Category: फिचर

  • परराष्ट्रमन्त्री खनाल चीन प्रस्थान

    परराष्ट्रमन्त्री खनाल चीन प्रस्थान

    काठमाडौँ, ३१ जेठः परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको चार दिवसीय भ्रमणमा आज बेइजिङतर्फ प्रस्थान गरेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार चीनमा रहँदा मन्त्री खनालले आफ्ना समकक्षी वाङसँग नेपाल–चीन सम्बन्ध अझ सुदृढ बनाउने तथा आपसी सहकार्यलाई अझ सबल बनाउने सम्बन्धमा द्विपक्षीय वार्ता गर्नुहुने छ । साथै उनले चीनका उच्च अधिकारीहरूसँग पनि बेग्लाबेग्लै भेटवार्ता गर्नेछन् ।


    मुलुकमा वैदेशिक लगानी भित्र्याउने उद्देश्यले बेइजिङस्थित नेपाली दूतावासद्वारा आयोजना हुने लगानी सम्मेलनमा मन्त्री खनाल सहभागी हुनाका साथै चिनियाँ उद्यमी व्यवसायीसँग पनि उहाँले छलफल गर्नुहुने कार्यक्रम छ । परराष्ट्रमन्त्री खनालको सम्मानमा उक्त दूतावासले एक स्वागत समारोह आयोजना गर्नेछ । समारोहमा उनले नेपाली समुदायसँग अन्तरक्रिया गर्नेछन् । मन्त्री खनाल आगामी असार ३ गते स्वदेश फर्किर्नेछन् । भारतपछि उनी चीन भ्रमणमा लागेका हुन् ।

  • पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षाको सम्भावना

    पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षाको सम्भावना

    काठमाडौँ, ३१ जेठः हाल देशको उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा (ट्रफ), स्थानीय तथा पूर्वीय वायुको आंशिक प्रभाव रहेको छ ।
    जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भागमा साधारणतया बदली रहेको छ । मधेस प्रदेशमा आंशिक बदली रहेको छ भने सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    आज दिउँसो कोशी प्रदेशलगायत देशका हिमाली भागमा साधारणतया बदली रहने तथा बाँकी पहाडी भूभाग र मधेस, बागमती तथा गण्डकी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहने जनाइएको छ । बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेशका केही स्थान तथा देशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना पनि छ । बागमती र गण्डकीका तराई क्षेत्रका साथै मधेस प्रदेशका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।

    त्यसैगरी, आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका साथै देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहने तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । कोशी प्रदेशका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ । बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्नेछ । मधेस प्रदेशका एकदुई स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाले मेघगर्जन, चट्याङ तथा वर्षाबाट हुनसक्ने सम्भावित प्रभावलाई ध्यानमा राखी आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

  • अमेरिका–इरान सम्झौता निकै नजिक : ट्रम्प

    अमेरिका–इरान सम्झौता निकै नजिक : ट्रम्प

    तेहरान, ३१ जेठ (रासस–एएफपी) । अमेरिका र इरानबीच महिनौँदेखि जारी तनाव अन्त्यका लागि सम्झौता गर्ने कदमका लागि ठूलो सफलता मिल्ने आशा गरिएको छ । इरानका विदेशमन्त्री अब्बास अराघचीले दुई देश सम्झौताका लागि सबैभन्दा नजिक रहेको बताएका छन् । यसैगरी, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोशल’ मा सम्झौता नजिक पुगेको भन्ने आफ्नो एक दिन पहिलेको पोस्टलाई पुनः पोष्ट गरेर सम्झौताको सम्भावनालाई थप बढावा दिएका छन् । पोष्टमा राष्ट्रपति ट्रम्पले सम्झौतामा हस्ताक्षर हुन अन्तिम कागजी प्रक्रिया मात्र बाँकी रहेको बताए ।


    प्रस्तावित सम्झौतालाई उद्धृत गर्दै अराघचीले एक्समा लेखेका छन्, “इस्लामाबादको पहलमा भएको यो सम्झौता प्रस्ताव अहिलेसम्मकै सबैभन्दा धेरै बिषयमा सहमति नजिक पुगेकोे सहमति हो ।” अराघचीको पोष्टको केही मिनेटपछि राष्ट्रपति ट्रम्पले ट्रुथ सोसल अकाउन्टमा उक्त पोस्ट पुनः पोस्ट गरेका थिए । यसले प्रस्तावित सम्झौताका सर्तहरूमा मतभेदका बाबजुद वार्ता सही दिशामा अघि बढिरहेको बुझ्न सकिन्छ ।

    राष्ट्रपति ट्रम्पले सम्झौता पूरा हुने विश्वास व्यक्त गरेको भोलिपल्ट अराघचीको यो टिप्पणी आएको हो । अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकाले भर्खरै इरानसँग युद्धका विषयमा ठूलो सम्झौता गरेको भन्दै सम्झौतामा हस्ताक्षर हुन केही काम मात्र बाँकी रहेको सङ्केत गरेका थिए । ट्रम्पले पत्रकारहरुसँग भने, “अब केवल कागजातलाई अन्तिम रूप दिन मात्र बाँकी छ । अबको केही दिनमा यो काम सम्पन्न गरिसक्नुपर्छ ।”

    शुक्रबार इरानी विदेशमन्त्री अराघचीले मिडिया संगठनहरू र विश्लेषकहरूलाई वार्ता पूरा नभएसम्म सम्झौताको सामग्रीको बारेमा अनुमान नगर्न आग्रह गरेका थिए । उनले भने, “जबसम्म यसको अन्तिम निर्णय हुँदैन, तबसम्म मिडियाले यसको सामग्रीको बारेमा अड्कलबाजी गर्नबाट टाढा रहनु पर्छ।”उनले प्रक्रिया पूरा भएपछि विस्तृत विवरण सार्वजनिक गरिने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । हाम्रो जिम्मेवार र पारदर्शी दृष्टिकोण अनुरूप सबै विवरणहरू सही समयमा जनतासँग साझा गरिनेछ ।

    –पाकिस्तानद्वारा पुष्टि–

    पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले अमेरिका र इरानबीच मध्यपूर्वमा युद्ध अन्त्य गर्ने उद्देश्यका साथ भएको सम्झौताका शर्तमा सहमति भएको र मध्यस्थकर्ताले दुवै पक्षसँग सम्झौता गर्न काम गरिरहेको पुष्टि गरे । प्रधानमन्त्री शहबाज सरिफले अमेरिका र इरानबीच सहमतिको सन्देश टुङ्गिएको बताए । मध्यस्थताको प्रयासमा पहल गरेको पाकिस्तानले यी युद्धरत देशहरूसँग अर्को चरणमा काम गरिरहेको उनले बताए ।


    “शान्ति अहिले जस्तो नजिक कहिल्यै थिएन”, शरिफले एक्समा गरेको पोस्टमा भनेका छन्, “इरानले यसै साता अमेरिका र इजरायलसँग तीन दिने गतिरोध जारी राख्दै मध्यपूर्वमा ठूलो मात्रामा युद्ध सुरु गर्ने चेतावनी दिएपछि वार्तामा उल्लेखनीय प्रगति भएको हो ।”

    –इरानी मिडियाद्वारा १४ बुँदे समझदारी पत्र प्रकाशित–

    मेहर समाचार एजेन्सीका अनुसार प्रस्तावित ढाँचाले विशेष गरी स्ट्रेट अफ होर्मुज वरपरको तनावको कारण विश्व व्यापार र ऊर्जा बजारलाई धक्का दिएको तीन महिनाको द्वन्द्व अन्त्य गर्न उपायहरू प्रस्तुत गरेको छ । उक्त योजनामा प्रतिबन्धहरू खुकुलो पार्ने, इरानको रोक्का गरिएको सम्पत्तिमा पहुँच र क्षेत्रीय तनाव कम गर्ने उपायहरू समावेश छन् । इरानी मिडियाले प्रस्तावित १४ बुँदे समझदारी पत्रको विवरण भन्दै शुक्रबार समाचार प्रकाशित गरेपछि इरानी विदेशमन्त्रीले भनेका थिए, “एक्समा एक पोस्ट गर्दै खुलासा गरिएको जानकारी र लिखित रूपमा सहमति भएका सर्तहरूबीच कुनै सम्बन्ध छैन।”

  • सन् २०२२ देखि अहिलेसम्म युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलर भन्दा बढीले वृद्धि

    सन् २०२२ देखि अहिलेसम्म युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलर भन्दा बढीले वृद्धि

    मस्को, ३० जेठ (रासस–एएनआई) । युक्रेनको सार्वजनिक ऋण सन् २०२२ देखि ११० अर्ब डलरभन्दा बढीले वृद्धि भएको रुसी समाचार निकाय (तास) ले शनिबार सार्वजनिक एक समाचारमा जनाएको छ । यसमा बाह्य र घरेलु दुवै दायित्व समावेश भएको समाचारमा उल्लेख गरिएको छ । सन् २०२२ को सुरुदेखि अहिलेसम्म सार्वजनिक ऋण दोब्बरभन्दा बढी भएको छ । देशको अर्थ मन्त्रालयको तथ्याङ्कमा आधारित तासको रिपोर्ट अनुसार युक्रेनको सार्वजनिक ऋण ९७.९६ अर्ब अमेरिकी डलरबाट २०८.९७ अर्ब डलर पुगेको वा १११.०१ अर्ब डलर बढेको छ ।

    युक्रेनको बाह्य ऋणमा वृद्धि सन् २०२२ को ५७.२ अर्ब डलरबाट १६२.७३ अर्ब डलर पुगेको छ । यो लगभग तीन गुणा वृद्धि हो । यस रकममध्ये युक्रेनले अन्तर्राष्ट्रिय मुद्रा कोषलाई लगभग १० अर्ब डलर तिर्नु पर्छ, बाँकी विभिन्न सहयोगी देशहरूलाई तिर्नुपर्छ । किएभको ऋणमा तीव्र वृद्धि सैन्य सहायता र अनुदानको रूपमा पश्चिमा सहयोग प्राप्त गरे पछि आएको हो । जनसाङ्ख्यिकी र सामाजिक अध्ययन संस्थानलाई उद्धृत गर्दै तासले लेखेको छ, “अनुमानित कूल दुई करोड ८० लाख जनसङ्ख्या रहेको युक्रेनमा जनसङ्ख्याको आधारमा प्रत्येक नागरिकले अब सार्वजनिक ऋणमा लगभग सात हजार ५०० डलर ऋणभार रहनेछ ।

    किएभको बढ्दो आर्थिक जोखिमको बीचमा, भेरखोव्ना राडाका सांसदहरूले देशको विद्यमान ऋण तिर्न मात्र करिब ३५ वर्ष लाग्ने अनुमान गरेका छन् । युक्रेनले आफ्ना पश्चिमी सहयोगीहरूबाट वित्तीय सहयोग खोजिरहेको छ । युरोपेली सङ्घले हालै युक्रेनको लागि ९० अर्ब युरो ऋण प्याकेजको घोषणा गरेको छ जुन निकासा हुर्ने तयारीमा छ र यो ड्रोनको लागि छुट्याइएको पहिलो किस्ता हो ।

    फ्रान्सको इिभियनमा हुने जी–७ शिखर सम्मेलनमा युक्रेनको द्वन्द्व पनि छलफलको एक प्रमुख हिस्सा हुने अपेक्षा गरिएको छ ।

    शिखर सम्मेलन भूराजनीतिक सङ्कट, आर्थिक सहयोग, कृत्रिम बौद्धिकता र विकास साझेदारीमा केन्द्रित हुने अपेक्षा गरिएको छ । स्रोतका अनुसार मङ्गलबार शिखर सम्मेलनको पहिलो दिन युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको उपस्थितिमा युक्रेनसम्बन्धी सत्र हुनेछ, त्यसपछि इजिप्ट, कतार, संयुक्त अरब इमिरेट्स र साउदीसहित मध्य पूर्वी देशहरू सम्मिलित छलफल हुनेछ ।

    स्रोतका अनुसार शिखर सम्मेलनको प्राथमिकताहरू मध्ये एक समकालीन सङ्कट अर्थात् युक्रेनको द्वन्द्व र इरान, इजरायल, गाजा, लेबनान र स्ट्रेट अफ हर्मुजको पश्चिम एशियामा बढ्दो तनावबारे अन्तर्राष्ट्रिय बहस हुनेछ ।

  • अमेरिका–इरान वार्ता अन्तिम चरणमा, पाकिस्तान र साउदी अरबद्वारा स्वागत

    अमेरिका–इरान वार्ता अन्तिम चरणमा, पाकिस्तान र साउदी अरबद्वारा स्वागत

    इस्लामावाद, ३० जेठ (रासस–सिन्ह्वा) । अमेरिका–इरान वार्ताको अन्तिम चरणमा पुगेको समाचारसँगै पाकिस्तान र साउदी अरबले प्रस्तावित बुँदाहरूमा सम्झौताको सहमति भएकोमा स्वागत गरेका छन् । पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री मोहम्मद इशाक दार र साउदी विदेशमन्त्री राजकुमार फैसल बिन फरहान बिन अब्दुल्लाह अल साउदले अमेरिका–इरान वार्ताको अन्तिम चरण पुगेकोमा स्वागत गरेका हुन् ।

