Category: फिचर

  • परराष्ट्रमन्त्री खनाल र सिपिसीका नेता लिउबीच भेटवार्ता

    परराष्ट्रमन्त्री खनाल र सिपिसीका नेता लिउबीच भेटवार्ता

    काठमाडौँ, १ असार । चीनको औपचारिक भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विदेश विभाग प्रमुख शिशिर खनाल र चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी)केन्द्रीय समितिको अन्तरराष्ट्रिय विभाग प्रमुख लिउ हाइसिङबीच भेटवार्ता भएको छ । उनीहरुबीच आज बेइजिङमा भेटवार्ता भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    भेटपछि मन्त्री खनालले खुसी व्यक्त गर्दै सो अवसरमा नेपाल–चीन सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको सामाजिक सञ्जाल एक्समा उल्लेख गरेका छन् । नेताद्वयबीच रास्वपा र सिपिसी सहकार्य तथा दुवै देशका जनताबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको जनाइएको छ । मन्त्री खनाल आफ्ना चिनियाँ समकक्षी वाङ यीको निमन्त्रणामा आइतबारदेखि चीन भ्रमणमा छन् ।

  • शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षामा केन्द्रित बागमती प्रदेशको बजेट

    शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षामा केन्द्रित बागमती प्रदेशको बजेट

    हेटौँडा, १ असार । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत शिक्षा, स्वास्थ्य तथा सामाजिक विकास क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको छ । प्रदेशसभामा आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले आज प्रस्तुत गर्नुभएको बजेटमा गुणस्तरीय शिक्षा, आधुनिक स्वास्थ्य सेवा, सामाजिक सुरक्षा तथा मानव विकाससम्बन्धी विभिन्न कार्यक्रम समेटिएका छन् ।

    बजेटमा न्यून साक्षरता भएका स्थानीय तहमा शैक्षिक गुणस्तर सुधार, अनिवार्य तथा निःशुल्क शिक्षा कार्यक्रम र आवासीय शिक्षा कार्यक्रम सञ्चालन गरिने उल्लेख छ । शिक्षण सिकाइलाई प्रविधिमैत्री र परिणाममुखी बनाउन ‘स्मार्ट टिचिङ’ कार्यक्रम सुरु गरिने भएको छ ।

    युवालाई रोजगारी र उद्यमशीलतासँग जोड्न अप्रेन्टिससिप, ‘लर्न एन्ड अर्न’ तथा मागमा आधारित सीपमूलक तालिम सञ्चालन गरिने जनाइएको छ । सामुदायिक विद्यालयका शिक्षकको पेशागत क्षमता विकास, डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिकता (एआई) आधारित तालिम सञ्चालन गरिनेछ । बागमती विश्वविद्यालयको भौतिक पूर्वाधार सुदृढीकरण, प्राविधिक उच्च शिक्षामा छात्रवृत्ति तथा सामुदायिक क्याम्पसको गुणस्तर सुधारलाई समेत प्राथमिकता दिइएको छ ।

    खेलकुद पूर्वाधार विकासतर्फ भरतपुरस्थित गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला, ललितपुरको गोदावरी रङ्गशाला तथा हेटौँडाको गौरिटार अन्तरराष्ट्रिय रङ्गशालाको निर्माण कार्यलाई उच्च प्राथमिकताका साथ अगाडि बढाइने भएको छ । स्वास्थ्य क्षेत्रअन्तर्गत योग, ध्यान र स्वस्थ जीवनशैली प्रवद्र्धनका लागि हेटौँडा–१६ शक्तिडाँडामा आरोग्य केन्द्र स्थापना गरिने भएको छ । महिला उद्यमशीलता विकास, लैङ्गिक हिंसापीडितका लागि पुनःस्थापना तथा मनोसामाजिक परामर्श सेवा विस्तार गरिने जनाइएको छ ।

    प्रदेश सरकारले बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा जोखिममा रहेका समुदायको संरक्षण र सशक्तीकरणका कार्यक्रमलाई निरन्तरता दिएको छ । दलित समुदायको सामाजिक, आर्थिक तथा शैक्षिक सशक्तीकरणका कार्यक्रम पनि सञ्चालन गरिनेछन् ।

    स्वास्थ्य सेवाको पहुँच र गुणस्तर अभिवृद्धि गर्न अस्पताल तथा स्वास्थ्य संस्थाको भौतिक पूर्वाधार, उपकरण र जनशक्ति व्यवस्थापनलाई सुदृढ बनाइने भएको छ । विशेषज्ञ तथा विशिष्टीकृत स्वास्थ्य सेवा विस्तारका लागि प्रदेशका अस्पतालमा सिटी स्क्यान, एमआरआई, क्याथ ल्याब तथा हेमोडायलाइसिस मेसिनजस्ता आधुनिक उपकरणको व्यवस्था गरिने बजेटमा उल्लेख छ ।

    बालबालिकाको स्वास्थ्य प्रवद्र्धनका लागि ‘एक विद्यालय, एक नर्स’ कार्यक्रमलाई निरन्तरता दिइएको छ । विद्यालयस्तरमा श्रवण, दृष्टि र दन्त परीक्षण गरी आवश्यक उपचार तथा चस्मा उपलब्ध गराउने कार्यक्रम सञ्चालन गरिनेछ । ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि निःशुल्क हवाई उद्धार कार्यक्रमलाई निरन्तरता दिइएको छ । आमा तथा नवजात शिशुमा हुने कुपोषण न्यूनीकरण गर्न सुत्केरी पोषण कार्यक्रम सञ्चालन गरिने भएको छ । स्वास्थ्य संस्थामा सुत्केरी गराउने तथा बालबालिकाले पूर्ण खोप लगाएपछि आमालाई रु पाँच हजार प्रोत्साहन उपलब्ध गराउने कार्यक्रमलाई पनि निरन्तरता दिइएको छ ।

    प्रदेश सरकारले स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयका लागि आगामी आर्थिक वर्षमा रु नौ अर्ब छ करोड दुई लाख ३९ हजार बजेट विनियोजन गरेको छ ।

    यसैबीच, प्रदेश सरकारले आगामी वर्ष विपन्न परिवारका लागि एक हजार आवास निर्माण गरी उपलब्ध गराउने घोषणा गरेको छ । उक्त कार्यक्रमका लागि रु २० करोड बजेट विनियोजन गरिएको मन्त्री तामाङले जानकारी दिनुभयो ।

    सार्वजनिक सुरक्षालाई प्रविधिमैत्री बनाउन प्रदेशका विभिन्न सार्वजनिक स्थानमा सिसिटिभी क्यामेरा जडान गरी डिजिटल क्राइम ट्र्याकिङ प्रणाली विकास गरिने बजेटमा उल्लेख छ । साइबर अपराध, मानव बेचबिखन तथा लागुऔषध दुरुपयोग नियन्त्रणका लागि प्रविधिमा आधारित तथा समुदाय केन्द्रित कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।

    सञ्चार क्षेत्रतर्फ पत्रकारको सामाजिक सुरक्षा प्रवद्र्धन गर्न सामाजिक सुरक्षा कोष तथा बिमा कार्यक्रममा आबद्ध गराउन रु एक करोड बजेट विनियोजन गरिएको छ ।

    सहकारी क्षेत्रप्रति नागरिकको विश्वास पुनःस्थापित गर्न प्रभावकारी अनुगमन, नियमन, संस्थागत सुदृढीकरण तथा वित्तीय अनुशासन कायम गर्न आवश्यक बजेट व्यवस्था गरिएको छ । सहकारीमार्फत सामूहिक उद्यम विकास, सीप अभिवृद्धि, वित्तीय साक्षरता तथा बजार पहुँच विस्तारका कार्यक्रमलाई निरन्तरता दिइने भएको छ ।

    प्रदेशका विभिन्न जिल्लामा बाढी, पहिरो, डुबान तथा नदी कटानका घटना दोहोरिने भएकाले विपद् जोखिम न्यूनीकरणलाई पनि बजेटमा प्राथमिकता दिइएको छ ।
    प्रभावित क्षेत्रमा तटबन्ध निर्माण, पुनःनिर्माण तथा जोखिम न्यूनीकरणका कार्यक्रम सञ्चालन गरिनेछन् । साथै विपद्का समयमा तत्काल उद्धार तथा राहतलाई प्रभावकारी बनाउन विपद् स्वयंसेवक परिचालन तथा विपद् बिमा कार्यक्रमका लागि पनि बजेट विनियोजन गरिएको छ ।

  • पूर्वाधार, पर्यटन र मानव विकासमा कोशी प्रदेशको बजेट केन्द्रित

    पूर्वाधार, पर्यटन र मानव विकासमा कोशी प्रदेशको बजेट केन्द्रित

    विराटनगर, १ असारः कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत सडक पूर्वाधार, पर्यटन प्रवद्र्धन, शिक्षा, रोजगारी तथा मानव विकासका कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर रानामगरले प्रदेशसभामा आज अपराह्न बजेट प्रस्तुत गर्दै पूर्वाधार विकासका लागि स्रोत सुनिश्चित गरी योजनाको प्रभावकारी कार्यान्वयन गरिने बताए । सडक पूर्वाधार तथा सहरी विकासतर्फ बहुवर्षीय पूर्वाधार आयोजना तथा पुनःनिर्माण गर्नुपर्ने कार्यालय भवनलाई पूर्वनिर्धारित समयमै सम्पन्न गर्न समयसीमा सहितको कार्ययोजना र अनुगमन तालिकाअनुसार ठेक्का व्यवस्थापन गरिने जनाइएको छ ।

    प्रादेशिक सडक सञ्चालन गुरुयोजनामा समावेश प्रादेशिक लोकमार्ग, प्रादेशिक मार्ग तथा स्थानीय तहका केन्द्र र व्यापारिक केन्द्र जोड्ने सडकको विस्तार तथा स्तरोन्नतिका लागि रु चार अर्ब ३९ करोड बजेट विनियोजन गरिएको छ । प्रदेशभित्र बसोबास गर्ने विपन्न तथा आवासविहीन परिवारका लागि ‘कोशी जनता आवास कार्यक्रम’ लाई निरन्तरता दिइएको छ ।

    हिमाली तथा पहाडी जिल्लाका रणनीतिक महत्वका १० स्थानमा आधारभूत पूर्वाधारसहित साना सहर विकासका लागि सम्भाव्यता अध्ययन गरिने भएको छ । मनमोहन प्राविधिक विश्वविद्यालयको प्रयोगशालाको उपयोगसँगै जिल्लास्तरमा आधारभूत परीक्षणका लागि आवश्यक उपकरण व्यवस्थापन गरिने बजेटमा उल्लेख छ ।

    मोरङको रङ्गेली र इलामको सूर्योदय नगरपालिकासँगको सहकार्यमा फोहर व्यवस्थापनसम्बन्धी पूर्वाधार निर्माणका लागि प्राविधिक तथा वित्तीय सहयोग उपलब्ध गराइने भएको छ । सडक पूर्वाधार तथा सहरी विकास क्षेत्रका लागि रु १२ अर्ब ३८ करोड बजेट विनियोजन गरिएको छ ।

    पर्यटन क्षेत्रलाई प्रदेशको आर्थिक रूपान्तरणको प्रमुख आधारका रूपमा विकास गर्ने लक्ष्यसहित ‘कोशी प्रदेश एकीकृत पर्यटन विकास गुरुयोजना’ तर्जुमा गरिने भएको छ । प्रदेशलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न २०८३ साउनदेखि २०८५ असारसम्म ‘कोशी प्रदेश भ्रमण वर्ष’ सञ्चालन गरिने घोषणा गरिएको छ ।

    भ्रमण वर्षलाई सफल बनाउन आन्तरिक, अन्तरप्रदेशीय तथा विदेशी पर्यटक आकर्षित गर्ने कार्यक्रमका लागि आवश्यक बजेट व्यवस्था गरिएको छ । सङ्घ, प्रदेश र स्थानीय तहको सहलगानी तथा स्वीस सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित पदमार्गमा आधारित साहसिक तथा पर्यावरणीय पर्यटन प्रवद्र्धन कार्यक्रमलाई निरन्तरता दिइएको छ ।

    प्रदेशका २९ स्थानीय तहमा सञ्चालित चियाबारी, फाल्गुनन्द, लालिगुराँस र मुन्धुम पदमार्गको एकीकृत पूर्वाधार विकासका लागि बजेट विनियोजन गरिएको छ । अर्जुनधारा, किचकबध, कृष्णथुम्की, वृहत् विराट क्षेत्र, दूधकुण्ड, बराहक्षेत्र, ध्वजेडाँडा, लारुम्बा, पत्ताले, चिवाभञ्ज्याङ, तिम्बुङ पोखरी, बोराबाँध, कन्याम, श्रीअन्तु र सन्दकपुरलगायत प्रमुख पर्यटकीय गन्तव्यको संरक्षण, संवद्र्धन तथा प्रवद्र्धनका लागि पनि बजेट व्यवस्था गरिएको छ ।

    सार्वजनिक–निजी साझेदारीमा गुप्तेश्वर मोनोरेल, केचना सुरुङमार्ग, ध्वजेडाँडा नटराज पार्क तथा तीनजुरे–गुराँस केबलकारलगायत पर्यटकीय पूर्वाधार विकासका कार्यक्रमलाई अगाडि बढाइने भएको छ । पर्यटन, वन तथा वातावरण मन्त्रालयका लागि रु तीन अर्ब ४९ करोड बजेट विनियोजन गरिएको छ ।

    शिक्षा, खेलकुद, संस्कृति, रोजगारी तथा समावेशिता क्षेत्रतर्फ हिमाली तथा पहाडी जिल्लाका सामुदायिक विद्यालयमा भवन, छात्रावास, शौचालय, कम्प्युटर तथा विज्ञान प्रयोगशालालगायत पूर्वाधार निर्माणका लागि रु ४४ करोड बजेट छुट्याइएको छ । प्रविधिमैत्री, बालमैत्री तथा वातावरणमैत्री कार्यक्रमका लागि रु २१ करोड विनियोजन गरिएको छ ।

    प्रदेशका ६ सय युवालाई सीपमूलक तालिम प्रदान गरिने भएको छ । मौलिक ज्ञान, सीप, प्रविधि, संस्कृति तथा परम्पराको खोज, अनुसन्धान र संरक्षणका लागि पनि बजेट व्यवस्था गरिएको छ ।

    विराटनगर महानगरपालिका–बैजनाथपुरमा प्रादेशिक खेलकुद ग्राम निर्माण गरिने तथा गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशालालाई अन्तरराष्ट्रियस्तरको क्रिकेट मैदानका रूपमा स्तरोन्नति गर्न आवश्यक बजेट व्यवस्था गरिएको छ । शिक्षा, खेलकुद, संस्कृति, रोजगारी तथा समावेशिता क्षेत्रका लागि रु तीन अर्ब १० करोड बजेट विनियोजन गरिएको छ ।

  • अमेरिका र इरानबीचको सम्झौताबारे पूर्वराष्ट्रपति ओबामा के भन्छन् ?

