालु वर्षमा रु आठ अर्ब ३५ करोड १२ लाख बजेट ल्याएको महानगरले आगामी वर्षका लागि बजेटको आकार घटाएको हो । आगामी वर्षको बजेट चालुको भन्दा रु एक अर्ब १९ करोड ८७ लाखले न्यून हो ।

    बजेटका स्रोतहरूमा सङ्घीय सरकार सशर्त अनुदानबाट रु दुई अर्ब ६१ करोड ९१ लाख, विशेष अनुदान रु पाँच करोड ५० लाख, समपूरक अनुदान रु एक करोड ८२ लाख र सङ्घीय सरकार समानीकरण अनुदान रु ४९ करोड ३७ लाख रहेको छ । त्यसैगरी, गण्डकी प्रदेश सरकार समपूरक अनुदानतर्फ रु ६० लाख, विशेष अनुदान र ४० लाख र समानीकरण अनुदान रु आठ करोड १५ लाख ३६ हजार अनुमान गरिएको उपप्रमुख गुरुङले जानकारी दिइन् ।


    राजस्व बाँडफाँटबापत सङ्घीय सरकारबाट रु ३४ करोड ३४ लाख ७३ हजार, गण्डकी प्रदेश सरकारबाट रु चार करोड नौ लाख ८६ हजार, राजस्व बाँडफाँट स्थानीय सरकारतर्फ रु एक अर्ब ३१ लाख १४ हजार र आन्तरिक स्रोततर्फ रु दुई अर्ब ४८ करोड ७३ लाख ९१ हजार गरी कुल आन्तरिक आय रु तीन अर्ब ८७ करोड ४९ लाख ६४ हजार अनुमान गरिएको छ ।

    महागनरको वित्तीय स्थायित्व कायम गर्दै राजस्व दायरा विस्तार, पर्यटकीय राजधानी पोखराको आर्थिक गतिविधि विस्तार गरी रोजगारी अभिवृद्धि र वातावरणमैत्री र दिगो सहरी विकास प्रवर्द्धन गर्नु बजेटका उद्देश्य रहेको उपप्रमुख गुरुङले बताइन् । “चालु खर्चलाई वाञ्छित सीमाभित्र राख्ने, राजस्व सुधार योजना कार्यान्वयन, निजी क्षेत्रको लगानी आकर्षित, पोखरालाई अन्तरराष्ट्रिय पर्यटन गन्तव्यका रूपमा आकर्षण गर्ने र आधुनिक फोहरमैला प्रशोधन केन्द्र निर्माण बजेटका प्राथमिकता क्षेत्रहरू हुन्”, उपप्रमुख गुरुङले भनिन् ।


    महानगरले आगामी वर्षमा फिर्केखोला कोरिडोर पोखरा बसपार्क लगायतका महानगर क्षेत्रभित्र रहेका सार्वजनिक जग्गा संरक्षण तथा अतिक्रमित जग्गा संरक्षण र व्यवस्थापनका लागि रु १० करोड बजेट विनियोजन गरेको छ । महानगरले पूर्वाधार तथा सहरी विकासतर्फ ६१ सडक आयोजना पूरा गर्नका लागि रु ५५ करोड ५० लाख ६३ हजार विनियोजन गरेको छ । पोखरा सभागृह पुनर्निर्माणका लागि रु पाँच करोड छुट्याइएको छ । शिशुवा अस्पतालमा विशेषज्ञ सेवा विस्तारका लागि रु एक करोड २० लाख र गण्डकी बहुप्राविधिक शिक्षालयका लागि रु दुई करोड ६० लाख विनियोजन गरिएको छ ।

    महानगरको फोहरमैला ढुवानी तथा व्यवस्थापनका लागि रु १५ करोड र प्रभावित क्षेत्रका लागि थप रु पाँच करोड बजेट विनियोजन गरिएको उपप्रमुख गुरुङले बताइन् । निर्माणाधीन तालचोक बेगनास सडकको बाँकी काम सम्पन्न गर्नका लागि रु १५ करोड २५ लाख विनियोजन गरिएको छ । यसैगरी, विपद् जोखिम न्यूनीकरण र पुनःस्थापनाका लागि रु तीन करोड २४ लाख, सामुदायिक विद्यालयमा विद्यालय नर्स कार्यक्रमका लागि रु तीन करोड विनियोजन गरेको छ । महानगरले कृषि क्षेत्रको उत्पादन तथा उत्पादकत्व वृद्धि गरी कृषिलाई आधुनिक व्यावसायिक र प्रतिस्पर्धी बनाउन रु तीन करोड ६८ लाख र उद्यम विकास, रोजगार सृजना तथा नवप्रवर्तनका लागि रु एक करोड २५ लाख छुट्याइएको छ ।

    बजेट कार्यक्रममा पर्यटन प्रवर्द्धनका लागि रु ६० लाख, तथा खेल पर्यटनका लागि र ६६ लाख विनियोजन गरिएको छ । महानगरले चालु वर्षमा विनियोजित बजेटमध्येमा जेठ मसान्तसम्म जम्मा ४० प्रतिशत खर्च भएको जनाएको छ । चालुतर्फ रु तीन अर्ब ५१ करोड ३२ लाख ८९ हजार र पुँजीगततर्फ रु चार अर्ब ८३ करोड ७९ लाख ११ हजार अनुमान गरिएकामा चालुतर्फ रु दुई अर्ब १६ करोड ९७ लाख ५५ हजार र पुँजीगततर्फ रु एक अर्ब १७ करोड आठ लाख ६० हजारमात्र खर्च भएको उपप्रमुख गुरुङले बताइन् ।गरेकी हुन्

  • रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा

    रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा

    भरतपुर, ५ असारः यही असार ७ गतेदेखि ९ गतेसम्म चितवनको भरतपुरमा आयोजना हुन लागेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनलाई लक्षित गरी यहाँ सुरक्षा व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखिएको छ । महाधिवेशनमा प्रधानमन्त्री, मन्त्रीहरु, सांसद, उच्चपदस्थ व्यक्तित्व तथा विदेशी पाहुनाको समेत सहभागिता रहने भएकाले सुरक्षा तयारीलाई उच्च प्राथमिकतामा राखिएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए ।

    महाधिवेशनलाई लक्षित गरी चारवटै सुरक्षा निकाय समन्वयात्मक रूपमा तयार भएको सुरक्षा योजना कार्यान्वयन गरिने जानकारी दिए । उनका अनुसार महाधिवेशन अवधिभर कुनै पनि सुरक्षा चुनौती उत्पन्न हुन नदिन रणनीतिक सुरक्षा योजना तयार पारिएको छ ।

    “महाधिवेशनलाई केन्द्रित गरेर विस्तृत सुरक्षा योजना बनाएका छौँ”, प्रजिअ अर्यालले भने, “आवश्यक परे अन्य जिल्लाबाट थप सुरक्षाकर्मी मगाएर भए पनि सुरक्षा व्यवस्था चुस्त र प्रभावकारी बनाइनेछ ।” महाधिवेशनस्थलको निरन्तर अनुगमन र निरीक्षणसमेत गरिरहेको उनले बताए । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रामेश्वर पौडेलले महाधिवेशनको सुरक्षाका लागि एक हजार ८७ जनपद प्रहरी परिचालन गरिने बताए । उनका अनुसार खुला सत्र र बन्द सत्रका लागि छुट्टाछुट्टै सुरक्षा रणनीति अपनाइएको छ ।

    “सुरक्षाका लागि एक हजार ८७ जनपद प्रहरी परिचालन गरिनेछ भने ट्राफिक व्यवस्थापनका लागि १६५ ट्राफिक प्रहरी खटाइने छन्”, प्रहरी उपरीक्षक पौडेलले भने, “सुरक्षाका दृष्टिकोणले कुनै कमजोरी हुन नदिने गरी सम्पूर्ण सुरक्षा संयन्त्र परिचालन हुनेछन ।” महाधिवेशन अवधिमा ठूलो सङ्ख्यामा सहभागी तथा सवारीसाधनको चाप बढ्ने भएकाले ट्राफिक व्यवस्थापनलाई विशेष प्राथमिकता दिइएको छ ।

    पार्टीले सकेसम्म कम सवारीसाधन प्रयोग गरेर आउन अनुरोध गरेको छ । रास्वपाका केन्द्रीय सचिवालय सदस्य दीपक बोहराले महाधिवेशनमा सहभागी हुने प्रतिनिधि, तथा शुभेच्छुकहरूको ठूलो उपस्थिति रहने भएकाले ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बन्न सक्ने बताए ।


    “प्रतिनिधि र सहभागीलाई सकेसम्म सीमित सवारीसाधन प्रयोग गरेर आउन अनुरोध गरेका छौँ”, उनले भने। यसअघि रत्ननगरको टाँडी क्षेत्रमा आयोजना गर्ने तयारी गरिएको महाधिवेशन अन्ततः भरतपुरमा सारिएको हो । रास्वपा चितवनका सभापति मिनिमाधव खनालका अनुसार अध्यधिक गर्मी, वर्षा तथा सुरक्षा व्यवस्थापनलाई मध्यनजर गर्दै कार्यक्रमस्थल परिवर्तन गरिएको हो । “यति ठूलो राष्ट्रिय कार्यक्रमको आयोजक बन्न पाउनु चितवनका लागि गौरवको विषय हो”, उनले भने, “सहभागीलाई घाम र वर्षाबाट सुरक्षित राख्न आवश्यक पूर्वाधार निर्माण तथा व्यवस्थापनका काम भइरहेका छन् ।”

    महाधिवेशनको सुरक्षाका लागि सुरक्षाकर्मीसँगै पार्टीका नेता कार्यकर्तासमेत खटिने सभापति खनालले जानकारी दिए । उनका अनुसार बन्दसत्रमा करिब तीन हजार ५०० देखि चार हजार प्रतिनिधि सहभागी हुने अपेक्षा गरिएको छ । खुला सत्रमा भने ४० हजारदेखि ५० हजारसम्म उपस्थित हुनसक्ने अनुमान गरिएको उनले बताए ।

    महाधिवेशनमा सवारीसाधन व्यवस्थापनका लागि पूर्वी क्षेत्रबाट आउनेलाई केन्द्रीय बस टर्मिनल क्षेत्रमा पार्किङको व्यवस्था मिलाइएको छ । पश्चिम र काठमाडौँ क्षेत्रबाट आउने सवारीसाधनलाई विशाल चोक नजिकै रहेको वीरेन्द्र क्याम्पसको खुला चौरमा व्यवस्थापन गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

  • ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा

    ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा

    काठमाडौँ, ५ असारः काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मोडिफाइ गरी ठूलो तथा चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकललाई नियन्त्रणमा लिएर कारबाही गरेको जनाएको छ । सडकमा चर्को आवाज निकाल्दै ध्वनि प्रदूषण फैलाउने तथा मोडिफाइ गरिएका मोटरसाइकलहरूविरुद्ध विशेष निगरानी तथा कारबाही अभियान सञ्चालन गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।


