Category: फिचर

  • मेलम्चीको पानी वितरणका लागि पाइप बिछ्याउन सुरु

    मेलम्चीको पानी वितरणका लागि पाइप बिछ्याउन सुरु

    काठमाडौँ, ३ असारः मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौँ उपत्यकामा प्रभावकारी रूपमा वितरण गर्न सुन्दरीजल क्षेत्रमा १८०० मिलिमिटर व्यासको पाइप बिछ्याउने कार्य सुरु गरिएको छ । आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) का अनुसार यो नेपालमा पिआइडीद्वारा खानेपानी वितरणका लागि प्रयोग गरिने हालसम्मकै सबैभन्दा ठूलो साइज (व्यास) को पाइप हो ।

    भक्तपुर, कीर्तिपुर, मध्यपुरथिमि, कपन, जोरपाटी तथा पेप्सीकोला क्षेत्रमा खानेपानी वितरण विस्तारका लागि निर्माण प्रक्रिया अगाडि बढाइएको निर्देशनालय प्रमुख एवं इन्जिनियर रामकुमार श्रेष्ठले राससलाई जानकारी दिए । “पाँच क्षेत्रमा खानेपानी वितरण सञ्जाल विस्तारका लागि बोलपत्र आह्वान भइसकेको छ । अब चाँडै अन्य प्रक्रिया सुरु हुन्छ”, इन्जिनियर श्रेष्ठले भने ।

    उनका अनुसार मेलम्चीको पानीलाई काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रमा प्रभावकारी रूपमा पु¥याउन निर्देशनालयले दिन तथा रात दुवै सिफ्टमा कामम भइरहेको छ । हाल विभिन्न स्थानमा ‘रिजर्भ’ ट्याङ्की निर्माण, पाइपलाइन विस्तार तथा अन्य पूर्वाधार निर्माणका काम तीव्र गतिमा भइरहेका आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ ।

    बिछ्याइएका पाइपको परीक्षण सम्पन्न भएपछि सम्पूर्ण प्रणाली काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)लाई हस्तान्तरण गरिने जनाइएको छ ।
    ‘सिस्टम’ हस्तान्तरणपछि काठमाडौँवासीका घरघरमा नियमित रूपमा मेलम्चीको पानी वितरण गरिने अपेक्षा गरिएको प्रमुख एवं इन्जिनियर श्रेष्ठले बताए ।

  • भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर

    भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर

    काठमाडौँ, २ असारः अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बडीकेदार गाउँपालिका डोटीका तत्कालीन अध्यक्ष कृष्णबहादुर चन्द, उपाध्यक्षसमेत आठ जना र भागरथी निर्माण सेवाका सञ्चालक विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । स्थानीय ठूलीगाड र कापडीगाडको बगर क्षेत्रबाट ढुङ्गा, गिट्टी तथा बालुवा उत्खननसम्बन्धी राजश्व रकम संकलन नगरी हानीनोक्सानी गरेको आरोपमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

    आयोगले बडीकेदार गाउँपालिका डोटीका अध्यक्ष कृष्णबहादुर चन्द, उपाध्यक्ष इन्द्राकुमारी बोहरा विरुद्ध रु १४ लाख १० हजार २४० बराबरको बिगो कायम गर्दै मुद्दा दायर गरिएको छ । यस्तै, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत दिपकराज जैशी, लेखापाल युवराज भट्ट, गाउँपालिकाका तत्कालीन शिक्षा अधिकृत विवेक देउवा र सवइञ्जिनियर दानबहादुर पछेरा, भागीरथी निर्माण सेवा कैलालीका सञ्चालक पशुपति जोशी र अख्तियार प्राप्त व्यक्ति केशवबहादुर बम विरुद्ध रु १४ लाख १० हजार २४० बराबरको बिगो र कैद सजायको माग गर्दै मुद्दा दायर गरिएको छ ।

    यस्तै, सोही गाउँपालिकाले एक्स्काभेटर भाडामा दिने ठेक्कामा राजश्व रकम संकलन नगरी हानी नोक्सानी पुर्‍याएको अभियोगमा बडीकेदार गाउँपालिका डोटीका तत्कालीन अध्यक्ष कृष्णबहादुर चन्द, उपाध्यक्ष इन्द्राकुमारी बोहरा, निमित्त प्रमुख प्रशासकीय अधिकृत दिपकराज जैशी विरुद्ध मुद्दा दायर गरिएको छ । यस्तै, लेखापाल, युवराज भट्ट, गाउँपालिकका सबइञ्जिनियर दानबहादुर पछेरा र भागरथी निर्माण सेवा धनगढी कैलालीका सञ्चालक पशुपति जोशी र अख्तियार प्राप्त व्यीक्त केशवबहादुर बम विरुद्ध समान रु ४६ लाख ९५ हजार ६०० बराबरको बिगो र कैद सजायको माग गर्दै आजै अर्को मुद्दा दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।

  • खेलकुदमन्त्री पोखरेलद्वारा कर्णाली प्रदेश रङ्गशाला निरीक्षण

    खेलकुदमन्त्री पोखरेलद्वारा कर्णाली प्रदेश रङ्गशाला निरीक्षण

    कर्णाली, १ असारः शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले कर्णाली प्रदेश रङ्गशाला सुर्खेतको स्थलगत निरीक्षण तथा अवलोकन गरेका छन् । बुधबार हुने मध्यपश्चिम विश्वविद्यालयको चौथो दीक्षान्त समारोहका लागि आज सुर्खेत आइपुगेका मन्त्री पोखरेलले निकट भविष्यमा कर्णाली प्रदेशमा हुने दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता तयारी र रङ्गशाला निर्माणबारे स्थलगत निरीक्षण तथा अवलोकन गरे । उनले प्रतियोगताका लागि आउटडोर र इन्डोरमा हुने सबै खेलका भौतिक संरचना, निर्माणको कार्यमा भएको प्रगतिको कर्णाली प्रदेश खेलकुद विकास परिषद् सदस्यसचिव रवीन्द्र चन्दसँग जानकारी लिए ।


    मन्त्री पोखरेलले भने, “सुर्खेतमा दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न गर्नका लागि आवश्यक पूर्वाधार निर्माण गर्न रु ८० करोड बजेट छुट्याएको छ । अब निर्धारित समयमा प्रतियोगिता सम्पन्न हुन्छ ।” फुटबल मैदान, भलिबल, ब्यामिन्टन कोर्ट, क्रिकेट तालिम हल, मार्सल आर्ट्स, स्विमिङलगायत निर्मित र निर्माणाधीन संरचनाहरूको निरीक्षण गर्दै उहाँले कर्णाली परिषद् सदस्यसचिव चन्दलाई बाँकी रहेको निर्माण कार्य सम्पन्न गरी प्रतियोगिताको तयारीमा लाग्न सुझाए ।


    सदस्यसचिव चन्दले दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि प्रदेश सरकारले रु नौ करोड विनियोजन गरिएको बताउँदै वीरेन्द्रनगरमा निर्माणाधीन प्रदेश रङ्गशाला सम्पन्न गर्न थप रु नौ करोड तथा अन्य जिल्लाका खेलमैदान तथा कभर्डहल निर्माणका लागि रु १० करोड बजेट विनियोजन गरेको जानकारी दिए । उनले प्रतियोगिता सम्पन्न गर्ने गरी रङ्गशालाको बाँकी काम पूरा गर्न तीव्र रूपमा लाग्ने बताए ।

  • रूपन्देहीमा एक महिनामा १८२ मुद्दा, ४६ फरार प्रतिवादी पक्राउ

    रूपन्देहीमा एक महिनामा १८२ मुद्दा, ४६ फरार प्रतिवादी पक्राउ

    रासस
    सिद्धार्थनगर (भैरहवा), २ असारः जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा जेठ महिनाभर विभिन्न प्रकृतिका १८२ वटा मुद्दा दर्ता भएका छन् । सो अवधिमा विभिन्न अपराधमा संलग्न २४३ जना प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले ज्यानसम्बन्धी २३, आत्महत्या १४, चोरी नौ, सङ्गठित तथा आर्थिक अपराध ५९, सामाजिक अपराध ५२, महिला तथा बालबालिकासम्बन्धी १३ तथा सवारीसम्बन्धी १२ मुद्दा दर्ता भएको जानकारी दिए ।


    फरार प्रतिवादी पक्राउ अभियानअन्तर्गत ४६ जनालाई पक्राउ गरी रु ५२ लाख ६६ हजार ४१२ जरिवाना असुल गरिएको तथा १६ वर्ष पाँच महिना २५ दिन बराबरको कैद सजाय कार्यान्वयन गरिएको उनले बताए । महिला तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा जेठ महिनामा घरेलु हिंसासम्बन्धी ९३ तथा झैझगडासम्बन्धी ७२ उजुरी प्राप्त भएको जनाइएको छ । तीमध्ये घरेलु हिंसाका ८३ वटा उजुरी मिलापत्रमार्फत समाधान गरिएको प्रहरीको भनाइ छ ।

    हराएका व्यक्ति खोजतलास अभियानअन्तर्गत १०८ जनाको खोजीका लागि निवेदन प्राप्त भएकामा ६१ जनालाई फेला पारिएको तथा अघिल्लो अवधिदेखि खोजीमा रहेका नौ जनालाई समेत परिवारको सम्पर्कमा ल्याइएको सूचना अधिकारी चन्दले जानकारी दिए । जिल्ला प्रहरी कार्यालयका अनुसन्धान अधिकारी प्रहरी निरीक्षक आशीष विश्वकर्माका अनुसार जेठ महिनामा लागूऔषधसम्बन्धी १२ मुद्दा दर्ता भई १९ जना पक्राउ परेका छन् । प्रहरीले डाइजेपाम २५२ एम्पुल, फेनार्गन ५८ एम्पुल, बुप्रेनोर्फिन १४७ एम्पुल, ब्राउन सुगरजस्तो देखिने पदार्थ २१ ग्रामभन्दा बढी तथा गाँजा नौ किलो ९४४ ग्राम बरामद गरेको छ ।

    यसैबीच, लुम्बिनी सांस्कृतिक नगरपालिकाबाट नक्कली नेपाली मुद्रा छाप्ने कार्यमा संलग्न दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनास्थलबाट नक्कली नोट, कम्प्युटर, प्रिन्टर, मोबाइल फोन तथा अन्य उपकरण बरामद गरिएको र थप अनुसन्धान जारी रहेको प्रहरी निरीक्षक विश्वकर्माले बताए । शान्तिसुरक्षालाई प्रभावकारी बनाउन जेठ महिनामा ४९३ प्रहरी पिकेट, ५१० सवारी चेकिङ, ८६८ ग्रामीण गस्ती तथा अन्य विशेष सुरक्षा गतिविधि सञ्चालन गरिएको प्रहरीले जनाएको छ । यस अवधिमा आठ हजारभन्दा बढी प्रहरी जनशक्ति परिचालन गरिएको थियो ।

    सवारी दुर्घटना न्यूनीकरणका प्रयास जारी रहे पनि जेठ महिनामा जिल्लाभर १५८ सवारी दुर्घटना भएका छन् । दुर्घटनामा चार जनाको मृत्यु भएको तथा २५६ जना घाइते भएको प्रहरीले जनाएको छ । सवारी नियम उल्लङ्घन गर्ने तीन हजार ५६६ सवारीसाधनलाई कारबाही गरी रु ५६ लाख तीन हजार राजस्व सङ्कलन गरिएको छ ।

    भन्सार छली तथा राजस्व चुहावट नियन्त्रण अभियानअन्तर्गत रु दुई करोड ४३ लाख ४० हजार १६६ बराबरका अवैध सामान नियन्त्रणमा लिइएको तथा २२ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । सो क्रममा ४० वटा सवारीसाधनसमेत नियन्त्रणमा लिइएको थियो ।

    प्राकृतिक स्रोत तथा सम्पदा संरक्षण अभियानअन्तर्गत ३१ सवारीसाधन नियन्त्रणमा लिनुका साथै अवैध रूपमा ओसारपसार गरिएका ५६४ कुखुरा, ९०० चल्ला तथा विभिन्न वन पैदावार बरामद गरिएको जनाइएको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत लागूऔषध दुव्र्यसन, साइबर अपराध, बालविवाह, घरेलु हिंसा, आत्महत्या रोकथाम, सडक सुरक्षा तथा मानव बेचबिखनविरुद्ध १५० भन्दा बढी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको प्रहरीले जनाएको छ । ती कार्यक्रममार्फत छ हजारभन्दा बढी नागरिक प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् ।

    नागरिक सहायता कक्षमार्फत एक हजार ६५ सेवाग्राहीलाई सेवा प्रदान गरिएको तथा हटलाइन र सम्पर्क नम्बरमा चार हजार ४८ फोन कल प्राप्त भएको प्रहरीको तथ्याङ्क छ । प्रहरी नायब उपरीक्षक चन्दले अपराध नियन्त्रण, अनुसन्धान तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउँदै सुरक्षित समाज निर्माणमा नागरिकको सहयोग आवश्यक रहेको बताए ।

  • ओटिटी प्लेटफर्म’ अब कानुनी दायरामा, दर्ता र अनुमति अनिवार्य

    ओटिटी प्लेटफर्म’ अब कानुनी दायरामा, दर्ता र अनुमति अनिवार्य

    काठमाडौँ, २ असारः सरकारले ‘ओभर–द–टप’ (ओटिटी प्लेटफर्म)लाई औपचारिक रूपमा दर्ता तथा नियमनको दायरामा ल्याएको छ । सूचना तथा सञ्चार मन्त्रालयले राष्ट्रिय प्रसारण नियमावली, २०५२ मा संशोधन गर्दै ‘डिजिटल’ प्रसारण प्रणालीअन्तर्गत सञ्चालन भइरहेका ओटिटी सेवा प्रदायकहरूलाई कानुनी रूपमा नियमन गर्ने व्यवस्था गरेको हो ।

    सोमबार राजपत्रमा प्रकाशित संशोधित नियमावलीअनुसार अब नेपालभित्र सेवा दिने वा सामग्री प्रसारण गर्ने विदेशी तथा स्वदेशी ‘ओटिटी प्लेटफर्म’हरूले अनुमति लिनुपर्नेछ । यससँगै वर्षौंदेखि अनौपचारिक रूपमा सञ्चालन भइरहेका ‘डिजिटल स्ट्रिमिङ’ सेवा तथा ओटिटी प्लेटफर्महरू पहिलोपटक स्पष्ट कानुनी संरचनाभित्र आउने भएका छन् ।

    डिजिटल माध्यम विस्तारसँगै परम्परागत प्रसारण प्रणालीभन्दा बाहिर रहेका प्लेटफर्महरूलाई पनि समान नियमनको दायरामा ल्याउनु आवश्यक रहेको भन्दै सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले ‘ओटिटी प्लेटफर्म’लाई नियमनको दायरामा ल्याउन नीतिगत पहल थाल्नुभएको थियो । मन्त्रालयले आन्तरिक गृहकार्यपछि नियमावलीमा संशोधन गरेको हो ।

