Category: फिचर

  • बेगनासतालमा डुङ्गा दौड प्रतियोगिता हुने

    बेगनासतालमा डुङ्गा दौड प्रतियोगिता हुने

    पोखरा, २७ जेठः पोखरा महानगरपालिका–३१ स्थित बेगनासतालमा यही जेठ २७ देखि छैटौँ संस्करणको खुला पुरुष तथा महिला डुङ्गादौड प्रतियोगिता आयोजना हुने भएको छ । बेगनासताल डुङ्गा व्यवसायी समितिको आयोजनामा हुने प्रतियोगिताले बेगनासताललाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने साथै तालको महत्वबारे उजागार गर्दै जल दुर्घटनासम्बन्धी सचेतना फैलाउने उद्देश्य राखिएको समितिका अध्यक्ष नवाराज बाँस्तोलाले बताए ।


    बाँस्तोलाका अनुसार पुरुषतर्फको दौड बेगनासताल तथा डुङ्गाघाटदेखि रातोटुँडा र कँडेलटुँडाको बीच भागसम्म करिब दुई किलोमिटर दूरीमा हुनेछ । महिलातर्फको प्रतिस्पर्धा बेगनासताल डुङ्गाघाटदेखि पिप्लेटुँडासम्म एक किलोमिटर दूरीमा सञ्चालन गरिनेछ । यसले खेल पर्यटनमार्फत आन्तरिक पर्यटक आकर्षित गर्ने विश्वास आयोजकको छ ।

    नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको प्रवद्र्धनमा हुने प्रतियोगितामा महिला तथा पुरुष दुवैतर्फ प्रथम हुने टोलीले रु १५ हजार, द्वितीय हुनेले रु १० हजार, तृतीय हुनेले रु पाँच हजार तथा सान्त्वना स्थान प्राप्त गर्ने टोलीले रु तीन हजार नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गर्ने निर्णायक समितिका संयोजक रविराज कँडेलले जानकारी दिए । प्रतियोगितामा महिला र पुरुषतर्फ गरी २२ टोलीको सहभागिता रहने अपेक्षा गरिएको छ । प्रत्येक टोलीमा तीन जना डुङ्गा चालक रहनेछन् ।

  • ऊर्जामन्त्रीसमक्ष प्रतिवेदन पेस

    ऊर्जामन्त्रीसमक्ष प्रतिवेदन पेस

    काठमाडौँ, २७ जेठः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठसमक्ष विद्युत् विकास विभागबाट जारी भएका जलविद्युत् आयोजनासम्बन्धी अनुमतिपत्रहरूको वर्तमान अवस्था, प्रगति तथा प्रभावकारिताको समीक्षा गर्न गठित उच्चस्तरीय समितिले आज प्रतिवेदन पेस गरेको छ । समितिको प्रतिवेदन बुझ्दै मन्त्री श्रेष्ठले आफ्नो जिम्मेवारीअनुसार गहन ढङ्गले पूरा गरेकामा समितिका सदस्यहरुलाई धन्यवाद दिँदै प्रतिवेदनमा समेटिएका सुझावहरूको कानुनी र प्राविधिक मूल्याङ्कनसहित तत्कालै कार्यान्वयन लैजाने बताए ।


    समितिले अनुमतिपत्र प्रणालीमा व्यापक नीतिगत, कानुनी तथा संरचनागत सुधार आवश्यक रहेको सुझावसहित प्रतिवेदन पेस गरेको छ । मन्त्रिपरिषद्को १०० बुँदे शासकीय सुधार कार्य योजनाको बुँदा ७४ (ख) बमोजिम विद्युत् विकास विभागबाट जारी भएका अनुमतिपत्रहरूको वर्तमान अवस्थाको समीक्षा गर्न गत चैत १९ गते उच्चस्तरीय समिति गठन गरिएको थियो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव मोहन शाक्यको संयोजक रहेको उच्च स्तरीय समितिमा डा दिवस बहादुर बस्न्यात, निकुन्ज भण्डारी, शालिकराम भण्डारी र जीवन राना मगर सदस्य थिए ।
    समितिले हालसम्म जारी भएका अनुमतिपत्रहरूको अवस्था तथा प्रगतिबारे विस्तृत अध्ययन गरी अनुमति वितरण प्रक्रियामा रहेका नीतिगत, प्राविधिक, आर्थिक र कानुनी कमजोरीहरू पहिचान गर्दै सुधारका लागि सुझावसहितको प्रतिवेदन मन्त्रालयमा पेस गरेको हो । समितिले विद्युत् खरिद सम्झौता (पिपिए) सम्पन्न भइसकेपछि पनि लामो समयसम्म निर्माण कार्य अघि नबढाउने प्रवद्र्धकहरूको अनुमतिपत्र विद्युत् ऐन, २०४९ को दफा ८ बमोजिम खारेजी प्रक्रिया अगाडि बढाउन सिफारिस गरेको छ ।

    प्रतिवेदनले अनुमतिपत्र वितरण प्रणालीलाई थप पारदर्शी, प्रतिस्पर्धात्मक तथा राष्ट्रहित अनुकूल बनाउन विभिन्न नीतिगत सुधारका सुझाव दिएको छ । समितिले विद्युत् ऐन, २०४९, विद्युत् नियमावली, २०५०, जलविद्युत् विकास नीति, २०५८ तथा अनुमतिपत्रसम्बन्धी निर्देशिकामा रहेका बाझिने र द्विविधा पूर्ण प्रावधानहरूको पुनरावलोकन गरी आवश्यक कानूनी संशोधनमार्फत एकरूपता कायम गर्नुपर्ने औँल्याएको छ ।

    यस्तै, विद्युत् आयोजनाको अनुमतिपत्र तथा लगानी स्वीकृतिसम्बन्धी विषयमा लगानी बोर्ड, उद्योग मन्त्रालय र ऊर्जा मन्त्रालयबीच कार्यक्षेत्रको दोहोरोपन हटाई स्पष्ट जिम्मेवारी निर्धारण गर्नुपर्ने सुझाव दिइएको छ । अनुमतिपत्र संशोधन, आयोजना बैंकको व्यवस्थापन तथा अनुमतिपत्र बिक्री वा हस्तान्तरणजस्ता महत्वपूर्ण विषयलाई निर्देशिकाभन्दा माथिल्लो कानूनी तहमा समेटी नियमावलीमै व्यवस्था गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

    समितिले उत्पादन अनुमतिपत्रको अवधि समाप्तिपछि आयोजनाको स्वामित्व हस्तान्तरण, सञ्चालन व्यवस्थापन तथा राजस्व प्राप्तिको प्रक्रियाबारे विद्यमान अस्पष्टता हटाई राष्ट्रिय हित अनुकूल कानुनी व्यवस्था गर्नुपर्ने आवश्यकता पनि औँल्याएको छ । हाल लागू रहेको ‘फस्र्ट कम, फस्र्ट सर्भ’ प्रणालीलाई प्रतिस्पर्धात्मक बोलपत्र प्रणालीमा रूपान्तरण गर्नुपर्ने सुझाव दिँदै समितिले विद्युत् व्यापारसम्बन्धी व्यवस्था र संघ, प्रदेश तथा स्थानीय तहको अधिकार क्षेत्र स्पष्ट हुने गरी नयाँ विद्युत् ऐन ल्याउनुपर्ने सिफारिस गरेको छ । राष्ट्रिय विद्युत विकास योजना तयार गरी प्रसारण लाइन मास्टर प्लान, विद्युत् मागको मास्टर प्लान, न्यूनतम् लागत उत्पादन योजना तयार गर्र्न समितिले सुझाव दिएको छ ।

    त्यसैगरी वन, संरक्षण क्षेत्र, राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्रलगायतका क्षेत्रसँग सम्बन्धित वातावरणीय स्वीकृति तथा वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) प्रक्रिया १२ महिनाभित्र सम्पन्न हुने कानुनी व्यवस्था गर्नुपर्ने सुझाव दिइएको छ । विद्युत् आयोजनाका लागि आवश्यक जग्गा प्राप्ति, वन क्षेत्रको उपयोग, विस्फोटक पदार्थको आपूर्ति तथा प्रयोगलगायतका प्रक्रियामा देखिएका अवरोध हटाउन ‘सन सेट कानुन’ ल्याई आयोजनासम्बन्धी सम्पूर्ण अनुमति तथा स्वीकृतिहरू एकद्वार प्रणालीमार्फत उपलब्ध गराउने व्यवस्था गर्न पनि समितिले सिफारिस गरेको छ ।

  • पोखरा–दुबई हवाई उडान गर्न फ्लाई दुबईलाई अनुमति

    पोखरा–दुबई हवाई उडान गर्न फ्लाई दुबईलाई अनुमति

    राम थापा/रासस

    गण्डकी, २७ जेठः फ्लाई दुबईले पोखरा–दुबई रुटमा सिधा उडान सेवा सुरु गर्ने भएको छ । आगामी सेप्टेम्बर २३ देखि दुबई–पोखरा–दुबई दैनिक उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाई दुबईलाई अनुमति दिएको पोखरा अन्तरराष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले बताए । “फ्लाइ दुबईको पोखरा–दुबई उडान तालिका सोमबार स्वीकृत भइसकेको छ”, उनले भने, “आगामी सेप्टेम्बर २३ देखि पोखरा–दुबई दैनिक उडान सेवा सुरु हुन्छ ।”

    फ्लाई दुबईको टोलीले केही दिनअघि पोखरा अन्तरराष्ट्रिय विमानस्थलको उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी निरीक्षण गरेको थियो । सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ को नीति तथा कार्यक्रममा पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा अन्तरराष्ट्रिय वायुसेवा प्रदायकलाई आकर्षित गर्न कूटनीतिक पहल गर्ने जनाएको केही समयमै फ्लाई दुबईले उडान अनुमति पाएको हो ।

    पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले फ्लाई दुबईले उडान अनुमति पाएसँगै नेपालको तेस्रो अन्तरराष्ट्रिय हवाई प्रवेशद्वारका रूपमा रहेको पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट नियमित अन्तरराष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको बताए । “यो केवल एउटा हवाई सेवा थपिने विषय मात्र होइन, यो पोखराको अन्तरराष्ट्रिय पहिचान, पर्यटन प्रवद्र्धन, आर्थिक गतिविधिको विस्तार र काठमाडौँ केन्द्रित हवाई चापलाई विकेन्द्रीकरण गर्ने ऐतिहासिक अवसर पनि हो”, उनले भने, “दुबईसँग प्रत्यक्ष हवाई सम्पर्क स्थापित भएपछि मध्यपूर्व, युरोप, अफ्रिकालगायत ३०० भन्दा बढी सहरसँग पोखराको पहुँच पुग्नेछ ।”

    हालसम्म छिमेकी केही देशमा ‘चार्टर’ उडानबाहेक पोखराबाट नियमित अन्तरराष्ट्रिय उडान हुन सकेको छैन । झण्डै रु २२ अर्ब ऋणमा बनेको पोखरा अन्तरराष्ट्रिय विमानस्थल आन्तरिक उडानमा मात्र सीमित छ । सन् २०२३ को जनवरी १ मा यस विमानस्थलको उद्घाटन भएको थियो । सन् २०२५ मार्चमा निजी वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले पहिलोपटक पोखरा–ल्हासा नियमित व्यावसायिक उडान सुरु गरे पनि त्यो लामो समय टिक्न सकेन । गत मार्च २३ बाट हिमालय एयरलाइन्सले पोखरा–ल्हासा उडान सेवा बन्द गरेको थियो ।

    पोखरामा अन्तरराष्ट्रिय विमानस्थल बनाउने ५० वर्षअघिको योजनाले सार्थकता पाए पनि विमानस्थल पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन । पर्यटकीय राजधानीसमेत रहेको पोखरा अन्तरराष्ट्रिय हवाई सञ्जालमा जोडिएर ठूलो सङ्ख्यामा विदेशी पर्यटक भित्रने आशमा रहेका पर्यटन व्यवसायी पनि विमानस्थलबाट नियमित अन्तरराष्ट्रिय उडानको पर्खाइमा छन् । यस विमानस्थल बनेपछि पोखराको पर्यटनमा झण्डै रु एक खर्ब बराबरको लगानी थपिएको पर्यटन व्यवसायी बताउँछन् ।

    व्यवसायीहरूले पोखराबाट अन्तरराष्ट्रिय उडान गर्न आवश्यक नीतिनियममा सहजीकरण गर्नुपर्ने, भारत र चीनका मुख्य सहरमा उडान गर्न राष्ट्रियस्तरका हवाई कम्पनीहरूलाई अनुमति दिनुपर्नेलगायत माग राख्दै आएका छन् । स्वदेशी वायुसेवा प्रदायक कम्पनीले पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट सङ्घीय राजधानी काठमाडौँ, भरतपुर, भैरहवालगायत गन्तव्यमा आन्तरिक उडान गर्दै आएका छन् ।