    उनले भने, “मोटरसाइकललाई मोडिफाइ गरी चर्को आवाज निकाल्ने र ध्वनि प्रदूषण गर्ने गतिविधि नियन्त्रणका लागि हामीले अभियान नै सञ्चालन गरेका छौँ । हालसम्म एक हजार ३२९ मोटरसाइकलका धनीलाई कारबाही गरिएको छ ।” यसैबीच, ट्राफिक प्रहरीले आजमात्रै काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका तथा हराएका ५० वटा मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको जनाएको छ । चोरी तथा हराएका सवारीसाधनको खोजतलासका लागि ट्राफिक प्रहरीले विशेष टोली परिचालन गरेको प्रवक्ता सुवेदीले जानकारी दिए ।

  • सहमतिकै आधारमा नेतृत्व चयन गर्ने प्रयास भइरहेको छ : महामन्त्री शाह

    सहमतिकै आधारमा नेतृत्व चयन गर्ने प्रयास भइरहेको छ : महामन्त्री शाह

    चितवन, ५ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले सहमतिकै आधारमा नेतृत्व चयन गर्ने प्रयास भइरहेको बताएका छन् । महाधिवेशनन उद्घाटनस्थलमा आज साँझ पत्रकारहरूसँग कुराकानी गर्दै उनले त्यस्तो बताएका हुन् । महामन्त्री शाहले सबै एकै ठाउँमा उभिएका कारण दुईतिहाइ हासिल गर्न सकिएको भन्दै महाधिवेशनमा पनि सबै एक ठाउँमा हुने बताए । उनले भने, “सबै एकै ठाउँमा आएरमात्रै दुईतिहाइ हासिल गर्न सम्भव भएको हो, सबै जना महाधिवेशनबाट पनि सम्मानित रूपमा आउने वातावरण बनाउन हामी अहोरात्र खटिरहेका छौँ ।”

    सहमतिको वातावरणका लागि सबै प्रयास भइराखेको उनले भने, शाहले भने, “यद्यपि सहमति हुन सकेन भने पनि लोकतान्त्रिक पद्धतिमा प्रतिस्पर्धात्मक माहोलबाट साथीहरू आउनुहुनेछ ।” पार्टी जीवनमा सबैभन्दा महत्त्वपूर्ण पर्वका रूपमा महाधिवेशनलाई लिएको उनको भनाइ छ ।

    चर्को गर्मीमा पनि चितवनलाई महाधिवेशनका लागि किन रोजियो ? भन्ने प्रश्नमा महामन्त्री शाहले भने, “पार्टीको जन्मभएको ठाउँ, एउटा आन्दोलनबाट यो पार्टी स्थापना भयो, यो हाम्रो उद्गम भूमि पनि हो, सबै हिसाबले सोचेर चितवन रोजेका हौँ ।” महाधिवेशन पार्टीको पर्व भएको भन्दै उनले थपे, “महाधिवेशन हो, यो चितवनबाटै हुनुपर्छ भन्ने बुझाइले यही गर्ने निर्णय गर्यौँ ।”

    भरतपुरमा यही असार ७–९ गतेसम्म हुन गइरहेको पार्टीको केन्द्रीय महाधिवेशनको उद्घाटन सभापति रवि लामिछाने र प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता वालेन्द्र शाहले गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री बालेन्द्र शाह महाधिवेशनको उद्घाटनसहित आवश्यक पर्ने आधिकारिक कार्यक्रममा उपस्थित रहने उनको भनाइ थियो । महामन्त्री शाहले महाधिवेशनको तयारीका विषयमा उपसमितिका संयोजकहरूसँग जानकारी लिएका छन् ।

  • अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा

    अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा

    कञ्चनपुर, ५ असारः अत्यधिक गर्मी बढ्दै गएपछि कञ्चनपुरको भीमदत्त नगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयमा १२ दिन बिदा दिने निर्णय गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेशबहादुर बमका अनुसार यही असार ८ गतेदेखि असार १९ गतेसम्म गर्मी तथा वर्षे बिदा एकमुष्ट मिलाएर विद्यालयमा बिदा दिने गर्ने निर्णय गरिएको हो ।

    उक्त बिदा विद्यालयको वार्षिक बिदा (लामो बिदा) बाट कट्टा हुनेछ। पछिल्ला दिनमा अत्यधिक गर्मीका कारण विद्यार्थीलाई विद्यालय आउजाउ गर्न कठिनाइ हुन थालेपछि बालबालिकाको स्वास्थ्यलाई ध्यानमा राख्दै बिदा दिने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत बमले जानकारी दिए । नगरपालिकाले मौसमको अवस्था सामान्य भएपछि पूर्वनिर्धारित तालिकाअनुसार विद्यालय सञ्चालन हुने जनाएको छ ।

  • वासिङ्टन र तेहरान बीचको एमओयूको सार्वजनिक

    वासिङ्टन र तेहरान बीचको एमओयूको सार्वजनिक

    वासिङ्टन, ५ असार (रासस–क्यूएनए) । संयुक्त राज्य अमेरिका र इरानले दुई पक्षबीच इलेक्ट्रोनिक रूपमा हस्ताक्षर गरिएको (सम्झौता–पत्र) एमओयू सार्वजनिक गरेका छन् । ज्ञापन पत्रमा तत्काल र स्थायी युद्धविराम, ६० दिन भित्र अन्तिम सम्झौता वार्ता गर्ने प्रतिबद्धताका साथै प्रतिबन्ध राहत, आवागमनको स्वतन्त्रता र पुनर्निर्माणसँग सम्बन्धित उपायहरू समावेश छन् ।

    प्रकाशित ज्ञापन पत्रमा लेबनानसहित सबै स्थनामा सैन्य कारबाही तत्काल र स्थायी रूपमा समाप्त गर्ने घोषणा गरिएको छ । यस बाहेक, संयुक्त राज्य अमेरिका र इस्लामिक गणतन्त्र इरानले अब देखि एक–अर्का विरुद्ध कुनै युद्ध वा कुनै सैन्य कारबाही सुरु नगर्ने, सार्वभौमिकता र क्षेत्रीय अखण्डतालाई सम्मान गर्ने र एक–अर्काको आन्तरिक मामिलामा हस्तक्षेप गर्न बाट टाढा रहनुका साथै एक–अर्काको विरुद्धमा धम्की वा बल प्रयोग नगर्न प्रतिवद्धता व्यक्त गरेका छन् ।

    दुवै पक्षले आपसी सहमतिमा अधिकतम ६० दिनमा वार्ता र अन्तिम सम्झौता हासिल गर्ने प्रतिबद्धता जनाएका छन् । अन्तिम सम्झौताले युद्धको अन्त्यलाई औपचारिक बनाउने र दुबै पक्षहरू बिचका सवालहरुलाई सम्बोधन गर्ने अपेक्षा गरिएको छ । यस एमओयूमा हस्ताक्षर भए लगत्तै संयुक्त राज्य अमेरिकाले इस्लामिक गणतन्त्र इरानविरुद्ध आफ्नो नौसैनिक नाकाबंदी हटाउन सुरु गर्ने र ३० दिन भित्र नौसैनिक नाकाबन्दी पूर्ण रूपमा अन्त्य गर्ने जनाइएको छ ।

    इरानले खाडी र ओमान बीचमा ६० दिनका लागि व्यावसायिक जहाजहरूको सुरक्षित मार्ग सुनिश्चित गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ । यसैगरी ज्ञापन पत्रमा इरानी अर्थतन्त्रको पुनर्निर्माण र विकासको लागि योजना समावेश छ भने सम्झौताको अन्तिम भागको रूपमा कार्यान्वयन संयन्त्रलाई अन्तिम रूप दिइने उल्लेख गरिएको छ । प्रतिबन्ध सन्दर्भमा, संयुक्त राज्य अमेरिका इरान इस्लामिक गणतन्त्र विरुद्ध प्रतिबन्ध सबै प्रकारका समाप्त गर्न संयुक्त राष्ट्र सुरक्षा परिषद संकल्प सहित, अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी बोर्ड अफ गभर्नरका प्रस्तावहरू, र सबै अमेरिकी प्रतिबन्धहरू, फुकुवा गर्ने जनाइएको छ ।

    आणविक सवालमा इरानले आणविक हतियारहरू खरिद वा विकास नगर्ने प्रतिवद्धता दोहोर्रयाएको जनाइएको छ । दुवै पक्षले आएएइएको पर्यवेक्षणमा पारस्परिक रूपमा सहमत हुने संयन्त्रको अनुसरणमा भण्डार समृद्ध सामग्रीको व्यवस्थापन गर्न समाधान गर्न सहमत भएका छन् । उनीहरूले अन्तिम सम्झौतामा युरेनियम संवर्धन र इरानको आणविक आवश्यकतामाथि पनि वार्ता जारी राख्ने सहमति जनाएका छन् ।

    ज्ञापन पत्रमा अन्तिम सहमति नभएसम्म यथा स्थिति कायम रहने जनाइएको छ । यसमा कुनै नयाँ अमेरिकी प्रतिबन्धहरू र अतिरिक्त सेनाको तैनाती समावेश नरहेको र इरानको आणविक कार्यक्रमको हालको स्थिति परिवर्तित नहुने जनाइएको छ । सम्झौता पछि इरानी कच्चा तेल, पेट्रोलियम उत्पादन र सम्बन्धित सेवाहरूको निर्यातलाई अनुमति दिने छूट जारी गर्ने, नियन्त्रण गरिएको इरानी कोष र सम्पत्ति खुल्ला गर्ने जनाइएको छ । ज्ञापनपत्रको कार्यान्वयन र अन्तिम सम्झौताको अनुपालनको निगरानी गर्न संयुक्त संयन्त्रको स्थापनाको पनि व्यवस्था गरिएको छ ।

    सैन्य कारबाहीको अन्त्य, आवागमन स्वतन्त्रता र आर्थिक प्रतिबन्धहरू कम गर्न प्रमुख प्रावधानहरूको कार्यान्वयन पछि अन्तिम सम्झौतामा वार्ता सुरु हुने जनाइएको छ भने अन्तिम सम्झौता संयुक्त राष्ट्र सुरक्षा परिषद्को बाध्यकारी प्रस्ताव मार्फत स्वीकृत हुने छ ।

  • शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

    शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

    ललितपुर, ५ असारः करिब एक हजार ६०० वर्ष पुरानो तथा नेपालको सबैभन्दा लामो सांस्कृतिक–धार्मिक पर्वका रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथयात्रा शनिबार राष्ट्र प्रमुखको उपस्थितिमा भोटो देखाएपछि औपचारिक रूपमा सम्पन्न हुनेछ । ललितपुर महानगरपालिका–४ का वडाध्यक्ष सन्तोष खड्काले जावलाखेलस्थित ललित मण्डपमा भोटो देखाउने तयारी गरिएको बताउँदै तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । उनका अनुसार प्रत्येक वर्षझैँ यस वर्ष पनि भोटो सर्वसाधारण तथा विशिष्ट अतिथिहरूलाई प्रदर्शन गरिनेछ ।

