Category: फिचर

  • नेपालमा एकै दिन साढे ५ लाखसम्मले लगाए कोरोना खोप

    नेपालमा एकै दिन साढे ५ लाखसम्मले लगाए कोरोना खोप

    काठमाडौं । नेपालमा खोप अभियानले तीब्रता पाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोभिड १९ विरुद्धको खोप अभियानलाई तीव्र बनाएसँगै दैनिक खोप लगाउने मानिसको संख्यामा समेत वृद्धि भएको छ । मन्त्रालयको सोमबारको तथ्यांक अनुसार एकैदिन ५ लाखभन्दा बढी मानिसले खोप लगाएका छन् । दैनिक खोप लगाएको मानिसको यो संख्या अहिलेसम्मकै बढी हो ।

    पछिल्लो २४ घन्टामा ५ लाख ६८ हजार ३१९ जनाले कोरोना खोप लगाएका छन् । दैनिक २ लाख जनालाई खोप लगाउने लक्ष्य मन्त्रालयको हो । मन्त्रालयको तथ्यांक अनुसार नेपालमा अहिलेसम्म लक्षित जनसंख्याको ६८.१ प्रतिशतले कम्तीमा एक मात्रा र ५१ प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेका छन् ।

  • नेपालमा थप २७१ जनामा कोरोना पुष्टी, २२५ जना संक्रमण मुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २७१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार १५७ जनाको पीसीआर परीक्षण गर्दा २५१ जना र १ हजार ७२९ जनाको एन्टिजेन परीक्षण गर्दा २० गरी २७१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख २७ हजार ५२२ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा २२५ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ८ लाख ११ हजार ५ पुगेको छ । संक्रिय संक्रमितको संख्या ४ हजार ९३१ रहेको छ ।

    पछिल्लो २४ घण्टामा मृत्यु हुने संक्रमितको संख्या १ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ५८६ पुगेको छ ।

  • नेपाली शेयर बजारमा उच्च अंकको गिरावट, यी हुन् धेरै मूल्य घट्ने १५ कम्पनी

    नेपाली शेयर बजारमा उच्च अंकको गिरावट, यी हुन् धेरै मूल्य घट्ने १५ कम्पनी

    काठमाडौं । केही दिन लगातार बढेको शेयर बजार साताको कारोबारको दोस्रो दिन उच्च अंकले घटेको छ ।

    सोमवार शेयर बजार मापक सूचक नेप्से ६९.७७ अंकले घटेर २५२१.६५ विन्दुमा झरेको छ ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार २३८ कम्पनीको ५ अर्ब ६० करोड ७४ लाख ३९ हजार ६७० रुपैयाँ बराबरको १ करोड २ लाख ९२ हजार २२६ कित्ता शेयर किनबेच भएका छन् ।

    आज कारोबारमा आएका १३ वटै समूहका परिसूचक राताम्मे भएका छन् । । धेरै गुमाउने निर्जीवन बीमाका लगानीकर्ता रहेका छन् ।

    बैंकिङ समूहको शेयर २७ अङ्कले, विकास बैंकको एक सय ७३, होटलको ४२, फाइनान्सको ९०, माइक्रोफाइनान्सको ७० र जलविद्युत् समूहको शेयर १०८ ले घटेको छ ।

    यस्तै उत्पादन समूहको शेयर १६६ अङ्कले, जीवन बीमा समूहको २९० अङ्कले, निर्जीवन बीमा समूहको ६१८ घटेको छ । र अन्य समूहको शेयर ९३ अङ्कले घटेको छ ।

    नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।

    शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीहरुमा गोर्खाज फाइनान्स र मध्यभोटेकोशी जलविद्युत कम्पनी रहेका छन् । यी कम्पनीको शेयरमूल्य आज सर्किट लेभलमा बढेका छन् ।

    त्यस्तै, आज जोशी हाइड्रो र घलेम्दी हाइड्रो कम्पनीको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । आज यसको शेयरमूल्य ८ प्रतिशत भन्दा बढीले घटेको छ ।

    सानिमा जनरल र जानकी फाइनान्स ७.१७, गुडविल फाइनान्स, पाँचथर पावर, नेपाल फाइनान्स, नेशनल हाइड्रो, युनाइटेड इदी मार्दी, शिवश्री, हाइड्रो, नेपाल इन्स्योरेन्स, अजोड इन्स्योरेन्स, मल्टिप्रपोज फाइनान्स, आँखुखोला र एभरेष्ट इन्स्योरेन्सको मूल्य ६ प्रतिशतभन्दा धेरैले घटेको छ ।

    यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार नबिल बैंकको भएको छ । यस कम्पनीको आज ३० करोड ६० लाख भन्दा बढीको कारोबार भएको छ । शिवम् सिमेन्टको २६ करोड ३७ लाख, नेपाल लाइफको २१ करोडको कारोबार भएको छ ।

  • विदेश जाँदै हुनुहुन्छ ? यी ठाउँमा लगाउनुहोस् कोरोना विरुद्धको खोप

    विदेश जाँदै हुनुहुन्छ ? यी ठाउँमा लगाउनुहोस् कोरोना विरुद्धको खोप

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश जानेहरुका लागि उपत्यकाका चार वटा अस्पतालमा कोरोना विरुद्धको खोप लगाइने जनाएको छ ।

    मन्त्रालयले एक सूचना जारी गर्दै विदेश जानेको लागि छाउनीको वीरेन्द्र सैनिक अस्पताल, महाराजगञ्जको नेपाल प्रहरी अस्पताल, बलम्बुको सशस्त्र प्रहरी अस्पताल र टेकुको शहीद शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा निःशुल्क खोप लगाउन पाउने जनाएको हो ।

    चारै अस्पतालमा जोन्सन एन्ड जोन्सन खोप लगाइनेछ। यो खोप एक डोज लगाए पुग्छ। खोप लगाउन पासपोर्ट र भिसा देखाउनुपर्नेछ।

    साथै खोप लगाउन जाँदा अनिवार्य रुपमा आफ्नो पासपोर्ट र भिसा लिएर जानु पर्ने समेत मन्त्रालयले जनाएको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार, अहिलेसम्म दुई करोड ३१ लाख ७१ हजार ९७७ डोज खोप लगाइसकिएको छ। जसमा एक करोड ३१ लाख ७५ हजार ५९७ जनाले पहिलो डोज र ९९ लाख ९६ हजार ३८० जनाले पूर्ण खोप लगाइसकेका छन्।

    देशभर खोप अभियान सञ्चालन भइरहेको छ। विभिन्न उमेर समूहसँगै १२ देखि १७ वर्षसम्मका बालबालिकालाई फाइजर र मोडर्ना खोप लगाउन थालिएको छ। विद्यार्थीलाई विद्यालयमै खोप लगाउन थालिएको छ।

  • माओवादी महाधिवेशन : प्रचण्डद्वारा राजनीतिक प्रतिवेदन पेश

    माओवादी महाधिवेशन : प्रचण्डद्वारा राजनीतिक प्रतिवेदन पेश

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) को जारी आठौं महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीति प्रतिवेदन पेश गरेका छन् ।