  • हुरीका कारण विनयी त्रिवेणीमा १७ घर र दुई गोठमा क्षति

    हुरीका कारण विनयी त्रिवेणीमा १७ घर र दुई गोठमा क्षति

    मध्यविन्दु (नवलपरासी), २७ जेठः नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–१ सिसेनी क्षेत्रमा मङ्गलबार अपराह्न आएको वर्षासहितको हुरीले १७ वटा घर र दुई वटा गोठमा क्षति पु¥याएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार हुरीका कारण विभिन्न घरका टिनका छाना उड्नाका साथै केही घरमा रुखका हाँगा खस्दा क्षति पुगेको हो । केही कच्ची घरको पर्खाल चर्किएको तथा एक घरको ब्लकको पर्खाल भत्किएको छ ।

    प्रहरीका अनुसार भोजबहादुर खनगाहा, मोतिराम खाती, धनिसरा सोमै मगर, पार्वती विक, रुपा विक, शेरबहादुर दराई, दीपेन्द्र ढेङ्गा, कान्छा कुमाल, गुनबहादुर दराई, नरबहादुर विक, ओमबहादुर कुमाललगायतका घरमा क्षति पुगेको छ । यस्तै, मनबहादुर राना र केमबहादुर विकका गोठमा पनि हुरीले क्षति पु¥याएको छ ।

    कमला कुमालको कच्ची घरको पर्खाल चर्किएको छ भने पार्वती विकको घरको एक कोठाको ब्लकको पर्खाल खसेको तथा केही घरमा रूखका हाँगा खस्दा सामान्य क्षति भएको प्रहरी उपरीक्ष खड्काले बताए । हुरीबाट मानवीय तथा पशुचौपायामा कुनै क्षति नभएको र कुनै परिवार विस्थापित नभएको प्रहरीले जनाएको छ ।

  • मौजुदा मन्त्रिपरिषद्‌मा नियुक्ति, हेरफेर र कार्यविभाजन, प्रधानमन्त्रीसँग अब रक्षा बाँकी

    मौजुदा मन्त्रिपरिषद्‌मा नियुक्ति, हेरफेर र कार्यविभाजन, प्रधानमन्त्रीसँग अब रक्षा बाँकी

    काठमाडौँ, २६ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले आज मौजुदा मन्त्रिपरिषद्मा नियुक्ति हेरफेर गरेका छन् । राष्ट्रपतिको कार्यालयका अनुसार नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम संवत् २०८२ साल चैत्र १३ गते गठित मौजुदा मन्त्रिपरिषद्मा प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा देहायअनुसार नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन गरेका हुन् ।

    १.वालेन्द्र शाह, प्रधानमन्त्री, रक्षा
    २.डा. स्वर्णिम वाग्ले, अर्थ
    ३.शिशिर खनाल, परराष्ट्र
    ४.राजभक्त श्रेष्ठ, ऊर्जा, जलस्रोत तथा सिँचाइ
    ५.सुधन गुरुङ, गृह
    ६.सुनिल लम्साल, पूर्वाधार विकास
    ७.सोविता गौतम, कानून, न्याय तथा संसदीय मामिला
    ८.महाविर पुन, विज्ञान, प्रविधि तथा नवप्रवर्तन
    ९.सिता वादी, महिला, बालवालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा
    १०.प्रतिभा रावल, भूमि व्यवस्था, सहकारी, सङ्घीय मासिमला तथा सामान्य प्रशासन
    ११.निशा मेहता, स्वास्थ्य तथा खाद्य स्वच्छता
    १२.सस्मित पोखरेल, शिक्षा तथा खेलकुद
    १३.खडकराज पौडेल, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन
    १४.डा. विक्रम तिमिल्सिना, सूचना तथा सञ्चार
    १५.गिता चौधरी, कृषि, वन तथा पर्यावरण
    १६.गौरी कुमारी, उद्योग, वाणिज्य तथा आपूर्ति
    १७.रामजी यादव, युवा, श्रम तथा रोजगार

    आजै राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राष्ट्रपतिसमक्ष नवनियुक्त मन्त्रीहरू सुधन गुरुङ र महावीर पुनले नेपालको संविधानको धारा ८० बमोजिम मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिए ।

  • नवनियुक्त गृहमन्त्री गुरुङद्वारा पदभार ग्रहण, नारायणहिटी हत्याकाण्ड पुनः अनुसन्धान गर्ने निर्णय

    नवनियुक्त गृहमन्त्री गुरुङद्वारा पदभार ग्रहण, नारायणहिटी हत्याकाण्ड पुनः अनुसन्धान गर्ने निर्णय

    काठमाडौँ, २६ जेठ । नवनियुक्त गृहमन्त्री सुधन गुरुङले पदभार ग्रहण गरेका छन् । आज सिंहदरस्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले भने, “अबदेखि कुनै पनि नेपाली नागरिकको अपमान गर्न, चरित्र हत्या गर्न कसैले प्रयास गरेको खण्डमा गृह मन्त्रालय यसमा संवेदनशील भएर लाग्ने छु, मन्त्रालय गम्भीर भएर लाग्ने छ ।”

    मन्त्री गुरुङले जेनजी आन्दोलनसँग सम्बन्धित घटनामा फौजदारी अभियोग भएका मुद्दा फिर्ता गर्न सकिने–नसकिने सम्बन्धमा छानबिन गरी सिफारिससहितको प्रतिवेदन पेस गर्न विशेष कार्यदल गठन गर्ने निर्णय गरेका छन् । उनले विसं २०५८ जेठ १९ गते भएको नारायणहिटी राजदरबार हत्या काण्डका सम्बन्धमा यसअघि भएका अनुसन्धान प्रतिवेदन अध्ययन गरी थप छानबिन प्रक्रिया अगाडि बढाउने निर्णय गरेका छन् ।

    गृह मन्त्रालय र सुरक्षा निकायबाट संवेदनशील सूचना चुहावटको घटना हुन नदिन सुष्म निगरानी गरी कारबाही गरी सुरक्षा निकायमा सेन्सेटिभ इन्फरमेसन भिजेलिन्स टिम (एसआइभीटी) गठन गर्ने उनले बताए । उनले नेपाल प्रहरीअन्तर्गत रहेको केन्द्रीय अनुसन्धान ब्यूरोलाई थप सशक्त र प्रभावकारी बनाउने र हाल प्रक्रियामा रहेका अनुसन्धानका फाइललाई शीघ्र टुङ्गामा पुर्‍याउन निर्देशन दिने, ब्यूरोमा रहेका जघन्य आर्थिक, सङ्गठित अपराधलगायत गम्भीर प्रकृतिका मुद्दा अनुसन्धान गर्न ब्यूरोमा मुद्दाको प्रकृति अनुरूप विशिष्टिकृत समूह गठन गर्ने निर्णय गरेका छन् ।

  • विज्ञानमन्त्री पुनद्वारा पदभार ग्रहण

    विज्ञानमन्त्री पुनद्वारा पदभार ग्रहण

    काठमाडौँ, २६ जेठ । नवनियुक्त विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महाविर पुनले आज सिंहदरवारस्थित मन्त्रालयमा पदभार ग्रहण गरेका छन् । सो अवसरमा मन्त्री पुनले विज्ञान र प्रविधिको विकासलाई दू्रत गतिमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे । उनले भने, “विज्ञान प्रविधिको काम सुस्त गतिमा हुँदैन, रातदिन काम गरेर अगाडि बढ्ने हो ।”

    मन्त्री पुनले आफू मन्त्री पदमा लामो समय नबस्ने उल्लेख गरे । उनले भने, “म यो मन्त्रीको पदमा धेरै बस्दिन, सरकार पाँच वर्षको भए पनि म बढीमा तीन वर्ष मात्रै बस्ने हो ।” आफ्नो कार्यकालमा विज्ञान प्रविधिसम्बन्धी जग बसालेर नयाँ पुस्तालाई जिम्मेवारी दिने उनको भनाइ छ । मन्त्री पुन भने, “अरु मन्त्रालयको आआफ्नो नियम छ, मन्त्रालय र मन्त्री नयाँ भएको हुनाले शून्यबाट सुरु गर्नुपर्ने छ, नयाँ नियम बनाउनुपर्नेछ ।”

  • नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा सपथ ग्रहण

    नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा सपथ ग्रहण

    काठमाडौँ, २६ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले पद तथा गोपनियताको शपथ लिएका छन् । नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनले राष्ट्रपतिको कार्यालयमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलसमक्ष शपथ लिएका हुन् । प्रधानमन्त्री वालेन्द्र शाहले आजै मन्त्रिपरिषद् विस्तार गरी गुरुङलाई गृह र पुनलाई नवप्रवर्तन मन्त्री नियुक्त गरेका थिए ।

    गृहमन्त्री गुरुङ गोरखा १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हुन् भने नवपवर्तन मन्त्री पुन म्याग्दीबाट निर्वाचित स्वतन्त्र सांसद छन् । समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री शाह, प्रधानन्यायाधीश डा मनोजकुमार शर्मा, सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रीहरू, विभिन्न राजनीतिक दलका प्रमुख र प्रतिनिधि, सांसदहरू, संवैधानिक निकायका प्रमुखलगायत उपस्थित थिए ।

  • युद्धपीडित गाजामा शौचालयको अभाव, पालभित्रै शौच गर्न बाध्य परिवार

    युद्धपीडित गाजामा शौचालयको अभाव, पालभित्रै शौच गर्न बाध्य परिवार

    गाजा, २६ जेठ (रासस–एपी) । इजरायल–हमास युद्धका कारण घरबारविहीन बनेका गाजाका लाखौं प्यालेस्टिनीहरू अहिले विशाल पाल शिविरहरूमा अत्यन्त कठिन र अस्वस्थकर अवस्थामा जीवन बिताउन बाध्य छन् । विशेषगरी उचित शौचालयको अभावले स्वास्थ्य, सरसफाइ र मानवीय मर्यादामाथि गम्भीर असर पारेको छ । दक्षिणी गाजाको खान युनिस क्षेत्रमा बस्ने ३८ वर्षीय मुस्तफा शाबानले आफ्नो परिवारका लागि पालभित्रै अस्थायी शौचालय निर्माण गरेका छन् ।

    उनले बालुवायुक्त जमिनमा खाल्डो खनेर वरिपरि सिमेन्ट हालेर एउटा प्वालयुक्त संरचना बनाएका छन् । त्यसमाथि पुरानो प्लास्टिकको शौचालय सिट राखिएको छ । यो शौचालय परिवार सुत्ने, खाना पकाउने र बस्ने स्थानबाट केही कदमको दूरीमै छ । दुर्गन्ध, झिंगा र लामखुट्टेको समस्या निरन्तर रहे पनि सार्वजनिक शौचालय प्रयोग गर्नुभन्दा यही विकल्प रोज्नुपरेको शाबान बताउँछन् । प्रत्येक हप्ता उनले आफैंले शौचालयको फोहोर निकालेर व्यवस्थापन गर्नुपर्ने अवस्था छ ।


    उनका अनुसार सार्वजनिक शौचालयमा जानु विशेषगरी महिला र बालबालिकाका लागि अपमानजनक र असुरक्षित छ । त्यसैले कठिनाइ हुँदाहुँदै पनि परिवारका लागि निजी शौचालय बनाइएको हो । युद्धले गाजाका करिब १७ लाख नागरिकलाई विस्थापित बनाएको छ । तीमध्ये अधिकांश मानिस अस्थायी पाल शिविरहरूमा बसिरहेका छन्, जहाँ व्यवस्थित शौचालय, ढल निकास र सरसफाइका आधारभूत सुविधा लगभग छैनन् । धेरै परिवारले आफैं खाल्डो खनेर शौचालय बनाएका छन् भने कतिपयले एउटै शौचालय धेरै परिवारबीच साझा गर्नुपरेको छ ।


    सार्वजनिक शौचालयहरूमा बिहानदेखि बेलुकासम्म लामो लाइन लाग्ने गरेको छ । पुरुष, महिला र बालबालिका सबैले पालो कुर्नुपर्छ । सामान्य कपडा वा पातलो टिनको पर्खालले मात्र छेकिएका यी शौचालयहरूमा गोपनीयता अत्यन्त कम छ । विशेषगरी महिलाहरू रातिको समयमा शौचालय जान डराउने गरेका छन्, किनभने शिविरहरूमा पर्याप्त सुरक्षा र बत्तीको व्यवस्था छैन ।


    सरसफाइको अभावले संक्रामक रोग फैलिने जोखिम पनि बढाएको छ । फोहोर पानी, खुला ढल र अस्थायी शौचालयका कारण बालबालिका तथा वृद्धहरू विशेष जोखिममा रहेको मानवीय सहायता संस्थाहरूले चेतावनी दिएका छन् । लगातारको युद्ध, पूर्वाधारको विनाश र मानवीय सहायता सामग्रीको सीमित पहुँचका कारण गाजाका लाखौं नागरिक अझै पनि आधारभूत मानव आवश्यकताबाट वञ्चित छन् । शौचालयजस्तो सामान्य सुविधा समेत दुर्लभ बनेको अवस्थामा विस्थापित परिवारहरू दैनिक जीवनका न्यूनतम आवश्यकताका लागि संघर्ष गरिरहेका छन् ।

