Category: फिचर

  • राजकुमार फिलिपको अन्तिम संस्कार गरिँदै, बेलायतभर एक मिनेट मौन धारण हुने

    राजकुमार फिलिपको अन्तिम संस्कार गरिँदै, बेलायतभर एक मिनेट मौन धारण हुने

    लण्डन । अघिल्लो शुक्रवार ९९ वर्षको उमेरमा निधन भएका महारानी एलिजाबेथ द्वितीयाका पति राजकुमार फिलिपको अन्तिम संस्कार आज हुँदैछ । नेपाली समय अनुसार साँझ पौने ८ बजेको साइतमा उनको अन्तिम संस्कार हुने बीबीसीले जनाएको छ । त्यसका लागि आवश्यक तयारीको काम पुरा भएको छ । अन्तिम संस्कारमा सर्वसाधारण सहभागी हुन सक्ने छैनन् । तर, यो कार्यक्रमको टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुनेछ ।

    अन्तिम संस्कारको औपचारिक शाही समारोह विन्डसर कासल परिसरमा रहेको सेन्ट जोर्जेज् च्यापलमा हुने भएको छ । राजकुमार फिलिपको शव यतिखेर विन्डसर कासलस्थित प्राइभेट च्यापलमा राखिएको छ। राजकुमार फिलिपले आफ्नो अन्तिम संस्कारका बेला धेरै कोलाहल नगर्न र आफ्नो शवपेटिकालाई सर्वसाधारणले हेर्नेगरी समेत नराख्न अनुरोध गरे अनुसार नै अन्तिम संस्कारको योजना बनाएको बीबीसीले लेखेको छ ।

    Photo : BBC

    कोरोना भाइरससम्बन्धी प्रतिबन्धका कारण बेलायतमा सामाजिक दूरी कायम गर्दै ३० जना मानिस मात्र एक ठाउँमा भेला हुन पाउने नियम छ । आमन्त्रितको सूचीमा महारानी र ड्यूक अफ एडिन्बराका परिवारका सदस्यहरूसहित उनका तीन जर्मन नातेदार रहेका छन्। उनका नाति ड्यूक अफ ससिक्स राजकुमार ह्यारी उक्त समारोहमा सहभागी हुँदैछन् ।

    तोकिएको सङ्ख्यामा शवपेटिका बोक्ने मानिस र पादरी समावेश छैनन् । शनिवार राजकुमार फिलिपको शवपेटिकालाई निजी च्यापलबाट विन्ड्सर कासलको राजकीय प्रवेशद्वारमा सारिनेछ। आफ्नो विशेष कार स्टेट बेन्टलीमा सवार महारानी शवयात्राको पछिल्तिर रहने बताइएको छ । ड्यूकको सम्मानमा देशभरि एक मिनेट मौनधारण गरिनेछ। मौनधारण अवधिको आरम्भ र अन्त्यको सङ्केत द किङ्स ट्रूप रोयल होर्स आर्टिलरीले तोप पड्काएर दिने बीबीसीमा उल्लेख छ ।

  • आजबाट त्रिदेशीय टी-ट्वान्टी क्रिकेट सिरिज, नेपाल र नेदरल्याड्स भिड्दै

    आजबाट त्रिदेशीय टी-ट्वान्टी क्रिकेट सिरिज, नेपाल र नेदरल्याड्स भिड्दै

    काठमाडौं । आजबाट काठमाडौंमा तीन मुलुक सहभागी टि-ट्वान्टी क्रिकेट सिरिज शुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुन लागेको यो प्रतियोगितामा नेपाल, नेदरल्याण्ड्स र मलेसिया सहभागी छन् । कोरोना महामारीपछि पहिलो पटक नेपाल क्रिकेटको अन्तर्राष्ट्रिय प्रतियागितामा सहभागी भएको छ ।

    दिउँसो सवा १ बजे सुरु हुने प्रतियोगिताको पहिलो खेलमा नेपाल र नेदरल्याण्ड्स भिड्दैछन् । कोरोना सङक्रमणको जोखिमका बीच कम मात्र दर्शकले रंगशालामा प्रवेश पाउने छन् । स्वास्थ्य मन्त्रालयको आह्वान अनुसार भिडभाड कम गर्न लागिएको क्यानले जनाएको छ ।

    नेपालका कप्तान ज्ञानेन्द्र मल्ल, नेदरल्याड्सका कप्तान पिटर सिलर र मलेसिया कप्तान फैज अहमदले टीमको नेतृत्व सम्हालेका छन् । प्रतियोगिताको प्रारम्भमै नेपालका लागि भने एक झड्का लागेको छ । पूर्वकप्तान तथा भरपर्दा ब्याट्सम्यान पारस खड्काले चोटका कारण यो सिरिज गुमाएका छन् ।

  • आज पनि चट्याङ्ग र असिनासहित वर्षा हुने सम्भावना

    आज पनि चट्याङ्ग र असिनासहित वर्षा हुने सम्भावना

    काठमाडौं । प्रिमनसुन सक्रिय भएसँगै नेपालमा चट्याङ्ग र असिनासहित पानी पर्न थालेको छ । शनिबार र आइतबार समेत देशका विभिन्न स्थानमा यस्तै मौसमको सामना गर्नु पर्ने भएको छ । पहाडी केही ठाउँ र तराईका थोरै ठाउँमा हावाहुरी, मेघगर्जन, चट्याङ्ग र असिनासहित पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

    अहिले पूर्व, कर्णाली तथा सुदूरपश्चिममा मौसम सामान्य बद्ली भएको छ । गण्डकी र वाग्मती प्रदेशका पहाडी क्षेत्रमा पनि मौसम आंशिक बद्ली भएको छ । आजदेखि पश्चिमी वायु पनि भित्रिएको छ । स्थानीय र पश्चिमी गरी दुई वटा प्रणाली सक्रिय रहेकाले मौसम बद्लीसँगै पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाको भनाई छ ।

    पश्चिमी वायु मनसुन सुरु नहुँदासम्म बेलाबेला देखिने गरेको तर यसको असर कमजोर रहने भएको हो । आज र भोलि पहाडी केही ठाउँमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित असिना पानीको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ । हिजो काठमाण्डौ उपत्यकासहित देशका पहाडी क्षेत्रमा चट्याङ्ग, हावाहुरीसहित असिना पानी परेको थियो ।

  • आज बस्दैछ सर्वदलीय बैठक, के छन् एजेण्डा ?

    आज बस्दैछ सर्वदलीय बैठक, के छन् एजेण्डा ?