    अमेरिका र इरानबीचको सम्झौताबारे पूर्वराष्ट्रपति ओबामा के भन्छन् ?

    १ असार, वासिङ्टन (रासस–एएफपी)
    अमेरिकी राष्ट्रपति बाराक ओबामाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र तेहरानबीच भएको कुनै पनि सम्झौताले ११ वर्षअघिको बृहत् आणविक सम्झौताभन्दा ‘उल्लेखनीय सुधार’ हुने अपेक्षा गर्नु अव्यावहारिक भएको बताएका छन् । एबीसी न्यूजको टक शो ‘दिस विक’ मा आइतबार जारी गरिएको अन्तर्वातार्को अंशमा, पूर्व राष्ट्रपतिले पूर्ण युद्धबाट बच्नको लागि वाशिङ्गटनको चाहनाभन्दा कम हुने सम्झौताको लागि भएपनि वार्ता गर्नु राम्रो हुने सुझाव उनको थियो ।

    सन् २०१५ मा भएको ऐतिहासिक सम्झौतालाई उद्धृत गर्दै पूर्व राष्ट्रपति ओबामाले भने, “हामीलाई यो आशङ्का छ कि कुनै पनि सम्झौता हामीबीच भएको सम्झौताभन्दा धेरै फरक हुनेछैन वा उल्लेखनीय सुधार हुनेछैन ।” उनले भने, “आफ्नो राष्ट्रपति कालमा भएको सम्झौताले पहिले पनि लामो समयसम्म काम गरेको थियो । संयुक्त राज्य अमेरिका यसबाट बाहिर निस्क्यो ।”

    स्मरण रहोस्, अमेरिकाको नेतृत्वमा विश्व शक्ति राष्ट्रहरूले गरेको आणविक सम्झौता अमेरिकी हितमा नरहेको भन्दै राष्ट्रपति ट्रम्पले उनको पहिलो कार्यकालमा अमेरिका यसबाट पछि हटेको घोषणा गरेका थिए । त्यसपछि इरानले पनि सम्झौताको एउटा पक्ष यसबाट फिर्ता भएको भन्दै यसलाई मानिराख्न आफूहरू बाध्य नहुने दावी गर्दै क्रमशः यसबाट फिर्ता भएको थियो । सम्झौताले इरानले युरेनियम संवर्धन नगर्ने सर्तमा उसमाथि लगाइएका अमेरिकी आर्थिक नाकाबन्धीलाई केही खुकुलो पार्ने सहमति भएको थियो ।

    फेब्रुअरीको अन्त्यतिर अमेरिका र इजरायली सेनाले इरानविरुद्ध आक्रमण गरेपछि मध्यपूर्व युद्ध सुरु भएको र महिनौँदेखि राष्ट्रपति ट्रम्पले इरानमाथि प्रतिबन्धको घोषणा गरेका थिए ।


    ट्रम्पले यो सम्झौताले इरानको आणविक हतियार उत्पादन गर्ने क्षमतालाई सदाका लागि रोक्ने र नाकाबन्दी गरिएको स्ट्रेट अफ हर्मुजलाई तुरुन्त खोल्ने कुरामा जोड दिएका छन् । तेहरानले अहिलेसम्म सम्झौतामा हस्ताक्षर गर्ने पुष्टि गरेको छैन र आइतबार इजरायलले लेबनानमा गरेको आक्रमणपछि इरानले अहिलेका लागि अमेरिकासँग शान्ति वार्ताको कुनै अर्थ नभएको बताएको छ ।

    ओबामाले भने, “अमेरिका–इरान नयाँ सम्झौताको सुस्त प्रगतिले व्यापक कूटनीतिमा संलग्न हुनुको साटो वासिङ्टनले ‘हाम्रो बाटोलाई धम्क्याउन वा समाधानको लागि हाम्रो मार्गमा बमबारी’ गर्न सक्दैन भन्ने कुराको दृष्टान्त दिलाउँछ ।”

  • बर्खा लाग्न थालेपछि वस्तुभाउ लिएर लेक उक्लिए गोठाला

    बर्खा लाग्न थालेपछि वस्तुभाउ लिएर लेक उक्लिए गोठाला

    ढोरपाटन (बागलुङ), १ असार : काँधमा भारी । साथमा सयाँैका सङ्ख्यामा वस्तुभाउ । पसिनाले निथ्रुक भिजेको शरीर । अनुहारमा थकान । ससाना पाठापाठी र पाडापाडी बोकेका गोठला मध्यपहाडी लोकमार्गको निसीखोला र ढोरपाटन सडकको ठाउँठाउँमा भेटिन्छन् । सेताम्य भेडाका बथान र गाईभैँसीको हुलले सडक नै छेकिनेगरी हिँडिरहेका हुन्छन् । यसरी आफ्नै गतिमा हिँडेका गोठाला र वस्तुभाउ लेकका खर्क र बुकीपाटन उक्लिन थालेका हुन् ।

    बर्खा सुरु भएसँगै पश्चिम बागलुङका पशुपालक किसान हरेक वर्ष वर्षात्को समयमा खर्क र बुकीपाटन उक्लिने गर्छन् । गत असोजमा बेँसी झरेका गोठाला वस्तुभाउ लिएर बुकीपाटन उक्लिन थालेका हुन् । एउटै परिवारले दर्जनौँ वस्तुभाउ पाल्ने हुँदा बेँसीमा मात्रै घाँस पुर्याउन नसक्ने हुँदा उनीहरू हिउँद बर्खा लेक–बेँसी गरेर पशुपालन गर्दै आएका छन् ।

    जिल्लाको निसीखोला, ढोरपाटन, तमानखोला, गलकोटलगायत स्थानबाट गोठाला आफ्ना वस्तुभाउ लिएर लेक उक्लिने गर्छन् । पश्चिम बागलुङका अधिकांश किसान पशुपालनमा आबद्ध छन् । कतिपय गोठाला जेठ दोस्रो साता नै बुकीपाटन उक्लिसके भने धेरैजसो यतिबेला खर्च बोकेर लेक उक्लिन थालेका छन् । अहिले बुकीपाटन उक्लिने गोठाला अब चार महिनापछि मात्रै गाउँ (बेँसी) झर्छन् ।

    बर्खाभरि लेकमा बस्ने गोठलाले असोजसम्म पुग्ने खाद्यान्न र लत्ताकपडा बोकेर जाने गर्छन् । समुद्री सतहदेखि तीन हजारदेखि चार हजार ८०० मिटरको उचाइसम्मको चरन क्षेत्रमा गोठाला पुग्छन् । बुकीपाटनमा वस्तुभाउका लागि पर्याप्त घाँस पाइने हुँदा महिनाँै उतै बिताउने गर्छन् । लेकमा टेलिफोन र विद्युत्को सुविधा नहुँदा उनीहरूको लामो समय परिवारसँग फोन सम्पर्कसमेत हुँदैन । असारदेखि असोजको बीचमा बिरामी परेमा, खर्च सकिएमा र अन्य कुनै आकस्मिक घटना भएमात्रै बेँसी झर्छन् ।

    गोठालाहरू निसीखोलाको रिग, पातीहाल्ने, तिलाचन, निसेलढोर, खानीखोला र ढोरपाटनको गर्पाछेडा, फागुने, टीकाधारा, स्यार्चुङलगायत अग्ला पहाडी क्षेत्रमा पुग्छन् । बेँसीका बारीमा खेतीपाती गरिसकेपछि लेक उक्लिन थालेको निसीखोला गाउँपालिका–५ का किरबहादुर घर्ती मगरले बताए । अब दसैँ मनाउनका लागि मात्रै गाउँ झर्ने उनको भनाइ छ ।

    घर्ती मगरले भने, “यतिका सम्पत्ति (वस्तुभाउ) एकै ठाउँमा राखेर पाल्न सकिँदैन, यिनीहरूलाई ठाउँठाउँमा घुमाएर चराउन पर्छ, बेँसीमा गर्मी हुन्छ, लेकमा यतिबेला शीतल छ, घाँस पनि पलाइसकेको हुँदा चरनका लागि सजिलो हुन्छ, एक डेढ महिना एक ठाउँ बस्छौँ, त्यसपछि फेरि अर्को ठाउँमा सर्नुपर्छ ।”

    लेकमा बस्दा किसानले पशुपालनमात्रै गर्दैनन् । उनीहरूले काठका भाँडाकुँडा, चायोका सामग्री बनाउने गर्छन् । लेकमा उत्पादन भएका वस्तु बेँसी झरेपछि बिक्री गर्छन् । तमानखोला गाउँपालिका–५ का किसान शेरबहादुर सिर्पाली अघिल्लो वर्ष जेठको तेस्रो साता बुकीपाटन पुगेका थिए । यसपालि बाली लगाउन ढिला हुँदा बल्ल बुकीपाटनका यात्रा गरेको बताए । आफ्ना छिमेकी एक साता अगाडि नै लेक उक्लिएको उनको भनाइ छ ।

    “म पनि यतिबेला लेकमा पुगिसक्थेँ, घरमा जहान (श्रीमती) बिरामी छ, बारीमा बालीनाली लगाउनुपर्ने, त्यसले गर्दा एक साता ढिला भयो”, उनले भने, “एक महिनापछि फेरि बेँसी झर्ने काम छ, बेँसी झर्दा लेकमा साथीहरू हुन्छन्, उनीहरूलाई दुईचार दिन पशुको जिम्मा लगाएर झर्नु पर्ला, अबको दुई दिनमा म बुकीपाटन पुगिसक्छु ।”

    ढोरपाटनको बुकीपाटनमा बागलुङका मात्रै नभई रोल्पा, रुकुम, म्याग्दी र डोल्पासम्मका किसानले भेडा लिएर चरनका लागि आउने गर्छन् । ढोरपाटन नगरपालिका–६ का पुनराम अदै भने बुकीपाटन पुगिसके । अदै जेठ २३ गते नै ढोरपाटन हुँदै बुकीपाटन पुगेको बताए । जेठ २० गते शुभ बार पारेर लेक उक्लिएको उनको भनाइ छ । लेकमा घाँस पलाइसकेको हुँदा अबको एक सातामा बेँसीमा रहेका सबै गोठाला उक्लिसक्ने अदै बताउँछन् ।


    अदैले भने, “हामी यसरी लेक बेँसी गर्न थालेको तीन\चार दशक बितिसक्यो, पढाइलेखाइ पनि भएन, देशविदेश पनि गइएन, यही वस्तुभाउ हेर्ने ज्यान पालन गर्नेबाहेक अरु केही गर्न सकिएन, बर्खाभरि लेकमै बस्छौँ, अब असोज लागेपछि बल्ल बेँसी झर्ने हो, अहिले गोठालाहरूले बुकीपाटन भरिन थाल्यो, अबको केही दिनमा भरिभराउ हुन्छ ।”

  • सीमा क्षेत्रको बाँध अग्लो बनाउँदा, गौर डुबानको जोखिममा

    सीमा क्षेत्रको बाँध अग्लो बनाउँदा, गौर डुबानको जोखिममा

    चन्द्रपुर (रौतहट), १ असार । रौतहटको गौर र भारतको बैरगनिया सीमामा भारतीय पक्षले एकतर्फी रूपमा बनाएको बाँध मर्मतको बाहनामा झन् अग्लो र बलियो बनाएको छ । सीमा क्षेत्रको दशगजा वा त्यसको नजिक दुवै देशको सहमतिबिना कुनै पनि भौतिक संरचना निर्माण, विस्तार वा परिवर्तन गर्न नपाइने नियम भए पनि भारतीय पक्षले बाँध मर्मतको बाहनामा झन् अग्लो र बलियो बनाएको हो ।

    छिमेकी देशको भूभागमा डुबान वा अन्य वातावरणीय क्षति नपुर्याउनका लागि एउटा देशले आफ्नो सिमानामा यस्तो संरचना बनाउने प्रावधान छैन । बैरगनिया क्षेत्रको बाँधकै कारण वर्षायाममा बाढीको बहाव थुनिने र त्यसले सदरमुकाम गौरसहित दर्जनाँै नेपाली गाउँहरू डुबानमा पर्दै आइरहेको स्थानीय अमित केशरीले बताउँछन् ।


    भारतले आफ्नो भूमि बैरगनियालगायतका बिहारको सहर डुबानबाट बचाउन सीमा क्षेत्रमा १५ फिट अग्लो र पाँच किलोमिटर लामो बाँध बनाएपछि नेपालतिर डुबान हुने गरेको केशरीले बताए । भारतीय पक्षले बैरगनियाको पूर्वी क्षेत्रस्थित बाँधको तीनवटा ढोका सुलीसगेट बन्द गर्दै आएका कारण हरेक वर्ष गौर नगर क्षेत्र डुबानमा पर्दै आइरहेको उनले बताए ।


    गौर डुबानमा परेपछि नेपालीले बाँध भत्काउने र सुलीसगेट खोल्छ भनेर भारतीय सीमा सुरक्षा बल (एसएसबी)को टोली हतियारसहित २४सै घण्टा बाँधमा बस्दै आइरहेका केशरीले जानकारी दिए । बाँध अग्लो हुँदा नेपालतर्फबाट बग्ने लालबकैया र वाग्मती नदीको पानीले निकास नपाउने र पानी ‘ब्याक’ भएर नेपाली बस्तीमा पस्ने गरेको नेपाल पत्रकार महासङ्घ रौतहट शाखाका सचिव तथा गौरवासी गौतम श्रेष्ठले जानकारी दिए ।

    बैरगनिया क्षेत्रको रिङ बाँधमा माटो थपिँदा वर्षायाममा बाढीको बहाव रोकिने र यसले सदरमुकाम गौर र आसपासका क्षेत्रहरू पूर्ण रूपमा डुबानमा पर्ने गरेको श्रेष्ठले बताउनुभयो । गौरमा बाढीको पानी निकास नहँुदा ठूलो धनजनको क्षति हँुदै आइरहेको छ ।