  • इबोला नियन्त्रणका लागि ५१ करोड ८० लाख डलर योजना

    इबोला नियन्त्रणका लागि ५१ करोड ८० लाख डलर योजना

    नयाँदिल्ली, २६ जेठ (रासस–एएनआई) । कङ्गो लोकतान्त्रिक गणतन्त्र (डीआरसी) मा फैलिएको इबोला प्रकोप नियन्त्रण र तयारी क्षमता बलियो बनाउन विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले ५१ करोड ८० लाख अमेरिकी डलरको व्यापक क्षेत्रीय योजना सार्वजनिक गरेको छ । योजना २०२६ जुनदेखि नोभेम्बरसम्म लागू हुने गरी तयार गरिएको हो ।

    डब्लुएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले इबोला नियन्त्रण केवल चिकित्सा प्रतिक्रिया मात्र नभई राजनीतिक प्रतिबद्धता, दीगो वित्तपोषण र समुदायको सक्रिय सहभागितामा निर्भर रहने स्पष्ट पारेका छन् । उनका अनुसार अफ्रिका सीडीसी र डब्लुएचओले साझेदार संस्थाहरूसँग मिलेर तयार पारेको यो योजना महामारी रोकथाम, शीघ्र पहिचान र उपचार क्षमतामा केन्द्रित छ ।

    उनले सामाजिक सञ्जाल एक्समा सार्वजनिक गरेको सन्देशमा इबोला नियन्त्रणका लागि स्थानीय समुदायसँग विश्वास निर्माण, अग्रपङ्क्तिका स्वास्थ्यकर्मीको परिचालन र सङ्क्रमण रोकथामका उपायहरूलाई सुदृढ पार्नुपर्ने आवश्यकता औँल्याए । साथै, सङ्क्रमित व्यक्तिलाई समयमै उपचारमा ल्याउन सके मृत्युदर घटाउन सकिने उनले उल्लेख गरे ।


    टेड्रोसले डीआरसीका राष्ट्रपति फेलिक्स त्सेसेकेडीसँग हालै बुन्डिबुग्यो क्षेत्रमा देखिएको इबोला प्रकोपबारे विस्तृत छलफल भएको जानकारी पनि दिए । उक्त छलफलमा उपचार सेवा विस्तार, निदान क्षमता वृद्धि र स्वास्थ्य संरचनाको सुधारबारे प्रगति समीक्षा गरिएको थियो । उनका अनुसार केही बिरामी पहिले नै उपचारपछि निको भएर घर फर्किएका छन् । यसले प्रारम्भिक उपचार प्रभावकारी हुने सङ्केत दिएको छ । उनले महामारी नियन्त्रणसँगै अन्य स्वास्थ्य तथा मानवीय सेवाहरूलाई पनि निरन्तरता दिनुपर्नेमा जोड दिए ।


    डब्लुएचओ प्रमुखले अन्तर्राष्ट्रिय समुदायलाई समन्वित सहयोग गर्न आग्रह गर्दै यात्रा वा व्यापारमा अनावश्यक प्रतिबन्धले राहत तथा उपचार प्रयासमा बाधा पु¥याउन सक्ने चेतावनी पनि दिए । इबोला एक गम्भीर भाइरल रक्तस्रावी ज्वरो हो । यो विशेषगरी बुन्डिबुग्यो स्ट्रेनबाट फैलिन सक्छ र उच्च मृत्युदरका कारण जोखिमपूर्ण मानिन्छ । हालसम्म यस स्ट्रेनविरुद्ध पूर्ण रूपमा स्वीकृत खोप वा विशेष उपचार उपलब्ध छैन ।

  • बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन

    बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन

    कीर्तिपुर (काठमाडौँ), २६ जेठः सरकारले बर्डफ्लु प्रभावित क्षेत्रमा रोग नियन्त्रण र अन्यत्र फैलिन नदिन आकस्मिक कार्य सुरु गरेको छ । पशुसेवा विभागका महानिर्देशक डा उमेश दाहालले रोग पुष्टि भएका १० जिल्लामा ७२ फार्मका करिब पाँच लाख १५ हजार पन्छी नष्ट गरिएको जानकारी दिए । सबैभन्दा बढी लेयर्स कुखुरा र स्थानीय जातका कुखुरा बढी प्रभावित देखिएका छन् ।

    सरकारको निर्देशनअनुसार खटिएको ‘द्रुत कार्य टोली’ ले सात लाख अण्डा र एक सय ८३ टन दाना पनि नष्ट गरेको उनले बताए । दाहालका अनुसार केही सातअघि झापा, मोरङ, सुनसरी जिल्लामा देखिएको बर्डफ्लुपछि महोत्तरी, बारा, चितवन हुँदैपछि काठमाडाँै, भक्तपुर, ललितपुर र पछिल्लो समय नवलपरासी जिल्लामा बर्डफ्लु फैलिएको छ ।

    “यसको उपचार नै छैन । एकमात्र उपाय रोग देखिनासाथ जतिसक्दो छिटो नियन्त्रण गरेर फैलन नदिनु हो । त्यसैले पन्छीजन्य उत्पादन नष्ट गर्नुको विकल्प छैन । त्यसैले रोग नियन्त्रणका लागि पशु चिकित्सक र पशु स्वास्थ्यकर्मी अहोरात्र खटिएका छन्”, उनले भने ।

    पछिल्लो समय काठमाडौँ उपत्यका बर्डफ्लुुको जोखिममा छ । चितवन र मुलुकका अन्य भागमा भने करिब करिब रोग नियन्त्रणमा आइसकेको पौडेलले जानकारी दिए । थप सङ्क्रमण नहोस् भन्नका लागि प्रभावित क्षेत्रको सम्पूर्ण पन्छीजन्य उत्पादन नष्ट भएको करिब दुईमहिना पछि मात्रै व्यवसाय पुनः सुरु गर्न पाउने व्यवस्था रहेको पनि उनले जानकारी दिए ।
    किसानलाई राहत

    बर्डफ्लु नियन्त्रण नियमावली, २०७८ अनुसार यसरी पन्छीजन्य उत्पादन नष्ट गरिएका किसानलाई लागत मूल्यको ७५ प्रतिशत राहत दिने व्यवस्था गरिएको छ । लागत मूल्य जिल्लाअनुसार फरक पर्नसक्ने भएकाले सम्बन्धित प्रमुख जिल्ला अधिकारीलगायत उच्च पदाधिकारीको बैठकले निर्णय गर्ने गरिएको महानिर्देशक दाहालले बताए ।

  • एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु

    एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु

    म्याग्दी, २६ जेठः म्याग्दीमा १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु भएको छ । कालीगण्डकी गर्ज हाइड्रोपावर प्राली प्रवर्द्धक रहेको आयोजनाले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ भालेबासमा सोमबारदेखि विस्फोटक पदार्थको प्रयोग गरि सुरुङ निर्माण थालेको हो ।

    आयोजना निर्देशक रमण सिंहले आगामी चार वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाले छिट्टै बाँध, गाडपार र घरापमा प्रस्तावित विद्युत्गृह निर्माणस्थलबाट गरि चार ठाउँबाट सुरुङ निर्माणको तयारी गरेको जानकारी दिए । “पाँच किलोमिटर ६०० मिटर लामो सुरुङ निर्माण हुनेछ”, उनले भने, “विद्युत्गृह र बाँध निर्माणस्थलमा सिभिल ठेकेदार साउथ एसियन इन्फ्रास्ट्रक्चर परिचालित भइसकेको छ ।”

    मुस्ताङको थासाङ गाउँपालिका–४ घाँसामाको पहिरा थाप्लामा बाँध र म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ घरापमा विद्युत्गृह निर्माणको तयारी भएको आयोजना प्रमुख सिंहले बताए । ‘रन अफ द रिभर’ प्रकृतिको यस आयोजनाको एक किलोमिटर ‘पेनस्टक’ पाइपलाइन रहनेछ । विद्युत्गृहदेखि ‘आउटलेट’को उचाइ ४८० मिटर रहेको छ । प्रर्वद्धक कम्पनी, ठेकेदार र नेपाली सेनाको कार्यालय, आवास र विस्फोटक पदार्थ भण्डारण भवन तयार हुने अन्तिम चरणमा पुगेको छ ।

    आठ किलोमिटर पहुँचमार्ग निर्माण भएको छ । आयोजना स्थलमा पुग्न गाडपारमा बेलिब्रिज जडानको तयारी भएको छ । घरापदेखि दानासम्म २२० केभी क्षमताको एक किलोमिटर प्रसारण लाइन निर्माण गरेर कालीगण्डकी गर्जको विद्युत केन्द्रीय प्रणालीमा आबद्ध गराइने भएको छ ।

    रु ४० अर्ब लागत अनुमान गरिएको आयोजनामा ग्लोबल आइएमी बैंकको नेतृत्वमा लक्ष्मी सनराइज, हिमालयन र प्रभु बैंकको लगानी रहने आयोजनाका वरिष्ठ प्रबन्धक कृष्णदास श्रेष्ठले बताए ।


    प्रभावित क्षेत्रका बासिन्दालाई १० प्रतिशत सेयर लगानीको व्यवस्था मिलाइएको उनले बताए । अन्नपूर्ण गाउँपालिका–४ का वडाध्यक्ष लोकबहादुर फगामीलगायत जनप्रतिनिधि, स्थानीय अगुवा, प्रवद्र्धक कम्पनी, निर्माण कम्पनी, सुरक्षा निकायका प्रतिनिधिको उपस्थितिमा धार्मिक विधिपूर्वक पूजाआजा गरेर आयोजना निर्माणको शुभारम्भ गरिएको थियो ।

    वडाध्यक्ष फगामीले कालीगण्डकी गर्ज म्याग्दी जिल्लाको हालसम्मकै ठूलो जलविद्युत् आयोजना भएको बताए । उनका अनुसार नारच्याङ भएर बग्ने नदीहरूमा १६२ मेगावाट क्षमताका पाँच वटा जलविद्युत् आयोजना निर्माण भएका छन् । पाँच मेगावाट क्षमताको घलेम्दीखोला, ४२ मेगावाट क्षमताको म्रिस्तीखोला, ३८ मेगावाट क्षमताको नीलगिरि– १ ७१ मेगावाट क्षमताको नीलगिरि–२ र छ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजना निर्माण सञ्चालनमा आइसकेका छन् ।

    नारच्याङको सिमाना भएर बग्ने कालीगण्डकीमा ६६ दशमलव तीन मेगावाट क्षमताको मध्यकालीगण्डकी जलविद्युुत् आयोजना निर्माणाधीन छ । नौ दशमलव १४ मेगावाट क्षमताको सुपर घलेम्दी जलविद्युत् आयोजना निर्माण सुरु गर्ने तयारी गरेको छ ।

  • मुस्ताङ भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन

    मुस्ताङ भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन

    मुस्ताङ, २६ जेठः यहाँको उपल्लो मुस्ताङस्थित लोमान्थाङ–१ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयले पछिल्लो जेठ १६ गतेसम्म रु छ अर्ब ६६ करोड २६ लाख राजस्व सङ्कलन गरेको छ । गत ३१ भदौदेखि पूर्ण रूपमा सञ्चालनमा आएको (नेपाल–चीन) उत्तरी कोरलानाकाबाट गत भदौदेखि यता निकासी तथा पैठारीबापत उक्त परिमाणमा भन्सार राजस्व सङ्कलन भएको हो ।

    नेपाल–चीन उत्तरी कोरला नाका हुँदै चीनबाट नेपाल पैठारी गरिएका मालवस्तुबाट रु १३ अर्ब ८७ करोड ७८ लाख भन्सार राजस्व सङ्कलन भएको भन्सार प्रमुख विदुर चुँडालले जानकारी दिए । उनका अनुसार चीनबाट कोरला नाका हुँदै नेपाल पैठारी गरिएका विद्युतीय सवारी (इभी) गाडीलगायत चाडपर्व लक्षित लत्ताकपडा, कस्मेटिक सामान, इलेक्ट्रोनिक सामानलगायत सामानको पैठारीबापत उक्त भन्सार राजस्व सङ्कलन भएको भन्सार प्रमुख चुँडालले उल्लेख गरे ।


    यसैगरी, नेपालबाट कोरला नाका हुँदै चीनतर्फ निकासी गरिएका मालवस्तुबाट रु २० करोड ५५ लाख ७४ हजार भन्सार राजस्व सङ्कलन भएको प्रमुख चूँडालको भनाइ छ । नेपालबाट हस्तकलाका सामान र नेपाली उत्पादनलगायत सामग्री चीनतर्फ निकासी भएको हो । नेपाल–चीन उत्तरी कोरला नाकाबाट गत भदौदेखि १६ जेठसम्म दुई हजार ९९७ वटा विद्युतीय सवारीसाधन नेपाल भित्रिएको मुस्ताङ भन्सार कार्यालयले जनाएको छ ।

    चीनबाट कोरला नाका हुँदै भन्सार जाँचपास भई नेपाल भित्रिएका विद्युतीय सवारी (इभी) गाडीको पैठारीबापत रु छ अर्ब ७६ करोड दुई लाख भन्सार राजस्व सङ्कलन भएको हो । पछिल्लो समय गत जेठको दोस्रो साता चीनबाट कोरला नाका हुँदै नेपाल भित्रिएका विद्युतीय सवारीसाधनको पैठारी प्रक्रिया विवादमा परेको छ । कोरला नाकाबाट नेपाल भित्रिएका ६४९ वटा विद्युतीय सवारीसाधनको भन्सार जाँचपास भइसकेको जनाइ पनि सरकारले यसलाई अनुसन्धानको घेरामा तानेको हो ।

