Category: फिचर

  • नेपालमा थप ९२७१ जनामा संक्रमण पुष्टी, एकैदिन १३९ जना कोरोना संक्रमितको मृत्यु

    नेपालमा थप ९२७१ जनामा संक्रमण पुष्टी, एकैदिन १३९ जना कोरोना संक्रमितको मृत्यु


    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ हजार २७१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ६२३ पीसीआर र ७८८ एन्टिजेन परीक्षणमा गरि ९ हजार २७१ जनामा कोेरोना पुष्टि भएको छ ।

    यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ३ हजार ७९४ जना पुगेको छ । पछिल्लो २४ घण्टामा ४००७ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

    यो सहित संक्रमण मुक्त हुनेको संख्या ३ लाख ६ हजार ७९४ जना पुगेको छ ।१३९ जना संक्रमितको मृत्यु भएको छ ।

    योसँगै मृत्यु हुनेको संख्या ३८५९ पुगेको छ। संक्रिय संक्रमितको संख्या ९३ हजार १४१ रहेको छ ।

  • प्रतिनिधि सभाको विशेष अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस

    प्रतिनिधि सभाको विशेष अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस

    काठमाडौं । मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभाको विशेष अधिवेशन अन्त्यको सिफारिस गरेको छ ।

    सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको काम चलाउ सरकारको मन्त्रिपरिषद बैठकले अधिवेशन अन्त्य गर्न सिफारिस गरेको हो।

    विश्वासको मत लिने प्रयोजनका लागि अधिवेशन बोलाइएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नपाएसँगै अधिवेशन अनत्यको सिफारिस गरेका हुन् ।

  • प्रधानमन्त्री ओली पदमुक्त, विश्वासको मत पाऊँ भन्ने प्रस्ताव बहुमतले अस्वीकृत

    प्रधानमन्त्री ओली पदमुक्त, विश्वासको मत पाऊँ भन्ने प्रस्ताव बहुमतले अस्वीकृत

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिन असफल भएका छन् ।

    विश्वासको मत लिने प्रस्ताव संसदबाट बहुमतले अस्वीकृत भएको छ । संसादमा जम्मा उपस्थित संख्या २३२ जना रहेको थियो।

    पक्षमा ९३ मत मात्र पाएका छन्। विपक्षमा १२४ मत र प्रस्तावको मत दिन्न भन्नेमा १५ मत परेको छ। विश्वासको मत नपाएसँगै प्रधानमन्त्री ओली स्वतः पदमुक्त भएका छन् ।

    विश्वासको पक्षमा मतदान गर्ने ह्वीप जारी गरे पनि एमालेका २८ सांसद अनुपस्थित भएका थिए।

  • ‘संसद विघटन नचाहेको भए विश्वासको मत दिनुस्,भिरबाट हाम फालेर गुरुत्वाकर्षणलाई दोष दिने ?’

    ‘संसद विघटन नचाहेको भए विश्वासको मत दिनुस्,भिरबाट हाम फालेर गुरुत्वाकर्षणलाई दोष दिने ?’

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन हुनसक्ने डर भएको भए विश्वासको मत दिन आग्रह गरेका छन् ।

    सोमबार प्रतिनिधि सभामा विश्वासको मत माग्दै प्रस्तुत गरेको प्रस्तावमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै उनले उक्त आग्रह गरेका हुन्।

    ओलीले आफूलाई विश्वासको मत दिए संसद जोगिने बताएका छन्। ओलीले भने, ‘संसद विघटन होला भन्ने चिन्ता छ, मत दिनुहोस् न कसरी हुन्छ ? आफैं विश्वासको मत नदिएर विघटनतिर लैजाने ?’

    ‘उनले मुद्दा लडेर फिर्ता ल्याएको संसद् बचाउनका लागि आफूलाई भोट दिन आग्रह गरे।

    ओलीले ढिलोमा पनि अबको डेढ वर्षमा चुनाव हुने बताउँदै चुनाव हुँदैमा लोकतन्त्र खतरामा नपर्ने बताए। ‘चुनाव हुँदा लोकतन्त्र खतरामा पर्दैन,’ उनको भनाइ छ, ‘बोरिस जोनसोनले अस्ति चुनाव गराउनु भयो। बेलायतमा लोकतन्त्र खतारमा परेन।’

    ओलीले भिरबाट हाम फालेर गुरुत्वाकर्षणलाई दोष नदिन आग्रह गरे। उनले सरकारले असाध्यै राम्रो काम गरेको जिकिर गरे। सरकारलाई काम गरेन भनेहरुले पाप धर्मको ख्याल गर्न अनुरोध समेत गरे।

  • दिवेश अमेरिकन आइडलकाे टप ७ बाटै बाहिरिए

    दिवेश अमेरिकन आइडलकाे टप ७ बाटै बाहिरिए

    काठमाडौं । नेपाली युवा दिवेश पोखरेल (अर्थर गन) अमेरिकन आइडलको टप ७ बाटै बाहिरिएका छन् ।

    सोमबार बिहान सार्वजनिक भएको भोटिङको नतिजाबाट उनी टप ७ बाटै बाहिरिएका हुन्। अमेरिकन आइडलको १८ औं संकरणको उनि उपविजेता बनेका थिए।

    गतवर्षका १० प्रतिस्पर्धीलाई अमेरिकन आइडलले दोस्रो मौका दिएको छ। उनले पनि सोही अभिप्रायका साथ यस सिजनमा सहभागि जनाएका थिए ।

    सन् १९९७ मा जन्मेका पोखरेल कन्सास राज्यको विचिटामा परिवारसँग बस्छन्।

    उनी ७ वर्षअघि अमेरिका गएका हुन्। काठमाडौंको एस कलेज इन्स्टिच्युटमा व्यवस्थापनमा प्लस टु उत्तीर्ण गरेपछि उनी अमेरिका गएका थिए।

  • उपत्यकामा थप १५ दिन निषेधाज्ञा थप्न सिफारिस

    उपत्यकामा थप १५ दिन निषेधाज्ञा थप्न सिफारिस

    दुई सातादेखि जारी उपत्यकाको निषेधाज्ञा १५ दिन थप्न सिफारिस
    काठमाडौं । काठमाडौं उपत्यकामा दुई सातादेखि जारी निषेधाज्ञा थप १५ दिन थप्न सिफारिस गरिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी), काठमाडौंले उपत्यकामा थप १५ दिन निषेधाज्ञा गर्न सिफारिस गरेको हो ।