    टेलिफोन कुराकानीका क्रममा दुई मन्त्रीबीच अमेरिका र इरानबीच जारी वार्ताका बारेमा छलफल भएको र यस प्रक्रियाले यस क्षेत्रमा दिगो शान्ति र स्थिरता कायम हुने आशा व्यक्त गरेको पाकिस्तानी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, “साउदीको विदेश मन्त्रीले वार्ता प्रक्रियाको क्रममा मध्यस्थता र संवादको समर्थनमा पाकिस्तानले गरेको निरन्तर प्रयासको प्रशंसा गरेका छन् ।”

    दुवै पक्षले यसै महिनाको अन्त्यमा इजिप्टमा हुने चार देशका विदेश मन्त्रीहरूको बैठकको तयारीबारे पनि छलफल गरेका पनि विज्ञप्तिमा जनाइएको छ ।
    पाकिस्तानले यस क्षेत्रमा वार्ता प्रवद्र्धन गर्ने र तनाव कम गर्ने कूटनीतिक प्रयासलाई सक्रिय रूपमा समर्थन गर्दै आएको छ ।

  • नेपाल र चीनका सगरमाथा आरोही बेजिङमा सम्मानित

    नेपाल र चीनका सगरमाथा आरोही बेजिङमा सम्मानित

    बेइजिङ (चीन), ३० जेठः चीनको राजधानी बेइजिङमा आरोही तथा सङ्घीय सांसद मिङ्मा ग्याबु शेर्पासहित नेपाल र चीन करिब ५० जना सगरमाथा आरोही सम्मानित भएका छन् । त्रिहत्तरौँ सगरमाथा दिवसका अवसरमा यहाँस्थित नेपाली राजदूतावासले शुक्रबार साँझ आयोजना गरेको ‘नेपाल–चीन सगरमाथा (माउन्ट एभरेष्ट) एड्भेन्चर फेस्टिभल’मा आरोहीहरु सम्मानित भएको नेपाली दूतावासले जनाएको छ ।

    पूर्वउपसभामुख इन्दिरा राना मगर र नेपाली राजदूतावासकी कार्यवाहक राजदूत रोशन खनालले २९ चिनियाँ र २४ नेपाली आरोहीलाई सम्मानपत्र प्रदान गरे । नेपालका पर्वतीय पर्यटनको प्रवद्र्धन तथा नेपाली र चिनियाँ पर्वतारोहण तथा पर्यटन व्यवसायीबीच सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो ।

    त्यस अवसरमा चीनका लागि नेपालका कार्यवाहक राजदूत खनालले सगरमाथाको महत्व, साहसिक पर्यटनको भावना तथा विश्व पर्वतारोहण समुदायको केन्द्रका रूपमा नेपालको भूमिकाबारे प्रकाश पारे । उनले यस्ता कार्यक्रमले नेपाल–चीन जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।


    प्रतिनिधिसभा सदस्य तथा सगरमाथा आरोही मिङ्मा ग्याबु शेर्पाले नेपाल–चीन पर्यटन सहकार्यलाई अझ गहिरो बनाउनुपर्ने आवश्यकता औँल्याए । नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष फुर गेल्जे शेर्पाले पर्वतीय पर्यटन प्रवद्र्धनका लागि दुई देशबीच संयुक्त पहल आवश्यक रहेको बताए । नेपाली दूतावासका काउन्सलर विवेक रिजालले नेपालका पर्यटकीय गन्तव्यहरूको परिचय समेटिएको प्रस्तुति दिएका थिए । नेपालका कीर्तिमानी आरोही लाक्पा डेण्डी शेर्पा र चिनियाँ आरोहीद्वय चाङ माओलिङ र लोरिकाशीले सगरमाथा आरोहणको अनुभव साझा गरेका थिए । कार्यक्रमस्थलमा नेपालका पर्यटकीय गन्तव्यहरु स्थलको तस्बिरहरूको प्रदर्शनी गरिएको थियो ।

    कार्यक्रममा चीनको परराष्ट्र मन्त्रालयका प्रतिनिधि, अन्तरराष्ट्रिय पर्वतीय पर्यटनसम्बद्ध संस्थाका प्रतिनिधि, विभिन्न मुलुकका कूटनीतिज्ञ, चिनियाँ पर्यटन व्यवसायी तथा नेपाली समुदायका सदस्यसहित करिब २०० जनाको सहभागिता रहेको थियो । नेपालबाट नेपाल पर्वतारोहण सङ्घ, आरोहण सञ्चालक सङ्घ, सगरमाथा आरोही सङ्घ, नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक सङ्घका साथै आरोहण र पदमार्गसम्बन्धी दर्जन बढी कम्पनीहरुका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । सोही अवसरमा नेपाल र चीनका पर्यटन उद्यमीबीच सहकार्य विस्तार गर्ने उद्देश्यले व्यवसायी–व्यवसायी नेटवर्किङ कार्यक्रम पनि आयोजना गरिएको थियो ।

  • काभ्रे बस दुर्घटनासम्बन्धी छानबिन गर्न समिति गठन

    काभ्रे बस दुर्घटनासम्बन्धी छानबिन गर्न समिति गठन

    काठमाडौँ, ३० जेठः नेपाल प्रहरीले काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका(२ बुच्चाकोटमा शुक्रबार भएको बस दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन छानबिन समिति गठन गरेको छ । प्रहरी प्रधान कार्यालयले आज उक्त दुर्घटनाको छानबिन गर्न नेपाल प्रहरी प्रदेश कार्यालय, काभ्रेका प्रहरी वरिष्ठ उपरीक्षक कमल थापाको संयोजकत्वमा छ सदस्यीय छानबिन समिति गठन गरेको हो ।

    बनेपाबाट रोशी खार्पाचोकतर्फ जाँदै गरेको बा३ख ८३९८ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खसेर दुर्घटना हुँदा बसमा सवार आठ यात्रुको घटनास्थलमा मृत्यु भएको थियो । दुर्घटनामा घाइते भएका १६ जना यात्रुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । समितिले घटनाको वास्तविक अवस्था, कारण तथा जिम्मेवार पक्ष पहिचान गरी सत्य, तथ्य छानबिन गरी सात दिनभित्र प्रतिवेदन पेस गर्नुपर्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    मृतक सबैको सनाखत

    बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरस्थित बुच्चाकोटमा शुक्रबार दिउँसो भएको यात्रुवाहक बस दुर्घटनामा मृत्यु भएका आठै जनाको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रोशी गाउँपालिका–६ का ७३ वर्षीय मेघबहादुर तामाङ, सोही स्थानका ५५ वर्षीय राजु तामाङ र ७५ वर्षीय इन्द्रबहादुर तामाङ, रोशी–७ की ३४ वर्षीया फूलमाया तामाङ, सोही स्थानकी ६० वर्षीया माया तामाङ, रोशी–८ की ६० वर्षीया प्यारीमाया तामाङ, दैलेख घर भई त्रिनेत्र दल गण भकुण्डेवेँशीमा कार्यरत नेपाली सेनाका ३० वर्षीय अमलदार बमबहादुर भण्डारी र सिन्धुलीको घ्याङ्लेक गाउँपालिका(४ निवासी २२ वर्षीय सुमी तामाङको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिए ।

    उनका अनुसार दुर्घटनामा परी घाइते भएका १६ जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । बनेपाबाट रोशी गाउँपालिकातर्फ जाँदै गरेको बस नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटस्थित सेल्फीडाँडाबाट तल खसेको थियो । दुर्घटनास्थलबाट आठै जनाको शव निकालिएको प्रहरी नायब उपरीक्षक विष्टले बताए । उनका अनुसार दुर्घटनाबारे अनुसन्धान तथा मृतकका आफन्तलाई सम्पर्क गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ ।

  • चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ

    चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ

    काठमाडौँ, ३० जेठः काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चेक अनादर तथा ठगी कसुरमा सेफ सन्तोष साहलाई पक्राउ गरेको छ ।

    जिल्ला अदालत काठमाडौँको अनुमतिमा साहलाई गए राति महोत्तरीबाट पक्राउ गरी आज काठमाडौँ ल्याइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक सरतकुमार थापाक्षेत्रीले राससलाई जानकारी दिए । उनले भने, “साहमाथि गैरीधारास्थित एक रेष्टुराँ खरिद गर्दा चेक अनादर ठगी कसुरमा जिल्ला अदालत काठमाडौँको अनुमतिले पक्राउ गरी अहिले काठमाडौँ ल्याइएको छ ।”

  • ट्राफिक कारबाहीमा २४ घण्टामा १७ लाख ८६ हजार राजस्व सङ्कलन

    ट्राफिक कारबाहीमा २४ घण्टामा १७ लाख ८६ हजार राजस्व सङ्कलन

    काठमाडौँ, ३० जेठः बितेका २४ घण्टामा दुई हजार ५९८ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १७ लाख ८६ हजार ५०१ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका १९९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६७, सङ्केत बत्ती उल्लङ्घनकर्ता १२० र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १६८ जनालाई कारबाही गरिएको हो ।

    यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने १२०, निषेधित क्षेत्रमा हर्न बजाउने १२६, सडक पेटीमा सवारीसाधन ‘पार्किङ’ गर्ने १५६, एकतर्फी सडकमा सवारी चलाउने १८६ र अन्य सवारी नियम पालना नगरेका एक हजार ३५६ जनालाई कारबाही गरिएको हो ।

  • प्रदूषित हावा हटाउन आठ अर्ब ७१ करोडको परियोजना

    प्रदूषित हावा हटाउन आठ अर्ब ७१ करोडको परियोजना

    प्रगति ढकाल–रासस
    काठमाडौँ, ३० जेठः सरकारले प्रदूषित हावा हटाएर स्वच्छ वातावरण कायम गर्ने योजना अघि सारेको छ । ‘नेपाल स्वच्छ हावा तथा समृद्धि परियोजना (नेपाल क्लिन एयर एण्ड प्रोस्पेरिटी प्रोजेक्ट–एनक्याप)’ आगामी आर्थिक वर्ष २०८३–०८४ देखि कार्यान्वयनमा ल्याउने तयारी भएको छ ।

    नेपालमा वायु प्रदूषण नियन्त्रण, औद्योगिक क्षेत्रको हरित रूपान्तरण तथा स्वच्छ हावा प्रवर्द्धनका लागि करिब रु आठ अर्ब ७१ करोड (५७ मिलियन अमेरिकी डलर) बराबरको परियोजना सञ्चालन गर्ने तयारी थालिएको हो । विश्व बैंकको ५२ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण र पाँच मिलियन अमेरिकी डलर अनुदान स्वीकृत भएपछि परियोजना कार्यान्वयनको बाटो खुलेको छ ।

    वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले ‘नेपाल स्वच्छ हावा तथा समृद्धि परियोजना ९एनक्याप०’ ले देशको वायु गुणस्तर व्यवस्थापन प्रणालीमा गुणात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे । उनका अनुसार परियोजनाले विशेषगरी उद्योग क्षेत्रलाई स्वच्छ ऊर्जामा रूपान्तरण गर्न सहयोग पुर्‍याउने भएकाले औद्योगिक प्रदूषणमा उल्लेखनीय कमी आउने अपेक्षा गरिएको छ ।

    “हामीले अनुगमन प्रणालीलाई थप प्रभावकारी बनाउन खोजेका छौँ । उद्योगहरू स्वच्छ ऊर्जामा रूपान्तरण हुँदा प्रदूषणको मात्रा घट्नेछ र आगामी पाँच वर्षभित्र सकारात्मक परिणाम देख्न सकिने विश्वास गरेका छौँ”, उनले भने । सुवेदीले अन्तरदेशीय वायु प्रदूषण, विशेषगरी छिमेकी मुलुकबाट भित्रिने प्रदूषण नियन्त्रणका लागि बहुपक्षीय तथा अन्तरदेशीय समन्वय आवश्यक रहने बताए । उनले परियोजनाले नेपालभित्रका प्रदूषण स्रोत नियन्त्रणमा केन्द्रित भई औद्योगिक उत्सर्जन घटाउने, वायु गुणस्तरको प्रभावकारी अनुगमन गर्ने तथा तथ्यमा आधारित नीति निर्माणलाई सहयोग पुर्‍याउने उल्लेख गरे ।


    उनका अनुसार परियोजनाअन्तर्गत वायु गुणस्तर मापन केन्द्रको सङ्ख्या विस्तार गरिनेछ भने विद्यमान स्टेशनहरूको क्षमता अभिवृद्धि गरिने, साथै प्रयोगशालामा आधुनिक उपकरण थपिने, प्राविधिक जनशक्तिको क्षमता विकास गरिने तथा वातावरण विभागको संस्थागत क्षमता सुदृढ बनाइनेछ ।