    सरकारले कोरला नाकाबाट भित्रिएका विद्युतीय सवारीसाधनको पैठारी प्रक्रियामा कैफियत रहेरनरहेको यकीन गर्न तीन सदस्यीय छानविन समिति गठन गरेको छ । उक्त समितिले कास्कीको हेमजा, पर्वतको कुश्मा, मुस्ताङको जोमसोम र कोरला नाकामा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको विद्युतीय सवारीसाधनको अनुगमन गर्ने कार्यसम्पन्न गरिसकेको छ ।

  • व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान

    व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान

    भोजपुर, २६ जेठ । भोजपुरको अरुण गाउँपालिका–७ सिक्रेटारस्थित मैदानेका किसान पछिल्लो समय व्यावसायिक रुद्राक्ष खेतीतर्फ आकर्षित भएका छन् । परम्परागत खेतीभन्दा कम मेहनतमा राम्रो आम्दानी हुने भएकाले यहाँका कृषक रुद्राक्ष खेतीलाई मुख्य आयस्रोतका रूपमा विकास गर्न लागिपरेका हुन् ।
    स्थानीय किसान प्रदीप थापाका अनुसार रुद्राक्ष खेतीबाट किसानले वार्षिक न्यूनतम एक लाखदेखि पाँच लाख रूपैयाँसम्म आम्दानी गर्ने गरेका छन् । “रुद्राक्षको सिजन सुरु भएपछि गाउँमै व्यापारी आउने गर्छन्”, उनले भने, “देशका विभिन्न ठाउँबाट खरिदका लागि आउने भएकाले बजारको समस्या छैन । जसले किसानलाई थप उत्साहित बनाएको छ ।”

    मैदाने क्षेत्रको हावापानी र माटो रुद्राक्ष खेतीका लागि उपयुक्त भएकाले उत्पादन पनि राम्रो हुँदै आएको किसानको अनुभव छ । एकपटक बिरुवा रोपिसकेपछि लामो समयसम्म उत्पादन दिनसक्ने भएकाले यो खेती दीर्घकालीन आम्दानीको भरपर्दो माध्यम बन्दै गएको छ । वडाध्यक्ष कुमार थापाका अनुसार रुद्राक्ष खेतीबाट राम्रो आम्दानी हुन थालेपछि यस क्षेत्रलाई ‘रुद्राक्ष पकेट क्षेत्र’ का रूपमा विकास गर्ने योजना बनाइएको छ । “अन्य बालीको तुलनामा रुद्राक्षबाट किसानले राम्रो आम्दानी लिइरहेका छन्”, वडाध्यक्ष थापाले भने, “त्यसैले यसको विस्तार र प्रवर्द्धनका लागि आवश्यक प्रोत्साहन कार्यक्रम सञ्चालन गर्ने तयारीमा छौँ ।”

    उनका अनुसार वडाले आगामी दिनमा रुद्राक्षका बिरुवा वितरण, प्राविधिक तालिम, बजार व्यवस्थापन र ब्रान्डिङमासमेत ध्यान दिने योजना बनाएको छ । रुद्राक्ष खेतीसँगै यहाँका किसान अन्य फलफूल तथा तरकारी खेती पनि सँगसँगै गर्दै आएका छन् । तर पछिल्लो समय रुद्राक्षले स्थायी आम्दानी दिन थालेपछि धेरै किसानले यसलाई प्राथमिकता दिन थालेका छन् ।

    स्थानीयस्तरमा रोजगारी सिर्जना, आर्थिक अवस्था सुधार तथा कृषिमा आत्मनिर्भरता बढाउने दिशामा रुद्राक्ष खेतीले महत्त्वपूर्ण भूमिका खेलेको देखिन्छ । मैदाने क्षेत्रको यो अभ्यास अन्य सुक्खाग्रस्त तथा पहाडी क्षेत्रका लागि नमुना बन्नसक्ने स्थानीय किसानको भनाइ छ । वडाले सिँचाइका लागि दुई वटा पोखरी निर्माण गरिदिएपछि मैदाने गाउँका अधिकांश किसानले रुद्राक्षको खेती गर्दै आएका छन् । सडक पहुँच विस्तारका कारण रुद्राक्षको खरिद बिक्रीमा सहजता भएको किसानको भनाइ छ ।

  • औद्योगिक क्षेत्रको भाडा ७ दिन भित्र तिर्न अल्टिमेटम

    औद्योगिक क्षेत्रको भाडा ७ दिन भित्र तिर्न अल्टिमेटम

    काठमाडौँ, २६ जेठः विगत लामो समयदेखि औद्योगिक क्षेत्रको करोडौँ रकम बराबरको सरकारी जग्गा, भवन र पूर्वाधार प्रयोग गरेर भाडा र महशुल नतिर्ने ठूला उद्योगीमाथि सरकारले कठोर कदम चालेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले सात दिनभित्र बक्यौता रकम भुक्तानी नगरे कडा कदम चाल्ने तयारी गरेका छन् । विगतका सरकारले विभिन्न बहाना बनाउँदै र सेटिङ गर्दै ठूला उद्योगीलाई जोगाउँदै आएकामा वर्तमान उद्योगमन्त्री यादवले ‘भनसुन र मोलाहिजा’ को राजनीति अन्त्य गर्दै कठोर कदम चाल्नुभएको उनको सचिवालयले जनाएको छ ।

    कुन उद्योगको कति रकम तिर्न बाँकी ?

    औद्योगिक क्षेत्र व्यवस्था लिमिटेडले सोमबार सार्वजनिक सूचनाअनुसार बालाजु औद्योगिक क्षेत्रभित्र सञ्चालित नेपालकै नाम चलेका बहुराष्ट्रिय कम्पनी तथा ठूला व्यापारिक घराना नै सबैभन्दा बढी बक्यौता राख्ने सूचीमा छन् । करोडौँ रुपैयाँ सरकारी बक्यौता नतिर्ने प्रमुख उद्योगको विवरण यसप्रकार रहेको छ ।

    १. गुराँस इन्जिनियर्स प्राइभेट लिमिटेड रु तीन करोड ७३ लाख १९ हजार
    २. कन्टिनेन्टल कम्पोनेन्ट एण्ड सर्भिसेज प्रालिको रु तीन करोड ६९ लाख १० हजार
    ३. बालाजु स्कुल अफ इन्जिनियरिङ एण्ड टेकको रु दुई करोड ५५ लाख ८६ हजार
    ४. बोटलर्स नेपाल लिमिटेड (कोकाकोला) जग्गा तथा पूर्वाधार बहाल रु एक करोड ७५ लाख
    ५. बालाजु अटो वक्र्स प्रालिको रु एक करोड ४५ लाख
    ६. नेपाल ग्यास उद्योग औद्योगिक जग्गा बहाल रु एक करोड ३१ लाख
    ७. कन्टिनेन्ट सर्भिसेज प्राइभेट लिमिटेड रु करिब एक करोड

    ‘मौन संरक्षण’ अन्त्य

    यसअघिका सरकारहरूले औद्योगिक प्रवर्द्धन र आर्थिक मन्दीको बहाना बनाउँदै यी ठूला घरानाहरूलाई करोडौँको छुट दिने वा ताकेता नगर्ने नीति अख्तियार गरेको बुझिएको छ । तर, नयाँ उद्योगमन्त्री यादवले राज्यको कोषमा आउनुपर्ने राजस्व र भाडामा कुनै पनि हालतमा सम्झौता नगर्ने स्पष्ट अडान लिएकी छिन् ।

    मन्त्री यादव भन्छिन्, “यो पटक विगतको जस्तो पत्र काटेर मात्र छोडिने छैन । सात दिनको समयभित्र बैंक भौचरसहित उपस्थित नहुने उद्योगहरूको लाइन काटिनेछ, उद्योग परिसर सिल गरिनेछ र अटेर गरे सञ्चालकहरूविरुद्ध सिधै वारेन्ट जारी गरी राज्यको सम्पत्ति असुली प्रक्रिया अघि बढाइनेछ ।”

    उद्योगहरूले नियमति रूपमा जग्गा बहाल, भवन बहाल, विद्युत् महशुल र पानी महशुल नबुझाउँदा औद्योगिक क्षेत्रभित्र नयाँ पूर्वाधार निर्माण गर्न, पुराना संरचना मर्मतसम्भार गर्न र साना उद्योगलाई समेत सेवा दिन गम्भीर आर्थिक सङ्कट परेको कुरा जारी सूचनामा उल्लेख छ ।

  • फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता

    फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता

    मनिला, २६ जेठ (रासस–एएफपी) । फिलिपिन्सको दक्षिणी क्षेत्रमा सोमबार गएको ७.८ म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा ३१ जनाको मृत्यु भएको प्रान्तीय अधिकारीहरूले बताएका छन् । राष्ट्रिय प्रकोप अधिकारीहरूका अनुसार कम्तीमा एक दर्जन व्यक्ति अझै हराइरहेका छन् भने १३४ जना घाइते भएका छन् ।


    करिब सात लाख २० हजार जनसङ्ख्या रहेको जनरल सान्तोसको दक्षिणमा गएको भूकम्पले कम्तीमा नौ जनाको ज्यान लिएपछि फिलिपिन्सका अधिकारीहरूले प्रभावित तटीय क्षेत्रका मानिसहरूलाई उच्च स्थानमा जान आग्रह गरेका छन् । अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था ९युएसजिएस० का अनुसार भूकम्प गएको करिब दुई घण्टापछि ६.५ म्याग्निच्युडको शक्तिशाली पराकम्प गएको थियो ।

    जनरल सान्तोसमा एएफपीका एक पत्रकारले सोमबार दिउँसो उद्धारकर्मीहरूले ग्राहकहरूको भीडभाड भइरहने एक लोकप्रिय किराना पसल भत्किँदा भग्नावशेषमा पुरिएका भनिएका दुई कर्मचारीको मृत शरीरलाई निकाल्ने प्रयास गरिरहेका देखेको बताए । अति प्रभावित सारङ्गानी प्रान्तका विपद् प्रमुख रेने पुन्जालानले एएफपीलाई बताएअनुसार ग्लान नगरपालिकामा मात्रै पहाडको फेदमा पहिरोले घर पुरिँदा १४ जनाको मृत्यु भएको छ ।

    “भूकम्पलगत्तै पहिरो खसेको थियो, धेरै मानिसको ज्यान गइसकेको छ”, उनले भने, “केही क्षेत्रमा मानवीय क्षति भए÷नभएको विवरण आउन बाँकी छ ।”
    “सबैभन्दा ठूलो चुनौती भनेको सञ्चार हो। बिजुली काटिएको छ, त्यसैले घटनाबाट थप अपडेटहरू प्राप्त गर्न गाह्रो छ,” पुन्जालानले भने । “हामी पराकम्पबाट हुनसक्ने थप क्षतिप्रति चिन्तित छौँ”, उनले भने, “हामी बासिन्दाहरू त्रासबीच सहयोगको पर्खाईमा रहेको महसुस गर्न सक्छौँ।”

    सामाजिक सञ्जालमा पोस्ट गरिएको र एएफपीले प्रमाणित गरेको भिडियोमा जनरल सान्टोस सिटीमा जोलिबी फास्ट फूड रेष्टुरेन्ट भएको सपिङ सेन्टर भग्नावशेषमा परिणत भएको देखिएको छ भने विद्यालयको एउटा भवन भत्किएर अर्को भवनमाथि परेको देख्न सकिन्छ । एएफपीले प्राप्त गरेको अर्को भिडियोमा भूकम्पले उनीहरूलाई यताउता पछाडि पछाडि हल्लाउँदै गर्दा साना स्कुले बालबालिकाहरू शिक्षकको काखमा चिच्याएको देख्न सकिन्छ ।

    स्कूलको आधिकारिक फेसबुक पेजमा अपलोड गरिएको भिडियोको अन्त्यमा विद्यालय परिसरको पृष्ठभूमिमा एक कमजोर धातुको संरचना भत्किएको देखिएको थियो तर त्यसमा कोही नपरेको बताइएको छ। सारङ्गानी प्रकोप प्रमुख पुन्जालानले एएफपीलाई बताए । “बिहानको सुनामीको चेतावनीका कारण दुई हजारभन्दा बढी मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ र उनीहरू आफ्नो घर फर्कन सूचनाको पर्खाइमा छन् ।”

    “अधिकारीहरू अझै उनीहरूलाई घर पठाउन ठीक हुन्छ कि हुँदैन भनी स्थितिको आँकलन गरिरहेका छन्,” उनले भने । प्रशान्त महासागरीय सुनामी चेतावनी केन्द्रले जारी गरेको सूचनामा फिलिपिन्स, इन्डोनेसिया, पलाउ, ताइवान र पपुवा न्युगिनीको तटीय क्षेत्रमा सुनामीको लहर आउने सम्भावना रहेको उल्लेख गरिएको थियो ।

  • विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन

    विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन

    काठमाडौँ, २६ जेठ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणलाई विद्युत् महसुल बक्यौतावापतको रु ५० अर्ब एक करोड उठाउन निर्देशन दिएको छ । नियमित रुपमा उठ्नुपर्ने महसुल नउठेको, पुरानो बक्यौतासमेत कायम रहेको तथा डेडिकेटेड र ट्रङ्क लाइनको महसुल उठाउनसमेत समस्या देखिएपछि मन्त्रालयले आवश्यक पहल थालेको छ । महालेखा परीक्षकको ६३औँ वार्षिक प्रतिवेदनमा विद्युत् महसुल बक्यौता ठूलो मात्रामा रहेको उल्लेख छ ।

    ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् महसुल बक्यौता असुली प्रक्रियालाई प्राधिकरणले प्राथमिकताका साथ आफ्नो दैनिक कार्यसूचीमा राखेर अगाडि बढाउन निर्देशन दिए । मन्त्री श्रेष्ठ प्राधिकरण सञ्चालक समितिको अध्यक्षसमेत छन् । प्राधिकरण सञ्चालक समिति र प्राधिकरणका उपकार्यकारी निर्देशकहरुको छुट्टाछुट्टै बैठकमा महसुल बक्यौता लामो समयदेखि अल्झिरहेको र रकम ठूलो रहेको हुँदा यसलाई छिटो फस्र्यौट गर्नुपर्ने मन्त्री श्रेष्ठको सुझाव छ ।

    “सञ्चालक समितिले प्रशासकीय पुनरावलोकन समितिले गठन गरिसकेको छ । अब विद्युत् महसुल, जरिवानालगायतका विवाद समितिमार्फत पुनरावलोकन गर्न सकिन्छ । अन्य विषयमा प्राधिकरणको व्यवस्थापन नियमित तरिकाबाट अगाडि बढ्नुहोस्”, मन्त्री श्रेष्ठले भने ।


    बक्यौता असुलीका लागि मन्त्रीबाट के निर्देशन आउँछ भनेर पर्खिएर बस्नुनपर्ने उल्लेख गर्दै उनले भने, ‘‘विगतमा धेरै अध्ययन, छानबिन र निर्णय भइसकेका छन् । यसमा थप निर्णयको आवश्यकता छैन । ऐन, नियममा के छ, प्रक्रिया के हो त्यहीअनुसार गर्नुहोस ।” मन्त्री श्रेष्ठले कसैलाई काखा कसैलाई पाखा नगरी प्राधिकरणको उच्च व्यवस्थापनले बक्यौता असुलीमा मन्त्रालयको निर्देशन कुर्नुभन्दा आफ्नो संयन्त्र परिचालन गर्नेतर्फ ध्यान दिनुपर्ने उल्लेख गरे ।

    डेडिकेटेड फिडर र ट्रंक लाइनका साथै इन्टरनेट सेवा प्रदायक, औद्योगिक क्षेत्र, सडक बत्तीलगायतका सबै क्षेत्रको बक्यौता असुली गर्नुपर्ने मन्त्री श्रेष्ठको भनाइ छ । उहाँले कानुनी प्रक्रियामा रहेको बाहेकको क्षेत्रमा बक्यौता असुली गर्न प्राधिकरण अल्मलिने नहुने बताए ।

  • मुन्दुम मनसुन ट्रेल रेसः पुरुषमा प्रताप र महिलामा पुष्पा प्रथम

    मुन्दुम मनसुन ट्रेल रेसः पुरुषमा प्रताप र महिलामा पुष्पा प्रथम

    टक्सार (भोजपुर), २५ जेठः ‘आठौँ संस्करण मनसुन ट्रेल रेस’ अन्तर्गत भएको दौडमा खुला पुरुषतर्फ प्रताप थामसुहाङ र महिलातर्फ पुष्पा शेर्मा प्रथम भएका छन् । अठार किलोमिटरको दौडमा एक घण्टा ५९ मिनेट १९ सेकेण्डमा दूरी पार गर्दै प्रताप र दुई घण्टा ३३ मिनेट १४ सेकेण्डमा दूरी पार गर्दै पुष्पा प्रथम भइन् ।


    रिमाचुङ एजुकेसन एण्ड स्पोर्टस एकेडेमीको आयोजना तथा टेम्केमैयुङ गाउँपालिकाको आर्थिक सहयोगमा आज सञ्चालन पुरुष तथा महिला खुला र ४० वर्षमाथि महिला, पुरुष (भेट्रान) दौड प्रतियोगितामा ५८ जनाको सहभागिता थियो । चखेवा, बेसक्याम्प, टेम्के, तावाभञ्ज्याङ, पाँचधारे हुँदै चखेवासम्म सञ्चालन भएको दौडको खुला पुरुषतर्फ चन्द्रबहादुर लिम्बु द्वितीय, दीपक राई तृतीय हुनुभयो भने महिलातर्फ रुष्मा राई द्वितीय, दीर्पा बस्नेत तृतीय भए ।


    एक सय पर्यटकीय गन्तव्यमा सूचीकृत भोजपुरको प्रसिद्ध पर्यटकीय क्षेत्र मुन्दुम पदमार्गलाई प्रवर्द्धन गरी प्रचारप्रसार गर्ने उद्देश्यले ‘आठौँ संस्करण मनसुन ट्रेल रेस’ आयोजना गरिएको हो । ४० वर्षमाथि पुरुष (भेट्रान) तर्फ दुई घण्टा १२ मिनेट ४९ सेकेण्डमा दूरी पार गर्दै जङ्गवीर कुलुङ प्रथम, किरण कुलुङ द्वितीय र विजयकुमार राई तृतीय भए ।


    महिलातर्फ तीन घण्टा २९ मिनेट ३० सेकेण्डमा निर्धारित दूरी पार गर्दै जमूना राई प्रथम, विनिता राई द्वितीय र निर्वा राई तृतीय भएको आयोजक संस्थाका अध्यक्ष पावीहाङ राईले जानकारी दिए । उनले मुन्दुम पदमार्गमा सबै याममा भ्रमण गर्न सकिन्छ भन्ने सन्देश दिनका लागि पनि मुन्दुम मनसुन ट्रेल रेस आयोजना गरिएको बताए ।


    खुला पुरुष तथा महिला दुवैतर्फ प्रथमले रु २५ हजार, द्वितीयले रु १५ हजार र तृतीयले रु १० हजार पुरस्कार प्राप्त गरेका छन् । उक्त विधामा उत्कृष्ट सात जनालाई नगद पुरस्कारको व्यवस्था गरिएको थियो । भेट्रान पुरुष तथा महिलातर्फ प्रथम हुनेलाई रु १५ हजार, द्वितीयलाई रु १० हजार र तृतीयलाई रु पाँच हजार पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा उत्कृष्ट तीनस्थान हासिल गर्ने खेलाडीलाई ट्रफीसहित नगद पुरस्कार प्रदान गरिएको छ ।

  • परराष्ट्र खनालमन्त्रीद्वारा बेलायतका रक्षा मन्त्रीसँग ‘भर्चुअल’ बैठक

    परराष्ट्र खनालमन्त्रीद्वारा बेलायतका रक्षा मन्त्रीसँग ‘भर्चुअल’ बैठक

    काठमाडौँ, २६ जेठ । परराष्ट्रमन्त्री शिशिर खनालले आज संयुक्त अधिराज्य बेलायतका रक्षामन्त्री जोन हिली र भूतपूर्व सैनिक तथा जनशक्तिसम्बन्धी मन्त्री लुइस स्यान्डर–जोन्ससँग भर्चुअल बैठक गरेका छन् । बैठक मुख्यतः बेलायती गोर्खाहरूका लामो समयदेखि समाधान हुन बाँकी रहेका गुनासाहरू, समानुपातिक पेन्सनको मागलगायत विषयमा केन्द्रित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    त्यस अवसरमा मन्त्री खनालले नेपाल–बेलायत सम्बन्धमा बेलायती गोर्खाहरूको महत्त्वलाई प्रकाश पार्दै बेलायती गोर्खाहरूका गुनासाहरूको यथाशीघ्र आपसी रूपमा स्वीकार्य समाधान खोज्नुपर्ने आवश्यकतामा जोड दिए । उनले न्याय, निष्पक्षता र सम्मानको दृष्टिकोणबाट यी विषयहरू सम्बोधन गर्न बेलायती सरकारसँग अनुरोध गरे ।


    बैठकमा रक्षामन्त्री हिलीको तर्फबाट स्यान्डर–जोन्सले बेलायती गोर्खा भूतपूर्व सैनिकहरूका विषयहरू सम्बोधन गर्न नेपाली पक्षसँग नजिकबाट सहकार्य गर्ने आफ्नो प्रतिबद्धता पुनः व्यक्त गरिन् । बैठकमा परराष्ट्र सचिव अमृतबहादुर राई तथा परराष्ट्र मन्त्रालयका अन्य वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो । बेलायती पक्षबाट सांसद एलेक्स बेकर, सांसद तथा नेपालसम्बन्धी सर्वदलीय संसदीय समूहका अध्यक्ष, साथै बेलायतको रक्षा मन्त्रालयका अन्य वरिष्ठ अधिकारीहरू उपस्थिति रहेको मन्त्रालयले जनाएको छ ।

    भर्चुअल बैठकमा बेलायती गोर्खा सङ्गठनहरूका प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो । यसअघि आजै मन्त्री खनालले बेलायती गोर्खा भूतपूर्व सैनिकहरूका प्रतिनिधिहरूसँग भर्चुअल अन्तरक्रिया गरेका थिए । उक्त बैठकको समन्वय तथा सहजीकरण लण्डनस्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत बिपिन दुवाडीले गरेका थिए ।

  • प्राथमिकता निर्धारण गरी विपद्को पूर्वतयारीमा लाग्नुपर्छ’

    प्राथमिकता निर्धारण गरी विपद्को पूर्वतयारीमा लाग्नुपर्छ’

    काठमाडौँ, २५ जेठः राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले प्राथमिकता निर्धारण गरी विपद् व्यवस्थापन र पूर्वतयारीमा लाग्न विषयगत क्षेत्रका प्रतिनिधिहरूलाई आग्रह गरेको छ । यस वर्षको मनसुनको पूर्वतयारीका सन्दर्भमा आज सिंहदरबारमा भएको विषयगत क्षेत्रका नेतृत्वकर्ता र सहनेतृत्वकर्ता (लिड्स र कोलिड्स) मन्त्रालय र सङ्घसंस्थाका प्रतिनिधिहरूसँगको छलफलमा प्राधिकरणले मनसुन भित्रिने समय भइसकेकाले आइपर्ने मनसुनजन्य विपद्को पूर्वतयारीमा जुट्न आग्रह गरेको हो ।

    प्राधिकरणका कार्यकारी प्रमुख प्रदीपकुमार कोइरालाले प्राथमिकता निर्धारण गरी पूर्वतयारीका काममा लाग्न सबैलाई आग्रह गरे । उनले विषयगत समितिलाई प्राप्त जिम्मेवारी पूर्ण रूपमा कार्यान्वयन गरेको खण्डमा प्रर्वतयारीका काम प्रभावकारी हुनेसमेत बताए । छलफलमा विषयगत क्षेत्रका लिड्स–मन्त्रालय र कोलिड्स–विभिन्न सङ्घ संस्थाका प्रतिनिधिले आआफ्नो क्षेत्रमा भइरहेको पूर्वतयारीबारे जानकारी गराए । गृह मन्त्रालयका सहसचिव, विपद् तथा द्वन्द्ध व्यवस्थापन महाशाखा प्रमुख सुरेश पन्थीले विपद् जोखिम न्यूनीकरण सरकारको प्राथमिकतामा रहेकाले सोही अनुसार काम गर्नुपर्ने बताए ।


    स्वास्थ्य, शिक्षा, खाद्य सुरक्षा, पोषणलगायत गरी ११ वटा विषयगत क्षेत्रहरू तोकिएका छन् । प्राधिकरणले यसअघि विपद् व्यवस्थापनसम्बन्धी राष्ट्रिय कार्ययोजना तयार पारी लागू गरिसकेको छ । सोहीअनुसार नेपालमा ५१ हजार परिवारका दुई लाख २६ हजार बढी नागरिक प्रभावित हुने आकलन गरिएको छ । सोहीअनुसार विषयगत समिति तयारीमा रहनुपर्नेमा जोड दिइएको कार्यकारी प्रमुख कोइरालाले बताए । उनका अनुसार यसपालिको मनसुनमा कम वर्षा हुने र गर्मी बढी हुने आकलन गरिएको छ ।

  • कला र साहित्य साधनाका लागि काठमाडौँ उर्वर भूमि : अभिनेता मिश्रा

    कला र साहित्य साधनाका लागि काठमाडौँ उर्वर भूमि : अभिनेता मिश्रा

    काठमाडौँ, २५ जेठ । मित्रराष्ट्र भारतका स्थापित कलाकार पियुष मिश्राले गीत, सङ्गीत र साहित्य साधनाका दृष्टिले नेपाल उर्वर भूमि रहेको बताएका छन् । भारतको ग्वालियरमा जन्म भई गीत, सङ्गीत, चलचित्र तथा साहित्यिक क्षेत्रमा विशेष योगदान पु¥याएका ६३ वर्षीय मिश्राले नेपालको हावा, पानी, भूगोल र संस्कृति कला, चलचित्र र साहित्य सिर्जनाका लागि अनुकूल रहेको बताए ।