    डीसीसीएमसीले सोमबार काठमाडौंका मयेरहरुसँग छलफल गरी थप १५ दिन निषेधाज्ञा थप गर्न सिफारिस गरेको हो ।

    डीसीसीएमसीको सिफारिस कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) मा पठाएर निर्णय हुनेछ । यसका लागि भोलि मंगलबार काठमाडौं, भुक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्नेछ ।
    उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरिएको थियो भने पछिल्लो पटक थपिएको अवधि २९ गते सकिँदैछ ।

  • नेपाली शेयर बजारमा दोहोरो अंकको कमब्याक, कारोबार रकममा ठूलो गिरावट

    नेपाली शेयर बजारमा दोहोरो अंकको कमब्याक, कारोबार रकममा ठूलो गिरावट

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले बढेको छ । सोमबार शेयर बजार मापक सूचक नेप्से २७.४१ अंकले बढेर २६४५.८५ विन्दुमा पुगेको छ ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार आज २१८ कम्पनीको ४ अर्ब २० करोड ३८ लाख ३२ हजार ७८८ रुपैयाँ बराबरको ७५ लाख ७९ हजार ३ कित्ता शेयर किनबेच भएका छन् ।

    आइतबार कम्पनीको ६ अर्ब १४ करोड ८९ लाख ६६ हजार ७७२ रुपैयाँ बराबरको कारोबार भएको थियो । कारोबारमा आएका १३ वटै समूहको परिसूचकमा हरियाली छाएको छ ।

    निर्जीवन बीमा समूह सबैभन्दा धेरै ३४६.०३ अंकले बढेको छ । कारोबारमा आएका २१८ कम्पनीमध्ये १५७ कम्पनीको शेयर मूल्य बढेको छ भने ३० कम्पनीको घटेको छ । ३२ कम्पनीको मूल्य स्थिर रहेको छ ।

    आज नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । यसको २७ करोड ४ लाख रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा अपर तामाकोशी १९ करोड र एचआइडीसीएल १८ करोडको कारोबार सहित शीर्ष तीनमा रहे ।

    दोहोरो अंकले बढेको बजारमा आज ३ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । राष्टिय बीमा कम्पनीको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ भने समता घरेलु लघुवित्त र रुरु जलविद्युत्को शेयर मूल्य १० प्रतिशत कमाएका छन् ।

  • ‘म राष्ट्रिय समस्या हुँ कि तपाईं राष्ट्रिय समस्या हो, बहस गरौँ’ पुष्पकमल दाहाल

    ‘म राष्ट्रिय समस्या हुँ कि तपाईं राष्ट्रिय समस्या हो, बहस गरौँ’ पुष्पकमल दाहाल

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय समस्या हो कि आफू नै हो बहस गर्न चुनौती दिएका छन् ।

    सोमबार प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुअघि प्रतिनिधि सभामा बोल्दै दाहालले यस्तो बताएका हुन् ।

    उनले ओलीसँग प्रचण्ड राष्ट्रिय समस्या हो भन्ने प्रमाणित गर्ने तर्क, तथ्य नभएको बताए ।

    त्यस्तै बाम गठबन्धनको एकतापछि हाम्रो सपना डे वान देखि नै तपाईले तुहाउने काम गर्नुभयो, पार्टी अध्यक्षको हैसियतले, पूर्वप्रधानमन्त्रीको हैसियतले पार्टीभित्र बहस गरेँ तर तपाईले पार्टीको विषयलाई लिएर संसद विघटन गर्ने ?’, उनले भने ।

    ‘देशको संविधानमाथि संकट, राष्ट्रिय स्वाधिनतामाथि, लोकतान्त्रिक पद्दतिमा, कम्युनिस्ट आन्दोलनमा संकट कसको कारणले आयो ? प्रधानमन्त्रीजी छातिमा हात राखेर भन्न सक्नुहुन्छ ? राष्ट्रिय समस्या म हो कि तपाई हो ? बहस गर्न म तयार छु ।’

  • एसईई र कक्षा १२ को परीक्षा स्थगित

    एसईई र कक्षा १२ को परीक्षा स्थगित

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले एसईई र कक्षा १२ को परीक्षा स्थगित गरेको छ ।

    बोर्डको सोमबार बसेको भर्चुअल बैठकले जेठ १३ गतेबाट सञ्चालन हुने एसईई र जेठ २६ गतेबाट हुने कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

    एसईईका लागि ५ लाख १७ हजार विद्यार्थी तयारीमा छन् । जेठ २६ बाट हुने कक्षा १२ को परीक्षामा करिब ४ लाख परीक्षार्थी कक्षा १२ मा छन् ।

    यसवर्ष कक्षा १२ को हकमा अनलाइनबाट प्रश्नपत्र पठाउने व्यवस्था गरिएको छ । गतवर्ष पनि कोरोना महामारीकाबीच अनलाइनबाटै प्रश्नपत्र पठाएर घरपायक परीक्षा केन्द्रमा परीक्षा सञ्चालन गरिएको थियो ।

    यो वर्ष इन्टरनेट सुविधा पुगेका निश्चित परीक्षा केन्द्रमा मात्रै प्रश्नपत्र पठाएर परीक्षा लिने तयारी छ । गतवर्ष पनि कोरोना महामारीका कारण एसईईका परीक्षार्थीलाई विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनका आधारमा बोर्डले नतिजा दिएको थियो ।

  • तत्काल राजीनामा नदिने, संसदमा पनि उपस्थित नहुने नेपाल समूहको निर्णय

    तत्काल राजीनामा नदिने, संसदमा पनि उपस्थित नहुने नेपाल समूहको निर्णय

    काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपाल पक्षका सांसदहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने भएका छन्।

    राजीनामा दिन संसद सचिवालय सिंहदरबारमा पुगेको माधव नेपाल समूहले तत्काल राजीनामा नदिने र संसद बैठकमा पनि उपस्थित नहुने निर्णय गरेको उक्त समूहका नेता भीम रावलले जानकारी दिए।

    कति जना सांसद प्रतिनिधि सभा बैठकमा आज अनुपस्थित हुन्छन् भन्नेबारे नेता रावलले खुलाउन चाहेनन्। सांसदबाटै सामूहिक राजीनामा दिने निर्णयबाट नेपाल–खनाल समूह पछि हटेको छ ।

    सोमबार दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिन लागेका हुन्।

    यस क्रममा उनले बहुमत ल्याए प्रधानमन्त्री पदमा निरन्तरता पाउँछन् भने बहुमत ल्याउन सकेनन् भने प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्छ। त्यसपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु हुन्छ।

    सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी केन्द्र ब्यूँतिएर माओवादी केन्द्रले औपचारिक रुपमा समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा छ।

  • अल्टिमेटम अवधिमा टसमस भएनन् ओली, प्रतिक्षा माधव समूहको निर्णयको

    अल्टिमेटम अवधिमा टसमस भएनन् ओली, प्रतिक्षा माधव समूहको निर्णयको

    काठमाडौं । पार्टी एकता कायम राख्न एमालेमा माधव नेपाल समूहले दिएको अल्टिमेटमको अवधि घर्किएको छ । सोमबार बिहान ९ बजेसम्मको अल्टिमेटम एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिइएको थियो । शर्तसहितको अल्टिमेटमबारे ओली टसमस भएनन् । उल्टो धम्कीपूर्ण विज्ञप्ती जारी गरेसँगै आक्रोसित बनेको नेपाल समुहले कठो निर्णय लिने चेतावनी दिइसकेको छ ।

    समूहको बैठक अहिले केही बरेमा बस्दैछ । कुनै चमत्कार नभए यो समूहका प्रतिनिधिसभातर्फका सांसदले राजिनामा दिनेछन् । यो प्रधानमन्त्री ओलीको बर्हिगमनका लागि पर्याप्त हुनेछ । नेपाल पक्षीय सांसद सिंहदरवारमा भेला हुन शुरु गरेका छन् । आजै प्रतिनिधिसभाको विशेष बैठक बस्दैछ । त्यसअगाडी नै माधव नेपाल समूहको निर्णय निर्णायक बन्नेछ ।

  • अमेरिकाको सबैभन्दा ठूलो इन्धन पाइपलाइनमा साइबर हमला, आपतकाल घोषणा

    अमेरिकाको सबैभन्दा ठूलो इन्धन पाइपलाइनमा साइबर हमला, आपतकाल घोषणा

    न्यूयोर्क । अमेरिकाको सबैभन्दा ठूलो इन्धन पाइपलाइन कोलोनियलमा र्‍यान्समवेअर साइबर हमला भएको छ । बीबीसीका अनुसार साइबर हमलासँगै स्थानीय सरकारले आपतकाल घोषणा गरेको छ। साइबर हमलाकारीको समूहले शुक्रवार त्यस्तो हमला गरेको हो । अहिले सेवा सुरु गराउने प्रयास जारी रहेको समेत समाचारमा उल्लेख छ ।

    कोलोनियल पाइपलाइनले प्रतिदिन २५ लाख ब्यारेल इन्धन आपूर्ति गर्छ । इस्ट कोस्टको निम्ति डिजेल, ग्यासोलिन तथा जेट इन्धनको सम्पूर्ण आपूर्तिको यो ४५ प्रतिशत हो। शुक्रवार साइबर हमलाकारीले यस पाइपलाइनको सेवा रोकिदिएका थिए । विज्ञहरूका अनुसार सोमवार इन्धनको मूल्य २.३ प्रतिशतले बढ्न सक्नेछ । तर यदि प्रभाव लामो समय रह्यो भने मूल्यमा असर पनि धेरै पर्ने बीबीसीले लेखेको छ ।

    विभिन्न सूत्रहरूले उक्त र्‍यान्समवेअर हमला डार्कसाइड नामक साइबर आपराधिक समूहले गराएको पुष्टि गरेका छन्। सो समूहले बिहीवार कोलोनियलको नेटवर्कमा छिरेर करिब १०० जीबी डाटामा पकड जमाएको हो ।
    त्यसपछि समूहले फिरौती मागेको हो । फिरौती नदिए सबै डाटा सार्वजनिक गरिदिने चेतावनी साइबर हमलाकारीको छ ।

  • कोलोराडोस्थित एक घरमा गोली चल्दा कम्तिमा ७ जनाको मृत्यु

    कोलोराडोस्थित एक घरमा गोली चल्दा कम्तिमा ७ जनाको मृत्यु

    कोलोराडो । अमेरिकाको कोलोराडो राज्यमा एक घरमा अन्धाधुन्ध गोली चल्दा कम्तिमा सात जनाको मृत्यु भएको छ । त्यहाको क्यान्टरबरी मोबाइल होम पार्कस्थित घरमा जन्मोत्सव पार्टी चलिरहँदा गोली चलेको अमेरिकी संचारमाध्यमले जनाएका छन् । घटना आइतबार बिहान भएको हो ।

    बन्दुकधारीले अन्धाधुन्ध गोली हानीर ६ जनाको हत्या गरेसँगै आफुलाई गोली हानेको प्रहरीले जनाएको छ । प्रहरीले बन्धुकधारी र पीडितको नाम भने सार्वजनिक गरेको छैन । बन्धुकधारी बर्थडे पार्टीमा सहभागी एक जना युवतीका प्रेमी रहेको समाचारहरुले खुलाएका छन् । पार्टीमा रहेका सबै बच्चा भने सुरक्षित रहेको प्रहरीको भनाई छ ।

    अनुसन्धान अगाडी बढेका कारण थप विवरण आउने समाचार एजेन्सीहरुले लेखेका छन् । अमेरिकामा शनिबार मात्र मेरिल्याण्डको बाल्टिमोरमा भएको आगजनी र गोलीकाण्डमा एक नेपालीसहित ४ जनाको ज्यान गएको थियो । अमेरिकामा बन्दुककै कारण हरेक वर्ष हजारौं मानिसले अकालमा ज्यान गुमाउने गर्छन् ।

  • मध्यरातमा माधव नेपालको संकेत : ओली नसच्चिए पार्टी फुट्छ

    मध्यरातमा माधव नेपालको संकेत : ओली नसच्चिए पार्टी फुट्छ

    काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले आइतबार राती एक पत्र सार्वजनिक गरे । प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गरि लेखिएको पत्रमा उनले स्पष्टसँग भनेका छन् ओली नसच्चिए पार्टी फुट्छ । माधव कुमार नेपाल समुहले सोमबार बिहानसम्मको अल्टिमेटम ओलीलाई दिएको छ । ती शर्त नमाने नेपाल पक्षका प्रतिनिधिसभा सदस्यले राजिनामा गर्नेछन् । यो पार्टी विभाजनको ठोस कदम हुनेछ । यसमा दोस भने प्रधानमन्त्रीलाई जाने उनको चेतावनी छ । उनले एमाले एकता जोगाउने जिम्मेवारी ओलीमा केन्द्रित रहेको बताएका छन् ।
    यस्तो छ नेपालले ओलीलाई लेखेको पत्र