    केही वर्षअघि तत्कालीन प्रमुख जिल्ला अधिकारी किरण थापाको पालामा यसरी नै माटो थप्न लाग्दा नेपालका तर्फबाट स्थानीय प्रशासन र सुरक्षा निकाय ९सशस्त्र प्रहरी०ले कडा आपत्ति जनाएपछि काम रोकिएको थियो । नेपाल–भारत दुई देशबीचको सहमतिअनुसार सीमारेखाको निश्चित दूरीभित्र एकतर्फी रूपमा बाँध वा सडकजस्ता अग्ला संरचना बनाउन निषेध गरिएको गौर नगरपालिकाका पूर्व नगरप्रमुख अजयकुमार गुप्ताले बताए । तर भारतले आफ्नो भूमि डुबानबाट जोगाउन लगाएको बाँध मर्मतको बाहनामा माटो थपेको र चौडाइ पनि बढाइरहेको पूर्व नगरप्रमुख गुप्ताले बताए ।


    भारतले एकतर्फी रूपमा पूर्वमा वाग्मती नदीदेखि र पश्चिमतर्फ बकैया नदीपारि बन्जराहा गाउँसम्मको पाँच किलोमिटर क्षेत्रसम्म बाँध निर्माण गरेका कारण बर्सेनि गौर नगर क्षेत्र डुबानमा पार्दै आएको उनले बताए । विसं २०७७ मा आफू नगरप्रमुख हँुदा गौर नगरपालिका–२ महादेवपट्टि गाउँस्थित रहेको बकैया नदीमा तटबन्ध गर्दा भारतीय पक्षले अवरोध गरेको तर अहिले भारतले मनपरी ढङ्गले बाँध मर्मतका नाममा अग्लो तथा बलियो बनाइरहेको पूर्व नगरप्रमुख गुप्ताले बताए ।

    नेपाल–भारत सीमा क्षेत्रमा भारतले निर्माण गरेको बाँधमुनिको सुलीसगेट (पानी निकास हुने ढोका) बन्द गरेपछि गौरवासी झन् समस्यामा पर्दै आइरहेको उनले बताए । बाँध र सुलीसगेट नखोलेका कारण गौर हरेक वर्ष डुबानमा परिरहेको उहाँको भनाइ छ ।

    यता रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले भारतीय समकक्षी सितामाढी जिल्लाका प्रमुख (डिएम) रुचि पाण्डेसँग बाँधमा माटो थप्ने काम भएको भन्दै ध्यानाकार्षण गराएको बताए । डिएम पाण्डेले आफूलाई भारतीय केन्द्रीय सरकारबाटै बाँध मर्मतको काम भएको जानकारी गराएको प्रजिअ भुसालले बताए ।
    दुई देशको सीमा र अन्तरराष्ट्रिय सन्धिसँग जोडिएको विषय भएकाले केन्द्र सरकारले कूटनीतिक नोट पठाएर यसको स्थायी समाधान खोज्न आवश्यक रहेको भन्दै विगतका मधेस प्रदेशका मुख्यमन्त्रीहरूले सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् ।

    भारतले एकपक्षीय रूपमा बाँध बाधेपछि रौतहटको राजदेवी नगरपालिकाको बेलबिछुवा, ब्रम्हपुरी लक्ष्मीपुर, सदरमुकम गौरका नौवटै वडा र इशनाथ नगरपालिकाको बैरिया, औरैया र बन्जरहा गाउँ बर्सेनि डुबानमा पर्दै आएको छ । सो क्षेत्रमा हरेक वर्ष डुबानका कारण करोडौँको धनजन तथा बालीनालीको क्षति हुँदै आइरहेको छ ।

  • मङ्गलाको तटीय क्षेत्रमा कटान र बाढीको जोखिम

    मङ्गलाको तटीय क्षेत्रमा कटान र बाढीको जोखिम

    म्याग्दी, १ असारः म्याग्दी नदीले तटीय क्षेत्रमा गर्ने कटान, स्थानीय खोल्साहरूमा आउने बाढी र पहिरोले मङ्गला गाउँपालिकामा विपद्को जोखिम बढाएको छ । विगतका ठूला विपद्का घटना, नदी कटानबाट खेतीयोग्य जमिनमा पुगेको क्षति र बस्तीमा बढ्दो जोखिमका कारण गाउँपालिकाले संरक्षण तथा जोखिम न्यूनीकरणका कार्यक्रमलाई प्राथमिकतामा राखेको छ ।

    गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाका अनुसार तटीय क्षेत्रमा म्याग्दी नदीको कटान र माथिल्लो क्षेत्रमा पहिरोको जोखिम रहेको छ । “बर्खायाममा नदी कटान र खोल्सामा आउने बाढी तथा सुक्खा मौसममा डढेलो र आगलागीको जोखिम रहेको छ”, उनले भने, “जोखिमयुक्त क्षेत्र पहिचान गरी नदी नियन्त्रण, पहिरो रोकथाम, वृक्षरोपण, राहत र पुनःस्थापनाका कार्यक्रम सञ्चालन गरेका छौँ ।”

    विसं २०५८ मा अर्मनमा गएको पहिरोमा कम्तीमा १६ जनाको मृत्यु भएको थियो भने धेरै घर, विद्यालय र खानेपानी संरचना क्षतिग्रस्त भएका थिए । त्यसभन्दा अघि २०४५ सालमा निस्कोटको भिर भत्किँदा म्याग्दी खोला थुनिएर आएको बाढीले व्यापक जनधनको क्षति पुर्याएको थियो । हाल छिसवाङ, कुरसिम्ला, पिपलबोट, सेराफाँट, हाडेभिर, बाबियाचौर, काँशेबगर, सिमलचौर, बान्द्रेलगायतका क्षेत्रलाई नदी कटानको जोखिमयुक्त क्षेत्रका रूपमा पहिचान गरिएको छ । स्थानीयवासीका अनुसार नदीको बहाव परिवर्तन र गहिरिँदै गएको कटानले खेतीयोग्य जमिन बगरमा परिणत हुँदै गएको छ ।

    पानाबगरका स्थानीय जितबहादुर किसानले म्याग्दी नदीले आफ्नो चार रोपनीभन्दा बढी खेतीयोग्य जमिन कटान गरी बगर बनाएको बताए । “नदीले खेतमात्र होइन, बस्तीलाई नै जोखिममा पारेको छ”, उनले भने, “जोखिम धेरै भए पनि संरक्षणका योजना पर्याप्त छैनन् ।”

    म्याग्दी नदीको करिब १० किलोमिटर तटीय क्षेत्रमा स्थायी संरक्षण संरचना निर्माण गर्नमात्रै करिब दुई अर्ब रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ । सङ्घीय सरकारको विशेष अनुदानमा चालु आर्थिक वर्षदेखि बाबियाचौर–काँशेबगर बस्ती संरक्षण योजना कार्यान्वयनमा ल्याइएको छ । करिब रु ४२ लाख लागतमा म्याग्दी नदी किनारमा पक्की र ग्यावियन पर्खाल निर्माणको काम अन्तिम चरणमा पुगेको गाउँपालिकाका पूर्वाधार शाखा प्रमुख रुचेन्द्र अधिकारीले बताए । यस योजनाले २५० भन्दा बढी घरपरिवार लाभान्वित हुने अपेक्षा गरिएको छ ।

    त्यसैगरी, हाडेभिर क्षेत्रमा निर्माण गरिएको नदी नियन्त्रण संरचनाले बस्ती, स्वास्थ्यचौकी, निर्माणाधीन अस्पताल भवन तथा सडकलाई कटानबाट जोगाउन प्रभावकारी भूमिका खेलेको छ । प्रदेश सरकारको सहयोगमा सिम र ताराखेत क्षेत्रमा पनि नदी नियन्त्रण योजना सम्पन्न भएका छन् ।

    यद्यपि सङ्घीय सरकारले हिलवाङखोला, छिसवाङ र रातोढुङ्गामा नदी नियन्त्रणका लागि विनियोजन गरेको रु एक करोड ५० लाख बजेट भने विवादका कारण कार्यान्वयन हुन नसकी फिर्ता भएको मङ्गला गाउँपालिका–५ छिसवाङका पृजेन भट्टचनले बताए । विपद् जोखिम न्यूनीकरणका लागि गाउँपालिकाले पाँचै वडामा हेलिप्याड निर्माण, राहत कोष व्यवस्थापन, सडक मर्मत तथा हरित सडक अभियान सञ्चालन गरेको छ । तर मनसुनजन्य विपद्बाट घरबार गुमाएका नागरिकको निजी आवास पुनःनिर्माणमा भने समस्या देखिएको गाउँपालिकाका उपाध्यक्ष प्रेमकुमारी अधिकारीले बताइन् । उनका अनुसार राष्ट्रिय विपद् प्राधिकरणको प्रणालीमा लाभग्राहीको विवरण अद्यावधिक हुन नसक्दा पछिल्ला तीन वर्षयता १९ जना पीडित अनुदान सम्झौताबाट वञ्चित भएका छन् ।

  • अधिक ज्येष्ठ कृष्ण आमावास्याः नबोली स्नान गरी मनाइयो सोमबारे औँसी

    अधिक ज्येष्ठ कृष्ण आमावास्याः नबोली स्नान गरी मनाइयो सोमबारे औँसी

    काठमाडौँ, १ असारः सोमबार औँसी परेका दिन बिहान नबोली स्नान गरी मनाइने सोमबारे औँसी आज बिहान मौन स्नान गरी मनाइएको छ । सोमबार औँसी परेका दिन बिहान नबोली स्नान गर्ने वैदिक सनातन धर्मावलम्बीको प्राचीनकालदेखिको परम्परा रही आएको छ । अधिक ज्येष्ठ कृष्ण औँसी आज सोमबार परेको हो ।

    सोमबार औँसी परेका दिन बिहान उठेर नबोलीकन स्नान गरे मनोकाङ्क्षा पूरा हुने शास्त्रीय मान्यता छ । धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व सदस्य प्रा डा देवमणि भट्टराई वर्षमा दुईदेखि तीनपटकसम्म सोमबारे औँसी पर्ने गरेको बताउँछन् ।

    सोमबारे औँसी परेका दिन बिहान नबोली स्नान गरेमा दाम्पत्य जीवन सुखमय हुने, अक्षय फल प्राप्त हुने विषय विभिन्न ग्रन्थमा उल्लेख गरिएको उनले बताए । औँसी तिथि श्राद्ध, तर्पणका लागि पनि महत्वपूर्ण मानिन्छ । सोमबार औँसी परेका दिन माता, पिता हुने नहुने सबैले बिहान स्नान गर्नु शास्त्रीय रुपमा उचित रहेको जनाइएको छ । प्रत्येक महिनामा आउने औँसीलाई पनि विशेष पर्वका रुपमा मनाउने वैदिक सनातनी परम्परा रही आएको छ ।

    माता, पिता नहुनेले भने औँसी पर्वका दिन श्राद्ध, तर्पण, सिदा दानलगायत गरी मनाउँछन् । यसका लागि पनि सोमबार परेको औँसी विशेष रुपमा मानिने गरेको धर्मशास्त्रविद् भट्टराईले बताउनुभयो । यस अवसरमा विभिन्न तीर्थमा स्नान गर्नेको भीड लागिरहेको छ । आजै जेठ ३ गतेदेखि सुरु भएको अधिकमासअर्थात् मलमास पनि सकिने समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख गरिएको छ ।

    अधिकमासलाई पुरुषोत्तममास पनि भनिन्छ । यस अवसरमा काठमाडौँको दक्षिण पश्चिमस्थित मत्स्यनारायण मन्दिरमा मेला लागिरहेको छ । मेलाको आज अन्तिम दिन हो । यसैगरी धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा रहेको नृसिंहधाममा पनि एक महिने मेला लागिरहेको छ ।

  • सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

    सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

    काठमाडौँ, १ असारः सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दै छ । सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ः०० बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बस्न लागेको हो । प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफल सुरु हुनेछ । सचिवालयका अनुसार विनियोजन विधेयक, २०८३ को विभिन्न मन्त्रालयको विभिन्न शीर्षकमाथि समूहीकृत रुपमा छलफल हुनेछ ।

    कार्यसूचीअनुसार आज युवा, श्रम तथा रोजगार मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि, वन तथा पर्यावरण मन्त्रालय, सूचना तथा सञ्चार मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डन मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय, भूमि व्यवस्था, सहकारी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयका लागि विनियोजित शीर्षकमाथि छलफल हुनेछ ।

    त्यसैगरी राष्ट्रियसभाको बैठकमा आर्थिक वर्ष २०८३\८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल हुनेछ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आवको राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा उठेका प्रश्नहरुको जवाफ दिजे कार्यसूची रहेको जनाइएको छ ।

  • असार १ : पहिलो विद्यार्थी आन्दोलन सुरु भएको स्मृतिमा जयतु संस्कृतम् दिवस मनाइँदै

    असार १ : पहिलो विद्यार्थी आन्दोलन सुरु भएको स्मृतिमा जयतु संस्कृतम् दिवस मनाइँदै

    काठमाडौँ, १ असार । नेपालको पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । विसं २००४ असार १ गते तीनधारा पाठशालाका विद्यार्थीले संस्कृतका शास्त्रीय विषयका साथै आधुनिक अङ्ग्रेजी, गणित, विज्ञान, भूगोललगायत विषय पनि पढ्न पाउनुपर्ने माग गर्दै राणा शासकका विरुद्ध गरेको आन्दोलनको सम्झनामा जयतु संस्कृतम् दिवस मनाउने गरिन्छ ।

    आधुनिक विषय अध्ययन गर्न पाउनुपर्ने माग गर्दै सुरु भएको आन्दोलन पछि जहानियाँ राणा शासनको विरुद्ध र प्रजातन्त्र स्थापनाको पक्षमा केन्द्रित भएको थियो । राणा शासकले तीनधारा पाठशालाबाट चार पाटा मुडेर विद्यार्थीलाई उपत्यकाका नाका कटाएपछि तिनले जहानियाँ राणा शासनको विरोध गर्दै देशभर जागरण फैलाएका थिए । यसले कुनाकन्दराका जनतालाई राणा शासकका विरुद्ध सङ्गठित गरेको थियो ।

    देशका विभिन्न भाग हुँदै विद्यार्थीहरू भारतको वनारस पुगे । वनारसमा राणा शासनको अन्त्य गर्न प्रवासमा रहेका नेपालीलाई गोलबद्ध गरिरहनुभएका नेपाली कांग्रेसका संस्थापक बिपी कोइरालालगायत नेतासँग जयतु संस्कृतम्का अगुवाहरू पूर्णप्रसाद ब्राह्मण, श्रीभद्र शर्मालगायतले भेटघाट गरी प्रजातन्त्र स्थापनाको आन्दोलनमा सरिक हुनुभएको थियो । त्यसबेला असार १ गते विद्यार्थीले आन्दोलन सुरु गरेको सम्झनामा प्रत्येक वर्ष यसै दिन जयतु संस्कृतम् दिवस मनाउने गरिन्छ ।