    महानिर्देशक सुवेदीले वायु प्रदूषणका कारण अर्थतन्त्रमा समेत ठूलो असर परिरहेको उल्लेख गर्दै वायु प्रदूषणका कारण विश्वव्यापी रूपमा कूल गार्हस्थ्य उत्पादन (जिडिपी) को करिब छ प्रतिशत बराबरको आर्थिक क्षति हुने विभिन्न अध्ययनले देखाएको बताए । “नेपालमा वायु प्रदूषणले अर्थतन्त्रमा कति असर पारेको छ, कुन क्षेत्रबाट कति प्रदूषण उत्सर्जन भइरहेको छ र त्यसको आर्थिक तथा सामाजिक प्रभाव के छ भन्ने विषयमा समेत अध्ययन गरिनेछ”, उनले भने, उनका अनुसार आगामी दिनमा तथ्यमा आधारित नीति निर्माण, प्रदूषणका स्रोतहरूको पहिचान तथा प्रभावकारी नियन्त्रणका लागि आवश्यक अनुसन्धान र अध्ययनलाई समेत परियोजनाले प्राथमिकतामा राख्नेछ ।

    वातावरण विभागका उपमहानिर्देशक सरोजकुमार चौधरीका अनुसार परियोजनाको मुख्य उद्देश्य प्रदूषित हावामा पाइने सूक्ष्म कण (पीएम–२.५) को उत्सर्जन घटाई वायु गुणस्तर व्यवस्थापन क्षमता अभिवृद्धि गर्नु रहेको छ । उनले नेपालमा विशेषगरी काठमाडौँ उपत्यका र तराई क्षेत्रमा पीएम–२.५ को मात्रा विश्व स्वास्थ्य सङ्गठनले तोकेको मापदण्डभन्दा आठदेखि नौ गुणासम्म बढी रहेको उल्लेख गर्दै यसले जनस्वास्थ्यमा गम्भीर असर पारिरहेको बताए ।


    “परियोजनाअन्तर्गत उद्योग क्षेत्रमा जीवाश्म इन्धन तथा कोइलाबाट सञ्चालन भइरहेका ब्वायलर र फर्नेसलाई विद्युत् तथा बायोमासमा आधारित हरित प्रविधिमा रूपान्तरण गरिनेछ”, चौधरीले भने, “उद्योग विभागमार्फत सञ्चालन हुने यस कार्यक्रमअन्तर्गत विद्युतीय फर्नेसमा रूपान्तरण गर्ने उद्योगलाई कूल पुँजीगत खर्च (क्यापेक्स)को २० प्रतिशतसम्म पुँजी अनुदान उपलब्ध गराइनेछ ।”

    त्यस्तै बायोब्रिकेट तथा बायोपेलेटजस्ता बायोमासमा आधारित फर्नेसमा रूपान्तरण गर्ने उद्योगलाई कुल पुँजीगत खर्चको १० प्रतिशतसम्म अनुदान प्रदान गरिनेछ चौधरीको भनाइ छ । “उद्योग विभागमार्फत सञ्चालन हुने यस कार्यक्रमअन्तर्गत विद्युतीय फर्नेसमा रूपान्तरण गर्ने उद्योगहरूलाई पुँजीगत लगानीको २० प्रतिशत र वायोमास (बायोब्रिकेट र बायोपेलेट) मा आधारित फर्नेसमा रूपान्तरण गर्नेलाई पुँजीगत लगानीको १० प्रतिशतसम्म पुँजी अनुदान ब्यादर र फर्नेसमा रूपान्तरण गरिसकेपछि उपलब्ध गराइनेछ”, उनले भने, “बाँकी रकम ब्याजदरमा लामो अवधि (करिब १५ वर्ष) सम्मको लागि प्रदान गरिनेछ”, अन्य वायु प्रदुषण नियन्त्रण उपकरणका लागि कुनै अनुदानको व्यवस्था नरहेको तर बजार ब्याजदरमा लामो अवधिको ऋण प्रदान गर्न सकिने व्यवस्था रहेको छ ।”

    चार सय उद्योगले सहुलियतपूर्ण वित्तीय पहुँच प्राप्त गर्ने

    परियोजनाको आर्थिक प्रभाव उल्लेखनीय रहने अपेक्षा गरिएको छ । चौधरीका अनुसार यसबाट ४०० उद्योगले सहुलियतपूर्ण वित्तीय पहुँच प्राप्त गर्ने, ३०० उद्योगमा स्वच्छ ब्वायलर वा फर्नेस जडान हुने तथा ३० मिलियन अमेरिकी डलर बराबरको सहुलियत ऋण परिचालन हुने लक्ष्य राखिएको छ । साथै निजी क्षेत्रबाट थप १८ मिलियन अमेरिकी डलर लगानी आकर्षित हुने अनुमान गरिएको उनको भनाइ छ ।

    “परियोजनाअन्तर्गत वायु गुणस्तर मापन केन्द्रहरूको विस्तार तथा स्तरोन्नति गरिनेछ । चार वटा केन्द्रलाई ‘सुपरसाइट’ मा रूपान्तरण गरी प्रदूषणका स्रोत पहिचान, तथ्याङ्क विश्लेषण तथा अन्तरदेशीय वायु प्रदूषणको निगरानी क्षमता अभिवृद्धि गरिने छ”, चौधरीले भने, “परियोजना पूर्ण रूपमा कार्यान्वयन भएपछि पिएम–२.५ उत्सर्जन वार्षिक ५०० मेट्रिक टनले घट्ने तथा हरितगृह ग्यास उत्सर्जनमा वार्षिक एक लाख १० हजार टन कमी आउने अपेक्षा गरिएको छ ।”

    यसले नेपालले अन्तरराष्ट्रिय रूपमा प्रतिबद्धता जनाएको राष्ट्रिय निर्धारित योगदान (एनडिसी)का लक्ष्य प्राप्त गर्नसमेत सहयोग पुग्ने विश्वास गरिएको उनको भनाइ छ । चौधरीले परियोजनाबाट देशभरका ४०० औद्योगिक प्रतिष्ठान, ती उद्योगमा कार्यरत करिब ६० हजार श्रमिक तथा काठमाडौँ उपत्यका र तराई क्षेत्रका करिब एक करोड ८० लाख नागरिक प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा लाभान्वित हुने जानकारी दिए ।
    उनले कार्यक्रममा परियोजनाले उद्योगको उत्पादन लागत घटाई प्रतिस्पर्धी क्षमता बढाउने, स्वदेशी जलविद्युत्को खपत विस्तार गर्ने, हरित औद्योगिकीकरणलाई प्रोत्साहन गर्ने तथा स्वच्छ हावामार्फत जनस्वास्थ्य सुधारमा योगदान पु¥याउने विश्वास व्यक्त गरे । परियोजनाको समग्र निर्देशनका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवको अध्यक्षतामा परियोजना स्टेयरिङ समिति रहनेछ । उद्योग विभाग र वातावरण विभागमा छुट्टाछुट्टै कार्यान्वयन एकाइ रहने व्यवस्था गरिएको छ । राष्ट्रिय वाणिज्य बैंक मुख्य बैंकिङ साझेदार रहने तथा अन्य वित्तीय संस्थाले समेत सहकार्य गर्ने जनाइएको छ ।

    परियोजना कार्यन्वयनका चुनौती

    वातावरण युवा अभियन्ता प्रकाश लामाले वायु प्रदूषण अब केवल वातावरणीय समस्या नभई दैनिक जनस्वास्थ्य सङ्कटका रूपमा लिनुपर्ने बताए । उनले विश्व बैंकको ५२ मिलियन अमेरिकी डलर ऋण तथा ५ मिलियन अमेरिकी डलर अनुदान सहयोगमा सञ्चालन हुन लागेको नेपाल स्वच्छ वायु तथा समृद्धि (एनक्याप) परियोजनाले प्रदूषण नियन्त्रणका लागि महत्त्वपूर्ण अवसर प्रदान गरेको बताए ।

    तर ऋणसँग जिम्मेवारी पनि जोडिएको हुन्छ”, उनले भने, “त्यो ब्याजसहित फिर्ता गर्नुपर्छ र यसको भार अन्ततः हाम्रो पुस्ताले नै वहन गर्नुपर्ने हुन्छ ।” उनका अनुसार उक्त लगानीले वास्तविक र मापनयोग्य परिणाम दिन आवश्यक छ । विशेषगरी इँटा उद्योग, उच्च प्रदूषण उत्सर्जन गर्ने सवारीसाधन, साना तथा मझौला उद्योग र परम्परागत चुलोजस्ता प्रदूषणका प्रमुख स्रोतलाई लक्षित गरी प्रभावकारी हस्तक्षेप गर्नुपर्ने उनको भनाइ छ ।

    “स्वच्छ औद्योगिक प्रविधिको प्रयोग, विद्युतीय यातायाततर्फ तीव्र रूपान्तरण तथा घरपरिवारका लागि सहज रूपमा स्वच्छ खाना पकाउने प्रविधिको विस्तार आवश्यक छ”, उनले भने । अभियन्ता लामाले परियोजनाको कार्यान्वयनमा पारदर्शिता र जवाफदेहितालाई प्राथमिकता दिनुपर्नेमा पनि जोड दिए । उनले हरित रोजगारी सिर्जना, आर्थिक वृद्धिदरमा योगदान तथा प्रदूषणजन्य स्वास्थ्य खर्चमा कमीमार्फत लगानीको प्रतिफल सुनिश्चित गर्ने स्पष्ट योजना आवश्यक रहेको बताए ।

    “उधारो लिइएको प्रत्येक रूपैयाँले भविष्यमा त्यसको प्रतिफल दिन सक्नुपर्छ”, उनले भने । उनले स्वच्छ वायु अभियानमा युवालाई केवल लाभग्राहीका रूपमा नभई नेतृत्वकर्ता, अनुसन्धानकर्ता र नवप्रवर्तकका रूपमा सहभागी गराउनुपर्ने धारणा राखे । “५७ मिलियन अमेरिकी डलर केवल आर्थिक सहायता होइन, यो जिम्मेवारी पनि हो”, उनले भने, “यसलाई बुद्धिमत्तापूर्वक प्रयोग गरौँ, नतिजा सुनिश्चित गरौँ र स्वच्छ वायु तथा दिगो आर्थिक समृद्धि सँगसँगै अघि बढ्ने नेपाल निर्माण गरौँ ।”

    के छ अन्य नीतिगत व्यवस्था ?

    काठमाडौँ उपत्यकाको लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ ले पनि नेपाल सरकारले निर्धारण गरेको एक्युआई को मान ३०० भन्दा बढी भएको अवस्थालाई विपद्को रूपमा लिने बताएको छ । यो विपद् रोक्नका लागि कार्ययोजनामा फोहोर बाल्ने कार्य रोक्ने, सडक सफा गर्न ब्रमुर तथा भ्याकुमको प्रयोग व्यापक गर्ने, बालबालिका, ज्येष्ठ नागरिक, बिरामीहरूलाई विशेष सावधानी अपनाउन सार्वजनिक सूचना जारी गर्न कार्ययोजनामा उल्लेख गरिएको छ ।

    राष्ट्रिय वातावरण नीति २०७६ अनुसार प्रदूषण न्यूनीकरण गर्नका लागि जल, वायु, माटो, ध्वनि, विद्युत्–चुम्बकीय तरङ्ग, रेडिीयोधर्मी विकिरण, जोखिमपूर्ण रसायनिक प्रदूषण रोकथामसम्बन्धी राष्ट्रिय मापदण्ड तयार गरी कार्यान्वयन गरिने सरकारी रणनीति रहेको छ । प्रमुख शहरहरू, औद्योगिक प्रतिष्ठानलगायत प्रदूषणको जोखिममा रहेका क्षेत्रमा गुणस्तर मापन केन्द्र स्थापना र सञ्चालन गर्दै वायु, जल, ध्वनि गुणस्तरको नक्साङ्कन गरिनेछ रणनीतिमा उल्लेख छ ।

    “औद्योगिक तथा अन्य क्षेत्रवाट निष्काशन हुने प्रदूषित पानीको प्रशोधनको व्यवस्था गरिनेछ । उद्योग र अन्य व्यवसायहरूबाट निष्कासन हुने प्रदूषणयुक्त धुवा, धूलो, पानीलाई व्यवस्थित गर्न वातावरण–मैत्री प्रविधि कार्यान्वयनमा ल्याइनेछ,” नीतिमा उल्लेख छ, “घरभित्रको वायु प्रदूषणलाई न्यूनीकरण गर्नका लागि सौर्य चुलो, विद्युतीय चुलो, बायोग्याँस, सुधारिएको चुलो, चिम्नीजस्ता उपकरणहरूको प्रवर्द्धन गरिनेछ । ऊर्जा किफायती भवन निर्माणमा जोड दिइनेछ ।”

    प्रदूषण नियन्त्रणका लागि उत्सर्जन थल नक्साइनका लागि विक्षेपणजस्ता नवीनतम विधिहरूको प्रयोग गरिने पुनःप्रयोग गर्न नमिल्ने फोहरलाई आवश्यकतानुसार फोहर विसर्जन क्षेत्र, हानिकारक फोहर विसर्जन क्षेत्र भष्मीकरण यन्त्रको माध्यमबाट सुरक्षित तरिकाले विसर्जन गरिने तथा औधोगिक प्रतिष्ठान, अस्पताल वा अन्य कुनै स्थान विशेषबाट निस्कने फोहरलाई एकीकृत भष्मीकरण यन्त्र स्थापना गरी विसर्जन गरिने रणनीतिमा उल्लेख गरिएको छ ।