    कमलादीस्थित प्रज्ञा भवनमा जारी महाधिवेशनमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरेका हुन् । बन्द सत्रमा नेपाली विशेषतासहितको समाजवादी मोडलको राजनीतिक प्रतिवेदन पेश गरिएको हो ।

    अध्यक्ष प्रचण्डले विभिन्न सात बुँदामा ‘एक्काइसौँ शताब्दीमा समाजवादको नेपाली बाटो, ऐतिहासिक आठौँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत प्रतिवेदन’ शीर्षकको राजनीतिक प्रतिवेदन पेश गरेका हुन् ।

    स्थायी समिति सदस्य देवप्रसाद गुरुङले विधान संशोधन प्रस्ताव पेश गर्ने कार्यक्रम रहेको छ । बन्द सत्रमा राजनीतिक प्रतिवेदन र विधान पेश भइसकेपछि समूहमा छलफल हुनेछ ।

    अध्यक्ष प्रचण्ड र नेता गुरुङको विधान संशोधन प्रस्तावमाथि समूहगत छलफल गर्नका लागि संयोजक र सहसंयोजकको व्यवस्था गरिनेछ । समूहका संयोजकले आफ्नो समूहमा उठेका विषयलाई बन्द सत्रको हलमा प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ ।

    ती प्रतिवेदन पारित गरेपछि नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु हुनेछ । त्यसका लागि विष्णुपुकार श्रेष्ठ अध्यक्ष रहेको निर्वाचन आयोगले पनि आवश्यक काम सुरु गरिसकेको छ ।

    जारी महाधिवेशनले १५ पदाधिकारीसहित २९९ जना केन्द्रीय सदस्य चयन गर्नेछ । आइतबारबाट सुरु भएको सो महाधिवेशन १५ पुससम्म चल्नेछ ।

    बन्दसत्रका लागि सात सदस्यीय अध्यक्ष मण्डल गठन गरिएको छ। मण्डलमा कृष्णबहादुर महरा‚ गिरिराजमणि पोखरेल‚ गणेश साह‚ परशुराम तामाङ‚ पर्शुराम रम्तेल‚ पूर्णा सुवेदी र रुपा महर्जन श्रेष्ठ रहेका छन्।

    बन्दशत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन, विधानलगायतका अन्य प्रतिवेदन पेश हुनेछ। विचारको महाविधेशनको रुपमा चित्रण गरेको माओवादीको बन्दशत्रमा कुल एक हजार ६३१ जना प्रतिनिधि तथा पर्यवेक्षक सहभागी हुनेछन्।

  • अमेरिकालाई तालिवानको चेतावनी: आन्तरिक मामलामा दख्खल नदेउ

    अमेरिकालाई तालिवानको चेतावनी: आन्तरिक मामलामा दख्खल नदेउ

    काबुल । तालिबान सरकारले अफगानिस्तानको आन्तरिक मामलामा दख्खल नगर्न अमेरिकालाई चेतावनी दिएको छ । तालिवान सरकारका विदेशी राजनीतिक मामलाका उपमन्त्री शेर मोहम्मद अब्बास स्टानिकजईले अमेरिकालाई यस्तो चेतावनी दिएका हुन् । अफगानिस्तान एक स्वतन्त्र मुलुक भएको भन्दै उाले मुलुकको आन्तरिक मामलामा हस्तक्षेप नगर्न अमेरिकालाई चेतावनी दिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले लेखेका छन् ।

    आइतबार एक सभामा उनले अमेरिकी सेनाले बगराम एयरफिल्ड छाडेको सन्दर्भ निकाल्दै अमेरिकी सेना रातको अध्यारोमा भागेको समेत बताए । अफगानिस्ताले पछिल्लो चार दशकमा उपभोग गर्न नसकेको स्वतन्त्रता पछिल्लो चार महिनायता गरिरहेको समेत उनको भनाई छ ।

    पछिल्लो ४० वर्षको युद्धमा तालिवान कमजोर नभएको भन्दै उनले आवश्यक परे अर्को ४० वर्ष समेत लड्ने सक्ने क्षमता रहेको चेतावनी उनले दिएका हुन् । यसैबीच अफगानिस्तानले महिलाका लागि नयाँ नियम कार्यान्वयनमा ल्याएको छ । जहाँ लामो दूरीमा कुनै पनि महिला अब एक्लै यात्रा गर्न पाउने छैनन् । उनको साथमा पुरुष हुनु अनिवार्य हुने छ ।

  • सोलु खोला दूधकोशी हाइड्रोपावरमा पाइप पड्कियो, दुई कामदारको मृत्यु

    सोलु खोला दूधकोशी हाइड्रोपावरमा पाइप पड्कियो, दुई कामदारको मृत्यु

    सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका ३ पन्चनस्थित ८६ मेगावाटको सोलु खोला दूधकोशी हाइड्रोपावरमा पाइप पड्किँदा दुई जना कामदारको मृत्यु भएको छ । घटनामा एक जना घाइते भएको प्रहरीले जनाएको छ । स्थानीय संचारमाध्यमहरुका अनुसार घटना आइतबार दिउँसो ३ बजेतिर भएको हो ।

    फलामको पाइपमा पानी हालेर परीक्षण गर्ने क्रममा पाइप पड्किएको हो । घटनामा हाइड्रोपावरमा काम गर्ने अछामका २६ वर्षका सुवास राज रेग्मी र काभ्रेका २९ वर्षका अर्जुन थापाको ज्यान गएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहीलाई उदृत गर्दै संचारमाध्यमले जनाएका छन् । घाइते एक जनालाई हेलिकप्टरबाट उपचारका लागि काठमाडौं पठाइएको छ ।

  • विद्यालय तहको सबै कक्षामा पास हुन न्यूनतम ३५ प्रतिशत अंक अनिवार्य

    विद्यालय तहको सबै कक्षामा पास हुन न्यूनतम ३५ प्रतिशत अंक अनिवार्य

    काठमाडौं । नेपालमा विद्यालय तह (कक्षा १ देखि १२ सम्म)का सबै कक्षामा अब ग्रेडिङ प्रणाली लागु हुने भएको छ । नयाँ प्रणाली अनुसार कुनै पनि विषयको परीक्षामा न्यूनतम ३५ प्रतिशत अंक प्राप्त गरेपछि मात्र विद्यार्थी उत्तिर्णं हुने छ । शिक्षा मन्त्रालयले विद्यालय शिक्षाको लेटर ग्रेडिङ निर्देशिका २०७८ मा यस्तो व्यवस्था गरेको हो ।

    पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को बैठकले अक्षरांकन पद्धति कार्यान्वयन कार्यविधि २०७२ खारेज गर्दै राष्ट्रिय पाठ्यक्रम पारूप २०७६ अनुरूप नयाँ लेटर ग्रेडिङ निर्देशिका लागू गरेको हो । परिष्दको अध्यक्ष शिक्षामन्त्री देवेन्द्र पौडेल छन् । अब कुनै पनि विषयको सैद्धान्तिक परीक्षामा कम्तीमा ३५ प्रतिशत र प्रयोगात्मकतर्फ ४० प्रतिशत अंक प्राप्त गर्नुपर्ने छ ।