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सर्वदलीय बैठक बोलाएका छन् । विहान ११ बजे बालुवाटारमा सर्वदलीय बैठक बोलाएको उनका प्रेस सल्लाहकार सूर्य थापाले उल्लेख गरेका छन् । कोरोना भाइरसको महामारी र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ । सरकारले कोरोनाको बढ्दो महामारीका बीच विद्यालयसहितका क्षेत्र बन्द गर्न सकेको छैन ।

    यसमा संचालकहरुले दवाव दिएका छन् । सम्भवतः उनी संवेदनशिल क्षेत्रहरुमा बन्द गर्न अन्य राजनीतिक दलबाट समर्थन खोजिरहेका छन् । संसदमा प्रतिनिधित्व गर्ने सबै दलका प्रतिनिधिलाई बैठकमा बोलाइएको छ । बैठकमा संसद अधिवेशनका विषयमा समेत प्रधानमन्त्रीले आफ्नो धारणा राख्ने भएका छन् ।

  • बाँकेको कोहलपुरमा बस दुर्घटना, कम्तिमा ५ को मृत्यु

    बाँकेको कोहलपुरमा बस दुर्घटना, कम्तिमा ५ को मृत्यु

    बाँके । सुर्खेतबाट धरानका लागि छूटेको यात्रुबाहक बस बाँकेको कोहलपुरमा दुर्घटनाग्रस्त भएको छ । प्रहरीका अनुसार मे १ ख ३३४७ नम्बरको बस बाँकेको कोहलपुर नगरपालिका–१३, रोहिणी खोला नजिकै विपरीत दिशाबाट आइरहेको टिपरसँग ठोक्किँदा दुर्घटनामा परेको थियो । ५ जनाको मृत्यु भएको र ४२ जना घाइते भएको खबर आएको छ ।

    दुर्घटनामा एक जनाको घटनास्थलमै र अन्य ४ जनाको उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर पुर्‍याएलगत्तै मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । मृतकको सनाखत भइसकेको छैन । ४२ घाइतेको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार जारी रहेको छ ।

  • कर्णालीमा फ्लोर क्रस गर्ने सांसदलाई एमालेले स्पष्टिकरण सोध्यो

    कर्णालीमा फ्लोर क्रस गर्ने सांसदलाई एमालेले स्पष्टिकरण सोध्यो

    सुर्खेत । कर्णाली प्रदेशसभामा फ्लोर क्रस गरेका सांसदलाई एमालेको प्रदेश संसदीय दलले स्पष्टिकरण सोधेको छ । आज फ्लोर क्रस गरी माओवादी केन्द्रका मूख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई विश्वासको मत दिएसँगै एमाले भित्र तिब्र मतभेद चुलिएको छ । आजै बसेको एमाले संसदीय दलको बैठकले सांसदहरुसँग स्पष्टीकरण मागेको हो । साथै बैठकले ती सांसदलाई कारबाहीको समेत सिफारिस गरेको छ ।

    उता, सांसदहरुले भने कुनै पनि प्रकारको कारवाहीबाट आफुहरु बिचलित नहुने बताएका छन् । केन्द्रमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले लामो योगदान गरेका नेताहरुमाथि भटाभट कारवाही गर्दै तानशाही प्रवृत्ति देखाएको भन्दै त्यसविरुद्ध उभिने समेत उनीहरुले प्रतिक्रिया दिएका छन् । सांसदहरु प्रकाश ज्वाला, अम्बरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाहीले फ्लोर क्रस गरी शाहीलाई मत हालेका हुन् ।

  • एमालेका माधव नेपाल पक्षका सांसदको’फ्लोर क्रस’ले जोगियो मुख्यमन्त्री शाहीको पद

    एमालेका माधव नेपाल पक्षका सांसदको’फ्लोर क्रस’ले जोगियो मुख्यमन्त्री शाहीको पद

    काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत पाएका छन् । शुक्रबारको प्रदेश सभा बैठकमा उनको प्रस्तावमा मतदान भएको हो ।

    शाहीको प्रस्तावको पक्षमा २२ मत र विपक्षमा १५ मत परेको सभामुख राजबहादुर शाहीले सदनलाई जानकारी दिए । बैठकमा ३७ जना उपस्थित थिए । ३९ सदस्यीय प्रदेशसभाको विश्वास पाउन २० प्रदेशसभा सदस्यको मत चाहिन्थ्यो ।

    प्रदेशसभामा उनको दल नेकपा माओवादी केन्द्रका १२ जना मात्र सांसद छन् । त्यस्तै ६ सांसद रहेको नेपाली कांग्रेसले पनि मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएको थियो ।

    माधव नेपाल पक्षका पूर्वमन्त्री प्रकाश ज्वाला, कुर्मराज शाही, अम्मरबहादुर थापा र नन्दसिंह बूढाले प्रस्तावको पक्षमा मतदान गरेका थिए ।

    रुकुमकी देवी वलीले पनि फ्लोर क्रस गरेकी थिइन् । तर उनले पछि मत सच्याएकी थिइन् ।

  • नेपालमा एकैदिन ९ सय जना कोरोना संक्रिय थपिए, ४ जनाको मृत्यु

    नेपालमा एकैदिन ९ सय जना कोरोना संक्रिय थपिए, ४ जनाको मृत्यु

    काठमाडौं । नेपालमा थप ९०० जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा ६ हजार १५८ जनामा परीक्षण गर्दा पीसीआरबाट ८३६ र एन्टिजेनबाट ६४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

    यससँगै हालसम्म संक्रमण पुष्टि हुनेको संख्या २ लाख ८२ हजार ८९० जना पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार २०८ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

    यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७४ हजार ८१२ जना पुगेको मन्त्रालयले जनाएको छ ।

    संक्रिय संक्रमितको संख्या ५ हजार ८ जना रहेको छ । पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या ५ रहेको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३०७० पुगेको छ ।

  • प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक

    प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् ।

    प्रधानमन्त्री अ‍ोलीले शनिबार बिहान ११ बजे सर्वदलीय बैठक बोलाएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । उनले संसदको हिउँदे अधिवेशन अन्त्‍य, पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल गर्न सर्वदलीय बैठक बोलाएका हुन् ।

    प्रधानमन्त्री ओलीले आजै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांगेसका सभापति शेरबहादुर देउवा लगायतका नेताहरुलाई फोन गरेका छन् ।

  • विद्यालयमा कोरोना संक्रमित भेटिएमा एक हप्ता बन्द

    विद्यालयमा कोरोना संक्रमित भेटिएमा एक हप्ता बन्द

    काठमाडौं । काठमाडौं महानगर पालिकाले विद्यार्थी वा शिक्षकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएका विद्यालय एक साता बन्द गर्न अनुरोध गरेको छ ।