    सञ्चार मन्त्रालयले राष्ट्रिय प्रसारण नियमावली २०५२ को विभिन्न अनुसूचीहरूमा संशोधन गर्दै ओटिटी तथा डिजिटल प्रसारण प्रणालीलाई स्पष्ट रूपमा समेटेको छ । संशोधित व्यवस्थाअनुसार अनुसूची–३ (क) मा ‘डाउनलिङ्क गरिने ओटिटी विदेशी कार्यक्रम तथा ओटिटी प्लेटफर्म’ सम्बन्धी विवरण अनिवार्य गरिएको छ । यसअन्तर्गत अब विदेशी ओटिटी सेवा प्रदायक वा डिजिटल कार्यक्रम वितरण गर्ने संस्थाले नेपालभित्र प्रसारण गर्न अनुमति लिनुपर्नेछ ।

    यसअघि यस्ता ओटिटी प्लेटफर्महरू कुनै पनि सरकारी निकायमा दर्ता नभई स्वतन्त्र रूपमा सञ्चालन हुँदै आएका थिए । कानुनी अस्पष्टताका कारण नियमन, कर सङ्कलन तथा सामग्री अनुगमन जटिल बन्दै आएको थियो । नयाँ संशोधनले अब ओटिटी प्लेटफर्महरूलाई अन्य प्रसारण माध्यमजस्तै नियमन र कानुनी दायरामा ल्याउने आधार तयार गरेको मन्त्रालयले जनाएको छ । संशोधित नियमावलीले ओटिटी तथा डिजिटल प्रसारण सेवाका लागि इजाजतपत्र तथा शुल्क संरचना पनि निर्धारण गरेको छ ।

    नयाँ व्यवस्थाअनुसार कुनै पनि विदेशी कार्यक्रम उत्पादकले आफ्नो मुलुकमा उत्पादन गरेको ओटिटी डिजिटल कार्यक्रम नेपालमाल डाउनलिङ्क गरी प्रसारण गर्न प्रतिप्लेटफर्म रु १० लाख शुल्क तोकिएको छ । त्यस्तै, डाउनलिङ्क अनुमति प्राप्त विदेशी ओटिटी डिजिटल कार्यक्रमको सिग्नल वितरणका लागि प्रतिओटिटी प्लेटफर्म रु २५ लाख तिर्नुपर्नेछ । ओटिटी प्रसारण सेवा सञ्चालनका लागि रु एक करोड शुल्क तोकिएको नियमावलीमा उल्लेख छ । विदेशी कार्यक्रमको प्रसारण अधिकार (फ्रेञ्चाइज) वा विदेशी कार्यक्रमको प्रत्यक्ष प्रसारणको स्वीकृतिका लागि रु पाँच लाख शुल्क तोकिएको छ भने अनलाइन रेडियो सञ्चालनका लागि रु ५० हजार इजाजतपत्र शुल्क तोकिएको छ ।

    डिजिटल प्रविधिको तीव्र विस्तारसँगै नेपालमा पनि ओटिटी प्लेटफर्महरूको प्रयोग उल्लेखनीय रूपमा बढ्दै गएको छ । तर यस्ता सेवा प्रदायकहरू लामो समयसम्म स्पष्ट कानुनी संरचनाबिना सञ्चालन हुँदै आएका थिए । जसकारण यस्ता सामग्रीको नियमन, राजस्व, उपभोक्ता अधिकार संरक्षण र स्थानीय प्रसारण उद्योगसँग अस्वस्थ प्रतिस्पर्धालगायत चुनौती देखिँदै आएका थिए ।

    सञ्चार मन्त्रालयका अनुसार डिजिटल प्रसारण सेवा अब परम्परागत मिडियाजस्तै महत्वपूर्ण बन्दै गएकाले यसलाई राज्यको कानुनी संरचनाभित्र ल्याउनु आवश्यक थियो । नयाँ व्यवस्था लागू भएपछि नेपालमा सञ्चालन भइरहेका विदेशी तथा स्वदेशी ओटिटी प्लेटफर्महरूले अब दर्ता प्रक्रिया पूरा गर्नुपर्नेछ । यसले डिजिटल सामग्री वितरण प्रणालीमा थप पारदर्शिता ल्याउने अपेक्षा गरिएको छ ।

    त्यस्तै, प्रयोगकर्ताले हेर्ने सामग्रीको गुणस्तर, स्थानीय कानुनअनुसार सामग्री नियमन, तथा कर प्रणालीमा पनि सुधार आउने अनुमान गरिएको छ । ओटिटी प्लेटफर्म भनेको इन्टरनेटमार्फत प्रयोगकर्ताहरूलाई प्रत्यक्ष रूपमा अडियो, भिडियो तथा अन्य डिजिटल सामग्री उपलब्ध गराउने सेवा हो ।

    यो प्रणालीले परम्परागत केवल, स्याटेलाइट तथा प्रसारण टेलिभिजन प्रणालीलाई बाइपास गर्छ । नेटफ्लिक्स, युट्युब, अमेजन प्राइम भिडियोलगायत प्लेटफर्महरू ओटिटी सेवाका प्रमुख उदाहरण हुन् । जसले स्मार्टफोन, स्मार्ट टिभी, ट्याब्लेट तथा कम्प्युटरजस्ता उपकरणमार्फत प्रयोगकर्तालाई ‘अन–डिमान्ड’ सामग्री उपलब्ध गराउँछन् ।

  • प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्को बैठक बुधबार

    प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्को बैठक बुधबार

    काठमाडौँ, २ असारः प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा मन्त्रालय र निकायका विभिन्न शीर्षकमाथिको छलफल भएको छ । आज विज्ञान, प्रविधि तथा नवप्रवर्तन, कानुन, न्याय तथा संसदीय मामिला, पूर्वाधार विकास, गृह, ऊर्जा, जलस्रोत तथा सिँचाइ, परराष्ट्र, अर्थ, रक्षा मन्त्रालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयका विभिन्न शीर्षकमाथि छलफल भएको थियो ।

    बैठकमा सांसदहरू नितिमा भण्डारी (कार्की), पुकार बम, राम लामा, बदनकुमार भण्डारी, अङ्किता ठाकुर, बुद्धिप्रसाद पन्त, धनेन्द्र कार्की, सुशान्त वैदिक, सुलभ खरेल, स्मृति सेन्चुरीले मन्त्रालयगत शीर्षकमाथि आ–आफ्ना धारणा व्यक्त गरेका थिए । बैठकले प्रतिनिधिसभाका पूर्वसदस्य मङ्गलप्रसाद गुप्ताको निधनमा शोक प्रस्ताव पारित गरेको थियो । प्रतिनिधिसभाको अर्को बैठक भोलि असार ३ गते बिहान ११ बजे बस्नेछ । बुधबारको बैठकमा मन्त्रालयगत शीर्षकमाथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यक्रम छ ।

  • रास्वपा महाधिवेशन भरतपुरमा सारियो

    रास्वपा महाधिवेशन भरतपुरमा सारियो

    चितवन, २ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन चितवनको भरतपुरमा गर्ने गरी सारिएको छ । रत्ननगरको होटल स्टारमा गर्ने तयारी गरिएकोमा ठाउँ परिवर्तन गरी भरतपुरमा गर्न लागिएको हो । यही असार ७ देखि ९ गतेसम्म महाधिवेशन हुँदैछ । पार्टीका केन्द्रीय सदस्य एवं आवास तथा भोजन व्यवस्थापन समितिका संयोजक राजन गौतमका अनुसार भरतपुरको गेष्टहाउस चौरमा उद्घाटन समारोह हुनेछ । बन्द सत्र उद्योग सङ्घको औद्योगिक प्रदर्शनी केन्द्रमा गर्ने तयारी गरिएको छ ।

    पार्किङको व्यवस्थापन केन्द्रीय बस टर्मिनलमा गर्नेगरी तयारी गरिएको गौतमले बताए । उनले भने, “केन्द्रीय सभापतिज्यूको निर्देशनअनुसार ठाउँ परिवर्तन गर्न लागिएको हो ।” उद्घाटन सत्रमा ठूलो सङ्ख्यामा कार्यकर्ता तथा सर्वसाधारण उपस्थित हुने आकलन गरिएको छ । साथै चर्को गर्मी र पानी पर्न सक्ने भएकाले बन्द सत्र टेण्टमुनि कठिन हुन सक्ने भएकाले ठाउँ परिवर्तन गर्न लागिएको उनले बताए ।


    रास्वपा चितवनका सभापति मिनिमाधव खनालले चर्को गर्मीका कारण ठाउँ परिवर्तन गर्न सोमबार जिल्लामा बैठक बसी केन्द्रमा पत्राचार गरिएको बताए । यस लगत्तै उद्घाटन सत्र गर्ने गेष्टहाउस चौरको व्यवस्थापन शुरु गरिएको छ । उद्योग सङ्घलाई प्रदर्शनी केन्द्र माग गरी पत्राचार गरिएको उनले बताए । उद्घाटन सत्रमा ५० हजार हाराहारी उपस्थित हुने अनुमान गरिएको भन्दै उनले त्यसको व्यवस्थापनका लागि जुटेको बताए ।


    पार्टीको स्थानीय जिल्ला र नगरकमिटी, जिल्लामा रहेका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्यहरूको समन्वयमा महाअधिवेशन तयारीको काम भइरहेको छ । महाधिवेशन सम्पन्न गर्न गठित १८ वटा उपसमिति आआफ्नो काममा व्यस्त रहेको उनले बताए । पार्टीको उद्घाटन समारोहमा राष्ट्रियस्तरका राजनीतिक पार्टीका प्रमुख र छिमेकी देशका प्रतिनिधिहरूलाई आमन्त्रण गरिएको पार्टीले जनाएको छ । बन्द सत्रमा करिब तीन हजार प्रतिनिधि सहभागी हुने छन् ।

  • चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत

    चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत

    काठमाडौँ, २ असारः चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा आज बसेको आयोगको बैठकले उक्त निर्णय गरेको हो । प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार शिक्षा तथा खेलकुद र अर्थ मन्त्रालयबाट सहमतिप्राप्त भएको २४ घण्टा नबित्दै आयोगले कार्यविधि पास गरेर विगतदेखिको कानुनी अस्पष्टता र समस्यालाई दीर्घकालीन रूपमा समाधान गरेको हो ।

    नेपाल राजपत्रमा प्रकाशित केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८३ मार्फत राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ मा दफा ५४ (ख) थपिएसँगै आयोगलाई आवश्यक निर्देशिका र कार्यविधि बनाउने कानुनी बाटो खुलेको थियो । यसअघि विधायन ऐन, २०८१ को दफा ३५ का कारण आयोगका पुराना सबै निर्देशिका र कार्यविधि स्वतः अमान्य (खारेज) हुँदा कानुनी रिक्तता भएको थियो ।

    उक्त समस्या समाधानका लागि असार १ गते अर्थ मन्त्रालय र शिक्षा तथा खेलकुद मन्त्रालयबाट सकारात्मक रायसहितको सहमति प्राप्त भएको थियो । कार्यविधिले सार्वजनिक शिक्षण संस्थालाई निःशुल्क छात्रवृत्ति, स्नातकोत्तर तह (डिएम, एमसिएचसमेत)मा निःशुल्क छात्रवृत्ति उपलब्ध गराएबापत अनुदान वितरण गराउने बाटो खुलेको छ ।

    यस कार्यविधिले आयोगको तर्फबाट चिकित्साशास्त्र अध्ययन गराउने शिक्षण संस्थालाई सबै तहमा (स्नातकोत्तर तह डिएम, एमसिएचसमेत)मा निःशुल्क छात्रवृत्ति उपलब्ध गराएबापत अनुदान वितरण गर्ने बाटो खुलेको छ । बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताको सहअध्यक्षता तथा आयोगका उपाध्यक्ष प्रा डा श्रीकृष्ण गिरी र अन्य सदस्यहरूको उपस्थिति रहेको थियो ।

  • दलित समुदायको इतिहास झल्काउने ‘लुहारेकोट’

    दलित समुदायको इतिहास झल्काउने ‘लुहारेकोट’

    मान्म (कालीकोट), २ असार स् दलित समुदायको इतिहास झल्काउने लुहारेकोट विकसित हुँदै गएको छ । स्थानीय सरकारले लुहारेकोटलाई धार्मिक, ऐतिहासिक र पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना अघि बढाएसँगै लुहारेकोटको महत्व बढ्दै गएको हो । कालीकोटको खाडाँचक्र नगरपालिका–१ को मान्म सदरमुकाम बजारमा अवस्थित छ, लुहारेकोट । लुहारेकोट क्षेत्रलाई ऐतिहासिक दलित समुदायको वीरता र साहसको प्रतीकका रूपमा लिने गरिएको छ ।

    सदरमुकामको सिरानीमा निर्माण गरिएको प्रतिमासहितको संरचनाले स्थानीय इतिहास र संस्कृतिको संरक्षणमा समेत महत्त्वपूर्ण भूमिका खेलेको सामाजिक अभियन्ता बाले विश्वकर्माले बताए । “लुहार समुदायका अनुसार यसस्थलको वास्तविक नाम ‘लुहारेकोट’ हो । यसको ऐतिहासिक पहिचानलाई सम्मानपूर्वक संरक्षण गरिनुपर्छ”, उनले भने ।


    स्थानीयको मौखिक इतिहास, वंशावली र जनविश्वासका आधारमा लुहारेकोटले खाँडाचक्र क्षेत्रको इतिहासमा महत्त्वपूर्ण स्थान ओगटेको ठाउँ भएको खाँडाचक्र नगरपालिका–२ स्थित पञ्चदेव माध्यमिक विद्यालयका शिक्षक लक्षिराम विश्वकर्माले बताए । “यस स्थलको संरक्षण, अध्ययन, अनुसन्धान तथा प्रचारप्रसार गर्नु भावी पुस्ताका लागि आवश्यक देखिन्छ”, उनले भने, “स्थानीय जनश्रुति, मौखिक इतिहास तथा लुहार समुदायमा पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको वंशावलीका आधारमा लुहारेकोट केवल एउटा भौगोलिक स्थानमात्र नभई लुहार समुदायको राजनीतिक, सामाजिक र सांस्कृतिक केन्द्रका रूपमा परिचित रहेको छ ।’

    यस स्थानको इतिहास लुहार समुदायका प्रथम पुर्खा मानिने शान्ति लुवारसँग जोडिएको र स्थानीय विश्वासअनुसार शान्ति लुवार नै लुहारेकोटका संस्थापक तथा यस क्षेत्रका प्रारम्भिक शासक भएको लक्षिरामले जानकारी दिए । “त्यस समयमा लुहारेकोटको तल हालको मान्म बजार क्षेत्रमा लुहार समुदायको ठूलो बस्ती रहेको थियो । वर्तमान प्रतिमा चोकबाट पूर्वतर्फ लुहारेकोटसम्मको सम्पूर्ण भूभाग लुहार समुदायको अधिनमा रहेको जनविश्वास छ”, उनले भने ।