    काठमाडौँ कलिङ साहित्य महोत्सव (केएलएफ) को चौथो संस्करणमा सहभागी हुन नेपाल आएका बहुआयामिक प्रतिभाका धनी मिश्राले ऐतिहासक एवं सांस्कृतिक महत्व बोकेको काठमाडौँ उपत्यका कला र साहित्य सिर्जनाका लागि अनुपम स्थान रहेको धारणा व्यक्त गरे ।

    आफ्नो क्षेत्रमा समपर्ण भावका साथ क्रियाशील भई छुट्टै पहिचान बनाउन सफल मिश्राले भने, “कला, साहित्य र रङ्गमञ्चका क्षेत्रमा ठूलो साधना गरेर स्थापित हुन सफल भएको हुँ, यसमा मेरो भाग्य र भगवान्ले दिएको उपहारको अंश पनि होला । सङ्घर्षले दिने सफलता गौरवपूर्ण र दिगो हुन्छ । आफ्नो पेसाप्रति गौरव गर्दछु ।”

    नेसनल स्कुल अफ ड्रामा (एनएसडी)बाट अभिनयसम्बन्धी शिक्षा लिएका मिश्राले भने, “हिजो–आज अभिनयको कामलाई थाती राखेर आफ्नो साङ्गीतिक समूहसँग मिलेर स्वदेश तथा विदेशका विभिन्न सहरमा पुग्छु । यसै क्रममा काठमाडौँ आएको हुँ । आफू संलग्न कार्यक्रम भव्यताका साथ सम्पन्न भएको सुनाउन पाउँदा खुसी छु ।”

    “तपाइँ केही बन्न चाहनुहुन्छ भने पहिला आमाको हातबाट बन्ने खाना छाड्नुस्, आफ्नो सहजता त्याग्नोस् र उद्देश्य प्राप्तिका लागि हिँड्नुहोस्, असम्भव केही छैन । तपाईं एउटा मात्र काम गर्न सक्षम हुनुहुन्छ भन्ने म मान्दिन, हामीले गर्न नसक्ने केही छैन तर अल्छी बन्नु हुन्न्”, उनले भने । “मैले सुनेको छु, काठमाडौँ कलाका लागि राम्रो ठाउँ हो, यहाँ धेरै साङ्गीतिक कार्यक्रम हुने गरेका छन् । मलाई बोलाइएमा आफ्नो समूहसँग यहाँ आएर गीत सुनाउने छु, किनकि पछिल्लो समय म यसमै रमाइरहेको छु, यो मेरो मनले चाहेको काम हो”, अभिनेता मिश्राले भने ।

    उनले आफ्नो क्षमतालाई कुनै एउटा क्षेत्रमा मात्र सीमित नगर्न युवाहरूलाई सुझाव दिँदै आफ्नो सक्षमतालाई बुझ्न आग्रह गरे । यही जेठ २४ गते ‘केएलएफ’ महोत्सवमा सहभागी हुने क्रममा अभिनेता मिश्रा नेपाल आएका हुन् ।

  • द रिट्च कार्लटनको उपस्थितिले विश्वका अर्बपतिहरूको गन्तव्य नेपाल बन्न सक्छः अर्थमन्त्री

    द रिट्च कार्लटनको उपस्थितिले विश्वका अर्बपतिहरूको गन्तव्य नेपाल बन्न सक्छः अर्थमन्त्री

    २५ जेठ, काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अन्तराष्ट्रिय लक्जरी होटल ब्रान्ड द रिट्च कार्लटन नेपाल भित्रिन सुखद् भएको बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा म्यारियट इनटरनेशनलका अध्यक्ष डेभीस म्यारियट र नेपाली साझेदार चौधरी समूहका व्यवस्थापकहरूसँगको भेटमा अर्थमन्त्री वाग्लेले यस्तो बताएका हुन् । काठमाडौँको ठमेलमा चौधरी समूहसँगको साझेदारीमा द रिट्च कार्लटन होटल सञ्चालन गर्ने घोषणा गरेको दोस्रो दिन उनीहरुबीच बीच मन्त्रालयमा भेटघाट भएको हो । 


    भेटमा अर्थमन्त्री डा‍.वाग्लेले अध्यक्ष डेभिस म्यारियटलाई नेपालमा व्यवसाय विस्तार गरेर विश्वका धनाढ्यहरूका  नेपाल गन्तव्य थपिदिएकामा धन्यवाद दिए । रिट्च कार्लटनको उपस्थितिले विश्वका अर्बपतिहरूको गन्तव्य नेपाल बन्न सक्ने पनि उनले बताए ।

    ‘तपाईँहरूको नयाँ परियोजना घोषणाले लगानीकर्ताका लागि नयाँ उत्साह थपेको छ । नेपालमा लगानी भित्र्याउन र विश्वका धनाढ्यहरूले अब नेपालको द रिट्च कार्लटनलाई आफ्नो गन्तव्य बनाउन सक्छन् भन्ने सोच विकास भएको छ।,’ अर्थमन्त्री वाग्लेले भने, ‘यसले नेपालको पर्यटनलाई अर्को उचाई दिनसक्छ ।’
    नयाँ सरकारले लगानी मैत्री वातावरणका लागि काम गरिरहेको भन्दै अर्थमन्त्री डा.वाग्लेले म्यारियट र द रिट्च कार्लटनलाई काठमाडौँ बाहिर पनि व्यवसाय विस्तार गर्न आग्रह गरे ।

    लगानी सुरक्षा र प्रर्वद्धनका लागि आवश्यक पूर्वाधार एवम्  कानुनी सहजिकरणमा सरकारले पूर्ण सहयोग गर्ने वचन पनि अर्थमन्त्रीले लगानीकर्ताहरूलाई दिए । सरकार तपाईंहरूको लगानीको सुरक्षाका लागि प्रतिवद्ध छ । व्यवसाय विस्तार गर्न चाहिने हवाई र स्थलगत पूर्वाधार विकास हाम्रो प्राथमिकतामा छन्,’ अर्थमन्त्रीले भन्नुभयो, ‘तपाईंहरू नेपालको ब्रान्डिङ गर्नुहोस् । मलाई लाग्छ अब विश्वका अर्बपतिहरूको गन्तव्य नेपाल पनि बन्न सक्छ ।’


    अर्थमन्त्रीसँगको भेटमा अध्यक्ष डेभिस म्यारियटले नेपालको विश्वस्तरीय पथ प्रदर्शक गन्तव्य र हिमालको देश भएको र त्यसलाई विश्व बजारमा थप फैलाउने काम द रिट्च कार्लटनले गर्ने बताए । नेपालमा द रिट्च कार्लटन घोषणा गर्न पाउँदा अत्यन्तै खुसी मिलेको भन्दै उनले थप लगानी विस्तार गर्ने प्रतिवद्धता पनि जनाए । ‘नेपाल प्रचुर पर्यटन सम्भावनाको देश हो । विश्वस्तरीय ट्रेकिङ गन्तव्य र हिमालको देशलाई द रिट्च कार्लटनको उपस्थितिले सुखद् सन्देश दिनेछ,’ अध्यक्ष डेभिस म्यारियटले भने ।

    भेटमा सीजी हस्पिटालिटी होल्डिङस् तथा सीजी क्रप ग्लोबलका प्रबन्ध निर्देशक राहुल चौधरीले नेपाल लगानी अवसरहरूको प्रचुर सम्भावनाको मुलुक रहेको बताए । नयाँ सरकार बनेपछि लगानीकर्तामा उत्साह थपिएको भन्दै उनले सरकारबाट यथेष्ट साथ र सहयोग अपरिहार्य रहेको बताए । भेटमा सीजी क्रप ग्लोबलका प्रबन्ध निर्देशक निर्वाण चौधरी र म्यारियट एशिया प्याशेफिक (चीन बाहेक)का अध्यक्ष राजीव मेनन र अर्थमन्त्रीको सचिवालयका प्रतिनिधि सहभागी थिए ।

  • आइएमएफद्वारा नेपालको विस्तारित कर्जा सुविधाअन्तर्गतको अन्तिम समीक्षा सम्पन्न

    आइएमएफद्वारा नेपालको विस्तारित कर्जा सुविधाअन्तर्गतको अन्तिम समीक्षा सम्पन्न

    काठमाडौँ, २५ जेठः अन्तरराष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले नेपालसँगको विस्तारित कर्जा सुविधा (एक्सटेन्डेड क्रेडिट फ्यासिलिटी–इसिएफ)कार्यक्रमअन्तर्गत नेपाललाई करिब ४२ दशमलव ९ मिलियन अमेरिकी डलर बराबरको सहायता उपलब्ध गराउने निर्णय गरेको छ । आइएमएफका अनुसार आर्थिक गतिविधिमा देखिएको सुस्तताका कारण नेपालले संरचनात्मक सुधारका क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गरेकाले सो सहायता उपलव्ध भएको आइएमएफद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

    मौद्रिक सञ्चालन प्रणालीको आधुनिकीकरण, वित्तीय क्षेत्रको निगरानीमा सुधार, ऋण पोर्टफोलियो समीक्षा सम्पन्न गरेको, वित्तीय ढाँचा तथा पारदर्शितामा सुधार, सार्वजनिक लगानी व्यवस्थापन सम्पत्ति शुद्धीकरण नियन्त्रणसम्बन्धी संरचना सुदृढ बनाउने, कानुनी सुधार गर्ने तथा सार्वजनिक संस्थानहरूको जवाफदेहिता बढाउने कार्यले सुशासनका क्षेत्रमा पनि सुधार भएका उल्लेख छ ।

    आइएमएफको कार्यकारी बोर्डले जुन ५ मा सम्पन्न बैंठकपछि सार्वजनिक गरेको विवरणअनुसार नेपालले उक्त कार्यक्रमअन्तर्गत आर्थिक सुधारका क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको जनाइएको छ । आइएमएफले चालु आर्थिक वर्ष २०२५÷२६ मा नेपालको आर्थिक वृद्धि तीन प्रतिशत रहने प्रक्षेपण गरेको छ । राजनीतिक प्रदर्शनका कारण सिर्जित अवरोध, कृषि उत्पादनमा कमी, निजी लगानीमा सुस्तता तथा मध्यपूर्व युद्धको प्रभावका कारण अपेक्षाकृत न्यून वृद्धि हुने अनुमान गरिएको हो ।

    नेपालले प्राप्त गर्ने कुल सहायता करिब ३८४ दशमलव एक मिलियन अमेरिकी डलर पुगेको छ । यसअघि आइएमएफको कार्यकारी बोर्डले नेपालका लागि लागू गरेको विस्तारित कर्जा सुविधा (इसिएफ) कार्यक्रमको सन् २०२६ जुलाई ११ सम्म कायम रहनेछ । नेपालका लागि ३८ महिनाको इसिएफ कार्यक्रम सन् २०२२ जनवरी १२ मा स्वीकृत भएको थियो । उक्त कार्यक्रमअन्तर्गत नेपालले २८ करोड २४ लाख २० हजार अमेरिकी डलर कोटाको १८० प्रतिशत बराबरको पहुँच प्राप्त गरेको थियो । नेपालले आइएमएफसँगको इसिएफ कार्यक्रममार्फत वित्तीय स्थायित्व कायम गर्ने, विदेशी मुद्रा सञ्चिति सुदृढ बनाउने, सार्वजनिक वित्त व्यवस्थापन सुधार गर्ने तथा आर्थिक सुधारका कार्यक्रम अघि बढाउने प्रतिबद्धता जनाएको छ ।

  • प्रतिनिधिसभा बैठकमा विपक्षीको एक स्वर : प्रधानमन्त्रीबाट सीमासम्बन्धी अभिव्यक्ति स्पष्ट पारौं

    प्रतिनिधिसभा बैठकमा विपक्षीको एक स्वर : प्रधानमन्त्रीबाट सीमासम्बन्धी अभिव्यक्ति स्पष्ट पारौं

    काठमाडौँ, २५ जेठः प्रतिनिधिसभा बैठकमा विपक्षी दलका सांसदहरुले प्रधानमन्त्री वालेन्द्र शाहले यही जेठ १७ गते सम्बोधनकै क्रममा दिनुभएको अभिव्यक्तिप्रति असहमति जनाएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलका सांसदहरुले आसनबाट उभिएर विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले उनीहरुलाई बोल्न समय दिए ।

    सांसदहरुले सीमासम्बन्धी उक्त अभिव्यक्ति अभिलेखबाट हटाइनुपर्ने मागसमेत बैठकमा राखे । बैठक निर्धारित समयभन्दा दुई घण्टा ढिला सुरु भएको थियो । बैठकमा सांसद पद्माकुमारी अर्यालले प्रधानमन्त्री शाहको सीमासम्बन्धी उक्त अभिव्यक्ति अभिलेखबाट हटाउन माग गरिन् । विसं २०७७ मा लिपुलेक, लिम्पियाधुरा, कालापानीलाई नेपालको नक्सामा राख्ने विषयमा राष्ट्रिय सहमति जुटेको उनले बताइन् ।