    काठमाडौँ उपत्यकाको वायु हानिकारक र यसको गुणस्तर खस्किने क्रम तीव्र रूपमा निरन्तर बढिरहेकोसम्बन्धी राष्ट्रिय तथा अन्तरराष्ट्रिय अध्ययन प्रतिवेदनहरू आइरहेका छन् । सार्वजनिक इन्भारोमेन्ट परफरमेन्स ईन्डेक्स २०१८ को १८० मुलुकमा गरिएको अध्ययनमा वायु प्रदूषण वढी भएका पाँच राष्ट्रको सूचीमा नेपाल परेको छ । वायु प्रदुषणको हिसावले नेपालको स्तर ३१.४४ रहेको छ ।

    वातावरण विभागले उपत्यकालाई लक्षित गरी धुलिखेल, पुल्चोक, रत्नपार्क, त्रिवि कीर्तिपुर, सैंवु, सैनिक विद्यालय भक्तपुरमा प्रदूषण मापन केन्द्र स्थापना गरेको छ । सेन्ट्रल सिस्टममा डाटाजाने र आम सर्वसाधारणले प्रदूषण अवस्थाको जानकारी लिन सक्ने व्यवस्था मिलाइएको छ ।

  • रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी निर्वाचित

    रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी निर्वाचित

    कास्की, ३० जेठ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)गण्डकी प्रदेश समिति सभापतिमा कास्कीका नवीन त्रिपाठी विजयी भएका छन् । रास्वपाको शुक्रबारदेखी पोखरामा प्रथम अधिवेशन सुरु भएको थियो । नयाँ नेतृत्वका लागि शुक्रबार राति भएको मतदानको आज बिहान सम्पन्न मतगणनामा त्रिपाठीले २३४ मत ल्याएर विजयी भएका हुन् ।


    उनी प्रदेश समितिको निर्वतमान महामन्त्री समेत छन् । सभापतिका प्रत्याशीहरू निर्वतमान सभापति एवं प्रतिनिधिसभाका सांसद राजन गौतमले १८२, माधव कँडेलले ११ र डा हरि कार्कीले २ मत प्राप्त गरे । रास्वपाको विधानमा सभापति निर्वाचित हुन कुल मतदानको ५१ प्रतिशत मत पाउनुपर्ने व्यवस्था छ । त्रिपाठीले पहिलो चरणमै उक्त मत पाएर निर्वाचित हुनुभएको निर्वाचन समितिका संयोजक डा राम गुरुङले जानकारी दिए । अधिवेशनमा कूल ७८० प्रतिनिधी रहे पनि ४३७ जनाले मात्र मतदानमा सहभागिता जनाएका थिए ।

    रास्वपा गण्डकी प्रदेशको सदस्यका लागि ५१ जनाले उम्मेद्वारी दिएका थिए । जसमध्येबाट विभिन्न कलस्टरसहित ३३ जना निर्वाचित हुन्छन् । ५१ आकांक्षीमध्ये क्षेत्रगत प्रदेश सदस्यका लागि २८ जना उम्मेद्वार छन् । यी २८ जनाबाट गण्डकी प्रदेशको १८ वटा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्रका १र१ जना निर्वाचित हुन्छन् । समावेशी प्रदेश सदस्यका लागि २३ जनाको उम्मेद्वारी परेको थियो ।

    प्रदेश सदस्यका लागि ५१ आकांक्षीमध्ये १२ जना निर्विरोध निर्वाचित भएका छन् । क्षेत्रगत प्रदेश सदस्यतर्फबाट बागलुङ–१ का मीना शर्मा आचार्य, गोरखा–१ बाट मनोज गुरुङ, गोरखा–२ बाट बलबहादुर घले, लमजुङबाट विजय पराजुली, म्याग्दीबाट ताराबहादुर कार्की र तनहुँ–१ बाट सूर्यमणि पौडेल निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

    प्रदेश समावेशी सदस्यमा खसआर्य महिलाबाट सीताकुमारी अर्याल, कृष्णकुमारी अधिकारी (अनिशा) र राममाया बस्ताकोटी निर्विरोध निर्वाचित भएका छन् । मुस्लिम महिलाबाट समिउन निशा, दलित महिलाबाट गीता विश्वकर्मा र अपाङ्गता भएका खसआर्यबाट यदुनाथ सिग्देल निर्विरोध निर्वाचित भएको जनाइएको छ । अधिवेशनको शुक्रबार पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले उद्घाटन गरेका थिए ।

  • विश्वकप आयोजक अमेरिकाको उत्कृष्ट जित

    विश्वकप आयोजक अमेरिकाको उत्कृष्ट जित

    काठमाडौँ, ३० जेठः तीन राष्ट्रमा आयोजना भइरहेको विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत अमेरिकामा आजदेखि सुरुआत भएको समूह डी को खेलमा घरेलु टोली अमेरिकाले पाराग्वेलाई पराजित गर्दै प्रतियोतिामा सुखद सुरुआत गरेको छ । अमेरिकाको लस एन्जलस स्टेडियममा आज भएको खेलमा अमेरिकाले पाराग्वेलाई ४–१ गोलअन्तरले पराजित गर्दै आफ्नो उद्घाटन खेलमा सुखद सुरुआत गरेको हो । अमेरिकाको जितमा डेमियन बोबाडिल्लाले खेलको सात मिनेटमै आत्मघाती गोलमार्फत अमेरिकालाई पहिलो अग्रता दिलाए ।

    स्टन म्याकेनीले गरेको प्रहार रोक्न खोज्दा पाराग्वेका खेलाडी बोबाडिल्लाले प्रहार गरेको बल आफ्नो गोलपोष्टमा प्रवेश गरेपछि अमेरिकाले पहिलो अग्रता लिएको हो । त्यसपछि खेलको ३१औँ मिनेटमा अमेरिकाका फोलारिन बालोगुनले गोल गर्दै अमेरिकालाई दोस्रो अग्रता दिलाए । त्यस्तै खेलको पहिलो हाफको अतिरिक्त समयमा फोलिरिनले नै टोलीलाई तेस्रो तथा व्यक्तिगत दोस्रो गोल गरे । खेलको ७३औँ मिनेटमा पाराग्वेका मौरिसियोले एक सान्त्वना गोल फर्काए ।

    त्यसपछि खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा अमेरिकाका जियोभानी रेयनाले गोल गर्दै आफ्नो टोलीको जित सुनिश्चित गरे । यसजितसँगै समूह डी मा रहेको अमेरिकाले शीर्ष तीन अक बटुलेको छ । समूह डी मा अमेरिकासँगै पाराग्वे, अस्ट्रेलिया र टर्की छन् ।

  • डाँगीको नेतृत्वमा इप्पानमा नयाँ कार्यसमितिको चयन

    डाँगीको नेतृत्वमा इप्पानमा नयाँ कार्यसमितिको चयन

    काठमाडौँ, ३० जेठः स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारणसभाबाट मोहनकुमार डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । शुक्रबार मध्यरातमा सप्पन्न साधारणसभाबाट नयाँ कार्यसमिति चयन भएको निर्वाचन समितिले जनाएको छ । डाँगी संस्थाको विधानअनुसार स्वतः अध्यक्ष बन्नुभएको हो ।

    वरिष्ठ उपाध्यक्षमा उत्तम भ्लोन निर्विरोध निर्वाचित भएका छन् । उपाध्यक्षहरूमा क्रमशः उत्तरकुमार श्रेष्ठ, नरेन्द्रबल्लभ पन्त, विक्रम विष्ट, सुशन कर्माचार्य र हिमप्रसाद पाठक निर्विरोध निर्वाचित निर्वाचित भएका छन् । महासचिवमा टेकनाथ आचार्य ९टिएन आचार्य० तथा उपमहासचिवमा कविता पोखरेल निर्विरोध निर्वाचित निर्वाचित भए । सचिव पदमा अभिषा मल्ल, ईशा श्रेष्ठ, कुवेरमणि नेपाल, विजयमोहन भट्टराई र सुमनकुमारी जोशी निर्विरोध निर्वाचित भए ।


    त्यसैगरी कोषाध्यक्ष पदका लागि भएको निर्वाचनमा शङ्कर बस्यालले २६७ मत प्राप्त गर्दै विजयी भए । उनीसँग प्रतिस्पर्धी गर्नुभएका मिथुन चक्रवर्तीप्रसाद पौडेलले ८२ मत प्राप्त गरे । खुला सदस्यतर्फ अनुप आचार्य, कदम केसी, जगदीश सिवाकोटी, जगतबहादुर पोखरेल, नारायण कँडेल, मिलन खड्का तथा वर्णन लामिछाने निर्विरोध निर्वाचित भए ।

  • फिफा विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

    फिफा विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

    काठमाडौँ, ३० जेठः फिफा विश्वकप फुटबल–२०२६ को तेस्रो खेलमा घरेलु टोली क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरीमा सकिएको छ ।
    क्यानडाको टोरन्टो स्टेडियममा आज भएको विश्वकपको तेस्रो तथा समूह बी को पहिलो खेलमा क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाले एक–एकको बराबरी खेलेका हुन् । यससँगै दुवै टोलीले समान एकरएक अङ्क बाडेका छन् ।

    खेलमा पहिलो अग्रता भने बोस्निया एन्ड हर्जगोभिनाले लिएको थियो । खेलको २१औँ मिनेटमा जोभो लुकिचले हेडरमार्फत गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाएका हुन् । बोस्निया एन्ड हर्जगोभिनाले खेलको पहिलो हाफमा लिएको एक शून्य गोलको अग्रता दोस्रो हाफमा पुगेपछि जोगाउन सकेन । खेलको ७८ औँ मिनेटमा क्यानडाले बराबरी गोल फर्कायो ।

    क्यानडाका काइल लारिनले एक गोल गर्दै खेललाई एकरएक गोलको बराबरीमा ल्याए । त्यसपछि खेलमा दुवै टोलीले गोल गर्न सकेनन् र अन्तत खेल एकरएक गोलको बराबरीमा टुङ्गियो । आजै विश्वकपको चौथो तथा समूह डी को पहिलो खेलमा आयोजक अमेरिका र पाराग्वेबीच प्रतिस्पर्धा भइरहेको छ । सो खेलमा अमेरिकाले अग्रता लिएको छ ।

  • आधा शताब्दीपछि पोखरा बसपार्क निर्माणको आशा जाग्दै

    आधा शताब्दीपछि पोखरा बसपार्क निर्माणको आशा जाग्दै

    कृष्ण दवाडी–रासस
    कास्की, ३० जेठः पोखरा महानगरपालिका–९ पृथ्वीचोकस्थित बसपार्क क्षेत्रमा वर्षौंदेखि सञ्चालनमा रहेका सटर तथा भवन खाली हुन थालेपछि आधा शताब्दीदेखि अलपत्र रहेको बसपार्क निर्माणको आशा पुनः जागेको छ । बसपार्क प्रवेशद्वार नजिकै फेन्सी पसल सञ्चालन गर्दै आएका हरि लामिछाने शुक्रबार आफ्नो सटरका बाँकी सामान हटाउने काममा व्यस्त थिए ।

    लामो समयदेखि व्यापार गर्दै आएको स्थान छोड्नुपर्ला भन्ने कल्पना नगरेको बताउने उनी अहिले भने बसपार्क निर्माणको प्रक्रिया अघि बढेपछि संरचना खाली गर्न बाध्य छन् । पोखरा महानगरपालिकाले गत वैशाख ३ गते बसपार्क क्षेत्रका सार्वजनिक जग्गामा बनेका संरचना हटाउन ३५ दिने सूचना जारी गरेको थियो । सुरुमा त्यो निर्णय कार्यान्वयन होला भन्ने विश्वास नगरेका व्यवसायी पछिल्लो समय जग्गाधनी र महानगरबीच भएको सहमतिपछि भने संरचना खाली गर्न थालेका छन् ।

    बसपार्कको उत्तरी क्षेत्रमा रहेका जग्गाधनीले संरचना हटाउने तयारी विरुद्ध उच्च अदालत पोखरामा रिट दायर गरेका थिए । तर जेठ २५ गते महानगरसँग भएको समझदारीपछि उनीहरूले मुद्दा फिर्ता लिने र बसपार्क निर्माणमा सहजीकरण गर्ने निर्णय गरेका छन् । त्यससँगै बसपार्क क्षेत्रका अधिकांश व्यवसायी तथा घरधनीले आफ्ना संरचना खाली गर्न थालेका हुन् ।


    “पहिला बसपार्क बन्ला र हामीले ठाउँ छोड्नुपर्ला भन्ने लागेको थिएन । तर जग्गाधनी र महानगरबीच सहमति भएपछि हामीले पनि सर्नुपर्ने अवस्था आयो । बसपार्क निर्माण हुनु राम्रो कुरा हो, तर विस्थापित व्यवसायीको व्यवस्थापनमा महानगरले ध्यान दिनुपर्छ, ”लामिछानेले भने । उनले भविष्यमा बसपार्क क्षेत्रमा व्यापारिक प्रयोजनका लागि सटर वा भवन निर्माण भएमा हाल विस्थापित भएका व्यवसायीलाई प्राथमिकता दिनुपर्ने माग गरे ।