    हाल जिल्ला अदालत तथा जिल्ला समन्वय समितिको कार्यालय रहेको क्षेत्र वरिपरि लुहारहरूको पुरानो बस्ती रहेको मानिन्छ । उक्त बस्तीभन्दा माथि रहेको विशाल तथा अग्लो ढुङ्गालाई नै ‘लुहारेकोट’ भनिएको हो । स्थानीयको भनाइअनुसार यही ढुङ्गामा बसेर राज्य सञ्चालन, न्यायिक फैसला, प्रशासनिक बैठक तथा जनसरोकारका विषयमा छलफल हुने गर्दथ्यो ।

    यसैकारण उक्त स्थानलाई तत्कालीन शासन केन्द्रका रूपमा लिइन्छ । हाल कालीकोटको खाडाँचक्र नगरपालिकाले लुहारेकोटको इतिहासको झल्को दिनेगरी वीरताको प्रतीकसहित प्रतिमाको निर्माण गरेको नगरउपप्रमुख गणेशबहादुर शाहीले बताए ।

  • परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान

    परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान

    काठमाडौँ, २ असारः परराष्ट्रमन्त्री शिशिर खनालले चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गरी ‘पार–हिमाली’ समृद्धिको अर्को अध्याय संयुक्त रूपमा निर्माणमा योगदान गर्न आह्वान गरे । चीनको चारदिने औपचारिक भ्रमणमा रहनुभएका उनले आज बेइजिङस्थित नेपाली दूतावासद्वारा आयोजित लगानी सम्मेलनलाई सम्बोधन गर्दै सो कुरा बताए । मन्त्री खनालले नेपालको आर्थिक अवसर तथा जनसाङ्ख्यिकीय सामथ्र्यलाई उजागर गर्दै थप सक्षम र व्यवसायमैत्री वातावरण सुनिश्चित गर्न नेपाल सरकार प्रतिबद्ध रहेको बताएको दूतावासले जनाएको छ ।

    नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने उद्देश्यले राजदूतावासद्वारा आयोजित सम्मेलनकै असरमा उनले चिनियाँ व्यवसायी, उद्यमी तथा लगानीकर्ताहरूसँग भेटघाट गरेका थिए । सो अवसरमा नेपालमा रहेका लगानीका अवसरबारे नेपाल लगानी बोर्डका प्रतिनिधिद्वारा प्रस्तुतीकरण गरिएको थियो । मन्त्री खनालले आजै बेइजिङमा चीनको चिनियाँ जनराजनीतिक परामर्श सम्मेलनको राष्ट्रिय समितिका अध्यक्ष वाङ हुनिङसँग भेटवार्ता गरेका थिए । भेटका क्रममा नेपाल र चीनबीचको सौहार्द्रपूर्ण तथा मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ बनाउने तथा आपसी हितका क्षेत्रमा सहकार्य प्रवर्द्धन गर्ने विषयमा छलफल भएको दूतावासले जनाएको छ ।

    त्यस्तै, मन्त्री खनालले बेइजिङस्थित मियाओयिङ मन्दिरमा रहेको श्वेत स्तूपको अवलोकन गरेका थिए । नेपालको राष्ट्रिय विभूति अरनिकोद्वारा डिजाइन गरिएको उक्त सम्पदा नेपाल–चीन मित्रताको प्रतीक हुनाका साथै नेपालको ऐतिहासिक सौम्य शक्ति, नेपाली कलाकारहरूको अन्तरराष्ट्रिय प्रतिष्ठा तथा नेपाली वास्तुकलाको समृद्धिको प्रमाण हो ।

    मन्त्री खनालले आज नै चिनियाँ तथा अन्तरराष्ट्रिय सञ्चारमाध्यमका प्रतिनिधिहरूसँग अन्तरक्रिया गर्दै नेपालको परराष्ट्र नीति, नेपाल–चीन सम्बन्ध, नेपालमा नवगठित सरकारका प्राथमिकताहरू तथा अन्तरराष्ट्रिय समुदायसँग नेपालको संलग्नताबारे आफ्ना धारणा साझा गरेका थिए । उनी चीनका विदेश मामिलामन्त्री तथा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका राजनीतिक ब्यूरो सदस्य वाङ यीको निमन्त्रणामा आइतबार बेइजिङ पुगेका थिए । मन्त्री खनाल भ्रमण सम्पन्न गरी भोलि असार ३ गते स्वदेश फर्किने कार्यक्रम छ ।

  • नीति तथा कार्यक्रममा गुरुयोजना समेट्न ललितपुर महानगरलाई आग्रह

    नीति तथा कार्यक्रममा गुरुयोजना समेट्न ललितपुर महानगरलाई आग्रह

    पाटन (ललितपुर), २ असारः ललितपुर महानगरप्रमुख चिरीबाबु महर्जनलाई दुई कार्यकालको अनुभवका आधारमा आगामी वर्षको नीति तथा कार्यक्रममा १० वर्षको महानगर गुरुयोजना समेट्न ललितपुर महानगरलाई सांसदहरूले आग्रह गरेका छन् । ललितपुर महानगरपालिकाले आज यहाँ आयोजना गरेको आगामी आर्थिक वर्ष २०८३–८४ को नीति तथा कार्यक्रम तर्जुमा सम्बन्धमा सङ्घीय संसद् र प्रदेशसभा सदस्यसँगको छलफल कार्यक्रममा पूर्वमन्त्री एवम् प्रतिनिधिसभा सदस्य जगदीश खरेलले ७५३ स्थानीय तहमध्ये ललितपुरले समग्र रूपमा राम्रो काम गरेको भन्दै जनताको आर्थिकस्तर अभिवृद्धि गर्ने कुरामा हस्तकला र पर्यटनलाई प्रवद्र्धन गर्ने कुरामा ध्यान दिन आग्रह गरे ।


    “सङ्घीय बजेट निर्माणमा महानगरले हामीलाई पनि सुझाव दिएको भए राम्रो हुन्थ्यो, सङ्घीय बजेटमा ललितपुरलाई हामीले बजेट ल्याउन नसके कै हो, अर्को आर्थिक वर्षमा ललितपुरलाई बजेट पार्न प्रयास गर्नेछौँ, सङ्घीय सरकारबाट निर्वाह गर्नुपर्ने भूमिका बारेमा ध्यान दिन्छौँ, नीतिगत सहजीकरण, सार्वजनिक खरिद ऐन संशोधनमा ध्यान दिन्छौँ,” प्रतिनिधिसभा सदस्य खरेलले भने । प्रतिनिधिसभा सदस्य प्रभा कार्कीले ललितपुरले गरेको राम्रो कामको प्रशंसा गर्दै जनताको दैनिक जीवनमा परिवर्तनमा ध्यान दिनुपर्ने, महानगरभित्र पार्किङको असुविधा रहेकाले सम्बोधन गर्न आग्रह गरे । उनले मानिस हिँड्ने पेटीमा रूख रोप्नेभन्दा पनि व्यवस्थापन गरेर मात्रै गरिनुपर्छ भने ।


    बागमती प्रदेशका पूर्वमन्त्री एवम् प्रदेशसभा सदस्य रामकृष्ण चित्रकारले सङ्घ र प्रदेशबाट छुटिएको बजेट भए पनि स्थानीय तहबाट नै कार्यान्वयन हुने हो भन्दै सम्पदा संरक्षण र पोखरी निर्माणमा निरन्तरता दिन, अधुरो योजना पूर गर्न, सङ्घ र प्रदेशले बजेट छुट्याएको ठाउँमा दोहोरो नपर्ने गरी बजेट निर्माण गर्न आग्रह गरे । बागमती प्रदेशका पूर्वमन्त्री एवम् प्रदेशसभा सदस्य प्रेमभक्त महर्जनले बागमती प्रदेशले काष्ठकला, हस्तकलाको विषयलाई अगाडि बढाउनेतिर जोड दिएको जानकारी गराउँदै ऐतिहासिक सहरका रूपमा रहेको खोकना र बुँगमतीलाई संरक्षण र विकास गर्नेतर्फ बजेटमा ध्यान दिन आग्रह गरे ।


    सुझाव दिने क्रममा सांसदहरूले आर्थिक समृद्धिलाई विशेष जोड दिन, युवा केन्द्रित नवप्रवर्तनमा आधारित रोजगारी सृजना गर्न, डिजिटल नेपाल निर्माणमा सङ्घीय सरकारभन्दा ललितपुर महानगर अगाडि छ भन्ने भान दिन, अरनिकोको जन्मस्थल परिचित गराउन र चीनका पर्यटक नेपाल आएपछि अरनिको जन्मस्थल अनिवार्य पुग्ने वातावरण तयार पार्न आग्रह गरे ।

    जनताको दैनिक जीवनस्तर र आयस्रोतमा वृद्धि गर्न, उत्पादनमा जोड्ने र रोजगार वृद्धि गर्नेतिर ध्यान दिएर बजेट बनाउन, सामुदायिक विद्यालयप्रति भरोसा जगाउने गरी स्थानीय विद्यार्थीलाई आकर्षित गराउन र संस्थागत विद्यालयलाई प्रभावकारी नियमन गर्नेगरी बजेट ल्याउन सुझावसहित महानगरले कृषि क्षेत्रमा ध्यान दिन नसकेको भन्दै अलि ध्यान दिएर कृषि क्षेत्रका लागि बजेट राखिनुपर्छ भन्नेमा उनीहरुको जोड थियो ।

    सो अवसरमा महानगरप्रमुख चिरीबाबु महर्जनले शिक्षाको क्षेत्रमा महानगरले धेरै राम्रो काम गरेको जानकारी गराउँदै सार्वजनिक सुनुवाइ गरेर जनताको गुनासो सम्बोधन र सुझाव लिने गरेका छौँ भने । उनले आगामी आर्थिक वर्षमा बिरामीले फोन गर्ने बित्तिकै सेवा दिने गरी डक्टर र नर्ससहितको एम्बुलेन्स सेवा सुरुआत गर्ने बताए । उनले आफ्नो नौवर्षे कार्यकालमा १७१ वटा फल्चा पार्टी बनाएको, भगिनी सम्बन्ध कायम गरेको कोरियाली नगरपालिकाको मुख्य केन्द्रमा पनि निर्माण गर्नेगरी प्रक्रिया अगाडि बढाएको, ललितपुर महानगरको २५१ स्थानमा ट्राफिक लाइट राख्नुपर्ने भएकाले यसलाई निरन्तरता दिने जानकारी गराए ।

    उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले संविधानको मूल मर्मलाई आत्मसात् गर्दै समन्वय, सहकार्य र सहअस्तित्वलाई जोड दिँदै रचनात्मक सुझाव कार्यान्वयनलाई ध्यान दिन्छौँ भनिन् । उनले नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनमा सङ्घीय र प्रदेश सांसदहरूसँग समन्वय र सहकार्य गर्ने जानकारी गराए ।

  • रुसी आक्रमणमा खार्किभमा पाँच उद्धारकर्मीको मृत्यु, किएभको ऐतिहासिक धार्मिक स्थलमा आगलागी

    रुसी आक्रमणमा खार्किभमा पाँच उद्धारकर्मीको मृत्यु, किएभको ऐतिहासिक धार्मिक स्थलमा आगलागी

    किएभ, २ असार (रासस–एपी) । युक्रेनमाथि रुसले सोमबार गरेको व्यापक हवाई आक्रमणमा पूर्वी सहर खार्किभमा पाँच उद्धारकर्मीको मृत्यु भएको छ भने राजधानी किएभमा कम्तीमा २० जना घाइते भएका छन् । आक्रमणका कारण आवासीय भवनहरूमा आगलागी हुनुका साथै देशको महत्त्वपूर्ण धार्मिक तथा सांस्कृतिक सम्पदामध्ये एकमा पनि क्षति पुगेको छ । युक्रेनका गृहमन्त्री इहोर क्लाइमेन्कोका अनुसार खार्किभमा पहिलो आक्रमणबाट लागेको आगो निभाउने क्रममा पुगेका उद्धारकर्मीहरू दोस्रो रुसी आक्रमणको निशानामा परेका थिए । घटनामा कम्तीमा पाँच अन्य आपतकालीन सेवाकर्मी घाइते भएका छन् ।

    राजधानी किएभमा रातभर शक्तिशाली विस्फोटहरूको आवाज सुनिएको थियो । ब्यालिस्टिक क्षेप्यास्त्र र शाहेद ड्रोनमार्फत गरिएको आक्रमणका कारण धेरै बासिन्दाले भूमिगत आश्रयस्थलमा शरण लिएका थिए । अधिकारीहरूले सर्वसाधारणलाई सुरक्षित स्थानमा बस्न आग्रह गरेका थिए । “किएभ मुख्य निशानामा परेको छ । नागरिक पूर्वाधारमा ठूलो क्षति पुगेको छ”, गृहमन्त्री क्लाइमेन्कोले भने ।
    किएभ सहर सैन्य प्रशासनका प्रमुख टिमुर तकाचेन्कोका अनुसार एक बालकसहित कम्तीमा २० जनाले उपचारका लागि स्वास्थ्य सेवा लिएका छन् । उनले शेभचेन्किभ्स्की जिल्लामा ३० मिनेटभन्दा कम समयमा पाँचवटा आक्रमण भएको जानकारी दिए । प्रभावित संरचनामध्ये २५ तले आवासीय भवन, एक बजार र एक किराना पसल रहेका छन् । ओबोलोन्स्की जिल्लामा भने नौ तले आवासीय भवनमा प्रत्यक्ष प्रहार भएको बताइएको छ ।

    तकाचेन्कोले रुसले जानाजानी आवासीय भवनहरूलाई निशाना बनाएको आरोप लगाए । “यो उनीहरूको सचेत निर्णय हो”, उनले भने । आक्रमणबाट किएभ–पेचेस्र्क लाभ्रा मठ परिसरमा पनि ठूलो क्षति पुगेको छ । उक्त परिसरमा आगलागी भएको तकाचेन्कोले जानकारी दिँदै रुसले ‘विश्वकै प्रमुख क्रिश्चियन तीर्थस्थलमध्ये एकको केन्द्रमा प्रहार गरेको’ आरोप लगाए । युक्रेनको अर्थोडक्स चर्चका प्रमुख मेट्रोपोलिटन एपिफेनियसका अनुसार रातभरको आक्रमणका क्रममा डोर्मिशन क्याथेड्रलको छानामा आगलागी भएको थियो ।