    वैशाख शुक्ल प्रतिपदादेखि सुरु भएको रथयात्रामा भगवान् रातो मच्छिन्द्रनाथको मूर्तिलाई ३२ हात अग्लो रथमा विराजमान गराई पुल्चोक, मङ्गलबजार, सुन्धारा, लगनखेल, कुमारीपाटी हुँदै जावलाखेलसम्म परिक्रमा गराइएको थियो । यसैक्रममा रथलाई जावलाखेल पुर्‍याएको चौथो दिनमा भोटो प्रदर्शन गर्ने प्रचलन रहेको वडाध्यक्ष खड्काले जानकारी दिए ।

    संस्कृतिविद्हरूका अनुसार वर्षा र सहकालका देवताका रूपमा पूजिने रातो मच्छिन्द्रनाथको जात्रा नेपालको प्राचीन तथा विशिष्ट सांस्कृतिक सम्पदामध्ये एक हो । राजतन्त्रकालमा भोटो जात्रामा राजा उपस्थित हुने परम्परा रहेकामा गणतन्त्र स्थापनापछि राष्ट्रपतिले उक्त समारोहमा सहभागिता जनाउँदै आएका छ्न् ।

    भोटो देखाउने जात्रा सम्पन्न भएपछि रातो मच्छिन्द्रनाथको मूर्तिलाई प्राचीन कलात्मक खटमा राखी बाजागाजासहित जावलाखेलबाट बुङ्मतीस्थित मच्छिन्द्रबहालमा लगेर विराजमान गराइने परम्परा रहेको वडाध्यक्ष खड्काले उल्लेख गरे । उनले यस वर्षको जात्रा शान्तिपूर्ण, व्यवस्थित र सफलतापूर्वक सम्पन्न भएको बताउँदै भोटो जात्रामा सहभागी हुन आउने भक्तजन तथा दर्शकलाई आवश्यक सुरक्षा र व्यवस्थापनमा सहयोग गर्न आग्रह गरे । साथै उनले जावलाखेल क्षेत्रमा फुटपाथमा व्यापार नर्गन सम्बन्धित सबैलाई आग्रह गरे ।

  • जनगणतन्त्र कङ्गोमा ८०८ जनामा इबोलाको सङ्क्रमण पुष्टि, मृत्यु हुनेको सङ्ख्या १९२ पुग्यो

    जनगणतन्त्र कङ्गोमा ८०८ जनामा इबोलाको सङ्क्रमण पुष्टि, मृत्यु हुनेको सङ्ख्या १९२ पुग्यो

    किन्सासा, ५ असार (रासस–सिन्ह्वा) । प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) मा इबोलाबाट सङ्क्रमितको सङ्ख्या ८०८ पुगेको छ भने १९२ जनाको मृत्यु भएको यहाँको स्वास्थ्य मन्त्रालयले सोमबार जनाएको छ । इबोला भाइरस सङ्क्रमणको प्रकोपको स्थितिबारे जारी प्रतिवेदन नम्बर ३१ अनुसार आइतबार २६ थप व्यक्तिमा सङ्क्रमण पुष्टि भएको र ११ जनाको मृत्यु भएको छ ।

    यसले सङ्क्रमणको मृत्यु दर २३.८ प्रतिशत पुर्याएको छ । आइतबारसम्म कुल ३६३ बिरामीहरू आइसोलेसनमा रहेका थिए भने ४८ बिरामीहरू प्रकोप सुरु भएदेखि निको भएका थिए । इटुरी, उत्तरी किभु र दक्षिण किभु गरी तीन प्रभावित प्रान्तमा यो इबोला नियन्त्रणको लागि अभियान जारी छ । बुन्डिबुग्यो इबोला भाइरसका कारण फैलिएको प्रकोप देशमा मे १५ मा आधिकारिक रूपमा घोषणा गरिएको थियो।

  • हेजबुल्लासँग उद्धार बन्न नेतान्याहुलाई ट्रम्पको आग्रह

    हेजबुल्लासँग उद्धार बन्न नेतान्याहुलाई ट्रम्पको आग्रह

    एभियन (फ्रान्स), ५ असार (रासस–एएनआई) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई लेबनानमा हेजबुल्लाहका लक्ष्यहरू सामना गर्न उद्धार दृष्टिकोण अवलक्बन गर्न आग्रह गरेका छन् । दुई राष्ट्रहरू बीचको गठबन्धन बलियो रहेको कुरामा जोड दिदै ट्रम्पले इजरायलले खतराहरूलाई आक्रामक रूपमा प्रतिक्रिया दिने लगायतका विषयमा असहमति रहेको खुलासा गरेका छन् । यस अघि मङ्गलबार लेबनानमा सैन्य कारबाहीलाई नियन्त्रण गर्न कडा असन्तुष्टि व्यक्त गर्दै ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कडा निन्दा गरेका छन् ।


    सिरियाले हेजबुल्लाहको व्यवस्थापन माथि नियन्त्रण लिन सक्ने प्रस्ताव पेस गर्दै उनले इजरायलले “छिटो काम गर्न सक्षम हुनुपर्ने कुरामा जोड दिँदै नेतान्याहुसँग “सन्तुष्ट नभएको बताए । विस्तारित शत्रुताले इरानसँगको आफ्नो कूटनीतिक सफलतामा नकारात्मक प्रभाव पारेकोसमेत ट्रम्पले बताए । उनले संयुक्त राज्य अमेरिकाले तेहरानसँगको सम्झौतालाई अन्तिम रूप दिनु भन्दा दुई घण्टा अघि बेरुतमा भएको इजरायली आक्रमण प्रति कडा असन्तुष्टि व्यक्त गरे ।


    लेबनानमा तीव्र, तथा दैनिक रूपमा भएको इजरायली बमबारीको बीचमा, हजारौंको ज्यान गएको उल्लेख गर्दै अमेरिकी राष्ट्रपति ट्रम्पले बढ्दो नागरिक हाताहातको विषयमा नेतान्याहुसँग असन्तुष्ट रहेको बताए । फ्रान्समा जी–७ शिखर सम्मेलनको अवसरमा बोल्दै ट्रम्पले इजरायलले हेजबुल्लाहसँग लामो समय देखि लडिरहेको कारण धेरै मानिसको मृत्यु भएको बताए ।

    यसैबीच अमेरिकी राष्ट्रपति ट्रम्पले सिरियाका राष्ट्रपति अहमद अल–साराले हेजबुल्लाहको नियन्त्रणलाई अझ प्रभावकारी रूपमा निरीक्षण गर्न सक्ने भन्दै सिरियालाई हेजबुल्लाहको हेरचाह गर्न दिन इजरायललाइ सुझाव दिएका छन् । अमेरिका र इरानले यस हप्ताको अन्त्यमा शान्ति सम्झौतामा हस्ताक्षर गर्न तयार भए पछि तेहरानले यो सँगै लेबनानमा पनि दिगो शान्ति र तनाव अन्त्य हुने बताइएको छ ।

  • मेक्सिको विश्वकपको नकआउट चरणमा प्रवेश

    मेक्सिको विश्वकपको नकआउट चरणमा प्रवेश

    काठमाडौँ, ५ असारः मेक्सिको फिफा विश्वकप फुटबलको नकआउट चरणमा पुगेको छ । समूह ‘ए’ अन्तर्गतको आफ्नो दोस्रो खेलमा दक्षिण कोरियालाई पराजित गर्दै मेक्सिको जारी प्रतियोगिताको नकआउट चरणमा पुग्ने पहिलो टोली बन्यो । मेक्सिकोको इस्तादियो ग्वादालाहारा स्टेडियमा आज भएको खेलमा मेक्सिकोले दक्षिण कोरियालाई १–० गोलअन्तरले पराजित ग¥यो । मेक्सिकोको जितमा लुइस रोमो नायक बने । उनले खेलको ५०औँ मिनेटमा गरेको गोल नै मेक्सिकोको लागि निर्णायक गोल सावित भयो ।

    यस जितसँगै विश्वकपको समुह ‘ए’ मा रहेको मेक्सिकले दुई खेलमा ६ अङ्क जोड्दै अङ्क तालिकाको शीर्ष स्थानमा छ । मेक्सिकोले आफनो पहिलो खेलमा दक्षिण अफ्रिकालाई पराजित गरेको थियो । आज मेक्सिकोसँग पराजित भए पनि दक्षिण कोरियाको पनि नकआउट चरण प्रवेशको सम्भावना कायमै रहेको छ । तीन अङ्क बटुलेको दक्षिण कोरियाले पहिलो खेलमा चेक रिपब्लिकलाई पराजित गरेको थियो ।

    यसै समूहमा रहेका चेक रिपब्लिक र दक्षिण अफ्रिकाको समान एकरएक अङ्क छ । उनीहरुको पनि अघिल्लो चरण प्रवेशको सम्भावना कायमै छ । विभिन्न ४८ राष्ट्र सहभागी यस विश्वकपको नकआउट चरणमा ३२ टोली पुग्नेछन् । जसमा प्रत्येक समूहबाट शीर्ष दुई टोली र तेस्रो हुने मध्येबाट उत्कृष्ट आठ टोली गरी ३२ राष्ट्रले नकआउट चरणमा खेल्नेछन् ।

  • आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय

    आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय

    रासस
    त्रिवेणी (नवलपरासी), ५ असारः नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकाभित्र रहेका विद्यालय अहिले आविष्कार र उत्पादनसँग जोडिँदै गएका छन् । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रमअन्तर्गत कावासोती नगरपालिकाले सञ्चालन गरेको ‘आविष्कार र उत्पादनको जग मेरो विद्यालय’ कार्यक्रममार्फत नगरभित्रका २३ विद्यालयमा विभिन्न नवप्रवर्तनात्मक तथा उत्पादनमुखी परियोजना सञ्चालन गरिएका छन् ।

    कार्यक्रमले विद्यालय शिक्षालाई कक्षाकोठाबाट उत्पादन, अनुसन्धान र प्रयोगसँग जोड्ने प्रयास गरेको कावासोती नगरपालिका शिक्षा शाखा अधिकृत राजन पाण्डेले बताए । कावासोती नगरपालिका–१७ मा रहेको त्रिभुवन बाल माध्यामिक विद्यालयमा शिक्षक र विद्यार्थी मिलेर ‘राधा’ नामको रोबट निर्माण गरेका छन् ।

    विद्यालयमा पुग्ने जोकसैलाई उक्त रोबटले नमस्कारसहित स्वागत गर्ने गरेको छ । विज्ञान शिक्षक सुजन पोख्रेलका अनुसार परियोजनाले विद्यार्थीलाई रोबोटिक्स र कोडिङको आधारभूत ज्ञान दिनुका साथै प्रविधि क्षेत्रमा भविष्य निर्माण गर्न प्रेरणा प्रदान गरेको छ । कक्षा ९ मा अध्ययनरत समृद्धि पोख्रेलले रोबोट निर्माण र सञ्चालनमा सहभागी हुन पाउँदा नयाँ अनुभव प्राप्त भएको बताइन् ।