    शुक्रबार महानगरपालिकाले महानगर भित्रका सबै विद्यालयलाई पत्र लेख्दै कुनै विद्यालयका शिक्षक विद्यार्थी वा कर्मचारीमा कोरोना संक्रमण भएको पाईए एकहप्ता विद्यालय बन्द गर्न अनुरोध गरेको हो ।

    यस्तो बेला बैकल्पिक माध्यमबाट शिक्षण सिकाई गर्न गराउन र त्यस्तो अवस्था नभएमा सामाजिक दुरी कायम गर्ने, मास्क अनिवार्य प्रयोग गर्ने तथा साबुन पानीले राम्रोसंग हात धुने र स्यानिटाईजर प्रयोग गरी अभिभावकहरु समेतको सहमतिमा स्कूल संचालन गर्न अनुरोध गरेको छ।

    स्वास्थ्य मन्त्रालयले बिहिबार १४ जिल्लालाई कोरोनाबाट अति प्रभावित जिल्लामा राख्दै उच्च सतर्कता अपनाउन अपिल गरेको थियो ।

    सहप्रवक्ता डा. समीरकुमार अधिकारीले एक अपिल जारी गर्दै विशेष गरी बालबालिका, युवा वर्गमा संक्रमण तथा मृत्यु बढ्दो गतिमा रहेको भन्दै स्कुलसहितका भीडभाड हुने स्थानमा सहभागी नहुन आग्रह गरेसँगै महानगरले उक्त सूचना निकालेको हो ।

    मन्त्रालयको विज्ञप्तिमा काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, मोरङ, दाङ, सुर्खेत, बारा र बागलुङ जिल्लालाई अति संवेदनशील मानेको छ।

  • कोरोनाबाट ब्राजिलमा एकै दिन करीव ४ हजारको मृत्यु, भारतमा २ लाख १६ हजार संक्रमित थप

    कोरोनाबाट ब्राजिलमा एकै दिन करीव ४ हजारको मृत्यु, भारतमा २ लाख १६ हजार संक्रमित थप

    काठमाडौं\एजेन्सी । कोरोना भाइरसको महामारीका कारण ब्राजिलमा एक दिनमै करीव ४ हजार मानिसले ज्यान गुमाएका छन् । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार ब्राजिलमा पछिल्लो २४ घण्टामा मात्रै ३ हजार ७७४ जना कोरोना संक्रमितको ज्यान गएको छ । अब ब्राजिलमा कोरोनाले मृत्यु हुनेको संख्या ३ लाख ६५ हजार ९५४ पुगेको छ । यसअवधिमा ब्राजिलमा ८० हजार ५२९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको वर्ल्डओमिटरको आंकडामा उल्लेख छ ।

    उता, भारतमा समेत पछिल्लो २४ घण्टामा अर्को कीर्तिमानी संख्यामा संक्रमण पुष्टी भएको छ । यहाँ २ लाख १६ हजार ८ सय बढी कोरोना संक्रमित थपिएका छन् । सोही अवधिमा १ हजार १८३ संक्रमितको मृत्यु भएको छ । नयाँ संक्रमितसँगै भारतमा कोरोना संक्रमितको संख्या १ करोड ४२ लाख ८७ हजार नाघेको छ । भारतमा हालसम्म १ करोड २५ लाख ४३ हजार बढी संक्रमणमुक्त भएका छन् । भारतमा १ लाख ७४ हजार ३३५ कोरोना संक्रमितको मृत्यु भएको छ । भारतमा बढेको संक्रमणले जोखिम नेपालमा समेत बढेको हो ।

  • कर्णालीका मूख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै, जोगिएला पद ?

    कर्णालीका मूख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै, जोगिएला पद ?

    सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज विश्वासको मत लिँदैछन् । नेकपा एमालले समर्थन फिर्ता लिएसँगै उनले प्रदेश सभामा विश्वासको मत लिनु पर्ने भएको हो । उनले आफ्नो सत्ता बचाउन बहुमत सावित गर्नुपर्छ । आजबाट प्रदेशसभाको सातौँ अधिवेशन शुरु हुँदैछ । दिउँसो २ बजे बस्ने प्रदेशसभाको सातौँ अधिवेशनमा पहिलो बैठकमा सरकारले दुईवटा अध्यादेश टेबल गर्ने र विश्वासको मतसम्बन्धी प्रक्रिया अघि बढाउने गरी कार्यसूचि राखिएको छ ।

    एमालेले चैत ५ मा प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । माओवादीको बिहीबार बसेको संसदीय दलको बैठकले प्रदेशसभामा विश्वासको मत लिने र यसका लागि सबै दलहरुलाई विश्वासको मत दिन अपिल गर्ने निर्णय गरेको छ ।

    ३९ जना सदस्य रहेको कर्णाली प्रदेशसभामा बहुमतका लागि २० जनाको समर्थन आवश्यक पर्छ । प्रदेशसभामा माओवादीका १२ जना सांसद मात्रै छन्। कांग्रेसका ६ जना र राप्रपाका एकजना सांसद छन् । एमालेका सभामुखसहित २० जना सांसद छन्। एमालेबाट फ्लोर क्रस नभए मुख्यमन्त्रीको पद जानेछ ।

  • बुटवलका व्यापारीको शव बागलुङमा भेटियो, हत्या आरोपमा एक पक्राउ

    बुटवलका व्यापारीको शव बागलुङमा भेटियो, हत्या आरोपमा एक पक्राउ

    बुटवल । बुटवलमा व्यवसाय गर्दै आएका एक युवकको शव बागलुङमा भेटिएको छ । राष्ट्रिय समाचार समितिका अनुसार बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–२ रिनाम भन्ने स्थानमा गाडिएको अवस्थामा प्रहरीले बुधबार शव फेला पारेको थियो । मृतकले लगाएको कपडाभित्र रहेका कागजातका आधारमा उनको पहिचानभएको थियो । प्रहरीका अनुसार नवलपरासी जिल्लाको देवचुली नगरपालिका–३ केवरानीका नारायण बस्यालको शव भेटिएको थियो ।

    उनी चैत्र ४ गतेदेखि हराएको सूचना बागलुङ प्रहरीमा आएको थियो । बुटवलमा हराएको युवाका आफन्त बिहीबार बागलुङ आएसँगै शवको पहिचान खुलेको राससले लेखेको छ । प्रारम्भिक अनुसन्धानबाट बुटवलमा हत्या गरी शव लुकाउन बागलुङ ल्याएको देखिने प्रहरीले जनाएको छ ।