    उनले यस घटनालाई ‘मानवता, इतिहास र ईसाई धर्मविरुद्धको अर्को रुसी अपराध’ भन्दै निन्दा गरे । ‘गुफाहरूको मठ’ पनि भनिने किएभ–पेचेस्र्क लाभ्रा ११औँ देखि १९औँ शताब्दीसम्म निर्माण गरिएका मठ, चर्च र भूमिगत गुफाहरूको विशाल धार्मिक परिसर हो । यो युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत स्थल हो । डनिप्रो नदीको दायाँ किनारमा अवस्थित यो ऐतिहासिक धार्मिक स्थल शताब्दीयौँ देखि तीर्थयात्रीहरूको प्रमुख गन्तव्यका रूपमा परिचित छ ।

  • जी–७ मा इरान सम्झौताको छाया

    जी–७ मा इरान सम्झौताको छाया

    इभियन–लेस–बेन्स (फ्रान्स), २ असार (रासस–एएफपी) । फ्रान्समा सोमबारदेखि सुरु भएको जी–७ शिखर सम्मेलनमा विश्व अर्थतन्त्र, कृत्रिम बौद्धिकता (एआई) र युक्रेन युद्धका मुद्दाभन्दा पनि अमेरिका–इरान शान्ति सम्झौता मुख्य एजेन्डाका रूपमा उभिएको छ । हर्मुज जलघाँटी पुनः खोल्ने र मध्यपूर्वमा युद्ध अन्त्य गर्ने प्रयाससँगै विश्वका प्रमुख शक्तिका नेताहरूको ध्यान अब सम्झौताको कार्यान्वयन र त्यसका दीर्घकालीन प्रभावतर्फ केन्द्रित भएको छ ।

    फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनको आतिथ्यमा जेनेभा ताल किनारको इभियन–लेस–बेन्समा आयोजित तीनदिने शिखर सम्मेलनमा अमेरिका, क्यानाडा, फ्रान्स, जर्मनी, इटाली, जापान र बेलायतका नेताहरू सहभागी भइरहेका छन् । फ्रान्सले यसपटक जी–७ को परम्परागत दायराभन्दा बाहिर पुगेर अन्य प्रभावशाली मुलुकहरूलाई पनि सहभागी गराएको छ ।

    युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्की मङ्गलबार सम्मेलनमा सहभागी हुने कार्यक्रम छ भने इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसीसहित अरब राष्ट्रका नेताहरू पनि इरानसम्बन्धी छलफलका लागि उपस्थित रहनेछन् । ब्राजिल, भारत, केन्या र दक्षिण कोरियाका नेताहरूले पनि सम्मेलनमा सहभागिता जनाइरहेका छन् ।

    अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने प्रारम्भिक सम्झौता सम्मेलन सुरु हुनुअघि नै घोषणा भएपछि शिखर बैठकको दिशा नै बदलिएको छ । राष्ट्रपति म्याक्रोनले जी–७ नेताहरूले हर्मुज जलघाँटीको दीर्घकालीन पुनः सञ्चालन, लेबनानको स्थायित्व र इरानको आणविक तथा ब्यालिस्टिक कार्यक्रमसम्बन्धी विषयमा गम्भीर छलफल गर्ने बताएका छन् । उनका अनुसार यस क्षेत्रका ऊर्जा मार्गहरूलाई विविधीकरण गरेर कुनै एक क्षेत्रमा अत्यधिक निर्भरता घटाउने उपायहरूबारे पनि छलफल हुनेछ । मध्यपूर्वको तनावले विश्व ऊर्जा बजारमा पारेको प्रभावलाई ध्यानमा राख्दै जी–७ राष्ट्रहरू स्थायी समाधानको खोजीमा केन्द्रित देखिएका छन् ।

    राजनीतिक एजेन्डासँगै डिजिटल सुरक्षा र कृत्रिम बौद्धिकता ९एआई० को नियमन पनि सम्मेलनको प्रमुख विषय बनेको छ । ओपनएआईका प्रमुख स्याम अल्टम्यान, एन्थ्रोपिकका डारियो अमोडेई तथा युरोपेली कम्पनी मिस्ट्रल एआईका आर्थर मेन्श बुधबार हुने विशेष कार्यक्रममा सहभागी हुनेछन् । विशेषगरी डिजिटल क्षेत्रमा बालबालिकाको सुरक्षाबारे छलफल गरिने जनाइएको छ ।

    सम्मेलनलाई लक्षित गर्दै फ्रान्सले अभूतपूर्व सुरक्षा व्यवस्था लागू गरेको छ । हजारौँ प्रहरी र सैनिक परिचालन गरिएको छ भने सुरक्षा घेरा छिमेकी स्विट्जरल्यान्डसम्म विस्तार गरिएको छ । सम्मेलनको विरोधमा जेनेभामा प्रदर्शन हुँदा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो । प्रदर्शनकारीहरूले ढुङ्गा, बोतल र पटाका प्रहार गरेपछि प्रहरीले अश्रुग्यास र पानीको फोहरा प्रयोग गरेको थियो ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो ८०औँ जन्मदिन मनाएलगत्तै सम्मेलनमा सहभागी हुन फ्रान्स पुगेका छन् । ह्वाइट हाउसमा आयोजित जन्मोत्सवमा मिश्रित मार्सल आर्ट प्रतियोगिता समेत समावेश गरिएकाले सम्मेलनको समय तालिका नै समायोजन गर्नुपरेको बताइएको छ । जेनेभा तालको शान्त वातावरणमा आयोजित सम्मेलनमा अन्य पश्चिमी नेताहरूले ट्रम्पसँग साझा धारणा निर्माण गर्ने प्रयास गर्ने अपेक्षा गरिएको छ । विशेषगरी हर्मुज जलघाँटी पुनः सञ्चालन र ऊर्जा मूल्य स्थिरतामा सबै पक्षको चासो देखिएको छ ।

    युरोपेली नेताहरू र क्यानाडाले युक्रेन युद्धको विषयमा पनि अमेरिकी समर्थन कायम राख्न ट्रम्पलाई आग्रह गर्ने तयारी गरेका छन् । राष्ट्रपति जेलेन्स्कीले ट्रम्पसँग शान्ति प्रवद्र्धन र जनजीवन जोगाउने उपायबारे छलफल गर्ने अपेक्षा व्यक्त गरेका छन् । ट्रम्पको भ्रमण सोमबार राष्ट्रपति म्याक्रोनसँग द्विपक्षीय वार्ताबाट सुरु हुनेछ । त्यसपछि सहभागी राष्ट्र प्रमुखहरूसँग संयुक्त कार्यभोज आयोजना गरिनेछ । सम्मेलन समाप्त भएपछि पनि ट्रम्पले आफ्नो फ्रान्स बसाइ लम्ब्याएर भर्साइल्स दरबारमा म्याक्रोनसँग विशेष भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

    राष्ट्रपति म्याक्रोनका लागि यो सम्मेलन आफ्नो कार्यकाल समाप्त हुनुअघि युरोपेली रणनीतिक स्वायत्तताको अवधारणालाई थप बलियो बनाउने महत्त्वपूर्ण अवसर मानिएको छ । उता बेलायती प्रधानमन्त्री किर स्टार्मर भने घरेलु राजनीतिक दबाबबीच सम्मेलनमा सहभागी भएका छन् । सम्मेलनमा चीन सहभागी नभए पनि उसका आर्थिक प्रभाव, विशेषगरी दुर्लभ पृथ्वी खनिज र उच्च प्रविधि क्षेत्रमा बढ्दो प्रभावबारे नेताहरूले विस्तृत छलफल गर्ने अपेक्षा गरिएको छ । त्यसैले इभियनमा सुरु भएको जी–७ सम्मेलन केवल आर्थिक मञ्च नभई बदलिँदो विश्व शक्ति सन्तुलन र मध्यपूर्वको भविष्य निर्धारण गर्ने कूटनीतिक केन्द्रका रूपमा उभिएको छ ।

  • कब्जा कायम राख्ने इजरायलको घोषणा

    कब्जा कायम राख्ने इजरायलको घोषणा

    तेल अभिभ (इजरायल), २ असार (रासस–एपी) । इजरायलका रक्षामन्त्री इजरायल काट्जले सोमबार स्पष्ट रूपमा इजरायल लेबनान, सिरिया र गाजा पट्टीमा हाल नियन्त्रणमा रहेको भूमिबाट पछि नहट्ने अडान सार्वजनिक गरेका छन् । अमेरिका र इरानबीचको अन्तरिम शान्ति सम्झौता अघि बढिरहेको सन्दर्भमै आएको यो अभिव्यक्तिले क्षेत्रीय तनाव अझै कायम रहेको सङ्केत दिएको छ ।

    अमेरिका–इरान सम्झौताको औपचारिक हस्ताक्षरका लागि शुक्रबार जेनेभामा वार्ता हुने तयारी भइरहेका बेला इजरायलको यो पहिलो आधिकारिक प्रतिक्रिया सार्वजनिक भएको हो । पाकिस्तानले मध्यस्थकर्ताका रूपमा उक्त भेटवार्ताको जानकारी दिएको छ ।

    रक्षामन्त्री काट्जका अनुसार इजरायलले लेबनान, सिरिया र गाजा पट्टीमा हाल नियन्त्रणमा रहेका क्षेत्रहरू ‘अनिश्चितकालसम्म’ आफ्नो नियन्त्रणमा राख्ने योजना बनाएको छ । उनले लेबनानमा हिजबुल्लाहविरुद्ध जारी सैन्य कारबाही रोक्न इरानसँग भएको अन्तरिम समझदारीलाई पनि शङ्कास्पद रूपमा व्याख्या गरे ।


    उनले इरानले इजरायलमाथि कुनै पनि आक्रमणको प्रयास गरेमा इजरायलले कडा प्रतिकार गर्ने चेतावनी दिँदै ‘ठूलो बल प्रयोग’ गर्ने सङ्केत गरे । पछिल्ला दुई वर्षभन्दा बढी अवधिमा इजरायलले गाजा, लेबनान र सिरियाका विभिन्न क्षेत्रहरूमा करिब एक वर्गकिलोमिटर भूभाग नियन्त्रणमा लिएको छ । यो आकार न्युयोर्क सहरभन्दा केही सानो रहेको बताइएको छ ।

  • युक्रेनको सदस्यता प्रक्रिया अगाडि बढ्यो, पूर्ण सदस्यताको बाटो अझै चुनौतीपूर्ण

    युक्रेनको सदस्यता प्रक्रिया अगाडि बढ्यो, पूर्ण सदस्यताको बाटो अझै चुनौतीपूर्ण

    ब्रसेल्स, २ असार (रासस–एएफपी) । लामो समयको अवरोधपछि युरोपेली सङ्घ (इयु) ले युक्रेनको सदस्यता प्रक्रियालाई अगाडि बढाउने महत्त्वपूर्ण निर्णय गरेको छ । यद्यपि, यसले युक्रेन छिट्टै इयुको पूर्ण सदस्य बन्ने सङ्केत भने गर्दैन । इयुका २७ सदस्य राष्ट्रका विदेशमन्त्रीहरूले सोमबार युक्रेन तथा छिमेकी मोल्डोभासँग इयुको कानून तथा मापदण्डसँग समायोजन गर्ने पहिलो चरणको औपचारिक वार्ता सुरु गर्ने निर्णय गरेका छन् । हङ्गेरीका राष्ट्रवादी नेता भिक्टर ओर्बानले युक्रेनको सदस्यता प्रक्रियामा लामो समयदेखि अवरोध सिर्जना गर्नुभएको थियो । तर अप्रिलमा प्रतिद्वन्द्वी पिटर मग्यारसँग चुनावी पराजय भोगेपछि युक्रेनको सदस्यता प्रक्रियाले पुनः गति लिन थालेको हो ।

    युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयन र युरोपेली परिषद्का अध्यक्ष एन्टोनियो कोस्टाले संयुक्त विज्ञप्ति जारी गर्दै युक्रेन र मोल्डोभाले कठिन परिस्थितिका बाबजुद सुधारका कार्यक्रमलाई निरन्तरता दिएको भन्दै प्रशंसा गरेका छन् । उनीहरुले बढ्दो विश्वव्यापी अनिश्चितताको अवस्थामा अझ बलियो र विस्तारित युरोपेली सङ्घ सबै सदस्य राष्ट्रहरूको साझा हितमा रहेको बताए ।


    रुसको आक्रमणपछि सदस्यताका लागि आवेदन दिएको चार वर्षपछि युक्रेनले इयुको सदस्यता प्रक्रियामा उल्लेखनीय प्रगति हासिल गरेको भए पनि पूर्ण सदस्यता प्राप्त गर्न अझै धेरै चुनौतीहरू बाँकी छन् । युक्रेनले आफ्नो कानूनी संरचना, प्रशासनिक संस्था तथा विभिन्न मापदण्डहरूलाई इयुका नियमअनुसार रूपान्तरण गर्नुपर्नेछ । त्यसैले वर्तमान निर्णयलाई सदस्यता प्रक्रियाको महत्त्वपूर्ण उपलब्धि मानिए पनि पूर्ण सदस्यताको यात्रा अझै लामो रहने विश्लेषण गरिएको छ ।

    युक्रेनको इयु सदस्यता प्रक्रियामा वातावरण, कृषि, न्याय, सुरक्षा लगायतका क्षेत्र समेटिएका ३५ वटा अध्यायमा आधारित वार्ताहरू समावेश छन्, जसलाई छ वटा समूहमा विभाजन गरिएको छ । यद्यपि, इयुको निर्णय प्रक्रिया राजनीतिक रूपमा संवेदनशील भएकाले कुनै पनि सदस्य राष्ट्रले विभिन्न चरणमा युक्रेनको प्रगतिलाई रोक्न सक्ने अवस्था रहन्छ ।

    एक युरोपेली कूटनीतिज्ञले नाम नखुलाउने सर्तमा एएफपीसँग कुरा गर्दै युक्रेनको सदस्यता प्रक्रिया लामो र चुनौतीपूर्ण रहेको बताए । उनका अनुसार युक्रेन युद्धको अवस्थामा छ र सङ्गठित अपराध नियन्त्रणलगायतका विषयमा अझै महत्त्वपूर्ण सुधार आवश्यक छ । साथै, सदस्य बनेमा युक्रेन इयुको तेस्रो ठूलो राष्ट्र हुनेछ ।

    उनले युक्रेनको इयु प्रवेश छिट्टै हुने अपेक्षा यथार्थपरक नभएको पनि बताए । हङ्गेरीका नेता पिटर मग्यारले युक्रेनले आगामी १० देखि १५ वर्षभित्र सदस्यता सम्बन्धी सबै वार्ता पूरा गरेमा त्यसको इयु प्रवेशबारे जनमत सङ्ग्रह गराउने वाचा गरे । युक्रेनको सदस्यता प्रक्रियाबारे इयुभित्र विभिन्न वैकल्पिक मोडेलबारे पनि छलफल बढ्दै गएको छ ।