    हाल बसपार्क प्रवेशको बायाँपट्टि रहेको बास्तोला कम्प्लेक्सका ३२० भन्दा बढी सटर खाली गर्ने कार्य तीव्र गतिमा भइरहेको छ । बसपार्कभित्रका अन्य जग्गाधनीले पनि आफ्ना संरचना हटाउने प्रक्रिया अघि बढाएका छन् । पोखरा बसपार्कका लागि विसं २०३२ मा २०५ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । तर पाँच दशक बितिसक्दा पनि बसपार्क निर्माण हुन सकेन । बरु बसपार्कका लागि छुट्याइएको अधिकांश जग्गा अतिक्रमणको चपेटामा प¥यो। अहिले मूल क्षेत्रफलमध्ये करिब २५ रोपनी जमिन मात्र बाँकी रहेको बताइन्छ ।

    बसपार्कका लागि अधिग्रहण गरिएको जग्गाको सट्टापट्टा, बिक्री–वितरण तथा क्षतिपूर्ति वितरण प्रक्रियाबारे उठेका गुनासा र विवादको छानबिनको काम अहिले भइरहेको छ । बसपार्क निर्माणका लागि अधिग्रहण गरिएको जग्गामध्ये राजमार्ग विस्तारका क्रममा करिब नौ रोपनी क्षेत्रफल प्रयोग भएपछि बाँकी रहेको जग्गासम्बन्धी सट्टापट्टा, बिक्री–वितरण तथा क्षतिपूर्ति प्रक्रियाबारे विभिन्न गुनासा, लिखित उजुरी तथा प्रश्नहरू उठ्दै आएका छन् ।

    विशेषगरी केही व्यक्तिले नपाउनुपर्ने क्षतिपूर्ति प्राप्त गरेको, वितरण प्रक्रियामा असमानता भएकोलगायतका आरोप सार्वजनिक भएपछि सत्यतथ्य छानबिनका लागि महानगरले समिति बनाएको हो । पोखरा महानगरपालिकाले बसपार्क निर्माणलाई प्राथमिकतामा राख्दै दातृ निकायमार्फत आवश्यक बजेट सुनिश्चित गरेको छ । संरचना हटाउने काम अघि बढेसँगै स्थानीयवासीमा बसपार्क निर्माण हुने आशा समेत वृद्धि भएको छ ।

    बसपार्क निर्माणको मार्गमा रहेको अर्को प्रमुख चुनौती बसपार्कभित्र बसोबास गर्दै आएका भूमिहीन तथा सुकुम्बासी परिवारको व्यवस्थापन हो । बसपार्क क्षेत्रमा झण्डै ५०० परिवार वर्षौंदेखि बसोबास गर्दै आएका छन् । महानगरपालिकाले उनीहरूको व्यवस्थापनका लागि जग्गा व्यवस्थापन (खोजी) समिति गठन गरेको थियो । समितिले विभिन्न छ स्थानमा पुनःस्थापना गर्न सकिने सुझाव महानगरलाई दिएको छ ।

    सोही सिफारिसका आधारमा महानगरले जेठ २५ गते जग्गा प्लट मिलान तथा पूर्वाधारको सम्भाव्यता अध्ययन गर्न प्राविधिक समिति गठन गरेको छ । सात दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी पाएको उक्त समितिले सम्भावित स्थानको नापजाँच तथा व्यवस्थापन क्षमता अध्ययन गरिरहेको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यका अनुसार वास्तविक भूमिहीन र सुकुम्बासी पहिचान गर्न छुट्टै छानबिन समिति पनि क्रियाशील छ ।

    “सिफारिस भएका जग्गाको नापजाँच गरी कति परिवारलाई व्यवस्थित रूपमा बसोबास गराउन सकिन्छ भन्ने विषयमा अध्ययन भइरहेको छ,” प्रमुख आचार्यले भने, “छानबिन प्रतिवेदनका आधारमा वास्तविक सुकुम्बासीको व्यवस्थापन गरिनेछ र बसपार्क क्षेत्रका अतिक्रमित संरचना हटाएर आधुनिक तथा सुविधासम्पन्न बसपार्क निर्माण गरिनेछ ।” बसपार्क क्षेत्रमा बसोबास गर्दै आएका भूमिहीन तथा अव्यवस्थित बसोबासीले पनि आफू विकासको बाधक नबन्ने बताएका छन् ।

    भूमिहीन तथा अव्यवस्थित बसोबासी सरोकार सङ्घर्ष समिति कास्कीका संयोजक प्रेमबहादुर गुरुङले वैकल्पिक व्यवस्थापन भए जुनसुकै बेला पनि स्थान खाली गर्न तयार रहेको बताए । “हामीलाई उचित विकल्प दिएर व्यवस्थापन गर्नुपर्छ,” उनले भने, “बसपार्कका लागि अधिग्रहण गरिएको २०५ रोपनी सम्पूर्ण जग्गामा नै बसपार्क निर्माण हुनुपर्छ ।

    सुकुम्बासीलाई मात्र हटाउने तर शक्तिका आडमा बसपार्कको जग्गा ओगटेर बसेका अन्य व्यक्तिलाई यथावत् राख्ने काम स्वीकार्य हुँदैन ।” पोखरा महानगरले संरचना हटाउने अभियानलाई तीव्रता दिएको र जग्गाधनी तथा व्यवसायीले सहयोग गर्न थालेपछि लामो समयदेखि अलपत्र रहेको पोखरा बसपार्कको सपना पूरा हुने विश्वास पोखरेलीको छ ।

  • युवा आन्दोलन विस्तार गर्दै कक्रोच जनता पार्टी

    युवा आन्दोलन विस्तार गर्दै कक्रोच जनता पार्टी

    नयाँदिल्ली, २९ जेठ (रासस–एपी) । भारतमा सामाजिक सञ्जालमार्फत तीव्र रूपमा लोकप्रिय बनेको कक्रोच जनता पार्टी (सिजेपी)ले बेरोजगारी, शिक्षा प्रणालीका कमजोरी र सरकारी जवाफदेहिताका मुद्दालाई केन्द्रमा राख्दै राष्ट्रव्यापी युवा विरोध अभियान सुरु गरेको छ । अभियानको सुरुआतस्वरूप बिहीबार पश्चिमी भारतीय सहर पुणेमा सयौँ विद्यार्थी र युवा समर्थकहरू भेला भएका थिए र यस कार्यक्रमले पछिल्ला दिनमा तीव्र गतिमा फैलिरहेको युवा आन्दोलनलाई थप ऊर्जा र गति प्रदान गरेको छ ।

    गत साता नयाँदिल्लीमा पहिलो ठूलो सडक प्रदर्शन गरेको सिजेपीले यसपटक सावित्रीबाई फुले पुणे विश्वविद्यालय परिसरमा र्‍याली आयोजना गरेको हो । प्रदर्शनकारीहरूले विभिन्न सार्वजनिक परीक्षामा देखिएका अनियमितता, बारम्बार हुने प्रश्नपत्र चुहावट तथा शिक्षा क्षेत्रमा देखिएको व्यवस्थापकीय कमजोरीको विरोध गर्दै शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गरेका छन् ।

    राजनीतिक सञ्चार रणनीतिकार तथा बोस्टन विश्वविद्यालयका विद्यार्थी अभिजीत डिप्केले र्‍यालीलाई सम्बोधन गर्दै पुणेको कार्यक्रम केवल सुरुआत मात्र भएको बताए । उनले बिहीबारदेखि देशव्यापी अभियान औपचारिक रूपमा सुरु भएको घोषणा गर्दै आगामी दिनमा भारतका अन्य सहरहरूमा पनि विरोध कार्यक्रम विस्तार गरिने जानकारी दिए । उनले शिक्षामन्त्रीले राजीनामा नदिए समर्थकहरू यही महिनाको अन्त्यतिर पुनः नयाँदिल्लीमा ठूलो प्रदर्शनका लागि जुट्ने चेतावनीसमेत दिए ।


    “सरकारले युवाहरूलाई बेवास्ता गर्न सक्दैन”, अमेरिकाबाट हालै भारत फर्किएर आन्दोलनको नेतृत्व गरिरहनुभएका डिप्केले पत्रकारहरूसँग भने । यो आन्दोलनको सुरुआत गत मे महिनामा सर्वोच्च अदालतका न्यायाधीश सूर्य कान्तले केही बेरोजगार युवालाई ‘कक्रोच’ सँग तुलना गरेको टिप्पणीपछि भएको थियो । उक्त अभिव्यक्तिले सामाजिक सञ्जालमा व्यापक प्रतिक्रिया निम्त्याएको थियो ।

    तर आन्दोलनका समर्थकहरूले त्यस शब्दलाई अपमानको रूपमा नभई, कठिन परिस्थितिमा पनि बाँच्न सक्ने क्षमता र लचकताको प्रतीकका रूपमा ग्रहण गरे । त्यसपछि ‘कक्रोच’ आन्दोलनको पहिचान बनेको छ र समूहले इन्स्टाग्राममा मात्र दुई करोड २० लाखभन्दा बढी अनुयायी आकर्षित गर्न सफल भएको छ ।

    सुरुमा एउटा टिप्पणीविरुद्धको प्रतिवादका रूपमा देखिएको आन्दोलन अहिले बेरोजगारी, बढ्दो जीवनयापन खर्च, शिक्षा प्रणालीका समस्या, भ्रष्टाचार तथा सरकारी जवाफदेहितासम्बन्धी व्यापक असन्तुष्टिको आवाजका रूपमा विकसित भएको छ । सिजेपीले व्यङ्ग्य, आत्म–आलोचनात्मक हास्य र राजनीतिक टिप्पणीलाई संयोजन गरेर युवामाझ आफ्नो प्रभाव विस्तार गरिरहेको छ ।

    समर्थकहरू मजाककै शैलीमा आफूलाई बेरोजगार, लामो समय अनलाइन बस्ने र अवसरको खोजीमा रहेका युवा भनेर चिनाउँछन् । सामाजिक सञ्जालमा सार्वजनिक गरिएका भिडियो, मीम र व्यङ्ग्यात्मक सामग्रीहरूले बेरोजगारी, भ्रष्टाचार तथा राजनीतिक निष्क्रियताको आलोचना गर्दै लाखौँ दर्शकको ध्यान तानेका छन् । यस्तै, सिजेपीसँग सम्बन्धित वा त्यसबाट प्रेरित धेरै प्यारोडी खाताहरूले पनि कक्रोचलाई व्यङ्ग्यात्मक राजनीतिक प्रतीकका रूपमा प्रयोग गरिरहेका छन् ।

    पुणेबाट सुरु भएको पछिल्लो अभियानले भारतका युवाहरूबीच बढ्दो असन्तुष्टिलाई सङ्गठित राजनीतिक अभिव्यक्तिमा रूपान्तरण गर्ने प्रयास गरिरहेको विश्लेषण गरिएको छ । आन्दोलनले आगामी दिनमा देशका अन्य प्रमुख सहरहरूमा कस्तो प्रभाव पार्छ भन्ने विषयलाई राजनीतिक वृत्तले चासोका साथ हेरिरहेको छ ।

  • फिफा विश्वकप : दक्षिण कोरियाको विजयी सुरुआत

    फिफा विश्वकप : दक्षिण कोरियाको विजयी सुरुआत

    ग्वाडलाजारा (मेक्सिको), २९ जेठ (रासस–एएफपी) । विश्वकपमा दक्षिण कोरियाले आफ्नो अभियानको शानदार सुरुआत गर्दै चेक गणतन्त्रलाई २–१ ले पराजित गरेको छ । अन्तिम १० मिनेटमा निर्णायक गोल गर्दै कोरियाले कठिन प्रतिस्पर्धामा महत्त्वपूर्ण तीन अङ्क जोडेको हो । खेलको अधिकांश समय चेक गणतन्त्र दबाबमा रहेको देखिए पनि अन्तिम क्षणसम्म खेल अनिश्चित बनेको थियो । ८० औँ मिनेटसम्म चेकले खेल आफ्नो पक्षमा मोड्ने सङ्केत दिएको थियो, तर प्रतिस्थापन खेलाडी ओह ह्योन–ग्यूले निर्णायक गोल गर्दै कोरियालाई जित दिलाए ।


    दक्षिण कोरियाले खेलको सुरुआतदेखि नै प्रभुत्व जमाएको थियो । स्टार खेलाडी सोन ह्युङ–मिनको नेतृत्वमा कोरियाली टोलीले पहिलो हाफमा लगातार आक्रमण गरे पनि गोल गर्न सकेको थिएन । उनले गरेको एक शक्तिशाली प्रहार बारमा लागेर फर्किएको थियो भने अर्को प्रयास थोरै फरक दिशामा गएको थियो । दोस्रो हाफमा चेक गणतन्त्रले अग्रता लिएको थियो । लाडिस्लाव क्रेज्चीले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाए । जसपछि खेलमा तनाव थपिएको थियो ।

    तर कोरियाले दबाब बढाउँदै पुनरागमन गर्‍यो । ह्वाङ इन–बिओमले ६७ औँ मिनेटमा सुन्दर प्रहार गर्दै बराबरी गोल गरे । जसले कोरियाली समर्थकमा उत्साह भरेको थियो । त्यसपछि चेक रक्षापङ्क्तिको कमजोरीको फाइदा उठाउँदै ह्वाङले नै निर्णायक पास उपलब्ध गराए । जसलाई ओह ह्योन–ग्यूले दायाँतर्फबाट आएको बललाई सहजै गोलमा परिणत गरे ।