    प्रहरीले व्यवसायमा साझेदारी गर्दै आएका ढोरपाटन–२ रिनाम घर भई बुटवलमा बस्यालसँगै व्यवसाय गर्ने मित्रलाल खनाललाई पक्राउ गरेको छ । उनले आर्थिक लेनदेनको विवादपछि हत्या गरेको स्वीकार समेत गरेका छन् । तर, यस घटनामा उनी एक्लैको संलग्नता नहुने भन्दै थप मानिस समेत शंकाको घेरामा राखी अनुसन्धान गरिरहेको प्रहरीको भनाई छ । बुटवलमा हत्या गरी सुटकेशमा शव राखी बागलुङमा लगेर पुरेको पाइएको हो ।

  • दर्जनौं रुसी संस्था र अधिकारीमाथि अमेरिकाको प्रतिवन्ध

    दर्जनौं रुसी संस्था र अधिकारीमाथि अमेरिकाको प्रतिवन्ध

    वासिंटन डिसी । अमेरिकाले रुसका दर्जनौं संस्था तथा त्यसमा आवद्ध अधिकारीहरुमाथि प्रतिवन्ध घोषणा गरेको छ । साइबर हमला र अन्य शत्रुतापूर्ण कार्यको आरोप लगाउँदै अमेरिकाले प्रतिबन्ध घोषणा गरेको बीबीसीले लेखेको छ । ह्वाइटहाउसले रुसको हानिकारक वैदेशिक गतिविधिहरू रोक्न प्रतिबन्ध घोषणा गरेको बताएको छ ।

    प्रतिबन्धहरूको विस्तृत विवरण राष्ट्रपति जो बाइडेनद्वारा हस्ताक्षरित एउटा कार्यकारी आदेशमा रहेको छ। गत वर्षको ठूलो सोलारविन्डस् ह्याकिङमा रुसी जासुसको हात रहेको आरोप अमेरिकाको छ । सन् २०२० को चुनावमा पनि मस्कोले हस्तक्षेप गरेको आरोप लगाइएको छ।

    उता, रुसले भने यी आरोपको खण्डन गर्दै आएको छ । यस प्रतिवन्धसँगै दुई महाशक्ति राष्ट्रबीच तनाव बढ्ने चिन्ता बढेको छ । गत महिना क्रेमलिनका आलोचक एलेक्सी नभाल्नीलाई विष दिएको आरोपमा अमेरिकाले सातजना रुसी अधिकारी र एक दर्जनभन्दा बढी संस्थालाई निसानामा पारेको हो ।

  • काठमाडौंमा तिव्र हुरिबतासपछि मेघ गर्जनसहित वर्षा शुरु

    काठमाडौंमा तिव्र हुरिबतासपछि मेघ गर्जनसहित वर्षा शुरु

    काठमाडौं । राजधानी काठमाडौंसहित देशका विभिन्न स्थानमा बिहीबार राति तिब्र हुरिबतास चलेको छ । यसले जनजीवन प्रभावित पारेको छ । हावाको गति सार्वजनिक भएको छैन । तर, रात्रीकालिन सेवामा खटिएका, सडकमा यात्रारत रहेका मानिसहरुलाई भने आज प्रभावित बनाएको छ । हावाहुरीको क्षतिको विवरण भने आइसकेको छैन ।


    देशको दक्षिण पश्चिमबाट मेघ गर्जन र चट्याङ सहित वर्षा गराउने बादल विकसित भएको र यो उक्त प्रणाली उत्तरपूर्वतर्फ सर्ने क्रममा रहेकाले मौसम प्रतिकुल बनेको हो । प्रिमनसुन भएका कारण यो समयमा हावाहुरी तथा मेघ गर्जन र वर्षा हुनुलाई सामान्य मानिन्छ । केहीबेरको हुरिबतासपछि राजधानीसहित विभिन्न स्थानमा मेघ गर्जन र वर्षा जारी रहेको छ । स्थानीय समय अनुसार राती १० बजेको अपडेट अनुसार वर्षा जारी रहेको हो ।

  • चोरी भई अमेरिका, युरोप र तिब्वत पुर्याइएका ५९ वटा मूर्ति नेपाल ल्याइयो

    चोरी भई अमेरिका, युरोप र तिब्वत पुर्याइएका ५९ वटा मूर्ति नेपाल ल्याइयो

    काठमाडौं । नेपालबाट विभिन्न समयमा चोरी भएर यूरोप र अमेरिका पुर्याइएको ५९ वटा मूर्ति नेपाल फर्काइएको छ । विदेशमा पु¥याइएका सम्पदामा बेलायतबाट १९ थान, अष्ट्रिया र जर्मनीबाट एक एक थान, अमेरिकाबाट १० थान र तिब्बतबाट २८ थान मूर्ति फिर्ता भएको पुरातत्व विभागलाई उदृत गर्दै नेपालको सरकारी संचारमाध्यम गोरखापत्रले जनाएको छ ।

    विभागका अनुसार पाटनको मोमुडु गल्लीस्थित नारायण मन्दिरमा रहेको वासुदेव कमलाज (लक्ष्मीनारायण)को मूर्ति हालै अमेरिकाबाट फिर्ता भएको थियो । १५ औं शताब्दीको उक्त मूर्ति सन् १९८४ मा चोरी भएर अमेरिकाको टेक्सासस्थित डल्लास म्यूजियममा राखिएको बताइएको छ ।

    उक्त म्यूजियममा रहेको कुरा सन् २०२० मा इरिन एल थम्पसनले जानकारी दिएपछि फिर्ता ल्याउने शुरु भएको थियो । गत चैत ३१ गते नेपाल फिर्ता आएको यो मूर्तिलाई वैशाख २ गते पूरातत्व विभागले फिर्ता लिँदै पाटन संग्रहालयमा पठाएको छ ।

  • ‘रेड जोन’मा परेका १४ जिल्ला, सचेत नभए संक्रमण विष्फोट हुन सक्ने जोखिम

    ‘रेड जोन’मा परेका १४ जिल्ला, सचेत नभए संक्रमण विष्फोट हुन सक्ने जोखिम

    काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौंसहित १४ जिल्लालाई दोस्रो चरणको कोरोना महामारीबाट अति प्रभावित क्षेत्र (रेड जोन)मा राखेको छ । काठमाडौं, ललितपर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङ रेड जोनमा परेका हुन् ।

    यी क्षेत्र खासगरी दुई प्रकारले जोखिममा छन् । एउटा भारतसँगको सिमाना जोडिएको र मानिसहरुको खुलेआम आवतजावतका कारण कोरोनाको उच्च जोखिममा देखिन्छन् । दोस्रो शहरी इलाकाको बढ्दो जनसंख्या र त्यहाँ मानिसहरुले देखाइरहेको लापरवाही गतिविधिले जोखिम बढाएको छ । तर, त्यसको नियन्त्रणमा समेत राज्य उदासिन देखिएको छ ।