    जर्मन चान्सलर फ्रेडरिक मेर्जले अप्रिलमा युक्रेनलाई तत्काल पूर्ण सदस्य बनाउने सम्भावना नरहेको बताएका िथए । उनले मतदान अधिकारबिनाको ‘सहयोगी सदस्य’ को अवधारणा अघि सारेका छन् । जसअन्तर्गत युक्रेनले पूर्ण सदस्यताको प्रक्रिया पूरा नहुँदासम्म सीमित सहभागिता पाउन सक्छ । तर युक्रेनले यस्तो प्रस्तावप्रति शङ्का व्यक्त गरेको छ । किएभले अन्तरिम व्यवस्थाले आफूलाई स्थायी रूपमा पूर्ण सदस्यताभन्दा बाहिर राख्न सक्ने चिन्ता व्यक्त गरेको छ । राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले युक्रेनको इयु प्रवेश पूर्ण अधिकारसहितको सदस्यताका रूपमा हुनुपर्नेमा जोड दिए ।
    – इयु सुधारको आवश्यकता –

    युक्रेन, मोल्डोभा तथा अन्य उम्मेदवार राष्ट्रहरूको सङ्ख्या बढ्दै जाँदा इयुभित्र पनि संस्थागत सुधारको आवश्यकता महसुस गरिएको छ । जर्मनी र फ्रान्ससहित छ सदस्य राष्ट्रले नयाँ सदस्यहरूको आगमनलाई ध्यानमा राख्दै मतदान प्रणालीमा सुधार, केही क्षेत्रमा भिटो अधिकार सीमित गर्ने तथा कानूनी शासनसम्बन्धी मापदण्ड कडा बनाउने विषयमा छलफल गर्न आग्रह गरेका छन् । हाल पश्चिमी बाल्कनका मोन्टेनेग्रो र अल्बानिया सदस्यताको सबैभन्दा नजिक रहेका उम्मेदवार मानिन्छन् । विश्लेषकहरूका अनुसार एकैपटक धेरै नयाँ सदस्य थपिँदा इयुको निर्णय प्रक्रिया जटिल बन्न सक्ने जोखिम छ ।

    – २०३० सम्मको लक्ष्य –

    युक्रेन र उसका समर्थकहरूका लागि इयु सदस्यता केवल राजनीतिक परियोजना नभई रणनीतिक र सुरक्षा सम्बन्धी मुद्दा पनि बनेको छ । जेलेन्स्कीले वार्ता प्रारम्भ हुनु युक्रेनका लागि ‘महत्त्वपूर्ण राजनीतिक र नैतिक समर्थन’ भएको बताए । उनले युक्रेनले आवश्यक सुधारहरू गरिरहेको उल्लेख गर्दै इयुले पनि आफ्ना प्रतिबद्धता पूरा गर्नुपर्ने बताए ।

    लिथुआनियाका विदेशमन्त्री केस्टुटिस बुड्रिसले इयु सन् २०३० सम्म युक्रेनलाई सदस्यता दिन तयार हुनुपर्ने धारणा व्यक्त गरे । तर उनले अन्तिम निर्णय युक्रेनले आवश्यक सुधार पूरा गर्न सकेको अवस्था र वार्ताको प्रगतिमा निर्भर रहने स्पष्ट पारे । “यसको अर्थ सन् २०३० मै युक्रेन सदस्य बन्छ भन्ने ग्यारेन्टी होइन । तर त्यसबेलासम्म इयु युक्रेनलाई स्वीकार गर्न तयार हुनुपर्छ”, उनले भने ।

  • अमेरिका–इरान शान्ति सम्झौतापछि विश्वको प्रतिक्रिया के छ ?

    अमेरिका–इरान शान्ति सम्झौतापछि विश्वको प्रतिक्रिया के छ ?

    पेरिस, २ असार (रासस–एएफपी) । अमेरिका र इरानबीच शान्ति सम्झौता तथा सबै मोर्चामा सैन्य कारबाही अन्त्य गर्ने सहमति सार्वजनिक भएपछि विश्व समुदायले त्यसलाई मध्यपूर्वमा स्थायित्व ल्याउने सम्भावित अवसरका रूपमा लिएको छ । संयुक्त राष्ट्रसङ्घदेखि युरोप, खाडी क्षेत्र र एसिया–प्रशान्तका मुलुकहरूले सम्झौताको स्वागत गर्दै यसको सफल कार्यान्वयनमा जोड दिएका छन् ।

    संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले सम्झौतालाई द्वन्द्वको शान्तिपूर्ण समाधानतर्फको महत्त्वपूर्ण कदमको संज्ञा दिएका छन् । उनले संवाद र कूटनीतिक प्रयासलाई दीर्घकालीन शान्तिको आधार मान्दै सबै पक्षलाई सहमतिको पूर्ण कार्यान्वयनतर्फ अग्रसर हुन आग्रह गरे ।


    फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले हर्मुज जलघाँटी तत्काल र बिना शर्त पुनः खोलिनुपर्ने बताए । उनले फ्रान्स र बेलायत सम्झौताको कार्यान्वयनमा सहयोग गर्न तयार रहेको जनाउँदै लेबनानमा राज्यको सार्वभौमिकता पुनःस्थापित गर्ने प्रयासलाई पनि समर्थन गर्ने स्पष्ट पारे । इरानको आणविक र ब्यालिस्टिक कार्यक्रमसँग सम्बन्धित चिन्ताहरूको समाधान पनि आवश्यक रहेको उनको भनाइ छ ।

    बेलायती प्रधानमन्त्री किर स्टार्मरले हर्मुज जलघाँटीमा सुरक्षित र स्वतन्त्र जलयातायात पुनःस्थापित हुनुपर्नेमा जोड दिए । उनले बेलायत समुद्री खानी हटाउने कार्यमा सहयोग गर्न तयार रहेको बताउँदै इरानले कहिल्यै आणविक हतियार विकास गर्नु नहुने बेलायतको पुरानो अडान पुनः दोहोर्‍याए । कतारको विदेश मन्त्रालयले क्षेत्रीय सुरक्षा र स्थिरता सुदृढ गर्ने उद्देश्यले गरिएका सबै कूटनीतिक प्रयासप्रति पूर्ण समर्थन व्यक्त गरेको छ । कतारले वार्ता र मध्यस्थताको माध्यमबाट स्थायी समाधान खोज्ने प्रयासलाई निरन्तरता दिनुपर्ने उल्लेख गरेको छ ।

    टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगनले सम्झौतामा औपचारिक हस्ताक्षर नहुँदासम्म सबै पक्षलाई संयम अपनाउन आग्रह गरे । उनले तनाव बढाउने अभिव्यक्ति, उक्साहटपूर्ण गतिविधि तथा सम्भावित तोडफोडका प्रयासप्रति सतर्क रहनुपर्ने आवश्यकता औँल्याए । जापानकी प्रधानमन्त्री साने ताकाइचीले हर्मुज जलघाँटी हुँदै सुरक्षित र स्वतन्त्र जलयातायात सुनिश्चित हुने अपेक्षा व्यक्त गरिन् । इरानको आणविक कार्यक्रमलगायत बाँकी विवादित विषयमा पनि चाँडै अन्तिम सहमति हुनुपर्ने उनको धारणा छ ।

    अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिज र विदेशमन्त्री पेनी वोङले अमेरिका र इरान दुवैलाई निरन्तर संयम र रचनात्मक संवाद कायम राख्न आग्रह गरे । संयुक्त विज्ञप्तिमार्फत उहाँहरूले इरानको आणविक कार्यक्रमसँग जोडिएका अन्तर्राष्ट्रिय सुरक्षा चिन्ताहरूको समाधान अपरिहार्य रहेको बताए । न्युजिल्यान्डका प्रधानमन्त्री क्रिस लक्सनले हर्मुज जलघाँटी पुनः सञ्चालनमा आउनुले विश्व व्यापार मार्गलाई स्थिर बनाउने, इन्धन आपूर्ति सहज पार्ने तथा विश्व अर्थतन्त्रलाई गति दिने विश्वास व्यक्त गरे । विश्व नेताहरूका प्रतिक्रियाले मध्यपूर्वमा युद्धको अन्त्य मात्र नभई ऊर्जा सुरक्षा, अन्तर्राष्ट्रिय व्यापार र क्षेत्रीय स्थायित्वप्रतिको साझा चासोलाई पनि स्पष्ट रूपमा प्रतिबिम्बित गरेको छ ।

  • जापानी प्रशंसकको सफाइ संस्कृति चर्चामा

    जापानी प्रशंसकको सफाइ संस्कृति चर्चामा

    अर्लिन्टन (संयुक्त राज्य अमेरिका), २ असार (रासस–एएफपी) । विश्वकप फुटबलमा खेलको रोमाञ्चसँगै जापानी समर्थकहरूको व्यवहारले पनि अन्तर्राष्ट्रिय ध्यान तानेको छ । टेक्सासमा नेदरल्यान्ड्ससँग २–२ को बराबरीपछि जापानका प्रशंसकहरूले स्टेडियमलाई आफैँ सफा गर्दै बेदाग अवस्थामा छोडेपछि उनीहरूको ‘सफाइ संस्कृति’ फेरि चर्चाको केन्द्र बनेको हो ।

    खेलपछि दर्शकहरू केही समय स्टेडियममै बसेर आफ्ना सिट वरिपरि फोहोर सावधानीपूर्वक सङ्कलन गर्दै नीलो प्लास्टिक झोलामा राख्दै सफा गरेका थिए । उनीहरूले यो व्यवहार जापानमा सानै उमेरदेखि सिकाइने संस्कारको हिस्सा भएको बताएका छन् । जापानी प्रशंसक इटा तनाकाले आफूहरूलाई विद्यालयदेखि नै प्रयोग गरिएको स्थान सफा राख्न सिकाइने बताउँदै ‘हामीले सबैको बारेमा सोच्नुपर्छ’ भन्ने धारणा आत्मसात गरिएको उल्लेख गरे ।


    उनका अनुसार जापानी समाजमा कुनै स्थान प्रयोग गरेपछि त्यसलाई आफूले पाएको भन्दा अझ सफा बनाएर छोड्ने अभ्यास सामान्य मानिन्छ । विद्यालयमा शिक्षकको निर्देशनबिना नै कक्षाकोठा सफा गर्ने परम्परा पनि त्यही संस्कारको हिस्सा भएको उनको भनाइ छ । जापान आफ्नो लगातार आठौँ विश्वकपमा सहभागी भइरहेको छ र यस क्रममा समर्थकहरूको अनुशासित व्यवहार विश्वभर चिनिने विशेषता बनेको छ । खेलपछि एनएफएल क्वार्टरब्याक जेमिस विन्स्टनलाई पनि सफाइ अभियानमा सहभागी भएको देखिएपछि जापानी समर्थकहरूको अभ्यास झन् चर्चित बनेको छ ।

    जापानी समर्थक फुटो हागिवाराले आफ्ना देशवासीहरूको व्यवहारले अन्तर्राष्ट्रिय रूपमा सकारात्मक रूपमा पहिचान पाएकोमा गर्व व्यक्त गरे । उनका अनुसार यो केवल व्यवहार मात्र नभई सांस्कृतिक र मानसिक अनुशासनको प्रतिबिम्ब हो, जसले जहाँ गए पनि आफ्नो वरिपरि सफा राख्ने जिम्मेवारी सम्झाउँछ ।

    समाजशास्त्री तथा दार्शनिक मसाची ओसावाका अनुसार यस्तो व्यवहार सामाजिक जिम्मेवारी र समूहभित्रको दबाबको संयोजनबाट उत्पन्न हुन्छ । उनले जापानी समाजमा व्यक्तिगतभन्दा सामूहिक अनुशासनलाई बढी महत्त्व दिइने बताउँदै सानो स्तरका नैतिक व्यवहारप्रति अत्यन्त संवेदनशीलता देखिने उल्लेख गरे ।
    जापानमा बाल्यकालदेखि नै सरसफाइ शिक्षामा जोड दिइन्छ ।

    विद्यालयमा विद्यार्थीहरूले दैनिक रूपमा कक्षाकोठा र विद्यालय परिसर आफैँ सफा गर्ने अभ्यास गर्छन् । सार्वजनिक फोहोर फाल्ने भाँडाहरू कम हुने भएकाले मानिसहरूले आफ्नो फोहोर आफैँ घर फर्काएर व्यवस्थापन गर्ने परम्परा पनि त्यहाँ स्थापित छ ।

    ओसाका विश्वविद्यालयका समाजशास्त्रका एमेरिटस प्राध्यापक स्कट नर्थका अनुसार जापानी समुदायहरूमा समूहगत कार्यशैली बलियो हुन्छ, जसको प्रभाव खेलमैदानमा देखिने समर्थकहरूको व्यवहारसँग मिल्दोजुल्दो छ । उनका अनुसार त्यहाँ नेतृत्व र अनुयायीबीचको समन्वय उच्च स्तरमा रहन्छ र समूह निर्णयलाई सबैले स्वीकार गर्ने संस्कार विकसित भएको छ ।

    समाजशास्त्री ओसावाले यसलाई ‘अरूको व्यवहार बुझेर परिस्थितिअनुसार चल्ने’ संस्कारसँग जोड्दै कुनै एक व्यक्तिले फोहोर उठाउन थालेपछि अरूले पनि सहजै सहभागिता जनाउने सामाजिक मनोवृत्ति रहेको बताए । उनका अनुसार यस्तो व्यवहारमा मुख्य प्रेरणा व्यक्तिगत देखावटी नभई समूहभित्र नकारात्मक छाप नपरोस् भन्ने सामाजिक दबाब हुन्छ ।

    जापानी समर्थकहरूका अनुसार यस्तो व्यवहार उनीहरूको दैनिकी संस्कारकै विस्तार हो । उनीहरू आगामी खेलहरूमा पनि यही अभ्यास कायम राख्ने बताउँछन् । जापानले शनिबार मेक्सिकोमा ट्युनिसियासँग खेल्ने तयारी गरिरहेको छ र समर्थकहरूले आफूहरू उदाहरणीय व्यवहारमार्फत विश्वलाई सन्देश दिने लक्ष्य राखेको बताएका छन् । “हामीले अरूलाई भन्नु भन्दा आफ्नै व्यवहार देखाउँछौँ र अरूले त्यसलाई पछ्याउँछन्”, समर्थक हागिवाराले भने ।

  • इथियोपियामा भीषण बस दुर्घटना, कम्तिमा २८ को मृत्यु

    इथियोपियामा भीषण बस दुर्घटना, कम्तिमा २८ को मृत्यु

    आदिस अबाबा, २ असार (रासस–एएफपी) । उत्तरी इथियोपियामा सोमबार भएको दर्दनाक बस दुर्घटनामा कम्तीमा २८ जनाको ज्यान गएको छ भने अन्य धेरै यात्रु घाइते भएको स्थानीय अधिकारीहरूले जनाएका छन् । बस सडकबाट चिप्लिएर गहिरो खोलामा खस्दा ठूलो मानवीय क्षति भएको हो । अम्हारा क्षेत्रको डेसी सहरबाट राजधानी आदिस अबाबातर्फ जाँदै गरेको बस करिब १०० मिटर ९३३० फिट० गहिरो खोलामा खसेको बताइएको छ । स्थानीय अधिकारीहरूले सामाजिक सञ्जाल फेसबुकमार्फत घटनाबारे जानकारी दिँदै दुर्घटनापछि उद्धार तथा अनुसन्धान कार्य जारी रहेको बताएका छन् ।