    यसैगरी, बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित विपक्षी दलका सांसदहरु सन्तोष सुब्बा, हर्कराज साम्पाङ राई, वर्षमान पुन, ज्ञानेन्द्रबहादुर शाहीलगायतले करका दर फेरबदल गरिएको, भन्सारलाई मिलाएर चीनबाट गाडी आयातमा अनियमितता भएको विषय सञ्चारमाध्यमबाट सार्वजनिक भएको विषयप्रति छानबिन गरी दोषीलाई कारबाही गरिनुपर्नेमा जोड दिए । विपक्षीले एक स्वरमा विरोध गरेपछि सुरुमा १५ मिनेटका लागि स्थगित आजको बैठक भोलीसम्मका लागि सूचना टाँस गरी सारियो ।

  • सुपारीखेतीमा इलामका किसानको लगाव

    सुपारीखेतीमा इलामका किसानको लगाव

    रासस
    फिक्कल (इलाम), २५ जेठः पछिल्लो समय इलामका किसान व्यावसायिक सुपारीखेतीतर्फ आकर्षित हुन थालेका छन् । कम लगानी र थोरै मेहनतमा राम्रो आम्दानी हुने देखिएपछि यहाँका किसान खाली जमिनमा व्यावसायिक सुपारी खेतीतर्फ आकर्षित हुन थालेका छन् । यहाँका एउटै किसानले आठ हजार बोटसम्म सुपारी लगाउने गरेका छन् ।

    माई नगरपालिका–९ का किसान अक्कलबहादुर राईले यसवर्ष मात्र २५ क्विन्टल सुपारी बिक्री गरेका छन् । “मैले अन्य खेती मासेर सबैजसो जग्गामा सुपारी रोपेको छु, आधा बोटबाट आम्दानीसमेत लिन थालिसकेको छु”, उनले भने, “प्रतिकेजी रु ७० सम्ममा घरबाटै बिक्री हुने गरेको छ ।” एकपटक मेहनत गरेमा सजिलै फल्ने भएकाले व्यावसायिक सुपारीखेतीबाट मनग्य आम्दानी लिन सकिने उनको भनाइ छ । राई सानाठूला गरी करिब पाँच हजार बोट सुपारी रोप्नुभएकामा अधिकांश बोटले आम्दानी दिन थालिसकेका छन् ।

    अर्का किसान धर्मराज पुरीले यस वर्ष १८ क्विन्टल सुपारी बिक्री गरेको सुनाए । केही बोटले उत्पादन दिन थालेपछि यस वर्ष १८ क्विन्टल सुपारी बिक्री गरिएको र थप केही बोट उत्पादन दिन तयार भएकाले आगामी दिनमा थप व्यावसायिक कारोबार बढ्ने उनले बताए । पुरीले करिब १० रोपनी क्षेत्रमा पाँच हजार बोट सुपारी लगाएका छन् भने थप बोट रोप्ने तयारी गरेका छन् । “अन्य खेतीजस्तो धेरै मेहनत र लगानी नपर्ने भएकाले व्यावसायिक तवरले सुपारीखेती सुरु गरेको हुँ”, उनले भने, ‘बिक्री नहुने हो कि भन्ने कुनै चिन्ता छैन । व्यापारीहरूले बगानबाटै प्रतिकेजी रु ७० सम्ममा किनैर लैजाने गरेका छन् ।”

    सुपारीखेती सुरु गरेपछि घरव्यवहार चलाउन सहज भएको अर्का किसान पवन किराती बताउँछन् । “मैले करिब आठ हजार बोट रोपेको छु । केही बोटबाट आम्दानी हुन थालेको छ”, उनले भने, “यस वर्ष १० क्विन्टल काँचो सुपारी बिक्री गरेको छु, यसले घरखर्च टार्न सहज भएको छ ।” किरातीको बगानमा हाल केही बोट फल्न थालेका र अधिकांश हुर्कंदै गरेका छन् । “‘बहुवर्षे नगदेबाली भएकाले सुपारीको एकै बोटबाट ५० केजीसम्म उत्पादन हुने गरेको छ । यसले क्षति नपु¥याउने र छहारीको काम गर्ने भएकाले तरकारी र अन्य बाली लगाएर दोहोरो फाइदासमेत लिन सकिन्छ”, उनले भने ।


    अर्का किसान अभिषेक यक्तेनले घरआँगनका डिलदेखि खेतबारी र पाखामा सुपारी रोपेर आयआर्जन गर्न सकिने हुँदा धेरै किसान लाभायिन्वत भएको बताए । पछिल्लो समय इलाममा दुई सय हेक्टर क्षेत्रमा व्यावसायिक सुपारीखेती हुँदै आएको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ । विशेष गरी जिल्लाको माई नगरपालिका, चुलाचुली गाउँपालिका, माङसेबुङ गाउँपालिका र रोङ गाउँपालिकाको तल्लो चुरे क्षेत्रका किसानले व्यावसायिक रूपमा सुपारी खेती गर्दै आएका छन् ।

  • फुल्चोकी भ्रमणमा सावधानी अपनाउन अनुरोध

    फुल्चोकी भ्रमणमा सावधानी अपनाउन अनुरोध

    ललितपुर, २५ जेठः जिल्ला प्रहरी परिसर ललितपुरले गोदावरी नगरपालिका–३ स्थित फुल्चोकी जङ्गल क्षेत्रमा मान्छे हराउने, तथा सम्पर्कविहीन हुने घटना बढ्दै गएपछि सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह गरेको छ । घना जङ्गल, अपरिचित पदमार्ग, मोबाइल नेटवर्कको समस्या तथा अचानक मौसम परिवर्तन हुने जोखिमका कारण विद्यालय तथा कलेजका विद्यार्थी एवं अन्य सर्वसाधारणलाई सतर्क रहन अनुरोध गरिएको हो ।

    जिल्ला प्रहरी परिसर ललितपुरका सहायक प्रहरी उपरीक्षक गौतम मिश्रले एकवर्षमा फुल्चोकी क्षेत्रमा हराएका व्यक्तिसम्बन्धी छ वटा सूचना प्राप्त भएका र सबैको सकुशल उद्धार गरिएको जानकारी दिए । गोदावरी नगरपालिकाका उपप्रमुख मुना अधिकारीले सार्वजनिक बिदामा फुल्चोकी भ्रमणमा आउनेको सङ्ख्या बढेको तर, फर्कने क्रममा छोटो बाटो प्रयोग गर्न खोज्दा धेरैजसो व्यक्ति हराउने गरेको बताए । भ्रमणका क्रममा समूह वा गाइडसँग मात्र यात्रा गर्न, परिवार वा साथीभाइलाई जानकारी दिएर मात्र जान, अपरिचित छोटो बाटो प्रयोग नगर्न तथा मोबाइल फोन, खानेपानी र आवश्यक सामग्री साथमा राख्न समेत उनले आग्रह गरे ।

  • शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’ व्यवस्थापन जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’लाई

    शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’ व्यवस्थापन जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’लाई

    काठमाडौँ, २५ जेठः शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’ अब ‘द सोल्टी रिसोर्ट’ नामबाट सञ्चालन हुने छ । सोल्टी होटल्स एण्ड रिसोर्टसले आफ्नो आतिथ्य सेवा सञ्जाल विस्तार गर्नेक्रममा निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’ लिमिटेडका स्वामित्वमा रहेको पाँचतारेस्तरको ‘लक्जरी रिसोर्ट’को व्यवस्थापनको जिम्मेवारी लिएसँगै ‘क्लासिक भ्यू रिसोर्ट’ अब ‘द सोल्टी रिसोर्ट’ नामबाट सञ्चालन हुन लागेको हो । होटेल व्यवस्थापनसम्बन्धी सम्झौतामा सोल्टी होटेल्स एण्ड रिसोर्टसको तर्फबाट सोल्टी होटल लिमिटेडका उपाध्यक्ष सुदर्शन चापागाइँ र क्लासिक भ्यू रिसोर्ट लिमिटेडको तर्फबाट कम्पनीका अध्यक्ष मुकुन्दराज कुँवरले हस्ताक्षर गरे ।


    सोल्टी होटल लिमिटेडका उपाध्यक्ष चापागाइँका अनुसार सोल्टी होटल्स एण्ड रिसोट्र्सले काठमाडौँ उपत्यकामा मात्र तीनवटा होटल सञ्चालन गर्न सफल बनेको छ । उनले भने, “नेपालको एकमात्र स्वदेशी अन्तरराष्ट्रिय पाँचतारे ‘चेन डिलक्स होटल’ सोल्टी होटल्स एण्ड रिसोट्र्सले पछिल्लो समय नयाँ नयाँ पर्यटकीय गन्तव्यहरूमा आफ्नो सेवा विस्तार गर्दै नेपाली आतिथ्यता र विश्वस्तरीय सेवाको संयोजन प्रस्तुत गर्दै लगेको छ । ‘

    द सोल्टी रिसोर्ट’ शिवपुरीको सञ्चालनसँगै सोल्टी होटल्स एण्ड रिसोट्र्सले लक्जरी, प्रकृति र स्वास्थ्यलाई समेट्ने अर्को महत्वपूर्ण आतिथ्य गन्तव्य थपेको छ । हामीले नेपालका प्रमुख पर्यटकीय गन्तव्यहरूमा आफ्नो ‘ब्रान्ड’ र सेवा विस्तार गर्दै विश्वस्तरीय आतिथ्य सेवा प्रदान गर्ने तथा नेपालको सांस्कृतिक, ऐतिहासिक र प्राकृतिक सम्पदाको प्रवद्र्धन गर्ने लक्ष्य लिएका छौँ ।”

    अद्वितीय हरियाली वातावरणले भरिपूर्ण जङ्गल क्षेत्रबीच अवस्थित ‘द सोल्टी रिसोर्ट’ शिवपुरीबाट काठमाडौँ उपत्यकाको दृश्यावलोकन गर्न सकिन्छ । यसले अतिथि पाहुनालाई उत्कृष्ट लक्जरी तथा प्राकृतिक सौन्दर्यतामा शान्त र आत्मीय विश्रामको दुर्लभ संयोजन प्रदान गर्ने ध्येय राखेको छ । सोल्टी होटल लिमिटेडद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “सोल्टी होटल्स एण्ड रिसोर्टसले काठमाडाँै उपत्यका परिधि शिवपुरी राष्ट्रिय निकुञ्ज काठमाडौँमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’ लिमिटेडको स्वामित्वमा रहेको पाँचतारेस्तरको लक्जरी रिसोर्ट व्यवस्थापन सम्झौता तथा सहकार्यमा पर्वतीय पर्यटक विश्रामस्थलको विलासमय सुविधा समाहित ‘लक्जरी ब्राण्ड’ ‘द सोल्टी रिसोर्ट शिवपुरी राष्ट्रिय निकुञ्ज काठमाडौँ’ व्यवस्थापन तथा सञ्चालन गर्ने घोषणा गर्न पाउँदा गर्व गर्दछ ।

    ‘द सोल्टी रिसोर्ट’ काठमाडौँको शिवपुरी राष्ट्रिय निकुञ्ज सन्निकट काठमाडौँको शान्त र सौम्य वातावरणमा वन्य जीवन तथा आकर्षक सुन्दर प्राकृतिक सौन्दर्यतासहित मनमोहक काठमाडौँ उपत्यकाको अभूतपूर्व स्वर्णिम दृश्यावलोकन तथा रमणीय वन जङ्गल परिवेशमा अवस्थित रहेको छ ।”

    निर्मल र स्वच्छ प्राकृतिक दृश्य, हरियाली, हराभरा चारैतर्फ क्षितिजमा पहाडी शृङ्खलाहरूले घेरिएको स्वर्णिम स्थानमा पर्यटक अतिथि पाहुनाहरूले दिनभर शान्त प्राकृतिको परिवेशमा आनन्द लिन सक्छन् भने साँझ पर्नासाथ काठमाडौँ उपत्यकाको झिलिमिली बिजुली बत्तीले सजिएको मनमोहक स्वर्गीय आनन्ददायी दृश्यले शान्त, विशिष्ट र समयातित आकर्षणको अनुभूति गराउने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    साथै ‘द सोल्टी रिसोर्ट’ शिवपुरीले नयाँ गन्तव्यले विश्वस्तरीय आतिथ्य सेवा प्रदान गर्दै नेपालको सांस्कृतिक तथा प्राकृतिक सम्पदाहरुलाई उजागर गर्ने गन्तव्यका रुपमा विकास गर्ने लक्ष्य राखेको छ ।

    यस्ता छन् थप विशेषता

    प्राकृतिक सौन्दर्य र शान्त वातावरणबीच अवस्थित ‘द सोल्टी रिसोर्ट’ले स्वदेशी तथा अन्तरराष्ट्रिय पर्यटकका लागि विशिष्ट विश्राम अनुभव प्रदान गर्दछ । हाल रिसोर्टमा २५ सुसज्जित कोठा र एक निजी भिल्ला रहेका छन् भने थप ५१ लक्जरी कोठा निर्माणाधीन छन् । प्रत्येक कोठामा नेपाली कला, संस्कृति र पहिचान झल्किने ‘डिजाइन’ समावेश गरिएको छ ।