    सैद्धान्तिक परीक्षामा ३५ प्रतिशत अंक प्राप्त नगरे ग्रेडसिटमा ‘नट ग्रेडिङ’ (एनजी) उल्लेख हुने छ । त्यस्तो विद्यार्थीले माथिल्लो कक्षामा भर्ना हुन नपाउने गरि मापदण्ड तय भएको छ । ३ पटकसम्म ग्रेडवृद्धि परीक्षाको अवसर मिल्ने छ । यसअघि सैद्धान्तिकतर्फको अंकमा प्रयोगात्मक अंक जोडेर मात्र विद्यार्थीको ग्रेडिङ गरिन्थ्यो ।

    ९ वटा तहमा विद्यार्थीको ग्रेडिङलाई वर्गीकरण हुन्थ्यो । तर अब ७ वटा तहमा मात्रै विद्यार्थीको ग्रेडिङ हुने छ । यसअघि प्रयोगात्मकको नम्बर जोडेर ३२ प्रतिशत अंक ल्याउने विद्यार्थीले पनि माथिल्लो कक्षामा पढ्न पाउँथे । एनजी तहमा परेका विद्यार्थीले माथिल्लो कक्षामा भर्ना हुन नपाए पनि प्राविधिक टी–एसईई अध्ययनबाट भने वञ्चित हुने छैनन् ।

    लेटर ग्रेडिङ प्रणालीअनुसार ९० र त्यसभन्दा माथिको प्रतिशत ल्याउने विद्यार्थीको नतिजालाई सर्वोत्तम (ए प्लस) मानिनेछ । ८० र त्यसभन्दा माथि ९० भन्दा कम प्रतिशत उपलब्धि हासिल गरे ग्रेडसिटमा अत्युत्तम (ए) उल्लेख गरिनेछ ।

    ७० माथि ८० भन्दा कमलाई उत्कृष्ट (बी प्लस), ६० माथि ७० भन्दा कमलाई उत्तम (बी), ५० माथि ६० भन्दा कमलाई सन्तोषजनक (सी प्लस) ४० र त्यसभन्दा माथि ५० भन्दा कमलाई ग्राह्य (सी) र ३५ माथि ४० भन्दा कमलाई आधारभूत (डी) को मान्यता दिइनेछ । चालु शैक्षिक सत्रदेखि नै नयाँ निर्देशिकाअनुसार विद्यार्थीको मूल्यांकन गरिने भएको छ ।

  • ओमिक्रोन बढेपछि भारतको राजधानी दिल्लीमा आजबाट रात्रिकालिन कर्फ्यू

    ओमिक्रोन बढेपछि भारतको राजधानी दिल्लीमा आजबाट रात्रिकालिन कर्फ्यू

    नयाँ दिल्ली । भारतमा बढ्दो कोभिड संक्रमण नियन्त्रणका लागि पुनः कर्फ्यू आदेश जारी भएको छ । राजधानी नयाँ दिल्लीमा आजबाट रात्रिकालीन कर्फ्यू शूरु भएको हो । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका कारण संक्रमितहरुको संख्या बढेपछि राज्य सरकारले सोमबारबाटै लागू हुने गरी राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यू लगाएको हो । भारतको उत्तर प्रदेश र हरियाणाले समेत शनिबारदेखि नै रात्रीकालिन कर्फ्यू शुरु गरिसकेका छन् । उत्तर प्रदेश र नयाँ दिल्लीमा कोरोना बढ्दा त्यसको असर नेपालमा पनि पर्छ ।


    कर्फ्यू लागेसँगै अत्यावश्यक सेवाहरू प्रभावित नहुने र स्वास्थ्य सुरक्षालाई ध्यान दिइने राज्य सरकारको घोषणा छ । राति ११ बजेपछि बजार, पसल, तथा मानिसको आवतजावतमा पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ । अन्य समयमा मास्क लगाएर हिँड्ने तथा सामाजिक दूरी कायम गरी स्वास्थ्य सतर्कता अपनाउनु पर्नेछ । दिल्लीमा आइतबार कोरोनाका थप २९० संक्रमित भेटिएका छन्। भारतमा पछिल्लो २४ घन्टामा ७ हजारमा जना कोभिड संक्रमित भेटिएका छन्। उनीहरुमध्ये ५२९ जनामा नयाँ भेरियन्ट ओमिक्रोन देखिएको छ ।

  • आजबाट माओवादी केन्द्रको बन्दसत्र

    आजबाट माओवादी केन्द्रको बन्दसत्र

    काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनमा आजबाट बन्दसत्र सुरु हुनेछ । काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा महाधिवेशन जारी छ । बिहान ११ बजेदेखि बन्दसत्र सुरु हुने कार्यतालिका रहेको छ । आइतबार प्रज्ञा भवनमै माओवादीको महाधिवेशनको उदघाटन समारोह सम्पन्न भएको हा । आजको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदन, विधानलगायतका प्रतिवेदनहरु पेस गर्ने कार्यक्रम छ ।

    प्रतिवेदनहरुमा समूहगत छलफल हुने छ । समूहगत छलफलका लागि महाधिवेशन प्रतिनिधिहरुलाई २० भन्दा बढी समूहमा बिभाजन गरिने भएको छ । माओवादीको आइतबार बिहान बसेको केन्द्रीय समितिको बैठकले पारित गरेको विधानमा १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति बनाउने प्रस्ताव छ ।

    एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक जना कोषाध्यक्ष रहने प्रस्तावलाई महाधिवेशनले अनुमोदन गर्नेछ । राजनीतिक र विधान पारित भएपछि नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढ्नेछ ।

  • माओवादी कमजोर हुनुको कारणबारे आत्मसमीक्षा हुन्छ : प्रचण्ड

    माओवादी कमजोर हुनुको कारणबारे आत्मसमीक्षा हुन्छ : प्रचण्ड

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी कमजोर हुनुको कारणबारे आत्ममीक्षा हुने बताएका छन् । आइतबारबाट राजधानीमा शुरु ८ औं महआधिवेशन तथा राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यसमा अरुलाई आरोपित नगरेर आफैंलाई चिरफार गरिने बताएका हुन् । प्रचण्डले शान्ति प्रक्रियामा आएपछि आफूहरु कहाँ चुक्यौँ भन्ने कुराको आत्मसमीक्षा महाधिवेशनमा प्रस्तुत हुने प्रतिवेदनमा हुने बताए ।

    ‘हामी शान्ति प्रक्रियमा आएपछि कहाँकहाँ चुक्यौँ, विचार, संरचनाको क्षेत्रमा रणनीतिक कुरामा कहाँ कहाँ चुक्यौँ । यो प्रस्तावमा सबैभन्दा बढी आत्मसमीक्षा मैले मेरो गरेको छु’, उनले भने ।

    जनयुद्धको तयारी र नेतृत्व गर्ने अवसर आफुलाई जुटेको भन्दै शान्ति प्रक्रिया, संविधान निर्माणको अवसर मिलेको समेत उनले स्मरण गरे । त्यसकारण माओवादी कमजोर हुनुमा मैले अरुलाई आरोपित गरेर हुँदैन । ‘मैले आफैंलाई चिरफार गरेको छु,’ उनले भने ।