    अधिकारीहरूका अनुसार २८ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ भने अन्य यात्रुहरू गम्भीर र सामान्य रूपमा घाइते भएका छन् । घाइतेहरूलाई नजिकका स्वास्थ्य केन्द्रहरूमा उपचारका लागि लगिएको छ । बसमा सवार यात्रुहरूको यकिन सङ्ख्या भने सार्वजनिक गरिएको छैन । दुर्घटनापछि सार्वजनिक गरिएका तस्बिरहरूमा पहाडी खोलामा पल्टिएको बस लगभग पूर्ण रूपमा क्षतिग्रस्त अवस्थामा देखिएको छ, जसले दुर्घटनाको भयावहता झल्काएको छ ।

    इथियोपियामा सडक दुर्घटनाहरू बारम्बार हुने गरेका छन् । यसको प्रमुख कारणमध्ये कमजोर सडक पूर्वाधार र सवारी सुरक्षाको अभावलाई लिइन्छ । अफ्रिकाको दोस्रो सबैभन्दा बढी जनसङ्ख्या भएको देश इथियोपियामा यस्ता घटनाहरू सामान्यजस्तै बनेका छन् । यसअघि पनि पछिल्ला वर्षहरूमा यस्ता ठूला दुर्घटनाहरू भएका छन् । सन् २०२४ डिसेम्बरमा दक्षिणी क्षेत्रमा विवाह समारोहमा सहभागी गाडी नदीमा खस्दा ७० भन्दा बढीको मृत्यु भएको थियो । यसलाई पछिल्लो एक चौथाइ शताब्दीकै सबैभन्दा घातक दुर्घटनामध्ये एक मानिएको छ ।

    त्यसैगरी, सोही वर्ष सेप्टेम्बरमा दक्षिणी वोलाइटा क्षेत्रमा अर्को बस दुर्घटनामा कम्तीमा २८ जनाको ज्यान गएको थियो भने १९ जना गम्भीर घाइते भएका थिए ।यस पछिल्लो घटनाले इथियोपियामा सडक सुरक्षासम्बन्धी चुनौतीहरू फेरि एकपटक गम्भीर रूपमा उजागर गरेको छ।

  • न्यूजिल्यान्ड र इरानबीचको खेल बराबरीमा टुङ्गियो

    न्यूजिल्यान्ड र इरानबीचको खेल बराबरीमा टुङ्गियो

    काठमाडौँ, २ असारः फिफा विश्वकप–२०२६ अन्तर्गत आज भएको खेलमा न्यूजिल्यान्ड र इरानबीचको खेल बराबरीमा सकिएको छ । अमेरिकाको क्यार्लिफोर्नियास्थित लस एन्जलस स्टेडियममा आज भएको खेलमा न्यूजिल्यान्ड र इरानबीचको खेल २–२ गोलको बराबरीमा समाप्त भएको हो । न्युजिल्यान्डका इलाइजा जस्टले खेलको सातौँ मिनेटमै गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाए ।

    त्यसपछि इरानले खेलको ३२औँ मिनेटमा रेजाइयानको उत्कृष्ट गोलमार्फत खेल बराबरीमा ल्याए । खेलको दोस्रो हाफको ५४औँ मिनेटमा जस्टले व्यक्तिगत दोस्रो गोल न्युजिल्यान्डलाई २–१ को अग्रता दिलाए । त्यसपछि खेलको ६४औँ मिनेटमा इरानका मोहम्मद मोहब्बीले हेडमार्फत गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए ।

  • तीनसय वर्ष पुरानो मत्स्यनारायण मन्दिरमा एकमहिने मेला सम्पन्न

    तीनसय वर्ष पुरानो मत्स्यनारायण मन्दिरमा एकमहिने मेला सम्पन्न

    भक्तपुर, २ असारः तीन सय वर्ष पुरानो ऐतिहासिक मत्स्यनारायण मन्दिर परिसरमा लागेको एकमहिने मेला सम्पन्न भएको छ । भक्तपुरको दक्षिणतर्फ खरिपाटी, देकोचा, चाँगुनारायण मन्दिर र नगरकोट चारैतिरबाट पक्की सडक हुँदै पुग्न सकिने चाँगुनारायण नगरपालिका–५ छालिङ गोकुलधामस्थित उक्त मेला सोमबार सम्पन्न भएको हो । एकमहिने पुरुषोत्तम मेलामा सत्सग, प्रवचन, भजनलगायतको प्रतुतिसहित सोमबारदेखि एकमहिने मेला सम्पन्न भएको मेला आयोजना समितिका संयोजक गोकर्ण पुरीले जानकारी दिए ।

    मेला व्यवस्थापन गर्न सिङ्गो गाउँ लागेको बताउँदै उनले स्थानीयस्तरबाटै महिना दिनसम्मका लागि प्रवचन र भजनकीर्तनको व्यवस्था, नारायणको पूजा÷पुरुषोत्तम महात्म्य वाचन, यहाँ आउने दर्शनार्थीलाई सहज पूजा गर्ने व्यवस्था गरिएको बताए । भक्तपुरका चारवटै नगरपालिका, काठमाडौँ, ललितपुर, साँखु, मूलपानी, काभ्रेपलाञ्चोकलगायत विभिन्न ठाउँका दर्शनार्थीको मन्दिरमा आगमन भएको थियो ।

    मन्दिरको संरक्षकसमेत रहेका पुरीले भने, “यो ३०० वर्ष पुरानो मन्दिर हो, दुई पीपलको बोटको बीचमा रहेको मन्दिर भत्किएपछि पुनःनिर्माण गरिएको हो, यसको शिलालेख पुरिएकाले उत्खनन् र अध्ययन गर्नुपर्ने देखिन्छ, १०० पुरानो पुजाको थाली भने अझै पनि छ, मन्दिरको संरक्षणमा यहाँका बासिन्दा सबै जुटेपछि अहिले यो मन्दिर वर्षभरि नै आन्तरिक पर्यटकको केन्द्र बनेको छ ।”

    स–साना तीन खोलाको सङ्गमस्थलमा रहेको यस मन्दिरलाई त्रिवेणी धामका नामले चिनिने गरिन्छ । मन्दिर संरक्षणसँगै ६४ शिवलिङ्ग, सप्तऋषिको मन्दिर, कृष्ण वर्तेश्वर महादेव मन्दिर, गणेश मन्दिर र कुण्डसमेत रहेको यस मन्दिर परिसरमा मलमासमा ५० हजारभन्दा बढी दर्शनार्थीको आगमन हुने तथा यसले आन्तरिक पर्यटनको विकासमा टेवा पुग्ने विश्वास रहेको बताए ।


    यहाँको कुण्डमा स्नान गरेमा छालालगायत विभिन्न रोग नाश हुने जनविश्वास रहँदै आएको छ । मच्छेनारायण मन्दिर परिसरमा रहेको श्रीकृष्णवर्तेश्वर महादेव मन्दिर परिसरमा एउटै विशाल ढुङ्गाबाट निर्माण गरिएको २५ हजार ७७७ किलोग्रामको गीताचार्य श्रीकृष्ण भगवाणको विराट स्वरुप श्रीमूर्तिको यसै वर्ष स्थापना गरिएपछि यहाँको धार्मिक महत्व र आकर्षण अझै बढेको वडाध्यक्ष जयन्द्र खड्काले बताए ।

    ख्यो पुखमा एकमहिने मेला सम्पन्न

    यसैगरी, भक्तपुर नगरपालिका–६ स्थित अंचा पोखरी (ख्यो पुखु) मा लागेको एकमहिने मेला सोमबारदेखि सम्पन्न भएको छ । सोमबार नै एकमहिने मत्स्यनारायण अर्थात् पुरुषोत्तम मलमास मेला सम्पन्न भएको हो । यस मन्दिरमा पनि एक महिनासम्म नारायणको पूजा, पुरुषोत्तम महात्म्य वाचन गरिने र यहाँका कुण्डमा स्नान गरी मन्दिरमा दर्शन गरे रोगव्याधि नष्ट हुने, पापकर्म नष्ट हुने जनविश्वास रहँदै आएकाले भक्तपुर नगरका बासिन्दाले यहाँ पूजा, दर्शन एवं स्नान गरेको मेला व्यवस्थापन समितिले जानकारी दिएको छ ।

  • हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास

    हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास

    इस्लामावाद, २ असार (रासस–एपी) । संयुक्त राज्य अमेरिका र इरानबीच हर्मुज जलघाँटी पुनः खोल्ने तथा इरान युद्धमा लागू रहेको अस्थिर युद्धविरामलाई थप विस्तार गर्ने उद्देश्यसहित प्रारम्भिक अन्तरिम सम्झौता भएको घोषणा गरिएको छ । यदि यो सम्झौता कार्यान्वयनमा आयो भने विश्व बजारमा तेल र प्राकृतिक ग्यासको आपूर्ति पुनः सहज भई ऊर्जा सङ्कटको जोखिम घट्ने तथा विश्व अर्थतन्त्रमा स्थिरता आउने अपेक्षा गरिएको छ ।

    यद्यपि सम्झौताका पूर्ण विवरण तत्काल सार्वजनिक गरिएको छैन । इरानले भने औपचारिक हस्ताक्षर नभएसम्म कुनै पनि प्रावधान कार्यान्वयनमा नल्याइने स्पष्ट पारेको छ । प्रमुख मध्यस्थकर्ताको भूमिका खेलेको पाकिस्तानका अनुसार सम्झौतामा हस्ताक्षर आगामी शुक्रबार स्विट्जरल्यान्डमा हुन सक्नेछ । यो सहमतिले मध्यपूर्वमा हजारौँको ज्यान लिएको युद्ध अन्त्य गर्ने सम्भावित मार्ग खोल्न सक्ने विश्लेषण गरिएको छ ।

    तर प्रारम्भिक सहमतिले सुरुदेखि नै अनेक चुनौतीको सामना गरिरहेको छ । विशेषगरी लेबनानमा इरान समर्थित हिजबुल्लाह र इजरायलबीच जारी तनावले वार्तालाई प्रभावित गर्ने जोखिम देखिएको छ । आइतबार इजरायलले बेरुतको दक्षिणी क्षेत्रमा आक्रमण गरेपछि क्षेत्रीय तनाव पुनः बढेको थियो ।

    सम्झौताअन्तर्गत सबैभन्दा जटिल विषय इरानको अत्यधिक समृद्ध युरेनियम भण्डार र आणविक कार्यक्रमको भविष्य हो । यी विषयमा समाधान खोज्न पक्षहरूलाई ६० दिनको समय दिइएको छ । सन् २०१५ मा भएको आणविक सम्झौतामा यस्ता विषय टुङ्ग्याउन वर्षौं लागेको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो पहिलो कार्यकालमा उक्त सम्झौताबाट अमेरिका बाहिरिएको निर्णय गरेपछि तनाव क्रमशः बढ्दै युद्धको अवस्थामा पुगेको थियो ।

    ह्वाइट हाउसमा आफ्नो ८०औँ जन्मदिनको अवसरमा आयोजित कार्यक्रममा ट्रम्पले सामाजिक सञ्जालमार्फत युद्धविराम प्रयासलाई स्वागत गर्दै हर्मुज जलघाँटी खुलाउन तथा अमेरिकी नौसैनिक नाकाबन्दी हटाउने आदेश दिएको घोषणा गरेका थिए । तर उनले शुक्रबार औपचारिक हस्ताक्षर नभएसम्म जलघाँटी पूर्ण रूपमा सञ्चालनमा नआउने पनि स्पष्ट पारे ।


    इरानका उपविदेशमन्त्री काजेम घारिबाबादीले सरकारी टेलिभिजनमार्फत सम्झौताको पुष्टि गर्दै हस्ताक्षरपछि मात्रै कार्यान्वयन सुरु हुने बताए । उनका अनुसार कतारको मध्यस्थतामा भएको वार्तापछि यो समझदारी सम्भव भएको हो । इजरायलले भने यस विषयमा तत्काल कुनै औपचारिक प्रतिक्रिया दिएको छैन । इजरायलले दक्षिणी लेबनानमा आफ्ना सैन्य कारबाही जारी राख्ने विषयमा विशेष जोड दिँदै आएको छ । फेब्रुअरी २८ मा अमेरिका इजरायलसँग मिलेर युद्धमा संलग्न भएको थियो ।

    सम्झौताप्रतिको आशावादले अन्तर्राष्ट्रिय बजारमा तत्काल प्रभाव देखिएको छ । बेन्चमार्क ब्रेन्ट कच्चा तेलको मूल्य प्रति ब्यारेल चार डलरभन्दा बढीले घटेको छ भने एसियाली शेयर बजारमा उल्लेख्य वृद्धि देखिएको छ । पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफले सबै पक्षले लेबनानसहितका सबै मोर्चामा सैन्य गतिविधि स्थायी रूपमा अन्त्य गर्ने घोषणा गरेको जानकारी दिए । तर इजरायलले यस विषयमा औपचारिक सहमति जनाएको छ वा छैन भन्ने अझै स्पष्ट छैन ।

    पाकिस्तानी अधिकारीहरूका अनुसार आगामी ६० दिनभित्र इरानको आणविक कार्यक्रमलगायत बाँकी विवादित विषयमा व्यापक वार्ता हुनेछ । आवश्यक परे समयसीमा थप लम्ब्याउन सकिने पनि जनाइएको छ । इरानी सरकारी सञ्चारमाध्यमले सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयलाई उद्धृत गर्दै युद्ध तत्काल अन्त्य हुने र अमेरिकी नाकाबन्दी पूर्ण रूपमा हटाइने जनाएको छ ।

    वार्ताको संवेदनशीलताका कारण नाम नखुलाउने सर्तमा बोल्ने अधिकारीहरूका अनुसार १७ घण्टा लामो छलफलपछि कतारी मध्यस्थकर्ताहरू तेहरानबाट फर्किएका थिए । यस साताभित्र दोहामा पक्षहरूसँग छुट्टाछुट्टै प्राविधिक बैठक हुने तयारी छ । शुक्रबार हुने हस्ताक्षर समारोहमा इरानको प्रतिनिधित्व कसले गर्ने भन्ने अझै तय भएको छैन । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले ह्वाइट हाउसले सहभागीहरूको सूची अन्तिम रूप दिइरहेको बताएका छन् ।