    सार्वजनिक यातायातमा स्वास्थ्य मापदण्ड पालना भएका छैनन् । होटेल रेष्टुरेन्टको भीड थामिनसक्नु रहेको छ । पार्टी प्यालेसहरुमा मानिसहरुले निष्फिक्री कार्यक्रम गरिरहेका छन् । राजनीतिक दलहरुले समेत आफ्नो गतिविधि रोकेका छैनन् । क्लव र डान्सबारहरुमा समेत मानिसहरुको भिड उत्तिकै रहेको छ । सरकारले यी जिल्लामा भीडभाड हुने सबै गतिविधि रोक्न भनेको छ ।

    मेला पर्व समेत नगर्न भनेको छ । तर, काठमाडौं उपत्यकासहितका क्षेत्रमा हजारौं भिड जम्मा भएर मेला पर्व अहिले पनि बीना सचेतना मनाउने गरिएको छ । प्रशासनको उदासिनता र जनताको लापरवाहीले निकट भविश्यमै नेपालमा कोरोनाले विष्फोटक रुप लिन सक्ने चिन्ता विज्ञहरुको रहेको छ ।

  • त्रिभुवन विमानस्थलमा ‘नो मास्क-नो इन्ट्री’

    त्रिभुवन विमानस्थलमा ‘नो मास्क-नो इन्ट्री’

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मास्क नलगाई जान नपाइने भएको छ । कोरोना भाइरसको बढ्दो महामारीका बीच विमानस्थल सुरक्षा कार्यालयले नो माक्स, नो इन्ट्री नियम ल्याएको हो । कार्यालयले विमानस्थलमा अतिआवश्यक नपरेसम्म यात्रु बाहेक अन्य व्यक्ति नआउन र आए पनि गेटबाटै फर्कन आग्रह गरिएको छ ।

    यात्रुलाई पिसिआर रिर्पोट अनिवार्य बोक्न भनिएको छ । भिडभाड नगर्न र सामाजिक दूरी कायम गर्न समेत कार्यालयले आह्वान गरेको छ । अहिले नेपाल आउन र यहाँबाट बाहिरिन जहाज चढ्नु अगाडी पिसिआर रिर्पोट अनिवार्य गरिएको छ । नेपालमा कोरोना भाइरसको दोस्रो लहर फैलन थालेसँगै सरकारले क्रमशः विभिन्न क्षेत्रहरुमा कडाई गर्दै लगेको छ ।

  • भिडभाड हुने सबै कार्यक्रम बन्द गर्न मन्त्रालयको अपिल,बालबालिकालाई विद्यालय नपठाउन आग्रह

    भिडभाड हुने सबै कार्यक्रम बन्द गर्न मन्त्रालयको अपिल,बालबालिकालाई विद्यालय नपठाउन आग्रह

    काठमाडौं । स्वास्थ्य मन्त्रालयले १४ जिल्लालाई कोरोनाबाट अति प्रभावित जिल्लका राख्दै उच्च सतर्कता अपनाउन अपिल गरेको छ ।

    सहप्रवक्ता डा। समीरकुमार अधिकारीले एक अपिल जारी गर्दै विशेष गरी बालबालिका, युवा वर्गमा संक्रमण तथा मृत्यु बढ्दो गतिमा रहेको भन्दै स्कुलसहितका भीडभाड हुने स्थानमा सहभागी नहुन आग्रह गरेका हुन् ।

    मन्त्रालयको विज्ञप्तिमा काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, मोरङ, दाङ, सुर्खेत, बारा र बागलुङ जिल्लालाई अति संवेदनशील मानेको छ।

    ती जिल्लाका भिडभाड हुने सबै क्षेत्र तथा सेवाहरू अविलम्ब बन्द गर्नुपर्ने अवस्था रहेको औंल्याइएको छ।

    विद्यालय, रात्रि व्यवसायहरु, सात बजेपछि सबै रेष्टुरेन्ट तथा क्लबहरु, खेलकूद, जीम, सार्वजनिक पूजाआजा तथा जात्राहरु, सभा, सम्मेलन, बैठक तथा भेलाहरु, सिनेमा हल, सपिङ मल, नाचघर, पार्टी प्यालेस, हेल्थ क्लब, स्विमिङ पुल आदि स्थलहरुमा सहभागी नभइदिनु हुन,” अपिलमा भनेका छन् । साथै, मन्त्रालयले अस्पतालहरूलाई अनिवार्य रुपमा फिवर क्लिनिक सञ्चालन गर्न, कोभिड परीक्षणका लागि नमूना संकलन तथा व्यवस्थापन गर्न अनुरोध गरेको छ।

  • नेपालमा थप ४९० जनामा कोरोना संक्रमण पुष्टी, ५ जनाको मृत्यु

    नेपालमा थप ४९० जनामा कोरोना संक्रमण पुष्टी, ५ जनाको मृत्यु

    काठमाडौं । नेपालमा थप ४९० जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ४९० जनामा संक्रमण पुष्टी भएको हो।

    यससँगै हालसम्म संक्रमण पुष्टि हुनेको संख्या २ लाख ८२ हजार ५४ जना पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार १५७ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

    यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७४ हजार ६०४ जना पुगेको मन्त्रालयले जनाएको छ ।

    संक्रिय संक्रमितको संख्या ४ हजार ३ सय ८४ जना रहेको छ । पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या ५ रहेको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३०६६ पुगेको छ ।

  • नयाँ वर्षको पहिलो दिनमै नेपाली सेयर बजारमा दोहोरो कीर्तिमान

    नयाँ वर्षको पहिलो दिनमै नेपाली सेयर बजारमा दोहोरो कीर्तिमान

    काठमाडौं । पछिल्लो समय दिनदिनै नयाँ रेकर्ड बनाउँदै आएको सेयर बजारले फेरि नयाँ रेकर्ड बनाएको छ । मंगलबार इतिहासकै उच्च विन्दुको रेकर्ड बनाएको नेप्सेले त्यो रेकर्ड तोड्दै नयाँ वर्ष २०७८ को पहिलो कारोबार दिनमा फेरि नयाँ कीर्तिमान बनाएको हो ।

    नेप्सले २७३५ विन्दुको उचाइ चुम्दै नयाँ रेकर्ड बनाएको हो । नेप्सेले २७३० विन्दु नाघेको इतिहासमै पहिलोपटक हो । यसअघि मंगलबार नेप्से इतिहासकै सर्वाधिक २७१४ विन्दुको रेकर्ड बनाएको थियो ।

