Category: फिचर

  • रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता

    रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता

    सेन्ट पिटर्सबर्ग, २५ जेठ (रासस–सिन्ह्वा) । रुसको सेन्ट पिटर्सबर्गमा आयोजित सन् २०२६ को अन्तर्राष्ट्रिय आर्थिक मञ्चमा करिब ८९ अर्ब ६० करोड अमेरिकी डलर (झण्डै ६ दशमलव ६ ट्रिलियन रुबल) बराबरका सम्झौताहरू सम्पन्न भएका छन् । मञ्चको आयोजक समितिका कार्यकारी सचिवले शनिबार जानकारी दिँदै चार दिनसम्म सञ्चालन भएको कार्यक्रममा १ हजार ८४ वटा विभिन्न सम्झौता सम्पन्न भएको बताएका छन् । मञ्च बुधबारदेखि शनिबारसम्म आयोजना गरिएको थियो ।

    उनका अनुसार यस वर्षको मञ्चमा विश्वका १४२ देशका प्रतिनिधिहरू सहभागी भएका थिए । व्यापार, लगानी, ऊर्जा, प्रविधि, पूर्वाधार विकास तथा अन्तर्राष्ट्रिय आर्थिक सहकार्यका विविध विषयमा छलफल हुनुका साथै विभिन्न क्षेत्रसँग सम्बन्धित सम्झौताहरूमा हस्ताक्षर गरिएको थियो ।

    रुसको प्रमुख अन्तर्राष्ट्रिय आर्थिक कार्यक्रमका रूपमा परिचित यो मञ्चले विश्वभरका सरकारी प्रतिनिधि, उद्योगी, लगानीकर्ता तथा आर्थिक नीति निर्माताहरूलाई एकै थलोमा ल्याउने गरेको छ । आयोजकहरूका अनुसार यस वर्षको सहभागिता र सम्झौताहरूको परिमाणले मञ्चप्रति अन्तर्राष्ट्रिय चासो निरन्तर बढिरहेको सङ्केत गरेको छ ।

    विश्व अर्थतन्त्रमा देखिएका चुनौती, क्षेत्रीय सहकार्य, नयाँ लगानी अवसर तथा दीर्घकालीन आर्थिक विकासका रणनीतिबारे समेत मञ्चमा व्यापक छलफल भएको जनाइएको छ ।

  • क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा

    क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा

    तेहरान, २५ जेठ (रासस–एएफपी) । इरानले शनिबार बहराइन र कुवेतमा क्षेप्यास्त्र प्रहार गरेको छ । यस घटनाले खाडी क्षेत्रमा तनाव झन् बढाएको छ र पहिले नै कमजोर रहेको युद्धविराम झनै जोखिममा परेको छ । अमेरिकी सेन्ट्रल कमाण्डका अनुसार इरानले होर्मुज जलसन्धि नजिक रहेका अमेरिकी लक्षित क्षेत्रतर्फ सात वटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको थियो । तीमध्ये छ वटा क्षेप्यास्त्र आकाशमै रोकिएका थिए भने एक लक्ष्यमा नपुगी खसेको बताइएको छ ।

    बहराइनमा रहेका अमेरिकी पाँचौँ फ्लीटको मुख्यालयलाई लक्षित गरी भएको आक्रमणपछि बहराइन सरकारले यसलाई ‘खुला आक्रमण’ भनेको छ । कुवेतले पनि यसलाई ‘खतरनाक तनाव वृद्धि’ भन्दै कडा निन्दा गरेको छ । घटनाको क्रममा बहराइनको राजधानी मनामामा विस्फोटका आवाज सुनिएको थियो भने कुवेतमा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै लगातार विस्फोट भएको स्थानीय पत्रकारहरूले बताएका छन् । त्यहाँका बासिन्दाहरूले अचानक ठूलो विस्फोटपछि त्रासको अवस्था सिर्जना भएको बताएका छन् । यस घटनाले मध्यपूर्वमा जारी युद्धलाई थप चर्काउने संकेत दिएको छ, जहाँ अमेरिका–इरानबीचको प्रत्यक्ष तथा अप्रत्यक्ष तनाव लगातार बढिरहेको छ ।

  • अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते

    अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते

    ओहायो, २५ जेठ (रासस–एपी) । अमेरिकाको ओहायो राज्यस्थित टोलेडो सहरमा आयोजित एक सामुदायिक उत्सव नजिकै गोली चल्दा कम्तीमा १२ जना घाइते भएका छन् । घटनामा संलग्न व्यक्तिहरूको खोजी कार्य जारी रहेको स्थानीय प्रहरीले जनाएको छ । टोलेडो प्रहरी विभागका उपप्रमुखका अनुसार घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । प्रारम्भिक अनुसन्धानका आधारमा कम्तीमा दुई जना व्यक्तिले एकअर्कातर्फ गोली चलाएको हुन सक्ने अनुमान गरिएको छ ।

    घटना टोलेडोको ऐतिहासिक क्षेत्रमा आयोजना हुँदै आएको वार्षिक सामुदायिक उत्सवको आसपास भएको बताइएको छ । उक्त उत्सवमा प्रत्यक्ष सांगीतिक प्रस्तुति, सांस्कृतिक कार्यक्रम तथा स्थानीय ऐतिहासिक घरहरूको अवलोकनजस्ता गतिविधि सञ्चालन भइरहेका थिए । गोली चलेपछि उत्सवस्थलमा उपस्थित सर्वसाधारणमा त्रास फैलिएको थियो। प्रत्यक्षदर्शीहरूका अनुसार अचानक गोलीको आवाज सुनिएपछि मानिसहरू ज्यान जोगाउन चारैतिर भागेका थिए । सामाजिक सञ्जालमा सार्वजनिक भएका केही दृश्यहरूमा मानिसहरू भागदौड गरिरहेको तथा आपत्कालीन सेवाका कर्मचारीहरूले घाइतेहरूको उद्धार गरिरहेको देखिएको छ ।

    घटनास्थलमा उपस्थित एक प्रत्यक्षदर्शीले आफू साथीहरूसँग सांगीतिक कार्यक्रम हेरिरहेका बेला लगातार गोली चलेको आवाज सुनेको बताए । उनका अनुसार गोली चलेपछि सबैजना भुइँमा पल्टिएका थिए । केही समयपछि उनले आफू नजिकै एक हतियार फालिएको देखेका थिए । उत्सवको सुरक्षाका लागि त्यहाँ खटिएका प्रहरीहरू तत्काल घटनास्थलमा पुगेका थिए ।

    ओहायोका गभर्नरले घटनाप्रति गहिरो चिन्ता व्यक्त गर्दै गर्मीयामका सामुदायिक उत्सवहरू परिवार र बालबालिकाका लागि सुरक्षित स्थान हुनुपर्ने बताए । उनले हिंसात्मक घटनाले समुदायमा असुरक्षा र त्रास फैलाउने उल्लेख गर्दै घटनाको निष्पक्ष अनुसन्धानको अपेक्षा व्यक्त गरेका छन् । प्रहरीले घटनामा संलग्न व्यक्तिहरूको पहिचान तथा पक्राउका लागि सक्रिय खोजी अभियान सञ्चालन गरिरहेको जनाएको छ । हालसम्म कसैलाई पक्राउ गरिएको वा घटनाको स्पष्ट कारण सार्वजनिक गरिएको छैन । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

  • समुद्री विपद् न्यूनीकरणमा नयाँ आशा, चीनको उन्नत पूर्वानुमान प्रणाली

    समुद्री विपद् न्यूनीकरणमा नयाँ आशा, चीनको उन्नत पूर्वानुमान प्रणाली

    छिङदाओ, २५ जेठ (रासस–सिन्ह्वा) । चीनका वैज्ञानिकहरूले समुद्री पूर्वानुमान क्षेत्रमा ठूलो उपलब्धि हासिल गर्दै नयाँ कृत्रिम बुद्धिमत्ता मोडेल सार्वजनिक गरेका छन् । यो प्रणालीले आँधी, अत्यधिक वर्षा, आँधीबाट उत्पन्न समुद्रभित्रका शक्तिशाली तरङ्ग तथा समुद्री बरफ जस्ता जटिल समुद्री घटनाहरूको पनि पूर्वानुमान गर्न सक्छ ।


    पूर्वी चीनको शान्दोङ प्रान्तस्थित छिङदाओमा जारी चौथो चीन डिजिटल पृथ्वी सम्मेलनमा शनिबार यस मोडेलको औपचारिक उद्घाटन गरिएको हो ।
    चीनको विज्ञान प्रतिष्ठानअन्तर्गतको समुद्र विज्ञान अनुसन्धान संस्थानद्वारा विकसित यो प्रणाली, सन् २०२४ को अन्त्यतिर सार्वजनिक गरिएको अघिल्लो संस्करणको उन्नत रूप हो ।


    संस्थानका अध्यक्ष वाङ फानका अनुसार नयाँ प्रणालीले समुद्री अवस्थाको सामान्य पूर्वानुमानबाट अगाडि बढेर जटिल समुद्री घटनाहरूको बुद्धिमत्तापूर्ण विश्लेषण र प्रत्यक्ष पूर्वानुमान गर्न सक्षम भएको छ ।

    आँधीको दिशा परिवर्तन र तीव्रता बढ्ने अवस्थासमेत अनुमान
    यो प्रणालीले वायुमण्डलीय तथा समुद्री तथ्याङ्क, उपग्रहबाट प्राप्त बादलका तस्वीर र ऐतिहासिक आँधी मार्गहरूलाई संयोजन गरी पूर्वानुमान गर्छ । यसले विशेषगरी आँधीको अचानक दिशा परिवर्तन र तीव्र रूपमा शक्तिशाली बन्ने प्रक्रिया जस्ता कठिन अवस्थाहरूको भविष्यवाणी गर्न सक्छ । विशेषज्ञहरूका अनुसार यसले तटीय क्षेत्रका बासिन्दालाई थप समयमै चेतावनी दिएर ठूलो जनधनको क्षति रोक्न मद्दत पु¥याउन सक्छ ।

    समुद्री संरचना र ध्रुवीय जलयात्राका लागि उपयोगी
    यो प्रणालीले समुद्रभित्र रहेका शक्तिशाली तर अदृश्य तरंगहरू पनि पहिचान गर्न सक्छ, जसले समुद्री तेल प्लेटफर्म तथा अन्य संरचनामा क्षति पु¥याउन सक्छन् । यसले यस्ता तरंगहरूको आगामी ३० दिनसम्मको विकासक्रम र आगामी सात दिनका गति तथा उचाइसम्बन्धी जानकारी उपलब्ध गराउँछ ।


    अन्तर्राष्ट्रिय समुद्री बरफ पूर्वानुमान सञ्जालद्वारा गरिएको स्वतन्त्र मूल्याङ्कनमा यस प्रणालीले सन् २०२५ को सेप्टेम्बर महिनाको आर्कटिक समुद्री बरफ क्षेत्रफलको मौसमी पूर्वानुमानमा विश्वका विभिन्न मोडेलहरूमध्ये पहिलो स्थान हासिल गरेको थियो । यो प्रणालीले ३ किलोमिटरको उच्च स्पष्टतामा मासिक स्तरको समुद्री बरफ पूर्वानुमान गर्न सक्छ, जुन आर्कटिक जलयात्रा, जलवायु अनुसन्धान तथा ध्रुवीय नेभिगेसन सुरक्षाका लागि अत्यन्त महत्वपूर्ण मानिन्छ ।

    भविष्यमा समुद्री बुद्धिमत्ता मञ्च बनाइने
    अनुसन्धान टोलीका अनुसार यो प्रणालीले विभिन्न स्रोतबाट प्राप्त अवलोकन, भौतिक विज्ञानको ज्ञान र कृत्रिम बुद्धिमत्ताको तर्कशक्तिलाई एकीकृत गरेर अझ छिटो, सटीक र अन्तरक्रियात्मक समुद्री पूर्वानुमान सेवा प्रदान गर्छ । भविष्यमा यसलाई जलवायु तथा समुद्री पारिस्थितिकीय अध्ययनसँग जोड्दै समुद्री बुद्धिमत्ता मञ्चको रूपमा विकास गर्ने योजना रहेको वैज्ञानिकहरूले बताएका छन् । हजारौं वर्षअघि आकाशको अवलोकनबाट सुरु भएको ज्ञानको त्यो परम्परा आज कृत्रिम बुद्धिमत्ताको सहयोगमा महासागरको भविष्य बुझ्ने नयाँ युगमा प्रवेश गरेको छ ।