    आन्दोलनको स्वर्ण वर्षको अवसरमा विसं २०५५ मा संस्कृतका क्षेत्रमा काम गर्ने उद्देश्यले जयतु संस्कृतम्लाई संस्थागत स्वरूप दिई विधिवत् रूपमा दर्ता गरिएको थियो । त्यसै वर्षदेखि संस्थागत रूपमा जयतु संस्कृतम् दिवस मनाउन थालिएको हो ।

    यस अवसरमा आज बिहान दरबारमार्गस्थित तीनधारा पाठशाला अघि रहेको जयतु संस्कृतम् स्तम्भमा माल्यार्पण, पुष्पगुच्छासहित विश्वशान्तिको सङ्कल्पले स्वस्तिवाचन गरिने जनाइएको छ । कार्यक्रममा सहभागी हुन जयतु संस्कृतम् संस्थाले संस्कृतका अनुयायीमा आह्वान गरेको छ ।

    माल्यार्पण र स्वस्तिवाचनपछि दरबारमार्गस्थित जयतु संस्कृतम् स्तम्भबाट प्रभातफेरी गरिने र रानीपोखरीस्थित संस्कृत माध्यमिक विद्यालय (दरबार हाईस्कुल)मा पुगेर औपचारिक कार्यक्रम गरिने जनाइएको छ । यस वर्ष ८०औँ जयतु संस्कृतम् दिवस मनाउन लागिएको जयतु संस्कृतम् संस्थाले जनाएको छ ।

  • अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली लुम्बिनीमा

    अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली लुम्बिनीमा

    लुम्बिनी, १ असार । विश्व शान्ति, करुणा र मैत्रीको सार्वभौमिक सन्देश बोकेर विश्वभर ‘वाक फर पिस’ अभियान सञ्चालन गर्दै पैदलयात्रामा रहनुभएका भियतनामी भिक्षु पन्याकरको नेतृत्व टोली आइतबार बुद्ध जन्मस्थल लुम्बिनी आइपुगेका छ । उक्त अभियानसँग जोडिएको ‘आलोका’ कुकुरसहितको टोली बुद्धको जन्मस्थल लुम्बिनी आएको हो । उक्त पैदलयात्राका अगुवा भिक्षु पन्याकरको नेतृत्वमा १८ जना भिक्षु र उपासक उपासिकाको टोली बुद्ध जन्मस्थल लुम्बिनी आएको हो ।

    उक्त शान्ति पदयात्रा टोलीले कुकुरसहित लुम्बिनीस्थित अखण्ड शान्ति दीप क्षेत्रबाट आइतबार बेलुका मायादेवी मन्दिरसम्म शान्ति पदयात्रा गरेको थियो । मायादेवी मन्दिर पुगेर पूजा र प्रार्थना गरेका थिए । यस ऐतिहासिक एवं प्रेरणादायी अवसरमा भन्तेहरूलाई लुम्बिनी सांस्कृतिक नगरपालिकाका कार्यवाहक नगरप्रमुख कल्पना हरिजन तथा लुम्बिनी विकास कोषका वरिष्ठ निर्देशक ज्ञानीन राईले स्वागत गरे । भिक्षु टोलीले शान्तिको पैरवी गर्दै यात्रा गरेका छन् । पदयात्राका दौरान भिक्षुहरूले सर्वसाधारणलाई बुद्ध दर्शन र शान्ति शिक्षा सिकाउँदै हिँडेका छन् । ठाउँठाउँमा ध्यान सिकाउँथे । करुणा, दयामाया, सद्भाव र सदाचार सिकाउँदै उनीहरूको पदयात्रा अघि बढेको थियो ।

    मायादेवी मन्दिरको अवलोकन तथा प्रार्थनापश्चात् आयोजित स्वागत कार्यक्रममा भिक्षु पन्याकरले बुद्धले यो संसारको जन्म र मरणको अनन्त चक्रबाट उम्कने बुद्धका सन्देशलाई अपनाएर उनले देखाएको निर्वाण र परम आनन्द प्राप्त गर्न भगवान् बुद्धले देखाउनु बाटोलाई आत्मसात् गर्नुपर्ने बताए । उनले हरेक प्राणीले मुक्ति प्राप्त गर्न र निर्वाणको परम आनन्द प्राप्त गर्न कस्तो हुनुपर्ने हो भन्ने एउटा ठूलो प्रश्नको विषय बनेको बताउँदै संसारमा सबै कुरा पाउन हरेक व्यक्तिमा बलियो सङ्कल्प आवश्यक रहेको बताए । उनले त्यही बलियो सङ्कल्पका साथ अभियान थालेको बताए ।


    भिक्षु पन्याकरले आफूहरूको एउटा सानो यात्राको आज विश्वभर सम्मान पाएको र यसले विश्व शान्ति सन्देश दिन ठूलो सफलता मिलेको बताए । उनले आफूहरूको एकमात्र उद्देश्य विश्वमात्र रहेको बताउँदै शान्ति व्यक्तिबाट सुरु हुने भएकाले सबै शान्तिका लागि लाग्नुपर्नेमा जोड दिए । उनले आफ्नो यात्राको सदस्यका रूपमा रहेको आलोका कुकुरको बारेमा भने, “हामी आलोकको कुरा गर्दैछौँ, यो शान्त कुकुर जुन यहाँ छ । आलोक एउटा यस्तो कुकुर हो जो हामीसँग लामो समयदेखि हिँडिरहेको छ । ऊ हिँड्यो र अहिले शान्तिको दूत ९एम्बेसेडर० बन्यो । तर कसरी, ऊ किन कुकुर बन्यो त ? यो शील (नैतिकता)को कारणले हो, शील पालना नगरेको कारणले हो ।”

    सन् २०२२ मा भिक्षु पन्याकार भारतमा पदयात्रामा छँदा उक्त कुकुरले पछ्याएको थियो । सन् २०२५ को अन्त्यमा भिक्षु पन्याकारसहितको टोलीले अमेरिकाकोे टेक्सासबाट यात्रा सुरु गर्ने निर्णय गरेपछि कुकुरलाई भारतको कोलकाताबाट अमेरिका लगिएको थियो । अमेरिका लगेर कुकुरको नाम अलोका राखिएको हो ।

    त्यस अवसरमा लुमिबनी सांस्कृतिक नगरपालिकाका कार्यवाहक प्रमुख हरिजनले लुम्बिनी जहाँबाट मानवता, करुणा, सहअस्तित्व र विश्व बन्धुत्वको सन्देश संसारभर प्रवाहित भएको छ, त्यही पवित्र भूमिमा सम्पन्न यस ‘शान्ति पदयात्रा’ कार्यक्रमले शान्ति, सद्भाव र वैश्विक एकताको भावनालाई थप ऊर्जावान बनाएको बताए ।


    कार्यक्रममा लुम्बिनी विकास कोषका वरिष्ठ निर्देशक राईले अलोका कुकुरसहित भिक्षु पन्याकारको आगमनले पिस वाकले सार्थकता पाएको बताए । उनले यसले लुम्बिनीको शान्ति पर्यटनमा पनि टेवा दिने विश्वास व्यक्त गरे । पदयात्राको टोली सोमबार (आज) बिहान हवाई उडानबाट काठमाडौँ पुगेर बौद्धनाथ, स्वयम्भू, चारुमती र आनन्दकुटी विहार अवलोकन गरी साँझ ५ः०० बजे राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्ने कार्यक्रम छ ।

    विश्व शान्तिका लागि अहोरात्र हिँडेका व्यक्तिहरूलाई शान्तिकै उद्गमस्थल लुम्बिनी आउने वातावरण बनाएका भिक्षु महासङ्घका पूर्वअध्यक्ष भिक्षु मैत्री महास्थवीरले नेपाल भ्रमणको चाहनाबारे सोध्दा राष्ट्रपति÷प्रधानमन्त्रीसँग भेटघाट हुने भए आउने जानकारी पाएपछि आफू सक्रिय भएर व्यवस्थापनमा लागेको बताए । उनले धर्म, राजनीति र विचारधाराले विभाजित देखिने अमेरिकामा गरिएको त्यो पदयात्राले त्यहाँ शान्ति, करुणा मैत्रीभावप्रतिको गजबको आकर्षण देखिएको बताए ।

  • विश्वकपः जर्मनी सानदार विजयी

    विश्वकपः जर्मनी सानदार विजयी

    काठमाडौँ, १ असार : फिफा विश्वकप फुटबल प्रतियोगिता २०२६ अन्तर्गत आज भएको खेलमा चार पटकको विश्वकप विजेता जर्मनीले कुरासाओलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ । अमेरिकाको ह्युस्टन स्टेडियममा आज बिहान सम्पन्न समूह इ को खेलमा जर्मनीले क्यारेबियन राष्ट्र कुरासाओलाई ७–१ गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको हो ।

    जर्मनीले पहिलो हाफमा तीन गोल गर्यो भने खेलको दोस्रो हाफमा चार गोल थप्यो । जर्मनीका लागि काई हाभाट्र्जले दुई तथा फेलिक्स एनमेचा, निको स्लोटरबेक, जमाल मुसिएला, नाथनियल ब्राउन र डेनिज उन्डाभले समान एक–एक गोल गरे ।

    एनमेचाले खेलको छैटौँ मिनेटमै गोल गर्दै जर्मनीलाई सुरुआती अग्रता दिलाए । त्यसपछि खेलको २१ औँ मिनेटमा कुरासाओका लिभानो कोमेनेन्सियाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि जर्मनीका निको स्लोटरबेकले खेलको ३८औँ मिनेटमा गोल गर्दै खेललाई २–१ को अग्रता बनाए ।

    त्यसपछि खेलको पहिलो हाफको अत्तिरित्त समयमा हाभाट्र्जले पेनाल्टीमार्फत गोल गर्दै खेललाई ३–१ को अग्रता दिलाए । त्यसैगरी मुसिएलाले खेलको ४७औँ मिनेटमा गोल गर्दा ब्राउनले खेलको ६८औँ मिनेटमा अर्को गोल थपे । त्यस्तै खेलको ७८ औँ मिनेटमा उन्डाभले गोल गरे भने काई हाभाट्र्जले खेलको ८८ औँ मिनेटमा अर्को गोल थपे । यस जितसँगै जर्मनीले शीर्ष तीन अङ्क जोडेको छ ।

  • केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना

    केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना

    काठमाडौँ, १ असारः हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव रहेको छ ।
    जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको हिमाली र पहाडी भू–भागका साथै मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईमा आंशिक बादल लागेको छ । साथै बाँकी तराई भू–भागमा मौसम मुख्यतया सफा छ । विभागका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू–भागका थोरै स्थान तथा कर्णाली प्रदेशको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा भइरहेको छ ।

    आज दिउँसो देशको हिमाली भू–भागमा साथै कोशी प्रदेशको पहाडी भू–भागमा साधारणतया बादल लाग्ने विभागको अनुमान छ । देशको पहाडी भू–भागमा तथा कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका तराई भू–भागमा आंशिक बादल तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

    कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हिमपातको सम्भावना छ । कोशी प्रदेशको तराईका थोरै स्थानहरूमा तथा मधेस प्रदेशको पनि एकदुई स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानहरूमा तातो दिन हुने सम्भावना छ ।

    आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक बादल लाग्नेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ । विभागका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेशका हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन चट्याङसहित मध्यम वर्षा हिमपात तथा बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षा हिमपातको सम्भावना छ । कोशी प्रदेशको तराईका थोरै स्थानहरूमा तथा मधेस प्रदेशको पनि एक\दुई स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

  • कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

    कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

    काठमाडौँ, ३१ जेठः काठमाडौँ महानगरपालिकाको १९औँ नगर अधिवेशनले आगामी आर्थिक वर्ष २०८३–८४को नीति तथा कार्यक्रममा फोहोरमैला व्यवस्थापनलाई उच्च प्रथामिकतामा राखेको छ । आजको नगरसभामा आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै काठमाडौँ महानगरकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले फोहरलाई निःशुल्क, सःशुल्क , न्यूनीकरण, सृजनात्मक पुनःचक्रीयलगायत प्रयोगमा आधारित बनाई सोको प्रवर्द्धन हुनेगरी महानगर क्षेत्रलाई सात समूहमा विभाजन गरी प्रविधिको प्रयोगमार्फत फोहरमैलाको उचित व्यवस्थापन गरिने बताइन् ।


    “महानगरले आगामी आवको नीति तथा कार्यक्रममा १०१ बुँदालाई समावेश गरेको छ”, उनले भनिन्, “फोहर स्थानान्तरण केन्द्रबाट निस्कने न्यून फोहरलाई बञ्चरेडाँडा ल्याडफिल साइडमा मेकानाइज्ड मेटेरियल रिकभरी फ्यासिलिटी (यान्त्रीकृत फोहर व्यवस्थापन तथा पुनःप्राप्ति केन्द्र) सञ्चालन गरी वैज्ञानिक तरिकाले व्यवस्थापन गरिनेछ ।”

    कार्यवाहक प्रमुख डङ्गोलले फोहरमैला व्यवस्थापन सेवा शुल्कलाई प्रदूषकले तिर्ने सिद्धान्त अनुरुप एकद्वारा प्रणालीमार्फत शुल्क सङ्कलन गर्ने व्यवस्था नीति तथा कार्यक्रममा समावेश गरिएको बताइन् । महानगरले राजस्व परिचालनलाई पारदर्शी, विश्वसनीय र प्रभावकारी बनाउन आगामी आवदेखि कर प्रणाली अडिट सुरु गर्ने उनको भनाइ छ । महानगरले करको दायरामा नआएका करदाताको पहिचान गरी कर तिर्ने वातावरण निर्माण गर्ने जनाएको छ ।

    नीति तथा कार्यक्रममा आरोग्य जीवनका लागि आयुर्वेद, वैकल्पिक चिकित्सा, योग र व्यायाममार्फत स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने नीति अङ्गीकार गर्ने जनाइएको छ । महानगरले आगामी आवमा पनि निःशुल्क एम्बुलेन्स सेवालाई निरन्तरता दिने उद्घोष गरेको छ । महानगर क्षेत्रभित्र सञ्चालनमा रहेका अस्पताल तथा स्वास्थ्य संस्थाको नियमन तथा अनुगमन गरी गुणस्तरीय सेवा प्रवाहका लागि प्रोत्साहन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