    उनी स्वयं उपस्थित हुने सम्भावना रहेको र राष्ट्रपति ट्रम्प पनि सहभागी हुन सक्ने सङ्केत दिएका छन् । यसैबीच अमेरिकाभित्रै सम्झौताप्रति शङ्का व्यक्त हुन थालेको छ । रिपब्लिकन सिनेटर लिन्डसे ग्राहमले इरान र अमेरिकी वार्ता टोलीको व्याख्या फरक देखिएको भन्दै चिन्ता व्यक्त गरेका छन् । न्युयोर्कका सांसद ग्रेगरी मीक्सले पनि इरानसँग हुने कुनै पनि सम्झौताको अमेरिकी कंग्रेसले निगरानी गर्ने बताए ।

    युद्धले इरानभित्र राजनीतिक परिवर्तन पनि ल्याएको छ । प्रारम्भिक आक्रमणमा सर्वोच्च नेता आयातोल्लाह अली खामेनी मारिएपछि उनका छोरा आयातोल्लाह मोजताबा खामेनी नयाँ सर्वोच्च नेता बनेका छन् । उनी सार्वजनिक रूपमा नदेखिए पनि सम्झौताका लागि उनको स्वीकृति अनिवार्य मानिएको छ ।

    विश्लेषकहरूका अनुसार सम्झौता सफल भए पनि विश्व ऊर्जा आपूर्ति पूर्ण रूपमा सामान्य अवस्थामा फर्किन समय लाग्न सक्छ । ढुवानी र बीमा कम्पनीहरूले दीर्घकालीन स्थायित्वको सुनिश्चितता खोजिरहेका छन् । उता इरानसँग अझै पनि ठूलो मात्रामा ब्यालेस्टिक क्षेप्यास्त्र र उच्च समृद्ध युरेनियम रहेको बताइन्छ, जसले भविष्यमा फेरि तनाव बढ्न सक्ने चिन्ता कायम राखेको छ ।

    अमेरिकाले सम्झौताअन्तर्गत इरानबाट समृद्ध युरेनियम हटाउन माग गरेको छ । रुसले उक्त सामग्री आफ्नो नियन्त्रणमा लिन प्रस्ताव गरेको भए पनि इरानले आफ्नो युरेनियम भण्डार कायम राख्ने अडान सार्वजनिक रूपमा दोहो¥याउँदै आएको छ । यही विषय आगामी वार्ताको सबैभन्दा कठिन मुद्दा बन्ने अनुमान गरिएको छ ।

  • फिफा विश्वकप–२०२६ : उरुग्वे र साउदी अरबबीचको खेल बराबरी

    फिफा विश्वकप–२०२६ : उरुग्वे र साउदी अरबबीचको खेल बराबरी

    काठमाडौँ, २ असारः फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘एच’ को उरुग्वे र साउदी अरबबीचको खेल बराबरीमा टुङ्गिएको छ । अमेरिकाको फ्लोरिडास्थित मियामी स्टेडियममा आज बिहान भएको खेलमा दुवै टोलीले १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेका हुन् । खेलको ४१औँ मिनेटमा साउदीले पहिलो अग्रता लिएको थियो । उसका लागि अब्दुल्लाह अलाम्रीले गोल गर्दै साउदीलाई अग्रता दिलाएका हुन् । त्यस्तै साउदीको १–० गोलको अग्रता लामो समयसम्म टिक्न सकेन ।

    खेलको ८० आँै मिनेटमा उरुग्वेका लागि म्याक्सी अराजोले गोल गर्दै खेललाई बराबरीमा ल्याए । त्यसपछि दुवै टोलिले गोल गर्न सकेन्न र अन्तत: खेल १–१ गोलको बराबरीमा सकियो । यस खेलसँगै समूह ‘एच’ मा चार वटै टोलीले पहिलो खेलपछि समान एक एक अङ्क जोडेका छन् । गए राति भएको समूह ‘एच’ कै अर्को खेलमा स्पेन र केपभर्डेले पनि १–१ को बराबरी खेलेका थिए ।

  • विश्वकप फुटबलः स्पेन र केप भर्डेलबीचको खेल बराबरी

    विश्वकप फुटबलः स्पेन र केप भर्डेलबीचको खेल बराबरी

    काठमाडौँ, २ असारः फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत सोमबार भएको विश्वकप विजेता स्पेन र अफ्रिकन राष्ट्र केप भर्डेलबीचको खेल बराबरीमा टुङ्गिएको छ । अमेरिकाको एटलान्टास्थित एट्लान्टा रङ्गशालामा सम्पन्न खेलको निर्धारित समयसम्म दुवै टोलीले गोल गर्न नसकेपछि खेल गोलरहित बराबरीमा टुङ्गिएको हो ।

    सन् २०१० को विश्वकप विजेता स्पेनले विश्वकपमा नवप्रवेशी टोली केप भर्डेलससँग निकै दबाबमा खेले पनि गोल गर्न भने सकेन । यस बराबरी खेलसँगै विश्वकपको समूह ‘एच’मा रहेका दुवै टोलीले समान एक\एक अङ्क जोडेका छन् ।

  • चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

    चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

    काठमाडौँ, २ असारः कृषि, वन तथा पर्यावरण मन्त्रालयले चालु आर्थिक वर्षका लागि नेपाल सरकारद्वारा निर्धारित चैते धानको न्यूनतम समर्थन मूल्य प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरोकारवाला निकायसँग आग्रह गरेको छ । मन्त्रालयको कृषि तथा पशुपन्छी व्यवसाय प्रवद्र्धन महाशाखाले सोमबार विज्ञप्ति जारी गर्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि आधुनिकीकरण कार्यक्रम, नेपाल चामल, तेल, दाल उत्पादन सङ्घ र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय लगायतलाई चैते धानको न्यूनतम समर्थन मूल्य प्रभावकारी रूपमा कार्यान्वयन गर्न आग्रह गरेको हो ।

    चालु आर्थिक वर्ष २०८२–८३ का लागि नेपाल सरकार मन्त्रिपरिषद्को गत चैत २४ गतेको निर्णयबाट १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल दुई हजार ८६६ रुपैयाँ ४१ पैसा निर्धारण गरिएको थियो । मन्त्रालयका सहसचिव ई जगन्नाथ तिवारीद्वारा जारी प्रेस विज्ञप्तिमा नेपाली धानले सस्तो भारतीय धानसँग प्रतिस्पर्धा गर्नुपरेको, चिस्यानका कारण भण्डारणमा समस्या भएको र कृषकले उचित मूल्य नपाएको गुनासो विभिन्न माध्यमबाट प्राप्त भएकाले यो कदम चालिएको उल्लेख छ ।

    चैते धान भित्र्याउने समय वर्षात्को सिजन पर्ने भएकाले कृषकले न्यूनतम मापदण्ड कायम गरी भण्डारण गर्न नसक्ने र वर्षे धानखेतीका लागि तत्काल पैसा आवश्यकपर्ने हुँदा उनीहरू कम मूल्यमा सिजनमै धान बिक्री गर्न बाध्य हुने गरेको विज्ञप्तिमा उल्लेख छ ।

    मन्त्रालयले मुलुकलाई खाद्यान्नमा आत्मनिर्भर बनाउन चैते धानखेतीको संरक्षण र विस्तार अपरिहार्य रहेको औँल्याउँदै कृषकको लागत र न्यूनतम मुनाफा सुनिश्चित गर्न सरकारी तथा निजी क्षेत्र दुवैको दायित्व भएको स्मरण गराएको छ । धान चामल उद्योगीसहित सरोकारवाला निकायसँग आवश्यक समन्वय गरी कृषकबाट निर्धारित मूल्यमा धान खरिद गर्ने प्रक्रिया सहज बनाउन मन्त्रालयले विशेष जोड दिएको छ ।

  • नेपाल र चीनबीच एकअर्काका संवेदनशीलताप्रति साझा प्रतिबद्धता

    नेपाल र चीनबीच एकअर्काका संवेदनशीलताप्रति साझा प्रतिबद्धता

    काठमाडौँ, १ असारः नेपाल र चीनबीच पारस्परिक सम्मान तथा एकअर्काका प्राथमिकता तथा संवेदनशीलताप्रतिको साझा प्रतिबद्धतालाई स्वीकार गर्दै विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ । ती क्षेत्रहरूमा पूर्वाधार, सम्पर्क सञ्जाल कनेक्टिभिटी), सीमा व्यवस्थापन, ऊर्जा, व्यापार, लगानी, कृषि, प्रविधि हस्तान्तरण, सूचना प्रविधि तथा डिजिटलाइजेसन, पर्यटन, रासायनिक मल, पेट्रोलियम तथा प्राकृतिक ग्यास अन्वेषण, तथा जनस्तरका सम्बन्ध समावेश छन् ।

    चीनको चारदिने औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र चीनको कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका राजनीतिक ब्युरो सदस्य तथा विदेश मामिलामन्त्री वाङ यीसँग आज बेइजिङमा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय भेटवार्ता भएको हो । उक्त अवसरमा दुई देशका प्रतिनिधिमण्डलबीच मित्रता, सद्भावना र सहकार्यले परिभाषित नेपाल–चीन सम्बन्धका समग्र आयामबारे सारगर्भित छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपाली पक्षले एक चीन सिद्धान्तप्रति नेपाल सरकारको दृढ प्रतिबद्धता पुनःव्यक्त गर्दै नेपालको भूमि चीनविरुद्ध हुने कुनै पनि गतिविधिका लागि प्रयोग हुन नदिइने स्पष्ट गरेको थियो ।

    त्यस्तै, चिनियाँ पक्षले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वतन्त्रताप्रति आफ्नो दृढ प्रतिबद्धता पुनःदोहो¥याउँदै सुशासन तथा आर्थिक वृद्धिका क्षेत्रमा नेपाल सरकारका प्राथमिकतालाई पूर्ण समर्थन रहने आश्वासन दिएको थियो । मन्त्रालयका अनुसार दुवै पक्षले विगतमा सहमति भएका कार्यक्रम तथा परियोजनाको शीघ्र कार्यान्वयनप्रति बलियो प्रतिबद्धता व्यक्त गरेका छन् । साथै, दुवैपक्षले बहुपक्षीय तथा क्षेत्रीय मञ्चमा साझा चासोका विषयमा थप सहकार्य अघि बढाउने विषयमा जोड दिएका नेपाली दूतावास, बेइजिङले आज जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

    वार्तापश्चात् मन्त्री खनालले विदेशमन्त्री वाङले उहाँको सम्मानमा आयोजना गरेको रात्रिभोजमा सहभागिता जनाए । यसअघि आजै परराष्ट्रमन्त्री खनालले बेइजिङमा चीनको कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको अन्तरराष्ट्रिय विभागका प्रमुख लिउ हाइसिङसँग भेटवार्ता गरे । भेटमा पार्टीपार्टी आदानप्रदानसहित नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउनेलगायत विषयमा विचार आदानप्रदान भएको थियो ।

    आजै मन्त्री खनालले बेइजिङस्थित चाइनिज एकेडेमी अफ साइन्सेजअन्तर्गतको इन्स्टिच्युट अफ टिबेटियन प्लेटो रिसर्चको भ्रमण गरेका थिए । उनले उक्त संस्थानका गतिविधिहरू, विशेषगरी त्रिभुवन विश्वविद्यालयसहित नेपाली संस्थासँग भइरहेको सहकार्यबारे जानकारी लिए । भ्रमणका क्रममा मन्त्री खनालले विज्ञान तथा प्रविधिका क्षेत्रमा दुई पक्षबीचको सहकार्यलाई अझ गहिरो बनाउने आवश्यकतामा जोड दिए । उनी चीनका विदेश मामिलामन्त्री वाङको सौहार्दपूर्ण निमन्त्रणामा आइतबार बिहान बेइजिङ पुगेका हुन् । मन्त्री खनाल भ्रमण सम्पन्न गरी यही असार ३ गते स्वदेश फर्किने कार्यक्रम छ ।

  • चालु आर्थिक वर्षको ११ महिनामा पुँजीगत खर्च ३२ दशमलव ५३ प्रतिशत

    चालु आर्थिक वर्षको ११ महिनामा पुँजीगत खर्च ३२ दशमलव ५३ प्रतिशत

    काठमाडौँ, १ असारः चालु आर्थिक वर्षको ११ महिनामा पूर्वाधार तथा विकास निर्माण लक्षित पुँजीगत खर्च रु एक खर्ब ३२ अर्ब ६६ करोड ७७ लाख भएको छ । महालेखा नियन्त्रक कार्यालयको दैनिक बजेटरी विवरणअनुसार चालु आवको ११ महिनामा कूल लक्ष्यको ३२ दशमलव ५३ प्रतिशत पुँजीगत खर्च भएको हो ।

    सरकारले चालु आवमा रु चार खर्ब सात अर्ब ८८ करोड ८० लाख रकम पुँजीगत खर्चतर्फ विनियोजन गरेको छ । चालु आव सकिन एक महिना मात्रै बाँकी रहेको अवस्थामा पुँजीगत खर्च भने पर्याप्त हुन सकिरहेको छैन ।

    चालु आवमा चालु खर्चतर्फ रु ११ खर्ब ८० अर्ब ९८ करोड खर्च गर्ने लक्ष्य राखेकामा ११ महिनामा ७६ दशमलव ९१ प्रतिशत खर्च भएको छ । वित्तीय व्यवस्थापनतर्फ वर्षभरिमा रु तीन खर्ब ७५ अर्ब २४ करोड २० लाख खर्च गर्ने लक्ष्य राखिएकामा हालसम्म रु तीन खर्ब पाँच अर्ब ७१ करोड ८१ लाख खर्च भएको छ ।

  • अल्पकालीन लोकप्रियताभन्दा दीर्घकालीन आर्थिक सुधारमा केन्द्रित छ बजेटः अर्थमन्त्री

    अल्पकालीन लोकप्रियताभन्दा दीर्घकालीन आर्थिक सुधारमा केन्द्रित छ बजेटः अर्थमन्त्री

    काठमाडौँ,१ असारः अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट अल्पकालीन लोकप्रियताभन्दा दीर्घकालीन आर्थिक सुधारलाई केन्द्रमा राखेर ल्याइएको बताएका छन् । राष्ट्रियसभामा आर्थिक वर्ष २०८३\८४ को राजस्व र व्ययको अनुमानमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले बजेट कार्यान्वयनमा चुनौती रहे पनि नयाँ ढङ्गले अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।


    अर्थमन्त्रीले बजेट सुशासन, मध्यम वर्गको विस्तार, रोजगारी सिर्जना तथा निजी क्षेत्रको प्रवद्र्धनलाई केन्द्रमा राखेर निर्माण गरिएको बताए । निर्वाचनपूर्व सार्वजनिक गरिएको प्रतिबद्धतापत्रअनुसार आर्थिक, राजनीतिक तथा न्यायिक सुशासनलाई प्राथमिकतामा राखिएको उनले बताए ।