  • पर्यटन बोर्डद्वारा सुनापति–शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन

    पर्यटन बोर्डद्वारा सुनापति–शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन

    २५ जेठ, काठमाडौं । रामेछाप । रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ पर्यटकीय पदमार्ग (ट्रेल) विकासको सम्भाव्यता अध्ययन सम्पन्न भएको छ । नेपाल पर्यटन बोर्डको आयोजनामा गरिएको चारदिने स्थलगत अध्ययनले धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा प्राकृतिक सम्पदाले समृद्ध यस क्षेत्रलाई एकीकृत पर्यटन गन्तव्यका रूपमा विकास गर्न सकिने निष्कर्ष निकालेको छ ।

    आन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटकलाई आकर्षित गर्ने उद्देश्यसहित सञ्चालन गरिएको ‘दुहु(सुनापति डाँडा(शैलुङ ट्रेल’ अध्ययन भ्रमणले रामेछाप र दोलखाका विभिन्न सम्भावनायुक्त पर्यटकीय स्थलहरूको वस्तुस्थिति, पहुँच, पूर्वाधार अवस्था तथा पर्यटन विकासका अवसरहरूको विस्तृत अवलोकन गरिएको टोलीमा सहभागी नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत गोपाल भण्डारीले जानकारी दिएका छन् ।

    अध्ययन टोलीले काठमाडौँबाट यात्रा सुरु गर्दै सिन्धुलीस्थित प्रसिद्ध धार्मिकस्थल कुशेश्वर महादेव मन्दिर हुँदै रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ गाउँपालिकाका विभिन्न पर्यटकीय क्षेत्रहरूको स्थलगत अध्ययन गरेको थियो । भ्रमणका क्रममा सुनापति क्षेत्रका धार्मिक तथा सांस्कृतिक सम्पदा, आकर्षक चिया बगान, लखपतिमाने डाँडा लगायतका सम्भावनायुक्त गन्तव्यहरूको अध्ययन तथा अवलोकन गरिएको थियो ।

    त्यसैगरी, हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको साझा आस्थाको केन्द्र सानो शैलुङ र दुई जिल्ला दोलखा र रामेछापको सीमाक्षेत्रमा रहेको प्रसिद्ध ठुलो शैलुङको प्राकृतिक सौन्दर्य, धार्मिक महत्व तथा पर्यटन सम्भावनाबारे पनि विस्तृत अध्ययन गरिएको छ । समुद्री सतहबाट तीन हजारभन्दा बढी उचाइमा रहेको शैलुङ क्षेत्र प्राकृतिक दृश्यावलोकन, धार्मिक पर्यटन, पदयात्रा तथा साहसिक पर्यटनका लागि उपयुक्त गन्तव्यका रूपमा परिचित छ ।

    अध्ययन भ्रमणका क्रममा सुनापति गाउँपालिकाको लामागाउँमा स्थानीयले मौलिक संस्कृति झल्किने धिमे बाजा, तामाङ समुदायको डम्फु नृत्य तथा सांस्कृतिक झाँकीसहित अध्ययन भ्रमण टोलीलाई स्वागत गरेका थिए । यसले स्थानीय समुदाय पर्यटन विकासप्रति उत्साहित र सकारात्मक रहेको सन्देश दिएको अध्ययन टोलीको निष्कर्ष छ ।

    सुनापति गाउँपालिका अध्यक्ष ठुलो कान्छा तामाङले गाउँपालिकाले पर्यटनलाई आर्थिक विकासको प्रमुख आधारका रूपमा अगाडि बढाइरहेको बताउँदै पर्यटन पूर्वाधार निर्माण, पदमार्ग व्यवस्थापन तथा स्थानीय संस्कृतिको संरक्षणका लागि विशेष प्राथमिकता दिइएको जानकारी गराएका हुन् । उनले नेपाल पर्यटन बोर्डको यस पहलले रामेछाप र दोलाखा जिल्लाकै पर्यटन विकासलाई नयाँ उचाइमा पुर्‍याउन महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे ।

    नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत गोपाल भण्डारी, रोविन रेग्मी र प्रदीप गैरेले पर्यटन विकाससँगै वातावरणीय संरक्षण, सांस्कृतिक सम्पदाको जगेर्ना तथा ऐतिहासिक स्थलहरूको संरक्षणलाई समान महत्व दिनुपर्ने आवश्यकता औँल्याएका छन् । उनीहररुले दिगो पर्यटन विकासका लागि संरक्षण र विकासलाई सन्तुलित रूपमा अगाडि बढाउनुपर्ने बताउँदै यसबाट स्थानीय समुदायको आयआर्जन र जीवनस्तरमा समेत सकारात्मक प्रभाव पर्ने धारणा व्यक्त गरे । यसका लागि समुदाय र सरकारको साझा पहल आवश्यक रहेको पनि उनीहरुको भनाई थियो ।

    पछिल्लो समय काठमाडौँबाट छोटो दूरी र सहज पहुँचका कारण शैलुङ क्षेत्र आन्तरिक पर्यटकको आकर्षक गन्तव्यका रूपमा स्थापित छ । स्थानीय होटल व्यवसायी धावा लामाका अनुसार हाल शैलुङ क्षेत्रमा मासिक तीनदेखि चार हजारसम्म पर्यटक पुग्ने गरेका छन् । होमस्टे सेवा, स्थानीय परिकार, सांस्कृतिक अनुभव र प्राकृतिक सौन्दर्यले पर्यटकको बसाइ अवधि बढाउन मद्दत गरिरहेको उनको भनाइ छ ।

    नेपाल पर्यटन बोर्डको पहलमा गरिएको यस अध्ययन भ्रमणले रामेछाप र दोलखालाई जोड्ने नयाँ पर्यटकीय पदमार्गको औपचारिक विकास, पूर्वाधार विस्तार तथा पर्यटन प्रवर्द्धनका आगामी कार्यक्रम निर्माणमा टेवा पुग्‍ने अपेक्षा गरिएको छ ।

  • ‘ब्यारेकजस्तै घर’

    ‘ब्यारेकजस्तै घर’

    राँझा (बाँके), २५ जेठः बाँकेको नेपालगन्ज–१५ जमुनाहस्थित एउटा घरमा घरभन्दा बढी एउटा ब्यारेकजस्तै लाग्छ । त्यो घर हो, स्थानीय सुरेन्द्र सिंहको । यस क्षेत्रमा यो परिवारको परिचय नै देशको सेवामा खटिएको सुरक्षाकर्मीको परिवारका रूपमा स्थापित छ । शिख समुदायको यो सिंह परिवारमा हुने जमघटमा त अवस्था झनै हेर्न लायक हुन्छ । त्यहाँ उपस्थित अधिकांशको काँधमा राष्ट्रसेवक सुरक्षाकर्मीको पहिचानसहितको बर्दी देख्दा घर होइन, ब्यारेकजस्तै अनुभूति हुने गरेको छ ।

    सिंहको परिवारमा तीन पुस्तादेखि सुरक्षाकर्मी बन्ने परम्परा चल्दै आएको छ । घरका सदस्यहरू नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा आबद्ध हुँदै देशको शान्ति, सुरक्षा र सीमाको रक्षामा समर्पित छन् । हिसाब गर्दा परिवारका करिब एक दर्जन सदस्य सुरक्षाकर्मीका रूपमा राष्ट्रसेवामा जोडिएका छन् ।

    हालै सशस्त्र प्रहरी बलको प्रहरी नायब निरीक्षक पदबाट अवकाश लिएका सिंहका अनुसार परिवारमा सुरक्षासेवाको यात्रा उनका बुबा जबर सिंहबाट सुरु भएको थियो । नेपाल प्रहरीमा कार्यरत बुबा जबरसिंहले स्थापित गरेको त्यही देशप्रेमको प्रेरणाबाट सुरेन्द्र स्वयं सशस्त्र प्रहरीमा आबद्ध भए । हाल उनका छोरा अङ्कित सिंह नेपाल प्रहरीमा कार्यरत रहेर हजुरबुबा र बुबाको पदचाप पछ्याइरहेका छन् ।
    “सुरक्षा निकायमा रहेका परिवारका सदस्यको सङ्ख्या करिब एक दर्जन पुग्छ । त्यसैले हाम्रो त घर नै ब्यारेकजस्तै छ”, सुरेन्द्र मुस्कुराउँदै भन्छन्, “देशको सेवा गर्न पाएकामा गर्व लागेको छ । बुबाको पालादेखि नातिसम्म राष्ट्रसेवाको परम्परा फैलिएको देख्दा झनै गर्व महसुस हुन्छ ।”

    यही परिवारका काका शरण सिंहले नेपाल प्रहरीमा लामो समय सेवा गरे । परिवारकै विनोद, दीपक, बलदेव र नारायण सिंह हाल सशस्त्र प्रहरी बलमा कार्यरत छन् । नातामा भाइ पर्ने शङ्कर सिंह सशस्त्र प्रहरीको प्रहरी नायब उपरीक्षक पदबाट अवकाशप्राप्त भइसकेका छन् । सिंह परिवारको इतिहास केवल जागिरमा सीमित छैन । यो परिवारले देशका लागि रगत र प्राणको आहुति पनि दिएको छ । द्वन्द्वकालमा प्रहरी निरीक्षक पदमा कार्यरत कन्हैया सिंहले कर्तव्यपालनका क्रममा वीरगति प्राप्त गरे । परिवारका लागि त्यो पीडादायी क्षण भए पनि उहाँको बलिदानले राष्ट्रसेवाप्रतिको प्रतिबद्धतालाई अझ दृढ बनाएको परिवारजन बताउँछन् ।

    अवकाशपछि पनि देशप्रतिको दायित्व समाप्त नहुने सुरेन्द्र सिंहको विश्वास छ । “बर्दी फुकाले पनि देशप्रेम त बाँकी नै हुन्छ नि”, उनी भन्छन्, “हिजो सुरक्षाकर्मीका रूपमा र अब सामाजिक कार्यमार्फत देश र समाजको सेवामा निरन्तर लागिरहनेछु ।” नेपालगन्ज–१५ का वडाध्यक्ष मदनविक्रम शाहले जमुनाहको सिंह परिवार राष्ट्रसेवा, त्याग र समर्पणको उदाहरण बनेको बताए । एउटै आँगनबाट देशको सुरक्षा र शान्तिका लागि समर्पित यति धेरै सदस्य जन्मिनु आफैँमा गौरवको विषय भएको उनको भनाइ छ ।

  • पूर्वाधार विकासको प्रतीक्षामा दोमुख

    पूर्वाधार विकासको प्रतीक्षामा दोमुख

    अदानचुली (हुम्ला), २५ जेठः हुम्ला र मुगु जिल्लाको सिमानामा रहेको हुम्ला कर्णाली तथा मुगु कर्णाली नदीको सङ्गमस्थल ‘दोमुख’ पर्यटकीय तथा व्यावसायिक दृष्टिले महत्त्वपूर्ण क्षेत्रका रूपमा परिचित बन्दै गएको छ । कर्णाली करिडोरसँग जोडिएको दोमुख हुम्लाको अदानचुली गाउँपालिका–१ मा पर्दछ भने हुम्ला कर्णाली नदीपारिको क्षेत्र मुगुको सोरु गाउँपालिका–३ मा पर्छ । हुम्लातर्फ रहेको दोमुख बजार अदानचुली गाउँपालिकाको प्रमुख व्यापारिक केन्द्रमध्ये एक मानिन्छ ।