    मितिः बैशाख २६, २०७८
    श्री केपी शर्मा ओली,
    अध्यक्ष
    नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी
    नेपाल कम्युनिष्ट पार्टी (एमाले) ।
    विषयः पार्टीको एकता कायम राख्न आग्रह ।
    नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को एकीकरण भई बनेको नेपाल कम्युनिष्ट पार्टी (ने क पा) गत फागुन २३ गते सर्वोच्च अदालतको फैसलाबाट विघटन भई उक्त दुई पार्टीहरु पूर्ववत् अवस्थामा रहने तथा पुनः एकता गर्ने भए निर्वाचन आयोगमा जानु भन्ने भएपछि पार्टी केन्द्रीय कमिटीको बैठक बोलाई छलफल गरिनु पथ्र्यो ।

    त्यसो नगरी तपाईले गत फागुन २८ गते पार्टीको नवौं राष्ट्रिय महाधिवेशनको मार्ग निर्देशन र पार्टी विधान मिचेर केन्द्रीय कमिटी भंग गरी कथित राष्ट्रिय महाधिवेशन आयोजक कमिटी गठन गर्नुभयो । त्यसरी आयोजक कमिटी गठन गर्दा हामी लगायतका केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यहरुलाई जिम्मेवारीबाट मुक्त गर्ने अत्यन्त स्वेच्छाचारी निर्णय गर्नुभयो । त्यतिले मात्र नपुगेर तपाईले केन्द्रीय कमिटीका पदाधिकारी र स्थायी कमिटीका सदस्य समेत चारजनालाई पार्टी सदस्यबाट नै निलम्बिन गर्ने तानाशाही निर्णय गर्नुभयो ।

    प्रतिनिधिसभाका हामी ३० जना सदस्यहरुलाई आधारहीन र पूर्वाग्रहपूर्ण आरोप लगाउँदै स्पष्टिकरण सोध्नु भयो । पार्टी स्थायी कमिटीमा मनपरी किसिमले नियुक्ति गर्दै कार्यविभाजन गरी निर्देशन जारी गर्नुभयो । प्रदेश समन्वय कमिटीमा स्वेच्छाचारी किसिमले पजनी गर्दै तपाईले अधिवेशनबाट निर्वाचित जिल्ला कमिटीहरुलाई विघटन गर्नुभयो । जनसंगठन र पेशागत संगठनहरुमा पनि त्यसरी नै स्वेच्छाचारी किसिमले आफ्नो गुट बाहेकका व्यक्तिहरुलाई जिम्मेवारीबाट हटाउनु भयो ।

    तपाईका यस्ता पार्टी विधान विपरीत तथा लोकतान्त्रिक मान्यता विपरीतका क्रियाकलापहरु सच्याउन हामीले विभिन्न समयका प्रत्यक्ष वार्ताहरुमा समेत आग्रह ग¥यौं । तर त्यसप्रति तपाईले कुनै सुनुवाई गर्नुभएन । यसबाट देश, जनता र पार्टीमा पर्ने असरप्रति असंवेदनशील भएर तपाईले प्रतिनिधि सभामा यही वैशाख २७ गते विश्वासको मत लिने कुरा गर्नु भएको छ ।


    यस्तो विषयमा समेत तपाईले पार्टी भन्दा बाहिर समर्थनको लागि अनुनयविनय गर्नुभयो भने पार्टीमा आफ्नो गुटबाहेकको पंक्तिप्रति शत्रुवत् व्यवहार देखाइरहनु भएको छ । तपाईले वार्ता गर्ने वा पार्टी एकता गर्नेभनी आफु निकट व्यक्तिहरुलाई खटाएझै गर्नुभएको काम कति नक्कली रहेछ भन्ने यही वैशाख २६ गते दिनुभएको अहंकार र विद्वेषपूर्ण वक्तव्यबाट छर्लङ्ग हुन्छ ।
    वक्तव्यमा तपाईले आफ्ना पार्टीको सिद्धान्त, विधान र नीति विरोधी क्रियाकलापहरुमा पर्दा हाल्न अरुमाथि प्रहार गर्नुभएको छ । यस्तो स्थितिमा निम्नलिखित कुराहरुको आधारमा मात्र तपाईले विश्वासको मत लिने निर्णयबारे छलफल गरी निष्कर्षमा पुग्नसकिने यथार्थबारे जानकारी गराउन चाहन्छौं ।
    १. सर्वोच्च अदालतको फैसला तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को विधान, नियमावली, आचार संहिता अनुरुप २०७५ साल जेठ ३ गते पार्टी एकीकरण हुनुपूर्वको अर्थात जेष्ट २ गतेको स्थितिमा पार्टी, जनसंगठन र पेशागत सगठनका सबै संरचनाहरुलाई केन्द्रदेखि स्थानीय तहसम्म क्रियाशील तुल्याउने ।

    २. नवौं राष्ट्रिय महाधिवेशको मार्ग निर्देशन र पार्टीको विधान विपरीत २०७७ साल फागनु २८ गते गरिएका केन्द्रीय कमिटी विघटन गर्ने लगायतका निर्णय रद्द गर्नुका साथै त्यसको आधारमा त्यसपछि भएका सबै निर्णयहरु खारेज गर्ने ।


    ३. पार्टीलाई विधि, विधान र पद्धति अनुरुप सञ्चालन गर्ने ।


    ४. पार्टीमा उत्पन्न अन्तरविरोध, मतभेद र विवादका कारण सिर्जित समस्याहरु तथा एकअर्काप्रति लगाइएका आरोप–प्रत्यारोप एवम् समस्याहरुको बारेमा यथोचित समयमा समीक्षा गरी आवश्यक निर्णय गर्ने ।

    ५. सरकार र पार्टीको बीचमा समन्वय र सुसम्बन्ध कायम गर्दै पार्टीको सिद्धान्त, नीति, कार्यक्रम र देश तथा जनताको सर्वोपरी हित, अपेक्षा र आवश्यकता अनुसार सञ्चालन गर्ने ।


    ६. उक्त कुराहरुको आधारमा पार्टीलाई एकताबद्ध रुपमा अगाडि बढाउने । यथा समयमा राष्ट्रिय महाधिवेशन र विभिन्न तहका अधिवेशनहरु सम्पन्न गर्ने ।