    “हामीले सुशासनलाई केन्द्रमा राखेका छौँ, आम नागरिकको चासोका विषय आर्थिक, राजनीतिक तथा न्यायिक सुशासनलाई अगाडि बढाएका छौँ,” उनले भने, “मुलुकको समृद्धिका लागि मध्यम वर्गको विस्तार आवश्यक छ । निम्न आय भएका वर्गलाई माथि उकास्दै मध्यम वर्ग विस्तार गर्न खोजिएको हो । गरिब तथा तल्लो आय भएका वर्गलाई बेवास्ता गरिएको भन्ने टिप्पणी वास्तविकताभन्दा फरक छ ।”

    उहाँले २१ वटा आर्थिक क्षेत्र पहिचान गरी आगामी पाँच वर्षमा १२ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य बजेटले लिएको जानकारी दिँदै सडक पूर्वाधार विस्तार, प्रवासी नेपालीलाई लगानीकर्ता तथा विकासका संवाहकका रूपमा परिचालन गर्ने नीति तथा निजी क्षेत्रलाई आर्थिक वृद्धि र लगानीको प्रमुख साझेदारका रूपमा अघि बढाइएको बताए ।


    कोभिड–१९ महामारीपछि नेपालको अर्थतन्त्र पूर्णरूपमा पुरानो रुपमा फर्किन नसकेको उल्लेख गर्दै उनले निजी लगानीमा अझै अनिश्चितता रहेको स्वीकार गर्नुभयो । “मध्यम वर्गको क्रयशक्ति कमजोर हुँदा अर्थतन्त्र चलायमान हुन सक्दैन,” उनले भने, “त्यसैले आर्थिक पुनरुत्थानका लागि निजी क्षेत्रलाई प्रोत्साहन गरेका छौँ ।”

    सामाजिक सुरक्षाका कार्यक्रम कटौती नगरिएको, बरु थप विस्तार गरिएको उल्लेख गर्दै उहाँले कृषि आधुनिकीकरण, श्रमिक सुरक्षा, कृषि बिमा, रोजगारी तथा स्टार्टअप कार्यक्रमलाई प्राथमिकतामा राखिएको जानकारी दिए । राष्ट्रियसभाको अर्को बैठक यही असार ५ गते शुक्रबार अपराह्न १ः१५ बजे बस्नेछ ।

  • गण्डकी प्रदेशसभाः ३२ अर्ब ९९ करोड बजेट प्रस्तुत

    गण्डकी प्रदेशसभाः ३२ अर्ब ९९ करोड बजेट प्रस्तुत

    गण्डकी, १ असारः गण्डकी प्रदेश सरकारले आगामी आर्थक वर्ष २०८३–८४ का लागि कूल रु ३२ अर्ब ९९ करोड करोड ९९ लाखको बजेट सार्वजनिक गरेको छ । आज बसेको प्रदेशसभा बैठकमा प्रदेशका आर्थिक मामिलामन्त्री जितबहादुर शेरचनले चालुतर्फ रु १२ अर्ब ७२ करोड ३७ लाख ७८ हजार र पुँजीगततर्फ रु २० अर्ब दुई करोड ६१ लाख २२ हजारको बजेट प्रस्तुत गर्नुभएको हो । यो चालुतर्फ कूल विनियोजनको ३८ दशमलव ५६ र पुँजीगततर्फ ६० दशमलव ६८ प्रतिशत हो । उहाँका अनुसार वित्तीय व्यवस्थातर्फ रु २५ करोड बजेट विनियोजन गरिएको छ ।

    आर्थिक मामिलामन्त्री शेरचनले बजेट वक्तव्यमा आगामी आवका लागि खर्च व्यहोर्ने स्रोतमध्ये नेपाल सरकारबाट प्राप्त हने वित्तीय समानीकरणबाट रु सात अर्ब ८४ करोड ८२ लाख, राजस्व बाँडफाँटबाट रु १० अर्ब १६ करोड ४७ लाख ४८ हजार, रोयल्टी बाँडफाँटबाट रु ५१ करोड ४८ लाख, सशर्त अनुदानतर्फ रु तीन अर्ब ९३ करोड तीन लाख, समपूरक अनुदानतर्फ रु ५५ करोड ४६ लाख र विशेष अनुदानतर्फ रु ३९ करोड ५४ लाख प्राप्त हुने अनुमान गरिएको छ ।

    प्रदेश सरकारको आन्तरिक राजस्व परिचालनबाट रु पाँच अर्ब ८४ करोड १८ लाख ५२ हजार प्राप्त हुने अनुमान गरिएको आर्थिक मामिलामन्त्री शेरचनले जानकारी दिए । चालु आवको वार्षिक कार्यक्रम कार्यान्वयन पश्चात् रु दुई अर्ब नगद मौज्दात रहने अनुमान गरिएको छ । यसरी न्यून हुने रकम रु एक अर्ब ७५ करोड आन्तरिक ऋण परिचालनबाट पूर्ति गरिने जनाइएको छ ।

  • लुम्बिनी प्रदेशः ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक

    लुम्बिनी प्रदेशः ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक

    लुम्बिनी, १ असारः लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३–८४ का लागि रु ३७ अर्ब ३८ करोड ४५ लाखको वार्षिक बजेट सार्वजनिक गरेको छ । प्रदेशसभाको आजको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले बजेट प्रस्तुत गरेका हुन् । प्रस्तुत बजेटमध्ये पुँजीगततर्फ रु २२ अर्ब ७१ करोड ६५ लाख ४० हजार, चालुतर्फ रु ११ अर्ब ११ करोड २७ लाख १० हजार विनियोजन गरिएको छ ।

    स्थानीय तहलाई वित्तीय हस्तान्तरणअन्तर्गत वित्तीय समानीकरण अनुदानमा रु ९६ करोड, समपुरक अनुदानमा रु ९८ करोड ४० लाख, विशेष अनुदानमा रु २० करोड र सशर्त अनुदानमा रु एक अर्ब ४१ करोड १२ लाख ५० हजार विनियोजन गरिएको उनले जानकारी दिए ।


    सरकारले आगामी आवको बजेटमार्फत प्रदेश संरचनाको सुदृढीकरण, सङ्घीय लोकतान्त्रिक व्यवस्थाको संस्थागत विकास, प्रादेशिक अर्थतन्त्रको सबलीकरण, वित्तीय सुशासन, सार्वजनिक तथा निजी क्षेत्रको सहभागिता विस्तार र आर्थिक समृद्धिलाई मुख्य प्राथमिकतामा राखेको छ । ‘समृद्ध लुम्बिनी, खुसी नागरिक’को दीर्घकालीन सोचलाई कार्यान्वयन गर्ने गरी बजेट तर्जुमा गरिएको मन्त्री कार्कीले बताए ।
    बजेटले सङ्घीयताको लाभ आमनागरिकसम्म पु¥याउने प्रतिबद्धता व्यक्त गर्दै पूर्वाधार विकासमा दायित्व भुक्तानीलाई प्राथमिकता दिइएको मन्त्री कार्कीले उल्लेख गर्नुभयो । मदिराजन्य तथा सुर्तिजन्य उद्योगबाहेक अन्य उद्योग स्थापना गर्ने उद्यमीलाई पूर्ण छुट दिने व्यवस्था गरिएको छ । उद्यमशीलता प्रवर्द्धनका लागि ‘उद्यम विकास कोष’ स्थापना गरी स्टार्टअप तथा नवप्रवर्तन कार्यक्रम सञ्चालन गरिनेछ ।

    प्रदेश सरकारले मन्त्रालयको पुनःसंरचना गरी आठ मन्त्रालयमार्फत कार्यसञ्चालन गर्ने तथा दरबन्दी पुनरावलोकन गर्ने नीति लिएको छ । डिजिटल लुम्बिनी प्रदेश कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ । कृषि क्षेत्रको उत्पादकत्व वृद्धि गर्न रु चार करोड ९९ लाख तथा प्राविधिक सेवा विस्तारका लागि रु दुई करोड ७८ लाख छुट्याइएको उनले बताए ।

    शिक्षा तथा सामाजिक विकासतर्फ प्राविधिक शिक्षामा जोड, सामुदायिक क्याम्पस तथा विद्यालयका लागि शिक्षक क्षमता अभिवृद्धि कार्यक्रम, विद्यालय दिवा खाजा कार्यक्रम, बालबिवाह न्यूनीकरण तथा बालविवाहमुक्त प्रदेश अभियानलाई प्रभावकारी बनाइने, स्वास्थ्यतर्फ दुर्गम क्षेत्रमा विशेषज्ञ स्वास्थ्य सेवा विस्तारलगायत क्षेत्रका लागि बजेट विनियोजन गरिएको छ ।

    मृगौला प्रत्यारोपण, क्यान्सर उपचार तथा मुटुको भल्भ फेर्ने बिरामीलाई प्रतिव्यक्ति रु दुई लाख सहयोग गर्ने कार्यक्रमलाई निरन्तरता दिइएको योजनामन्त्री कार्कीले बजेट वक्तव्यमा जानकारी दिए । उनका अनुसार युवालाई उद्यमशीलतासँग जोड्ने कार्यक्रम, खेल पूर्वाधार विकास तथा रोजगार सिर्जनामा केन्द्रित योजना सञ्चालन गरिने बजेटमा उल्लेख छ ।

    वन तथा वातावरणतर्फ सम्बर्द्धन प्रणालीमा आधारित वन व्यवस्थापन कार्यक्रमलाई निरन्तरता दिइएको छ । ग्रामीण समुदायको आयआर्जन वृद्धि तथा मानव(वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि राहत र बीमा कार्यक्रम सञ्चालन गरिने भएको छ । ग्रामीण तथा सहरी विकासतर्फ ‘अधुरा गरौँ पूरा’ अभियानको निरन्तरता, बसाइँसराइ न्यूनीकरण गर्न नमुना बस्ती विकास कार्यक्रम, हुलाकी र मध्यपहाडी राजमार्ग क्षेत्रमा नयाँ बस्ती विकास कार्यक्रम अघि बढाइने बजेटमा उल्लेख छ । प्रदेश राजधानी क्षेत्रको फोहर व्यवस्थापनका लागि रु ११ करोड विनियोजन गरिएको छ । सिँचाइ क्षेत्रको विकास तथा विस्तार तथा पानीका मुहान संरक्षणलाई प्राथमिकतामा राखिएको छ ।

    दिगो तथा गुणस्तरीय भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकता दिँदै गुरुयोजनामा समावेश सडक तथा राष्ट्रिय राजमार्गसँग जोडिने सडकलाई प्राथमिकतामा राखिएको छ । प्रदेश गौरवको आयोजनाअन्तर्गत रामपुर(कपुरकोट सडक निर्माणका लागि रु २१ करोड विनियोजन गरिएको छ । प्रदेशले निर्माण गरेका सडकहरूको छुट्टै पहिचान स्थापित गर्ने व्यवस्थासमेत बजेटमा समावेश गरिएको छ ।

    बहुवर्षीय आयोजना सम्पन्न गर्न रु चार अर्ब विनियोजन गरिएको छ । विपद् व्यवस्थापन, सूचना प्रविधि तथा डिजिटल सेवा विस्तारका कार्यक्रमलाई पनि प्राथमिकतामा राखिएको छ । लुम्बिनी पोर्टल निर्माणका लागि बजेट व्यवस्था गरिएको छ भने सदाचार नीति तर्जुमा, नीति संवाद कार्यक्रम, प्रदेश आयोजना बैंक कार्यान्वयन तथा सार्वजनिक सेवा प्रवाह सुदृढीकरणका कार्यक्रमसमेत बजेटमा समेटिएका छन् ।

    सरकारले सार्वजनिक, निजी तथा सहकारी क्षेत्रको सहकार्यमार्फत साझा समृद्धिको लक्ष्य हासिल गर्ने तथा राष्ट्रसेवक कर्मचारीको क्षमता अभिवृद्धिमार्फत सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने नीति लिएको जनाएको छ । चालु आर्थिक वर्ष २०८२–८३ मा प्रदेश सरकारले रु ३८ अर्ब ९१ करोडको बजेट सार्वजनिक भएको थियो ।

  • कर्णाली प्रदेशसभा : ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत

    कर्णाली प्रदेशसभा : ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत

    कर्णाली, १ असारस् कर्णाली प्रदेश सरकारले राजस्व र व्ययको वार्षिक अनुमानसहितको आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट प्रस्तुत गरेको छ । प्रदेशसभाको आज बसेको बैठकमा कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहले आगामी आवका लागि रु ३५ अर्ब ३९ करोड ८५ लाख ४८ हजार बजेट प्रस्तुत गरे । प्रस्तुत बजेट अनुसार पुँजीगततर्फ रु २० अर्ब ७४ करोड ६७ लाख १२ हजार र चालुतर्फ रु आठ अर्ब ६० करोड ४५ लाख ५६ हजार विनियोजन गरिएको उहाँले बताउनुभयो । यो बजेट चालु आर्थिक वर्षको तुलनामा सात दशमलव २८ प्रतिशतले वृद्धि भएको हो ।

    योजनामन्त्री शाहका अनुसार वित्तीय व्यवस्थापनतर्फ रु ५० करोड, स्थानीय तहमा वित्तीय हस्तारणतर्फ रु पाँच अर्ब ५४ करोड ७२ लाख ८० हजार रकम विनियोजन गरिएको छ । आगामी आवका लागि अनुमानित खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक आयबाट रु ८५ करोड पाँच लाख ९० हजार र चालु आवको खर्च नभई बचत हुने रकम रु छ अर्ब ४१ करोड ५१ लाख नौ हजार, सङ्घीय सरकारबाट राजस्व बाँडफाँडवापत प्राप्त हुने रकम रु १० अर्ब ६६ करोड ५० लाख ४९ हजार विनियोजन गरिएको छ ।

    वित्तीय समानीकरण अनुदानबाट प्राप्त हुन आएको रु १० अर्ब ६३ करोड २३ लाख र सशर्त अनुदानबाट रु पाँच अर्ब ६७ करोड २५ लाख, सङ्घीय सरकारबाट प्राप्त हुने समपुरक अनुदानतर्फ रु ६६ करोड ७८ लाख र विशेष अनुदानतर्फ रु ४८ करोड ५६ लाख परिचालन गरिने बजेट वक्तव्यमा उल्लेख गरिएको छ ।

    सङ्घीय सरकारबाट सशर्त अनुदानबाट प्राप्त हुने वैदेशिक सहायताबाहेक अन्य वैदेशिक सहायताबाट सञ्चालित हुने कार्यक्रम कार्यान्वयनका लागि अपुग रकमबाट स्रोत परिचालन गरिने योजनामन्त्री शाहले जानकारी दिए । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२–८३ का लागि रु ३२ अर्ब ९९ करोड ६६ लाख ९५ हजार बजेट विनियोजन गरेको थियो ।