    प्रचण्डले आफ्नो दस्तावेजमा सच्चा कम्युनिष्टको आन्दोलनलाई अगाडि बढाउने कुरा समेटेको समेत समारोहमा जानकारी गराए । उनले महाधिवेशनमा विज्ञान र प्रविधिको प्रभावको समीक्षा गरेको समेत बताए । यो देशका उत्पीडितको हक र हितका लागि के गर्न सकिन्छ भन्ने नयाँ कार्यनीति र रणनीति प्रस्तुत गरिएको उनले जानकारी गराए ।

  • तीन घण्टा माओवादीको महाधिवेशन उद्घाटनमा बसेका देउवाले यसरी गरे प्रचण्डको प्रशंसा

    तीन घण्टा माओवादीको महाधिवेशन उद्घाटनमा बसेका देउवाले यसरी गरे प्रचण्डको प्रशंसा

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आइतबार नेकपा माओवादी केन्द्रको महाधिवेशन तथा राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रमा करीप ३ घण्टा बसे । आफुभन्दा अगाडीका सबै वक्ताको भाषण सुनेका उनले प्रचण्ड भन्दा अगाडी अन्तिम दोस्रो वक्ताका रुपमा भोषण गरे । सो क्रममा उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको खुलेर प्रसंशा गरे ।

    प्रचण्डको जोडबलमा नेपालमा संविधानसभा निर्वाचन भएको र सोही निर्वाचनमा टेकेरै मुलुकमा गणतन्त्र, संघीयता, समानुपातिक समावेशी संविधान बनेको उनको भनाई छ । प्रचण्डकैं कारण २००७ सालदेखि देखेको सपना नेपालमा पुरा भएको समेत उनले उल्लेख गरे ।

    ‘नेपालको राजनीतिमा प्रचण्डको ठूलो योगदान छ, उनले भने ‘उहाँको बलले संविधानसभामा हामीहरु गएका हौं । पुष्पकमलजीकै अगुवाइमा संविधानसभाको चुनाव भएर संविधानसभाबाट संविधान बनेको छ ।’

    संविधान बनाउन समेत प्रचण्डको सबैभन्दा महत्वपूर्ण योगदान भएको विषय सबैले मान्नुपर्ने उनको भनाई छ । फरक प्रसंगमा उनले ठबन्धन कसैको बर्खिलापमा नबनेको भन्दै शंका नगर्न अनुरोध गरे । अहिलेको गठबन्धन कसैको विरुद्धमा बनेको होइन भन्दै उनले अहिलेको संविधानबाट संसद्‍ बीचमा भंग नहोस् । संविधान अनुसार संसद चलोस् भन्ने पुनित लक्ष्यका साथ बनेको उल्लेख गरे ।

  • माओवादीको महाधिवेशनमा पुगेर प्रधानमन्त्रीले भने : एमसीसी नेपालको हितमा छ

    माओवादीको महाधिवेशनमा पुगेर प्रधानमन्त्रीले भने : एमसीसी नेपालको हितमा छ

    काठमाडौं । नेकपा माओवादी केन्द्र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) हुबहु सम्झौता गर्न नहुने पक्षमा छ । सोही पार्टीको महाधिवेशन तथा राष्ट्रिय सम्मेलनको उद्घाटनका अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले भने एमसीसी नेपालको हितमा रहेको बताए ।

    देउवाले एमसीसी राष्ट्रघाती भन्नेहरुले नपढी त्यसो भनेको समेत बताए । ‘राष्ट्रघाती भन्नेले पढ्या छ कि छैन, त्यो पनि थाहा छैन । पहिले पढ्नुपर्‍यो एमसीसी, कहाँ छ राष्ट्रघात ? मैले त कहीं देखेको छैन’ उनले भने ।

    ‘म नेपालको प्रधानमन्त्री हुँ । नेपाल राष्ट्रको खिलाफमा जाउँला ?’ उनको प्रश्न थियो । आफु प्रजातन्त्रका लागि लडेको मान्छे भएको भन्दै उनले राष्ट्रघात नगर्ने उल्लेख गरे । कांग्रेस सभापति समेत रहेका देउवाले एमसीसीबारे सत्तारुढ दलहरुबीच छलफल भइरहेको उल्लेख गरे । वर्ल्ड बैंक, एडीबीबाट ऋण लिँदा अन्तर्राष्ट्रिय कानून लागू हुने भन्दै उनले एमसीसी सित्तैं आएको समेत उल्लेख गरे ।

  • नेपालमा थप २१९ जनामा कोरोना पुष्टी, २८३ जना संक्रमण मुक्त

    नेपालमा थप २१९ जनामा कोरोना पुष्टी, २८३ जना संक्रमण मुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २१९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार १८० जनाको पीसीआर परीक्षण गर्दा २१३ जना र २ हजार ४९७ जनाको एन्टिजेन परीक्षण गर्दा ६ गरी २१९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख २७ हजार २७१ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा २८३ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ८ लाख १० हजार ७८० पुगेको छ । संक्रिय संक्रमितको संख्या ४ हजार ९०६ रहेको छ ।

    पछिल्लो २४ घण्टामा मृत्यु हुने संक्रमितको संख्या २ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ५८५ पुगेको छ ।

  • विद्युत् चुहावट नियन्त्रणमा कुलमानको कमाल, चुहावट रोक्दा डेढ अर्ब बढी नाफा हुने

    विद्युत् चुहावट नियन्त्रणमा कुलमानको कमाल, चुहावट रोक्दा डेढ अर्ब बढी नाफा हुने

    काठमाडौं । पछिल्लो एक वर्षमा विद्युत्‌ चुहावट करिब तीन प्रतिशतले घटेको छ ।

    नेपाल विद्युत् प्राधिकरणको तथ्यांकअनुसार २०७७ कात्तिकसम्म १२.०१ प्रतिशतको विद्युत् चुहावट रहेकोमा २०७८ कात्तिकसम्ममा ९.२४ प्रतिशतमा झरेको हो ।

    १ प्रतिशतमात्रै चुहावट घटाउँदा नेपाल विद्युत् प्राधिकरणलाई झण्डै ७० करोड रुपैयाँ बराबरको मुनाफा हुन जान्छ ।

    स्थानीय प्रशासनले पनि चुहावट नियन्त्रणमा सहयोग गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नियमितरुपमा बिजुलीको खपत बढाउने अभियानसँगै चुहावट नियन्त्रणमा समेत लागि परेका हुन् ।

    प्राधिकरणले चालु आव २०७८/७९ को पहिलो चार महिनामा प्रणालीमा रहेको विद्युत् चुहावटलाई घटाएर १४.३५ प्रतिशतमा सीमित गरेको छ । यसबाट गुणात्मक प्रतिफल हासिल भएको प्राधिकरणको दाबी छ । गत वर्षको कात्तिकसम्म वितरणतर्फको चुहावट १२.०१ प्रतिशत थियो । गत आवको चार महिनाको तुलनामा यस वर्ष वितरणतर्फको चुहावट २.७७ प्रतिशत बिन्दुले कम हो ।