    खेलको अन्त्यतिर तनावपूर्ण अवस्था सिर्जना भए पनि दक्षिण कोरियाले अग्रता जोगाउँदै जित सुनिश्चित गर्‍यो । अन्तिम सिटी बज्नेबित्तिकै कप्तान सोन ह्युङ–मिनले मैदानमै खुसी व्यक्त गरे । यस जितसँगै दक्षिण कोरियाले आफ्नो अर्को खेल सह–आयोजक मेक्सिकोसँग खेल्नेछ । मेक्सिकोले यसअघि दक्षिण अफ्रिकालाई २–० ले पराजित गरेको थियो । चेक गणतन्त्रले भने आफ्नो अर्को खेलमा दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्नेछ ।

  • अध्ययन भिसा सिफारिस प्रकरणमा कर्मचारीको भूमिका छानबिन गर्न समिति गठन

    अध्ययन भिसा सिफारिस प्रकरणमा कर्मचारीको भूमिका छानबिन गर्न समिति गठन

    काठमाडौँ, २९ जेठ । शिक्षा तथा खेलकुद मन्त्रालयले अध्ययन भिसा सिफारिसका लागि पेस गरिएका पत्र तथा कागजात नक्कली भएको विषयमा मन्त्रालयका कर्मचारीहरूको सम्भावित संलग्नता छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ । मन्त्रिस्तरीय निर्णय अनुसार मन्त्रालयका सहसचिव चन्द्रकान्त भुसालको संयोजकत्वमा समिति गठन गरिएको हो । समितिका सदस्यमा मन्त्रालयकै उपसचिव (कानुन) गोपीकृष्ण रेग्मी र शाखा अधिकृत गुणराज भट्टराई छन् ।  


    समितिलाई घटनासँग सम्बन्धित मन्त्रालयका कर्मचारीहरूको भूमिका तथा जिम्मेवारीबारे आवश्यक अनुसन्धान गरी सात दिनभित्र प्रतिवेदन पेस गर्ने कार्यादेश दिइएको मन्त्रालयले जनाएको छ । अध्ययन भिसा सिफारिस प्रक्रियामा कर्मचारीहरूको संलग्नता, कागजात प्रमाणीकरणको अवस्था तथा प्रक्रियागत कमजोरीबारे समेत समितिले अध्ययन गर्नेछ ।


    मन्त्रालयका अनुसार वाल्मीकि विद्यापीठको नामबाट अध्ययन भिसा सिफारिसका सम्बन्धमा पेस गरिएका पत्र तथा कागजातहरू नक्कली रहेको देखिएपछि छानबिन प्रक्रिया अघि बढाइएको हो । सोही आधारमा मन्त्रालयले यसअघि सिफारिस गरिएका विदेशी नागरिकहरूको भिसासम्बन्धी थप प्रक्रिया अगाडि नबढाउन सम्बन्धित निकायलाई अनुरोध गरिसकेको छ ।


    मन्त्रालयले अध्ययन भिसा प्रणालीको विश्वसनीयतासँग जोडिएको यस घटनालाई गम्भीर रूपमा लिँदै अनुसन्धानको निष्कर्षका आधारमा थप प्रशासनिक तथा कानुनी निर्णय लिइने पनि स्पष्ट गरेको छ । यसअघि अध्ययन भिसा सिफारिस प्रक्रियामा शङ्कास्पद कागजात र नक्कली रसिद प्रयोग भएको आशङ्का देखिएपछि गृह मन्त्रालयलाई पत्राचार गरेको थियो । मन्त्रालयले उक्त घटनालाई अध्ययन भिसा प्रणालीको विश्वसनीयतासँग जोडिएको गम्भीर विषयका रूपमा लिँदै अनुसन्धानको निष्कर्षका आधारमा आवश्यक प्रशासनिक तथा कानुनी निर्णय गरिने जनाएको छ ।

  • रावल आयोग कार्यान्वयन गर्न भूमि मन्त्रालयले बनायो समिति

    रावल आयोग कार्यान्वयन गर्न भूमि मन्त्रालयले बनायो समिति

    २९ जेठ, काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले “सरकारी तथा सार्वजनिक जग्गा छानविन एवं संरक्षण सम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन २०५२” कार्यान्वयनका लागि सहजिकरण समिति गठन गरेको छ। मन्त्रालयले आज नापी विभागका उपमहानिर्देशक कृष्णप्रसाद सापकोटाको संयोजकत्वमा ८ सदस्यीय समिति गठन गरेको हो।

    आजै सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त प्रतिवेदन कार्यान्वयनमा लैजान मन्त्रालयलाई निर्देशन दिएको थियो। मन्त्रिपरिषद्को बैठकको उक्त निर्देशन लगत्तै मन्त्रीस्तरीय निर्णय अनुसार प्रतिवेदन कार्यान्वयनका लागि सहजिकरण समिति गठन गरिएको हो।

    गृहमन्त्रालयका उपसचिव, भौतिक पूर्वाधार मन्त्रालयका उपसचिव, भूमिप्रशासन कार्यालय र नापी कार्यालय डिल्लीबजारका प्रमुख, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, स्थानीय तह समन्वय शाखा प्रमुख, भूमि व्यवस्थापन तथा अभिलेख विभागका शाखा अधिकृत सदस्य र नापी विभागका नापी अधिकृत सदस्य सचिव रहने गरी समिति गठन गरिएको हो।

    भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलका अनुसार उक्त समितिले चाँडो भन्दा चाँडो आफ्नो जिम्मेवारी सम्पन्न गर्नेछ। “वर्षौदेखि कार्यान्वयमा आउन नसकेको यो प्रतिवेदन मन्त्रिपरिषद्को निर्देशनसँगै कार्यान्वयनमा लैजान बाटो खुलेको छ,”उनले भनिन्, “अब सबै सरोकारवालाहरुसँग आवश्यक समन्वय गरीे अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गा संरक्षण गरिनेछ।”

  • रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय, सार्वजनिक जग्गा फिर्ता हुने

    रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय, सार्वजनिक जग्गा फिर्ता हुने

    २९ जेठ, काठमाडौं । विगत ३१ वर्षअघि सिफारिस भएर पनि हालसम्म कार्यान्वयनमा आउन नसकेको “सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग” (रावल आयोग) को प्रतिवेदन, २०५२ लाई अन्ततः सरकारले कार्यान्वयनमा लैजाने भएको छ। मन्त्रिपरिषद्को आज बसेको बैठकले सो प्रतिवेदन कार्यान्वयन गर्ने सम्बन्धमा सर्वोच्च अदालतबाट सरकारको नाममा जारी भएको निर्देशनात्मक आदेशलाई शीरोधार्य गरी प्रतिवेदन कार्यान्वयनमा लैजाने गर्ने निर्णय गरेको हो।


    साथै, सर्वोच्च अदालतको उक्त आदेशलाई टेकेर देशभर रहेका सरकारी तथा सार्वजनिक जग्गाको व्यवस्थित अभिलेख (लगत) राखी त्यस्ता जग्गाको संरक्षण गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ। मन्त्रिपरिषद् बैठकले यी दुवै निर्णय कार्यान्वयनका लागि भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिएको छ।

    मन्त्रिपरिषद्को यस निर्णयसँगै २०२१ सालको नापीका आधारमा रावल आयोगको प्रतिवेदनले समेटेको तत्कालित काठमाडौँ महानगर क्षेत्रका ३५ वटै वडामा अतिक्रमण भएको सम्पूर्ण (१८५९ रोपनी १४ आना ३ पैसा ३ दाम) सार्वजनिक तथा सरकारी जग्गाहरू खाली गर्ने बाटो खुलेको छ। साथै, उल्लिखित सार्वजनिक तथा सरकारी जग्गाको अतिक्रमणकारीहरूलाई प्रचलित कानुनबमोजिम कारबाही गर्ने प्रक्रिया पनि अघि बढ्ने भएको छ ।


    यस निर्णय बारेमा स्पष्ट पार्दै प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालले भनिन्, “रावल आयोगको प्रतिवेदन त्यतिबेलै कार्यान्वयन हुनुपर्ने थियो। तर, विडम्बना हुन सकेन। आजको मन्त्रिपरिषद् बैठकको निर्णयसँगै प्रतिवेदन कार्यान्वयनमा लैजान बाटो खुलेको छ। र, यो काम भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सम्बन्धित सबै निकायहरूसँगको समन्वयमा आवश्यक कानुनी प्रक्रिया पूरा गरेर सम्पादन गरिनेछ।”

    उनका अनुसार काठमाडौँ महानगर क्षेत्रमा तत्कालिन समयमा जम्मा अठार हजार नौ सय एकचालिस (१८९४१) रोपनीभन्दा बढी सार्वजनिक तथा सरकारी जग्गा रहेकोमा रावल आयोगले अध्ययन गर्दासम्म १८५९ रोपनीभन्दा (करीब १० प्रतिशत) बढी जग्गा अतिक्रमण भइसकेको थियो। यस क्रममा १,१८७ जना अतिक्रमणकारीहरूले ३०८ कित्ता सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी निजी प्रयोजनमा उपभोग गरिरहेको तथा थप ६,९०६ जना अतिक्रमणकारीहरूले १,७६२ कित्ता सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी आफ्नो निजी जग्गामा घुसाउदा जम्मा ८,०९३ जना अतिक्रमणकारीहरूले २,०७० कित्ता सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरेको अवस्था थियो।

    तत्कालीन सरकारले सरकारी तथा सार्वजनिक जग्गाको व्यापक अतिक्रमण, गैरकानूनी दर्ता तथा सार्वजनिक सम्पत्तिको संरक्षणसम्बन्धी गम्भीर समस्या समाधान गर्ने उद्देश्यले २०५० साल असोज २१ गतेको निर्णयानुसार सरकारका तत्कालीन पूर्वसचिव रामबहादुर रावलको अध्यक्षतामा यो उच्चस्तरीय आयोग गठन गरेको थियो।

    आयोगले काठमाडौँ नगरक्षेत्रभित्र भएका सरकारी तथा सार्वजनिक जग्गाहरूको अतिक्रमणको अवस्थाबारे विस्तृत अध्ययन गरी २०५२ सालमा सुझाव सहितको आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको थियो। आयोगले प्रतिवेदन बुझाए पनि राजनीतिक र प्रशासनिक उदासीनताका कारण यो प्रतिवेदन कार्यान्वयनमा आएको थिएन।

    त्यसको ८ वर्षपछि अधिवक्ता प्रकाशमणि शर्मासमेतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय समेतलाई विपक्षी बनाई रावल आयोगको प्रतिवेदन, २०५२ को कार्यान्वयनका लागि परमादेशसमेत माग गरी सर्वोच्च अदालतमा २०६० सालमा रिट दर्ता गरेका थिए ।

    उक्त रिट निवेदनको सुनुवाइको क्रममा रावल आयोगको प्रतिवेदन कार्यान्वयनका सम्बन्धमा विशेषज्ञ सम्मिलित समितिद्वारा अध्ययन गर्न उपयुक्त देखिएकाले सर्वोच्च अदालतको २०६६ साल जेठ १७ गतेको इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवको संयोजकत्वमा विशेषज्ञ समिति गठन गरी सुझावसहितको प्रतिवेदन पेश गर्ने आदेश दिएको थियो। सो विशेषज्ञ समितिले काठमाडौँ बाहेक देशका अन्य स्थानहरूमा भएका सरकारी जग्गाहरूको अतिक्रमणको विषयमा समेत छानबिन गर्नुपर्ने सुझावसहितको प्रतिवेदन २०६६ चैत १ गते पेश गरेको थियो ।

    विशेषज्ञ समितिको उक्त प्रतिवेदन समेतको अध्ययन पश्चात् सर्वोच्च अदालतले २०६७ जेठ १२ गते रिट निवेदनमा अन्तिम सुनुवाइ गर्दै “विशेषज्ञ समितिको प्रतिवेदनअनुसार रावल आयोगको प्रतिवेदन कार्यान्वयन हुन र देशका अन्य स्थानहरूमा भएको सरकारी तथा सार्वजनिक जग्गाहरूको अतिक्रमणको विषयमा समेत छानबिन गरी कानूनबमोजिम कारबाही गर्न वाञ्छनीय देखिएकोले सो कार्यलाई उच्च प्राथमिकता प्रदान गरी छिटो कार्यान्वयन गर्नू गराउनू“ भनी विपक्षीहरूका नाममा निर्देशनात्मक आदेश जारी गरेको थियो ।

    सर्वोच्च अदालतको स्पष्ट आदेश र चौतर्फी जनदबावका बाबजुद पनि तीन दशकसम्म गठन भएका कुनै पनि सरकारले यस आदेशलाई कार्यान्वयन गर्ने राजनीतिक इच्छाशक्ति देखाउन सकेका थिएनन्। बरु, प्रतिवेदन र सर्वोच्च अदालतको निर्देशनात्मक आदेशको कार्यान्वयनलाई थप अध्ययन तथा प्रक्रियाका नाममा विभिन्न समितिहरु गठन गर्दै अल्झाएर राखिएको थियो।