    कावासोती–१३ स्थित पिठौली आधारभूत विद्यालयले नवीकरणीय ऊर्जामा आधारित बेसार प्रशोधन इकाई स्थापना गरेको छ भने गोसाइँबाबा आधारभूत विद्यालयले अम्बा र बेसारखेती तथा प्रशोधन कार्यक्रम सञ्चालन गरिरहेको छ । नेपाल राष्ट्रिय आधारभूत विद्यालयले विद्यालयको भान्साबाट निस्कने जैविक फोहर प्रयोग गरी बायोग्यास उत्पादन सुरु गरेको छ ।

    पालिकाभित्रका विद्यालयमा यस्तै नवीनतम् कार्यहरू अहिले सञ्चालन भइरहेको शाखा अधिकृत पाण्डेले बताए । परियोजनाअन्तर्गत विद्यालयहरूले रोबोटिक्स, बायोग्यास उत्पादन, सोलार ड्रायर निर्माण, फलफूल तथा तरकारी उत्पादन, जैविक मल निर्माण, नर्सरी स्थापना, स्मार्ट सिँचाइ प्रणाली, गड्यौला मल उत्पादन, बेसारखेती तथा प्रशोधन, इकोपोखरी निर्माणलगायत कार्यक्रम सञ्चालन गरिरहेको उनले बताए ।


    नगरपालिकाका शिक्षा शाखा अधिकृत पाण्डेका अनुसार कार्यक्रमले विद्यार्थीमा समस्या समाधान, अनुसन्धान, नेतृत्व तथा उद्यमशीलताजस्ता जीवनोपयोगी सीप विकास गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ । “अब विद्यार्थीले किताब पढ्नेमात्र होइन, जीवनोपयोगी सीपसमेत सिकुन् र भोलिका दिनमा आफूलाई सक्षम बनाएर उभिन सकुन् भनेर शिक्षासँगै विभिन्न सीपलाई जोड्दै गएका हौँ, हाम्रो अपेक्षा यसले विद्यार्थीमा नवीनतम् कार्य गर्ने सोचको विकास गर्न सहयोग पुग्छ भन्ने छ”, शाखा अधिकृत पाण्डेले भने ।


    परियोजनाको मूल्याङ्कनपछि उत्कृष्ट तीन विद्यालयलाई प्रतिविद्यालय रु एक लाख र उत्कृष्ट १० शिक्षकलाई जनही रु १० हजार पुरस्कार प्रदान गरिनेसमेत शाखा अधिकृत पाण्डेले बताए । सीमित बजेट, प्राविधिक सहयोग र समय व्यवस्थापन चुनौतीका रूपमा रहे पनि कार्यक्रमले विद्यालयलाई केवल पढाइ हुने थलोबाट सिकाइ, अनुसन्धान र उत्पादनको केन्द्रका रूपमा रूपान्तरण गर्ने प्रयास थालेको उनले बताए ।

  • कामपामा आगामी आवका लागि बहाल करको दर हेरफेर

    कामपामा आगामी आवका लागि बहाल करको दर हेरफेर

    काठमाडौँ, ५ असार । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि बहाल करको दर हेरफेर गरेको छ । कामपाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले आगामी आवका लागि बिहीबार बजेट प्रस्तुत गर्दै बहाल करमा दर हेरफेर गरेको जानकारी दिइन् । त्यसैगरी, करको दायरामा नआएका करदातालाई करको दायरामा ल्याउन असोज मसान्तभित्र कर बुझाउने करदातालाई १० प्रतिशत छुट दिने, असोज मसान्तभित्र बक्यौता कर चुक्ता गर्ने करदातालाई जरिवाना मिनाहा दिने कार्यक्रमसमेत कामपाले ल्याउने भएको छ ।

    आवासीय प्रयोजनका लागि बहालमा लगाइएका घरजग्गाको बहाल आम्दानी वार्षिक रु दुई लाख ४० हजारभन्दा कम भएमा पाँच प्रतिशत र सोभन्दा बढी बहाल आम्दानी हुने आवासीय प्रयोजनका लागि बहाल कर साविकको १० प्रतिशतबाट घटाई सात प्रतिशत कायम गरिने भएको छ । करप्रतिको अपनत्व र विश्वास अभिवृद्धि गर्न केही शीर्षकमा सिफारिस दस्तुर निःशुल्क गरिएको छ । कर विश्लेषण र करको दायरा वृद्धि गर्न विज्ञसहितको सरोकारवाला निकायसँग सहकार्य गर्ने, करदातालाई वस्तुगत सङ्घहरूसँग आबद्ध गरी दायरा फराकिलो बनाउन प्रस्ताव गरिएको छ ।

    घरघरमै नागरिकता

    काठमाडौँ महानगरपालिकाले आगामी आवदेखि घरघरमै नागरिकता र राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने भएको छ । आव २०८३–८४ को बजेट सार्वजनिक गर्दै कामपाका कार्यवाहक प्रमुख डङ्गोलले आगामी आवमा युवा केन्द्रित स्वरोजगार कार्यक्रम सञ्चालन गर्नेसमेत जानकारी दिइन् । यसका लागि रु १० करोड विनियोजन गरिएको छ । कामपाले जेनजी सहिद तथा अमर प्रहरीको नामावलीसहितको स्मारक निर्माण गर्न बजेट व्यवस्था गरिएको बताइएको छ ।

    कामपाले आफ्नै अस्पताल निर्माण गर्ने

    कामपाले आगामी आवदेखि महानगर अस्पताल निर्माण गर्ने भएको छ । बहुवर्षीय योजनाअन्तर्गत अस्पताल निर्माणको पहिलो वर्षका लागि रु चार करोड विनियोजन गरिएको छ । “टोलटोलमा योगाभ्यास कार्यक्रम सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ”, डङ्गोलले प्रस्तुत गरेको बजेटमा भनिएको छ, “ज्येष्ठ नागरिक निमोनिया खोपका लागि रु एक करोड विनियोजन गरिएको छ । क्यान्सरजस्ता असाध्य रोगहरूको निदानका लागि विशेष कार्यक्रम सञ्चालन गर्न बजेट व्यवस्था गरिएको छ । एकीकृत स्वास्थ्यजन्य फोहरमैला व्यवस्थापन केन्द्र स्थापनार्थ रु दुई करोड रकम विनियोजन गरिएको छ ।”

    निःशुल्क एम्बुलेन्स सेवा कार्यक्रमलाई निरन्तरता दिइएको, स्वनिगः विश्वविद्यालय स्थापनाका लागि कानुनी तथा आवश्यक व्यवस्थापकीय कार्यप्रारम्भ गर्न रु ५० लाख छुट्याइएको पनि बजेटमा उल्लेख छ । त्यस्तै, पोषणभत्ता कार्यक्रमका लागि रु १६ करोड विनियोजन गरेको छ ।

    छात्रवृत्तिका लागि अन्तिम मनोनयनका लागि पुनः अनलाइन आवेदन खुला

    काठमाडौँ महानगरपालिकाले शैक्षिकसत्र २०८३–८४ मा कक्षा ११ र १२ मा छात्रवृत्तिमा अध्ययन गर्नका लागि अन्तिम मनोनयनका लागि पुनः अनलाइन आवेदन खुला गरेको छ । एकपटक फेरि विषय र शिक्षण संस्थाको प्राथमिकता छान्न सकिने भन्दै कामपाले छात्रवृत्तिका लिन अन्तिम मनोनयनका लागि पुनः अनलाइन आवेदन खुला गरेको कामपा शिक्षा अधिकारी नमराज ढकालले जानकारी दिए ।


    ढकालका अनुसार छात्रवृत्ति परीक्षा समितिले बिहीबार प्रकाशन गर्दै पहिलो र दोस्रो मनोनयन सूचीमा नपरेका र अन्तिम मनोनयन ९र्यापअप०मा समावेश हुन चाहेका परीक्षार्थीले विषय र शिक्षण संस्थाको प्राथमिकता क्रम छनोट गरी अनलाइन फाराम भर्न सूचित गरेको हो ।

    यस वर्षका लागि कामपाले १४५ वटा शिक्षण संस्थामा चार हजार ८५७ कोटा निर्धारण गरिएकामा निर्धारित कोटामध्ये पहिलो मनोनयन सूचीबाट तीन हजार ५१ जना विद्यार्थी, दोस्रो सूचीबाट २३० जना गरी तीन हजार २८१ जना विद्यार्थी भएपछि बाँकी रहेका एक हजार ५७६ कोटाका लागि विषय र शिक्षण संस्थाको प्राथमिकता छान्न अवसर प्रदान गरिएको परीक्षा समितिका संयोजकसमेत रहनुभएका ढकालले जानकारी दिए ।
    कामपाअन्तर्गत सञ्चालनमा रहेका संस्थागत शिक्षण संस्थाहरूमा प्रथम मनोनयन सूची र दोस्रो मनोनयन सूचीबाट तोकिएको समयावधिभित्र भर्ना भएका विद्यार्थीको विवरण शिक्षण संस्थाले अद्यावधिक गरेका आधारमा बाँकी रहेका शिक्षण संस्थागत विषयगत सिट सङ्ख्यामा अन्तिम मनोनयन (र्यापअप) गर्न सूचना प्रकाशन गरिएको हो ।

    आवेदन बिहीबार बिहान १०ः०० बजेदेखि खुला भइसकेको छ । असार ८ गते साँझ ५ः०० बजेसम्ममा आवेदन दिइसक्नुपर्ने व्यवस्था छ । रिक्त रहेका शिक्षण संस्था एकिन गरेरमात्र आफूले अध्ययन गर्न चाहेको विषय र शिक्षण संस्था छनोट गर्न सकिन्छ । अन्तिम मनोनयनका आधारमा अन्तिम मनोनयन गर्दा विद्यार्थीको एकमुष्ट योग्यताक्रम (ओभरअल मेरिट)का आधारमा विषयगत रूपमा गरिनेछ ।

    कामपाभित्रको छात्रवृत्ति छनोट परीक्षाको पहिलो म्याचिङ लिष्टबाट तीन हजार ५१ विद्यार्थी छात्रवृत्ति कोटामा भर्ना भए । छात्रवृत्ति छनोट परीक्षाबाट योग्यता क्रमको अन्तिम सूचीमा प्रकाशित नामबाट पहिलो मनोनयन सूची (म्याचिङ लिष्ट) मा तीन हजार ७३५ विद्यार्थी थिए । यी विद्यार्थीलाई जेठ २७ गतेभित्र भर्ना भइसक्न समय दिइएको थियो ।

    यीमध्ये एक हजार ९०१ विज्ञान विषयमा, व्यवस्थापनमा एक हजार १११, कानुनमा ३४ र मानविकीमा पाँच जना विद्यार्थी भर्ना भएका हुन् । यसरी भर्ना भएका विद्यार्थीको विवरण सफ्टवेयरमा प्रविष्ट गराएपछि रिक्त हुन आएका बाँकी सिटका आधारमा परीक्षा समितिले म्याचिङ लिष्टको दोस्रो सूचीमा ४८६ जनाको नाम प्रकाशन गरेको थियो । छात्रवृत्ति छनोटका लागि जेठ १७ गते लिइएको परीक्षाको १८ गते प्रारम्भिक योग्यता सूची र २१ गते अन्तिम सूची प्रकाशित भएको थियो ।