    प्राधिकरणले चालू आवमा विद्युत् चुहावट १५.५ प्रतिशतमा झार्ने लक्ष्य राखेको छ । पहिलो चार महिनामै लक्ष्यभन्दा कम चुहावट रहेकाले आवको बाँकी अवधिमा लक्ष्य पूरा हुने देखिएको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले जानकारी दिए ।

    आव २०७२/७३ मा २५.७८ प्रतिशत विद्युत् चुहावटलाई घटाएर प्राधिकरणले आव २०७६/७७ मा १५.२५ प्रतिशतमा झारेको थियो ।

    आव २०७७/७८ मा चुहावट १.९१ प्रतिशत बिन्दुले बढेर १७.१८ प्रतिशत पुगेको थियो । कार्यकारी निर्देशक घिसिङले चुहावट नियन्त्रण अभियान प्रभावकारीरुपमा चलाइएको, सबस्टेसनको क्षमता वृद्धि गर्ने, कन्डक्टर थप्ने, ओभरलोड ट्रान्सफर्मर फेर्ने, थ्रि फेज मिटरको प्रयोगलाई प्रोत्साहन गर्नेलगायत कदमको परिणाम चुहावट नियन्त्रणमा देखिएको बताए ।

    चुहावट धेरै घटाउनेमा प्रदेश १ को कार्यालय पनि रहेको छ । गत वर्षसम्म प्रदेश १ बाट १७.८५ प्रतिशत चुहावट भएकोमा अहिले भने १०.५२ प्रतिशतमा झारेको छ ।

    चालू वर्षको पहिलो चार महिनामै लक्ष्यभन्दा कम चुहावट रहेकाले आवको बाँकी अवधिमा लक्ष्य पूरा हुने देखिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

    आर्थिक वर्ष २०७२/७३ मा २५.७८ प्रतिशत विद्युत चुहावटलाई घटाएर प्राधिकरणले आव २०७६/७७मा १५.२५प्रतिशतमा झारेको थियो । तर, आव २०७७/७८मा चुहावट १.९१ प्रतिशत विन्दुले बढेर १७.१८ प्रतिशत पुगेको थियो ।

  • बीमा कम्पनी चम्किँदा नेपाली सेयर बजारमा उछाल

    बीमा कम्पनी चम्किँदा नेपाली सेयर बजारमा उछाल

    काठमाडौं । सेयर बजारमा लगातार उछाल आएको छ । गत मंगलबारदेखि उकालो लागेको बजार निरन्तर उच्च अंकले बढेको हो । पछिल्ला ४ दिनमै नेप्से २३० अंकले बढेको छ ।

    सूचकसँगै कारोबार रकममा पनि बढोत्तरी आएको छ । गतसाता औसतमा ४ अर्बको कारोबार हुँदै आएकोमा आज बढेर झन्डै सवा ५ अर्ब पुगेको छ ।

    सेयर बजार मापक सूचक नेप्से ७१.२० अंकले बढेर २५९१.४३ विन्दुमा पुगेको छ । आज २३१ कम्पनीको ५ अर्ब १७ करोड ३२ लाख ५०३ रुपैयाँ बराबरको ८६ लाख १ हजार ९५६ कित्ता सेयर किनबेच भएका छन् ।

    आज कारोबारमा आएका १३ वटा समूहमध्ये हाइड्रोपावर र फाइनान्स बाहेक बाँकी सबै समूहको परिसूचकमा हरियाली छाएको छ । बीमा कम्पनीको सेयरमा मूल्यमा उछाल आएको छ । जीवन बीमा समूह सबैभन्दा धेरै ९.७८ प्रतिशतले बढेको छ भने निर्जीवन बीमा समूह ८.१७ प्रतिशतले बढेको छ ।

    आज कारोबार भएका २३१ कम्पनीमध्ये १५३ कम्पनीको सेयर मूल्य बढेको छ भने ६७ कम्पनीको घटेको छ । ११ कम्प्नीको मूल्य भने स्थिर रहेको छ ।

    उच्च अंकले बढेको बजारमा आज दुई दर्जन कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । सर्किट लाग्नेमा अधिकांश बीमा कम्पनीहरु रहेका छन् ।

    आज नेशनल लाइफ, युनियन लाइफ, एभरेष्ट इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स, प्रभु, प्रडेन्सियल, लुम्बिनी जनरल, एशियन लाइफ, प्राइम लाइफ, गुँरास लाइफ, रिलायन्स, प्रभु लाइफ, ज्योति लाइफ, सानिमा लाइफ इन्स्योरेन्स र मध्यभोटेकोशी जलविद्युत्को सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

    त्यसैगरी, जनलर इन्स्योरेन्स, सूर्य लाइफ, एलएलजी इन्स्योरेन्स, नेपाल लाइफ, नेपाल इन्स्योरेन्स, शिवम् सिमेन्ट, बोटलर्स नेपाल, किसान लघुवित्त, नेको इन्स्योरेन्स र कालिका लघुवित्तका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

    बढ्दो बजारमा आज गोर्खा फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै ५.५७ प्रतिशत गुमाएका छन् ।

  • गेष्ट हाउसमा बास-पशुपतिमा पाकेटमार काम

    गेष्ट हाउसमा बास-पशुपतिमा पाकेटमार काम

    काठमाडौं । पशुपतिनाथ मन्दिर परिसरमा पाकेटमार गर्ने एक महिलासहित दुई जना पक्राउ परेका छन् । गेष्ट हाउसमा बसेर पशुपतिनाथ मन्दिर परिसरमा पकेटमार धन्दा धलाइरहेका उनीहरलाई प्रहरीले शनिबार पक्राउ गरेको हो । प्रहरीले सार्वजसिनक गरेको विवरण अनुसार २६ वर्षका गोपाल अग्रवाल र १८ वर्षकी मुस्कान गुप्तालाई प्रहरीले पक्राउ गरेको छ।

    उनीहरू भारतीय नागरिक हुन्। पक्राउ परेकाहरूसँग सोधपुछ गर्दा यसअघि मनकामना र पोखरालगायत ठाउँमा बसेर पनि पाकेटमार गर्ने गरेको खुलेको छ । पशुपतिनाथ परिसरभित्र पाकेटमार गर्ने र जयबागेश्वरीस्थित सित्तला गेस्ट हाउसमा बस्ने गरेको समेत प्रहरीले जनाएको छ ।

    गेष्ट हाउसको कोठाबाट विभिन्न ब्राण्डका मोबाइललगायत सामान बरामद भएको छ । प्रहरीले उनीहरूलाई थप अनुसन्धानका लागि गौशाला प्रहरीमा राखेको समेत जनाएको छ । उनीहरूको साथबाट आइफोनसहित ५ थान मोबाइल र ४२ हजार ४२ हजार नगद समेत बरामद भएको छ ।