    कर्णाली करिडोर सञ्चालनमा आएपछि यहाँ व्यापारिक गतिविधि बढ्दै गएको दोमुख बजार व्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर बुढाले बताउनुभयो । उहाँका अनुसार हुम्ला र मुगुका नागरिकको आवतजावत तथा किनमेलका लागि समेत दोमुख बजार महत्त्वपूर्ण केन्द्र बनेको छ । करिडोर भएका कारण सो क्षेत्रमा व्यापार व्यवसाय फष्टाएको छ ।

    दोमुख क्षेत्रमा हुम्ला कर्णाली र मुगु कर्णाली नदीको सङ्गमले थप सौन्दर्य थपेको छ । नदीकिनार, वरिपरिका पहाड र प्राकृतिक वातावरणका कारण यहाँ आन्तरिक पर्यटनको राम्रो सम्भावना छ । तर आवश्यक पर्यटकीय पूर्वाधार, प्रचारप्रसार तथा व्यवस्थापनको अभाव छ । सो क्षेत्र मन्दिरसहितको पूर्वाधार निर्माणको पर्खाइमा छ ।

    स्थानीयवासीका अनुसार दोमुख क्षेत्रमा पर्यटक विश्रामस्थल, दृश्यावलोकनस्थल, खानेबस्ने सुविधा तथा अन्य आवश्यक पूर्वाधार निर्माण गर्नसके पर्यटन प्रवर्द्धनसँगै स्थानीय अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पर्ने देखिन्छ । कर्णाली करिडोरसँगको पहुँचले यस क्षेत्रलाई अझ बढी सम्भावनायुक्त बनाएको छ ।

    प्राकृतिक सौन्दर्य, नदीको सङ्गमस्थल, व्यापारिक महत्व तथा माछा उत्पादनको केन्द्रका रूपमा परिचित दोमुख अहिले पनि आवश्यक पूर्वाधार र प्रवर्द्धनको प्रतीक्षामा रहेको अध्यक्ष बुढाले बताउनुभयो । दोमुख क्षेत्र धार्मिक तथा सांस्कृतिक दृष्टिले पनि महत्त्वपूर्ण मानिन्छ । यसलाई स्थानीयले गौजो काट्नेदेखि, व्रतबन्ध, काजकिरीया, मृत्यु संस्कार तथा विभिन्न धार्मिक एवं सांस्कृतिक अनुष्ठान सम्पन्न गर्ने थलोका रुपमा प्रयोग गर्दै आएका छन् ।

    यसले दोमुखलाई केवल पर्यटकीय र व्यापारिक केन्द्रमात्र नभई स्थानीय समुदायको आस्था र संस्कृतिसँग जोडिएको महत्त्वपूर्ण स्थलका रूपमा पनि स्थापित गरेको छ । दोमुख क्षेत्र कर्णालीमा पाइने विभिन्न प्रजातिका माछाका कारण पनि प्रख्यात छ ।

  • बिमा रकम भुक्तानी सहजतातर्फ, विगतको बक्यौता क्रमशः पठाइँदै

    बिमा रकम भुक्तानी सहजतातर्फ, विगतको बक्यौता क्रमशः पठाइँदै

    कीर्तिपुर (काठमाडौँ), २५ जेठः स्रोतको अभावजस्ता कारणहरूले अघिल्ला वर्षहरूमा समस्याको विषय बनेको स्वास्थ्य बिमा भुक्तानी अब सहज हुन थालेको छ । वालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार गठन भएपछि विगत सरकारका पालामा बाँकी रहेको बिमाबापतको रकम भुक्तानीले तीव्रता पाएको हो ।

    पछिल्लो सातामात्र सरकारले स्वास्थ्य बिमाबापत रु एक अर्ब तीन करोड सम्बन्धित स्वास्थ्य संस्थाहरूको खातामा पठाएको छ । जसबाट एक सय ५५ सरकारी, २५ सामुदायिक तथा ३७ निजी अस्पतालले बिमाबापतको रकम प्राप्त गरेका छन् । सरकारले अघिल्लो वर्षको बक्यौता बिमा रकमसमेत भुक्तानी हुनेगरी देशका विभिन्न स्वास्थ्य संस्थाहरूमा पटकपटक गरी रु एक अर्ब तीन करोड पठाएपछि स्वास्थ्य बिमाको रकमसम्बन्धी समस्या क्रमशः हल हुने बाटोमा लागेको हो । स्वास्थ्य बिमा बोर्डबाट सार्वजनिक गरिएको जानकारीअनुसार दुई दिनअघि मात्र विपन्न वर्गलक्षित रु ३२ करोड ६ लाखभन्दा बढी रकम भुक्तानी गरिएको छ ।

    बोर्डका वरिष्ठ मेडिकल सुपेरिटेन्डेन्ट डा पवन शाहले केही समयअघि सरकारी अस्पतालमा उपचार गराउनेलाई मात्र बिमाबापतको रकम भुक्तानी गर्ने गरिएकामा यसपटक निजी स्वास्थ्य संस्थामा उपचार गराउनेलाई पनि भुक्तानी दिइएको जानकारी दिए । यसरी भुक्तानी पाउने अस्पतालहरूमा मध्यविन्दु जिल्ला अस्पताल, भेरी अञ्चल अस्पताल, नारायणी अस्पताल, नेपाल मणिपाल शिक्षण अस्पताल, त्रिवि शिक्षण अस्पताललगायतका ढेड सयभन्दा बढी अस्पतालहरू रहेका छन् ।

    त्यस्तै राष्ट्रिय ट्रमा सेन्टर, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र झापाको बिएण्डसी शिक्षण अस्पताललगायतका निजी अस्पतालमा उपचार गराउने विपन्नसमेत बिमा रकम सरकारले भुक्तानी गर्नका लागि पठाएको छ । उक्त रकम राष्ट्रिय बिमा बोर्डको निर्णयअनुसार विपन्न नागरिकको मिर्गौलाको डायलाइसिस सेवा, मुटुरोगको उपचार, टाउकोको गम्भीर चोटपटक, स्पाइनल इन्जुरी आदि रोगको शोधभर्नाबापत भुक्तानी गरिएको हो । स्वास्थ्य संस्थाबाट प्राप्त दाबीहरूमध्ये कागजात पूरा भएका दाबीहरूको भुक्तानी पठाइएको हो ।

    भुक्तानी स्रोतको अभावका कारण स्वास्थ्य बिमा कार्यक्रमको भविष्यमा अन्योल छाउने अवस्था आउन नदिन सरकारले यसपटक रु १५ अर्ब रकम छुट्याएको छ । यसका साथै स्रोतको परिधिभित्र आउनेगरी बिमा गराउने, अस्पतालको स्वास्थ्य परीक्षण र सामान खरिदमा कडा अनुगमन गर्नेजस्ता उपाय अपनाउने सोचाइ सरकारले बनाएको छ ।

    यसबारेमा रासससँग कुरा गर्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य बिमाजस्तो कल्याणकारी कार्यक्रमलाई अन्योलमा पर्न नदिन सरकारले अहिलेसम्मका बक्यौता रकम भुक्तानी गर्दै जाने बताइन् । समस्या दोहोरिन नदिन अबको स्वास्थ्य बिमालाई कडाइका साथ निगरानी र नियमन गरिने उनले बताए ।

  • यस्तो छ आजको मौसम पूर्वानुमान

    यस्तो छ आजको मौसम पूर्वानुमान

    काठमाडौँ, २५ जेठः आज देशका विभिन्न भू–भागमा आंशिक बदलीदेखि बर्सातको सम्भावना रहेको छ । जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भाग तथा बाँकी हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ । मधेस प्रदेशलगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ भने बाँकी तराईका भू–भागमा मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

    यस्तै, कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका थोरै स्थानमा र बाँकी हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्मको वर्षा\हिमपातको सम्भावना रहेको छ । आज मधेस प्रदेशलगायत, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानमा तातो दिन हुने सम्भावना रहेको जनाइएको छ ।

    आज राति कोशी प्रदेशलगायत देशका हिमाली भू–भागमा साधारणतया बादल, पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ भने तराई भू–भागमा मुख्यतया सफा रहनेछ । कोशी प्रदेशका थोरै स्थान, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भाग तथा कर्णाली प्रदेशका हिमाली भू–भागका एकदुई स्थानमा मेघगर्जन\चट्याङसहित हल्का वर्षा\हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

  • परराष्ट्रमन्त्रीको भारत भ्रमण नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता

    परराष्ट्रमन्त्रीको भारत भ्रमण नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता

    काठमाडौँ, २४ जेठ । परराष्ट्रमन्त्री शिशिर खनालले वर्तमान सरकार गठनपछि पहिलोपटक भारतको औपचारिक भ्रमण गरेका छन् । भारतका विदेशमन्त्री डा एस जयशङ्करको निमन्त्रणामा गत शुक्रबार नयाँदिल्ली पुगेका मन्त्री खनालले शनिबार आफ्ना समकक्षीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गरे । वार्तामा विकास सहकार्य, सम्पर्क सञ्जाल विस्तार, व्यापार तथा पारवहन, ऊर्जा र जनस्तको सम्बन्धलाई अझ उन्नत तुल्याउनेलगायत विषयमा छलफल भएको थियो ।

    वार्तामा नेपाल–भारत सम्बन्धका समग्र पक्षको समीक्षाका साथै आपसी हितका क्षेत्रीय तथा बहुपक्षीय विषयमा विचार आदानप्रदान भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रीद्वयले विभिन्न क्षेत्रमा भएको द्विपक्षीय सहकार्यको प्रगतिप्रति सन्तोष व्यक्त गर्दै नवप्रवर्तन तथा स्टार्टअप, डिजिटल तथा वित्तीय क्षेत्रमा गरिएका सहकार्यका प्रयासको स्वागत गरेका थिए ।


    दुवै पक्षले नेपाल–भारतबीचको बहुआयामिक साझेदारीलाई अझ सुदृढ बनाउँदै नयाँ उचाइमा पु¥याउन प्रयास तीव्र पार्ने सहमति जनाएका छन् । नेपाल–भारत पारस्परिक कानुनी सहायता सम्झौता (एमएलएए) कार्यान्वयनका लागि आवश्यक आन्तरिक प्रक्रिया पूरा भएकामा दुवै पक्षले त्यसको स्वागत गरेका छन् । उक्त सम्झौताले सीमापार अपराधसँग सम्बन्धित अनुसन्धान, अभियोजन तथा न्यायिक कारबाहीलाई प्रभावकारी बनाउन संस्थागत कानुनी आधार प्रदान गर्ने छ ।


    द्विपक्षीय वार्तापश्चात् भारतका विदेशमन्त्री डा जयशङकरले परराष्ट्रमन्त्री खनाललाई भारतको सन् २०१५ को ‘भूकम्पपछिको पुनःनिर्माण सहयोग’ कार्यक्रमअन्तर्गत सम्पन्न ७२ स्वास्थ्य संस्था र १२ सांस्कृतिक सम्पदा क्षेत्रका परियोजना हस्तान्तरण गरेका थिए । नेपाल–भारतबीच सीमापार व्यक्तिगत विप्रेषणलाई सहज बनाउन मन्त्रीद्वयले संयुक्त रूपमा भारतको ‘युनिफाइड पेमेन्ट्स इन्टरफेस’ (युपिआई) र नेपालको ‘नेशनल पेमेन्ट्स इन्टरफेस’ (एनपीआई) बीच ‘पियर–टु–पियर’ (पीटुपी) आबद्धताको शुभारम्भ गरेका थिए ।


    त्यसैगरी ‘भोइस फस्र्ट’ भाषा अनुवाद प्लेटफर्मका लागि राष्ट्रिय डिजिटल पूर्वाधार सह–निर्माण गर्ने उद्देश्यसहित डिजिटल ‘इण्डिया भाषिनी’ र काठमाडौँ विश्वविद्यालयबीच भएको समझदारीपत्रमा हस्ताक्षर भएको छ । नयाँदिल्लीमा रहँदा परराष्ट्रमन्त्री खनालले भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल तथा भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा. विजय चौथाईवालेसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए । भ्रमणले दुवै देशका जनताको आकाङ्क्षाअनुरूप द्विपक्षीय साझेदारी विस्तार गर्ने विषयमा विचार आदानप्रदानको अवसर प्रदान गर्नुका साथै त्यस दिशामा भइरहेका प्रयासमा नयाँ ऊर्जा थपेको छ ।