  • बर्दिबासमा उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद

    बर्दिबासमा उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद

    महोत्तरी, ५ असारः अब महोत्तरीको बर्दिबास नगर क्षेत्रका २० वर्ष उमेर पुगेर विवाह गर्ने छोरी (महिला)ले रु ५१ हजार नगद प्रोत्साहन पाउने भएका छन् । नगरको १८औँ नगरसभामा प्रस्तुत आर्थिक वर्ष २०८३–८४ को नीति तथा कार्यक्रम एवं बजेट वक्तव्यमा यस्तो घोषणा गरिएको हो । “बालविवाह न्यूनीकरणका लागि यसपालि यस्तो प्रोत्साहनको व्यवस्था गरिएको हो”, नगरप्रमुख प्रल्हादकुमार क्षेत्री भन्छन् ।

    “अब सुरु हुने नयाँ आर्थिक वर्ष २०८३–८४ मा यो प्रोत्साहन रकम उमेर पुगेर विवाह गर्ने नगर क्षेत्रका प्रत्येक छोरीले पाउनेछन् ।” यसले बालविवाहलाई निरुत्साहित गर्नसँगै कानुनअनुसार उमेर पुगेर विवाह गर्नुपर्छ भन्ने सचेतना अभिवृद्धिमा सघाउ पुग्ने क्षेत्रीको विश्वास छ । गत मङ्गलबार प्रस्तुत नीति तथा कार्यक्रमभित्रको यो व्यवस्थाबारे समाजका सबैतिरबाट हौसला पाइएको उनले बताए ।


    यसअघि २०८० साल चैत ५ गते नगर क्षेत्रका मुसहर समुदायलाई लक्षित गरी नगरप्रमुखले उमेर पुगेर विवाह गर्ने मुसहर जोडीलाई रु ५० हजार नगद प्रोत्साहनको घोषणा गरेका थिए । सोअनुसार हालसम्म बर्दिबास–१२ को एक जोडीले मात्र प्रोत्साहन रकमको दाबी गरेर लिएका नगर कार्यपालिकाको कार्यालयको अभिलेखबाट देखिन्छ ।

    जम्मा १४ वडाको नगरपालिका क्षेत्रमा सबैजसो वडामा मुसहर समुदायको बसोबास छ । तर यो उमेर पुगेर विवाह गर्नेलाई दिइने प्रोेत्साहन रकम एक जोडीले मात्र लिनुले यिनीहरूमा अझै बालविवाह कायमै रहेको अड्कल गर्न सकिने बर्दिबास–२ का सामाजिक–राजनीतिक कार्यकर्ता देवनारायण महतो बताउँछन् ।


    अहिले एक लाख हाराहारीको जनसङ्ख्या भएको नगरपालिकामा यहाँका १३ वडाहरू पछिल्ला दुई वर्षभित्र बालविवाहमुक्त वडा घोषणा भइसकेका छन् । अब बर्दिबास–१२ मात्र बालविवाह मुक्त क्षेत्र घोषणा हुन बाँकी छ । नगरले आउने आर्थिक वर्षदेखि लागू हुनेगरी निर्णय गरेको २० वर्ष उमेर पुगेर विवाह गर्ने छोरीलाई रु ५१ हजार प्रोत्साहन रकमको व्यवस्थाले सामाजिक सचेतना बढाउन सहज हुने अपेक्षा गरिएको छ ।

    नगरका आमसमुदायका छोरीका लागि यो व्यवस्था भए पनि मुसहर समुदायको हकमा पुरुष, महिला दुवैले पाउने यसअघिदेखिको व्यवस्था कायम नै राखिएको नगरप्रमुख क्षेत्रीले स्पष्ट पारे । मुसहर जाति समुदायमा बालविवाहका घटना बाक्लै पाइने हुँदा यसलाई नियन्त्रण गर्न पुरुष, महिला दुवैलाई प्रोत्साहन दिइने व्यवस्था कायम नै राखिएको उनको भनाइ छ । नगरपालिकाको यो नयाँ निर्णयलाई महिला अधिकारवादीहरूले सामाजिक सुधारमा सहयोग पुग्ने प्रतिक्रिया दिएका छन् ।

  • नेपालगन्जमा दुई चिकित्सकसहित पाँच पक्राउ

    नेपालगन्जमा दुई चिकित्सकसहित पाँच पक्राउ

    नेपालगन्ज (बाँके), ५ असारः यातायात व्यवस्था कार्यालय नेपालगन्जबाट प्रहरीले बिहीबार दुई चिकित्सकसहित पाँच जनालाई पक्राउ गरेको छ ।
    जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरले सवारी चालक अनुमतिपत्र लिन तथा सवारी चालक अनुमतिपत्र नवीकरण गर्न आवश्यक पर्ने आधिकारिक व्यक्तिमार्फत मेडिकल जाँच गरी चिकित्सकीय मेडिकल रिर्पोट दिनुपर्नेमा रु २०० लिई निरोगिताको प्रमाणपत्र वितरण गरेकाले उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए ।

    उनले अनुसन्धान जारी रहेकाले पक्राउ परेका चिकित्सकसहित बिचौलियाको नाम गोप्य राखिएको उल्लेख गर्दै उनीहरूले नियम उल्लङ्घन गरेको बताए । प्रहरीले रु २०० लिएर सो निरोगिताको प्रमाणपत्र वितरण भएको सूचना पाएपछि जिल्लाबाट प्रहरी टोली परिचालन गरी निगरानी र अवलोकन गर्ने क्रममा कैफियत भेटिएकाले उनीहरूलाई नियन्त्रणमा लिइएको थियो ।

  • पोखरा महानगरको नीति कार्यक्रमः एक पर्यटक एक मित्र अभियान चलाइने

    पोखरा महानगरको नीति कार्यक्रमः एक पर्यटक एक मित्र अभियान चलाइने

    कास्की, ५ असार । देशका छवटा महानगरमध्येमा भौगोलिक रूपमा सबैभन्दा ठूलो पोखरा महानगर पालिकाले आगामी आर्थिक वर्ष २०८३र८४ को नीति तथा कार्यक्रम ल्याएको छ । पोखरा सभागृहमा बसेको १९औँ नगरसभामा बिहीबार महानगर प्रमुख धनराज आचार्यले वार्षिक नीति कार्यक्रम प्रस्तुत गरे ।

    ‘समुन्नत पोखराको आधारः सबल अर्थतन्त्र र पूर्वाधार’को ध्येयका साथ समग्र पोखराको व्यवस्थित विकासका लागि आगामी वर्षको कार्यक्रमले सहयोग पुग्ने महानगर प्रमुख आचार्यले बताए । “निर्वाचनको समयमा गरेका प्रतिबद्धताहरू आत्मसात् गरी समुन्नत पर्यटकीय पोखरा निर्माणको दीर्घकालीन लक्ष्य हासिल गर्न आगामी वर्षको कार्यक्रमले सहयोग पुग्नेछ”, आचार्यले भन । महानगरले आगामी वर्षका लागि विभिन्न ३५ बुँदामा विशेष अभियान तथा प्रोत्साहन कार्यक्रमसमेत ल्याएको छ ।

    पोखरा भ्रमणमा आउने पर्यटकहरूलाई नागरिकस्तरबाट आवश्यक जानकारीसहित पोखरा भ्रमणको निम्तो दिने कार्यलाई अभियानका अगाडि बढाउन ‘एक पर्यटक, एक मित्र अभियान’ सञ्चालन गरिने महानगर प्रमुख आचार्यले बताए । त्यसैगरी, सङ्घ र प्रदेश सरकारसँगको साझेदारीमा सर्वोच्च अदालतको आदेशानुसार फेवाताल संरक्षणसहित मापदण्ड कार्यान्वयन गर्ने र तालवरपर हरियाली क्षेत्र, सार्वजनिक पार्क तथा पर्यावरणीय पर्यटन पूर्वाधार निर्माणमा जोड दिइने प्रमुख आचार्यले बताए ।


    पोखरालाई अन्तरराष्ट्रिय पर्यटन गन्तव्यका रूपमा विकास गर्न ताल, हिमाल, संस्कृति र साहसिक पर्यटनको एकीकृत प्रवर्द्धन गर्ने तथा फेवाताल, वेगनासताल, रूपाताललगायत नगर क्षेत्रमा रहेका ताल तथा ऐतिहासिक पोखरीहरूलाई पर्यटकीय क्षेत्रका रूपमा सौन्दर्यकरण गर्दै पर्यावरणीय संरक्षणलाई प्राथमिकता दिइने नीति कार्यक्रममा उल्लेख छ । पोखरा–भरतपुर–लुम्बिनी ‘सिल्भर ट्रियाङ्गल’ अवधारणाअन्तर्गत संयुक्त पर्यटन प्रवर्द्धन कार्यक्रम सञ्चालन तथा त्रिपक्षीय भ्रमण आदानप्रदानलगायत पर्यटकीय वस्तु तथा सेवाको प्रवर्द्धनात्मक गतिविधिहरूलाई नीति कार्यक्रममा जोड दिइएको छ ।

    महानगरका प्रत्येक वडा, विद्यालय, सामुदायिक वन तथा सार्वजनिक क्षेत्रमा वृक्षरोपण कार्यक्रम सञ्चालन गर्ने, महानगरपालिकाको मेगा वृक्षरोपण अभियानलाई थप प्रभावकारी रूपमा सञ्चालन गर्न आवश्यक सहकार्य गर्ने तथा महानगर क्षेत्रमा रहेका एक सय वर्ष पुराना ऐतिहासिक रुखहरूको अध्ययन र ‘जिपिएस नक्साङ्कन’सहित अभिलेख तयार पारिने महानगर प्रमुख आचार्यले बताए ।

    ग्रीन शिक्षक तथा विद्यालय विकास अभियान, सीमानाकामा रिफ्रेसमेन्ट सेन्टर, एक वडा एक सार्वजनिक शौचालय अभियान तथा सुरक्षित सहर अभियान महानगरले सञ्चालन गर्ने नीति कार्यक्रममा उल्लेख छ । यसैगरी सबैभन्दा बढी वृक्षरोपण तथा हरियाली प्रवर्द्धन गर्ने तीन विद्यालय, तीन सरकारी कार्यालय, पाँच टोल विकास संस्था र सात आमा समूहलाई वार्षिक ‘ग्रीन अवार्ड’ प्रदान गरिने प्रमुख आचार्यले बताए ।
    महानगरले ल्याएको नीति तथा कार्यक्रममा महानगरपालिका र मातहत कार्यालयहरूमा सुशासन सुदृढीकरण तथा सेवाप्रवाहलाई व्यवस्थित, मितव्ययी, सरल, सहज र पारदर्शी तथा प्रविधिमैत्री बनाइने, महानगरलाई वित्तीय दायित्व पर्ने अनावश्यक संरचना खारेज गरी अनलाइन प्रणालीबाट प्रदान गरिने सेवा विस्तार गर्ने तथा भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता गर्ने उल्लेख छ ।