    त्यस्तै विपन्न तथा असहाय नागरिकलाई १० प्रतिशत निःशुल्क उपचार गर्ने व्यवस्थालाई कडाइका साथ लागू गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । महानगरले कर्मचारीको क्षमता अभिवृद्धि गरी पालिका र सबै वडा कार्यालयमा एकद्वारा सेवा केन्द्र सञ्चालन गर्ने घोषणा गरेको छ । विश्वका सहरका असल अभ्यासबाट ज्ञान हासिल गरी प्रविधि हस्तान्तरण, सूचना तथा सांस्कृतिक आदानप्रदानलगायत माध्यमबाट काठमाडौँ सहरको समग्र पक्षको विकासमा टेवा पुर्‍याउन प्रादेश तथा स्थानीय तहका असल अभ्यास अवलम्बन गरिने नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

  • हर्मुज र आणविक मुद्दामा अमेरिका–इरान सम्झौता नजिक

    हर्मुज र आणविक मुद्दामा अमेरिका–इरान सम्झौता नजिक

    तेहरान, ३१ जेठ (रासस–एएफपी) । मध्यपूर्वको तनाव कम गर्ने सम्भावित अमेरिका–इरान सम्झौता आइतबार हस्ताक्षर हुन सक्ने सङ्केत देखिएपछि कूटनीतिक गतिविधि तीव्र बनेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौता सम्पन्न भएलगत्तै रणनीतिक महत्त्वको हर्मुज जलघाँटी ‘सबैका लागि खुला’ हुने दाबी गर्नुभएको छ ।

    यद्यपि इरानले हस्ताक्षरको समयसीमाबारे अझै सावधानीपूर्ण धारणा व्यक्त गरेको छ। हप्तौँदेखि जारी युद्ध र अवरुद्ध वार्तापछि दुवै पक्ष तथा मध्यस्थकर्ताहरूले समाधानको सम्भावना बढेको सङ्केत दिएका छन् । प्रमुख मध्यस्थकर्तामध्ये एक पाकिस्तानले सम्झौता पहिलेभन्दा धेरै नजिक पुगेको जनाएको छ ।

    पाकिस्तानी प्रधानमन्त्री शाहबाज सरिफले शनिबार सामाजिक सञ्जाल एक्समार्फत आगामी २४ घण्टाभित्र सम्झौताले अन्तिम रूप लिन सक्ने बताए । उनका अनुसार सम्झौतामा विद्युतीय हस्ताक्षर गरिनेछ भने अर्को साता प्राविधिक तहको वार्ता पनि जारी रहने अपेक्षा गरिएको छ । पाकिस्तानी विदेश मन्त्रालयले समेत आइतबार हस्ताक्षरको योजना रहेको पुष्टि गरेको छ ।

    अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा भनेका छने, “यो सम्झौता भोलि हस्ताक्षर हुने तय भएको छ र हस्ताक्षर भएसँगै हर्मुज स्ट्रेट सबैका लागि खुला हुनेछ ।” यद्यपि इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले हस्ताक्षरको मिति अझै अन्तिम नभएको स्पष्ट पार्दै ‘यो भोलिपल्ट नहुन सक्छ, तर आगामी दिनमा सम्भावनालाई अस्वीकार गर्न सकिँदैन’ भनेका छन् ।


    अप्रिल ८ मा भएको युद्धविरामले भीषण लडाइँ रोक्न मद्दत गरे पनि त्यसयता स्थायी राजनीतिक समाधानको प्रयास जारी छ । राष्ट्रपति ट्रम्पले पटकपटक सम्झौता नजिक पुगेको दाबी गर्दै आएका छन् । तर वार्ता विभिन्न चरणमा अवरुद्ध पनि हुँदै आएको छ । सम्झौताको सम्भावनाबीच हर्मुज जलघाँटीको विषय अझै विवादको केन्द्रमा छ ।

    विश्वको महत्त्वपूर्ण तेल तथा ग्यास ढुवानी मार्ग मानिने यस जलमार्गमाथि इरानले युद्ध सुरु भएदेखि नियन्त्रण कडा बनाएको छ । तेहरानले जहाजहरूलाई आफ्ना सुरक्षाकर्मीबाट अनुमति लिनुपर्ने व्यवस्था लागू गरेको छ भने निरीक्षण र शुल्क व्यवस्थापनका लागि नयाँ निकाय पनि स्थापना गरेको छ ।

    यसको प्रत्युत्तरमा अमेरिकाले इरानी बन्दरगाहहरूमा आफ्नै नाकाबन्दी लागू गरेको छ । अमेरिकी सेनाको सेन्ट्रल कमान्डले शनिबार इरानले व्यावसायिक जहाजहरूलाई लक्षित गरी एकतर्फी ड्रोन आक्रमणको प्रयास गरेको आरोप लगाउँदै ती सबै ड्रोन खसालिएको जनाएको छ ।

    इरानी विदेशमन्त्री अब्बास अराघचीले शुक्रबार राज्य टेलिभिजनसँगको अन्तर्वार्तामा प्रस्तावित सम्झौतामा अमेरिकी नाकाबन्दी हटाउने विषय समावेश रहेको बताएका थिए । उनले हर्मुज जलमार्गलाई इरानको ‘प्रतिरोधको प्रमुख साधन’ मध्ये एक भएको उल्लेख गर्दै यसको व्यवस्थापन पहिले जस्तो नहुने सङ्केत दिएका थिए ।

    तर अमेरिकाले इरानलाई जलघाँटीमाथि पूर्ण नियन्त्रण दिन नसकिने स्पष्ट गर्दै आएको छ । ट्रम्पको पछिल्लो अभिव्यक्तिमा पनि शुल्क वा नयाँ प्रशासनिक व्यवस्थाबारे कुनै उल्लेख गरिएको छैन । सम्झौताको अर्को संवेदनशील विषय इरानको आणविक कार्यक्रम हो ।

    विशेषगरी इरानसँग रहेको उच्च संवर्धित युरेनियम भण्डारको भविष्यबारे अझै मतभेद कायम छ । इरानले आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण प्रयोजनका लागि भएको दाबी गर्दै आएको छ, तर अमेरिका, इजरायल तथा पश्चिमी राष्ट्रहरूले इरानले आणविक हतियार विकास गर्न खोजेको आशङ्का व्यक्त गर्दै आएका छन् ।

    विदेशमन्त्री अराघचीले इरानको समृद्ध युरेनियमको व्यवस्थापन गर्ने सबैभन्दा उपयुक्त उपाय देशभित्रै त्यसलाई कम घनत्वमा रूपान्तरण गर्नु रहेको बताउनुभएको छ । अर्कोतर्फ राष्ट्रपति ट्रम्पले यसअघि युरेनियम हटाएर नष्ट गरिने बताइसकेका छन् । शनिबारको आफ्नो सन्देशमा ट्रम्पले ‘सबै शान्त भएपछि हामी आणविक धुलो सङ्कलन गरेर त्यसलाई नष्ट गर्नेछौँ, चाहे त्यो इरानमा होस् वा संयुक्त राज्य अमेरिकामा’ भनेका छन् । उनले प्रक्रिया छिटो र सहज रूपमा सम्पन्न हुने आशा व्यक्त गर्दै आवश्यक परे ‘अन्तिम विकल्प’ प्रयोग गर्न सकिने चेतावनीसमेत दिए ।


    इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले ट्रम्पले कुनै पनि सम्झौतामा संवर्धित आणविक सामग्री हटाउने प्रतिबद्धता जनाएको दाबी गरेका छन् । यद्यपि तेहरानका सर्वसाधारणमा भने सम्झौताप्रति अझै शङ्का कायम देखिएको छ । ४९ वर्षीय सईद सादेगीले आफूले छिट्टै कुनै सम्झौता हुने विश्वास नगरेको बताउँदै नेताहरूका आश्वासनप्रति अविश्वास व्यक्त गरे ।


    इरानी समाचार संस्था फार्सले सार्वजनिक गरेको भिडियोमा तेहरानस्थित विदेश मन्त्रालय बाहिर दर्जनौँ प्रदर्शनकारीले सम्भावित सम्झौताको विरोध गरेको देखिएको छ । प्रदर्शनमा सहभागीहरूले झण्डा बोकेर सरकारको वार्ता नीतिविरुद्ध नाराबाजी गरेका थिए । यसरी युद्धविरामपछि मध्यपूर्वमा स्थायी शान्तिको आशा पलाए पनि हर्मुजको नियन्त्रण र इरानको आणविक कार्यक्रमजस्ता जटिल मुद्दाले अन्तिम सम्झौताको मार्ग अझै पूर्ण रूपमा सहज बनाएको छैन ।

  • प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने

    प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने

    काठमाडौँ, ३१ जेठः प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत मन्त्रालयगत विनियोजन शीर्षकमाथि आगामी असार १ र २ गते छलफल हुने भएको छ । मन्त्रालयगत छलफलका क्रममा उठेका प्रश्नको आगामी असार ३ र ४ गते सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यक्रम तय भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

    असार १ गते युवा, श्रम तथा रोजगार, उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि, वन तथा पर्यावरण, सूचना तथा सञ्चार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, शिक्षा तथा खेलकुद, स्वास्थ्य तथा खाद्य स्वच्छता, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन र महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ९्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफल हुनेछ ।

    असार २ गते विज्ञान, प्रविधि तथा नवप्रवर्तन, कानुन न्याय तथा संसदीय मामिला, पूर्वाधार विकास, गृह, ऊर्जा, जलस्रोत तथा सिँचाइ, परराष्ट्र, अर्थ र रक्षा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, उपराष्ट्रपति र राष्ट्रपतिको कार्यालयको विनियोजन शीर्षकमाथि छलफल हुने सचिवालयले जनाएको छ ।

    असार ३ गते युवा, श्रम तथा रोजगार, उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि, वन तथा पर्यावरण, सूचना तथा सञ्चार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, शिक्षा तथा खेलकुद, स्वास्थ्य तथा खाद्य स्वच्छता, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन र महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रीले मन्त्रालयगत छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिनेछन् ।


    यस्तै असार ४ गते विज्ञान, प्रविधि तथा नवप्रवर्तन, कानुन, न्याय तथा संसदीय मामिला, पूर्वाधार विकास, गृह, ऊर्जा, जलस्रोत तथा सिँचाइ, परराष्ट्र, अर्थ र रक्षा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, उपराष्ट्रपति र राष्ट्रपतिको कार्यालयको विनियोजन शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिने कार्यक्रम तय भएको छ ।

    सरकारले यही जेठ १५ गते आर्थिक वर्ष २०८३–८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गरेको थियो । प्रतिनिधिसभामा यसअघि बजेटमाथिको सामान्य छलफल सम्पन्न भई अर्थमन्त्री डा स्वर्णिम वाग्लेले जवाफ दिइसकेका छन् ।

  • युवा विदेश जान अब बाध्य हुँदैनन्ः अर्थमन्त्री वाग्ले

    युवा विदेश जान अब बाध्य हुँदैनन्ः अर्थमन्त्री वाग्ले

    काठमाडौँ, ३१ जेठः अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी पाँच वर्षमा युवाले अब आफ्नो सपना पूरा गर्न विदेशिनै पर्ने बाध्यता अन्त्य हुने बताएका छन् ।
    काठमाडौँमा आज आयोजित राष्ट्रिय युवा उद्यमशीलता सम्मेलन, २०८३ मा अर्थमन्त्री डा वाग्लेले आगामी वर्षको बजेटमार्फत युवालाई स्वदेशमै रोजगारी, शिक्षा र अन्य अवसरको पर्याप्त अवसर सृजना गरिने बताए । उनले देशका युवा आफ्नो सपना पूरा गर्न विदेशिनैपर्ने बाध्यता अन्त्य हुनुपर्ने बताउँदै भने, “अब त्यस्तो स्थिति आउन नदिन जग बसाल्न बजेटबाट नीतिगत पहल सुरु गरेका छौँ । बजेटको कार्यान्वयनले त्यसको बाटो समात्छ ।”

    देशभरका युवा उद्यमीलाई सम्बोधन गर्दै अर्थमन्त्री डा वाग्लेले करमा सहुलियत, बक्यौता उल्झनमा रहेका उद्यमी र व्यवसायीलाई छुटको सहुलियत, सरकारी प्रशासनको डिजिटलाइजेसन र सुशासनका एजेन्डा कार्यान्वयनले देश निर्माणको नयाँ बाटामा अघि बढ्ने जनाए ।

    बजेटमा करको दर घटाएर रु एक लाखसम्म कमाउने युवालाई महत्वपूर्ण सहुलियत दिएर करको झन्झटबाट मुक्ति दिइएको उनको भनाइ थियो । अर्थमन्त्री डा वाग्लेले त्यसको फाइदा लिन सबैलाई आग्रह गरे । बजेट बनाउँदा युवाको उद्यमशील सोच र योजनालाई फैलाउने गरी धेरै सोचिएको र त्यसैअनुसारका कार्यक्रम घोषणा भएका उनले बताए ।

  • लागुऔषधसहित ३१ जना पक्राउ

    लागुऔषधसहित ३१ जना पक्राउ

    काठमाडौँ, ३१ जेठः नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित ३१ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार बर्दिया र सुनसरीबाट पाँच\पाँच, झापा र ललितपुरबाट चार\चार, सिरहा र काठमाडौँबाट तीन\तीन, कास्कीबाट दुई, धनुषा, नुवाकोट, पर्सा, सुर्खेत र बाँकेबाट एक\एक जना पक्राउ परेका हुन् । प्रहरीले उनीहरुका साथबाट लागुऔषध खैरो हेरोइन र गाँजा तथा चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने औषधि बुप्रेनोर्फिन, फेनारगन, डाइजेपाम र ट्रामाडोल बरामद गरेको छ ।

  • देशका विभिन्न स्थानमा भएका दुर्घटनामा तीन जनाको मृत्यु

    देशका विभिन्न स्थानमा भएका दुर्घटनामा तीन जनाको मृत्यु

    काठमाडौँ, ३१ जेठ . देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार दाङको राप्ती गाउँपालिकामा ट्रकको ठक्करबाट पैदलयात्री अन्दाजी ६५ वर्षीया चुरिया चौधरीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते चौधरीको भालुबाङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

    ललितपुर महानगरपालिका–१३ थसिखेल चोकस्थित सडकमा आज बिहान ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार भक्तपुर लोकन्थलीकी २३ वर्षीया सोनु गडालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते हुनुभएकी गडालको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएको छ ।

    दाङबाट सल्यानतर्फ जाँदै गरेको बसले सल्यानको शारदा नगरपालिका–१ श्रीनगरस्थित सडकमा ठक्कर दिँदा पैदलयात्री छत्रेश्वरी गाउँपालिका ७ बस्ने ४६ वर्षीया उमा रेउलेको आज मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते हुनुभएकी रेउलेको जिल्ला अस्पताल सल्यानमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