    हामीले नेपाल कम्युनिष्ट पार्टी (एमाले) मात्र होइन, नेपालको कम्युनिष्ट आन्दोलनको एकताको रक्षा तथा देश, जनता र पार्टीको हितको लागि अगाडि सारेका उपयुत्र्तm कुराहरुलाई गम्भीररुपमा ग्रहण गरी समस्याको समाधानको दिशामा अग्रसर हुन तपाई र तपाई निकट सबै नेता, कार्यकर्ता र सदस्यहरुलाई आव्हान गर्दछौं । हाम्रा उक्त जायज आवाजहरुलाई वेवास्ता गरियो भने तपाई पार्टी विभाजन गर्दै देश, जनता र लोकतन्त्रलाई अन्योल र दिशाहीन तुल्याउन उद्दत रहनुभएको भन्ने अर्थ लाग्ने स्पष्ट छ । त्यस्तो स्थितिमा हामी देश र जनताको सर्वोपरी हित तथा पार्टी र लोकतन्त्रको रक्षाका लागि प्रतिनिधि सभाको सदस्य नै त्याग गर्ने लगायतका जस्तोसुकै पाइला चाल्न पनि बाध्य हुने स्थिति उत्पन्न हुनेछ । यसको लागि पनि जिम्मेवार तपाई नै हुनुहुने छ ।

    नेपाल कम्युनिष्ट पार्टी एमालेको नवौं राष्ट्रिय महाधिवेशनको मार्ग निर्देशन र पार्टी विधानको रक्षार्थ सञ्चालित अभियानकर्ता स्थायी कमिटी, केन्द्रीय कमिटी र अन्य सबै कमिटी, नेता र कार्यकर्ताहरुको तर्फबाट –
    माधव कुमार नेपाल
    वरिष्ठ नेता
    नेपाल कम्युनिष्ट पार्टी (एमाले) ।

  • आज प्रधानमन्त्रीले विश्वासको मत लिने, तर पक्षमा मत नपुग्ने स्पष्ट

    आज प्रधानमन्त्रीले विश्वासको मत लिने, तर पक्षमा मत नपुग्ने स्पष्ट

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदबाट विश्वासको मत लिँदैछन् । संसदको विशेष अधिवेशनको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठकको प्रारम्भमा शीर्ष नेताले सम्बोधन गर्ने कार्यसूची राखिएको छ । त्यसपछि विश्वासको मतमा आजै मतदान हुने छ । वर्तमान प्रतिनिधि सभामा विश्वासको मत लिने कम्तिमा १३६ मत ल्याउनु पर्छ ।

    केपी शर्मा ओलीले नपाउने निश्चित भएको छ । प्रधानमन्त्री ओलीको दल नेकपा एमालेमा १२१ सांसद छन् । त्यसमा पनि सबै मत आउने निश्चित भइसकेको छैन । ६१ सांसद भएको प्रमुख विपक्षी नेपाली कांग्रेस र ४९ सांसद भएको माओवादी केन्द्रले सरकारलाई विश्वासको मत दिने छैन । ३२ सांसद भएको जसपाले ह्विप जारी नगरेका कारण असन्तुष्ट सांसदले ओलीलाई मत दिने छैनन् । यो अवस्थामा राजनीतिक थप पेचिलो बन्ने निश्चित भएको छ ।

  • ओलीलाई नेपाल समूहको सोमबार बिहानसम्मको अल्टिमेटम, नत्र राजिनामा

    ओलीलाई नेपाल समूहको सोमबार बिहानसम्मको अल्टिमेटम, नत्र राजिनामा

    काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपाल समूहले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सोमबारसम्मको अल्टिमेटम दिएको छ । पार्टीलाई अदालतको आदेश अनुसार २ जेठ २०७५ को अवस्थामा फर्काउने निर्णयमा सहमत नभए सोमबार ९ बजेपछि भने यो समूहका सांसदले राजिनामा दिनेछन् । त्यस अवस्थामा केपी शर्मा ओलीको सरकार ढल्नेछ भने नेकपा एमाले समेत विभाजित हुनेछ ।

    यो समूहले शर्त मान्न र सहमतिका साथ पार्टीलाई अगाडि बढाउन १३ घण्टा थप समय दिने निर्णय गरेको हो । आज ओलीले नेपालसँग कुरा गर्न आफ्ना विश्वासपात्र सुवास नेम्वांग र विष्णु पौडेललाई पठाएका थिए । तर, छलफल निष्कर्षमा पुग्न सकेन । त्यसपछि ओलीले एक धम्किपूर्ण विज्ञप्ती जारि गरे ।

    तर, पनि आफ्नोतर्फबाट एकता प्रभावित नहोस भनी नेपाल समूहले थप अल्टिमेटम दिने निर्णय लिएको नेताहरुले बताएका छन् । सोमबार नै संसदको विशेष अधिवेशन बस्दैछ । जहाँ प्रधानमन्त्रीले विश्वासको मत लिनु पर्नेछ ।

  • नेपालमा थप ८८५० जनामा कोरोना पुष्टी, एकैदिन ४०४२ जना संक्रमण मुक्त

    नेपालमा थप ८८५० जनामा कोरोना पुष्टी, एकैदिन ४०४२ जना संक्रमण मुक्त

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ८५० जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ७८७ पीसीआर परीक्षणमा ८ हजार ७७७ जना र ५०६ एन्टिजेन परीक्षणमा ७३ जना गरी ८ हजार ८५० पुष्टि भएको छ ।

    यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ९४ हजार ६६७ जना पुगेको छ । पछिल्लो २४ घण्टामा ४०२२ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

    यो सहित संक्रमण मुक्त हुनेको संख्या ३ लाख २ हजार ७८७ जना पुगेको छ । ५२ जना संक्रमितको मृत्यु भएको छ ।

    योसँगै मृत्यु हुनेको संख्या ३७२० पुगेको छ। संक्रिय संक्रमितको संख्या ८८ हजार१६० रहेको छ ।

  • गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दिए राजीनामा

    गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दिए राजीनामा

    काठमाडौं । गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पदबाट राजीनामा दिएका छन्।

    गुरुङले आफूविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा मतदान हुने एकदिन अघि नै प्रदेश प्रमुख सीता पौडेललाई बझाएका हुन्। मुख्यमन्त्री गुरुङले नेपालको संविधानको धारा १६९ को उपधारा १ (क) बमोजिम आफ्नो राजिनामा दिउँसो प्रदेश प्रमुख पौडेललाई बुझाएका छन्।