  • ग्रीसमा आप्रवासी शरणार्थी चढेको डुङ्गा डुब्दा कम्तिमा १६ को मृत्यु

    ग्रीसमा आप्रवासी शरणार्थी चढेको डुङ्गा डुब्दा कम्तिमा १६ को मृत्यु

    काठमाडौं । ग्रीसमा आप्रवासी शरणार्थी चढेको डुङ्गा डुब्दा कम्तिमा १६ जनाको मृत्यु भएको अन्र्तारष्ट्रिय संचारमाधयमले जनाएका छन् । सामुद्रिक टापु पारोस नजिकै आप्रवासी शरणार्थी चढेको डुङ्गा डुबेको हो । बीबीसीका अनुसार ज्यान गुमाउनेमा १२ पुरुष, तीन महिला र एक शिशु समेत छन् । मध्य एसियन सागरमा चार दिनको अन्तरमा आप्रवासी शरणार्थीहरू दुर्घटनामा परेको यो तेस्रो घटना हो । टर्कीबाट इटली गइरहेको डुङ्गामा ८० जना चढेका थिए ।

    एसियन सागर मुख्य गरी ग्रीस, अफ्रिका र मध्यपूर्वका शरणार्थी र आप्रवासीहरूका लागि युरोपेली सङ्घमा जाने मुख्य मार्गमध्येको एक मानिन्छ । गत बिहीवार र बुधवार पनि डुङ्गा डुबेको विवरण आएको छ । सन् २०२१ मा मात्रै ग्रीसले एक हजार ४ सय ५० खोज तथा उद्धार अभियानमार्फत २९ हजार भन्दा बढी मानिसको उद्धार गरेको थियो । पछिल्लो समय यूरोपका विभिन्न मुलुक छिर्न शरणार्थीहरुले ग्रीसको बाटो उपयोग गर्ने गरेका छन् । यस्तो काममा संगठित मानव तस्कर समूहहरु नै सक्रिय हुने गरेका छन् ।

  • राष्ट्रिय सभा निर्वाचनका लागि १२ वटा दलले गरे दल दर्ता

    राष्ट्रिय सभा निर्वाचनका लागि १२ वटा दलले गरे दल दर्ता

    काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रयोजनका लागि १२ वटा राजनीतिक दलहरुले दल दर्ता गराएका छन् । निर्वाचन आयोगका अनुसार शनिबारसम्म दल दर्ताको समय दिइएको थियो । आयोगले पुस १२ बाट निर्वाचन प्रक्रिया थाल्दैछ । शुक्रबार आठ र शनिबार चार वटा दलले दल दर्ता गराएका हुन् । नेपाली काँग्रेस र राप्रपा लगायतका दलले ढिला गरि दल दर्ता गरेका हुन् ।

    दल दर्ता गराउने पार्टीमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, नेकपा एमाले, नेपाल लोकतान्त्रिक पार्टी, जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाली काँग्रेस, नेपाल परिवार दल गरी नौ वटा दलले सातै प्रदेशको राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गराएका छन् । नेपाल मजदुर किसान पार्टीले बागमती प्रदेशको राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मात्रै दल दर्ता गराएको छ ।

    लोकतान्त्रिक समाजवादी पार्टी नेपालले प्रदेश २ र सुदूरपश्चिम प्रदेशका लागि र इतिहासिक प्रजातान्त्रिक जनता पार्टी नेपालले प्रदेश २ को राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दल दर्ता गरेको छ । राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सांसद, स्थानीय निकायका प्रमुख, उपप्रमुख र नगरपालिकाका अध्यक्ष र उपाध्यक्षले भोट हाल्न पाउने प्रावधान छ । आयोगमा १ सय ३ दल दर्ता भएकोमा १२ वटा दलले निर्वाचन प्रक्रियाका लागि दल दर्ता गराएको हुन् ।

  • माओवादी केन्द्रको ८ औं महाधिवेशन तथा राष्ट्रिय सम्मेलन आजबाट

    माओवादी केन्द्रको ८ औं महाधिवेशन तथा राष्ट्रिय सम्मेलन आजबाट

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)को राष्ट्रिय सम्मेलन तथा ८ औं महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । सम्मेलन कमलादीस्थित प्रज्ञा भवनमा आइतबार दिउँसो १ बजे उद्घाटन हुने कार्यक्रम छ । शुरुमा राष्ट्रिय सम्मेलन भनेको माओवादीले यसलाई ८औं महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय गरेको हो । शनिबार बसेको स्थायी समिति बैठकले महाधिवेशनमा रुपान्तरण गर्ने प्रस्ताव गरेको हो ।

    उक्त प्रस्तावलाई आजै बस्ने केन्द्रीय समितिको बैठकले अनुमोदन गर्नेछ । सम्मेलनमा १६ सय भन्दा बढी प्रतिनिधीले भाग लिँदैछन् । उनीहरु काठमाडौं आइसकेका छन् । १४८३ नियमित क्रियाबाट छानिएका र १० प्रतिशत अर्थात १४८ जना मनोनीत प्रतिनिधि सहभागी हुनेछन् ।

    आयोजक समितिबाट १७९, सल्लाहकारबाट १४९, ज्येष्ठ कम्युनिष्ट मञ्चबाट १२५, केन्द्रीय विभागबाट १०२, केन्द्रीय प्रतिनिधि २७ र प्रदेश प्रतिनिधिबाट ८०३ राष्ट्रिय सम्मेलनमा प्रतिनिधि चयन भएका छन् । सम्मेलनबाट १५ सदस्यीय पदाधिकारीसहित १९९ सदस्यीय नयाँ नेतृत्व पनि चयन हुनेछ । हालसम्म अध्यक्षमा पुष्पकमल दाहाललाई टक्कर दिने अर्को नेतृत्व खडा भइसकेको छैन । उपाध्यक्ष, महासचिव र सचिवलगायतका पदमा भने निर्वाचनको सम्भावना छ ।

  • नेपालमा १६७ जनामा कोरोना पुष्टि, २२६ संक्रमण मुक्त

    नेपालमा १६७ जनामा कोरोना पुष्टि, २२६ संक्रमण मुक्त

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार ४,२८३ पीसीआर परीक्षणमा १५७ जना र २,१६४ एन्टिजेन परीक्षणमा १० जना गरी १६७ जनामा संक्रमण पुष्टि भएको हो ।

    यस अवधिमा कोरोना संक्रमणका कारण १ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणमुक्त हुनेको संख्या २२६ रहेको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४,९७८ रहेको छ । संक्रमितमध्ये काठमाडौं जिल्लाका ६८, ललितपुरका २६ र भक्तपुरका ४ जना रहेको तथ्यांक छ ।

  • कांग्रेसको नयाँ केन्द्रिय कार्यसमिति बैठकले के निर्णय गर्यो ?

    कांग्रेसको नयाँ केन्द्रिय कार्यसमिति बैठकले के निर्णय गर्यो ?