    यस्तै, नेप्सेले सूचकमा नयाँ रेकर्ड बनाएको दिन सर्वाधिक बजार पूँजीकरणको पनि रेकर्ड बनाएको छ । नेप्सेमा सूचीकृत कम्पनीहरुको बजार पूँजीकरण पौने ३८ खर्ब पुगेको छ । यो हालसम्मकै सर्वाधिक हो भने देशको कुल जीडीपीभन्दा पनि बढी हो ।

    आज सेयर बजार मापक सूचक नेप्से २०.६७ अंकले बढेर २७३५.४६ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २१८ कम्पनीको ८ अर्ब ६३ करोड ६६ लाख ६८ हजार ६५९ रुपैयाँ बराबरको १ करोड ९० लाख २० हजार १४६ कित्ता सेयर किनबेच भएका छन् ।

    बिहीबार कारोबारमा आएका १३ वटा समूहमध्ये हाइड्रोपावर र व्यापार बाहेक अरु सबै समूहको परिसूचकमा हरियाली छाएको छ । विकास बैंक बीमा समूहको परिसूचक सबैभन्दा धेरै ९०.१८ अंकले बढेको छ भने व्यापार समूह सबैभन्दा धेरै ९९.६५ अंकले घटेको छ ।

    आज कारोबारमा आएका २१८ कम्पनीमध्ये ११५ कम्पनीको सेयर मूल्य बढेको छ भने ८२ कम्पनीको मूल्यमा गिरावट आएको छ । २१ कम्पनीको मूल्य स्थिर रहेको छ ।

    आज एनआइसी एशिया लघुवित्तको सर्वाधिक कारोबार भएको छ । यसको ४९ करोड ८९ लाख रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै नेपाल इन्फ्रास्ट्रक्चर बैंक ४९ करोड र एनआइसी एशिया बैंक ३२ करोडको कारोबार सहित शीर्ष तीनमा रहे ।

    दोहोरो अंकले बढेको बजारमा आज ८ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । बेस्ट फाइनान्स, एनआइसी एशिया लघुवित्त, ज्योति लाइफ इन्स्योरेन्स, महिला लघुवित्त, ग्रीन डेभलपमेन्ट बैंक, छ्याङ्दी हाइड्रोपावर, कर्णाली डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकका सेयरधनीले १० प्रतिशत कमाएका छन् ।

  • ‘मेरोकित्ता’ डिजिटल नक्सा प्रणालीको शुरु, अब घरजग्गाको नक्सा हेर्न मालपोत जानु नपर्ने

    ‘मेरोकित्ता’ डिजिटल नक्सा प्रणालीको शुरु, अब घरजग्गाको नक्सा हेर्न मालपोत जानु नपर्ने

    काठमाडौं । अबदेखि घरमै बसेर अनलाइनबाटै आफ्नो घरजग्गाको नक्सा हेर्न, आफैं प्रिन्ट गर्न मिल्ने भएको छ । सरकारले आजदेखि ‘मेरो कित्ता’ प्रणाली शुभारम्भ गर्दै यस्तो सुविधा ल्याएको हो ।

    नापी विभागमा बिहीबार आयोजित औपचारिक समारोहबाट प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीच थिचेर यो व्यवस्थाको शुभारम्भ गरेका हुन् ।

    यो प्रणाली मार्फत आफ्नो जग्गाको नक्सा हेर्न, प्रिन्ट गर्न तथा प्लट रजिस्ट्रर, फिल्डबुक प्रिन्ट, फिल्ड रेखांकन लगायत सेवाको अनलाइनबाटै बुझाउन सकिने सकिने नापी विभागले जनाएको छ ।

    ‘मेरो कित्ता डट जिओभी डट एनपी’ लगइन गरेर यो सेवा लिन सकिने विभागले जनाएको छ । सेवाग्राहीलाई सहजरुपमा छिटोछरितो सेवा दिन तथा प्रविधिमैत्री बनाउन यो सेवा शुरु गरिएको विभागको भनाइ छ ।

    विभागका अनुसार यो सेवा पहिलो चरणमा काठमाडौं उपत्यकाका डिल्लीबजार, कलंकी र भक्तपुर मालपोत कार्यालयमा लागू हुने छ भने क्रमशः देशभर कार्यान्वयनमा ल्याइने विभागले जनाएको छ ।

  • भारतमा कोरोनाको अर्को रेकर्ड, एकै दिन २ लाख संक्रमित

    भारतमा कोरोनाको अर्को रेकर्ड, एकै दिन २ लाख संक्रमित

    नयाँ दिल्ली । भारतमा कोरोना भाइरस संक्रमणको अर्को रेकर्ड बनेको छ । २४ घण्टाको अवधिमा सबैभन्दा बढी संख्यामा कोरोना भेटिएको छ । बुधबारमात्रै भारतमा एकैदिन झन्डै २ लाख मानिसमा कोरोनाको संक्रमण पुष्टि भएको त्यहाँका संचारमाध्यमले लेखेका छन् ।

    यस दिन १ लाख ९९ हजार ६ सय २० जनामा संक्रमण पुष्टि भएको छ । अहिलेसम्म संसारमा एकैदिन दुई लाखभन्दा बढी मानिसमा कोरोना संक्रमण पुष्टि भएको मुलुक अमेरिका मात्र थियो । अमेरिकामा ८ जनवरीमा एकैदिन ३ लाख ९ हजार मानिसमा कोरोना संक्रमणको पुष्टी भएको थियो ।


    भारतमा एक लाख संक्रमित पुगेको १० दिनमै दैनिक संक्रमितको संख्या दोब्बर भएको संचारमाध्यमले जनाएका छन् । यद्दपी भारतमा ठूल्ठूला सभा सम्मेलन र मेलाहरु भने अहिले पनि जारी छन् । नेपालबाट पूर्वराजा सहभागी भएको हरिद्धारको कुम्भ मेला समेत आलोचित बनेको छ ।

    बुधबार कोरोना भाइरसको संक्रमतिसँगै मृत्युदर समेत उच्च विन्दुमा पुगेको छ । यहाँ एक दिनमा १ हजार ३८ जना संक्रमितको मृत्यु भएको तथ्यांक आएको छ । दैनिक मृत्युको यो संख्या गत अक्टोबर २ पछि सबैभन्दा माथिल्लो विन्दु हो ।

  • पश्चिम बंगालमा आमनिर्वाचन : आजबाट भद्रपुर र काकडभिट्टा नाका बन्द

    पश्चिम बंगालमा आमनिर्वाचन : आजबाट भद्रपुर र काकडभिट्टा नाका बन्द

    झापा । पश्चिम बंगालमा ४ वैशाखमा हुने आम निर्वाचनलाई ध्यानमा राख्दै आजबाट नेपाल र भारतका दुई पूर्वी नाका बन्द गरिएको छ । बिहीबार बिहानदेखि ७२ घण्टा सम्म लागु हुने गरी नाका सिल गर्न लागिएको राससले जनाएको छ । राज्य सभाको निर्वाचनको तयारीमा पश्चिम बंगाल रहेको छ ।

    झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाका अनुसार वैशाख ४ गते बेलुका ६ बजेसम्म नाका बन्द हुने छ । यस अवधिमा यातायात र मानिसहरुको आवतजावत रोकिदैछ । दुबै मुलुकमा हुने निर्वाचनका बेला यसरी नाका बन्द गर्ने प्रचलन रहेको छ । पश्चिम बंगालमा हुने आम निर्वाचनले सीम क्षेत्रका नेपाली र भारतमा रहेका नेपाली भाषी नेपालीलाई समेत ठूलो प्रभाव पर्छ ।

  • अमेरिकामा अश्वेतः युवामाथि गोली चलाएकी महिला प्रहरी अधिकारी पक्राउ

    अमेरिकामा अश्वेतः युवामाथि गोली चलाएकी महिला प्रहरी अधिकारी पक्राउ

    मिनसोटा\अमेरिका । अमेरिकामा एक अस्वेतः युवाको प्रहरीको गोलीबाट भएको मृत्युको विषयलाई लिएर प्रदर्शन भइरहेका छन् । यसै सन्दर्भमा मिनसोटामा भएको यो घटनामा संलग्न महिला प्रहरी अधिकारीलाई पक्राउ गरिएको छ । ती प्रहरी अधिकृतमाथि गैरन्यायिक हत्याको मुद्दा चल्ने भएको छ ।

    बीबीसीका अनुसार ती प्रहरी अधिकारी किम पोटर हुन् । उनलाई गिरफ्तार गरि हिरासतमा राखिएको छ । पोटरले भने २० वर्षीय डन्टे राइटमाथि दुर्घटनावस गोली चलेको दावि गरेकी छिन् । उनले अचेत बनाउन प्रहार गर्नुपर्नेमा गल्तीले बन्दुक पड्कन पुगेको दाबी गरेको बीबीसीले लेखेको छ ।

    त्यसबारे प्रतिक्रिया दिँदै राइटका पारिवारिक वकिल बेल क्रुम्पले हत्या सुनियोजित र शक्तिको गैरन्यायीक प्रयोग भएको बताएका छन्। पोटर र प्रहरी प्रमुख टिम गानन्‌ले ब्रुकलिन सेन्टर फौज नै छाडेका छन्। यो काण्डले त्यस क्षेत्रमाप्रहरी र प्रदर्शनकारीबीच तीन रात लामो झडप निम्त्याएको थियो ।

    मिनसोटाको ब्यूरो अफ क्रिमिनल एप्रिहेन्सन (बीसीए) ले पोटरलाई बुधवार गिरफ्तार गरिएको जनाएको छ। उक्त मुद्दा अनुसार उनी दोषी ठहर भए बढीमा १० वर्षसम्म कैद र २० हजार डलरसम्म जरिवाना हुनसक्छ।

  • बेलायतबाट फैलिएको कोरोनाको नयाँ भेरियन्ट नेपालमा पनि पुष्टी

    बेलायतबाट फैलिएको कोरोनाको नयाँ भेरियन्ट नेपालमा पनि पुष्टी

    काठमाडौं । कोरोना महामारीको दोस्रो वेव नेपालमा समेत शुरु भएको छ । छिमेकी मुलुक भारतमा उचाई छोइरहेको यो भाइरस क्रमशः नेपालमा समेत हरेक दिन बढ्दो क्रममा छ । यससँगै नेपालमा बेलायतमा पत्ता लागेको भेरियन्ट पुष्टी भएको छ । इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा।कृष्ण पौडेलका अनुसार नेपालमा ३१ वर्षदेखि ४० वर्षका व्यक्तिलाई यस्तो भाइरस देखिएको छ ।

    बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस ब्रिफिङमा उनले यो जानकारी गराएका हुन् । उनका अनुसार यो भाइरसलाई नियन्त्रण गर्न साविकमा जस्तै भिडभाड नगर्नु र स्वास्थ्य सचेतना अपनाउनुको विकल्प नभएको उनले बताए । भारतमा नयाँ भेरियन्ट पुष्टी भएको सन्दर्भमा नेपालमा समेत भित्र भित्रै भाइरस बिस्तार भएको हुन सक्ने आशंका विज्ञहरुले गरेका छन् । नेपालमा अहिले परीक्षणको दायरा भने बढ्न सकेको छैन ।

  • यसै वर्ष नेपालमा पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आयोजना हुने

    यसै वर्ष नेपालमा पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आयोजना हुने

    काठमाडौं । भूकम्पपछिको पुनर्निर्माणमा नेपालले प्राप्त गरेको सफलतालाई अन्तर्राष्ट्रिय स्तरमा फैलाउने उद्देश्यले यसै वर्ष नेपालमा पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समितिको बैठकले परराष्ट्र मन्त्रालयको समन्वयमा सन् २०२१ को नोभेम्बरको अन्तिम साता वा डिसेम्बरको पहिलो साता नेपालको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्ने निर्णय गरेको हो ।

    यस वर्ष नेपालमा ‘सगरमाथा संवाद’ समेत आयोजनाको तयारी छ । यो सम्मलेन भने जलवायु परिवर्तनसँग सम्बन्धित हुनेछ । भूकम्पपछिको ५ वर्षको अवधिमा नेपालले आफ्नो क्षमता अनुसार तुलनात्मक रुपमा सन्तोषजनक प्रगति हाँसिल गरेको छ । प्राधिकरणले विपद् जोखिममुक्त नेपाल निर्माण सम्बन्धी दशवर्षे महाअभियान सञ्चालन गर्ने निर्णय समेत गरेको छ ।

    Photo by wondersofnepal.com

    मंगलबार प्रधानमन्त्री एवम् प्राधिकरणको निर्देशक समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको निर्देशक समितिको १८ औं बैठकले यस सम्बन्धी कार्यक्रमको प्रस्ताव तयार पारी आगामी आर्थिक वर्षदेखि महाअभियान सुरु गर्ने निर्णय गरेको हो ।

    राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण एवं व्यवस्थापन प्राधिकरणको सहकार्यमा त्यस्तो कार्यक्रम सम्बन्धी प्रस्ताव तयार भइरहेको जानकारी दिए । भूकम्पपछिको पुनर्निर्माण तथा पुनर्स्थापनाको कार्य सम्पन्नताको चरणमा पुगेकोमा निर्देशक समितिको बैठकले खुशी व्यक्त गरेको समेत प्राधिकरणले जनाएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्माणको सफलता नेपालको गौरव र सम्पत्ति भएको भन्दै यो विश्वलाई देखाउन लायक भएको बताएका थिए । बैठकले विपद् व्यवस्थापनको दीर्घकालीन कार्यअन्तर्गत प्राचीन वस्ती, विश्व सम्पदा क्षेत्रसहित समग्र शहरी क्षेत्र खासगरी काठमाडौं उपत्यकाको पुनर्निर्माण तथा पुनर्स्थापनाको कामलाई समेत ध्यानमा राखी शहरी क्षेत्रको दीर्घकालीन पुनर्निर्माण कार्यक्रमको प्रस्ताव तयार पारी आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रममार्फत् अघि बढाउने निर्णय समेत गरेको छ ।

    प्राधिकरणले उक्त कार्यक्रम अन्तर्गत भूकम्पबाट क्षति भएका संरचनाहरुको पुनर्निर्माण र भविष्यमा भूकम्पबाट क्षति हुनसक्ने निजी आवास, सार्वजनिक संरचना, सम्पदा एवं पूर्वाधारलाई एकीकृत ढंगले हेरी पुनर्निर्माण र पुनर्स्थापनाको कार्य अगाडि बढाउन मिल्ने गरी कार्यक्रमको खाका तयार गरिरहेको छ ।
    उनले बस्तीको प्राचीनता, मौलिकता र साँस्कृतिक पक्षलाई जोगाउँदै ती संरचनाहरुलाई भूकम्प प्रतिरोधी बनाउने कुरामा ध्यान दिनुपर्ने सुझाव समेत दिए ।

    निर्देशक समितिको बैठकले पुननिर्माण प्राधिकरणको अवधि २०७८ पुस १० गतेसम्म रहेकोमा चालु आर्थिक वर्षमा मूलभूत कामहरु सम्पन्न गर्ने र साउन १ गतेदेखि बाँकी अवधिमा हस्तान्तरणलगायतका कार्यहरुका लागि हस्तान्तरण गर्ने निकाय, योजना तथा कार्यक्रम र वित्तीय व्यवस्थापनको खाकासमेत स्वीकृत गरेको छ । प्राधिकरणले आगामी आर्थिक वर्षका लागि ३६ अर्ब ३५ करोड ३८ लाख रुपैयाँको बजेटका लगि नेपाल सरकारसमक्ष प्रस्ताव पेश गर्ने निर्णय पनि गरेको छ ।

  • गुल्मीमा कार्यरत सरकारी कर्मचारी सवार जिप प्यूठानमा दुर्घटनाः ५ जनाको मृत्यु

    गुल्मीमा कार्यरत सरकारी कर्मचारी सवार जिप प्यूठानमा दुर्घटनाः ५ जनाको मृत्यु

    गुल्मी । जिल्ला प्रशासन कार्यालय गुल्मीमा कार्यरत सरकारी कर्मचारी चढेको जिप प्युठानको स्वर्गद्वारी नजिकै दुर्घटनामा पर्दा ५ जनाको मृत्यु भएको छ । नयाँ वर्षको बिदाको अवसर पारी स्वर्गद्धारी जाँदै गरेको लु १ ज १६५५ नम्बरको जिप प्युठानको स्वर्गद्वारी नगरपालिका–३ रुमालेमा दुर्घटनामा परेको थियो ।

    आज बिहान भएको दुर्घटनामा जीप चालक गुल्मीको मुसिकोट नगरपालिका–३ का २२ वर्षीय केशव कार्की, जिल्ला प्रशासन कार्यालय गुल्मीका कम्प्युटर अपरेटर रेसुङ्गा नगरपालिका–७ का ३५ वर्षीय सूर्य पन्थी, मुद्दा शाखाका धुर्कोट–७ का ३६ वर्षीय ईश्वर भण्डारी, प्रशासकीय अधिकृत स्याङजाका ३८ वर्षीय श्याम न्यौपाने र २७ वर्षीय यमलाल पन्थी रहेको प्रहरीले उल्लेख गरेको छ ।

    जिपमा जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी र उनीहरुको परिवारका सदस्य थिए । कुल १६ जना सवार जिप दुर्घटनामा परेको हो । दुर्घटनामा गम्भीर घाइते ५ जनालाई हेलिकोप्टरबाट थप उपचारका लागि काठमाडौं लगिएको छ । दुर्घटनामा ११ जना घाइते रहेको प्रहरीले जनाएको छ ।

    घुम्ती सडकमाबसलाई ओभरटेक गर्ने क्रममा जिप सडकबाट तल खसेको प्रत्यक्षदर्शीले बताएका छन् । सडकबाट १ सय ५० मिटर तल झरेको जिप दुर्घटनाका कारण नयाँ वर्ष कै दिन गुल्मी जिल्ला भने शोकमा डुबेको छ ।

  • अब मोबाइलबाटै आफ्नो जग्गाको विवरण हेर्न मिल्ने

    अब मोबाइलबाटै आफ्नो जग्गाको विवरण हेर्न मिल्ने

    काठमाडौं । अब मोबाइल एपबाटै आफ्नो जग्गाको लालपूर्जा, जग्गाको कित्ता लगायत विवरण हेर्न मिल्ने भएको छ ।

    सरकारले नयाँ वर्षमा ‘मेरो कित्ता’ कार्यक्रम शुरु गर्दै यस्तो व्यवस्था गर्न लागेको हो । बुधबार राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले भूमि सम्बन्धी सम्पूर्ण विवरण अनलाइनबाटै हेर्न सकिने व्यवस्था गर्न लागिएको बताएका हुन् ।

    सरकारले शुरु गरेको ‘मेरो कित्ता’ मार्फत् आफ्नो जग्गाधनी पुर्जा, आफ्नो कित्ता, आफू बसेकै ठाउँबाट एप्समार्फत् हेर्न सकिने उनले जानकारी दिए ।

  • नेपालमा थप ५८० जनामा कोरोना संक्रमण पुष्टी, १२९ जना डिस्चार्ज

    नेपालमा थप ५८० जनामा कोरोना संक्रमण पुष्टी, १२९ जना डिस्चार्ज

    काठमाडौं । नेपालमा थप ५८० जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ५८० जनामा संक्रमण पुष्टी भएको हो।

    यससँगै हालसम्म संक्रमण पुष्टि हुनेको संख्या २ लाख ८१ हजार ५६४ जना पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार १२९ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

    यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७४ हजार ४४७ जना पुगेको मन्त्रालयले जनाएको छ ।

    संक्रिय संक्रमितको संख्या ४ हजार ५६ जना रहेको छ । पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या ३ रहेको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३०६१ पुगेको छ ।