    सार्वजनिक जग्गा तथा सम्पत्तिको संरक्षण तथा अतिक्रमण हटाउन विशेष अभियान सञ्चालन तथा सार्वजनिक जग्गाको अभिलेख व्यवस्थित गर्ने, फिर्केखोलाको खोलाघर तथा पोखरा बसपार्कको जग्गामा बनेका संरचना हटाउँदा विस्थापित भएकाहरूलाई व्यवस्थापन गर्ने तथा राष्ट्रिय तथा अन्तरराष्ट्रिय सहर तथा नगरहरूसँग भगिनी सम्बन्ध विस्तार गर्दै लगिने प्रमुख आचार्यले बताए ।


    शैक्षिक गुणस्तर सुधार र स्वच्छ प्रतिस्पर्धाका लागि कक्षा ८ को परीक्षालाई समूह विद्यालयको केन्द्र बनाई परीक्षा सञ्चालनलाई निरन्तरता दिइने तथा वार्षिक परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यालय, विद्यार्थी, शिक्षकहरूलाई उचित प्रोत्साहन प्रदान र प्रध्यानाध्यापकहरूको कार्यसम्पादनको मूल्याङ्कनका आधारमा प्रोत्साहनको व्यवस्था गर्ने नीति कार्यक्रममा उल्लेख छ ।

    स्वास्थ्य बिमा सेवालाई थप गुणस्तरीय बनाउँदै बिमा सञ्चालन भएका स्वास्थ्य संस्थाको कार्यक्षेत्रका सबै घरपरिवारमा स्वास्थ्य बिमा कार्यक्रम विस्तार तथा सङ्घीय तथा प्रदेश सरकारसँगको समन्वयमा नगर क्षेत्रमा सञ्चालनमा रहेका निजी स्वास्थ्य संस्था तथा औषधि पसलहरूको प्रभावकारी नियमन तथा अनुगमन प्रणाली सुदृढ गरिने उल्लेख छ ।

    प्रदेश सरकारको समन्वयमा निजी तथा सरकारी संस्थामा १० प्रतिशत बेड निःशुल्क उपलब्ध हुने व्यवस्था कार्यान्वयन गरिने महानगरको नीति छ । महानगरका वडा केन्द्र जोड्ने ‘कनेक्टिङ सडक’ र सहरी सडकहरूलाई क्रमशः अस्फाल्ट, कङ्क्रिटमा स्तरोन्नति गर्दै लैजाने र रणनीतिक महत्त्वका सडक तथा पुल निर्माणलाई प्राथमिकताका साथ अघि बढाउने तथा सहरी सडकलाई सङ्घ सरकार र प्रदेश सरकारको सहकार्यमा अस्फाल्ट कालोपत्र गरिने प्रमुख आचार्यले बताए ।


    सार्वजानिक निजी साझेदारीमा पातले छाँगोमा सिसा पुल निर्माण आयोजना सञ्चालनमा ल्याएर उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने, फोहरमैला प्रशोधन केन्द्र र सेती खोंचमा ‘क्यान्टिलिभिर वाक’ निर्माण, व्यवस्थित वधशाला निर्माण, विन्ध्यवासिनी बसपार्कको स्तरोन्नति, वेगनासतालमा वाटर स्र्पोट्स परियोजना सञ्चालन गरिने नीति कार्यक्रममा समावेश गरिएको छ ।

    त्यसैगरी, नगर विकास कोष र एसियाली विकास बैंकसँगको साझेदारीमा आधुनिक र व्यवस्थित पोखरा बसर्पाक र पोखरा सभागृह निर्माण सुरु गर्ने तथा वेगनासताल बसपार्क, पोखरा प्रवेश गर्ने नाकामा मिनी बसपार्क, मुक्तिक्षेत्र प्रवेशद्धार र नमूना अक्षराधाम निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने प्रमुख आचार्यले बताए ।
    पोखराको पुरानो र ऐतिहासिक बजारलाई सम्पदा तथा सांस्कृतिक पर्यटन क्षेत्रका रूपमा विकास गर्ने, महानगर क्षेत्रभित्र मनाइने परम्परागत जात्रा, पर्व, मेला, पूजा, जीवनशैली एवं अन्य सांस्कृतिक सम्पदाहरूको परिचयात्मक प्रोफाइल तयार तथा फिर्केखोलालाई प्राकृतिक सौन्दर्य, पर्यावरणीय सन्तुलन, पर्यटन र नागरिक जीवनशैलीसँग जोडेर नयाँ गन्तव्यका रूपमा विकास गरिने नीति कार्यक्रममा उल्लेख छ ।

    फिर्केखोलाको दायाँ–बायाँ व्यवस्थित ‘फुटट्रेल’, सुरक्षित साइकल लेन, आकर्षक पदमार्ग निर्माणसहित हरियाली बेल्ट, ढुंगे तटबन्ध, वातावरणमैत्री सार्वजनिक खुला क्षेत्रले सजाउने प्रमुख आचार्यले बताए ।

  • विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो

    विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो

    काठमाडौँ, ५ असार । फिफा विश्वकप फुटबल २०२६ प्रतियोगिताअन्तर्गत समूह चरणको दोस्रो राउन्डको पहिलो खेलमा चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकिएको छ । अमेरिकाको एटलान्ट स्टेडियममा आज भएको समूह ‘ए’को खेलमा अग्रता जोगाउन नसक्दा चेक रिपब्लिक दक्षिण अफ्रिकासँग १–१ गोलको बराबरीमा रोकिएको हो । खेलको छैटौँ मिनेटमा चेक रिपब्लिकका मिचल सादिलेकले गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाए ।

    त्यसपछि खेलको ८३औँ मिनेटमा पेनाल्टीमार्फत दक्षिण कोरियाले एक गोल फर्कायो । खेलको ८३औँ मिनेटमा डिबक्सभित्र चेक रिपब्लिकका खेलाडीको हातले बललाई छोएपछि दक्षिण अफ्रिकाले पेनाल्टी पाएको थियो । सोही अवसरलाई सदुपयोग गर्दै दक्षिण अफ्रिकाका खेलाडी तेबोहो मोकोनाले गोल गरे ।
    आजै हुने समूह ‘ए’को अर्को खेल मेक्सिको र दक्षिण कोरियाबिच हुनेछ । उक्त खेल नेपाली समयअनुसार राति १२ः४५ बजेबाट सुरु हुनेछ ।

  • काठमाडौँ महानगरले ल्यायो २५ अर्ब ८८ करोडको बजेट

    काठमाडौँ महानगरले ल्यायो २५ अर्ब ८८ करोडको बजेट

    काठमाडौँ, ४ असारः काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३–८४ का लागि रु २५ अर्ब ८८ करोड ३० लाख ५५ को बजेट ल्याएको छ ।
    कामपाको १९औँ नगर अधिवेशनमा आज आगामी आवका लागि बजेट प्रस्तुत गर्दै महानगरकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले कुल बजेटमध्ये पूर्वाधार विकासमा ६१ प्रतिशत विनियोजन गरिएको बताइन् । “महानगरले आगामी आवको बजेटमा पूर्वाधार विकासमा उच्च प्रथामिकतामा राखेर बजेट विनियोजन गरेका छ”, उनले भनिन् ।
    महानगरले आगामी आवको बजेटमा सामाजिक विकासतर्फ कुल बजेटको नौ दशमलव छ प्रतिशत विनियोजन गरिएको छ । त्यस्तै आर्थिक विकासतर्फ दुई दशमलव एक प्रतिशत, कार्यालय सञ्चालन तथा प्रशासन क्षेत्रतर्फ कुल बजेटको १८ दशमलव आठ प्रतिशत बजेट विनियोजन गरिएको कार्यवाहक प्रमुख डङ्गोलले जानकारी दिइन् । आगामी आवको बजेटको स्रोततर्फ महानगरको आन्तरिक आय र बैंक मौज्दात गरी कुल २० अर्ब १८ करोड ६३ लाख २९ हजार बेहोर्ने प्रमुख डङ्गोलले जानकारी दिइन् । उनका अनुसार सङ्घीय सरकार र प्रदेश सरकारबाट शसर्त, समानीकरण, राजस्व बाडँफाँडबाट प्राप्त हुने अनुदान रु चार अर्ब ९३ करोड ६७ लाख २६ हजार प्राप्त हुनेछ ।

    कार्यवाहक प्रमुख डङ्गोलले चालु अर्थिक वर्षमा रु २५ अर्ब ११ करोड ४३ लाख ४१ बजेटमध्ये जेठ मसान्तसम्म रु ११ अर्ब २९ करोड २९ लाख ३८ हजार खर्च भएको जानकारी दिइन् । महानगरको पुँजीगततर्फ चालु आवमा रु पाँच अर्ब ५२ करोड ६८ लाख १९ हजार विनियोजन भएकामा ३५ दशमलव ५९ प्रतिशत खर्च भएको छ । आगामी आर्थिक वर्षमा काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका पूर्वाधार योजनालाई उच्च प्रथामिकतामा राखेको छ । काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०८३–८४ को बजेट सार्वजनिक गर्दै पूर्वाधार योजनालाई उच्च प्रथामिकतामा राखेको जनाएको हो ।

    “फोहरमैला व्यवस्थापन, विद्यालय शिक्षा प्रणालीमा सुधार, सुशासन प्रवर्द्धन, सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रको क्षमता वृद्धि, एक वडा एक उद्यम कार्यक्रमलाई प्रवर्द्धन गरी रोजगारी र आय वृद्धी गर्ने कार्यक्रमलाई उच्च प्राथामिकतामा राखिएको छ”, कार्यवाहक प्रमुख डङ्गोलले भनिन् । महानगर क्षेत्रभित्र प्रदुषण कम गर्ने, सार्वजनिक यातायातलाई व्यवस्थित गर्ने, महानगर क्षेत्रभित्रका ऐतिहासिक, धार्मिक, पुरातात्विक महत्व बोकेका मठ, मन्दिर, बहाल, पोखरी, हिटी, वहाः वही, ननीलगायत सम्पदास्थलको संरक्षण एवं मूर्त तथा अमूर्त संस्कृतिको संरक्षण र प्रवर्द्धनमा आवश्यक बजेट व्यवस्थापन गरिएको उल्लेख गरिएको छ ।

  • नेपाली चिया निर्यातको अवरोध हटाउन पहल गर्न परराष्ट्रमन्त्रीलाई महासंघको आग्रह

    नेपाली चिया निर्यातको अवरोध हटाउन पहल गर्न परराष्ट्रमन्त्रीलाई महासंघको आग्रह

    ४ असार, काठमाडौं । नेपाली चियाको भारत निर्यातमा देखिएका विद्यमान अवरोध र जटिलता समाधानका लागि नेपाल उद्योग वाणिज्य महासंघले बिहीबार परराष्ट्रमन्त्री शिशिर खनाललाई भेट गरि कुटनीतिक माध्यमबाट समस्या समाधानको लागि पहल गर्न आग्रह गरेको छ । महासंघका अध्यक्ष अन्जन श्रेष्ठको नेतृत्वमा परराष्ट्रमन्त्रालय पुगेको महासंघको टोलीले भारतीय चिया बोर्डको नयाँ व्यवस्थाका कारण नेपाली चिया उद्योगले भोग्नुपरेको समस्याबारे ध्यानाकर्षण गराएको हो ।