    काठमाडौं । कांग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक आज बसेको छ । केन्द्रीय निर्वाचन समितिबाट प्रमाण पत्र बुझेपछि पार्टी कार्यालय सानेपामा कार्यसमिति बैठक बसेको बसेको हो । बैठकले महाधिवेशनपछिको अवस्थामा पार्टीमा सुदृढ एकता कायम गरेर अगाढि बढाउने संकल्प गरेको महामन्त्री गगन थापाले जानकारी गराए । बैठकले पार्टी महाधिवेशनलाई सम्पन्न गराउन भूमिका खेल्ने सबैलाई धन्यवाद दिने निर्णय गरेको छ ।

    साथै राष्ट्रिय सभा सदस्यको निर्वाचनमा पार्टीका उम्मेदवारका लागि सभापति शेरबहादुर देउवाको हस्ताक्षर प्रयोग गर्ने र निर्वाचन आयोगमा पार्टीको दर्ता अद्यावधिक गर्ने र राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गर्न मुख्यसचिव कृष्णप्रसाद पौडेललाई जिम्मेवारी दिने निर्णय समेत गरेको छ । १४ औं महाधिवेशनबाट कांग्रेसमा १३४ सदस्यीय केन्द्रीय कार्यसमिति चयन भएको छ ।

  • ओलीले भने : चुनावसम्मै संसद अवरुद्ध गर्छौं

    ओलीले भने : चुनावसम्मै संसद अवरुद्ध गर्छौं

    विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा जारी अवरोध चुनावसम्मै कायम रहने बताएका छन् । एमालेले कारवाही गरेका सांसदलाई सभामुखले कारवाही नगरेको विरोधमा एमालले संसदमा अवरोध जारी राखेको छ । संसदमा एमालेको अवरोध चुनावसम्मै रहने ओलीले शनिबार विराटनगरमा पत्रकारसँगको कुराकानीमा बताए ।

    आफूहरूले पार्टीबाट निकालेका मान्छेलाई राखेर सरकारले बोलाएको सर्वदलीय बैठकमा आफूहरू नजाने उनको भानाई छ । यस्तो भनाई माधव नेपालप्रति लक्षित गरि आएको हो । उनले चुनाव छिटो गर्नुपर्ने भन्दै त्यसपछि एमालेको सरकार आउने दावि समेत गरे । चुनावले अन्य पार्टीलाई धोवीपाट लगाउने र एमालेको सत्ता आउने उनको दावि छ । एमसीसीबारे प्रतिक्रिया दिँदै उनले सरकारले अहिलेसम्म एमसीसी बारे नीति ल्याउनै नसकेको समेत बताए ।

  • आइतबारबाट माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन, कमजोरीको आत्मसमिक्षा गर्ने प्रचण्डको भनाई

    आइतबारबाट माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन, कमजोरीको आत्मसमिक्षा गर्ने प्रचण्डको भनाई

    काठमाडौं । नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन आइतबारबाट काठमाडौंमा शुरु हुने छ । सिद्धान्नतः महाधिवेशन भन्न मिल्ने यो सम्मेलनबाट माओवादी केन्द्रले आगामी कार्यदिशा तय गर्नेछ । तर, नेतृत्वमा भने ठूलो फेरबदलको सम्भावना छैन । राष्ट्रिय सम्मेलनको पूर्वसुन्ध्यामा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धदेखि खुला राजनीतिसम्म कहाँ त्रुटी भयो भन्ने विषयमा गम्भीर आत्मसमीक्षा हुने बताएका छन् ।

    यसको शुरुवात आफुबाटै गरेको उनको भनाई छ । पार्टीको राष्ट्रिय सम्मेलनमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गर्ने छन् । सोही दस्तावेजबाटै गल्तीहरुको समिक्षा गरिने उनले बताए ।

    प्रेस सेन्टर र क्रान्तिकारी पत्रकार संगठनको एकता घोषणा कार्यक्रममा शनिबार उनले जनयुद्धदेखि हालसम्म पार्टीले धेरै टुटफुट व्यहोरेको भन्दै यो स्थिति किन आयो भन्ने विषयमा मूल नेतृत्वबाट आत्मसमीक्षा गरिने उल्लेख गरे । यसले सबैलाई एक ठाउँमा आउने स्थिति बन्ने उनको भनाई छ ।

    शनिबार नै सम्पादकहरुसँगको अन्तरक्रियामा प्रचण्डले एमालले निरन्तर संसद अवरुद्ध गरेर वतर्मान संसदलाई असफल बनाउन खोजिरहेको बताए । यसका लागि ओलीको घरमै पुगेर छलफल गर्न आफुले प्रधानमन्त्रीसँग आग्रह गरेको समेत उनले जानकारी दिए ।

  • आफुलाई भोट नदिनेको समेत भावनाको कदर गर्ने कांग्रेस सभापति देउवाको प्रतिवद्धता

    आफुलाई भोट नदिनेको समेत भावनाको कदर गर्ने कांग्रेस सभापति देउवाको प्रतिवद्धता

    काठमाडौं । प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टीमा सबैको प्रतिनिधित्व हुने बताएका छन् । उृनले आफुलाई भोट नदिएको समेत भावनाको कदर गरेर काम गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् । ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा १४ औं महाधिवेशनबाट नवनिर्वाचित कार्यसमितिलाई प्रमाणपत्र वितरण कार्यक्रममा प्रधानमन्त्री देउवाले ३३ प्रतिशत महिला, आदिवासी जनजातिलगायत सबै नेपालीलाई आत्मसात गर्दै पार्टी अगाडि बढ्ने बताए ।

    ‘म सबैको सभापति हुँ । सबैको भावनाको कदर गर्दै पार्टी अगाडि बढाउँछु’, उनले भने । आजै पार्टीमा निर्वाचित केन्द्रिय सदस्य तथा पदाधिकारीलाई प्रमाणपत्र वितरण गरिएको छ ।, कार्यक्रममा सभापतिमा पराजित शेखर कोइरालाले विचारमा आफ्नो जित भएको बताए ।

  • १४ वैशाखमा स्थानीय तहको निर्वाचन गर्न निर्वाचन आयोगको प्रस्ताव

    १४ वैशाखमा स्थानीय तहको निर्वाचन गर्न निर्वाचन आयोगको प्रस्ताव

    काठमाडौं । निर्वाचन आयोगले आगामी बैशाख १४ मा स्थानीय तहको निर्वाचन देशभर एकैपटक गर्न सरकार समक्ष प्रस्ताव गरेको छ । शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलमा निर्वाचन आयोगले उक्त मितिमा चुनाब गराउन प्रस्ताव गरेको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले छलफलमा एकैदिन निर्वाचन गर्न सम्भव नभएमा पहिलो चरण बैशाख १४ गते बुधबार र दोस्रो चरण बैशाख २२ गते बिहीबारका दिन गर्न प्रस्ताव गरिएको बताएका छन् ।

    जवाफमा प्रधानमन्त्री देउवाले दलहरुसँगको छलफलपछि आयोगको प्रस्तावलाई अगाडि बढाउने जानकारी गराए । प्रधानमन्त्री निबास बालुवाटारमा शुक्रबार भएको छलफलमा आयोगले आफ्नो गतिविधिबारे प्रधानमन्त्री तथा मन्त्रीपरिषद्का अन्य सदस्यहरुलाई जानकारी गराएको छ । स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ४ ले निर्वाचन आयोगले सिफारिश गरेको मितिमा सरकारले स्थानीय तहको निर्वाचनको मिति तोक्ने ब्यवस्था गरेको छ ।

    कानुनी ब्यवस्थाबारे छलफलपछि प्रधानमन्त्री देउवाले आयोगको सिफारिशमा सरकारले मिति तोक्न सहमत भएका हुन् । प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन एकै चरणमा एकै दिन गर्दा उपयुक्त हुने धारणा राखेका थिए । संविधानको धारा २२५ ले पदाधिकारीको कार्यकाल सकिएको छ महिनाभित्र निर्वाचन गर्नुपर्ने ब्यवस्था गरेको छ । स्थानीय तहका पदाधिकारीको कार्यकाल जेठ ५ मा सकिदैछ ।