    गुरुङमाथि प्रदेशसभामा अविश्वास प्रस्ताव पेस भएपछि उनले राजीनामा दिएका हुन्। उक्त प्रस्तावमाथि सोमबार मतदान हुने कार्यसूची थियो।

    संविधानको सो धाराको उपधारामा मुख्यमन्त्रीले प्रदेश प्रमुख समक्ष लिखित राजीनामा दिएमा मुख्यमन्त्री तथा मन्त्रीको पद रिक्त हुने उल्लेख गरिएको छ।

    मुख्यमन्त्रीले राजीनामासँगै धारा १६८ को उपधारा २ बमोजिम सरकार गठन गर्न आह्वान पनि गरेका छन्।

    संविधानको धारा १६८ का उपधारा २ मा मन्त्रिपरिषद गठनसम्बन्धी व्यवस्था गरिएको छ।

    सो धाराको उपधारा ३ मा भनिएको छ,‘ प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नेछ।’

  • ओलीका प्रतिनिधि र नेपाल पक्षको निर्णायक वार्ता निष्कर्ष विहिन

    ओलीका प्रतिनिधि र नेपाल पक्षको निर्णायक वार्ता निष्कर्ष विहिन

    काठमाडौं । सत्तारुढ दल एमालेमा चर्किएको विवाद मिलाउन आइतबार सिंहदवारमा बसेको ओली र नेपाल पक्षबीचको वार्ता विनानिष्कर्ष टुंगिएको छ ।

    ओलीको प्रतिनिधि बनेर आएका नेताहरु सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल र माघव नेपालबीचको वार्ता विनानिष्कर्ष टुंगिएको हो।

    उनीहरुबीच फेरि वार्ता हुनेछ। नेता नेपाल निकट नेताले भने, ‘फेरि वार्ता गर्नेगरी सिंहदरबारको वार्ता सकिएको छ।’

    उनका अनुसार दुबै पक्षले आ आफ्नो समूहमा सल्लाह गर्ने गरी वार्ताबाट उठेका हुन्। वार्तापछि बोल्दै सुवास नेम्वाङले वार्ता सकररात्मक रहेको बताएका छन्।

    उनले ओली र नेपालबीच फोन वार्ता भएपछि आफूहरु वार्तामा बसेको भन्दै फेरि वार्ता हुने जानकारी दिए।

  • निरन्तर खस्किँदै नेपाली शेयर बजार, आइतबार पनि दोहोरो अंकले घट्यो नेप्से

    निरन्तर खस्किँदै नेपाली शेयर बजार, आइतबार पनि दोहोरो अंकले घट्यो नेप्से

    काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको पहिलोदिन आइतबार नेप्से १८.४९ अकले घटेर २६१८.६३ विन्दुमा पुगेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार आज २१९ कम्पनीको ६ अर्ब १४ करोड ८९ लाख ६६ हजार ७७२ रुपैयाँ बराबरको १ करोड २७ लाख २८ हजार १२५ कित्ता शेयर किनबेच भएका छन् ।

    कारोबारमा आएका १३ वटै समूहको परिसूचक घटेको छ । जीवन बीमा समूह सबैभन्दा धेरै १४४७.६४ अंकले घटेको छ ।

    कारोबारमा आएका २१९ कम्पनीमध्ये ४४ कम्पनीको शेयर मूल्य बढेको छ भने १५७ कम्पनीको घटेको छ । १८ कम्पनीको मूल्य स्थिर रहेको छ ।

    आज एनसीसी बैंक सर्वाधिक कारोबार भएको छ । यसको २८ करोड ८६ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।

    कारोबार रकमकै आधारमा कुमारी बैंक २८ करोड र हिमालयन डिस्टीलरी २४ करोडको कारोबार सहित शीर्ष तीनमा रहे चार कम्पनीको शेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ ।

    यसअघि लगातार पोजेटिभ सर्किट लाग्दै आएका महिला लघुवित्त, विशाल बजार कम्पनी र सिंगटी हाइडो इनर्जी कम्पनीकोको मूल्य १० प्रतिशतले घटेको छ ।

  • नेपाल समूहका सांसदको राजीनामा रोक्न पौडेल र नेम्वाङ सिंहदरबारमा

    नेपाल समूहका सांसदको राजीनामा रोक्न पौडेल र नेम्वाङ सिंहदरबारमा

    काठमाडौं । नेकपा एमाले विवादको उत्कर्षमा पुगेको छ । नेकपा (एमाले) वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसद राजीनामाको तायारीको लागि सांसद संघीय संसद्‍को सचिवालय भेला भएका छन् ।

    नेपाल समूहका नेताबीच भर्चुअल छलफल भएपछि सांसद संघीय संसद्‍ सचिवालयमा पुगेका हुन्।

    पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले सोमबार संसद्‍बाट विश्वासको मत लिने तयारी गरेपछि त्यसलाई असफल पार्न नेपाल समूहका सांसद राजीनामाको तयारी थालेका हुन् ।

    नेपाल समूहका सांसद राजीनामा बुझाउन सिंहदरबार पुग्दा अध्यक्ष अ‍ोलीले राजीनामा रोक्न अर्थमन्त्री विष्णु पौडेल र एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङलाई सिंहदरबारमा पठाएका छन् ।

    नेताहरूबीच संसद सचिवालय सिंहदरबारमा वार्ता हुनेछ।

  • आज संवैधानिक परिषद् बैठक, विपक्षी दलका नेता देउवा र सभामुख नजाने

    आज संवैधानिक परिषद् बैठक, विपक्षी दलका नेता देउवा र सभामुख नजाने

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संवैधानिक परिषदको बैठक डाकेका छन् । तर, उनले बोलाएको बैठकमा सभामुख अग्नी सापकोटा तथा विपक्षी दलका नेता शेरबहादुर देउवा उपस्थित नहुने भएका छन् । बैठकले विभिन्न संवैधानिक निकायमा रिक्त पदहरुमा नियुक्ति गर्नेछ ।

    संवैधानिक व्यवस्थाअनुसार संवैधानिक परिषद्मा प्रधानमन्त्रीको अध्यक्षतामा प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रमुख विपक्षी दलको नेता र प्रधानन्यायाधीश सदस्य रहने व्यवस्था छ। सरकारले संवैधानिक परिषद् सम्बन्धि अध्यादेश ल्याएर तीन सदस्य मात्र भए पनि बैठक बस्न सक्ने व्यवस्था गरिएको छ ।