    भ्रमणले दुई मित्रवत् छिमेकीबीचको नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई पनि सुदृढ बनाएकोे छ । भारतले ‘छिमेक पहिले’परराष्ट्र नीतिअन्तर्गत नेपालसहित दक्षिण एसियाका छिमेकी मुलुकहरूसँगको सम्बन्धलाई उच्च प्राथमिकता दिँदै आपसी विश्वास, सम्पर्क सञ्जाल, व्यापार, विकास साझेदारी र जनस्तरीय सम्बन्धलाई सुदृढ बनाउने प्रयत्न गर्दै आएको छ । परराष्ट्रमन्त्री खनालको यो भ्रमण आपसी विश्वास र समझदारीलाई अझ उन्नत बनाउँदै द्विपक्षीय सम्बन्धलाई सबल बनाउन सफल भएको ठानिएको छ ।

  • परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

    परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

    काठमाडौँ, २४ जेठः परराष्ट्रमन्त्री शिशिर खनाल भारतको तीनदिने औपचारिक भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किएका छन् । भारतका विदेशमन्त्री डा एस जयशङ्करको मैत्रीपूर्ण निमन्त्रणामा उनी शुक्रबार नयाँदिल्ली प्रस्थान गरेका थिए । भ्रमणका क्रममा मन्त्री खनालले शनिबार आफ्ना भारतीय समकक्षीसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गरेका थिए ।

    वार्तामा विकास सहकार्य, सम्पर्क सञ्जाल विस्तार, व्यापार तथा पारवहन, ऊर्जा र जनस्तरको सम्बन्धलाई अझ उन्नत तुल्याउनेलगायत विषयमा छलफल भएको थियो । नयाँदिल्लीमा रहँदा परराष्ट्रमन्त्री खनालले भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल तथा भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा विजय चौथाइवालेसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।

  • केवलकार निर्माणको काम अघि बढाउनुपर्ने भन्दै ताप्लेजुङमा र्‍याली

    केवलकार निर्माणको काम अघि बढाउनुपर्ने भन्दै ताप्लेजुङमा र्‍याली

    ताप्लेजुङ, २४ जेठ । ताप्लेजुङमा निर्माणाधीन केवलकार परियोजनाको काम छिटो सम्पन्न गर्न माग गर्दै बृहत् सद्भाव ¥याली निकालिएको छ । सदरमुकाम फुङलिङमा ‘विकासप्रेमी युवा समाज’ को ब्यानरमा निकालिएको र्‍यालीमा स्थानीय बासिन्दा, विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरू लगायतको सहभागिता रहेको थियो । र्‍यालीमा सहभागीहरूले केवलकार निर्माणले ताप्लेजुङको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुग्ने भन्दै निर्माण कार्यलाई निरन्तर अघिबढाउनुपर्ने माग गरेका थिए । फुङलिङ बजार परिक्रमा गरेपछि र्‍याली वीरेन्द्र चोकमा सभामा परिणत भएको थियो ।

    सभालाई सम्बोधन गर्दै सरोकारवालाहरूले सरकारले निर्माण कार्यका लागि आवश्यक वातावरण मिलाउनुपर्ने आवश्यकता औँल्याएका थिए । उनीहरूले परियोजना करिब ६० प्रतिशत पूरा भइसकेको अवस्थामा यसलाई स्थगन गर्नु उपयुक्त नहुने बताउँदै छिटो निर्माण सम्पन्न हुने वातावरण बनाउन आग्रह गरे ।

    कार्यक्रममा फुङलिङ नगरपालिकाका प्रमुख अमिर मादेन, पाथीभरा मन्दिर क्षेत्र संरक्षण तथा सम्बर्द्धन समितिका अध्यक्ष तारानाथ घिमिरे, ज्येष्ठ नागरिक अगुवा कर्ण लिम्बू, जेनजी अगुवा करण गुरुङ, महिला नेतृ मिना गुरुङ, युवा अगुवा पदमचेन्जी माबो लगायतले आ–आफ्ना धारणा राखेका थिए । निर्माण पक्षका अनुसार परियोजनाको करिब ६० प्रतिशत काम सम्पन्न भइसकेको छ । निर्माणकै क्रममा सरकारले स्थगन गर्न निर्देशन दिएको भन्ने चर्चा चलीरहेका बेला, निर्माण कार्य अघि बढाउन वातावरण बनाउनुपर्ने मागसहित र्‍याली आयोजना गरिएको जनाइएको छ ।

    यता केवलकार निर्माणको विरोध समेत हुँदै आएको छ । केवलकार खारेजी संयुक्त सङ्घर्ष समिति र मुक्कुमलुङ संयुक्त सङ्घर्ष समितिले केवलकार खारेजको माग गर्दै आएका छन् । विकासका नाममा निर्माण हुने केवलकारले बिनास हुने र व्यापारी केन्द्र हुने भन्दै बिरोध गर्दै उनीहरूले विरोध गर्दै आएका हुन् । केवलकार निर्माणको पक्ष र विपक्षमा विगत लामो समयदेखि भइरहेका गतिविधिले भने समस्या हुन थालेको केही स्थानीयले बताका छन् ।

  • रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

    रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

    काठमाडौँ, २४ जेठः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले समसामयिक राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका छन् । उनले सोमबार बिहान ९ः०० बजे सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयअन्तर्गत सार्वजनिक लेखासमितिको हलमा बैठक आह्वान गरेको रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

    बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलबाट पार्टी अध्यक्षरसभापतिसहित दुई–दुई जनालाई आमन्त्रण गरिएको छ । सर्वदलीय बैठकको सूचनासहितको आमन्त्रणसहितको अनुरोध प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई पठाइसकिएको महामन्त्री बुर्लाकोटीले जानकारी दिए ।

  • कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन अनुरोध

    कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन अनुरोध

    काठमाडौँ, २४ जेठः थाइल्याण्डका लागि नेपाली दूतावासले विभिन्न प्रलोभनमा परी कानुनी आधारबिना कम्बोडियामा लुकिछिपी बस्ने नेपाली नागरिकलाई १२ जुन (यही जेठ २९ गते) भित्र नेपाल फर्किन अनुरोध गरेको छ । दूतावासले आज सूचना जारी गरी विभिन्न प्रलोभनमा परी कानुनी आधार बिना कम्बोडियामा लुकिछिपी बस्ने नेपाली नागरिकले कम्बोडियाको नयाँ कानुनी व्यवस्थाअनुसार तत्काल पक्राउ परी कठिन कानुनी सजाय व्यहोर्नुपर्ने अवस्था रहेको सम्बन्धित सबैमा सूचीत गराएको छ ।

    दूतावासले भनेको छ, “विभिन्न उद्देश्यले कम्बोडिया पुगी आफ्नो भिसाको अवधि समाप्त भएपछि पनि भिसा नवीकरण नगरी बसिरहेका ६०२ जना नेपाली नागरिकका लागि कम्बोडिया सरकारबाट भिसा शुल्क तथा जरिवाना रकम मिनाहा गराई नेपाल फर्कन सहजीकरण गरिएको थियो, तर इमेल, फोन तथा ह्वाट्सएपमार्फत सम्पर्क गर्दा आजसम्म निम्नबमोजिमका नेपाली नागरिकले नेपाल फर्किन तदारूकता नदेखाएको पाइएको छ ।”

    तोकिएका समयमा आफ्नो मुलुक नफर्कने विदेशी नागरिकउपर कम्बोडिया सरकारले तहाँको नयाँ कानुनअनुसार अनुसन्धान गरी कसुरको प्रकृतिअनुसार पाँच लाख अमेरिकी डलरसम्मको जरिवानाका साथै आजीवन काराबाससम्मको सजाय हुने व्यवस्था गरेको पनि दूतावासले जनाएको छ ।

    दूतावासले भनेको छ, “यसर्थ, सम्बन्धित सबै नेपाली नागरिकलाई यथाशीघ्र ‘कनेक्टिङ फ्लाइट’सहितको टिकटको व्यवस्था गरी १२ जुन २०२६ भित्र नेपाल फर्किन अनुरोध गरिन्छ, साथै, उनीहरूका परिवारजन तथा आफन्तजनमा यसै सूचनालाई आधार मानी आफ्ना प्रियजनलाई यथाशीघ्र नेपाल फर्काउने व्यवस्था मिलाउन अनुरोध गरिन्छ ।”

  • स्पा’ सञ्चालिका पक्राउ

    स्पा’ सञ्चालिका पक्राउ

    काठमाडौँ, २४ जेठः ‘स्पा’मा बालिकालाई जबर्जस्ती अनैतिक कार्य गर्न लगाउने एक जना महिला पक्राउ परेकी छिन् । प्रहरीले ललितपुर महानगरपालिका २ सानेपा अरूण थापा चोकस्थित ‘शुकल्प स्पा एण्ड थेरापी’की सञ्चालिका गोरखाको सिरानचोक गाउँपालिका-३ की सुमन कुमाललाई पक्राउ गरेको हो ।

    निजले स्पा सेन्टरमा कर्मचारीका रूपमा कार्यरत एक बालिकालाई विभिन्न प्रलोभनमा पारी सेवा लिन आउने ग्राहकको इच्छाअनुसार अनैतिक कार्य गराइरहेको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ । निजउपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत ललितपुरबाट पाँच दिन म्याद थप अनुमति लिइ अनुसन्धान भइरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

  • अवैध लागुऔषधसहित ११ जना पक्राउ

    अवैध लागुऔषधसहित ११ जना पक्राउ

    काठमाडौँ, २४ जेठः नियमित गस्तीमा रहेको प्रहरीको टोलीले देशका विभिन्न स्थानबाट लागुऔषसहित ११ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सुनसरीबाट चार, मोरङबाट दुई र मकवानपुर, कञ्चनपुर, सिन्धुली, झापा र काठमाडौँबाट एक÷एक जनालाई पक्राउ परेका छन् । प्रहरीले निजहरूका साथबाट लागुऔषध खैरो हेरोइन र गाँजा तथा चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने औषधि नाइट्राजेपाम र ट्रामाडोल बरामद गरेको छ ।

  • विश्व व्यापारमा ‘एआई’ को प्रभाव बढ्दो

    विश्व व्यापारमा ‘एआई’ को प्रभाव बढ्दो

    जेनेभा, २४ जेठ (रासस–सिन्ह्वा) । विश्व व्यापार सङ्गठनले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार मध्यपूर्वमा जारी द्वन्द्वका कारण चुनौतीहरू देखिए पनि सन् २०२६ को पहिलो छ महिनामा विश्वव्यापी वस्तु व्यापार मजबुत रहेको छ । कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी लगानी र माग बढेकाले व्यापारलाई सहयोग पुगेको बताइएको छ ।


    विश्व व्यापार संगठनको नवीन वस्तु व्यापार सूचकाङ्क १०१ दशमलव ७ मा पुगेको छ, जुन जनवरी महिनाको १०२ दशमलव ३ भन्दा केही कम हो । यसले आगामी दिनमा वस्तु व्यापारको वृद्धि दर केही सुस्त हुन सक्ने सङ्केत गरेको छ । सूचकाङ्क १०० भन्दा माथि रहँदा व्यापार औसत प्रवृत्तिभन्दा राम्रो रहेको जनाउँछ भने १०० भन्दा तल रहँदा व्यापार कमजोर हुन सक्ने सङ्केत मानिन्छ ।