  • आज क्रिसमस डे, इसाई धर्मावलम्बीले विश्वभर मनाउँदै

    आज क्रिसमस डे, इसाई धर्मावलम्बीले विश्वभर मनाउँदै

    काठमाडौं । इसाइ (क्रिश्चियन) धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको अवसर पारी आज विश्वभर ‘क्रिसमस डे’ मनाइँदैछ । आजभन्दा दुई हजार २१ वर्षअघि डिसेम्बर २५ तारिखमा येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मिएका येशु ख्रीष्टले मुक्ति, प्रेम र शान्ति दिएको विश्वास क्रिश्चियन समुदायमा छ ।

    मानिसलाई प्रेम गरेर आएकाले प्रेम दिवस, शान्ति स्थापना गर्न आएकाले शान्ति दिवस र मुक्ति दिन आएकाले मुक्ति दिवसका रूपमा आजको दिनलाई मनाउने गरिएको छ । विश्वका धेरै मानिसले मनाउने क्रिसमस डे नेपालमा भने विसं २०६३ पछि महोत्सवकै रुपमा मनाउन थालिएको हो । यस वर्ष सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

  • नेपाली कांग्रेसको नयाँ कार्यसमितिको बैठक आज बस्दै

    नेपाली कांग्रेसको नयाँ कार्यसमितिको बैठक आज बस्दै

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ । नवनिर्वाचित सभापति शेरबहादुर देउवाले आज दिउँसो १ बजेका लागि बैठक बोलाएका छन् । नयाँ कार्यसमिति निर्वाचित भएपछि आज पहिलो बैठक बस्न लागेको छ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको छ । आजै बिहान ११ बजेदेखि निर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई ‘निर्वाचित भएको प्रमाण पत्र’ वितरण गरिने छ ।

    मङ्सिर २४ देखि २८ गतेसम्म काठमाडौँमा सम्पन्न महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट केन्द्रीय कार्यसमितिका १३४ पदाधिकारी र सदस्य निर्वाचित भएका छन् । कांग्रेसको नयाँ विधानअनुसार यस महाधिवेशनबाट केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्री पदका लागि निर्वाचन भएको थियो ।

    कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने प्रावधान छ । केन्द्रीय सदस्यहरुमध्ये ३५ खुला, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासीरजनजाति १५, खसरआर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन तथा पिछडिएको क्षेत्र, अल्पसङ्ख्यक र अपाङ्गताबाट एक\एक केन्द्रीय सदस्य गरी कुल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचित भएका छन् ।

  • एसएसपी यादवले किन रोजे आत्महत्याको बाटो ?

    एसएसपी यादवले किन रोजे आत्महत्याको बाटो ?

    भैरहवा । वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सन्तोषकुमार यादवले आत्महत्या गरेका छन् । उनलाई संघीय इकाई कार्यालय भैरहवाको सरकारी आवासमै झुण्डिएको अवस्थामा शुक्रबार मृत फेला पारिएको हो । प्रहरीले उनले आत्महत्या गरेको पुष्टी गरेको छ । संगठनले यसबारे अनुसन्धान थालेको समेत जनाएको छ । उनी सोही कार्यालयमा कार्यरत थिए ।

    २०४९ सालमा सेवा प्रवेश गरेका यादव ५५ वर्षे उमेर हदका कारण आगामी माघ १५ मा अनिवार्य अवकाश पाउँदै थिए । यस अवस्थामा उनले रोजेको आत्महत्याको बाटोले प्रहरी प्रशासनतर्फ भने अनेक प्रश्न सोझिएका छन् । स्थानीय संचारमाध्यमले भने प्रहरी प्रधान कार्यालयले उनीमाथि कारवाहीको तयारी गरिरहेको सार्वजनिक गरेका छन् । अपहरण तथा शरीर बन्धक मुद्दाका अभियुक्तलाई उन्मुक्ति दिएको अभियोग उनी सहित २० जना प्रहरी अधिकृतमाथि लागेको सरकारी संचारमाध्यम गोरखापत्रले लेखेको छ।

    केही संचारमाध्यमले भने बढुवामा निकै हेपिएका उनी केही दिनदेखि निरास रहेको लेखेका छन् । उनी केही दिन अगाडी बेहोस भई ढलेको र डाक्टरले डिप्रसनको औषधी दिएको समेत संचारमाध्यमहरुले स्रोतलाई उदृत गर्दै लेखेका छन् । आजै उनकी धर्मपत्नीले सत्यको जित हुने भन्दै फेसबुक स्टाटस लेखेकी थिइन् ।

  • गुगललाई उछिन्दै टिकटक बन्यो लोकप्रिय साइट

    गुगललाई उछिन्दै टिकटक बन्यो लोकप्रिय साइट

    काठमाडौं । गुगललाई जित्दै टिकटक सबैभन्दा धेरै प्रयोग गरिने अनलाइन साइट बनेको छ । भाइरल भिडिओ एपले अब अमेरिकी सर्च इन्जिन गुगलले भन्दा बढी हिट पाउन थालेको अन्तर्राष्ट्रिय संचारमाध्यमले लेखेका छन् । प्रयोगकर्ता अब गुगलमा भन्दा धेरै समय टिकटकमा रमाउन थालेका छन्। सूचनाप्रविधि सुरक्षासम्बन्धी एक कम्पनी क्लाउड फ्लेअरले यस्तो विवरण सार्वजनिक गरेको छ ।

    इन्टरनेटका वेबसाइटहरूको नयाँ वरियता सूचीमा यो वर्षको फेब्रुअरी, मार्च र जुन महिनामा नै टिकटकले गुगललाई शीर्ष स्थानबाट हटाएको थियो । त्यसपछि अगस्ट महिनायता टिकटक नम्बर एक स्थानमा रहेको छ । गत वर्ष गुगल पहिलो स्थानमा र टिकटक, एमजन, एपल, फेसबुक, माइक्रोसफ्ट र नेटफ्लिक्स लगायतका साइट प्रथम दशमा थिए ।

    क्लाउड फ्लेअरका अनुसार वेबसाइटमा जाने ट्राफिकको निगरानी गर्ने उसको उपकरण क्लाउड फ्लेअर रेडारको प्रयोग गरेर डेटा अनुगमन गरेको हो । टिकटकको लोकप्रियताका पछाडि कोभिड महामारी सहायक रहेको अनुमान गरिएको बीबीसीले लेखेको छ ।

    यो वर्षको जुलाई महिनासम्ममा टिकटक एप तीन अर्बभन्दा बढी पटक डाउनलोड भएको अर्को डेटा कम्पनी सेन्सर टावरले जनाएको छ। बाइटडान्स नामको चिनियाँ कम्पनीको स्वामित्व रहेको सामाजिक सञ्जालको वेबसाइट टिकटकको हाल संसारभरि एक अर्बभन्दा बढी सक्रिय प्रयोगकर्ताहरू छन् र त्यो सङख्या बढ्दो क्रममा रहेको ठानिएको छ।