    गत वर्ष चैत १३ गते प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि वालेन्द्र शाह र उहाँको सचिवालय रावल आयोगको प्रतिवेदन र सर्वोच्च अदालतको निर्देशानात्मक आदेश कार्यान्वयनका सम्बन्धमा गम्भीर बनेको थियो। यस्तै, नीति अनुसन्धान प्रतिष्ठानले यो प्रतिवेदन र सोको कार्यान्वयनका लागि सर्वोच्च अदालतबाट जारी भएको निर्देशनात्मक आदेश ९२०६७० सम्बद्ध टिप्पणीसहितको सङ्क्षेपीकरण तथा सुझाव प्रतिवेदन,२०८३”शीर्षकको मामला अध्ययन प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेश गरेको थियो।

    सरकारको यस निर्णयसँगै राज्यको स्रोत र सार्वजनिक सम्पत्तिको रक्षा गर्ने, सुशासन कायम गर्ने र विधिको शासन स्थापित गर्ने सरकारको सङ्कल्प व्यवहारिक रूपमा रूपान्तरण हुने विश्वास लिइएको छ।

  • संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको म्याद थप गर्ने सरकारको निर्णय

    संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको म्याद थप गर्ने सरकारको निर्णय

    काठमाडौँ, २९ जेठः सरकारले संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल, २०८३ को म्याद थप गर्ने निर्णय गरेको छ । आजको मन्त्रिपरिषद् बैठकले कार्यदलको म्याद अगामी असार मसान्तसम्म थप गर्ने निर्णय गरेको शिक्षा तथा खेलकुदमन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

    बैठकले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग)को प्रतिवेदन, २०५२ कार्यान्वयन गर्न भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्तालयलाई निर्देशन दिनेसमेत निर्णय गरेको छ । साथै लेखामान बोर्डको अध्यक्ष पदमा रमेशकुमार धिताल (सिन्धुपाल्चोक)लाई मनोनयन गर्ने निर्णय गरेको जनाइएको छ ।

  • काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा आठको मृत्यु

    काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा आठको मृत्यु

    काठमाडौँ, २९ जेठः काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ बुचाकोटमा यात्रुवाहक बस दुर्घटना हुँदा आठ जनाको घटनास्थलमै मृत्यु भएको छ । बनेपादेखि रोशी गाउँपालिकातर्फ जाँदै गरेको बा २ ख ८३९८ नम्बरको यात्रुवाहक बस बुचाकोटमा दिउँसो करिब २ः१५ बजे सडकबाट दुई सय मिटर तल खसेको थियो । दुर्घटनामा चालकसहित १६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक रविन विस्टले जानकारी दिए । उनका अनुसार घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।

  • धनकुटामा बस दुर्घटना हुँदा १२ घाइते

    धनकुटामा बस दुर्घटना हुँदा १२ घाइते

    धरान (सुनसरी), २९ जेठः सङ्खुवासभाबाट धरानतर्फ आउँदै गरेको यात्रुवाहक बस धनकुटा नगरपालिकf–९ मूलघाट नजिक दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । सङ्खुवासभाबाट सुनसरीको धरानतर्फ आउँदै गरेको १५ जना सवार बस आज दिउँसो अनियन्त्रित भई सडकमा पल्टिदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

    दुर्घटनापछि कोशी राजमार्गअन्तर्गत धरान-धनकुटा मूलघाट सडक केही समय अवरुद्ध बनेको थियो । हाल उक्त खण्ड एकतर्फी रूपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी नायब उपरीक्षक हेमन्त भण्डारीले जानकारी दिए । दुर्घटनापछि घाइतेको उद्धार गरी केहीलाई स्थानीय अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । केहीलाई थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए ।

  • पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने

    पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने

    काठमाडौँ, २९ जेठः नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा ९ट्रफ० तथा स्थानीय वायुको प्रभावका कारण देशका विभिन्न क्षेत्रमा वर्षा हुने सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशलगायत देशका अधिकांश हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहेको छ भने तराई क्षेत्रमा आंशिक बदली छ । लुम्बिनी प्रदेशका केही स्थान तथा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

    आज दिउँसो कोशी, मधेस र बागमती प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहने तथा बाँकी तराई क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ । कोशी र मधेश प्रदेशका केही स्थान तथा देशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका एकदुई स्थानमा पनि वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।

    आज राति पनि कोशी प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहनेछ भने मधेस प्रदेशलगायत तराई भूभागमा आंशिक बदली रहनेछ । कोशी प्रदेश तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

    साथै मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्र तथा देशका हिमाली भूभागका एकदुई स्थानमा वर्षा तथा हिमपात हुन सक्ने जनाइएको छ । महाशाखाले वर्षा, चट्याङ तथा हिमपातका कारण दैनिक जनजीवन, कृषि, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने भएकाले सतर्कता अपनाउन सम्बद्ध सबैमा आग्रह गरेको छ ।

  • विश्वकप फुटबलको उद्घाटन खेलमै तीन खेलाडीले पाए रातो कार्ड

    विश्वकप फुटबलको उद्घाटन खेलमै तीन खेलाडीले पाए रातो कार्ड

    काठमाडौँ, २९ जेठ । मेक्सिकोले दक्षिण अफ्रिकालाई हराउँदै फिफा विश्वकप फुटबल २०२६ को उद्घाटन खेलमा सुखद् सुरुआत गरेको छ । मेक्सिकोको सिटी रङ्गशालामा आज भएको खेलमा घरेलु टोली मेक्सिकोले दक्षिण अफ्रिकालाई २–० गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद् सुरुआत गरेको हो ।

    मेक्सिकोका लागि जुलियन क्विनोनेस र राउल जिमेनेजले समान एक–एक गोल गरे । खेल सुरुआतको नवौँ मिनेटमा जुलियन क्विनोनेसले गोल गर्दै मेक्सिकोलाई सुरुआती अग्रता दिलाए । इरिक लिराले दिएको पासलाई सदुपयोग गर्दै जुलियनले गोल गरेका हुन् । खेलको ४९औँ मिनेटमा दक्षिण अफ्रिकाका सेफेलो सिथोलले पहिलो रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि दक्षिण अफ्रिका १० खेलाडीमा सीमित बन्यो ।

    त्यसपछि खेलको ६७औँ मिनेटमा राउल जिमेनेजले गोल गर्दै मेक्सिकोको अग्रता दोब्बर बनाए । खेलको ८४औँ मिनेटमा दक्षिण अफ्रिकाका अर्का खेलाडी थेम्बा ज्वानेले रातो कार्ड पाए । त्यसपछि दक्षिण अफ्रिका नौ खेलाडीमा सीमित बन्यो । खेलको दोस्रो हाफको अतिरिक्त समयमा मेक्सिकोका सेजर मोन्टेसले पनि रातो कार्ड पाएर मैदान बाहिरिए ।

    विश्वकपको उद्घाटन खेलमा तीन खेलाडीले रातो कार्ड पाउँदै मैदानबाट बाहिरिए । यस जितसँगै समूह ‘ए’मा रहेको मेक्सिकोले शीर्ष तीन अङ्क बटुलेको छ । आजै हुने समूह ‘ए’ अन्तर्गतको अर्को खेलमा चेक रिपब्लिक र दक्षिण कोरियाबीच प्रतिस्पर्धा भइरहेको छ ।

  • इराकस्थित अमेरिकी दूतावासद्वारा इराकमा रहेका अमेरिकी नागरिकलाई सतर्क रहन आग्रह

    इराकस्थित अमेरिकी दूतावासद्वारा इराकमा रहेका अमेरिकी नागरिकलाई सतर्क रहन आग्रह

    बगदाद (इराक), २९ जेठ (रासस–सिन्ह्वा) । इराकस्थित अमेरिकी दूतावासले सुरक्षा चेतावनी जारी गर्दै इराकमा रहेका अमेरिकी नागरिकलाई पुर्ण तयारीका साथ क्षेत्रीय घटनाक्रमको सङ्कटकानिल अवस्थामा सतर्क रहन सुझाव दिएको छ । विज्ञप्ति जारी गर्दै दूतावासले वर्तमान क्षेत्रीय अवस्थाका कारण यात्रा अवरोध र हवाई क्षेत्र बन्द हुन सक्ने चेतावनी दिएको छ ।

    दुतावासले अमेरिकी नागरिकहरूलाई वर्तमान अवस्थामा यात्रा नगर्न चेतावनी जारी गर्दै अमेरिकी विदेश विभागले जारी गरेको विभिन्न स्तरको यात्रा चेतावनीको पालना गर्न सल्लाह दिएको छ । कुनै पनि कारणले इराकको यात्रा नगर्न सुझाव दिदै दुतावासले इराकमा रहेका आफ्ना नागरिकहरूलाई छिटै बाहिरिन आग्रह गरेको छ । इरानको इस्लामिक रिभोलुसन गार्ड कप्र्सले बिहीबार इरानमा ताजा अमेरिकी आक्रमणको प्रतिक्रियामा महत्वपूर्ण लक्ष्यहरूमा प्रहार गरी नष्ट गरेको बताएको छ ।

  • विजयसाल सामुदायिक होमस्टेमा पञ्चधातुको मूर्ति स्थापना गरिने

    विजयसाल सामुदायिक होमस्टेमा पञ्चधातुको मूर्ति स्थापना गरिने

    कञ्चनपुर, २९ जेठः थारू समुदायको पीडा, सङ्घर्ष र मुक्तिको इतिहासलाई जीवन्त बनाउँदै पर्यापर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बाणीस्थित विजयसाल सामुदायिक घरबास ९होमस्टे०मा पञ्चधातुको मूर्ति स्थापना गरिने भएको छ । मुक्त कमैया महिलाको जीवन सङ्घर्ष झल्किने मूर्तिले थारू समुदायका मुक्त कमैया समुदायको इतिहास संरक्षणसँगै पर्यटक आकर्षण बढाउने अपेक्षा गरिएको छ ।

    सुदूरपश्चिम प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको रु ३५ लाख लागतमा सुन, चाँदी, तामा, पित्तल र फलाम मिसाएर पञ्चधातुको मूर्ति निर्माण गर्न लागिएको हो । होमस्टे परिसरमा स्थापना गरिने उक्त मूर्तिले जमिन्दारी प्रथाका बेला कमैया महिलाले भोग्नुपरेको कठिन जीवन र त्यसबाट प्राप्त मुक्तिको सन्देश प्रस्तुत गर्नेछ ।

    विजयसाल होमस्टे सञ्चालक समितिका अध्यक्ष परदेशनीकुमारी डगौराले मूर्ति निर्माणको कामको ठेक्कामार्फत ललितपुरमा भइरहेको जानकारी दिइन् । मूर्ति निर्माणको ८० प्रतिशत काम सम्पन्न भइसकेको उनले जानकारी दिइन् । “हामीले जमिन्दारको घरमा श्रम गर्न बाध्य मुक्त कमैया महिलाको अवस्थालाई झल्काउने पूर्णकदको मूर्ति स्थापना गर्न लागेका हौँ”, उनले भनिन्, “यसले नयाँ पुस्तालाई विगतको इतिहास बुझ्न र मुक्त कमैया आन्दोलनको महत्वबारे जानकारी दिन सहयोग पुग्नेछ ।” मूर्ति राख्नका लागि करिब रु पाँच लाखको लागतमा फाउन्डेसन निर्माणको काम भइरहेको उनले बताइन् । असार मसान्तभित्र निर्माण तथा स्थापना कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

    थारू समुदायको मौलिक संस्कृति, रहनसहन र परम्परालाई संरक्षण गर्दै सञ्चालनमा रहेको विजयसाल होमस्टे अहिले पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । यहाँ स्वदेशी तथा विदेशी पर्यटकले थारू समुदायका मौलिक परिकार, सांस्कृतिक प्रस्तुति र ग्रामीण जीवनशैलीको अनुभव लिन पाउने व्यवस्था छ ।

    हाल छवटा घरमा सञ्चालन भइरहेको होमस्टे व्यवसायमा आबद्ध प्रतिपरिवारले मासिक रु ३० देखि रु ३५ हजारसम्म आम्दानी गर्दै आएका छन् । होमस्टे सञ्चालकका अनुसार पछिल्ला वर्षहरूमा आन्तरिक पर्यटकको आगमन बढ्दै गएको छ भने विदेशी पर्यटक पनि थारू संस्कृति नजिकबाट बुझ्न यहाँ पुग्ने गरेका छन् । बस्तीका अगुवा शोभा खुनाले मूर्ति स्थापनापछि होमस्टेको पहिचान अझ फराकिलो हुने विश्वास व्यक्त गरिन् । “मूर्ति बनेपछि पर्यटकले यहाँ बस्नेमात्र होइन, मुक्त कमैयाको इतिहास पनि बुझ्न पाउनेछन्”, उनले भनिन्, “हाम्रा पुर्खाले भोगेको दुःख, सङ्घर्ष र मुक्तिको यात्रालाई पुस्तान्तरण गर्न यो मूर्ति महत्त्वपूर्ण माध्यम बन्नेछ ।”

    उनका अनुसार मूर्तिले बस्तीको सांस्कृतिक तथा ऐतिहासिक महत्व उजागर गर्नुका साथै स्थानीय युवापुस्तालाई आफ्नो इतिहासप्रति गर्व गर्न प्रेरित गर्नेछ । पर्यटनसँगै इतिहास र संस्कृतिलाई जोड्ने उद्देश्यले निर्माण हुन लागेको उक्त मूर्तिले विजयसाल होमस्टेलाई नयाँ पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