    प्रतिवेदनअनुसार कृत्रिम बुद्धिमत्तासम्बन्धी लगानीका लागि आवश्यक विद्युतीय पुर्जाको माग उल्लेखनीय रूपमा बढेको छ । यसले मध्यपूर्व द्वन्द्वबाट उत्पन्न नकारात्मक प्रभावलाई केही हदसम्म कम गरेको छ । सूचकाङ्कका विभिन्न अवयवमध्ये विद्युतीय पुर्जा सम्बन्धी सूचक १०५ दशमलव ५ मा पुगेको छ, जुन औसत स्तरभन्दा उल्लेखनीय रूपमा माथि रहेको बताइएको छ । अन्य अधिकांश सूचकहरू भने १०० को आसपास रहेका छन् ।


    निर्यात आदेश सम्बन्धी सूचक १०० दशमलव ५ मा कायम रहेको छ, जसले अन्तर्राष्ट्रिय व्यापारमा सकारात्मक संकेत देखाएको छ । गत चैतमा सार्वजनिक गरिएको विश्व व्यापार पूर्वानुमान तथा तथ्याङ्क प्रतिवेदनमा सन् २०२६ मा विश्वव्यापी वस्तु व्यापार १ दशमलव ९ प्रतिशतले बढ्ने अनुमान गरिएको थियो, जुन अघिल्लो वर्षको तुलनामा सुस्त वृद्धि हो ।

    विश्व व्यापार संगठनले ऊर्जा मूल्य निरन्तर बढिरहेमा व्यापार वृद्धि दर १ दशमलव ४ प्रतिशतमा झर्न सक्ने जनाएको छ । तर कृत्रिम बुद्धिमत्तामा लगानी निरन्तर बढेमा वृद्धि दरमा थप शुन्य दशमलव ५ प्रतिशत बिन्दुको योगदान हुन सक्ने उल्लेख गरिएको छ ।

  • अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित

    अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित

    किन्सासा, २४ जेठ (रासस–एएफपी) । अफ्रिकी मुलुक कङ्गो लोकतान्त्रिक गणतन्त्रमा फैलिएको इबोला महामारीले गम्भीर रूप लिँदै गएको छ । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रले सार्वजनिक गरेको पछिल्लो विश्लेषणअनुसार संक्रमित व्यक्तिहरूलाई समयमै पहिचान गरी अलग राख्ने कार्य प्रभावकारी हुन नसकेमा आगामी तीन महिनाभित्र सङ्क्रमितको संख्या २० हजारभन्दा बढी पुग्न सक्ने जोखिम रहेको छ । केन्द्रका अनुसार हालको कमजोर नियन्त्रण अवस्थालाई निरन्तरता दिइएमा संक्रमित संख्या २० हजार नाघ्ने सम्भावना ६५ प्रतिशतसम्म रहेको छ ।

    विशेषज्ञहरूले इबोला सङ्क्रमितलाई छिटो पहिचान गरी उपचार केन्द्रमा अलग राख्नु महामारी नियन्त्रणको सबैभन्दा प्रभावकारी उपाय भएको बताएका छन् । तर प्रभावित क्षेत्रहरूमा स्वास्थ्य सेवाको पहुँच सीमित हुनु, जनशक्तिको अभाव तथा असुरक्षाका कारण संक्रमितहरूको वास्तविक संख्या यकिन गर्न कठिन भइरहेको छ । इबोला नियन्त्रण अभियानमा संलग्न वरिष्ठ अधिकारी सतीश पिल्लईले संक्रमणको वास्तविक अवस्था अझै पूर्ण रूपमा स्पष्ट नभएको बताए ।

    उनका अनुसार उपचार र अलग राख्नुपर्ने संक्रमितहरूको सङ्ख्या अनुमानभन्दा बढी हुन सक्ने संकेतहरू देखिएका छन् । स्थलको अवस्थाले हाल संक्रमितहरूलाई अलग राख्ने कार्य पर्याप्त प्रभावकारी नभएको देखाएको उनले उल्लेख गरे ।
    यसैबीच, विश्व स्वास्थ्य संगठन र अफ्रिकी संघको सार्वजनिक स्वास्थ्य निकायले कंगो तथा छिमेकी मुलुकहरूमा फैलिएको इबोला महामारी नियन्त्रण गर्न आगामी छ महिनाका लागि ५१ करोड ८० लाख अमेरिकी डलर आवश्यक पर्ने जनाएको छ । उक्त रकम उपचार, निगरानी, खोप अभियान, जनचेतना अभिवृद्धि तथा सीमा क्षेत्रमा स्वास्थ्य सुरक्षा सुदृढीकरणका लागि खर्च गरिने बताइएको छ ।

    यो महामारी गत मे १५ मा कङ्गोको उत्तरपूर्वी क्षेत्रमा औपचारिक रूपमा घोषणा गरिएको थियो । यद्यपि दुर्लभ बन्डिबुग्यो प्रजातिको इबोला भाइरस घोषणा हुनुभन्दा केही समयअघिदेखि नै समुदायमा फैलिइरहेको स्वास्थ्य अधिकारीहरूको अनुमान छ । पछिल्लो तथ्यांकअनुसार कङ्गोमा हालसम्म ३८१ जनामा संक्रमण पुष्टि भएको छ । तीमध्ये ६४ जनाको मृत्यु भइसकेको छ । संक्रमण विशेषगरी तीन प्रान्तमा फैलिएको छ, जसमध्ये इटुरी प्रान्त सबैभन्दा बढी प्रभावित बनेको छ । कुल संक्रमितमध्ये करिब ९० प्रतिशत र मृत्यु भएका व्यक्तिमध्ये ७६ प्रतिशत इटुरी प्रान्तकै रहेका छन् ।

    छिमेकी मुलुक युगान्डामा पनि संक्रमण फैलिन थालेको छ । त्यहाँ हालसम्म १६ जनामा संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ । यद्यपि उपचारपछि कंगोमा सात जना र युगान्डामा दुई जना सङ्क्रमित पूर्ण रूपमा निको भएका छन् । स्वास्थ्य अधिकारीहरूले महामारी अझै नियन्त्रणबाहिर जाने जोखिम रहेको चेतावनी दिँदै संक्रमितको खोजी, सम्पर्कमा आएका व्यक्तिहरूको निगरानी, उपचार सेवाको विस्तार र जनचेतना कार्यक्रमलाई थप प्रभावकारी बनाउन अन्तर्राष्ट्रिय समुदायसँग सहयोगको अपिल गरेका छन् ।

  • आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान

    आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान

    नयाँदिल्ली, २४ जेठ (रासस–सिन्ह्वा) । भारतीय आर्थिक वर्ष २०२५–२६ (अप्रिल २०२५–मार्च २०२६) को कुल गा्रयस्थ उत्पादन (जीडीपी) ७.७ प्रतिशतको वृद्धि हुने अनुमान गरिएको छ । यस अघि आर्थिक वर्ष २०२४–२५ मा ७.१ प्रतिशतको आर्थिक वृद्धि कायम रहेको शुक्रबार जारी सरकारी तथ्याङकले जनाएको थियो । मध्य पूर्वमा जारी सङ्कटको बीचमा, भारतको अर्थतन्त्र जनवरी –मार्च अवधिको जीडीपी ७.८ प्रतिशतले वृद्धि भएको तथ्याङ्कले देखाएको छ ।

    तथ्याङ् अनुसार प्राथमिक क्षेत्रमा ३.२ प्रतिशतको वृद्धि दर देखिएको छ, जुन मुख्यतया कृषि र मत्स्य क्षेत्रबाट निर्यात भएको जनाइएको छ । गत आर्थिकको वर्षमा उत्पादन, व्यापार, होटल, यातायात, सञ्चार तथा प्रसारण तथा अचल सम्पत्ति क्षेत्रसँग सम्बन्धित सेवाहरूले दोहोरो अङ्कको वृद्धि हासिल गरेको तथ्याङ्कले देखाएको छ ।

  • विश्वभरका साना जलाशयको क्षमता घट्दै : अध्ययन

    विश्वभरका साना जलाशयको क्षमता घट्दै : अध्ययन

    नान्जिङ, २४ जेठ (रासस–सिन्ह्वा) । हालै सार्वजनिक एक अध्ययनले विश्वभरका साना जलाशयहरूको पानी भण्डारण क्षमता उल्लेखनीय दरमा घटिरहेको देखाएको छ । यसले भविष्यमा पानी अभावको सामना गरिरहेका अर्बौं मानिसलाई थप प्रभावित पार्न सक्ने चेतावनी दिइएको छ । प्रख्यात वैज्ञानिक पत्रिकामा प्रकाशित अध्ययनअनुसार विश्वका जलाशयहरूले प्रत्येक दशकमा औसत ७ दशमलव ३ प्रतिशत भण्डारण क्षमता गुमाइरहेका छन् । विशेषगरी साना जलाशयहरू यस समस्याबाट सबैभन्दा बढी प्रभावित भएका छन् ।

    चिनियाँ विज्ञान प्रतिष्ठानअन्तर्गत नान्जिङ भूगोल तथा ताल विज्ञान संस्थानका अनुसन्धानकर्ताहरूको नेतृत्वमा गरिएको अध्ययनले उपग्रह तस्बिर, भौगोलिक तथ्याङ्क तथा इन्जिनियरिङ अभिलेखको आधारमा विश्वव्यापी जलाशयको विस्तृत तथ्याङ्क भण्डार तयार गरेको छ । यसमा विश्वभरका पाँच लाख ५० हजारभन्दा बढी जलाशय समेटिएका छन् ।

    अध्ययनअनुसार तीमध्ये ९५ प्रतिशतभन्दा बढी जलाशय एक वर्ग किलोमिटरभन्दा साना छन् । यस्ता जलाशयहरू अघिल्ला धेरै अनुसन्धानमा पर्याप्त रूपमा समावेश गरिएका थिएनन् । अनुसन्धानकर्ता लिउ काईका अनुसार साना जलाशयलाई समेत समेटेर गरिएको यो पहिलो उच्च–स्तरीय विश्वव्यापी मूल्याङ्कन हो ।

    उहाँले जलाशयहरूले कृषि सिँचाइ, खानेपानी, बाढी नियन्त्रण तथा विद्युत् उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । तर नदीबाट बगेर आउने माटो, बालुवा तथा अन्य पदार्थ बाँध पछाडि थुप्रिँदै जाँदा जलाशयमा पानी भण्डारण गर्ने ठाउँ घट्दै जाने र उपयोगिता कमजोर बन्दै जाने समस्या बढिरहेको उनको भनाइ छ । अध्ययनले जलाशयमा अत्यधिक गाद जम्ने १६ वटा प्रमुख जोखिम क्षेत्र पनि पहिचान गरेको छ । तीमध्ये धेरै क्षेत्र सिँचाइमा निर्भर कृषि उत्पादनका केन्द्र तथा पानी अभाव झेलिरहेका स्थानहरू रहेका छन् ।

    विश्वको करिब एक चौथाइ सिँचित खेतीयोग्य भूमि यस्ता उच्च जोखिमयुक्त क्षेत्रमा पर्दछ, जसको प्रभाव दुई अर्बभन्दा बढी मानिसमा पर्न सक्ने अध्ययनले जनाएको छ । यसले दीर्घकालीन खाद्य तथा जल सुरक्षाप्रति गम्भीर चिन्ता उत्पन्न गरेको छ । अनुसन्धानकर्ताहरूले तत्काल प्रभावकारी कदम नचालिए सन् २०६० सम्म विश्वका आधाभन्दा बढी जलाशयहरूको कार्यक्षमता गम्भीर रूपमा प्रभावित हुन सक्ने चेतावनी दिएका छन् ।

    अर्का अनुसन्धानकर्ता सोङ छुनछियाओले जलाशयमा गाद जम्ने समस्या पानी, खाद्य तथा ऊर्जा सुरक्षाका लागि बढ्दो चुनौती बन्दै गएको उल्लेख गर्दै दिगो व्यवस्थापन प्रणाली अपनाउनुपर्ने आवश्यकता औंल्याएका छन्। उनका अनुसार मानव कल्याण र विश्वव्यापी विकास लक्ष्य हासिल गर्न जलाशयको दिगो संरक्षण अपरिहार्य छ ।

  • विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप

    विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप

    तेहरान, २३ जेठ (रासस–एएफपी) । विश्वकप फुटबल प्रतियोगिता सुरु हुन करिब एक हप्ता बाँकी रहँदा खेलका लागि चयन भएका सहभागी राष्ट्रहरूबाट खेलका लागि आयोजक देशका लागि प्रवेशआज्ञा लिने र उनीहरूको व्यवस्थापन गर्ने क्रम तीब्र बनेको छ । यस पटकको विश्वकप फुटबल प्रतियोगिता संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्ने भएका छन् । खेलको उद्घाटन यही जेठ २९ गते हुनेछ ।

    आयोजक राष्ट्रमध्ये एक अमेरिका र इरानबीच जारी द्वन्द्वका कारण आयोजक राष्ट्र अमेरिकाले विश्वकप प्रतियोगितामा सहभागी हुन लागेको इरानी फुटबल टोलीका केही सदस्यहरूलाई भिसा नदिएर ‘विभेदपूर्ण व्यवहार’ गरेको आरोप इरानले अमेरिकामाथि लगाएको छ। टर्कीस्थित इरानी दूतावासले अमेरिकी राजदूत टम कराकले खेलाडीहरूलाई भिसा प्रदान गरिएको घोषणा गरेको उल्लेख गर्दै भनेको छ, “व्यवस्थापकीय र कार्यकारी कर्मचारी, प्राविधिक सल्लाहकारहरू र अन्य जो कुनै पनि राष्ट्रिय फुटबल टोलीको अभिन्न अङ्ग हुन्, उनीहरूलाई भिसा दिन अस्वीकार गरिएको छ भनेर तपाईं किन भन्नुहुन्न ?”