    सो अवसरमा परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली चिया निर्यातमा देखिएको अवरोधप्रति सरकार गम्भीर रहेको र यस विषयमा भारतीय पक्षसँग कूटनीतिक संवाद भइरहेको जानकारी दिए । “नेपाली चियाको निर्यातमा देखिएका समस्या समाधानका लागि हामीले भारतीय अधिकारीहरूसँग कुराकानी अगाडि बढाइसकेका छौँ, उनले भने, समस्याको व्यवहारिक समाधान निकास निकाल्न कूटनीतिक तहबाट ठोस पहल भइरहेको छ । भारतीय पक्षबाट प्राप्त जानकारी अनुसार यसको छिट्टै समाधान निस्किनेछ । ” उनले चिया लयागत अन्य वस्तुको निर्यातमा समेत आउने यस्ता समस्याको दीर्घकालिन समाधानका लागि समेत भारतीय पक्षसंग कुरा भईरहेको जानकारी दिए ।


    महासंघका अध्यक्ष अन्जन श्रेष्ठले वार्षिक करिब १२ देखि १४ अर्ब रुपैयाँ बराबरको कारोबार हुने चिया क्षेत्र संकटमा पर्दा समग्र अर्थतन्त्र र लाखौँको जीविकोपार्जनमा असर पर्ने बताउँदै जतिसक्दा छिटो समस्याको समाधानको लागि मन्त्री समक्ष आग्रह गरे । उनले दीर्घकालीन समाधानका लागि नेपालमै अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रयोगशाला स्थापना गर्नु पर्नेमा जोड दिए ।

    सो अवसरमा सांसद एवं रास्वपा संसदीय दलका उपनेता गणेश पराजुली र सासंद एवं उद्योग समितिका सभापति रहबर अन्सारीले यस्ता समस्याको अल्पकालीन तथा दीर्घकालीन समाधान खोज्नु पर्ने बताए । यस्तै वाणिज्य सचिव कृष्ण बहादुर राउतले प्रक्रियागत सहजीकरणका लागि मन्त्रालयले पनि आफ्‌नो च्यानलबाट कुराहरु गरिरहेको र छिटै सकारात्मक परिणमा आउनेमा आशावादी रहेको जानकारी दिए ।

    सो अवसरमा महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्य, उपाध्यक्ष नरेशलाल श्रेष्ठ, पूर्वउपाध्यक्ष हेमराज ढकाल, नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुली लगायतका उद्योगी व्यवसायीहरुले विशेषगरी हालै भारतीय चिया बोर्डद्वारा जारी गरिएको नयाँ स्टान्डर्ड अपरेटिङ्ग सिस्टम (एसओपी) का कारण नेपाली चिया निर्यातमा थप जटिलता उत्पन्न भएको बताए । उनीहरुले नेपाली चियाको गुणस्तरमा कुनै समस्या नरहेकोले उल्लेख गर्दै भारतीय पक्षसँगका द्विपक्षीय व्यापारिक संयन्त्रहरूमा यो विषयलाई प्रमुखताका साथ उठाइउनु पर्नेमा जोड दिए ।

  • श्रम मन्त्रालयद्वारा ‘फ्रन्टलाइन’ अस्पतालको अनुगमन

    श्रम मन्त्रालयद्वारा ‘फ्रन्टलाइन’ अस्पतालको अनुगमन

    काठमाडौँ, ४ असारः युवा श्रम तथा रोजगार मन्त्रालय र श्रम तथा रोजगार कार्यालयले काठमाडौँको ‘फ्रन्टलाइन’ अस्पतालको अनुगमन गरेको छ । नेपाल सरकारको नियमित अनुगमन प्रक्रियाअन्तर्गत अस्पताल जस्तो अत्यावश्यक क्षेत्रमा कार्यरत श्रमिकको पारिश्रमिक र सेवा सुविधाका सम्बन्धमा अनुगमन गरेको हो । अनुगमनका क्रममा मन्त्री रामजी यादवको सचिवालयका प्रतिनिधि र श्रम कार्यालयका कारखाना निरीक्षक विवेक यादवसहितको टोलीले अस्पतालमा कार्यरत कर्मचारीको न्यूनतम पारिश्रमिकको अवस्थालगायत कागजातको अध्ययन गरेको थियो ।


    सो क्रममा अस्पतालले सरकारले तोकेको न्यूनतम पारिश्रमिकको मापदण्ड कार्यान्वयन गरेको पाइएको छ । यद्यपि सामाजिक सुरक्षा कोषमा श्रमिकको आबद्धता भने न्यून पाइएको छ । अस्पताल प्रशासनले कर्मचारीमा ६० वर्षको उमेर हद र रकम झिक्ने प्रक्रियाका बारेमा रहेका केही नीतिगत अन्योलका कारण आबद्धता कम भएको जानकारी दिएको छ । तर कर्मचारीले भने अस्पताल प्रशासनले कोषमा पैसा जम्मा गरिदिने आश्वासन मात्रै दिएको तर जम्मा नगरिदिएको गुनासो गरेका छन् ।

    श्रम कार्यालयले अनुगमनका क्रममा देखिएका कमी कमजोरी सुधार गर्न र सबै कर्मचारीलाई तत्काल सामाजिक सुरक्षा कोषमा आबद्ध गराई सोको प्रमाण सात दिनभित्र पेस गर्न अस्पताललाई निर्देशन दिएको छ । त्यसैसँग सम्बन्धित रहेर कार्यालयले अस्पतालसँग १० बुँदे विवरणसमेत पेस गर्न माग गरेको छ । जसमा सम्पूर्ण श्रमिक तथा प्रशिक्षार्थीको नामावली विवरण, २०८३ वैशाख महिनाको पारिश्रमिक, सेवासुविधा र सामाजिक सुरक्षा कोषमा रकम जम्मा गरेको विवरण, प्रतिष्ठानको कर्मचारी सेवा नियमावली र सुरक्षा तथा स्वास्थ्य नीतिको विवरणलगायत विवरण माग गरिएको छ ।

    श्रम कार्यालयका कारखाना निरीक्षक यादवका अनुसार अस्पताल क्षेत्रमा ‘ओभरटाइम’ काम गर्नुपर्ने बाध्यता र सोबापतको सुविधाका विषयमा आउने गुनासा सम्बोधन गर्न अनुगमन सुरु गरिएको हो । “राज्यले आगामी दिनमा पनि क्षेत्रगत रूपमा सबै प्रतिष्ठानमा अनुगमनलाई निरन्तरता दिने र श्रमिकको कानुनी अधिकार सुनिश्चित गर्ने लक्ष्य राखेको छ”, उनले भने । अनुगमन टोलीले तत्काल सुधार गर्नुपर्ने विषयमा मौखिक निर्देशन दिनुका साथै प्रमाण प्राप्त भएपछि थप कानुनी निर्देशन दिइने जनाएको छ ।

  • बजेटमा कर्णाली, मधेस र सुदूरपश्चिमलाई प्राथमिकता दिइएको छः अर्थमन्त्री डा वाग्ले

    बजेटमा कर्णाली, मधेस र सुदूरपश्चिमलाई प्राथमिकता दिइएको छः अर्थमन्त्री डा वाग्ले

    काठमाडौँ, ४ असारः अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आर्थिक, सामाजिक तथा मानवीय विकासमा पछाडि परेको कर्णाली, मधेस र सुदूरपश्चिमलगायत क्षेत्रलाई प्राथमिकतामा राखी क्षेत्रगत बजेट तथा कार्यक्रम विनियोजन गरिएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत अर्थ मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डा वाग्लेले किसानलाई मल, बीउ, सिँचाइ र मूल्य शृङ्खलामा प्रदान गरिएको अनुदानले लक्षित वर्गको उत्थानमा सहयोग पु¥याउने विश्वास व्यक्त गरे ।

    बजेटमार्फत दलित बालबालिकाको पोषण भत्ता दोब्बर पारिएको जानकारी दिँदै अर्थमन्त्री डा वाग्लेले सामाजिक सुरक्षाका विद्यमान कार्यक्रम कुनै पनि कटौती नभएको स्पष्ट पारे । “गरिबीका नाममा ल्याइएका अघिल्ला कार्यक्रम सबै यथावत् छन्, गरिबमुखी कार्यक्रम काटियो कि भन्ने आशङ्कालाई निवारण गर्न चाहन्छु”, उनले भने, “नगद वितरण गरेर मात्रै दिगो रुपमा गरिबी घट्दैन भन्ने यथार्थलाई स्वीकार गरेका छौँ, मानिसलाई सहायता लिने अवस्थामा राख्ने होइन, आम्दानी गर्ने अवस्थामा पु¥याउने बजेटको लक्ष्य हो ।”

    अर्थमन्त्री डा वाग्लेले कृषिको आधुनिकीकरण, सिँचाइ, कृषि बिमा, श्रमिक सुरक्षा, सीप विकास, उद्योग प्रवद्र्धन, डिजिटल अर्थतन्त्र र निजी लगानीमार्फत रोजगारी सिर्जना गर्ने रणनीति लिएको जानकारी दिए । “गरिबी घटाउने सबैभन्दा प्रभावकारी उपाय भनेको स्थायी आम्दानी र रोजगारी हो । निजी क्षेत्रको मनोबल नबढाइ रोजगारी सिर्जना हुँदैन, बजेटले त्यसतर्फ ध्यान दिएको छ”, उनले भने ।

  • प्रतिनिधिसभाः सम्पत्ति छानबिन आयोगबाट अख्तियारको काममा हस्तक्षेप हुँदैनः अर्थमन्त्री

    प्रतिनिधिसभाः सम्पत्ति छानबिन आयोगबाट अख्तियारको काममा हस्तक्षेप हुँदैनः अर्थमन्त्री

    काठमाडौँ, ४ असारः अर्थमन्त्री डा स्वर्णिम वाग्लेले मुलुकमा भ्रष्टाचारको अन्त्य र सुशासन कायम हुुनुपर्छ भन्ने जनताको माग सम्बोधन गर्न तथा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जनतासमक्ष गरेको प्रतिबद्धताअनुरूप राजनीतिक तथा सार्वजनिक जिम्मेवारीमा रहेका पदाधिकारीहरूको सम्पत्ति जाँचबुझ गरी सिफारिस गर्न सम्पत्ति छानबिन आयोग गठन गरिएको बताएका छन् ।


    प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८३ माथि भएको शीर्षकगत छलफलमा राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मातहतका निकाय, रक्षा मन्त्रालय र राष्ट्रिय योजना आयोगसँग सम्बन्धित विभिन्न शीर्षक माथिको छलफलमा उठेका प्रश्नहरूको प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट जवाफ दिँदै अर्थमन्त्री डा वाग्लेले सो धारणा राखेका हुन् ।

    उनले यो आयोग सम्पत्ति छानबिन र अनुसन्धानमा संलग्न हुने स्थायी प्रकृतिको आयोग नभएको स्पष्ट गर्दै यसले तोकिएका पदाधिकारीहरूको सम्पत्ति छानबिन गरी गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाहीका लागि नेपाल सरकारसमक्ष सिफारिस गर्ने बताए ।