  • परराष्ट्रमन्त्री बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी

    परराष्ट्रमन्त्री बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी

    काठमाडौँ, ३१ जेठः चीनको चारदिने औपचारिक भ्रमणमा गएका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । परराष्ट्रमन्त्री खनाल चीनको विदेश मामिलामन्त्री तथा चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्य वाङ यीको सौहार्दपूर्ण निमन्त्रणामा आज बिहान बेइजिङ पुगेका छन् । उनलाई बेइजिङ क्यापिटल अन्तरराष्ट्रिय विमानस्थलमा बेइजिङस्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत श्रीमती रोशन खनाल तथा चीनको परराष्ट्र मन्त्रालयका अधिकारीहरूले स्वागत गरे ।


    आज अपराह्न परराष्ट्रमन्त्री खनाल सम्मानमा नेपाली राजदूतावासद्वारा आयोजित स्वागत समारोहमा सहभागी भई नेपाली समुदायसँग अन्तरक्रिया गरेको दूतावासले जनाएको छ । कार्यक्रममा उहाँले वर्तमान सरकारका प्राथमिकता सुशासनको संस्थागत विकास, आर्थिक विकास तथा समृद्धिमा केन्द्रित रहेको उल्लेख गरे । उनले नेपाली समुदायलाई मुलुक समृद्धिको अभियानमा सहभागी हुन पनि आह्वान गरे ।


    यसअघि परराष्ट्रमन्त्री खनालले राजदूतावास परिसरमा बिरुवा रोपेका थिए, उनले कार्यवाहक राजदूत तथा अन्य अधिकारीबाट राजदूतावासको कार्यसम्पादन र प्राथमिकताबारे जानकारी लिएका थिए । मन्त्री खनालले चीनमा नेपालको हित प्रवद्र्धन गर्न तथा नेपाली नागरिकलाई प्रभावकारी सेवा प्रदान गर्न राजदूतावासका अधिकारीहरुलाई निर्देशन दिए ।

  • कैलाश मानसरोवरको दर्शन गर्नेको सङ्ख्या बढ्दै

    कैलाश मानसरोवरको दर्शन गर्नेको सङ्ख्या बढ्दै

    सिमकोट (हुम्ला), ३१ जेठः पर्यटकीय याम सुरु भएसँगै हिमाली जिल्ला हुम्लाको सिमकोट विमानस्थल भएर हिल्सा हुँदै कैलाश मानसरोवरको दर्शनका लागि यात्रा गर्ने पर्यटकको सङ्ख्या तीन हजार ७०० भन्दा बढी पुगेको छ । यस वर्षको कैलाश मानसरोवरको दर्शन गर्ने याम सुरु भएपछि भारतीय धार्मिक पर्यटक हवाई मार्गबाट आउन थालेपछि सङ्ख्या बढ्दै गएको हो ।

    हालसम्म तीन हजार ७८० जना भारतीय पर्यटक नेपालगञ्जबाट सिमकोट हुँदै हिल्सा भएर चीनको ताक्लाकोटतर्फ कैलाश मानसरोवरको दर्शन गर्न जाने गरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णु श्रेष्ठले जानकारी दिए । यस वर्ष गत वैशाख ३० गतेदेखि भारतीय पर्यटक जिल्लामा प्रवेश सुरु गरेका उनले बताए ।


    प्रहरी निरीक्षक श्रेष्ठका अनुसार हालसम्म एक हजार ८९२ महिला र एक हजार ८८८ जना पुरुष भारतीय पर्यटक हुम्ला आएका छन् । पर्यटकीय याम सुरु भएसँगै दैनिक ८० देखि २०० जना भारतीय पर्यटक हवाई मार्गबाट हुम्ला आउने गरेका उहाँले जानकारी दिनुभयो । सोही कारणले यहाँका होटेलसहित कैलाश, मानसरोवर आसपासका होटल तथा रिसोर्ट भरिभराउ हुने गरेका छन् ।

    पर्यटकको आगमन बढेसँगै होटल व्यवसायीको आम्दानीमा उल्लेख्य सुधार भएको व्यवसायीहरू बताउँछन् । यसैगरी सिमकोट विमानस्थलबाट होटेलसम्म पर्यटकका झोलाहरू बोक्ने काममा ३० भन्दा बढी भरियाले काम गरिरहनुभएको छ । सिमकोटमा उत्पादित कृषिउपजले बजार पाउन थालेका छन् ।

    पर्यटकको आगमन बढेपछि हाल ताराको एउटा, सीताका दुई र समिट एयरका तीन गरी निजी एयरलाइन्सले छ वटा उडानमार्फत बिहान ७ः०० बजेदेखि बेलुका अबेरसम्म नेपालगञ्ज–सिमकोट सेवा प्रवाह गरिरहेका नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखाका प्रमुख महेन्द्र सिंहले जानकारी दिए । उनका अनुसार छ वटा कम्पनीका छ वटा हेलिकप्टरले सिमकोट विमानस्थलबाट हिल्सा उडान भर्दै आएका छन् । हेलिकप्टर बिहान ६ः३० बजेदेखि बेलुका ७ः०० बजेसम्म उडान भरिरहेका छन् । यस्तो पर्यटकको चहलपहल सिमकोटमा मात्र नभएर दुई देशको सीमा क्षेत्र हिल्सामा पनि हुने गरेको छ ।

    पर्यटक आगमन बढेसँगै हिल्साका होटल व्यवसायी र भरियाको कमाइ बढेको उनको भनाइ छ । कैलाश मानसरोवरको दर्शन गर्ने समय सुरु भएपछि भारतीय पर्यटक आउने क्रम उल्लेख्य रूपमा बढेकाले सिमकोट विमानस्थलमा बिहानदेखि बेलुकासम्म चहलपहल हुन थालेको प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले बताए । उनले सिमकोटबाट पर्यटक हिल्सा ओसार्ने हेलिकप्टरले बिहान ६ः३० बजेदेखि उडान भर्न सुरु गर्ने जानकारी दिए । कतिपय बेला सिमकोट विमानस्थलमा ट्राफिक जाम हुने गरेको उनको भनाइ छ ।

  • विपन्न परिवारलाई आयआर्जनसँग जोड्न पाडी वितरण

    विपन्न परिवारलाई आयआर्जनसँग जोड्न पाडी वितरण

    त्रिवेणी (नवलपरासी), ३१ जेठः पहाडी क्षेत्रमा पर्ने बौदीकाली गाउँपालिकामा विपन्न परिवारलाई आयआर्जनसँग जोड्न भैँसीको पाडी अनुदानमा वितरण गरिएको छ । बौदीकाली–२ डेढगाउँका १५ परिवारलाई पाडी वितरण गरिएको हो । गाउँपालिकाका प्रवक्ता एवं वडा नं २ का वडाध्यक्ष श्यामसुन्दर श्रेष्ठका अनुसार विपन्न परिचयपत्र प्राप्त गरेका परिवारलाई पाडी वितरण गरिएको हो । आर्थिक अवस्था कमजोर भएका परिवारलाई वडाबाटै विनियोजित रु चार लाख ५० हजार बजेटबाट पशुपालनका लागि पाडी वितरण गरिएको छ । पहाडी क्षेत्रमा आम्दानीको स्रोत वृद्धि गर्न पशुपालनलाई प्रोत्साहन गर्न ९० प्रतिशत अनुदानमा पाडी वितरण गरिएको हो ।

    गत वर्ष पनि पाडी तथा बङ्गुर अनुदानमा वितरण गरिएको अध्यक्ष श्रेष्ठले बताए । यस वर्ष पनि पाडी तथा केही परिवारलाई बाख्रासमेत वितरण गरिएको छ । केही दिनभित्र ९० बङ्गुरका बच्चा वितरणको तयारी गरिएको उनले बताए । पशुपालनतर्फ स्थानीयलाई आकर्षित गर्दै आयआर्जनसँग जोड्नका लागि पालिकास्तरमा यस्ता कार्यक्रमलाई प्राथमिकता दिएर अघि बढाइएको वडाध्यक्ष श्रेष्ठले बताए । “हामीकहाँ आयआर्जनका स्रोत कम छन् ।

    यसलाई विस्तार गर्दै लैजाने योजनाअनुसार पशुपालनलाई समेत जोड दिँदै आएका छौँ । गत वर्ष बङ्गुर वितरण गरेकाले मासु उत्पादन पर्याप्त भयो, स्थानीयले आम्दानीसमेत राम्रो गरे । त्यसैले यस्ता कार्यक्रमलाई प्राथमिकता दिँदै आएका छौँ”, उनले भने ।


    गाउँपालिकाले दुग्ध उत्पादनलाई पनि प्राथमिकतामा राखेर काम गरिरहेको छ । जसअनुसार पशुपालन विस्तार गर्न इच्छुक किसानका लागि सहुलियत कृषि ऋणको व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष प्रकाश ओझाले बताए । स्थानीय वित्तीय संस्थासँगको समन्वयमा गाउँपालिकाले ९० प्रतिशत ब्याज व्यहोर्ने गरी ऋण कार्यक्रम सञ्चालन गरेको उनले बताए ।


    दुग्ध उत्पादनमा पनि पालिकाले अनुदान उपलब्ध गराउँदै आएको अध्यक्ष ओझाले बताए । अकला दुग्ध उत्पादक कृषि सहकारी संस्था लिमिटेडसँग सहकार्य गरेर उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम सञ्चालन गरिएको उनले बताए । जसअनुसार प्रतिलिटर दूधमा सात रुपैयाँ ५० पैसा प्रोत्साहन रकम उपलब्ध गराउँदै आएको अध्यक्ष ओझाले जानकारी दिए । दूध सङ्कलन तथा व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउन सहकारी संस्थालाई प्रतिलिटर रु दुई रुपैयाँ ५० पैसा सहयोग उपलब्ध गराउँदै आएको उनले बताए ।


    कालीगण्डकी करिडोर निर्माण भएपछि यातायातको पहुँच वृद्धि भएकाले पशुपालन गरी पशुजन्य उत्पादन बढाउनसके सहजै बजार पुर्याउन सकिने हुँदा यसलाई प्राथमिकता दिइएको अध्यक्ष ओझाले बताए । “अहिले बाटोको सुविधा भएको छ । सजिलै नजिकका ठूला बजारमा यहाँ उत्पादन गरिएका वस्तु पुर्याउन सकिन्छ । यसकारण कृषि र पशुपालनलाई जोड दिँदै उत्पादन बढाउने योजनामा लागेका छौँ । यसले यहाँका स्थानीयको आर्थिक अवस्था सुधारमा सहयोग पुग्ने विश्वास छ”, उनले भने ,

  • बन्द हुँदै चिया उद्योग, समस्यामा किसान

    बन्द हुँदै चिया उद्योग, समस्यामा किसान

    इलाम, ३१ जेठः भारतले नेपाली चियामा कडाइ गरेपछि इलामको सूर्योदय क्षेत्रका चिया उद्योग बन्द हुने भएका छन् । त्रिपन्न उद्योग आबद्ध रहेको सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसन नेपालले आगामी असार १ गतेदेखि उद्योग बन्द गर्ने घोषणा गरेको छ । संस्थाका अनुसार भारतीय बजारमा पुगेको तीन लाख किलोभन्दा बढी नेपाली चिया गुणस्तर परीक्षणका नाममा अलपत्र छ भने उद्योगमा सात लाख किलोभन्दा बढी तयारी चिया थन्किएको छ ।

    भण्डारण क्षमता भरिएपछि उद्योग सञ्चालन गर्न नसकिएको एसोसिएसन अध्यक्ष डिल्ली श्रेष्ठले बताए । “किसानबाट खरिद गरिएको हरियोपत्ती प्रशोधन गरेर तयारी चिया बनाएका छौँ, तर बजारमा बिक्री हुनसकेको छैन । भण्डारण गर्ने ठाउँसमेत भरिइसकेको छ”, अध्यक्ष श्रेष्ठले भने, “किसानलाई भुक्तानी रोक्न मिल्दैन, त्यसैले उद्योग बन्द गर्नुबाहेक अर्को विकल्प रहेन ।”

    भारतले सन् २०२६ मे १ देखि नेपालबाट आयात हुने चियामा ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्युर’ (एसओपी) लागू गरेको छ । यसअनुसार प्रत्येक गाडीको चिया छुट्टाछुट्टै परीक्षण गर्नुपर्ने, प्रतिवेदन आउन २० दिनभन्दा बढी लाग्ने र नतिजा नआएसम्म बिक्री गर्न नपाइने व्यवस्था गरिएको छ । परीक्षणमा असफल भए चिया नष्ट गर्नुपर्ने वा फिर्ता ल्याउनुपर्ने बाध्यता छ ।

    “उत्पादन भएको चिया बजारमा पुर्याउने बाटो नै बन्दजस्तै भएको छ”, उद्योगी गोपाल कट्टेलले भने, “भारतले विभिन्न प्राविधिक झन्झट सृजना गरेर नेपाली चिया रोकेपछि उद्योग सञ्चालन गर्न सक्ने अवस्था रहेन ।” नेपाली चियाको निर्यात समस्या समाधान गर्न सङ्घीय सरकारले प्रभावकारी रुपमा पहल गर्नुपर्ने उनको भनाइ छ । “सरकारले समयमै कूटनीतिक पहल गरेर निर्यात सहजीकरण गर्न पहल गर्नुपर्छ”, कट्टेलले भने, “अवरोध हटाउन पहल नभए अर्बौँ रुपैयाँको नेपाली चियाको बजार गुम्ने खतरा छ ।”

    उद्योग बन्द हुँदा हजारौँ किसान प्रभावित हुनेछन् । एसोसिएसनका अनुसार सूर्योदय नगरपालिकामा दुई हजार ९९५ चिया किसान छन् । यहाँ ३३ हजार ६५५ रोपनी क्षेत्रफलमा चियाखेती हुँदै आएको छ, जहाँबाट वार्षिक दुई करोड किलो हरियोपत्ती उत्पादन हुन्छ । “उद्योग बन्द भयो भने आम्दानी नै रोकिन्छ, परिवार कसरी चलाउने ? हाम्रो त रोजिरोटी हराउँछ”, किसान राजन भट्टराई भन्छन्, “उद्योग बन्द भएपछि हाम्रो हरियोपत्ती बिक्दैन । अब कसरी बाँच्ने भन्ने चिन्ता बढ्यो ।”