    दूतावासले अगाडि भनेको छ, “इरानको राष्ट्रिय फुटबल टोलीविरुद्ध जानाजानी र भेदभावपूर्ण व्यवहारलाई उच्च स्तरमा पुर्याइएको छ ।” इरानको राष्ट्रिय फुटबल टोलीका प्रमुख मेहदी ताजले सोही दिन इरानी प्रतिनिधिमण्डलले भिसाका लागि राहदानी बुझाएको बताएपछि बराकले शुक्रबार कुटनीतिक पहलका लागि अङ्कारास्थित अमेरिकी दूतावासको प्रशंसा गरेका थिए ।


    शनिबार इरानी सञ्चारमाध्यम र भर्जेश–३ नामक इरानी स्पोटर््स अनलाइनले ताजसहित प्रतिनिधिमण्डलका सदस्यहरू, कार्यकारी सदस्यहरू र विश्लेषकहरूलाई भिसा नदिइएको बताएका छन् । शुक्रबार ताजले सरकारी टेलिभिजनसँग कुरा गर्दै भने, “टोलीका सबैजनालाई भिसा जारी गरिनेछ भन्ने आफ्नो मूल्याङ्कन रहेको र यस सम्बन्धमा कुनै समस्या नहुने आशा गरिएको छ।”

    इरानीहरूले आफ्नो विश्वकप खेलमा टोली रहने स्थानलाई स्थानान्तरण गरेका छन् । सुरुमा टक्सन, एरिजोनामा हुने भनिएको उक्त बसाईलाई उत्तरपश्चिमी मेक्सिकन सीमावर्ती शहर तिजुआनामा स्थानान्तरण गरिएको छ। टोलीका सबै तीन समूह चरणका खेलहरू संयुक्त राज्य अमेरिकामा हुने कार्यतालिका सार्वजनिक भएको छ । टोलीले जुन १५ मा न्युजिल्यान्डसँग जुन २१ मा बेल्जियमसँग दुई खेल लस एन्जलसमा र जुन २७ मा इजिप्टसँग सियाटलमा खेल्नेछ ।

  • कुवेत र बहराइनद्वारा इरानी आक्रमणको निन्दा

    कुवेत र बहराइनद्वारा इरानी आक्रमणको निन्दा

    कुवेत शहर\मनामा, २४ जेठ (रासस–सिन्ह्वा) । कुवेत र बहराइन दुवैले शनिबार आ–आफ्नो देशमाथि इरानले गरेको आक्रमणको निन्दा गरेका छन् र यसलाई सार्वभौमिकताको ठाडो उल्लङ्घन र क्षेत्रीय स्थिरतालाई खतरामा पार्ने खतरनाक तनाव वृद्धिको संज्ञा दिएका छन् । कुवेतको विदेश मन्त्रालयले सामाजिक सञ्जाल एक्समा भनेको छ, “यो आक्रमण कुवेतको सार्वभौमिकता, सुरक्षा र क्षेत्रीय अखण्डताका साथै अन्तर्राष्ट्रिय कानून, संयुक्त राष्ट्र चार्टर र सुरक्षा परिषदको प्रस्ताव २८१७ को ‘ठाडो उल्लङ्घन’ हो ।

    क्षेत्रीय द्वन्द्व रोक्नका लागि व्यापक विश्वव्यापी प्रयासहरू केन्द्रित भइरहेका बेला निरन्तर आक्रमणले खतरनाक तनाव वृद्धिलाई सङ्केत गरेको विज्ञप्तिमा उल्लेख छ। “कुनै पनि बहानामा आक्रमणको औचित्य पुष्टि गर्न सकिँदैन,” विज्ञप्तिमा भनिएको छ । बहराइनको विदेश मन्त्रालयले शनिबार नै एक विज्ञप्ति जारी गर्दै आक्रमणले खाडी क्षेत्रको सुरक्षा र स्थिरताका लागि खतरा उत्पन्न गरेको जनाएको छ ।

    उसले इरानलाई आक्रमण रोक्न, स्ट्रेट अफ हर्मुज बिना कुनै प्रतिबन्ध खुला गर्न र अन्तर्राष्ट्रिय कानून अन्तर्गत समुद्री नौवहनको स्वतन्त्रताको सम्मान गर्न आग्रह गरेको छ। यसअघि शनिबार कुवेत र बहराइन दुवैले मिसाइल र ड्रोन आक्रमणहरू रोक्ने घोषणा गरेका थिए, जबकि इरानको इस्लामिक रिभोलुसन गार्ड कोर (आईआरजीसी) ले कुवेतको अली अल सलेम एयर बेस र बहराइनमा अमेरिकी सेनाको एकाई ‘फिफ्थ फ्लीट’को मुख्यालयमा आक्रमण गरेको पुष्टि गरेको थियो।

    केश्म टापुमा रहेको आईआरजीसीको सञ्चार टावरमा रातिको समयमा भएको अमेरिकी आक्रमणको बदलामा आईआरजीसीले कुवेत र बहराइनमा रहेका दुई अमेरिकी बेसमा क्षेप्यास्त्र र ड्रोन आक्रमणको घोषणा गरेको केही दिनपछि तेहरानको यो घटना भएको हो ।

  • विश्वकपमा भाग लिन इरानी टोली मेक्सिको प्रस्थान

    विश्वकपमा भाग लिन इरानी टोली मेक्सिको प्रस्थान

    तेहरान, २४ जेठ (रासस–एएफपी) । इरानको राष्ट्रिय फुटबल टोली यसै वर्षको विश्वकपमा भाग लिन शनिबार टर्कीएबाट मेक्सिको प्रस्थान गरेको इरानी सरकारी टेलिभिजनले जनाएको छ । टर्कीएको सरकारी टेलिभिजनका अनुसार इरानको राष्ट्रिय फुटबल टोली १५ दिनको अभ्यास अवधिपछि विश्वकपमा भाग लिन मेक्सिकोका लागि आज साँझ उडेको हो । इरानको राष्ट्रिय टोली २० घण्टाको उडानपछि तिजुआना पुग्नेछ ।

    इरानको राष्ट्रिय फुटबल टोलीका प्रमुख मेहदी ताजले सोही दिन इरानी प्रतिनिधिमण्डलले भिसाका लागि राहदानी बुझाएको बताएपछि अमेरिकी राजदूत टम बराकले शुक्रबार कुटनीतिक पहलका लागि अङ्कारास्थित अमेरिकी दूतावासको प्रशंसा गरेका थिए । शनिबार इरानी सञ्चारमाध्यम र भर्जेश–३ नामक इरानी स्पोटर््स अनलाइनले ताजसहित प्रतिनिधिमण्डलका सदस्यहरू, कार्यकारी सदस्यहरू र विश्लेषकहरूलाई भिसा नदिइएको बताएका छन् ।

  • दूषित खाद्यवस्तुका कारण बर्सेनि ६० करोड मानिस बिरामी

    दूषित खाद्यवस्तुका कारण बर्सेनि ६० करोड मानिस बिरामी

    काठमाडौँ, २४ जेठः दूषित खाद्यवस्तुका कारण विश्वभर हरेक वर्ष करिब ६० करोड मानिस बिरामी पर्ने गरेको तथ्याङ्क सार्वजनिक भएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)का अनुसार खाद्यजन्य रोगका कारण वार्षिक करिब चार लाख २० हजार जनाको मृत्यु हुने गरेको छ । यही सन्दर्भमा सुरक्षित खाद्यवस्तुको महत्त्वबारे जनचेतना अभिवृद्धि गर्न आज विश्वका विभिन्न भागमा विविध कार्यक्रमका साथ विश्व खाद्य सुरक्षा दिवस मनाइँदै छ ।

    संयुक्त राष्ट्रसङ्घीय महासभाले सन् २०१८ मा एक प्रस्ताव पारित गर्दै जुन ७ लाई विश्व खाद्य सुरक्षा दिवसका रूपमा घोषणा गरेअनुरुप सन् २०१९ देखि विश्वभर यो दिवस मनाउन थालिएको हो । दिवसको प्रवद्र्धन तथा समन्वय विश्व स्वास्थ्य सङ्गठन र संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ) ले संयुक्त रूपमा गर्दै आएका छन् ।

    पर्याप्त मात्रामा सुरक्षित र पोषणयुक्त खाद्यवस्तुमा पहुँच मानव जीवन, स्वास्थ्य र समग्र कल्याणका लागि अपरिहार्य मानिन्छ । दूषित खाना वा पानीमार्फत शरीरमा प्रवेश गर्ने ब्याक्टेरिया, भाइरस, परजीवी तथा रासायनिक पदार्थका कारण विभिन्न खाद्यजन्य रोग फैलिने गर्छन् । यस्ता जोखिमहरू प्रायः नाङ्गो आँखाले देख्न नसकिने भएकाले खाद्य सुरक्षालाई अझ चुनौतीपूर्ण विषयका रूपमा हेरिएको छ ।

    डब्ल्युएचओका अनुसार पाँच वर्षमुनिका बालबालिकाले खाद्यजन्य रोगको कुल भारको करिब ४० प्रतिशत हिस्सा वहन गर्छन् । यस्ता रोगका कारण हरेक वर्ष करिब एक लाख २५ हजार बालबालिकाको मृत्यु हुने गरेको छ । खाद्यजन्य रोगले विशेषगरी महिला, बालबालिका, द्वन्द्व प्रभावित समुदाय, आप्रवासी तथा अन्य कमजोर वर्गलाई असमान रूपमा प्रभावित गर्ने गरेको बताइएको छ ।

    विशेषज्ञहरूका अनुसार खाद्य सुरक्षा उत्पादनदेखि उपभोगसम्मको सम्पूर्ण खाद्य शृङ्खलासँग सम्बन्धित विषय हो। खाद्यवस्तुको उत्पादन, सङ्कलन, प्रशोधन, भण्डारण, ढुवानी, वितरण, तयारी तथा उपभोगका हरेक चरणमा सुरक्षा मापदण्ड पालना गरिएमा खाद्यजन्य रोगको जोखिम उल्लेखनीय रूपमा घटाउन सकिन्छ ।