  • सडकबाट उद्धार गरिएकामध्ये ४० प्रतिशतको परिवारसँग पुनर्मिलन

    सडकबाट उद्धार गरिएकामध्ये ४० प्रतिशतको परिवारसँग पुनर्मिलन

    काठमाडौँ, २९ जेठः उद्धार गरिएकामध्ये सडक सहयोगापेक्षी मानव ४० प्रतिशतलाई मात्रै परिवारसँग पुनर्मिलन गराउन सकिने बताइएको छ । मानव सेवा आश्रम उपत्यका इन्चार्ज कृष्ण पौडेलका अनुसार सडक आश्रित मानव अहिले परिवार भएर पनि विभिन्न बहाना वा समस्याका कारण सडकमा आउने गरेका छन् । उनीहरू परिवारसँग त्यति सजिलै जान मान्दैनन् । पटकपटकको प्रयासपछि बढीमा ४० प्रतिशतलाई परिवारसँग पुनर्मिलन गराउन सकिन्छ ।

    उद्धार गरीएकामध्ये बढीभन्दा बढीलाई परिवारसँग मिलन गराउने आश्रको दायित्व र उद्देश्य हो, त्यसका लागि अहिले सडक सहयोगापेक्षीहरूको वास्तविकता पहिचान गर्न होल्डिङ सेन्टर सञ्चालनमा ल्याइएको छ । हाल काठमाडौँ उपत्यकामा दुईवटा होल्डिङ सेन्टर सञ्चालनमा रहेको छ ।

    कामपा, पशुपति क्षेत्र विकास कोष र मानव सेवा आश्रमले गत वैशाख २३ गतेदेखि संयुक्त रूपमा वडा नं ८ तिलगङ्गामा सञ्चालन गरिएको सेन्टरमा पहिलो २८ जनालाई सेन्टरमा राखेर पहिचान गरिएको थियो । कामपाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले सेन्टरमा पुगेर पूर्वाधार, सुविधा, व्यवस्थापन र सहयोगापेक्षीका अपेक्षाका विषयमा जानकारी लिँदै उनले भने, “हामी काठमाडौँलाई सहयोगापेक्षी मुक्त बनाउन नेतृत्व गरिरहेका छौँ । सहरमा काम गर्न सक्ने व्यक्तिले श्रम गरेर खाने, श्रम बजारमा जान नसक्ने र दायित्व लिने कोही नभएकाको मानवोचित बसोबासका लागि कामपाले व्यवस्था मिलाउनेछ । यो कामलाई सफल बनाउन व्यक्ति परिवार, साझेदार सबैको समन्वय आवश्यक छ । मिलेर काम गरौँ ।”

    “पारिवारिक पुनर्मिलन पहिलो लक्ष्य हो, असहाय र बेवारिसेलाई मात्र आश्रममा राख्ने हो”, उनले उद्धार गरिएकाहरूसँग कुरा गर्दै, पारिवारिक अवस्था, सडकमा आउनुपर्नाको कारण, शारीरिक अवस्था, परिवार र सरकारसँगका अपेक्षालगायत विषयमा जानकारी लिएका थिए । खानपान र बसोबास व्यवस्थाको कुरा गर्दै उनले बिरामीलाई उपचारको व्यवस्था मिलाउन निर्देशनसमेत दिए ।


    उक्त दिन उद्धार गरिएकामध्ये चार जनामा मानसिक समस्या छ । एक ज्येष्ठ नागरिकलाई कुकुरले टोकेर घाइते बनाएको छ । उद्धारबाट ह्वीलचेयर प्रयोगकर्ता र वैशाखी प्रयोगकर्तालाई समेत सेन्टरमा ल्याइएको मानव सेवा आश्रमका इन्चार्ज पौडेलले जानकारी दिए । उद्धार भएका छ जना महिला र बाँकी सबै पुरुष छन् ।ठेगाना हेर्दा सोलुखुम्बु, सर्लाही, मकवानपुर, साँखु, सुनसरी, मोरङ, बारा, महोत्तरी, खोटाङ, धनकुटा, सुर्खेत, दोलखासहित स्थानका व्यक्ति छन् ।

  • विदेश पठाउने भन्दै ४० लाख ५० हजार ठगी गर्ने दुई जना पक्राउ

    विदेश पठाउने भन्दै ४० लाख ५० हजार ठगी गर्ने दुई जना पक्राउ

    काठमाडौँ, २९ जेठः काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयको टोलीले अमेरिका र क्रोएसिया पठाउने भन्दै रु ४० लाख ५० हजार ठगी गर्ने दुई जनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा दोलखा शैलुङ गाउँपालिका–२ की ४५ वर्षीया रुकुकुमारी श्रेष्ठ तथा मोरङ उर्लाबारी नगरपालिका–६ का ३५ वर्षीय शैलेन्द्र शाक्य रहेका काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक शरतकुमार थापा क्षेत्रीले जानकारी दिए ।

    उनले भने, “रुकुकुमारी श्रेष्ठले अमेरिका पठाउने भन्दै रु ३५ लाख तथा शैलेन्द्र शाक्यले क्रोएसिया पठाउने भन्दै रु तीन लाख ५० हजार लिई विदेश नपठाई सम्पर्कविहीन भएको भन्ने उजुरीका आधारमा पक्राउ गरिएको हो ।” उनीहरुलाई काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँमा पठाइएको प्रहरी उपरीक्षक थापा क्षेत्रीले बताए ।

  • विश्वकप फुटबल सुरु, मेक्सिकोको विजयी सुरुवात

    विश्वकप फुटबल सुरु, मेक्सिकोको विजयी सुरुवात

    काठमाडौँ, २९ जेठ । फुटबलको महाकुम्भ मेला विश्वकप फुटबल प्रतियोगिता–२०२६ आजदेखि मेक्सिकोमा सुरु भएको छ । मेक्सिको सिटी स्टेडियममा भएको उद्घाटन खेलमा मेक्सिकोले दक्षिण अफ्रिका हरायो । मेक्सिकोको आइकोनिक एज्टेका रंगशालामा भएको उद्घाटन खेलमा घरेलु टोलीले दक्षिण अफ्रिकालाई २–० ले पराजित गरेको हो । तीन फरक विश्वकप आयोजना गर्ने पहिलो स्टेडियम बनेको अज्टेका स्टेडियममा क्यापासिटी क्राउडअघि मेक्सिकोका लागि जुलियन क्विनोनेस र राउल जिमेनेजले एक–एक गोल गरे । दुई गोल भएको खेलमा ब्राजिलियन रेफ्रीले तीन रातो कार्ड देखाएका थिए ।

    खेलको नवौं मिनेटमा जुलियन क्विनोनेसले गोल गर्दै सुरुवाति अग्रता लिएका थिए । दक्षिण अफ्रिकाका गोलकिपर रोनवेन विलियम्सले दिएको बललाई डिफेन्डरले नियन्त्रण गुमाउँदा मेक्सिकोले त्यसको फाइदा उठाउँदै गोल गर्न सफल भयो । इरिक लिराले दिएको पासलाई जुलियनले गोलमा परिणत गरे । उनैले ४२ मिनेटमा गरेको प्रहार गोलपोष्टमा लागेर फर्कियो ।

    विपक्षी खेलाडीलाई लडाएपछि ४९औं मिनेटमा दक्षिण अफ्रिकाका सेफेलो सिथोलले पहिलो रातो कार्ड पाउँदै मैदानबाट बाहिरिए । त्यसपछि दक्षिण अफ्रिका १० खेलाडीमा सिमित रह्यो । ६७औं मिनेटमा राउल जिमेनेजले गोल गर्दै मेक्सिकोको अग्रता दोब्बर बनाए । खेलको ८४औं मिनेटमा दक्षिण अफ्रिकाका थेम्बा ज्वानेले रातो कार्ड पाउँदै मैदानबाट बाहिरिए । त्यसपछि दक्षिण अफ्रिका ९ खेलाडीमा सिमिति रह्यो ।

    दोस्रो हाफको अतिरिक्त समयमा मेक्सिकोका सेजर मोन्टेसले रातो कार्ड खाँदै मैदान छाडे । उद्घाटन खेलमा ३ खेलाडीले रातो कार्ड पाउँदै मैदानबाट बाहिरिए । यसै खेलमा मेक्सिकोको युवा स्टार गिल्बर्टो मोराले पनि विश्वकपमा डेब्यु गर्ने मेक्सिको र उत्तर अमेरिकाके कान्छो खेलाडीको कीर्तिमान बनाए । उनी फिफा विश्वकप २०२६ को सबैभन्दा कान्छो खेलाडी हुन् भने समग्रमा विश्वकप खेल्ने छैटौं कान्छा खेलाडी हुन् ।

    जितसँगै समूह ‘ए’ मा रहेको मेक्सिकोले ३ अंक जोडेको छ । यो जितले मेक्सिकोलाई नकआउट चरणमा पुग्न बाटो केही सहज बन्दा दक्षिण अप्रिकाबा६ट पनि सुरुमै दबाब परेको छ । सोही समूहको दोस्रो खेल बिहान पौने ८ बजेबाट चेक रिपब्लिक र दक्षिण कोरियाबिच हुनेछ । विभिन्न ४८ राष्ट्र सहभागी यस विश्वकपमा यी दुई टोली समूह ‘ए’ मा रहेका छन् । समूह ‘ए’मा मेक्सिको, दक्षिण अफ्रिकासँगै चेक गणतन्त्र र दक्षिण कोरिया रहेका छन् । यसअघि सन् २०२२ मा कतारमा आयोजना भएको विश्वकपमा भने मेक्सिको समूह चरणबाट नै बाहिरिएको थियो । त्यसअघि सन् १९९४ देखि २०१८ सम्म लगातार सातपटक मेक्सिकोको यात्रा अन्तिम १६ मा समाप्त भएको थियो ।

    सन् १९७० र १९८६ मा भएको विश्वकपमा भने मेक्सिको अन्तिम आठमा पुगेको थियो । यसपटक भने मेक्सिको ती सबै नतिजालाई बिर्सँदै नयाँ इतिहास बनाउने उद्देश्यका साथ मैदानमा उत्रिएको छ । सन् २०१० पछि दक्षिण अफ्रिका विश्वकपमा पहिलोपटक खेल्दैछ । त्यतिबेलाको विश्वकप दक्षिण अफ्रिका आफैँले आयोजना गरेको थियो । त्यतिबेला दक्षिण अफ्रिका समूह चरणको खेलबाटै बाहिरिएको थियो । दक्षिण अफ्रिका करिब १६ वर्षपछि विश्वकपमा फर्किएको हो ।

    विभिन्न ४८ राष्ट्र सहभागी यस विश्वकप तीन देशका १६ सहरमा प्रतिस्पर्धा हँुदैछ । प्रतियोगिता अमेरिकाका ११, मेक्सिकोका तीन तथा क्यानडाका दुई सहरमा हुनेछ । विश्वकपको इतिहासमा पहिलोपटक ४८ राष्ट्र सहभागी भएका छन् । यसअघि ३२ राष्ट्रले विश्वकपमा प्रतिस्पर्धा गर्दै आएका थिए ।

    आजदेखि सुरु भएर जुलाई १९ तारिखमा न्युयोर्कमा यो प्रतियोगिता समापन हुनेछ । विश्वकपको सुरुआत तीनवटै आयोजक राष्ट्रमा उद्घाटन समारोह हुनेछ । विश्वकपको उद्घाटन मेक्सिको सिटी, क्यानडाको टोरन्टो र लस एन्जलसमा छुट्टाछुट्टै समारोहमा हुनेछ । तीनवटै आयोजक राष्ट्रले आ–आफ्नो देशको संस्कृति, इतिहास र पहिचानलाई प्रस्तुत गर्नेछन् ।

    मेक्सिको सिटीमा आज हुने मुख्य उद्घाटन समारोहमा शाकिरा, बर्ना ब्वाय, जे बाल्भिन, टाइलालगायतका अन्तरराष्ट्रिय कलाकारहरूले प्रस्तुति दिए । अमेरिकामा भने यही जुन १२ तारिखदेखि खेल सञ्चालन हुनेछ । अमेरिकाको लस एन्जलसमा हुने उद्घाटन समारोहमा अमेरिकाको सांस्कृतिक विविधता र मनोरञ्जन क्षेत्रलाई समेटेर प्रस्तुति दिइनेछ । उद्घाटनसत्रपछि आयोजक अमेरिकाले पाराग्वेसँग खेल्दै विश्वकपको उद्घाट गर्नेछ । उक्त खेल नेपाली समयअनुसार भोली बिहान ६ः४५ बजे हुनेछ ।

    त्यस्तै क्यानडाको टोरन्टोमा पनि जुन १२ तारिखमै विश्वकपको उद्घाटन हुनेछ । पहिलोपटक विश्वकपको आयोजना गर्न लागेको क्यानडाले आफ्नो देशको पहिचानलाई प्रस्तुत गर्नेछ । मेक्सिको र अमेरिकाले भने यसअघि पनि विश्वकप आयोजना गरिसकेको अनुभव छ ।