    पैसठ्ठभन्दा बढी चिया उद्योग रहेको सूर्योदय नगरपालिकाले चिया बिक्रीका लागि भारतीय अवरोध खुला गर्न तत्काल उच्चस्तरीय कूटनीतिक पहलका लागि परराष्ट्र मन्त्रालयसँग माग गरेको छ । नगरले भारतको कोलकाता पुगेका नेपाली चियाका ‘कन्साइनमेन्ट’माथि भारतीय चिया बोर्डले आयातकर्ताको गोदाममै प्रवेश गरी प्रत्येक बोराको नमूना सङ्कलन र परीक्षण गर्न थालेको तथा आधा दर्जनभन्दा बढी ट्रकबाट नमूना सङ्कलन गरिएको एक साता व्यतित भइसक्दा पनि प्रयोगशालाको प्रतिवेदन प्राप्त नभएर प्रतिवेदनबेगर बिक्री–वितरण पूर्ण रोक लगाइएको पाएको जनाएको छ ।

    “झन्झटिलो प्रक्रियाका कारण गुणस्तरीय नेपाली चिया भारतीय गोदाममै थन्किएर गुणस्तर ह्रास हुने र बिग्रिने जोखिम छ”, सूर्योदय नगरपालिकाका कार्यवाहक प्रमुख दुर्गाकुमार बरालले भने, “भारतीय अवरोध हटाउन नेपाल सरकारले उच्चस्तरीय कूटनीतिक पहल गर्नुपर्छ ।” राष्ट्रिय चिया तथा कफी विकास बोर्डका नवीन कोइरालाका अनुसार नेपालबाट बर्सेनि ७० लाख किलोभन्दा बढी अर्थोडक्स तयारी चिया निर्यात हुन्छ । जसको ९० प्रतिशतभन्दा बढी भारतीय बजारमा जाने गरेको छ । वार्षिक सवा रु चार अर्ब बढीको तयारी चिया निर्यात हुने नेपालमा अर्थोडक्स चिया मुख्यतः इलाम, पाँचथर र धनकुटामा उत्पादन हुन्छ ।

  • फोहरबाट रोजगारी र आम्दानी

    फोहरबाट रोजगारी र आम्दानी

    इन्द्राकुमारी केसी/रासस

    घोडाघोडी (कैलाली), ३१ जेठः कैलालीको गोदावरी नगरपालिका–४ खैरानाका जङ्गबहादुर चौधरीले फोहर व्यवस्थापन क्षेत्रमा काम गर्न थालेको नौ वर्ष भएको छ । आठ वर्षसम्म नगरपालिकामार्फत फोहर व्यवस्थापन गर्दै आउनुभएका उहाँ अघिल्लो साउनदेखि गोदावरी नगरपालिकामा रहेको एकीकृत फोहर व्यवस्थापन केन्द्रमा कार्यरत छन् । चौधरी अहिले फोहर छुट्याउने र व्यवस्थापन गर्ने काम गर्दै मासिक करिब रु १७ हजार आम्दानी गरिरहेका छन् । उनका अनुसार यस कामले रोजगारीको अवसर दिएको भए पनि फोहरसँगको प्रत्यक्ष सम्पर्क, दुर्गन्ध र स्वास्थ्य जोखिम भने निरन्तर चुनौतीका रूपमा रहेका छन् ।

    गोदावरी नगरपालिका–१० की प्रियङ्का जोराइला पनि विगत चार महिनादेखि सोही केन्द्रमा फोहर छुट्याउने र व्यवस्थापन गर्ने काम गर्दै आएका छन् । पहिले कपडा पसलमा काम गर्ने उनी अहिले मासिक करिब रु १६ हजार आम्दानी गरिरहेका छन् । उहाँहरू जस्तै उक्त फोहर व्यवस्थापन केन्द्रमा करिब एक सय जनाले रोजगारी पाएका छन् ।
    गोदावरीमामात्रै होइन, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा समेत फोहर व्यवस्थापनका माध्यमबाट स्थानीयले रोजगारी पाउँदै आएका छन् । यसरी सुदूरपश्चिमका स्थानीय तहहरूमा फोहर व्यवस्थापन अब केवल सरसफाइको काममात्र नभई रोजगारी र जीविकोपार्जनसँग पनि जोडिन थालेको छ । स्थानीयस्तरमै सृजना भएको यो रोजगारीले फोहरलाई समस्या होइन, अवसरका रूपमा उपयोग गर्न सकिने सम्भावनालाई थप स्पष्ट पारेको छ ।

    यही अभ्यासलाई अझ संस्थागत र प्रभावकारी बनाउन सुदूरपश्चिम प्रदेशका केही स्थानीय तहले वैज्ञानिक व्यवस्थापन, पर्याप्त लगानी र निजी क्षेत्रको सक्रिय सहभागितासहित फोहरलाई वातावरणीय जोखिमबाट आर्थिक अवसरमा रूपान्तरण गर्ने प्रयास अघि बढाएका छन् । कैलालीको गोदावरी नगरपालिकामा सञ्चालित एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र यसैको उदाहरण हो । चौकीडाँडा महिला सामुदायिक वन क्षेत्रमा करिब रु एक अर्ब लागतमा निर्माण गरिएको यस केन्द्रमा फोहर छुट्याउने, प्रशोधन गर्ने र पुनः प्रयोग गर्ने प्रणाली सञ्चालनमा छ । यसले वातावरणीय प्रदूषण न्यूनीकरणसँगै दिगो फोहर व्यवस्थापनको आधार तयार गरेको छ ।

    नगर प्रमुख वीरेन्द्र भट्टका अनुसार स्रोतमै फोहर वर्गीकरण गर्ने अभ्यासले व्यवस्थापनलाई सहज बनाएको छ भने नगरपालिकाले यसबाट राजस्वसमेत प्राप्त गर्न थालेको छ । यस केन्द्रको सञ्चालनमा निजी क्षेत्रको सहभागिता पनि उल्लेखनीय छ । स्वच्छ वातावरण प्रालिले फोहर व्यवस्थापनको जिम्मेवारी सम्हाल्दै आएको छ । कम्पनीका सञ्चालक गोविन्द रावलका अनुसार सङ्कलित फोहरमध्ये करिब ७० प्रतिशत पुनः प्रयोगयोग्य सामग्रीका रूपमा व्यवस्थापन गरिन्छ । कुहिने फोहरबाट जैविक मल उत्पादन गरिन्छ भने अन्य सामग्री पुनः प्रयोगका लागि पठाइन्छ । यसरी फोहरलाई सही ढङ्गले व्यवस्थापन गर्न सकिएमा यो समस्या होइन, अवसर बन्न सक्ने उनी बताउँछन् ।


    कम्पनीले वार्षिक रूपमा नगरपालिकालाई राजस्व बुझाउने गरेको छ । कम्पनीको मासिक आम्दानी करिब रु २६ लाखसम्म पुग्छ । आम्दानी र खर्च बराबरजस्तै भए पनि कम्पनीले एक सय व्यक्तिलाई रोजगारी प्रदान गर्दै आएको रावल बताउँछन् । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पनि एकीकृत फोहरमैला व्यवस्थापन केन्द्रमार्फत यस्तै अभ्यास अघि बढाइएको छ । केन्द्र निर्माण हुनुअघि जङ्गल क्षेत्रमा फोहर व्यवस्थापन गरिँदै आएकामा एक वर्षअघि केन्द्र सञ्चालनमा आएपछि व्यवस्थापन कार्य सहज भएको शुक्लाफाँटा नगरपालिकाका प्रमुख रणबहादुर महराले बताए ।


    दैनिक करिब छ टन फोहर सङ्कलन हुने अनुमानका आधारमा २० वर्षसम्म व्यवस्थापन गर्न सकिनेगरी केन्द्र निर्माण गरिएको भए पनि हाल दैनिक करिब तीन टनमात्र फोहर सङ्कलन भइरहेको उहाँले जानकारी दिनुभयो । यस अवस्थालाई हेर्दा केन्द्रको आयु ४० वर्षसम्म पुग्न सक्ने नगरप्रमुख महराको भनाइ छ । उनका अनुसार केन्द्र सञ्चालनपछि ट्याक्टर चलाउनेदेखि फोहर छुट्याउनेसम्मका काममा स्थानीयवासी नै संलग्न रहेका छन्, जसले रोजगारीको अवसर पनि सृजना गरेको छ । धनगढीमा २२ हेक्टर, शुक्लाफाँटामा पाँच बिघा र अत्तरियामा पाँच हेक्टर क्षेत्रफलमा यस्ता संरचना निर्माण भएका छन् । एसियाली विकास बैंक (एडिबी)को सहयोगमा क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत यी परियोजना अघि बढाइएका हुन् ।

    यता कैलालीको धनगढी उपमहानगरपालिकामा फोहरमैला व्यवस्थापन केन्द्र निर्माण भइसकेको भए पनि सञ्चालनमा आउन बाँकी छ । तर उपमहानगरपालिकाले फोहर व्यवस्थापनका लागि विगतका वर्षहरूबाट नै निजी कम्पनीमार्फत ठेक्का लगाई आम्दानी गरिरहेको छ । उपमहानगरपालिकाले नकुहिने फोहरबाट आयआर्जन तथा कुहिने फोहरबाट मल बनाउने उद्देश्यका साथ २०८० साउनमा रु ३१ लाख ५५ हजार लगानीमा सुक्ष्म वर्गीकरण केन्द्र सञ्चालनमा ल्याएको थियो ।

    उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको उक्त केन्द्रलाई निजी कम्पनीमार्फत ठेक्का लगाई फोहर बिक्री गर्दै आएको उपमहानगरपालिकाको वातावरण, खानेपानी तथा सरसफाइ व्यवस्थापन शाखा प्रमुख अशोक अवस्थी बताउँछन् । धनगढीको नन्दादेवी सेवा केन्द्रलाई आव २०८१÷८२ मा रु ७२ लाखमा पाँच वर्षका लागि ठेक्का दिइएको छ । ठेकेदार कम्पनीसँग पहिलो वर्षको ठेक्का रकमअनुसार प्रत्येक वर्ष १० प्रतिशतले पाँच वर्षसम्म रकम वृद्धि गर्नेगरी ठेक्का सम्झौता गरेको अवस्थीले बताए ।
    यी अभ्यासहरूले फोहर व्यवस्थापनलाई केवल सरसफाइको विषयमा सीमित नराखी वातावरण संरक्षण र आर्थिक अवसरसँग जोड्न सकिन्छ । तर संवेदनशील वन क्षेत्रमा अझै पनि फोहर थुपारिने अभ्यास जारी रहनु चुनौतीपूर्ण देखिएको छ । फोहर व्यवस्थापनको समस्या केवल स्रोतको अभाव होइन, नीति कार्यान्वयन र दीर्घकालीन व्यवस्थापन दृष्टिकोणसँग पनि जोडिएको छ ।

  • स्कटल्याण्डले हाइटीलाई १–० गोल अन्तरमा हरायो

    स्कटल्याण्डले हाइटीलाई १–० गोल अन्तरमा हरायो

    ३१ जेठ, काठमाडौं । २८ वर्षपछि पुनरामगन गरेको स्कटल्यान्डले फिफा विश्वकप–२०२६ मा जित निकालेको छ । अमेरिकाको बोस्टन स्टेडियममा आइतबार बिहान भएको खेलमा स्कटल्यान्डले हाइटीमाथि १–० को जित निकाल्यो । स्कटल्यान्डको जितमा जोन म्याकगिनले निर्णायक गोल गरे । जोनले २९औं मिनेटमा गरेको गोलले नै स्कटल्यान्डका लागि विजयी गोल बन्यो । स्कटल्यान्डसँग बराबरी बल पोसेसन बनाएको हाइटीले गोल भने गर्न सकेन ।

    जितसँगै स्कटल्यान्डले ३ अंक जोडेर समूह ‘सी’ को शीर्ष स्थानमा उक्लिएको छ । उक्त समूहमा बराबरी खेलेका मोरक्को र ब्राजिलको समान एक–एक अंक छ । स्कटल्यान्डसँग पराजित हाइटी अंकविहीन छ । स्कटल्यान्डले पछिल्लोपटक सन् १९९८ मा विश्वकप खेलेको थियो । त्यसपछि लगातार छनोट हुन नसकेको स्कटल्यान्ड २८ वर्षपछि छनोट भएको थियो ।

    यस्तै स्कटल्यान्डको विश्वकपमा ३६ वर्षपछि पहिलो जित पनि हो । पछिल्लोपटक सन् १९९० मा स्कटल्यान्डले स्वीडेनलाई २–१ ले हराएको थियो । अब आजको चौथो खेलमा अस्ट्रेलिया र टर्की खेल्नेछन् । उक्त खेल क्यानडाको भ्यानकुभर स्टेडियममा बिहान पौने १० बजेबाट सुरु हुनेछ । आजको पाँचौं खेल जर्मनी र कुराकाओबीच राति पौने ११ बजेबाट सुरु हुनेछ । यसअघि आजै भएको खेलमा कतार र स्विट्जरल्यान्ड तथा मोरक्को र ब्राजिलले एक–एकको बराबरी खेलेका थिए ।

  • मोरक्कोले शक्तिशाली ब्राजिललाई बराबरीमा रोक्यो

    मोरक्कोले शक्तिशाली ब्राजिललाई बराबरीमा रोक्यो

    ३१ जेठ, काठमाडौं । पाँच पटकको विश्वविजेता ब्राजिलले पिफा विश्वकप २०२६ को पहिलो खेलमा मोरक्कोसँग १–१ को बराबरी खेल्दै अंक बाँडेको छ । फिफा विश्वकप २०२६ अन्तर्गत आइतबार बिहान भएको समूह सी को आफ्नो पहिलो खेलमा मोरक्कोसँग बराबरीमा रोकिएको हो । छैटौं उपाधि जित्ने लक्ष्य राखेको ब्राजिलले मोरक्को विरुद्ध एक गोलले पछि परेको अवस्थामा बराबरी गोल फर्काएको थियो । फिफा विश्वकपमा ८ वर्षपछि ब्राजिलले पहिलो खेलमा जित निकाल्न सकेन । यसअघि सन् २०१८ मा पनि ब्राजिल पहिलो खेलमा स्विटजरल्यान्डसँग १–१ को बराबरी खेलेको थियो ।

    यद्यपी ब्राजिलले विश्वकपको पहिलो खेलमा अपराजित यात्रालाई भने २१ खेलसम्म लम्ब्याएको छ । सन् १९३४ मा भएको दोस्रो संस्करणमा ब्राजिल पहिलो खेलमै स्पेनसँग पराजित भएको थियो । त्यसयता ब्राजिलले विश्वकपमा खेलेको पहिलो खेलमा १७ खेल जितेको भने ४ खेल बराबरीमा सकिएको छ । अमेरिकाको न्युयोर्क न्यु जर्सी स्टेडियममा भएको खेलमा दुवै टिमले पहिलो हाफमै गोल गरेका थिए ।