    यो दिवसका अवसरमा खाद्य सुरक्षालाई प्रभावकारी नियमन प्रणाली, स्वच्छ खानेपानीमा पहुँच, असल कृषि अभ्यास, खाद्य सुरक्षा व्यवस्थापन प्रणाली तथा उपभोक्ता सचेतनासँग जोडेर हेरिनुपर्नेमा जोड दिइएको छ । सरकार, उत्पादक, व्यवसायी, वैज्ञानिक, नागरिक समाज र उपभोक्ताको साझा प्रयासबाट मात्र सुरक्षित खाद्यवस्तुको सुनिश्चितता गर्न सकिने विज्ञहरूको भनाइ छ ।

    ‘खाद्य सुरक्षा सबैको जिम्मेवारी’ भन्ने सन्देशका साथ मनाइने यस दिवसले खाद्य सुरक्षा, जनस्वास्थ्य, कृषि, व्यापार, पर्यटन र दिगो विकासबीचको अन्तरसम्बन्धलाई उजागर गर्दै सुरक्षित खाद्यवस्तुको सुनिश्चितताका लागि सबै पक्षलाई सक्रिय भूमिका निर्वाह गर्न आह्वान गरेको छ ।

  • हिमाली र पहाडी भागमा वर्षाको सम्भावना, तराईमा तापक्रम बढ्ने

    हिमाली र पहाडी भागमा वर्षाको सम्भावना, तराईमा तापक्रम बढ्ने

    काठमाडौँ, २४ जेठः देशको उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा (ट्रफ) तथा स्थानीय वायुको आंशिक प्रभाव रहेकाले विभिन्न क्षेत्रमा बदली तथा वर्षाको सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका अधिकांश हिमाली तथा पहाडी भागमा साधारणतया बदली रहेको छ भने तराईमा आंशिक बदली भएको छ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

    आज दिउँसो कोशी प्रदेशसहित देशका हिमाली भागमा साधारणतया बदली रहने तथा मधेस प्रदेशसहित बाँकी पहाडी भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । बाँकी तराईका भागमा भने मुख्यतया मौसम सफा रहने अनुमान गरिएको छ । कोशी प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना रहेको छ । साथै मधेस प्रदेशसहित बाँकी हिमाली भागका एकदुई स्थानमा वर्षा तथा हिमपात हुन सक्ने जनाइएको छ ।

    महाशाखाका अनुसार मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागका केही स्थानमा अनपेक्षित रूपमा तापक्रम बढ्ने सम्भावना छ ।
    त्यसैगरी, आज राति कोशी प्रदेशसहित देशका हिमाली भागमा साधारणतया बदली रहने तथा मधेस प्रदेश र बाँकी पहाडी भागमा आंशिक बदली रहनेछ । तराईका अधिकांश भागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ । कोशी प्रदेशका केही तथा मधेससहित बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।

    साथै मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा तापक्रम अधिक हुने सम्भावना भएकाले आवश्यक सतर्कता अपनाउन तथा महाशाखाबाट जारी हुने मौसमसम्बन्धी अद्यावधिक सूचनामा ध्यान दिन सम्बद्ध सबैमा अनुरोध गरिएको छ ।

  • हुम्लाको बौल्यानामा खानेपानी समस्या

    हुम्लाको बौल्यानामा खानेपानी समस्या

    अदानचुली (हुम्ला), २४ जेठः ताँजाकोट गाउँपालिका–१ को बौल्यानामा खानेपानी चरम समस्या भएको छ । सडक निर्माण गर्न डोजर लगाएपछि पानीको मूल सुकेर गएपछि खानेपानीको समस्या भएको हो । ताँजाकोट–१ काँडागाउँका मिलन खड्काका अनुसार उक्त बस्तीका नागरिकलाई यतिबेला खानेपानीकै लागि पुमखोला र काँडागाउँबाट उकालो चढेर पानी ल्याउनुपर्ने बाध्यता छ । उनले भने, “भैसेवाज गाउँमा विद्यालय जाने समयमा प्रत्येक विद्यार्थी हरेक दिन बिहान खाली ग्यालिन लिएर जान्छन् र साँझ विद्यालय बिदा हुँने बित्तिकै उक्त ग्यालिनमा पानी भरेर घर फर्किन्छन्् ।”

    उक्त विद्यालयमा अध्ययनरत लोकन्द्र खड्काले पढ्नुभन्दा बढी साँझ पानी बोक्नकै पिरलो बढी हुने गरेको बताए । “दिउँसो कक्षामा पनि साँझ पानीको ग्यालिन कसरी लैजाने र घरपरिवारलाई पानी कसरी खुवाउने होला भन्ने चिन्ताले सताइरहन्छ”, उनले भने । उक्त बस्ती अग्लो डाँडामा छ । उक्त बस्तीकाले पिउँदै आएको पानीको मुहान सुकेपछि समस्या भएको छ । त्यहाँसम्म पानी ल्याउन अन्य मुहान नै नभएको वडाध्यक्ष मोहनलाल रिठालले बताए ।


    यस वर्ष रु तीन लाख विनियोजन गरेर काँडागाउँमा खानेपानीको व्यवस्थापन गर्न खोजेको भए पनि उक्त बस्तीमा सम्भव नभएपछि अहिले आकाशे पानी सङ्कलन गर्ने योजना अघि बढाएको वडाध्यक्ष रिठालले बताए । एक एक हजारका ८० वटा ड्रम वितरण गरी आकाशे पानी सङ्कलन गर्ने योजना बनाएको उनले बताए ।
    “यसले मात्र समस्या समाधान नहुने भएकाले तीनै तहका सरकारसँग दीर्घकालीन समस्या समाधान गर्न माग गरेका छौँ”, उनले भने ।


    उक्त गाउँका मिलन खड्का आफूले केही समयअघि पानीको समस्या लिएर सङ्घीय खानेपानी मन्त्रालयसम्म धाएको बताउँछन् । बस्तीमा भएको खानेपानीको समस्याको श्रव्यदृश्य सामग्री देखाउँदै मन्त्रीलाई समेत उनको भनाइ छ । मन्त्रीले कुनै पनि हालतमा व्यवस्था गर्छु भन्ने आश्वासन दिएको खड्काले बताए । खड्काले यसकै लागि आफू व्यक्तिगत रु ५० हजार खर्च गरेर सङ्घीय राजधानी गएको बताए ।

  • कठिन भूगोल छिचोल्दै पदमार्ग निर्माण

    कठिन भूगोल छिचोल्दै पदमार्ग निर्माण

    मलेखु (धादिङ), २४ जेठः धादिङको रुबीभ्याली गाउँपालिकाको पर्यटकीय गन्तव्य कालो दह र सेतो दह जाने कठिन बाटोमा पदमार्ग निर्माण गरिएको छ ।भौगोलिक रूपमा विकट र हिँड्न कठिन रहेको गोरेटोमा व्यवस्थित पदमार्ग निर्माण गरिएको हो । कालो र सेतो दह हुँदै नेपाल–चीन सिमाना नजिकको हर्ची पाससम्मको


    रुबीभ्याली गाउँपालिका–१ लिङ्जो गाउँका बासिन्दाले २१ दिनसम्म श्रमदान गरेर बाबिल खर्कदेखि चार हजार ६ सय ५० मिटर उचाइमा रहेको हर्ची पाससम्म गोरेटो पदमार्ग निर्माण गरेका हुन् । स्थानीय आफैले श्रमदान सुरु गरेपछि रुबीभ्याली गाउँपालिका–१ ले रु १५ लाख उपलब्ध गराएको थियो ।

    पदमार्ग निर्माणका क्रममा चार हजार मिटर उचाइमा रहेको छार चो खर्कमा बास बसेर दैनिक रूपमा कठिन भू–भागमा काम सम्पन्न गरेको वडाध्यक्ष पम्बर तामाङले जानकारी दिए । आगामी वर्षको बजेटबाट पर्यटक प्रतिक्षालय र अन्य पूर्वाधार निर्माणमा सहयोग गर्ने उनले बताए ।


    पदमार्ग निर्माणका क्रममा स्थानीय युवाले घन, छिनो र गैंती प्रयोग गरी चट्टान फोरेका थिए भने महिलाले ढुङ्गा बोकेर सिँढी बनाउन सहयोग गरेका थिए । अक्सिजनको कमी हुने उचाइमा समेत स्थानीय खटिएर निर्माण कार्य सम्पन्न गरेको वडाअध्यक्ष तामाङले प्रशंसा गरे । सामूहिक श्रमदानबाट बनेको यो पदमार्गले प्रसिद्ध कालो दह, सेतो दह र हर्ची पास पुग्ने पर्यटकलाई सहज बनाएको छ ।

    पदमार्ग सञ्चालनमा आएपछि आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्ने र स्थानीय स्तरमा रोजगारीका अवसर सिर्जना हुने स्थानीयले अपेक्षा गरेका छन् । पदमार्गले गाउँको भविष्यको बाटो कोरेको र यसबाट पर्यटन विकासमा ठूलो टेवा पुग्ने भन्दै स्थानीय अगुवा पुर्ने लामा तामाङले खुसी सुनाए ।

    राजधानी काठमाडौँबाट सबैभन्दा नजिक पर्ने पाँच हजार मिटरसम्मको यो पदयात्रा क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउन पदमार्ग महत्वपूर्ण माध्यम बन्नेछ ।

  • तरकारीखेतीबाट बराहक्षेत्रका किसान आत्मनिर्भर

    तरकारीखेतीबाट बराहक्षेत्रका किसान आत्मनिर्भर

    धरान (सुनसरी), २४ जेठः सुनसरीको बराहक्षेत्र नगरपालिका क्षेत्रमा व्यावसायिक तरकारीखेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ । एक समय बाँझै रहने बारी अहिले हराभरा तरकारीबारीमा परिणत भएका छन् भने किसान आफ्नै गाउँमा बसेर मनग्य आम्दानी गर्दै आत्मनिर्भरतातर्फ उन्मुख भएका छन् ।
    बिहान घाम नउदाउँदै किसान काँक्रो, गोलभेँडा, बोडी, घिरौँला, कोभीलगायत तरकारी टिप्न बारीमा पुगिसकेका हुन्छन् । उत्पादन भएका तरकारी धरान, इटहरी, इनरुवा, बराहक्षेत्र तथा आसपासका बजारमा बिक्री हुने गरेको छ ।

    बराहक्षेत्र नगरपालिका–७ का दिनेश राजवंशी विगत ६ वर्षदेखि करिब दुई बिघा जमिनमा व्यावसायिक तरकारीखेती गर्दै आएका छन् । तीन वर्ष विदेश बसेर फर्किनुभएका उहाँले अहिले आफ्नै गाउँमा बसेर तरकारीखेतीबाट पर्याप्त आम्दानी गरिरहेका छन् । “विदेशमा निकै दुःख गरेर कमाएको पैसाले घरखर्च धान्नै कठिन हुन्थ्यो, अहिले परिवार सबै मिलेर साथमा तरकारीखेती गरिरहेका छौँ । मिहिनेत गर्न सके आफ्नै देशको माटोमा पनि राम्रो आम्दानी गर्न सकिँदोरहेछ”, उनले भने । तरकारी बिक्रीबाट घरखर्च सहज रूपमा चलिरहेको छ भने मासिक रु ७० हजारभन्दा बढी बचत गर्न सफल भएको राजवंशी बताउँछन् ।


    सोही ठाउँका नितु राजवंशी र रमेश राजवंशी दम्पतीले तीन बिघा जमिनमा व्यावसायिक तरकारीखेती गरिरहेका छन् । उनीहरुले काँक्रो, बोडी, घिरौँला, कोभी, गोलभेँडालगायत मौसमी तरकारी उत्पादन गर्दै आएका छन् । नितु राजवंशीका अनुसार विगतमा मकै र कोदोखेतीबाट परिवारको खाद्यान्न आवश्यकता मात्र पूरा हुन्थ्यो । तरकारीखेती सुरु गरेपछि भने यहाँबाट राम्रै आम्दानी हुने गरेको उनले बताए ।


    “पहिले बारी बाँझो थियो, अहिले तरकारीखेतीले धेरै राम्रो भएको छ । मौसमले साथ दिएमा र सिँचाइ तथा मल व्यवस्थापन राम्रो भए वार्षिक रु सात लाखदेखि रु आठ लाखसम्मको तरकारी मज्जाले बिक्री गर्न सकिन्छ”, राजवंशी दम्पती भन्छन् ।