    विज्ञप्तिमा भनिएको छ, “शान्त वातावरणमा ‘द सोल्टी रिसोर्ट’ ले विविध स्वादमा उत्कृष्ट भोजन अनुभव प्रदान गर्दछ । अतिथिहरूले ‘गुराँस अल डे डाइनिङ रेस्टुरेन्ट’ मा विभिन्न परिकारहरूको स्वाद लिन, ‘ऐराक बार’ मा आरामदायी समय बिताउन तथा जङ्गल फायर बिबीक्यु टेरेसमा ‘ग्रिल्ड’ परिकार, बोनफायर र मनमोहक वन दृश्यको आनन्द लिन सक्नेछन् । यस रिसोर्टको प्रमुख विशेषता यसको अनुपम प्राकृतिक वातावरण हो, जहाँ स्वच्छ पहाडी हावा र प्राकृतिक मुहानको पानीको पहुँच उपलब्ध छ । यसले सहर नजिकै भए पनि दुर्लभ रूपमा पाइने पुनःस्थापनात्मक अनुभव प्रदान गर्दछ । साथै, वरपरको क्षेत्रमा वन्यजन्तु चराचुरुङ्गी र पशुपन्छीहरुको अवलोकनको अवसर पनि प्रदान गर्दछ ।”

    ‘द सोल्टी रिसोर्ट’ शिवपुरीमा आधुनिक बैंक्वेट हल, दुई खुला लन र आकर्षक एम्फिथिएटर रहेका छन् । यी स्थलहरू विवाह, कर्पोरेट कार्यक्रम, सामाजिक उत्सव तथा ‘रिट्रिटहरू’ आयोजना गर्न उपयुक्त छन्, जहाँ प्राकृतिक सौन्दर्य र शीतल पहाडी वातावरणले अनुभवलाई अझ विशेष बनाउने कम्पनीले विश्वास लिएको छ ।

    ‘द सोल्टी रिसोर्ट’ ले स्वास्थ्य, तन्दुरुस्ती र प्राकृतिक अनुभवमा केन्द्रित आतिथ्य सेवा प्रदान गर्दछ । रिसोर्टमा स्विमिङ पुल, स्पा, स्टिम, साउना र फिटनेस सेन्टरका साथै हाइकिङ, चराचुरुङ्गी तथा वन्यजन्तु अवलोकनजस्ता गतिविधिहरूको सुविधा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

  • इरानी फुटबल टोलीका केही अधिकारीलाई भिसा नदिएपछि अमेरिकाप्रति इरानको आपत्ति

    इरानी फुटबल टोलीका केही अधिकारीलाई भिसा नदिएपछि अमेरिकाप्रति इरानको आपत्ति

    तेहरान, २५ जेठ (रासस–सिन्ह्वा) । इरानको फुटबल महासङ्घले सन् २०२६ को विश्वकप प्रतियोगिताअघि राष्ट्रिय फुटबल टोलीका केही व्यवस्थापकीय तथा कार्यकारी अधिकारीहरूलाई अमेरिकी प्रवेशाज्ञा (भिसा) नदिइएको भन्दै अमेरिकी सरकारको कडा आलोचना गरेको छ ।

    महासंघले आफ्नो आधिकारिक वक्तव्यमार्फत अमेरिकी कदमलाई खेलभावनाविपरीत, पूर्ण रूपमा राजनीतिक प्रेरित तथा अन्तर्राष्ट्रिय खेलकुद कानुनको मर्मविपरीत भएको जनाएको छ । महासंघका अनुसार राष्ट्रिय टोलीसँग सम्बन्धित व्यवस्थापकीय, प्राविधिक, प्रशासनिक तथा सहयोगी कर्मचारीहरू प्रतियोगिताको तयारीका लागि अत्यावश्यक रहेकाले उनीहरूलाई भिसा उपलब्ध गराइनु आवश्यक छ ।

    इरानले यस विषयलाई अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) समक्ष पनि उठाएको जनाएको छ । महासंघले प्रतियोगितामा सहभागी टोलीका आवश्यक अधिकारीहरूको भिसा सुनिश्चित गराउने जिम्मेवारी फिफाको समेत रहेको उल्लेख गरेको छ । इरानी फुटबल महासंघले आयोजक राष्ट्रको यो कदमलाई विभेदपूर्ण र लक्षित व्यवहारको संज्ञा दिएको छ । महासंघका अनुसार यस्तो निर्णयले प्रतियोगितामा सहभागी राष्ट्रहरूका लागि समान र निष्पक्ष वातावरणको सिद्धान्तमाथि प्रश्न उठाएको छ र खेलकुद क्षेत्रमा राजनीतिक हस्तक्षेपको उदाहरण प्रस्तुत गरेको छ ।

    यद्यपि, अमेरिकाले इरानी राष्ट्रिय टोलीका खेलाडीहरूका लागि आवश्यक भिसा प्रक्रिया सम्पन्न भएको जनाएको छ । टर्कीएस्थित अमेरिकी राजदूतले सामाजिक सञ्जालमार्फत इरानी राष्ट्रिय फुटबल टोलीका सदस्यहरूको भिसा प्रक्रिया सम्पन्न गर्न अमेरिकी दूतावासले गरेको कार्यको प्रशंसा गर्दै खेलकुदले सीमाना नाघेर विश्वलाई जोड्ने माध्यम भएको उल्लेख गरेका छन् ।

    उनले विश्वभरबाट आउने खेलाडी तथा समर्थकहरूलाई स्वागत गर्न अमेरिका उत्साहित रहेको पनि बताए । इरानी सञ्चारमाध्यमहरूका अनुसार भिसा नपाउने व्यक्तिहरूमा इरान फुटबल महासंघका अध्यक्ष, राष्ट्रिय टोलीका कार्यकारी निर्देशक, महासंघका महासचिव तथा टोलीका सञ्चार निर्देशक रहेका छन् । उनीहरू टोलीको प्रशासनिक तथा व्यवस्थापकीय जिम्मेवारीमा संलग्न प्रमुख अधिकारीहरू मानिन्छन् ।


    सन् २०२६ को विश्वकप अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गर्दैछन्। प्रतियोगिता जुन ११ देखि जुलाई १९ सम्म सञ्चालन हुनेछ । इरान समूह ‘जी’ मा परेको छ र उसले जुन १५ मा लस एन्जलसमा न्युजिल्यान्डविरुद्ध पहिलो खेल खेल्ने तालिका छ । त्यसपछि जुन २१ मा बेल्जियमसँग सोही मैदानमा प्रतिस्पर्धा गर्नेछ भने समूह चरणको अन्तिम खेल जुन २६ मा सियाटलमा इजिप्टविरुद्ध खेल्ने कार्यक्रम रहेको छ ।

    विश्वकपको तयारी तीव्र भइरहेका बेला देखिएको यो भिसा विवादले खेलकुद र कूटनीतिक सम्बन्धबीचको संवेदनशील सम्बन्धलाई पुनः चर्चामा ल्याएको छ । इरानले यस विषयमा अन्तर्राष्ट्रिय खेलकुद निकायहरूको ध्यानाकर्षण गराउँदै समाधान खोज्न आग्रह गरेको छ ।

  • इरान युद्धले तेल बजारमा ओपेक प्लसको प्रभाव कमजोर, उत्पादन बढाउने तयारी

    इरान युद्धले तेल बजारमा ओपेक प्लसको प्रभाव कमजोर, उत्पादन बढाउने तयारी

    लन्डन, २५ जेठ (रासस–एएफपी) । इरान युद्धका कारण तेल आपूर्ति अवरुद्ध भएपछि विश्व बजारमा मूल्य तीव्र रूपमा बढ्दै गएको अवस्थामा ओपेक प्लसका मन्त्रीहरूले आइतबार हुने बैठकमा उत्पादन कोटा बढाउने विषयमा छलफल गर्ने भएका छन् । यस कदमको मुख्य उद्देश्य अन्तर्राष्ट्रिय बजारमा बढ्दो तेल मूल्यलाई नियन्त्रणमा ल्याउनु हो ।

    विश्लेषकहरूका अनुसार ओपेक प्लसले दैनिक करिब १ लाख ८८ हजार ब्यारेलसम्म उत्पादन वृद्धि गर्ने निर्णय गर्न सक्ने सम्भावना छ, जुन पछिल्ला निर्णयहरूसँग मिल्दोजुल्दो हुनेछ । तर उत्पादन क्षमता सीमित भएकाले वास्तविक रूपमा केवल सात देशहरू—साउदी अरेबिया, रूस, इराक, कुवेत, काजाकिस्तान, अल्जेरिया र ओमानले मात्र आपूर्ति बढाउन सक्ने अवस्था रहेको बताइएको छ ।

    इरानमाथि अमेरिका र इजरायलले गरेको आक्रमणपछि महत्वपूर्ण समुद्री मार्ग स्ट्रेट अफ होर्मुज बन्द जस्तै भएको छ, जसले विश्वको करिब २० प्रतिशत तेल तथा ग्यास आपूर्ति प्रभावित पारेको छ । यस अवरोधका कारण अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य झन्डै दोब्बर पुगेको छ र त्यसको असर विश्वभर मुद्रास्फीतिमा देखिन थालेको छ ।

    विशेषज्ञहरूको भनाइमा ओपेक प्लसले उत्पादन बढाउने घोषणा गरे पनि त्यसको वास्तविक प्रभाव सीमित हुने सम्भावना छ । स्याक्सो बैंकका विश्लेषक ओले ह्यान्सनका अनुसार ओपेकसँग बजारमा ठूला र निर्णायक परिवर्तन ल्याउने विकल्पहरू अहिले धेरै बाँकी छैनन्, जसले गर्दा यसको नीतिगत प्रभाव पहिलेको तुलनामा कमजोर देखिएको छ ।

  • गाजा युद्धविराम कार्यान्वयनबारे हमास र प्यालेस्टिनी पक्षबीच काइरोमा वार्ता

    गाजा युद्धविराम कार्यान्वयनबारे हमास र प्यालेस्टिनी पक्षबीच काइरोमा वार्ता

    गाजा, २५ जेठ (रासस–सिन्ह्वा) । हमासले शनिबार इजिप्टको राजधानी काइरोमा प्यालेस्टिनी विभिन्न पक्ष तथा मध्यस्थकर्ताहरूसँग गाजा युद्धविराम सम्झौताको कार्यान्वयन र गाजा क्षेत्रको भावी व्यवस्थापनबारे औपचारिक छलफल सुरु गरेको जनाएको छ । हमासका प्रवक्ताले सञ्चारकर्मीहरूसँग कुरा गर्दै बैठकको मुख्य उद्देश्य युद्धविराम सम्झौताको पहिलो चरणमा भएका सहमतिहरूलाई पूर्ण रूपमा कार्यान्वयन गर्नु रहेको बताए । उनका अनुसार यसमा सैन्य गतिविधि तथा तनावको अन्त्य, लक्षित आक्रमण रोक्ने, सीमा नाकाहरू सञ्चालनमा ल्याउने तथा राष्ट्रिय समितिलाई गाजामा प्रवेशको अनुमति दिने विषयहरू समावेश छन् ।

    उहाँले थप जानकारी दिँदै दोस्रो चरणका विषयमा पनि छलफल हुने बताउनुभयो । यस क्रममा अन्तर्राष्ट्रिय शान्ति बल वा प्राविधिक समितिको भूमिकाबारे विचार–विमर्श गरिनुका साथै प्यालेस्टिनी हतियारसम्बन्धी विषयमा सबै पक्षलाई स्वीकार्य हुने समाधान खोज्ने प्रयास गरिनेछ । हमासले प्यालेस्टिनी जनताको हितलाई सर्वोच्च प्राथमिकतामा राखेको र गाजामा पुनः द्वन्द्व सिर्जना हुन सक्ने कुनै पनि कारण हटाउने प्रयास गरिरहेको उनले बताए ।


    गाजास्थित हमास नेतृत्वको प्रतिनिधिमण्डल तथा अन्य प्यालेस्टिनी पक्षका प्रतिनिधिहरू शुक्रबार काइरो पुगेका थिए। वार्ता केही दिनसम्म जारी रहने अपेक्षा गरिएको छ । यी घटनाक्रमहरू अक्टोबर २०२५ मा भएको युद्धविराम सम्झौताको कार्यान्वयन अझै पूर्ण रूपमा हुन नसकेको अवस्थाबीच भएका हुन् । सम्झौताका महत्वपूर्ण पक्षहरू, जस्तै निःशस्त्रीकरण र पुनर्निर्माण, अझै प्रक्रियामै रहेका छन् ।

    युद्धविरामको पहिलो चरणअन्तर्गत बन्दीहरूको आदानप्रदान, गाजामा मानवीय सहायता प्रवेश तथा केही क्षेत्रबाट सैनिक फिर्ता गर्ने व्यवस्था गरिएको थियो ।
    जनवरी महिनाको मध्यतिर युद्धविरामको दोस्रो चरण सुरु भएको घोषणा गरिएको थियो । यस चरणमा सैनिक फिर्ती, निःशस्त्रीकरण, पुनर्निर्माण तथा अन्तरिम प्रशासनिक संरचना गठन गर्ने विषयहरू समावेश छन् ।