    त्यसैले यसले संवैधानिक आयोगका रूपमा रहेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको काममा हस्तक्षेप नहुने अर्थमन्त्री डा वाग्लेको भनाइ छ । आयोगको गठनबाट सार्वजनिक पद धारण गरेका जुनसुकै ओहदाका पदाधिकारीले गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति छानबिन हुन्छ भन्ने मान्यता स्थापित हुने भएकाले पद र शक्तिको दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने विश्वास सरकारले लिएको उनले बताए ।

  • प्रतिनिधिसभाः सुकुमवासी बस्ती हटाउन सेना प्रयोग भएको थिएनः अर्थमन्त्री

    प्रतिनिधिसभाः सुकुमवासी बस्ती हटाउन सेना प्रयोग भएको थिएनः अर्थमन्त्री

    काठमाडौँ, ४ असारः अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाल सरकारले सुकुमवासी बस्तीमा डोजर लगाई बस्ती हटाउने कार्यमा नेपाली सेनालाई खटाएको भनी संसद्मा उठेका प्रश्नको जवाफ दिँदै सेनाको प्रयोग नभएको स्पष्ट गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८३ माथि भएको शीर्षकगत छलफलमा राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मातहतका निकाय, रक्षा मन्त्रालय र राष्ट्रिय योजना आयोगसँग सम्बन्धित विभिन्न शीर्षक माथिको छलफलमा उठेका प्रश्नहरुको प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट जवाफ दिँदै अर्थमन्त्री डा वाग्लेले सो धारणा राखेका हुन् ।


    छलफलका क्रममा प्रधानमन्त्रीसमक्ष सांसदहरूले सुकुमवासी बस्ती हटाउने क्रममा किन नेपाली सेनाको प्रयोग गरिएको हो भन्ने प्रश्नको जवाफमा उनले सुकुमवासी बस्तीलाई स्थानान्तरण गर्ने क्रममा कुनै पनि स्थानमा सेना नखटाएको स्पष्ट गरेका हुन् । जोखिमयुक्त क्षेत्रमा रहेका सुकुमवासीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने क्रममा नेपाल प्रहरीले स्थानीय तहसँग समन्वय, सुरक्षाको प्रबन्ध र सहजीकरण गरेको उनले स्पष्ट गरे ।


    त्यस अवसरमा अर्थमन्त्री डा वाग्लेले मुलुकको भौगोलिक अखण्डता र सीमाको रक्षार्थ राष्ट्रिय सुरक्षा नीति तथा नेपाल सरकारको आदेश र निर्देशनबमोजिम मुलुकका सबै भू(भागमा आवश्यकताअनुसार नेपाली सेनालगायतका अन्य सुरक्षा निकायको उपस्थिति हुने गरेको पनि स्पष्ट गरे ।

  • अर्थमन्त्री भन्छन् : राष्ट्रिय गौरवका आयोजना समयमा सम्पन्न गर्नु प्राथमिकतामा

    अर्थमन्त्री भन्छन् : राष्ट्रिय गौरवका आयोजना समयमा सम्पन्न गर्नु प्राथमिकतामा

    काठमाडौँ, ४ असारः अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राष्ट्रिय गौरवका आयोजनालाई तोकिएको समयमै सम्पन्न गर्न सरकारले उच्च प्राथमिकता दिएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८३ माथि भएको शीर्षकगत छलफलमा राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मातहतका निकाय, रक्षा मन्त्रालय र राष्ट्रिय योजना आयोगसँग सम्बन्धित विभिन्न शीर्षक माथिको छलफलमा उठेका प्रश्नहरूको प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट जवाफ दिँदै अर्थमन्त्री डा वाग्लेले सो धारणा राखेका हुन् ।
    मन्त्री डा वाग्लेले यसका लागि आयोजनाको जग्गा प्राप्ति, सम्भाव्यता अध्ययन, पूर्वतयारीका कार्य सम्पन्न भएपछि मात्र राष्ट्रिय गौरवका आयोजनाका रूपमा स्वीकृत गरी बजेट विनियोजन गरिने नीति अवलम्बन गरिएको स्पष्ट गरे । भविष्यमा राष्ट्रिय गौरवका आयोजनाको काम तोकिएको समयमा प्रारम्भ र सम्पन्न हुने विश्वास लिइएको उनको भनाइ छ ।

    बैठकमा अर्थमन्त्री डा वाग्लेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अन्तर्गतका सबै निकायहरूको कुल बजेटमा फरक नपरेको तर सूचना प्रविधि विभाग र राष्ट्रिय साइबर सुरक्षा केन्द्रको पुँजीगततर्फ मन्त्रालयगत बजेट सूचना प्रणाली एलएमबिआइएसमा विनियोजित कार्यक्रम एक्सेल सिटमा लुकेकाले प्रकाशन भएको विकास कार्यक्रम पुस्तिकामा नदेखिएको पनि स्पष्ट पारे ।

    नेपालको संविधानबमोजिम तीनवटै तहका सरकारको काम तथा जिम्मेवारीलाई स्पष्ट गर्ने उद्देश्यले २०७३ सालमा कार्यविस्तृतीकरण प्रतिवेदन तर्जुमा गरिएको जनाउँदै उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सङ्घीयता कार्यान्वयनका क्रममा देखिएका जटिलता र अस्पष्टतालाई निराकरण गर्न उक्त प्रतिवेदन परिमार्जनको कार्य अगाडि बढाएको बताए ।

    अर्थमन्त्री डा वाग्लेले स्थानीय तह, सातवटै प्रदेश र केन्द्रीयस्तरमा सरोकार भएका निकायसँग छलफल र अन्तरक्रिया गरी विज्ञहरूको समेत राय लिई कार्यविस्तृतीकरण प्रतिवेदनको मस्यौदा तयार गरिएको पनि स्पष्ट गरे । उनले परिवर्तित सन्दर्भमा उक्त मस्यौदाउपर थप अध्ययन गरी परिमार्जनको प्रक्रिया अगाडि बढाइने जानकारी गराउनुभयो ।

    डिजिटल प्रविधि सम्बन्धमा

    ठूला डाटा सेन्टर खोल्नु अघि मानव जीवन तथा वनस्पति जगतसम्म नकारात्मक प्रभाव नपार्ने गरी चिसो मौसम भएको ठाउँमा डाटा सेन्टर बनाउनुपर्ने भन्ने प्रश्नमा अर्थमन्त्री डा वाग्लेले हाल सूचना प्रविधि पूर्वाधारका लागि सिंहदरबारस्थित एकीकृत डाटा व्यवस्थापन केन्द्र, हेटौँडास्थित डिजास्टर रिकभरी केन्द्र सञ्चालनमा रहेका जानकारी दिए ।


    साथै, कोहलपुरस्थित डाटा सेन्टरको निर्माण कार्य सम्पन्न भएको, खुमलटारमा डाटा सेन्टर स्थापनाको प्रारम्भिक कार्य सम्पन्न भएको, कृत्रिम बुद्धिमत्ता (एआई) समेतका लागि भविष्यमा नयाँ डाटा सेन्टर स्थापना गर्दा सम्बन्धित स्थानको हावापानी, भौगोलिक अवस्था, वातावरणीय र सामाजिक जीवनमा पार्ने प्रभावकोसमेत मूल्याङ्कन गर्ने व्यवस्था मिलाइने जानकारी पनि उनले भने ।


    उनले डिजिटल तथा सूचना प्रविधिसम्बन्धी शिक्षा विद्यालय तहदेखि नै पाठ्यक्रममा समावेश गरी अध्ययन अध्यापन गरिँदै आइएको जानकारी अर्थमन्त्री डा वाग्लेले सरकारले सूचना प्रविधिको अधिकतम उपयोग गरी विकास व्यवस्थापन र सेवा प्रवाहलाई चुस्त, मितव्ययी, पारदर्शी, जवाफदेही र नागरिकमैत्री बनाउन नीति तथा कार्यक्रम र बजेटमा आवश्यक व्यवस्था गरेको बताए । उनले बजेट वक्तव्यमा सूचना प्रविधि पूर्वाधार विस्तार तथा काठमाडौँको स्युच्याटारमा देशकै पहिलो सार्वभौम एआई कम्प्युट केन्द्र स्थापना गर्ने कार्यक्रम राखिएको पनि बताए ।


    राष्ट्रिय सुरक्षा सम्बन्धमा
    अर्थमन्त्री डा वाग्लेले संविधान तथा प्रचलित कानुनको उल्लङ्घन, शान्ति सुरक्षामा अवरोधलगायत विषयमा सत्यतथ्य सूचना एवं जानकारी सङ्कलन गरी सोको समयमै नियन्त्रण गर्नु सरकारको प्रमुख दायित्व रहेको बताए । शान्तिसुरक्षाका विषयमा उठेका प्रश्नहरुको जवाफमा उहाँले यस कार्यमा प्रत्यक्ष रुपमा राष्ट्रिय अनुसन्धान विभागलगायतका सुरक्षा निकायहरूले कार्य गर्दै आइरहेका बताउँदै गुप्तचरसम्बन्धी कार्यलाई तथ्यपरक, आधुनिक, पूर्वानुमानयोग्य र विश्वसनीय बनाउन सूचना प्रविधि र एआइको उपयोग बढाउने विषयलाई सरकारले उच्च प्राथमिकतामा राखेको जानकारी पनि दिए ।


    सूचना प्रविधि प्रणालीमा हुने ह्याकिङलगायत साइबर जोखिम न्यूनीकरण गर्न तथा सूचना प्रविधिका माध्यमबाट हुने अपराधहरूको नियन्त्रणका लागि राष्ट्रिय साइबर सुरक्षा केन्द्र, साइबर ब्युरोजस्ता संस्थाहरू क्रियाशील रहेका उनले जानकारी दिए । साइबर सुरक्षा अभिवृद्धि गर्न तथा साइबर अपराध नियन्त्रणका लागि नेपाल सरकारले थप पूर्वाधार विस्तार तथा संस्थागत क्षमता विकासका कार्यक्रम राखेको उनले बताए ।


    मन्त्री डा वाग्लेले नेपाली सेनाले राष्ट्रिय सुरक्षा नीति, २०७५ बमोजिमका जिम्मेवारी आफ्नो क्षमता र स्रोतसाधनले भ्याएसम्म निर्वाह गर्दै आइरहेको पनि जानकारी दिनुभयो । नेपाली सेनाको आधुनिकीकरण, प्रविधि विकास, सीमा क्षेत्रको सुरक्षा सुदृढीकरण तथा विपद् व्यवस्थापन क्षमता अभिवृद्धिका लागि आवश्यक पूर्वाधार विकास गरिँदै आएको र नेपाली सेनाले सैन्य सञ्चार, सूचना प्रविधि, निगरानी प्रणाली, तालिम तथा विपद् प्रतिकार्य क्षमतामा समेत उल्लेख्य सुधार गरेको बताए । आगामी दिनमा राष्ट्रिय सुरक्षा, प्रविधि विकास, पूर्वाधार निर्माण तथा विपद् व्यवस्थापन क्षमतालाई थप सुदृढ गर्दै लगिने पनि उनको भनाइ छ ।