    त्यसैगरी, बराहक्षेत्र नगरपालिका–८ तीनकुनेका युक्ति चौधरीले चार बिघा जमिनमा मौसमी तरकारीखेती गर्दै आएकी छिन् । छ वर्षअघि एक कट्ठा जमिनबाट सुरु गरिएको खेती अहिले विस्तार भएर वार्षिक रु १० लाखभन्दा बढी आम्दानीको स्रोत बनेको छ । ‘रीतिका कृषि फार्म’ सञ्चालन गर्दै आउनुभएका चौधरीले परिवारको साथ र निरन्तर मिहिनेतले व्यवसाय विस्तार गर्न सफल भएको बताए । “काम गर्न सकुन्जेल खेतीलाई निरन्तरता दिन्छु । परिवारको साथ छ, मिहिनेत गर्नसके कृषि क्षेत्रमै राम्रो सम्भावना रहेछ”, उनले भने ।


    चौधरीले पालेका गाईगोरु र बाख्राबाट प्राप्त गोबरलाई जैविक मलका रूपमा प्रयोग गर्दै आउनुभएको छ । यसले उत्पादनलाई स्वस्थ र गुणस्तरीय बनाउन मद्दत पुगेको उनको भनाइ छ । तरकारी बिक्रीका लागि बजारको समस्या छैन । व्यापारीहरू आफैँ फार्ममा पुगेर तरकारी खरिद गरेर लाने गरेको उनले बताए ।

    “हामी बजार मूल्यभन्दा प्रतिकिलो करिब रु १० कममा तरकारी दिन्छौँ, व्यापारीहरू फार्ममै आउने भएकाले बजारको झन्झट हुँदैन”, उनले भने । सुनसरी कृषि ज्ञान केन्द्रका सूचना अधिकारी प्रवीनलाल श्रेष्ठले बराहक्षेत्रसहित जिल्लाका विभिन्न ग्रामीण क्षेत्रमा तरकारीखेती प्रवर्द्धनका लागि विविध कार्यक्रम सञ्चालन भइरहेको बताए । उनका अनुसार केन्द्रले किसानलाई अनुदान, उन्नत बीउ, सिँचाइ उपकरण, माटो परीक्षण, मल तथा विषादी व्यवस्थापनसम्बन्धी तालिमलगायत प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ । आधुनिक तरकारीखेतीले धेरै किसानलाई आत्मनिर्भर बनाउन सहयोग पुगेको छ । उनले भने, “उत्पादन वृद्धि, बजार पहुँच र आम्दानी विस्तारमा सकारात्मक प्रभाव देखिएको छ ।”

    श्रेष्ठका अनुसार तरकारी भण्डारण, कीट प्रकोप, बजार व्यवस्थापन तथा मौसमजन्य समस्याको समाधानका लागि कृषि ज्ञान केन्द्रले निरन्तर परामर्श सेवा प्रदान गर्दै आएको छ । बराहक्षेत्रका किसानले उत्पादन गरेका तरकारी धरान कृषि उपज बजार, इटहरी, इनरुवा, बराहक्षेत्र तथा काराबन्जरलगायतका स्थानीय बजारमा बिक्री हुने गरेका छन् । किसानका अनुसार बिक्रीका लागि बजारको अभाव छैन । सरकारी अनुदान, विभिन्न सङ्घसंस्थाको सहयोग तथा डिजिटल मार्केटिङको बढ्दो प्रयोगले व्यावसायिक तरकारीखेतीलाई थप सहज बनाएको छ ।

    तरकारीखेतीबाट राम्रो आम्दानी हुन थालेपछि बराहक्षेत्रका किसान विदेश पलायनभन्दा आफ्नै गाउँघरमा श्रम र सीप लगानी गर्न उत्साहित देखिएका छन् । यसले ग्रामीण क्षेत्रमा रोजगारी सृजना गर्नुका साथै आत्मनिर्भर अर्थतन्त्र निर्माणमा समेत टेवा पुर्याएको छ । अहिले बराहक्षेत्र नगरपालिकामा अधिकांश किसान बारीमा तरकारी उत्पादन गर्दै, स्थानीय हाटबजारमै बिक्री गरी राम्रो आम्दानी गरिरहेको बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले बताउनुभयो । नगरपालिकाले बर्सेनि किसानलाई प्राविधिक तालिम, उन्नत बीउबिजन, मल, सिँचाइ सुविधा, प्लास्टिक टनेल निर्माणका लागि अनुदान र बजार व्यवस्थापनमा सहजीकरण गर्दै आएको उनले जानकारी दिए ।


    अहिले गाउँमै रोजगारी सृजना हुने क्रम बढिरहेको छ । वैदेशिक रोजगारीमा गएका युवाहरू पनि कृषि पेसामै फर्कन थालेका छन् । स्वदेशमै बसेर आफ्नै माटोमै पसिना बगाएर राम्रै आम्दानी गर्न सकिन्छ भन्ने चेतना अहिले गाउँगाउँमा फैलिएको छ । अनियमित वर्षा, अत्यधिक गर्मी, असिना वर्षालगायत कारणले बाली नष्ट हुने, रोगकीरा बढ्ने र समग्र उत्पादन घट्नेजस्ता समस्याका कारण कहिलेकाहीँ किसान निरास हुनुपरेको छ । तर मौसम अनुकूल बालीको छनोट, प्लास्टिक टनेल, ड्रिप सिँचाइ प्रणालीलगायत प्रविधिको प्रयोग बढाउन सक्दा तरकारीखेतीबाट किसानले राम्रो आम्दानी गर्न सक्ने नगरप्रमुख कार्कीको भनाइ छ ।

  • तीन सातामा दुई हजार सात सय पर्यटक हुम्ला भित्रिए

    तीन सातामा दुई हजार सात सय पर्यटक हुम्ला भित्रिए

    सिमकोट (हुम्ला), २४ जेठः हुम्ला हुँदै हिन्दूहरूको पवित्र तीर्थस्थल मानसरोवर र कैलाश दर्शन गर्न जाने विदेशी तीर्थयात्री बढेका छन् । पछिल्ला केही दिनयता कैलाश मानसरोवर दर्शन गर्न जाने भारतीय धार्मिक पर्यटकको आगमन बढ्दै गएको छ । हुम्लाको हिल्सानाका गत वैशाख पहिलो सातादेखि सञ्चालनमा आएको भए पनि वैशाख ३० गतेदेखि विदेशी पर्यटक हुम्ला आउन सुरु गरेका प्रमुख जिल्ला अधिकारी टेकराज रेग्मीले बताए । वैशाखमा सुनासान देखिएको सिमकोट विमानस्थलमा जेठ पहिलो सातादेखि विदेशी पर्यटकको आगमन बढेको उनले बताए ।


    गत वैशाख ३० गतेदेखि जेठ महिनाको २३ गतेसम्म नेपालगन्ज भएर हुम्ला हुँदै मानसरोवर कैलाश दर्शन गर्न जाने भारतीय तथा अन्य देशका दुई हजार ७४७ पर्यटक हुम्ला भित्रिएका छन् । वैशाख महिनामा ५५ महिला र ५९ पुरुष पर्यटक जिल्ला पुगेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शङ्कर खड्काले बताए ।

    जेठमा मात्रै मानसरोवर कैलाश दर्शन गर्ने पर्यटकको सङ्ख्या एक्कासी बढेको छ । यस महिनामा एक हजार २९२ महिला र एक हजार ३४० पुरुष गरी दुई हजार ६३२ विदेशी पर्यटक मानसरोवर कैलाश दर्शनका लागि पुगेका थिए । नाका सञ्चालनमा आएपछि मानसरोवर कैलाश दर्शन गर्न आउने विदेशी पर्यटकको सङ्ख्या अझै बढ्ने अपेक्षा गरिएको छ ।

    कैलाश मानसरोवर दर्शनका लागि हुम्लाको बाटो छोटो पर्ने भएकाले पछिल्लो समय सिमकोट विमानस्थलमा भारतीय यात्रुको चाप देखिन थालेको छ । चीनले हिल्सा नाकालाई हुम्लावासीसहित भारतीय पर्यटकका लागि खुला गरेपछि धार्मिक पर्यटकको सङ्ख्या वृद्धि भएको सिमकोट विमानस्थलमा कार्यरत दीपेन्द्र भण्डारीले बताए । उनले भने, “कैलाश मानसरोवरको दर्शन गर्न हुम्लामा कोरोना सङ्क्रमणपछिकै यो ठूलो सङ्ख्या हो, भारतीय पर्यटक आउने क्रम बढेको छ ।”

    उनका अनुसार मौसम अनुकूल भएको अवस्थामा दैनिक पाँचदेखि दशवटासम्म नेपालगन्जबाट यहाँ उडान हुने गरेको छ । सीता, समिट र तारा एयरले उडान भर्दै आएका छन् । सिमकोट विमानस्थलबाट हिल्साका लागि विभिन्न हेलिकोप्टरले समेत पर्यटकलाई सेवा दिइरहेका छन् ।

    भारतीय पर्यटक हुम्ला हुँदै कैलाश मानसरोवर दर्शन गर्न जाने हुँदा यहाँका नागरिकले रोजगारी पाउनुका साथै सदरमुकाम सिमकोटसहित हिल्सा नाकामा रहेका होटल सञ्चालकले मनग्य आम्दानी गरिरहेका हुम्ला उद्योग वाणिज्य सङ्घका अध्यक्ष रामबहादुर भण्डारीले बताए । उनका अनुसार होटल व्यवसायीमात्रै नभएर यहाँका अन्यले पनि रोजगारी पाएका छन् । सदरमुकाम सिमकोटसहित हिल्साका होटल पर्यटकले भरिभराउ छन् ।

    सिमकोट र नाम्खा गाउँपालिकाले हुम्ला पुगेका विदेशी पर्यटकबाट शुल्कसमेत उठाउँदै आएको छ । भारतीय पर्यटकलाई प्रतिव्यक्ति रु एक हजार शुल्क उठाउँदै आएको छ । जेठ, असार र साउन महिना कैलाश मानसरोवर दर्शन गर्ने उपयुक्त समय हो ।

  • बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा

    बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा

    खोटाङ, २४ जेठः बाढीका कारण अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा आएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–८ बुवालुङस्थित पङ्खुखोलामा आएको भीषण बाढीले उक्त सडक अवरुद्ध बनेको थियो । मध्यपहाडी लोकमार्गमा पर्ने दिक्तेल–चखेवाभञ्ज्याङ सडक यही जेठ २२ गते वर्षापछि आएको भीषण बाढीले अवरुद्ध बनेको थियो । उक्त सडक दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, नेपाली सेनाको रणभीम गण मुडे ब्यारेक, जिल्ला प्रहरी कार्यालय खोटाङ र स्थानीयवासीले सञ्चालनमा ल्याएका हुन् ।

    पङ्खुखोलामा आएको बाढीले अवरुद्ध सडक खुलेपछि भोजपुरबाट दिक्तेल हुँदै काठमाडौँ र काठमाडौँबाट दिक्तेल हुँदै भोजपुरतर्फ जाने बस, जिप, मोटरसाइकललगायत सवारीसाधन सञ्चालनमा आएका जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक निराजन बस्नेतले जानकारी दिए ।
    पङ्खुखोलाभन्दा माथिबाट आएको लेदोसहितको बाढीले करिब २५ मिटर सडक अवरुद्ध बनाएको थियो ।

    पङ्खुखोलामा २०७३ सालमै मोटरेबल पक्की पुल निर्माण गरेर सञ्चालनमा ल्याउनेगरी निर्माण कम्पनीले काम थालेको थियो । कालोपत्रको काम सम्पन्न भएको लामो समयसम्म पनि ठेकेदारको लापरवाहीका कारण पुल निर्माण नहुँदा खोलाबाटै यातायातका सवारीसाधन वारपार गर्नुपर्ने बाध्यता छ ।