    सरकारको यो बल मिच्याइको भने विपक्षी दलहरुले विरोध गरेका छन् ।
    प्रधानमन्त्री ओलीले बोलाएको संवैधानिक परिषद् बैठकमा ओलीसहित राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा मात्र सहभागी हुनेछन् ।

    प्रधानमन्त्री ओलीले असंवैधानिक कदम चाल्दै संवैधानिक परिषदको बैठक बोलाएको भन्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठकमा सहभागी नहुन आह्वान गरेका थिए ।

  • चीनले ३१ करोड मानिसमा लगायो कोरोना खोप

    चीनले ३१ करोड मानिसमा लगायो कोरोना खोप

    काठमाडौं\एजेन्सी । नेपालको छिमेकी मुलुक चीनले ३१ करोड मानिसमा कोरोना विरुद्धको खोप लगाएको छ । शुक्रवारसम्म ३० करोड ८० लाखभन्दा बढी व्यक्तिमा कोभिड–१९ विरूद्धको खोप लगाएको चीनको राष्ट्रिय स्वास्थ्य आयोगलाई उदृत गर्दै चिनियाँ संचारमाध्यमले लेखेका छन् । संसारभर कुल १६ करोड मानिसलाई मात्र कोरोना संक्रमण भएको पुष्टी भएको सन्दर्भमा चीनको खोप अभियान धेरै माथि पुगेको देखिएको छ ।

    चीनले शरीरको प्रतिरक्षा प्रणालीलाई विकास गर्न स्वदेशमा नै निर्माण गरिएको खोपलाई आफ्ना नागरिकमा बिस्तार गरेको हो । शुक्रवार मात्र विश्व स्वास्थ्य संगठनले आपतकालिन प्रयोगका लागि चीनमा बनेको खोपलाई अनुमति दिइसकेको छ ।

  • अफगानिस्तानमा विद्यालयमा लक्षित गरि विष्फोट, कम्तिमा ३० मारिए

    अफगानिस्तानमा विद्यालयमा लक्षित गरि विष्फोट, कम्तिमा ३० मारिए

    काबुल । अफगानिस्तानको राजधानी काबुलमा एक माध्यमिक विद्यालयलाई लक्षित गरि भएको विस्फोटमा कम्तिमा ३० जना मारिएका छन् । बीबीसीका अनुसार यो घटनामा दर्जनौं व्यक्ति घाइते छन् । विद्यालयबाट बालबालिका निस्किरहेको समयमा शनिवार विस्फोट गराइएको हो । हताहत हुनेमा अधिकांश छात्रा रहेको त्यहाँको शिक्षा मन्त्रालयले जानकारी गराएको छ ।

    यो घटनाको जिम्मेवारी कसैले लिएको छैन । दश्त ए बर्चीमा भएको घटनामा सुन्नी लडाकुको हात रहेको आशंका गरिएको छ । शनिवारको आक्रममा पछिल्ला दिनयता भएका आक्रमणमध्ये सबैभन्दा घातक भएको बीबीसीले लेखेको छ ।

  • वीर अस्पतालको नयाँ भवन अब ‘कोरोना डेडिकेटेड अस्पताल’ बन्ने

    वीर अस्पतालको नयाँ भवन अब ‘कोरोना डेडिकेटेड अस्पताल’ बन्ने

    काठमाडौं । वीर अस्पतालको नयाँ भवन अब कोरोना डेडिकेटेड अस्पतालका रुपमा संचालनमा आउने भएका छन् । यहाँ कुल ८ सय बेड रहने भएका छन् । मन्त्रिपरिषद्को शनिबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । अस्पतालको नयाँ भवनलाई सुरूमा ५ सय शय्याको युनिफाईड कोभिड अस्पताल बनाउने निर्णय भएको हो ।

    सीसीएमसीको बैठकले वीर अस्पतलालको नयाँ भवनलाई कोभिड–१९ विशेष अस्पताल बनाउन सिफारिस गरेसँगै मन्त्रिपरिषद्ले यस्तो निर्णय गरेको हो । भवनमा तत्कालै तीन सय बेड अक्सिजनसहितको आइसियू, एक सय बेड आइसियू र ५० बेड भेन्टिलेटरसहित निर्माण गर्ने योजना सरकारको छ ।

    देशभर बेडको अवस्था हेर्न अस्पतालमा वार रुम रहने भएको समेत जनाइएको छ । तर, यो सबै कामका लागि कम्तिमा दई साता लाग्नेछ ।

  • एमालेका सांसदको राजिनामा तयार, प्रधानमन्त्रीले शर्त नमाने एमाले फुट्ने निश्चित

    एमालेका सांसदको राजिनामा तयार, प्रधानमन्त्रीले शर्त नमाने एमाले फुट्ने निश्चित

    काठमाडौं । नेकपा एमाले भित्र माधवकुमार नेपाल समूहले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई दिएका शर्त नमाने पार्टी फुट्ने निश्चित भएको छ । प्रधानमन्त्रीलाई पार्टी २ जेठ २०७५ मै फर्कनु पर्ने र त्यसयता भएका सबै निर्णय मान्य नहुने शर्त राखेको छ । त्यो अवस्था माओवादी केन्द्रसँग पार्टी एकता हुनुभन्दा अगाडीको हो ।

    अदालतको आदेशपछि माओवादी र एमाले बीचका एकता भंग भएसँगै ओलीले नेपाल पक्षका नेताहरुलाई अपमानजनक ढंगले कारवाही गरेका थिए । ओलीले शर्त नमाने २७ वैशाख अगाडी नै एमालेका सांसदको राजिनामा आउने छ ।

    अर्थातः आज साँझसम्म नै एमालेका प्रत्यक्षबाट निर्वाचित सांसदल राजिनामा गर्र्नेछन् । शनिवार साँझ बसेको नेपाल समूहका सांसदहरुको बैठकले आइतबार साँझसम्म पनि ओलीले शर्त नमाने राजिनामा गर्ने निर्णय गरेको हो । प्रधानमन्त्रीले २७ वैशाखमा विश्वासको मत लिन ससद्को विशेष अधिवेशन बोलाएका छन् ।

    विश्वासको मत पाउन ओलीले अहिले माधव नेपाल पक्षका नेतासँग नरम रुपमा प्रस्तुत भएका छन् । विश्वासको मत पाएपछि कारवाही गर्ने कारवाही गर्ने ओली प्रवृत्ति बुझेका नेताहरु यसपटक भने नझुक्किने भएका हुन् ।