    इस्माइल साइबारीले २१औं मिनेटमा गोल गर्दै मोरक्कोलाई सुरुवाती अग्रता दिलाएका थिए । तर त्यो अग्रता लामो समय टिकेन । ब्राजिलले ३२औं मिनेटमा बराबरी गोल फर्कायो । भिनिसियस जुनियरले ब्रुनो गुमाइरेसबाट प्राप्त पासमा मोरक्कोका डिफेण्डरहरुलाई बिट गर्दै उत्कृष्ट फिनिसिङ गरेका थिए ।

  • कतारले विश्वकपमा खोस्यो पहिलो अंक

    कतारले विश्वकपमा खोस्यो पहिलो अंक

    ३१ जेठ, काठमाडौं । एसियाली मुलुक कतारले विश्वकपमा पहिलो अंक बटुल्दै इतिहास बनाएको छ । बोउलेम खोउखीले खेलको अन्तिम समयमा गोल गरेपछि कतारले फिफा विश्वकप २०२६ मा स्विट्जरल्यान्डलाई १–१ को बराबरीमा रोक्न सफल रह्यो । क्यालिफोर्नियाको सान फ्रान्सिस्को बे एरिया रङ्गशालामा भएको खेलमा सुरुवाति अग्रता जोगाउन नसक्दा स्विट्जरल्यान्ड बराबरीमा रोकियो ।

    सन् २०२२ मा आयोजकको रुपमा पहिलोपटक विश्वकप खेलेको कतारले कुनै पनि अंक जोड्न सकेको थिएन । स्विट्जरल्यान्डले खेल अवधीभर कतारलाई दबाबमा राख्दै गोल गर्ने दर्जन बढी अवसर पाएपनि फिनिसिङ हुन सकेन भने कतारका गोलकिपरले पनि उत्कृष्ट प्रदर्शन गरे । खेलमा स्विट्जरल्यान्डले ६० प्रतिशत भन्दा बढी पोसेसन राखेको थियो । तर कतारले अन्तिमसम्म हार मानेन र इन्जुरी टाइममा गोल फर्काउन सफल भयो ।

    स्विट्जरल्यान्डका लागि ब्रेल एम्बोलोले गोल गर्दै सुरुवाति अग्रता लिएका थिए । खेलेको १७औं मिनेटमा डिबक्सभित्र कतारका गोलकिपर महमूद अबुनादाले विपक्षी खेलाडीलाई लडाएपछि स्विट्जरल्यान्डले पेनाल्टीले पाएको थियो । पेनाल्टीलाई सदुपयोग गर्दै एम्बोलोले स्विट्जरल्यान्डलाई पहिलो अग्रता दिलाएका थिए । ९० मिनेटसम्म एक गोलले पछि परेको कतारका लागि इन्जुरी समयमा बोउलेम खुखले गोल गर्दै बराबरीमा फर्काए । बोउलेमले हेडमार्फत गोल गर्दै कतारलाई हारबाट जोगाए ।

  • दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था

    दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था

    मुस्ताङ, ३१ जेठः लोघेकर दामोदरकुण्डस्थित धार्मिक तीर्थस्थल दामोदरकुण्ड दर्शन गर्न जाने तीर्थयात्रीलाई लक्षित गरी दुई महिनाका लागि निःशुल्क भोजनसहित आवासको व्यवस्था गरिएको छ । समुद्री सतहको चार हजार ९९० मिटर उचाइमा अवस्थित प्रसिद्ध धार्मिकस्थल जाने पदमार्ग घिमेठाँटी र दामोदरकुण्ड धर्मशालामा तीर्थयात्रीका लागि निःशुल्क भोजन र आवासको प्रबन्ध मिलाइएको हो ।

    दामोदरकुण्ड मुक्तिनाथ विकास समितिको क्षेत्रअधिकारभित्र रहेको पवित्र धार्मिकस्थल दामोदरकुण्ड दर्शन गर्न जाने तीर्थयात्रीका लागि म्याग्दीको अन्नपूर्ण–३ नारच्याङस्थित पुण्यश्वर महादेव शिवालय उपसमितिले निःशुल्क भोजन र त्यहाँ रहेको धर्मशालामा आवासको व्यवस्था मिलाएको विकास समितिका कोषाध्यक्ष एवं दामोदरकुण्ड तीर्थयात्री भोजन व्यवस्थापक समिति संयोजक मोहन पुर्जाले जानकारी दिए ।


    बर्सेनि बर्खायामको दुई महिना उपसमितिले सङ्कलन गरेको चन्दाबाट निःशुल्क भोेजनको व्यवस्था मिलाउँदै आएको उनले बताए । यस वर्ष पनि दामोदरकुण्ड तीर्थ गर्ने अनुकूल याम सुरु भएकाले जेठ २५ गतेदेखि साउनसम्म तीर्थयात्रीलाई खान र बस्न व्यवस्थित प्रबन्ध गरिएको संयोजक पुर्जाले उल्लेख गरे । म्याग्दीस्थित गलेश्वरधामबाट बर्सेनि मुक्तिदान उठाउने गरेको र उपसमितिको आंशिक अक्षयकोषबाट खर्चिने गरी तीर्थयात्रीका लागि निःशुल्क भोजनलगायत व्यवस्था गरिएको पुर्जाको भनाइ छ ।

    उपसमितिद्वारा सङ्कलित चन्दा दानको रकम खर्चिने गरी भोजन व्यवस्थापन गर्न चार जना खटाइएको छ । दामोदरकुण्डमा दुई र घिमेठाँटीमा दुई कर्मचारीलाई भोजनको व्यवस्था मिलाउन खटाइएको छ । यसका लागि बर्सेनि रु पाँच लाख बढी खर्च हुने गरेको व्यवस्थापक पुर्जाले बताए । विसं २०६४ देखि नारच्याङस्थित गुप्तेश्वर महादेव उपसमितिले दामोदरकुण्ड तीर्थयात्रीका लागि निःशुल्क भोजनको व्यवस्था मिलाउँदै आएकामा कोभिड–१९ को समयमा दुई वर्ष तीर्थयात्रा बन्द हुँदा कार्यक्रम रोकिएको व्यवस्थापक पुर्जाले जानकारी दिए ।

    तीर्थयात्रीका लागि भोजनसहित बासको व्यवस्था भएपछि ठूलो राहत मिलेको लोघेकर दामोदरकुण्ड–४ का वडासदस्य कृष्णकुमारीले जानकारी दिए । तीर्थयात्रीले भोजन र बस्नका लागि लत्ताकपडाको व्यवस्था मिलाउँदै यात्रा गर्न कठिन हुने भएकाले यस प्रकारको सुविधाले दर्शनार्थीको यात्रालाई सहज बनाएको उनले बताए । नेपाल—चीन उत्तरी क्षेत्रस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल हिन्दू धर्मावलम्बीहरूका सुविधाका लागि लोघेकर दामोदरकुण्ड गाउँपालिकाले २०७८ सालमा पुरुष र महिलाका लागि अगल–अलग बस्न मिल्नेगरी दुई धर्मशाला निर्माण गरेको गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले जानकारी दिए ।

    गाउँपालिकाले दामोदरकुण्डको केही तल धर्मशालासहित बाथरुम र शौचालय निर्माण गरेको र घिमे ठाँटीमा पनि दुईवटा धर्मशाला गाउँपालिकाले नै निर्माण गरेको छ । दुईवटै धर्मशालाको क्षमता करिब १०० जना बढीको छ भने घिमेठाँटीमा रहेको धर्मशालाको क्षमता करिब ४० जनाको रहेको अध्यक्ष विष्टले बताए ।

  • विश्व रक्तदाता दिवस : सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता

    विश्व रक्तदाता दिवस : सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता

    काठमाडौँ, ३१ जेठः आज विश्व रक्तदाता दिवस हो । ‘मानवताका लागि एक थोपा रगत, रक्तदान गरौँ, जीवन बचाऔँ’ नाराका साथ विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रमका साथ यो दिवस मनाइँदै छ । सुरक्षित रगत तथा रगतजन्य पदार्थको आवश्यकताबारे चेतना अभिवृद्धि गर्नुका साथै निःशुल्क तथा स्वेच्छिक रूपमा रक्तदान गर्ने रक्तदाताप्रति सम्मान व्यक्त गर्ने उद्देश्यले हरेक वर्ष जुन १४ मा यो दिवस मनाइन्छ ।

    विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार विश्वव्यापी रूपमा सुरक्षित रगतको आपूर्ति सुधारतर्फ उल्लेखनीय प्रगति भए पनि सुरक्षित रगतमा पहुँचका दृष्टिले अझै ठूलो असमानता कायम छ । डब्लुएचओले सङ्कलन गरेको १३२ देशको तथ्याङ्कअनुसार सन् २०१३ देखि २०२३ सम्म विश्वभर रगत सङ्कलन करिब १९ प्रतिशतले वृद्धि भएको छ । सन् २०२३ मा प्राप्त अनुमानित १२ करोड रक्तदानमध्ये ८५ प्रतिशतभन्दा बढी योगदान स्वेच्छिक तथा निःशुल्क रक्तदाताबाट आएको छ ।

    सुरक्षित रगत तथा रगतजन्य पदार्थमा पहुँच विश्वका सबै क्षेत्रमा समान छैन । विशेषगरी कम आय भएका मुलुकमा प्रसूतिको समयमा अत्यधिक रक्तस्राव भएका महिला, गम्भीर रक्तअल्पताबाट पीडित बालबालिका, दुर्घटना तथा आगलागीका घाइते, शल्यक्रिया गराइरहेका बिरामी तथा ‘थालासेमिया, हेमोफिलिया,’ रोग प्रतिरोधात्मक कमजोरी र केही प्रकारका क्यान्सरबाट प्रभावित बिरामीले आवश्यक रगत समयमै प्राप्त गर्न कठिनाइ भोगिरहेका छन् ।

    डब्ल्युएचओका महानिर्देशक डा टेड्रोस अधानोम घेब्रेयससले सुरक्षित रगतको अभावका कारण कसैले पनि ज्यान गुमाउन नपर्ने बताएका छन् । विश्व रक्तदाता दिवसका अवसरमा एक सन्देश जारी गर्दै उनले स्वेच्छिक तथा निःशुल्क रक्तदाताको बढ्दो सहभागिताले उत्साहजनक प्रगति देखाएको भए पनि व्यक्तिले बसोबास गर्ने स्थानले अझै आवश्यक रक्तसञ्चार सेवा प्राप्त हुने वा नहुने अवस्था निर्धारण गरिरहेको उल्लेख गरेका छन् । उनले सरकारहरूलाई दिगो राष्ट्रिय रक्त प्रणाली निर्माण तथा स्वेच्छिक रक्तदातालाई प्रोत्साहन गर्न लगानी बढाउन आग्रह गरेका छन् ।
    डब्ल्युएचओका अनुसार विश्वको कुल जनसङ्ख्याको केवल १५ प्रतिशत हिस्सा ओगटेका उच्च आय भएका देशहरूले विश्वभर सङ्लित कुल रक्तदानको ३६ प्रतिशत सङ्कलन गर्छन् । यसको विपरीत, सीमित वित्तीय स्रोत, कमजोर पूर्वाधार, ढुवानी तथा व्यवस्थापनसम्बन्धी चुनौती र पर्याप्त रक्तदाता अभावका कारण धेरै कम आय भएका देशहरूमा रगतको आपूर्ति अपुग हुने समस्या कायम छ ।

    देशअनुसार रक्तदान दरमा पनि ठूलो भिन्नता देखिएको छ । केही देशमा प्रति एक हजार जनसङ्ख्यामा शून्य दशमलब चार पटक मात्र रक्तदान हुने गरेको छ भने केही देशमा यो दर ५३ सम्म पुगेको छ । चौबिस देशले प्रति एक हजार जनसङ्ख्यामा पाँचभन्दा कम रक्तदान सङ्कलन गरेको डब्ल्युएचओले जनाएको छ ।

    रक्त प्रणालीको सुशासन, नियमन र वित्तीय व्यवस्थापनमा समेत कमजोरी देखिएको, विश्वका करिब एकतिहाइ देशमा रगत तथा रगतजन्य पदार्थको सुरक्षा र गुणस्तर सुनिश्चित गर्ने स्पष्ट कानुनी व्यवस्था नभएको तथा केवल ६४ प्रतिशत देशमा रक्त सेवाको नियमित अनुगमन प्रणाली रहेको, ६२ प्रतिशतमा अनुमतिपत्र प्रणाली लागू भएको र ४० प्रतिशत देशमा मात्र केही रक्तसञ्चार सेवालाई मान्यता दिइएको छ ।

    डब्ल्युएचओका अनुसार सातमध्ये एकभन्दा बढी देशमा रक्त सेवाका लागि छुट्टै सरकारी बजेट वा लागत व्यवस्थापनको प्रणाली नरहेको पाइएको छ, जसले दीर्घकालीन रक्त आपूर्तिको स्थायित्वप्रति चिन्ता बढाएको छ । प्रत्येक रक्तदानले बिरामीको जीवन बचाउनुका साथै समुदायलाई सुदृढ बनाउने र स्वास्थ्य प्रणालीलाई थप सबल बनाउन योगदान पु¥याउने छ ।

    डब्ल्युएचओले सबै देशलाई रक्त सेवाको सुशासन र नियमन सुदृढ गर्न, दिगो वित्तीय स्रोत सुनिश्चित गर्न, गुणस्तर प्रत्याभूति कार्यक्रम विस्तार गर्न, सुरक्षित रक्तसञ्चार अभ्यास प्रवद्र्धन गर्न तथा तथ्यमा आधारित निर्णयका लागि निगरानी र सूचना प्रणाली सुदृढ बनाउन आह्वान पनि गरेको छ ।

  • हात्तीको आक्रमणमा परी झापामा महिलाको मृत्यु

    हात्तीको आक्रमणमा परी झापामा महिलाको मृत्यु

    सुरुङ्गा (झापा), ३१ जेठः मेचीनगरमा हात्तीको आक्रमणमा परी एक जना महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजय चौहानका अनुसार मेचीनगर नगरपालिका–४ निवासी ६२ वर्षीया पद्मा पौडेलको मृत्यु भएको हो । आज बिहान घरबाट बाहिर निस्कने क्रममा उहाँलाई हात्तीले आक्रमण गरेको हो । हात्तीले कुल्चँदा उहाँको घटनास्थलमा नै मृत्यु भएको हो । पौडेलको शव परीक्षणका लागि मेची प्रादेशिक अस्पताल पठाइएको छ ।