  • नेपालमा ८४१८ जनामा कोरोना पुष्टी, ३३७० डिस्चार्ज

    नेपालमा ८४१८ जनामा कोरोना पुष्टी, ३३७० डिस्चार्ज

    काठमाडौं । नेपालमा शनिबार थप ८४१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो संक्रमण कुल १८३०४ जनामा गरिएको परीक्षणबाट पुष्टी भएको छ । यसआधारमा नेपालमा संक्रमण दर ४५ प्रतिशत भन्दा बढी देखिएको छ ।

    अब नेपालमा कोरोनाबाट संक्रमित हुनेको कुल संख्या ३८५८९० जना पुगेको छ । शनिबार कुल ३३७० जनाले कोरोनालाई जित्न सफल भएका छन् । कोरोना जित्नेको कुल संख्या २ लाख ९८ हजार ७ य ५६ जना रहेको छ ।

    कुल ७४.४ प्रतिशतले कोरोना जित्न सफल भएका छन् । अब नेपालमा सक्रिय संक्रमित ८३ हजार ४ सय ९३ रहेको तथ्यांकले देखाएको छ । नेपालमा अहिलेसम्म २६ लाख १५ हजार ७ सय २० वटा आरटी पीसीआर परीक्षण भएको छ ।

  • नेपालमा कोरोनाबाट थप ५३ को मृत्यु

    नेपालमा कोरोनाबाट थप ५३ को मृत्यु

    काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ५३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार शनिबार उक्त संख्यामा नेपालमा मानवीय क्षति भएको हो ।

    अब नेपालमा कोरोनाबाट ज्यान गुमाउने मानिसको संख्या ३६३२ पुगेको छ । पछिल्लो समय काठमाडौं उपत्यका, नेपालगन्ज, बुटवल र वीरगन्जमा बढी मानिसहरुको ज्यान गएको छ । नेपालमा कुल संक्रमितको तुलनामा ज्यान गुमाउनेको संख्या ०.९४ प्रतिशत रहेको छ ।

  • डिभी चिठ्ठाको नतिजा सार्वजनिक हुँदै, यसरी हेर्नुहोस् नजिता

    डिभी चिठ्ठाको नतिजा सार्वजनिक हुँदै, यसरी हेर्नुहोस् नजिता

    काठमाडौं । अमेरिकाको इलेक्ट्रोनिस डाइभर्सिटी भिसा(इडीभी) चिठ्ठाको नतिजा शनिवार राती सार्वजनिक हुँदैछ ।

    काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार आज वैशाख २५ गते नेपाली समयअनुसार रातिको ९:४५ बजेबाट डिभी २०२२ को नतिजा सार्वजनिक हुने जानकारी दिएको हो ।

    सो नतिजा हेर्नका लागि अनिवार्य रुपमा इडिभी भर्दा पाएको कन्फर्मेशन नम्बर अनिवार्य रुपमा रहेका छ ।

    डिभी परेको जानकारीबारे कुनै इमेल नपठाउने तथा भिसा अन्तर्वाताका लागि अग्रिम शुल्क बुझाउन पनि इमेल, चिट्ठी या अन्य अनुरोध नपठाउने दूतावासले जनाएको छ।

    यसरी चेक गर्नुहोस्

    नतिजा हेर्नका लागि डीभी भर्दा पाएको कन्फर्मेशन नम्बर आवश्यकता पर्दछ । डिभी परेर/नपरेको हेर्न डिभी फारम भर्दाको कन्फर्मेसन पेजमा भएको नम्बर, आफ्नो थर र जन्म मिति आवश्यक पर्छ ।

    डिभीका सम्बन्धमा फोन या ईमेलबाट गरिने सबै किसिमका सोधपूछहरु ग्राहक सेवा केन्द्रमा गर्नुपर्नेछ। डिभीको नतिजालाई काठमाडौंका डिभी भर्ने एजेन्सीहरुले निकै ठूलो विषयको रुपमा उठाएर पैसा समेत असुल्ने गरेका छन्।

    ब्युरो अफ काउन्सुलर अफेयर्सको वेब साइटमा गई आफ्नो नाम र कन्फरमेसन नम्बर राखेर नतिजा हेर्न सकिन्छ।

    नतिजा चेक गरेको पैसा लाग्दैन। डिभीको नतिजा कम्प्युटर प्रणालीबाट छानिने हुनाले यसमा अन्य कुनै प्रत्यक्ष अप्रत्यक्ष प्रभाव रहँदैन। डिभी भर्नेहरुले सोझै https://www.dvlottery.state.gov मा गएर आफ्नो नतिजा हेर्न सक्छन्।

    यदि नम्बर बिर्सेको खण्डमा पनि Forgot Confirmation Number मा क्लिक गरी मागेको विवरण दिएर नतिजा हेर्न मिल्ने दूतावासले जनाएको छ ।

  • प्रतिनिधिसभाका थप १८ सांसदलाई कोरोना पुष्टी

    प्रतिनिधिसभाका थप १८ सांसदलाई कोरोना पुष्टी

    काठमाडौं । प्रतिनिधिसभाका १८ जना सांसदलाई कोरोना पुष्टी भएको छ । २७ वैशाखका लागि बोलाइएको संसदको विशेष बैठक अगाडी सांसदहरुको पीसीआर परीक्षण गरिएको थियो । त्यसक्रममा १८ प्रतिनिधिसभा सांसद र एक राष्ट्रिय सभा सांसदलाई कोरोना पुष्टी भएको संसद सचिवालयले जनाएको छ । सचिवालयले वैशाख २२,२३ र २४ गते गरिएको पीसीआर परीक्षण गरेको हो ।

    संघीय सांसद, संसद सचिवालयका कर्मचारी तथा संसदीय मामिला पत्रकारलगायत १ हजार २३५ जनाको पीसीआर परीक्षण गर्दा १६० जनामा पोजेटिभ पुष्टी भएको समेत सचिवालयले जनाएको छ । कोरोना संक्रमण देखिएका अन्य १४१ जना संघीय संसद सचिवालयका कर्मचारी, मर्यादापालक, स्वकीय सचिव, सुरक्षाकर्मी, संसदीय मामिला पत्रकार तथा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारी रहेका छन् ।

    यो पटक कोरोना परीक्षण गर्नु अगाडी नै ८ जना सांसदमा कोरोना पुष्टी भएको थियो । अब कुल संक्रमित सांसदको संख्या भने २६ पुगेको छ ।